Category: घूमघाम

  • हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    पेरिस, २४ भदौ (रासस–एपी) । हिन्दू प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीको उपस्थिति सीमित गर्ने व्यवस्थापनको निर्देशनको विरोधमा भएको हड्तालपछि आइफेल टावर मङ्गलबार पुनः सञ्चालनमा आएको छ । कर्मचारीले उक्त निर्देशनलाई अस्वीकार्य भन्दै विरोध गरेका थिए । सिजिटी युनियनकी प्रतिनिधि डायन डेभोइनले एसोसिएटेड प्रेसलाई बताएअनुसार, सप्ताहन्तमा आइफेल टावरका कर्मचारीबीच व्यवस्थापनको निर्देशनलाई लिएर असन्तुष्टि बढेको थियो । व्यवस्थापनले करिब ३३० मिटर अग्लो टावरमा आउने बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बापस)को प्रतिनिधिमण्डलसँग महिला कर्मचारीलाई सम्पर्कमा नआउन निर्देशन दिएको उनको भनाइ छ ।

    बापस स्वामीनारायण सम्प्रदायअन्तर्गतको विश्वव्यापी धार्मिक तथा सामाजिक संस्था हो । संस्थाले फ्रान्सेली राजधानीमा परम्परागत हिन्दू ढाँचामा निर्माण गरिएको मन्दिरको उद्घाटनका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । मङ्गलबार एपीलाई पठाइएको लिखित विज्ञप्तिमा बापसले प्रतिनिधिमण्डलको भ्रमणका क्रममा कर्मचारी र अन्य आगन्तुकलाई हुने सम्भावित असुविधा कम गर्न आइफेल टावर व्यवस्थापनसँग समन्वय गरिएको जनाएको छ ।

    उक्त समन्वय लैङ्गिक आधारमा कुनै अनुरोध गर्ने उद्देश्यले नभएको संस्थाले स्पष्ट पारेको छ । “कुनै पनि अवस्थामा लैङ्गिक आधारमा अनुरोध गरिएको थिएन,” विज्ञप्तिमा भनिएको छ । बापसले आफू “लैङ्गिकता, पृष्ठभूमि वा धार्मिक आस्थाको पर्वाह नगरी समानता, पारस्परिक सम्मान र सबैको सेवाको सिद्धान्तप्रति दृढ प्रतिबद्ध,” रहेको जनाएको छ । संस्थाले यस घटनाबाट कसैलाई चोट वा असहजता पुगेको भए त्यसप्रति क्षमा मागेको छ ।

    आइफेल टावर सञ्चालन गर्ने कम्पनीले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । करिब १३७ वर्ष पुरानो आइफेल टावरमा हरेक वर्ष झन्डै ७० लाख पर्यटक पुग्ने गर्छन् । सिजिटीकी डेभोइनका अनुसार आइफेल टावरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विभिन्न राजपरिवारका सदस्य तथा ब्रिट्नी स्पियर्सजस्ता चर्चित व्यक्तिसहित विशेष प्रतिनिधिमण्डलको नियमित रूपमा स्वागत गर्दै आएको छ । कर्मचारी त्यस्ता भ्रमणका लागि आवश्यक व्यवस्थापन गर्न तयार रहने भए पनि शनिबार दिइएको निर्देशन असामान्य र अस्वीकार्य रहेको उनको भनाई छ ।


    पेरिसका मेयर इमानुएल ग्रेगोइरले सामाजिक सञ्जाल ‘एक्स’मा घटनाबारे अनुसन्धान गर्ने बताए । “हाम्रा ऐतिहासिक स्मारकको परिसरमा वा यस शहरका अन्य कुनै पनि स्थानमा लैङ्गिक समानता रोकिने छैन,” उनले भनेको छन् । उनले यो सिद्धान्त “सबैतिर र सबैका लागि, कुनै अपवादबिना” लागू हुने सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाए । औद्योगिक विवादका कारण आइफेल टावर बन्द भएको यो पहिलो घटना भने होइन । टावरको उचित मर्मतसम्भार र उच्च पारिश्रमिकको माग गर्दै कर्मचारीले गरेको हड्तालका कारण सन् २०२४ को फेब्रुअरीमा पनि आइफेल टावर छ दिनसम्म बन्द भएको थियो ।

  • पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या


    काठमाडौँ, २३ भदौः कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ । पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका क्षेत्रमा जाने पर्यटक बस सोही राजमार्ग भएर आवतजावत गर्ने गरेकोमा विगत १४ दिनदेखि काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीमा रोकिएका छन् ।

    पर्यटक बस एसोसियसन अफ नेपाल (टिवान) का अध्यक्ष भीष्मप्रसाद न्यौपाने कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस आवतजावतमा समस्या परेको बताउँछन् । “राजधानी प्रवेश गर्ने प्रमुख राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस सञ्चालन हुन सकेका छैनन्, यसको प्रत्यक्ष मार पर्यटक र हामी व्यवसायीमा परेको छ”, अध्यक्ष न्यौपाने भन्छन् ।


    चितवन–हेटौँडा–फर्पिङ हुँदै साना पर्यटक बस फाट्टफुट्ट सञ्चालन भए पनि ठूला सवारीसाधन भने लामो समयदेखि रोकिएकाले पर्यटक व्यवसायी तथा मजदुर मर्कामा परेका छन् । “पर्यटक बस ठूला छन्, सानो बाटोमा सञ्चालन गर्दा घुम्ती पुग्दैन, त्यसैले सञ्चालन गर्न पाएका छैनौ”, उनी भन्छन्। राजमार्ग अवरुद्ध भएर पर्यटक बसलगायतका सार्वजनिक सवारीसाधन आवागमनमा प्रभावित भइरहेका बेला हवाई यात्रुको चाप बढेको छ । कृष्णभीरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौँ आउने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । तर वर्षायाममा सडकको अवस्था असहज रहेकाले यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेका छन् ।

    पृथ्वी राजमार्ग बन्द हुँदा चितवनको भरतपुर र कास्कीको पोखरा विमानस्थलबाट हवाई यात्रुको चाप बढेको छ । काठमाडौँबाट पोखराका लागि दैनिक छ उडान भर्दै आएको यती एयरलाइन्सले पृथ्वी राजमार्ग अवरुद्ध भएर यात्रुको चाप बढेसँगै दैनिक उडान सङ्ख्या थप गरेको छ ।

    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला कृष्णभीरको पहिरोका कारण बाटो अवरुद्ध हुँदा अधिकाशं यात्रुको रोजाई हवाइजहाज भएको बताउँछन् । “भोटेकोशी बाढी अगाडिको तुलनामा त्यसपछिको दिनमा हवाइजहाजमार्फत काठमाडौँबाट पोखरा जाने यात्रुको सङ्ख्यामा ५० प्रतिशत बढेको छ”, प्रवक्ता बर्तौला भन्छन् ।
    यती एयरलाइन्सले बाढी अगाडि दैनिक पोखरा छ उडान भर्दै आएकोमा त्यसपछि भने उडानको सङ्ख्या दैनिक १० बनाएको प्रवक्ता बर्तौला बताउँछन् । हवाइजहाजमार्फत चितवनको भरतपुरबाट काठमाडौँ आउने तथा काठमाडौँबाट भरतपुर जाने यात्रुको सङ्ख्यासमेत बढेको छ । भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरका जहाज सञ्चालन हुँदै आएका छन् ।

    बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै उडान सङ्ख्या दोब्बर बनाइएको छ । हाल काठमाडौँबाट भरतपुर दैनिक ९ देखि ११ उडान हुँदै आएका छन् । भरतपुरमा चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट समेत यात्रु आउने गरेका छन् । बाढीले क्षति पुर्याएको कृष्णभीर सडकखण्डमा भने नयाँ ट्रयाक खोल्ने काम तीव्र गतिमा भइरहेको छ । मलेखु–मुग्लिङ सडकखण्डका सहायक आवासीय इञ्जिनियर अशोक देवकोटा दिनरात नभनी नयाँ ट्रयाक खन्ने काम भइरहेको बताउँछन् ।

    “हामीले दिनरात नभनी नयाँ बाटो खोल्ने काम गरिरहेका छौँ, नयाँ बाटो चाँडै नै सञ्चालनमा ल्याउने तयारी छ”, उनी भन्छन् । उक्त राजमार्ग नखुल्दा यात्रुले चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ । नियमित मार्ग सञ्चालनमा नआउँदा यात्रुले लामो यात्रा, बढेको भाडा र वैकल्पिक मार्गको जोखिम र थप सास्ती खेप्नुपरेको छ ।

  • प्रचारप्रसार अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

    प्रचारप्रसार अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

    सुनसरी, २३ भदौः अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा विदेशी पर्यटकको आगमन भने न्यून रहेको छ । आर्थिक वर्ष २०७५\७६ देखि २०८२\८३ सम्म कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार २८३ पर्यटक पुगेका छन् । तीमध्ये विदेशी पर्यटकको सङ्ख्या दुई हजार २९ मात्र रहेको छ ।

    आव २०८२\८३ मा १२ हजार ८८३ पर्यटक आरक्ष पुगेकामा विदेशी पर्यटक ३०५ जना थिए । आव २०८१\८२ मा ११ हजार ६०६ पर्यटकमध्ये ३०२ जना विदेशी र २०८०\८१ मा १२ हजार ५५६ पर्यटकमध्ये ३२७ जना विदेशी पर्यटक आएका थिए । त्यसैगरी, आव २०७९\८० मा १२ हजार ४७९ पर्यटकमध्ये ३११ जना, २०७८\७९ मा ११ हजार १६७ मध्ये १३० जना, २०७७\७८ मा नौ हजार ८१८ मध्ये ७७ जना, २०७६\७७ मा ११ हजार १४ मध्ये १८९ जना र २०७५\७६ मा आठ हजार ७६३ पर्यटकमध्ये ३८८ जना विदेशी पर्यटक रहेको कोशी टप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी मिथलेस महतोले बताए ।


    अन्य राष्ट्रिय निकुञ्ज तथा आरक्षको तुलनामा यहाँ विदेशी पर्यटकको आगमन कम रहेको छ । पर्यटन पूर्वाधार र प्रचारप्रसारको कमीका कारण पनि विदेशी पर्यटकको आगमन कम भएको हुनसक्ने सूचना अधिकारी महतोको भनाइ छ । कोशी टप्पुलाई वन्यजन्तु अवलोकन, बर्ड वाचिङ र सिमसार पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने भए पनि त्यसअनुसारका पूर्वाधार बन्न नसकेको उनले बताए । देशका अन्य निकुञ्ज र आरक्षको तुलनामा निकै कम विदेशी पर्यटक कोशी टप्पुमा आउने गरेका छन् । मुख्यतः प्रचारप्रसारकै अभाव रहेको उनको कथन छ ।

    कोशी टप्पुको मुख्य पर्यटन आकर्षण अर्ना भए पनि यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी, सिमसार, नदी र घाँसेमैदान छन् । त्यसैले अर्ना अवलोकनसँगै बर्ड वाचिङ, प्रकृति पदयात्रा, नदी पर्यटन र जङ्गल सफारीलाई व्यवस्थित गर्न सके विदेशी पर्यटक आकर्षित गर्न सकिने पर्यटन व्यवसायी रमन भट्टराईले बताए । “सुनसरी र उदयपुरका बीचमा रहेको बेलका बीच रिसोर्टबाट जङ्गल सफारी सुरु गरेको छु । आरक्षभित्र जाने सडकको पूर्वाधार छैन”, उनले भने । आरक्ष क्षेत्रमा व्यवस्थित पदयात्रा तथा बर्ड वाचिङ मार्ग, पर्यटक सूचना केन्द्र तथा होमस्टे सञ्चालन गर्नसके पर्यटकको आगमन बढ्नसक्ने उनको भनाइ छ ।

    विसं २०३२ मा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १७३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । विसं २०४४ देखि रामसार सूचीमा सूचीकृत आरक्ष जैविक विविधताका दृष्टिले महत्वपूर्ण क्षेत्र हो । सन् १९७६ को गणनामा कोशी टप्पुमा ६३ वटा अर्ना रहेका थिए भने सन् २०२१ को गणना अनुसार सङ्ख्या बढेर ४९८ पुगेको छ । कोशी टप्पुमा ४२ प्रजातिका स्तनधारी, ५३५ प्रजातिका पक्षी, १४१ प्रजातिका माछा र ७७ प्रजातिका पुतली पाइन्छन् । यस्तै, ३२ वटा खरमयुर र १९ वटा डल्फिन रहेका छन् ।साथै यहाँ हिउँदमा विभिन्न विदेशी चरासमेत आउने गर्दछन् ।

  • भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता

    भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता

    काठमाडौँ, २२ भदौः रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका हुन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका पर्यटक बेपत्ता भएको जानकारी दिए ।


    बेपत्ता भएका विदेशी पर्यटकमध्ये २५६ पुरुष, ३२९ महिला र दुई अन्य रहेका छन् । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन् । विभागले दिएको जानकारीअनुसार भारतका १८४ नागरिक बेपत्ता भएका छन् । यसबाहेक अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्यान्डका एक, फ्रान्सका चार, जर्मनीका आठ, हङ्गेरीका एक, आइरिसका दुई, इजरायलका एक, लिथ्वानियाका एक, मलेसियाका ५५ र नेदरल्यान्डका दुईजना बेपत्ता भएका छन् ।

    यस्तै, न्युजिल्यान्डका पाँच, पोर्चुगलका दुई, रसियाका आठ, सिङ्गापुरका नौ, दक्षिण अफ्रिकाका छ, स्पेनका दुई, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६७, जापानका पाँच, फिलिपिन्सका एक, काजकिस्तानका तीन, बेल्जियमका दुई, स्विडेनका एक जना बेपत्ता भएका छन् । यसैगरी, लाटभियाका ३३, स्विजरल्यान्डका एक, इटलीका दुई, चीनका २६, भियतनामका एक, इस्टोनियाका एक र पोल्यान्डका दुई पर्यटक बेपत्ता भएका छन् ।

    उक्त बाढीमा परेर नेपालका १८८ पर्यटक बेपत्ता भएका छन् । विभागका अनुसार बेपत्ता हुनेमा १६१ पुरुष र २७ महिला रहेका छन् । बेपत्ता हुनेमा विदेशी पर्यटकको सहयोगीका रुपमा गएका र कैलाश मानसरोवर तथा गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेको विभागका सूचना अधिकारी घिमिरेले बताए । सरकारले विपद्का बीच उद्धार कार्य पनि जारी राखेको छ ।

    हालसम्म ३०७ विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ । उद्धार भएकामध्ये २५४ पुरुष र ५३ महिला रहेका छन् । यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये सात जना (दुई पुरुष, चार महिला र एक अन्य) हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिएका छन् ।

  • भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता

    भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता


    कास्की, २१ भदौः यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि त्यसको नकारात्मक असर देशको पर्यटकीय राजधानी पोखराको पर्यटन र समग्र अर्थतन्त्रमा समेत पर्न थालेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनको शनिबार उद्घाटन कार्यक्रममा सहभागी उद्योगी तथा पर्यटन व्यवसायीले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य सुरक्षित र सञ्चालनमा रहेको सन्देश अन्तरराष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याए । विपद्का कारण पूरै देश नै असुरक्षित बनेकोजस्तो नकारात्मक सन्देश बाहिर गएको उल्लेख गर्दै उनीहरुले पोखरा सुरक्षित रहेको र भ्रमणका लागि उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।


    नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्राकृतिक विपत्तिको असर पोखराको पर्यटन क्षेत्रमा गम्भीर रूपमा पर्न थालेको बताए । विपद्सम्बन्धी नकारात्मक सन्देशका कारण पर्यटक आगमन प्रभावित हुनसक्ने भन्दै उनले पोखराको अर्थतन्त्रमा पर्न सक्ने असरबारे समयमै चिन्तन गर्नुपर्नेमा जोड दिए ।

    “प्राकृतिक विपत्तिपछि अहिले पर्यटक आउन सकेका छैनन् । लामो समय पर्यटक आएनन् भने पोखराको अर्थतन्त्रमा कस्तो असर पर्ला रु यसबारे चिन्तनमनन गर्दै समाधानका लागि अहिल्यै लाग्नुपर्छ । ढिला गर्ने छुट हामीलाई छैन”, उनले भने । नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तरराष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवाह गर्नुपर्ने बताए । “विपद्को प्रत्यक्ष असर नपरेका क्षेत्रमा समेत पर्यटन गतिविधि घट्दा असर परेको छ । पोखरासहित नेपालको पर्यटन क्षेत्रको विकास तथा अन्तरराष्ट्रिय प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्ने खाँचो छ”, उनले भने ।


    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय समुदायसँग समेत सहयोग मागिएको बताए । उनले महासङ्घले विश्वका ७० वटा उद्योग तथा वाणिज्य सङ्घलाई पत्र पठाएर नेपालको विपद् पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेको जानकारी दिए ।


    “विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि राज्यलाई ठूलो आर्थिक स्रोत आवश्यक छ । त्यसका लागि हामीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा सहयोगका लागि आह्वान गरेका छौँ । विदेशमा रहेका उद्योग तथा वाणिज्य सङ्घसँग समेत सहयोगका लागि पहल भइरहेको छ”, अध्यक्ष श्रेष्ठले भने, “देशमा ठूलो विपत्ति परेको छ । यस्तो अवस्थामा सबै व्यवसायी तथा निजी क्षेत्रले मानवीय भावनाका साथ खुलेर सहयोग गर्नुपर्छ ।”

    अध्यक्ष श्रेष्ठले नेपालमा विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै दीर्घकालीन रूपमा विपद् न्यूनीकरणका लागि पूर्वतयारी र योजनाबद्ध विकासमा जोड दिनुपर्ने बताए । नदी तथा खोला किनारमा भइरहेको अव्यवस्थित बस्ती विस्तार, हिमताल र अन्य प्राकृतिक जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो । निजी क्षेत्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले व्यवसायीलाई निरुत्साहित गर्नेभन्दा लगानी र उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे ।

    लक्ष्मी विद्या पदकबाट तीन विद्यार्थी सम्मानित

    कार्यक्रमका अवसरमा लक्ष्मी ग्रुप प्रालिद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य सङ्घद्धारा सञ्चालित ‘लक्ष्मी विद्या पदक–२०८२’ बाट व्यवस्थापन सङ्कायअन्तर्गत कास्की जिल्लामा उत्कृष्ट नतिजा हासिल गर्ने तीन विद्यार्थी सम्मानित भएका छन् । स्नातकोत्तर तह (एमबिएस) मा जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ, स्नातक तह (बिबिए)तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमिल्सिना तथा बिबिएसतर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा सम्मानित भए ।

    उनीहरुलाई माला, दोसल्ला, ताम्रपत्र, विद्यापदक तथा नगद पुरस्कार प्रदान गरिएको थियो । हालसम्म लक्ष्मी विद्या पदकबाट ७६ विद्यार्थी सम्मानित भइसकेका छन् । महाधिवेशनअन्तर्गत आज सङ्घको नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यतालिका छ । नेतृत्वका लागि उत्तममान बुद्धाचार्य, शोभा गौतम, बलराम आचार्य र अर्जुन पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

  • बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य

    बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य


    काठमाडौँ, १९ भदौः रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय गर्दै अघि बढ्ने विषयमा छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाढीपछि पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोली (क्यूआरटी)को आयोजनामा आज नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रका करिब २५ भन्दा बढी सङ्घसंस्थाको संयुक्त बैठकले नेपालको पर्यटन पुनरुत्थानका लागि हातेमालो गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।

    बैठकमा क्यूआरटीका संयोजक धमलाले सङ्कटको घडीमा सरकार र निजी क्षेत्रले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले विगत एक हप्तादेखि मन्त्रालय र निजी क्षेत्रबीचको समन्वय प्रभावकारी बनेको र मन्त्रीस्तरबाटै विभिन्न समस्याहरूको तत्काल समाधान खोज्ने काम भइरहेको बताए ।


    नेपाललाई अन्तरराष्ट्रियस्तरमा जोखिमपूर्ण क्षेत्रबाट हटाउन विश्व पर्यटन सङ्गठनमा थप पहल गरिने बताए । यस पुनरुत्थान अभियानको मुख्य आकर्षणका रूपमा ‘लाङटाङ’ क्षेत्रलाई छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए । भूकम्पपछि बन्द रहेको लाङटाङ पदमार्ग र पर्यटकीय क्षेत्र खुला गर्दा विश्वभर नेपाल सुरक्षित छ र नेपालीहरू सङ्कटसँग जुध्न सक्षम छन् भन्ने सकारात्मक सन्देश जाने विश्वास उनले व्यक्त गरे ।


    बैठकले नेपाल सरकारले प्रयोग गरिरहेको क्षति विवरण सङ्कलन फारमलाई आवश्यकताअनुसार परिमार्जन गरी प्रभावित जिल्लाका होटल तथा रेस्टुरेन्टलगायत पर्यटन सेवा प्रदायकको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रभावित क्षेत्रमा पर्यटन पुनरुत्थानका लागि ‘टुरिजम् रिकभरी साइकल’ तयार गर्न पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबीच आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।

    बैठकले लाङटाङ क्षेत्रमा चालु याममा पदयात्रा सञ्चालन गर्न आवश्यक स्थानमा बेलीब्रिज निर्माणका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले बाढी प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य तथा पर्यटन सेवाहरू सुरक्षित रूपमा सञ्चालनमा रहेको सन्देश प्रभावकारी ढङ्गले प्रवाह गर्नुपर्नेमा पनि जोड दिएको नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले जानकारी दिए ।


    नेपालको पर्यटन अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई यथार्थ सूचना उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन, पाटालगायत अन्तरराष्ट्रिय पर्यटन संस्थासँग समन्वय गर्ने तथा नेपालमा रहेका अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग संवाद गर्न पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    बैठकमा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष भरतजङ्ग पाण्डे, नेपाल पर्वतारोहण सङ्घ, होटल व्यवसायी महासङ्घको सहभागिता थियो ।

    यस्तै, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, हिमालय उद्धार सङ्घ, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स, एक्सपिडिसन एसोसियसन अफ नेपाल, नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ, नेपाल पर्यटक बस व्यवसायी सङ्घ, कैलाश अपरेटर सङ्घ, टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर अपरेटर तथा सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटरका प्रतिनिधिहरूको सहभागिता थियो ।

  • प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’

    प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’


    भोजपुर, १८ भदौः भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै अरुण डाँडामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो । गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव र यलम्बरका मूर्ति, विश्रामस्थललगायतका आवश्यक संरचना निर्माण गरिएको छ ।

    समुद्री सतहबाट करिब दुई हजार ३०० मिटर उचाइमा रहेको यस क्षेत्रबाट विभिन्न हिमशृङ्खला, समथर फाँट तथा आसपासका प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ । धार्मिक आस्थाका कारण पूजाआजाका लागि यहाँ पर्यटक तथा भक्तजन पुग्ने गरेका छन् । भोजपुर–लेगुवा सडकखण्डबाट नजिकै रहेकाले पनि अरुण डाँडामा आवतजावत गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको पौवादुङमा–१, श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताए । पर्यटकलाई लक्षित गरी आवश्यक संरचना निर्माण गर्नाका साथै वृक्षरोपण गरिएपछि क्षेत्रको सुन्दरता बढेको उनको भनाइ छ ।

    भोजपुर सदरमुकामबाट नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले सहरी जीवनशैलीको व्यस्तताबाट थकित मानिस प्रकृतिको आनन्द लिन अरुण डाँडा पुग्ने गरेका छन् । घुमघामसँगै स्थानीय परिकारको स्वाद लिन पर्यटक आउने गरेको पौवादुङमा–१ श्यामशिलाका स्थानीयवासी लालबहादुर तामाङले बताए । “अरुण डाँडा क्षेत्रको विकाससँगै यहाँ घुम्न तथा पूजाआजा गर्न आउने मानिसको सङ्ख्या बढेको छ,” उनले भने, “गाउँपालिकाले यहाँको विकासमा भूमिका खेलेसँगै अरुण डाँडा स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यसबाट स्थानीयको आयआर्जनमा समेत केही टेवा पुगेको छ ।”

    धार्मिक तथा पर्यटकीय महत्व बोकेको अरुण डाँडाको संरक्षण र विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर नै विकास निर्माणका काम अघि बढाइएको उनले जानकारी दिए । “अरुण डाँडाको विकासका लागि आवश्यक पूर्वाधार निर्माण गरेका छौँ,” अध्यक्ष राईले भने, “यस ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।”

