Category: घूमघाम

  • मोन्टेनेग्रोको चराको आश्रय सङ्कटमा

    मोन्टेनेग्रोको चराको आश्रय सङ्कटमा

    उल्सिन्ज (मोन्टेनेग्रो), ३२ असार (रासस–एएफपी) । मोन्टेनेग्रोको उल्सिन्ज सेलिना क्षेत्रमा रहेको भूमध्यसागरकै ठूलो नुन उत्पादन क्षेत्र संरक्षण अभावका कारण तीव्र रूपमा नष्ट हुँदै गएको भन्दै वातावरणविद्हरूले तत्काल पुनःस्थापनाको माग गरेका छन् । उनीहरूका अनुसार समयमै आवश्यक कदम नचालिए युरोपका लागि अत्यन्त महत्त्वपूर्ण प्रवासी चराको प्रमुख विश्रामस्थल गुम्ने जोखिम बढेको छ ।

    हरेक वर्ष हजारौँ फ्लेमिङ्गो, पेलिकन तथा अन्य प्रवासी चरा अफ्रिका र युरोपबीचको बसाइँसराइका क्रममा उल्सिन्ज सेलिनामा विश्राम गर्छन् । तर सन् २०१३ मा नुन उत्पादन बन्द भएपछि नुनिलो पानीको व्यवस्थापन रोकिँदा चराहरूको प्राकृतिक बासस्थान क्रमशः बिग्रँदै गएको वातावरणविद्हरूले बताएका छन् ।

    वातावरण अभियन्ता जेनेपा लिकाले अहिलेको अवस्थालाई तत्काल सुधार नगरे केही वर्षमै यस क्षेत्रको मौलिक स्वरूप हराउन सक्ने चेतावनी दिनुभयो । उहाँका अनुसार नुन उत्पादन बन्द भएसँगै जलाशयको नियमित व्यवस्थापन रोकिएकाले जैविक विविधता निरन्तर घटिरहेको छ ।

    उल्सिन्जमा करिब एक शताब्दीअघि नुन उत्पादन सुरु भएको थियो । नुनिलो पानी पम्प गरेर सञ्चालन गरिने कृत्रिम जलाशयले नुन उत्पादनसँगै प्रवासी चराका लागि उपयुक्त वातावरण पनि सिर्जना गरेको थियो । यही कारण यो क्षेत्र युरोपका प्रमुख चराको बसाइँसराइ मार्गमध्ये एकको महत्त्वपूर्ण विश्रामस्थलका रूपमा विकसित भएको थियो ।

    विज्ञहरूका अनुसार सेलिनाले कम्तीमा सात प्रजातिका चराको विश्वव्यापी जनसङ्ख्याको एक प्रतिशतभन्दा बढी हिस्सा आश्रय दिने भएकाले यसको अन्तर्राष्ट्रिय संरक्षण महत्त्व छ । सन् २०१९ मा यस क्षेत्रलाई रामसर महासन्धिअन्तर्गत अन्तर्राष्ट्रिय महत्त्वको सिमसार क्षेत्रका रूपमा सूचीकृत गरिएको थियो । तर कानूनी मान्यता पाए पनि संरक्षणका लागि आवश्यक व्यवस्थापन प्रभावकारी रूपमा हुन नसकेको वातावरणविद्हरूको भनाइ छ ।

    स्थानीय बासिन्दाका लागि नुन उद्योग रोजगारी, पहिचान र गर्वको विषय पनि थियो । तर कम्पनी आर्थिक सङ्कटमा परेर बन्द भएपछि विशाल नुन गोदाम, जलाशय र अन्य संरचना जीर्ण बनेका छन् । पूर्व नुन उद्योगका कर्मचारीहरूले संरक्षणसँगै नुन उत्पादन पुनः सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।

    यसै वर्ष मोन्टेनेग्रो सरकार र उल्सिन्ज नगरपालिकाले करिब ४० लाख युरोको संयुक्त लगानीमा क्षेत्रलाई प्रकृति आरक्षका रूपमा सञ्चालन गर्दै नुन उत्पादन पुनः सुरु गर्ने योजना सार्वजनिक गरेका छन् । युरोपेली सङ्घ ९इयु० को सदस्यता प्रक्रियासँग सम्बन्धित वातावरणीय मापदण्ड पूरा गर्न पनि यो परियोजनालाई महत्त्वपूर्ण मानिएको छ ।

    तर स्थानीय पत्रकार मुस्तफा कान्काले प्रस्तावित बजेट पर्याप्त नहुने बताउँदै नुन उद्योग पुनः सञ्चालन र सम्पूर्ण क्षेत्रको पुनःस्थापनाका लागि यसभन्दा धेरै लगानी आवश्यक पर्ने धारणा राखे । उनले समस्या समाधानका लागि आवश्यक अध्ययन भइसकेकाले अब निर्णय कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताए ।

    उनका अनुसार लामो समयदेखि भइरहेको ढिलाइका कारण नुन उद्योग सञ्चालनको अनुभव भएका अधिकांश दक्ष जनशक्ति अवकाश लिइसकेका वा निधन भइसकेका छन् । त्यसैले उनीहरूको ज्ञान र अनुभव उपयोग गर्दै पुनःस्थापना प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।


    एएफपीले यस विषयमा स्थानीय तथा केन्द्रीय सरकारसँग प्रतिक्रिया मागे पनि कुनै जवाफ प्राप्त भएको छैन । वातावरण अभियन्ता लिकाले उल्सिन्ज सेलिनालाई चराहरूका लागि ‘हिथ्रो विमानस्थल’ सरहको विश्रामस्थलको संज्ञा दिँदै समयमै संरक्षण र पुनःस्थापना गर्न नसके युरोपकै एक महत्त्वपूर्ण प्राकृतिक सम्पदा गुम्ने चेतावनी दिए ।

  • ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    चितवन, ३२ साउनः चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि)गरी रेडियो कलर लगाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । त्यसपछि दाह्रा काटेर छाडिएको हो ।

    रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जिपिएस ट्र्याकिङमार्फत गतिविधि निगरानी गर्न सकिने उहाँले बताए । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो ।

    गत असार २० गते भरतपुर–२३ मा सोही हात्तीको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढाएको थियो । प्रतिकूल मौसम र घना झाडीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ । निकुञ्जले स्थानीय बासिन्दालाई सचेत रहन, जारी सूचनाको पालना गर्न र जङ्गली हात्ती देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ ।

  • मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

    मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

    नारायणी रजौरे–रासस
    दाङ, ३१ असारः यहाँस्थित जखेरा तालको मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याइरहेको छ । दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा सरोवर उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित छ । चुरे पहाडको फेदमा अवस्थित छ, जखेरा । नजिकै मुसुण्डी गाउँ, उतरतर्फ चुरे पहाड र पहाडको बीचमा सरोवर । यस्तै दृश्यले यहाँ आउने जो कोही लठ्ठ पर्ने गरेको बताइन्छ ।

    गत वैशाख, जेठ महिनामा ताल अवलोकनका लागि झण्डै दुई लाख आन्तरिक तथा बाह्य पर्यटक आएका तालका कर्मचारी ओमभक्त चौधरीले जानकारी दिए । सरोवरमा घुमघाम र वन भोजका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । झण्डै आठ बिघा क्षेत्रफलमा फैलिएको छ, ताल । गहिराइ सात फिट रहेको छ । उत्तरतर्फ गणेश तथा पूर्वमा सिद्देश्वर महादेवको मन्दिर पनि ।

    जलाशयमा ढुङ्गाबाट सयर गर्न सकिन्छ, तालका बीचमा मन्दिरको पूजा पनि । पूर्वमा भगवान् गौमबुद्धको मूर्ति, वरपर बनभोज स्थल, बगैँचा, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन यहाँ गर्न सकिन्छ । सरोवरमा पाँच वटा डुङ्गा छन् । सङ्ख्या कम भएकाले ढुङ्गा चढ्न नपाई केही पर्यटक दुःखी पनि भएका छन् । एक व्यक्तिले तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय तथा मन्दिर दर्शनका लागि रु ५० शुल्क निर्धारण गरिएको छ ।

    तुलसीपुरबाट आउनुभएकी ४८ वर्षीया निरा कुँवरले तालको अवलोकनबाट आनन्दित भएको बताइन् । उनले तालको सरसफाइमा ध्यान पुगेको छैन भनिन् । तुलसीपुरका अर्की ३७ वर्षीया शारदा देवी ओलीले जलाशयको आकर्षण देखेर मन लोभिएको बताइन् । जनश्रमदान र राज्यका निकायले गरेको सहयोगले उक्त जलाशय जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । स्थानीय थारु भाषामा जुन ठाउँमा आकाशे पानी सङ्कलन हुन्छ, त्यस ठाउँलाई जखेरा भनिन्छ ।

    विसं २०३० मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका– ३ मा जखेरा ताल रहेको छ । जखेराको संरक्षणका लागि स्व दिपु चौधरीको भूमिका महत्वपूर्ण थियो । उनले सोनपुर, टिकुलीगढ, फल्कापुर, श्रीगाउँका स्थानीय बुद्धिजीवीसँग सहकार्य गरी खेर गइराखेको आकाशे पानी सङ्कलन गर्न थाले । क्रमशः पोखरी बन्न पुग्यो । सो पोखरीमा वन क्षेत्रबाट बगी आएको पानीसमेत जम्मा हुन थाल्यो । सिँचाइ सुविधाका लागि सङ्कलन गरिएको ठूलो पोखरी अन्ततः लामो समयपछि जखेरा तालका नाममा परिचित छ ।

    दाङको लमही बजारबाट छ किलोमिटरपूर्व र सुनडबरी गाउँबाट उत्तर दुई किलोमिटर टाढा जखेरा ताल पर्छ । पूर्वपश्चिम राजर्मागबाट नजिकै रहेकाले भारत, तथा तेस्रो मुलुकबाट पनि जखेराको अवलोकनका लागि पर्यटक आउने गर्छन् ।

  • निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

    निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

    काठमाडौँ, ३१ असारः प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल सङ्घ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गरे ।

    प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पिपिपी) ढाँचामा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गरे ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल समेत सहभागी भएको छलफलमा हानका पदाधिकारीले मुलुकको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराए । हाल वार्षिक १२ लाख मात्र पर्यटक भित्रिरहेका जानकारी दिँदै व्यवसायीहरूले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा वृद्धि गर्ने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताए ।


    मुलुकलाई आरोग्य पर्यटन, ‘विवाह गन्तव्य’ र सीमापार पर्यटनका रुपमा विकास गर्न प्रचुर सम्भावना रहेको औँल्याउँदै उनीहरुले सरकारसमक्ष केही नीतिगत मागहरू प्रस्तुत गरेका थिए । उनीहरूले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह विद्युत् महसुलमा सहुलियत दिन र साना तथा मझौला होटलका लागि २५ श्ययासम्मको सङ्क्षिप्त वातावरणीय मूल्याङ्कन अध्ययन अव्यावहारिक भएकाले त्यसलाई ५० श्ययासम्म कायम गर्न माग गरे ।


    यसैगरी, उनीहरुले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी नेपाल एयरलाइन्सको सेवामा सुधार ल्याउन अनुरोध गरे । उनीहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा प्रविधि हस्तान्तरणअन्तर्गत ‘ट्रेडमार्क’ प्रयोगको ‘रोयल्टी’ रकम, प्रचलित करबाहेक कूल बिक्री मूल्यको पाँच प्रतिशतभन्दा नबढ्ने व्यवस्था संशोधन गरी आपसी समझदारीमा मूल्य कायम गर्ने प्रबन्ध मिलाउन र होटल व्यवसायसँग सम्बन्धित अन्य कानुन संशोधन तथा पुनरावलोकन गर्न आग्रह गरेका थिए ।


    मुलुकलाई विवाह गन्तव्यका लागि गरगहना ल्याउने प्रक्रिया सहज बनाउन र आरोग्य पर्यटनको प्रवर्द्धनका लागि ‘फोटो–भिडियो’मा मात्र सीमित नभई ‘फुल स्टोरी टेलिङ’ सहितको ‘प्याकेज’ र विज्ञहरूको व्यवस्था गर्न उनीहरुले सरकारसँग आग्रह गरे । हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यद्वय जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए ।

  • पर्यटक लोभ्याउने ‘ठूली दह’

    पर्यटक लोभ्याउने ‘ठूली दह’

    बलबहादुर ओली–रासस

    त्रिवेणी (रुकुमपश्चिम) ३० असारः मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । घनाजङ्गलको बीचमा हरियाली मैदान, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्य रहेको ‘ठूली दह’ क्षेत्र पुग्ने जोकोहीलाई हर्षित तुल्याउन गरेको छ । मध्यपहाडी लोकमार्गबाट करिब एक घण्टाको पैदलयात्रापछि पुगिने ठूली दह बिदामा घुम्न जाने पर्यटकको रोजाइमा पर्न थालेको छ । रुकुमपश्चिमका विभिन्न स्थानबाट मात्रै होइन, छिमेकी जिल्ला रुकुमपूर्वबाट समेत मानिस त्यहाँ पुग्ने गरेका छन् । विशेषगरी युवापुस्ता, विद्यार्थी, प्रकृतिप्रेमी तथा परिवारसहित घुम्न पुग्नेको सङ्ख्या पछिल्ला वर्षमा बढ्दो छ ।

    चारैतिर अग्ला डाँडाहरूले घेरेको हरियाली मैदानको बीच भागमा रहेको दहले त्यहाँको प्राकृतिक सुन्दरतालाई झन् आकर्षक बनाएको छ । जङ्गलको बीचमा खुला मैदान र बीच भागमा पानी जमेर बनेको निलो दहले त्यस क्षेत्रमा पुग्नेलाई बेग्लै अनुभूति दिने गरेको ठूली दह घुम्न आएका आन्तरिक पर्यटक यामराज केसीले बताए । वर्षातको समयमा ठूली दह पानीले भरिभराउ छ । पानी भरिएको बेला दहको दृश्य निकै मनमोहक देखिने गरेको छ । आकाशको निलो रङ दहमा प्रतिविम्बित हुँदा यहाँको सौन्दर्य अझ लोभलाग्दो बन्ने गरेको छ ।

    जेठको पहिलो सातादेखि दह क्षेत्रभरि फुल्ने बुकी फूल यहाँको अर्को विशेष आकर्षण हो । सेताम्मे बुकी फूल फुलेपछि दह क्षेत्र अझ रमणीय बन्ने गरेको पाइन्छ । बुकी फूलसँगै फोटो तथा भिडियो खिच्न आउने युवाको सङ्ख्या बढ्ने गरेको छ । सामाजिक सञ्जालमा त्यहाँका दृश्यहरू भाइरल हुन थालेपछि ठूली दहप्रति चासो बढ्दै गएको स्थानीय हुकुमबहादुर पाण्डेले बताए ।


    स्थानीय पाण्डे भने, “व्यवस्थित बाटो, दह नपुग्दै थकाइ मार्न बीच भाग र आसपासका प्रतिक्षालयले आन्तरिक पर्यटकलाई थप सहज भएको छ, पछिल्लो समय स्थानीय सरकारले पनि ठूली दहलाई चासो दिएको देखिन्छ ।” केही घण्टाको पैदलयात्रा जङ्गलको बाटो हुँदै दहसम्म पुग्दा पाइने रोमाञ्चक अनुभवले थकान बिर्साउने गरेको उनीहरुको अनुभव छ ।

    वर्षायाममा प्रशस्त पानी भए पनि गर्मीयाममा दह सुक्खाजस्तो देखिने र खानेपानीको समस्या हुने गरेको छ । मुसिकोट नगरपालिका तथा वडा कार्यालय त्यसलाई सम्बोधन गर्न लागिपरेको वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिए । पालिकाले बर्षातको पानीको पानी जम्मा गर्न दह नजिकै ट्याङ्की थप प्रतीक्षालय निर्माण गर्दैछ । पर्यटकको सुविधाका लागि केही भौतिक संरचना निर्माणसमेत गरिएको छ ।

    “केही वर्षअघिसम्म ठूली दहबारे धेरै मानिसलाई जानकारी थिएन । स्थानीय बासिन्दा र गोठालाहरूबाहेक कमै मानिस यहाँ पुग्ने गर्थे । तर अहिले सामाजिक सञ्जाल, भिडियो सामग्री तथा विभिन्न माध्यमबाट प्रचार हुन थालेपछि यहाँ आउनेको सङ्ख्या बढ्न थालेको छ । जङ्गलको बीचमा चराचुरुङ्गीको आवाज, हरियाली मैदान र शीतल हावाले यहाँ पुग्ने जोकोहीलाई आनन्दित तुल्याउने छ । पर्यटनको सम्भावना बोकेको यस क्षेत्रलाई व्यवस्थित गर्न सके स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने देखिएको छ । त्यहाँ पर्यटकको सङ्ख्या बढेसँगै स्थानीय उत्पादन बिक्री, होटल व्यवसाय तथा रोजगारीका अवसर सृजना हुने स्थानीयको भनाइ छ ।

    पछिल्लो समय स्थानीय युवाले पनि दह क्षेत्रलाई प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा चासो देखाउनसमेत थालेका छन् । ठूली दह केवल एउटा दहमात्र नभई महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा रहेको छ । प्रकृतिको अनुपम उपहारका रूपमा रहेको त्यस क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय विकास गर्न सके आगामी दिनमा कर्णाली प्रदेशकै एक प्रमुख आन्तरिक पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ ।

    फोहर व्यववस्थापनमा समस्या

    त्यस क्षेत्रमा पर्यटकको चहलपहल वृद्धि भएपछि प्रदूषणसमेत बढ्न थालेको छ । त्यस क्षेत्रको भ्रमणमा पुग्नेहरूले विभिन्न खानेकुरा लैजाने र खाना खाएर फोहर जथाभावी फाल्ने प्रवृत्तिले फोहर थुप्रिन थालेको छ । त्यसबाट प्रदूषण बढेको छ । चरिचरनका लागि समेत साँखवासीको प्रमुख स्थल भएकाले फोहरका कारण वातावरणसँगै पशु चौपायाको स्वास्थ्यमा समेत असर पर्ने स्थानीय बताउँछन् । ठूली दह मध्यपहाडी लोकमार्गको साँख खण्डको बैरी दहबाट पैदल सहजै पुग्न सकिनेछ । बैरी दहसम्म सवारीमार्फत पुग्न सकिने र त्यसपछि करिब एक घण्टाको पैदलयात्रामा ठूली दह पुगिने स्थानीयको भनाइ छ ।

