Category: विश्व

  • चीन र भारतमा बढ्दो कोरोना संक्रमणका बीच पुनः जोखिममा नेपाल

    चीन र भारतमा बढ्दो कोरोना संक्रमणका बीच पुनः जोखिममा नेपाल

    काठमाडौं । चीनको आर्थिक केन्द्र मानिने शाङ्घाईमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको चीनले पुष्टी गरेको छ
    । बीबीसीका अनुसार यो शहरमा कोभिड नियन्त्रण गर्न केही सातादेखि लकडाउन जारी छ । सहरको स्वास्थ्य आयोगले प्रकाशित गरेको एउटा विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्ध छन् । उनीहरूमा जटिल समस्या देखिएको थियो । तीनै जनाले कोभिडविरुद्ध खोप भने नलगाएको पाइएको छ । उक्त सहरमा सोमवार थप २२,२४८ जनामा कोभिड भेटिएको छ । मार्चयता चीन सरकारले कोभिडसँग सम्बन्धित कारणले बिरामीको मृत्यु भएको पहिलो पटक स्वीकार गरेको हो।


    उता, भारतमा पछिल्लो २४ घण्टामा भारतमा २,१८३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएकोमा २१४ जनाको मृत्यु भएको आंकडा सार्वजनिक भएको छ । पछिल्लो २४ घण्टामा भारतमा २६१,४४० कोभिड परीक्षण गरिएको थियो । यसले चीन र भारतमा कोरोनाको बढ्दो संक्रमण र त्यसले विष्फोटक रुप लिएको देखिएको हो । यस्तो आंकडाका बीच नेपाल पुनः एक पटक जोखिममा पर्ने भएको छ । किनकी नेपालले पर्यटक आकर्षित गर्ने उद्देश्यले कोभिड विरद्धका धेरै प्रोटोकल सामान्य बनाइसकेृको छ । नेपालमा दैनिक परीक्षणको मात्रा समेत घटेको छ ।

  • युक्रेनमा रुसले थाल्यो पुनः ठूलो आक्रमण

    युक्रेनमा रुसले थाल्यो पुनः ठूलो आक्रमण

    काठमाडौं । रुसले युक्रेनमाथि पुनः युद्ध शुरु गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको ठूलो स्तरको हमला थालेको पुष्टि गरेका छन्। बीबीसीका अनुसार उनले टेलिभिजनमार्फत्‌ एउटा सम्बोधन गर्दै डोन्बासका लागि युद्ध शुरू भएको बताएका हुन्। डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले बताएका छन्। रुसले जतिसुकै सेना ल्याए पनि युक्रेन लडिरहने उनको भनाई छ । रुसले आक्रमणहरू तीव्र पारिरहेका विवरणबीच युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ आएको हो।

    डोन्बास क्षेत्रको एउटा हिस्साको रूपमा रहेको लुहान्स्कका गभर्नरले केही शहरहरूमा लगातार भइरहेका आक्रमणबीच स्थिति नर्क जस्तै भएको बताएका छन्। जेलेन्स्कीका प्रमुख सहयोगीले डोन्बासमाथि थालिएको आक्रमणले दोस्रो चरणको युद्धको शुरूवात गरेको बताएका छन्। यसअघि युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्‌का सचिवले डोन्बास, लुहान्स्क र खार्किभ क्षेत्रका लगभग सबै अग्रपङ्क्तिलाई तोड्न रुसी फौजले प्रयत्न गरेको बताएका थिए। सोमवार युक्रेनका विभिन्न शहरमा रुसी फौजका बमबारीमा परी नौजना मारिएका थिए।

    रुसले सैन्य बन्दोबस्ती केन्द्रमाथि हमला गरेको बताएको छ। यसैबीच युक्रेनका अधिकारीहरूले घेराबन्दीमा परेको बन्दरगाह शहर मारिऊपोलस्थित एउटा स्टील प्लान्टमा बाँकी रहेका युक्रेनी फौजमाथि रुसले तथाकथित बङ्कर विध्वंसक बमहरूको प्रयोग गरिरहेको आरोप लगाएका छन्। नगर परिषद्‌का अनुसार भूमिगत आश्रयस्थलहरूमा एक हजार सर्वसाधारणले शरण लिइरहेका छन्।

    मारिऊपोलमा बाँकी रहेको युक्रेनी सेनाको अन्तिम जत्थाका प्रमुखले सर्वसाधारण तथा घाइते सैनिकलाई निस्कनका लागि सुरक्षित मार्ग दिन एउटा भिडिओमार्फत् अपील गरेका छन्। फसेका मानिसहरूलाई बाहिरिन दिने विषयमा युक्रेनी र रुसी फौजबीच दुई दिनदेखि सहमति हुन सकिरहेको छैन।

  • काला सागरमा रुसको प्रमुख युद्धपोत ध्वस्त, चालकदलका सदस्यको उद्धार

    काला सागरमा रुसको प्रमुख युद्धपोत ध्वस्त, चालकदलका सदस्यको उद्धार

    काठमाडौं । काला सागरमा रुसको युद्धपोत ध्वस्त भएको छ। युक्रेनको ओडिसाको क्षेत्रीय प्रशासनका अनुसार युक्रेनले प्रहार गरेको मिसाइलबाट उक्त युद्धपोत ध्वस्त भएको हो।

    रुसको रक्षा मन्त्रालयले पनि युद्धपोतमा ठूलो क्षति पुगेको बताए पनि युक्रेनको मिसाइलले उक्त क्षति पुगेको भने बताएको छैन।

    रुसका अनुसार युद्धपोतमा आगालागीको कारण क्षति पुगेको हो। आगलागीपछि युद्धपोतमा रहेका चालकदलका सदस्यलाई उद्धार गरिएको रुसले बताएको छ।

    रुसले युद्धपोतमा आगलागीको कारण पत्ता लगाउने प्रयास भइरहेको उल्लेख गरेको छ। काला सागरमा रुसले तैनाथ गरेको मोस्क्भा युद्धपोत युक्रेनमा आक्रमणको लागि प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

  • श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा

    श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा

    काठमाडौं । चरम आर्थिक संकट सामना गरिरहेको दक्षिण एशियाली मुलुक श्रीलंकाले ५१ अर्ब डलर विदेशी ऋण तिर्न नसक्ने घोषणा गरेको छ ।

    मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अन्तरिम अवधिका लागि विदेशी ऋण तिर्न नसक्ने जानकारी दिएको हो ।महिनौंको विदेशी मुद्रा संकट र आर्थिक उथलपुथलपछि अन्तिम उपाय स्वरुप सबै विदेशी ऋण ‘डिफल्ट’ गर्ने निर्णयमा पुगेको श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर पी. नन्दलाल वीरासिंघेले जानकारी गराएका छन् ।

    मंगलबारदेखि ऋणदाताहरु कुनै पनि ब्याज भुक्तानी पूँजीकरण गर्न वा श्रीलंकाली रुपैयाँमा भुक्तानीको विकल्प रोज्न स्वतन्त्र रहेको श्रीलंकाको अर्थमन्त्रालयले बताएको छ । आर्थिक स्थिति थप खस्किन नदिन अन्तिम उपायका लागि मात्र यो आपतकालीन कदम चालिएको विज्ञप्तिमा उल्लेख छ ।

