Category: विश्व

  • हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास

    हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास

    मेक्सिको सिटी, १५ फागुन (रासस–एपी) । लागुऔषध गिरोहका शक्तिशाली नेताको मृत्युपछि भड्किएको हिंसाले मेक्सिकोको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्षले भने आगामी विश्वकप आयोजना क्षमतामा पूर्ण भरोसा व्यक्त गरेका छन् । तीन महिनाभन्दा बढी समय बाँकी रहँदा देशले सह–आयोजकका रूपमा जिम्मेवारी सम्हाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको छ तर फिफाका अध्यक्ष जियानी इन्फ्यान्टिनो विश्वस्त देखिनएका छन् ।


    उनले कोलम्बियामा आयोजित पत्रकार सम्मेलनमा मेक्सिकोको अवस्थाबारे निगरानी गरिरहेको बताउँदै मेक्सिको, त्यहाँकी राष्ट्रपति क्लाउडिया सेनबाम र सम्बन्धित निकायहरूमाथि पूर्ण विश्वास रहेको उल्लेख गरे । उनका अनुसार विश्वकपका खेलहरू सकेसम्म सहज रूपमा सम्पन्न हुनेमा फिफा आशावादी छ । “मेक्सिको महान् देश हो, संसारका अन्य देशमा जस्तै यहाँ पनि घटनाहरू हुन्छन्स हामी चन्द्रमामा बस्दैनौँ”, उनले भने । व्यवस्था र सुरक्षाको प्रत्याभूति सरकार, प्रहरी र अधिकारीहरूले दिने उनको विश्वास छ ।

    हालै मेक्सिकाली सेनाले ‘एल मेन्चो’ भनेर चिनिने नेमेसियो रुबेन ओसेगुरा सर्भान्टेसलाई कारबाहीका क्रममा मारेपछि देशका विभिन्न भागमा हिंसा फैलिएको थियो । उनी जलिस्को न्यु जेनेरेसन लागुऔषध गिरोहका प्रमुख मानिन्थे । त्यसपछिका दिनहरूमा लागुऔषध गिरोहका समूहले करिब एक दर्जन राज्यमा सवारीसाधन जलाउने, सडक अवरुद्ध गर्ने लगायतका गतिविधि गरेका थिए । अधिकारीहरूका अनुसार कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

    हिंसाको प्रभाव खेल क्षेत्रमा पनि परेको छ । स्थानीय लिगका चार उच्चस्तरीय खेल गत आइतबार स्थगित गरिएका थिए, जसमा मध्य सहर क्वेरेटारोमा तय गरिएको खेल पनि समावेश थियो । सोही सहरमा मैत्रीपूर्ण खेलमा मेक्सिकोले आइसल्यान्डलाई ४–० ले पराजित गरेको थियो । खेल सुरु हुनुअघि ओसेगुरालाई पक्राउ गर्ने अभियानका क्रममा ज्यान गुमाएका सैनिकहरूको सम्मानमा कोरेगिडोरा रङ्गशालामा एक मिनेट मौनधारण गरिएको थियो ।

    कार्यक्रमअनुसार जुन ११ मा मेक्सिको सिटीमा हुने उद्घाटन खेलसहित मेक्सिकोमा १३ वटा विश्वकप खेल आयोजना हुनेछन् । जलिस्को लागुऔषध गिरोहको प्रभाव क्षेत्र मानिने ग्वाडलाजाराले चार खेल आयोजना गर्ने तालिका छ । कोलम्बियाले एक खेल मेक्सिको सिटीमा र अर्को ग्वाडलाजारामा खेल्ने तयारी गरेको छ ।

    कोलम्बियाली फुटबल महासङ्घका अध्यक्ष रामोन जेसुरुनले आफ्ना प्रारम्भिक दुई खेल मेक्सिकोमा भए पनि देशले अवस्था पार गर्ने विश्वास व्यक्त गरेका छन् । उनले यो अस्थायी समस्या मात्र भएको र छिट्टै समाधान हुने धारणा राखेका छन् ।
    तर सबै राष्ट्रहरू समान रूपमा आश्वस्त छैनन् । पोर्चुगल फुटबल महासङ्घले मार्चमा मेक्सिकोसँग हुने मैत्रीपूर्ण खेलअघि घटनाक्रम नजिकबाट हेरिरहेको जनाएको छ ।

    जमैकाले मार्च २६ मा ग्वाडलाजारामा इन्टरकन्टिनेन्टल प्लेअफ सेमिफाइनलमा न्यु क्यालेडोनियासँग खेल्ने कार्यक्रम छ, जसको विजेताले विश्वकप स्थानका लागि कङ्गोसँग प्रतिस्पर्धा गर्नेछ । जमैकन फुटबल महासङ्घका अध्यक्ष माइकल रिकेट्सले खेलहरू महिनाको अन्त्यतिर भएकाले केही समय अझै बाँकी रहेको बताउँदै वर्तमान अवस्थाले आफूलाई चिन्तित बनाएको स्वीकार गरेका छन् । उनले कनकाकाफ र फिफाबाट आवश्यक निर्देशनको प्रतीक्षा गरिरहेको बताए ।


    मोन्टेरीमा अर्को प्लेअफ खेल हुने कार्यक्रम छ, जहाँ बोलिभियाले सुरिनामसँग खेल्नेछ र विजेताले प्रतियोगितामा स्थानका लागि इराकसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार राष्ट्रपति सेनबामले ग्वाडलाजारामा हुने विश्वकप खेलहरू योजनाअनुसार नै हुने र कुनै जोखिम नरहेको स्पष्ट पारेका थिए ।

    इन्फ्यान्टिनोले फिफा मेक्सिकाली सरकारसँग नियमित सम्पर्कमा रहेको र परिस्थितिको निरन्तर अनुगमन भइरहेको बताए । उनका अनुसार आगामी विश्वकप ‘अविश्वसनीय उत्सव’ बन्नेछ र वर्तमान चुनौतीबीच पनि मेक्सिकोले आफ्नो दायित्व सफलतापूर्वक पूरा गर्ने विश्वास फिफासँग रहेको छ ।

  • हङ्गेरी र स्लोभाकियाका लागि तेल अभावको खतरा नहुने इयूको भनाइ

    हङ्गेरी र स्लोभाकियाका लागि तेल अभावको खतरा नहुने इयूको भनाइ

    ब्रसेल्स, बेल्जियम, १४ फागुन (रासस–एएफपी) । हङ्गेरी र स्लोभाकियाले हाल ‘द्रुज्बा पाइपलाइन’बाट हुने रुसी आपूर्तिमा अवरोध भए पनि पेट्रोलियम पदार्थको अभावको जोखिम नहुने युरोपेली सङ्घ (इयू) इयूले बुधबार बताएको छ । “वैकल्पिक स्रोतहरूले उनीहरूलाई आपूर्तिको व्यवस्था गरेका छन्,” इयूका प्रवक्ताले स्थितिबारे छलफल गर्न विशेषज्ञहरूको बैठकपछि भने ।

    रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट रहेका केही इयू नेतामध्ये एक हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई ९० अर्ब युरो (१०६ अर्ब डलर) को इयूको ऋण र किएभले प्रमुख तेल पाइपलाइन पुनः नखोल्दासम्म रूसमाथि नयाँ चरणको प्रतिबन्ध नगाउन नदिन ‘भिटो शक्ति’ को प्रयोग गरेका छन् ।


    युक्रेनले पाइपलाइनको काममा जानाजानी आफ्नो खुट्टा तान्न खोजेको आरोप उनले लगाएका छन् । किएभले जनवरीमा रूसी आक्रमणले पाइपलाइन क्षतिग्रस्त भएको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मर्मत अझै पूरा नभएको बताएका छन् । उनले बुडापेस्टले मस्कोसँग यो मुद्दा उठाउन सुझाव दिए र भने, “युक्रेनको पूर्वाधारबिरूद्ध हवाई अभियानको एक भागको रूपमा पाइपलाइनमा धेरै पटक बमबारी गरेको छ।

    यसबाट पाइपलाइन क्षतिग्रस्त भएको छ र तत्काल सञ्चालन गर्न कठिनाई भएको छ ।” हङ्गेरी र स्लोभाकियाले तेलको आपतकालीन भण्डार लिन बाध्य भएका छन्, जुन तीन महिनाको आयातमा सीमित छ । “उनीहरूसँग क्रोएशिया हुँदै जाने एड्रिया पाइपलाइन र आपूर्तिका अन्य स्रोतहरू छन्,” युरोपेली आयोगका प्रवक्ता अन्ना–काइसा इटकोनेनले विशेषज्ञहरूको बैठकपछि भने ।


    “क्रोएसियाले बैठकमा गैर–रूसी कच्चा तेल एड्रिया पाइपलाइनमार्फत हङ्गेरी र स्लोभाकियामा ढुवानी भइरहेको पुष्टि गरेको छ,” उनले भने । “यो हङ्गेरी र स्लोभाकियाको लागि उनीहरूको आवश्यकताहरू पूरा गर्न मुख्य वैकल्पिक पाइपलाइन बनेको छ, र पाइपलाइनसँग हङ्गेरियाली स्लोभाकियाली आवश्यकताहरू पूर्ण रूपमा पूरा गर्न आयतन बढाउन पर्याप्त क्षमता छ ।”

    उनले भने, “युक्रेनलाई इयू ऋणमा आफ्नो भिटो हटाउन हङ्गेरीलाई मनाउन के गर्न सकिन्छ भनी उच्च–स्तरीय वार्ता जारी छ।” बुडापेस्टको विरोधका बाबजुद इयूका प्रमुख उर्सुला भोन डेर लेयनले मङ्गलबार युरोपेली सङ्घले ऋणमा कुनै न कुनै रूपमा राम्रो रकम लिने बताएका छन् । “हामीसँग विभिन्न विकल्पहरू छन्, र हामी तिनीहरूलाई प्रयोग गर्नेछौँ,” उनले भने ।

  • ग्रीसमा भएको डुङ्गा दुर्घटनामा परेका इजिप्टका १८ जना अझै बेपत्ता

    ग्रीसमा भएको डुङ्गा दुर्घटनामा परेका इजिप्टका १८ जना अझै बेपत्ता

    काएरो, १४ फागुन (रासस–एएफपी) । गत हप्ता ग्रीसको क्रेट टापुमा आप्रवासीहरूलाई बोकेको एक डुङ्गा दुर्घटनामा वेपत्ता भएका आफ्ना १८ नागरिक अझै हराइरहेका इजिप्टले बुधबार जानकारी गराएको छ। काठको उक्त डुङ्गामा चार नाबालकसहित ५० जना सवार थिए । ग्रीक अधिकारीहरूले उद्धार कार्यका लागि त्यस क्षेत्रमा एक व्यापारिक जहाजलाई निर्देशन दिएका थिए । ग्रीसको सार्वजनिक प्रसारक इआरटीका अनुसार आप्रवासीहरूको डुङ्गा नजिक पुग्दा एउटा दुर्घटना भएको थियो । यात्रुहरूले उद्धार जहाजमा भर्याङ चढ्न खोज्दा अचानक डुङ्गा पल्टिएको थियो ।

