Category: खेलकुद

  • सागको तेस्रो दिन पनि नेपालका लागि सुखद, ८ स्वर्ण प्राप्त

    सागको तेस्रो दिन पनि नेपालका लागि सुखद, ८ स्वर्ण प्राप्त

    काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको प्रभावशाली प्रदर्शन जारी रहेको छ । मंगलबार मात्र नेपालको पोल्टामा ८ स्वर्ण परेको छ ।

    यसअघि सोमबार नेपालले १५ स्वर्ण जिजेको थियो । अब नेपालको कूल स्वर्ण २४ पुगेको छ । यस पटक सागमा नेपालले आफूले जितेका मध्ये सर्वाधिक पदक जित्ने लक्ष्य लिएको छ ।

    मंगलबार नेपालका लागि उसुमा २ स्वर्ण पदक जित्यो । विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोतर्फ स्वर्ण जितेका छन् ।

    तेक्वान्दोमा काजल श्रेष्ठ र वीरबहादुर महरा तथा कराँतेमा नविन रसाइली र सनिता महर्जनले स्वर्ण पदक दिलाएका छन् ।

    एथ्लेटिक्समा पनि नेपालले मंगलबार एक स्वर्ण जित्यो । सन्तोषी श्रेष्ठले कीर्तिमान बनाउँदै स्वर्ण जितेकी हुन् । महिला १० हजार मिटर दौडमा सन्तोषीले भारतीय खेलाडीभन्दा मात्र एक मिलिसेकेण्डले अगाडी पर्दै स्वर्ण जितिन् ।

    उनी सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्दै कीर्तिमान बनाएकी हुन् । एथ्लेटिक्सतर्फ पुरुष १५ सय मिटर दौडमा टंक कार्कीको नाममा कास्य पदक रह्यो ।

    मंगलबार नै नेपालले ट्रायथलनमा एक स्वर्ण र दुई रजत जितेको छ । ट्रायथलन तर्फ दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जिते भने लक्ष्मण मल्लले रजत जितेका छन् ।

    यो खेल पोखरामा भइरहेको छ । महिलातर्फ नेपालकी हुमी बुढा मगरले रजत पदक जितेकी छिन् । महिला भलिबलमा नेपालले रजत पदक जितेको छ ।

    महिला भलिबलमा पहिलो पटक रजत पदक प्राप्त भएको हो । फाइनलमा नेपाललाई भारतले ३-२ सेटले पराजित गर्यो । फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ।

    घरेलु टोली नेपालले पुरुष र महिला दुवैमा जित हात पारेको छ । दशरथ रंगशालमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हरायो ।

    नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई गोल गरे । मिक्छेन तामाङ र अभिषेक रिजालको नाममा एक\एक होल रह्यो ।

    पोखरामा जारी महिला फुटबलमा नेपालले श्रीलंकालाई १-० ले हरायो । क्रिकेटमा भने नेपाल पहिलो खेलमा हारेको छ ।

    पुरुषतर्फ श्रीलंका यू–२३ ले नेपाललाई पराजित गरेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाले ५ बल अगावै ४ विकेट गुमाएर भेट्टाएको थियो ।

  • सागमा आज २० स्वर्णको छिनोफानो

    सागमा आज २० स्वर्णको छिनोफानो

    काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा मंगलबार पनि विभिन्न विद्याका प्रतिस्पर्धा हुँदैछन् । यस दिन कूल २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने कार्यतालीका रहेको छ ।

    आज भलिबलका दुबै फाइनल इभेन्ट हुँदैछन् । पुरुषतर्फ भारत र पाकिस्तान उपाधी भिडन्तमा हुनेछन् । महिलातर्फ नेपाल र भारतले प्रतिस्पर्धा गर्ने कार्यक्रम रहको छ । महिला भलिबल फाइनल दिउँसो चार बजे राखिएको छ ।

    मंगलबारदेखि एथलेटिक्सका इभेन्ट प्रारम्भ हुँदैछन् । एथलेटिक्समा १,५०० मिटर पुरुष र महिला, सटपुट पुरुष र महिलाको खेल हुने कार्यतालिका छ । एथलेटिक्समा एक सय र चार सय मिटर दौड तथा हर्डल्सका हिट मंगलबार नै हुनेछन् ।

    कराँतेमा ६ वटा स्वर्णको आज छिनोफानो हुँदैछ । पुरुषतर्फ ६० केजी मुनि, ६७ केजी मुनी र ७५ केजी मुनिको प्रतिस्पर्धा हुँदैछ ।

    महिलामा ५५ केजी मुनि, ६१ केजी मुनी र ६८ केजी मुनिमा प्रतिस्पर्धा हुने कार्यक्रम छ । उसुमा महिला र पुरुषको चाङक्वानमा दुई स्वर्णका लागि आज प्रतिस्पर्धा हुँदैछ ।

    टेबल टेनिसमा पुरुष र महिलाको टिम इभेन्टका खेल आजै हुनेछन् । ट्रायाथलन मिक्सड रिलेको फाइनल पनि मंगलबार हुँदैछ । फुटबलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्दैछन् । यो खेल दशरथ रंगशालामा दिउँसो एक बजे राखिएको छ ।

    बंगलादेश र माल्दिभ्स साँझ पाँच बजे भिड्नेछन् । महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्ने कार्यक्रम रहेको छ । मंगलबारदेखि पुरुष क्रिकेट पनि सुरु हुनेछ । पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

    पोखरामा महिला क्रिकेट समेत आजै प्रारम्भ हुँदैछ । जहाँ श्रीलंका र बंगलादेश भिड्ने कार्यक्रम रहेको छ । मंगलबारदेखि सातदोबाटोको सुटिङ रेन्जमा सुटिङका प्रतिस्पर्धा शुरु हुनेछन् ।

    सुटिङमा महिलाको १० मिटर एयर राइफल तथा महिला र पुरुषको थ्री पोजिसन राइफलका खेलहरु सम्पन्न हुनेछन् ।

    लन टेनिसमा टिम इभेन्टका सेमिफाइनलका खेल आजै हुनेछन् । गल्फका खेल पनि मंगलबारदेखि नै सुरु हुदैछन् । खोखोका सेमिफाइनल खेल आज हुनेछन् । आइतबारबाट औपचारिक रुपमा शुरु भएको सागमा १५ स्वण जित्दै नेपाल पहिलो स्थानमा रहेको छ ।

  • मेसीलाई कीर्तिमानी बालोन डी’ ओर अवार्ड

    मेसीलाई कीर्तिमानी बालोन डी’ ओर अवार्ड

    पेरिस । अर्जेन्टाइन स्टार लियोनल मेस्सीले छैटौं पटक बालोन डी’ ओर अवार्ड जित्दै कीर्तिमान राखेका छन् ।

    जिवनमा खेलका माध्यमबाट अधिकांश रेकर्ड आफ्नो नाममा गराइसकेका उनले सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै उक्त अवार्ड जितेका हुन् ।

