Category: विश्व

  • इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४

    इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४

    दुबई, २९ पुस (रासस–एपी) । इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । यसैबीच, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि तयार भएको दाबी गरेका छन् । तर अवस्था गम्भीर बन्दै गएमा बैठकअघि नै कडा कदम चाल्नुपर्ने चेतावनी पनि दिएका छन् ।


    आइतबार राति एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि साइबर आक्रमणदेखि लिएर प्रत्यक्ष सैन्य कारबाहीसम्मका विकल्पहरूबारे आफ्नो राष्ट्रिय सुरक्षा टोलीले छलफल गरिरहेको जानकारी दिए । “सेनाले सबै कुरा गहिराइमा हेरिरहेको छ र हामीसँग निकै बलिया विकल्पहरू छन्”, उनले भने । इरानले प्रतिशोध लिएमा ‘पहिल्यै कहिल्यै नदेखिएको स्तरको जवाफ’ दिने चेतावनी पनि उनले दिए । राष्ट्रपति ट्रम्पका अनुसार तेहरानले वार्ताको प्रस्ताव गरेको छ र बैठक तय गर्ने प्रयास भइरहेको छ ।

    तर प्रदर्शनकारीमाथि भइरहेको दमन र मृतकको सङ्ख्या बढिरहेकाले बैठकअघि नै कदम चाल्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । “इरान वार्ता गर्न चाहन्छ”, उनले भने । यद्यपि, उक्त बैठक प्रस्तावबारे इरानी पक्षबाट तत्काल आधिकारिक प्रतिक्रिया आएको छैन । यसैबीच, क्यारिबियन क्षेत्रमा अमेरिकी सेनाको ठूलो तैनाथी र मध्यपूर्वको सुरक्षा अवस्था पनि ह्वाइट हाउसका लागि प्रमुख चिन्ताको विषय बनेको छ ।

    इरानले चेतावनी दिँदै यदि अमेरिकाले प्रदर्शनकारीहरूको नाममा हस्तक्षेप गर्‍यो भने अमेरिकी सेना र इजरायल ‘वैध लक्ष्य’ हुने बताएको छ । मानव अधिकार कार्यकर्ताहरूका अनुसार पछिल्ला दुई सातामा १० हजार ६०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन् । मृतकमध्ये ४९६ जना प्रदर्शनकारी र ४८ जना सुरक्षा निकायका सदस्य रहेको बताइएको छ । इरानमा इन्टरनेट र फोन सेवा अवरुद्ध भएकाले वास्तविक अवस्था बुझ्न कठिन भएको र एसोसिएटेड प्रेसले मृतक सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । इरानी सरकारले अहिलेसम्म आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छैन ।

    विदेशमा रहेका विश्लेषकहरूका अनुसार सूचना अवरोधले सुरक्षा निकायभित्रका कठोर धारलाई थप बल मिलेको आशङ्का गरिएको छ । शनिबार रातिदेखि आइतबार बिहानसम्म राजधानी तेहरान र दोस्रो ठूलो सहर मशहदसहित विभिन्न सहरमा ठूलो सङ्ख्यामा मानिसहरू सडकमा उत्रिएका थिए । सामाजिक सञ्जालमा आएका भिडियोहरूमा प्रदर्शनकारीहरूले मोबाइल फोनको उज्यालो देखाउँदै नारा लगाएको देखिन्छ ।

    इरानी संसद्मा पनि कडा अभिव्यक्ति आएका छन् । प्रभावशाली सांसद मोहम्मद बाघेर कालिबाफले इरानमाथि आक्रमण भएमा इजरायल र यस क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य केन्द्रहरू वैध लक्ष्य हुने चेतावनी दिए । संसद्मा ‘अमेरिका मूर्दावाद’ भन्ने नारा समेत लागेको राज्य सञ्चारमाध्यमले देखाएका छन् । मध्यपूर्वमा अमेरिकी सेनाले आफ्नो तथा सहयोगीहरूको सुरक्षाका लागि पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ । इजरायलले पनि अमेरिका–इरानबीचको अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग इरानसम्बन्धी छलफल गरेका छन् ।


    भ्याटिकनमा पोप लियो चौधौँले इरानमा भइरहेको हिंसाप्रति चिन्ता व्यक्त गर्दै संवाद र शान्तिको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि प्रदर्शनकारीविरुद्धको हिंसाबाट ‘स्तब्ध’ भएको प्रतिक्रिया दिँदै इरानी अधिकारीहरूलाई संयम अपनाउन र सञ्चार सेवा पुनःस्थापना गर्न आग्रह गरेका छन् । डिसेम्बर २८ देखि सुरु भएको यो आन्दोलन इरानी रियालको तीव्र अवमूल्यन र अन्तर्राष्ट्रिय प्रतिबन्धले थलिएको अर्थतन्त्रको विरोधबाट सुरु भई अहिले इस्लामिक शासन व्यवस्थामाथि प्रत्यक्ष चुनौतीमा रूपान्तरण भएको छ ।

  • अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

    अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

    एयर फोर्स वन, २९ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ आफ्नो नियन्त्रणमा लिने दाबी गरेका छन् । आइतबार एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यदि वासिङ्टनले कदम नचाले रुस वा चीनले उक्त टापु ‘कब्जा’ गर्ने चेतावनी दिए ।


    राष्ट्रपति ट्रम्पका अनुसार आर्कटिक क्षेत्रमा रुस र चीनको सैन्य गतिविधि बढिरहेका बेला खनिज स्रोतले भरिपूर्ण डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्डमाथि नियन्त्रण अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण छ । “यदि हामीले ग्रिनल्यान्ड लिएनौँ भने, रुस वा चीनले लिनेछन् र म त्यसो हुन दिन्नँ”, उनले भने । यद्यपि, कुनै पनि देशले औपचारिक रूपमा उक्त विशाल टापुमा दाबी गरेको छैन ।

    उनले डेनमार्कको स्वशासित क्षेत्रसँग सम्झौता गर्न आफू खुला रहेको बताउँदै ‘तर कुनै न कुनै तरिकाले ग्रिनल्यान्ड हामीसँग हुनेछ’ भन्ने अभिव्यक्ति दिए । ट्रम्पको यस भनाइप्रति डेनमार्क र अन्य युरोपेली सहयोगीहरूले गहिरो चिन्ता व्यक्त गरेका छन् । ग्रिनल्यान्ड उत्तर अमेरिका र आर्कटिकबीच रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको छ र दोस्रो विश्वयुद्धदेखि नै त्यहाँ अमेरिकी सैन्य आधार अवस्थित छ ।

    सन् १९५३ सम्म डेनमार्कको उपनिवेश रहेको ग्रिनल्यान्डले पछि स्वशासन पाएको थियो र पछिल्ला वर्षहरूमा डेनमार्कसँगको सम्बन्धलाई क्रमशः खुकुलो बनाउनेबारे बहस चलिरहेको छ । तर टापुका अधिकांश बासिन्दा र राजनीतिक दलहरूले आफूहरू अमेरिकी नियन्त्रणमा जान नचाहेको स्पष्ट गर्दै आफ्नै भविष्य आफैँले तय गर्ने अधिकारमा जोड दिँदै आएका छन् । राष्ट्रपति ट्रम्पले भने यस दृष्टिकोणलाई पटक–पटक चुनौती दिँदै आएका छन् ।


    “ग्रिनल्यान्डले सम्झौता गर्नुपर्छ किनभने ग्रिनल्यान्डले रुस वा चीनलाई आफ्नो नियन्त्रणमा लिएको देख्न चाहँदैन”, भन्दै उनले आफ्नो भनाइलाई ठट्टामिश्रित शैलीमा बचाउ गरे । ग्रिनल्यान्डको सुरक्षालाई व्यङ्ग्य गर्दै उनले ‘त्यहाँको रक्षा के हो भने दुईवटा कुकुर स्लेज मात्र हुन्’ भने । उनले रुस र चीनसँग ‘सबैतिर विध्वंसक हतियार र पनडुब्बीहरू छन्’ भन्ने दाबी गरे ।


    यसअघि डेनमार्कका प्रधानमन्त्रीले ग्रिनल्यान्डमाथि बल प्रयोग गरेर नियन्त्रण गर्ने कुनै पनि अमेरिकी प्रयासले आठ दशकदेखि कायम रहेको ट्रान्सएटलान्टिक सुरक्षा सम्बन्धलाई गम्भीर रूपमा क्षति पुर्‍याउने चेतावनी दिएका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ‘यदि यसले नाटोलाई असर गर्छ भने, असर गर्छ’ भन्दै टिप्पणीलाई हल्का रूपमा लिने प्रयास गरे । उनले भने, “तर तपाईंलाई थाहा छ, ग्रिनल्यान्ड हामीलाई उनीहरूलाई चाहिनेभन्दा धेरै आवश्यक छ ।”

  • अपदस्थ नेता ममुरोको पहिलो प्रतिक्रिया सार्वजनिक, के भने ?

    अपदस्थ नेता ममुरोको पहिलो प्रतिक्रिया सार्वजनिक, के भने ?

    काराकास, २८ पुस (रासस–एएफपी) । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले एक साताअघि अमेरिकी सेनाले पक्राउ परेपछि अहिलेसम्म आफू ठीक रहेको बताएका छन् । अमेरिकाले भने भेनेजुएलाको वर्तमान् प्रशासनलाई विपक्षी दलका नेता तथा पूर्व प्रशासक मदुरोको समयमा उनको विरोध गरेको आरोपमा विभिन्न ठाउँमा जेलमा राखिएका कैदीहरूलाई प्रक्रिया मिलाएर रिहा गर्न दवाव दिइरहेको छ। भेनेजुएलाका दल तथा नागरिकहरू आइतवार थप राजनीतिक बन्दीहरू रिहा हुने प्रतीक्षामा देखिएका थिए।

    अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले मदुरोको शासनकालमा जेलमा रहेका कैदीहरूलाई रिहा गर्न सुरु गरेकी छिन् । भेनेजुयलामा देखिएको अशान्त वातावरणलाई सङ्केत गर्दै देशमा शान्ति स्थापनाका लागि ‘ठूलो’ संख्यालाई रिहा गरिने बताइन् । यद्यपि, यसको श्रेय वाशिङ्गटनले लिएको छ अर्थात् भेनेजुएलामा अन्यायपूर्ण रूपमा जेलमा राखिएका नेता तथा कार्यकर्ताहरूलाई रिहाइका लागि वर्तमान् प्रशासनलाई दवाव दिइरहेको वाशिङ्टनले दावी गरेको छ।

    राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको नेतृत्व गरेको भन्दै भेनेजुएलाले अमेरिकासँग कूटनीतिक बाटो अपनाउने बताएका छन् ।
    “भेनेजुएलाले आफ्ना राजनीतिक बन्दीहरूलाई रिहा गर्ने प्रक्रिया व्यापकरूपमा सुरु गरेको छ। धन्यवाद,” ट्रम्पले शनिबार राति आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा एक पोस्टमा लेखेका छन् । उनले लेखेका छन्, “मलाई आशा छ, संयुक्त राज्य अमेरिका भेनेजुएलामा आयो र जे गर्नुपर्ने थियो त्यो गर्यो भनेर ती कैदीहरूले सम्झनेछन् ।”

    अधिकारवादी समूहहरूका अनुसार भेनेजुएलामा ८०० देखि एक हजार २०० राजनीतिक बन्दीहरू छन् भन्ने अनुमान छ । पूर्व नेता मदुरो र उनकी पत्नीलाई जनवरी ३ मा काराकासमा रातको समयमा हवाई आक्रमणबाट नाटकीय रूपमा पक्राउ गरिएको थियो उनीहरूलाई अमेरिकी सेनाले न्यूयोर्क शहरमा लागूऔषध ओसारपसार र हतियारको आरोपमा मुद्दा चलाउन लगेको थियो।

    –कैदीबन्दीको चिन्ता–

    शनिबार साँझसम्म कैयौँ प्रमुख विपक्षी व्यक्तित्व, कैदीबन्दी अधिकार समूह र विपक्षीसहित २१ जनालाई मात्र रिहा गरिएको छ । भेनेजुएलाविरुद्ध ‘देशद्रोह’ को आरोप लागेका एक प्रहरी अधिकारीको पनि राज्यको हिरासतमा मृत्यु भएको विपक्षी र अधिकारवादी समूहहरूले शनिबार बताएका छन्। “हामी यस मृत्युको लागि डेल्सी रोड्रिगेजको शासनलाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहराउँछौं,” भेनेजुएलाको विपक्षी गठबन्धनको एक हिस्सा प्रिमेरो जस्टिसिया (जस्टिस फस्र्ट) ले एक्समा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ।

    प्रतिज्ञा गरिएका राजनीतिक बन्दीहरूकोे रिहाइको पर्खाइमा चिन्तित आफन्तहरू जेलबाहिर बसेका छन् । जेलमा रहेका पिडितका परिवारले काराकासको पूर्वमा एल रोडियो कारागार र गुप्तचर सेवाद्वारा सञ्चालित कुख्यात जेल एल हेलिकोइड बाहिर मैनबत्ती जुलुस प्रदर्शन गरेका छन् । उनीहरूले जेलमा रहेका आफन्तहरूको नामसहित प्लाकार्डहरू पनि बोकेका थिए ।

    “म थाकिसकेको छु र आक्रोशित छु,” आफ्नो छोरालाई एल रोडियोबाट छुटाउन पर्खिरहेका बेला ५७ वर्षीया नेब्रास्का रिभासले भने । तर मलाई विश्वास छ, उनीहरूले छोरालाई चाँडै हामीलाई हस्तान्तरण गर्नेछन्,” दुई रात जेल बाहिर फुटपाथमा सुतेको बताउने उनले बताए ।

