Category: घूमघाम

  • बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

    बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

    काठमाडौँ, ३१ साउनः बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गरेकी छिन् । उनले रु दुई हजार १०० को रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अभिनेत्री चोपडासहित आज २३५ जनाले विशेष पूजाको रसिद काटेर मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेका कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले राससलाई जानकारी दिए ।

    सौरमास अनुसार आज साउनको अन्तिम दिन भएकाले बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । सार्वजनिक बिदा पनि परेकाले साउनको अन्तिम दिन धेरै भक्तजन आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनमा यहाँ आएका हुन् । अभिनेत्री चोपडा पनि साउन महिना पारेर पशुपतिनाथको पूजा, आराधना र दर्शन गर्न नेपाल आएकी हुन् । गत हप्ता बलिउड अभिनेत्री शिल्पा सेट्टीले पनि पशुपतिनाथ मन्दिरमा रसिद काटेर विशेष पूजा, आराधना र दर्शन गरेकी थिइन् ।

  • इजीजेटका क्याबिन क्रूहरुको आन्दोलनका कारण, सयभन्दा बढी फ्रान्सेली उडान रद्द

    इजीजेटका क्याबिन क्रूहरुको आन्दोलनका कारण, सयभन्दा बढी फ्रान्सेली उडान रद्द


    पेरिस (फ्रान्स), ३१ साउन (रासस–एएफपी) । उडान तालिकामा बारम्बार परिवर्तन भएको विषयमा आक्रोशित बनेका क्याबिन–क्रु (चालक दलका सदस्यहरु) ले गरेको आन्दोलनका कारण बेलायती एयरलायन्स (इजीजेट)ले शनिबार र आइतबार फ्रान्सेली विमानस्थलहरूबाट करिब १०० भन्दा बढी उडानहरू रद्द गरेको जनाएको छ ।

    बेलायती एयरलायन्स कम्पनीअन्तरगत फ्रान्सका लागि हुने उडानहरुमा ९०० जना क्याबिन क्रुहरु रहेको इजीजेटले जनाइएको छ । उनीहरु मध्य लगभग आधा आन्दोलनमा सहभगी हुने जनाउँदै यसको कारण पेरिसका निस, बोर्डो र लियोन एयरपोर्ट अधिकाशं उडानहरू प्रभावित हुने बताइएको छ ।

    फ्रान्स बेलायती एयरलाइन्सको लागि एक प्रमुख बजार हो, जुन केहि समय अगाडि मात्र अमेरिकी निजी व्यापारिक कम्पनी अपोलोले सात अर्व ७० करोडको सम्झौतामा लिएको थियो । फ्रान्समा यसको यात्रु सङ्ख्या एयर फ्रान्सपछि दोस्रो स्थानमा रहेको जनाइएको । अधिकांश उडानहरू शुक्रबार पनि रद्द गरियो जनाउँदै कम्पनीले यात्रुहरूलाई वैकल्पिक मार्गहरू खोज्न मद्दत गरेको पनि बताएको छ । ‘एसएनपिएनसी–एफओ’ सङ्गठनका प्रतितिधि विलियम बोर्डनले क्याबिन क्रूहरुले आफ्नो काममा स्थिरता चाहेको बताउँदै गन्तव्यहरूमा एक हप्ताको समयमा ५०–६० पटक सम्म परिवर्तन भएको बताउनु भएको छ ।

    वार्तामा सहभागी भएका सम्बन्धित सङ्गठनका सदस्यहरुले अगस्ट –७ देखि सेप्टेम्बर –२ सम्मका लागि आन्दोलनको चेतावनी दिएका छन् । इजीजेटले कर्मचारीहरूलाई यस्तो व्यस्त समयमा आन्दोदन बन्द गर्न आग्रह गर्दै यसले कर्मचारीहरूको स्थिरता कायम गर्ने प्रस्तावसहित सेप्टेम्बरमा वार्ताको योजना बनाएको बताएको छ । यसअघि गत अप्रिलमा भएको अघिल्लो आन्दोलनले पनि उडान प्रभावित बनाएको जनाइएको छ ।

  • संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

    संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

    राँझा (बाँके), ३० साउनः नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । नेपालगञ्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झाँडी, बुट्यान फैलिएर कुरुप बन्दै गएको छ । स्थानीय चक्र बुढाले भन्नुभयो, “सौन्दर्यताका लागि नेपालगञ्ज उपमहानगरले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् । सुरक्षाका लागि सरोकार भएका निकायलाई पटकपटक खबर गरे पनि हालसम्म सुनुवाइ भएको छैन ।”

    कान्तितालमा विभिन्न पन्क्षीहरूको बासस्थान रहेकाले संरक्षणकर्मी तथा पर्यावरण संरक्षणमा चासो राख्नेले आवाज उठाइरहेका बेला तालको संरक्षणमा भने सरोकार भएका निकायले चासो नदिँदा समस्या भएको स्थानीय बताउँछन् । नेपालगञ्ज उपमहानगरले ताल संरक्षण गरी पर्यटकीयस्थल बनाउन रु १० करोड खर्चेको कान्तिताल संरक्षणको अभावमा कुरुप र जीर्ण बन्दै गएको स्थानीय बुढाको भनाइ छ । ताल क्षेत्र अहिले लागुऔषध दुव्र्यसनीको जमघटस्थल बनेको भन्दै रातको समयमा शङ्कास्पद गतिविधि हुने गरेका स्थानीयको गुनासो छ ।

    तालको नियमित रेखदेख र सरसफाइको अभावमा करोडौँको लगानी गरिएको आयोजना अनुत्पादक र जीर्ण अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरले विसं २०७५ मा कान्तिताललाई व्यवस्थित गरेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो । ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख उपमहानगरलाई राजस्व बुझाउने गरी ठेक्का लिनुभएका ठेकेदार फनबहादुर गुरुङले लागुऔषध प्रयोगकर्ताहरूले रेलिङ तोडफोड गरेका हुनसक्ने बताउनुभयो । यस विषयमा वास्तविकता खोजी गरिने उहाँको भनाइ छ ।

    यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई व्यवस्थित गर्न उपमहानगरले नयाँ योजना बनाइरहेको बताउनुभयो । विगतमा ताल संरक्षणको लागि बनाइएका योजना सफल हुन नसकेकाले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरी प्रभावकारी योजना बनाइ संरक्षणका लागि लागू गरिने उहाँको भनाइ छ ।

  • स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    रासस
    मुस्ताङ, २९ साउनः आगामी भदौमा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ । सम्मेलन भदौ ३० र ३१ गते मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना हुने गाउँपालिकाले जनाएको छ । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती तथा जलवायु अनुकूलनका विषयमा साझा धारणा बनाउन सम्मेलन आयोजना गर्न लागिएको हो ।

    राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलोपटक ऐतिहासिक रूपमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए । सङ्घीय मामिला मन्त्रालयको समन्वयमा सबै स्थानीय तहलाई सम्मेलनमा सहभागी हुन पत्राचार गरिएको उनले बताए । सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गरिनेछ । साथै जलवायु परिवर्तनको असर न्यूनीकरण र सामना गर्न सामूहिक प्रतिबद्धता जनाउँदै घरपझोङ घोषणापत्र २०८३ जारी गरिनेछ ।

    सम्मेलनका लागि छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४५९ गाउँपालिकालाई एकैसाथ लिखित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए । सम्मेलनमा जलवायु परिवर्तनका कारण स्थानीय तहमा देखिएका समस्या, विपद् तथा प्रभाव पहिचान गर्दै त्यसको न्यूनीकरणका उपाय र रणनीतिबारे छलफल हुनेछ । कालीगण्डकी नदी किनार, मुक्तिनाथ क्षेत्र र नीलगिरि हिमालको काखमा बसेर बृहत् छलफल गरी हिमाली जिल्लाका तर्फबाट जलवायु घोषणापत्र जारी गर्ने तयारी गरिएको छ ।

    सम्मेलनबाट जारी हुने साझा घोषणापत्रमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु परिवर्तनका असरविरुद्ध स्थानीय तहको साझा आवाज बुलन्द गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । सम्मेलनमा जलवायु परिवर्तनका असरसम्बन्धी फोटो प्रदर्शनीसमेत आयोजना गरिनेछ । त्यसका लागि सबै स्थानीय तहलाई भदौ १५ गतेभित्र जलवायु परिवर्तनका असर झल्कने तस्बिर पठाउन अनुरोध गरिएको छ । स्थानीय तहका धारणा तथा घोषणापत्रमा समेट्नुपर्ने विषयसमेत उल्लेख गरी सोही मितिभित्र मस्यौदा पठाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।


    गाउँपालिकासँग भगिनी सम्बन्ध जोडिएका स्थानीय तह तथा मुस्ताङका अन्य स्थानीय तहको सहयोगमा सम्मेलनको तयारी भइरहेको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमपहिरो, हिमताल फुट्ने, बाढीपहिरो र नदी कटानजस्ता प्राकृतिक विपद् बढिरहेका छन् । कृषि, पशुपालन, धर्मरसंस्कृति तथा जैविक विविधतामा समेत जलवायु परिवर्तनको ठूलो असर परेको छ ।

    जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा असमान हिमपात हुने, खानेपानीका मुहान सुक्दै जाने, चरन क्षेत्र घट्दै जाने तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्ने समस्या देखिएको छ । यसले पशुपालन व्यवसायसमेत प्रभावित हुन थालेको छ ।

  • रेसुङ्गामा श्रद्धालुको घुइँचो

    रेसुङ्गामा श्रद्धालुको घुइँचो

    रासस
    गुल्मी, २८ साउनः रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ । रेसुङ्गा धार्मिक क्षेत्र हो । विगतको तुलानामा यस वर्ष घुइँचो बढेपछि स्थानीय खुसी भएका छन् । धर्ममा आस्था राख्ने श्रद्धालुहरु साउन महिनामा एकपटक रेसुङ्गा पुग्नुले भीड बढ्ने गरेको हो । रेसुङ्गा संरक्षण समितिले साउनमा एकमहिने धार्मिक मेलाका आयोजना गर्ने गरेको छ । उक्त मेला अवलोकन तथा धर्म गर्न यस क्षेत्रमा भक्तजनको उपस्थिति हुने गर्दछ ।

    रेसुङ्गालाई धार्मिक परम्पराअनुसार तपोभूमि तथा सिद्ध क्षेत्रका रुपमा लिइन्छ । त्रेतायुगदेखि ऋषिमुनिहरुले यस क्षेत्रमा तपस्या गरेको भन्ने धार्मिक आस्था र विश्वास कायम छ । यस क्षेत्रको धार्मिक महत्वसँग जोडिएको पोखरीलाई बालसिद्ध पोखरीका रुपमा मानिन्छ । धार्मिक मान्यताअनुसार यहाँ बालसिद्धलाई भगवान् शिवका रुपमा पूजा गर्ने गरिन्छ । धार्मिक आस्थाका कारण साउन महिनाभर रेसुङ्गा पोखरीमा स्नान गर्नेको घुइँचो लाग्ने गर्दछ ।

    रेसुङ्गास्थित माहापोखरीलाई श्रद्धालुले पवित्र तीर्थस्थलका रुपमा लिने गरेका छन् । धार्मिक मान्यताअनुसार माहापोखरीमा स्नान गरी नजिकै रहेको यज्ञशाला पुगी पूजा गरेपछि सिद्धको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ । यही आस्थाका कारण टाढाबाट सन्तान प्राप्तिको चाहना गर्ने श्रद्धालुहरु रेसुङ्गा क्षेत्रमा आउने गर्दछन् ।

    पोखरीमा स्नान गर्न गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, अर्घाखाँची, स्याङ्जा, नवलपरासी र कपिलवस्तुलगायत जिल्लाबाट श्रद्धालुहरु आउने गर्दछन् । रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार सन्तान नहुनेहरु एकपटक यहाँ आउने गर्छन् । “यो एउटा तपोभूमि क्षेत्र हो, त्रेतायुगदेखि ऋषिमुनिहरुले तपस्या गरेको हुँदा यसलाई सिद्धक्षेत्र पनि भनिन्छ”, उनले भने ।


    रेसुङ्गा यज्ञशालाका पण्डित कृष्ण पन्थीका अनुसार साउनमा खेतीपाती तथा पशुपालनगर्ने कृषकहरुले मकै, दूधलगायत सामग्री सिद्ध मन्दिरमा चढाउने प्रचलन छ । त्यसैले साउनमा रेसुङ्गा जाने र पोखरीमा स्नान गरी सिद्धको पूजा गर्ने यहाँको मुख्य परम्परा छ । साउन महिनाभर रेसुङ्गास्थित यज्ञशाला मन्दिरमा दैनिक हवन, रुद्री, गीता तथा चण्डी पाठलगायत धार्मिक अनुष्ठान सञ्चालन गरिएको छ ।