    उनी अर्जेन्टिना र बार्सिलोनका कप्तान हुन् । फ्रान्सको पेरिसमा सोमबार राती सम्पन्न एक विशेष समारोहमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भान डाइकलाई पछि पार्दै उक्त अवार्ड हात पार्न सफल भए ।

    ६ पटक बालोन डी’ओर अवार्ड जित्ने मेसी एक्लो खेलाडी बनेका छन् । उनले यसअघि २००९ देखि १२ सम्म र २०१५ मा गरी पाँच पटक यो अवार्ड जितिसकेका छन् । मेसीलाई रोनाल्डोले पच्छ्याएका छन् ।

    उनको नाममा ५ अवार्ड रहेको छ । महिलातर्फ अमेरिकी खेलाडी मेगन रापोनीले उत्कृष्ट खेलाडीको अवार्ड जितिन् ।

    लिभरपुलका एलिसन बेकर उत्कृष्ट गोलकिपर बने । विश्वभरबाट कप्तान, प्रशिक्षक तथा खेल पत्रकारले दिने मतका आधारमा यसको छिनोफानो हुने गर्छ ।

    त्यसो त खेलाडीको प्रदर्शनलाई मूख्य आधार मानेर मनोनयनमा पर्ने गर्छन् ।

  • १३ औं साग : नेपाली महिला र पुरुषका दुबै फूटबल टोली आज भिड्दै

    १३ औं साग : नेपाली महिला र पुरुषका दुबै फूटबल टोली आज भिड्दै

    काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला र पुरुष दुबै फुटबल टोलीले मंगलबार प्रतिस्पर्धा गर्दैछन् । महिला फूटबलका खेलहरु मंगलबारदेखि पोखरा फुटबल रंगशालामा शुरु हुँदैछ ।

    महिला फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र श्रीलंका भिड्दैछन् । श्रीलंका भन्दा नेपाल तुलनात्मक रुपमा बलियो टोली हो । त्यसमाथि नेपाल अहिले उत्कृष्ट फर्ममा रहेको टोलीसमेत हो ।

    श्रीलंकापछि नेपालले १९ मंसिरमा माल्दिभ्स र २१ मंसिरमा भारतको सामना गर्ने भएको छ । राउन्ड रोबिन लिगबाट शीर्षस्थानमा उक्लिने २ टिम २३ मंसिरमा हुने फाइनलमा भिड्ने गरी तालीका बनाइएको छ ।

    पुरुषतर्फ पनि नेपाल र भूटानको खेल आज हुँदैछ । पुरुष फूटबलका खेलहरु भने दशरथ रंगशालामा आयोजना हुँदैछन् । दशरथ रंगशालामा ५ सय १ हजार मूल्यको टिकट काटेर फूटबल हेर्न सकिने व्यवस्था रहेको छ ।

  • १३ औं साग : सोमबार नेपाललाई ऐतिहासिक सफल दिन

    १३ औं साग : सोमबार नेपाललाई ऐतिहासिक सफल दिन

    काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार नेपालका लागि ऐतिहासिक सफल दिन सावित भएको छ ।

    यस दिन नेपाल एक्लैले कूल १५ स्वर्ण जित्दै कीर्तिमान राखेको हो । सोमबार कूल २४ स्वर्णका लागि प्रतिस्पर्धा भएको हो । त्यसमध्ये १५ स्वर्ण जित्दै नेपाल शीर्ष स्थानमा रहन सफल भएको छ ।

    नेपालका लागि कराँते र तेक्वान्दोबाट ७–७ स्वर्ण पदक प्राप्त भयो । ट्रायथोलनबाट एक स्वर्णसमेत नेपालको भागमा परेको छ ।

    यसैगरी कराँतेबाट २ र तेक्वान्दोबाट १ रजत पदक नेपालको पोल्टामा परेको छ । तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक समेत नेपालले जितेको हो ।

    नेपाललाई सोमबार सबैरै पहिलो स्वर्ण भने करातेका मण्डेकाजी श्रेष्ठले दिलाएका थिए । पुरुष एकल कातामा नेपालले दुई दशकपछि स्वर्ण जित्न सफल भएको हो । टिम कातामा समेत उनीसहित प्रवीण मानन्धर र महसुस तामाङले स्वर्ण जितेका हुन् ।

    उनी १३ औं सागमा दुई स्वर्ण जित्ने पहिलो खेलाडी समेत बने । तेक्वान्दोकी आयशा शाक्यका नाममा समेत सोमबार दुई स्वर्ण रह्यो । उनले स्वर्ण दिलाएपछि श्रीमान दिपक विष्टसँग खुसी साटेकी थिइन् ।

    त्यससमय उनी भावुकसमेत बनिन् । उनले ११ औं सागमा समेत स्वर्ण जितेकी हुन् । महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीको टिमले सोमबार नै स्वर्ण जितेको छ ।

    महिला एकल कातातर्फ चञ्चला दनुवारले रजत पदक हात पारिन् । कुमुतेतर्फ सोमबार नेपालले चार स्वर्ण जित्यो । पुरुषतर्फ ५५ केजीमुनी लक्ष्मण तामाङ र ८४ केजीभन्दामाथि विप्लव मान श्रेष्ठले स्वर्ण पदक दिलाएका हुन् । महिलातर्फ ४५ केजीमुनी कुशुम खड्का र ५० केजीमुनी अनु अधिकारीले स्वर्ण जितिन् ।
    ८४ केजी मुनीको प्रतिस्पर्धामा दिवस श्रेष्ठले रजत जिते । सागमा पहिलो पटक पुम्से खेल समावेश गरिएको हो । यस खेलमा समेत नेपाल बलियो देखियो ।

    यस खेलमा नेपालले ७ स्वर्ण जित्यो । आयशा शाक्यले एकल र टिमतर्फ स्वर्ण जितेकी हुन् १७ देखि २३ वर्षको समूहमा सीना मादेन, २३ देखि २९ वर्ष समूहमा पार्वती गुरुङले स्वर्ण जितिन् ।

    पुरुषतर्फ २३ देखि २९ वर्ष समूहका कमल श्रेष्ठले स्वर्ण हात पारे । पुम्सेको टिमतर्फ १७ देखि २३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिमा तामाङ र रञ्जिला तिमल्सिना तथा २३ देखि २९ वर्ष उमेर समूहमा नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले समेत नेपाललाई स्वर्ण पदक जिताए ।
    सोमबार भएको क्रिकेटमा नेपालले माल्दिभ्सलाई हराउन सफल भयो ।

  • सागमा आज एक दर्जन खेल

    सागमा आज एक दर्जन खेल

    काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज एक दर्जन खेलमा प्रतिस्पर्धा हुँदैछ । तेक्वान्दोका निर्णयक खेल आज हुनेछन् ।

