Category: विज्ञान प्रविधि

  • निरन्तर वर्षाले नदीमा बढ्यो वहाव, तीन दिन जोखिम कायमै

    निरन्तर वर्षाले नदीमा बढ्यो वहाव, तीन दिन जोखिम कायमै

    काठमाडौं । नेपालका अधिकांश स्थानमा अविरल जारी वर्षाका कारण जोखिम बढेको छ । यसले नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा पानीको बहाव उल्लेख्य बढाएको मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । केही नदीहरुमा खतराको तहसम्म पुग्न सक्ने पूर्वानुमान छ ।


    बाढी सूचना केन्द्रले आज बिहान ७ बजे एक सूचना जारी गर्दै देशभरका नदीहरुको अवस्थाबारे जानकारी दिएको छ । उक्त सूचनामा लेखिए अनुसार आज पश्चिम राप्ती, बबई, तिनाउ र तिनका सहायक नदीहरुमा पानीको बहाव खतरा तह आसपास पुगेको छ । बाढी बढ्दो क्रममा छ ।

    प्यूठानको स्वर्गद्वारी, दाङको बेलझुण्डी, पाल्पाको गण्डाकोट, जाल्पा, अर्चले, रुपन्देहीको लुम्बिनी, नवलपुरको देउराली, स्याङ्जाको मालुङ्गा, तनहुँको अत्रुलिटार, चितवनको गोविन्द वस्ती कास्कीको जुम्लेटी र लामपाटन केन्द्रमा भारी वर्षा भएर खतराको संकेतसम्म पुगेको छ ।

    यसैगरी कोशी, कर्णाली, नारायणी, महाकाली, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती र तीनका सहायक नदीहरुको बहाव सतर्कता तहभन्दा तल सामान्य अवस्थामा छ । आज बागमती प्रदेशको चितवन, रुकुम पूर्वबाहेक लुम्बिनी प्रदेशका सबै जिल्ला, गण्डकी प्रदेशका नवलपरासी पूर्व, तनहुँ र स्याङ्जा तथा कर्णाली प्रदेशको जाजरकोटका नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

    यसैगरी झापा, मोरङ, सुनसरी, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा गोरखा, लम्जुङ, कास्की, मनाङ, मुस्ताङका नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान छ ।

    यसैगरी बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलाका नदीहरुमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान रहेको बाढी सूचना केन्द्रले जनाएको छ । असोज २१ गते भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने अधिकांश नदीहरुमा बहाव उल्लेख्य बढ्ने छ ।

  • देशभर भारी वर्षा, दशैंको टिका लगाउन गरिने यात्रा कष्टकर

    देशभर भारी वर्षा, दशैंको टिका लगाउन गरिने यात्रा कष्टकर

    काठमाडौं । देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहे पनि केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले आज दशैंको टिकाको दिन यात्रा गर्नेहरुको यात्रा कष्टकर हुने देखिएको छ । आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र वाग्मती प्रदेशका केही तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा प्रदेश २ र वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध छ ।

  • तीन जना वैज्ञानिकले पाए भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

    तीन जना वैज्ञानिकले पाए भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

    काठमाडौं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ। क्वान्टम मेकानिक्स सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो। यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले आपसमा बराबरी रूपमा बाँड्नेछन्। पुरस्कारको राशि एक करोड स्वीडिश क्रोनर छ।

    गत वर्ष पनि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरूलाई नै दिइएको थियो। यस वर्षको पुरस्कार विजेताहरूले जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर नवीन खोजहरू सञ्चालन गरेका थिए। उक्त खोजले दुई उप(पारमाणविक कणहरू छुट्टिए पनि तीनले एउटै एकाइको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ। त्यो प्रयोगको नतिजाले क्वान्टम जानकारीमा आधारित नयाँ प्रविधिका लागि बाटो खोली दिएको छ।

    क्वान्टम सूचना विज्ञान एउटा जीवन्त र द्रुत रूपमा विकास भइरहेको क्षेत्र रहेको भौतिक विज्ञानको नोबेल समितिका सदस्य इभा उल्सनले भनेकी छिन् । फ्रान्सेली नागरिक ७५ वर्षीय अलाँ आस्पेय युनिभर्सिटी प्यारिस-सेक्ले र इकोले पोलिटेक्निकसँग सम्बद्ध छन्। अमेरिकी नागरिक ७९ वर्षीय जोन क्लअसन क्यालिफोर्नियामा आफ्नै कम्पनी चलाउँछन्।

    सतहत्तर वर्षका एन्टोन साइलिङ्गर चाहिँ भियना विश्वविद्यालयमा संलग्न छन्। यी तीन जनाले सन् २०१० मा पनि सँगै वुल्फ पुरस्कार जितेका थिए। चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकास क्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्भान्ट पेयर्बुलाई प्रदान गर्ने घोषणा सोमवार गरिएको थियो।

