काठमाडौँ, २६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहलाई नै तोकी मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा उक्त हेरफेर गरिएको हो । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए । योसँगै मन्त्रिपरिषद्मा अब १४ सदस्य कायम रहेका छन् ।
Category: समाचार
-

सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
काठमाडौँ, २६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो ।
-

सभामुखले लिए बुढीगण्डकी आयोजनाबारे चासो
काठमाडौँ, २६ चैतः सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो देखाएका छन् । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सो आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग आफ्नै कार्यकक्षमा छलफल गर्दै उनले आयोजनाको निर्माणकार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताए ।
सभामुख अर्यालले भने, “यो राष्ट्रिय गौरवको परियोजना हो । यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवद्र्धनसँग पनि प्रत्यक्ष जोडिएको समग्र राष्ट्रिय महत्वको विषय हो । त्यसैले जति ढिलाइ हुनु थियो, भयो, अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन ।” सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आयोजना प्रमुखको ध्यानाकर्षण गराए ।“स्पष्ट कार्यतालिका बनाउने, कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गरेर अघि बढ्नुस्,” उनले भने । छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजना निर्माणलाई तीव्रता दिन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । “सरकारी समस्या कहाँ छ भन्ने स्पष्ट पार्नुहोस्, हामी आवश्यक समन्वय गर्नेछौँ,” आयोजना प्रमुखसँग उनले भने । त्यस्तै मन्त्रालयका सहसचिव रुद्रसिङ तमाङले आयोजना अघि बढाउन मन्त्रालयबाट सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।
सांसद बोधनारायण श्रेष्ठले ठूला आयोजना निर्माणलाई विशेष प्राथमिकता दिनुले देशको समृद्धिका विषयमा सरकार कति गम्भीर छ भन्ने स्पष्ट भएको धारणा राखे । बुढीगण्डकी जलविद्युत् आयोजना एक हजार २०० मेगावाट क्षमताको जलायशयुक्त आयोजना हो । राष्ट्रिय गौरवको यो आयोजना गोरखा र धादिङको सिमानामा पर्छ ।
-

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता
काठमाडौं, २६ चैतः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले सरकारको दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने जनाएको छ । नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापाले आज विज्ञप्ति जारी गर्दै थप बिदाका कारण निर्धारित पाठ्यक्रम तोकिएको समयमा सम्पन्न गर्न चुनौती उत्पन्न गरेको उल्लेख गरेका छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्ले यही चैत २२ गते गरेको निर्णयअनुसार पेट्रोलियम पदार्थको खपत घटाउन र वैदेशिक मुद्रा सञ्चिति जोगाउन हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा शैक्षिकसत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरिएको थियो ।
दैनिक ज्यालादारीमा आश्रित अभिभावकका लागि दुई दिने बिदा व्यवस्थापन गर्न कठिन हुने र यसले सामाजिक तथा आर्थिक असर पार्ने सो संस्थाको दाबी छ । यी चुनौतीबीच सरकारको निर्णय कार्यान्वयन गर्दै आफ्ना विद्यालयलाई आग्रह गर्दै नेशनल प्याब्सनले नयाँ भर्ना वैशाख २ गतेदेखि र पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ । एक शैक्षिकसत्रमा कम्तीमा २२० दिन पठनपाठन कायम हुनुपर्ने शिक्षा नियमावलीमा व्यवस्था छ ।
-

पूर्वकेन्द्रित बदलीः चार जिल्लामा भारी वर्षा
काठमाडौँ, २६ चैतः पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली बुधबार साँझ पूर्व पुगेको अहिले उक्त प्रणाली बाहिरिनेक्रममा रहेको छ । तर पूर्वका विभिन्न ठाउँमा अहिले पनि वर्षा भइरहेको छ ।
उक्त प्रणाली आज रातिदेखि बाहिरिने र प्रिमनसुनका गतिविधि भने कायम रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा उक्त प्रणालीका कारण विभिन्न चार जिल्लामा भारी वर्षा गराएको तर वर्षा भने सातै प्रदेशमा भएको छ । सबैभन्दा बढी वर्षा सिन्धुलीमा भएको छ । अहिले साँझ ५ बजेको अभिलेख अनुसार २४ घण्टामा इलाममा ५३।२, झापामा ५४।८, सुनसरीमा झण्डै ४९ र सिन्धुलीमा ५९।४ मिलिमिटर वर्षा भएको छ ।
अहिले पनि पश्चिम क्षेत्रको रुकुममा र कास्कीमा हल्का वर्षा भइरहेको छ भने बागमतीका केही क्षेत्र तथा कोशी प्रदेशमा बढी वर्षा भइरहेको छ । पश्चिमबाट मध्यसम्म मौसम खुलिसकेको र रातिबाटै विस्तारै मौसम थप खुल्दै जाने तथा केही उच्च पहाडी र हिमाली भेगमा बदली रहने छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराईका भू–भागमा मौसम मूख्यतया सफा रहने बताए ।
उनका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भाग तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
-

