Category: घूमघाम

  • न्युयोर्कको टड हिल (घुमघाम)

    न्युयोर्कको टड हिल (घुमघाम)

    कुमार न्यौपाने, न्युयोर्क

    जुन २५ २०२१, झण्डै दिनको १२ बजे तिर बाहिर निस्किएँ । स्टेटन आइल्याण्ड मेरो नजरमा परेको निकै भएको थियो । न्युयोर्क सहर भित्र पर्ने पाँच बोरोहरु मध्ये एक । जुन अग्ला घरहरु, मोटरका ताँति, भिडभाड र कोलाहल भन्दा अलि परको प्रशस्त हरीयाली र पानीको जगेर्ना गर्न सकेको शान्त र रमणीय ठाँउ । म्यानह्याटनको दक्षिणी टुप्पो साउथ फेरी पुगेर फेरी टर्मीनल भित्र छिरी नि:शुल्क ३ तल्ले सुन्तले फेरी चढेर झण्डै १० माईल परतिरको जमिन टेक्दा अलि अर्के आनन्दको अनुभुति हुन्छ । त्यो सुन्दर, शान्त र आनन्दको अनुभुतिको कारण नै म यो सहरको त्यो भाग टेकिरहन मन पराउँछु । साढे ४ बर्षअघि मेरो मित्र दीपकले हामी परिवारलाई त्यही फेरी (जहाज) चढाउन ‘साउथ फेरी’ पुर्याएको सम्झन्छु र यो सबैको लागी निःशुल्क हो भन्दा अचम्म पनि मानिएको थियो । त्यस उप्रान्त त्यही फेरीमा म बारम्बार यात्रा गर्दैहुन्छु ।
    न्युर्योकमा घरहरु नै निकै अग्ला छन । ९/११ आक्रमणपछि ती दुइ जुम्ल्याहा भवनहरुको सम्झनामा बनेको वन वर्ल्ड, ५४१ मिटर अग्लो छ र २०० मिटर भन्दा माथीका झण्डै १०० वटा घरहरु भएको सहरको अर्को भागमा रहेको १२२ मिटर मात्र अग्लो हिलको यात्रा गर्न मन लागेको चाँहि किन भन्ने प्रश्न उठ्ला । म्यानह्याटनका मरे हिल, सुगर हिल र लेनक्स हिललाई पनि अग्लो ठाँउ भन्ने बुझिन्छ । यिनीहरु भन्दा त निक्कै अग्लो लाग्ने त्यो हिलको पहिलो विशेषता भनेकै फ्लोरीडादेखि केप कोडसम्मको झण्डै १,४०० माइल लामो आन्द्रमहासागरीय अमेरीकी पुर्वीय तटको समथर भुभागको सबैभन्दा उच्च भाग हो । पृथ्वी कै टुप्पो ८८४८.८६ मिटर अग्लो सगरमाथा र संसारको ८००० मिटरभन्दा अग्ला ८ वटा हिमाल मेरो हो भन्ने देशको मान्छेलाई १२२ मिटर अग्लो थुम्कोले किन तान्यो झैं लाग्न सक्छ तर हजारौं कि मी. लामो तट कै अग्लो ठाँउको बिशेषता केही त होला भन्ने प्रमुख कारण थियो ।


    यत्तिको जानकारी लिएर म त्यहाँ पुग्ने क्रममा स्टेटन आइल्याण्डको फेरी टर्मीनलमा ओर्लीएर टर्मीनलसंगै टाँसिएको बसपार्कबाट बस लिएर क्लोभ लेक पार्कको पारीपट्टि झरी भिक्ट्री बुलेभर्डको दक्षिण तर्फको केही उकालो रमणीय ‘टड हिल रोड’ हिड्दै थिएँ, एक्कासी पैदल यात्रु हिड्ने बाटो टुङ्गिएको ठाँउमा पुग्छु । मन झस्किन्छ । बाटो नै छैन कि क्या हो जस्तो । तै पनि हुर्रीएर आइसकियो यति टाढा, जानु त पर्ने नै छ । पैदल हिंड्ने सडक पेटी नहुँदा नहुदै नियम पेलेर मोटर गुड्ने बाटो छेउछेउ अलि पर पुग्छु र दाँयापट्टि टड हिल पुग्ने जंगली पैदल मार्ग भेट्टाउंछु । अधिकांश सल्लाका रुखहरु, लडेर सडेका मुढाहरु र केही झाडीको बाटो पछ्याउदै थिएं झस्याङ्ग पार्दै केही उफ्रेर कुद्यो अलि परसम्म । हतास्सिएर हेर्छु, बढेमानको बाह्रसींगे जरायो, सासै नफेरी एकटकले मलाई हेर्दैथ्यो । उसले मलाई हैन कि उसलाई चैं मैले पो तर्साएँ जस्तो । घडीमा मध्य दिनको १ बजेर २२ मिनेट गएको थियो । वेदर फोरकास्टले भन्दैथियो २ बजेदेखि लगातार ८०%­ पानी पर्नेछ । घरबाट हिँड्ने बेला नै पानी पर्छ भन्ने थाहा पाउँदा पाउँदै छाता वा रेनकोट नबोकि हिंड्नेलाई मुर्ख भन्नु ठिकै होला ।
    एक खालको कौतुहलताले त्यो ठाँउमा पुर्याएको थियो, जंगली ट्रेलको यात्रा शुरु गर्न लागेको छु तर केही मिनेट पछिबाट लगातार पानी पर्दैछ । त्यसबेला केही अन्यौलको माहौल बन्यो, त्यो एकान्तमा नितान्त एक्लो छु । हाम्रो जस्तो ओत लिन मिल्ने चौतारो कतै हुन्न । मलाई त्यो पनि थाहा छ की यहाँका बस्तीहरुमा ओत लाग्ने खालका घरहरु हुन्नन । भै हाले पनि ओत लिन पाइन्न । गैरकानुनी रुपमा मेरो घर छेउछाउ कोही आयो वा घरको बलेसीतिर छिर्यो भन्ने आरोपमा पुलिस बोलाएर बुझाइदिन सक्छन । यस्ता ओत लिन नपाइने खतरनाक टोल बस्ती र यहाँको जंगलमा मेरो के हालत होला ? तर लाग्यो त्यस्तो मान्छेहरुका बस्तीहरु भन्दा म यही जंगल मै सुरक्षित छु । यही सोच्दै जे पर्ला उसैगरी टर्ला भन्दै क्यामेरा झिकि त्यो तर्साउने भुतरुपि जरायो (हेर्दा मनमोहक छ) को फोटो लिन खोज्दै थिएं, त्यो त लुसुलुसु अलि पर पुगीसकेछ । अब बिरालोको चालमा हिड्न थालें । जति पर पुग्दै थिएं उति धेरै मृग र जरायोहरु देखिन थाले । ठाडा ठाडा कान पार्दै सबै मै तिर हानौंला झैं हेर्दैथिए । यिनको बिशेषता, कि त चल्दै नचल्ने चलेपछि बुर्लुक्क उफ्रीएर एक कोश पर पुग्ने । एउटा राम्रो फोटो खिच्छु वा भिडियो बनाउँछु भन्दाभन्दै पानी छिट्याउन थाल्यो । अगाडि बढ्दै गर्दा जंगल भित्रका अन्य ट्रेलहरु पनि देखापर्न थाले । म हिड्नु पर्ने चाँही यल्लो ट्रेल थियो । हिड्दाहिड्दै अरु थुप्रै बाटाहरु देखापरे संगै अरु अन्यौलता पनि थपियो । कुन बाटो सही कुन बाटो गलत ? मधुरो प्रकाश, मधुरो इन्टरनेट र मधुरो बाटोहरु पछ्याउन पर्ने मेरो बाध्यता बन्यो । पानी पर्ने क्रम भने बढ्दै नै छ । म क्यामेरा सुरक्षित गर्ने मेलो गर्दै गुगलले देखाएबमोजिमको गोरेटो पछ्याउदै छु । बाटोमा रुखको ओत लिदै रुझेका जरायोहरु र म उस्तै गरी चिसीदै छौं । ठुलो र घना नभएपनि यो अनकन्टार जंगलमा एक्लै ओत खोज्दै हिंड्दा आफैलाई ए तँ के गर्दैछस ? भन्ने प्रश्न आइरह्यो । प्रश्न संगसंगै पाइला चल्दै गयो । एउटा सानो भन्ज्याङ्ग झरेर उक्लिदा अलि पर एउटा टहरो जस्तो देखियो । नभन्दै जंगलको बीचमा मै जस्तो अलपत्रेको लागि भनि बनाएको सेल्टर रहेछ । यसलाई के भन्ने ? यहाँको व्यबस्थापन गर्नेहरुको बुद्घि या मेरो भाग्य ? अगाडिपट्टि ५/७ वटा टेबल कुर्सी सहितको हरीयो चौर र एक व्यबस्थित टहरो, (सेल्टर) जसमा ५० जना जति बस्न मिल्ने टेबल कुर्सी र एक कुनामा ताल्चा मारीएको गोदाम कोठा । त्यसकै आडमा दुइ ओटा फिक्स्ड गरएका स्यानीटाइजरका बट्टाहरु ।