    –‘आँखा चिम्लेर विश्वास गर्नुहोस्’–

    राष्ट्रपति मदुरोका छोरा निकोलस मदुरो गुएराले शनिबार सार्वजनिक गरेको एक भिडियोमा राष्ट्रपति मदुरो न्यूयोर्कको जेलमा ‘ठीक’ रहेको बताएका छन् ।
    करिब एकहजार प्रदर्शनकारीले पार्टीको झण्डा र प्लेकार्डहरू हल्लाउँदै जुँगा लगाएका पूर्व नेता र उनकी पत्नी सिलिया फ्लोरेसको अनुहार सहित, काराकासको पश्चिमी र केही सय पूर्वी पेटारे जिल्लामा भेला भए। “निकोलस र सिलिया नआउन्जेल म जति पटक मार्च गर्नेछु,“ ६९ वर्षीय प्रदर्शनकारी सोलेदाद रोड्रिगेजले भने ।
    “मदुरो र पत्नीलाई अपहरण गरिएको छ, म आँखा चिम्लेर विश्वास गर्दछु कि तिनीहरू फर्कनेछन् । जुलुशमा विगतमा मदुरोको शिविरले गरेको भन्दा प्रदर्शनहरू निकै साना थिए र उनको सरकारका शीर्ष व्यक्तिहरू उल्लेखनीय रूपमा अनुपस्थित थिए। रोड्रिगेजले कृषि मेलामा भाग लिएको तर जुलुशलाई सम्बोधन भने नगरेको देखिएको थियो। उनले शक्तिशाली मदुरो समर्थक आधारलाई शान्त पार्न भेनेजुएला वाशिङ्गटनको ‘अधीनस्थ’ स्वतन्त्र छ भनी आफ्नो देशभक्तिपूर्ण भनाईद्वारा समर्थकलाई शान्त पार्ने प्रयास गरेकी छिन् ।
    टेलिभिजन टिप्पणीहरूमा उनले भनिन्, ‘आफुले राष्ट्रपति फिर्ता नभएसम्म एक मिनेट पनि आराम नगर्ने’ प्रतिवद्धता गरेको छु ।” उनको सरकारका अन्य दुई कट्टरपन्थी शक्तिहरू गृहमन्त्री डियोस्डाडो काबेलो र रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेज पनि र्‍यालीमा देखिएनन् ।

    –तेल वार्ता –

    मदुरो पक्राउ परेपछि ट्रम्पले भेनेजुएलाको विशाल तेल भण्डारमा अमेरिकी पहुँच सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रोड्रिगेजले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । ह्वाइट हाउसले भनेको छ, “ट्रम्पले भेनेजुएलाको तेलको बिक्रीबाट प्राप्त हुने अमेरिकी स्वामित्वमा रहेको राजस्वलाई अदालत वा ऋणदाताहरूले जफत गर्नबाट रोक्ने एक आपतकालीन आदेशमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा शुक्रबार भएको बैठकमा ट्रम्पले भेनेजुएलाको सञ्चिति भण्डारमा लगानी गर्न शीर्ष तेल अधिकारीहरूलाई दबाब दिनुभयो तर सावधानीपूर्वक स्वागत गरियो। शेवरोन हाल भेनेजुएलामा प्रतिबन्ध छुटको माध्यमबाट काम गर्न इजाजतपत्र प्राप्त एक मात्र अमेरिकी फर्म हो।

    विज्ञहरूले वर्षौँदेखिको कुव्यवस्थापन र नाकाबन्दीपछि भेनेजुयलाको तेल पूर्वाधार जीर्ण भएको बताएका छन्। वासिङ्टनले अमेरिकी दूतहरूले शुक्रबार काराकासमा आफ्नो दूतावास पुनः खोल्ने बारेमा छलफल गर्न भ्रमण गरेका पनि पुष्टि गरेको छ । अमेरिकी अधिकारीहरूले रोड्रिगेजसँग भेट गरेका थिए कि थिएनन् भन्ने प्रश्नमा भेनेजुएला सरकारले कुनै प्रतिक्रिया दिएन। कोलम्वियास्थित अमेरिकी दूतावासले शनिबार ‘भेनेजुएलाको सुरक्षा अवस्था अझै कमजोर रहेको छ’ भन्दै व्यापारिक उडानहरू उपलब्ध भएलगत्तै अमेरिकीहरूलाई ’तुरुन्त’ देश छाड्न सुझाव दिएको छ ।

  • इरानमा दुई हप्तानजिक विरोध, दमन अझ कडा

    इरानमा दुई हप्तानजिक विरोध, दमन अझ कडा

    दुबईरपेरिस, २७ पुस (रासस–एपी–एएफपी) । इरानभर फैलिएको सरकारविरोधी प्रदर्शन शनिबार दुई हप्ताको नजिक पुगेको छ । अधिकारीहरूले कडा दमन जारी राखेको भए पनि आन्दोलन रोकिएको छैन, बरु प्रमुख सहरहरूमा नयाँ र्‍यालीहरू देखिएका छन् । इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवा लगभग पूर्ण रूपमा बन्द गरिएपछि देशभित्रको वास्तविक अवस्था बाहिरी संसारका लागि झनै अस्पष्ट बनेको छ । यद्यपि मानव अधिकार समूहहरू र सीमित रूपमा उपलब्ध भिडियो प्रमाणका आधारमा मृतक, घाइते र पक्राउ पर्नेहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको देखिएको छ ।

    अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीका अनुसार हालसम्म कम्तीमा ६५ जनाको ज्यान गएको छ भने दुई हजार ३०० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ । अर्कोतर्फ, नर्वेमा आधारित इरान मानव अधिकार समूहले मृतकको सङ्ख्या कम्तीमा ५१ पुगेको भए पनि वास्तविक आँकडा अझ धेरै हुनसक्ने चेतावनी दिएको छ । इरानी राज्य टेलिभिजनले भने सुरक्षा बलमाथि भएको आक्रमण र सुरक्षाकर्मीको हताहतलाई जोड दिँदै राष्ट्रको नियन्त्रण कायम रहेको सन्देश प्रसारण गरिरहेको छ ।

    सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले पछिल्लो सम्बोधनमा प्रदर्शनलाई बाह्य शक्तिले उक्साएको आरोप लगाउँदै कडा शब्दमा निन्दा गरेका छन् । उनले अवज्ञा र अराजकता सहन नसकिने भन्दै थप दमनको सङ्केत गरेका छन् । यसबीच, संयुक्त राज्य अमेरिकाले प्रदर्शनकारीहरूप्रति समर्थन जनाउँदै कडा चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समार्फत ‘संयुक्त राज्य अमेरिकाले इरानका साहसी नागरिकहरूलाई समर्थन गर्छ’ भनेका छन् । अमेरिकी विदेश मन्त्रालयले छुट्टै वक्तव्य जारी गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘खेल नखेल्न’ चेतावनी दिएको छ ।

    शनिबार इरानमा कार्यसप्ताह सुरु भए पनि धेरै विद्यालय र विश्वविद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरेका छन् । सरकारी तथा अर्ध–सरकारी वेबसाइटहरू आन्तरिक रूपमा सञ्चालनमा रहेको विश्वास गरिए पनि आम नागरिकको इन्टरनेट पहुँच प्रायः बन्द छ । कतारस्थित अल जजिरालाई अपवाद मान्दा अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू इरानभित्र स्वतन्त्र रूपमा काम गर्न असमर्थ छन् ।

    राज्य टेलिभिजनले सरकार समर्थक प्रदर्शनहरू देखाउँदै देशका अधिकांश सहरहरूमा राति शान्ति कायम रहेको दाबी गरेको छ । राष्ट्रवादी भावनालाई बलियो बनाउन इरान–इराक युद्धकालीन गीतहरू बारम्बार प्रसारण गरिएका छन् । तर एसोसिएटेड प्रेस र एएफपीले प्रमाणित गरेका भिडियोहरूले उत्तरी तेहरानको सादाताबादसहित विभिन्न क्षेत्रमा हजारौँ मानिस सडकमा उत्रिएर ‘खमेनी मूर्दावाद’ जस्ता नाराहरू लगाइरहेको देखाएका छन् ।

    अर्ध–आधिकारिक फार्स समाचार एजेन्सीले इस्फहानबाट आएको भन्दै सार्वजनिक गरेको निगरानी क्यामेरा फुटेजमा केही प्रदर्शनकारीले आगजनी र हतियार प्रयोग गरेको देखाइएको छ । राज्य सञ्चालित यङ जर्नालिस्ट्स क्लबका अनुसार विभिन्न सहरमा बासिज स्वयंसेवक बल र प्रहरीसहित सुरक्षा निकायका केही सदस्यहरू मारिएका छन् । ती सुरक्षाकर्मीहरूको अन्त्येष्टि दृश्यहरू कोम र शिराजलगायत सहरहरूमा सरकारी टेलिभिजनले प्रसारण गरेको छ ।

    बिहीबारदेखि सरकारले इन्टरनेट र अन्तर्राष्ट्रिय सञ्चार पूर्ण रूपमा बन्द गरेपछि अधिकारकर्मीहरू गम्भीर रूपमा चिन्तित बनेका छन् । नेटब्लक्स नामक इन्टरनेट निगरानी संस्थाले राष्ट्रव्यापी ब्ल्याकआउट ३६ घण्टाभन्दा बढी समयदेखि जारी रहेको जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले सुरक्षा बलले प्रदर्शनकारीहरूमाथि घातक बलको गैरकानूनी प्रयोग बढाएको कष्टप्रद रिपोर्टहरू प्राप्त भइरहेको बताएको छ ।

    नोबेल शान्ति पुरस्कार विजेता शिरिन एबादीले सञ्चार अवरोधको आवरणमा ‘व्यापक हिंसा र सम्भावित नरसंहार’ को जोखिम रहेको चेतावनी दिएका छन् । उनका अनुसार तेहरानका अस्पतालहरूमा आँखामा गम्भीर चोट लागेका सयौँ घाइतेहरू पुगेका छन् । यसअघि भएका आन्दोलनहरूमा पनि सुरक्षा बलले जानाजानी प्रदर्शनकारीहरूको आँखामा गोली हानेको आरोप लाग्दै आएको छ ।

    तेहरान, मशहद, तब्रिज, कोम, हामेदानलगायत प्रमुख सहरहरूमा रातभर भएका प्रदर्शनमा मानिसहरूले भाँडा पिटेर, आगो बालेर र कारको हर्न बजाएर सरकारविरोधी भावना व्यक्त गरेका छन् । केही स्थानमा प्रदर्शनकारीहरूले शाहकालीन सिंह र सूर्य अङ्कित झण्डा फहराएका दृश्यहरू देखिएका छन्, जसले आन्दोलनभित्र विभिन्न राजनीतिक धाराहरू सक्रिय रहेको सङ्केत गर्छ । इरानका निर्वासित पूर्व युवराज रेजा पहलवीले आन्दोलनलाई ‘ऐतिहासिक’ भन्दै शनिबार र आइतबार थप लक्षित प्रदर्शन गर्न आह्वान गरेका छन् । उनले अब आन्दोलनको लक्ष्य केवल सडकमा निस्कनु मात्र नभई ‘सहरका केन्द्रहरू कब्जा गर्ने तयारी’ रहेको बताएका छन् । यद्यपि उनको भूमिका र समर्थनबारे इरानभित्र मत विभाजित देखिन्छ ।

    यो आन्दोलन डिसेम्बर २८ मा इरानी रियालको तीव्र अवमूल्यनपछि सुरु भएको हो । हाल रियाल करिब १४ लाख प्रतिअमेरिकी डलरमा कारोबार भइरहेको छ । आणविक कार्यक्रमका कारण लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धले थलिएको अर्थतन्त्र, बढ्दो महँगी र बेरोजगारीले सुरु गरेको असन्तोष क्रमशः इस्लामिक गणतन्त्रको शासन व्यवस्थामाथि प्रत्यक्ष चुनौतीमा परिणत भएको विश्लेषकहरू बताउँछन् ।

    इरानी अधिकारीहरूले भने देश ‘युद्धको अवस्थामा’ रहेको दाबी गर्दै कडा कदम चाल्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय समुदायले बढ्दो हिंसा र दमनप्रति गहिरो चासो व्यक्त गर्दै संयमता, मानव अधिकारको सम्मान र संवादमार्फत समाधान खोज्न आग्रह गरिरहेको छ ।

  • मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु, एक व्यक्ति हिरासतमा

    मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु, एक व्यक्ति हिरासतमा

    वेस्ट पोइन्ट (मिसिसिपी), २७ पुस (रासस–एपी) । अमेरिकाको पूर्वी मिसिसिपी राज्यमा आपसमा सम्बन्धित गोलीबारीका घटनाहरूको शृङ्खलामा परी छ जनाको ज्यान गएको छ । उक्त घटनापछि शनिबार एक जना संदिग्धलाई हिरासतमा लिइएको स्थानीय अधिकारीहरूले बताएका छन् । क्ले काउन्टीका शेरिफ एडी स्कटले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको वक्तव्यमा अलाबामा राज्यको सीमा नजिकै पर्ने वेस्ट पोइन्ट सहरमा ‘हिंसाका कारण’ धेरै निर्दोष व्यक्तिले ज्यान गुमाउनुपरेको बताए । उनका अनुसार घटनाहरू फरक–फरक तीन स्थानमा भएका थिए, जहाँ कुल छ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

    शेरिफ स्कटले स्थानीय सञ्चार माध्यम डब्ल्युटिभिएसँग कुरा गर्दै तीनवटै स्थानमा भएको गोलीबारी एकआपसमा सम्बन्धित रहेको र ती घटनाबाट छ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार घटनासँग सम्बन्धित एक संदिग्धलाई सुरक्षाकर्मीहरूले हिरासतमा लिइसकेका छन् । सामाजिक सञ्जालमार्फत नै शेरिफ स्कटले हाल समुदायका लागि कुनै थप खतरा नरहेको स्पष्ट पारेका छन् ।

    “म सबैलाई अनुरोध गर्दछु कि कृपया पीडितहरू तथा उनीहरूका परिवारजनलाई आफ्ना प्रार्थनामा सम्झिनुहोस्”, उनले लेखेका छन्, उनले कानून कार्यान्वय गर्ने निकायहरू घटनाको गहिरो अनुसन्धानमा व्यस्त रहेको र सम्भव भएसम्म चाँडै थप जानकारी सार्वजनिक गरिने पनि उल्लेख गरेका छन् ।

  • रुसको घातक आक्रमण, नयाँ मिसाइलद्वारा पश्चिमलाई चेतावनी

    रुसको घातक आक्रमण, नयाँ मिसाइलद्वारा पश्चिमलाई चेतावनी

    किएभ, २६ पुस (रासस–एपी) । रुसले युक्रेनमाथि सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रहार गर्दै रातभर व्यापक आक्रमण गरेको छ । यस आक्रमणमा राजधानी किएभमा कम्तीमा चार जनाको ज्यान गएको र २५ भन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् । करिब चार वर्षदेखि जारी युद्धमा दोस्रो पटक मात्र रुसले शक्तिशाली नयाँ हाइपरसोनिक ब्यालेस्टिक मिसाइल ‘ओरेसनिक’ प्रयोग गरेको हो, जसलाई पश्चिमी युक्रेन हुँदै किएभका नाटो सहयोगीहरूतर्फ स्पष्ट चेतावनीका रूपमा हेरिएको छ ।

