Category: समाचार

  • पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

    पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

    गण्डकी, १ वैशाखः नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताको ९० प्रतिशत बढी भरिभराउ भएका छन् ।नेपाली नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली नयाँ वर्षकै अवसरमा सङ्घले सञ्चालन गर्दै आएको फेवा नव वर्ष महोत्सवको २१औँ संस्करणका कारण पनि पोखरामा पर्यटकको आगमन बढाएको उनले बताए ।


    प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण चासो र चर्चा कमाएको पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुका साथै यसको प्रवर्द्धनमा निरन्तर गरिएका प्रयाससँगै पर्यटकको आगमन पनि बढ्दो क्रममा रहेको पर्यटन व्यवसायी बताउँछन् । पोखरा क्षेत्रमा कुल एक हजार २०० होटेल रहेकामा प्रत्येक दिन ४० हजारसम्म पर्यटक राख्न सकिने अध्यक्ष सुवेदीले बताए ।

  • नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो

    नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो

    काठमाडौँ, १ वैशाख । नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोले सोमबार विविध कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाएको छ । नेपालको पहलमा संयुक्त राष्ट्रसंघको महासभाले १० मार्च २०२६ मा एक प्रस्ताव पारित गर्दै हरेक वर्ष अप्रिल १५ तारिखलाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । सोही सन्दर्भमा नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोले उक्त दिवस मनाएको हो ।

    सान फ्रान्सिस्को वे एरियाको रिचमण्डस्थित नेपाली कम्यूनिटी सेन्टरमा एक औपचारिक कार्यक्रम आयोजना गरी प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको महावाणिज्यदूतावास कार्यालयले जनाएको छ । नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया र जीवन विज्ञान–युसएसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा औपचारिक मन्तव्य, योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञहरूको प्रस्तुतिकरणलगायत सहभागीका लागि योग अभ्यास, ध्यान, प्राणायम र ध्वनी चिकित्सा सत्र सञ्चालन गरिएको जनाइएको छ ।

  • पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता

    पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता

    काठमाडौँ, १ वैशाख । क्यानडाको ओटावामा आयोजित ‘२७औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’मा त्यहाँस्थित नेपाली दूतावासले सहभागिता जनाएको छ । आइतबार र सोमबार सम्पन्न उक्त प्रदर्शनीमा दूतावासले छुट्टै स्टल स्थापना गरी नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा कलात्मकतालाई उजागर गर्ने विभिन्न पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री, परम्परागत कलाकृति र मौलिक नेपाली उत्पादनहरु प्रदर्शन गरेको थियो ।

    साथै, नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू समेटिएका प्रचारात्मक वृत्तचित्र तथा भिडियोहरू पनि प्रदर्शन गरिएको दूतावासले जनाएको छ । यस कार्यक्रमले क्यानडेली पर्यटकहरूमाझ नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    काठमाडौँ, १ वैशाख । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका छन् । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए । उनले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारिन् । त्यसैगरी काममा ढिलाइ भएको विषयमा उनले चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षणसमेत गराए ।

    अनुगमनका क्रममा उनले काम समयमा सम्पन्न नगर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेकाले यस अवस्थाको चाँडो अन्त्य गर्न निर्देशन दिए । निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले निर्माणलाई तीव्रता दिइ निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने जनाएका छन् ।

  • हर्मुज मार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन : आइएमओ प्रमुख

    हर्मुज मार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन : आइएमओ प्रमुख

    लण्डन, १ वैशाख, (रासस–एएफपी) । अमेरिका–इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको संयुक्त राष्ट्रसङ्घको सामुद्रिक निकायका प्रमुखले बताएका छन् । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव आर्सेनियो डोमिन्गुएजले एक पत्रकारमा भने, “इरान विरुद्ध अमेरिका र इजरायलले आक्रमण गरेपछि युद्ध सुरु भएको छ हप्तापछि हर्मुजमा पहुँच अवरुद्ध गरिनु गलत हुनेछ।” संयुक्त राज्य अमेरिकाले सोमबारदेखि हर्मुज र वरपरका इरानी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने चेतावनी दिएको थियो, यद्यपि, फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि यो क्षेत्रमा तेहरानको सेनाले नियन्त्रण जारी राखेको छ ।

    “अन्तर्राष्ट्रिय कानूनले कुनै पनि देशलाई अन्तर्राष्ट्रिय पारबहनका लागि प्रयोग हुने अन्तर्राष्ट्रिय जलमार्गको प्रयोगको स्वतन्त्रतालाई निषेध वा अवरूद्ध गर्ने अधिकार छैन,“ डोमिन्गुएजले भने । इरानी अधिकारीहरूले परीक्षण गरी आफ्ना सहयोगी मुलुक सम्वद्ध जहाजहरूलाई उनीहरूको तटको नजिकको मार्गबाट जलमार्ग पार गर्न अनुमति दिइरहेका छन् र केही मुलुक सम्बद्ध जहाजहरूलाई प्रवेश गर्न पैसा तिर्नुपर्ने बताएका छन्।

    “अन्तर्राष्ट्रिय जलमार्गका लागि अन्तर्राष्ट्रिय जलसन्धिमा निषेध गर्ने यो सिद्धान्त समुद्रको अन्तर्राष्ट्रिय परम्परागत कानूनको विरुद्ध छ,” उनले भने, “यसले धेरै खतरनाक उदाहरण सिर्जना गर्नेछ।” अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, तर यो काम सहज नभएको उनले बताए ।
    “मध्यपूर्व र विशेष गरी हमुर्ज क्षेत्रमा देखिएको संकटलाई सम्बोधन गर्न र जहाजलाई सञ्चालन गर्न मद्दत गर्न हामीले सुरु गरिरहेका छौँ ।

    अमेरिकी नाकाबन्दीको अतिरिक्त प्रभाव जहाजमा नगण्य हुने उनले बताए । उनले थपे, “केही (निकै कम) मात्र जहाजहरू आवागमन गर्न सफल भएका छन्, एक अतिरिक्त नाकाबन्दीले स्थितिलाई त्यस स्तरमा बिगार्ने छैन भन्ने बुझ्न सकिन्छ।”

  • अमेरिका–इरानबीच युद्धविरामको प्रक्रिया जारी रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ

    अमेरिका–इरानबीच युद्धविरामको प्रक्रिया जारी रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ

    इस्लामावाद, १ वैशाख, (रासस–एएफपी) । अमेरिका र इरानबीच गत सप्ताहन्तमा भएको शान्तिवार्तामा तत्काल उद्देश्य प्राप्त गर्न नसकिएको भएपनि युद्धविराम जारी रहेको र सहमतिमा पुग्ने प्रयास अझै भइरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार बताएका छन् । “युद्धविराम अझै जारी छ र विवाद समाधान हुन बाँकी रहेका मुद्दाहरू समाधान गर्न पूर्ण प्रयास भइरहेको छ,” शरीफले टेलिभिजनमार्फत संक्षिप्त टिप्पणी गर्दै भने ।

    –समयसीमा सकिएको अमेरिकी भनाइ–

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहमा नौसैनिक नाकाबन्दीका लागि तोकेको सोमबारको समयसीमा सकिएको छ । तेहरानसँग सप्ताहन्तमा भएको शान्ति वार्ता बिना कुनै सहमति सकिएपछि ट्रम्पले इन्धन ढुवानीका लागि रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ नाकाबन्दीको घोषणा गरेका थिए । अमेरिकी सेनाले सोमबार ग्रीनविच समयअनुसार सबै खाडी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने बताएको छ । इरानबाट नआएका र इरानतर्फ नजाने जहाजहरूलाई स्ट्रेट हुँदै आवतजावत गर्न अनुमति दिइने सेनाले बताएको छ ।

    –वार्ताका लागि खुला रहन इरानसँग कतारको आग्रह–

    कतारका प्रधानमन्त्रीद्वारा सोमबार इरानी विदेशमन्त्रीलाई इरान र संयुक्त राज्य अमेरिकाले मध्यस्थताको प्रयासमा सकारात्मक रूपमा संलग्न हुन आग्रह गर्दै समुद्री मार्गहरूलाई ‘मोलमोलाइ गर्ने औजार’ को रूपमा प्रयोग गर्न नहुने चेतावनी दिएका छन् । कतारको विदेश मन्त्रीको समेत जिम्मेवारी हेर्दै आउनुभएका शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अब्बास अरागचीसँगको फोनमा जारी मध्यस्थताको प्रयासमा सबै पक्षले सकारात्मक प्रतिक्रिया दिनुपर्नेमा जोड दिए ।


    विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनले समुद्री मार्गहरू खोल्नुपर्ने, नौवहनको स्वतन्त्रताको सुनिश्चितता गरिनुपर्ने र तिनीहरूलाई दबाब वा सौदाबाजीको उपकरणको रूपमा प्रयोग गर्न नहुने कुरामा जोड दिए ।

  • सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो

    सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो

    सिरहा, १ वैशाखः सिरहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा आज नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने विश्वास गरिने दुर्लभ सुनाखरी फूलको दर्शन गर्न र पूजाअर्चना गर्न आज बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ । लहान नगरपालिका–१२ र २२ मा फैलिएको करिब नौ बिघाको यस फूलबारीमा रहेको हारमको रूखमा आज बिहानैदेखि सुनाखरी फूल ढकमक्क फक्रिएको छ ।

    १४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीक मानिने यो फूल हेर्न नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय सहरहरूबाट हजारौँको सङ्ख्यामा भक्तजनहरू आइपुगेका छन् ।

    मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार बिहान ४ः०० बजेदेखि नै मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ । तराईको पासवान समुदायका इष्टदेव मानिने राजा सलहेशको पूजा गर्दा मनले चिताएको पुग्ने, निःसन्तानहरुलाई सन्तान प्राप्ति हुने तथा विभिन्न रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ । भक्तजनको अत्यधिक चापलाई व्यवस्थापन गर्न मेला क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भीडभाड नियन्त्रणका लागि गस्ती बढाएका छन् भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सादा पोसाकका प्रहरी र ‘सिसीटिभी क्यामेरा’बाट समेत निगरानी भइरहेको छ ।

    अत्यधिक भीडका कारण यातायात र हिँडडुलमा असहजता नहोस् भन्नका लागि स्वयंसेवकहरूले सहयोग गरिरहेको मेला समितिका अध्यक्ष चौधरीले जानकारी दिए । सरकारले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरे पनि स्थानीयस्तरमा ठोस विकासका कामहरू हुन नसकेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।

    जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष प्रदीपकुमार गुप्ताका अनुसार, तीनै तहका सरकार र सम्बन्धित निकायले समन्वय गरी एकीकृत गुरुयोजना बनाएर अघि बढ्नु आवश्यक छ । यसो गर्नसकेमा यो ऐतिहासिकस्थललाई अझ आकर्षक र सुविधायुक्त धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न सकिने उनको भनाइ छ । रासस

  • अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

    अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, १ वैशाखः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७५ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३७ पैसा र बिक्रीदर २०१ रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ छ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०८ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ९० पैसा र बिक्रीदर ११७ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २१ रुपैयाँ ९१ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ छ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ तीन पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ तीन पैसा र बिक्रीदर १६ रुपैयाँ नौ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३४ पैसा र बिक्रीदर २३ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ चार पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ३७ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • नयाँवर्षमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढ्यो

    नयाँवर्षमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढ्यो

    रासस
    भक्तपुर, १ वैशाखः नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा यतिखेर आन्तरिक तथा बाह्य पयटकको घुइँचो बढेको छ । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटबाट रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित भएका छन् ।

    पर्यटन व्यवसायमा विदेशी पर्यटकमात्रै नभई आन्तरिक पर्यटकको आगमनको बढ्दो चापले व्यवसायी उत्साहित भएका हुन् । नयाँवर्ष २०८३ को आगमनले भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म आन्तरिक तथा विदेशी पर्यटकले भरिएका छन् ।

    नगरकोटमा नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिभराउ भएका व्यावसायी बताउँछन् । विसं २०८२ को बिदाइ गर्दै २०८३ को पहिलो सूर्योदय र यहाँका हिमाली दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकले नगरकोटको आकर्षण थप बढाएका होटल व्यवसायी एवं होटल चौतारीको सञ्चालक बद्री माकले बताए ।


    अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकीय चाप बढ्दा व्यवसायीमा उमङ्ग थपेको बताउँदै माकले भजे, “विदेशी पर्यटकको चाप पनि बढेको छ, स्वदेशी पर्यटकको चाँप निकै बढेको छ, अङ्ग्रेजी नयाँ वर्षमा करिब ५० प्रतिशत विदेशी पर्यटक र ५० प्रतिशत स्वदेशी पर्यटकले यहाँको होटल भरिएका छन् ।” सामान्यदेखि फाइभ स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप बढेपछि व्यवसायी थप होटल र कोठा थप्न उत्साहित भएका बताउँदै नगरकोट बेसक्याम्पका सञ्चालक अनुप केसीले नगरकोटमा थप होटल खुल्नेक्रम जारी रहेको उल्लेख गरे ।

    चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मज्जा लिन यहाँ पर्यटकको आगमन बढेको बताउँदै सञ्चालक केसीले व्यवसायी उत्साहित भएका बताए ।
    अर्का पर्यटन व्यवसायी एवं होटल ‘पिसफुल’ नगरकोटका सञ्चालक रामशङ्कर ध्वजुले नयाँ वर्षले पर्यटन व्यवसायीलाई उत्साह थपेको बताउदै यस वर्ष विगत वर्षको तुलनामा पर्यटकको आगमन बढेको जानकारी दिए ।

    विदेशीभन्दा स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएका व्यवसायी एवं होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछानेले बताए । उनले भने, “मैले होटल क्षेत्रमा काम गरेको २७ वर्ष भयो । पछिल्ला केही वर्षयता कोरोनाले थला पारेको व्यवसायलाई उठाएको छ, नयाँ होटल थपिँदै छन् ।” नगरकोटमा सामान्यदेखि सात स्टारसम्मका होटल सञ्चालनमा आएका नगरकोट नाल्दुम पर्यटन व्यवसायी समितिका अध्यक्ष नवीन लामाले जानकारी दिए । नगरकोट भ्रमण वर्ष २०८२ ले पनि पर्यटकको आगमन बढाएको उनको भनाइ छ ।

    केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नंं ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटल नयाँ वर्षमा आन्तरिक पर्यटकले भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्य हेर्ने र रातभरी नाचगान गरी नयाँवर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचो लागेको रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले बताए ।


    समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । पर्यटन व्यवसायी बकेले भने, “रानीकोटबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङ्टाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल हेर्न सकिन्छ । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । नयाँ वर्षमा आन्तरिक पर्यटकले यहाँका होटल भरिएका छन्, रानीकोट पर्यटकको रोजाइमा पर्न थालेपछि व्यवसायी उत्साहित भएका छन् ।”

    सहज पक्की सडकदेखि सूर्यविनायक(रानीकोट(आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटल, सूर्यविनायकबाट रानीकोट हुँदै पनौती जाने छोटोदूरीको सडक, रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको भन्दै उनले कोरोना महामारी पछि यति धेरै आन्तरिक पर्यटकको आगमनले यहाँका सबै होटल खचाखच भएको बताए ।


    नयाँ वर्षको भीडले पर्यटन व्यवसायीलाई ऊर्जा र उत्साह थपेको बताउँदै व्यवसायी बकेले भने, “पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नु अगाडि बनाएको गढी र पछि त्यही मल्ल राजाहरुले रानीका लागि दरबार बनापछि रानीकोट नाम रहेको यो क्षेत्र ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको छ ।”

    नयाँ वर्ष आफ्नो होटल सात दिनअघिदेखि नै बुक भएको बताउँदै उनले यहाँको रानीकाट गढी, बाघ भैरवलगायत ऐतिहासिक पर्यटकीय क्षेत्र पनि घुम्न पाइने बताउँछन् । सूर्यविनाकबाट घ्याम्पेडाँडा हुँदै रानीकोट पुग्न सकिने यस क्षेत्रमा पर्यटकको आगमन बढेसँगै दर्जनभन्दा बढी नयाँ होटल थप भएका छन् ।
    ‘घ्याम्पेडाँडा रिसोर्ट’ का सञ्चालक राजेन्द्र प्याथले आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसायमा उत्साह थपेको बताए । घ्याम्पेडाँडामा अहिलेसम्मको बढी लागतमा निर्माण भएको होटलले विदेशी र स्वदेशी पर्यटकलाई राख्दै आएको बताउँदै उनले नयाँ वर्षमा यहाँको होटल खचाखच भएको उल्लेख गरे ।

  • नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति

    नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति

    काठमाडौँ, १ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताएमन छज् । नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उजले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न सङ्कल्प र साधना आवश्यक पर्ने धारणा राखे । निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात् गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक पर्नेमा जोड दिए ।


    राष्ट्रपति पौडेलले मुलुकमा प्रचलनमा रहेका संवत्हरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्वपूर्ण हिस्सा भएका उल्लेख गर्दै यसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने बताए । “हामी नेपालीले नववर्षलाई विशेष दिन मानी विगतको समीक्षा गर्ने तथा आगामी दिनमा गरिने कार्यका लागि प्रतिज्ञा र सङ्कल्प गर्ने शुभसाइतका रूपमा लिँदै आएका छौँ”, उनले भने, “विशेष पर्व र दिनमा जीवनका लक्ष्य निर्धारण गर्ने र त्यसलाई पूरा गर्न सङ्कल्पबद्ध रहने हाम्रो परम्परा रहिआएको छ ।”

    राष्ट्रपति पौडेलले हालैै मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुकमा उत्पन्न विषम परिस्थितिले निकास पाएको बताउँदै जनताको नयाँ जनादेशबाट नयाँ सरकार गठन भइसकेको उल्लेख गरे । “यो निर्वाचनमार्फत नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा विधिको शासन, दिगो शान्ति, सुशासन, सामाजिक न्यायसहितको विकास र समृद्धिको चाहना अभिव्यक्त गरेका छन्”, उनले भने, “यसका लागि हामी दृढ लक्ष्यसहित अगाडि बढ्ने सङ्कल्प गरौँ भन्ने पनि चाहेका छन् ।”

    हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न केही सङ्कल्प गर्नुपर्ने उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति मन, वचन र कर्मले निष्ठ रहने सङ्कल्प गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने, सुशासनप्रति प्रतिबद्ध रहनुपर्ने, समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध हुनुपर्ने तथा जस्तोसुकै परिस्थितिमा पनि देशको स्वाधीनता र सार्वभौमिकतालाई झुक्न नदिने गरी काम गर्नुपर्ने उल्लेख गरे ।


    राष्ट्रपति पौडेलले नयाँ वर्षले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा गर्ने सङ्कल्प र सामथ्र्य पैदा गरोस् र नेपालीका बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरित गरोस् भन्ने कामना गरे ।

  • आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

    आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

    काठमाडौँ, १ वैशाखः आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो ।

    आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन् । सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गरी सङ्कल्प गर्दछन् ।

    आज बिहानै नुहाउने, घरकोठा तथा आँगन सफा गर्ने, मठमन्दिरमा गई पूजाआराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । विश्वभर रहेका नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।

    भक्तपुरमा आज बिस्का जात्रा पनि गरिन्छ । तराईमा आज मात्रै सहलेश फूल फूल्ने भएकाले पनि यसको छुट्टै महत्व र विशेषता रहेको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ठ व्यक्तित्वले शुभकामना सन्देशमार्फत नेपालीको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।

  • प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

    प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

    काठमाडौँ, ३० चैत । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२–८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको छ ।

    सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरू प्रस्तुत गर्नुका साथै आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू अघि सारेका थिए । छलफलमा धादिङ–१ बाट निर्वाचित सांसद आशिका तामाङले सिसडोल र बन्चरेडाँडामा आधुनिक फोहर व्यवस्थापन प्रणाली लागू गर्न, सवारी प्रदूषण नियन्त्रणका लागि ‘ग्रिन स्टिकर’को प्रभावकारी अनुगमन तथा चेपाङ र तामाङ समुदायका लागि विशेष शिक्षा ‘प्याकेज’ ल्याउन माग गरिन् । उनले सीतापाइला–धार्के वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    यस्तै, सिन्धुपाल्चोकका सांसद युवराज दुलालले बाँदर नियन्त्रणसम्बन्धी कानुन निर्माण, मेलम्ची र इन्द्रावती नदी किनारका जोखिमयुक्त बस्ती संरक्षण तथा मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित भुक्तानी समस्या समाधान गर्न आग्रह गरे । काभ्रेपलाञ्चोकका सांसद बदनकुमार भण्डारीले सुनकोशी–३ जलाशययुक्त आयोजना अगाडि बढाउन, धुलिखेललाई बागमती प्रदेशको राजधानीका रूपमा विकास गर्न तथा अरनिको राजमार्गलाई चार लेनमा विस्तार गर्न र पाँचखालमा क्षेत्रीयस्तरको विशिष्टकृत अस्पताल स्थापनाका लागि प्रधानमन्त्रीलाई आग्रह गरे ।


