Category: विश्व

  • बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब

    बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब

    बेलायत, ५ फागुन (रासस–सिन्ह्वा) । बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ । हालै सार्वजनिक गरिएको तीन महिनाको श्रम बजारसम्बन्धी विवरण अनुसार बेरोजगारी दर ५.२ प्रतिशत पुगेको छ । यस अवधिमा करिब १८ लाख ८३ हजार मानिस रोजगारीविहीन रहेका छन् । उक्त तथ्याङ्क ‘अफिस फर नेसनल स्ट्याटिस्टिक्स’ ले सार्वजनिक गरेको हो । यसै अवधिमा रोजगार दर ७५ प्रतिशत कायम रहेको छ भने करिब २०.८ प्रतिशत जनसङ्ख्या आर्थिक रूपमा निष्क्रिय रहेको देखिएको छ, जसमा विद्यार्थी, दीर्घरोगी तथा काम खोज्न निरुत्साहित भएका व्यक्तिहरू समावेश छन् ।

    विज्ञहरूका अनुसार बढ्दो जीवनयापन खर्च, आर्थिक वृद्धिमा सुस्तता तथा निजी क्षेत्रको भर्ती प्रक्रियामा कमी आउनु बेरोजगारी वृद्धि हुनुका मुख्य कारण हुन् । श्रम बजारमा देखिएको सुस्तताप्रति बैङ्क अफ इङ्ग्‌ल्याण्डले पनि चिन्ता व्यक्त गरेको छ । केन्द्रीय बैङ्कले आगामी महिनाहरूमा रोजगार सिर्जना दर कमजोर रहन सक्ने सङ्केत गर्दै बेरोजगारी अझ बढ्न सक्ने चेतावनी दिएको छ । यस अवस्थाले देशको समग्र अर्थतन्त्र, उपभोग क्षमता र कर संकलनमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।

  • इरान–अमेरिका तनाव बढ्दा अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य वृद्धि

    इरान–अमेरिका तनाव बढ्दा अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य वृद्धि

    अमेरिका, ६ फागुन (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित आफ्नो दाबीहरू अघि बढाएपछि मङ्गलबार तेलको मूल्य बढेको छ। दुई देशबीच जेनेभामा इरानको परमाणु कार्यक्रमसम्बन्धी नयाँ वार्ता भइरहेको छ । पश्चिम टेक्सास इन्टरमिडियेट तेलको मूल्य प्रति बैरल १.५ प्रतिशत बढेर ६३.८० डलर पुगेको छ भने ‘अन्तर्राष्ट्रिय मानक ब्रेन्ट नर्थ सि क्रूड’ले पनि सानो वृद्धि देखाएको छ । विश्लेषक आरिन चिएक्रेका अनुसार, “इरान र अमेरिकाले नयाँ वार्ता सुरु गरेका छन्, र यदि तेहरानले सम्झौता गर्न असफल भयो भने परिणाम सामना गर्नुपर्ने चेतावनी ट्रम्पले दिएका छन् ।”

    इरानले अमेरिकी प्रतिबन्धको उन्मूलन कुनै पनि परमाणु सम्झौताको अनिवार्य भाग रहेको स्पष्ट पारेको छ । बजारका अन्य सूचकहरूमा, यूरोपेली शेयर बजार प्रारम्भिक कारोबारमा स्थिर देखिएको छ । टोकियो र चीनका बजारहरू चाडका कारण बन्द थिए । वाल स्ट्रिट अमेरिकी सार्वजनिक विदाको कारण मंगलबार पुनः खुल्दैछ । विदेशी मुद्रा बजारमा अमेरिकी डलर ब्रिटिश पाउन्डको तुलनामा बढेको छ, किनभने बेलायतमा बेरोजगारी पाँच वर्षको उच्च स्तरमा पुगेको तथ्याङ्कले देखाएको छ ।

    विश्लेषकहरूले बताए अनुसार, गत वर्षको अन्तिम चौमासिकमा ५।२ प्रतिशतको बेरोजगारी दरले बेलायतको केन्द्रीय बैङ्कले आगामी महिनामा व्याजदर घटाउने सम्भावना बढाएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले २०२६ मा पुनः वृद्धि पाउन कठिन हुने संभावना रहेको छ । भूराजनीतिक असुरक्षा, उच्च लागत र कमजोर घरेलु मागले वृद्धि रोक्ने जर्मनीको उद्योग तथा वाणिज्य चेम्बरले जनाएको छ ।

  • चीनले क्यानडा र बेलायती नागरिकका लागि निःशुल्क भिसा नीति लागू गर्ने

    चीनले क्यानडा र बेलायती नागरिकका लागि निःशुल्क भिसा नीति लागू गर्ने

    बेइजिङ, ४ फागुन (रासस–एएफपी) । चीनले क्यानडा र बेलायतका साधारण राहधानीधारक नागरिकलाई लक्षित गरी भिसा मुक्त नीति लागु गर्ने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता आइतबार भने, “सीमापारबाट चीनको यात्रालाई थप सहज बनाउन चीनले सन् २०२६ फेब्रुअरी १७ देखि क्यानडा र बेलायतका साधारण राहदानी धारकहरूलाई भिसा–मुक्त नीति विस्तार गर्ने निर्णय गरेको छ।”

    प्रवक्ताका अनुसार यस निर्णयले दुई युरोपेली मुलुकका साधारण राहदानी बाहकलाई व्यापार, पर्यटन, परिवार र साथीको भ्रमण, आदानप्रदान र पारवहन प्रयोजनका लागि चीन प्रवेश गर्न भिसामा छुट दिन र ३० दिनसम्म चीनमा रहन अनुमति दिनेछ । “यो नीति सन् २०२६ डिसेम्बर ३१ सम्मका लागि लागू हुनेछ,” प्रवक्ताले भने ।

  • सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

    सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

    कायरो, ४ फागुन (रासस–एपी) । सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले सहर कब्जा गरेपछि भएको हिंसात्मक आक्रमणमा कम्तीमा छ हजारभन्दा बढी मानिसको हत्या भएको छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले जारी गरेको प्रतिवेदन अनुसार तीन दिनभित्रै भएको उक्त आक्रमणमा सडकमा गोली हान्ने, समूहद्वारा कुटपिट, अपहरण, बलात्कार र अन्य अमानवीय क्रियाकलाप समावेश थिए ।

    सहरभित्र सामान्य नागरिक, महिला र बालबालिकासमेत मारिएका छन् । शरणस्थल, विद्यालय, अस्पताल र विश्वविद्यालय परिसरहरू आक्रमणको केन्द्र बनेका थिए । हजारौं मानिस भाग्ने क्रममा मारिएका तथा घाइते भएका थिए । प्रतिवेदनले यस आक्रमणलाई विशेष जातीय समूहहरूलाई लक्षित गरेर गरिएको सामूहिक हत्या र अत्याचारका रूपमा वर्णन गरेको छ ।

    हिंसात्मक गतिविधिहरूमा नागरिकलाई सडकमा गोली हान्ने, घर र संरचना नष्ट गर्ने, बलात्कार, जबरजस्ती नजरबन्द, यातना, अपहरण र शारीरिक हिंसा समावेश थिए । अस्पतालमा रहेका बिरामी, सुत्केरी महिलाहरू र स्वास्थ्यकर्मीहरू पनि आक्रमणको शिकार बनेका थिए । विश्वविद्यालय र छात्रावासमा पनि ठूलो सङ्ख्यामा सामान्य नागरिक मारिएका थिए ।

    संयुक्त राष्ट्रसंघले यस घटनालाई युद्ध अपराध र मानवता विरुद्धको अपराधको रूपमा मान्नुपर्ने चेतावनी दिएको छ । यस घटनामा संलग्न उच्च कमाण्डर र जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न आवश्यक रहेको उल्लेख गरिएको छ । यो नरसंहार सुडानमा जारी गृहयुद्धको हिस्सा मानिन्छ, जसले लाखौं मानिसलाई विस्थापित बनाएको, खाद्य अभाव र स्वास्थ्य सङ्कट निम्त्याएको र जनजीवनलाई अत्यन्त भयावह बनाएको छ । यसले सुडान र डारफर प्रान्तमा सुरक्षा, स्थायित्व र मानवअधिकारको स्थितिलाई गम्भीर चुनौती दिएको छ ।

    विशेषगरी डारफर प्रान्तमा नागरिकहरूको जीवन जोखिममा परेको, स्वास्थ्य र खाद्य सेवामा सङ्कट उत्पन्न भएको र अन्तर्राष्ट्रिय समुदायको ध्यान आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घले घटनाका जिम्मेवार व्यक्तिहरूमाथि कारबाही गर्न, हिंसामा संलग्न कमाण्डरलाई जिम्मेवार बनाउन र पीडित समुदायलाई राहत तथा सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ ।

  • यूक्रेन–रुस वार्ताः दीर्घकालीन शान्तिका लागि अवसर

    यूक्रेन–रुस वार्ताः दीर्घकालीन शान्तिका लागि अवसर

    किएभ, ४ फागुन (रासस–सिन्ह्वा) । यूक्रेनका राष्ट्रपतिले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र सबैका लागि लाभदायक’ हुने आशा व्यक्त गरेका छन् । उनले सबै पक्षले सकारात्मक र सहयोगी दृष्टिकोण अपनाएर टिकाउ समाधान निर्माणमा योगदान पु¥याउनुपर्नेमा जोड दिए ।

    राष्ट्रपतिले विगतका वार्ताहरूमा प्रायः यूक्रेनलाई पर्याप्त रूपमा समावेश नगरी रुससँग मात्रै छलफल हुने गरेको देखिएको बताए । जसका कारण ठोस प्रगति हुन सकेको छैन । यसैले आगामी वार्ता सबै पक्षका हितलाई सुनिश्चित गर्ने महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ ।

    जनवरीको अन्त्यदेखि फेब्रुअरीको सुरुमा संयुक्त सुरक्षा कार्य समूहका सदस्यहरूले संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा दुई चरणको वार्ता सम्पन्न गरेका थिए । त्यहाँ केही केदीहरू साटासाटमा सहमति भए पनि क्षेत्रीय व्यवस्था, बन्दूकबन्दी र दीर्घकालीन शान्ति विषयमा पूर्ण समाधान हुन सकेको थिएन । आगामी चरणको वार्ता जेनेभा शहरमा मङ्गलबार र बुधबार हुने तय भएको छ ।

    यसमा रुस प्रतिनिधित्व वरिष्ठ अधिकारीले गर्नेछन् भने यूक्रेन टोलीमा राजनीतिक, सुरक्षा र सैनिक विषयका प्रतिनिधिहरू रहनेछन् । राष्ट्रपतिले यस शान्ति वार्ता न्यायपूर्ण, टिकाउ र सबै पक्षका लागि सन्तुलित समाधानको अवसर बन्ने विश्वास व्यक्त गरे । यसले दीर्घकालीन शान्ति र क्षेत्रीय स्थायित्वमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

  • ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना

    ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना

    वासिङ्टन, ४ फागुन (रासस–एएफपी) । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट आफू र मिशेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिकी राजनीतिक संवादमा शिष्टाचार र लज्जाको अभाव बढ्दै गएको भन्दै कडा टिप्पणी गरेका छन् ।

    वामपन्थी टिप्पणीकार ब्रायन टायलर कोहेनसँगको विस्तृत पोडकास्ट अन्तर्वार्तामा उनले राजनीतिक बहस ‘पहिले कहिल्यै नदेखिएको क्रूरतामा’ झरेको उल्लेख गर्दै अधिकांश अमेरिकी नागरिकले यस्तो व्यवहारलाई गम्भीर रूपमा चिन्ताजनक ठान्ने बताए । उनले कसैको नाम नलिई सामाजिक सञ्जाल र टेलिभिजनमा देखिने ‘जोकर शैलीको प्रस्तुति’ ले सार्वजनिक पदप्रति आवश्यक सम्मान हराउँदै गएको सङ्केत गरेको बताए ।


