Category: बिचार

  • संसदमा गगनको सन्तुलित भाषण, प्रधानमन्त्री र मन्त्रीहरुलाई बनाए सचेत

    संसदमा गगनको सन्तुलित भाषण, प्रधानमन्त्री र मन्त्रीहरुलाई बनाए सचेत

    काठमाडौं । एमालेसँग मिलेर सरकार बनाएको एक महिनापछि कांग्रेस महामन्त्री गगनकुमार थापाले मंगलबार विशेष समय लिएर संसदमा सन्तुलित भाषण गरेका छन् । २० मिनेट लामो सम्बोधनका क्रममा थापाले संविधान निर्माण, सुशासन र विकास निर्माणमा सरकारले कसरी काम गरोस् भन्ने चाहेको छ भन्ने बारे खुलाएका छन् । उनले प्रधानमन्त्रीलाई खबरदारी गर्दै भने, ‘डन्ट टेक अस फर ग्रान्टेड ।’

    संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच १७ असारमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । त्यसअनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले भोलिपल्ट शपथसँगै २१ मन्त्री नियुक्त गरे । त्यसको एक महिनापछि मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री थापाले आफू सरकार बनाउने काममा धेरै नलागेको बताए ।

    तर परिणाममा जे भएको छ, एकदमै ठीक भएको भन्दै उनले भने, यो असामान्य छ, ठीक छ, यसलाई ठीक बनाउनुपर्छ ।’ त्यसका लागि दुई दलबीच भएको सातबुँदे सहमतिको मुख्य तीन विषयलाई आधार बनाउनुपर्ने बताए । सातबुँदेको मुख्य कुरामध्ये एक राजनीतिक स्थायित्वका लागि संविधानमा संशोधन भएको कांग्रेस महामन्त्री थापाले बताए । तर त्यसका आधारमा संविधान संशोधन गरेर पछाडि फर्किन खोजेको वा दुई दलको सिण्डिकेट बनाउन खोजेको आरोप लागेको भन्दै उनले भने, ‘कोही पछाडि फर्किन चाहँदैनौं ।’

    संघीयता र गणतन्त्र यो भन्दा राम्रो बनाउनुपर्ने र मानुपातिक समावेशी प्रतिनिधित्व यो भन्दा बढाउनुपर्ने उनले बताए । निर्वाचन प्रणालीको बहसमा कतिपयले प्रतिनिधि सभालाई प्रत्यक्ष र राष्ट्रियसभालाई समानुपातिक बनाउने भनेको भन्दै उनले भने, ‘यो मिल्दैन । हामी तलकै सदनलाई यो भन्दा बढी समावेशी बनाउन सक्छौं । सँगै कुनै पनि दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा ५ वर्ष एकल सरकार चलाउने गरी मिलाउन पनि सक्छौं ।’

    देखिएका समस्याहरु हल गर्ने र अझ समानुपातिक समावेशी बनाउनुपर्ने उनले बताए । थापाले भने, कांग्रेस र एमाले यो बहसबाट भाग्ने पनि होइन, बरालिने पनि होइन । प्रष्ट हुने, अरु दल र नागरिकसम्ग सम्वाद गर्ने हो ।’ सुशासन तथा भ्रष्टाचार नियन्त्रणको विषय सरकारले बोल्ने भन्दा काम गरेर देखाउनुपर्ने बताए । भुटानी शरणार्थी, गिरीबन्धु, डेडिकेटड टंक लाइनमा ढाकछोप गर्न दुई दल रातारात मिले भनेर आरोप लागेको भन्दै उनले भने, ‘यसबाट पनि भाग्ने होइन, आफ्नो कामबाट प्रष्ट बनाउनुपर्छ ।’

    हरेक सरकार निरन्तरतामा हुने भन्दै महामन्त्री थापाले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुगेको छ रु थप के हुन्छ भनेर सरकारले भन्नुपर्ने बताए । ‘यो विषयमा निर्दोष एउटा पनि पर्दैन, दोषी एउटा पनि उक्कँदैन भनेर सरकारले आफ्नो व्यवहारबाट आश्वस्त पानुपर्छ’ महामन्त्री थापाले अगाडि भने । गिरीबन्धु टी इस्टेटमा पनि सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको भन्दै उनले जुन सरकार आए पनि त्यसअनुसार नै गर्नुपर्ने बताए ।

    गिरीबन्धुको हदबन्दी भन्दा बढी जग्गा सरकारको नाममा फिर्ता लेउ र अन्यत्र पनि ऐनको दुरुपयोग भरेर हदबन्दी भन्दा बढी लिएको जग्गा पहिचान गर भन्ने अदालतको आदेश रहेको भन्दै उनले भने, ‘जग्गा फिर्ता ल्याउन अनुगमन समिति बनाउने व्यवस्था छ । त्यो तरुन्त बनाऊ भनेको छ अदालतले । अब सरकारको एक्सन चाहियो ।’

    डेडिकेटेड र टंक लाइनमा पनि संसदीय समितिको निर्णय, अदालतको आदेश, लाल आयोगका प्रतिवेदनहरुका आधारमा अगाडि बढ्नुपर्ने महामन्त्री थापाले बताए । उनले अगाडि भने, ‘सरकारले यहाँ आएर भन्नुपर्छ, कसैले बिजुली प्रयोग गरेको छैन भने अन्याय हुन दिँदैनौं । तर जतिसुकै शक्तिशाली होस्, अनुचित लाभ पनि लिन दिन्नौं भनेर विश्वास दिलाउनुपर्छ ।’

    कांग्रेस र एमाले मिल्नुको अर्को कारण विकास निर्माण र सेवा प्रवाह भएको भन्दै कांग्रेस महामन्त्री थापाले सरकारका मन्त्रीहरुलाई काममा केन्द्रित हुन सुझाव दिएका छन् । प्रधानमन्त्रीले मिहिनेत गरेको देखिएको भन्दै उनले थप विषय उनी संसदमा उपस्थित भएकै बेला भन्ने बताए । मन्त्रीहरुबारे बोल्दै उनले २४ महिनामा के गर्ने र प्रत्येक महिना के प्राप्त गर्ने भनेर योजना बनाएको होला भन्ने विश्वास व्यक्त गरे ।

  • युवालाई उद्यमशील बनाउने कार्यक्रम बन्दैछ : प्रधानमन्त्री

    युवालाई उद्यमशील बनाउने कार्यक्रम बन्दैछ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उनलेधेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताए ।


    देशमा रोजगारीका अवसर नहुँदा युवा वर्ग बिदेसिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्ने जोखिम रहेकाले युवाहरूलाई यसतर्फ सोच्न आग्रह गरे । उनले हाल जनसङ्ख्या वृद्धिदर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन युवालाई आग्रह गरे ।

    प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउनुपर्ने बताए । उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएको बताए । सम्मेलनबाट पारित घोषणापत्रलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले आगामी असोजमा हुने राष्ट्रसङ्घको महासभामा नेपालले प्रस्तुत गर्ने वक्तव्यमा पनि घोषणापत्रका विषय समावेश गरिने बताए । रासस

