Category: विश्व

  • इरानका केही शहरमा क्षेप्यास्त्र परीक्षण गरिएको दावी

    इरानका केही शहरमा क्षेप्यास्त्र परीक्षण गरिएको दावी

    तेहरान, ८ पुस (रासस–सिन्ह्वा) । इरानले सोमबार देशका विभिन्न स्थानमा कैयौँ क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँको अर्धसरकारी समाचार संस्था (फार्स) ले जनाएको छ । ती क्षेप्यास्त्र इरानको खोर्रामाबाद, महाबाद, इस्फहान, तेहरान र मशहादमा परीक्षण गरिएको फार्सले जनाएको छ ।

    सोमबार इरानी सेनाका प्रमुख आमिर हतामीले भने, “इरानीसेना असममित र अनियमित युद्धसहित कुनै पनि खतराको सामना गर्न सधैं तयार छ।” पश्चिमी इरानमा तैनाथ सैनिक इकाइहरूको भ्रमणका क्रममा हतामीले भने, “हामी दुश्मनको हरेक गतिविधिलाई नजिकबाट नियालिरहेका छौँ र कुनै पनि दुर्भावनापूर्ण कार्यको निर्णायक जवाफ दिनेछौँ ।”

  • पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

    पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

    होनोलुलु (अमेरिका), ७ पुस (रासस–एपी) । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, को १०५ वर्षको उमेरमा निधन भएको छ । उनको निधन शनिबार बिहान आफ्नै घरमा परिवारको उपस्थितिमा भएको उनकी छोरी किम्बर्ली हेनरिकसले जानकारी दिइन् ।


    उनको निधनसँगै पर्ल हार्बरको आकस्मिक आक्रमणबाट बाँचेकाहरूको सङ्ख्या करिब एक दर्जनमा सीमित भएको छ । उक्त आक्रमणमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको ज्यान गएको थियो र यसले संयुक्त राज्य अमेरिकालाई दोस्रो विश्वयुद्धमा प्रवेश गराएको थियो । आक्रमणका बेला स्काब केवल २१ वर्षका जवान नाविक थिए । लामो समयसम्म उनले त्यो भयावह अनुभवबारे धेरै बोलेनन् ।

    तर पछिल्ला वर्षहरूमा जीवित साक्षीहरू क्रमशः घट्दै गएको महसुस गरेपछि उनी ओरेगनस्थित आफ्नो घरबाट हवाई पुगेर पर्ल हार्बरको वार्षिक स्मरण कार्यक्रममा सहभागी हुन थालेका थिए । सन् २०२३ मा उनले ‘असफल नभएका साथीहरूलाई सम्मान गर्न’ आफू त्यहाँ जाने गरेको बताएका थिए । गत वर्षको स्मरणोत्सवका लागि उनले खडा भएर सम्मान प्रकट गर्न सक्ने शक्ति जुटाउन हप्तौँ अभ्यास गरेका थिए । तर यस वर्ष भने स्वास्थ्यले साथ नदिएपछि सहभागी हुन सकेनन् । त्यसको केही सातापछि नै उनको निधन भयो ।

    सन् १९२० मा शिकागोमा स्वतन्त्रता दिवसका दिन जन्मिएका स्काब तीन दाजुभाइमध्ये जेठा थिए । उनले आफ्ना पिताको पाइला पछ्याउँदै १८ वर्षकै उमेरमा अमेरिकी नौसेनामा सेवा प्रवेश गरे । सन् १९४१ डिसेम्बर ७ को त्यो आइतबार बिहान शान्त वातावरणमा युएसएस डोबिन जहाजको ब्यान्डमा टुबा बजाइरहेका उनी आफ्ना भाइको भेटको प्रतीक्षामा थिए । नुहाएर सफा वर्दी लगाइसकेका बेला अचानक आगलागी उद्धारको सङ्केत सुने । डेकमा निस्कँदा नजिकैको युएसएस उटाह पल्टिएको र जापानी विमानहरू आकाशमा घुमिरहेको दृश्य देखियो ।


    “हामी अत्यन्तै स्तब्ध भयौँ, डरले जमेको जस्तो भएको थियो”, उनले सन् २०२३ मा सम्झिएका थिए, “के हुन्छ भन्ने थाहा थिएन, तर केही भयो भने त्यो गम्भीर हुने निश्चित थियो ।” उनी तुरुन्तै गोला–बारुदका बक्स लिन डेक मुनि झरे र विमान–विरोधी तोपमा गोला पु¥याइरहेका सहकर्मी नाविकहरूसँग मिलेर काम गरे । नौसेनाको रेकर्डअनुसार उनको जहाजले आक्रमणमा तीन जना नाविक गुमाएको थियो ।

    स्काबले युद्धको अधिकांश समय प्रशान्त महासागर क्षेत्रमा बिताए । नयाँ हेब्रिड्स (हालको भानुआटु), मारियाना टापुहरू हुँदै जापानको ओकिनावासम्म पुगे । युद्धपछि उनले एयरोस्पेस इन्जिनियरिङ अध्ययन गरे र अपोलो अन्तरिक्ष कार्यक्रमअन्तर्गत जनरल डायनामिक्समा इलेक्ट्रिकल इन्जिनियरका रूपमा काम गरे । जसले मानवलाई चन्द्रमामा पुर्‍याउन महत्त्वपूर्ण योगदान पु¥याएको थियो ।

    उनका छोरा पनि नौसेनामा सेवा गरेर सेवानिवृत्त कमान्डर बनको छन् ।
    सन् २०२२ को एक समारोहमा बोल्दै स्काबले पर्ल हार्बरमा सेवा गर्ने सबैलाई सम्झन र सम्मान गर्न आग्रह गरेका थिए । “उनीहरू यहाँ किन थिए, त्यो सम्झनुहोस् । बाँकी रहेकाहरूलाई सम्मान गर्नुहोस्, जिउँदा वा दिवङ्गत, सबैले अत्यन्तै ठूलो काम गरेका छन्”, उनले भनेका थिए ।

  • ग्रीसको पर्यटनमा सन् २०२५ ले ‘उच्च रेकर्ड’ कायम

    ग्रीसको पर्यटनमा सन् २०२५ ले ‘उच्च रेकर्ड’ कायम

    एथेन्स, ७ पुस (रासस–एएफपी) । ग्रीसको अर्थतन्त्रको एक प्रमुख क्षेत्रमा श्रम अभाव जारी भए पनि ग्रीसले सन् २०२५ मा पर्यटनका लागि ‘अर्को उच्च रेकर्ड’ कोर्ने बाटोमा रहेको बताएको छ । नोभेम्बरको अन्त्यमा प्रकाशित ‘बैङ्क अफ ग्रीस’को तथ्याङ्क अनुसार सन् २०२५ जनवरीदेखि सेप्टेम्बरको अन्त्यसम्ममा लामो समयदेखि घमाइलो टापु र सम्पन्न पुरातात्विक स्थलहरूको लागि पर्यटकहरूको प्रिय भूमध्यसागरीय राष्ट्र (ग्रीस) मा सन् २०२५ मा तीन करोड १६ लाख आगन्तुकहरूलाई स्वागत गरेको छ । यो सन् २०२४ को सोही अवधिको तुलनामा चार प्रतिशतले बढी हो ।