    फेब्रुअरी ५ मा ट्रम्पको ट्रुथ सोसल खाताबाट सेयर गरिएको एक मिनेटको भिडियोमा सन् २०२० को चुनावबारे षड्यन्त्रपूर्ण दाबी दोहोर्‍याइएको थियो । भिडियोको अन्त्यतिर जो बाइडेन र ओबामा दम्पतीको अनुहार बाँदरको शरीरमा देखाइएको अंश समावेश थियो, जसले व्यापक आलोचना निम्त्यायो । ह्वाइट हाउसले प्रारम्भमा ‘नक्कली आक्रोश’ अस्वीकार गरे पनि पछि उक्त पोस्ट स्टाफको त्रुटिका कारण भएको भन्दै हटाइएको जनाएको थियो । ट्रम्पले भिडियोका दाबीहरूको पक्षमा उभिएको बताए पनि आपत्तिजनक दृश्य आफूले नदेखेको दाबी गरे ।


    अन्तर्वार्ताका क्रममा ओबामाले यस्ता सन्देशले आगामी मध्यावधि चुनावमा रिपब्लिकनहरूलाई नै नोक्सान पुग्न सक्ने आकलन गरे र अन्ततः जवाफ अमेरिकी जनताबाटै आउने बताए । उनले ट्रम्प प्रशासनद्वारा मिनेसोटामा सञ्चालन गरिएको आप्रवासन दमन अभियानको पनि आलोचना गरे । आइसिई अधिकारीहरू समेत संलग्न हजारौँ सङ्घीय एजेन्टले अपराधीविरुद्ध लक्षित अपरेसन भन्दै व्यापक छापा र गिरफ्तारी सञ्चालन गरेका थिए । ओबामाले केही घटनामा भएको घातक गोलीकाण्डसहित एजेन्टहरूको व्यवहारलाई ‘अधिनायकवादी मुलुकहरूमा देखिने शैलीसँग मिल्दोजुल्दो’ भन्दै चिन्ता व्यक्त गरे । यसलाई ‘दुष्ट व्यवहार’ को संज्ञा दिए ।
    मिनेसोटामा उक्त अभियानपछि ठूलो विरोध प्रदर्शन र देशव्यापी आक्रोश देखिएको छ । यसैबीच सांसदहरूबीच आप्रवासन कारबाहीको निरीक्षण गर्ने निकायलाई थप बजेट दिने विषयमा जारी विवादले गृह मन्त्रालय आंशिक सरकारी शटडाउनमा परेको छ । डेमोक्रेट सांसदहरूले आइसिईको कार्यशैलीमा ठोस परिवर्तन नगरेसम्म नयाँ कोष स्वीकृत नगर्ने अडान लिएका छन् ।

    ओबामाले भने समुदायस्तरमा शान्तिपूर्ण र सङ्गठित प्रतिरोध देखिनु नै आशाको आधार भएको उल्लेख गर्दै नागरिकहरू सत्य र शान्तिपूर्ण विरोधमार्फत आफूहरूले विश्वास गर्ने मूल्यहरूको पक्षमा उभिएको बताए । उनले सामान्य नागरिकको यस्तो निरन्तर सक्रियताले लोकतन्त्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

  • आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता

    आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता

    सिड्नी, ४ फागुन (रासस–एएफपी) । अस्ट्रेलियाले त्रिपक्षीय एयुकेयुएस सुरक्षा साझेदारीअन्तर्गत आणविक–सञ्चालित पनडुब्बी निर्माण क्षमतातर्फ निर्णायक कदम चाल्दै नयाँ निर्माण सुविधाका लागि तीन अर्ब ९० करोड अस्ट्रेलियन डलर (करिब दुई अर्ब ८० करोड अमेरिकी डलर) को प्रारम्भिक लगानी घोषणा गरेको छ । उक्त रकमलाई सरकारले ‘डाउन पेमेन्ट’ का रूपमा व्याख्या गरेको छ । यसले दीर्घकालीन रक्षा रूपान्तरणको आधार तयार गर्ने बताइएको छ ।

    बेलायत र संयुक्त राज्य अमेरिकासँगको एयुकेयुएस सम्झौताले अस्ट्रेलियालाई अमेरिकी अत्याधुनिक पनडुब्बीहरूको फ्लीट उपलब्ध गराउने मात्र नभई, उन्नत युद्ध प्रविधिको विकासमा सहकार्य गर्ने मार्ग पनि खोल्ने लक्ष्य राखेको छ । सन् २०३२ देखि पनडुब्बी आपूर्ति सुरु हुने योजना छ र यसलाई प्रशान्त क्षेत्रमा विशेषतः चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्ने रणनीतिसँग जोडेर हेरिएको छ ।

    सम्झौताले आगामी ३० वर्षमा अस्ट्रेलियालाई करिब दुई खर्ब ३५ अर्ब अमेरिकी डलरसम्म खर्च गर्न बाध्य पार्न सक्ने अनुमान गरिएको छ । यसअन्तर्गत भविष्यमा स्वदेशमै पनडुब्बी निर्माण गर्ने प्रविधि हस्तान्तरणसमेत समावेश छ । रक्षामन्त्री रिचर्ड मार्लेसले दक्षिणी सहर एडिलेड नजिकैको ओसबोर्नस्थित निर्माण स्थललाई परियोजनाको केन्द्रविन्दु हुने बताए । उनका अनुसार दीर्घकालमा सो सुविधामा करिब ३० अर्ब अस्ट्रेलियन डलर लगानी अपेक्षित छ ।

    उनले ओसबोर्नमा भइरहेको पूर्वाधार विस्तारले अस्ट्रेलियालाई आउँदा दशकहरूमा आफ्नै आणविक–सञ्चालित पनडुब्बी निर्माण गर्ने सार्वभौम क्षमता दिलाउने मार्गमा अघि बढाएको उल्लेख गरे । प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनडुब्बी निर्माण यार्डमा गरिएको लगानी परम्परागत रूपमा सशस्त्र, आणविक–सञ्चालित पनडुब्बी आपूर्ति सुनिश्चित गर्न निर्णायक हुने बताए । उनले एयुकेयुएस परियोजनाले रक्षा क्षमताको दीर्घकालीन सुरक्षा, रोजगारी सृजना र औद्योगिक समृद्धिमा टेवा पु¥याउने धारणा व्यक्त गरे ।


    यसअघि सेप्टेम्बरमा क्यानबेराले पश्चिमी अस्ट्रेलियाको पर्थस्थित जहाज निर्माण तथा मर्मत परिसरलाई भविष्यका आणविक–सञ्चालित पनडुब्बीका लागि रूपान्तरण गर्न एक दशकमा आठ अर्ब अमेरिकी डलर खर्च गरिने जनाएको थियो । एयुकेयुएस कार्यक्रम सन् २०२१ मा फ्रान्ससँगको बहु–अर्ब डलरको डिजेल–सञ्चालित पनडुब्बी खरिद सम्झौता रद्द गरेपछि अघि बढाइएको थियो, जसले पेरिससँग कूटनीतिक तनाव उत्पन्न गरेको थियो ।

    गत जुनमा वासिङ्टनले उक्त सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फस्र्ट’ एजेन्डासँग मेल खान्छ कि होइन भनेर समीक्षा सुरु गरेपछि परियोजना अन्योलमा परेको थियो । तर डिसेम्बरमा पेन्टागनले समीक्षा प्रक्रिया हटाइएको र ट्रम्पले कार्यक्रम ‘पूर्ण रूपमा अगाडि बढाउन’ निर्देशन दिएको जनाएको थियो ।

  • मस्कको कम्पनी स्टारलिङ्कले भियतनाममा पायो लाइसेन्स

    मस्कको कम्पनी स्टारलिङ्कले भियतनाममा पायो लाइसेन्स

    हनोई, ४ फागुन (रासस–एएफपी) । भियतनामले स्याटेलाइट इन्टरनेट सेवा विस्तारको दिशामा महत्त्वपूर्ण कदम चाल्दै एलन मस्कको कम्पनी स्टारलिङ्कलाई देशभित्र औपचारिक रूपमा सञ्चालन अनुमति प्रदान गरेको छ । सरकारी रेडियो फ्रिक्वेन्सी नियामक निकायले कम्युनिस्ट शासन व्यवस्था भएको यस देशमा स्टारलिङ्कको स्थानीय एकाइ ‘स्टारलिङ्क सर्भिसेज भियतनाम कम्पनी’ लाई आवश्यक इजाजतपत्र जारी गरिएको जनाएको हो ।

    रेडियो फ्रिक्वेन्सी व्यवस्थापन प्राधिकरणका अनुसार कम्पनीले प्रारम्भिक चरणमा चारवटा गेटवे स्टेशन स्थापना गर्न र अधिकतम छ लाख टर्मिनल उपकरण परिचालन गर्न सक्नेछ । प्राधिकरणले विद्यमान रेडियो सञ्चार सञ्जालहरूमा कुनै किसिमको हस्तक्षेप नहोस् भन्ने सुनिश्चित गर्न लाइसेन्स अनिवार्य गरिएको स्पष्ट पारेको छ ।

    सरकारी निकायले स्टारलिङ्क प्रणालीले देशभर स्याटेलाइटमार्फत इन्टरनेट पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । विशेषतः ग्रामीण र पहाडी क्षेत्रहरूमा सेवा पहुँचको अन्तर घटाउने अपेक्षा गरिएको छ, जहाँ हालसम्म विश्वसनीय इन्टरनेट सेवा सीमित रहेको छ । स्टारलिङ्कले हजारौँ कम–पृथ्वी कक्षीय उपग्रहहरूको प्रयोगमार्फत दुर्गम र सेवा–विहीन क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । भियतनाम इन्टरनेट नेटवर्क सूचना केन्द्रका अनुसार झण्डै १० करोड जनसङ्ख्या रहेको भियतनाममा करिब ८० प्रतिशत नागरिक इन्टरनेट प्रयोगकर्ता भए पनि भौगोलिक असमानताका कारण पहुँचमा फरक देखिन्छ ।

    मस्कद्वारा स्थापित मूल कम्पनी स्पेसएक्सले यसबारे एएफपीको प्रतिक्रिया अनुरोधमा तत्काल कुनै टिप्पणी गरेको छैन । अमेरिकास्थित स्टारलिङ्कको वेबसाइटमा भियतनाममा सेवा ‘चाँडै उपलब्ध हुने’ उल्लेख गरिएको छ । यस विकासक्रमलाई भियतनाम–अमेरिका व्यापार सम्बन्धको पृष्ठभूमिसँग पनि जोडेर हेरिएको छ । गत वर्ष वासिङ्टनले भियतनामी वस्तुमा २० प्रतिशत कर लगाएपछि दुवै देशबीच व्यापार सम्झौताका लागि वार्ता चलिरहेको छ । यसै महिनामा छैटौँ चरणको वार्ता सम्पन्न भए पनि अन्तिम सहमति हुन सकेको छैन ।

    स्रोतहरूका अनुसार भियतनामका शीर्ष नेता टो लाम यसै साता राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यक्षतामा गठन गरिएको ‘शान्ति बोर्ड’ को बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका जाने तयारीमा छन् । बोर्ड सुरुमा गाजा पट्टीको पुनर्निर्माणको निरीक्षणका लागि स्थापना गरिएको भए पनि यसको कार्यक्षेत्र विस्तार भएको देखिन्छ । पहिलो बैठक फेब्रुअरी १९ मा वासिङ्टनमा हुने तय भएको छ ।

    लामले ट्रम्पसँग व्यापार वार्ताबारे छुट्टै छलफल गर्ने कि नगर्ने स्पष्ट भएको छैन र भियतनाम सरकारले भ्रमणको औपचारिक पुष्टि गरेको छैन । दक्षिणपूर्वी एसियाली उत्पादन केन्द्रका रूपमा उदाएको भियतनामले गत वर्ष आठ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । यद्यपि अमेरिकी करले निर्यातमुखी वृद्धि मोडेलमा दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ । हनोईले यस वर्ष दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य लिएको छ र डिजिटल पूर्वाधार विस्तारलाई त्यस लक्ष्यसँग जोडिएको महत्त्वपूर्ण रणनीतिका रूपमा हेरिएको छ ।

