Category: खेलकुद

  • उज्ज्वल ठकुरी भर्जिनियाको कँग्रेसम्यानबाट सम्मानित

    उज्ज्वल ठकुरी भर्जिनियाको कँग्रेसम्यानबाट सम्मानित

    भर्जिनिया

    अमेरिकाको भर्जिनिया राज्यका कँग्रेसम्यान गेरल्ड ए. कोनोलीबातट गिनिज बुक अफ वर्ल्ड रेकर्डधारी खेलाडी उज्ज्वल ठकुरी सम्मानित भएको छ । ठकुरीले पाँच पटक बिभिन्न स्पर्धामा विश्व रेकर्ड कायम गरे बापत उक्त समामान गरेको हो । सम्मानपत्रमा लेखिएको छ; “मास्टर उज्ज्वल ठकुरी तपाई जस्तो नाम राख्ने ब्यक्तिलाई बधाई  र सम्मान पत्र पठाउन पाउँदा म धेरै खुसी छु । पाँच पटक बिश्व कीर्तिमानी राख्नु सानो कुरा हैन । तपाई छैठौं ब्लैक बेल्ट अमेरिकन मारिन गोजुबाट त्यसै पनि प्रख्यात हुनुहुन्छ । तपाइले यो पदकहरु बिश्व रेकर्ड, बिश्व बेल्ट बिजेता अनि राष्ट्रिय स्वर्ण पदक ल्याउन धेरै मेहेनत गरेको होला ।

    तपाइले यो सबै पदकहरु जित्नुमा तपाईको त्याग र समर्पण परेको हामी बुझ्छौं । तपाईंको  अटल प्रतिबद्धता र फोकस प्रदर्शन गर्नुभयो जसले अरु नयाँ पुस्ताका खेलाडीहरुले पनि   सिप र ज्ञान प्राप्त गर्नका लागि रोल मोडेल बन्नु भएको छ । यो देशमा आएर यत्रो ठुलो नाम राखिदिनु भएकोमा म काँग्रेस मयान तपाईलाइ फेरी पनि बधाई तथा धन्यबाद दिन चाहन्छु ।” यस अघि पनि ठकुरी बिभिन्न राज्यबाट सम्मानित भई सकेका छन् ।

  • नेपाललाई ओमानले फेरी हरायो

    नेपाललाई ओमानले फेरी हरायो

    काठमाडौं । बलिङमा जम्न नसकेपछि आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई ओमानले हराएको छ । नेपाल जारी लीगमा लगातार दोस्रो पटक घरेलु मैदानमै ओमानसंग हारेको हो ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २४९ रन बनाएको थियो ।

    तुलनात्मक रुपमा राम्रो ब्याटिङ गरेको दिन बलिङ यूनिटले साथ दिन सकेन । जसले गर्दा नेपालले नमिठो हार बेहोरेको हो ।

    २ सय ५० रनको लक्ष्य ओमानले सहजै भेटायो । नेपालले मात्र २ विकेट लिन सक्यो ।

    ओमानका उपकप्तान अकिब इल्यास आइतबार चम्किए । उनले अलराउण्ड प्रदर्शन गरे ।

    उनले बलिङतर्फ ४ विकेट लिएका थिए भने ब्याटिङ यूटिममा शतक हाने । नेपाललाई उनी एक्लैले हराएको टिप्पणी नेपाली फ्यानहरुले गरेका थिए ।

    इल्यास र कप्तान जिसान मक्सुदबीच तेस्रो विकेटका लागि शतकीय साझेदारी भएको हो ।

    अकिब इल्यासले अविजित १०९ रनको पारी खेले । पहिले ब्याटिङ गरेको नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे ।

    ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

  • अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन

    अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन

    काठमाडौं । अमेरिकालाई काठमाडौंमा जारी आइसीसी क्रिकेट वल्र्ड कप लीग डिभिजन टूमा नेपालले हराएको छ । शनिबार सम्पन्न खेलमा अमेरिका नेपालसँग ३५ रनले हारेको हो ।

    टस जितेर पहिले बल रोजेको अमेरिकाले नेपाललाई १९० रनमा रोकेको थियो । नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो ।

    जवाफी ब्याटिंगमा उत्रिएको अमेरिका ४४.१ ओभरमा १५५ रन बनाउँदा अल आउट भयो । ब्याटिंगमा औसत प्रदर्शन गरेको नेपालले बलिंगतर्फ भने आफ्नो विश्वस्तरीय क्षमता प्रदर्शन गरेको छ ।

    नेपालका लागि करण केसीले ४ विकेट लिए । सुसन भारी र सन्दीप लामिछानेले क्रमशः ३ र २ विकेट लिए ।

    कुशल मल्लको नाममा एक विकट रह्यो । मल्ले आज डेब्यू गरेका थिए । १५ वर्षमै डेब्यू गरेका उनको प्रदर्शन भने सनसनीपूर्ण रह्यो ।

    ब्याटिंगमा अर्धशतक प्रहार गर्दै उनले सबैभन्दा कान्छो उमेरमा वान डे इन्टरनेशनमा अधशतक प्रहार गर्ने खेलाडीको रुपमा आफूलाई स्थापित गरे ।

    यो कीर्तिमान यसअघि नेपालकै रोहित पौडेलको नाममा थियो । उनले विकेट समेत लिएका हुन् ।

    जारी सिरिजमा अमेरिकाको यो दोस्रो हार हो । यसअघि ओमानले समेत अमेरिकालाई हराएको थियो । नेपाल पनि ओमानसँग हारेको थियो ।

    तर, अमेरिकासँग भने निकै बलियो टोलीका रुपमा नेपालले प्रदर्शन गर्यो ।

  • आइसिसी विश्वकप लिग २-अमेरिकालाई ओमानले हरायो

    आइसिसी विश्वकप लिग २-अमेरिकालाई ओमानले हरायो

    काठमाडौं । ओमानले आइसिसी विश्वकप लिग, २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रियमा अमेरिकालाई हराएको छ ।

    बिहीबार भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले हराएको हो । जितसँगै ओमान अब समुहको शीर्ष स्थानमा रहेको छ ।

    अमेरिका र ओमानको समान १२ अंक छ । रनरेटमा ओमान अगाडी छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल भएको थियो ।

    खेलमा अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमानले ३ बल बाँकी छँदा पूरा गरेको थियो ।

    पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २ सय १३ रन मात्र जोड्न सकेको थियो । अमेरिकाका लागि होल्यान्डले सर्वाधिक ६५ रन र अक्ष्य होमराजले ४४ रन जोडे ।

    ओमानका लागि कप्तान नदिमले ३ विकेट लिए। बुधबार सिरिजको पहिलो खेलमा ओमानले घरेलु टोली नेपाललाई १८ रनले पराजित गरेको हो ।

    आइसिसीले एकदिवसीय विश्वकप छनोटको नयाँ रोडम्याप तय गरेको हो । सोहीकारण गत अगस्टबाट त्रिकोणात्मक सिरिज सुरु भएको हो।