    इजिप्टको विदेश मन्त्रालयका अनुसार डुङ्गामा २१ इजिप्टका नागरिक सवार थिए, जसमध्ये तीन जना मृत अवस्थामा फेला परेका छन् भने अन्य अझै हराइरहेका छन् । ग्रीक अधिकारीहरूका अनुसार व्यावसायिक जहाजले बीस आप्रवासीहरूलाई उद्धार गरेको थियो तर धेरै व्यक्तिहरू अझै पनि बेपत्ता छन्। स्थानीय सञ्चारमाध्यम क्रेटा २४ का अनुसार ग्रिसका अधिकारीहरूले मानव तस्कर भएको आशङ्कामा दुई सुडानी पुरुषलाई पक्राउ गरेका छन् ।

    आप्रवासी डुङ्गा लिबियाबाट हिँडेको अनुमान गरिएको छ । आप्रवासीहरूले नियमित रूपमा लिबियाबाट युरोपेली सङ्घको प्रवेशद्वार क्रेटमा खतरनाक छाल पार गर्ने प्रयास गर्छन्। गत वर्ष १७ हजारभन्दा बढी इजिप्टका नागरिक भूमध्यसागर हुँदै युरोप पुगेका थिए, जसले उनीहरूलाई युरोपमा अनियमित आप्रवासीहरूको शीर्ष अफ्रिकी र दोस्रो ठूलो विश्वव्यापी समूह बनाएको थियो। धेरै आप्रबासीहरू इजिप्टको नाइल डेल्टाका गरिब शहरहरूबाट आउँछन् र लिबिया हुँदै यात्रा गर्छन्, जहाँ उनीहरूले स्वेच्छाचारी हिरासत, यातना, यौन हिंसा र जबरजस्ती श्रमको सामना गर्छन्।

    उनीहरूलाई प्रायः जबरजस्ती असुली गरिन्छ र बन्धक बनाइन्छ र जबसम्म उनीहरूका परिवारले घरबाट तस्करहरूलाई थप पैसा पठाउँदैनन् उनीहरूले गन्तव्यतर्फ जान पनि पाउँदैनन् । इजिप्टको विदेश मन्त्रालयले नागरिकहरूलाई ‘अवैध आप्रवासन गिरोहहरूबाट बहकिनबाट बच्न अत्यधिक सावधानी अपनाउन’ चेतावनी दिएको छ र मृतकहरूको स्वदेश फिर्तीमा समन्वय गरिरहेको बताएको छ।

  • अमेरिकाको मिसौरीमा भएको गोली हानाहानमा दुई प्रहरीको मृत्यु, तीन घाइते

    अमेरिकाको मिसौरीमा भएको गोली हानाहानमा दुई प्रहरीको मृत्यु, तीन घाइते

    वासिङ्टन, १३ फागुन (रासस–क्युएनए) । संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । क्रिश्चियन काउन्टी शेरिफ ब्राड कोलले विज्ञप्ति मार्फत घटना दक्षिण–पश्चिम मिसौरीको हाइल्याण्ड भिलको दक्षिणमा भएको जनाएको छ । संदिग्धलाई रिड्स स्प्रिङ सहर नजिकै फेला परेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    कोलले संदिग्धले गोली हाने पछि घटना स्थलमै काउन्टी शेरिफका सहायकको मृत्यु भएको उल्लेख गर्दै अन्य सहायक संदिग्धसँग गोली हानाहानको क्रममा बन्दुकको गोलीको कारण अस्पतालमा मृत्य भएको र अन्य तीन जना घाइते भएको बताएका छन् । पछिल्लो समयमा संयुक्त राज्य अमेरिकामा गोली हानाहानका घटनाहरू बढ्दै गएकाले असुरक्षा र सामाजिक सङ्कट चर्किएको जनाइएको छ ।

  • मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    तेहरान, १३ फागुन (रासस–एएफपी) । इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको फलफुल बजारमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ । दुर्घटनामा पाइलट, सह–पाइलट र दुई जना फलफुल व्यापारीको मृत्यु भएको इरना समाचार एजेन्सीले जनाएको छ । एजेन्सिका अनुसार दुर्घटनाको कारण “प्राविधिक खराबी“ भएको बताएको छ । दुर्घटना इस्फहान प्रान्तको खोमेनिसहर सहरमा भएको पुष्टि गरिएको छ ।

    लगातारको प्रतिबन्ध खेत्दै आएको इरानले पछिल्लो समयमा धेरैवटा हवाई प्रकोपहरूको सामना गरेको छ भने अधिकारीहरूले आफ्ना पुराना जहाजहरूका लागि स्पेयर पाट्र्सहरू प्राप्त गर्न गाह्रो भएको गुनासो गरेका छन् । यस अघि पश्चिमी हामेदान प्रान्तमा प्रशिक्षण अभ्यासको क्रममा बिहीबार, एक इरानी लडाकू जेट दुर्घटना ग्रस्त हुदाँ दुई जना पायलटहरू मध्ये एकको मृत्यु भएको इरानी मिडियाले जनाएका छन् ।

  • अमेरिकामा नयाँ कर लागू

    अमेरिकामा नयाँ कर लागू

    वासिङ्टन, १२ फागुन (रासस–एएफपी) । सर्वोच्च अदालतले विश्वव्यापी करसम्बन्धी पुरानो निर्णय खारेज गरिदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीति पुनर्संरचना गर्दै आयातित वस्तुहरूमा नयाँ अमेरिकी कर मङ्गलबारदेखि लागू गराएका छन् । सुरुमा १० प्रतिशत कायम गरिएको यो करलाई ह्वाइट हाउसले ‘संयुक्त राज्य अमेरिकाको गम्भीर भुक्तानी सन्तुलन घाटा सम्बोधन गर्ने उपाय’ का रूपमा व्याख्या गरेको छ ।

    राष्ट्रपति ट्रम्पले उक्त दरलाई १५ प्रतिशतसम्म पुर्‍याउने योजना सार्वजनिक गरेका छन् । यद्यपि क्षेत्र–विशेष अनुसन्धानअन्तर्गत रहेका उत्पादन तथा अमेरिका–मेक्सिको–क्यानाडा व्यापार सम्झौताअन्तर्गत पर्ने सामानहरूमा छुट दिइने अपेक्षा गरिएको छ । नयाँ कर काङ्ग्रेसले समयावधि नबढाएसम्म १५० दिनसम्म मात्र कायम रहनेछ र यसलाई दीर्घकालीन व्यापार नीतितर्फको सङ्क्रमणकालीन कदमका रूपमा हेरिएको छ ।

    गत शुक्रबार सर्वोच्च अदालतले सन् १९७७ को कानून प्रयोग गरी विभिन्न देशमा एकतर्फी कर लगाउने कार्य राष्ट्रपतिको अधिकारभन्दा बाहिर रहेको ठहर गर्दै पुराना विश्वव्यापी करहरू खारेज गरेको थियो । यद्यपि स्टिल र अटोमोबाइलजस्ता क्षेत्रमा लागू गरिएका क्षेत्र–विशिष्ट कर भने यथावत् रहेका छन् । अमेरिकी भन्सार तथा सीमा सुरक्षाले अदालतले रद्द गरेका करको सङ्कलन रोकेको जनाएको छ भने मङ्गलबारदेखि नयाँ १० प्रतिशत कर उठाउन सुरु गरेको पुष्टि गरेको छ ।

    कर फाउन्डेसनकी उपाध्यक्ष एरिका योर्कका अनुसार नयाँ कर वार्षिक करिब १२ खर्ब डलर बराबरको आयातमा लागू हुनेछ । यो कुल आयातित वस्तुको झण्डै ३४ प्रतिशत हो । उहाँका अनुसार सन् २०२५ मा यसले औसत अमेरिकी परिवारमाथि करिब एक हजार डलर बराबरको थप भार पार्नेछ र विद्यमान तथा प्रस्तावित करहरूका कारण सन् २०२६ मा करिब ७०० डलर घरेलु खर्च बढ्न सक्ने अनुमान छ ।

    सर्वोच्च अदालतको निर्णयपछि राष्ट्रपति ट्रम्पले आफ्नो अधिकार ‘अत्यधिक रूपमा सीमित गरिएको’ टिप्पणी गर्नुभएको छ र आवश्यक परे वैकल्पिक कानूनी उपाय प्रयोग गर्ने सङ्केत दिएका छन् । पूर्व अमेरिकी व्यापार अधिकारी वेन्डी कटलरका अनुसार अदालतको फैसलापछि राष्ट्रपतिलाई व्यापारिक असन्तुष्टि व्यक्त गर्न नयाँ उपकरण खोज्नुपर्ने अवस्था आएको छ । उनले कडा इजाजतपत्र शुल्कजस्ता उपाय सम्भावित विकल्प हुन सक्ने बताएका छन् । तर त्यसले परम्परागत करको मात्रात्मक प्रभाव दिन नसक्ने उल्लेख गरेका छन् ।


    राष्ट्रपति ट्रम्पले अदालतको निर्णयपछि पनि व्यापारिक साझेदारहरूलाई ‘खेल नखेल्न’ चेतावनी दिँदै आवश्यक परे थप कर वृद्धि गर्न सकिने बताएका छन् । अमेरिकी व्यापार प्रतिनिधि जेमीसन ग्रियरले टेलिभिजन अन्तर्वार्तामा वर्तमान कर सम्झौताहरू यथावत् रहेको र साझेदार राष्ट्रहरूले आफ्ना प्रतिबद्धता पूरा गर्ने अपेक्षा गरिएको बताएका छन् ।


    तर बेलायत र अस्ट्रेलियाजस्ता केही देशले अब १५ प्रतिशतसम्मको करको सम्भावना सामना गर्नुपर्ने हुन सक्छ, जुन अघिल्लो १० प्रतिशत दरभन्दा उच्च हो । विश्लेषकहरूले यस कदमले केही साझेदार राष्ट्रमा असन्तुष्टि बढाउन सक्ने र दीर्घकालमा अमेरिका बाहिर आपूर्ति शृङ्खला विविधीकरण गर्ने प्रयास तीव्र हुन सक्ने सङ्केत गरेका छन् ।

  • भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

    भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

    मुम्बई, १२ फागुन (रासस–एएफपी) । पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले “मेडिकल निकासी (एयर एम्बुलेन्स) उडान“ सञ्चालन गर्ने बिचक्राफ्ट सी–९० सोमबार पूर्वी राज्य झारखण्डको कसारिया क्षेत्रमा दुर्घटना भएको पुष्टि गरेको छ ।

    उद्धार र चिकित्सा टोलीहरू दुर्घटना स्थलमा पुगेका छन् भने, स्थानीय मिडियाले दुर्घटना स्थल दुर्गम जङ्गल भित्र रहेको जनाएका छन् । “डाक्टरको टोलीले उनीहरूलाई फेला पारी परीक्षण गरेर मृत घोषणा गरेको स्थानीय प्रशासनिक अधिकारी कीर्तिश्री जीले पत्रकारहरूसँगको साक्षातकारमा बताए ।