  • आजबाट वर्षा शुरु, दशैं हिलाम्य बन्दै

    आजबाट वर्षा शुरु, दशैं हिलाम्य बन्दै

    काठमाडौं । आजबाट वर्षा शुरु हुने भएको छ । जसका कारण दशैं हिलाम्य हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो ।

    मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा लेखिए अनुसार असोज १८ गते नवमीको दिन दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ । राति भने लुम्बिनी, बागमती, गण्डकी, मधेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    असोज १९ गते दशैंको टीकाको दिन देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।
    आजदेखि देशका केही स्थानमा भारी वर्षा सहितको पानी पर्ने पूर्वानुमान छ । के तपाई यसका लागि तयार हुनुहुन्छ । यति गरे विपद्का बेला आपत पर्दैन ।
    असोज २० गते एकादशी र २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ ।

    त्यसैले पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र सडक तथा हवाई यातायात तथा कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् असोज १५ गते भए तापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने महाशाखाले जनाएको छ ।

  • मानव विकास क्रम:को खोज गरेका वैज्ञानिक पाबोले पाए चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार

    मानव विकास क्रम:को खोज गरेका वैज्ञानिक पाबोले पाए चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार

    काठमाडौं । स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् । नोबेल पुरस्कार वितरण समितिले सोमबार पुरस्कार घोषणा गर्यो । पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहरूको आनुवांसिक संकेत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ।

    ‘अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उहाँको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौं भन्ने पत्ता लगाउने आधार बनेको छ,’ नोबेल कमिटीले भनेको छ। नीयनडर्थल डिएनए र संसारभरि रहेका मानवको डिएनएबीच गरिएको तुलनापछि उनीहरूको डिएनए युरोप र एसियाका मानिसहरूको डिएनएसँग मिल्दोजुल्दो पाइएको छ।

    यसले होमो स्यापियन्सले ७० हजार वर्ष अगाडि अफ्रिकाबाट बसाइँ सरेपछि होमो स्यापियन्ससँग यौनसम्पर्क राखेर बच्चा जन्माएका थिए भन्ने बताउँछ र हामी आज पनि त्यसको विरासत देख्न सक्छौं। उनले यसभन्दा अघि अज्ञात होमिनिन, डेनिसोभाहरू पत्ता लगाएर सनसनीपूर्ण खोज पनि गरेका थिए।

    नोबेल कमिटी फर फिजिओलोजी अर मेडिसिनका सचिव थोमस पर्लमनले प्रोफेसर पाबोलाई फोन गरी पुरस्कृत भएको जानकारी दिएका थिए। पर्लमनले स्वान्टे पाबोलाई पुरस्कारबारे जानकारी गराउँदा उनले आफू शब्दविहीन र खुसी भएको बताएका थिए। उनले १ करोड स्वीडिस क्रोनर अर्थात् ८ लाख बेलायती पाउन्ड बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

  • तिब्बतको सीमानामा पर्ने नेपाली गाउँ हिल्सामा सोलारबाट विजुली

    तिब्बतको सीमानामा पर्ने नेपाली गाउँ हिल्सामा सोलारबाट विजुली

    हुम्ला । तिब्बत सीमामा पर्ने नेपाली गाउँ हिल्सामा एक सय किलोवाट सौर्य विद्युत् उत्पादन भएको छ । सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन भएसँगै हिल्सावासीको उज्यालोमा बस्ने सपना पूरा भएको छ । यो आयोजनाको मुख्य लगानीकर्ता ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले सोलार मिनी ग्रिडबाट हिल्सामा एक सय किलोवाट विद्युत् उत्पादन सुरु भएको बताएका छन् ।

    उपभोक्ताले घरमा बिजुली बाल्न सुरु गरिसकेको सरकारी सञ्चारमाध्यम गोरखापत्रले जनाएको छ । थापाका अनुसार एक वर्षअघिदेखि यो आयोजनाको निर्माण तथा सौर्य प्यानल खरिद, ढुवानी र जडानका लागि निर्माण कम्पनीसँग सम्झौता भए पनि हिमपातका कारण सामान ढुवानी गर्न नसकिएकाले काम ढिलो भएको थियो । अब नेपाली भूभाग हिल्सामा पनि पूर्ण रूपमा विद्युतीकरण भएको बताउँदै उनले हिल्साका एक सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको जानकारी दिए ।

    हिल्सावासीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीका सीमा सुरक्षा चौकीलाई समेत अब विद्युत्को समस्या समाधान भएको छ । उक्त मिनी ग्रिडका लागि नेपाल सरकार, नाम्खा गाउँपालिका, फिनल्यान्ड सरकार र युरोपियन युनियनको गरी साढे चार करोड रुपियाँ खर्च भएको छ ।

