Category: खेलकुद

  • मेसी बने फिफा वर्ष खेलाडी

    मेसी बने फिफा वर्ष खेलाडी

    इटाली । बार्सिलोनाका फर्वाड कप्तान लियोनल मेस्सी फिफा वर्ष खेलाडी चुनिएका छन् ।

    सोमबार राती इटालीमा आयोजित विशेष समारोहमा फिफाले उक्त अवार्ड घोषणा गरेको हो । मेसीले क्रिस्टियानो रोनाल्डो र भर्जिल भान डाइकलाई उछिनेका हुन् ।

    विश्व फुटबल महासंघ (फिफा)ले अघिल्लो सिजनमा गरेको प्रदर्शनका आधारमा उक्त अवार्ड प्रदान गर्छ ।

    मेसीले अघिल्लो सिजनमा ५८ खेलबाट ५४ गोल गरेका थिए । यस वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड मेगान रापिनोईले हात पारिन् ।

    फिफा वर्ष पुरुष प्रशिक्षकमा भने लिभरपुलका जोर्गेन क्लोपको हातमा पुग्यो । महिला प्रशिक्षकको उपाधी जिल एलिसले जितिन् ।

    बालोन डि ओरसँगको साझेदारी तोडिएपछि फिफाले स्वतन्त्र रुपमा अवार्ड दिन थालेको हो । यसरी दिन थालिएको यो चौथो पटक हो ।

    फ्रान्स फुटबल म्यागाजिनले १९५६ देखि वितरण गर्न सुरु गरेको बालोन डि’ओरमा फिफाले २०१० देखि २०१५ सम्म साझेदारी गरेको थियो।

  • न्यूह्याम्पसर खुला टेनिसको उपाधि गुरुङलाई

    न्यूह्याम्पसर खुला टेनिसको उपाधि गुरुङलाई

    न्यूह्याम्पसर
    न्यूह्याम्पसर राज्यमा स्थापित एकमात्र नेपालीभाषीहरुको छात्रा संगठन न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता २०१९ (पुरुष सिंगल्स) को उपाधि दिनेश गुरुङले जितेका छन् । आइतबार सम्पन्न फाइनल खेलमा मनिष हुमागाईँलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै गुरुङले सिङ्गल्सतर्फको उपाधि हासिल गरेका हुन् । यस्तै प्रतियोगिताको डबल्स संस्करणमा हर्क गुरुङ र रिकाश गुरुङको जोडी बिजयी भएको छ । उनीहरुले फाइनलमा किरण हुमागाईँ र मनिष हुमागाईँको जोडीलाई ६–३, ४–६ र ६–४ को अन्तरमा पारजित गरेका हुन् ।

    एक सातासम्म चलेको प्रतियोगिको सिंगल्स तर्फ १७ जना र डबल्स तर्फ नौ जोडी खेलाडीले भाग लिएका थिए । राज्यको म्याम्चेष्टर स्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगिताका विजयी एवं सहभागी खेलाडीलाई फाइनल खेलपछि आयोजित समारोहमा न्यूह्याम्पसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले ट्रफी एवं प्रमाणपत्र वितरण गरे । यसैगरी प्रतियोगिताको अवधिभर एम्पायरको भूमिका निर्वाह गर्ने हेमेन्द्रध्वज खड्का, वीर शाह, रविन थापा, गोविन्द गुरुङलाई प्रमाणपत्र एवं मायाको चिनो प्रदान गरिएको थियो ।

    कार्यक्रममा अध्यक्ष गुरुङले खेल मार्फत राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुमा भाइचारा अभिबृद्धि गर्ने समाजको अभियानबारे चर्चा गरेका थिए । ‘हामीले हरेक बर्ष फुटबल, टेनिस लगायतका खेलकुद प्रतियोगिता आयोजना गरिरहेका छौँ, उनले भने ‘यसले न्यूह्याम्पसर मात्र नभइ अन्य छिमेकी राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुबीच पनि आत्मियता र भाइचारा बढाइ रहेको अनुभव गरेका छौँ ।’ टेनिस प्रतियोगितामा बर्षेनी बढ्दो सहभागिताले नेपालीहरुले आफ्नो समुदायमा मात्र नभइ अरु खुला प्रतिस्पर्धामा पनि छिटै आफ्नो पहिचान स्थापित गर्ने विश्वास आफुले लिएको उनको भनाइ छ ।

    प्रतियोगितामा राज्यका विभिन्न ठाउँहरुमा बसोबास गर्ने विभिन्न उमेर समूहका पुरुषहरुको सहभागिता रहेको थियो । ‘सहभागीहरुको संख्या बर्षेनी बढ्दो छ’ विगत केही बर्षदेखि खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएका न्यूह्यामसर नेपाली समाजका महासचिव माधव गुरुङले भने ‘नयाँ पिडीका भाइबहिनीहरुले पनि टेनिस खेलप्रति उत्साहजन सहभागिता जनाउँदै आएका छन् ।’

  • भूटानविरुद्ध नेपालको लज्जास्पद हार

    भूटानविरुद्ध नेपालको लज्जास्पद हार

    काठमाडौं । साविकको विजेता नेपाल घरेलु मैदानमै भूटानसँग साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलमा पराजित भएको छ ।

    आइतबार राजधानीमा सम्पन्न खेलमा भूटानले नेपालमाथि३–० गोल अन्तरको प्रभावशाली जीत निकाल्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ ।

    भूटान नेपालभन्दा निकै कमजोर टीम मानिन्छ । तरm सोही टोलीसँग हार बेहोरेपछि अब नेपालको अघिल्लो चरणको यात्रा निकै कठिन भएको छ ।

    भूटानले माल्दिभ्समाथि फराकिलो जीत निकाल्न सकेमात्र नेपाल अघिल्लो चरण प्रवेश गर्छ । किनकी नेपाल र माल्दिभ्स बराबरी खेलेका कारण समान अंक रहेको छ ।

    आजको खेलमा नेपाल ३ गोलले पछाडी परेका कारण थोरै अन्तरको हारमा पनि माल्दिभ्स अगाडी जान्छ ।

    तेस्रो संकरणको यो प्रतियोगिताको नेपाल साविक विजेता हो । तर प्रतियोगितामा नेपालले फितलो प्रदर्शन गरेको छ ।

    हल्चोकस्थित एपीएफ मैदानमा सम्पन्न खेलमा भुटानका लागि यशी दोर्जी, केल्जाङ जिग्मी र कर्मा सोनामले गोल गरे ।

  • फिफा वरियतामा नेपालको सुधार

    फिफा वरियतामा नेपालको सुधार

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरीयतामा नेपाली फूटबलले आफ्नो स्थान सुधार गरेको छ ।

    हालै विश्वकप छनोट अन्तर्गत भएको खेलमा चाइनिज ताइपेविरुद्ध जीत निकालेको नेपालले वरियतामा समेत सुधार गरेको हो ।

    फिफाका अनुसार नेपाल पाँच स्थान माथि उक्लिएको छ । बिहीबार सार्वजनिक भएको नयाँ वरियता अनुसार नेपाल १६१औँ स्थानमा उक्लिएको छ ।

    यसअघि नेपाल १६६औँ स्थानमा थियो। दक्षिण एशियाली वरीयतामा नेपाल तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा बलिया भारत १०४औँ र माल्दिभ्स १५३औँ स्थानमा देखिएका छन् ।

