Category: घूमघाम

  • नेपालमा बन्द भयो अन्तर्राष्ट्रिय हवाई उडान

    नेपालमा बन्द भयो अन्तर्राष्ट्रिय हवाई उडान

    काठमाडौं । नेपालमा आजबाट अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको छ । सरकारले नेपालमा बढ्दो महामारी नियन्त्रणका लागि बिहीबार राति १२ बजेबाट लागु हुने गरि भारतसँग सातामा दुई उडानबाहेक सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

    पहिलो चरणमा वैशाख मसान्तसम्म हवाई उडान बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आज अन्तिम दिन अन्तर्राष्ट्रियतर्फ कुल ५१ वटा उडान, अवतरण भएको विमानस्थल कार्यालय जनाएको छ । यो कोरोना महामारीपछिको सामान्य दिनको तुलनामा करिब दोब्बर हो ।


    भारतसँग भने एयर बबल सम्झौताअनुसार दुबै मुलुकका राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनीले सातामा एक, एक उडान जारी राख्ने भएका छन् । सरकारको यो निर्णयको भने आलोचना भएको छ । सुरक्षित मानिएका मुलुकमा उडान बन्द गरेर सरकारले भारतमा जारी राखेको भन्दै आलोचना भएको हो । भारतबाट आएका यात्रु १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्छ । सरकारले होटेल समेत तोकेको छ ।

  • उपत्यका बाहिर रहेका पर्यटक सहजै काठमाडौं आउन सक्ने

    उपत्यका बाहिर रहेका पर्यटक सहजै काठमाडौं आउन सक्ने

    काठमाडौं । काठमाडौं उपत्यकाभन्दा बाहिर रहेका विदेशी पर्यटक निर्वाध काठमाडौं आउन सक्ने व्यवस्था मिलाइएको छ । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै पर्यटकलाई काठमाडौं आउन सहजीकरण गर्न निर्देशन दिएको हो । कोरोना महामारी नियन्त्रण गर्न नेपालका धेरैजसो जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

    यसले पर्यटकको समेत आवागमन प्रभावित भएको छ । यात्रामा लागेको प्रतिवन्धका कारण विदेशी पर्यटक काठमाडौं र्फकन कठिनाई आएको गुनासो आएपछि गृह मन्त्रालयले विदेशी पर्यटकको आवागमन सहज बनाउन मातहतका निकायलाई अनुरोध गरेको हो ।


    पर्यटकको पासपोर्ट र भिसा हेरेर उनीहरुलाई काठमाडौं पठाइने भएको छ । सम्बन्धित मुलुक र्फकने पर्यटकलाई हवाई टिकटका आधारमा समेत पठाइने भएको छ ।

    उनीहरुलाई नियमानुसार काठमाडौंमा होटेल क्वारेन्टिनमा बस्ने गरि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयलाई गृहले निर्देशन दिएको छ । नेपालमा अप्रिल महिनामा मात्र साढे २२ हजार पर्यटक नेपाल आएका छन् ।

  • आजबाट काठमाडौं छाड्नेको साथमा स्थानीय तहको सिफारिस आवश्यक

    आजबाट काठमाडौं छाड्नेको साथमा स्थानीय तहको सिफारिस आवश्यक

    काठमाडौं । तपाईं आजबाट काठमाडौँ उपत्यका छाड्दै हुनुहुन्छ भने तपाईं जान चाहेको स्थानीय तहबाट सिफारिस मगाउनु होला । सरकारले उपत्यका छाड्नेको हकमा अब स्थानीय तहको सिफारिश अनिवार्य गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने निश्चित भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने दिइने बताएका छन् ।

    मंगलबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा समेत यो विषय उल्लेख छ । यसअघि उपत्यका छिर्न मात्र अनिवार्य १० दिन क्वारेन्टिन भनिएको थियो । आजबाट काठमाडौंमा निषेधाज्ञामा अझ कडाई गरिदैछ । पैदल यात्रुमाथि निगरानी बढाइने छ । कार्यालयहरु २५ प्रतिशत मात्र खुल्नेछन् ।

  • आजबाट आन्तरिक उडान बन्द, अत्यावश्यक परे चार्टर्ड गर्न सकिने

    आजबाट आन्तरिक उडान बन्द, अत्यावश्यक परे चार्टर्ड गर्न सकिने

    काठमाडौं । सरकारले चार्टर्ड उडानको ढोका खुला राख्दै आजबाट सबै आन्तरिक उडान बन्द गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण रोक्ने भन्दै सरकारले गत राती १२ बजेबाट आन्तरिक उडान रोक्ने निणय गरेको हो । बिहीबारबाट सबै अन्तर्राष्ट्रिय उडानमा समेत रोक लगाइएको छ । यद्दपी यसबीचमा भारतसँग भने सातामा दुई उडान निरन्तर रहने छ ।

    नेपाल र भारत सरकारबीच एयर बल सम्झौता अनुसार भारतसँग उडान रद्द नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । भारतसँग सातामा दुईवटा उडान हुनेछन् । भारतबाट हवाई उडानमार्फत आएका सबै यात्रु अनिवार्य १० दिन आफ्नै खर्चमा सरकारले तोकेको होटेलमा क्वारेन्टिन बस्नु पर्छ । यो निर्णयको भने विरोध भइरहेको छ । भारत सबैभन्दा प्रभावित मुलुक रहेको र यहाँ उडान रोक नलगाई सुरक्षित मुलुकमा रोक लगाउनुलाई अदरदर्शी निर्णय भन्दै आलोचना भएको हो ।

