Category: समाचार

  • सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

    सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

    काठमाडौँ, २३ चैतः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सबै रोजगारदातालाई आग्रह गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलगायत विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकले न्यूनतम पारिश्रमिक तथा अन्य सुविधा नपाएको भन्दै मन्त्रालयमा उजुरी तथा गुनासो आउने गरेको जनाएको छ । यसप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रचलित कानुनअनुसार श्रमिकका अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न सबै रोजगारदातालाई आग्रह गरेको हो ।

    मन्त्रालयले श्रम ऐन, २०७४ अनुसार काममा लगाइएका व्यक्तिलाई न्यूनतम पारिश्रमिक, बिरामी बिदा तथा उपदान, सञ्चयकोष, बिमालगायतका सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको हो । साथै न्यूनतम पारिश्रमिकलगायतका सुविधाबाट वञ्चित गराइएको पाइएमा कानुनअनुसार कारबाही हुने चेतावनी दिँदै मन्त्रालयले सम्बन्धित निकाय, संस्था तथा सरोकारवालालाई कानुनको पालना गर्न अपिल गरेको छ ।

  • मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आह्वान

    मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आह्वान

    काठमाडौँ, २३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकका लगानीकर्तालाई मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीलत निवासमा आज गैरआवासीय नेपाली सङ्घका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा अन्तरराष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा बढाउन आग्रह गरे ।


    राष्ट्रपति पौडेलले भने, “नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ, भारत र चीनजस्ता विश्वकै ठूलो जनसङ्ख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन्, यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित हुनुपर्दछ ।”

    भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट मुलुकको विषम र जटिल परिस्थितिले एउटा निकास पाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अब मुलुकमा सुशासनको माध्यमबाट सामाजिक न्यायसहितको विकास र समृद्धितर्फ अग्रसर हुन जनताले मतादेश दिएको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई अङ्गिकार गरेर अघि बढ्नुपर्ने खाँचो औँल्याएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम अघि बढेको उल्लेख गर्दै त्यसमा गैर आवासीय नेपाली सङ्घले आफ्नोतर्फबाट सहयोग गर्ने नै छ भन्ने विश्वास व्यक्त गरे ।

    उनले गैरआवासीय नेपाली विश्वसम्मेलनबाट भर्खरै निर्वाचित अध्यक्ष, पदाधिकारीलगायत सबैलाई हार्दिक बधाई दिँदै यो समितिले संसारभर रहेका सबै गैरआवासीय नेपालीलाई समेटेर यो संस्था सबैको साझा संस्था हो भन्ने भावना जागृत गराउन सफल होस् भन्ने शुभकामना पनि दिए । सो अवसरमा सङ्घका नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्माले संघका गतिविधि र भावी योजनाबारे प्रकाश पारेका थिए ।

  • हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

    हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

    काठमाडौँ, २३ चैत । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ । हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायको समन्वयमा हुलाकबाट हुने कुरियरका लागि ‘एक्सप्रेस वे’ प्रयोग गर्ने व्यवस्था मिलाइएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले राससलाई जानकारी दिए ।

    “हुलाक वस्तु द्रुतमार्गबाट जाँदा बढी सुरक्षित र भरपर्दो हुन्छ । हामीले यसका लागि लामो समयदेखि प्रयास गरिरहेका थियौँ । पछिल्लो समय मन्त्रालयबाट पनि चासो र निर्देशन आएपछि यो कार्यान्वयन प्रक्रिया अघि बढेको हो”, उनले भनिन् । महानिर्देशक पङ्गेनीका अनुसार अब हुलाक कुरियरका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘डेडिकेटेड’ जाँचपास प्रणाली बनाइनेछ ।

    त्यस्तै, सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने व्यवस्था मिलाइएको उनले बताइन् । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि समेत सार्वजनिक बिदाको दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो।

    अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउन प्रक्रिया थालेको हो ।

    भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सार्वजनिक बिदामा पनि हुलाक वस्तु जाँचपासका लागि कार्यालयलाई निर्देशन दिइसकेको बताए । सञ्चार मन्त्रालयको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागलाई पत्राचार गर्दै सार्वजनिक बिदाको दिन पनि गोश्वारा हुलाक कार्यालयस्थित भन्सारमार्फत सेवा प्रवाहका लागि आग्रह गरेको थियो । सोहीअनुसार भन्सार विभागले निर्देशन दिइसकेको महानिर्देशक भण्डारीले बताए ।

    पछिल्लो समय हुलाकमार्फत कुरियर गर्नेक्रम बढ्दो छ । नेपालबाट विदेश पठाइने र विदेशबाट नेपाल आउने वस्तुलाई चाँडो, सुरक्षित र भरपर्दो बनाउन विभागले निरन्तर सुधारका काम गरिरहेको महानिर्देशक पङ्गेनीको भनाइ छ । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुक पोस्टलगायत वस्तु विदेशबाट आएका थिए । त्यस्तै निर्यात भएका यस्ता वस्तुको सङ्ख्या ११ हजार ७०० हाराहारी छ । जसबाट रु २९ लाख चार हजार हाराहारी भन्सार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

    हुलाकबाट हुने कुरियर सेवाका लागि द्रुतमार्ग सञ्चालन गर्ने तथा सार्वजनिक बिदाको दिन कार्यालय सञ्चालन गर्दा नागरिकले सहज सेवा पाउनेमात्र नभई कार्यालयको व्यवसाय र नतिजा प्राप्ति दुवैमा सकारात्मक प्रभाव देखिने अपेक्षा गरिएको छ ।

  • सुजनले चौथोपटक जिब्रो छेड्ने

    सुजनले चौथोपटक जिब्रो छेड्ने

    भक्तपुर, २३ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिए । नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउएका बोडेका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले तीन वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका र यस वर्ष पनि आफैँले जिब्रो छेडेर जात्रा मनाउने उनले बताए ।

    कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएकामा तीन वर्र्षदेखि बुद्धकृष्णका कान्छा छोराले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएकामा यस वर्ष चौथोपटक जिब्रोे छेडाएर जात्रालाई निरन्तरता दिने भएका हुन् ।


    जात्राका कर्मी नायोसमेत रहेका कृष्णचन्द्र बाग श्रेष्ठले चार सय वर्ष अगाडिदेखि यो जात्रा चल्दै आएको र अहिलेसम्म कुनै पनि परिस्थितिमा यो जात्रा नरोकिएको बताए । जात्राका लागि चार दाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताए ।

    यसअघि नौपटक जिब्रो छेडाएर जात्रा चलाएका उनले जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने बताए । सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दा अगाडि हजारौँले जयजयकार गरेको देख्दा आफूलाई कहिले जिब्रो छेडौजस्तो लाग्ने गरेको बताउँदै सुजनले पहिलोपटक जिब्रो छेड्दा उत्साह र उमङ्गले दुखाइसमेत याद नभएको बताए ।

    पहिला जिब्रो छेड्ने मानिसको कमी हुने गरे पनि यस वर्ष भने चार जना युवाले जिब्रो छेड्न रहर गरेको बताउँदै उहाँले आफूले सक्ने भएसम्म जिब्रो छेडेर जात्रा सञ्चालन गर्ने बताए । सुजनले भने, “बुबाले जिब्रो छेडाउँदा मसँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो, सबैले जयजयकार गरेको देख्दा निकै रहर लाग्थ्यो, रहर पूरा गरेर यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महाद्धीप बोकेर बोडे देश घुम्नेछु ।”

    बुद्धकृष्णले भने, “मैले जिब्रो छेडाउँदा सानैदेखि छोरासंँगै हुन्थ्यो, यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्थ्यो, त्यसैले यस वर्ष उसले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछ, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरू तयार हुनुपर्छ ।” जात्राअघि चैत २८ गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा रहेको उनी बताउँछन् ।


    जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म बोडेका १३ जनाबाट निरन्तर १०९ वर्ष जिब्रो छेड्को रेकर्ड रहेको छ ।

  • इरानभित्र ‘दोस्रो एयरम्यान’लाई उद्धार गरिएको ट्रम्पको दाबी

    इरानभित्र ‘दोस्रो एयरम्यान’लाई उद्धार गरिएको ट्रम्पको दाबी

    तेहरान, २३ चैत (रासस\एएफपी) । मध्यपूर्वमा चर्किंदो युद्धका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभित्र खसालिएको दोस्रो अमेरिकी एयरम्यानलाई सफलतापूर्वक उद्धार गरिएको दाबी गरेका छन् । उनले उक्त अपरेसनलाई अमेरिकी सैन्य इतिहासकै ‘सबैभन्दा साहसी खोजी तथा उद्धार अभियानमध्ये एक’ भन्दै उल्लेख गरे ।

    ट्रम्पका अनुसार एयरम्यान शत्रु नियन्त्रणमा रहेको कठिन पहाडी क्षेत्रमा फसेका थिए र उनीमाथि खोजी अभियान चलिरहेको अवस्थामा अमेरिकी सेनाले उच्च जोखिम मोलेर उद्धार गरेको हो । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत एयरम्यान घाइते भए पनि सुरक्षित अवस्थामा रहेको जानकारी दिए । यसअघि अर्को एक पाइलटलाई पनि उद्धार गरिएको तर दोस्रो अभियान प्रभावित नहोस् भनेर सार्वजनिक नगरेको उनले स्पष्ट पारे ।


    यस घटनासँगै क्षेत्रीय तनाव थप चर्किएको छ । ट्रम्पले इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न वा ‘गम्भीर परिणाम’ भोग्न चेतावनी दिएको भोलिपल्टै उद्धारको घोषणा आएको हो । सोही क्रममा इरानले बहराइन, इजरायल, कुवेत र अबु धाबीमा मिसाइल तथा ड्रोन आक्रमण गरेको बताइएको छ । इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी उद्धार प्रयाससँग सम्बन्धित आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । इरानले आफ्नो सेनाले विमान खसालेको दाबी गरे पनि अमेरिकी प्रशासनले त्यसबारे औपचारिक पुष्टि गरेको छैन ।

    फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायलको आक्रमणपछि फैलिएको युद्धले अहिले मध्यपूर्वका धेरै देश समेट्दै विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको छ । इरानले रणनीतिक रूपमा महत्त्त्वपूर्ण स्ट्रेट अफ होर्मुजमा अवरोध सिर्जना गर्दै इजरायल र खाडी क्षेत्रका देशहरूमाथि आक्रमण जारी राखेको छ ।उता, इरानभित्र पनि अमेरिका–इजरायलका हमलाहरूले औद्योगिक तथा ऊर्जा संरचनामा ठूलो क्षति पु¥याएका छन् । खुजेस्तान प्रान्तको पेट्रोकेमिकल केन्द्रमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    राजनीतिक रूपमा पनि दुवै पक्षबीच कडा शब्दयुद्ध जारी छ । ट्रम्पले ‘समय सकिँदै गएको’ चेतावनी दिँदै इरानमाथि दबाब बढाएका छन् भने इरानी सैन्य नेतृत्वले त्यसलाई अस्वीकार गर्दै उल्टै कडा प्रतिक्रिया जनाएको छ । जनरल अली अब्दुल्लाह अलीआबादीले अमेरिकी चेतावनीलाई असन्तुलित र अविवेकी कदम भन्दै ‘नरकका ढोका खुल्ने’ चेतावनी दिए ।


    यसैबीच, पाकिस्तानले युद्ध अन्त्यका लागि मध्यस्थता प्रस्ताव गरेको छ र कूटनीतिक पहल सुरु भएको सङ्केत देखिएको छ । तर मैदानमा हिंसा घट्ने कुनै स्पष्ट सङ्केत देखिएको छैन । बहराइनमा ऊर्जा भण्डारण ट्याङ्कीमा ड्रोन आक्रमणबाट आगलागी भएको छ भने अबु धाबीको पेट्रोकेमिकल संरचनामा पनि क्षति पुगेको छ । लेबनानमा इरान समर्थित हिजबुल्लाहले इजरायली युद्धपोतलाई लक्षित गरी क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ, यद्यपि इजरायलले त्यसको पुष्टि गरेको छैन । दक्षिणी लेबनानका बासिन्दाहरू निरन्तर बमबारीबीच भयभीत अवस्थामा जीवन बिताइरहेका छन् । स्थानीयवासीहरूले रातभर गोलाबारी नरोकिने र सुत्न नसकिएको बताएका छन् ।

    इरानको बुशहर आणविक संयन्त्र नजिकै भएको आक्रमणले थप चिन्ता बढाएको छ । उक्त घटनामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने रुसले त्यहाँ कार्यरत आफ्ना १९८ कामदारहरू फिर्ता बोलाउने निर्णय गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले निरन्तर आक्रमण जारी रहे रेडियोधर्मी जोखिम फैलिन सक्ने चेतावनी दिनुभएको छ, जसको असर खाडी क्षेत्रका देशहरूमा समेत पर्न सक्ने बताइएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले विकिरण स्तर नबढेको जनाएको भए पनि पछिल्ला आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । पूर्व प्रमुख मोहम्मद एल–बरादेईले खाडी राष्ट्रहरूलाई क्षेत्रलाई थप विनाशबाट जोगाउन सक्रिय भूमिका खेल्न आह्वान गरे ।


    युद्धकै पृष्ठभूमिमा इरानभित्र आन्तरिक दमन पनि तीव्र भएको छ । सरकारले विरोध प्रदर्शन दबाउँदै दुई जनालाई मृत्युदण्ड दिने घोषणा गरेको छ भने इन्टरनेट सेवा अवरुद्ध गरिँदा यो देशको इतिहासकै सबैभन्दा लामो ब्ल्याकआउट बनेको बताइएको छ । समग्रमा, सैन्य कारबाही, कूटनीतिक चेतावनी र मानवीय सङ्कट एकसाथ गहिरिँदै जाँदा मध्यपूर्वको अवस्था झन् जटिल र अस्थिर बन्दै गएको देखिएको छ ।

  • आक्रमणमा परेका ऊर्जा सुविधाहरूको मर्मत गर्न ‘लामो समय लाग्ने’ ओपेक प्लसको भनाइ

    आक्रमणमा परेका ऊर्जा सुविधाहरूको मर्मत गर्न ‘लामो समय लाग्ने’ ओपेक प्लसको भनाइ

    भियना, २३ चैत (रासस–एएफपी) । हालैका आक्रमणहरूमा क्षति भएका ऊर्जा सुविधाहरूको मर्मत गर्नु ‘विशाल धनराशी खर्च हुने र लामो समय लाग्ने पेट्रोलियम पदार्थ उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेक प्लसले आइतवार चेतावनी दिएको छ । यसले गर्दा भविष्यमा विश्वव्यापी तेल आपूर्तिमा असर पार्न सक्छ। “ओपेक प्लसले ऊर्जाको निर्बाध प्रवाह सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षाको विशेष महत्त्व रहेको पनि सङ्गठनले बताएको छ । पूर्वाधारमा इरानको आक्रमण र स्ट्रेट अफ होर्मुजमा ट्याङ्करहरूको बिरूद्ध धम्कीले खाडी क्षेत्रबाट निर्यातलाई नराम्ररी प्रतिबन्धित गरेको छ।

    प्रमुख तेल उत्पादकहरू साउदी अरब र रुस सम्मिलित सङ्गठन ओपेक प्लसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानमा अमेरिका–इजरायल युद्धको बीचमा विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिको प्रतिक्रियामा के उत्पादन क्षमता परिवर्तन हुन सक्छ भन्ने बिषयमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन ।
    इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट तनावग्रस्त मध्यपूर्वका कारण विश्व बजारमा इन्धनको मूल्यमा भारी वृद्धि भएको छ ।

  • मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

    मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

    बेइजिङ, २३ चैत (रासस–एएफपी) । चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा जारी द्वन्द्वका कारण देखिएको ‘तनाव न्यूनीकरण’ गर्न आफू मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभलाई फोन गरेर ‘चीन र रुस’ले अन्तर्राष्ट्रिय प्रमुख सिद्धान्तका विषयमा निष्पक्षता कायम गर्नुपर्ने बताएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले आफ्नो समाचारमा उल्लेख गरेको छ। वाङले भने, “मध्यपूर्वमा स्थिति थप बिग्रँदै गएको छ र लडाइँ बढिरहेको छ ।”

    उनले फेब्रुअरी २८ देखि सुरु भएको इरानविरुद्ध अमेरिका–इजरायल आक्रमणपछि सुरु भएको लडाइँलाई ’तत्काल युद्धविराम’ गर्न चीनले आह्वान गरेको पनि दोहोर्याए । “संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मारुससँग सहकार्य जारी राख्न, प्रमुख मुद्दामा तत्काल संवाद गर्न चीन इच्छुक छ,” चिनियाँ विदेशमन्त्री वाङलाई उद्धृत गरी सिन्ह्वाले जनाएको छ । बेइजिङ र मस्को घनिष्ठ आर्थिक र राजनीतिक साझेदार हुन् र रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि उनीहरूबिचको सम्बन्ध थप प्रगाढ भएको छ।

  • सिसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

    सिसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

    दोधारा चाँदनी (कञ्चनपुर), २३ चैत । कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सिसी क्यामेरा’बाट कक्षाकोठाको निगरानी गरिएको छ । शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने तथा अनुशासन कायम गर्ने उद्देश्यले क्यामेरा जडान गरेर प्रधानाध्यापकको कार्यकक्षबाटै कक्षाकोठाको निगरानी गर्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले जानकारी दिए । पालिकाको सहयोगमा विद्यालयमा सिसी क्यामेराबाट कक्षामा शिक्षक र विद्यार्थीबीच हुने गतिविधि प्रत्यक्ष अनुगमन गर्न सकिने भएको विद्यालयले जनाएको छ ।

    “ससाना कामका लागि कक्षाकोठा चहार्नु पर्दैन प्रधानाध्यापककै कक्षाकोठाबाट निगरानी गर्न सकिन्छ”, उनले भने, “विद्यालयका २४ क्यामेरा र माइक राखिएका छन् ।” उनका अनुसार क्यामेरा जडानपछि कक्षाकोठामा अनुशासन बढेको र सिकाइ वातावरण थप व्यवस्थित भएको छ । “कक्षामा हुने गतिविधि सहजै अवलोकन गर्न सकिने भएकाले शिक्षण प्रक्रिया अझ प्रभावकारी भएको छ”, उनले भने, “शिक्षक नभएको अवस्थामा प्रअको कार्यकक्षबाटै विद्यार्थीहरुलाई कक्षाकार्य दिने गरेका छौँ ।”

    उनले अहिलेको प्रविधिसँग विद्यार्थीलाई जोड्न सके शिक्षण सिकाइ प्रभावकारी हुने बताए । “यो प्रविधि खर्चिलो छ यसका लागि एउटा विज्ञ कर्मचारी राख्नुपर्ने अवस्था छ”, प्रअ जोशीले भने, “विभिन्न समयमा आउने प्राविधिक समस्या युट्युब हेरेर समाधान गर्ने गरेको छु ।” उनका अनुसार बेलौरी नगरपालिकाको रु तीन लाख सहयोगमा हरेक कक्षामा माइक र क्यामेरा जडान गरिएको हो ।

    बेलौरी नगरपालिकाले पनि सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्नका लागि विद्यालयमा आइसिटी र विज्ञान प्रयोगशालामा जोड दिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमितप्रसाद भट्टले जानकारी दिए । “सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन कक्षाकोठा व्यवस्थापनदेखि पूर्वाधार विकास गरिरहेका छौँ”, उनले भने, “विद्यालयमा पढाइका अतिरिक्त सिकाइलाई पनि प्राथमिकतामा राखेका छौँ ।” बेलौरी नगरपालिकामा ३१ वटा सामुदायिक विद्यालय रहेका छन् । यसमा माध्यमिक विद्यालय १४, आधारभूत विद्यालय पाँच र प्राथमिक विद्यालय १२ छन् ।

  • लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

    लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

    काठमाडौँ, २३ चैत । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।

  • ‘काचाल्का’ अर्थात् थोरै पानीले धेरै सिँचाइ गर्ने प्रविधि

    ‘काचाल्का’ अर्थात् थोरै पानीले धेरै सिँचाइ गर्ने प्रविधि

    सनद अधिकारी–रासस
    नारायणगढ (चितवन), २३ चैतः कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । नेपालका विभिन्न कृषि विश्वविद्यालय र अनुसन्धान केन्द्रले कृषिमा अध्ययन अनुसन्धान गर्दै आएका छन् । तर अधिकांश अनुसन्धानका परिणाम व्यवहारमा लागु नहुँदा ती अनुसन्धानमै सीमित भएका पनि छन् । कृषि उत्पादनका लागि मल र बिउ उपलब्ध भएपनि सिँचाइ प्रणालीको उपयुक्त प्रयोग बिना उत्पादन सम्भव छैन ।

    यसका लागि पानीको मात्रा, माटोको प्रकार, र बालीअनुसार सिँचाइ गर्ने तरिका निर्धारण गर्नु आवश्यक हुन्छ । कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले, उपलब्ध प्रविधि र उपकरणलाई स्थानीय स्तरमा प्रयोगयोग्य र व्यवहारमै आधारित बनाउनु जरुरी छ । विकास भएको तर व्यापक रूपमा प्रयोगमा नआएको प्रविधि जसले उत्पादन क्षमता र लाभ दुवै बढाउँछ । त्यसको उदाहरण हो काचाल्का सिँचाइ प्रविधि (डिस्क्रेट इरिगेट सिस्टम) ।

    सामान्यतया ट्याङ्की वा ड्रममा पानी राखेर सतह सिँचाइ गर्दा धेरै पानी खेर जान्छ । प्रभावकारी सिँचाइ गर्न कठिन हुन्छ । तर चितवनको भरतपुर–१६, विजयनगरका प्राडा ई भगवानदास मानन्धरले विकास गर्नुभएको काचाल्का प्रविधिले बिरुवालाई आवश्यक मात्रामा पानी पु(याउँदै, थोपा–थोपा सिँचाइ गरी पानी बचत गर्न सफल भएको छ । यो प्रविधिको प्रभावकारितामा मानन्धर लामो समयदेखि जुट्दै आउनुभएको छ । उहाँले देश विदेशका विभिन्न क्याम्पसमा अध्ययन अध्यापन गर्दै प्राप्त अनुभवलाई अवकाश जीवनमा कृषि क्षेत्रमा व्यावहारिक रुपमा प्रयोग गरेका छन् ।
    प्रविधिको विकास गरे पनि लामो समयसम्म व्यवहारमा लागू नहुँदा मानन्धर आफैँ प्रत्यक्ष रूपमा यसको प्रयोगमा जुटेका हुन् । उनले अब आफैँले गरेर देखाउँदै किसानसमक्ष यो प्रविधि पु¥याउने लक्ष्य राखेका छन् । झट्ट हेर्दा यहाँको प्रणाली सामान्य सतह सिँचाइ जस्तो देखिन्छ, तर वास्तवमा यसमा लामो अनुसन्धान र परीक्षणबाट प्रमाणित प्रभावकारी सिँचाइ प्रविधि प्रयोग गरिएको छ । प्राडा मानन्धरले आफ्नो जीवनको लामो समय खर्चेर यो प्रविधि विकास गर्नुभएको हो । जसले किसानलाई पानीको खपत कम गर्दै उत्पादन र सिँचाइ दक्षता बढाउने अवसर प्रदान गर्दछ ।

