Category: घूमघाम

  • त्रिभुवन विमानस्थल अब १८ घण्टा मात्र खुल्ने

    त्रिभुवन विमानस्थल अब १८ घण्टा मात्र खुल्ने

    काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा मात्र चल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थल दैनिक १८ घण्टा मात्र चलाउने गरी समय तोकिएको हो । अहिले विमानस्थल दैनिक २१ घण्टा संचालनमा छन् । सोचेजति यात्रु र उडान नभएपछि विमाास्थलको संचालन अवधि घटाउन लागिएको हो ।

    कोरोना भाइरसको महामारीपछि खुलेको हवाई उडानमा अहिले आन्तरिक उडान सन्तोषजनक रहेपनि अन्तर्राष्ट्रिय उडानमा यात्रु बढ्न सकेका छैनन् । पर्यटक आगमनमा सरकारले राखेका विभिन्न प्रतिवन्धका कारण पर्यटक आगमन बढ्न सकेको छैन ।

    अब विमानस्थल बिहान साढे ६ बजे खुलेर रातको साढे १२ बजे बन्द हुनेछ । अहिले नेपाल वायुसेवा निगमले रातको १ बजे जापानको नारितामा उडान गर्छ । अन्य तीन हवाई कम्पनीले समेत रातको समयमा उडान गर्छन् । काठमाडौं विमानस्थलबाट अहिले औसत २ सय ३० हाराहारी उडान अवतरण भइरहेको विमानस्थलको तथ्यांक छ । यसमध्ये ३० उडान अवतरण अन्तर्राष्ट्रिय हुन् ।

  • पिसिआर नेगेटिभ रिर्पोट हुने पर्यटकलाई अनअराइभल भिसा देउ : व्यवसायी

    पिसिआर नेगेटिभ रिर्पोट हुने पर्यटकलाई अनअराइभल भिसा देउ : व्यवसायी

    काठमाडौं । पर्यटन व्यवसायीले सरकारले आफै ठूल्ठूला सभा सम्मेलन गर्दै हिँड्ने तर पर्यटक आगमनमा भने कोरोनाको डण्डा लगाइरहेको प्रति आपत्ति जनाएका छन् । सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धित छाता संगठनका प्रतिनिधिले नेपालमा पर्यटकलाई तोकिएको कडा क्वारेन्टिनको प्रावधान हटाउन माग गरेका हुन् ।

    पछिल्लो समय नेपालमा हजारौं मानिस भेला गरेर प्रधानमन्त्री स्वयमःले भाषण गर्दै हिँडेका छन् । तर, पर्यटक आगमनमा भने ७ दिन क्वारेन्टिन अनिवार्य छ । यता, अनअराइभल भिसाको समेत सुविधा उपलब्ध छैन ।


    कोरोना भाइरसको संक्रमणका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी भएको भन्दै व्यवसायीले पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नभएको समेत गुनासो गरे । व्यवसायीले नेपाल आउने सबै पर्यटकलाई अनअराइभल सेवा समेत सूचारु गर्न माग गरेका छन् । अनलाइन र अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगबाट भिसाको व्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने माग व्यवसायीले गरेका छन् ।

    काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेसिन राखी पर्यटकलाई तत्काल स्वाब संकलन गरी नतिजा दिन सक्ने व्यवस्थापनको माग समेत व्यवसायीले गरेका छन् । पर्यटन व्यवसायीले नेपालमा पर्वतारोहण सिजन नजिकिएको भन्दै हवाई यातायात समेत सूचारु गर्न माग गरेका छन् । हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडान यथाशीघ्र खोल्न पहल गर्नुपर्ने उनीहरुको माग छ । कोरोना विरुद्धको भ्याक्सिन पर्यटन ब्यवसायी र पर्यटन श्रमिकलाई पनि उपलब्ध गराउनुपर्ने व्यवसायीको माग छ ।

  • माउण्ट केटुमा तीन आरोहीको मृत्यु

    माउण्ट केटुमा तीन आरोहीको मृत्यु

    इस्लामावाद । संसारको दोस्रो अग्लो हिमाल माउण्ट केटू आरोहणमा गएका तीन आरोहीको ज्यान गएको छ । यसको पुष्टी पाकिस्तान सरकारले गरेको छ । फेब्रुअरी महिनाको प्रारम्भ मै आरोहणमा गएका तीन जना वेपत्ता छन् । उनीहरु भेटिने सम्भावना नरहेको भन्दै सरकारले मृत घोषणा गरेको हो ।

    पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल पाब्लो मोहर बेपत्ता छन् । पाकिस्तानी मौसम विभागका अधिकारीका अनुसार खराब मौसम र लगातार हिमपात भइरहेका कारण सम्पर्कविहीन भएकाहरूको खोजीमा समेत समस्या आएको छ । ती आरोही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएका हुन् ।

    केटू संसारकै खतरनाक हिमाल हो । यहाँ प्रत्येक चार आरोहीमध्ये एक जनाको मृत्यु हुने गरेको इतिहास छ । हराएका आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अनुमान छ । यसअघि सन् २००८ मा पनि केटु हिमाल आरोहणका क्रममा एकै दिन ११ जना आरोहीको मृत्यु भएको थियो ।

  • इन्धनको मूल्य बढेपछि वृद्धि भयो हवाई भाडा

    इन्धनको मूल्य बढेपछि वृद्धि भयो हवाई भाडा

    काठमाडौं । वायुसेवा संचालकले आन्तरिक उडानमा हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँ दरले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा संचालकहरुसमेत भाडा बढाउने निर्णयमा पुगेका हुन् । बढेको भाडा शनिबारबाट कार्यान्वयनमा आउने भएको छ ।

    वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गरिएको हो । संघले सिफारिस गरेको मूल्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सदर गरेको छ ।


    बढेको मूल्य अन्तर्गत काठमाडौंबाट माउन्टेन फ्लाइटमा जान अब ७० रुपैयाँ महंगो पर्नेछ । काठमाडौं धनगढी रुटमा ९० रुपैयाँ भाडा बढी पर्ने छ ।
    यस्तो छ बढेको हवाई भाडाको इन्धन मूल्य