    अरुण डाँडाको थप प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना गाउँपालिकाले अघि बढाएको अध्यक्ष राईले बताए । प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र सडक पहुँचका कारण आगामी दिनमा यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।

  • थाइल्याण्डले १५ सेप्टेम्बरदेखि ६० भन्दाबढी देशका नागरिकको भिसाबिनाको बसाइ अवधि घटाउँदै

    थाइल्याण्डले १५ सेप्टेम्बरदेखि ६० भन्दाबढी देशका नागरिकको भिसाबिनाको बसाइ अवधि घटाउँदै


    बैङ्कक, १७ भदौ (रासस–एएफपी) । थाइल्याण्डले ६० भन्दाबढी देशका नागरिकलाई दिँदै आएको भिसाबिनाको बसाइको अवधि आधा घटाएर ३० दिनमा सीमित गर्ने भएको छ । उक्त व्यवस्था आगामी १५ सेप्टेम्बरदेखि लागू हुनेछ । पर्यटन दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डको अर्थतन्त्रको महत्वपूर्ण आधार भए पनि विदेशी नागरिकबाट हुने अपराध नियन्त्रण गर्ने प्रयासस्वरूप यो कदम चालिएको अधिकारीले बताएका छन् ।

    पछिल्ला दिनमा भएको पक्राउमा लागुऔषधसम्बन्धी कसुर, यौन बेचबिखन तथा आवश्यक अनुमतिबिना होटल र विद्यालयजस्ता व्यवसाय सञ्चालन गरेको आरोप लागेका विदेशी नागरिकसमेत छन् । हालको पर्यटन योजनाअनुसार युरोपको २९ सदस्यीय सेन्जेन क्षेत्र, चीन, भारत, संयुक्त राज्य अमेरिका तथा दक्षिण अमेरिकाका केही मुलुकसहित ९० भन्दाबढी देशका नागरिकले थाइल्याण्डमा भिसाबिना ६० दिनसम्म बस्न पाउने व्यवस्था छ ।

    थाइ विदेश मन्त्रालयको कन्सुलर मामिला विभागले मङ्गलबार जनाएअनुसार चीन, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घका २७ सदस्य राष्ट्रसहित ६० भन्दाबढी देश तथा क्षेत्रका नागरिकका लागि भिसाबिनाको बसाइ अवधि ३० दिनमा सीमित गरिनेछ । करिब २० अन्य देशका लागि भिसाबिनाको सुविधाको अवस्था भने अझै स्पष्ट छैन । यसबारे विदेश मन्त्रालयका एक अधिकारीले टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

    पेरु, ब्राजिल र दक्षिण कोरियाका नागरिकले भने अब ९० दिनसम्म बिना भिसा थाइल्याण्डमा बस्न पाउनेछन् । यसअघि उनीहरूलाई ६० दिनसम्म बस्न पाउने व्यवस्था थियो । पर्यटकले अध्यागमन अधिकारीको स्वीकृतिमा आफ्नो बसाइको अवधि एकपटक थप गर्न सक्नेछन् । मन्त्रिपरिषद्ले उक्त व्यवस्था स्वीकृत गरेपछि मे महिनामा सरकारी प्रवक्ताले एएफपीलाई यसबारे जानकारी दिनुभएको थियो ।

    विदेशमन्त्री सिहासाक फुवाङकेटकेओले मे महिनामै भिसाबिना बसाइको अवधि घटाउने योजना भिसा प्रणालीको दुरुपयोग गरी थाइल्याण्डमा अपराध गर्ने व्यक्तिविरुद्धको कारबाहीको एक हिस्सा भएको बताए । पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार यस वर्षको सुरुदेखि हालसम्म थाइल्याण्डमा दुई करोड नौ लाख विदेशी पर्यटक पुगेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन प्रतिशत कम हो ।

  • बाढीपछि पर्यटक आगमन घट्यो, एक महिनामा आए ८५ हजार ४४४

    बाढीपछि पर्यटक आगमन घट्यो, एक महिनामा आए ८५ हजार ४४४

    काठमाडौँ, १६ भदौः सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार ४४४ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार नेपालमा गत वर्षको अगस्ट महिनाको तुलनामा तीनहजार कम पर्यटक नेपाल आएका हुन् । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए ।

    अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन् । यो कुल पर्यटक आगमनको ३०।८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक नेपाल छन् । यस्तै, श्रीलङ्काबाट आठ हजार ७१०, अमेरिकाबाट छ हजार २९३, बङ्गलादेशबाट चार हजार ४८७, बेलायतबाट तीन हजार ४७६ जना पर्यटक आएका छन् ।

    क्षेत्रगत रूपमा हेर्दा अगस्टमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट ४१ हजार ४२२ जना आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना आएका छन् । युरोपबाट १० हजार ८७५ जना पर्यटक आएका छन् भने ओसियाना क्षेत्रबाट दुई हजार ५२९ जना आएका छन् । यसैगरी, अमेरिकी क्षेत्रबाट सात हजार ४७३, मध्यपूर्वबाट एक हजार १०, अफ्रिकाबाट ३३८ जना पर्यटक आएका छन् ।

  • भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार

    भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार


    काठमाडौँ, १४ भदौः रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २८९ पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहिन भएकामध्ये हालसम्म २८९ विदेशी पर्यटकको उद्धार गरिएको हो ।

    बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर सम्पर्कविहीन भएकामध्ये २८९ विदेशी पर्यटकको उद्धार गरिएको राससलाई जानकारी दिए । उनका अनुसार हालसम्म भारतका १८०, चीनका ८९, माल्टा चार, जर्मन चार, इटाली दुई, बुल्गेरिया एक, ओमन एक, पोर्चुगल एक, रसिया दुई, स्वीजरल्याण्ड एक, टर्की दुई र अमेरिकाका दुई पर्यटकको उद्धार गरिएको हो ।

    त्यस्तै, विभिन्न देशका ५९१ पर्यटक अझै सम्पर्कविहिन रहेका निमित्त प्रमुख कार्यकारी अधिकृत ऐरले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकार भएका निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन् । घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ ।

    यसैबीच, बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले पर्यटकलाई यात्रा गर्दा सडक र मौसमको अवस्था बुझेर यात्रा गर्न बोर्डले आग्रह गरेको छ । पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ । बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोलफ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

  • भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

    भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

    काठमाडौँ, १० भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर ६२ नेपाली र ३४१ विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन् । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ४०३ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए ।

    सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला रहेका छन् । बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हालसम्म भारतका १३३, अमेरिकाका ४७, अष्ट्रेलियाका ३४ जना, संयुक्त अधिराज्य बेलायतका ३३ जना, क्यानडाका २४ जना, मलेसियाका १९ जना, युक्रेनका सात जना, सिङ्गापुर र दक्षिण अफ्रिकाका छरछ जना, न्युजिल्याण्ड र जापानका पाँचरपाँच जना रहेका छन् । यसबाहेक जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका २५ भन्दा बढी देशका नागरिक बाढीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

    बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरीचौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ । नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

  • ‘नोमाड बेसक्याम्प नेपाल’ आयोजना गरिँदै

    ‘नोमाड बेसक्याम्प नेपाल’ आयोजना गरिँदै

    कास्की, १० भदौः पोखरामा यही भदौ १६ देखि २२ गतेसम्म ‘नोमाड बेसक्याम्प नेपाल २०२६’ आयोजना हुने भएको छ । पोखरालाई दक्षिण एसियाकै प्रमुख ‘रिमोट वर्क’ तथा प्रविधि नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सो कार्यक्रम गर्न लागिएको मङ्गलबार आायोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो कार्यक्रममा ३० देशका ३०० भन्दा बढी अन्तरराष्ट्रिय उद्यमी, ‘डिजिटल’ नोमाड, प्रविधि नवप्रवर्तक तथा सिर्जनाकर्मी सहभागी हुने आयोजकले जनाएको छ ।

    सात दिनसम्म चल्ने कार्यक्रमले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), उद्यमशीलता, रिमोट वर्क र अन्तरराष्ट्रिय ‘नेटवर्किङ’लाई नेपाली प्रतिभा तथा पर्यटनसँग जोड्ने लक्ष्य राखेको नोमाड बेसक्याम्पका संस्थापक ड्यानी फ्लडले बताए । उनका अनुसार अन्नपूर्ण हिमशृङ्खलाको काखमा आयोजना हुने सम्मेलनमा प्रविधिसम्बन्धी कार्यशाला, एआई तथा लगानीसम्बन्धी विशेष छलफल, अन्तरदेशीय नेटवर्किङ र सांस्कृतिक तथा साहसिक पर्यटनसँग जोडिएका कार्यक्रम सञ्चालन हुनेछ । “पोखरामा हुन लागेको दोस्रो संस्करणले स्थानीय प्रतिभा र युवा उद्यमीलाई विशेष प्राथमिकतामा राखेको छ । कर्पोरेट साझेदारको सहयोगमा विद्यार्थी तथा उदियमान नेपाली प्रविधि उद्यमीलाई सहभागी गराइनेछ,” उनले भने ।


    कार्यक्रममा जापानका चर्चित लेखक तथा ‘ह्याप्पी मनी’का लेखक केन होन्डा, सगरमाथा र विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने पहिलो प्यालेस्टिनी नागरिक मुस्तफा सलामेहलगायत सहभागी हुनेछन् । फ्लडका अनुसार यस अभियानले पोखरा, काठमाडौँ र नेपालका अन्य क्षेत्रमा दीर्घकालीन आर्थिक प्रभाव सिर्जना गर्ने लक्ष्य राखेको छ । विदेशी डिजिटल नोमाड तथा रिमोट वर्करको बसाइ अवधि बढेसँगै होटल, रेस्टुरेन्ट, पर्यटन, यातायात तथा स्थानीय सेवा क्षेत्रमा पनि आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

  • राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण

    राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण

    काठमाडौँ, ९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छायाँ दर्शन गरेका छन् । चाँगुनारायण कलश यात्राका पूजारीसहितका सहभागी आज साँझ राष्ट्रपति भवन शीतल निवास पुगेपछि राष्ट्रपति पौडेलले कलशमा आफ्नो छायाँ दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गरेका थिए ।

    भक्तपुरस्थित चाँगुनारायण मन्दिरबाट नारायण, लक्ष्मी र सरस्वतीको प्रतिकका रूपमा तीनवटा कलश पैदल यात्रा गराएर काठमाडौँको हनुमान ढोका तथा वसन्तपुर ल्याउने गरिन्छ । त्यहाँ विधिपूर्वक पूजा सम्पन्न भएपछि राष्ट्रप्रमुखले कलशमा आफ्नो छाँया दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गर्ने परम्परा छ ।

  • भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    रासस
    नारायणगढ (चितवन), ९ भदौः चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइने भएको छ । यसका लागि जिल्ला समन्वय समिति चितवनको ९औँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको कित्ता नं १९५९ को जग्गामध्ये एक बिघा १६ कठ्ठा १४ धुर जग्गा सहिद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरिएको थियो ।

    महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले गेस्ट हाउस चौरको पृष्ठभूमि संरक्षण गर्दै ऐतिहासिककालदेखि देशका लागि योगदान गरेका सहिदहरूको सम्मान र सम्झनामा व्यवस्थित सहिद मैदान निर्माण गर्न लागिएको जानकारी दिए । उनले भने, “भरतपुरको मुटुमा रहेको यस ऐतिहासिकस्थललाई विभिन्न राष्ट्रिय तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने गरी र सहिदहरूको स्मृतिका लागि सहिद मैदानका रूपमा विकास गर्न लागेका हौँ । यसका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम महानगरले अघि बढाएको छ ।”

    सहिद मैदान निर्माणका लागि हाल रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । मैदान स्तरोन्नति तथा सम्याउने कार्यका लागि महानगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माणका क्रममा सङ्कलित माटो प्रयोग गरी मैदान पुर्ने काम भइरहेको छ । केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक अधिवेशनसमेत यही स्थानमा रहेको मञ्चमा भएको थियो ।