    चितवन–१ का सांसद हरि ढकालले राप्ति नदी किनारमा साइकल लेनसहितको सफारी मार्ग, सिँचाइ विस्तारका लागि ‘हाई ड्याम’ निर्माण तथा सौराहामा अनलाइन टिकट प्रणाली लागू गर्न सुझाव दिए । काठमाडौँ–४ का सांसद पुकार बमले पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयन, पारदर्शिता अभिवृद्धिका लागि ‘नेसनल बजेट ड्यासबोर्ड’ निर्माण तथा एकीकृत पूर्वाधार विकास ऐन ल्याउनुपर्नेमा जोड दिए । उनले चाबहिलमा ‘फ्लाइओभर’ निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।


    रामेछापका सांसद डा कृष्णहरि बुढाथोकीले जिल्लाबाट भइरहेको बसाइँसराइ रोक्न, रोजगारी सृजना, ठोसे शिवालय जलाशययुक्त आयोजना प्राथमिकतामा राख्न तथा अलपत्र सडक आयोजना समयमै सम्पन्न गर्न सरकारसँग आग्रह गरेका थिए । त्यस अवसरमा प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विषयहरूलाई बजेट र प्राथमिकताका आधारमा क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्दै बागमती प्रदेशको समग्र विकासलाई तीव्रता दिने निष्कर्षसहित बैठक सम्पन्न भएको छ ।

  • छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

    छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

    काठमाडौँ, ३० चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई नियमबमोजिम प्रदान गरिएका छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी सङ्ख्याका आधारमा तोकिए बमोजिम १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरेरनगरेको सम्बन्धमा अनुगमन र सहजीकरण गर्न स्थानीय तहलाई अनुरोधसमेत गरेको छ ।

    अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ मा उल्लेख भएअनुसार निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालनमा रहेका विद्यालयले विद्यार्थी सङ्ख्याका आधारमा तोकिए बमोजिमका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नुपर्ने व्यवस्था छ । शिक्षा नियमावली, २०५९ मा संस्थागत विद्यालयले कुल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशतमा नघटाई गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ भन्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुरुप सम्पूर्ण विद्यालयहरूले तोकिएबमोजिम छात्रवृत्ति प्रदान गर्न निर्धारित विधिबाट छनौट भई छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नामावली तत्काल अध्यावधिक गर्न मन्त्रालयले आग्रह गरेको हो ।

    यसैगरी छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण सम्पूर्ण अभिभावकले देख्ने सुनिश्चित हुने गरी विद्यालयले सार्वजनिक गर्ने तथा विद्यालयले प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरे÷नगरेको अनुगमन गरी नगर्ने विद्यालयलाई तत्काल अद्यावधिक गर्न लगाउन आग्रह गरिएको छ । साथै नियमानुसार छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुनबमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरूलाई समन्वय एवं सहजीकरणका लागि अनुरोधसमेत गरेको छ ।

  • सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

    सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

    काठमाडौँ, ३० चैत । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा पूर्वसभामुखसँग छलफल गरे । यही चैत २२ गते सभामुखमा निर्वाचित अर्यालले आज पूर्वसभामुखद्वव देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका हुन् । त्यस अवसरमा नेपालको संसदीय अभ्यास, विगतका अनुभव, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणलगायत विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ ।

  • भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा ताला

    भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा ताला

    काठमाडौँ, ३० चैत । वर्षौँदेखि बक्यौता नतिरी बसिरहेका भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवनमा ताला लगाइएको छ । समाज कल्याण परिषद्ले आज मातहतका जग्गा र जमिन भाडामा लिई विभिन्न व्यक्ति एवं सङ्घसंस्थाहरूले विगत लामो समयदेखि भाडा नबुझाइ सञ्चालन गरिरहेका स्टल, भवन, बुथमा ताला लगाएको हो ।

    बक्यौता बुझाउन पटक–पटक पत्राचार एवं सार्वजनिक सूचना प्रकाशित गर्दासमेत अटेर गरेपछि यसरी ताला लगाउनुपरेको परिषद्का सदस्य सचिव सरोजकुमार शर्माले जानकारी दिए । परिषद्ले वर्षौँदेखि भाडा नतिरेका २० वटा स्टलमा तालाबन्दी गरेको हो । ताला लाग्नेमा रिपोटर्स क्लब नेपाल, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलगायत रहेका छन् ।

  • बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार

    गलकोट (बागलुङ), ३० चैतः यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ सुन्दर गाउँ बुढाथोक । लोकमार्ग कालोपत्रपछि बुढाथोक गाउँ चर्चामा आएको हो । हाल सो गाउँमा व्यवस्थित सामुदायिक घरबास सञ्चालन गरिएको छ । परम्परागत संरचनाका घरले भरिएको बुढाथोक गाउँमा हिजोआज आन्तरिक पर्यटक आउन थालेका छन् । यहाँका चार घर मिलेर बुढाथोक मगर नाखा सामुदायिक घरबास सञ्चालन गरेका हुन् । उनीहरूले खानाका परिकार पस्केर पाहुनालाई स्वागत गर्ने गरेका छन् । गत मङ्सिरदेखि सुरू गरिएको घरबासमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको छ ।
    पाँच महिनामा १२० पर्यटक घरबासमा बस्न आइसकेका छन् । लोकमार्गछेउमा परम्परागत चिटिक्क परेका घरले जोकोहीलाई लोभ्याउने गरेको छ । सामुदायिक घरबासका सञ्चालक बिमा बुढागरले घरबासमा एकरातमा २० जना पाहुना राख्ने क्षमता रहेको जानकारी दिए । घरबास स्थापनाका लागि बिवाइसी बागलुङअन्तर्गत दिगो पर्यटन प्रवर्द्धन परियोजनाले सहयोग गरेको छ । “समूहका विभिन्न महिलाहरूको सहभागितमा सामूहिक भोजन, स्वागत तथा कलासंस्कृति प्रदर्शन गरिन्छ”, बुढामगरले भने, “ढुङ्गाले छाएका पुराना घरमा स्थानीय खानाका परिकारसँगै आतिथ्यता हाम्रो प्रमुख आकर्षण हो ।”

    घरबासमा मकै, भट्ट, आटो, कोदो र फापरको ढिडो, रोटी, मार्सी चामलको भात, लोकल कुखुरा, खसी, भेडाको मासु, च्याउको सुकुटी र लोकल सिमीको दाल र आलुको परिकार पाइने गरेको छ । घरबासमा एकरात खान बस्न प्रति व्यक्ति एक हजार २०० मात्रै शुल्क तोकिएको छ ।

    यस गाउँको घरबास जिल्लाकै नमूना रहेको बागलुङको मालिकाबाट घरबासमा आउनुभएका पर्यटक मुक्तिराम सापकोटाले बताए । “घरबास सञ्चालकहरूको स्वागत तथा सत्कार, नितान्त परम्परागत घरमा गुन्द्रीमा बसेर स्थानीय परिकार खान पाइयो”, सापकोटाले भने, “घरबास भनेकै परम्परा, संस्कृति र खानाका परिकारको व्यवस्थापन हो, घरबासको विषयमा अझै प्रचारप्रसार आवश्यक छ ।”

  • राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

    राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

    काठमाडौँ, ३० चैत । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क आज सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७९–८० लाई आधार वर्ष मानेर सो तथ्याङ्क प्रकाशन गरेको जनाएको छ । बैंकका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र आफ्नै स्रोतबाट सङ्कलित तथ्याङ्कका आधारमा घरजग्गा कारोबारसम्बन्धी विवरण अब त्रैमासिक रूपमा सार्वजनिक गरिनेछ ।

    राष्ट्र बैंकले लिखत पारितअन्तर्गत राजीनामा कारोबारका आधारमा प्रवृत्तिको विश्लेषण गरेको छ । कारोबार सङ्ख्या, कारोबार मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व सङ्कलन तथा घरजग्गा क्षेत्रमा प्रवाहित बैंक कर्जाजस्ता सूचकहरूलाई आधार मानेर विश्लेषण गरिएको बैंकले जनाएको छ । तथ्याङ्कअनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ । पहिलो त्रैमासमा कारोबार न्यून रहने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने प्रवृत्ति देखिएको छ ।

    प्रदेशगत रूपमा हेर्दा कारोबार सङ्ख्याका आधारमा मधेस प्रदेश अग्रस्थानमा रहेको छ भने त्यसपछि लुम्बिनी र कोशी प्रदेश रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार सबैभन्दा कम देखिएको छ । कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा पनि मधेस प्रदेशकै हिस्सा सबैभन्दा बढी रहेको छ ।

    जग्गाको प्लट साइजका आधारमा मधेस प्रदेशबाहेक अन्य प्रदेशहरूमा दुई दशमलव पाँचदेखि १० आना क्षेत्रफलका प्लटहरू बढी किनबेच हुने गरेको पाइएको छ । तर मधेस प्रदेशमा भने २० आनाभन्दा माथिका ठूला प्लटहरूमा बढी कारोबार हुने देखिएको छ । घोषित मूल्यका आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ भने महानगर तथा उपमहानगरपालिकामा पाँचदेखि १० आना क्षेत्रफलका प्लटहरू बढी कारोबार भएको देखिएको छ ।

    बैंकका अनुसार आव २०७७–७८ देखि २०८१–८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशतले वृद्धि भएको छ भने आवासीय कर्जा ६१.५५ प्रतिशतले बढेको छ । घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्वमा पनि उतारचढाव देखिएको छ । आव २०७८–७९ को पहिलो त्रैमासमा करिब २३ अर्ब ७० करोड रुपैयाँ पुगेको राजस्व त्यसपछि घट्दै २०७९–८० को पहिलो त्रैमासमा आठ अर्ब २० करोड रुपैयाँमा झरेको थियो ।

    पछिल्लो अवधिमा भने सुधार हुँदै २०८१–८२ मा करिब १५ अर्ब रुपैयाँसम्म पुगेको छ । राष्ट्र बैंकले यस्तो तथ्याङ्क प्रकाशनबाट रियलस्टेट क्षेत्रको गतिविधि आँकलन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, उक्त तथ्याङ्कका आधारमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत भइरहेको जनाएको छ ।

  • अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया

    अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया

    काठमाडौँ, ३० चैतः नेपाल कम्युनष्टि पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको छ ।
    गत दुई सातादेखि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीको चिकित्सकको परामर्शमा शल्यक्रिया गरिएको हो । अध्यक्ष ओलीको सचिवालयले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

  • सिंहदरबारभित्र गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीद्वारा निर्देशन

    सिंहदरबारभित्र गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीद्वारा निर्देशन

    काठमाडौँ, ३० चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदवार र परिसर क्षेत्रमा ‘इन्टरनेट’ सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन पहल थालेको छ । यसका लागि मन्त्रालयले सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधारसम्बन्धी निकायका रुपमा रहेको एकीकृत ‘डाटा’ व्यवस्थापन केन्द्रलाई निर्देशन समेत दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा विक्रम तिमिल्सिनाले ‘डाटा’ व्यवस्थापन केन्द्रका प्रमुख प्रमुख मनिष भट्टराइसँगको छलफलमा सिंहदरबार र आसपासका सरकारी निकायमा सूचना प्रविधि पूर्वाधारलाई थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिए ।


    आज मन्त्रालयमा भएको छलफलका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले सिंहदरबारभित्रका सम्पूर्ण निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले इन्टरनेट सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नहुने स्पष्ट पार्दै सेवा प्रदायक र सम्बन्धित निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिए । सेवामा अवरोध आउन सक्ने सम्भावित कारणहरूको पहिचान गरी त्यसलाई समयमै समाधान गर्नुपर्नेमा उनको विशेष जोड थियो ।

    मन्त्री डा तिमिल्सिनाले सम्बन्धित सबै निकायलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न आग्रह गर्दै सहकार्य, समन्वय र नियमित अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । डिजिटल सेवाहरूको गुणस्तर सुधार नगरी प्रभावकारी प्रशासन सम्भव नहुने उल्लेख गर्दै उनले प्रविधिमा आधारित सेवा प्रवाहलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिए ।


    त्यस्तै, प्राविधिक तथा मानवीय त्रुटिका कारण पनि समस्या उत्पन्न हुनसक्ने भएकाले दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिन मन्त्री तिमिल्सिनाले निर्देशन दिए । उनले नेपाल टेलिकमबाट दक्ष प्राविधिकसहितको टोली परिचालन गरी सम्भावित समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । सो क्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका कार्यालय प्रमुख भट्टराईले सिंहदरबारभित्र इन्टरनेट सेवासम्बन्धी विद्यमान अवस्थाबारे जानकारी गराए ।

    उनका अनुसार हाल केही कार्यालयमा इन्टरनेट सुस्त हुने तथा कहिलेकाहीँ सम्पर्क टुट्ने समस्या देखिएको छ । यस्ता समस्या दोहोरिन नदिन आवश्यक प्राविधिक सुधार र व्यवस्थापनका उपायहरू अवलम्बन गरिएको जानकारी पनि उनले दिए ।
    उनका अनुसार हाल सिंहदरबारभित्र नेपाल टेलिकममार्फत १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा रहेको छ भने ‘जी–क्लाउड’ सञ्चालनका लागि २५० एमबिपिएस क्षमताको अतिरिक्त ब्रोडब्यान्ड प्रयोग भइरहेको छ ।

    उनले इन्टरनेट सेवामा देखिने समस्या प्रायः अप्टिकल फाइबरमा हुने अवरोधका कारण उत्पन्न हुने गरेको बताए । विशेषगरी सडक तथा अन्य पूर्वाधार निर्माणका क्रममा फाइबर काटिने वा क्षति पुग्ने समस्या देखिने गरेको उनको भनाइ थियो । यस्ता समस्याको दीर्घकालीन समाधानका लागि अप्टिकल फाइबरलाई जमिनमुनिबाट व्यवस्थित रूपमा बिछ्याउनुपर्ने आवश्यकता उनले औँल्याए ।


    पहिले सिंहदरबार क्षेत्रमा इन्टरनेट सेवा एक स्थानबाट अवरुद्ध हुँदा अर्को वैकल्पिक प्रणालीमार्फत सेवा निरन्तरता कायम राख्ने व्यवस्था गरिएको थियो । हाल उक्त प्रणाली केही कमजोर बनेको उल्लेख गर्दै केन्द्रका प्रमुख भट्टराईले त्यसलाई पुनः सुदृढ बनाउनेतर्फ पहल भइरहेको जानकारी दिए । त्यस्तै, सिंहदरबार परिसरमा बाह्य इन्टरनेट जडानको व्यवस्थापन केन्द्रको जिम्मामा रहे पनि कार्यालयभित्रको आन्तरिक सर्भर र नेटवर्क व्यवस्थापन सम्बन्धित निकायकै जिम्मेवारी हुने हुँदा प्रत्येक मन्त्रालय र निकायमा सूचना प्रविधिसँग सम्बन्धित दक्ष जनशक्ति खटाइनुपर्ने आवश्यकता पनि उनले औँल्याए ।

    सरकारले ‘डिजिटल’ पूर्वाधारलाई सुदृढ बनाउँदै सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको सन्दर्भमा सिंहदरबार क्षेत्रको इन्टरनेट सेवा सुधारका लागि गरिएको यो पहललाई महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

  • साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

    साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

    दुबई, ३० चैत (रासस–एएफपी) । साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन्। पाँच साउदी र जोर्डनका दुई नागरिकलाई प्रतिबन्धित ‘एम्फेटामाइन’ चक्की ओसारपसार गरेको अभियोगमा दोषी ठहर गरेको साउदी प्रेस एजेन्सीले अधिकारीहरूलाई उद्धृत गरी जनाएको छ । “अपराधीहरूलाई विवेकपूर्ण सजायको रूपमा म आइतवार रियादमा मृत्युदण्ड दिइएको थियो,” साउदी प्रेस एजेन्सीले लेखेको छ।

    साउदी अरबको सरकारी तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार सन् २०२६ को सुरुदेखि रियादले मृत्युदण्ड दिएका ६१ जनामध्ये लागुऔषधसँग सम्बन्धित मुद्दामा ३८ जनालाई मृत्युदण्ड दिएको छ । यस वर्ष मृत्युदण्ड दिइनेमध्ये ३३ जना अर्थात् अधिकांश विदेशी नागरिकहरू छन् । सन् २०२५ मा साउदी अरबमा मृत्युदण्डका घटनाले लगातार दोस्रो वर्ष उच्च रेकर्ड कायम गरेको थियो । सन् २०२५ मा अधिकारीहरूले ३५६ जनालाई मृत्युदण्ड दिएका थिए भने त्यसमध्ये लागूपदार्थसँग सम्बन्धित मामिलामा २४३ जना रहेका थिए।

    सन् १९९० मा एम्नेस्टी इन्टरनेशनलले खाडी अधिराज्यमा मृत्युदण्डका मुद्दाहरूको दस्तावेजीकरण गर्न थालेयता सन् २०२५ मा एकै वर्षमा दिइएका मृत्युदण्डको सङ्ख्या सबैभन्दा बढी हो। यस पहिले सन् २०२४ मा ३३८ जनालाई मृत्युदण्ड दिइएको उच्च रेकर्ड रहेको थियो । साउदी अरबले लागूऔषध मामिलामा मृत्युदण्डको प्रयोगलाई करिब तीन वर्षसम्म निलम्बन गरेपछि सन् २०२२ को अन्त्यदेखि लागुऔषध अपराधका लागि मृत्युदण्डको सजाय पुनः सुरु गरेको थियो ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार अरब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र लागुऔषध ओसारपसारका लागि सबैभन्दा ठूलोमध्येको बजार पनि हो । अपदस्थ सिरियाली नेता बशर अल–असदको नेतृत्वमा रहेको सिरियाबाट उहाँ सबैभन्दा ठूलो निर्यात हुने गरेको बताउने गरिएको छ। खाडी राज्यले मृत्युदण्डको प्रयोगलाई लिएर निरन्तर आलोचनाको सामना गर्नु परेको छ, जसलाई अधिकारवादी समूहहरूले अत्यधिक भन्दै निन्दा गरेका छन् र यो विश्वसामु आधुनिक छवि प्रस्तुत गर्ने साउदी अरबको प्रयासको विपरीत छ।

    अधिकारकर्मीहरू भन्छन्, “रियादले मृत्युदण्डलाई निरन्तर अँगालेको छ जसले अधिक खुला, सहिष्णु समाजको छविलाई कमजोर पार्छ । राजकुमार मोहम्मद बिन सलमानको सामाजिक र आर्थिक सुधारको एजेन्डाको केन्द्रबिन्दु लागुऔषध कारोबार नियन्त्रण हो।

  • इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    वासिङ्टन, ३० चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धको क्रममा इरानलाई सैन्य सहयोग गरे अमेरिका भित्रिने चिनियाँ सामानमा नयाँ ९थप० कर लगाउने चेतावनी आइतबार दिएका छन् । फक्स न्यूजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स विथ मारिया बार्टिरोमो’ मा ट्रम्पले भने, “यदि हामीले उनीहरूलाई त्यसो गरेको देख्यौँ वा पायौँ भने उनीहरूले ५० प्रतिशत थप भन्सार महसुलको सामना गर्नुपर्नेछ।”

    इरानविरुद्धको युद्धका कारण आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्तामा ढिलाइ भएको तर आफू अर्को महिना बेइजिङ जाने अमेरिकी राष्ट्रपति ट्रम्पले बताए । चीनले इरानलाई हतियार पठाउन लागेको भनेर अमेरिकी खुफिया संस्थाको हवाला दिंदै केही सञ्चारमाध्यमले समाचार लेखेका छन्। चीनले केही विमान खसाल्न मिल्ने रकेटसहित ‘एयर डिफेन्स’मा प्रयोग हुने हतियार केही हप्तामै इरान पुग्ने गरी पठाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। यसबारे अमेरिकी समाचार संस्था सिएनएनले ट्रम्पलाई सोधेको थियो। राष्ट्रपति ट्रम्पले भने, “चीनले त्यसो गर्न लागेको हो भने चीनका लागि त्यो ठूलो समस्या हुनेछ ।” अमेरिका र इजराइलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त आक्रमण गरेका थिए ।

    केही दिन अघि अमेरिका र इरानबीच दुई हप्ते युद्धविराम भएको थियो। युद्धको स्थायी अन्त्य गर्न अमेरिका र इरानबीच पाकिस्तानमा शनिबार भएको वार्ता निष्कर्षविहीन भएको छ। शनिबार दिउँसोदेखि आइतबार बिहान ५ बजेसम्म चलेको वार्ता निष्कर्षविहीन भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताए ।