    मलाई ढुङ्गा खोज्दा देउता भेट्टाएको उखान चरितार्थ भयो । त्राण मिल्यो, उल्का भै गयो । घरै पुग झैं भयो । मुसो चुटाईबाट जोगिएँ, क्यामेरा जोगियो, थकाइ मार्न पाएँ अनि केही लेख्न । अघिसम्म आफैंलाई मुर्ख मान्ने अब लाग्दैथियो खै म कसरी मर्ख हुँ ? जे होस, त्यो ओतले मलाई शक्ति थप्यो, भरपर्दो साथी पाए झैं लाग्यो । निकै बेर त्यहाँ बसें, यही जंगलको यहाँसम्मको यात्राको इतिबृति लेखें । पानी पराइको रफ्तार केही कम भयो । अब मलाई यल्लो ट्रेल पछ्याउदै रक हिल प्वाइन्ट पुग्नु छ । पानी कम हुन्छ, अगाडि जानु छ, अगाडिको बाटोको कल्पना गर्दैछु, बाटोमा यहाँको जस्तै मृगहरु, लोखर्के र चराचुरुङ्गीहरु भेटिने हुन कि अरु केही ! तर म ढुक्क छु यी दक्षिणी भेगका जंगलहरुमा ह्रिंसक जनावर भेट्टिदैनन ।
    जब म शिवपुरी, नागार्जुन र फुलचोकीको जंगलहरु सम्झन्छु, एक प्रकारको भय उत्पन्न हुन्छ । ती जंगलहरु बाक्ला छन, घना छन र गहिरा खोचहरुले भरिएका र पहाडी भेगमा पाइने ह्रिंसक जंगली जनावरहरुको बासस्थान हुन । एकपल्ट बिष्णुमतिको मुहान खोज्दै बिष्णुपादुकादेखि माथिमाथि चढ्दै जाँदा भर्खरै हिंडेका चितुवाको पैतलाको डोवहरुले आज पनि जिउ सिरिङ्ग पार्छ । निकै बाक्लो हिउँ पर्दा शिवपुरीको खोंचहरुमा घण्टौं कुहिरोको काग हुनु पर्दाको क्षणले कति रोमान्चक र कति डर पैदा गराउँछ । यस्तै चुरेको जंगलमा लामा लामा पुच्छरवाला सेता लङ्गुरहरुले लखेटेको सम्झिदा यो जरायो र लोखर्के पाइने पातलो जंगल त केही हैन तर यी मेरा लागी नितान्त नौला थिए ।

    पानी मत्थर हुँदै थियो । सेल्टरबाट निस्कीएँ। मलाई केही दुरीका रुखहरुमा छापिएको यल्लो ट्रेलको चिन्ह पछ्याउनु थियो । फुट ट्रेल लेखिएको अक्षर वा यल्लो चिन्हहरु । केहीबेर अबको बाटो र मोवाइल इन्टरनेटको ध्याउन्नमा कहिले रुखका चिन्हहरु छुटेछन । बाटो यही त होला भन्दा भन्दै निकै पर पुगेपछि बाटो साघँरिदै गयो, तब पक्का भयो कि मेरो बाटो फेर परिसकेछ । जति बाटो झाडिले छोप्दै गयो उति त्यहाँबाट बाँयातिर देखिने दृष्यले मन भने तान्दै थियो । क्यामेराको जुमले तानेर केही फोटो खिचें । सेतो दरवार जस्तो घर (जसलाई ह्वाइट हाउस पनि भनिदो रहेछ) ठुलो न ठुलो आँखाले भ्याउन्जेलको हरिया गल्फ कोर्सहरु । आहा, कसले कहिले बनाएका होलान ? ति कति शौखिन होलान? त्यो बेलाको मेरो मनका तरङ्गहरु यस्ता थिए । तर पछि टड हिलको बारेमा पढ्ने कोशिस गर्दा थाहा पाएँ कि हलिउड ब्लकबस्टर गड्फादर फिल्म बनेको ठाँउ रहेछ । घुम्दै गर्दा म सामान्य ठाँउमा घुम्दैछु भन्ने थियो तर जव ‘टड हिल’ अझ पढ्दै र बुझ्दै गएँ तब पो कताकता डर डर लाग्यो । बास्तवमा टड हिल जति आकर्षक छ, उज्यालो छ त्यसको इतिहास अलि अध्याँरो रहेछ । जर्मनहरुले स्थापित टड हिल बस्तिको टड नाउँको अर्थ मृत रहेछ । मृत पहाड जहाँ सन १७४० मा ठुलो चिहान बनाएका रहेछन, मोराभियन सिमेर्टी र अर्को यस बस्तिको क्रुर बास्तविकता चाहि न्युर्योकका नामी, बदनामी र खुँखार बोसहरुको बस्ति रहेछ । त्यही कारण पनि जानिफकारहरु भन्दारहेछन कि टड हिल बरपर बस्नेहरु साना घरमा बस्दैनन् र कहिल्यै गरिब हुदैनन् । तव त सांकेतिक रुपमा अल प्यासीनो अभिनीत गड्फादरको लोकेशन यहाँ रोजिएको रहेछ ।
    म त्यो सेतो दरवारको क्षेत्र पार गर्दै अलि ओरालो हराउँदै गरेको बाटो छ कि भन्दै अगाडी बढ्दै थिएँ। अझै केहीपर पुगपछि बाटो निम्ठियो । अन्तिम उपाय थियो, त्यही गुगल बाजे । हेरें, बाटो छोडेर निकै तल पुगेको रहेछु । आएको बाटो फर्किनु भन्दा नजिकैको ट्रेल भेटेर बाटो तताउनु बेस थियो । पानीले भिजेको जंगल, झार बुट्टयान र काँडाको मार्ग अनि काँडाको धर्म नै घोच्नु हो, कोर्नु हो । म बाटो बिराएकोलाई किन माया गर्थ्यो, प्रशस्त राता धर्साहरु भए लुगाले नढाकेको ठाँउभरी, जिउका लुगा लगभग भिजे, जुत्ता लगभग भिज्यो, खुट्टाका औलाहरु पौडी खेल्न थाले, झोला, क्यामेरा उस्तै । अब बल्लबल्ल पत्ता लागेको बाटोमा न्यापकिन पेपरले क्यामेरा पुछ्दै अगाडी बढ्दै गएँ । त्यो भेग पुगेपछि पानी कम परेपनि साँझ धेरै पर्दै थियो, थकान बढ्दैथियो । प्रसस्तै शाखा (पंहेलो, निलो, हरियो, बैजनी र गुलावी ट्रेलहरु) बाटोहरु भएको त्यो ठाँउमा म जस्तो नौलो मान्छेको लागि गुगल म्याप गुरु समान नै थियो ।