    “समग्रमा, सन् २०२५ मा हाम्रो देशमा पर्यटनको लागि अर्को रेकर्ड वर्ष हुनेछ,” पर्यटन मन्त्री केफालोजियानीले ग्रीक समाचार एजेन्सी एएनएसँगको अन्तर्वार्तामा भने । उनले सन् २०२६ अर्को उपहार लिएर आउने आशा पनि व्यक्त गरे । “सन् २०२६ का लागि सूचकहरू पहिले नै विशेष रूपमा उत्साहजनक छन् र हामीलाई आशावादी हुन अनुमति दिन्छ,” उनले भने । कोभिड–१९ महामारीपछि ग्रीसले पर्यटन राजस्व र विदेशी पर्यटकको सङ्ख्यामा वार्षिक रेकर्ड तोड्दै आएको छ ।

    सन् २०२४ मा चार करोड ७० हजार मानिसहरूले ग्रीस भ्रमण गरेका थिए र यो सन् २०२३ को तुलनामा १२.८ प्रतिशतले बढी हो । यो वृद्धिले पर्यटनका लागि धेरै प्रसिद्ध स्थलहरूमा अनियन्त्रित निर्माणको चिन्ता जगाएको छ । एथेन्सका स्थानीयहरूले छोटो अवधिको विदा र विदा मनाउनका लागि सरकारले गरेको पर्यटनको प्रचारप्रसारले ग्रीसमा भाडा आकाशिएको छ ।

    जलवायु परिवर्तनले निम्त्याएको उष्ण लहर र बढ्दो विनाशकारी जङ्गलको डढेलोले पनि यस क्षेत्रका लागि खतरा निम्त्याएको छ । प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले वित्तीय सङ्कटपछि अर्थतन्त्रलाई पुनर्जीवित गर्ने प्रयासमा सन् २०१९ मा पदभार ग्रहण गरेदेखि पर्यटनका लागि प्रचारप्रसारलाई व्यापकता दिएका छन् । इन्स्टिच्युट अफ द ग्रीक टुरिजम कन्फेडेरेसन (इनसेट) का अनुसार सन् २०२४ मा कुल गार्हस्थ्य उत्पादनमा पर्यटनले प्रत्यक्ष योगदान १३ प्रतिशत र अप्रत्यक्ष रूपमा कुल गार्हस्थ्य उत्पादनमा ३० प्रतिशतभन्दा बढी योगदान पुर्याएको थियो।

  • साउदी अरबमा गैर–मुस्लिम विदेशीका लागि मदिरा पसलको पहुँच विस्तार

    साउदी अरबमा गैर–मुस्लिम विदेशीका लागि मदिरा पसलको पहुँच विस्तार

    रियाद, ७ पुस (रासस–एपी) । साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा पहुँच विस्तार गरेको छ । यस निर्णयसँगै अब धनी गैर–मुस्लिम विदेशी बासिन्दाहरूले पनि मदिरा किन्न पाउने भएका छन् । यो कदमलाई एक समय अत्यन्त रूढीवादी मानिएको राज्यले अपनाइरहेको उदारीकरण नीतिको पछिल्लो चरणका रूपमा हेरिएको छ ।

    यस विषयमा कुनै औपचारिक घोषणा गरिएको छैन । तर जानकारी बाहिरिएसँगै राजधानी रियादको डिप्लोमेटिक क्वार्टरमा रहेको विवेकपूर्ण र अचिह्नित स्टोर बाहिर कार र मानिसहरूको लामो लाइन देखिन थालेको छ । यो स्टोर सन् २०२४ जनवरीमा गैर–मुस्लिम कूटनीतिज्ञहरूका लागि मात्र खोलिएको थियो । हाल नयाँ नियमअनुसार प्रिमियम रेसिडेन्सी अनुमति प्राप्त गैर–मुस्लिम विदेशीहरूलाई पनि खरिद गर्न अनुमति दिइएको छ । यस्तो रेसिडेन्सी विशेष सीप भएका विज्ञ, लगानीकर्ता तथा उद्यमीहरूलाई प्रदान गरिन्छ ।

    इस्लामका सबैभन्दा पवित्र स्थलहरूको घर साउदी अरेबियामा सन् १९५० को दशकदेखि मदिरा पूर्ण रूपमा प्रतिबन्धित छ । उक्त स्टोरलाई राज्यले मदिराको सीमित र नियन्त्रित बिक्री कसरी सम्भव हुन्छ भन्ने सावधानीपूर्वक परीक्षणका रूपमा लिएको विश्लेषकहरूको भनाइ छ ।

    साउदी अरबका वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमान र उनका ता राजा सलमानको नेतृत्वमा राज्यले पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार विस्तार र तेलमा निर्भर अर्थतन्त्र घटाउने उद्देश्यले व्यापक सामाजिक–आर्थिक सुधार अघि बढाइरहेको छ । यसअन्तर्गत चलचित्र हल खोलिएका छन्, महिलालाई गाडी चलाउन अनुमति दिइएको छ र ठूला सङ्गीत महोत्सवहरू आयोजना हुन थालेका छन् । यद्यपि राजनीतिक अभिव्यक्ति र असहमतिको विषयमा राज्य अझै कडा छ, जहाँ कडा सजायसम्मको व्यवस्था छ ।

    सामान्य जनताका लागि भने मदिरा अझै प्रतिबन्धित नै छ । उक्त अचिह्नित पसल शुल्क–मुक्त स्टोर जस्तै देखिन्छ र यसको स्वामित्व आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । सुरक्षाको व्यवस्था कडा छ । आगन्तुकहरू प्रवेशअघि योग्यता जाँच र सुरक्षा परीक्षणबाट गुज्रनुपर्छ । भित्र मोबाइल फोन र क्यामेरा प्रतिबन्धित छन्, स्मार्ट चश्मासमेत जाँच गरिन्छ ।

    एसोसिएटेड प्रेसले पसलबाट निस्किएका केही ग्राहकहरूसँग कुरा गरेको छ । मदिरासँग जोडिएको सामाजिक संवेदनशीलताका कारण उनीहरूले नाम नखुलाउने सर्तमा प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार मूल्यहरू निकै महँगा छन् । कूटनीतिज्ञहरूलाई कर छुट दिइए पनि प्रिमियम रेसिडेन्सी धारकहरूलाई त्यो सुविधा छैन । पसलमा मदिराको सङ्ग्रह तुलनात्मक रूपमा राम्रो भए पनि बियर र वाइनको छनोट केही सीमित रहेको उनीहरूको भनाइ छ ।

