Category: विज्ञान प्रविधि

  • हिमाल पारीको जिल्ला मनाङस्थित तिलिचो ताल वेश क्याम्पमा पुग्यो बिजुली

    हिमाल पारीको जिल्ला मनाङस्थित तिलिचो ताल वेश क्याम्पमा पुग्यो बिजुली

    काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो ।

    बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेस क्याम्पमा विद्युत्का ग्राहक सङ्ख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ । सौर्य ऊर्जाको व्याकपले नधान्दा पर्यटकीय स्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका–९का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताए ।

    ‘राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीहरुको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत्को प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले गर्दा ग्याँसको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ’,’ बेस क्याम्पमा होटलसमेत सञ्चालन गर्दै आएका वडाध्यक्ष गुरुङले भने । ‘लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्याँसको प्रयोगलाई पूर्ण रुपमा कटौती गर्न सकिन्छ ।’ उहाँले उक्त क्षेत्रमा दाउरा महंगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्याँसको प्रयोग हुने गरेको उल्लेख गरे ।

    केही दिनअघि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सार पुग्नु भएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत तिलिचो तालको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्‍याइएको बताए। वडाध्यक्षसहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भने,‘बेस क्याम्पमा राष्ट्रिय ग्रिड पुर्याउनमा केन्द्रीत थियौं, ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधारलगायतका कामहरु उच्च प्राथमिकतामा राखी अगाडि बढाउने छौं ।’

    लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्युस्थित ३३र११ केभी सबस्टेसनमा पुर्‍याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पुर्‍याइएको हो ।


    प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएको बेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए ।

  • दोलखामा भूकम्पको धक्का महसुस

    दोलखामा भूकम्पको धक्का महसुस

    काठमाडौं । दोलखामा विहीबार बेलुका भूकम्प गएको छ । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको छ । आज बेलुका ७ बजेर ५६ मिनेटमा दोलखाको ओरङ्ग केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

    भूकम्पको धक्का दोलखा र आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट क्षति पुगेनपुगेको विवरण भने प्राप्त हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय दोलखाले अहिलेसम्म क्षतिको सूचना नआएको जनाएको छ ।

  • हिमाली भेगमा हिमपात सुरु, कस्तो रहनेछ आजको मौसम ?

    हिमाली भेगमा हिमपात सुरु, कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । आज पनि देशका थोरै ठाउँमा वर्षा भइरहेको छ । पहाडी भू–भागका एक–दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । राति पनि बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका विभिन्न ठाउँमा सोमबार पनि वर्षा भएको थियो । दोलखाको कालिन्चोकमा सोमबा हिमपात भएको छ ।

  • रुसले गुगललाई लगायो हिसावमा गन्नै नसकिने रकम जरिवाना

    रुसले गुगललाई लगायो हिसावमा गन्नै नसकिने रकम जरिवाना

    काठमाडौं । रुसको एक अदालतले युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गुगलमाथि भयंकर परिमाणको जरिवाना तोकेको छ । जरिवानाको रकम अति धेरै छ कि गन्न पनि गाह्रो छ । बीबीसीका अनुसार रुसको अदालतले २८ अक्टुबरको दिन २।५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिबानाको फैसला गरेको हो । १ अण्डसिलियनमा १ पछि ३६ वटा जिरो हुन्छन् । अर्थात् रुसी अदालतले गुगललाई २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० अमेरिकी डलर जरिबाना तिर्न भनेको छ । यो धनराशि गुगलको पूरै सम्पत्ति बेचेर पनि पुग्दैन । त्यतिमात्रै होइन यो विश्वभरको कूल जीडीपी भन्दा पनि धेरै छ । विश्वभरको कूल जीडीपी जोड्दा १०० ट्रिलियन डलर हुने अनुमान छ ।


    अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समयसीमा दिएको छ । यदि ९ महिनाभित्र पनि तिर्न नसकेमा जरिबाना रकम दैनिक डबल हुने अदालतले जनाएको छ । रुसी अदालतले गन्न पनि गाह्रो हुने रकम जरिवानाको फैसला गुगलविरुद्ध चार वर्षसम्म चलेको कानुनी लडाइँ पछि गरेको हो । गुगलले रुसका केही सञ्चार माध्यमहरुमाथि प्रतिबन्ध लगाएको थियो । ती सञ्चार माध्मयको सूचीमा रुसका सरकारी सञ्चार माध्यम पनि थिए ।

    रुसको राष्ट्रवादी भनिने च्यानल जारग्रेडलाई गुगलले युट्युबबाट हटाइएको थियो । जारग्रेड च्यानलका प्रमुखलाई अमेरिकाले प्रतिबन्ध समेत लगाएको थियो । त्यसपछि मिडियाहरुले गुगलविरुद्ध अदालतमा मुद्दा हालेका थिए । रुसी अदालतले गुगललाई प्रतिबन्ध लगाइएका च्यानललाई फुकुवा गर्न भनेको छ । साथै जरिबाना रकम तिरिसकेपछि मात्रै रुसी बजारमा गुगललाई प्रवेश दिने जनाएको छ । यद्यपि गुगल हाल रुसमा कुनै पनि प्रकारको व्यापार गर्दैन । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि गुगलले रुसमा आफ्ना सबै गतिविधि बन्द गरेको थियो ।