    यहाँ राति अबेरसम्म भजन, कीर्तन हुनेहुँदा कतिपय श्रद्धालु रातभर यज्ञशालामा जाग्राम बसेर भजनकीर्तनमा रमाउने गर्छन् । रेसुङ्गा क्षेत्रमा रहेको पोखरीको पानीले स्नान गरेपछि चारधाम जान नपर्ने र आफूले अञ्जानमा गरेका सम्पूर्ण पाप नष्ट भई समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

    उक्त विश्वासका कारण यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । रेसुङ्गा धार्मिक तथा ऐतिहासिक महत्वसँगै प्राकृतिक सुन्दरता र जैविक विविधताका कारण पनि प्रसिद्ध मानिन्छ ।

  • धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

    धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

    धनकुटा, २७ साउनः यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकाले दैनिक सयौँ पर्यटक‘स्काइवाक’ आउने गरेका छन् । वन्डर्स अम्युजमेन्ट पाक्र्स एन्ड अट्राक्सन प्रालिले २०८१ साउन ११ गतेदेखि सञ्चालनमा ल्याएको ‘स्काइवाक’मा दुई वर्षमा तीन लाख नौ हजारभन्दा बढी पर्यटक आएका छन् ।

    परियोजनाका अनुसार पहिलो वर्ष एक लाख ७८ हजार र दोस्रो वर्ष एक लाख ३१ हजार पर्यटकले स्काइवाकको अवलोकन गरेका छन् । यसमा करिब ३५ प्रतिशत भारतीय पर्यटक रहेका छन् । स्काइवाकसँगै फ्री–फल जम्प र स्वीङजस्ता साहसिक गतिविधि पनि सञ्चालनमा रहेका छन् । आगामी दिनमा स्काइ साइक्लिङ, जिपलाइन र बालबालिकाका लागि उद्यान निर्माण गर्ने योजना रहेको परियोजनाका प्रबन्ध निर्देशक सञ्जीव रोकाहाले बताए ।


    समुद्री सतहबाट करिब एक हजार ४०० मिटर उचाइमा रहेको भेडेटारको स्काइवाकबाट सप्तकोशी नदी, पूर्वी तराईका फाँट तथा सगरमाथा, मकालु, कञ्चनजङ्घालगायत हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । मौसम सफा भएका दिन सूर्योदय र सूर्यास्तको दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ । पहिलोपटक स्काइवाकमा चढ्दा छुट्टै अनुभूति भएको सुनसरीको देवानगन्जका आनन्दीकुमार चौधरीको भनाइ थियो ।

    प्राकृतिक दृश्यावलोकनसँगै साहसिक अनुभूति लिन चाहनेहरूका लागि स्काइवाक उपयुक्त गन्तव्य बनेको होटल लावती कर्ननका सञ्चालक लिलाराज लावतीले बताए । होटल एसोसिएसन अफ भेडेटारका पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले टावरको माथिबाट देखिने हिमाल, पहाड र तराईको सङ्गमले भेडेटारलाई कोशी प्रदेशको मात्र नभई देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ भन्नुभयो । उहाँले स्काइवाकका कारण सानासाना पसलदेखि होटल व्यवसायलाई थप चलयमान बनाएको जानकारी दिए ।


    “वार्षिक रु तीन लाख नवीकरण शुल्क, पर्यटन कर तथा भ्याट तथा अन्य विभिन्न कर पनि तिर्नुपर्छ”, प्रबन्ध निर्देशक रोकाहाले भने, “गत वर्ष करिब रु नौ करोड कारोबार हुँदा करिब रु ४५ लाख रोयल्टी तिर्नुपरेको थियो, त्यति नै रकम मनोरञ्जन करमा पनि तिर्नुपरेको छ ।”

    प्रदेश सरकारले पिपिपी परियोजनालाई प्रवरद्धन गर्ने नीति लिएको भए पनि यस्ता परियोजनालाई दिगो बनाउन कर नीति पुनरवलोकन आवश्यक रहेका सञ्चालकको भनाइ छ । करको सट्टा व्यावहारिक र लगानीमैत्री नीति अपनाइए नयाँ परियोजना आकर्षित गर्न, पर्यटन विकास गर्न र दीर्घकालीन रूपमा राज्यको राजस्वसमेत बढाउन सहयोग पुग्ने सञ्चालकहरू बताउँछन् ।

  • ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

    ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

    काठमाडौँ, २६ साउनः पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ । निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव यही साउन २१ गते नेपाल ल्याइसकिएको छ । दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ ।

  • आलेखः कुष्माण्ड सरोवर त्रिवेणीधाम–धार्मिक पर्यटकीय गन्तव्य

    आलेखः कुष्माण्ड सरोवर त्रिवेणीधाम–धार्मिक पर्यटकीय गन्तव्य

    वासुदेव पौडेल/रासस

    बागमती, २५ साउनः हेटौँडास्थित रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणी यतिखेर कुष्माण्ड सरोवर त्रिवेणीधामका रुपमा चासो र चर्चा कमाएको छ । पहिला केबल अन्तिम संस्कारका लागि मात्र आउने गरिएको यो ठाउँ डेढ दशकको अन्तरालमा दिव्यधामका रुपमा परिणत भैसकेको छ । छोटो समयमा आमूल परिवर्तन भएको यहाँको विकास र परिवर्तन आज जुनसुकै ठाउँका लागि पनि अनुकरणीय बनेको छ ।

    सत्य युगमा कुष्माण्डा भगवतीले यही ठाउँमा तपस्या गरी विष्णु भगवान्बाट सिद्धी प्राप्त गरेको धार्मिक विश्वास रही आएको कुष्माण्डा भगवती मन्दिरका पुजारी कृष्णप्रसाद बरालले जानकारी दिए । पछिल्ला वर्षमा यस तीर्थस्थलमा विभिन्न विशेष चाडपर्व, तिथिमितिका साथै हरेक वर्षको कात्तिक शुक्ल नवमी (कुष्माण्ड नवमी)मा हजारौँ सङ्ख्यामा दर्शनार्थी आउने गरेको उनले बताए । उनका अनुसार हेटौँडा आसपासका दर्शनार्थीसँगै बारा, पर्सा, रौतहट, पोखरा, काठमाडौँ, चितवनलगायतका स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

    कार्तिक शुक्ल नवमीका दिन यहाँ कुभिण्डो दान गरिने बताउँदै उहाँले केही वर्ष अघिसम्म उक्त दिन झण्डै ७०० सम्म कुभिण्डो चढाउने गरिएको जानकारी दिए । उक्त दिनमा यहाँ आएर कुभिण्डो दान गरेमा पुण्य प्राप्त हुने जनविश्वास रहेको उनले बताए । यो क्षेत्र विगतमा केबल अन्तिम संस्कारका लागि मात्र आउने स्थल रहेकामा पछिल्लो डेढ दशकको निरन्तरको प्रयासले यो दिव्यधाममा परिणत बनेको कुष्माण्ड सरोवर त्रिवेणीधाम व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए ।


    धाम निर्माणका लागि न्यौपानेको निरन्तरको लगाव र समर्पणसँगै स्थानीयवासी र राज्यका विभिन्न तह र निकायको योगदान रही आएको छ । २०४९ सालमा हेटौँडा–९ को वडा सदस्य तथा २०५४ मा वडा अध्यक्षको जिम्मेवारी सम्हालेका न्यौपानेलाई यस ठाउँमा केही काम गर्नुपर्छ भन्ने सोच जागेसँगै उनको निरन्तरको नेतृत्वदायी भूमिकाबाट यो स्थल दिव्यधामका रुपमा परिणत बनेको यहाँका स्थानीयवासी बताउँछन् ।

    यो धाम धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको समेत सङ्गम भएको बताउँदै न्यौपानेले पूर्वाधार विकासका साथै यहाँ धार्मिक महत्वलाई उजागर गरी देशकै प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्ने योजना राखिएको बताए । यस तीर्थस्थलमा आइसकेपछि भक्तजनहरू यहाँ रहेका १०८ वटा गाईको मुखबाट झरिरहेका धारा (गौमुखी धारा) मा स्नान गरेर मात्रै यहाँको अन्य पूजा शुरु गर्दछन् । यो धाम निर्माण हुनुमा त्यस अघिका विभिन्न घटनाक्रमहरू यसको पृष्ठभूमिका रुपमा जोडिएको उनको भनाइ छ ।

    उनका अनुसार २०४५ सालमा हेटौँडाको क्याम्पा डाँडामा योगी नरहरिनाथले कोटिहोम लगाउने क्रममा यस स्थानको महत्वबारे चर्चा गरेका थिए । त्यसयता विभिन्न धार्मिक तथा सामाजिक व्यक्तिहरूको सुझाव तथा सल्लाहअनुरुप हाल रहेको स्थान पहिचान गरी २०६७ जेठ ५ गते तत्कालीन पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईबाट यहाँस्थित १०८ गौमुखी धाराको शिलान्यास गरिएको उनले बताए । सोही वर्ष कात्तिक २९ गते कार्तिक शुक्ल नवमी (कुष्माण्ड नवमी)का दिन १०८ धारामा पानी ल्याइएको थियो । शुरुमा प्लास्टिकका पाइपको धाराबाट जलप्रवाह गराइएकामा पछि तिनै स्थानमा आकर्षक गौमुख तयार गरी २०६७ माघ १ गतेदेखि गौमुखी धाराबाट जलप्रवाह गराउँदै स्नानको व्यवस्था गराइएको थियो ।

    विसं २०६७ असोज २२ गते घटस्थापनाका दिन कुष्माण्ड भगवती स्थापना र नवरात्रि पूजा तथा जमरा राखेर सुरुआत गरिएकोमा २०७० सालमा भगवती मन्दिरको निर्माण कार्य सम्पन्न भएको थियो । यस धामकै कारण यहाँ नदी आसपासको हजार मिटरभन्दा बढी क्षेत्र तटबन्धन भइसकेको छ । यस धाममा हाल शिवालय, यज्ञकुण्ड, नागस्थान, स्वचालित बुद्ध दर्शनस्थल, हेडम्बा नगरीको इतिहास झल्काउने संरचना, सङ्ग्रहालय, फूल बगैँचा, वृत्तचित्र प्रदर्शनस्थल, मनोरेल आदि रहेका छन् ।

    त्रिवेणीधामको महिमा स्कन्दपुराणको हिमवत्खण्ड, महाभारतको आदि पर्व र वन पर्व, वराह तथा वायु पुराणहरूमा उल्लेख गरिएको छ । कुष्माण्ड नवमीको दिन यहाँ स्नान गरी कुभिन्डो दान गर्नका लागि हेटौँडालगायत बाहिरका अन्य जिल्लाबाट दर्शनार्थी आउने गर्दछन् । यहाँ १०८ धारामा स्नान गरी कुभिण्डो दान गरेमा पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।

    द्वापरयुगको अन्त्यतिर पाण्डवहरू गुप्तवास बस्ने क्रममा यही त्रिवेणीमा स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएको छ । अम्वऋष राजाले भगवान् विष्णुको आज्ञाले १०८ धारामा स्नान गरी सन्तान लाभ भएकोलगायत रोग निदान भएको धर्मशास्त्रमा उल्लेख हुनुले पनि यहाँको धार्मिक महत्वलाई अझै उजागर गरेको न्यौपानेको भनाइ छ । यस पौराणिक मान्यताका आधारमा यहाँ हरेक वर्ष मकरमेला लाग्ने गरेको बुढापाका बताउँछन् ।

    पाण्डवहरूले स्नान, सन्ध्या, तर्पण, दान आदि गरी देवीदेवताको आराधना गरेको धार्मिक विश्वाससँगै माता कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धी प्राप्त गरेको आदि धार्मिक मान्यता र विश्वासले पनि यहाँको महिमा र गरिमा अझै चुलिएको हो । २०५०÷५१ साल अघिसम्म गाईवस्तु चराउन आउने मानिसहरू पनि यहाँ मसान लाग्ने भन्दै सतर्क भएर आवतजावत गर्ने गर्दथे ।

    अभियन्ता न्यौपानेको निरन्तरको लगावसँगै सङ्घ, प्रदेश र स्थानीय तहको सहयोग र दाताहरूको साथ र सहयोगले यो क्षेत्र वर्तमानमा दिव्यधामका रुपमा परिणत भएको हो । पछिल्ला डेढ दशकमा सङ्घ, प्रदेश र स्थानीय तह सबैको साथ र सहयोगमा यस धामको विकासको गति अघि बढेको हेटौँडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीले बताए ।