  • सगरमाथाको कालापत्थरमा हेलिकोप्टर अवतरणमा रोक

    सगरमाथाको कालापत्थरमा हेलिकोप्टर अवतरणमा रोक

    काठमाडौं । भारतीय पत्रकार सुधिर चौधरीले अनुमति बीना नै नेपालविरुद्ध कार्यक्रम छायांकन गरेर प्रसारणमा ल्याएपछि सगरमाथा क्षेत्रको कालापत्थरसहितका क्षेत्रमा अब हेलिकोप्टर अवतरणमा रोक लगाइएको छ । अब नियमित उद्धार, सामानको ढुवानी र विशेष परिस्थितिमा सगरमाथा राष्ट्रिय निकुन्जको अनुमति लिएर मात्र हेलिकोप्टर उडान सकिने छ ।

    त्यसबाहेक नियमित रुपमा पर्यटक लगेर भने यो क्षेत्रमा अवतरण गर्न नपाइने निकुन्जले जनाएको छ । यसअघि चौधरीले सिम्रिक एयरको हेलिकोप्टर कालापत्थरमा लगेर कार्यक्रम छायांकन गरेका थिए । उनी २६ पुसमा निकुञ्जको अनुमति नलिई कालापत्थर अवतरण भएका थिए ।

    सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासनका अनुसार अब निकुन्जभित्र पर्ने तीन वटा हेलिप्याडमा अनुमतिमा मात्र हेलिकोप्टरले अवतरण गर्न पाउने छन् । निकुन्जभित्र लुक्ला, स्याङबोचे र नाम्चेस्थित हेलिप्याण्डलाई मात्र खुला गरिएको छ ।

    यी हेलिप्याडमा समेत निकुन्जको अनुमति बीना हेलिकोप्टर उड्न सक्ने छैनन् । तोकिएको क्षेत्रमा बाहेक अन्य स्थानमा हेलिकोप्टर अवतरण गराएमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही हुने चेतावनी समेत निकुन्जको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको गुणगान गाउने गरी अन्तरर्वाता लिएका चौधरी सगरमाथामा पुगेर भने यहाँ भारतको पनि दावि हुनुपर्छ भन्दै रिर्पोट बनाएका थिए । यस रिपोर्टको चर्को आलोचना भएको थियो

  • सेनाले सगरमाथासहित ६ हिमालमा सफाई अभियान चलाउने

    सेनाले सगरमाथासहित ६ हिमालमा सफाई अभियान चलाउने

    काठमाडौं । नेपाली सेनाले नेपालका ६ वटा हिमालमा सफाई अभियान चलाउने भएको छ । सफा हिमाल अभियान अन्तर्गत सन् २०२१ मा ६ वटा हिमालबाट फोहोर संकलन गर्ने योजना रहेको सेनाले जनाएको छ । सन् २०१९ मा सगरमाथाबाट ५ टन फोहोर संकलन गरेको सेनाले यसपटक ६ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्न लागेको जनाएको छ ।

    सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार यसपटक सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादम्बलम हिमालको सरसफाइ गरिने छ । ती हिमालको बेस क्याम्पभन्दा माथिबाट मात्रै १८ टन फोहोर ल्याउने उद्देश्य रहेको सेनाले जनाएको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्का अनुसार सेनाले अभियानको एकीकृतरुपमा अगुवाइ गर्नेछ । यसमा नेपाल पर्यटन विभाग, योजना तथा अनुगमन महाशाखा, नेपाल पर्यटन बोर्डसहित विभिन्न निकायसँग सहकार्य हुनेछ ।

    ‘मानव स्रोत र बेस क्याम्पको व्यवस्थापन र अनुगमनसँगै हवाई साधनबाट बन्दोवस्तीका सामान तथा जम्मा भएका फोहोर ओसार्ने काम सेनाले गर्ने भएको छ । हिमाल सफाइ अभियानको पहिलो चरणमा हाल पूर्वतयारी र समन्वय भइरहेको छ ।

    दोस्रो चरणमा चैत १ देखि २६ सम्म एक्लिमटाइजेसन तालिम सञ्चालन गरिने भएको छ । चैत २१ देखि जेठ २२ सम्म सरसफाइ अभियान चलाइने सेनाले जनाएको छ । सेनाका अनुसार सगरमाथामा मात्रै एक लाख ४० हजार टन फोहोर, ४० टन मानवीय फोहोर र ३ सय बढी आरोहीका मृत शरीर रहेको अनुमान छ ।

  • बुटवलमा बन्ने भयो केवलकार, प्रधानमन्त्रीले गरे शिलान्यास

    बुटवलमा बन्ने भयो केवलकार, प्रधानमन्त्रीले गरे शिलान्यास

    बुटवल । बुटवलमा केवलकार बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा बन्ने लुम्बिनी केवलकारको शनिबार शिलान्याश गरे । यो केवलकार लुम्बिनी केबलकार प्रालिले निर्माण गर्ने भएको हो । कम्पनी चन्द्र ढकालको हो । केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडामा पुग्नेछ ।

    तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचना बनाउने योजना रहेको छ । ढकालले काठमाडौंको चन्द्रागिरीमा यसै मोडलमा केवलकार बनाएर चलाइरहेका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाएको बताए ।

    उनले बुटवलको जनसंख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ यो केबलकार लोकप्रिय बन्ने आवश्वासन दिए । अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएको बताए ।

    लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप यो आयोजना सुरु गरिएको उल्लेख गरे ।

  • पहिलो पटक खाडी मुलुक जाँदा ४० वर्षभन्दा कमका महिलालाई वडाको सिफारिस चाहिने

    पहिलो पटक खाडी मुलुक जाँदा ४० वर्षभन्दा कमका महिलालाई वडाको सिफारिस चाहिने

    काठमाडौं । सरकारले खाडी मुलुकमा पहिलो पटक भ्रमण भिसामा जाँदा ४० वर्षभन्दा कम उमेरका महिलाले वडाको सिफारिस ल्याउनु पर्ने नियम बनाएको छ । अध्यागमन विभागले बनाएको यस्तो नियम स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको छ । मन्त्रालयले स्वीकृत गरेमा यो लागु हुनेछ ।

    भिजिट भिसामा खाडी छिर्ने ४० वर्षभन्दा कम उमेरका महिलालाई वडा र परिवारको सिफारिस चाहिने व्यवस्थाको तयारी गरिएको छ । अध्यागमन विभागका एक अधिकारीका अनुसार एक पटक पनि विदेश नगएका ४० वर्षभन्दा कम उमेरका युवतीको साथमा परिवारले दिएको अनुमति र आफु बसोबास गरेको स्थानीय वडाको सिफारिस चाहिने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

