Category: घूमघाम

  • सोमबारबाट चल्दैछन् आन्तरिक उडानका जहाज, के के छन् यात्रुका लागि नियम ?

    सोमबारबाट चल्दैछन् आन्तरिक उडानका जहाज, के के छन् यात्रुका लागि नियम ?

    काठमाडौं । ६ महिना लामो उडान प्रतिवन्धपछि सोमबारबाट नेपालमा आन्तरिक हवाई सेवाले उडान थाल्दैछन् । यसका लागि सम्पूर्ण तयारी पुरा भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    नेपालमा १० चैतबाट आन्तरिक उडान बन्द भएको हो । अब हवाई यात्रामा यात्रुले केही कठिनाई भोग्नु पर्नेछ भने समय पनि केही लामो हुनेछ । किनकी अब हवाई यात्राका दौरान सुरक्षा सतर्कता अझ कडा हुनेछ ।

    विमानस्थल कार्यालयका अनुसार यात्रु जहाज उड्ने समयभन्दा कम्तिमा डेढ घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्छ। यसअघि एक घण्टा अगाडी नै विमानस्थल पुग्दा हुने व्यवस्था थियो ।

    यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम
    · सबै यात्रुले एयरपोर्ट आउनु अगाडि मास्क लगाई हात स्यानिटाइज गर्नुपर्नेछ ।
    · विमानस्थल भित्र कम्तिमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ ।
    · इ टिकेटबाट चेकइन गरिने भएको छ ।
    · आफ्नो व्यागेजसँगै लैजान पाइने छैन, महिलाको हृयाण्डक्यारी र ल्यापटप ब्यागबाहेक अन्य ब्याग विमान भित्रै लैजान निषेध गरिएको छ ।
    · सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
    · विमानभित्र हिँडडुल गर्न निषेध गरिएको छ ।
    · शौचालय विमानस्थलमै प्रयोग गरि जहाज चढ्नुपर्नेछ ।
    · कोभिड १९ को लक्षण देखिएको यात्रुलाई हवाई यात्रुलाई निषेध गरिएको छ ।
    · मास्क र फेससील यात्रुले यात्रा अवधिभर लगाउनु पर्नेछ ।

    विमान र कर्मचारीले कस्तो नियम पालना गर्नुपर्छ ?
    · र्‍याम्प बसमा यात्रुलाई सामाजिक दूरी कायम गराई बसाउनु पर्नेछ ।
    · ब्यागेज ट्रली, ट्रान्सपोर्ट भ्यान तथा अन्य सवारी साधन हरेक पटक प्रयोगपछि स्यानिटाइज गर्नु पर्नेछ ।
    · पटक पटक प्रयोगमा आइरहने ढोकाका हृयाडल तथा स्ट्याण्डहरु पटक पटक स्यानिटाइज गर्नुपर्छ ।
    · यात्रुलाई विमानभित्र र बाहिर लैजाँदा एक पटकमा चार जनालाई मात्र लैजानु पर्छ ।
    · यात्रुहरुलाई फेससील वितरण गर्नुपर्नेछ ।
    · हरेक उडानपछि विमानस्थललाई सरसफाई गर्नुपर्छ ।
    · सबै कर्मचारीले अनिवार्य मास्क लगाई यात्रुसँग सामाजिक दूरी कायम गरी सेवा दिनु पर्नेछ ।
    · हरेक कर्मचारीको दैनिक कार्यालय प्रवेशसँगै तापक्रम नाप गरिने भएको छ ।
    · हरेक कर्मचारीलाई सुरक्षित सेवा सम्बन्धमा नियमित तालीम तथा आवश्यक सुरक्षा सामग्री प्रदान गरिने भएको छ ।

  • आज जनकपुर आउँदै नेपाली रेल

    आज जनकपुर आउँदै नेपाली रेल

    काठमाडौं । नेपाल रेल्वेको नयाँ रेल आज जनकपुर आइपुग्ने भएको छ । नेपाल सरकारले खरिद गरेको जनकपुर–जयनगर रुटमा चल्ने रेल बिहीवार साँझ जयनगरमा आइपुगेको थियो । जयनगरमै रोकिएको यो रेल शुक्रवार मध्यान्हसम्म जनकपुर स्टेशन ल्याइसक्ने योजना रहेको छ ।

    नयाँ रेलको धेरैजसो डिब्बा प्लाष्टिकले छोपेर ल्याइएको छ । रेलको रंग भने नेपालको राष्ट्रिय झण्डा अंकित रंगले छोपिएको छ । जनकपुरमा रेलको भब्य स्वागत हुने भएको छ । सरकारले ८६ करोड मूल्यमा भारतीय कम्पनीबाट दुई सेट रेल खरिद गरेको हो । रेल शुक्रवार जनकपुर आएपनि व्यवसायिक संचालनमा भने तत्काल आउने छैन ।

    मंसिरपछि मात्र औपचारिक संचालनमा ल्याउने गरी तयारी गरिएको छ । अहिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका सिल गरिएको छ । रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा लामो समय बसेको थियो ।

    रेल्वे विभागले केही दिन अगाडि भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेसँगै रेल शुक्रबार जनकपुर आउन लागेको हो । रेलको परीक्षण भएपछि रेल्वे विभागले बुझ्नेछ। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म यो रेल चल्नेछ ।

    भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइमा पूर्वाधार बनिसकेको छ । कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर कुल ५२ किलोमिटरमा रेल चलाउने तयारी भएको छ ।

  • आधा मात्र यात्रु राखेर बिहीबारबाट चल्ने भयो चन्द्रागिरि केवलकार

    आधा मात्र यात्रु राखेर बिहीबारबाट चल्ने भयो चन्द्रागिरि केवलकार

    काठमाडौं । चन्द्रागिति केवलकार बिहीबारबाट सूचारु हुने भएको छ । यो केवलकार ६ महिनादेखि बन्द थियो । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले सबै गतिविधि बन्द गरेका कारण चन्द्रागिरि केबलकार समेत बन्द भएको हो ।

    केवलकारमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गरी केबलकार र रिसोर्ट सञ्चालनमा आउने छ ।


    यात्रुलाई सामाजिक दूरी कायम गराउन प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाइएको छ । मास्क, स्यानिटाइजर र पञ्जा अनिवार्य गरिएको छ । केबलकारमा आधा मात्र यात्रु रहने भएका छन् ।

  • ५० प्रतिशत यात्रु राखेर उडान गर्न नसक्ने एयरलाइन्स कम्पनीको अडान

    ५० प्रतिशत यात्रु राखेर उडान गर्न नसक्ने एयरलाइन्स कम्पनीको अडान

    काठमाडौं । सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान संचालन गर्न पाउने निर्णयको विरुद्धमा वायुसेवा संचालकहरु उभिएका छन् । ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्दा भाडा बढाउनु पर्ने र भाडा बढाउँदा यात्रु जहाज चढ्न आउने अवस्था नभएको भन्दै वायुसेवा संचालकहरुले यो निर्णय मान्य नहुने निर्णय गरेका हुन् ।

    बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै एयरलाइन्स कम्पनीले यस्तो निर्णय सुनाएका हुन् । सरकारले भने ५० प्रतिशत मात्र यात्रु राख्न र भाडाको माथिल्लो तहको भाडा असुल गर्न प्रस्ताव गरेको छ ।