    नेपालभन्दा तल भूटान १८५औँ, बङ्गलादेश १८७औँ, श्रीलङ्का २०२औँ र पाकिस्तान २०३औँ स्थानमा रहेका छन् । पछिल्लो विश्व वरीयतामा शीर्ष स्थान भने बेल्जियमले ओगटेको छ ।

    फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् । इङ्ग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौँ, उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएसिया आठौँ, कोलम्बिया नवौँ र अर्जेन्टिना दशौँ स्थानमा रहेका छन्।

  • फाइनलमा चुक्दा महिला फूटबलको ऐतिहासिक उपाधी गुम्यो

    फाइनलमा चुक्दा महिला फूटबलको ऐतिहासिक उपाधी गुम्यो

    काठमाडौं । बलियो टोली उज्वेकिस्तानसँग ३-२ को गोल अन्तरमा नतिजामा सुम्पिएसँगै नेपाली महिला टोलीले ऐतिहासिक उपाधी जित्ने एक सूनौलो मौका गुमाएको छ ।

    यदी यो उपाधी जितेको भए नेपाली महिला फूटबलका लागि त्यो पहिलो अन्तर्राष्ट्रिय उपाधी हुने थियो । बिहीबार बिहीबार किर्गिस्तानमा भएको नाडेज्दा कपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो ।

    नेपाल विभिन्न अन्तर्राष्ट्रिय फूटबलको आठौं फाइनल खेलेको थियो । तर, आठौं फाइनलमा पनि उपाधीबाट परै रहनु पर्यो ।

    उज्वेकिस्तान नेपालभन्दा फिफा वरीयतामा ५७ स्थान माथि रहेको छ । यद्दपी महिला टोलीले बिहीबार उज्वेकिस्तानविरुद्ध उत्कृष्ट खेल पस्कदै दर्शक तथा समर्थकको मन भने जित्न सफल भएको छ ।

    नेपालले पहिलो हाफमा १ र दोस्रो हाफको प्रारम्भ मै दुई गोल खान पुग्यो । तीन गोलले पछाडी परेको नेपालका लागि सावित्रा भण्डारीले ६५ मिनेटमा उत्कृष्ट गोल गरेकी थिइन ।

    उनले ९० औं मिनेटमा पेनाल्टीबाट नेपालका लागि दो्रो गोल थपेपनि त्यतिन्जेल खेलमा फर्कन नेपाललाई ढिला भइसकेको थियो ।

    यस प्रतियोगितामा सावित्राले ७ गोल गर्न सफल भईन् । यससँगै उनकले देशका लागि ३३ अन्तर्राष्ट्रिय खेलमा ३५ औं गोलको कीर्तिमान पुरा गरेकी छिन् ।

    जससँगै उनले नेपालका लागि बढी अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बराबरी समेत गरिन् । यसअघि अनु लामाले मात्र नेपालका लागि ३५ गोल गरेकी थिइन् ।

    यो प्रतियोगिता आगामी मंसिरमा नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा नेपालले लिएको छ । नेपाललाई समूह चरणमा पनि उज्वेकिस्तानले नै हराएको थियो ।

    समूह चरणमा नेपालले भने आयोजक किर्गिस्तानलाई ८-२ र ताजकिस्तानलाई १-० ले हराएर फाइनलमा पुगेको हो ।

  • विश्वकप फुटबल छनोट, चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जीत

    विश्वकप फुटबल छनोट, चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जीत

    काठमाडौं । विश्वकप छनोट फूटबलको दोस्रो खेलमा नेपाल उत्कष्ट पुनरागमन गर्न सफल भएको छ ।

    पहिलो खेल कुवेतसँग ७ गोल अन्तरले हारेको नेपालले मंगलबार चाइनिज ताइपेविरुद्ध भने उत्कृष्ट खेल पस्कियो ।

    नेपालको जीतमा फर्वाड अन्जन विष्ट नायक बने । नेपालले आफुभन्दा निकै बलियो टोलीलाई उसकै घरेलु मैदानमा हराउने क्रममा २ गोल गर्यो ।

    घरेलु टोलीले एक गोल पनि फर्काउन नसकेपछि नेपालको खातामा महत्वपूर्ण ३ अंक प्राप्त भएको छ । दुबै खेल विष्टले गरे ।

    नेपालले अघिल्लो खेल हार्दा विष्ट धेरैजसो समय मैदान बाहिरै बसेका थिए । आजको खेलमा भने उनले आफूलाई एक अब्बल दर्जाको फर्वाडका रुपमा प्रमाणित गरिदिए ।

    आज नेपाली टोलीले तीन परिवर्तन गरेको थियो । विक्रम लामालाई बेञ्चमा राखेर विष्टलाई खेलाइएको थियो ।

    सुमन अर्याल र अजित भण्डारीको स्थानमा रञ्जित धिमाल र दिनेश राजवंशीले खेल्ने मौका पाएका थिए ।

    प्रशिक्षक योहान कालिनको रणनीति मंगलबार भने काम गर्यो । नेपालले फवार्डसँगै मिडफिल्ड र डिफेन्समा पनि राम्रै प्रदर्शन गरेको थियो ।

    तेस्रो मिनेटमा डि-बक्स बाहिरबाट सुजल श्रेष्ठले हानेको फ्रिकिकलाई विष्टले हेड गोलमा परिणत गरेका थिए ।

    खेलको ६४ औं मिनेटमा अञ्जन आफैले एक दर्शनीय गोल गरे । रवि पासवानले सुजललाई दिएको बल सुजलले हेड गरी अन्जनलाई दिएका थिए । उनले उक्त बल कन्ट्रोल गरी उत्कृष्ट गोल गरे र टोलीको जीत सुनिश्चित गरे ।

  • अमेरिकामाथि मेक्सिकोको प्रभावशाली जीत

    अमेरिकामाथि मेक्सिकोको प्रभावशाली जीत

    न्यूजर्सी । मेक्सिकोले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा अमेरिकामाथि प्रभावशाली जीत हाँसिल गरेको छ ।

    अमेरिकाको घरेलु मैदान मेटलाइफ रंगहालामा सम्पन्न खेलमा मेक्सिकोले अमेरिकालाई ३ ० गोल अन्तरले हरायो ।

    मेक्सिकोका लागि हाभियर हर्नान्डेज, इरिक गुटिरेज र युरियल एन्टुनाले गोल गरे । अमेरिकाले भने पेनाल्टीमा पाएको अवसर पनि सदुपयोग गर्न सकेन ।

    अमेरिकी फरवार्ड जोश सार्जेन्टले अन्तिम समयमा पेनाल्टी पाएपनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।

    शनिबार नै सम्पन्न अन्य अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उरुग्वेले कोस्टा रिकामाथ २–१ को जीत प्राप्त गर्यो ।

    एजेन्सी

  • ३६ वर्षिय मालिंगाको जादुमयी बलिङ, लगातार ४ बलमा ४ विकेट झारे

    ३६ वर्षिय मालिंगाको जादुमयी बलिङ, लगातार ४ बलमा ४ विकेट झारे

    श्रीलंकाली तिब्र गतिका बलर लासिथ मालिंगाले घातक बलिङ गरेपछि श्रीलंकाले शुक्रबार सम्पन्न खेलमा न्यूजिल्याण्डलाई पराजित गरको छ ।

    ३ खेलको टी२० श्रृंखला अन्तर्गत पहिलो दुई खेल हारेको श्रीलंकालाई लाज बचाउन समेत तेस्रो खेल जित्नै पर्ने बाध्यता थियो ।

    घरेलु मैदानमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर मात्र १२५ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रिएको न्यूजिल्याण्ड ८८ रनमा समेटियो ।

