Category: विश्व

  • अरिङ्गाल जस्तो किरा अमेरिका आउँदा मिडियामा हाहाकार

    अरिङ्गाल जस्तो किरा अमेरिका आउँदा मिडियामा हाहाकार

    न्युयोर्क

    अमेरिकी ईतिहासमा नै पहिलो पटक “मडर हर्नेट” अमेरिका प्रवेश गरेको छ ।  सामान्यतया अरिङ्गाल जस्तो देखिने “मर्डर हर्नेट” ले जापानमा एक बर्षमा ५० जना मानिसलाई मार्ने गरेको न्युयोर्क टाईम्सले लेखेको छ । एसियन हर्नेट भेस्पा मन्डारिनिया नामले समेत चिनिने यो “मर्डर हर्नेट” गत डिसेम्बरमा पहिलो पटक वासिङ्टन स्टेटमा देखिएको थियो । वासिङ्टन स्टेट डिपार्ट्मेन्ट्  अफ एग्रिकल्चरका अनुसार उक्त किरा वासिङ्टन राज्यका ४ ठाउँमा देखिएको पुष्टी गरेको छ भने डिपार्ट्मेन्ट्का अनुसार गत फल सिजनमा ब्रिटिश कोलम्बियाका दुई ठाउँमा ती पहेंलो अनुहार भएका हर्नेट देखिएका थिए । मान्छे मार्न सक्ने ‘मर्डर हर्नेट’ अमेरिकाका बिभिन्न राज्यमा फैलिन सक्ने अनुमानका साथ अहिले अमेरिकी मिडियामा यो समाचारले स्थान पाएको छ । साधारणतया ती हर्नेटहरु गर्मीयाम सकिने बेलादेखि फल सिजनसम्म निकै खतरनाक हुने गर्दछन् ।

    दुई इन्च लम्बाईको उक्त हर्नेटले टोकेर चिनमा सन् २०१३ मा सयौं मानिस घाईते भएका थिए भने २८ जनाको मृत्‍यु भएको थियो ।

  • कोरोना बिरुद्ध १०८ वटा भ्याक्सिन आउँदै; डब्लु.एच.वो

    कोरोना बिरुद्ध १०८ वटा भ्याक्सिन आउँदै; डब्लु.एच.वो

    न्युयोर्क

    विश्व स्वास्थ संगठनले हाल कोरोनो भाइरस बिरुद्ध १०८ वटा सम्भाबित भ्याक्सिनहरु रहेको जनाएको छ । सँगठनले आफ्नो वेब साईटमा प्रकाशित बिज्ञप्ती अनुसार ती १०८ सम्भाबित भ्याक्सिन मध्ये ८ वटा भ्याक्सिनहरुलाई क्लिनिकल ट्रायलको अनुमति दिईसकेको छ भने ती आठ भ्याक्सिन क्लिनल ट्रायलको क्रममा छन् । ति आठ मध्ये अमेरिकास्थित नेशनल ईन्स्टिचुट अफ हेल्थले गत मार्चमा १६ मा पहिलो परिक्षण मानवमा गरेको समेत संगठनले उल्लेख गरेको छ ।

    युनिभर्सिटी अफ टोकियो, टुलाले युभर्सिटी युनिभर्सिटी अफ अल्बर्टा, युनिभर्सिटी अफ पिट्सबर्ग सहित सयवटा समुहले तयार गरेको अन्य भ्याक्सिनहरु क्लिनिकल परिक्षणको पूर्व तयारीमा रहेको समेत विश्व स्वास्थ सँगठनले जनाएको छ । जोन हप्किन्सका अनुसार हालसम्म संसारभर ३६ लाख मानिस कोरोना संक्रमित छन् भने २ लाख ५१ हजारको मृत्‍यु भै सकेको छ । अमेरिकामा भने सुरुमा ६५ हजारसम्म मानिसको मृत्‍यु हुने अनुमान राष्ट्रपति ट्रम्पले गरेका थिए तर गत आईतबार ट्रम्पले ८० देखि ९० हजारसम्म मानिसको मृत्‍यु हुने भन्दै मृतकको संख्या अकस्मात बृद्धी गरे । अमेरिकामा अहिले मृतकको संख्या ७० हजार नाघि सकेको छ ।

  • अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० हजार नजिकै

    अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० हजार नजिकै

    काठमाडौं । कोभिड १९ का कारण विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिकामा यस भाइरसका कारण ज्यान गुमाउने व्यक्तिको संख्या करीव ७० हजार पुगेको छ ।

    मंगलबार बिहानसम्मको तथ्यांक् अनुसार यस मुलुकमा ६९ हजार ७२५ को मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या १२ लाख १२ हजार ३ सय ५४ पुगेको छ ।

    यहाँ १ लाख ८७ हजार ४ सय ८४ व्यक्तिले कोरोनालाई जित्न सफल भएका छन् । विश्वभर भने कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ३६ लाख नाघेको छ।

    अढाई लाख भन्दा बढीले ज्यान गुमाएका छन्। विश्वका २१५ देशमा यो भाइरसको महामारी फैलिएको छ ।

    मंगलबारसम्म २ लाख ५२ हजार २४ जनाको मृत्यु भइसकेको तथ्यांक रहेको छ । अमेरिकापछि बढी क्षति इटलीमा भएको छ ।

    यहाँ २९ हजार ७९ मानिसको ज्यान गएको छ । बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ जनाको कोरोनाका कारण ज्यान गइसकेको आंकडा रहेको छ ।

    विश्वभर कोरोना संक्रमितको संख्या ३६ लाख ४२ हजार नाघेको छ। ११ लाख ९४ हजार १७७ उपचार पछि निको भएर घर फर्किसकेका छन्।

    २१ लाख ९५ हजार ८७६ जनाको उपचार भइरहेको छ । जसमध्ये ४९ हजार ६३४ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्यम रहेको बताइएको छ ।

    नेपालमा ८२ जनामा कोरोना देखिएको छ । १६ जना निको भएर घर फर्किएकोमा २ जनामा भने फेी संक्रमण बल्झिएको पाइएको छ ।

  • भारतमा साढे ४२ हजारमा संक्रमण, हरेक दिन २ हजार संक्रमित थपिँदै

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाले महामारीको रुप धारण गर्न थालेको छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिले हरेक दिन दुई हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको पुष्टी भइरहेको छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ५३ संक्रमित भारतभरमा थपिए ।

    यसअवधिमा ६७ जनाको निधन भएको छ । भारतमा अहिलेसम्म ४२ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

    यस मुलुकमा एक हजार तीन सय ७३ जनाले ज्यान गुमाएका छन् । भारतमा उपचारपछि ११ हजार सात सय सात जना घर फकिएका छन् ।

    भारतले २५ माचैबाट लकडाउन शुरु गरेको थियो । अहिले यहाँ लकडाउन केही खुकुलो भएको छ ।

  • भारतमा संक्रमित ४० हजार नाघे, जोखिम नेपालमा समेत

    भारतमा संक्रमित ४० हजार नाघे, जोखिम नेपालमा समेत

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४० हजार नाघेको छ । यसले नेपालमा समेत जोखिम बढाएको छ ।

    किनकी नेपाल र भारतमा खुला सीमाना रहेको छ । नेपाल सरकारले भारतसँगको सीमा नाका सिल गरेको छ ।

    तर चोर बाटो भएर अहिले पनि थुप्रै नेपाली र भारतीय आवात जावत गरिरहेका छन् ।

    भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म ४० हजार दुई सय ६३ जनामा कोरोना पुष्टि भएको छ ।

    संक्रमितमध्ये भारतमा १३ सय ६ जनाको ज्यान गएको छ । १० हजार आठ सय ८७ जना निको भएर घर फर्किएका छन् ।

    पछिल्लो २४ घण्टामा मात्र ८३ जनाको ज्यान गएको । दुई हजार चार सय ८७ जना नयाँ बिरामी थपिएको मन्त्रालयको तथयांक रहेको छ ।

    भारतमा पछिल्लो समय सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढ्दा त्यसले नेपालमा समेत जोखिम बढाएको हो ।

  • भेनेजुएलामा कारागार भित्र दंगा, कम्तिमा ४० को ज्यान गयो

    भेनेजुएलामा कारागार भित्र दंगा, कम्तिमा ४० को ज्यान गयो

    काठमाडौं । अमेरिकी मुलुक भेनेजुएलामा कारागार भित्र भड्किएको हिंसामा कम्तिमा ४० जनाको ज्यान गएको छ । यसरी मारिने सबै जना कैदी हुन् ।