    शुरुमा आफु पुग्छु भनेर तोकेको गन्तव्य पुग्न अझै २५ मिनेटको बाटो देखाउँदै थियो । त्यहाँबाट फेरी जंगल बाहिरको मुल सडक पुग्न अझै कति पो समय लाग्ने हो । यतिसम्मको यात्रा भरी मान्छेको रुपमा म मात्रै छु । आफुले आफुलाई हेर्न पाएको छैन, अर्को मान्छेको अनुहार देखिएको छैन । सायद निरन्तर परीरहेको पानी र विक डे भएको कारण पनि म एक्लै कहानी कोर्दै थिएं घण्टौसम्म । फोनमा यथेष्ट व्याट्री र डेटा बिना यस्तो ट्रेलहरु हिड्ने गल्ती गर्नु हुदैन ।
    बर्षिरहेको पानी, हराएको बाटो, जरायो, लोखर्के र बिभिन्न चराहरुको अल्मल्याइले मलाइ ढिलो ढिलो गर्दैथियो । अब मेरो गन्तव्य करीब नजिक नजिक भन्ने नक्शाले देखायो । उत्साहित थिएं । थुप्रै ट्रेलहरु छान्दै, छल्दै, पहिल्याउदै जव मेलै सोचेको ठाँउ नजिक पुगें, तब केहि सिमसारहरु देखापरे । कयौं झारहरुले सीमसार ढाकिएका थिए । सिमसारको छेउकुनाहरु अझै मधुरा र अध्याँरा थिए । घण्टौं हातमा झुण्डीएको गह््रौं क्यामेराले नाडी, औंलाहरुमा गहिरो थकान महसुस हुदै थियो । अगाडी बढ्दै गएं, मेरो २० पाइलाहरु फेरी उल्टो बाटो लागेछन । फर्किएर जब सहि बाटो लाग्न मोडिदै थिएं एक्कासी मेरा आखाँहरु अग्ला अग्ला सर्लक्क पारेर गाडिएका ढुङ्गाका ताँतीहरुमा परे । केहि पाइला अगाडी के बढेको थिए मेरो सामुन्ने अब हजारौ हजार मृत मानिसहरुका घरहरु थिए । आफ्नो गन्तब्य आइपुगेको खुशीमा उचालिएको मेरा कुमहरु सर्लक्क तल झरे । आँखाले त्यहि ठाँउ भन्दा अर्को ठाँउ हेर्न मान्दैनथ्यो । अघिको एकोहोरो मृग झैं म एकोहोरीएं । एक्कासी हलिवुडको जम्बी मुभीहरु दिमाग भरी घुम्न थाले । ति चिहानघारीबाट जुरुक्क उठेर हिडेका कंकालहरु सम्झीन पुगें । रुखहरुको पातहरुबाट झर्दै गरेका पानीका आवाजहरु, लोखर्केको कुदाईको आवाजहरु र ति सीमसारहरुबाट उडेका चराहरुको पखेटाका आवाजले कता कता तर्साउन थाल्यो ।
    म कयौंपल्ट थाहै नपाइ चिहानघारीहरु हिडेको छु । थाहा पाउँदा पाउँदै हिड्नु र थाहा नपाइ हिड्नुमा आकाश जमिनको फरक छ । हिड्दा पनि मध्ये दिउसोको समय, सामान्य समय, मानिसहरुको बस्तीको नजिकै वा कोहि साथीहरुसंगै हुँदाको समय र यो नितान्त बेग्लै थियो । यस्तैमा मनमा बिभिन्न मनोभावना उव्जन थाले । यस्तो सीमसार नै सीमसारको बिचतिर यति ठुलो चिहानघारी कसरी ? यस्तो जंगलको बिचमा न कुनै सुचना, न कुनै होर्डिङ्ग ? के चिहानघारीको पनि बोर्ड राख्नुपर्ने थियो ? के फिल्ममा देखाइएको जस्तो भुतहरु हुन्छन ? डिस्कभरी च्यानलमा देखाइएको जस्तो सयौं बर्ष पुराना घरहरु हन्टेड हाउस नै हुन ? भनिन्छ बेलायतका बिभिन्न ठाँउहरुमा आज पनि हन्टेड हाउसहरु छन । ति घरहरु झुक्याएर बिक्रि गर्ने गरिन्छ रे । अमेरिकीहरुले पनि अनुसन्धानबाट पत्ता लगाइएको भनिएको सुपरनेचुरल पावरको विद्यमानता जस्ता कुराहरुले मन चिसो पार्दै थियो । त्यसबेला किन जान्ने भएर भुतका फिल्महरु हेरें, किन पढन्ते देखाउन चाख मानि मानि हन्टेड हाउसका कथाहरु, समाचारहरु पढें ? आज त्यही कुराले आफैलाइ छेउकुना खादै थियो ।
    यसै बीच मनमा अर्को कुरा आयो । झण्डै ५ घण्टादेखि म नितान्त एक्लै नै छु । अब मैले यही ठाँउमा टुप्लुक्क कुनै मानिस भेट्नुको अर्थ के हुन्छ ? के त्यसलाइ सामान्य रुपमा लिन मिल्छ ? पक्कै मिल्दैन । यो अनकण्टार अध्यारो जंगलको भिजेको बाटोमा आफ्नै भिजेको जुत्ताको आवाज बीचमा म एक्लै ठिक छु । यत्रो समय एक्लै पारीसकेपछि करिब मलाई यो क्षेत्रबाट बाहिर निकालेपछि मात्रै अर्को मान्छेको दर्शन देउ भनि भगवानसंग प्रार्थना गर्न मन लाग्यो । म अर्को मान्छे स्वीकार्ने हविगतमा थिइन । पात पनि नहल्लिएको वातावरण साँच्चै थियो कि मेरो मनोदशा ! ति सिमसारका आडैमा बनाइएका काठका बेन्चहरुको रङ्गहरु अझ कालो देख्छु, अझ एकान्त हुदै गएको देख्छु । कालो ओड्ने ओडेर कोही बसिरहेको कल्पना गर्छु । बनको बाघले हैन मनको बाघले निल्न खोज्दै थियो ।
    म बिरालोको चालमा एउटै ध्याउन्नमा हिड्न थालें कि कहिले यो भयानक ठाँउबाट पार पाउँ । मनको भावनाले होला कुनै फोटो खिच्न खोज्दा निस्कने आवाजले अझ नसताओस् । तैपनि अलि वर आएर हतार हतार केही फोटो क्लिक गर्छुं । अब अगाडि हिड्छु, एकोहोरो हिड्छु, बिशेष गरी कान बन्द गरेर लम्किन्छु जस्तो म सानो छँदा हेटौडाको घरदेखि अलि पर बुवाआमाले खोलातिर नजाओस भनि डर देखाउन ‘त्यहाँ भुत छ’ भनेको ठाँउमा साँझतिर पुग्दा आँखा, नाक, कान बन्द गरेर बुर्कुसी मारीन्थ्यो त्यस्तै त्यस्तै सोच्दै हिडेर अब निकै पर पुग्छु । मनको बेग निकै शान्त हुन्छ ।
    नक्साले नजिकै एउटा ठुलो पोखरी देखाएको थियो । त्यसको नजिकै पुग्दा रुखमा झुण्ड्याइएको सुचनामा आँखा पुग्छ । यो ठाँउ उप्रान्त निजी सम्पति हो । यो भन्दा अगाडि जानको लागी समय तोकिए बमोजिम गर्नुहोला नत्र कानुन बमोजिम कारबाही हुनेछ । परेन फसाद् !
    धन्न सुचनामा भने बमोजिम हिंड्न मिल्ने दिन मै पुगेको रहेछु ।
    मन निकै हलुंगो भयो तर अझै कोही पनि मान्छे देख्दिन । केही दिनअघि मोटरबोट बोकेर आएको एउटा ट्रक, दुइवटा साइकलहरु, केही डोरीहरु मैले घण्टौंपछि देखेको चिजबस्तुहरु थिए । अब त्यो पोखरीको छेवैछेउ मोटर गुड्न मिल्ने ग्राभेल बाटाहरु छन । सफा पोखरीमा बाँधेर राखिएका केही डुङ्गाहरु थिए । लाग्यो निजी सम्पत्ति पनि यति ठुलो क्षेत्रमा फैलिएको ? ताल, तलाउ, डुङ्गाहरु, मोटर गाडी, चौरहरु, सडक नै सडक, मृगहरु चरिरहेका जंगल, रक क्लाइम्बिङ्ग गराउन बनाइएका कृतिम चट्टानहरु, गोदाम घरहरु, चोक र थुप्रै अन्य संरचनाहरु । कस्तो अचम्म ! निजी सम्पत्ति भित्रको भागमा हिड्न थालेको पनि १५/२० मिनेट भै सक्यो कोही मानिसको भेउ पाउँदिन । कस्तो ठाँउ हो यो ? मेरो यात्राको शुरुदेखिको अन्योलता यात्रा टुंगिदै गर्दासम्म पनि उत्तिकै कायम छ । हिड्दै गर्दा पछाडिबाट कसैले सुसेलेर वा कराएर अब उता बाटो छैन, जताबाट आएको हो उतै जा भन्यो भने मेरो के दशा हुने हो भन्ने ठुलो डरले खाँदै थियो । चिहानघारीमा आएको सोच जस्तै जसो तसो यहाँ पुगेको छु कुनै अर्को मानिसको उपस्थिति विना अब केहीबेर कोही मेरो सामुन्ने नपरुन ।
    नभन्दै कोही मनुष्यको दर्शन बिना म त्यो निजी सम्पत्तिको मुल भागमा आइपुगें । ठुलो मुल गेट बन्द रहेछ । करिव ५ घण्टा ४५ मिनेटपछि त्यही गेटको पारीपट्टी घर भित्र छिर्दे गरेको एक जना मानिस देखें । सडक पारी गएर निजी सम्पत्तिलाई हेर्दा थाहा भयो त्यो विलीयम एच पौच व्वाय स्काउट क्याम्प रहेछ । ओर्वाक लेक सहितको हजारौं एकड जमीन सहितको निजी सम्पत्ति मालिकलाई पनि सम्झदै नजिकैको बस स्टेसन तिर हान्निएं । करिब १५ मिनेटको अर्को थकानपुर्ण हिडाइ पछिको यात्रालाइ बसको सिटले थचक्क बसायो । साउथ फेरीको डन्किन डोनटको कफीले आँत भर्ने काम गर्यो ।
    टड हिलको ६ घण्टे लम्बेतान एक्लो यात्रालाई पर्गेल्दै गर्दा त्यो हेर्दा सुन्दर देखिने कुनै बेलाको मृत डाँडा पो रहेछ, त्यो भव्य महलहरु त बोसहरुको बस्ति पो रहेछ र सबैभन्दा ठुलो त चिहानघारी पो रहेछ । तर…
    ती साँच्चै रोमान्चक र मन कुत्कुत्याउने खालका थिए ।

  • अब आन्तरिक उडानमा माग अनुसार अनुमति

    अब आन्तरिक उडानमा माग अनुसार अनुमति

    काठमाडौं । सरकारले आन्तरिक उडान पूर्ण रुपमा खुला गरेको छ । देशभर बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको समयमा यात्रुको सुविधालाई ध्यानमा राखी सबै उडान खोल्न वायुसेवा कम्पनीले माग गरेका थिए । सोहीअनुसार सरकारले अब आवश्कयता अनुसार पूर्ण क्षमतामा जहाज उडाउन सक्ने गरि खुला गरेको हो ।

    यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान गर्ने एयरलाइन्सहरुलाई जानकारी गराएको छ । यसअघि कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेको भन्दै ५० प्रतिशतमात्र उडान अनुमति दिइएको थियो । सरकारले स्वास्थ्य र पर्यटनमन्त्रालयको समन्वयमा जोखिमको अवस्था हेरि उडान अनुमति अधिकतमसम्म दिनसक्ने निर्णय गरेको हो ।

  • शुक्रबार चीनबाट किनेको खोपको पहिलो खेप नेपाल आउँदै, आज जहाज जाने

    शुक्रबार चीनबाट किनेको खोपको पहिलो खेप नेपाल आउँदै, आज जहाज जाने

    काठमाडौं । चीनबाट नेपाल सरकारले खरीद गरेको कोरोना भाइरसविरुद्धको खोप ल्याउन आज नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदैछ । ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो । बिहीबारबाट ८ साउनसम्म कुल तीन वटा उडान तय भइसकेको छ । यो उडानबाट एकै पटक २५ लाख डोज भन्दा बढी खोप नेपाल आउने छ ।

    बिहीबार साँझ चीन जाने यो जहाजले शुक्रबार भेरोसेल खोप काठमाडौं ल्याउने छ । यसपछि ३१ असार र ७ साउनमा उडान तय भएको छ । चीनमा कुल ५ उडानबाट खोप ल्याउने तयारी छ । सरकारले ४० लाख डोज खोप किनेको हो । यो ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने तयारी सरकारको छ ।