    प्रिमियम रेसिडेन्सी योजना विश्वव्यापी प्रतिभा र लगानी आकर्षित गर्ने साउदी रणनीतिअन्तर्गत सुरु गरिएको हो । यसका लागि साउदी प्रायोजक आवश्यक पर्दैन र यसले सम्पत्ति किन्न, व्यवसाय सुरु गर्न र परिवारलाई प्रायोजन गर्न पाउने अधिकार दिन्छ, तर उच्च आय वा ठूलो लगानी अनिवार्य छ । मदिरा चाहने धेरै साउदी र बासिन्दाहरू छिमेकी बहराइन जाने गर्छन् । त्यहाँ मदिरा कानूनी रूपमा उपलब्ध छ ।

    सप्ताहन्त र बिदामा बहराइन साउदीसहित खाडी क्षेत्रका आगन्तुकले भरिने गर्छ । दुबई जानु अझ महँगो विकल्प मानिन्छ । कतिपयले तस्करी गरिएको महँगो वा जोखिमपूर्ण घरेलु मदिराको सहारा पनि लिन्छन् । यसका विकल्पका रूपमा कतिपय साउदीहरूले मदिरा–रहित पेय पदार्थ रोज्ने गरेका छन्, विशेष गरी ठूला कार्यक्रम र उत्सवहरूमा, जहाँ मदिरा–रहित बियर स्ट्यान्डमा लामो लाइन देखिनु असामान्य छैन ।


    इतिहासमा फर्किँदा, साउदी अरबका संस्थापक राजा अब्दुलअजिजले सन् १९५१ मा आफ्ना छोरा राजकुमार मिशारीले नशामा जेद्दामा बेलायती उप–वाणिज्यदूत सिरिल ओसमानलाई गोली हानी हत्या गरेको घटनापछि मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएका थिए ।

  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय

    रावलपिन्डी (पाकिस्तान), ६ पुस (रासस–एएनआई) । संघीय अनुसन्धान एजेन्सी ९एफआईए० को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय हुनेछ ।

    रावलपिन्डीको अडियाला जेलमा भएको सुनुवाइका क्रममा विशेष न्यायाधीश सेन्ट्रल शाहरुख अर्जुमन्दले फैसला सुनाएको बताइएको छ । इमरानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्षको सश्रम कारावास र भ्रष्टाचार रोकथाम ऐनको धारा ५ (२) (सरकारी कर्मचारीहरूद्वारा आपराधिक दुव्र्यवहार) अन्तर्गत सात वर्षको सश्रम कारावासको सजाय सुनाइएको छ । उनकी श्रीमती बुशरा बीबीलाई पनि सोही प्रावधानअन्तर्गत कुल १७ वर्षको जेल सजाय सुनाइएको उल्लेख गरिएको छ ।

    यस वर्षको अक्टोबरमा इमरान र बुशरा बीबीले सबै आरोपहरू अस्वीकार गरी यो पाकिस्तानी प्रधानमन्त्रीलाई राजनीतिबाट अयोग्य ठहर गर्ने मनगढन्त र राजनीतिक प्रतिशोध भएको बताएका थिए । डनका अनुसार, पिटिआई संस्थापकले नीति अनुसार उचित प्रक्रियाको पालना गरेको र प्रधानमन्त्री कार्यालय प्रोटोकल खण्डमा रिपोर्ट गरिएको, मूल्याङ्कन गरिएको र भुक्तानी राष्ट्रिय कोषमा जम्मा भएपछि कानुनी रूपमा राखिएको बताए ।

  • सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र, ७० भन्दा बढी लक्ष्यमा आक्रमण

    सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र, ७० भन्दा बढी लक्ष्यमा आक्रमण

    वासिङ्टन, ६ पुस (रासस–एएफपी) । अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताए । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो । वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो । पाम्यारा युनेस्को सूचीमा सूचीकृत प्राचीन भग्नावशेषको लागि प्रसिद्ध छ र पहिले जिहादी लडाकूहरूको नियन्त्रणमा रहेको थियो । उक्त आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिकको मृत्यु भएको थियो ।

    यसको जवाफमा, अमेरिकी सेनाले ‘सिरियाका विभिन्न स्थानमा युद्धपोत, आक्रमण हेलिकोप्टर र तोपखानाको प्रयोग गरी ७० भन्दा बढी लक्ष्यमा हमला गरेको’ सेन्ट्रल कमाण्डले जनाएको छ । सेन्ट्रल कमाण्डका अनुसार, ‘सञ्चालनमा सयभन्दा बढी सटीक हतियार प्रयोग गरेर आतङ्कवादी पूर्वाधार र हतियार भण्डारमा लक्षित गरिएको’ थियो । राष्ट्रपतिले आफ्नै सामाजिक सञ्जालमा लेखे, “अमेरिका जिम्मेवार आतङ्ककारीहरूमा गम्भीर प्रतिशोध गरिरहेको छ ।”

    सेन्ट्रल कमाण्डले पाम्यारा आक्रमणपछि अमेरिकी र साझेदार सेनाले सिरिया र इराकमा १० वटा अभियान सञ्चालन गरेका छन्, जसमा २३ आतङ्ककारी मारिएका वा पक्राउ परेका छन् । सिरियाको विदेश मन्त्रालयले शुक्रबारको आक्रमणमा सिधा टिप्पणी नगरे पनि सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेको छ,“देश आतङ्कवादी समूहसँग लड्न प्रतिबद्ध छ र ‘सिरियामा कुनै सुरक्षित ठाँउ नहोस् भनेर अभियान जारी राख्नेछ ।”

    पाम्यारा आक्रमणमा मारिएका अमेरिकीहरू आइओवा राज्यको राष्ट्रिय गार्डका सर्जन्ट विलियम होवार्ड र एडगर टोरेस टोवार र मिशिगनका नागरिक अयाद मन्सूर साकात हुन् । उहाँ अनुवादकको रूपमा कार्यरत थिए । यो आक्रमण लामो समयदेखि सत्तामा रहेका बशर अल–असदको पदच्युत पछि पहिलो घटना हो । गृह मन्त्रालयका प्रवक्ता नुरुद्दिन अल–बाबा अनुसार, आक्रमण गर्ने व्यक्ति सुरक्षा बलको सदस्य थियो र आफ्नो चरम इस्लामवादी विचारका कारण हटाइने तयारीमा थियो ।

    आईएससँग लड्न अमेरिकी सेनाका कर्मचारीहरूले ‘आतङ्कवादी विरोध अभियान’ मा सहयोग गरिरहेका थिए । सन् २०१४ मा आईएसले सिरिया र इराकमा ठूलो भू–भाग कब्जा गरेको थियो । जिहादीहरू अन्ततः स्थानीय भूमि सेनाले अन्तर्राष्ट्रिय हवाई आक्रमणको सहयोगमा पराजित भए पनि आईएस अझै सिरियामा सक्रिय छ । हाल अमेरिकी सेनाहरू सिरियाको कुर्द नियन्त्रण क्षेत्रमा र जॉर्डन सिमानामा रहेका अल–तान्फमा तैनाथ छन् ।