  • तिहारको झिलिमिली टाङ्दा लाग्यो करेन्ट, काठमाडौंमा एक जनाको मृत्यु

    तिहारको झिलिमिली टाङ्दा लाग्यो करेन्ट, काठमाडौंमा एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो काठमाडौं महानगरपालिका ९ बत्तिसपुतलीस्थित एक घरमा बत्ती सजाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो। कैलाली भजनी नगरपालिक-४ घर भएका २८ वर्षीय पवन चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    घरमा झिलिमिली बत्ति सजाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारको लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • दोलखामा भूकम्पको धक्का महसुस

    दोलखामा भूकम्पको धक्का महसुस

    काठमाडौं । दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

  • प्राधिकरणले काट्यो उद्योगको लाइन, सरकारले लिएन पहल

    प्राधिकरणले काट्यो उद्योगको लाइन, सरकारले लिएन पहल

    काठमाडौं । सरकारले कुनै पहल नलिएसँगै नेपाल विदुत प्राधिकरणले नियमानुसार उद्योगहरुको बिजुली काटेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको हो । बिहीवार साँझबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिसकिएको छ ।

    साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको लाइनसमेत काटिएको प्राधिकरणको सिमरा वितरण केन्द्रले जनाएको छ ।
    कार्यकारी निर्देशक घिसिङले बिहीवार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिनुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा कुलमानले गरेको प्रस्तावको बारेमा छलफल भए पनि कुनै निर्णय भएको थिएन । त्यसलगत्तै उनले लाइन काट्न शुरु गरेका हुन् ।

    पछिल्लोपटक गत २४ असोजमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिक सम्मको म्याद दिएको थियो । तर, प्राधिकरणले बिल दिएको तर विद्युत प्रयोगको प्रमाण नदिएको भन्दै सो बक्यौता नतिर्ने अडानमा उद्योगीहरु छन् ।

  • भारतमा आएको आँधीले नेपालमा के असर पर्ला ?

    भारतमा आएको आँधीले नेपालमा के असर पर्ला ?

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवातको प्रत्यक्ष असर नेपालमा नपर्ने मौसमविदले बताएका छन् । तर त्यसको आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने उनीहरुको प्रक्षेपण छ । ‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ ।

    यसको असरले ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता अपनाइएको छ । प्रभावित क्षेत्रबाट हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार टोलीलाई उच्च सतर्कताका साथ राखिएको छ । हवाई र रेल सेवा स्थगित गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ ।

    दाना चक्रवातको सबैभन्दा बाहिरी घेराका हल्का बादलमात्र नेपालसम्म आउने मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार चक्रवातको असरले कोशी प्रदेशको तराईदेखि पहाडसम्मै हल्का वर्षाको सम्भावना छ । तर अन्य स्थानमा खासै वर्षाको सम्भावना छैन ।


    जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको छ । तर यो वर्षा स्थानीय वायुको प्रभावले भएको मौसमविदले बताएका छन् । मौसमविद झाका अनुसार आगामी २४ घण्टामा पनि कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

  • भारतका पूर्वी राज्यमा विनासकारी आँधी, १५ लाख मानिस विष्थापित

    भारतका पूर्वी राज्यमा विनासकारी आँधी, १५ लाख मानिस विष्थापित

    काठमाडौं । भारतका पूर्वी राज्यहरू उडिसा र पश्चिम बंगाल क्षेत्रबाट आउन लागेको चक्रवातका कारण करिब १५ लाख मानिसलाई अन्यत्र सारिएको छ । भारतीय अधिकारीहरूले चक्रवात ‘दाना’ आगामी २४ घण्टासम्म सक्रिय रहने र यसले व्यापक क्षति पुर्‍याउने अनुमान गरेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार चक्रवातका कारण हुने क्षति न्यूनीकरण गर्न हजारौं राहत कार्यकर्ता खटाइएको छ ।

    ‘दाना’ का कारण यातायात सेवा पहिले नै प्रभावित भएको छ, धेरै रेल सञ्जाल र हवाई उडानहरू रद्द भएका छन् । भारतको मौसम विभागले बंगालको खाडीमा बनेको न्यून चाप बिहीबार साँझसम्म ठूलो आँधीमा परिणत हुने जनाएको छ । आँधीका कारण तटीय क्षेत्रहरू १२० किमि प्रतिघन्टाको गतिमा हावाहुरी आउने बताइएको छ । बुधबार उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले चक्रवातको मार्गमा रहेका जिल्लाका बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यवस्था गरिएको बताएका थिए ।

    अधिकारीहरूले खाना, पानी र स्वास्थ्य सुविधाहरूसहित अस्थायी राहत शिविरहरू तयार पारेको जनाइएको छ । ‘हामी आँधीसँग लड्न पूर्ण रूपमा तयार छौं । नआत्तिनुहोस्, सुरक्षित र सावधान रहनुहोस्,’ माझीले भनेका थिए । उडिसा राज्यका १४ जिल्लाबाट कम्तीमा १० लाख र पश्चिम बंगाल राज्यका तटीय क्षेत्रहरूबाट कम्तीमा ३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । दुवै राज्यमा तटीय क्षेत्रका विद्यालयहरू बन्द गरिनुका साथै अधिकारीहरू र उद्धार टोलीहरू तयारी अवस्थामा रहेको जनाइएको छ ।


    बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म भुवनेश्वर र कोलकाता सहरका विमानस्थलबाट उडान स्थगन गरिएको र आँधीका कारण २ सयभन्दा बढी रेल सेवा अवरुद्ध भएको जनाइएको छ । उडिसा र पश्चिम बंगालमा हरेक वर्ष ठूलो आँधी तथा चक्रवात आउने गर्छ । सन् १९९९ मा उडिसामा चक्रवातका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । गत वर्ष भारत र बंगलादेशमा आँधीका कारण कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए ।

