Category: विज्ञान प्रविधि

  • सान फ्रान्सिस्कोमा प्रहरीले पायो ‘ज्यानमारा रोबट’ खटाउन सक्ने अधिकार

    सान फ्रान्सिस्कोमा प्रहरीले पायो ‘ज्यानमारा रोबट’ खटाउन सक्ने अधिकार

    सान फ्रान्सिस्को । अमेरिकाको सान फ्रान्सिस्कोका विधायकहरूले शहरका प्रहरीलाई ‘ज्यानमारा रोबटहरू’ प्रयोग गर्न दिने प्रस्तावको पक्षमा मतदान गरेका छन्। यो निर्णयले एकदमै खराब परिस्थितिमा प्रहरीले विस्फोटक पदार्थ सहितका रोबटहरू खटाउनसक्ने बाटो खोलिदिएको बीबीसीले जनाएको छ । स्टप किलर रोबट नामक समूहकी डाक्टर क्याथरिन कोनोलीले अप्ठेरो निर्णय लिने काममा मानव संलग्न नहुने भएकाले यसको गलत प्रभाव पर्नसक्ने बताएकी छन्।


    सान फ्रान्सिस्को पोलिस डिपार्टमेन्ट (एसएफपीडी)का प्रहरीले अहिलेसम्म आफूहरूले घातक बल प्रयोग गर्ने रोबटहरूको प्रयोग नगरेको बीबीसीलाई बताएको छ । तर उनीहरूले भविष्यमा त्यस्तो घातक बल रोबटमार्फत् प्रयोग गर्नुपर्ने अवस्था भने आउनसक्ने उल्लेख गरेका छन्। प्रहरीका एक जना प्रवक्ताले ‘हिंसात्मक, सशस्त्र र खतरनाक संरचनाहरूलाई नष्ट गर्न रोबटहरूलाई विस्फोटक सामग्रीहरूले सुसज्जित बनाइनसक्ने’ बताए।

    प्रहरीले मानिसहरूको जीवनलाई जोखिम पुर्‍याउनसक्ने ठानिएका खतरनाक, हिंसात्मक र सशस्त्र सन्दिग्धहरूलाई निष्क्रिय बनाउनपनि रोबट खटाउन सकिने बताए। पैरवीकर्ताहरूले यी व्यवस्थाहरू एकदमै कठिन अवस्थाहरूमा मात्रै प्रयोग गरिने बताए। तर त्यसका विरोधीहरूले यस्तो अधिकारले प्रहरी बललाई थप सैन्यकरण गर्नसक्ने चेतावनी दिएका छन्। संशोधन सहित मङ्गलवार पारित भएको निर्णयले तनाव कम गर्ने वैकल्पिक रणनीति प्रयोग गरिसकेपछि मात्रै अधिकृतहरूले रोबटहरू प्रयोग गर्नसक्ने उल्लेख गरेको छ।

    बोर्ड अफ सुपरभाइजर्स भनिने शहरका लागि कानुन बनाउने निकायले यो निर्णय लिएको हो। उक्त बोर्डले सीमित सङ्ख्याका उच्च अधिकारीहरूले मात्रै रोबट प्रयोग गर्ने निर्णय लिनसक्ने जनाएको छ। विभिन्न प्रकारका घातक रोबटहरू अमेरिकाका अन्य शहरमा प्रयोगमा आइसकेका छन्। सन् २०१६ मा डलासका प्रहरीहरूले दुई जना अधिकारीको हत्या र अन्य कैयौँलाई घाइते बनाउने एक जना निशानेवाजको हत्या गर्न टेक्सस शहरमा सी-फोर विस्फोटक पदार्थको प्रयोग गरेका थिए।

    एसएफपीडीले उक्त विभागसँग घातक बल प्रयोग गर्ने क्षमताका कुनै पनि रोबटहरू नभएको उल्लेख गर्दै भविष्यमा आवश्यक पर्नसक्ने बताएका छन्। एक जना प्रवक्ताले भने, “कुनै पनि नीतिले अधिकृतहरूले भोग्नुपर्ने असामान्य परिस्थितिको कल्पना गर्न सक्दैन। एसएफपीडी तयार अवस्थामा रहनुपर्छ र त्यही अनुसार प्रतिक्रिया जनाउने क्षमता हुनुपर्छ।”

    सङ्घीय सरकारले यसअघि नै स्थानीय कानुन कार्यान्वयन गर्ने निकायलाई सैन्य स्तरको सामग्री, पोसाक, राइफलमा जडान गरिने धारिलो हतियार र बख्तर बन्द सवारी साधन वितरण गरिसकेको छ। क्यालिफोर्निया राज्यले यसै वर्ष पारित गरेको एउटा कानुनले शहरका प्रहरीहरूले सैन्य स्तरका सामग्रीको प्रयोग गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। स्टप किलर रोबट नामक अभियानकी डाक्टर क्याथरिन कोनोलीले पछिल्लो निर्णयले बल प्रयोग गर्न र त्यसको परिणाम भोग्नबाट मानिसलाई अझ टाढा राख्न सक्ने टिप्पणी गरिन्।

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न

    काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएसँगै उपकरणहरुको परीक्षण पुरा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ मंसिरदेखि सुरु भएको यान्त्रिक क्षमता परीक्षणका लागि हुने यस्तो उडान आइतबार सकिएको छ । पोखरामा उडान गरेको एरो थाईको जहाज अब आन्तरिक विमानस्थलहरुको उपकरण परीक्षणमा प्रयोग गरिँदैछ । यो जहाजबाट अब नेपालगञ्ज, धनगढी, सुर्खेत र चन्द्रगढीमा उपकरणहरुको परीक्षण गर्ने कार्यक्रम छ । यो जहाज ५ डिसेम्बरसम्म नेपालमै रहनेछ ।

    प्राधिकरणका अनुसार क्यालिब्रेसन उडानमा यान्त्रिक उपकरणहरु जाँच गर्न सक्ने प्राविधिकहरु रहेका छन् । उनीहरुले अबको तीन सातामा विमानस्थलमा भएको यान्त्रिक क्षमता परीक्षण उडानको प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिने छन् । यो रिपोर्टलाई प्राधिकरणले सार्वजनिक रुपमा प्रकाशन गर्छ । प्रतिवेदनले विमानस्थल व्यावसायिक उडानमा योग्य भएको प्रतिवेदन दिएमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक परीक्षण उडान हुने छ ।