  • भारतमा हात्तीको बथानसँग रेल ठोक्कियो, सात हात्तीको मृत्यु

    भारतमा हात्तीको बथानसँग रेल ठोक्कियो, सात हात्तीको मृत्यु

    नयाँदिल्ली, ५पुस (रासस–एएफपी) । उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । भारतमा लगभग २२ हजार जङ्गली हात्ती मध्ये चार हजार भन्दा बढी रहेको आसम राज्यमा भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको छ । वरिष्ठ असम पुलिस अधिकारी राकेश रेड्डीलाई उदृत गर्दै एएफपीले सात वटा हात्तीहरुको घटना स्थलमै मृत्यु भएको र एउटा हात्ती घाइते भएको जनाएको छ ।

    मिजोराम राज्यबाट नयाँ दिल्लीतर्फ गइ रहेको उक्त रेलको पाँचवटा डिब्बा दुर्घटना हुँदा लिगबाट खसेको बताइएको छ । अधिकारीहरूले तोकिएको हात्ती कोरिडोरहरूमा गति नियन्त्रण प्रणाली लागू गरेको भए पनि पछिल्लो दुर्घटना यी क्षेत्रहरू बाहिर भएको भारतीय रेलवेका प्रवक्ता कपिन्जाल किशोर शर्माले बताए ।

    रेल चालकले हात्तीको झुण्ड देखेर आपतकालीन ब्रेक लगाए ता पनि हात्तीहरु रेलमा आएर ठोक्कीदा दुर्घटना भएको उनले बताए । वन विनाश र तिनीहरूको बासस्थान नजिकको निर्माण गतिविधिले हात्तीहरूलाई खानाका लागि टाढा– टाढा जान बाध्य पारी मानिसहरूसँगको द्वन्द्वमा आएको जनाइएको छ । संसदीय तथ्याङ्क अनुसार सन् २०२३– २०२४ मा भारतमा हात्तीको आक्रमणबाट ६२९ जनाको मृत्यु भएको थियो ।

  • मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी

    मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी

    ढाका, ५ पुस (रासस–एएफपी) । बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि शनिबार दशौं हजार शोकाकुल व्यक्तिहरू उनको अन्त्येष्टिका लागि भेला भएका छन्। गत वर्षको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान हादीको गत बिहीबार ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा मास्क लगाएका बन्दुकधारीले गोली हानेर मृत्यु भएको थियो भने शनिबार अन्त्येष्टिको कार्यक्रम तय भएको थियो ।

    अन्त्येष्टि प्रार्थना गरिएको संसद् भवन अगाडि शरिरमा क्यामरा जोडिएका प्रहरी तैनाथ गरिएको थियो । शुक्रबार राजधानी ल्याइएको हादीको शवलाई ढाका विश्वविद्यालयको केन्द्रीय मस्जिदमा गाडिएको छ । अन्त्येष्टि कार्यक्रममा अन्तरिम नेता मुहम्मद युनुसले भावुक सम्बोधन गर्दै भने, “हामी यहाँ बिदाइ गर्न आएका होइनौँ । तपाईं हाम्रो हृदयमा हुनुहुन्छ र जबसम्म देश रहन्छ तबसम्म तपाईं सबै बङ्गलादेशीहरूको हृदयमा रहनुहुनेछ।”

    गत बर्षको आन्दोलका एक प्रमुख नेता ३२ वर्षीय हादी भारतका कट्टर आलोचक हुन् । उनले आगामी फेब्रुअरीमा हुने आम चुनाव लड्ने तयारी गरेका छन् । प्रार्थनामा सहभागी हुन टाढाबाट आएका एक सरकारी कर्मचारी इकबाल हुसेन साइकोटले हादीले भारतको कडा विरोध गरेकै कारण हत्या गरिएको दावी ग।ृ । साइकोटले एएफपीसँग भने, “उनी आफ्नो सार्वभौम भूमिलाई माया गर्ने लाखौँ बङ्गलादेशी जनतामाझ अमर रहनेछन् ।” हादीको मृत्युले बङ्गलादेशमा व्यापक अशान्ति निम्त्याएको छ भने प्रदर्शनकारीहरूले जिम्मेवारहरूलाई पक्राउ गर्न माग गरिरहेका छन् ।

    बिहीबार अबेर विद्यार्थी नेता हादीको मृत्युपछि आक्रोशित प्रदर्शनकारीहरूले ढाकामा प्रमुख प्रमुख पत्रिकाहरू प्रोथम आलो र डेली स्टारको कार्यालयसहित धेरै भवनहरूमा आगो लगाएका थिए । आलोचकहरूले प्रकाशनहरूले छिमेकी भारतलाई समर्थन गरेको आरोप लगाएका छन् । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले सन् २०२४ को विद्रोहपछि ढाकाबाट भागेर नयाँदिल्लीमा आश्रय लिँदै आउनुभएको ढाकाको दावी छ।

  • गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा

    गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा

    गाजा, ५ पुस (रासस) सिन्ह्वा । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएका छन् । उनले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताए । “ हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त गर्न सक्षम भएका छन् ।” संयुक्त राष्ट्र र उसका साझेदार संस्थाहरूले दैनिक रूपमा लाखौँ मानिसलाई तातो भोजन उपलब्ध गराइरहेका छन् र सम्पूर्ण गाजामा खाद्य सहायता वितरण गरिरहेका छन् ।

    महासचिव गुटेरेसले भने, “ स्वच्छ पानी थप समुदायसम्म पुग्न थालेको छ, केही स्वास्थ्य सेवा केन्द्रहरू पुनः सञ्चालनमा आएका छन् । ” उनले यस सुधारको श्रेय मानवीय कामदार, सदस्य राष्ट्र र नागरिक–सैन्य समन्वय केन्द्रबीचको सहकार्यलाई दिए । तर उनले सावधानीका साथ यी उपलब्धिहरू अझै नाजुक छन् र जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरे ।


    गुटेरेसका अनुसार अक्टोबरदेखि संयुक्त राष्ट्रले सेवा निरन्तर सञ्चालनमा राख्ने प्रयास गरिरहेको छ, तर आवश्यकताहरूको वृद्धि सहयोगको क्षमताभन्दा छिटो भइरहेको छ । महासचिवले दीर्घकालीन युद्धविराम आवश्यक भएको र थप प्रवेश नाका खोल्ने, अत्यावश्यक सामग्रीमाथि लगाइएको प्रतिबन्ध हटाउने, प्रशासनिक झन्झट कम गर्ने, गाजाभित्र सुरक्षित आवागमन सुनिश्चित गर्ने, दीगो वित्तीय सहयोग सुनिश्चित गर्ने र अवरोधरहित मानवीय पहुँच प्रदान गर्ने आवश्यकता औँल्याए ।


    त्यसैगरी, उहाँले पश्चिमी किनारामा पनि अवस्था संवेदनशील रहेको र त्यहाँ प्यालेस्टिनीहरूले बढ्दो हिंसा, जमिन कब्जा, घर भत्काइ र कडा आवागमन प्रतिबन्धको सामना गरिरहेको बताए । उनले कब्जामा रहेका प्यालेस्टिनी भूभाग, पूर्वी यरूशलेमसहित, अन्तर्राष्ट्रिय कानुन, मानवीय कानुन र मानवअधिकार कानुनको पूर्ण पालना हुनुपर्नेमा जोड दिए ।

    महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय न्यायालयको सन् २०२५, अक्टोबर २२ को सल्लाहात्मक मतको स्मरण गर्दै भने, “इजरायलले मानवीय सहायता सहज रूपमा प्रवेश गराउने, संयुक्त राष्ट्रसँग सहकार्य गर्ने र सशस्त्र द्वन्द्वको अवस्थामा समेत संयुक्त राष्ट्र र उसका कर्मचारीको अधिकार र सुरक्षा सम्मान गर्नुपर्छ । यी दायित्वहरू बाध्यकारी छन् र तुरुन्त कार्यान्वयन हुनुपर्छ । यो सङ्कट मानवीय निर्णयबाट उत्पन्न भएको हो, र राजनीतिक इच्छाशक्ति भएमा यसको समाधान सम्भव छ ।”

  • नेपालको जस्तै जेनजी आन्दोलन भोगेको बंगलादेश किन छ अशान्त ?