    कार्यवाहक प्रमुख अधिकारीले गेस्ट हाउस चौरलाई सबैले साझा थलोका रूपमा प्रयोग गर्दै आएकाले यसलाई व्यवस्थित गरी सहिद मैदानका रूपमा विकास गर्न महानगरपालिकाले प्रक्रिया अघि बढाएको बताए । उनका अनुसार मैदानमा हाल रहेको मञ्चलाई व्यवस्थित तथा सुदृढ गरिनेछ । यसका साथै आकर्षक मुख्य प्रवेशद्वार, घेराबार, दुवैतर्फ ढल निकास, फुटपाथ, हरित क्षेत्र तथा अत्याधुनिक स्मार्ट शौचालय निर्माण गरिनेछ । यी सबै कामलाई एउटै प्याकेजमा समेटेर बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको छ ।

    आगामी माघ १६ गते सहिद दिवसको अवसर पारेर सहिद मैदानको औपचारिक शुभारम्भ गर्ने लक्ष्य राखिएको कार्यवाहक महानगरप्रमुख अधिकारीले जानकारी दिए । सोही दिन भरतपुरलाई ‘बालमैत्री महानगरपालिका’ घोषणा गर्ने कार्यक्रमसमेत तय भएकाले दुवै कार्यक्रम एकैसाथ सम्पन्न गर्ने गरी प्राविधिक टोलीलाई निर्देशन दिइएको उनले बताए ।


    यसैगरी, जिसस परिसरमा रहेको चार बिघा ११ कट्ठा १६ धुर जग्गामध्ये एक बिघा १६ कट्ठा १४ धुरमा सहिद मैदान र एक बिघा नौ धुरमा समन्वय पार्क निर्माण गर्ने गरी भरतपुर महानगरपालिकालाई जग्गा उपलब्ध गराउने निर्णय भएको जिसस चितवनले जनाएको छ । जिसस चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले साविक जिल्ला विकास समिति तथा हाल जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको गेस्ट हाउस चौरलाई थप व्यवस्थित र सौन्दर्यीकरण गर्न सहिद मैदान तथा पार्क निर्माणका लागि भरतपुर महानगरपालिकालाई जग्गा उपलब्ध गराउने निर्णय जिल्ला सभाले गरेको बताए ।

    उनका अनुसार ऐतिहासिककालदेखि सहिदहरूको सम्मान र सम्झनाका लागि सहिद मैदान तथा ज्येष्ठ नागरिक, बालबालिका र आमसर्वसाधारणका लागि समन्वय पार्क निर्माण गर्न लागिएको हो । महानगरपालिकाले उक्त क्षेत्रलाई व्यवस्थित र सौन्दर्यीकरण गर्दै दुवै योजना कार्यान्वयन गर्दा क्षेत्र थप प्रभावकारी र दिगो हुनुका साथै आम नागरिकको प्रत्यक्ष प्रयोगमा आउने उनले बताए ।

    एक बिघा नौ धुर जग्गामा निर्माण हुने ‘भरतपुर समन्वय पार्क’लाई ज्येष्ठ नागरिक, बालबालिका तथा आम सर्वसाधारणका लागि मनोरञ्जन तथा पर्यटकीयस्थलका रूपमा विकास गरिने भएको छ । महानगरले पार्क निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । महानगरपालिकाले यही महिनाभित्र पार्कको विस्तृत परियोजना प्रतिवेदन तथा लागत अनुमान तयार गरी बोलपत्र प्रक्रियामा लैजाने तयारी गरेको कार्यवाहक नगर प्रमुख अधिकारीले बताए ।

  • धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    बागमती, ९ भदौः अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा राखिएका ती मूर्तिसहितको परिवेशले जो–कोहीलाई पनि त्रेतायुगको झल्को दिने गरेको छ । डिभिजन वन कार्यालय, राप्ती, मनहरीको आयोजना र भर्‍याङ कालिका सामुदायिक वनको व्यवस्थापन र राक्सिराङ गाउँपालिकाको समन्वयमा मूर्ति निर्माण गरिएका थिए । विसं २०८० असार १८ गते बागमती प्रदेशका तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा प्राण प्रतिष्ठा गरिएको थियो ।

    जानकी मन्दिर जनकपुरधामबाट प्राप्त फूलमाला, पाती, प्रसादका साथै प्रसिद्ध दूधमतिबाट ल्याइएको जलले ती मूर्तिमा सेचन गरिनुले पनि यहाँको धार्मिक महिमा र गरिमालाई अझै बढाएको छ । यस क्षेत्रमा प्राकृतिक रुपमा नै उम्रिएका अशोकका रुख छन् । परिसरलाई अशोक बाटिकाकै रुपमा विकास गर्ने सोच राखिएको डिभिजन वन कार्यालय, राप्ती मनहरीका प्रमुख हेमबहादुर थापाले जानकारी दिए ।


    “हामी यहाँका अशोकका वृक्षलाई संरक्षण गर्दै थप बिरुवासमेत रोप्ने योजना बनाएका छौँ”, उनले भने, “यस परिसरलाई व्यवस्थित गर्दै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिपरेका छौँ ।” सीता अशोक बाटिका नाम दिइएको यस स्थानमा राखिएको सीता र त्रिजटाको मूर्ति विश्वमै दुर्लभ रहेको विश्वास गरिन्छ ।

    केही धर्म गुरुले भगवान्सँगै राक्षसको मूर्ति राख्न हुँदैन भन्ने तर्क राखेका थिए । राक्षस पक्षधर भए पनि एउटी महिलामाथि परेको सङ्कटमा सकारात्मक सहयोग गर्ने त्रिजटालाई भूमिकाका आधारमा भगवान्सरह नै मान्नुपर्ने तर्क गरिएको स्थानीयवासी बताउँछन् । लङ्कामा सीतालाई अपहरण गरेर रावणले लगेपछि सीताको रेखदेखका लागि राखिएकी त्रिजटाले सीतालाई हौसला प्रदान गरेको धर्मग्रन्थमा उल्लेख छ । बाँदर सेनासहितका राम लक्ष्मणले लङ्कामा जित्दै गरेको र छिट्टै सीता र रामको भेट हुने अवस्था रहेको सकारात्मक सन्देश प्रवाह गरेर त्रिजटाले सीतालाई हतोत्साही हुनबाट रोकेका विभिन्न किंवदन्ती रहेका छन् ।

    उक्त मूर्ति मकवानपुरगढी–७ सुकौराका हर्कबहादुर ब्लोनले साढे दुई महिना लगाएर बनाएका हुन् । यो क्षेत्रलाई प्रकृति र संस्कृतिको अनुपम सङ्गमस्थलका रुपमा विकास गर्दै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको राक्सिराङ गाउँपालिका–३ का वडाध्यक्ष उत्तम वाइबाले बताए । उनका अनुसार राक्सिराङ गाउँपालिकामा रहेको जलपरी झरना र चमेरे गुफाँसँगै पलाँसेस्थित सीता अशोक बाटिका, भर्‍याङ कालिका मन्दिर आदिलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्य बनाउन खोजिएको छ ।

    यहाँस्थित भर्‍याङ कालिकामा हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन ठूलो मेला लाग्ने गरेको छ । त्यसदिन पूर्वको विराटनगरदेखि पश्चिमको बुटवलसम्मका मानिस मेला भर्न आउने गरेको उनले बताए । उक्त दिन पूजाआजा गरेमा मनोकामना सिद्ध हुने विश्वासले टाढाटाढाबाट दर्शनार्थी आउने गरेका छन् । मङ्सिर पूर्णिमाका दिन करिब ३० हजारको सङ्ख्यामा दर्शनार्थी मेलामा सहभागी बन्ने गरेको उनले बताए । रावणले सीतालाई हरण गरेर अशोक बाटिकामा लगेर राखेको परिवेशलाई जीवन्त रुपमा चित्रण गर्नेगरी यहाँस्थित सीता अशोक बाटिका परिसरमा रावणको दरबार बनाउने सोच राखिएको छ ।

    वडाध्यक्ष वाइबाका अनुसार परिसरमा अशोक बाटिकासँगै पारी पचभैयामा विशाल हनुमानको मूर्तिसहित रामको दरबार बनाउने सोच छ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन९डिपिआर०को तयारी गरिएको छ । सो योजनालाई सम्पन्न गर्न करिब रु १५ करोड बराबरको लागत अनुमान छ ।

    “हामी यस क्षेत्रलाई बागमती प्रदेशमा आएका पर्यटकलाई न्यूनतम एक दिन बिताउनसक्ने गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्छ भन्ने सोचमा छौँ”, उनले भने, “स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकारबाट साथ, सहयोग पाउने विश्वासमा छौँ ।” सीता अशोक बाटिका, जलपरी झरनाका साथै यहाँको चेपाङ सङ्ग्रहालयलगायत गन्तव्यलाई समेटेर महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सञ्चारकर्मी रामकुमार एलन बताउँछन् ।


    “सबैको एकताबद्ध प्रयास भएमा यो क्षेत्र प्रकृति, संस्कृतिसँगै धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बन्न सक्छ”, उनले भने, “आवश्यक पूर्वाधारको विकास गर्न सकिएमा आन्तरिक पर्यटकका अलावा मित्रराष्ट्र भारतबाट हेटौँडा आउने पर्यटकलाई न्यूनतम एक दिन घुम्नैपर्ने गन्तव्यका रुपमा यस क्षेत्रलाई स्थापित गर्न सकिन्छ ।”

  • गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

    गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

    रसुवा, ८ भदौः जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा, खानपान–बसाइलगायत सम्पूर्ण तयारी पूरा भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा गठित ११ वटा उपसमितिको तर्फबाट आआफ्नो जिम्मेवारी पूरा गरी भक्तजनको धार्मिक यात्रालाई अघिल्ला वर्षहरूको भन्दा सहज, सुरक्षित र सफल बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    यसैसन्दर्भमा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले मौसममा आउने प्रतिकूलतालाई ख्याल गरी निर्धक्क भई आउन अनुरोध गर्दै यात्राका क्रममा असहज परिस्थिति सिर्जना भए आवश्यकताअनुसार सवारीसाधन र त्यसबाट नभए हेलिकप्टरसमेत प्रयोग गरी निःशुल्क रुपमा बिरामीको उद्धार गरिने प्रतिबद्धता व्यक्त गरे ।
    हिमालय उद्धार सङ्घ, नेपालका कार्यकारी निर्देशक गोविन्द बत्स्यालले समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा यात्राका क्रममा भक्तजनलाई लेक लाग्ने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले आवश्यकताअनुसार विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए ।
    उनका अनुसार आइतबार मध्याह्नदेखि सञ्चालनमा आएको स्वास्थ्य शिविर भदौ १३ गतेसम्म सञ्चालन हुनेछ । शिविरमा आवश्यक औषधि तथा अक्सिजनसहित छ जना चिकित्सक र हिमालय उद्धार सङ्घका प्रतिनिधिका रूपमा प्रकाश खत्रीलाई खटाइएको छ । यसैबीच गोसाइँकुण्ड यात्रालाई सुरक्षित बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसमेतका सुरक्षा निकायलाई आवश्यकताअनुसार परिचालन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले स्पष्ट गरे ।

    सामाजिक सञ्जालमा देखाइए जस्तो गोसाइँकुण्ड जाने बाटोका कुनै पनि स्थानमा अहिले असहज अवस्था नरहेको र भारी वर्षाका कारण खसेका पहिरोसमेत तत्काल हटाउने काम भइरहेको प्रजिअ परियारले जानकारी दिए । यद्यपि यात्राका क्रममा भौगर्भिक अवस्थालाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरण गरेर मात्र अघि बढ्न सम्बद्ध सबैसँग उनको सुझाव छ ।

    गोसाइँकुण्ड यात्राका क्रममा स्वास्थ्य, सुरक्षा एवं विरामी परेमा सुरक्षाकर्मीद्वारा उद्वारसमेतका व्यवस्थापन मिलाइ सकिएकाले निर्धक्क भएर यात्रा गर्नसमेत प्रजिअ परियारले सबैसँग अनुरोध गरे ।

  • दिवङ्गत पितृको सम्झनामा स्वयम्भूमा पूजाआजा

    दिवङ्गत पितृको सम्झनामा स्वयम्भूमा पूजाआजा

    काठमाडौँ, ८ भदौः विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा दिवङ्गत आफन्तको सम्झनामा विशेष पूजाआजा गरिएको छ । बौद्ध धर्मावलम्बीले एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा परम्परागत बाजागाजासहित स्वयम्भूमा पूजाआजा गरेका हुन् । उनीहरूले भैँसीको सिङबाट बनेको बाजासमेत बजाएका थिए । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुँला पर्वअन्तर्गत काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट आएका भक्तजनले स्वयम्भू महाचैत्यको परिक्रमा गरी विधिपूर्वक पूजाआजा गरेका हुन् ।