  • नाइजेरियामा बस–ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते

    नाइजेरियामा बस–ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते

    अबुजा, ४ फागुन (रासस–सिन्ह्वा) । नाइजेरियाको दक्षिणपूर्वी क्षेत्रमा शनिबार साँझ यात्रुवाहक बस र मालवाहक ट्रकबीच भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। उक्त दुर्घटना एनुगु–पोर्ट हरकोर्ट सडकखण्डमा भएको जनाइएको छ। प्रहरीका अनुसार दुवै सवारी साधन विपरीत दिशाबाट आउँदै गर्दा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो।

    घटनामा करिब ३६ जना यात्रु संलग्न रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतकका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सुरक्षित राखिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि सुरक्षाकर्मीको सक्रियतामा यातायात पुनः सञ्चालनमा ल्याइएको छ।

    नाइजेरियामा सडक दुर्घटनाका घटनाहरू प्रायः तीव्र गति, सवारीको खराब अवस्था र चालकको लापरबाहीका कारण हुने गरेको अधिकारीहरूले बताएका छन्।

  • एआई प्रतिस्पर्धामा भारतको एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान

    एआई प्रतिस्पर्धामा भारतको एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान

    नयाँदिल्ली, ४ फागुन (रासस\एएफपी) । संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी घटाउने उद्देश्यसहित भारतले अभूतपूर्व परिमाणको ‘डाटा सिटी’ परियोजना अघि बढाएको छ । आन्ध्र प्रदेश सरकारले विशाखापट्टनमलाई केन्द्रमा राख्दै एआई पूर्वाधार, डाटा सेन्टर र उच्च क्षमतायुक्त डिजिटल इकोसिस्टम निर्माण गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।

    आन्ध्र प्रदेशका सूचना प्रविधिमन्त्री नारा लोकेशले एआई क्रान्ति अपरिहार्य भइसकेको बताउँदै राष्ट्रले यसलाई सक्रिय रूपमा अँगाल्ने नीति लिएको उल्लेख गरे । उनका अनुसार राज्यले ७६० परियोजनासहित करिब एक खर्ब ७५ अर्ब डलर बराबरको लगानी प्रतिबद्धता जुटाइसकेको छ । यसमा संयुक्त राज्य अमेरिका बाहिरकै सबैभन्दा ठूलो एआई पूर्वाधार हब निर्माणका लागि गुगलको १५ अर्ब डलर लगानीसमेत समावेश छ ।

    त्यस्तै, रिलायन्स इन्डस्ट्रिज, क्यानाडाको ब्रुकफिल्ड र अमेरिकी कम्पनी डिजिटल रियल्टीको संयुक्त उद्यमले सोही सहरमा ११ अर्ब डलरको एआई डाटा सेन्टर विकास गरिरहेको छ । करिब २० लाख जनसङ्ख्या रहेको विशाखापट्टनमलाई अब सिङ्गापुरसँग जोडिने पनडुब्बी इन्टरनेट केबलको अवतरण विन्दुका रूपमा विकास गरिँदैछ । लोकेशका अनुसार १०० किलोमिटर अर्धव्यासभित्र फैलिने ‘डाटा सिटी’ अवधारणा केवल डाटा कनेक्टिभिटीमा सीमित नभई सर्भर उत्पादन, कूलिङ प्रणाली, सहायक उद्योग र पूर्ण प्रविधि आपूर्ति शृङ्खलासम्म विस्तार हुनेछ ।

    उनले आन्ध्र प्रदेशले सन् २०२५ मा भारतको प्रत्यक्ष वैदेशिक लगानीको झण्डै २५ प्रतिशत आकर्षित गरेको दाबी गरे । प्रमुख लगानीकर्तालाई प्रतिस्पर्धात्मक दरमा जग्गा उपलब्ध गराउने नीति अवलम्बन गरिएको छ । मुख्यमन्त्री एन चन्द्रबाबु नायडूका पुत्रसमेत रहेका ४३ वर्षीय स्ट्यानफोर्ड शिक्षित मन्त्री लोकेशले हैदराबादलाई ‘साइबराबाद’ बनाउने अनुभवबाट प्रेरित भएको बताउँछन् ।
    प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्ने एआई इम्प्याक्ट शिखर सम्मेलनअघि सार्वजनिक गरिएको यस योजनाले भारतलाई विश्व एआई शक्तिको तेस्रो स्थानमा स्थापित गर्ने दाबीलाई बल दिएको छ ।

    स्ट्यानफोर्ड युनिभर्सिटीको अध्ययनअनुसार पेटेन्ट, निजी लगानी लगायत ४० भन्दा बढी सूचकमा भारत दक्षिण कोरिया र जापानभन्दा माथि रहेको छ । एक अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्तासहितको बजारले बहुराष्ट्रिय प्रविधि कम्पनीहरूलाई आकर्षित गरिरहेको छ । माइक्रोसफ्टले हालै १७ अर्ब ५० करोड डलर लगानी घोषणा गर्दै यसलाई एसियामा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबद्धता भनेको थियो ।

    यद्यपि आलोचकहरूले भारत अझै उच्चस्तरीय कम्प्युटिङ क्षमता र व्यावसायिक एआई कार्यान्वयनमा पछाडि रहेको तर्क गर्छन् । डाटा सेन्टरहरूले पर्याप्त रोजगारी सिर्जना गर्ने विषयमा पनि प्रश्न उठाइएको छ । तर लोकेशले प्रत्येक औद्योगिक क्रान्तिले विस्थापनभन्दा बढी अवसर सिर्जना गरेको उल्लेख गर्दै एआई अँगालेका देशले नै फाइदा लिने धारणा व्यक्त गरे । ऊर्जा र पानीको उच्च माग सम्बोधन गर्न राज्यले दीर्घकालीन योजना बनाएको बताइएको छ ।

    बङ्गालको खाडीमा बग्ने अतिरिक्त मनसुनी पानी उपयोग गरी विशाल डाटा सेन्टर चिस्याउने अवधारणा अघि सारिएको छ । साथै, कोभवाडामा छ वटा १.२ गिगावाट क्षमताका आणविक ऊर्जा संयन्त्रका लागि केन्द्रीय सरकारबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ । छ गिगावाट डाटा सेन्टर क्षमताको लक्ष्यसहित आन्ध्र प्रदेशले तीव्र गति र ठूलो परिमाणमा कार्यान्वयन गर्ने दाबी गरेको छ । “हामी यात्रामा छौँ र देशले कहिल्यै नदेखेको गतिमा परियोजना कार्यान्वयन गर्नेछौँ”, लोकेशले भने ।

  • अमेरिकाले प्रतिबन्ध फुकुवा गरे परमाणु सम्झौताका इरान तयार

    अमेरिकाले प्रतिबन्ध फुकुवा गरे परमाणु सम्झौताका इरान तयार

    तेहरान, ४ फागुन (रासस–एएफपी) । इरान अमेरिकी नाकाबन्दी फुकुवाको बदलामा अत्यधिक प्रवर्धित युरेनियमको भण्डारमा सम्झौता गर्न तयार रहेको इरानी उपविदेशमन्त्रीले आइतबार प्रकाशित बीबीसीसँगको अन्तर्वार्तामा बताएका छन् । इरान र अमेरिकाबीच आगामी फेब्रुअरी ६ मा ओमानमा भएको आणविक वार्ता पुनः सुरु भएपछि उपविदेशमन्त्री माजिद तख्त–रभाञ्चीको उक्त भनाइ आएको हो । स्विट्जरल्यान्डले अर्को हप्ता जेनेभामा नयाँ चरणको वार्ता हुने शनिबार घोषणा गरेको छ ।

    इरानले नयाँ चरणको वार्ताको आधिकारिक पुष्टि गरेको छैन, तर विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा रहेको इरानको ओमानको प्रतिनिधिमण्डलमा रहेका तख्त–भान्चीले मङ्गलबार वार्ता हुने बताएका छन् । पश्चिमा देशहरूले इरानले आणविक हतियार प्राप्त गर्न खोजेको आरोप विशेषज्ञहरूले लगाउने गरेका छन् । संयुक्त राज्य अमेरिका र इरानको कट्टर शत्रु इजरायलको नेतृत्वमा केही समय पहिले इरानी आणविक भण्डारमा आक्रमण गरेका थिए । इरानले त्यस्ता सैन्य महत्वाकांक्षाहरू नराखेको तर नागरिक उद्देश्यका लागि यो प्रविधिमा आफ्नो अधिकारमा जोड दिने तेहरानको जिकिर रहने गरेको छ।

    “इरान अमेरिकासँग सम्झौता गर्न तयार छ, तर त्यसका लागि अमेरिकाले इरानको अर्थतन्त्रलाई धराशायी बनाइरहेको प्रतिबन्ध हटाउनुपर्छ,” तख्त–रभान्चीले भने । उनले भने, “यदि हामीले उनीहरूको (अमेरिकी) पक्षको इमान्दारिता देख्यौँ भने म विश्वस्त छु कि हामी सम्झौताका लागि तयार हुनेछौँ ।” बीबीसीले भनेको छ, “तेहरानले ४०० किलोभन्दा बढी उच्च संवर्धित युरेनियम भण्डार देशबाहिर पठाउन सहमत हुने सम्भावनाको बारेमा पनि उहाँलाई प्रश्न गरिएको थियो र सम्झौताको सम्भावनालाई उसले अस्वीकार गरेन।”

    रुसलगायत धेरै देशहरूले भण्डारको जिम्मेवारी लिने प्रस्ताव गरेका छन्, जुन प्रस्ताव इरानले अहिलेसम्म अस्वीकार गर्दै आएको छ। इरानको ४०० किलोभन्दा बढी ६० प्रतिशत संवर्धित युरेनियमको भण्डारको नियति धेरै अनिश्चितताले घेरेको छ, जुन गत जुन १० मा (इजरायल र अमेरिकाले इरानी आणविक स्थलहरूमा आक्रमण गर्नु अघि) आणविक निगरानी निरीक्षकहरूले अन्तिम पटक अनुगमनका क्रममा देखेका थिए।

    अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानले युरेनियमलाई ६० प्रतिशतमा संवर्धन गरिरहेको छ, जुन सन् २०१५ को आणविक सम्झौताले अनुमति दिएको ३।६७ प्रतिशत र आणविक हतियार बनाउन आवश्यक ९० प्रतिशत आवश्यकताभन्दा बढी हो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा शून्य प्रशोधन गर्न बारम्बार आह्वान गर्दै आउनुभएको छ।

    ’शून्य संवर्धनको मुद्दा अब कुनै मुद्दा होइन र जहाँसम्म इरानको कुरा छ, यो अब टेबलमा छैन,’ तख्त–रभान्चीले बीबीसीसँग भने । विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै फार्स न्यूज एजेन्सीले आइतबार लेखेको छ, “वार्तामा इरानको ऊर्जा क्षेत्रमा सम्भावित अमेरिकी लगानीका बारेमा पनि छलफल हुनेछ।”

  • क्यारेबियनमा अमेरिकी आक्रमण, तीनको मृत्यु

    क्यारेबियनमा अमेरिकी आक्रमण, तीनको मृत्यु

    वासिङ्टन, २ फागुन (रासस–एपी) । क्यारेबियन सागर क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रण अभियान तीव्र बनाइरहेको अमेरिकी सेनाले अर्को एक कथित तस्करी डुङ्गामाथि घातक आक्रमण गरेको जनाएको छ । उक्त कारबाहीमा कम्तीमा तीन जनाको मृत्यु भएको जानकारी शुक्रबार सार्वजनिक गरिएको हो । अमेरिकी दक्षिणी कमान्डले सामाजिक सञ्जालमार्फत दिएको विवरणअनुसार सो डुङ्गा ‘क्यारेबियन क्षेत्रमा परिचित लागुऔषध तस्करी मार्गमा आवागमन गरिरहेको र तस्करी अपरेसनमा संलग्न’ रहेको दाबी गरिएको छ ।