    यहीँ सिरिज खेल्न अमेरिका र ओमान नेपाल आएका हुन् । शनिबार नेपाल र अमेरिका भिड्दैछन् ।

  • ओमानसँग हार्यो नेपाल

    ओमानसँग हार्यो नेपाल

    काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बुधबार नेपाल ओमानसँग हारेको छ । नेपाल १८ रनले पराजित भएको हो ।

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १ सय ९८ रन भेट्टाउन नसक्दा नेपालले घरमै आफनो पहिलो खेल हारेको हो । नेपाल ४६.५ ओभरमा १ सय ७९ रन जोड्दै अलआउट भयो।

    नेपालले फेरी पनि ब्याटिंगमा कमजोर देशका रुपमा प्रमाणित गर्यो । नेपालको लागि शरद भेषवाकरले सर्वाधिक ५५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३६ र सन्दीप लामिछानेले २८ रन जोडे। कप्तान ज्ञानेन्द्र कार्की र पूर्वकप्तान पारस खड्का भने फ्लप भए ।

    टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा १ सय ९७ रन जोडेको थियो । बलिंगमा राम्रो प्रदर्शन गरेपनि ब्याटिंग जम्न नसकेपछि नेपाल हारेको हो ।

    लिग २ मा त्रिकोणात्मक सिरिज चलिरहेको छ । यस अनुसार कीर्तिपुरमा एक साता भित्र नेपाल, ओमान र अमेरिकाले एकआपसमा २, २ पटक प्रतिस्पर्धा गर्दैछन्।

    जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्ने भएका छन् । लिग, २ को सिरिज प्रतियोगिता सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरण पुग्ने बाटो पनि हो । अब नेपालको अर्को खेल शनिबार हुनेछ ।

  • आजबाट शुरु हुँदैछ त्रिदेशीय सिरिज, ओमान र नेपाल भिड्दै

    आजबाट शुरु हुँदैछ त्रिदेशीय सिरिज, ओमान र नेपाल भिड्दै

    काठमाडौं । एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालले पहिलो पटक घरेलु मैदानमा वानडे सिरिज खेल्दैछ । खेल आजबाट शुरु हुँदैछन् ।

    त्रिवि किकेट मैदानले समेत यसै खेलबाट वानडे मान्यता पाउँदैछ । कीर्तिपुरमा पहिलो खेलका लागि ओमान र नेपालका कप्तानले टस गरेसँगै यो मैदानले वानडे मान्यता पाउने हो ।

    नेपालले २०२३ मा हुने विश्वकपको यात्राका लागि यो प्रतियोगिता महत्वपूर्ण सावित हुनेछ । नेपाल, ओमान र अमेरिका यस सिरिजमा भिड्दैछन् ।

    सबै टोलीले एकआपसमा २, २ खेल खेल्नेछन् । क्रिकेट मैदानमा हुने हरेक खेलका लागि दुई सय रुपैयाँ टिकट तोकिएको छ ।

    सबै खेलमा दर्शक खचाखच हुने अनुमान रहेको छ । नेपाल ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदानमा उत्रिदैछ ।

    पारस खड्काले कप्तानी छाडेपछि पहिलो महत्वपूर्ण सिरिजमा ज्ञानेन्द्रले कप्तानी गर्दैछन् ।

    अमेरिका सन् २०१० पछि पहिलो पटक नेपाल आएको हो । ओमन भने नियमित नेपालमा खेलिरहेको टोली हो । यी दुबै टोलीमा अन्य मुलुकबाट आएका आप्रवासी खेलाडीको बाहुल्य रहेको छ ।

  • अमेरिका र ओमानसँगको लीगपछि नेपाली क्रिकेटका प्रशिक्षकले पद छाड्ने

    अमेरिका र ओमानसँगको लीगपछि नेपाली क्रिकेटका प्रशिक्षकले पद छाड्ने

    काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । उनले आगामी बुधबारबाट शुरु हुने त्रिदेशीय क्रिकेट लीगपछि लागु हुने गरी राजिनामा बुझाएका हुन् ।

    बुधबारबाट काठमाडौंमा नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज चल्नेछ । पटलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ ।

    सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप छनोटका लागि नेपालले विश्वकप लीग टूमा पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरमा खेल्दैछ ।

    उनी जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

    नेपाल क्रिकेट संघ अहिले आइसीसीको निलम्बनमा छ । सोहीकारण उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आईसीसी मार्फत नेपाली प्रशिक्षकमा नियुक्त गरेको हो ।

    उनले मासिक ७ हजार डलर तलब पाउने गरी आइसीसीसँग सम्झौता गरेका थिए ।

    मुख्य प्रशिक्षक नेपालको प्रशिक्षणमा नेपालले सिंगापुरमा आइसीसी टी२० विश्वकप छनोट खेलेको थियो । तर, नेपाल छनोट हुन सकेन ।

    नेपाल टी–२० को विश्वकप छनोटको एसिया फाइनलमै नपुगी आउट भयो । उनको प्रशिक्षणमा नेपालले साग क्रिकेटमा खेलेपनि सफल हुन सकेन ।

  • अमेरिका र ओमानविरुद्ध सन्दिपको हरेक विकेटमा रंगशालालाई रकम

    अमेरिका र ओमानविरुद्ध सन्दिपको हरेक विकेटमा रंगशालालाई रकम

    काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग घोषणा गरेका छन् ।

    २२ माघबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल, अमेरिका र ओमान त्रिदेशिय क्रिकेट लीगमा प्रतिस्पर्धा गर्दैछन् ।

    उक्त लीगमा हरेक विकेट बराबर ८८४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा सन्दिपले गरेका छन् । यो अंक सर्वोच्च शिखर सगरमाथाको उचाई बराबर हो ।

    सन्दिपले आइतबार आफ्ना सामाजिक संजालहरुबाट यो खबर सार्वजनिक गरेका छन् । उनी अस्ट्रेलियाको मेलवर्न स्टार्सबाट बिग बास खेलिरहेका थिए ।

    ५ दिनअघि मात्र उनी त्रिकोणात्मक लीगका लागि देशको प्रतिनिधित्व गर्न नेपाल फर्किएका हुन् । प्रतियोगितामा भाग लिन अमेरिकाको टोली समेत नेपाल आइपुगेको छ ।

    आइतबार राती मुम्बईबाट नेपाल एयरलाइन्सको जहाज चढेर टोली काठमाडौं उत्रिएको हो । अमेरिकी क्रिकेट टोली पहिलो पटक काठमडौं आइपुगेको हो ।

  • रोहित चन्द अझै दुई वर्ष पर्सिजाबाटै खेल्ने

    रोहित चन्द अझै दुई वर्ष पर्सिजाबाटै खेल्ने

    काठमाडौं । अन्तराष्ट्रिय फूटबलमा माथिल्लो स्तरमा खेल्ने नेपाली खेलाडी हुने रोहित चन्द । उनी इण्डोनेसियाको ए डिभिजन लीग खेल्छन् ।

