Category: घूमघाम

  • ओमानबाट सलाम एयरको काठमाडौं उडान पुनः शुरु हुने

    ओमानबाट सलाम एयरको काठमाडौं उडान पुनः शुरु हुने

    काठमाडौं । ओमानबाट अब सलाम एयरलाइन्सले काठमाडौंका लागि नियमित उडान गर्ने भएको छ । कोरोना भाइरसको महामारी पछि बन्द भएको यो रुटमा सलामले ३ डिसेम्बरबाट नियमित उडान गर्ने भएको हो ।

    एयरलाइन्सका अनसार मस्कटबाट काठमाडौंका लागि सलाम एयरले नियमित उडान गर्न लागेको हो । ओमान वैदेशिक रोजगारीमा जाने नेपालीको एक आकर्षक गन्तब्य हो । सिधा उडानबाट यहाँ यात्रुले सुविधा प्राप्त गर्ने भएका छन् । टिकट बुकिङ सलाम एयरको वेबसाइटबाट पनि गर्न सकिने बताइएको छ ।

  • आज ताप्लेजुंग र इलाम जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम ?

    आज ताप्लेजुंग र इलाम जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज इलामको भ्रमणमा निस्कदैछन् । सीमा निरीक्षणका लागि भन्दै उनी इलाम जाने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनी इलामको जौबारी डाँडामा पुग्नेछन् ।

    त्यहाँको सन्दकपुर र माईजोगमाई गाउँपालिकाको संगमस्थलमा नेपाल भारत सीमा निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । उनले सिमा निरक्षणसंगै जौबारीमा स्थापित बोर्डर आउट पोष्ट समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसअघि उनी संखुवासभा पुगेर सीमा सुरक्षा पोष्टको उद्घाटन गरेका थिए । प्रधानमन्त्री इलाम जानुअघि काठमाडौंबाट ताप्लेजुंग पुग्ने भएका छन् ।

  • विदेशबाट नेपाल आउने सबैले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

    विदेशबाट नेपाल आउने सबैले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

    काठमाडौं । अब विदेशबाट नेपाल आउने सबै व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा यस्तो प्रस्ताव पठाएको हो ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिएको छ । क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिएका व्यक्तिको मात्र परीक्षण गरिने छ ।

    त्यसो त विदेशबाट नेपाल आउने नेपालीले पिसिआर रिर्पोट नेगेटिभ देखाएपछि १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान अहिले पनि छ । तर, कार्यान्वयन भएको छैन । पर्यटकलाई ७ दिन होटेल क्वारेन्टिनमा राखेर आफ्नै खर्चमा पिसिआर परीक्षण गरेपछि मात्र घुमफिरको अनुमति दिइन्छ ।

    अब भने पर्यटक, गैरआवासीय नेपाली र नेपाली नागरिकले समेत अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने गरी मन्त्रालयले प्रस्ताव गरेको छ ।

    पछिल्लो समय यूरोप र अमेरिकामा बढ्दो संक्रमणलाई लक्षित गरी सरकारले विदेशबाट आउनेमाथि कडाइ गर्न लागेको हो । नेपालमा भने केही दिनयता संक्रमण तुलनात्मक रुपमा कम देखिएको छ । निको हुनेको संख्या उल्लेख्य बढेको छ ।

  • राजा वीरेन्द्रको निजी निवास आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने

    राजा वीरेन्द्रको निजी निवास आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने

    काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । संग्रहालयमा परिणत गरिएको नारायणहिटी दरबार भित्र ‘श्री सदन’ राजा वीरेन्द्रको निजी निवास थियो । तर, यो कक्ष सर्वसाधारणले हेर्न भने पाएका थिएनन् ।

    आइतबारबाट श्री सदन सर्वसाधारणको अवलोकनका लागि खुल्ला गर्ने तयारी सरकारले गरेको हो । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक घोषणा गरेका छन् ।

    सोहीअनुसार आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने छन् । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्दै आएका थिए । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएपछि श्री सदन बन्द भएको हो ।

    सरकारले २०७७ वैशाख १ मै श्री सदन खोल्ने बताएको थियो । तर, कोरोना भाइरसको संक्रमणका कारण यो सम्भव भएन । आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला गरिने भएको छ ।

    स्मारक २०७६ जेठ १५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी हुन् । श्री सदन २०२३ सालमा बनेको हो । तीन तले भवनमा कुल १२ वटा कोठा रहेका छन् ।

  • लुक्ला विमानस्थललाई बुटिक एयरपोर्ट बनाइन्छ : पर्यटनमन्त्री

    लुक्ला विमानस्थललाई बुटिक एयरपोर्ट बनाइन्छ : पर्यटनमन्त्री

    लुक्ला । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोलुखुम्बुको लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्ट बनाउने घोषणा गरेका छन् । शेर्पा संस्कृति झल्कने गरी विमानस्थलको सजावट गरिने उनको भनाई छ ।

    मन्त्री भट्टराई आइतबार सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निर्माण भएको पर्यटन सूचना केन्द्र भवन उद्घाटनमा पुगेका थिए । सोही कार्यक्रममा उनले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई लागत तयार गर्न समेत निर्देशन दिए ।

    मन्त्री भट्टराईले एयरपोर्ट सञ्चालन स्थानीय तहलाई दिन सकिने बताउदै त्यसको लागि आवश्यक नीतिगत प्रबन्ध मन्त्रालयले तयार गर्ने समेत बताए । आधारभूत सेवा नेपाल नागरिक उडड्यन प्राधिकरणबाट उपलब्ध गराई स्थानीय तहलाई नै विमानस्थलको सेवा संचालन गर्न दिन सकिने उनको भनाई छ ।