  • अप्रिलमा भित्रिए साढे २२ हजार पर्यटक, अमेरिकाबाट मात्र २७४०

    अप्रिलमा भित्रिए साढे २२ हजार पर्यटक, अमेरिकाबाट मात्र २७४०

    काठमाडौं । नेपालमा कोरोना महामारी शुरु भएयता अप्रिल महिनामा सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका छन् । एकातर्फ पर्वतारोहणको मौसम र अर्कोतर्फ नेपाललाई ट्रान्जिट बनाउँदै भारतीय नागरिक तेस्रो मुलुक उडेका कारण यो महिनामा पर्यटक आगमन बढेको हो । अध्यागमन विभागका अनुसार अप्रिलमा विदेशबाट कुल २२ हजार ४ सय ५० विदेशी नागरिक नेपाल आएका छन् ।

    तथ्यांकअनुसार अप्रिल २०२१ मा भारतबाट १३२०२ जना भारतीय नागरिक नेपाल आएका छन् । नेपालबाट ११३२१ भारतीय नागरिक बाहिरिएका छन् । अमेरिकाबाट २७४० जना पर्यटक नेपाल आएका छन् । यूरोप र अमेरिकाबाट आएका अधिकांश पर्यटक भने पर्वतारोहण र पदयात्रामा आएका हुन् ।

    नेपालमा तुलनात्मक रुपमा जनघनत्व कम रहेका कारण अवस्था थोरै सामान्य हुँनासाथ यी मुलुकबाट पर्यटक बढ्ने गर्छन् । यसले पर्यटन व्यवसायीमा समेत उत्साह थप्ने गरेको छ । मार्च शुरु भएसँगै कोरोना नियन्त्रणका लागि नेपालमा समेत यात्रामा विभिन्न प्रकारको प्रतिवन्ध शुरु भइसकेको छ । यो अवधिमा चीनबाट भने ८ सय ३ जना नागरिक आएका छन् ।

    रुसबाट ६८५ जना आएको तथ्यांक छ । बेलायतबाट ५४० जना आएका छन् । युक्रेनबाट ३१३, जर्मनीबाट २१९, फ्रान्सबाट १६१, टर्कीबाट १९३, पोल्याण्डबाट १७४, नेदरल्याण्ड्सबाट १३६ जना पर्यटक नेपाल आएका छन् । पाकिस्तानबाट २१० र क्यानडाबाट १८५ जना नेपाल आएको तथ्यांक विभागले जनाएको छ ।

  • आन्तरिक उडान भोली रातीबाट बन्द, भारतसँगको उडान रद्द

    आन्तरिक उडान भोली रातीबाट बन्द, भारतसँगको उडान रद्द

    काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि लागु हुने गरी आन्तरिक उडान बन्द गरेको छ । सोमबारका लागि निर्धारित उडान भने जारी रहने छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सोमबार राती १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । बैठकले भारतबाट हुने सम्पूर्ण उडान रद्द गरेको छ ।

    ब्राजिल र दक्षिण अफ्रिकाबाट समेत यात्रु नेपाल आउन पाउने छैनन् । अन्य अन्तर्राष्ट्रिय उडान यथावत रहने छन् । विदेशबाट आउने सबै व्यक्ति १० दिन अनिवार्य क्वारेन्टिनमा रहनु पर्छ । उनीहरुको साथमा पीसीआर नेगेटिभ अनिवार्य हुनुपर्छ ।

  • हङकङले रोक्यो नेपालसँगको हवाई उडान

    हङकङले रोक्यो नेपालसँगको हवाई उडान

    हङकङ । काठमाडौंबाट हङकङका लागि हुने हवाई उडान रोकिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच हङकङले नेपालसँगको हवाई उडान रोक्ने निर्णय गरेको हो । संचारमाध्यमहरुका अनुसार शनिबारदेखि लागू हुने गरि नेपालसँगका सबै हवाइ उडान रोक्ने निर्णय त्यहाँको सरकारले गरेको छ । नेपालमा कोरोनाभाइरसको संक्रमण तिब्र छ । तर, हङकङमा भने विदेशबाट आएका मानिसहरुमा मात्र कोरोना देखिएको छ ।

    भारत र नेपालबाट गएका नागरिकमा कोरोना देखिएपछि हङकङले उडान रोक्ने निर्णय गरेको हो । अर्को सूचना जारी नभएसम्म काठमाडौंबाट हुने उडान रोकिएको हो । हङकङले नेपाललाई उच्च जोखिमपूर्ण मुलुकमा राखेको छ । हङकङले भारत, पाकिस्तान र फिलिपिन्सका समेत सबै उडान रोकिसकेको छ ।

  • हवाई उडान व्यवस्थापन गर्न वायुसेवा संचालकले बनाए समिति

    हवाई उडान व्यवस्थापन गर्न वायुसेवा संचालकले बनाए समिति

    काठमाडौं । निषेधाज्ञाको समयमा पनि त्रिभुवन विमानस्थलमा हवाई यात्रा भने यथावत रहेको छ । विमानस्थलमा अधिक भिडभाड हुँदा संक्रमणको डर हुने परिस्थितिमा यात्रुको व्यवस्थापनमा सहजिकरण गर्न वायुसेवा संचालकहरुले अनुगमन समिति बनाएका छन् ।

    वायुसेवा संचालक संघ (आयोन)का कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध एयर, यति एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका प्रतिनिधि रहेको अनुगमन कमिटी बनाएर आजैबाट काम थालिएको आयोनका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।

    बिहीबार विमानस्थलमा सीसीएमसीको अनुगमन कमिटीले अनुगमन गरेको थियो । आजै काठमाडौंका प्रमुख जिल्ला अधिकारीको समेत स्थलगत अनुगमन भएको थियो ।