  • प्रधानमन्त्री भन्छन् : मलाई राज्यबाट केही लिनु छैन

    प्रधानमन्त्री भन्छन् : मलाई राज्यबाट केही लिनु छैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रको सम्पत्ति दुरुपयोग नगर्ने बताएका छन् । शनिबार लायन्स क्लबले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो उद्देश्य मुलुकको गरिबी घटाउने र सुव्यवस्था दिनेमा रहेको बताए । नेपालका २० प्रतिशत मानिसहरु अझै गरिबीको रेखामुनि रहेको र उनीहरुले आफ्नो छोराछोरीलाई पेटभरि खान दिन नसक्ने अवस्था रहेको ओलीले बताए ।

    ती बालबालिका रोएको सम्झिँदा आफूलाई आँशु आउने भन्दै उनले भने, ‘म राष्ट्रको सम्पत्ति, सार्वजनिक सम्पत्ति जालझेल गरेर कसरी आफ्नो खल्तीमा सार्न सक्छु, त्यसकारण म भ्रष्टाचार गर्दिन । मलाई राज्यबाट केही लिनु छैन ।’

    नेपाललाई अविकसितबाट विकसित बनाउने, उत्पादकत्व वृद्धि गर्ने र जनताको आम्दानी वृद्धि गर्नेमा आफ्नो ध्यान रहेको ओलीले बताए । ‘मुलुकलाई सुशासन दिनुछ, विकासको गति तिब्र गतिले अगाडि बढाउनु छ’, उनले भने ।

  • कुलमानमाथि अस्वभाविक लान्छना लगाइएको भन्दै माओवादीको विरोध

    कुलमानमाथि अस्वभाविक लान्छना लगाइएको भन्दै माओवादीको विरोध

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वाभाविक लान्जना लगाएको भन्दै माओवादी केन्द्रले विरोध गरेको छ । माओवादी स्थायी समितिको बैठकले सुशासनको अभियानमा अवरोध नगर्न समेत सरकारलाई आग्रह गरेको छ ।

    ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई अस्वभाविक र अप्राकृतिक ढंले लान्छना लगाउने काम भएको छ’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘भ्रष्टाचारविरोधी र सुशासनको पक्षमा जुन अभियान छ, यसमा सरकारले अवरोध नगरोस् ।’ बैठकले सिमलताल बस दुर्घटनामा मृत्यु भएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत माग गरेको छ ।

  • प्राथमिकता अनुसार बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रीको निर्देशन

    प्राथमिकता अनुसार बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आयोजनाहरूको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा–छुट्टै छलफल गरी राष्ट्रिय गौरवका, राष्ट्रिय महत्त्वका, अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनाहरूलाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिए । उनले राम्रो प्रतिफल दिने, संघीय सरकारको कार्यक्षेत्र अन्तर्गत र निर्माणाधीन आयोजनालाई अघि बढाउन निर्देशन दिएका हुन् ।

    अर्थमन्त्री पौडेलले अध्ययन गरेर मात्र आयोजनाहरू अघि बढाउन निर्देशन दिँदै प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गर्दा स्रोत साधनको सही सदुपयोग हुने बताए । अर्थमन्त्री पौडेलले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, सहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखहरूसँग छलफल गरे ।

    साथै खानेपानी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग छलफल गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

  • टीआरसी विधेयकमा सबै दलको सहमति छ : प्रधानमन्त्री

    टीआरसी विधेयकमा सबै दलको सहमति छ : प्रधानमन्त्री


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिआरसी विधेयकमा कार्यदलमा सहमति बनेसँगै सबै दलमा सहमति भएको बताएका छन् । यसलाई पूर्णता दिन अब कानूनी रुपमा कुनै दुविधा नभएको उनको भनाई छ । टीआरसी विधेयकसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएपछि बोल्दै समितिले सर्वसहमतिले पारित गरेर पठाउने बताए।

    उनले यही अधिवेशनबाटै टिआरसी विधेयक पारित गर्ने बताए। उनले सबै पार्टीहरुसँग परामर्श गरेर नै कार्यदलले सहमति गरेकाले दलहरुबीच फरक मत नरहेको बताए। आज कार्यदलले शीर्ष नेतालाई सहमतिको प्रतिवेदन बुझाएको छ ।

  • बेलायती राजदूत भन्छन् : नेपाल सधैका लागि राम्रो ठाँउ हो

    बेलायती राजदूत भन्छन् : नेपाल सधैका लागि राम्रो ठाँउ हो

    काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाल सधैंका लागि राम्रो ठाउँ रहेको बताएका छन् । मंगलबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग भएको शिष्टाचार भेटमा राजदूत फेनले उक्त भनाइ राखेका हुन् । भेटमा राजदूत फेनले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा राम्रो छवि भएको समेत बताए ।

    ‘नेपाल सधैंका लागि राम्रो ठाउँ हो,’ उनले भने, ‘काठमाडौंको संस्कृति र प्रकृति रचनात्मक सहरको प्रवर्द्धनका लागि राम्रो विषयवस्तु हुन् । यसमा हामी सँगै काम गर्न चाहन्छौं ।’ चलचित्र विधाबाट युवाहरुलाई प्राविधिक र सिर्जनात्मक क्षेत्रमा जोड्न सकिने र युवालाई स्वयंसेवकका रुपमा कार्यक्रममा सहभागी गराएर विकासका अन्तरपक्षमा अभ्यस्त गराउने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने उनले बताए ।

    महानगरकी उपप्रमुख डंगोलले महानगरले वुमन्स अफ द वर्ल्ड (वाउ) फेस्टिभल आयोजना गर्ने तयारी गरिरहेको जानकारी गराउँदै इन्द्रजात्रा अवलोकनका राजदूत फेनलाई निमन्त्रणा गरेको महानगरले जनाएको छ ।

    ‘रचनात्मक सहर सञ्जालमा काठमाडौंको विधा चलचित्र हो । यस विधाबाट सिर्जनामा काम गर्ने युवालाई सरकारका कार्यक्रमसँग सिधै जोड्न सकिन्छ,’ उपप्रमुख डंगोलले भनिन् । उपप्रमुख डंगोलले महानगरले गरिरहेको कामबारे जानकारी गराएकी थिइन् । उनले भेटमा बेलायतमा आयोजना भएको वुमन्स अफ वर्ल्ड फेस्टिभल कार्यक्रमले आपसी सम्बन्ध बलियो भएको समेत उल्लेख गरिन् ।

    भेटका क्रममा चलचित्र कार्यशाला, चलचित्र प्रदर्शनी, चलचित्र महोत्सव, चलचित्र शिखर सम्मेलन, चलचित्र शिक्षण, अनुशिक्षण र प्रशिक्षणलगायतका क्रियाकलापलाई आपसी आयोजनामा सञ्चालन गर्ने सकिने सम्भावित कार्यक्रमका रुपमा छलफल गरिएको महानगरले जनाएको छ ।