    मन्त्री भट्टराईले लुक्ला हिमालय जाने मुख्यद्वार भएको भन्दै राष्ट्रिय निकुञ्ज, हिमाल, जैविक विविधताले महत्त्वपूर्ण क्षेत्र भएकोले सुचना केन्द्र आवश्यक रहेको उल्लेख गरे । सगरमाथा क्षेत्र, शेर्पा संस्कृति जानकारी ऐतिहासिकता, टेकिङ रुट तथा पर्यटकिय क्षेत्रको सबै जानकारी पर्यटन सूचना केन्द्रमा प्राप्त हुने विश्वास व्यक्त गरे ।

    मन्त्री भट्टराईले आर्थिक समृद्धिको लागि उत्पादनमा जोड दिन आग्रह गर्दै किबी स्याउ,पशुपालन लाग्न सो क्षेत्रका बासिन्दालाई अनुरोध समेत गरे ।

    पर्यटन विभागका महानिर्देशक रुद्रसिहं तामाङले भबनको उचित प्रयोग गरी पर्यटन सम्बन्धि सूचना दिने उपयोगी बनाउन आग्रह गर्दै नयाँ नयाँ ठाउँमा पनि पर्यटन सूचना केन्द्र बनाउन अध्ययन थालिएको जानकारी दिए ।सूचना केन्द्र ३ करोड ६३ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

  • गैरआवासीय नेपाली पिसिआर रिर्पोट लिएर नेपाल आउन सक्ने

    गैरआवासीय नेपाली पिसिआर रिर्पोट लिएर नेपाल आउन सक्ने

    काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नेपाल आउन अनुमति दिएको छ । नेपाली मुलका गैरआवासीय विदेशी नागरिक र उनीहरुको परिवारका सदस्यलाई यात्रा सुरु गर्नुभन्दा अघि बढीमा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोटका आधारमा नेपाल प्रवेश अनुमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

    सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत विदेशी नागरिक र उनीहरुका परिवारलाई समेत पीसीआर रिर्पोटका आधारमा नेपाल प्रवेशको अनुमति दिने निर्णय सरकारले गरेको छ ।


    पीसीआर रिर्पोट भएका अभिभावकका ५ वर्ष मुनीका बालबालिकाको हकमा भने पीसीआर आवश्यक पर्ने छैन । पीसीआर अन्तर्गत आरटी पिसिआर, जीन एक्पर्ट, ट्रु नाट वा सो सरहका परीक्षणलाई समेत सरकारले मान्यता दिने निर्णय गरेको छ । सरकारले अब नियमित उडान सूचारु भएका कारण विदेशबाट नेपालीका लागि भने उद्धार उडान नगर्ने भएको छ ।

    लकडाउनयता २२ कात्तिकसम्म कुल ९११ वटा अन्तर्राष्ट्रिय उडानबाट १ लाख ३६ हजार २ सय १६ जना नेपाली घर आएका छन् । कुल ८६ मुलुकबाट नेपाली घर फर्किएको तथ्यांक छ । यसबीचमा ४२७ जना नेपालीको शवसमेत नेपाल ल्याइएको छ ।

  • कतारका राजकुमार आमादब्लम चुचुरोमा

    कतारका राजकुमार आमादब्लम चुचुरोमा

    काठमाडौं । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार राजकुमार शेख मोहमदसहितको टोली बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको चुचुरो पुगेको हो ।

    उनीहरुलाई हिमालयन गाइड्स नेपालले हिमाल आरोहणको प्रवन्ध मिलाएको हो । विश्वकै सुन्दर तर आरोहणमा भने यो हिमाल कठिन मानिन्छ ।

    आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली दसैंको दिन काठमाडौंबाट लुक्ला पुगेको टोलीमा कुल १४ जना सदस्य रहेका छन् ।

    कोरोना भाइरसले थलिएको नेपालको पर्यटनमा गल्फ मुलकबाट भएका उच्चस्तरीय आरोहणले ठूलो सहयोग गर्ने अपेक्षा लिइएको छ ।

  • प्रधानमन्त्री आज संखुवासभा जाने, के छ कार्यक्रम ?

    प्रधानमन्त्री आज संखुवासभा जाने, के छ कार्यक्रम ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि काठमाडौं बाहिरको भ्रमणमा निस्कँदैछन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री उपत्यका बाहिर निस्किएका छैनन् ।

    प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको तालीका अनुसार प्रधानमन्त्री ओली आज दश बजे संखुवासभा जाने कार्यक्रम तय भएको छ । उनी हेलिकोप्टरमा त्यहा जाने छन् । पार्टीभित्र तिब्र विवाद भइरहेका समयमा प्रधानमन्त्री उपत्यका बाहिर जान लागेका हुन् ।

    यसअघि वालुवाटरको चौघेराबाट बाहिर निस्कन नसकेको भन्दै उनको आलोचना भइरहेको छ । जिल्लामा उनले सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको कार्यालयले जनाएको छ ।

    उनी संखुवासभामा भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निरिक्षणमा पुग्ने भएका छन् । त्यसपछि उनले स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफलको कार्यक्रम राखिएको छ ।

    त्यहाबाट उनी भोटखोला ३ स्थित च्यान्ताङ पुग्नेछन् । त्यहाँ निर्माण भइरहेको विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्ने कार्यक्रम छ ।


    त्यसपछि प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्ने भएका छन् । त्यसपछि भने प्रधानमन्त्री काठमाडौं फिर्ता हुनेछन् ।

  • यो वर्ष शिकार आरक्षमा एक नाउर र एक झारलको मात्र शिकार हुने

    यो वर्ष शिकार आरक्षमा एक नाउर र एक झारलको मात्र शिकार हुने

    काठमाडौं । कोरोना भाइरसको प्रभावले यो वर्ष शिकार आरक्षमा हुने शिकार घट्ने भएको छ । नेपालमा बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकका लागि शिकार गर्न अनुमति दिइन्छ ।

    कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा जम्मा एक नाउर र एक झारल मात्र सिकार हुने भएको नेपालको राष्ट्रिय समाचार समितिले जनाएको छ।


    कोरोना महामारीका कारण गत वर्षको चैतदेखि सिकार हुन नसकेको आरक्षमा यस वर्षको पहिलो याममा एक मात्र झारल र नाउरको सिकार हुने भएको हो।

    राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेको थियो । तर, यसबीचमा एउटा कम्पनीको आवेदन गरेको हो ।

    नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिक मंसिर पहिलो साता ढोरपाटन आउने छन्। विदेशी सिकारीले नाउरको लागि एक लाख ६० हजार र झारलको लागि ९० हजार रूपैयाँ राजश्व बुझाएका छन्।

    सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्नेछन्। यसअघि आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेनलगायतका देशबाट धनाढ्य सिकारी हेलिकप्टर चार्टर गरी ढोरपाटन आउने गरेका थिए ।

  • चितवनमा मृत भेटिए गैँडाका माउ-बच्चा

    चितवनमा मृत भेटिए गैँडाका माउ-बच्चा

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैँडाका माउ बच्चा मृत भेटिएका छन् । निकुन्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेको राष्ट्रिय समाचार समितिले जनाएको छ । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिएका छन् ।

    निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैँडाको माउ र बच्चा मृत फेला पारेको हो । मृत पोथी गैँडाको खाग भेटिएको छैन ।

    सोहीकारण उनलाई तस्रले मारेको उनसक्ने अनुमान गरिएको छ । यो आर्थिक वर्ष भित्रै चितवनमा ११ वटा गैँडाको मृत्यु भइसकेको छ। नौ वटा गैँडा कालगतिले मरेका हुन् । दुई गैँडा भने तस्करको निसान भएको अनुमान छ ।

  • संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै

    संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै

    काठमाडौं । संसारकै अग्लो दोस्रो तथा प्राकृतिक रुपमा निर्मित संसारकै अग्लो बन्जी नेपालमा संचालनमा आउने भएको छ । पर्वतस्थित कुश्माको बन्जी र स्वीङ आगामी शनिबारबाट संचालनमा आउने भएको हो ।

    कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलबाट बन्जी, स्वीङ र स्काइ साइक्लीङसहितका साहसिक खेल संचालनमा आउँदैछ । द क्लिफ प्रालिले कार्तिक १५ (शनिबार) देखि आफ्ना गतिविधि सन्चालन गर्ने गरी तालीका सार्वजनिक गरेको हो । यो स्थानमा २०७३ सालबाट पुल निर्माण थालिएको हो ।

    पुल र रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिएको थियो । लकडाउनका कारण सन्चालनमा ढिलाई भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताएका छन् । यहाँ ५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्म निर्माण गरिएको छ। खोला देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ ।

    अहिले विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा छ । द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाई पछि पार्दै यसले बिश्वकै दोस्रो अग्लो बन्जिका रुपमा दर्ज हुनेछ ।

    मकाउको मकाउ टावरस्थित बन्जी मानव निर्मित टावरमा बनेको हो । कुश्मामा भने प्राकृतिक खोँचमा बन्जी गर्न पाइनेछ । यहाँ विश्वकै अग्लो स्वीङ समेत बनेको छ । बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ। पोखरा देखी कुश्माको दुइतर्फी गाडीको सुबिधा सहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको कम्पनीले जनाएको छ ।

    टेण्डम (जोडि) स्वीङको १२ हजार रुपैयाँ शुल्क तोकिएको छ । बन्जीकालागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ । सो भन्दा माथी बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक रहेको कम्पनीले जनाएको छ ।

    यहाँ गुलेलीको शैलीमा निर्माण गरिएको छ । पिङ खेल्न प्रतीव्यक्ति २ सय ५० रुपैयाँ तोकिएको छ । यहाँ स्टील कोर केबल प्रयोग गरि स्काइ साइक्लीङ समेत तयार गरिएको छ । विश्वकै सबैभन्दा ऊचाईमा सन्चालित कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ।

    दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्छ । स्काइ साइक्लीङको सन्चालन भने केही महिना पछि हुने भएको छ । कम्पनीले बाग्लुङ्गको बलेवामा २५ रोपनी क्षेत्रफलमा ुद क्लिफ रिसोर्टु समेत निर्माण गरेको छ । यो परियोजनाको कुल लगानी २८ करोड रहेको कम्पनीको भनाई छ ।

  • कास्कीको घान्द्रुक जाने योजना थियो ? मंसिरसम्म बन्द

    कास्कीको घान्द्रुक जाने योजना थियो ? मंसिरसम्म बन्द

    काठमाडौं । तपाईले कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुक जाने योजना बनाउनु भएको थियो ? किनकी यसअघि हवाई तथा पर्यटन व्यवसायीले यस गाउँलाई लक्षित गरी प्याकेजहरु बनाएका थिए । तर, गाउँ स्वयमःले भने तत्काल पर्यटकलाई प्रवेश निषेध गरेको छ ।

    कोरोना भाइरस कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै पर्यटन व्यवस्थापन समिति घान्द्रुकले मंसिरको पहिलो हप्तासम्म पर्यटकहरुलाई प्रवेश नदिने निर्णय गरेको हो । सोहीअनुसार ट्रर्किंग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले समेत एजेन्सीहरुलाई सूचित गरेको छ ।

    पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरूङले आगामी मंसिर पहिलो हप्तासम्म आन्तरिक र बाह्य सबै पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय भएको जानकारी गराएका छन् । यसअवधिमा सबै होटल र लज बन्द रहने छन् ।


    मंसिर पहिलो हप्तापछि पर्यटन व्यवस्थापन समिति घान्द्रुकको बैठक बसेर आवश्यक निर्णय लिइने अध्यक्ष गुरुङलाई उदृत गर्दै टानले जानकारी गराएको छ ।

  • बहराइन राजकुमारलाई गोरखालीको उपहार : चुचुरोको नाम ‘रोयल बहराइन पिक’

    बहराइन राजकुमारलाई गोरखालीको उपहार : चुचुरोको नाम ‘रोयल बहराइन पिक’