    उनका अनुसार मृत्यु हुने सात जना मध्ये दुई जना चालक दलका सदस्य थिए । डिजिसिएले सोमबार राति रेडबर्ड एयरवेजद्वारा सञ्चालित विमानले मौसमका कारण सन्तुलन गुमाएको जनाकारी गराएको २३ मिनेट पछि हवाई ट्राफिक राडारसँग सम्पर्क गुमाएको बताइएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोलाई अनुसन्धानका लागि घटनास्थलमा पठाइएको जनाइएको छ ।

  • किम पुनः महासचिव, आणविक शक्ति अझ विस्तारको सङ्केत

    किम पुनः महासचिव, आणविक शक्ति अझ विस्तारको सङ्केत

    सियोल, १२ फागुन (रासस–एपी) । उत्तर कोरियाली नेता किम जोङ–उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित भएका छन् । राजधानी प्योङयाङमा जारी पार्टी कङ्ग्रेसले उनको नेतृत्वमा आणविक क्षमता विस्तार र सैन्य शक्ति सुदृढीकरणलाई आगामी पाँच वर्षको केन्द्रीय कार्यदिशा बनाउने सङ्केत दिएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)का अनुसार चौथो दिनको बैठकमा हजारौँ प्रतिनिधिहरूको ‘अटल र सर्वसम्मत इच्छा’ का आधारमा किम पुनः महासचिव चयन भएका हुन् ।

    पार्टी नियमअनुसार सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुने कङ्ग्रेसले महासचिव चयन गर्दै आएको छ । बयालिस वर्षीय किमले शासनकालमा शीर्ष पद सम्हालिरहेका छन् । पहिले पहिलो सचिव, त्यसपछि अध्यक्ष र सन् २०२१ देखि महासचिवको उपाधिमा रहँदै आएका छन् ।


    कङ्ग्रेसको प्रतिवेदनले एसियामा रहेका अमेरिकी सहयोगीहरू र अमेरिकी मुख्य भूमिलाई नै निशाना बनाउन सक्ने क्षेप्यास्त्रसहितको आणविक शस्त्रागारलाई थप सुदृढ गर्ने लक्ष्य औँल्याएको छ । पार्टीले विज्ञप्तिमार्फत किमको नेतृत्वमा ‘आक्रमणको कुनै पनि खतरा’ र ‘कुनै पनि प्रकारको युद्ध’ सामना गर्न सक्ने सैन्य शक्ति निर्माण भएको दाबी गर्दै राष्ट्रिय गौरव र आत्मसम्मान बढेको उल्लेख गरेको छ ।

    बैठकले शक्तिशाली केन्द्रीय समितिको नयाँ सूची सार्वजनिक गर्दै नेतृत्व तहमा पुस्तागत परिवर्तनको सङ्केत दिएको छ । एक सय ३८ सदस्यीय निकायमा केही वृद्ध सैन्य अधिकारीहरू र सर्वोच्च जनसभाका ७६ वर्षीय अध्यक्ष चोइ रियोङ हे बाहिरिएका थिए । मार्सल पाक जोङ चोन र रि प्योङ चोललगायत विगत दशकमा आणविक विकाससँग जोडिएका केही उच्च अधिकारीहरू पनि सूचीमा समावेश छैनन् । अन्तर–कोरियाली मामिलामा संलग्न किम योङ चोल र रि सोन ग्वोनलाई समेत हटाइएको दक्षिण कोरियाली एकीकरण मन्त्रालयका प्रवक्ता युन मिन होले बताए ।


    विश्लेषकहरूले किमले परम्परागत सेनालाई आणविक क्षमतासँग एकीकृत गर्ने नयाँ सैन्य लक्ष्य सार्वजनिक गर्न सक्ने आकलन गरेका छन् । उनले विशेषतः महामारीपछि चीनसँगको व्यापार र रसियासँगको सहकार्यबाट लाभ लिने रणनीतिका बीच जन–परिचालनमार्फत आर्थिक ‘आत्मनिर्भरता’ अभियानलाई पुनः जोड दिने सम्भावना पनि देखिएको छ ।

    किमले गत सेप्टेम्बरमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग छ वर्षपछि पहिलो शिखर वार्ता गरेका थिए । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले पुनः निर्वाचनमा बधाई सन्देश पठाएका थिए । युक्रेन युद्धमा रूससँगको सहकार्य र आणविक कार्यक्रमको आक्रामक विस्तारपछि वासिङ्टन र सियोलसँगको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

    उत्तर कोरियाले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता विफल भएपछि संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको अर्थपूर्ण कूटनीति स्थगित गरेको थियो । हालै किमको सरकारले वासिङ्टनसँग वार्ताका लागि उत्तर कोरियाको आणविक निशस्त्रीकरण पूर्वशर्त हटाउन आग्रह गर्दै आएको छ । सन् २०२४ मा किमले दक्षिण कोरियासँगको शान्तिपूर्ण पुनर्मिलन नीति त्याग्दै उसलाई स्थायी शत्रु घोषणा गरेका थिए । यसले अन्तर–कोरियाली सम्बन्ध झन् जटिल बनेको छ ।

  • जेलेन्स्की भन्छन् : पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके

    जेलेन्स्की भन्छन् : पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके

    किएभ, १२ फागुन (रासस–एएनआई) । रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको प्रक्रिया सुरु गरिसकेको विश्वास व्यक्त गरेका छन् । उनका हाँअनुसार अहिलेको सङ्घर्ष केवल दुई देशबीच सीमित छैन, बरु विश्व व्यवस्थामाथिको चुनौतीका रूपमा विकसित भइरहेको छ ।

    बिबिसीसँगको हालैको अन्तर्वार्ताको सारांश सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गर्दै जेलेन्स्कीले तेस्रो विश्वयुद्धबारे फरक–फरक धारणा रहेको उल्लेख गरे । “तेस्रो विश्वयुद्धका बारेमा विभिन्न दृष्टिकोण छन् । मलाई लाग्छ पुटिनले यसलाई सुरु गरिसकेका छन्, प्रश्न के हो भने, रुसले कति भूभाग कब्जा गर्न सक्छ र उसलाई कसरी रोक्ने ?” उनले लेखेका छन् । उनका अनुसार उद्देश्य केवल रुसलाई जित्न नदिनु मात्र होइन, तर रुसले आफ्नो सोच र शासन पद्धति अरूमाथि थोपर्ने प्रयासलाई रोक्नु हो ।


    जेलेन्स्कीले आफूले लामो समयदेखि पुटिनले व्यापक युद्धको ढोका खोलिसकेको ठानेको उल्लेख गर्दै युक्रेन अहिले त्यसलाई पूर्णस्तरको तेस्रो विश्वयुद्धमा परिणत हुनबाट रोक्ने ‘अग्रमोर्चा’ भएको दाबी गरेका छन् । “आज हामी पुटिनलाई रोक्ने चौकी हौँ”, उनले भनेका छन् । उनका टिप्पणी २४ फेब्रुअरी २०२२ मा सुरु भएको रुसी पूर्ण आक्रमणको चौथो वार्षिकोत्सवको एक दिनअघि आएको हो ।

    यस अवधिमा युद्धले हजारौँको ज्यान लिएको छ र पूर्वी युरोपको सुरक्षा सन्तुलनमा गहिरो असर पारेको छ । जेलेन्स्कीले वर्तमान अवस्थामा सबैभन्दा ठूलो चुनौती युक्रेनको हवाई रक्षा प्रणाली सुदृढ पार्नु रहेको बताए । उनले अन्तर्राष्ट्रिय साझेदारहरूले युक्रेनलाई उन्नत हवाई रक्षा प्रणाली स्वदेशमै उत्पादन गर्न आवश्यक इजाजतपत्र नदिएकोप्रति असन्तोष व्यक्त गरे ।

    “वायु रक्षा आजको सबैभन्दा चुनौतीपूर्ण मुद्दा हो”, उनले लेखेका छन्, “दुर्भाग्यवश, साझेदारहरूले अझैसम्म हामीलाई उदाहरणका लागि प्याट्रियट प्रणाली आफैँ उत्पादन गर्न वा कम्तीमा हामीसँग रहेका प्रणालीका लागि मिसाइल बनाउन लाइसेन्स दिएका छैनन् ।”

    अमेरिकामा निर्मित एमआईएम–१०४ प्याट्रियट प्रणालीको उल्लेख गर्दै उनले युक्रेनलाई कम्तीमा मिसाइल उत्पादनको अनुमति आवश्यक रहेको बताए । उनका अनुसार आकाश सुरक्षित नभएसम्म नागरिक जीवन, शिक्षा, उद्योग र अर्थतन्त्र स्थिर हुन सक्दैन । “यदि नागरिकहरू सुरक्षित छन् भने अर्थतन्त्र चल्छ, कर उठ्छ र त्यसले सेनालाई बलियो बनाउँछ”, उनले स्पष्ट गरेका छन् ।

    अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आह्वान गर्दै जेलेन्स्कीले युक्रेनको हवाई क्षेत्र सुरक्षित गर्नु नै युद्धको परिणामलाई प्रभाव पार्ने निर्णायक तत्व भएको दोहोर्‍याएका छन् । उनका यी अभिव्यक्तिले युक्रेनले रुसी आक्रमणको सामना गर्न झेलिरहेको निरन्तर सुरक्षा र सामरिक दबाबलाई पुनः उजागर गरेको छ ।

  • इरानबाट बाहिरिन आफ्ना नागरिकलाई भारतको आग्रह

    इरानबाट बाहिरिन आफ्ना नागरिकलाई भारतको आग्रह

    नयाँदिल्ली, १२ फागुन (रासस–एएफपी) । तेहरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशङ्काबीच भारत सरकारले आफ्ना नागरिकहरूलाई इरान छोड्न औपचारिक सल्लाह दिएको छ । क्षेत्रीय तनाव बढ्दै गएको मूल्याङ्कन गर्दै विदेश मन्त्रालयले सतर्कता अपनाउन र उपलब्ध उडानमार्फत स्वदेश फर्किन आग्रह गरेको हो ।

    तेहरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा भनिएको छ, “इरानमा विकसित अवस्थालाई ध्यानमा राख्दै हाल त्यहाँ रहेका भारतीय नागरिकहरूलाई व्यापारिक उडानसहित उपलब्ध यातायातका माध्यम प्रयोग गरी इरान छोड्न सल्लाह दिइएको छ ।”

    दूतावासले सबै भारतीय नागरिक र भारतीय मूलका व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन, विरोध–प्रदर्शन हुने क्षेत्रबाट टाढा रहन, दूतावाससँग सम्पर्कमा रहन र स्थानीय सञ्चारमाध्यमबाट अद्यावधिक सूचना लिइरहन पनि आग्रह गरेको छ ।

    भारतको विदेश मन्त्रालयका अनुसार इरानमा सामान्यतया करिब १० हजार भारतीय नागरिक बसोबास गर्दै आएका छन् । हालको अस्थिर अवस्थाले उनीहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने स्थिति सिर्जना भएको सरकारी धारणा छ । यो चेतावनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बुधबार तय भएको इजरायल भ्रमणअघि सार्वजनिक भएको हो ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार उक्त भ्रमणले ‘कट्टरपन्थी’ चुनौतीहरूको सामना गर्न नयाँ सहकार्य सुदृढ गर्ने अपेक्षा व्यक्त गरेका छन् । मोदीले पनि सामाजिक सञ्जालमार्फत इजरायल भ्रमणका क्रममा हुने छलफलप्रति आफू ‘अगाडि हेर्दै’ रहेको उल्लेख गरेका छन् । “विश्वास, नवीनता र शान्ति तथा प्रगतिप्रतिको साझा प्रतिबद्धतामा आधारित इजरायलसँगको स्थायी मित्रतालाई भारतले गहिरो महत्त्व दिन्छ”, उनले लेखेका छन् ।