  • ऐतिहासिक सांस्कृतिक महत्व बाेकेका पर्व हाम्रा अमूल्य निधि हुन् : पर्यटन मन्त्री

    ऐतिहासिक सांस्कृतिक महत्व बाेकेका पर्व हाम्रा अमूल्य निधि हुन् : पर्यटन मन्त्री


    काठमाडौं-संस्कृति नागरिक तथा पर्यटन मन्त्री बद्री पाण्डेले ऐतिहासिक तथा सांस्कृतिक महत्व बाेकेका पर्वहरू अमूल्य निधि भएको बताएका छन् ।

    आईतबार राताे मच्छिन्द्र नाथकाे यात्राकाे सन्दर्भमा शुभकामना दिँदै मन्त्री पाण्डेले सहकाल र वर्षाका देवताका रुपमा चिनिने रातो मच्छिन्द्र नाथको रथयात्राकाे छुट्टै विशेषता रहेकाे बताए ।  नेपाल भाषामा बुंग द्यः भनिने राताे मच्छिन्द्र नाथकाे रथयात्राले प्रकृति र संस्कृतिलाई जीवन्त बनाउने विश्वास व्यक्त गरे ।

    मन्त्री पाण्डेले शुभकामना सन्देशमा भन्नू भएकाे छ, ऐतिहासिक तथा सांस्कृतिक महत्वको यो पर्व हाम्रा अनेकन अमूर्त सम्पदा मध्यको एक विशिष्ठ सम्पदा हो । हरेक वर्ष बैशाख शुक्ल प्रतिपदाबाट सुरु भई असार शुक्ल चौथीमा समापन गरिने यो जात्रा विश्वमा नै लामो समयसम्म चल्ने जात्राको रुपमा रहेको छ । यो पर्वलाई विश्वभर चिनाउन सके हामीले विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सक्ने प्रशस्त सम्भावना रहेकाे छ ।

    जात्राकाे अवसरमा राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,मन्त्रीहरूका साथै अन्य विशिष्टकृत व्यक्तित्वहरूकाे समेत उपस्थिति रहेकाे थियाे

  • विकास आयोजनामा गुणस्तरमा ध्यान दिउ : प्रधानमन्त्री

    विकास आयोजनामा गुणस्तरमा ध्यान दिउ : प्रधानमन्त्री


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले सडकको सुरक्षा र मानिसको सुरक्षा हुने गरी चालु योजना सम्पन्न गर्न निर्देशन दिए । 

    मानिसलाई आवश्यक नै नहुने वन र भिरमा सडक खनेर कुनै फाइदा छैन, मानव बस्ती छुने र छोटो हुनेगरी सडक निर्माण गर्न आवश्यक छ, अनावश्यक ठाउँमा ‘ट्र्याक’ खोलेर उपयुक्त हुँदैन, भिरमा बाटो लगेर मानिसका लागि फाइदा हुँदैन, यसका लागि ध्यान दिन जरुरी छ’, प्रधानमन्त्री ओलीले भने ।

    उनले राजनीतिक दबाबका आधारमा जनतालाई फाइदा नहुने ठाउँमा सडक निर्माणमा ध्यान दिनु आवश्यक नभएको बताए । ‘एउटै खालका योजना पटक–पटक बनाउने भन्ने हुँदैन, सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी काम गर्नु आवश्यक छ । वन विभागसँग समन्वय राखेर काम गर्नूहोला’, उनले भने ।

    प्रधानमन्त्री ओलीले योजनालाई आवधिक योजनामा वितरण गरेर काम गर्न उचित भएको उल्लेख गर्दै अन्तर मन्त्रालयबीच समन्वय गरेर परिणाम आउनेगरी काम काम गर्न सुझाव दिए । आफू पहिलो पटक प्रधानमन्त्री भएको समयमा पूर्वाधारको विकासमा जोड दिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले देशलाई दिगो र टिकाउ हुने पूर्वाधार निर्माणको आवश्यकता परेको उल्लेख गरे ।

    नेपाललाई पानीजहाज र रेलमार्गको सञ्जाल विस्तार गरेर अन्तरदेशीय र सहज यातायात सञ्चालनको योजना तर्जुमा गर्न आवश्यक रहेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले २०४६ सालपछि गरिएको निजीकरणले उपलब्धि दिन नसकेको बताए। उनले ७० देखि ८० को दशक राजनीतिक प्रगतिको दशक मात्रै नभई आर्थिक प्रगतिको दशक पनि भएको

  • अर्थमन्त्रीले भने-लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं

    अर्थमन्त्रीले भने-लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं


    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् ।


    अर्थ मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगती समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिक रुपमा निर्धारण गरिएका लक्ष्यहरु पूरा गर्नका लागि आ-आफ्नो जिम्मेवारी अनुसार परिणाम निकाल्न निर्देशन दिए ।
    उनले राष्ट्रिय महत्वका, गौरवका आयोजना र प्रतिफल दिने आयोजनाहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।


    अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ बजेट कार्यान्वयन कार्य योजना तयार परेको छ ।
    अर्थ मन्त्रालयले अघिल्लो आर्थिक वर्षका लागि १७५ वटा माइलस्टोन निर्धारण गरेको थियो जसमध्ये ५१ वटा सम्पन्न भए भने ९६ वटा जारी अवस्थामा छन् । २८ वटाको काम सुरु हुन सकेन ।
    बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारी, नेपालल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव डा रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे, अर्थ मन्त्रालय अन्तर्गतका निकाय र विभाग प्रमुखहरुले प्रगतीको समीक्षा गर्नुका साथै सुझाव दिएका थिए ।

  • प्रधानमन्त्री भन्छन् : पार्टीको काम सरकारी निवासबाट गर्दिन

    प्रधानमन्त्री भन्छन् : पार्टीको काम सरकारी निवासबाट गर्दिन


    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने बताए ।

    प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’

  • सचिवहरुलाई प्रधानमन्त्रीको आश्वासन : भविश्यको चिन्ता नगर्नुहोस

    सचिवहरुलाई प्रधानमन्त्रीको आश्वासन : भविश्यको चिन्ता नगर्नुहोस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भविष्यबारे चिन्ता नगर्न सचिवहरुलाई आग्रह गरेका छन् । कतिपयले यो सरकार पनि कति दिन हो र भनेर हल्ला फिँजाउन सक्ने भन्दै उनले भनेका छन्, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ।’ मंगलबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको बताए ।

    कांग्रेस र एमालेबीच १७ असारमा भएको सातबुँदे सहमतिमा २ वर्ष ओली प्रधानमन्त्री हुने र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने उल्लेख छ । त्यही सहमति अनुसार ३० असारमा प्रधानमन्त्री भएका ओलीले आफू सहमतिप्रति प्रतिवद्ध रहेको बताए । ‘यो सरकार मेरो नेतृत्वमा दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु’, गर्छ कि गर्दैन भन्ने कुनै दुविधा नहुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यसपछि शेरबहादुरजीको नेतृत्वमा चुनावसम्म जाने हो ।’