    नेपालको जस्तै जेनजी आन्दोलन भोगेको बंगलादेश किन छ अशान्त ?

    सिड्नी, ५ पुस (रासस–सिन्ह्वा) । इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शनहरू निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडिया हाउसका कार्यालयहरूलाई लक्षित गरिएको एक रातको हिंसात्मक अशान्तिपछि प्रदर्शनकारीहरूले राष्ट्रपिता शेख मुजीबुर रहमानको आंशिक रूपमा ध्वस्त घरमा पुगेर आफ्नो आक्रोश प्रकट गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनकारीहरूले घरको बाँकी संरचना भत्काउने प्रयास गर्नुका साथै त्यहाँ टाँसिएको पूर्व प्रधानमन्त्री शेख हसिनाको पोस्टरमा आगो लगाउने प्रयास गरेको देखिएको छ ।

    उस्मान हादीको मृत्यु पश्चात् देशभर अशान्ति फैलिँदै गएपछि इन्किलाब मोन्चोले आम नागरिकहरूलाई संयम अपनाउन आग्रह गरेको छ । बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको एक पोस्टमा सङ्गठनले हिंसा, तोडफोड तथा आगजनी नगर्न स्पष्ट अपिल गरेको छ । पोस्टमा भनिएको छ, “विनाश र आगोको माध्यमबाट केही समूहले बङ्गलादेशलाई एक अप्रभावी राज्य बनाउने लक्ष्य राखिरहेका छन् । उनीहरू हाम्रो देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई कमजोर पार्न खोजिरहेका छन् । तपाईंहरूले बुझ्नै पर्छ—३२ र ३६ एउटै होइन ।”

    उक्त सन्देशमा थप भनिएको छ, “फेब्रुअरीको निर्वाचन नजिकिँदै गर्दा देशमा अशान्ति सिर्जना भएमा वास्तवमा कसलाई फाइदा पुग्छ भन्ने गम्भीरतापूर्वक विचार गर्नुहोस् । बङ्गलादेशमा स्थिरता कायम राख्न सरकारलाई पूर्ण सहयोग गर्नुहोस् र कुनै पनि प्रकारको हिंसाबाट टाढा रहनुहोस् ।” यसैबीच, अङ्ग्रेजी भाषाको प्रतिष्ठित दैनिक द डेली स्टारको कार्यालयमा भएको तोडफोडपछि भवनको छतमा फसेका एक जना पत्रकारले आफ्नो कष्टप्रद अनुभव सार्वजनिक गरेका छन् । उनका अनुसार भीडको एक समूहले प्रथम आलोको कार्यालयमा आक्रमण गरेपछि द डेली स्टारको भवनतर्फ अगाडि बढेको बाहिरबाट आएको फोन कलमार्फत जानकारी प्राप्त भएपछि उनीहरू सतर्क भएका थिए ।

    चेतावनी प्राप्त भएपछि समाचार कक्षमा कार्यरत कर्मचारीहरूले सुरक्षित रूपमा भवन खाली गर्ने प्रयास गरे । तर, त्यतिन्जेलसम्म भीडले भुइँतलासम्म पुगेर व्यापक तोडफोड गरिसकेको थियो र त्यसपछि भवनमा आगो लगाइएको थियो । बाक्लो धुवाँ फैलिँदै गएपछि तल झर्न असम्भव देखेर पत्रकारहरूको समूहले १० औँ तलाको छततर्फ भागेर ज्यान जोगाउनुपरेको थियो ।

    केही समयपछि फायर सर्भिसका कर्मचारीहरू घटनास्थलमा पुगे र तल्लो तलामा लागेको आगो नियन्त्रणमा लिन सफल भए । उद्धार कार्यका क्रममा चार जना अग्नि नियन्त्रकहरू छतमा पुगेर त्यहाँ फसेका व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको बताइएको छ । घटनापछि उत्पन्न असुरक्षा र क्षतिको अवस्थाका कारण शुक्रबार प्रथम आलो र द डेली स्टार दुवै पत्रिका प्रकाशित नहुने जनाइएको छ ।

  • कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

    कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

    नोम पेन (कम्बोडिया), ३ पुस (रासस–सिन्ह्वा) । कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा हवाई आक्रमण र गोलाबारी जारी राखेको बुधबार बताएको छ । कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार देखि थाई सेनाले कम्बोडियाको ओड्डर मिन्चे, बान्टे मिन्चे र पर्सात प्रान्तका विभिन्न स्थानमा आक्रमण गर्न ट्याङ्क–माउन्टेड मेसिन गन, ड्रोन, आर्टिलरी र एफ–१६ लडाकू जेट प्रयोग गरेको बताए ।

    सोचेटाले द्वन्द्वका कारण कम्बोडियाका नागरिकहरु आक्रमणको सिकार भएको उल्लेख गर्दै घाइतेहरूको सङ्ख्या ७७ पुगेको जनाए । आधिकारिक तथ्याङ्कका अनुसार द्वन्द्वले एक लाख ३० हजार भन्दा बढी कम्बोडियन परिवारका करिब चार लाख ३८ हजार व्यक्तिहरूलाई सुरक्षित आश्रयका लागि आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ । कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर– ७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।

  • बोन्डी अभियुक्तलाई अष्ट्रेलियाली प्रहरीद्वारा ५९ वटा अपराधको आरोप

    बोन्डी अभियुक्तलाई अष्ट्रेलियाली प्रहरीद्वारा ५९ वटा अपराधको आरोप

    सिड्नी, ३ पुस (रासस–सिन्ह्वा) । सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले बुधबार जनाएको छ । अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरी बलले बुधबार दिउँसो २४ वर्षीय अकरमलाई ५९ वटा अपराधको आरोप लगाएको छ, जसमा १५ वटा हत्या र एक आतंककारी कार्य गरेको आरोप लगाइएको छ ।