  • खिम्ती–लामोसाँघु प्रसारण लाइन ‘ईआरएस’ टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

    खिम्ती–लामोसाँघु प्रसारण लाइन ‘ईआरएस’ टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

    काठमाडौं । असोज दोस्रो साता परेको अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावर आपतकालीन पुनर्स्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । तामाकोसी नदीमा आएको बाढीले रामेछाप मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो ।

    टावर बगेपछि चार वटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुगेको थियो ।
    टावर बगाएपछि उक्त लाइनबाट १३ असोजदेखि विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्ती हुँदै काठमाडौं उपत्यकाको प्रसारण लाइन लिंक टुटेको छ । उक्त लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ । खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनबाट आएको विद्युत लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ ।

    यसैगरी सिन्धुपाल्चोकको भोटेकोसी नदी जनाधार क्षेत्रमा निर्माण भएको जलविद्युत् आयोजनाका विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘खिम्ती–लामोसाँघु प्रसारण लाइन बन्द हुँदा विद्युत् प्रणालीको विश्वसनीयतामा असर परेको छ, भारततर्फको विद्युत् निर्यात समेत प्रभावित भएको छ, त्यसैले ईआरएस संरचना प्रयोग गरी लाइनलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउन लागिएको हो ।’

    उनले अहिले ईआरएस मार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण गरिने उल्लेख गरे । प्राधिकरणले आफैंसँग रहेको इआरएस संरचना प्रयोग गरी खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन लागेको हो । यसका लागि ईआरएस टावर जडान गरिसकिएको छ । ईआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्ति माग्दै काममा अवरोध गरेका थिए ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, रामेछापका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थितिमा भएको छलफलमा स्थानीयसँग सहमति जुटेपछि २ कात्तिकबाट ईआरएस टावर राख्न सुरु गरिएको थियो । टावर जडान सकेर तार तान्न सुरु गर्न लाग्दा फेरि दोलखाका स्थानीयले अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधिको रोहवरमा उनीहरूसँग आइतबार सहमति जुटेको छ । अब तार तान्न सुरु गरिने छ । यसका लागि करिब चार दिन लाग्ने प्राधिकरण खिम्ती ग्रिड शाखा प्रमुख मनोज साहले जानकारी दिए ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । अहिले देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौं उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

    विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको छ । विभागले आज बिहान ६ बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    त्यसैगरी आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, वाग्ती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

  • श्रीलंकामा एकसाथ २३० भन्दा धेरै चिनियाँ पक्राउ, कारण के हो ?

    श्रीलंकामा एकसाथ २३० भन्दा धेरै चिनियाँ पक्राउ, कारण के हो ?

    काठमाडौं । श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको विदेशमन्त्रीले मङ्गलबार बताएका छन् । यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको थियो ।

    विदेशमन्त्री विजिता हेराथले गत साता गरिएको प्रहरी छापामा कथित ठगीमा प्रयोग गरिएका दुई सय ५० कम्प्युटर र पाँच सय मोबाइल फोन पनि जफत गरिएको बताए । उनले कति रकम चोरी भएको थियो भन्नेबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।


    कोलम्बोस्थित चिनियाँ दूतावासले श्रीलङ्काली प्रहरीसँग ‘विशेष अभियान’ सञ्चालन गर्न सुरक्षा अधिकारीहरूको एउटा ‘कार्य समूह’ पठाएको थियो ।
    “ठूलो सङ्ख्यामा आपराधिक संदिग्धहरू पक्राउ परेका छन्”, दूतावासले वक्तव्यमार्फत भनेको छ, “स्वदेश फिर्ता र अन्य कामहरू जारी छन् ।”
    सबैभन्दा ठूलो शनिबार भएको छापामा प्रहरीले एक सय २६ चिनियाँ पुरुषका साथै दुई भियतनामी, एक थाई र एक फिलिपिनोलाई पक्राउ गरिएको थियो ।

    श्रीकङ्कासँग बलियो दूरसञ्चार पूर्वाधार छ । मुलुकको आर्थिक पतन हुनुभन्दा तीन वर्षअघि सन् २०१९ को जुन–अप्रिलमा श्रीलङ्का दक्षिण एसियामा फाइभ जी नेटवर्क सुरु गर्ने पहिलो मुलुक थियो ।

    दूतावासको विज्ञप्तिमा चीनमा साइबर अपराधीहरूमाथिको कडाइले केहीलाई विदेशमा आपराधिक अवसरहरू खोज्न प्रेरित गरेको हुनसक्ने बताइएको छ । “चीन श्रीलङ्कासँग कानून कार्यान्वयन सहयोग थप सुदृढ गर्न तयार छ”, विज्ञप्तिमा भनिएको छ ।

    जुनमा प्रहरीले अर्का दुई सय जना संदिग्धलाई पक्राउ गरेको थियो । उनीहरू मुख्यतया भारतीय थिए । उनीहरूमाथि पनि अनलाइन वित्तीय ठगी सञ्चालन गरेको आरोप लगाइएको थियो । एजेन्सी

  • दुई सातामै ५ डिग्रीले कम भयो तापक्रम

    दुई सातामै ५ डिग्रीले कम भयो तापक्रम

    काठमाडौं । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौंको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कायम छ । ‘काठमाडौंमा चिसो निरन्तर रुपमा बढिरहेको छ’, मौसमविद अधिकारीले भने, ‘पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।’