  • हर्मुज घाँटीमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

    हर्मुज घाँटीमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

    वासिङ्टन, ३० चैत (रासस–एएफपी) । इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक महत्वाकाङ्क्षा त्याग्न अस्वीकार गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । वार्ता विना निश्कर्ष टुङ्गिएपछि पहिलो प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले भने, “स्ट्रेट अफ हर्मुज’मा अमेरिकी नौसेनाको नाकाबन्दी जारी गर्न आइतबार आदेश दिइएको छ ।’


    पाकिस्तानमा भएको वार्ता ‘राम्रा’े भएको र अधिकांश बुँदामा सहमति भएको स्वीकार गर्दै राष्ट्रपति ट्रम्पले तेहरानले आफ्नो पारमाणविक कार्यक्रमका विषय त्याग्न अस्वीकार गरेको बताए । राष्ट्रपति ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ मा प्रवेश गर्न वा त्यहाँबाट बाहिर निस्कन खोज्ने कुनै पनि पानीजहाजमाथि नाकाबन्दी लगाउने प्रक्रिया तत्कालदेखि लागू हुने गरी काम गर्न अमेरिकी नौसेनालाई निर्देशन जारी गरे ।
    यसैबिच, सन् १९७९ को इस्लामिक क्रान्तिपछि दुई पक्षबीचको उच्चस्तरीय बैठकपछि शान्ति वार्ताको लागि पाकिस्तान पुगेको अमेरिकी प्रतिनिधिमण्डल फिर्ता भएको छ । वार्तामा वासिङ्टनले सम्झौताका लागि तेहरानलाई ‘अन्तिम र उत्तम प्रस्ताव’ दिएको छ।” “हामी यहाँ एक धेरै साधारण प्रस्तावसहित सहभागी भएका थियौँ । हामी हेर्नेछौं कि इरानीहरूले यसलाई स्वीकार गर्छन् कि गर्दैनन्।”

    जर्मनीको रामस्टिन एयर बेसमा एयर फोर्स २ मा इन्धन भर्ने क्रममा एक अमेरिकी अधिकारीले पत्रकारहरूसँग भने, “अमेरिकी वार्ता टोलीका कुनै पनि सदस्य इस्लामाबादमा छैनन् ।” प्रमुख अमेरिकी वार्ताकारहरू स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरसहितको प्रतिनिधिमण्डल वार्तामा सहभागी भएको थियो ।

  • मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

    मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

    म्याग्दी, ३० चैतः बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित भएका छन् । पाँच वर्षको प्रयासपछि केन्द्र स्थापना भएको सञ्चालक समितिका सदस्य नवराज पौडेलले बताए ।
    “सदरमुकाममै भए पनि निजी क्लिनिक नभएको मङ्गलाघाटका बासिन्दालाई समान्य बिरामी पर्दा स्वास्थ्य परीक्षण, औषधि लिन, रक्तचाप, चिनी रोग परीक्षण गराउन असहज भएको पछि पाँच वर्षअघि स्वास्थ्य केन्द्र सञ्चालनको माग गरेका थियौँ,” उनले भने, “टोलमै स्वास्थ्य केन्द्र भएपछि प्राथमिक उपचारका लागि वडा नं ८ मा पर्ने कालीपुलस्थित प्रदेश अस्पतालमा पुगेर घण्टौँ लाइन बस्नुपर्ने अथवा निजी क्लिनिकमा धाउनुपर्ने समस्या हटेको छ ।”

    बेनी –७ मा यसअघि स्वास्थ्य संस्था थिएन । केन्द्रमा नगरपालिकाले एक जना सिनियर अहेव र एक जना स्टाफ नर्स खटाएको छ । स्वास्थ्य परीक्षण, खोप, निःशुल्क औषधि वितरण, परामर्श, गर्भपरीक्षण, सुत्केरी घरभेटलगायत स्वास्थ्य चौकीबाट प्रदान गरिने आधारभूत तहको सेवा उपलब्ध रहेको छ । सेवा लिनेको सङ्ख्या मासिक २०० जनाको हाराहारीमा रहेको केन्द्रका सिनियर अहेव सीमा भण्डारी घिमिरेले बताए ।


    भाडाको घरमा केन्द्र सञ्चालन भएको छ । बेनी नगरपालिकाले स्वास्थ्य केन्द्र स्थापनाका लागि विनियोजन गरेको रु एक लाख ५० हजार बजेटले फर्निचर र स्वास्थ्य सामग्री खरिदमा अपुग भएपछि स्थानीयवासीले रु एक लाख १३ हजार सङ्कलन गरेर भुक्तानी गरेका सञ्चालक समितिका सदस्य पौडेलले बताए ।
    वार्षिक रु ६० हजार घरभाडा तिर्न बजेट अभाव हुँदा समस्या भएको उनले बताए ।

    केन्द्रको भवन निर्माण र नियमित सञ्चालन गर्न मङ्गलाघाटवासीले माग गरेका छन् । नगरपालिकाले वडास्तरीय स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने टोलका बासिन्दालाई लक्षित गरेर यसअघि सिङ्गा, डडुवा, सेताढुङ्गा, गलेश्वर र तोरीपानीमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको थियो ।

  • डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

    डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

    रासस
    अमरगढी (डडेल्धुरा), ३० चैतः डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ । विक्रम संवत् २०६१ मा स्थापना भएको पुस्तकालयले २०७३ सालदेखि सुदूरपश्चिमको परम्परागत जीवनशैली, रहनसहन र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यसहित सङ्ग्रहालयमार्फत पुराना सामग्री सङ्कलन र संरक्षण गर्ने काम सुरु गरेको हो । पछिल्लो समय ग्रामीण समाजमा प्रयोग हुँदै आएका परम्परागत सामग्रीहरू क्रमशः लोप हुँदै गएका छन् ।

    बजारको विस्तार, आधुनिक जीवनशैलीको प्रभाव र नयाँ पुस्ताको बदलिँदो रुचिका कारण घरघरमा रहेका पुराना वस्तुहरू हराउँदै गएका छन् । यही अवस्थालाई मध्यनजर गर्दै पुस्तकालयले हराउँदै गएका सामग्रीहरू एकै ठाउँमा सुरक्षित राख्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरेको जानकारी पुस्तकालयका कार्यालय प्रमुख पुष्करबहादुर देउवाले दिए ।


    उनका अनुसार सङ्ग्रहालय स्थापना गर्नुको मुख्य उद्देश्य पुर्खाहरूले प्रयोग गरेका सामग्रीहरू सुरक्षित राख्दै भावी पुस्तालाई आफ्नो मौलिक पहिचानसँग परिचित गराउनु हो । उनका अनुसार पुराना लुगा, गरगहना, दैनिक प्रयोगका सामग्री तथा परम्परागत हतियारहरू क्रमशः हराउँदै गइरहेकाले ती सामग्री सङ्कलन गरेर सङ्ग्रहालयमा राख्ने काम अघि बढाइएको छ ।

    सङ्ग्रहालयमा हाल विभिन्न प्रकारका परम्परागत सामग्रीहरू राखिएका छन् । कृषिसँग सम्बन्धित हलो, जुवा, नाम्लो, दाम्लो जस्ता उपकरणहरूदेखि निगालो र बाँसबाट बनेका डालो, सुप्पो, भकारी जस्ता अन्न भण्डारणका सामग्रीहरू यहाँ समेटिएका छन् । यी सामग्रीहरूले पुरानो कृषि प्रणाली र ग्रामीण जीवनशैलीको झल्को दिन्छन् । त्यसैगरी, गुन्यूचोलो, पैसाको माला, अठन्नी–चौअन्नी जस्ता गहनाहरूले विगतको सामाजिक र सांस्कृतिक अवस्थालाई झल्काउने अमरगढी नगरपालिका–५ का कामदेव ओझाले बताए ।


    विवाह संस्कारसँग सम्बन्धित डोली, जाँतो, ढिक्की तथा समय मापनका लागि प्रयोग हुने घडीपला जस्ता सामग्रीहरू पनि सङ्ग्रहालयमा राखिएको र तिनले पुरानो पुस्ताको जीवनशैलीबारे प्रत्यक्ष जानकारी दिने उनले उल्लेख गरे । सङ्ग्रहालय स्थापना गर्ने अवधारणा २०७३ सालमा अघि सारिएको र सुरुआती चरणमा डिभिजन वन कार्यालयको सहयोगमा काम सुरु गरिएको पुस्तकालयका अध्यक्ष गजेन्द्र साहीले बताए । यसपछि अमरगढी नगरपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको र पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिबाट समेत केही सामग्री प्राप्त भई सङ्ग्रहालय थप समृद्ध बन्दै गएको उनले बताए ।


    सङ्ग्रहालयका लागि सामग्री सङ्कलन गर्ने कार्य अझै जारी रहेको छ । साहीका अनुसार गाउँ–गाउँमा पुगेर पुराना सामग्री खोज्ने, आवश्यक परे मूल्य तिरेर ल्याउने तथा स्वेच्छिक रूपमा प्राप्त सामग्रीहरूलाई दाताको नामसहित सङ्ग्रहालयमा राख्ने अभ्यास गरिएको छ । यद्यपि, सामग्री सङ्कलनका क्रममा केही चुनौतीहरू पनि देखिएका छन् ।

    देउवाले पछिल्लो समय व्यापारीहरूले स्टिल र प्लास्टिकका भाँडाकुँडासँग साटेर पुराना कासा र तामाका भाँडाहरू लैजाने प्रवृत्ति बढेकाले यस्ता सामग्रीहरू तीव्र रूपमा हराउँदै गएको बताएका छन् । यसले सङ्ग्रहालयका लागि आवश्यक सामग्री सङ्कलन गर्न झन् कठिन बनाउँदै लगेको उनको भनाइ छ । आगामी दिनमा अझ धेरै सामग्री संकलन गरी सङ्ग्रहालयलाई विस्तार गर्ने योजना रहेको उनले बताए ।

  • कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

    कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

    काठमाडौँ, ३० चैत । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो । हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ ।

    प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटरमाथि उर्लेनी खङ्गकोट कालीगण्डकी गाउँपालिका–६ गुल्मी र बिहादी गाउँपालिका–२ बर्राचौर पर्वत क्षेत्रमा पर्नेछ । आयोजनामा कुल २४४ मिटर अग्लो बाँध निर्माण हुने जनाइएको छ ।