    सो परीक्षण समेत सफल भएमा भने वायुसेवा कम्पनीहरुले नियमित उडान गर्न सक्नेछन् । प्राधिकरणले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन आएपछि विमानस्थलमा उडान गर्न कम्पनीहरुलाई आह्वान गर्नेछ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने घोषणा नेपाल सरकारले गरेको छ । यो घोषणा अनुसार नै विमानस्थलमा काम भइरहेको प्राधिकरणको भनाइ छ । १ वैशाख २०७३ सालमा शिलान्यास भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २७ असार २०७४ बाट काम थालिएको हो ।

  • उच्च पहाडी र हिमाली भेगमा हिमपात, निर्वाचन सामग्री ढुवानीमा समेत समस्या

    उच्च पहाडी र हिमाली भेगमा हिमपात, निर्वाचन सामग्री ढुवानीमा समेत समस्या

    काठमाडौं । हिमाली र उच्च पहाडी जिल्ला हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ । यसले निर्वाचन सामग्रीको ढुवानीमा समेत समस्या भइरहेको बताइएको छ । हुम्लासहितका जिल्लामा निर्वाचन सामग्री ओसर पसारमा समस्या देखिएको हो । पर्वातारोहण वा पदयात्रामा समेत चूनौति थपिएको छ । चुनावका लागि निर्वाचन अधिृकतसहितको टोली उच्च पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा पुग्दैछन् ।

    हिमपातका कारण समस्या आउन सक्ने भएकाले त्यसतर्फ जाँदा पूर्व तयारी अपनाउन मौसमविद्हरुको सुझाव छ । हिमाली केही जिल्लामा केही दिनदेखिको हिमपातले बाक्लो हिउँ जमेको छ । जसका कारण सुरक्षित रुपमा चुनावका सामग्रीसँगै चुनावमा खटिने टोलीलाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भइरहेको छ । केही ठाउँमा निर्वाचन आयोगले हेलिकप्टरमार्फत् पुर्याउँदैछ ।

    आज पनि हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै, प्रदेश(१, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने र बेलुकीपख पहाडी क्षेत्रका थोरै ठाउँमा हल्का वर्षाको अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण गर्न विशेष जहाज नेपाल आयो

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण गर्न विशेष जहाज नेपाल आयो

    काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षणका लागि विशेष जहाज नेपाल आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिरबाट ११ मंसिर सम्म पोखराको क्यालिब्रेसन उडान गर्ने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको प्राधिकरणले जनाएको छ । जहाज आइतबार नेपाल आएको हो । यो जहाज आगामी ५ डिसेम्बरसम्म नेपाल रहने छ ।

    यसबीचमा पोखरामा क्यालिब्रेसन उडान हुनेछ । त्यसबाहेक देशभरका आन्तरिक विमानस्थलका उपकरण जाँचमा नियमित परीक्षण उडान समेत यसै जहाजबाट गरिनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले १ जनवरी २०२३ देखि व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ । त्यस अगाडि परीक्षणहरु हुनुपर्छ । प्राधिकरणका अनुसार क्यालिब्रेसन फ्लाइट एक विस्तृत यान्त्रिक परीक्षण उडान हो । यो सम्पन्न भएपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउँछ ।

    सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिन्छ । परीक्षण उडान समेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि कम्पनीहरुले अनुमति पाउँछन् । तालिका अनुसार एरोथाईको जहाज २ मंसिरमै पोखरा पुग्नेछ । ३ मंसिरमा परीक्षण उडानबारे प्राधिकरणका अधिकारी र क्याविन क्रु तथा इन्जिनियरहरुसँग तयारी बैठक हुनेछ ।

    ४ मंसिरमा नेपालमा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचनको भोलिपल्ट अर्थात ५ मंसिरदेखि भने पोखरामा क्यालिब्रेसन उडान हुने छ । यस उडानका दौरान एयर ट्राफिक कन्ट्रोलर टावर, धावनमार्ग र विमानस्थल आसपासमा जडान सबै उपकरणहरुले काम गरे नगरेको जाँच हुन्छ ।

  • काठमाडौंको फोहोर व्यवस्थापनबारे मेयर बालेन र जर्मन राजदूतबीच छलफल

    काठमाडौंको फोहोर व्यवस्थापनबारे मेयर बालेन र जर्मन राजदूतबीच छलफल

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सबीच छलफल भएको छ । राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै फोहोर व्यवस्थापनको पछिल्लो अवस्थाबारे मेयर साहसँग जानकारी लिएका थिए । सो क्रममा साहले फोहोरको दीगो व्यवस्थापन गर्न सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताए ।

    फोहोर व्यवस्थापनको योजनाबारे जानकारी गराउँदै मेयर साहले भने, ‘फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि छन् । हामीसँग प्रस्ताव पनि धेरै छन् । तीमध्ये वर्गीकृत फोहोरलाई प्रकृतिअनुसार व्यवस्थापन गर्न सकिने दीगो प्रविधि हाम्रो प्राथमिकतामा छ ।’

    फोहोरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौं महानगरलाई सहयोग गरेको थियो । राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत संगित, शिक्षण तथा प्रवर्द्धनका लागि सहयोगको इच्छा व्यक्त गरेका थिए । उनले सहरी विकास, निर्माण र व्यवस्थापनका विषयमा चासो राखेका थिए ।

  • फेरिँदै प्रचार शैली, फेसबुक बुस्टिङमा लाखौं बाहिरियो

    फेरिँदै प्रचार शैली, फेसबुक बुस्टिङमा लाखौं बाहिरियो

    काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रचार शैली फेरिन थालेको संकेत मिलेको छ । साविकमा ठूल्ठूला आम सभा, पर्चा पम्प्लेट छपाएर गाउँगाउँ पुग्ने उम्मेदवार अब सामाजिक सञ्जालमा केन्द्रित हुन थालेका छन् । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार गर्नेको संख्या बढेको छ । यसले लाखौं रुपैयाँ बाहिरिएको समेत पाइएको छ ।

