Category: खेलकुद

  • जिम्वावे क्रिकेट आइसीसीको निलम्बनमा

    जिम्वावे क्रिकेट आइसीसीको निलम्बनमा

    लण्डन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जिम्बावे क्रिकेटलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

    राजनीतिक हस्तक्षेपको शिकार भएको जिम्बावे क्रिकेट संघलाई निम्बन गर्ने निर्णय आइसीसीले गरेको हो । लण्डनमा सम्पन्न आईसीसीको बोर्ड बैठकले जिम्बावेलाई दिँदै आएको सबै प्रकारका अनुदान समेत रोक्ने निर्णय गरेको छ ।

    निलम्बनमा परेसँगै उक्त मुलुकले अब आइसीसीद्धारा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन समेत पाउने छैन ।

    राजनीतिले खेललाई प्रभावमा पार्न थालेसँगै उक्त मुलुकमाथि प्रतिवन्ध लगाउने निष्कर्षमा पुगेको आईसीसीका अध्यक्ष शशांक मनोहरले बताएका छन् ।

    आइसीसीका विधानसँग बाझिने गरी भएका गतिविधिमाथि नजर अन्दाज गर्न नसकिने उनको भनाई छ ।

    जिम्बावेको खेलकुद तथा मनोरञ्जन आयोगले क्रिकेट संघ निलम्बन गर्दै तदर्थ समिति बनाएपछि विवाद चुलिएको हो ।

    आईसीसीले जिम्बावे क्रिकेटलाई तीन समहिनाको समय दिएको छ । यसबीचमा सुधार भए आगामी अक्टोवरमा हुने बैठकले निर्णय पुनरावलोकन गर्न सक्ने प्रावधान रहेको छ ।

    जिम्बावे टेस्ट समेत खेलिसकेको शक्तिशाली देश हो । यो देशले विश्वकप क्रिकेटसमेत खेलिसकेको छ ।

    तर, राजनीतिक हस्तक्षेपका कारण संघ भने कमजोर बनेसँगै अहिले उक्त देशको क्रिकेटको स्तर पनि खस्किएको छ ।

    एजेन्सी

  • धाविका बिवोटमाथि ८ वर्षको प्रतिवन्ध

    धाविका बिवोटमाथि ८ वर्षको प्रतिवन्ध

    केन्या । केन्या एथलेक्सिका विभिन्न विधामा एक सफल मुलुक हो । खासगरी दौडका विभिन्न इभेन्टमा यस मुलुकले ठूला प्रतियोगिताबाट थुप्रै पदक भित्राइसकेको छ ।

    तर, खेलाडीहरु भने बेला बेला विवादमा तानिन्छन् । त्यो पनि डोपिङ टेस्ट प्रकरणमा । चर्चित धाविका सलोम बिवोट ८ वर्षको प्रतिबन्धमा परेकी छिने ।

    डोपिङ टेस्टमा असफल भएपछि उनीमाथि प्रतिवन्ध लगाइएको हो । उनी दोस्रो पटकको परीक्षणमा पनि असफल भएकी हुन् ।

    एथ्लेटिक्स इन्टीग्रिटी यूनिटका अनुसार ३६ वर्षीया यी धाविकाले साओ पाउलो अन्तर्राष्ट्रिय म्याराथनमा प्रतिबन्धित एनाबोलिक स्टेरायड सेवन गरर दौडिएकी थिइन् ।

    यसअघि उनी २०१२ मा डोपिङ परीक्षणमा असफल भएकी थिइन् । त्यतिबेला भने उनीमाथि २ वर्षको प्रतिबन्ध लागेको थियो ।

    २ वर्षको प्रतिबन्ध पछि एथ्लेटिक्स ट्रयाकमा उत्रीएकी उनी पुनः डोपिङ परीक्षणमा असफल भएपछि ८ वर्षको प्रतिबन्ध लागेको हो ।
    एजेन्सी

  • विश्वकप छनोट फूटबल : नेपाल र अस्ट्रेलिया एकै समूहमा

    विश्वकप छनोट फूटबल : नेपाल र अस्ट्रेलिया एकै समूहमा

    काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनले आयोजना गर्ने एएफसी एसियन कप छनोटको तालीका सार्वजनिक भएको छ ।

    नेपाल प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। यस पटक नेपालले विश्वकप छनोटमा पहिलो पटक शक्तिशाली मुलुक अस्ट्रेलियासँग प्रतिष्पर्धा गर्नेछ ।

    किनकी नेपाल र अस्ट्रेलिया एकै समूहमा परेका छन् । अस्ट्रेलिया एसियाली मुलुकहरु मध्ये कै सबैभन्दा शक्तिशाली देशमध्ये हो ।

    किनकी फिफाले अस्ट्रेलियालाई एसियाली कोटाबाट विश्वकपमा छनोट गराइरहेको छ । तर, उसको फूटबल भने निकै माथिल्लो स्तरको रहेको छ ।

    बुधबार एसियाली फुटबल महासंघको मुख्यालय मलेसियाको क्वालालम्पुरमा दोस्रो चरणको प्रतिस्पर्धाका लागि भएको ‘ड्र’ मा सार्वजनिक गरियो ।

    समूह बीमा नेपालसहित अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत छन्। नेपाललाई यो चरण पार गर्न निकै मुस्किल पर्ने छ । तर, शक्तिशाली देशसँगको प्रतिस्पर्धाबाट भने नेपालले धेरै पाठ सिक्न सक्छ ।

    दोस्रो चरणमा पुगेका नेपालसहित ४० टिमलाई ८ समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहमा ५\५ टिम राखेर समूह विभाजन गरिएको हो ।

    दोस्रो चरणको प्रतिस्पर्धा आगामी ९ भदौ बाट सुरु हुनेछ। पाँच टिमले ह‍ोम एन्ड अवेको आधारमा एक वर्षको अन्तरमा ८\८ खेल खेल्ने गरी समूह विभाजन सार्वजनिक भएको हो ।

    नेपालको नयाँ प्रतिस्पर्धी अस्ट्रेलिया पाँच पटक विश्वकप खेलिसकेको टोली हो । यो टीम एसियन च्याम्पियन हो। ताइपेई र कुवेतसँग भने नेपालले मैत्रीपूर्ण प्रतिस्पर्धा गरिसकेको छ ।

  • विश्वकप विजेता इंल्याण्डको पोल्टामा ४४ करोड नगद

    विश्वकप विजेता इंल्याण्डको पोल्टामा ४४ करोड नगद

    लण्डन । दर्शनीय फाइनलमा न्यूजील्याण्डलाई पराजित गर्दै पहिलो पटक विश्वकप उपाधी घरमा राखेको इंग्ल्याण्डले पुरस्कारस्वरुप नगद ४ मिलियन डलर (झण्डै ४४ करोड रुपैयाँ) समेत हात पारेको छ ।

    इंल्याण्डलाई क्रिकेटको जननी मानिन्छ । तर, अहिलेसम्म विश्वकप उचाल्न सकेको थिएन् । आइतबार साँझ लण्डनको लर्डस् रंगशालामा सम्पन्न फाइनलमा इंङ्ल्याण्डले सुपर ओभरमा न्यूजिल्याण्डलाई पराजित गरेको हो ।

    निर्धारित ५० ओभरको खेलमा दुवै टोलीले समान २४१ रन बनाए । त्यसपछि सुपर ओभरमा गएको खेलमा पनि पुनः समान रन बन्यो । त्यसपछि विजेताको छिनोफानो बाउन्ड्रीका आधारमा गरियो ।

    २४ बाउन्ड्री प्रहार गरेको इंल्याण्ड १७ मात्र बाउन्ड्री प्रहार गरेको न्यूजिल्याण्डभन्दा अगाडी रह्यो र उपाधी जित्यो ।

    विश्व क्रिकेट काउन्सील (आईसीसी)ले एकदिवसीय विश्वकप क्रिकेटको पुरस्कार राशीका लागि मात्र १ करोड अमेरिकी डलर (झण्डै एक अर्ब १० करोड) रुपैयाँ छुट्याएको थियो ।

    त्यसमध्ये विजेता इंङ्ल्याण्डले ४४ करोड रुपैयाँ जितेको हो । न्यूजील्याण्डले २ मिलियन डलर (झण्डै २२ करोड रुपैयाँ) प्राप्त गर्यो ।