एमआरपी र लेबल अनिवार्य गर्न निर्देशन
काठमाडौँ, २६ चैत । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) र स्पष्ट लेबल अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गर्दै सबै सरोकारवालालाई उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो । सूचनाअनुसार विदेशबाट आयात हुने वस्तुमा आयातकर्ताको विवरणसहित एमआरपी उल्लेख भएको लेबल अनिवार्य रूपमा राख्नुपर्नेछ । स्वदेशी उद्योगले उत्पादन गर्ने वस्तुमा मूल्य, ब्याच नम्बर, तौल तथा अन्य आवश्यक विवरण स्पष्ट देखिने गरी लेबलिङ गर्नुपर्नेछ ।विभागले स्पष्ट लेबल नभएका वा एमआरपी उल्लेख नभएका वस्तु बिक्री नगर्न बिक्रेताहरूलाई निर्देशन दिएको छ । लेबलमा उल्लेखित मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको छ । कुनै पनि वस्तु खरिद गर्दा अनिवार्य रूपमा एमआरपी, उत्पादन विवरण र प्रयोगसम्बन्धी जानकारी हेरेर मात्र खरिद गर्न विभागले आम उपभोक्तामा आग्रह गरेको छ ।
-

नागढुङ्गा सुरुङमार्गः सवारी साधनको शुल्क सार्वजनिक
काठमाडौँ, २६ चैतः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।
मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा आज राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो । जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० तोकिएको छ ।
यस्तै मिनी बस, मिनी टिपर÷ट्रकको प्रवेशका लागि रु ११५ र बाहिरिँदा रु ८० तथा बस, ट्रक ९सिङ्गल रियर एक्सल० प्रति सवारीसाधन प्रवेश गर्दा रु २६० र बाहिरिँदा रु २०० शुल्क तोकिएको छ । मल्टी एक्सल ट्रक÷सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० तोकिएको छ ।
-

यस आधारमा रिहा भए अध्यक्ष ओली र नेता लेखक
काठमाडौं, २६ चैतः प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।
काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको राससलाई बताए । गत भदौमा भएको जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा नेपाल प्रहरीले अध्यक्ष ओलीलाई उनको निवास भक्तपुरको गुण्डु र लेखकलाई कटुञ्जेबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो ।अध्यक्ष ओलीलाई उपचार लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा राखिएको थियो । यसबीचमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप भई उहाँहरुलाई हिरासतमा राखिएकामा सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा पछिल्लो थपिएको म्याद अनुसन्धान पूरा गरी मुद्धा दर्ता गर्न वा रिहा गर्न आदेश भएको थियो । अध्यक्ष ओली र नेता लेखकका श्रीमतीहरु क्रमशः राधिका शाक्य र यशोदा लेखकले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
-

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई, २५ वर्षिय रुबीले उच्दैछिन इतिहास
काठमाडौँ, २६ चैत । प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ । उनको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहेका छन् । प्रतिनिधिसभाको उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको छ।
लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही तथा समर्थकमा ताहिर अलि भाट, खुस्बु ओली र भरत गिरी रहेका छन् । ठाकुरको प्रस्तावकमा आरेन राई तथा समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी सङ्ग्रौला रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि २ः०० बजेसम्म सभा कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२) बमोजिमको प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको थियो ।
दर्ता भएका उम्मेदवारीको सूचनालाई दर्ता क्रमअनुसार सूची प्रकाशन गर्न २ः३० बजेको समय तोकिएको छ । उम्मेदवारका प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरी उम्मेदवारीको सूचनामाथि यही चैत २७ गते दिउँसो ४ बजे हुने सभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गरिनेछ । संविधानतः सभाको सभामुख र उपसभामुखमा फरक राजनीति दल र फरक लिङ्गबाट प्रतिनिधित्व हुने व्यवस्था रहेको छ । गत फागुन २१ गतेको निर्वाचनपछि भएको प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत यही चैत २२ गतेको बैठकबाट सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका थिए ।
-

१३ दिनमै पदमुक्त भए श्रममन्त्री साह, के थियो कारण ?
काठमाडौँ, २६ चैत । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार आज साहलाई पदबाट हटाउने निर्णय गर्नुभएको हो । लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएकी स्वास्थ्य बिमा बोर्डको सदस्य रहेकी मन्त्री साहकी श्रीमतिलाई साह मन्त्री भएपछि पदीय मर्यादाको दुरुपयोग गरी पुनः नियमित काममा सक्रिय गराएको भन्दै रास्वपाले बिहीबार नै कारबाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो ।
बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने पार्टीसमक्ष पेस गरेको थियो । रास्वपाले साहको यो गतिविधिबाट पार्टीको छवि, आर्दश, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको निष्कर्षसमेत निकालेको थियो । यसैका आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिए ।
रास्वपाले पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन (राईट टु रिकल) सक्ने व्यवस्था भएकाले मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो ।
साथै पार्टीले यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएकाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेको थियो । त्यसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराइ सकेको जनाइएको छ ।
-