  • उपत्यकामा आजबाट सबै प्रकारका सवारी साधन निर्वाध चले

    उपत्यकामा आजबाट सबै प्रकारका सवारी साधन निर्वाध चले

    काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट सबै प्रकारका सवारी साधनको संचालन खुला भएको छ । अब निजी तथा सार्वजनिक सवारी साधन निर्वाध चल्न सक्ने भएका हुन् । सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ । माइक्रो, टेम्पोसहित सानो क्षमताका सार्वजनिक सवाी साधन समेत आजबाट चल्ने भएका हुन् । उपत्यका भित्रका जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी गरि यस्तो जानकारी गराएका हुन् ।

    आजदेखि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्र्न भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति लिने व्यवस्था गरिएको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

    माइक्रोको तेस्रो सिटमा चार चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन। आजबाट परीक्षाहरु चल्ने छन् । सभा सम्मेलन र पार्टी भोजभतेरमा रोक लगाइएको छ ।

  • काठमाडौंमा मंगलबारबाट जोर-विजोर प्रणाली हट्ने, सबै सवारी साधन खुला

    काठमाडौंमा मंगलबारबाट जोर-विजोर प्रणाली हट्ने, सबै सवारी साधन खुला

    काठमाडौं । सरकारले निषेधाज्ञामा व्यापक खुकुलो नीति लिँदै सबै प्रकारका सवारी साधनको संचालन खुला गरेको छ । काठमाडौं उपत्यकामा १६ वैशाखबाट शुरु भएको निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै सबै प्रकारका सवारी साधनको संचालन खुला भएको हो । काठमाडौं उपत्यकाकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा भने मङ्गलवार २२ गतेदेखि असार ३१ गतेसम्म थपिएको छ । थप भएको निषेधाज्ञाको समयमा सभा जुलुस गर्न रोक लगाइएको छ । पार्टी र भोजभतेर समेत बन्द छ ।


    सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । मास्क अनिवार्य गरिएको छ । काठमाण्डौ उपत्यका भित्रिने गाडीले भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आउनु पर्नेछ । स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने र सवारी साधनलाई अनिवार्य रूपमा दैनिक निसङ्क्रमित गर्नुपर्ने सर्त समेत राखिएको छ ।

    सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्युटी पार्लर, मनोरञ्जनस्थल, फुटसल, जिमखाना, चिडियाखाना जस्तो क्षेत्र अझै बन्द हुने छ एउटा कोठामा बढीमा २५ जना उपस्थित हुने गरी परीक्षा सञ्चालन गर्न सकिने भएको छ । औषधिबाहेकका पसल बेलुका ६ बजेसम्म मात्रै र टेक वे वा होम डेलिभरीका लागि रेस्टुरेन्ट तथा खाजा घर बेलुकी ७ बजेसम्म खोल्न पाइने छ ।

  • शुक्रबारदेखि एक सातासम्म नेपालबाट फिर्ता हुने पर्यटकको भिसा नविकरण निःशुल्क

    शुक्रबारदेखि एक सातासम्म नेपालबाट फिर्ता हुने पर्यटकको भिसा नविकरण निःशुल्क

    काठमाडौं । निषेधाज्ञाको समयमा भिसा अवधि रोकिएपनि नविकरण गर्न नपाएका विदेशी पर्यटकको भिसा अवधि थप गर्ने कार्य शुक्रबारबाट शुरु हुने भएके छ । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द भएको भिसा सेवा शुक्रबारबाट सुचारु हुने अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार शुक्रबारबाट आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सम्बन्धी कामका लागि विभिन्न छुट तथा सहुलियतको सुविधा प्राप्त गर्न सक्ने छन् ।

    २०७८ वैशाख १५ सम्म वैध भिसा भएका विदेशी नागरिक २४ असारभित्र नेपालबाट बाहिरिँदा अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलबाट निःशुल्क भिसा नियमित गरिने विभागको सूचनामा उल्लेख छ । नेपालमै रहन चाहने पर्यटकले भने २४ असार भित्र आवेदन गरेमा विलम्ब शूल्क र जरिवाना नलिई भिसा शुल्क मात्र लिएर नियमित गरिने विभागले जनाएको छ ।

    २४ असारपछि आउने विदेशीको हकमा भने भिसा शुल्क, विलम्ब शूल्क र जरिवाना समेत लाग्ने छ । नेपालमा एक जना पर्यटकले एक वर्षमा पर्यटक भिसामा बढीमा १५० दिन मात्र रहन सक्छन् । तर, निषेधाज्ञा भएको समयलाई भने सरकारले पर्यटक भिसाको यो अवधिबाट छुट दिने भएको छ । यो वर्ष पर्यटकले २१० दिनसम्मको बसाईलाई पर्यटक भिसा लिन सक्ने गरि निर्णय भएको छ ।

  • दक्षिण कोरिया र चीनमा समेत हुने भयो नियमित हवाई उडान

    दक्षिण कोरिया र चीनमा समेत हुने भयो नियमित हवाई उडान

    काठमाडौं । अब चीन र दक्षिण कोरियामा समेत काठमाडौंका लागि नियमित उडान हुने भएको छ । पछिल्लो निषेधाज्ञापछि रोक लगाइएको यी गन्तब्यका लागि सरकारले विभिन्न कम्पनीलाई उडानको अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि यी दुई मुलुकमा एयरलाइन्सहरुले अनुमति नमागेका कारण तालिका निकालिएको थिएन । प्राधिकरणका अनुसार दक्षिण कोरियामा प्रत्येक बुधबार एक उडान हुने छ । यो उडानको अनुमति कोरियन एयरले पाएको हो ।

    चीनमा भने चेन्दु र ग्वाङझाउमा उडान हुने भएको छ । तालीका अनुसार छेन्दुबाट एयर चाइनाको जहाज हरेक आइतबार काठमाडौं आउने छ । चाइना साउदर्नले ग्वाङझाउमा प्रत्येक साताको मंगलबार उडान गर्ने अनुमति पाएको छ । अब नेपालमा प्रत्येक साता २४ उडान हुने भएको छ । यो तालिका जुलाई महिनाभरका लागि हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेवीया, कुवेत, जापान, ओमान, दक्षिण कोरिया र चीनमा नियमित उडान खोलेको छ ।

  • आजबाट नियमित आन्तरिक हवाई उडान हुँदै

    आजबाट नियमित आन्तरिक हवाई उडान हुँदै

    काठमाडौं । नेपालमा आजबाट आन्तरिक हवाई उडान नियमित हुँदैछ । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै सरकारले २० वैशाखबाट उडानमा प्रतिवन्ध लगाएको थियो । त्यसबेला निषेधाज्ञाको बीचमा पनि उडान जारी थियो । तर, आलोचना पछि हवाई उडान समेत बन्द भएको हो । मन्त्रिपरिषद्ले साविकको तुलनामा ५० प्रतिशत यात्रु राखेर उडान गर्न दिने निर्णय गरेअनुसार उडान सूचारु भएको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरि तालिका मिलाएको छ । आजबाट बुद्ध एयरले दैनिक ३१, यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान गर्नेछन् । दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ उडानको अनुमति पाएका छन् । हवाई यात्रामा स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको छ ।

  • टर्कीले नेपालसहित ६ मुलुकको सिधा उडान रोक्यो, ट्रान्जिट उडान हुने

    टर्कीले नेपालसहित ६ मुलुकको सिधा उडान रोक्यो, ट्रान्जिट उडान हुने

    काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशका गर्दै सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानलाई रोकेको छ । टर्कीको आन्तरिक मामिला मन्त्रलयलाई उदृत गर्दै रोयटर्सले यस्तो जानकारी दिएको हो । तर अन्य देश जाने यात्रुले भने टर्की ट्रान्जिट बनाएर यात्रा गर्नेलाई भने कुनै रोकतोक नहुने नेपालस्थित टर्कीस एयरलाइन्सको कार्यालयले जनाएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ ।

    नेपाल सरकारले उडान खुला गरेपनि टर्की सरकारले भने नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै सिधा उडानमा रोक लगाएको हो । अन्य मुलुकबाट टर्की छिर्दा समेत यी ५ मुलुकमा पछिल्लो १४ दिन यता रहेको भए ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य र १४ दिन क्वारेन्टिन बस्ने गरि मात्र टर्की प्रवेश गर्न दिने निर्णय त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । पाकिस्तान र अफगानिस्थानबाट जाने यात्रुलाई भने १० दिन क्वारेन्टिन अनिवार्य गरिएको छ ।

  • उपत्यकामा २५ सीटभन्दा माथिका सार्वजनिक बस चले

    उपत्यकामा २५ सीटभन्दा माथिका सार्वजनिक बस चले

    काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट २५ सिटभन्दा माथि क्षमताका सार्वजनिक बस चल्न शुरु गरेका छन् । सरकारले सार्वजनिक सवारी साधनलाई समेत जोर बिजोर सिस्टममा चलाउन सकिने गरि तोकेको छ । सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको थियो । यससँगै उपत्यकामा ठूलो सार्वजनिक बसको सेवा शुरु भएको हो । यी सवारी साधनले स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।

    साना सार्वजनिक सवारी साधन भने चलाउन पाइदैन । खाद्यान्नका पसल आजबाट साँझ ६ बजेसम्म खोल्न पाइने छ । उपत्यकामा निजी सवारीसाधन र ट्याक्सीको जोर–बिजोर प्रणाली कायम छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक साता लम्बाएको छ । लम्बिएको निषेधाज्ञा आजबाट लागु हुनेछ । तर, प्रावधानहरु भने खुकुलो बनाइएको छ ।