    बाँधमा पानी जम्मा हुँदा करिब २९ किलोमिटर लामो खनियाघाटसम्म ताल बन्नेछ । यस आयोजनाको नेट हेड १८३ दशमलव चार मिटर छ । डिस्चार्ज ४०५ घनमिटर प्रतिसेकेण्ड र कुल वार्षिक ऊर्जा उत्पादन एक हजार ६४५ दशमलव ६५ गिगावाट घण्टाबराबर हुने आयोजनाले जनाएको छ । यस आयोजनामा चारवटा स्टिल पेन स्टक, विद्युत्गृह चारवटा प्रान्सिस टर्बाइन प्रस्ताव गरिएको छ । आयोजनाको विद्युत्गृह बिहादी गाउँपालिका बर्राचौर पर्वतमा प्रस्ताव गरिएको छ । आयोजनाले पर्वतको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र बिहादी गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेछ ।

    यस्तै बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका विभिन्न वडा प्रभावित हुनेछ । गुल्मीको कालीगण्डकी गाउँपालिका र स्याङ्जाको गल्याङ नगरपालिका प्रभावित हुनेछ । आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय मूल्याङ्कन विद्युत् विकास विभाग र परामर्शदाता जेभी स्मेक इन्टरनेसनल तथा जेड कन्सल्टले गरिरहेको छ । प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडकखण्ड, दोबिल्ला–फलेबास सडक कालीगण्डकी लोकमार्ग तथा कालीगण्डकी करिडोर हुँदै पुग्न सकिनेछ ।

  • वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

    वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

    नारायण न्यौपाने र अशोक घिमिरे/रासस

    काठमाडौँ, ३० चैत : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को विद्रोहपूर्ण आन्दोलनले एउटा मार्गबाट हिँडिरहेको राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन हस्तक्षेपकारी भूमिका निर्वाह गरेको छ ।

    जेनजी आन्दोलनकै बलमा तत्कालीन सरकार विस्थापन र प्रतिनिधिसभा विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित नागरिक सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएपछि मुलुकले नयाँ सरकार प्राप्त ग¥यो । निर्वाचनमा विगतमा सत्तासिन तथा पुराना राजनीतिक दलहरू पराजित भई राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइको जनादेश प्राप्त गर्न सफल भयो ।

    नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरिरहेका ती दलहरू वर्ष २०८२ को अन्त्यतिर राजनीतिक रूपमा खुम्चिन पुगेका छन् । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा पार्टीभित्र बदलाव आएको छ भने यसअघि संस्थापनमा रहेको शेरबहादुर देउवा पक्ष असन्तुष्ट छ । कांग्रेसभित्रको आधिकारिताका मुद्दा अहिले पनि न्यायालयमा विचाराधीन छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशन र एघारौँ राष्ट्रिय महाधिवेशन यसै वर्ष सम्पन्न गरेको छ ।

    पार्टीको नेतृत्वमा केपी शर्मा ओली पुनःनिर्वाचित भएको सन्दर्भ राजनीतिक पुस्तान्तरणको सवाल भने आलोचनाको घेरााट मुक्त हुन सकेको छैन । प्रतिनिधिसभा निर्वाचनमा पराजयपश्चात एमालेभित्र विशेष महाविधेशन वा पुस्तान्तरणको बहस चर्किएको छ ।

    दुई दर्जन बढी वाम घटक तथा राजनीतिक समूहलाई समाहित गरी निर्वाचनमा होमिएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पनि निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन सकेन । ‘जनयुद्ध’बाट उदाएको तत्कालीन नेकपा (माओवादी) मूलधार रहेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सो पार्टी अहिले विशेष महाधिवशेनको तयारीमा जुटेको छ । सो पार्टीका प्रभावशाली मानिएका नेता जनार्नदन शर्मा, सुदन किरातीलगायतले नीति र नेतृत्वमाथि प्रश्न उठाउँदै दल परित्याग गरे । पुराना दलहरू आलोचित भएर नयाँ राजनीतिक दल ठूलो दलका रूपमा उदाउने वर्षका रूपमा २०८२ चित्रित भयो ।

    विद्यमान निर्वाचन प्रणालीबाट कुनै एक दलको बहुमत नआइरहेको अवस्थालाई चिर्दै यसपटक रास्वपाले एक्लै १८२ स्थानमा विजयी हासिल गरेसँगै गठबन्धन गरी सरकार बनाउनुपर्छ भन्ने भाष्यलाई अन्त्य गरिदिएको छ । नेपालको संविधान, २०७२ जारी भएपश्चातका निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत ल्याएको यो नै पहिलो पटक हो । निर्वाचनपूर्वको सङ्कल्पबमोजिम सो पार्टीले वरिष्ठ नेता वालेन्द्र शाहलाई प्रधानमन्त्रीको जिम्मेवारीमा पदासिन गरायो ।

    संसद् विघटन, निर्वाचन र नयाँ सरकार गठन यो वर्षको महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा स्थापित भयो । यही चैत १३ गते नेपालको संविधानको धारा ७६ (१) बमोजिम बहुमत प्राप्त दल रास्वपाका संसदीय दलका नेता शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । शाह नेतृत्वको वर्तमान सरकार तुलनात्मक रूपमा समावेशीयुक्त, उल्लेख्य युवा प्रतिनिधिमूलक र सानो आकारको रहेको छ भने सरकारले सुरुआती दिनदेखि नै निर्वाचनमा गरिएका वाचापत्रबमोजिम शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा ल्याएको छ ।

    प्रधानमन्त्री शाहले सत्ताको बागडोर सम्हालेसँगै विगतमा देखिएजस्ता कमीकमजोरी नदोहोरिने स्पष्ट सङ्केत देखिएको छ । यहाँस्थित कूटनीतिक नियोगको प्रमुख तथा राजदूत एक्लाएक्लै भेट नदिई सामूहिक भेटबाट नयाँ सरकारको प्राथमिकता र सन्देश प्रवाह गर्नुभएका प्रधानमन्त्री शाहले राज्य संयन्त्रको प्रणालीगत सुधारमा विशेष ध्यान केन्द्रित गरेको देखिएको छ । सरकारका यी सकारात्मक प्रयासहरूले वर्ष २०८२ को सुधारिएको राजनीति आगामी वर्षका लागि प्रेरणाको स्रोतका रूपमा रहने ठानिएको छ ।

    शताब्दी पुरुष एवं राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य गौरीशङ्करलाल दास वर्ष २०८२ राजनीतिक ‘सुनामी’का रूपमा देखिएको बताउनुहुन्छ । जनताको भावनाअनुसार सरकार अघि बढ्न सक्नुपर्छ भन्दै उहाँले वर्तमान सरकारले थालेका सुरुआती कदम अत्यन्त सकारात्मक रहेको बताउनुभयो । निर्वाचनबाट गठित प्रतिनिधिसभाले यसबीचमा आफ्नो नेतृत्व पनि चयन गरेको छ । सभामुखमा डोलप्रसाद अर्याल र उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित भई संसदीय गतिविधिलाई रफ्तारमा अघि बढाउने क्रम सुरु भइसकेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक व्यवस्थाअनुरुप प्रतिनिधिसभाको निर्वाचनपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभयो । यसै वर्षको भदौ २३ र २४ गते भएको युवापुस्ताको विद्रोहका क्रममा ७६ जनाको निधन भयो । ४५ जनालाई ‘जेनजी सुशासन योद्धा’ घोषित गरी राज्यका तर्फबाट राहत तथा क्षतिपूर्ति प्रदान गरियो ।

    आन्दोलनकै क्रममा भदौ २४ गते नेपालको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित सङ्घीय संसद् भवन, सर्वोच्च अदालत, शीलतनिवाससहितका महत्त्वपूर्ण सम्पदा र संरचना जलेर क्षतिग्रस्त भए । सरकारी र निजी क्षेत्रका गरी करिब ७६ अर्ब रुपैयाँबराबरको क्षति भएको सरकारी आँकडाले देखाएको छ । वर्ष २०८२ मै चर्चित घटनाका रूपमा सङ्घीय निजामती सेवा विधेयक रहन पुग्यो ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारितका क्रममा विधेयकमा ‘कुलिङ पिरियड’का सवालमा निजामती प्रशासनका मुख्यसचिवलगायत उच्च तहका कर्मचारीको राजनीतिक ‘लबिङ’ र समिति सभापतिको लापरवाही संसदीय इतिहासमा लज्जास्पद घटनाका रूपमा दर्ज भएको छ । यसै वर्षको प्रतिनिधिसभाको बैठकमा ‘भिजिट भिसा’मा अनियमिततासम्बन्धी विषय ज्वलन्तरूपमा मात्रै उठेन, तत्कालीन गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरेर तत्कालीन प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले लामो समय सदनमा अवरोधदेखि बहिष्कारसम्म गर्न पुगेको थियो ।

    नवगठित सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सन्दर्भ पनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय चर्चाको विषयका रूपमा रह्यो । हाल उहाँहरू अदालतको आदेशबमोजिम हाजिरी जमानीमा रिहा हुनुभएको छ । जलवायु परिवर्तनका मुद्दामा विश्व समुदायलाई एकै मञ्चमा ल्याउन यसै वर्षको जेठको पहिलो साता काठमाडौँमा ‘सगरमाथा संवाद’ भव्य रूपमा सम्पन्न भयो ।

    यस अन्तरराष्ट्रिय सम्मेलनमार्फत नेपालले हिमालदेखि समुद्रसम्मको सुरक्षाको मुद्दालाई वैश्विक महत्व सृजना गर्न सफल भएको छ ।

    वर्ष २०८२ मा राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रका मुख्य घटनाक्रमः

    वैशाख १३ः पूर्वस्वास्थ्य राज्यमन्त्री एवं नेपाली कांग्रेस काठमाडौँका पूर्वसभापति तीर्थराम डङ्गोलको ७७ वर्षको उमेरमा निधन ।

    वैशाख १७ः पेसागत माग राखेर २९ दिनदेखि राजधानीकेन्द्रित सडक आन्दोलनमा उत्रेका शिक्षक तथा कर्मचारी र सरकारबीच नौ बुँदे सहमति ।

    वैशाख २३ः वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन । जेठ ३ः सगरमाथा संवाद सम्पन्न, २५ बुँदे घोषणा ।

    जेठ ६ः नेपाल राष्ट्र बैंकको गर्भनरमा डा विश्व पौडेल नियुक्त ।

    जेठ ७ः भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा अध्यागमनका सहसचिव तीर्थराज भट्टराई प्रहरी नियन्त्रणमा ।

    जेठ १३ः पर्वतारोही कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको आरोहण गरी आफ्नै कीर्तिमानी भङ्ग ।