    उनले कांग्रेस सांसद रमेश लेखकको नाम नलिई संसदको रोष्ट्रमबाट सबै धोका खाएकाहरु एक भएर धोकाबाट सिक्न खोजे भने के हुन्छ विचार गर्नुभएको छ कि छैन भनेको सम्झिाए । यो गम्भीर प्रश्न भएपनि आफूहरु बदला लिनुपर्छ भनेर एक नभएको प्रधानमन्त्री ओलीले बताए ।

    देश बनाउन भरपर्दो, स्थिर र एक्सन ओरेन्टेड सरकार बनाएको भन्दै उनले भने, ‘शान्ति सुव्यवस्था कायम गरिछाड्ने, भ्रष्टाचार नियन्त्रण गरिछाड्ने, विकास अगाडि बढाइछाड्ने, सुशासन कायम गरिछाड्ने, जनतालाई सकेसम्म उपयुक्त ढंगले सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सरकार बनेको हो ।’

    केही गरौं भन्ने प्रतिवद्धताका साथ सरकार बनेको भन्दै ओलीले व्यक्तिगत आग्रह पूर्वाग्रहलाई नहेर्ने बताए । ‘कुनै पनि भेदभाव हुँदैन भनेको काम गरे पनि उस्तै, नगरे पनि उस्तै चाहिँ हुँदैन, मूल्यांकन हुन्छ’, प्रधानमन्त्री ओलीले सचिवहरुलाई भनेका छन्, ‘तर मूल्यांकन आग्रहमा आधारित हुन्न ।’

  • प्रचण्ड भन्छन् : अब म जनतासँग जान्छु

    प्रचण्ड भन्छन् : अब म जनतासँग जान्छु

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक देशव्‍यापी अभियानमा निस्कने बताएका छन् । मंगलबार पदाधिकारी बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले जनताको कुरा सन्न देशब्यापी अभियानमा निस्कने बताएका हुन् ।

    ‘जनतासित सम्बन्ध कडी टुटेको थियो । म एकपल्ट देशैभरी जनतासँग एकाकार हुनाका लागि, जनताको सुखदुख बुझ्नका लागि उनीहरुको कुरा सन्नुका लागि जाने इच्छा छ’ बैठकमा प्रचण्डले भनेका छन् ।

    देशब्यापी अभियानबाट फर्कदा विचारको नयाँ संलेषण समेत ल्याउने बताएका छन् । ‘जनताको कुरा सुनेपछि अर्को तहको विचारको संलेसन आउँछ’ प्रचण्डको भनाइ उदृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने ।

  • राजस्वको लक्ष्य भेटाउने गरि काम गर्न अर्थमन्त्रीको निर्देशन

    राजस्वको लक्ष्य भेटाउने गरि काम गर्न अर्थमन्त्रीको निर्देशन


    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
    आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको उल्लेख गर्दै लक्ष्य प्राप्तिका लागि सबै सामर्थ्य लगाएर काम गर्न निर्देशन दिए ।


    ‘राजस्व परिचालनका हिसाबले संक्रमण अवस्थामा छौं । चलन चल्तिका हिसाबले अघि बढ्दा लक्ष्य प्राप्त गर्न सक्दैन’, अर्थमन्त्री पौडेलले भने, -‘चलन चल्तिको अभ्यासबाट माथि उठौं । कमीकमजोरीको स्वमूल्यांकन गरौं ।  चुहावटलाई नियन्त्रण गरौं । राजस्व परिचालनमा कमजोरी हुन नदिऔं ।’

    आर्थिक वर्ष २०८१/८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ ।
    उद्योगी व्यवसायी र करदातालाई मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले आफ्नो कमजोरीसँग डराउने तर करप्रशासनसँग नडराउने गरी सबै करदातालाई बुझाउन जरुरी रहेको धारणा व्यक्त गरे ।उनले कर तिर्न उत्प्रेरित हुने वातावरण तयार पारेर अघि बढ्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले राजस्व संकलन कसरी गर्ने भनेर स्पष्ट योजना अघि बनाएर अघि बढ्न सुझाव दिए।


    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संरचना र स्रोतहरु बदलिएको राजस्व परिचालनलाई प्रभावकारी बनाउन नीतिगत परिवर्तनको आवश्यकता औल्याए ।
    अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका गतिविधि सेवातिर अघि बढेकाले राजस्व संकलनमा त्यसक्षेत्रमा पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

    राजस्व सचिव डा. रामप्रसाद घिमिरेले करदातालाई मैत्रीपूर्ण व्यवहार गर्दै आवश्यक सहजीकरण गरेर अघि बढ्नु पर्ने बताए ।
    आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १० खर्ब ८२ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको थियो ।

    समीक्षामा राजस्व संकलनमा कमी हुनुमा आयातमा राजस्वको बढी निर्भरता भएकोले आयात घट्दा सोझो असर राजस्व परिचालनमा परेको, औद्योगिक, निर्माण र व्यापारमा देखिएको संकुचन राजस्वमा परेको, समग्र मागमा कमी आएको, केही नीतिगत परिवर्तनको प्रभाव परेको सरकारले उच्च लगानी गरेका क्षेत्रबाट राजस्व परिचालन हुन नसकेको लगायतका कारण प्रस्तुत गरिएको थियो ।

  • प्रधानमन्त्री ओलीले लिए सचिवहरुसँग दिनभर बिफ्रिङ

    प्रधानमन्त्री ओलीले लिए सचिवहरुसँग दिनभर बिफ्रिङ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयको काम कारबाहीबारे बिफ्रिङ लिएका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिएका हुन् ।

    सचिवको ब्रिफिङपछि प्रधानमन्त्री ओलीले भने, ‘‘आज बिहान करिब साढे ११ बजेदेखि साढे ५ बजेसम्म ६ घण्टा सबै मन्त्रालयका सचिवज्यूहरूको ब्रिफिङ सुनेँ । नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवज्यूहरूले आ–आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा खुलेरै कुरा राख्नुभयो । भनिन्छ– समस्याको सही पहिचान नै आधा समाधान हो । अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मंगलबार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौँ ।’’

    जनतामा छाएको निराशा चिर्ने उद्देश्यका साथ काम गर्न प्रधानमन्त्रीले सबै मन्त्रालयको कामको जानकारी लिएको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए । मन्त्रालयले आ–आफ्नो समस्यासहितको भावी रणनीति सहितको प्रस्तुति गर्ने काम सकिएको र साउन १५ गते मंगलबार प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने मन्त्री यादवको भनाइ छ।

