Category: समाचार

  • पर्यटकको रोजाइमा तीनकुने पोखरी

    पर्यटकको रोजाइमा तीनकुने पोखरी

    फिक्कल (इलाम), २५ चैतः इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको स्थानीय चेतन आङथुपोले बताए ।

    “शनिबार र सार्वजनिक बिदाको दिन पोखरी घुम्न आउने पर्यटकको भीडभाड हुने गर्दछ”, उनले भने, “पोखरी घुम्न आउने पर्यटकले यस क्षेत्रको चहलपहल बढेको छ ।” यसैबीच, तीनपोखरीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि ‘तीनकुने पर्यटन महोत्सव’ आयोजना हुँदैछ । स्थानीय ‘तीनकुने पोखरी सिमसार क्षेत्र’ को आयोजनामा तीनकुने पोखरीको खुला मैदानमा महोत्सव सञ्चालन हुन लागेको हो ।

    यही वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने आयोजक समिति संयोजक नगीन्द्र श्रेष्ठले बताए । ‘चुलाचुलीको पहिचान, पर्यटनको अभियान’ मूल नारासाथ सञ्चालन हुने महोत्सवमा आदिवासी लिम्बू समुदायको च्याब्रुङ नाच (केःलाङ), राई समुदायको साकेला नाच, नेवार समुदायको लाखे नाच, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्य जातिको सङ्गिनीलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेषभूषा प्रदर्शन गरिनेछ । स्थानीय कला, संस्कृति, हस्तकला सीप, स्थानीयद्वारा उत्पादित रैथाने खानपान प्रदर्शनीमा राखिने संयोजक श्रेष्ठले जानकारी दिए ।

    “यहाँका आदिवासी भूमिपुत्रहरुको मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने हाम्रो प्रयास हो । यसका लागि प्रत्येक दिन अलगअलग कार्यक्रम तय गरिएको छ”, संयोजक श्रेष्ठले भने, “मुख्य रुपमा स्थानीय क्षेत्रकै रैथाने उत्पादनलाई व्यवसाय तथा अर्थतन्त्रसँग जोड्न र युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न सहयोग गर्ने उद्देश्य हो ।” महोत्सवमा राजेशपायल राई, साहिल लिम्बू, पूजा लामा, पदम राई र एलिना चौहानको साथमा अन्य स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुती रहने आयोजक समितिका सचिव सेमन्ता खनालले जानकारी दिए ।


    चुलाचुली गाउँपालिका–२ मोरङ्गे झोडाको सामुदायिक वनमा करिब ६ बिगा क्षेत्रफलमा फैलिएको तीनकुने पोखरी सिमसार क्षेत्र पर्यावरण र पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण मानिन्छ । विसं २०५२ मा स्थानीय अगुवाले गहिरो खोल्सीलाई बाँध कसेर पानी सञ्चित गर्न थाले पनि २०७२ सालदेखि औपचारिक रुपमा पोखरी निर्माण गरेका थिए ।

    समुन्द्री सतहबाट करिब १८५ मिटर उचाईमा रहेकको तीनकुने पोखरी पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ करिब साढे ५ किलोमिटर दुरीमा पर्दछ । झापाको केर्खा बजार–पाडाजुङ्गीबाट उत्तर नर्सरी हुँदै मोटरसाइकल, सफारी, अट्टो र साना, ठूलो सवारीसाधनमार्फत सजिलै तीनकुने पोखरी पुग्न सकिन्छ ।

    महोत्सवले तीनकुने पोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । स्थानीयवासीको सक्रियतामा यहाँ महोत्सव आयोजना गरिएको हो । यसबाट तीनकुने पोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुग्नेछ ।

  • गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

    गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

    वीरगञ्ज (पर्सा), २५ चैतःनारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि बढाएको छ। चालु आर्थिक वर्षमा कार्यालयले मुख्य नहरतर्फ पर्सामा छ किलोमिटर र बारामा पाँच किलोमिटर सरसफाइ तथा मर्मतसम्भार थालेको छ ।

    कार्यालयका प्रमुख मनोजप्रसाद पटेलका अनुसार नहरमा माटोसहितको गेग्र्यान थुप्रिँदै जाँदा नहरको आकार खुम्चिँदै गएको थियो । “मुख्य नहरमा कार्यालयकै उपकरण र जनशक्ति परिचालन गरेर सरसफाइ गरेका छौं,” उनले भने, “ नहर वरपर स्थानीयले गरेको अतिक्रमणका कारण निकालिएको फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ ।”

    नहर आसपासको जग्गा अतिक्रमण हुँदा नहरबाट निकालिने माटो, बालुवा र झारपात व्यवस्थापन गर्न कठिनाइ भएको छ । “स्थानीयले नहर किनारमा घरटहरा, माछापोखरीलगायत संरचना निर्माण गर्दा सरसफाइपछि निस्कने वस्तु व्यवस्थापनमा समस्या भइरहेको छ,” उनले भने । गण्डक नहरको करिब २५ देखि ३० स्थानमा अतिक्रमणका समस्या देखिएको र त्यसको समाधानका लागि स्थानीय प्रशासन समन्वय भइरहेको उनले जानकारी दिए ।

    शाखा नहरतर्फ पाँच खण्डमा विभाजन गरी ७५ किलोमिटर सरसफाइका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । प्रत्येक खण्डमा १५ किलोमिटरका दरले काम गर्ने गरी करिब ४५ लाख रुपैयाँमा ठेक्का स्वीकृत भएको छ । गण्डक नहर संरचना ५० वर्ष पुरानो भएकाले नियमित मर्मतसम्भार आवश्यक रहेको उनले बताए ।

    नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ मा गण्डक सिँचाइ तथा जलविद्युत् आयोजना सम्बन्धी सम्झौता भएको थियो । सोही सम्झौताअनुसार भारत सरकारले नारायणी नदीमा ‘ब्यारेज’ निर्माण गरेको हो । यहाँबाट मुलुकको २८ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

  • एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

    एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

    काठमाडौँ, २५ चैतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार पाँच सय चार परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् । बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ ।

    सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीको घटना सबैभन्दा धेरै रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । झण्डै एक वर्षको अवधिमा तीन हजार छ सय ५२ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर मात्रै एक सय चार जनाको अकालमा ज्यान गएको छ । पाँच सय ६३ जना घाइते हुँदा चार हजार एक सय ८२ परिवार प्रत्यक्ष रुपमा पीडित भएका छन् ।

    बाढीका कारण मात्रै तीन सय २८ घटनामा ३९ जनाको निधन भएको छ । बाढीमा परेर २७ जना बेपत्ता हुँदा १४ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार, ६ सय २१ पहिरोका घटनामा परेर ७६ जनाको ज्यान गएको छ । यस्तै, भारी वर्षाको चार सय ४६ घटनामा परेर सात जनाको ज्यान गयो भने २० जना घाइते भए । त्यस्तै, चार सय १९ चट्याङका कारण ४८ जनाको ज्यान गयो । कूल तीन सय १२ जना घाइते हुँदा पाँच सय २२ परिवार प्रत्यक्ष रुपमा प्रभावित भए । हावाहुरीका चार सय ७७, वन डढेलाका तीन सय २४, जनावर आक्रमणका पाँच सय नौ तथा लेक लाग्नुका एक सय ३१ घटना भएका छन् ।

    प्राधिकरणका अनुसार यो विवरण गत वैशाख १ गतेदेखि यही चैत २४ गते सम्मको हो । एक वर्षको अवधिमा विपदमा मात्रै चार सय ९० जनाको ज्यान जाँदा ३८ जना बेपत्ता भएका छन् । विपदका कारण एक हजार नौ सय ६५ जना घाइते भएका छन् ।

  • भियतनाममा कम्युनिस्ट पार्टी प्रमुख टो लाम राष्ट्रपति चयन

    भियतनाममा कम्युनिस्ट पार्टी प्रमुख टो लाम राष्ट्रपति चयन

    हनोई, २५ चैत (रासस–एपी) । भियतनामले कम्युनिस्ट पार्टीका महासचिव टो लामलाई सर्वसम्मतिले राष्ट्रपतिको रूपमा निर्वाचित गरेको छ । यसले उनलाई पार्टी र राज्य दुवैमा आफ्नो अधिकार सुदृढ गर्न पाँच वर्षको कार्यकालका लागि सशक्त बनाएको छ । यो निर्णय भियतनामको परम्परागत साझा नेतृत्वको मोडलबाट फरक छ, जसमा सामान्यतया शक्ति विभाजन हुने गरेको थियो र यसले चीनका राष्ट्रपति सी जिनपिङ र लाओसको नेतृत्वमा देखिएको शक्ति एकाग्रताको प्रतिध्वनि गर्दछ ।

    जनवरीमा लाम कम्युनिस्ट पार्टी प्रमुखको रूपमा पुनः निर्वाचित भएपछि उनी राष्ट्रपतिको पदमा पनि जाने अपेक्षा गरिएको थियो । ६९ वर्षका लामले शपथ ग्रहणपछि राष्ट्रियसभालाई शान्ति र स्थिरता कायम राख्न आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताए । उनले भने, “हामी जनताको जीवनस्तर सुधार गर्ने लक्ष्य राख्छौँ ताकि सबैले विकासका फाइदाहरू साझा गर्न सकून् ।”