    उसलाई धरासायी बनाउने क्रममा कप्तान समेत रहेका मालिंगाले जादुमयी बलिङ गरेका हुन । ४ ओभर बलिङ गरेका उनले मात्र ६ रन दिएर ५ विकेट झारे ।

    मालिंगाले तेस्रो ओभरको तेस्रो बलमा कोलिन मुन्रोलाई १२ रनमा आउट गरी पहिलो विकेट लिए । त्यसपछिको बलमा हेमिश रदरफोर्डको विकेट लिए ।

    तेस्रो ओभरको पाँचौ बलमा कालिन डी ग्रान्डहोमको विकेट लिँदै ह्याट्रिक पुरा गरे ।

    ओभरको छैठौं बलमा समेत रोस टेलरलाई पेभिलियन फर्काउँदै ३६ वर्षिय मालिंकाले लगातार चार बलमा ४ विकेट लिँदै सनसनीपूर्ण प्रदर्शन गरेका हुन् ।

  • अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न

    अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न

    विश्व न्यूज संवाददाता
    टेक्सस ।
    अस्टिन गोर्खाज नेपलिज भलिवल समुहको आयोजनामा टेक्ससको अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १० वटा समुहको सहभागिता रहेको थियो ।
    अस्टिन, ह्युष्टन र डलासका भलिवल समुहहरुको सहभागिता रहेको प्रतियोगितामा नेप स्टार भलिवल समुह विजेता बनेको छ । त्यस्तैं, रुकुम युनाइटेड उपविजेता बनेको छ । विजेता र उपविजेता समुहले क्रमश: नगद २ हजार र १२ सय शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक मध्येका एक रेशम गुरुङले जानकारी दिए ।

  • विश्वकप फूटबल छनोट टोलीमा नियमित कप्तान परेनन्

    विश्वकप फूटबल छनोट टोलीमा नियमित कप्तान परेनन्

    काठमाडौं । नेपालले आसन्न विश्वकप फूटबल छनोट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ । यस टोलीमा राष्ट्रिय टिमका नियमित कप्तान विराज मर्हजन भने पर्न असफल भएका छन् ।

    विश्वकप २०२२ का लागि नेपालले छनोट प्रतियोगिता खेल्दैछ । यसबीचमा नेपालले ८ वटा छनोट खेल्दैछ । यो पटक नेपालका लागि चरण निकै महत्वपूर्ण रहेको छ ।

    नेपालले पहिला चरणमा खेल्ने दुई खेलका लागि बिहीबार टोलीको घोषणा गरेको हो । मूख्य प्रक्षिक्षक योहान कालिनले टोली घोषणा गरेका हुन् ।

    नेपालले कुबेत र चाइनिज ताइपेविरुद्ध खेल्ने टोलीको टुंगो लगाएका हुन् । बिहीबार घोषित २३ सदस्यीय टोलीमा अन्य महत्वपूर्ण खेलाडी भने अटाउन सफल भए ।

    नेपालले कुबेतसँग भदौ १९ र चाइनिज ताइपेसँग २४ भदौमा खेल्दैछ । दुबै खेल ती देशको घरेलु मैदानमा हुनेछ ।

    नेपाली टोलीमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल र रजिन धिमाल रहेका छन् ।

    यसैगरी सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द, रवि पासवान, विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल पनि अटाएका छन् ।

  • नेपाल ओलम्पिक कमिटीमा श्रेष्ठद्धयबीच भिडन्त, कसले मार्ला बाजी ?

    नेपाल ओलम्पिक कमिटीमा श्रेष्ठद्धयबीच भिडन्त, कसले मार्ला बाजी ?

    काठमाडौं । नेपाल ओलम्पिक कमिटिको अध्यक्ष पदका लागि नेकपाका दुई नेताबीच भिडन्त हुने भएको छ ।

    कमिटीका तत्कालिन अध्यक्ष जीवनराम श्रेष्ठ र व्यवसायी नेता उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।

    दुबै नेकपा निकट मानिन्छन् । २० भदौमा हुने निर्वाचनले नेतृत्वको टुंगो लगाउने भएको छ । मंगलबार उमेदवारी दर्ताको समयसम्म दुई जनाको मात्र उमेदवारी परेपछि भिडन्त श्रेष्ठद्धयबीच हुने भएको हो ।

    कमिटीमा पाँच जना उपाध्यक्ष रहने प्रावधान रहेको छ । यसका लागि भने आठ जनाले उम्मेदवारी दिएको कमिटीले जानकारी दिएको छ ।

    उपाध्यक्षमा ज्योति राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्रचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।

    महासचिवमा दुई जनाबीच भिडन्त हुने भएको छ । उक्त पदका लागि पुरेन्द्रविक्रम लाखे र निलेन्द्रराज श्रेष्ठको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा रतनकुमार टण्डन निर्विरोध भएका छन् ।

    उता, उपमहासचिवमा पनि पिताम्बर तिम्सिना निर्विरोध भए । सचिवमा भने ४ जनाको उमेदवारी परेको छ ।

    विधान अनुसार कमिटीमा तीन जना सचिव रहन्छन् । सात सदस्यका लागि हुने निर्वाचनमा ८ जनाको उमेदवारी दर्ता भएको छ ।

  • मेसी, सुवारेज र डेम्बेले बीनै शक्तिशाली बार्सिलोना, विपक्षीको पोष्टमा ५ गोल

    मेसी, सुवारेज र डेम्बेले बीनै शक्तिशाली बार्सिलोना, विपक्षीको पोष्टमा ५ गोल

    स्पेन । स्पेनिस लालिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले प्रभावशाली खेल प्रदर्शन गरेको छ । लीगमा पहिलो खेल हारेको बार्सिलोनाले दोस्रो खेलमा भने रियल बेट्टिसविरुद्ध ५ -२ गोलको जीत निकालेको हो ।

    यो खेलमा प्रभावशाली तीन खेलाडी मेसी, सुवारेज र डेम्बेले मैदानमा उत्रिएका थिएनन् ।

    मूख्य खेडालीले सिजनको शुरुमै चोट बोकेपछि बार्सिलोना दवावमा थियो ।

    तर, यसै सिजन एथलेटिको म्याड्रिडबाट बार्सिलोना भित्रिएका एन्टोनी ग्रिजम्यान चम्किएपछि बार्सिलोनाले प्रभावशाली जीत निकाल्न सफल भयो ।

    ग्रिजम्यानले २ गोल गरे भने एक गोलका लागि सटक पास निकाले । कार्लेस पेरेज, जोर्डी अल्बा र अर्टुरो भिडालको नाममा १–१ गोल रह्यो ।

    रियल बेट्टिसका नाबिल फेकिर र लोरेन्जो जिसस मोरन ग्रासियाले गोल गरे ।

    लालिगामा अर्को प्रभावशाली टोली रियल म्याड्रिड बराबरीमा रोकिएको छ भने एथलेटिको म्याड्रिड जीत हात पारेको छ ।

    एजेन्सी

  • १३४ वर्ष पुरानो क्लवले त्याग्यो फुटबल

    १३४ वर्ष पुरानो क्लवले त्याग्यो फुटबल

    म्यान्चेस्टर । इंग्ल्यान्ड फूटबल र क्रिकेटको राजा मानिन्छ । यी दुई खेललाई विश्वव्यापी बनाउने यस देशले ठूलो भूमिका खेलेको छ ।