    उनले आफ्नै जग्गामा सुन कागती खेती गरी यही प्रविधिबाट सिँचाइ गर्दै आएका छन् । त्यसबाट काचाल्काको कार्यक्षमता प्रमाणित भएको छ । सुख्खा मौसममा लगाइने तरकारीबाली तथा अन्य बाली होस् वा बागवानीका लागि सिँचाइ सहज बनाउन उहाँले काचाल्का र क्यापिलरी सिँचाइ प्रविधि प्रयोग गरेका छन् । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर पक्लिहवा कृषि क्याम्पसलगायतका क्याम्पसमा २३ वर्ष लामो प्राध्यापन गरेका मानन्धरले आफ्नो अध्ययनको विषयलाई व्यवहारमा ल्याउन जागिर छाडेर यो प्रविधि प्रयोगमा ल्याएका हुन् ।

    उनले यस प्रविधिबाट सिँचाइ गर्न पहिला ट्याङ्कीलाई जमिनमाथि उचाइमा राखेर, त्यहाँबाट मुल पाइप र भल्भको प्रयोग गर्दै पाइपको पानीलाई सिधा वितरण गरेका छन् । चार कठ्ठा जमिनको सिधा भागमा हरेक स्थानमा दुईवटा पानीका डब्बा बनाइएको छ । पाँच लिटर, चार लिटर र तीन लिटर क्षमताका, जम्मा १३ स्थानमा डब्बा राखिएका छन् । जसले दायाँ र बाँयाँ ढल्केर पानी पोखाएर सिँचाई गर्छ ।

    सिँचाइका क्रममा एउटा डब्बामा पानी भरिएपछि, अर्को डब्बामा पानी भर्ने गरिन्छ । यसरी सिँचाइ गर्दा बिरुवामा कुनै असर नपर्ने र पानीको खपत कम हुन्छ । काचाल्का प्रविधिमा, ट्याङ्कीको प्रयोग गरेर पानीलाई थोपा–थोपा जस्तो नियन्त्रण गरी बिरुवालाई आवश्यक मात्रामा उपलब्ध गराइन्छ । “यसमा पानी खेर जाँदैन र खेतमा जम्दैन पनि । यो प्रविधि अन्य सिँचाइ प्रणालीभन्दा बढी उपयुक्त र प्रभावकारी छ,” प्राडा मानन्धरले भने ।


    उनका अनुसार काचाल्का रूसी शब्द हो, जसको अर्थ पानी व्यवस्थापनमा प्रयोग हुने एउटा सानो ट्याङ्की वा चेम्बर ढिकिच्याउ प्रकारको संरचना हो । यसले मुख्य मुहान वा ठूलो ट्याङ्कीबाट आएको पानी पाइपमार्फत काचाल्कामा जम्मा गर्छ । काचाल्का भरिएपछि पानी अर्को दिशामा बग्ने गरी व्यवस्था गरिएको हुन्छ । यो टिन, धातु, माटो, ढुङ्गा वा कंक्रिटबाट बनेको हुन्छ ।

    सानो पोखरी वा भाँडो जस्तो देखिने काचाल्कामा पानी जम्मा हुने र बाहिर निस्कने दुईवटा भाग हुन्छन् । विशेष गरी सिँचाइ व्यवस्थामा पानीको दबाब र वितरण नियन्त्रण गर्न यसले महत्वपूर्ण भूमिका खेल्छ । ट्याङ्कीबाट गएको मुख्य पाइपमा जडान गरिएको सानो धारामा पानी खोल्ने र बन्द गर्ने सुविधा हुन्छ । सरल भाषामा भन्नुपर्दा, काचाल्का भनेको पानी जम्मा गर्ने र आवश्यकताअनुसार अर्को ठाउँमा पठाउने सानो नियन्त्रण ट्याङ्की हो ।

    प्राडा मानन्धरले सन् १९९३ मा विद्यावारिधी गर्ने क्रममा यो प्रविधि विकास गरेका थिए । त्यसको दुई वर्षपछि औपचारिक रूपमा यो प्रविधि प्रस्तुत गरिएको थियो । त्यतिबेला इटलीको मान्तोभामा यसको सफल परीक्षण पनि गरिएको थियो । नेपाल फर्किएपछि अध्यापनका क्रममा विद्यार्थीहरूलाई उहाँले यो प्रविधि सिकाउनुभयो, तर व्यवहारमा कसैले लागू गरेनन् । “कर्तव्य पूरा गर्न अब म आफैँ फिल्डमा आएको छु । मैले जागिर नै छोडेर अहिले कृषिमा लागेको छु”, उनले भने । “यो प्रविधि किसानहरूसम्म व्यावहारिक रूपमा पु(याउनु नै मेरो उद्देश्य र कर्तव्य पनि हो ।”

    विश्वमै काचाल्का सिँचाइ प्रविधि प्रभावकारी र उपयोगी प्रविधिका रूपमा विकसित हुने प्राडा मानन्धरको दाबी छ । विश्वका अधिकांश स्थानमा खेतमा कुलोबाट सिँचाइ गर्ने प्रचलन छ । जसले बढी श्रम, खर्च र पानीको खपत गराउँछ । काचाल्का सतहमा आधारित, सिँचाइ प्रविधि हो । उनले भने, “काचाल्का सतहमा आधारित, मेकनाइज गरिएको सेमि–अटोमेटिक इरिगेसन सिस्टम हो, जसले बिरुवा वा खेतलाई आवश्यक मात्र पानी मात्र उपलब्ध गराउन सक्छ । खेतको आकार अनुसार पानी वितरण गर्न सकिन्छ । यो प्रविधि थोपा–स्प्रिङकलिङ प्रणालीभन्दा सस्तो छ । किसानले आफैँ निरीक्षण गरेर बिग्रिएको भाग देख्न र आवश्यक परे आफैँ बनाउन पनि सक्छन् ।”

    उनका अनुसार यस प्रविधिमा पानी नियन्त्रण गर्ने उपकरणहरू जडान गरिएको हुँदा खेतको क्षेत्रफल, माटोको बनावट अनुसार पानी वितरण गर्न सकिन्छ । काचाल्का सिँचाइ प्रविधिको सिँचाइ दक्षता करिब ९३ प्रतिशत र पानी वितरणको समानता ९५ प्रतिशत छ । इच्छुक किसानले यो प्रविधि प्रयोग गर्न चाहेमा उनले आवश्यक सहयोग उपलब्ध गराउने बताए । साथै, चितवनको कृषि विकास कार्यालयमार्फत पनि इच्छुक किसानहरूले सम्पर्क गर्न सक्ने जानकारी दिए ।

  • आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

    आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, २३ चैतः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

    त्यसैगरी, राष्ट्रियसभाको बैठक आजै अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । सो बैठकमा ‘राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुनेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८००८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची तय गरिएको छ ।

  • महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

    महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

    म्याग्दी, २३ चैतः परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन यहाँको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई पञ्चैबाजा बजाउने तालिम दिइएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिलाई पञ्चैबाजा बजाउने तालिम दिइएको हो । एक महिनासम्म सञ्चालन भएको तालिममा १६ महिला सहभागी थिए । उनीहरुलाई बाजा बजाउन सिकाइएको सिकाई केन्द्रका परिचालक सीता कुँवर थापाले बताइन् ।
    विवाह, ब्रतबन्ध, छेवरलगायत शुभकार्यमा पञ्चैबाजा बजाउन बाहिरदेखि वाद्यवादक ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाको आयआर्जन वृद्धिका लागि पञ्चैबाजा बजाउने तालिम सञ्चालन गरिएको सिकाई केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताए ।