    सातदोवाटो स्थित कभर्ड हलमा तेक्वान्दोमा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने खेलतालीका रहेको छ ।

    आजै, कराँते, पुरुष फुटबल, खो खो, टेबलटेनिस, टेनिस, गल्फ र महिला तथा पुरुष भलिबलको कांस्य पदकका लागि पनि प्रतिस्पर्धा हुँदैछ ।

    पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलनको खेल तालीका राखिएको छ । दशरथ रंगशालामा पुरुष फुटबलमा बंगलादेश र भुटान तथा माल्दिभ्स र श्रीलंका भिड्ने भएका छन् ।

    सागका खेलहरु बुधबारबाट शुरु भएपनि औपचारिक उद्घाटन भने आइतबार भएको हो । साग १० दिनसम्म चल्नेछ ।

  • चम्किए मेसी, बार्सिलोनासँग घरमै हार्यो एथ्लेटिकोे म्याड्रिड

    चम्किए मेसी, बार्सिलोनासँग घरमै हार्यो एथ्लेटिकोे म्याड्रिड

    काठमाडौं । नियोनल मेस्सी चम्किएको खेलमा बार्सिलोनाले एथ्लेटिकोे म्याड्रिडलाई उसकै घरमा हराएको छ । खेलको उत्तरार्धमा मेसीले निर्णायक गोल गरेका थिए ।

    साविक विजेता बार्सिलोनालाई घरेलू टीमले निकै दवावमा राखेको थियो । दुई सटीक प्रहार पोलमा लागेर फर्कनु एथ्लेटिकोे म्याड्रिडका लागि अभिसाप सावित भयो ।

    स्पेनिस ला लिगा फुटबल अन्तगर्त सोमबार बिहान सम्पन्न खेलमा १–० गोलको नजिता निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लियो एथ्लेटिकोेको मैदानमा कप्तान लियोनल मेस्सीले ८६औं मिनेटमा लुइस स्वारेजको पासमा गरेको गोल निर्णायक बन्यो । एजेन्सी

  • सागका पाहुनालाई सुन्दर देशमा न्यानो स्वागत

    सागका पाहुनालाई सुन्दर देशमा न्यानो स्वागत

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन गरिन् ।

    आइतबार साँझ निकै आकर्षक तरिकाले झकिझकाउ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहमा उनले सागमा सहभागी सबै पाहुनालाई हार्दिक स्वागत गर्दै प्रतियोगिता शुरु भएको उद्घोष गरिन् । त्यसपछि आतीसबाजीले काठमाडौंको आकास झकिझकाउ पारिएको थियो ।

    सन् १९९९ मा पछिल्लो पटक साग नेपालले आयोजना गरेको थियो । त्यसको दुई दशकपछि काठमाडौं आइपुगेको सागको रौनकलाई हजारौं दर्शकले हुटिंग गर्दै साथ दिए ।
    उद्घाटन समारोहलाई सरकार प्रमुखको हैसियतमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरे । प्रधानमन्त्री बिरामी भएर उपचारका सिलसिलामा अस्पतालमा छन् ।

    सम्बोधनका क्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारले सागलाई सफल बनाउन प्राथमिकताका साथ पूर्वाधार निर्माण गरेको बताए ।

    कार्यक्रममा मूल आयोजक समितिका अध्यक्ष तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सम्बोधन गरेका थिए ।

    समारोहमा सात हजार ५०० बढी कलाकारले नेपालसहित सदस्य मुलुकको मौलिक संस्कृति झल्कने सांस्कृतिक प्रस्तुती दिएका थिए ।

    कीर्तिमानी खेलाडी दीपक विष्टले सागको ज्योती बालेका थिए । प्रतियोगिताका खेलहरु काठमाडौंसहित पोखरा र जनकपुरमा समेत संचालन हुने छन् । सन् १९८४ मा पहिलोपटक नेपालबाटै सागको शुरुवात भएको हो ।

    साग दक्षिण एसियाली मुलुककै एक भब्य खेल मेला हो । १३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

  • आज सागको भब्य उद्घाटन

    आज सागको भब्य उद्घाटन

    काठमाडौं । १३ ‍औं दक्षिण एसियाली खेलकुद (साग)को भब्य उद्घाटन आज हुँदैछ । ५ बजेबाट शुरु हुने विशेष कार्यक्रम ३ घण्टा १४ मिनेटसम्म चल्ने नेपाल ओलम्पिक कमिटिले जानकारी दिएको छ ।

    राष्ट्रपति विद्यादेवि भण्डारीले साग क्षेत्रकै वृहत खेल मेलाको उद्घाटन गर्नेछिन् । नेपालले तेस्रो पटक साग आयोजना गर्न लागेको हो ।

    यद्दपी करीव दुई दशकपछि काठमाडौं फर्किएको सागलाई भब्य र ऐतिहासिक बनाउन कुनै कसुर बाँकि नराख्ने योजना नेपालको छ ।

    सागका खेलहरु भने बुधबारबाटै शुरु भएका हुन् । २४ मंसिरमा सागको समापन हुँदैछ । यस पटकका खेल काठमाडौँ, पोखरा र जनकपुरमा हुँदैछन् ।

    दक्षिण एसियाली महाद्वीपका राष्ट्रहरूले आफ्नो प्रतिष्ठाका रुपमा यस खेल मेलाई लिने गरेका छन् । उद्घाटनका अवसरमा सेना प्रहरी तथा विद्यार्थी गरी करीव १५ हजार कलाकारले प्रस्तुति दिँदैछन् ।

  • साग : नेपाल महिला भलिबलको फाइनलमा, भारतसँग भिड्ने

    साग : नेपाल महिला भलिबलको फाइनलमा, भारतसँग भिड्ने

    काठमाडौं । नेपाली महिला भलिबल टोली काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    शनिबार राती राष्ट्रिय कभर्ड हलमा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ३-० को सोझो सेटमा जीत निकाल्यो । नेपालले पहिलो सेट २५-१४ ले जितेको थियो । दोस्रो सेटमा २५-१८ को जीत निकालेको नेपाल तेस्रो सेटमा २५-२१ ले जित निकाल्न सफल भयो ।

    नेपालका लागि सरस्वति चौधरी र प्रतिमा मालीले उत्कृष्ट प्रदर्शन गरेका छन् । यस जीतसँगै अब नेपालको भेट स्वर्ण पदका लागि भारतसँग हुने भएको छ ।

    समूह चरणको खेलमा नेपालले बंगलादेशलाई हराएको थियो भने भारतसँगै पराजित भएको थियो ।

    जारी प्रतियोगितमा स्वर्ण जित्ने सके त्यो नेपाली महिला टोलीका लागि निकै महत्वपूर्ण उपाधी हुने छ । किनकी नेपाली महिला टोलीले अहिलेसम्म सागमा स्वर्ण जित्न सकेको छैन ।