    आक्रमणसँगै जोडिएको भिडियोमा डुङ्गा समुद्र सतहमा तीव्र गतिमा अघि बढिरहेको देखिन्छ र त्यसपछि विस्फोटसहित आगो लागेको दृश्य देखिन्छ । शुक्रबारको यो कारबाहीसँगै सेप्टेम्बरको सुरुदेखि क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागर क्षेत्रमा गरिएको कम्तीमा ३८ वटा यस्तै आक्रमणमा ज्यान गुमाउनेहरूको सङ्ख्या १३३ पुगेको उल्लेख गरिएको छ । यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालदेखि कथित लागुऔषध डुङ्गाहरू लक्षित गर्दै सञ्चालन हुँदै आएका छन् ।

    गत साता अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले क्यारेबियन क्षेत्रमा अमेरिकी सेनाले हालै गरेका कडा र प्रभावकारी आक्रमणका कारण त्यहाँ सक्रिय केही ठूला लागुऔषध तस्कर समूहहरूले आफ्नो तस्करी काम अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको बताएका थिए । तर उनले उक्त दाबीलाई पुष्टि गर्ने ठोस विवरण वा प्रमाण सार्वजनिक गरेका छैनन् ।

    यसैबीच राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिकाका कार्टेलहरूसँग अमेरिका ‘सशस्त्र द्वन्द्व’ मा रहेको बताउँदै लागुऔषधको प्रवाह रोक्नका लागि यस्ता आक्रमण आवश्यक भएको धारणा व्यक्त गरेका छन् । यद्यपि प्रशासनले ‘नार्कोटेररिस्ट’ भनिएका व्यक्तिहरूको हत्या भएको दाबीलाई समर्थन गर्ने पर्याप्त प्रमाण भने सार्वजनिक गरेको छैन । क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध विरुद्धको यो सैन्य कारबाहीले क्षेत्रीय सुरक्षाबारे बहस चर्काइरहेको छ, जहाँ मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनी दायित्वका प्रश्नहरू पनि उठ्न थालेका छन् ।

  • विद्रोहपछि पहिलो चुनावमा बिएनपीको जित

    विद्रोहपछि पहिलो चुनावमा बिएनपीको जित

    ढाका, १ फागुन (रासस/एपी) : बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले सन् २०२४ को विद्यार्थी नेतृत्वको विद्रोहपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा बहुमतसहित विजय हासिल गरेको दाबी गरेको छ । वर्षौंदेखि तीव्र राजनीतिक ध्रुवीकरण र विवादित चुनावले प्रभावित बङ्गलादेशको राजनीतिमा यो परिणामले नयाँ अध्याय सुरु गर्ने सङ्केत दिएको छ ।

    निर्वाचन आयोगले अन्तिम आधिकारिक नतिजा सार्वजनिक नगरे पनि स्थानीय सञ्चारमाध्यमहरूले ३५० सदस्यीय संसद्मा बहुमतका लागि आवश्यक १५१ सिटको सीमा बिएनपीले पार गरेको जनाएका छन् । संसद्मा महिलाका लागि आरक्षित ५० सिट विजयी दलहरूबीच आनुपातिक रूपमा बाँडिने व्यवस्था छ ।

    विपक्षी इस्लामवादी जमात–ए–इस्लामीले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएको छ, तर बिएनपीको मिडिया एकाइले पार्टीले एक्लै सरकार गठन गर्न पर्याप्त सिट जितेको जनाएको छ । बिएनपी ६० वर्षीय तारिक रहमानको नेतृत्वमा रहेको छ । उहाँ १७ वर्षको स्व–निर्वासनपछि गत डिसेम्बरमा लन्डनबाट स्वदेश फर्किनुभएको हो । उहाँ पूर्वप्रधानमन्त्री खालिदा जियाका सुपुत्र हुनुहुन्छ । खालिदाको डिसेम्बरमै निधन भएको थियो । पार्टीका वरिष्ठ संयुक्त महासचिव रुहुल कबिर रिजवीले जनतालाई धन्यवाद दिँदै विजयको बधाई व्यक्त गर्नुभएको छ ।

    रहमानका प्रेस सचिव सालेह सिबलीका अनुसार उहाँले समर्थकहरूलाई विजय उत्सवका र्‍याली नगर्न, बरु नियमित शुक्रबारको नमाजसँगै विशेष प्रार्थना गर्न आह्वान गर्नुभएको छ । ढाकास्थित अमेरिकी दूतावासले रहमान र उहाँको दललाई ‘ऐतिहासिक विजय’ भन्दै बधाई दिएको छ । बङ्गलादेशका लागि अमेरिकी राजदूत ब्रेन्ट टी. क्रिस्टेनसेनले सामाजिक सञ्जालमार्फत दुई देशबीच समृद्धि र सुरक्षाका साझा लक्ष्यमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो जितले बङ्गलादेशी जनताको विश्वास प्रतिबिम्बित गरेको उल्लेख गर्नुभएको छ भने पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले लोकतान्त्रिक साझेदारी सुदृढ बनाउन इच्छुक रहेको बताउनुभएको छ । ऐतिहासिक रूपमा बङ्गलादेशले भारत र पाकिस्तानसँग मिश्रित सम्बन्ध कायम राख्दै आएको छ ।

    सन् १९७१ मा भारतको सहयोगमा पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरेको बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको कार्यकालमा भारतसँग निकट सम्बन्ध थियो । हसिना गत वर्षको आन्दोलनपछि सत्ताच्युत भई निर्वासनमा जानुभएको थियो । त्यसपछिको अन्तरिम प्रशासन नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठन भएको थियो ।

    यस पटकको निर्वाचन मुख्यतः बिएनपी र जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो । स्थानीय टेलिभिजन च्यानलहरूका अनुसार गठबन्धनले कम्तीमा ७७ सिट जित्दै उल्लेखनीय उपस्थिति जनाएको छ ।

    जमात–ए–इस्लामीका प्रमुख शफिकुर रहमानले ढाकाबाट जित हासिल गर्नुभएको छ र संसद्मा प्रमुख विपक्षी नेताका रूपमा देखिनुभएको छ । तर पार्टीले धेरै क्षेत्रमा नतिजा घोषणा गर्न ढिलाइ र अनियमितता भएको आरोप लगाएको छ । विद्रोहका विद्यार्थी नेताहरूले स्थापना गरेको नेसनल सिटिजन पार्टीले पनि केही सिट जित्दै आफ्नो उपस्थिति जनाएको छ । पार्टी प्रमुख नाहिद इस्लामसहित शीर्ष नेताहरू निर्वाचित भएका छन् ।

    यो मतदानलाई बङ्गलादेशको लोकतन्त्रका लागि महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको थियो । जुलाई २०२४ को आन्दोलनले शेख हसिनालाई सत्ताबाट हटाएपछि सम्पन्न पहिलो चुनाव भएकाले यसलाई लोकतान्त्रिक विश्वास पुनःस्थापित गर्ने अवसरका रूपमा लिइएको थियो ।

    साथै, प्रधानमन्त्रीको कार्यकाल सीमित गर्ने र कार्यकारी शक्तिमा नियन्त्रण कडा पार्ने प्रस्तावसहितको जनमतसङ्ग्रह पनि सँगै सम्पन्न भएको छ, जसको नतिजा सार्वजनिक हुन बाँकी छ । पछिल्ला १५ वर्षमध्ये अधिकांश समय बिएनपी विपक्षमा रह्यो र उसले चुनावी अनियमितता तथा राजनीतिक दमनको आरोप लगाउँदै केही निर्वाचन बहिष्कारसमेत गरेको थियो ।

    तारिक रहमानविरुद्ध लगाइएका भ्रष्टाचार तथा अन्य मुद्दा हसिनाको सरकार पतनपछि खारेज गरिएका थिए । उहाँले ती आरोपलाई राजनीतिक रूपमा प्रेरित बताउँदै अस्वीकार गर्नुभएको थियो । बिएनपी र अवामी लिगबीचको लामो प्रतिस्पर्धाले बङ्गलादेशको राजनीतिक दिशा निर्धारण गर्दै आएको छ । विश्लेषकहरूले भने नयाँ सरकारमाथि सुशासन, पारदर्शिता र लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने ठोस दबाब रहने उल्लेख गरेका छन् ।

  • बङ्गलादेशको नयाँ प्रधानमन्त्रीमा तारिक रहमान आउने सुनिश्चित

    बङ्गलादेशको नयाँ प्रधानमन्त्रीमा तारिक रहमान आउने सुनिश्चित

    ढाका, १ फागुन (रासस/एएफपी):
    बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले सन् २०२४ को घातक विद्रोहपछि भएको पहिलो निर्वाचनमा शुक्रबार भारी जित हासिल गरेको छ र नेता तारिक रहमान प्रधानमन्त्री बन्ने करिब निश्चित भएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार बीएनपी गठबन्धनले संसद्का कुल ३०० सीट सङ्ख्याको २१२ सिट जितेको छ भने इस्लामवादी नेतृत्वको जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ । मतदानको दुई दिनअघि रहमानले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे निरङ्कुश शासनकालमा पराजित भएको आफ्नो पार्टीले १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्रमा पुनः सत्ता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो । सन् २०२४ मा शेख हसिनालाई अपदस्थ गर्ने सामूहिक प्रदर्शनपछि १७ वर्षभन्दा बढी समय लन्डनको स्व–निर्वासनपछि रहमान गत डिसेम्बरमा बङ्गलादेश फर्किनुभएको थियो । बीएनपीका प्रधानमन्त्रीका उम्मेदवार तारिक रहमान शुक्रबार पार्टीले ‘निर्णायक विजय’ पाएको निर्वाचन आयोगको तथ्याङ्कले देखाएपछि देशको नयाँ नेता बन्ने निश्चित भएको छ । बिहीबारको मतदानमा जाँदै रहमानले एक्लै शासन गर्न पर्याप्त बलियो जनादेश पाउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँको सपना साकार भएको छ । उहाँले बढ्दो अधिनायकवादी शासनपछि लोकतान्त्रिक सरकारअन्तर्गत शान्ति र स्थिरता पुनस्र्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। रहमानले ऐतिहासिक मतदानअघि मतदातालाई मतदानमा सहभागी हुन प्रोत्साहन गर्दै भन्नुभएको थियो, “मलाई विश्वास छ, बङ्गलादेशका जनता भोट हाल्न बाहिर आए भने षड्यन्त्र सफल हुँदैन । नयाँ लोकतन्त्रको सुरुवातका लागि सबैलाई मेरो शुभकामना छ।” रहमान पूर्वप्रधानमन्त्री स्वर्गीय खालिदा जिया र पूर्व राष्ट्रपति स्वर्गीय जियाउर रहमानका जेठा छोरा हुनुहुन्छ । जियाउर रहमानको सन् १९८१ मा सैनिक विद्रोहका क्रममा हत्या गरिएको थियो । खालिदा जियाले पतिको मृत्युपछि राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ सन् १९९१ मा पहिलो पटक बङ्गलादेशको राजनीतिक नेतृत्व लिँदै सत्ताको बागडोर सम्हाल्न सफल हुनुभएको थियो । रहमान सन् २०१८ मा आफ्नी आमा खालिदा जिया जेलमा परेपछि बीएनपीको कार्यवाहक अध्यक्षको रूपमा काम गर्दै आउनुभएको छ । रहमान सन् २००८ मा उपचारका लागि लन्डन जानुभएको थियो तर स्वदेशमा उहाँको अनुपस्थिति मा नै उहाँमाथि धेरै मुद्दाहरूमा दोषी भएको आरोपसहित मुद्दा चलाइएको थियो । शेख हसिनाको हत्याको षड्यन्त्रसँग जोडिएको मुद्दामा उहाँलाई अनुपस्थितिमा दोषी करार गरिएको थियो । २०२४ मा हसिनालाई सत्ताबाट हटाइएपछि ती निर्णयहरू उल्ट्याइएको थियो, जसले उहाँको फिर्तीमा कानुनी अवरोधहरू हटाएको थियो ।