    सो तालिमका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ र सीप विकास तालिमका लागि गण्डकी प्रदेश सरकारले एक लाख ७० हजार रुपैयाँ अनुदान प्रदान गरेको थियो । पञ्चैबाजामा सहनाइ, ढोलकी, ट्याम्को, दमाहा, झ्याली र कर्नल समावेश हुन्छन् । सिप सिकेकालाई व्यावसायिक रूपमा बाजा बनाउने पेसामा आबद्ध गराउन एक सेट बाजा पनि उपलब्ध गराइएको वडा अध्यक्ष अणबहादुर खड्काले बताए ।

  • पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

    पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

    पर्वत, २३ चैतः पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजजन बिउका लागि गहुँ खेती विस्तार गरिएको छ । यहाँको फलेवास नगरपालिका–६ देविस्थान चौबीसकुरियामा प्रजनन गहुँको मुल बिउको खेती गरी अनुसन्धान थालिएको हो । बिउ उत्पादनका लागि करिब पाँच हेक्टर क्षेत्रफलमा गहुँ बाली लगाइएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

    राष्ट्रिय गहुँ अनुसन्धान परिषद् र कृषि विकास कार्यालयको सहयोगमा स्थानीय जातसँगै थप आठ प्रजातिका गहुँ अनुसन्धान गरिएको छ । ‘आत्मनिर्भरताका लागि बिउ उत्पादन’ कार्यक्रमअन्तर्गत बिउ उत्पादनमा लागिएको कार्यालयले जनाएको छ । सो कार्यालयका सुचना अधिकृत सोविता सुवेदीले गौतम, भेरीगङ्गा हिमगङ्गा, जिंकलगायतका जातमा अनुसन्धान भइरहेको जानकारी दिइन् ।


    स्थानीय शक्ति कृषि तथा पशुपक्षी फार्ममार्फत २० जना किसानले एकै क्षेत्रमा प्रजनन गहुँको बिउ खेती गरिरहेका छन् । अन्य प्रजातिभन्दा यी जातका गहुँको बिउ राम्रो उत्पादन भएको जनाइएको छ । अन्य खेतीभन्दा सजिलो र सिँचाइको पहुँच पुगेकाले यस क्षेत्रका किसान हिउँदेबालीअन्तर्गत गहुँ खेतीमा लागेका छन् ।

    गतवर्ष पनि पहाडी क्षेत्रको जात पहिचानका लागि राष्ट्रिय गहुँबाली अनुसन्धान परिषद् भैरहवाले विभिन्न आठ जातमा गरेको अनुसन्धान सफल भएको थियो । यसवर्ष पनि हावापानी अनुकुल भएको भन्दै प्रजनन् बिउ खेती गरिएको स्थानीय किसान रमेश चापागाईँले बताए ।

    उनले कृषि प्राविधिक आफ्नै खेतबारीमा आएर गहुँको अनुसन्धान गर्दा कृषकलाई आगामी दिनमा गहुँखेती गर्न सहज हुने बताए । कुन भुगोलमा कुन खेती गर्दा उत्पादन र आम्दानी गर्न सकिन्छ भन्ने चेतना वृद्धि भएको उनको भनाइ छ । वर्षेनी तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तनले हिउँदे वर्षा नहुने, सिँचाइ अभावजस्ता कारण कृषकको गहुँखेतीतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि गहुँखेतीतर्फ आकर्षण बढ्ने उनले बताए । गत वर्ष गहुँका विभिन्न आठ प्रजनन् बिउको अनुसन्धान गरिएकामा हालसम्म चार जात सिफारिसका लागि छनोट गरिएको छ ।

    अनुसन्धान पछि एनएल ११७९, एनएल १४८८, एनएल १४८६, एनएल १४५० नामक गहुँको जात खेतीका लागि सिफारिसको तयारी गरिएको जनाइएको छ । यी प्रजाति समुद्री सतहदेखि ८०० मिटरको उचाइमा राम्रोसँग उत्पादन हुने जनाइएको छ ।

  • तीन ठूला मार्ट कारबाहीको दायरामा

    तीन ठूला मार्ट कारबाहीको दायरामा

    काठमाडौँ, २३ चैतः बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ । आज स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले ती चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

    विभागले मेट्रो मार्केट प्रालि इमाडोल, सेलवेज क्यास एण्ड क्यारी प्रालि महाराजगञ्ज, मेगा मार्ट प्रालि विशालनगर र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि चक्रपथलाई तीन दिन भित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको हो ।

    त्यसैगरी मुना कृषि लिमिटेडलाई पनि उस्तै किसिमको निर्देशन दिएको विभागले जनाएको छ । थप १० वटा अन्य फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । स्थानीय सरोकारवाला उपभोक्ता अधिकारकर्मीको उपस्थितिमा विभागले कालाबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने उद्देश्यका साथ अनुमगन गर्दै आएको छ ।

  • इरानमा अमेरिकी सेनाका जहाज खसाल्नु २० यताकै दुर्लभ घटना

    इरानमा अमेरिकी सेनाका जहाज खसाल्नु २० यताकै दुर्लभ घटना

    वाशिङ्टन, २३ चैत (रासस–एपी) । इरानले अमेरिकी दुई युद्धविमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार शुक्रबार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको छ । इरानी सञ्चारमाध्यमले अर्को एक आक्रमण विमान पनि खसालिएको दाबी गरेका छन् ।

    सैन्य विज्ञहरूका अनुसार यसअघि सन् २००३ मा इराकमाथि आक्रमणका क्रममा अमेरिकी युद्धविमान शत्रुपक्षबाट खसालिएको थियो। त्यसयता यस्तो घटना भएको थिएन । विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा अमेरिका मुख्यतः कमजोर हतियार भएका विद्रोही समूहसँग लड्दै आएको थियो, जसले यस्ता आक्रमण गर्न सक्ने क्षमता राख्दैनथे । तर इरानसँग भने हवाई प्रतिरक्षा प्रणाली रहेकोले यस्तो घटना सम्भव भएको बताइएको छ ।


    इरानमाथि एक महिनाभन्दा बढी समयदेखि अमेरिका र इजरायलले निरन्तर हवाई आक्रमण गरिरहेका छन् । यद्यपि ती आक्रमणपछि पनि इरानले क्षेप्यास्त्र र मानवरहित यानमार्फत प्रतिकार जारी राखेको छ । अमेरिकी सेनाले इरानविरुद्ध हजारौँ उडान अभियान सञ्चालन गरी हजारौँ लक्ष्यमा आक्रमण गरेको जनाएको छ । यसले क्षेत्रीय तनाव मात्र होइन, विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको छ । विश्लेषकहरूका अनुसार हवाई क्षेत्रमा वर्चस्व कायम राख्नु र पूर्ण नियन्त्रण हासिल गर्नु फरक कुरा भएकाले हालको अवस्थाले युद्ध अझ जटिल बन्दै गएको संकेत दिएको छ ।

  • अब सरकारी कार्यालय समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म

    अब सरकारी कार्यालय समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म

    काठमाडौँ, २२ चैतः सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु सञ्चालनको समय बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म कायम हुनेछ । आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई गृह मन्त्रालयले आजै राजपत्रमा प्रकाशन गरी सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय यही चैत २३ गतेदेखि बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म कायम हुने जनाएको हो । तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कायम गर्ने राजपत्रमा प्रकाशित छ ।

  • नवनियुक्त महान्याधिवक्ता डा कँडेलले लिए शपथ

    नवनियुक्त महान्याधिवक्ता डा कँडेलले लिए शपथ

    काठमाडौँ, २३ चैतः सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । यहाँ सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनले शपथग्रहण गरेका हुन् । त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा अधिवक्ता डा कँडेललाई आजै उक्त पदमा नियुक्त गरेका हुन् ।

  • ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    काठमाडौँ, २२ चैतः नेपाल आयाल निगमनले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । “बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान चाहिन्छ”, प्रवक्ता ठाकुरले भने, “अहिले निगमलाई प्रतिलिटरमा रु १२० घाटा भइरहेको छ । सरकारको इन्धन खपत कम गर्न बिदा दिने निर्णय सकारात्मक छ । उपभोक्ताले पनि खपतमा सचेत हुँदै अति आवश्यकबाहेकका क्रियाकलापमा इन्धन खपत गर्नु भएन ।”

    पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट दिनप्रतिदिन बढ्दै गएपछि आजको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थालाई दुई दिन बिदा दिने निर्णय गरेको हो । इन्धन खपत कम गर्न डिजेल तथा पेट्रोल प्रयोग गर्ने गाडीलाई विद्युतीय सवारी साधन परिवर्तन गर्न कानुनी सुधार गर्ने सरकारको निर्णयबारे सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।


    निगमको तथ्याङ्कअनुसार देशभर हरेक दिन २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ । निगमका प्रवक्ता ठाकुर सरकारको यो निर्णयले इन्धन सङ्कट कम गर्न कति योगदान पुग्छ भन्ने यकिन गर्न आगामी एक हप्ता कुर्न पर्ने बताउँछन् । “बजारको माग बुझ्न केही समय लाग्छ, तर यसको प्रभाव पक्कै देखिन्छ”, उनले भने, “धेरै विद्यालय निजी छन् । तिनले सवारीसाधनबाट ठूलो मात्रामा इन्धन खपत भइरहेको छ । साथै एसइई परीक्षा जारी रहेकाले सवारीसाधनको प्रयोग अझै उच्च छ । परीक्षा सकिएपछि खपतको यकिन तथ्याङ्क आउछ ।”

    तत्कालका लागि सरकारको निर्णय ठिक छ, पर्याप्त हैनः अर्थशास्त्री

    सरकारको यो निर्णय तत्कालका लागि आवश्यक भएको अर्थशास्त्रीहरुको राय छ । तर दीर्घकालीन समाधान छिट्टै खोज्नपर्ने उनीहरुको सुझाब छ । अर्थशास्त्री इसान खरेल यो निर्णयलाई अपरिहार्य मान्छन् । उनले तत्काल थप अन्य उपाय अपनाउन आवश्यकता आँैल्याए । “अहिलेको अवस्थामा गर्नैपर्ने हो, अरु विकल्प छैन”, उनले भने, “सरकारले इन्धनमा लिने कर केही प्रतिशत घटाउनुपर्छ । यसले उपभोक्तालाई राहत दिन्छ । तात्विक भिन्नता नदेखिन पनि सक्छ । थोरबहुत सहयोगी होला । थोरै भए पनि बचत होला ।”

    अर्थशास्त्री खरेलले सार्वजनिक यातायातलाई प्रोत्साहन, विद्युतीय सवारीसाधनको विस्तार र भारतसँगको सीमा मूल्य मिल्ने गरी अतिरिक्त लागत कटौती गर्नुपर्ने सुझाव दिए । अर्का अर्थशास्त्री डा सन्तोष अधिकारीले यो निर्णय तत्कालका लागि उचित भएको प्रतिक्रिया दिए । “अहिलेको अभावको सन्दर्भमा यो ठिकै छ । यसले इन्धनमा केही सहज होला”, उनले भने, “नेपालमा सरकारी बिदा पहिले नै धेरै छ । थप बिदाले अध्यापन र उत्पादकत्वमा नकारात्मक असर पार्नसक्छ ।”

  • युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छुः सभामुख अर्याल

    युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छुः सभामुख अर्याल

    काठमाडौँ, २२ चैतः प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना नहोस् भन्नेतर्फ ध्यान दिने बताएका हुन् ।


    सभामुख अर्यालले आन्दोलनमा ध्वस्त भएका संरचना बनाउन नयाँ कानुन आवश्यक नपर्ने र आवश्यक परे नयाँ कानुन बनाएर छिटो संरचना बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढङ्गले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । सभामुख अर्यालले सबै राजनीतिक दल तथा सांसदहरूसँग सहकार्य र समन्वय गरी संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गरिने बताए ।

  • सभामुख अर्यालले संसदीय अभ्यास थप सुदृढ बनाउनेछन् : लामिछाने

    सभामुख अर्यालले संसदीय अभ्यास थप सुदृढ बनाउनेछन् : लामिछाने

    काठमाडौँ, २२ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालबाट सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ बनाउन भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन् । सभामुख अर्याललाई आज बधाई दिँदै उनले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढङ्गले भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताए ।

    सभापति लामिछानेले सबै राजनीतिक दल तथा सांसदहरूसँग सहकार्य र समन्वय गर्दै प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्ने सभामुख अर्यालको दृष्टिकोण सराहनीय भएको बताए । “सभामुख पदलाई साझा व्यक्तित्वका रूपमा स्थापित गर्ने संसदीय परम्पराअनुरूप उम्मेदवारी दिएदेखि नै उहाँले पार्टीका जिम्मेवारीबाट अलग रहँदै उच्च राजनीतिक नैतिकता र संस्थागत प्रतिबद्धता प्रदर्शन गर्नुभएको थियो ।

    यस ऐतिहासिक अवसरमा सभामुखको हैसियतमा उहाँले निष्पक्षता, पारदर्शिता, विधिको शासन तथा संस्थागत मर्यादालाई केन्द्रमा राख्दै सफल र उदाहरणीय कार्यकाल प्रदान गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु”, उनले भने । सभापति लामिछानेले ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै प्रारम्भिक चरणमा सदनको कार्य सञ्चालनलाई प्रभावकारी रूपमा अघि बढाएकामा अर्जुननरसिंह केसीलाई धन्यवाद दिए । सभामुख अर्यालले आजै पदभार ग्रहण गरिसकेका छन् ।

  • राष्ट्रपतिसमक्ष सभामुखले लिए शपथ

    राष्ट्रपतिसमक्ष सभामुखले लिए शपथ

    काठमाडौँ, २२ चैतः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिएका हुन् ।

    त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थित थिए ।

  • उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

    उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

    रासस
    काठमाडौँ, २२ चैतः धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित भएका थिए । निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिनुभएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी वहन गरिसकेका छन् ।


    नवनिर्वाचित सभामुखमा अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालन गरेका थिए । वर्षदेखि स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा उनी क्रियाशील हुनुहुन्छ। व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    उनी राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक उपाध्यक्ष छन् । संसद्को अघिल्लो कार्यकालमा श्रममन्त्रीको जिम्मेवारीमा रहँदा उनले श्रमिकका अधिकार रक्षा, वैदेशिक रोजगार प्रणालीमा पक्रियागत सुधार र सामाजिक सुरक्षाका खातिर उल्लेखनीय योगदान गरेका थिए ।


    प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । नवनिर्वाचित सभामुख अर्यालले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको सपथ लिए । प्रतिनिधिसभाको सभामुख पदमा अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।

    दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद छन् । संसद्का प्रमुख अर्याललाई कानुन निर्माण, सरकारका गतिविधिको निगरानीका साथै राजनीतिक ध्रुवीकरण र दलहरूको मतभेद अन्त्य गर्न सन्तुलित ढङ्गले संसद् सञ्चालन गर्नु चुनौतीपूर्ण छ ।

    विधेयक र प्रस्तावहरूको समयमै व्यवस्थापन, सांसदहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु र नियमावलीको पालना गराउनु पनि चुनौतीपूर्ण छ । सभामुखले दलीय दबाब र व्यक्तिगत राजनीतिक हितभन्दा पर रही निष्पक्ष निर्णय लिनुपर्ने अवस्था छ भने जनताबाट उच्च अपेक्षा र उहाँको दायित्व बनेको छ ।

  • सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

    सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

    काठमाडौँ, २२ चैतः ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो ।

    नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । “हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन् । अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल, म्यासेजलगायत विभिन्न माध्यमबाट ५० भन्दा बढी गुनासा प्राप्त भएका छन्, ती सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको छ,” उनले भने ।


    मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख छ । सोही निर्णयअनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको हो ।

    मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन पाइँदैन । त्यसको उल्लङ्घन गरेमा त्यसमा प्रयोग भएको रकम जफत गरी एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुनेछ । त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले जुवा खेल्न वा खेलाउन तथा अनुमति नलिएको चिट्ठा किन्न–किनाउन प्रोत्साहन गर्ने किसिमका विज्ञापन गर्न निषेध गरेको छ । सो विपरीत कसुर गरेमा एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुनेछ ।

    सरकारले सट्टेबाजी एप तथा वेबसाइट प्रयोग तथा सञ्चालन नगर्न पुनः आग्रह गरेको छ । अनधिकृत रूपमा सञ्चालन वा प्रयोग गरेको पाइएमा कडा कारबाही हुने चेतावनी दिएको छ । साथै सरकारले शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न आग्रह गरेको छ ।

  • सभामुखमा अर्याल निर्विरोध निर्वाचित

    सभामुखमा अर्याल निर्विरोध निर्वाचित

    काठमाडौँ, २२ चैतः नेपालको दसौँ सभामुखमा प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट उनी सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गञरेका थिए । उक्त प्रस्तावलाई सांसदहरु सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेका थिए ।


    सभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसद अर्याललाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएकाले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । नवनिर्वाचित सभामुख अर्याल यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष थिए ।

  • माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

    माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

    मुस्ताङ, २२ चैत । माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ ।
    हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि यहाँ कात्तिक १० गते पहिलो हिमपात भएको थियो । यहाँ पछिल्लोपटक परेको हिमपातसँगै जारी यामको यो छैटौँपटक हिमपात भएको बताइएको छ ।

    माथिल्लो मुस्ताङ क्षेत्रका बस्ती र उच्च लेकमा शनिबार रातिदेखि भारी हिमपात भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र–३ स्याङवचेदेखि कोरलानाकासम्मको क्षेत्रमा हिमपातले पूरै डाँडाकाँडा सेताम्मे भइसकेका छन् । उहाँका अनुसार माथिल्लो मुस्ताङमा बस्ती क्षेत्रमा एक फिटसम्म हिउँ परेको उल्लेख गरे ।


    स्वाङवचेदेखि माथि घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिङ्गर, छोसेर, सम्जुङ, नामासुङ, भर्सा, यारा, घारा, ढी र सुर्खाङलगायत स्थानमा छैटौँपटक भारी हिमपात भएको हो । हिमपातका कारण स्थानीय जनजीवन प्रभावित बनेको लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाले जानकारी दिए । “शनिबार रातिदेखि परेको हिमपात अझै रोकिएको छैन, हिउँ पर्ने क्रम निरन्तर छ, अझै पनि हिउँ पर्ने क्रम साँझसम्म रहेमा दुई फिट बढी हिउँ जम्ने अवस्था छ”, उनले भने ।


    जारी यामको छैटौँपटकको हिमपातका कारण माथिल्लो मुस्ताङमा उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएर सेताम्मे बनेका छन् । हिमपातसँगै माथिल्लो मुस्ताङमा तापक्रम घट्दै गइरहेको छ । यसका कारण स्थानीय नागरिक तथा पशुपालन गर्ने किसानलाई हिउँले सास्ती पुर्याएको छ । माथिल्लो मुस्ताङमा बर्सेनि एक बाली खेती हुन्छ । त्यहाँका नागरिक हिउँदयामको जाडो छलेर गाउँ फर्किएपछि बर्खेबाली लगाउने प्रचलन छ । बर्खेखेती सुरु हुने बेला हिमपात भएकाले किसानलाई फाइदा पुग्ने बताइएको छ ।

    त्यसैगरी, यहाँको वारागुङ मुक्तिनाथ क्षेत्रमा शनिबार राति हिमपात भएको छ । वारागुङ मुक्तिक्षेत्र–१ स्थित खिङ्गा, झारकोट, पुडाक, छेङ्गुर र मुक्तिनाथलगायत स्थानमा भारी हिमपात भएको मुक्तिनाथका स्थानीय कैसाङ ठोक्या ठकुरीले जानकारी दिए । हिमपातका कारण मुक्तिनाथ दर्शनार्थीलाई आशिंक रूपमा केही अप्ठ्यारो भए पनि हिमपातको सौन्दर्यताले पर्यटकमा उत्साह थपिएको उनको भनाइ छ ।

    त्यसैगरी माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्रमा भारी वर्षा भएको छ । घरपझोङका कृषि शाखा अधिकृत रोशन थकालीका अनुसार स्याउको फूल फुल्ने बेलामा भारी वर्षा भएकाले स्याउखेतीमा असर पुर्याएको बताए । “स्याउ बोटमा फूल फुल्न थालिसकेको छ, स्याउका फूलमा परागसेचन हुने समय पनि हो, अधिकृत थकालीले भने, “यस्तो बेलामा हिमपात र वर्षा हुनु किसानका लागि राम्रो होइन ।”

    जलवायु परिवर्तनको असर हिमाली जिल्लामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पर्न थालेको जानकारहरू बताउँछन् । यसअघि मुस्ताङमा लगातर तीन वर्ष हिउँ पर्न सकेको थिएन । यस सिजनमा छपटकसम्म हिउँ पर्नु जलवायुको असर भएको विश्लेषण गरिएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुँदा कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आंशिक हिमपात र कुनै वर्ष हिउँ नै नपर्नेजस्ता प्राकृतिक असर देखिन थालेका हुन् ।

  • अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु

    अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु

    काबुल, २२ चैत (रासस–एएफपी) । अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन्। मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षा भएकोे छ, जसले बाढी, पहिरो र घर र बालीमा असर पारेको छ। “मार्च २६ देखि अहिलेसम्म बाढी र वर्षाका कारण देशभरि ७७ व्यक्तिको मृत्यु भएको र १३७ जना घाइते भएका छन्,” अफगानिस्तानको विपद् व्यवस्थापन प्राधिकरण (एएनडिएमए_)का प्रवक्ता मोहम्मद युसुफ हम्मादले शनिबार एएफपीसँग भने ।


    प्रवक्ता हम्मादका अनुसार बितेका ४८ घण्टामा देशभर बाढी, पहिरो र चट्याङका कारण २६ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका छन् । पाकिस्तानमा पछिल्ला हप्ताहरूमा भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। प्रान्तीय प्रकोप व्यवस्थापन अधिकारीहरूका अनुसार उत्तरी प्रान्त खैबर पख्तुनख्वामा मार्च २५ देखि यता कम्तीमा ३२ र दक्षिणपश्चिमी बलुचिस्तानमा मार्च २० पछि १२ जनाको मृत्यु भएको छ ।

    अफगानिस्तानको दक्षिणपूर्वी गजनीमा शनिबार बिहान आएको बाढीमा डुबेर अन्य बालबालिकासँग खेलिरहेका एक बालकको मृत्यु भएको प्रान्तीय प्रहरीले जनाएको छ । सोही प्रान्तका विभिन्न जिल्लामा डुबेर थप दुई बालबालिकाको मृत्यु भएको छ । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तमा वर्षाका कारण घरको छत भत्किँदा तीन जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले जनाएको छ ।

  • ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी

    ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी

    वासिङ्टन, २२ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका लागि महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने सम्झौता गर्न ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी दिएका छन् । ट्रम्पले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल नेटवर्क’मा लेखेका छन्, “स्मरण गरियोस् । मैले इरानलाई सम्झौता गर्न वा हर्मुज स्ट्रेट खोल्न दस दिनको समय दिएको थिएँ ।” उनले लेखेका छन्, “समय बित्दै गइरहेको छ । दुश्चक्रले उनीहरूमाथि शासन गर्न अब केबल ४८ घण्टा मात्र बाँकी छ।”