    धाम नजिकै रहेको कर्रा खोलामा पुल नहुँदा दर्शनार्थी समस्यामा परिरहेको अवस्थालाई दृष्टिगत गर्दै यसै वर्ष उक्त स्थानमा पुल निर्माण गर्ने गरी तयारी भइरहेको उनले बताए । “यस स्थललाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ सबैको साथ र सहयोग एवं सहकार्यमा कामहरू अघि बढेका छन्”, उनले भने ।

    पूर्वाधार विकासले पनि आकर्षण बढाउँदै
    यस धाममा कलात्मक १०८ गौमुखी धारासँगै निर्मित कुष्माण्ड सरोवरमा बोटिङ, सिसमहल पार्क आदि प्रमुख आकर्षण हुन् । यहाँ हेटौँडाको स्थापनाकालीन इतिहास झल्काउने हेडम्बा नगरीको आकृति निर्माण गरिएको छ । यहाँ हेटौँडा नामकरणसँग प्रत्यक्ष जोडिएको इतिहास बुझाउने गरी पाँच पाण्डवको आकृतिसहित हिडम्बालाई भीमसेनले आक्रमण गरिरहेको कलात्मक स्वरुप निर्माण गरिएको छ ।

    त्यस्तै, पार्कको भित्री भागमा अवस्थित सिसमहल यहाँको अर्को आकर्षणको केन्द्र हो । सिसमहलमा पाण्डव दाजुभाईले भगवतीलाई परिक्रमा गरिरहेको देख्न सकिन्छ । पार्क परिसरमा नै रहेको भवनभित्र देशका विभिन्न स्थानमा रहेका मन्दिर तथा त्यहाँका मूर्तिहरू झल्काउने गरी निर्माण गरिएका संरचनाले यहाँ आउने जो कोहीलाई लोभ्याउँछ ।

    यहाँभित्र डडेल्धुराको घटोत्कच मन्दिर, मकवापुरको वंशी गोपाल मन्दिर, चुरियामाई, भुटनदेवी, सुनसरीको बराह क्षेत्र, देलखाका भीमसेन, काभ्रेका पलाञ्चोक भगवती, काठमाडौँको दक्षिणकाली, स्वयम्भु बुढानीलकण्ठ, पशुपतिनाथ, लुम्बिनीको मायादेवी, मुस्ताङको मुक्तिनाथ, तनहुँको देवघाट, बाजुराको बडीमालिका, प्युठानको स्वर्गद्वारी, ताप्लेजुङको पाथीभरा, बाराको गढीमाई आदि मन्दिर तथा मूर्तिहरू राखिएको पाइन्छ ।

    यसैको भित्री भागमा नेपालको नक्सा बोकेको नेपाल धर्तीमाताको मूर्ति यहाँका प्रमुख आकर्षणहरु हुन् । त्यस्तै, परिसरमा हेटौँडा उत्पत्ति, महत्व, पाँच पाण्डव सन्दर्भको इतिहास समेटेर वृत्तचित्र बनाइएको छ भने बुद्धको स्वचालित आकर्षक मूर्ति राखिएको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा पार्क क्षेत्रमा बालबालिकाका लागि मनोरेल पनि तयार भइसकेको छ ।

    धामको दिगो सञ्चालनलाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको उनले जानकारी दिए । २०७० माघमा बालसन्त मोहनशरणले दिएको एक हजार १०० रुपैयाँबाट अक्षयकोष स्थापना सुरु गरिएको जानकारी दिँदै उनले त्यसयता हालसम्म कोषमा ५० लाख रुपैयाँ जम्मा भइसकेको जानकारी दिए । मन्दिर तथा परिसरको व्यवस्थापनका लागि १० जना कर्मचारी नियमित खटिरहेको र उनीहरूको सेवासुविधा तथा कार्यालयको व्यवस्थापनसमेत गरी मासिक दुई लाख रुपैयाँ खर्च लाग्ने गरेको उनले जानकारी दिए ।


    धामभित्र सिसमहल, स्वचालित बुद्धको मूर्ति, नेपाल धर्तीमाताको मूर्तिसहितका विभिन्न मूर्तिहरू अवलोकन गर्नका लागि ६० रुपैयाँ टिकट दस्तुर लिने गरिएको छ । हालै निर्माण सम्पन्न भएको बालबालिकाको विद्युतीय मनोरेलका लागि थप ६० रुपैयाँ टिकट दस्तुर निर्धारण गरिएको छ । धामभित्रका विभिन्न पूर्वाधार निर्माणका लागि हालसम्म करिब छ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए । धामको दिगो सञ्चालनसँगै यहाँ गुरुकुल स्थापना गर्ने सोचसमेत राखिएको उनको भनाइ छ।

  • गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता

    गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता

    रासस
    कास्की, २५ साउनः पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पतिशास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता र वातावरण संरक्षणका विविध गतिविधिमा सक्रिय भएका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित जटायु संरक्षण तथा गाई संरक्षण केन्द्रमा पुगेर आइतबार विद्यार्थीले गिद्धको आहार व्यवस्थापन (फिडिङ) प्रत्यक्ष अवलोकन गर्नुका साथै संरक्षण क्षेत्रमा सरसफाइ र वातावरणीय व्यवस्थापनका विभिन्न गतिविधिमा स्वयंसेवकका रूपमा सहभागिता जनाएका हुन् ।

    पृथ्वीनारायण क्याम्सका ४० विद्यार्थी, स्थानीयवासी तथा संरक्षणकर्मीको सहभागितामा गिद्ध संरक्षण, जैविक विविधता संरक्षण र वातावरणीय सचेतनासम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीले मरेका जनावरका हड्डी सङ्कलन तथा व्यवस्थापन, झाडी सफाइ, वनस्पतिको पहिचानका लागि ‘नेम प्लेट’ राख्ने तथा संरक्षण क्षेत्रको वातावरणीय व्यवस्थापनलगायतका काममा प्रत्यक्ष सहभागिता जनाए ।

    विद्यार्थीलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै प्रत्यक्ष रूपमा संरक्षणका गतिविधिमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा गिद्ध संरक्षणको महत्व, वनस्पति संरक्षण, जैविक विविधता र वातावरण संरक्षणका विषयमा विज्ञ तथा संरक्षण क्षेत्रमा क्रियाशील व्यक्तिले विद्यार्थीलाई आवश्यक जानकारी दिएका थिए ।

    बोटानिकल स्टुडेन्ट्स सोसाइटी पृथ्वीनारायण क्याम्पसकी अध्यक्ष कविता त्रिपाठीले एक दिनको स्वयंसेवी कार्यक्रम नयाँ, रमाइलो र सिकाइपूर्ण बनेको बताउनुभयो । “गिद्धलाई नजिकबाट अवलोकन गर्दै यसको संरक्षण, वातावरणमा यसको भूमिका र जैविक विविधता जोगाउन यसको महत्वबारे बुझ्न पाउनु विशेष अनुभव रह्यो”, उहाँले भन्नुभयो ।

    त्रिपाठीका अनुसार कार्यक्रममा विद्यार्थीले विभिन्न वनस्पतिलाई प्रत्यक्ष रूपमा फिल्डमा अवलोकन गरी पहिचान गर्नुका साथै वनस्पतिको वैज्ञानिक तथा स्थानीय नामसहित ‘ट्यागिङ’ र अभिलेखीकरण गरेका थिए ।

    जटायु संरक्षण केन्द्रका सचिव मनिष पोखरेलले पुस्तकमा पढेरमात्र संरक्षणको वास्तविक महत्व बुझ्न नसकिने भएकाले विद्यार्थीलाई प्रत्यक्ष रूपमा प्रकृति र संरक्षणको अभ्याससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    “प्राणीशास्त्र र वनस्पतिशास्त्रका विद्यार्थी यहाँ सहभागी हुनुभएको छ । उहाँहरूले गिद्धको फिडिङ प्रत्यक्ष रूपमा हेर्नुभयो, संरक्षण क्षेत्रमा सरसफाइ गर्नुभयो र वनस्पतिका नेम प्लेट राख्नुभयो । यस्ता व्यावहारिक गतिविधिले विद्यार्थीमा संरक्षणप्रतिको चासो र जिम्मेवारीबोध बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ”, पोखरेलले भन्नुभयो ।

    घाचोकमा सञ्चालित जटायु संरक्षण केन्द्रले लामो समयदेखि गिद्ध संरक्षणसँगै स्थानीय समुदायमा जैविक विविधता तथा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्दै आएको छ । केन्द्रमा गिद्धका लागि सुरक्षित र विषरहित आहारको व्यवस्था गरी संरक्षणको प्रयास भइरहेको छ । प्राकृतिक रूपमा मरेका जनावर खाएर वातावरण सफा राख्ने भएकाले गिद्धलाई प्रकृतिको महत्त्वपूर्ण ‘सफाइकर्मी’का रूपमा लिइन्छ । पारिस्थितिक प्रणाली सन्तुलन कायम राख्न पनि गिद्धको महत्त्वपूर्ण भूमिका रहेको संरक्षणकर्मी बताउँछन् ।

  • सङ्गेको लगनको प्रतिफल : सामान्य बारिस्टाबाट प्रोफेसनल ब्रुअरसम्मको यात्रा

    सङ्गेको लगनको प्रतिफल : सामान्य बारिस्टाबाट प्रोफेसनल ब्रुअरसम्मको यात्रा

    अबुधाबी । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा कार्यरत नेपाली युवा सङ्गे थिङले अन्तर्राष्ट्रिय क्राफ्ट बियर उद्योगमा उल्लेखनीय सफलता हासिल गरेका छन् । अबुधाबीस्थित Craft by Side Hustle मा ब्रुअरका रुपमा कार्यरत थिङ आफू यूएई तथा खाडी क्षेत्रका पहिलो नेपाली प्रोफेसनल क्राफ्ट बियर ब्रुअर भएको दाबी गर्छन् । आतिथ्य तथा पेय पदार्थ उद्योगमा उनको उपलब्धिलाई नेपाली युवाका लागि नयाँ सम्भावनाको उदाहरणका रुपमा हेरिएको छ ।


    काठमाडौंको स्वयम्भूमा जन्मिएका थिङ सन् २०१७ मा १८ वर्षको उमेरमा रोजगारीका लागि यूएई आएका थिए । उनले दुबईको एक कफी घरमा जुनियर बारिस्टाका रुपमा आफ्नो व्यावसायिक यात्रा शुरु गरेका थिए । कफीप्रतिको रुचि, निरन्तर अभ्यास र सिक्ने इच्छाशक्तिका कारण उनले छोटो समयमै बारिस्टा क्षेत्रमा आफ्नो दक्षता विकास गरे ।


    सन् २०१८–२०१९ मा उनले यूएईमा कार्यरत नेपाली कफी श्रमिकहरुसँग मिलेर ‘नेपाली बारिस्टा कम्युनिटी’ स्थापना गर्न महत्वपूर्ण भूमिका खेले । उक्त समूहले नेपाली बारिस्टाबीच सीप विकास, अनुभव आदान–प्रदान र व्यावसायिक सहकार्यलाई प्रवद्र्धन गर्दै आएको छ ।


    पछि उनी स्पेशालिटी कफी शप सञ्चालनमा आबद्ध भए । त्यहाँ उनले नयाँ कफी तथा पेय पदार्थका रेसिपी विकास गर्नुका साथै हेड बारिस्टाको जिम्मेवारी पनि सम्हाले । त्यसपछि बार टेन्डिङ क्षेत्रमा प्रवेश गर्दै उनले स्पिरिट, वाइन, ककटेल र बियरसम्बन्धी अध्ययन तथा व्यावहारिक अनुभव हासिल गरे । यही अनुभवले उनलाई क्राफ्ट बियर उत्पादनतर्फ आकर्षित गरायो ।


    त्यसपछि उनी अबुधाबीस्थित Craft by Side Hustle मा बार टेन्डरका रुपमा आबद्ध भए । बारमा कामसँगै ब्रुअरीको उत्पादनमा नयाँ प्रयोग र अनुसन्धान प्रक्रियामा सक्रिय रुपमा सहभागी हुँदै उनले ब्रुइङसम्बन्धी प्राविधिक ज्ञान हासिल गरे । उनको मेहनत, अनुशासन र सिकाइप्रतिको लगावबाट प्रभावित म्यानेजर ब्रुमास्टरले उनलाई पूर्णकालीन ब्रुइङ अप्रेन्टिसको अवसर प्रदान गरेका थिए ।