  • अमेरिकासँगको व्यापार सम्झौताको भारतीय किसानद्वारा विरोध

    अमेरिकासँगको व्यापार सम्झौताको भारतीय किसानद्वारा विरोध

    नयाँदिल्ली, १ फागुन, (रासस–एएफपी) । अमेरिकी सामानमा कर घटाउने वाशिङ्गटनसँगको व्यापार सम्झौताले भारतीय कृषिलाई चोट पुर्याउने र कृषकको जीविकोपार्जनलाई खतरामा पार्ने चेतावनी दिँदै बिहीबार भारतीय किसानहरूले सम्झौताको विरोधका लागि नयाँदिल्लीलगायतका प्रमुख शहरमा प्रदर्शन गरेका छन् । गत हप्ता घोषणा गरिएको सम्झौतालाई किसान सङ्गठनहरूले भारतीय संघीय सरकारले किसानलाई दिएको आश्वासनका बाबजुद अमेरिकी कृषि क्षेत्रका ठूला कम्पनीसमक्ष ‘पूर्ण आत्मसमर्पण’ भनेका छन्।

    झन्डा फहराउँदै र ब्यानर बोकेका किसान र ट्रेड युनियनका सदस्यहरूले भारतका प्रमुख शहरहरूमा र्याली गरे, केही स्थानहरूमा प्रहरीसँग सामान्य झडप भएको रिपोर्ट गरिएको छ । आयोजकहरूले साझा गरेका तस्वीरमा हजारौँ मानिसहरू सडकमा उत्रिएका देखिन्छ । प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीले आफलेू किसानको सङ्घर्षलाई साथ दिएको बताए ।


    उनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “किसानहरू व्यापार सम्झौताले उनीहरूको जीविकोपार्जनमा असर पार्छ कि भन्ने चिन्तामा छन् ।” व्यापार सम्झौताका सर्तहरू अन्तर्गत, भारतले ‘सबै अमेरिकी औद्योगिक वस्तुहरू र अन्य खाद्य र कृषि उत्पादनहरूमा कर हटाउने वा घटाउनेछ। अमेरिकाले भारतबाट आयात हुने कपडा तथा तयारी पोशाक, छालाका जुत्ता, छालाबाट बनेका सामान प्लास्टिक, रबर, जैविक रसायन र केही मेसिनरी सामग्रीमा १८ प्रतिशत कर लगाउने भएको छ ।

    मोदी सरकारले संवेदनशील कृषि उत्पादन, दुग्ध र कुखुरापालनलाई सम्झौताको दायराबाट बाहिर राखिएको भन्दै किसानहरूको चासो हटाउन खोजेको छ।

    कृषि क्षेत्रले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र भारतमा ४५ प्रतिशतभन्दा बढी मानिसहरूलाई धान्न मद्दत गर्दछ, जसले यसलाई शक्तिशाली सडक शक्ति भएको प्रभावशाली मतदाताको समूह बनाउँछ । व्यक्तिगत फार्महरू साना र प्रायः अनुत्पादक हुन्छन् र एकपछि अर्को भारतीय सरकारहरूले ऐतिहासिक रूपमा उनीहरूलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउन हस्तक्षेप गर्दै आएका छन् ।

    बिहीबार भएको प्रदर्शनले सन् २०२० र सन् २०२१ मा महिनौंको प्रदर्शनको सम्झना ताजा गरेको छ, जसमा किसानहरूले नयाँदिल्लीको राजमार्गहरू अवरुद्ध गरेका थिए र राजधानीको ऐतिहासिक लाल किल्ला परिसरमा ट्याक्टर रोकेर विरोध प्रदर्शन गरेका थिए। विरोधको त्यो लहरले सरकारलाई यस क्षेत्रमा सुधार गर्ने उद्देश्यका कानूनहरू फिर्ता लिन दवाव सिर्जना गरेकोे छ ।

  • सुडानमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

    सुडानमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

    खार्तुम, १ फागुन, (रासस–एएफपी) । उत्तरी सुडानको नाइल नदीमा डुङ्गा डुब्दा कम्तिमा २१ जनाको मृत्यु भएको स्थानीय सरकार तथा प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ । दुर्घटना पछि मृतकको शव बरामद भई सकेको र उनीहरूको नाम सूचीबद्ध गरेको तथा केही यात्रु अझै बेपत्ता रहेको बताइएको छ । स्थानीय सरकारको विज्ञप्तिमा डुङ्गा तैबा अल–खवाद र दिम अल–कराई गाउँहरू बिचको नदी पार गर्दै गर्दा दुर्घटनामा परेको उल्लेख गरिएको छ यद्देपी दुर्घटनाको कारण भने उल्लेख गरिएको छैन ।


    प्रत्यक्षदर्शीलाई उदृत गर्दै एएफपीले डुङ्गामा ३० जना सवार रहेको बताएको छ । सुडानीज डक्टरस नेटवर्कले एक विज्ञप्ति मार्फत डुङ्गामा सवार छ जना यात्रुहरु जिवित रहेको जनाएको छ । नेटवर्कले उक्त घटनाले “नदी यातायातको नाजुकता र आधारभूत सुरक्षा आवश्यकताहरूको अभाव, अधिकारीहरू र नागरिक सुरक्षा उद्धार टोलीहरूको पूर्ण अनुपस्थिति“ उजागर गरेको छ ।

    सुडानीहरू एकल–इन्जिन डुङ्गाहरू मार्फत एकल अपरेटरहरूको नेतृत्वमा नदी पार गर्ने गर्छन भने लगभग तीन वर्षदेखि चलिरहेको युद्धका कारण देशको पूर्वाधार ध्वस्त हुँदै गएको छ । युद्धले देशलाई सेना र अर्धसैनिक द्रुत समर्थन बलहरू बिच विभाजित गरेको छ, भने सार्वजनिक सेवा , चिकित्सा र शैक्षिक पूर्वाधारमा गम्भीर गिरावट आएको छ ।

  • कमजोर आकिएको इटालीसँग नेपालको लजास्पद हार, अर्को चरण पुग्न कठिन

    कमजोर आकिएको इटालीसँग नेपालको लजास्पद हार, अर्को चरण पुग्न कठिन

    २९ माघ, काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत इटाली विरुद्धको खेलमा नेपाल पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटाली १२.४ ओभरमा पूरा ग¥यो । इटालीका लागि एन्थोनी मोस्का र जस्टिम मोस्काले शतकीय साझेदारी गरे । एन्थोनीले ६२ रन बनाउँदा जस्टिन मोस्काले ६० रन बनाए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९।३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो । नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । दीपेन्द्र सिंह ऐरी १७ रनमा आउट भए भने करण केसी १८ रनमा अविजित रहे । इटालीका बलर क्रिशान कालुगामागेले ३ विकेट लिए भने बेन मानेन्टीले २ विकेट झारे । जसप्रित सिंह र जे जे स्मट्सले समान १–१ विकेट लिए ।

    समूह ‘सी’ मा रहेको नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल इग्ल्याण्डसङ ४ रनले पराजित भएको थियो । यस लगातार हारसँगै नेपालको सुपर एट मा पुग्ने सम्भावना कमजोर बनेको छ । यता इटालीको भने यो पहिलो जित हो । इटाली आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल कमजोर आकिएको इटालीसँगै पराजित भएपछि अब दोसो चरणको यात्रा समेत कठिन बनेको छ ।

  • नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    बेइजिङ, २९ माघ (रासस–एपी) । चन्द्र नयाँ वर्ष नजिकिँदै जाँदा चीनभर वार्षिक यात्राको भीड सुरु भएको छ, जसलाई संसारकै सबैभन्दा ठूलो मानव आवागमन मानिन्छ । सरकारले ४० दिनको यात्राअवधिमा करिब नौ अर्ब ५० करोड यात्राहरू हुने अनुमान गरेको छ । यो हालसम्मकै उच्च सङ्ख्या हो ।


    सिचुआन प्रान्तको राजधानी चेङ्दु घर भएका लिउ झिक्वान बेइजिङबाट करिब दुई हजार किलोमिटर टाढा निर्माण क्षेत्रमा काम गर्छन् । उनी घर फर्किन ३० घण्टाभन्दा लामो रेल यात्रा गर्न तयारीमा छन् । उच्च गतिको रेलले नौ घण्टामै पुगिए पनि खर्च दोब्बरभन्दा बढी लाग्ने भएकाले उनले सस्तो ढिलो रेल रोजेको बताए । अर्थतन्त्र कमजोर हुँदा कमाइ कठिन भएको उनको भनाइ छ ।

    चीनमा ‘चुन्युन’ नामले चिनिने यो यात्रा अवधिमा करोडौँ कामदारहरू आफ्ना परिवारसँग चाड मनाउन गृहनगर फर्किन्छन् । सरकारी तथ्याङ्कअनुसार करिब ५४ करोड रेलमार्फत् र ९५ करोड हवाई यात्राहरू हुने अपेक्षा गरिएको छ । बाँकी यात्राहरू सडकमार्फत् गरिनेछन् । लामो कार्यसमय र सीमित वार्षिक बिदाका बीच चन्द्र नयाँ वर्ष धेरैका लागि अमूल्य अवसर हो । बेइजिङका रेल स्टेसनहरूमा यात्रुहरू ठूला झोला र सुटकेससहित रेलको प्रतीक्षामा देखिएका छन् । कतिपय यात्रुहरूले स्टेशनमा उपलब्ध निःशुल्क तातो पानी प्रयोग गरेर ‘इन्स्ट्यान्ट नूडल्स’ खाएर समय बिताइरहेका छन् ।

    बेइजिङमा हालै पूर्णकालिक काम सुरु गरेकी टियान डुओफूले फेब्रुअरी १५ देखि सुरु हुने नौ दिने बिदाको प्रतीक्षा गरिरहेकी छिन् । काम सुरु गरेपछि लामो बिदा दुर्लभ भएको र परिवारसँग भेटघाट कम हुँदै गएको महसुस भएको उनले बताइन् । उनका अनुसार वसन्त महोत्सव परिवारसँग पुनर्मिलनको महत्त्वपूर्ण समय हो । हेनान प्रान्त घर भई बेइजिङमा बिहानको खाजा स्टल सञ्चालन गर्दै आएकी टियान युन्सियाले पनि नयाँ वर्ष परिवारसँगै मनाउन घर जान चाहेको बताइन् । उनका अनुसार घर फर्कन नसके चाडपर्वको वास्तविक अनुभूति गर्न नसकिने हुन्छ ।

  • फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

    फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

    मनिला, २९माघ (रासस–सिन्ह्वा) । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा मा एउटा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्नुका साथै २७ जना अझै बेपत्ता रहेको फिलिपिन्स कोस्ट गार्ड (पिसिजी) ले बुधबार जनाएको छ । विभिन्न पक्षसँगको प्रमाणिकरणको आधारमा, एमभी त्रिशा केस्र्टिन–३ डुङ्गामा सवार व्यक्तिहरूको सङ्ख्या ३७२ रहेको पुष्टि भएको पीसीजीले उल्लेख गरेको छ, जसले डुङ्गा डुब्ने घटनाको दुई हप्ताको अनुसन्धान पछि अद्यावधिक तथ्याङ्क जारी गरेको हो ।

    प्रारम्भिक अनुसन्धानका आधारमा पुष्टि भएका जिवितहरूको संख्या २९३ मा समायोजित गरिएको छ । पूर्ण पहिचान प्रमाणिकरण प्रक्रिया पछिको संशोधनमा सूचीबद्ध यात्रुहरू र अघोषित चालक दलका सदस्यहरू दुवै समावेश भएको पीसीजीले जनाएको छ ।

  • साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

    साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

    टोकियो, २९ माघ (रासस–सिन्ह्वा) । जापान एयरलाइन्सले आफ्ना बस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनधिकृत पहुँच भएको पुष्टि गरेको छ। प्रारम्भिक विवरण अनुसार करिब २८ हजार प्रयोगकर्ताको व्यक्तिगत जानकारी चुहिएको हुन सक्ने अनुमान गरिएको छ। चुहिएको जानकारीमा प्रयोगकर्ताको नाम, ईमेल ठेगाना र फोन नम्बर समावेश छ। यद्यपि, बैंक कार्ड नम्बर, पासवर्ड वा अन्य संवेदनशील विवरण चुहिएको छैन, जसले ठूलो वित्तीय क्षति हुने जोखिम कम गरेको छ।