    तर, वायुसेवा कम्पनी भने यो निर्णयमा सहमत देखिएका छैनन् । ५० प्रतिशत मात्र यात्रु राख्नुपर्ने विषयले लामो समयदेखि अवरुद्ध हवाई सेवा संचालनको वातावरण नबन्ने कम्पनीहरुको तर्क रहेको छ । यात्रुको संख्या परै राख्न पाउने शर्तमा भने कम्पनीहरुले ५ असोजबाट जहाज उडाउन तयार भएका छन् ।

  • हिमाल चढ्न बहराइनका राजकुमारसहितको टोली नेपाल प्रस्थान

    हिमाल चढ्न बहराइनका राजकुमारसहितको टोली नेपाल प्रस्थान

    काठमाडौं । सरकारले बहराइनका राजकुमार सहित १८ जनाको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको छ । उनीहरु आरोहणका लागि मंगलबार नेपाल प्रस्थान गरेका छन् । उनीहरुले नेपालमा लोबुचे र मनास्लु हिमाल आरोहण गर्दैछन् । उनीहरु मंगलबार राति नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

    बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक आरोहण टोलीमा समावेश छन् । उनीहरु शेख ईशा एयरबेसको चार्टर्ड जहाज चढेर काठमाडौं उडेका हुन् । यो टोलीले नेपालमा २ महिना बिताउने छ । यस क्रममा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन् ।

    यो आरोहण आगामी सिजनमा सगरमाथा आरोहणको तयारीका रुपमा लिइएको समेत दूतावासले जनाएको छ । उनीहरुलाई मन्त्रिपरिषद्ले अनुमति दिएको हो । नेपालमा स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड भने उनीहरुले पालना गर्नुपर्नेछ । यो टोली कोरोनापछि नेपाल आउने पहिलो विदेशी आरोही टोली हुनेछ ।

  • ५ असोजबाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने

    ५ असोजबाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने

    काठमाडौं । ५ असोजबाट लामो दुरीको यातायात सेवा र आन्तरिक हवाई उडान शुरु हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा १० चैत राती १२ बजेदेखि लामो दुरीको यातायात र हवाई यातायातमा प्रतिवन्ध लागेको छ । नजिकिएको दशैं र यात्रु तथा व्यवसायिको तिब्र दवावका बीच सरकारले यी दुबै यातायातका साधन चलाउने निर्णय गरेको हो ।

  • विदेशबाट नेपाल आउन अब माग अनुसार उडान थपिने

    विदेशबाट नेपाल आउन अब माग अनुसार उडान थपिने

    काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने चाहने नेपाली नागरिकलाई लगाएको दैनिक संख्याको कोटा हटाएको छ । अब माग अनुसार एयरलाइन्सले उडान थप्न र थप नेपालीलाई घर ल्याउने पाउने भएका छन् । यस्तो प्रावधान भने नियमित दैनिक उडान खुलेको गन्तब्यका लागि मात्र हो ।

    यसअघि सरकारले दैनिक ८ सय जना मात्रै विदेशबाट यात्रु ल्याउन पाउने गरी कोटा तोकेको थियो । तर, विदेशबाट नेपाल आउने नेपालीको संख्या अधिक भएसँगै सरकारले कोटा हटाउने निर्णय गरेको हो ।

    नयाँ नियम अनुसार दैनिक २ देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार अब सरकारले खोलेको अन्तर्राष्ट्रिय व्यवसायिक (नियमित)उडानतर्फ एयरलाइन्सले अनुमति मागेमा थप उडानको अनुमति दिनेछ ।


    भट्टराईका अनुसार उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रममन्त्रीबीचको छलफल र प्रधानमन्त्री केही शर्मा ओलीसँगको परामर्शपछि यस्तो निर्णय भएको हो । उनले हालको पीसीआर र क्वारिन्टिनसम्बन्धी नियमलाई यथावत राखेर कोटा हटाइएको जानकारी दिए ।

    त्यसबाहेक कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल ल्याउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिइने भएको छ । यता, श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था हुने भएको छ ।

  • आन्तरिक उडान खोल्ने प्रस्ताव सीसीएमसीमा, मिति अझै अन्यौल

    आन्तरिक उडान खोल्ने प्रस्ताव सीसीएमसीमा, मिति अझै अन्यौल

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडान सूचारु गर्ने तयारी थालेको छ । यसका लागि उडान संचालनको मिति १ असोज राखेर मन्त्रालयले कोभि १९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेको हो । पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार १ असोजमा सम्भव नभए १५ असोजबाट भने उडान सूचारु हुनेछन् । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै उडान खोल्न लागिएको उनले जानकारी दिए ।

    नेपालमा ११ चैतयता सबै प्रकारका उडानमा प्रतिवन्ध लागेको थियो । १६ भदौबाट अन्तर्राष्ट्रिय व्यवसायिक उडान खुलेका छन् । यो सम्भवतः दक्षिण एसियामै पहिलो भएको पर्यटनमन्त्रीको दावि छ । नेपालमा आन्तरिक उडानका लागि समेत प्रोटोकल तयार रहेका कारण पहिलो चरणमा कोभिडको संकट कम भएका जिल्लास्थित विमानस्थलबाट उडान थाल्ने तयारी मन्त्रालयले गरेको हो ।

    उनका अनुसार पहिलो चरणमा हिमाली र पहाडी भेगका विमानस्थलमा जहाज उड्नेछन् । त्यसपछि मात्र तराई भेगमा उडान शुरु गरिनेछ । तर, उडान खुले पनि कोभिडको प्रभावलाई मध्यनजर राख्दै थप निर्णयहरु हुने उनले जानकारी दिए ।

  • आजबाट उपत्यकामा सार्वजनिक सवारी साधन पनि चले

    आजबाट उपत्यकामा सार्वजनिक सवारी साधन पनि चले

    काठमाडौं । तीन साता लामो निषेधाज्ञा खुकुलो बनेको दिन आजबाट काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चल्न थालेका छन् । प्रशासनले जोर विजोर प्रणालीमा सबै प्रकारका निजी सवारी र १६ सीट भन्दा माथिका सार्वजनिक यातायात खोल्ने निर्णय बुधबार गरेको थियो ।

    सार्वजनिक यातायातमा समेत जोर विजोर प्रणाली लागु भने हुन्छ । यससँगै आजबाट सडकमा सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् । उपत्यकामा कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्न भन्दै तीन सातासम्म कडा निषेधाज्ञा जारी भएको थियो ।

    उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा बिहीबारदेखि पसल र सवारी साधन चलाउन सकिने गरी निर्णय लिएका हुन् । यसका लागि चर्को जनदवाव पनि थियो । किनकी लामो समय कामविहिन भएका गरीखाने गर्वलाई निषेधाज्ञाले समस्यामा पारेको थियो ।

    उपत्यकामा ट्याक्सी समेत चल्नेछन् । जहाँ चालकसहित ३ जना बस्न पाउने नियम बनाइएको छ । सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना मात्र गरी कुल सिट संख्याको आधाको आधा मात्र यात्रु बोक्न पाइने गरी नियम बनेको छ । मालवाहक ढुवानीका साधनमा जोरविजोर लागु हुँदैन ।