    श्रीलंकाले हाल ठूलो मात्रामा आयात रोक्नुका साथै विदेशी मुद्रा सिञ्चिती जोगाउने उपाय खोजिरहेको जनाएको छ । अर्थशास्त्रीहरूले भने सरकारको व्यवस्थापकीय क्षमता कमजोर हुँदा यस्तो अवस्था उत्पन्न भएको टिप्पणी गरेका छन् । एजेन्सी

  • पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित

    पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित

    काठमाडौं । पाकिस्तानको प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरिफ निर्वाचित भएका छन्।

    सोमबार पाकिस्तानी संसद्ले नयाँ प्रधानमन्त्रीमा शरिफलाई निर्वाचित गरेको हो। उनी पाकिस्तान पिपल्स पार्टी (पीपीपी) को लगायत साना दलको समर्थनमा पाकिस्तानका २३औं प्रधानमन्त्री बनेका हुन्।

    संसद्मा भएको मतदानमा उनको पक्षमा १७४ सांसदले मत दिएका थिए। ३४२ सदस्यीय पाकिस्तानी संसद्मा बहुमतका लागि १७२ सांसद आवश्यक पर्छ।

    नयाँ प्रधानमन्त्री निर्वाचित हुँदा पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई)ले संसद् बहिष्कार गरेको छ। प्रधानमन्त्रीको मनोनयन दर्ता गरेका पीटीआईका नेता महमूद कुरैसीले सांसदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

    पूर्व प्रधानमन्त्री खानले शनिबार संसद्मा विश्वासको मत गुमाएका थिए। उनी विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित भएको थियो।

    चार वर्षअघि भएको निर्वाचनमा खानको पार्टी १३३ सिट जितेको थियो। खानले अन्य साना दलसँग मिलेर सरकार गठन गरेका थिए। तर, अहिले साना दल समर्थन फिर्ता लिएपछि उनी सत्ताबाट बाहिरिएका थिए।

  • युक्रेनी राष्ट्रपति भेट्न पुगेका बेलायती प्रधानमन्त्री पूर्वघोषणाबिना किएभका सडकमा निस्किएपछि…

    युक्रेनी राष्ट्रपति भेट्न पुगेका बेलायती प्रधानमन्त्री पूर्वघोषणाबिना किएभका सडकमा निस्किएपछि…

    काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किएभको भ्रमण गरेका छन्।

    बिबिसीका अनुसार युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न जोन्सन शनिबार अचानक किएभ पुगेका थिए।

    गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको रूसले मार्च २९ मा किएभनजिकै रहेका आफ्ना सेना हटाएको थियो। रूसी आक्रमण अहिले पूर्वी युक्रेनतिर केन्द्रीत भएको छ।

    पूर्वघोषणाबिना किएभ पुगेका जोनसनले जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। उनले रूसी आक्रमणविरूद्ध जेलेन्स्कीको नेतृत्व र युक्रेनी जनताले देखाएको बहादुरीको प्रशंसा गर्दै बेलायतले थप सैन्य सहायता दिने घोषणा गरेका छन्।

    बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति जेलेन्स्कीले किएभका सडकमा घुमाएको थिए। दायाँबायाँ हतियारधारी सैनिकहरूका बीच जोन्सन र जेलेन्स्की किएभका सडकमा हिँडेका थिए। त्यो क्रममा जोन्सनले केही सर्वसाधारणसँग पनि कुरा गरेको भिडिओमा देखिन्छ।

    बेलायती प्रधानमन्त्री औपचारिक पोशाकमा थिए भने जेलेन्स्की ट्रयाकसुटमा देखिन्थे। रूसी आक्रमणपछि जेलेन्स्की सार्वजनिक ठाउँमा औपचारिक पोशाकबिनै उपस्थित हुन्छन्। प्रायस् भिडिओमा उनले टिसर्टमात्र लगाएको देखिन्छ।

    जोन्सन किएभ पुग्नु अघिल्लो दिन युरोपियन आयोगकी अध्यक्ष उर्सला भोन डेर लेयनले पनि किएभको भ्रमण गरेकी थिइन्।

  • इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री

    इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री

    काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका हुन् ।

    खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बनेका छन् । विपक्षी दलहरूले उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि गएराति मतदान भएको थियो ।

    संसदमा रहेका ३ सय ४२ सदस्यमध्ये प्रस्तावको पक्षमा एक सय ७४ सदस्यले मत दिएका छन् । जुन बहुमतका रुपमा रहेको छ । संसदमा मतदान हुनुअघि प्रधानमन्त्री खानले आफूलाई हटाउन षड्यन्त्र भएको दाबी गर्दै विपक्षी सरकारलाई मान्यता नदिने चेतावनी दिएका थिए । अब भोलि बस्ने संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनेछ ।

    पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री खानले गरेको संसद् विघटनलाई असंवैधानिक ठहर गरेको थियो । प्रधानमन्त्री खानको पार्टी (पीटीआई) ले पनि खानविरुद्ध अन्तर्राष्ट्रिय षड्यन्त्र भएको टिप्पणी गरेको छ । तर विपक्षी नेता शहबाज शरीफले पाकिस्तान गम्भीर सङ्कटबाट मुक्त भएको प्रतिक्रिया दिएका छन् ।

    पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन) का नेता शहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको रूपमा चर्चा गरिएको छ । बढ्दो मुद्रा स्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण खान नेतृत्वको सरकारको आलोचना हुँदै आएको थियो ।

  • बुचामा भन्दा बढी नरसंहार बोरोदियाङ्कामा : जेलेन्स्की

    बुचामा भन्दा बढी नरसंहार बोरोदियाङ्कामा : जेलेन्स्की

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेसबुकमार्फत गरेको पछिल्लो सम्बोधनका क्रममा बोरोदियाङ्का सहरमा भएको क्षति नजिकैको अर्को सहर बुचा भन्दा निकै धेरै भयानक रहेको बताएका छन्। उनले ध्वस्त सहरमा सेना परिचालन गरिसकिएको जानकारी दिए। बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राजधानी किएभबाट बोल्दै उनले भने, ‘रुसी सेनाबाट पीडित भएका झन् धेरै मानिस त्यहाँ छन्।’

    युक्रेनकी मुख्य अभियोजनकर्ताका अनुसार बोरोदियाङ्कामा ध्वस्त भएको एक अपार्टमेन्टमा २६ वटा शव फेला परेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गर्दै इरीना भेनेडिक्टोभाले मस्कोमाथि जानाजान सर्वसाधारणहरू बसोबास गर्ने क्षेत्रलाई निसाना बनाएको आरोप लगाइन्। उनका अनुसार आक्रमण भएको क्षेत्रमा सैन्य पूर्वाधार छैन। रुसी सेनाले साँझको बेला आवासीय भवनहरूमा आक्रमण गरेका थिए जति बेला तुलनात्मक रूपमा धेरै मानिस घरमा हुन्छन् ।

    हालसालै जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला ३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको आरोप लगाएका थिए। युक्रेनी राष्ट्रपतिले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिए। उनले हाल आफूहरूसँग बुचामा मात्रै ३०० भन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको बताउँदै पुरै सहरमा अनुसन्धान गरिँदा पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने बताएका थिए।


    अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनबाट प्राप्त पछिल्लो विवरणबारे टिप्पणी गर्दै रुसको निन्दा गरेका छन्। यसैबीच स्काइ न्यूजसँगको अन्तर्वार्ताका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले युक्रेनमाथिको आक्रमणलाई एउटा गम्भीर कारबाहीको संज्ञा दिएका छन्। उनले रुसतर्फ कति क्षति भयो भन्ने कुराको सङ्ख्या खुलाएनन् । हालसम्म मस्कोले १,३५० जनाको मृत्यु भएको पुष्टि गरेको छ जुन युक्रेन र उसका सहयोगी राष्ट्रले भन्ने गरेको भन्दा निकै कम हो।
    बीबीसी

  • पाकिस्तानमा संसद विघटन गर्ने इमरान खानको निर्णय उल्टियो, अब विश्वासको मतको सामना गर्नुपर्ने

    पाकिस्तानमा संसद विघटन गर्ने इमरान खानको निर्णय उल्टियो, अब विश्वासको मतको सामना गर्नुपर्ने

    इश्लामावाद । पाकिस्तानमा संसद (नेश्नल एसेम्ब्ली) त्यहाँको सर्वोच्च अदालतबाट पुनस्र्थापना भएको छ । प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोटिङ गराउन समेत अदालतले आदेश गरेको छ । उपसभामुख कासिम सुरीको अविश्वास प्रस्ताव खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए ।

    तर सर्वोच्च अदालतलका प्रधानन्यायाधीश उमर अता बान्दियाल नेतृत्वको पाँचसदस्यीय बेञ्चले अविश्वास प्रस्ताव खारेज गर्ने उपसभामुख कासिम सुरीको निर्णयलाई असंवैधानिक ठहर गरेको छ । प्रधानमन्त्री खानले संसद भंग गर्न राष्ट्रपतिलाई सिफारिस गर्न नसक्ने ठहर गर्दै संसद पुनर्स्थापना गरेको छ । साथै ९ अप्रिलमा अधिवेशन बोलाउन र अविश्वास प्रस्तावमाथि भोटिङ गराउन भनेको छ । अदालतको यो फैसला प्रधानमन्त्री इमरानका लागि ठूलो झड्का हो । विपक्षी नेताहरुले भने अदालतको फैसलाको स्वागत गरेका छन् । विपक्षी नेता मौलाना फजलुर्रहमानले जनताको जीत भएको बताएका छन् ।

  • बेलायत, अमेरिका र अष्ट्रेलियाले संयुक्त रुपमा हाइपरसोनिक क्षेस्यास्त्र बनाउने

    बेलायत, अमेरिका र अष्ट्रेलियाले संयुक्त रुपमा हाइपरसोनिक क्षेस्यास्त्र बनाउने

    बेलायत, अमेरिका र अस्ट्रेलियाले आफ्नो रक्षा प्रणाली सुदृढ गर्न हाइपरसोनिक अस्त्रको अनुसन्धान अघि बढाउन लागेको बताएका छन् । बेलायत सरकारलाई उदृत गर्दै बीबस्ीले लेखे अनुसार तीन देशले गत वर्ष घोषणा गरेको ओकस सुरक्षा साझेदारी अन्तर्गत यो योजना अघि सारिएको हो। चीन र रुसले हाइपरसोनिक क्षेप्यास्त्रको निर्माण गरेपछि पश्चिमा देशहरूको गठबन्धन पनि यो अस्त्र बनाउने तयारीमा जुटेका हुन् । रुसले गत महिना युक्रेन आक्रमणमा यस्तो अस्त्रको प्रयोग समेत गरेको थियो।

    हाइपरसोनिक अस्त्रको गति आवाजको वेग भन्दा पाँच गुणा तीव्र हुन्छ। तीव्र गति र कम उचाइबाट उड्ने भएकाले जमिनका राडारबाट यस्ता हाइपरसोनिक क्षेप्यास्त्र पहिचान गर्न, रोक्न वा बीच उडानमै नष्ट गर्न समेत कठिन हुन्छ। अमेरिका र अस्ट्रेलियाले भने यस्तो हतियार निर्माणका लागि संयुक्त परियोजना सञ्चालन गरिरहेका छन्। यूकेले नयाँ सहकार्य रक्षा क्षेत्रमा केन्द्रित हुने जनाएको छ। यूकेले आफ्नै हाइपरसोनिक हतियार बनाउने योजना नरहे पनि नयाँ कार्यक्रमले आफूलाई यस्तो हतियार बनाउन आवश्यक परेको अवस्थामा पहुँच स्थापित गर्न सहयोग पुग्ने जनाएको छ।

    युक्रेनमा यस्तो अस्त्र प्रयोग गर्ने रुसको कदमबाट पछिल्लो घोषणा नजोडिएको प्रस्ट्याउँदै यूकेले अरू देशहरूले यस्तो हतियारमा लगानी गरिरहेका कारण त्यसको प्रतिरक्षाका लागि आफ्नो देशले पनि सोच्ने समय आएको बताएको छ। रुसले मार्च १९ मा युक्रेनको एउटा हतियार भण्डार नष्ट गर्न हाइपरसोनिक क्षेप्यास्त्रको प्रयोग गरेको दाबी गरिएको थियो। अमेरिकी सैन्य गुप्तचर निकायले रुसी फौजहरूले त्यसयता निरन्तर यस्तो हतियार प्रयोग गरेको दाबी गरेको छ।

    यो आक्रमणलाई सैन्य कारबाहीमा पहिलो पटक हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरेको घटनाको रूपमा हेरिएको छ। यो घटनाको केही महिनाअघि चीनले दुई वटा आणविक हतियारयुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकी गुप्तचरहरूले बताएका थिए। दुवै क्षेप्यास्त्रले जमिनको सतहभन्दा कम उचाइबाट पृथ्वीलाई फन्को मारेका थिए। दोस्रो क्षेप्यास्त्र निर्धारित लक्ष्यमा नपुगे पनि करिब ४० किलोमिटर नजिकसम्म पुगेको थियो।

  • युक्रेन-रुस युद्धपछि जेलेन्स्कीले पहिलो पटक गरे संयुक्त राष्ट्रसंघमा सम्बोधन

    युक्रेन-रुस युद्धपछि जेलेन्स्कीले पहिलो पटक गरे संयुक्त राष्ट्रसंघमा सम्बोधन

    काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्‌बाट अलग गरिनुपर्ने माग गरेका छन्। आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेयता पहिलोपटक राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा उनी बोल्दै थिए। उता, रुसी फौजहरूले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपहरू बाहिर आएपछि संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्कोविरुद्ध थप प्रतिबन्धहरू घोषणाको तयारी गरेका छन्।

    ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्थाहरू, क्रेम्लिनका अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताइन्। वाल स्ट्रिट जर्नलका अनुसार वासिङ्टनले रुसको सबैभन्दा ठूलो ब्याङ्कमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ। युरोपेली राजदूतहरूले बुधवार प्रतिबन्धहरूको पाँचौँ किस्ता घोषणा गर्दैछन् जसमा कोइलाको आपूर्तिमा रोक लगाउने र रुसको स्वामित्तव र सञ्चालनमा रहेका पानीजहाजहरूलाई इयुभित्रका बन्दरगाहको प्रयोग गर्न नदिने सहितका कदम छन्।