    करिब एक वर्षको प्रशिक्षणपछि ब्रुमास्टर अमेरिका फर्किएपछि कम्पनीले सम्पूर्ण ब्रुइङ जिम्मेवारी थिङलाई सुम्पियो । उनले उत्पादनको गुणस्तर कायम राख्दै कम्पनीको विश्वास जितेका छन् । हालसम्म उनले १८० भन्दा बढी ब्याच क्राफ्ट बियरको उत्पादन प्रयोग गरिसकेका छन् भने ८० भन्दा बढी नयाँ बियर शैली र रेसिपी विकास गरेका छन् ।

    उनले तयार गरेको ‘Himalayan Haze’ नेपाली समुदाय र मातृभूमि नेपालप्रति समर्पित विशेष क्राफ्ट बियरका रुपमा परिचित छ । थिङका अनुसार नेपाली युवाले परम्परागत रोजगारीमा मात्र सीमित नभई सीप, अध्ययन र निरन्तर अभ्यासका माध्यमबाट विश्व बजारमा नयाँ क्षेत्रको नेतृत्वसमेत गर्न सक्छन् । सामान्य बारिस्टाबाट अन्तर्राष्ट्रिय स्तरका प्रोफेसनल ब्रुअरसम्मको उनको यात्रा मेहनत, लगन र व्यावसायिक दक्षताको प्रेरणादायी उदाहरण बनेको छ ।

  • प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

    प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

    रासस
    लमजुङ, २५ साउनः कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिकस्थल र मौलिक संस्कृति । प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनाएको छ । मर्स्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा रहेका प्राकृतिक तथा धार्मिकस्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्रसमेत बन्न थालेका छन् ।

    वडा नं ४ जगतमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा प्राकृतिक वातावरणको आनन्द लिन मानिसहरू पुग्ने गरेका छन् । वडा नं ६ बाहुनडाँडामा रहेको तातोपानी कुण्ड पनि पर्यटकीय सम्भावना बोकेको स्थल हो । प्राकृतिक रूपमा निस्कने तातोपानीमा स्नान गर्दा विभिन्न रोग निको हुने जनविश्वास रहँदै आएको छ । त्यस्तै गाउँपालिकाका विभिन्न डाँडाकाँडाबाट हिमशृङ्खला तथा आसपासका मनोरम भूदृश्यावलोकन गर्न सकिन्छ । वडा नं ३ मा रहेको हर्सिङडाँडा प्राकृतिक दृश्यावलोकनका साथै ऐतिहासिक महत्व बोकेको स्थल हो ।

    राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालमा गाईवस्तु चराएको स्थानका रूपमा समेत हर्सिङडाँडालाई लिइन्छ । ऐतिहासिक व्यक्तित्वसँग जोडिएको यो स्थललाई पर्यटनसँग जोडेर विकास गर्नसके थप पर्यटक आकर्षित गर्न सकिने स्थानीयको विश्वास छ । मर्स्याङ्दी गाउँपालिकाको पर्यटन प्राकृतिक सम्पदामा मात्र सीमित छैन । यहाँको मौलिक संस्कृति पनि अर्को महत्त्वपूर्ण आधार हो । विभिन्न समुदायले मनाउने चाडपर्व तथा परम्परागत नाचगानले स्थानीय सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ ।

    घाँटु, सोरठी, कृष्णचरित्र, बालन, झ्याउरे, तामाङ सेलोलगायतका सांस्कृतिक गतिविधिलाई पर्यटनसँग जोड्न सके स्थानीय कला र संस्कृतिको संरक्षणसँगै आम्दानीको स्रोत बनाउन सकिने उत्तिकै सम्भावना छ । गाउँपालिकाका विभिन्न वडा यी पर्यटन तथा यातायात मार्गसँग जोडिएकाले मनाङतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलतर्फ आकर्षित गर्न सकिने अवस्था छ ।

    विशेषगरी पर्यटकीय मौसममा अन्नपूर्ण पदमार्ग हुँदै आउने विदेशी पर्यटक तथा मनाङ जाने यात्रीलाई स्थानीय गन्तव्यसँग जोड्न सके पर्यटनको लाभ गाउँपालिकाका विभिन्न बस्तीमा पुर्याउन सकिन्छ । स्थानीयवासी पूर्णबहादुर गुरुङ मर्स्याङ्दी गाउँपालिका प्राकृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले यसको सम्भावनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउँछन् । पर्यटकीय सम्भावना भएका स्थानको पहिचान गरी संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमा थप ध्यान दिन सके स्थानीयले त्यसबाट लाभ लिन सक्ने उनको भनाइ छ ।

    हर्सिङडाँडाको पर्यटकीय सम्भावनालाई स्थानीयस्तरबाटै उपयोग गर्न थालिएको छ । ऐतिहासिक व्यक्तित्व भक्ति थापासँग जोडिएको स्थल भएकाले पर्यटक आकर्षित गर्न आफूले त्यहाँ पर्यटनलक्षित व्यवसाय सञ्चालन गर्दै आएको पूर्णबहादुरले बताए । प्राकृतिक सौन्दर्य र ऐतिहासिक पहिचानलाई एकैसाथ उपयोग गर्न सके हर्सिङडाँडा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने उनको विश्वास छ । मर्स्याङ्दी गाउँपालिकामा सडक तथा अन्य पूर्वाधार विस्तार भइरहेकाले पर्यटन विकासका लागि थप आधार तयार हुँदै गएको छ ।

    पर्यटकीयस्थलसम्म सहज पहुँच, पदमार्ग, खानेपानी, शौचालय, सरसफाइ, सूचना केन्द्र, सङ्केतचिह्न र घरबासलगायतका पूर्वाधारलाई व्यवस्थित बनाउन सके यहाँको पर्यटनले थप गति लिनसक्छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ मर्स्याङ्दी गाउँपालिका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको बताउँछन् । यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै प्रचारप्रसारलाई प्राथमिकता दिइएको उनले बताए ।


    पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन, आवश्यक पूर्वाधार निर्माण तथा पर्यटकीयस्थलसम्म यातायात सेवा विस्तारमा गाउँपालिकाले ध्यान दिइरहेको उनको भनाइ छ । “यहाँका सम्पदाको संरक्षणसँगै व्यापक प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माण र यातायात पहुँच विस्तार गरी पर्यटक आकर्षित गर्ने वातावरण बनाउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ”, अध्यक्ष गुरुङले भने ।

    अन्नपूर्ण पदमार्ग र बेँसीसहर–चामे सडकसँगको पहुँचलाई स्थानीय पर्यटकीय गन्तव्यसँग जोड्दै संरक्षण, पूर्वाधार विकास, स्थानीय समुदायको सहभागिता र व्यवस्थित प्रचारप्रसारलाई सँगसँगै अघि बढाउन सके मर्स्याङ्दी लमजुङकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनसक्ने सम्भावना छ ।

  • पशुपतिनाथमा दर्शनार्थीको ओइरो

    पशुपतिनाथमा दर्शनार्थीको ओइरो

    काठमाडौँ, २५ साउनः आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।

    पशुपति प्रस्थान मार्ग गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थान र आसपासबाट पनि भक्तजन पशुपतितर्फ जानेक्रम जारी छ । गौरीनगरसम्म लामो लाम पनि लागेको छ ।

    यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन एवं विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । बिहानैदेखि सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि लाम लागेको छ । दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक सङ्घ–संस्थाको विशेष सेवा तथा सहभागिता रहेको छ । सवारी आवागमन व्यवस्थित गर्न गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगरमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ ।

    बिहान ३ः०० बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि राति ८ः०० बजेसम्म खुला रहने छ । विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म मात्र हुने जनाइएको छ । मन्दिर प्रवेशका लागि चारतिरबाट लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजन आए पनि लामो समयसम्म लाममा बस्नुपर्ने अवस्था नरहेको कोषले जनाएको छ ।

    यसैगरी, पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था पनि गरिएको छ । विभिन्न सङ्घ–संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । यहाँका प्रसिद्ध शिवालय गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको ‘सानो पशुपतिनाथ’ भनेर चिनिने मक्खन महादेवलगायत ठूला–साना सबै शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको रासस प्रतिनिधिहरूले जनाइएका छन् ।

  • गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

    गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

    रसुवा, २४ साउनः जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।
    आगामी भदौ १२ गतेको मेलाका निम्ति यहाँका होटल व्यवसायीले प्रतीक्षालय, शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा दाल, चामल, तेल, नुन तथा मसलालगायत खाद्य सामग्री ढुवानी गरिरहेका छन् ।

    गोसाइँकुण्ड मार्ग होटल व्यवसायी सङ्घका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्मका २५ भन्दा बढी होटलले तयारी तीव्र गतिमा गरिरहेका छन् ।

    तीर्थयात्रीलाई आवासको असुविधा नहोस् भन्ने उद्देश्यले दुई सयभन्दा बढी थर्पु (टहरा) निर्माण भइरहेका छन् । यसैबीच, लाङ्टाङ राष्ट्रिय निकुञ्जले हरेक थर्पुमा शौचालयको प्रबन्ध गर्न होटल व्यवसायीलाई अनुरोध गरेको छ ।

  • दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

    दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

    बागमती, २३ साउनः पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेची–महाकाली साइकल यात्राको लक्ष्यसहित हेटौँडा आइपुगेका छन् । यही अगष्ट १ तारिख (साउन १६ गते) देखि काँकडभित्ताबाट साइकल यात्रा सुरु गरेका उनीहरु यात्राको सातौँ दिन हेटौँडा आइपुगेका हुन् । आफूहरू आजै चितवनतर्फको यात्रा गर्ने साइमनले जानकारी दिए ।

    हेटौँडा आइपुगेका उनीहरुलाई आज हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापामगरसहित सोसाइटीका पदाधिकारी तथा सदस्यले स्वागत गरे ।
    आफू पनि बाल्यावस्थादेखि साइकलयात्रा गर्ने गरेको अनुभव सुनाउँदै ३७ वर्षीय साइले १० वर्षीय छोरा ग्रावियलको मेची(महाकाली साइकल यात्रा गर्ने इच्छाअनुसार यात्रामा निस्किएको जानकारी दिए । रा ग्रावियल पोखरास्थित शुभकामना विद्यालयमा कक्षा ४ मा पढ्दै छन् । साइकल यात्रा यति नै दिनमा पूरा गर्ने भन्ने नभए पनि करिब १५ देखि २० दिनमा यात्रा पूरा गर्ने उनले बताए ।

  • एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

    एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

    रासस
    इलाम, २३ साउनः मेची राजमार्गअन्तर्गत इलाम(राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका(९ स्थित इलाम(राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन । माथिबाट लेदोसहितको पहिरो खस्नुका साथै सडक भाँसिएपछि एक महिनायता अवरुद्ध रहेको सो सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।


    “पहिरो पन्छाएपछि भाँसिएका क्षेत्रमा पुरेर ग्राभेल गरी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ”, उनले भने, “वर्षाका कारण दलदलमा काम गर्न सकिँदैन । तीन–चार दिन घाम लागेपछि मात्र काम सुरु हुन्छ, तर काम सम्पन्न नहुँदै पानी परेर पुनःभाँसिने समस्याले हैरानी बनाइरहेको छ ।” घाम लागेमा भाँसिएको स्थान पुरेर ग्राभेल गर्ने, भित्तातर्फ अस्थायी ड्रेन निर्माण गर्ने गरी सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।


    सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले सडक खुलाउन प्रयास गरिरहेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सुरक्षाकर्मी, स्थानीयलगायतको सहकार्यमा प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । “सडक खुलाउन हामी दिनरात लागिरहेका छौँ”, उनले भने, “तर अलिकति पानी पर्नासाथ सडक भाँसिने प्रमुख समस्या छ ।”

    सडक अवरुद्ध भएपछि एक महिनादेखि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद बनेको स्थानीय बताउँछन् । इलामसहित पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका सवारीसाधन माइखोला वारिसम्म र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका सवारीसाधन माइखोला पारीसम्म आउनेरजाने गरिरहेका प्रजिअ ढकालले जानकारी दिए ।


    उनका अनुसार माइखोला पारिबाट वारी पहिरोमाथिसम्म र वारी पहिरोमाथिबाट माइखोलापारीसम्म करिब डेढ किलोमिटर यात्रुलाई पैदल आवतजावत गर्नुपर्ने बाध्यता छ । बिरामी, अशक्त एवं ज्येष्ठ नागरिकलाई भने स्टेचरमा बोकेर माइखोला पारीसम्म पुर्‍याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका उनले बताए ।


    नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बिरामी, अशक्त एवं ज्येष्ठ नागरिकलाई स्टेचरबाट बोकेर पहिरो प्रभावित क्षेत्रमा वारपार गर्न सहयोग गरिरहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए । प्रहरी निरीक्षक देविदत्त मोतेको नेतृत्वमा १० जना प्रहरी आलोपालो गरी २४सै घण्टा पहिरो प्रभावित क्षेत्रमा खटिएको उनले बताए ।

    सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले भने बिहानदेखि बेलुकासम्म समन्वय सहयोग गरिरहेका छन् । प्रहरीले सो क्षेत्रमा गत असार १७ गतेदेखि हेल्पडेक्स (सहायता कक्ष) स्थापना गरी सहयोग गर्दै आएको छ ।

    वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक)अन्तर्गत पुवाखोला र तिल्केनी(सिमलगोलाई सडकअन्तर्गत जोगमाइ खोलामा समेत पुल नभएकाले समस्या भइरहेको प्रजिअ ढकालले उल्लेख गरे । घाम लागेका बेला अस्थायी डाइभर्सन निर्माण गरी सडक सञ्चालन गरिए पनि वर्षा हुनसाथ बाढीले डाइभर्सन बगाउने समस्याले इलामबाट झापा झर्ने कुनै वैकल्पिक सडक नभएको उनले बताए ।


    गत असोज १८ गतेको वर्षासँगैको पहिरोले अवरुद्ध भएको सो सडक १४ दिनपछि सञ्चालन भएको थियो । यसपटक भने उक्त सबैभन्दा बढी समय अवरुद्ध भएको हो ।

    सडकका कारण उपभोग्य सामग्री महङ्गियो

    सडक अवरुद्ध भएपछि निर्माणसहित दैनिक उपभोग्य सामग्री महङ्गिएका छन् । सामान्य अवस्थामा झापाबाट इलामसम्म प्रतिकिलो रु दुई सयमा आउने सामान अहिले रु पाँच सयदेखि छ सयसम्म पुग्न थालेको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलेले बताए । मेची राजमार्गमा ठूला सवारीसाधन कुद्न सकेका छैनन् । साना गाडीबाट सामग्री ल्याउनुपरेकाले ढुवानीमा महँगो पर्ने गरेको हो”, उनले भने ।
    खाना पकाउने ग्यासको अभाव

    पछिल्लो समय इलाममा खाना पकाउने ग्यासको अभाव देखिएको छ । यसअघि आधा सिलिण्डर ग्यास बिक्रीवितरण हुँदा उपभोक्तालाई केही सहज भए पनि पूरा सिलिण्डर आपूर्ति र्न थालेपछि बजारमा अभाव देखिएको स्थानीय प्रकाश नेपालले बताए । “आफ्नै घर हुनेले जसोतसो आगो बालेर भए पनि खाना पकाएर खान सक्छन् । तर कोठा भाडामा बस्ने विद्यार्थीलाई सबैभन्दा बढी समस्या परेको छ”, उनले भने, “नियमित विद्युत् आपूर्तिमा समस्या भइरहेकाले वैकल्पिक उपायका रूपमा विद्युतीय चुलोसमेत चलाउन पाइएको छैन ।”

  • ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

    ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

    बागलुङ, २३ साउनः ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ । नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या एक वर्षमा १३ हजारले बढेको कार्यालयका रेञ्जर सागर सुवेदीले जानकारी दिए । ढोरपाटनमा पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार तथा व्यवस्थित होटल तथा घरबास ९होमस्टे०को विकासले पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेको उनले बताए ।

    रेञ्जर सुवेदीका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै पर्यटकबाट प्राप्त हुने राजस्व पनि बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०८२–८३ मा ढोरपाटनमा आउने पर्यटकको सङ्ख्या ३७ हजार ५२० पुगेको जनाउँदै तीमध्ये ३७ हजार २७० नेपाली पर्यटक रहेका उनले बताए । उनका अनुसार आव २०८१–८२ मा २३ हजार ६९२ र आव २०८०–८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेका छन् ।

    ढोरपाटन क्षेत्रको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकीपाटनको चर्चा र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ । उनका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि आव २०८२–८३ मा पर्यटक प्रवेश शुल्कबाट रु ४७ लाख ६८ हजार ४०५ र आव २०८१–८२ मा रु ३१ लाख २१ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।

    पर्यटक सूचना प्रणलीको विकास, पर्यटन पदमार्गको रुट कायमलगायत पूर्वाधार विस्तारका कारण ढोरपाटनको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटकको आगमन बढेको आरक्ष कार्यालयका रेञ्जर सुवेदीले बताए । उनका अनुसार आरक्षले आन्तरिक तथा नेपाली पर्यटकलाई ढोरपाटन प्रवेशका लागि रु १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र विदेशी पर्यटकलाई रु तीन हजार प्रवेश शुल्क लिँदै आएको छ ।

    यस्तै आरक्षले ढुङ्गा गिट्टी बालुवाबाट आर्थिक वर्ष २०८२–८३ मा रु एक करोड एक लाख २७ हजार ९५३ सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा सङ्कलन भएको राजस्व रु ४६ लाख ४१ हजारले बढी हो । “ढोरपाटनको आकर्षण अहिले बाहिर आउन थालेको छ । यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुनुको प्रमुख कारण प्रचारप्रसार रहेको छ । पर्यटकीय पूर्वाधार थपिनु, बुकीपाटन, बुकीफुल र जलजलाको चर्चासँगै पदयात्रीको रोजाइ पर्नु र होटल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका हुन्”, सुवेदीले भने ।


    ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । समुद्री सतहबाट दुई हजार ९०० मिटरको ढोरपाटन उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन् । पर्यटकलाई शुल्क तिरेर पालसहित बस्ने व्यवस्था पनि मिलाइएको आरक्ष कार्यालयका रेञ्जर सुवेदीले जानकारी दिए ।

  • पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

    पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

    काठमाडौँ, २३ साउनः आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान हुनुभएको पशुपति क्षेत्रमा साउनको चौथो सोमबारको तयारीस्वरूप सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरूप विगत पाँच हप्ता अघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो । सफाइको पाँचौँ साता आज पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहनुभएका स्थानीयवासी एव पशुपतिका भण्डारी केदारमान भण्डारीले राससलाई जानकारी दिए ।


    पाँचौँ हप्ताको आजको सफाइका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोकाअघिको क्षेत्र एवं मूल ढोका प्रवेश मार्ग क्षेत्रमा पनि सफाइ गरिएको उनले बताए । भुवनेश्वरी मन्दिरअघिबाट सुरु भएको सफाइ इट्टापाखा, जयवागेश्वरी, सुन्धारा, भण्डारखाललगायत क्षेत्रमा सफाइ गरिएको छ । सौरमासअनुसार साउनको अन्तिम सोमबार भक्तजन धेरै हुने भएकाले मन्दिरको सुरक्षा संयन्त्र कडाइ गर्न लागिएको छ ।

    यही साउन २५ गते सोमबार बोल बम यात्रा पनि धेरै भएकाले पशुपति क्षेत्रमा विशेष व्यवस्था गरिएको कोषले जनाएको छ । बोल बम यात्रीलाई वासुकितिरबाट प्रवेश गराएर मूल मन्दिरको उत्तरढोकाबाट जल चढाउने व्यवस्था मिलाइएको पनि परिषद् सदस्य भण्डारीले बताए ।


    सफाइमा तीन वटै सुरक्षा निकायका अधिकारीहरू कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरू, कोषका कर्मचारी, स्थानीय सङ्घसंस्थालगायत स्थानीयवासीको पनि सक्रिय सहभागिता रहेको पनि उनले सुनाए । प्रहरी पहरा गणलगायत सुरक्षा निकायको पनि सफाइमा सहभागिता रहेको थियो । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा राख्न चेतना जगाउने उद्देश्यले सफाइ अभियान सुरु गरिएको हो ।

    यो वर्ष साउन महिनामा चार वटा सोमबार परेको छ । पहिलो, दोस्रो र तेस्रो सोमबार साउन ४, ११ र १८ गते सम्पन्न भइसकेको छ । यसैगरी, साउनको २५ गतेको तयारी अहिले भइरहेको छ । सौरमासअनुसार बाँकी एउटा सोमबार भक्तजनलाई सहज रूपमा पशुपतिनाथ मन्दिरभित्र पूजा, आराधना एवं दर्शन गराउने उद्देश्यले यो सफाइ गरिएको हो ।

    चान्द्रमास अनुसार भने साउन १८ गतेको सोमबार पहिलो थियो । चान्द्रमासअनुसार साउन २५ गते दोस्रो सोमबार र त्यसपछिका दुई वटा सोमबार पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लाम लाग्ने गर्छ । कतिपय भक्तजनले भने चान्द्रमासअनुसार साउन लागेपछि मात्र पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहेको बताएका छन् ।

    यस वर्ष असार अन्तिम साता अस्त भएको बृहस्पति साउन २६ गते उदय हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसैले चान्द्रमास अनुसारका बाँकी दुई सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको लाम लाग्ने भएकाले त्यसैअनुसार तयारी गरिएको जनाइएको छ । साउनको शनिबार आज पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो थियो । शनिबारको सार्वजनिक बिदाका दिन अन्य दिन जान नसक्ने भक्तजनको लाम लागेको हो । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवको बार भएकाले पनि साउन महिना र सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको लाम लाग्ने गरेको छ ।

  • जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

    जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

    वेलिङ्टन, २१ साउन (रासस–एपी) । अष्ट्रेलियाली कम लागतको वायुसेवा कम्पनी जेटस्टारले आगामी फेब्रुअरी २०२७ देखि विमानको ओभरहेड लकर (सिटमाथिको सामान राख्ने ठाउँ)मा क्यारी–अन झोला राखेबापत यात्रुबाट शुल्क लिने भएको छ। कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार यात्रु र कर्मचारीले गेटमा झोलाको तौल जाँच गराउनु तथा ओभरहेड लकरमा ठाउँ खोज्नुपर्ने अवस्थालाई विमानस्थल अनुभवको सबैभन्दा तनावपूर्ण पक्षका रूपमा औँल्याएपछि यो निर्णय गरिएको हो।

    यससँगै जेटस्टार क्यारी–अन झोला ओभरहेड लकरमा राख्न शुल्क लिने पछिल्लो कम लागतको एयरलाइन बनेको छ। अमेरिका र युरोपका धेरै बजेट एयरलाइनले यसअघि नै यस्तो व्यवस्था लागू गरिसकेका छन्। जेटस्टारका अनुसार तोकिएको मापदण्डभित्र पर्ने पर्स, ल्यापटप झोला वा सानो ब्याकप्याक भने यात्रुले आफ्नै अगाडिको सिटमुनि निःशुल्क राख्न सक्नेछन्। ओभरहेड लकर प्रयोग गरेबापत लाग्ने शुल्क एकतर्फी यात्राका लागि २५ अष्ट्रेलियाली डलर (१८ अमेरिकी डलर)बाट सुरु हुनेछ भने गन्तव्यअनुसार फरक पर्नेछ।

    ओभरहेड लकरमा राखिने झोलाको अधिकतम तौल १० किलोग्राम हुनेछ। बोर्डिङका क्रममा कर्मचारीले ती झोलाको तौल जाँच गर्ने छैनन्। सिटमुनि राखिने साना झोलामा हाल कायम रहेको सात किलोग्रामको तौल सीमा भने हटाइने कम्पनीले जनाएको छ। अष्ट्रेलिया र न्युजिल्यान्डका अधिकांश एयरलाइनले चेक्ड लगेज, सिट छनोट तथा खाना–पेयजस्ता अतिरिक्त सेवाका लागि शुल्क लिँदै आएका छन् । तर उद्योग विश्लेषकका अनुसार ओभरहेड लकर प्रयोगबापत शुल्क लिने जेटस्टार पहिलो एयरलाइन हो।

    ‘एयरलाइन रेटिङ्स डट कम’की प्रमुख कार्यकारी अधिकृत शेरोन पिटरसनले यस निर्णयले केही यात्रुमा असन्तुष्टि उत्पन्न हुन सक्ने बताए । उनका अनुसार अष्ट्रेलियाली यात्रु लामो समयदेखि पूर्ण–सेवा सुविधा दिने एयरलाइनको सेवामा अभ्यस्त छन्। जेटस्टारका प्रमुख कार्यकारी अधिकृत स्टेफनी टुलीले नयाँ व्यवस्थाले ओभरहेड लकरको प्रभावकारी उपयोग, बोर्डिङ प्रक्रिया सहज बनाउन तथा उडान समयमै सञ्चालन गर्न सहयोग पुग्ने बताए ।