    एयरलाइन्सले यस समस्याको समाधानका लागि बस्तु वितरण सेवा अस्थायी रूपमा बन्द गरेको छ। कम्पनीले यस घटनाले ग्राहक सेवामा असर नगर्ने र अन्य सेवा प्रणालीहरू सुरक्षित रहेको पनि स्पष्ट पारेको छ। घटना सार्वजनिक भएपछि कम्पनीले सुरक्षा मापदण्ड कडा गर्ने, प्रणालीको कमजोरी पहिचान गर्ने र भविष्यमा यस्ता घटना नदोहोरिन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

    विशेषज्ञहरूले यो घटनालाई व्यक्तिगत डेटा सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता भएको उदाहरणका रूपमा लिएका छन्। उहाँहरूको सुझाव अनुसार प्रयोगकर्ताले आफ्ना व्यक्तिगत विवरणहरूको सुरक्षा गर्न सतर्क रहनु आवश्यक छ। साथै, कम्पनीहरूले प्रणालीमा थप प्रविधिक सुरक्षा उपायहरू लागू गर्नुपर्ने चेतावनी पनि दिइएको छ। यो घटनाले व्यक्तिगत डेटा सुरक्षित राख्न कम्पनी र प्रयोगकर्ताबीचको जिम्मेवारीलाई पुनः स्मरण गराएको छ र डिजिटल सुरक्षा सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता देखाएको छ।

  • निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु बङ्गलादेशमा

    निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु बङ्गलादेशमा

    ढाका, २९ माघ (रासस–एएनआई) । बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औं आम चुनाव र जुलाईमा हुने जनमतसंग्रह अनुगमन गर्न कम्तिमा ३९४ जना अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक र १९७ विदेशी पत्रकारहरू बंगलादेश आइपुगेको जनाइएको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू मध्ये ८० जनाले ले विभिन्न अन्तर्राष्ट्रिय सङ्गठनहरूको प्रतिनिधित्व गरेको जनाइएको छ । स्वतन्त्र युरोपेली पर्यवेक्षकहरू सहित द्विपक्षीय देशहरूबाट २४० जना पर्यवेक्षकहरू हाएको जनाइएको छ ।

    अन्य ५१ जना विभिन्न विश्वव्यापी संस्थाहरूसँग सम्बद्ध व्यक्तिहरू रहेको विज्ञप्तिमा उल्लेख छ । पर्यवेक्षक मिसनहरू पठाउने प्रमुख संस्थाहरूमा एसियन नेटवर्क फर फ्री इलेक्शन्स (एएनएफआरइएल) छ भने अमेरिकास्थित इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआई) ले १९ जना पर्यवेक्षक तैनाथ गरेको छ । यसै गरी नेसनल डेमोक्र्याटिक इन्स्टिच्युट (एनडीआई) ले एक जना पर्यवेक्षक पठाएको छ ।

    अन्य सङ्गठनहरूमा इस्लामिक सहयोग सङ्गठन (ओआईसी), एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइसिएपीपी) र युरोपेली युनीयन समावेश छन् । युरोपेली सङ्घबाहेक २१ वटा देशबाट पर्यवेक्षकहरू आउँदैछन् । पाकिस्तान (८), भुटान (२), श्रीलङ्का (११), नेपाल (१), इन्डोनेसिया (३) र फिलिपिन्स (२), मलेसिया (६) जोर्डन (२), टर्की (१३) इरान (३), जर्जिया (२) र रुस (२) बाट पनि पर्यवेक्षक आइपुगेका छन् ।

    अन्य सहभागी देशहरूमा चीन (३) जापान (४) दक्षिण कोरिया (२) किर्गिजस्तान (२) उज्बेकिस्तान (२) दक्षिण अफ्रिका (२) र नाइजेरिया (४) समावेश छन् ।
    भ्वाइस फर जस्टिस, डेमोक्रेसी इन्टरनेसनल, एसएनएएस अफ्रिका, सार्क ह्युमन राइट्स फाउन्डेसन र पोलिश इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्स जस्ता संस्थाका पर्यवेक्षकहरूले चुनावको अनुगमन गर्नेछन् । अन्तर्राष्ट्रिय पर्यवेक्षक भ्रमणको समन्वयलाई समर्थन गर्दै वरिष्ठ सचिव तथा एसडिजी संयोजक लामिया मोर्सेदले यसले बङ्गलादेशको अन्तरिम सरकारमा स्वतन्त्र, निष्पक्ष र सहभागी निर्वाचन गर्न विश्व समुदायको विश्वासलाई प्रतिबिम्बित गरेको बताए ।

    उच्च–स्तरीय सहभागीहरूमा घानाका पूर्व राष्ट्रपति नाना आडो डानक्वा अकुफो–आडो र भुटानका मुख्य निर्वाचन आयुक्त डेकी पेमा आएको जनाइएको छ । बङ्गलादेशका लागि टर्कीका पूर्व राजदूत मेहमेत भाकुर एर्कुल र बेलायतको हाउस अफ लड्र्सका पूर्व सरकारी उप मुख्य सचेतक लर्ड रिचर्ड न्युबी पनि सहभागी भएको जनाइएको छ ।

    मलेसियाको निर्वाचन आयोगका अधिकारी रामलान बीर हरुन र इरानी सांसद बेहनम सइदी, विदेश नीति तथा राष्ट्रिय सुरक्षा आयोगको प्रिसाइडिङ बोर्डका सदस्य पनि प्रतिनिधिमण्डलमा रहेको जनाइएको छ । करीव ५० भन्दा बढी राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको प्रतिनिधित्व गर्ने दुई हजार भन्दा बढी उम्मेद्वारहरूले संसदीय सिटहरूमा प्रतिस्पर्धा गरिरहेका छन् । भने आगमी जुलाईमा जनमतसंग्रहको साथै आम चुनाव हुने कार्उक्रम तय भएको छ ।

  • श्रीलङ्का : सन् २०२२ मा सांसदको हत्यामा संलग्न १२ जनालाई मृत्युदण्डको सजाय

    श्रीलङ्का : सन् २०२२ मा सांसदको हत्यामा संलग्न १२ जनालाई मृत्युदण्डको सजाय

    श्रीलङ्का : सन् २०२२ मा सांसदको हत्यामा संलग्न १२ जनालाई मृत्युदण्डको सजाय
    कोलम्बो, २९ माघ (रासस–सिन्ह्वा) । श्रीलङ्काको गम्पाहा उच्च अदालतले सन् २०२२ मा तत्कालिन सांसद अमराकिर्थी अथुकोराला र उहाँका एक सुरक्षा अधिकारीलाई हत्या गरेको अभियोगमा १२ अभियुक्तलाई बुधबार मृत्युदण्डको सजाय सुनाएको छ । हत्याको सम्बन्धमा कुल ४२ जनालाई अभियोग लगाइएको यो निर्णय एक विस्तारित सुनुवाइपछि आएको हो । मृत्युदण्डको सजायका अतिरिक्त अदालतले अन्य चार व्यक्तिलाई पनि छ महिनाको जेल सजाय सुनाएको छ । अन्य २३ जना अभियुक्तलाई अदालतले सफाइ दिएको थियो ।

    आरोपहरू सन् २०२२ मेमा राष्ट्रव्यापी अशान्तिको समयमा प्रकट भएका घटनाहरूबाट उत्पन्न भएका थिए । रिपोर्टअनुसार हत्या गरिएका सांसद अमराकिर्थी अथुकोराला र उनका सुरक्षा अधिकारीले आक्रोशित प्रदर्शनकारीमाथि गोली चलाउँदा दुई जना प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । प्रदर्शनकारीमाथि भएको आक्रमण पछि त्यसै दिन गोली चलेको स्थान नजिकैको भवनमा सांसद अमराकिर्थी र उनका सुरक्षाकमीलार्ई हत्या गरिएको अवस्थामा फेला पारिएको थियो ।

  • क्यानाडामा गोलीकाण्डमा ज्यान जानको संख्या ९ पुग्यो

    क्यानाडामा गोलीकाण्डमा ज्यान जानको संख्या ९ पुग्यो

    टोरन्टो, २९ माघ (रासस–एएफपी) । पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा सात जना माध्यमिक विद्यालयमा गोली हानेर मारिएका छन् । घटना रकी पर्वतमालाको फेदीमा अवस्थित सुरम्य पहाडी उपत्यका सहर ब्रिटिस कोलम्बियाको टम्बलर रिजमा भएको हो । रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसिएमपी) ले जारी गरेको विज्ञप्तिअनुसार कुल २७ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ भने अन्य २५ जनालाई विभिन्न किसिमको चोटपटक लागेको छ ।

    क्यानाडाली सञ्चारमाध्यमहरूले बन्दुकधारी महिला भएको जनाएका छन् । तर आरसिएमपीले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संदिग्धको पहिचानबारे विस्तृत विवरण दिन अस्वीकार गरेको छ । प्रहरीका अनुसार मङ्गलबार दिउँसो टम्बलर रिज माध्यमिक विद्यालयमा सक्रिय बन्दुकधारी रहेको चेतावनी जारी गरिएको थियो । सुरक्षाकर्मीहरूले विद्यालय परिसरको खोजी गर्दा छ जनालाई गोली हानेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए । अर्को एक जना घाइतेको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

    यसैबीच प्रहरीले टम्बलर रिजस्थित एक निवासबाट थप दुई जनाको शव फेला पारेको जनाएको छ । उक्त घर घटनासँग जोडिएको विश्वास गरिएको प्रहरीले उल्लेख गरेको छ । विद्यालय परिसरभित्र गोली चलाउने व्यक्तिको रूपमा आशङ्का गरिएको व्यक्ति पनि मृत अवस्थामा फेला परेको र प्रारम्भिक रूपमा आत्महत्या जस्तो देखिएको प्रहरीले जनाएको छ । टम्बलर रिज नगरपालिकाले जारी गरेको वक्तव्यमा समुदायले भोगिरहेको पीडालाई शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गरिएको छ ।

    घटनाका बेला विद्यालयमा रहेका विद्यार्थी डेरियन क्विस्टले सार्वजनिक प्रसारक सिबिसीलाई आफू मेकानिक्स कक्षामा रहेका बेला विद्यालय सुरक्षात्मक बन्द अवस्थाको घोषणा भएको बताए । सुरुमा आफूले सामान्य सावधानी ठाने पनि केही समयपछि विद्यालयभित्रको घटनाका तस्बिरहरू प्राप्त हुन थालेपछि स्थिति गम्भीर रहेको महसुस भएको उनले बताए । त्यसपछि वास्तविकता स्पष्ट भएको उनले बताए ।
    उनले करिब दुई घण्टाभन्दा बढी समय सुरक्षात्मक बन्द अवस्थामा बस्नुपरेको र त्यसपछि प्रहरी विद्यालयभित्र प्रवेश गरी सबैलाई हात माथि उठाएर बाहिर निस्कन निर्देशन दिएको जानकारी दिए । डेरियनकी आमा शेली क्विस्टले पनि सिबिसीसँग कुरा गर्दै स्थल सुरक्षित घोषणा भएपछि छोरोसँग भेट हुँदा अँगालो हालेर समातेको बताइन् ।

    अब केही समय उहाँलाई आफ्नो नजरबाट टाढा जान नदिने उनले उल्लेख गरे । प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति आफू स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले हिंसाका यस्ता भयानक कार्यमा आफ्ना प्रियजन गुमाउने परिवार र साथीहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।


    ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले पनि घटनालाई अकल्पनीय हिंसा भन्दै निन्दा गरेका छन् । सङ्घीय विपक्षी नेता पियरे पोइलिभ्रेले यसलाई हिंसाको मूर्खतापूर्ण कार्यको संज्ञा दिएका छन् । क्यानाडामा यस्ता सामूहिक गोलीकाण्ड विरलै हुने गर्दछन् । तर गत अप्रिलमा भ्यानकुभरमा फिलिपिन्सको सांस्कृतिक उत्सवलाई लक्षित गरी गरिएको गाडी आक्रमणमा ११ जनाको मृत्यु भएको थियो ।

    आरसिएमपीका उत्तरी जिल्ला कमान्डर केन फ्लोइडले घटनालाई द्रुत रूपमा विकसित र अत्यन्त जटिल अवस्था भएको बताएका छन् । उनले यो दिन समुदायका लागि अत्यन्त गाह्रो र भावनात्मक रहेको उल्लेख गर्दै अनुसन्धान अघि बढाउन देखाएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । प्रहरीले घटनासँग सम्बन्धित थप स्थानहरू हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै समुदायका अन्य घर तथा सम्पत्तिको पनि खोजी गरिरहेको जनाएको छ ।