    सेमिफाइनलमा पुगेर घर फर्किएका अष्ट्रेलिया र भारतले भारतले ८ लाख डलर (झण्डै ८ करोड ८० लाख रुपैयाँ) जित्न सफल भए ।
    एजेन्सी

  • नेपाललाई टी-२० सिरिज, विश्वकप छनोट तयारीमा अब्बल

    नेपाललाई टी-२० सिरिज, विश्वकप छनोट तयारीमा अब्बल

    काठमाडौं । नेपालले मलेसियाविरुद्धको टी-२० सिरिज कब्जा गरेको छ । दुई खेलको सिरिजमा नेपाल २–० ले विजेता बनेको हो ।

    आइतबार मलेसियाको घरेलु मैदानमा सम्पन्न सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल ६ रनको रोमाञ्चक जीत हात पार्न सफल भयो ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १७३ रन बनाएको थियो । नेपालका लागि आक्रामक ब्याटिङ गर्दै विनोद भण्डारीले नटआउट ५१ रन बनाए।

    शरद भेषवाकरले ४० रन जोडे । कप्तान पारस खड्काको नाममा २३ रन रह्यो । १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सक्यो ।

    मलेसियाका लागि सिएद अजिजले अर्धशकिय इनिङ खेले पनि जित दिलाउन सकेनन्। अमिनुद्दिन राम्लीले २४ तथा वीरनदीप सिंहले २३ रन बनाए ।

    नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए। अविनाश बोहरा र कप्तान पारस खड्काको नाममा एक एक विकेट रह्यो ।

    आइसिसी वर्ल्ड टी-२० क्वालिफायर एसिया फाइनल्स खेल्न नेपाली टोली अब सिंगापुर प्रस्थान गर्ने छ । उक्त प्रतियोगिताअघि भएको सिरिजले नेपालको मनोबल बढाएको छ । सो प्रतियोगिता जुलाई २० देखि २९ सम्म सिंगापुरमा आयोजना हुँदैछ ।

  • टी-२०इन्टरनेशनल सिरिजको पहिलो खेलमा नेपाल विजयी

    टी-२०इन्टरनेशनल सिरिजको पहिलो खेलमा नेपाल विजयी

    मलेसिया । मलेसियाविरुद्ध दुई खेलको टी-20 सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ ।

    शनिबार बिहान मलेसियाको घरेलु मैदानमा सम्पन्न पहिलो खेलमा कप्तान पारस खड्का चम्किएपछि नेपालले सिरिजमा एक शून्यको अग्रता लिएको हो । नेपालले मलेसियालाई ७ विकेटले हराएको हो ।

    पहिले ब्याटिङ गरेको मलेसियाले १२८ रन जोडेको थियो । १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेटायो ।

    नेपालको जितमा कप्तान पारस खड्का सर्वाधिक ८६ रन जोडे । ५० बल सामना गरेका उनले ८ चौका र ५ छक्का प्रहार गरेका थिए ।

    उनको टी-२० करीयरकै उत्कृष्ट इनिङ हो । शरद भेषाकरले १६, ज्ञानेन्द्र मल्लले ७, प्रदीप ऐरीले ८ र रोहित कुमार पौड्यालले ५ रनको योगदान दिए । बलिङतर्फ मलेसियाका अनुवर रहमानले दुई विकेट झारे ।

    पहिले ब्याटिङ गर्ने गरेको मलेसियाले निर्धारित२० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । मलेसियाका लागि भिरन्दीपले ५७ रन बनाए ।

    बलिङतर्फ नेपालका करन केसीले तीन विकेट लिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई\दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

  • बार्सिलोना आए एन्टोनी ग्रिजम्यान

    बार्सिलोना आए एन्टोनी ग्रिजम्यान

    विश्व विजेता फ्रान्सेली स्टार एन्टोनी ग्रिजम्यान बार्सिलोनामा अनुबन्ध भएका छन् । यसअघि उनी स्पेनिस क्लब एट्लेटिको माड्रिडमा थिए ।

    उनी एथलेटिकोका सफल खेलाडी मानिन्छन् । २८ वर्षिय ग्रिजम्यान लियोनल मेसीको कप्तानीमा रहेको ला लिगा च्याम्पियन बार्सिलोनामा अनुबन्ध भएका हुन।

    बार्सिलोनाले ग्रिजम्यानको रिलिज मूल्य १२० मिलियन एट्लेटकोलाई बुझाउँदै क्लबमा अनुबन्ध गरेको हो ।

    फ्रान्सका फरवार्ड ग्रिजम्यानले सन् २००९ मा रियल सोसिडाडबाट क्लब फूटबल करियर शुरु गरेका थिए ।

    उनी सन् २०१४ मा एट्लेटिको माड्रिडमा आएका थिए । उनी पुरानो क्लवमा १ वर्षको समय अवधि बाँकि रहँदै बार्सिलोना आएका हुन् ।