    महाशाखाको विवरणमा आइतबार काठमाडौंको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सियस र सोमबार १६ डिग्रि सेल्सियस थियो । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको बताए ।

    काठमाडौंसहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
    रासस

  • यस वर्षको मनसुन बाहिरियो

    यस वर्षको मनसुन बाहिरियो

    काठमाडौं । यस वर्षको मनसुन नेपालका सबै भू–भागबाट बाहिरिएको छ । असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन दशैंको टीकाको दिन कोशी प्रदेशबाट समेत बाहिरिएको हो । जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गरी नेपालबाट मनसुन बाहिरिएको जानकारी दिएको छ । जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ ।

    नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यसवर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८ गते) मनसुन भित्रिएको थियो । र, मनसुन बहिर्गमनको सरदर मिति अक्टुबर २० भन्दा झण्डै एक हप्तापछि मनसुन बाहिरिन सुरु गरेको थियो ।

    यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो मनसुन बाहिरिएको छ । यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो गरी मनसुन पूर्णरुपमा बाहिरिएको हो । नेपालमा यो वर्ष १२४ दिनसम्म मनसुन रह्यो । असोज दोश्रो साता अविरल वर्षासँगैआएको बाढी पहिरोका कारण नेपालमा २४० भन्दा बढीको ज्यान गएको छ भने अर्बौको भौतिक क्षति भएको अनुमान छ।

    नेपालमा मनसुनी वर्षाको विवरण राख्न थालेको वर्ष १९६८ देखि हालसम्म सबैभन्दा ढिलो सन् २०१३ मा मनसुन बाहिरिएको थियो । सो वर्ष १९ अक्टुबरमा मनसुन बाहिरिएको रेकर्ड छ । यसैगरी सबैभन्दा छोटो अवधि सन् १९७९ मा ७३ दिनसम्म ९जुन २४ देखि सेप्टेम्बर ४सम्म० मात्र मनसुन कायम थियो ।

    पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्‍यो भने मनसुन बाहिरिएको भनिन्छ । पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ । मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । मनसुन बाहिरिएपछि हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ ।

  • रसायन शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा, कसले पाए ?

    रसायन शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा, कसले पाए ?

    काठमाडौं । यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परलाई दिइने भएको छ । कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकरलाई, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परलाई सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार दिइएको हो ।

    बेकर र जम्पर अमेरिकी वैज्ञानिक हुन् भने हसाबिस बेलायतका हुन् । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रोटिनको संरचनाको पूर्वानुमान गर्ने कामका लागि रसायनशास्त्री बेकर, जम्पर र हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो ।

    बेकरलाई ‘कम्प्युटेशनल प्रोटिन डिजाइनका लागि’ आधा पुरस्कार दिइएको थियो भने हसाबिस र जम्परलाई ‘प्रोटिन स्ट्रक्चर प्रिडिक्सनका लागि’ पुरस्कार दिइएको थियो । बिहीवार साहित्य, शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्रतर्फको पुरस्कार विजेताको नाम घोषणा हुनेछ। मंगलबार नै भौतिकशास्त्रको नोबेल पुरस्कार जोन जे. हपफिल्ड र जेफ्री ई. हिन्टनलाई दिने घोषणा गरिएको थियो।

    जोन जे हपफिल्ड र जेफ्री ई. हिन्टनलाई आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङमा योगदान गरेकोमा नोबेल पुरस्कार दिने घोषणा गरिएको थियो।
    यसअघि भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई चिकित्सा क्षेत्रमा नोबेल दिने घोषणा गरिएको थियो । दुवैलाई माइक्रो आरएनएको खोज र पोस्ट ट्रान्सक्रिप्शनल प्रक्रियाहरूमा उनीहरूको भूमिकाको लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

  • यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकलाई

    यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकलाई

    काठमाडौं । यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा भएको छ । यो पुरस्कार दुई अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले संयुक्त रूपमा पाउने भएका छन् । नोबेल पुरस्कार समितिले ‘माइक्रोआरएनए’ पत्ता लगाउने दुई जना अनुसन्धानकर्तालाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

    माइक्रोआरएनएले जिनहरूको गतिविधि नियमन गर्छ । मानव जातिमा विभिन्न माइक्रोआरएनएका लागि एक हजार वटाभन्दा धेरै जिन भएको पत्ता लागिसकेको नोबेल समितिले जनाएको छ । जटिल संरचना भएका जीवहरूको उद्विकास माइक्रोआरएनएले गर्नै जिन रेगुलेशन विधिका कारण सम्भव भएको ठानिन्छ ।

    अध्ययनहरूले माइक्रोआरएनए नहुँदा कोष र तन्तुको विकास सामान्य रूपमा हुन नसक्ने देखाएका छन् । विजेताले संयुक्त रूपमा एक करोड १० लाख स्विडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नेछन् ।

  • यस वर्ष हिउँदमा सरदर भन्दा धेरै वर्षा, बढी गर्मी

    यस वर्ष हिउँदमा सरदर भन्दा धेरै वर्षा, बढी गर्मी

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।

    अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको आकलन सार्वजनिक गरिएको विभागकी सूचना अधिकारी एवं मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

    कोशी प्रदेशको उत्तरी भाग, मधेश प्रदेशको पश्चिमी भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छभने कोशी प्रदेशको दक्षिणी भू–भाग, मधेस प्रदेशको पश्चिमी भाग, बागमती प्रदेशको उत्तर–पश्चिम भाग र गण्डकी प्रदेशको दक्षिण–पूर्वी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ ।

