Category: समाचार

  • कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

    कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

    काठमाडौँ, ३० चैत । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो । हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ ।

    प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटरमाथि उर्लेनी खङ्गकोट कालीगण्डकी गाउँपालिका–६ गुल्मी र बिहादी गाउँपालिका–२ बर्राचौर पर्वत क्षेत्रमा पर्नेछ । आयोजनामा कुल २४४ मिटर अग्लो बाँध निर्माण हुने जनाइएको छ ।

    बाँधमा पानी जम्मा हुँदा करिब २९ किलोमिटर लामो खनियाघाटसम्म ताल बन्नेछ । यस आयोजनाको नेट हेड १८३ दशमलव चार मिटर छ । डिस्चार्ज ४०५ घनमिटर प्रतिसेकेण्ड र कुल वार्षिक ऊर्जा उत्पादन एक हजार ६४५ दशमलव ६५ गिगावाट घण्टाबराबर हुने आयोजनाले जनाएको छ । यस आयोजनामा चारवटा स्टिल पेन स्टक, विद्युत्गृह चारवटा प्रान्सिस टर्बाइन प्रस्ताव गरिएको छ । आयोजनाको विद्युत्गृह बिहादी गाउँपालिका बर्राचौर पर्वतमा प्रस्ताव गरिएको छ । आयोजनाले पर्वतको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र बिहादी गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेछ ।

    यस्तै बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका विभिन्न वडा प्रभावित हुनेछ । गुल्मीको कालीगण्डकी गाउँपालिका र स्याङ्जाको गल्याङ नगरपालिका प्रभावित हुनेछ । आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय मूल्याङ्कन विद्युत् विकास विभाग र परामर्शदाता जेभी स्मेक इन्टरनेसनल तथा जेड कन्सल्टले गरिरहेको छ । प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडकखण्ड, दोबिल्ला–फलेबास सडक कालीगण्डकी लोकमार्ग तथा कालीगण्डकी करिडोर हुँदै पुग्न सकिनेछ ।

  • वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

    वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

    नारायण न्यौपाने र अशोक घिमिरे/रासस

    काठमाडौँ, ३० चैत : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को विद्रोहपूर्ण आन्दोलनले एउटा मार्गबाट हिँडिरहेको राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन हस्तक्षेपकारी भूमिका निर्वाह गरेको छ ।

    जेनजी आन्दोलनकै बलमा तत्कालीन सरकार विस्थापन र प्रतिनिधिसभा विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित नागरिक सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएपछि मुलुकले नयाँ सरकार प्राप्त ग¥यो । निर्वाचनमा विगतमा सत्तासिन तथा पुराना राजनीतिक दलहरू पराजित भई राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइको जनादेश प्राप्त गर्न सफल भयो ।

    नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरिरहेका ती दलहरू वर्ष २०८२ को अन्त्यतिर राजनीतिक रूपमा खुम्चिन पुगेका छन् । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा पार्टीभित्र बदलाव आएको छ भने यसअघि संस्थापनमा रहेको शेरबहादुर देउवा पक्ष असन्तुष्ट छ । कांग्रेसभित्रको आधिकारिताका मुद्दा अहिले पनि न्यायालयमा विचाराधीन छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशन र एघारौँ राष्ट्रिय महाधिवेशन यसै वर्ष सम्पन्न गरेको छ ।

    पार्टीको नेतृत्वमा केपी शर्मा ओली पुनःनिर्वाचित भएको सन्दर्भ राजनीतिक पुस्तान्तरणको सवाल भने आलोचनाको घेरााट मुक्त हुन सकेको छैन । प्रतिनिधिसभा निर्वाचनमा पराजयपश्चात एमालेभित्र विशेष महाविधेशन वा पुस्तान्तरणको बहस चर्किएको छ ।

    दुई दर्जन बढी वाम घटक तथा राजनीतिक समूहलाई समाहित गरी निर्वाचनमा होमिएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पनि निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन सकेन । ‘जनयुद्ध’बाट उदाएको तत्कालीन नेकपा (माओवादी) मूलधार रहेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सो पार्टी अहिले विशेष महाधिवशेनको तयारीमा जुटेको छ । सो पार्टीका प्रभावशाली मानिएका नेता जनार्नदन शर्मा, सुदन किरातीलगायतले नीति र नेतृत्वमाथि प्रश्न उठाउँदै दल परित्याग गरे । पुराना दलहरू आलोचित भएर नयाँ राजनीतिक दल ठूलो दलका रूपमा उदाउने वर्षका रूपमा २०८२ चित्रित भयो ।

    विद्यमान निर्वाचन प्रणालीबाट कुनै एक दलको बहुमत नआइरहेको अवस्थालाई चिर्दै यसपटक रास्वपाले एक्लै १८२ स्थानमा विजयी हासिल गरेसँगै गठबन्धन गरी सरकार बनाउनुपर्छ भन्ने भाष्यलाई अन्त्य गरिदिएको छ । नेपालको संविधान, २०७२ जारी भएपश्चातका निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत ल्याएको यो नै पहिलो पटक हो । निर्वाचनपूर्वको सङ्कल्पबमोजिम सो पार्टीले वरिष्ठ नेता वालेन्द्र शाहलाई प्रधानमन्त्रीको जिम्मेवारीमा पदासिन गरायो ।

    संसद् विघटन, निर्वाचन र नयाँ सरकार गठन यो वर्षको महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा स्थापित भयो । यही चैत १३ गते नेपालको संविधानको धारा ७६ (१) बमोजिम बहुमत प्राप्त दल रास्वपाका संसदीय दलका नेता शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । शाह नेतृत्वको वर्तमान सरकार तुलनात्मक रूपमा समावेशीयुक्त, उल्लेख्य युवा प्रतिनिधिमूलक र सानो आकारको रहेको छ भने सरकारले सुरुआती दिनदेखि नै निर्वाचनमा गरिएका वाचापत्रबमोजिम शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा ल्याएको छ ।

    प्रधानमन्त्री शाहले सत्ताको बागडोर सम्हालेसँगै विगतमा देखिएजस्ता कमीकमजोरी नदोहोरिने स्पष्ट सङ्केत देखिएको छ । यहाँस्थित कूटनीतिक नियोगको प्रमुख तथा राजदूत एक्लाएक्लै भेट नदिई सामूहिक भेटबाट नयाँ सरकारको प्राथमिकता र सन्देश प्रवाह गर्नुभएका प्रधानमन्त्री शाहले राज्य संयन्त्रको प्रणालीगत सुधारमा विशेष ध्यान केन्द्रित गरेको देखिएको छ । सरकारका यी सकारात्मक प्रयासहरूले वर्ष २०८२ को सुधारिएको राजनीति आगामी वर्षका लागि प्रेरणाको स्रोतका रूपमा रहने ठानिएको छ ।

    शताब्दी पुरुष एवं राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य गौरीशङ्करलाल दास वर्ष २०८२ राजनीतिक ‘सुनामी’का रूपमा देखिएको बताउनुहुन्छ । जनताको भावनाअनुसार सरकार अघि बढ्न सक्नुपर्छ भन्दै उहाँले वर्तमान सरकारले थालेका सुरुआती कदम अत्यन्त सकारात्मक रहेको बताउनुभयो । निर्वाचनबाट गठित प्रतिनिधिसभाले यसबीचमा आफ्नो नेतृत्व पनि चयन गरेको छ । सभामुखमा डोलप्रसाद अर्याल र उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित भई संसदीय गतिविधिलाई रफ्तारमा अघि बढाउने क्रम सुरु भइसकेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक व्यवस्थाअनुरुप प्रतिनिधिसभाको निर्वाचनपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभयो । यसै वर्षको भदौ २३ र २४ गते भएको युवापुस्ताको विद्रोहका क्रममा ७६ जनाको निधन भयो । ४५ जनालाई ‘जेनजी सुशासन योद्धा’ घोषित गरी राज्यका तर्फबाट राहत तथा क्षतिपूर्ति प्रदान गरियो ।

    आन्दोलनकै क्रममा भदौ २४ गते नेपालको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित सङ्घीय संसद् भवन, सर्वोच्च अदालत, शीलतनिवाससहितका महत्त्वपूर्ण सम्पदा र संरचना जलेर क्षतिग्रस्त भए । सरकारी र निजी क्षेत्रका गरी करिब ७६ अर्ब रुपैयाँबराबरको क्षति भएको सरकारी आँकडाले देखाएको छ । वर्ष २०८२ मै चर्चित घटनाका रूपमा सङ्घीय निजामती सेवा विधेयक रहन पुग्यो ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारितका क्रममा विधेयकमा ‘कुलिङ पिरियड’का सवालमा निजामती प्रशासनका मुख्यसचिवलगायत उच्च तहका कर्मचारीको राजनीतिक ‘लबिङ’ र समिति सभापतिको लापरवाही संसदीय इतिहासमा लज्जास्पद घटनाका रूपमा दर्ज भएको छ । यसै वर्षको प्रतिनिधिसभाको बैठकमा ‘भिजिट भिसा’मा अनियमिततासम्बन्धी विषय ज्वलन्तरूपमा मात्रै उठेन, तत्कालीन गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरेर तत्कालीन प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले लामो समय सदनमा अवरोधदेखि बहिष्कारसम्म गर्न पुगेको थियो ।

    नवगठित सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सन्दर्भ पनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय चर्चाको विषयका रूपमा रह्यो । हाल उहाँहरू अदालतको आदेशबमोजिम हाजिरी जमानीमा रिहा हुनुभएको छ । जलवायु परिवर्तनका मुद्दामा विश्व समुदायलाई एकै मञ्चमा ल्याउन यसै वर्षको जेठको पहिलो साता काठमाडौँमा ‘सगरमाथा संवाद’ भव्य रूपमा सम्पन्न भयो ।

    यस अन्तरराष्ट्रिय सम्मेलनमार्फत नेपालले हिमालदेखि समुद्रसम्मको सुरक्षाको मुद्दालाई वैश्विक महत्व सृजना गर्न सफल भएको छ ।

    वर्ष २०८२ मा राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रका मुख्य घटनाक्रमः

    वैशाख १३ः पूर्वस्वास्थ्य राज्यमन्त्री एवं नेपाली कांग्रेस काठमाडौँका पूर्वसभापति तीर्थराम डङ्गोलको ७७ वर्षको उमेरमा निधन ।

    वैशाख १७ः पेसागत माग राखेर २९ दिनदेखि राजधानीकेन्द्रित सडक आन्दोलनमा उत्रेका शिक्षक तथा कर्मचारी र सरकारबीच नौ बुँदे सहमति ।

    वैशाख २३ः वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन । जेठ ३ः सगरमाथा संवाद सम्पन्न, २५ बुँदे घोषणा ।

    जेठ ६ः नेपाल राष्ट्र बैंकको गर्भनरमा डा विश्व पौडेल नियुक्त ।

    जेठ ७ः भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा अध्यागमनका सहसचिव तीर्थराज भट्टराई प्रहरी नियन्त्रणमा ।