    यी दुई अनुगमनपछि यात्रुलाई अझ बढी व्यवस्थापनसहित सेवा दिन निर्देशन प्राप्त भएको आयोनले जनाएको छ । विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको गाइडलाइन्सअनुसार तयार भएको स्वास्थ्य प्रोटोकल अनुसार सेवा दिइएको छ ।

  • विमानस्थलसम्म यात्रु लैजान साझा यातायातका बस चलाइने

    विमानस्थलसम्म यात्रु लैजान साझा यातायातका बस चलाइने

    काठमाडौं । निषेधाज्ञाको समयमा हवाई यात्रुको आवतजावत सहजिकरण गर्न विमानस्थलसम्म साझा यातायातका बस चल्ने भएका छन् । आन्तरिक तथा बाह्य यात्रुको सुविधालाई ध्यानमा राखी वैशाख १६ देखि काठमाडौं उपत्यकामा साझा यातायातले हवाई यात्रुलाई विमानस्थलसमम लैजाने भएको हो । सोही दिनबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु हुँदैछ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने बन्द गरेको छैन ।


    निषेधाज्ञामा सार्वजनिक यातायात नचल्दा हवाई यातायात मात्र चलाउन कठिन हुने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले थप निर्णय गरेको हो । प्राधिकरणले यात्रुका लागि साझा यातायातका बसहरू उक्त समयमा परिचालन गर्ने निर्णय गरेको छ। साझाका बसबाट यात्रु गन्तव्यमा पुग्नेछन्। त्यस्तै, एयरलाइन्सका लागि पनि सवारी सञ्चालनको अनुमति दिइने छ। आन्तरिक हवाई यात्रुका सवालमा टिकट र परिचयपत्रका आधारमा सहिजकरण गर्ने तयारी रहेको छ ।

  • काठमाडौं छिर्नेहरु अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

    काठमाडौं छिर्नेहरु अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

    काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने सबैले अनिवार्य क्वारेन्टिन बस्नु पर्ने भएको छ । काठमाडौं आउनेहरुले होम आइसोलेसन वा स्थानीय तहले तोकेको सेन्टरमा बस्नु पर्ने नियम सरकारले ल्याएको छ ।

    काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गर्दै यस्तो जानकारी गराएका हुन् । स्थानीय सरकारले १६ वैशाखबाट लागु हुने गरी निषेधाज्ञा घोषणा गरिसकेको छ । नेपालमा घना जनसंख्या रहेको उपत्यका कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

  • सगरमाथा चढ्न करीव ४ सयले लिए अनुमति, बन्यो कीर्तिमान

    सगरमाथा चढ्न करीव ४ सयले लिए अनुमति, बन्यो कीर्तिमान

    काठमाडौं । सगरमाथा आरोहणका लागि नेपालमा एक सिजनमा अहिलेसम्मकै बढी पर्वतारोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म ३९४ जनाले आरोहण अनुमति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । यसअघि सन् २०१९ मा ३८२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । कोरोना भाइरसको दोस्रो लहरको सन्त्रासका बीच नेपालमा पर्वतारोहणमा भने उत्साह थपिएको छ ।

    सन् २०२० को वसन्त ऋतुमा भने कोरोनाका कारण आरोहण सफल हुन सकेन । विभागका अनुसार यस वर्ष आरोहण अनुमति लिनेमध्ये ३०३ जना पुरुष, ९० जना महिला र एक जना अन्य समूहका व्यक्ति छन् । कुल ४२ वटा आरोहण दललाई विभागले अनुमति दिएको छ । सगरमाथा आरोहणको अनुमति दिएबापत विभागले ४७ करोड ७७ लाख रुपियाँ रोयल्टी प्राप्त गरेको छ ।

    यो पनि अहिलेसम्मकै सर्वाधिक हो । सगरमाथा आरोहणकै लागि यतिबेला आरोहीसहित गाइड, भान्सेसहित करिब एक हजार संख्यामा मानिसा आधार शिविरमा पुगेका छन् । विभागले शुक्रबारसम्म सगरमाथासहित १६ वटा हिमाल आरोहणका लागि ६८९ जनालाई अनुमति प्रदान गरेको छ । सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालका लागि १०६ जनालाई अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

    त्यसपछि अन्नपूर्ण हिमालका लागि ४४ जना, धौलागिरि हिमालका लागि ३३ जना, आमादब्लम हिमालका लागि २७ जना, न्हुुप्त्से हिमालका लागि २३ जनालाई अनुमति दिएको छ । यसबाहेक विभागले मनास्लु, तेङ्काङ्गपोछे, वरुण त्से, हिमलुङ, मकालु, मुस्ताङ, पुमोरी, सरिबुङ, तिलिचो र टुकुचे हिमालका लागि पनि अनुमति जारी गरेको छ ।

  • बुद्ध एयरद्धारा पोखराबाट चार अन्तर प्रदेश उडानको घोषणा

    बुद्ध एयरद्धारा पोखराबाट चार अन्तर प्रदेश उडानको घोषणा

    काठमाडौं । नेपालको निजी क्षेत्रको ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अब अन्तर प्रदेश उडान गर्ने भएको छ । १ मेबाट एकै पटक चार गन्तब्य जोड्ने गरी अन्तर प्रदेश उडानको घोषणा बुद्धले गरेको हो । बुद्धले पर्यटकीय शहर पोखराबाट विराटनगर, सिमरा र नेपालगन्जलाई एकै पटक जोड्न लागेको हो । साथै भैरहवाबाट भरतपुर उडानको तयारी समेत बुद्धले गरेको छ ।