    नयाँदिल्लीले रक्षा, कृषि, प्रविधि र सुरक्षाजस्ता क्षेत्रमा इजरायलसँग सहकार्य विस्तार गर्दै आएको छ । त्यस्तै, भारतले खाडी राष्ट्रहरू र इरानसँग पनि दीर्घकालीन रणनीतिक सम्बन्ध कायम राखेको छ । इरानको चाबहार बन्दरगाह विकासमा भारतको संलग्नता अफगानिस्तानसम्म व्यापारिक पहुँच विस्तार गर्ने योजनासँग जोडिएको छ, जहाँ भारतले तालिबान प्रशासनसँग पनि सम्पर्क बढाउँदै आएको छ ।

  • अमेरिकासँग अन्तरिम परमाणु सम्झौतामा सहमति हुने अनुमानको इरानद्वारा खण्डन

    अमेरिकासँग अन्तरिम परमाणु सम्झौतामा सहमति हुने अनुमानको इरानद्वारा खण्डन

    तेहरान, १२ फागुन (रासस–एएफपी) । इरान र संयुक्त राज्य अमेरिकाबीच अप्रत्यक्ष वार्तामा अन्तरिम परमाणु सम्झौताको सम्भावना रहेको भन्ने अफवाहलाई इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार अस्वीकार गरेका छन् । तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बाघाईले अस्थायी सम्झौताको अनुमानमा कुनै आधार नभएको र कुनै पनि विवरण वार्ताको टेबलमा छलफल हुने बताए । उनले भने, “अमेरिकी प्रतिबन्ध र आणविक मुद्दा अन्त्य गर्ने इरानको अडान स्पष्ट छ, हामी अमेरिकी पक्षको दृष्टिकोणसँग राम्ररी जानकार छौँ।”

    बाघाईले भने, “यदि दुबै पक्षले सद्भाव प्रदर्शन गरे भने आगामी दुई–तीन दिनभित्र हामी अर्को चरणको वार्ता गर्न सक्षम हुनेछौँ भन्नेमा हामी आशावादी छौँ ।
    उनले इरान कूटनीतिमा अघि बढ्न कटिबद्ध रहेको तर आफ्नो वैधानिक अधिकारमाथि सम्झौता गर्ने कुरा कहिल्यै नस्वीकार्ने बताए । पश्चिम एसिया क्षेत्रमा अमेरिकी सैन्य खटन भइरहेका बेला इरान र संयुक्तराज्य अमेरिकाबीच बिहीबार जेनेभामा तेस्रो चरणको अप्रत्यक्ष आणविक वार्ता हुने अपेक्षा गरिएको छ ।

  • ट्रम्पलाई लुलाको समान व्यवहारको सन्देश

    ट्रम्पलाई लुलाको समान व्यवहारको सन्देश

    नयाँदिल्ली, ११, फागुन (रासस–एएफपी) । विश्व व्यापार र कूटनीतिक सम्बन्धलाई तनावमुक्त बनाउने सन्देश दिँदै ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै देशहरूसँग समान व्यवहार गर्न आग्रह गरेका छन् । अमेरिकी सर्वोच्च अदालतको प्रतिकूल फैसलापछि ट्रम्प प्रशासनले आयातमा १५ प्रतिशत कर लगाउने निर्णय गरेलगत्तै लुलाले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।


    नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले विश्वले नयाँ शीतयुद्धतर्फ जान नहुने बताए । “हामी नयाँ शीतयुद्ध चाहँदैनौँ, कुनै पनि देशमा हस्तक्षेप गर्न चाहँदैनौँ र सबै देशहरूलाई समान रूपमा व्यवहार गर्न चाहन्छौँ”, उनले भने । उनले आफ्नो टिप्पणीलाई अमेरिकी न्यायिक निर्णयप्रति प्रत्यक्ष प्रतिक्रिया नभएको स्पष्ट पार्दै संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध चाँडै सामान्य अवस्थामा फर्कने आशा व्यक्त गरे ।


    अमेरिकी सर्वोच्च अदालतले शुक्रबार छ–तीनको बहुमतमा फैसला गर्दै सन् १९७७ को कानूनले राष्ट्रपतिलाई व्यक्तिगत देशहरूमा एकतर्फी रूपमा कर लगाउने अधिकार नदिएको ठहर गरेको थियो । उक्त कानूनको आधारमा ट्रम्प प्रशासनले विश्वव्यापी व्यापारमा असर पर्ने गरी विभिन्न देशहरूमा अचानक कर लगाउँदै आएको थियो ।

    असी वर्षीय अनुभवी वामपन्थी नेता लुला अर्को महिना ट्रम्पसँग भेट गर्न वासिङ्टन जाने तयारीमा छन् । “हाम्रो कुराकानीपछि ब्राजिल–अमेरिका सम्बन्ध सामान्य अवस्थामा फर्कनेछ भन्ने कुरामा म विश्वस्त छु”, उनले भने । उनले ब्राजिलको प्राथमिकता शान्तिपूर्ण सहअस्तित्व, रोजगारी सिर्जना र जनताको जीवनस्तर उकास्नु रहेको उल्लेख गरे ।


    केही महिनादेखि वासिङ्टन र ब्रासिलियाबीच बढेको वैमनस्य क्रमशः कम हुँदै गएको सङ्केत देखिएको छ । ट्रम्प प्रशासनले गत वर्ष ब्राजिलमाथि लगाइएको ४० प्रतिशत करबाट ब्राजिलका प्रमुख निर्यात वस्तुहरूलाई छुट दिएको थियो, जसले सम्बन्ध सुधारको बाटो खोलेको मानिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन बुधबार भारत आइपुगेका लुलाले विश्वलाई थप अस्थिरता नभई शान्ति आवश्यक रहेको बताए ।

    “विश्वलाई थप अशान्ति होइन, शान्ति चाहिन्छ”, उनले भने । शनिबार भारत र ब्राजिलबीच महत्त्वपूर्ण खनिज तथा दुर्लभ पृथ्वी तत्वको क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ । लुला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि दुवै देशबीच अन्य विभिन्न सम्झौतामा समेत हस्ताक्षर भएको जनाइएको छ ।

  • ट्रम्पको प्रश्न : इरान किन झुकेको छैन ?

    ट्रम्पको प्रश्न : इरान किन झुकेको छैन ?

    जेरुसेलम, ११ फागुन (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन सम्झौतामा झुकेको छैन भन्ने प्रश्न उठाएको अमेरिकी दूत स्टिभ विटकफले बताएका छन् । आणविक सम्झौताबारे दबाब बढाइरहेका ट्रम्पले इरानले वासिङ्टनको चेतावनीलाई गम्भीर रूपमा किन नलिएको भन्ने जिज्ञासा व्यक्त गरेको उनले खुलासा गरे ।


    ओमानको मध्यस्थतामा संयुक्त राज्य अमेरिका र इरानबीच जेनेभामा वार्ता पुनः सुरु भइरहेका बेला वासिङ्टनले क्षेत्रमा दुई विमानवाहक पोत, लडाकू जेट र अतिरिक्त हतियार पठाएर आफ्नो चेतावनीलाई बलियो बनाएको छ । यसै सन्दर्भमा फक्स न्युजमा ट्रम्पकी बुहारी लारासँगको अन्तर्वार्तामा विटकफले राष्ट्रपति इरानको अडानप्रति ‘उत्सुक’ रहेको बताए ।

    “म ‘निराश’ शब्द प्रयोग गर्न चाहन्नँ, किनकि उहाँसँग धेरै विकल्प छन् भन्ने उहाँ बुझ्नुहुन्छ”, विटकफले भने, “तर उहाँ उत्सुक हुनुहुन्छ, उनीहरूले किन आत्मसमर्पण गरेनन् ?” उनले ‘आत्मसमर्पण’ शब्द प्रयोग गर्न हिच्किचाए पनि तीव्र सैन्य उपस्थिति र समुद्री शक्तिको दबाबका बीच इरान किन वार्तामा निर्णायक रूपमा अघि नबढेको भन्ने प्रश्न राष्ट्रपति उठाइरहेको उल्लेख गरे । “किन उनीहरू हामीकहाँ आएर ‘हामीलाई हतियार चाहिँदैन, हामी यस्तो गर्न तयार छौँ’ भनेर भन्दैनन् ?” उनले प्रश्न गरे ।


    अन्तर्वार्तामा विटकफले सन् १९७९ को इस्लामिक क्रान्तिपछि देश फर्कन नपाएका पूर्वयुवराज रेजा पहलवीसँग राष्ट्रपतिको निर्देशनमा भेट गरेको पुष्टि गरे । तर विस्तृत विवरण दिएनन् । गत साता अमेरिकास्थित पहलवीले म्युनिखमा ट्रम्पद्वारा शासन परिवर्तन इरानका लागि उपयुक्त हुनसक्ने चर्चा भइरहेका बेला आफू ‘धर्मनिरपेक्ष लोकतान्त्रिक भविष्य’ का लागि देशको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।
    विटकफको टिप्पणी इरानी विदेशमन्त्री अब्बास अराघचीले वासिङ्टनसँग सम्भावित सम्झौताको मस्यौदा प्रस्ताव केही दिनभित्र तयार हुने सङ्केत दिएको पृष्ठभूमिमा आएको हो ।

    ट्रम्पले बिहीबार इरानलाई आफ्नो आणविक कार्यक्रमसम्बन्धी चिन्ताहरूमा सहमति जनाउन अधिकतम १५ दिनको समयसीमा दिएका थिए । जेनेभामा वार्ता जारी रहँदा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले मङ्गलबार ट्रम्प इस्लामिक गणतन्त्रलाई नष्ट गर्न सफल नहुने बताएका थिए । पश्चिमी मुलुकहरूले इरानमाथि आणविक हतियार विकास गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन्, जसलाई तेहरानले अस्वीकार गर्दै नागरिक प्रयोजनका लागि युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार रहेको दाबी गर्दै आएको छ ।

    इरानले आर्थिक प्रतिबन्धका कारण अर्थतन्त्रमा परेको ठूलो दबाब अन्त्य गर्न वार्ता चाहेको बताउँदै आएको छ । तेहरानले डिसेम्बरमा भएको सरकारविरोधी प्रदर्शनमा बाह्य शक्तिको भूमिका रहेको आरोप लगाउँदै आएको छ । यी सबै घटनाक्रमबीच ट्रम्प प्रशासनको कडा अडान र इरानको प्रतिरोधी प्रतिक्रिया आगामी दिनमा वार्ताको दिशानिर्देशन गर्ने निर्णायक तत्व बन्न सक्ने देखिएको छ ।

  • राष्ट्रपति ट्रम्पको जमिनमा जबरजस्ती प्रवेश गर्न खोज्ने व्यक्तिको सुरक्षाकर्मीको गोली लागी मृत्यु