  • सागका पाहुनालाई टेलिकमको निःशुल्क सिमकार्ड

    सागका पाहुनालाई टेलिकमको निःशुल्क सिमकार्ड

    काठमाडौं । नेपाल टेलिकमले १३औं दक्षिण एशियाली खेलकूद (साग)मा भाग लिन आएका खेलाडी, अफिसियल तथा अन्य पाहुनालाई निःशुल्क फोरजी सीमकार्ड उपलब्ध गराएको छ ।

    यस प्रतियोगिताका लागि पार्टनर स्पोन्सर बनेको टेलिकमले सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको हो ।

    यस पटक सागका खेलहरु काठमाडौ, जनकपुर र पोखरामा हुँदैछन् । खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका लागि कम्पनीले ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको बताएको छ ।

    कम्पनीले विमानस्थलमा काउन्टर स्थापना गरेर सीमकार्ड उपलब्ध गराइरहेको छ ।

    एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको यो खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल टेलिकमले खेल अवधिभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको समेत व्यवस्था गरेको जनाएको छ ।

    मोबाइल भ्यान तथा खेल स्थल वरपर थप गरिएका अन्य मोबाइल टावरहरुबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवाहरु सहजै र तीब्र गतिमा उपलब्ध हुनेछन ।

    साथै, कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्री लगायत सम्पूर्ण खेलकर्मीको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ ।

    यसका लागि ११६६ सर्ट कोड मार्फत कल गरेर यो सेवा लिन सकिने भएको छ ।

    कम्पनीले खेलस्थलहरुमा ग्राहक सेवाका साथै फोरजी लगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रबर्द्धन कार्यका लागि स्टल समेत राख्ने भएको छ । टेलिकम नेपालको सरकारी स्वामित्वको टेलिकम सेवा प्रदायक कम्पनी हो ।

  • सागमा नेपालको झण्डा कमल बहादुरले बोक्ने

    सागमा नेपालको झण्डा कमल बहादुरले बोक्ने

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको राष्ट्रिय झण्डा भारतोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने निश्चित भएको छ ।

    यसअघि क्रिकेट कप्तान पारस खड्काको नाम पहिलो नम्बरका सिफारिस भएको थिया । कमलको नाम भने वैकल्पिक खेलाडीका रुपमा थियो ।

    नेपाल ओलम्पिक कमिटीले अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिक सहभागिताका आधारमा कमलले झण्डा बोक्ने निर्ण गरेको हो ।

    सागको औपचारिक उद्घाटन आइतबार हुँदैछ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्घाटन गर्नेछिन् ।

    उद्घाटनलाई भब्य तथा ऐतिहासिक बनाउने तयारीमा नेपाल रहेको छ । साग २४ मंसिरमा सकिने भएको छ ।

  • सागकै मुखमा खेलाडी कतार भागेपछि…

    सागकै मुखमा खेलाडी कतार भागेपछि…

    काठमाडौं । र्कीतिमानी नेपाली धाविका तुलसा खत्री पलायन भएकी छिन् । खेलाडी पलायन हुनु सामान्य हो । तर, उनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा देशको प्रतिनिधित्व गर्दै थिइन् ।

    अर्कोतर्फ उनी विभागीय नेपाली सेनामा आवद्ध छिन् । जसले गर्दा उनलाई अन्य खेलाडीलाई जस्तै आर्थिक अवस्थाका कारण देश छाड्नु पर्ने बाध्यता पनि थिएन् ।

    तर, चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी धाविका खत्री १३औं सागमा बन्द प्रशिक्षण नै छाडेर भागेकी छिन् । घरेलु मैदानमा आयोजना हुने १३औं सागको उद्घाटन हुनु ३ दिनअघि बिहीबार प्रशिक्षकलाई नै झुक्याएर उनी कतार पुगेको खुलेको छ ।

    एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङका अनुसार खत्रीले प्रशिक्षणमा ढिला आउने सन्देश बुधबार दिएकी थिइन् । तर, बिहीबार साँझसम्म पनि प्रशिक्षणमा नआएपछि सोधखोज गर्दा उनी भागेको खुलेको हो ।

    प्रशिक्षकले शुक्रबार लिखित रुपमा उनी भागेको जानकारी राष्ट्रिय खेलकुद परिषद्लाई गराएका छन् । आफ्नो करियरका लागि भन्दै देशबाट खेल्ने मौका छाडेर भाग्नु परेको उनको भनाई थियो ।

    खत्रीले सागमा चार सय मिटर दौड, हडल्स र रिलेमा भाग लिने तय भएको थियो । यस खेलमा नेपालले उनीबाट पदकको आशा गरेको थियो ।

    किनकी उनले गत महिना चीनको उहानमा भएको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा महिला चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। त्यससमय उनले ९ वर्ष पुरानो कीर्तिमान तोडेकी थिइन्।

  • एस्टन भिल्लामा नेपाली मुलकी चेली अस्मिता अनुबन्धन

    एस्टन भिल्लामा नेपाली मुलकी चेली अस्मिता अनुबन्धन

    लण्डन । इंग्लिस फुटबल क्लब एस्टन भिल्लाले नेपाली मुलकी चेली अस्मिता आलेसँग व्यवसायिक सम्झौता गरेको छ ।

    अब उनी क्लवको सिनियर टोलीमा रहेर खेल्न पाउने भएकी छिन् । क्लवको महिला टिममा नेपाली मूलकी खेलाडी अस्मिता आलेले पहिलो पटक फुटबलको व्यावसायिक सम्झौता गरेकी हुन् ।

    उनी आठ वर्षको उमेरदेखि यसै क्लवमा आवद्ध थिइन । १८ वर्षिय अस्मिताले क्लबमा आफ्नो भविष्य खर्चिने बताएको एस्टन भिल्लाले उल्लेख गरेको छ ।

    सम्झौतापछि आफू उत्साहित रहेको उनको प्रतिक्रिया रहेको छ । उनी मैदानमा डिफेन्डरको भूमिका देखिन्छिन् । सन् २०१७\०१८ को सिजनमा उनको खेल कौसलले फ्यान, खेलाडी र व्यवस्थापनको मन जितेको छ ।

    जसले गर्दा उनलाई क्लवमा व्यवसायिक सम्झौताको बाटो खुलेको हो । उनी इंग्ल्यान्डको १९ वर्षमुनिको राट्रिय टोलीमा समेत आवद्ध छिन् । त्यहाबाट नियमित खेल्छिन् । उनी गोर्खा ब्रिटिश आर्मीकी सन्तान हुन् ।

  • साग उद्घाटन समारोहको रंगशालामा रिहर्सल

    साग उद्घाटन समारोहको रंगशालामा रिहर्सल

    काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन १५ मंसिर (आइतबार) हुँदैछ । यस दिन करीव १४ हजार दर्शक सामू सागको भब्य उद्घाटनको तयारी गरिएको छ ।