बसको ठक्करबाट युवतीको मृत्यु
चितवन, २६ चैतः माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छिन् । भरतपुरबाट माडी–ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०२०४ नम्बरको बसले पैदलयात्री परियारलाई घर नजिकै ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार ठक्करबाट परियारको घटनास्थलमै ज्यान गएको हो । परियारलाई ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
-

सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
गोलबजार (सिरहा), २६ चैत । यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । नगरप्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ । कुटपिटबाट उनको शरीरका विभिन्न भागमा चोट लागेको र हड्डीसमेत भाँचिएको जनाइएको छ ।
हाल उनलाई विराटनगरमा उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ । सोही घटनामा प्रमुख यादवमाथि अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । पक्राउ पुर्जी जारी भएसँगै यादवको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्न रहेका अर्का आरोपित नगरपालिकाका कर्मचारी रोहित मेस्तर भने पक्राउ परिसकेका छन् ।
-

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते
कञ्चनपुर, २६ चैत । यहाँको कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । आज साँझ करिब ०६ः०५ बजे कृष्णपुर नगरपालिका–१ कुमगडाको भित्री कच्ची सडकमा से१ज २९० नम्बरको जिप अनियन्त्रित भइ अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र सोही स्थानकी ६२ वर्षीया कलावती देवी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपमा चालकसहित आठ जना सवार थिए । दुर्घटनामा चालक २४ वर्षीय अर्जुन साउद गम्भीर घाइते भएका छन् । साउदको टाउको तथा शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । त्यसैगरी ३५ वर्षीया धनसरी बोहरा, १३ वर्षीया सरिता बोहरा, १५ वर्षीया भावना पार्की, १४ वर्षीया रेश्मा घटाल र भिमदत्त नगरपालिका तिल्केनीकी ५० वर्षीया गंगा बिष्ट घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ । घाइतेहरूलाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि धनगढी, कैलाली पठाइएको प्रहरीले जनाएको छ ।
-

वाङ यीको उत्तर कोरिया भ्रमणः चीन–प्योङयाङ सम्बन्ध सुदृढ गर्ने कदम
बेइजिङ, २६ चैत (रासस–एएफपी) । चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ यीले यस बिहीबार उत्तर कोरियाको भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले जनाएको छ । उनको भ्रमण छिमेकी देशहरूबीच रणनीतिक सम्बन्ध सुदृढ गर्ने र द्विपक्षीय सहयोगलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आयोजना गरिएको हो ।
चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र राजनीतिक, कूटनीतिक तथा आर्थिक सहयोगको प्रमुख स्रोत हो । कोभिड–१९ महामारीपछि छ वर्षको अन्तरालपछि पहिलो पटक गत हप्ता बेइजिङ र प्योङयाङबीच प्रत्यक्ष उडान पुनः सुरु भएको छ । मार्चमा राजधानीबीच रेल सेवा पनि पुनः सञ्चालनमा आएको थियो, जसले उत्तर कोरियाले बिस्तारै खुलापन देखाएको सङ्केत दिएको छ ।“शुक्रबारसम्म चल्ने वाङको भ्रमण चीन–उत्तर कोरिया सम्बन्धलाई कायम राख्ने र नयाँ सहयोगका अवसरहरू पहिल्याउने ‘महत्त्वपूर्ण’ कदम हो”, बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार पत्रकार सम्मेलनमा भने । उनले भने, “चीन उत्तर कोरियासँग रणनीतिक संवाद बलियो बनाउन, अनुभव आदानप्रदान र सहयोग वृद्धि गर्न तथा परम्परागत मित्रवत सम्बन्धलाई निरन्तर अघि बढाउन प्रतिबद्ध छ ।” उनले उत्तर कोरियालाई ‘पहाड र नदीले जोडिएको परम्परागत मित्रवत छिमेकी’ का रूपमा वर्णन गरे ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले फेब्रुअरीमा किम जोङ–उनलाई वर्कर्स पार्टीको नेतृत्वमा पुनः निर्वाचित भएकोमा बधाई दिँदै चीन–उत्तर कोरियाको सम्बन्धमा ‘नयाँ अध्याय’ लेख्ने उत्साह व्यक्त गरेका थिए । उनले भने, “विश्वले शताब्दीमा एक पटक आउने परिवर्तनको सामना गरिरहेको छ र हामी यस मित्रता सुदृढ गर्न इच्छुक छौँ ।”
महामारीपछि चीनले आफ्ना सीमाहरू पूर्ण रूपमा खोलेको भए पनि उत्तर कोरियाले सुस्त गतिमा खुलापन देखाएको छ । महामारीअगाडि, चिनियाँ पर्यटकहरू उत्तर कोरियामा विदेशी आगन्तुकहरूको ठूलो हिस्सा बनेका थिए । सन् २०१९ मा करिब तीन लाख ५० हजार पर्यटकले प्योङयाङ भ्रमण गरेका थिए ।उक्त भ्रमणले देशको राजस्वमा महत्त्वपूर्ण योगदान दिएको थियो एनके न्युजले विश्लेषणमा उल्लेख गरेको छ । वाङ यीको भ्रमणले चीन–उत्तर कोरिया सम्बन्धलाई राजनीतिक, आर्थिक र कूटनीतिक दृष्टिले सुदृढ बनाउने अपेक्षा गरिएको छ, जसले क्षेत्रीय स्थिरता र दुवै देशबीचको भरोसापूर्ण सहकार्यमा नयाँ गति थप्नेछ ।
-