    सन् २०२४ मा पार्टी प्रमुख न्गुयेन फु ट्रोङको निधनपछि छोटो समयका लागि राष्ट्रपतिको पद सम्हालेका लामले यो दोस्रो पटक दुवै पद सम्हालेका हुन् । विश्लेषकहरूका अनुसार लाम शक्ति केन्द्रित हुनु नीतिगत सुधार अगाडि बढाउने अवसर हो, तर यसले संस्थागत सुधारभन्दा छिटो निर्णय लागू हुने जोखिम पनि ल्याउन सक्छ । लामको करियर सुरक्षा सेवाबाट सुरु भएको हो र उनले सार्वजनिक सुरक्षा मन्त्रालयको प्रमुखका रूपमा व्यापक भ्रष्टाचार विरोधी अभियान अगाडि बढाएका छन् । कम्युनिस्ट पार्टी प्रमुखका रूपमा उनले भियतनाममा ब्युरोक्रेटिक सुधार, रोजगार कटौती, मन्त्रालय विलय, प्रान्तीय सीमाहरू पुनःरेखाङ्कन र प्रमुख पूर्वाधार परियोजनाहरू अघि बढाएका छन् ।


    आर्थिक क्षेत्रमा उहाँले निजी क्षेत्रको वृद्धि र उत्पादन आधारित मध्यम वर्ग निर्माणमा जोड दिएका छन् । आगामी पाँच वर्षमा वार्षिक १० प्रतिशत वा सोभन्दा बढी आर्थिक वृद्धिको लक्ष्य राखिएको छ । तथापि, विश्वव्यापी ऊर्जा सङ्कट र आर्थिक दबाबले चुनौती थप्नेछ । विदेश नीतिमा लामले सावधानीपूर्वक सन्तुलन कायम राख्ने प्रयास गरिरहेका छन् । अमेरिकी दबाब र दक्षिण चीन सागरमा चीनसँगको सम्बन्ध सन्तुलित राख्नु आगामी रणनीतिक चुनौती रहेको विश्लेषकहरू बताउँछन् ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, २५ चैतः सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नुहुनेछ ।

    त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव दिनमा गर्ने सम्भावित कार्यसूची छ । सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यक्रम छ ।

  • प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

    प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

    काठमाडौँ, २५ चैत । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै हुन् । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “प्रधानमन्त्री वालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै छन् । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ । मर्यादित कूटनीति, बलियो नेपाल ।”

  • आज सिँचाइ दिवस : कृषि योग्य जमिनमा सिँचाइ सुबिधा पुर्‍याउन अझै चुनौती

    आज सिँचाइ दिवस : कृषि योग्य जमिनमा सिँचाइ सुबिधा पुर्‍याउन अझै चुनौती

    रासस
    काठमाडौँ, २५ चैत । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ दिवस मनाउँदै आएको छ । सिँचाइको संस्थागत विकासका क्रममा नहर विभाग, सिँचाइ तथा खानेपानी विभाग, सिँचाइ तथा जलवायु विज्ञान विभाग हुँदै २०४४ सालमा सिँचाइ विभागमा रुपान्तरण भएको थियो ।

    विसं २०७२ मा नेपालको संविधान जारी भएपश्चात् सिँचाइ विभाग र जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग खारेज गरेर २०७५ सालमा जलस्रोत तथा सिँचाइ विभागको स्थापना भएको थियो । नेपालको इतिहासमा पहिलोपटक सरकारीस्तरबाट १९७९ सालमा ‘चन्द्र नहर’को निर्माण सुरुआत भएर १९८५ सालमा सम्पन्न भएको थियो । यसलाई नै पहिलो आधुनिक तथा सबैभन्दा पुरानो सिँचाइ प्रणाली मानिन्छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेर जवराको विशेष पहलमा बनेको सो नहरको प्राविधिक नेतृत्व (चिफ इन्जिनियर) शाही सेनाका महासेनानी डिल्लीजङ्ग थापाले गर्नुभएको थियो ।

    जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक एवं प्राविधिक सहयोगमार्फत हालै ‘शताब्दी’ पार गरेको सो नहरका ३२ प्रमुख संरचनाहरूको पुनर्निर्माण तथा सुदृढीकरणमा सम्पन्न भएको थियो । उदयपुरको त्रियुगा नदीलाई मुख्य पानीको स्रोत मानेर निर्माण गरिएको सो नहरबाट २८ किमी मूल नहर, ११ शाखा नहर तथा थप शाखा नहरमार्फत सप्तरी जिल्लाका १० हजार ५०० हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुँदै आएको छ । यसबाट ३५ हजार घरपरिवारका किसान लाभान्वित हुँदै आएका जनाइएको छ ।

    पछिल्लो समय कृषियोग्य जमिनमा सिँचाइ सुविधाको पहुँचले गति लिँदै गएता पनि अझै १० लाख हेक्टर जमिनमा सिँचाइको पहुँच पुर्याउनुपर्ने देखिएको छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई। मित्र बरालले भन्नुभयो, “कुल सिँचाइयोग्य क्षेत्र करिब २५ लाख ३६ हजार हेक्टरमध्ये हाल करिब १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भइसकेको छ । सतह, भूमिगत, जलासय र लिफ्ट सिँचाइमार्फत सिँचाइ पुगेका क्षेत्रमा हेक्टर उत्पादन औसत रूपमा वृद्धि भएको छ ।”

    नेपालमा कृषियोग्य जमिनको क्षेत्रफल ३५ लाख ५७ हजार ७०० हेक्टर रहेको जनाइएको छ । उहाँले भन्नुभयो, “नेपालको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ । करिब ६२ प्रतिशत जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेसामा संलग्न रहेका छन् । दिगो, भरपर्दो र प्रभावकारी सिँचाइ प्रणालीबिना कृषि आधुनिकीकरण, उत्पादन वृद्धि तथा खाद्य सुरक्षा सम्भव हुँदैन । यसैलाई ख्याल गर्दै कृषियोग्य जमिनमा सिँचाइको सुविधा पुर्याउन विभागले उच्च प्राथमिकताका साथ काम गरिहेको छ ।”

    राष्ट्रिय गौरवका अयोजनाः प्रगति तीव्र

    पछिल्लो समय विभागअन्तर्गतका छवटा राष्ट्रिय गौरवका अयोजनाले गति लिएका छन् । ती आयोजनालाई समयसीमाभित्र सम्पन्न गर्न विभागले उच्च प्राथमिताका साथ लागिरहेको महानिर्देशक बरालले जानकारी दिनुभयो ।

    हाल विभागअन्तर्गत महाकाली सिँचाइ आयोजना (कञ्चनपुर), रानी जमरा कुलरिया सिँचाइ आयोजना (कैलाली), बबई सिँचाइ आयोजना (बर्दिया), भेरी बबई डाइभर्सन बहुउद्देशीय आयोजना (सुर्खेत), सिक्टा सिँचाइ आयोजना (बाँके) र सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना (सिन्धुली) छवटा राष्ट्रिय गौरवका अयोजना सञ्चालित छन् ।

    चालु आवमा विभागको अथक प्रयासपछि ती आयोजनामध्ये तीनवटाको कार्यप्रगति राम्रो रहेको जनाइएको छ । सिक्टा सिँचाइ आयोजना ९बाँके०को हालसम्म सिँचाइ संरचना विस्तार भएको क्षेत्र २२ हजार ५०० हेक्टर पुगिसकेको छ । यो आयोजनाको सिँचाइ हुने क्षेत्रफल ४२ हजार ७६६ हेक्टर रहेको भने बबई सिँचाइ आयोजना ९बर्दिया०को सिँचाइ संरचना विस्तार भएको क्षेत्र २७ हजार ३३० हेक्टर पुगिसकेको छ । यो आयोजनाको सिँचाइ हुने क्षेत्रफल ३६ हजार हेक्टर रहेको छ ।

    त्यसैगरी, रानी जमरा कुलरिया सिँचाइ आयोजना (कैलाली) सिँचाइ संरचना विस्तार भएको क्षेत्र १४ हजार ३०० हेक्टर पुगिसकेको छ । यो आयोजनाको सिँचाइ हुने क्षेत्रफल ३८ हजार ३०० हेक्टर रहेको भने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामले पनि गति लिएको जनाइको छ । विभाग महानिर्देशक बरालले भन्नुभयो, “सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना र भेरी बबई डाइभर्सन बहुउद्देशीय आयोजना पनि अब गति लिन्छ ।”

    तराई मधेस भूमिगत जल सिँचाइ कार्यक्रम

    विभागले तराई तथा भित्री मधेसका करिब तीन लाख १८ हजार हेक्टर जमिनमा भूमिगत सिँचाइमार्फत सिँचाइ सुविधा पुर्याउन तराई मधेस भूमिगत जल सिँचाइ कार्यक्रम पनि कार्यान्वयन गरिराखेको छ । ती कृषियोग्य जमिनमा भूमिगत सिँंचाइ प्रणालीको विकास गरी कृषि उत्पादन र उत्पदकत्वको अभिवृद्धि, खाद्य सुरक्षाको सुनिश्चितता, भोकमरीको अन्त्य, रोजगारी सृजना गरी कुल गार्हस्थ्य उत्पादन वृद्धिमा योगदान पुर्याइ परिस्कृत र मर्यादित जीवनयापनको आधार तयार गर्ने कार्यक्रमको ध्येय रहेको विभागले जनाएको छ ।