    आधारभूत सुविधा अभावको गुनोसो

    दह आसपासमा पर्यटकका लागि आधारभूत सुविधा अभाव रहेको गुनासो पाइएको छ । पर्यटकका लागि जेठमासको समयमा शुद्ध पिउने पानीको समस्या तथा वर्षात् पानीबाट ओत लाग्ने ठाउँको अभाव रहेको त्यहाँ घुम्न पुगेको पर्यटकको भनाइ छ । तथापि, नगरपालिका तथा वडा कार्यालयले पछिल्लो समय यस क्षेत्रको संरक्षण र पर्यटन प्रवर्द्धनमा चासो भने देखाउन थालेका छन् । स्थानीय सरकारको सक्रियतासँगै ठूली दहलाई व्यवस्थित आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।

    पूर्वाधार विकाससँगै प्रचारप्रसारलाई प्रभावकारी बनाउन सके ठूली दह रुकुमपश्चिमको मात्र नभएर कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।

  • अत्यावश्यकबाहेक काठमाडौं बाहिर यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

    अत्यावश्यकबाहेक काठमाडौं बाहिर यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

    चितवन, २९ असारः निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसाधारणलाई अनुरोध गरेको छ । वर्षाका कारण बाढीपहिरो जानसक्ने भएकाले अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा यात्रा नगर्न स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माद्वारा जारी सूचनामा उक्त सडकखण्डका विभिन्न स्थानमा पहिरो जानसक्ने भएकाले यात्रा गर्दा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरिएको छ । स्थानीय सरकार, डिभिजन सडक कार्यालयलगायत सरोकार भएका निकायसँग समन्वय गर्न पनि आग्रह गरिएको छ ।

    जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले निरन्तर रूपमा परेको वर्षात्का कारण नारायणगढ–मुग्लिन सडकखण्डसहित अन्य राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध हुनसक्ने भन्दै यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

    बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, सडक, सिँचाइ तथा जल स्रोत आयोजना, वन लगायतका निकायलाई मेसिनरी औजारसहित तयारी अवस्थामा रहनसमेत निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । उनका अनुसार समितिको बैठकले तुईन खोला र सेती दोभानमा पहिरोको उच्च जोखिम रहेको औँल्याएको छ ।

    बैठकले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुरानो होल्डिङ सेन्टरलाई खाली गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले विसं २०५८ मा आएको विपद्का कारण तत्कालीन जिल्ला विकास समिति र नेपाल रेडक्रस सोसाइटीले दुवै संस्थाको नाममा जग्गा खरिद गरी होल्डिङ सेन्टरको रूपमा रहेको ठाउँ खाली गर्न भनेको हो ।

    भरतपुर महानगरपालिका-२३ मा रहेको सेन्टरमा रहेका वास्तविक आश्रयविहीनलाई अन्य वैकल्पिक व्यवस्था भए–नभएको पहिचान गरी आश्रय आवश्यक नपर्नेलाई उक्त सेन्टरबाट हटाउनसमेत निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । होल्डिङ सेन्टर सफा गरी तयारी अवस्थामा राख्नसमेत समितिले निर्देशन दिएको हो ।

    तत्कालीन समयमा सो होल्डिङ सेन्टरमा ४० घर निर्माण गरेर बाढी प्रभावितलाई राखिएको थियो । एक बिघा क्षेत्रफलमा होल्डिङ सेन्टर स्थापना गरी बाढी प्रभावितलाई राखिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले जानकारी दिए । विपद् व्यवस्थापन समितिको बैठकले नदी तटिय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

  • वनफूलले सिँगारिएको ढोरपाटन…

    वनफूलले सिँगारिएको ढोरपाटन…

    रासस
    ढोरपाटन (बागलुङ), २८ असारः समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् ।

    नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र पर्ने ढोरपाटनमा पछिल्लो तीन वर्षयता वनफूलले पर्यटकलाई थप आकर्षित गर्न थालेको छ । विसं २०७५ सम्म ढोरपाटनमा पर्यटकको आगमन न्यून थियो । घुम्न आउनेभन्दा पनि ढोर बराह मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीबाहेक अन्य पर्यटकको खासै उपस्थिति थिएन । जब सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थाल्यो, तब ढोरपाटनमा पर्यटकको घुइँचो नै लाग्न थाल्यो ।

    बर्खा लागेसँगै देशका धेरै पर्यटकीय क्षेत्र सुनसान बन्दैछन्, तर ढोरपाटनमा भने पर्यटकको भीडभाड बढ्न थालेको छ । बर्खाको समयमा ढोरपाटन अरु बेलाभन्दा बढी रमणीय देखिने हुँदा यो सिजनमा पर्यटक बढी आउने गरेका हुन् । दैनिक २०० बढी पर्यटक ढोरपाटन आउने गरेको होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जानकारी दिए । ढोरपाटनमा पर्यटकको चाप बढेपछि होटल व्यवसाय पनि फस्टाउन थालेको उनको भनाइ छ ।

    अध्यक्ष पुनले भने, “पहिला पनि ढोरपाटन उपत्यकामा अत्यधिक मात्रामा फूलहरू फूल्थे तर प्रचारप्रसार नहुँदा पर्यटक आउन सकेका थिएनन्, अहिले मिडिया र सामाजिक सञ्जालमा फोटो भिडियो आउँदा पर्यटकको आकर्षण बढेको छ, एक दशक अगाडि त ढोरपाटनमा पर्यटक खासै आउँदैनथे, यहाँका स्थानीय पनि घुम्ती बसाइमात्रै बस्ने गर्थे ।”

    स्थानीयले राके फूलका रुपमा चिन्ने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफुली, बुकीफूल, मदानेफूललगायतको नाम दिएको छ । देशका ठूला सहर काठमाडौँ, नेपालगन्ज, पोखरा, भैरहवा, चितवनबाट बढी पर्यटक रमाउन आउने गरेका छन् । वनफूल पाटनैभरि फुल्छ । फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी खुलेमा चर्ने गर्छन् । वस्तुभाउको गोबरले वनफूल राम्रो हुने गर्छ ।

    चितवनको माडीका महेश थापाले सामाजिक सञ्जालमा भाइरल भएका तस्बिर र भिडियो देखेर ढोरपाटन घुम्न आएको बताए । गत वर्षदेखि नै ढोरपाटन घुम्न आउने योजना बनाएको भन्दै यसपालि १३ जनाको समूह वनफूल र्हेन आएको उनले सुनाए । चारैतिर फुलेका वनफूल र यहाँको वातावरण निकै मनोरम लागेको थापाको भनाइ छ ।

    दाङको तुल्सीपुरबाट आएका कुलेन्द्र पनेरुले ढोरपाटन आउँदा मन फुरुङ्ग भएको बताए । दाङमा यतिबेला निकै गर्मी रहेको भन्दै ढोरपाटनमा भने निकै चिसो मौसम रहेको सुनाए । यहाँको प्राकृतिक सुन्दरता र हावापानीका बारेमा प्रचार गर्न सके विदेशी पर्यटकलाई सहज रूपमा ल्याउन सकिने उनको भनाइ छ । ढोरपाटनसम्म आउने सडकको केही स्थानमा अप्ठ्यारो हुँदा सास्ती खेप्नुपरेको पनेरुले दुःखेसो पोखे ।
    बुर्तिबाङदेखि ढोरपाटनसम्म करिब ३२ किलोमिटर कच्ची सडकयात्रा गर्नुपर्छ । अहिले बुर्तिबाङ बजारदेखि फल्लेघरसम्मको सडक ग्राभेल भए पनि त्यसभन्दा माथिको खण्डको दुरावस्था छ । जसका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फल्लेघरभन्दा माथिको अप्ठ्यारो सडकलाई व्यवस्थित गर्ने बताए ।

    अहिले कालोपत्र गर्नका लागि सडक फराकिलो बनाउने काम भइरहेको हुँदा केही स्थानमा हिलाम्मे बनेको भन्दै पर्यटकको यात्रालाई सहज बनाउन गेग्रेटा हालेर व्यवस्थित बनाउने उनको भनाइ छ । ढोरपाटनमा आउने सङ्ख्या बढेपछि आफूहरू उत्साहित भएको कायत बताउँछन् ।

  • मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

    मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

    म्याग्दी, २७ असारः प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका साथ म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ । हालसम्म पर्यटकका लागि नखुलेको यस ‘भर्जिन रुट’लाई आगामी हिउँदे यामदेखि सञ्चालनमा ल्याउने योजना बनाइएको छ ।

    म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पर्यटन विभागको सहयोगमा हालै सम्पन्न सम्भाव्यता अध्ययनका आधारमा धवलागिरि गाउँपालिका–४ मुदीदेखि वडा नं १ गुर्जा हुँदै वडा नं २ स्थित जलजलासम्मको पदमार्ग सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।


    “यो एकदमै नयाँ अर्थात् ‘भर्जिन रुट’ हुनेछ”, मन्त्री पुनले भने, “यस पदमार्गमा पर्यटक लैजान आवश्यक तयारी गर्न पर्यटन व्यवसायी र स्थानीयवासीलाई अनुरोध गर्दछु ।” उनका अनुसार पदमार्गका अप्ठ्यारा स्थानमा बाटो निर्माण, रेलिङ जडान, विश्रामस्थल तथा झोलुङ्गे पुल निर्माणमा पर्यटन मन्त्रालयले सहयोग गर्नेछ ।

    यही असारको पहिलो, दोस्रो र तेस्रो सातामा मन्त्री पुनको बेनीस्थित सम्पर्क कार्यालयका प्रमुख चित्र तिलिजाको नेतृत्वमा गएको टोलीले मुदी–गुर्जा–जलजला, धौलागिरि चक्रीय पदमार्ग तथा अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि रघुगङ्गा गाउँपालिका–७ सोवाङधुरी हुँदै चिमखोला जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन गरेको थियो ।

    टोलीले तयार पारेको प्रतिवेदनमा जलविद्युत् आयोजना र सडक विस्तारका कारण धौलागिरि चक्रीय पदमार्गको इटाली आधार शिविरसम्मको मार्ग जोखिममा पर्नसक्ने उल्लेख गरिएको छ । त्यसको विकल्पका रूपमा मुदी–गुर्जा–रुघाचौर–जलजला तथा दोवा–सोवाङ–चिमखोला पदमार्ग सडक विस्तारबाट प्रभावित नहुने भएकाले दीर्घकालीन सम्भावना रहेको निष्कर्ष निकालिएको छ । उक्त प्रतिवेदन गत साता मन्त्री पुन र पर्यटन मन्त्रालयलाई बुझाइएको थियो ।

    धौलागिरि चक्रीय पदमार्ग योजनाका लागि आगामी आर्थिक वर्ष २०८३÷८४ मा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले रु तीन करोड बजेट विनियोजन गरेको छ । साथै मुदी–गुर्जा–जलजलालगायत पदमार्गको सम्भाव्यता अध्ययनका लागि रु २१ लाख बजेट छुट्याइएको मन्त्रालयको वार्षिक पुस्तिकामा उल्लेख छ ।

    मुदीका स्थानीय विजय घर्तीले नयाँ पदमार्गले सुस्ताएको पर्यटन क्षेत्र पुनः चलायमान हुने विश्वास व्यक्त गर्दै मुदी–गुर्जा खण्डमा आधारभूत पदमार्ग, सञ्चार सुविधा तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनका अनुसार पदमार्ग सञ्चालनले स्थानीयस्तरमा रोजगारी र आयआर्जनका नयाँ अवसर सिर्जना गर्नेछ ।

    सडक विस्तारसँगै पुराना पदमार्ग विस्थापित हुन थालेपछि नयाँ पदमार्ग पहिचान गरी पूर्वाधार निर्माण र प्रवर्द्धन गर्न स्थानीयवासी तथा जनप्रतिनिधिले लामो समयदेखि माग गर्दै आएका थिए । धौलागिरि हिमाल र ढोरपाटन सिकार आरक्षलाई जोड्ने प्रस्तावित यो पदमार्ग साहसिक, प्राकृतिक र सांस्कृतिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिएको छ ।

    संसारको सातौँ अग्लो धौलागिरि हिमालको फेदीमा रहेको मुदीमा मगर र दलित समुदायको बसोबास छ भने ‘लुकेको गाउँ’का रूपमा परिचित गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको छ । गुर्जादेखि ढोरपाटन जाने बाटोमा पर्ने रुघाचौर तथा ढोरपाटन सिकार आरक्षभित्रको जलजलाबाट धौलागिरिलगायत हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

    धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामप्रसाद घर्तीले सडक निर्माणको सम्भावना न्यून र बस्तीबाट टाढा रहेकाले धौलागिरि–ढोरपाटन पदमार्ग दीर्घकालीन रूपमा पर्यटकीय आकर्षण बन्नसक्ने विश्वास व्यक्त गरे । उनले यस पदमार्गले धवलागिरि क्षेत्रको पर्यटन विकाससँगै स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरे ।

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    कञ्चनपुर, २६ असारः सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्षको असारसम्म चार हजार १९१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यो सङ्ख्या गत आवको कूल तीन हजार ७२२ पर्यटकको तुलनामा ४६९ जनाले बढी हो । चालु आवमा मात्रै करिब १२.६ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ ।

    निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेका अनुसार चालु आवको असोजदेखि असारसम्म निकुञ्ज भ्रमण गर्नेमा एक हजार ६५७ महिला र दुई हजार ५३४ पुरुष छन् । निकुञ्जमा आन्तरिक पर्यटकको वर्चस्व कायमै छ । कुल पर्यटकमध्ये निकुञ्ज भ्रमण गर्ने तीन हजार ६९९ नेपाली पर्यटक छन् । जसमा एक हजार ५१३ महिला र दुई हजार १८६ पुरुष छन् । कुल पर्यटकमध्ये करिब ८८ प्रतिशत हिस्सा नेपाली पर्यटकको रहेको तथ्याङ्कले शुक्लाफाँटा आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गएको पुष्टि गर्दछ ।

    त्यसैगरी, सार्क राष्ट्रबाट ३५८ पर्यटक निकुञ्ज पुगेका छन् । यसमध्ये ८७ महिला र २७१ पुरुष छन् । तेस्रो मुलुकबाट भने १५६ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । जसमा ५७ महिला र ९९ पुरुष छन् । विदेशी पर्यटकको सङ्ख्या अझै अपेक्षाकृत कम भए पनि पछिल्ला वर्षमा विस्तारै वृद्धि हुँदै गएको छ । गत आवभन्दा चालु आवमा विदेशी पर्यटको सङ्ख्या २२ ले बढेको छ ।

    महिनागत तथ्याङ्क हेर्दा चैतमा सबैभन्दा बढी ६२१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । त्यसपछि कात्तिकमा ५८०, जेठमा ५७९, वैशाखमा ५५४ र असारमा ४२४ जना पुगेका छन् । मौसम अनुकूल हुने तथा वन्यजन्तु अवलोकन सहज हुने भएकाले चैत, वैशाख र जेठमा पर्यटकको चाप बढी हुने गरेको छ ।

    सबैभन्दा कम पर्यटक असोजमा मात्र नौ जना पुगेका थिए । त्यसपछि मङ्सिरमा २९३, माघमा ३६९, पुसमा ३७६ र फागुनमा ३८६ जनाले निकुञ्ज भ्रमण गरेका छन् । वर्षायाम तथा पर्यटकीय सिजन सुरु नहुँदा असोजमा पर्यटकको सङ्ख्या न्यून हुने गरेको देखिन्छ ।

    गत आव २०८१\८२ मा निकुञ्जमा तीन हजार ७२२ पर्यटक आएका थिए । तीमध्ये तीन हजार ३७१ नेपाली, १९९ सार्क राष्ट्रका तथा १५२ जना तेस्रो मुलुकका पर्यटक थिए ।

    चालु आवमा नेपाली तथा सार्क मुलुकका पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढे पनि तेस्रो मुलुकका पर्यटकको आगमन अपेक्षाकृत स्थिर देखिएको छ । करिब ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ मानिने बाह्रसिङ्गाको सबैभन्दा ठूलो बासस्थानका रूपमा परिचित छ ।

    यहाँ बाह्रसिङ्गासँगै पाटेबाघ, जङ्गली हात्ती, एकसिङ्गे गैँडा, चितुवा, नीलगाई, जरायो, रतुवा, जङ्गली बँदेल, भालु, स्याल, बँदेललगायतका वन्यजन्तु पाइन्छन् । निकुञ्ज पन्छीप्रेमीका लागि पनि आकर्षक गन्तव्य हो । यहाँ ४५० भन्दा बढी प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएका छन् ।

    निकुञ्जभित्रका विशाल शुक्लाफाँटा घाँसेमैदान, रानीताल, सिकारी ताल, सलगौडी ताल, बाबा ताल, सालघारी, चौधर नदी क्षेत्र, वन्यजन्तु अवलोकन टावर तथा प्राकृतिक पदमार्ग पर्यटकका मुख्य आकर्षण हुन् । बिहान र साँझको समयमा हात्ती सफारी, जिप सफारी तथा बर्ड वाचिङमार्फत पर्यटकले वन्यजन्तु नजिकबाट अवलोकन गर्ने अवसर पाउँछन् ।

    प्राकृतिक सम्पदा, जैविक विविधता र वन्यजन्तु अवलोकनको अनुपम गन्तव्यका रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापित हुँदै गएको छ । निकुञ्ज प्रशासनले पूर्वाधार विस्तार, प्रचारप्रसार तथा पर्यटकमैत्री सेवामा थप सुधार गर्न सके आगामी वर्षहरूमा विदेशी पर्यटकको आगमन अझै उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ ।

  • इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जनक श्रेष्ठ-रासस

    लमजुङ, २६ असारः लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यो ऐतिहासिक डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, शान्त वातावरण र ऐतिहासिक महत्वका कारण पर्यटकको आकर्षण बन्दै आएको छ । हालैमात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि हरसिङडाँडाको परिचयमा नयाँ आयाम थपिएको छ ।

    नेपाल विद्युत् प्राधिकरण, लमजुङ वितरण केन्द्रले केही दिनअघि हरसिङडाँडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार गरेसँगै साँझपख डाँडा झिलीमिली बन्न थालेको छ । लामो समयसम्म सोलारको भरमा दैनिक काम चलाउँदै आएका स्थानीयले अहिले नियमित विद्युत् पाएका छन् । यसले स्थानीयको दैनिकीमात्र सहज बनाएको छैन, पर्यटन व्यवसायमा नयाँ ऊर्जा दिएको छ ।

    प्राधिकरण लमजुङका प्रमुख सोवितबहादुर क्षेत्रीका अनुसार पर्यटकीय सम्भावना भएका स्थानलाई प्राथमिकतामा राखेर विद्युत् विस्तार गर्ने योजनाअनुसार हरसिङडाँडामा राष्ट्रिय प्रसारण लाइन पुर्याइएको हो । उनका अनुसार यसअघि बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन । अहिले करिब रु १० लाख लागतमा १८ वटा पोल गाडेर विद्युत् विस्तार गरिएको हो । आगामी दिनमा बजेटको उपलब्धताअनुसार जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा पनि विद्युत् सेवा विस्तार गरिने उनले बताए ।