    एजेन्सी

  • अमेरिकी महिला फुटबलकी स्टार मेगन ट्रफीसँगै विद्रोहको प्रतीक बनेर फर्किन्

    अमेरिकी महिला फुटबलकी स्टार मेगन ट्रफीसँगै विद्रोहको प्रतीक बनेर फर्किन्

    प्रभात भट्टराई
    अमेरिका
    जुन पहिलो साता विश्वकपमा भाग लिन युरोप उड्दा मेगन रापिनोको आम चिनारी टोलीको उपकप्तानकै रुपमा थियो । एक महिना पछि ट्रफी लिएर फर्किंदा उनी एक वैचारिक मिसालका रुपमा अवतरण गरेकी छिन् ।
    सकर भनेर चिनिने फुटबल अमेरिकामा सर्वाधिक लोकप्रिय खेल होइन । त्यसैले पनि रापिनोमा त्यसबेला त्यति धेरै नजर थिएनन् आज जति छन् । खुलेआम समलिङ्गी रापिनो समानताको लडाइँमा पनि उत्तिकै सक्रिय थिइन् जति फुटबलको मैदानमा छिन् । तेस्रो लिङ्गी एवम् अश्वेत अमेरिकीहरुलाई समान आँखाले हेरिनुपर्छ भन्ने उनको माग यो विश्वकपले हर अमेरिकीको दिमागमा पु¥याइदिएको छ । विश्वकपमा समूह चरणका खेल सकिएका थिए । अमेरिकाले आफ्नो समूहका सबै खेल जितेर उपाधि दाबेदारी प्रस्तुत गरिसकेको थियो । एक पत्रकारले रापिनोलाई सोधे– ‘उपाधि जिते त ह्वाइट हाऊस जाने होला नि खुसी मनाउन ?’
    रापिनोले सिधा जवाफ दिइन्– ‘हामीलाई त्यहाँ बोलाइन्छ भन्ने नै लाग्दैन, बोलाए पनि म जान्न ।’ आफ्नो आलोचना सुन्न नचाहने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई के चाहियो, रापिनोलाई गाली गर्दै ट्विटको वर्षा नै गरे । मेगनले मुलुक, झण्डा र ह्वाइट हाउसको अपमान गरेको आरोप ट्रम्पको थियो । साथै ह्वाइट हाउसमा बोलाउने–नबोलाउने जिम्मा आफ्नो हुने र गफ गर्नुभन्दा पहिले जितेर देखाउनसमेत मेगनलाई उनले चुनौती दिए ।
    ट्रम्पले नै यति बोलिदिएपछि उनका समर्थकलाई के चाहियो र ! मेगनलाई मुलुकप्रति घात गरेको आरोपले सामाजिक सञ्जाल नै भरियो । तर, उनी टसमस भइनन् । आफू हृदयदेखि नै अमेरिकी रहेको र ट्रम्पसँग एकाकार हुनु मात्र देशप्रेमको आधार नरहने जवाफ फर्काइन् । मैदान बाहिरको यो नोकझोंकले खेलका लागि भने उनीमाथि नयाँ जोश नै थप्न पुग्यो । समूह चरण पार गरेपछिका दुई खेलमा उनले लगातार चार गोल गरिन् । यिनै गोलको मद्दतले अमेरिका सेमिफाइनल पुग्यो । ह्यामस्ट्रिम चोटका कारण उनी सेमी खेल्न सकिनन् । जोसिएको टोलीले सेमीमा बेलायतलाई हरायो ।
    मेगन फाइनलमा फिट भएर मैदान फर्किइन् कप्तानको आर्मब्याण्ड सहित । नेदरल्याण्डमाथि अमेरिकाले सुरुदेखि नै दबाब बढाए पनि पहिलो हाफमा गोल गर्न सकेको थिएन । दोस्रो हाफ सुरु भएको १५ मिनेटमै अमेरिकाले पेनाल्टी पायो । सुट गर्ने जिम्मा मेगनकै थियो । नभन्दै प्रहारलाई गोलमा परिणत गरेर उनले टोलीलाई विश्वकप ट्रफीको नजिकतर्फ धकेलिन् । उक्त प्रहारसँगै प्रतियोगितामा उनको व्यक्तिगत गोलसंख्या छ पुग्यो । गोल्डेन बुट हत्याइन् । साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि उनी नै छनौट भइन् र गोल्डेन बल पनि आफैँले हात पारिन् । एउटै खेलाडीले व्यक्तिगत विधाका दुई प्रमुख अवार्ड जित्ने संयोग विश्व फुटबलमा विरलै हुने गर्छ, जुन मेगनले हात पारिन् ।
    यो विश्वकपमार्फत मेगनले एकातिर आलोचकहरुलाई व्यवहारबाटै जवाफ दिएकी छिन् भने अर्कोतिर विद्रोहको शक्तिशाली प्रतीकको रुपमा आफूलाई थप अग्ल्याउन सफल भएकी छिन् । आफू समानताको लडाइँमा रहेको उद्घोष त उनले पटक–पटक गरिसकेकी थिइन् । तर, यो विश्वकपले उनको लडाइँलाई आम बनाइदिएको छ ।
    गत मार्चमा अमेरिकी महिला सकर टोलीले पुरुषहरुको समान तलबका लागि सकर एसोसिएसनविरुद्ध मुद्दा हाल्यो । त्यसको प्रमुख अभियानकर्ताका रुपमा थिइन् मेगन । सन् २०१५ मा पनि विश्वकप जितेको अमेरिकी महिला टोलीले सकरमा राष्ट्रिय पुरुष टोलीले भन्दा धेरै आय जुटाएको थियो । तर, महिला टोलीलाई पारिश्रमिक भने पुरुषको तुलनामा ३८ प्रतिशत मात्र दिइएको यथार्थ खुलेपछि मेगनले विद्रोहको नेतृत्व गरिन् । अहिले ट्रम्प प्रशासनसँगको उनको लडाइँमा पनि यिनै मुद्दाहरु कारक रहेका छन् । आफूहरु जुन सोंच र वैचारिक धरातलबाट यहाँसम्म आइपुगेको हो त्यो ट्रम्प प्रशासनसँग बिल्कुल नमिल्ने कारण निम्तो आए पनि आफू खुसियाली मनाउन ह्वाइट हाउस नजाने उनले प्रष्ट पारेकी छिन् ।
    उनको आवाजमा मात्र होइन मैदानमा समेत विद्रोह देखिने गरेको छ । विभेदको विरोध गर्दै राष्ट्रगानमा घुँडा टेक्ने एनबीए खेलाडीहरुप्रति उनले ऐक्यबद्धता जनाएकी थिइन् । साथै, खेल दौरान बज्ने राष्ट्रगानमा हात छातीमा राख्न उनी आफूले पनि अस्वीकार गरेर विरोध जनाउँदै आएकी छिन् ।
    ३४ वर्षीय मेगन सन् २००६ बाट राष्ट्रिय टोलीमा छिन् र आइतबारको फाइनलमा गरेको गोल मुलुकका लागि उनको ५०औँ गोलसमेत हो । उनी अमेरिकी महिला बास्केटबल खेलाडी सु बर्डसँग सम्बन्धमा रहेकी छिन् । खेल दौरान निकै नोकझोंक चले पनि ट्रम्पले अन्ततः अमेरिकी टोलीलाई ट्विटरमार्फत बधाई भने दिएका छन् । खेल सकिएको झण्डै चार घण्टापछि उत्साहजनक खेलमा टोलीले उपाधि हात पारेको भन्दै उनले बधाई दिएका हुन् । टोलीलाई ह्वाइट हाउस बोलाउने–नबोलाउनेबारे भने उनले केही बोलेका छैनन् । आज बुधबार न्युयोर्क सिटि हलमा हजारौको भिड सहित आयोजित बिशाल विजयी उत्सब समारोहमा मेगनले आफ्नो बक्तब्यको क्रममा लैंगिक समानताको वकालत गरिन र भनिन “ धेरै माया थोरै घृणा गर “ ।

  • न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो

    न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो

    म्यान्चेस्टर । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको छ ।

    बुधबार बेलायतको म्यानचेस्टरमा सम्पन्न खेलमा न्यूजिल्याण्डले भारतमाथि १८ रनको रोमान्चक जीत हात पार्यो । खेल मंगलबार नै हुनुपर्ने थियो । तर, वर्षाले अवरुद्ध भएको खेल बुधबारका लागि सारिएको थियो ।

    न्यूजिल्याण्डले मंगलबार नै ब्याटिङ गरेको थियो । भारतका लागि बुधबार २४० रनको लक्ष्य सेट भयो । लक्ष्य पछ्याएको भारत भने २२१ रनमा अलआउट भयो ।

    भारतका लागि रवीन्द्र जडेजाले ७७ रनको आकर्षक इनिङ खेले । महेन्द्र सिंह धोनीले ५० रन बनाए । सस्तैमा भरपर्दा ब्याट्सम्यान गुमाएको भारतलाई शूरुवाती ओभरमा सम्हालिन नसक्नु नै ठूलो कमजोरी रह्यो ।

    भारतका ओपनर द्धय रोहित शर्मा र केएल राहुल तथा कप्तान विराट कोहली मात्र ११ रनमा आउट भए । जसले गर्दा मध्यक्रममा ब्याट्सम्यानमाथि दवाव आएको थियो ।

    तर, हार्दिक पाण्ड्या र रिषभ पन्तले समान ३२ रनको योगदान दिए । धोनी र जडेजाबीचको १ सय १६ रनको साझेदारीले भारतलाई जीतको नजिक लगेपनि उनीहरु आउट भएपछि भारतले जीत निकाल्न सकेन ।

    १.३ ओभरमा रोहित एक रनमा आउट हुँदा भारतको चार रन थियो । दोस्रो विकेटको रुपमा कप्तान विराट आउट हुदा भारतको पाँच रन थियो । त्यस्तै, ३.१ ओभरमा राहुल आउट भएपछि भारत दबाबमा आएको हो ।

    न्यूजिल्याण्डका मट हेनरी बलिङमा चम्किए । उनले ३ विकेट लिए । ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट हात पारे । मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो ।

    ‘रिजर्ब डे’ अनुसार आज बाँकी खेल सुरु भएको हो । न्यूजिल्याण्डका लागि अनुभवि ब्याट्सम्यान रोस टेलरले ७४ तथा कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए ।

    हेनरी निकोलसले २८ रन बनाए । भारतका लागि बलिङमा भुवनेश्वर कुमारले तीन विकेट झारेका थिए । अब न्यूजिल्याण्डले उपाधीका लागि अष्टेलिया र इंल्याण्डको बिजेतासँग भिड्नु पर्नेछ ।

    एजेन्सी

  • नेपाल एसीसी यू-१९ एसिया कपमा छनोट

    नेपाल एसीसी यू-१९ एसिया कपमा छनोट

    काठमाडौं । नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जित्दै एसीसी यू-१९ एसिया कपको टिकट पक्का गरेको छ ।

    मंगलबार एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले हङकङविरुद्ध ६ विकेटको प्रभावशाली जीत हात पारेको हो ।

    उपाधि हात पारेको नेपालले आगामी अगस्ट महिनामा श्रीलंकामा आयोजना हुने एसिसी यू-१९ एसिया कप खेल्ने भएको छ ।

    उक्त प्रतियोगितामा नेपालसहित श्रीलंका, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएईले भाग लिनेछन् ।

    मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको चुनौती दिएको थियो । नेपालले उक्त लक्ष्य १६.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

    नेपालका लागि पवन सर्राफले ३९ रनको योगदान दिए। रित गौतमले १३ रन जोडे । खड्गबहादुर बोहराले ८ रन बनाए । रोहितकुमार पौडेल १२ रन र भीम सार्कीले ११ बलमा ८ रनमा अविजित रहे ।

    हङकङलाई ९५ रनमै समेट्ने क्रममा लेगस्पिनर सागर ढकाल चम्किए । १० ओभर बलिङ गरेका उनले ५ विकेट लिने क्रममा मात्र १८ रन खर्चिए । कमलसिंह ऐरीले ३, कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट हात पारेका थिए ।

  • राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व सिलवाललाई

    राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व सिलवाललाई

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । उनी गोल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् ।

    शिक्षा व्यवसायसँग आवद्ध सिलवाललाई राखेप अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सदस्य सचिव नियुक्त गरेका थिए ।

    उनले सोमबार नै सपथ ग्रहण गरे । सथप ग्रहणपछि बोल्दै सदस्यसचिव सिलवालले निर्धारित समयमा साग खेलकुद प्रतियोगिता आयोजना गर्न आफ्नो प्राथमिकता हुने बताए ।

    उनले आफूले जागिर खानका लागि मात्र नभई खेलकुदका माध्यमबाट देशको शीर उच्च राख्न जिम्मेवारी ग्रहण गरेको समेत उल्लेख गरे ।

    खेलकुदमन्त्री विश्वकर्माले सिलवालको नियुक्तिले खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने विश्वास व्यक्त गरे ।

    ९ असारमा केशबकुमार विष्टको कार्यकाल सकिएपछि राखेप सदस्यसचिव पद रिक्त थियो। विष्टको कार्यकालमा सरकारले गठन गरेको नेपाल क्रिकेट संघ (क्यान) तदर्थ समितिका संयोजक सिलवाल थिए।

    निर्वाचित क्यानलाई विघटन गरेपछि आइसिसीले क्यानमाथि प्रतिबन्ध लगाएको छ। जुन अहिले पनि कामय रहेको छ। सिलवाल क्यानका पूर्व उपाध्यक्ष पनि हुन्।

  • महिला विश्वकपको उपाधि अमेरिकालाई, मेगनले पुरा गरिन् ट्रम्पको चुनौती

    महिला विश्वकपको उपाधि अमेरिकालाई, मेगनले पुरा गरिन् ट्रम्पको चुनौती

    न्यूयोर्क
    संयुक्त राज्य अमेरिकाले महिला विश्वकप फुटवलको उपाधि जितेको छ । आईतबार सम्पन्न फाइनलमा नेदरल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अमेरिकाले उपाधि हात पारेको हो ।

    अमेरिकाका लागि ६१ मिनेटमा कप्तान मेगन रापिनोले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएकी थिइन् । ६९ मिनेटमा रोज लाभेल्लेले अर्को थोल थपेर टोलीको जित निश्चित गरिन् ।

    अमेरिकाले यसपाली लगातार दोस्रो महिला विश्वकपको उपाधि जितेको हो भने लगातार तीन पटक फाइनल खेलेको हो । सन् २०११ मा जापानसँग फाइलनमा पराजित अमेरिकी टोलीले २०१५ मा जापानसँगै बदला लिँदै उपाधि भित्र्याएको थियो । महिला विश्वकपमा अमेरिका सर्वाधिक उपाधि जित्ने टोली समेत हो । सन् १९९१ मा सुरु भएको प्रतियोगिताको आठ संस्करण सम्पन्न हुँदा अमेरिकाले चार उपाधि जितेको छ ।

    आईतबारको फाइनलमा सुरु देखिनै नेदरल्याण्डमाथि अमेरिकाले दबाब बढाएको थियो । पहिलो हाफमा नेदरल्याण्डकी गोल किपरले केही आकर्षक सेभ गर्दै गोल खानबाट टोलीलाई बचाएकी थिइन् । तर, दोस्रो हाफमा अमेरिकी आक्रमण सामु उनको केही लागेन । खेलमा अमेरिकाले कुल १० शक्तिशाली प्रहार गरेको थियो भने नेदरल्याण्डले एक मात्र प्रहार गर्न सफल भयो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टोलीकी कप्तान मेगनबीचको नोकझोंकले पनि यसपालीको प्रतियोगिता रोचक भएको थियो । मेगनले अहिलेको सरकार र आफ्नो बिचार नमिल्ने कारण उपाधि जितेपनि ह्वाइट हाउस नजाने घोषणा गरेकी छिन् । ट्रम्पले भने उनलाई धेरै बोल्नु भन्दा उपाधि जितेर देखाउन चुनौती दिएका थिए । मेगनले उनको चुनौती पुरा गरेकी छिन् । उनले प्रतियोगितामा सर्वाधिक छ गोल गर्दै गाेल्डेन बुट समेत जितिन् ।

    उनी सहित अर्की अमेरिकी खेलाडी एलेक्स मोर्गन र बेलायतकी एलेन ह्वाइटले पनि ६/६ गोल गरेका छन् । सर्वाधिक एसिष्ट गरेकाे कारण बुट मेगनकाे पाेल्टामा परेकाे हाे ।

  • कोपा अमेरिकाः अर्जेन्टिना तेस्रो, मेसीलाई रातो कार्ड

    कोपा अमेरिकाः अर्जेन्टिना तेस्रो, मेसीलाई रातो कार्ड

    ब्राजिल । कोपा अमेरिका फूटलबको तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । तर, यो खेल भने पूर्णतया विवादित भयो ।

    ३७ औं मिनटमा कप्तान लियोनल मेसीलाई रेफ्रीले रातो कार्ड दिँदै मैदान बाहिर पठाएपछि खेल विवादित बनेको हो । मेसीले करियरकै दोस्रो रातो कार्ड पाए ।

    आइतबार बिहान कोपा अमेरिका फूटबलको तेस्रो स्थानका लागि भएको चिलीसँगको खेलमा मेसी र ग्यारी मेडलबीच बल खोस्ने क्रममा विवाद भएको थियो ।

    अर्जेन्टनाको डिबक्सबाट बल लिने क्रममा यी दुई खेलाडीबीच भएको विवादमा मेडलले मेसीलाई छातीमा हिर्काएका थिए । तर, रेफ्रीले दुबै खेलाडीलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाए ।

    रेफ्रीले भीएआर सुविधा पनि उपयोग नगरी सिधै रातो कार्ड दिएपछि खेलाडीहरु आक्रासित भएका थिए । मेसीले रातो कार्ड पाउनु अगाडी नै अर्जेन्टिनाले चिलीविरुद्ध दुई गोल गरिसकेको थियो ।

    समग्रमा अर्जेन्टिना २१ गोल अन्तरले जित निकाल्यो । अर्जेन्टिनाका लागि १२ औं मिनेटमा सर्जिओ एग्युरो र २२ औं मिनेटपछि पाउलो डिबलाले गोल गर्दै अग्रता दोब्बर बनाए । चिलीका लागि भिडालले पेनाल्टीमार्फत गोल गरे ।
    एजेन्सी

  • यू १९ एसिया कपमा नेपालको प्रभावशाली जीत

    यू १९ एसिया कपमा नेपालको प्रभावशाली जीत

    काठमाडौं । यू १९ एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरमाथि प्रभावशाली जीत निकालेको छ । सिंगापुर माथि २ सय १७ रनको जीत निकाल्दै नेपालले लगातार दोस्रो खेलमा आफूलाई अब्बल टोलीका रुपमा स्थापित गर्यो ।

    यसअघि बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि १० विकेटको जीत निकालेको थियो ।

    शुक्रबार सम्पन्न खेलमा रीत गौतमले शतक र कुशल मल्लले अर्धशतक प्रहार गरे । एसीसी यू-१९ इस्ट्रन रिजन क्रिकेट अन्तर्गत नेपालले पहिले ब्याटिङ गर्दै सिंगापुरलाई ३२७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

    जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१ औँ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो । जितसँगै नेपाल समुह एु विजेता बनेको छ । नेपालले अब आगामी सोमबार समुह बी को उपविजेतासँग सेमिफाइनल खेल्ने छ ।

  • पेरु कोपा अमेरिका फूटलबको फाइनलमा

    पेरु कोपा अमेरिका फूटलबको फाइनलमा

    ब्राजिल । चिलीविरुद्ध प्रभावशाली जीत निकाल्दै पेरु कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। अब पेरुको भेट फाइनलमा ब्राजिलसँग हुने भएको छ । चिली साविक विजेता टोली हो ।

    सोही टोलीलाई पेरुले ३–० गोल अन्तरले गराएको हो । पहिलो हाफमै दुई गोलको अग्रता लिएको पेरुले दोस्रो हाफमा एक गोल थप्यो ।

    खेलको २१ औं मिनेटमा इडिसन फ्लोरिस र ३८औं मिनेटमा यासहिमार यूटिनले गोल गरे । दोसो हाफ भने प्रतिस्पर्धात्मक रह्यो ।

