Category: घूमघाम

  • बास्फरस क्षेत्र र इस्तानवुल नहर

    बास्फरस क्षेत्र र इस्तानवुल नहर

    कुमार न्यौपाने, न्युयोर्क

    फेब्रुवरी २०२१, काठमाडौंदेखि न्युर्योकसम्मको यात्रामा इस्तानवुलको ६ घण्टे ट्रान्जिट, हवाइअड्डाको सोफामा अर्को जहाज कुर्दै गर्दा इस्तानवुल नहरको समाचारले ध्यान तान्छ र मनमा खुल्दुली बढ्छ । विगतका घटनाहरु र हालसालैको टर्किस सरकारको नहर सम्बन्धी योजनाबिच यसका सम्बन्धित पक्षहरु माझको राजनिती तातिएको देखिन्छ । त्यसैले सम्बन्धित देशमा रहँदाको बखत कोट्याइएको सम्बन्धित देशकै समाचारले आज केही हरफहरु लेख्न लगायो ।


    उहिलेको रोमन कन्स्टान्टोनोपल;

    आजको इस्तानवुल, टर्किको सबैभन्दा ठुलो सहर जुन युरेसीया अर्थात दुइ महादेशमा फैलिएको छ । युरोपेली र एसियाली भुमी बीचबीचै पश्चिमतिरबाट मारमरा समुन्द्रको पानी छिरेर कृष्णसागरमा मिल्छ, त्यही पानी र तटीय जमिनको भागलाई बास्फरस क्षेत्र मानिन्छ । आठ सय बर्षको अट्टोमान साम्राज्यको पतनसंगै भु­मध्यसागरको मुख जिब्राल्टारदेखि कृष्णसागरसम्मको जलशक्ति जलमार्गमा कसले र कसरी प्रभाव पार्ने भन्ने होड सुरु हुन्छ । त्यो होडमा भौगोलिक रुपमा निकै पर रहेतापनि बेलायत सबैभन्दा बढी चनाखो देखिन्छ । जव बिशाल अट्टोमान साम्राज्य खुम्चीएर सग्लो टर्की देश बन्छ तब उ थुप्रै आन्तरिक समस्याहरुसंग जुध्दै हुन्छ । सामुन्द्रिक सामरिकता र राजनीतिको तालमेल मिलाउन नसक्दा त्यस क्षेत्रमा बेलायत, फ्रान्स र तत्कालीन सोभियत संघको सुरक्षा चासो बढ्दै हुन्छ ।
    बास्फरस र वरपरको जल क्षेत्रमा कसको अधिकार भन्ने होडबीच उत्पन्न समस्याको समाधान खोज्न सन १९३६ मा स्वीजरल्याण्डको मोन्ट्रेक्स सम्मेलन हुन्छ । बेलायत, फ्रान्स, सोभियत संघ, युगोस्लाभिया, जापान, जर्मनी लगायतको उपस्थितिमा भएको सम्मेलनले बास्फरसको अधिकार, सुरक्षा र संचालनको अधिकार टर्कीलाई नै दियो । टर्कीले सबै अधिकार पाए संगै केही शर्तहरु पनि पाउँछ । प्रमुख शर्तले टर्किले बास्फरस जलक्षेत्रबाट वारपार हुने जहाजहरुमा कर लगाउन नपाउने भयो र कृष्णसागर तटीय देशहरुको सामान्य प्रयोजनका जहाजहरु बाहेकका युद्घपोतहरु, युद्घसामग्री बोकेका जहाजहरु र तोकिएको वजन र आकार भन्दा ठुला जहाजहरुमा प्रतिबन्ध लाग्यो । यस सन्धिले खासगरी सोभियत संघलाइ भु­मध्यसागरमा हालीमुहाली गर्न रोक्ने बेलायती रणनीति थियो । त्यसबेला अमेरीकाले आफ्नो पर्यबेक्षक मात्र पठायो तर भु­मध्यसागर तटीय देश इटाली आफ्नो साम्राज्य बिस्तारको मनस्थितिमा नै भएकोले सम्मेलनको हिस्सा बनेन, जर्मनीले सम्मेलनमा भाग लिएर पनि सहि गरेन र जापानले शर्त सहितको सहमति जनाएर सन्धि भयो । इटली, जर्मनी र जापानको उक्त निर्णयहरुले के देखाउँछ भने १९३९ मा शुरु भएको दोश्रो बिश्वयुद्घको तयारी यसै गरी निकै पहिलादेखि भइरहेको थियो भन्न सकिन्छ ।


    त्यस सन्धिको प्रभाव हालसम्म पनि कायमै रहेको बेला बास्फरस भन्दा केही उत्तर इस्तानवुल एयरपोर्टसंगै बन्न लागेको ४५ कि.मी. लामो नहरले सबै शक्ति राष्ट्रहरुको ध्यान तानेको छ । यस योजनाले बास्परस जलमार्गको अत्याधिक चापलाई घटाउँछ र सन्धिले बाँधिएको टर्कि बन्धनबाट मुक्त हुन्छ भन्ने एकथरीको भनाइ छ । एकातिर टर्किका महत्वाकांक्षी राष्ट्रपतिको पटकपटकको चुनावी नारा बन्ने गरेको उक्त महत्वकांक्षी नहरको आयोजनाले तीनको राजनैतिक भविष्य निर्धारण गर्ला नगर्ला तर त्यस क्षेत्रको आर्थिक बिकासमा टेवा दिने देखिन्छ । अर्कोतिर पहिलेदेखि नै रुसको बास्फरस जलक्षेत्र कव्जा गर्ने नीति बेलायतीहरुले सफल हुन नदिएपछि अझै केही गर्न सकिन्छ कि भन्दै दाउ खोज्दै आँखा गाडिरहेकै छ । पछिल्लो समय जब टर्किले अमेरीकी हतियारको सट्टा रुसी हतियार खरीद गर्यो तब अमेरीका र बेलायतसंग टर्किको खासै न्यानो सम्बन्ध नभएको मौका छोपी यस नहरमार्फत रुस उसको नौसैनिक गतिबिधि र जहाजहरुको प्रभाव क्षेत्र बृद्घि गर्नमा पक्कै लागी पर्नेछ तर त्यो कुन रुपमा हुन्छ, टर्कि र रुसबीच हुन सक्ने आगामी सन्धि सम्झौताका दफाहरुले बताउला । उसले सोचेको जस्तो हुनसक्ने कम सम्भावना देखेको रुसलाई आफ्नो शक्तिलाई फैलाउनु भन्दापनि नेटोको युद्घपोतहरुको कृष्णसागरमा हुनसक्ने सहज प्रवेशले पिरोलेको छ । उ बेला बेलायत लगायतहरुले भु­मध्यसागरमा सोभियतको प्रबेश रोक्न गरेको राजनीति र हाल रुसले कृष्णसागरमा नेटोलाई रोक्न उक्त नहर निर्माणमा गरेको बिरोध उही प्रकृतिको देखिन्छ । रुस, टर्किस विपक्षी पार्टी र टर्किस पुर्व सैनिक जनरलहरु यो नहरको पक्षमा देखिदैनन । यही बिषयले अमेरीका, बेलायत र फ्रान्स लगायत भु­मध्यसागर तटिय देशहरु र उत्तर अफ्रीकी देशहरुको ध्यान तानेको छ । टर्की नेटोको भरपर्दो सदस्य हो तर हाल टर्किसंगको अमेरीकी सम्बन्ध चिसीएको भएतापनि सामरीक चासो भने उत्तिकै छ । रुसले उसैको छिमेकी युक्रेनप्रति गर्दै आएको व्यवहार, क्राइमियामा भएको सैनिक हस्तक्षेप, मध्यपुर्वको सीरीयामा गर्दै आएको गतिबिधिले पश्चिमा शक्ति निकै सशंकित छ । रुसी सैनिक बिमानहरुले बेला बेला ईंगलीस च्यानलको जलक्षेत्र उल्लंघन गर्ने गरेको र यही जुन २३ मा बेलायती एच एम एस युद्घजहाजले क्राइमिया तटको १२ माइल परबाट नियमित यात्रा गर्ने क्रममा रुसले गरेको आक्रमणको धम्कीबाट कुनै असामान्य दुर्घटना त हुन्न भन्ने भय रहिरहेको छ र यस्ता शक्ति राष्ट्रहरुबीच बेलाबेला भइरहने आमने सामनेले विश्वमा नै सैनिक गतिबिधि बढ्दै जाने र निशस्त्रीकरणको बिषय अझै पेचिलो बन्ने देखिन्छ ।
    कृष्णसागर क्षेत्रलाई निशस्त्रीकरण गर्नु पर्छ भन्ने सोच भएका साना राष्ट्रहरुको विचारलाई टर्कीको क्षेत्रीय शक्ति हुने चाहाना, मस्कोको आफ्नो सुरक्षा चासो र पश्चिमाहरुको युक्रेन र क्राइमीयाप्रतिको रुस बिरोधी दृष्टीकोणले पनि यो नहरको निर्माणको विषय तातो रोटी भएको छ । टर्की ठुला ठुला एयरपोर्टहरु, नहरहरु, सुरुङ्गमार्ग र पुलहरुको निर्माण गरी आफुलाई हालको सम्बृद्घिको परिभाषा भित्र राख्न चाहन्छ । उसको भुगोल भित्र उसले आफ्नो देशको आवश्यकता बमोजिम बिकास निर्माण गर्न पाउने पहिलो अधिकार नै हो तर विगतमा बिश्वमा भएका यस्ता विकास निर्माणको चरण र इतिहास हेर्दा के चैं प्रष्ट हुन्छ भने विश्व राजनीति, शक्ति देशहरुको आफ्नो शक्तिको प्रभाव, विश्व व्यापारमा आफ्नो प्रभुत्व जस्ता बिषयहरुले मुख्य भुमिका खेलेको देखिन्छ । पानामा नहरमा फ्रेन्च र अमेरीकी संलग्नता, स्वेज नहरमा फ्रेन्च, बेलायती, अमेरीकी र इजरायली हस्तक्षेप र चासो, मलाक्का जलमार्गमा चिनीयाँ चासोहरुको इतिहासले इस्तानबुल नहर पनि बिश्व राजनितीबाट चोखो रहन सक्ने देखिदैन ।
    बिषय जब चोटिलो बन्छ तब त्यो विकाश निर्माण र समृद्घिको मात्र हैन, सैनिक र सामरिक बिषय बनाइन्छ । देशहरु बीचको पैसा र शक्तिको प्रतिष्पर्धाले एकले अर्कोको सम्प्रभुता माथि धावा बोल्ने गरेको देखिन्छ । बिश्वमा यस्ता गतिबिधिहरु ठुला शक्ति राष्ट्रहरुले निर्वाधरुपमा गर्ने गरेका छन र त्यस्ता राष्ट्रहरुको आडमा स्वघोषित क्षेत्रीय शक्तिहरुले कमजोर देशहरु प्रति गर्ने व्यवहार झन अमानवीय छन । नेपाल लगायत अधिकांश देशहरुका बीचमा शक्तिको प्रभावले असमान सन्धीहरु गरी आफुलाइ लाभ र कमजोरलाई हानि गर्ने गरी कामहरु भएको पाइन्छ । यस्तै लाभ हानि र शक्तिको टकरावको बिषयले बास्फरस र इस्तानवुल नहरको योजना तातिदैछ तर पहिलो प्राथमिकता भनेको टर्कीले आफ्नो भु­भाग भित्र राष्ट्र र जनताको हितमा कुनै पनि बिकास निर्माण गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । नेपालले सिक्टा सिंचाइ र तामाकोसी बिद्युत आयोजना बनाए झैं टर्किले नहर बनाउन पाओस् ।

  • शरद ऋतुमा हिमाल चढ्न दुई समुहमा २५ जनाले लिए अनुमति

    शरद ऋतुमा हिमाल चढ्न दुई समुहमा २५ जनाले लिए अनुमति

    काठमाडौं । शरद् ऋतुमा हिमाल चढ्न दुई वटा समूहका २५ जनाले अनुमति लिएका छन् । आठ हजार एक सय ६३ मिटर अग्लो हिमाल चढ्न मङ्गलवार दुई वटा समूहका २५ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । अनुमति लिनेमा पाँच महिला र अन्य पुरुष छन् । दुई समूहबाट २६ लाख ४६ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको समेत विभागले जनाएको छ । गत वसन्त ऋतुमा नेपालमा उत्साहजनक रुपमा पर्वतारोही आएका थिए । यो सिजनमा समेत आरोही बढ्ने अपेक्षा गरिएको छ ।

  • अब हवाई यात्रुले फेसशिल्ड लगाउन नपर्ने

    अब हवाई यात्रुले फेसशिल्ड लगाउन नपर्ने

    काठमाडौं । नेपालमा आन्तरिक हवाई यात्रामा अनिवार्य लगाउनु पर्ने फेसशिल्ड अब भने लगाउनु नपर्ने भएको छ । १ सेप्टेम्बर (बुधबार) देखि लागु हुने गरी फेसशिल्ड लगाउनु नपर्ने नियम कार्यान्वयनमा ल्याउन लागिएको वायुसेवा संचालक संघले जानकारी गराएको छ । संसारभर यात्राका क्रममा फेसशिल्ड प्रयोग नभएको, कोरोना महामारीको संक्रमण केही कम भएको र विमानस्थल परिसरमा फेसशिल्ड जथाभावी फाल्दा फोहोर समेत फैलिएको निष्कर्ष निकालेको वायुसेवा कम्पनीहरुले फेसशिल्ड वितरण बन्द गर्ने निर्णय लिएका हुन् । अब मास्क मात्र लगाए पुग्ने भएको हो । अन्तर्राष्ट्रिय उडानका वायुसेवामा भने मास्क मात्र लगाए पुग्ने व्यवस्था थियो । कोरोना महामारीका बीच हवाई यात्रामा क्रममा संक्रमण नफैलियोस भन्ने उद्देश्यले फेसशिल्ड लगाउनै पर्ने व्यवस्था गरिएको हो ।

  • काठमाडौं-कोलम्बो हवाई संजालमा जोडिए, आजबाट नियमित उडान

    काठमाडौं-कोलम्बो हवाई संजालमा जोडिए, आजबाट नियमित उडान

    काठमाडौं । काठमाडौं र श्रीलंकाको राजधानी कोलम्बो हवाई संजालमा जोडिएका छन् । श्रीलङ्कन एयरलाइन्सले आजबाट काठमाडौँ–कोलम्बो रुटमा नियमित उडान शुरु गरेको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएकोछ । श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि अनुमति लिएको छ । मंगलबार र शनिबार गरि सातामा दुई उडान हुन लागेको हो । यो कम्पनी निर्माणाधिन गौतमबुद्ध विमानस्थललाई लक्षित गरि नेपाल आएको हो ।

    श्रीलंकमा बौद्धमार्गीको बाहुल्य बढी छ । नेपालमा जेनिथ ट्राभल प्रालिले यो कम्पनीको जीएसए लिएको छ । प्रारम्भमा वैदेशिक रोजगारीमा जाने यात्रुलाई लक्षित गर्ने र अवस्था सामान्य बनेपछि पर्यटन प्रवद्र्धनमा लक्षित हुने कम्पनीको योजना छ । अहिले यो एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गर्छ ।

  • शिकागो सहरको यादगार भ्रमण

    शिकागो सहरको यादगार भ्रमण

    कुमार न्यौपाने, न्युयोर्क

    ल्याण्ड अफ लिङ्गकन भनिने इलोनइको राजधानी स्प्रिङफिल्डको पृष्ठभूमीमा इङ्गलिस ब्ल्याक टि र स्विटनर पुरा पैसा लिएर पनि पेन्डामीकको नाउँमा चिसो ब्रेकफास्टको (स्प्रेड ब्रेकफास्टको व्यवस्था हुनुपर्नेमा) प्याकेटसंगै शहरी दृष्य देखिने लाउन्जबाट देखिएको शिकागो भने भब्य थियो । अघिल्लो दिनको शिकागो आर्किटेक्चरल क्रुज टुरले शहरको भित्री र मिसीगन तालबाट वाहिरी रुपहरु र्छलङ्ग पारेको थियो । शिकागो नदि र मिसीगनको पानी मिसीएर बनेका विशाल Y अकारको नहरहरुले भेनिसको झझल्को दिदैथियो तर नहरका दुबै छेउमा ठडिएका गगनचुम्बी भवनहरु र त्यसको निर्माणको समय, बास्तुकला र इतिहास सुन्दै गर्दा जो कोहीलाइ पनि भिन्न र रोमान्चित बनाउँछ । चौबीस क्यारेट सुनले मोरीएको छाना भएको हार्डरक होटल भवन हेर्दा अचम्म लाग्यो । हाम्रो तिर सुप्रसिद्ध मन्दिरका छानाहरुमा सुनको जलप लगाउने गरेको सुनेको, पशुपतिनाथको मन्दिरको छाना, ब्रुनाइको सुल्तानको महल र पुर्व अमेरीकी राष्ट्रपति ट्रम्पको घरको सुनौलो इन्टेरीयरको बारेमा पढेका कुराहरु बाहेक सुनले ढपक्कै ढाकेको कुनै होटल भवन यसअघि नदेखेकोले पनि होला, यो दृष्य नौलो नै लाग्यो । थुप्रै अग्ला भवनहरुको कालीगढी हेर्न लायक थिए तर सियर्स टावरको नामले परिचित (आजकल विलिस टावर) प्रख्यात भवन शिकागोको पहिचान बनेर निकै अघिदेखि उभिएको पाइन्छ । विगतको अग्लो भवनको पच्चिस बर्षे बिश्व रेर्कडको पगरी यही भवनसंग छ । जुन भवनको ११० औं तल्लाबाट आकाश खुलेको दिन मिसीगन पारीका छिमेकी सहरहरु र राज्यहरुको समेत दृष्यावलोकन गर्न सकिने रहेछ ।