    यी रुटमा बुद्धले १८ सिट क्षमता भएको बिच १९००–डी विमान उडाउने भएको छ । बुद्धले विराटनगरबाट तुम्लिङटारमा ठूलो जहाजबाट उडानको समेत घोषणा गरेको छ । नयाँ घोषणा भएको रुटबाट आन्तरिक उडानमा कोशेढुंगा सावित हुने अपेक्षा गरिएको बुद्ध एयरका प्रवन्ध निर्देशक बीरेन्द्र बहादुर बस्नेतले बताए ।

    बुद्धले पोखरा नेपालगन्ज ४५ सय, पोखरा–विराटनगर ६ हजार, पोखरा–सिमरा ४३ सय, विराटनगर–तुम्लिङटार २५ सय, पोखरा–भैरहवा ३१ सय र भैरहवा–भरतपुर २५ सय रुपैयाँको टिकट न्यूनतम तोकेको समेत जानकारी गराएको छ । बुद्धले अहिले १४ वटा विमानबाट दैनिक १ सय २० भन्दा बढी उडान गरिरहेको छ ।

  • त्रिभुवन विमानस्थलमा ‘नो मास्क-नो इन्ट्री’

    त्रिभुवन विमानस्थलमा ‘नो मास्क-नो इन्ट्री’

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क नलगाई जान नपाइने भएको छ । कोरोना भाइरसको बढ्दो महामारीका बीच विमानस्थल सुरक्षा कार्यालयले नो माक्स, नो इन्ट्री नियम ल्याएको हो । कार्यालयले विमानस्थलमा अतिआवश्यक नपरेसम्म यात्रु बाहेक अन्य व्यक्ति नआउन र आए पनि गेटबाटै फर्कन आग्रह गरिएको छ ।

    यात्रुलाई पिसिआर रिर्पोट अनिवार्य बोक्न भनिएको छ । भिडभाड नगर्न र सामाजिक दूरी कायम गर्न समेत कार्यालयले आह्वान गरेको छ । अहिले नेपाल आउन र यहाँबाट बाहिरिन जहाज चढ्नु अगाडी पिसिआर रिर्पोट अनिवार्य गरिएको छ । नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलन थालेसँगै सरकारले क्रमशः विभिन्न क्षेत्रहरुमा कडाई गर्दै लगेको छ ।

  • हिमाल आरोहण अनुमति लिने करीव ५ सय पुगे

    हिमाल आरोहण अनुमति लिने करीव ५ सय पुगे

    काठमाडौं । वसन्त ऋतुमा नेपालमा हिमाल चढ्न अनुमति लिनेको संख्या करीव ५ सय पुगेको छ । सगरमाथासहित हिमाल आरोहण गर्न अनुमति लिने आरोहीको संख्या मंगलबारसम्म ४९२ पुगेको हो । पर्यटन विभागको तथ्यांक अनुसार सगरमाथा चढ्न यो सिजनमा ३० समूहका २ सय ९० जनाले अनुमति लिएका छन् ।

    तथ्यांक अनुसार ल्होत्सेमा ७ समूहका ५५ जनाले अनुमति लिएका छन् । अन्नपूर्णमा ४४ र धौलागिरि आरोहण गर्न ३० जनाले अनुमति लिएका छन् । अमादब्लममा भने २ समूहका २७ जना आरोही जाने छन् । मनास्लुमा एक जनाले अनुमति लिएका छन् । मकालुमा एक समूहका ८ जना जाने छन् ।

    नुप्त्सेमा ३ समूहका २३ जनाले आरोहण अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ । पुमरीमा ५ जना, टुकुचेमा १ जना र तिलिचोमा ८ जनाले अनुमति लिएको तथ्यांक रहेको छ । मंगलबारसम्म जारी भएका आरोहण अनुमतिबाट कुल ४० करोड १६ लाख रुपैयाँ रोयल्टी संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

  • खोपको मात्रा पुरा गरेका व्यक्तिले अमेरिकामा स्वतन्त्र रुपमा यात्रा गर्न सक्ने

    खोपको मात्रा पुरा गरेका व्यक्तिले अमेरिकामा स्वतन्त्र रुपमा यात्रा गर्न सक्ने

    काठमाडौं\एजेन्सी। अमेरिकाले यात्रामाथि लगाएको प्रतिवन्धहरुमा केही खुकुलो गरेको छ । अब कोरोना भाइरसविरुद्धको खोपको मात्रा पुरा गरेका व्यक्तिले अमेरिकामा जाँच वा बीना निगरानी नै स्वतन्त्र रुपमा यात्रा गर्न सक्ने भएका छन् ।

    अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले शुक्रबार यस निर्णयबारे जानकारी गराएको हो । खोपको साइकल पुरा गरेका व्यक्तिले हवाई‚ बस‚ रेलमार्गमा स्वतन्त्र रूपले यात्रा गर्न सक्ने बताइएको छ ।

    अमेरिकामा कोरोना संक्रमण दर बढिरहे पनि खोप अभियानको काम समेत उत्तिकै रफ्तारमा बढिरहेको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्न भनेको छ ।


    सिडिसीकी निर्देशक डा. रोचेल वालेन्स्कीका अनुसार नयाँ निर्देशनअनुसार पूर्ण खोप लगाएका वृद्धवृद्धाले अब कोभिड १९ को जाँच वा क्वारेन्टिन बीना नै आफ्ना सन्तानलाई भेट्न सक्ने भएका हुन् ।

    पूर्ण खोप लगाएपछि संक्रमणको जोखिम कम हुने अपेक्षा छ । उता, सिडिसीको घोषणासँगै आगामी दिनका लागि हवाई यात्रा गर्न टिकट रिजर्भ गर्नेको संख्यामा ९० प्रतिशतसम्म वृद्धि देखिएको कम्पनीहरुलाई उदृत गर्दै समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