    अधिकारीहरूका अनुसार नाभिद र उनका बुबा साजिद अकरमले आइतबार सिड्नीको प्रसिद्ध बोन्डी समुन्द्र तटमा भएको यहुदी उत्सवमा गोली चलाउँदा १५ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए । मङ्गलबार कोमाबाट उठेपछि बुधबार अकरम प्रहरीको निगरनीमा अस्पतालमा उपचाररत रहेको जनाइएको छ । दोस्रो कथित बन्दुकधारी, अकरमका ५० वर्षीय बुबा साजिदको रूपमा पहिचान गरिएको छ, जसको आक्रमण स्थलमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

    हत्या र आतङ्कवाद अपराधका साथै, नावीद अकरमलाई गम्भीर शारीरिक क्षति पुगाउने उद्देश्यले बन्दुक चलाएको, सार्वजनिक रूपमा प्रतिबन्धित आतङ्कवादी प्रतीक प्रदर्शन गरेको र क्षति पुगाउने उद्देश्यले भवनमा विस्फोटक राखेको र हत्याको ४० वटा अभियोग लगाइएको थियो । अधिकारीहरूले आक्रमण इस्लामिक स्टेटको विचारधाराबाट प्रेरित भएको र नावीद अकरमको गाडीमा इस्लामिक स्टेटका दुईवटा झण्डा र इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू फेला परेको पुष्टि गरे ।

    आक्रमणपछि साजिद अकरमसहित १० देखि ८७ वर्ष उमेर समूहका १६ जनाको मृत्यु भएको पुष्टि भएको थियो । आक्रमण पछि चार बालकसहित ४१ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । बुधबार सम्म, २० जना घाइते व्यक्तिहरू सिड्नी अस्पतालमा उपचाररत रहेका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

  • जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२०० खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

    जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२०० खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

    टोकियो, ३ पुस (रासस–एएनआई) । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर)भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक बजेट प्रस्तावमाथि विचार गरिरहेको जनाएको छ । उच्च मूल्यवृद्धिसँग जुधिरहेको अर्थतन्त्रलाई सहारा दिन आक्रामक खर्च बढाउनुपर्ने प्रधानमन्त्री साने ताकाइचीको जोड यस प्रस्तावमा स्पष्ट रूपमा देखिन्छ ।

    यदि यो बजेट स्वीकृत भयो भने यसले आर्थिक वर्ष २०२५ का लागि पूर्वप्रधानमन्त्री शिगेरु इशिबाको कार्यकालमा पारित ११५२ खर्ब येनको अघिल्लो रेकर्डलाई उछिन्नेछ । क्योदो न्युजका अनुसार मुद्रास्फीति निरन्तर बढिरहेकाले कर्मचारी खर्च र अन्य स्थायी लागतमा वृद्धि हुँदै गएको छ, जसले कमजोर सार्वजनिक वित्तप्रति चिन्ता बढाइरहेका बेला पनि खर्च बढाउने दबाब सिर्जना गरेको छ ।

    अप्रिलबाट सुरु हुने आर्थिक वर्ष २०२६ का लागि ब्याज भुक्तानी र बन्ड रिडेम्पसनसहित ऋणसम्बन्धी खर्च २८२ खर्ब येन नाघ्ने अनुमान गरिएको छ । यो फेरि नयाँ रेकर्ड हुने स्रोतहरूले बताएका छन् । जापानले उन्नत अर्थतन्त्रहरूमध्ये सबैभन्दा ठूलो सार्वजनिक ऋणको बोझ पहिले नै बेहोरिरहेको सन्दर्भमा यो विषय थप संवेदनशील बनेको छ ।

    यसैबीच, संसद्ले यसै हप्ता बढ्दो जीवनयापन लागत कम गर्ने उद्देश्यले प्रधानमन्त्री ताकाइचीले अघि सार्नुभएको विस्तार आर्थिक प्याकेजका लागि आर्थिक वर्ष २०२५ को १८३ खर्ब येनको पूरक बजेट स्वीकृत गरेको छ । उक्त विधेयक गत हप्ता तल्लो सदनबाट पारित भइसकेपछि चालु संसदीय सत्र समाप्त हुनुअघि माथिल्लो सदनबाट पनि पारित भएको हो ।

    प्रधानमन्त्री ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनसँग माथिल्लो सदनमा स्पष्ट बहुमत नभए पनि सरकारले राहत उपायसम्बन्धी विपक्षी दलहरूको केही माग समेटेपछि डेमोक्रेटिक पार्टी फर द पिपुललगायत केही विपक्षी समूहको समर्थन प्राप्त भएको बताइएको छ ।

    ‘जिम्मेवार र सक्रिय सार्वजनिक वित्त’ भन्ने नाराअन्तर्गत ल्याइएको यो पछिल्लो प्रोत्साहन प्याकेज आर्थिक वर्ष २०२२ पछि सबैभन्दा ठूलो मानिएको छ । आर्थिक वर्ष २०२२ मा जापानले कोभिड–१९ महामारीका बेला खर्च उल्लेख्य रूपमा बढाएको थियो । कार्यक्रमको मुख्य उद्देश्य मुद्रास्फीतिको असर कम गर्नु र लगानीलाई प्रोत्साहन गर्दै आर्थिक वृद्धिलाई पुनर्जीवित गर्नु हो ।

    कर राजस्व २९ खर्ब येनले बढ्ने अपेक्षा गरिए पनि सरकारले नयाँ बन्ड जारी गरी ११७ खर्ब येन जुटाउने योजना बनाएको छ, जसले प्याकेजको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने क्योदो न्युजले जनाएको छ । यस कदमप्रति वित्तीय बजारले चासो र चिन्ता दुवै व्यक्त गरेको देखिएको छ । पछिल्ला दिनहरूमा येन र जापानी सरकारी बन्डहरूमा बिक्री दबाब बढ्दा दीर्घकालीन ब्याज दर उकालो लागेको छ ।

    घरपरिवारलाई बढ्दो खर्चबाट जोगाउन सरकारले राहत उपायका लागि ८९ खर्ब येन छुट्याएको छ । यसमा आगामी वर्षको पहिलो तीन महिनाका लागि बिजुली र ग्यास अनुदान, बच्चा भएका परिवारलाई नगद सहायता तथा स्थानीय सरकारलाई थप आर्थिक सहयोग समावेश छन् ।

    यसका अतिरिक्त, सङ्कट व्यवस्थापन र दीर्घकालीन वृद्धिसँग जोडिएका लगानीका लागि ६४ खर्ब येन छुट्याइएको छ, जसलाई प्रधानमन्त्री ताकाइचीले ‘बलियो अर्थतन्त्र’ निर्माण गर्ने लक्ष्यसँग जोड्नुभएको छ । पूरक बजेटमा सुरक्षा र कूटनीतिका लागि १७ खर्ब येन पनि राखिएको छ, जसले जापानलाई प्रारम्भिक योजनाभन्दा दुई वर्ष अगाडि नै आर्थिक वर्ष २०२५ मा रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० को २ प्रतिशतमा पु¥याउने लक्ष्य हासिल गर्न मद्दत गर्नेछ ।

  • ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

    ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

    वासिङ्टन, ३ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा समेत नियमहरू थप कडा पारिएका छन् ।