    यसै सिलसिामा शुक्रबार दशरथ रंगशालामा रिहर्सल सम्पन्न भएको छ । नेपाली सेना, प्रहरी तथा विद्यार्थीसहित कलाकारहरुले दशरथ रंगशालामा शुक्रबार रंगशालामा ‘रिहर्सल’ गरे ।

    नेपालको पहिचान झल्कने गरी विविधि सांस्कृतिक प्रस्तुती दिने तयारी छ । यस दिने सागमा सहभागी राष्ट्रका खेलाडीले मार्च पास गर्ने छन् ।

    राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारिक समारोहको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा नेपालको सातवटै प्रदेशको कला र सस्कृति झल्कने झाँकी एवं कला प्रस्तुत गर्ने तयारी छ ।

    उद्घाटन सत्र करीव ३ घण्टाको हुनेछ । मार्च पासमा नेपालको झण्डा क्रिकेटर पारस खड्काले बोक्ने भएका छन् । साग २४ मंसिरसम्म चल्नेछ । साग दक्षिण एसियाकै वृहत्त खेल मेला हो ।

  • सागको उद्घाटन राष्ट्रपतिबाट, सांस्कृतिक कार्यक्रमसहित ३ घण्टाको औपचारिक समारोह

    सागको उद्घाटन राष्ट्रपतिबाट, सांस्कृतिक कार्यक्रमसहित ३ घण्टाको औपचारिक समारोह

    काठमाडौं । करीव दुई दशकपछि दक्षिण एसियाली खेलकुदको महाकुम्भ दक्षिण एसियाली खेलकुद (साग) नेपाल आइपुगेको छ ।

    १३ औं सागको आयोजकको हैसियतमा नेपालले अन्त्राष्ट्रिय स्तरमा आफ्नो छवि प्रस्तुत गर्ने मौका पनि यो हो । त्यसकारण सरकारले १३ औं सागलाई ऐतिहासिक र भव्य बनाउने तयारीलाई तिब्र बनाएको छ ।

    १५ मंसिर अर्थातः आगामी आइतबार सागको औपचारिक उद्घाटन हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सागको औपचारिक उद्घाटन हुनेछ । २४ मंसिरमा समापन हुने सागका खेलहरु भने बुधबारबाट शुरु भइसकेका छन् ।

    सागका खेल काठमाडौं, पोखरा र जनकपुरमा आयोजना गरिएका छन् । औपचारिक समापन समारोहमा नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरव उकास्ने गरी भब्य तयारी गरिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

    उक्त दिन करिब सवा तीन घण्टाको उद्घाटन समारोह हुने भएको छ । यस अवसरमा सहभागी मुलुकका खेलाडीले मार्च पास गर्नेछन् ।

    सो अवसरमा नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम आयोजकको तर्फबाट प्रस्तुत हुने भएको छ ।

    उद्घाटन समारोहमा १५ हजार भन्दा बढी दर्शकलाई सहभागी गराउने योजना रहेको छ ।

    प्रतियोगितामा भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंकाका खेलाडी, पदाधिकारी तथा अन्य सरोकारवाला नेपाल आइपुगेका छन् । विदेशी सहभागी मात्र करिब पाँच हजारको सङ्ख्यामा रहेको बताईएको छ ।

    उनीहरुलाई काठमाडौंका विभिन्न होटेलमा बासको व्यवस्था मिलाइएको छ । यस समारोहलाई नेपाल टलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

    यस च्यानलको प्रसारा दक्षिण एसियाली मुलुकसहित विश्वका १५ भन्दा बढी मुलुकमा प्रत्यक्ष प्रसारण हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

  • साग उद्घाटन र समापनको दिन काठमाडौंमा जोर-विजोर प्रणाली

    साग उद्घाटन र समापनको दिन काठमाडौंमा जोर-विजोर प्रणाली

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापन भब्य बनाउने तयारीमा सरकार रहेको छ । यस समय करीव ५ हजार विदेशी पाहुना नेपालमा आउने अनुमान छ ।

    खेलाडी, अफिसियल, उच्चपदस्थ अधिकारी, संचारकर्मीसहित ठूलो टोली नेपालमा रहनेछन् । १५ मंसिरमा औपचारिक उद्घाटन हुनेछ । दशरथ रंगशालामा यसको भब्य तयारी गरिएको छ ।

    यस दिन काठमाडौंमा बिजोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । उनका अनुसार २४ मंसिरका दिन भने समापन हुने छ ।

    यसदिन जोर नम्बरका गाडीमात्र चल्न पाइने गरी व्ववस्था मिलाइएको छ । यस समयमा पुराना गाडी समेत चलाएर सडकमा नआउने प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    ट्राफिक व्यवस्थापन चुस्त बनाउँदै साग खेललाई सहज रुपमा सम्पन्न गराउन यस्तो निर्णय लिइएको प्रहरीको भनाई रहेको छ ।

  • महिला भलिबलमा नेपाललाई भारतले हरायो

    महिला भलिबलमा नेपाललाई भारतले हरायो

    काठमाडौं । बंगलादेशलाई जित्दै सनसनीपूर्ण नतिजा निकालेको महिला भलिबलमा नेपाल बिहीबार भारतसँग भने सोझो सेटमा पराजित भएको छ । दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बिहीबार भएको खेलमा नेपाललाई भारतले ३-० को सोझो सेटमा हरायो ।

    भारत डिफेन्डिंग च्याम्पियनसमेत हो । सागमा भारतलाई उपाधी दावेदार मानिएको छ । बिहीबार भएको आफ्नो दोस्रो खेलमा खेलमा पहिलो सेटमा भने नेपालले उत्कृष्ट खेलेको थियो ।

    तर, जीत भने भारतको भयो । दोस्रो र तेस्रो सेटमा भने नेपाल सजिलै हारेपछि नतिजा भारतको पोल्टामा पर्न सफल भयो । नेपालले पहिलो खेलमा भने बंगलादेशलाई ३-० ले पराजित गरेको थियो ।

    दुई खेल खेलिसक्दा नेपालको ३ अंक मात्र छ । भारतको एक खेलबाट ३ अंका भएको छ । बंगलादेशको एक खेलबाट शुन्य अंक छ ।

    अब समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशलाई हराएमा नेपाल उपविजेताका रुपमा नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै रहेको छ ।

  • साग भलिबलमा नेपाली महिला टीमको सुखद शुरुवात

    साग भलिबलमा नेपाली महिला टीमको सुखद शुरुवात

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले सुखद सुरूआत गरेको छ। नेपालले बुधबार बंगलादेशलाई सजिलै हरायो ।

    त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३ ० को सोझो सेटमा हराएको हो र । नेपालको समूहमा भारत र बंगलादेश छन् ।

    बंगलादेशलाई हराएको नेपाल भारतसँग कम दवावमा खेल्न सक्नेछ । सन् २०१६ मा भारतले महिला तथा पुरुष दुवै इभेन्टमा स्वर्ण जितेको थियो।