    यसअघि भिडिओ लिङ्कबाट राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा सम्बोधन गरेका जेलेन्स्कीले आफ्नो देशमा हमला गरेका फौजहरूले गरेका भनिएका अत्याचारहरूको विस्तृत विवरण उपलब्ध गराएका थिए। देशको उत्तरी भागबाट रुसी फौज फिर्ता भएपछि त्यसबारे जानकारी आएको उनले उल्लेख गरे। उनले युक्रेनी भूभाग कब्जा गरेका फौजहरूले ुमनोरञ्जन लिनका लागि मात्र समेतु मानिसहरूको हत्या गरेको र तिनीहरूलाई यताना दिएको जनाए। जेलेन्स्कीले एउटा ग्राफिक्स भिडिओ पनि प्रस्तुत गरेका थिए जसमा मृत युक्रेनीहरू देखाइएको थियो।

    (बीबीसी)

  • बुचा शहरमा रुसी सेनाले नरसंहार गरेको युक्रेनको दावी, यातना दिएर ३ सय मानिसको हत्या

    बुचा शहरमा रुसी सेनाले नरसंहार गरेको युक्रेनको दावी, यातना दिएर ३ सय मानिसको हत्या

    काठमाडौं (बीबीसी) । किएभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला ३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको आरोप लगाएका छन्। सम्बोधनका क्रममा जेलेन्स्कीले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिए।

    उनले हाल आफूहरूसँग बुचामा मात्रै ३०० भन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको बताउँदै पुरै सहरमा अनुसन्धान गरिदाँ पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने बताए। किएभ सहितका क्षेत्रका जिल्लाहरूमा रुसी सेनाले पकड स्थापित गरेका बेला स्थानीयबासीहरूले ८० वर्ष अघि नाजीहरूले कब्जा गर्दा समेत नदेखेका काम रुसी सेनाले गरेको उनले बताए।

    जेलेन्स्कीले रुसी सेनाले बुचा सहित अन्य सहरहरू कब्जा गरेको बेला गरेका अपराधहरूको पूर्ण र पारदर्शी अनुसन्धान गर्न आफ्नो सरकार इच्छुक रहेको पनि बताएका छन्। बुचा सहित किएभ नजिक रहेका अन्य स्थानहरूको भ्रमण पश्चात् जेलेन्स्कीले रुसी सेनाले सहरहरू ध्वस्त पारेको, अपहरण गरेको, यातना दिएको अनि सर्वसाधारणहरूलाई मारेको प्रशस्त प्रमाण फेला परेको बताएका छन्।

    जेलेन्स्कीले आफ्नो सरकारले त्यस्तो कार्यमा संलग्न रुसी सेनाको पहिचान गर्ने सबै खाले प्रयास गरिरहेको बताउँदै रुसी सेनाबाट पीडित सर्वसाधारणहरूको सङ्ख्या अन्य स्थानमा अझ धेरै हुनसक्ने सूचना रहेको चेतावनी दिए। युक्रेनमा रुसी सेनाले गरेको भनिएको अत्याचारका थप प्रमाणहरू फेला परिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले त्यसको निन्दा गरेका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन माथि युद्ध अपराध बारे अनुसन्धान गरिनुपर्ने बताए।

    युक्रेनको राजधानी किएभ नजिकै रहेको बुचा नगरमा भएको घटनालाई बाइडनले निकृष्ट अपराधको संज्ञा दिए। रुसी सेना उक्त सहरबाट फर्किएसँगै त्यहाँ दर्जनौँ सर्वसाधारणको शव र धेरै मानिसको चिहान फेला परेको बताइएको छ। बीबीसीका एक जना संवाददाता बुचास्थित एउटा घरको भुइँतल्लामा पुगेका थिए जहाँ हात बाँधिएको अवस्थामा पाँच जना सर्वसाधारणको शव फेला परेको थियो।

    संयुक्त राष्ट्र सङ्घका लागि मस्कोका राजदूतले भने बुचामा भएका घटनाहरूबारे पश्चिमा राष्ट्रहरूले झुट बोलेको देखाउने तथ्यपरक प्रमाणहरू आफ्नो देशले राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा प्रस्तुत गर्ने बताएका छन्। न्यूयोर्कमा भएको पत्रकार सम्मेलनमा उनले युक्रेनमाथि बनावटी प्रमाणहरू तयार पारेको बताए। साथै आफ्नै देशका मानिस विरुद्ध ुफल्स फ्ल्यागु आक्रमण अर्थात् विपक्षीलाई आरोप लगाउने उद्देश्य सहित अघि बढाइएको राजनीतिक वा सैन्य कारबाही चलाएको आरोप उनले लगाएका छन्

  • नेपालका लागि भारतीय राजदुत क्वात्रा विदेश सचिव बने

    नेपालका लागि भारतीय राजदुत क्वात्रा विदेश सचिव बने

    काठमाडौं । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा सो मुलुकको विदेश सचिव नियुक्त भएका छन् । भारत सरकारले सोमबार क्वात्रालाइ विदेश सचिव नियुक्त गरेको जानकारी गराएको छ । क्वात्रा यसअघि फ्रान्सको राजदूत समेत थिए । उनी भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका अनुभवी कुटनीतिज्ञ हुन् ।

    उनले भारतीय प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा समेत काम गरेका छन् । भारतका अहिलेका विदेश सचिव हर्षवद्र्धन शृंगलाले अवकास पाउने भएपछि क्वात्राले यो जिम्मेवारी पाएका हुन् । क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए । भारतले नेपालमा महत्वपूर्ण व्यक्तिलाई राजदूत बनाउने गरेको छ ।

  • आर्थिक संकटकाबीच श्रीलंकामा सर्वदलीय सरकार, अर्थ र विदेशसहित मन्त्रीले लिए सपथ

    आर्थिक संकटकाबीच श्रीलंकामा सर्वदलीय सरकार, अर्थ र विदेशसहित मन्त्रीले लिए सपथ


    काठमाडौं । आर्थिक संकटका बीच श्रीलंकामा सर्वदलीय सरकार गठन हुने भएको छ । राष्ट्रपति गोताबाया राजापाक्षेले सरकार गठनका लागि सबै दललाई आमन्त्रण गरेका छन् । गोताबाया राजापाक्षेले सबै दललाई मन्त्रालयमा सहभागी भई मुलुकको संकटको समाधान खोज्न आग्रह गरेका छन् ।

    श्रीलंकामा हिंसा अवस्था बढ्दै जान थालेसँगै मन्त्रिपरिषदले सामुहिक रूपमा आइतबार राति नै राजीनामा दिएको थियो। तर, प्रधानमन्त्री महिन्दा राजापेक्षले राजीनामा दिएका छैनन् ।

    उनले अहिलेको संकट आर्थिक र विश्वव्यापी कारणले उत्पन्न भएको बताएका छन् । भावी पुस्ता र राष्ट्रको हितका लागि हामी सबै मिलेर काम गर्न जरुरी रहेको उनको जिकिर छ । उनले सरकारमा मन्त्री पदका लागि सबै दलका प्रतिनिधिलाई बोलाएका छन् ।

    श्रीलंकाका विपक्षी नेता सजिथ प्रेमदासाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहयोगको अपिल गरेका छन् । उनले भनेका छन्, “सकेसम्म सहयोग गर्नुहोस् । यो हाम्रो मातृभूमि हो। हामीलाई बचाउन मद्दत गर्नुहोस्।”

    श्रीलंकामा आपतकालिन अवस्था र मन्त्रिपरिषद्को सामूहिक राजीनामापछि सोमबार चार नयाँ मन्त्रीहरूले सपथ लिएका छन्। यसमा अर्थमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्म पर्छन् ।