    खासगरी राज्य बिस्तारका क्रममा इंग्ल्याण्डले जहा जहा राज्य गर्यो, त्यहा त्यहा यी खेलको पनि समानान्तर रुपमा बिस्तार गरेको पाइन्छ ।

    फूटबलको ठूलो क्रेज रहेको मुलुकमा पनि उचित व्यवस्थापन भएन भने क्लवहरु संकटमा स्वाभाविक हो ।

    १३४ वर्ष पुरानो ऐतिहासिक पृष्ठभूमि बोकेको फुटबल क्लब बरी शनिबारबाट बन्द भएको घोषणा गरिनु त्यसको एक उदाहरण हो ।

    यस क्लवले अब यस देशमा फुटबल लिगमा भाग नलिने भएको छ । १८८५ मा स्थापना भएको यो क्लव पछिल्ला केही वर्षयता निरन्तर आर्थिक संकटमा थियो ।

    क्लबका पछिल्ला ६ वटा खेलमा समेत भाग लिन नसकेर रद्द गर्न परेको थियो ।

    नयाँ खेलाडी अनुवन्धन गर्न असफल यस टीमले पुराना खेलाडाीलाई पनि सम्झौता अनुसार तलव दिन नसक्दा समस्यामा जुधिरहेको थियो ।

    क्लवलाई किन्न केही धनाढ्यले चासो देखाएपनि व्यवस्थापनले बरु बिक्रि गर्न उपयुक्त ठान्यो । क्लव बन्द भएको घोषणा गरिरहँदा भने क्लवका समर्थकले नाराबाजी गरेका थिए ।

    म्यानचेस्टरस्थित गिग लेन बरी फुटबल क्लबको घरेलु मैदान रहेको छ ।

    एजेन्सी

  • अस्टिनमा खुल्ला भलिवल प्रतियोगिता आयोजना

    अस्टिनमा खुल्ला भलिवल प्रतियोगिता आयोजना

    विश्व न्युज संवाददाता
    अस्टिन(अमेरिका) ।
    टेक्ससको अस्टिनमा भलिवल प्रतियोगिता हुने भएको छ । आउदो सेप्टेम्बर १ का दिन खुल्ला प्रथम गुर्खाज भलिवल प्रतियोगिता हुने भएको हो । प्रथम हुने समूहलाई २ हजार र उपविजेता लाई १ हजार २ सय अमेरिकी डलर नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक अस्टिन नेपलिज भलिवल समुहका एक सदस्य रेशम गुरुङले जानकारी दिए । उनका अनुसार सहभागि हुन चाहने समूहले अगस्त २५ सम्म दर्ता गर्न सकिने र दर्ताका लागि ३ सय ५० डलर लाग्नेछ ।

  • ओलम्पिक स्टार तेक्वान्दोको वार्षिकोत्सक तथा बेष्ट टेष्ट

    ओलम्पिक स्टार तेक्वान्दोको वार्षिकोत्सक तथा बेष्ट टेष्ट

    विश्व न्यूज संवाददाता
    टेक्सस (अमेरिका) ।
    टेक्ससको गारल्याण्डमा संचालित ओलम्पिक स्टार ताइक्वान्दो सेन्टरमा बेल्ट टेष्ट तथा कला प्रर्दशनी सम्पन्न भएको छ । नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा पदकधारी रामशरण चौधरीले संचालन गरिरहेको सेन्टरमा २ सय भन्दा बढीले प्रशिक्षण लिइरहेका छन् ।
    सन् २०१८ मा खुलेको सेन्टरको पहिलो वार्षिकोत्सवको अवसरसमेत पारेर गरिएको वेल्ट टेष्टमा ८५ जना प्रशिक्षार्थीले वेल्ट अप ग्रेट गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि नेपालको तेक्वान्दो खेलका पूर्व मुख्य प्रशिक्षक तथा मास्टर डन सन्तोष प्रधानले ताइक्वान्दो खेल पदक जित्ने अधिक संभावना भएको खेल हुनुका साथैं शारिरिक तन्दुरुस्तीका लागि समेत प्रभावकारी खेल रहेको बताए ।
    युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशनका अध्यक्ष समेत रहेका प्रधानले तेक्वान्दो खेलको विकासमा सेन्टर र डोजाङ्गहरुको भूमिका प्रशंसनीय रहेको जनाए । कार्यक्रममा नेपालको तर्फवाट अन्तराष्ट्रिय खेलमा सहभागिता जनाइसकेका पदकधारी पूर्व खेलाडी तथा इन्ष्ट्रक्चर रुपा स्याङ्गतान तथा गणेश थापाको समेत सहभागिता रहेको थियो ।

  • ला-लीगामा बार्सिलोनाको पहिलो खेल आज, दशकपछि मेसी अनुपस्थित

    ला-लीगामा बार्सिलोनाको पहिलो खेल आज, दशकपछि मेसी अनुपस्थित

    स्पेन । बार्सिलोनाका लागि लियोनल मेसी कति महत्वपूर्ण खेलाडी हुन भन्ने तथ्य यसबाट पुष्टी हुन्छ कि उनी पछिल्लो १० वर्षयता हरेक सिजनको ला-लीगाको उद्घाटन खेलका महत्वपूर्ण सदस्य रहे ।

    तर, सन् २०१९ २० सिजनको पहिलो खेल भने स्टार फरवार्ड लियोनल मेसीले गुमाउँदैछन् । खुट्टाको चोटका कारण उनी पहिलो खेलमा अनुपस्थित हुने भएका हुन् ।

    संचारमाध्यमहरुका अनुसार लालिगाको पहिलो खेलमा १० वर्षपछि मेसीलाई मैदानमा देखिने छैन । बार्सिलोनाले नेपाली समय अनुसार शनिबार बिहान १२ः४५ मा बिल्वाओविरुद्ध खेल्दैछ ।

    साविक विजेता बार्सिलोना पहिलो खेलमा स्पष्ट जीत चाहन्छ र सिजनको सुखद शुरुवात गर्न चाहन्छ । तर, कप्तानको अनुपस्थिति उसका लागि कति महंगो पर्नेछ त्यो भने रोचक विषय हो ।

    बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डे पहिलो खेलमा टोलीले मेसीका लागि कुनै जोमिख उठाउन नचाहेको स्पष्ट पारेका छन् ।

    एथलेटीको म्याड्रिडबाट यसै सिजन बार्सिलोना गएका एन्टोनी ग्रिजम्यान बार्सिलोनाका लागि महत्वपूर्ण सावित हुन सक्नेछन् ।

    किनकी उनी मेसीको स्थानमा खेल्ने पक्का छ । उनको साथमा लुइज सुवारेज, उसमान डेम्बेले र फिलिप कान्टिन्होमध्ये कुनै दुई खेलाडीले बार्सिलोनाको अग्रपंक्ती सम्हाल्ने मौका पाउने छन् । खेल विल्बाओको मैदानमा हुनेछ ।

    एजेन्सी

  • राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप चितवनमा हुने

    राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप चितवनमा हुने

     

    काठमाण्डौं ।
    अमेरिकाको पोर्टल्याण्डमा केन्द्रीय कार्यालय रहेको इन्टरनेशनल ओपन फ्रेन्डसिप च्याम्पियन सिपको सहयोगमा चितवनमा तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
    रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराहा, न्यू स्टार र सौराह डोजाङ्गको संयुक्त आयोजनामा आगामी कार्तिक १ र २ गते रत्ननगर नगरपालिकामा प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएका छन् । प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरी ४६ तौल समुहमा प्रतिस्पर्धा हुने छ । साथै पुम्सेतर्फ पुरुषको ५ र महिलाको ४ गरि ९ विधामा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ६५ स्वर्ण, ६५ रजत र १३० काश्य पदक गरी २६० पदकका लागि प्रतिष्पर्धा हुनेछ ।

    तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपमा सिनियर पुरुष र महिलाको ६/६ तौल समुहको प्रतिस्पर्धामा प्रथम हुने खेलाडीहरुलाई भने पुन: छनोट गरी त्यस मध्येवाट सर्वोत्कृष्ट हुने ३ जना पुरुष र २ जना महिला तेक्वान्दो खेलाडीलाई जनही नगद १ लाख पुरस्कार प्रदान गरिने छ । ती पाँच जना खेलाडी अमेरिकाको इस्टन मिसिगन युनिभर्षिटीमा सन् २०२० को मे १ र २ मा हुने १३ औं अन्तर्रा्ष्टि्रय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि समेत छनोट हुने आयोजकले जनाएका छन् ।

  • सागमा भारतको सहभागिता निश्चित

    सागमा भारतको सहभागिता निश्चित

    काठमाडौं । भारतले दक्षिण एसियाली खेलकुद (साग)मा सहभागिता निश्चित गरेको छ । आगामी १५ देखि २४ मंसिरसम्म काठमाडौंमा साग आयोजना हुँदैछ ।

    प्रतियोगिताका लागि भारतले सहभागिता सुनिश्चित गरेको हो । सागमा सहभागि हुने प्रत्येक देशले आफ्नो सहभागिता निश्चित रहेको पत्र आयोजक देशलाई पठाउनु पर्छ ।

    नेपाल ओलम्पिक कमिटिका अनुसार भारले कन्फरमेसन लेटर पठाएर आफ्नो सहभागिता निश्चित गरेको हो । भारत र पाकिस्तानको हकमा जम्मु कश्मीरको विषयका कारण सहभागिताको अनिश्चितता थियो ।

    अझै पनि पाकिस्तानको सहभागिता भने अनिश्चित छ । किनकी कश्मीर विवादले गर्दा भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएको छ ।

    यस्तोमा भारत र पाकिस्तान एकै प्रतियोगितामा भिड्छन या भिड्दैनन् भन्ने प्रश्न रहेको छ ।

    अन्य देशले पनि सहभागिताको सुनिश्चितता दिएपछि खेलाडी, व्यवस्थापक तथा अन्य टोलीको नेपालमा व्यवस्थानको काम शुरु हुने भएको छ ।

    सार्क मुलुकहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिता नै साग हो ।

  • नेपालले ओमनमा टी-२० सिरिज खेल्ने निश्चित

    नेपालले ओमनमा टी-२० सिरिज खेल्ने निश्चित

    काठमाडौं । पाँच देशले प्रतिस्पर्धा गर्ने टी-२० इन्टरनेशनलमा नेपालले पनि प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

    नेपाललाई ओमानले निम्त दिएपनि त्यसको स्वीकृतिका लागि इन्टरनेशनल क्रिकेट काउन्सिलमा पठाइएको थियो ।

    आइसीसीले अनुमति दिएसँगै नेपालको सहभागिता सुनिश्चित भएको हो । मुलुकभित्र आधिकारिक क्रिकेट संघ आइसीसीले निलम्बन गरेपछि अहिले नेपाली क्रिकेटबारे हरेक निर्णय आइसीसीबाटै हुने गर्छ ।

    यो प्रतियोगिता टी-२० विश्वकपको ग्लोबल छनोटको तयारी स्वरुप आयोजना गरिएको हो ।

    नेपाल एसियाली छनोटबाटै बाहिरिएपनि ग्लोबल छनोटको तयारीका लागि गर्न लागिएको प्रतियोगितामा भने भाग लिने पक्का भएको हो ।

    प्रतियोगितामा नेपाल, ओमन, हङकङ, आयरल्याण्ड र नेदरल्याण्ड्स भिड्नेछन् । खेल अक्टोवर ५ देखि १० सम्म हुने आयोजक ओमानले उल्लेख गरेको छ ।

    यो सिरिज नेपालका लागि निकै महत्वपूर्ण छ । किनकी विश्वकप छनोटको होडबाट बाहिरिएपनि ग्लोबल छनोटमा पुगिसकेका बलिया टोलीसँगको खेलले नेपालको स्तर माथि उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    खेल तालीका अनुसार नेपालले ६ अक्टोवरमा हङकङ, ७ अक्टोवरमा नेदरल्याण्ड्स, ९ अक्टोवरमा आयरल्याण्ड र १० अक्टोवरमा ओमनसँग खेल्ने भएको छ ।

  • चर्चित विदेशी खेलाडीलाई वरियतामा उछिने पारसले

    चर्चित विदेशी खेलाडीलाई वरियतामा उछिने पारसले

    काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० वरीयतामा ठूलो फड्को मार्न सफल भएका छन् ।

    संसारभरका चर्चित क्रिकेटरहरुलाई पछाडी पार्दै पारस वरियताको २५ औं स्थानमा उक्लिन सफल भएका हुन् ।

    यो वरियता अलराउन्डरका लागि हो । भारतका सुरेश रैना, हार्दिक पाण्डया, अफगानिस्तानका रसिद खानजस्ता विश्वचर्चित खेलाडीलाई पारसले उछिनेका हुन् ।

    यस वरियताको पहिलो नम्बरमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन्। बंगलादेशका सकिब अलहसन दोस्रो र अफगानिस्तानका मोहमद नाबी तेस्रो स्थानमा छन्।

    अलराउन्डरमा नेपालका सोमपाल कामी ६६ स्थानमा छन्। नेपाललले विश्वकप टी-२० छनोट खेलमा कप्तान पारस खड्काले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    जसका कारण समग्र प्रदर्शनसहित उनको व्यक्तिगत वरियतामा पनि उल्लेख सुधार भएको छ । तर, नेपाल विश्वकप छनोटको अर्को चरणमा पुग्न भने असफल भएको थियो ।

  • विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

    विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

    काठमाडौं । नेपालले विश्वकप फुटबल २०२२ का लागि छनोट प्रतियोगिता खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ ।

    नेपालले विश्वकप छनोटको दोस्रो चरणका लागि तयार तिब्र बनाएको छ । नेपालको मूख्य प्रशिक्षण अहिले योहान कालिनले सम्हालेका छन् ।

    उनले पहिलो चरणमा ३१ जना खेलाडी राखेर प्रारम्भीक टोली घोषणा गरेका हुन् । उनले सुरुआती प्रशिक्षणमा ३६ खेलाडीलाई प्रशिक्षणमा बोलाइएका थिए ।

    पहिलो चरणको घोषणाबाट पाँच जना खेलाडी बाहिरिएका छन् । नेपाल फूटबल संघ (एन्फा)का अनुसार पहिलो चरणको प्रशिक्षणबाट कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्दाम्बे, अमित तामाङ र मिक्चेन तामाङ बाहिरिएका छन् ।

    विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ । उसले कुबेत, चाइनिज ताइपे, जोर्डन र अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नु पर्नेछ । नेपालको पहिलो खेल कुबेतसँग सेप्टेम्बर पाँचमा हुनेछ ।

    यस्तो छ नेपालको प्रारम्भिक टोली
    विराज महर्जन, किरण चेम्जोङ, विकेश कुथु, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, रञ्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलन न्यौपाने, अजित भण्डारी, अविषेक रिजाल, रवि सिलवाल, सरोज दाहाल, तेज तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रवि पासवान, अनन्त तामाङ, सुनिल बल, सुवास गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे, त्रिदेव गुरुङ, भरत खवास, विमल घर्तिमगर, रोहित चन्द ।