    सागको औपचारिक शुरुवात १५ मंसिरबाट हुने भएपनि भलिबलका इभेन्ट भने आजैबाट शुरु भए । बुधबार नै भएको पुरुष भलिबलमा भने नेपाली टोली पराजित भयो । पुरुष टोली भने बंगलादेशकै पुरुष टोलीसँग हारेको हो ।

  • सागमा १८ हजार सुरक्षाकर्मी, बुधबारबाट खेल शुरु

    सागमा १८ हजार सुरक्षाकर्मी, बुधबारबाट खेल शुरु

    काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूदका खेलहरु बुधबारबाट शुरु हुँदैछन् । यद्दपी औपचारिक शुरुवात भने १५ मंसिरमा हुँदैछ ।

    यस दिन राष्ट्रपतिले सागको ज्योती बालेर सागको औपचारिक शुरुवात गर्ने कार्यक्रम रहेको छ । ८ राष्ट्रको सहभागितामा हुने दइिक्षण एसियाली क्षेत्रकै वृहत खेलमेला व्यवस्थित गर्न सरकार कस्सिएको छ ।

    यसैबीच, खेलको सुरक्षामा चारवटै सुरक्षा निकायको सक्रिय सहभागिता हुने भएको छ । नेतृत्व भने नेपाल प्रहरीले गर्ने भएको छ ।

    समन्वय समितिको संयोजक नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल रहेका छन् ।

    समितिमा नेपाली सेनाका सहायक रथी हिमांशु खड्का, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दीपककुमार थापा, सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रसाद गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र राष्ट्रिय खेलकूद परिषद् (राखेप)का प्रतिनिधि सरस्वती केसी र फणिन्द्र पौडेललाई राखिएको छ ।

     

    साग २४ मंसिरमा समापन हुने भएको छ । यस पटक सागमा ‘शान्ति, मित्रता र समृद्धि’ नारा दिइएको छ । सागमा आएका खेलाडी, अफिसियल तथा उच्च अधिकारीहरुको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धानबाट १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

     

    जिल्लाबाट समेत थप सुरक्षार्की पोखरा र काठमाडौैमा खटिने भएका छन् । विमानस्थलदेखि होटेल र खेलस्थानमा समेत सुरक्षाकर्मीको सूक्ष्म निगरानी हुने भएको छ ।

    यस पटक भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराँते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङमा मुलुकहरुबीच प्रतिस्पर्धा हुँदैछ ।

    नेपालबाट ६४८ खेलाडी सहभागी हुँदैछन् । कूल तीन हजार २२८ खेलालीले भाग लिने तय भएको आयोजकले जनाएको छ । यसैबीच बुधबारबाट सागका केही खेलहरु भने प्रारम्भ हुँदैछन् । बुधबार भलिबल खेलको तालिका रहेको छ ।

  • प्रधानमन्त्री मंगलबार दिनभर खेल व्यवस्थापनमा सक्रिय

    प्रधानमन्त्री मंगलबार दिनभर खेल व्यवस्थापनमा सक्रिय

    काठमाडौं । नेपालमा सामान्यतया राजनीतिक नेतृत्वको ध्यान खेलमा कमै मात्र पुग्छ । नेताहरु खेल उत्तिसारो बुझ्दैनन् पनि, त्यसकारण उनीहरुले यसलाई अनुत्पादक सरह मान्छन् ।

    तर, नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च चासो देखाएका छन् ।

    नेपालमा दुई दशकपछि आयोजना भएको साग शुरु हुन पाँच दिन मात्र बाँकि छ । तर कतिपय संरचना अझै बनिसकेका छैनन् । अन्तिम समयमा आएर कामका चटारोमा जुट्ने नेपाली परम्परा यस पटक पनि जारी छ ।

    यसै मेसामा प्रधानमन्त्रीले मंगलबार खेलाडीसँग सामुहिक भेटघाट  र उनीहरुलाई हौसला बढाउन सक्रिय हुने छन् । मंगलबार बिहान ११ बजे प्रज्ञा भवनमा उनले खेलाडीसँग सामूहिक छलफल गर्दैछन् ।

    साग १५ मंसिरबाट औपचारिक रुपमा शुरु हुँदैछ । मंगलबार नै प्रधानमन्त्रीले खेलकुदसँग सम्बन्धित सरोकारवालाको बैठक डाकेका छन् । त्यहा भौतिक संरचना निर्माणसहित समग्र साग आयोजनाको तयारीबारे छलफल हुने भएको छ ।

    प्रधानमन्त्री अध्यक्ष रहने उच्चस्तरीय निर्देशन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

    समितिमा साग खेल आयोजना हुने प्रदेशका मुख्यमन्त्री, युवा तथा खेलकुद मन्त्री, खेलकुद मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख सहभागी हुने कार्यक्रम रहेको छ ।

    साग काठमाडौंसहित पोखरा र जनकपुरमा आयोजना हुँदैछ । प्रधानमन्त्रीले मंगलबार नै निर्माणाधिन दशरथ रंगशालाको समेत स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

    करीव ४ वर्ष पछि सोमबारदेखि पहिलो पटक रंगशालाको मैदानमा खेलाी उत्रिएका छन् । खेलाडीले केही बेर अभ्यास गरेका थिए ।

  • नाइट क्लवमा लठ्ठ तीन फूटबल खेलाडी सागबाट पनि आउट

    नाइट क्लवमा लठ्ठ तीन फूटबल खेलाडी सागबाट पनि आउट

    काठमाडौं । विश्वकप छनोटका लागि भूटान उड्ने अघिल्लो दिन ठमेलको नाइट क्लव गई झुमेका चार खेलाडीमध्ये अण्डर २३ समूहमा पर्ने तीन खेलाडीले घरेलु मैदानमै हुने दक्षिण एसियाली खेलकुद (साग)समेत गुमाएका छन् ।

    उनीहरुलाई प्रशिक्षकले नखेलाउने निर्णय लिएका छन् । नेपाली टोलीका आशालाग्दा फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट र डिफेन्डर दिनेश राजवंशी बीनौ नै नेपाली टोली घोषित गरिएको छ ।

    उनीहरुले खेल अनुशासनको गम्भीर उल्लंघन गर्दै देशलाई धोका दिएको आरोप छ । किनकी सामान्यतया क्लोज क्याम्पमा बसेको खेलाडी अनुमति बीना क्लवमा जान, मदिरा पिउन र मोजमस्तीमा रमाउन पाउँदैन ।

    एन्फाले उनीहरुमाथि थप अनुसन्धान समेत गरिरहेको छ । उनीहरुको सट्टामा सागमा बैकल्पिक खेलाडीले मौका पाएका छन् ।

    नेपालले सागमा मंसिर १५ गते उद्‌घाटन खेलमा बंगलादेशको सामना गर्ने छ । खेल दशरथ रंगशालामा हुने छ । रंगशालामा ४ वर्षपछि पहिलो पटक फूटबल हुन लागेको हो ।