    जेठ १३ः पर्वतारोही कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको आरोहण गरी आफ्नै कीर्तिमानी भङ्ग ।

    जेठ १५ः सरकारद्वारा आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत ।

    असार १ः नेपाल विद्युत् प्राधिकरणद्वारा बङ्गलादेश विद्युत् निर्यात सुरु । असार २ः पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डीराज शास्त्रीको ९० वर्षको उमेरमा निधन ।

    असार ५ः दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि ।

    असार १०ः सरकारद्वारा भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन ।

    असार १५ः निजामती विधेयक प्रतिनिधिसभाबाट पारित ।

    असार २४ः नेपाल–चीन सीमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात् आएको बाढीमा परी नौ जनाको मृत्यु, १९ बेपत्ता ।

    साउन ९ः नेपाल सरकारद्वारा इरानको जेलमा थुनामा रहेका ४७ जना नेपाली महिलाको सकुशल उद्धार ।

    भदौ २३ः काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु । प्रदर्शन हिंसात्मक भई ठूलो सङ्ख्यामा युवाको ज्यान गएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकद्वारा पदबाट राजीनामा ।

    भदौ २४ः प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वारा सामूहिक राजीनामाको घोषणा ।

    भदौ २५ः ११ हजार ५०५ कैदी जेल फोडेर फरार । भदौ २७ः राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त । प्रधानमन्त्रीको शपथग्रहणलगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस । आठ राजनीतिक दलद्वारा प्रतिनिधिसभा विघटनप्रति असहमति ।

    भदौ ३०ः सरकारद्वारा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा तथा सहिद परिवारलाई १५ लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय ।

    असोज ५ः सरकारद्वारा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन ।

    असोज ८ः पुनर्निर्माण र निर्वाचनमा सरकारको ध्यान, सरकारी खर्चमा व्यापक कटौती गर्ने निर्णय ।

    असोज १०ः राष्ट्रिय मानवअधिकार आयोगद्वारा भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाको अनुगमन प्रतिवेदन सार्वजनिक । सरकारद्वारा सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका स्वीकृत मापदण्डबमोजिमबाहेकका सुविधा कटौती ।

    असोज १२ः भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ एवं अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगद्वारा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउन पत्राचार ।

    असोज २१ः सरकारद्वारा असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय ।

    असोज २८ः पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई प्रदान ।

    कात्तिक १ः जिल्ला प्रशासन काठमाडौँद्वारा विभिन्न स्थानमा दुई महिनासम्म भेला, प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध घोषणा ।

    कात्तिक १२ः प्रतिनिधिसभा विघटन र सरकारविरुद्ध रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार ।

    कात्तिक १७ः सरकारद्वारा जेनजी आन्दोलनका क्रममा काठमाडौँसहित विभिन्न जिल्लामा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा ।

    कात्तिक १९ः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सहित १० वाम पार्टीबीच एकता घोषणा ।

    मङ्सिर ४ः राष्ट्रिय सुरक्षा परिषद् बैठकले आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस ।

    मङ्सिर २५ः मन्त्रिपरिषद्बाट सरकार–जेनजी सम्झौता अनुमोदन, प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौता राजपत्रमा प्रकाशित गर्ने निर्णय ।

    मङ्सिर २९ः सरकारद्वारा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सुनिश्चित गर्न विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन ।

    पुस ३ः नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ अधिवेशनबाट अध्यक्ष पदमा पुनः केपी शर्मा ओली निर्वाचित ।

    पुस १३ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र (बालेन) शाहबीच सात बुँदे सहमति ।

    पुस १७ः नेपाली कांगे्रसको १५औँ अधिवेशन स्थगित ।

    पुस १८ः नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि २०८३ जेठ मसान्तसम्म थप्दै १५औँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय ।

    पुस २०ः भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान ।

    पुस २६ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता भएको १२ दिनमै छुट्टिएर पूर्वमन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षको जिम्मेवारीमा ।

    पुस २७ः नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रारभ्म ।

    माघ २ः निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिकता र आधिकारिक मान्यता प्रदान ।

    माघ ४ः नेपाली कांग्रेसको आन्तरिक विवाद अदालतमा प्रवेश ।

    फागुन २१ः मुलुकभर एकैसाथ शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न ।

    चैत ११ः राष्ट्रपतिसमक्ष प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको शपथ ।

    चैत १२ः प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसमक्ष सांसदहरूको शपथ ।

    चैत १३ ः राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता वालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, १५ सदस्यीय मन्त्रिमण्डल गठन ।

    चैत १४ः तत्कालीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा ।

    चैत २२ः प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित ।

    चैत २६ः पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा छाड्न अदालतको आदेश ।

    चैत २७ः राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन ।

  • नयाँ सरकारका मन्त्री, को कति धनी ?

    नयाँ सरकारका मन्त्री, को कति धनी ?

    काठमाडौँ, ३० चैत : प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा रहेको १९० तोला सुन पैत्रिक रूपमा प्राप्त भएको उल्लेख छ । काठमाडौँ धनुषा र महोत्तरीमा बुबाआमाको नाममा घरजग्गा रहेको जनाइएको छ । सामाजिक सञ्जालबाट एक करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको विवरण उल्लेख गर्नुभएको छ ।

    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति विवरणमा चारवटा घर र अपार्टमेन्ट रहेको उल्लेख गरेका छन् । उनको सम्पत्ति विवरणमा विदेशको जागिर सम्पत्तिको मुख्य स्रोत रहेको देखाएका छन् । बैंकमा एक करोड ९० लाख रुपैयाँ र ४५ तोला सुन उनको विवरणमा समावेश छ । विभिन्न जलविद्युत् आयोजना, एक विकास बैंकमा सेयर रहेको जनाएका छन् ।


    गृहमन्त्री सुधन गुरुङको धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सो जग्गा लगानीबाट जोडेको उल्लेख गरेका छन् ।
    उनका पिता दिलबहादुरको नाममा चितवनको भरतपुर १८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसलको नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको छ । गृहमन्त्री गुरुङको सेयर मार्केटमा चार करोड ३१ लाख रुपैयाँ बढी लगानी रहेको छ । ८९ तोला सुन र विभिन्न कम्पनीमा सेयर लगानी रहेको उल्लेख गर्नुभएको छ ।

    परराष्ट्रमन्त्री शिशिर खनालका बुबा सूर्यभक्त खनालको नाममा काठमाडौँमा पाँच आनाको घर छ । बुबाकै नाममा तनहुँ, नवपुर र नेपालगन्जमा २८ रोपनी दुई कट्ठा जग्गा छ । त्यसैगरी १३ लाख रुपैयाँ नगद र २२ तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन् । उनको र श्रीमतीको नाममा विभिन्न कम्पनीमा सेयर रहेको छ ।
    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले १५ तोला सुन र ५० तोलामा चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

    वीरेन्द्रभक्त श्रेष्ठ र विकास श्रेष्ठका नाममा घर, विभिन्न बैंकमा ६४ लाख ६३६ रुपैयाँ नगद रहेको छ । उनीसँग विभिन्न कम्पनीको सेयर र सवारीसाधन पनि रहेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको काठमाडौँ र चितवनमा घर रहेको विवरण सार्वजनिक गरेकी छिन् ।

    श्रीमानका नाममा काठमाडौँमा र सासूका नाममा चितवनमा घर रहेको उल्लेख गरेकी कानुनमन्त्री गौतमसँग १० लाख ५० हजार रुपैयाँ नगद विभिन्न बैंकमा मौज्दात छ । राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख रुपैयाँ ऋण लिएकामा सात लाख रुपैयाँ चुक्ता गरेको उनले सम्पत्ति विवरणमा समावेश गरेकी छिन् । यस्तै, एभरेष्ट बैंकबाट उनले ऋण लिएको देखिन्छ भने उनको १५ तोला सुन, एक तोला हीरा र नौ तोला चाँदी रहेको छ ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको २० वटा कुखुरा र एउटा कुकुर रहेको छ । उनीसँग एउटा स्कुटर, तीनवटा ल्यापटप र दुईवटा मोबाइल छ । यस्तै, श्रीमान्का नाममा एउटा पल्सर मोटरसाइकल छ । उनको नाममा नगद ५० हजार रुपैयाँ, बैंकमा श्रीमान् र उनका नाममा १५ लाख रुपैयाँ बराबरको नगद रहेको विवरणमा समावेश छ । मन्त्री बादीको १८ तोला सुन, १५ तोला चाँदी छ । सुन र चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा समावेश छ । त्यस्तै, सुर्खेतमा ८९।६५ वर्गमिटर जग्गा रहेको उल्लेख छ ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको ९० लाख रुपैयाँ बराबरको नगद बैंकमा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग ३० तोला सुन, ५० तोला चाँदी र परिवारको नाममा रुपन्देहीमा एक कट्ठा १० धुर जग्गामा रहेको घर, नवलपरासीमा १० कट्ठा १५ धुर जग्गा, स्याङ्जामा सात रोपनी खेत र २२ रोपनी बारी रहेको मन्त्री लम्सालले आफ्नो सम्पत्ति विवरणमा समावेश गरेका छन् ।


    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौँमा रहेको घर श्रीमानको आयका रूपमा उल्लेख गरेकी छिन् । यस्तै, काठमाडौँ र बारामा जग्गा रहेको उल्लेख गरेकी छिन् । उनीसँग २५ तोला सुन, विभिन्न बैंकमा रु २४ लाखबराबरको बचत रहेको विवरणमा समावेश छ । उनको २० लाख रुपैयाँ बराबरको ऋण र ४४ लाख रुपैयाँ बराबरको गाडी रहेको छ ।

    कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको पाँच तोला सुन र एक सय तोला चाँदी रहेको छ । विभिन्न बैंकमा एक लाख २६ हजार रुपैयाँ मौज्दात रहेको उल्लेख गर्नुभएको उहाँले माइतीले दिएको दुईवटा बाख्रा र १० वटा कुखुरा रहेको विवरणमा समावेश छ ।