  • विदेशबाट खोपको मात्रा पुरा गरि आउने यात्रुलाई नेपालमा सहज

    विदेशबाट खोपको मात्रा पुरा गरि आउने यात्रुलाई नेपालमा सहज

    काठमाडौं । विदेशबाट कोरोना विरुद्धको खोपको मात्रा पुरा गरि नेपाल आउने यात्रुलाई सहज भएको छ । कोरोना खोपको मात्रा पूरा गरेका हवाई यात्रु सीधै घर तथा गन्तव्यमा जान सक्ने गरि सरकारले आदेश जारी गरेके छ । विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड १९ परीक्षण रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट आउने यात्रुलाई १० दिन स्वक्वारेन्टिनमा बस्ने गरी सीधै गन्तव्यस्थलमा जान दिइने भएको छ ।

    उनीहरुको अनुगमन स्थानीय सरकारले गर्नेछ । विदेशबाट आउने सबै यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएको रिपोर्ट भने हुनुपर्छ । विदेशमा खोप नलगाए पनि नेपाल आउने यात्रुले अब ७ दिन मात्र होटल क्वारेन्टिन बसे पुग्नेछ। यसअघि यो नियम १० दिनको थियो । यात्रुले पीसीआर रिपोर्टसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेबसाइटमा रहेको फारम भरेको यकिन भएका आधारमा जहाज चढ्न सकिने भएको छ ।

    आफ्नो रीतिरिवाज अनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुलाई स्थानीय तह वा सीसीएमसीको सिफारिशमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमा सीधै घर जान दिइने नीति समेत सरकारले लिएको छ । अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा (कम्तीमा दुई जना)लाई समेत अस्पतालको आधिकारिक कागजातका आधारमा एन्टिजेन परीक्षण गरी घर जान दिइने छ ।

    ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र नाबालकका बुबाआमालाई समेत एन्टिजेन परीक्षण गरी घर जान दिइनेछ ।


    वैदेशिक रोजगारीबाट फर्कंदा होटल बुकिङ अनिवार्य नहुने
    होटल क्वारेन्टिनमा बसेको ७ औं दिनमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा सीधै घर जान पाइने भएको छ । वैदेशिक रोजगारीमा गएका र करार अवधि सकिएर घर फर्कनेको हकमा भने अब होटल बुकिङ नभए पनि जहाज चढ्न सकिने प्रावधान ल्याइएको छ । तर, उनीहरु नेपाल आइसकेपछि भने सरकारले क्वारेन्टिन भनी तोकेका होटलमा बस्नुपर्नेछ । डिपोर्टेसन भएर फिर्ता भएका, जेलमुक्त भएर आएका बेखर्ची नेपालीलाई कूटनीतिक नियोगको सिफारिशमा सरकारी क्वारेन्टिनमा राखिनेछ । बस्ने, कोभिड परीक्षण गर्ने र घरसम्म पुग्ने खर्च सरकारले नै बेहोर्नेछ ।

  • अमेरिका र कुवेतले ४ हजार भारतीयलाई फिर्ता पठाए

    अमेरिका र कुवेतले ४ हजार भारतीयलाई फिर्ता पठाए

    नयाँ दिल्ली । कोरोना महामारीका बीच अमेरिका र कुवेतले करीव ४ हजार भारतीय नागरिकलाई फिर्ता गरिदिएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार अवैध रुपमा बसिरहेका र भिसा अवधी सकिएका विभिन्न उडानबाट ती मुलुकले भारतीय नागरिकलाई फिर्ता गरेको समाचारमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले महामारीका बीच भएको हवाई उडानबारे जानकारी गराएको एक विवरणमा यस्तो उल्लेख छ ।

    कतिपय भारतीयलाई स्पेशल उडान नै गरि फर्काइएको थियो । यस्तो उडानबाट फर्काइनेमा सजाय पुरा भुक्तान गरिसकेका नागरिक थिए । हिन्दुस्तान टाइम्सले छापेको यो रिर्पोटमा दुई मुलुकबाट मात्र ४ हजार भारतीय फिर्ता गरेको उल्लेख छ । अधिकतम उडान कुवेत सरकारले त्यहाँ रहेका गैरकानूनी रुपमा बसिरहेका भारतीयलाई पठाउन गरेको थियो । यसरी बस्नेमा भिसा सकिएपछि पनि अवैध रुपमा बस्ने भारतीय बढी थिए ।

    यसका लागि कुवेत सरकारले निशुल्क उडान गरेको थियो । समाचारमा जनाइए अनुसार यसरी फर्काइएका अधिकांश मजदूर थिए । उनीहरु अब नयाँ प्रक्रियाबाट भने पुनः कुवेत जान सक्नेछन् । तर, सम्बन्धित मुलुकमा विभिन्न अपराधमा सजाय पाएर देश निकालामा परेकाहरु भने पुनः सो मुलुक जान सक्ने छैनन् ।

  • थपिएका अन्तर्राष्ट्रिय गन्तब्यमा बिहीबारबाट उडान, कुन गन्तब्यमा कहिले उड्छ जहाज ?

    थपिएका अन्तर्राष्ट्रिय गन्तब्यमा बिहीबारबाट उडान, कुन गन्तब्यमा कहिले उड्छ जहाज ?

    काठमाडौं । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोलेको छ । सोही अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक र बाह्य उडान हुने मिति तोकेको छ । मन्त्रालयकाअनुसार आन्तरिक उडान १७ असारबाट शुरु हुने छ ।

    मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुने भएका हुन् । साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिनेछ । सोको व्यवस्थापन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

    अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुँदैछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुनमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

    २५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ ।

    २७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । यो दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक\एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ । जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने गरि तालिका तय भएको छ ।

    २८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ । कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने छ । सो दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने छ ।

    फ्लाई दुबई दुबईबाट काठमाडौं आउने छ । ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने छ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका तय भएको पर्यटन मन्त्रालयको सूचनामा उल्लेख छ ।