    तर, साथमा परिवारको एक जना सदस्य भएको अवस्थामा भने यो नियम लागु हुने छैन । नेपालबाट बीना कुनै जानकारी भिजिट भिसामा खाडी छिर्ने र जोखिममा पर्ने क्रम बढेपछि यस्तो नियम ल्याइएको मन्त्रालयको विभागको भनाई छ ।

    यता, विभागले डलर सटहीमा समेत अब प्रमाण आवश्यक हुने व्यवस्था गरेको छ । प्रस्तावित कार्यविधिमा अब भ्रमण भिसामा जाँदा डलर मात्र साथमा बोकेर पुग्ने छैन, बैंक वा आधिकारिक सटही गर्ने निकायबाट डलर साटेको प्रमाण समेत साथमा बोक्नु पर्ने भएको छ ।

  • दुई भारतीयले सगरमाथा चुचुरो नपुगी आरोहण प्रमाणपत्र लिएको खुलासा, ६ वर्षको प्रतिवन्ध

    दुई भारतीयले सगरमाथा चुचुरो नपुगी आरोहण प्रमाणपत्र लिएको खुलासा, ६ वर्षको प्रतिवन्ध

    काठमाडौं । दुई भारतीय नागरिकले सगरमाथाको चुचुरोमा नपुगी आरोहण प्रमाणपत्र लिएको खुलेको छ । उनीहरुले सन् २०१६ को आरोहण सिजनमा सगरमाथा चुचुरो पुगेको दावि गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले जारी गरेको विज्ञप्ती अनुसार सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल आरोहण नै नगरी पर्वतारोहण प्रमाण पत्र लिएको पुष्टि भएको छ ।

    उनीहरुको प्रमाणपत्र रद्द गरिएको मन्त्रालयले जनाइएको छ । मन्त्रालयले गरेको अनुसन्धानबाट उनीहरुले झुठा विवरण दिएर प्रमाणपत्र लिएको पुष्टि भएको प्रवक्ता अधिकारीको भनाई छ । यसरी प्रमाणपत्र लिने दुई भारतीय नागरिकलाई नेपाल सरकारले पर्वतारोहणमा ६ वर्षको प्रतिवन्ध लगाउने निर्णय समेत गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २६ माघको बैठकले सिंह र रानीलाई २० मे २०१६ देखि लागू हुने गरी पर्वतारोहण गर्न नपाउने गरी प्रतिवन्ध लगाउने निर्णय गरेको हो । उनीहरुलाई आरोहणमा लैजाने आरोहण दलका नेता भारतीय नागरिक नवकुमार फुकोनलाई समेत २० मे २०१६ देखि लागु हुने गरी नेपालमा पर्वतारोहणमा रोक लगाइएको छ ।

    भारतीय नागरिकको आरोहणको परिपाटी मिलाएको सेभेन समिट ट्रेक प्रालिलाई समेत ५० हजार नगद जरिवाना गरेको छ । सम्पर्क अधिकृतका रुपमा खटिएका पवन कुमार घिमिरेलाई चेतावनी दिने निर्णय समेत मन्त्रालयले गरेको छ ।

  • मर्मतका लागि बाँध खोलेर घटाइयो फेवातालको पानी

    मर्मतका लागि बाँध खोलेर घटाइयो फेवातालको पानी

    पोखरा । कास्कीको सुन्दर फेवातालको रुप अहिले कुरुप बनेको छ । कारण हो, फेवातालको मूख्य आकर्षणका रुपमा रहेको जलको स्तर घटाइएको छ । अर्थातः बाँध नै खोलेर फेवातालबाट पानी कम गरिएको छ । यसअघि फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको आर्थिक सहायतामा बाँध बाँधिएको हो ।

    यो बाँधका माध्यमबाट सिँचाइका लागि नहर, त्यसैबाट बिजुली समेत निकालिएको थियो । यो बाँध २०३१ सालमा भत्कियो । २०३४ सालबाट पुनः बाँध बाध्न थालिएको थियो । २०४१ सालमा अहिलेको विद्यमान बाँध तयार भएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका अनुसार अहिले तालको पानी सुकाएर बाँध मर्मत थालिएको हो ।

    पानीको बहाब नियन्त्रण गर्ने रबरसिल्ड र डाउनस्टिम साइट मर्मत गर्न शुक्रबार रातिदेखि तालको पानी घटाइएको कार्यालयको भनाई छ । करीव १ मिटर पानीको सतह घटाइएको छ । यसले किनारमा जमिन देखिएको छ । फेवातालको पानीको सतह ३ मिटर घटाइयो भने ०३१ सालमा ताल फुटेर बनेको तालको आकार बराबर नै हुने बताइएको छ ।

  • बेलायतबाट नेपाल आउने बाटो खुल्यो, १० दिन होटेल क्वारेन्टिन बस्नुपर्ने

    बेलायतबाट नेपाल आउने बाटो खुल्यो, १० दिन होटेल क्वारेन्टिन बस्नुपर्ने

    काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल आउन लगाएको रोक खुला गरेको छ । अब पर्यटक तथा नेपाली यात्रु बेलायतबाट सिधा उडान वा ट्रान्जिटका माध्यमबाट नेपाल आउन सक्नेछन् । तर, नेपाल आइसकेपछि भने १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

    नयाँ निर्णय अनुसार अब भाइरस नदेखिएको मुलुकबाट सिधै वा संक्रमण नभएको मुलुकमा ट्रान्जिट भई हवाई मार्गबाट नेपाल आउने यात्रु मात्र रहेको उडानबाट आएका यात्रुलाई अनिवार्य १० दिन होम क्वारेन्टिनमा बस्ने शर्तमा घर जान दिइनेछ । तर, कोरोनाको नयाँ भाइरसको संक्रमण भएका मुलुकबाट वा सो मुलुकमा ट्रान्जिट भई हवाईमार्गबाट आएका सबै यात्रुले भने अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