    हरसिङडाँडामा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका पूर्णबहादुर गुरुङका अनुसार विद्युत् पुगेपछि स्थानीय र पर्यटक दुवैलाई सहज भएको छ । “पहिले सोलारको भरमा काम चलाउनुपथ्र्यो । अहिले बिजुली आएपछि पर्यटकलाई सेवा दिन सहज भएको छ । मोबाइल चार्ज गर्न, खाना पकाउने, रातिको उज्यालो र अन्य सेवा प्रभावकारी भएका छन् । डाँडा झिलीमिली बनेपछि यहाँको आकर्षण पनि बढेको छ”, उनले भने ।


    सो स्थानमा केही वर्षअघि पूर्णबहादुर गुरुङ, सुमन गुरुङ, सुरज गुरुङ र इन्द्रबहादुर गुरुङ गरी चार जना युवाले संयुक्त रूपमा करिब रु ११ लाख लगानी गरी ३५ जनासम्म अट्ने हल निर्माण गर्दै खाना र बासको व्यवस्था गरेका थिए । स्थानीय युवाको यही पहलपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । अहिले विभिन्न मौसममा सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन् ।

    विद्युत् पुगेपछि पर्यटन व्यवसाय थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । स्थानीय कृषि तथा पशुपालनबाट उत्पादित वस्तुको बिक्री बढ्ने, युवाले गाउँमै रोजगारी पाउने र गाउँको आर्थिक गतिविधि विस्तार हुने विश्वास स्थानीयवासीको छ । पहिलेजस्तो साँझ पर्नासाथ सुनसान हुने हरसिङडाँडा अहिले उज्यालोले मनमोहक भएको छ ।

    हरसिङडाँडामा पुग्ने पर्यटकहरू यहाँको प्राकृतिक सौन्दर्यबाट लोभिने गरेका छन् । उनीहरूका अनुसार मनास्लु हिमशृङ्खला, बुद्ध हिमाल, डा हर्क पिक, मस्र्याङ्दी नदीको नागबेली, घलेगाउँ, कल्मेडाँडा, बेँसीसहर बजार तथा तनहुँको बन्दीपुरसम्मको दृश्यले मनै लोभ्याउँछ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यले यहाँ पुगेका जोकोहीलाई फेरि फर्केर आउन मन लाग्ने बनाउँछ ।

    पर्यटकहरूका अनुसार हरसिङडाँडा घुमफिरका लागिमात्र होइन, साथीभाइ र परिवारसँग एकदुई रात बसेर रमाउन मिल्ने उत्कृष्ट गन्तव्य बनेको छ । यहाँको शान्त वातावरण, स्थानीय आतिथ्यता, प्राकृतिक सौन्दर्य र भक्ति थापासँग जोडिएको इतिहासले थप मनोरम बनाएको छ ।

    नयाँ पुस्ताले नेपालको वीर इतिहास बुझ्न पनि हरसिङडाँडा एकपटक पुग्नैपर्ने स्थल भएको उनीहरू बताउँछन् । हरसिङडाँडाको अर्को महत्त्वपूर्ण पक्ष यसको ऐतिहासिक महत्व हो । विसं १८०२ मा मस्र्याङ्दी गाउँपालिका–३ खुदीको ढुङ्गेबेँसीमा जन्मिएका राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालका धेरै समय यही डाँडामा गाईवस्तु चराउँदै बिताएको इतिहासमा उल्लेख छ । सोही स्थानमा उनले छेलो हान्ने, साथीहरूसँग खेल्ने र गाउँको परिवेशमा हुर्किने अवसर पाएको स्थानीयको विश्वास छ ।

    भक्ति थापाको वीरताको सम्मानस्वरूप लमजुङका विभिन्न स्थानमा उनका सालिक तथा स्मृति पार्क निर्माण गरिएका छन् । तर उनको बाल्यकाल बितेको हरसिङडाँडाले भने अहिलेमात्र विकासको लय समात्न थालेको छ । सडक, विद्युत् र पर्यटन पूर्वाधार विस्तारसँगै यो स्थलको महत्व झन् बढ्दै गएको स्थानीय बताउँछन् ।

    मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार हरसिङडाँडा गाउँपालिकाको प्रमुख ऐतिहासिक तथा पर्यटकीय गन्तव्य हो । राष्ट्रिय विभूति भक्ति थापाको इतिहाससँग जोडिएको यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्ने योजना गाउँपालिकाले अघि बढाएको उनले बताए । उनका अनुसार हरसिङडाँडासम्म पुग्ने सडकलाई थप स्तरोन्नति गर्ने, पर्यटकलाई सहज हुने पूर्वाधार निर्माण गर्ने, आवश्यक बजेट व्यवस्थापन गर्ने तथा देशव्यापी रूपमा प्रचारप्रसारलाई प्रभावकारी बनाउने तयारी भइरहेको छ ।

    विद्युत् पुगेपछि पर्यटन विकासले थप गति लिने विश्वास व्यक्त गर्दै उहाँले स्थानीय सरकार यस क्षेत्रलाई गण्डकी प्रदेशकै आकर्षक ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताए ।


    अध्यक्ष गुरुङले विद्युत् सेवा विस्तारले पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने बताए । पर्यटकको सङ्ख्या बढ्दै जाँदा स्थानीय उत्पादनले बजार पाउने, होटल तथा होमस्टे व्यवसाय विस्तार हुने, युवाले गाउँमै रोजगारी सृजना गर्ने र समग्र गाउँको आर्थिक गतिविधि चलायमान बन्ने उहाँको विश्वास छ । स्थानीयका अनुसार केही वर्षअघिसम्म सुनसान देखिने हरसिङडाँडा अहिले विस्तारै चहलपहलले भरिन थालेको छ ।

    सडक पुगेको छ, विद्युत् पुगेको छ, बास र खानाको व्यवस्था भएको छ । थपिँदो पूर्वाधारले एक दिन घुमेर फर्किनेमात्र होइन, एकदुई रात बसेर प्राकृतिक सौन्दर्य, हिमालको दृश्य र स्थानीय संस्कृतिको अनुभव लिन आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।

    इतिहास, प्रकृति, संस्कृति र आधुनिक पूर्वाधारको सुन्दर सङ्गम बनेको हरसिङडाँडा अब केवल भक्ति थापाको बाल्यकालसँग जोडिएको ऐतिहासिकस्थलमात्र होइन, उज्यालोसँगै नयाँ सम्भावनाको ढोका खोल्दै अघि बढिरहेको पर्यटकीय गन्तव्य पनि बनेको छ ।

    प्राकृतिक सौन्दर्य, ऐतिहासिक गौरव र स्थानीय आतिथ्यतालाई एकैसाथ अनुभव गर्न चाहनेका लागि हरसिङडाँडा आज लमजुङको मात्र होइन, गण्डकी प्रदेशकै उदाउँदो गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । विकासका योजनाले निरन्तरता पाए र आवश्यक पूर्वाधार थपिँदै गए, राष्ट्रिय विभूति भक्ति थापाको सम्झना बोकेको यो डाँडा निकट भविष्यमै नेपालको प्रमुख ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको सूचीमा दरिन सक्ने प्रबल सम्भावना देखिन्छ ।

  • गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    जनक श्रेष्ठ–रासस

    लमजुङ, २४ असारः कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे ।

    गुरुङ समुदायका लागि रोधी मनोरञ्जनको थलो मात्र नभई सामाजिक शिक्षालय पनि थियो । समयसँगै आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र बसाइँसराइका कारण रोधी बस्ने चलन क्रमशः घट्दै गएको छ ।

    रोधीले सिकाएको सामूहिकता, आत्मीयता र मौलिक संस्कृतिप्रतिको अपनत्व अहिले लमजुङको ग्रामीण पर्यटनको बलियो आधार बनेको छ । ‘होमस्टे’मार्फत यही सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै गुरुङ समुदायले पर्यटनलाई आर्थिक समृद्धिको भरपर्दो माध्यमका रूपमा विकास गरिरहेका छन् ।

    गुरुङ समुदायको उद्गमस्थल मानिने लमजुङमा मौलिक पहिचानलाई पर्यटनसँग जोड्ने अभियानले पछिल्ला वर्षमा उल्लेखनीय गति लिएको छ । उक्त समुदायको भाषा, वेशभूषा, कला, संस्कृति, परम्परा, स्थानीय खानपान, रहनसहन र आत्मीय आतिथ्यता अहिले स्वदेशी तथा विदेशी पर्यटकका प्रमुख आकर्षण बनेका छन् ।

    गाउँमा सक्रिय आमा समूह, बाबा समूह, युवा क्लब, होमस्टे व्यवस्थापन समिति र स्थानीय पर्यटन समितिले संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाइरहेका छन् । लमजुङमा ग्रामीण पर्यटनको सङ्गठित सुरुआत क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँबाट भएको मानिन्छ । विसं २०५७ मा महोत्सवसँगै सुरु गरिएको होमस्टे अभियान आज पर्यटनको परिचय बनेको छ । त्यसपछि भुजुङ, सिउरुङ, पसगाउँ, घनपोखरा, खासुर, राइनासकोट, काउलेपानी, इलामपोखरी, नाल्मा, छापामिम्प्रा, भुस्मे, घेर्मुलगायत गाउँमा पनि ग्रामीण पर्यटन विस्तार हुँदै गएको छ ।

    समुद्री सतहदेखि करिब दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँ दक्षिण एसियाकै नमूना ग्रामीण पर्यटकीय गाउँका रूपमा परिचित छ । यहाँबाट अन्नपूर्ण, मनास्लु, लमजुङ र हिमालचुलीलगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । परम्परागत गुरुङ बस्ती, स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति र आत्मीय आतिथ्यले वर्षौंदेखि पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

    घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार होमस्टेले गाउँको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ । पर्यटनबाट स्थानीयको आम्दानी बढेको छ भने गाउँको पहिचान राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म विस्तार भएको छ । होमस्टेले लोपोन्मुख संस्कार, संस्कृति, परम्परागत परिकार र सामुदायिक जीवनशैलीलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछन् । 

    क्व्होलासोथर गाउँपालिका–४ भुजुङ गाउँ गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयका रूपमा परिचित छ । परम्परागत ढुङ्गे घर, मौलिक संस्कार, धार्मिक आस्था र प्राकृतिक सुन्दरताले भरिएको यस गाउँमा २०६४ सालदेखि होमस्टे सञ्चालन हुँदै आएको छ । यहाँ पुग्ने पर्यटकले गुरुङ समुदायको जीवनशैली, संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्ने अवसर पाउँछन् ।

    मस्र्याङ्दी गाउँपालिका–३ स्थित सिउरुङ गाउँ मनास्लु हिमालको काखमा अवस्थित अर्को आकर्षक गन्तव्य हो । त्यहाँबाट मस्र्याङ्दी नदीको नागबेली दृश्य देख्न सकिन्छ । स्थानीय समुदायको सक्रियतामा पर्यटन प्रवद्र्धनसँगै संस्कृति संरक्षणका अभियान निरन्तर सञ्चालन भइरहेका छन् ।

    सिउरुङका स्थानीय पूर्णबहादुर गुरुङका अनुसार आधुनिक जीवनशैली र वैदेशिक रोजगारीका कारण मौलिक संस्कृति सङ्कटमा परे पनि पर्यटनसँग जोडिएपछि त्यसको संरक्षणमा सबैको चासो बढेको छ । उनका अनुसार होमस्टे सञ्चालक मात्र नभई दूध उत्पादन गर्ने किसान, अग्र्यानिक तरकारी उत्पादक, स्थानीय अन्नबाली उत्पादन गर्ने परिवार, हस्तकलामा संलग्न महिला तथा अन्य साना व्यवसायी पर्यटनबाट प्रत्यक्ष लाभान्वित भएका छन् । पर्यटक बढेसँगै गाउँमा रोजगारी र आयआर्जनका अवसर विस्तार हुँदै गएको उनी बताउँछन् । 

    पर्यटकलाई स्थानीय स्वाद र मौलिक अनुभव दिलाउन गाउँलेले मौसमी उत्पादनको संरक्षण गर्दै आएका छन् । वर्षायामपछि लेकतिरबाट निउरो, च्याउलगायत स्थानीय उत्पादन सङ्कलन गरी सुरक्षित राख्ने र पर्यटकलाई परम्परागत परिकारका रूपमा पस्कने गरिन्छ । कोदो, फापर, मकै, स्थानीय दाल र अन्य मौलिक परिकारले पनि पर्यटकलाई गाउँले स्वादसँग जोड्ने गरेका छन् ।

    गुरुङ समुदायको बाहुल्यता रहेको पसगाउँले पनि ग्रामीण पर्यटनमा छुट्टै पहिचान बनाएको छ । यहाँ प्रदर्शन गरिने कृष्णचरित्र नृत्य, घाटु, झ्याउरे, सोरठी तथा सारङ्गीका मौलिक प्रस्तुति पर्यटकका लागि विशेष आकर्षण बनेका छन् । यस्ता सांस्कृतिक कार्यक्रमले गुरुङ समुदायको पहिचान जोगाउनुका साथै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन् ।

    ग्रामीण पर्यटनको विकासमा महिलाको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । अधिकांश होमस्टेमा आमा समूहले पाहुनाको स्वागत, स्थानीय परिकार तयारी, सरसफाइ व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनको नेतृत्व गर्दै आएका छन् । युवा पुस्ताले पथप्रर्दशक, पर्यटन उद्यमी, सांस्कृतिक प्रस्तोता तथा ‘डिजिटल’ माध्यमबाट प्रचारप्रसार गरी गाउँमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन् ।

    क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले संरक्षणसँगै नयाँ पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताउनुहसन्छ । उहाँका अनुसार गाउँ–गाउँमा पार्क निर्माण, प्राकृतिक झरनाको संरक्षण तथा सौन्दर्यीकरण, नयाँ पर्यटकीय गन्तव्यको विकास, पदमार्ग निर्माण र सेवासुविधा विस्तारका काम भइरहेका छन् ।

    उहाँले दूधपोखरी जाने मेमेडाँडा क्षेत्रमा पदमार्ग निर्माण भइरहेको जानकारी दिँदै उक्त पदमार्ग पूरा भएपछि कास्कीबाट आउने पर्यटकलाई यस क्षेत्र हुँदै मनाङसम्म पुग्ने वैकल्पिक पदयात्रा मार्गका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । पर्यटकको बसाइ अवधि लम्ब्याउन नयाँ पर्यटकीय गतिविधि विकास, स्थानीय उत्पादनको बजारीकरण तथा कृषि र पर्यटनलाई एकीकृत गर्ने योजनामा गाउँपालिका केन्द्रित रहेको उनको भनाइ छ ।

    ग्रामीण पर्यटनले केही चुनौती पनि भोगिरहेको छ । वर्षायाममा सडक अवरुद्ध हुने, केही पर्यटकीय गाउँमा गुणस्तरीय पूर्वाधारको अभाव, दक्ष जनशक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुनु तथा मौलिक संस्कृतिमा आधुनिक प्रभाव बढ्दै जानु प्रमुख चुनौतीका रूपमा देखिएका छन् । पर्यटन व्यवसायीले यी समस्या समाधानका लागि पूर्वाधार विकास, प्रभावकारी प्रचारप्रसार र तीनै तहका सरकारको समन्वय आवश्यक रहेको बताएका छन् ।

    प्राकृतिक सम्पदा, गुरुङ संस्कृतिको मौलिकता, सफल होमस्टे अभ्यास, कृषि र पर्यटनको अन्तरसम्बन्ध तथा स्थानीय समुदायको सक्रिय सहभागिताका कारण लमजुङको ग्रामीण पर्यटनको भविष्य थप सम्भावनायुक्त देखिएको छ ।

    पदयात्रा मार्ग विस्तार, डिजिटल प्रचारप्रसार, स्थानीय उत्पादनको ‘ब्रान्डिङ’ र सांस्कृतिक सम्पदाको संरक्षणलाई थप प्रभावकारी बनाउन सके पर्यटकको बसाइ अवधि र पर्यटनबाट हुने आम्दानी अझ बढ्ने अपेक्षा गरिएको छ ।

    रोधीघरमा हुर्किएको सामूहिकताको संस्कार आज होमस्टे, सांस्कृतिक पर्यटन र आत्मीय आतिथ्यतामार्फत नयाँ स्वरूपमा पुनर्जीवित भइरहेको छ । गुरुङ समुदायले आफ्नो भाषा, संस्कृति, परम्परा र मौलिक जीवनशैलीलाई संरक्षण गर्दै त्यसलाई आर्थिक समृद्धिको आधार बनाएको छ ।

    पर्यटनले संस्कृति जोगाउने मात्र होइन, गाउँमा रोजगारी सिर्जना गर्ने, कृषि उत्पादनको बजार विस्तार गर्ने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने माध्यमका रूपमा पनि आफूलाई स्थापित गरिरहेको छ । संस्कृति संरक्षण र पर्यटन विकासलाई सँगसँगै अघि बढाउने लमजुङको अभ्यास नेपालका अन्य ग्रामीण क्षेत्रका लागि पनि अनुकरणीय नमूनाका रूपमा स्थापित हुँदै गएको छ । 

  • सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    टक्सार (भोजपुर), २३ असारः सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा पनि सञ्चालन भइरहेको छ । प्रत्येक वर्ष असार १४ देखि साउन १५ गतेसम्म सञ्चालन हुनेगरी सरकारले सुरु गरेको सगरमाथा वृक्षरोपण महाअभियान भोजपुरमा पनि जारी रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले बताए । उनले भने, “भोजपुरमा पनि यो अभियान निरन्तर चलिरहेको छ, यसले वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने छ ।”

    महाअभियानअन्तर्गत भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका–२, तिवारीभञ्ज्याङबाट यो अभियान सुरु गरिएको हो । अभियान सुरु भएसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले जिल्लाको पर्यटकीय तथा धार्मिक महत्व बोकेको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँस अभियान सुरु भएको डिभिजन वन कार्यालयका प्रमुख मियाँले उल्लेख गरे । उनका अनुसार स्थानीय कालुमान गुरुङ पार्कमा लालीगुराँसका बिरुवा रोपण गरिएको छ ।

    प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्‍याउने उद्देश्यले गुराँस रोपन गरिएको हो । यहाँ डिभिजन वन कार्यालयबाट उपलब्ध भएको ५०० गुराँसका बिरुवामध्ये पहिलो चरणमा एक सय बिरुवा रोपण गरिएको उनले बताए । नयाँ बिरुवा भने टेम्केमैयुङ गाउँपालिकासँगको सहकार्यमा सरकारको एक सय पर्यटकीय गन्तव्य सूचीमा समावेश मुन्दुम पदमार्गअन्तर्गतको चेखेवा क्षेत्रमा रोपण गरिनेछ । यो अभियानलाई जिल्लामा रहेको पालिकाले सहयोग गरेका छन् ।