    सो कार्यक्रम तराई मधेसका १९ जिल्लासहित भित्री मधेसका उदयपुर, मकवानपुर, सुर्खेत, चितवन र दाङसहित पहाडी जिल्ला इलाम र सिन्धुलीमा कार्यान्वयमा रहेको विभागले जनाएको छ । महानिर्देशक बरालले भन्नुभयो, “भूमिगत सिँचाइ प्रणाली सञ्चालनको आधारभूत प्राविधिक ज्ञानको अभावले गर्दा उपभोक्तालाई नियमित रूपमा सिँचाइ प्रणाली सञ्चालनमा समस्या सम्बोधन गर्ने प्रयासमा छौँ ।”

    विभागले गत वर्षको वर्षात्का मुख्य समयमा पनि मधेस प्रदेश सुक्खा हुँदा आइलागेको समस्यालाई तत्काल सम्बोधन गर्न द्रुतगतिबाट काम गरेको थियो । धानबाली जोगाउन भूमिगत जल सिँचाइलाई निरन्तरता दिने प्रयास गरेको थियो ।

    सरकारले गत साउन ६ गते मधेस प्रदेशलाई तीन महिनाका लागि सुक्खा विपद् क्षेत्र घोषणा गरेको थियो । खानेपानी, सिँचाइ तथा कृषिसम्बन्धी समस्याको पहिचान गरी समाधानका लागि कार्ययोजना पेस गर्ने सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनका आधारमा विभागले भूमिगत जल सिँचाइसम्बन्धी तत्काल गर्नुपर्ने कार्य अगाडि बढाएको थियो ।

    जलस्रोत संरक्षण

    विभागले एकीकृत नदी बेसिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमले पच्चीस हजार हेक्टर जमिनमा सिँचाइ गरिने लक्ष्य राखेको छ ।

    विभागले जलस्रोत संरक्षण, नदी नियन्त्रण तथा जल उत्पन्न प्रकोप व्यवस्थापनको कार्य योजनाबद्ध रूपमा गर्दै आएको छ । महानिर्देशक बरालले भन्नुभयो, “निर्माण सम्पन्न भएका सिँचाइ प्रणालीहरूमा नहर सञ्चालन एवं व्यवस्थापनको पनि कार्य गर्दै आएको छ ।”

    विभागले तटबन्ध निर्माण एक हजर ४७७ किमी, जग्गा उकास १३ हजार ६७१ हेक्टर र चेकड्याम ६३५ निर्माण सम्पन्न गरेको छ । महानिर्देशक बरालले भन्नुभयो, “जलस्रोत संरक्षण, नदी नियन्त्रण तथा जल उत्पन्न प्रकोप व्यवस्थापनमा काम गरिरहेको छ ।”

  • पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

    काठमाडौँ, २५ चैत । हाल देशमा पश्चिमी न्यून चापी जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ ।

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । ती प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानका साथै मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी तथा हिमाली भागका धेरै तथा तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • तीन फर्मलाई जरिवाना

    तीन फर्मलाई जरिवाना

    काठमाडौँ, २५ चैतः नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई रु २० हजार जरिवाना गरेको छ ।यस्तै, कुलेस्वरकै एमडिआर स्टोरलाई पनि रु २० हजार जरिवाना गरेको छ ।

    गोंगबुमा रहेको गुप्ता गुदपाक भण्डारलाई रु पाँच हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही गरिएको विभागले प्रष्ट पारेको छ । विभागले एकैदिन कूल ३९ वटा फर्ममा अनुमगन गरेकामा ३६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।

  • गृहमन्त्री गुरुङले गरे बिपी राजमार्ग अवलोकन, विपत्तिमा हेली उद्धारको निर्देशन

    गृहमन्त्री गुरुङले गरे बिपी राजमार्ग अवलोकन, विपत्तिमा हेली उद्धारको निर्देशन

    काभ्रेपलाञ्चोक, २४ चैतः गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन् । उनले राजमार्गको क्षति र आउने सम्भावित विपत्तिबारे सरोकारवालासँग स्थलगत छलफल गरे । क्षतिग्रस्त उक्त राजमार्गको अनुगमनका क्रममा गृहमन्त्री गुरुङले अब हुने सम्भावित विपत्तिबारे चासो दिँदै यसअघि कस्ता खालका विपत् भए, कस्तो व्यवस्थापन गरियो, त्यस अनुसारको पूर्वतयारी गर्नुपर्नेबारे सुरक्षा प्रमुखलाई रणनीतिक तयारी अवस्थामा रहन निर्देशन दिए ।

    “यसअघि कस्तो खालको विपत्ति भयो, त्यसलाई मध्यनजर गर्दै रेस्क्यू गर्ने तयारीबारे हामी सचेत रहनुपर्दछ, खोलामा डुबे गोताखोर तथा अन्य अवस्थाका लागि एम्बुलेन्स हैन, जाम हुनसक्छ, समय महत्त्वपूर्ण हो, अब हामीले हेलीबाट रेस्क्यू गर्नुपर्दछ, जियो–लोकेसन गरी त्यसबारे व्यवस्थापन गर्दै रेस्क्यू गर्ने हो, त्यसका लागि त्रिभुवन विमानस्थलमा केन्द्रीय विपद् व्यवस्थापनबाट एयरपोर्टमा जुन टोली चाहिने हो, त्यही परिचालन गर्नेछौँ, जे आवश्यक हो सोहीअनुसार तयारी गर्नेछौँ”, उनले भने ।


    गृहमन्त्री गुरुङले सोहीअनुसार तयारी गर्न केन्द्रीय सुरक्षाकर्मी तथा जिल्लास्थित सुरक्षाकर्मीलाई निर्देशन दिए । अनुगमनका क्रममा गुरुङले डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेश, नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा र रोशी गाउँपालिका अध्यक्ष दिनेश लामालगायत सरोकारवाला स्थानीय तहका प्रमुखसँग क्षतिग्रस्त राजमार्गबारे जानकारी लिए ।

    त्यस अवसरमा योगेशले स्थायी निर्माणमा तीव्रता दिइएको तर हालको अवस्थामा पटकपटक भइरहेको वर्षाका कारण केही रोकिएको जानकारी गराए । यस्तै, योगेशले यसअघि अस्थायी रूपमा निर्माण गरिएको डाइभर्सन बगाउँदा पुनःनिर्माण गरी यातायातका साधनलाई पुनः सञ्चालन ग्रिएको जानकारी गराउँदै आगामी वर्षअघि पुरानै सडक लेनमा अस्थायी रूपमा भए पनि यातायात सञ्चालन गर्नेगरी ‘इक्युपमेन्ट’ थपेर निर्माण कार्यलाई तीव्रता दिइएको गृहमन्त्री गुरुङलाई जानकारी गराए ।


    नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ । राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्नेगरी निर्माणलाई तीव्रता दिइएको योगेशले बताए । उनका अनुसार राजमार्गमा भइरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनःनिर्माणको काम सकिनेछ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडक खण्डमा कुल २५ प्रतिशत काम भएको योगेशको भनाइ छ ।

    विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि प्रक्रिया पुर्‍याएर स्थायी पुनःनिर्माण थालिएको हो । क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गर्ने बर्खे खोलादेखि पिप्लेसम्मको ३ दशमलब २ किलोमिटर सडक निर्माणको काम यसै महिनाभित्र ठेक्का सम्झौता हुने योगेशले जानकारी दिए ।
    क्षति पुर्‍याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको छ । यस्तै डालाबेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने काम भइरहेको योगेशले बताए । उनका अनुसार गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ ।

    राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ । यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाई कालोपत्र गरी कामलाई तीव्रता दिइएको योगेशले बताए । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो ।

    अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनर्निर्माण हुने सडक खण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई दुई लेनको निर्माण गरिनेछ”, योगेशले भने । उनका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ । डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित)मा निर्माण गर्ने गरी ठेक्का पाएको कार्यालयले जनायो ।

    यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड ९भ्याटसहित०मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।

    क्षतिग्रस्त कुल २९ दशमलव ५ किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किमी सडकलाई जाइकाले रु दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडक खण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो ।

    क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो ।

    जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।

    यसअघि गुरुङले अरनिको रामार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको १८ किलोमिटर सडक खण्डमा पर्ने भैँसेपाटीमा पुल तथा बनेपास्थित पुलबजारको पुन्यमाता खोलामा निर्माण सुरु गरिएको पुलको निरीक्षण गरी कामलाई तीव्रता दिन आग्रह गरेका छन् ।

  • भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

    भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

    मुस्ताङ, २४ चैतः हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको गत भदौ २२ देखि यही चैत २० गतेसम्म यहाँ भ्रमणमा आएका पर्यटकमध्ये छ पुरुषसहित एक महिला पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतका अनुसार मृत्यु हुनेमा भारतका तीन पुरुष र मेक्सिकोका एक गरी चार पर्यटक रहेका छन् । यसरी मृत्यु हुनेमा ४१ वष उमेर समूहदेखि ७५ वर्ष उमेर समूहका रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आवको २२ भदौमा मुक्तिनाथमा लेक लागेर वेलगार्व, उदारखुर्द, कर्नाटक भारतका ७१ वर्षीय आन्नद माधवाराओ देशपाण्डेको मृत्यु भएको थियो । गत असोज २४ गते महालक्ष्मी नगरपालिका–४ इमाडोल ललितपुरका ७५ वर्षीय माधवप्रसाद शर्मा उप्रेतीको घरपझोङ–४ जोमसोममा लेक लागेर मृत्यु भएको थियो । यसैगरी कात्तिक ९ गते सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भएका ५० वर्षीय जगतबहादुर तिमिल्सिनाको घरपझोङ–२ मार्फामा लेक लागेर मृत्यु भएको प्रहरी निरीक्षक महतले जानकारी दिए ।


    यस्तै, कात्तिक २२ गते ६१ वर्षीय भारतीय पर्यटकको घरपझोङ–३ स्थित एक होटलमा, पुस १२ गते ७४ वर्षीय भारतीय पर्यटक चन्द्रकान्त श्रपत तम्बोकरको मुक्तिनाथ रानीपौवामा लेक लागेर मृत्यु भएको थियो । यसैगरी, यही चैत १७ गते मेक्सिकोका ६७ वर्षीय फेडेरिको लोपेज क्याम्बाको थासाङ गाउँपालिका–१ टुकुचेस्थित पक्की पुल नजिक लेक लागेर मृत्यु भएको थियो भने चैत २० गते ठोरी गाउँपालिका–४ पर्साकी ४१ वर्षीय सरिता बुढाथोकीको मुक्तिनाथ मन्दिरमा लेक लागेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

  • अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

    अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

    तेहरान, २४ चैत (रासस–एएफपी) । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका र इजरायलले आक्रमण गरेको समाचार सार्वजनिक भएको छ । इरानको मेहर समाचार एजेन्सीका अनुसार ‘अमेरिकी–जायोनिस्ट शत्रुले खार्ग टापुमा धेरै आक्रमण गरेको छ र त्यहाँ विस्फोटका आवाज सुनिएका छन् ।’


    एक समाचार स्रोतका पत्रकारले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सामाजिक सञ्जालमा लेखे, “अमेरिकाले उक्त टापुमा सैन्य लक्ष्यहरूमा आक्रमण गरेको हो ।” यद्यपि एक अमेरिकी समाचारपत्रले ह्वाइट हाउस अधिकारीलाई उद्धृत गर्दै आक्रमण सैन्य लक्ष्यमै केन्द्रित रहेको जनाएको छ । अर्को अन्तर्राष्ट्रिय समाचार माध्यमले पनि अमेरिकी अधिकारीको भनाइ उल्लेख गर्दै तेल पूर्वाधारमा क्षति नपुगेको बताएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार नष्ट गर्ने धम्की बारम्बार दिँदै आएका छन् । मङ्गलबार उहाँले ‘पूरै सभ्यता नै नष्ट हुन सक्छ’ भन्ने चेतावनी दिएका थिए । खार्ग टापु इरानको तेल निर्यात प्रणालीको केन्द्रबिन्दु हो र देशको अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

    यो टापु रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्य नजिक अवस्थित छ, जहाँ इरानको सबैभन्दा ठूलो तेल टर्मिनल, पाइपलाइन, भण्डारण ट्याङ्क तथा अन्य पूर्वाधार रहेका छन् । यसअघि मार्च १३ मा पनि अमेरिकाले खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा बमबारी गरेको जनाएको थियो, जसमा तेलसम्बन्धी संरचना भने प्रभावित नभएको बताइएको थियो ।

  • ट्रकको ठक्करबाट ललितपुरमा दुई जनाको मृत्यु

    ट्रकको ठक्करबाट ललितपुरमा दुई जनाको मृत्यु

    काठमाडौँ, २४ चैतः ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–००१ ख ८०६८ नम्बरको ट्रकले एएए ३५४२ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–२ सानेपा बस्ने सुनसरी घर भएका ६५ वर्षीय विदुर गुरुङ र मोटरसाइकलमा सवार उनकै आमा ८५ वर्षीया धनमाया गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ । ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

  • ट्रम्प–इरान तनाव बढ्दै, ट्रम्पले दिए समाप्त पार्ने अहिलेसम्मकै कडा धम्की

    ट्रम्प–इरान तनाव बढ्दै, ट्रम्पले दिए समाप्त पार्ने अहिलेसम्मकै कडा धम्की

    वासिङटन, २४ चैत (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खुला गर्न दिएको म्याद सोमबारबाट मङ्गलवारमा सारिएको छ । ट्रम्पको अघिल्लो डेडलाइन मार्च २३ का लागि तय गरिएको थियो, तर त्यसपछि उनले पटक–पटक चेतावनी जारी गर्दै र कहिलेकाहीँ वार्ता सफल भएको दाबी गर्दै म्याद सार्दै आएका छन् ।

    इरानले पछिल्लो सङ्घर्षविराम प्रस्ताव अस्वीकार गरेको इरानको सरकारी समाचार एजेन्सीले सोमबार रिपोर्ट गरेको छ । त्यसपछि ट्रम्पले चेतावनी दिँदै मङ्गलबार साँझ ८ बजेको म्याद अन्तिम हुन सक्ने सङ्केत दिएका छन् । उनले भने, “उनीहरूलाई कुनै पुल, विद्युत गृह वा अन्य पूर्वाधार बाँकी रहँदैन ।”


    संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले अमेरिकीलाई नागरिक पूर्वाधारमा आक्रमण अन्तर्राष्ट्रिय कानूनअनुसार निषेधित रहेको बताए । मार्च २१ मा, ट्रम्पले ट्रुथ सोशलमा पोस्ट गर्दै यदि इरानले ४८ घण्टाभित्र स्ट्रेट पूर्ण रूपमा खुला नगरे, अमेरिकाले उनका विद्युत गृहहरू नष्ट गर्ने चेतावनी दिएका थिए । म्याद मार्च २३ साँझसम्म थियो । तर १२ घण्टा अघि, ट्रम्पले सकारात्मक वार्ताको जानकारी दिँदै म्याद पाँच दिनका लागि स्थगित गरे । यसरी डेडलाइन त्यो हप्ताको अन्त्यसम्म धकेलिएको थियो ।


    मार्च २६ मा, ट्रम्पले फेरि चेतावनी दिँदै भने, “उहाँहरूले छिट्टै गम्भीर हुनुपर्छ, नभएपछि पछाडि फर्कन सकिँदैन र परिस्थिती रमाइलो हुने छैन ।” तर पछि उनले डेडलाइन १० दिन थप्दै अप्रिल ६ बेलुका ८ बजे सम्मको नयाँ म्याद तोके र वार्ता ‘देरै राम्रो भइरहेको’ बताए । मार्च ३० मा, उनले मिश्रित बयान जारी गर्दै वार्तामा प्रगति भएको कुरा मनाए र सम्झौता छिट्टै नभए बमवर्षण धम्की बढाउने चेतावनी पनि दिए । इरान र अमेरिकाबीचको यो तनावले मध्यपूर्वमा तेल आपूर्ति, अन्तर्राष्ट्रिय सुरक्षा र विश्वव्यापी बजारमा व्यापक असर पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।

  • प्रतिनिधिसभा :  बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

    प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

    काठमाडौँ, २४ चैतः प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट गर्ने गरेको भन्दै सामाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले मनाङ–मुस्ताङलगायत मुलुकका विभिन्न स्थानमा प्रतिबन्धित क्षेत्र घोषण गर्दा जनताको मौलिक हक हनन भएको भन्दै त्यसलाई खुला गरी स्थानीय तहमार्फत व्यवस्थापन र सञ्चालन गर्न माग गरे ।


    बैठकमा सांसद अशोक चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बाढीबाट बर्सेनि हुने डुबानको दिगो समस्या समाधानका लागि सरकारसँग आग्रह गरे । सांसद आकृति अवस्थीले सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध भएको जेनजी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने माग गरिन् ।

    सांसद आर्यन राईले खोटाङलगायत पूर्वी पहाडका कृषि क्षेत्रमा बाँदर आतङ्क समाधानको उपायका बारेमा आफूहरूले सरकारलाई जानकारी गराएको उल्लेख गर्दै शीघ्र समाधानका लागि ध्यानाकर्षण गराए । सांसद आशिष गजुरेलले सडक दुर्घटनामा दैनिक सात जनाको मृत्यु हुने गरेको तथ्य अवगत गराउँदै सडक सुरक्षा विधेयक तत्काल पेस गरी पारित गर्नका लागि ध्यानाकर्षण गराए ।