    उनी नेपाली राष्ट्रिय टिमका मिडफिल्डर हुन् । उनलाई इन्डोनेसियाको ए डिभिजन क्लब पर्सिजा जकर्ताले थप दुई वर्षका लागि सम्झौता लम्ब्याएको छ ।

    रोहित र पर्सिजाबीच १५ जनवरी २०२० देखि लागु हुने गरी बुधबार २ वर्षका लागि सम्झौता भएको छ । रोहित एक साताअघि सम्झौताका लागि जकर्ता पुगेका हुन् ।

    क्लबले सुरुमा छोटो समयका लागि सम्झौता गर्न प्रस्ताव गरेको थियो । तर, रोहित भने लामो अवधिको सम्झौताको पक्षमा थिए ।

    पर्सिजा र रोहितबीच भएको सम्झौता अनुसार रोहितले मासिक करीव १० लाख रुपैयाँ पाउने गरी सम्झौता गरेका हुन् ।

    रोहित गत सिजनमा लीगको उत्कृष्ट खेलाडी बनेका थिए । उनी लगभग सबै खेलमा महत्वपूर्ण भूमिकामा रहन्छन् ।

    रोहित सन् २०१७ देखि पर्सिजामा आबद्ध रहेका छन् । सम्झौता अनुसार उनी अब २०२२ जनवरीसम्म पर्सिजाबाटै खेल्नेछन् ।

  • चर्चित अमेरिकी बास्केटबल खेलाडी ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन

    चर्चित अमेरिकी बास्केटबल खेलाडी ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन

    क्यालिफोर्निया । विश्वचर्चित चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन भएको छ ।

    पाँच पटक एनबीए च्याम्पियन र ओस्कार समेत जितेका अमेरिकी बास्केटबल लेजेण्ड कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको हो ।

    उनीसँगै उनकी छोरीको समेत निधन भएको हो । क्यालिफोर्नियाको कालाबासस शहरमा दूर्घटना भएको हो । कोबे, उनकी छोरी गियनासहित नौ जनाले दूर्घटनामा ज्यान गुमाएका हुन् ।

    ४१ बर्षीय ब्रायन्ट नीजि हेलिकोप्टरमा यात्रारत थिए । लस एन्जलस प्रहरीका अनुसार हेलिकोप्टरमा सवार सबैको निधन भएको हो ।

    ब्रायन्टलाई अमेरिकी बास्केटबलका महान खेलाडी मानिन्छ। उनको निधनमा अमेरिकी खेलाडी, कलाकार र राजनीतिज्ञहरुले शोक व्यक्त गरे ।

  • बार्सिलोनालाई भ्यालेन्सियाले हरायो

    बार्सिलोनालाई भ्यालेन्सियाले हरायो

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनालाई भ्यालेन्सियाले हराएको छ । शनिबार राति सम्पन्न खेलमा भ्यालेन्सियाले पाहुना टोली बार्सिलोनालाई २-० गोल अन्तरमा हराएको हो ।

    जोर्डी अल्वाको एक आत्मघाती गोलबाट खाता खोलेको भ्यालेन्सियाका लागि दोस्रो गोल भने म्याक्सी गोमेजले गरेका हुन् ।

    दुबै गोल दोस्रो हाफमा सम्भव भएको हो ।

    खेलको १२ औं मिनेटमा भ्यालेन्सियाले पाएको पेनाल्टीलाई ड्यानी गोमेजले गोलमा परिणत गर्न सकेनन् । उनको पेनाल्टी बार्सिलोनाका गोलकिपर टेर स्टिगेनले उत्कृष्ट बचाउ गरेका थिए ।

    क्विक सेटियन बार्सिलोनाको मुख्य प्रशिक्षकमा आएपछि टोलीले पहिलो हार चाखेको हो ।

    सन् २००७ यता घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोना हराउन सकेको थिएन । त्यसकारण पनि उसका लागि शनिबार खेल ऐतिहासिक बन्न पुग्यो । शनिबारको खेलपछि बार्सिलोनाको २० खेलबाट ४३ अंक भएको छ ।

  • ड्वेन स्मिथले भैरहवाबाट एभरेष्ट प्रिमियर खेल्ने

    ड्वेन स्मिथले भैरहवाबाट एभरेष्ट प्रिमियर खेल्ने

    काठमाडौं । वेस्ट इण्डिजका भेट्रान क्रिकेटर ड्वेन स्मिथले नेपालको घरेलु फ्रेन्चाइज क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् ।

    उनी २०२० संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउन लागेको आफैले उल्लेख गरेका छन् ।

    स्मिथले भिडियो सन्देश सार्वजनिक गर्दै नेपाल आउन आतुर रहेको समेत उल्लेख गरेका छन् ।

    भैरहवा ग्लाडिएटर्सबाट एभरेष्ट प्रिमियर खेल्ने ३६ वर्षीय स्मिथले वेष्ट इण्डिजका लागि तिनै फर्म्याटको क्रिकेट खेलेका छन् ।

    उनी आक्रामक ब्याट्सम्यान हुन् । बल र ब्याट दुबैमा उनी चल्न सक्छन् । ‘मैले नेपाल र त्यहाँको भौगालिक सुन्दरताबारे धेरै सुनेको छु । म त्यहाँ जान निकै आतुर छु,’ उनले भनेका छन् ।

    भैरहवाका कप्तान शरद भेषावकरले लामो समयसम्म वेष्ट इण्डिज र आईपीएल क्रिकेटको पावर हाउसका रुपमा रहेका स्मिथले आफ्नो कप्तानीमा खेल्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।

  • दीपक मनांगेले झापड हानेका एन्फा कास्कीका अध्यक्ष गुरूङ पनि पक्राउ

    दीपक मनांगेले झापड हानेका एन्फा कास्कीका अध्यक्ष गुरूङ पनि पक्राउ

    पोखरा । प्रदेश सांसद दीपक मनाङे एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङलाई झापड हानेको अभियोगमा बिहीबार पक्राउ परेका थिए । उनै गुरूङलाई प्रहरीले शुुक्रबार पक्राउ गरेको हो ।

    उनीविरुद्ध ठगी तथा बैंकिङ कसुरको जाहेरी परेको प्रहरीले जनाएको छ ।

    कास्की प्रहरीका अनुसार गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको हो । जाहेरी पछि मिलनलाई पक्रन प्रहरीले अदालतबाट पक्राउ अनुमति मागेको थियो ।

    उनीविरुद्ध धेरै जनाबाट ‘ठगी र बैंकिङ कसुरमा उजुरी परेको बताइएको छ ।

    मनांगेले भने उनलाई मंगलबार झापड हानेका थिए। उनको पक्राउपछि मनांगेले आफ्नो उद्देश्य सफल भएको भन्दै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