    सरकारबाट निर्णय भएर सुरु भएको र डिभिजन वन कार्यालयले कार्यान्वयमा ल्याएको यो अभियानलाई सफल बनाउन सम्बन्धि सबैको निरन्तर सहयोग रहने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । उनले  भने,  “रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा स्थानीयवासीको सक्रिय सहभागिता जरुरी छ । यसमा सबै मिलेर हातेमालो गरौँ ।”

    नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तरराष्ट्रिय प्रतिबद्धता गरिसककेको छ भने हालै सम्पन्न सगरमाथा संवाद, २०२५ ले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कट र त्यसको असरबारे विश्वजगत्लाई ध्यानाकर्षण गर्दै ‘हिमालय जोगाऔँ’का लागि आह्वान गरेको थियो ।

    वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा वृक्षरोपणले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता अभियान सफल बनाउनु सबैको दायित्व भएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए । सरकारी अभियानअन्तर्गतको वृक्षरोपण अभियान भोजपुरमा पनि आगामी साउन १५ गतेसम्म सञ्चालन हुनेछ । 

  • पोखरा–दुबई उडान दिगो बनाउन पहल

    पोखरा–दुबई उडान दिगो बनाउन पहल

    रासस
    गण्डकी, २२ असारः आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउनेगरी काम सुरु भएको बताए ।

    पोखरा–दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरोकारवालाको सहयोग महत्त्वपूर्ण हुने उनको भनाइ थियो । यो उडानले गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्युयोर्क, टोकियोजस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्ने अवसर आएको महाप्रबन्धक शाहीले बताए ।


    सो अवसरमा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखराबाट हुने अन्तरराष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले उडानलाई दीर्घकालीन बनाउन सम्पूर्ण तयारी भएको बताए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबईको पोखरा–दुबई उडानलाई नियमित र दिगो


    रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखरा र फ्लाइ दुबईका पदाधिकारीबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो । पर्यटन क्षेत्रको दिगो विकास, अन्तरराष्ट्रिय पर्यटक आगमन वृद्धि तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । यसबीचमा फ्लाइ दुबईले उडान तालिका सार्वजनिक गरिसकेको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।

    फ्लाइ दुबईको टोलीले केही समयअघि पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आव २०८३÷८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको थियो ।

    पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आसमा पर्यटन व्यवसायी छन् । हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुनसकेको छैन । झन्डै रु २२ अर्ब ऋणमा बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो ।

  • नेपाली सेफको विश्वभर दबदबा : विलासी होटलदेखि राष्ट्रप्रमुखको भान्सासम्म

    नेपाली सेफको विश्वभर दबदबा : विलासी होटलदेखि राष्ट्रप्रमुखको भान्सासम्म

    सेरिका थापा/ काठमाडौं

    २० असार । नेपाली जनशक्ति वैदेशिक रोजगारीमा इमानदार, मेहनती र परिपक्वरुपमा परिचित हुँदै आएका छन् । पछिल्ला वर्षहरुमा विशेषगरी होटल तथा आतिथ्य क्षेत्रमा नेपाली सेफहरुको उपस्थितिले अन्तर्राष्ट्रिय स्तरमै अलग पहिचान बनाइरहेको छ । संसारका विभिन्न मुलुकका पाँचतारे होटल, रिसोर्ट, क्रुज, एयरलाइन क्याटरिङ सेवा तथा रेस्टुरेन्टहरुमा नेपाली सेफहरुको माग उल्लेख्य रुपमा बढ्दै गएको छ ।


    नेपाली सेफहरु केवल श्रम आपूर्ति गर्ने कामदारका रुपमा मात्र नभई स्वाद, अनुशासन, मेहनत र व्यावसायिक दक्षताका कारण अन्तर्राष्ट्रिय बजारमा विश्वसनीय ब्राण्डकै रुपमा स्थापित हुन थालेका छन् । खाडी मुलुकदेखि युरोप, अमेरिका, अष्ट्रेलिया र एसियाली राष्ट्रसम्म नेपाली सेफहरुले आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् ।


    तर, विश्वभर कति नेपाली सेफ कार्यरत छन् भन्नेबारे सरकारसँग यकिन तथ्यांक भने छैन । नेपाल सरकारसँग विदेशमा रहेका नेपालीहरुको समेत पूर्ण विवरण नरहेको अवस्थामा सेफहरुको अलग आधिकारिक अभिलेख तयार हुन नसक्नु सामान्य मान्नु पर्छ । सरकारी निकायहरुसँग विभिन्न देशमा रहेका नेपालीहरुको अनुमानित संख्या मात्रै उपलब्ध हुने गरेको छ ।


    यद्यपि, नेपाली सेफहरुलाई संगठित गर्ने प्रयास भने तीव्र रुपमा अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी र नेपाल सेफ सोसाइटीमार्फत हजारौं नेपाली सेफहरु एउटै सञ्जालमा आबद्ध भएका छन् । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीका अनुसार संस्थाले हालसम्म ४५ देशमा आफ्नो कार्यसमिति विस्तार गरिसकेको छ । उनले नेपाली सेफहरु संसारभर फैलिएको भए पनि उनीहरुबीच पेशागत एकता, अनुभव आदान–प्रदान र क्षमता अभिवृद्धिका लागि संस्थागत संरचना आवश्यक महसुस भएपछि अभियान अघि बढाइएको बताए ।


    अधिकारीका अनुसार नेपाल सेफ सोसाइटीले पनि देशभर संगठन विस्तार अभियान सञ्चालन गरिरहेको छ । पहिलो चरणमा प्रदेश र त्यसपछि जिल्लास्तरमा शाखा विस्तार गर्दै युवा सेफहरुलाई व्यावसायिक रुपमा संगठित गर्ने योजना अघि बढाइएको उनले जानकारी दिए । संस्थामा सदस्यता प्राप्त गर्न होटल तथा रेस्टुरेन्ट क्षेत्रमा कम्तीमा पाँच वर्ष सेफको रुपमा कार्य गरेको अनुभव अनिवार्य गरिएको छ । यसले संस्थामा अनुभवी तथा पेशागत रुपमा सक्रिय व्यक्तिहरुलाई मात्र समेट्ने उद्देश्य राखिएको छ ।

    संगठनात्मक पहल
    अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको स्थापना सन् २०१८ मा संयुक्त अरब इमिरेट्सबाट भएको हो । विदेशमा कार्यरत नेपाली सेफहरुलाई साझा प्लेटफर्ममा ल्याउने उद्देश्यले शुरु गरिएको संस्था पछि विस्तार हुँदै विभिन्न महादेशसम्म पुगेको हो । त्यसपछि सन् २०२४ मा नेपालमा औपचारिक रुपमा दर्ता गरेर संस्थाले आफ्नो गतिविधि थप व्यवस्थित बनाएको अध्यक्ष अधिकारीले बताए ।


    हाल संस्थामा विभिन्न ४५ देशबाट १० हजारभन्दा बढी सेफ आबद्ध रहेका छन् । संस्थाको तथ्यांकअनुसार औसतमा प्रत्येक देशबाट करिब २ सय ५० जना सेफ संस्थासँग जोडिएका छन् । कतिपय मुलुकमा नेपाली सेफहरुको संख्या धेरै भएकाले त्यहाँ अझ बलियो संरचना निर्माण गरिएको छ ।


    विशेषगरी दुबई, कतार, साउदी अरेबिया, मलेसिया, जापान, दक्षिण कोरिया, बेलायत, क्यानडा, अमेरिका र अष्ट्रेलियामा नेपाली सेफहरुको उपस्थिति उल्लेखनीय रहेको बताइन्छ । नेपाली खानाका परिकारसँगै अन्तर्राष्ट्रिय व्यञ्जनमा समेत दक्ष नेपाली सेफहरुले विदेशी होटल उद्योगमा राम्रो छाप छोडेका छन् ।

    नेपालको पहिचानमा सेफहरुको उपस्थिति
    आतिथ्य क्षेत्रका जानकारहरुका अनुसार नेपाली सेफहरुको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई नेपालको पहिचानसँग पनि जोडिएको विषय हो । विदेशी भूमिमा काम गर्ने नेपाली सेफहरुले नेपाली खानाको स्वाद, संस्कृति र आतिथ्य परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गरिरहेका छन् ।


    तर, यो क्षेत्र अझै पनि सरकारी प्राथमिकतामा पर्याप्त रुपमा पर्न नसकेको गुनासो व्यवसायीहरुको छ । उनीहरुका अनुसार सरकारले वैदेशिक रोजगारीमा रहेका दक्ष नेपाली सेफहरुको आधिकारिक तथ्यांक संकलन, सीप प्रमाणीकरण, अन्तर्राष्ट्रिय तालिम तथा पर्यटन प्रवद्र्धनसँग जोडेर दीर्घकालीन नीति ल्याउन आवश्यक छ ।


    सेफ पेशामा आकर्षण बढ्दै जाँदा नेपालभित्र पनि कुक तथा होटल व्यवस्थापन अध्ययन गर्ने युवाको संख्या बढिरहेको छ । दक्ष जनशक्ति उत्पादनसँगै नेपाली सेफहरुको अन्तर्राष्ट्रिय बजारमा प्रभाव अझ विस्तार हुने विश्वास छ ।
    बेलायतमा रहेका नेपाली सेफ सन्तोष साहले बीबीसीको आयोजनामा भएको प्रतियोगितामा भाग लिएपछि नेपाली खानाको चर्चा संसारभर भएको थियो । उनले नेपालीको पहिचानको माध्यम सेफ पेशा पनि भएकाले यसमा राज्यको तर्फबाट पनि लगानी आवश्यक रहेको जोड दिएका छन् ।

    विलासी होटलदेखि राष्ट्रप्रमुखको भान्सासम्म
    अन्तर्राष्ट्रिय आतिथ्य उद्योगमा नेपाली सेफहरुको प्रभाव केवल संख्या वा उपस्थितिमा मात्र सीमित छैन, उनीहरुको दक्षता, अनुशासन र स्वादको कलाले विश्वस्तरमै अलग पहिचान बनाएको छ । विश्वभर कार्यरत नेपाली सेफहरुलाई अत्यन्त मेहनती, इमानदार तथा पाहुनाको स्वाद र मनोविज्ञान बुझेर परिकार तयार गर्न सक्ने व्यावसायिक जनशक्तिका रुपमा हेरिने गरिएको छ ।


    विशेषगरी पाँचतारे तथा विलाशी होटलहरुमा समेत नेपाली सेफहरुले नेतृत्वदायी भूमिकासमेत निर्वाह गरिरहेका छन् । उच्चस्तरीय होटल उद्योगमा काम गर्ने नेपाली सेफहरुले विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय खेलाडी, कलाकार तथा प्रतिष्ठित व्यक्तित्वलाई परिकार तयार गरेर सेवा दिइसकेका छन् ।


    आतिथ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुका अनुसार नेपाली सेफहरुको विशेषता भनेकै कठिन परिस्थितिमा पनि निरन्तर काम गर्न सक्ने क्षमता, टोलीमा घुलमिल हुने व्यवहार, नयाँ स्वाद सिक्ने लचकता तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्ने दक्षता हो । यही कारण अन्तर्राष्ट्रिय होटल चेन तथा लक्जरी रिसोर्टहरुमा नेपाली सेफप्रति विश्वास बढ्दो छ ।

    चर्चा कमाएका नेपाली सेफहरु
    विभिन्न मुलुकमा आफ्नो पेशागत क्षमता र नेतृत्वका कारण नेपाली सेफहरुले उल्लेखनीय सफलता हासिल गरेका छन् । साउदी अरबमा कार्यरत सरोज थापा, संयुक्त अरब इमिरेट्सका ह्युमन लिम्बु, बेलायतका विनोद बराल, अष्ट्रेलियाका श्याम अम्माइ, माल्दिभ्सका बरुण सिंह र समिस बुढाथोकी, जापानका अमरदीप कार्की, न्युजिल्याण्डका कृष्णहरि सापकोटा, नाइजेरियाका कृष्णकुमार थापामगर, कतारका सूर्य भण्डारी, ओमानका विमल कार्की चर्चामा छन् ।


    त्यस्तै अमेरिकाका सोब थापा, क्यानडाका अनिल तिवारी, साइप्रसका रेशम लामा, यूएईका प्रकाश बुढाथोकी, भारतका शाइकुमार शर्मा, अष्ट्रियाका रामकुमार जोशी, जर्मनीका रामकाजी गोसाइँ, फिनल्याण्डका युवराज पाण्डे, जिबुटीका गोविन्द राई, मकाउका बाबुराम कार्की तथा अष्ट्रेलियाका भवी खनाललाई चर्चित नेपाली सेफका रुपमा लिइन्छ ।


    यी सेफहरुले सम्बन्धित मुलुकका उच्च पदस्थ व्यक्तित्वदेखि विदेशी पाहुनाका रुपमा आउने राष्ट्रप्रमुख, सरकार प्रमुख, अन्तर्राष्ट्रिय कलाकार तथा खेलकुद क्षेत्रका चर्चित हस्तीलाई समेत विभिन्न परिकार तयार गरेर खुवाइसकेका छन् । कतिपय नेपाली सेफहरु अन्तर्राष्ट्रिय होटल समूहका कार्यकारी सेफ, किचेन म्यानेजर तथा फुड कन्सल्टेन्टको भूमिकामा समेत कार्यरत छन् ।


    भारतमा कार्यरत शाइकुमार शर्माले २८ वटा पाँचतारे होटलका सेफहरुको नै नेतृत्व गरिरहेको तथ्यलाई नेपाली सेफहरुको अन्तर्राष्ट्रिय सफलता र नेतृत्व क्षमताको उदाहरणका रुपमा हेरिएको छ । बहुराष्ट्रिय होटल चेनअन्तर्गत सञ्चालन भएका होटलहरुको भान्सा व्यवस्थापन, मेनु विकास, गुणस्तर नियन्त्रण र अन्तर्राष्ट्रिय स्वादको संयोजनमा उनको भूमिका महत्वपूर्ण रहेको छ ।


    अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारी स्वयं पनि अन्तर्राष्ट्रिय स्तरमा परिचित सेफ हुन् । उनी संयुक्त अरब इमिरेट्सस्थित सिडयाट आइल्याण्ड होटलमा सेफका रुपमा कार्यरत छन् । लामो समयदेखि अन्तर्राष्ट्रिय होटल उद्योगमा काम गर्दै आएका अधिकारीले नेपाली सेफहरुको पेशागत पहिचानलाई विश्वव्यापी बनाउन संस्थाको नेतृत्वमा रहेर सक्रियता देखाएको बताउँछन् । नेपाली सेफहरु अब केवल श्रमिकका रुपमा सीमित छैनन्, बरु अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको नेतृत्व तहसम्म पुग्न थालेका छन् । उनी भन्छन्, ‘नेपाली सेफहरुको मेहनत, अनुशासन र स्वादको समझ अन्तर्राष्ट्रिय बजारमा स्थापित भइसकेको छ ।’

    नेपाली खानामा विदेशीको आकर्षण
    पछिल्ला वर्षहरुमा नेपाली खानाका परिकारप्रति विदेशीहरुको आकर्षण बढ्दै गएको छ । मोमो, थुक्पा, नेपाली थाली, गुरुङ तथा नेवारी परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न नेपाली सेफहरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । कतिपय नेपाली सेफहरुले आफ्नै रेस्टुरेन्ट सञ्चालन गरेर नेपाली भोजन संस्कृतिलाई विश्व बजारमा विस्तार गरिरहेका छन् ।


    आतिथ्य क्षेत्रका जानकारहरुका अनुसार यदि राज्यले दक्ष सेफ उत्पादन, अन्तर्राष्ट्रिय प्रमाणीकरण, पाककला प्रशिक्षण तथा पर्यटनसँग जोडेर दीर्घकालीन नीति अघि बढाउने हो भने नेपाली सेफहरु नेपालको ‘सफ्ट पावर’का रुपमा अझ प्रभावशाली बन्न सक्छन् । नेपाली स्वाद र आतिथ्य संस्कृतिमार्फत विश्वमा नेपालको पहिचान विस्तार गर्न यो क्षेत्र महत्वपूर्ण माध्यम बन्न सक्ने उनीहरुको बुझाइ छ ।

    नेपाली खानाको अन्तर्राष्ट्रियकरणको पहल
    होटल तथा आतिथ्य क्षेत्रमा नेपाली सेफहरुको प्रभाव बढ्दै जाँदा उनीहरुको भूमिका अब केवल जागिरे कामदारमा सीमित छैन । विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली सेफहरु नेपाली खानाका अन्तर्राष्ट्रिय प्रचारकका रुपमा स्थापित हुन थालेका छन् । उनीहरुले विदेशी भूमिमा नेपाली स्वाद, संस्कृति र भोजन परम्परालाई चिनाउने काम गरिरहेका छन् ।


    विशेषगरी बेलायतमा रहेका चर्चित नेपाली सेफ सन्तोष साहलाई नेपाली खानालाई विश्वमाझ स्थापित गराउने सफल उदाहरणका रुपमा लिइन्छ । अन्तर्राष्ट्रिय पाककला प्रतिस्पर्धा तथा प्रतिष्ठित होटल–रेष्टुराँमार्फत उनले नेपाली परिकारलाई विश्वस्तरमा परिचित गराउँदै व्यक्तिगत सफलतासँगै नेपालको पहिचान निर्माणमा समेत योगदान दिएका छन् । उनले काठमाडौं उपत्यकामा पनि रेष्टुरेन्ट खोलेर व्यवसाय सुरु गरिसकेका छन् ।


    अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीका अनुसार संस्थाले नेपाली खानाको अन्तर्राष्ट्रियकरणका लागि विशेष अभियान सुरु गरेको छ । त्यसका लागि ५५ सदस्यीय विशेषज्ञ टोली गठन गरिएको उनले जानकारी दिए । उनका अनुसार टोलीमा अनुभवी सेफहरुसँगै फुड साइन्सका विज्ञहरु पनि सहभागी छन् । नेपाली खानाको मौलिकता, स्वाद, सामग्री, पोषण र अन्तर्राष्ट्रिय प्रस्तुतीकरणलाई वैज्ञानिक ढंगले स्थापित गर्ने उद्देश्यले काम अघि बढाइएको उनले बताए ।