    संचारमाध्यमहरुक अनुसार पश्चिमी नगर गुआनारे नजिकै लोस लानोसस्थित कारागारमा कैदीबीच खाना र पानीको अभावका विषयमा हिंसा भएको बताइएको छ ।

    कारागारमा यी वस्तुको अभाव भएको भन्दै कैदीको भिड आक्रोसित बनेको थियो । कैदीहरूले जेल तोड्ने प्रयास गरेको भन्ने जेलका अधिकारीले जनाएका छन् । घटनामा गभर्नरसहित जेलका कर्मचारी समेत घाइते भएको बताइएको छ ।

    भेनेजुएलाका एक मन्त्री इरिस भारेले जेलमा घटना भएको पुष्टी गरेका छन् ।

    भेनेजुएलाका अधिकांश जेलमा धेरै कैदी रहेको र ती कारागार फोहोर रहेको बताइएको छ ।

    त्यसमाथि कोरोना भाइरसको सन्त्रासका बीचमा कैदिहरु आंतकित बनेका छन् ।

    कोरोना भाइरस सर्ने डरले अहिले कैदीहरूलाई आफन्तहरुले ल्याउने खाना लिन निषेध गरिएको छ । यहाँ धेरैजसो कैदीको खाना प्रशासनले नभई आफन्तले ल्याउने गरेका थिए ।

    एजेन्सी

  • रुसमा एकै दिन १० हजार भन्दा बढी संक्रमित पुष्टी

    रुसमा एकै दिन १० हजार भन्दा बढी संक्रमित पुष्टी

    मस्को । रुसमा कोरोना भाइरसबाट एकै दिन १० हजारभन्दा बढी मानिसमा कोरोना फेला परेको छ ।

    रुसमा पछिल्लो २४ घण्टामा १० हजार ६ सय ३३ जना नयाँ संक्रमित फेला परेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यद्दपी उनीहरुमध्ये धेरैमा कोरोना संक्रमणको लक्षण नै देखिएको थिएन । अब रुसमा कोरोना भाइरसबाट संक्रमित बिरामीको संख्या १ लाख ३४ हजार ६ सय ८७ पुगेको तथ्यांक रहेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ५८ जनाको मृत्यु भएको तथ्यांक आएको छ ।

    रुसमा अहिलेसम्म कोरोना भाइरसबाट एक हजार दुई सय ८० जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनले समेत अब रुसलाई सचेत हुन आह्वान गरेको छ ।

    एकै पटक १० हजार मानिसमा संक्रमण पुष्टी हुनुलाई खतराको घण्टीका रुपमा ब्याख्या गरिएको छ ।

    रुसमा बितेको साता बढी संक्रमण फैलिएपछि त्यसले अधिकारीहरुलाई चिन्तित बनाएको छ । रुसमा राजधानी सहर मस्को कोरोनाबाट बढी प्रभावित बनेको छ ।

  • कोरोना महामारीको समयमा सेवा दिने अग्रपंतिका कामदारले मिचिगन राज्यमा नि:शुल्क कलेज पढ्न पाउने

    कोरोना महामारीको समयमा सेवा दिने अग्रपंतिका कामदारले मिचिगन राज्यमा नि:शुल्क कलेज पढ्न पाउने

    मिचिगन

    अमेरिकाको मिचिगन राज्यमा कोरोना संक्रमणको समयमा अग्रपङ्तिमा बसेर काम गर्ने प्रत्येक आत्यावश्यक सेवाका कामदारले नि:शुल्क कलेज अध्ययनको मौका पाउने भएका छन् । गत अप्रिल महिनाको बुधबार राज्यकी गभर्नर ग्रिचेन व्हिटमरले “फ्यूचर फर फ्रन्ट लाइनर्स” नामक एक कार्यक्रम सार्वजनिक गर्दै कोभिड -१९ को महामारीमा समेत आफ्नो स्वास्थलाई जोखिममा राख्दै सेवा दिने त्यस्ता सबै कामदारलाई निशुल्क प्राबिधिक र कलेज शिक्षा प्रदान गरिने घोषणा गरेकी हुन् । गभर्नर व्हिटमरले राज्यद्वारा घोषित नयाँ कार्यक्रम बारे भनेकी छिन्; “यस्तो बिषम परिस्थितीमा सेवा प्रदान गर्ने जस जस्को कलेज डिग्री छैन उनिहरुले  कलेज शिक्षा निसुल्क प्राप्त गर्ने मौका पाउने छन् भने जस्ले प्राबिधिक शिक्षा सिकेर प्रमाणपत्र लिन चाहेका छन्, उनिहरुले प्राबिधिक शिक्षा निसुल्क पाउने छन् ।  

    गभर्नर व्हिटमरद्वारा घोषणा गरिएको नयाँ कार्यक्रममा अत्यावश्यक सेवाहरु अस्पताल  नर्सिङ होममा कोरोना महामारीको समयमा काम गर्ने कर्मचारी किराना पसलमा काम गर्ने कर्मचारी र पि पि ई उत्पादक  कम्पनीका कामदार लगायत अन्य थुप्रै सेवाका कामदार पर्ने छन् । कार्यक्रमको पूर्ण विवरण भने सार्वजनिक हुन बाँकी  नै छ ।  

    गभर्नर व्हिटमरका अनुसार यस कार्यक्रमका लागि आवश्यक पर्ने बजेट संघीय सरकारको केयर याक्ट र फेडरल वोर्क फोर्सबाट पूर्ति  गरिने छ । देशमा भएको महामारीको बिषम परिस्थितीमा पनि अग्रपङ्तीमा बसेर बिभिन्न्न अत्याबस्यक सेवा दिन लागि पर्ने कामदारहरुलाई पुरस्कृत गर्ने यस्तो कार्यक्रम अन्य राज्यहरुले पनि ल्याउने कुरामा आफू बिश्वस्त भएको गभर्नर व्हिटमरले बताएकी छिन् ।

  • तीन हप्तापछि देखिए उत्तर कोरियाका राष्ट्र प्रमुख उन

    तीन हप्तापछि देखिए उत्तर कोरियाका राष्ट्र प्रमुख उन

    न्युयोर्क

    बिगत ३ हप्तादेखि बेपत्ता भएका उत्तर कोरियाका राष्ट्रप्रमुख किम जोन उन  सार्वजनिक रुपमा देखिएका छन् । २० दिन पछि उन एक फर्टिलाईजर कम्पनीको शुभारम्भ कार्यक्रममा रिबन काट्दै गरेको देखिएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले शनिबार जनाएको छ । किम शुक्रबार अकस्मात कार्यक्रममा देखिए पछि सहभागिहरुको भिडले “हुर्रे…” भनेर चिच्याएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । यद्यपी रिबन काट्दै गरेको उनको तस्बिर भने सार्वजनिक हुन नै बाँकी छ । उनले कार्यक्रममा फर्टिलाईजर कम्पनीको उत्पादनले आफू सन्तुष्ट भएको बिचार समेत ब्यक्त गरेका थिए ।  

    उन गत अप्रिल ११ तारिखमा आयोजित वर्कर्स पार्टी पोलिट ब्युरो मिटिङ र अर्को दिन फाईटर जेट निरिक्षणका क्रममा अन्तिम पटक देखिएका थिए । अप्रिल १५ मा पर्ने उत्तर कोरियाका संस्थापक किम सुङ्को जन्मदिवसमा पनि नदेखिए पछि उनको मृत्‍यु  भएको हल्लाहरु संचार माध्यममा फैलिएको थियो ।

  • अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

    अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

    न्युयोर्क

    अमेरिकामा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड -१९ का सिकिस्त बिरामीलाई ‘रेमिडिसिभर’ नामक औषधी प्रयोग गर्न स्वीकृती दिएको छ । गिलिएड सायन्स नामक निर्माण कम्पनीले निर्माण गरेको रेमिडिसिभरलाई शुक्रबार एफडिएले स्वीकृती दिएको हो । एफडिएले रेमिडिसिभरलाई कोभिड -१९ का बिरामीको उपचारमा प्रयोग गर्न स्वीकृती दिएसंगै कोभिड उपचारका लागि चिकित्सकहरुलाई निकै सहज हुने बताइएको छ । यस अगाडि कोभिड-१९ का बिरामीको उपचारमा चिकित्सकहरु “क्लिनिकल ट्रायल” को रुपमा बिभिन्न औषधी प्रयोग गरी उपचार गर्दै आएका थिए भने अब चिकित्सकहरुले अस्पातलमा उपचारत  कोभिड बिरामीलाई “रेमिडिसिभर” लाई प्रेस्क्रिप्सनमा लेख्न पाउने छन् ।  यसको मतलब अस्पताल भर्ना भएका प्रत्येक बिरामीलाई भने रेमिडिसिभर सिफरिस गर्न पाईने छैन ।  