    मिसीगन तालको उत्तरबाट दक्षिणतिर लाम्चिएको ४२ कि.मी. लामो शिकागो लुपमा गर्न सकिने पैदल, साइकल वा ट्रेनको यात्राको क्रममा देखिने शिकागो स्काइलाइन, अन्य आकर्षणहरुमा मिलेनीयम पार्क, मेग्नीफिसेन्ट लाइन, नेभि पिर, आर्ट इन्टिच्युट अफ शिकागो, लिङ्गकन पार्क, ग्रान्ट पार्क, बिश्व कै ठुलो मध्येको एक बकिङ्गघम फाउण्टेन र झण्डै २४ वटा पहेंला बालुवाका विचहरुको दृष्यले आनन्द दिन्छ । मिसीगन तालको किनारै किनार चिसो पानीसंग हेलिदै हिड्नुको आनन्द बेग्लै हुन्छ । सन १८७१ को भिषण आगलागी पछि निर्माणको पुर्नजागरणले आकाशिएको शिकागोका भवनहरु आखिरमा अमेरीकाकै गगनचुम्बी भवन निर्माणको पर्याय नै बनेको इतिहासले भन्छ । अग्ला भवन निर्माणपछि सहरीकरणले गती लिएसंगै शिकागो विश्वको आर्थिक शहरको रुपमा अघि बढ्यो र बसाइसराईंले शहरलाई चलायमान गर्दैगयो । बिशेष गरी १९१० देखि १९३० सम्मको दक्षिणी अश्वेतहरुको बसाईसराईको जागरण मानिने घटनाले शिकागोलाई अश्वेतहरुकै शहर भनेर चिनाउँदै गयो तर दुर्भाग्य भनौं यसरी भएको बसाइंसराईंले अव्यबस्था र अपराधलाई पनि संगसंगै ल्यायो ।


    अश्वेतहरुको आगमनले अपराध ल्यायो भन्ने आशय त होइन तर कुनै पनि समाजको विकाशसंगसगै चुनौतीहरु पनि गुटमुटिएर आइपुग्छन । ति चुनौतीहरु मध्ये शिकागोको अध्याँरो पक्ष मानिने अपराधिक घटनाहरुमा गन सुटिङ्ग नै अग्रपङ्गतीमा देखिन्छ र आजसम्मको गन सुटिङ्ग र अन्य आपराधिक गतिबिधीहरुलाई बिश्लेषण गर्ने हो भने बिशेष गरी यस्ता घटनाहरु अस्वेत वाहुल्य क्षेत्रहरु र इटालीयन अमेरीकनहरुको बोसगिरीको (स्थानिय भाषामा भन्दा गुण्डागिरीहरुले) प्रभाव क्षेत्रहरुमा भएको एफ बि आइको रेर्कडले देखाउँछ । यस रोगले अन्य अमेरीकी सहरहरुलाई जसरी गाँजेको थियो र छ, शिकागो पनि अछुतो रहेन सकेको छैन । यात्राको क्रममा यो प्रसङ्ग किन उठ्यो भन्ने प्रश्न उब्जिन पनि सक्छ । जब शिकागोको यात्राको लागी ट्रेनको टिकट बुकिङ्ग गरीयो, भोलीपल्ट नै शिकागोमा ठुलो मास सुटिङ्गको घटना घट्यो र कैयन निर्दोष मानिसहरुको हताहती भयो । दैनन्दिन दोहोरीरहने यस्तो घटनाले काटिसकिएको टिकट रद्ध गरी यात्राको गन्तब्य फेर्नेसम्मको कुरा भयो । पुर्ण उत्साह नभएपनि जसोतसो मिलेको समयको सदुपयोग होस भनेर अन्य उत्तरपुर्वी ठाँउहरुको घुमाइसंगै यो मध्यपश्चिमी भव्य तर केही अशान्त सहरको चार दिने घुमाईको योजना बन्यो । नभन्दै यहि सहरको चार दिने घुमाइको क्रममा चारै वटा गन सुटिङ्गको घटनाहरु घटे र केही निर्दोष बालकहरु मारिएको समाचार पढ्नुपर्यो । ब्रेकफास्ट लाउन्जमा चिया कफीसंगै होस या लविको टि भी समाचार हेर्दा यस्तो अपृय घटनाहरुको समाचारले गह्रुङगो मन पार्दै दिन भरी सहर र वरपर घुम्न त्यति आनन्द लागीरहेको हुन्थेन तर घुम्ने उद्धेश्य बोकेर हिडेको यात्रीहरुले जसरी पनि घुम्नु कर्म थियो ।
    विगतमा न्युयोर्कदेखि लस एन्जलस वा सन फ्रान्सिस्कोमा जति पनि माफीया सम्बन्धी गतिबिधिहरुमा संलग्न थिए र केहि आज पनि छन ति सबै कतै न कतैबाट मास सुटिङ्गका घटनाहरुमा जोडिएको अध्ययनले देखाएको छ । त्यसमा पनि इटालियन अमेरीकनहरुको संलग्नता नै किन ? यो यक्ष प्रश्न छ । शताब्दी अघिदेखि अल कापानो, बग्स मोरान र टोनी अर्काडोहरुले निमार्ण गरेको माफिया घरानाहरुको रहलपहलको रुपमा आज पनि त्यस्ता गतिबिधिहरु भइरहेको देखिन्छ र शिकागोको सबैभन्दा खतरनाक क्षेत्र मानिने फुलर पार्क, वेस्ट गारफिल्ड पार्क र वासिङ्गटन पार्क जस्ता भागहरु र केहि अन्य भागहरुमा आम अमेरीकी समाजमा घट्ने घटनाहरु भन्दा झण्डै ४०० गुणा बढि घटनाहरु घट्ने गरेकोले यति भव्य र सुन्दर भइकन पनि शिकागो यात्रामा रहँदा आफु कसरी सजग र सुरक्षित रहनुपर्छ भन्ने कुरालाई महत्व दिन जरुरी देखिन्छ । सकेसम्म यस्ता बिषयहरुमा जानकारी राखी त्यस्ता ठाँउहरु आफ्नो घुम्ने ठाँउको सुचीबाट हटाउँदा नै बुद्धिमानी होला ।
    अर्को कुरा …शिकागोलाइ महत्व दिएर त्यँहा पुगेपछि मिसीगन तालकै किनारमा रहेको अर्को राज्य विस्कन्सनको राजधानी मुलवाकीको एक दिने यात्रा गर्न सम्भव हुन्छ । आफ्नो निजी साधन वा भाडामा लिन सकिने कार, जिप वा बस वा ट्रेन चढेर लगभग एक घण्टा तिस मिनेटमै पुग्न सकिने भएकोले सहज यात्रा गरी यात्रा गरीएको ठाँउको सुचीमा अर्को नयाँ ठाउँ थप्न सकिन्छ । मुलवाकीले हजारौं बर्षदेखिका रैथानै अमेरीकी आदिवासी र आजको समयको मिश्रीत जातजाती, धर्म, संस्कार र परीकार समेटेको समाजलाई प्रतिनिधित्व गरेको देख्न पाइनेछ ।
    यसरी घुम्ने र त्यसवारेको सामान्य गन्थन रहेसंगसंगै न्युयोर्क सहरदेखि आल्बनीमाथीको कहोस झरना, रचेष्टरवरपरको ओन्टारीयो ताल होस या शिकागोको मिसीगन ताल जस्तो राम्रो र रोमान्चक ठाँउ घुम्ने क्रममा देब्रे घुँडा निरन्तर दुखि नै रह्यो । घुँडाको जोर्नीमा देखापर्ने आर्थराइटिसले बेलाबेला सताउने गर्छ । प्रस्क्राइव्ड औषधीका बट्टाहरु बोक्न बिर्सेसंगै यात्राको दुखाइ त सहनै पर्यो त्यसमाथि उसैबेला परेको अनलाइन असाइनमेन्टस्हरुले पेलि नै रह्यो । बोक्न बिर्सीएको औषधी किनेर ल्याउ न त भन्दा किन्नै नपाइने नियमले यात्राभरी जिल्ल परिरहें ।
    विश्वको स्वच्छ पानी भएको तालहरु मध्ये मिसीगन तालको सफा पानीले सिंचीत यो भौतिक या बाह्य रुपमा सुन्दर र व्यबस्थित सहर किन धमीलो तिर उन्मुख छ? किन आफ्नै परीवेशलाई भययुक्त बनाउँदैछ ? यी प्रश्नहरुले सन २०१८ को तथ्याङ्गकले देखाएको झण्डै ६ करोड पर्यटक बार्षिक रुपमा भित्र्याउन सफल यो र यस वरपरको क्षेत्र किन दुषित हुदै गयो त भन्ने कुराले जो कोहिलाइ पनि घच्घच्याउँछ । पछिल्लो अमेरीकी सरकारको बन्दुकमा प्रतिबन्ध लगाउनु पर्छ भन्ने निती र बहसले यहि देखाउदैछ कि अनाहकमा निर्दोष मानिसहरुको मृत्युले अमेरीकी समाज साच्चीकै प्रताढित छ ।
    यस्तै सहज÷असहज क्षणहरुले नै यात्रा अनुभवहरुलाई रोमान्चक र गाढा बनाउँछ । प्रचुर प्राकृतिक श्रोतसाधन र गन्तव्यहरु प्हिचान भएतापनि भौतिक पुर्वाधार र पर्यटकिय व्यवस्थापनको अभावले हाम्रो देश विश्वको कुनै एउटा सहरले मानव निर्मीत भौतिक संरचना देखाउन भित्र्याउने पर्यटक संख्याको छेउछाउ पनि पुग्न नसक्नुले हाम्रो अक्षमतालाई दर्शाउँछ । सहज, सरल र सुरक्षित यात्रा सबैको चाहना हुन्छ । यस्तै यात्रालाई समर्थन गर्दै एक बिद्धान भन्छन, ”विश्वबिद्यालयको सयौं पुस्तक पढेर पाइने विद्यावारीधिको ज्ञान भन्दा एक पटकको लामो यात्राले त्यो भन्दा निकै अब्बल ज्ञान दिन्छ” ।
    तसर्थ सुरक्षित यात्रा गरौं ।

  • अपांगमैत्री छैनन् नेपालमा तारे होटेलका संरचना

    अपांगमैत्री छैनन् नेपालमा तारे होटेलका संरचना

    काठमाडौं । नेपालमा पर्यटक स्तर र तारे स्तरका होटलमा समेत अपांगमैत्री संरचना नहुँदा त्यस प्रकारका पाहुनालाई आकर्षित गर्न सकिएको छैन । पहुँचयोग्य पर्यटकका कारण मुलुकको अर्थतन्त्रमै सकारात्मक प्रभव पर्न सक्ने भएपनि त्यसअनुसारको संरचना बनाउन नसकिएको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को अध्ययन अनुसार नेपालका तारे स्तरका ९० होटल र त्यसमा संलग्न व्यवसायीले यसबारे आफुलाई थाहा भए पनि कार्यान्वयनमा नरहेको बताएका छन् ।

    प्रतिवेदन अनुसार ९५ प्रतिशत होटल व्यवसायीले पहुँचयोग्य पर्यटनको अवधारणाबारे आफूहरु जानकारी रहेपनि त्यस प्रकारका पूर्वाधार नभएको बताएका हुन् । पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न आवश्यक पर्ने लगानी नै त्यस्ता सुविधा बन्न नसक्ने कारण समेत अध्ययनले निष्कर्ष निकालेको छ । आईएफसी र राष्ट्रिय अपाङ्ग महासंघको आर्थिक तथा प्राविधिक सहयोगमा आर्थिक पत्रकार समाज सेजनले प्रतिवेदन तयार पारेको थियो ।

    प्रतिवेदन बुधबार सार्वजनिक गरियो । अध्ययनअनुसार नेपालका अधिकांश होटलका संरचना पुराना भइसकेका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय अध्ययनले समावेशी पर्यटनका पूर्वाधार तयार पार्दा लगानीको शून्य दशमलव २ प्रतिशत मात्र खर्च थपिने बताए पनि होटलले यस्तो संरचना थप्न सकेका छैनन् । अधिकांश होटलमा अपाङ्गता भएका व्यक्तिको आवतजावतका लागि चाहिने भिराला र्‍याम्प, ह्विलचियर तथा अन्य पूर्वाधारमा पर्याप्त लगानी गर्न सकेका छैनन् ।

    अध्ययन अनुसार सुलभ पर्यटनको अवधारणाबारे सरकारी निकाय समेत अनभिज्ञ छन् । अध्ययनले समावेश पहुचयोग्य सुलभ पर्यटन प्रवद्र्धन गर्न सरकार, निजी क्षेत्र र दातृ निकायबीच सहकार्य अनिवार्य भएको निष्कर्ष समेत निकालेको छ । सुलभ पर्यटनको अवधारणामा अपाङ्गता भएका व्यक्तिसँगै गर्भवती अवस्थाका महिला, बिरामी, बालबालिका र काखे नाबालक भएका परिवारका सदस्यको आवश्यकतामा समेत उपयोगी हुन्छ ।

    आईएफसीको अध्ययनले अहिले सञ्चालनमा रहेका अधिकांश होटलमा अपाङ्गता भएका व्यक्तिको आवतजावतका लागि लिफ्ट र भिराला र्‍याम्प मात्रै रहेको, अध्ययनमा समावेश भएका १७ प्रतिशत होटलले दृष्टिविहीन पाहुनाको सहयोगका लागि संकेत चिन्ह राखेको देखाएको छ । बाँकी ७४ प्रतिशत होटलले ढोका बाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपी वा संकेत चिन्हको प्रयोग गरेका छैनन् । अध्ययनले ९ प्रतिशत होटलका कर्मचारी पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका पाहुनावारे प्रशिक्षित रहेका र ३३ प्रतिशत होटलमा अपाङ्ग अतिथिका लागि अतिरिक्त ह्विलचेयरको व्यवस्था रहेको देखाएको छ ।

  • लुक्ला जान खोप अनिवार्य, नभए पिसिआर नेगेटिभ हुनुपर्ने

    लुक्ला जान खोप अनिवार्य, नभए पिसिआर नेगेटिभ हुनुपर्ने

    काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रवेश गर्न कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाउनु पर्ने भएको छ । खोप लगाएको नभए पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य हुनुपर्ने निर्णय गाउँपालिकाले गरेको छ । गाउँपालिकाले त्रिभुवन विमानस्थल र लुक्ला विमानस्थललाई पत्र लेख्दै गाउँपालिकामा हवाईजहाज तथा हेलिकप्टरमार्फत प्रवेश गर्ने सबै यात्रुले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको वा पीसीआर नेगेटिभ भएको रिपोर्ट भएको अवस्थामा मात्र यात्रा गराउने निर्णय गरेको जनाएको छ ।

    खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अनुसार सो गाउँपालिका भित्र भने ९८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । लुक्ला सगरमाथाको प्रवेशद्धार हो । अब नेपालमा पदयात्राको सिजन शुरु हुन लागेसँगै गाउँपालिकाले सुरक्षा सतर्कता बढाएको हो ।

  • न्युयोर्क सहर र भित्ते चित्रकला

    न्युयोर्क सहर र भित्ते चित्रकला

    कुमार न्यौपाने, न्युयोर्क

    एक बिहानको हिंडाइको क्रममा सेन्ट्रलपार्क वेष्ट, ब्रोडवेको ७९ औं स्ट्रिटमा Hummer Boy नामको भित्ते चित्र देखियो । सानो फुच्चे केटा, ह्यामर बोकेरे सडक छेउ पानीको गेटभल्भमा हान्नलागेको कालो चित्र (बाक्लो प्लास्टीक कभर गरिएको छ) । जसमा लेखिएको छ, “Help Zabar’s save this Banksy” (बेन्क्सीलाइ जोगाउन जेवार्जलाइ सहयोग गर) । यो अनौंठो लाग्ने चित्रमा किन Zabar’s नै लेखियो भनि खोतल्दा थाहा लाग्यो कि त्यो नाउँको स्टोर म्यानह्याटनको सबैभन्दा पुरानो मध्येको एक र चरम आर्थिक मन्दीको समयमा पनि यस स्टोरले गरेको योगदानलाई सम्झाउन खोजिएको रहेछ । सानै भएपनि यो भित्तेचित्रले केही अन्य प्रतिनिधि चित्रहरु झैं निकै चर्चा बटुल्न सफल भएको बुझियो । यही चित्र देखेपछि लाग्यो के हो त यो भित्तेचित्रहरुका कथाहरु ? यसको अर्थ बुझ्दै, भित्तेचित्र खोज्ने क्रमसंगै यसको अन्तरबस्तुहरु पनि अगाडि आयो । हामी कतिले याद गरेका छौं, न्युयोर्क एक भित्ते चित्रकलाले भरीएको सहर हो भनेर । कसैले भित्तेचित्रकला (मुराल/ग्राफिटी) बनाउने प्रबृत्ति सहर फोहोर पार्ने मेलो भनि गलत ठान्छन र दण्डित गर्नुपर्ने भनि कसुरको रुपमा लिएको पनि देखिन्छ तर यहि फोहोर झैं लाग्ने कलाहरुलाई विभिन्न देशहरुले जस्तै न्युयोर्कले पनि पर्यटकको आकर्षणको रुपमा विकाश गर्दै मुद्रा आर्जन (मोहोर) को श्रोत मान्न थालेको देखिन्छ ।