    ‘हामीले नेपाली खानाको व्यवस्थित मेनु तयार गर्ने काम शुरु गरेका छौं । नेपाली खानाको प्रमाणीकरण र पहिचान निर्माणमा पनि काम गरिरहेका छौं,’ अध्यक्ष अधिकारीले भने । उनका अनुसार हालसम्म नेपाली खानाको स्पष्ट अन्तर्राष्ट्रिय मानक तय हुन सकेको छैन । विश्व बजारमा ‘नेपाली खाना’ भनेर औपचारिक रुपमा चिनिने साझा मापदण्ड, प्रस्तुति शैली र प्रमाणीकरण प्रणाली अभाव रहेको उनी बताउँछन् ।

    यही कारण नेपाली खानाको मौलिक पहिचानलाई वैज्ञानिक तथा व्यावसायिक रुपमा स्थापित गर्न फुड साइन्स विज्ञहरूसँग सहकार्य गरिएको हो ।
    सोसाइटीका अनुसार अहिले विदेशी बजारमा मोमो बाहेक धेरै नेपाली परिकार अझै व्यवस्थित रुपमा ब्रान्डिङ हुन सकेका छैनन् । थकाली खाना, नेवारी परिकार, हिमाली भोजन, गुरुङ समुदायका परम्परागत स्वाद तथा विभिन्न जातीय खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना ठूलो भए पनि त्यसका लागि राज्य र निजी क्षेत्रको समन्वित पहल आवश्यक रहेको उनीहरुको भनाइ छ ।

    शिक्षा र सीपबीचको भिन्नताले समस्या
    नेपाली सेफहरुको अन्तर्राष्ट्रिय सफलताका बाबजुद राज्यले यो क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो व्यवसायी तथा सेफहरुको छ । अध्यक्ष अधिकारीका अनुसार नेपालमा पाककला शिक्षा र व्यवहारिक सीपबीच ठूलो दूरी छ । ‘पढाइ भएकासँग व्यवहारिक सीप छैन, सीप भएकाहरुसँग औपचारिक शिक्षा छैन,’ उनले भने, ‘यी दुई पक्षलाई संयोजन गर्ने काम सरकारले गर्नुपर्ने थियो । तर, सेफ पेशा अझै पनि सरकारी प्राथमिकतामा परेको छैन ।’


    नेपालमा होटल व्यवस्थापन तथा कुक शिक्षा दिने संस्थाहरु बढिरहेका भए पनि अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक व्यावहारिक प्रशिक्षण, आधुनिक उपकरण, उद्योगसँगको सहकार्य र प्रमाणीकरण प्रणाली अझै कमजोर छ ।
    क्षमता, अनुभव र दक्षता हुँदाहुँदै पनि ‘कमजोर पासपोर्ट’ अर्थात् नेपालको सीमित अन्तर्राष्ट्रिय प्रभावका कारण धेरै नेपाली सेफहरु नेतृत्व तहमा पुग्न संघर्ष गर्न बाध्य छन् । समान योग्यता हुँदाहुँदै पनि विकसित मुलुकका नागरिकले प्राथमिकता पाउने अनुभव उनीहरुले सुनाउने गरेका छन् ।


    यद्यपि, अन्तर्राष्ट्रिय बजारमा नेपाली सेफहरुको माग भने अत्यधिक रहेको सोसाइटीले जनाएको छ । अध्यक्ष अधिकारीका अनुसार अहिले विश्व बजारमा नेपाली सेफको माग लाखांैको संख्यामा भए पनि त्यसअनुसार दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन । उनले वैदेशिक रोजगारीको वर्तमान संरचनामाथि प्रश्न उठाउँदै दक्ष जनशक्तिमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए । ‘खाडीमा १ हजार जना सामान्य श्रमिक पठाउनुको सट्टा २० जना दक्ष सेफ पठाउँदा पनि आर्थिक रुपमा ती २० जना धेरै प्रभावकारी हुन्छन्,’ उनले भने ।

    अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गर्न सकिने
    सेफ पेशामा आम्दानी, सीप विकास र दीर्घकालीन करिअर सम्भावना उच्च हुने भएकाले यसलाई नेपालको वैदेशिक रोजगार नीतिसँग जोड्नुपर्ने उनको धारणा छ । सोसाइटीले यदि व्यवस्थित रुपमा सेफ उत्पादन, तालिम र अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गर्न सकिने हो भने नेपालको रेमिट्यान्स आय अहिलेको तुलनामा उल्लेखनीय रुपमा बढ्न सक्ने दाबी गरेको छ ।


    आर्थिक क्षेत्रका विशेषज्ञहरुका अनुसार आतिथ्य उद्योग विश्वकै तीव्र गतिमा विस्तार भइरहेको क्षेत्रमध्ये एक हो । पर्यटन, होटल, क्रुज, एयरलाइन क्याटरिङ र लक्जरी रेष्टुरेन्ट क्षेत्रमा दक्ष सेफहरुको माग निरन्तर बढिरहेको अवस्थामा नेपालले यसलाई रणनीतिक अवसरका रुपमा लिन सक्ने सम्भावना छ । तर, समाजमा अझै पनि होटल तथा रेष्टुरेन्ट क्षेत्रमा काम गर्नेलाई हेय दृष्टिले हेर्ने प्रवृत्ति कायम रहेको सेफहरु बताउँछन् । यही सोंच, राज्यको कमजोर प्राथमिकता तथा दक्ष जनशक्ति उत्पादनमा लगानी अभावका कारण नेपाली सेफहरुको संख्या र गुणस्तर अपेक्षाअनुसार बढ्न नसकेको उनीहरुको निष्कर्ष छ ।


    पाककला क्षेत्रका जानकारहरु भने नेपाली सेफहरुलाई व्यवस्थित रुपमा प्रोत्साहन गर्न सके नेपालको पर्यटन, सांस्कृतिक कूटनीति र वैदेशिक रोजगार तीनै क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सकिने बताउँछन् । ‘नेपाली स्वाद’ विश्व बजारमा नेपालको नयाँ पहिचान बन्न सक्ने सम्भावना बलियो छ ।

    लोपोन्मुख खानादेखि संगठन विस्तार योजना
    नेपाली सेफहरुको प्रभाव बढ्दै गएसँगै उनीहरुलाई संगठित गर्ने अभियान पनि तीव्र बन्दै गएको छ । विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली सेफहरुलाई एउटै व्यावसायिक सञ्जालमा जोड्दै उनीहरुको क्षमता विकास, पेशागत अधिकार र नेपाली खानाको अन्तर्राष्ट्रिय ब्रान्डिङलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले आफ्नो गतिविधि विस्तार गरिरहेको छ ।


    संस्थाका अध्यक्ष अधिकारीका अनुसार हाल सोसाइटीको मुख्य ध्यान संगठन विस्तारमा केन्द्रित छ । विदेशका ४५ देशमा कार्यसमिति निर्माण गरिसकेको संस्थाले अब नेपालभित्र पनि प्रदेशदेखि जिल्लास्तरसम्म संगठन विस्तार अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

    प्रत्येक प्रदेशमा समिति गठन गर्ने तथा होटल, रेष्टुराँ र पर्यटन क्षेत्रमा कार्यरत सेफहरुलाई स्थानीय स्तरमै संगठित गर्ने काम भइरहेको छ । ‘नेपालका धेरै सेफहरु अझै असंगठित छन् । उनीहरुलाई पेशागत रुपमा जोड्ने, अनुभव आदान–प्रदान गर्ने र नयाँ पुस्तालाई प्रेरित गर्ने उद्देश्यले संगठन विस्तार अभियान चलाइएको हो,’ अध्यक्ष अधिकारीले भने ।


    संस्थाको उद्देश्य केवल सेफहरुलाई एउटै छातामुनि ल्याउने मात्र नभई उनीहरुको व्यक्तित्व विकास, पेशागत दक्षता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने रहेको उनले बताए । साथै, नेपाली खानालाई विश्व बजारमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

    सोसाइटीले विशेषगरी नेपाली मौलिक तथा लोपोन्मुख खानाको संरक्षण र ब्रान्डिङमा पनि ध्यान केन्द्रित गर्न थालेको छ । आधुनिक खानपान संस्कृतिको प्रभावसँगै हराउँदै गएका परम्परागत नेपाली परिकारको खोज, दस्तावेजीकरण र प्रवद्र्धनका लागि अभियान अघि बढाइएको संस्थाले जनाएको छ ।

    प्रवद्र्धनका लागि नेपालमै फूड फेस्टिभल
    नेपाली समाजका विभिन्न जातीय समुदायसँग जोडिएका परम्परागत स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना रहेको भन्दै संस्थाले त्यसको व्यावसायिक प्रस्तुतीकरणमा काम गरिरहेको छ । नेपालमै फूड फेस्टिभल आयोजना गरेर विभिन्न स्थानीय तथा मौलिक परिकारलाई प्रवद्र्धन गर्ने प्रयास गरिएको छ । यस्ता कार्यक्रममार्फत नयाँ पुस्तालाई नेपाली खानाको मौलिकता बुझाउने तथा विदेशी पर्यटकलाई नेपाली स्वादसँग परिचित गराउने लक्ष्य राखिएको उनले बताए ।


    आतिथ्य तथा खाद्य क्षेत्रका विज्ञहरुका अनुसार नेपालमा अझै पनि थुप्रै स्थानीय परिकार व्यवस्थित रुपमा अभिलेखीकरण हुन सकेका छैनन् । हिमाली, पहाडी र तराई क्षेत्रका विविध परिकारको वैज्ञानिक अध्ययन, पोषण विश्लेषण र अन्तर्राष्ट्रिय प्रस्तुतीकरण आवश्यक रहेको उनीहरु बताउँछन् । यसैबीच, सोसाइटीले खाद्य सुरक्षा र अनुगमनको विषयलाई पनि प्राथमिकतामा राखेको छ । विश्वका धेरै देशमा खाद्यान्न गुणस्तर अनुगमन संयन्त्रमा अनिवार्य रुपमा पेशागत सेफहरुको सहभागिता रहने प्रावधान रहेको उल्लेख गर्दै संस्थाले नेपालमा पनि त्यस्तो व्यवस्था आवश्यक रहेको जनाएको छ ।


    संस्थाका अनुसार खाद्य उत्पादन, भण्डारण, पकाउने प्रक्रिया, सरसफाइ र प्रस्तुतीकरणसम्बन्धी व्यावहारिक ज्ञान सेफहरुसँग हुने भएकाले खाद्य अनुगमन प्रणालीमा उनीहरुको भूमिका प्रभावकारी हुन सक्छ । नेपालमा भने हाल खाद्य अनुगमन मुख्यतः प्रशासनिक र प्राविधिक निकायमा सीमित रहेको भन्दै सोसाइटीले स्थानीय तहसम्म हुने अनुगमन प्रक्रियामा पेशागत सेफहरुको सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।


    अध्यक्ष अधिकारीका अनुसार संस्थाले नेपाल सरकारका जिम्मेवार निकायसँग समन्वय गर्दै हरेक पालिकामा हुने खाद्य अनुगमन तथा निरीक्षण प्रक्रियामा सेफहरुको प्रतिनिधित्व र सहयोगको प्रस्ताव अघि सारेको छ । ‘खाद्य सुरक्षासँग प्रत्यक्ष काम गर्ने पेशागत जनशक्ति सेफहरु नै हुन् । त्यसैले अनुगमन र मापदण्ड निर्माणमा हाम्रो अनुभव उपयोगी हुन सक्छ,’ उनले बताए ।

    सरकारी दृष्टिकोण बदल्नुपर्ने
    नेपालमा होटल, रेष्टुराँ तथा खाद्य व्यवसाय तीव्र रुपमा विस्तार भइरहेका बेला खाद्य सुरक्षा, गुणस्तर र अन्तर्राष्ट्रिय मापदण्ड पालनाको विषय अझ महत्वपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा प्रशिक्षित सेफहरुको संस्थागत सहभागिताले खाद्य क्षेत्रलाई थप व्यवस्थित बनाउन सहयोग पुग्न सक्ने उनीहरुको धारणा छ ।


    नेपाली सेफहरुको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढिरहेका बेला सरकारले अझै यो क्षेत्रलाई रणनीतिक प्राथमिकतामा राख्न नसकेको गुनासो व्यवसायीहरुको छ । उनीहरुका अनुसार आतिथ्य क्षेत्रलाई सामान्य श्रम बजारका रुपमा हेर्ने दृष्टिकोण बदल्न आवश्यक छ । दक्ष सेफ उत्पादन, आधुनिक पाककला शिक्षा, अन्तर्राष्ट्रिय प्रमाणीकरण, अनुसन्धान तथा नेपाली खानाको ब्रान्डिङमा राज्यले लगानी गर्न सके नेपालले पर्यटन र वैदेशिक रोजगारी क्षेत्रमा उल्लेखनीय लाभ लिन सक्ने विज्ञहरुको भनाइ छ ।


    विशेषगरी विश्वबजारमा नेपाली सेफहरुको बढ्दो मागलाई अवसरका रुपमा उपयोग गर्न सकिए नेपालले उच्च आम्दानी दिने दक्ष जनशक्ति निर्यात गर्ने देशका रुपमा नयाँ पहिचान बनाउन सक्ने सम्भावना देखिएको छ । त्यसैले सरकारको ध्यान सेफहरुको हक–अधिकारको रक्षा र प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ ।

  • नेपाली र इण्डियन पाककलामार्फत यूएईमा परिचित कर्णबहादुर बुढाथोकी

    नेपाली र इण्डियन पाककलामार्फत यूएईमा परिचित कर्णबहादुर बुढाथोकी

    २० असार, काठमाडौं । संयुक्त अरब इमिरेट्समा अहिले नेपाली तथा इन्डियन पाककला क्षेत्रको परिचित नाम हो–काठमाडौंको तारकेश्वर–९, बालाजुका कर्णबहादुर बुढाथोकी । विगत झण्डै दुई दशकदेखि यूएईमै रहेर पाककलाको क्षेत्रमा योगदान दिँदै आएका बुढाथोकी हाल जेहनग्रीस रेष्टुरेन्टमा हेड अफ कुलिनरी आर्टको जिम्मेवारी सम्हालिरहेका छन् ।


    सन् २००७ देखि यूएईको आतिथ्य क्षेत्रमा यात्रा शुरु गरेका बुढाथोकीले निरन्तर मेहनत, अनुभव र सीपका आधारमा आफूलाई स्थापित गरेका हुन् । प्रारम्भिक दिनमा साधारण किचन स्टाफका रुपमा काम थालेका उनले समयसँगै आफ्नो पाककला, नेतृत्व क्षमता र व्यवस्थापन दक्षताका कारण शीर्ष तहसम्मको यात्रा तय गरे ।


    उनको व्यावसायिक जीवनको सबैभन्दा उल्लेखनीय पक्ष– यूएईका उच्च तहका विशिष्ट व्यक्तित्वहरुसम्म आफ्नो कला पु¥याउनु हो । उनले अबुधाबीका शेख अब्दुल्लाह लगायत शाही परिवारका सदस्यलाई आफ्नै हातले परिकार पस्किने अवसर पाएका छन् । लामो यात्रामा धेरै संघर्ष भए पनि तर सिकाइ र अनुभवले जीवनलाई नयाँ उचाइ दिएको उनको बुझाइ छ ।


    विदेशमा लामो समय काम गर्दा परिवारदेखि टाढा रहनुपर्ने चुनौती भए पनि आफ्नो पेशाप्रतिको लगावले उनलाई अगाडि बढाइरहेको छ । लामो अन्तर्राष्ट्रिय अनुभवलाई नेपालमै उपयोग गरेर केही नयाँ र उदाहरणीय काम गर्ने लक्ष्य उनले राखेका छन् ।


    जेहनग्रीस रेष्टुरेन्ट
    यूएई

  • सरसफाइबाटै विश्वस्तरको सेफसम्म : सुवास थापा

    सरसफाइबाटै विश्वस्तरको सेफसम्म : सुवास थापा

    २० असार, काठमाडौं । खोटाङका सुवास थापा अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा परिचित नेपाली सेफका रुपमा स्थापित छन् । सामान्य ग्रामीण परिवेशबाट शुरु भएको उनको जीवनयात्रा अहिले विश्वका प्रतिष्ठित पाँचतारे होटल र चर्चित रेस्टुरेन्टसम्म पुगेको छ । २५ वर्षभन्दा बढीको अनुभवले उनलाई पाककलाको क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रुपमा पनि स्थापित गराएको छ ।


    उनको होटल जीवनको शुरुवात भने भान्साबाट नभई सरसफाइ व्यवस्थापनबाट भएको थियो । त्यसपछि वेटरका रुपमा साउदी अरेबिया पुग्ने अवसर पाए । साउदी अरेबियामा काम गर्दागर्दै उनले एक अन्तर्राष्ट्रिय मुख्य सेफसँग काम गर्ने अवसर पाए । पाककला यात्रा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान, कतार, माल्दिभ्स, नेपाल र अष्ट्रेलियामा आफ्नो सीप र अनुभव उनले विस्तार गरेका छन् । फरक संस्कृति, स्वाद र ग्राहकको आवश्यकताअनुसार काम गर्दै उनले आफूलाई बहुआयामिक अन्तर्राष्ट्रिय सेफका रुपमा स्थापित गरेका छन् ।


    विशेषगरी उनको ‘बीएलटी’ परिकार निकै चर्चित मानिन्छ । थापाका लागि सफलता भनेको पद वा राम्रो आम्दानी मात्र होइन, ज्ञान र अनुभवको निरन्तर आदानप्रदान हो । उनको विश्वास छ– ज्ञान बाँड्दा अझ बढ्छ र मेहनतले मानिसलाई जहाँ चाह्यो त्यहाँ पु¥याउन सक्छ ।

  • एसियाली स्वादमा विशेष दख्खल : बरुणकुमार सिंह

    एसियाली स्वादमा विशेष दख्खल : बरुणकुमार सिंह

    २० असार, काठमाडौं । रामग्राम नगरपालिका–६, नवलपरासीका वरुणकुमार सिंह आज अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा नेपाली सेफहरुको सफल प्रतिनिधिका रुपमा स्थापित भएका छन् । नेपालबाट शुरु भएको उनको पाककलाको यात्रा अहिले विश्वकै चर्चित पर्यटन गन्तव्य माल्दिभ्ससम्म पुगेको छ । हाल उनी माल्दिभ्सस्थित प्रतिष्ठित ‘बाग्लियोनी होटल्स’ समूहअन्तर्गत सेफ डे क्युजिन (मुख्य कार्यकारी सेफ)का रुपमा कार्यरत छन् ।