    आप्रवासनप्रति कठोर दृष्टिकोणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै आउनुभएका राष्ट्रपति ट्रम्पले सामूहिक निर्वासनको आदेश जारी गरिसक्नुभएको छ भने गैर–श्वेत आप्रवासीहरूविरुद्धको कडा अभिव्यक्ति पनि तीव्र बन्दै गएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ‘अमेरिकीहरूलाई धम्की दिन सक्ने’ विदेशी नागरिकहरूलाई रोक्न प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । साथै, अमेरिकाको संस्कृति, सरकार, संस्था तथा संस्थापक सिद्धान्तहरूलाई कमजोर पार्न खोज्ने व्यक्तिहरूलाई देशभित्र प्रवेश नदिन चाहिएको भनिएको छ ।

    लामो समयसम्म शासक बशर अल–असदको पतनपछि अन्तर्राष्ट्रिय समुदायमा पुनःस्थापना हुने प्रयासमा रहेको सिरियामाथि यो प्रतिबन्ध त्यतिबेला लगाइएको छ जतिबेला केही दिनअघि त्यहाँ दुई अमेरिकी सैनिक र एक सर्वसाधारण मारिएका थिए । सिरियाली अधिकारीहरूका अनुसार ती घटनाका आरोपी सुरक्षा बलका पूर्वसदस्य थिए, जसलाई ‘चरमपन्थी इस्लामवादी विचार’ का कारण बर्खास्त गरिएको थियो ।

    यसैबीच, फ्रान्स र बेलायतलगायत केही पश्चिमी देशहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको विरोधमा ट्रम्प प्रशासनले इजरायलसँग ऐक्यबद्ध हुँदै प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूमा अनौपचारिक यात्रा प्रतिबन्ध लागू गरिसकेको थियो, जसलाई अहिले औपचारिक बनाइएको छ । पूर्ण यात्रा प्रतिबन्धमा परेका नयाँ देशहरूमा अफ्रिकाका बुर्किना फासो, माली, नाइजर, सिएरा लियोन र दक्षिण सुडान, साथै दक्षिणपूर्वी एसियाको लाओस रहेका छन् । यसबाहेक, नाइजेरिया, आइभोरी कोस्ट र सेनेगललगायत केही अफ्रिकी देशका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ । यी देशहरू अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने आगामी विश्वकप फुटबलका लागि योग्य भए पनि ट्रम्प प्रशासनले खेलाडीहरूलाई मात्र प्रवेश अनुमति दिने स्पष्ट पारेको छ, प्रशंसकहरूका हकमा कुनै प्रतिबद्धता जनाएको छैन ।

    आंशिक प्रतिबन्धमा परेका अन्य देशहरूमा एङ्गोला, एन्टिगुआ र बार्बुडा, बेनिन, डोमिनिका, ग्याबोन, गाम्बिया, मलावी, मौरितानिया, तान्जानिया, जाम्बिया, जिम्बाब्वे तथा पोलिनेसियाली देश टोङ्गा रहेका छन् । यीमध्ये केही देश अमेरिकाका महत्त्वपूर्ण साझेदारसमेत रहेका छन्, जसलाई पूर्वराष्ट्रपति जो बाइडेनले लोकतन्त्रप्रतिको प्रतिबद्धताका लागि प्रशंसा गर्नुभएको थियो । शरणार्थी अधिकारका पक्षमा काम गर्ने इसाई संस्था ग्लोबल रिफ्युजले यात्रा प्रतिबन्धले कमजोर र जोखिममा परेका मानिसहरूलाई झनै अप्ठ्यारो अवस्थामा धकेल्ने चेतावनी दिएको छ । संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत कृष ओ’मारा विग्नाराजाहले व्यक्तिगत र प्रमाणमा आधारित मूल्याङ्कनको सट्टा सम्पूर्ण जनसङ्ख्यालाई सजाय दिने नीति अपनाइएको आरोप लगाउनुभएको छ ।

    राष्ट्रपति ट्रम्पले पछिल्ला सार्वजनिक कार्यक्रममा आप्रवासीहरूलाई लक्षित गर्दै विवादास्पद भाषा प्रयोग गर्दै आउनुभएको छ । यसअघि नै सोमाली नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाइसकिएको छ भने अफगानिस्तान, इरान, लिबिया, सुडान, यमनलगायत देशहरू पनि पूर्ण यात्रा प्रतिबन्धमा रहेका छन् । यसै क्रममा ह्वाइट हाउसले तुर्कमेनिस्तानले गरेको ‘महत्त्वपूर्ण प्रगति’ लाई स्वीकार गर्दै त्यस देशका नागरिकलाई गैर–आप्रवासी भिसामा अमेरिका प्रवेशको अनुमति पुनः दिन थालिएको जनाएको छ । तर समग्रमा हेर्दा, राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णयले अमेरिकी आप्रवासन नीतिलाई अझै कठोर बनाएको स्पष्ट देखिएको छ ।

  • भैरहवाबाट जहाज चढेर कतार उडे खगेन्द्र प्रसाद र रुद्रकली (फोटो फिचर)

    भैरहवाबाट जहाज चढेर कतार उडे खगेन्द्र प्रसाद र रुद्रकली (फोटो फिचर)

    २ पुस, काठमाडौं । नेपाल सरकारले उपहार स्वरुप प्रदान गरेका जोडी हात्ती (खगेन्द्रप्रसाद र रुद्रकली) भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार उडेका छन् । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज मार्फत बुधबार दिउसो ५ बजेपछि खगेन्द्रप्रसाद र रुद्रकलीलाई कतार उडाइएको हो । दुई हात्ती मंगलबार चितवनबाट भैरहवा ल्याइएको हो ।

    चितवनको सौराहाबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई आज विमानमार्फत कतार पठाउने क्रममा । तस्बिर : कमल रायमाझी/रासस

    आज बिहान जहाज प्रतिकुल मौसमका कारण भैरहवामा अवतरण गर्न सकेन । सो जहाज भारतको कोलकाता डाइभर्ट गरियो । त्यसपछि सो जहाज पुनः भैरहवा ल्याइएको थियो । भैरहवाबाट ४ घण्टाको उडानमा जहाज कतार पुग्ने छ । हात्तीहरूसँगै चितवनका एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन् । केही समय हात्तीहरूको रेखदेख गर्नेदेखि त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर मात्रै उनीहरू फर्किने छन् ।

    चितवनको सौराहाबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई आज विमानमार्फत कतार पठाइँदै । तस्बिर : मनोज क्षेत्री/रासस

    नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाइएको हो । २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो ।
    २०७६ माघमा खगेन्द्रमली पोस्टमा कोशीकलीबाट जन्मिएको खगेन्द्रप्रसाद हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा हुर्किएको हो । खगेन्द्रमली पोस्टमा जन्मिएकोले उसको नाम पनि खगेन्द्रप्रसाद नै राखिएको हो ।

    चितवनको सौराहाबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई आज विमानमार्फत कतार पठाउने क्रममा । तस्बिर : कमल रायमाझी/रासस