  • नेपालमा खेलाडीको सामाजिक र स्वास्थ्य सुरक्षाको ग्यारेण्टी छैन

    नेपालमा खेलाडीको सामाजिक र स्वास्थ्य सुरक्षाको ग्यारेण्टी छैन

    खेलाडी/प्रशिक्षक : जनक सिंह खड्का

    न्यूयोर्क शहरमा पात्र र चरित्र अनेक भेटिन्छन् । सबै आप्रबासीको आ-आफ्नो कथा हुन्छ । कतिपय कथाहरु व्यक्तिगत दायरामा सकिन्छन् । कतिपय कथाहरु समाज र समुदायसँग सम्वन्ध राखेर अघि बढेका हुन्छन् । अझ भनौं देशसँग पनि सरोकार राख्ने व्यवसायिक खेलाडीको कथा । व्यवसायिक यात्रा जिवनयात्रा भन्दा पृथक चिज हो । यद्यपी व्यवसाय नै जिवनको अंश बनाईसकेकालाई भने व्यवसायिक जिवन दैनिकी जस्तै हुँदो रहेछ । सन्दर्भ; लामो व्यवसायिक खेलाडीको जिवन बिताईसकेका अन्तर्राष्ट्रिय नेपाली कराते खलाडी तथा प्रशिक्षक जनक सिंह खड्काको । धेरैजसो खेलाडीहरु व्यवसायिक खेल उर्जाशिल उमेर खेलिसकेपछि सन्यास लिन्छन् । केही अभ्यासलाई निरन्तरता दिन्छन् । कमै खेलाडीले मात्र भेट्रान भन्नुपर्ने उमेरमा पनि खेलाडीकै रुपमा खेलिरहन्छन् । अनि अत्यन्तै कम खेलाडीले मात्र आफू खल्ने, अरुलाई प्रशिक्षण दिने र निर्णायकको रुपमा रेफ्रीको भूमिका पनि निर्वाह गर्दछन् । यी सबै कलेवरहरु पुरा गर्दै सकृय भई निरन्तरता दिईरहेका व्यक्ति हुन् – खेलाडी खड्का । उनै चर्चित खेलाडीसँग संघर्ष, सफलता र चुनौतीका सम्वन्धमा विश्वसन्देश साप्ताहिकका लागि योगेश आदीले गरेको कुराकानी ।

    – जनकजी अमेरिकामा पनि हाम्रो भेट भयो, व्यस्त शहरको अमेरिकन जिन्दगी कस्तो बित्दैछ ?

    मेरो लागि व्यस्तता नै जिन्दगी भईसक्यो मित्र । धनगढीको स्कूले जिवनदेखि नै खेल्न शुरु गरें । काठमाडौंबाट कलेज ग्राजुएट हुँदासम्म पनि बिध्यार्थी र खेलाडी नै भएर बाँचे । खेल्ने खेलाउने काम भाको मान्छे म । व्यस्तता त आदत भैसक्यो ।

    – घरपरिवार बालबच्चा भाको मान्छेको समय खेलकुदमै बित्दा घरव्यवहारमा असर पर्दैन ?

    मैले नेपालमा व्यवसायिक खेलकुद गरेकोले मेरो जिवनजिबिका नै खेलकुदबाट भयो । मैले आफ्नो बेष्ट दिएँ । कराते नै दैनिकी जस्तो भएकोले घरपरिवारमा सबै एड्जष्ट भएरै बित्यो ।

    – व्यवसायिक भन्नाले कस्तो ? के के गर्नु भयो र ?

    म नेपाल कराते फेडेरेशन (एनकेएफ) को पत्र थामेको खेलाडी तथा कोच हुँ । नेपाल स्पोर्टस् क्लबको सचिव भएर लामो समय काम गरें । मेरो आफ्नै कराते च्याम्पियन्स डोजो एण्ड फिटनेस क्लब पनि छ । जसको म प्रशिक्षक र प्रेसिडेण्ड हुँ । अझ भन्नै पर्दा म मेरिडियन हेल्थ केयर सेन्टर, नेपालको प्रोमोशनल मोडल र ब्राण्ड एम्बेस्डर पनि हुँ । यसर्थ मैले आफूलाई व्यवसायिक नै भन्न रुचाउँछु ।

    – खेलेर खान पुग्न अवस्थामा नेपाल पुगेको हो र ?

    सामान्यतया पुग्दैन । तर आजकल निजी बिद्यालय तथा हुनेखानेले बालबच्चालाई अतिरिक्त कृयाकलाप गराउने प्रचलन बनेकोले केही सहयोग भने पुगेको छ । थप हामीले आफ्नै प्रशिक्षण स्कुल तथा फिटनेस स्कुलहरु पनि सञ्चालन गर्ने गर्छौ ।

    – तपाईको क्लब र कराते स्कुललाई अमेरिकामा पनि बिस्तार गर्नु भएको छ ? 

    हाललाई छैन तर सोचमा छु । यद्यपी खेलाडीको रुपमा पनि पटक पटक खेलेको छु । म खेल्नकै लागि नेपालबाट २००८ देखि हालसम्म ८ पटक अमेरिका आईसके ।

    – नेपाली र अमेरिकाको खेलाडी एबम् खेल परिपाटी बीच केही भिन्नता पाउनु भयो ?

    धेरै फरक छ । हाम्रोमा खेलाडीको सामाजिक र स्वास्थ्य सुरक्षाको ग्यारेण्टी छैन । केही दुर्घटना होला भनेर मनमा एक किसिमको डर लिएर खेल्नु पर्छ । प्रशिक्षण पनि यहाँ व्यवस्थित, नियमित र थप अनुशासित हुँदो रहेछ ।

    – उमेरले खेल स्पिरिटलाई कत्तिको असर पार्दो रहेछ ?

    पक्कै पनि २२/२५ वर्षको युवाहरुको जस्तो स्टामिना र स्पिरिट हुँदैन तर अनुभव पक्कै हुन्छ । हामी धेरैसँग भिडिसकेको खेलाडीसँग अरूको प्लान र टेक्निक बुझ्ने कला पनि बिकास भएको हुन्छ । तँपाईले ओभर ३५ का खेलाडीहरुले कयौं मार्शल आर्ट टाईटल जितेको उदाहरणहरु पाउनु हुन्छ ।

    – खेलाडीलाई देशले के दिए हुन्थ्यो जस्तो लाग्छ ?

    सानो ईभेण्ट मात्र खेल्ने पनि खेलाडी । चेस, स्नुकर, कबड्डीदेखि फुटबल खेल्ने पनि खेलाडी । खेलाडी परिभाषा फराकिलो छ । यसर्थ राज्यले सबै खेलाडीलाई सेवा सुबिधा दिनुपर्छ म भन्दिन । तर योगदान अनुसार राष्ट्रियस्तरमा खेलकुदको बिकास र बिस्तारको लागि लागिपर्नेहरुलाई भने सहुलियत दिए हुन्थ्यो जस्तो लाग्छ ।

    – समयको लागि धन्यबाद । अमेरिकामा पनि तँपाईको क्लब देख्ने पाऊ है ?