    गोरखा । बहराइन रोयल फोर्सको टोली यतिबेला नेपालमा छ । कुल १८ जनाको टोली नेपालका दुई हिमाल लोबुचे र मनास्लुको आरोहणका दौरान आएको हो । उनीहरुको नेपाल भ्रमणले कोरोनाबाट प्रभावित नेपालको पर्यटन पुनरुद्धारमा ठूलो योगदान दिएको छ । नेपाली पनि पाहुनालाई खुसी राख्ने मामलामा कमजोर छैनन् । उनीहरुले रोयल फोर्सको सम्मानमा एउटा डाँडोको नामै फेरिदिएका छन् ।

    यो टोलीमा बहराइन राजपरिवारका सदस्य राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा समेत सहभागी छन् । उनीसहितको टोली मनास्लु आरोहणका लागि गोरखा पुगेको छ । गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँमा एउटा डाँडालाई स्थानीयबासीले बहराइनको राजपरिवारको नामबाट नामाकरण गरिदिएका हुन् ।

    सामागाउँका स्थानीयले पङ्बोछे डाँडालाई ‘रोयल बहराइन पिक’ नामाकरण गरेका छन् । यसले आगामी दिनमा समेत यस मुलुकबाट आउने पर्यटकलाई यो स्थानसम्म आइरहन प्रेरित गर्ने विश्वास स्थानीयको छ । नेपालीले भौतिक उपहार दिन नसकेपछि माया र सम्मान दिन सक्ने भन्दै डाँडाको नाम नै राजपरिवारको नामबाट राखिएको छ ।

    राजकुमार गाउँमा आउनुभन्दा अगाडी नै गाउँ भेला गरेर पहाडलाई बहराइनको नाम दिने निर्णय गरेको स्थानीय जनप्रतिनिधिले जनाएका छन् । गाउँलेले नामाकरण गरेको डाँडो हेर्न राजकुमार हेलिकोप्टर चढेर पुगेका थिए । यसअघि यहाँ स्वर्गीय राजा वीरेन्द्र पुग्दा गाउँलेले त्यहाँको सबैभन्दा ठूलो तालको नाम वीरेन्द्र नामाकरण गरेका थिए । रोयल बहराइन पिक ५,१६० मिटर अग्लो हो ।

  • ६ यात्रुमा कोरोना देखिएपछि हङकङले गर्यो नेपाल एयरलाइन्सलाई कारवाही

    ६ यात्रुमा कोरोना देखिएपछि हङकङले गर्यो नेपाल एयरलाइन्सलाई कारवाही

    काठमाडौं । नेपालबाट नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका ६ यात्रुमा कोरोना पुष्टी भएपछि नेपाल एयरलाइन्सलाई हङकङले कारवाही गरेको छ । कारवाहीस्वरुप काठमाडौं हङकङ रुटको उडान दुई साताका लागि रद्द भएको छ ।

    नेपाल एयरलाइन्सको उडान अनुमति दुई साताका लागि रद्द भ्एको नेपाल एयरलाइन्सका अधिकारीले जानकारी दिएका छन् । नेपाल एयरलाइन्सका अनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर रिर्पोट नेगेटिभ आएका यात्रुमा नै हङकङमा कोरोना देखिएको हो ।

    नेपालबाट अधिकतम ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाएमा हङकङ जान पाइन्छ । तर, हङकङ पुगेका यात्रुमा कोरोना देखिएपछि नेपाल एयरलाइन्स कारवाहीमा परेको हो । नेपाल एयरलाइन्सलाई ४ अक्टोबरबाट लागेको प्रतिवन्ध अब १७ अक्टोवरमा मात्र फुकुवा हुनेछ ।

    अक्टोवर ३ मा नेपाल एयरलाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ पुगेका यात्रुमा सोमबार कोरोना पुष्टी भएको हो । सोमबार हङकङमा कुल ११ जनामा कोरोना देखियो, त्यसमध्ये ६ जना नेपाल एयरलाइन्सका यात्रु र एक जना भारतीय नागरिक हुन् ।

  • बहराइन रोयल फोर्सको टोली आज मनास्लु प्रस्थान गर्दै

    बहराइन रोयल फोर्सको टोली आज मनास्लु प्रस्थान गर्दै

    काठमाडौं । बहराइनका राजकुमार नासिर बीन हमदसहित बहराइन रोयल फोर्सको टोली हिमाल आरोहणका सिलसिलामा नेपालमा रहेको छ । सोलुखुम्बुस्थिति लोबुचे हिमाल आरोहण गरि काठमाडौं फर्किएको यो टोलीले मंगलबारबाट मनास्लु आरोहण अभियान थाल्नेछ । मनास्लु आरोहणमा लामो समय लाग्नेछ ।

    रोयल फोर्सको टोली २ महिना लामो नेपाल बसाईका क्रममा आएको हो । यो कोरोना भाइरसपछिको पहिलो विदेशी टोली हो । पर्यटन विभागका अनुसार ८१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न गोरखातर्फ लाग्ने कार्यक्रम रहेको छ । टोलीमा १८ जना छन् ।

    उनीहरुलाई नेपाली गाइड तथा सहयोगीले व्यवस्थापन गरिरहेका छन् । अहिले मनास्लुमा अनुभवी शेर्पा टोलीले बाटो बनाइरहेको छ ।

  • संक्रमण र भीड दुबै बढेपछि कडाई गर्ने सरकारको संकेत

    संक्रमण र भीड दुबै बढेपछि कडाई गर्ने सरकारको संकेत

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणले हरेक दिन नयाँ नयाँ रेकर्ड राखिरहेको छ । यसले सर्वसाधारणदेखि भीआइपीसम्म आक्रमण गरेपछि सरकारले काठमाडौंमा कडाई गर्ने संकेत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिएको चाडबाड जो जहाँ छ, त्यही नै बसेर मनाउन अपिल गरेको छ ।