    मनांगेलाई भने जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

  • नेपालले विश्वकप छनोट खेल्ने

    नेपालले विश्वकप छनोट खेल्ने

    काठमाडौं । नेपालले सन् २०२१ मा भारतमा आयोजना हुने टी-२० विश्वकप ग्लोबल छनोट खेल्न पाउने भएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले टी-२० वरीयतामा १२ औँ स्थानमा रहेको नेपाललाई सोझै ग्लोबल छनोट खेल्न पाउने अधिकार दिएको छ । यसले विश्वकपमा नेपालको सहभागिताको सम्भावना समेत बढाइदिएको छ ।

    १६ टिमले विश्वकप खेल्नेछन् । त्यसमध्ये आइसीसी च्याम्पियनस ट्रफी खेल्ने आठ टिम सोझै विश्वकप पुग्ने प्रावधान रहेको छ ।

    अरु टिमले भने क्षेत्रीय छनोट प्रक्रिया पार गरी आउनुपर्छ । त्यसका लागि नेपाललाई समेत छनोट गरिएको आइसीसीले जनाएको छ ।

    नेपालले सन् २०१४ को विश्वकप खेलेयता विश्वकपमा स्थान बनाउन सकेको छैन । नेपाल वानडे मान्यता प्राप्त मुलुक हो ।

  • साग समापनपछि उब्जिएका अनुत्तरित प्रश्नहरु

    साग समापनपछि उब्जिएका अनुत्तरित प्रश्नहरु

    प्रशान्त उप्रेती / फ्रान्स

    १३ औं दक्षिण एसियाली खेलकुद (साग) भव्य अनि सभ्य रुपमा सम्पन्न भएको छ । प्राकृतिक बिपत्ती खेपेपछि पटक पटक मिति परिवर्तन गरेर भएपनि नेपाल प्रतियोगिता आयोजना गर्न सफल भएको छ ।

    यो महान खेलकुद उत्सव सुरु हुने नहुने कल्पना परि-कल्पना बीच चर्चा-परिचर्चालाई छिचोल्दै इतिहासकै एक गर्व गर्न लायक अनिस्मरणीय भएकोमा कसैको दिई मत छ जस्तो लाग्दैन् । नेपाली टोली दक्षिण एसियाली खेलकुद इतिहासमा सबैभन्दा बढी स्वर्ण पदक जित्न यो पटक सफल भएको छ ।

    १३ औं सागमा नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जित्दै दोश्रो बन्न सफल भएको छ । १७४ स्वर्ण सहित भारतपहिलो बनेको हो । १२ औं सागमा नेपाल ३ स्वर्ण, २३ रजत र ३४  कास्य गरी ६० पदक मात्रै जितेको नेपालले १३ औं सागमा अर्धसतक भन्दा बढी स्वर्णजितेर दोस्रो बन्दै उत्कृष्ट नतिजा आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

    अघिल्ला संस्करणहरुमा जस्तै धेरै प्राबिधिक त्रुटी, खेल सामग्री नहुनु, पोशाक समयमा उपलब्ध नहुनु, आवस्यक पुर्बाधार, पुर्ब तयारीअनि खेलाडी छनौटमा भेदभाव भने नभएका होइनन् तर पनि प्राप्त सफलतालाई भने कम आँक्न मिल्दैन् । जब जब प्रतियोगिता आउँछ तब तब बल्ल देशले खेलाडीलाई सम्झिन्छ । होइन भने हामी र सहिद एक्कै हो भन्ने एक पूर्व रास्ट्रियखेलाडीको भनाइ सही हो भन्ने तथ्य आफैमा पुष्टी भएको छ ।

    यो एतिहासिक सफलताका पछाडिका रहस्य खोतल्न रहर जागेको छ । दुर्भाग्यको कुरा आफ्ना भविष्य, ज्यान अनि प्राणसम्म दाउमाराखेर जिबन नै खेल अनि राष्ट्रका लागि समर्पण गर्ने यी सबै खेलाडीहरुको त्यागलाई किन राज्यले उचित लगानी, संरक्षण,भत्ता, तलबअनि अन्य सुबिधा दिन नसकेको ?

    घर परिवारले पढेर मात्र सफलता हात पर्ने अनि खेल खेलेर भबिस्य बिग्रने मानसिकता कहिले परिबर्तन होला त् ? जितमा सारा राष्ट्र एक हुने मेडल खेलाडीको गर्धनमा पुग्दा नपुग्दै खेलाडीलाई  बिर्सने पुर्ख्यौली रोगले हामीलाई कहिले छाड्ला त ?

    प्रसव पिडामा रहेकी श्रीमतीलाई अस्पतालका सैयामा छोडी राष्ट्रको गौरब अनि सानका लागि खेल्ने ती खेलाडीको पिडालाई कसलेबुझ्ने ? खाडीका ५० डिग्रीको तातो हावामा आफ्ना पसिना बेच्दै सन्तानको देशलाई पदक जिताउने रहरमा कहिलेसम्म ति बुबा आमाले आफ्नाजीवन सस्तो मुल्यमा बेच्ने त ?

    प्रतिस्पर्धी खेलाडीले दिएको खेल सामग्री लिएर कहिलेसम्म खेल्नु पर्ने त ? च्यातिएको जुत्ता, नपड्किने बन्दुक, खियाले  खिएको साइकल कहिलेसम्म अन्तर्रास्ट्रिय प्रतियोगितामा प्रयोग गर्नु पर्ने त ? सामान्य भ्रमणका लागि हेलिकोप्टरमा जिल्ला जिल्ला डुल्ने नेताज्युहरु, घाइते खेलाडी कहिलेसम्म काठमाडौँको ट्राफिक जामकोसमाप्ति कुर्दै अस्पताल पुग्ने त ?

    राष्ट्रका लागि जितेको मेडल अनि भित्तामा झुन्ड्याएको प्रमाण पत्रले मात्रै कहिलेसम्म खेलाडीको नाम बोक्ने त् ? आफु घाइते भएपनि कति समयसम्म परिवारलाई ढाटेर बस्नु पर्ने त ?

    जितेको प्रमाणपत्र अनि मेडलले पेटभरि खान नदिए पछि आफ्ना रहर, त्याग, समर्पणलाई  गंगामा बगाई कहिलेसम्म आफुलाई अरबका  तातो भुमीमा सस्तो मुल्यमा बेचिनु पर्ने त् ? गौरिकाले ४ स्वर्ण पदक जित्दा उनी नेपाली होइन भने कहिलेसम्म उनी गैर आवासीय नेपालीको दर्जा दिने त् ? राज्य प्रतियोगिता सकिएपछि खेलाडीलाई चिने नचिनेको अनि देखे-नदेखेको जस्तो गरि कहिलेसम्म भाग्ने त ?