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको काठमाडौँ र महोत्तरीमा जग्गा रहेको छ । उहाँसँग १८० तोला सुन, दुई किलो चाँदी, दुई सेट हिराको गहना रहेको सम्पत्ति विवरणमा समावेश गरेकी छिन् । यस्तै, विभिन्न बैंकमा बचत र विभिन्न कम्पनीमा तीन करोड ३८ लाख रुपैयाँबराबरको लगानी रहेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको सासूसुसुराको नाममा घर जग्गा रहेको उल्लेख गरेकी छिन् । यस्तै, ३० तोला सुन र ५० तोला चाँदी रहेको छ । विभिन्न बैंकका बचत, विभिन्न कम्पनीको सेयर तथा एउटा सवारीसाधन रहेको उहाँको सम्पत्ति विवरणमा उल्लेख छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्कराज पौडेलको भाउजु सन्तोषी शर्माको नाममा पोखरा महानगरपालिका–१४ मा दुई करोड ६० रुपैयाँमा खरिद गरेको घर रहेको उल्लेख गरेका छन् । पोखरामा पैत्रिक रूपमा प्राप्त भएको जग्गा, ११ तोला सुन र पाँच तोला चाँदी रहेको उहाँको सम्पत्ति विवरणमा समावेश छ । विभिन्न बैंक र सहकारीमा नगद तथा ऋण लिएको समेत उल्लेख गरेका छन् ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले श्रीमतीको नाममा काठमाडौँमा घर रहेको उल्लेख गरेका छन् । स्वदेश तथा विदेशमा गरेको कार्यबापतको तलबभत्ता र आम्दानीबाट घर जग्गा खरिद गरेको सञ्चारमन्त्रीले जनाउनु भएको छ । उनको विवाहमा पुख्र्यौली सम्पत्तिबाट किनेको तथा उपहार प्राप्त गरेको सुन र चाँदी, १० लाख ३४ हजार ३८६ रुपैयाँ बराबरको बचत रहेको छ ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको सप्तरीमा पैत्रिक रूपमा प्राप्त घर तथा जग्गा रहेको छ । उनको ८० तोला सुन र १५० तोला चाँदी, विभिन्न बैंकमा नगद रहेको जनाइएको छ।

  • रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

    रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

    हिमाल लम्साल/रासस

    वीरगन्ज (पर्सा), ३० चैत । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक राजमार्गमा गुड्ने मालवाहक सवारीसाधनसँग अवैध रूपमा सवारी व्यवस्थापन तथा कवाडी कर सङ्कलन गर्दै आइरहेको छ । गृह मन्त्रालयले २०८१ कात्तिक १२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर राजमार्गहरूमा स्थानीय सरकारले विभिन्न किसिमका कर नउठाउन निर्देशन दिएको थियो ।

    तर, वीरगन्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खाबन्दरगाहबाट निस्कने मालवाहक सवारीसाधनसँग ठेकेदार कम्पनीहरूले पटके सवारी व्यवस्थापन सेवा शुल्क र जडीबुटी, कवाडी तथा जीवजन्तु कर उठाइँदै आइरहेका छन् । पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्तले वीरगन्ज भन्सार कार्यालयबाट बाहिरिने मालवाहक सवारीसाधनलाई ‘ढाट’का नाममा विभिन्न स्थानमा घुम्ती राखेर गैरकानुनी ढङ्गले उठाइँदै आएको कर असुल्ने प्रवृत्ति रोकिनुपर्ने बताए ।

    “गत चैत १८ गते प्रधानमन्त्री वालेन्द्र शाहलाई वीरगन्ज महानगर आसपासको जितपुर–सिमरा र कलैया उपमहानगरमा अवैध ढङ्गले मालवाहक सवारीसाधन व्यवस्थापन र कवाडी कर सङ्कलन गर्ने विषयमा ध्यानाकर्षण गराएको थिएँ । प्रधानमन्त्रीज्यूले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो”, सांसद पन्तले भने, “वीरगन्ज महानगरमा दिनको समयमा अवैध कर सङ्कलन रोकिए पनि रातको समयमा नरोकिएको विषयमा पर्साका स्थानीय प्रशासन प्रमुख र प्रहरी प्रमुखलाई ध्यानाकर्षण गराइसकेको छु ।”

    सांसद पन्तले अवैध ढङ्गले राजमार्गमा ढाट राखेर रकम असुलउपर गर्नेमाथि कडाभन्दा कडा कारबाहीका लागि माग गरेका छन् । वीरगन्ज महानगरले राजमार्गमा सवारी व्यवस्थापन गर्न भन्दै प्रभु कन्स्ट्रक्सनसँग भ्याटबाहेक सात करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । महानगरले कवाडी कर सङ्कलनका लागि अमित ठेक्कापट्टालाई भ्याटबाहेक चार करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । प्रभु कन्स्ट्रक्सनले चैत २७ गते सवारीको अन्य कुनै पनि विवरण नखुलाइकन ७५७६ नम्बरको मालवाहक सवारीसाधनका लागि २२६ रुपैयाँको रसिद काटेको छ ।

    त्यस्तै अमित ठेक्कापट्टाले पनि यही चैत २७ मा नै अन्य विवरण नखुलेको ७५७६ नम्बरको मालवाहक सवारीका लागि २२० रुपैयाँको रसिद काटेको छ । ट्रान्सपोर्ट व्यवसायीले भने ठेकेदार कम्पनीले मनलाग्दी ढङ्गले रसिद काटेर रकम असुलउपर गरेको आरोप लगाएका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले पनि राजमार्गमा ढाट राखेर गैरकानुनी ढङ्गले मालवाहक सवारीसाधनसँग रकम असुल्ने कार्य अन्त्य हुनुपर्ने माग गरेका छन् ।

    पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले राजमार्गमा अवैध ढङ्गले मालवाहक सवारीसाधनबाट रकम नउठाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै आएको दाबी गर्नुभयो । “हामीले गैरकानुनी ढङ्गले राजमार्गमा चल्ने सवारीसाधनबाट रकम असुलउपर नगर्न अनुरोध गर्दै आइरहेका छौँ”, उनले भने, “दिनको समयमा राजमार्गमा ढाट राखेर असुल्ने कार्य रोकिएको छ । तर, रातको समयमा फेरि अवैध रूपमा असुल्ने विषयमा गुनासा आएकाले अनुगमन गरेर नियन्त्रण गर्ने प्रयास गर्नेछौँ ।”

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुदीपराज पाठकले ढाटहरू हटाउने गरेको दाबी गरे । “सम्बन्धित निकायले आफूले गर्नुपर्ने काम गरेको खण्डमा धेरै हदसम्म सहज हुने थियो”, उनले भने, “स्थानीय सरकारले ठेक्का लगाउने काम गरेको छ । कतै लुकीछिपी रूपमा ढाट लगाएर रकम उठाउने काम रहेको रहेछ भने आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।”

    वीरगन्ज महागरका प्रमुख राजेशमान सिंहले स्थानीय सरकारले आन्तरिक आयका लागि सवारी व्यवस्थापन र कवाडी तथा जडीबुटी कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेर सङ्कलन गर्दै आइरहेको बताए । “वीरगन्ज महानगरको आन्तरिक आय निकै कम छ । त्यसैले आन्तरिक आम्दानीको स्रोतका रूपमा सवारी व्यवस्थापन कर र कवाडी तथा जडीबुटी कर लगाएका हौँ”, उनले भने, “सवारी व्यवस्थापन तथा कवाडी कर सङ्कलन गर्नेहरूले कानुनविपरीत काम गरेको खण्डमा आवश्यक कारबाही गर्नेछौँ ।”

    बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बाराको जीतपुर–सिमरा र कलैया उपमहानगरमा राजमार्गमा ढाट राखेर अवैध रूपमा उठाउने करलाई रोक लगाइएको दाबी गरे । “हामीले दुई साताअघिदेखि नै सडकमा ढाट राखेर उठाइँदै आएको करलाई रोक लगाउने काम गरेका छौँ”, उनले भने, “कतै लुकीछिपी उठाउने काम भएको छ भने नियमित अनुगमन गरेर रोक्ने प्रयास गरेका छौँ ।”

  • प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा प्रहरीले पक्राउ गरेका युवकलाई आलोचनापछि छाडियो

    प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा प्रहरीले पक्राउ गरेका युवकलाई आलोचनापछि छाडियो

    काठमाडौँ, ३० चैतः प्रधानमन्त्री वालेन्द्र शाहलाई सामाजिक सञ्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेको युवालाई सामाजिक संजालमा व्यापक आलोचनापछि प्रहरीले छाडेको छ । साइबर अपराधमा जिल्ला अदालत पाँचथरबाट अनुमति लिई कानुनबमोजिमको प्रक्रिया अवलम्बन गरी अनुसन्धान अगाडि बढाइएको थियो । तर, आज व्यापक आलोचना भएको थियो । निजलाई परिवारको जिम्मा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

    “सरकारले संविधानप्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्छ”, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आफ्ना विचारहरू प्रकट गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य रहन्छ ।” मन्त्रालयले समाजमा उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्नेजस्ता क्रियाकलाप प्रचलित कानुनविपरीतका कार्य भएको जनाएको छ ।

  • श्रमिक सचेतना तथा मानव बेचबिखनविरुद्ध भारतको चेन्नइमा अभिमुखीकरण

    श्रमिक सचेतना तथा मानव बेचबिखनविरुद्ध भारतको चेन्नइमा अभिमुखीकरण

    पाटन (ललितपुर), ३० चैतः भारतका लागि नेपाली राजदूतावास, नयाँ दिल्लीको आयोजना र सामाजिक संस्था किन इन्डिया दिल्लीको सहआयोजनामा चेन्नईमा ‘श्रमिक सचेतना तथा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ । सामाजिक संस्था किन इन्डियाका ग्लोबल एम्बेस्डर सगरमाथा आरोही कल्पना महर्जनले दिएको जानकारीअनुसार भारतमा रहेका नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी कानुन र मानब बेचबिखन न्यूनीकरणबारे जानकारी दिनका लागि भारतको आज उक्त कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले नेपाली श्रमिकहरूले भोगिरहेका कानुनी समस्याहरू समाधानका लागि दूतावासले प्रदान गर्ने सेवा र सहयोगबारे जानकारी गराउनुभएको महर्जनले बताए । राजदूत डा शर्माले भारतमा विभिन्न ठाउँमा मानव बेचबिखन र तस्करीमा परेका नेपालीहरूको उद्धार र स्वदेश फीर्ति गर्नका लागि दूतावासले किन इन्डिया जस्ता संस्थासँग सहकार्य गर्ने गरेको बताए ।


    कार्यक्रममा नेपाली दूतावासका काउन्सिलर मिनिस्टर अम्बिका जोशीले आधारकार्ड, बैङ्क खाता, नो अब्जेक्सन लेटरलगायत विषयमा नेपाली श्रमिकहरूका समस्या समाधानका लागि दूतावासले सदैव श्रमिकको पक्षमा काम गरिरहेको जानकारी गराए । यसैगरी, दूतावासका काउन्सिलर तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश मल्लले आफू रहेको देश तथा राज्यको कानुन पालना गर्न नेपाली समुदायलाई सचेत गराउनुपर्नेमा जोड दिए ।

  • ‘धो’बाट चार जना कर्मचारीको हेलिकोप्टरमार्फत उद्धार

    ‘धो’बाट चार जना कर्मचारीको हेलिकोप्टरमार्फत उद्धार

    काँक्रेविहार (सुर्खेत), २९ चैतः नेपाल श्रमशक्ति सर्वेक्षण गर्न उपल्लो डोल्पाको शेफोक्सुण्डो गाउँपालिका–२ जाँदै गर्दा लेक लागेर ‘धो’मा बिरामी भएका कमल डाँगीसहित चार जनाको आज उद्धार गरिएको छ । डोलेबुद्ध गाउँपालिकाको ‘धो’बाट बिरामी गणक कमल डाँगी, टोली प्रमुख किरण मल्ल, गणक लक्ष्मीकुमारी ज्ञवाली, गणक विराट डिसीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत ल्याइएको तथ्याङ्क समन्वय कार्यालय, सुर्खेतका प्रमुख विनोद आचार्यले जानकारी दिए ।