    यस्ता यात्रुको होटेलको खर्च यात्रु स्वयमले स्वयमःले बेहोर्नुपर्छ । यससँगै बेलायतमा लागेको यात्रा प्रतिवन्ध समेत फुकुवा भएको छ । होटेल क्वारेन्टिनमा बस्ने यात्रुले पाँच दिनपछि आफ्नै खर्चमा कोरोना परीक्षण गर्नुपर्ने नियम छ । त्यसपछि नेगेटिभ रिर्पोट आएमा थप ५ दिन होम क्वारेन्टिनमा बस्ने गरी गन्तब्यमा जान दिइने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

    कोरोनाको नयाँ रुप देखिएको मुलुकबाट सिधै उडान वा ट्रान्जिट उडानबाट आउने यात्रुले नेपालमा होटेल बुक नगरेसम्म हवाई टिकट समेत काट्न नपाउने गरी नियम बनेको छ ।

    हवाईमार्गबाट नेपाल आउने सबै यात्रुको साथमा यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टा भित्रको सम्बन्धित स्वीकृति प्राप्त प्रयोगशालामा कोभिड १९ परीक्षण गरेको नेगेटिभ रिर्पोट भने अनिवार्य साथमा बोक्नु पर्ने छ । सरकारले कोरोना खोपको मात्र पुरा गरेका यात्रुलाई भने निर्वाध गन्तब्यमा जान दिने निर्णय गरेको छ ।

  • जनवरीमा भित्रिए ९ हजार पर्यटक, अमेरिकाबाट मात्र आए ८७४

    जनवरीमा भित्रिए ९ हजार पर्यटक, अमेरिकाबाट मात्र आए ८७४

    काठमाडौं । नेपालमा पर्यटक आगमन बढ्न थालेको छ । संसारभर कोरोना भाइरसको महामारी विरुद्ध खोप अभियान चलिरहेका बेला जनवरीमा पर्यटक आगमन सम्बन्धी सकारात्मक तथ्यांक सार्वजनिक भएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरी २०२१ मा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल भित्रिए ।

    यो संख्या गत वर्ष लकडाउन शुरु भएयताकै सबैभन्दा धेरै हो । यस अवधिमा ७ हजार २ सय ९२ जना पर्यटक नेपालबाट बाहिरिएको तथ्यांक छ । नेपाल आउने पर्यटकमा ठूलो संख्या भारतीय र चिनियाँ रहेको छ । तेस्रो स्थानमा अमेरिका छ ।

    नेपाल र भारतबीच हवाई यातायात संचालनमा आएसँगै जनवरीमा पर्यटक आगमन समेत वृद्धि भएको छ । विभागको आंकडा अनुसार भारतबाट जनवरीमा मात्र ४ हजार २८ जना पर्यटक भित्रिएका छन् । यस अवधिमा ३ हजार ५ सय ११ जना भारतीय पर्यटक बाहिरिएका छन् ।

    दोस्रो नम्बरमा रहेको चीनबाट यस अवधिमा १ हजार ८ सय ७७ जना पर्यटक नेपाल आए । तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट मात्र ८७४ जना पर्यटक नेपाल आएको तथ्यांक छ । बेलायतबाट १ सय ३६ जना पर्यटक नेपाल आए । एक महिनामा विभिन्न १ सय २१ मुलुकबाट पर्यटक नेपाल आएका छन् ।

  • जुन देशबाट आएपनि अब एनआरएनले अनअराइभल भिसा पाउने

    जुन देशबाट आएपनि अब एनआरएनले अनअराइभल भिसा पाउने

    काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई त्रिभुवन विमानस्थलमा अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागका अनुसार अब जुनसुकै मुलुकबाट नेपाल आउँदा पनि गैरआवासीय नेपाली (एनआरएन)ले अनअराइभल भिसा पाउने छन् । तर, यस्तो सुविधा तत्कालका लागि त्रिभुवन विमानस्थलमा मात्र उपलब्ध हुनेछ ।

    नेपाल आउँदा पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य तथा नेपाल आएपछि १० दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधान भने यथावत नै रहेको छ । यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएमा मात्र अनअराइभल भिसा दिने गरेको थियो ।

    अध्यागमन विभागले १० मंसिर, १० पुस र ११ माघको अनुसार मन्त्रिपरिषद्को निर्णयबाट भएका व्यवस्थाहरु सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । अब नेपाली मुलका विदेशी (राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको) वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली नागरिकलाई बिना शर्त अनअराइभल भिसा पाउने छन् ।

    यसबाहेक कुटनीतिकरऔपचारिक राहदान बाहक वा यूएनका कर्मचारीले समेत बिना शर्त अनअराइभल भिसा पाउने छन् । नेपालमा रहेका अन्तर्राष्टिय संस्थामा कार्यरत विदेशीलाई समेत अब बीना शर्त अनअराइभल भिसा दिइने विभागले जनाएको छ ।
    विदेशी नागरिकको हकमा विदेशबाटै नेपालको भिसा लिएर आएमा भने सबै विदेशीले प्रवेश अनुमति पाएका छन् । भिसा नभएका विदेशी पर्यटकले भने नेपाली नियोगबाटै भिसा लिएर नेपाल आउनु पर्नेछ ।

    भिसा लिएर आउन सम्भव नभएका भने सम्बन्धित सरकारी निकायको सिफारिस वा पूर्वस्वीकृति अनिवार्य गरिएको छ । त्यसो भएमा भने प्रवेश बिन्दुमा भिसा दिइनेछ ।

    नेपालबाट कुनै औपचारिक कार्यक्रममा भाग लिन विदेशमा गई पाँच दिन वा सो भन्दा कम अवधिमा नेपाल र्फकने पदाधिकारीले भने विदेशमा थप कोरोना परीक्षण गर्नु नपर्ने भएको छ ।

    उनीहरुलाई नेपालमै गरिएको परिक्षण मान्य हुने छ । नेपाल फर्किएपछि पनि उनीहरुले क्वारेन्टिनमा बस्नु नपर्ने गरी छूट दिने निर्णय सरकारले गरेको छ ।

  • माउण्ट केटु चढेर फर्किएको कीर्तिमानी टिमलाई विमानस्थलदेखि वालुवाटारसम्म भब्य स्वागत

    माउण्ट केटु चढेर फर्किएको कीर्तिमानी टिमलाई विमानस्थलदेखि वालुवाटारसम्म भब्य स्वागत

    काठमाडौं । हिउँदे सिजनमा पहिलो पटक विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरी विश्व कीर्तिमान राखेको नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीको नेतृत्व विश्वविख्यात आरोही निर्मल पुर्जाले गरेका थिए । टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