    सांसद आशिका तामाङले त्रिशूलीगायत नदीमा भइरहेको नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित गर्न माग गरिन् । सांसद इन्दिरा रानामगरले मुलुकका भविष्यका कर्णधार युवा दुव्र्यसनको सिकार भइरहेको अवस्थामा समाधानका लागि नयाँ कार्यक्रम ल्याउन माग गरिन् । सांसद एलिजा गुरुङले मनाङ–मुस्ताङ मुलुकका विभिन्न स्थानमा घोषणा गरिएका प्रतिबन्धित क्षेत्रलाई खुला गरी स्थानीय तहमार्फत व्यवस्थापन र सञ्चालन गर्न माग गरिन् ।

  • महोत्तरीमा दुई मोटरसाइकल ठोक्किए, तीन युवाको मृत्यु

    महोत्तरीमा दुई मोटरसाइकल ठोक्किए, तीन युवाको मृत्यु

    जलेश्वर (महोत्तरी), २४ चैतः जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने शत्रुध्न मण्डलका छोरा अन्दाजी २० वर्षीय अभिषेक मण्डल रहेको प्रहरीले जनाएको छ ।

    निजका आफन्तहरूले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले बताए । सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ कै सुरेश दासका छोरा अन्दाजी १९ वर्षीय रोहित दास, सोही ठेगानाका लखिन्द्र कापरका छोरा अन्दाजी १९ वर्षीय अभय कापर र एकडारा गाउँपालिका–५ बथनाहाका रामवरण कापरका छोरा अन्दाजी २० वर्षीय अजय कापर रहेका छन् ।

  • सरकारले घटायो पेट्रोलियम पदार्थमा लाग्ने कर

    सरकारले घटायो पेट्रोलियम पदार्थमा लाग्ने कर

    २४ चैत, काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको सामान्य प्रशासनमन्त्री रावलले जानकारी दिइन् । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले भनिन्, “पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यावहारिक देखिएको छ । मूल्य समायोजनको बाध्यता छ । सरकारले यो तथ्य लुकाउँदैन ।”

    सामान्य प्रशासनमन्त्री रावलका अनुसार पेट्रोलियम पदार्थमा सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब रु ११ अर्ब ७२ करोड घाटा भइरहेको छ । इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने र इभी (विद्युतीय सवारी) तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको उनले बताइन् ।

    मन्त्रिपरिषद्को बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैङ्कले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ । बैठकले ललितपुरको पुल्चोकमा रहेको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई ललितपुरकै गोदावरीमा स्थानान्तरण गरी जल तथा ऊर्जा आयोगको सचिवालयो कार्यालयलाई पुल्चोकमा हाल जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र रहेको भवनमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम र सदस्यहरू ललिताकुमारी महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी, पूर्वाधार विकासतर्फ नागढुङ्गा सुरुङमार्गको पश्चिम खण्डमा पर्ने धुनिबेँसी नगरपालिका र पासाङल्हामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेसी सडक खण्डमा पर्ने उत्तरगया गाउँपालिकामा निजी जग्गा प्राप्ति गर्न सरकारले स्वीकृति प्रदान गरेको छ ।

    काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणका लागि काठमाडौँ, ललितपुर र मकवानपुरका विभिन्न वन क्षेत्रको कुल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र १८ हजार ८९८ वटा रूख काट्न अनुमति दिने निर्णय पनि बैठकले गरेको छ ।

  • नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

    नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

    २४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । पण्डितले राष्ट्र बैङ्कको सुपरीवेक्षण विभाग, बैङ्क तथा वित्तीय संस्था नियमन विभागलगायत विभिन्न विभागमा रहेर काम गरेका छन् । राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद रिक्त छ । त्यसमध्ये आज एक जनाको मात्र पदपूर्ती भएको हो । अर्को पदपूर्तिको भने टुंगो लागेको छैन ।

  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त

    राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त

    काठमाडौँ, २४ चैतः सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सञ्चारकर्मीलाई जानकारी दिइन् । भट्ट तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर बन्न पाएका थिएनन् । अब उनी बालेन नेतृत्वको बलियो सरकारको मूख्य सल्लाहकारका रुपमा रहने योजना आयोगको नेतृत्व गर्नेछन् ।

  • ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति

    ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति

    सियोल, २४ चैत (रासस–एएफपी) । दक्षिण कोरियाले यस वर्षको सुरुमा उत्तर कोरियातर्फ पठाइएका ड्रोनसम्बन्धी विवादमा पहिलोपटक स्पष्ट स्वीकारोक्ति गर्दै प्योङयाङप्रति खेद व्यक्त गरेको छ । राष्ट्रपति ली जे म्युङले सोमबार उक्त घटनालाई ‘गैरजिम्मेवारपूर्ण’ र ‘लापरवाह’ कदमका रूपमा वर्णन गर्दै यसले अनावश्यक सैन्य तनाव बढाएको बताए ।

    सुरुमा सियोलले जनवरीमा भएको ड्रोन घटनामा आफ्नो कुनै आधिकारिक संलग्नता नरहेको दाबी गरेको थियो र यसलाई निजी व्यक्तिको कार्य हुन सक्ने सङ्केत दिएको थियो । तर पछिल्लो अनुसन्धानले सरकारी निकायसँग सम्बन्धित व्यक्तिहरूको संलग्नता पुष्टि गरेको राष्ट्रपति लीले मन्त्रिपरिषद् बैठकमा जानकारी दिए । उनका अनुसार राष्ट्रिय गुप्तचर सेवाका एक अधिकारी र एक सक्रिय सैनिक यस घटनामा संलग्न रहेको प्रमाणित भएको छ ।

    उक्त घटनापछि उत्तर कोरियाले कडा प्रतिक्रिया जनाउँदै फेब्रुअरीमा यस्ता ड्रोन फेरि आफ्नो क्षेत्रमा प्रवेश गरे ‘भयानक परिणाम’ आउने चेतावनी दिएको थियो । प्योङयाङले जनवरीको सुरुमै ‘निगरानी उपकरण’ बोकेको ड्रोन खसालेको दाबी गर्दै त्यसका भग्नावशेषका तस्बिरहरू सार्वजनिक गरेको थियो, जसमा क्यामेरा जडान भएको देखिएको थियो ।

    राष्ट्रपति लीले केही व्यक्तिको लापरवाह निर्णयका कारण उत्पन्न तनावप्रति उत्तर कोरियासँग खेद प्रकट गर्दै यस्ता गतिविधि अत्यन्त सावधानीपूर्वक मात्रै सञ्चालन हुनुपर्ने बताउनुभयो। उहाँले दक्षिण कोरियाको संविधानले निजी व्यक्तिलाई उत्तर कोरियालाई उक्साउन सक्ने कार्य गर्न निषेध गरेको स्मरण गराउँदै राष्ट्रिय सुरक्षासम्बन्धी कुनै पनि कदम जिम्मेवार ढङ्गले चालिनुपर्ने धारणा राखे ।
    गत वर्षदेखि पद सम्हालेका लीले उत्तर कोरियासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् ।

    उनले आफ्नो पूर्ववर्ती प्रशासनको आलोचना गर्दै प्योङयाङतर्फ प्रचार सामग्री पठाउने जस्ता गतिविधिले तनाव बढाएको बताउँदै आएका छन् । यद्यपि, उनका कूटनीतिक प्रस्तावहरूमा उत्तर कोरियाबाट सकारात्मक प्रतिक्रिया आएको छैन । पूर्वराष्ट्रपति युन सुक येओलविरुद्ध भने गम्भीर आरोपहरू लागेका छन् । उनीमाथि उत्तर कोरियातर्फ ड्रोन पठाएर जानाजानी तनाव सिर्जना गरेको र त्यसलाई सैन्य शासन घोषणा गर्ने बहानाका रूपमा प्रयोग गर्न खोजेको अभियोगमा मुद्दा चलिरहेको छ । गत वर्ष अप्रिलमा महाभियोगपछि पदबाट हटाइएका युनलाई मार्सल ल घोषणा गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

    यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनले मार्चमा दिएको नीतिगत सम्बोधनमा दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण राज्य’ भन्दै पूर्ण रूपमा अस्वीकार गर्ने घोषणा गरेका थिए । उनले देशको आणविक कार्यक्रमलाई ‘अपरिवर्तनीय मार्ग’ भन्दै त्यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि दोहोर्‍याए ।
    दुवै कोरियाबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । सन् १९५०–५३ को युद्ध शान्ति सन्धिबिना केवल युद्धविराममा समाप्त भएकाले दुवै देश प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन् । त्यसैले दुवै देशमा अनिवार्य सैन्य सेवा लागू रहनुका साथै सानो घटनाले पनि ठूलो द्वन्द्व निम्त्याउने जोखिम कायमै रहेको देखिन्छ ।

  • फिजीमा क्रुज दुर्घटना, सबै यात्रु सुरक्षित

    फिजीमा क्रुज दुर्घटना, सबै यात्रु सुरक्षित

    मेलबर्न, २४ चैत (रासस–एपी) । फिजी नजिकै चट्टानमा अड्किएको एक क्रुज जहाजबाट सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएपछि सम्भावित ठूलो मानवीय दुर्घटना टरेको छ । जहाज सञ्चालक कम्पनीले सोमबार दिएको जानकारीअनुसार उक्त घटनामा कुनै पनि यात्रु घाइते भएका छैनन् । ब्लू लगुन क्रुजद्वारा सञ्चालित एमभी फिजी प्रिन्सेस शनिबार मोनुरिकी टापु नजिकै चट्टानमा अड्किएको थियो ।