    बैठकमा विकासे मन्त्रालयका सचिवले ठेकदारको भुक्तानीको समस्यालाई जोड दिएर उठान गरेका थिए। केहीले संविधानसँग बाझिएका कानुन तत्काल संशोधन परिमार्जन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। मन्त्री यादवले सचिवले दिएको बिफ्रिङलाई अध्ययन गरेर प्रधानमन्त्रीले मंगलबार निर्देशन दिने र सोही अनुसार चालु आर्थिक वर्षको काम अघि बढाउने सरकारको योजना रहेको बताए । प्रधानमन्त्री ओलीले बोलाउनुभएको सो बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै सुरक्षा अङ्गका प्रमुखको पनि उपस्थिति रहेको थियो।

  • न्युयोर्कमा जोडी खोज्ने नयाँ तरिका

    न्युयोर्कमा जोडी खोज्ने नयाँ तरिका

    योगेश आदी…🖌️

    सावधान ! श्रीमान वा श्रामती अथवा कसैसँग सम्वन्धमा हुनुहुन्छ भने कुन रंगको कपडामा घरबाट निस्कँदै हुनुहुन्छ, विचार पुर्याउनुहोस् । नत्र अफ्ठेरो परिएला । खासगरी तलमाथि नै कालो रंगको रनिङ सुटमा त निस्कदै ननिस्कनु । भारतमा देवानन्द भन्ने कलाकारलाई सन् १९५८ मा कालापानी भन्ने फिल्म रिलिज भएपछि कालो सुट् लगाउन बन्देज लगाएजस्तै सन्वन्धमा भएकाहरुलाई आफ्नै जोडीले कालो पहिरनमा मर्निङ् वाक वा जिम जानसमेत बन्देज लगाउने अवस्था आउनै लागेको छ । यसैपनि कालो रंगको पहिरनलाई अपिलिङ् र रोमान्टिक मानिन्छ ।

    केहीले बुझ्नु भयो होला तर अधिकांश पाठकलाई के सन्धर्व होला ? भन्ने लाग्न सक्छ । सन्धर्व अलि रोचक छ । डेटिङ् एप वा सोसल मिडियाको कुरा भन्दा बेग्लै प्रयोगको शुरुवात केही बर्षयता अमेरिकी सहरहरुमा गरिन थालिएको छ । हाल “रन क्लब फर सिङ्गल्स” अमेरिकाको सबैजसो सहरहरुमा सञ्चालनमा आएका छन् । यस्तै क्लबहरुले नै सबै चाँजोपाँजो मिलाएको हुन्छ । परिमार्जन र प्रयोग बर्तमान समाजको गुण हो । प्रविधिसँगै परम्परा पनि नयाँ बसाल्न थालिंदै छ । पुराना रुढीबाद र जडहरु उखालिंदै पनि छन् । स्वागत गर्नुपर्छ नविनतम् प्रयोगहरुलाई । कति प्रयोग टिकिएला, कति फेरी झिकिएला । त्यो समयलाई छोडौं । अहिलेलाई पुन: विषयवस्तुमा फर्किउँ । जो सिङ्गल वा डिभोर्स्ड अवस्थामा छ र मिङ्गल् बन्न चाहन्छ भने तलमाथि नै कालो रंगको रनिङ् सुटमा बजारमा निस्कनुस् ।

    समरको सिजन भएकोले होला करिव २०० भन्दा बढी केटाकेटीहरु ‘बिलो द बेल्ट’ कालो कट्टु वा स्टकिङ्मा र टपमा कालो भेष्टसहित न्युयोर्क सहरको म्यानह्याटनमा कुद्दै थिए । सबै अपिचितहरु तोकिएको रुटमा करिव १ डेढ घण्टा जति सँगै कुदे । जगिङ् गरे । कुद्दै, थकाई मार्दै कतिपयले परिचय र नम्बर पनि साटासाट गरे । दुबै पक्षलाई सहज के थियो भने सहभागी सबै सिङ्गल छन् र मिङ्गल् गर्ने चक्करमा आएका हुन भन्ने बोध ।

    पहिले पहिले नेपालमा रोधि बस्ने, दोहोरी खेल्ने र जात्रामा लाप्पा गरेर केटी तान्ने छुट भएजस्तै त्यो महोलमा नजदिक भएर बोल्न जान कुनै धक थिएन । एकैछिनमा नै केटा वा केटीले इन्ट्रेष्ट देखाएको नदेखाएको भाहान भएपछि बिस्तारै छड्किन गाह्रो थिएन् । जगिङ्को एण्डिङ् पोइण्ट कुनै ठुलो बारमा राखिएको हुन्छ । जहाँ पसेपछि केटाहरुले मनपरेको केटीलाई ड्रिङ्क अफर गर्ने गरिन्छ । एकाध घण्टा सांगितिक मादक माहोलमा कयौं प्रेम अंकुरण हुन्छन् । कति बासनामा बदलिन्छन् । कतिपय बारमा नै अधरपानसम्म पुग्छन् ।

    आधुनिक सहरहरुमा स्वस्थ शरीरधारीलाई स्वास्थ्यसम्वन्धि चेतना भएका र मेहेनति ठानिन्छ । स्वस्थ जोडी पाइने प्लेटफर्मको रुपमा सिङ्गल्स रन क्लबलाई लिनेहरु पनि छन् । जो व्यक्ति अर्धखुला शरीर देखाएर एकाध घण्टा जगिङ् गर्ने अवस्थामा हुन्छ, त्यो उसको शारीरिक आत्मविश्वास मानिन्छ ।
    कतिपय डेटिङ् एपमा ‘हेल्थ कन्सस्’ नभएको भनेर रिजेक्ट भएकाहरुले यता अनुभव लिंदा हुन्छ ।

  • मौद्रिक नीतिबाट उत्साहित छन् अर्थमन्त्री

    मौद्रिक नीतिबाट उत्साहित छन् अर्थमन्त्री

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् । मौद्रिक नीति जारी गरेपछिआफ्नो कार्यकक्षमा भेट्न आएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अर्थमन्त्री पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    ‘मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा आएको छ, अर्थमन्त्री पौडेललाई उदृृत गर्दै उनको सचिवालयले जारी गरेको प्रेस नोटमा छ, मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्‍याउनेछ ।’ अर्थमन्त्री पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त पनि व्यक्त गरे ।

  • सडक यातायातमा मृत्यु हुने प्रति सरकारको वेवास्ताप्रति सर्वसाधारणबाट तीव्र आलोचना

    सडक यातायातमा मृत्यु हुने प्रति सरकारको वेवास्ताप्रति सर्वसाधारणबाट तीव्र आलोचना

    काठमाडौं । तीन साता अगाडी त्रिशूली नदीमा दुई बस पहिरोमा परी बगेका छन् । बसको खोजी जारी छ । अहिलेसम्म डेढ दर्जन शव मात्र भेटिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धारको काम जारी राखेका छन् । भारतबाट समेत प्राविधिक टोली मगाइएको छ । तर, अहिलेसम्म बस र यात्रुको अत्तोपत्तो लाग्न सकेको छैन ।