    यो आक्रमण युक्रेन र उसका सहयोगीहरूले अमेरिकी नेतृत्वमा सम्भावित शान्ति सम्झौतापछि देशको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल गरिरहेका बेला भएको हो । युरोपेली नेताहरूले यसलाई ‘बढ्दो र अस्वीकार्य’ भन्दै कडा निन्दा गरेका छन् । युरोपेली सङ्घ (इयु) का शीर्ष विदेश नीति प्रतिनिधि काजा कल्लासले कूटनीतिमा रुसको जवाफ ‘थप मिसाइल र विनाश’ भएको टिप्पणी गर्नुभएको छ ।

    किएभमा भएको आक्रमणका कारण हिउँ परेको चिसो मौसममा करिब छ हजार अपार्टमेन्ट भवनहरू तापविहीन बनेका छन् । तापक्रम माइनस आठ डिग्री सेल्सियससम्म झरेको बेला पानी आपूर्ति समेत अवरुद्ध भएको छ । किएभ सहर सैन्य प्रशासन प्रमुख तिमुर टाकाचेन्कोका अनुसार आपतकालीन सेवामा संलग्न एक स्वास्थ्यकर्मीको ज्यान गएको छ भने चार स्वास्थ्यकर्मी र एक प्रहरी अधिकारी घाइते भएका छन् । नगरपालिकाले पोर्टेबल बायलर प्रयोग गरी अस्पताल, प्रसूति वार्ड लगायत अत्यावश्यक सेवामा ताप र बिजुली पुनःस्थापना गरेको जनाएको छ ।

    आक्रमणका क्रममा किएभस्थित कतारी दूतावासमा पनि क्षति पुगेको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले जानकारी दिएका छन् । कतारले युद्धबन्दी आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उनले विशेषगरी अमेरिकाबाट ‘स्पष्ट र कडा प्रतिक्रिया’ आवश्यक रहेको बताए । युक्रेनको सुरक्षा सेवाले पश्चिमी सहर लिभिभ क्षेत्रमा ओरेसनिक मिसाइलका भग्नावशेष फेला पारेको जनाएको छ । यो मिसाइल रुसको कपुस्टिन यार परीक्षण केन्द्रबाट प्रक्षेपण गरिएको र नागरिक पूर्वाधार लक्षित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्थानीय बासिन्दाहरूले ठूलो विस्फोट सुनेको तर लामो समयदेखि युद्धको अवस्थासँग अभ्यस्त भइसकेकाले मनोबल नटुटेको प्रतिक्रिया दिएका छन् ।

    रुसको रक्षा मन्त्रालयले भने यो आक्रमण गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनको एक निवासमाथि युक्रेनी ड्रोन आक्रमण भएको दाबीको प्रतिशोध भएको जनाएको छ । युक्रेन र अमेरिकाले भने सो दाबी अस्वीकार गरेका छन् । रुसी सञ्चारमाध्यमका अनुसार लिभिभ क्षेत्रमा रहेको भूमिगत ग्यास भण्डारण केन्द्र लक्ष्य हुनसक्ने बताइएको छ, जहाँबाट पोल्यान्ड हुँदै पश्चिमी सैन्य सहायता युक्रेन प्रवेश गर्ने गर्छ ।

    यसअघि पुटिनले ओरेसनिक मिसाइल माक १० गतिमा ‘उल्कापिण्डजस्तै’ लक्ष्यमा पुग्ने र कुनै पनि क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न नसकिने दाबी गर्नुभएको थियो । युक्रेनी गुप्तचरका अनुसार उक्त मिसाइलमा बहुविध वारहेड जडान गरिएको छ । रुसले पहिलो पटक सन् २०२४ नोभेम्बरमा डिनिप्रो सहरमा यो मिसाइल प्रयोग गरेको थियो । विश्लेषकहरूका अनुसार यसले मनोवैज्ञानिक युद्धको नयाँ आयाम थपेको छ ।

    यस घटनापछि युक्रेनी विदेशमन्त्री आन्द्रिइ सिबिहाले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् र युक्रेन–नाटो परिषद्को आपतकालीन बैठक आह्वान गरिने जानकारी दिएका छन् । उनले इयु र नाटो सीमासँग नजिकै भएको यस्तो आक्रमणले सम्पूर्ण युरोपको सुरक्षामाथि गम्भीर खतरा उत्पन्न गरेको बताए । भ्याटिकनबाट पोप लियो चौधौँले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल युद्धविराम र संवादमार्फत शान्तिको बाटो खोज्न आग्रह गरेका छन् । बेलायत, फ्रान्स र जर्मनीका नेताहरूले पनि आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई अस्वीकार्य बताएका छन् ।

  • युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

    युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

    मस्को, २६ पुस (रासस–एपी) । रुसले युक्रेनविरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’ मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त मिसाइल प्रयोग गर्दै युक्रेनको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरिएको जनाएको हो ।

    मन्त्रालयका अनुसार यो आक्रमण गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवास नजिक युक्रेनी ड्रोन आक्रमण भएको दाबीको प्रतिउत्तरस्वरूप गरिएको हो । तर युक्रेनले उक्त आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पुटिनको निवासमाथि युक्रेनी आक्रमण भएको भन्ने रुसी दाबीलाई सार्वजनिक रूपमा नकारेका छन् ।


    रुसी पक्षका अनुसार ओरेसनिक ब्यालेस्टिक मिसाइलसँगै अन्य भूमि र समुद्रबाट प्रक्षेपण गरिने मिसाइलहरू प्रयोग गरी युक्रेनका ऊर्जा तथा रणनीतिक पूर्वाधारमाथि आक्रमण गरिएको थियो । शुक्रबार राति भएको ड्रोन र मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको र कम्तीमा २२ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

    युक्रेनको पश्चिमी सहर लिभिभको महत्त्वपूर्ण पूर्वाधारमा अज्ञात प्रकारको ब्यालेस्टिक मिसाइल प्रहार भएको मेयर एन्ड्री सडोभीले जानकारी दिनुभएको छ । युक्रेनी वायु सेनाको पश्चिमी कमान्डका अनुसार उक्त मिसाइलले करिब १३ हजार किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा यात्रा गरेको थियो र यसको प्राविधिक विशेषतामाथि अनुसन्धान भइरहेको छ ।

    मृतकमध्ये एक जना आपतकालीन स्वास्थ्यकर्मी रहेको किएभ सहर सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले बताए । आक्रमण स्थलमा उद्धार कार्य गरिरहेका पाँच जना उद्धारकर्मी घाइते भएको युक्रेनको सुरक्षा सेवाले जनाएको छ । आक्रमणका कारण राजधानी किएभका विभिन्न जिल्लामा क्षति पुगेको छ । देस्न्यान्स्की जिल्लामा एउटा ड्रोन बहुतले भवनको छतमा खस्दा क्षति पुगेको छ भने सोही जिल्लाको अर्को स्थानमा आवासीय भवनका तल्ला क्षतिग्रस्त भएका छन् । डिनिप्रो जिल्लामा ड्रोनका टुक्रा खस्दा बहुतले भवनमा आगलागी भएको जनाइएको छ ।

    किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणपछि राजधानीका केही क्षेत्रमा पानी र बिजुली आपूर्ति अवरुद्ध भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले चिसो मौसमको फाइदा उठाउँदै ठूलो मात्रामा आक्रमण गर्न सक्ने चेतावनी दिएको केही घण्टामै यो हमला भएको हो । उनले हिउँले ढाकिएका सडक र प्रतिकूल मौसमलाई लक्ष्य बनाउँदै रुसले जनजीवन थप कष्टकर बनाउन खोजेको आरोप लगाए ।

  • पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा

    पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा

    बोगोटा, २५ पुस (रासस–एपी) । भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरेको कडा आलोचनाले वासिङ्टन र बोगोटाबीचको सम्बन्धलाई अभूतपूर्व तनावमा पु¥याएको छ । यस हस्तक्षेपलाई पेट्रोले ल्याटिन अमेरिकी सार्वभौमसत्तामाथिको ‘घृणित उल्लङ्घन’ भन्दै सन् १९३७ मा नाजी जर्मनीले स्पेनको गुएर्निकामा गरेको कार्पेट बमबारीसँग तुलना गरेका छन् ।


    अमेरिकाको ऐतिहासिक रूपमा निकट सहयोगी रहँदै आएको कोलम्बियाबाट यस्तो तीव्र प्रतिक्रिया आउनु असामान्य मानिएको छ । विगत तीन दशकदेखि लागुऔषध तस्करी नियन्त्रण, विद्रोही समूहविरुद्धको कारबाही र ग्रामीण विकासका क्षेत्रमा संयुक्त राज्य अमेरिका र कोलम्बियाबीच गहिरो सहकार्य हुँदै आएको छ । यही सहकार्यअन्तर्गत वासिङ्टनले कोलम्बियालाई अर्बौं डलरको सहायता प्रदान गरेको छ ।

    तर राष्ट्रपति पेट्रोले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको अमेरिकी नियन्त्रणलाई खुलेर विरोध गरेपछि उनी र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शब्दयुद्ध चर्कियो । ट्रम्पले कोलम्बियामा अमेरिकी सैन्य कारबाही ‘उचित हुन सक्ने’ टिप्पणी गरेपछि पेट्रोले राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न जनतालाई सडकमा उतार्न आह्वान गरे । त्यसको प्रत्युत्तरमा हजारौँ कोलम्बियालीहरू सार्वजनिक चोकहरूमा भेला भई ‘स्वतन्त्र र सार्वभौम कोलम्बिया अमर रहोस्’ भन्ने नारा लगाए ।

    तर सबैलाई चकित पार्दै विरोध प्रदर्शनकै दिन राष्ट्रपति पेट्रोले आफ्नो अघिल्लो कडा अभिव्यक्ति नरम पार्दै राष्ट्रपति ट्रम्पसँग भएको मैत्रीपूर्ण टेलिफोन वार्ताको जानकारी दिए । उनले दुवै सरकारबीच प्रत्यक्ष संवाद पुनःस्थापित गर्न आग्रह गरेको र संवाद नहुँदा द्वन्द्वको खतरा बढ्ने चेतावनी दिएको बताए ।


    राष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत पेट्रोसँगको कुराकानीलाई ‘सम्मानजनक’ भन्दै उनलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन् । लामो समयदेखि एक–अर्काप्रति कठोर टिप्पणी गर्दै आएका यी दुई नेताबीच अचानक देखिएको शान्तिले व्यावहारिक स्वार्थका लागि वैचारिक मतभेद पन्छाउन सक्ने सङ्केत दिएको विश्लेषकहरू बताउँछन् ।

    कोलम्बियाका लागि अमेरिकी सहयोग अझै पनि विद्रोही र लागुऔषध तस्करविरुद्धको लडाइँमा अत्यन्त महत्त्वपूर्ण छ भने अमेरिकाका लागि कोलम्बिया क्यारिबियन क्षेत्रमा लागुऔषध रोकथामको प्रमुख आधार बनेको छ । वासिङ्टनस्थित थिङ्क ट्याङ्कका विज्ञहरूका अनुसार कोलम्बियाली कूटनीतिज्ञ र निजी क्षेत्रले पनि सम्बन्ध पूर्णरूपमा बिग्रन नदिन सक्रिय भूमिका खेलेका छन् ।

    यसअघि राष्ट्रपति ट्रम्पले पेट्रोलाई ‘अन्तर्राष्ट्रिय लागुऔषध नेता’ भन्दै कडा शब्द प्रयोग गरेका थिए । कोलम्बियाली अधिकारीहरूको अमेरिकी भिसा रद्द गर्ने, आर्थिक सहायता रोक्ने र निर्यातमा दण्डात्मक शुल्क लगाउने धम्कीसमेत दिइएको थियो । यसले कोलम्बियामा अमेरिकी हस्तक्षेपको सम्भावनालाई लिएर गम्भीर चिन्ता बढाएको थियो । यद्यपि विज्ञहरू लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति पेट्रोविरुद्ध प्रत्यक्ष अमेरिकी सैन्य कारबाही हुने सम्भावनालाई कम आँक्छन् ।

    त्यसबीच कोलम्बियाका रक्षा र कूटनीतिक अधिकारीहरूले सहकार्य जारी रहने सन्देश दिँदै तनाव कम गर्न प्रयास गरेका छन् । अन्ततः राष्ट्रपति पेट्रोले वार्तामार्फत शान्ति नै प्राथमिकता भएको स्पष्ट पार्दै नागरिकहरूलाई ढुक्क हुन आग्रह गरे । हाल उनले सम्भावित ह्वाइट हाउस भ्रमणको तयारी अघि बढिरहेको छ, यद्यपि त्यसका लागि औपचारिक कूटनीतिक प्रक्रिया अझै पूरा हुन बाँकी छ ।

  • अमेरिकी व्यापार घाटा सन् २००९ पछि सबैभन्दा न्यून

    अमेरिकी व्यापार घाटा सन् २००९ पछि सबैभन्दा न्यून

    वासिङ्टन, २५ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सामानमा अतिरिक्त करवृद्धि गर्ने नीतिका कारण सामानको आयातमा कमी आएसँगै अमेरिकी व्यापार घाटा अक्टोबरमा तीव्र र अप्रत्याशित रूपमा घटेको देखिएको छ । यो सन् २००९ पछिको सबैभन्दा न्यून स्तरमा पुगेको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । वाणिज्य विभागका अनुसार अक्टोबरमा कुल व्यापार घाटा ३९ प्रतिशतले घटेर २९।४ अर्ब डलरमा झरेको छ ।

    यो घाटा ‘डाउ जोन्स न्यूजवायर’ र ‘द वाल स्ट्रिट जर्नल’ले अर्थशास्त्रीहरूको सर्वेक्षणबाट गरेको ५८।४ अर्ब डलरको औसत पूर्वानुमानभन्दा निकै कम हो । उनीहरूले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेकिराको आर्थिक अवस्थाको मूल्याङ्कन गर्छन्। गत वर्ष लामो सरकारी बन्दका कारण व्यापार तथ्याङ्क जारी गर्न एक महिनाभन्दा बढी ढिलाइ भएको थियो । यसका कारण अधिकारीहरू र कम्पनीहरूलाई अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्न सम्भव भएको थिएन ।