  • सागका खेलाडीलाई प्रधानमन्त्रीले भेट्दै

    सागका खेलाडीलाई प्रधानमन्त्रीले भेट्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औैैं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुने खेलाडी तथा पदाधिकारीसँग सामूहिक भेटघाट गर्ने भएका छन् ।

    खेलाडीको मनोबल बढाउन प्रधानमन्त्रीले उनीहरुलाई सामूहिक रुपमा भेट्न लागेको प्रधानमन्त्री कार्यायले जनाएको छ ।

    मंगलबार २६ खेलमा सहभागी खेलाडी, प्रशिक्षक, ब्यवस्थापक तथा सम्बन्धित खेल संघका पदाधिकारीलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने छन् ।

    कार्यक्रम प्रज्ञा भवनमा आयोजना गरिएको छ । यस वर्ष साग इतिहास मै सबैभन्दा बढी स्वर्ण पदक जितेर रेकर्ड राख्ने लक्ष्यमा नेपाल रहेको छ । आयोजकका हैसियतमा नेपाललाई घरेलु मैदानको साथ रहनेछ ।

  • सागमा प्याराग्लाइडिङ नहुने, ६ टोलीले भाग नै लिएनन्

    सागमा प्याराग्लाइडिङ नहुने, ६ टोलीले भाग नै लिएनन्

    काठमाडौं । नेपालका लागि स्वर्ण पदक नै सुनिश्चित भएको प्याराग्लाइडिङ दक्षिण एसियाली खेलकुदमा समावेश नहुने भएको छ । यस खेलका लागि प्रतियोगिको आवश्यक संख्या नै पुगेन ।

    बुधबार नाम दर्ताको अन्तिम दिन थियो । तर, यस खेलमा भाग लिन नेपाल र पाकिस्तानले मात्र नाम टिपाए । अन्य टोलीले भाग नलिने भएपछि प्याराग्लाइडिङ सागमा समावेश नहुने निश्चित भएको हो ।

    दक्षिण यसियाली खेलकुद (साग) को १३ औं संस्करण नजिकिएसँगै यसको तयारी जोडतोडका साथ चलिरहेको छ । प्याराग्लाइडिङ सराङकोटमा खेलाउने तयारी थियो ।

    यसले नेपालको पर्यटनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको थियो । सागमा प्रतियोगिता संचालन हुन कम्तीमा ३ राष्ट्रले भाग लिनुपर्ने प्रावधान रहेको छ । सागका खेल पोखरा र काठमाडौंमा हुँदैछन् ।

    दुबै स्थानमा जोडतोडले तयारी जारी छ । नेपाल ओलम्पिक कमिटीका अनुसार पोखरामा रंगशाला निर्माणले गति दिएको छ । अबको ११ दिन पछि शुरु हुने सागको तयारीमा कुनै कसुर बाँकि नराखेको आयोजकको भनाई छ ।

  • सम्हालिएको नेपालले हार टार्न सकेन

    सम्हालिएको नेपालले हार टार्न सकेन

    काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटमा नेपालले बलियो टोली कुवेतविरुद्ध सम्हालिएर खेलेको छ । यद्दपी हार टार्न भने सकेन ।

    मंगलबार भुटानको राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल कुवेतसँग १ गोलले पराजित भयो । तर, नेपालले बलियो टोलीविरुद्ध निकै सुधारिएको प्रदर्शन गरेको छ ।

    मूख्य चार खेलाडी ठमेल काण्डका कारण कारवाही परी वैकल्पिक खेलाडीको भरमा मैदानमा उत्रिएको नेपाली टोलीले कुनै पनि समय ती खेलाडीको अभाव महसुश हुन दिएन ।

    किनकी यही टोलीसँग नेपाल कुवेतको घरेलु मैदानमा ७ गोलले पराजित भएर फर्केको थियो । यो खेल नेपालको होम म्याच हो । तर, दशरथ रंगशालाको काम सम्पन्न नभएपछि भुटानमा गरिएको हो ।

    कुवेतका बदर अल मतवाले २८ औं मिनेटमा गोल गरे । त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन ।

    ४० औं मिनेटमा रोहित चन्दले सटिक प्रहार गरेका थिए । त्यसलाई कुवेती किपरले बचाए । खेलमा कप्तान किरण चेम्जोंगको प्रदर्शनसमेत हेर्नलायक रह्यो ।

  • नेपाल र कुवेत आज भिड्दै, मूख्य खेलाडीको अभाव टर्ला ?

    नेपाल र कुवेत आज भिड्दै, मूख्य खेलाडीको अभाव टर्ला ?

    काठमाडौं । कतार विश्वकप २०२२ का लागि नेपाल र कुवेतबीच छनोट प्रतियोगिताको दोस्रो लेग मंगलबार हुँदैछ । पहिलो लेगमा नेपाल पराजित भइसकेको छ ।

    दोस्रो खेल जीत्दै त्यसको बदला लिने मौका नेपालसँग रहेको छ । भुटानको राजधानी थिम्पुस्थित चाग्लिमिथाङ रंगशालामा नेपाल र कुवेतबीच मंगलबार दिउँसो २ः४५ बाट खेल शुरु हुँदैछ ।

    पहिलो लेगमा कुवेतले नेपाललाई ७ गोल हानेको थियो । नेपालका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध जीतका लागि मैदानमा उत्रने बताएका छन् ।

    यद्दपी नेपाललाई मूख्य खेलाडीले खेलको मुखमा देखाएको अनुशासनहित गतिविधि र उनीहरुमाथि भएको कारवाहीको असर भने पक्कै देखिने छ ।

    नेपालका मूख्य स्ट्राइकर विमल घर्तिमगरसहित ४ खेलाडी ठमेलको डान्सबारे गई मदिरामा मात्तिकएको र मदिरा सेवनकै कारण मोटरसाइकल दूर्घटना समेत पारेको भेटिएपछि एन्फाले उनीहरुलाई तत्कालन निलम्बन गरेको छ ।

    ४ जना मूख्य खेलाडीको अभाव बिर्साउने गरी नेपालले खेल्नु पर्ने भएको छ । खेल तालिका अनुसार नेपालले आफ्नो घरेलु मैदान दशरथ रंगशालामा खेल्नु पर्ने थियो । त्यसबेला नेपाली टोलीको साथमा दर्शकको साथ उत्तिकै हुने थियो ।

    तर, रंगशाला निर्माण हुन नसकेपछि खेल भुटानमा सारिएको हो । यसको क्षति नेपालको प्रदर्शनमा पर्न सक्छ । नेपालको टीममा अभिषेक रिजाल, नवयुग श्रेष्ठ र भरत खवासमध्ये एकले मूख्य स्ट्राइकरको रुपमा बिमल घर्तिमगरका स्थान लिनेछन् ।

    मिडफिल्डको जिम्मा सुनिल बल, विक्रम लामा, रवि पासवान, मिक्चेन तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ र सुवास गुरुङले सम्हाल्नेछन् ।

    अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, सरोज दाहाल, अजित भण्डारी र रञ्जित धिमालले डिफेन्स सम्हाल्दा कप्तान किरण चेम्जोङसँगै विकेश कुथु र विशाल श्रेष्ठले गोलकिपरको भूमिका निभाउने छन् ।

    उनीहरुमध्ये टोलीमा पर्ने अन्तिम ११ भने खेलको केही मिनेट अगाडी मात्र तय हुनेछ ।

  • पाकिस्तान सुपर लीगको ड्राफ्टमा ७ नेपाली, को को परे ?