    उनका अनुसार नयाँ नीतिले यात्रुलाई आफूले आवश्यक परेका सेवाका लागि मात्र शुल्क तिर्ने व्यवस्था सुनिश्चित गर्नेछ। यद्यपि पिटरसनले जेटस्टारको आधारभूत हवाई भाडा युरोपका रायनएयर वा विज एयरजस्ता कम लागतका एयरलाइनको तुलनामा अझै महँगो रहेको टिप्पणी गरे । उनका अनुसार अष्ट्रेलियामा सीमित प्रतिस्पर्धा तथा उच्च सञ्चालन खर्चका कारण यस्तो अवस्था रहेको हो।

  • नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा :अब दुई घण्टामा ११३ किलोमिटर यात्रा

    नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा :अब दुई घण्टामा ११३ किलोमिटर यात्रा

    चितवन, २१ साउनः निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ । त्यसो त कतिपय निजी सवारी चालकहरु एक घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन् ।

    गत वर्षमा दाउन्नेको सडकका कारण कतिपयले यही सडकमा रात बिताउनु परेको थियो । वर्षा र चाडपर्वको बेला पूर्वपश्चिम यात्रा गर्नुपर्ने कतिपय पर्वमा घर जान समेत नसकेको पीडा छ । यहाँका ग्याँस उद्योगी विमल कालाखेती गत साता एक घण्टा ३० मिनेटमा बुटवलबाट नारायणगढ अनुभव सुनाउँछन् । सडक सहज र कतै अवरोध नभएको उनको भनाइ छ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का उद्योगी प्रकाश आचार्य नारायणगढबाट एक घण्टा ५० मिनेटमा घरमा नै पुगेको बताउँछन् । उनले भने, “परिवारसहित निजी सवारीमा आउँदा निकै छिटो आइयो । विगतका सबै दुःख अहिले सडकले बिर्साएको छ ।” विगतमा यात्रा गर्दा दाउन्नेमा लामो जाममा पर्ने गरेको स्मरण गर्दै आचार्यले भने, “नारायणगढबाट साँझ ६ बजे हिँडेर भोलि पल्ट बिहान १०ः०० बजे घर पुगेको थिएँ ।” यसरी धेरै पटक दुःख पाएको उनले बताए । अहिले सडक फराकिलो र निकै गुणस्तरीय भएको उनको भनाइ छ ।

    बुधबार बुटवलबाट दुई घण्टामा नारायगढ आइपुगेका सञ्चारकर्मी प्रकाश ज्ञवालीले विगतमा यही सडक १२ घण्टाभन्दा बढी समय लगाएर पार गरेको बताए । रुपन्देहीको सैनामैनामा बुबा आमासँग दसैं मान्न परिवार सहित भरतपुरबाट जाँदा १२ घण्टा सडकमै बिताएको उनले स्मरण गरे । उनले भने, “झण्डै सात वर्ष हामीले पीडादायी यात्रा सडकमा भोग्यौँ, हिजो म दुई घण्टामा बुटवलबाट नारायणगढ आइपुगेँ ।”

    भरतपुरका एक कर्मचारी आफ्नो निजी गाडीमा नारायणगढबाट एक घण्टा ४४ मिनेटमा बुटवलको चौराहा चोक पुगेको बताउँछन् । बाटोमा दुई ठाउँमा शौच गरेर जाँदा समेत सो समयमा पुगेको उनको भनाइ छ । यो सडकमा समस्या आएर बुटवल–पाल्पालगायतबाट आउने यात्रु पोखरा हुँदै आउनुपर्ने बाध्यता थियो । कतिपयले कालीगण्डकी करिडोरको बाटो समेत प्रयोग गर्ने गरेका थिए । चितवन आउँदा भैरहवाबाट विमानमार्फतकाठमाडौँ हुँदै पुनः चितवनमा आउनेहरु पनि प्रशस्त थिए । कतिपयले भैरहवाबाट पोखरा गएर चितवन आउने गरेका थिए ।

    चौतारी यातायात सेवा प्रालिका अध्यक्ष भुवन बराल पहिले पहिले रातभरी पनि जाममा बस्नुपर्ने सडक अहिले यात्रु झार्दै र चढाउँदै जाँदा पनि तीन घण्टामा पुगिने गरेको बताउँछन् । उनले भने, “विगतमा यो सडक खण्डमा सवारी सञ्चालन गर्दा दैनिक टुटफुट र मर्मत गर्नुपर्ने बाध्यता थियो, अहिले समस्या छैन ।”

    वर्षातको समयमा धेरैले निकै दुःख पाएको यो सडक अहिले सरर बनेको छ । नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालका अनुसार यो सडकको निर्माण दुई खण्डको ९२ प्रतिशत हाराहारी सकिएको छ । सडक सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी रहेको उनले जानकारी दिए ।
    नारायणगढबाट ११३.३५ किमी बुटवलको दूरी छ । यो सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । दुवै ठेक्का एउटै चिनिया ठेकेदार कम्पनीले पाएको छ । करिब रु.१६.९९ अर्ब लागतमा निर्माण भइरहेको यस आयोजनामा एसियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ ।

    चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा पाएको यस आयोजनाको काम विसं २०७५ चैत ८ गतेदेखि सुरु भएको थियो । सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि पटक पटक मिति थप गर्दै आएको छ । ६५ किलोमिटर लम्बाइको नारायणगढ–दाउन्ने खण्डलाई ‘पूर्वी खण्ड’ र ४९ किलोमिटर लम्बाइको दाउन्ने–बुटवल खण्डलाई ‘पश्चिमी खण्ड’ भनिएको छ ।

    नारायणगढ–बुटवल सडक दुई लेनबाट चार लेनमा विस्तार गरिएको हो । बस्ती भएका ठाउँमा छ लेन बनाइएको छ । यस विस्तारअन्तर्गत बजार क्षेत्रको २८ किलोमिटर खण्डलाई छ लेन र अन्य क्षेत्रलाई चार लेनमा स्तरोन्नति गरिएको छ ।

  • नाट्टा अध्यक्षमा युविका भण्डारीको उम्मेदवारी, पर्यटन क्षेत्रको विकासका लागि अनुभवी टोली

    नाट्टा अध्यक्षमा युविका भण्डारीको उम्मेदवारी, पर्यटन क्षेत्रको विकासका लागि अनुभवी टोली

    २० साउन, काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को सन् २०२६–२०२८ कार्यकालका लागि युविका भण्डारी अध्यक्ष पदमा उम्मेदवार बनेकी छन्। उनले पर्यटन व्यवसायमा लामो अनुभव भएका व्यवसायीहरूको सन्तुलित टोलीसहित संस्थाको नेतृत्वमा दाबी प्रस्तुत गर्दै सदस्यको हित संरक्षण, संस्थागत सुधार र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। ‘युविका एन्ड टिम’ ले पर्यटन व्यवसायमा अनुभव, जिम्मेवारी र कार्यक्षमता भएका व्यक्तिहरूलाई समेटेर सशक्त नेतृत्व प्रस्तुत गरेको जनाएको छ। टोलीले संस्थालाई आधुनिक, पारदर्शी, सदस्यमैत्री र प्रभावकारी संस्था बनाउँदै पर्यटन व्यवसायीको साझा आवाजका रूपमा स्थापित गर्ने लक्ष्य लिएको उल्लेख गरेको छ।

    टोलीका अनुसार यो केवल निर्वाचन जित्ने उद्देश्यले बनाइएको समूह नभई संस्थागत सुधार, सदस्यबीच समन्वय अभिवृद्धि, व्यवसायिक हितको संरक्षण तथा पर्यटन क्षेत्रको दिगो विकासका लागि स्पष्ट कार्ययोजनासहित चुनावी मैदानमा उत्रिएको हो। युविका नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा वरुण मेहता, उपाध्यक्षमा धाकिरनाथ काफ्ले, महासचिवमा कृष्णप्रसाद ढकाल, सचिवमा श्रद्धा जोशी, कोषाध्यक्षमा रमा कुमारी प्याकुरेल र सहकोषाध्यक्षमा बिदुर खतिवडा उम्मेदवार रहेका छन्।

    त्यसैगरी कार्यसमिति सदस्यमा प्रदीपप्रसाद उदाया, बिवाश पौडेल, श्रीराम थापा, स्मारिका थापा, संकेत दाहाल, डा। उमेश गुप्ता, होमबहादुर परियार र राजेन्द्रप्रसाद त्रिपाठी उम्मेदवार छन्। टोलीले “पर्यटन उठे, नेपाल उठ्छ” भन्ने नारासहित पर्यटन उद्योगको विकास, व्यवसायीको अधिकार संरक्षण र नाट्टाको संस्थागत सुदृढीकरणलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको जनाएको छ।

  • बेनी–जोमसोम सडक रातिमा बन्द

    बेनी–जोमसोम सडक रातिमा बन्द

    गण्डकी, २० साउनः म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार र बुधबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो ।

    बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । सो सडक भएर यात्रु मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्छन् । सम्भावित विपद् जोखिमलाई दृष्टिगत गरी रातिको समयमा यातायात सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

  • नेपाली मौलिक स्वादको प्रवर्द्धनमा समर्पित ‘सेफ’

    नेपाली मौलिक स्वादको प्रवर्द्धनमा समर्पित ‘सेफ’

    नवीन पौडेल–रासस
    काठमाडौँ, २० साउनः नेपाली रैथाने खानाको स्वादलाई आधुनिक होटल व्यवसायसँग जोड्दै त्यसको पहिचान विस्तार गर्नु आफैँमा एउटा विशिष्ट अभियान हो । यो अभियानको पछाडि खास गरेर मौलिकता जोडिएको हुन्छ । नेपाली स्वाद विश्व समुदायमा विस्तार गर्ने पवित्र अभियानमा संलग्न हुनुहुन्छ, वरिष्ठ ‘सेफ’ रामबहादुर खड्का । युगकवि सिद्धिचरण श्रेष्ठको लोकप्रिय कविता ‘मेरो प्यारो ओखलढुङ्गा’ जस्तै खड्का पनि रैथाने परिकारमार्फत नेपाली सानिध्यता र प्रेम विस्तार गर्दै आउनुभएको छ । किनकि उहाँको जन्मथलो पनि ओखलढुङ्गा नै हो ।

    मौलिकता र रैथाने स्वादको पछाडि जन्मस्थलले बाल्यकालमा सिकाएको ज्ञान अमिट छापका रुपमा सङ्केन्द्रित भएको छ उहाँमा । खड्काले नेपाली खानालाई केवल परिकारका रूपमा होइन, नेपाली संस्कृति, परम्परा र पहिचानका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहनुभएको छ । राजधानीमा उहाँको कामले नेपाली खानाको प्रवद्र्धनसँगै स्वस्थ भोजन संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ ।

    नेपाली, चाइनिज, इन्डियन र कन्टिनेन्टल परिकार बनाउन दक्ष खड्काले करिब २५ वर्षदेखि पाककलाको क्षेत्रमा निरन्तर काम गर्दै आउनुभएको छ । समयअनुसार नयाँ परिकार सिक्ने, नयाँ प्रविधि अपनाउने र ग्राहकको रुचिअनुसार स्वादमा सुधार गर्दै उहाँले आफूलाई सफल सेफका रूपमा स्थापित गर्नुभएको छ ।

    काठमाडौँको जमलस्थित होटल एलो प्यागोडामा कार्यकारी सेफका रूपमा कार्यरत खड्काले विगत १३ वर्षदेखि होटलको भान्साको नेतृत्व गर्दै आउनुभएको छ । उहाँले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय पाहुनाका लागि परिकार तयार गर्दै नेपाली आतिथ्य परम्परालाई व्यावसायिक रूपमा प्रस्तुत गरिरहनुभएको छ ।

    नेपाली मौलिक खानालाई अन्तरराष्ट्रियकरण गर्ने अभियानमा संलग्न खड्काले यसलाई एउटा अभियानको रुपमा लिएको उल्लेख गर्नुहुन्छ ।

    नेपाली खानाको स्वाद विश्वसामु चिनाउन आफू निरन्तर लागिपरेको उहाँ बताउनुहुन्छ । “विदेशी पाहुनालाई सकेसम्म नेपाली खाना चखाउन पाए हुन्थ्यो भन्ने लाग्छ,” उहाँ भन्नुहुन्छ । उहाँका अनुसार नेपाली खानाको स्वाद र पहिचानलाई अन्तरराष्ट्रिय स्तरमा स्थापित गर्ने जिम्मेवारी सेफहरूको पनि हो ।

    ओखलढुङ्गादेखि राजधानीसम्मको यात्रा

    विसं २०३६ पुस २८ गते ओखलढुङ्गामा जन्मिनुभएका खड्कालाई बाल्यकालदेखि नै सेफले लगाउने सेतो कोटले आकर्षित गथ्र्यो । उच्च शिक्षा र रोजगारीको खोजीमा करिब २५ वर्षअघि काठमाडौँ आउँदा जीवन अहिले जस्तो सहज थिएन ।