  • आन्तरिक उडानमा जहाज किन्न नेपाल एयरलाइन्सलाई पर्यटन मन्त्रीको निर्देशन

    आन्तरिक उडानमा जहाज किन्न नेपाल एयरलाइन्सलाई पर्यटन मन्त्रीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सलाई आन्तरिक उडानमा प्रयोग गर्न जहाज खरीद प्रक्रिया तत्काल थाल्न निर्देशन दिएका छन् । उनले बुधबार नेपाल एयरलाइन्सका अधिकारीसँग मन्त्रालयमा छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।

    मन्त्री योगेश भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानमा सञ्चालन गर्ने गरी जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल एयरलाइन्सलाई निर्देशन दिएका हुन् ।

    उनले नेपाल एयरलाइन्सँग अब आन्तरिक तर्फ दुईबटा मात्र टुइनअर्टर जहाज भएको र यसले माग थेग्न नसक्ने भन्दै नयाँ किन्ने प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका हुन् । उनले नेपाल एयरलाइन्सलाई पब्लिक मोडलमा लैजान उपयुक्त खाका बनाउन समेत व्यवस्थापनलाई निर्देशन दिएका छन् ।

    त्यसका लागि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी खाका बनाउने उनले निर्देशन दिए । उनले कम्पनीको स्थिति सुधारमा आ आफनो विभागबाट तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न समेत उनले निर्देशन दिएका छन् ।

    मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनैपनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारवाही गर्न कार्यकारी अध्यक्ष सुशील घिमिरेलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । उनले खर्च कटौती तथा मितव्ययिता अपनाउन, विदेशमा रहेका कर्मचारी कटौती गर्न, बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा वापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत उनले निर्देशन दिए ।

  • निजगढ विमानस्थल निर्माणका कामलाई गति दिने निर्णय

    निजगढ विमानस्थल निर्माणका कामलाई गति दिने निर्णय

    काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तर्गत निर्माण प्रक्रियालाई गति दिने निर्णय गरेको छ । आयोजनाको पूर्वतयारीको चरणमा अहिले रुख गणनाको काम भइरहेको छ । यस्तो गणना आगामी मंसिरसम्म सकाउने निर्णय भएको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मंगलबार बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकबाट यस्तो निर्णय भएको हो । सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सम्पन्न भइसकेको समितिले जनाएको छ ।

    बैठकमा आयोजनाको कार्यप्रगतिको समिक्षा गरिएको छ । मन्त्रालयका अनुसार बैठकले आगामी मंसिर मसान्तभित्र रुख तथा पोलको लगत नम्बरिङकोे काम सकाउने निर्णय गरेको छ ।

    बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि समितिको मिति २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी वस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्ने गरी निर्णय गरेको छ ।

    समिति सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई पनि थप गर्ने निर्णय भएको छ ।

    बैठकले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेड मार्फ्त रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ ।

    बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी काम आगामी सातामा समेत प्राधिकरणलाई निर्देशन दिएको छ ।

    लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्वर ३० भित्रमा परियोजना प्रस्ताब अन्तिम निर्णय लिने समेत निर्णय आजको बैठकले गरेको भट्टराईले जानकारी दिएका छन् ।

    विमानस्थलको पेरिफेरी रोड निर्माणका लागि यसअघि नै गणना भएका ४२३२ रुख कटानको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले भेरिफिकेसनको काम सकाएर एक महिना भित्र मन्त्रिपरिषद्मा लैजाने निर्णय समेत भएको मन्त्रालयले उल्लेख गरेको छ ।

  • अमेरिकाबासी थापा परिवारका लाेभैलाग्दा करेसाबारी

    अमेरिकाबासी थापा परिवारका लाेभैलाग्दा करेसाबारी

    सुपेन्द्र बस्नेत, बोष्टन

    काेराेना कहरका कारण थाङथिलो भएकाे परिवेशमा उर्जालाई चलायमान राख्ने विभिन्न उपाय हुन सकदछ । चाहे याे बिपत्ति प्राकृतिक हाेस् या कृतिम, यसले प्राणीजगतमा पुर्याएकाे प्रत्यक्ष अप्रत्यक्ष प्रभाव साँच्चै कहाली लाग्दाे छ । यद्यपि, काेराेना कहरका बीच आफ्नाे उपलब्ध फुर्सदकाे समय खेर नफाली करेसाबारीकाे स्याहारसुसारमा सदुपयाेग गरेर करेसाबारी लाेभैलाग्दाे बनाउने नेपालीहरुकाे पनि कमी रहेन । जस मध्यकाे एक कर्मयाेगी परिवार हाे – थापा परिवार । जाे बाेस्टनस्थित नेपाली समुदायका बीच चिरपरिचित छ । नेपालकाे संखुवासभाबाट हाल अमेरिकाकाे म्यासाच्युसेट्स राज्यकाे बाेस्टनमा  परिवारसहित बसाेबास गर्दै आउनु भएका राज थापाकाे करेसाबारी साँच्चै उत्प्रेरक र मनमाेहक छ । झण्डै १० बर्ष अघि परिवार सहित अमेरिका छिर्नु भएका थापाकाे करेसाबारी अघिल्ला बर्षहरुमा पनि आकर्षक नै थिए । तर यस बर्ष काेरानाका कारण घरदेखि जागिर र जागिरदेखि घरसम्म मात्र सिमित रहनु पर्दा बच्न गएकाे समय करेसाबारीका लागि सदुपयाेग गर्न पाँउदा अझ आकर्षक र फलदायी बनाउन सकिएकाे थापाकाे ठम्याई छ । नेपालमा रहँदा आर्जन गरेकाे धेरथाेर कृषि सम्बन्धी ज्ञान र सीपलाई आफ्नाे करेसाबारीमा सक्दाे सदुपयोग गरेकाे थापा बताउछन् । जुन कुरा माैलाइरहेका करेसाबारीका तरकारीहरुका दृष्यले पनि सहजै पुष्टि गर्दछन् ।

    कामबाट थाकेर आएकाे तन र काेराेनाका कारण बिरक्तिएकाे मनले केरेसाबारीमा छिर्ने बित्तिकै अत्यन्तै स्फुर्ति र आनन्दानुभूति गर्दछ