    करिब दुई हजार ४०० जनसङ्ख्या रहेको शान्त सहर टम्बलर रिज, ब्रिटिस कोलम्बियाको सबैभन्दा ठुलो सहर भ्यानकुभरबाट एक हजार १०० किलोमिटरभन्दा बढी उत्तरमा अवस्थित छ । नगरपालिकाले ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस त्रासदीले परिवार, विद्यार्थी, कर्मचारी र सम्पूर्ण समुदायमा गहिरो प्रभाव पारेको उल्लेख गरेको छ । समुदाय अहिले शोक र स्तब्धताको अवस्थामा रहेको जनाइएको छ ।

  • हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    काठमाडौँ, २९ माघः आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो । हिंसात्मक उग्रवादसँगवविरुद्ध चेतना विस्तार र अन्तरराष्ट्रिय सहकार्य सुदृढी बनाउने उद्देश्यका साथ यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको आज चौथो वर्ष हो । राष्ट्रसङ्घको प्रधानकार्यालयका साथै विश्वका अन्य मुलुकस्थित राष्ट्रसङ्घीय कार्यालय, अन्तरसरकारी संस्था, नागरिक समाज, धार्मिक क्षेत्रका अगुवा, निजी क्षेत्र, शैक्षिक संस्था र सञ्चारमाध्यमका प्रतिनिधिसहित सरोकार भएका सबैले एकत्रित भएर हिंसात्मक उग्रवादको रोकथामका निम्ति ऐक्यबद्धता प्रकट गर्नेछन् ।

    आतङ्कवाद र हिंसात्मक उग्रवादलाई कुनै धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसङ्घले हिंसात्मक उग्रवाद रोक्न विश्व समुदायबीच समन्वय बढाउन आग्रह गरेको छ । साथै उक्त विश्व संस्थाले संवाद, साझेदारी र समुदायको नेतृत्वमा आधारित समाधानमार्फत हिंसात्मक उग्रवादका मूल कारणहरू पहिचान गरी रोकथामको प्रयास हुनुपर्ने बताएको छ ।

    दीर्घकालीन शान्ति र स्थायित्वका लागि केवल सुरक्षात्मक उपाय मात्र पर्याप्त नभएकाले सामाजिक, आर्थिक र वैचारिक पक्षलाई पनि ख्याल गर्न अपरिहार्य भएको जनाएको छ । यो दिवसका अवसरमा राष्ट्रसङ्घले विश्वभरका नागरिक र संस्थाहरूलाई साझा जिम्मेवारी र सहकार्यमा आबद्ध हुन आह्वान पनि गरेको छ ।

  • समुन्द्रमा अमेरिकी सेनाको कारबाही : प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    समुन्द्रमा अमेरिकी सेनाको कारबाही : प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    वासिङ्टन, २८ माघ (रासस–एपी) । संयुक्त राज्य अमेरिकाले प्रतिबन्धित तेल ढुवानी गर्ने जहाज नियन्त्रणमा लिएको छ । अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका अनुसार यो जहाजलाई कारिबियन समुद्रमा ट्र्याक गरी बोर्डिङ गरिएको हो । जहाजले प्रतिबन्ध पालना नगरेको आशङ्का गरिएको थियो र यसलाई नियन्त्रणमा लिनु आवश्यक देखियो । अमेरिकी अधिकारीहरूले जहाजले हाल कुनै तेल नबोकेको भनेका छन्, तर यसबारे थप अनुसन्धान र निर्णय प्रक्रिया जारी छ ।

    अमेरिकाले भेनेजुएलासँग सम्बन्धित तेलमा लगाइएको प्रतिबन्धलाई उल्लङ्घन गर्ने जहाजहरूमाथि निगरानी राख्दै आएको छ । यस बोर्डिङको उद्देश्य यस्तो जहाजलाई रोक्नु मात्र नभई अन्तर्राष्ट्रिय नियम र प्रतिबन्धको पालना सुनिश्चित गर्नु हो । अधिकारीहरूले अमेरिकाले यस प्रकारका जहाजहरूलाई नियन्त्रणमा लिन र अनियन्त्रित तेल ढुवानी रोक्न प्रतिबद्धता जनाएको छ ।

    यस घटनाले अमेरिका र भेनेजुएला सम्बन्धमा व्यापारिक र राजनीतिक दबाबको विषयलाई फेरि उजागर गरेको छ । अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा तेल ढुवानी र प्रतिबन्धको पालना सुनिश्चित गर्न अमेरिकी कदमलाई ध्यान दिइएको छ । सुरक्षा अधिकारीहरूले भनेका छन् कि आगामी दिनमा यस्ता जहाजहरूको निगरानी अझ कडा बनाइनेछ र नियम उल्लङ्घन गर्ने गतिविधि नहुने सुनिश्चित गरिनेछ ।

  • संयुक्त राष्ट्रसंघमा बजेट अभाव, अमेरिकाले दिएन ठूलो भुक्तानी

    संयुक्त राष्ट्रसंघमा बजेट अभाव, अमेरिकाले दिएन ठूलो भुक्तानी

    संयुक्त राष्ट्रसंघ, २८ माघ (रासस–एपी) । संयुक्त राष्ट्रसङ्घले अमेरिकाबाट अपेक्षित रकम नआउँदा आर्थिक संकटको सामना गरिरहेको छ। महासचिव एन्टोनियो गुटेरेसले सबै सदस्य राष्ट्रले समयमै शुल्क तिर्न नसकेमा तथा सङ्गठनका वित्तीय नियमहरू सुधार नभएमा संयुक्त राष्ट्रसङ्घ गम्भीर आर्थिक सङ्कटमा पर्न सक्ने चेतावनी दिएका थिए ।

    संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूका अनुसार, अमेरिकाले नियमित सञ्चालन बजेटका लागि करिब दुई अर्ब डलर तिर्न बाँकी छ, जसमा यस वर्षको लागि सात करोड ६७ लाख डलर पनि समावेश छ । साथै, शान्ति स्थापना कार्यका लागि छुट्टै बजेटमा पनि ठूलो रकम बाँकी छ ।

    अमेरिकी प्रतिनिधित्वको अनुसार आगामी केही हप्ताभित्र अमेरिकी प्रशासनले आफ्नो बाँकी रकमको आंशिक भुक्तानी गर्ने योजना बनाइरहेको छ । यस विषयमा महासचिव गुटेरेस र अमेरिकी अधिकारीहरूबीच निरन्तर सम्पर्क भइरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

    महासचिव गुटेरेसका अनुसार यदि आवश्यक रकम समयमै प्राप्त भएन भने, यस वर्ष जुलाईसम्म नियमित बजेट सकिन सक्ने र यसले सङ्गठनका गतिविधिमा गम्भीर असर पार्न सक्ने सम्भावना छ । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले नियमित बजेटतर्फको अधिकांश बक्यौता अमेरिकाकै हिस्सामा रहेको बताएका छन् । हालसम्म करिब ६० देशले तोकिएको समयभित्र आफ्नो वार्षिक शुल्क भुक्तानी गरिसकेका छन् ।

  • हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार

    हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार

    दोहा, २६ माघ (रासस–एएफपी) । हमासका एक शीर्ष नेताले आइतबार प्यालेस्टिनी इस्लामवादी आन्दोलनले आफ्नो हतियार नत्याग्ने र गाजामा कुनै पनि प्रकारको विदेशी हस्तक्षेप वा शासन स्वीकार नगर्ने स्पष्ट पार्दै अमेरिका र इजरायलतर्फबाट आएको दबाबलाई अस्वीकार गरेका छन् । दोहामा आयोजित एक सम्मेलनमा वरिष्ठ हमास नेता खालिद मेशालले प्रतिरोध आन्दोलन, त्यसका हतियार र तिनलाई सञ्चालन गर्ने व्यक्तिहरूलाई आपराधीकरण गर्ने प्रयास अस्वीकार्य भएको बताए । उनले भने, “प्रतिरोध, त्यसका हतियार र यसलाई सञ्चालन गर्नेहरूलाई अपराधका रूपमा प्रस्तुत गर्नु हामीले स्वीकार गर्न सक्दैनौँ ।”

    उनका अनुसार, जबसम्म कुनै भूभागमा कब्जा कायम रहन्छ, तबसम्म प्रतिरोध पनि रहनेछ । “जहाँ कब्जा हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । प्रतिरोध कब्जामा परेका जनताको अधिकार हो, जसलाई संसारका राष्ट्रहरूले पनि सम्मान र गर्वका साथ हेर्छन्”, यस समूहका पूर्व प्रमुखसमेत रहनुभएका मेशालले भने । इस्लामवादी आन्दोलन हमासले प्यालेस्टिनी भूभागहरूमा इजरायलको कब्जा रहेको दाबी गर्दै त्यसको विरोधमा सशस्त्र सङ्घर्ष गर्दै आएको छ । सन् २०२३ अक्टोबर ७ मा गाजाबाट इजरायलतर्फ गरिएको घातक सीमापार आक्रमणपछि पछिल्लो युद्ध सुरु भएको थियो ।

    हाल गाजामा अमेरिकी मध्यस्थतामा गरिएको युद्धविराम दोस्रो चरणमा प्रवेश गरिसकेको छ, जसअन्तर्गत इजरायली सेनाको क्रमिक फिर्तीसँगै हमासको निशस्त्रीकरण र क्षेत्रको विसैन्यीकरणको परिकल्पना गरिएको छ । तर हमासले बारम्बार निशस्त्रीकरण आफूहरूका लागि ‘लक्ष्मण रेखा’ भएको स्पष्ट गर्दै आएको छ । यद्यपि, भविष्यमा बन्न सक्ने प्यालेस्टिनी शासक प्राधिकरणलाई आफ्ना हतियार हस्तान्तरण गर्ने विषयमा भने विचार गर्न सकिने सङ्केत यसले यसअघि दिएको थियो ।

    इजरायली अधिकारीहरूको दाबीअनुसार, हाल पनि हमाससँग गाजामा करिब २० हजार लडाकू र लगभग ६० हजार कलाश्निकोभ राइफलहरू छन् । दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्ने उद्देश्यसहित गाजामा एक प्यालेस्टिनी प्राविधिक समिति गठन गरिएको छ, तर यस समितिले क्षेत्रको सैन्यीकरणसम्बन्धी विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे अझै स्पष्टता देखिएको छैन ।

    यो समिति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अघि सारिएको तथाकथित ‘बोर्ड अफ पिस’ पहलअन्तर्गत सञ्चालनमा रहेको बताइएको छ । सुरुमा गाजा युद्धविरामको निगरानी र युद्धपछिको पुनर्निर्माणका लागि कल्पना गरिएको यस बोर्डको कार्यक्षेत्र पछि विस्तार गरिएको थियो । यस विस्तारले संयुक्त राष्ट्रसङ्घको भूमिकासँग प्रतिस्पर्धा हुन सक्ने भन्दै आलोचकहरूमा चिन्ता उत्पन्न गरेको छ । गत महिना स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक फोरमका क्रममा राष्ट्रपति ट्रम्पले उक्त बोर्डको औपचारिक घोषणा गर्नुभएको थियो । सो अवसरमा करिब दुई दर्जन देशका नेता र अधिकारीहरूले बोर्डको स्थापना चार्टरमा हस्ताक्षर गर्दै समर्थन जनाएका थिए ।

    शान्ति बोर्डसँगै, ट्रम्पले गाजा कार्यकारी बोर्ड पनि गठन गर्नुभएको छ, जसलाई प्यालेस्टिनी टेक्नोक्रेटिक समितिको सल्लाहकार प्यानलका रूपमा प्रस्तुत गरिएको छ । यस प्यानलमा अमेरिकी दूत स्टिभ विटकफ, जारेड कुशनर तथा बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरलगायत अन्तर्राष्ट्रिय व्यक्ति सहभागी छन् । आइतबार फेरि प्रतिक्रिया दिँदै मेशालले शान्ति बोर्डले गाजाको पुनर्निर्माण र करिब २२ लाख बासिन्दालाई मानवीय सहायता प्रवाह गर्न सन्तुलित दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए । तर उनले हमासले प्यालेस्टिनी भूमिमा कुनै पनि प्रकारको विदेशी शासन स्वीकार नगर्ने चेतावनीसमेत दिए ।