    उनको व्यावसायिक अनुभव २१ वर्ष लामो छ, जसमा संयुक्त अरब इमिरेट्स (यूएई) र माल्दिभ्सका विभिन्न अन्तर्राष्ट्रिय होटल तथा रिसोर्टहरुमा काम गरेको अनुभव समेटिएको छ । यो यात्रा केवल रोजगारीको यात्रा मात्र होइन, नेपाली पाककलाको सीपलाई विश्वमञ्चमा स्थापित गर्ने अभियान पनि बनेको छ । सन् २०२४ मा माल्दिभ्समा आयोजित प्रतिष्ठित ‘होटल एसिया इन्टरनेशनल कुलिनरी च्यालेन्ज’मा उनले ‘मोस्ट आउटस्ट्यान्डिङ सेफ’को उपाधि जितेर ठूलो सफलता हासिल गरे ।


    ‘सबैभन्दा ठूलो सन्तुष्टि भनेको अतिथिको अनुहारमा देखिने खुसी हो’, उनी भन्छन् । उनको पाककलाको विशेषता भनेको परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्ने क्षमता हो । समुद्री परिकार, अन्तर्राष्ट्रिय फ्युजन क्युजिन, युरोपेली शैलीका परिकार तथा एसियाली स्वादमा उनको विशेष दख्खल छ ।
    बाग्लियोनी होटल्स माल्दिभ्स

  • बहुआयामिक पाककलाका हेडमास्टर : रेशमबहादुर लामा

    बहुआयामिक पाककलाका हेडमास्टर : रेशमबहादुर लामा

    २० असार, काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ का रेशमबहादुर लामा अन्तर्राष्ट्रिय पाककला क्षेत्रमा परिचित छन् । २६ वर्ष लामो संघर्ष, अभ्यास र मेहनतपछि अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा उनको पाककला यात्रा साइप्रसस्थित ‘नालु लियोनार्डो होटल’सम्म पुगेको छ ।


    उनले नेपाल, दुबई, ओमान, भारत तथा साइप्रसका विभिन्न प्रतिष्ठित होटल तथा रेस्टुरेन्टहरुमा काम गरिसकेका छन् । उनले ओमान मस्कटस्थित ‘अल महा इन्टरनेशनल होटल’मा एक्जिक्युटिभ सेफको जिम्मेवारी सम्हालेका थिए । भारतीय होटल उद्योगमा समेत उनले विशेष परामर्शदाताका रुपमा मेनु निर्माण गर्ने अवसर पाएका थिए । लामा बहुआयामिक पाककलाका सेफ हुन् । नेपाली, चिनियाँ, इटालियन, जापानी (सुशी), थाई, कन्टिनेन्टल, कोल्ड किचेन तथा फ्रुट कार्भिङमा उनको विशेष दक्षता छ ।


    ओमान मस्कटमा उनले त्यहाँका शेख राजपरिवारका सदस्यहरुलाई समेत आफ्नो हातको परिकार चखाउने अवसर पाए । उनी आफ्नो यात्राप्रति पूर्ण सन्तुष्ट छन् । ‘मैले जीवनभर सिकेको अनुभवलाई अब नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहन्छु । पाककलामा रुचि राख्ने युवा सेफहरुलाई अगाडि बढाउनु नै अबको मेरो प्रमुख योजना हो,’ उनी भन्छन् ।
    लामा अन्तर्राष्ट्रिय सेफ सोसाइटी साइप्रसको पहिलो अध्यक्षसमेत हुन् ।

    रोशी गाउँपालिका–३,
    काभ्रेपलाञ्चोक
    हाल : साइप्रस

  • आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    चितवन, १७ असारः चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो ।

    उनले भने, “वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जङ्गलमा भएका स–साना खोलाखोल्सीमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले गर्दा सफारी बन्द गरेका हौँ ।” निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा सफारी बन्द गर्दै आएको छ । वर्षात्को अवस्था हेरेर दसैँको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ ।

    निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उनले बताए । चितवनको सौराहा, कसरा, मेघौली, डी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ । यहाँ घुम्न आउने पर्यटक जीपमा सफारी गरेर वन र वन्यजन्तु हेर्न रमाउँछन् ।

  • जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    मुस्ताङ, १६ असारः यहाँको घरपझोङ गाउँपालिका(४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा कुँदिएको विश्वकै ठूलो २२ फिट उचाइको शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गत वैशाखअघि कालिगण्डकी नदीको छेउमा रहेको विशाल ढुङ्गालाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका मूर्तिकारहरूले शालिग्राम शीलाको आकार दिएर मूर्ति निर्माण गरेपछि उक्त स्थान धार्मिक पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको हो ।

    घरपझोङ गाउँपालिकाको आयोजना र एकीकृत सेवा कार्यालय मुस्ताङको सहलगानीमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानसँगको समन्वयमा गत वैशाख ७ देखि २१ गतेसम्म जोमसोममा १५ दिने मूर्तिकला कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशालामा सहभागी ३६ भन्दा बढी मूर्तिकारले कालिगण्डकी नदीको तटमा रहेका विशाल ढुङ्गालाई विभिन्न स्वरूपका मूर्तिमा रूपान्तरण गरेका थिए ।

    मूर्तिकारहरूले जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक तथा जैविक विविधतालाई समेट्दै कालिगण्डकी नदीका डेढ दर्जन ढुङ्गालाई कलात्मक मूर्तिका रूपमा प्रस्तुत गरेका थिए ।

    मूर्तिकारहरूले कार्यशालाका क्रममा कालिगण्डकी नदी किनारका ढुङ्गामा शालिग्राम शीला, भगवान् महादेव, पार्वती, विष्णु, बुद्ध, हिमचितुवा, हिमाली भेँडा, बौद्ध स्तूप, माने, छोर्तेनलगायत सम्पदाका कलात्मक मूर्ति सिर्जना गरेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । उनका अनुसार मूर्तिकारद्वारा कुँदिएका डेढ दर्जन मूर्तिमध्ये अहिले सबैको ध्यान विश्वकै ठूलो आकारको शालिग्राम शीलातर्फ तानिएको छ ।

    घरपझोङ गाउँपालिकाले उक्त शालिग्राम शीलाको प्राणप्रतिष्ठा गरेसँगै धार्मिक पर्यटकको चहलपहल बढेको अध्यक्ष लालचनले जानकारी दिए । उनका अनुसार कालिगण्डकी नदीछेउको विशाल ढुङ्गामा कुँदिएको उक्त मूर्तिको भारतको कर्नाटक राज्यस्थित शृङ्गेश्री शारदा पीठका पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी विधुशेखर भारती महाराजले विशेष पूजाअर्चनासहित प्राणप्रतिष्ठा गरेका हुन् ।


    भारतीय स्वामी महाराजबाट कालिगण्डकी नदीमा निर्मित शालिग्राम शीलाको गत जेठको पहिलो साता विभिन्न धार्मिक स्वामीहरूको उपस्थितिमा प्राणप्रतिष्ठा गरिएको थियो । अहिले मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउने स्वदेशी तथा विदेशी धार्मिक पर्यटकका लागि यो मूर्ति आस्थाको केन्द्र बन्दै गएको उनले बताए ।
    घरपझोङ गाउँपालिका ४, जोमसोमका कार्यपालिका सदस्य भीषण थकालीका अनुसार शालिग्राम शीलाको प्राणप्रतिष्ठापछि दैनिक एक सयभन्दा बढी दर्शनार्थीले उक्त शीलाको दर्शन तथा अवलोकन गर्ने गरेका छन् । विशेषगरी मुक्तिनाथ दर्शन गर्न आएका भारतीय दर्शनार्थीको यहाँ उल्लेख्य घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।

    उक्त शीलाको प्राणप्रतिष्ठापछि विश्वकै ठूलो आकारको शालिग्राम दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढेसँगै सदरमुकाम जोमसोममा पर्यटकको बसाइँसमेत लम्बिन थालेको कार्यपालिका सदस्य थकालीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले उक्त स्थानलाई घेराबार गरी शालिग्राम पार्क निर्माण गर्ने योजना बनाएको छ ।

    उक्त शालिग्राम पार्कमा दर्शनार्थीलाई सहज हुने गरी गोरेटो बाटो निर्माण गर्नुका साथै मूर्तिकारहरूले कुँदेका अन्य मूर्तिसमेत सोही स्थानमा स्थापना गरिने कार्यपालिका सदस्य थकालीले जानकारी दिए । भारतको मुम्बईबाट मुक्तिनाथ दर्शन गरी फर्किएकी जेनिशा जेनले जीवनमा पहिलोपटक यति ठूलो आकारको शालिग्रामको दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरिन् । भगवान् विष्णुको स्वरूपसहित अन्य मूर्तिको महत्व धार्मिक आस्था र विश्वाससँग जोडिएको उनले बताइन् ।


    मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउने पर्यटकका लागि शालिग्राम शीला यहाँको आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनेको अध्यक्ष लालचनले बताए । मुस्ताङ सदरमुकाम जोमसोम बजारसँग जोडिएको कालिगण्डकी नदीको तटमा अवस्थित शालिग्राम शीला, नीलगिरि हिमाल र धौलागिरि हिमालको मनमोहक दृश्यले शालिग्राम शीला पार्क पुगेका धार्मिक पर्यटकलाई मोहित बनाउने गरेको स्थानीयवासी बताउँछन् ।

  • असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    कास्की,१४ असार । पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि छुट्टै रौनक थियो । मध्य असारको महिना खेताला र बाउसेलाई भ्याइनभ्याइ थियो । गोरुले खेत हिलाउने, बिउ काढ्ने र धान रोप्न कृषक बिहानदेखि व्यस्त थिए । तर आज स्थानीय कृषकसँगै स्वदेशी तथा विदेशी पर्यटक पनि हिलोमा उत्रिए । पर्यटक अनुहार र शरीरभर हिलो दलेर रमाएका थिए । खेतमै धान रोप्दै, असारे भाका गाउँदै र हिलो खेल्दै रमाएका उनीहरूको सहभागिताले असारे रोपाइँ महोत्सवलाई कृषि र पर्यटनको सङ्गमका रूपमा फेरि एकपटक जीवन्त बनायो ।

    पोखरा पर्यटन परिषद्को आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । २१ औँ संस्करणको महोत्सवमा छिमेकी मुलुक भारतसहित अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीनलगायत विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी आगन्तुक सहभागी थिए । सहभागी पर्यटकले स्थानीय कृषकसँगै धान रोपे, हिलो खेले, हिलोमै फुटबल खेल्ने र असारे गीतमा नाच्दै नेपाली ग्रामीण संस्कृति नजिकबाट अनुभव गरे ।

    परिषद्का अनुसार ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरालाई कृषि, पर्यटन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले असारे रोपाइँ महोत्सव आयोजना गरिएको हो । हरेक वर्ष राष्ट्रिय धान दिवसका अवसरमा असार १५ गते रोपाइँ महोत्सव गर्ने गरिए पनि यस वर्ष पूर्णिमा परेको र कृषकले हल गोरु नचलाउने परम्परा रहेकाले एक दिनअघि महोत्सव गरिएको आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । उनका अनुसार पोखराको प्राकृतिक सौन्दर्यसँगै कृषि तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो ।

    “यस्ता कार्यक्रमले विदेशी पर्यटकलाई नेपाली जीवनशैली, कृषि परम्परा र मौलिक संस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउनुका साथै पोखराको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली असारे रोपाइँ संस्कृतिको प्रत्यक्ष अनुभव गराउन महोत्सव गरिएको हो । रोपाइँलाई उत्सवका रूपमा मनाउने परम्पराले कृषि र पर्यटनबीचको सम्बन्धलाई अझ बलियो बनाउँछ”, पहारीले भने ।


    महोत्सवको उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले नेपालको प्रमुख खाद्यबाली धानको व्यावसायिक उत्पादनका लागि महानगरले कृषकलाई अनुदानलगायत सहयोग गर्दै आएको बताउनुभयो । पोखराको पहिचान बनेको ‘पोखरेली जेठोबुढो’ धानको ‘ब्रान्डिङ’ गर्न सुरु गरिएको उनले बताए ।
    “परम्परागत खेती प्रणालीले गर्दा उत्पादनलगायत बढेको छ । हामीले आधुनिकीकरणमा जोड दिनुपर्छ । केही मौलिक र परम्परागत संस्कृतिलाई जोगाउँदै चक्लाबन्दी र आधुनिक कृषिखेतीमा कृषकलाई उत्प्रेरित गर्न लागत साझेदारीमा अनुदान, कृषि उपकरण, मल, बीउमा सहयोग गरेका छौँ”, प्रमुख आचार्यले भने ।


    महोत्सवका संयोजकसमेत रहनुभएका पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले महोत्सवले विदेशी पर्यटकलाई धान रोपाइँ, हिलो खेल तथा ग्रामीण जीवनशैलीको अनुभव गराएको बताए । “कृषि र पर्यटनलाई एकै सूत्रमा जोड्दै स्थानीय उत्पादन, संस्कृति र जीवनशैलीको प्रवर्द्धनमा महोत्सवले योगदान पुग्नुका साथै स्थानीय आर्थिक गतिविधि र पर्यटन व्यवसायलाई चलायमान बनाएको छ”, सापकोटाले भने ।

    पोखरामा दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव पोखराको कृषि संस्कृति तथा पर्यटन प्रवर्द्धनलाई जोड्ने विशिष्ट कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ । रोपाइँ महोत्सवमा आन्तरिकसहित विदेशी पर्यटकसमेत सहभागी हुँदा अझ महोत्सवको छुट्टै रौनक हुने गरेको छ ।

  • आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

    आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

    गोरखा, १४ असारः कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ ।
    सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँ सभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिइन् । पालिकाले यो वर्षलाई मनास्लु हिमालको सफल आरोहणको ७०औँ वर्ष पूरा भएको अवसरमा हिरक वर्षका रूपमा मनाइरहेको छ ।

    सोही अवसरमा गाउँपालिकाको गाउँसभाले फुञ्जोको नाम पर्यटन सद्भावना दूतका रूपमा सर्वसम्मत अनुमोदन गरेको लामाले बताइन् । “हाम्रो राष्ट्रको गहनाका रूपमा रहेकी फुञ्जोलाई पर्यटन सद्भावना दूत नियुक्त गरेका छौँ”, उनले भनिन् । लामाका अनुसार विश्वभर ख्याति कमाएकी फुञ्जोले सद्भावना दूतका रूपमा मनास्लु क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नेछिन् । आफ्नो जन्मभूमिले दिएको यो सम्मानप्रति कृतज्ञता प्रकट गर्दै फुञ्जोले भनिन्, “यो मेरा लागि ठूलो सम्मान हो र यस क्षेत्रलाई विश्वभर प्रवर्द्धन गर्न म कुनै कसर बाँकी राख्ने छैन ।”

    विश्वको आठौँ अग्लो शिखर मनास्लुका अतिरिक्त चुमनुब्रीको आफ्नै अद्वितीय परम्परा छ । अहिंसा क्षेत्र घोषणा भएको १०५ वर्ष पूरा गरेको चुमनुब्रीले अहिंसा क्षेत्रमा जैविक विविधताको पहिचान, निरन्तरता, प्रचारप्रसार र संरक्षणमा योगदान पुर्याउने उद्देश्यले ‘श्याग्या परम्परा संरक्षण ऐन, २०८०’ ९२०२३० समेत जारी गरेको थियो ।

    स्वीस आल्प्स र नेपालको हिमालय क्षेत्रमा तालिमप्राप्त गरेकी फुञ्जोले १४ घण्टाभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर आरोहण गर्दै सबैभन्दा छिटो आरोहण गर्ने महिलाका रूपमा विश्व कीर्तिमान कायम गरेकी थिइन् । सन् २०२४ मा उनले बेसक्याम्प (आधार शिविर)बाट १४ घण्टा ३१ मिनेटमा सगरमाथाको शिखर चुमेकी थिइन् ।

    चुमनुब्री–७ छोकाङपागाउँमा जन्मेकी फुञ्जोले सगरमाथा, ल्होत्से, मनास्लु, चो ओयुका साथै आमादबलाम, लोबुचे र डेनालीलगायतका अन्य हिमालहरूको सफल आरोहण गरिसकेकी छन् । उनले ग्रामीण तथा सीमान्तकृत समुदायहरूलाई जीविकोपार्जन, शिक्षा र दिगो विकासका क्षेत्रमा समेत सहयोग पुर्याउँदै आएकी छिन् ।

  • चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    अर्घाखाँची, १३ असारः अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् । हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल भएका गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुँडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका हुन् । छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अतिसङ्कटापन्न डङ्गर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएको थियो । तीमध्ये १५ वटा गुँडबाट सफलतापूर्वक बचेरा उडेका उहाँले जानकारी दिनुभयो ।

    मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले २२ वटा र हाडफोर गिद्धले तीन वटा गुँड बनाएका थिए । तीमध्ये हिमाली गिद्धका १६ वटा र हाडफोर गिद्धका दुई वटा गुँडबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन् । भुसालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने गर्छन् । सामान्यतया असोज–कात्तिकदेखि सुरु हुने प्रजनन चक्र वैशाख(जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्काउन लामो समय लाग्ने गर्दछ ।

    यता विश्वमै दुर्लभ तथा सङ्कटापन्न सेतो गिद्धले पनि सन्धिखर्क, भूमिकास्थान, मालारानी र शीतगङ्गा नगरपालिकाका विभिन्न छ स्थानमा गुँड बनाएर यतिबेला बचेरा हुर्काइरहेको छ । अन्य गिद्धहरूको तुलनामा यस प्रजातिको प्रजनन केही ढिलो सुरु हुने भएकाले अहिले पनि बचेरा हुर्काइरहेका भुसालले बताउनुभयो ।

    अर्घाखाँचीमा पछिल्ला वर्षमा लगातार सफल प्रजनन हुनु, उपयुक्त बासस्थानको संरक्षण, पर्याप्त खाद्य उपलब्धता तथा स्थानीय समुदायको संरक्षणप्रतिको सचेतनाले गिद्धहरूको सङ्ख्या र प्रजनन सफलता बढाउन महत्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताउनुभयो ।

    विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धहरूको संरक्षणका लागि अर्घाखाँची अहिले महत्वपूर्ण जिल्लाका रूपमा चिनिन थालेको छ । यस वर्ष चार प्रजातिका गिद्धको सफल प्रजनन र ३३ वटा बचेरा उड्न सफल हुनु जिल्लाको जैविक विविधता संरक्षणका दृष्टिले उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको सूचना अधिकारी खड्काले बताउनुभयो । राससबाट

  • लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    रासस
    भैरहवा (रूपन्देही), १३ असार । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा शिलान्यास गरिएको छ । भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री खड्गराज अधिकारी (गणेश) पौडेलको उपस्थितिमा विशेष धार्मिक विधिअनुसार गुम्बा निर्माणको शुभारम्भ गरे ।

    शिलान्यास कार्यक्रममा भुटानी लामागुरुहरूले धार्मिक अनुष्ठान गर्दै भूमि पूजन गरेका थिए । गुम्बा निर्माणलाई भुटान र नेपालबीचको सांस्कृतिक, धार्मिक तथा कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।

    भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक म्याक्सुद ओजीले लुम्बिनीमा भुटानी मन्दिर निर्माण सुरु हुनु भुटानका लागि अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको बताइन् । उनले भनिन्, “लुम्बिनी परिसरमा नयाँ भुटानी मन्दिर निर्माण कार्य सुरु गर्नका लागि भूमि देवीको आशीर्वाद लिन हामी यहाँ उपस्थित भएका छौँ । यो परियोजनाले भुटानी बौद्ध परम्परा र संस्कृतिलाई बुद्धको जन्मभूमिसँग जोड्नेछ ।”

    भुटान सरकार र लुम्बिनी विकास कोषबीच गतवर्ष गुम्बा निर्माणसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । उक्त सम्झौताअनुसार चालु वर्षभित्रै परियोजना सुरु गर्ने प्रतिबद्धता कार्यान्वयन गर्दै निर्माण प्रक्रिया अघि बढाइएको उनले बताइन् । परियोजनाको पहिलो चरणअन्तर्गत गुम्बा परिसरको सीमा पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ भने अब मुख्य मन्दिर निर्माणको काम सुरु गरिएको छ । भुटान सरकारले आगामी दुई वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको ओजीले बताइन् ।


    प्रस्तावित गुम्बामा भुटानको मौलिक वास्तुकला, धार्मिक कला तथा सांस्कृतिक विशेषतालाई समेटिने बताइएको छ । भुटानी शैलीका संरचना, प्रार्थना कक्ष, सांस्कृतिक प्रदर्शनी क्षेत्र तथा धार्मिक गतिविधिका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछन् । महानिर्देशक ओजीका अनुसार गुम्बा निर्माण सम्पन्न भएपछि लुम्बिनी भ्रमणमा आउने विश्वभरका बौद्ध तीर्थयात्री तथा पर्यटकहरूले भुटानी संस्कृति, कला र आध्यात्मिक परम्पराको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।

    “एक बौद्ध राष्ट्रका रूपमा हामी हाम्रो विशिष्ट वास्तुकला र बुद्धप्रतिको श्रद्धालाई यहाँ प्रस्तुत गर्न चाहन्छौँ”, उनले भनिन्, “यसले लुम्बिनीलाई अझ अन्तरराष्ट्रिय र बहुसांस्कृतिक बौद्ध केन्द्रका रूपमा स्थापित गर्न मद्दत पु¥याउनेछ ।”

    द्विपक्षीय वार्तामा पर्यटन सहकार्यमा जोड

    गुम्बा शिलान्याससँगै नेपाल र भुटानका उच्च सरकारी प्रतिनिधिबीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता पनि सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल र भुटानका गृहमन्त्री ल्योन्पे छिरिङबीच भएको छलफलमा पर्यटन, सांस्कृतिक आदानप्रदान तथा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहेर विचार विमर्श भएको थियो ।

    लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राईका अनुसार वार्ताका क्रममा नेपालले दुई महत्त्वपूर्ण प्रस्ताव भुटानी पक्षसमक्ष राखेको थियो । मन्त्री पौडेलले भुटानको पारो अन्तरराष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    कोषका निमित्त सदस्य सचिव राईका नेपाली पक्षले पारो–लुम्बिनी–बोधगया धार्मिक पर्यटन सर्किट विकास गर्न सके दक्षिण एशियाली बौद्ध पर्यटनमा नयाँ सम्भावना सिर्जना हुने धारणा राखेको थियो । हाल भुटानको राष्ट्रिय ध्वजावाहक ड्रक एअरले पारो–काठमाडौँ उडान सञ्चालन गर्दै आएको सन्दर्भमा लुम्बिनीलाई अन्तरराष्ट्रिय बौद्ध गन्तव्यका रूपमा प्रत्यक्ष हवाई सञ्जालमा जोड्नुपर्ने आवश्यकता नेपाली पक्षले औँल्याएको थियो ।

    भुटानले विदेशी पर्यटकहरूमाथि लागू गर्दै आएको दिगो विकास शुल्क (एसडीएफ) सम्बन्धी थियो । हाल नेपाली नागरिकहरूले पनि भुटान भ्रमण गर्दा प्रतिव्यक्ति प्रतिदिन १०० अमेरिकी डलर बराबरको शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ । नेपालले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई ध्यानमा राख्दै नेपाली नागरिकका लागि उक्त शुल्क हटाउन वा विशेष सहुलियतको व्यवस्था गर्न आग्रह गरेको छ । भारत र बङ्गलादेशका पर्यटकका लागि छुट्टै व्यवस्था रहेको उदाहरण प्रस्तुत गर्दै नेपाली पक्षले नेपाली पर्यटकलाई सहज पहुँच उपलब्ध गराउन आग्रह गरेको थियो ।

    भुटानका गृहमन्त्री ल्योन्पे छिरिङले नेपालले उठाएका विषयहरूलाई सकारात्मक रूपमा लिइएको बताउँदै आवश्यक सरकारी तहमा थप छलफल गरिने प्रतिबद्धता व्यक्त गरे । उनले लुम्बिनीमा भुटानी गुम्बा निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराएको जग्गा तथा सहयोगप्रति भुटान सरकारको तर्फबाट आभार व्यक्त गरे । उनले लुम्बिनी र भुटानबीचको धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै बौद्ध सम्पदा संरक्षण, तीर्थ पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाए ।


    द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट लुम्बिनी क्षेत्रबाट निर्वाचित सांसद तौफिक अहमद खाँन र रूपन्देही–४ बाट निर्वाचित सांसद कन्हैया बनियाको सहभागीता रहेको थियो । यसै गरि भुटानका तर्फबाट नेपालका लागि भुटानका राजदूत मेजर जनरल भेत्सोप नामग्येल, भुटान सरकारका गृह सचिव लगायतको सहभागिता रहेको थियो ।

  • मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा

    मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा

    राम थापा–रासस
    गण्डकी, १३ असारः मनसुन सुरु भएसँगै देशका अधिकांश पर्यटकीय गन्तव्यको चहलपहल घट्न थाल्छ । वर्षायामलाई पर्यटनको ‘अफसिजन’ मान्ने धारणा अझै पनि बलियो छ तर बागलुङको ढोरपाटनमा भने यही मौसम पर्यटकीय गतिविधिको अर्को याम प्रारम्भ हुन्छ । हरियालीले ढाकिएका विशाल पाटन, कुहिरोले छोपिएका बुकी, रङ्गीचङ्गी भुइँफूल र गोठसम्म पुग्ने पदमार्गले मनसुनमा पदयात्राको छुट्टै आकर्षण सिर्जना गरेका छन् । अन्य गन्तव्यमा पर्यटकको चहलपहल घटिरहेका बेला ढोरपाटनमा भने प्रकृतिसँग रमाउन आउने पदयात्रीको आगमन बढ्न थालेको छ ।

    ढोरपाटनको चर्चा अहिले मनसुनी पदयात्रामा मात्र सीमित छैन । दशकौँदेखि सिकार पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा परिचित यो हिमाली उपत्यकालाई अब प्रकृति, पदयात्रा, जैविक विविधता, संस्कृति र स्थानीय समुदायमा आधारित दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्नुपर्ने बहस बलियो बन्दै गएको छ । यही बहसलाई केन्द्रमा राखेर हालै आयोजित ‘ढोरपाटन समिट’मा नीति निर्माता, पर्यटन व्यवसायी, संरक्षणकर्मी र स्थानीय समुदायका प्रतिनिधिले ढोरपाटनको पर्यटनको भावी दिशाबारे गम्भीर छलफल गरे ।

    बहसको साझा निष्कर्ष थियो—ढोरपाटनको भविष्य केवल सिकार पर्यटनमा सीमित रहनु हुँदैन । यसको मौलिक प्राकृतिक सम्पदा, सांस्कृतिक विशेषता र समुदायमा आधारित पर्यटनलाई केन्द्रमा राखेर दीर्घकालीन विकासको मार्ग तय गर्नुपर्ने आवश्यकता सबै वक्ताले औँल्याए । ट्रेकिङ एजेन्टस् एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले ढोरपाटन नेपालको सबैभन्दा सम्भावनायुक्त तर अपेक्षाकृत उपेक्षित पर्यटन गन्तव्यमध्ये एक भएको दुखेसो गरे । राज्यको ध्यान नपुग्दा यहाँका मनोरमस्थल ओझेलमा परेका उनको भनाइ थियो ।

    अन्नपूर्ण चक्रीय पदमार्गलगायत कतिपय स्थापित पदमार्ग सडक विस्तारसँगै छोटिँदै र प्रभावित हुँदै गएका छन्। त्यसको विकल्पका रूपमा ढोरपाटनलाई विकास गर्न सकिने उनले बताए । विश्वको आठौँ अग्लो हिमाल धवलागिरिको नजिकका म्याग्दीको मुना, गुर्जा, जलजला, ढोरपाटन डोल्पासम्म जोडिने व्यवस्थित पदमार्ग निर्माण गर्न सके देश–विदेशका पदयात्री आकर्षित गर्न सकिने उनको ठम्म्याइ छ ।

    “ढोरपाटनजस्ता पर्याप्त प्रचार नपाएका गन्तव्यको पहिचान र विकासमा सबै पक्षको ध्यान जान जरुरी छ,” उनले भने, “गुणस्तरीय पर्यटनका लागि पूर्वाधार, सेवासुविधा, सुरक्षा र आतिथि संस्कारको समानान्तर विकास अपरिहार्य छ ।” स्थानीयले पर्यटनबाट प्रत्यक्ष आम्दानी र रोजगारीको अवसर प्राप्त नगरेसम्म पर्यटन दीर्घकालीन रूपमा टिकाउ नहुने उनले बताए ।

    ढोरपाटन उपत्यका गलकोट (बागलुङ) १३ असार बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित प्रसिद्ध पर्यकीय स्थल ढोरपाटन उपत्यका । नेपालको एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन ह्वातै बढेको छ । तस्बिर ः खेमराज गौतम रासस


    “पर्यटक आउनु मात्रै पर्याप्त हुँदैन,” उनले भने, “पर्यटनबाट स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन हुनुपर्छ । स्थानीय समुदाय लाभान्वित भए मात्र पर्यटन दिगो बन्छ ।” ढोरपाटनको पहिचान लामो समयदेखि सिकार पर्यटनसँग जोडिएको छ । विदेशी पेशेवर सिकारीले नाउर र झारलको वैधानिक सिकार खेल्ने एकमात्र गन्तव्यका रूपमा यसले अन्तरराष्ट्रिय परिचय बनाएको छ । पर्यटन क्षेत्रका जानकारहरू अब यही परिचयमा सीमित रहन नहुने धारणा राख्छन् । उनीहरू ढोरपाटनको सबैभन्दा ठूलो शक्ति यसको अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता, पदयात्रा, मौलिक संस्कृति र स्थानीय जीवनशैलीमा निहित छ ।

    पत्रकार अमृत भादगाउँले ढोरपाटनको पर्यटन विकासलाई सिकार गतिविधिभन्दा धेरै फराकिलो दृष्टिकोणबाट हेर्नुपर्ने बताए । उनका अनुसार विश्वव्यापी रूपमा पशु कल्याण र जैविक विविधताको संरक्षणप्रति चासो बढिरहेका बेला ढोरपाटनले पनि आफ्नो दीर्घकालीन पर्यटन रणनीतिबारे पुनर्विचार गर्न आवश्यक छ।

    “विश्वका विभिन्न देशमा पशु कल्याणको बहस बढिरहेको छ । वन्यजन्तुमाथि हुने हिंसाप्रति संवेदनशीलता पनि विस्तार हुँदै गएको छ,” उनले भने, “ढोरपाटनमा वैधानिक सिकार अहिले भइरहे पनि भविष्यमा यही पर्यटनको मुख्य आधार रहिरहन्छ भन्ने निश्चित छैन । त्यसैले पर्यटकलाई वन्यजन्तु सिकार गर्न होइन, तिनलाई प्राकृतिक वासस्थानमै अवलोकन गर्न आकर्षित गर्नुपर्छ ।”

    प्रकृति, संस्कृति, पर्यावरण र जैविक विविधताको समन्वय नै ढोरपाटनको वास्तविक पर्यटन सम्पत्ति हो। प्राकृतिक स्रोतको संरक्षण गर्दै पर्यटन विकास गर्ने रणनीतिले मात्र यस क्षेत्रलाई दीर्घकालीन रूपमा लाभ पुग्ने उनको भनाइ छ । पर्यटकको बसाइ अवधि लम्ब्याउने कार्यक्रम, नयाँ पदमार्ग, प्रकृतिमा आधारित गतिविधि र स्थानीय संस्कृतिसँग जोडिएका अनुभव विकास गर्न सके ढोरपाटनको आर्थिक लाभसमेत उल्लेखनीय रूपमा बढ्न सक्ने पत्रकार भादगाउँले बताउँछन् ।


    एकल पदयात्री सिर्जना सिज्जुले पनि ढोरपाटनको मौलिकता नै यसको सबैभन्दा ठूलो शक्ति भएको बताइन् । उनका अनुसार नेपालको अन्य कुनै पनि गन्तव्यसँग तुलना गर्न नसकिने भू–बनोट, खुला पाटन र प्राकृतिक परिदृश्यले ढोरपाटनलाई विशिष्ट बनाएको छ। “ढोरपाटनजस्तो भू–बनोट नेपालमा अन्त कतै भेटिँदैन,” उनले भनिन्, “त्यसैले यहाँ विकास र संरक्षणबीचको सन्तुलन कायम राख्नु सबैभन्दा ठूलो चुनौती हो।”

    ढोरपाटनलाई योग, ध्यान, प्रकृतिमा आधारित विश्राम (नेचर रिट्रिट) तथा आध्यात्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँ बताउनुहुन्छ । बढ्दो भीडभन्दा गुणस्तरीय र वातावरणमैत्री पर्यटनमा जोड दिनुपर्ने उनको सुझाव थियो । ढोरपाटन उपत्यकामा प्रस्तावित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाप्रति पनि उनले चासो व्यक्त गरिन् । योजना निर्माण गर्दा यस क्षेत्रको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनामाथि पर्ने प्रभावलाई गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो ।

    “मानवनिर्मित संरचनाले केही समय आकर्षित गर्न सक्छ,” उनले भनिन्, “तर प्रकृति, संस्कृति र स्थानीय आतिथ्यले पर्यटकलाई पटक–पटक फर्काएर ल्याउँछ । विद्युत् उत्पादनका विकल्प खोज्न सकिएला, तर ढोरपाटनजस्तो प्राकृतिक उपत्यका एकपटक बिग्रिएपछि फेरि निर्माण गर्न सकिँदैन ।”

    उनले ढोरपाटन उपत्यकालाई आधार शिविर बेस क्याम्प) का रूपमा विकास गरी आसपासका पदमार्गसँग जोड्नुपर्ने सुझाव दिइन् । मनसुनमा फक्रिने भुइँफूल र विशाल हरिया पाटनका कारण ढोरपाटनलाई ‘फूलहरूको उपत्यका’का रूपमा समेत अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सकिने उनको भनाइ छ ।

    पर्यटन विकासको यो सम्भावना उपयोग गर्न स्थानीय समुदायमा पर्यटनसम्बन्धी सचेतना, दक्ष जनशक्ति र आवश्यक पूर्वाधारको विकास अपरिहार्य रहेको उनले औँल्याइन् ।


    ढोरपाटनको पर्यटन सम्भावनाबारे बहस चलिरहँदा यस क्षेत्रको वर्तमान अवस्था पनि उत्साहजनक देखिन थालेको छ । पछिल्ला वर्षमा विशेष गरी आन्तरिक पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ । सडक पहुँचमा सुधार, होटल तथा घरबास (होमस्टे) को विस्तार र मनसुन पदयात्राप्रतिको बढ्दो आकर्षणले ढोरपाटनको पर्यटन गतिविधिलाई नयाँ गति दिएको छ ।

    ढोरपाटन सिकार आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार सिकार आरक्षले नै ढोरपाटनलाई अन्तरराष्ट्रिय स्तरमा परिचित गराएको हो। विदेशी सिकारीलाई आकर्षित गर्ने नेपालको एकमात्र वैधानिक सिकार क्षेत्र भएकाले यसले राज्यलाई राजस्व आर्जनमा समेत योगदान पु¥याउँदै आएको उनले बताए ।


    “सिकार पर्यटनबाट राज्यले आर्थिक लाभ लिएको छ,” उनले भने, “यसले ढोरपाटनलाई अन्तरराष्ट्रिय जगत्मा परिचित गराउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । तर पछिल्ला वर्षमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ।” गत वर्ष २५ हजार पर्यटकले ढोरपाटन क्षेत्रको भ्रमण गरेका थिए। तीमध्ये अधिकांश आन्तरिक पर्यटक भए पनि पछिल्ला वर्षमा मनसुनी पदयात्राका लागि आउने विदेशी पदयात्रीको सङ्ख्या पनि क्रमशः बढ्दै गएको छ ।

    पर्यटकको बढ्दो आगमनसँगै स्थानीय पर्यटन पूर्वाधार पनि विस्तार हुँदै गएको छ। ढोरपाटन उपत्यकामा अहिले ३९ वटा होटल र घरबास सञ्चालनमा छन् । ती होटल तथा घरबासमा एक हजार ५०० पाहुनालाई आवासको प्रबन्ध गर्न सकिन्छ । आरक्ष कार्यालयले स्थानीय समुदायसँगको सहकार्यलाई संरक्षण व्यवस्थापनको आधार बनाएको छ । वन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन गतिविधिलाई अघि बढाउने नीति अवलम्बन गरिएको उनले बताए । “संरक्षण र पर्यटन एकअर्काका प्रतिस्पर्धी होइनन्,” उनले भने, “प्राकृतिक सम्पदा जोगियो भने मात्रै पर्यटन पनि दीर्घकालीन रूपमा टिक्न सक्छ।”

    पछिल्ला वर्षमा ढोरपाटन पुग्ने सडक क्रमशः स्तरोन्नति हुँदै जाँदा यात्रा सहज बनेको छ । त्यससँगै सुविधायुक्त होटल, रेष्टुराँ र पर्यटकमैत्री सेवाको विस्तारले पनि पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुगेको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् । हाल ढोरपाटनको पर्यटन सङ्क्रमणकालबाट गुज्रिरहेको छ । एकातिर सिकार पर्यटनले दिएको अन्तरराष्ट्रिय पहिचान छ भने अर्कोतिर प्रकृति, पदयात्रा र समुदायमा आधारित नयाँ पर्यटन सम्भावना विस्तार हुँदै गएको छ । यही परिवर्तनलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न नै ढोरपाटनको भविष्यसँग जोडिएको छ ।

  • भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    लेखनाथ (कास्की), ९ असारः पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ । गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालाको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

    भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेको बताउँदै पोखरामा सुवेदीले उनीहरुको स्वागत र सम्मान गर्नु पोखरेली पर्यटन व्यवसायीको दायित्व भएको बताए । पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधिसमेत बढेको अध्यक्ष सुवेदीको भनाइ छ ।

    फेवातालमा दिनहुँ चार पाँच हजार भारतीय पर्यटककले डुङ्गा सयर गर्ने गरेको जानकारी फेवा डुङ्गा व्यवसायी सङ्गठनका सहसचिव धनबहादुर विकले बताए । डेढ महिनादेखि भारतीय पर्यटक उल्लेख्य उपस्थिति र फेवातालको मध्यभागमा अवस्थित बाराही मन्दिरमा दर्शन गर्न जान रुचि राख्ने गरेको विकले बताए । “दिनभरि ताल छेउमा डुङ्गा कुरी बेलुका रित्तो हात घर जानुपर्ने बमाध्यता भारतीय पर्यटक बढेसँगै हटेको छ”, सहसचिव विकले भने । अहिले बाराही घाटबाट मात्र दिनहुँ १४० डुङ्गाहरु चलायमान छन् ।

    टान गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाले पछिल्लो डेढ महिनामा मात्र डेढ लाख भारतीय पर्यटक पोखरा आएको जानकारी दिँदै उनीहरु धर्मिकस्थल, छोटो दूरीको पदयात्रा, प्याराग्लाइडिङ, वन्जिजम, डुङ्गा सयर तथा ¥याफ्टिङ गर्ने गरेको बताए । भारतीय पर्यटक यतिबेला पाँच तारेहोटलदेखि साना होटल र धर्मशालासम्म भरिभराउ रहेको बताए ।
    परतीय पर्यटकले कोठामा भन्दा पनि खानामा वार्गेनिङ गर्ने गरेको कुरा होटल व्यवसायी पार्वती पाण्डेले सुनाए । भारतमा होटलका रुम मंहगा हुने भएकाले रुममा उनीहरु खासै वार्गेनिङ गर्दैनन् । पोखरामा होटल भारतीय पर्यटकले धानिएको बताउँद्रै नेपालका पर्यटकीय तथा धार्मिक क्षेत्रका बारेमा भारतमा प्रचारप्रसार गर्न सक्यौँ भने नेपालमा भारतीय पर्यटक खचाखच हुने उनको भनाइ छ ।

    पर्यटन व्यवसायीले यो मौसमलाई ‘अफसिजन’का रुपमा लिने गरेको भए पनि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि पर्यटन व्यवसायीहरू थप उत्साहित बनेका छन् । नेपाली नयाँ वर्षयता सुरु भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको पर्यटन व्यवसायी बताउँछन् । पर्यटकीय रुपमा चहलपलल भएको पोखरामा एक महिनाको समयावधिमा पोखरामा मात्रै डेढ लाख भारतीय पर्यटक भित्रिएका तथ्याङ्क पर्यटन व्यवसायीसँग छ ।

    यहाँका होटलको ९० प्रतिशत अकुपेन्सी पुगेको होटल व्यवसायीहरु बताउँछन् । विशेषगरी उनीहरु तालबाराही मन्दिर, पुग्दीको शिवमन्दिर, केदारेश्वर, विन्ध्यवासिनी, मुक्तिनाथ, मनकामना मन्दिरमा जाने गर्छन् । नेपालमा आउने पाहुनाको माया गर्नु हामी सबैको कर्तव्य हो । नेपालीहरु पनि भारतको धार्मिक मठमन्दिरमा जाँदा होटलमा भन्दा पनि बाहिर नै पकाएर खाने गर्छन् । पोखरामा एकैदिन १० हजार पर्यटक अटाउनसक्ने क्षमता होटलमा छ ।

  • अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

    अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

    राम थापा–रासस
    गण्डकी, ८ असार । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन ।

    सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि यात्रु सङ्ख्या न्यून हुँदा उक्त उडान सेवा हाल स्थगन छ । पोखरा–दुबई उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो । यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो ।

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई–पोखरा–दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुला गरिसकेको बताए । “पोखराको अन्तरराष्ट्रिय हवाई पहुँच विस्तारमा यो महत्वपूर्ण उपलब्धि हो, यसले सिङ्गो गण्डकी प्रदेश र मुलुकलाई नै प्रत्यक्ष लाभ पुग्छ”, उनले भने । “पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई धेरै सहजता थपिन्छ, यात्राअवधि छोटिँदा खर्च पनि घट्छ ।”

    पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरु सिधँै पोखरा आउन सक्ने महाप्रबन्धक निरौलाले बताए । वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा–दुबई उडान सेवा लाभदायी हुने देखिएको छ ।

    विश्वकै व्यस्त र महत्वपूर्ण मानिने हवाई ट्रान्जिट हब दुबईमा हुने उडानले अन्तरराष्ट्रिय क्षेत्रमा पोखराको सिधा हवाई पहुँच पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ । पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरहरुमा पुग्ने यात्रुहरुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नुहने प्रमुख आचार्यले बताए ।


    इमिरेट्स एयरलाइन्सले दुबई अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल ३ लाई आफ्नो प्रमुख हब बनाएर विश्वका छ वटा महादेशका ७६ देशमा रहेका १४३ भन्दाबढी देशहरुमा जोड्दै आएको उनको भनाइ छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक निरौलाले एयरलाइन्सहरुबीच हुने कोडसेयर साझेदारीले यात्रुको ट्रान्जिटलाई सहज बनाउने बताए । “पोखरादेखि दुबई हुँदै अन्य देशमा जाने यात्रुहरु एउटै टिकटबाट यात्रा गर्न सक्छन्, लगेज आफैँ सार्नुपर्ने झण्झट पनि हुँदैन”, उनले भने, “दुबईसम्म एउटा विमानले यात्रु बोक्छ, त्यहाँ ट्रान्जिटपछि अर्को विमानले गन्तव्यमा पु¥याउँछ ।”

    पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो । त्यसअघि फ्लाई दुबईको टोलीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आव २०८३÷८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको हो ।

    विमानस्थलका महाप्रबन्धक निरौलाले पोखराबाट उडान सेवा सुरु गर्न एयर अरेबियाले चासो देखाएको बताए । “पोखराबाट अन्तरराष्ट्रिय उडान सञ्चालनको दिगोपनाका लागि निजी क्षेत्रलगायत सबै पक्षको सकारात्मक सहयोगको खाँचो छ”, उनले भने, “पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुँदा मुलुकको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्छ, सर्वसाधारण यात्रुहरुले सहज सुविधा पाउँछन् ।”

    पोखरा अन्तरराष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रहेको छ । काठमाडौँ केन्द्रित रहेको हवाई चापलाई विकेन्द्रीकरणसँगै पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिका लागि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनुपर्ने आवाज उठ्दै आएको छ । दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुँदा मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३०० भन्दा बढी सहरहरूसँग पोखराको पहुँच पुग्ने जनाइएको छ ।

    झण्डै रु २२ अर्ब ऋणमा बनेको यस विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन गरिएको थियो । स्वदेशी वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँ, भरतपुर, भैरहवालगायतका गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । पोखरामा अन्तरराष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । अन्तरराष्ट्रिय विमानस्थल बनेपछि ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानको पर्खाइमा छन् ।

    पोखरा–दुबई सिधा उडानले पोखरा र सिङ्ग्रो गण्डकी प्रदेशको आर्थिक समृद्धिको ढोका खुल्ने उद्योग वाणिज्य महासङ्घ, गण्डकीका अध्यक्ष नरेश कँडेलले बताए । “गण्डकी प्रदेशबाट मध्यूपूर्वका देशदेखि युरोप, अमेरिकासम्म रोजगार र अध्ययनका लागि जानेको सङ्ख्या ठूलो छ”, उनले भने, “पोखरा–दुबई उडानले ती यात्रुलाई घर आउन सहज र कम खर्चिलो बन्नेछ, पोखरालगायत आसपासका गन्तव्यमा आउने पर्यटक अब सिधँै पोखरा आउन पाउँछन् ।’

  • अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    म्याग्दी, ७ असारः सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवर्द्धनपछि गुल्जार भएको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा अनुमान गरेभन्दा बढी सङ्ख्यामा पर्यटक आउन थालेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

    “अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित भएर त्यहाँसम्म पुग्ने पदमार्ग तयार र प्रवर्द्धनका कार्यक्रमपछि त्यहाँको पूर्वाधारले धान्ने भन्दा बढी पर्यटक आउन थालेका छन”, उहाँले भन्नुभयो, “छोटो समयको सहज रूपमा पदयात्रा गरेर पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।”

    विसं २०६७ सम्म अन्नपूर्ण आधार शिविर म्याग्दीमा रहेको तथ्य जानकारी नै थिएन । कास्कीतर्फमात्र आधार शिविर रहेको भनिएको थियो । अन्नपूर्णको फेदी नारच्याङमा सन् २०१२ आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरका बारेमा जानकारी गराएपछि प्रभा माविका तत्कालीन प्रधानाध्यापक तेज गुरुङ नेतृत्वको स्थानीयवासीको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको थियो ।

    सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो । “प्रथम आरोही हेर्जोगले दिएको जानकारी र सूचनाका आधारमा निलगिरि र अन्नपूर्ण खोलाको किनारैकिनार ६८ ठाउँमा काठको पुल बनाएर सात दिन लगाएर आधार शिविरमा पुगेका थियौँ”, उहाँले भन्नुभयो, “११ वर्षको अवधिमा आधारभूत पूर्वाधार बनाएर तीन वर्षअघिदेखि सञ्चालन गरिएको नारच्याङ–आधार शिविर जोड्ने पदमार्ग ‘भर्जिन’ गन्तव्य बनेको छ ।”

    समुद्री सतहदेखि चार हजार १९० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको हो । पदमार्गमा अस्थायी टहरा बनाएर सञ्चालन गरिएको रेष्टुरेन्टमा दैनिक ५० जनाको क्षमता भएपछि वसन्त र शरदयाममा दैनिक २०० जनाभन्दा बढी पाहुना आएका भुसकेतका होटल व्यवसायी माइकल पुनले बताउनुभयो ।

    “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मा पर्ने भएकाले यहाँ स्थायी भौतिक संरचना बनाउन प्रक्रिया पूरा गरेर सरकारबाट अनुमति लिनुपर्छ”, उहाँले भन्नुभयो, “एक्यापले ५० पाहुना राख्न सक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको तर चारपाँच गुणा बढी पाहुना आएकाले टेन्ट र पालमुनि बसोबासको व्यवस्था मिलाउनुपरेको छ ।”

    आधार शिविरमा तीन वर्षअघिसम्म वसन्तयाममा हेलिकप्टरमार्फत आरोहीमात्र पुग्ने गर्दथे । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ ।

    अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्किन सकिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविरमुनि समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ ।

    आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकैपटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता बनेको छ ।

    आधार शिविरमा प्रथम ओहरण टोलीको अगुुवा फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना तथा हालसम्म अन्नपूूर्ण हिमाल आरोहण गरेका ५३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुला सङ्ग्रहालय पनि रहेको छ । सञ्चार, विद्युत्, स्वास्थ्य सुविधाको अभाव र रेष्टुरेन्टहरूको क्षमता कम हुदाँ पाहुना तथा व्यवसायीलाई समस्या भएको छ । सञ्चारको अभावमा लेक लागेर बिरामी भएका पर्यटकको उद्धार गर्न र पाहुनाको व्यवस्थापन गर्न समस्या हुन थालेको छ । बढ्दो पाहुनाको आगमनसँगै फोहर व्यवस्थापन पनि यहाँको अर्को चुनौती बनेको छ । पदमार्ग निर्माणलाई पूर्णता दिन र झोलुङ्गे पुल स्तरोन्नति गर्नेुपर्ने अवस्था छ । रासस

  • पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

    पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

    धरान (सुनसरी), ७ असारः “गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ । यहाँ रुखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,” मोरङको पथरीबाट घुम्न आउनुभएका विकास खड्काले भन्नुभयो । तालतलैयाको शीतल वातावरण र बोटिङ सुविधा भएकाले गर्मी छल्न साथीभाइसहित यहाँ आएको उहाँले बताउनुभयो ।

    पूर्वी तराईमा गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीयस्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकको मुख्य रोजाइ बन्न थालेको छ । करिब साढे २१ हेक्टर क्षेत्रफलमा फैलिएको हरियाली र जलाशययुक्त यो क्षेत्र यतिबेला गर्मी छल्न आउनेहरूको आकर्षक केन्द्रका रूपमा विकास भएको छ ।

    तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीका अनुसार गर्मी मौसम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सामान्य दिनमा दैनिक पाँच सयभन्दा बढी पर्यटक घुमघामका लागि आउने गरेकामा अहिले दैनिक रूपमा २५ सयभन्दा बढी पर्यटक गर्मी छल्न आउने गरेको उहाँले बताउनुभयो ।

    यहाँ आउने पर्यटकमध्ये करिब ४० प्रतिशत पर्यटक सीमावर्ती भारतीय सहरहरूबाट आउने गरेका छन् । अत्यधिक गर्मी बढेपछि अहिले सिरहा र सप्तरीको तराई क्षेत्रबाट बढी पर्यटक आउने गरेको अध्यक्ष रायमाझीले बताउनुभयो । गर्मीबाट राहत पाउनका लागि पर्यटकहरू यहाँ रहेका पोखरी र बोटिङतर्फ बढी आकर्षित हुने गरेका छन् । तालतलैयाभित्र छवटा पोखरी रहेका छन्, जसमा पर्यटकको मनोरञ्जनका लागि समितिले दुईवटा मोटरबोट सञ्चालनमा ल्याएको छ । जहाँ शीतल हावा खाँदै जलयात्रा गर्न पाइन्छ ।

    मोरङको कानेपोखरीबाट साथीहरूसहित घुम्न आउनुभएका अर्का पर्यटक रविना थापा भन्नुहुन्छ, “यहाँको फराकिलो खुला क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट, चिडियाखाना र छहारीयुक्त फूलबारीले गर्दा गर्मी र छुट्टीको समय बिताउन हामी यहाँ आउने गर्छौँ । प्रायःजसो गर्मी छल्न हामी भेडेटार जाने गरेका थियौँ, तर यहाँ बोटिङ गर्न पाइने भएपछि यतै घुम्ने सोच गरेर आएका हौँ ।”

    गर्मीमा शीतल छहारी खोज्दै आउने पर्यटकका लागि तालतलैयाभित्र दर्जनौँ चौतारा, बगैँचा र नर्सरी निर्माण गरिएका छन् । यसबाहेक यहाँको मुख्य आकर्षण चिडियाखाना पनि हो, जहाँ दुम्सी, मयुर, गिद्ध, चित्तल, हाँस, घोडा र बाँदरजस्ता वन्यजन्तु अवलोकन गर्न पाइन्छ । बालबालिकाका लागि चिल्ड्रेन पार्क र वाटर फाउन्टेन (पानीको फोहोरा) समेत रहेकाले विद्यालय बिदाका दिन अभिभावकहरूले छोराछोरीलाई शीतल वातावरणमा खेलाउन यहाँ ल्याउने गरेका छन् ।

    आर्थिक वर्ष २०८१\८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको रु ८५ लाखको बजेटबाट यहाँ थप पर्यटकमैत्री संरचना, आधुनिक शौचालय र चिडियाखानाको स्तरोन्नति गरिएको व्यवस्थापन समितिले जनाएको छ । तालतलैयामा पर्यटकको चहलपहल बढेसँगै स्थानीय साना व्यवसायी उत्साहित छन् ।

    स्थानीय व्यापारी इन्दु राणा भन्नुहुन्छ, “गर्मी बढेसँगै घुम्न आउने पर्यटकको सङ्ख्या निकै बढेको छ, जसले गर्दा व्यापार पनि राम्रो भएको छ । विशेषगरी चटपटे, मःम, चाउमिन र चिसो पेय पदार्थको बिक्री बढी हुने गरेको छ ।”

    सङ्घीय र प्रदेश सरकारको सहयोगमा यहाँ विभिन्न भौतिक संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र कलात्मक मूर्ति निर्माण गरिएका छन् । तालतलैयामा एकैपटक ७० भन्दा बढी समूहले वनभोज खान सक्ने क्षमता रहेको छ । पूर्वी नेपालकै प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यका रूपमा विकसित हुँदै गएको तालतलैयाबाट पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको छ ।
    रासस

  • एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

    एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

    म्याग्दी, ६ असारः म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी–जोमसोम सडक भएर चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिनामा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसास्थित सीमा प्रहरीचौकीको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि जेठसम्म सात लाख पाँच हजार ७५४ स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् । यो सङ्ख्या गत आर्थिक वर्षको १२ महिनाको बराबर हो । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी–जोमसोम सडक भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले सवारीसाधनमार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ ।

    एघार महिनामा एक लाख ५१ हजार १६० सवारीसाधनमार्फत चार लाख ६० हजार ९२४ स्वदेशी र दुई लाख ४४ हजार ८३० विदेशी पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी गत जेठमा २७ हजार ४८८ सवारीसाधनमार्फत ९० हजार ९३९ विदेशी र ४० हजार ८३८ स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।

    भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा, मुस्ताङलगायत ठाउँमा भारतीय पर्यटकको चाप बढेको छ । लगातार चार दिन सार्वजनिक बिदा परेको जेठ तेस्रो साता नेपाली पर्यटकको रोजाइमा मुस्ताङ परेको थियो । पर्यटकको चापका कारण बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तातोपानी, दानाका होटल भरिभराउ हुने गरेका छन् । बर्खायामको सुरुआती समयको अनुकूल वैशाख(जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको हो ।

    मुस्ताङ भित्रिएका बाह्य पर्यटकको सङ्ख्यामध्ये करिब ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका प्रहरी निरीक्षक बस्यालले बताए । गत आर्थिक वर्षमा सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(१ मा अवस्थित पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने उद्देश्यले भारतीय र नेपाली पर्यटक मुस्ताङ आउने गर्दछन् । यसका साथै कागबेनीधाममा श्राद्ध र तर्पण गर्ने, कोरला नाका र लोमान्थाङको अवलोकन गर्ने उद्देश्यले मुस्ताङमा पर्यटकको उपस्थित हुने गरेको हो । पृथक भूगोल, जैविक विविधता, प्राचीन कला संस्कृति, रहनसहन, हिमाली सौन्दर्यता र यहाँको विशेष प्रकारको मौलिकताका कारण मुस्ताङमा पर्यटकीय आकर्षण बढ्दै गएको छ ।