    नेपाल संवत्को दशौँ महिनाका रूपमा रहेको गुँला पर्वलाई पुण्य सञ्चय गर्ने पवित्र महिनाका रूपमा एक महिनासम्म मनाउने गरिन्छ । ‘गुँ’को अर्थ गुण गर्नु र ‘ला’को अर्थ महिना भन्ने बुझिन्छ । गुँला पर्वमा सहभागी भक्तजनले धार्मिककार्य गरी पुण्य सञ्चय गर्ने र आफ्नो क्षमताअनुसार दान दिने परम्परा छ । यस अवधिमा जीवनलाई शुद्ध र सात्विक बनाउने विभिन्न नियम पालना गर्ने गरिन्छ ।

    धर्मावलम्बीले एक महिनासम्म प्राणी हिंसा नगर्ने, नदिइएको वस्तु नलिने, मिथ्याचार नगर्ने, झुटो नबोल्ने, लागुऔषध तथा मदिरा सेवन नगर्ने, अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण नलगाउने र ब्रह्मचार्य पालना गर्नेलगायतका अनुशासन पालना गर्ने गर्छन् ।

    स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले एकमहिने गुँला पर्वलाई व्यवस्थित बनाउन स्वयम्भू र आसपासका क्षेत्रमा सरसफाइ, रङरोगन तथा बत्ती जडान गरेको महासमिति सदस्य राजु लामाले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजन बाजागाजासहित स्वयम्भूमा पूजाआजाका लागि आउने र पूजापछि शोभाभगवतीको परिक्रमा गर्ने परम्परा रहेको छ ।

  • सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

    सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

    काठमाडौँ, ७ भदौः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सगरमाथा आरोही सङ्घको २५औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘रजत महोत्सव’ कार्यक्रममा ऐनलाई समयसापेक्ष बनाउँदै आरोहीमैत्री बनाउनुपर्नेमा जोड दिइएको हो । महोत्सव उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा डेविड शेर्पाले पर्यटन क्षेत्रलाई समयसापेक्ष बनाउन र आरोहीको अधिकार सुनिश्चित गर्न वर्तमान पर्यटन ऐनमा सुधार गर्नुपर्ने बताए ।


    उनले विसं २०३५ मा बनेको पर्यटन ऐन अहिलेसम्म पनि पूर्ण रूपमा परिवर्तन नहुनु समस्याका रूपमा रहेको उल्लेख गे । “हामी अझै पनि २०३५ सालको कानुनमा हिँडिरहेका छौँ, अब यसलाई परिवर्तन गर्ने सुनौलो अवसर आएको छ, यसमा तपाईँहरूको साथ र सहयोगको खाँचो छ”, उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्यटन प्रवर्द्धन र यससँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै प्रतिनिधिसभा सदस्य शेर्पाले आफूलाई आरोहीको आवाज बुलन्द गर्न जनताले संसद्मा जिम्मेवारीसहित पठाएकाले उक्त जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । सगरमाथा आरोहणको ७३ वर्ष पुगिसक्दा पनि धेरै आरोहीले उचित सम्मान र सुरक्षा नपाएका उनको भनाइ छ ।

    “हामीले थुप्रै आरोहीहरू गुमाएका छौँ, कति महिला एकल भएका छन्, बालबालिका टुहुरा भएका छन् । आरोहीको अधिकारका लागि सरकारले के ग¥यो भन्ने प्रश्न अझै जीवितै छ”, शेर्पाले भने। उनले नेपाली युवा विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै युवाले मुलुकको पर्यटन क्षेत्रमा भविष्य देख्ने वातावरण बनाएर अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

    नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटनको विकास भएमात्र देशको विकास हुने बताए । उनले नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले यसको विकास, प्रचारप्रसार, प्रवर्द्धन र संरक्षणमा लाग्न सबैलाई आग्रह गरे । उनले नेपाल पर्वतारोहण सङ्घले प्रत्येक दुई वर्षमा आरोहीलाई सम्मान गर्दै आइरहेको जानकारी दिए ।


    सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोही तथा माउन्टेन गाइड (पथप्रदर्शक)को सुरक्षा, हकहित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी नीतिनिर्माण गर्नुका साथै छुट्टै कल्याणकारी कोष स्थापना गर्नुपर्ने बताइन् । उनले आफ्नो जीवन जोखिममा राखेर नेपालको पर्यटन तथा पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाउने आरोही र माउन्टेन गाइडको भविष्य सुनिश्चित गर्नुपर्ने बताइन् ।

    सङ्घका प्रथम उपाध्यक्ष दिवस पोखरेलले आरोही तथा गाइडले हिमाल आरोहणका क्रममा अत्यधिक चिसो, हिमपहिरो र अन्य जोखिमसँग सामना गर्नुपरेको र कतिपयले ज्यान गुमाउनुपरेको बताए । आरोही तथा गाइडको सुरक्षा र अधिकार सुनिश्चित गर्न सङ्घ तथा प्रदेश तहमा स्पष्ट र व्यावहारिक नीति आवश्यक रहेको उनको भनाइ छ ।

    “संसारले हाम्रा अग्ला र सेता हिमाल देख्छ, तिनको सौन्दर्यको प्रशंसा गर्छ तर ती हिमालको चुचुरामा देशको झण्डा फहराउने आरोही तथा गाइडको वास्तविक दुःख, पीडा र सङ्घर्ष भने प्रायः ओझेलमा पर्ने गर्छन्”, उनले भने । सङ्घका महासचिव शिवबहादुर सापकोटाले दुर्घटनामा परेका आरोहीको निःशुल्क तथा गुणस्तरीय उपचार र ज्यान गुमाएका आरोहीका बालबालिकाका लागि उच्च शिक्षा तथा छात्रवृत्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

    “जबसम्म हाम्रा गाइड र आरोही सामाजिक र आर्थिक रूपमा सुरक्षित हुँदैनन्, तबसम्म नेपालको पर्यटन क्षेत्रको दिगो विकास सम्भव छैन”, उनले भने । कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आरोही र पर्वतीय पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । त्यस्तै, सङ्घद्वारा २५औँ स्थापना दिवसका अवसरमा प्रकाशन गरिएको ‘रजत स्मारिका’ विमोचन गरिएको थियो ।

  • पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

    पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

    वासुदेव पौडेल र वसन्त भण्डारी–रासस

    बागमती, ६ भदौः मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी झरना’ यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । हेटौँडासँगै आसपासका जिल्लाबाट झरना हेर्नका लागि पर्यटकको आगमन बढ्न थालेपछि यस क्षेत्रले पर्यटकीय गन्तव्यका रूपमा चर्चा कमाउन थालेको हो । हेटौँडाको मुख्य बजारबाट ३० किलोमिटर दूरी र मनहरीबाट करिब १० किलोमिटर दूरी पार गरेपछि जलपरी झरना आउन सकिने राक्सिराङ(३ का वडाध्यक्ष उत्तम वाइबाले जानकारी दिए ।

    प्रशस्त रूपमा पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परिरहेको यस झरनाको प्रवर्द्धनसँगै यहाँकोे पूर्वाधार विकासका लागि वडा कार्यालय निरन्तर लागिरहेको उनले बताए । झरनासँगै यहाँको चमेरे गुफासमेतलाई समेटेर पर्यटकीय विकासका योजना अघि बढाइएको वडाध्यक्ष वाइबाले बताए । “जलपरी झरनाको पर्यटकीय उपयोगलाई लक्षित गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी यसको संरक्षण र प्रवर्द्धनका लागि २०७४ सालयता निरन्तर प्रयास गरिएको छ”, उनले भने, “यहाँको पूर्वाधार विकासका लागि प्रदेश तथा पालिकाबाट हालसम्म रु एक करोड २७ लाख बजेट विनियोजन भई विभिन्न काम सम्पन्न भएका छन् ।”

    झरना परिसरमा वडा कार्यालयका तर्फबाट बुद्धको मूर्ति राखिएको उनले बताए । उनका अनुसार प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत परिसरमा पदमार्ग निर्माणसँगै विभिन्न फूलका बिरुवा रोपिएका छन् । पछिल्ला वर्षमा पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गरी वनभोजस्थल पनि निर्माण गरिएका जानकारी दिँदै वडाध्यक्ष वाइबाले हाल परिसरमा दुईवटा वनभोजस्थल व्यवस्थित रूपमा रहेको जानकारी दिए । “जलपरी झरना परिसरमा घुम्न र वनभोजका लागि आउने सर्वसाधारणको आकर्षण बर्सेनि बढ्दो छ”, उनले भने, “अत्यावश्यकीय पूर्वाधार विकाससँगै राम्रो प्रवर्द्धन गरिएमा यो हेटौँडाकै एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुने पक्का छ ।”

    जलपरी झरना र चमेरे गुफालाई पर्यटनसँग जोड्दै तल गाउँमा घरबास सञ्चालन गर्नु अपरिहार्य भएको स्थानीयवासी रामकुमार एलनले बताए । “जलपरी झरनालाई पर्यटनसँग जोड्न सकेमा यसले राक्सिराङ गाउँपालिकासँगै मकवानपुरकै पर्यटनमा विशिष्ट योगदान दिने देखिन्छ”, उनले भने, “१२ महिना नै अटुट रूपमा पानी झरिरहने यो झरनालाई पर्यटकीय उपयोगका लागि स्थानीय सरकारसँगै प्रदेश र सङ्घको संयुक्त सहयोग र सहकार्य अपरिहार्य छ ।”

    यहाँको पर्यटकीय विकासले ग्रामीण अर्थतन्त्रमा पनि विशिष्ट योगदान पुग्ने उनले बताए । पछिल्ला समयमा वनभोजका लागि निर्माण गरिएका टहरासँगै पदमार्गलाई व्यवस्थित गरिएका कारण आउने पर्यटकलाई झरनासम्म पुग्न सहज भएको छ । वडाध्यक्ष वाइबाका अनुसार यहाँको समग्र विकाससँगै व्यवस्थापनमा हरियाली सामुदायिक वनले महत्त्वपूर्ण सहयोग गरिरहेको छ । झरनाभन्दा तल विशेषगरी तामाङ, मगर र चेपाङको बस्ती रहेको जानकारी दिँदै उनले ती वस्तीमा घरबास सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।


    “हामीले घरबास सञ्चालनका लागि स्थानीयवासीलाई अभिप्रेरित गरिहेका छौँ”, उनले भने, “जलपरी झरना र चमेरो गुफाको विकाससँगै पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्दै यहाँ आउने पर्यटकका लागि घरबास सञ्चालन गर्न सकिएमा यसले गाउँमा पर्यटकको चहलपहल पनि बढ्ने, रोजगारीका अवसर सिर्जना भई स्थानीयको आयआर्जन वृद्धि हुने थियो ।”

    झरना परिसरमा राखिएको बुद्धको मूर्तिसँगै मृगलाई झम्टँदै गरेको बाघको मूर्ति, झरनाको छेउमा राखिएको जलपरीको मूर्तिका साथै तस्बिर खिच्नका लागि बनाइएको आकर्षक स्थान आदिले यहाँ आउने पर्यटकलाई लोभ्याइरहेको छ । पछिल्ला समयमा हेटौँडाका साथै चितवनलगायतका स्थानबाट दिनानुदिन पर्यटकहरू आउने गरेका छन् । विशेषगरी सार्वजनिक बिदाको दिन यहाँ आउने पर्यटकको सङ्ख्या बढी हुन्छ ।

    बर्दघाटबाट जलपरी झरना घुम्नका लागि आउनुभएका प्रदीप विकले यो झरना तथा यहाँको परिवेशले आफूलाई निकै मोहित बनाएको अनुभव सुनाए । चितवनमा आफन्तकामा आउँदा केही समय छुट्याएर आफू झरनामा आइपुगेको बताउँदै उनले यसको प्रचारप्रसार गर्न सकिएमा आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने धारणा राखे ।


    झरनामा परिसरमा भेटिएका चितवन भण्डाराका अभिशेक सुनारले आफू दोस्रोपटक यहाँ आएको बताए । “केही समय पहिला साथीहरूसँग यहाँ घुम्न आएको थिएँ”, उनले भने, “झरना तथा यहाँको परिवेश लोभ्याउने खालको छ । दोस्रोपटक आफन्तहरू लिएर घुम्न आएको हुँ ।”