    हिल्साका होटल व्यवसायी कर्मा लामाले सौर्य विद्युत् उत्पादन भएपछि यसअघि व्यक्तिगत खर्चमा राखिएका सौर्य प्यानल, मैनबत्ती वा टुक्की बाल्नुपर्ने हिल्सावासीको बाध्यता अब हटेको बताए । मिनी ग्रिडबाट विद्युत् उत्पादन सुरु भएपछि त्यसको जिम्मेवारी हिल्सा सोलार मिनी ग्रिड सहकारी संस्थालाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

  • मौसम विभागको दशैं लक्षित बुलेटिन : नवमीबाट ठूलो पानी पर्ने प्रक्षेपण

    मौसम विभागको दशैं लक्षित बुलेटिन : नवमीबाट ठूलो पानी पर्ने प्रक्षेपण

    काठमाडौं । यस वर्षको मनसुन एक साता धकेलिने प्रक्षेपणसँगै नवमीबाट ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एक साता पर धकेलिएको भएको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाले विजया दशमी, एकादशी र द्वादसीका दिन ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ। महाशाखाले मनसुनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम–मध्य बंगालको खाडीको तल्लोतटीयमा बनेको सामुद्रिक आँधीका कारण नेपालमा नवमी अर्थात् १८ असोजबाट मनसुनी वर्षा हुने प्रक्षेपण गरेको हो।

    हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा असोज १८ गतेदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुनेछ। ‘नेपालमा यसको अवसरका कारण नवमीबाट वर्षा हुने देखिएको छ। विजया दशमीको दिन देशभर वर्षा हुने देखिएको छ,’ महाशाखाले शुक्रबार दसैँका लागि विशेष मनसुन बुलेटिन जारी गर्दै असोज २१ द्वादशीसम्म वर्षा हुने प्रक्षेपण गरेको छ।

    विजया दशमीका दिन देशका धेरैजसो क्षेत्रमा ठूलो वर्षाको आँकलन गरिएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै क्षेत्रमा त भीषण वर्षा हुने आँकलन महाशाखाले गरेको छ। यस्तै नवमीका दिन प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित अन्य क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार २० असोज एकादशीमा अझ धेरै वर्षा हुने आँकलन गरिएको छ। यो दिन देशभर बदली हुने र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएको छ।

    २१ असोजमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँ र बाँकी प्रदेशका केही क्षेत्रमा वर्षा हुनेछ। यी प्रदेशका केही क्षेत्रमा भीषण वर्षाको सम्भावना छ । पछिल्लो एक साता मनसुनी गतिविधि निष्क्रियजस्तै भएकोमा फेरि गतिविधि देखा परेका हुन्। गत वर्ष पनि दसैँताका नेपालमा ठूलो वर्षा हुनुका साथै बाढीले धानबाली नष्ट गरेको थियो ।

  • त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडाउन नपाइने

    त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडाउन नपाइने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडान प्रतिवन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन नउडाउन सूचित गरेको हो । यस्तो कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने विमानस्थल कार्यालयको भनाई छ ।

    यस्ता गतिविधि नगर्न भन्दै कार्यालयले अटेर गरेमा कानूनअनुसार कडा कारवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । ड्रोन उडान सम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरेपनि पछिल्लो समय अटेर गरी ड्रोन उडाइरहेको पाइएको कार्यालयको भनाइ छ ।

  • दशैं अवधिमा ठूलो पानी पर्ने सम्भावना कम

    दशैं अवधिमा ठूलो पानी पर्ने सम्भावना कम

    काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य कमजोर हुँदै जादा दशैंको समयमा ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब मनसुन अन्त्य हुने अवस्थामा छ । यसले दशैंमा यात्रा गर्नेहरुलाई केही सहज हुनेछ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न सक्ने अवस्था भने छैन सामान्य अवस्थामा अक्टोवर पहिलो साता बाट मनसुन निष्कृय हुन्छ । मनसुन अन्त्य हुन मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ। नेपालमा मनसुन बंगालको खाडीबाट प्रवेश गर्छ। हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट नेपाल आउँछ ।

  • लुम्बिनीमा आजबाट चल्ने भए विद्युतीय बस

    लुम्बिनीमा आजबाट चल्ने भए विद्युतीय बस

    काठमाडौं । लुम्बिनीमा आजबाट पाँचवटा विद्युतीय बस चल्ने भएका छन् । यी बस एसियाली विकास बैंकले अनुदानमा लुम्बिनी विकास कोषलाई दिएको थियो । तीन वर्ष अगाडी नै भित्रिएका विद्युतीय पाँचवटा बस र १४ वटा भ्यान चलाउने मोडालिटी नहुँदा अड्किएको थियो । पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषलाई यी सवारी हस्तान्तरण समेत गरेको थिएन । गृहमन्त्री बालकृष्ण खाँणले विश्व पर्यटन दिवसका अवसरमा मंगलबार भैरहवामा आयोजित समारोहमा विद्युतीय सवारी साधन तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।