    फेसबुक सञ्चालन गरिरहेको मेटाले सार्वजनिक गरेको ‘मेटा एड लाइब्रेरी रिपोर्ट’ अनुसार गत सेप्टेम्बरदेखि नोभेम्बर ११ तारिक (सोमबार दिउँसो १२ बजेरसम्ममा) पाँच हजार पाँच सय ६० फेसबुक पेज र प्रोफाइलबाट चुनावी विज्ञापन ‘बुस्ट’ गरिएको छ। यो संख्या निर्वाचन र राजनीतिक क्षेत्रसँग जोडिएका विषयबारे मात्रै गरिएको सःशुल्क विज्ञापन रहेको राससले जनाएको छ । सोमबार दिउँसोसम्ममा कूल ६७ हजार ३६ अमेरिकी डलर बराबर खर्च भइसकेको मेटाको विवरणमा देखिन्छ।

    प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार श्रीराम गुरुङले पछिल्लो ३० दिन अवधिमा सबैभन्दा बढी तीन हजार एक सय २५ डलर खर्च गरेको मेटाको विवरणमा उल्लेख छ। काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभातर्फका स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठको फेसबुक पोस्ट बुस्ट गर्नका लागि दुई हजार दुई सय ३८ डलर खर्च भइसकेको छ।

    नेकपा (एमाले)का तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभाका उम्मेदवार किरण पौडेलले एक हजार तीन सय ५० डलर खर्च गरेका छन्। त्यस्तै डा. सुरेस बस्नेतको फेसबुक अकाउन्ट बुस्ट गर्नका लागि एक हजार आठ सय डलर खर्च भइसकेको देखिन्छ। बस्नेत भोजपुर–१ बाट प्रतिनिधिसभाका उम्मेदवार छन्।

    ‘विकास पुरुष इस्तियाक राइलाई फेरि जिताऔँ, नेपालगञ्जलाई समृद्ध बनाऔँ’ नामको फेसबुक पेजका पोस्ट बुस्ट गर्न एक हजार दुई सय ६८ डलर खर्च भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेश पराजुलीको फेसबुक पेजमा राखिएका पोस्ट बुस्ट गर्न नौ सय ३७ डलर खर्च भइसकेको मेटाको तथ्याङ्कबाट देखिन्छ।

    काठमाडौँ क्षेत्र नं ५ प्रदेश ९ख० बाट प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछानेको फेसबुक पोस्टबाट भएको विज्ञापनका लागि नौ सय चार डलर खर्च भएको छ। फेसबुक पोस्ट बुस्ट गर्नकै लागि भएको खर्चमा त्यस्तै सोमप्रसाद पाण्डे नामको अकाउन्टमा आठ सय ४२ डलर, प्रदीप पौडेल नामको पेजमा सात सय १७ डलर, अनुप बोहराको फेसबुक पोस्टमा छ सय ७८ डलर, रन्जु दर्शना नामको पेजका लागि छ सय ६६ डलर र उपेन्द्र यादव नामको पेजमा छ सय ५२ डलर खर्च भएको छ।

    ह्वाइ नेपाली कांग्रेस नामको पेजमा पाँच सय ३५ डलर र रवीन्द्र मिश्रको नाममा पाँच सय ३५ डलर खर्च भएको छ। त्यस्तै ‘नो, नट अगेन’ अभियानका कुरा पनि फेसबुकमा बुस्ट भएका छन्। सामाजिक सञ्जालमा नो नट अगेट अभियान चलाउने व्यक्तिहरू पहिचान गरी कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचारसमेत गरेको थियो। तर त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो भने उक्त अभियानलाई कारबाही नगर्न आदेश दिएको छ।

  • पोखरा-जोमसोम हवाई रुटमा क्यामरा राखिँदै

    पोखरा-जोमसोम हवाई रुटमा क्यामरा राखिँदै

    काठमाडौं । पोखरा–जोमसोम हवाई रुटमा क्यामरा जडान गरिने भएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ । यो रुटमा छिनछिनमा परिवर्तन हुने मौसमले हवाई उडान सुरक्षामा जोखिम निम्त्याउने गरेको छ । यस रुटको हवाई सेवालाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन रुटमा क्यामेरा जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ । यसमा आविष्कार केन्द्रले काम गर्ने भएको छ ।

    यी क्यामेराबाट हवाई रुटमा मौसमसम्बन्धी जानकारी लिइने समेत प्राधिकरणको भनाइ छ । प्रस्थान र गन्तव्य बिन्दुको मौसम सफा हुँदा उडेका जहाजहरु इनरुटमा हुने खराब मौसमका कारण दुर्घटनामा पर्ने जोखिम हिमाली भेगमा बढी हुने गरेको छ । यसको न्यूनीकरण गर्न यस्ता क्यामरा उपयोगी हुने बताइएको छ ।

  • अमेरिकामा ‘एयर शो’का दौरान दुई विमान आकासमै ठोक्किए

    अमेरिकामा ‘एयर शो’का दौरान दुई विमान आकासमै ठोक्किए

    डलास । अमेरिकी राज्य डलासमा एयर शोका दौरान द्वितीय विश्व युद्धकालिन दुई विमान आकासमै ठोक्किएका छन् । यस घटनामा कति मानिस हताहती भए वा जिवित छन् भन्ने खुलेको छैन । घटनाको समयमा दुबै विमान जमिनको नजिकबाट उडिरहेको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । सोशल मीडियामा राखिएका भिडियोमा दुई विमान ठोक्किएपछि एक विमान दुई टुक्रा हुन्छ । जब यो जमिनमा खस्छ, त्यसपछि आगलागी हुन्छ ।

    दुई विमानमध्ये एउटा बोइङ बी १७ फ्लाइङ फोर्ट्रेस हो । दुबै विमानलेविंग्स ओवर डलास एयर शोमा भाग लिएका थिए । यसलाई द्वितीय विश्व युद्ध एयर शोका नामबाट समेत चिनिन्छ । अमेरिकी फेडेलर एविएशन एटमिनिस्ट्रेशनले शनिवार भएको यस घटनाको जाँच शुरु गरेको जनाएको छ । बोइङ बी १७ विमानले द्वितीय विश्व युद्धमा जर्मनी विरुद्ध युद्ध जित्न निर्णयक भूमिका निभाएको थियो ।

  • ट्वीटर ‘पेड ब्लू टीक’ योजनाबाट पछि हट्यो

    ट्वीटर ‘पेड ब्लू टीक’ योजनाबाट पछि हट्यो

    काठमाडौं\एजेन्सी। ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय फिर्ता भएको छ । अमेरिकामा फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको पाइएपछि ट्वीटरले शुक्रबारबाट ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम रद्द गरेको जनाएको छ । मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताले प्राप्त गर्दथे ।

    तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हेरक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्नसक्ने स्थिति थियो । ट्वीटरले हालै आफ्नो प्लाटर्फममा ब्लु टिक फिचरका लागि प्रयोगकर्ताबाट ८ अमेरिकी डलर असुली गर्ने निर्णय गरेको थियो । उक्त शुल्कको बदलामा कम्पनीले प्रयोगकर्तालाई विभिन्न एक्सक्लूसिभ फिचर उपलब्ध गराउने पनि बताएका थियो ।

    तर, पैसा तिरेर ब्लु टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग भएका समाचार आएका छन् । ट्वीटरका सीईओ एलन मस्कले मूलधारका मिडिया तथा मिडिया अभिजात वर्गको आलोचना गर्दै नागरिक पत्रकारिताबाट बढ्दो प्रतिस्पर्धाले मूलधारका मिडियाको सूचनाहरुलाई अवरोध गर्ने बताएका छन् ।

    शुक्रबार एक ट्वीट गर्दै उनले नागरिक पत्रकारितालाई माथि उठाउने ट्वीटरको लक्ष्यका विषयमा उल्लेख गरेका छन् । नागरिक पत्रकारिलाई माथि उठाउने लक्ष्यलाई ट्वीटरले पछ्याइरहेको तर मिडिया अभिजात वर्गले यसो गर्नबाट रोक्नका लागि सबैचिज गर्ने कोसिस गर्ने उनको दाबी छ ।

  • काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन

    काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन

    काठमाडौं । काठमाडौं उत्पयकामा आज यस वर्ष कै कम तापक्रम मापन भएको छ । बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो यस वर्षकै कम हो । यसअघि नोभेम्बर ३ मा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको थियो ।

    अझै तापक्रम घट्ने क्रममा रहेको बताइएको छ । अहिले देशभर चिसो बढेको छ । हिमाली भेगमा हिमपात समेत हुन थालेको छ । आज जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियससम्म झरेको छ । जिरीको तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस, जोमसोमको २ डिग्री, ताप्लेजुङको ९ डिग्री सेल्सियस र डडेल्धुराको ७ डिग्री सेल्सियसमा झरिसकेको छ।

  • रामदेवको कम्पनी पतन्जलीका ५ औषधी उत्पादनमा भारत सरकारले लगायो रोक

    रामदेवको कम्पनी पतन्जलीका ५ औषधी उत्पादनमा भारत सरकारले लगायो रोक

    झारखण्ड । भारतको उत्तराखण्डमा बाबा रामदेवको कम्पनीका पाँच थरी औषधीको उत्पादनमा रोक लगाइएको छ। ‘भ्रामक विज्ञापन’ गरेको आरोपमा त्यस्तो कारबाही गरिएको अधिकारीहरूले जनाएका छन्। द हिन्दु पत्रिकालाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेअनुसार पतञ्जलिका उत्पादन बनाउने दिव्य फार्मेसीलाई पाँच किसिमका औषधीको उत्पादन रोक्न उत्तराखण्डको अथोरिटीज अफ आयुर्वेदिक एन्ड युनानी सर्भिसेसले निर्देशन दिएको हो।

    योग गुरु रामदेवको पतञ्जलि अन्तर्गतको उक्त फार्मेसीले ड्रग्स एन्ड म्याजिक रेमेडिज एक्टको पटक पटक उल्लङ्घन गरेको पाइएको समाचारमा उल्लेख छ। आयुर्वेदिक एन्ड युनानी सर्भिसेसका लाइसेन्स अधिकृत डा। जी।सी।एस जंगपंगीले पठाएको पत्रमा फार्मेसीबाट तत्काल दिव्य मधुग्रिट, दिव्य आईग्रिट गोल्ड, दिव्य थाइरोग्रिट, दिव्य बीपीग्रिट र दिव्य लिपिडोम नामका औषधीको उत्पादन रोक्न भनिएको छ। ती औषधीको प्रयोग मधुमेह, रक्तचाप र कोलेस्टरल, थाइरोयड र आँखाको सङ्क्रमणमा प्रयोग गरिन्छ। दिव्य फार्मेसीमाथि उक्त कारबाही केरलका डा.के.वी. बाबुको उजुरीपछि गरिएको हो।

    उनको उजुरीमा विज्ञापनमा गरिएको दाबीले मानव जीवनलाई जोखिममा पार्ने उल्लेख गरेका छन्। तर पतञ्जलिको तर्फबाट जारी वक्तव्यमा दिव्य फार्मेसीका हरेक उत्पादन र औषधी निर्धारित मापदण्ड अनुरूप बनाउने गरिएको बताइएको छ। उसले भनेको छ, ‘हामीमाथि ती मानिसले हमलालाई गरिरहेका छन् जसले औषधीको क्षेत्रमा भ्रम र भयको कारोबार गर्छन्। हामीले त्यो षड्यन्त्र सफल हुन दिन्नौँ।’ आफ्नो जबाफ सरकारी निकायलाई दिइएको बताउँदै पतञ्जलिले उजुरीकर्ता विरुद्ध कारबाहीको माग गर्ने जनाएको छ। ती उजुरीकर्ताले उठाएको मुद्दा पहिले नै सुल्झिसकेको उसको भनाइ छ।

  • काठमाडौंमा फोहोर जलाउन प्रतिवन्ध

    काठमाडौंमा फोहोर जलाउन प्रतिवन्ध

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्र खुला रुपमा आगो बाल्न रोक लगाइएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो। खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ ।

    महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

  • आर्थिक मन्दीको मारमा विश्वका ठूला सूचना प्रविधि कम्पनी, धमाधम कर्मचारी कटौती गर्दै

    आर्थिक मन्दीको मारमा विश्वका ठूला सूचना प्रविधि कम्पनी, धमाधम कर्मचारी कटौती गर्दै

    पेरिस । विश्वका ठूला सूचना प्रविधि कम्पनी आर्थीक मन्दीमा पर्न थालेका छन् । मख्यगरी सामाजिक संजाल ट्वीटर, फेसबुक, मेटा लगायत कम्पनीले चर्को मन्दीको सामना गर्नुपरेको छ ।

    ट्वीटरका नयाँ मालिक एलन मस्कले आफ्ना आधा कर्मचारीहरूलाई बर्खास्त गरको खबर आएको गत हप्तामा अर्को सामाजिक सञ्जाल सञ्चालकले कर्मचारी कटौतीको निर्णय गरेको छ ।