    राष्ट्रपति ट्रम्पको जमिनमा जबरजस्ती प्रवेश गर्न खोज्ने व्यक्तिको सुरक्षाकर्मीको गोली लागी मृत्यु

    फ्लोरिडा, १० फागुन (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यस्थित राष्ट्रपति डोनाल्ड ट्रम्पको लगानी रहेको जमिनमा जबरजस्ती प्रवेश गर्ने एक व्यक्तिको गोली लागी मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ । राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्ट परिसरमा गैरकानुनी रुपमा प्रवेश गरेका एक हतियारधारी व्यक्तिलाई गोली हानी हत्या गरेको आइतबार अमेरिकी गुप्तचर सेवाले जनाएको छ ।

    अधिकारीहरुका अनुसार घटना वासिङ्टन समय अनुसार बिहान १ः३० बजे भएको थियो । एजेन्सीका प्रवक्ता एन्थोनी गुग्लिल्मीले एक्समा एक पोस्टमा लेखेका छन्, “अमेरिकी गुप्तचर सेवाका कर्मचारीहरू र पिबिसी काउन्टी सेरिफद्वारा एक सशस्त्र व्यक्तिलाई गोली लाग्दा मृत्यु भएको छ।” एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, “संदिग्ध २० वर्षको उमेरका एक व्यक्तिलाई मार–ए–लागो रिसर्टको उत्तरी गेटमा बन्दूक र इन्धन क्यान बोकेको अवस्थामा सुरक्षा कारबाही गरिएको थियो ।”

    एजेन्टहरूले ती व्यक्तिको सामना गर्दै गोली चलाएका छन् कुनै पनि अमेरिकी अधिकारी घाइते भएका छैनन् । ती व्यक्तिले ट्रम्पसहित कैयौँ व्यक्तिको हत्याको षड्यन्त्र वा प्रयासको निशाना रचेको बताइएको छ। अमेरिकी चुनावको दुई महिनाअघि सन् २०२४ सेप्टेम्बरमा फ्लोरिडाको ‘गल्फ कोर्स’मा राष्ट्रपतिको हत्याको षड्यन्त्र रचेका ५९ वर्षीय रायन राउथलाई आजीवन कारावासको सजाय सुनाइएको थियो।

    पेन्सिल्भेनियामा रिपब्लिकन नेतामाथि हत्याको प्रयास गरेको दुई महिनापछि राउथको योजनामा ट्रम्पमाथि आक्रमण भएको थियो । घटनामा २० वर्षीय म्याथ्यू क्रुक्सले एक र्यालीका क्रममा धेरै गोली चलाएका थिए, जसमध्ये एकले ट्रम्पको दाहिने कानमा हल्का लागेको थियो। त्यो आक्रमणमा एक र्यालीका सहभागी मारिएका थिए, जुन घटना ट्रम्पको सत्तामा फिर्ताको लागि पछि एक महत्वपूर्ण मोड साबित भयो। क्रुक्सलाई सुरक्षा बलले तुरुन्तै गोली हानेर मारेको थियो र उनको उद्देश्य अज्ञात छ।

  • रुसको बैकाल तालमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु

    रुसको बैकाल तालमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु

    मस्को, ९ फागुन (रासस–एएफपी) । रूसको साइबेरियास्थित बैकाल तालको हिउँमा शुक्रबार एक पर्यटक बस दुर्घटना हुँदा सात चिनियाँ पर्यटकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । रुसको विपद् व्यवस्थापन मन्त्रालयअन्तर्गतको एक क्षेत्रीय शाखाले सामाजिक सञ्जालमा एक विज्ञप्ति पोस्ट गर्दै बस तीन मिटर चौडा हिउँको चिरामा खसेर डुबेको जनाएको छ । “उद्धारकर्ताहरूले पानीमुनि क्यामेराको प्रयोग गरेर सात जनाको शवलाई फेला पारेका छन्,” शाखाले जानकारी गराएको छ । पीडितहरूको राष्ट्रियता स्पष्ट रूपमा उल्लेख गरिएको छैन ।

    यद्यपि, इर्कुत्स्क क्षेत्रका गभर्नर इगोर कोब्जेभले भने, “दुर्घटनामा परेका व्यक्तिहरू चिनियाँ नागरिक हुन् र यसबारे चिनियाँ महावाणिज्य दूतावासलाई सूचित गरिएको छ।” गभर्नर कोब्जेभले एक जना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भने, “पर्यटक बस डुब्नु थालेपछि एक यात्रु दुर्घटना हुनबाट उम्कन सफल भएका थिए ।

    उक्त गाडी सतहबाट १८ मिटर तल पानीमा फेला परेको थियो । विश्वको सबैभन्दा गहिरो रसियाको बैकाल ताल साइबेरियाको प्रमुख पर्यटकीय गन्तव्य हो ।
    यो मङ्गोलियाको उत्तरमा छ र चिनियाँ पर्यटकहरूको लागि लोकप्रिय गन्तब्य हो । जाडोमा तालको पानीको विशाल भाग जमेको दृश्यात्मक रूपमा आश्चर्यजनक क्रिस्टल–जस्तो स्तम्भहरू देखिन्छन् ।

    अधिकारीहरूले जमेको तालमा विशिष्ट हिम सडकहरू बनाई अधिकारीहरूद्वारा अनुगमन गरेपछि सर्तअनुसार निश्चित प्रकारका सवारी साधनहरूको लागि खोलिएको छ। तालमा अन्यत्र गाडी चलाउन आधिकारिक रूपमा निषेध गरिएको छ । कोब्जेभले भने, “सडक प्रयोगको लागि खाली गरिएको छैन र यस घटनाबारे थप छानविन सुरू भएको छ ।”

  • अस्ट्रियामा हिमआँधीमा परी दुई जनाको मृत्यु, यातायात र विद्युतमा व्यापक अवरूद्धता

    अस्ट्रियामा हिमआँधीमा परी दुई जनाको मृत्यु, यातायात र विद्युतमा व्यापक अवरूद्धता

    भियना, ९ फागुन (रासस–एएफपी) । अस्ट्रियामा शुक्रबार आएको ठूलो हिमआँधीका कारण व्यापक षेत्रमा विद्युत सेवामा अवरोध आएको छ। आँधीका कारण सडकहरूमा रूख ढल्ने र सडक भत्किने समस्याले यातायात सेवामासमेत अवरोध देखिएको छ । हिउँको पुरिएका एक व्यक्तिसहित दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उत्तरी शहर लिन्जको आवासीय परिसरमा छानाबाट हिउँको लप्का खस्दा ५३ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमी टायरोल क्षेत्रमा हिमपहिरोमा परी जर्मनीका एक ‘स्की’ खेलाडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अल्पाइन राष्ट्र अष्ट्रियामा बिहीबारदेखि परेको हिउँ जमिनमा ४० सेन्टिमिटर (१६ इन्च)सम्म जमेको छ । जसले दक्षिणपूर्वी अस्ट्रियाको ग्राज शहर वरपरको क्षेत्रमा हिमपहिरोको जोखिम बढेको छ । भियना विमानस्थलले बिहान सबै उडानहरू अस्थायी रूपमा रोक्न बाध्य भएको र दिउँसोको उडानहरू केही समयका लागि ‘अवरोध’ भएको बताएको छ।

    “भियना वरपरको मुख्य राजमार्गहरूमध्ये एउटा राजमार्ग अनिश्चित (केही घण्टा) समयसम्म बन्द गरिएको थियो, र राजमार्गका अन्य भागहरू हिउँको बहाव, अलपत्र सवारी साधन वा खराब दृश्यका कारण अवरुद्ध भएका थिए,” राष्ट्रिय अटोमोबाइल एसोसिएसन (ओएएमटिसी) ले जनाएको छ। इलेक्ट्रिक कम्पनीहरूले स्टायरियासहित दक्षिण र पूर्वका धेरै क्षेत्रहरूमा बिजुली कटौती भएको रिपोर्ट गरेको छ, जहाँ ३० हजार परिवारमा विद्युत् सेवा काटिएको छ।
    स्लोभेनियामा पनि ४० हजार घरपरिवार प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

    इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

    पेरिस, ९ फागुन (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्नका लागि सम्झौता कटौती गर्न दबाब दिने उद्देश्यका साथ मध्यपूर्वमा ठूलो नौसैनिक निर्माण गर्न आदेश दिएपछि इरानमाथि सीमित आक्रमण गर्ने विचार गरिरहेको बताएका छन् । इरानका विदेशमन्त्रीले यसै हप्ताको सुरुमा जेनेभामा दुई पक्षबीच भएको वार्तापछि वासिङ्टनसँग सम्झौताको मस्यौदा प्रस्ताव केही दिनमै तयार हुने बताए पनि अमेरिकाको पछिल्लो चेतावनी आएको हो ।

    तेहरानले १० दिनभित्र सम्झौता नगरेमा ‘अप्रिय कदम’ चाल्ने ट्रम्पले बिहीबार बताएका थिए । जसलाई उनले पछि १५ दिनसम्म विस्तार गरेका थिए ।
    पत्रकारद्वारा शुक्रबार के उनी सीमित सैन्य हमलाको बारेमा सोचिरहेका हुन् ? भन्ने प्रश्नको जवाफमा ट्रम्पले जवाफ दिने, “म यसलाई अमेरिकाले विचार गर्दैछ मात्र भन्न सक्छु ।”

    जेनेभामा भएको वार्तापछि तेहरानले सम्भावित सम्झौताको मस्यौदा बुझाउन दुवै पक्ष सहमत भएको र यो सहमतिको आगामी कदम हुने इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी सञ्चारमाध्यमलाई बताएका थिए । मध्यपूर्व ट्रम्पका मुख्य वार्ताकारलाई सङ्केत गर्दै उनले भने, “मलाई विश्वास छ कि अबको दुई, तीन दिनमा त्यो तयार हुनेछ र मेरा वरिष्ठहरूले अन्तिम पुष्टि गरेपछि स्टिभ विटकोफलाई हस्तान्तरण गरिनेछ ।”

    अमेरिकी वार्ताकारहरूले तेहरानलाई आणविक संवर्धन कार्यक्रम अन्त्य गर्न अनुरोध नगरेको पनि अराघचीले बताए । अमेरिकी टिभी नेटवर्क एमएस नाउले शुक्रबार जारी गरेको एक अन्तर्वार्तामा उनले भने, “हामीले कुनै आणविक संवर्धन कार्यक्रम अन्त्यको प्रस्ताव गरेका छैनौँ र अमेरिकी पक्षले शून्य संवर्धन मागेको छैन ।” उनले भने, “हामी अहिले इरानको आणविक कार्यक्रम कसरी शान्तिपूर्ण र सधैँभरि शान्तिपूर्ण रहनेछ भन्ने कुरा गरिरहेका छौँ ।” उनको टिप्पणी ट्रम्पसहित उच्च पदस्थ अमेरिकी अधिकारीहरूले दिएको जानकारीको विपरीत छ, जसले बारम्बार इरानलाई कुनै पनि स्तरमा युरेनियम प्रशोधन गर्न अनुमति दिनु हुँदैन भन्दै आएका छन् ।