    जेठ १५ः सरकारद्वारा आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत ।

    असार १ः नेपाल विद्युत् प्राधिकरणद्वारा बङ्गलादेश विद्युत् निर्यात सुरु । असार २ः पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डीराज शास्त्रीको ९० वर्षको उमेरमा निधन ।

    असार ५ः दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि ।

    असार १०ः सरकारद्वारा भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन ।

    असार १५ः निजामती विधेयक प्रतिनिधिसभाबाट पारित ।

    असार २४ः नेपाल–चीन सीमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात् आएको बाढीमा परी नौ जनाको मृत्यु, १९ बेपत्ता ।

    साउन ९ः नेपाल सरकारद्वारा इरानको जेलमा थुनामा रहेका ४७ जना नेपाली महिलाको सकुशल उद्धार ।

    भदौ २३ः काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु । प्रदर्शन हिंसात्मक भई ठूलो सङ्ख्यामा युवाको ज्यान गएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकद्वारा पदबाट राजीनामा ।

    भदौ २४ः प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वारा सामूहिक राजीनामाको घोषणा ।

    भदौ २५ः ११ हजार ५०५ कैदी जेल फोडेर फरार । भदौ २७ः राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त । प्रधानमन्त्रीको शपथग्रहणलगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस । आठ राजनीतिक दलद्वारा प्रतिनिधिसभा विघटनप्रति असहमति ।

    भदौ ३०ः सरकारद्वारा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा तथा सहिद परिवारलाई १५ लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय ।

    असोज ५ः सरकारद्वारा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन ।

    असोज ८ः पुनर्निर्माण र निर्वाचनमा सरकारको ध्यान, सरकारी खर्चमा व्यापक कटौती गर्ने निर्णय ।

    असोज १०ः राष्ट्रिय मानवअधिकार आयोगद्वारा भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाको अनुगमन प्रतिवेदन सार्वजनिक । सरकारद्वारा सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका स्वीकृत मापदण्डबमोजिमबाहेकका सुविधा कटौती ।

    असोज १२ः भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ एवं अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगद्वारा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउन पत्राचार ।

    असोज २१ः सरकारद्वारा असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय ।

    असोज २८ः पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई प्रदान ।

    कात्तिक १ः जिल्ला प्रशासन काठमाडौँद्वारा विभिन्न स्थानमा दुई महिनासम्म भेला, प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध घोषणा ।

    कात्तिक १२ः प्रतिनिधिसभा विघटन र सरकारविरुद्ध रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार ।

    कात्तिक १७ः सरकारद्वारा जेनजी आन्दोलनका क्रममा काठमाडौँसहित विभिन्न जिल्लामा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा ।

    कात्तिक १९ः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सहित १० वाम पार्टीबीच एकता घोषणा ।

    मङ्सिर ४ः राष्ट्रिय सुरक्षा परिषद् बैठकले आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस ।

    मङ्सिर २५ः मन्त्रिपरिषद्बाट सरकार–जेनजी सम्झौता अनुमोदन, प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौता राजपत्रमा प्रकाशित गर्ने निर्णय ।

    मङ्सिर २९ः सरकारद्वारा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सुनिश्चित गर्न विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन ।

    पुस ३ः नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ अधिवेशनबाट अध्यक्ष पदमा पुनः केपी शर्मा ओली निर्वाचित ।

    पुस १३ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र (बालेन) शाहबीच सात बुँदे सहमति ।

    पुस १७ः नेपाली कांगे्रसको १५औँ अधिवेशन स्थगित ।

    पुस १८ः नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि २०८३ जेठ मसान्तसम्म थप्दै १५औँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय ।

    पुस २०ः भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान ।

    पुस २६ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता भएको १२ दिनमै छुट्टिएर पूर्वमन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षको जिम्मेवारीमा ।

    पुस २७ः नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रारभ्म ।

    माघ २ः निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिकता र आधिकारिक मान्यता प्रदान ।

    माघ ४ः नेपाली कांग्रेसको आन्तरिक विवाद अदालतमा प्रवेश ।

    फागुन २१ः मुलुकभर एकैसाथ शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न ।

    चैत ११ः राष्ट्रपतिसमक्ष प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको शपथ ।

    चैत १२ः प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसमक्ष सांसदहरूको शपथ ।

    चैत १३ ः राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता वालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, १५ सदस्यीय मन्त्रिमण्डल गठन ।

    चैत १४ः तत्कालीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा ।

    चैत २२ः प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित ।

    चैत २६ः पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा छाड्न अदालतको आदेश ।

    चैत २७ः राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन ।

  • नयाँ सरकारका मन्त्री, को कति धनी ?

    नयाँ सरकारका मन्त्री, को कति धनी ?

    काठमाडौँ, ३० चैत : प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा रहेको १९० तोला सुन पैत्रिक रूपमा प्राप्त भएको उल्लेख छ । काठमाडौँ धनुषा र महोत्तरीमा बुबाआमाको नाममा घरजग्गा रहेको जनाइएको छ । सामाजिक सञ्जालबाट एक करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको विवरण उल्लेख गर्नुभएको छ ।

    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति विवरणमा चारवटा घर र अपार्टमेन्ट रहेको उल्लेख गरेका छन् । उनको सम्पत्ति विवरणमा विदेशको जागिर सम्पत्तिको मुख्य स्रोत रहेको देखाएका छन् । बैंकमा एक करोड ९० लाख रुपैयाँ र ४५ तोला सुन उनको विवरणमा समावेश छ । विभिन्न जलविद्युत् आयोजना, एक विकास बैंकमा सेयर रहेको जनाएका छन् ।


    गृहमन्त्री सुधन गुरुङको धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सो जग्गा लगानीबाट जोडेको उल्लेख गरेका छन् ।
    उनका पिता दिलबहादुरको नाममा चितवनको भरतपुर १८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसलको नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको छ । गृहमन्त्री गुरुङको सेयर मार्केटमा चार करोड ३१ लाख रुपैयाँ बढी लगानी रहेको छ । ८९ तोला सुन र विभिन्न कम्पनीमा सेयर लगानी रहेको उल्लेख गर्नुभएको छ ।

    परराष्ट्रमन्त्री शिशिर खनालका बुबा सूर्यभक्त खनालको नाममा काठमाडौँमा पाँच आनाको घर छ । बुबाकै नाममा तनहुँ, नवपुर र नेपालगन्जमा २८ रोपनी दुई कट्ठा जग्गा छ । त्यसैगरी १३ लाख रुपैयाँ नगद र २२ तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन् । उनको र श्रीमतीको नाममा विभिन्न कम्पनीमा सेयर रहेको छ ।
    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले १५ तोला सुन र ५० तोलामा चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

    वीरेन्द्रभक्त श्रेष्ठ र विकास श्रेष्ठका नाममा घर, विभिन्न बैंकमा ६४ लाख ६३६ रुपैयाँ नगद रहेको छ । उनीसँग विभिन्न कम्पनीको सेयर र सवारीसाधन पनि रहेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको काठमाडौँ र चितवनमा घर रहेको विवरण सार्वजनिक गरेकी छिन् ।

    श्रीमानका नाममा काठमाडौँमा र सासूका नाममा चितवनमा घर रहेको उल्लेख गरेकी कानुनमन्त्री गौतमसँग १० लाख ५० हजार रुपैयाँ नगद विभिन्न बैंकमा मौज्दात छ । राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख रुपैयाँ ऋण लिएकामा सात लाख रुपैयाँ चुक्ता गरेको उनले सम्पत्ति विवरणमा समावेश गरेकी छिन् । यस्तै, एभरेष्ट बैंकबाट उनले ऋण लिएको देखिन्छ भने उनको १५ तोला सुन, एक तोला हीरा र नौ तोला चाँदी रहेको छ ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको २० वटा कुखुरा र एउटा कुकुर रहेको छ । उनीसँग एउटा स्कुटर, तीनवटा ल्यापटप र दुईवटा मोबाइल छ । यस्तै, श्रीमान्का नाममा एउटा पल्सर मोटरसाइकल छ । उनको नाममा नगद ५० हजार रुपैयाँ, बैंकमा श्रीमान् र उनका नाममा १५ लाख रुपैयाँ बराबरको नगद रहेको विवरणमा समावेश छ । मन्त्री बादीको १८ तोला सुन, १५ तोला चाँदी छ । सुन र चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा समावेश छ । त्यस्तै, सुर्खेतमा ८९।६५ वर्गमिटर जग्गा रहेको उल्लेख छ ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको ९० लाख रुपैयाँ बराबरको नगद बैंकमा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग ३० तोला सुन, ५० तोला चाँदी र परिवारको नाममा रुपन्देहीमा एक कट्ठा १० धुर जग्गामा रहेको घर, नवलपरासीमा १० कट्ठा १५ धुर जग्गा, स्याङ्जामा सात रोपनी खेत र २२ रोपनी बारी रहेको मन्त्री लम्सालले आफ्नो सम्पत्ति विवरणमा समावेश गरेका छन् ।


    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौँमा रहेको घर श्रीमानको आयका रूपमा उल्लेख गरेकी छिन् । यस्तै, काठमाडौँ र बारामा जग्गा रहेको उल्लेख गरेकी छिन् । उनीसँग २५ तोला सुन, विभिन्न बैंकमा रु २४ लाखबराबरको बचत रहेको विवरणमा समावेश छ । उनको २० लाख रुपैयाँ बराबरको ऋण र ४४ लाख रुपैयाँ बराबरको गाडी रहेको छ ।

    कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको पाँच तोला सुन र एक सय तोला चाँदी रहेको छ । विभिन्न बैंकमा एक लाख २६ हजार रुपैयाँ मौज्दात रहेको उल्लेख गर्नुभएको उहाँले माइतीले दिएको दुईवटा बाख्रा र १० वटा कुखुरा रहेको विवरणमा समावेश छ ।