    अमेरिकी प्रविधि कम्पनी मेटाले ११ हजारभन्दा बढी कर्मचारीलाई हटाउने निर्णय गरेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले मेटाको इतिहासमा गरेको सबैभन्दा कठिन समयमा आफ्ना ११ हजारभन्दा बढी कर्मचारीलाई हटाउने बताएका हुन् ।

    उनले भने, ‘कटौतीले सामाजिक सञ्जालमा खपत जनशक्तिको १३ प्रतिशत प्रतिनिधित्व गर्दछ र मेटावर्सका साथसाथै फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपसहित यसका अनुप्रयोगहरूमा केन्द्रित यसको अनुसन्धान प्रयोगशालालाई असर पार्नेछ ।’

    प्रविधि उद्योग गम्भीर मन्दीमा छ र धेरै प्रमुख फर्महरूले सामूहिक काँटछाँटको घोषणा गरेका छन् ।

    जुकरबर्गले कर्मचारीहरूलाई लेखेको नोटमा भनेका छन्, ‘हामी कसरी यो निर्णय गर्न पुग्यौँ यसका लागि निर्णयहरूको लागि जवाफदेहिता लिन चाहन्छु,’ उनले भने, ‘मलाई थाहा छ, यो सबैका लागि कठिन छ, र म विशेष गरी प्रभावित व्यक्तिहरूसँग क्षमा प्रार्थी छु ।’

    फेसबुक र गुगल जस्ता विज्ञापन समर्थित प्लेटफर्महरू विज्ञापनदाताहरूले लागत घटाउन खोजिरहेका छन् किनकि उनीहरू मुद्रास्फीति र बढ्दो ब्याज दरसँग सङ्घर्ष गरिरहेका छन् ।

    जुकरबर्गले कर्मचारीहरूसँग कोभिड महामारीको समयमा ई–वाणिज्य र अनलाइन गतिविधिमा वृद्धि जारी रहने आशा गरेको बताउँदै भने, ‘मैले यो गलत पाएँ, र म यसको जिम्मेवारी लिन्छु ।’

    ‘भर्चुअल रियालिटी हेडसेट’मार्फत् पहुँच पाएको वेबको नयाँ संस्करण मेटावर्सको विकासका लागि अर्बौं डलर खर्च गर्ने जुकरबर्गको निर्णयप्रति लगानीकर्ताहरू चिन्तित भएका छन् ।

    जुकरबर्गले परियोजनाको प्रतिबद्धता प्रतिबिम्बित गर्न एक वर्ष पहिले कम्पनीको नाम मेटामा परिवर्तन गरेका थिए । तर मेटावर्स प्रविधिमा काम गर्ने विभाजनले त्यसपछि ३.५ अर्ब अमेरिकी डलर भन्दा बढीको घाटा बेहोरेको छ ।

    उनले यस वर्ष धेरै पटक सङ्केत गरेको तर आर्थिक रूपमा सङ्घर्ष गर्ने सम्भावित उपायहरूले समस्या टार्न नसक्ने देखिएपछि बुधबार आफ्नो पत्रमा कर्मचारी कटौती ‘अन्तिम उपाय’ भएको बताउएका हुन् । एजेन्सी

  • पश्चिम नेपालमा भूकम्प, डोटी केन्द्रविन्दु

    पश्चिम नेपालमा भूकम्प, डोटी केन्द्रविन्दु

    काठमाडौं । डोटी केन्द्रबिन्दु भएर मंगलबार राति ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ। राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    यसअघि आइतबार राति ताप्लेजुङ केन्द्र भएर ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको थियो। मंगलबारको भूकम्पको धक्का पश्चिम नेपालको लुम्बिनी प्रदेशसम्म मशसुस भएको छ ।

  • पूर्वी नेपालमा भूकम्प

    पूर्वी नेपालमा भूकम्प

    काठमाडौं । पूर्वी नेपालमा भूकम्प गएको छ । सोमबार राति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गरएको छ ।

    आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । नेपालमा ६ रेक्टरस्केल भन्दा साना भूकम्प निरन्तर जाने गरेका छन् ।

  • ट्वीटरले गर्यो एक साथ ३  हजार ५ सय कर्मचारी कटौती

    ट्वीटरले गर्यो एक साथ ३ हजार ५ सय कर्मचारी कटौती

    काठमाडौं । सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएका छन्। एएफपी अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो। मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए। उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्।

    ‘ट्वीटरमा काम गर्ने मेरो समय सकिएको खबर सुनेर उठेँ। म दुःखी छु। म अन्योलमा छु’, अमेरिका र क्यानडाका लागि ट्वीटरका सार्वजनिक नीति निर्देशक मिशेल अस्टिनले एएफपीसँग भने। यसअघि ट्वीटरका सिइओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीलाई सामाजिक सञ्जाल काम गर्न अख्तियार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्।

    ट्विटरले आफ्ना कर्मचारीहरूले कार्यालयहरू केही समयका लागि बन्द हुने र कर्मचारीहरूले पाउने पहुँच पनि रोकिने बताएको छ। ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका मस्कले मालिक बनेसँगै सिइओसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका थिए। ट्विटरको खर्च कटौती गर्न उनले कर्मचारी हटाउन लागेका हुन्। खर्च कटौती गर्ने, निलो टिकबापत् मासिक ८ डलर शुल्क लिने र ट्विटरबाट किनमेललगायत दैनिक जीवनका धेरै काम गर्न सकिने सुपर एप बनाउने मस्कको योजना छ ।

  • ट्वीटर भेरिफाइड बनाउन मासिक ८ डलर शुल्क तोकियो

    ट्वीटर भेरिफाइड बनाउन मासिक ८ डलर शुल्क तोकियो

    काठमाडौं । ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने गरी शुल्क तोकिएको छ । ट्वीटरका सीईओ एलन मस्कले यस्तो जानकारी दिएका हुन् । यसअघि उनले २० डलरको प्रस्ताव राखेका थिए । तर फरक फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति अनुसार मासिक आठ डलर तोकिएको बताइएको छ ।