    ९० मिनेटको निर्धारित समय सकिएर थपिएको अतिरिक्त समएको एक मिनेट भित्रै पाउलो गाउरेरोले गोल गर्दै पेरुलाई ऐतिहासिक जीत दिलाएका हुन् ।

    तेस्रो स्थानका लागि हुने खेलमा अब चिली र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । पेरु सन् १९७५ पछि पहिलो पटक फाइनलमा पुगेको हो। त्यसबेला टोलीले उपाधी नै जितेको थियो ।
    एजेन्सी

  • महिला विश्वकपको उपाधिका लागि अमेरिका नेदरल्याण्डसँग भिड्ने, ट्रम्पसँग अमेरिकी उपकप्तानको नोकझोंक

    महिला विश्वकपको उपाधिका लागि अमेरिका नेदरल्याण्डसँग भिड्ने, ट्रम्पसँग अमेरिकी उपकप्तानको नोकझोंक

    न्यूयोर्क
    फ्रान्समा जारी महिला विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता अमेरिकाले नेदरल्याण्डसँग प्रतिश्पर्धा गर्ने भएको छ । अमेरिका बेलायत र नेदरल्याण्ड स्विडेनलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।

    बुधबार भएको दोस्रो सेमिफाइनलको अतिरिक्त समयमा नेदरल्याण्डले स्विडेनलाई १–० गोल अन्तरले पराजित गर्यो । मंगलबार अमेरिकाले बेलायतलाई २–१ गोल अन्तरमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

    अमेरिका यसपाली लगातार तेस्रो फाइनल खेल्न लागेको हो । सन् २०११ मा जापानसँग फाइनलमा पराजित अमेरिकाले २०१५ मा बदला लिएको थियो । लगातार दुई फाइनल खेलेको जापान भने यसपाली अन्तिम १६ बाटै बाहिरिएको छ ।

    उपाधिका प्रमुख दावेदार मानिएका आयोजक फ्रान्स र बेलायतलाई हराउँदै अमेरिकाले फाइलनको यात्रा तय गरेको छ । यस्तै नेदरल्याण्डले पनि अघिल्लो प्रतियोगिताको उप विजेता जापानलाई अन्तिम १६ बाट घर फर्काएको थियो । फाइनल खेल्ने दुबै टोलीले समूह चरणका तीनवटै खेल जित्दै ९ अंक सहित अन्तिम १६ मा प्रवेश गरेका थिए । उपाधिका लागि आइतबार अमेरिका र नेदरल्याण्डको प्रतिश्पर्धा हुनेछ । त्यस अघि शनिबार बेलायत र स्विडेनबीच तेस्रो स्थानका लागि प्रतिश्पर्धा हुनेछ ।

    सन् १९९१ मा सुरु भएको महिला विश्वकपका सात संस्करणमध्ये अमेरिकाले सर्वाधिक तीन पटक उपाधि जितेको छ । प्रतियोगिता सुरु भएको बर्षका अलावा १९९९ र २०१५ मा अमेरिकाले उपाधि भित्र्याएको हो । अमेरिका बाहेक जर्मनीले दुई एवं जापान र नर्वेले १÷१ पटक उपाधि जितेका छन् ।

    यसपाली विश्वकपमा सहभागि अमेरिकी टोलीको प्रतिश्पर्धा राजनीतिक कारणले पनि रोचक भएको छ । अमेरिकी टोलीकी उपकप्तान मेगन र्यापिनोले ‘उपाधि जितेमा खुसी मनाउन ह्वाइट हाउस जाने हो ?’ भनेर पत्रकारले सोधेको प्रश्नमा ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले निम्त्याउने संभावना नै आफुले नदेखेको र बोलाइ हाले पनि नजाने’ जवाफ दिएकी थिइन् । उनको भनाइ लगत्तै ट्रम्पले ‘बोलाउने नबोलाउने आफ्नो निर्णय हुने र त्यस अघि जितेर देखाउन’ अमेरिकी टोलीलाई ट्विट मार्फत चेतावनी दिएका थिए । साथै उनले ह्वाइट हाउसको अपमान गरेको भन्दै मेगनको आलोचना समेत गरेका थिए ।

    ट्रम्पको प्रतिकृया पछि मेगनले आफु आफ्नो पुरानो भनाइमा अडिग रहेको र आफ्ना साथीहरुलाई पनि निम्तो आइहाले ह्वाइट हाउस नजान सुझाव दिने बताएकी थिइन् । ‘हामी जुन चेतना र मूल्य मान्यता साथ हुर्किँदै आयौँ त्यो अहिलेको प्रशासनसँग मेल खाँदैन त्यसैले म ह्वाइट हाउस जान्न’ उनले भनेकी छिन् । ट्रम्प र मेगनको नोकझोंक पछि अमेरिकी टोलीको खेलप्रतिको चासो ह्वात्तै बढेको छ । ट्रम्पको प्रतिकृया पछि अमेरिकाले क्वार्टर फाइनल र सेमीफाइनलका कठिन खेल जितेको थियो । आयोजक फ्रान्ससँगको क्वार्टर फाइनलमा मेगनले नै दुबै गोल गरेकी थिइन् ।

    ट्रम्पको ट्विट पछि धेरै अमेरिकीले मेगनप्रति समर्थन देखाएका छन् भने ट्रम्प समर्थकले मेगनलाई मुलुकको अपमान गरेकोसम्म आरोप लगाएका छन् । जवाफमा मेगनले आफु हृदय देखिनै अमेरिकी रहेको र ट्रम्पसँग बिचार मिल्दा मात्र अमेरिकी नहुने बताएकी छिन् ।

  • कोपा अमेरिका : बाहिरियो अर्जेन्टिना, ब्राजिल फाइनलमा

    कोपा अमेरिका : बाहिरियो अर्जेन्टिना, ब्राजिल फाइनलमा

    ब्राजिल घरेलु मैदानमा जारी कोपा अमेरिका फुटलबलको फाइलनमा पुगेको छ । बुधबार बिहान सम्पन्न सेमिफाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनल प्रवेश गरेको हो ।

    ब्राजिलले अर्जेन्टिनालाई २-० गोल अन्तरले हरायो । विश्व चर्चित खेलाडीको बाहुल्य रहेको खेलमा ग्राबियल जेससको गोलमार्फत १९ औं मिनेटमा अग्रता लिएको थियो ।

    ७१ औं मिनेटमा रोब्रेटो फ्रिमिनोले गोल गर्दै अग्रता दोब्बर पारे । खेलमा पडक आफ्नो पक्षमा बढी राखेपनि अर्जेन्टिनाले गोल भने फर्काउन सकेन । ब्राजिलको पोष्टमा १४ पटकसम्म आक्रमण गरेको अर्जेन्टिनाका लागि सबै प्रहार खेर गए ।

    ब्राजिलले भने पोष्टमा ४ पटक मात्र आक्रमण गर्यो । २ प्रहार गोलमा परिणत भए । प्रतियोगितामा शुरु देखि नै कमजोर प्रदर्शन गरिरहेको अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई यस पटक पनि मूख्य प्रतियोगिता देशका लागि भित्राउन अवसर गुमेको छ ।
    एजेन्सी

  • स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको राज

    स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको राज

    काठमाडौं । वर्षको उत्कृष्ट खेल अर्वाड पल्सर स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङका खेलाडी युकेश गुरुङ उत्कृष्ट खेलाडी (पुरुष) बनेका छन् । लामो समयदेखि फूटबल र क्रिकेटका खेलाडीले यो अवार्डमा कब्जा जमाउने गरेका थिए ।

    नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष पल्सर स्पोर्ट्स अवार्ड आयोजना गर्छ । यस पटकको कार्यक्रम मंगलबार राजधानीमा सम्पन्न भयो ।

    युशेकले पारस खड्का (क्रिकेट), इन्द्र बहादुर श्रेष्ठ (जुडो), सोमपाल कामी (क्रिकेट) र शुक्रबाहदुर राई (गल्फ) लाई पछि पार्दै उत्कृष्ट खेलाडी बनेका हुन ।
    अघिल्लो वर्ष इन्डोनेसियामा सम्पन्न एसियाली खेलुकदमा नेपालले एक मात्र पदक प्याराग्लाइडिङबाट प्राप्त गरेको थियो ।