    सो क्षेत्र हलिउड अभिनेता टम ह्याङ्क्स अभिनीत सन् २००० को चलचित्र ‘कास्ट अवे’ का कारण पनि परिचित मानिन्छ । प्रारम्भिक अनुसन्धानका आधारमा, जहाज लङ्गर हालेको अवस्थामा समुद्री अवस्था सामान्य रहे पनि अचानक आएको शक्तिशाली आँधीका कारण लङ्गर तानिँदै जहाज चट्टानतर्फ धकेलिएको र अन्ततः जमिनमा अड्किएको बताइएको छ ।

    आइतबार बिहान उज्यालो हुनासाथ उद्धार कार्य सुरु गरिएको थियो । करिब ५५.५२ मिटर लामो जहाज नजिकै डुङ्गा पु¥याएर ३० यात्रुलाई उनीहरूका सामानसहित सुरक्षित रूपमा बाहिर निकालिएको कम्पनीले जनाएको छ । उद्धारपछि सबै यात्रुलाई डेनारो टापुमा सारिएको छ, जहाँ उनीहरूको आवश्यक व्यवस्थापन गरिएको छ । घटनापछि सम्भावित वातावरणीय क्षति रोक्न पनि तत्काल कदम चालिएको छ । जहाजमा रहेको पम्प गर्न सकिने इन्धन र अन्य तेल पदार्थ सोमबारसम्म हटाइएको कम्पनीले जनाएको छ, जसले समुद्री प्रदूषणको जोखिम घटाएको छ ।

    उद्धार तथा प्राविधिक मूल्याङ्कनका लागि अस्ट्रेलियाका एक विशेषज्ञ आइतबारदेखि घटनास्थलमा खटिएका छन् र समग्र अवस्थाको निरीक्षण गरिरहेका छन् । यद्यपि, फिजीको समुद्री सुरक्षा प्राधिकरणले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । समग्रमा, आकस्मिक प्राकृतिक प्रभावका कारण भएको यो दुर्घटनामा मानवीय क्षति नभएकाले राहत महसुस गरिएको छ भने आगामी दिनमा यस्ता घटनाबाट बच्न थप सावधानी अपनाउने आवश्यकता औँल्याइएको छ ।

  • युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा

    युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा

    पेरिस, २४ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका र क्षेत्रीय शक्तिहरूबीचको तनाव खतरनाक मोडमा पुगेको छ । पछिल्ला घटनाक्रमहरूले युद्ध अझ फैलिने सङ्केत देखाएका छन् भने मानव क्षति, ऊर्जा सङ्कट र कूटनीतिक टकराव एकैसाथ बढिरहेका छन् । इजरायलको उत्तरी सहर हाइफामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

    सात तले आवासीय भवनमा सीधा प्रहार हुँदा भवन आंशिक रूपमा ढलेको र भग्नावशेषमा हराइरहेका अन्य दुई जनाको खोजी भइरहेको इजरायली अग्नि तथा उद्धार सेवाले जनाएको छ । यस आक्रमणसँगै इजरायलले पनि इरानको राजधानी तेहरानमा ‘शासन लक्षित’ आक्रमणको शृङ्खला सञ्चालन गरेको पुष्टि गरेको छ । इरानी सञ्चारमाध्यमहरूले तेहरानका विभिन्न आवासीय क्षेत्रमा विस्फोट भएको र केही स्थानमा ग्यास आपूर्ति अवरुद्ध भएको बताएका छन् ।

    यसैबीच, इरानले नागरिक संरचनामाथि आक्रमण दोहोरिए अझ ‘विनाशकारी’ जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले आगामी चरण अझ व्यापक हुने सङ्केत दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन नगरे नागरिक पूर्वाधारमाथि कडा आक्रमण गर्ने चेतावनी दोहोर्‍याउँदै समयसीमा २४ घण्टा थप गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पुल र विद्युत् संरचनामाथि आक्रमण गर्ने धम्की दिए । इरानका संसदीय नेतृत्वले यस्तो कदमले सम्पूर्ण क्षेत्र जल्न सक्ने प्रतिक्रिया दिएको छ ।

    द्वन्द्व क्षेत्र विस्तार हुँदै खाडी मुलुकहरूसम्म पुगेको छ । कुवेत र संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई सुरक्षाले मिसाइल र ड्रोन आक्रमणहरू विफल पारिरहेको बताएका छन् । यसैबीच, इरान समर्थित लेबनानी समूह हिजबुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार पुनः सुरु गरेपछि लेबनान पनि युद्धमा गहिरिँदै गएको छ । लेबनानमा इजरायली आक्रमणले ठूलो मानवीय क्षति पुर्‍याएको छ । आइतबार मात्र कम्तीमा १५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् । बेरुतमा पाँच जनाको ज्यान गएको, पूर्वी क्षेत्रमा रहेको ऐन सादेहमा तीन जनाको मृत्यु भएको तथा दक्षिणी सहर कफर हट्टामा चार वर्षीया बालिकासहित सात जनाको ज्यान गएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    युद्धको प्रभाव ऊर्जा बजारमा पनि स्पष्ट देखिएको छ । विश्वव्यापी आपूर्ति जोखिमका कारण कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । नर्थ सी ब्रेन्ट र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियेट दुवैको मूल्य १० प्रतिशतभन्दा माथि उक्लिएको छ, जसले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने सङ्केत गरेको छ । यस्तै, ओपेक प्लसले मे महिनादेखि दैनिक दुई लाख छ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने निर्णय गरे पनि हालैका आक्रमणले क्षतिग्रस्त ऊर्जा संरचना मर्मत गर्न समय लाग्ने चेतावनी दिएको छ ।

    सैन्य मोर्चामा अमेरिका पनि प्रत्यक्ष रूपमा सक्रिय देखिएको छ । खसालिएको एफ–१५ लडाकू विमानका एक एयरम्यानलाई ‘साहसी’ उद्धार अभियानमार्फत जिवितै फेला पारिएको अमेरिकी पक्षले जनाएको छ । उक्त अभियानमा दर्जनौँ अमेरिकी विमान संलग्न भएको र एयरम्यान गम्भीर घाइते रहेको बताइएको छ । तर इरानले भने अमेरिकी कारबाही पूर्ण रूपमा असफल भएको दाबी गरेको छ । अमेरिकी विशेष बलहरू इरानी भूमिमा गहिरो प्रवेश गरेको र उद्धारका क्रममा प्रयोग गरिएका दुई विमान नष्ट गर्नुपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    यसै क्रममा दक्षिणपश्चिमी इरानस्थित कासिम सुलेमानी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिका–इजरायलले संयुक्त हवाई आक्रमण गरेको इरानी सरकारी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । धार्मिक र मानवीय पक्षमा पनि तनाव बढेको छ । पोप लियो चौधौँले आफ्नो पहिलो इस्टर सन्देशमार्फत युद्ध विस्तार गर्न सक्ने शक्तिहरूलाई शान्तिको बाटो रोज्न आग्रह गरेका छन् । उनले हिंसाप्रति बढ्दो उदासीनताप्रति चिन्ता व्यक्त गर्दै हजारौँ मानिसको मृत्युमा विश्व समुदाय संवेदनशील हुनुपर्ने बताए । यता, इस्टरका अवसरमा इजरायली सुरक्षा बलले पूर्वी जेरुसेलमस्थित पवित्र सेपुल्चर चर्चमा प्रवेशमा प्रतिबन्ध लगाएपछि धार्मिक गतिविधि समेत प्रभावित भएका छन् ।

  • आज पनि बस्दैछ प्रतिनिधिसभाको बैठक

    आज पनि बस्दैछ प्रतिनिधिसभाको बैठक

    काठमाडौँ, २४ चैतः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

  • काभ्रेमा होटल र रेष्टुरेन्टको अनुगमन गरी स्तरीकरण गरिँदै

    काभ्रेमा होटल र रेष्टुरेन्टको अनुगमन गरी स्तरीकरण गरिँदै

    काभ्रेपलाञ्चोक, २४ चैतः काभ्रेपलाञ्चोकका तीन नगरपालिकामा अनुगमन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरेको छ । कार्यालयले बनेपा, धुलिखेल र पनौती नगरपालिकाभित्र रहेका होटल तथा रेष्टुरेन्टको अनुगमन तथा मूल्याङ्कन गरी स्तरीकरण गर्नुका साथै लोगोसमेत वितरण गरेको हो ।

    कार्यालयका डिभिजन प्रमुख मनिष चापागाईंको नेतृत्वमा गठित संयुक्त अनुगमन टोलीले सोमबार स्थलगत निरीक्षण गर्दै ‘खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४’ अनुसार अनुसूची–१ मा उल्लेखित मापदण्डका आधारमा मूल्याङ्कन गरेको हो । खाद्य स्वच्छता समूहले ५० वटा सूचकका आधारमा होटल तथा रेष्टुरेन्टको स्तरीकरण गर्ने व्यवस्था रहेको छ ।