    एलन मस्कले ट्वीटरमा लेखेका छन्–आगामी दिनमा पैसा दिनेहरुका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज, लामो अडियो भिडियो पोष्ट गर्ने लगायतका धेरै सुविधा पाइने छ । यसबाट ट्वीटरको आम्दानी बढ्ने र कन्टेन्ट बनाउनेहरुलाई पनि फाइदा हुने मस्कले बताएका छन् ।

  • इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै

    इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै

    काठमाडौं । ट्विटरको कमाण्ड सम्हालेपछि एलोन मस्कले ट्वीटरको निर्देशक बोर्डलाई बर्खास्त गरेका छन्। यससँगै उनले ट्वीटरलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका छन्।

    अब एलोन मस्क ट्वीटरका एक मात्र सञ्चालक बनेका छन् । डेली मेलको रिपोर्टका अनुसार हटाइएका निर्देशकहरूमा मार्था लेन फक्स, ओमिड कोर्डेस्तानी, डेभिड रोजेनब्लाट, प्याट्रिक पिचेट, इगोन फेई-फेई ली र मिमी अलेमेहेउ समावेश छन्।

    इलोन मस्कले अक्टोबर २८ मा ट्विटरको नेतृत्व सम्हालेका थिए। मालिक बनेपछि मात्र उनले ट्विटरका सीईओ पराग अग्रवाल, सीएफओ नेड सेगल र कानूनी मामिला-नीति प्रमुख विजया गड्डेलाई कम्पनीबाट बर्खास्त गरेका थिए। त्यति मात्र होइन । मस्कले उनलाई कम्पनीको मुख्यालयबाट पनि निकाले ।

    प्रभावशाली सामाजिक सञ्जाललाई मस्कले अधिग्रहण गरेपछि अभिव्यक्ति स्वतन्त्रता र कमजोर समूहहरूलाई अनलाइन हानिबाट जोगाउने बिचको सन्तुलनको बारेमा गहन बहस सुरु भएको छ।

    स्व-घोषित ‘स्वतन्त्र-वाक् निरपेक्षतावादी’ मस्कले ट्वीटरको ‘मोडेरेसन पोलिसीहरु’को आलोचना गर्दै आएका थिए भने कम्पनीलाई वामपन्थी विचारहरूको पक्षपाती भएको आरोप लगाएका थिए।

    मस्कले यसै वर्ष अप्रिल १३ मा ट्विटर किनेको घोषणा गरेका थिए । उनले प्रति शेयर ५४.२ डलरमा ४४ अर्ब डलरमा सोसल मिडिया प्लेटफर्म किन्न प्रस्ताव गरेका थिए । तर त्यसपछि स्प्याम र नक्कली खाताहरूको कारण, उनले त्यो सम्झौता होल्ड गरे।

    जुलाई ८ मा, मस्कले सम्झौता तोड्ने निर्णय गरे। त्यसको विरुद्धमा ट्विटरले अदालत पुगेको थियो । तर अक्टोबरको सुरुमा, मस्कले आफ्नो अडान परिवर्तन गरे र फेरि सम्झौता पूरा गर्न सहमत भए।

    यसैबीच, डेलावेयर अदालतले अक्टोबर २८ सम्ममा सम्झौता पूरा गर्न आदेश दिएको छ। इलोन मस्कले एक दिनअघि ट्विटरको अफिस पुगेर सबैलाई चकित पारेका थिए ।

  • तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम

    तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम

    काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । यसले धान बाली भित्र्याउने तयारीमा रहेका कृषकलाइ जोखिम निम्त्याउने छ ।
    जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आइतबार देशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमासामान्यतया मौसम सफा रहने छ भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

  • अन्ततः इलन मस्कले किने ट्विटर, खरिद प्रक्रिया सम्पन्न

    अन्ततः इलन मस्कले किने ट्विटर, खरिद प्रक्रिया सम्पन्न

    काठमाडौं । ट्विटर खरिद प्रक्रिया सम्पन्न भएको छ । संसारका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्विटर किनेका हुन् । यससङ्गै उनले “पन्छी मुक्त”भएको लेखेका छन् । ट्विटर खरिद प्रक्रिया सकिएसँगै शुक्रबार एक ट्विट गर्दै उनले लेखेका छन्, ‘दि बर्ड इज फ्रिड’ ।

    गत अप्रिलमा ट्विटर किन्ने सम्झौता गरेका मस्कले बिहीबार मात्रै खरिद प्रक्रिया पूरा गरेका छन् । उनले ट्विटर किनेसँगै ट्विटरका सीईओ पराग अग्रवालसहित तीन उच्च पदाधिकारीलाई बर्खास्त गरे । अग्रवाल २०२१ नोभेम्बरमा ट्विटरको सीईओमा नियुक्त भएका हुन् ।

    बिहीबार एक ट्विट गर्दै मस्कले मानवताको सहयोगका लागि ट्विटर खरिद गरेको भन्दै मानव सभ्यताको भविष्यका लागि ट्विटरजस्तो प्लेटफर्म आवश्यक भएको बताएका थिए । 

    गत अप्रिलमा ट्विटर किन्ने सुरुवाती सम्झौता गरेका मस्क पछि उक्त सम्झौताबाट बाहिरिन खोजेका थिए । ट्विटर किन्ने सम्झौता गरे पनि पछि आनाकानी देखाएपछि ट्विटरले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको थियो । मस्कले ट्विटर किन्नका लागि अदालतबाट अक्टोबरसम्मको समयसीमा पाएका थिए ।

    मस्कले वाक् स्वतन्त्रताको पक्षमा आफू रहेको भन्दै ट्विटरको कन्टेन्ट मोडेरेसन नीतिबारे पुनर्विचार गर्ने बताउँदै आएका छन् ।

    उनले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ बिलियन डलर (अहिलको विनिमय दरअनुसार ५३ खर्ब ६८ अर्ब) तिरेर ट्विटर किनेका हुन् ।

  • टिकटकमा लाइभ बस्न १८ वर्ष पुगेको हुनुपर्ने

    टिकटकमा लाइभ बस्न १८ वर्ष पुगेको हुनुपर्ने

    काठमाडौं । टिकटकले लाइभमा बस्ने प्रयोगकर्ताको उमेर आगामी महिनादेखि १८ वर्ष भएको हुनुपर्ने बनाउन लागेको छ। अहिलेसम्म १६ वर्षका प्रयोगकर्ताहरूले पनि टिकटक लाइभ गर्न पाउँछन्। बीबीसीका अनुसार एक अनुसन्धानमा सिरियाका शरणार्थी शिविरहरूबाट बालबालिकाको प्रयोग गरेर सहयोग माग्न सयौँ प्रयोगकर्ताहरू लाइभमा बस्ने गरेको पाइएको छ ।