    भित्तेलेखन वा भित्तेचित्रकलाको इतिहास कोट्टयाउने हो भने निकै अगाडि जानुपर्ने हुन्छ । भनिन्छ, प्राचिनकालमा भित्तेलेखन र भित्ते चित्रकला मनोरञ्जन र कुनै युग वा बस्तुको प्रमाणको रुपमा बनाउने गरिन्थ्यो । झण्डै बाउन्न हजार बर्ष अघिको मानिने बोर्नियोको गुफा चित्रलाई सबैभन्दा पुरानो मान्नुपर्ने आर्कियोलजिष्टहरु बताउँछन । त्यस्तै गरी दक्षिणी फ्रान्सको गुफा चित्र, पाँच हजार बर्ष अघिको इजिप्सीयन चिहानहरुमा भेट्टाइएका भित्तेचित्रहरु हुदै मेक्सीकोका भित्ते चित्रहरु प्राचिन भित्र पर्दछन ।
    मध्ययुगमा आएर इटाली, भारतको अजन्ता गुफा, केरलामा पाइएको बृहद चित्रहरु र थाइल्याण्डको राजमहलका भित्ताहरुमा कोरिएका रामायणका चित्रहरुबाट के बुझ्न सकिन्छ भने भित्तेलेखन वा चित्रकलाको विकास बिभिन्न कालखण्डहरुमा विभिन्न धर्मसम्प्रदायबीच हुदै आएको


    सन १९२० देखि मेक्सीकोबाट आधुनिक युगमा प्रबेश गरेको भित्तेचित्र कलाले शुरुवाति दिनदेखि नै सामाजिक मुद्दाहरुलाई बिषय बनाउने गरेको पाइन्छ । युरोपमा बिशेष गरी फ्रान्स र इटालीले सामाजिक र राजनैतिक बिषयलाई आधार बनाएर शासकहरुसंग अधिकारहरुको माग या कयौं आन्दोलनहरुको सुत्रधारको रुपमा चित्रकलाको साहारा लिने गरेको देखियो । सन १९६० ताका फिलाडेल्फीयाबाट शुरु भै भित्तेचित्रकला न्युर्योक भित्रिएको पाइन्छ । १९७० को दशकमा न्युयोर्क सहर आर्थिक रुपमा जिर्ण हुदैजाँदा र अपराधिक कृयाकलाप बढिरहेको समयमा भित्रिएको भित्तेलेखनले शुरुमा न्युयोर्क सहरको ब्रोन्क्स र ब्रुकलिन चल्ने ट्रेनका भित्ताहरु, त्यस्तैगरी सबवे स्टेशनका भित्ताहरु रंगीन पार्न थाले । सार्वजनिक वा निजी भवनका भित्ताहरु, पुलहरु लगायत निकै जोखिमपुर्ण ठाँउहरुमा आर्थिक सहयोग र आर्थिक रुपान्तरणका नाराहरुबाट शुरु भएको भित्तेचित्रलाई प्रतिबन्ध पनि लगाइयो । तर यो क्रमशः झाङ्गीदै गयो । यसभित्र राम्रो नराम्रो दुबैपक्षहरु नभएका होइनन । कतिपय ठाँउमा अशोभनिय, भद्घा­ उश्रृङ्गखल र अपशब्दहरुको प्रयोगले भित्तेचित्रकलालाई बदनाम पनि गरेको छ, दण्डनीय बनाएको छ तर यति भन्दाभन्दै पनि असल नियतका साथ बनाइएका सही र सुन्दर श्रृजनाहरु पर्यटकको आकषर्णको केन्द्रको रुपमा बिकशित पनि हुदैछ । आर्थोपार्जनको माध्यम बनाइदैछ । केही समय अघिदेखि यसलाई न्युयोर्कको पर्यटकिय स्थलको रुपमा सुचिकृत गरिएबाट पनि अवको दिनमा भित्तेचित्रकलाले नयाँ उचाइ भेट्टाउनेछ भन्न सकिन्छ ।


    जुनै पनि समाजमा सामाजिक, आर्थिक वा राजनैतिक रुपले मानिसहरु बिभक्त छन र त्यहि भेदहरु बीचमा एकअर्का प्रति माया पनि छ र घृणा पनि छ, घृणाको आँखाले हेर्नेहरु नै यस भित्तेचित्रकलाको सकारात्मकतालाई चुनौति बन्दै आएका छन । कतिपयहरुले राजनैतिक बिरोधका कुराहरुलाई भित्तेचित्रकलामार्फत प्रयोग गर्दा सहर र समाज बिकृत बनाउँदो पनि छ । अव गलत बाटो हिड्ने कि सही ? त्यो आफ्नो ठाँउ, सहर र समाज कस्तो बनाउने हो, त्यहिंका नागरिकहरुको जिम्मेवारी भित्रपर्ने हुन्छ ।
    क्रमशः भित्तेचित्रहरुको पछि लाग्दै गर्दा थाहा भयो कि यो न्युयोर्क शहरको कुनाकाप्चासम्म फैलिएको रहेछ । न्युयोर्क शहरको हेर्नै पर्ने भित्तेचित्रको सुचि थुप्रै रहेछन । कोही राम्रा छन, कोही नराम्रा पनि छन । कुनै चित्रहरुले सामाजिक भाषा बोल्छ भने कुनैले नग्नता । बिशेष गरी ब्रोन्क्स, ब्रुकलिन र म्यानह्याटनमा भएका चित्रहरु महत्वपुर्ण मानिन्छन । यस्ता चित्रकलाहरुमध्ये ब्रोन्क्सको ब्रोन्क्स वाल अफ फेम, सेन्ट्रलपार्क वेष्टको ह्यामर व्वाय, चाइना टाउनको कोवे ब्रायन्ट बाबुछोरीको चित्र, फ्लसीङ्ग एभिन्युको बुसविक ब्रुकलिन, हार्लेम हस्पिटल नजिकैको ग्राफिटी हल अफ फेम, लिटल इटालीको अद्री हेपवर्न, बन्द भएको रेल्वेलाइनलाई पार्कको रुपमा बिकशित गरीएको हड्सन यार्डदेखि चेल्सीमार्केटसम्मको हाइलाइन पदमार्गको भित्तेचित्रहरु, इष्ट भिलेज­ह्युस्टन सडकको दोश्रो एभिन्युको ग्रीन आर्ट पार्क, योर्क सडक नजिकै डम्बोको भित्तेचित्रहरु, ध्त्ऋ का पप आट्र्सहरु, चाइना टाउनको न्युयोर्क लेखिएको शब्दहरु, बोवेरी ग्राफिटी वाल, १८ औं स्ट्रिट र दशौं एभिन्युको गान्धी र मदर टेरेसा र किङ्ग अफ एन वाई लगायत सयौं भित्तेचित्रकलाहरु महत्वपुर्ण मानिन्छन । यसको बिकाश र प्रर्बद्धन गर्न न्युयोर्क शहरले विभिन्न योजना नै अगाडि बढाइ विकस गर्दै लगेको देखिन्छ । सामाजिक न्यायको अभियानमा भित्तेचित्रकलाको पछिल्लो प्रयोग “एशियनहरु प्रति घृणा”को बिरुद्ध भएको देखिन्छ ।


    शेफर्ड फेरी, लेडी पिंक, केनी स्कार्फ, आइको, ओस जेमोस लगायत सयौं कलाकारहरुको भित्तेचित्रकलाहरुले न्युयोर्क शहरका भित्ताहरु रंगीन र कलात्मक हुदै गएका छन । यसैबीच एक अनौठा कलाकार बेन्क्सी छन । यसै उपनामले चित्र बनाउने गरेका यी कलाकार बेलायतको ब्रिस्टोलमा जन्मीएका हुन । भित्तेचित्रकलाको चर्चा गर्दा उनको चर्चा भएन भने अपुरो नै हुने रहेछ । विश्वका सयौं शहरहरुमा हजारौं भित्तेचित्र बनाएका यी कलाकार बास्तवमा को हुन भन्ने अझै पनि खोजिको बिषय बनेको छ । लण्डन अण्डरग्राउण्डका भित्तेचित्रहरु, गर्ल विथ वलुन, न्युयोर्कका थुप्रै मध्ये माथि उल्लेखित ह्यामर व्वाय निकै चर्चित छ । उनको चित्रकलाले बिशेष गरी व्यङ्ग्य बोल्छ । समाजका बिकृतिलाई हान्छ । यस बिषयमा चासो राख्ने वा संचारमाध्यमहरुले विभिन्न अड्कल काटेपनि आजसम्म सार्वजनिक नभएका ति कलाकारको कलायात्रा समाजको लागी उपयोगी बन्दै अगाडि बढोस् ।
    आजको समयमा भित्तेचित्रकलाको सवल आर्थिक पाटो मुख्य बिषय बनेको छ । यसको ख्याति र त्यस्ता कलाकारहरुले बार्षिक न्युनतम आम्दानि नै पचासौं हजार डलर भएको तथ्याङ्गकले देखाएको छ । न्युयोर्क सहरमा मात्रै सम्पुर्ण भित्तेचित्रकलाको आर्थिक प्रभाव हेर्ने हो भने दशौं मिलियन डलर भन्दा माथि देखिन्छ । बेला बेला प्रतिबन्धित र अपराध समेत मानिएको र आज पनि जथाभावी चित्र कोरीएमा दण्डनीय मानिने यस्तो गतिबिधिलाई बिधिमा बाँधियो भने कसरी आर्थिक उन्नति गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहारण न्युयोर्क सहरको भित्तेचित्रकला हो । आदिम कालदेखि चित्रकलाको जननि मानिने भित्तेचित्रकला आज बृहद कलाको एक हाँगाको रुपमा अगाडि बढ्दै छ । यसले मानिसमा दबिएर रहेको भावना, सामाजिक असमानता, अन्याय र प्रेम जस्ताकुराहरुलाई सार्वजनीक रुपमा कसरी प्रस्तुत गर्ने बलियो आधार दिन्छ । यसले मानिस भित्रको कला चेतलाई अझै आन्दोलित गर्दैछ । पर्यटकहरुको लागी न्युयोर्कको अर्को परिचय बन्दै गरेको भित्तेचित्रकला हेर्नकोलागी टुर गाइडहरुको व्यवस्था छ भने न्युयोर्क सहरबासीहरुको लागी म जस्तै स्वेच्छिक भ्रमण गरी हेर्न सकिने सबै संभावनाहरु खुल्ला नै छन ।
    लिच्छवीकालीन भैरवका भित्तेचित्रहरु, मिथिला चित्रकला र मुस्ताङ्गका गुफा चित्रहरुको आधारमा नेपालको भित्तेचित्रकलाको इतिहास लामै देखिन्छ । यो अर्को लामो बिषय बन्न सक्छ । विश्वभरी यो चित्रकलाको स्वरुप मान्य, योग्य र चर्चित हुदै गर्दा नेपालको भित्तेचित्रको पछिल्लो घटना भने तिक्ततापुर्ण छ ।
    कोभिडको महामारीमा आफ्नो ज्यान जोखिममा राखी जनताको सेवामा लाग्नेहरुको योगदानलाइ सम्मान स्वरुप काठमाण्डौंको आकाशे पुलको भित्तामा बनाइएको भित्तेचित्र महानगरका मेयरले “शहर फोहोर पार्ने” भन्दै धर्ना बसेर मेटाउन लगाएको खवर अस्ती भर्खरको हो । अव उनलाई भित्तेचित्रकलाको इतिहास कसले पढाउने हो ? यसको मौलिकताको उपयोग गरी पर्यटकहरुको लागी एक आकर्षणको केन्द्र बनाउन सकिन्छ र अर्थोपार्जनको भरपर्दो श्रोत पनि बन्न सक्छ भनि कसरी बुझाउने हो । संसारभर झैं हाम्रोमा पनि भित्तेचित्रकला सम्बन्धि चेत खुलोस् ।

  • थन्किएका गाडी मर्मत गर्न व्यवसायीले २ लाखसम्म ऋण लिन पाउने

    थन्किएका गाडी मर्मत गर्न व्यवसायीले २ लाखसम्म ऋण लिन पाउने

    काठमाडौं । लामो लकडाउनका कारण ग्यारेजमा थन्किएर बसेका सवारी साधनको मर्मत गर्न व्यवसायीले बैंकबाट ऋण लिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारी साधन मर्मतका लागि पनि ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको बताएको छ । चालु आर्थिक वर्षका लागि जारी गरिएको मौद्रिक नीतिमा कोभिड १९ बाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन तथा मर्मतसम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रतिसवारी साधन २ लाख रुपैयाँसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्था मिलाइएको हो ।

    सार्वजनिक सवारी धनीले निषेधाज्ञामा थन्किएका सवारीको मर्मतका लागि नगद प्रवाह नभएको गुनासो गरेका बेला केन्द्रिय बैंकले यस्तो व्यवस्था गरेको हो । सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तीमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ । यो व्यवस्था कोभिड(१९ महामारीका कारण नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना र मझौला व्यवसायलाई समेत लागू हुने व्यवस्था पनि नीतिले गरेको छ ।

  • अमेरिकामा ‘स्पिक अप अर्थात बोल’ को महत्व छ !

    अमेरिकामा ‘स्पिक अप अर्थात बोल’ को महत्व छ !

    कुमार न्यौपाने, न्युयोर्क

    जीवको उत्पत्तिको कालखण्डमा मानव विकासक्रम झण्डै पुछारतिर भएतापनि भाषागत रुपमा बोल्नेकुरा गर्दा मानव नै अगाडि आउँछ । उत्पत्तिदेखि क­-कसले के के बोले, कुन कुन भाषा बोले र बोलिएका बोलीहरुको नालीबेली लगाउन असम्भव छ र ? यो विषय अत्यन्त रोचक पनि छ । त्यसैले इतिहासमा बोलीको अधिकतम प्रभाव छाड्न सफल मानिसहरुलाई मात्रै सम्झिरहेका हुन्छौं । बोलीको बिषय केलाउदै गयो, लेख्दै गयो भने हजारौं पाना पनि कम हुनसक्छन । त्यसैले आजसम्म मानव र प्रकृतिको हितमा बोलिएका तमाम शब्दहरु र भाषाहरुलाई साक्षी राखी उनिहरुको उचित बोलीको प्रभाव र पदचापमा हिड्दै जाँदा आजको समाज यो रुपमा यहाँ छ भन्दा अत्योक्ति नहोला ।
    साना साना घटनाहरुले मानिसले बेलामा बोल्नुपर्छ भन्ने तथ्यलाई चरितार्थ गर्दै लान्छ । मान्छेले बोलेको मान्छेले नै बुझ्छ र मान्छेले बोलेको कुरामा मान्छेले नै बुझ पनि पचाउँछ । कसैले बुझ पचाउँछ भने सत्य कुरा दोहोर्याई तेहेर्याई बोल्नुपर्छ । सत्यमा आधारित बोलीको सुनुवाई हुन्छ । त्यस बोलीको सुनुवाईले मान्छेका अधिकार, कर्तव्य र दायित्वहरुलाई ठिक ठाँउमा ल्याउँछ ।​
    बोल्नुपर्छ !
    यसलाई पुष्टि गर्न यात्राको क्रममा भोगिएका केही स­-साना घटनाहरु काफी छन ।
    बस्टन र ह्वेल वाचिङ्ग क्रुजमा
    “हामीले त्यो दिन नबोलेका भए, हाम्रो अधिकार खोसिन्थ्यो”।
    बोल्यौं, आत्मसम्मान फर्कियो । फेरी (डुंगा) चढ्यौं र बस्टनको स्पेक्टेकल आइल्याण्ड पुग्न सक्यौं ।
    सुरुमा “बोल्नुपर्छ“ भनि उठाएको कुरा र बोलेर फेरी (डुंगा) चढ्न पाइएको कुरा भित्र इमान्दारिता, बिश्वास र अविश्वासको समिश्रण छ ।
    ह्वेल वाचिङ्ग स्पटको रुपमा प्रख्यात बस्टन पुगेको दोश्रो दिन नेशनल ज्योग्राफीमा हेर्ने गरेको २८­३० मिटर लामा ह्वेल नांगो आँखाले हेर्न पाइन्छ भने जाँउ न त भन्दै बुकिङ्ग.कमबाट टिकट काटी क्रुज चढ्ने ठाँउ हतारहतार पुगियो । हामीलाई ह्वेल उसैपनि अनौंठो लाग्ने विषय भै हाल्यो त्यसैले भिन्नै कौतुहलता थियो । क्रुज चढ्ने ठाँउको काउन्टरमा पुगी डिजिटल टिकट देखायौं । कर्मचारीले कम्प्युटरमा हेर्दै हाम्रो अनुहार ताक्दै ठाडो जवाफ दियो, तिमीहरुको टिकट बुक छैन ! आजलाई छैन भोली आउनु ।
    हामी तीन­; श्रीमती, छोरी र म अक्क न वक्क पर्यौं । ल हेर त ! कुनैपनि होटल, घुम्न पर्ने ठाँउहरु, बसको टिकट, ट्रेनको टिकट जस्ता हजारौं आकर्षणहरुको टिकट काट्न मिल्ने बुकिङ्ग.कमलाई तोकिएको पैसा बुझाएर, उसले पठाएको टिकट बोकी उत्साहको साथ उसैले बोलाए बमोजिम पुगेका यात्रु या पर्यटकहरु प्रति कस्तो व्यवहार गर्ने भन्ने न्युनतम सद्भाव पनि देखिएन ।
    तिमीहरुको टिकट प्रति हामी उत्तरदायी छैनौं, चढ्ने भए भोली आउनु, हैन भने पैसा फिर्ता हुन्न, चाहिए त्यही बुकिङ्ग.कमलाई भन ! यस्तो ओठे जवाफले मन कुडियो । हामीसंगै अर्का दुइ जोडीहरु पनि अलपत्रमा परे ।
    हामी आफ्नो होस वा अरुको, सदा कानुन र न्यायको पक्षमा बोल्दै आएको हौं । हाम्रो ह्वेल हेर्ने रोमाञ्चकतामा बादल लाग्यो । हामीले पैसा तिरेको र उसैको कम्पनीको क्रुजको काटेको टिकट प्रमाणको आधारमा बोल्न बाध्य भयौं ।
    तिमीहरुले विज्ञापन गरे बमोजिम, तिमीहरुले हाम्रो क्रुज कम्पनी असल र राम्रो छ भने बमोजिम, तिमीहरुले हाम्रो क्रुज चढेर बस्टन र ह्वेलको दृश्यावलोकन गर्नु भने बमोजिम टिकट काटी समय भित्रै आयौं । प्रश्न उठ्छ । आजको मितीको हाम्रो नाउँमा काटिएको टिकटमा कसलाई पठायौ ? भोली आउनु भन्ने कुरामा के तर्क छ? भोली ह्वेल हेर्न बस्दा होटलको बिल कसले तिर्छ ? केहि समयपछि कम्पनीको अर्को दर्जाको कर्मचारीको जवाफदेहीपुर्ण बोलीले भन्यो आजलाई अर्को रमणीय टापुको टिकट दिन्छु र ह्वेल हेर्न भोली जान नभ्याए एक बर्ष भित्रसम्म जहिले आएर ह्वेल वाचिङ्ग क्रुज चढ्न पाउने तीन वटा पास दिन्छु र बुकिङ्ग डट् कमसंग समन्वय गरी तिरेको पैसा पनि फिर्ता गर्न पहल गर्छु । त्यस दिन उसले दिएको जरीवाना रुपि टिकटको डुंगा चढी स्पेक्टेकल टापु घुम्दै मन शान्त पारियो ।
    यस्तो अवस्था किन आउँछ ? कसको कारणले आउँछ ? घुम्न हिड्नेहरु आफ्नो व्यस्त समय मिलाएर कहाँ, कता पुगी राम्रो र नौलो अनुभुत गर्न चाहन्छन । हामी यात्रुहरु प्रति असल व्यवहार होस्, यात्रा सहज होस् र नठगीयोस भन्ने हुन्छ । यात्राको क्रममा आइपर्ने अफ्ठ्यारा र समस्याहरु तपाई हाम्रो कारणले भन्दा पनि यस्तै कसरी छिटो पैसा कमाउने भन्ने सोच वा अस्वस्थ प्रतिस्पर्धाले गर्दा आइपर्दछ । त्यसैले हाम्रो आत्मसम्मान, पैसा र समय जोगाउन प्रमाण पुर्याएर बोल्नुपर्छ । नौलो ठाँउको लागी बोली नै हाम्रो हतियार हो ।