    पश्चिमी देशहरूले इस्लामिक गणतन्त्रले आणविक हतियार प्राप्त गर्न खोजेको आरोप लगाउँछन्, जसलाई तेहरानले अस्वीकार गर्छ, यद्यपि उसले नागरिक उद्देश्यका लागि संवर्धनको अधिकारमा जोड दिन्छ। इरानले आफ्नो अर्थव्यवस्थामा ठूलो प्रभाव पारेको प्रमाणित भएका प्रतिबन्धहरू अन्त्य गर्न वार्ता गर्न खोजिरहेको छ । आर्थिक कठिनाइका कारण डिसेम्बरमा विरोध प्रदर्शन भएको थियो जुन गत महिना राष्ट्रव्यापी सरकार विरोधी आन्दोलनमा परिणत भएको थियो । आन्दोलनमा भएको दमन र झडपका क्रममा हजारौँको ज्यान गुमेको अधिकारवादी समूहहरूले पुष्टि गरेका छन् ।

  • फिलिपिन्समा भारी वर्षाका कारण पहिरो, सात जनाको मृत्यु

    फिलिपिन्समा भारी वर्षाका कारण पहिरो, सात जनाको मृत्यु

    मनिला, ९ फागुन (रासस–सिन्ह्वा) । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो र डाभाओ ओरिएन्टल प्रान्तमा भारी वर्षाका कारण आएको पहिरोमा परि कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । फिलिपिन्स रेड क्रसले दाभाओ डे ओरो प्रान्तको मोन्कायो सहर स्थित प्रभावित क्षेत्रबाट तीन जनाको शव बरामद गरेको बताएको छ ।

    स्थानिय बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न अधिकारीहरूले प्रभावित क्षेत्रको मूल्याङ्कन अवलोकन जारी राखेको फिलिपिन्स रेडक्रसका अध्यक्ष र प्रमुख कार्यकारी अधिकारी रिचर्ड गोर्डनले सामाजिक सञ्जाल मार्फत जनाएका छन् । शुक्रबार डाभाओ ओरिएन्टलको माटी सहरमा आएको पहिरोले एउटै परिवारका चार जनाको मृत्यु भएको सहरको फायर स्टेसनले सामाजिक सञ्जाल मार्फत जनाएको छ ।

    निरन्तर अनुगमन र द्रुत प्रतिक्रिया सञ्चालनका साथ प्रभावित प्रान्तहरूमा रेडक्रस शाखाहरू उच्च सतर्कतामा रहेको गोर्डनले बताए । सुरिगाओ डेल सुर प्रान्तको बिस्लिग सहरका समुदायहरूमा पानी पसेकाले स्वयंसेवकहरूले प्रभावित परिवारलाई सुरक्षित क्षेत्रमा सर्न सहयोग गरेको जनाइएको छ ।
    अधिकारीहरूले क्षतिको आकलन र प्रभावितहरूको सुरक्षा सुनिश्चितको प्रयास जारी राखेका कारण स्थानीय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यालयहरूसँग अनुगमन र समन्वय जारी रहेको रेड क्रसले जनाएको छ ।

  • इरानमा रहेका पोल्यान्डका सबै नागरिकले तत्काल देश छाड्नुपर्छ : प्रधानमन्त्री

    इरानमा रहेका पोल्यान्डका सबै नागरिकले तत्काल देश छाड्नुपर्छ : प्रधानमन्त्री

    तेहरान, ८ फागुन (रासस\एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्रविरुद्ध सैन्य कारबाहीको सङ्केत गरेपछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आफ्ना सबै नागरिकहरूलाई इरान छोड्न आह्वान गरेका छन् । उनले एक पत्रकार सम्मेलनमा भने, “इरानमा रहेका पोल्याण्डका सबै नागरिकले तुरुन्त देश छोड्नु पर्छ र कुनै पनि हालतमा कसैले पनि इरानको यात्रा गर्ने योजना बनाउनु हुँदैन ।

    उनले थपे, “तातो द्वन्द्वको सम्भावना धेरै छ । केही घण्टा वा केही दिन हुनसक्ला, इरानबाट बाहिरिने एक मात्र विकल्प हुनेछ ।” हालैका महिनाहरूमा पोल्याण्ड सरकारले आफ्ना नागरिकहरूलाई देश छोड्न आह्वान गरेको यो दोस्रो पटक हो । अमेरिकाले इरान नजिकै युद्धपोत, लडाकु विमान र इन्धन भर्ने विमानसहित सैन्य बल निर्माण गरिरहेको छ र ट्रम्पले आदेश दिएमा कुनै पनि समय युद्ध हुन सक्नेछ ।

  • अमेरिकाद्वारा आइइए छोड्ने चेतावनी

    अमेरिकाद्वारा आइइए छोड्ने चेतावनी

    अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए)बाट फिर्ता हुने आफ्नो चेतावनी दोहोएका छन् । वाशिङ्गटनले सङ्गठनलाई ‘अर्को वर्ष वा त्यसभन्दा बढी’ ‘नेट–जिरो एजेन्डा’ त्याग्न दबाब दिनेछ। पेरिसमा आइइए मन्त्रीस्तरीय बैठकको अन्तिम दिन बोल्दै राइटले भने, “ऊर्जा सुरक्षा सुनिश्चित गर्ने ५२ वर्ष पुरानो संस्थाले आफ्नो संस्थापक अभियानमा फर्कनु पर्छ।” आइइए सन् १९७३ को पेट्रोलियम सङ्कटपछि आपूर्तिको प्रमुख अवरोधहरूको समाधानका लागिसमन्वय गर्न सिर्जना गरिएको थियो । राइटले भने, “सङ्गठनले जलवायु एजेन्डा अपनाएको छ जसमा सन् २०५० सम्म शुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य समावेश छ ।”

    राइटले एक पत्रकार सम्मेलनमा भने, “अमेरिकाले आइइएलाई अर्को वर्ष वा त्यसभन्दा बढी समयमा यो एजेन्डाबाट टाढा लैजानका लागि हामीसँग पर्ने सबै दबाब प्रयोग गर्नेछ। “यदि आइइएले ऊर्जा इमानदारिता, ऊर्जा पहुँच र ऊर्जा सुरक्षाको मिसनमा ध्यान केन्द्रित गर्न सकेन भने, दुःखको कुरा हामी आइइएको पूर्व सदस्य हुनेछौँ,“ उनले थपे ।

  • जर्मनीले कार्गो सहायक कम्पनीमा छ हजार कर्मचारी कटौती गर्ने

    जर्मनीले कार्गो सहायक कम्पनीमा छ हजार कर्मचारी कटौती गर्ने

    फ्र्याङकफर्ट, जर्मनी, ८ फागुन (रासस\एएफपी) । जर्मनीको राज्य सञ्चालित रेल सेवा ‘डच बान’ले बिहीबार नाफा बढाउन र सरकारी कोषमाथिको निर्भरता कम गर्न आफ्नो कार्गो सहायक कम्पनीमा करिब छ हजार रोजगारी कटौती गर्ने बताएको छ । “हालको पुनर्संरचना योजनाले ‘डच बान’ कार्गोमा करिब छ हजार रोजगारी कटौतीको परिकल्पना गरिएको छ,” डच बानले एक ब्लग पोस्टमा जानकारी गराएको छ । यसलाई सामाजिक रूपमा उत्तरदायी ढङ्गले कार्यान्वयन गर्ने योजना रहेको उसले बताएको छ।

    घाटामा रहेको डच बान कार्गोले राज्य सहायता नियम अन्तर्गत इयूको अनुसन्धानको सामना गरिरहेको छ, जसको आधिकारिक निर्णय अक्टोबरमा हुने छ । “रेल सेवा फर्मले छ हजार रोजगारी कटौती गर्दा लगभग आधा कर्मचारी बराबर कटौति हुने र यसले ‘डच बान’लाई परनिर्भरता कम गर्न मद्दत हुनेछ,” डच बानका उपप्रमुख कोशिमा इन्सेन्जेले भने । उनले भने, “लक्ष्य भनेको ‘डच बान’ कार्गोलाई युरोपेली विकास बजारसँग सङ्रेखित गर्नु, संरचनाहरू सुव्यवस्थित गर्नु र यसलाई दिगो रूपमा लाभदायक बनाउनु हो र यसले कम्पनीलाई ईयू प्रतिस्पर्धा प्रक्रियाको सर्तहरू पालना गर्न सक्षम बनाउनेछ ।”

    “हामी आशा गर्छौं कि ठूलो मात्रामा रोजगारी कटौती सुरु हुनुअघि दक्षता बढाउनको लागि हरेक सम्भावित उपायहरू जाँच गरिनेछ,“ इन्सेन्जेले भने, “म रोजगारदातासँग प्रतिज्ञा गर्दछु कि धेरै कडा वार्ताहरू अगाडि छन्। हामी हरेक कामका लागि लड्नेछौँ ।

  • आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

    आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

    काठमाडौँ, ८ फागुनः आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को तत्वावधानमा यो दिवस मनाइन्छ। सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेअनुसार सन् २००९ देखि हरेक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउने निर्णय भएको हो । सामाजिक न्याय, समान अवसर, श्रम अधिकार र गरिमायुक्त कामको प्रवर्द्धनका लागि विश्व समुदायलाई एकजुट हुन आह्वान गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

  • क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

    क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

    लस एन्जलस, ८ फागुन (रासस–एएफपी) । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता भएका नौ स्की खेलाडीमध्ये आठ जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रतिकूल मौसमका कारण उद्धार कार्य अत्यन्त कठिन बनेको छ । मङ्गलबार बिहान क्यासल पिक क्षेत्रमा हिमपहिरो गएको थियो । प्रारम्भिक चरणमा छ जना जीवित उद्धार गरिएका थिए । तीमध्ये दुई जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । त्यसपछि व्यापक खोजी अभियान चलाइए पनि आठ जनाको मृत्यु पुष्टि भएको हो ।

    नेभाडा काउन्टीका शेरिफ सानान मुनले एक सदस्य अझै हराइरहेको र आँधी, तीव्र हावा तथा बाक्लो हिमपातले खोजी कार्य अवरुद्ध गरिरहेको बताउनुभयो । “अत्यन्त खराब मौसमले काम गर्नै कठिन बनाएको छ”, उनले भने । स्थानीय सुगर बाउल एकेडेमीले केही पीडितहरू आफ्नो निजी स्की–केन्द्रित विद्यालयसँग सम्बन्धित रहेको जनाएको छ । विद्यालयका कार्यकारी निर्देशक स्टिफन म्याकमहोनले समुदाय गहिरो शोकमा रहेको उल्लेख गरे ।


    घटनाका बेला ११ ग्राहक र चार मार्गनिर्देशकसहितको समूह ब्याककन्ट्री यात्राबाट आधार शिविरतर्फ फर्कँदै थियो । चालिसभन्दा बढी उद्धारकर्मीले खोजी सुरु गरेका थिए, तर मौसमका कारण प्रयास प्रभावित भयो । सिएरा नेभाडा पर्वत शृङ्खलामा शक्तिशाली आँधीका कारण केही स्थानमा आठ फिटसम्म हिमपात हुन सक्ने राष्ट्रिय मौसम सेवाले चेतावनी दिएको छ ।