    त्यस समय उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । महिला तर्फ भने वर्षको उत्कृष्ट खेलाडी फुटबलकी सावित्रा भण्डारी घोषित भइन् ।

    उनले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दो की निमा गुरुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछाडी पार्न सफल भइन् ।
    युवा खेलाडीमा भने एथ्लेटिक्सका अजितकुमार यादव उत्कृष्ट घोषित भए । भलिबल खेलाडी रेश्मा भण्डारीलाई धेरै फ्यानले मन पराए ।

    उनले पिपल्स च्वाइस अवार्ड हात पारिन्। यस अवार्डका लाग क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन प्रतिस्पर्धामा थिए ।

    वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षकले पल्सर मोटरसाइकल उपहार पाए। अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

  • विश्वकप क्रिकेटमा भारतको पहिलो हार, पाकिस्तानलाई तनाव

    विश्वकप क्रिकेटमा भारतको पहिलो हार, पाकिस्तानलाई तनाव

    न्यूयोर्क
    बेलायतमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पहिलो हार व्यहोरेको छ । आईतबारको खेलमा भारत आयोजक बेलायतसँग ३१ रनले पराजित भयो ।

    बेलायतले दिएको ३३७ रनको लक्ष पछ्याएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा ३०६ रनमात्र बनाउन सक्यो । भारतीय टोलीका तर्फबाट रोहीत शर्माले सर्वाधिक १०२ रन बनाएका थिए । भारतले लीग चरणका छ खेलसम्म हारेको थिएन । न्यूजिल्याण्डसँग बराबरी बाहेक पाँच खेल जितेको भारत अहिले पनि ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

    आजको जितसँगै आयोजक बेलायतले सेमीफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । भारतको चीर प्रतिद्वन्दी छिमेकी पाकिस्तानलाई भने आजको नतिजाले घाटा पुगेको छ । आठ÷आठ खेली सकेका बेलायत र पाकिस्तानले क्रमशः १० र ९ अंक हासिल गरेका छन् । अब पाकिस्तानलाई सेमीफाइनलमा पुग्न अन्तिम खेल जित्नै पर्ने हुन्छ भने बेलायतले आफ्नो खेल हार्नु पर्नेछ । पाकिस्तानले बंगलादेशसँग र बेलायतले न्यूजील्याण्डसँग अन्तिम खेल खेल्दैछन् ।

    तालिकामा १४ अंक सहित पहिलो नम्बरमा रहेको अष्टे«लिया भने सेमिफाइनलमा प्रवेश गरि सकेको छ । अब न्यूजील्याण्ड, भारत, बेलायत र पाकिस्तानमध्ये तीन टोली सेमिफाइनलमा जानेछन् । श्रीलंका, बंगलादेश, साउथ अफ्रिका, बेष्ट इन्डिज र अफगानिस्तान भने सेमीफाइनल दौडबाट बाहिरिइ सकेका छन् ।

  • रोचक खेलमा पाकिस्तानद्वारा अफगानिस्तान तीन विकेटले पराजित, अफगानिस्तान शुन्य अंकमै

    रोचक खेलमा पाकिस्तानद्वारा अफगानिस्तान तीन विकेटले पराजित, अफगानिस्तान शुन्य अंकमै

    न्यूयोर्क
    विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा पाकिस्तानले रोचक जित हासिल गरेको छ । अफगानिस्तानले दिएको २२८ रनको लक्ष पछ्याएको पकिस्तानले दुई बल बाँकी छँदा तीन विकेटको जित हात पारेको हो ।

    आजको हारसँगै अफगानिस्तानको प्रतियोगितामा जितको खाता खोल्ने चाहना अधुरै रह्यो । प्रतियोगिता अन्तर्गत लिग चरणका आठ खेल खेलि सकेको अफगानिस्तान अहिलेसम्म जित निकाल्न नसक्दा शुन्य अंक सहित तालिका अन्तिम स्थानमा रहेको छ । अफगानिस्तानले अब एक खेल मात्र खेल्न बाँकी छ । शनिबार कसिलो बलिङ गरेको अफगानिस्तानले सुरु देखिनै पाकिस्तानलाई दबाबमा राखेको थियो । तर, अन्तिम चार ओभरमा सुधारिएको ब्याटिङ गर्दै पाकिस्तान बिजयी भयो ।
    ४७ औँ ओभरमा पाकिस्तानका

    आई वसिमले १८ रन हान्दै खेलको मोडमा परिवर्तन ल्याएका थिए । पाकिस्तानी माथि निरन्तर दबाब बढाइरहेको अफगानिस्तानका कप्तान गुल्बादिन नाइब उक्त ओभरमा बलिङ गर्न गएका थिए । तर, खेल उनले सोचेभन्दा ठीक उल्टो भयो । २० ओभरको खेल सकिँदा पाकिस्तानले चार विकेट गुमाएर ५७ रन मात्र बनाउन सकेको थियो । अफगानिस्तानी मुजिब र नाबीको कसिलो बलिङ अन्ततः देशलाई टिमलाई जिताउन काफी भएन ।

    आजको जितसँगै पाकिस्तानले सेमिफाइनलमा प्रवेशको सम्भावनालाई जिवित रोखेका छ । तालिकाको उत्कृष्ठ चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । आजको जितसँगै पाकिस्तान नौ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको बेलायतको आठ अंक रहेको छ । अब पाकिस्तानले अन्तिम खेल जितेमा र बेलायत दुईमध्ये एक खेल हारेमा पाकिस्तान सेमिफाइनल प्रवेश गर्नेछ । अंक तालिकामा अष्ट्रेलिया, भारत र  न्यूजिल्याण्ड क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

  • कोपा अमेरिका : अर्जेन्टिना र ब्राजिलको भेट सेमिफाइनलमा

    कोपा अमेरिका : अर्जेन्टिना र ब्राजिलको भेट सेमिफाइनलमा

    ब्राजिल । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना र चिलीले क्वार्टरफाइनलका खेल जितेका छन् ।

    सेमिफाइनलमा स्थान पक्का गर्ने क्रममा अर्जेन्टिनाले भेने भेनेजुयलालाई पराजित गर्यो भने चिलीले कोलम्बियालाई हरायो ।

    शनिबार बिहान भएको खेलमा चिली र कोलम्बियाको खेलको नतिजा भने पेनाल्टी सूटआउटका माध्यमबाट आएको थियो ।

    सेमिफाइनलमा विश्व फूटबलका दुई उत्कृष्ट टोली अर्जेन्टिना र ब्राजिलबीच प्रतिस्पर्धा हुने भएको छ । चीर प्रतिद्वन्द्वी यी टोलीको खेललाई विश्वभरका फूटबल प्रेमीले सधै चासोका साथ लिने गरेका छन् ।

    चिलीले भने उरुग्वे र पेरुबीचको बिजेतासँग सेमिफाइनल खेल्नेछन् । शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले भेनेजुयलालाई २-० गोल ले हरायो । अ

    र्जेन्टिनाले लौटारोमार्टिनेजको गोलबाट १० औं मिनेटै अग्रता लिएको थियो । जारी प्रतियोगिताका समूह चरणका खेलको तुलनामा अर्जेन्टिनाले शनिबार तुलनात्मक रुपमा राम्रो फूटबल खेलेको थियो ।

    दोस्रो हाफमा सब्सिच्युट खेलाडी जोभानी लोसेल्सोले ७४ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले भेजेजुयलामाथि सहज जित हात पारेको हो ।

    ब्राजिलले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराई सेमिफाइनल प्रवेश गरेको हो । यस पटक कोपा अमेरिकामा निर्धारित ९० मिनेटमा खेल बराबरी भए सिधै पेनाल्टीमा जाने नियम लगाइएको छ ।

    अर्जेन्टिना र ब्राजिलबीच आगामी बुधबार फाइनल प्रवेशका लागि भिडन्त हुनेछ ।
    एजेन्सी

  • नेपालले मलेसियासँग टी-२० सिरिज खेल्ने

    नेपालले मलेसियासँग टी-२० सिरिज खेल्ने

    काठमाडौं । टी-२० विश्वकप क्रिकेट छनोट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टीमले मलेसियासँग २ खेलको सिरिज खेल्ने भएको छ । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा यी दुई टोली पनि प्रतिस्पर्धा गर्नेछन् ।

    त्यस अगाडी नै दुई देशबीच सिरिज हुने भएको हो । छनोट चरणको तयारीकै क्रममा सिरिज खेल्न लागिएको बताइएको छ ।