    आल्वनि र ट्याक्सी ड्राइभर

    रचेस्टरको लागी बेलुका ८ बजेको रेल चढ्न हड्सन वारीको होटलबाट ट्याक्सीमा पारीको रेल स्टेशन पुग्नु चाहिने ५ मिनेटको समय र त्यसैमा रेल चढ्नु भन्दा आधि घण्टाअघि स्टेसन पुग्नु पर्ने समय जोडेर आल्बनि डाउनटाउन घुमीवरी हामी झण्डै एक घण्टा अगाडी नै होटल आइपुग्यौं । पहिल्यै अर्डर गरेतापनि ट्याक्सी समयभन्दा केही मिनेट ढिला आयो । हामी तीन जनाको लागी मगाइएको ट्याक्सीको अघिल्लो सीटमा पहिलेदेखि नै एक जना मानिस विराजमान थिए । यस्तो के हो ? को हो? हतार भएकोले हामी मुखामुख गरी ठिकै मान्दै जादै थियौं यत्तिकैमा ड्राइभरको मोवाइल बज्यो, उसको कुरा गराइले ट्याक्सीमा मिटर हुदाँहुदै मिटर अफ थियो र त्यो फोन गर्ने ब्यक्तिले हामीसँग यति पैसा लिनु भन्ने निर्देशन दिदैथियो । झण्डै एक किलोमिटरको त्यो ट्याक्सी यात्रामा भाडा ७ डलर लाग्ने रहेछ तर उसले फोनमा आएको निर्देशन अनुसार १५ डलर र थप टिप्स माग्यो । उसले अमिजासीलो तरीकाले क्रेडिट कार्ड चल्दैन भन्यो । हामीसंग नगदको नाउमा १५ डलर थियो । ल है ! यति मात्रै नगद रहेछ भन्दै दियौं तर उसले कुनै साहानुभुति देखाएन उल्टै अमर्यादित तरीकाले पैसा समायो । अगाडि बस्ने अर्को मान्छे अझै ट्याक्सी मै थियो । न्युयोर्क राज्य कै राजधानीमा मनहरु एैठन हुनपुगे । यो के हो? किन हो ? भन्दै समय बित्यो तर त्यो तिक्ततालाई रेलको डेढ घण्टा ढिलाईले झन मलजल गर्यो तरपनि लामो यात्रामा निस्केकोले होला यो विषयलाई मनैमनले सम्झाएर सम्झनयोग्य बनायौं र ढिलो रेल चढेर अर्को गन्तव्य तर्फ लाग्यौं ।

    रचेस्टर र होलिडे इन

    रेल स्टेसनबाट झण्डै ७ मिनेटको यात्राको क्रममा उसले रचेस्टरको अन्तरकथा, घुम्नुपर्ने केहि महत्वपुर्ण ठाँउहरु, उसको निकै इमान्दार र मिलनसार नेपाली साथीहरुको बयान र आफ्नो घर परीवारको सामान्य कुरा गरी होटलमा ओराल्न भ्यायो । सबैको मन प्रशन्न भयो, मिटरमा चढेको १२ डलरमा टिप्स दिन खोज्दा निकै प्रफुल्ल मुद्रामा तिमीहरु हाम्रो सहर घुम्न आएका हौ । रमाइलो गर ! टिप्स पर्दैन भन्दै गरेको अभिवादनले झन मन पगाल्यो । मानिसहरुको बोली व्यवहारले सम्बन्ध र समयलाई कसरी प्रभाव पार्छ भन्ने कुरा रचेस्टरको रेल स्टेशनमा भेटिएका ट्याक्सी ड्राइवरले एक दिन अघिको आल्वनीको ट्याक्सी ड्राइवरलाई कहिले भेट्ला र सिकाउला भन्ने लाग्यो ।
    त्यति उत्साही, सहृदयी ट्याक्सी चालकले छोडेर गएको केही समयपछि होटल छिर्ने बित्तिकैको अनुभव भने सुखद रहेन । आल्वनि झैं होलिडे इन कै तीन तारे होटलमा बुक गरिएको कोठाको अवस्था औसत पनि थिएन । होटलले ब्रेकफास्ट समावेस गरी पैसा कटाएको थियो तर ब्रेकफास्टको नाउँमा पानी पनि छैन, भन्ने फ्रन्ट डेस्कको रुखो जवाफले फेरी बोल्ने बेला आयो जस्तो लाग्यो र आवाज उठ्यो । होटलको वेवसाइटमा भने बमोजिमको स्विमीङ्ग पुलको व्यवस्था खै? दुइ दिनअघि नै मोवाइलको म्यासेज बक्समा बाचा गरिए बमोजिमको ब्रेकफास्ट खै? ३ तारे होटलको न्युनतम सुविधा खै? नत्र यस्तो हस्पिटालिटी विजनेश नगरेको राम्रो भन्ने आवाज बिस्तारै होटलको रिसेप्सन हुदै मेनेजरको कानमा पुग्यो । बुकिङ्ग.कमलाई दोष लगाउने प्रयास भएतापनि आखिर मेनेजर आफैंले फोन गरी माफी माग्दै हामीले बुकिङ्ग गरीएको दुई दिनको पैसा तिर्न नपर्ने भन्ने इमेल आयो । यसले हामी जुनसुकै मुलुक वा समाजमा भएतापनि अन्याय र ठगीको बिरुद्ध बोल्नुपर्छ । यसको विकल्प छैन भन्ने देखाउँछ । रचेस्टरबाट शिकागो हिड्ने दिनसम्ममा त्यस होटलको व्यवस्थापनमा आन्तरिक गडबडी रहेछ र तालमेल नभएको गुनासो त्यही होटलका कर्मचारीबाट थाहा हुन आयो । अतिथी देवो भवः भन्ने पेशा अपनाएकाहरुले ठगीजन्य र रुखो व्यवहार गरेको कत्ति पनि सुहाउँदैन ।
    गल्ति गर्ने प्रति उठेका औंलाहरुले उसको कर्तव्यलाई याद दिलाओस र अन्याय या ठगीबाट जोगाउँदै आफ्नो अधिकार र आत्मसम्मान कायम गरोस, त्यसैले बेलाको बोली अत्यावश्यक छ ।
    समयले कतै बोल्न लगायो कतै बोल्न मिलेन तर बोल्दाबोल्दै पाएको ह्वेल हेर्ने पासको सदुपयोग गर्न कै लागी भएपनि बस्टनको अर्को यात्रा जरुरी छ ।

  • शिकागोदेखि डिसीसम्म

    शिकागोदेखि डिसीसम्म

    कुमार न्यौपाने, न्युयोर्क

    ​सिकागोका भित्री कथाकहानी जे जस्तो भएतापनि सुन्दर, सफा, बिशाल र भेनिसको झल्को दिने सिकागो भव्य रहेछ । बेलुका ६.४० बजे वासिगंटनको लागि हिडेको रेल इण्डियाना र इलोनोइको सिमाना पार गर्दैगर्दा देखिएको दृष्यहरुले भने साच्ची कै पृथ्वीमा प्रदुषण कसले, कसरी फैलाइरहेछ भन्ने उत्तर दिन्छ । पाँच ग्रेट तालहरुको नाउले चिनिने सुपेरीयर, ह्युरोन, मिसीगन, इरी र ओन्टारीयो मध्ये सिगैं अमेरीका भित्रै पर्ने मिसीगन तालको दक्षिणी पुछारको ग्रे भन्ने भाग आँखालाइ अति नै अप्रीय लाग्ने, अति नै जिर्ण उद्योगहरुले घेरिएको थियो । विश्वका अति नै सुन्दर र स्वच्छ मानिने यी तालहरुमा किन र कसरी यस्तो औद्योगिक हस्तक्षेप भयो । किन उद्योगीक क्षेत्रहरुले प्रायः नदिहरु र तालहरु नै दोहन गर्दैआइरहेका छन । मन गह्रुंगो भइरह्यो ।
    भोलीपल्ट बिहानको झुल्के घामले (५.३० बजे) पेन्सलभेनियाको पिट्सबर्गको दर्शन गरायो । पुलैपुल र स्टिलको सहर भनेर चिनिने पिट्सवर्ग ओर्लनेहरु बाहेक सबै यात्रुहरु निद्रा मै थिए । पिट्सवर्गको डाउनटाउन ओर्लने ओहायो नदिको पुलबाट देखिएको पुर्वको बादल छेडिनसकेको घामको रङ्ग मिठो र अद्भुत थियो । अमेरीकाको मुल(जननी) नदि अर्थात जीवन नै मानिने मिसीसीपीको मुख्य पुर्विय शाखा नदि ओहायोको उदगम बिन्दुमा आफुलाई पाउँदा रेलको यो क्यापीटल लिमीटेडको टिकट लिएकोमा सुधा जीलाई धन्यवाद भन्दै सोच्दै थिएँ, आफ्नै नाउँको मुहान नभएको यो नदि पिट्सबर्गको उत्तरपुर्वबाट झर्ने अलेघेने र दक्षिण पुर्वबाट आउने मोनोन्गहेल नदिहरु मिसीएर पिट्सवर्ग ओर्लेपछि ओहायोको नाउँले चिनिदोरहेछ र यसले ओहायो राज्यको सिन्सिनाटी, मध्यपश्चिम राज्य केन्टकीको लुइभिल हुदै केन्टकी, मिसाउरी र इलिनोइ तिन राज्यहरुको संगममा पुगी आफुलाई पिट्सवर्गमा पाएको नाउँ ओहायो समेतलाई मिसीसीपीमा समाहित गर्छ । मध्य पश्चिमको मोन्टानादेखि पुर्वको पेन्सलभेनियासम्म जलाधार क्षेत्र भएको मिसीसीपीलाई अमेरीकाको भाग्य र दुःख दुबै बगेर मेक्सीकोको खाडीमा पुर्याउने नदिको रुपमा चिनिन्छ ।
    केहीवेरको यात्रु ओर्लने र उक्लने क्रम सकिए सँगै लम्वेतान लिकमा गुड्न थालेको रेलले मेरील्याण्डतिरको दिसा लिन्छ । घाम उक्लीदै गर्दा देखिएका दृष्यहरुले पश्चिमी पेन्सलभेनिया, पिट्सवर्ग सहर र दक्षिण पुर्व झर्दै गरेको रेल अब केही सय मिटर अग्ला हरिया डाँडाहरु, त्यसै डाँडाका बिचै बिच बनेका उपत्यकाहरु, उपत्यका छिचोल्दै बगेका नदिहरु वारपार गर्दै कुदिरहेको थियो । पहाड, उपत्यका र नदि किनारहरुका स­साना बस्तीहरु, बस्ती वरपरका तरेली परेका चौडा खेतीयोग्य जमिन, बिशेष गरी मकै खेतीले ओगटेका ति फाँटहरु मनमोहक थिए । सानो छँदा हाजिरीजवाफका कितावहरुमा अमेरिकामा सबैभन्दा धेरै मकै, गहुँ र भटमास उत्पादन हुन्छ भन्ने पढ्दा अचम्म लाग्थ्यो । मकै, गहुँको रोटी, ढिडोको परीकार खाने त हामी नेपाली हौं, हाम्रा डाँडापाखामा मकै खेति गरेको देखेको कसरी पिज्जा, वर्गर जस्ता मिठा मिठा खानेकुरा खाने अमेरिकामा मकै उत्पादन हुन्छ होला झैं लाग्थ्यो र निकै पछिसम्म पनि लागी नै रह्यो । अमेरिकी खाध्य उत्पादनको लागी उर्वर मानिने मध्य पश्चिमका अमेरिकी राज्यहरु मध्ये ओहायो, इन्डीयाना र इलिनोइको यात्राले उ बेला मनले नपत्याएका कुराहरु साँचो रहेछ भनि अब आफ्नै आँखाहरु नै भन्दै थिए ।