    कोरोना भाइरस (कोभिड१९) को संक्रमण एक जिल्लाबाट अर्को जिल्लासम्म हुन सक्ने ट्रान्सफर रोक्न यस्तो आह्वान गरेको हो । मन्त्रालयले यो वर्ष दशैंका लागि यात्रामा ननिस्कन समेत आह्वान गरेको हो । पछिल्लो समय किनमेलका लागि बजारमा डरलाग्दो भीड देखिन थालेको छ ।

    तर, सामाजिक दूरी र अन्य जनस्वास्थ्यका मापदण्डको भने खिल्ली उडाइएको छ । यस सन्दर्भमा सरकारले बजारमा पुनः कडाई र्ने संकेत गरेको हो ।

    मापदण्ड पालनामा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव तयार भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

  • नेपाल-भारत हवाई सेवा शुरु गर्न पहल थालियो

    नेपाल-भारत हवाई सेवा शुरु गर्न पहल थालियो

    काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ । तर, भारतबाट भने यात्रु आउन पाउँदैनन् । किनकी भारतमा नेपालले उडान खोलेको छैन । तर, नजिकिएको दशैं र चाडबाडसँगै उडान खोल्न भने तीव्र दवाव छ ।

    यसै सन्दर्भमा नेपालले भारतमा उडान अनुमति दिने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आगामी १ कात्तिकबाट नेपाल र भारतीय शहरमा उडान खोल्ने गरी प्रस्ताव पठाएको छ । यो प्रस्ताव स्वीकृत भएमा सेवा प्रारम्भ हुनेछ ।

    अहिले ठूलो संख्यामा नेपाली उपचार, अध्ययन र रोजगारीका लागि भारत जान्छन् । भारतीय समेत भिषा नलगाई घुमघाम गर्न पाइने भएकाले ठूलो संख्यामा नेपाल आउने गर्छन् । त्यसकारण नेपाल र भारत उडान अर्थतन्त्रका दृष्टिकोणबाट पनि महत्वपूर्ण मानिन्छ ।

    नेपालले स्थलमार्गमा समेत कडाई गरेको छ । भारतमा कोरोना महामारी अहिले सबैभन्दा उच्च विन्दुमा छ । जहाँ दैनिक १ लाख हाराहारी मानिसमा कोरोना देखिएको छ । १ लाख मानिसको ज्यान गइसकेको छ ।

  • सैनिक तालीमका लागि सरकारले दियो हिमचुचुरो

    सैनिक तालीमका लागि सरकारले दियो हिमचुचुरो

    काठमाडौं । नेपाली सेनाको तालीम प्रयोजनका लागि सरकारले एक हिमाल नेपाली सेनालाई प्रदान गरेको छ । सरकारले मनाङस्थित चुलु वेस्ट हिमाल नेपाली सेनाले प्रयोग गर्ने गरी प्रदान गरेको हो । यो हिमाल नेपाली सेनाले ‘ट्रेनिङ पीक’का रुपमा प्रयोग गर्ने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका सचिव केदार बहादुर अधिकारीका अनुसार ६ हजार ४ सय ९० मिटर उचाईको यो हिमाललाई नेपाली सेनाले सैनिक उच्च शिखर शिक्षालयमा सञ्चालन हुने माउन्टेन वारफेयर एडभान्स तालिमका रुपमा प्रयोग गर्नेछ । यसरी नेपालमा कुनै एक निकायलाई चुचुरो प्रदान गरेको यो पहिलो पटक हो ।

    हिमाल अब सैनिक तालिममा सहभागी हुने शिक्षक, शिक्षार्थी र विदेशी शिक्षार्थीको आरोहणमा प्रयोग हुनेछ । सरकारले यो पिक प्रयोग गरेवापत तिर्नुपर्ने दस्तुर समेत नेपाली सेनाका लागि मिनाहा गरेको छ । १० वर्षसम्म सेनाले तालिम प्रयोजनका लागि यो हिमाल निःशुल्क प्रयोग गर्न सक्ने भएको छ ।

  • फास्ट ट्रयाकका सुरुङ बनाउन २७ कम्पनीको प्रस्ताव

    फास्ट ट्रयाकका सुरुङ बनाउन २७ कम्पनीको प्रस्ताव

    काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत पर्ने सुरुङमार्गको निर्माणका लागि २७ कम्पनी इच्छुक देखिएका छ् । छोक्रेडाँडादेखि धेद्रे खोलासम्म सुरुङ बनाउन कुल २१ कम्पनीको बोलपत्र परेको छ । उता, धेद्रे खोलादेखि लेनडाँडासम्मका सुरुङमा २२ ओटा कम्पनी इच्छुक देखिएका छन् ।

    त्यसमध्ये दुवैतर्फको काम गर्न १६ कम्पनी इच्छुक देखिएका हुन् । छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको सुरुङमा मात्रै बोलपत्र राख्ने ५ ओटा र धेद्रे खोलादेखि लेनडाँडासम्मको सुरुङमा मात्रै बोलपत्र राख्ने ६ ओटा कम्पनी रहेका छन् ।

    मुल्याङ्कन समितिले बोलपत्रको मुल्याङ्कनको कार्य पुरा गरी योग्य कम्पनीलाई सूचिकृत गर्ने भएको छ । ठेक्का नेपाली सेनाले लगाएको हो । यो आयोजनाको मूख्य ठेकेदार भने सेना हो । छोक्रेडाँडादेखि धेद्रे खोलासम्म ३ किलोमिटर लामो सुरुङ बनाउनु पर्ने भएको छ ।

    धेद्रे खोलादेखि लेनडाँडासम्म दुई ठाउँमा गरी ३.१ किलोमिटर लामो सुरुङ बन्नेछ । सेनाले अहिले फास्ट ट्राकको सहज रहेको स्थानको काम गरिरहेको छ । प्राविधिक काममा भने अन्य कम्पनीमार्फत ठेक्का लगाउनु पर्ने छ ।