    अली साबरीले राष्ट्रपति गोताबाया राजापाक्षे समक्ष अर्थमन्त्रीको सपथ लिएका थिए । उनलाई बसिल राजपाक्षेको स्थानमा मन्त्रिपरिषद्मा समावेश गरिएको थियो। जीएल पेरिस नयाँ विदेशमन्त्री हुनेछन्। दिनेश गुणवर्द्धनेलाई शिक्षा मन्त्री बनाइएको छ भने जोन्सन फर्नान्डोले राजमार्ग मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

  • चरम आर्थिक संकट र जनप्रदर्शनबीच श्रीलंकामा २६ मन्त्रिले दिए सामूहिक राजीनामा

    चरम आर्थिक संकट र जनप्रदर्शनबीच श्रीलंकामा २६ मन्त्रिले दिए सामूहिक राजीनामा

    कोलम्बो (बीबीसी) । दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन्। मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन्। यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए।

    श्रीलङ्का सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ। यो आंशिक रूपमा विदेशी मुद्राको अभावले गर्दा भएको हो, जुन इन्धन आयातको भुक्तान गर्नका लागि प्रयोग गरिन्छ। लगभग आधा दिन लोडसेडिङ, खाद्यान्न, औषधि अनि इन्धनको अभावका कारण सर्वसाधारणहरू क्रुद्ध भएका छन्। श्रीलङ्काका शिक्षामन्त्रीले आइतवार मन्त्रीपरिषद् सदस्यहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताए।

    राजीनामा गर्नेमा प्रधानमन्त्रीका छोरा पनि छन्। खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन चर्किएपछि श्रीलङ्कामा सरकारले ३६ घण्टाका लागि कर्फ्यु घोषणा गरेको थियो। त्यसको अघिल्लो दिन राष्ट्रपति गोटाबय राजपक्षको निवास नजिकै झडप भएको थियो। उनको कोलम्बोस्थित निवासबाहिर विरोध प्रदर्शन शान्तिपूर्ण रूपमै सुरु भएको थियो। तर प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि तथा मानिसहरूलाई कुटपिट गर्न थालेपछि प्रदर्शन हिंसात्मक भएको सहभागीहरूको भनाइ छ।

    भिडन्तमा कम्तीमा दुई दर्जन सुरक्षाकर्मी घाइते भएको एक अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन्। श्रीलङ्कामा मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा रोक लगाइएको छ। त्यहाँ केही समयका लागि सामाजिक सञ्जालको पहुँचमा अवरोध गरिएको थियो। अहिलेको विरोध प्रदर्शनका कारण राष्ट्रपति राजपक्षको लोकप्रियता घटेको छ। सन् २०१९ मा भएको निर्वाचनमा उनी अत्यधिक मतसहित विजयी भएका थिए। उनले देशमा स्थिरता र शासन गर्न सबल नेतृत्व दिने वाचा गरेका थिए।

  • क्यालिफोर्नियामा गोली चल्यो, कम्तिमा ६ को मृत्यु-१२ घाइते

    क्यालिफोर्नियामा गोली चल्यो, कम्तिमा ६ को मृत्यु-१२ घाइते

    क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा कम्तिमा ६ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले पुष्टी गरेका छन् । घटनामा १२ जना घाइते भएका छन् । क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेष्टुरेन्ट र बारहरु रहेको व्यस्त इलाकामा स्थानीय समय अनुसार आइतबार बिहान गोली चलेको हो । गोली चलेपछि प्रहरीले जवाफी कारबाही गरेको समाचारमा उल्लेख छ ।

    घटनामा संलग्नको पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
    अमेरिका बैधानिक हतियार राख्न पाउने मुलुक हो । तर, यस प्रांवधानका कारण यहाँ वर्षेनी ४० हजार भन्दा बढी मानिसको ज्यान जाने गरेको तथ्यांक रहेको छ । जसमा आफ्नै हतियार प्रयोग गरि आत्महत्या गर्नेसको संख्या समेत जोडिन्छ । पछिल्लो समय हतियारको वैधानिकतालाई लिएर यहाँ बहस समेत प्रारम्भ भएको छ ।

  • पाकिस्तानी प्रधानमन्त्री इमरानले गरे संसद भंग गर्न सिफारिस, देश चुनावतर्फ

    पाकिस्तानी प्रधानमन्त्री इमरानले गरे संसद भंग गर्न सिफारिस, देश चुनावतर्फ

    काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको छ।

    संसदका उपसभामुख क्वासिम खान सुरीले संविधानको धारा ५ विपरीत रहेको भन्दै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।

    संसदको आइतबारको बैठकको अध्यक्षता गरेको उपसभामुख सुरीले अविश्वास प्रस्ताव नै संविधानविपरीत रहेको जिकिर गर्दै खारेज गरेका हुन्।

    विपक्षी दलले सभामुख असद कैसरविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि आइतबारको बैठकको अध्यक्षता उपसभामुखले गरेका हुन्।

    त्यसपछि इमरान खानले देशलाई सम्बोधन गर्दै राष्ट्रपतिसँग संसद भंग गर्दै ९० दिनभित्र चुनावको सिफारिस गरेका छन्।

    नेशनल एसेम्बलीमा विपक्षीको अविश्वास प्रस्ताव खारेज भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशलाई सम्बोधन गर्दै मध्यावधि चुनावको तयारी गर्न भनेका छन्। उनले संसद भंग गर्न गरिएको सिफारिस राष्ट्रपतिकहाँ पठाएका छन्।

  • पाकिस्तानमा रोचक राजनीतिक, इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज

    पाकिस्तानमा रोचक राजनीतिक, इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज

    काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको छ।

    संसदका उपसभामुख क्वासिम खान सुरीले संविधानको धारा ५ विपरीत रहेको भन्दै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।

    संसदको आइतबारको बैठकको अध्यक्षता गरेको उपसभामुख सुरीले अविश्वास प्रस्ताव नै संविधानविपरीत रहेको जिकिर गर्दै खारेज गरेका हुन्।

    विपक्षी दलले सभामुख असद कैसरविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि आइतबारको बैठकको अध्यक्षता उपसभामुखले गरेका हुन्।

    प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित गर्नेमा ढुक्क देखिएका विपक्षी दलका सांसद संसद भवन पुगेका थिए। तर उपसभामुखको कदमसँगै खानलाई सत्ताच्युत गर्ने उनीहरुको प्रयास तत्कालका लागि असफल भएको छ।

    अविश्वास प्रस्ताव पारित हुन कम्तीमा १७२ सांसदको समर्थन चाहिन्थ्यो। तर मतदानअघि नै उपसभामुखले खारेज गरेका हुन्।

  • प्रधानमन्त्री देउवाले मोदी समक्ष उठाए सीमा विवादको सवाल

    प्रधानमन्त्री देउवाले मोदी समक्ष उठाए सीमा विवादको सवाल

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे सवाल उठाएका छन् । उनले भेटमा सीमा समस्याबारे छलफल भएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा शनिबार भेटवार्ता भएको थियो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ । लगत्तै आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।’

    प्रधानमन्त्री देउवाले नेपालका लागि भारतसँगको सम्बन्ध महत्वपूर्ण रहेको भन्दै भारतले पछिल्लो समय हासिल गर्को व्यापक आर्थिक रुपान्तरणको फाइदा लिन नेपाल आतुर रहेको बताए । भारतसँग चाँदनी र दोधरामा एकीकृत भन्सार जाँच चौकी तथा सुख्खा बन्दरगाह बनाउने र नेपालगञ्जको एकीकृत भन्सार जाँच चौकी पूरा गर्ने विषयमा कुराकानी भएको पनि उनले उल्लेख गरे । प्रधानमन्त्री देउवाले मोदीसँगको कुराकानीमा महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट एयर इन्ट्री रुट माग गरेको पनि बताए ।