    झट्ट सुन्दा सामान्य बिषय जस्ताे लागे पनि डलर फल्ने ठाँऊ भनि चिनिने अमेरिकाकाे सन्दर्भमा भने यस प्रकारकाे तरकारी फलाई निकै महत्वपूर्ण, कदरयाेग्य र प्रेरणादायी कार्य हाे । लटरम्मै फलेका बाेडी, खुर्सानी, घिराैला, फर्सी, आलु, चिप्लीभेण्डी, भन्टा, गाेलभेडा, हरिया साग लगायत अर्ग्यानिक तरकारी रहेकाे करेसाबारी अवलाेकन गर्दा , याे अमेरिका नभएर नेपालकै एउटा मेहनति सफल किसानकाे करेसाबारी हाे भन्ने भान हुन्छ। अमेरिकामा महिनाै अघिदेखि टिपेर चिसाेमा भण्डारण गरिएका तरकारी खाएर छाक टार्न विवश जीवनशैलीमा आफ्नै करेसाबारीबाट ताजा र स्वस्थ्य  तरकारी तत्काल टिपेर भान्सा मिठाे र रमाईलाे  बनाउन पाँउनु त अमेरिकाबासी नेपालीका लागि अहाेभाग्य नै हाे । त्यति मात्र कहाँ हाे र, आर्थिक हिसाबले पनि करेसाबारीले तरकारीमा हुने ठुलाे खर्चमा निकै कटाैति गराइरहेकाे जिकिर गर्नु हुन्छ  – थापा । उहा भन्नु हुन्छ “करेसाबारीका कारण तरकारी किन्नमा हुने ठुलाे खर्च जाेगिएकाे छ।” त्यसकाे अलावा महत्वपूर्ण र अमु्ल्य कुरा, कामबाट थाकेर आएकाे तन र काेराेनाका कारण बिरक्तिएकाे मनले केरेसाबारीमा छिर्ने बित्तिकै अत्यन्तै स्फुर्ति र आनन्दानुभूति गर्दछ ‘ । उसाे त मनकारी मनका धनि थापा परिवार , करेसाबारीमा तरकारी हुँदा र माैका पाउँदा छिमेकी र पाहुनाहरुकाे भान्सा पनि स्वादिष्ट र रमाइलाे बनाइदिन चुक्दैन । लामाे समयदेखि ग्रेटर बाेष्टन नेपाली समुदायमा आबद्ध भई हाल महासचिवकाे जिम्मेवारी सम्हालिरहनु भएका थापा बताउनु हुन्छ; ” ब्यापारिक हिसाबले नभई रहरले ठाँऊ पाउदा जानेकाे सीपकाे सदुपयाेग गर्न सुरु गरेका हाैं तर गर्दै जादा लगभग तरकारीमा आत्मनिर्भरतिर उन्मुख हुदै गएका छाैं । याे हाम्रालागि निकै खुशीकाे कुरा हाे । र, यस्तै चाहनेहरुका लागि पनि प्रेरणाकाे कुराे हाे” ।

    थापा परिवारको तरकारी उत्पादन

    हिजाेआज हरसम्भव हरेक दिन कामबाट फर्किएपछि करेसाबारी डुल्ने उहाँकाे दैनिकी नै बनेकाे छ । तुलनात्मक रुपमा मुख्यगरी करेसाबारी डुल्नु आफ्नाे रहर भएकाे तर रेखदेख र स्याहारसुसारकाे मुख्य जिम्मेवारी आफ्नी जीवनसंगिनी रिना थापाले निर्वाह गर्दै आउनु भएकाले यसकाे मुख्य श्रेय पनि उहाँलाई नै दिन रुचाउनु हुन्छ – थापा । श्रीमतीकाे महत्वपूर्ण याेगदानकाे प्रतिफलप्रति गर्व गर्दै उहाँ भन्नु हुन्छ ‘यत्तिकाे लाेभैलाग्दाे र कदरयाेग्य परिणाम आउनुमा मुख्य श्रेय श्रीमतीलाई नै जान्छ” । त्यसाे त हाेस्टेमा हैसे गर्नेमा उहाँका दुई छाेराहरु पनि चुकेका छैनन् । आइपर्दा आवश्यक सहयाेग गर्दै छाेराहरुले आमा बुबाकाे पछिपछि लागेर पुर्खौली कृषि कर्मकाे अमुल्य ब्यवहारिक शिक्षा लिइरका छन् भन्नु हुन्छ – थापा ।बास्तवमा अमेरिकामा कृषिकाे अमुल्य सैद्धान्तिक ज्ञान र ब्यवहारिक सीप पाउन करेसाबारीले महत्वपूर्ण भुमिका खेल्दछ भन्नेमा दुई मत छैन । अर्काे कुरा नेपाली तन, नेपाली मन र नेपालीपनकाे याेग प्रतिबिम्बित हुने करेसाबारीले प्रत्यक्ष रुपमा आर्थिक क्षेत्रमा पुर्याउने याेगदान उल्लेखनीय नदेखिए पनि अप्रत्यक्ष रुपमा नेपालीपन, पहिचान र  बिशेषताहरुकाे संरक्षण र संबर्धनमा महत्वपूर्ण याेगदान पुर्याउनेमा कुनै शंका छैन । 

    अझ महत्वपूर्ण अर्काे पाटाे याे छ कि , अर्ग्यानिक तरकारी खानाले स्वास्थ्यमा पुर्याउने याेगदान र करेसाबारीमा तन डुलाएर मन भुलाउँदा पाउने आनन्द साच्चै अमुल्य र अद्भुत हुन्छ नै । यी र यस्तै कारणहरुले गर्दा पछिल्ला दिनहरुमा अमेरिकामा रहेका आम नेपालीहरु जसाेतसाे गरी घर जाेड्ने र घर जाेडिसकेपछि धेरथाेर करेसाबारी बनाउने रहर नेपालीकाे बिशेषता र पहिचान नै बन्दै गइरहेकाे छ ।

  • महामारीपछि पहिलो हिमाल आरोहण अनुमति जारी

    महामारीपछि पहिलो हिमाल आरोहण अनुमति जारी

    काठमाडौं । कोरोना भाइरसको महामारीपछि पहिलो पटक हिमाल आरोहण अनुमति जारी भएको छ । यसलाई पर्यटनसँग सम्बन्धित सरोकारवालाले सुखद शुरुवातका रुपमा समेत लिएका छन् । गत चैतयता पर्यटनका सबै अवयवहरु शुन्य व्यापारमा छन् । सोहीकारण नेपालको यूनिक प्रडक्ट पर्वतारोहण र पदयात्राले छिटो पर्यटनलाई रिभाइभ गर्न सक्ने विश्वास लिइएको छ ।

    सरकारले शरद ऋतुका लागि पर्यटकीय गतिविधि खुला गरेको छ । पर्यटन विभागले ६ जनाको नेपाली टोलीलाई बरून्चे हिमाल (७१२९ मिटर) आरोहणको अनुमति जारी गरेको छ । टोलीलाई पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले शुक्रबार आरोहण अनुमति हस्तान्तरण गरेका छन् ।

    सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई हिमाल आरोहण गर्न नेपाल आउने अनुमति दिएको छ । यो टोलीले आरोहण अनुमति भने लिइसकेको छैन । शुक्रबार अनुमति लिएको ६ जनाको टोलीको नेतृत्व दावा स्टेभन शेर्पाले गर्नेछ ।

    पर्यटन विभागका अनुसार अब हिमाल आरोहण गर्न जान चाहने नेपाली वा विदेशी नागरिकले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गरी आरोहणमा जान सक्छन् । त्यसका लागि विभाग स्वयमले सहजीकरण समेत गर्नेछ ।

  • विदेशी एयरलाइन्सले नेपाल एयरलाइन्सको भन्दा महंगो भाडा लिन नपाउने

    विदेशी एयरलाइन्सले नेपाल एयरलाइन्सको भन्दा महंगो भाडा लिन नपाउने

    काठमाडौं । अहिले विदेशबाट फर्कने नेपालीलाई लक्षित गरी सरकारले अन्तर्राष्ट्रिय नियमित उडान खुला गरेको छ । तर, यही मौकाको फाइदा उठाउन वायुसेवा कम्पनीले मंहगो शूल्कमा टिकट बिक्रि गरिरहेका छन् ।