    उनले भने, “डाँगी लेक लागेर बिरामी हुनुभयो । हिमपातका कारण शेफोक्सुण्डो जान सक्ने अवस्था नहुँदा अन्यको पनि हेलिकोप्टरबाट उद्धार भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँबाट उपल्लो डोल्पाको धो हुँदै शेफोक्सुण्डो गाउँपालिका–२ मा खटिएका गणनास्थल जानु अगाडि बिरामी हुनुका साथै भारी हिमपातका कारण समस्या उत्पन्न भएपछि उद्धार छ ।” बिरामीलाई प्रदेश अस्पतालमा उपचार सुरु भएको छ । बिरामी डाँगी जाजरकोट भेरी नगरपालिका–२ का हुन् ।

  • ‘आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्नु’

    ‘आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्नु’

    काठमाडौँ, २९ चैतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार पनि नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले केही अस्पतालले सार्वजनिक बिदाको दिन (आइतबार) बहिरङ्ग (ओपिडी) सेवा बन्द गरेकाले सेवाग्राही मर्कामा परेका भन्दै नियमित सञ्चालन गर्न आग्रह गरिएको बताए । “स्वास्थ्य अत्यावश्यक तथा निरन्तर प्रदान गर्नुपर्ने सेवा भएकाले बिरामीलाई थप सहजता बनाउनुपर्ने आवश्यक छ”, उनले भने, “त्यही भएर बिरामीहरूलाई असहजता नहोस् भन्ने उद्देश्यले आइतबारको दिन पनि स्वास्थ्य सेवा सञ्चालन गर्ने आग्रह गरिएको हो ।”

    सहप्रवक्ता डा अधिकारीले आइतबार पनि स्वास्थ्य संस्था सञ्चालन गर्ने मन्त्रालयको निर्णयप्रति चिकित्सक, स्वास्थ्यकर्मी तथा केही सेवा प्रदायक अस्पतालले राखेका चासोलाई सम्बोधन गर्न मन्त्रालय सकारात्मक एवं प्रतिबद्ध रहेको बताए । उनले चाँडै नै सार्वजनिक बिदाको दिन आइतबार स्वास्थ्य सेवा सञ्चालन गर्ने कार्यविधि जारी गर्ने जानकारी दिए ।


    “नागरिकको सर्वोत्तम हितलाई ध्यानमा राखी स्वास्थ्य सेवाजस्तो संवेदनशील तथा अत्यावश्यक सेवा यथासम्भव निरन्तर रूपमा प्रदान गर्नु हामी सबैको प्रमुख दायित्व हो भन्ने तथ्य पनि उत्तिकै महत्वपूर्ण छ”, सहप्रवक्ता डा अधिकारीले भने, “सबै सरोकार भएकाहरूको सहकार्य र समन्वयमा स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउने तयारी मन्त्रालयले गरिरहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ ।”

    सहप्रवक्ता डा अधिकारीले कार्यविधि तयार नभएसम्म बिरामीको हितलाई सर्वोपरि राखी आ–आफ्नो अस्पतालबाट उपलब्ध जनशक्ति र कार्यभारको आधारमा यथासम्भव स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउनसमेत अनुरोध गरे । उनले स्वास्थ्यकर्मीको विश्रामको अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तर राख्ने सन्तुलित व्यवस्थापन सरकारको प्राथमिकता रहेको बताए ।

  • प्रधानमन्त्री शाह र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

    प्रधानमन्त्री शाह र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

    काठमाडौँ, २९ चैत । प्रधानमन्त्री वालेन्द्र शाह र वर्तमान मन्त्रीपरिषद्का सदस्यहरुले आ–आफ्नो सम्पत्ति विवरण कानुन बमोजिम प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस गरी सार्वजनिक गरेका छन् । मन्त्रीपरिषद्को निर्णय बमोजिम उहाँहरुको सम्पत्तिको विवरण सार्वजनिक भएको हो । सो विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को वेबसाइटमा हेर्न सकिने सो कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समेत यसको चर्चा सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहकी पत्नीका नाममा १९० तोला सुन रहेको देखिएको छ । प्रधानमन्त्रीले आफ्नो बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन् । उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् । उनको परिवारका नाममा महोत्तरीमा ९ विगा जग्गा रहेको देखिएको छ । काठमाडौंमा ५ आना जग्गा र धनुषामा समेत जग्गा रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।


    गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ । उनले ६ किलो चाँदी रहेको उल्लेख गरेका छन् । उनको धनकुटामा १९ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा देखिन्छ । उनीसँग साढे ४ करोडको सेयर समेत रहेको देखिन्छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका करोडौ मूल्यका चार वटा अपार्टमेन्ट रहेको देखिन्छ । उनले ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् । उनले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी उल्लेख गरेका छन् । उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

    सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको पनि जिम्मेवारीमा रहेका सस्मित पोखरेलले व्यक्तिगत र परिवारको नाममा रहेको संयुक्त अचल सम्पत्तिबारे उल्लेख गरेका छन् ।

    जस अनुसार, उनले बुवा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा ७ ठाउँमा करिब साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख छ । काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा रहेको विवरणमा उल्लेख छ । २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख गरेका छन् । उनले आफ्नो बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् भने डलर खातामा अमेरिकी डलर ५ रहेको उल्लेख छ । उनले पारिवारिक सदस्यसहितले संयुक्त रुपमा शेयर कारोबारमा पनि लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

    बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूले पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका शेयरहरू करिब ३० लाख बराबरको लगानी गरेको उल्लेख गरेका छन् । बुवा रमेशकुमारकै राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ बराबरको रकम राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई शेयर खरिदको रुपमा राखेका छन् । आमा मिनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गरेका छन् ।

    उनले आफू र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण देखाएका छन् । हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ«े बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ । बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रहेको उल्लेख गरेका छन् । उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रहेको देखिएको छ ।

  • वार्ता विफल, युद्धविराम कायम राख्न अपिल

    वार्ता विफल, युद्धविराम कायम राख्न अपिल

    इस्लामावाद, २९ चैत (रासस–एएनआई) । अमेरिका र इरानबीच शान्ति वार्ता निष्कर्षविहीन बनेपछि क्षेत्रीय तनाव थप चर्किने सङ्केत देखिएको छ । यस्तो अवस्थामा पाकिस्तानले दुवै पक्षलाई युद्धविराम कायम राख्दै संवादलाई निरन्तरता दिन आग्रह गरेको छ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले आइतबार दिएको वक्तव्यमा शान्तिपूर्ण समाधानको विकल्प अझै खुला रहेको उल्लेख गर्दै दुवै देशलाई सकारात्मक भावनाका साथ वार्तामा संलग्न रहन आग्रह गरे । उनले क्षेत्रीय मात्र नभई विश्वव्यापी स्थायित्वका लागि पनि युद्धविरामको प्रतिबद्धता कायम राख्नु अत्यन्त आवश्यक रहेको बताए ।


    दारका अनुसार पाकिस्तानले इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच संवादको वातावरण निर्माण गर्न सक्रिय भूमिका खेलेको छ र आगामी दिनहरूमा पनि सहजीकरण जारी राख्नेछ । उहाँले शान्ति वार्तामा सहभागी हुन पाकिस्तानको निमन्त्रणालाई स्वीकार गरेकोमा दुवै देशप्रति आभार व्यक्त गरे ।
    उनले यसअघि पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज सरिफले तत्काल युद्धविरामको आह्वान गर्दै इस्लामाबादमा वार्ताका लागि दिएको निमन्त्रणालाई दुवै पक्षले सकारात्मक रूपमा लिएको उल्लेख गरे ।

    यसलाई क्षेत्रीय कूटनीतिमा महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ । ‘इस्लामावाद वार्ता’ का रूपमा चिनिएको उक्त उच्चस्तरीय बैठकमा दुवै देशका शीर्ष अधिकारीहरूको अभूतपूर्व सहभागिता रहेको थियो । अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नुभएको थियो भने इरानी पक्षको नेतृत्व संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले गरेका थिए ।


    दारले आफूले चिफ अफ डिफेन्स फोर्स र सेना प्रमुख फिल्ड मार्शल सैयद असीम मुनीरसँग मिलेर करिब २४ घण्टा लामो गहन र बहुपक्षीय छलफलमा मध्यस्थता गरेको जानकारी दिए । उनका अनुसार वार्ता आइतबार बिहान टुङ्गिएको हो, तर अपेक्षित सहमति भने जुट्न सकेन । वार्ता असफल भएसँगै अमेरिकी उपराष्ट्रपति भान्स इस्लामाबादबाट प्रस्थान गरेका छन् । वार्तामा मुख्य विवादका विषयहरू इरानको आणविक कार्यक्रम र होर्मुज जलडमरूमध्यको नियन्त्रणसँग सम्बन्धित थिए ।

    भान्सले पत्रकारहरूसँग कुरा गर्दै केही विषयमा प्रगति भए पनि अन्ततः कुनै औपचारिक सम्झौता हुन नसकेको बताए । उनले यो अवस्था विशेषगरी इरानका लागि प्रतिकूल भएको टिप्पणी गरे । यद्यपि यसले अमेरिकालाई पनि असर पार्ने स्वीकार गरे । यस घटनाक्रमले कूटनीतिक प्रयासहरू जारी रहे पनि आपसी अविश्वास र रणनीतिक मतभेदका कारण तत्काल समाधानको सम्भावना कमजोर देखिएको सङ्केत गरेको छ ।

  • कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

    कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

    टोकियो, २९ चैत (रासस–एएनआई) । अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी दूतावासले सैन्य आक्रमणबाट हासिल गर्न नसकिएका उद्देश्यहरू कूटनीतिका माध्यमबाट थोपर्न नसकिने स्पष्ट पारेको छ । इस्लामाबादमा भएको हालैको वार्तापछि सार्वजनिक धारणा तीव्र भइरहेका बेला इरानले आफ्नो अडान पुनः दोहोर्‍याएको हो ।

    दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अघि सारेको ‘अन्तिम र उत्कृष्ट प्रस्ताव’ लाई एकपक्षीय रूपमा प्रस्तुत गरिएको भन्दै अस्वीकार्य ठहर गरेको छ । उक्त प्रस्ताव स्वभावतः पारस्परिक हुनुपर्ने भन्दै इरानले यसलाई कुनै एक पक्षले दबाब सिर्जना गर्ने औजारका रूपमा प्रयोग गर्न नसकिने जनाएको छ ।