    विमानस्थलबाट उनीहरुलाई गाडीमा राखेर शहर परिक्रममा गराइएको थियो । त्रिभुवन विमानस्थलबाट ठमेल पुगेको टोलीलाई त्यहाँबाट पर्यटन बोर्डमा ल्याएर बोर्ड तथा पर्यटन मन्त्रालयको तर्फबाट स्वगत गरिएको छ । त्यसपछि यो टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास वालुवाटारमा स्वागत गरे ।

    नेपालका १० जना आरोहीले माघ ३ मा पाकिस्तानको माउन्ट केटु हिमालको सफल आरोहण गरेका हुन् । किलर माउण्टेनका रुपमा चिनिने यो हिमाल चढ्ने प्रत्येक ४ जना आरोहीमध्ये एक जनाको दुर्घटनामा परी निधन भएको इतिहास छ ।

    यस्तोमा टोलीका सबै सदस्य सकुसल फर्किएर जोखिमपूर्ण कीर्तिमान नेपाली आरोहीले आफ्नो नाममा लेखाएका छन् ।

    नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले स्थानीय समयअनुसार शनिबार बिहान ५ः४५ मा ८ हजार ६११ मिटर अग्लो माउन्ट केटु चढेका थिए ।

    नेपाली आरोहीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले आफ्नै निवासमा बोलाएर बधाई समेत दिएका थिए । सम्मान ग्रहण गर्दै टोली नेता पूर्जाले यो आरोहण आगामी पुस्ताको हौसलाका लागि महत्वपूर्ण सावित हुने धारणा राखे ।

  • ‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो’

    ‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको माउन्ट केटु आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई सम्मान गरेका छन्।

    पाकिस्तान र चीनको सीमानामा रहेको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी नयाँ रेकर्ड कायम गरी फर्केका १० नेपाली आरोहीहरुलाई मंगलबार सम्मान कार्यक्रममा प्रधानमन्त्री ठट्यौली गरेका हुन् ।

    उनले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए माउन्ट केटु आरोहणमा आफू पनि जान सक्ने बताएका छन् ।

    ‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उनले ठट्यौली गर्दै भने, ‘अझ बढी धुमधाम हुन्थ्यो । तर त्यो दुस्साहस आफूले गरेको भए फर्केर आउँदिन थिएँ होला ।’

    साथै, उनले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट सहयोग गर्ने आश्वासनसमेत दिएका छन्।

    नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए।

  • चितवन राष्ट्रिय निकुन्जमा दुई गैंडा मृत भेटिए, के हो कारण ?

    चितवन राष्ट्रिय निकुन्जमा दुई गैंडा मृत भेटिए, के हो कारण ?

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एक सिंगे गैंडा मृत भेटिएको निकुन्जले जनाएको छ । बुधबार पदमपुर फाँटास्थित अर्ना इन्क्लोजर क्षेत्रमा एउटा केटो (गैंडाको बच्चा) र बिहीबार बेलशहरघाट क्षेत्रमा भाले गैंडा मृत भेटिएको निकुन्ज प्रशासनले जनाएको छ ।

    यससँगै चालु आर्थिक वर्ष भित्र निकुन्जमा २२ वटा गैंडा मृत फेला परिसकेका छन् । त्यसमध्ये ४ वटा भने चोरीशिकोरीका कारण मारिएको हो । अहिले भेटिएका दुई गैंडाको भने खुर र खाग सुरक्षित रहेका कारण मरण प्राकृतिक कारणले भएको अनुमान छ ।

    प्रशासनका अनुसार अन्दाजी १८ महिनाको केटो र ३० वर्षको भाले गैंडा मरेको अवस्थामा भेटिएका हुन् । यो वर्ष प्राकृतिक कारणले समेत धेरै गैंडा मर्न थालेसँगै चिन्ता बढेको छ । चितवन राष्ट्रिय निकुन्ज नेपालमा सबैभन्दा बढी गैंडा रहेको निकुन्ज हो ।

  • बेलायतबाट नेपाली र एनआरएन शर्तसहित नेपाल आउन सक्ने

    बेलायतबाट नेपाली र एनआरएन शर्तसहित नेपाल आउन सक्ने

    काठमाडौं । सरकारले बेलायतबाट शुरु उडान हुने वा ट्रान्जिट हुने गरी कुनै पनि यात्रु नेपाल आउन नपाउने गरी नियम ल्याएको छ । तर, शर्तसहित नेपाली नागरिक र गैरआवासीय नेपाली र उनीहरुका आफन्त भने अब नेपाल आउन सक्ने भएका छन् ।

    अध्यागमन विभागका अनुसार नेपालमा नेपालीको एकाघरका आफन्तको मृत्यु भएमा वा गम्भीर प्रकृतिको बिरामी भई उपचार गराउनु परेमा बेलायतस्थित नेपाली दूतावासको सिफारिसमा नेपाल आउन अनुमति दिइने भएको छ । यही प्रावधान गैरआवासीय नेपालीको हकमा समेत लागु हुने छ ।

    यसरी नेपाल आउने क्रममा ७२ घण्टा भित्रको पिसिआर परीक्षण भने अनिवार्य गरी नेगेटिभ रिर्पोट ल्याउनु पर्छ । यसले आफन्तको मृत्यु भएका वा गम्भिर बिरामी भएकाहरुलाई घर फिर्ति हुन सहज भएको छ ।

    बेलायतमा कोरोनाको नयाँ प्रकृतिको भाइरस देखिएपछि सरकारले यात्रामा रोक लगाउने निर्णय गरेको हो । त्यसो त सरकारले रोक लगाउनु अगाडी नै बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ भाइरसको संक्रमण पुष्टी भएको छ । उनीहरुको स्वास्थ्य भने सामान्य रहेको छ ।

  • ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

    ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

    काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको स्वशासित राज्य तिब्बतको राजधानी ल्हासामा परीक्षण उडान गरेको छ ।

    निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले केही महिनाअघि भित्र्याएको कलसाइन एचनाइन ९६१ विमानबाट ल्हासामा परीक्षण उडान गरेको हो ।

    एच नाइन ९६१ कलसाइनको विमान मंगलबार बिहान ७ः१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो। विमान ल्हासाको गोंगर विमानस्थलमा स्थानीय समयअनुसार बिहान १०।४६ बजे अवतरण गरेको थियो। विमान आजै काठमाडौं फर्कदैछ।

    नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।

    एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ ।

    परीक्षण उडानसँगै सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडान सुरू गर्ने व्यावसायिक योजनासमेत कम्पनीले अगाडि सारेको छ।

  • हिउँदे सिजनमा पहिलो पटक नेपाली आरोही केटुको शिखर पुगे

    हिउँदे सिजनमा पहिलो पटक नेपाली आरोही केटुको शिखर पुगे

    काठमाडौं । हिँउदे सिजनमा संसारको दोस्रो सर्वोच्च शिखर माउण्ट केटु आरोहण हुन सकेको थिएन । नेपालका १० जना पर्वतारोहीले शनिबार यो कीर्तिमान राखेका छन् । केटु पाकिस्तानमा पर्छ । यसअघि संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न नसकेको पर्यटन विभागले जनाएको छ ।

    विभागकी निर्देशक मिरा आचार्यले नेपालीले टोलीले यो कीर्तिमान राखेको भन्दै बधाई दिएकी छिन् । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमालमा मात्र हिउँदे सिजनमा आरोहण सम्भव भएको थिएन ।

    नेपालका .निम्सदाइ पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले यो कीर्तिमान बनाएका हुन् ।

    टोली शनिबार साँझ ५ः४५ मा ८ हजार ६११ मिटर अग्लो शिखरको चुचुरो पुगेको छ । दश आरोहीमध्ये मिङ्मा जी शेर्पा भने बीना अक्सिजन नै चुचुरो पुगेका छन् ।

  • चन्द्रागिरिको आइपिओ भर्नेलाई टिकटमा २५ प्रतिशत छूट

    चन्द्रागिरिको आइपिओ भर्नेलाई टिकटमा २५ प्रतिशत छूट

    काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयर भर्ने सबैले चन्द्रागिरिको टिकट मूल्यमा २५ प्रतिशत छूट पाउने भएका छन् । बुधबार सम्पन्न ११ औँ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो । साधारण सभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको छ ।

    साधारण सभाको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

    शेयरमा देखिएको उल्लेखनीय सहभागिता, सबैलाई शेयर पर्ने सम्भावना न्यून रहेको हूँदा सबै आवेदकको सम्मान गर्दै यो योजना सार्वजनिक गरिएको कम्पनीका अध्यक्ष चन्द्रप्रकाश ढकालले जानकारी दिएका छन् ।

    चन्द्रगिरि शेयरमा आवेदन दिने १२ लाख ५६ हजार सात सय ४६ जना आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्ने भएको छ । यो योजना यही माघ ५ गतेदेखि एक वर्षसम्मका लागि मान्य हुने भएको छ ।

  • इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै

    इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै

    काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा हवाई सम्पर्कमा जोडिने भएका छन् । इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले त्यहाँको राजधानी जकार्ताबाट नेपालको राजधानी काठमाडौंमा सिधा उडानको योजना सार्वजनिक गरेको हो ।

    कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गर्दै यस्तो तयारी थालेको हो । कम्पनीका अनुसार आगामी जुन, जुलाईबाट गरुडा इन्डोनेसियाले नेपालमा उडान बिस्तारको योजना बनाएको छ । अहिले इन्डोनेसियामा मलेसियाबाट मालिन्दो एयरले उडान गर्छ ।

    यो कम्पनीले क्वालालाम्पुरमा ट्रान्जिट गरी इन्डोनेसिया सेवा दिइरहेको छ । गरुडा आएपछि क्वालालाम्पुर ट्रान्जिट हुनुपर्दैन । नेपालबाट जाकार्ता, बालीलगायत गन्तब्यमा नेपाली यात्रुको चाप बढेसँगै वायुसेवा कम्पनीको विजनेश पनि उत्तिकै बढेको छ ।

    कम्पनीले नेपालबाट जापान र अष्टे्लिया जाने यात्रुलाई समेत लक्षित गरी उडान गर्ने बताइएको छ । यी मुलुकका लागि गरुडाले जाकार्तामा ट्रान्जिट गरी सेवा दिने भएको छ । इन्डोनेसियामा नेपाली नागरिकले अनअराइभल भिसा सुविधा प्राप्त गर्छन् । सोहीकारण समेत इण्डोनेसिया यात्रामा धेरै नेपाली जाने गरेका छन् ।

  • सन् २०२० मा २ लाख ३० हजार मात्र पर्यटक आए, अमेरिकी पर्यटक पाँचौ स्थानमा

    सन् २०२० मा २ लाख ३० हजार मात्र पर्यटक आए, अमेरिकी पर्यटक पाँचौ स्थानमा

    काठमाडौं । सन् २०२० मा नेपालमा पर्यटक आगमनमा ठूलो कमी आएको छ । यस वर्ष सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थिया । तर, आगमन भने मात्र २ लाख ३० हजार ८५ जना रहेको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस वर्ष त्रिभुवन विमानस्थलबाट १ लाख ८३ हजार १३० र स्थलमार्गबाट ४६ हजार ९५५ पर्यटक नेपाल आएका छन् ।

    कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि विश्वव्यापी रुपमा अपनाइएका प्रतिबन्धले गर्दा पर्यटन क्षेत्र बढी प्रभावित बनेको हो । सन् २०१९ मा इतिहासकै सबैभन्दा बढी ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक नेपाल भित्रिएका थिए । नेपालमा ११ चैतबाट लकडाउन शुरु भयो । त्यसपछि पर्यटक आगमन रोकिएको हो ।

    तथ्यांकअनुसार सन् २०२० मा भारतबाट सर्वाधिक ४० हजार ३ सय ३६ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा रहेको म्यानमारबाट २० हजार ९ सय ११ जना पर्यटक आएका छन् । तेस्रो स्थानमा रहेको थाइल्याण्डबाट २० हजार ७ सय ७८ जना पर्यटक आएको पाइएको छ । यो वर्ष चौथो स्थानमा चीन छ । चीनबाट १९ हजार २ सय ५७ जना पर्यटक नेपाल आएका छन् । पाँचौ स्थानमा रहेको अमेरिकाबाट १७ हजार ७ सय ६७ जना पर्यटक आएका छन् ।

  • गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने

    गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने

    काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ पर्यटकीय क्षेत्रको भिडियो बनाएर प्रचार प्रसारमा ल्याउने उत्कष्ट टिकटक भिडियोलाई पुरस्कृत गर्ने भएको छ । निश्चित शर्त पुरा गरी अपलोड भएका टिकटक भिडियोलाई हरेक १५ दिनमा उत्कृष्ट छनोट गरी एक जनालाई २० हजार नगद पुरस्कार दिने घोषणा बोर्डले गरेको हो । यसअघि तनहुँको मानहुँकोट टिकटककै कारण भाइरल बनेको थियो ।

    नेपाल पर्यटन बोर्डले युवापुस्तालाई गन्तब्य प्रवर्द्धनमा आकषिर्त गर्ने उद्देश्यले यस्तो अफर ल्याएको जनाएको छ । ‘देशदर्शन टिकटक कम्पिटिसन’ नाम दिइएको यो अभियान १ जनवरीबाट शुरु भएको छ । ३१ मार्चसम्म जारी रहने भएको छ । अहिलेसम्म बोर्डले प्रवर्द्धन नगरेका नयाँ गन्तब्यहरुको भिडियो टिकटकरले ल्याउनु पर्नेछ ।

    अहिले नै चर्चित बनेका पर्यटकीय गन्तव्यको भिडियोले मान्यता पाउने छैनन् । टिकटिक भिडियोको विषयवस्तुमा लुकेका सांस्कृतिक विषयवस्तुलाई समेत समेट्न सकिनेछ । टिकटक यूजर्सले नेपाल पर्यटनको बोर्डको टिकटक आइडीलाई फलो गर्नुपर्छ । त्यसपछि आफ्नो भिडियोमा बोर्डको आइडीमा ट्याग गर्नुपर्छ । यसबाहेक भिडियो पोष्ट गर्दा हृयासट्याग ‘नेपालटूरिजमबोर्ड’ र हृयासट्याग ‘देशदर्शन’ समेत राख्नु पर्ने भएको छ । भिडियो १५ सेकेन्डदेखि १ मिनेटसम्मको हुनुपर्ने शर्त छ । अंग्रेजी र नेपाली मध्ये एक भाषामा गन्तब्य प्रवर्द्धन सम्बन्धी भ्वाइस राख्न सकिनेछ ।

  • झापा ओर्लिए पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति

    झापा ओर्लिए पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति

    झापा । काठमाडौंको जाडो छल्न पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह हरेक वर्ष तराई झर्ने गर्छन् । उनीहरुको झापाको दमकमा हिमालयन टी स्टेट नामक निजी चिया बगान रहेको छ । उनीहरु जाडोयाममा केही समय सोही बगानमा रहेको भवनमा बस्ने गरेका छन् ।

    यस पटक समेत उनीहरु करीव एक महिना झापामा बस्ने भएका छन् । ज्ञानेन्द्र र कोमल आइबार साँझ बुद्ध एयर चढेर झापा पुगेका छन् । उनीहरुलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा समर्थकहरूले भब्य स्वागत गरेका थिए।

    समर्थकबाट राजा आउ देश बचाउ, गणतन्त्र मुर्दावाद, संघीयता खारेज गर, हिन्दू राष्ट« कायम गर जस्ता नारा लागेका थिए । झापामा रहँदा धार्मिक पिठ प्रतिष्ठानहरुमा ज्ञानेन्द्र दम्पत्ति सहभागी हुने भएका छन् । पछिल्लो राजनीतिक उथलपुथलमा मौन बसिरहेका पूर्वराजा ज्ञानेन्द्र एक्कासी झापामा देखा परेका हुन् ।

  • ओमान, साउदी र कुवेतले रोके अन्तर्राष्ट्रिय उडान, नेपाली कामदार प्रभावित

    ओमान, साउदी र कुवेतले रोके अन्तर्राष्ट्रिय उडान, नेपाली कामदार प्रभावित

    काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले यूरोपलाई प्रभावित बनाएपछि खाडी मुलुकहरुले धमाधम अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइरहेका छन् । यसले नेपाल आउने तयारीमा रहेका र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको नेपालीको यात्रा पुनः प्रभावित हुन थालेको छ ।

    साउदी अरेवियाले पहिलो चरणमा एक साता र दोस्रा चरणमा अर्को एक साता सबै उडानमा रोक लगाएको छ । यता, ओमानले समेत एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना महामारीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मंगलबारदेखि पुस १४ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको ओमानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

    ओमानका सम्पूर्ण हवाईस्थलमार्गबाट हुने आवागमन बन्द गरिएको जनाउदै त्यहाँको सर्वोच्च कमिटीले त्यसपछिको भाइरसको विस्तार फैलावटको अवस्थाको आधारमा अर्को निर्णय लिने उल्लेख छ ।

    साउदी र कुवेतले समेत यस्तै नीति अपनाएका छन् । यी मुलुक बढी नेपाली पुग्ने मध्येमा पर्छन् । पछिल्ला दिनमा बेलायतसहित यूरोपका अन्य मुलुकमा नयाँ खालको कोरोना भाइरसले संक्रमण फैलावट लिइरहेको छ ।

  • आन्तरिक भ्रमण बढाउन दुई दिन बिदा आवश्यक : पर्यटन मन्त्री

    आन्तरिक भ्रमण बढाउन दुई दिन बिदा आवश्यक : पर्यटन मन्त्री

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउने क्रममा नेपालमा दुई दिन बिदाको अवधारणा आएको बताएका छन् ।
    निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले शुक्रबार आयोजना गरेको ‘पर्यटनमा कोभिड १९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सन् २०२१ नेपालका लागि आन्तरिक भ्रमण वर्ष भएको बताए ।

    आन्तरिक पर्यटनमा टेवा दिन मन्त्रालयले सातामा दुई दिन सार्वजनिक बिदाको अवधारणा ल्याएको उनले जानकारी दिए । नेपालको अर्थतन्त्रमा वार्षिक ८० अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड १९ को महामारीको सबैभन्दा ठूलो मार परेको भन्दै उनले तत्काल ठूलो मात्रामा पर्यटक नआउने अवस्थामा आन्तरिक घुमफिरलाई प्रवर्द्धन गर्न लागिएको समेत उनले जनाएका छन् ।


    ‘अब बल्ल कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउन सुरु भएको छ, खोप सुरु भए पनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन,’ उनले भने, ‘यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिन आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्छ ।’