    ती सवारीसाधन सञ्चालन गर्न बुधबार लुम्बिनी विकास कोषसहित अन्य सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्न मन्त्रीले निर्देशन दिएका थिए । निर्देशनलगत्तै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा बुधबार भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका संघसंस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँचवटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

    पाँचवटा बस विभिन्न रुटमा चलाउने र आवश्यक चालक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको छ । ती बसमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकसँग दसैंभरि शुल्क लिइने छैन । तत्कालका लागि रूपन्देहीको सीमा नाका बेलहिया, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी, बुद्ध मावली स्थान रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन हुनेछ ।

  • आज सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना

    आज सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना

    काठमाडौं । आज नेपालको सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम मौसम बदली भएको छ । देशभर मौसम सामान्यदेखि आंशिक बदली भई केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

    प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • आजदेखि काठमाडौंबाट बाहिरीने सवारी साधनको अनिवार्य यान्त्रिक परिक्षण

    आजदेखि काठमाडौंबाट बाहिरीने सवारी साधनको अनिवार्य यान्त्रिक परिक्षण

    काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो ।

    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार  रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । उनका अनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।

    यो नियम सबै प्रकारका सार्वजनिक सवारी साधन र भाडामा प्रयोग गरिएका निजी गाडीहरुमा आजैदेखि लागू भएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ ।
    यात्रुको बिमा गरिएको हुनुपर्ने, लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था पनि मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

  • देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना

    देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना

    काठमाडौं । शुक्रबार मौसममा बदली भएको छ । मौसम आंशिकदेखि सामान्य बदली भएकोले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ ।

    विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • आज पनि देशभर मौसम प्रतिकुल, पश्चिम भेगमा वर्षा

    आज पनि देशभर मौसम प्रतिकुल, पश्चिम भेगमा वर्षा

    काठमाडौं । बुधबार समेत देशभर आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा हुने भएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • मंगलबार देशैभर वर्षाको सम्भावना

    मंगलबार देशैभर वर्षाको सम्भावना

    काठमाडौं । मंगलबार पनि देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मधेस प्रदेश, प्रदेश १ का थोरै स्थानमा तथा सुदूरपश्चिम र गण्डकीका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको भनाई छ । आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली छ। यस क्रममा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति पनि लुम्बिनी प्रदेश र देशका पहाडी भेगका केही स्थानमा तथा तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ। यस क्रममा गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

  • ताइवानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

    ताइवानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

    ताइपेई । दक्षिणपूर्वी ताइवानमा शनिबार साँझ शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो। युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङबाट ९१ किलोमिटर पूर्वमा छ। ताइवान मौसम विभागका अनुसार भूकम्पको केन्द्रविन्दु सतहबाट ७.३ किलोमिटर गहिराइमा थियो। ताइवानभर भूकम्पको धक्का महसुस गरिएको थियो।

    राजधानी ताइपेईमा केही समय भवनहरू हल्लिएका थिए। विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको क्षेत्रमा थोरै जनसङ्ख्या रहेको क्षेत्र हो। रोयटर्सका अनुसार भूकम्प गए पनि ताइवानको पूर्वी तटमा बिजुली आपूर्तिमा कुनै अवरोध भएको छैन। यस्तै दक्षिणी सहर ताइनान र काओसिङमा रहेको विज्ञान पार्क, प्रमुख अर्धचालक कारखानाको घर लगयातमा कुनै प्रभाव परेको छैन।

    भूकम्पको रेक्टर स्केल ७ भन्दा माथि नभएसम्म ताइवानले सुनामीको चेतावनी दिने गरेको छैन। दुई टेक्टोनिक प्लेटको संगम नजिकै रहेको ताइवान भूकम्पको उच्च जोखिममा रहेको मुलुक हो। सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पमा २ हजारभन्दा बढीले ज्यान गुमाएका थिए।

  • माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब ३४ करोड लगानी

    माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब ३४ करोड लगानी

    काठमाडौं । प्रस्तावित राष्ट्रिय गौरवको आयोजना १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् स्वदेशी र विदेशी दुवै ऋण लगानीमा निर्माण हुने भएको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैङ्क तथा वित्तीय संस्थाले ५३ अर्ब ३४ करोड रुपैयाँ बराबर लगानी गर्ने भएका छन् । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको यो परियोजनाको कुल लागत २ खर्ब १४ अर्ब ८६ करोड रुपैयाँ बराबर रहेको छ । आन्तरिक ऋण लगानी सम्बन्धी सम्झौतामा बिहीबार बेलुका हस्ताक्षर भएको हो।