    तर, बुधबार नेपाली आकासकै कालो दिनका रुपमा रहने गरी त्रिभूवन विमानस्थलकै डिलमा भयानक हवाई दुर्घटना भयो । दुर्घटना लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक घटनास्थलमा लावालस्करसहित पुगे । बुधबार नै आकस्मिक मन्त्रिपरिषद् बैठक बस्यो । बैठकले झण्डा आधा भुकाउने निर्णय लियो । साथै छानविन समिति समेत बनायो ।

    सरकारको यो कदमको सर्वसाधारणबाट भने तीव्र आलोचना भएको छ । सडक यातायातमा निधन भएका ६० भन्दा बढी नागरिकप्रति असंवेदनसिल बनेको सरकारले हवाई दूर्घटनापछि भने ठूलो तत्परता देखायो । दुबै दुखद क्षणमा आम सर्वसाधारणको ज्यान गएको भन्दै सामाजिक संजालमा हवाई र बसका यात्रु प्रति किन दोहोरो व्यवहार भनी प्रश्न गरिएको छ । बुधबार सार्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको हो ।

  • ”विकासशील मुलुकमा स्तरोन्नतीको यात्रामा इजिप्टले नेपाललाई साथ दिन्छ”

    ”विकासशील मुलुकमा स्तरोन्नतीको यात्रामा इजिप्टले नेपाललाई साथ दिन्छ”

    काठमाडौं । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

    इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा राजदूत एलगेब्लीले अल्पविकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा सहज ढङ्गले स्तरोन्नत हुन नेपाललाई आफ्नो मुुलुकले सघाउने बताइन् ।


    नेपालको आर्थिक–सामाजिक प्रगति एवं राजनीतिक स्थायित्व इजिप्टको चाहना भएको बताउँदै उनले असंलग्न आन्दोलन (नाम), जी–७७ संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा इजिप्ट र नेपालबीच साझा चासोका विषयमा सहकार्य हुँदै आएको बताइन् ।

    जलवायु परिवर्तनलगायत आपसी हितका विषयहरूमा पनि इजिप्ट र नेपालबीच साझेदारी रहेको बताउँदै राजदूत एलगेब्लीले नामको संस्थापक सदस्य नेपाल इजिप्टको निकटको मित्र भएको बताइन् । सन् १९५७ मा नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरेयता द्विपक्षीय सम्बन्ध अझ सुदृढ बन्दै गएको चर्चा गर्दै उनले इजिप्टका पिरामिड र नेपालको सगरमाथा विश्वभरका पर्यटकका निम्ति आकर्षणका केन्द्र बनेका बताइन् ।


    नेपालसँग सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुक इजिप्टले तीन सयजना नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको अवसर दिएको उल्लेख गर्दै भविष्यमा छात्रवृत्तिका कोटा बढाउन आफू प्रतिबद्ध रहेको बताइन् । दुई देशबीचको परामर्श संयन्त्रले चाँडै त्यस सम्बन्धमा निर्णय गर्ने जानकारी पनि उनले दिइन् । आर्थिक साझेदारी, लगानी एवं व्यापारका क्षेत्रमा भने दुई देशले अझै धेरै काम गर्न बाँकी रहेको बताइन् ।


    सन् १९५२ को क्रान्ति इजिप्टको विकासको वाहक बनेको बताउँदै राजदूत एलगेब्लीले गरिमामय इतिहासलाई कायम राख्दै निरन्तर विकासको बाटोमा अग्रसर हुन आफ्नो देशका जनतालाई राष्ट्रिय दिवसले प्रेरित गरेको उल्लेख गरिन् ।

  • लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हो : प्रधानमन्त्री

    लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हो : प्रधानमन्त्री


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंहले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएको तर, नेपालले भोग गर्न नपाएको भन्दै प्रश्न गरेका थिए ।

    जवाफमा प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका हुन् । ‘सुगौली सन्धि १८१६ बमोजिम लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत काली अर्थात्, महाकाली नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुराका सरकार दृढ र स्पष्ट रहेको छ’ प्रधानमन्त्री ओलीले भने ।

  • गिरिबन्धमा धेरै होहल्ला भयो : प्रधानमन्त्री

    गिरिबन्धमा धेरै होहल्ला भयो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि इस्टेटमा आफूलाई जोड्न आवश्यक नभएको बताएका छन् । आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्तावमाथि प्रनिनिधिसभामा भएको छलफलमा गिरिबन्धुको विषय उठेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गिरिबन्धु के हुन्छ भनेर प्रश्न गरेका थिए । छलफलमा उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विभिन्न समयमा हदबन्दी भन्दा बढीका जमिन कानुनी नबनाई सट्टापट्टा हुने गरेको बताए ।

    त्यही गिरिबन्धुको पनि जग्गा कानुन नबनाई सट्टाभर्ना भएको उनले बताए । कानुन बिना नहोस् भनेर आफू प्रधानमन्त्री हुँदा कानुन बनेको, तर त्यसअनुसार कारबाही नभएको भन्दै ओलीले भने, ‘अनि यो होहल्ला केका लागि ? गिरिबन्धु टि इस्टेटको मुद्दा अदालतमा गएर फैसलासमेत भइसकेको भन्दै उनले भने, ‘बेचबिखचन भएको छैन । हुनुभन्दा अगाडि यस्तो यस्तो गर्नु भनेर शर्त राखिएको थियो । अदालतले त्यसलाई रोकिदियो ।’

    अदालतले कानुन निर्माणलाई नीतिगत भ्रष्टाचार नभनेको उनले बताए । ‘संसदले कानुन बनायो । त्यहाँ नीतिगत भ्रष्टाचार छैन’, अदालतले पनि त्यसो नभनेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई गिरिबन्धु टि इस्टेटका नाममा अफवाह फैलाउने अभ्यासलाई निरन्तरता दिनु छ भने बेग्लै कुरा होला, तर यो जरुरी छैन भन्ने ठान्छु ।’ बरु अदालतले सस्तोमा किनेको जग्गासँग महंगो जग्गा सट्टापट्टा हुनसक्छ भनेको भन्दै उनले अब कानुन बनाउँदा विचार गर्नुपर्ने बताए ।

    संसदले पास गरेको त्यो ऐन र त्यसअनुसारको नियमावली अझै जीवित रहेको भन्दै उनले भने, ‘त्यसमा के रिफर्म गर्नुपर्छ, गरौं, खारेज गर्नुपर्छ भने गरौं । मेरो निजी सम्पत्ति होइन, मैले त्यसबाट लाभ लिनु छैन ।’

  • अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास गदैछु : अर्थमन्त्री

    अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास गदैछु : अर्थमन्त्री

    काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका क्षेत्रमा आशाको दियो पाल्ने प्रयास भइरहेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) का प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेको दाबी गरे ।

    उनले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी हुन आग्रह गरे । ‘प्रधानमन्त्री चौथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टास्न आउनुभएको होइन । समस्या देखेरै समाधान गर्न यो सरकारमा आउनु भएको हो,’ उनले भने, ‘अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ ।’