    टोलीमा धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गम, होटल एसोसिएसन अफ काभ्रेपलाञ्चोकका अध्यक्ष प्रह्लाद प्याकुरेल, जिल्लास्थित उद्योग वाणिज्य सङ्घका महासचिव रजित पलाञ्चोके, उपभोक्ता मञ्चका जिल्लाध्यक्ष माधव श्रेष्ठलगायतको सहभागिता थियो । अनुगमन टोलीका अनुसार प्रत्येक सूचकलाई दुई अङ्कका दरले मूल्याङ्कन गरी प्राप्त अङ्कका आधारमा होटललाई विभिन्न श्रेणीमा वर्गीकरण गरिन्छ ।

    नब्बेभन्दा माथि अङ्क प्राप्त गर्ने होटललाई अतिउत्तम (तीन तारे हरियो लोगो), ८०–८९ अङ्क प्राप्त गर्ने होटललाई उत्तम (दुई तारे हरियो लोगो), ६५–७९ अङ्क प्राप्त गर्ने होटललाई सन्तोषजनक (एक तारे हरियो लोगो०), ५०–६४ अङ्क प्राप्त गर्ने होटललाई सामान्य (पहेँलो लोगो) प्रदान गर्ने व्यवस्था रहेको कार्यालय प्रमुख चापागाईंले जानकारी दिए ।

    मूल्याङ्कनका क्रममा धुलिखेलका दुसित थानी, होटल सारथी, हिमालय होराइजन होटल, बनेपाको आगन्तुक रिसोर्ट, हिमालय दृश्य, तथा पनौती नगरपालिका–बल्थलीस्थित थुम्की रिसोर्टले अति उत्तम (तीन तारे) हरियो लोगो प्राप्त गरेका छन् । त्यस्तै, पनौतीस्थित बल्थलीका बल्थली माउन्टेन रिसोर्ट र बल्थली भिलेजले उत्तम (दुई तारे) हरियो लोगो प्राप्त गरेका छन् ।

    यसअघि डिभिजन कार्यालयले गत फागुन १७ गते होटल तथा रेष्टुरेन्टका सञ्चालक तथा व्यवस्थापकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा प्रमाणपत्र नवीकरण, सरसफाइ तथा ५० वटा सूचकसम्बन्धी मापदण्डबारे जानकारी गराइएको थियो ।

    चापागाईंका अनुसार जिल्लाभर रहेका होटल तथा रेष्टुरेन्टहरुको क्रमशः अनुगमन गरिनेछ । स्तरीकरण गरिएका होटल व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी प्रतिबद्धता गराई प्रमाणपत्र प्रदान गरिएको छ । साथै, छ महिनाभित्र पुनःनिरीक्षण गर्दा सुधार नभएको पाइए सम्बन्धित होटलको स्तरीकरण एक तह घटाइने पनि जनाइएको छ ।

  • अमेरिका–इरान युद्धबीच ४५ दिने विराम प्रस्ताव

    वासिङ्टन, २४ चैत (रासस–एपी) । इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका बीच ४५ दिनको युद्धविराम र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव अघि सारिएको छ, जसले जारी द्वन्द्वलाई अस्थायी रूपमा रोक्ने सम्भावना देखाएको छ । मध्यपूर्वका दुई अधिकारीका अनुसार इजिप्ट, पाकिस्तान र टर्कीका मध्यस्थकर्ताहरूले तयार पारेको उक्त मस्यौदा प्रस्ताव दुवै पक्षलाई पठाइएको छ, तर अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।

    उक्त प्रस्तावले ४५ दिनको समयावधिमा विस्तृत वार्ता गरी स्थायी युद्धविराममा पुग्ने वातावरण तयार गर्ने लक्ष्य राखेको छ । यो प्रस्ताव इरानी विदेशमन्त्री अब्बास अराघची र अमेरिकी मध्यपूर्व दूत स्टिव विटकफलाई पठाइएको बताइएको छ । यद्यपि, दुवै पक्षबीचको अविश्वास र कडा अडानका कारण सहमति हुने नहुने अझै अनिश्चित देखिएको छ । इरानले आर्थिक क्षतिपूर्ति र पुनः आक्रमण नगर्ने ग्यारेन्टी बिना युद्ध रोक्न अस्वीकार गर्दै आएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो समयसीमाभित्र होर्मुज जलडमरूमध्य पुनः नखोले कडा पूर्वाधार आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।

    यसैबीच, युद्धको मैदानमा हिंसा थप चर्किएको छ । आइतबारदेखि सोमबारसम्म इरानका विभिन्न सहरमा भएका आक्रमणमा २५ जनाभन्दा बढीको मृत्यु भएको छ । तेहरान नजिकैको एस्लामसार क्षेत्रमा भएको हवाई आक्रमणमा मात्र कम्तीमा १५ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । तेहरानस्थित सरिफ युनिभर्सिटी अफ टेक्नोलोजीमा समेत आक्रमण भएको बताइएको छ, जसका कारण विश्वविद्यालयका अनलाइन सेवाहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् र विद्यार्थीहरू क्याम्पस छोड्न बाध्य भएका छन् ।

    सैन्य पक्षमा इरानले ठूलो क्षति बेहोरेको छ । इरानी अर्धसैनिक रिभोलुसनरी गार्डका गुप्तचर प्रमुख मेजर जनरल माजिद खादेमी लक्षित आक्रमणमा मारिएको इरानी राज्य मिडियाले जनाएको छ । इजरायलले पनि उक्त कारबाहीको पुष्टि गर्दै गार्डका शीर्ष नेतृत्वलाई क्रमशः निशाना बनाइरहेको जनाएको छ । यसअघि पनि गार्डका अन्य वरिष्ठ अधिकारीहरू मारिएका थिए । इजरायलले इरानका स्टिल र पेट्रोकेमिकल उद्योगमा समेत गम्भीर क्षति पुर्‍याएको दाबी गरेको छ ।

    युद्ध क्षेत्र विस्तार हुँदै खाडी मुलुकसम्म पुगेको छ । संयुक्त अरब इमिरेट्सको फुजैराहमा इरानी ड्रोन आक्रमणले दूरसञ्चार भवनमा क्षति पुर्‍याएको छ भने अबु धाबीमा मिसाइल अवरोधका क्रममा एक व्यक्ति घाइते भएका छन् । इजरायलतर्फ पनि लगातार क्षेप्यास्त्र प्रहार भइरहेको छ । हाइफा र मध्य इजरायलका विभिन्न सहरहरूमा प्रहार हुँदा आवासीय भवनहरूमा क्षति पुगेको, केही घाइते भएको र आगलागी भएको रिपोर्ट आएको छ । यसअघि हाइफामा भएको आक्रमणमा दुई जनाको मृत्यु भइसकेको छ भने दुई जना अझै बेपत्ता छन् ।

    युद्धको प्रभाव विश्वव्यापी रूपमा फैलिँदै गएको छ । फेब्रुअरी २८ मा सुरु भएको यस द्वन्द्वले हजारौँको ज्यान लिइसकेको छ, अन्तर्राष्ट्रिय बजार अस्थिर बनाएको छ र प्रमुख ऊर्जा आपूर्ति मार्गहरू अवरुद्ध पारेको छ । विशेषगरी होर्मुज जलडमरूमध्य बन्द हुँदा विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति प्रभावित भएको छ ।

    यसै सन्दर्भमा विभिन्न देशहरूले वैकल्पिक ऊर्जा आपूर्ति सुनिश्चित गर्न प्रयास तीव्र बनाएका छन् । दक्षिण कोरियाले साउदी अरेबियाको यानबु बन्दरगाहतर्फ नयाँ तेल ढुवानी मार्ग खोल्न जहाजहरू पठाउने योजना बनाएको छ भने कूटनीतिक पहल पनि बढाएको छ । युद्धले मानव अधिकारको प्रश्न पनि उठाएको छ ।

    इरानले जनवरीमा भएको विरोध प्रदर्शनसँग सम्बन्धित एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ, जसलाई अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले गम्भीर रूपमा आलोचना गरेका छन् । समग्रमा, युद्धका बीच आएको ४५ दिने युद्धविराम प्रस्तावले तनाव कम गर्ने सम्भावना देखाए पनि दुवै पक्षको कडा अडान र निरन्तर बढ्दो हिंसाले तत्काल समाधानको सम्भावना अझै अनिश्चित देखिएको छ ।

  • सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

    सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

    काठमाडौँ, २३ चैत । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् । मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको बुँदा नम्बर २ अन्तर्गत विभिन्न मन्त्रालय र मातहतका निकायले आफूले सम्पादन गर्ने १० वटा मुख्य सुधारका करिब तीन सय बढी क्रियाकलापको कार्ययोजना समय सीमासहित बुझाएका हुन् ।