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको काठमाडौँ र महोत्तरीमा जग्गा रहेको छ । उहाँसँग १८० तोला सुन, दुई किलो चाँदी, दुई सेट हिराको गहना रहेको सम्पत्ति विवरणमा समावेश गरेकी छिन् । यस्तै, विभिन्न बैंकमा बचत र विभिन्न कम्पनीमा तीन करोड ३८ लाख रुपैयाँबराबरको लगानी रहेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको सासूसुसुराको नाममा घर जग्गा रहेको उल्लेख गरेकी छिन् । यस्तै, ३० तोला सुन र ५० तोला चाँदी रहेको छ । विभिन्न बैंकका बचत, विभिन्न कम्पनीको सेयर तथा एउटा सवारीसाधन रहेको उहाँको सम्पत्ति विवरणमा उल्लेख छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्कराज पौडेलको भाउजु सन्तोषी शर्माको नाममा पोखरा महानगरपालिका–१४ मा दुई करोड ६० रुपैयाँमा खरिद गरेको घर रहेको उल्लेख गरेका छन् । पोखरामा पैत्रिक रूपमा प्राप्त भएको जग्गा, ११ तोला सुन र पाँच तोला चाँदी रहेको उहाँको सम्पत्ति विवरणमा समावेश छ । विभिन्न बैंक र सहकारीमा नगद तथा ऋण लिएको समेत उल्लेख गरेका छन् ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले श्रीमतीको नाममा काठमाडौँमा घर रहेको उल्लेख गरेका छन् । स्वदेश तथा विदेशमा गरेको कार्यबापतको तलबभत्ता र आम्दानीबाट घर जग्गा खरिद गरेको सञ्चारमन्त्रीले जनाउनु भएको छ । उनको विवाहमा पुख्र्यौली सम्पत्तिबाट किनेको तथा उपहार प्राप्त गरेको सुन र चाँदी, १० लाख ३४ हजार ३८६ रुपैयाँ बराबरको बचत रहेको छ ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको सप्तरीमा पैत्रिक रूपमा प्राप्त घर तथा जग्गा रहेको छ । उनको ८० तोला सुन र १५० तोला चाँदी, विभिन्न बैंकमा नगद रहेको जनाइएको छ।

  • रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

    रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

    हिमाल लम्साल/रासस

    वीरगन्ज (पर्सा), ३० चैत । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक राजमार्गमा गुड्ने मालवाहक सवारीसाधनसँग अवैध रूपमा सवारी व्यवस्थापन तथा कवाडी कर सङ्कलन गर्दै आइरहेको छ । गृह मन्त्रालयले २०८१ कात्तिक १२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर राजमार्गहरूमा स्थानीय सरकारले विभिन्न किसिमका कर नउठाउन निर्देशन दिएको थियो ।

    तर, वीरगन्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खाबन्दरगाहबाट निस्कने मालवाहक सवारीसाधनसँग ठेकेदार कम्पनीहरूले पटके सवारी व्यवस्थापन सेवा शुल्क र जडीबुटी, कवाडी तथा जीवजन्तु कर उठाइँदै आइरहेका छन् । पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्तले वीरगन्ज भन्सार कार्यालयबाट बाहिरिने मालवाहक सवारीसाधनलाई ‘ढाट’का नाममा विभिन्न स्थानमा घुम्ती राखेर गैरकानुनी ढङ्गले उठाइँदै आएको कर असुल्ने प्रवृत्ति रोकिनुपर्ने बताए ।

    “गत चैत १८ गते प्रधानमन्त्री वालेन्द्र शाहलाई वीरगन्ज महानगर आसपासको जितपुर–सिमरा र कलैया उपमहानगरमा अवैध ढङ्गले मालवाहक सवारीसाधन व्यवस्थापन र कवाडी कर सङ्कलन गर्ने विषयमा ध्यानाकर्षण गराएको थिएँ । प्रधानमन्त्रीज्यूले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो”, सांसद पन्तले भने, “वीरगन्ज महानगरमा दिनको समयमा अवैध कर सङ्कलन रोकिए पनि रातको समयमा नरोकिएको विषयमा पर्साका स्थानीय प्रशासन प्रमुख र प्रहरी प्रमुखलाई ध्यानाकर्षण गराइसकेको छु ।”

    सांसद पन्तले अवैध ढङ्गले राजमार्गमा ढाट राखेर रकम असुलउपर गर्नेमाथि कडाभन्दा कडा कारबाहीका लागि माग गरेका छन् । वीरगन्ज महानगरले राजमार्गमा सवारी व्यवस्थापन गर्न भन्दै प्रभु कन्स्ट्रक्सनसँग भ्याटबाहेक सात करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । महानगरले कवाडी कर सङ्कलनका लागि अमित ठेक्कापट्टालाई भ्याटबाहेक चार करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । प्रभु कन्स्ट्रक्सनले चैत २७ गते सवारीको अन्य कुनै पनि विवरण नखुलाइकन ७५७६ नम्बरको मालवाहक सवारीसाधनका लागि २२६ रुपैयाँको रसिद काटेको छ ।

    त्यस्तै अमित ठेक्कापट्टाले पनि यही चैत २७ मा नै अन्य विवरण नखुलेको ७५७६ नम्बरको मालवाहक सवारीका लागि २२० रुपैयाँको रसिद काटेको छ । ट्रान्सपोर्ट व्यवसायीले भने ठेकेदार कम्पनीले मनलाग्दी ढङ्गले रसिद काटेर रकम असुलउपर गरेको आरोप लगाएका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले पनि राजमार्गमा ढाट राखेर गैरकानुनी ढङ्गले मालवाहक सवारीसाधनसँग रकम असुल्ने कार्य अन्त्य हुनुपर्ने माग गरेका छन् ।

    पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले राजमार्गमा अवैध ढङ्गले मालवाहक सवारीसाधनबाट रकम नउठाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै आएको दाबी गर्नुभयो । “हामीले गैरकानुनी ढङ्गले राजमार्गमा चल्ने सवारीसाधनबाट रकम असुलउपर नगर्न अनुरोध गर्दै आइरहेका छौँ”, उनले भने, “दिनको समयमा राजमार्गमा ढाट राखेर असुल्ने कार्य रोकिएको छ । तर, रातको समयमा फेरि अवैध रूपमा असुल्ने विषयमा गुनासा आएकाले अनुगमन गरेर नियन्त्रण गर्ने प्रयास गर्नेछौँ ।”

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुदीपराज पाठकले ढाटहरू हटाउने गरेको दाबी गरे । “सम्बन्धित निकायले आफूले गर्नुपर्ने काम गरेको खण्डमा धेरै हदसम्म सहज हुने थियो”, उनले भने, “स्थानीय सरकारले ठेक्का लगाउने काम गरेको छ । कतै लुकीछिपी रूपमा ढाट लगाएर रकम उठाउने काम रहेको रहेछ भने आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।”

    वीरगन्ज महागरका प्रमुख राजेशमान सिंहले स्थानीय सरकारले आन्तरिक आयका लागि सवारी व्यवस्थापन र कवाडी तथा जडीबुटी कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेर सङ्कलन गर्दै आइरहेको बताए । “वीरगन्ज महानगरको आन्तरिक आय निकै कम छ । त्यसैले आन्तरिक आम्दानीको स्रोतका रूपमा सवारी व्यवस्थापन कर र कवाडी तथा जडीबुटी कर लगाएका हौँ”, उनले भने, “सवारी व्यवस्थापन तथा कवाडी कर सङ्कलन गर्नेहरूले कानुनविपरीत काम गरेको खण्डमा आवश्यक कारबाही गर्नेछौँ ।”

    बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बाराको जीतपुर–सिमरा र कलैया उपमहानगरमा राजमार्गमा ढाट राखेर अवैध रूपमा उठाउने करलाई रोक लगाइएको दाबी गरे । “हामीले दुई साताअघिदेखि नै सडकमा ढाट राखेर उठाइँदै आएको करलाई रोक लगाउने काम गरेका छौँ”, उनले भने, “कतै लुकीछिपी उठाउने काम भएको छ भने नियमित अनुगमन गरेर रोक्ने प्रयास गरेका छौँ ।”

  • प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा प्रहरीले पक्राउ गरेका युवकलाई आलोचनापछि छाडियो

    प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा प्रहरीले पक्राउ गरेका युवकलाई आलोचनापछि छाडियो

    काठमाडौँ, ३० चैतः प्रधानमन्त्री वालेन्द्र शाहलाई सामाजिक सञ्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेको युवालाई सामाजिक संजालमा व्यापक आलोचनापछि प्रहरीले छाडेको छ । साइबर अपराधमा जिल्ला अदालत पाँचथरबाट अनुमति लिई कानुनबमोजिमको प्रक्रिया अवलम्बन गरी अनुसन्धान अगाडि बढाइएको थियो । तर, आज व्यापक आलोचना भएको थियो । निजलाई परिवारको जिम्मा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

    “सरकारले संविधानप्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्छ”, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आफ्ना विचारहरू प्रकट गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य रहन्छ ।” मन्त्रालयले समाजमा उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्नेजस्ता क्रियाकलाप प्रचलित कानुनविपरीतका कार्य भएको जनाएको छ ।

  • श्रमिक सचेतना तथा मानव बेचबिखनविरुद्ध भारतको चेन्नइमा अभिमुखीकरण

    श्रमिक सचेतना तथा मानव बेचबिखनविरुद्ध भारतको चेन्नइमा अभिमुखीकरण

    पाटन (ललितपुर), ३० चैतः भारतका लागि नेपाली राजदूतावास, नयाँ दिल्लीको आयोजना र सामाजिक संस्था किन इन्डिया दिल्लीको सहआयोजनामा चेन्नईमा ‘श्रमिक सचेतना तथा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ । सामाजिक संस्था किन इन्डियाका ग्लोबल एम्बेस्डर सगरमाथा आरोही कल्पना महर्जनले दिएको जानकारीअनुसार भारतमा रहेका नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी कानुन र मानब बेचबिखन न्यूनीकरणबारे जानकारी दिनका लागि भारतको आज उक्त कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले नेपाली श्रमिकहरूले भोगिरहेका कानुनी समस्याहरू समाधानका लागि दूतावासले प्रदान गर्ने सेवा र सहयोगबारे जानकारी गराउनुभएको महर्जनले बताए । राजदूत डा शर्माले भारतमा विभिन्न ठाउँमा मानव बेचबिखन र तस्करीमा परेका नेपालीहरूको उद्धार र स्वदेश फीर्ति गर्नका लागि दूतावासले किन इन्डिया जस्ता संस्थासँग सहकार्य गर्ने गरेको बताए ।


    कार्यक्रममा नेपाली दूतावासका काउन्सिलर मिनिस्टर अम्बिका जोशीले आधारकार्ड, बैङ्क खाता, नो अब्जेक्सन लेटरलगायत विषयमा नेपाली श्रमिकहरूका समस्या समाधानका लागि दूतावासले सदैव श्रमिकको पक्षमा काम गरिरहेको जानकारी गराए । यसैगरी, दूतावासका काउन्सिलर तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश मल्लले आफू रहेको देश तथा राज्यको कानुन पालना गर्न नेपाली समुदायलाई सचेत गराउनुपर्नेमा जोड दिए ।