    त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत नै रहेको विवरणमा उल्लेख छ ।

    यस्तै देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ । बागमती प्रदेशको मध्य तथा दक्षिणी भाग, मधेस प्रदेशको पश्चिमी भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भागमा अधिकतम तापक्रमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

    कोशी प्रदेशका मध्य भाग, मधेस प्रदेशका पूर्वी भाग र बागमती प्रदेशका उत्तरी भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छभने बाँकी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली प्रदेशका पश्चिमी भाग र लुम्बिनी प्रदेशका पश्चिमी भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

    त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भाग, बागमती प्रदेशको अधिकांश भाग, मधेस प्रदेशका पूर्वी भाग र कोशी प्रदेशमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जानकारी गराएको छ ।

  • नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता, खुल्यो विद्युत निर्यातको बाटो

    नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता, खुल्यो विद्युत निर्यातको बाटो

    काठमाडौं । नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता भएको छ । सम्झौताले नेपालबाट बंगलादेशमा विद्युत निर्यातको बाटो खुलेको छ । बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएको छ । अब नेपाल तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्न सक्षम बन्ने भएको छ । नेपालले तीन वर्षदेखि नै भारतमा विद्युत निर्यात गर्दै आएको छ ।

    काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) भएको हो । यससँगै नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने छ ।

    नेपालले विद्युत् बिक्री गर्ने, भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने र बंगलादेशले त्यो खरिद गर्ने भएकाले तीन देशका निकायबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो। रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगले हस्ताक्षर गरे ।
    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि उपस्थित थिए । गत जुलाईमा त्रिपक्षीय सम्झौता हुने गरी दिन नै तय भए पनि बंगलादेशमा राजनीतिक प्रदर्शनहरू भएपछि त्यो सरेको थियो ।

    दक्षिण एसियाको ऊर्जा सहकार्यमा कोसेढुंगा भएको कुलमान घिसिङले ‍‍‍बताए । ‘यो हाम्रो साझा भिजनको परिणति हो । यसले सबरिजनल र रिजनल सहकार्यको ढोका खोल्ने छ,’ उनले भने । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा प्रतियुनिट (६.४० अमेरिकी सेन्ट) का दरले बंगलादेशको बीपीडीबीलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।

    बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्नेछ । नेपालले भारतको मुजफ्फरपुरमा विद्युतको मिटर राखिनेछ, बंगलादेशमा कति विद्युत् निर्यात भयो भन्ने रेकर्ड त्यही मिटरमा हुनेछ । त्यहाँसम्मको प्राविधिक नोक्सानी भने प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट बंगलादेशको सीमाको प्राविधिक नोक्सानी पनि बंगलादेशी पक्षले नै तिर्ने सम्झौतामा उल्लेख छ । यसअनुसार नेपालले ६.४ सेन्टमा बिक्रीको विद्युतको मूल्य बंगलादेश पुग्दा प्रतियुनिट करिब ७.६ सेन्ट पुग्ने अनुमान गरिएको छ ।

    भारतबाट भने बेहरमपुर (भारत)–भेडामारा (बंगलादेश) ४ सय केभी प्रसारण लाइन हुँदै बंगलादेशले विद्युत् आपूर्ति लिनेछ । हाल भारतको एनटीपीसी विद्युत् व्यापार निगम ९एनभीभीएन० बाट बंगलादेशले सोही प्रसारण लाइन हुँदै विद्युत् आयात गरिरहेको छ । ५ वर्षसम्म विद्युत निर्यातका लागि यो सम्झौता भएको हो । यो सम्झौताअनुरूप हरेक वर्ष १४ करोड ४० लाख युनिट विद्युत् बंगलादेश निर्यात हुने जानकारी घिसिङले दिए । हरेक वर्ष करिब १ खर्ब २१ करोड रुपैयाँ (९० लाख २० हजार अमेरिकी डलर) को विद्युत् बंगलादेश निर्यात हुने जानकारी पनि घिसिङले दिए ।

    भारतको आवश्यक अनुमति पाएपछि निर्यात सुरु हुने उनले बताए । नेपाल तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने पहिलो मुलुक हुने जानकारी पनि उनले दिए ।
    १० हजार मेगावाट भारतलाई र ५ हजार मेगावाट बंगलादेशलाई विद्युत् निर्यात गर्ने लक्ष्य रहेको उनले बताए । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् ।

    प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । यसअघि बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने निर्णय गरेको थियो । गत वर्षको २० मंसिरमा बंगलादेशका तत्कालीन अर्थमन्त्री मुस्तफा कमलको नेतृत्वको मन्त्रिपरिषद्को आर्थिक मामिला समितिले ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेश पावर डेभलपमेन्ट बोर्डको प्रस्ताव स्वीकृत गरेको थियो ।

    प्राधिकरण र बीपीडीबीबीच विद्युतको दरमा गत फागुनको अन्तिममा सहमति भएको थियो । गत १३ साउनमा काठमाडौंमा त्रिपक्षीय सम्झौताको तयारी भएको थियो । तर, बंगलादेशमा चर्किएको आन्दोलनका कारण त्यो रोकिएको थियो ।

    त्यसबीचमा बंगलादेशमा राजनीतिक परिवर्तन भई प्रा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेपछि नेपालले पुनः सम्झौताका लागि पहल थालेको थियो । बंगलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. युनुसलाई भेटी ऊर्जा सहकार्यका विषयमा कुरा गरेका थिए । त्यसबेला प्रा। युनुसले यसलाई अघि बढाउन बंगलादेश तयार रहेको बताएका थिए । त्यसपछि सम्झौताको नयाँ मिति तय भएको हो ।