    पाकिस्तान सुपर लीगको ड्राफ्टमा ७ नेपाली, को को परे ?

    काठमाडौं । पाकिस्तान सुपर लीगको सिल्भर क्याटगोरीमा परेका खेलाडीको सूचि सोमबार सार्वजनिक भएको छ । यस सूचिमा नेपालबाट ७ खेलाडीको नाम परेको हो । सूचिमा पूर्वकप्तान पारस खड्कासहित ७ जना क्रिकेटर परेका छन् ।

    त्यसमध्ये कसलाई टीमहरुले छनोट गर्छन्, त्यसका आधारमा खेलाडीको भाग्य चम्कने छ । सिल्भर क्याटगोरीको ड्राफ्टमा पारससहित नेपालबाट आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी परेका छन् ।

    पारस, शरद, सोमपाल, दीपेन्द्र र रोहितकुमारले व्यक्तिगत रुपमा नाम पठाएको बताइएको छ । आरिफ र विनोदको नाम नेपाल क्रिकेट संघ (क्यान)ले पठाएको हो ।

    यस प्रतियोगिताका लागि स्टार खेलाडी सन्दीप लामिछाने भने ड्राफ्टको प्लाटिनम क्वाटगेरीमा परेका छन् । उक्त क्याटगोरीबाट कुनै टीमले किनेमा उनी अहिलेसम्मकै महंगो मूल्यमा आवद्ध हुनेछन् ।

    सन्दीप छनोट भए भने उनको कमाई कम्तीमा १ लाख ४७ हजार देखि बढीमा २ लाख १८ हजार डलरसम्म हुनेछ । सिल्भर क्याटगरीमा पर्ने खेलाडीको भागमा भने १५ हजार डलर देखि ३५ हजार अमेरिकी डलरसम्म हुनेछ ।

  • रोनाल्डो १ सय गोलको कीर्तिमाननजिक

    रोनाल्डो १ सय गोलको कीर्तिमाननजिक

    काठमाडौं । पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो देशका लागि १ सय औं गोलको कीर्तिमान नजिक पुगेका छन् । आइतबार राती भएको खेलमा उनले पोर्चुगलका लागि ९९ औं गोल पूरा गरे ।

    यस वर्षमात्र उनले देशका लागि १४ गोल गरेका छन्। आइतबार पोर्चुगलले लक्जेम्बर्गलाई २–० गोल अन्तरले हरायो । यससँगै पोर्चुगल युरोकपमा छनोट समेत भएको छ ।

    यसै खेलमा रोनाल्डोले ९९ औं गोल गरेका हुन् । पोर्चुगलसहित इंग्ल्यान्ड पनि युरोकपमा छनोट हुन सफल भयो । आइतबार राति नै समूह ‘ए’को खेलमा इंग्ल्यान्डले कोसोभोलाई ४–० गालेले हराएको हो ।

  • सचिन तेन्दुलकर र प्रधानमन्त्रीबीच भेट, पशुपति दर्शनमा दंग

    सचिन तेन्दुलकर र प्रधानमन्त्रीबीच भेट, पशुपति दर्शनमा दंग

    काठमाडौं । नेपाल भ्रमणमा रहेका विश्व चर्चित क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

    भेटमा उनले प्रधानमन्त्रीको स्वास्थ अवस्था बुझ्दै नेपालमा न्यानो स्वागतका लागि आभार व्यक्त गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिनलाई सुन्दर ल्याम्प पनि उपहारस्वरुप प्रदान गरेका छन् ।

    भेटपछि प्रधानमन्त्रीले टुइट गर्दै सचिनले नेपालले बाल अधिकारका बारेमा गरेका कामको प्रशंसा गरेको जानकारी गराएका छन् । ‘उनले बालअधिकारको संरक्षण र उनिहरुको हितका लागि नेपालले गरेको प्रयास प्रशंसाजनक रहेको बताए,’ प्रम ओलीको टुइटमा उल्लेख छ ।

    त्यसो त सुन्दर शहर काठमाडौंमा आउँदा आफू निकै खुसी भएको सचिनले टुइट गरेका छन् । यसैबीच आइतबार नै सचिन नेपालको चर्चित धार्मिक स्थल पशुपतिनाथ मन्दिरको दर्शनमा पुगेका छन् ।

    नेपाल पर्यटन बोर्डले पशुपति दर्शनको व्यवस्थापन गरेको थियो । युनिसेफको सद्भावनादूत रहेका उनी शुक्रबार नेपाल आएका हुन् । उनले शनिबार बालबालिकासँग क्रिकेट खेलेका थिए ।

  • चम्किए शरद, जीत्यो नेपालले

    चम्किए शरद, जीत्यो नेपालले

    बंगलादेश । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपमा नेपालले हङकङलाई हराएको छ । यससँगै नेपालको पोल्टामा पहिलो जीत हात पर्यो ।

    भारतको २३ वर्षमुनीको टोलीसँग हारेको ज्ञानेन्द्र खड्का नेतृत्वको नेपाली टोलीले हङकङविरुद्ध भने प्रभावशाली जीत निकालेको हो ।

    शनिबार बंगलादेशमा सम्पन्न खेलमा ४० रनले विजयी भयो । हङकङलाई नेपालले २१८ रनको लक्ष्य दिएको थियो । तर, हङकङ ‍४५.५ ओभर खेल्दा १७७ रनमै समेटियो ।

    हङकङलाई लक्ष्यसम्म पुग्न नदिन नेपालका बलरद्वय अभिनास बोहरा र करण केसीले ३–३ विकेट झारे । सुसन भारीले २ विकेट लिए ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २१७ रन बनाएको थियो । नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ८९ रनको महत्वपूर्ण पारी खेले ।

    आरिफ शेखले ४२ रन र दीपेन्द्रसिंह ऐरीले ३७ रन जोडेका थिए । नेपालले समूह चरणको अन्तिम खेल २ मंसिरमा बंगलादेशसँग खेल्दैछ । यस प्रतियोगितामा नेपालका दुई महत्वपूर्ण खेलाडी पारस खड्का र सन्दीप लामिछाने भने छैनन् ।