  • ह्यामिल्टन हाइट्स

    ह्यामिल्टन हाइट्स

    कुमार न्यौपाने, न्युयोर्क

    दिनभरीको मौसम गतिबिधि नहेरी घर बाहिर निस्कन अप्ठ्यारो पर्छ । झ्यालबाट हेर्दा चर्को घाम देखिन्छ तर स्यांठ चलिरहेको हुनसक्छ । कति फरेन्हाइट वा सेल्सीयस खुट्याउनै पर्छ नत्र आच्छुआच्छु या हपहपीमा परिन्छ । म निकै पल्ट बित्यासमा परेको छु ।
    अलिक महिना अघिको कुरा हो । इन्स्टाग्राम हेर्दै जांदा अमेरीकी स्वतन्त्रताका लागि लडेका मध्ये एक राष्ट्रपिता मानिने अलेक्जेन्डर ह्यामील्टनले न्युयोर्कमा दुई बर्ष बिताउंदा बसेको घरलाई राष्ट्रिय स्मारकको रुपमा राखिएको रहेछ र त्यो न्युयोर्क सहरको प्रमुख बोरो म्यानह्याटनको माथ्लो हार्लेमको अलिक हड्सन पट्टीको अग्लो भागमा पर्ने रहेछ । उनले केही समय बिताएको ठांउलाई उनैको सम्मान स्वरुप ह्यामिल्टन हाइट्स नाम दिइएको रहेछ । यति जानकारी भएपछि मलाई त्यो ठांउ जानुपर्नै सुचिमा राखें र केही दिनपछि त्यही ह्यामिल्टन हाइट्स जाने निधो गरें ।
    ग्राण्ड सेन्ट्रलबाट सव वे चढें, जमिन मुनी मुनी एक दुइ ट्रान्सफर हुदै १४५ स्ट्रिटमा झर्नुपर्ने थियो ।
    सार्वजनिक सवारी साधनको सहजताले न्युर्योकलाई जीवन्त तुल्याएको मान्दछु । न्युयोर्कको सव वे(ट्रेन) भनौं, फेरी (डुङ्गा) वा बसलाई एम टि ए भन्छन । त्यो एम टि एको बिभिन्न साधनहरुको टिकट मुल्यमा एकरुपता छ । २.७५ डलर तिरेपछि सब वेमा इनउडदेखि फार रकवेसम्म पनि जान सकिने भयो या चढेको अर्को स्टेसनमा झर्न पनि सकियो । फेरीमा पनि ९० मिनेट भित्र कुनै अर्को स्टेसनमा ट्रान्सफर गरी टाढाको गन्तव्यसम्म पुग्न सकिने भयो तर बसमा भने ट्रान्सफर हुन्न, बसको रुटसम्मको यात्रा अन्तिम हुन्छ, त्यसैले छिटो, सजिलो र सस्तो हुने भएकोले पनि प्रायः न्युर्योकबासी सव वे नै चढ्न मन पराउँदा रहेछन । यही सोच्दै सोच्दै गर्दा ट्रेन भित्रै मन फेरें र १२५ स्ट्रिट मै झर्ने विचार गरी ट्रेनबाट ओर्लिएं । नयाँ ठाउं हेर्दै हिड्छु भन्ने ध्याउन्न भयो, हिडेर गरेको यात्रा अझै सम्झनयोग्य हुन्छ । अब जमिनमा उक्लनको लागि बिद्युतीय भर्याङ्ग हुदै माथिल्लो भर्याङ्गको घुमाउरोमा आइपुगें । मेरो अघिपछि अन्य यात्रुहरु पनि थिए । खुट्किलो चढ्दाचढ्दै म भन्दा अघिको युवक त्यही भर्याङ्गको घुम्ने ठाँउको बीचभागमा टक्क उभिए, एक वृद्ध काँधमा हाते झोला र दुइवटा बडेमानका पुराना सुटकेसहरु सम्हाल्न धौ धौ मान्दै सुस्केरा हाल्दै रहेछन । निधारमा हल्का पसिना टल्कीएका थिए । टक्क अडिएका युवकले के म सहयोग गर्न सक्छु ? भन्यो । मलाइ पनि लाग्यो, कस्तो सहयोगी मान्छे । झण्डै दुइ बर्षको बसाइको क्रममा यति सजिलै कोहीले कसैलाई सहयोग गरौं है भनेको सुनेको थिइन । केही गरी सहयोग गरौं जस्तो गर्यो भनेपनि खै के पो सोच्छन यहाँका मानिसहरु, हत्तपत्त आफ्नो सामान छुन दिदैनन । यहाँ भने वृद्घले नबोली सहमति जनाए । एउटा सुटकेश झुण्ड्याउदै केटो माथि उक्लियो, मलाई पनि प्रेरणा मिल्यो र के म पनि हात लगाउं है? भन्दै लागी परें, ती वृद्घ हाँसेजस्तो गरे। सुटकेस त समाएं तर ६ फुट भन्दा माथिको मान्छेको हातको लम्वाई र मेरो, सन्तुलन मिलेन । उचालें जस्तो, सहयोग गरे जस्तो मात्रै भयो, सबैजसो भारी उनैले बोके तर मनलाइ अलिकति सन्तुष्टि चै मिल्यो ।
    वृद्घको धन्यवाद थापें र म आफ्नो बाटो लागें । सब वेमा नियमित घर अफिस गर्ने बाहेक सबैलाइ जमिन मुनिबाट फुत्त बाहिर निस्कदा कता कता जस्तो भैहाल्छ । म त झन पहिलो पल्ट पुग्दै थिएं । माथि तिर जानुपर्ने दुइ स्ट्रिट तलतिर पुगेको थाहा पाएर फर्किए उही स्टेसन भए तिर । जहां झरेर ती वृद्घको सुटकेश बोकीटोपलेको ठाँउमा आइपुग्दा अझै ती दुबैजना त्यही पो रहेछन । के परेछ वा के चै भएछ भनि नजिक पुगेर कान थापें । मलाई पैसा देउ !
    त्यत्रो वेरदेखि त्यो युवक ती वृद्घसंग पैसा पो माग्दैरहेछन ।
    ओह्हो ।
    म अचम्ममा परें, जोबाट प्रभावित भएर त्यो विरानो ठाँउमा अलिकति भएपनि सहयोग गरौं झैं लाग्यो र कस्तो हाम्रो तिर जस्तै सोचाइ रहेछ भन्ने लागेको थियो । हातसम्म लगाएर मनलाई हलुका पारी हिडेको थिएँ तर ति सवै भ्रम पो रहेछन । म आफैले आफैलाई कमजोर ठान्न पुगें । ति वृद्घले मलाइ त्यही देखेर ए ! तँ पनि आइस् पैसा माग्न ? त भन्दैनन झैं लाग्यो ।
    एक जना आफ्नै समाजको वृद्घको अनुनय विनय वा कुनै आग्रह विना मात्र १०/१२ खुट्किलो सामान उचाल्न आफ्नै इच्छाले सहयोग गर्दा त्यसको प्रतिफल खोज्ने युवा देख्दा अबको समाज कुन बाटो तिर लाग्दै छ भन्ने संकेत गर्दछ । केही बेरपछि वृद्घले आफ्नो कोट छामछुम पार्दै केही पैसा ती युवकको हातमा राखिदिएको देखें । वृद्घको अनुहारको रुपरेखा र भावभङ्गीले उनी सहज र सामान्य अवस्थामा थिए भन्ने देखाउदैनथ्यो । उनी सुस्ताउदै थिए, म हेरीरहें । पैसा पाउने बित्तीकै कुनै प्रतिकृया विना नै केटो हिड्यो ।
    मनमा अनेक कुरा खेल्दै थियो ।
    ती वृद्घले के सोच्दै थिए होलान । आफ्नै रुपरङ्गको, सायद घर वरपर कै नाति समान एक युवाको मानसिकता देख्दा कस्तो लाग्यो होला ? ति युवाले केही समयपछि केही भिन्नै सोच्न भ्याए वा अर्को यस्तै पैसाको खोजीमा सव वे तिर लागे ? मथिन्गलमा थुप्रै कुरा खेलाउदै आफ्नो बाटो लागें ।
    म वास्तावमा ती दुबैका राष्ट्रनिर्माताको घर, स्मारक, इतिहास हेर्न बुझ्न भौतारीदै थिएं । स्वतन्त्रताका, मानवताका, सुशासनका इट्टाहरु कस्ले, कसरी थप्दै यो देश निर्माण भएको रहेछ भन्दै खोज्दै थिएं । तीनैका पितापुर्खाको रगत, पसीना सहितको बलिदानीले आदर्शरुपि पुँजीवादी दर्शनका धरोहरहरु उभिएको हो, त्यसैले देशलाई समुन्नत बनायो । यो उदाहारणीय छँदैछ ।
    अमेरिकी पहिलो राष्ट्रपति जर्ज वाशिङ्गटनको सरकारका सेक्रेटरी अफ ट्रेजरी, हाम्रो चलन र भाषामा भन्दा (अर्थमन्त्री) रहेका थिए ह्यामिल्टन । उनैको बारेमा केही बुझौं या सम्मान पनि प्रकट गरौं किनकी कुनै पनि देश बन्नका लागि सानो संघर्ष र तपस्या काफी छैन । हाम्रै इतिहास साक्षी छ र ‘मेरा साना दुखले आर्जेको मुलुक होइन’ भन्ने उदगार नै काफी छ ।
    हिडिरहेको सडकबाट दाहिने पट्टि केही उकालो चढिसकेपछि न्युयोर्कमा भएका पार्कहरु मध्ये केही वेवास्ता गरिएको लाग्ने पार्क र रुखहरुको बीच बीचै हिड्दै गर्दा थोत्रिएका बेन्चहरुमा सुस्ताएका र रुखका छेको गरी बसेका व्यक्तिहरु कोही भोको छु, कोही घरवारविहीन छु भन्ने लेखिएको प्लेकार्ड बोकी केही खुद्रा पैसा वा खानेकुरा माग्दै थिए । मसंग पैसा त थिएन । बाटोको सामल झैं पानी र विस्कुट झोलामा हालेको कामै लाग्यो । दुइजनालाई बिस्कुट दिन भ्याएं । बाटाका अन्य र म झण्डै उस्तै उस्तै भयौं अब ।
    अमेरिकी पहिलो अर्थमन्त्रीको घर वा स्मारक हेर्न जाँदै गर्दा घटेका साना मसीना घटनाहरु हुन यी । तर कसरी अर्थशास्त्र, पैसा, संस्कार र पुँजीवादी व्यवस्था गाँसीएर आयो । घटनाहरु झिनामसीना नै भएपनि यसको जरो गहिरोसम्म पुगेको छ । म यति मात्र भन्न चाहन्छु कि सायद ती युवा जसले सहयोगको नाउमा ती वृद्घसँग पैसा मागे त्यसले पक्कै केहि प्रश्नहरु खडा गरेका छन । तर पैसा नमागेका हुन्थे भने उही माथिल्लो पार्कमा खुद्रा पैसा माग्ने र भोको छु भन्नेको संख्या अझै बढ्थ्यो कि ? समाज, संस्कार र पैसाको नयाँ परिभाषा त चाहिएको हैन ?

  • आन्तरिक उडान खुल्यो, बाह्य उडानमा गन्तब्य र उडान संख्या थप

    आन्तरिक उडान खुल्यो, बाह्य उडानमा गन्तब्य र उडान संख्या थप

    काठमाडौं । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गर्न सकिने भएको छ । यसको तालिका र मिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्ने गरि तोकिएको छ ।

    अन्तराष्ट्रिय तर्फ समेत सरकारले गन्तब्य र उडान संख्या बढाएको छ । काठमाडौं- दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्न सक्ने गरि तोकिएको छ । काठमाडौं-इस्तानबुलमा साताको २, काठमाडौं-दुवई रुटमा समेत सातामा चार उडान हुनेछ ।

    काठमाडौं-दमाम रुटमा साताको २, काठमाडौं-कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्नेछ । दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं छेन्दु र ग्वाङझाओ रुटमा साताको एक एक उडान हुने गरि खुलेको हो ।

  • टुटल र पठाओको सेवा आजबाट सूचारु

    टुटल र पठाओको सेवा आजबाट सूचारु

    काठमाडौं । यातायात सेवाप्रदायक टुटल र पठाओले आजबाट आफ्नो सेवा सूचारु गरेका छन् । नेपालमा कोरोना भाइरसको महामारीका बीच सरकारले निषेधाज्ञा लगाएपछि यस्तो सेवा बन्द भएको थियो । आजबाट सरकारले निजी सवारी साधन जोर विजोर प्रणालीमा खुला गरेको छ । मोटरसाइकल तथा स्कुटरमा दुई जना बस्ने गरि नियम ल्याइएपछि टुटल र पठाओलाई सेवा सूचारु गर्न बाटो खुलेको हो ।

    आजबाट यात्रुले आकस्मिक अवस्थामा टुटल, पठाओ र ट्याक्सी प्रयोग गर्न सक्नेछन् । तर, सार्वजनिक यातायात भने अझै खुलेको छैन । सरकारले आजबाट निषेधाज्ञाका धेरैजसो प्रावधानमा खुकुलो बनाएको छ । यद्दपी पार्टी, सभासम्मेलन भने गर्न पाइदैन । हवाई यातायातबारे समेत सरकारले थप निर्णय गरिसकेको छैन ।

  • अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको गुनासोपछि छानविन समिति गठन

    अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको गुनासोपछि छानविन समिति गठन