    उहाँ सम्झनुहुन्छ, “काठमाडौँको एउटा सानो खाजाघरमा सरसफाइ गर्ने कामबाट मासिक रु ३०० तलबमा सुरु भएको यात्रा आज राजधानीका प्रतिष्ठित होटलसम्म आइपुगेको छ ।” भान्सामा सेतो कोट लगाएर खाना बनाउने सेफप्रतिको सम्मानले यो पेसामा लाग्ने प्रेरणा दिएको उहाँ सुनाउनुहुन्छ ।

    “नयाँ ठाउँ, नयाँ काम र अनेक दुःख थिए तर जस्तोसुकै कठिनाइ आए पनि सेफ बन्ने सपना कहिल्यै छोडिनँ,” उहाँ भन्नुहुन्छ ।

    कामसँगै विभिन्न तालिम लिएर उहाँले चाइनिज, इन्डियन, कन्टिनेन्टल र नेपाली परिकार बनाउने सीप हासिल गरेको सुनाउनुभयो । निरन्तरको अभ्यास र मेहनतले उहाँलाई आजको स्थानमा पु¥याएको हो । खड्का यसलाई निरन्तरताको यात्राका रुपमा अथ्र्याउनुहुन्छ ।

    स्वस्थ भोजनप्रति बढ्दो सचेतना

    खड्काका अनुसार अहिले मानिस स्वस्थ खानाप्रति पहिलेभन्दा धेरै सचेत भएका छन् । चिल्लो र अत्यधिक मसलेदार भोजनभन्दा उमालेको वा कम मसला प्रयोग गरिएको परिकार रोज्ने प्रवृत्ति बढ्दै गएको उहाँको अनुभव छ ।

    हामीले बनाउने खानाले मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्छ,” उहाँ भन्नुहुन्छ, “त्यसैले सबैले सन्तुलित र स्वस्थ भोजनमा ध्यान दिनुपर्छ । यसमा सेफको भूमिका अझ जिम्मेवार हुन्छ ।”

    रैथाने खानाको पहिचान जोगाउनुपर्ने

    पछिल्लो समय कोदो, फापर, केराउलगायत रैथाने उत्पादनबाट तयार हुने परिकारलाई होटल उद्योगमा अझ व्यापक रूपमा प्रवद्र्धन गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

    “हामीसँग आफ्नै खानाको छुट्टै सभ्यता, इतिहास र पहिचान छ,” उहाँ भन्नुहुन्छ, “यसलाई एउटा ब्रान्डका रूपमा स्थापित गर्न सेफले नयाँ प्रयोग गर्दै यसको प्रवद्र्धन र प्रचारमा ध्यान दिनुपर्छ ।”

    नेपालमै अवसर देख्ने सेफ

    विदेश जाने सोच छ कि छैन भन्ने प्रश्नमा खड्का नेपालमै बसेर काम गर्न चाहेको बताउनुहुन्छ । लामो समयसम्म विभिन्न विदेशी पाहुनालाई आफ्नो पाककलाको स्वाद चखाएका कारण विदेशबाट अवसर आए पनि नेपाल नछाड्ने निर्णय गरेको उहाँको भनाइ छ ।

    “विदेशबाट अवसर आएका थिए तर नेपाल छोड्न सकिनँ,” उहाँ भन्नुहुन्छ । अहिले उहाँ आफ्नो संस्थालाई अझ सुदृढ बनाउने, युवा सेफलाई प्रेरित गर्ने र नेपाली खानाको व्यावसायिक मूल्य बढाउने काममा केन्द्रित हुनुहुन्छ ।

    नयाँ पुस्ताका लागि ठूलो सम्भावना

    पछिल्ला दिनमा विद्यालय र कलेजमा पाककलाको अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै उहाँ यो क्षेत्र सम्भावनाले भरिएको बताउनुहुन्छ । “यो क्षेत्र पनि एउटा कला हो,” उहाँ भन्नुहुन्छ, “निरन्तर सिक्दै, नयाँ स्वाद र नयाँ शैलीमा काम गर्दै जाँदा आफ्नै छुट्टै पहिचान बनाउन सकिन्छ तर त्यसका लागि मेहनत, लगनशीलता र धैर्य अनिवार्य हुन्छ ।”

    ओखलढुङ्गाको सामान्य गाउँबाट सेतो कोट लगाउने सपना बोकेर राजधानी आएका खड्काको यात्रा सङ्घर्ष, धैर्य र आफ्नो पेसाप्रतिको समर्पणको प्रेरणादायी उदाहरण बनेको छ । विगतको जस्तै आज पनि उहाँ त्यही उत्साहका साथ भान्सामा उभिएर नयाँ स्वाद सिर्जना गर्न र नेपाली खानाको गरिमा अझ उँचो बनाउन निरन्तर लागिरहनुभएको छ ।

    उहाँले यो पेसालाई थप विस्तार गर्न सरोकारवाला सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “सेतो कोटको आफ्नै गरिमा र मर्यादा छ । सेफ असाध्यै सम्मानित पेसा हो । काम पाइएन भनेर निराश भएर नबसौँ । काम सिकौँ, अवसर तपाईंलाई पछ्याउँदै आउँछ,” उहाँले भन्नुभयो ।

    नेपाल र नेपालीको परिचय विश्व समुदायलाई दिलाउने उपयुक्त माध्यम भनेकै मौलिक परिकार हो । त्यसमा सेफको भूमिका झनै महत्वपूर्ण हुने भएकाले यसलाई थप विस्तारित गर्दै परिस्कृत गर्नु आजको आवश्यकता भएको खड्काले सुनाउनुभयो ।

  • प्रधानमन्त्रीले सम्झिए आरोही : साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ

    प्रधानमन्त्रीले सम्झिए आरोही : साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ

    १६ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हिमालमा अस्ताएका शाहसी आरोहीहरुलाई श्रद्धान्जली दिएका छन्, उनी लेख्छन्, आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।

    विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा ९निम्स दाइ० सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ । निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ ।


    सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ।

  • विश्वचर्चित पर्वतारोही निर्मल पूर्जाको निधन भएको पुष्टी

    विश्वचर्चित पर्वतारोही निर्मल पूर्जाको निधन भएको पुष्टी

    १६ साउन, काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको छ ।
    बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो । पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार मध्याह्न हिमपहिरो गएको थियो ।

    उक्त हिमपहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए । पुर्जा टोलीका नेता थिए । पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । पूर्जा बेलायती सेनामा कार्यरत गोर्खा सैनिक थिए । उनी सैनिक पेशा छाडेर पर्वतारोहणमा होमिएसँगै विश्वमा कठिन भन्दा कठिन मानिएका कीर्तिमान बनाउँदै गएका थिए । उनले ८ हजार मिटर अग्ला चुचुरो ५७ पटक चुमिसकेका थिए ।

  • पाकिस्तान हिमपहिरोमा नेपाली आरोही पुरबहादुर गुरुङको निधन भएको पुष्टी

    पाकिस्तान हिमपहिरोमा नेपाली आरोही पुरबहादुर गुरुङको निधन भएको पुष्टी

    १४ साउन, काठमाडौं । पाकिस्तानमा हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी गोरखा, धार्चे गाउँपालिका–४ लाप्राकका पर्वतारोही पुरबहादुर गुरुङको निधन भएको पुष्टी भएको छ । अल्पाइन क्लव अफ पाकिस्तानले उनको निधनको पुष्टी गरेको बीबीसीले जनाएको छ ।

    उनको निधनमा लाप्राकसहित समग्र गोरखा जिल्ला शोकमा डुबेको छ। नेपाली पर्वतारोहण क्षेत्रमा उनको उच्च कद थियो । ३८ वर्षीय गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक तथा आठ हजार मिटरभन्दा अग्ला विभिन्न हिमाल २८ पटक सफलतापूर्वक आरोहण गरिसकेका थिए । लामो समयदेखि अन्तर्राष्ट्रिय हिमाल आरोहण अभियानमा सक्रिय रहँदै उनले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।


    पर्वतारोहणसँगै गुरुङ सामाजिक सेवामा पनि उत्तिकै समर्पित थिए । लाप्राक तथा गोरखाका विपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति, विद्यार्थी तथा विभिन्न सामाजिक संस्थालाई नियमित रूपमा सहयोग गर्दै आएका धार्चे–४ का वडाध्यक्ष किसान गुरुङले बताए । पारिवारिक स्रोतका अनुसार विगत एक महिनादेखि पाकिस्तानमा रहेका गुरुङको बिहीबार बेलुकासम्म परिवारसँग सम्पर्क भएको थियो ।

    नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका प्रशासक शोभित कुँवरले हिमपहिरोमा परेका गुरुङको शव पहिचान भइसकेको र अब कानुनी प्रक्रिया पुरा गरी शव नेपाल ल्याउने तयारी भइरहेको बताए । हिमपहिरोमा परी ६ जना नेपाली आरोहीसहित १० बेपत्ता भएका थिए । त्यसमध्ये ४ शव फेला परेकोमा दुई जनाको पहिचान भएको छ । एक नेपाली आरोही र अर्का ओमानका आरोहीको पहिचान भएको हो ।

  • निर्मल पूर्जासहित १० आरोही पाकिस्तानमा हिमाल चढ्दा वेपत्ता

    निर्मल पूर्जासहित १० आरोही पाकिस्तानमा हिमाल चढ्दा वेपत्ता

    १५ साउन, काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् ।

    टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिक रहेका छन् । टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन् ।

    विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । पाकिस्तानको अल्पाइन क्लबले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग निरन्तर समन्वयमा रही तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ । हेलिकोप्टर परिचालनसहित उपलब्ध सबै स्रोत–साधन यथाशीघ्र परिचालन गर्न हरसम्भव प्रयास भइरहेको क्लबले उल्लेख गरेको छ ।

    क्लबले सबै आरोहीहरूको सकुशल उद्धारको कामना गर्दै यस कठिन घडीमा उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता जनाएको छ । निर्मल पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ती भएका थिए भने सन् २००९ मा रोयल मरीन बनेका थिए । सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्राका क्रममा पर्वतारोहणप्रति आकर्षित भएका उनले सुरुमा आधार शिविरबाट फर्किने योजना बनाए पनि निर्णय परिवर्तन गर्दै सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता उनी विश्वकै चर्चित पर्वतारोहीमध्ये एकका रूपमा स्थापित भएका छन् ।

  • अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

    अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

    गण्डकी, ६ साउनः अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । आर्थिक वर्ष २०८२/८३ मा उक्त मार्गमा भ्रमणका लागि निस्किएका १२ जना नेपाली, नौ जना भारतीय र जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका क्रमशः एक एक जना गरी २५ व्यक्तिको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

    मुस्ताङमा १५, मनाङमा आठ, अन्नपूर्ण आधार शिविरमा एक र मर्दी हिमालमा एक जनाको मृत्यु भएको हो । मृत्यु भएका नेपालीमध्ये चार जना पथप्रदर्शक र भरिया रहेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो ।

    पदत्रायाका क्रममा लडेर र अन्य दुर्घटनाका कारण सोही अवधिमा पाँच जना पर्यटकले ज्यान गुमाएका छन् । भारतीय पर्यटकको मनाङको पदयात्राका क्रममा भारी हिमपात हुँदा मृत्यु भएको थियो ।

    एक जना अष्ट्रेलियन पर्यटकको मनाङको हिमलुङ हिमाल चढेर फर्कने क्रममा ज्यान गएको हो । मर्दी हिमालको पदयात्राका क्रममा एक जना नेपाली पदयात्री र जर्मनी नागरिकको म्याग्दीको खोप्रा लेकमा पदयात्राका क्रममा मुत्यु भएको थियो । लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा हुने गरेका छन् । आव २०८०/८१ मा २१ र आव २०८१/०८२ मा १९ जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो ।

    लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा हुने गरेका छन् । आव २०८०/८१ मा २१ र आव २०८१/०८२ मा १९ जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो । सडकमार्ग भएर मुक्तिनाथ दर्शनका लागि जाने नेपाली र भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो ।

    “हिमाली तथा उच्च पहाडी भेगको यात्रामा जाँदा एकैपटकमा धेरै उचाइमा पुग्न हुँदैन, विश्राम लिँदै जानुपर्छ”, उहाँले भन्नुभयो, “लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्किहाल्नुपर्छ ।”