    लगानी सम्बन्धी सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सहवित्तीयकरणका अगुवाइ गर्ने एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम तथा नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नागरिक लगानी कोषका प्रतिनिधिले हस्ताक्षर गरे । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र मन्त्रालयका उच्च अधिकारीको उपस्थितिमा भएको समझदारीअनुसार ऋण लगानी सम्बन्धी आवश्यक निर्णय हुनेछ ।

    कुल १ हजार ६१ मेगावाट क्षमताको यो आयोजनामा कुल लागतको ७० प्रतिशत ऋण लगानी हुनेछ भने ३० प्रतिशत स्वस्पुँजी रहनेछ । आयोजनामा कुल ऋण एक खर्ब ५० अर्ब ४० करोड रुपैयाँ बराबर रहनेछ । त्यसमा वैदेशिक ऋण ९७ अर्ब छ करोड रुपैयाँ बराबर रहनेछ । विश्व बैङ्क, युरोपियन इन्भेस्टमेन्ट बैङ्कलगायतका वैदेशिक ऋण लिने तयारी गरिएको छ ।

    सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको अर्ध जलाशय प्रकृतिको यो आयोजनाको अहिलेसम्मको अध्ययनअनुसार अरुण नदीमा एक सय ८३ मिटर लामो र एक सय मिटर उचाइको बाँध बाँधिनेछ । कुल आठ दशमलव पाँच किलोमिटर लामो सुरुङमार्फत पानी ल्याएर स्थानीय छोग्राकमा रहेको भूमिगत विद्युत् गृहमा खसालिनेछ।

  • छारुङमा पुग्यो नेपाल टेलिकमको सेवा

    छारुङमा पुग्यो नेपाल टेलिकमको सेवा

    काठमाडौं । नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा बुधबार फोरजी सेवा शुभारम्भ गरेको छ। त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर उक्त सेवा सञ्चालनमा ल्याएको हो। यो सँगै टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको बताइएको छ।

    फोरजी सेवाका लागि टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित न्यू बाला शिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको हो। ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो।

    यो सेवा विस्तारसँगै छाङरुमा रहेका करिब १२० घरधुरी र ७०० जनसंख्या तथा अन्य क्षेत्रका गरी करिब ४ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने बताइएको छ। अब छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकरलगायतका क्षेत्र र सीमानासम्म फोरजीको पहुँच पुगेको टेलिकमले बताएको छ।

    टेलिकमले सञ्चालनमा ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात् ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिन्छ। यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालय समेत रहेका छन्।

  • देशभर ठूलो वर्षको सम्भावना

    देशभर ठूलो वर्षको सम्भावना

    काठमाडौं । न्यूनचापीय क्षेत्र र मनसुनी रेखा नेपालतर्फ रहेकाले केही दिन देशभर ठूलो वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव बिहीबार रातिदेखि नै देखिएको छ र केही दिनसम्म कायम रहने छ । महाशाखाका अनुसार हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालको पश्चिम भूभागको नजिक आइपुगेको छ । यसैगरी मनसुनी रेखा पनि नेपालको तराई भूभाग नजिक आइपुगेकाले केही दिन मनसुन थप सक्रिय हुने छ ।

    आइतबारदेखि भने यसको प्रभाव कम भए पनि पानी पर्ने क्रम भने रोकिने छैन । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम सम्बन्धी विशेष बुलेटिनमा उल्लेख छ ।


    पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ । ‘ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा अनुरोध छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।

  • काठमाडौं महानगरमा डेङ्गु विरुद्ध हटलाइट सेवा शुरु

    काठमाडौं महानगरमा डेङ्गु विरुद्ध हटलाइट सेवा शुरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितका लागि स्वास्थ्य परामर्श दिन २४ घण्टे हटलाइन सुरु गरेको छ ।
    संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुसँग परामर्श लिन सक्ने व्यवस्था मिलाएको महानगरका मेयर बालेन साहले जानकारी दिएका छन् ।

    उनले आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्ने पनि बताएका छन् ।

    डेंगु जसरी समूदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको भन्दै मेयर बालेनले डेंगु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि अपिल गरेका छन् ।

  • जलवायु परिवर्तन न्युनिकरण नगरे जिडिपीमै असर पर्छ : विश्व बैंक

    जलवायु परिवर्तन न्युनिकरण नगरे जिडिपीमै असर पर्छ : विश्व बैंक

    काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण नगर्ने हो भने नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा गहिरो असर पर्ने विश्व बैंकले चेतावनी दिएको छ ।

    नेपालको राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले जलवायु परिवर्तनका असर न्यूनीकरण नगर्ने हो भने त्यसले जीडीपीमै असर पर्ने बताएको हो ।

    सन् २०५० सम्म कुल गार्हस्थ उत्पादनमै ७ प्रतिशतसम्मको गिरावट आउन सक्ने प्रतिवेदनमा औल्याइएको छ । प्रतिवेदनले जलवायु उत्थानशीलता निर्माण गर्नुपर्ने खाँचो औल्याएको छ ।