    धन्यबाद । मेरो बिचार राख्ने मौका दिनुभो ।पक्कैपनि भविष्यमा अमेरिकामा पनि केही गर्नेछु ।

  • मेसीलाई ३ महिनाको प्रतिवन्ध

    मेसीलाई ३ महिनाको प्रतिवन्ध

    दक्षिण अमेरिकी फुटबल प्रशासकीय निकाय दक्षिण अमेरिकी फुटबल संंघले विश्वचर्चित खेलाडी लियोनल मेसीमाथि ३ महिनाको प्रतिवन्ध लगाएको छ ।

    साथै उनीमाथि ५० हजार अमेरिकी डलर जरिवानासमेत तोकिएको छ । अर्जेन्टाइन कप्तान मेसीले कोपा अमेरिका फूटबलको सेमिफाइनलमा ब्राजिलसँगको खेलपछि प्रशासकीय निकाय नै ब्राजिललाई जिताउन लागेको टिप्पणी गरेका थिए ।

    प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा बीना कारण रातो कार्ड खाएपछि मेसी झनै आक्रामक बनेका थिए ।

    सेमिफाइनलमा अर्जेन्टिना र चिली भिडेका थिए । बार्सिलोनाका समेत कप्तान मेसीले अन्तरराष्टिय फूटबलमा प्रतिवन्ध भोगे पनि क्लव फूलबल भने जारी राख्नेछन् ।

    क्लवमा अब नयाँ सिजन शुरु हुँदैछ । मेसीले आफ्नो प्रतिवन्ध विरुद्ध अपिल गर्न सक्नेछन् । सामान्यतया राम्रो छाप पार्न सफल विश्वस्तरीय खेलाडीको अपिल पुनः रिभ्यू हुने सम्भावना रहन्छ ।

    अर्जेण्टिनाले सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । मेसीलाई तीन महिले प्रतिवन्ध सदर भए उनी यी खेल गुमाउनेछन् ।

    एजेन्सी

  • रंगशाला अभावले विश्वकप छनोटका देशभित्र हुने खेल गुम्दै

    रंगशाला अभावले विश्वकप छनोटका देशभित्र हुने खेल गुम्दै

    काठमाडौं । रंगशाला तयार नहुँदा विश्वकप छनोट अन्तर्गतका खेल नेपाली भूमिमा नहुने भएको छ ।

    विश्वकप छनोट २०२२ का लागि हुन छनोट अन्तर्गत प्रारम्भका ५ खेल नेपालमा आयोजना नहुने भएको छ ।

    नेपाल फुटबल संघ (एन्फा)ले ५ खेल नेपालबाहिर नै खेल्ने निर्णय गर्दै त्यसको व्यवस्था मिलाउन एसियाली फुटबल महासंघलाई आग्रह गर्ने निर्णय गरेको छ ।

    होम एण्ड अवेका आधारमा नेपालले कूल ८ खेल खेल्नेछ । त्यसमध्ये एक खेल अवे मै खेल्ने निर्णय गरेको हो । यसबाट कुवेतका दुबै खेल उसको घरेलु मैदानमा हुने भएको छ ।

    नेपालले १९ भदौमा कुवेत र २४ भदौमा चाइनिज ताइपेईसँग उनीहरुकै घरेलु मैदानमा हुदैछ ।

    ३ मंसिर मा कुवेतसँग दोस्रो खेल तय भएको छ । यस पटक विश्वकप छनोटमा नेपालले अष्ट्रेलियासँग खेल्नेछ ।

  • सन्दिप र सोमपाल क्यानडा पुगे

    सन्दिप र सोमपाल क्यानडा पुगे

    क्यानडा । नेपाली क्रिकेट टोलीका सदस्यद्वय सन्दीप लामिछाने र सोमपाल कामी ग्लोबल क्यानडा टी-२० मा भाग लिन क्यानडा पुगेका छन् । उनीहरु आइतबार नै क्यानडा लागेका हुन् ।

    यस पटक पहिलो चोटी सोमपाल कामी विदेशी लीगका लागि छनोट भएका हुन् । यी दुई खेलाडी आइसीसी टि–२० विश्वकपको एसिया छनौटपछि सिंगापुरबाट सिधै क्यानडा गएका हुन् ।

    यस सिजनका लागि सन्दीपलाई टोरोन्टो नेशनल्सले ६० हजार अमेरिकी डलर र सोमपाललाई विनिपेग हक्सले ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेका छन् ।

    यी दुबै खेलाडी नेपाली टोलीका प्रभावशाली खेलाडी हुने । मंगलबारबाट टीममा आवद्ध हुने खेलाडीहरु सन्दीप र सोमपालको टोली भने सोमबार नै भिड्दैछन् ।

    तर, भर्खरै क्यानडा पुगेका दुई खेलाडी भने आराम गर्नेछन् । उनीहरु मेन्चमा बसेर क्रिकेट हेर्ने र अर्को खेलबाट टोलीको हिस्सामा सामेल हुनेछन् । अहिलेसम्म दुबै टोलीले २\२ खेल खेलिसकेका छन ।

  • ६ वर्षपछि विश्वकप खेल्ने नेपालको सपना सकियो

    ६ वर्षपछि विश्वकप खेल्ने नेपालको सपना सकियो

    काठमाडौं । आइसिसी टी-२० विश्वकप छनोट एसिया फाइनलको विजेता बन्दै आगामी अक्टोबरमा युएईमा आयोजना हुने विश्वकप छनोट पुग्ने नेपालको सपनामा तुषारापात भएको छ ।

    सिंगापुरसँग आइतबार भएको निर्णायक खेलमा नेपाल ८२ रनले पराजित भयो ।

    नेपाललाई हराएको सिंगापुर भने समूहको शीर्ष स्थानमा रह्यो र विश्वकप छनोटको ग्लोवल छनोटको टिकट पक्का गर्यो ।

    नेपाल कतार र सिंगापुरजस्ता तुलनात्मक रुपमा कमजोरी टोलीभन्दा पनि तल अर्थातः तेस्रो स्थानमा रहँदै यात्रा टुंग्याउन बाध्य भयो ।

    नेपालले आइतबार आफ्नो क्षमता अनुसार कुनै पनि साइडमा राम्रो प्रदर्शन गर्न सकेन । टस हारेर पहिले फिल्डमा उत्रिएको नेपालका बलरलाई सिंगापुरका ब्याट्सम्यानले नराम्रोसँग चुटे ।

    निर्धारित २० ओभरमा सिंगापुरले कूल १ सय ९२ रन जो्डन सक्यो । जवाफी लक्ष्य भेटाउन मैदानमा उत्रिएएको नेपाल मात्र १ सय ९ रनमा समेटियो ।

    नेपालका सबै खेलाडीले बिर्सनलायक प्रदर्शन गरे । यससँगै नेपालको ६ वर्षपछि पुनः विश्वकप खेल्ने सपना समाप्त भएको छ ।

    यसअघि नेपालले सन् २०१४ को टी २० विश्वकप खेलेको थियो । त्यसपछि भने नेपालले निरन्तर उत्कृष्ट प्रदर्शन गरेपनि ठूलो प्रतियोगितामा चुक्दै आएको छ ।

    अहिले नेपालसँग एक दिवसीय मान्यता समेत रहेको छ । खेलमा पराजित भएपछि कप्तान पारस खड्काले समर्थकसँग माफि मागेका छन् ।

    यद्दपी यस प्रतियोगितामा पारस खड्का र ज्ञानेन्द्र मल्लले उत्कृष्ट खेल प्रदर्शन गरे ।

    उनीहरु प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदान छिरेका थिए । यसपटक बलरहरुले भने उत्कष्ट प्रदर्शन गर्न सकेनन् । किनकी नेपालको बलियो पक्ष नै बलर हुन् ।