    यसै हप्ताको सुरुवातमा डक्टर एन्थोनी फुसिले रेमिडिसिभर औषधीको बृहत अध्ययनले कोभिड -१९ का बिरामीलाई छिट्टै निको पार्न सकिने प्रष्ट संकेत देखी सकेको बताएका थिए ।  

    रेमिडिसिभरलाई तात्कालिन अवस्थामा ईबोला उपचारको लागि गिलिएड सायन्सले निर्माण गरे पनि ईबोलाको उपचारको लागि उक्त औषधीको परिणाम सकारात्मक देखिएको थिएन । शुक्रबार बिहान गिलिएडका सिईओ डेनियल वोडेले;  “हामी अब भाईरसको लागि तयार छौं” भनेका छन् । रेमिडिसिभरलाई सुरुमा ईन्ट्राभेनस थेराफी (आई भि) मार्फत सिकिस्त बिरामीलाई प्रयोग गरिने वोडेले बताएका छन्  ।  

    एफडिएले रेमिडिसिभरलाई स्वीकृती दिनु अगाडि शुक्रबार ह्वाईट हाऊसमा राष्ट्रपति ट्रम्प सहित एफडिए कमिस्नर स्टेफन हाङ औषधी निर्माणकर्ता कम्पनी गिलिएड सायन्सका सिईओ डेनियल  वोडे हेल्थ एण्ड ह्युमन सर्भिस सेक्रेटरी एलेक्स अजर लगायतको मिटिङ भएको थियो ।

  • भारतमा लम्बियो लकडाउन, तर खुकुलो पार्दै लैजाने रणनीति

    भारतमा लम्बियो लकडाउन, तर खुकुलो पार्दै लैजाने रणनीति

    नयाँ दिल्ली । भारतमा लकडाउन दुई साताका लागि बढाइएको छ । कोरोना भाइरस फैलिन नदिन भारतमा लकडाउन थप्ने निर्ण भएको हो ।

    मे ३ तारिखमा सकिन लागेको अहिलेको लकडाउनको अवधि भारत सरकारले शुक्रबार १७ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।

    अब १४ दिन थपिएको लकडाउनको प्रवृत्ति भने विगतको भन्दा फरक हुने भएको छ । भारतले रेड, ओरेन्ज र ग्रीन जोन छुट्याएको छ ।

    जहाँ अतिप्रभावित क्षेत्रलाई रेड जोनमा राखिएका छ । यहाँ लकडाउन कडा हुनेछ । यसको पालना अनिवार्य गर्नुपर्ने भएको छ ।

    १४ दिनसम्म रेड जोन घोषित क्षेत्रमा कुनै किसिमको सुविधा र छुट पाइने छैन । लकडाउनमा पनि रेल र बस संचालनमा रोक लगाइएको छ ।

    स्कुल, कलेज तथा अन्य भेला हुने स्थान पनि बन्द हुने छन् । तर, ओरेन्ज र ग्रीन जोनमा भने लकडाउन केही खुकुलो हुने भएको छ ।

    ग्रीन र ओरेन्ज जोनमा ई कमर्समार्फत सुरक्षित रुपमा हुने व्यापारलाई अनुमति दिइएको छ। यी जोनमा अत्यावश्यक बाहेकका सामान पनि आपूर्ति हुने भएका छन् ।

    ग्रीन जोनमा आधा मात्र यात्रु राखेर बस समेत चलाउन सकिने भएको छ । ग्रीन जोनका बस डिपोमा ५० प्रतिशत मात्रै कर्मचारीले काम गर्नुपर्नेछ ।

    भारतमा पछिल्लो दिनमा कोरोनाको फैलावट तिब्र छ ।

    तर, चरम गरिबीको रेखामुनी ठूलो जनसंख्या रहेको यस मुलुकमा लकडाउनलाई लामो समय कायम राख्न भने ठूलो समस्या रहेको छ ।

    यहाँ अहिलेसम्म ३५ हजार ४३ जनालाई कोरोना देखिएको छ। ११ सय ५४ जनाले ज्यान गुमाएका छन् । भारतमा ९ हजार ६८ जनाले कोरोना जितिसकेका छन् ।

  • न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो

    न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो

    न्युयोर्क      

    कोरोना महामारीले एकै पटक अत्याएको  न्युयोर्क शहरका बिरामीको सहज उपचारको  लागि गत महिना न्युयोर्क सहरमा ल्याइएको अमेरिकी सेनाको “कम्फर्ट शिप” नामक अस्पताल जहाज बिहीवार बिहान न्युयोर्कबाट फर्किएको छ । गत मार्च ३० तारिख म्यानह्याटनस्थित हड्सन रिभरको पियर ९० मा राखेर बिरामीको उपचार गरिएको अमेरिकी सेनाको उक्त जहाजलाई न्युयोर्क  सहरबाट फर्किनु अगाडि न्युयोर्क प्रहरी र अग्नी नियन्त्रक टोलीले सलामी दिएका थिए ।  

    एक हजार बेड क्षमताको उक्त जहाजमा १८२ जना बिरामीको उपचार गरेर गत आइतबार अन्तिम बिरामीलाई उपचार पछि डिस्चार्ज गरिएको थियो । न्युयोर्कबाट फर्किए पछि उक्त अस्पताल जहाज भर्जिनियास्थित नर्फकमा राखिने र सम्भावित आवश्यकतालाई मध्य नजार गरी मेडिकल टिम सहित पूर्ण तयारीमा राखिने सैनिक मुख्यालयका प्रबक्ता जोनाथन हफम्यानले संचार माध्यमलाई बताएका छन् । हफम्यान भन्छन् – “कोरोनाले सबैभन्दा धेरै प्रभावित शहरबाट जहाज फर्किनुले न्युयोर्कमा कोरोना संक्रमण घटेको संकेत गरेको छ । यो स्वागतयोग्य पनि हो” ।  

    कोरोना महामारीका कारण सुरुमा न्युयोर्कका अस्पातलमा बिरामीको चाप एकाएक ह्वातै बृद्धि भएपछि कोरोना बाहेकका बिरामीको सुरक्षित उपचारको लागि जहाजलाई न्युयोर्कमा ल्याईए पनि गत अप्रिल ६ देखि भने कोरोना संक्रमित केही बिरामी समेत                                                           उपचार गरिएको थियो ।

  • जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता

    जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता

    न्यूयोर्क

    न्युयोर्कसँगैको राज्य न्युजर्सीमा कोरोना संक्रमितको संख्या १ लाख १६ हजार एवम् ६ हजार ७ सयको मृत्‍यु हुँदा गभर्नर फिल मर्फीले “कोरोना मृतकको संख्या प्रथम विश्व युद्ध कोरियन युद्, भियतनाम युद्ध, गल्फ, अफगानिस्तान र ईरान युद्धमा जतिको मृत्‍यु भयो, त्यो सबैको संख्या भन्दा धेरै मानिसहरु कोरोनाको कारण मृत्‍यु भएको छ” भन्दै दु:ख ब्यक्त गरेका छन् । गभर्नर मर्फीले ती सबै युद्ध, हरिकेन स्याण्डी र ९-११ आतंककारी  हमला समेत गरेर जति न्युजर्सीबासीको मृत्‍यु भएको थियो, त्यो भन्दा धेरै कोरोनाको कारण अहिले बुधबारसम्म मृत्‍यु भै सकेको बताएका छन् । गभर्नर मर्फीले ती सबै युद्ध हरिकेन र ९-११ आतंककारी हमलामा भन्दा धेरै मानिसको यति छोटो समयमा कोरोनाको कारण मृत्‍यु भएको हुदा यसलाई गम्भिरतापूर्वक लिन र घर भित्र बसेर आफू र अरुलाई बचाउँन आह्वान गरेका हुन् ।  

    सिंगो अमेरिकामा भने १० बर्ष लामो भियतनाम युद्धमा भन्दा धेरै मानिसको मृत्‍यु कोरोनाको कारण भै सकेको छ । फेब्रुअरी ६ तारिखमा पहिलो पटक देखिएको कोरोनाको कारण अप्रिल २९ तारिखसम्म अमेरिकामा ६० हजार ७ सयको मृत्‍यु भएको छ भने भियतनाम युद्धमा ५८ हजार २ सय २० अमेरिकीको मृत्‍यु भएको थियो ।

  • कुवेतमा कोरोना संक्रमित नेपाली ५१ पुगे

    कुवेतमा कोरोना संक्रमित नेपाली ५१ पुगे

    कुवेत । कुवेतमा कोरोबाट संक्रमित नेपालीको संख्या ५१ नाघेको छ । मंगलबार एकै दिन २२ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टी भएको हो ।