    यसै सन्दर्भमा पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाईन्सको उडान भएको रुटमा निगमले तय गरेको भाडादर भन्दा महंगोमा यात्रु ल्याउने गरी विदेशी एयरलाइन्सलाई अनुमति नदिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

    पर्यटनमन्त्री योगेश भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीबाट अनियन्त्रित रुपमा कालोबजारी भएको गुनासो आएमा एयरलाइन्सबाटै नियन्त्रण हुनुपर्ने भन्दै यसको अनुगमन तथा सहजीकरण गर्न विदेशी कुटनीतिक नियोग, गैर आवासिय नेपाली संघसँग एनआरएन)सँग सहयोग लिइने उल्लेख गरेका छन् ।

    आज मन्त्रालयमा बसेको बैठकमा हवाई भाडादरमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल नगर्नरनगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय समेत भएको छ ।

    नियमित उडानमा बजेट एयरले अन्य एयरलाइन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने, चार्टर उडानको सम्न्धमा पर्यटन मन्त्रालयले यसअघि तोकेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय समेत गरेको छ ।

    उता, २५ अगष्टमा १६१ जना यात्रु लिएर काठमाडौं आएको एयर अरेवियाले पीसीआर नेगेटिभ भएका सबै यात्रुको होटेल क्वारेन्टिन वापतको रकम तिर्नुपर्ने निर्णय बैठकले गरेको छ । सरकारले एउटै उडानबाट पिसिआर नेगेटिभ आएका र परीक्षण नगरेका यात्रु ल्याउन प्रतिवन्ध लगाएको छ ।

    तर, एयर अरेवियाले भने सारजहाबाट आउँदा १४२ जना पीसीआर गरेको, १८ जना आरडिटी गरेको र एकजना केही पनि नगरेको यात्रु ल्याएको थियो । मन्त्री भट्टराईले रकम फिर्ता नगरे कारवाही गर्न समेत निर्देशन दिएका छन् ।

  • बहराइनका राजकुमारको टोलीलाई नेपालमा हिमाल आरोहणको अनुमति

    बहराइनका राजकुमारको टोलीलाई नेपालमा हिमाल आरोहणको अनुमति

    काठमाडौं । सरकारले लकडाउनपछि पहिलो पटक हिमाल आरोहणको अनुमति दिएको छ । सरकारले बहराइनका राजकुमार सहितको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको हो । उनीहरु चार्टर्ड जहाजबाट काठमाडौं आउनेछन् ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी १५ सेप्टेम्बरपछि लागू हुने गरी पहिलो आरोहण अनुमति दिने निर्णय गरेको हो । सरकारले बहराइनका राजकुमारसहितको १५ जनाको टोली र ३ जना बेलायती नागरिकलाई नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिएको अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

    यसरी आउने टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । सरकारले शरद ऋतुमा पर्यटकीय गतिविधि संचालनमा ल्याउने निर्णय यसअघि गरेको थियो ।

  • लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौभरी नखुल्ने

    लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौभरी नखुल्ने

    काठमाडौं । नेपालमा लामो दुरीको सार्वजनिक यातायात र आन्तरिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्बिएको छ । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो ।

    आइतबार बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर, कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित गरिएको थियो । तर, संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै सरकारले अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान प्रतिवन्ध कायमै राख्ने निर्णय लिएको हो ।

    विद्यालय र कलेजसहितका शैक्षिक संस्था समेत भदौ मसान्तसम्म बन्द नै रहनेछन् । अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु शुँदैछ । सरकारले दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको छ ।

    आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर रायले यो संख्या बढाउनु पर्ने प्रस्ताव गरेका थिए । यसमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । अब कुनै कम्पनीले पीसीआर टेष्ट, होटल क्वारेन्टिनसहित सबै खर्च व्यहोर्ने गरी नेपाली कामदारलाई नेपाल पठाउन चाहेमा ५ सय भन्दा बढी समेत नेपालीलाई काठमाडौं ल्याउन पाइनेछ ।

  • तीन मुलुकसँग हवाई सम्झौता गर्ने सरकारको तयारी

    तीन मुलुकसँग हवाई सम्झौता गर्ने सरकारको तयारी

    काठमाडौं । काठमाडौं नेपालले थप तीन मुलुकसँग हवाई सम्झौताको तयारी गरेको छ । रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग नियमित उडानको बाटो खोल्न सरकारले हवाई सम्झौताको तयारी गरेको हो ।

    अहिले नेपालले ४० मुलुकसँग हवाई सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्ने प्रक्रियालाई गति दिने निर्णय गरेको हो ।

    साथै बैठकले १६ भदौपछि हुने नेपालीहरुको स्वदेश फिर्ती अभियानलाई सहज बनाउन एक समिति समेत गठन गरेको छ । उडानको अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ ।

    समितिमा विभागका निर्देशक सुरेन्द्र थापा,नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन ।

    बैठकले नियमित उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९को महामारी पूर्व नियमित अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिन तर्फ सवै वायुृसेवा निगमहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीलाई सचेत गराउने निर्णय समेत गरेको छ ।

    समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हान लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रकृयासँग जोडिएको गुनासो ब्यवस्थापन गर्ने कार्यादेश तोकिएका छन् ।

    बैठकले हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेको छ ।

    बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको कार्ययोजनामा समावेश गरिएका माइलस्टोनलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

  • विदेशबाट आउँदा पिसिआर नेगेटिभ भएका नेपाली काठमाडौंबाट सिधै घर जान पाउने

    विदेशबाट आउँदा पिसिआर नेगेटिभ भएका नेपाली काठमाडौंबाट सिधै घर जान पाउने

    काठमाडौं । सरकारले सेप्टेबर महिनाका लागि नियमित तथा चार्टर्ड उडानको तालीका तय गरेको छ । त्यसअनुसार नेपाल आउन पाउने र नपाउने शर्तसमेत तोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अब विदेशबाट फर्कदा कम्तिमा ७२ घण्टायताको पिसिआर नेगेटिभ आएको प्रमाण यात्रुले एयरलाइन्सलाई दिनु पर्नेछ । त्यसो नभएसम हवाईजहाज चढ्न पाइने छैन । तर जुन मुलुकमा पिसिआर गर्न सहज छैन । ती मुलुकमा भने सरकारले चार्टर्ड जहाज पठाउनेछ । उनीहरुलाई काठमाडौं ल्याएर होटेल क्वारेन्टिनमा राखिनेछ ।

    तर, पिसिआर नेगेटिभ प्रमाण देखाएपछि भने एउटा यात्रा विवरण देखिने फारम भरेपछि विमानस्थलबाट सिधै घर जान सकिने भएको छ । सरकारले तोकेको शर्त अनुसार होटेल क्वारेन्टिनको खर्च भने यात्रु स्वयमले बेहोर्नुपर्नेछ । तर, सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट उद्धार गरेर ल्याएका नेपालीको खर्च भने सरकारले स्वयमले बेहोर्नेछ । यसको सूचि भने सम्बन्धित मुलुकका दूतावासले गर्नेछन् ।