  • खाडी क्षेत्रका चार मुलुकबाट अब काठमाडौंमा नियमित हवाई उडान

    खाडी क्षेत्रका चार मुलुकबाट अब काठमाडौंमा नियमित हवाई उडान

    काठमाडौं । सरकारले पिसिआर परीक्षण सहज नभएका खाडी क्षेत्रका मुलुकमा नियमित उडान रोकेको थियो । यी मुलुकमा माग अनुसार चार्टर्ड उडान हुँदै आएका थिए । यसले भाडा महगाें हुने गरेको थियो । बिहीबारबाट भने उक्त प्रतिवन्ध हटेको छ । अब खाडीका चार मुलुकबाट अक्टोबर १ देखि नियमित हवाई उडान सुरु हुने भएको छ ।

    साउदी अरब, कतार, कुवेत र ओमानबाट नियमित हवाई उडान खुल्न लागेको हो । अब श्रमिकले आफ्नो अनुुकुलमा टिकट काटेर घर फर्कन सक्ने भएका छन् । सरकारले भदौ १६ बाट मलेसिया, यूएई, जापान, कोरियालगायत मुलुकमा नियमित उडान खोलेको थियो ।

    तर साउदी, कतार कुवेतलगायत मुलुकमा भने पीसीआर परीक्षण सहज नभएको भन्दै यी देशबाट फर्कन खोज्ने नेपालीको लागि चार्टर्ड उडान गरिएको थियो । अब पीसीआर परीक्षण गरेर आउने श्रमिक सिधै होम क्वरेण्टीनमा जान सक्ने भएका छन् ।

    पीसीआर परीक्षण नगरी आए काठमाडौंमा होटल क्वरेण्टीनमा बस्नु पर्छ । तर, स्वदेश फर्कन सिधै सम्बन्धित एअरलाइन्स कम्पनीमा सम्पर्क गरेर टिकट काटेर आफ्नो अनुकुलमा घर फर्कने सकिने भएको छ । चार्टर्ड उडानमा जस्तो दूतावासको सूची अनुसार घर फर्कन पालो समेत कुर्न पर्ने छैन ।

  • कहिलेबाट खुल्छन् दशैंमा घर जाने अग्रिम टिकट ?

    कहिलेबाट खुल्छन् दशैंमा घर जाने अग्रिम टिकट ?

    काठमाडौं । दशैं नजिकिएको छ । शहर बजारमा बस्नेहरु अधिकांश आफ्नो जन्मघर फर्कने यो चाडका लागि यातायात व्यवसायीलाई व्ववस्थापन निकै हम्मे हम्मे पर्छ । तर, यसपाली देशभर कोरोना महामारी छ । यस्तो अवस्थामा दशैं कसरी मनाउने भन्ने अन्यौलसमेत रहेको छ । तर, सर्वसाधारणमा चासो भने छ, दशैंमा घर जाने बसका अग्रिम टिकट कहिले खुल्छन् ?

    यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन व्यवसायीसँग अनौपचारिक प्रस्ताव भने गरिसकेको छ । यातायात व्यवसायीहरुसँग विभागको यस्तो प्रस्ताव आएको व्यवसायीले जानकारी दिएका छन् ।

    असोज २० देखि २५ सम्म अग्रिम टिकट बुकिङ खुला गर्ने र त्यसपछि नियमित प्रक्रियाबाट यातायात संचलन गर्ने प्रस्ताव विभागले गरेको हो । त्यसो त शहर बजारमा काम नभएका मानिसहरु अहिले पनि घर फर्किरहेका छन् । अहिले घर फर्कनेहरुका लागि तुलनात्मक रुपमा वातावरण सहज पनि छ ।

    किनकी सवारी साधनमा साविकमा जस्तो अधिक भिडभाड छैन । विभागका अनुसार यो वर्ष करिब ५ लाख व्यक्ति दशैं मनाउन उपत्यका बाहिर जाने अनुमान छ । त्यसो त उपत्यकाबाट मात्र हरेक वर्ष २० लाख भन्दा बढी मानिस दशैं मान्न बाहिरिने गरेका छन् । यो पटक आधा जती मानिस पहिला नै गाउँ गएर बसेका छन् ।

    केही मानिस भने कोरोनाको जोखिमका कारण काठमाडौं नछाड्ने मुडमा हुनेछन् । उता, व्यवसायी भने सवारी साधनमा सबै सिटमा यात्रु राख्न पाउनुपर्ने अडानमा छन् । अहिले बसमा एक सीटमा एक जना मात्र यात्रु राखेर यात्रा भइरहेको छ । सरकारले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम कार्यान्वयनमा ल्याएको हो ।

  • तीन दिन देखि खुलेन सिद्धार्थ राजमार्ग, पहाडी भेगको यातायात ठप्प

    तीन दिन देखि खुलेन सिद्धार्थ राजमार्ग, पहाडी भेगको यातायात ठप्प

    बुटवल । सिद्धार्थ राजमार्ग पछिल्लो तीन दिनयता बन्द छ । जसले गर्दा मध्य नेपालको पहाडी भेगमा यातायात सेवा अवरुद्ध हुन पुगेको छ । अविरल वर्षापछि विभिन्न स्थानमा झरेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध छ । यसमा खासगरी सिद्धबाबाको पहिरोले ठूलो जोखिम निम्त्याउँछ ।

    शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएको र यात्रु अलपत्र परेको प्रहरीले जनाएको छ । पाल्पाको डुम्रेदेखि सिद्धबाबा सडकखण्डअन्तर्गत आधा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ।

    शनिबार दिनभर स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालनको प्रयास भएको थियो । तर, सफलता प्राप्त भएन । किनकी सिद्धबाबामा सानो झरीले पनि ठूलो पहिरो निम्त्याउने गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पहिरोसँगै झरेका ठूला ढुंगा फोर्नुपर्ने भएकाले समय लागिरहेको हो । सिद्धबाबामा ठूलाठूला चट्टानसहित सडकमाथिबाट पहिरो खसेको छ। सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले बताएको छ । आइतबार बिहानैबाट पहिरो पन्छाउने काम शुरु भइसकेको छ ।