    कुवेतस्थित नेपाली दूतावासका अनुसार अब संक्रमित नेपालीको संख्या ५१ पुगेको हो । यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।

    कुवेतमा नेपालीमा मानवीय क्षति भने भएको छैन । यस मुलुकमा करीव ७० हजार नेपाली कार्यरत रहेको अनुमान छ । कुवेतमा ३४ सय ४० जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

    ११ सय ७६ जना उपचारपछि निको भएका छन् । २२ सय ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ। कुवेतमा समग्र मानवीय क्षति पनि कम छ ।

  • अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

    अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

    न्युयोर्क

    विश्वभर फैलिएको कोरोना महामारीले झण्डै ३१ लाख मानिस संक्रमित र २ लाख १५ हजारको मृत्‍यु भएर करोडौं बेरोजगार अनि विश्व अर्थतन्त्र धरासायी हुँदासम्म यस्को अन्त्य कहिले हुने हो, संसार भरका मानिस अन्योलमा छन् । यही अन्योल र महामारीका बीच सिंगापुरस्थित एक विश्व बिद्यालयले कोरोना महामारी अन्त्यको बारेमा आशलाग्दो आँकडा सार्वजनिक गरेको छ । सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी तथा डाटा ड्रिभन ईनोभेसन ल्याबले संयुक्त रुपमा सार्वजनिक गरेको उक्त डाटाका अनुसार ९७ प्रतिशत संक्रमण मे र जुन महिनामा विश्वभरबाट हराउने छ । युभर्सिटीका अनुसार बोलिभिया, ग्वाटेमाला, अल्बानिया, कोलम्बिया, बहराईनमा कोरोना जुलाईमा मात्र ९७ प्रतिशत हराउने छ भने बहराईनमा अगस्टमा मात्र ९७ प्रतिशत हराउने छ । विश्वका बाँकी देशहरुमा मे वा जुन महिनासम्म ९७ प्रतिशत हराउने विश्व बिद्यालयको अनुमान छ ।  विश्वभर जति मानिस संक्रमित हुनु पर्ने हो त्यसको ९७ प्रतिशत मानिस मे महिनाको २९ सम्म भई सक्ने छन् भने संक्रमित हुन बाँकी  ३ प्रतिशत यसै बर्षको नोभेम्बर २६ भित्र संक्रमित हुने छन् । विश्व बिद्यालयले उक्त आँकडालाई “प्रेडिक्सन” भन्दै आगामी दिनहरुमा बिभिन्न देशहरुले अपनाउने लक डाउन र सोसल डिस्ट्यान्सिङको नियमले धेरै कुराहरु निर्धारण गर्ने समेत बताएको छ ।  विश्व बिद्यालयको उक्त आँकडा अनुसार हाल महामारी चर्किएको अमेरिकाबाट ९७ प्रतिशत संक्रमण मे १४ बाट हराउने छ भने सेप्टेम्बर ४ बाट पूर्ण रुपमा हराउने छ ।  ईटालीमा मे ८ बाट संक्रमण ९७ प्रतिशत हराउने छ । बेलायतमा मे १६ बाट स्पेनमा मे १ बाट ९७ प्रतिशत कोरोना संक्रमण हराउने विश्व बिद्यालयले जनाएको छ ।
    विश्वभरका देशहरुको सुची यस्तो छ :-

     

  • बेलायती प्रधानमन्त्री जोन्सन काममा फर्कने तयारी

    बेलायती प्रधानमन्त्री जोन्सन काममा फर्कने तयारी

    लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबार काममा फर्कन तयार भएका छन् । कोरोना भाइरसको संक्रमण जित्दै घरमा आराम गरिररहेका उनी एक महिनापछि काममा र्फकन लागेको बीबीसीले उल्लेख गरेको छ ।

    भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताउनु परेको थियो । तीन रात उनलाई आईसीयूमा राखिएको थियो । गत अप्रिल ५ मा उनको स्वास्थ्यमा खराबी देखिएसँगै उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

    बेलायती विदेशमन्त्री डोमिनिक राबले सोमबारलेखि प्रधानमन्त्री आफ्नो काममा फर्किने जानकारी गराएका छन् । जोन्सनको अनुपस्थितिमा राबले नै सहायक प्रधानमन्त्रीको भूमिका निर्बाह गर्दै आएका थिए ।

    बेलायतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघिसकेको छ । यहाँ १ लाख ५० हजारभन्दा धेरै मानिसमा संक्रमित पुष्टी भएको छ ।

  • इटलीमा नियन्त्रणमा आउँदैछ कोरोना, लकडाउन खुकुलो हुने

    इटलीमा नियन्त्रणमा आउँदैछ कोरोना, लकडाउन खुकुलो हुने

    रोम । इटलीमा कोरोना भाइरस नियन्त्रण उन्मुख देखिएको छ । भाइरसको संक्रमण र मृत्युदरमा उल्लेख्य कमी आएका छ ।

    यससँगै सरकारले अब सात हप्तादेखिको जारी लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । इटलीमा मध्य मार्चयता कडा प्रतिबन्ध लगाइएको छ ।

    प्रधानमन्त्री गुइसेपे कोन्टेका अनुसार अब क्रमण्शः ती प्रतिवन्धहरु खुकुलो बनाइदै जाने योजना रहेको छ । उनका अनुसार मानिसहरुलाई सानो संख्यामा उपस्थित भएर मास्क लगाएर आफन्तसँग भेट्न दिइने भएको छ ।

    पार्कहरु पनि अब खुल्ने छन् । स्कुल भने सेप्टेम्बर महिनाअघि खोल्ने तयारी छैन । इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या घटेर १४ मार्चअघिको अवस्थामा पुगेको छ ।

    यहाँ आइतबार २ सय ६० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इटलीमा लगातार तीन दिन मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेको छ । यसअघि शनिबार ४ सय १५ जनाको मृत्यु भएको छ ।

    कोरोना भाइरसका कारण धेरै मानिसको मृत्यु हुने देशमा अमेरिकापछि इटली रहेको छ । यहाँ मृत्यु हुनेको संख २६ हजार ६ सय ४४ पुगेको छ ।

    इटलीमा अहिलेसम्म १ लाख ९७ हजार ६ सय ७५ जना कोरोना संक्रमित भएका छन् । इटालीका अधिकारीहरुले भाइरस र्संक्रमणको दर विस्तारै घट्दै गएको र लकडाउन खुकुलो पार्न उपयुक्त अवस्था भएको बताएका छन् ।

  • भारतमा तिब्र गतिमा फैलिँदै कोरोना

    भारतमा तिब्र गतिमा फैलिँदै कोरोना

    नयाँ दिल्ली । भारतमा पछिल्लो केही दिनयता कोरोनाको फैलावटले तिब्रता लिएको छ । यस मुलुकमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको हो ।

    १११ जना विदेशीबाहेक अरु सबै भारतीयमा कोरोना लागेको हो । भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा छन् । महाराष्ट्रमा ६ हजार ८१७ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

    त्यस्तै गुजरातमा दुई हजार ८१५ जनामा संक्रमण पुष्टि भएको छ भने दिल्लीमा दुई हजार ५१४ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म एक हजार ६२१ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

    बिहारमा पनि २२३ जनामा भाइरसको संक्रमण पुष्टी भएको छ । भारतमा अहिलेसम्म ७७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा अहिलेसम्म ३०१ जनाको मृत्यु भइसकेको छ ।

    त्यस्तै गुजरातमा १२७ जनाको मृत्यु भइसकेको छ भने मध्य प्रदेशमा मृत्यु हुनेको संख्या ९२ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म २५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने बिहारमा दुईजनाको मृत्यु भएको छ ।

    भारतमा अहिलेसम्म पाँच हजार ६३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

  • कोरोनाका कारण बढ्दै छ सम्प्रदायिकता द्वेष : न्युयोर्कका जोडीको मेक्सिकोमा हत्या

    कोरोनाका कारण बढ्दै छ सम्प्रदायिकता द्वेष : न्युयोर्कका जोडीको मेक्सिकोमा हत्या

    न्युयोर्क

    कोरोना महामारीले विश्वभर साम्प्रदायिक हिंसा बढदै जाँदा मेक्सिकोमा न्युयोर्कबाट भ्रमणमा गएका एक जोडीको हत्या भएको छ । मेक्सिको सहरको जुरेजको एक सडकमा न्युयोर्कको नम्बर प्लेट भएको गाडीमा गुडिरहेका अमेरिकन जोडी प्याट ल्यान्डर्स तथा कार्ला बाकाको गोली प्रहारबाट हत्या गरिएको टेक्ससस्थित एल पासोको के टि एस एम – टिभीले जनाएको छ ।