  • पर्वतारोहणमा अनुमति लिने संख्या उत्साहजनक, २० समुहका १५१ ले पाए परमिट

    पर्वतारोहणमा अनुमति लिने संख्या उत्साहजनक, २० समुहका १५१ ले पाए परमिट

    काठमाडौं । नेपालमा बसन्त ऋतुमा पर्वतारोहणमा जाने पर्यटक तथा नेपालीको संख्या उत्साहजनक रुपमा वृद्धि भइरहेको छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक पर्वतारोहण हुन लागेको हो । पर्यटन विभागका अनुसार बिहीबार साँझसम्म २० समूहका १ सय ५१ जनाले हिमाल आरोहण अनुमति लिएका छन् ।

    अहिलेसम्म सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल जान अनुमति लिएका छन् । सगरमाथा चढ्न सबैभन्दा बढी सात आरोही समूहले अनुमति लिएका छन् । यो सिजन नेपालमा हिमाल आरोहण सहज मानिन्छ । सोहीकारण बसन्त ऋतुमा हजारौं पर्यटक तथा उनीहरुका सहयोगी नेपाल आउने गर्छन् । तर, कोरोनाको महामारीले हिमाल आरोहण अभियानमा समेत नकारात्मक प्रभाव पारेको छ ।

  • भारतपछि अमेरिकाबाट नेपालमा धेरै पर्यटक आए

    भारतपछि अमेरिकाबाट नेपालमा धेरै पर्यटक आए

    काठमाडौं । नेपालमा पर्यटक आगमनको मूख्य स्रोत बजार भारत हो । त्यसपछि दोस्रो स्थानमा चीन रहने गरेको छ । तर, चीनले कोरोना महामारीका बीचमा आफ्ना नागरिकलाई यात्रामा प्रतिवन्ध लगाएको छ । यसले अन्य मुलुकबाट नेपालमा पर्यटक आगमन बढेको छ । मार्च महिनामा भारतपछि अमेरिकाबाट सर्वाधिक संख्यामा पर्यटक आएको तथ्यांकमा देखिएको छ ।

    अध्यागमन विभागका अनुसार मार्च २०२१ मा १४ हजार ९ सय ७७ जना पर्यटक नेपाल आए । एक महिनाको अविधिमा भारतबाट मात्र ७६५८ जना पर्यटक नेपाल आएका छन् । यसअघि जनवरी र फेब्रुअरी महिनामा भारतबाट ८७९१ जना पर्यटक नेपाल आएका थिए । भारतपछि अमेरिकाबाट दोस्रो बढी संख्यामा पर्यटक आएका छन् । अमेरिकाबाट मार्च महिनामा मात्र १७०३ जना पर्यटक आएका छन् । तेस्रो स्थानमा चीन रहेको छ ।

    चीनबाट १२०७ जना पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख छ । चौथो स्थानमा बेलायत रहेको छ । यहाँबाट ६६५ जना नेपाल आएको तथ्यांक छ । यस महिनामा बंगलादेशबाट भने ५६८ जना पर्यटक आएका छन् ।


    मार्च महिनामा पछिल्लो एक वर्ष यताकै बढी संख्यामा पर्यटक नेपाल आएका छन् । सरकारले ११ चैत २०७६ देखि लकडाउन सुरु गरेको हो । विभागका अनुसार मार्चमा ११ हजार २ पुरुष, ३ हजार ३ सय ६३ महिला र १२ अन्य लिङ्गी पर्यटक नेपाल आएका छन् । सन् २०२१ को पहिलो तीन महिनामा कुल ३२ हजार ९ सय ९७ जना पर्यटक नेपाल आएका छन् ।


    कुन महिनामा कुल कति पर्यटक नेपाल आए ?

    जनवरी : ८८७४
    फेब्रुअरी : ९१४६
    मार्च : १४९७७

  • बहराइनका राजपरिवारका सदस्यसहितको टीमले पायो सगरमाथा आरोहण अनुमति

    बहराइनका राजपरिवारका सदस्यसहितको टीमले पायो सगरमाथा आरोहण अनुमति

    काठमाडौं । बहराइनका राजपरिवारका सदस्य शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टीमले वसन्त ऋतुमा सगरमाथा चढ्न अनुमति प्राप्त गरेको छ । पर्यटन विभागले यो टोलीका लागि आरोहण अनुमति जारी गरेको हो । यस सिजनका लागि अहिलेसम्म सगरमाथा चढ्न दुई समुहले अनुमति लिएका छन् ।

    बहराइनबाट त्यहाँको डिफेन्स फोर्सका १६ जनाको टोली २ चैतमा नेपाल आएको हो । यो टोलीले यसअघि नै नेपालका दुई हिमाल चढिसकेको छ । बहराइनी आरोही समूह १६ जनाको भएकाले दुई समूह बनाएर अनुमति दिइएको छ । एक आरोही समूहमा बढीमा १५ सदस्य रहने प्रावधान अनुसार दुई समुह बनाइएको विभागले जनाएको छ ।

    वसन्त ऋतुमा सगरमाथा चढ्न अहिलेसम्म ७ टोलीले अनुमति लिइसकेका छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लु र नुप्से हिमालका लागि सात आरोही समूहका ६१ आरोहीले अनुमति पाएका हुन् ।

  • यतिले गर्यो काठमाडौं-वनारस परीक्षण उडान

    यतिले गर्यो काठमाडौं-वनारस परीक्षण उडान

    काठमाडौं । काठमाडौं-वनारस रुटमा यति एयरलाइन्सले परीक्षण उडान गरेको छ । बुधबार भएको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ । दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरूमा चार्टर्ड र नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको यतिले परीक्षण उडान पुरा गरेको हो ।