    “हामी हाम्रा राष्ट्रिय सिद्धान्तहरूमा अडिग छौँ र संरक्षकता, बाह्य हस्तक्षेप वा कुनै पनि रूपमा जनादेश पुनःस्थापित गर्ने तर्कलाई अस्वीकार गर्छौं”, उनले भने, “प्यालेस्टिनीहरूले प्यालेस्टिनीहरूलाई नै शासन गर्नुपर्छ । गाजा गाजावासी र सम्पूर्ण प्यालेस्टिनी जनताको हो । हामी विदेशी शासनलाई स्वीकार गर्दैनौँ ।”

  • इरानले अमेरिकी वार्तामा कडा अडान दोहोर्‍यायो

    इरानले अमेरिकी वार्तामा कडा अडान दोहोर्‍यायो

    दुबई, २६ माघ (रासस–एपी) । इरानका शीर्ष कूटनीतिज्ञले आइतबार तेहरानको शक्ति ‘महान शक्तिहरूलाई होइन भन्न सक्ने क्षमता’ बाट आएको दाबी गर्दै अमेरिकी वार्ताप्रति कडा अडान प्रस्तुत गरेका छन् । आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राज्य अमेरिकासँग संवाद भइरहेका बेला र देशभित्र विरोध चर्किएको पृष्ठभूमिमा उक्त टिप्पणी आएको हो । तेहरानमा आयोजित शिखर सम्मेलनमा कूटनीतिज्ञहरूसँग बोल्दै विदेशमन्त्री अब्बास अराघचीले इरान युरेनियम संवर्धन गर्न सक्षम हुनैपर्ने अडानमा कायम रहने सङ्केत दिनुभयो । यही विषय १२ दिनसम्म चलेको इरान–इजरायल युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तीव्र विवादको केन्द्रमा रहेको थियो ।

    इरानी राष्ट्रपति मसुद पेजेस्कियानले शुक्रबार ओमानमा अमेरिकी पक्षसँग भएको वार्तालाई ‘एक कदम अगाडि’ भएको बताएको भए पनि अराघचीका भनाइले आगामी वार्ता सजिलो नहुने सङ्केत गरेको छ । यसबीच संयुक्त राज्य अमेरिकाले विमान वाहक युएसएस अब्राहम लिङ्कन, युद्धपोत र लडाकू विमानहरू मध्यपूर्वमा तैनाथ गरेको छ, जसलाई ट्रम्प प्रशासनले दबाबको माध्यमका रूपमा लिएको छ । अराघचीले इस्लामिक गणतन्त्रको शक्ति बदमाशी, प्रभुत्व र बाह्य दबाबविरुद्ध उभिन सक्ने क्षमतामा रहेको बताए । उनले ‘आणविक बम’ शब्दलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै इरान कुनै बम बनाउन नलागेको तर शक्तिहरूलाई अस्वीकार गर्न सक्ने क्षमताकै कारण डर पैदा भएको दाबी गरे ।


    इरानले लामो समयदेखि आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको बताउँदै आएको छ । तर पश्चिमी देशहरू र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार सन् २००३ सम्म इरानसँग बम विकाससम्बन्धी सङ्गठित सैन्य कार्यक्रम थियो । इरानले ६० प्रतिशतसम्म युरेनियम संवर्धन गरिरहेको छ, जुन हतियारस्तरभन्दा केही कम हो ।

    राष्ट्रपति पेजेस्कियानले सामाजिक सञ्जालमा वार्तालाई क्षेत्रीय मित्र राष्ट्रहरूको मध्यस्थतामा भएको प्रगति भन्दै शान्तिपूर्ण समाधानका लागि संवाद नै इरानको रणनीति रहेको उल्लेख गरे । तर उनले इरानी राष्ट्रले बलको भाषा स्वीकार नगर्ने स्पष्ट गरे । दोस्रो चरणको वार्ता कहिले र कहाँ हुने भन्ने अझै स्पष्ट छैन । वार्ताकै समयमा अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख ब्राड कुपर ओमानमा उपस्थित हुनु अमेरिकी सैन्य दबाबको सङ्केतका रूपमा हेरिएको छ । अराघचीले विगतका वार्ताका क्रममा पनि अमेरिकी आक्रमण भएको अनुभव स्मरण गर्दै यदि वार्तामा एक कदम पछि हटे स्थिति कहाँ पुग्छ भन्ने अनिश्चित रहेको चेतावनी दिए ।

  • आमा र नवजात शिशुका लागि खतरनाक अफगानिस्तान : राष्ट्रसङ्घ

    आमा र नवजात शिशुका लागि खतरनाक अफगानिस्तान : राष्ट्रसङ्घ

    काबुल, २४माघ (रासस–सिन्ह्वा) । अफगानिस्तान अत्यधिक उच्च मृत्यु दर र निरन्तर आर्थिक अवरोधका कारण आमा र नवजात शिशुहरूका लागि विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक बनेको संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या कोष ९यूएनएफपिए० लाई उदृत गर्दै शनिबार स्थानीय मिडियाले रिपोर्ट गरेका छन् । युएनएफपिएको प्रतिवेदन अनुसार अफगानिस्तानमा प्रति एक लाख जीवित जन्महरूमा ५२१ नवजात मृत्युको रेकर्ड गरेको छ, जुन एसिया–प्रशान्त क्षेत्रमा तथा विश्वव्यापी रूपमै सबैभन्दा उच्च मृत्युदर हो ।

    एजेन्सीले हाल अफगानिस्तानमा करिब ५०० परिवारलाई स्वास्थ्य सेवा दिएको छ भने २०२६ मा लगभग ४५ लाख मानिसहरूलाई दुर्गम र कम सेवा भएका क्षेत्रहरूमा विशेष ध्यान दिएर आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने योजना बनाएको छ । कोष र प्रशिक्षित चिकित्सा कर्मचारीहरूको निरन्तर अभावले रोकथाम योग्य रोगबाट हुने मृत्यु घटाउने प्रयासहरूलाई चुनौती दिइरहेको जनाइएको छ ।

  • ट्रम्पले ओबामालाई बाँदरका रूपमा चित्रण गरेको भिडियो पोस्ट गरेपछि…

    ट्रम्पले ओबामालाई बाँदरका रूपमा चित्रण गरेको भिडियो पोस्ट गरेपछि…

    वासिङ्टन, २४ माघ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक चुनावी षड्यन्त्रसम्बन्धी भिडियो पोस्ट गरेका छन् । भिडियोमा पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामालाई बाँदरका रूपमा चित्रण गरिएको छ । उक्त भिडियो सार्वजनिक भएपछि प्रमुख डेमोक्रेट नेताहरूले कडा निन्दा गरेका छन् । राष्ट्रपति ट्रम्पको स्वामित्वमा रहेको ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको करिब एक मिनेट लामो भिडियोको अन्त्यतिर पूर्वराष्ट्रपति ओबामालाई बाँदरको शरीरमा झण्डै एक सेकेन्डका लागि अनुहारसहित देखाइएको छ ।

    ओबामाहरू देखिने दृश्यमा पृष्ठभूमिमा ‘द लायन स्लीप्स टुनाइट’ गीत बजिरहेको सुनिन्छ । उक्त भिडियोमा मतपत्र गणना गर्ने कम्पनी डोमिनियन भोटिङ सिस्टमले सन् २०२० को राष्ट्रपति निर्वाचन ट्रम्पबाट चोर्न सहयोग गरेको भन्ने झुटो आरोपलाई पुनः दोहोर्‍याइएको छ । शुक्रबार बिहानसम्म राष्ट्रपतिको सामाजिक सञ्जाल प्लेटफर्ममा उक्त भिडियो हजारौँ पटक लाइक गरिएको देखिएको थियो ।

    क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको कार्यालयले उक्त पोस्टको आलोचना गरेको छ । न्युसम सन् २०२८ को एक सम्भावित डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वार छन् । उनी राष्ट्रपति ट्रम्पका प्रमुख आलोचकहरूमध्ये एक हुन् । “राष्ट्रपतिको घृणित व्यवहार । प्रत्येक रिपब्लिकनले यसको निन्दा गर्नुपर्छ”, न्युसमको प्रेस अफिसको आधिकारिक एक्स खातामा पोस्ट गरिएको छ ।

    पूर्व शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकार तथा बाराक ओबामाका निकट विश्वासपात्र बेन रोड्सले पनि उक्त तस्बिरको आलोचना गरेका छन् । “यो ट्रम्प र उनका जातिवादी अनुयायीहरूलाई सताउन दिनुहोस् कि भावी अमेरिकीहरूले ओबामालाई हाम्रो इतिहासमा दागका रूपमा होइन, प्रिय व्यक्तित्वका रूपमा अध्ययन र अँगाल्नेछन्”, उनले एक्समा लेखेका छन् ।


    बाराक ओबामा अमेरिकी इतिहासका एक मात्र अश्वेत राष्ट्रपति हुन् । उनले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिसलाई समर्थन गरेका थिए । ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालको पहिलो वर्षमा राष्ट्रपति ट्रम्पले ट्रुथ सोसल तथा अन्य प्लेटफर्महरूमा अति–यथार्थवादी तर बनावटी दृश्यहरूको प्रयोगलाई निरन्तर बढावा दिएका छन् । ती पोस्टहरूमा प्रायः आफ्ना आलोचकहरूको निन्दा गर्दै आफूलाई महिमामण्डित गरिएको देखिन्छ ।

    उनले आफ्ना रूढिवादी समर्थकहरूलाई एकताबद्ध र सक्रिय बनाउन उत्तेजक पोस्टहरू प्रयोग गर्दै आएका छन् । गत वर्ष राष्ट्रपति ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी बनाइएको एउटा भिडियो पोस्ट गरेका थिए । जसमा बाराक ओबामालाई ओभल अफिसमा गिरफ्तार गरिएको र सुन्तला रङको जम्पसुट लगाएर जेलमा देखाइएको थियो ।

    त्यसपछि उनले सदनका अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजलाई नक्कली जुँगा र सोमब्रेरो लगाइएको एआई क्लिप पनि पोस्ट गरेका थिए । जेफ्रीजले उक्त छविलाई खुला जातिवादी व्यवहारको संज्ञा दिएका थिए । ह्वाइट हाउसमा फर्किएपछि राष्ट्रपति ट्रम्पले विविधता, समानता र समावेशीकरण, अर्थात् डिइआई कार्यक्रमहरूविरुद्ध अभियान चलाएको भन्दै विरोधीहरूको आलोचना खेपेका छन् । राष्ट्रपति ट्रम्पका प्रारम्भिक निर्णयहरूमध्ये एक सङ्घीय सरकारका सबै डिइआई कार्यक्रमहरू, सेनासम्बन्धी नीतिहरू समेत, समाप्त गर्नु रहेको थियो ।

    उहाँले ‘अवेक’ पहलका रूपमा उपहास गर्नुभएको सशस्त्र फौजलाई मुक्त गर्ने अभियानअन्तर्गत अमेरिकाको भेदभावपूर्ण इतिहास समेट्ने थुप्रै पुस्तकहरू केही सैन्य एकेडेमीका पुस्तकालयका सेल्फबाट हटाइएको छ । अमेरिकाका सङ्घीय भेदभावविरोधी कार्यक्रमहरू सन् १९६० को दशकको नागरिक अधिकार आन्दोलनबाट जन्मिएका थिए । ती आन्दोलनहरू मुख्यतः अश्वेत अमेरिकीहरूको नेतृत्वमा सयौँ वर्षको दासत्वपछि समानता र न्यायका लागि सञ्चालन गरिएका थिए । सन् १८६५ मा दासत्व उन्मूलन भए पनि त्यसपछि अन्य संस्थागत स्वरूपका जातिवाद लागू भएको इतिहास रहेको देखिन्छ ।