    एकपटक सामुहिक सम्मान अनि नगद पुरस्कार दिएर आफ्नो दायित्वबाट सरकार आफ्नो कर्तब्य बोध गरेको भ्रम पाल्ने त ? प्रतियोगिताको समापनसंगै प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर गरिने एउटा भब्य रात्री भोजमा सामेल भएर कति दिन भोक भोकै अभ्यास गर्नु पर्ने त् ? शारीरिक चोट पटक अनि हारको पिडाले बेहोर्न पर्ने मानसिक पिडाको लेखाजोखा कसले गर्ने त ?

    खेल राष्ट्रका लागि खेल्ने भएपछि राष्ट्रिय खेलाडीहरुको अभिभावक राज्य अनि सरकार  नै हो । खेलाडीको फितलो प्रस्तुति रहेको भएत्यतिबेला सरकारमाथि नै प्रश्न उठ्थ्यो । अनि खेलकुद परिषद माथि पनि । सरकारले खेलाडीको तयारी राम्रो नगराएर उनीहरुले खेल्ननसकेको आरोप लाग्थ्यो नै । तर यो पटक केही हदसम्म सुधारिएको प्रदर्शन दिन नेपाली खेलकुद टोली सफल भएको छ । यस उपलब्धिको बधाईको हकदार सरकारपनि हो । हतार हतारमा भएपनि पुर्बाधार निर्माण गर्नु, निर्णय गर्ने जिम्मा लिएर बसेका खेलकुद परिषदका उच्च पदस्त कर्मचारीको कार्यशैलीमा व्यवसायिकता देखिएकोले यो महान उत्सव सफल भएको हो ।

    उदघाटन अनि समापन समारोहको भब्यताले  नेपालले आफूलाई ठुला प्रतियोगिता आयोजना गर्न हामी सबल राष्ट्रको दर्जामा उभ्याएकोछ । दुवै समारोहमा प्रस्तुत गरिएका सांस्कृतिक झाँकी र आतिसवाजीले कार्यक्रमलाई भव्य बनायो । खासगरी आधुनिक प्रबिधि ब्लेजरलाइट र ड्रोनबाट गरिएको प्रयोग हेर्दा कुनै बिदेशी भुमिमा गरिएको अन्तर्राष्ट्रिय प्रतियोगिताको झल्को दिरहेको थियो ।

    अनुत्तरित एउटा प्रश्नको जवाफ खेलाडीको त्याग, समपर्ण, मेहनतको उचित कदर कहिले होला त् ? अर्को प्रतियोगिता नआउन्जेल सहिदलाई बिर्सेको जस्तै खेलाडीहरुलाई हामीले बिर्सने परम्पराको अन्त्य कहिले होला ? आशा गरौं परिबर्तनको सुरुवात ढिलै भएपनिसुरु हुनेछ । बधाई छ, सम्पूर्ण नेपालीहरुलाई । अनि गर्व छ, नेपाली हुनुमा ।

  • नेपाली खेलाडी सावित्रा र अनित आइलीग खेल्न भारततर्फ

    नेपाली खेलाडी सावित्रा र अनित आइलीग खेल्न भारततर्फ

    काठमाडौं । नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत भारतको सबैभन्दा ठूलो फुटबल  प्रतियोगिता आइलीग खेल्न भारततर्फ प्रस्तान गरेका छन् ।

    उनीहरु मंगलबार भारततर्फ लागेका हुन् । यी दुई खेलाडी नेपालको राष्ट्रिय टोलीमा जमेका खेलाडी हुन् ।

    उनीहरुलाई भारतीय क्लवले आवद्ध गरेको छन् । गतवर्ष दुबै खेलाडी सेथु क्लवबाट खेलेका थिए । यसपटक भने उनीहरुको टोली छुट्टिएको छ । यस पटक सावित्राले गोकुलम केरला एफसीबाट खेल्नेछिन् ।

    अनिता भने पुरानै क्लब सेथु एफसीबाट खेल्दैछिन् । अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक व्यावसायिक रुपमा खेल्ने साम्बा र अनिता पहिलो नेपाली महिला खेलाडी हुन् ।

    उनीहरुले यसअघि माल्दिभ्सको फुटसल लिग समेत खेलिसकेका छन् । गतवर्ष सावित्रले आइलीगमा विश्वसनीय प्रदर्शन गरेकी छिन् ।

    उनले ६ खेलका लागि मैदानमा उत्रदा ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन । आई लिग बिहीबारबाट सुरु हुँदैछ।

  • दिपक मनाङेले गरे एन्फा कास्कीका अध्यक्षमाथि हातपात

    दिपक मनाङेले गरे एन्फा कास्कीका अध्यक्षमाथि हातपात

    पोखरा । गण्डकी प्रदेश सांसद राजिब गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका छन्।

    पोखराको लेखनाथस्थित भण्डारढिकमा मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनपूर्व विवाद उत्पन्न भएका थियो । सोहीक्रममा मनाङेले गुरुङमाथि हातपात गरेका हुन्।

    मनाङेले मुक्का र लात्ती हानेको गुरुङले बताएका छन् । गुरुङका अनुसार प्रतियोगितामा मनाङबाट एक टोली सहभागी भएको छ ।

    उक्त टोलीलाई ५ दिनदेखिको होटल खर्च मनाङेले मागेका थिए। खर्च दिन नमिल्ने बताएपछि आफूमाथि हातपात भएको उनको भनाई रहेको छ ।

    उनले बुधबार प्रहरीमा उजुरी दिने बताएका छन् । स्थानीय संचारमाध्यमहरुका अनुसार मनाङेले समेत झापड हानेको स्वीकार गरेका छन् ।

  • नेपाल र ओमानसँगको सिरिजका लागि अमेरिकी टोली घोषणा

    नेपाल र ओमानसँगको सिरिजका लागि अमेरिकी टोली घोषणा

    काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत हुने सिरिजमा खेल्न अमेरिकाले राष्ट्रिय टोली घोषणा गरेको छ । सिरिज नेपालमा माघ अन्तिम साता संचालन हुँदैछ ।

    त्रिकोणात्मक एकदिवसीय सिरिजमा भाग लिन आउनु अगाडी अमेरिकाले भारतको मुम्बईमा अभ्यास गर्ने जनाएको छ ।

    अमेरिकाले शौरभ नेत्रभाल्करको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको युएसए क्रिकेट एशोसिएशनले जनाएको छ ।

    नेपाल, अमेरिका र ओमानले भाग लिने यो सिरिज माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा संचालनको तयारी छ ।

    यता, नेपालको टोली सोही प्रतियोगिताका लागि अहिले पोखरामा बन्द प्रशिक्षणमा रहेको छ ।

    अमेरिकी टीमले भने भारतमा अभ्यास खेलसमेत खेलेर नेपाल आउनेछ । टोली २४ जनवरीमा २४ मा मुम्बई आइपुग्ने कार्यक्रम रहेको अमेरिकाले जनाएको छ ।

    उसले भारतमा मुम्बई क्रिकेट एसोशिएसन ११ सँग ३ वटा अभ्यास खेल खेल्नेछ ।

    यस्तो छ अमेरिकाको टीम
    शौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन

  • ओहायो सिनेटर सेरुद ब्राउनद्वारा ५ पटक बिश्व किर्तिमानी उज्वल ठकुरी सम्मानित

    ओहायो सिनेटर सेरुद ब्राउनद्वारा ५ पटक बिश्व किर्तिमानी उज्वल ठकुरी सम्मानित

    ओहायो

    अमेरिकाको ओहायो राज्यका सिनेटर सेरुद ब्राउनले ५ भिन्नाभिन्नै गिनिज बुक अफ वर्ल्ड रेकर्डका किर्तिमानी नेपाली मुलका उज्ज्वल ठकुरीलाई लिखित मान्यता प्राप्त पुरस्कारद्वारा सम्मान गरेको छ । ब्राउनले जेनेवरी १८ तारिखका दिन ठकुरीको साहस र  मेहेनतको लागि उक्त पुरस्कार प्रदान गरेको हो ।

    सिनेटर सेरुद ब्राउन ओहायो राज्यमा सन् २००६ देखि जितेर आएका डेमोक्रेटिक पार्टीमा आबद्ध मुख्य सिनेटर हुन् । उज्ज्वल ठकुरीद्वारा दोस्रो र तेस्रो बिश्व किर्तिमान ओहायो राज्यबाट गरेको पत्रचार हुने बित्तिकै उक्त पुरस्कारद्वारा सम्मानित गरेको हो ।

    उज्ज्वल ठकुरी पहिलो बिश्व किर्तिमानी कराँते खेलाडी हुन् जस्ले अमेरिकाको ३ छुट्टाछुट्टै संसद भवनका बहालवाला सिनेटरहरुद्वारा पुरस्कार प्राप्त गरेका छन् । ठकुरी यसअघि दुई बहालवाला सिनेटरहरु टिम केन र मार्क वार्नरद्वारा सम्मानित भएका थिए ।  

  • खेलपछि धक्कामुक्की गर्ने खेलाडीमाथि एन्फाको प्रतिवन्ध

    खेलपछि धक्कामुक्की गर्ने खेलाडीमाथि एन्फाको प्रतिवन्ध

    काठमाडौं । अनुशासनहिन बन्दै गएको नेपाली फूटबलमा यसैसाता अर्को घटना घट्यो । मनाङ मस्र्याङदी क्लब र मच्छिन्द्र क्लबबीचको खेलमा खेल सकिएपछि खेलाडी मैदानमै धक्कामुक्की गर्न उत्रिएका थिए ।

    हातपातमा उत्रिएका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारवाहीस्वरुप प्रतिवन्ध लगाएको हो ।

    एन्फा अनुशासन कमिटीले दुवै क्लबका तीन\तीनजना गरी कूल ६ खेलाडीमाथि यस्तो कारवाही गरेको हो।

    एन्फाका अनुसार मनाङका जगजित श्रेष्ठ र गोलरक्षक अशोक बराललाई ५ खेलको प्रतिबन्ध लागेको छ ।

    रञ्जन विष्टलाई दुई खेलको प्रतिवन्ध लागेको हो । उता, मच्छिन्द्र क्लबका विजय धिमाल, देवेन्द्र तामाङ र दीपक राईलाई दुई खेलको प्रतिवन्ध लागेको छ ।

    एन्फाको अनुसाशन कमिटीको बिहीबार बसेको कारवाही तोकेको छ । बैठकले जगजित र अशोकलाई आर्थिक जरिवानासमेत तोकेको छ ।

    उनीहरुले जनही १० हजार जरिवाना भुक्तानी गर्नुपर्नेछ ।

    मनाङ मस्र्याङदी क्लबका किट्स म्यानेजर शिव लामालाई लिगका बाँकी सबै खेलमा प्रतिबन्ध लालेको छ ।

    उनीमाथि १० हजार रुपैयाँ जरिवाना समेत लागेको छ । एन्फाले खेलाडी र व्यवस्थापकसँगै दुबै क्लबलाई समेत जरिवाना गरेको छ ।

    दुवै क्लबले अब ५०\ ५० हजार जरिवाना तिर्नुपर्नेछ । खेलाडी हातपातमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी नै परिचालन गर्नु परेको थियो ।

  • अष्ट्रेलियामा फेरी चम्किए सन्दीप

    अष्ट्रेलियामा फेरी चम्किए सन्दीप

    काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने विश्वप्रसिद्ध क्रिकेट लीग बीगब्यासमा उत्कृष्ट फर्ममा छन् ।

    अस्ट्रेलियामा जारी बिगब्यास लिगमा उनको टोली मेलबर्न स्टार्सले पाँचौं जित हात पार्ने क्रममा शनिबार पनि सन्दीप चम्किएका छन् ।

    उनको तीन विकेटको मद्दतमा मेलबर्नले रेनेगेड्सलाई सस्तैमा समेट्न सफल भयो । सन्दीपले शनिबार महत्वपूर्ण तीन विकेट लिँदा मात्र २६ रन खर्चिए ।

    उनको टोली मेलबर्न स्टार्स आठ विकेटले विजयी भयो । अघिल्लो खेल भने सन्दीपले चोटका कारण गुमाएका थिए ।

    शनिबार उनले पहिलो ओभरमा बिना कुनै विकेट सात रन दिए। दोस्रो ओभरमा सन्दीपले कुनै विकेट झार्न सकेनन्।

    यस ओभरमा उनको बलबाट १२ रन आयो । तेस्रो ओभरमा भने उनले दुई विकेट झारे । मात्र चार रन दिएर उनले २ विकेट झारेका हुन् ।

    उनले सावन मार्स र डेनियल क्रिष्टिनको विकेट लिएका थिए । आफ्नो अन्तिम ओभरमा सन्दीपले टोम कुपरलाई पेभिलियन फकाउँदा मात्र तीन रन खर्च गरेका थिए ।

    सन्दीपको टोली मेलबर्न स्टार्सले टस जितेर फिल्डिङ रोजेको थियो । रेनेगेड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनायो ।

    एक सय ४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १८ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर भेट्टायो । सन्दीपको टीम लिगको शीर्ष स्थानमा रहेको छ ।

  • रंगशालामा ए डिभिजनका खेल केही दिन नहुने, भ्रमण वर्ष उद्घाटनको तयारी

    रंगशालामा ए डिभिजनका खेल केही दिन नहुने, भ्रमण वर्ष उद्घाटनको तयारी

    काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लीग फुटबलका खेलहरु आजबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संचालन हुँदैछन् ।

    नेपाल भ्रमण वर्षको उद्घाटनका दौरान रंगशालामा तयारी शुरु भएका कारण ए डिभिजन लीगका खेल सातदोबाटो सार्नु परेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

    लीगमा सोमबारबाट चौथो चरणका खेल सुरु हुँदैछन्। चौथो चरणका खेल अन्तर्गत पहिलो खेलमा सोमबार मच्छिन्द्र क्लब र न्युरोड टिम एनआरटी भिड्दै कार्यक्रम रहेको छ ।