संयुक्त राष्ट्रले शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह
संयुक्त राष्ट्र, २६ चैत (रासस–सिन्ह्वा) । लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण इजरायली आक्रमण र हिजबुल्लाहको विस्फोट भएको संयुक्त राष्ट्रले जनाएको छ । संयुक्त राष्ट्र अस्थायी बल लेबनानले (युनिफिल) आफ्नो अनुसन्धानको निष्कर्ष इन्डोनेसिया, इजरायल र लेबनान सरकारसँग साझा गरेको छ ।
संयुक्त राष्ट महासचिवका मुख्य प्रवक्ता स्टेफान डुजारिकका अनुसार, घटनाको प्रारम्भिक भौतिक प्रमाणले यस निष्कर्षमा सङ्केत गरेको छ । उनले पूर्ण अनुसन्धान प्रक्रिया अझै जारी रहेको बताए । प्रवक्ताले भन्नुभयो, “यी घटनाहरू पूर्ण रूपमा अस्वीकार्य छन् । सम्बन्धित पक्षहरूले घटनाहरू राष्ट्रिय निकायमार्फत अनुसन्धान गरी अपराधीहरूलाई न्यायको दायरामा ल्याउनुपर्छ । शान्ति सैनिकमाथि हुने कुनै पनि आक्रमणलाई अन्तर्राष्ट्रिय कानून अनुसार युद्ध अपराधको रूपमा हेरिन सक्छ ।”
उनले सबै पक्षले शान्ति सैनिकहरूको सुरक्षा र युनाइटेड नेसनका भवन तथा कार्यस्थलको अपहरणरहितता कायम राख्नुपर्ने जोड दिए । युनिफिलले अप्रिल २ मा विमानस्थलमा तीन शान्ति सैनिकको जीवन र सेवाको सम्मान गर्दै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो । त्यसपछि उनीहरूको शरीरहरू इन्डोनेसियामा फर्काइएको थियो । ती सैनिकहरूलाई उनीहरूको समर्पित सेवा र योगदानको कदर गर्दै मृत्युपश्चात पदक प्रदान गरिएको छ ।
संयुक्त राष्ट्र महासचिवले घटनाको कडा निन्दा गर्दै मृतक सैनिकहरूको परिवार र इन्डोनेसिया सरकारप्रति गहिरो समवेदना व्यक्त गरे । उनले युनिफिलमा कार्यरत सबै पुरुष र महिलाको साहस र समर्पित सेवाको पनि प्रशंसा गरे । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पनि घटनाको निन्दा गर्दै पीडितहरूको परिवार र इन्डोनेसिया सरकारप्रति समवेदना व्यक्त गरेको छ । परिषदका सदस्यहरूले युनिफिलको पूर्ण समर्थनको पुनः पुष्टि गरेका छन् ।
-

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
काठमाडौँ, २६ चैतः सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर दुई साताका लागि युद्धविराम गर्ने सहमति हुनु पश्चिम एसियाको तनाव घटाउने सकारात्मक कदम भएको बताएको छ । यसले संवाद, कूटनीति र मतभेदको शान्तिपूर्ण समाधानका लागि अवसर सृजना गरेको जनाइएको छ ।
सरकारले युद्धविरामलाई क्षेत्रीय शान्ति र स्थायित्व प्रवद्र्धनतर्फ सकारात्मक पहलका रूपमा लिएको बताउँदै विवादको शान्तिपूर्ण समाधानका हुनुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा द्वन्द्वका कारण उत्पन्न मानवीय प्रभावप्रति चिन्ता व्यक्त गर्दै सर्वसाधारण नागरिकको सुरक्षा र हित सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
सरकारले क्षेत्रीय तथा विश्वव्यापी रूपमा दिगो शान्ति र स्थायित्व प्रवद्र्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय समुदायबाट भइरहेका सबै प्रयासप्रति समर्थन जनाएको छ ।
-