    यसअघि बनारसमा बुद्धको उडान थियो । तर, कोरोना भाइरसपछि रोकिएको छ । कम्पनीले परीक्षण उडान पुरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझापछि यही प्रतिवेदनका आधारमा प्राधिकरणले अनुमति दिने प्रावधान रहेको छ । बुधबार यतिको परीक्षणका लागि वरिष्ठ पाइलट रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेल सहितको उडान टोलीले उडान भरेको थियो ।

    ‘नाइन एन एएमएन’कल साइन भएको एटिआर ७२ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बिहान १०ः ०७ बजे लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय हवाइ अड्डा वाराणसी, भारतका लागि उडान भरेर बेलुका ५ः४८ मा पुनः काठमाडौंमा अवतरण गरेको थियो ।

    एयरलाइन्सले आगामी दिनमा मध्यम दुरीमा उडान गर्नका लागि मध्यम सिट जहाज भित्र्याउने लक्ष्य समेत राखेको छ । आगामी दिनमा चार्टर उडान मार्फत् थप पर्यटक भित्र्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । सन् २०२१ भित्रै दुईवटा एटिआर ७२ वायुयान थप्ने योजना बनाएको यस कम्पनीले अहिले एटिआर ७२ र जेटस्ट्रिम वायुयान मार्फत् विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

  • आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने

    आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने

    काठमाडौं । आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने भएका छन् । ट्राफिक प्रहरीले नै यस्तो निर्णय गरेसँगै पठाओले आफ्नो राइडरलाई यसबारे जानकारी गराएको छ । पठाओले राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन रोक लगाएको जनाएको छ ।

    विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाई छ । राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र सोहीकारण ज्यानकै असुरक्षा हुने जोखिम समेत बढेपछि बुधबारबाट लागु हुने गरी यस्तो निर्णय भएको हो ।

    पठाओ सञ्चालन भने निरन्तर हुने छ । राइडर र पठाओमा चढेका यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो । यो नियमपछि अफलाइन यात्रु बोक्ने प्रचलन हट्ने र राइडरको सुरक्षा बढ्ने अपेक्षा कम्पनीको छ । अफलाइन यात्रु बोक्दा यात्रुको बिमा नहुने र आक्रमणको समस्या समेत पछिल्ला दिनमा बढेका छन् ।

  • चीनले दिएको अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने

    चीनले दिएको अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने

    काठमाडौं । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप लिन नेपाल वायुसेवा निगमको जहाज बेइजिङजाने भएको छ । निगमको वाइड बडी ए ३३० जहाज १५ चैतमा चीन जान लागेको हो ।


    बेइजिङबाट कोरोना खोप लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने भएको छ । सरकारले १ चैतको मन्त्रिपरिषद्को बैठकबाट मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत कोरोना खोप स्वीकार गर्ने निर्णय गरेको हो ।

  • राष्ट्रपति भण्डारी आज ढाका जाँदै

    राष्ट्रपति भण्डारी आज ढाका जाँदै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेशको राजधानी प्रस्थान गर्ने भएकी छिन् । उनी दुई दिने राजकीय भ्रमणको सिलसिलामा बंगलादेश जान लागेकी हुन् । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो ।

    उनी नेपाल एयरलाइन्सको विशेष चार्टर जहाजबाट बिहान पौने ९ बजे बंगलादेश उड्ने कार्यक्रम छ । दुई दिने भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हुने छ । यस भ्रमणका दौरान कुल ४ वटा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

    राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुनेछिन् । भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा वार्ता गर्नेछिन् । भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । ढाकास्थित नेपाली दूतावास भ्रमण गर्ने र नेपाली समुदायसँग भेट गर्ने कार्यसूची समेत रहेको छ । टोलीमा परराष्ट्रमन्त्रीसहित उच्च सरकारी अधिकारीसमेत रहने छन् ।

  • फेरी बढ्यो हवाई भाडा

    फेरी बढ्यो हवाई भाडा

    काठमाडौं । इन्धनको मूल्य बढेसँगै निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । वायु सेवा सञ्चालक संघले शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानको हवाई भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएकोले निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेको जारी विज्ञिप्तमा जनाइएको छ । यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडा वृद्धि गरेका थिए ।

    संघका अनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा साविकको तुलनामा ७० शूल्क बढेको छ । काठमाडौंबाट धनगढी जाँदा ९० रुपैयाँ बढी तिर्नुपर्नेछ । काठमाडौंबाट सिमराका लागि २० रुपैयाँ बढी तिर्नुपर्ने गरी हवाई भाडामा इन्धनको शूल्क बढेको छ ।

    माउन्टेन उडानमा २५ रुपैयाँ, काठमाडौं–भद्रपुर ६० रुपैयाँ, काठमाडौं– विराटनगर ५० रुपैयाँ, काठमाडौं–जनकपुर २५ रुपैयाँ, काठमाडौं– भरतपुर रुपैयाँ, काठमाडौं– पोखरा ३० रुपैयाँ, काठमाडौं–भैरहवा ४० रुपैयाँ बढेको छ ।

    त्यस्तै काठमाडौं–नेपालगञ्ज ६५ रुपैयाँ, काठमाडौं–धनगढी ९०रुपैयाँ, काठमाडौं–तुम्लिङटार ४० रुपैयाँ, काठमाडौं– सुर्खेत ६५ रुपैयाँ र काठमाडौँ–सिमराको उडानमा ३० रुपैयाँ भाडा बढेको छ ।