  • युक्रेनमा सैन्य जहाज दुर्घटना, २२ जनाको मृत्यु

    युक्रेनमा सैन्य जहाज दुर्घटना, २२ जनाको मृत्यु

    युक्रेन । यूक्रेनमा एक सैन्य जहाज दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार एन्टोनिभ २६ नामक उक्त विमान यूक्रेनको पुर्वी शहर खार्किभमा अवतरणका क्रममा दुर्घटनामा परेको छ ।

    विमानमा खार्किभ एयर फोर्स विश्वविद्यालयका विद्यार्थी चढेका थिए । विमानमा २७ जना रहेको बताइएको छ । दुई जना गम्भीर घाइते भएका छन । बाँकी तीन जना भने वेपत्ता छन् । दुर्घटनापछि जहाजा आगो लागेको थियो ।

  • पशुपति र लुम्बिनी सर्वसाधारणका लागि खुलाउने तयारी

    पशुपति र लुम्बिनी सर्वसाधारणका लागि खुलाउने तयारी

    काठमाडौं । सरकारले पशुपति र लुम्बिनी क्षेत्रलाई सर्वसाधारणको दर्शनका लागि खुला गर्ने तयारी गरेको छ । प्रोटोकल बनाइ यी क्षेत्र खुला गर्ने तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

    प्रोटोकल बनेपछि यी दुई धार्मिक गन्तब्य खुला गर्ने प्रस्ताव मन्त्रालयले कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा लैजाने भएको छ । सीसीएमसीले निर्णय गरेमा प्रस्ताव मन्त्रिपरिषद पुग्नेछ । कोरोना भाइरसको महामारीसँगै सरकारले यी दुई धार्मिक गन्तब्यमा सर्वसाधारणको दर्शन रोकेको थियो ।

    तर, सार्वजनिक यातायात समेत खुला भइसकेको सम्बन्धमा पशुपति र लुम्बिनी समेत खोल्नु पर्ने दवाव सर्वसाधारणले गरिरहेका छन् । अहिले धार्मिक विधिअनुसार नियमित हुने पुजाआजाबाहेक दुबै गन्तव्यमा सर्वसाधारणले प्रवेश पाउँदैनन् ।

    मन्त्रालयले संग्रहालयहरु समेत अवलोकनका लागि खुला गर्ने तयारी गरेको छ । त्यसका लागि समेत प्रोटोकल समेत बनाइने भएको छ । पर्यटन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समुहको बैठकले यस्तो निर्णय गरेको हो ।

  • हप्तामा दुई दिन बिदा दिने प्रस्तावको तयारी, मन्त्रिपरिषदमा पेश गरिने

    हप्तामा दुई दिन बिदा दिने प्रस्तावको तयारी, मन्त्रिपरिषदमा पेश गरिने

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ ।

    मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेस गर्ने निर्णय गरेको हो ।

    पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ ।

    त्यस्तै बैठकले पशुपति मन्दिर लुिम्बनी,संग्राहालय खोल्न सम्बन्धमा प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’(सिसिएमसी) मा पेश गर्ने निर्णय गरेको छ । बैठकले, बगलादेश,ईन्डोनेसिया, रसिया, कोरिया फिनल्याणसँग भएको हवाई सम्झौक्ताहरु असोज भित्र तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने निर्णय समेत गरेको छ ।

    त्यस्तै पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभाकारी बनाउनका लागि मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर सयुक्त रुपमा कार्यक्रम बनाएर आउदो बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

    बैठकले हप्ता दिन भित्र हवाई ईन्धन मूल्य पुनरावलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी मन्त्रालयमा पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाईं निर्देशन दिएको छ ।

    मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनाको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण अनुगमन, मूल्याङ्कन, निरीक्षण गर्न समेत सम्बन्धित महाशाखा प्रमुखलाई निर्देशन दिए ।

  • बहराइनका राजकुमारसहित १८ जनाको टोलीले लियो आरोहण अनुमति

    बहराइनका राजकुमारसहित १८ जनाको टोलीले लियो आरोहण अनुमति

    काठमाडौं । कोरोना महामारीपछि पहिलो विदेशी आरोहीका रुपमा बहराइनका राजकुमारसहित १८ जनाको टोली यतिबेला नेपालमा छ । उनीहरुले मंगलबार मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार १८ जनालाई हिमाल आरोहण अनुमति दिइएको छ । यो जारी सिजनको दोस्रो अनुमति हो ।

    यसअघि एक नेपाली टोलीले आरोहणका लागि अनुमति लिइसकेको छ । यो सिजन सगरमाथाबाहेक अन्य हिमालमा आरोहीको भीड लाग्ने गर्छ । तर, यो पटक कोरोना महामारीका कारण सहजै भ्रमणमा आउन सक्ने अवस्था छैन ।

    तर, आरोहीलाई नेपालमा सहिजकरण भने गरिने विभागले जनाएको छ । यो टोली नेपालको स्वास्थ्य प्रोटोकल अनुसार ७ दिन होटेल क्वारेन्टिनमा बसेको छ । त्यसपछि उनीहरुको पिसिआर परीक्षण गरिएको छ ।

    परीक्षणबाट नेगेटिभ आएपछि विभागले आरोहण अनुमति दिएको हो । अब उनीहरु निर्धक्क भ्रमणमा निस्कन सक्नेछन् । सरकारले पर्यटकीय गतिविधि शुरु गर्ने बताएको छ । यद्दपी त्यसका लागि पर्यटकको भिसा पोलिसीका सम्बन्धमा भने कुनै निर्णय भइसकेको छैन ।

  • बुधबारदेखि साझा यातायातका लामो दूरीका बस चल्ने

    बुधबारदेखि साझा यातायातका लामो दूरीका बस चल्ने

    काठमाडौं । बुधबारबाट साझा यातायातका लामो दुरीका बस चल्ने भएका छन् । दशैंमा घरजाने यात्रुको सहज होस भन्ने उद्देश्यले लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातले जानकारी दिएको छ ।