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै
काठमाडौँ, २६ चैतः तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो समस्यामा पर्नुभएको छ भने अब त्यस्ता समस्या बेहोरिरहनु पर्ने छैन । अब त्यो जानकारी तपाईंको मोबाइलमै आइपुग्ने छ । नेपाल प्रहरीले अब मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे ‘फोन वा एसएमएस’बाटै जानकारी दिने भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले अब नागरिकका सेवा प्रभावकारी बनाउन फोन वा एसएमएसबाटै जानकारी दिने व्यवस्था सुरु गरिएको बताए । प्रहरी प्रधान कार्यालयले एक सूचनामार्फत भनेको छ, “मुद्दा दर्ता हुने प्रहरी एकाइहरूसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भएपश्चात् त्यसको प्रगति के भयो र के–कसरी कार्यान्वयन भइरहेको छ भनेर सम्बन्धित सेवाग्राहीहरूले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएसमार्फत सूचना दिने व्यवस्था लागू गरिएको व्यहोरा जानकारी गराउँदछौँ ।” यसरी जानकारी दिँदा सेवाग्राहीहरू प्रहरी कार्यालयमा आउनु नपर्ने भएकाले समयको बचत हुने प्रहरीको निष्कर्ष छ ।
-

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
काठमाडौँ, २६ चैतः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी केही संस्थागत विद्यालयहरूले प्रचलित कानुन तथा सम्मानित सर्वोच्च अदालतको आदेशविपरीत हुनेगरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्ने गरेको गुनासो आएकाले उक्त रकम फिर्ता गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले भनेको छ, “कारबाही प्रक्रियाका सम्बन्धमा यस मन्त्रालयको मिति २०८२–१२–२२ गतेको प्रेस विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई र मूलतः सबै स्थानीय तहहरूलाई अनुरोध गरिसकिएको छ, तथापि केही संस्थागत विद्यालयबाट अझै पनि कानुनविपरीत शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको सन्दर्भमा शिक्षा ऐन (संशोधनसहित), २०२८ को दफा १६ घ ९६० बमोजिम गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देश गरिन्छ ।”
मन्त्रालयले कुनै पनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको दफा १६ घ (७) को प्रावधान तथा अन्य प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाउन पर्ने अवस्थामा गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय तहहरूबाट आवश्यक समन्वयका लागि पनि अनुरोध गरेको छ ।
साथै, मन्त्रालयले विद्यार्थीको शुल्कसम्बन्धी सिकायत एवम् गुनासोको ‘रिपोर्टिङ’ तथा सहजीकरण प्रयोजनका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा ‘सहायता कक्ष’ स्थापना गरिएकाले सोही कक्षमा फोन गरी थप सहायता प्राप्त गर्न सकिने र सम्पर्क व्यक्ति निर्देशक निमप्रकाश सिंह राठौर (फोन ९८५१२१४६३८ लाई सम्पर्क गर्न सूचित गरेको छ ।
-

आज पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २६ चैतः हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने, बाँकी पहाडी भागमा आंशिक बदली रहने तथा तराई भेगमा मुख्यतया मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा अन्य हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ । वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
-

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध
मध्यविन्दु (नवलपरासी), २६ चैतः वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्डमा हिलो र चिप्लो हुँदा दाउन्ने खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो ।
दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई सवारी साधान सडक ‘फसे’काले आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । बुधबार दिउँसोदेखि परेको वर्षाले सडक हिलो र चिप्लो हुँदा सवारीको जाम लागेको छ ।“हिजो दिउँसोदेखि लगातार सिम–सिम पानी परिरहेकाले दाउन्ने उकालोमा गाडी चिप्लिएर गुड्न समस्या भइरहेको छ, हिलो बाटोमा सवारीसाधन फसेर समस्या भएको छ”, उनले भने, “मालवाहक सवारीसाधनलाई अहिले अरुणखोला क्षेत्रमा नै रोकिएको छ ।”
दाउन्ने खण्डमा वर्षाले सवारी आवागमनमा समस्या भए पछि अहिले ‘ग्राभेल’ हालेर मर्मतको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।
-

जुम्लामा एम्बुलेन्स दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते
जुम्ला, २५ चैतः जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज राति ८ बजेतिर दुर्घटना हुँदा एम्बुलेन्स चालक हिमा गाउँपालिका–७ मर्चीगाउँका २६ वर्षीय शक्ति शाही र सोही गाउँपालिका–६ पाथरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञवालीले जानकारी दिए । दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका र दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी ज्ञवालीले बताए ।
-