    अब १ सेप्टेम्बर भरी गर्ने उडानका आधारमा त्यसपछिको उडान तय हुने पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । अहिले दैनिक अधिकतम ५ सय जना मात्र यात्रुलाई काठमाडौं ल्याउने गरी अनुमति दिइएको छ । त्यसअनुसार टर्कीस एयर र कतार एयरवेजले अधिकतम १ सय जना मात्र बोक्ने गरी अनुमति पाएका छन् ।पहिलो चरणमा नेपाली नागरिक, कुटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारी र विकास साझेदारी संघसंस्थाका कर्मचारीलाई मात्र नेपाल आउने अनुमति मिल्नेछ । गैरआवासीय नेपाली र पर्यटक भने अहिले आउन पाउने छैनन् ।

  • यस्तो छ भदौ १६ गतेदेखि हुने नियमित र चार्टर उडानको तालिका

    यस्तो छ भदौ १६ गतेदेखि हुने नियमित र चार्टर उडानको तालिका

    काठमाडौं । सरकारले यही भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान गर्ने भएको छ ।

    संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित हवाई उडानको लागि स्वदेशी एवं विदेशी विमान कम्पनीलाई अनुमती दिएको हो ।

    मन्त्रालयले भदौं १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृतगरेसँगै विमान कम्पनीहरुले अनुमति पाएका हुन् ।

    नियमित उडानका लागि मन्त्रालयले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित कतार एयरवेज, कोरियन एयर, टर्किस्, फ्लाइ दुबई, मालिन्दो, चाईना साउर्थन, एयर अरेविया, मलेसियन एयरलाइन्स, एयर चाइना, क्याथवे ड्रागनको तालिका स्वीकृत गरेको हो ।

    मन्त्रालयले नियमित उडान तालिका स्वीकृत गरेका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स बाहेकका विदेशी विमान कम्पनीलाई भने चार्टर उडानको अनुमती दिएको छैन ।

    चार्टर उडानको तालिका स्वीकृत हुने विदेशी विमान कम्पनीहरुमा जजिरा र सलाम एयर मात्रै छन् । हवाईजहाजबाट ल्याइने यात्रुको अनिवार्य पीसीआर परीक्षण र नेपाल फर्किएपछि सात दिन होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।

    पीसीआर परीक्षण सहज भएका देशमा मात्र पहिलो चरणमा अन्तर्राष्ट्रिय उडान हुनेछ । पीसीआर सहज हुने मुलुक बाहेकमा भने नेपालीलाई घर फर्काउने प्रयोजनका लागि साविकमा जस्तै चार्टर्ड उडान मात्र हुनेछ ।

    पहिलो चरणमा अमेरिका, यूरोप, चीन, थाइल्याण्ड, हंगकंग, मलेसियासहितका देशबाट नेपाल आउने पाइने छ ।

    यसरी आउन पाउने सूचिमा नेपाली नागरिक, विदेशी कुटनीतिक नियोगका कर्मचारी तथा पदाधिकारी र विकास साझेदार संघसंस्थाका प्रतिनिधिलाई मात्र अनुमति मिल्नेछ । विदेशी नागरिकले भने तत्काल नेपाल प्रवेशको अनुमति नपाउने भएका छन् ।

    पिसिआर परीक्षण हुन सम्भव नभएका साउदी अरव, कुवेत, कतारलगायत मुलुकबाट आउने नागरिकलाई नेपाल ल्याउनै पर्ने भए चार्टर्ड जहाज जानेछन् । अब नेपाल आउने सबै अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।

    हवाई टिकट काट्दाकै समयमा होटेलको पैसासमेत असुल गरिनेछ । वायुसेवा कम्पनीले होटेललाई पैसा दिनेछन् । होटेलमा बस्दाको खर्च आफै तिर्नुपर्ने छ ।

    अब जहाजले पीसीआर टेष्ट गरेका र नगरेका यात्रुलाई एउटै जहाजबाट ल्याउन पाउने छैनन् । ल्याएमा सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने भएको छ ।

    सरकारले त्यसरी काठमाडौं आउँदा जहाज चढ्नु ७२ घण्टा अगाडिको कोभिड रिपोर्ट चाहिने व्यवस्था पनि गरिएको छ ।

  • मंगलबारबाट फेरी विदेशका नेपाली घर फर्कन पाउने

    मंगलबारबाट फेरी विदेशका नेपाली घर फर्कन पाउने

    काठमाडौं । मंगलबारबाट नेपालीको उद्धारको काम फेरी शुरु हुने भएको छ । नेपालमा होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै सीसीएमसीले नेपालमा यात्रु ल्याउन रोकेको थियो । तर, सरकारले पनः उडान थाल्ने निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाको जहाज नेपाल आउँदैछ ।

    बुधबार इत्तिहाद एयर आवुधाबी र फ्लाई दुबई दुबईबाट काठमाडौं आउने गरी तालिका तय भएको छ । बिहीबार नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले दमामबाट यात्रु बोकेर काठमाडौं आउने गरी तालिका तय भएको मन्त्रालयले जनाएको छ । यूरोप र अमेरिकामा रोकिएका नेपालीलाई ल्याएर बिहीबार टर्किस एयर आउनेछ । तर, टर्कीस र कतारले बढीमा १ सय जना मात्र यात्रुलाई काठमाडौं ल्याउनेछन् ।

    अब पिसिआर रिर्पोट नभएका यात्रुलाई काठमाडौं ल्याउन पाउने छैन । तर, पिसिआर सम्भव नहुने देशबाट आएका यात्रुलाई भने होटेल क्वारेन्टिनमा राखिनेछ । एयरलाइन्सले अनुमति बीना पिसिआर नभएका यात्रु ल्याएमा होटेलमा लागेको खर्च स्वयमः एयरलाइन्सले बेहोर्नु पर्नेछ ।

    वायुसेवा कम्पनीले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको सहकार्यमा मात्र यात्रु ल्याउन पाउने छन् । नेपाल आइसकेपछि यात्रु ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्ने गरी प्रावधान बनेको छ ।

  • भदौ १६ बाट हुने भयो नियमित उडान, पहिलो चरणमा कुन कुन देश खुला ?

    भदौ १६ बाट हुने भयो नियमित उडान, पहिलो चरणमा कुन कुन देश खुला ?