    त्यस्तै विराटनगर–तुम्लिङटार २० रुपैयाँ, पोखरा–भरतपुर २० रुपैयाँ, पोखरा–पोखरा–नेपालगञ्ज ५० रुपैयाँ, पोखरा माउन्टेन ६० रुपैयाँ, काठमाडौं–सुर्खेत ७० रुपैयाँ, विराटनगर–माउन्टेन ६५ रुपैयाँ, काठमाडौं–राजविराज ४० रुपैयाँ र विराटनगर–भोजपुरको उडानमा १५ रुपैयाँ भाडा बढेको छ ।

  • आरोहण सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिँदै

    आरोहण सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिँदै

    काठमाडौं । यो वर्ष आरोहण सिजनलाई सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिने भएको छ । आपतकालिन समयमा आरोही तथा सहयोगीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयले काजमा डाक्टर खटाउने भएको छ । पर्यटन विभागका अनुसार सगरमाथाको आधार शिविर र नाम्चेदेखि आधार शिविरको बीचमा एक स्थानमा डाक्टर रहने छन् ।

    उनीहरुले आरोहीलाई प्राथमिक उपचार गरी तत्काल उद्दारमा सहयोग गर्ने भएका छन् । जारी सिजनका लागि आरोहण अनुमति लिने क्रम शुरु भएको छ । नेपालका सबै जसो ८ हजार मिटर भन्दा अग्ला हिमालमा अनुमती जारी हुन सक्ने अनुमान विभागले गरेको छ । यसरी डाक्टर नै फिल्डमा खटाउन लागिएको पहिलो पटक हो ।

    यो पटक कोरोना भाइरसको महामारीका बीच संसारभर मानिसहरुको आत्मविश्वास खस्किएको छ । आरोहणमा आत्मविश्वासको भूमिका निकै महत्वपूर्ण हुन्छ । विभागका अनुसार विगतमा आरोहणमा आरोहीको स्वास्थ्य अवस्थाबारे त्यति धेरै चासो राख्ने प्रचलन थिएन । यसपटक भने स्वास्थ्यमा विशेष आरोही राखिने भएको छ ।

    नेपाल आउनु अगाडि नै आरोहीले कोरोना भाइरसको परीक्षण गर्नु पर्नेछ । नेगेटिभ आएपछि मात्र नेपाल आउन पाइन्छ । नेपाल आएपछि पनि पर्यटकले अनिवार्य क्वारेन्टिनका नियम पालना गर्नुपर्छ । आरोहण अनुमति लिने बेला पर्वतारोही स्वयमःले आफू आरोहणमा जान योग्य रहेको स्वःघोषणा गर्नुपर्छ । त्यसपछि मात्र आरोहण अनुमति जारी हुन्छ ।

  • पर्यटकलाई समेत अनअराइभल भिसा खुलाउने तयारी

    पर्यटकलाई समेत अनअराइभल भिसा खुलाउने तयारी

    काठमाडौं । सरकारले नेपाल आउने पर्यटकलाई समेत अब अनअराइभल भिसा खुला गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनिवार्य क्वारेन्टिनको प्रावधान हटाएर अनअराइभल भिसा समेत दिन सकिने गरी प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।

    मन्त्रालयका अनुसार ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरेको नेगेटिभ रिर्पोट लिएर आउने पर्यटकका लागि विमानस्थलमा स्वाव संकलन गर्ने र रिर्पोट नेगेटिभ आउने पर्यटकलाई क्वारेन्टिन बस्न नपर्ने प्रस्ताव गरेको हो । पर्यटकलाई नेपाल आउन सहज होस भन्ने उद्देश्यले अनअराइभल भिसा समेत खोल्ने तयारी छ ।

    यद्दपी यसको निर्णय भने मन्त्रिपरिषदबाट हुनुपर्छ । नेपालमा पर्वतारोहणको मौसम शुरु भएको छ । यसकारण पर्यटक आगमन सहज बनाउनु पर्ने माग व्यवसायीले गरिरहेका छन् । हिमाल चढ्न आउने पर्यटक र उनीहरुको सहयोगी नै नेपालमा सबैभन्दा खर्चालु पर्यटक मानिन्छन् ।

    किनकी उनीहरु हरेक सिजनमा कम्तिमा तीन महिना नेपालमा बस्छन् । अहिले सरकारले कुटनीतिक नियोग र गैरआवासीय नेपालीका लागि मात्र अनअराइभल भिसा खुला गरेको छ । कोरोना भाइरसको महामारीका कारण यात्रामा अहिले पनि झण्झट बेहोर्नु परेको हो ।

  • बहराइनका राजकुमारसहित फौजी टोली सगरमाथा चढ्न नेपाल आए

    बहराइनका राजकुमारसहित फौजी टोली सगरमाथा चढ्न नेपाल आए

    काठमाडौं । बहराइनका राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल खालिफासहित बहराइनको फौजी टोली सगरमाथा चढ्न नेपाल आएको छ । यो टोलीमा कुल १६ जना छन् । गत अक्टोवरमा नेपालका लोबुचे र मनास्लु हिमाल चढेर फर्केको टोली आगामी सिजन सगरमाथा चढ्न लागेको हो । आरोहण टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर आज नेपाल आएको हो ।

    टोलीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक छन् । टोलीले आफ्नो साथमा गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप समेत ल्याएको छ । यो खोप सहयोगस्वरुप प्रदान गर्न लागिएको हो । टोली कम्तिमा ८० दिन नेपालमा रहने भएको छ ।