    वक्तव्यमा इरानले भान्सको ‘इरानले हाम्रो सर्त स्वीकार नगर्ने छनोट गरेको छ’ भन्ने अभिव्यक्तिलाई पनि जबरजस्ती तर्कको संज्ञा दिएको छ । दूतावासका अनुसार यस्तो धारणा अर्को पक्षलाई युद्धमैदानमा असफल भएका मागहरू स्वीकार गर्न बाध्य पार्ने प्रयास हो, जुन कूटनीतिक सिद्धान्तविपरीत छ । साथै, पछिल्लो द्वन्द्वको सुरुआत इरानबाट नभई अन्य पक्षबाट भएको दाबीसमेत गरिएको छ ।

    इरानले भान्सका अभिव्यक्तिहरूले अन्तर्राष्ट्रिय समुदायमा थप गम्भीर र आलोचनात्मक बहस आवश्यक बनाएको उल्लेख गरेको छ । ‘इरानका लागि नराम्रो खबर’ भन्ने टिप्पणीलाई लक्षित गर्दै दूतावासले त्यसको यथार्थ मूल्याङ्कन हुनुपर्ने बताएको छ । साथै, वार्ता आयोजना र सहजीकरणमा भूमिका खेलेको पाकिस्तानप्रति इरानले कृतज्ञता व्यक्त गरेको छ ।

    यसैबीच, क्षेत्रीय तनाव अझ चर्काउने सङ्केत देखिएका छन् । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले आफ्ना दुई युद्धपोत युएसएस फ्रान्क ई. पिटरसन (डिडिजी १२१) र युएसएस माइकल मर्फी (डिडिजी ११२) ले होर्मुज जलडमरूमध्य पार गर्दै खानी सफा गर्ने तयारी थालेको जनाएको छ । उक्त कदमलाई उसले जलमार्ग सुरक्षित बनाउने व्यापक अभियानको हिस्सा बताएको छ ।

    तर इरानले अमेरिकी दाबीलाई तत्काल अस्वीकार गरेको छ । इरानी सेनाको खताम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले कुनै पनि अमेरिकी जहाज उक्त क्षेत्रमा प्रवेश गरेको दाबी असत्य रहेको बताएका छन् । उनका अनुसार होर्मुज जलडमरूमध्यमा जहाजहरूको आवागमन पूर्ण रूपमा इरानका सशस्त्र बलको नियन्त्रणमा रहेको छ । दुवै पक्षबीच बढ्दो आरोप–प्रत्यारोपले कूटनीतिक समाधानको सम्भावनालाई थप जटिल बनाइरहेको विश्लेषण गरिएको छ, जहाँ वार्ताभन्दा बढी शक्ति प्रदर्शनले प्राथमिकता पाएको सङ्केत देखिन्छ ।

  • इरान–अमेरिका वार्ता निष्कर्षविहीन

    इरान–अमेरिका वार्ता निष्कर्षविहीन

    इस्लामावाद, २९ चैत (रासस–एएफपी) । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा भएको इरान र संयुक्त राज्य अमेरिकाबीचको लामो वार्ता कुनै ठोस सहमतिविना टुङ्गिएको छ । २१ घण्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार वार्ता निष्कर्षविहीन बनेको जानकारी दिए ।

    वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वासिङ्टनले तेहरानसँग आणविक हतियार विकास नगर्ने ‘मौलिक प्रतिबद्धता’ खोजेको भए पनि त्यसतर्फ स्पष्ट सङ्केत नदेखिएको बताए । सन् १९७९ को इस्लामिक क्रान्तिपछि उच्चस्तरीय रूपमा भएको यस्तो संवादलाई महत्त्वपूर्ण मानिए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेन । उनका अनुसार अमेरिकाले इरानलाई ‘अन्तिम र उत्तम प्रस्ताव’ दिएको छ र त्यसबारे निर्णय लिन केही समय प्रदान गरिएको छ ।

    यसैबीच, संयुक्त राज्य अमेरिका र इजरायलले मङ्गलबारदेखि दुई साताका लागि वार्ता स्थगित गर्ने सङ्केत दिएका छन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वले मध्यपूर्व क्षेत्रलाई अस्थिर बनाउनुका साथै विश्व अर्थतन्त्रमा समेत असर पारेको छ । आक्रमणपछि इरानले प्रतिशोधात्मक कदम चालेपछि तनाव झनै चुलिएको हो ।

    वार्ताका क्रममा दुवै पक्ष आ–आफ्ना कडा अडानसहित प्रस्तुत भएका थिए । अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रमा माइन हटाउन युद्धपोत पठाएको दाबी गर्दै दबाब सिर्जना गरिरहेको आरोप इरानी पक्षले लगाएको छ । उक्त जलडमरूमध्य विश्वको करिब पाँचौँ भाग तेल आपूर्तिको प्रमुख मार्ग मानिन्छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्ताको परिणामप्रति आफूलाई खास चासो नभएको प्रतिक्रिया दिएका छन् । उनले युद्धमैदानमा अमेरिका पहिले नै विजयी भइसकेको दाबी गर्दै इरानी नेतृत्वलाई कमजोर पारिएको र सैन्य संरचनामा क्षति पुर्‍याइएको उल्लेख गरे । “सम्झौता भए पनि नभए पनि फरक पर्दैन, हामीले जितिसकेका छौँ”, उनले भने ।


    उता, इरानले भने कुनै पनि सम्भावित सम्झौतामा आफ्ना जफत गरिएका सम्पत्ति फुकुवा हुनुपर्ने र लेबनानमा हिजबुल्लाहविरुद्धको इजरायली आक्रमण रोकिनुपर्ने माग राखेको छ । तर भान्सले ती विषयहरू इस्लामावाद वार्ताको दायराभन्दा बाहिर रहेको स्पष्ट पारे । वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले गरेका थिए ।

    विदेशमन्त्री अब्बास अराघची पनि सहभागी थिए । अमेरिकी टोलीमा ट्रम्पका निकट सहयोगी स्टिभ विटकफ र जारेड कुशनरसमेत सहभागी थिए । इरानले विशेषतः भान्सको उपस्थिति र विगतमा युद्धविरोधी धारणा राखेकाले वार्ताप्रति केही अपेक्षा गरेको थियो ।

    युद्ध सुरु भएसँगै इरानले होर्मुज जलडमरूमध्यमाथि नियन्त्रण कायम गर्दै विश्व तेल बजारमा प्रभाव पारेको छ । तेलको मूल्य वृद्धिले अमेरिकामा समेत राजनीतिक दबाब सिर्जना गरेको छ । अमेरिकी सेनाले जलडमरूमध्य सुरक्षित बनाउने प्रयास गरिरहेको दाबी गरे पनि इरानले त्यस्तो कुनै गतिविधि स्वीकार गरेको छैन र हस्तक्षेप भए कडा जवाफ दिने चेतावनी दिएको छ ।

    यता लेबनानमा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व पनि जारी छ । इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघिसकेको लेबनानी अधिकारीहरूले जनाएका छन् । आगामी साता इजरायल र लेबनानबीच वासिङ्टनमा छुट्टै वार्ता हुने तयारी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दीर्घकालीन शान्ति सम्झौताको चाहना व्यक्त गरेको भए पनि हिजबुल्लाहसँग तत्काल युद्धविराममा सहमति जनाएका छैनन् ।

    यसैबीच, इरानभित्रै पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै देखिएको छ। “अमेरिकासँगको वार्ताको अनुभव सधैँ असफलता र भङ्ग गरिएका प्रतिबद्धतासँग जोडिएको छ”, गालिबफले भने। यद्यपि दुवै पक्षले कूटनीतिक ढोका पूर्ण रूपमा बन्द नगरेको सङ्केत दिएका छन् । विशेषज्ञहरूका अनुसार ठूलो र उच्चस्तरीय इरानी टोलीको सहभागिताले उनीहरू सम्झौताको सम्भावनाप्रति गम्भीर रहेको देखाए पनि आपसी अविश्वास र क्षेत्रीय जटिलताले सहमति टाढा धकेलेको छ ।

  • सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

    सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

    काठमाडौँ, २९ चैतः सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु हुँदैछ । तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताहअभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    त्यसका लागि सरकारले ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरिसकेको छ । कुनै पनि चालु अवस्थामा रहेका फाइल अनिश्चित समयसम्म अड्केर नबसोस्, जिम्मेवारी स्पष्ट होस् र काम हुने वा नहुने विषयको समयमा टुङ्गो लागोस् भन्ने अभियानको उद्देश्य छ । अभियान आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । मार्गदर्शनअनुसार अब तीन दिन, सात दिन वा १५ दिनभन्दा बढी समयदेखि रोकिएका फाइलमा स्वतः समीक्षा प्रक्रिया लागू गर्नुपर्नेछ । निर्णय गर्न सकिने विषयलाई अनावश्यक रूपमा माथिल्लो तहमा नपठाइ सम्बन्धित तहबाट टुङ्ग्याउने पद्धतिको विकास गर्नुपर्ने भएकाले यो अभियान सञ्चालन गरिएको हो ।

  • झापामा तीन मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

    झापामा तीन मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

    सुरुङ्गा (झापा), २९ चैतः झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र १–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशातर्फ जाँदै गरेको को३१प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

    दुर्घटनामा प्र१–०१–०१२प७६३५ नम्बरको मोटरसाइकल चालक इलाम नगरपालिका–६ का २५ वर्षीय भूपेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । अन्य घाइतेमध्ये प्र १–०२–०४१ प ८९८७ का चालक धरान उपमहानगरपालिका–१५ का २७ वर्षीय मनिकुमार देवकोटा, सोही मोटरसाइकलमा सवार २७ वर्षीय अनिल बस्नेत र अर्को मोटरसाइकल चालक झापा शिवसताक्षी–५ का २९ वर्षीय नन्दबहादुर मगर तथा पछाडि सवार २९ वर्षीय कमल मगर रहेका छन् । घाइते सबैको स्पाइनस अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

  • दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

    दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

    काठमाडौँ, २९ चैतः काठमाडौँको दक्षिणकाली नगरपालिका–८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बिएबी ५२८१ नम्बरको कार अनियन्त्रित भई आज दुर्घटना भएको हो । उक्त दुर्घटनामा चालक काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।


    यसैबीच काठमाडौँ महानगरपालिका–९ स्थित एयरपोर्ट गेष्ट हाउसबाट अवैध लागुऔषध गाँजा करिब सात किलोग्रामसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको प्रहरीको लागुऔषध ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय मोहसिन सलाउद्दिन खान र मोहम्मद राइल रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले उक्त गाँजासहित पक्राउ गरिएको र उक्त घटनामा अनुसन्धान जारी रहेको जनाइएको छ ।

  • युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा

    युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा

    ब्रसेल्स (बेल्जियम), २९ चैत (रासस–एएनआई) । इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्क क्षेत्रमा ३० भन्दा बढी नयाँ बस्तीहरू स्थापना गर्ने पछिल्लो इजरायली निर्णयको युरोपियन युनियनले कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इयुले इजरायलको विस्तारले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन र दुई–राज्य बीचको लामो समयदेखिको सौभार्दपूर्ण सम्बन्धमा खतरा उत्पन्न भएको बताएको छ ।