    अक्टोबरमा अमेरिकी निर्यात ७।८ अर्ब डलरले बढेर ३०२।० अर्ब डलर पुगेको थियो भने आयात ११।० अर्ब डलरले घटेर ३३१।४ अर्ब डलर पुगेको थियो । यो मुख्य रूपमा वस्तु आयातमा गिरावटको कारण उपभोग्य वस्तुहरूको खरिद्मा आएको गिरावट थियो, जुन अक्टोबरमा १४ अर्ब डलर घटेको थियो। यस अवधिमा फार्मास्युटिकल उत्पादनहरू तीव्र रूपमा घटेको वाणिज्य विभागले जनाएको छ।

    औद्योगिक आपूर्ति र गैरमौद्रिक सुनजस्ता सामग्रीको आयात पनि घटेको छ । गत वर्ष राष्ट्रपति पदमा फर्किएपछि ट्रम्पको द्रुत परिवर्तनशील र व्यापक करवृद्धिको नीतिले कसरी व्यापार प्रवाहलाई ठूलो असर पारेको छ भन्ने तथ्याङ्कले देखाउँछ । अमेरिकी नेताले विभिन्न व्यापारिक साझेदारहरूबाट आयातमा व्यापक करको घोषणा गरेपछि अमेरिकी व्यवसायहरूले करमा योजनाबद्ध वृद्धि गर्नु अघि सामानहरूको व्यापक खरिद् गरी भण्डार गर्न हतार गरेका थिए ।

    यसले धेरै कम्पनीहरूलाई कम्तिमा अहिलेका लागि उपभोक्ताहरूलाई अतिरिक्त करको पूर्ण लागत खर्च गर्नबाट बच्न सम्भव भएको छ। अमेरिकी घरपरिवार जीवनयापनको लागतको चिन्तासँग जुधिरहेका बेला ट्रम्पले हालसालै केही करबाट छुट पाएका सामानहरूको दायरा फराकिलो पार्नुभएको छ तर यी धेरै छुटहरू नोभेम्बरदेखि लागू हुनुपर्ने थियो ।

    येल विश्वविद्यालयको बजेट ल्याबले अनुमान गरे अनुसार नोभेम्बरको मध्यसम्म उपभोक्ताहरूले समग्र औसत प्रभावकारी करवृद्धि दरको सामना गरेका छन् । यो सन् १९३० को दशकपछि सबैभन्दा बढी हो । सेप्टेम्बरमा अमेरिकाको व्यापार घाटा ४८।१ अर्ब डलर थियो । यद्यपि ट्रम्पको करनीतिले यस वर्ष व्यापार प्रवाहलाई प्रभावित गरेको छ, ती मध्ये ठूलो हिस्साले कानुनी चुनौतीहरूको पनि सामना गरिरहेका छन्।

    विशेष गरी, सर्वोच्च अदालतले नोभेम्बरमा बहस सुनेपछि अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन प्रयोग गरेर लगाइएको करको वैधानिकतामा निर्णय गर्न लागेको छ। यदि कन्जरभेटिभ–बहुमत उच्च अदालतले राष्ट्रपतिले यी कर्तव्यहरू लागू गर्न आफ्नो अधिकार नाघेको बताएमा, यसले अस्थायी रूपमा प्रशासनले लागू गरेको धेरै देश–विशिष्ट ट्यारिफहरूमा असर पार्न सक्छ ।

  • युरोपभर हिउँ–बरफको कहर

    युरोपभर हिउँ–बरफको कहर

    द हेग (नेदरल्यान्ड्स), २२ पुस (रासस–एपी) । हिउँ, बरफ र चिसो तापक्रमका कारण मङ्गलबार युरोपका विभिन्न देश गम्भीर रूपमा प्रभावित भएका छन् । खराब मौसमले फ्रान्समा कम्तीमा पाँच जनाको ज्यान लिएको छ भने युरोपकै सबैभन्दा व्यस्त विमानस्थलहरूमध्ये एकबाट सयौँ उडान रद्द भएका छन् । सडक, रेल र हवाई यातायात अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । फ्रान्सको दक्षिणपश्चिमी ल्यान्डेस क्षेत्रमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    पेरिस वरपरको इले–डे–फ्रान्स क्षेत्रमा पनि कम्तीमा दुई जनाको ज्यान गएको छ । सोमबार भारी हिमपातका कारण ठूलो ट्राफिक जाम भएपछि अधिकारीहरूले सडकबाट ट्रकहरू हटाउन आदेश दिएका थिए । मङ्गलबार बिहान पेरिसका छाना र ऐतिहासिक स्थलहरू हिउँले ढाकिएका देखिए । विद्यालय बन्द हुँदा बालबालिका खुसी देखिए पनि यात्रुहरू भने कमै खुसी थिए, किनकि उत्तर र पश्चिम फ्रान्सका छ वटा विमानस्थल भारी हिमपातका कारण बन्द गरिएका थिए ।

    नेदरल्यान्ड्समा पनि अवस्था गम्भीर रह्यो । एम्स्टर्डमको सिफोल विमानस्थलले करिब ४०० उडान ग्राउन्डेड भएको जनाएको छ । रनवे सफा गर्न र विमान डि–आइस गर्न ढिलाइ हुँदा सोमबार पनि सयौँ उडान रद्द भएका थिए । थप हिमपातको पूर्वानुमानसँगै रेल सेवा पनि प्रभावित भयो । राष्ट्रिय रेलवे कम्पनी एनएसले सीमित सेवा मात्र सञ्चालन भएको र अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरेको छ । सडकहरूमा चिप्लोपनका कारण यात्रुहरूले लामो समय लाग्ने यात्रा भोग्नुपरेको छ ।

    Revelers take part in the Black and White Carnival, recognized by UNESCO as Intangible Cultural Heritage, in Pasto, Colombia, Tuesday, Jan. 6, 2026. (AP Photo/Ivan Valencia)

    इटालीको रोममा भने निरन्तर वर्षाले समस्या निम्त्याएको छ । टाइबर नदी बढ्दा जोखिम बढेपछि मेयर रोबर्टो गुअल्तेरीले पार्क र जोखिमयुक्त क्षेत्रहरूमा सार्वजनिक पहुँच सीमित गर्न आदेश जारी गर्नुभएको छ । यही कारण पोप लियो चौधौँको एपिफेनी आशीर्वाद कार्यक्रममा सेन्ट पिटर स्क्वायरमा सीमित मात्र श्रद्धालुहरू उपस्थित भए । उत्तर इटालीमा बोलोग्ना हिउँले ढाकिएको छ भने डोलोमाइट्स क्षेत्रमा स्कियरहरूका लागि भने अनुकूल अवस्था बनेको छ ।

    बेलायतको उत्तरी भागमा चिसो अत्यधिक बढेको छ । रातको तापक्रम माइनस १२।५ डिग्री सेल्सियससम्म झरेको छ । हिउँ र बरफका कारण रेल, सडक र हवाई सेवा प्रभावित हुँदा सयौँ विद्यालय बन्द गरिएका छन् । खेलकुद कार्यक्रमहरू रद्द भएका छन् भने ग्लासगोको सबवे र लिभरपुलको जोन लेनन विमानस्थल केही समयका लागि बन्द गर्नुपरेको थियो । उत्तर स्कटल्यान्डमा थप १५ सेन्टिमिटरसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको छ । सांसद एन्ड्र्यु बोवीले अवस्थालाई गम्भीर बताउँदै सेना परिचालन गरेर राहत र आपूर्ति पुर्‍याउन आग्रह गर्नुभएको छ ।

    बाल्कन क्षेत्र पनि खराब मौसमबाट अछुतो रहेन । बोस्निया, सर्बिया र आसपासका देशहरूमा भारी हिउँ र वर्षाका कारण नदीहरू बढेका छन्, यातायात अवरुद्ध भएको छ र विद्युत् तथा पानी आपूर्तिमा समस्या आएको छ । सारायेभोमा हिउँले ढाकिएको रूखको हाँगा खस्दा एक महिलाको मृत्यु भएको छ । सर्बियाका केही नगरपालिकामा आपतकालीन अवस्था घोषणा गरिएको छ र अधिकारीहरूले यात्रामा अत्यन्त सावधानी अपनाउन आग्रह गरेका छन् ।

    एड्रियाटिक तटमा भने तीव्र हावा र आँधीबेहरीले क्षति पुर्‍याएको छ । क्रोएसिया र मोन्टेनेग्रोका तटीय क्षेत्रमा समुद्री छाल समुद्र किनारका संरचनासम्म पसेको दृश्य सार्वजनिक भएका छन् । समग्रमा, युरोपभरि फैलिएको हिउँ, बरफ र खराब मौसमले जनजीवन, यातायात र पूर्वाधारमा गम्भीर असर पारेको छ ।

  • स्याङ्जा सहयोग समाज यूएईको आठौं अधिवेशन सम्पन्न

    स्याङ्जा सहयोग समाज यूएईको आठौं अधिवेशन सम्पन्न

    २३ पुस, दुबई । स्याङ्जा सहयोग समाज यूएईको आठौं अधिवेशन भव्य, शान्तिपूर्ण र सफल रुपमा सम्पन्न भएको छ । अधिवेशनले रेशमराज खनालको अध्यक्षतामा २३ सदस्यीय निर्विरोध कार्यसमिति गठन गरेको छ । प्रमुख पदाधिकारीहरुमा उपसभापति कल्पित भण्डारी, हरि पन्त, शंकर भट्ट, महामन्त्री लक्ष्मण पौडेल, सहमहामन्त्री रामबहादुर भुसाल, प्रदीप अधिकारी, कोषाध्यक्ष पुष्कर अधिकारी रहेका छन् । यस्तै, सदस्यहरुमा गणेश पोखरेल, दीपक सापकोटा, निर्मला खनाल, मञ्जु खत्री, सुरेश अधिकारी, माया भण्डारी लगायत २३ सदस्य छन् ।


    अधिवेशनमा यूएईभर छरिएर रहेका स्याङ्जाली दाजुभाइ–दिदीबहिनीहरुको सक्रिय सहभागिता, एकता र सहकार्यले कार्यक्रममा विशेष उत्साह थपेको थियो । नवगठित कार्यसमितिले समाजको उद्देश्यअनुसार सदस्यहरुलाई एकताबद्ध गर्दै सामाजिक र सांस्कृतिक क्षेत्रमा सक्रिय योगदान दिने अपेक्षा गरिएको छ ।

  • चीनको भ्रमणमा दक्षिण कोरियाली राष्ट्रपति

    चीनको भ्रमणमा दक्षिण कोरियाली राष्ट्रपति

    बेइजिङ, २२ पुस (रासस\एएफपी) । चीनका शीर्ष सांसदले मङ्गलबार बेइजिङमा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग भेट गर्दै दुई देशबीच स्थिर सम्बन्ध र गहिरो सहयोगको अपेक्षा व्यक्त गरेको सरकारी मिडियाले जनाएको छ । राष्ट्रपति ली छ वर्षपछि चिनियाँ राजधानी भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली नेता हुन् ।

    उनले पछिल्ला वर्षहरूमा देखिएको कूटनीतिक गतिरोधपछि चीनसँगको सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् । सोमबार राष्ट्रपति लीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए । भेटमा दुवै नेताले कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको महत्त्वमा सहमति जनाउँदै उत्तर कोरियासँग संवाद पुनः सुरु गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

    मङ्गलबारको भेटमा चीनका तेस्रो उच्च पदस्थ अधिकारी तथा नेसनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीले चीन दक्षिण कोरियासँग ‘असल–छिमेकी मित्रता सुदृढ गर्न’ र ‘पारस्परिक फाइदामा आधारित सहयोगलाई अझ गहिरो बनाउन’ इच्छुक रहेको बताए । उनले दुई देशबीच सम्बन्धको ‘स्थिर र दीर्घकालीन विकास’ र निरन्तर संवाद तथा सहकार्यको अपेक्षा व्यक्त गर्नुभएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

    राष्ट्रपति लीको चीन भ्रमण भेनेजुएलामा हालै भएको अमेरिकी सैन्य कारबाहीपछि भएको हो । उक्त कारबाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अपदस्थ गरी न्युयोर्कमा लागुऔषध तस्करीसम्बन्धी आरोप सामना गर्न लगिएको थियो, जसको बेइजिङ र प्योङयाङले निन्दा गरेका छन् । यसैक्रममा राष्ट्रपति लीले मङ्गलबार चिनियाँ प्रधानमन्त्री ली किआङसँग पनि भेट गरेका हुन् ।

    सो अवसरमा उहाँले चीन–दक्षिण कोरिया सम्बन्ध सुधारलाई ‘समयको अपरिवर्तनीय प्रवृत्ति’ का रूपमा वर्णन गरे । आफ्नो देशको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग आर्थिक सहकार्य विस्तार गर्ने अपेक्षा राख्नुभएका दक्षिण कोरियाका राष्ट्रपति ली बुधबार चीनको प्रमुख आर्थिक केन्द्र साङ्घाईको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

  • भेनेजुएला कारबाहीमा राष्ट्रसङ्घको चिन्ता

    भेनेजुएला कारबाहीमा राष्ट्रसङ्घको चिन्ता

    जेनेभा, २३ पुस (रासस\एएफपी) । संयुक्त राष्ट्रसङ्घले भेनेजुएलामा गरिएको अमेरिकी सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसले अन्तर्राष्ट्रिय कानूनका मौलिक सिद्धान्तहरूलाई स्पष्ट रूपमा अवमूल्यन गरेको चेतावनी दिएको छ । मङ्गलबार जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीले भनिन्, “कुनै पनि राज्यले अर्को राज्यको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रताको विरुद्ध धम्की दिन वा बल प्रयोग गर्न हुँदैन ।” उनको यो प्रतिक्रिया शनिबार बिहान अमेरिकी कमान्डोहरूले युद्धविमान र भारी नौसैनिक तैनाथीको समर्थनमा भेनेजुएलाको राजधानीमा कारबाही गर्दै राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएपछि आएको हो ।