    तीमध्ये कतिपयले एक घण्टामै १,००० डलरसम्म सहयोग पाउने गरेको तर त्यसलाई नगदमा रूपान्तरण गरेर उनीहरूले पैसा निकाल्दा टिकटकले ७० प्रतिशतसम्म लिने गरेको पाइएको समेत बीबीसीको भनाई छ । निकट भविष्यमा वयस्कहरूले मात्रै अभौतिक उपहार लिन मिल्ने र टिकटकको मनिटाइजेशन फीचरमा पहुँच पाउने टिकटकले जनाएको छ। आगामी साताहरूबाटै उसले प्रयोगकर्ताहरूलाई वयस्कले मात्रै लाइभ गर्न दिने जनाएको छ।

    यद्यपि टिकटकले कसरी उमेरका आधारमा रोक लगाउने कदम कार्यान्वयन गर्छ भन्ने अझै स्पष्ट छैन। फेसबुक र इन्स्टाग्रामको स्वामित्व लिएको मेटा र यूट्यूबको स्वामित्व भएको गुगलले लाइभस्ट्रीमिङका लागि न्यूनतम उमेर १३ वर्ष तोकेका छन्।


    उनीहरूले प्रयोगकर्ताहरूलाई पनि आफूले अप्लोड गर्ने सामग्री निश्चित उमेर पूरा भएकाले मात्रै हेर्न मिल्ने बनाउन सकिने सुविधा दिएका छन्। बीबीसी ग्लोबल डिस्इन्फर्मेशन यूनिट, बीबीसी न्यूज अरेबिक र बीबीसी आई इन्भेस्टिगेशन्सले उत्तरपश्चिमी सिरियाबाट लाइभमा आउने ३०० भन्दा बढी टिकटक प्रयोगकर्तालाई पाँच महिनासम्म पछ्याएको थियो।

    टिकटकको नियमले कसैलाई पनि उपहारको लागि याचना गर्न रोक लगाएको छ भने नाबालकहरूलाई शोषण गर्न, हानिि पुर्‍याउन र खतरा पुर्‍याउन नहुने उल्लेख गरेको छ। टिकटकले बालबालिकाको सुरक्षासम्बन्धी उसका नीति कत्तिको कडाइका साथ लागु गराउँछ भनेर परीक्षण गर्न बीबीसीले उसकै एपका फीचरको प्रयोग गरेर बालबालिकालाई माग्न राखिएका ३० वटा खाताविरुद्ध रिपोर्ट गर्‍यो। त्यतिखेर टिकटकले ती खाताले कुनै नियम उल्लङ्घन नगरेको जनायो।

    बीबीसीको एक अनुसन्धानका अनुसार सहयोगस्वरूप दिइएको रकमको ७० प्रतिशत टिकटकले नै राख्ने गरेको छ । टिकटकले यस्तो प्रकृतिका सामग्रीहरूलाई आफ्नो एपमा अनुमति नदिइएको र डिजिटल उपहारबाट उसले लिने कमिशन ७० प्रतिशतभन्दा निकै कम रहेको दाबी गरेको छ। तर उसले लिने कमिशन कति प्रतिशत हो भन्नेबारे टिकटकले खुलाएको छैन।

  • जुम्लामा १ डिग्रीमा झर्यो न्यूनतम तापक्रम, काठमाडौंमा कति ?

    जुम्लामा १ डिग्रीमा झर्यो न्यूनतम तापक्रम, काठमाडौंमा कति ?

    काठमाडौं । देशभर चिसो बढ्दा न्यूनतम तापक्रम समेत तल झर्ने क्रम जारी छ । पश्चिमी वायुको प्रभावले नेपालमा क्रमशः चिसो बढाइरहेको छ । जुम्लामा न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर नै केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न थालेको छ । शुक्रबार पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ ।

    गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको समेत सम्भावना छ । जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस छ । जोमसोमको न्युनतम तापक्रम ३, जिरीको ७ दशमलव ९ र डडेल्धुराको न्युनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । काठमाडौंमा न्युनतम तापक्रम १२ दशमलव ३ डिग्री सेल्सियस छ ।

  • भारतीय कम्पनी सेरमले किन नष्ट गर्यो १० करोड डोज कोरोना खोप ?

    भारतीय कम्पनी सेरमले किन नष्ट गर्यो १० करोड डोज कोरोना खोप ?

    नयाँ दिल्ली । कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग आउन छाडेसँगै कम्पनीहरुले उत्पादन गरेको खोप नास हुन थालेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ। संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको जानकारी गराएको हो ।

    टाइम्स अफ इन्डियाले लेखे अनुसार पुनेमा जारी विकासशील देशका खोप उत्पादकको सञ्जालको वार्षिक सम्मेलनमा यस्तो जानकारी गराइएको हो । गत डिसेम्बरदेखि यो कम्पनीले कोभिसिल्ड नामको खोपको उत्पादन नै बन्द गरेको छ । ओमिक्रोन भेरियन्ट विरूद्धको खोप बनाउन अमेरिकाको नोभाभ्याक्ससँग सेरमले सहकार्य गरिरहेको छ ।

  • अमेरिकी नियामक निकायले आजबाट नेपालको हवाई सुरक्षा अध्ययन गर्दै

    अमेरिकी नियामक निकायले आजबाट नेपालको हवाई सुरक्षा अध्ययन गर्दै

    काठमाडौं । नेपालमा अमेरिकाबाट सिधा हवाई उडानको तयारी चलिरहँदा त्यहाँको नियामक निकायले आजबाट नेपालमा हवाई सुरक्षा जाँच गर्ने भएको छ । अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले नेपालको हवाई सुरक्षा अवस्थाबारे बिहीबारबाट अध्ययन थाल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    सो टोलीले आइकाओले हेर्ने गरेका आठवटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दिए । युुरोपेली सङ्घ इयूले हालै नेपालको अडिट गरिसकेको छ । नेपाल ईयूको कालोसूचीमा छ । नेपालमा हालै विश्व बैंकको टोलीले समेत सुरक्षा अडिट पुरा गरेको छ । उता, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठगनको पूर्ण अडिटको अन्तिम रिपोर्ट समेत आइसकेको प्राधिकरणले जनाएको छ ।