    काठमाडौं । १६ भदौबाट अन्तर्राष्ट्रिय हवाई उडान नियमित हुने भएको छ । सरकारले शर्तसहित उडान खोल्ने निर्णय गरेको हो । पीसीआर परीक्षण सहज भएका देशमा मात्र पहिलो चरणमा अन्तर्राष्ट्रिय उडान हुनेछ । पिसिआर सहज हुने मुलुक बाहेकमा भने नेपालीलाई घर फर्काउने प्रयोजनका लागि साविकमा जस्तै चार्टर्ड उडान मात्र हुने भएको छ ।

    पहिलो चरणमा अमेरिका, यूरोप, चीन, थाइल्याण्ड, हङकङ, मलेसियासहितका देशबाट नेपाल आउने पाइने छ । यसरी आउन पाउने सूचिमा नेपाली नागरिक, विदेशी कुटनीतिक नियोगका कर्मचारी तथा पदाधिकारी र विकास साझेदार संघसंस्थाका प्रतिनिधिलाई मात्र अनुमति मिल्नेछ । विदेशी नागरिकले भने तत्काल नेपाल प्रवेशको अनुमति नपाउने भएका छन् ।

    पिसिआर परीक्षण हुन सम्भव नभएका साउदी अरव, कुवेत, कतारलगायत मुलुकबाट आउने नागरिकलाई नेपाल ल्याउनै पर्ने भए चार्टर्ड जहाज जानेछन् । यसरी जहाज चढेर आउने सबैको साथमा पछिल्लो २४ घण्टा यता गरेको पिसिआर र त्यसको नतिजा नेगेटिभ आएको प्रमाणपत्र हुनुपर्छ । अब नेपाल आउने सबै अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।

    हवाई टिकट काट्दाकै समयमा होटेलको पैसासमेत असुल गरिनेछ । वायुसेवा कम्पनीले होटेललाई पैसा दिनेछन् । होटेलमा बस्दाको खर्च आफै तिर्नुपर्ने छ । अब जहाजले पीसीआर टेष्ट गरेका र नगरेका यात्रुलाई एउटै जहाजबाट ल्याउन पाउने छैनन् । ल्याएमा सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने भएको छ ।

  • विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने

    विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने

    काठमाडौं । अब विदेशबाट नेपाल आउने नेपालीले कम्तिमा ७ दिन होटेल क्वारेन्टिनमा बस्नै पर्ने भएको छ । त्यो पनि आफ्नै खर्चमा । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने निर्णय गर्दै त्यसका लागि टिकटसँगै होटेल बुकिंग समेत अनिवार्य गर्ने निर्णय गरेको हो । स्थानीय तहमा क्वारेन्टिनको व्यवस्थापन गर्न नसकेपछि अब सरकारले आफ्नै खर्चमा होटेलमा बस्ने गरी नेपालीलाई घर फर्काउन लागेको हो ।

    १८ सय रुपैयाँदेखि १० हजारप्रति दिन मूल्य भएका होटेलका कोठा क्वारेन्टिनका रुपमा उपलब्ध छन् । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण गर्दै यस्तो शर्त राखेको हो । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्ने भएको छ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।

    विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा उडान मात्र हुनेछन् । क्वारेन्टिनबाट घर जाने क्रममा भने सबैको पिसिआर परीक्षण हुनेछ । त्यसक्रममा नेगेटिभ देखिएका व्यक्ति मात्र घर जान पाउनेछन् । यसअघि सोमबार कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान रोकेको थियो ।

    जसले गर्दा नेपाल आउन पालो कुरिरहेका हजारौं नागरिक विदेशमै अलपत्र परेका छन् । सरकारले स्थलमार्गबाट छिरेका नागरिकले समेत अनिवार्य होटेल क्वारेन्टिनमा आफ्नै खर्चमा बस्नुपर्ने निर्णय गरेको छ । सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको हो ।

  • निषेधाज्ञामा विदेश जानेलाई अवरोध नहुने

    निषेधाज्ञामा विदेश जानेलाई अवरोध नहुने

    काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएको छ । अत्यावश्यक काम नपरेसम्म आजबाट एक साता बाहिर जान पाइने छैन । यदी विदेश जाने टिकट छ भने समेत प्रहरीले बाटोमा रोक्ने छैन । टिकट, पासपोर्ट देखाएमा प्रहरीले सजिलै छाडिदिनेछ । अत्यावश्यक काम र हवाई उडानबाट विदेश जानेलाई विमानस्थलमा जान दिने निर्णय सरकारले गरेको हो ।

    आवश्यक परेमा प्रहरीले पासापोर्ट भिसा र टिकट जाँच भने गर्नेछन् । उडान हुनेहरु आफ्नो समयमा सिधै विमानस्थल जाने सवारी साधन प्रयोग गर्न सक्ने भएका छन् । आजबाट शुरु भएको निषेधाज्ञामा अतिआवश्यक काम बाहेक निस्केमा प्रहरीले कारवाही गर्नेछ । स्वास्थ्य संकट र महामारी नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाएको हो ।

  • विदेशबाट हुने उद्धार उडान फेरी रोकियो

    विदेशबाट हुने उद्धार उडान फेरी रोकियो

    काठमाडौं । सरकारले विदेशबाट हुने उद्धार उडान रोकेको छ । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्रका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण बढेको, नेपालका अधिकांश स्थानमा निषेधित क्षेत्र घोषित गरेको र होटेल क्वारेन्टिनका लागि समेत व्यवस्थापन हुन नसकेपछि तत्कालका लागि विदेशबाट हुने उद्धार उडान रोकिएको हो ।

    अब होटेल क्वारेन्टिनको सुनिश्चितता भएपछि मात्र उद्धार उडान सूचारु गर्ने गरी तत्कालका लागि उडान रोक्ने निर्णय भएको केन्द्रले उल्लेख गरेको छ । सोहीअनुसार यसअघि तय भएका सबै उडान रोकिएको नेपाल एयरलाइन्सले जनाएको छ ।

  • आगामी १५ दिनमा थप ४३ उद्धार उडान हुँदै, यूरोप र अमेरिकाबाट टर्किस एयरले ल्याउने

    आगामी १५ दिनमा थप ४३ उद्धार उडान हुँदै, यूरोप र अमेरिकाबाट टर्किस एयरले ल्याउने

    काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारको क्रममा सोमबारबाट पाँचौ चरणको उद्धार उडान शुरु हुँदैछ । यस क्रममा आगामी १५ दिनमा थप ४३ उडानको तालीका तय भएको छ । सोमबारबाट अगष्ट ३१ तारीखसम्म ४३ उडानको तयारी गरिएको छ । यस अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले १७ र हिमालय एयरलाइन्सले १५ वटा उडानको अनुमति पाएको छ ।

    विदेशी एयरलाइन्सबाट ११ वटा उडान गर्दैछन् । यूरोप र अमेरिकामा रहेका नेपालीलाई इस्तानबुलबाट टर्कीस एयरलाइन्सले नेपाल ल्याउनेछ । दक्षिण कोरियाबाट कोरियन एयरले नेपालीलाई घर फर्काउने छ । सिल्क एयरले भने अष्टे्रलियाबाट नेपालीलाई काठमाडौं ल्याउने गरी तालिका तय भएको छ । नेपाल एयरलाइन्सले जापानबाट नेपालीलाई घर ल्याउने गरी तालिका तय भएको छ । सरकारले १६ भदौबाट भने व्यवसायिक उडानको मिति तोकेको छ ।