    अमेरिका भरिकै कोरोना ईपिसेन्टर बनेको न्युयोर्क राज्यको नम्बर प्लेट भएको कालो रंगको जिपमा गुडिरहेकै अवस्थामा गत सोमबार २० पटक गोली प्रहार गरिएको हो । गोली प्रहारको अभियोगमा हालसम्म कसैलाई पक्राउ गरिएको छैन । ६ बर्षीय छोराका पिता ल्यान्डर्स बिगत ३ हप्तादेखि उनको प्रेमिका बाकाको साथ म्याक्सिकोमा थिए । अधिकांश नागरिक क्वारेन्टिनमा भएको अवस्थामा गोली प्रहार भएको न्युयोर्क सेराकसस्थित डब्लु एस टि एम -टिभीले जनाएको छ ।

  • अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द

    अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द

    न्युयोर्क

    राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनको लागि अमेरिका आप्रवासन बन्द गर्ने घोषणा गरेका छन् । ट्रम्पले आफूमा निहित कार्यकारी अधिकार प्रयोग गर्दै उक्त घोषणा गरेका हुन् । ट्रम्पको उक्त घोषणापछि आगामी ६० दिनको लागि अमेरिका आउने आप्रबासीको लागि ग्रिन कार्ड जारी हुने छैन । कोरोना भाईरसका कारण लाखौं अमेरिकनले रोजगारी गुमाएको कारण आफ्नो प्राथमिकता अमेरिकन नागरिकको लागि रोजगारी भएको हुँदा तत्कालको लागि अमेरिका आप्रबासन बन्द गरेको ट्रम्पले मंगलवार आफ्नो नियमित प्रेस ब्रिफिङमा बताएका हुन् । यस अगाडि उनले सोमबार आप्रबासन सम्बधी कार्यकारी आदेश जारी गर्ने जनाएका थिए ।  

    तत्कालका लागि ग्रिन कार्ड जारी बन्द हुने भएपनि अस्थाई कामदारहरु भने अमेरिका आउन सक्ने उनले बताएका छन् । ट्रम्पले ६० दिन पछिको अवस्था मुल्याङ्कन गरेर यो बन्द अवधि थप्ने या फुकाउने निर्णय गर्ने समेत बताएका छन् ।

  • न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

    न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

    न्युयोर्क      

    विश्वकै कोरोना एपिसेन्टर न्युयोर्क राज्यमा मंगलवारसम्म २ लाख ५७ हजार संक्रमित र १९ हजार ७ सयको मृत्‍यु भै सकेको छ ।  सिंगो न्युयोर्क राज्यमा संक्रमितको संख्या  २ लाख ५७ हजार भएपनि म्यानह्याटन, क्वीन्स,   ब्रोंक्स, ब्रुक्लिन  र स्टेटन आइल्याण्डलाई ओगटेको न्युयोर्क शहर भित्र मात्र राज्यको झन्डै ५० प्रतिशत संक्रमित छन् । न्युयोर्क सहरमा १ लाख ३२ हजार ४ सय ६७ जना संक्रमित छन् भने ९ हजार १ सय १ जनाको मृत्‍यु भएको न्युयोर्क हेल्थ डिपार्टमेन्ट्को पछिल्लो आँकडा छ ।  

    न्युयोर्क सहरभित्र कोरोना संक्रमित मध्ये २ प्रतिशत मानिस १७ बर्षसम्म उमेर समुहका छन् भने ३७ प्रतिशत मानिस १८ देखि ४४ बर्ष उमेरका छन् । ४५ बर्षदेखि ६४ बर्ष उमेर समुहका संक्रमित पनि ३७ प्रतिशत नै छन् ।  ६५ देखि ७४ बर्ष उमेरका संक्रमित भने १३ प्रतिशत छन् । ७५ बर्ष माथिका संक्रमित भने १२ प्रतिशत छन् । त्यस्तै सुन्ना दशमलब सुन्ना दुई (०.०२ ) प्रतिशत संक्रमितको उमेर खुलेको छैन । न्युयोर्क हेल्थ डिपार्टमेन्टद्वारा जारी उक्त आँकडा अनुसार हालसम्म न्युयोर्क सहरमा कोरोना संक्रमितहुनेहरु १८ बर्षदेखि ६४ बर्ष उमेरका मानिसको संख्या उच्च छ । संक्रमितहरुको संख्यामा पनि महिलाहरु भन्दा पनि पुरुषहरुको संख्या अधिक छ ।  न्युयोर्क सहरमा ४७ प्रतिशत महिला संक्रमित छन् भने ५३ प्रतिशत पुरुष संक्रमित छन् ।  

    १ लाख ३२ हजार ४ सय ६७ संक्रमित मध्ये ३४ हजार ७ सय २९ जना उपचारत अस्पाताल भर्ना भएका छन् । उपचारका लागि अस्पाताल भर्ना हुने यो संख्या कुल संक्रमित मध्ये २६ प्रतिशत मात्र हो । सहरमा मृत्‍यु हुने ९ हजार १ सय १ संख्या कुल संक्रमितको ६ दशमलब ८७ प्रतिशत हो । त्यसैगरी मृत्‍यु भएकामध्ये ६ हजार ६ सय ८३ जना मधुमेह, फोक्सोको रोग, दम, क्यान्सर , मुटु रोग, ईमिनो डिफिसियन्सी हाईपरटेन्सन, मृगौला तथा कलेजोको रोगमध्ये कुनै न कुनै रोगका बिरामीहरु हुन् । हालसम्म ५२ जनामात्र कुनै पनि रोग नभएका मानिसको मृत्‍यु भएको छ । मृत्‍यु भएका मध्ये २ हजार ३ सय ६६ जना कोरोना संक्रमण अगाडि अन्य रोगका रोगी भए नभएको नखुलेको न्युयोर्क हेल्थ डिपार्ट्मेन्टले जनाएको छ ।  

    न्युयोर्क शहरमा कोरोना संक्रमणबाट मृत्‍यु भएकाहरुमा १७ बर्ष मुनीका ३ जना १८ देखि ४४ बर्ष बर्षसम्मका ३ सय ९५ जना, ४५ देखि ६४ बर्षसम्म उमेरका २ हजार ४८ जना, ६५ देखि ७४ बर्षसम्मका २ हजार २ सय ५३ र ७५ बर्ष माथिका ४ हजार ४ सय १ जनाको मृत्‍यु भएको छ । न्युयोर्क सहरमा मृत्‍यु भएका मध्ये ५ हजार ५ सय ५७ पुरुष छन् भने ३ हजार ५ सय १७ महिला रहेको छ । २७ जना मृतकको लिङ्ग खुलेको छैन ।  

    रङ्गका आधारमा भने अश्वेत जातीहरुमा संक्रमणको संख्या उच्च देखिएको छ र एसियनहरुमा न्युन संक्रमण देखिएको छ ।  ब्युरो अफ कम्युनिकेबल डिजिज सर्भिलेन्स सिस्टमद्वारा अप्रिल १६ तारिखमा प्रकाशित डाटा अनुसार अश्वेत जातीहरुमा संक्रमण उच्च देखिएको छ । संक्रमणको दोश्रो नम्बरमा हिस्प्यानिक  र ल्याटिनोहरु देखिएका छन् भने तेश्रोमा श्वेत जातीहरु छन् । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण न्युयोर्क सहरमा भने एसियनहरुमा निकै कम देखिएको छ । ब्युरोका अनुसार प्रतिशतमा अश्वेत ३२ दशमलब ६ प्रतिशत, ल्याटिनो हिस्प्यानिक ३२ दशमलब  ४ प्रतिशत, श्वेतजाती २८ दशमलब ६ प्रतिशत र एसियन ६ दशमलब ३ प्रतिशत संक्रमित देखिएका हुन् ।  

  • के किम जोङ उन गम्भिर बिरामी छन् ?

    के किम जोङ उन गम्भिर बिरामी छन् ?

    काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी भएको पश्चिमा संचारमाध्यमले उल्लेख गरेका छन् । यद्दपी यसको पुष्टी भएको छैन । अमेरिकी गुप्तचर निकायको हवाला दिँदै सिएनएनले यसबारेमा एक रिपोर्ट गरेको छ ।

    जसनअनुसार उनको एक शल्यक्रिया भएको थियो । त्यसपछि उनको स्वास्थ्यमा गडबडी देखिएको छ । उनी अहिले गम्भीर बिरामी भएका छन् ।

    केही दिन अगाडी आफ्ना हजुरबा किम इल सुङको जन्मजयन्ती समारोहमा उनी अनुपस्थित थिए । सोहीकारण उनी बिरामी भएको खबर सार्वजनिक भएको थियो ।

    अप्रिल ११ मा भने उनी एक सावैजनिक बैठकमा भाग लिन गएका थिए ।

    सन् २००८ मा पनि किम जोङ इल उत्तर कोरियाको ६०औं वार्षिकोत्सवमा अनुपस्थित भएयता उनले सार्वजनिक कार्यक्रम छुटाएका छैनन् ।

    सोहीकारण पनि पश्चिमाहरु उनी गम्भीर बिरामीसँग जुधिरहेको अनुमान गर्छन् ।

    विश्वमा सबैभन्दा निरंकुश कम्यूनिष्ट शासन व्यवस्था भएको उत्तर कोरिया बाँकि विश्वभन्दा फरक व्यवस्थाबाट चलिरहेको छ । उसले आफ्ना सबै सूचनाहरु गोप्य राख्ने गर्छ ।
    एजेन्सी

  • कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

    कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

    न्युयोर्क

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण हाल अमेरिका कोरोनाको केन्द्र बनेको छ भने ७ लाख ७५ हजार संक्रमित र ४१ हजारको मृत्‍यु भै सकेको छ । संक्रमित र मृत्‍यु हुनेको संख्या उच्च बिन्दुमा पुगेको अवस्थामा एरिजोना कोलोर्‍याडो, मन्टाना तथा वाशिङ्गटन राज्यहरुमा आईतबार लक डाउन बिरुद्ध  प्रदर्शन गरिएका थिए । त्यो भन्दा अगाडि अन्य आधा दर्जन राज्यहरूमा पनि लक डाउनका बिरुद्ध प्रदर्शन गरिएका थिए ।

    हतार गरेर अर्थतन्त्र खोल्दा कोभिड-१९ को घातक पुनरोदय हुनसक्ने त्रासका बीच अमेरिकामा त्यस्ता प्रदर्शन चर्किएका हुन्  । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्ता प्रदर्शनप्रति आफ्नो समर्थन दर्शाएका छन् ।

    बढी प्रभाबित राज्यहरुमा सङ्क्रमण उच्च विन्दुमा पुगेको तथा केही क्षेत्रमा नयाँ सङ्क्रमणको वृद्धि दर घटिरहेको सङ्केत पनि आएका छन् ।

    अमेरिकामा प्रारम्भिक चरणमै सङ्क्रमण फैलिएको वाशिङ्गटन राज्यमा सयौँ मानिस राजधानी ‌ओलम्पियामा भेला भएर गभर्नरलाई अर्थतन्त्रमा लागेका बन्देज खुकुलो पार्न माग गरे ।

    प्रहरीले भेलामा २५ सय जति सामेल भएको अनुमान गरेको छ। लकडाउन लागू भएपछिको त्यो सबभन्दा ठूलो त्यस्तो जमघट भएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रदर्शनका क्रममा कैयन प्रदर्शनकारीले सामाजिक दुरी सम्बन्धि नियम अनि मास्क लगाउनु पर्ने नियम समेत उल्लंघन गरेका थिए ।

    लकडाउन बिरुद्ध प्रदर्शन गर्ने समुह सामुन्ने स्वास्थ्यकर्मी उपस्थित भएका थिए ।  एसोसिएटेड प्रेसका अनुसार मन्टानाको हेलेनामा आयोजित र्‍यालीमा केही सय मानिस थिए ।

    कोलोराडोको डेन्भरमा पनि उत्रै र्‍याली भएको थियो ।

    प्रदर्शनकारीका गाडी सडकमा खचाखच भएपछि अस्पतालमा रहँदाकै पोशाक र मास्क लगाएका स्वास्थ्यकर्मीहरू उनीहरूको सामु उपस्थित भएका थिए ।

    यस अगाडि अमेरिकामा कोरोनाभाइरस उत्कर्षमा पुगिसकेको राष्ट्रपति ट्रम्पले दाबी गर्दै प्रतिबन्ध चाँडै फुक्का गर्ने योजना रहेको बताउदै ट्विट् गरेका थिए ।  

    एरिजोनामा पनि प्रदर्शनकारीले सयवटा जति गाडीलाई राजधानी फिनिक्सको एक चोकमा घुमाएर प्रदर्शन गरेका थिए ।

    कतिपय राज्यहरूमा गभर्नरहरूले सङ्क्रमणको दर कम हुँदै गएका सङ्केतका माझ अर्थतन्त्र खोल्नेबारे छलफल थालेका छन् ।

    क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले पहिलो पटक मार्च १९ मा राज्यभरि घरमै बस्न आदेश जारी गरेका थिए । वाशिङ्गटन तथा ओरेगन राज्यहरूले त्यही पाइला पच्छ्याए ।

    न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुमोले न्युयोर्कको  लकडाउनलाई मे १५ सम्म लम्ब्याएका छन् ।

    उनले अहिले संक्रमणको हाफ टाईम भएको बताउदै  हतारिन नहुने भन्दै सावधानीको खाँचो भएको औँल्याएका छन्।

    तर राष्ट्रपति ट्रम्पले कडा लकडाउनको विरोधमा प्रदर्शन गरेकाहरुको  समर्थन गरिरहेका छन् । राष्ट्रपतिले गत शुक्रवार मिनिसोटा, मिचिगन  तथा भर्जिनियामा लागू आदेश धेरै कडा भएको प्रतिकृया दिएका  थिए ।

    वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले राष्ट्रपतिको लक डाउन बिरुद्ध प्रदर्शन गर्ने समुहको समर्थन गर्ने कदमलाई खतरनाक भन्दै त्यसले राज्यका कानूनलाई उल्लंघन गर्न उक्साउने बताएका छन ।

    “अमेरिकी राष्ट्रपतिले मानिसहरूलाई कानून उल्लंघन गर्न उक्साएको मैले आफ्नो जीवनकालमा देखेको थिइनँ,” उनले समचार संस्था बि बि सिलाई बताएका थिए ।  

    समाचार श्रोत : बि बि नेपाली

  • क्यानडा गोलीकाण्ड : एक व्यक्तिले लिए १६  को ज्यान

    क्यानडा गोलीकाण्ड : एक व्यक्तिले लिए १६ को ज्यान

    नोभा स्कोसा । क्यानडामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएर १६ जनाको ज्यान लिएका छन् ।

    क्यानडाको नोभा स्कोसा प्रान्तमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    प्रहरीको बर्दी लगाएका बन्दुकधारीले ग्रामीण बजार पोर्तापिक्युमा शनिबार रातिदेखि लगातार १२ घण्टासम्म गोली काण्ड मच्याएको बताइएको छ ।

    स्थानीय प्रहरीका अनुसार ५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्तिले गोली काण्ड मच्याएका हुन् । उनले शहरका विभिन्न स्थानमा गोली चलाउँदै हिडेका थिए ।

    उनको समेत प्रहरीले जवाफी कारवाहीमा ज्यान गएको छ । गोलीकाण्डमा कैयौं घाइते भएको र मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

  • नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

    नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

    अप्रिल १९ 

    नेपालमा म्याग्दी जिल्लाकी स्थायी बसिन्दा ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरसबाट संक्रमित भई नेदरल्यान्डमा निधन भएको छ । मृत्यु बारे नेदरल्याण्डका लागि पर्यटनदूतसमेत रहेका शशि पौडेलले संचार माध्यमलाई जानकारी दिएको हो । उनले भट्टचनको अकस्मात निधनले समस्त नेपाली समाज नेदरफ्याण्डलाई स्तब्ध बनाएको बताएका छन् ।  हालसम्म २९ प्रबासी नेपालीले कोरोनाको कारण ज्यान गुमाइसकेको अवस्थामा नेदरल्याण्डमा कोरोनाबाट ज्यान गुमाउनेमा लक्ष्मी पहिलो नेपाली हुन् ।

    थकाली समाज बेल्जियमका सचिव रोशन शेरचनले संसारभर बसोवास गर्ने थकाली समुदायका सदस्यहरू मध्येमा यो नै पहिलो दुःखद घटना भएको उल्लेख गरेका छन् । उनले भट्टचनको निधनको खबरले स्तब्ध बनाएको भन्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्राप्त होस, भन्ने कामना गरेका छन् ।

    आजैमात्र गैरआवासीय नेपाली संघले विश्वमा कोरोनबाट ज्यान गुमाउने नेपालीको संख्या २९ भएको जनाएको थियो । लक्ष्मीको निधनसँगै विश्वमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ३० पुगेको छ।