    हरित, उत्थानशील र समावेशी विकास हासिल गर्न जलवायु तथा विकासमा एकीकृत समाधान गर्न आवश्यक नीति एवम लगानी सम्बन्धी विभिन्न सुझाव प्रतिवेदनमा दिइएको छ ।

    नेपालको आपूर्ति श्रृंखला, कृषक र शहरी वासिन्दाहरू यसअघि नै बाढी, पहिरो तथा खडेरीजस्ता जलवायु परिवर्तनका विनाशकारी असरको सामना गर्न बाध्य भएको समेत विश्व बैंकले जनाएको छ । यस पृष्ठभूमिमा उत्थानशीलता निर्माणका लागि संगठित प्रयास नभए भविष्यमा आउने जलवायुजन्य प्रकोपले देशको दीर्घकालीन विकासलाई जोखिममा पार्ने समेत प्रतिवेदनमा उल्लेख छ ।

    दक्षिणी क्षेत्र बाढी एवं उष्ण दबावका बढ्दो घटना र उत्तरी क्षेत्र भूक्षय, पहिरो, जलदबाव तथा हिमतालको अधिप्रवाहबाट प्रभावित हुँदा जलवायु परिवर्तनशीलता नेपालमा खाद्य असुरक्षा र गरिबीको प्रमुख कारण बनेको प्रतिवेदनले उल्लेख गरेको छ

    देशको अर्थतन्त्र वृद्धि हुँदै गर्दा नेपालले हरितगृह ग्याँस उसर्जन र वायु प्रदूषणको समस्यालाई समेत सम्बोधन गर्नुपर्ने सुझाव प्रतिवेदनको छ । विश्वव्यापी जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य (विश्वमा उत्सर्जन हुने कूल हरितगृह ग्यासको करिब ०.१ प्रतिशत) रहेको भएपनि यस राष्ट्रको हरितगृह उत्सर्जन दर तीव्र गतिमा वृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख छ

  • आजबाट नेपालमा दर्ता नभएका मोवाइल नचल्ने

    आजबाट नेपालमा दर्ता नभएका मोवाइल नचल्ने

    काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको ‍औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् ।

    प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन । प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वतः दर्ता हुनेछन् भने आजबाट भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्ने छ । मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ ।

    मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ । यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने ब्यवस्था गर्न सकिने प्राधिकरणको भनाइ छ ।जसले अपराध न्युनिकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

  • डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गरिँदै

    डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गरिँदै

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । डेङ्गुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेङ्गु नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासनमन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जानकारी दिए ।

    उनका अनुसार प्रत्येक स्थानीय तहले ‘प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट’ छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँहरु ‘खोजौं र नष्ट गरौँ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने छन्। अभियान सफल बनाउन स्थानीय जनप्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार सङ्घसंस्था परिचालन गरी वडामा हरेक घरधुरीमा अभियान सञ्चालन गर्ने छन्। सबै स्वास्थ्य संस्थाबाट डेङ्गुका बिरामीको विवरण स्थानीय तहमार्फत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई पनि पठाउन निर्देशन दिइएको छ। अहिलेसम्म नेपालमा सात हजार पाँच सयभन्दा बढी डेङ्गुका बिरामी फेला परेका छन्।

  • यूरोपको सबैभन्दा ठूलो परमाणु केन्द्रको सुरक्षालाई लिएर संयुक्त राष्ट्रसंघको गम्भीर चेतावनी

    यूरोपको सबैभन्दा ठूलो परमाणु केन्द्रको सुरक्षालाई लिएर संयुक्त राष्ट्रसंघको गम्भीर चेतावनी

    काठमाडौं–बीबसिी । युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र वरपर भएको गोलाबारीका कारण त्यहाँको रेडियोधर्मी विकिरणहरूको असीमित निकास हुनसक्ने र त्यस क्षेत्रमा रुसी सैन्य उपकरणहरूले गर्दा त्यसको सुरक्षालाई कमजोर पार्न सक्ने संयुक्त राष्ट्रसङ्घको परमाणु ऊर्जा सम्बन्धी निकायले चेतावनी दिएको छ। गत मार्च महिनादेखि युक्रेनको जापोरीजा केन्द्र रुसको कब्जामा छ र त्यहाँ पटकपटक आक्रमण भएका छन्। गत साताको अवलोकनपछि राष्ट्रसङ्घको नियामक निकाय आइएइएले त्यस केन्द्र वरपर सुरक्षित र संरक्षित क्षेत्रको निर्माणको आह्वान गरेको हो। उसले त्यहाँ तत्काल गोलाबारी रोकिनु पर्ने बताएको छ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त प्रतिवेदनलाई सकारे र यसले परमाणु ऊर्जा केन्द्रको वरपर रुसी सेनाको उपस्थिति, त्यहाँ युक्रेनी कर्मचारीहरूमाथि दबाव, र रुसी सैन्य कब्जाको स्पष्ट सन्दर्भहरूबारे उल्लेख गरिएको जनाए। उनले ूपरमाणु ऊर्जा केन्द्रको क्षेत्रूलाई निःशस्त्रीकरण गर्ने उद्देश्य हो भने सुरक्षित क्षेत्रलाई समर्थन गर्ने बताएका छन्। यस केन्द्र युक्रेन नियन्त्रित सहरहरू र सैन्य उपस्थितिभन्दा पर नीपर नदीको दक्षिणी किनारमा अवस्थित छ। जारी युद्धको दुवै पक्षले एकअर्कालाई उक्त केन्द्र निशाना बनाएको आरोप लगाउँदै आएका छन्।