    प्रवक्ता शामदासानीले भेनेजुएलामा लामो समयदेखि भइरहेको र गम्भीर मानव अधिकार उल्लङ्घनलाई आधार बनाएर गरिएको अमेरिकी औचित्यलाई अस्वीकार गरिन् । “अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दै गरिएको एकपक्षीय सैन्य हस्तक्षेपमार्फत मानव अधिकार उल्लङ्घनका लागि जवाफदेहिता हासिल गर्न सकिँदैन”, उनले जोड दिइन् । उनले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले विगत एक दशकदेखि भेनेजुएलाको अवस्था निरन्तर बिग्रँदै गएको विषयमा प्रतिवेदन गर्दै आएको स्मरण गराइन् । तर अमेरिकी हस्तक्षेपका कारण हाल देखिएको अस्थिरता र बढ्दो सैन्यीकरणले परिस्थितिलाई अझै खराब बनाउने जोखिम रहेकोप्रति राष्ट्रसङ्घ चिन्तित रहेको उनले स्पष्ट पारिन् ।

  • अफगानिस्तानमा सुन खानी विवादमा झडप, धेरै हताहत

    अफगानिस्तानमा सुन खानी विवादमा झडप, धेरै हताहत

    अफगानिस्तान, (रासस\एएफपी)।
    उत्तरी अफगानिस्तानको तखर प्रान्तमा सुन खानीको कामलाई लिएर स्थानीय बासिन्दा र खानी कम्पनीका कर्मचारीबीच भएको झडपमा केही व्यक्तिको मृत्यु भएको तालिबान अधिकारीले मङ्गलबार पुष्टि गरेका छन् । खानी तथा पेट्रोलियम मन्त्रालयका प्रवक्ता हुमायूँ अफगानका अनुसार चाह अब जिल्लामा भएको झडपले मानवीय र आर्थिक दुवै प्रकारको क्षति पुगेको छ । मन्त्रालयको प्रतिनिधिमण्डललाई घटनास्थलमा अनुसन्धानका लागि पठाइएको छ ।

    स्थानीय बासिन्दाहरूका अनुसार अन्य प्रान्तका खानी मजदुरहरूले पिउने पानीको आपूर्ति गर्ने क्षेत्र नष्ट गरेपछि उनीहरूले ढुङ्गा र लाठीको प्रयोग गरी विद्रोह गरेका थिए । यस झडपमा धेरै मानिस मारिएका छन् भने खानी मजदुरहरू भागेका छन् । अफगानिस्तानले सुनसँगै सङ्गमरमर, खनिज, रत्न र कोइला खानीमा ठूलो स्रोत पाएको छ । सन् २०१० र २०१३ को अमेरिकी र संयुक्त राष्ट्रसङ्घीय मूल्याङ्कनअनुसार देशको भू–सम्पत्तिको अनुमानित मूल्य १० खर्ब डलर रहेको थियो ।

    तालिबान सरकारले देशमा सुरक्षा पुनःस्थापना गर्ने वाचा गर्दै अफगानी र विदेशी लगानीकर्तालाई भूमिगत सम्पत्ति दोहन गर्न र राजस्व प्रवाह सुनिश्चित गर्न आग्रह गरेको छ ।

  • बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध

    बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध

    लन्डन, २२ पुस (रासस–एएफपी) । बेलायतमा सोमबार देखि लागु भएको नयाँ नियमले दिउँसोको समयमा जङ्क फुडको टिभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न “विश्वकै अग्रणी कार्य“ भनि अर्थायएको छ । प्रतिबन्ध–चिल्लो पदार्थ, नुन वा चिनीमा उच्च उत्पादनहरूका विज्ञापनहरूलाई लक्षित गर्दै–हरेक वर्ष बच्चाहरूको आहारबाट उल्लेख्य क्यालोरीहरू हटाउने अपेक्षाले गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    साँझ ९ः०० बजे भन्दा पहिले प्रसारण हुने यस्ता विज्ञापनहरू बन्द गर्दै यसले मोटोपनासँग बाँचिरहेका बच्चाहरूको सङ्ख्या २० हजारले घटाउने अपेक्षा राखेको मन्त्रालयले जनाएको छ । यसको कार्यान्वयन–पहिलो पटक डिसेम्बर २०२४ मा घोषणा गरिएको जनाइएको छ । जसमा पूर्व–प्याकेज गरिएका वस्तुहरू जस्तै मिल्कशेक, रेडी–टु–गो कफी र मीठो दही पेयपदार्थहरू समावेश छ ।

    स्थानीय अधिकारीहरूलाई विद्यालय बाहिर स्थापना हुने फास्ट फूड पसलहरू रोक्ने अधिकार पनि दिइएको छ । सरकारले विज्ञापनले बच्चाहरूलाई प्रभावीत पारी कम उमेरदेखि नै जङ्क फुड खान प्ररेति गरी मोटोपना र सम्बन्धित रोगहरूको जोखिम बढाउँने तर्क प्रस्तुत गरेको छ । यसले इङ्गल्यान्डमा प्राथमिक विद्यालय सुरु गर्ने पाँच वर्ष उमेरका २२ प्रतिशत बालबालिकाहरूमा अधिक तौल वा मोटो पनले ग्रसित हुने र माध्यमिक विद्यालयमा पुग्दासम्म प्रभाव झनै बढी हुने गरेको जनाइएको छ ।

    अधिकारीहरूका अनुसार सामान्यतया पाँचदेखि नौ वर्ष उमेरका साना बच्चाहरू जङ्क फुडको सेवन पछि दाँतको समस्या समाधानका लागि बेलायतको अस्पतालमा भर्ना हुने गरेका छन् । “राति ९ बजे भन्दा पहिले जंक फूडका लागि विज्ञापनहरू प्रतिबन्धित गरि अस्वास्थ्यकर खानाहरूको अत्यधिक जोखिम हटाउने स्वास्थ्य मन्त्री एशले डाल्टनले विज्ञप्ति मार्फत जनाएका छन् ।

    उनले यो कदम राज्य–वित्त पोषित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई रोगको रोकथामका साथै उपचारमा ध्यान केन्द्रित गर्ने रणनीतिको एक हिस्सा भएको बताउदै मानिसहरूले स्वस्थ जीवन बिताउन सकून् भन्ने अभिप्रायले गरेको बताए । ओबेसिटी हेल्थ एलायन्सका कार्यकारी निर्देशक क्याथरिन जेनरले यो कदम बच्चाहरूलाई उनीहरूको स्वास्थ्यलाई हानि पुर्याउने अस्वास्थ्यकर खाना र पेय पदार्थको विज्ञापनबाट संरक्षण गर्ने दिशामा स्वागतयोग्य र लामो समयदेखि प्रतीक्षा गरिएको विषय भएको बताए । परोपकारी संस्था “मधुमेह बेलायत” ले पनि विज्ञापन प्रतिबन्धलाई स्वागत गरेको छ ।

  • ग्रिनल्याण्डलाई गाभ्ने चेतावनीलाई नदोहोराउन अमेरिकालाई आग्रह

    ग्रिनल्याण्डलाई गाभ्ने चेतावनीलाई नदोहोराउन अमेरिकालाई आग्रह

    कोपनहेगन, २२ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन गरेको आह्वानको सोमबार अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको छ । भेनेजुएलामा वासिङ्टनको सैन्य हस्तक्षेपले खनिजको धनी आर्कटिक क्षेत्र ग्रिनल्यान्डबारे चिन्ता उत्पन्न भएपछि अन्तरराष्ट्रिय समुदायको भनाई आएका हुन् । आइतबार राति एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामीलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले ग्रिनल्याण्ड चाहिएको छ । डेनमार्कले सक्दैन ।ु’

    ग्रीनल्याण्ड टापुमा दुर्लभ खनिजहरू छन् र ध्रुवीय हिउँ पग्लने र नयाँ ढुवानी मार्गहरू देखा पर्दा यो एक महत्त्वपूर्ण आकर्षण हुन सक्छ । ग्रिनल्याण्ड रुस र अमेरिकाबीच क्षेप्यास्त्र प्रहार गर्न सबैभन्दा छोटो मार्गमा पर्छ र वासिङ्टनले त्यहाँ पहिले नै सैन्य आधार बनाइसकेको छ । ट्रम्पले भने, “ग्रीनल्याण्डको बारेमा २० दिनमा कुरा गरौँ । हामी दुई महिनाभित्र ग्रीनल्याण्डको बिषयमा हाम्रो चिन्तालाई सम्बोधन गर्न लागिपर्नेछौँ ।”

    ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले सामाजिक सञ्जालमार्फत अमेरिकी नेतालाई सङ्केत गर्दै भने, “अब अति नै भयो । अब कुनै दबाब छैन । थप आक्षेपहरू छैनन् । अब विलयको कुनै कल्पना छैन।” उनले भने, “हामी वार्ताका लागि खुला छौँ । छलफलको लागि खुला छौँ । तर यो उचित च्यानल मार्फत र अन्तर्राष्ट्रिय कानूनको सम्मानका साथ हुनुपर्दछ।” डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले पनि संयुक्त राज्य अमेरिकालाई सप्ताहन्तमा आफ्नो परम्परागत सहयोगीलाई धम्की नदिन आग्रह गरे । सोमबार धेरै युरोपेली देशसहित इयूले कोपेनहेगनको समर्थन गरेका छन् ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले काराकासमाथि आक्रमण गरेर र न्यूयोर्कमा हिरासतमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई कब्जा गरेर युरोपेली नेताहरूलाई चकित पारेका छन् । ट्रम्पले अब अमेरिकाले भेनेजुएलालाई अनिश्चितकालका लागि सञ्चालन गर्ने र तेलको विशाल भण्डार प्रयोग गर्ने बताएका छन् ।
    द एटलान्टिकसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले ग्रीनल्याण्डमा भेनेजुयलाको सैन्य अभियानको प्रभावबारे सोधिएको प्रश्नमा यो निर्णय अरुले गर्ने बताए ।

    “उनीहरूले यसलाई आफैंले हेर्नुपर्छ। मलाई थाहा छैन”, ट्रम्पले भने, “अमेरिकालाई आफ्नो सुरक्षाका लागि ग्रीनल्याण्ड चाहिएको छ ।” ट्रम्पले गत महिना रुस र चिनियाँ पानीजहाज सबै क्षेत्रमा रहेको दाबी गरेका थिए । चीनको विदेश मन्त्रालयले सोमबार यसको जवाफ दिँदै अमेरिकालाई ‘तथाकथित चिनियाँ धम्कीलाई व्यक्तिगत फाइदाको बहानाको रूपमा प्रयोग नगर्न’ आग्रह गरेको छ।

    यस विवादले युरोपभरिबाट धेरै भनाइहरू चीनको समर्थनमा आएका छन् । युरोपेली सङ्घको विदेश नीतिमामिला प्रवक्ता अनिता हिप्परले पत्रकारहरूसँग भन्नुभयो, “इयू आफ्ना सदस्यहरूको क्षेत्रीय अखण्डताको रक्षा गर्न प्रतिबद्ध छ।” फिनल्याण्ड, स्वीडेन र नर्वेका नेताहरूको भनाइमा बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ‘केवल ग्रीनल्याण्ड र डेनमार्क अधिराज्य’ ले मात्र क्षेत्रको भविष्य निर्धारण गर्न सक्ने बताएका छन् ।

  • नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’ को यूएई संस्करण शुभारम्भ

    नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’ को यूएई संस्करण शुभारम्भ

    २१ पुस, दुबई । युनाइटेड अरब इमिरेट्स (यूएई)मा नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’ को औपचारिक प्रकाशन शुभारम्भ भएको छ । यूएईमा आइतबार आयोजित एक कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले रिबन काटेर पत्रिकाको उद्घाटन गरे । उद्घाटन समारोहमा राजदूत क्षेत्रीले नेपाली समुदायलाई पत्रिका पढ्न, प्रवर्द्धन र संरक्षण गर्न आग्रह गर्दै ‘विश्व सन्देश’ नेपाली इतिहास, संस्कार र पहिचानको दस्तावेज भएको बताए । उनले नेपाली भाषा र सभ्यताको प्रवर्द्धनमा योगदान गर्ने यस्ता प्रयासमा कूटनीतिक नियोगको सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।


    कार्यक्रममा विश्व सन्देशका ग्लोबल अध्यक्ष विजयराम पौडेल र पत्रिकाका ग्लोबल कार्यकारी प्रमुख योगेश आदीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ग्लोबल कार्यकारी प्रमुख आदीले न्यूयोर्कबाट प्रकाशित हुँदै आएको विश्व सन्देश पत्रिकालाई अब मध्यपूर्व, एसिया तथा अन्य महादेशहरूमा समेत क्रमशः प्रकाशन गर्दै लैजाने योजना रहेको जानकारी दिए ।


    त्यसैगरी विश्व सन्देशका ग्लोबल अध्यक्ष पौडेलले प्रिन्ट मिडियाको महत्व प्रकाश पार्दै प्रवासमा रहेका लाखौं नेपालीहरूको इतिहास, संघर्ष र सफलताको कथालाई लिपिबद्ध गर्ने उद्देश्यका साथ विश्व सन्देश प्रकाशनमा आएको बताए । पौडेलले पत्रिकामार्फत नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा संवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

    नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटाले यूएईमा रहेका नेपाली समुदायका सफलताको कथा, व्यवसाय प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिमा विश्व सन्देशले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा यूएईस्थित विभिन्न संघसंस्था, कलाकार, एनआरएनए तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । झण्डै ८ लाख नेपाली बसोवास रहेको यूएईमा विश्व सन्देश नेपाली भाषाको मासिक म्यागाजिनका रूपमा सार्वजनिक भएको हो ।

  • भेनेजुयलामा तत्काल चुनाव गर्नु हुँदैन : अमेरिका

    भेनेजुयलामा तत्काल चुनाव गर्नु हुँदैन : अमेरिका

    वासिङ्टन, २१ पुस (रासस–एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको बताएका छन् । उनले अहिले भनेजुएलामा सरकारविशीन अवस्था रहेको तर यही अवस्थामा भेनेजुएलामा चुनाव गर्ने छलफल ‘अपरिपक्व’ धारणा हुने बताए ।