    प्लेसर काउन्टीका शेरिफ वेन वूले मौसम सुधार नभएसम्म पहाडी क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमलाई घटनाबारे जानकारी गराइएको छ । अधिकारीहरूले ब्याककन्ट्री स्की खेल स्वाभाविक रूपमा जोखिमपूर्ण हुने स्मरण गराउँदै सावधानी अपनाउन आग्रह गरेका छन् ।

  • सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ

    सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ

    लण्डन, ८ फागुन (रासस–एएफपी) । बेलायतका पूवै राजकुमार एन्ड्रयु माउन्टबेटन–विन्डसरलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ । एन्ड्रयु माउन्टबेटन बेलायतका राजा चाल्र्सका भाइ तथा पूर्व राजकुमार हुन् । थेम्स भ्याली प्रहरीले यौन अपराधी जेफरी एपस्टीनसँग गोप्य जानकारी साझा गरेको आरोपमा पूर्व राजकुमारको उजुरीको अनुसन्धान गरिरहेको बताएपछि उनलाई पक्राउ गरिएको हो । एन्ड्रयुले लगातार दृढताका साथ आफुले कुनै पनि गलत कार्य नगरेको बताउँदै आएका छन् ।


    उनको राजकुमार उपाधि गत वर्ष गुमेको थियो । उपाधि अन्त्यसँगै उनले रोयल लज, प्यालेस अफ विन्डसर पनि छोड्नुपरेको थियो । उनलाई प्रहरीले कहाँबाट पक्राउ गर्यो भन्ने खुल्न सकेको छैन, तर आज बिहान नोरफोकको स्यान्ड्रिङ्घममा केही नौला सवारी साधन देखिएका थिए । उनले विन्डसरमा आफ्नो घर छोडेपछि स्यान्ड्रिङ्घममा बस्दै आएका थिए । तिनीहरू प्रहरीले प्रयोग गरेका प्रहरीको सङ्केत नभएका सवारी साधन भएको विश्वास गरिएको छ।

    पूर्व राजकुमार पक्राउ परेको यो पहिलो पटक हो । उनी माथि दोषी यौन अपराधी जेफरी एपस्टीनसँग सम्बन्ध राखेको आरोप लगाइएको छ। बिबिसीको रिपोर्टका अनुसार उनलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको हो । यसैबीच, थेम्स भ्याली प्रहरीले एन्ड्रयूको गिरफ्तारीपछि एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हाम्रो अनुसन्धानको एक भागको रूपमा, हामीले आज सार्वजनिक कार्यालयमा दुव्र्यवहारको शङ्कामा नोरफोकबाट ६० वर्ष भन्दा बढी उमेरका एक व्यक्तिलाई पक्राउ गरेका छौँ। बर्कशायर र नोरफोकका ठेगानाहरूमा पनि खोजी भइरहेको छ। ती व्यक्ति अहिले प्रहरी हिरासतमा छन् ।”

    विज्ञप्तिमा भनिएको छ, “हामीले राष्ट्रिय निर्देशिकाअनुसार पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्दैनौँ । कृपया यो पनि ध्यान दिनुहोस् कि यो मुद्दा हाल सक्रिय छ, त्यसैले कुनै पनि प्रकारको प्रकाशन गर्दा अदालतको अवहेलनाबाट बच्न सावधानी अपनाउनु पर्छ।”

    सहायक प्रमुख प्रहरी हवल्दार ओलिभर राइटले भने, “विस्तृत मूल्याङ्कन पछि हामीले सार्वजनिक कार्यालयमा दुव्र्यवहारको यस आरोपको अनुसन्धान सुरु गरेका छौँ। “यो महत्त्वपूर्ण छ कि हामी यस कथित अपराधको अनुसन्धानको क्रममा अनुसन्धानको निष्पक्षता र न्यायको रक्षा गर्न हाम्रा साझेदारहरूसँग काम गर्छौँ। हामी बुझ्दछौं, यस मामिलामा सार्वजनिक चासो धेरै उच्च छ, र हामी उपयुक्त समयमा जानकारी साझा गर्नेछौँ।”

  • नाइजेरियामा ग्यास खानिमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु

    नाइजेरियामा ग्यास खानिमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु

    जोस प्लेटो, नाइजेरिया, ७ फागुन (रासस–एएफपी) । मध्य नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी कम्तीमा ३८ जना खानी मजदुरको मृत्यु भएको स्थानीय स्रोतले एएफपीलाई जानकारी दिएको छ । पठार राज्यको बसार जिल्लास्थित कम्पानिन जुराक खानी क्षेत्रमा भएको विस्फोटमा अन्य २७ जना घाइते भएका छन् । स्थानीय समुदायका एक नेता अल्हाजी अलियु अदामु इद्रिसले भने, “खानिमा विस्फोट भएको सत्य हो । विस्फोटमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ र अन्य २७ जनालाई अस्पताल लगिएको छ ।“

    स्थानीय समयअनुसार बिहान ७ः३० देखि ८ः०० को बीचमा विस्फोट भएको नजिकैको खानी मजदुर इब्राहिम दत्तिजो सानीले एएफपी समाचार समितिलाई बताए । सानीले टेलिफोनमा एएफपीसँग भने, “हामी घटनास्थल नजिकै बस्छौँ । मानिसहरू खानिको खाल्डोमा थिए र अचानक ग्यास विस्फोट भयो।“ पश्चिम अफ्रिकी देशले विगतमा पनि यस्तै घातक खानी दुर्घटना देखेको छ। गत सेप्टेम्बरमा भारी वर्षाका कारण अवैध खानिमा ढुङ्गा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।

  • अमेरिकाको कोलोराडोमा सडक दुर्घटनामा चार जनाको मृत्यु

    अमेरिकाको कोलोराडोमा सडक दुर्घटनामा चार जनाको मृत्यु

    प्युब्लो, कोलोराडो, ६ फागुन (रासस–एपी) । अमेरिकी राज्य कोलोराडोमा ३० भन्दा बढी सवारीसाधन ठोक्किँदा ठूलो दुर्घटना भएको छ । यस दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले दुर्घटना बिहान करिब १० बजे भएको जनाएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन्, जसमा केही सामान्य चोटग्रस्त छन् भने केही गम्भीर घाइते भएका छन् । दुर्घटनास्थलको उत्तरतर्फ मृत्यु भएको छ भने दक्षिणतर्फ सम्पत्ति क्षति मात्र भएको छ ।

    एक पिकअप ट्रकमा ३२ बाख्रा थिए, जसमा चारको मृत्यु भएको छ भने बाँकी सुरक्षित बचाइएको छ। दुर्घटनाको वास्तविक कारण अझै अनुसन्धान भइरहेको छ । यसैबीच, कोलोराडोको पूर्वी भागमा आगो फैलिन सक्ने जोखिम बढेको छ र केही हवाई उडानहरू ढिलाइ भएका छन् । पश्चिमी भागमा भने हिमपातले केही राहत दिएको छ ।

  • सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य

    सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य

    बैङ्कक, ६ फागुन (रासस–एपी) । जलवायु परिवर्तन नियन्त्रणका उपायहरूमाथि विश्वव्यापी बहस चर्किरहेका बेला जापान र मलेसियाले सीमापार कार्बन क्याप्चर तथा भण्डारण परियोजना अघि बढाउने तयारी गरेका छन् । आलोचकहरूले प्रभावकारितामाथि प्रश्न उठाइरहे पनि दुवै देशले यसलाई उत्सर्जन व्यवस्थापनको नयाँ विकल्पका रूपमा प्रस्तुत गरेका छन् ।

    योजनाअनुसार जापानले विद्युत् उत्पादन, तेल प्रशोधन, सिमेन्ट, ढुवानी र इस्पात उद्योग जस्ता आफ्ना औद्योगिक क्षेत्रहरूबाट निस्कने कार्बन डाइअक्साइड सङ्ग्रह गरेर तरलीकृत अवस्थामा मलेसिया पठाउने प्रस्ताव गरेको छ । उक्त कार्बन बोर्नियो टापुको सारावाक राज्य नजिकका समाप्त ग्यास क्षेत्रहरूमा भूमिगत रूपमा भण्डारण गरिने सम्भावना छ । यदि सफल भएमा यसले इन्डोनेसिया र थाइल्यान्डजस्ता अन्य दक्षिणपूर्व एसियाली राष्ट्रहरूमा यस्तै परियोजनाका लागि मार्ग प्रशस्त गर्न सक्ने विज्ञहरूको भनाइ छ ।

    कार्बन क्याप्चर प्रक्रिया प्रदूषणकारी स्रोतबाट सिधै उत्सर्जन सङ्ग्रह गर्ने, त्यसलाई तरलीकृत गरी विशेष जहाजमार्फत ढुवानी गर्ने र अन्ततः भूमिगत इन्जेक्सनमार्फत दीर्घकालीन भण्डारण गर्ने तीन चरणमा आधारित हुन्छ । इन्जेक्सनपछि चुहावट रोक्न दीर्घकालीन निगरानी आवश्यक हुन्छ । यद्यपि विस्तृत प्राविधिक खाका अझै सार्वजनिक गरिएको छैन ।

    केही सरकार र ऊर्जा कम्पनीहरूले यसलाई स्वच्छ ऊर्जातर्फको सङ्क्रमणका लागि ‘समय किन्ने’ उपायका रूपमा व्याख्या गर्छन् । युरोपमा पनि सीमापार कार्बन ढुवानी र अपतटीय भण्डारण परियोजनाहरू परीक्षण भइरहेका छन् । तर अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०५० सम्म कुल उत्सर्जन कटौतीमा यसको योगदान पाँच प्रतिशतभन्दा कम हुने अनुमान गरेको छ ।

    मलेसियाले आफूलाई क्षेत्रीय कार्बन क्याप्चर केन्द्रका रूपमा उभ्याउने लक्ष्य राखेको छ । गत वर्ष यससम्बन्धी विधेयक पारित गरिएको थियो र अर्थ मन्त्रालयले ३० वर्षमा दुई खर्ब ५० अर्ब डलरसम्म आर्थिक लाभ हुन सक्ने आकलन गरेको जनाएको छ । सरकारी तेल तथा ग्यास कम्पनी पेट्रोनासले एक अर्ब १० करोड डलरको अपतटीय कार्बन भण्डारण सुविधा निर्माणको नेतृत्व गरिरहेको छ, जुन दशकको अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य छ ।

    यद्यपि मलेसियाको करिब ८१ प्रतिशत बिजुली अझै जीवाश्म इन्धनबाट उत्पादन हुन्छ । विश्वका प्रमुख कार्बन उत्सर्जकमध्ये एक जापानले शुद्ध उत्सर्जन घटाउने योजनाअन्तर्गत नौ कार्बन भण्डारण स्थलमा लगानी गरिरहेको छ, जसमध्ये तीन मलेसियामा रहेका छन् । सन् २०३० सम्म ती स्थलहरूले वार्षिक दुई करोड टन कार्बन भण्डारण गर्ने अनुमान गरिएको छ, जुन जापानको वार्षिक उत्सर्जनको करिब दुई प्रतिशत हो । भण्डारण गरिएको कार्बनको प्रतिटन मलेसियालाई भुक्तानी गरिनेछ र जापानले सो मात्रा आफ्ना कुल उत्सर्जनबाट घटाउन सक्नेछ ।