    तस्बिर : संसार न्युज

  • कोरोनाले जापानको स्वास्थ्य प्रणाली नै जोखिममा जाने चेतावनी

    कोरोनाले जापानको स्वास्थ्य प्रणाली नै जोखिममा जाने चेतावनी

    टोकियो । कोरोना भाइरसले संसारका विकसित मुलुकलाई हायलकायल पारेको छ । किनकी उनीहरुलाई चूनौति गिर्दो साँख जोजाउनु पनि रहेको छ ।

    गरिब त यसै गरिब, उसलाई खासै गुमाउनु केही छैन ।

    तर, विकसित मुलुकलाई आफ्ना नागरिकको जीवन बचाउनु एकातर्फ छ भने आफ्नो मुलुकको स्वास्थ्य प्रणालीबार् विश्वभर उठिरहेको प्रश्नको जवाफ दिनु र त्यो साँखा गिरेको छैन भन्ने मान्यता कायम राखिराख्नु चूनौतिपूर्ण अवस्था सिर्जना भएको छ ।

    अहिले यस्तै प्रश्नको सामना गरिरहेको छ, जापान । यहाँ कोरोनाका नयाँ नयाँ बिरामी आउने क्रम जारी रहिको छ ।

    यसले छिट्टै जापानको चिकित्सा प्रणाली नै बिग्रन सक्ने चेतावनी त्यहाँका चिकित्सकहरुको रहेको छ ।

    संक्रमित बिरामीको भार र उनीहरुको उपचारमा केन्द्रित हुँदा आपतकालिनरुपमा आएका केही गम्भिर बिरामीलाई समेत अस्पतालले उपचार गर्न नपाएको गुनासो जापानमा आएको छ ।

    यसले त्यहाको स्वास्थ्य प्रणालीलाई चूनौति पेश गरेको छ । खासगरी चीनको कोरोनाको उपचारका लागि छुट्टै अस्पताल निकै तिब्र गतिमा बनायो जसले गर्दा अन्य रोगको उपचार पनि रोकिएन ।

    तर, विश्वका ठूलो र विकसित मुलुक नै कोरोनाको संक्रमणबाट बच्न र लड्न चुक्दै आइरहेका छन् ।

    कोरोना लक्षण भएका एक विरामीलाई ८० वटा अस्पतालले भर्ना लिन नमानेको विवरण सार्वजनिक भएका छन् ।

    जापानका दुई चिकित्सक संघहरूले कोरोनाका कारण गम्भिर र आपतकालिन स्थितिमा उपचार गराउन आउने अन्य विरामीहरूको उपचार गर्ने अस्पतालको क्षमता कम भइरहेको उल्लेख गर्दै सरकारलाई सचेत गराएका छन् ।

    चिकित्सकहरूले कोरोना उपचारका लागि आवश्यक सुरक्षात्मक पोसाक तथा उपकरण लगायत सामग्रीको समेत अभाव भएको भन्दै जापान कोरोनाविरुद्ध लड्न तयारी अवस्थामा नरहेको प्रतिक्रिया दिएका छन् ।

    शनिबारसम्म जापानमा १० हजार जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। यहाँ अहिलेसम्म २ सय जनाको ज्यान गएको छ ।

  • स्पेनमा थामिदैछ कोरोना कहर, लकडाउन खुकुलो बनाइने

    स्पेनमा थामिदैछ कोरोना कहर, लकडाउन खुकुलो बनाइने

    स्पेन । यूरोपमा इटलीपछि कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित स्पेनमा अब कोरोनाको उच्चतम गति घट्न थालेको छ ।

    यसलाई त्यहाको सरकारको कोरोना नियन्त्रणउन्मुख रहेको विश्लेषण समेत गरेको छ ।

    सोहीकारण कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिका घर बाहिर निस्किन पाउने गरी निर्णय भएको छ ।

    स्पेन सरकारले २७ अप्रिलदेखि बालबालिकाहरुलाई बाहिर निस्किन दिने गरी घोषणा गरेको छ ।

    प्रधानमन्त्री पेद्रो सान्चेजले २७ अप्रिलदेखि लकडाउन केही खुकुलो बनाउने र बालबालिकाहरुलाई घरबाहिरको ताजा हावा लिन दिने उल्लेख गरे ।

    प्रधानमन्त्री सान्चेजले बालबालिकाहरुलाई बाहिर निस्कन दिने उल्लेख गरेपनि अन्य विवरण भने अझै सार्वजनिक गरेका छैनन् ।

    स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २० हजारभन्दा माथि छ । यहाँ करीव २ लाख मानिसमा संक्रमण भएको छ ।

    तर, केही दिनयता मृत्युदर र नयाँ संक्रमण समेत निकै घटिसकेको छ ।

  • सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान

    सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान

    (यो आर्टिकल यसअघि अंग्रेजी भाषाको डिजिटल अनलाइन ‘द सिटी’ मा अप्रिल १४ तारिखका दिन प्रकाशित भएको थियो)

    कृष्टिन चुन, न्यूयोर्क 

    गोमाले म्यानह्याटन शहरको एक नेल्स सलनमा काम गर्न थालेको झण्डै दुई दशक भयो । उनी मिड-टाउन म्यानह्याटनमा काम गर्न आफ्नो एल्महर्ष्टस्थित अपार्टमेन्टबाट हरेक दिन जसो गइरहेकी थिइन् भने उनको श्रीमान उबर चलाउँछन् ।

    अहिले कारोना भाइरसका कारण दुबै जनाको काम छैन र भएको संचित रकम बिस्तारै सकिरहेको छ । गोमा, जो आफ्नो थर खुलाउन चाहँदिनन्, उनी ‘क्यास’मा काम गर्थिन् । त्यही भएर अहिले उनले बेरोजगारी भत्ताको फर्म भर्न पाउँदिनन् । त्यसमाथि संघीय सरकारबाट दिइने रकम पाउन पनि उनी योग्य छैनन् ।

    ‘मलाई लाग्छ सरकारले हाम्रो कामलाई पनि कदर गर्नुपर्छ, अझ यतिबेला झन्, किनभने यस महामारीले सबैलाई असर गरिरहेको छ’, उनले अनुवादकको सहयोगमा भनिन् ।

    ‘यतिखेर केहीलाई सहयोग दिने र केहीलाई नदिने गर्न मिल्दैन । यतिखेर सबैले समान सहयोगको अपेक्षा गरेका छन्’ उनले थपिन् । न्युयोर्क शहरमा काम गरिरहेका धेरै सामाजिक समुहहरुले संघीय सरकारबाट पाएको रकम त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्न आग्रह गरिरहेका छन्, जो सरकारी सहयोग पाउनबाट कानूनी रुपमा वञ्चित छन् ।

    ‘यही बेला हो हामी अग्रसर भएर ती न्युयोर्कवासीलाई सहयोग गर्ने जो यस्ता सहयोगबाट वञ्चित छन्’ स्ट्रिट भेन्डर प्राजेक्टकी डेपुटी डिरेक्टर करिना कोफमान गुटेरिजले भनिन् ।

    राहत प्याकेजबाट छुटेकाहरु:

     संघीय सरकारले भर्खरै ल्याएको २ ट्रिलियन डलरको राहत प्याकेजले सोसियल सेक्युरिटी भएका ती व्यक्तिहरु जसले वार्षिक ७५ हजार डलरभन्दा कम कमाउँछन्, उनीहरुलाई एक पटकको लागि १२०० डलर दिंदै छ । त्यस्तै, वार्षिक ९९ हजार डलरसम्म कमाउनेले पनि केही रकम पाउँदैछन् ।

    उक्त परिवारमा रहेका १७ वर्षमुनिका प्रत्येक बच्चाको भाग ५०० डलर भने छुट्याइएको छ । ट्रेजरी सेक्रेटरी स्टिभन मनुसिनका अनुसार जसले ट्याक्स फाइल गर्दा बैंकको जानकारी दिएका छन्, उनीहको खातामा पहिलो रकम अप्रिल १७ तारिखतिर आउँदैछ । सन् २०१८ वा २०१९ मा ट्याक्स फाइल गरेकाहरुले अरु केही गर्नु पर्दैन । आइ. आर. एस. ले अन्यका लागि भने अनलाईन पोर्टल बनाएको छ ।

    यता १०औं लाख व्यक्तिहरु जसको आफ्नो बैंक खाता छैन, कानूनी रुपमा अनडकुमेन्टेड छन् र अरुमाथि डिपेन्डेन्ट छन्, उनीहरु यो सहयोग पाउन योग्य हुंदैनन् । न्यू अमेरिकन एकोनोमिले सन् २०१८ मा गरेका रिसर्च अनुसार लगभग १ करोड आप्रवासीहरु ‘अनडकुमेन्टेड’ छन् ।