  • कुवेतमाथि नेपालको सहज जीत, ग्लोवल छनोटको सम्भावना प्रवल

    कुवेतमाथि नेपालको सहज जीत, ग्लोवल छनोटको सम्भावना प्रवल

    काठमाडौं । आइसीसी म्यान्स टी२० वल्र्डकप एसिया रिजन फाइनलमा कुवेतमाथि नेपालले ७ विकेटको सहज जीत हात पारेको छ ।

    शनिबार सिंगापुरमा सम्पन्न खेलमा कप्तान पारस खड्काको प्रेरणादायी प्रदर्शनमा नेपाल विजयी भएको हो ।

    टस जितेर फिल्डङ गरेको नेपालले कुवेतबाट १ सय ४२ रनको लक्ष्य प्राप्त गर्यो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३ विकेटको विकेटको क्षतिमा ४.२ ओभर अगाडी नै लक्ष्य भेट्यायो ।

    नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६८ रन बनाए । उनले मात्र ४२ बलको सामना गरेका थिए ।

    उपकप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा १९ रन जोडे । शरद भेष्वाकरले ३८ रन जोडे । विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा छनोट हुन अब नेपाल एक खेलमा विजयी भए पुग्छ ।

    नेपाल र आयोजक सिंगापुरबीच आइतबार निर्णायक खेल हुनेछ । पहिले ब्याटिङ गरेको कुवेतले ९ विकेटको क्षतिमा मात्र १ सय ४१ रन जोड्न सक्यो ।

    कुवेतलाई सस्तैमा रोक्ने क्रममा नेपालका स्पीनर संन्दिप लामिछाने र बसन्त रेग्मीले ३्३ विकेट लिए । करण केसीले २ र अविनास बोहोराले १ विकेट लिए । कुवेतका मोहम्मद कासिफले ४९ रन जोडे ।

  • विश्वकप खेल्ने नेपालको सम्भावना जिवितै

    विश्वकप खेल्ने नेपालको सम्भावना जिवितै

    काठमाडौं । सन् २०२० मा आयोजना हुने आइसीसी टी २० विश्वकपका लागि छनोट प्रतियोगिताको एसिया फाइनलमा नेपालले मलेसियालाई पराजित गरेको छ ।

    प्रतियोगिताको पहिलो खेल कतारसँग हारेको नेपालले दोस्रो खेलमा मलेसियालाई हराएको हो ।

    बुधबार सिंगापुरमा सम्पन्न खेल पानीले प्रभावित भएको थियो । २० ओभरको खेललाई ९ ओभरमा झारेर खेलाइएको थियो ।

    कप्तान ज्ञानेन्द्र मल्ल चम्किएपछि नेपालले आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

    ज्ञानेन्द्रको २० बलमै अर्धशतक बनाउँदै विश्वकपको सम्भावना जिवित नै राखेका हुन् ।

    नियमित कप्तान पारस खड्का घाइते भएपछि उनलाई टोलीको जिम्मेवारी दिइएको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ९ ओभरमा ८३ रन बनाउँदा रोक्न सक्यो ।

    त्यतिन्जेल मलेसियाको ७ विकेट गुमेको थियो । ८४ रनको लक्ष्य नेपालले ८ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्यो ।

    ज्ञानेन्द्र र प्रदिप ऐरी बुधबार प्रारम्भ मै मैदानमा उत्रिए । यी दुई खेलाडी बीच पहिलो विकेटका लागि ६६ रनको साझेदारी भयो ।

    यसले नेपालको जीतको आधार खडा भएको थियो । अब नेपालले तेस्रो खेल कुवेतसँग शनिबार खेल्नेछ ।

    ५ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकप छनोटको अर्को चरणमा पुग्नेछ ।

  • कतारसँग हारेको नेपाललाई  विश्वकप छनोट कठिन

    कतारसँग हारेको नेपाललाई  विश्वकप छनोट कठिन

    काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ।

    सिंगापुरको इन्डियन ग्राउन्डमा मंगलबार बिहान सम्पन्न खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र १२२ रन बनाउन सक्यो ।

    १२३ रनको विजयी लक्ष्य कतारले १९ दशमलव २ बलमा भेट्टायो। कतारलाई जित दिलाउन इनाम उल हकले विष्फोटक पाली खेल्दै ६ चौकाको मदतले ४१ रन बनाए।

    त्यस्तै करिम खानले २२ रन बनाउँदा जाहिर इब्राहिमले १२ रन बनाए। नेपालका लागि सन्दिप लामिछानेले तिन विकेट लिए भने करण केसीले १ विकेट लिए।

    कतार विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने नेपालको निर्णय गलत सावित भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित समयमा सबै विकेट गुमाउँदै मात्र १ सय २२ रन जोड्न सक्यो ।

    उत्कृष्ट शुरुवात गरेको नेपालले त्यसलाई निरन्तरता दिन नसक्दा लगातार विकेट गुमायो ।

    अन्तिम बलमा अन्तिम विकेट गुमाएको नेपालले सबै विकेट कतारका नाममा सुम्पिएको थियो ।

    नेपालका लागि दीपेन्द्रसिह ऐरिले सर्वाधिक ३४ रन जोडे । पारस खड्का र ज्ञानेन्द्र मल्लले २८ र २३ रनको योगदान दिए ।

    सोमपाल कामीले ११ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    कतारका लागि इकवाल हुसेनले अन्तिम ओभरमा तीन विकेट झारे । नेपालले दोस्रो खेल मलेसियासँग खेल्ने छ ।

    अबका सबै खेल नेपालका लागि निर्णायक सरह हो । किनकी एक खेल हार्नासाथ पनि विश्वकप छनोटमा अर्को चरण कठिन हुनेछ ।

    प्रतियोगितामा ५ टोलीले भाग लिएका छन् । शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा पुग्नेछ ।

  • दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई तीन स्वर्ण

    दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई तीन स्वर्ण

    काठमाडौं । १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले प्रभावशाली प्रदर्शन गरेको छ ।

    नेपाललाई शनिबार दुई स्वर्ण प्राप्त भयो । शुक्रबार एक स्वर्ण हात पारेको नेपालको खातामा शनिबार पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जिते ।

    शुक्रबार समीर श्रेष्ठले पुरूष ६५ केजीमा स्वर्ण हात पारेका थिए ।

    पुरुष एथलेटिक फिजिकमा भारतका नकुल कौशलले रजत र माल्दिभ्सका फतुल्लाह मोहम्मदले कास्य जिते। महिलाको मोडल फिजिकमा नेपाली पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कास्य हात पारिन् ।

    पुरुषको ८० केजी समूहमा भएको प्रतिस्पर्धामा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतिले कास्य जिते।

    जुनियर पुरुषको समूहमा नेपाल तेस्रो भयो । पुरुष एथलिट फिजिकको १६७ सेमीसम्म अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जितेका थिए भने नेपालका निशान्तमान प्रधानले रजत र माल्दिभ्सका अहमद फजिलले कास्य पदक जिते ।

    पुरुष स्पोर्ट्स फिजिकमा नेपालका प्रमोद राई दोस्रो भए । टिममा भने अफगानिस्तान पहिलो, नेपाल दोस्रो र भारतले तेस्रो स्थान जीतेका हुन् । प्रतियोगिता काठमाडौंमा जारी छ । आइतबार पनि विभिन्न स्पर्धा हुने आयोजकले बताएको छ ।