    राष्ट्रपति ट्रम्पले चेतावनीको सुरुमा अर्थात् मार्च २१ मा यदि इरानले ४८ घण्टाभित्र बिना कुनै खतरा महत्वपूर्ण जलमार्ग ‘हर्मुज घाँटी’ पूर्ण रूपमा खुला गरेन भने इरानको सबैभन्दा ठूलो ऊर्जा प्लान्टलाई ‘नष्ट गर्ने’ चेतावनी दिएका थिए । दुई दिनपछि उनले इरानी अधिकारीहरूसँग ‘धेरै राम्रो र फलदायी कुराकानी’ भइरहेको र पावर प्लान्टहरूमा कुनै पनि आक्रमण आगामी पाँच दिनका लागि स्थगित गरेको बताएका थिए ।

    उनले फेरि म्याद थप्दै यसलाई १० दिन बनाएका थिए । उक्त १९ दिनको समयसिमा अमेरिकी समयअनुसार सोमबार बेलुका ८ः०० बजे समाप्त हुनेछ । नागरिक ऊर्जा पूर्वाधारमा आक्रमण युद्ध अपराध हुन सक्ने विज्ञहरूले बताएका छन् ।

  • इराकमा मारिएका इरानी जनरल सुलेमानीका आफन्त अमेरिकाबाट पक्राउ

    इराकमा मारिएका इरानी जनरल सुलेमानीका आफन्त अमेरिकाबाट पक्राउ

    वासिङ्टन, २१ चैत (रासस–एएफपी) । इराकमा मारिएका इरानी जनरल कासिम सुलेमानीको परिवारका दुई सदस्यलाई संयुक्त राज्य अमेरिकामा पक्राउ गरिएको अमेरिकी विदेश मन्त्रालयले शनिबार जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानका ‘रिभोलुसनरी गाड्र्स कप्र्स’का मेजर जनरल कासिम सुलेमानीकी भतिजी र भतिजीकी छोरी (नातिनी) लाई संघीय सुरक्षा अधिकारीले पक्राउ गरेका छन् ।

    मृतककी भतिजीको नाम हमिद सुलेमानी अफसार रहेको बताइएको छ । सुलेमानी अफसारकी छोरीको नाम भने उल्लेख गरिएको छैन । विज्ञप्तिमा भनिएको छ, “दुवै अहिले अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइसिई) को हिरासतमा छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा पहिलो कार्यकालको अन्तिम वर्ष सन् २०२० को जनवरीमा इराकको राजधानी बग्दादमा रहेका बेला आइआरजिसीको विदेशमामिला शाखाको नेतृत्व गरेका सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएको थियो ।

    अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “प्रेस रिपोर्टिङ र आफ्नै सामाजिक सञ्जालहरूमा आएका उनको प्रतिक्रिया दुबैले सुलेमानी अफसार इरानी वर्तमान् सत्ताका मुखर समर्थक भएको पुष्टि गरेका छन्।” उनीहरूले इरानका नयाँ सर्वोच्च नेता अली खामेनीको प्रशंसा गर्नुका साथै अमेरिकालाई ‘महान् शैतान’ भन्दै निन्दा गरेको पनि विज्ञप्तिमा उल्लेख छ । सुलेमानी अफसारका पतिलाई पनि अमेरिका प्रवेशमा रोक लगाइएको छ । मारिएका अर्का इरानी पूर्व सुरक्षा प्रमुख अली लारीजानीकी छोरी र ज्वाइँको पनि कानुनी हैसियत खारेज गरिएको छ।

    विज्ञप्तिमा भनिएको छ, “दुवै अहिले संयुक्त राज्य अमेरिकामा छैनन् र भविष्यमा प्रवेशमा प्रतिबन्ध लगाइएको छ।” इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव लारीजानी गत मार्च १७ मा इजरायली आक्रमणमा मारिएका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक्समा एक पोस्टमा उनीहरूको पक्राउको पु्ष्टि गर्दै भनेका छन्, “ट्रम्प प्रशासनले हाम्रो देशलाई अमेरिका विरोधी आतङ्कवादी शासनलाई समर्थन गर्ने विदेशी नागरिकहरूको घर बन्न अनुमति दिँदैन।”

  • दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    खोटाङ, २२ चैत । दिक्तेल बजारको भानुचोकमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको काम सम्पन्न गरिएको हो । भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए ।

    “दिक्तेल बजारको सौन्दर्यकरण कार्यक्रमअन्तर्गत आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमा पहिलेकै स्थानमा राखिएको छ । त्यहाँ आचार्यको ठूलो आकारको मूर्ति सरोकारवालाले नै खरिद गरेर राख्ने सहमति भएको छ”, उनले भने, “भानुभक्तको सालिक पुनर्निर्माण सकिएसँगै सालिक वरपरका खाली ठाउँमा टाइल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण, चोकको साङ्केतिक चिह्न राख्ने तथा आदिकवि भानुभक्तका कविताका केही हरफ समावेश गरेर सौन्दर्यकरण गरिएको छ । यसले दिक्तेल बजारको सौन्दर्यकरणमा थप टेवा पुगेको छ ।”

    आदिकवि भानुभक्तको सालिक पुनः निर्माण अन्तरगतकै योजनाबाट जिल्ला प्रहरी कार्यालयको प्रवेशद्धार अगाडिदेखि भानुचोक हुँदै लोकसेवा आयोगको कार्यालय तथा लोकसेवा आयोगको कार्यालयदेखि नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म सडक सुधार तथा निर्माणको काम गरिएको छ । यसका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ भित्रका केही सडक निर्माणका कामसमेत सम्पन्न भएको कार्यालयले जनाएको छ ।

    भानुचोकमा भानुभक्तको सालिक पुनर्निर्माणका लागि कार्यालयले गत कात्तिक २ गते बोलपत्र आह्वान गरेको थियो । लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको भानुभक्तको सालिकलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित पुनर्निर्माणको प्रक्रिया अघि बढाइएको थियो । सौन्दर्यकरणको काम सम्पन्न भएपछि दिक्तेल बजारको संरचनागत व्यवस्थापन तथा ऐतिहासिक, साहित्यिक र पर्यटकीय महत्व थप उजागर भएको छ । पुरानो संरचनाका घरहरू रहेको दिक्तेल बजारको मुहार कोशी प्रदेश सरकारको लगानीमा विस्तारै फेरिँदै गएको महसुस गरिएको छ ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको कामसमेत सम्पन्न भएको छ । विसं २०७६ मा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याको अन्त्य भएको छ । कुनै समय धुलो र हिलोका कारण हिँड्नसमेत नसकिने अवस्थामा रहेको दिक्तेल बजारको कच्ची सडकले सबैलाई सास्ती दिएको थियो ।

    लामो समयको प्रतीक्षापश्चात पूरै सडक ढलान भएपछि दिक्तेल बजारको मुहार नै फेरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ । साँघुरो, हिलाम्मे र धुलाम्मे अवस्थाको दिक्तेल बजारको सडक सङ्घ र प्रदेश सरकारले उपलब्ध गराएको बजेटले पूरै ढलान भएको हो ।

    दिक्तेलस्थित शङ्धर साख्वाः चोकदेखि भानुचोकसम्मको सडक ढलान यही पुस २७ गते (आइतबार) सम्पन्न भएसँगै पूर्णता पाएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत भौतिक पूर्वाधार कार्यालयको मूल्य अभिवृद्धि कर तथा पिएससहित रु ९५ लाख ८५ हजार ७८ लागतमा निर्माण कम्पनीले सडक ढलानको काम गरेको हो ।

  • सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    काठमाडौँ, २२ चैतः सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

    शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । आजको बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

    त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नुहुनेछ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।