    जलपरी झरना तथा चमेरो गुफा पार्क क्षेत्रमा पर्यटकको सुविधालाई लक्षित गरी बिजुली बत्तीको लाइन विस्तार गर्न लागिएको छ । झरनाका कारण गाउँमा चहलपहल बढ्दै गएपछि स्थानीयवासीले चिया तथा खाजा पसल थप्ने क्रम पनि बढेको छ । आगामी दिनमा पर्यटकीय चहलपहल बढ्ने देखेर स्थानीयवासी छेकु दोर्जे पाख्रिनले गाउँमा चिया तथा खाजा पसल सञ्चालन सुरु गरेको जानकारी दिए ।

    “ठाउँठाउँबाट झरना तथा पार्कमा पर्यटक आउन थालेका कारण चहलपहल बढिरहेको छ”, उनले भने, “आउने पर्यटकलाई चिया तथा खाजाको सुविधा उपलब्ध गराउने उद्देश्यका साथ मैले चिया तथा खाजा पसल सुरु गरेको छु ।” यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि तीनै तहका सरकारले योजनाबद्ध काम गर्न सके रोजगारीका अवसर सिर्जना हुनुका साथै आयआर्जन बढ्ने, आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ ।

  • गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

    गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’


    रासस
    गुल्मी, ६ भदौः गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाबाट निर्माण गरेको एक किलोमिटर लामो ‘धुर्कोट ग्रेटवाल’ पछिल्लो समय जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । टाढाबाट हेर्दा विश्वप्रसिद्ध ग्रेटवालको झल्को दिने उक्त संरचना हेर्न तथा हिमशृङ्खलाको दृश्यावलोकन गर्न आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो ।

    धुर्कोट गाउँपालिका ६ स्थित ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाको पर्खाल चिरेर निर्माण गरिएको पैदल मार्गलाई गाउँपालिकाले ‘धुर्कोट ग्रेटवाल’ नामकरण गरेको हो । उक्त संरचनाबाट चारैतिरका रमणीय दृश्यसँगै माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

    विशेषगरी सार्वजनिक बिदाका दिन घुम्न, श्रव्यदृश्य सामग्री बनाउन, तस्बिर लिन, सामाजिक सञ्जालका लागि सामग्री बनाउन र प्राकृतिक दृश्यको आनन्द लिन जिल्लाभित्र तथा बाहिरबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताए । उनका अनुसार ग्रेटवाल निर्माण भएपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ ।

    अध्यक्ष पोखरेलले पर्यटकलाई कम्तीमा दुई दिनसम्म धुर्कोटमा बस्ने वातावरण बनाउने उद्देश्यले विभिन्न पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए । पैदलमार्ग निर्माण गर्दै जाने क्रममा संरचना ग्रेटवाल जस्तो देखिएपछि यसको नाम ‘धुर्कोट ग्रेटवाल’ राखिएको उनको भनाइ छ ।

    “धुर्कोटको पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक धुर्कोटकोट तथा सङ्ग्रहालय, विचित्र गुफा, बुढीकोट ग्रेटवाल, सहिद पार्क निर्माण गरी पर्यटकीय क्षेत्रलाई एकीकृत रूपमा विकास गर्ने पालिकको योजना छ । यसले आर्थिक गतिविधि चलायमान बन्नुका साथै रोजगारीका अवसर सिर्जना भई स्थानीयको आयआर्जन बढ्ने अपेक्षा छ”, अध्यक्ष पोखरेलले भने ।


    पालिकाका अनुसार धुर्कोट ग्रेटवाल निर्माणमा गाउँपालिकाको ७० प्रतिशत र सङ्घीय सरकारको ३० प्रतिशत लगानी रहेको छ । कुल रु तीन करोड २३ लाखको लागतमा निर्माण गरिएको उक्त संरचनाबाट पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा व्यापारव्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    यस क्षेत्रमा ऐतिहासिक धुर्कोटकोटमा विभिन्न पूर्वाधार निर्माण गरिएको छ भने बुढीकोट क्षेत्रमा आकर्षक ग्रेटवालसँगै विशाल शिवको मूर्ति, मन्दिर तथा अन्य मनोरञ्जनात्मक संरचनासमेत निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद पन्थीले बताए ।

    पर्यटकीय क्षेत्रलाई थप हराभरा र आकर्षक बनाउन गाउँपालिकाले ग्रेटवालको दायाँबायाँ तथा बुढीकोट क्षेत्रमा विभिन्न प्रजातिका दुई हजारभन्दा बढी बिरुवा रोपेको गाउँपालिका उपाध्यक्ष सीता गिरीले जानकारी दिए । पर्यटकीय पूर्वाधार र रोपिएका बिरुवाको संरक्षण तथा हेरचाहका लागि गाउँपालिकाले हेरालुको समेत व्यवस्था गरेको उनले बताए ।


    ग्रेटवाल हुँदै पैदलयात्रा गर्ने क्रममा नजिकै विशाल शिवको मूर्ति भएको स्थानमा पुग्न सकिन्छ । त्यहाँबाट गुल्मी जिल्लाको करिब ८० प्रतिशत भूभाग देख्न सकिने अध्यक्ष पोखरेलले बताए । अग्लो डाँडाबाट देखिने प्राकृतिक दृश्य, हरियाली वनजङ्गल र टाढासम्म फैलिएका हिमशृङ्खलाले पर्यटकलाई थप आकर्षित गर्ने स्थानीय चुरा भण्डारीले बताए । सामाजिक सञ्जालमा तस्विर, भिडियो र टिकटक सार्वजनिक हुन थालेसँगै धुर्कोट ग्रेटवाल यतिबेला नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको हो ।

  • प्रधानमन्त्री शाह मुस्ताङ प्रस्थान , मुक्तिनाथको दर्शन गर्दै

    प्रधानमन्त्री शाह मुस्ताङ प्रस्थान , मुक्तिनाथको दर्शन गर्दै

    गण्डकी, ६ भदौः परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार पोखरा आउनुभएका प्रधानमन्त्री वालेन्द्र शाह आज मुस्ताङतर्फ प्रस्थान गरेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार प्रधानमन्त्री शाह स्थलमार्गबाट मुस्ताङ प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको भ्रमणको पूर्ण विवरण आफूलाई ज्ञात नभएको उनले बताए । मुस्ताङमा प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।

  • बिदा मनाउन प्रधानमन्त्री शाह पोखरामा

    बिदा मनाउन प्रधानमन्त्री शाह पोखरामा

    गण्डकी, ५ भदौः प्रधानमन्त्री वालेन्द्र शाह पारिवारिक भ्रमणका सिलसिलामा आज अपराह्न पोखरा पुगेका छन् । उनी माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बसेका छन् । प्रधानमन्त्री शाह अस्ताम आइपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । “प्रधानमन्त्री नितान्त पारिवारिक भ्रमणमा आउनुभएको हो, उहाँको भ्रमणलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ”, उनले भने, “प्रधानमन्त्रीको अन्य कुनै औपचारिक कार्यक्रम छैन ।”

    स्थानीयवासी शोभाखर अधिकारीले प्रधानमन्त्रीको भ्रमणले अस्तामवासी खुसी भएको प्रतिक्रिया दिए । “अस्ताममा सडक, खानेपानीको समस्या छ, प्रधानमन्त्री नै यहाँ आउनुभएपछि गाउँलेका समस्या सम्बोधन हुने आशा छ”, उनले भने । प्रधानमन्त्रीको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने अस्तामका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताए । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित काठमाडौँदेखि सडकमार्ग हुँदै पोखरा आएका हुन् । उहाँ शनिबार मुस्ताङ जाने कार्यक्रम छ ।

  • ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

    ढोरपाटनमा विदेशी सिकारीको आकर्षण


    रासस
    बागलुङ, ५ भदौः नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत रु चार करोड १७ लाखभन्दा बढी बुझाएका छन् । ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार हुने गर्छ । पहिलो चरणमा रु तीन करोड तीन लाख पाँच हजार र दोस्रो चरणमा रु एक करोड ४३ लाख ७४ हजार राजस्व बुझाइएको थियो ।

    आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार गत आर्थिक वर्षको पहिलो सिकार याम (असोज–मङ्सिर)मा ११ नाउर र आठ झारलको सिकार अनुमति दिइएको थियो । विभिन्न कम्पनीमार्फत आएका विदेशी सिकारीले आठ नाउर र पाँच झारलको सिकार गरेका थिए । राजस्व बुझाए पनि तीन नाउर र तीन झारलको सिकार हुन सकेन ।

    दोस्रो सिकार याम (फागुन–वैशाख)मा १४ नाउर र १० झारलको सिकारका लागि अनुमति दिइएको थियो । सो याममा सिकारीले १३ नाउर र छ झारलको सिकार गरेका थिए । प्राविधिक कारणले एक नाउर र चार झारलको सिकार हुन नसकेको सुवेदीले बताए । ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गोलीगोठ्ठामा देखिएको समस्या, सिकारी बिरामी हुनु, मौसममा आएको परिवर्तन र निसाना चुक्नुलगायत कारणले अनुमति लिएका केही नाउर र झारलको सिकार हुन सकेन ।

    नेपालमा कानुनी रूपमा सिकार गर्न मिल्ने ढोरपाटन सिकार आरक्षमा विदेशी सिकारी प्रतिस्पर्धामार्फत महँगो शुल्क तिरेर सिकार गर्न आउने गर्छन् । नाउर र झारलको सिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत देशबाट सिकारी आउने गरेका छन् । सिकारका लागि आवश्यक बन्दोबस्त र मार्गनिर्देशनका लागि आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरियालाई सम्बन्धित सिकार ब्लकमा खटाउने गर्छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको सङ्ख्या हेरेर हरेक वर्ष सिकारका लागि कोटा निर्धारण गर्छ । सिकार आरक्षलाई सातवटा ब्लकमा विभाजन गरिएको छ । त्यसमा सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह ब्लक छन् । व्यावसायिक विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली हेलिकप्टरमार्फत आरक्षमा पुग्ने गर्छन् । सिकारीले हेलिकप्टर, सहयोगी, बन्दोबस्त र अन्य खर्चसमेत आफैँ व्यहोर्ने गरेका छन् । एक सिकारीले १५ दिनको सिकार अवधिमा रु २० लाखदेखि रु ३५ लाखसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ ।

    सिकारीसहित नेपाली सेना र आरक्षको टोली अधिकतम १५ दिनसम्म जङ्गलमा रहने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरी सिकारको कोटा र राजस्व दर निर्धारण गर्ने गरेको छ । नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टरलगायत सबै खर्च जोड्दा एक जना सिकारीले मोटो रकम खर्च गर्ने गरेका छन् । हालसम्म नाउर र झारलको सिकारका लागि नेपाली सिकारीले प्रतिस्पर्धा नगरेको आरक्ष कार्यालयले जनाएको छ । विसं २०३९ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

  • बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी

    बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी


    भद्रपुर (झापा), ५ भदौः बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी गर्नेहरूको रोजाइ बन्दै गएको छ झापाको बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिकस्थल विराट पोखरी । बिर्तामोड बजारबाट करिब चार किलोमिटर दक्षिणमा रहेको यो पोखरी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटक, विद्यार्थी तथा धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । शनिबार र सार्वजनिक बिदाका दिन यहाँ घुम्न आउनेको उल्लेखनीय भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।

    स्थानीय सोमनाथ अधिकारीका अनुसार फुर्सदको समय बिताउनमात्र होइन, परिवारसहित घुम्न र प्राकृतिक वातावरणको आनन्द लिन पनि आगन्तुक विराट पोखरी पुग्ने गरेका छन् । “शनिबार र आइतबार त पोखरी परिसर भरिभराउ हुन्छ । स्थानीयदेखि बाहिरी जिल्लाका आगन्तुकसम्म यहाँ शान्त वातावरण खोज्दै आउँछन्”, अधिकारीले भने ।


    अधिकारीका अनुसार बिर्तामोडस्थित मेची आँखा अस्पतालमा उपचारका लागि भारतका सिक्किम, आसामलगायत क्षेत्रबाट आउने बिरामी र उनीहरूका आफन्त पनि उपचारको फुर्सदमा विराट पोखरी घुम्न पुग्ने गरेका छन् । यसले धार्मिक र प्राकृतिक पर्यटनसँगै स्वास्थ्य पर्यटनलाई समेत जोड्ने सम्भावना देखिएको छ ।