    झण्डै महाभारतको तल्लो भागदेखि उपत्यकाहरु र दुन हुदै भित्री मधेशहरुको झल्को दिने भु­भागहरु, त्यसै बीचैबीच बग्ने साना ठुला नदिहरुको बहाव र बाक्ला हरीयाली जँगलहरुको यात्राले नेपाल र आफ्नै देशको प्राकृतिक सौन्दर्यता झल्काइरह्यो । पहाडी भेगका उकाली, ओराली र नागबेली बाटोले गर्दा रेलको गती मन्द थियो । स्वभाविक रुपमा समथर मैदानको जस्तो कुदाइ थिएन तर शिकागोदेखि वासीगंटनसम्मको यात्रामा सबैभन्दा आनन्दको ठाँउ नै यही क्षेत्र थियो जहाँ सबै प्राकृतिक सौन्दर्यहरुको समागम थियो । हामी नेपालीहरुको लागि त आफ्नै खोला, पहाड र बस्ति घुमे झैं लाग्दै थियो ।
    रेल भित्रको हावाको गतिबिधिलाई सन्तुलन गर्न वातानुकुलीत सुविधा हुने नै भयो, त्यसले सबैलाई अलि चिसो भएको अुनुभुति गराउँदै थियो । रेलको यात्रा गर्नेहरु सबैले आफुसंग पातलो ज्याकेट वा ओड्ने बोक्ने गर्दा बुद्घिमानि हुँदोरहेछ । हामी त्यसमा अभ्यस्त नभएको कारण अन्य केही यात्रु जस्तै अलि चिसो खादै यात्रा गर्दै थियौं तर त्यो चिसोलाई रेलको डिब्बै पिच्छे भएका सफा सुग्घरी क्यान्टीनहरुका चिया कफीले भगाउँदै थियो ।
    ३/४ बर्षको उमेरमा आमाबुवाको काशी यात्राको क्रममा सँगै झुण्डिएर, बोकिएर गरीएको रेल यात्रालाई बिर्सने हो भने कहिले भारतको सुगौली र कहिले रक्सौलदेखि दिल्ली र दिल्लीदेखि जम्मुको बैश्णुदेवीसम्मको रेल यात्रा बुझ्ने भएपछिको मेरो पहिलो रेल यात्रा थियो । अर्को केही बर्ष अघिको रोमदेखि भेनिससम्मको हिँउका थुम्कोहरुको फेदैफेद कुदेको युरापेली रेलको यात्राको बेग्लै अनुभव छ । यात्रा सम्बन्धि सम्पुर्ण जानकारी, यात्रा गर्ने रुटको बारेमा दिइएको जानकारी, समय तालीका र ट्रेन स्टेसनमा आइपुग्ने समय र लगेजका कुराहरुको जानकारी टिकटसँगै इमेलमा आउने भएकोले यात्रा गर्नु अघि यात्रुले कुनै झण्झट व्यहोर्नु नपर्ने र रेलको आफ्नै वेबसाइटमा गएर टिकट काट्न मिल्ने भएकोले अन्य ट्राभल एजेन्सी खोजिरहन नपर्ने थियो । २० घण्टाको लगातार रेल यात्राको समय सुन्दा कताकता डर र रोमान्चकता दुबै थियो । हामी बास्तवमै अमेरिकी रेल यात्राको अनुभव पहिलो पल्ट बटुल्दै थियौं । एकोहोरो, लामो र अनकन्टार लाग्ने यात्रा गर्न हौसीने मध्येको एक भएकोले म भित्र चाहिँ डर भन्दा कौतुहलता र रोमान्चकता तिब्र थियो तर परिवारका अन्य सदस्यहरुको धैर्यता र भावना विनाको यात्रा आनन्दमय हुन सक्दैन । जब सबैजना रेलको यस लम्बेतान यात्रा गर्न तयार भए तब यात्राको अनुभव मिठो हुनेमा शकैं भएन ।
    रेलले पश्चिम भर्जिनियाको सीमाना छिचोल्दै मेरील्याण्डको भुमी टेक्दै गर्दा हरिया पहाडका टुप्पोहरुमा घुम्दैगरेका बिशाल हावामीलहरु चित्ताकर्षक देखिन्थे । हरिया डाँडामाथिका लहरै सेता पंखाहरु, एकातिर हेर्दा राम्रो देखिने अर्कोतिर वेगले चल्ने हावाशक्तिको सदुपयोग गरी बिजुली उत्पादन गरी त्यस भेगमा उर्जाको आवश्यकता पुरा हुदै थिए । सरकारी लगानी र त्यसको व्यबस्थापनले कसरी देशको बिकासमा टेवा पुग्छ भन्ने ज्वलन्त उदाहारण त्यहि भयो । हिमाल र पहाडको देश भनेर चिनीने नेपालका उच्च पहाडी भेगमा चल्ने हावाको गति थाहा नभएको को होला त्यसमाथि यस बिषयमा बर्षैपिच्छे गरिने अध्ययन अनुसन्धानले सरकारी निकाय भलिभाँति जानकार पनि छ । पहिलो प्राथमिकतामा परेको पानीबाट उत्पादन गर्ने बिजुलीमा लगानी र काम गराइ र उत्पादनको अबस्था देख्दादेख्दै हावाबाट निस्कने उर्जाको के कुरा ? नेपालका बिकट भुभागहरुमा ठुला र महंगा हाइड्रो प्रोजेक्ट सम्भव नहुने ठाँउको लागी यस्ता हावामीलहरु निकै उपर्युक्त देखिन्छ । मेरो देशमा यस्तो दृष्यहरु कहिले देख्न पाइएला भन्ने मनको लड्डु घ्युसंग खादै झ्यालबाट तन्कदै फोटो खिच्दै गरेका यात्रुहरुलाई हेर्दा लाग्यो तिमीहरु त यही देशका नागरीक हौ, तिम्रै देशको बिभिन्न भेगहरुमा भएको बिकास हेर्दै छौ, रमाउँदैछौ, आनन्द साथ फोटो लिदैछौं । हामी पनि फोटो त लिदैछौं तर मनमा केही अभाव र केही हिनताबोध भने छ ।
    ​अब रेल मेरील्याण्ड र भर्जिनिया सिमाना हुदै वाशिगंटन तिर वग्ने पोटोम्याक नदी किनारै किनार लम्किदै थियो । डेलावेर बेसीन छिचोल्दै आन्द्र महासागरमा मिसीने पोटोम्याक नदी र यसको जलाधार क्षेत्र अमेरिकी राजधानी डी सीको पानीको श्रोत पनि रहेछ । बाटो छोट्टीदै गर्दा किन आमट्रयाकका रेलहरु तोकिएको समयमा हिड्दैनन र तोकिएको समयमा गन्तव्यमा पुग्दैनन भन्ने ठुलो प्रश्नबीच न्युयोर्कबाट अल्बने र अल्बनेबाट रोचेस्टर अनि रोचेस्टरदेखि शिकागो यात्रा गर्दाको अनुभुति र अनुभवले बताउदै थियो । रेलका नियमित यात्रुहरुको रेल व्यवस्थापन प्रतिको रोषपुर्ण टिप्पणीहरु र रेल कर्मचारी प्रतिको व्यवहारले प्रष्ट पारेको थियो । वास्तवमा रेलको यस्तो ढिलाइ हाम्रो अपेक्षा भित्र पनि थिएन । तोकिएको समयमा कुनै पनि रुटमा रेल पुगेको थिएन । रेलका कर्मचारीहरु रेलको ढिलाइकोलागी क्षमाप्रार्थीका शब्दहरु व्यक्त गर्नु बाहेक उनिहरुको बसमा केही थिएन । वाशिगंटन आइपुग्दा पनि तोकिएको समयभन्दा एक घण्टा ढिला गरी दिउँसोको १ बजाएको थियो । रेलको ढिलाइको कारण सोचे जस्तो गरी वासिगंटनको रमणीय क्षेत्र घुम्न नपाए पनि राजधानीबाट बेलैमा रेल गुडोस र बेलुकाको ९ बजे भित्र न्युयोर्क पुगेर तातो खाएर सुत्न पाइयोस भन्ने चाहना नर्थ रिजनल रेलले चैं पुरा गरीदियो । रेलको समयको गडबडीलाइ आँखा चिम्लीने हो भने यो भेगको पहिलो रेल यात्रा अनुभव सुखद, आरामदायी र रोमान्चक नै रह्यो ।

  • वायुसेवा कम्पनी भन्छन्, हवाई उडान सुरक्षित छ

    वायुसेवा कम्पनी भन्छन्, हवाई उडान सुरक्षित छ

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण देशका विभिन्न जिल्लामा पुनः प्रतिवन्ध शुरु भएको छ । यस अवस्थामा आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि सङ्क्रमणरहित उडानको प्रतिबद्धता जनाएका छन् । उनीहरुले उडान नियमित राख्न र नरोक्न समेत आह्वान गरेका छन् ।

    नेपाल वायुसेवा सञ्चालक सङ्घले सङ्क्रमणरहित उडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कोभिड–१० सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य तथा हातेमालोका लागि निरन्तर तयार रहेको बताएको छ । वायुसेवा कम्पनीले स्वास्थ्य मन्त्रालय र नियामक प्राधिकरणले सुझाएको निर्देशिकाअनुरुप पूर्ण सावधानीका साथ हवाई सेवा सञ्चालन गरिरहेको सङ्घको भनाइ छ । सङ्क्रमणलाई मध्यनजर गर्दै प्राधिकरण सहज सरल उडानका लागि प्रतिघण्टा आठ वटा उडानको मात्र तालिका सञ्चालन ल्याएको छ ।

    त्यसअनुरुप बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म स्लटअनुसार काठमाडौँबाट उडान हुने अवस्था रहेकाले काठमाडौँँ तथा बाहिरी विमानस्थलमा यात्रुको चाप न्यून देखिएको र विमानस्थलका उच्च अधिकारीबाट हरेक दिन अनुगमन भइरहेको जनाइएको छ । विगत केही सातादेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाटोघाटो क्षति पु¥याएको तथा कतिपय डाइभर्सन बगाउनुका साथै पुलमा क्षति पुगेको अहिलेको परिस्थितिमा वायुसेवा कम्पनी सहज भाडा दरमा यात्रु ओसारपसार गरिरहेको विज्ञप्तिमा उल्लेख छ । अहिले दैनिक एक हजार २०० भन्दा बढी यात्रु आवतजावत गरिरहेको विमानस्थलले जनाएको छ ।

  • यूएईले हटायो नेपालमाथिको यात्रा प्रतिवन्ध

    यूएईले हटायो नेपालमाथिको यात्रा प्रतिवन्ध

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालसहित विभिन्न मुलुकमाथि लगाएको यात्रा प्रतिवन्ध हटाएको छ । कोभिड १९ सङ्क्रमणको जोखिम रहेको भन्दै सो मुलुकले नेपाल र भारतलगायत विभिन्न ६ वटा मुलुकका यात्रुमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । कोभिड १९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउने-जाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको हो ।

    नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डाका नागरिकले यूएईको भ्रमण गर्न सक्ने छन् । यसबाट नेपाली कामदार समेत लाभान्वित हुने भएका छन् । यूएईस्थित नेपाली दूतावासका अनुसार अब कोभिड १९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीले सो मुलुक छिर्न सक्ने छन् । उनीहरुले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन भने कटेको हुनुपर्छ । यहाँ कार्यरत चिकित्सक, नर्स, सरकारी कर्मचारीहरु भने खोप नलगाए पनि यो मुलुकमा छिर्न पाउने भएका छन् ।

  • अब भरतपुरबाट भैरहवामा नियमित जहाज चल्ने

    अब भरतपुरबाट भैरहवामा नियमित जहाज चल्ने

    काठमाडौं । अब चितवनको भरतपुरबाट रुपन्देहीको भैरहवासम्म नियमित जहाज चल्ने भएको छ । बुद्ध एयरले क्षेत्रिय विमानस्थललाई जोड्ने गरि रुट तय गरेको छ । भरतपुर–भैरहवा रुटमा हागामी १५ अगष्टबाट उडान गर्ने भएको हो । कम्पनीका अनुसार यो रुटमा सातामा तीन उडान हुने छ । शनिबार, बुधबार र शुक्रबार जहाज चल्ने गरि उडान तालिका तय भएको कम्पनीले जनाएको छ ।

    यसअघि बुद्धले पोखरा–नेपालगन्ज रुटमा उडान गरेको थियो । अहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डमा सडक बिस्तारको काम जारी छ । त्यसकारण सडकमार्गमा हुने विभिन्न अवरोधका कारण यात्रा अवरुद्ध हुने यात्रुले अब भरतपुर पुगेर त्यहाँबाट जहाज चढी भैरहवा पुग्न सक्ने कम्पनीको भनाई छ ।

  • एक महिनामा अमेरिकाबाट नेपाल आए ८१९ पर्यटक

    एक महिनामा अमेरिकाबाट नेपाल आए ८१९ पर्यटक

    काठमाडौं । नेपालमा पछिल्लो एक महिनाको अवधिमा अमेरिकाबाट पर्यटक आगमन बढेको छ । जुलाई महिनामा अमेरिकाबाट मात्र ८१९ जना नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । जुलाईमा कुल २९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । नेपालमा कुटनीतिक नियोगमा काम गर्ने कर्मचारी, विभिन्न परियोजनामा काम गर्ने कर्मचारी र गैरआवासीय नेपालीलाई समेत पर्यटक मानिन्छ । यो महिनामा नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै भने भारतीय छन् ।

    भारतबाट ११४३ जना पर्यटक नेपाल आएका छन् । भारतबाट हवाई मार्गबाट नेपाल भित्रिने भारतीयलाई मात्र पर्यटक मानिन्छ । दक्षिण कोरियाबाट सबैभन्दा धेरै ५८ जना भित्रिएका छन् । चीनबाट ५० जना पर्यटक नेपाल आएका छन् । युरोपको बेलायतबाट १८५ पर्यटक नेपाल आएका छन् । बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, जर्मनबाट ३४ पर्यटक नेपाल आएको तथ्यांक छ । क्यानडाबाट ७८ र अस्ट्रेलियाबाट ५२ जना पर्यटक नेपाल
    आएका छन् ।

  • अगष्टमा अन्तर्राष्ट्रिय उडानको तालीका सार्वजनिक, कुन मुलुकमा कति उडान ?

    अगष्टमा अन्तर्राष्ट्रिय उडानको तालीका सार्वजनिक, कुन मुलुकमा कति उडान ?

    काठमाडौं । नेपाल नागरिक प्राधिकरणले अगष्ट महिनाका लागि उडान सार्वजनिक गरेको छ । अगष्ट २०२१ भर सातामा कुल ६७ उडान गर्ने गरी उडान तालीका तोकेको छ । पछिल्लो तालीका ३१ अगष्ट २०२१ सम्म कायम हुने छ । प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले दोहाको कतारमा दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ ।

    दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई (सोमबार र बुधबार), मलेसियाको क्वालालाम्पुरमा साताको दुई (मंगलबार र शुक्रबार), भारतको नयाँ दिल्लीमा साताको तीन (सोमबार, बुधबार र शनिबार) र जापानको नारितामा हरेक बिहीबार उडान गर्ने गरी अनुमति पाएको प्राधिकरणको तथ्यांक छ ।

    हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा आइतबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार गरी पाँच उडान गर्ने छ । दुबईमा हिमालयले साताको तीन (सोमबार, बुधबार र शनिबार) उडाउने गरि अनुमति पाएको छ । हिमालयले कतारको राजधानी दोहामा भने साताको पाँच (सोमबार, शुक्रबारसम्म) उडान गर्न अनुमति पाएको हो ।

    एयर इण्डियाले भारतको राजधानी नयाँ दिल्लीबाट हरेक आइतबार, मंगलबार र शुक्रबार नेपाल उडान गर्नेछ । फ्लाई दुबईले भने दुबईबाट मंगलबार, बुधबार र शुक्रबार गरि सातामा तीन उडान गर्न अनुमति पाएको छ । जजिरा एयरवेजले कुवेतबाट हरेक दिन नेपाल उडान गर्नेछ । कोरियन एयरले हरेक बुधबार काठमाडौं उडान गर्ने भएको छ ।

    मालिन्दो एयरको जहाज क्वालालाम्पुरबाट सोमबार, बुधबार र शनिबार काठमाडौं आउनेछ । मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौंमा उडान गर्ने गरि अनुमति पाएको छ । कतार एयरवेजले कतारको दोहाबाट काठमाडौंमा दैनिक २ उडान गर्ने गरि अनुमति पाएको छ ।

    सलाम एयरले ओमानको मस्कटबाट आइतबार, मंगलबार र बिहीबार नेपालमा जहाज ल्याउने छ । टर्किस एयरलाइन्सले सोमबार, बिहीबार र शनिबार नेपाल उडान गर्ने भएको छ । सिंगापुर एयरलाइन्सले भने हरेक आइतबार नेपाल उडानको अनुमति पाएको छ ।

  • विदेश जाँदा कन्सुलर विभागबाट खोप लगाएको प्रमाणिकरण लिनु नपर्ने

    विदेश जाँदा कन्सुलर विभागबाट खोप लगाएको प्रमाणिकरण लिनु नपर्ने

    काठमाडौं । नेपालबाट विदेश जाँदा कन्सुलर सेवा विभागमा खोप लगाएको प्रमाणिकरण अब लिनु नपर्ने भएको छ । विभागले विदेशस्थित सम्पूर्ण नेपाली नियोगलाई समेत यसबारे जानकारी गराइएको बताएको छ । कन्सुलरमा गएर थप प्रमाणिकरण गर्नु पर्ने झन्झटबाट भने मुक्ति मिलेको छ । आइतबार सिसिएमसीले पत्रमार्फत स्वास्थ्य मन्त्रालयले तोकेका ४ अस्पतालबाट जारी भएका खोप प्रमाणपत्र कन्सुलर विभागमा थप प्रमाणीकरण गर्नु नपर्ने बनाउन निर्देशन दिएको थियो ।

    यसअघि विदेश जाने कामदार र विद्यार्थीहरूले खोप लगाएको प्रमाणपत्र अस्पतालबाट लिएपनि त्यसलाई पुनः कन्सुलर विभागबाट प्रमाणीकरण गराउनु पर्ने नियम थियो । पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र नागरिकलाई खोप अनिवार्य गरेपछि अहिले खोप लगाएको प्रमाण पत्र लिनेको संख्या बढेको छ। खोप लगाएपछि विदेशमा जाँदा क्वारेन्टिन बस्नुनपर्ने नियम अधिकांश मुलुकमा छ । सबै कामदारहरूले खोप लगाएको प्रमाण पत्र लिने गरेका छन् । यसले विदेश यात्रामा झन्झट कम हुन्छ ।

  • सिन्धुलीमा तयार भयो युद्ध संग्रहालय, राष्ट्रपतिद्धारा उद्घाटन

    सिन्धुलीमा तयार भयो युद्ध संग्रहालय, राष्ट्रपतिद्धारा उद्घाटन

    सिन्धुली । सिन्धुलीमा युद्ध संग्रहालय तयार भएको छ । दुई वर्ष अगाडी शुरु भएको संग्रहालय निर्माणको काम सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । राष्ट्रपति बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुलीगढी पुगिन । कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्ध संग्रहालय निर्माण गरेको छ । संग्रहालय छ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ ।

    कुल ६ करोड ५० लाख रुपैयाँ लागतमा संग्रहालय बनाइएको हो । संग्रहालयमा वीर योद्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियार राखिएका छन् । सिन्धुली अंग्रेजसँगको नेपालको युद्धको सबैभन्दा चर्चित स्थान हो । अब सिन्धुलीमा यहाँको ऐतिहासिक गढीसँगै युद्ध संग्रहालय समेत एक आकर्षक पर्यटकीय गन्तब्य बन्ने छ ।


    ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत १८२४ मा भएको लडाइँलाई स्मरण गराउने सामग्रीहरु राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई हराएर थियो । संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरुको नामांकन गरिएको छ । ६ हजार २८१ स्क्वायर फुटको यो संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्री छन् ।

    ६ कोठे यो संग्रहालयमा राखिएका युद्धकालीन हातहतियार र दस्तावेजले इतिहासको खोजी गर्न थप मद्दत मिल्ने छ । संग्रहालयभित्र वृतचित्रमार्फत गढीको ऐतिहासिक सामरिक महत्त्व प्रर्दशनगर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रर्दशनलगायत संग्रहित गरी राखिएको छ ।

    नेपाल एकीकरणका समयमा गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुलीको सिन्धुलीगढी, मकवानपुरको मकवानपुरगढी, रौतहटको समनपुर र रुपन्देहीको जितगढी युद्धमा हराएको इतिहास रहेकोले ती स्थानमा नेपाली सेनाले युद्ध संग्रहालय बनाउने योजना अघि सारेको बताएको छ ।