    यी दुई मुलुकबीच पहिलो खेल २८ असार र दोस्रो खेल २९ असारमा तय भएको छ । मलेसियाको किनरारा ओभलमा खेल हुने मलेसियन क्रिकेट संघले उल्लेख गरेको छ ।

    यो सिरिज अघि नेपाली टीमले मलेसियामै तयारी गर्ने कार्यक्रम तय भएको छ । सिरिज खेलेपछि टोली सिंगापुर जाने कार्यक्रम बनाइएको छ ।

    अहिले भने नेपाली टोली विश्वकप छनोटको तयारी कीर्तिपुरस्थिति मैदानमा गरिरहेको छ। शनिबार नेपालको अन्तिम घोषणा गर्ने कार्यक्रम छ ।

    छनोट प्रतियोगिता भने आगामी ६ साउनबाट १२ गते सम्म चल्नेछ । नेपालसहित सिंगापुर, कुवेत, मलेसिया र कतार प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको शिर्ष टोली ग्लोबल छनोटका लागि छानिनेछ ।

    अक्टोबर ११ देखि ३ नोभेम्बरसम्म चल्ने आइसिसी टी–२० विश्वकप ग्लोवल छनोट प्रतियोगितामा भने १४ टिम प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्ये १४ टीमको तय भइसकेको छ ।

    अब अमेरिकाबाट २ टिम, एसिया र युरोप छनोटबाट १–१ टिम गरी ४ टीमको तय हुन बाँकि छ । १४ बाट मात्र ६ टिम टी–२० विश्वकप खेल्न छनोट हुनेछन् ।

  • कोपा अमेरिका फुटबल, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

    कोपा अमेरिका फुटबल, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

    काठमाडौं । तुलनात्मक रुपमा कमजोर मानिएको कतार विरुद्ध जीत निकाल्दै अर्जेन्टिना कोपा अमेरिका फूटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

    सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कतारलाई २-० गोल अन्तरले परािजत गर्यो । पहिलो खेलमा कोलम्बियाँसँग हारेको अर्जेन्टिना दोस्रो खेलमा पाराग्वेसँग बराबरीमा रोकिएको थियो ।

    त्यसकारण कतारसँगको खेल अघिल्लो चरण पुग्न उसकालाई लागि फाइनल सरह थियो ।

    समूह बीबाट उपविजेताका रुपमा अर्जेन्टिना दोस्रो चरण प्रवेश गरेको हो । शतप्रतिशत नतिजा निकाल्दै कोलम्बिया पनि अन्तिम ८ मा प्रवेश गरेको छ । अर्जेन्टिनाका लागि लौटारो मार्टिनेज र सर्जियो अगुएरोले गोल गरे ।

    अर्जेन्टिनाले खेलको चौथौं मिनेटमा नैअग्रता लियो । अर्जेन्टिनाका लागि मार्टिनेजले गोल गरेका थिए । पहिलो हाफ १-० गोल अन्तरमै सकियो । खेलको ८२औं मिनेटमा सर्जियोले गोल गर्दै अर्जेन्टिनालाई २-० गोलको जित दिलाएको हो ।

    आज बिहान नै भएको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १-० गोलअन्तरले पराजित गर्दै समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । कोलम्बियाले सबै खेलमा शतप्रतिशत जित हात पारेको हो । यसपटकको कोपा अमेरिका ब्राजिलमा चलिरहेको छ ।

  • सन्दिपपछि अब सोमपाल पनि विदेशी लीगमा

    सन्दिपपछि अब सोमपाल पनि विदेशी लीगमा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी पहिलो पटक विदेशी फ्रेन्चाइजी लीगमा आवद्ध भएका भएका छन् ।

    उनलाई क्यानडामा हुने ग्लोबल टी-२० लीगमा विनिपेग हक्सले टोलीमा आवद्ध गरेको हो । बिहीबार क्यानडा ग्लोबल टी-२० को ड्राफ्टमा सोमपाललाई न्यूनतम ३ हजार अमेरिकी डलरमा हक्सले आवद्ध गरेको हो ।

    यस लीगमा अर्का क्रिकेटर सन्दिप लामिछाने भने गत वर्षबाटै आवद्ध भएका थिए । यस वर्ष उनको मूल्य पनि उल्लेख्य बढेको छ । स्पिनर सन्दीप लामिछाने ६० हजार अमेरिकी डलरको न्यूनतम रकममा टोरन्टो नेसनल्समा आबद्ध भएका छन् ।

    सोमपालले खेल्ने टिममा डेविड वार्नर, ड्वायन ब्राभो, डेविड मिलर, लेन्ड्ली सिमोन्सजस्ता विश्वचर्चित खेलाडी छन यस टोलीको प्रशिक्षक वकार युनिस हुन् ।

    नेपाली राष्ट्रिय टिमका मुख्य बलर सोमपाल यसअघि क्यारेबियन प्रिमियर लिग र बगलादेश प्रिमियर लिगको ड्राफ्टमा परे पनि छनोट भएका थिएनन् ।

    हाल राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका सोमपाल लामो पर्खाइपछि विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका छन ।

    उनी आईसीसीको वरीयतामा समेत नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट १ सय खेलाडी भित्र अटाएका खेलाडी हुन् ।

    उनी अलराउण्डरको भूमिकामा आफ्नो क्षमता देखाइसकेका क्रिकेटर हुन् । उनको नाममा नेपाली टिमका लागि एकदिवसीय खेलमा ६ विकेट आइसकेका छन् ।

    यता सन्दीपलाई टोरन्टो नेसनल्सले टिममा अनुबन्ध गरेको हो । लसिथ मालिङ्गा, सुनील नारायन, ड्वायन स्मिथ, दिनेश रामदिन, सिकन्दर राजा जस्ता खेलाडी सन्दीपको टीममा छन् । यस टीमको प्रशिक्षक टम मुडी हुन् ।

    सन्दीप दुई साता अगाडिमात्र क्यारेबियन प्रिमियर लिगमा ७० हजार डलरमा अनुबन्धित भएका थिए

  • न्यूह्यामसरमा आयोजित एक दिवसीय फुटबलको उपाधि न्यूयोर्कलाई

    न्यूह्यामसरमा आयोजित एक दिवसीय फुटबलको उपाधि न्यूयोर्कलाई

    न्यूह्यामसर
    न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको एक दिवसीय सेभेन ए साइट फुटबल प्रतियोगिताको उपाधि न्यूयोर्कको एनवाईएन फुटबल क्लवले जितेको छ । आईतबार राज्यको सबैभन्दा ठूलो सहर म्यान्चेष्टरको रक रिमन रंगशालामा भएको प्रतियोगिताको फाइनलमा न्यूह्यामसरकै ड्रागन फुटबल क्लबलाई ६–१ गोल अन्तरले पराजित गरि एनवाईएन उपाधि हात पारेको हो ।

    प्रतियोजितामा उत्तरपूर्वी अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्ने ११ नेपाली भाषी टोलीले भाग लिएका थिए । सहभागी टोलीलाई चार समुहमा विभाजित गरि लिग चरणको खेल खेलाइएको थियो । प्रत्येक समूहका विजेता र उपबिजेता टोली नक आउट चरण (क्वार्टर फाइनल)मा प्रवेश गरेका थिए ।

    बिजेता र उपबिजेता टोलीलाई समाजका अध्यक्ष सोम गुरुङले नगद पुरस्कार एवं ट्रफी हस्तान्तरण गरेका थिए । पूर्वी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायबीच भातृत्व र हार्दिकता विकास गर्ने मूल उध्येश्यका साथ फुटबल प्रतियोगिता आयोजना गरेको उनले जानकारी दिए । अब बर्षेनी रुपमा प्रतियोगिता आयोजना गर्ने र धेरै भन्दा धेरै टोली समेट्दै जाने समेत उनले बताए ।

  • १३ औं सागमा ५ अर्ब १३ करोड खर्च गर्ने तयारी

    १३ औं सागमा ५ अर्ब १३ करोड खर्च गर्ने तयारी

    काठमाडौं । सरकारले आगामी १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनामा ५ अर्ब १३ करोड रुपैयाँ बजेट खर्च गर्ने भएको छ ।

    प्रतियोगिता तयारी तथा व्यवस्थापन समितिले खेलकुद मन्त्रालयसँग उक्त बजेट आवश्यक पर्ने प्रतिवेदन बुझाएको हो ।