    पोखरी संरक्षण समिति ‘विराट सरोवर विकास समिति’का अध्यक्ष इन्द्र प्रसाईँका अनुसार बिर्तामोडको बढ्दो जनघनत्व र सहरी विस्तारले मानिसलाई हरियाली र शान्त वातावरणको आवश्यकता झन् बढाएको छ । उनले भने, “सहरको कोलाहलबाट केही घण्टा टाढा बसेर मन शान्त बनाउने ठाउँका रूपमा उक्त क्षेत्र स्थापित हुँदै गएको छ । यहाँ आएपछि मानिस तनावमुक्त भएको अनुभूति गर्छन् ।”

    उहाँका अनुसार पोखरी परिसरमा बालबालिकाका लागि खेल संरचना, विद्यालयका शैक्षिक भ्रमण, विभिन्न सङ्घसंस्थाका अवलोकन कार्यक्रम तथा जल सफारी ९बोटिङ० सञ्चालन भइरहेका छन् । “यसको प्रचारप्रसार र संरक्षण गर्नु सबैको साझा दायित्व छ”, उनले जोड दिए । विराट पोखरी केवल प्राकृतिक सौन्दर्यको स्थलमात्र होइन, पौराणिक इतिहाससँग जोडिएको सांस्कृतिक धरोहर पनि हो । स्थानीय जनविश्वासअनुसार महाभारतकालमा राजा विराटले आफ्ना गाईवस्तुलाई पानी खुवाउन यो पोखरी खन्न लगाएका थिए । यही क्षेत्रमा पाण्डवले अज्ञातबास बिताएको मान्यता पनि रहँदै आएको छ ।

    पोखरी परिसरमा रहेको प्राचीन ग्रामकाली थान र शिवालय मन्दिरका कारण धार्मिक महत्व पनि उत्तिकै बलियो छ । प्रत्येक वर्ष बालाचतुर्दशीमा सतबीज छर्न र पूजाआजा गर्न हजारौँ भक्तजन यहाँ पुग्ने गर्छन् । विसं २०५१ देखि विराट सरोवर विकास समितिले संरक्षणको काम गर्दै आए पनि पर्याप्त बजेट र दीर्घकालीन गुरुयोजनाको अभावले अपेक्षित विकास हुन नसकेको अध्यक्ष प्रसाईँ बताउँछन् । उनका अनुसार आगामी दिनमा ऐतिहासिक, पुरातात्विक र जैविक महत्व बोकेको यस सम्पदाको भौतिक विकास, संरक्षण र प्रवर्द्धनका लागि समितिले गुरुयोजना बनाएर काम गरिरहेको छ ।

  • जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा

    जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा

    खोटाङ, ४ भदौः किरात पहिरनमा सजिएकी कन्या । हातमा थाली र फूलका गुच्छा बोकेर प्रवेशद्वारमा उभिएकी छिन् । जब कोही पाहुना उनको अगाडि पुग्छन् । किरात संस्कारअनुसार सेवाढोग गर्दै फूलका गुच्छा हातमा थमाएर स्वागत गर्छिन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका पुमा राई समुदायले सञ्चालन गरेको ‘पुमा सामुदायिक ‘होमस्टे’ घरबासमा पुगेका अतिथिलाई स्वागत गर्ने प्रचलनको सामान्य वर्णन हो यो । दिप्लुङस्थित निगालावासका ११ घर पुमा राईहरु मिलेर विसं २०८१ माघ १५ गतेदेखि ‘पुमा सामुदायिक ‘होमस्टे’ घरबास’ सञ्चालन गरेका छन् ।

    गाउँपालिकाको कार्यालयमा आधिकारिक रुपमा दर्ता गरेर सञ्चालन गरिएको होमस्टे छोटो समयमा नै पाहुनाका लागि आकर्षणको केन्द्र बनेको छ । गाउँपालिकाको केन्द्र चिसापानी बजार पुगेका जो कोही एक रात पुमा सामुदायिक होमस्टे पुगेर मनोरञ्जन गर्ने गर्छन् । होमस्टेमा पाइने स्थानीय परिकार तथा पुमा राई समुदायको सांस्कृतिक झाँकी पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ ।

    होमस्टेमा बस्ने पाहुनाका लागि खाजामा कोदो र फापरको रोटी, उसिनेको मकै तथा भुटेको मकै–भटमास दिने गरेका छन् । होमस्टे आउने पाहुनाका लागि खानामा कोदोको ढिँडो, मकैको भात र जौको भात, सिस्नो, स्थानीय जातका कुखुरा, बङ्गुर र राँगाको मासु उपलब्ध छ । ढिँडो र कुखुराको मासु खाएमा प्रतिव्यक्ति रु ३०० तथा बङ्गुर र राँगाको मासु खाएमा प्रतिव्यक्ति रु २५० लिने गरिएको सञ्चालकले बताएका छन् ।

    मकैको भात र सिस्नो प्रतिव्यक्ति रु २०० तथा खाजामा प्रतिव्यक्ति रु १०० का दरले लिने गरिएको जनाइएको छ । यसैगरी, स्थानीय पेयपदार्थ उपलब्ध गराइन्छ । होमस्टे सञ्चालक समितिका अध्यक्ष मञ्जुकुमारी राईले दुई रोपनी जग्गा पनि उपलब्ध गराउनुभएको सचिव दीपक राईले जानकारी दिनुभयो । “अध्यक्षले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा पाहुना सत्कार घर निर्माण गर्ने योजना बनाएका छौँ ।

    गाउँपालिकाको सहयोगमा शौचालय र बाथरुम निर्माण गरिसकिएको छ,” उहाँले भन्नुभयो, “भवन निर्माणका लागि गाउँपालिकाले रु आठ लाख ९० हजार उपलब्ध गराएको छ । पहिलो तलामा सङ्ग्रहालयसहितको पाहुना सत्कार कक्ष र माथिल्लो तलामा बास बस्ने ठाउँ बनाउने योजना छ ।” होमस्टे सञ्चालनका लागि स्थानीयलाई गाउँपालिकाले तीन वर्षअघि आवश्यक तालिम पनि उपलब्ध गराएको थियो ।

    होमस्टेको मापदण्ड, पाहुनालाई आकर्षित गर्न गरिने व्यवहार, सरसफाइ तथा सुरक्षाका विषयमा सञ्चालकहरुलाई जानकारी गराइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो । होमस्टे सञ्चालकलाई गाउँपालिकाले उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडुवामा थारू समुदायले सञ्चालन गरेको बहेडुवा सामुदायिक होमस्टे र धनकुटाको साँगुरीगढी गाउँपालिकामा मगर समुदायले सञ्चालन गरेको नाम्जे–थुम्की सामुदायिक होमस्टेको अवलोकन भ्रमण गराएको थियो ।

    निगालावासका पुमा राईले सञ्चालन गरेको होमस्टे पछिल्लो समय धेरैका लागि अध्ययन गर्ने थलो बनेको छ । स्थानीयलाई आम्दानीको स्रोतसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्न निगालावासमा पुमा सामुदायिक होमस्टे सञ्चालनमा सहयोग गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिनुभयो । “हाम्रो गाउँपालिकामा धेरै पर्यटकीयस्थल छन् । यहाँ आउने पर्यटकलाई खाने तथा बस्ने व्यवस्था मिलाउनका लागि पनि निगालावासमा होमस्टे सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “गाउँपालिकाको सहयोगमा सञ्चालित पुमा सामुदायिक होमस्टेले छोटो समयमै राम्रो उपलब्धि गरेको छ । यसलाई समय सान्दर्भिक बनाउन गाउँपालिकाले निरन्तर सहयोग गर्छ ।”

    उक्त होमस्टेमा विशेषगरी पर्यटकीयस्थल जन्तेढुङ्गा, होङ्मा पोखरी र भञ्ज्याङखर्क घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक बस्नका लागि आउने गरेको सञ्चालकले बताएका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी र वडा नं ६ दिप्लुङको सिमानामा अवस्थित पर्यटकीयस्थल जन्तेढुङ्गामा परापूर्वकालमा जन्ती लोप (अलप) भएको किंवदन्ती छ ।

    पर्यटकीयस्थल र पुमा सामुदायिक होमस्टेसम्मको सडकमार्ग सहज भएकाले पनि होमस्टेमा पाहुनाको आकर्षण बढेको सञ्चालकले बताएका छन् । होमस्टेमा आउने अधिकांश पाहुना आफ्नै गाडी तथा मोटरसाइकल लिएर बास बस्नका लागि आउने गरेका छन् । पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्ने यस गाउँपालिकामा जन्तेढुङ्गामा, भञ्ज्याङखर्क, चण्डीथान, भानुमती आदि रमणीय स्थान छन् ।

    भिन्नभिन्न जातिले आ–आफ्नै धर्म तथा संस्कृतअनुसार फरक–फरक किसिमका चाडपर्व मनाउने भएता पनि साकेला, दसँै÷तिहार, तीज आदि चाडपर्वको विशेष महत्व छ । जिल्लाको दक्षिणी भेगमा अवस्थित यो गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिणमा पर्दछ । पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) र उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ)को बीचमा अवस्थित छ ।

  • नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    रासस

    नेपालगञ्ज, ४ भदौः लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ । गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको शाहले बताउनुभयो । पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    तालिकाअनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ । त्यसका लागि बुकिङ खुला गरिएको बुद्ध एयरले जनाएको छ । नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालसँगै भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायीका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

    उहाँका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरालगायतका क्षेत्रबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा पुग्न सहज हुनेछ । साथै बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि सहज हुने उहाँले बताउनुभयो । स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान सुरु गरिएको थियो ।

  • सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

    सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

    रासस
    भोजपुर, ३ भदौः भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गेधारा जडान, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिएको हो ।खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सप्तधारा मुहान संरक्षण तथा मर्मतसम्भार योजनाअन्तर्गत रु १९ लाखको लागतमा संरक्षणको काम सम्पन्न गरिएको कार्यालय प्रमुख आशुतोषकुमार ठाकुरले जानकारी दिए ।


    उनका अनुसार मुहान संरक्षणका लागि पारदर्शी छानो निर्माण, हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान, धाराको भित्तामा ग्रेनाइट लगाउने, विश्रामस्थल निर्माण तथा घेराबारा र पर्खाल निर्माण गरिएको छ । “भोजपुर बजारको ऐतिहासिक सप्तधाराको संरक्षण गरेका छौँ,” प्रमुख ठाकुरले भने, “मुहान संरक्षण र ढुङ्गेधारा जडानसँगै आवश्यक संरचनागत काम सम्पन्न गरेका छौँ ।”

    उनले आगामी दिनमा टक्सारमा रहेका तीन धाराको संरक्षण गर्ने लक्ष्य रहेको बताए । सप्तधाराका दुईवटा मुहानमा रहेका १४ वटा धारामध्ये ११ वटामा काठमाडौँबाट ल्याइएका हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विनम श्रेष्ठले जानकारी दिए । धारासँगै आसपासका क्षेत्रमा आवश्यक संरचना निर्माण गरी क्षेत्रलाई व्यवस्थित बनाइएको उनको भनाइ छ ।

    बजार क्षेत्रमा आउने स्थानीय तथा बाह्य आगन्तुकलाई स्वच्छ पानी पिउन सहज होस् भन्ने उद्देश्यले संरक्षणको काम गरिएको अध्यक्ष श्रेष्ठले बताए । “सप्तधारा बजार क्षेत्रको महत्वपूर्ण पहिचान हो,” उनले भने, “यसलाई व्यवस्थित बनाएपछि यहाँको आकर्षण थप बढेको छ ।” सप्तधाराको संरक्षणले ऐतिहासिक महत्व बोकेको पानीको मुहान जोगिनाका साथै बजार क्षेत्रको सौन्दर्यसमेत बढेको उद्योग वाणिज्य सङ्घ भोजपुरका पूर्वअध्यक्ष कर्ण मोक्तानले बताए । उनका अनुसार सप्तधाराको मुहानकै कारण भोजपुर बजार स्थापना भएको भन्ने स्थानीयको भनाइ छ ।