    उनले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसैमा केन्द्रित भई सरकारले काम गर्ने बताए । छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिए । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा वाह्य क्षेत्र उत्साहजनक भएपनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको उनले बताए ।

    विगत तीन वर्षदेखि उद्योग ३०–४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको र समग्र बजार मागमा संकुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको उनले बताए । उनले विगतका संकुचनकारी मौद्रिक नीतिले अर्थतन्त्र विस्तार हुन नसकेको भन्दै चालुपूँजी कर्जा मार्गदर्शन र पूँजीको वर्गीकरण मार्गदर्शनका कारण उत्पादनशील क्षेत्र र निर्माण क्षेत्र बढी प्रभावित भएकाले यी दुई मार्गदर्शन खारेज हुनुपर्नेमा जोड दिए । परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पूँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ ।

  • नडराई निर्णय लिन प्रधानमन्त्रीको सचिवहरुलाई निर्देशन

    नडराई निर्णय लिन प्रधानमन्त्रीको सचिवहरुलाई निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरुलाई देशको परस्थिति र आवश्यकताको बोध गर्दै आफ्ना काममा केन्द्रित हुन निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बधाई ग्रहण गर्दै ओलीले सचिवहरुलाई एक दिन पनि आराम नगरी काम गर्नुपर्ने अवस्था रहेको सम्झाए ।

    ‘एक दिनमा एक पाइला भएपनि अघि सारौं, त्यसका लागि एक दिन पनि आराम नगरी काम गर्नुपर्नेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवले भने,‘हामी छिट्टै अतिकम विकसितबाट विकासील राष्ट्रमा स्तरोन्नति हुँदैछौं, त्यसलाई मध्यनजर गरेर सार्वजनिक सेवा प्रवाह, सार्वजनिक प्रशासन, राष्ट्रिय उत्पादन, उत्पादकत्व, विकास, सुशासन, सामाजिक न्याय र जनविश्वासमा सुधारका काम गर्नुस् ।’

    सरकारलाई सफल बनाउने जिम्मेवारी कर्मचारीको पनि हुने भन्दै प्रधानमन्त्रीले बजेट पुगेन भनिरहने र विनियोजित बजेट पनि खर्च नहुने अवस्था हटाउने गरी काम गर्न निर्देशन दिए ।

    प्रधानमन्त्री ओलीले असल नियतका साथ निर्णय गर्न नडराउन आग्रह गर्दै कर्मचारीलाई दुःख दिने नियतका साथ अनुगमनकारी निकायले पनि गतिविधि गर्न नहुने बताए ।

    ‘अदादतले फैसला गरिहाल्छ भन्ने ढंगबाट भ्रष्टाचार मुद्दामा कमजोर र जथाभावी अभियोजन हुनुहुँदैन,’ प्रधामनन्त्रीको भनाइ उद्धृत गर्दै ती सचिचवले भने,‘दुःख दिने नियत कसैले कतै राख्न हुँदैन ।’ उनले उच्च नैतिक चरित्रका साथ राम्रो कार्यसम्पादन गर्न र राष्ट्रिय हितलाई महत्वका साथ राखेर काम गर्न सचिवहरुलाई भनेका छन् ।

  • स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीलाई दिए ५ दिने ‘होमवर्क’

    स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीलाई दिए ५ दिने ‘होमवर्क’

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि स्पष्ट खाका बनाएर पेश गर्न निर्देशन दिएका छन् । मन्त्री नियुक्त भएपछि पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको ब्रिफिङ्सहितको भेटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि समाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिनभित्र स्पष्ट योजनासहितको खाका पेश गर्न भनेका हुन् ।

    यससँगै अब कर्मचारीले ५ दिने होमवर्क पाएका छन् । सबै महाशाखाबाट समस्याका कुराहरु आए, समाधान आएन, स्पष्ट ढङ्गबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिनभित्र लिखितरुपमा समाधानका बिकल्प लिएर आउनुहोला, मिलेर गरेर समस्याको समाधान गरौँँ, मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने ।


    उनले स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसकिनुको कारण खोज्नै पर्नेमा जोड दिए । मन्त्री पौडेलले भने, ‘‘स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय हामी नै हो, मन्त्रालयको संयन्त्रभित्र सबै कुरा परेको देखिन्छ, बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ, प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्छ ।’’

    पौडेलले जनतामा कसरी नतिजा दिन सकिन्छ भनेर लिखित योजना बनाउन निर्देशन दिँदै भने, ‘‘हामीले नतिजा कसरी दिन सक्छौं, त्यता केन्द्रित हुनुपर्छ, राज्यको लगानी जति हो, त्यति प्रतिफल हामिले प्राप्त गर्न सकेका छैनौं, आफूले गरेको कामबाट प्रभावकारिता कसरी बढाउने भन्नेमा हामी सबै लागौं।’’

  • निजी क्षेत्रको अर्थमन्त्रीसँग माग : निजी क्षेत्रको मनोबल उकासौं

    निजी क्षेत्रको अर्थमन्त्रीसँग माग : निजी क्षेत्रको मनोबल उकासौं

    काठमाडौं । निजी क्षेत्रका प्रतिनिधिले अर्थमन्त्री विष्णु पौडेलसमक्ष निजी क्षेत्रको खस्किएको मनोबल उठाउनु पर्ने माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच बुधबार भएको छलफलमा महासंघका प्रतिनिधिले अर्थतन्त्र समस्यामा रहेको र आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल बढाउनु पर्नेमा जोड दिए । सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

    ढकालले आर्थिक निकायबीच समन्वय नभएको र अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको सहभागितामा आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको बताए । उनले डेडिकेटेड फिडर र ट्रंक लाइनको समस्या छिट्टै समाधान गर्न पनि मन्त्री पौडेललाई आग्रह गरे । उनले यो समस्याले उद्योगलाई ठूलो असर पारेको र उत्पादनमूलक गतिविधिहरू संकुचित भएको बताए । उद्योगले क्षमताअनुसार चल्न नसकेको उनले बताए ।

    ढकालले अर्थतन्त्र संकुचित भएपछि मुलुकमा रोजगारी सिर्जनामा समेत असर परेको बताए । उनले नेपाल राष्ट्र बैंकको तथ्यांकले मुद्रास्फीति ४।१७ प्रतिशतमा झरेको देखाएपनि वास्तविकतामा कोभिड यता ७ प्रतिशतको दरले बढ्दै गएको बताए । जसका कारण जनताको क्रयशक्तिमा ह्रास आएको बताउँदै उनले बजारको माग पनि घटेको बताए ।