    मङ्गलवार रुसले किएभलाई २४ घण्टामा तीनपटक उक्त क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको थियो। युक्रेनले रुसी सेनाले यसलाई निकट सहरहरूमा गोलाबारी गर्न प्रयोग गरेको बताएको छ। यद्यपि, रुसले भने उक्त ठाउँको सुरक्षा गरिरहेको दाबी गरेको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकाय भने कुनै पक्षमाथि दोष नथोपर्न सतर्क देखिएको छ।

    गत साता आइएइएका विज्ञहरूले त्यहाँको वास्तविक अवस्थाको मूल्याङ्कनका निम्ति निगरानी गर्दै गर्दा र निकायका प्रमुख रफायल ग्रोसीले पारमाणविक प्रकोपको वास्तविक जोखिमबारे चेतावनी दिँदै गर्दा पनि गोलाबारी जारी रह्यो। समूहका निगरानीकर्ताहरूले दुई दिनपछि केन्द्र छोडेको भए पनि यसका दुई जना अधिकारीहरू स्थायी रूपमा त्यहाँ रहने बताइएको छ।


    मङ्गलवार सार्वजनिक भएको प्रतिवेदनमा निकायले रुसी सैन्य नियन्त्रणमा रहेर काम गरिरहेका ९०७ जना कर्मचारीले भोगिरहेको अति तनावपूर्ण परिस्थितिहरूमाथि प्रकाश पारेको छ। त्यस्तै ती थकित कर्मचारीहरूलाई पारिवारिक सहायता र काम गर्ने उपयुक्त वातावरणको व्यवस्था गरिनु पर्ने कुरामा जोड दिइएको छ। आइएइएले केन्द्रमा भएको क्षतिको विस्तृत विवरण दिँदै निरन्तर भएको गोलाबारीका कारण हालसम्म पारमाणविक आपत्काल ननिम्तिए पनि यसको सुरक्षाबारे खतराको सङ्केत दिएको बताएको छ। सुरक्षामा गम्भीर असर पर्ने गरी रेडियोधर्मी परिणामहरू निम्त्याउन सक्ने उसले उल्लेख गरेको छ।

    रुसी सेना, सैन्य सवारीसाधन र उपकरणहरू केन्द्रको वरिपरि देखिएका थिए र धेरै सैन्य ट्रकहरू केन्द्रका ६ वटा मध्ये दुईवटा टर्बाइन हलभित्र रहेको निकायले जनाएको छ। उसले त्यस क्षेत्रमा सैन्य उपकरणहरू र त्यस महत्त्वपूर्ण क्षेत्र नजिक हुने झडपहरूले केन्द्रको सुरक्षा प्रणालीलाई कमजोर बनाएको चेतावनी दिएको छ। र, सुरक्षा प्रणालीहरूमा हस्तक्षेप गर्न सक्ने सवारीसाधनहरू हटाउन आह्वान गरेको छ।

    नियामक संस्थाका अनुसार कर्मचारीहरूले केन्द्रको चिस्यान पोखरीहरू भ्रमण गर्न रुसी सेनाबाट अनुमति लिनुपर्‍यो। उसले रुसको पारमाणविक निकाय रोसाटोमका अधिकारीहरूको उपस्थितिको आलोचना समेत गरेको छ। उक्त उपस्थितिले प्रमुख निर्णयहरू लिनुपरेको अवस्थामा द्वन्द्व निम्त्याउन सक्ने बताइएको छ। संयुक्त राष्ट्रसङ्घका लागि रुसी राजदूतले आइएइएले कब्जा गरिएको परमाणु केन्द्रमा गोलाबारी गरेकोमा युक्रेनलाई दोष दिनुपर्ने बताए।

    तपाईँको प्रतिवेदनमा गोलाबारीको स्रोतको प्रत्यक्ष नाम नहुनुप्रति हामी खेद प्रकट गर्दछौँ, भसिली नेबेन्ज्याले सुरक्षा परिषद्को बैठकमा भर्चुअल उपस्थितिमार्फत् भने। जापोरीजा केन्द्रमा ६ वटा रियाक्टर भएपनि युद्ध सुरु भए यता दुई वटा मात्र सञ्चालित थिए। र हाल तीमध्ये पनि एउटाले मात्रै काम गरिरहेको छ।