  • काठमाडौंसहित मध्य र पूर्वी नेपालमा निरन्तर वर्षा

    काठमाडौंसहित मध्य र पूर्वी नेपालमा निरन्तर वर्षा

    काठमाडौं । सुदूरपश्चिमका जिल्लाबाट मनसुन बाहिरिने तरखरमा रहेका बेला पूर्वी र मध्य क्षेत्रमा भने वर्षा भइरहेको छ । आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ । वर्षा मध्यमदेखि भारी खालको छ । आज दिउँसोतिर वर्षा केही बढ्न सक्ने सम्भावना छ । काठमाडौंको उत्तरी भेगमा भारी वर्षा भइरहेको छ । सुन्दरीजलमा तीन घण्टाको अवधिमा ४२ मिलिमिटरसम्म वर्षा मापन भएको छ । त्यहाँ एक घण्टायता भने वर्षा कम भएको छ ।

    यसैगरी सिन्धुपाल्चोकको तार्केघ्याङमा पनि भारी वर्षा भएको छ । त्यहाँ एक घण्टाकै अवधिमा २८.४ मिलिमिटर वर्षा भएको छ । सुनसरीको तहरा, धनकुटाको त्रिवेणी, झापाको अर्जुनधारा, इलामको सोक्तिम टिस्टेटमा पनि भारी वर्षा मापन भएको छ । भारतको उत्तर-पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले नेपालमा वर्षा गराइरहेको हो । यसको असर आज र भोलिसम्म रहने सम्भावना छ । यद्यपि पानी पार्ने यो प्रणाली पूर्वबाट पश्चिमतिर सर्ने क्रममा क्रमशः कमजोर हुँदै गएको छ ।

    असोज १० गतेदेखि १२ गतेसम्म भएको भारी वर्षाले जमिन कमजोर भएको ठाउँमा पनि यो वर्षाले पहिरो जान सक्ने सम्भावना हुने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । मौसमविदको सुझाव अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १५ गते नै सूचना निकालेर १८ गतेसम्म सतर्कता अपनाउन भनेको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बाग्मती प्रदेशका एक(दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ ।

    कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरुमा आज हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तो सम्भावना शुक्रबारसम्मै रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । यद्यपि नेपालको सुदूरपश्चिम क्षेत्रसँग जोडिएको उत्तराखण्ड क्षेत्रबाट मनसुन बाहिरिएको छ । भारतीय मौसम विज्ञान विभागले जारी गरेको नक्सा अनुसार सुदूरपश्चिमका केही जिल्लाबाट पनि मनसुनी वायु हटेर पश्चिमी वायु प्रवेश गरिसकेको देखिन्छ ।

  • आजबाट नेपालमा वर्षाको सम्भावना, कति घातक ?

    आजबाट नेपालमा वर्षाको सम्भावना, कति घातक ?

    काठमाडौं । देशभर मनसुनी वायुसँगै भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार बिहान हाल कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ भने कोशी प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ।

    कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा दिउँसो मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार राति कोशी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा रातिपनि मेघ गर्जनचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • बुधबारबाट पूर्वी नेपालमा वर्षाको सम्भावना

    बुधबारबाट पूर्वी नेपालमा वर्षाको सम्भावना

    काठमाडौं । बुधबारबाट दुई दिन लगातार झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने भएको छ । महाशाखाका अनुसार वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

    बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा लगातार झरी हुने नभई रोकिँदै पर्दै गर्ने सम्भावना छ । असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले जमिन कमजोर भएकाले अहिलेको मध्यम खालको वर्षाले फेरि पहिरो झर्ने सम्भावना भने रहन्छ । त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको नियमित बुलेटिनमा आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ । बुधबार दिउँसो कोशी र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । बुधबार राति भने कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    त्यसैले महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श जारी गर्दै हल्कादेखि मध्यम वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ । त्यसैले सम्भावित गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

  • कस्तो रहनेछ अबको मौसम ?

    कस्तो रहनेछ अबको मौसम ?

    काठमाडौं आजदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो जनधनको क्षति हुने गरी तीन दिनदेखि रहेको प्रतिकूल मौसममा आइतबारदेखि सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको हो । आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ ।

    तर, आगामी २४ घण्टाका लागि कोशी, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्क देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • काठमाडौंमा इतिहासकै ठूलो वर्षा, भयानक क्षति

    काठमाडौंमा इतिहासकै ठूलो वर्षा, भयानक क्षति

    काठमाडौं । काठमाडौं उपत्यकामा इतिहासकै धेरै वर्षा भएका छ । यसले भयानक धनजनको क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्धार गरिएको छ । २१ जना हराइरहेका छन् । बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले करिडोर सडक मात्र होइन, आसपासमा भएका संरचनामा समेत क्षति पुर्‍याएको छ । शुक्रबार र शनिबार काठमाडौं उपत्यकामा भएको वर्षाले रेकर्ड तोडेको छ ।


    सबैभन्दा बढी वर्षा ललितपुरको चापागाउँमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा ३२३ मिलिमिटर वर्षा भएको छ । यसअघि २००२ मा २०० मिलिमिटर वर्षा भएको थियो । काठमाडौंको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएको छ । पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, यसपटक २२५.२ मिलिमिटर वर्षा मापन भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नैकाप, नागार्जुन, चाँगुनारायण, बूढानीलकण्ठ, खोकना, जितपुरफेँदी र नङ्खेलमा पनि वर्षाको पुरानो रेकर्ड तोडिएको छ ।
    बंगालको खाडीको उत्तरपट्टी न्यूनचापीय प्रणाली विकास भएको थियो । यो नेपालको नजिक थियो ।