    ‘आप्रवासीहरु जो संघीय सरकार र राज्य सरकार दुबैलाई कर तिर्छन् तर उनीहरुसंग सोसियल सेक्युरिटी कार्ड छैन भने उनीहरु राहत प्याकेज पाउन हकदार हुंदैनन्,’ न्यूयोर्क इमिग्रेशन कोलिसनका उपाध्यक्ष अनु जोशीले बताइन् ।

    द डेली न्युजका अनुसार कम्तीमा १ लाख १२ हजार न्युयोर्कवासीसंग व्यक्तिगत कर नम्बर छ तर सोसल सेक्युरिटी छैन । ‘अनडकुमेन्टेड आप्रवासीहरु यतिखेर सबैभन्दा बढी प्रभावित छन् र उनीहरु आफ्नो ज्यानलाई जोखिममा पारेर काम गरिरहका छन् ताकि हामी सुरक्षित रहौं,’ जोशीले बताइन् । ‘उनीहरुलाई जानीजानी राहत प्याकेजबाट वञ्चित गराइएको हो । यसको अर्थ कि घरमा बस वा बाहिर गएर काम गरेर आफ्नो परिवारलाई पाल भन्न खाजिएको हो,’ जोशीले बताइन् ।

     सामाजिक समुहहरु जस्तै मेक द रोड न्युयोर्क, द स्ट्रिट भेन्डर प्रोजेक्ट, अनलोकल , न्यूयोर्क नेल सलन वर्कर्स संघ लगायतले मानिसहरुलाई डोनेशन गर्न प्रोत्साहन गरिरहेका छन् । ‘यसरी पैसा उठाएर सहयोग गर्नु ती प्रभावितहरुको लागि अस्थायी रुपमै भएपनि एकदमै महत्वपूर्ण काम होे,’ न्यूयोर्क नेल सलन वर्कस संघका अर्गनाइजिङ डिरेक्टर लुइस गोमेजले बताए ।

    ती समुहहरुले यसको स्थायी समाधानका लागि लडिरहँदा ती प्रभावितहरुका लागि यस्ता सहयोग गर्न अघि बढ्नु एकदमै सराहनीय कदम भएका गोमेजले ठम्याए ।

    ऋणको चिन्ता :

    इस्ट हार्लममा चुरोज र आइसक्रिम बेच्ने मेक्सिकन मुलकी ५० वर्षीया फ्रान्सिस्काले १ महिनादेखि काम गर्न पाएकी छैनन् । उनलाई अर्को महिनाको घरभाडा कसरी तिर्ने भन्ने चिन्ता छ । उनकी कलेज पढ्ने १९ वर्षिया छोरी र उनले फुड बैंकबाट प्राप्त गरेका खाना खाएर बांचिरहेका छन् । आफुसंग भएका चामल र गेडागुडी खटाइ–खटाइ खाइरहेका छन् । ‘मलाई चिन्ता छ यो कोराना भाइरसको असर सिद्धिएपछि म ऋणमा चुर्लुम्म डुबेको हुनेछु,’ स्पेनिस भाषामा उनले बताइन् । ‘हामी जस्तालाई सरकारले सहयोग नगरेको देखेर एकदमै नरमाइलो लागि रहेको छ । यो अन्याय नै हो,’ उनले भनिन् । ‘यदि त्यो चेक पाएको भए ग्रोसरी र अन्य बिल तिर्न पुग्थ्यो जुन अहिलेको प्रमुख आवश्यक्ता हो,’ उनले थपिन् ।

     स्टेटन आइल्याण्डमा ६ बेरोजगार साथीहरुसंग बस्ने २७ वर्षीया बेरेनिश एगुले केही सहयोग पाए आफुले खाना किन्ने बताइन् । मेक्सिकोबाट आएकी बेरेनिस पनि उनको इमिग्रेसन स्ट्याटसका कारण राहत पाउनबाट वञ्चित छिन् । ‘मलाई थाहा छैन विना काम हामी कतिन्जेल टिक्न सक्छौं भनेर,’ स्पेनिस भाषामा बेरेनिशले बताइन् । ‘हामी पनि मान्छे हौं नि,’ उनले भनिन् । ‘हामी यहाँको नागरिक नभएपनि हामीले कामदारले पाउने अधिकार त पाउनुपर्छ,’ उनले भनिन् ।

    यो आर्टिकल तयार पार्न स्ट्रिट भेन्डर प्रोजेक्टकी एमेलि रोजन्जिग, वर्कस युनाइटेडकी लियन टोरी मर्फी र अधिकारकी प्रार्थना गुरुङले अनुवादमा सहयोग गरेका थिए ।

     (यो रिपोर्ट ‘द सिटी डट न्युयोर्क’ को अनुरोधमा नेपालीमा उल्था गरी प्रकाशित गरिएको हो)

  • भारतमा कोरोना नियन्त्रण उन्मुख

    भारतमा कोरोना नियन्त्रण उन्मुख

    नयाँ दिल्ली । अप्रिल पहिलो साता भारतीय राज्यहरुबाट निकै डरलग्दो तथ्यांकहरु आइरहेका थिए । जहाँ कोरोनाको संक्रमण हरेक तीन दिनमा दोब्बरले बढिरहेको थियो ।

    तर, अप्रिल दोस्रो साता सकिँदासम्म भारतमा नयाँ संक्रमणको दर निकै घटेको छ । संक्रमणको तुलनामा मानिसको मृत्युदर समेत नगन्य रहेको छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयले यसलाई शुभसंकेत भनेको छ । जसले भारतमा कोरोना अब नियन्त्रण उन्मुख रहेको देखाउने भारतीय अधिकारीहरुको दावि छ ।

    भारतमा १ अर्ब ३० करोड मानिस छन् । यहाँ लकडाउन छ । यति ठूलो जनसंख्यालाई घर भित्र थुनेर राख्दै एक महामारीको नियन्त्रण भारतजस्तो मुलकमा निकै चूनौतिपूर्ण काम हो ।

    तर, खासगरी स्थानीय सरकारहरुको सक्रियतामा भारतले सफलता पाइरहेको छ । दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको देश भारत हो।

    यस मुलुकमा अहिसम्म ४ सय ५२ जना संक्रमितको ज्यान गएको छ । भारतभर १३ हजार ८ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

    सोहीकारण संक्रमितको तुलनामा मर्ने मानिस ज्यादै कम छन् । यहाँ १ हजार ७ सय ६७ जना उपचारपछि निको भइसकेका छन् । भारत युरोप र अमेरिकाको तुलनामा यो भाइरसको नियन्त्रणको युद्धमा धरै हदसम्म सफल देखिएको छ ।

    भारतका कतिपय प्रदेश र जिल्लामा एक जना मानिसको पनि कोरोना संक्रमणका कारण ज्यान नगएको तथ्यांक छ ।

    भारतले २५ मार्चबाट देशभर लकडाउन घोषणा गरेको हो ।

    यस २१ दिनको अवधिमा संक्रमण धेरै हदसम्म काबुमा राख्न सफल भएको भारतीय स्वास्थ्य मन्त्रालयको भनाई छ । भारतमा कोरोना संक्रमणको फैलने दर कम भएको छ ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल पहिला साता हरेक तीन दिनमा कोरोना संक्रमण दर दोब्बरको हिसाबले बढेको थियो । तर हाल यो दर हरेक ६ दशमलव २ दिनमा झरेको छ । भारतका १९ राज्यमा कोरोना संक्रमित कम छन् ।

  • चीनमा थपिए कोरोनाबाट मर्नेको संख्या

    चीनमा थपिए कोरोनाबाट मर्नेको संख्या

    काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) उत्पत्ति भएको शहर चीनको वुहानमा महामारीबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९० जना थपिएका छन् ।

    चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकालाई यसमा गणना गरिएको छ ।

    चीनले वुहानबाट मात्र १२ सय ९० जना थप भएको उल्लेख गरेको छ ।

    महामारीको समयमा अस्पतालमा पर्याप्त भर्ना नभएका, घरमै मृत्यु भएका र दोहोरिएका समेत जोडेर फाइनल नतिजा निकालिएको चीनले उल्लेख गरेको छ ।

    यसअघि चीनले यथार्थ विवरण लुकाइरहेको आरोप लागिरहेको थियो ।

    यसलाई स्वयमः चीनले समेत स्वीकार गरेको छ । चीनले वुहानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या पुनरावलोकन गर्दै ३ हजार ८ सय ६९ पुगेको उल्लेख गरेको छ ।

    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावको कारण केही मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन नसकेका हुन् ।

    अहिले दोहोरिएकालाई हटाउने र छुटेकालाई थप्ने काम पनि भएको चिनियाँ अधिकारीले जनाएका छन् ।