    युरोपेली युनियनले पूर्वी जेरुसेलमसहित वेस्ट ब्याङ्कमा आफ्नो कब्जा विस्तार गर्ने इजरायली कदमको निन्दा गरेको छ भने अन्तर्राष्ट्रिय अदालतको गैरकानूनी घोषणा गरेको छ । इयुले इजरायललाई यी निर्णयहरू उल्टाइ अन्तर्राष्ट्रिय कानून अनुसार आफ्नो दायित्वहरूको पालना गर्न र कब्जा गरिएका क्षेत्रहरूका प्यालेस्टिनीहरुको रक्षा गर्न आग्रह गरेका छन् ।


    यसै बीच युरोपियन युनियनले प्यालेस्टिनी नागरिकहरू विरुद्धको गरिएको हिंसाको निन्दा गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्ताव अनुसार दुई–राज्य इजरायल र प्यालेस्टाइन, न्यायपूर्ण र स्थायी शान्ति हित आफ्नो सीमाभित्र शान्तिको साथ बस्न् पाउनु पर्ने बताएको छ । इस्लामिक सहयोग सङ्गठन (ओआईसी) ले पनि शुक्रबार इजरायली कब्जामा रहेको वेस्ट ब्याङ्कमा ३४ वटा नयाँ बस्तीहरूको स्वीकृतिको निन्दा गर्दै यो निर्णयले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको बताएको छ ।

    इजरायली सरकारले अप्रिलको सुरुमा “गोप्य रूपमा“ गरेको यो निर्णयले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको प्यालेस्टिन सरकारले जनाएको छ ।
    अल जजिराका अनुसार इजरायली सरकारबाट हाल सम्म यस विषयमा कुनै टिप्पणी आएको छैन । गत बिहीबार स्वीकृत भएका बस्तीहरू सहित सन् २०२२ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार सत्तामा आएपछि स्वीकृत भएका ६८ वटा भन्दा माथि भएको अल जजिराले जनाएको छ ।

  • संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    जेनेभा, २९ चैत (रासस–एएफपी) । संयुक्त राष्ट्र सङ्घका प्रमुखहरूले शनिबार मध्यपूर्वमा व्यापक अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको लागि दण्डहीनताको अन्त्य गर्न माग गरेका छन् । इरानमा अमेरिका–इजरायल आक्रमणले सुरु गरेको युद्धमा हताहतीको सङ्ख्या बढ्दै गएको छ । संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा ‘युद्धका नियम र अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घनबाट आत्तिएको’ बताएका हुन् । संयुक्त राष्ट्रसंघको अन्तर–निकाय स्थायी समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युद्धका पनि नियम हुन्छन् र यी नियमको सम्मान गर्नुपर्छ ।”

    संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचर र संयुक्त राष्ट्रसंघीय मानवअधिकार, स्वास्थ्य, खाद्य, शरणार्थी र बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरूले लेखेको संयुक्त वक्तव्यमा फेब्रुअरी २८ मा मध्यपूर्व युद्ध सुरु भएयता बढ्दो हताहती सङ्ख्याको निन्दा गरिएको छ । “मध्य पूर्वमा गत महिना मात्र हजारौं नागरिक मारिएका छन् र घाइते भएका छन्। लाखौँ धेरै पटक विस्थापित भएका छन्”, वक्तव्यमा भनिएको छ,
    “संख्या बढ्दै गएको छ र आवश्यक सेवाहरूमा पहुँचका लागि झन् गाह्रो भइरहेको छ।”

    वक्तव्यमा भनिएको छ, “युद्धका क्रममा स्वास्थ्यकर्मी, अस्पताल र एम्बुलेन्सलाई निशाना बनाइएको छ । विद्यालयहरू प्रभावित भएका छन्। पुल, आवासीय भवन, घर, खानेपानी सुविधा र पावर प्लान्टलगायत नागरिक पूर्वाधारहरू ध्वस्त भएका छन् ।” उनीहरूले खाद्यान्न र इन्धनको मूल्य बढेसँगै महिला र बालबालिका तथा अन्य विशिष्ट आवश्यकता भएका व्यक्तिहरूका साथै विश्वव्यापी आपूर्ति शृङ्खलामा पर्ने प्रभावबारे विशेष चिन्ता व्यक्त गरेका छन् ।

    यसैबिच, उनीहरूले आफ्ना मानवीय सहकर्मीहरू युद्धमा फसेका बताएका छन् । क्तव्यमा भनिएको छ, “यस वर्षको सुरुदेखि नै प्यालेस्टाइन क्षेत्रमा १४, इरानमा आठ र लेबनानमा पाँच सहायताकर्मीहरू मारिएका छन् वा घाइते भएका छन्। यो सहायताकर्मीको हताहतीको एक खतरनाक सङ्ख्या हो।” एजेन्सीका प्रमुखहरूले भनेका छन्, “हामी मानवीय र स्वास्थ्यकर्मीहरू र नागरिक वस्तुहरू सहित नागरिकहरूमाथि हुने सबै आक्रमणको कडा निन्दा गर्दछौँ।”

    “संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू हुन् वा सशस्त्र समूहहरू सबै पक्षले मानवीय कर्मचारीहरू र नागरिक पूर्वाधारहरू सहित नागरिकहरूको सुरक्षा गर्ने उनीहरूको कानुनी दायित्वको सम्मान गर्नुपर्छ,“ उनीहरूले भने, “सबै उल्लङ्घनहरू जवाफदेहीताका साथ पूरा गरिनु पर्छ।”

  • कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

    कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

    बोगोटा, २९ चैत (रासस–एएफपी) । दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी व्यापार तनाव थप चर्किएको छ । इक्वेडरले कोलम्बियाली सामानमा कर बढाएको भोलिपल्ट नै कोलम्बियाले पनि प्रतिउत्तरस्वरूप इक्वेडरबाट आयात हुने वस्तुमा १०० प्रतिशतसम्मको भन्सार शुल्क लगाउने निर्णय गरेको जनाएको छ । कोलम्बियाको वाणिज्य मन्त्रालयका अनुसार यो कदम प्रत्यक्ष रूपमा इक्वेडरको निर्णयको प्रतिक्रिया हो । बिहीबार इक्वेडरले कोलम्बियाली वस्तुमा लगाइँदै आएको ५० प्रतिशत करलाई बढाएर १०० प्रतिशत पुर्‍याएको थियो । त्यसको जवाफमा कोलम्बियाले पनि समान स्तरको शुल्क लागू गरेको हो ।

    दुवै देशबीच केही महिनादेखि व्यापारिक विवाद चल्दै आएको छ । इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले साझा सीमामा लागुऔषध तस्करी र अवैध खनन नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आउनुभएको छ । यही विषयले दुई देशबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ ।

    कर वृद्धि मात्र नभई कूटनीतिक सम्बन्धमा पनि असर परेको छ । इक्वेडरको निर्णयपछि कोलम्बियाले आफ्नो राजदूतलाई बोगोटा फिर्ता बोलाएको छ । वर्षको सुरुदेखि नै इक्वेडरले चरणबद्ध रूपमा भन्सार शुल्क बढाउँदै आएको र त्यसको जवाफमा कोलम्बियाले पनि पारस्परिक भन्सार शुल्क लागू गर्दै आएको देखिन्छ । यो सुरुमा ३० प्रतिशतबाट बढ्दै १०० प्रतिशतसम्म पुगेको छ ।

    यद्यपि, कोलम्बियाले केही क्षेत्रलाई भने आंशिक रूपमा सहज बनाउने सङ्केत दिएको छ । राष्ट्रपति पेट्रोले औद्योगिक उत्पादनका लागि आवश्यक केही कच्चा पदार्थमा ‘शून्य प्रतिशत कर’ लागू गरिने उल्लेख गरेका छन् । जसले घरेलु उद्योगलाई राहत दिन सक्छ । कोलम्बियाकी वाणिज्यमन्त्री डायना मोरालेसले दुवै देशबीच कूटनीतिक प्रयासहरू लगभग समाप्त भइसकेको बताउँदै स्थिति गम्भीर बन्दै गएको सङ्केत गरिन् । यसै साता पेट्रोले इक्वेडरका पूर्वउपराष्ट्रपति जोर्ज ग्लासलाई ‘राजनीतिक बन्दी’ भनेपछि विवाद झन् बढेको हो ।

    ग्लासले २०१३ देखि २०१८ सम्म विभिन्न सरकारहरूमा सेवा गरेका थिए । गत वर्ष भ्रष्टाचारको आरोपमा १३ वर्षको जेल सजाय पा्रएका थिए । उनले जेलमा अमानवीय व्यवहार भोग्नुपरेको दाबी गर्दै आएका छन्् । तनाव यति बढेको छ कि कोलम्बियाले पेरु, बोलिभिया र इक्वेडर सम्मिलित क्षेत्रीय सङ्गठन एन्डियन कम्युनिटी अफ नेसन्स (क्यान) बाट बाहिरिने सम्भावना पनि उठाएको छ । यद्यपि, क्यानले शुक्रबार दुवै देशबीच संवाद गराउने प्रयासस्वरूप कूटनीतिक बैठक आयोजना गरेको जनाएको छ ।

    आर्थिक दृष्टिले दुवै देश एकअर्कामा निर्भर छन् । कोलम्बियाले इक्वेडरमा मुख्य रूपमा बिजुली, औषधि, सवारी साधन, सौन्दर्य सामग्री र प्लास्टिकजन्य वस्तु निर्यात गर्छ भने इक्वेडरबाट तरकारीजन्य तेल, डिब्बाबन्द टुना, खनिज तथा धातु आयात गर्छ । यस क्षेत्रको अर्को जटिल पक्ष लागुऔषध तस्करी पनि हो । कोलम्बिया र पेरुमा उत्पादित करिब ७० प्रतिशत कोकेन इक्वेडर हुँदै प्रशान्त महासागरका बन्दरगाहबाट बाहिरिने गरेको छ । यसले इक्वेडरलाई आपराधिक गतिविधिको केन्द्र बनाएको छ ।

    एक समय शान्त मानिएको इक्वेडर अहिले आपराधिक समूहहरूबीचको सङ्घर्षले प्रभावित भएको छ, जसका कारण हिंसा र हत्याका घटनामा उल्लेखनीय वृद्धि भएको छ । यस्तो अवस्थामा व्यापार युद्धसँगै सुरक्षाको चुनौतीले पनि क्षेत्रीय स्थायित्वमा थप दबाब सिर्जना गरेको छ ।

  • बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’

    बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’

    काठमाडौँ, २९ चैतः सरकारले बहुपक्षीयताप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको बताएको छ । न्युयोर्कमा अन्तरराष्ट्रिय समुदायसमक्ष नेपालले बहुपक्षीयता र अन्तरराष्ट्रिय ऐक्यबद्धताप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको हो । संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले आज उक्त विश्व संस्थाको मुख्यालयमा २६३औँ नेपाली सेना दिवस तथा राष्ट्रसङ्घीय शान्तिसेनामार्फत द्वन्द्वग्रस्त विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनामा ६८ वर्षदेखि निरन्तर योगदान गरेको सन्दर्भमा आयोजना गरेको विशेष स्वागत समारोहमा नेपालले राष्ट्रसङ्घलाई केन्द्रमा राखेर वर्तमान विश्वले झेलेका चुनौती बहुपक्षीयताको प्रवर्दनबाट सामाना गर्न सकिने बताएको हो ।

    संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपाली सेनाको गौरवशाली इतिहासबारे जानकारी दिनुभएको उक्त नियोगले जनाएको छ । नेपाली सैनिकको सेवा, बलिदान र व्यावसायिकताबाट परिचित उक्त राष्ट्रिय संस्थाले राष्ट्रिय अखण्डताको रक्षा गर्नुका साथै विश्व शान्ति र सुरक्षाका खातिर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राजदूत थापाले बताए ।

    हालसम्म एक लाख ६० हजारभन्दा बढी नेपाली शान्ति सैनिकले विभिन्न राष्ट्रसङ्घीय ‘मिसन’मा सेवा गरिसकेको उल्लेख गर्दै नेपालले बहुपक्षीयता र अन्तरराष्ट्रिय ऐक्यबद्धताप्रति आफ्नो दृढ प्रतिबद्धता निरन्तर प्रदर्शन गर्दै आएको उनले बताए ।
    राष्ट्रसङ्घका उपमहासचिव जिन पियर लाक्रोँले नेपाली शान्ति सैनिकको समर्पण र व्यावसायिकताको प्रशंसा गर्दै उनीहरूको योगदानप्रति आभार व्यक्त गरे । त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, सैन्य तथा प्रहरी सल्लाहकार, राष्ट्रसङ्घका उच्चअधिकारी, नेपालका मित्र तथा पूर्वसैनिक अधिकारीहरूको उपस्थिति थियो ।

  • दोस्रो आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

    दोस्रो आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

    काठमाडौँ, २९ चैतः दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ । आगामी वैशाख २ गतेदेखि देशभर आर्थिक गणनाको काम सुरु हुनेछ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालित भएका छन् ।

    अर्थमन्त्री डा स्वर्णिम वाग्ले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योग प्रतिष्ठान, उद्योगी व्यवसाय तथा सरोकार भएकाहरूलाई आग्रह गरे । उनले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलनको महत्त्वपूर्ण कार्यमा योगदान गर्न अनुरोध गरे । सो गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन हुनेछ । गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलनको उद्देश्य राखिएको छ ।

    देशभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने छ । त्यस्तै, उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ ।

    आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भएको थियो । यस्तै, यही चैतको सुरुमा नै ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएको छ । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । तथ्याङ्क कार्यालयले सबै सरोकार भएकालाई सही र पूर्ण विवरण उपलब्ध गराएर अभियानलाई सफल बनाउन आग्रह गरेको छ । आर्थिक गणना राष्ट्रिय अभियान भएकाले यसमा सबैको सक्रिय सहभागिता जरुरी रहेको कार्यालयले स्पष्ट पारेको छ ।

    यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । सो गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेका विवरण सार्वजनिक भएको थियो ।

  • आज केही स्थानमा वर्षा र हिमपात हुने

    आज केही स्थानमा वर्षा र हिमपात हुने

    काठमाडौँ, २९ चैतः हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका इलाकामा मुख्यतया मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी र हिमाली तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

    त्यसैगरी, आज राति हिमाली भेगमा आंशिक बदली रहने र पहाडी तथा तराई क्षेत्रमा मुख्यतया मौसमस फा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि सुरु

    कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि सुरु

    कर्णाली, २९ चैतः ‘कर्णाली उत्सवः कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको छ । प्रतिरोधका पाइलाको पदचापदेखि कर्नालीका सुइनाको बहसका रूपमा विकास हुँदै गएको उत्सव ऋति फाउन्डेसन सुर्खेतले आयोजना गरेको हो । कर्णाली उत्सव आयोजक समितिको सचिवालयका संयोजक कमल लम्सालले कर्णालीको समग्र सवालको उठान गरी यहाँको विकास र समृद्धिमा सघाउने विशेष मञ्चका रूपमा उत्सव सञ्चालन गर्न लागिएको राससलाई जानकारी दिए ।


    उनले भने, “हामी मोक्षभूमि कर्णालीको भूगोलबाट महिला नेतृत्वदेखि सीमान्त मान्ठ, सङ्घर्ष र सफलताको कथा निर्माणका गरेका पैकला (नायक)हरूको कथा, जेनजेड पुस्ताको सडकदेखि सदनसम्मको प्रभाव र पहुँच, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति रोवा रिग्पाको बौद्धिक चर्चा तथा ऊर्जा, प्रविधिको विकासबारे उत्सवमा विमर्श हुनेछ ।” पूर्वमन्त्री तथा उत्सवका कल्पनाकार माधवप्रसाद चौलागाईँले कर्णालीको भूगोल, संस्कृति र सम्भावनालाई मन्थन गर्ने विचारको साझा चौतारीका रूपमा ‘कर्णाली उत्सव’ संस्थागत हुँदै गएको बताए । उनका अनुसार उत्सवको सातौँ संस्करणबाट समाजमा व्याप्त निराशा चिर्ने र समतामूलक समृद्धिको गोरेटो कोर्ने सत्प्रयास हुनेछ ।

    आयोजक समिति सचिवालय सदस्य प्रकाश लामिछानेले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा १५ वटा विविधतापूर्ण मूल सत्र समावेश गरिएको र त्यसमा १० वटा सत्र हुने जानकारी दिए । त्यस्तै, कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरेका तीन पैकेला जुनु हमाल ढकाल (प्रमुख जिल्ला अधिकारी), रतन देवकोटा (रेथाने सङ्गीतकर्मी) र चिकित्सक डा अखण्ड उपाध्यायको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिने उनको भनाइ छ ।

    उत्सवमा नेपाली चलचित्र इतिहासका महानायक राजेश हमालसँग ‘नखिचिएका सिनेमा’का बारेमा कुराकानी गरिने भएको छ । ‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौँ संस्करण चैत २८३० गतेसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

  • अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका

    अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका

    इनरुवा (सुनसरी), २९ चैतः जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरेको छ । नगरपालिकाले पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका संरचना हटाउने, निर्माण सामग्री हटाउनुका साथै पसल व्यवसाय हटाउने कार्य सुरु गरिएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए ।

    नगरपालिकाको कार्यालयले पटकपटक सूचना जारी गर्दा नहटाएपछि नगरपालिकाको डोजरले हटाइएको उनले बताए । पछिल्लोपटक नगरपालिकाले यही चैत ५ गते अतिक्रमित क्षेत्र खाली गरिदिन अनुरोधसहितको सातदिने सूचना जारी गरेको थियो । कार्यालयको सूचनालाई अटेर गरेपछि आफैँले अतिक्रमित सडक क्षेत्र खाली गराउने अभियान सञ्चालन गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताए ।

    पूर्वपश्चिम राजमार्ग खण्डअन्तर्गत इनरुवा बसचोकबाट सुखुवागाछीसम्म अतिक्रमण गरेर जथाभावी कवाडी व्यवसाय सञ्चालन, निर्माण सामग्री राखिएका, पसल व्यवसायका लागि सामान राख्ने गरिएकाले आवतजावतमा समस्या हुनुका साथै कुरुप पनि भएको गुनासो आएपछि राजमार्गका मापदण्डभित्र बनाइएका संरचना, कवाडी सामग्री, निर्माण सामग्री हटाउन सुरु गरिएको नगरप्रमुख भण्डारीले बताए ।

    इनरुवा नगरपालिकाले सुरु गरेको कार्यलाई निरन्तरता दिन स्थानीयले माग गरेका छन् । इनरुवा बजर क्षेत्रमा पनि सडक अतिक्रमण गरेर पसल सञ्चालन गर्नुका साथै भौतिक संरचना निर्माणका लागि सामग्री राखेकाले बजार क्षेत्रमा समेत खाली गराउन स्थानीयको माग छ ।

  • एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

    एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

    काठमाडौँ, २९ चैतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउनुपर्ने आवश्यकता बढेको छ । आगलागी र त्यससँग जोडिएका घटना न्यूनीकरणका लागि विशेष सावधानी अनपाउनुपर्ने प्राधिकरणको तथ्याङ्कले देखाएको छ । ठूलो मात्रामा जनधनको क्षति हुनुका पछाडि सावधानी, जनचेतनाको अभाव तथा वन तथा सुक्खा एवं सुकेको सामग्रीमा आगो लगाउने प्रवृत्ति बढी जिम्मेवार हुने प्राधिकरणको भनाइ छ ।

    प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि यही चैत २७ गतेसम्मको अवधिमा देशभर आगलागीका तीन हजार ७२० वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर एक सय पाँच जनाको ज्यान गएको छ । त्यस्तै पाँच सय ७१ जना घाइते भएका छन् भने चार हजार २६० परिवार प्रभावित भएका छन् ।
    सो अवधिमा डढेलोको घटना तीन सय २८ वटा भएका छन् । डढेलोमा परेर दुई जनाको निधन भएको छ भने तीन जना घाइते भएका छन् भने ५८ परिवार प्रभावित भएका छन् ।

    प्राधिकरणले आगलागीबाट जोगिन विशेष सावधानी अपनाउने, ज्वलनशील पदार्थ आगोले छुने ठाउँभन्दा पर राख्न, विशेष सचेतना अभियान सञ्चालन गर्न, आगलागी हुन नदिन अन्य उपाय सञ्चालन गर्नसमेत सबैमा अनुरोध गर्दै आएको छ । प्राधिकरणका अनुसार यही चैत २७ गते बिहानदेखि २८ गते बिहानसम्म देशभर कुल १९ विपद्का घटना हुँदा आगलागीका मात्रै १६ वटा रहेका छन् । सुक्खा मौसममा आगलागीका घटना बढी हुने भएकाले पनि सक्रियताका साथ सावधानी अपनाउन प्राधिकरणले पुनः अनुरोध गरेको छ । वन तथा वातावरण मन्त्रालयले पनि डढेलो तथा आगलागीका घटना नियन्त्रणका लागि आफ्ना निकायलाई परिचालन गरेको छ ।

  • अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

    अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

    काठमाडौँ,२९ चैतः मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०११ अप्रिल ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यससम्बन्धी प्रस्ताव पारित गरेर प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवसका रूपमा मनाउने निर्णय भएको हो ।


    यो दिवसले अन्तरिक्ष विज्ञान तथा प्रविधिको योगदानलाई स्मरण गर्दै दिगो प्रविधिका माध्यमबाट विकास लक्ष्य हासिल गर्न तथा जनताको जीवनस्तर उकास्न जोड दिएको छ । सन् १९६१ अप्रिल १२ मा सोभियत नागरिक युरी गागरिनले पहिलो पटक अन्तरिक्ष उडान सम्पन्न गरेका थिए । उनी पृथ्वीको परिक्रमा गर्ने पहिलो मानव बन्दा अन्तरिक्ष अन्वेषणको नयाँ युगको सुरुआत भएको मानिन्छ ।