    तर आलोचकहरूले यसलाई ‘कार्बन उपनिवेशवाद’ को संज्ञा दिएका छन् । फ्रेन्ड्स अफ द अर्थ जापानकी अयुमी फुकाकुसाले अन्य देशमा उत्सर्जन निर्यात गर्नु दिगो समाधान नभएको बताइन् । सेन्टर फर इन्टरनेसनल इन्भाइरोन्मेन्टल लका राचेल केनरलीले यस्तो योजनाले प्रदूषणको बोझ मलेसियातर्फ सार्ने र वास्तविक उत्सर्जन कटौती प्रयासलाई कमजोर पार्ने चेतावनी दिए ।

    जलवायु सङ्कटसँग जुध्न तत्काल उत्सर्जन घटाउने उपाय प्राथमिक हुनुपर्ने तर्क राख्नेहरूका अनुसार कार्बन क्याप्चर महँगो र अप्रमाणित विकल्प हो । तथापि, जापान र मलेसियाले यसलाई प्रविधिगत अवसर र आर्थिक सम्भावनाका रूपमा अघि बढाइरहेका छन् । सीमापार कार्बन भण्डारणको यो पहल सफल हुने वा थप विवाद जन्माउने भन्ने प्रश्न अब कार्यान्वयन चरणमा निर्भर रहनेछ ।

  • स्टकहोममा १७औँ शताब्दीको जहाज पुनः सतहमा

    स्टकहोममा १७औँ शताब्दीको जहाज पुनः सतहमा

    स्टकहोम, ६ फागुन (रासस–एएफपी) । बाल्टिक सागरको जलस्तर असामान्य रूपमा घटेपछि मध्य स्टकहोममा करिब चार सय वर्षदेखि पानीमुनि गाडिएको १७औँ शताब्दीको स्विडेनी नौसैनिक जहाजको भग्नावशेष फेरि सतहमा देखा परेको छ । लामो समयसम्म लुकेको इतिहास एकाएक उजागर हुँदा समुद्री पुरातत्त्वविद्हरूले यसलाई महत्त्वपूर्ण खोजका रूपमा लिएका छन् ।

    क्यास्टेलहोलमेन टापु आसपास पानीको सतह घटेसँगै जहाजको राम्रोसँग जोगिएको पतवारका काठका भागहरू फेब्रुअरीको सुरुदेखि नै बाहिर देखिन थालेका हुन् । ती काठका संरचनाले जहाजको कङ्कालजस्तै स्पष्ट रूपरेखा प्रस्तुत गरेका छन्, जसले १७औँ शताब्दीको जहाज निर्माण प्रविधिबारे महत्त्वपूर्ण सङ्केत दिन सक्छ ।

    स्टकहोमस्थित व्राक – भग्नावशेष सङ्ग्रहालयका समुद्री पुरातत्वविद् जिम ह्यान्सोनले उक्त भग्नावशेष स्विडेनको नौसेनाले जानाजानी डुबाएको बताए । उनका अनुसार नौसैनिक सेवाबाट अवकाश पाएपछि सन् १६४० आसपास उक्त जहाजलाई क्यास्टेलहोलमेन टापुमा निर्माण गरिएको नयाँ पुलको जगका रूपमा प्रयोग गर्न डुबाइएको थियो । पुरातत्वविद्हरूले हालसम्म जहाजको ठोस पहिचान गर्न सकेका छैनन् । सो क्षेत्रमा पुल निर्माणका लागि एउटै पङ्क्तिमा डुबाइएका पाँचवटा समान भग्नावशेषमध्ये यो एउटा भएको विश्वास गरिएको छ । ती सबै १६औँ शताब्दीको अन्त्यदेखि १७औँ शताब्दीको सुरुतिरका मानिन्छन् ।

    ह्यान्सोनका अनुसार त्यतिबेला नयाँ काठ प्रयोग गर्नुको सट्टा पूरै जहाजको हुललाई नै आधारका रूपमा प्रयोग गर्नु व्यावहारिक उपाय मानिन्थ्यो । “ओक काठ अत्यन्त बलियो हुन्छ, त्यसैले पुलको जग बनाउन जहाजकै संरचना उपयोग गरिन्थ्यो”, उनले भने । उनले थप स्पष्ट पार्दै बाल्टिक क्षेत्रमा काठ नष्ट गर्ने समुद्री कीराहरू नहुने भएकाले त्यहाँ डुबाइएका काठका संरचना सयौँ वर्षसम्म सुरक्षित रहन सक्ने बताए । यही कारणले चार सय वर्षपछि पनि जहाजका भागहरू राम्रो अवस्थामा देखिएको उनको भनाइ छ ।

    यसअघि सन् २०१३ मा पनि जहाजका केही भाग सतहमा देखिएका थिए । तर यसपटक बाल्टिक सागरको जलस्तर झण्डै एक सय वर्षयताकै सबैभन्दा न्यून विन्दुमा पुगेपछि भग्नावशेष पहिलेभन्दा धेरै स्पष्ट रूपमा देखिएको हो । ह्यान्सोनले उत्तरी क्षेत्रमा लामो समयदेखि उच्च वायुदबाव कायम रहँदा बाल्टिक सागरको पानी उत्तर सागर र एटलान्टिकतर्फ धकेलिएको जानकारी दिए ।

    यही प्राकृतिक अवस्थाले जलस्तर घटाउन भूमिका खेलेको उनको विश्लेषण छ ।
    बाल्टिक सागरको तल्लो भागमा रहेका स्विडेनी नौसैनिक जहाजका थुप्रै भग्नावशेष पहिचान गरी सही मिति निर्धारण गर्ने उद्देश्यले ‘द लस्ट नेभी’ नामक अनुसन्धान कार्यक्रम सञ्चालनमा रहेको छ । यस नयाँ अवलोकनले उक्त कार्यक्रमलाई थप गति दिने अपेक्षा गरिएको छ ।

  • भारतले एआईमा दुई वर्षमा २०० अर्ब डलरभन्दा बढी लगानी गर्दै

    भारतले एआईमा दुई वर्षमा २०० अर्ब डलरभन्दा बढी लगानी गर्दै

    नयाँ दिल्ली, ६ फागुन (रासस–सिन्ह्वा) । भारतका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले मङ्गलबार आगामी दुई वर्षमा देशमा कृत्रिम बौद्धिकता ९एआई० क्षेत्रमा २०० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी हुने सम्भावना रहेको बताएका छन् । मन्त्री वैष्णवले उक्त जानकारी भारत ‘कृत्रिम बौद्धिकता प्रभाव सम्मेलन २०२६’ को अवसरमा प्रेस सम्मेलनमा साझा गरेका थिए । उनले सम्मेलनमा देशभरका मानिसहरूको ठूलो सहभागिता देखिएको उल्लेख गरे । यस सम्मेलनले भारतमा कृत्रिम बौद्धिकता क्षेत्रको महत्व र सम्भावनालाई व्यापक रूपमा प्रस्तुत गरेको छ ।


    उनले थपे, ‘विश्वका प्रमुख कम्पनीका कार्यकारीहरूले नयाँ प्रविधि सम्बन्धी स्टार्टअप तथा पूर्वाधार परियोजनामा उच्च रुचि देखाइरहेका छन् । यसले भारतमा प्रविधि क्षेत्रको वृद्धि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।” वैष्णवले सम्मानजनक शैलीमा भारतले विश्वका नेताहरूबीच कृत्रिम बौद्धिकताको सही र जिम्मेवार प्रयोग सुनिश्चित गर्न पहल गर्ने जोड दिए । यसले कृत्रिम बौद्धिकतालाई मानव समाजको भलोमा प्रयोग गर्न मद्दत पु¥याउने उनको विश्वास रहेको छ ।


    मन्त्रीले भने, हालको अवस्थामा कृत्रिम बौद्धिकता प्रणालीमा केही चुनौती र कठिनाइहरू अवश्य छन् । उनले ती समस्या प्रविधि र कानूनी उपायहरू मार्फत समाधान गर्न आवश्यक रहेको स्पष्ट गरे । यसले मात्र एआई प्रणालीको दिगो र उत्तरदायी विकास सम्भव हुने उनको भनाइ थियो । वैष्णवले सम्मेलनमा सहभागी सबैलाई आभार व्यक्त गर्दै यस्तो सम्मेलनले देशमा नयाँ सोच र नवप्रवर्तनको वातावरण सिर्जना गर्ने र कृत्रिम बौद्धिकता क्षेत्रलाई अझ समृद्ध बनाउने बताए ।

  • अष्ट्रेलियामा विश्वविद्यालयमा जातीय भेदभाव व्यापक : प्रतिवेदन

    अष्ट्रेलियामा विश्वविद्यालयमा जातीय भेदभाव व्यापक : प्रतिवेदन

    क्यानबेरा, ६ फागुन (रासस÷सिन्ह्वा) । अष्ट्रेलियाली विश्वविद्यालयहरूमा जातीय भेदभाव व्यापक रूपमा फैलिएको भन्ने तथ्य सरकारी प्रतिवेदनले देखाएको छ।
    अष्ट्रेलियाली मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन अनुसार, जातीय भेदभावले विद्यार्थी र कर्मचारीहरू दुबैमा गहिरो प्रभाव पारिरहेको छ । ४२ विश्वविद्यालयका ७६ हजार भन्दा बढी विद्यार्थी तथा कर्मचारीहरूमाथि गरिएको सर्वेक्षणमा सहभागीहरूको ७० प्रतिशतले अप्रत्यक्ष जातीय भेदभावको अनुभव गरेको बताएका छन् । यसमा आफ्ना समुदायप्रति लक्षित जातीय व्यवहार सुन्ने तथा देख्ने अनुभव समावेश छ ।

    सर्वेक्षणमा सहभागी यहूदी र प्यालेस्टिनी व्यक्तिहरूमध्ये ९० प्रतिशतभन्दा बढीले जातीय भेदभावको अनुभव गरेको बताएका छन् । त्यस्तै, स्वदेशी अष्ट्रेलियन, अफ्रिकी, चिनियाँ, उत्तरपूर्वी एशियाली र मध्यपूर्वी समुदायका सदस्यहरूले पनि ८० प्रतिशतभन्दा बढी दरमा जातीय भेदभाव भोगेका छन् ।

    अष्ट्रेलियाको जातीय भेदभाव आयोगका कमिश्नर गिरिधरन शिवरमनले भने “जातीय भेदभावले व्यक्तिहरू र समुदायलाई गहिरो क्षति पु¥याउँछ । यसले व्यक्तिको पहिचान र आत्म–सम्मान कमजोर बनाउँछ, उनीहरूको सामुहिकता र सुरक्षा भावना कमजोर गर्छ, र यदि रोक्न नसकिने हो भने हिंसामा परिणत हुन सक्छ ।” सरकारले मे २०२४ मा विश्वविद्यालयहरूमा यहूदीविरोधी, इस्लामोफोबिया र जातीय भेदभावको अवस्था बुझ्न उक्त प्रतिवेदन तयार गर्न आदेश दिएको थियो ।