  • त्रिपुरेश्वरको डिजिटल बोर्ड हटाउने बालेनको निर्णयमा अदालतको रोक

    त्रिपुरेश्वरको डिजिटल बोर्ड हटाउने बालेनको निर्णयमा अदालतको रोक

    काठमाडौं । उच्च अदालत पाटनले वर्ल्ड ट्रेड सेन्टरमा राखिएको विद्युतीय होर्डिङ बोर्ड हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ। शकुन्तलाल हिराचनले दिएको रिटमा न्यायाधीश श्यामजी प्रधानको इजलासले बुधबारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले बुधबार दुवै पक्षलाई उपस्थित हुन भनेको छ ।

    रिट निवेदक र महानगर दुवै पक्षको बहस सुनेर यो विषयमा अन्तरिम आदेश हुने वा नहुने निर्णय हुने ताइएको छ । आफूसँग गरेको सम्झौता विपरीत महानगरले होर्डिङ बोर्ड हटाउने निर्णय गरेको भन्दै सो निर्णय बदर गर्न माग गर्दै हिराचन उच्च अदालत पाटन गएका थिए।

  • सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन आविष्कार केन्द्रलाई सरकारले दियो ४० लाख

    सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन आविष्कार केन्द्रलाई सरकारले दियो ४० लाख

    काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीमा प्रवर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे ।

    आविष्कार केन्द्रले आगामी वैशाखसम्म सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण सक्नेगरी सरकारले सघाउने सम्झौता भएको छ । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताए । समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपियाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ ।

  • देशभर आज पनि ठूलो वर्षाको सम्भावना

    देशभर आज पनि ठूलो वर्षाको सम्भावना

    काठमाडौं । शुक्रबार पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । अहिले देशभरकै मौसम बद्ली भएको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्धावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा दिउँसो ठूलो वर्षाको सम्भावना छ ।

    राति गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । भोलि बेलुकादेखि क्रमिक रुपमा मौसममा सुधार आउने अपेक्षा गरिएको छ ।

  • काठमाडौंसहित देशभर वर्षा, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौंसहित देशभर वर्षा, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं । बिहीबार काठमाडौं उपत्यकासहित मुलुकभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। भोलि शुक्रबार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका ए-(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    यस्तै शनिबार प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउउन विभागले सचेत गराएको छ ।

  • मनसुन पुनः सक्रिय, भारी वर्षाको सम्भावना

    मनसुन पुनः सक्रिय, भारी वर्षाको सम्भावना

    काठमाडौं । आइतबारबाट नेपालमा मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ ।

    भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • कोरियाली ब्राण्ड सामसङका टेलिभिजन अब नेपालमा उत्पादन हुने

    कोरियाली ब्राण्ड सामसङका टेलिभिजन अब नेपालमा उत्पादन हुने

    काठमाडौं । दक्षिण कोरियाली ब्रान्ड सामसङका टेलिभिजन नेपालमै उत्पादन हुनेभएको छ । सामसङ र गोल्छा ग्रुपअन्तर्गतको हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमै सामसङ ब्रान्डका टेलिभिजन उत्पादन गर्न थालिएको हो । बुधबार नवलपरासीमा एक कार्यक्रम गर्दै सामसङ कारखाना शिलान्यास भएको छ ।

    स्वदेशमै उद्योग स्थापना गरी रोजगारी दिने उद्देश्यले सामसङ ब्रान्डका टेलिभिजन यहीँ बनाउन लागिएको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । उद्योग स्थापनामा सामसङ कम्पनीको प्राविधिक सहायता लिइनेछ ।

    लगानी गोल्छा ग्रुपको हुनेछ। यस कम्पनीले सबै आकारका टेलिभिजन उत्पादनको लक्ष्य लिएको छ । टिभी उद्योग एक वर्षपछि सञ्चालन आउने छ। सञ्चालन भएपछि उद्योगमा एक सयभन्दा बढीले रोजगारी पाउनेछन्। दैनिक एक हजार टिभी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

    कार्यक्रममा सामसङ दक्षिण पश्चिम एसियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले लामो समयदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँग मिलेर नवलपरासीमा स्थापना गर्न लागेको यो टिभी कारखाना नेपाली जनताप्रतिको निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनप्रति उपभोक्ताले देखाएको बढ्दो विश्वास एवं मायाको प्रतिक भएको बताए ।

    सामसङ नेपालमा सन् १९९७ मा भित्रिएको हो। सामसङले हिम इलेक्ट्रोनिक्समार्फत् नेपालमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, ओभन र स्मार्टफोन बिक्री वितरण गर्दै आइरहेको छ।