    त्यस्तै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन सहज बनाउन पनि भारतलाई आग्रह गरेको देउवाले बताए । प्रधानमन्त्री देउवाले नेपालको विद्युत उत्पादन र निर्यातका लागि दुई देशबीचको ऊर्जा निर्यातमा दुई देशबीच उच्चस्तरको सहकार्य आवश्यक भएको बताएका छन् । उनले द्विपक्षीय छलफलमा ऊर्जा निर्यात सहकार्यलाई महत्व दिएको पनि बताए । दुईपक्षीय छलफलमा जलविद्युत उत्पादन प्रशारण र अन्तरदेशीय व्यापारका लागि समझदारी भएको पनि बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको विजुली किन्न आग्रह पनि गरेका छन् ।

  • युक्रेनबारे पुटिनलाई सत्य कुरा नबताइएको अमेरिकी जाजुसहरुको भनाई

    युक्रेनबारे पुटिनलाई सत्य कुरा नबताइएको अमेरिकी जाजुसहरुको भनाई

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन्। बीबीसीका अनुसार कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने चिन्ता पश्चिमा अधिकारीहरूले गरेका छन्।

    रुसको युक्रेन अतिक्रमण सुरु भएको पाँच साता वित्दै गर्दा त्यहाँ मस्कोका सेनाले विभिन्न अवरोध सामना गर्नुमा पुटिनलाई युद्धमैदानको वास्तविकता नबताइनु पनि कारण रहेको ब्रिटिस तथा अमेरिकी जासुसी निकायले जनाएका छन्। ह्वाइट हाउसले भनेको छ यही कारण पुटिन र उनका सैन्य जर्नेलहरूबीच तनाव बढेको छ।

    वरिष्ठ सल्लाहकारहरूले रुसी नेतालाई युद्धमैदानमा सेनाको खराब प्रदर्शनबारे बताउन डराएका छन्। पुटिनले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धको यकिन परिणामबारे समेत पूर्ण रूपमा नबुझेको ह्वाइट हाउसकी प्रवक्ताले बताइन्। अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले यो अवस्थाको परिणाम युद्ध अन्त्य गराउने वार्ता प्रयासमा पर्न सक्ने बताए।

    आफ्नै सेना र आफ्नै युद्धबारे सम्पूर्ण जानकारी नहुनु भनेको असहज परिस्थिति भएको उनले बताए। ‘यो उनकै सेना हो। उनकै युद्ध हो। उनले नै युद्ध रोजेको हो। यस्तो बखत यदि उनलाई सबै सन्दर्भको जानकारी छैन वा आफ्ना सेना युक्रेनमा कुन हदमा हारिरहेको छ भन्ने जानकारी छैन भने त्यो अलि असहज बनाउने विषय नै हो,’ पेन्टागनका प्रवक्ताको भनाइ छ ।

  • अन्ततः रोनाल्डोको टीम पोर्चुगल विश्वकपमा छनोट, अरु कुन-कुन देश छानिए ?

    अन्ततः रोनाल्डोको टीम पोर्चुगल विश्वकपमा छनोट, अरु कुन-कुन देश छानिए ?

    काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले कतार विश्वकपका लागि टिकट पक्का गरेको छ । नियमित छनोटबाट असफल भएको पोर्चुगल प्लेअफमा खेलेको थियो । जसको फाइनलमा नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल विश्वकपमा छनोट भएको हो ।

    फिफा विश्वकप २०२२ यसै वर्ष कतारमा आयोजना हुनेछ । पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसले ३२औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनले कप्तान कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरे । ब्रुनोले नै ६५औं मिनेटमा गोल गर्दै टीमको जित निश्चित बनाए । म्यासेडोनियाले यसअघि युरो च्याम्पियन इटालीलाई हराउँदै फाइनलमा पुगेको थियो ।

    युरोपेली छनोटको प्लेअफबाट पोल्यान्ड पनि विश्वकपका लागि छानिएको छ । पोल्याण्डले स्वीडेनलाई हरायो । पोल्यान्डको जितमा रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट पहिलो गोल गरेपछि पिटर जिलिन्स्कीले दोस्रो गोल थपे ।अफ्रिकाबाट भने त्यहाँको च्याम्पियन सेनेगल, क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया विश्वकपका लागि छनोट भएका छन् । साडियो मानेले टाइब्रेकरमा गोल गरेपछि सेनेगलले इजिप्टलाई हराएर विश्वकपको टिकट काटेको छ ।

  • कोरोना संक्रमित बढेपछि चीनको सांघाईमा लकडाउन

    कोरोना संक्रमित बढेपछि चीनको सांघाईमा लकडाउन

    काठमाडौं । चीनमा कोरोनाभाइरसका नयाँ सङ्क्रमित पुष्टि हुने सङ्ख्या निरन्तर रूपमा बढेसँगै दोस्रो ठूलो शहर सांघाईमा लकडाउन घोषणा भएको छ । बीबीसीका अनुसार सांघाईमा पनि सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै त्यहाँ लकडाउन घोषणा गरिएको हो । दुई वर्षभन्दा अगाडि कोरोनाभाइरसको महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन हो। नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिनेछ।

    सहरको पूर्वी आधा भागमा बस्ने आधा मानिसहरूलाई पाँच दिनसम्म अर्थात् एप्रिल १ सम्म घरभित्रै बस्न भनिएको छ। अत्यावश्यकीय सेवामा कार्यरतलाई मात्रै काम गर्न छुट दिइएको छ र सार्वजनिक यातायातका सेवाहरूमाथि रोक लगाइएको छ। उद्योग तथा कम्पनीहरूले पनि आफ्नो काम स्थगित गर्नुपर्नेछ अथवा कार्यालय बाहिरैबाट काम गर्नुपर्नेछ। सांघाईको पश्चिमी आधा भागमा शुक्रवारबाट लकडाउन गरिनेछ। ठाउँ ठाउँ छुट्याएर मानिसहरूको ठूलो सङ्ख्यामा परीक्षण गरिँदैछ र सङ्क्रमण देखिनेलाई अस्पताल वा क्वारन्टीनमा पठाइनेछ।

    चीनको एकदमै महत्त्वपूर्ण व्यापारिक केन्द्रले झण्डै एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरको सामना गरिरहेको छ। यद्यपि त्यहाँ देखिएको सङ्क्रमितको सङ्ख्या केही अन्तर्राष्ट्रिय मापदण्डले तोकेभन्दा धेरै होइन। अढाई करोड जनसङ्ख्या रहेको सहरमा अधिकारीहरूले अर्थतन्त्रमा असर पर्न नदिन धेरै कोसिस गरेका थिए।

    तर शनिवार त्यहाँ महामारीका सुरुका दिनमा देखिएयता उच्च सङ्ख्यामा सङ्क्रमित देखिएपछि अधिकारीहरूले लकडाउन गर्ने निर्णय लिएको देखिएको छ। अधिकारीहरूले लकडाउनसम्बन्धी सुझावहरू वीच्याटमा प्रकाशित गरेका छन्। उनीहरूले सर्वसाधारणलाई महामारीबाट जोगिने र त्यसलाई नियन्त्रण गर्ने काम बुझेर त्यसमा सहयोग र समर्थन गर्न पनि भनेका छन्।