    Photo : RSS
  • सौराहामा जंगल सफारी खुला

    सौराहामा जंगल सफारी खुला

    चितवन । कोरोना भाइरसको महामारीका कारण रोकिएको सौराहाको जंगल सफारी खुला भएको छ । विगत तीन महिनादेखि सवारी साधन वा हात्तिमार्फत गरिने सफारी बन्द थियो । चितवनको सौराहाका सामुदायिक वनमा पर्यटकको घुमफिरको एक आकर्षण जंगल सफारी समेत हो । महामारीको दोस्रो लहर आएपछि १६ वैशाखबाट सफारी बन्द गरिएको थियो । मङ्गलबार सफारी सूचारु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । अब हात्ती सफारी, जिप सफारी र डुङ्गा सयर गर्न सकिने भएको छ ।

    सौराहामा बीस हजारी तालसहित पर्या-पर्यटन सञ्चालन गरिरहेका बाघमारा मध्यवर्ती सामुदायिक वन, जनकौली मध्यवर्ती सामुदायिक वन, चित्रसेन मध्यवर्ती सामुदायिक वन र खैरहनीको कुमरोज सामुदायिक वनमा हात्ती सफारी, जिप सफारी र डुङ्गा सयर गर्न सकिन्छ । सौराहा भने १ साउनबाट खुलेको हो । यहाँका होटेल तथा रिर्सोटले ३३ प्रतिशत मात्र पर्यटक राख्न पाउँछन् । अवस्था सामान्य भएपछि भने निकुञ्ज प्रवेश समेत खुला गर्ने तयारी छ । यसअघि पोखरामा डुंगा शयर खुला भएको थियो ।

  • बुढानिलकण्ठ आसपासका पर्यटकीय क्षेत्र दुर्ब्यसनीको अखडा बन्दै, स्थानीय त्रसित

    बुढानिलकण्ठ आसपासका पर्यटकीय क्षेत्र दुर्ब्यसनीको अखडा बन्दै, स्थानीय त्रसित

    सुदर्शन केसी (सान) । राजधानीको आसपासमा उचाईमा रहेका पर्यटकीय आकर्षणका केन्द्रहरु दुर्ब्यसनीको अखडा बन्न थालेसँगै स्थानीयमा त्रास बढेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिकास्थित विभिन्न धार्मिक तथा पर्यटकिय स्थलमा आन्तरिक पर्यटकको रुपमा लागु औषध दुर्ब्यसनीको जमात बढन थालेसँगै स्थानीयमा त्रास बढेको हो । लागु औषध प्रयोगकर्ता, अनैतिक क्रियाकलाप र मादक पदार्थ सेवन गरि अनेक हर्कत देखाउने जमात बढ्दा स्थानीयमा आक्रोस बढेको हो ।

    यसले कपन क्षेत्रमा हरेक दिन लुटपाट, चोरी , सडक दुर्घटना र ग्यांग फाइटका
    घटना समेत बढ्दै गएका छन् । स्थानीयहरुका अनुसार स्थानीय संरचनामा क्षति गर्ने, टेलिफोनको तार चोर्ने सम्मका गतिविधि बढेका छन् । जगडोलस्थित स्थानिय झण्डा पार्कमा बसेर रातको एक दुई बजे सम्म होहल्ला गर्दा स्थानीयलाई सास्ती बढेको जगडोलका स्थानीय बासिन्दा राम प्रसाद पौडेलले बताए ।


    बुढानिलकण्ठ नगरपालिका अन्तर्गत साबिक कपनका प्रसिद्ध गुम्बा मन्दिर पार्क वरिपरीका स्थानमा अहिले आन्तरिक पर्यटकको घुँइचो बढेको छ । तर, पर्यटकको भेसमा अवान्छित गतिविधि गर्नेहरु बढेपछि भने स्थानीयमा चिन्ता बढेको हो । बिहान र साँझ वाकिङ गर्ने र सामान्य घुमघाम गर्ने देखि काठमाडौं उपत्यका, चागु , बौद्ध , स्वयम्भू , शिवापुरी , बुढानिलकण्ठ लगायतको मनमोहक दृस्य हेर्न समेत यो स्थान धेरैको रोजाइमा परेको छ ।


    एक्लै हिड्न डराउँछन् स्थानीय
    लागु औषध र मदिरा सेवन गरि भिड जमाएर बस्नेहरुका कारण यो क्षेत्रमा स्थानीयलाई एक्लै हिँड्न समेत डर लाग्ने भएको छ । साझ, बिहान स्थानीयले एक्लै हिड्न पनि मुस्किल भएको पौडेलले जानकारी दिए । उनका अनुसार मोटरसाईकल स्ट्न्ट गरेर डाँडोमा उडाउउने देखि झण्डा पार्कको डिलमा बसेर गाँजा तान्नेहरुको जमात बढेको छ । बढ्दो आन्तरिक पर्यटनलाई रचनात्मक ढङ्गबाट सेवा पुर्याउन तथा पर्यटनबाट लाभ लिन यस क्षेत्रमा केही राम्रा रिसोर्ट र रेस्टुरेन्टहरु खुलेको भए पनि स्थानियहरुले भने यस्ता भिडबाट प्रत्यक्षरुपमा कुनै फाईदा लिन नसकेको गुनासो गर्छन् ।

    स्वादिस्ट खानपान र बास सहितका यी रिसोर्टहरु अलि टाढाका पर्यटकहरुको गन्तब्य बन्न पुगेको छ । स्थानियले भने रिसोर्ट र रेस्टुरेण्टबाट समेत रोजगारी तथा अन्य कुनै फाईदा लिन सकेका छैनन् । केही सिमित व्यवसायीलाई यो क्षेत्रको आन्तरिक पर्यटनले प्रत्यक्ष फाइदा पुर्याए पनि पर्यटकको भिड भित्र लागु औषध दुर्ब्यसननी बढेपछि स्थानियमा त्रास बढेको झण्डा पार्क छेउमा नै घर भएका एक स्थानिय बताउछन् । उनी  भन्छन्, अब त गाँऊका मान्छे त्यो पार्कको बाटो हिंड्न नसकिने भइयो । उनका अनुसार युवा युवती आपत्तिजनक अवस्थामा भेटिनु सामान्यजस्तै भएको छ । रातको दुई बजे सम्म गाँजा तान्नेहरुको झुण्ड पार्कमा बसेको हुन्छ ।

    प्रभावहिन गस्ती
    झण्डापार्कमा पहल बढेपछि गाउँलेहरुले यहाँ पालो पालो गस्ती गर्थे । तर यसले गाउँले कै जिउज्यान असुरक्षित हुन पुगेपछि प्रहरी गुहारिएको थियो । थोरै दरबन्दी भएको प्रहरीको टुकुडी पनि शहिद पार्कको गेटमा यस्ता व्यक्तिबाट आक्रमणमा परिसकेको छ । त्यसपछी प्रहरीले समेत यहाँ गस्ती रोकेको छ । जगडोल झण्डा पार्क असुरक्षित भए पछी स्थानिय क्लब जगडोल युवा क्लब तथा गाँऊलेहरुले संयुक्त रुपमा वडा अध्यक्ष राजु अधिकारीसँग सि सि क्यामरा बत्ती र फोहोर फाल्ने डस्ट बिन माग गरेका थिए ।

    तर, वडाबाट यसमा कुनै काम नभएको क्लबका अध्यक्ष संजय पौडेलले बताए । घुम्ने बहानामा आउने यस्ता भिडबाट गाउँ असुरक्षित बन्दै गएपनि प्रशासनले कुनै पहल लिन नसकेको उनको भनाई छ । पार्कमा आउनेहरुसँग पार्किङ शूल्क लिएर व्यवस्थित गर्न सके मात्र पनि स्थानीयले निजी सुरक्षा गार्ड राख्न सक्ने उनी बताउँछन् । यसले रोजगारी पनि सिर्जना हुने उनको भनाई छ । वडाले सहमति दिए मोटरसाईकल र कार पार्किङको शूल्क उठाइने उनले बताए ।


    केही समय अगाडी दिलिप थापा मगर लगायत युवा कपन गुम्बा छेउको खाली जग्गामा हुने यस्ता समस्या लिएर वडा कार्यालय तथा कपन चौकीमा समेत पुगेका थिए । हाल उनीहरुको सकृयतामा , सिभिल प्रहरी , गस्ती प्रहरी समेतले निगरानी राखी अनैतिक गतिविधिमा लाग्नेलाई सम्झाउने बुझाउने र अटेर गरेलाई कारबाही समेत हुन थाले पछि केही न्यूनीकरण भएको बताइएको छ । चेतना मुलक पोस्टर , पम्प्लेटको ब्यबस्था गर्ने , युवाहरुलाई गाइड गर्ने, अभिभावकलाई सजक तुल्याउने जस्ता कार्यक्रम स्थानीय सरकारले ल्याउनु पर्नेमा स्थानीयको माग छ ।


    भविश्यका कर्णधारको दयालाग्दो दृष्य
    घुम्न आउनेहरु विभिन्न उमेरका हुन्छन् । तर, यहाँ युवापुस्ताको अवस्था भने दयालाग्दो देखिने गरेको स्थानीयहरु बताउँछन् । लागू पदार्थ सेवन गरि झालझुलमा झुलिरहेका, मादक पदार्थ सेवन गर्दै वोतल फुटाउने , अपशब्द बोल्ने, महिलाहरुलाई जिस्काएर अभद्र व्यबहार गर्ने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्ने, झैझगडा र हुलदङ्गा गर्नेहरु अधिकांश युवा उमेरका मानिस छन् । स्थानीय ज्योती के सीले सिर्जनात्मक गतिविधि गर्दै आफ्नो करियर र सामाजिक विकासमा लाग्नु पर्ने युवा यसरी दुर्ब्यसनीमा फस्नु भनेको समाज नै खराब बन्दै जानु भएको बताउँछन् । देखेर नदेखै झै गरि हिड्नु , मेरा बाल बच्चा होइनन अरु कै त हुन भनी बेवास्ता गर्नाले भोलि स्थानीयका युवा युवतीमा समेत यस्तो दुर्ब्यसनीको लत बस्ला भन्ने पिर स्थानीयमा छ ।

    वडाको प्रतिक्रिया के छ ?
    बुढानिलकण्ठ ११ का वडा अध्यक्ष राजु अधिकारीका अनुसार सो क्षेत्रमा उछृङ्खल गतिविधि बढ्दै गएको गुनासो स्थानीयबाट धेरै नै आएको छ । यस्ता गतिविधि रोक्न स्थानीय तथा सुरक्षा निकायसङ्ग औपचारिक छलफल गरि छिट्टै योजना बनाएर काम गर्ने प्रतिवद्धता उनले जनाए । पर्यटन र पर्यावरण विकासको साथै यसको चुनौतीको सामना गर्न वडाले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने स्थानीयको मागमा आफु सहमत रहेको उनको भनाई छ ।

  • काठमाडौं विमानस्थलमा दुई जहाजको आकस्मिक अवतरण

    काठमाडौं विमानस्थलमा दुई जहाजको आकस्मिक अवतरण

    काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा बुद्ध एयरका दुई जहाजले आकस्मिक अवतरण गरेका छन् । एक जहाजमा यात्रु बेहोस भएका कारण मेडिकल प्रयोजनमा जहाजको आकस्मिक अवतरण भएको हो । अर्को एक जहाजमा भने प्राविधिक गडबडी देखिएको छ । त्रिभुवन विमानस्थल कन्ट्राल टावरका अनुसार काठमाडौंबाट ६९ यात्रु लिएर धनगढीका लागि उडेको जहाज साँझ ६ बजे काठमाडौंमा आकस्मिक अवतरण गरेको हो ।

    अर्को जहाज भने ७० यात्रु सहित नेपालगन्जका लागि उडेको थियो । सो जहाजमा एक यात्रु बेहोस भएपछि काठमाडौं नै फर्काइएको छ । यो जहाज भने भैरहवा नजिकै पुगेपछि काठमाडौं फर्काइएको हो प्राविधिक गडबडी आएको जहाजका यात्रुलाई अर्को जहाजबाट धनगढी पठाइएको छ । नेपालगन्ज उठेको जहाज भने बिरामीलाई काठमाडौं झारेर पुनः गन्तब्यमा उडेको छ ।

  • त्यो झरीको दिन र साल्भाडोरीयन बाजे

    त्यो झरीको दिन र साल्भाडोरीयन बाजे

    कुमार न्यौपाने, न्युयोर्क

    जुलाइ १ को दिन एकतमासले पानी परिरहेको थियो । सधैं भिज्थें, छाता बोक्न भ्याएकोले छाता भिजिरहेको थियो । छाताको ओतले नभ्याउने भाग त भिज्यो नै तर टाउको र कुम नभिजेपछि आफु ओभानै भएको भान हुदैथियो ।
    केही किताबहरुसंग सम्बन्धित कामहरु लिएर हिँडेको थिएँ । कितावको कुरा सम्झँदाको एउटा सन्दर्भ आउँछ । गत नोवेम्बर तिर ओबामाको पछिल्लो पुस्तक अ प्रोमीस्ड ल्याण्ड बजारमा आएको भोलीपल्ट नै इस्टभिलेजको टार्गेट स्टोरमा ओल्टाइपल्टाइ गरिटोपलेको थिएँ । एक बर्षअघि नै नेपालबाट ल्याएका नेपाली पुस्तकहरु नै बीचबीचमा चिन्ह लाउँदै छोड्दै गर्नेलाई यति मोटो अंग्रेजी किताब पढ्ने जाँगर कहिले चल्ला अनि किनौला भन्ने लाग्यो र त्यसै छोडें ।
    त्यहि डिसेम्बर तिर नेपाल रहँदाको कुरा हो । बेला बेला साँखु माथिको रमणीय जर्सिङ्गपौवा जाने मौका मिल्थ्यो । त्यहाँ पुग्दा मौका मिल्यो कि हाइकिङ्गको ट्रेलहरुमा झोला भिरेर एक्लै वा साथिहरुसंग लम्किरहेको भेटिने ल क्याम्पसका प्राध्यापक गणेश भट्ट सरको सम्झना आउँछ, उसो त अभि सर पनि प्रसस्तै हिड्नु हुन्छ ति देउराली र भन्ज्याङ्गहरुमा । उत्तरतिर मेलम्ची र दक्षिणपुर्व नगरकोट जाने मोटरबाटो र हाइकिङ्गको लागी मिल्ने अरु बाटोहरु त्यही पौवाबजारको चोक हुदै तेर्सिएका छन । केही छिनको मोटर कुदाइपछि हामीलाइ भने मेलम्ची जाने पट्टी अलि पर निर्माण पुरा भैनसकेको पहाडको टुप्पोको नयाँ रेष्टुरेण्टको वेटर र चिसो हिमाली हावाले राम्रै स्वागत गरेको थियो । उत्तरपट्टीको हिमाली दृष्यहरु प्रष्ट देखियोस भनेर बरण्डाको भाग शिसाले बारीएको रहेनछ । त्यसैले स्याँठ चल्दा छाति बेजोडले सेक्थ्यो ।
    नेपाली मसला चिया, मेरो पहिलो अर्डर !
    अनि त्यो चिसोको चुनौतीलाई चिर्न तातो तातो चिकेन थुक्पा । यति अर्डर लिइसकेका वेटर बोल्छन, सरहरु ! कुनै किताव पढ्नुहुन्छ कि? मेरो साथी मनोज श्रेष्ठले अलि नाक खुम्च्याउँछन र म पनि मनमनै सोच्छु यो सुनसान पहाडको टुप्पोमा किताव ? फेरी कस्तो किताव ? तातो चिया मात्रै सम्झिरहेको मेरो मनले के होला र यँहा किताब भन्दैथ्यो । ल ! सके ल्याउ, भने जस्तो मानी ओवामाको अ प्रमिस्ड ल्याण्ड छ ? (जुन १५ दिन अगाडि मात्र न्युयोर्कमा विमोचन भएको थियो) भनें ।
    उनी गए । दुइ मसला चिया संगै उहि अ प्रमिस्ड ल्याण्ड मेरो अगाडीको टेवलमा राखिदिए ।
    ल सर ! यहाँ बसुन्जेल पढ्नुहोस । असाध्यै राम्रो छ । मज्जाले बिस्मयमा पर्दै त्यो चिसोको तातो चिया छोडेर किताव पल्टाउन थालें । प्रकाशन भएको १५ दिन भित्रै नेपालको भन्ज्याङ्गतिर यो कितावको कल्पना पनि गर्न सकिदैन थियो । वेटर भित्र गएपछि म आफैदेखि आफैलाई भन्छु, यो त उहि किताव हो जुन न्युर्योकमा देखभेट भएको थियो । ल पढ् ! केहिवेर साथी र म मुखामुख गर्छौं । हामी भित्र च्वास्स पलाएको हेय भावनारुपी पोष्टमा ती वेटरले मज्जैले ड्रिबलिङ्ग गरी खेलको शुरुवात मै गोल हानेर गए झैं भयो । जहाँ ईच्छा त्यहि उपाय भने भैंm म चिया पिउदै किताव पल्टाउदै एक महिना अगाडीको इस्टभिलेज सम्झदै थिएँ । मेरो चुनौतीलाई चिरेर आएको किताबको केहि हरफहरु पढें र जीन्दगीका सद्भावनाका केहि अक्षरहरु बुझें । झण्डै दुइ घण्टापछि ती वेटर रुपी शेयरहोल्डरको बिस्तारै ठुलो लाइब्रेरी सहितको रिसोर्टको परीकल्पनामा काम भइरहेको योजना विवरण सुनेर उत्तरोत्तर प्रगतीको कामना गर्दै हिँडेको ७ महिनापछि आज त्यहि पुस्तक पढ्ने चाहना छोरी शैवीले पुरा गरीदिएकी छिन् ।
    कोभिडको कारण लाइब्रेरीमा बसी पढ्न नपाइने नियम भएकोले लाइब्रेरी सदस्यताको अर्डर बमोजिम त्यो पुस्तक लिन न्युयोर्क पव्लिक लाइब्रेरी (ब्रायन्ट पार्क शाखा) पुगी पुस्तक झोलामा हाली झरीसंगै लहसीदै थिएँ । किताबको मात्रै काम लिएर हिंडेकोले कानुनका केहि किताबहरुको खोजिमा अझै हिड्नु थियो । कानुनका किताबहरुको मुल्यसुची हेर्दा निकै महंगो थियो । आधी मुल्य मै पाइने भएकोले झरीको दर्काइसंगै गुगलले बताए अनुसारका प्रयोग भइसकेका (पुराना) पुस्तक बेच्ने पसलहरु छिर्छु तर हात लाग्छ शुन्य ।