    पदयात्रामा लडेर मृत्यु हुने गरेका घटना बर्सेनि दोहोरिने गरेका छन् । लामो दूरीको पदयात्रामा निस्कँदा एक्लै नगई समूहमा या पथप्रदर्शक लिएर जानुपर्छ । कम उचाइ भएको ठाउँबाट गाडीमा एकैपटकमा मुक्तिनाथलगायत उच्च भेगमा पुग्दा लेक लाग्ने समस्या देखिने गरेको छ ।

    स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको पथप्रदर्शक दिवस गुरुङले बताउनुभयो । पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा ५०० भन्दाबढीको उचाइ पार नगर्न सुझाव दिनुभयो ।

  • शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता

    शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता

    न्यूयोर्क, ३ साउन (राससएएफपी) । फिफा विश्व कप २०२६ मा गोलको नयाँ रेकर्ड बनेका छन् । शनिबार रातिको खृलबाट फ्रान्सका अग्र पङ्तीका किलियन एम्बाप्पेले २२ गोल गर्दै विश्वकप इतिहासमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड आफ्नो नाममा दर्ता गरेका छन् । अर्जेन्टिनाका लियोनल मेसी २१ गोलसहित उनको ठीक पछाडि छन् । तर उनले फाइनलको एक खेल खेल्न अझै बाँकी छ । फाइनल दुवै खेलाडीको रेकर्ड चर्चाको केन्द्र बनेको छ ।

    फिफा विश्वकप सन् १९३० देखि नै विश्वका महान फुटबल खेलाडीहरूको सबैभन्दा ठूलो मञ्च रहँदै आएको छ । यस प्रतियोगितामा धेरै दिग्गजले गोलबाट इतिहास रचेका छन्, तर २०२६ विश्वकपले गोल रेकर्डको तस्बिर पूरै बदलिदिएको छ ।

    लामो समयसम्म १६ गोलसहित शीर्ष स्थानमा रहेका जर्मनीका मिरोस्लाभ क्लोजलाई यो बर्षको खेलमा पहिले मेसी र पछि एम्बाप्पेले उछिनेका छन्। मेसीले एक पटक फेरि एम्बाप्पेलाई पछाडि पार्न सम्भव छ वा एम्बाप्पेले यस शीर्षकमा जादुमयी फुटबलर मेसीलाई उछिन्नेछन् । नेपाली समय अनुसार आइतबार राती १२ः४५ बजे सुरु हुने विश्वकप फाइनलअघि सबैको ध्यान यो कुरामा छ ।

    –सर्वाधिक गोलकर्ता एम्बाप्पे–

    फ्रान्सका स्टार स्ट्राइकर एम्बाप्पेले सन् २०२६ को विश्वकपमा १० गोल गर्दै आफ्नो कुल गोल सङ्ख्या २२ पु¥याएका छन् । उनले २०१८ मा चार गोल, सन् २०२२ मा आठ गोल र सन् २०२६ मा १० गोल गरेका छन् । उल्लेखनीय कुरा के छ भने उनले यो उपलब्धि मात्र २२ खेलमा हासिल गर्दै अहिलेसम्म विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बने ।

    –मेसीलाई फाइनलमा रेकर्ड फर्काउने मौका–

    अर्जेन्टिनाका कप्तान लियोनल मेसीले छ वटा विश्वकप खेल्नुभएको छ र ३३ खेलमा २१ गोल गरेका छन् । सन् २०२६ को संस्करणमा उनले आठ गोल गर्दै क्लोजको रेकर्ड तोडेर अग्रस्थान लिएका थिए । तर एम्बाप्पेले पछि उनीहरूलाई उछिने । अब स्पेनविरुद्धको फाइनलमा मेसीसँग फेरि नम्बर–१ बन्ने सुनौलो अवसर छ। उहाँलाई यसका लागि दुई गोल चाहिन्छ ।

    –क्लोज र ब्राजिलका रोनाल्डो क्रमशः तेस्रो र चौथो स्थानमा–

    जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलसहित तेस्रो स्थानमा झर्नुभएको छ भने ब्राजिलका महान स्ट्राइकर रोनाल्डो नाजारियो १५ गोलसहित चौथो स्थानमा छन् । इङ्ल्याण्डका ह्यारी केन, जर्मनीका गर्ड म्युलर र फ्रान्सका जस्ट फोन्टेन पनि विश्वकप खेल इतिहासमा धेरै गोलकर्तामध्येको सूचीमा छन् । इङ्ल्यान्डका कप्तान ह्यारी केन र पश्चिम जर्मनीका गर्ड म्युलर १४ गोलसहित संयुक्त पाँचौं स्थानमा रहेका छन् । फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ मा एकै विश्वकपमा १३ गोलको रेकर्ड बनाउनुभएको थियो । यो रेकर्ड अहिलेसम्म कायम छ ।

    अब सबैको ध्यान स्पेन र अर्जेन्टिनाबीच हुने फाइनलमा छ। यदि मेसीले यो फाइनलमा दुई वा सोभन्दा बढी गोल गरे भने उनी एम्बाप्पेलाई पछाडि पारेर फेरि विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सक्नेछन् ।

  • चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व

    चितवन, ३ साउनः अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ । गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटक उक्त क्षेत्रमा आएकामा अघिल्लो आवमा दुई लाख ३१ हजार ३२९ पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए । सार्क मुलुकका २२ हजार ८८३ तथा अन्य मुलुकका ८८ हजार ६६५ पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन् ।

    एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन् । गत आर्थिक वर्षमा निकुञ्जले पर्यापर्यटनबाट रु २७ करोड ६३ लाख ३९ हजार ९५० राजस्व सङ्कलन गरेको जनाएको छ । काठदाउरा, गैरकाष्ठ वन पैदावार बिक्री, जरिवानालगायत शीर्षकमा रु ३१ करोड एक लाख ६४ हजार ५५१ राजस्व सङ्कलन भएको छ ।

  • जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    १ साउन, बन्दीपुर । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ रामकोटतर्फ आकर्षित हुन थालेका छन् । बन्दीपुर बजारबाट करिब आठ किलोमिटर पश्चिममा रहेको रामकोटस्थित सामुदायिक घरबास (होमस्टे)मा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ ।

    मगर समुदायको बाक्लो बसोबास र ढुङ्गाले छाएका मौलिक घर रहेको रामकोटमा २०७५ सालदेखि होमस्टे सञ्चालनमा आए पनि पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावका कारण सुरुआती वर्षमा पर्यटकको चहलपहल कम थियो । गत वर्षदेखि यहाँ स्वदेशी तथा विदेशी पर्यटक उल्लेख्य रूपमा आउन थालेका छन् । हाल दैनिक १५ देखि २० जना तथा बिदाका दिन पर्यटक बास बस्न आउने गरेका छन् । बन्दीपुर आउने विदेशी पर्यटकसमेत रामकोट पुग्न थालेका छन् । रामकोटका मौलिक घर, मगर कला–संस्कृति तथा अग्र्यानिक परिकारका कारण पर्यटक आकर्षित हुन थालेका हुन् ।

    “पहिले निकै कम पर्यटक आउथे । अहिले भने धेरै पर्यटक आउन थालेका छन् । बन्दीपुर आउने पर्यटक ‘एकपटक रामकोट पनि पुगौँ’ भनेर आउँछन्”, रामकोट सामुदायिक होमस्टेका अध्यक्ष निरकाजी आलेले भने, “बन्दीपुरपछिको दोस्रो गन्तव्यका रूपमा रामकोट विकास हुँदै गएको छ । प्रचारप्रसार पनि बढेको छ । हामी खुसी छौँ, अझै धेरै काम गर्न बाँकी छ ।”

    पछिल्लो समय बन्दीपुरबाट रामकोटसम्म ‘भिलेज सफारी’ सेवा सञ्चालनमा आएपछि पर्यटकलाई पुग्न थप सहज भएको छ । भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले बन्दीपुर आउने पर्यटक रामकोट जान उत्सुक हुन थालेको बताए । रामकोटका ९५ घरमध्ये ४८ घर होमस्टे समूहमा आबद्ध छन् । तीमध्ये १५ घरमा मात्र होमस्टे सञ्चालनमा छन् । हाल एक रातमा ३० जनासम्म पर्यटकलाई बस्ने व्यवस्था गर्न सकिन्छ । एक रातको बसाइ र खानाको प्रतिव्यक्ति शुल्क रु एक हजार २०० छ भने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेबापत थप रु तीन हजार लिने गरिएको छ ।

    पछिल्ला वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेसँगै गाउँमा आयआर्जनका अवसर पनि विस्तार भएका छन् । पहिले घाँस–दाउरा र मेलापातमा व्यस्त रहने महिला अहिले मगर पहिरनमा सजिएर लामबद्ध रूपमा ‘झोर्ले’ भन्दै पर्यटकको स्वागत गर्छन् । त्यहाँ पुग्ने पाहुनालाई सेतो अक्षता, फूलको माला र स्टिलको गिलासमा ‘सगुन’ दिएर स्वागत गर्ने परम्परा छ ।

    सामूहिक एकता र स्थानीय संस्कृतिका कारण साँझपख गाउँमा गुञ्जिने झ्याउरे, कौरा र चुट्काले पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ । बेलुका स्थानीय अग्र्यानिक परिकार, कोदो र फापरको ढिँडो, गुन्द्रुकको अचार तथा लोकल कुखुराको मासु पाहुनालाई खुवाइन्छ । खाना पकाउने काममा स्थानीय महिला अग्रसर हुन्छन् भने पुरुषले सहयोग गर्ने गरेका छन् ।

    पर्यटकलाई एउटै घरमा खाना खुवाउने र छुट्टाछुट्टै घरमा बास बस्ने व्यवस्था गरिएको छ । बिहान उनीहरू बसेकै घरमा कोदोको सेलरोटी, तरकारी, अचार र चियासहितको नास्ता गर्छन् । फर्कने बेला प्रत्येक पर्यटकलाई सेतो अक्षता र फूलको माला लगाएर बिदाइ गरिन्छ ।

    समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको रामकोट मगर संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै मानिन्छ । शान्त वातावरण र मौलिक गाउँले जीवनको प्रत्यक्ष अनुभव लिन चाहने पर्यटक यहाँ पुग्ने गर्छन् । यहाँबाट हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले पनि रामकोट पर्यटकको रोजाइमा पर्न थालेको हो ।

    रामकोटका ढुङ्गा छापिएका गल्ली सफा र आकर्षक छन् । मिलाएर राखिएका मकैका सुली, दाउराका खलिया र आँगनमा बिछ्याइएका ढुङ्गाले गाउँको सौन्दर्य थप बढाएको छ । होमस्टे सञ्चालनपछि स्थानीयले कुखुरा, बाख्रा, सुँगुरपालन, तरकारीखेती तथा स्थानीय मदिरा उत्पादनमार्फत अतिरिक्त आम्दानी गर्न थालेका छन् । यसले साना–साना आर्थिक आवश्यकता पूरा गर्न सहज भएको स्थानीय महिला बताउँछन् । होमस्टे सञ्चालनसँगै महिलामा बचत गर्ने बानीको समेत विकास भएको छ । मगर संस्कृतिको संरक्षणसँगै स्थानीयको आयआर्जन बढाउने उद्देश्यले स्थापना गरिएको होमस्टे सफल बन्दै गएकामा स्थानीय खुसी छन् ।

    रामकोट सामुदायिक होमस्टेका अध्यक्ष आले पर्यटकको आगमन बढेसँगै युवाले गाउँमै सम्भावना देख्न थालेको बताउँछन् । उनका अनुसार २०८३ सालभित्र एकै रातमा २०० जना पर्यटकलाई बास बस्न मिल्ने पूर्वाधार तयार गर्ने लक्ष्य राखिएको छ । साथै, युवालाई गाउँमै सक्रिय बनाएर हराउँदै गएको ठाडो भाका र मारुनी नाचको संरक्षण तथा पुनर्जीवनमा पनि जोड दिइनेछ ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले रामकोटका गल्लीमा ढुङ्गा छाप्ने तथा अन्य पूर्वाधार निर्माणका काम पालिकाले समन्वय गरेर अघि बढाइरहेको बताउँछन् । बन्दीपुरसहित व्यास नगरपालिकाभित्रका होमस्टेलाई जोडेर ‘होमस्टे सर्किट’ निर्माण गरी पर्यटकलाई एक रात रामकोटमा बास बस्ने कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । रामकोट बन्दीपुरबाट मुच्चुक हुँदै ५.५ किलोमिटर, सेराटार हुँदै आठ किलोमिटर तथा पृथ्वी राजमार्गको छिर्कनेबाट सात किलोमिटर दूरीमा पर्छ ।