  • युक्रेन तटस्थ हैसियतमा बस्न तयार छ : जेलेन्स्की

    युक्रेन तटस्थ हैसियतमा बस्न तयार छ : जेलेन्स्की

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन्। बीबीसीका अनुसार त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उनको शर्त छ । जेलेन्स्कीको भनाइ स्वतन्त्र रुसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा आएको हो। पूरा समय रुसी भाषामा बोलेका उनले रुसी हमलाले युक्रेनको रुसी भाषा बोलिने शहरहरू ध्वस्त पारेको बताए । युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसैसाता टर्कीमा हुँदैछ।

    युक्रेनमा रुसी भाषाको प्रयोगबारे शान्तिवार्तामा कुरा भएको जेलेन्स्कीलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ। तर निःशस्त्रीकरण हुनुपर्नेजस्ता रुसी माग भने युक्रेनले अस्वीकार गरेको उनले बताए। जेलेन्स्कीले भने सुरक्षाको प्रभावकारी सुनिश्चितता अनिवार्य विषय रहेको बताएका छन्। उनले भने, ‘अवश्य हाम्रो लक्ष्य देशमा सक्दो छिटो शान्ति र जनजीवन सामान्य अवस्थामा फर्कियोस् भन्ने छ।’

    आंशिक रूपमा रुस पक्षधर पृथकतावादीहरूले नियन्त्रण गरिराखेको डोनबास क्षेत्रमा समेत आफूले सम्झौता गर्न सक्ने उनले जनाएका छन्। ९० मिनेट लामो भिडिओ अन्तर्वार्तामा जेलेन्स्कीले भनेका छन्, ‘मलाई थाहा छ रुसलाई युक्रेनी भूभागबाट पूरै बाहिर निकाल्न असम्भव छ। त्यसले तेस्रो विश्वयुद्धतिर डोर्‍याउँछ। मैले यही बुझेरै सम्झौताको कुरा गरिरहेको छु।’ युक्रेनले रुससँगको शान्तिवार्ताको अर्को चरणमा आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम गर्ने कुरामा जोड दिने जेलेन्स्कीले बताए ।

  • इटाली लगातार दोस्रोपल्ट विश्वकप पुग्न असफल, पोर्चुगलको सम्भावना कायमै

    इटाली लगातार दोस्रोपल्ट विश्वकप पुग्न असफल, पोर्चुगलको सम्भावना कायमै

    काठमाडौं । नर्थ मासेडोनियासँग प्ले अफमा हारेसङ्गै युरो च्याम्पियन इटली लगातार दुई विश्वकप फुटबलमा पुग्न असफल भएको छ । इटालीले कतार विश्वकप गुमाएको हो । 

    अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट गरेको सानदार गोल नै इटालीलाई विश्वकपमा तोक्ने माध्यम बन्यो । खेल अवधीभर पकड राखेपनी गोल हुन सकेको थिएन । आठ महिनाअघि रोवर्टो मान्सिनीले सम्हालेको यो टिमले युरो-२०२० को फाइनलमा इंग्ल्याण्डलाइ हराउदै उपाधी उचालेको थियो ।

    विश्व वरीयतामा ६७औं स्थानमा रहेको मासेडोनियाले युरोपेली प्लेअफको फाइनलमा पोर्चुगलसँग खेल्नेछ । प्लेअफको पहिलो खेलमा पोर्चुगलले टर्कीलाई ३-१ गोलले पराजित गरेको थियो ।

  • युकेनका रास्ट्रपतिको आह्वान : संसारभरबाट सडकमा उत्रिएर हामीलाई समर्थन दिनुहोस

    युकेनका रास्ट्रपतिको आह्वान : संसारभरबाट सडकमा उत्रिएर हामीलाई समर्थन दिनुहोस

    काठमाडौं । निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका छन् । बिबिसीका अनुसार आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्।

    उनले भने, “तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्।” “मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्।” उनले युक्रेनमा रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडिरहेको पनि बताए।

    रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उनले बताए। रुसले आक्रमण गरेको एक महिना बितिसकेको र यसबीच आफ्नो, सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उनले उल्लेख गरे । ब्रसल्समा नेटो बैठक हुन लागेको बेला उनको सम्बोधन आएको छ। बुधवार युक्रेनको राजधानी किएभका भूभागमा निरन्तर रुसी बमबारी भएका छन्।

  • चीनमा दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटियो

    चीनमा दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटियो

    काठमाडौं । दक्षिणी चीनको पहाडी क्षेत्रमा दुर्घटनामा परेको चाइना ईस्टर्न विमानको ब्ल्याक बक्स भेटिएको छ । चिनियाँ सरकारी सञ्चार माध्यमले यसको पुष्टी गरेका छन् । बीबीसीका अनुसार चिनियाँ उड्डयन अधिकारीहरूले दुई दिनको खोजी पश्चात् ब्ल्याक बक्स भेटिएको बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन्। अधिकारीहरूले मृतकको सङ्ख्या अझै यकिन गरिसकेका छैनन् । तर विमानमा सवार १३२ जनाको जीवितै उद्धार हुने सम्भावना कम रहेको आशङ्का गरिएको छ।

    चीनमा दुई दिनअघि दुर्घटनामा परेको यात्रुवाहक विमानको भग्नावशेष फेला परेको क्षेत्रमा ठूलो वर्षा भएपछि पहिरो जाने जोखिमका कारण खोजी तथा उद्धार अभियान अवरुद्ध भएको छ। सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार दुर्घटनास्थल भएको क्षेत्रको जमिनमा माटोले धेरै पानी सोसेकाले उद्धारकार्य अनिश्चित बनेको हो । दक्षिण चीनको पहाडी भेगमा सोमवार चाइना ईस्टर्नको १३२ मानिस सवार एमयू५७३५ विमान दुर्घटनामा परेको थियो।

    उद्धारकर्मीले अहिलेसम्म कसैलाई पनि जीवित फेला पार्न सकेका छैनन्। अनुसन्धानकर्ताहरूले उक्त विमान किन अकस्मात् आकाशबाट खस्यो भन्ने पत्ता लगाउन सकेका छैनन्। दुर्घटनाका कारण चीनमा शोक फैलिएको छ। यात्रु र चालकदलका सदस्यका आफन्तहरू समाचारको व्यग्र प्रतीक्षा देखिन्छन्। युन्नानको राजधानी कुन्मिङबाट उडेको उक्त विमानले सोमवार अपराह्ण ग्वाङ्जाऊमा अवतरण गर्नुपर्ने थियो।

  • युक्रेनी सेनाद्धारा रुसविरुद्ध सफलतापूर्वक प्रत्याक्रमण : अमेरिका

    युक्रेनी सेनाद्धारा रुसविरुद्ध सफलतापूर्वक प्रत्याक्रमण : अमेरिका

    काठमाडौं (बीबीसी) । रुसले आक्रमण थालेको एक महिना पुग्नै लाग्दा युक्रेनी सेनाले कतिपय ठाउँमा सफलतापूर्वक प्रत्याक्रमण गरिरहेको अमेरिकाले बताएको छ। युक्रेनी सेनाले खासगरि दक्षिणी भेगमा त्यस्ता कारबाही गरिरहेको पेन्टागनको भनाई छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार अतिक्रमणकारी रुसी सेनाको कब्जामा पुगेका केही भूभागमा पुनः नियन्त्रण कायम गर्नेगरी युक्रेनी सेनाले सफलतापूर्वक कारबाही गरिरहेको छ। पेन्टागनका प्रवक्ता जोन कर्बीले युक्रेनीहरू खासगरि दक्षिणी भूभागका केही क्षेत्रमा प्रत्याक्रमणमा उत्रिएको बताएका छन्।