खाडी द्वन्द्व शान्तिका लागि अमेरिका–इरान वार्ता पाकिस्तानमा
इस्लामाबाद, २६ चैत (रासस–एएफपी) । पाकिस्तानले अमेरिका र इरानबीच भएको युद्धविरामपछि थप वार्ताका लागि दुवै देशका प्रतिनिधिमण्डललाई शुक्रबार इस्लामाबादमा स्वागत गर्ने भएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुवै देशका नेतृत्वप्रति आभार व्यक्त गर्नुभयो र सबै विवाद समाधानका लागि अन्तिम सहमति गर्न वार्ता आवश्यक रहेको बताए । हालका हप्ताहरूमा पाकिस्तान इरान र अमेरिकाबीच सन्देश आदानप्रदान गर्ने महत्वपूर्ण माध्यमको रूपमा उदाएको छ । अमेरिका र इरानसँग सम्बन्ध सन्तुलित राख्दै आएको पाकिस्तानले शान्ति पहलमा सक्रिय भूमिका खेलेको देखिएको छ ।
प्रधानमन्त्री शरीफले इस्लामाबाद वार्ता सफल भई दीर्घकालीन शान्ति स्थापना हुने आशा व्यक्त गरेका छन् । तेहरान र वासिङ्टनले युद्धविराममा सहमति जनाउनु अघि तीव्र तनावको अवस्था रहेको थियो । अमेरिकी समयसीमा समाप्त हुनुअघि अन्तिम क्षणमा दुवै पक्ष युद्धविराममा सहमत भएका थिए ।
यो द्वन्द्व फेब्रुअरी २८ मा सुरु भएको थियो, जब इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेका थिए । त्यसपछि इरानले खाडी क्षेत्रका देशहरू र इजरायलमाथि प्रतिआक्रमण सुरु गरेको थियो । यस द्वन्द्वमा लेबनान पनि तानिएको छ । इरान समर्थित समूहले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले लेबनानमा हवाई तथा स्थलगत कारबाही बढाएको छ ।
पाकिस्तानका अनुसार, युद्धविराम लेबनानसहित सबै क्षेत्रमा लागू हुने अपेक्षा गरिएको छ । तर इजरायलले भने उक्त क्षेत्रमा आफ्नो कारबाही जारी राख्ने सङ्केत दिएको छ । यो अस्थायी युद्धविराम पाकिस्तानसहित अन्य मध्यस्थकर्ताहरूको प्रयासपछि सम्भव भएको हो। यसअघि अमेरिकाले इरानका पूर्वाधारहरूमा व्यापक आक्रमण गर्ने चेतावनी दिएको थियो, जसलाई केही कानुनविद्हरूले सम्भावित युद्ध अपराधको रूपमा व्याख्या गरेका थिए ।
हालैका दिनहरूमा टर्कीए, इजिप्ट, चीन, साउदी अरब र कतारले पनि मध्यस्थतामा सहयोग पुर्याएका छन् । पाकिस्तानले क्षेत्रीय शान्ति र स्थिरताका लागि खाडी राष्ट्रहरूको प्रतिबद्धताको प्रशंसा गरेको छ । इरानसँग करिब ९०० किलोमिटर सीमा जोडिएको पाकिस्तानमा ठूलो शिया मुस्लिम जनसङ्ख्या रहेको छ । साथै, अमेरिकासँगको सम्बन्ध पनि सन्तुलित रूपमा कायम राख्दै आएको पाकिस्तान अहिले दुवै पक्षबीच वार्ताका लागि उपयुक्त मध्यस्थकर्ताको रूपमा देखिएको छ ।
-

सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
काठमाडौँ, २६ चैत । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ । वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ ।
विभागमा आज साँझ प्राप्त अभिलेखअनुसार केही जिल्लामा भारीउन्मुख वर्षा भएको छ । साँझ पौने ७ बजेको मापनअनुसार आज पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा डडेलधुरामा ४६.६ मिलिमिटर र डोटीमा ४२.२ मिलिमिटर वर्षा भएको छ । यो भारीउन्मुख वर्षा हो । यस्तै काठमाडौँमा १३, ललितपुरमा १२ र भक्तपुरमा ८ मिलिमिटर वर्षा भएको छ ।
पछिल्लो ३ घण्टामै डडेलधुरामा ३० मिलिमिटर वर्षा भइसकेको छ । यस्तै धनकुटामा १५ मिलिमिटर, सुर्खेतमा १९, डोटीमा १३, गोरखामा ११ं, मिलिमिटर वर्षा भएको छ । अहिले पनि धेरै जिल्लामा वर्षा जारी छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बदली भोलि पनि कायम रहने र ठाउँठाउँमा वर्षा हुने जनाइएको छ । बिहीबार रातिदेखि भने बदली कमजोर हुँदै जाने विभागले जनाएको छ ।
बिहीबार कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने र कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित मध्यमवर्षा–हिमपातको सम्भावना रहेको जनाइएको छ ।
-