    काठमाण्डौंका अनामनगर, ल क्याम्पसदेखि लाइनै पुतलीसडकसम्म, माइतिघरतिर टन्नै कानुनका किताब पाइने पसलहरु छन । खोजेको सजिलै पाइन्छ । के बित्यास परेको हो यहाँ । किताबै नभएको वा पसलै नभएको त पक्कै हैन होला यस्तै सोच्दै एकपल्ट न्युर्योक युनिभर्सीटीको बुक स्टोर पुग्छु, कसो नपाइएला भन्ने भयो । वाशिङ्गटन स्क्वायर पार्कको आडैमा रहेको त्यो पुस्तक पसल जाने क्रममा दोश्रो एभिन्युको ४८ औं स्ट्रिटमा बस कुर्दै गर्दा भेट हुन्छन एक पाका मान्छे ।
    साल्भाडोरीयन बाजे (साबा) ।
    छाता बन्द गरी पानी तक्र्याउदै थिएँ । बस कुर्ने ठाँउको बेन्चको एकातिर एक बृद्घ बाजे अर्कोतिर बस नै कुर्दैगरेकी अधबैंसे महिलासँग गफिदै गरेको देख्छु । बस स्ट्याण्डमा उभिदै गर्दा सुन्छु, साबा आफ्नो कौतुहलता पोख्दै प्रश्न सोध्छन तपाई कहाँबाट? महिला मुस्कुराउदै भन्छिन, म? म इंग्ल्याण्डबाट । उनको कौतुहलता, ओहो ! इंग्ल्याण्ड ? कस्तो राम्रो होला है ? हो राम्रो छ, तर म यहाँ बस्न थालेको २७ बर्ष भयो । श्रीमान र दुइ छोरीहरु छन । यहाँ पनि मनपर्छ । बेलाबेला जान्छु आमालाई भेट्न । बाबु बितेपछि एक्लै भएकी मेरी आमा कार्डिफको कन्ट्रीसाइडमा ठुलो बगैचा सहितको घरमा आनन्दसंग उहाँलाइ सघाउने मान्छेसंगै बस्नुहुन्छ । म बिबाहपछि यहाँको रैथाने भएँ । महिलाको प्रश्न, अनि तपाइ कहाँबाट ? बाजे भन्छन म साल्भाडोरको । बुढी औला र चोरी औलाकोे इसाराले देखाउदै भन्छन यत्ती सानो छ । थाहा छ तिमीलाइ साल्भाडोर ? महिला भन्छिन, एल साल्भाडोर ? हो सुनेकी छु भन्दै मुस्कुराउँछिन, बाजे मख्ख परेको भाव प्रकट गर्छन ।
    निकै बेर बस नआउँदा म त्यो भलाखुसारी हेर्दै सुनीरहेको हुन्छु । कहिलेकाँहि बसहरु कुनै कारणवस ढिला भइदिन्छन । जे हुँदै थियो ठिकै थियो । मैले कोही बेलायती वा अमेरीकनहरुले फरासींदै बस स्टेसनको बेन्चमा भेटिएका कोही अन्जान व्यक्तिसंग आफ्ना मनका कुराहरु यसरी साट्दै गरेको पहिलो पल्ट सुन्दैथिएँ । हुनत सबै व्यक्तिहरुलाइ एउटै तराजुमा हाल्न मिल्दैन तैपनि यो गफगाफले यस मनको चिसो सहरमा मानिसले मानिसलाई आदर पनि गर्छ, कोही सुन्न र केहि सुनाउन पनि मन गर्छन है भन्ने सन्देश दिदैथियो । सायद ति महिला पनि म जस्तै आफ्ना बाबुलाई पो सम्झदै थिइन कि !


    जहाँजहिले आफ्नो स्वार्थ पुरा गर्न छालाको रङ्गमा राजनिती गर्नेहरुले अर्कै तरीकाले सोच्छन होला तर विबेकी मानिसहरु एकअर्काको अस्तित्वलाइ आदर­सम्मान गर्छन चाहे ती धनी देशका हुन चाहे गरीब । यो छोटो सम्वाद त्यसैको एउटा सानो उदाहारण झैं लाग्यो । बस आइपुग्यो, सबैजना बस चढ्न गए तर मेरो लागी भने आएन । यो एक्स्प्रेस बस मेरो लागी थिएन । मेरो पुग्ने ठाँउभन्दा निकै पर गएर रोकीने भएकोले म थन्किएँ । स्टेसनमा बाकी रह्यौं दुइजना । म र उहि साल्भाडोरीयन बाजे ।
    अघिको महिला बसेको बेन्च खाली भयो, त्यहीँ गएर बसें । छाते टोपी लगाएका बाजे अघिदेखि बोलौं झैं गरीरहेका थिए, अहिले मौका पाए र बोलीहाले । तिमी किन बस नचढेको? ए म ! यो मेरो बस परेनछ, अर्को आउँछ अनि चढ्छु । म कुरा थप्छु, के तपाई एल साल्भाडोरबाट ? बाजे हँसीलो मुहारमा भन्छन, हो नी ! अनि प्रतिप्रश्न गर्छन, तिमी त? मैले चिन्छन कि चिन्दैनन भनेर आफ्नो टिसर्टमा भएको नेपालको सानो झण्डा देखाएर भनें, म यहाँको ! चिन्नुहुन्छ ? केहिबेर हेर्छन तर भेउ पाएनन । म त्यसैपनि आँखा अलि कम देख्छु अनि झण्डा त होला, कति सानो रहेछ । हो, सानो नै छ । अघि तपाईले मेरो देश सानो छ भन्दै गरेको सुनेको थिएँ । तपाईको देश र यो झण्डा उत्रै हो त? उनि अब चाउरीएका गालाा झनै मुजापार्दै मज्जाले हाँस्छन । त्यो त हैन तर भन्दैथिए, मेरो देश सानो नै छ । मैलें जमिनको आकारले मात्रै कुनै देश ठुलो र सानो हुन्न भन्दै कुरा काटें । महाकवीको ‘के नेपाल सानो छ?’ भन्ने निबन्ध सम्झिन पुगें । त्यो देश भित्र के के छ ? जंगल, पानी, जैविक बिविधता, कस्तो छ हावापानी, त्यहाँ बस्ने मानिसहरु कत्तीको खुशी छन यी सबैले त्यो देशको महानता मापन हुन्छ भन्दै म पनि तपाइले भने जस्तै भुगोलको हिसावले सानो देशको मान्छे हुँ तर म आफ्नो देशलाई सानो मान्दिन । उनलाइ मेरो कुरा एकतमासको त लागेन भनि रोक्कीएँ । अब गम खाँदै भन्छन राम्रो कुरा भन्यौं तिमीले । साच्चीकै मेरो देश तिमीले भने जस्तै सबैकुराले भरीपुर्ण छ, उहि हो धनी र गरीवको कुरा आउँदा हामीलाई मन खिन्न लाग्छ ।
    ३०० बर्ष स्पेनको उपनिबेश, त्यस पछिको ‘कु’ अनि १० बर्षे जनयुद्घ र आज आएर बिश्वास गरेका नेताहरुले हाम्रो हितमा काम गरेका छैनन । आफ्नो देशको हालतसँग आधाआधि मिलेको अवस्थामा मैले आफ्नै देशका नेताहरुलाइ सम्झदै सम्झाउँछु उनलाइ र उसैगरी आफ्नै मनलाई । अब बिस्तारै राम्रो होला, कुनै पनि देश एकै रात सक्षम र धनी भएका हैनन नि त । कुनै दिन त राम्रो मान्छेको हातमा पनि जाला नि हाम्रो देशको बागडोर, त्यसपछि कसैले रोक्न खोज्दा पनि रोकिन्न । तपाईको जस्तै मेरो देशपनि विकास गर्नुपर्छ भन्ने अठोटमा छ, अनि झण्डा देखाउदै भनें, म यो झण्डा भएको देश नेपालको हुँ ।
    लामो सास फेरी मलाइ हेर्दै भन्छन ओहो ! नेपाल ? मैले सुनेको छु । धेरै केहि थाहा त छैन तर अग्लाअग्ला हिमालहरु छन रे अनि कहिले हो ठुलो भुँइचालो आएको थियो हैन र? मलाई ति साल्भाडोरका बाजेले मेरो देशको बारेमा जे जति बताए त्यो नै ठुलो लाग्यो । आफ्नो देश आफ्नैले बिर्सेका कयौं कथा कहानी सुनीदै आइएको छ । यस्तै देश र झण्डाको गफैगफले बस आएर गयो कि आउदै आएन पत्तै भएन । गफ मज्जा लाग्दैथियो दुबैलाइ । यत्तीका बेरपछि बस स्टेसनमा कहाँ जान बसेको तपाई भनि बल्ल सोध्न पुगें । ए ! मेरो त काम छैन, सबै काममा कता कता जान्छन । म समय काट्न यसै घुम्छु कोरोना घटेदेखि । ए लौ, त्यसो पो । मैले सोचेको थिएं कतै जाँदै हुनुहुन्थ्यो । छाता नबोकी अघि नै निस्कीएको म, झरी परेको पर्यै छ, रोकिएला अनि जान्छु । उनी झरी रोकिने बाटो पो कुर्दै रहेछन ।
    मेरो भने बेलुका ६ बजेसम्म पुस्तक पसल खुल्ने भएकोले र झरीको अलमलले पनि गफिन पाउँदा मन हलुङ्गो नै मान्दैहुन्छु । यस मध्य शहरमा बोल्न खोज्दै गरेको एक पाको मान्छे त्यसमाथि अलि अघि नै बुवाको अभाव भोगेको मलाई उस्तै उमेरका मानिसहरु देखभेट हुँदा मन त्यसै रमाउँछ ।
    उसो त पाका मानिसहरुका नियमीत गर्नेपर्ने काम हुदैन, हत्तपत्त गफ गर्ने र केहि कुरा साट्ने कोहि हुदैनन । १४ बर्ष अघि श्रीमती बितेपछि छोराबुहारीहरुले यतै डोर्याएका बाजेका ६ सन्तानहरुमा अधिकांश अमेरीका तिरै गुजारा गरीरहेका रहेछन । शुरुमा बिरक्तिएका उनी हाल कान्छो छोरोसंगै बस्दैआएका अब त अलि अलि मन पर्न थाल्यो यो ठाँउ भन्दैथिए । अंग्रजी राम्रै बोल्ने बाजेलाइ सोधें, कति राम्रो अंग्रेजी बोल्नुहुदो रहेछ । कहिले सीक्नुभयो नी ? उनि ठट्यौलो पारामा भन्दै थिए, हो ठिकठिकै बोल्छु । मैले ३२ बर्ष स्कुलमा पढाँए । त्यो पनि अंग्रजी, त्यसैले यत्तिको अंग्रेजी बोल्छु र यो ठाँउमा अलि सजिलो भएको छ । नत्र मेरो त बिजोग हुन्थ्योहोला । उसो त यहाँ स्पेनिस बोल्ने र बुझ्ने बग्रेल्ति नभएका हैनन । हाम्रो मुलुकतिर उहिल्यै अर्कैले लादिएको स्पेनिस बोल्छौं । मेरो पुख्र्यौली भाषा नवात, पोकोममहरु त अचेल घाटमा पुगेका छन । पुस्तौनी सर्दै आएकोले कोहि कोहि बुढापाकाहरु बोली टोपल्छौं तर दुखी छौं । भाषा संस्कृती माथी हुने हस्तक्षेपले कसरी समाज र देशको पहिचान गुम्दो रहेछ, त्यो हामी लगायत प्रायः मध्य र दक्षिण अमेरीकनहरुले भोग्दैछन । ।
    निकैबेर भयो बस आएन । अब ट्रेनको बाटो समात्न पर्छ भन्दै बसको ए्याप खोलेर तालीका हेरें, यो रुटमा केही समय कुर्नुपर्ने भएकोले क्षमाप्रार्थी छौं भन्ने सुचना अघिदेखि नै रहेछ । अब केही मिनेट कुर्छु, आएन भने अर्को उपाय तिर लाग्छु भन्ने भयो । झण्डै ३ मिनेटपछि मैले खोजेको रुटको बस अलि परबाट आइरहेको देखें । बस स्टेसनमा आइनपुग्दै साबालाई आग्रह गरें । तपाईंलाई झरी कै कारण घर पुग्न समस्या हो भने मेरो छाता लिनुस पछि फिर्ता लिउँला । बिनम्रताका साथ उनलाई पानीले कुनै समस्या नपारेको र विस्तारै घर जाने बताए । तिमी आफ्नो ख्याल राख भन्दैथिए । बस आइवरी स्टेसनमा रोकिन्छ । म चढ्न जान लागें । हात मिलाउन उनले हात दिए जस्तो लाग्यो । हो रहेछ, खुसीले हात समाएर भने ओके टेक केयर सन ! मैले यु टु बाजे नै भनें उनले कति बुझे । हात हल्लाउदै भित्र छिरें ।
    उनको देश (साल्भाडोर) को बिषयमा अलिअलि जानकारी भएपनि बस चढेपछि गुगल गरी हेर्न मनलाग्यो । प्रसान्त महासागरतिर फर्कीएको एक मध्य अमेरीकी देश एल साल्भाडोर भौगोलिक रुपमा अमेरीकी महादेश कै सबैभन्दा सानो रहेछ । होन्डुरस र ग्वाटेमाला छिमेकी रहेको यो मुलुकमा ५०० थरीका चराहरु, १००० थरीका पुतली, ४०० थरीका सुनगाभा, ८०० थरीका रुखहरु र ८०० थरीकै माछाहरु पाइने रहेछन । भौगोलीक रुपमा ठुला मानिने कुनैपनि देशको दाँजोमा कम छैन । यो विवरण एल साल्भाडोरको लागी अमेजन भन्दा कम हैन र यस्तो विबिधता भएको देशलाई कसरी सानो भन्ने ? भन्ने मेरो अघिको मतलाई यो तथ्यले पुस्टी गरीदियो झैं लाग्यो ।
    मानिसका देश, भुगोल, धर्म, संस्कार र परिस्थिति अनि उमेर एक अर्कामा फरक पर्न सक्छ । तर जुन भुगोलको होस मनले चाँहि सबै मनहरुलाई समान देख्दोरहेछ । सबैभित्र भएका दया, माया, करुणा, भावना र संबेदनाहरु हृदयबाटै बोलीन्छ । आफ्नो देशलाई सानो मानेका साल्भाडोरीयन बाजेले अब उप्रान्त आफ्नो माटोलाई सानो नमान्लान की ! देवकोटाको आफ्नो देश कहिले सानो हुन्न भन्ने वाणी हामी र उनको मनमा पनि गडिरहोस । अ प्रमिस्ड ल्याण्डमा ओबामाले प्रत्येकको बिशिष्ट पहिचान हुन्छ, भनेका छन् ।
    अन्ततः भ्याए जतिका किताब पसलहरु चाहार्छु तर लिस्टको किताब एउटै भेट्टाउदिन । लिस्टको अन्तिम पुस्तक पसलबाट जानकारी पाउँछु कि यी किताबहरु अनलाइनबाट अर्डर गर्नुपर्ने हुन्छ । यो प्रविधिको युगमा पसल चाहारेरै किताव किन्ने मेरो प्रयास र झरी उस्तै उस्तै भयो । अस्तु !