    यो प्रणाली उत्तरतिर हानिएको हुनाले यसले नेपालमा धेरै नै जलवाष्प ल्यायो । र, ठाउँठाउँमा भारीदेखि अति भारी वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाले ७ असोजको दिन साँझ ६ बजे विशेष बुलेटिन जारी गरेर असोज १० गतेदेखि १२ गतेसम्म मनसुन सक्रिय हुन लागेको भन्दै २७ जिल्लामा रेड अलर्ट जारी गरेको थियो ।

  • उच्च जोखिममा कोशी ब्यारेज, पुल माथिबाट बग्न थाल्यो पानी

    उच्च जोखिममा कोशी ब्यारेज, पुल माथिबाट बग्न थाल्यो पानी

    काठमाडौं । कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो ।

  • कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान

    कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान

    काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल) भरिनै लागेको भन्दै प्रशासनले सचेत गराएको छ । कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको केही घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना छ । कुलेखानी जलविद्युत आयोजना समुद्री सतहबाट १ हजार ५३० मिटरको तहमा भरिन्छ । अहिले १ हजार ५२६ मिटरको तहमा पानी आइसकेको भट्टले बताए ।

    ‘प्रति तीनघण्टमा एक मिटरसम्म पानीको सतह बढिरहेको छ, जलाधार क्षेत्रमा भारी वर्षा भएकाले बाढी आएर कुलेखानी भरिने चरणमा पुगेको हो,’ उनले भने,‘जलाशय भरिएपछि माथिबाटै ओभरफ्लो भएर पानी जान्छ, तर आकस्मिक अवस्था आए बाँधको गेट पनि खोल्नुपर्ने हुनसक्छ ।’

    कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भए बाँधको गेट पनि खोल्न पर्ने हुनसक्ने भएकाले तल्ला तटीय क्षेत्रमा सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणका सहसचिव बसन्त अधिकारीका अनुसार विगतमा पनि कुलेखानीको बाँध खोल्नु परेको र सतर्कता नअपाउँदा जनधनको क्षति भएकाले अहिले पनि तल्ला तटीय क्षेत्रमा सतर्कता जरुरी रहेको बताउँछन् ।

    कुलेखानीको पानी कुलेखानी र सिस्मेरी खोला हुँदै बाग्मती खोला भएर बग्छ । त्यसैले मकवानपुरका भीमफेदी, इन्द्रसरोबर, बाग्मती गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी क्षेत्र रौतहटको नुनथर, चन्द्रपुर, सर्लाहीको तटीय क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

    केही घण्टापछि कुलेखानी भरिएर खोलामा बढी आउनसक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता जरुरी रहेको सहसचिव अधिकारीले बताए । उनका अनुसार सतर्कताको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवश्यक तयारीसहित तल्लो तटीय क्षेत्रमा माइकिङ सुरु गरेको छ । कुलेखानी आयोजनालाई सुख्खायाममा लागि ‘पावर ब्याक अप’का रुपमा राखिने गरेको छ । हिउँदमा रित्ताइने यो जलासय वर्षामा भरेर राख्ने गरिन्छ ।

  • झापामा अधिक वर्षा, हाइ अलर्ट जारी

    झापामा अधिक वर्षा, हाइ अलर्ट जारी

    काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको हो । झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले प्रहरी प्रशासन अलर्टमा रहेको बताए । उनका अनुसार शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका डुबान भइरहने स्थानमा सतर्कता अपनाइएको बास्तालाले बताए । उनका अनुसार स्थानीयलाई उद्धार गर्नुपर्ने भएमा गाउँ–गाउँमा अस्थायी आश्रयस्थल समेत पहिचान गरी तयारी अवस्थामा राखिएको छ ।
    नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो समाचार तयार पार्दासम्म २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ । सबैभन्दा बढी वर्षा झापाको चन्द्रगढी विमानस्थलमा भएको छ । यो समाचार तयार पार्दासम्म चन्द्रगढी विमानस्थलमा झण्डै २९७.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

    यसैगरी गौरादहमा २३९, अनारमनीमा २३४, केचनामा २३०, बाहुनडाँगीमा १९२ मिलिमिटर वर्षा भएको छ । झापाको छिमेकी जिल्ला इलामको कन्काई माइचुलीमा २६८ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी मोरङको बाहुनीमा १९७, विराटनगर विमानस्थलमा १९४ र सप्तरीको बरमझियामा १८८ मिलिमिटर वर्षा मापन भएको छ । वर्षा क्रमशः पश्चिमतिर पनि बढ्दै गएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि अहिले मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

  • काठमाडौं उपत्यकासहित देशैभर लगातार झरी

    काठमाडौं उपत्यकासहित देशैभर लगातार झरी

    काठमाडौं । आज लगातार झरी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर वर्षा भइरहेको छ ।

    त्यसको प्रभावले आइतबारसम्म सिमसिमदेखि भिषण वर्षासम्म हुनसक्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लगातार झरी पर्ने सम्भावना छ । भोलि पूर्वतिर खुल्दै जान्छ तर पश्चिमतिर बढ्दै जाने देखिन्छ । आइतबारदेखि भने देशभर नै मौसममा क्रमिक सुधार देखिँदै जाने सम्भावना छ ।