    काठमाडौं । सरकारले नियमित उडेका सिमित गन्तब्य र चार्टर्ड उडानमा अत्यधिक भाडा लिएको गुनासो पछि सरकारले छानविन समिति गठन गरेको छ । अहिले टर्की, कतार र भारतमा नियमित उडान खुलेको छ । तर यी गन्तब्यमा समेत चर्को शूल्कमा भाडा हसुल भइरहेको छ । सरकारले अन्तर्राष्ट्रिय नियमित उडान रोकेर चार्टर्ड उडानलाई प्रोत्साहन गरेको छ ।

    टिकट काट्ने ट्राभल एजेन्सीले चर्को भाडा असुलेको गुनासो यात्रुबाट बढेपछि सरकारले छानविन समिति गठन गरेको हो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको जानकारी गराएका छन् ।

    उनका अनुसार समितिले गुनासोबारे छानविन गरि सम्बन्धित निकायमा आवश्यक कानूनी कारवाहीको सिफारिस गर्नेछ । सरकारले १९ वैशाखबाट टर्की र कतारमा नियमित उडान खोलेको हो । भारतमा यसअघि पनि उडान खुला थियो । लामो समयदेखि नियमित उडान नखोल्दा विदेशमा नेपाली यात्रु अलपत्र परेका छन् ।

  • पर्यटन क्षेत्रका मजदुरलाई नागरिक लगानी कोषले विशेष सापटी दिने

    पर्यटन क्षेत्रका मजदुरलाई नागरिक लगानी कोषले विशेष सापटी दिने

    काठमाडौं । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई नागरिक लगानी कोषले विशेष सापटी सुविधा दिने भएको छ । कोषले पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे्रकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई लक्षित गरि विशेष सापटी दिने भएको हो । यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अबकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गरिने भएको हो ।


    यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पुर्‍याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो । कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ ।

    यस सापटीमा कर्मचारी वचत बृद्धि अबकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर निर्धारण गरिएको छ । यसबाट लिने र दिने ब्याजदरको अन्तर शुन्य रहेको भएको हो । यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्वद्ध सहभागीहरुलाई २०७८ पौष मसान्त सम्म उपलब्ध गराइने छ । उक्त सापटी रकम सापटी लिएको २ बर्ष भित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

  • साउदी, मलेसियासहित आधा दर्जन मुलुकमा हवाई उडान प्रतिवन्ध खुल्ने

    साउदी, मलेसियासहित आधा दर्जन मुलुकमा हवाई उडान प्रतिवन्ध खुल्ने

    काठमाडौं । नेपालले कोरोना भाइरसको महामारी बढेसँगै बन्द गरेको हवाई उडान गन्तब्य तोकेको खोल्ने भएको छ । यसअघि कतार, टर्की, चीन र भारतमा उडान खोलेको सरकारले अब साउदी अरेबिया, मलेसिया, जापानसहितका मुलुकमा उडान खोल्ने निर्णय गरेको हो । यो निर्णय आगामी साताबाट मात्र कार्यान्वयनमा आउने छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    समितिमा प्रधानमन्त्री अध्यक्ष रहने प्रावधान रहेको छ । लामो समयदेखि उडान नखुल्दा यी मुलुकमा जाने र त्यहाँबाट फर्कने नेपालीहरु प्रभावित भएका छन् । उडान खुलेका देशबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान सुचारु गरिने भएको छ । यसबारे विस्तृतमा निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

  • टर्कीसहित तीन गन्तब्यमा उडान तालीका तोकियो

    टर्कीसहित तीन गन्तब्यमा उडान तालीका तोकियो

    काठमाडौं । टर्कीसहित सरकारले खोलेका नियमित गन्तब्यका लागि उडान तालीका तोकिएको छ । नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्न अनुमति पाएका हुन । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खुला गरेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका छन् । नियमित उडान खुलेकामध्ये चीनमा अझै उडान तोकिएको छैन । अनुमति पाएका उडानमध्ये टर्कीसले इस्तानबुलमा साताको एक उडानको अनुमति पाएको छ ।

    टर्कीका लागि ३ जुनबाट सातामा एक उडानको अनुमति दिइएको छ । यो उडान हरेक बिहीबारका लागि तोकिएको छ । नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ । दोहामा कतार एयरवेजले समेत अनुमति पाएको हो ।

    कतारमा सोमबार उडान हुनेछ । कतारमा ७ जुनबाट जहाज उड्ने छ । नेपाल एयरलाइन्सले दिल्लीमा हरेक बुधबार उडान गर्नेछ । एयर इण्डियाले साताको शुक्रबार काठमाडौ उडान गर्नेछ ।

  • तीन मुलुकमा आगामी साताबाट मात्र नियमित उडान, नेपाल आउँदा पालना गर्नुपर्ने शर्त यस्ता छन्

    तीन मुलुकमा आगामी साताबाट मात्र नियमित उडान, नेपाल आउँदा पालना गर्नुपर्ने शर्त यस्ता छन्

    काठमाडौं । नेपालले टर्की, कतार र चीनबाट नेपाल आउन सक्ने गरि नियमित उडान उडान खुला गरेको निर्णय अब आगामी साताबाट मात्र कार्यान्वयनमा आउने भएको छ । यसअघि १८ जेठबाट उडान सूचारु गर्ने गरि मिति तोकिएको थियो । तर, मन्त्रिपरिषद् कार्यालयबाट यो पत्र आज मात्र सरोकारवाला निकायमा पुगेको छ । आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल आउने विदेशी र नेपाली नागरिकले पालना गर्नुपर्ने शर्तहरुबारे मापदण्ड सार्वजनिक गरेको छ ।

    सोही मापदण्डमा टेकेर हवाई कम्पनीहरुले उडान व्यवस्थापन गर्नुपर्ने भएको छ । बढीमा शर्तमा ७२ घण्टासम्मको पिसिआरदेखि खाडी मुलुकबाट आउनेलाई ५ दिनमात्र क्वारेन्टिन बसे पुग्ने व्यवस्था छन् । पिसिआरको शूल्क र होटेल क्वारेन्टिनको शूल्क व्यक्तिले स्वयमःले तिर्नुपर्नेछ ।


    यस्तो छ नेपाल आउन पाउने शर्त र पालना गर्नुपर्ने नियम

  • आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा

    आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा

    काठमाडौं\एजेन्सी । ग्रीसबाट लिथुआनियातर्फ उडेको र्‍यानएयरको जहाज आइतवार कैयौँ घण्टासम्म बेलारुसतर्फ मोडिएको घटनाप्रति अमेरिकाले कडा आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस्तो आपत्ति जनाएको छ ।

    समाचारमा जनाएअनुसार विमानमा सवार एक पत्रकारलाई पक्राउ गर्न त्यसो गरिएको हो । अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै निन्दा गरेको हो । युरोपेली देशहरूले समेत बेलारुसमाथि राज्य आतङ्कको आरोप लगाएका छन्।

    बीबीसीका अनुसार नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोटासेभिचलाई हिरासतमा लिएपछि उक्त विमानलाई पुनः उड्न दिइएको छ । बेलारुसका सञ्चारमाध्यमका अनुसार उक्त जेट विमानमा बम भएको भन्दै मिग २९ लडाकू विमानहरूले घेरेर बेलारुसको राजधानी मिन्स्कमा जहाज ओरालेका थिए। तर जहाजमा बम थिएन ।

    अन्ततः विमान उसको वास्तविक गन्तव्य लिथुआनियाको राजधानी भिल्नियसमा स्थानीय समयअनुसार राति सवा नौ बजे ओर्लियो । यो समय तोकिएकोभन्दा ७ घण्टा ढिलो हो । विमानमा रहेका यात्रुहरूले आफूहरूलाई विमान मिन्स्कतर्फ मोडिएको कारणबारे केही सूचना नदिइएको प्रतिक्रिया समेत दिएका छन् ।

    बेलायती विदेशमन्त्री डोमिनिक राबले समेत बेलारुसको यस्तो हर्कतको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बेलारुसकी विपक्षी नेता स्भेत्लाना तिखानोभ्स्कायाले प्रोटासेभिचको रिहाइको माग गरेकी छन्। उक्त विमान ग्रीसको एथेन्सबाट भिल्नियसतर्फ जाँदै गर्दा लिथुआनियाली सिमाना नजिकै पुगेपछि मिन्स्कतर्फ मोडाइएको समाचारमा उल्लेख छ । विमानमा १७१ जना यात्रु थिए ।

  • खोपको मात्रा पुरा गरेका पर्यटकका लागि युरोप खुल्दै

    खोपको मात्रा पुरा गरेका पर्यटकका लागि युरोप खुल्दै

    फ्रान्स । कोरोना भाईरस बिरुद्धको खोप पूर्ण गरेका सबैको लागि युरोप खुल्ला हुने भएको छ। बुधबार युरोपियन युनियन अन्तर्गतका राजदुतहरुको राष्ट्रियस्तरको सहमतीले आगामी गर्मी याममा खोप पुरा गरेर छुट्टी मनाउन युरोप जानेहरुलाई प्रबेशमा कुनै रोक तोक नहुने निर्णय गरेको हो । राजदुतहरुको सहमतीले खोप पुरा गरेकाहरुले क्वेरण्टिनमा बस्नु नपर्ने र जाँच पनि गर्नु पर्ने छैन ।

    गर्मी यामको पर्यटकिय सिजनको मुखमा युरोपियन युनियनले उक्त निर्णय गरेको हो । युरोपियन युनियन अन्तर्गतका २७ देशका राजदुतहरुले उक्त निर्णय गरेका हुन । खोपको मात्रा पुरा गरेका कुन कुन देशबाट बिना रोकतोक युरोप जान पाउने हो ति देशहरुको सुची आगामी हप्तासम्म सार्वजनिक गरिने जनाईएको छ ।