  • लामो दूरीका यातायात संचालनमा

    लामो दूरीका यातायात संचालनमा

    काठमाडौं । काठमाडौं उपत्यकालाई लक्षित गरि आजबाट मध्यम तथा लामो दूरीका सवारी साधन खुलेका छन् । सरकारले स्वास्थ्य मापदण्ड पालना गरि लामो दूरीमा समेत यातायात चलाउन सक्ने गरि निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार यसको जानकारी गराएको हो । खासगरि त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएसँगै यातायात समेत सूचारु गर्ने निर्णय सरकारले गरेको हो ।

    देशका विभिन्न जिल्लाबाट काठमाडौं आउने सवारी साधनले सहज प्रवेश पाउने भएका हुन् । यात्रु र बसका चालक तथा सहचालकले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । अनिवार्य टिकट नकाटि यात्रा गराउन पाइँदैन । नेपालमा मध्य वैशाखपछि यातायातका साधन बन्द छन् । यसले सर्वसाधारणमा सास्ती भने बढेको छ ।

  • अब लामो दूरीको यातायात चलाउन पाइने

    अब लामो दूरीको यातायात चलाउन पाइने

    काठमाडौं । अब काठमाडौं उपत्यकाबाट लामो दूरीका यातायात साधन समेत प्रवेश गर्न सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दुरीको सवारीसाधन सञ्चालनको अनुमति दिएको हो । शुक्रबार एक सूचना जारी गरि लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो। मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयबाट परिपत्र भएको भन्दै सो अनुसार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो ।

    त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षा हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको हो। परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध गरिएको छ । यात्रु गर्नेहरूलाई टिकट काटेर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ। उपत्यका भित्रको सवारी साधन भने यसअघि नै संचलनमा छन् ।

  • फेवातालमा पुनः डुंगा संचालन खुल्यो

    फेवातालमा पुनः डुंगा संचालन खुल्यो

    काठमाडौं । पोखराको मूख्य पर्यटकीय आकर्षण फेवातालको डुङ्गा शयर पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरसको महामारी बढेसँगै फेवातालमा ढुंगा व्यवसाय समेत रोकिएको थियो । निषेधाज्ञा लागु भएपछि १४ वैशाखबाट फेवातालमा डुंगा चलाउन बन्द भएको थियो । डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएको राससले लेखेको छ । डुङ्गा चढ्दा यात्रुले मास्क अनिवार्य लगाउनु पर्छ । भीडभाड हुन नदिन २० फुटे डुङ्गामा चार र १८ फुटेमा तीन जना राखेर सञ्चालन गरिएको छ ।

    यसअघि आठ\नौ जनासम्म राख्ने गरिएको थियो । दैनिक आठदेखि नौ वटा डुङ्गाले व्यवसाय शुरु गरिएको छ । यसबाट सो व्यवसायमा आश्रित मजदुरले काम पाउने अपेक्षा गरिएको छ । तालमा डुङ्गा सञ्चालनमा आएको भएपनि तालबाराही मन्दिर दर्शन भने अझै खुला गरिएको छैन । नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक पर्यटनमा पुनः चहलपहल शुरु भएको छ । शहर नजिकका रिर्सोटहरुमा पाहुनाको भिड लाग्न थालेको छ ।

  • नेकोन कनेक्टिकटले मनायो २०८ औं भानु जयन्ति तथा गर्यो “भानु तिम्रो रामायणले” भजन विमोचन

    नेकोन कनेक्टिकटले मनायो २०८ औं भानु जयन्ति तथा गर्यो “भानु तिम्रो रामायणले” भजन विमोचन

    धन लामा, कनेक्टिकट

    अमेरिकाको कनेक्टिकट राज्यमा २०८ औं आदिकवि भानुभक्त जन्मजयन्ती एक भव्य काव्य समारोहका बीच सम्पन्न भएको छ । कनेक्टिकट नेपाली समाजका अध्यक्ष नारायण पौडेलज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रकाश भट्टराई, बसन्ता न्यौपाने, गृष्मा न्यौपाने, वानीरा ढकाल, डा. केशव आचार्य, शिव न्यौपाने, अर्जुन दाहाल, सीता बजगाईं, पशुपति पराजुली (सालघारी), डोना गुरुङ, सन्तोष सिंह, विनोद ओझा, गायिका पुस्ताका खड्का, कवि गायक लक्ष्मी बजगाई र धन लामा लगायत कवि तथा कवयत्रीहरूले आफ्नो काव्य रचनाहरु वाचन गर्नु भएको थियो । कवि डा. केशव आचार्यको धाराप्रवाह भाव र बिम्बले ओतप्रोत कविताले सम्पूर्ण दर्शक/श्रोताको मन जितेको थियो ।

    कनेक्टिकट राज्यको राजधानी हार्टफोर्डको स्थानीय ऐलिजावेथ पार्कको रमणीय गुलाबको बगैंचामा कवि तथा गीतकार धन लामाको शब्द, गायक केशव शर्मा दाहाल र गायिका बिनुसा राईको स्वर र केशव शर्मा दाहाल कै संगीतमा सजिएको “भानु तिम्रो रामायणले मैले राम जाने” बोलको गीत-भजन कनेक्टिकट नेपाली समाजका अध्यक्ष नारायण पौडेलज्यू मार्फत अडियोको लोकार्पण गरे पश्चातको सात मिनेट गीत भजनको लयमा सहभागी दर्शक र सिंगो एलिजावेथ पार्क नै भानुमय भएको थियो । कनेक्टिकट नेपाली समाजका प्रमुख सल्लाहकार कृष्ण अधिकारी, पूर्व अध्यक्षहरु घनश्याम खड्का, तेजेसविक्रम मल्ल र जितेन्द्र बस्नेत समेतको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रौढ तथा बालवालिकाहरु सहित उल्लेख्य मात्रमा नेकोनका सदस्यहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रमको संयोजन तथा समन्वय कवि तथा गायक लक्ष्मी बजगाईंले गर्नु भएको थियो भने संस्थाका उपाध्यक्ष रघुनाथ गिरीले सहभागीहरुलाई स्वागत मन्तव्य दिंदै आदिकवि भानुभक्तको जीवनी माथि प्रकाश पारिसके पछि मुख्य विषयमा प्रवेश गरेको सो कार्यक्रमको सन्चालन समाजका सहसचिव बालकृष्ण कार्कीले गर्नु भएको थियो । कार्यक्रमलाई नून-चिनी पानी अमेरिकाका अभियन्ता अर्जुन दाहालले DCNepal को आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण समेत गर्नु भएको थियो । २०८ औं आदिकवि भानु जयन्ति तथा “भानु तिम्रो रामायणले मैले राम जाने” गीतको लोकार्पण समारोहको समापन गर्दै कार्यक्रमका सभापति तथा (नेकोन) अध्यक्ष नारायण पौडेलज्यूले नेपाली भाषा साहित्यको विकास र सँस्कृतिको उत्थानमा गर्न सकिने र सम्भव हुने सबै कार्यहरु गर्न समाज सदैव तत्पर रहेको जानकारी गराउनु भयो ।

  • काठमाडौं-दिल्ली रुटमा अब साताको ६ उडान

    काठमाडौं-दिल्ली रुटमा अब साताको ६ उडान

    काठमाडौं । नेपाल र भारतबीचमा आवाज जावतको एक मात्र औपचारिक रुट काठमाडौं-दिल्लीमा अब उडान संख्या थप हुने भएको छ । २४ जुलाईबाट नेपाल एयरलाइन्सले तीन र भारतको ध्वजाबाहक एयर इण्डियाले तीन गरि सातामा कुल ६ उडान गर्ने भएका हुन् । अहिले भारतको नयाँ दिल्लीमा साताको दुई उडान भइरहेको छ । नेपाल एयरलाइन्सका अनुसार नयाँ दिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार नेवानिको उडान हुने छ । भारतबाट एयर इण्डियाले उडान तालिका तय गर्नेछ ।

    यो उडान शुरु भएपछि भारतमा हवाई भाडा सस्तो हुने अपेक्षा छ । साविकमा ९ हजारसम्म तोकिएको भाडा अहिले एकतर्फी नै ३० हजार माथि पुगेको छ । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुसार उडान भइरहेको छ । सो सम्झौतामा उडान थप गर्न नेपालले प्रस्ताव गरेको थियो । प्रस्ताव स्वीकृत भएसँगै उडान संख्या बढेको हो । भारतको बैंलौर र मुम्बईमा भने तत्काल उडानको सम्भावना छैन ।

  • धार्मिकस्थल गोसाईकुण्डको ऐतिहासिक महत्त्व र महिमा; चिताएको पुग्ने

    धार्मिकस्थल गोसाईकुण्डको ऐतिहासिक महत्त्व र महिमा; चिताएको पुग्ने

    सरस्वती न्यौपाने, रसुवा

    परापूर्वकालमा देवता र मानवबीच युद्ध भई समुन्द्र मन्थन गर्दा निस्केको कालकुट नामक विषले सारा जगतलाई नै नोक्सान हुन लागेपछि यसवाट सम्पूर्णलाई छुटकारा दिलाउन भगवान शिवलाई हारगुहार गरे । भगवान शिवले विषवाट बचाउन उक्त कालकुट विष आफैले निलेपछि घाँटिमा अडकियो । विषको जलनलाई शान्त पार्न शितलता खोज्दै हिमालय क्षेत्र गोसाईकुण्ड तर्फ आउँदा रसुवाको धैवङको कालिकामाई मन्दिरमा आई विश्राम लिने क्रममा भगवान शिवले शिरमा वोकेर हिड्ने महाकाली देवीलाई स्थापना गरी गोसाईकुण्ड गएको जनविश्वास रहेको छ।

    पछि सोही स्थानमा कालिका मन्दिर निर्माण गरि पूजा गर्न थाले । त्यस क्षेत्रलाई कालिका स्थान भनि नामाकरण गरियो भन्ने भनाई छ ।शिव भगवान बिषले आकुलव्याकुल भएर हालको गोसाईकुण्डमा रहेको ठाउँमा गई पानीको अभावमा काकाकुल भईरहँदा त्रिशूलले ढुङ्गामा हानेपछि पानी निस्कियो । त्यसलाई नै त्रिशूल धारा भनि नामाकरण गरियो । सोही त्रिशुलधाराबाट वगेर बनेको पोखरीमा भगवान शिव डुवुल्की मारेर बिराजमान हुनुभयो । भगवानको पनि भगवान् शिवको बासस्थानको रूपमा रहेको यस कुण्डमा नुहाएमा पापवाट मुक्ति मिल्ने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

    यस स्थानमा आजभोली बाह्रै महिना भक्तजनहरू आउने गरेतापनि विषेश गरी जनैपूणिर्मा र दशहरामा ठुलो मेला लाग्दछ ।तर गत वर्षदेखि भने कोभिडका कारण मानिसहरू आवतजावत गरेका छैनन् ।
    मेला लागेको बेला नेपालका बिभिन्न जिल्ला लगायत, भारतबाट समेत लाखौको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन। कुण्ड मार्गका ठुला ठुला ढुंङ्गाहरुमा बिभिन्न आकृतिहरु देखिन्छ। पदमार्गमा सरस्वती कुण्ड, भैरबकुण्डपछि गोसाईकुण्ड पर्दछ।भैरब कुण्डमा भने भक्तजनहरु दर्शन गर्न, जान नहुने मान्यता छ। टाढाबाट हेर्दा कालो देखिने यो कुण्ड सायद निक्कै गहिरो भएको कारण कालो देखिएको हुनुपर्छ। तर यहाँ आजसम्म कोही पनि जाने गरेको पांईदैन। यहाँ रहेका कुण्डहरु मध्ये गोसाईकुण्ड नै सबैभन्दा ठुलो कुण्ड हो।

    यसरी गोसाई कुण्ड र कालिकास्थानको महिमा युगौदेखि एकआपसमा जोडिदै आएको छ। धार्मिक मान्यता अनुसार गोसाई कुण्ड यात्रामा जाने क्रममा बाटैमा पर्ने कालिकामाईको दर्शन गरी गोसाईकुण्ड (गोसाईनाथ) जाँदा यात्रा सहज हुने र भगवान खुसी हुने आस्था जनमानसमा रही आएको छ

    धार्मिक आस्थाको केन्द्र गोसाईकुण्ड समुन्द्र सतहदेखि ४३८०मिटर अर्थात १४ हजार फिटको उचाईमा अवस्थित छ भने कुण्डको लम्बाइ र चौडाई करिव ३७० मिटर रहेको छ । गोसाईकुण्ड नेपालको दोश्रो ठुलो पदमार्ग अन्तर्गत पर्दछ। धेरैजसो स्वदेशी तथा बिदेशी विद्यार्थीहरु यस क्षेत्रमा अध्ययन तथा अन्बेषणका लागि पुग्ने गर्दछन। आफुलाई बाघको डमरु भनि अंग्रेजहरुलाई थरथर बनाउने नेपालका राष्ट्रिय बिभुति श्री अमरसिंह थापाले पनि आफ्नो देहत्याग गोसाईकुण्डमै आएर गरेका थिए। त्यसैले गोसाईकुण्डमा अहिले राष्ट्रिय बिभुति अमर सिंह थापाले बास बसेको स्थानमा उहाँको शालिक बनाईएको छ। यसै कारण स्वदेशी तथा बिदेशी पर्यटकहरु धार्मिक एवम् प्राकृतिक सौन्दर्यता र प्रकृतिलाई नजिकबाट नियालेर यससंग लुकामारी खेल्न यस क्षेत्रमा पुग्दछन।
    यस क्षेत्रमा तामाङ्ग समुदायको बसोबास रहेको छ। तसर्थ तामाङ्ग समुदायको भेषभुषा, रहनसहन र संस्कृति यस क्षेत्रको अर्को आकर्षणको केन्द्र हो। तामाङ्ग संस्कृति अनुसार गोसाईकुण्ड मेलामा बिभिन्न लामा, झाँक्री नांच तथा तामाङ्ग सेलो नृत्य समेत देख्न सकिन्छ। यसै कारण यस क्षेत्रको चर्चा परिचर्चा दिन प्रतिदिन बढ्दो क्रममा छ।

    तर यस स्थानमा गोले थरका मानिसहरु भने जादैनन किनभने पहिले गाले थर भएका दुई जना झाँक्रीका वुढावुढी गोसाईकुण्ड गएछन । वाटोमा पर्ने भैरव कुण्ड पुगेपछि बुढाले; “म कुण्डमा पस्छु तैले ठ्याङ्ग्रो वजाएर बस् ।जब म बाहिर निस्कन्छु तैले अछेता छर्किनु” भनेछन । बुढीले हुन्छ भनेपछि झाँक्री कुण्डमा पसेछ तर नागले वेरिएको अवस्थामा बाहिर निस्केपछि वुढी आत्तिएर बजाईरहेको ठ्याङग्रो वजाउन छोडेर अछेता छर्केछिन। त्यसपछि झाक्रिलाई सर्षले कुण्डमा नै तानेको भएर गोले थरका मानिसहरू भने गोसाइकुण्ड जादैनन् ।

    यस कुण्डप्रति हिन्दूहरूको मात्र नभई बौद्ध धर्मावलम्बीले पनि व्यापक रूपमा आस्था राख्दछन् । पुरोहित टंकप्रसाद ढकालका अनुसार गोसाईकुण्डसंगै कालिका माईको समेत महिमा रहेकोले जनैपुर्मिमामा कुण्डको मेला लाग्दा गोसाईकुण्ड गएर फर्केर आएकाहरूका लागि कालिकामा दही खुवाउने चलन छ ।

  • भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

    भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

    जनकपुर । नेपालको एक मात्र रेल्वेलाइन जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण र सर्टिफिकेशन सम्पन्न भएको छ । भारतको जयनगरबाट भारतीय रेल्वेको रेल जनकपुरधामस्थित कुर्थाको मुख्य स्टेशनसम्म ल्याइएको छ । त्यहाँ स्पिड परीक्षण र सर्टिफिकेशन गरेसँगै रेल भारत नै फर्काइएको छ । सो क्रममा जनकपुरधामस्थित कुर्था रेल्वे स्टेशनमा पूजा समेत गरियो ।

    भारतीय डव्लु डि एम थ्रीडी नामको इञ्जिन तथा दुई मालवाहक डब्बासहित ट्रेन जनकपुर आएको थियो । ट्रेन नेपाल आउँदा ६० किमि प्रतिघण्टाको गतिमा ल्याइएको थियो । फर्कदा भने १२० किमि प्रतिघण्टामा फर्काइएको छ । भारतीय रेल्वेका ड्राइभरले नै रेल नेपाल ल्याएका हुन् । अधिकारीहरुका अनुसार परीक्षण सफल भएको छ । अब बाँकि तयारी पुरा भएपछि रेल संचालनमा आउने छ ।

  • पोखराको पर्यटकीय ब्राण्ड नेम ‘पोखरा, पियोर एज प्याराडाइज’

    पोखराको पर्यटकीय ब्राण्ड नेम ‘पोखरा, पियोर एज प्याराडाइज’

    काठमाडौं । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले नेपालको सबैभन्दा चर्चित गन्तव्य पोखराको पर्यटकीय ब्रान्ड नाम तय गरेको छ । यसअघि प्याराडाइज पोखराको नामबाट चिनिएको पोखरालाई अब ‘पोखरा, पियोर एज प्याराडाइज’ भनिने छ । सोही अनुसार प्रचार सामग्रीमा पोखरालाई चिनाइने भएको छ ।

    नेपालका विभिन्न पर्यटीय गन्तव्यहरुलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई उदृत गर्दै पर्यटन बोर्डले जनाएको छ । उनले गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्राण्डिङ आवश्यकता महशुस गरी ब्राण्डिङको शुरुवात गरिएको बताए । यस्तो ब्राण्डिङले पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय(अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल पुग्ने उनको भनाइ छ । बोर्डले यसको शुरुवात गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको थियो ।

    ब्राण्ड तयार गर्ने विज्ञ र्फमको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय ब्रान्डलाई पोखराका सरोकारवालाहरु माझ विभिन्न चरणमा प्रस्तुत गरि उनीहरुबाट राय तथा सुझावहरु संकलन गरी नयाँ पर्यटकीय ब्रान्डलाई अन्तिम रुप दिइएको बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।

    कोभिड १९ ले अत्यन्त प्रभावित भएको नेपालको पर्यटनलाई प्रभाव कम भएपछि पोखराको नयाँ पर्यटकीय ब्रान्डलाई आन्तरिक तथा बाह्रय पर्यटन बजारमा नयाँ उर्जाका साथ प्रवर्द्धन गर्नका लागि सरकारी तथा निजी क्षेत्र, संचारकर्मीहरु लगायतका सबै सरोकारवालाहरुको साथ मिल्ने नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशले अपेक्षा राखेको समेत उनले बताए ।