    यस्तो छ उडान तालीका
    मिति                  नेपाल एयरलाइन्स     हिमालय एयरलाइन्स           विदेशी एयरलाइन्स
    १ भदौ               दुबई (यूएई)              क्वालालाम्पुर                                 फ्लाइ दुबइ (यूएई)
    २ भदौ              दोहा (कतार)            दोहा (कतार)                               टर्किस एयरलाइन्स (इस्तानबुल)
    ३ भदौ              क्लावालाम्पुर (२)       क्वालालाम्पुर
    ४ भदौ              जेद्दा (साउदी )           दमाम (साउदी)                           फ्लाइ दुबई (यूएई)
    ५ भदौ              दुबई                          क्वालालाम्पुर                                मालिन्दो एयर (मलेसिया)
    ६ भदौ             कुवेत                          कुवेत                                          जजिरा एयरवेज (कुवेत)
    ७ भदौ            दमाम (साउदी)            दमाम
    ८ भदौ            दोहा                            दोहा                                             कोरियन एयर (दक्षिण कोरिया)
    ९ भदौ             दुबई                          आवुधावी                                       एयर अरेविया, सारजहाँ (यूएइ)
    १० भदौ           रियाद                         दमाम                                            कतार एयरवेज
    ११ भदौ           दुबई                          अबुधावी                                         इत्तिहाद एयर, आवुधाबी (यूएई)
    १२ भदौ           रियाद                        दमाम
    १३ भदौ           दुबई                         अवुधावी                                           सिल्क एयर (अष्ट्रेलिया)
    १४ भदौ         दोहा १, जापान १         दोहा
    १५ भदौ         दुबई                          अबुधावी                                          एयर अरेबिया (सारजहा) यूएई

  • अब जिल्ला बाहिर जाने पास नपाइने

    अब जिल्ला बाहिर जाने पास नपाइने

    काठमाडौं । सरकारले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी जारी गरेको पास रद्द गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले मानिसको आवतजावतमा पुनः कडाई गर्न लागेको हो । अब एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास नपाइने गृह मन्त्रालयले स्पष्ट पारेको छ । यो नियम बिहीबारदेखि लागू हुनेछ ।

    गृह मन्त्रालयले पास वितरण बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो । कोरोना संक्रमण फैलिन सक्ने खतरालाइ मध्यनजर गर्दै केही दिनलाई सवारी पास पूर्ण रूपमा बन्द गर्न मन्त्रालयले पत्राचार गरेको जनाएको छ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमित र यसको कारण ज्यान गुमाउनेका संख्यामा निरन्तर वृद्धि भइरहेको छ ।

    बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ छ । कोरोनालाई जित्नेको संख्या १६ हजार ७२८ छ । ९२ जनाको ज्यान गइसकेको छ ।

  • अन्तर जिल्ला सार्वजनिक यातायात र हवाई सेवा भदौ १६ बाट खुल्ने

    अन्तर जिल्ला सार्वजनिक यातायात र हवाई सेवा भदौ १६ बाट खुल्ने

    काठमाडौं । सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडानमाथिको प्रतिवन्ध थप १५ दिने लब्याउने निर्णय गरेको छ । अब यी सेवा भदौ १६ बाट मात्र संचालनमा आउनेछन् । यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले १ भदौबाट यी सेवा थाल्ने निर्णय गरेको थियो । तर, कोरोना भाइरसले महामारीको रुप लिने देखिएपछि पुनः प्रतिवन्ध लम्ब्याइएको हो ।

    मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको छ ।

    अब अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि पर सरेको हो । अब खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य पनि भदौ १५ सम्म स्थगित भएका छन् । सरकारले भारतबाट आउने नेपालीका लागि तोकिएका प्रवेश बिन्दु २० बाट १० मा झारेको छ । अब सीमाना पूर्ण सिल हुनेछ ।

  • तत्काल नखुल्ने भयो हवाई र लामो दूरीको यातायात

    तत्काल नखुल्ने भयो हवाई र लामो दूरीको यातायात

    काठमाडौं । नेपालमा तत्काल हवाई र लामो दूरीको यातायात सेवा संचालनमा नआउने भएको छ । अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखोल्न कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठक बसेर यसलाई औपचारिकता दिनेछ ।

    सिसिएमसीको आइतबार बसेको बैठकले १५ दिनका लागि यी सेवा स्थगित गर्न प्रस्ताव गरेको हो । यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

    तर, यसबीचमा पछिल्लो समय कोरोनाको ग्राफ बढेको छ । यसले सरकारलाई झस्काएको छ । बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो अनुसार काम गराउन समेत प्रस्ताव गरेको छ ।

  • केरला हवाई दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो

    केरला हवाई दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो

    काठमाडौं । भारतको केरलामा भएको हवाई दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या १७ पुगेको छ । दुई पाइलटसहित १७ जनाको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । दुबईबाट आएको एयर इन्डिया एक्स्प्रेसको जहाज धावनमार्गमा अवतरणका क्रममा दूर्घटनामा परेको थियो । क्याबिन क्रुका चार जना सदस्य भने सकुशल रहे ।

    जहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको छ अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो । भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना भयो र विमान दुई टुक्रा संचारमाध्यमले जनाएका छन् ।

    हवाईजहाजमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । त्यसमध्ये १० जना बच्चा थिए । दुर्घटनामा घाइते भएका १२३ जना यात्रुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुमध्ये पनि २० जना घाइते गम्भीर रहेको बताइएको छ । विभिन्न कारणले दुबई पुगेका यात्रु भारत फर्केका थिए । सोही जहाज दुर्घटनामा परेको हो । केरला पछिल्लो केही दिनयता प्राकृतिक विपत्तिको अवस्थामा समेत छ । शुक्रबार मात्र यहाँ पहिरोले १५ जनाको मृत्यु भएको थियो ।

  • गैरआवासीय नेपालीले पनि तत्काल अनअराइभल भिसा नपाउने

    गैरआवासीय नेपालीले पनि तत्काल अनअराइभल भिसा नपाउने

    काठमाडौं । सरकारले तत्काल विदेशी नागरिक र गैरआवासीय नेपालीलाई समेत अनअराइभल भिसा नदिने भएको छ । बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त छलफलमा यस्तो सहमति भएको हो । बढ्दो कोरोना संक्रमणका बीच सरकारले १ भदौबाट व्यवसायिक हवाई उडान सुरु गर्ने निर्णय गरेको छ ।

    त्यसपछि नेपाल आउन चाहने नेपालीले स्वास्थ्य प्रोटोकल पुरा गरेपछि नेपाल आउन सक्छन् । तर, विदेशी नागरिक र गैरआवासीय नेपालीले भने नेपाली दूतावासमै पुगेर भिसा लिनुपर्छ । यद्दपी भिसा कसरी दिने, के के मापदण्ड पुरा गर्ने भन्ने सम्बन्धमा भने नेपाल सरकार अझै निष्कर्षमा पुग्न सकेको छैन ।

    बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त छलफलमा अनअराइभल भिसा भने नदिने सहमति जुटेको बताइएको छ । अब स्वास्थ्य मन्त्रालयले विदेशी तथा स्वदेशी नागरिकलाई कसरी आउने दिने र कति दिन क्वारेन्टिनमा राख्ने भन्ने सम्बन्धमा सुझाव दिनेछ । सोही सुझावका आधारमा पर्यटन र परराष्ट्र मन्त्रालयले थप निर्णय लिनेछन् ।

    सरकारले १ भदौबाट राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई उडान संचालनको निर्णय गरेको थियो । तर, पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमणका कारण उडान अन्यौलमा परेको हो ।