    त्यसअघि सन् १९५७ अक्टोबर ४ मा पहिलो मानव निर्मित पृथ्वी उपग्रह ‘स्पुतनिक–१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । यसबाट अन्तरिक्ष अन्वेषणको मार्ग प्रशस्त भएको थियो । त्यसपछिका दशकहरूमा मानव अन्तरिक्ष यात्रामा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । सन् १९६३ जुन १६ मा भ्यालेन्टिना तेरेश्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला बन्नुभयो भने सन् १९६९ जुलाई २० मा नील आर्मस्ट्रङले चन्द्रमाको सतहमा पाइला टेक्ने पहिलो मानवको इतिहास रचे ।

    सन् १९७५ जुलाई १७ मा अपोलो र सोयुज अन्तरिक्ष यान जोडेर पहिलो पटक योजनाबद्ध अन्तरराष्ट्रिय मानव अन्तरिक्ष अभियान सफल भएको थियो । संयुक्त राष्ट्रसङ्घले अन्तरिक्ष अन्वेषण र यसको उपयोग मानवजातिको साझा सम्पत्ति भएको उल्लेख गर्दै त्यसको लाभ सबै राष्ट्रसम्म पु¥याउनुपर्नेमा जोड दिएको छ ।
    तस्बिर : संयुक्त राष्ट्रसङ्घ

  • स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    काठमाडौँ,२९ चैतः नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो । भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।

  • शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार

    शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार

    वासिङ्टन, २९ चैत (रासस–एएफपी) । अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र इरानसँगको युद्ध सुरु भएयता पहिलो पटक हर्मुज घाँटी हुँदै दुई अमेरिकी युद्धपोतहरू पार भएका उनले बताए । अमेरिकी नौसेनाले ‘गाइडेड मिसाइल डिस्ट्रोयर’ मा कुनै समस्या नभोगीकन उक्त जलडमरूमार्गबाट पार गरेको ‘द वाल स्ट्रिट जर्नल’ले तीन अमेरिकी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ। ढुवानीका क्रममा तेहरानका अधिकारीसँग समन्वय नगरिएको उक्त अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।

    “हामी अब ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध हटाउने प्रक्रिया सुरु गर्दैछौँ,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भने, “यो चीन, जापान र फ्रान्स जस्ता देशहरूका लागि ‘उपकार’ हो । उनीहरूसँग यो काम आफैं गर्ने साहस वा इच्छाशक्ति छैन।” उनले द्वन्द्वमा इरानले ‘ठूलो घाटा व्यहोरेको’ बताए । राष्ट्रपति ट्रम्पले रणनीतिक जलडमरु भनिने हमुज घाँटीमा इरानी विस्फोटक पदार्थहरू बिच्छ्याइएका कारण विश्वको कच्चा तेलको करिब २० प्रतिशत ढुवानी हुने यस मार्गमा अझै पनि खतरा रहेको स्वीकार गरे ।


    ट्रम्पले लेखेका छन्, “अझै पनि साँघुरो समुद्री मार्गमा जहाजहरूमाथि आक्रमण हुन सक्ने खतरा छ।” एएफपीले उक्त रिपोर्टबारे प्रतिक्रियाका लागि गरेको अनुरोधमा अन्य अमेरिकी अधिकारीहरूले तत्काल प्रतिक्रिया दिएका छैनन्। संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि बमबारी गर्न थालेपछि तेहरानले इरानको तटमा उसका शत्रुहका लागि मुख्य मार्ग लगभग अवरुद्ध गरेको छ, यद्यपि स्ट्रेट पुनः खोल्नु शनिबारदेखि सुरु भएको युद्धविराम वार्तामा राखिएको प्रमुख सर्त रहेको छ।

    इरानी सञ्चारमाध्यमका अनुसार मध्यपूर्वलाई हिंसामा परिणत गरेको र विश्व अर्थतन्त्रलाई स्तब्ध पारेको द्वन्द्व अन्त्य गर्ने प्रयासमा इरानी र अमेरिकी अधिकारीहरूले शनिबार पाकिस्तानमा वार्ता सुरु गरेका छन्। यसअघिको एक पोस्टमा राष्ट्रपति ट्रम्पले विश्वभरबाट ‘खाली ट्याङ्करहरू तेल किन्नका लागि’ अमेरिका गइरहेको बताएका थिए ।

  • युद्धविरामअघि ओडिसामा घातक हमला

    युद्धविरामअघि ओडिसामा घातक हमला

    किएभ, २९ चैत (रासस–एपी) । अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन केही घण्टाअघि नै युक्रेनको ओडिसा सहरमा भएको रुसी ड्रोन आक्रमणले शान्तिको प्रयासमाथि गम्भीर प्रश्न उठाएको छ । शनिबार राति भएको उक्त हमलामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । कृष्ण सागर किनारमा अवस्थित रणनीतिक बन्दरगाह सहर ओडिसामा ड्रोन प्रहार हुँदा आवासीय क्षेत्र नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूका अनुसार आक्रमणले अपार्टमेन्ट भवन, निजी घरहरू र एक किन्डरगार्टेनमा क्षति पुर्‍याएको छ, जसले सर्वसाधारणको सुरक्षाप्रति चिन्ता बढाएको छ ।

    युक्रेनी वायु सेनाका अनुसार रुसले रातभर देशभर १६० वटा ड्रोन प्रक्षेपण गरेको थियो । तीमध्ये १३३ वटा खसालिएका वा निष्क्रिय पारिएका थिए । यो आक्रमण प्रस्तावित ३२ घण्टे इस्टर युद्धविराम लागू हुनुअघि भएको हो । उता, रुसको रक्षा मन्त्रालयले पनि आफ्ना क्षेत्रमा युक्रेनी आक्रमण भएको दाबी गर्दै रातभर ९९ वटा ड्रोन खसालेको जनाएको छ । यसले दुवै पक्षबीचको तनाव अझै उच्च स्तरमै रहेको सङ्केत गरेको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार इस्टर सप्ताहन्तका लागि ३२ घण्टे युद्धविराम घोषणा गर्दै शनिबार साँझ ४ बजेदेखि सबै सैन्य गतिविधि रोक्न निर्देशन दिएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यस कदमलाई प्रतिबिम्बित गर्न आफ्नो देश तयार रहेको बताए । तर विगतका अनुभवले यस्तो युद्धविराम प्रभावकारी हुनेमा शङ्का उत्पन्न भएको छ । अघिल्ला प्रयासहरूमा दुवै पक्षले एकअर्कामाथि उल्लङ्घनको आरोप लगाउँदै आएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनको घोषणालाई ‘मानवीय पहल’ भन्दै प्रस्तुत गरेका छन् । तर दीर्घकालीन समाधानका लागि रुसका प्रमुख मागहरू अझै कायम रहेको स्पष्ट पारेका छन् ।


    यसबीच, इस्टरको अवसर पारेर कैदी आदानप्रदानको सम्भावनाबारे पनि छलफल भइरहेको छ । रुसकी मानवअधिकार लोकपाल तात्याना मोस्काल्कोभाले दुवै पक्ष यस विषयमा काम गरिरहेको बताए । नियमित कैदी आदानप्रदानलाई मस्को र किएभबीचको लामो समयदेखिको तनावपूर्ण सम्बन्धमा दुर्लभ सकारात्मक पक्षका रूपमा हेरिएको छ । अमेरिकी मध्यस्थतामा भएका वार्ताहरूले अहिलेसम्म ठोस प्रगति गर्न सकेका छैनन् । युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसकेको अवस्थामा मूल विवादका मुद्दाहरू अझै समाधान नहुँदा स्थायी शान्तिको सम्भावना अनिश्चित देखिएको छ ।

  • गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु

    गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु

    गाजा , प्यालेस्टिनी क्षेत्रहरू, २९ चैत (रासस–एएफपी) । गाजाको नागरिक रक्षा तथा उद्धार सेवाले शनिबार प्यालेस्टिनी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा परी सात जनाको मृत्यु भएको बताएको छ । अल–बुरेज शरणार्थी शिविरमा रहेको प्रहरी चौकी नजिकै इजरायलले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । मध्य गाजाको अल–अक्सा अस्पतालमा छ जनाको शव आएको र सात जना घाइतेहरु उपचारको लागि आएको उल्लेख गरिएको छ भने घाइते मध्य चार जनाको अवस्था गम्भीर रहेको बताएको छ ।

    नजिकैको अल–अवदा अस्पतालमा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ । सन् २०२३ देखि सुरु भएको सीमापार आक्रमणको दुई वर्ष पछि अक्टोबर– १० देखि लागु भएको युद्धविराम उल्लङ्घन गरेको आरोप इजरायल र हमासले एक–अर्कालाई लगाउदै आएका छन् । युद्धविराम सुरु भए देखि कम्तिमा ७३८ प्यालेस्टिनीहरू मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच इजरायली सेनाले युद्धविराम सुरु भए देखि पाँच जना सैनिक मारिएको जनाएको छ । गाजामा मिडिया प्रतिबन्ध कारण अन्तर्राष्ट्रिय प्रेसलाई अझै पनि इजरायली अधिकारीहरूले प्रवेश गर्न प्रतिबन्ध लगाएको एएफपीले जनाइएको छ ।

  • पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबीच भेटवार्ता

    पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबीच भेटवार्ता

    इीलामावाद, २८ चैत (रासस–एएफपी) । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरेका छन् । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले पूधानमन्त्री सरिफको संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्ससँग आज वार्ता सुरु भएको उल्लेख गर्दै भनेको छ, “पाकिस्तान यस क्षेत्रमा दिगो शान्तिको दिशामा प्रगतिको लागि दुवै पक्षलाई सहयोग गर्न तत्पर छ।” अमेरिकाको तर्फबाट भान्ससँगै शीर्ष अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुश्नर पनि सहभागी हुनुभएको थियो भने पाकिस्तानका तर्फबाट पूधानमन्त्री सरिफसहित विदेशमन्त्री इशाक डार र गृहमन्त्री मोहसिन नकवी पनि सहभागी थिए ।


    पाकिस्तानले सार्वजनिक गरेको फुटेजमा सरिफले भान्सलाई स्वागत गर्नुभएको र दुई देशका शीर्ष नेतृत्व पृष्ठभूमिमा पाकिस्तानी र अमेरिकी झण्डासहितका तस्वीर सार्वजनिक गरिएको छ। यसअघि सरिफले इरानी प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेको तेहरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका र इरानी प्रतिनिधिमण्डलहरूबीच वार्ताको ढाँचा स्पष्ट हुन सकेको छैन। विगतमा, तेहरान र वाशिङ्गटनले वार्ताको क्रममा सन्देशहरू आदानप्रदान गर्न मध्यस्थकर्ताहरूको प्रयोग गरेर अप्रत्यक्ष वार्ता विधि अपनाएका थिए ।