    शनिबार अमेरिकी सेनाले मदुरोलाई पक्राउ गरेपछि भेनेजुयलामा के छिट्टै निर्वाचन हुनेछ भन्ने सवालको जवाफमा रुबियोले एनबिसीको ‘मिट द प्रेस’ मा भने, “मलाई लाग्छ, यी सबै कुरा अहिले नै गर्नु ‘अपरिपक्व’ हुन्छ । उनले भने, “अहिले हामीले मदुरो हुँदाका सबै समस्यामा ध्यान केन्द्रित गरिरहेका छौँ । हामीसँग अझै पनि ती समस्याहरू छन् र तिनीहरूलाई सम्बोधन गर्न आवश्यक छ । हामी मानिसहरूलाई ती चुनौती र समस्यालाई सम्बोधन गर्ने अवसर दिइरहेका छौँ ।”

    यसैबीच काराकसबाट प्राप्त एक समाचारअनुसार भेनेजुएलाको सेनाले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यबाहक राष्ट्रपतिको रूपमा मान्यता दिएको छ।
    अमेरिकाले भेनेजुएलामा आक्रमण गरी शनिबार राष्ट्रपति मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई न्यूयोुर्कमा अनुसन्धानका लागि लगेपछि खाली रहेको पदमा रोड्रिगेजलाई कार्यबाहक राष्ट्रपतिका रूपमा मान्यता दिने बताएको हो ।

  • युक्रेन ड्रोनको खतराका कारण मस्कोका विमानस्थल बन्द

    युक्रेन ड्रोनको खतराका कारण मस्कोका विमानस्थल बन्द

    मस्को, २१ पुस (रासस–एएफपी) । युक्रेनले रुसको राजधानीमा दर्जनौं ड्रोन प्रक्षेपण गरेपछि मस्कोका चारमध्ये तीन विमानस्थल आइतबार केही समय हवाई यातायातका लागि बन्द भएका छन् । रुसी सञ्चारमाध्यमका अनुसार यी आक्रमणका कारण मस्कोको दोस्रो सबैभन्दा व्यस्त विमानस्थल भनुकोभोलगायतका अन्य दुई विमानस्थलमा कैयौँ उडानहरू ढिलाइ भएका छन् । करिब चार वर्षको युद्धमा रुसी ड्रोन आक्रमणको लहर सहेको युक्रेनले तत्काल कुनै टिप्पणी गरेको छैन ।

    रुसी उड्डयन नियामक रोसाभियात्सियाका प्रवक्ताले ग्रीनचि ुमय अनुसार विहान १ः०० देखि २ः०० बजेसम्मको बीचमा सेवा बन्द गर्ने घोषणा गरेका थिए । “उडानको सुरक्षा सुनिश्चित गर्न प्रतिबन्धहरू आवश्यक छन्,” आर्टेम कोरेन्याकोले टेलिग्राममा भनका छन् । उनले भने, “भनुकोभो, डोमोडेडोभो र झुकोभस्कीमा केही समय सेवा अवरूद्ध भएको र केही घण्टा पछि आंशिक रूपमा सेवा पुनः सञ्चालनमा ल्याइएको थियो ।

    मस्कोका मेयर सर्गेइ सोब्यानिनले आइतबार राजधानीतर्फ जाँदै गरेको कम्तीमा २७ वटा ड्रोन खसालेको जानकारी दिएका छन् । सन् २०२२ मा आफ्नो छिमेकीमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेको रुसले युक्रेनी ड्रोन आक्रमणको जवाफमा पटकपटक आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।

  • सन् २०२५ चीनमा सन् १९६१ पछि अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष रेकर्ड

    सन् २०२५ चीनमा सन् १९६१ पछि अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष रेकर्ड

    बेइजिङ, २१ पुस (रासस–एएफपी) । चीन सन् २०२५ मा सन् १९६१ पछि औसतमा सबैभन्दा बढी गर्मी बर्षका रूपमा रेकर्ड भएको चीनको मौसम विज्ञान प्रशासनले आइतबार जानकारी गराएको छ। चीनमा गत बर्ष देशव्यापी औसत तापक्रम ११ डिग्री सेल्सियस रहेको थियो । राष्ट्रिय जलवायु केन्द्रका वरिष्ठ इन्जिनियर शी सुआईका अनुसार यो आँकडा देशको सामान्य वार्षिक तापक्रम ९.९ डिग्री सेल्सियसभन्दा १.१ डिग्री सेल्सियस बढी हो । गत वर्ष सिन्जियाङ, जियाङ्सी र हुबेइसहित १६ प्रान्तीय स्तरका क्षेत्रहरूले सन् १९६१ पछि औसतमा सबैभन्दा उच्च तापक्रम रेकर्ड गरेका थिए।

    जूनदेखि अगस्टसम्मको राष्ट्रिय औसत तापमान २२.३ डिग्री सेल्सियस थियो र यो सामान्य भन्दा १.१ डिग्री सेल्सियस बढी हो । सन् २०२४ मा सन् १९६१ पछि सबैभन्दा गर्मी बर्षा ऋतुको रूपमा रेकर्ड भएको छ। “बेइजिङले गत वर्ष सन् १९६१ पछि सबैभन्दा बढी वार्षिक वर्षा रेकर्ड गरेको थियो र उत्तरी चीनमा वर्षा ऋतुको लम्बाइ र कुल वर्षा दुवै ऐतिहासिक उच्च भएको थियो,” शीले भने ।

    यस महिनाको तथ्याङ्कलाई समीक्षा गर्दै शीले सबैभन्दा बढी मौसमी असन्तुलन व्यहोर्ने बर्ष बन्न सक्ने अर्को चेतावनीमुलक सन्देश दिएका छन् । उनले भने, “उत्तरी चीनले कम तापक्रम, हिउँ र चिसो वर्षाको सम्भावित प्रतिकूल प्रभावहरूको लागि तयार रहनुपर्दछ, देशको दक्षिणी भागले मौसमी खडेरीबाट सावधान रहनुपर्दछ।”

  • म्यानमा सेनाद्वारा ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा

    म्यानमा सेनाद्वारा ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा

    याङ्गुन, म्यानमा, २१ पुस (रासस–एएफपी) । म्यानमाको सैन्य सरकारले देशको स्वतन्त्रता दिवसको अवसरमा वार्षिक ‘क्षमायोजन कार्यक्रम’ अन्तर्गत ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा गरेको छ । सैन्य शासनको राष्ट्रिय सुरक्षा परिषद्को विज्ञप्तिमा भनिएको छ,“सङ्घीय गणराज्य म्यानमारका कार्यवाहक राष्ट्रपतिाले विभिन्न जेल, हिरासत केन्द्र र शिविरमा सजाय भोगिरहेका ६ हजार १३४ जना पुरुष र महिला कैदीलाई क्षमादान प्रदान गरेका छन् । त्यसैगरी ५२ जना विदेशी कैदी पनि रिहा गरी आफ्ना देशमा प्रत्यर्पण गरिने बताइएको छ ।


    फेब्रुअरी सन् २०२१ मा भएको सैनिक विद्रोपपछि हजारौं प्रदर्शनकारी र मानवअधिकारकर्मीलाई पक्राउ गरिएको थियो । यसले म्यानमाको छोटो लोकतान्त्रिक अनुभवलाई समाप्त पार्दै देशलाई गृहयुद्धतर्फ धकेल्यो । राष्ट्रिय सुरक्षा परिषद्का अनुसार, वार्षिक कैदी रिहाइ कार्यक्रम ‘मानविय र दयालु कारण’ का आधारमा आयोजना गरिएको हो ।

    शनिबार बिहान याङ्गुनस्थित इन्सेइन जेल बाहिर सयौं नागरिकहरूले आफ्ना परिवारका सदस्यहरूको रिहाइको प्रतीक्षामा कागजात बोकेर उपस्थित भएका थिए । यसैबीच, म्यानमाको सेनाले महिना लामो चरणबद्ध निर्वाचन सुरु गरेको छ । सेनाले यसलाई लोकतन्त्र फर्काउने प्रयासको रूपमा प्रचार गरे पनि मानवअधिकारकर्मी र पश्चिमी कूटनीतिज्ञहरूले यसलाई सैनिक शासनको पुनः ब्रान्डिङ भएको भन्दै आलोचना गरेका छन् ।

    सैन्य समर्थक युनियन सॉलिडारिटी एण्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी) ले पहिलो चरणमा निर्णायक अग्रता लिएको छ । आधिकारिक नतिजा अनुसार हालसम्म तल्लो सदनका ९० प्रतिशत सीट यूएसडीपीले जितेको छ ।

  • भेनेजुएलाको अवस्थाबारे सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक

    भेनेजुएलाको अवस्थाबारे सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक

    संयुक्त राष्ट्र, २१ पुस (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार भेनेजुएलासम्बन्धी विषयमा आपतकालीन बैठक बसाल्ने भएको छ । सुरक्षा परिषद्को वर्तमान अध्यक्षताले शनिबार यसबारे जानकारी दिएको हो । सोमाली स्थायी मिसनकी प्रवक्ता खादिजा अहमदका अनुसार, अध्यक्षताले सोमबार बिहान १० बजे आपतकालीन बैठक आयोजना गर्ने तयारी गरेको छ ।

    जनवरी महिनाका लागि सुरक्षा परिषद्को अध्यक्षता सोमालियाले सम्हालेको छ । समाचारअनुसार, संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाविरुद्ध सैन्य कारबाही सञ्चालन गर्दै राजधानी काराकासबाट भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।

  • बंगलादेश–भारत विवाद चुलिँदै, टि–२० विश्वकप खेल भारत बाहिर सार्न आग्रह

    बंगलादेश–भारत विवाद चुलिँदै, टि–२० विश्वकप खेल भारत बाहिर सार्न आग्रह

    ढाका, २१ पुस (रासस–एएफपी) । भारतले एक बङ्गलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिग (आइपिएल) छोड्न बाध्य पारेको घटनापछि बङ्गलादेशले आगामी महिना श्रीलङ्कामा सुरु हुने टि–२० विश्वकपमा आफ्ना खेलहरू भारत बाहिर आयोजना गर्न अनुरोध गर्ने भएको छ । बङ्गलादेशका अन्तरिम सरकारका युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले आइतबार राज्यद्वारा सञ्चालित बिएसएस समाचार एजेन्सीमार्फत जारी विज्ञप्तिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र राष्ट्रको गरिमामाथि कुनै पनि प्रकारको अपमान अस्वीकार्य हुने स्पष्ट गरेका छन् ।


    “हामी कुनै पनि परिस्थितिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र बङ्गलादेशको अपमान स्वीकार गर्दैनौँ”, उनले भनेका छन्, “दासत्वका दिनहरू समाप्त भइसकेका छन् ।” उनका अनुसार छिमेकी राष्ट्रहरूबीच बढेको तनावको पृष्ठभूमिमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल टोलीहरूलाई ‘सल्लाह’ दिएपछि बङ्गलादेशका फास्ट बलर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सले शनिबार रिलिज गरेको थियो ।

    नजरुलले बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लाई औपचारिक पत्र लेख्न निर्देशन दिइएको जानकारी दिए । उनले भने, “यदि कुनै बङ्गलादेशी क्रिकेटर अनुबन्धित भएर पनि भारतमा खेल्न नसक्ने अवस्था सिर्जना हुन्छ भने सम्पूर्ण बङ्गलादेशी क्रिकेट टोलीले विश्वकपमा खेल्न आफूलाई सुरक्षित महसुस गर्न सक्दैन ।” यही कारण देखाउँदै उहाँले बङ्गलादेशका विश्वकप खेलहरू श्रीलङ्कामा आयोजना गर्न अनुरोध गर्न पनि बोर्डलाई निर्देशन दिएका छन् ।
    भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टि–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुने तय भएको छ । तालिकाअनुसार बङ्गलादेशले आफ्ना चारवटा समूह चरणका खेल भारतमा खेल्ने कार्यक्रम रहेको छ । यसैबीच, पाकिस्तानले आफ्ना सबै खेल श्रीलङ्कामै खेल्नेछ, जुन भारत र पाकिस्तान दुवैलाई बहुराष्ट्रिय प्रतियोगिताहरूमा तटस्थ स्थल प्रयोग गर्न दिने सम्झौताअन्तर्गत गरिएको व्यवस्था हो ।

    सन् २०२४ मा ढाकामा भएको जनविद्रोहपछि भारतको निकट सहयोगी मानिने तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पदच्युत भएसँगै भारत र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धमा तिक्तता आएको बताइन्छ । भारतको विदेश मन्त्रालयले गत महिना मुस्लिम बहुल बङ्गलादेशमा ‘अल्पसङ्ख्यकहरूविरुद्ध निरन्तर शत्रुता’ भएको भन्दै आलोचना गरेको थियो । तर बङ्गलादेशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले भारतले हिंसाको परिमाणलाई बढाइचढाइ गरेर प्रस्तुत गरेको आरोप लगाएका छन् ।


    बिसिबीका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले आइतबारपछि बोर्डको आपतकालीन बैठक बस्ने जानकारी दिए । “हाम्रा क्रिकेटरहरूको गरिमा र सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो र यही आधारमा हामी उचित समयमा निर्णय गर्नेछौँ”, उहाँले शनिबार राति पत्रकारहरूसँग भनेका थिए ।

    यसअघि आइपिएलका विभिन्न टोलीबाट खेलिसकेका मुस्ताफिजुरलाई कोलकाताले गत डिसेम्बरमा १० लाख अमेरिकी डलरभन्दा बढी रकममा अनुबन्ध गरेको थियो । तर बिसिसिआईका सचिव देवजित साइकियाले ‘हालैको घटनाक्रमलाई ध्यानमा राख्दै’ कोलकातालाई ३० वर्षीय खेलाडीलाई ‘रिहा गर्न’ सल्लाह दिइएको बताए । सन् २०२६ को आइपिएल मार्च २६ बाट सुरु हुने तय छ ।

    नजरुलले आइपिएललाई बङ्गलादेशी प्रसारणकर्ताहरूबाट ब्लक गर्न पनि आग्रह गर्ने बताएका छन् । मैले बङ्गलादेशमा आइपिएल प्रतियोगिताको प्रसारण रोक्न सूचना तथा प्रसारण सल्लाहकारलाई अनुरोध गरेको छु”, उनले भने । यसैबीच, बलिउड सुपरस्टार शाहरुख खानको बहुमत स्वामित्वमा रहेको कोलकाता नाइट राइडर्सले मुस्ताफिजुरलाई ‘उचित प्रक्रिया र परामर्शपछि’ रिलिज गरिएको स्पष्ट पारेको छ ।

  • मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप

    मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप

    काराकास, २१ पुस (रासस–एपी) । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर देश बाहिर लगिएको केही घन्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताएका छन् । उनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र ठूलो परिमाणमा तेल निर्यात गर्ने तयारी रहेको स्पष्ट गरे ।


    यो नाटकीय घटनाक्रम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि ट्रम्प प्रशासनले महिनौँदेखि गर्दै आएको गहिरो दबाब र गोप्य योजनाको परिणामका रूपमा देखिएको छ । सन् २००३ मा इराक आक्रमणपछि शासन परिवर्तन हासिल गर्ने यो सबैभन्दा आक्रामक अमेरिकी कदम मानिएको छ । तर, कङ्ग्रेसको स्वीकृति बिना गरिएको यस सैन्य कारबाहीको कानूनी वैधतामाथि कानूनी विज्ञहरूले तुरुन्तै प्रश्न उठाएका छन् ।

    मदुरो र उनकी पत्नी सिलिया फ्लोर्सलाई राजधानी काराकासस्थित एक सैन्य आधारको निवासबाट रातारात नियन्त्रणमा लिई अमेरिकी युद्धपोतमार्फत अमेरिका लगिएको थियो । उनीहरूलाई ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रमा संलग्न भएको आरोपमा अभियोजनका लागि ल्याइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

    मदुरोलाई बोकेको विमान शनिबार अपराह्न न्युयोर्क नजिकै अवतरण गरेपछि सङ्घीय एजेन्टहरूको कडा सुरक्षाबीच उनलाई म्यानहट्टनस्थित अमेरिकी लागुऔषध नियन्त्रण प्रशासन (डिइए) कार्यालय लगिएको थियो । ब्रुकलिनको सङ्घीय जेलमा मुद्दाको पर्खाइमा उनलाई हिरासतमा राखिने अपेक्षा गरिएको छ ।

    ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको भिडियोमा मदुरो मुस्कुराउँदै डिइए एजेन्टहरूको साथमा देखिएका छन् । यद्यपि अमेरिकी अधिकारीहरूले तत्काल उनी जेलमा रहेको औपचारिक पुष्टि गरेका छैनन् । यस कदमबारे भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले कडा आपत्ति जनाउँदै मदुरोलाई तत्काल रिहा गरी देशको वैध नेता मान्नुपर्ने माग गरेकी छिन् । भेनेजुएलाको कानूनअनुसार उनले अन्तरिम भूमिका ग्रहण गर्न सक्ने व्यवस्था भए पनि रोड्रिग्जले राज्य टेलिभिजनमार्फत आफू सत्ता लिन इच्छुक नरहेको र ‘भेनेजुएलामा एक मात्र राष्ट्रपति निकोलस मदुरो मोरोस नै हुनुहुन्छ’ भन्ने धारणा व्यक्त गरेकी छिन् ।

    (260103) — PALM BEACH, Jan. 3, 2026 (Xinhua) — A screen shot taken from a video released by the White House shows U.S. President Donald Trump holding a press conference at the Mar-a-Lago estate in Palm Beach, Florida, the United States, Jan. 3, 2026. U.S. raid “a heavily fortified military fortress in the heart of Caracas” to capture Maduro — Trump (Xinhua)

    ट्रम्प प्रशासनले यो अपरेसनलाई अमेरिकामा लागुऔषधको अवैध प्रवाह रोक्ने कदमका रूपमा व्याख्या गरेको छ । राष्ट्रपति ट्रम्पले मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ‘सुरक्षित र विवेकपूर्ण सङ्क्रमण सम्भव नहुन्जेलसम्म अमेरिकाले भेनेजुएलाको प्रशासनमा सहयोग गर्ने’ बताए । उनले यसलाई अमेरिकी सार्वभौमिकता र नागरिकको सुरक्षामाथि खतरा पु¥याउनेहरूप्रति कडा चेतावनीका रूपमा पनि वर्णन गरे ।


    शनिबार बिहान काराकासमा विस्फोटहरू सुनिनुका साथै कम उचाइमा सैन्य विमानहरू उडेको देखिएको थियो । भेनेजुएलाको सरकारले यसलाई ‘साम्राज्यवादी आक्रमण” भन्दै नागरिक र सैन्य प्रतिष्ठानहरूमा क्षति पुगेको आरोप लगाएको छ’। आक्रमण करिब ३० मिनेट चलेको बताइन्छ । उपराष्ट्रपति रोड्रिग्जका अनुसार केही नागरिक र सुरक्षाकर्मी मारिएका छन्, तर सङ्ख्या खुलाइएको छैन । अमेरिकी पक्षले भने केही सैनिक घाइते भए पनि मृत्यु नभएको जनाएको छ ।

    मदुरोको कब्जापछि काराकासका केही क्षेत्रमा समर्थकहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरे भने अन्य स्थानहरू सुनसान देखिए । बिजुली अवरुद्ध भएका क्षेत्रहरूमा त्रासको वातावरण थियो । “सबैजना डराएका छन्, धेरै परिवार सुत्न सकेनन्”, काराकासका बासिन्दा नोरिस प्रादाले भने । यसबीच, अमेरिकाको फ्लोरिडास्थित डोरल सहरमा ठूलो भेनेजुएलाली समुदायले मदुरोको पतनलाई स्वागत गर्दै उत्सव मनाएको देखियो ।

    अन्तर्राष्ट्रिय रूपमा पनि यस घटनाले तरङ्ग ल्याएको छ । कोलम्बियाको आग्रहमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भेनेजुएलामा अमेरिकी सैन्य अपरेसनबारे छलफल गर्न आपतकालीन बैठक बोलाउने तयारी गरेको कूटनीतिक स्रोतहरूले जनाएका छन् । अमेरिकी कङ्ग्रेसका दुवै दलका केही सांसदहरूले कङ्ग्रेसको स्वीकृति बिना गरिएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रशासनसँग यसको कानूनी आधार र क्षेत्रीय स्थिरताबारे स्पष्ट जवाफ माग गरेका छन् ।

  • दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

    दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

    सियोल, २१ पुस (रासस–एपी) । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ चीन भ्रमणमा निस्कनु केही घण्टाअघि उत्तर कोरियाले आइतबार समुद्रतर्फ धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । छिमेकी मुलुकहरूले यसलाई क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा लिएका छन् । दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले जारी गरेको विज्ञप्तिअनुसार उत्तर कोरियाको राजधानी क्षेत्रबाट बिहान करिब ७ः५० बजे क्षेप्यास्त्र प्रक्षेपण गरिएको पत्ता लागेको हो । ती क्षेप्यास्त्रहरू करिब ९०० किलोमिटर उडेर समुद्रमा खसेका छन् । दक्षिण कोरिया र अमेरिकाका अधिकारीहरूले प्रक्षेपणसम्बन्धी विवरणको विश्लेषण गरिरहेका छन् ।

    दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको कुनै पनि उक्साहटको जवाफ दिन तयारी अवस्थामा रहेको र मिसाइल प्रक्षेपणबारे अमेरिका तथा जापानसँग नजिकको समन्वय र सूचना आदानप्रदान भइरहेको जनाएको छ । जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले कम्तीमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै यसले जापान मात्र नभई, क्षेत्र र विश्वको शान्ति तथा सुरक्षालाई गम्भीर खतरा पुर्‍याएको बताए ।

    विशेषज्ञहरूका अनुसार यी प्रक्षेपणहरू उत्तर कोरियाले हालैका हप्ताहरूमा देखाउँदै आएको हतियार प्रदर्शनको पछिल्लो कडी हुन् । उत्तर कोरियाले आगामी सत्तारूढ वर्कर्स पार्टीको सम्मेलनअघि रक्षा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू देखाउने वा समीक्षा गर्ने उद्देश्य राखेको हुनसक्ने विश्लेषण गरिएको छ । यो सम्मेलन पाँच वर्षपछि पहिलोपटक हुने अपेक्षा छ । पर्यवेक्षकहरूका अनुसार सम्मेलनले अमेरिकासँगको नीतिगत दिशा र लामो समयदेखि रोकिएका वार्ताहरू पुनः सुरु हुने–नहुने सङ्केत दिन सक्छ ।

    उत्तर कोरियाली नेता किम जोङ–उनले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ता विफल भएपछि आणविक हतियार विस्तारमा ध्यान केन्द्रित गर्दै आउनुभएको छ । युक्रेन युद्धको पृष्ठभूमिमा रुससँगको सहकार्य र चीनसँगको सम्बन्ध सुदृढ गर्दै उहाँले कूटनीतिक प्रभाव बढाएको विश्लेषण छ । दक्षिण कोरियाको गुप्तचर सेवाका अनुसार पार्टी सम्मेलन जनवरी वा फेब्रुअरीमा हुनसक्ने सम्भावना छ ।

    आइतबारको प्रक्षेपण राष्ट्रपति लीको चारदिने चीन भ्रमणअघि भएको हो । उहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ता गर्दै उत्तर कोरियाको प्रमुख सहयोगी तथा ठूलो व्यापारिक साझेदार चीनलाई कोरियाली प्रायद्वीपमा शान्ति प्रवद्र्धनका लागि रचनात्मक भूमिका खेल्न आग्रह गर्ने तयारीमा हुनुहुन्छ । दक्षिण कोरिया र अमेरिकाले लामो समयदेखि उत्तर कोरियालाई वार्तामा फर्काउन चीनको प्रभाव प्रयोग गर्न अनुरोध गर्दै आएका छन्, तर बेइजिङको वास्तविक प्रभाव कति छ भन्नेबारे प्रश्न उठ्दै आएको छ । पछिल्ला वर्षहरूमा उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने प्रयासलाई चीन र रुसले बारम्बार अवरुद्ध गरेका छन् ।

    प्रक्षेपणपछि दक्षिण कोरियाले आपतकालीन राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएको थियो । बैठकमा अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्ताव उल्लङ्घन हुने गरी गरिने ब्यालेस्टिक मिसाइल प्रक्षेपण तत्काल रोक्न उत्तर कोरियालाई आग्रह गरेका छन् । परिषद्को छलफल र आवश्यक कदमबारे राष्ट्रपति लीलाई जानकारी गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    यसैबीच, उत्तर कोरियाले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीबारे कुनै टिप्पणी गरेको छैन । शनिबार अमेरिकाले भेनेजुएलाका नेता निकोलस मदुरोलाई नियन्त्रणमा लिई अमेरिका लगेको घटनापछि क्षेत्रीय तथा विश्व राजनीतिमा तरङ्ग देखिएको छ । सियोलस्थित इवा वुमन्स युनिभर्सिटीका अन्तर्राष्ट्रिय अध्ययन प्राध्यापक लीफ–एरिक इस्लीका अनुसार यस्ता घटनाले किम जोङ–उनजस्ता नेताहरूलाई आणविक प्रतिरोध क्षमतामा अझ जोड दिन प्रेरित गर्न सक्छ ।

    उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले आइतबार किमले शनिबार एक हतियार कारखानाको निरीक्षण गरी त्यहाँ उत्पादित बहुउद्देश्यीय सटीक निर्देशित हतियारहरूको समीक्षा गर्नुभएको जनाएको छ । उहाँले उत्पादन क्षमता करिब २।५ गुणा बढाउन निर्देशन दिनुभएको उल्लेख गरिएको छ । गत साता उत्तर कोरियाले लामो दूरीको रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको थियो भने डिसेम्बर २५ मा पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाउने तस्बिरहरू सार्वजनिक गरेको थियो ।

  • कङ्गोको पूर्वी क्षेत्रमा द्वन्द्व चर्किँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चासो

    कङ्गोको पूर्वी क्षेत्रमा द्वन्द्व चर्किँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चासो

    कङ्गो, किन्शासा, २१ पुस (रासस–सिन्ह्वा) । अफ्रिकी देश कङ्गो लोकतान्त्रिक गणतन्त्रको पूर्वी क्षेत्रमा भएको ड्रोन आक्रमणसम्बन्धी समाचारप्रति संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनले गम्भीर चासो व्यक्त गरेको छ । कङ्गोमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन प्रमुख मोनुस्कोले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा सर्वसाधारण तथा नागरिक पूर्वाधारलाई लक्षित गर्ने सबै प्रकारका आक्रमणको कडा निन्दा गर्नुभएको छ । उक्त क्षेत्रमा सरकारी सुरक्षा बल र ‘एम–२३’ आन्दोलन नामक विद्रोही समूह बीच भीषण झडप भइरहेको छ ।

    संयुक्त राष्ट्रसङ्घीय मिसनले सबै पक्षलाई युद्धविरामको कडाइका साथ पालना गर्न, अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न तथा कूटनीतिक पहलमार्फत सम्पन्न शान्ति सम्झौताहरू कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्थाले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, आवासीय क्षेत्रमा भएको हवाई आक्रमणपछि अस्पतालमा महिला तथा बालबालिकासहित ४२ जना घाइते भर्ना गरिएका थिए । उपचारका क्रममा दुई जनाको मृत्यु भएको जनाइएको छ ।

    मासिसी क्षेत्र पूर्वी कङ्गोमा द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक मानिन्छ । पछिल्लो ड्रोन आक्रमणको घटना गत साता ‘एम–२३’ विद्रोही समूह, कङ्गो सेना तथा तिनका समर्थकबीच झडप भएको हो । उभिरा रणनीतिक महत्त्वको सहर हो, जसलाई ‘एम–२३’ समूहले सन् २०२५ देखि छोटो समयका लागि नियन्त्रणमा लिएको थियो र एक सातापछि फिर्ता भएको दाबी गरेको थियो ।
    पूर्वी कङ्गो विगत धेरै दशकदेखि निरन्तर हिंसाबाट ग्रसित रहँदै आएको छ । सन् २०२१ को अन्त्यदेखि ‘एम–२३’ विद्रोह पुनः सक्रिय भएपछि अवस्था अझै जटिल बनेको छ । कङ्गो सरकारले छिमेकी रुवान्डाले विद्रोही समूहलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएको छ, तर रुवान्डाले ती आरोपहरू अस्वीकार गर्दै आएको छ ।