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक, के भयो छलफल ?
काठमाडौँ, २५ चैतः संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक सल्लाहकार एवं कार्यदलको संयोजक प्रमुख असिम साहको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरेकामा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ । बैठकमा उठेका विषयहरू र राजनीतिक दलहरूको लिखित धारणा सङ्कलन गरी संविधान संशोधनका मुद्दा पहिचान गर्ने र कार्यदलको आगामी कार्ययोजना तयार गरी प्रस्तुत गर्ने जिम्मा प्रधानमन्त्री कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीलाई दिइएको छ ।
कार्यदलले संविधान संशोधनसम्बन्धी विषयलाई बृहत् रूपमा अघि बढाउने लक्ष्य राखेको संयोजक साहले जानकारी दिए । उनले संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित हुने बताए । संयोजक साहले नेपालको संविधानको धारा २७४ ले संशोधनसम्बन्धी स्पष्ट प्रावधान गरेको उल्लेख गर्दै सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा जनतामा नीहित सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न नसकिने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारे ।
साहले मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न बहसपत्र तयार गर्ने निर्णय भएको स्मरणसमेत गराए । सोही निर्णयअनुसार चैत १६ गते उहाँको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । संयोजक साहका अनुसार संविधान संशोधनलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अघि बढाउन सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गरिएको छ । निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक प्रतिनिधित्व, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार तथा प्रदेश संरचनाको सुधारजस्ता विषयमा व्यापक छलफल गरी अघि बढ्ने उनको भनाइ छ ।प्रधानमन्त्रीका तर्फबाट सबै राजनीतिक दल तथा नागरिकलाई विश्वास दिलाउँदै सरकार सबै पक्षसँग संवाद गरेर सहमतिका आधारमा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । बैठकमा सहभागी सबैपक्षले खुला रूपमा बहस गर्दै जिम्मेवारीलाई तार्किक निष्कर्षमा पु¥याउने विश्वास आफूले लिएको साहले बताए । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य मोहन आचार्य, नेकपा (एमाले) बाट डा भीष्मनाथ अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टी नेपालबाट डा सुरेन्द्रकुमार झा, लोकतान्त्रिक समाजवादी पार्टीबाट डा आभास लाभ र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल बैठकमा सहभागी थिए ।
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगका सचिव इन्दिरा दाहालको पनि उपस्थिति थियो । रास्वपाका आचार्यले संविधानका दोहोरिएका बाझिएका विषय हटाउनुपर्ने राय व्यक्त गरे । उनले संविधानलाई लचक बनाएर सुधार गर्नुपर्ने, प्रत्यक्ष कार्यकारी, पूर्ण समानुपातिक प्रणालीजस्ता एजेन्डामा छलफल गर्न तयार गर्ने विचार व्यक्त गरे । एमालेका डा अधिकारीले पार्टीभित्र पर्याप्त छलफल नभएकाले हतार नगर्न आग्रह गरे ।अन्तरराष्ट्रिय अभ्यास अध्ययन आवश्यकता र विज्ञ एवं सरोकारवालासँग व्यापक छलफल गर्नुपर्ने बताए । नेकपा नेता गुरुङले सहमति भएका वा नभएका दुवै विषय बहसमा ल्याउनुपर्ने र संवैधानिक प्रक्रिया पूरा गरेर मात्र संशोधन अघि बढाउन सुझाव प्रस्तुत गरे । उनले विज्ञ, न्यायाधीश, कानुनविद् समावेश गर्नुपर्नेमा जोड दिए । श्रम संस्कृति पार्टीका राईले संशोधनलाई अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने र जनतासँग प्रत्यक्ष सम्बन्धित विषय प्राथमिकता दिए ।
राप्रपाका शाहीले हिन्दू राज्य, राजतन्त्र, प्रदेश संरचनाजस्ता विषय छलफलमा ल्याउनुपर्ने र राष्ट्रियताका विषयमा गम्भीर बहस आवश्यकता औँल्याए । जसपा नेपालका डा झाले हतार नगरी गम्भीर रूपमा अघि बढ्नुपर्ने राय राख्दै विज्ञ, नागरिक समाज, विभिन्न समूहसँग छलफल आवश्यकता औँल्याए । लोसपाका डा लाभले संशोधनले मौलिक हक कार्यान्वयनयोग्य बनाउनुपर्ने र मधेस आन्दोलनका मुद्दा समेट्नुपर्ने धारणा राखे । त्यसका लागि निष्पक्ष विज्ञ टोली बनाएर समस्या पहिचान गर्नुपर्ने उनको भनाइ थियो । राष्ट्रिय जनमोर्चाका पौडेलले दीर्घकालीन प्रभाव हेरेर संशोधन गर्नुपर्ने बताए । उनले प्रदेश खारेज गरी दुई तहको सङ्घीयता प्रस्तावका विषयमा राय व्यक्त गरे ।
-

ललितपुरको पाटनमा खुला स्थानमा चक्कु प्रहार, दुई युवाको हत्या
२५ चैत, काठमाडौं । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजु भाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई बी एण्ड बी अस्पताल लगिएको थियो । उनीहरूको उपचारककै क्रममा निधन भएको ललितपुर प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्ने २ जना प्रहरीको फन्दामा परिसकेका छन् । प्रहरीका अनुसार बुधबार साँझ नेम्बाङ दाजु भाइले फोन गर्दा सञ्जीवको मोबाइलमा परेको पाइएको छ । उनीहरू एक आपसमा अपरिचित थिए । नचिनेको नम्बरबाट फोन आएपछि फोनमै भनाभन भयो ।
फोनमा विवाद बढ्दै गएपछि सञ्जीवले नेम्बाङ दाजु भाइलाई पाटन भेट्न बोलाए । उनीहरु इमाडोल बस्ने गरेको पाइएको छ । सञ्जीव मासु पसलमा काम गर्ने गरेको समेत प्रहरी अनुसन्धानमा खुलेको छ । हतियारले प्रहार गरी दाजुभाईलाई घाइेत बनाएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
-

दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौँ, २५ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम यही चैत २७ गते शुक्रबारका दिन १५ः०० बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । राष्ट्रपतिले दुवै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान पनि गरेका छन् ।
-

सार्वजनिक र मालवाहक सवारी साधनको भाडा बड्यो
काठमाडौँ, २५ चैतः सरकारले सार्वजनिक सवारी र मालवाहक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई सार्वजनिक यातायातको भाडा बढाउन सहमति दिएको थियो ।
इन्धनको मूल्य बढेसँगै पटकपटक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक र मालवाहक सवारीसाधनको भाडा समायोजन गर्न माग गर्दै आएको थियो । यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिंह राईले भाडा समायोजनका विषयमा मन्त्रालयबाट स्वीकृत प्राप्त भएकाले सहमतिका आधारमा भाडा समायोजन गरिएको बताए । विभागले विभिन्न १३ सूचकलाई आधार मानेर भाडा बढाएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले महासङ्घको अनुरोधमा आज सरकारले सार्वजनिक र मालवाहक सवारी साधनको भाडा समायोजन गरेको जानकारी दिए । सरकारले यात्रुवाहक सवारीको १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनका लागि २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनको १५.७५ प्रतिशत भाडा समायोजन गरेको वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाइ छ । नयाँ भाडादर कार्यान्वयनमा आएसँगै सर्वसाधारणको दैनिक यात्रा र उपभोग्य वस्तुको मूल्यमा प्रभाव पर्न सक्ने देखिएको छ ।
-

मन्त्रीहरूलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का विषयमा जानकारी
काठमाडौँ, २५ चैत । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रस्तुती दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुती दिनुभएको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
सचिव राईले अन्तरराष्ट्रिय परिवेश, नेपालको अन्तरराष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुती दिएका थिए । उनले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी गराए ।
नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूलाई उहाँले विशेष जोड दिए । साथै, विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुती गरिएको थियो ।
-

विदेशमा रहँदै देउवा दम्पत्तिविरुद्ध पक्राउ पूर्जी जारी, अब के हुन्छ प्रक्रिया ?
२५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। देउवा दम्पती र उनीहरूको परिवारको अस्वाभाविक कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।
पक्राउ पूर्जी जारी हुँदा देउवा दम्पती नेपालमा भने छैनन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पत्ति उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरु ७ चैतमा हङकङ गएका छन् । यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरु फर्केका थिए ।
अहिले भने १४ फागुनमा देश छाडेका उनीहरु एक महिना ११ दिन बित्दा समेत नेपाल फर्केका छैनन् । पक्राउ पूर्जी जारी भए पनि देउवा दम्पती देश बाहिर रहेकाले अब इन्टरपोलमार्फत नेपाल ल्याउन प्रहरीले पत्राचार गर्ने तयारी रहेको समेत बताइएको छ । प्रहरी स्रोतका अनुसार यसका लागि अदालती कागजात चाहिन्छ ।
‘अदालती कागजात इन्टरपोलले माग्छ । अब नोटिसका लागि बाटो खुलेको बताइएको छ । इन्टरपोलमार्फत नोटिस जारीका लागि प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले प्रक्रिया अघि बढाउने गर्छ । नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । यसरी पक्राउ परेको अवस्थामा कानूनी प्रक्रिया पूरा गरेर उनीहरुलाई नेपाल ल्याउन सकिनेछ ।उनीहरु बाहिर रहेकै बेला बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काम भएको थियो । तर प्रशासनले आदेश दिएपछि देउवाको घर भत्काउने काम समेत रोकिएको छ । प्रमाण नष्ट हुनसक्ने भन्दै देउवाको घर भत्काउन रोक लगाइएको हो । पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरण संकलन र अनुसन्धान भइरहेको बताइएको छ । शेरबहादुर देउवाका नातेदार प्रदीपशम्सेर जबरा, भूषण राणा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भइरहेको छ ।
-

प्रधानमन्त्रीले गरे राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग सामूहिक छलफल
काठमाडौँ, २५ चैतः प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूले आज सामूहिक शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँहरूले प्रधानमन्त्री शाहसँग भेट र संवाद गरेका छन् । सो अवसरमा भारत, पाकिस्तान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत एवं नियोग प्रमुखहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई ज्ञापन गर्दैै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । उनीहरुलाई नेपाली जनताको हितमा परिणाम दिनेगरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता वक्त गरेका थिए । सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल स्पष्ट रहेको बताउँदै प्रधानमन्त्री शाहले छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाइने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री शाहले शान्ति सबैको साझा प्राथमिकता हुनुपर्नेमा जोड दिँदै विश्वभर रहेका नेपाली समुदाय एवं श्रम गर्न गएका सबै नेपाली नागरिकको सुरक्षा र हित नेपाल सरकारको उच्च प्राथमिकतामा रहने स्पष्ट पारे । सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकार दृढ प्रतिबद्ध रहेको उनले भनाइ छ । सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