    अध्यक्ष ढकालले मन्त्री पौडेललाई आर्थिक गतिविधि पनि बढ्ने गरी बजारको माग बढाउन मद्दत गर्ने नीति ल्याउन आग्रह गरे । कर्जाको ब्याजदर घटे पनि उद्योगी र उद्यमीले लगानी गर्न नचाहेको ढकालको भनाइ थियो । जसका कारण रेमिट्यान्समार्फत देशमा भित्रिएको पैसा बैंक तथा वित्तीय संस्थामा थुप्रिएको उनको भनाइ छ । कम ब्याजदर मात्रै लगानीका लागि प्रोत्साहन होइन भन्ने देखाएको उनले बताए ।

    ढकालले अर्थमन्त्री पौडेललाई स्थापित व्यवसायीले मात्रै लगानी नगर्ने, नयाँ उद्यमी पनि लगानी गर्न डराइरहेको बताए । ढकालले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण बनाउन मन्त्री पौडेललाई आग्रह गरे ।

    भेटमा मन्त्री पौडेलले आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने भए पनि सबैभन्दा महत्त्वपूर्ण भनेको निजी क्षेत्रको विश्वास निर्माण गर्नु पर्ने बताए ।

    अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उत्पादन र निकासीसँगै बजारको माग घट्दै गएकोमा आफू सचेत रहेको बताउँदै उनले यस्ता समस्याको समाधान हुने बताए । मन्त्री पौडेलले डेडिकेटेड फिडर र ट्रंक लाइनको समस्या होस् वा निर्माण व्यवसायीको भुक्तानीमा भएको ढिलाइ सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याए ।

  • प्रधानमन्त्री भन्छन् : म्यासेन्जरमा बधाई दिनु

    प्रधानमन्त्री भन्छन् : म्यासेन्जरमा बधाई दिनु

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डिजिटल माध्यमबाटै शुभकामना दिन आग्रह गरेका छन् । शपथ लिएर पदभार ग्रहण गरेपछि बधाई दिनेको भीड लाग्ने भएपछि उनले फेसबुक म्यासेन्जर र अन्य डिजिटल माध्यमबाटै शुभकामना दिन भनेका हुन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा आग्रह गर्दै लेखेका छन्, ‘प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिंदा साथीहरुको समयको पनि बचत हुन्छ ।’

    उनले सकेसम्म म्यासेन्जरमा सन्देश पठाउन र भेटका क्रममा पनि खादारमाला प्रयोग नगर्न भनेका छन् । ‘शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु,’ उनले लेखेका छन् ।

  • प्रधानमन्त्रीले ६ साउनमा संसदमा सम्बोधन गर्ने

    प्रधानमन्त्रीले ६ साउनमा संसदमा सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। आउँदो आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनको कार्यसूची रहेको नेकपा (एमाले)ले जनाएको छ । आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार पदभार ग्रहण गरेका छन् । उनले १ महिना भित्र परिवर्तन देखिने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन समेत दिएका छन् ।

  • ट्रम्पमाथि गोली प्रहार भएको घटनाप्रति राष्ट्रपति बाइडेनको निन्दा

    ट्रम्पमाथि गोली प्रहार भएको घटनाप्रति राष्ट्रपति बाइडेनको निन्दा

    काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाप्रति राष्ट्रपति जो बाइडेनले निन्दा गरेका छन् । ट्रम्पमाथि गोली चलेको समय बाइडेन डेलाभेयरमा थिए । चर्चबाट बाहिरिने क्रममा मिडियाकर्मीलाई प्रतिक्रिया दिँदै बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका हुन् ।

    सबै अमेरिकीलाई एकजुट हुँदै यस्ता खालका आक्रमणको निन्दा गर्न आह्वान गर्दै उनले भने, ‘अमेरिकामा यस्ता खालका हिंसाको कुनै स्थान छैन ।’ ट्रम्प सुरक्षित रहेको र उनको स्वास्थ्य राम्रो रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको पनि बाइडेनले बताए ।

  • जनताको जिउ रक्षामा खट्न प्रधानमन्त्रीको निर्देशन

    जनताको जिउ रक्षामा खट्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जीउधनको रक्षाका निम्ति सबै शक्ति लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित ‘एक्सन रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् ।

    अविरल वर्षापछि गएको बाढी पहिरोका कारण देशका विभिन्न भू–भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्ने बताए । ‘विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ ।

    उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने,‘यस वर्ष विपदबाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔं ।’


    केही दिन अगाडि मात्रै आफूले उच्चस्तरीय विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक बोलाएर सबै सरकारी निकायबीच समन्वय गरेर जनताको जीउधनको सुरक्षामा खटिन निर्देशन दिएको बताउँदै प्रधानमन्त्रीले भने,‘ वर्षा जारी छ । अझै क्षति हुन सक्छ । सडक अवरूद्ध हुन सक्छन् । त्यसैले उद्धार एवम् राहतका लागि सक्रिय होऔं ।’

    सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दै प्रधानमन्त्रीले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग आग्रह गरे ।

  • गगन थापा भन्छन् : पटक पटक मन्त्री भएकालाई विश्राम दिइन्छ

    गगन थापा भन्छन् : पटक पटक मन्त्री भएकालाई विश्राम दिइन्छ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक–पटक मन्त्री भएका व्यक्तिलाई आगामी मन्त्रिपरिषद्‌मा पठाउन नहुने बताएका छन् । सरकारमा गएको व्यक्ति परिणाम दिनसक्ने हुनुपर्ने उल्लेख गर्दै सुनसरीमा बिहीबार भएको कार्यक्रममा उनले भने, ‘पटक–पटक मन्त्री भएको व्यक्तिलाई यो पटक विश्राम दिने हो । घरमा राख्ने हो ।’ भावी सरकारमा कांग्रेसबाट गएका मन्त्रीहरू समावेशीका आधारमा हुनुपर्ने थापाले बताए । उनले भने, ‘अब बन्ने सरकारमा कांग्रेसले पठाएका मन्त्रीहरू समावेशीताका लागि उदाहरणीय हुनुपर्छ ।’

    समावेशीको उदाहरण दिनुपर्दा २०१५ साल दिनुपर्ने विवशता पार्टीमा रहेको उनले सुनाए । ‘उदाहरण दिनुपर्‍यो भने २०१५ सालको दिनुपर्दछ । अहिले सरकार बनाउँदै गर्दा २०८१ सालकै उदाहरण दिन पाइयोस् न,’ महामन्त्री थापाले भने,‘दलित, मधेशी, महिला, थारु, अल्पसंख्यक, मुसलमान सबै छन् भनेर ।’

    यसअघि कांग्रेस सरकारको बेलामा ९ जनामा दलित समुदायबाट एकजना पनि नभएको बताए । ‘न दलित पठायौं, न थारू पठायौं । न मधेशी पठायौं,’ थापाले भने, ‘कहिले पठायौंभन्दा २०१५ सालमा पठाएको हो नि त, बिर्सौं ? भन्नुपरेको छ ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने गरी कांग्रेसले सहमति गरेको छ । कांग्रेसबाट १० मन्त्री हुने सहमति दुई दलबीच बनेको छ ।