    समितिका संयोजक तथा राष्टिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले आइतबार खेलकुद मन्त्री जगतबहादुर सुनारलाई प्रतिवेदन बुझाए ।

    प्रतिवेदन अुनसार सागको तयारीमा मात्र ८८ करोड रुपैयाँ खर्च हुने भएको छ । सागको तयारी शुरु भइसकेको छ । अहिले खेलाडीहरु क्लोज क्याम्पमा छन् । खेल सामग्री र पोशाकमा १ अर्ब २९ करोड ९१ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।

    साग अवधिभर प्रयोग हुने समारोह व्यवस्थापनमा ७१ करोड रुपैयाँ अनुमान गरिएको छ । खेल स्थल व्यवस्थापनमा ३ र सुरक्षा व्यवस्थापनमा ५० करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

    १३ औं साग नेपालले आयोजना गर्दैछ । यो प्रतियोगिता हरेक दुई वर्षमा आयोजना हुन्छ ।

    सन् १९८४ मा पहिलो साग आयोजना गरेको नेपालले सन् १९९९ मा ८ औं साग आयोजना गरेको थियो । यस प्रतियोगितामा दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य देशले भाग लिन पाउँछन् । सागको सर्वाधिक सफल मुलुक भारत हो ।

  • कोपा अमेरिका : अर्जेन्टिनालाई कोलम्बियाले हरायो

    कोपा अमेरिका : अर्जेन्टिनालाई कोलम्बियाले हरायो

    कोपा अमेरिका फूटबल प्रतियोगितामा बलियो टोली अर्जेन्टिनालाई कोलम्बियाले हराएको छ । आइतबार बिहान सम्पन्न खेलमा विश्व चर्चित खेलाडी लियोनल मेस्सीको कप्तानी रहेको अर्जेन्टिना कोलम्बियासँग पराजित हुन पुग्यो ।

    ब्राजिलमा जारी प्रतियोगिताको समूह चरणमा पहिलो खेलमै जीत निकाल्ने क्रममा कोलम्बियाले अर्जेन्टिनालाई २-० गोल अन्तरले हरायो ।
    कोलम्बियाका लागि रोजर मार्टिनेज र डुभान जापटाले १–१ गोल गरे ।

    बलमा आफ्नो पकड राखेपनि अर्जेन्टिनाले गोल गर्न भने सकेन । विश्वचर्चित खेलाडीहरुको बाहुल्य रहेको अर्जेन्टिनालाई सजिलै हराउने क्रममा कोलम्बियाले दोस्रो हाफमा दुई गोल सम्भव बनाएको थियो । पहिलो हाफ भने बराबरीमा सकिएको थियो ।

    खेलको ७१औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । ८६ औं मिनेटमा कोलम्बियाले अग्रता दोब्बर पार्यो , तर, अर्जेन्टिना खेलमा फर्कन सकेन ।

    पहिलो खेलमै भोगेको हारले अर्जेन्टिनाका दोस्रो चरणको यात्रामा चुनौति खडा भएको छ ।

    आइतबार नै सम्पन्न अर्को खेलमा भने पेरु र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

  • विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जीत, अष्ट्रेलिया पराजित

    विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जीत, अष्ट्रेलिया पराजित

    काठमाडौं । इंल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जीत हात पारेको छ । आइतबार राती लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको हो ।

    ३५३ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३१६ रन मात्र बनाउन सक्यो ।
    अष्ट्रेलियाका लागि स्टेभन स्मिथले ६९, डेभिड वार्नरले ५६, एलेक्स करेयले ५५ रन बनाए । उस्मान खवाजा ४२, कप्तान एरोन फिन्च ३६ र ग्लेन म्याक्श्वेलले २८ रन बनाएपनि टोलीलाई जिताउन भने सकेनन् ।

    भारतका भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान ३–३ विकेट लिए । युजभिन्द्र चहेलका नाममा दुई विकेट रह्यो ।

    यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा ३५२ रन बनाएपछि अष्ट्रेलिया दवावमा आएको थियो ।

    भारतका लागि शिखर धवनले शतक बनाए । उनले १०८ बलमा १६ चौका प्रहार गर्दै ११७ रनको पारी खेले । कप्तान विराट कोहलीले ८२ रनको महत्वपूर्ण पारी खेले ।

    ओपनर रोहित शर्माले ५७ रन बनाउँदा हार्दिक पाण्ड्याले ४८ र महेन्द्रसिंह धोनीले २७ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिसले दुई विकेट लिए ।

  • पोर्चुगलले जित्यो नेसन्स लीग उपाधी

    पोर्चुगलले जित्यो नेसन्स लीग उपाधी

    काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि हात पारेको छ । आइतबार राति फाइनल प्रतिस्पर्धामा बलियो प्रतिस्पर्धी
    नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

    पोर्चुगलले नेदरल्याण्ड्सलाई उसकै घरेलु मैदानमा हरायो । गुन्जालो गुइडेसको एक मात्र गोल पोर्चुगलको जीतका लागि पर्याप्त भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

    बल पोजिसनमा नेदरल्याण्ड्सले पोर्चुगललाई दवावमा राखेको थियो । तर, ६० औं मिनेटमा पोर्चुगलले गोल गर्यो । गुन्जालोको गोलबाट अग्रता लिएको पोर्चुगल त्यसपछि भने रक्षात्मक रणनीतिमा देखियो ।

    जसले गर्दा नेदरल्याण्ड्सलाई गोल गर्न निकै मुस्किल भयो । एक गोल नै निर्यायक बनेपछि पोर्चुगलले उपाधी हात पारेको हो ।

    आफ्नो पक्षमा ४३ प्रतिशत पोजिसन रहँदासमेत पोर्चुगलले विपक्षी पोष्टमा १८ प्रहार गर्यो । त्यसमध्ये एक मात्र गोलमा परिणत भएको थियो । ५७ प्रतिशत पोजिसन सहित खेलेको नेदरल्याण्ड्सले भने पोष्टमा मात्र ४ प्रहार गरेको थियो ।

  • विश्वकप क्रिकेट : इंल्याण्ड र न्यूजिल्याण्डले हराए एसियाली प्रतिस्पर्धी

    विश्वकप क्रिकेट : इंल्याण्ड र न्यूजिल्याण्डले हराए एसियाली प्रतिस्पर्धी

    कप्तान केन विलियम्सन चम्किएपछि न्युजिल्याण्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण एसियाली टोली अफगानस्तानलाई ७ विकेटले हराएको छ ।

    १ सय ७३ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ७ विकेटको सहज जित हात पार्यो । यस जीतसँगै न्युजिल्याण्ड जारी विश्वकपमा लगातार तेस्रो खेलमा विजयी भएको हो ।

    कन्ट्री ग्राउण्डमा अफगानस्तानले दिएको सामान्य लक्ष्य न्युजिल्याण्डले ३२ दशमलब १ ओभरमा ३ विकेटको क्षतिमा भेटायो । न्युजिल्याण्डका लागि कप्तान विलियम्सनले अविजित ७९ रनको पारी खेले । अफगानस्तानका अफताब आलमले ३ विकेट लिएका थिए ।

    पहिला ब्याटिङ गरेको अफगानस्तानले ४१ दशमलब १ ओभरमा अलआउट हुँदै १ सय ७२ रनमात्र बनाएको थियो । न्युजिल्याण्डका जेम्स निशम एक्लैले ५ विकेट लिए । लोकी फेर्गुसनको नाममा ४ विकेट रह्यो ।

    उता, शनिबार राती नै सम्पन्न अर्को खेलमा आयोजक इंल्याण्डले अर्को दक्षिण एसियाली टोली बंगलादशेमाथि १ सय ६ रनको प्रभावशाली जीत निकाल्यो । घरेलु टोली इङल्यान्डको यो दोस्रो जीत हो ।

    कार्डिफमा ३ सय ८७ रनको बिशाल लक्ष्य पच्छाएको बंगलादेश ४८.५ ओभरमा २ सय ८० रनमा अलआउट भएपछि इङल्यान्डले सहजै खेल जितेको हो । बंगलादेशका लागि सकिब अल हसनले १ सय २१ रनको शतकिय पारी खेलेपनि टोलीलाई जिताउन भने सकेनन् ।

    पहिले ब्याटिङ गरेको इंङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ८६ रनको विशाल योगफल तयार पारेको थियो । इंङल्यान्डका लागि जेसन रोयले १ सय ५१ रन बनाए ।
    एजेन्सी