    प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको प्रधानमन्त्री कार्यसम्पादन एकाइ ‘पीएम डेलिभरी युनिट’ ले यी कार्ययोजनाको कार्यसम्पादन ‘ट्र्याकिङ’ गर्नेछ । यस एकाइले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाहरूको लागि मुख्य कार्यसम्पादन सूचक, मन्त्रालयगत कार्यसम्पादन ट्र्याकिङसँगै समस्या तथा अवरोध समाधान संयन्त्रसतिहको केन्द्रीय ‘ड्यासबोर्ड’ सञ्चालन गर्नेछ ।

    विभिन्न मन्त्रालय र निकायहरूले १५ दिनदेखि एक वर्षसम्मको समय सीमा तोकी कार्ययोजना तय गरेका छन । उक्त कार्ययोजनाको मासिक प्रगति प्रतिवेदन हरेक महिनाको ७ गतेभित्र प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन, मूल्याङ्कन तथा सार्वजनिक रिर्पोटिङ गर्ने जनाएको छ । सबै मन्त्रालयसहित राष्ट्रिय योजना आयोग, लगानी बोर्ड र स्वयं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतले आफ्नो कार्ययोजना पेस गरिसकेका छन् ।

    के हो यो कार्ययोजना ?
    सरकारले नतिजामा आधारित शासकीय सुधार प्रबन्ध लागू गर्ने लक्ष्यअनुसार प्रत्येक मन्त्रालयले आफ्ना प्रमुख १० कार्ययोजना, समय सीमा, जिम्मेवार अधिकारी र प्रमुख कार्यसम्पादन सूचकसहित तयार गर्नुपर्ने व्यवस्था गरेको हो । सरकारको मूल उद्देश्य कार्यसम्पादनलाई नतिजामुखी, मापनयोग्य र जवाफदेही बनाउँदै नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउनु रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ दाहालले बताए ।

    झण्डै तीन सय बढी प्रमुख कार्यमध्ये प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयअन्र्तगत प्रणाली स्तरोन्नति, आन्तरिक नियन्त्रण, भ्रष्टाचार विरुद्धको रणनीति, सदाचार नीति, गुनासो फछ्र्यौट, सम्पत्ति शुद्धीकरण ट्«याकिङ, सार्वजनिक खरिद ऐन संशोधन, करदाता सेवा विस्तार, राष्ट्रिय तथ्याङ्क अनलाइन उपलब्धता र राहदानी ऐन संशोधनलगायतका कार्यहरू समावेश छन् । प्रधानमन्त्री कार्यालयले तोकिएको समयभित्र लक्ष्य पूरा नगर्ने अधिकारीहरू जवाफदेही हुने जनाएको छ ।

  • विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

    विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

    काठमाडौँ, २३ चैत । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन गर्ने उद्देश्यले सरकारी कर्मचारी तथा विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा उल्लेख्य कटौती गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, आपूर्ति असन्तुलन तथा चालु आर्थिक वर्षमा अपेक्षित राजस्व सङ्कलन हुन नसक्दा खर्च नियन्त्रण अपरिहार्य बनेको हो । यही सन्दर्भमा मितव्ययिता कायम गर्न इन्धन सुविधा घटाइएको मन्त्रालयले जनाएको छ ।

    अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाअनुसार ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ संशोधन गरी इन्धनसम्बन्धी सुविधा पुनः निर्धारण गर्नुभएको हो । संशोधित व्यवस्थाअनुसार अब सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले यसअघि मासिक १२५ लिटर पाउने गरेकामा अब ७० लिटर मात्र इन्धन पाउनेछन् । सहसचिवस्तरका पदाधिकारीको हकमा १०० लिटरबाट घटाएर ५० लिटर कायम गरिएको छ । मन्त्री तथा संवैधानिक पदाधिकारीको सुविधा भने यथावत रहने मन्त्रालयले जनाएको छ ।

    यसैगरी, केन्द्रीयस्तरका सरकारी कार्यालयका सवारीसाधनका लागि उपलब्ध इन्धन सुविधा घटाइएको छ । ३० जनासम्म कर्मचारी भएका कार्यालयले अब ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल मात्र पाउनेछन्, जुन यसअघि क्रमशः ७५ लिटर र १०० लिटर थियो । यस्तै, ५० जनासम्म कर्मचारी भएका कार्यालयका लागि पनि यही सीमा लागू हुनेछ । थप प्रत्येक १०० कर्मचारीका लागि ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल उपलब्ध गराइने व्यवस्था गरिएको छ, जुन पहिलेको तुलनामा झण्डै आधा कमी हो ।

    दुईपाङ्ग्रे सवारीसाधनको हकमा इन्धन सुविधा घटाइएको छ । यसअघि प्रतिमहिना १२ लिटर पेट्रोल उपलब्ध गराइँदै आएकामा अब आठ लिटर मात्र उपलब्ध हुने व्यवस्था गरिएको छ । यस निर्णयले सार्वजनिक खर्च नियन्त्रणमा मद्दत पुग्ने र वर्तमान आर्थिक चुनौती व्यवस्थापनमा सहयोग पुग्ने सरकारको विश्वास छ ।

  • ओली र लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभए हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

    ओली र लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभए हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

    काठमाडौँ, २३ चैत । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालतबाट यही चैत २२ गते भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान सम्पन्न भइ मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकात सम्पन्न गर्न आदेश दिएको हो ।

    “जिल्ला अदालतबाट मिति २०८२-१२-२२ मा भएको आदेश अनुसारको समयावधिमा अनुसन्धानं कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ”, आदेशमा भनिएको छ ।

    अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । सो रिटका सन्दर्भमा भने प्रतिवादीहरुलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने जनाइएको छ ।

  • मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

    मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

    मुस्ताङ, २३, चैत्र स् यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ ।

    मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताए । “मुक्तिनाथ क्षेत्रमा यसअघि छ पटक सम्म हिउँ परेको भएपनि आज परेको हिमपात वजनदार छ, पछिल्लो तीन घण्टादेखि हिउँ परिरहेको छ,” उनले भने ।


    हिमपात भएपछि मुक्तिनाथ दर्शनका लागि आएका दर्शनार्थीहरुले सास्ती पाएका छन् । रानीपौवा बसपार्कदेखि मन्दिरसम्मको यात्रा गर्न हिमपातले अवरोध पु(याएको होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए ।

  • कार्यालय समय पालना भए-नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

    कार्यालय समय पालना भए-नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

    काठमाडौँ, २३ चैतः राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भएरनभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ । आजदेखि लागू भएको परिमार्जित कार्यालय समयको परिपालना र सेवा प्रवाहलाई चुस्त तुल्याउने उद्देश्यका साथ केन्द्रले काठमाडौँ उपत्यकाबाहिर नौ जिल्लामा टोली खटाएको प्रवक्ता नारायणप्रसाद भट्टले राससलाई जानकारी दिए ।


    “आयोजनाको गतिविधि र सेवा प्रवाहमा निगरानी तथा छड्के गर्ने गरी आजैदेखि उपत्यकाबाहिर पनि केन्द्रका टोली खटिएका छन्,” उनले भने, “केन्द्रमा प्राप्त उजुरी तथा गुनासो सम्बोधन गर्ने काम पनि तीव्र गतिमा भइरहेका छन् ।” पछिल्लो समय दैनिक सेवा प्रवाहसँग जोडेर आएका गुनासा सम्बोधन गर्न केन्द्र सक्रिय र गतिशीलताका साथ लागिरहेको छ ।

    नेपाल सरकारले आजदेखि लागू हुनेगरी कार्यालय समय बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म बनाएको छ । “सरकारको निर्णयलाई मध्यनजर गरेर सो अवधिमा समय पालना भए–नभएको, कर्मचारीले तोकिएको कार्यकक्षमा बसेर कार्यसम्पादन गरेरनगरेको, सेवाग्राहीका काम समयमा सम्बोधन भए–नभएकाबारे अनुगमन भइरहेको छ,” केन्द्रका सहसचिव भट्टले भने । कहीँकतै ढिलासुस्ती भएरनभएका बारे केन्द्रले ‘फाइल ट्र्याकिङ’ समेत गरिरहेको छ ।

    त्यस क्रममा भ्रष्टाचार र गलत कार्य भएको पाइएमा तत्काल सुधारका लागि निर्देशन दिने र भ्रष्टाचारसम्बन्धी काम भएको भेटिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने काम भइरहेको उनले बताए । सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहलाई सरलीकरण र सहजीकरण गर्ने वर्तमान सरकारको गति र उद्देश्यअनुसार आफ्नो सम्पूर्ण साधनस्रोत र जनशक्ति परिचालित गरिएको केन्द्रले जनाएको छ ।

    “दैनिक रुपमा उपत्यकामा परिचालन गरेका छौँ । विभिन्न कार्यालय, मन्त्रालय, विभाग, सरकारी–सार्वजनिक निकायहरुमा अनुमगन, छड्के र निगरानी गर्ने, समय पालना भएरनभएको, फाइल अड्केको, सेवा प्रवाहमा कहीँकसैले व्यवधान भोगेको छ कि, त्यसमा सहजीकरण र कारबाहीका लागि फिल्डबाटै लेखेर दिने दैनिक रुपमा चलिरहेको छ”, प्रवक्ता भट्टले भने ।