    “सप्तधाराको मुहान भएकै कारण यहाँ बस्ती विकास हुँदै बजार स्थापना भएको भन्ने भनाइ छ,” मोक्तानले भने, “स्थानीय जानकारका अनुसार विसं १९६५ तिर यस क्षेत्रमा बस्ती विस्तार भएको हो ।” सप्तधाराको अर्को विशेषता कुनै पनि खडेरीमा मुहान नसुक्नु रहेको मोक्तानले बताए । बजार क्षेत्रको बीचमा यति ठूलो र निरन्तर पानीको स्रोत देख्दा बाहिरबाट आउने मानिस आश्चर्यमा पर्ने गरेको उनको भनाइ छ । ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनले बताए ।


    सप्तधाराले बजार क्षेत्रको खानेपानीको आवश्यकता पूरा गर्नाका साथै सिँचाइका लागिसमेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जयबहादुर तामाङले बताए । वडा कार्यालयले सप्तधारा क्षेत्रको विकास तथा संरक्षणका लागि आवश्यक सहयोग गर्दै आएको उनले बताए ।

    “सप्तधारा बजार क्षेत्रको सुन्दरताको केन्द्रसमेत हो,” वडाध्यक्ष तामाङले भने, “यसको संरक्षण र विकासमा स्थानीय तहले आवश्यक सहयोग गर्दै आएको छ । आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउन सकिन्छ ।” सप्तधारा भोजपुर नगरपालिका–७ र ९ को सिमाना क्षेत्रमा अवस्थित छ । ऐतिहासिक पानीको मुहानका रूपमा रहेको सप्तधारा बजारवासीका लागि पानीको स्रोतसँगै बजारको पहिचान र आकर्षणको केन्द्रका रूपमा रहँदै आएको छ ।

  • लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक


    मुस्ताङ, २ भदौः उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा सुरु भएको छ । लोमान्थाङ गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको सहकार्यमा पर्व सुरु भएको हो । खेतीपातीको काम सकिएपछि स्थानीयवासी फुर्सदिला हुने समयमा मनाइने यार्तुङ धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा स्थापित छ । ‘यार’को अर्थ बर्खा र ‘तुङ’को अर्थ मनाउनु भन्ने स्थानीय बुझाइ छ । यो पर्व उपल्लो मुस्ताङमा पुस्तौँदेखि मनाउँदै आएको जनविश्वास छ ।

    बारागुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि उपल्लो मुस्ताङसम्मका स्थानीयले यार्तुङलाई विशेष पर्वका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । पर्वमा घोडा दौड, स्थानीय नाचगान, खानपान तथा विभिन्न सांस्कृतिक गतिविधि हुने गर्छन् । लोमान्थाङमा आयोजित पर्वको पहिलो दिन मुस्ताङी २६ औँ सांस्कृतिक राजा जिग्मे परवल विष्टको उपस्थितिमा कार्यक्रम सुरु गरिएको थियो । तीन दिनसम्म चल्ने पर्वको दोस्रो दिन मङ्गलबार मुस्ताङी सांस्कृतिक राजा रानीको उपस्थितिमा कार्यक्रम हुने तथा अन्तिम दिन लोमान्थाङका विभिन्न गुम्बाका लामाको उपस्थितिमा धार्मिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

    लोमान्थाङ–५ का वडाध्यक्ष लाक्पा वाङ्दी गुरुङका अनुसार यार्तुङ पर्वको पहिलो दिन मुस्ताङी सांस्कृतिक राजाको भूमिका महत्वपूर्ण हुन्छ । पर्वको पहिलो दिन लोमान्थाङ बजार क्षेत्रबाट करिब दुई किलोमिटर दूरीमा घोडा दौड आयोजना गरिएको थियो । घोडा दौडका क्रममा स्थानीय चार समाजले बाटोमा राखेका मिठो रोटी, याकको टाउकोको आकृति, प्लास्टिकका ऐना र च्याङ्ग्राको खुर ढुङ्गाले हानेर फुटाउने सांस्कृतिक चलनसमेत प्रदर्शन गरिएको स्थानीय भिछिरिङ गुरुङले जानकारी दिए ।


    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको यार्तुङको संरक्षण तथा प्रवर्द्धनका लागि गाउँपालिका र एक्यापले संयुक्त रूपमा आयोजना तथा व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।

    पछिल्लो समय युवा विदेशिनेक्रम बढेकाले स्थानीय परम्परा र संस्कृति संरक्षण गर्न पर्वलाई व्यवस्थित र सभ्य रूपमा मनाउन जोड दिइएको उनको भनाइ छ । यार्तुङ पर्वको पहिलो दिन स्वदेशी तथा विदेशी पर्यटक लोमान्थाङ पुगेर पर्वको अवलोकन गरेका थिए । पर्वका अवसरमा विदेशी पर्यटकको उपस्थिति बढेको स्थानीयले बताएका छन् ।

    मुस्ताङको बारागुङ मुक्तिक्षेत्रदेखि माथिल्लो क्षेत्रसम्म मनाइने विभिन्न चाडपर्वमा घोडाचढी संस्कृति महत्वपूर्ण मानिन्छ । यस पर्वको विशेषता भनेकै घोडादौड हो । घोडचढीबिना स्थानीय चाडपर्व अपूरो हुने स्थानीय भिछिरिङ गुरुङले बताए । यार्तुङ पर्वको दोस्रो दिन घोडा दौड प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । घोडा दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु दुई लाख ५० हजार, रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।

  • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

    दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

    चितवन, २ भदौः गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको दियालो बङ्गला अवलोकन गरेका छन् । यसमध्ये भारत र चीनका पर्यटक समेत रहेका छन् । भरतपुर महानगरपालिकाकी सूचना अधिकारी मेनुका पण्डितका अनुसार गत आवमा ज्येष्ठ नागरिक १६९ जना र विद्यार्थी एक हजार ५३३ जनाले बङ्गलाको भ्रमण गरेका छन् । २०८१ साल असार २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको यो बङ्गला भरतपुर– १ मा पर्दछ । यहाँ आएका पर्यटकबाट रु २४ लाख ५८ हजार ४०० राजस्व सङ्कलन भएको उनले बताइन् । उठेको राजस्वको ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत भरतपुर महानगरपालिकाले पाउने गरी सर्वसाधारणका लागि खुला गरिएको हो ।

    यहाँ घुम्न आएका पर्यटकमध्ये जेष्ठ नागरिक, विद्यार्थी, अपाङ्गहरुका लागि रु ५०, स्वदेशी अन्य पर्यटकका लागि रु १०० र विदेशी पर्यटकका लागि रु २०० प्रवेश शुल्क लाग्ने गर्दछ । ट्रष्टको माताहतमा रहेको यो बङ्गला महानगरपालिकाको आग्रहमा सर्वसाधारणका लागि खुला गरिएको थियो ।

    जाडो महिनामा तत्कालीन राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेका जनाइएको छ । सिकार खेल्न आउँदा बस्ने ठाउँ यो हो । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । यसको भित्तामा पूर्वराजा महेन्द्र र वीरेन्द्रको तस्वीर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा तत्कालीन राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

    दरबारमा पाँचवटा खोपी बेडरुम छन् । १ नम्बर खोपी तत्कालीन रत्नराज्यको हो भने २ नम्बर तत्कालीन राजा र ३ नम्बर रानी, ४ र ५ तत्कालीन राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । तत्कालीन राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै तत्कालीन राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ ।

    केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा नेपाल ट्रष्टको एकाइ चलेको छ । तत्कालीन राजपरिवारले प्रयोग गरेका यी संरचना हेर्न सर्वसाधारण लालाहित भएपछि भरतपुर महानगरपालिकाले ट्रष्टलाई आग्रह गरेर सञ्चालनमा ल्याइएको कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताए ।

  • बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बाजुरा, १ भदौः धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ । यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बडीमालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको थियो ।

    बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायले यस वर्ष मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन पूजा हुँदा दर्शनार्थीको अत्यधिक घुइँचो हुने भन्दै अगाडिदेखि नै सुरु गरिएको बताए । बडीमालिकामा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुन्छ । मुख्य पुजारी पाध्यायका अनुसार गत वर्ष मन्दिरमा ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए ।

    हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत यहाँ दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोलीसमेत यहाँ आउने परम्परा छ । डोटीबाट सरकारी पूजा सामग्री ९पेटारो० सहित टोली यसअघि साउन २८ गते नै हिँडिसकेको छ ।

    यस वर्ष दर्शनार्थीको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढेकाले पनि सङ्ख्या बढ्ने अनुमान गरिएको स्थानीय चन्द्र थापाले बताए । बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले पूजा तथा मेला व्यवस्थापनका लागि सबै तयारी भइरहेको जानकारी दिए । त्यसका लागि जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेका उनले बताए ।


    “मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णय गरिएको छ । मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचना पाटी राख्ने, धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागूपदार्थ र मासुजन्य वस्तु निषेध गरिने निर्णय भएको छ”, उनले बताए । यहाँ आउने दर्शनार्थीमा लेक लागे, बिरामी परे वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक परे जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले तत्काल उद्धार गर्ने व्यवस्था निमित्त जिल्ला समन्वय अधिकारी दीपेन्द्र पाण्डेले बताए । त्यसका लागि स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मीसँगको समन्वयमा बाँकी व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्ने उनले जानकारी दिए ।


    यस वर्ष मेला अगावै सञ्चार सम्पर्क सहज बनाउन टेलिकमको फोरजी टावर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । मौसम खराबीका कारण सामग्री ढुवानीमा ढिलाइ हुँदा टावर निर्माण कार्य प्रभावित भएको छ । यसअघि सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।


    भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पु¥याउन कठिन भएपछि यही साउन २६ गते हेलिकप्टरमार्फत उपकरण सामग्री बडीमालिकाको त्रिवेणी पाटनमा पु¥याइएको थियो । फोरजी टावर निर्माणका लागि बडीमालिका क्षेत्रमा करोडौँका उपकरण ढुवानी गरे पनि जडान गर्ने प्राविधिक टोली जाने टुङ्गो नलाग्दा काम अलपत्र छ ।

    नेपाल टेलिकम दूरसञ्चार कार्यालयका प्रमुख ईश्वर सिंहले टावर निर्माणका लागि प्राविधिक टोली एक हप्ता बसेर फर्किएको बताए । बडीमालिकामा उपकरण पुग्नुभन्दा एक हप्ता अगाडि नै प्राविधिकको टोली त्यहाँ पुगेको थियो, तर मौसम खराबका कारण समयमै सामान नपुगेपछि टोली फिर्ता भएको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बडीमालिका नगरपालिकाले त्रिवेणी पाटनबाट टावर निर्माण स्थलसम्म सामान पु¥याउन टोली खटाइसकेको बताए । उनले मेला अगाडि नै सञ्चार सुविधा उपलब्ध हुने बताए ।


    विगतका वर्षभन्दा पछिल्लो समय बडीमालिकाको प्रचारप्रसार तथा पर्यटकको आकर्षण बढ्दै गएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले बताए । “यसअघि पनि दैनिक रुपमा पर्यटकहरु आइरहन्थे, अहिले मेला नजिकिएसँगै आजबाट पूजा पनि सुरु गरेकाले बडीमालिका जाने पर्यटक तथा भक्तजनको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ,” उनले भने ।


    रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले यसअघि धनगढीमा चुनावी अभियानका क्रममा बडीमालिकालाई ‘नेपालको स्विट्जरल्यान्ड’ भनेर उल्लेख गरेपछि पनि यो क्षेत्र थप चर्चामा आएको हो । समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित भू–स्वर्ग बडीमालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्रै नभई धार्मिक आस्थाको पनि अद्भुत सङ्गम हो । हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गरे पनि अन्य समयमा पनि पर्यटक बडीमालिका पुग्ने गरेका छन् । यहाँको दर्शनले मनोकामना पूरा हुने, रोग निको हुने, पुत्र प्राप्ति हुने लगायतका धार्मिक विश्वास रहिआएको छ ।

    मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, खेतीबेती, विष्णुपानी, धर्मद्वार बडीमालिका क्षेत्रका प्रसिद्ध स्थल हुन् । खेतिबेती क्षेत्रमा परापूर्वकालमा भगवती र मैसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको किंवदन्ती पाइन्छ । यहाँ डाँफे, मुनाल, कस्तुरी र झालरजस्ता दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन् । हिमालको मनोरम दृश्य, हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्ला केही वर्षयता देश तथा विदेशबाट भक्तजन तथा पर्यटक आउने क्रम बढ्दै गएको छ ।