    सोही मैदानमा दोस्रो खेलमा फ्रेन्ड्स क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दैछन्।

    तेस्रो चरणका खेल सकिदासम्म मनाङ आफ्ना सबै खेलमा जित निकाल्दै ९ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। थ्रीस्टार २ खेलमा जीत र एक बराबरी खेल्दै दोस्रो स्थानमा छ ।

  • ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

    ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

    काठमाडौं । राष्ट्रिय टोलीले विश्वकप छनोटमा खेल्न विदेश उड्नु एक दिन अगाडी क्लोज क्याम्पबाटै भागेर ठमेलको नाइट क्लवमा पुगेका चार खेलाडीमाथिको कारवाही घटाइएको छ ।

    उक्त काण्डमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले कारवाही गरेको थियो ।

    एन्फाले चारै जना खेलाडीको कारवाही घटाएको छ । एन्फाको अनुशासन समितिले उनीहरूलाई निलम्बनसम्बन्धी निर्णय लागू हुने मिति परिवर्तन गर्दै सजाए घटाइदिएको हो ।

    एन्फाले १३ डिसेम्बर २०१९ देखि लागु हुने गरी विमल घर्तीमगर र डिफेन्डर दिनेश राजवंशीलाई तीन महिना निलम्बन गरेको थियो ।

    मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङका लागि ४५ दिनको निलम्बन थियो ।

    अब भने एन्फाले खेलाडी नाइट क्लबमा गएको दिनदेखि गणना गर्ने निर्णय लिएको छ । यसअनुसार अब खेलाडीको प्रतिवन्ध कम भएको छ ।

    उनीहरुको निलम्बन १६ नोभेम्बर २०१९ बाट गणना हुने भएको हो । यसअनुसार यी खेलाडीले जारी सहिद स्मारक ए डिभिजन लिगमा भाग लिन पाउने बाटो समेत खुलेको छ ।

    फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरूद्ध खेल्न भूटान उड्ने अघिल्लो रात उनीहरु ठमेलको नाइट क्लवमा पुगी रक्सीले मात्तिएका थिए ।

  • लिभरपुललाई क्लव विश्वकपको उपाधी

    लिभरपुललाई क्लव विश्वकपको उपाधी

    कतार । लिभरपुलले क्लव विश्व कपको उपाधी हात पारेको छ । रोवर्टो फिर्मिनोले अतिरिक्त समयमा विजयी गोल गरेको यस खेलमा लिभरपुलले ब्राजिलको फ्लेमेङ्गो क्लवलाई हराएको छ ।

    फिर्मिनोले ९९औं मिनेटमा गोल गरेका हुन् । सोही गोल निर्णायक बन्यो । खेल कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको हो ।

    निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयका लागि खेल लम्बिएको थियो । सोही समयमा लिभरपुलले विजयी गोल गर्न सफल भयो ।

    सन् २००८ मा म्यानचेष्टर युनाइटेडले उपाधि जितेपछि कुनै पनि इंलिस क्लवले फिफा क्लव विश्वकप जितेको यो पहिलो अवसर हो ।

    लिभरपुल सन् २००५ मा फाइनल पुग्दा ब्राजिलको साओपाउलोसँग हारेको थियो । प्रतिया्गितामा लिभरपुलका मोहम्मद सलाहले उत्कृष्ट खेलाडी बने । उनले गोल्डेन बल पाए ।

  • मेसीको कीर्तिमानी गोल, चम्किए सुआरेज, बार्सिलोनाको जित

    मेसीको कीर्तिमानी गोल, चम्किए सुआरेज, बार्सिलोनाको जित

    बार्सिलोना । लुइज सुवारजले उत्कृष्ट प्रदर्शन गरेको खेलमा बार्सिलोनाले स्पानिस ला लिगाअन्तर्गत अलाभेजलाई ४–१ ले हराएको छ ।

    सुवारेजले पेनाल्टीबाट एक गोल गरे भने तीन गोलका लागि अवसर सिर्जना गरेका थिए । मेसीको नाममा एक गोल रह्यो ।

    उनले तीन जना डिफेन्डरको बीचमा २६ यार्ड परबाट प्रहार गरेको बलले पोष्ट चुमेको हो ।

    यससँगै उनले सन् २०१९ मा कूल ५० गोल र्न सफल भए । सुआरेज र मेसीबाहेक एन्टोनी ग्रिजमन, अर्टुरो भिडालले समेत गोल गरेका थिए ।

    अलाभेजका पेरे पोन्सले एक गोल गरे पनि त्यो हार टार्न पर्याप्त थिएन ।

    एल क्लासिकोमा रियल मड्रिडसँग गोलरहित बराबरी गरेको बार्सिलोनाले यो जितपछि भने लालिगामा पुनः शीर्ष स्थानमा उक्लिएको छ ।

    १८ खेलबाट बार्सिलोनाको ३८ अंक भएको छ भने एक खेल कम खेलेको रियल ३५ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    रियलले आइतबार खुल्दैछ । शनिबार नै भएको खेलमा सेभियाले मालोर्कालाई २–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।

    उसको १८ खेलबाट ३४ अंक पुगेको छ ।

  • बार्सिलोना र रियलले अंक बाँडे

    बार्सिलोना र रियलले अंक बाँडे

    बार्सिलोना । स्पेनिस ला लिगा अन्तर्गत संसारभर सम्भवतः धेरै मानिसले प्रत्यक्ष प्रसारण हेर्ने एल क्लासिकोको पहिलो खेल बिहीबार बिहान सम्पन्न भएको छ ।

    बार्सिलोना र रियल म्याड्रिडबीचको खेल बराबरीमा टुंगिएसँगै दुबै टोलीले अंक बाँडेका छन् ।

    करीव ९५ हजार दर्शक मैदानमा उपस्थित भएको खेलमा दुबै टोलीले गोलका अवसर सिर्जना गरेपनि गोल भने हुन सकेन ।

    खेलमा रियल हावि भएपनि गोल गर्न सकेन् । बार्सिलोनाका कप्तान लियोनल मेसीका दुई खतरनाक प्रहार रियलका गोलकिपरले बचाएका थिए ।

    बराबरीपछि साविक विजेता बार्सिलोना लिगको शीर्ष स्थानमा कायम छ । दुवै क्लबको १७ खेलबाट समान ३६ अंक भएको छ ।

    गोल अन्तरमा बार्सिलोना अगाडी छ । खेल बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको हो ।

    एल क्लासिको २६ अक्टोबर मै हुनुपर्ने थियो । तर, स्पेनको क्याटलोनियामा भएको राजनीतिक प्रर्दशनका कारण स्थगित भएको थियो ।

  • च्याम्पियन्स लिग फाइनल १६ को ड्र सार्वजनिक, कुन क्लव को सँग भिड्ने ?

    च्याम्पियन्स लिग फाइनल १६ को ड्र सार्वजनिक, कुन क्लव को सँग भिड्ने ?

    काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को ड्र सार्वजनिक भएको छ। सोमबार सार्वजनिक ड्र अनुसार स्पेनिस क्लव रियल म्याड्रिड र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी अन्तिम १६ मै भिड्ने भएका छन् ।

    त्यसकारण यी दुई क्लवमध्ये एकले अन्तिम १६ बाटै बिदा हुनुपर्ने निश्चित भएको छ । जर्मन क्लब बोरुसिया डर्टमुन्ड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच समेत यसै ड्रमा भिडन्त हुनेछ ।

    एटलान्टा र भ्यालेन्सिया तथा एट्लेटिको म्याड्रिड र साविक विजेता लिभरपुलसमेत अन्तिम १६ मा भिड्ने भएका छन् ।

    चेल्सी र वायर्न म्युनिखसमेत यसै राउण्डमा भिड्ने भएकाले एउटा टोली अन्तिम १६ बाटै बाहिरिने पक्का भएको हो ।

    लियोन र युभेन्ट्सबीच प्रतिस्पर्धा हुँदा टोटनह्याम र लेइपजिगबीच अन्तिम १६ को भिडन्त हुनेछ ।

    नापोली र बार्सिलोनाबीच प्रतिस्पर्धा हुने गरी ड्र सार्वजनिक भएको हो । ३० मे २०२० मा च्याम्पियन्स लिगको फाइनल टर्कीमा आयोजना हुनेछ ।

  • शहीद स्मारक लीग : मछिन्द्रको विजयी शुरुवात

    शहीद स्मारक लीग : मछिन्द्रको विजयी शुरुवात

    काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लीगमा मछिन्द्र क्लबले सुखद विजयी सुरुवात गरेको छ।

    शनिबारबाट शुरु भएको लीगको उद्घाटन खेलमा मछिन्द्रले बिग्रेड ब्वाइज क्लबमाथि २–० गोल अन्तरको जीत निकालेको हो ।

    खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको थियो । मछिन्द्रले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा अर्को गोल थप्यो ।

    क्लवका लागि योगेश गुरुङ र दीपक राईले गोल गरेका छन् । खेलको ३०औँ मिनेटमा योगेशले हेड गोल गरेका थिए । ५०औँ  मिनेटमा राईले गोल गरका थिए ।

    पहिलो जीत निकालेको मछिन्द्रको २ अंक भएको छ । अघिल्लो सिजन १३औं स्थानमा रहेका कारण एन्फाले मछिन्द्रको १ अंक घटाउने निर्णय गरेको छ ।

    जीतमा ३ अंक पाउने प्रावधान छ । एन्फाले गत सिजन रेलिगेसन बिनाको लीग आयोजना गरेको थियो । जसअनुसार अन्तिम दुई स्थानमा रहेको टिमको एक र दुई अंक घटाउने निर्णय भएको थियो ।

    आगामी खेल मंगलबार च्यासलले संकटा र त्रिभुवन आर्मीले फ्रेन्डस क्लबको सामना गर्ने भएका छन् । २ महिनासम्म चल्ने लीगमा कुल ९१ खेल हुने गरी तालिका मिलाइएको छ ।

  • क्लोज क्याम्पबाटै नाइट क्लव पुग्ने विमल र दिनेशमाथि तीन महिने प्रतिवन्ध

    क्लोज क्याम्पबाटै नाइट क्लव पुग्ने विमल र दिनेशमाथि तीन महिने प्रतिवन्ध

    काठमाडौं । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको महत्वपूर्ण खेलका लागि भूटान उड्ने अघिल्लो रात ठमेलका नाइट क्लवमा पुगेर मस्ती गर्ने फूटबल खेलाडीहरुमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले प्रतिवन्धको घोषणा गरेको छ ।

    चार जना खेलाडी क्लोज क्याम्पबाट भागेर नाइट क्लव पुगेका थिए । विमल घर्ती मगर, दिनेस राजवंशी, अञ्जन बिष्ट र देवेन्द्र तामाङमाथि एन्फाले प्रतिबन्ध लगाएको छ ।

    त्यसमध्ये विमल र दिनेशमाथि ९० दिनको प्रतिबन्ध लागेको छ । उनीहरुले शनिबार बाट शुरु हुने शहीद स्मारक लीगसमेत गुमाएका छन् ।

    अञ्जन बिष्ट र देवेन्द्र तामाङलाई ४५ दिनको प्रतिबन्ध लागेको छ । प्रतिबन्धका साथ एन्फाले प्रति खेलाडी ५० हजार नगद जरिवाना समेत तोकेको छ ।

    अनुशासनहिन बन्दै गएका खेलाडीमाथिको कारवाहीपछि यता राष्ट्रिय टीमले भने उनीहरु बीना पनि निकै राम्रो प्रदर्शन गरेका कारण एन्फालाई सजाय तोक्न कुनै दवाव सिर्जना भएन् ।

    यी चार खेलाडीले सागमा फूटबल गुमाएका थिए । तर उनीहरु नभएपनि नेपालले स्वर्ण जितेको छ । कुवेतविरुद्ध समेत नेपाल मात्र १ गोलले पराजित भई नेपाल फर्किएको थियो ।

  • शहीद स्मारक लीगलाई कतार एयरवेजको प्रायोजन

    शहीद स्मारक लीगलाई कतार एयरवेजको प्रायोजन

    काठमाडौं । दशरथ रंगशाला पुनर्निर्माणको काम सम्पन्न भएसँगै अब नेपालमा फूटबलको पुनरावृत्ति भएको छ ।

    यससँगै अखिल नेपाल फूटबल संघ (एन्फा)को आयोजनामा देशको सबैभन्दा ठूलो फुटबल लीग शहिद स्मारक ए डिभिजन लीग शनिवारदेखि प्रारम्भ हुने भएको छ ।

    यसका लागि कतार एयरवेज प्रायोजकका रुपमा भित्रिएको छ । लीगमा अब कतार मूख्य प्रायोजकको भूमिकामा रहने भएको छ ।

    कतारले संसारका चर्चित लीगहरुलाई स्पोन्सर गर्दै आएको छ । एन्फा र कतार एयरवेजबीच यसअघि नै सम्झौता भएको थियो । बिहीबार आयोजित औपचारिक कार्यक्रममा भने सार्वजनिक गरियो ।

    एन्फा र कतार एअरवेजबीच भएको सम्झौता अनुसार कतारले लीगका लागि कूल १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।

    यता लीगको नाम भने अब कतार एयरवेज शहीद स्मारक ए डिभिजन लीग हुने भएको छ । लीगमा भाग लिने हरेक टोलीको जर्सीमा समेत कतार एयरवेजको लोगो अंकित हुने छ ।

    स्टेडियम बोर्ड, स्टेडियम फ्लाग, अनलाइन डिजिटल कन्टेन्टमा समेत कतारको लोगो उपलब्ध हुने भएको छ ।