  • आज र भोली देशभर ‘भिटामिन ए’ र जुकाकोऔषधी खुवाउने अभियान

    आज र भोली देशभर ‘भिटामिन ए’ र जुकाकोऔषधी खुवाउने अभियान

    काठमाडौं । आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी गराएको छ । आज छुटेका बालबालिकालाई भोलि खुवाइने छ । स्वास्थ्य मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

    भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका लागि देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • तापक्रम घट्दै, चिसो बढ्दै

    तापक्रम घट्दै, चिसो बढ्दै

    काठमाडौं । मनसुन अन्त्य भएसँगै नेपालमा तापक्रम घट्ने क्रम शुरु भएको छ । खासगरी देशभर न्यूनतम तापक्रम घट्न थालेको हो । दिउँसो भने बादल नलाग्दा घाम चर्किने गरेको छ । यसले अधिकतम तापक्रममा ठूलो गिरावट आएको छैन । मंगलबार काठमाडौंको बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ । सोमबार १२ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो ।

    देशैभर बिहान र बेलुका चिसो हुन थालेको छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा अहिले घाम लागे पनि दिउँसो १२ बजेपछि बदली भइ क्षणिक वर्षाको सम्भावना रहेको छ ।

  • निर्वाचन आयोगले फेसबुकसँग सहकार्य गर्ने, गलत सूचनामा बन्देज

    निर्वाचन आयोगले फेसबुकसँग सहकार्य गर्ने, गलत सूचनामा बन्देज

    काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्ति निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने जनाएको छ । आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको छ । आइतबार फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले निर्वाचन आयोगका पदाधिकारी र सूचना–प्रविधि हेर्ने विज्ञ टोलीसँग छलफल गरेको थियो ।

    त्यसक्रममा फेसबुकले राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन सामग्रीको प्रचारप्रसार तथा मिथ्या सूचना नियन्त्रणबारे भर्चुअल कार्यशाला आयोजना समेत गरेको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फेसबुकसँग तीनवटा विषयमा सहकार्य हुने बताएका छन् । उनका अनुसार निष्पक्ष र सन्तुलित रुपमा निर्वाचन गर्न सामाजिक सञ्जालमा हुनसक्ने बाधा व्यवधान र तिनलाई हटाउने उपायबारे छलफल भएको छ ।

    फेसबुकसँगको सहकार्यले झुटा विवरण प्रचारप्रसार र अफवाह नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । आयोगले निर्वाचनसम्बन्धी जनचेतनामूलक र प्रवद्र्धनात्मक सामग्रीलाई प्रचारप्रसार गर्न पनि समझदारी भएको बताएको छ ।

  • कस्तो हुँदैछ आजको मौसम ?

    कस्तो हुँदैछ आजको मौसम ?

    काठमाडौं । एक साता देखि मुलुकका विभिन्न स्थानमा परिरहेको वर्षा अब क्रमशः कम हुे भएको छ । यसअघिको मौसमी प्रणाली कमजोर बन्ने क्रममा रहेका कारण अब तत्काल ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । हिजोसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा गराएको प्रणाली आजदेखि कमजोर भएको छ । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा बदली भएर केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको र बेलुकीदेखि मौसम सफा हुँदै जाने छ ।

    काठमाडौं उपत्यकासहित पूर्वका क्षेत्रमा भने अझै तीन दिनसम्म मौसम बदली हुने सम्भावना छ । मौसम बदली भएर सामान्य पानी परे पनि ठूलो वर्षाको सम्भावना भने नरहेको बताइएको छ । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश(१, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा सामान्य पानी परिरहेको छ । बङ्गालको खाडीमा विकास भएको न्यून चापीय क्षेत्र सर्दै भारतको हरियाणा आसपासमा रहेको र त्यसको प्रभावले नेपालमा बदली भएको हो ।

  • मौसममा सुधार देखिँदै,  पश्चिम भेगमा अझै जोखिम

    मौसममा सुधार देखिँदै, पश्चिम भेगमा अझै जोखिम

    काठमाडौं । नेपालमा निरन्तर जारी भारती वर्षा क्रमशः सुधार भइरहेको छ । पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना भने कायमै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजबाट पूर्वी नेपालमा भने मौसममा सुधार हुँदै जाने भएको छ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउनु पर्ने भएको छ ।

    नेपालमा बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको छ । केही दिनयता लगातार वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली छ । बाँकी प्रदेशहरूमा भने सामान्य बदली रहेको र सुदूर पश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार कन्चनपुरको शान्तिपुर बेलौरी, बर्दियाको रम्भापुर, नवलपुरको दुम्कौली, तनहुँको अत्रउलीटार तथा पाल्पाका अर्चले र गण्डाकोटमा भारी वर्षा भइरहेको छ । यी स्थानहरुमा पर्ने महाकाली, बबई र काली गण्डकी जलाधार क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण खतराको संकेत देखाइएको छ । २४ घण्टाको अवधिमा पाल्पामा सबैभन्दा बढी २११ मिलिमिटर वर्षा मापन भएको छ ।

  • गण्डक ब्यारेजका ३६ मध्ये २२ वटा ढोका खोलियो

    गण्डक ब्यारेजका ३६ मध्ये २२ वटा ढोका खोलियो

    काठमाडौं । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेसँगै थालेपछि त्रिवेणीमा रहेको गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।
    रातिदेखि नै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानालाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।

    लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा यसले क्षति पुर्याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो । उनका अनुसार बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालिस हजार क्युसेक पुगेको छ । गण्डक ब्यारेजमा पानीको सतह बढ्दो क्रममा रहेको र हुनसक्ने जोखिमलाई मध्यनजर गरी आफूहरुले समन्वय गरिरहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

    गण्डक ब्यारेजमा नारायणी नदीको जलसतह हेरेर आवश्यकताअनुसार ढोका खोल्ने काम हुने उहाँको भनाइ थियो । पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रुपमा रहनसमेत उनले आग्रह गरेका छन् । गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ ।

    पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै ब्यारेजका २२ वटा ढोका खोलिएको हो । बाढी सूचना केन्द्रले नारायणी नदीको जलाधार क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गदैै नवलपरासी र चितवनका तटीय क्षेत्रमा जोखिम बढ्ने चेतावनी दिएको छ ।