  • सिरियामा आइएस लक्ष्यमा बेलायत–फ्रान्सको हवाई आक्रमण

    सिरियामा आइएस लक्ष्यमा बेलायत–फ्रान्सको हवाई आक्रमण

    दमास्कस, २० पुस (रासस–एपी) । बेलायती र फ्रान्सेली लडाकू विमानहरूले मध्य सिरियामा इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित हतियार र विस्फोटक भण्डारण गरिएको आशङ्का गरिएको एक भूमिगत केन्द्रमा हवाई आक्रमण गरेका छन् । बेलायती रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।

    मन्त्रालयका अनुसार शनिबार साँझ सिरियाको होम्स प्रान्तस्थित ऐतिहासिक सहर पालमिराको उत्तरतर्फ रहेको एक पहाडी संरचनाभित्रको भूमिगत सुविधालाई लक्षित गरी आक्रमण गरिएको थियो । सो स्थानमा आइएसका सदस्यहरूले हतियार तथा विस्फोटक सामग्री भण्डारण गरेको सूचनाका आधारमा कारबाही गरिएको जनाइएको छ ।

    बेलायत र फ्रान्स विगत एक दशकभन्दा बढी समयदेखि आइएसविरुद्ध सङ्घर्ष गर्दै आएको अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनका सदस्य राष्ट्र हुन् । जारी विज्ञप्तिअनुसार बेलायती वायु सेनाले भोयजर रिफ्युलिङ ट्याङ्करको सहयोगमा टाइफुन एफजिआर–४ लडाकू जेट प्रयोग गरेको थियो भने फ्रान्सेली लडाकू विमानहरू पनि संयुक्त आक्रमणमा सहभागी भएका थिए ।

    बेलायती वायु सेनाले पेभवे–४ निर्देशित बम प्रयोग गरी उक्त भूमिगत केन्द्रका तलतर्फ रहेका धेरै पहुँच सुरुङहरूलाई लक्षित गरेको जनाएको छ । मन्त्रालयका अनुसार आक्रमणपछिको विस्तृत मूल्याङ्कन प्रक्रिया जारी रहे पनि प्रारम्भिक सङ्केतहरूले ‘लक्ष्य सफलतापूर्वक संलग्न गरिएको’ देखाएको छ ।

    बेलायतका रक्षामन्त्री जोन हेलीले यस कारबाहीले मध्यपूर्व क्षेत्रमा आइएस र यसको ‘हिंसात्मक विचारधारा’ को कुनै पनि पुनरुत्थान रोक्न बेलायत आफ्ना सहयोगी राष्ट्रहरूसँग काँधमा काँध मिलाएर उभिन प्रतिबद्ध रहेको सन्देश दिएको बताएका छन् । यस आक्रमणबारे सिरियाली सरकारको तर्फबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । सिरिया गत वर्षको अन्त्यतिर औपचारिक रूपमा आइएसविरोधी अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल भएको थियो ।

    सन् २०१९ मा सिरियामा निर्णायक सैन्य पराजय भोगेपछि पनि आइएसका स्लीपर सेलहरू अझै सक्रिय रहेको मानिन्छ । ती समूहहरूले सिरिया र इराकमा छिटपुट तर घातक आक्रमणहरू गर्दै आएका छन्, जहाँ एक समय उनीहरूले तथाकथित ‘खिलाफत’ घोषणा गरेका थिए । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूका अनुसार आइएससँग अझै पनि सिरिया र इराकका आफ्ना पुराना गढ क्षेत्रमा करिब पाँच हजारदेखि सात हजार सदस्यहरू सक्रिय छन् ।

    गत महिना, पालमिरा नजिकै भएको एक आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषे मारिएपछि त्यसको प्रतिशोधस्वरूप ट्रम्प प्रशासनले सिरियामा आइएस लडाकूहरू र हतियार केन्द्रहरूलाई ‘उन्मूलन’ गर्ने उद्देश्यले अमेरिकी सैन्य आक्रमण सुरु गरेको थियो । अहिलेको बेलायत–फ्रान्सको संयुक्त हवाई कारबाही पनि त्यही व्यापक सुरक्षा प्रयासको निरन्तरता मानिएको छ ।

  • साउदी अरब नेतृत्वको आक्रमणबाट यमनमा कम्तीमा ८० पृथकतावादीको मृत्यु

    साउदी अरब नेतृत्वको आक्रमणबाट यमनमा कम्तीमा ८० पृथकतावादीको मृत्यु

    एडेन, यमन, २० पुस (रासस–एएफपी) । यमनको पृथकतावादी दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटिसी) का कम्तिमा ८० सैनिकहरू शुक्रबारदेखि साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाइँ र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले आइतबार एएफपीसँग बताएका छन्।

    “संयुक्त अरब इमिरेट्स समर्थित एसटिसी बलका कम्तिमा ८० जना मारिएका, १३० जनालाई बन्धक बनाइएको र १५२ सदस्य घाइते भएका छन्,” समूहका अधिकारीले बताएका छन् । साउदी समर्थित सेनाले शुक्रबार युएई समर्थित एसटिसीले कब्जा गरेको भूभाग फिर्ता लिन अभियान सुरु गरेको छ । रियाद र अबु धाबीको समर्थन प्राप्त सेनाहरूबीच प्रभुत्वको लागि भएको सङ्घर्षले दुई खाडी सहयोगीहरूबीचको दरार गहिरो बनाएको छ ।

    साउदी नेतृत्वको गठबन्धनले पृथकतावादीको कब्जामा रहेको सैन्य शिविरलाई लक्षित गरी गरेको आक्रमणमा अधिकांश मृत्यु भएको अधिकारीले बताएका छन् । यमनी एसटिसी पूमुखले शनिबार एसटिसीले संसाधन–सम्पन्न हद्रामावाटलाई पुनः कब्जा गर्ने घोषणा गरेको छ । रियाद–समर्थित सरकारी सैन्य अधिकारीहरूले पनि शनिबार छिमेकी माहरा प्रान्तका अधिकारीहरूले कुनै प्रतिरोध बिना आफ्नो निष्ठा फिर्ता लिएको बताएका छन्।

    साउदी समर्थित सेनाले आइतबार हद्रामावाट प्रान्तको राजधानी मुकल्लामा आफ्नो उपस्थितिलाई मजबुत बनाउने काम गरिरहेको दुई सरकारी सैन्य अधिकारीले एएफपीलाई बताएका छन् । रियाद र अबु धाबीले यमनको विभाजित सरकारमा लामो समयदेखि प्रतिद्वन्द्वी समूहहरूलाई समर्थन गर्दै आएका छन्। एसटिसीले डिसेम्बरमा गरेको आक्रमणमा उसले हद्रमावाट र माहरालाई नियन्त्रणमा लिएको थियो । यसले साउदी अरबलाई आक्रोशित बनायो, जसले दुई तेल–धनी शक्तिहरूबीचको सम्बन्धमा तनावको सिर्जना गर्यो ।

    साउदी नेतृत्वको गठबन्धनले गत हप्तामा बारम्बार पृथकतावादीहरूलाई कथित इमिराती हतियार ढुवानी रोक्न चेतावनी दिएको र हवाई आक्रमण गरेको छ । शुक्रबार हद्रामावतस्थित अल–खाशा सैन्य शिविरमा भएको आक्रमणमा २० जनाको मृत्यु भएको थियो । शनिबार एसटिसीका एक सैन्य अधिकारीले एएफपीसँग भने,“साउदी युद्धक विमानहरूले मुकल्लाको पश्चिममा रहेको बार्सिदमा समूहको अर्को शिविरमा ‘व्यापक’ हवाई आक्रमण गरेका थिए ।

  • भेनेजुयलाद्वारा अमेरिकासँग राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी माग

    भेनेजुयलाद्वारा अमेरिकासँग राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी माग

    काराकस, १९ पुस (रासस–एएफपी) । भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताएकी छन् । सरकारले उनीहरु जीवित रहेको तत्काल प्रमाण मागेको उनले बताइन् । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले सरकारले शनिबार बिहानै भएको अमेरिकी आक्रमणका मृतक र घाइतेको बारेमा जानकारी लिन काम गरिरहेको बताएका छन् । उनले सर्वसाधारण बसोबास गर्ने आवासीय क्षेत्रमा आक्रमण भएको दावी गरे ।


    उनले भेनेजुएलाले विदेशी सेनाको उपस्थितिको विरोध गर्ने पनि बताए । यसका साथै भेनेजुएलाका रक्षामन्त्रीले देशभरि तत्काल सैन्य बल तैनाथ गर्ने घोषणा गरे । स्पेनी भाषामा बोल्दै लोपेजले भेनेजुएलामाथि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमणको सामना गर्न सर्वसाधारणलाई एकजुट हुन आह्वान गरेका छन् । उनले भेनेजुएलाले सबै सशस्त्र सेना परिचालन गर्ने मदुरोको आदेशलाई पालना गरिरहेको बताए ।


    “उनीहरूले हामीमाथि आक्रमण गरेका छन् तर उनीसँग हामी झुक्ने छैनौँ,” रक्षामन्त्री लोपेजले भने । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणबाट ला कार्लोटा, शहरको मुटुमा रहेको सैन्य अखडा र मुख्य सैन्य अड्डा फुएर्ते तिउना पनि प्रभावित भएका छन्। दुवै ठाउँमा भएका विस्फोटको भिडियो पनि सार्वजनिक भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई ट्रम्प प्रशासनले हप्तौँदेखि दबाब दिएपछि यो आक्रमण भएको हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपतिमाथि लागुऔषध ओसारपसार र अमेरिकामा अपराध फैलाउने कार्यमा संलग्न रहेको आरोप लगाएका छन् । अमेरिकी हवार्य हमलापछि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले एक विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गर्नुभएको थियो भने राष्ट्रिय आपतकाल घोषणा गरेका थिए ।


    भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकी सेनाको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै काराकासमा भएको आक्रमणको उद्देश्य आफ्नो देशको स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीति बताएका थिए । भेनेजुएलाको राजधानी काराकासका कैयौँ क्षेत्रमा एकैपटक विस्फोटको आवाज सुनिएको थियो। विस्फोट भएका क्षेत्रमा सैन्य अखडा पनि रहेका छन् ।

  • आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ

    आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ

    काराकस, १९ पुस (रासस–एएफपी–एपी) । भेनेजुएलाले शनिबार बिहानै अमेरिकाले आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाउँदै ठूलो मात्रामा सैन्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ । आक्रमणपछि अमेरिकी सेनाले भेनेजुयलाका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मदुरोलाई उनकी पत्नीसहित पक्राउ गरिएको छ र देश बाहिर लगिएको छ । यो कारबाही अमेरिकी कानून प्रवर्तनसँग मिलेर गरिएको थियो। थप विवरणहरू पछि प्राप्त हुनेछन् ।”

    अमेरिकी राष्ट्रपति ट्रम्पले यस घटनाबारे थप विवरणका लागि अमेरिकी समय अनुसार शनिबार बिहान पत्रकार सम्मेलन गर्ने बताएका छन् । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर प्याड्रिनो लोपेजले सामाजिक सञ्जालमा साझा गरिएको एक भिडियो वक्तव्यमा भनेका छन्, “आक्रमणमा संलग्न अमेरिकी सेनाले हाम्रो भूमिमा ‘अपवित्र हस्तक्षेप’ गरेको छ । उनीहरूले आफ्नो लडाकु हेलिकप्टरबाट मिसाइल र रकेटहरू प्रयोग गरी भेनेजुयलामाथि प्रहार गरेका छन् ।”

    लोपेजले थपे, “भेनेजुयलाले राष्ट्रको सार्वैभौम रक्षाको लागि स्थलसेना, वायुसेना, नौसेना, नदी र मिसाइल क्षमताहरूको ठूलो प्रयोग गर्नेछ ।” अमेरिकी कानून अन्तर्गत आक्रमणको कानुनी कारण तत्काल स्पष्ट भएको छैन। सिनेटर माइक ली, आर–यूटाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “आफुले विदेशमन्त्री मार्को रुबियोसँग भेनेजुयलाको पछिल्लो घटनाबारे कुरा गरेको र रूबियोबाट नै आक्रमणबारे जानकारी प्राप्त भएको हो।”

    लीले रुबियोलाई उद्धृत गर्दै भने, “मदुरोलाई अमेरिकी अधिकारीहरूले संयुक्त राज्य अमेरिकामा आपराधिक आरोपमा मुद्दा चलाउन पक्राउ गरिएको हो ।”
    ह्वाइट हाउसले मदुरो र उहाँकी पत्नीलाई कहाँ लगिएको हो भन्नेबारे तत्काल केही बताएको छैन । सन् २०२० मार्चमा मादुरोलाई न्यूयोर्कको दक्षिणी जिल्लामा ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रको आरोपमा अभियोग लगाइएको थियो।

    राष्ट्रपति मादुरो पछिल्लो पटक शुक्रबार काराकासमा चिनियाँ अधिकारीहरूसँगको भेटघाटका क्रममा सार्वजनिक भएका छन् । यसैबीच, भेनेजुयलाका अधिकारीहरूले वाशिङ्गटनको आक्रमणमा मृत्यु भएका र घाइते भएका सेना र सर्वसाधारणको तथ्याङ्क संकलन भइरहेको जनाएका छन् । लोपेजका अनुसार भेनेजुएलाको सबैभन्दा ठूलो सैन्य शिविर फुएर्ते तिउना, राजधानी वरपरका मिरान्डा, अराग्वा र ला ग्वाइरा राज्यमा केही आवासीय क्षेत्रमा क्षति पुगेको छ ।

    एएफपीका पत्रकारहरूले राजधानी काराकासमा बिहान २ बजे विस्फोटनको आवाज सुनिएको र राजधानी काराकास र वरपरका क्षेत्रमा ‘आतङ्क मच्चिएको’ बताएका छन्। देशका अन्य शहरहरूमा पनि थप विस्फोटहरू भएका बताइएको छ । राजधानीका आकासमा करिब एक घण्टासम्म विमानको आवाज सुनिएको र उक्त अवधिभर व्यापक हवाई आक्रमणहरू भएको र ठूला ठूला विस्फोटका आवाज सुनिएको थियो । आक्रमणबाट भेनेजुयलाको राजधानीका कैयौँ क्षेत्र बिजुलीविहीन भएका छन् । रक्षामन्त्री लोपेजले अमेरिकी आक्रमणबाट संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको भन्दै भेनेजुयलाले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरेको बताए ।