    दुई दिने बिदाको अवधारणामा विज्ञहरुसँग अझै छलफल र परामर्श जारी रहेको उनले बताए । यो निर्णय भइसकेको विषय नभएको र छलफल जारी रहेको उनको भनाइ छ । सबै पक्षको राय लिएर मात्र सरकारले निर्णय गर्ने उनको भनाइ छ ।

    तर, कुनै पनि अवधारणा हिजो असफल भयो भनेकै आधारमा आज पनि असफल हुन्छ भन्ने नसोच्न समेत उनले आग्रह गरे । ‘हिजो असफल भयो होला तर त्यहि कुरा समय र परिस्थिति बदलिदै जाँदा सफल पनि हुन्छ,’ उनले भने ।

    महामारीका कारण एक वर्ष सम्म वन्दावन्दीको अवस्थामा रहँदा मानिसमा उकुसमुकुस भएकाले अर्को वर्ष नेपालमा पर्यटनको बाँध फुट्न सक्ने उनको अपेक्षा छ ।

    कोभिड १९ को महामारीका सन्दर्भमा सरकारले केहि गरेन भनेर बाहिर सरकारको आलोचना हुने गरेको सन्दर्भ उल्लेख गर्दै मन्त्री भट्टराईले कुनै पनि देशको साधन, स्रोत कति थियो र त्यसको परिचालन कति भयो भन्ने कोणबाट परिणाम खोज्नु पर्ने बताए ।

  • आजबाट नेपाल-भारत हवाई उडान सूचारु

    आजबाट नेपाल-भारत हवाई उडान सूचारु

    काठमाडौं । नेपाल र भारतबीच ९ महिनापछि आजबाट हवाई उडान सुचारु भएको छ । नेपाल एयरलाइन्सको जहाज आज काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्दैछ । कोरोना भाइरसको महामारीपछि ११ चैतदेखि सबै प्रकारका उडान अवतरणमा प्रतिबन्ध लागेको थियो ।

    काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशका एक\एक वायुसेवा कम्पनीले दैनिक दुई वटा उडान गर्ने गरी तालिका तय भएको छ । जसमा नेपाल एयरलाइन्सले आजबाट उडान शुरु गर्दैछ ।

    निगमको एयरबस ए ३२० विमान काठमाडौं एयरपोर्टबाट दिउँसो साढे ११ बजे दिल्ली जानेछ । पहिलो उडानमा ८० प्रतिशतभन्दा बढी अक्कुपेन्सीमा यात्रु लिएर जहाज दिल्ली जाने भएको छ । भारतले एयर बबल स्कीम ल्याएपछि त्यहा रहेका विदेशीहरु धमाधम आफ्नो मुलुक फर्किरहेका छन् । नेपाल समेत यही स्कीममा सहभागी भएको हो ।

  • २ पुसबाट नयाँदिल्ली उड्ने भयो नेपाल एयरलाइन्स, ९ महिनापछि खुल्दै उडान

    २ पुसबाट नयाँदिल्ली उड्ने भयो नेपाल एयरलाइन्स, ९ महिनापछि खुल्दै उडान

    काठमाडौं । कोरोना महमारीका कारण बन्द भएको काठमाडौं-दिल्ली रुटमा २ पुसबाट नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले यो रुटमा दैनिक एक उडानको अनुमति पाएको छ । पहिलो चरणमा न्यारोबडी जहाज ए३२० बाट दिल्ली उडान गर्न लागेको निगमले जनाएको छ ।

    काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान गर्नेछन् । भारतको तर्फबाट एयर इण्डियाले अनुमति पाएको छ । उसको भने मिति तय भइसकेको छैन । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ मार्फत काठमाडौं र नयाँ दिल्लीलाई जोड्न लागेका हुन् ।

    २०७६ चैत १० यता नेपाल र भारतबीच हवाई उडान बन्द भएको हो । यसले लाखौं यात्रु प्रभावित बनेका छन् । भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएपनि दक्षिण एसियामा भने उडान खुलेको थिएन । उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नु पर्नेछ ।

  • पोखरामा पर्यटक आकर्षित गर्न अभियान शुरु

    पोखरामा पर्यटक आकर्षित गर्न अभियान शुरु

    पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गरेको छ । सुस्ताएको पर्यटन चलायमान बनाउने उद्देश्यले बिहीबारदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु भएको हो ।

    कोभिड १९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरेको सङ्घका अध्यक्ष विकल तुलाचनले बताएका छन् ।

    जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्तर्गत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने भएको छ ।

    पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया गरिएको छ । सङ्घले १८ वर्षदेखि सो अभियान सुरु गर्दै आएको छ । कोरोनाले सुस्ताएको पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहेका तुलाचनले बताए ।

    अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार सहभागी हुनेछन् । सङ्क्रमण जारी रहे पनि कोरोनासँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔँ है पोखरा कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।

  • लकडाउनपछि पहिलो पटक खुल्यो मायादेवि मन्दिर

    लकडाउनपछि पहिलो पटक खुल्यो मायादेवि मन्दिर

    लुम्बिनी। कोरोना महामारीका कारण बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणको अवलोकनका लागि खुला भएको छ । मन्दिर आठ महिनादेखि बन्द थियो । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लुम्बिनीस्थित मायादेवी मन्दिरमा दीप बाल्दै मन्दिर खुला भएको घोषणा गरेका हुन् ।

    लामो समयसम्म मायादेवी मन्दिर नखुलेपछि लुम्बिनी क्षेत्र सुनसान बनेको थियो । विश्वव्यापी कोरोना महामारीका कारण ११ चैतपछि सबै प्रकारका गतिविधिमा रोक लागेको थियो । सोही क्रममा मन्दिर समेत बन्द भएको हो ।

    सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दर्शन गर्न पाइने भएको छ । मन्दिर प्रवेश गर्ने भक्तजन र सर्वसाधारणले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने भएको छ ।

    सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपले पालना गर्नुपर्ने, भिडभाड नगरी एक पटकमा आठ–दश जना मात्र प्रवेश गर्न पाइने नियम बनाइएको छ । मायादेवी मन्दिरबाहेकको लुम्बिनी क्षेत्र घुम्नका लागि भने ३ मंसिरबाटै खुल्ला गरिएको थियो ।