    साझाले सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउने भएको छ । बुधबार साझ ७ बजे बस बाग्लुङ र सवा ७ बजे सुनौलीका लागि छुट्यो योजना छ । दुवै गन्तब्यमा जाने र आउने गरी २–२ वटा बस गुड्ने छन् ।

    साझामा यात्रा गर्न चाहने यात्रुले साझाको कार्यालय हरिहरभवन र नयाँ बसपार्कबाट टिकट काट्न सक्ने भएका छन् । यसबाहेक ई–सेवाबाट समेत टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ । भाडा भने ५० प्रतिशत बढी पर्नेछ ।

  • यति एयरले ल्यायो आकर्षक भ्रमण प्याकेज, अब एभरेष्ट १४ हजारमै

    यति एयरले ल्यायो आकर्षक भ्रमण प्याकेज, अब एभरेष्ट १४ हजारमै

    काठमाडौं । निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले विभिन्न गन्तब्य भ्रमणका लागि आकर्षक प्याकेज ल्याएको छ । करिब डेढ दर्जन पर्यटकीय प्याकेज ल्याउँदै यतिले आन्तरिक पर्यटकलाई भ्रमणप्रति प्रोत्साहित गर्ने नीति लिएको हो । कम्पनीले स्थापनाको २२ औं वाषिर्कोत्सवको अवसर पारी सोमबार प्याकेज सार्वजनिक गरेको छ ।


    कम्पनीका प्रमुख कार्यकारी अधिकत अनोज रिमालले प्याकेज सार्वजनिक गरेका हुन् । नेपालमा ७ महिना लामो प्रतिवन्धपछि घुमघाम खुला भएको छ । सोही अनुसार सोमबारबाट हवाई यात्रा समेत सुचारु भएको छ । यतिले भनेको छ, ‘अब एयरलाइन्सले यात्रुलाई गन्तब्यसँग जोड्ने मात्र छैनन्, गन्तब्य घुमाउने पनि छन् । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अक्टोवर २०२० बाट यी प्याकेज लागु हुने भएका छन् ।

    यतिले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागि समेत दुईतर्फी टिकटसहितका प्याकेज ल्याएको हो । यी गन्तब्यमा होटेलको स्तर अनुसार मूल्य राखिएको छ । प्याकेज घोषित गन्तव्यको सबैभन्दा नजिकको विमानस्थलसम्म यति र तारा एयरबाट हवाई यात्रा गराइने भएको छ ।

    यतिले एभरेष्ट ट्रेल १३,९९९ प्रतिव्यक्तिमै घुमाउने भएको छ । रारामा २४९९९ प्रतिव्यक्ति, पोखरामा ५९९९ देखि ७९९९ प्रतिव्यक्ति, चितवनमा १२९९९ देखि १६९९९ प्रतिव्यक्तिसम्मका प्याकेज यतिले ल्याएको छ ।

    उता, यतिले अब टिकट समेत एप्सबाट काट्न सकिने गरी एप्स सार्वजनिक गरेको छ । अब मोवाइलबाट टिकट बुकिङ, स्काई क्लव माइलेज तथा फ्लाइट स्टाटस चेकजाँच गर्न, वेभ चेकिङ, कार्गो ट्रयाकिङ, हवाई तालिका र भाडादर हेर्न सकिने भएको छ ।

  • उडे आन्तरिक गन्तब्यमा जहाज

    उडे आन्तरिक गन्तब्यमा जहाज

    काठमाडौं । आजबाट आन्तरिकतर्फ उडान सूचारु भएको छ । सरकारले ११ चैतबाट उडानमाथि प्रतिवन्ध लगाएको थियो । कोरोना भाइरसको महामारीसँगै सो दिन देशव्यापी लकडाउन घोषणा भयो । सोहीअनुसार उडानहरु बन्द भएका थिए । तर, अब भने सरकारले सुरक्षा सतर्कताका साथ सबै व्यवसाय खुला गर्ने क्रममा आन्तरिक उडान खुलाएको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दैनिक ५० भन्दा बढी उडान हुने गरी उडान अनुमति दिइएको छ । यो संख्या साविकको तुलनामा २५ प्रतिशत मात्र हो । यसमा संख्यात्मक रुपमा सबैभन्दा बढी उडान बुद्ध एयरले गर्नेछ । किनकी बजारमा उसको बजार हिस्सा पनि बढी नै रहेको छ ।

    सरकारले सेप्टेम्बरभर २५ प्रतिशत र १ अक्टोवरबाट बजारको माग अनुसार उडान अनुमति दिने बताएको छ । अन्तराष्ट्रिय नियमित उडानतर्फ समेत सरकारले अक्टोवरदेखि थप उडानको अनुमति दिने तयारी गरिरहेको छ । नजिकिएको चाडबाडको मुखमा खुलेको उडानले वायुसेवा कम्पनीहरुलाई भने राहत मिलेको छ ।

  • लुक्ला विमानस्थलमा पिसिआर रिर्पोट नेगेटिभ नभएका यात्रुलाई प्रवेश निषेध

    लुक्ला विमानस्थलमा पिसिआर रिर्पोट नेगेटिभ नभएका यात्रुलाई प्रवेश निषेध

    काठमाडौं । लुक्ला विमानस्थलमा हवाई मार्गबाट जान चाहने सबै यात्रुको पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले यस्तो नियम बनाएको हो । तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त गाउँपालिकाले राखेको हो ।

    खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको हो । हवाई उडानमा शर्त राख्ने खुम्बु पहिलो स्थानीय सरकार समेत बनेको छ । किनकी यो गाउँपालिका ग्रिन जोनमा छ ।

    एक जना पनि कोरोना संक्रमित नभएको गाउँपालिकालाई कोरोनाबाट सुरक्षित राख्न यस्ता सर्त लिनु परेको गाउँपालिकाले जनाएको छ । लुक्लामा तारा, सीता र समिट एयरले उडान गरिरहेका छन् । यो नियम हेलिकोप्टर कम्पनीको हकमा समेत लागु हुनेछ ।