    युरोपियन युनियन अन्तर्गतका ति देशहरु बाह्य मुलुकका पर्यटकका लागि करिब एक बर्षदेखी बन्द थिए । यसअघि अमेरिकाले खोपको मात्रा पुरा गरेका मानिसले सार्वजनिक स्थलमा मास्क लगाउन नपर्ने निर्णय गरिसकेको छ ।

  • कतार र ग्वान्जाउमा साताको एक उडान गर्न अनुमति

    कतार र ग्वान्जाउमा साताको एक उडान गर्न अनुमति

    काठमाडौं । सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई गन्तब्यको उडान खोल्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय सड्युल उडान बन्द भएपछि कोभिड–१९ विरुद्ध स्वास्थ्य सामग्री र मानवीय आपूर्ति समेत रोकिएको भन्दै सरकारले दुई गन्तब्यको उडान खोल्ने निर्णय गरेको जनाएको छ ।

    यद्दपी यी उडानमा नेपाली वा विदेशी यात्रुले टिकट काटेर आवतजावत गर्न सक्ने नसक्ने भने खुलाइएको छैन । सरकारले १७ जेठसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । यो बीचमा चार्टर्ड, कार्गो र मेडिकल उडान भने धमाधम भइरहेका छन् । उडान रोकिँदा वैदेशिक रोजगारीमा जानेहरु सबैभन्दा बढी प्रभावित बनेका छन् ।

  • चीनद्धारा सगरमाथा आरोहणमा अस्थायी रोक

    चीनद्धारा सगरमाथा आरोहणमा अस्थायी रोक

    काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी प्रतिवन्ध लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएको भन्दै चीनले आफ्नोतर्फबाट हुने आरोहण रोकेको हो । सिन्ह्वाका अनुसार चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरेको उल्लेख गरेको छ ।

    चीनले यो सिजनमा ३८ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको थियो । उनी सबै चिनियाँ नागरिक थिए । तर, नेपालले भने यो सिजनमा ४०८ जनालाई आरोहण अनुमति दिएको छ । महामारीका कारण गत वर्ष भने दुवै देशले सगरमाथा आरोहणको अनुमति दिएका थिएनन् । नेपालबाट धने धमाधम आरोहण भइरहेको छ ।

  • पाँचतारे होटेल सोल्टीको नाम अब ‘दि सोल्टी काठमाडौं’

    पाँचतारे होटेल सोल्टीको नाम अब ‘दि सोल्टी काठमाडौं’

    काठमाडौं । नेपालको पुरानो मध्ये एक सोल्टी क्राउन प्लाजा अब ‘दि सोल्टी काठमाडौं’का नामबाट चिनिने भएको छ । आतिथ्य व्यवसायमा करीब ५४ वर्ष पुरानो सोल्टी होटलले ‘दि सोल्टी काठमाडौं’ का नामबाट रिब्राण्डिंग हुने निर्णय गरेको हो । कम्पनीका कार्यकारी अध्यक्ष दिनेशबहादुर बिष्टका अनुसार सोल्टी होटेलसँग इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) को व्यवस्थापन सम्झौता समाप्त भएको छ । यो लण्डनको कम्पनी थियो । सोल्टीले अब व्यवस्थापन तथा संचालन दुबैमा विदेशी साझेदार राख्ने छैन । सोहीकारण नेपाली नामबाटै परिचित हुने निर्णय भएको हो ।
    दि सोल्टी काठमाडौंका रुपमा कम्पनीले होटलसँगै एलएसजी स्काई सेफ काठमाडौंसमेत सञ्चालन गरिरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्तरीय लाउन्जसमेत सोल्टीकै व्यवस्थापनमा सञ्चालनमा रहेको छ । कम्पनीले दुई वर्ष अगाडि मात्र नेपालगञ्जमा अर्को पाँचतारे होटेल ‘सोल्टी वेष्टेण्ड प्रिमियर’ सञ्चालनमा ल्याइसकेको छ । सोल्टी अतिविष्टि पाहुनाहरु आउँदा नेपालमा रहँने सबैभन्दा चर्चित होटेल पनि हो । यहाँ सार्क सम्मेलनका दौरान राष्ट्रप्रमुख बस्न बनाइएका सात वटा विशेष कोठा छन् । सोल्टीमा पूर्वराजा ज्ञानेन्द्र शाहको समेत लगानी छ । केही सेयर नेपाल वायुसेवा निगमको समेत रहेको छ ।

  • सगरमाथामा एक अमेरिकीसहित दुई आरोहीको मृत्यु

    सगरमाथामा एक अमेरिकीसहित दुई आरोहीको मृत्यु

    काठमाडौं । सगरमाथा आरोहणका क्रममा बुधबार दुई आरोहीको ज्यान गएको छ । पर्यटन विभागका अनुसार एक अमेरिकी र स्विस गरी दुई विदेशी आरोहीको आरोहणका दौरान मृत्यु भएको हो । सगरमाथामा ४० वर्षीय स्विस नागरिक अब्दुल वाराइचको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ । सगरमाथा चुचुरो पुग्ने क्रममा अमेरिकी आरोही ५५ वर्षी पुवे लियूको समेत ज्यान गएको छ ।

    उनको बुधबार राति १२ बजे निधन भएको हो । उनको मृत्यु ७ हजार ९ सय मिटर उचाइस्थित चौथो क्याम्पमा भएको जनाइएको छ । चौथो क्याम्प भन्दामाथि हिलारी स्टेप उक्लिँदै गर्दा आरोही लियूमा थकान र स्नो–ब्लाइन्डनेस (हिउँका कारण हुने अन्धोपना) को सामना गरेपछि उनलाई क्याम्प ४ मा झारिएको थियो । त्यही नै उनको मृत्यु भएको हो ।

  • नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्‍यो ‘ट्राभल एड्भाइजरी ‘

    नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्‍यो ‘ट्राभल एड्भाइजरी ‘

    नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी
    काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ ।

    कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राभल एड्भाइजरी जारी गरेको छ ।

    अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न अपिल गरिएको छ । नेपालले भने यसअघि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ ।

  • निषेधाज्ञाले नेपालमा रोकिएका विदेशी नागरिकको भिसामा सहजिकरण गरिने

    निषेधाज्ञाले नेपालमा रोकिएका विदेशी नागरिकको भिसामा सहजिकरण गरिने

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा निषेधाज्ञा जारी छ । यसको कारणले नेपालमा रोकिएका विदेशी नागरिकलाई सरकारले सहजिकरण गर्ने भएको छ ।

    अध्यागमन विभागले एक सूचना जारी गरि १५ वैशाखसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय उडान स्थगत रहेको अवधिभित्र वा अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएको मितिले सात दिनभित्र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा भिसा शूल्क, विलम्ब शूल्क र जरिवाना नलिइ भिसा नियमित गरिने जानकारी गराएको छ ।

    १५ वैशाखसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएपछि पनि नेपालमै बस्न चाहने विदेशीको हकमा निषेधाज्ञा समाप्त भएको मितिले सात दिनभित्र भिसा नियमित गर्न विभाग वा अध्यागमन कार्यालयमा निवेदन दिएमा विलम्ब शूल्क र जरिवाना नदिई नियमित हुने भएको छ ।

    १५ वैशाखसम्म नेपालको वैध पर्यटक भिसा भएका विदेशीको हकमा निषेधाज्ञा अवधिलाई निज पर्यटक भिसामा नेपाल बस्न सक्ने अवधि १५० दिन भित्र गणना नगर्ने निर्णय समेत विभागले गरेको छ ।

    अन्तर्राष्ट्रिय हवाई उडान स्थगत रहेकै अवधि भित्र वा सूचारु भएको मितिदेखि सात दिन भित्र प्रस्था गर्ने विदेशीको हकमा अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलबाटै भिसा नियमित हुने समेत विभागले जनाएको छ ।

  • सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय

    सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथामा प्रचारमा आएजस्तो कोरोना नफैलिएका स्पष्ट पारेको छ । बीबीसी, सीएनएनसहितका संचारमाध्यमले सगरमाथामा कोरोना फैलिएको भन्दै प्रचार गरेका थिए । यो समाचारको सरकारले खण्डन गरेको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो खबरको खण्डन गर्दै पर्वतारोहीमा कोभिड १९ को संक्रमण व्यापक फैलिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । त्यहाँ खटिएका सम्पर्क अधिकृतले आरोहण दलका नेताको सम्पर्कबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको आधारमा पर्वतारोहीको स्वास्थ्य स्थितिका सम्बन्धमा यकिन गरिने हुँदा हालसम्म प्रचार गरिएजस्तो स्वास्थ्य जोखिम भएको मन्त्रालयले जनाएको छ ।

    अहिलेसम्म ७४५ अनुमति प्राप्त आरोहीमध्ये कुनै पनि कम्पनी वा आरोहण दलको सरदारबाट टीमको कुनै पनि सदस्य कोरोना संक्रमित भई आरोहण अभियानबाट फिर्ता गर्नुपरेको रिर्पोट सरकारलाई नआएको समेत मन्त्रालयको भनाई छ । यसरी आएका समाचारलाई मन्त्रालयले भ्रमपूर्ण र त्रास फैलाउने खालका मात्र भएको बताएको छ ।

    मन्त्रालयका अनुसार अहिले पर्यटन विभागबाट आरोही दलको आरोहण गतिविधि र महत्वपूर्ण समाचार नियमित रूपमा प्रवाह गर्न हरेक दलसँग एक–एक जना सम्पर्क अधिकृत खटिएका छन् । ती सम्पर्क अधिकृतका माध्यमबाट बुझ्दा हिमालमा स्वास्थ्य जोखिम नभएको पाइएको छ ।