  • मास्टर सेफ सन्तोष साहलाई बेलायती राजदूतको बधाई

    मास्टर सेफ सन्तोष साहलाई बेलायती राजदूतको बधाई

    काठमाडौं । बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०का उपविजेता सन्तोष साहलाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिट बधाई दिएकी छिन् । साह अहिले नेपालमा छन् । उनलाई नेपालमा आतिथ्य उद्योगले भब्य स्वागत समेत दिएको छ । बेलायती राजदूत निकोला पोलिटले सेफ सन्तोष साहसँग भेट गरी बधाई ज्ञापन गरेकी हुन् । राजदूत पोलिटले सन्तोषलाई बेलायत लगायत विश्वभर नेपाली खाना चिनाउन लागिपरेको भन्दै बधाई दिएको उल्लेख गरेकी छिन् ।

    उनले ट्वीट गर्दै यसबारे जानकारी दिएकी हुन् । सेफ सन्तोष साहसँग निकै रमाइलो कुराकानी भएको र नेपाली खानालाई बेलायत र विश्वभर प्रसिद्ध पार्ने उनको योजना सुनेर आफु धेरै नै खुशी भएको उनले बताएकी छिन् ।

    विश्वपसिद्ध उक्त प्रतियोगितामा उपविजेता बनेका साहले विश्वमा नेपाल र नेपाली खानालाई परिचित गराउन भूमिका खेलेका थिए । साह सिराहाको कर्जन्हामा जन्मेका हुन् । उनी पछिल्लो १० वर्षदेखि बेलायतमा सेफका रुपमा कार्यरत छन्। यस पेशामा उनको अनुभव भने २० वर्षभन्दा लामो छ ।

  • हवाई यात्राका दौरान नेपाली आकासमा समेत इन्टरनेट सुविधा दिने तयारी

    हवाई यात्राका दौरान नेपाली आकासमा समेत इन्टरनेट सुविधा दिने तयारी

    काठमाडौं । हवाई यात्राका दौरान अन्तराष्ट्रिय उडानमा अधिकांश एयरलाइन्समा इन्टरनेट सुविधा उपलब्ध हुन्छ । तर, नेपाली आकासमा छिरेपछि भने यो सुविधा बन्द हुन्छ । नेपाल दूरसंचार प्राधिकरणले विदेशी एयरलाइन्सले नेपाली आकाशमा जहाज उडाउँदा इन्टरनेट सुविधा प्रयोग गर्न पाउने गरी सुविधा दिने तयारी गरेको छ ।

    नेपालको सरकारी समाचारपत्र गोरखापत्रका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग गर्न पाउने गरी सुविधा दिने तयारी थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सहमति प्राप्त विदेशी एयरलाइन्सले यात्रुलाई यस्तो सुविधा उपलब्ध गराउन सक्ने गरी नियम बनाइने भएको छ ।

    उड्डयन प्राधिकरणबाट सहमति ल्याएमा दूरसंचार प्राधिकरणले सुविधा दिने भएको हो । विदेशी जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सेवासम्बन्धी प्रस्ताव यति बेला प्राधिकरणको बोर्डमा प्रस्तावित रहेको समेत गोरखापत्रले लेखेको छ । बोर्डबाट प्रस्ताव पारित हुनासाथ जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सुविधा खुल्ने छ ।

    भारतले सन् २०१८ बाटै भारतीय आकाशमा विदेशी तथा भारतीय जहाजका लागि इन्टरनेट तथा फोन कलको सुविधा उपलब्ध गराइसकेको छ । यस्तो अभ्यास विदेशमा भने एक दशकयता नै जारी छ । नेपाल उडान गरिरहेका कतार, सिङ्गापुर, इत्तिहादसहितका विश्वस्तरीय एयरलाइन्समा यो सुविधा छ । तर, ती जहाज जब नेपाली आकासमा छिर्छन्, त्यसपछि सेवा बन्द हुन्छ ।

  • बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणमा आउने

    बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणमा आउने

    काठमाडौं । बहराइनबाट राजपरिवारका सदस्यसहितको एक टोली सगरमाथा आरोहण गर्न नेपाल आउने भएको छ । उनीहरु आगामी चैत २ मा नेपाल आउने निश्चित भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आरोहण दलका सदस्यले बिहीबार भेटेका छन् । उनीहरुले सगरमाथा आरोहणका विषयमा जानकारी लिएको समेत बहराइनस्थित नेपाली राजदूतावासले उल्लेख गरेको छ ।

    आरोहण टोलीमा बहराइनको राजपरिवारका एक सदस्यसहित बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहने भएका छन् । उनीहरु विशेष विमानबाट आउने र ७९ दिन नेपालमा रहने भएका छन् । नेपालमा वसन्तु ऋतुमा सबैभन्दा धेरै सगरमाथा आरोही आउने गर्छन् ।

  • जनकपुर र अयोध्या हवाईमार्गबाट जोडिने

    जनकपुर र अयोध्या हवाईमार्गबाट जोडिने

    काठमाडौं । नेपालको जनकपुर र भारतको अयोध्या हवाईमार्गबाट जोडिने भएका छन् । नेपालको निजी क्षेत्रबाट संचालित बुद्ध एयरले यी दुई शहरको बीचमा हवाई सेवा शुरु गर्ने तयारी थालेको हो । बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।

    अयोध्यामा अहिले भारतले राम मन्दिर बनाइरहेको छ । जनकपुर भने सीताको माइती शहर भएकाले नेपाल र भारत दुबै मुलुकका लागि यी दुई गन्तब्य महत्वपूर्ण रहेका छन् ।


    बुद्ध एयरका अनुसार जनकपुरबाट अयोध्या उडान ५० मिनेटको हुनेछ । अयोध्यामा आन्तरिक विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने काम भइरहेको बताइएको छ । त्यसको काम सकिनासाथ बुद्धले अयोध्यामा जहाज उडाउने भएको छ । भारतले नै बनाएको रामायण सर्किटको एक महत्वपूर्ण अंश जनकपुर हो ।