    गत मंगलबारदेखि सुरु भएको वर्षा देशभर फैलिँदै गएको छ । दुई दिनअघि नै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी यो वर्षाबाट ५६ जिल्लालाई उच्च जोखिममा पर्ने आँकलन सार्वजनिक गरेको थियो । केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले त्यसबाट जोगिन देशभर नै उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

    त्यसैको आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि हिमाली र पहाडी जिल्लामा रात्रिबस नचलाउन अनुरोध गरेको छ । साथै तराईका होचा भूभागमा डुबानको जोखिम पनि भएकाले सकेसम्म भुइँतलामा अन्नपात नराख्न पनि भनिएको छ ।

    आगामी २४ घण्टा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना रहेको झाले बताए । गत २४ घण्टाको वर्षाको विवरण हेर्दा पूर्वी र पश्चिम तराईमा धेरै वर्षा भएको देखिन्छ भने बाँकी भागमा मध्यम र हल्का वर्षा भएको छ ।

    गत २४ घण्टामा झापाको केचना र मोरङको विराटनगर एयरपोर्टमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केचनामा १७५ मिलिमिटर र विराटनगर एयरपोर्टमा १५१ मिलिमिटर वर्षा रेकर्ड भएको छ । झापाको गौरादह, उदयपुरको सुन्दरपुर र सप्तरीको रुपना बजारमा पनि अत्यधिक वर्षा भएको छ । यसैगरी झापाकै चन्द्रगढी एयरपोर्ट, इलामको कन्काईमाई चुली, कन्याम टि स्टेट, सप्तरीको कल्याणपुर, सिरहा र कैलालीको अत्तरियामा एकसय मिलिमिटर भन्दा बढी वर्षा भएको छ ।

  • दुई दिन रात्री बस नचलाउन आह्वान

    दुई दिन रात्री बस नचलाउन आह्वान

    सरकारले दुई दिन रात्री बस नचलाउन आह्वान गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि नाइट बस नचलाउन भनेको हो । जल तथा मौसम बिज्ञान विभागका अनुसार आज बिहिवार बाट आइतबार सम्म देशैभर भारी वर्षा हुदैछ । सोही अनुसार ५० भन्दा धेरै जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

    हिमाली र पहाडी भेगका राजमार्गमा रातमा सवारी चलाउदा जोजिम हुने भन्दै सरकारले सचेत गराएको छ । सरकारले सकेसम्म तत्काल धान नकाट्न भनेको छ । काटेको धान भुइँतलामा नराख्न भनेको छ ।

  • सक्रिय भयो मनसुन, ५६ जिल्लामा रेड अलर्ट

    सक्रिय भयो मनसुन, ५६ जिल्लामा रेड अलर्ट

    काठमाडौं । मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ ।

    मौसम पूर्वानुमान महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखेकोमा आज जारी अर्को विशेष बुलेटिनमा ५६ जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको छ । महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् ।

    महाशाखाका मौसमविद गोविन्द झाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने प्रक्षेपण छ । असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर वर्षाको सम्भावाना छ ।

    मौसमविदका अनुसार कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । यी प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षा पनि हुन सक्ने छ । साथै तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ ।

    यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरेको छ । यसैगरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ ।

    शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुनसक्ने सम्भावना छ । ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने आशंका छ । त्यसैले मौसमविदले सर्वसाधारणदेखि सबै सरोकारवालालाई उच्च सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध गरेका छन् ।

  • नेपालमा अबको केही दिन मनसुन सरहकै भीषण वर्षाको सम्भावना

    नेपालमा अबको केही दिन मनसुन सरहकै भीषण वर्षाको सम्भावना

    काठमाडौं । मौसमविदले नेपालभर जारी मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याएका छन् । त्यसैले विहीबारदेखि आइतबारसम्म उच्चसतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ । नेपालका केही स्थानमा चार सय मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ । यसले दशैंको मुखमा बाढी, पहिरो र डुबानको समस्या ल्याउने खतरा छ ।
    बंगालको खाडी र अरब सागर दुवैतर्फबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले अत्यधिक वर्षाका लागि अनुकूल वातावरण बनेको छ । साथै यस वर्ष अत्यधिक गर्मी भएकाले वायुमण्डलमा न्युनचापीय क्षेत्र विकास भएको छ । न्युन चापीय क्षेत्र भन्नाले हावाको चाप कम भएको र वर्षा गराउने बादल बनेको क्षेत्र भनेर बुझिन्छ । अहिले यो क्षेत्र अधिक गहिरो (जमिनको सतहदेखि वायुमण्डलको मध्यक्षेत्रसम्म फैलिएको) छ । त्यसैले मौसमविदले भिषण वर्षाको प्रक्षेपण गरेका हुन् ।

    नेपालका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । केही स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले असोज ७ गते विशेष बुलेटिन जारी गरेर असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कताका लागि सूचना जारी गरेको थियो ।

    प्रक्षेपण अनुसार नै नेपालका धेरै स्थानमा वर्षा भइरहेको छ । यो वर्षाको मात्रा र क्षेत्र दुवै थप बढ्दै जाने छ । महाशाखाले यो वर्षाबाट अत्यधिक प्रभावित हुनसक्ने भनेर २७ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ । यसैगरी ४२ जिल्ला मध्यम जोखिमको सूचीमा छन् ।

    महाशाखाले कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीलाई रातो रङ्गले संकेत गरेर उच्च जोखिमको राखेको छ । यस्तै लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ । कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्ला पनि उच्च जोखिमको रेड जोनमा छन् ।