    राजधानी किएभस्थित बीबीसी सम्वाददाता लीज डुसेटले अतिक्रमण सुरु हुँदाताका पूर्णतः रक्षात्मक अवस्थामा रहेका युक्रेनीहरू अहिले ठाउँठाउँमा प्रत्याक्रमणमा उत्रिएको बताइन्। क्राइमियाको सबैभन्दा नजिक रहेको र रुसी कब्जामा गएको खेअरसन सहरलाई आफ्नो नियन्त्रणमा लिन युक्रेनीहरू प्रयत्नरत रहेका समेत उनले जानकारी गराइन् ।

    दक्षिणको अर्को सहर भोज्नेसेन्स्कमा स्थानीय नागरिक तथा युक्रेनी सेनाले रुसी ट्याङ्कको एक लहरलाई नै ध्वस्त पारेर सहरमा आक्रमण गर्न खोज्ने रुसी सेनालाई पछि हट्न बाध्य पारेका छन्। राजधानी किएभको पश्चिममा रहेको माकारिभ नगरमा फेरि युक्रेनी झन्डा फहराइएको विवरण आएका छन्। तर दक्षिणी बन्दरगाह सहर मारिओपोलमा भने सहरको केन्द्रमै चर्को लडाइँ भइरहेका छन्। त्यहाँ रुसी बमबारी रोकिएको छैन। मारिओपोल जहाँ तीन लाख मानिस फसेका छन् ।


    युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले मारिओपोल सहर नै अब बाँकी नरहेको समेत बताएका छन्। युक्रेनकी उपप्रधानमन्त्रीले इरिना भेरेस्चुकले ६ दिन अगाडि बमबारीमा परेको थिएटरमा फसिरहेको ठानिएका सयौँ मानिसलाई उद्धार गर्नबाट अझैपनि उद्धारकर्मीहरूलाई रोकिएको बताएकी छन्। कम्तीमा एक लाख मानिस मारिओपोल सहरबाट भाग्न खोजिरहेको र उनीहरू खाना र पानीको अभावबाट गुज्रिरहेको उनले बताइन्।

  • ठूलो क्षति भएकाले पुटिनले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने बाइडनको दावि

    ठूलो क्षति भएकाले पुटिनले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने बाइडनको दावि

    काठमाडौं (बीबीसी) । युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिनले अब त्यहाँ जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। त्यसैको तयारी स्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका जस्ता झुटा खबर फैलाएको उनले बताए। बितेका २६ दिनका लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोध अनि पश्चिमा समुदायको एकताबद्ध प्रतिक्रियाका कारण पुटिन भित्तामा पुगेको भन्दै अब उनले झनै चर्का कारबाही गर्न सक्ने बाइडनले बताएका हुन्।

    उनले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताए। यस्ता दाबीले बरु रुस त्यस्ता अस्त्र प्रयोग गर्न लागिपरेको प्रस्ट सङ्केत गर्ने उनले बताए। उनले भने, ूअमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको उनको दाबी बिल्कुल झुटा हो। म त्यसको ग्यारेन्टी गर्छु। साथै युक्रेनमा त्यस्ता अस्त्र रहेको दाबी पनि गरिएका छन्। यी प्रस्ट सङ्केत हुन् उनी ती प्रयोग गर्न चाहन्छन्।

    अगुवा व्यापारीहरूसँग कुरा गर्दै बाइडनले पुटिनले अमेरिकाविरुद्ध साइबर हमलाको तयारी गरिरहेको हुनसक्ने पनि बताए। त्यस्ता हमलालाई रोक्न र प्रतिक्रिया जनाउन अमेरिकाले हरकिसिमको यत्न गर्ने पनि उनले बताए। अर्थिक प्रतिबन्धहरू लगाएको बदलामा रुसले त्यसो गर्न सक्ने उनको भनाइ थियो। साथै उनले अमेरिकी कम्पनीहरूलाई उनीहरूका डिजीटल सुरक्षा प्रबन्ध कसिकसाउ बनाउन पनि आह्वान गरे। यसअघि बाइडनले पुटिनलाई युद्ध अपराधी भनेपश्चात् वाशिङ्टनसँगको सम्बन्ध पूरै विच्छेदको अवस्थामा पुगेको मस्कोले चेतावनी दिएको थियो।

  • चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना

    चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना

    काठमाडौं । चीनमा १३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ ।

    युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको हो ।

    चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाए अनुसार उक्त विमान ३स्७ मिनेटमा ग्वान्झावमा अवतरण गर्ने तालिका रहेको थियो ।

    सिन्ह्वाका अनुसार उद्धार टोली दुर्घटनास्थलमा परिचालन गरिएको छ। उक्त विमानमा १२ बिजनेश क्लाससहित १६२ सिट रहेको बताइएको छ । घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ ।

  • सैन्य क्याम्प केन्द्रीत गर्दै रुसले थाल्यो मिसाइल आक्रमण

    सैन्य क्याम्प केन्द्रीत गर्दै रुसले थाल्यो मिसाइल आक्रमण

    काठमाडौं । रुस–युक्रेन युद्धको आज २६ औं दिन हो । दुई देशबीच यूक्रेनमा भीषण युद्ध जारी छ । युद्ध रोक्न वार्ताहरु भए पनि सहमति हुने सम्भावना न्यून देखिन्छ ।

    यूक्रेनले आत्मसमर्पण नगर्ने स्पष्ट संकेत दिएको छ । युक्रेनी सेनाले मारिउपोलमा भएको भीषण युद्धमा पनि हतियार राख्न अस्वीकार गरेको छ । यूक्रेनले रुसी सेनालाई फिर्ता पठाउन सक्दो प्रयास गरेको छ ।

    यसैबीच, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनसँग वार्ताका लागि आफू तयार रहेको बताउँदै वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुने बताएका छन् ।

    सैन्य क्याम्प केन्द्रीत आक्रमण

    युद्धको २६ औं दिनमा, रूसी पक्षले युक्रेनको रिभ्ने सैन्य प्रशिक्षण मैदानमा मिसाइल आक्रमण सुरु ग¥यो । गभर्नर भिटाली कोवलले यहाँ दुईवटा मिसाइल आक्रमण भएको बताए । यस हमलामा भएको हताहतीको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन ।

    उत्तरी कीभमा रुस र युक्रेनबीच भीषण भिडन्त

    सोमबार युक्रेनको रक्षा मन्त्रालयले उत्तरी कीभमा रुसी र युक्रेनी सेनाबीच भीषण युद्ध भइरहेको जनाएको छ । सहरको उत्तरपूर्वमा रुसी सेनालाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ ।

    युक्रेनले आफैं रेलवे पुल उडाएको छ

    रुस–युक्रेन युद्धको बीचमा ठूलो खबर बाहिर आएको छ । जानकारीका अनुसार युक्रेनी सेनाले आजोभ सागरमा बनेको आफ्नै रेलवे पुललाई उडाएको छ ।