    खगेन्द्रप्रसादकी आमा कोशीकलीलाई प्रशिक्षक हात्तीसमेत भन्ने गरिन्छ । छावाहरूलाई तालिम दिन कोशीकलीलाई प्रयोग गर्ने गरिन्छ । हात्ती प्रजनन तथा तालिम केन्द्रमा घुम्न पुग्ने पर्यटकहरूलाई फूलको माला लगाएर आर्शिवाद दिने काम खगेन्द्रप्रसादले गर्दै आएको थियो । हात्ती प्रजनन केन्द्रमा २०७५ सालमा पूजाकलीको कोखबाट रुद्रकली जन्मिएकी हुन् ।

    पूजाकलीको रुद्रकली जम्मा ३ महिनाको हुँदा नै मृत्यु भएको थियो । माउको मृत्यु भएपछि रुद्रकलीलाई माउतेहरूले रेखदेख गरेर हुर्काएका थिए । यी दुवै हात्तीको बाबु जंगली हात्ती ‘रोनाल्डो’ हो । २०४४ सालमा भारतले उपहारस्वरूप दिएका १६ हात्तीलाई राखेर सौराहामा हात्ती प्रजनन केन्द्र खोलिएको थियो । भारतले हात्ती दिएपछि नेपालले भारतलाई त्यतिबेला ४ वटा एकसिंगे गैंडा दिएको थियो ।

  • रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

    रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

    चितवन, १ पुस । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ः०० बजे भैरहवा पुगेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले ती हात्तीलाई विमानस्थलको छेउमा रहेका खाली जग्गामा राखिएको छ । ती हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिएको थियो । ती हात्ती राख्नका लागि बनाइएको खोरमा राखी ट्रकमा पठाइएको हो ।

    बुधबार वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीहरूले भैरहवामा नै कतारी दूतावासलाई ती हात्ती हस्तान्तरण गर्नुहुने छ । हस्तान्तरण गरिएपछि कार्गो विमानमार्फत ती हात्तीलाई कतार पठाइनेछ । रुद्रकली पूजाकली र खगेन्द्र कोशी कलीको बच्चा हो । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको उनले बताए । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो ।

    यसअघि नेपालले विभिन्न देशलाई एकसिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँइदै आइएको छ । पहिलोपटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागेको हो ।

  • घोटाला केन्द्र कारबाहीपछि विदेशी नागरिक फिर्ता लिन म्यान्माको आग्रह

    घोटाला केन्द्र कारबाहीपछि विदेशी नागरिक फिर्ता लिन म्यान्माको आग्रह

    बैङ्कक, २९ मङ्सिर (रासस–एपी) । म्यान्माको सैन्य शासनले थाइल्यान्डसँगको सीमाना नजिक पूर्वी कायिन राज्यमा रहेका अनलाइन घोटाला केन्द्रहरूमा गरिएको कारबाहीका क्रममा पक्राउ परेका सयौँ विदेशी नागरिक चाँडो फिर्ता लिन सम्बन्धित देशहरूलाई आग्रह गरेको छ । हालैका महिनामा अधिकारीहरूले थाइल्यान्ड सीमा क्षेत्रको व्यापारिक सहर म्यावड्डी नजिक रहेका केके पार्क र स्वे कोक्को नामक दुई ठूला घोटाला केन्द्रमा छापा मारेका थिए ।

    ती कारबाहीका क्रममा हजारौँ विदेशी नागरिक नियन्त्रणमा परेका थिए । अपरेसनको नेतृत्व गर्नुभएका कर्नल मिन थु क्यावले यति ठूलो सङ्ख्याका बन्दीहरूलाई व्यवस्थापन गर्न कठिन भइरहेको बताए । “उनीहरू फरक–फरक देश, धर्म र पृष्ठभूमिका मानिस हुन् । अन्तर्राष्ट्रिय समुदायले छिटो पहल गरेर आफ्ना नागरिक फिर्ता लगे सहज हुन्छ”, उनको भनाइ थियो ।

    आइतबार याङ्गुनमा आयोजित पत्रकार सम्मेलनमा गृह मामिला उपमन्त्री मेजर–जनरल आङ क्याव क्यावले जनवरीदेखि सुरु भएको कारबाहीमा ४७ देशका १३ हजार २७२ विदेशी नागरिकलाई हिरासतमा लिइएको जानकारी दिए । उनका अनुसार अधिकांशलाई पहिले नै निर्वासन गरिएको छ भने एक हजार ६५५ जना अझै हिरासतमा छन् ।

    म्यान्मा अनलाइन ठगी सञ्चालनका लागि कुख्यात मानिन्छ, जहाँ साइबर घोटालामार्फत विश्वभरका मानिसहरूलाई लक्षित गरिन्छ । यी घोटालामा प्रायः विश्वास जितेर नक्कली लगानी योजनामा फसाउने तरिका प्रयोग हुने गरेको संयुक्त राष्ट्रसङ्घको लागुऔषध तथा अपराध कार्यालयले जनाएको छ । त्यस्ता गतिविधिबाट आपराधिक गिरोहहरूले वार्षिक अर्बौँ डलर आम्दानी गर्ने अनुमान छ ।

    कायिन राज्य सरकारका सुरक्षा तथा सीमा मामिला मन्त्री कर्नल मिन थु क्यावका अनुसार निर्वासनको प्रतीक्षामा रहेका एक हजार ६५५ मध्ये अधिकांशलाई सहरका खेलकुद परिसर, बोर्डर गार्ड फोर्सद्वारा नियन्त्रणमा रहेका भवन तथा पूर्व स्क्याम कम्पाउन्डहरूमा राखिएको छ । तीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिकहरू छन्, जसको सङ्ख्या ५०० भन्दा बढी छ । साथै इन्डोनेसिया, इथियोपिया, भियतनाम, केन्या र भारतका सयदेखि तीन सयसम्म नागरिकहरू पनि रहेका छन् ।


    म्यान्मा वा थाइल्यान्डमा दूतावास नभएका केही अफ्रिकी देशका नागरिकहरूको हकमा प्रक्रिया ढिलो भएको र यसले निर्वासन पाँच महिनासम्म लम्बिएको मन्त्रीले बताउनुभयो । यसैबीच, राज्य सञ्चालित एमआरटिभीले म्यावड्डी नजिकका घोटाला केन्द्रहरू ध्वस्त पारिएको दृश्य प्रसारण गरेको छ । सैन्य सरकारले सेप्टेम्बरदेखि अनलाइन घोटाला र अवैध जुवाविरुद्ध व्यापक कारबाही सुरु गरेको दाबी गरे पनि आलोचकहरूले मुख्य योजनाकारहरू अन्य स्थानबाट अझै सक्रिय रहेको आरोप लगाउँदै आएका छन् । म्यावड्डी क्षेत्रमा सक्रिय विभिन्न जातीय मिलिसिया समूहहरूको भूमिकाबारे पनि विवाद कायमै छ, यद्यपि सबै पक्षले घोटालामा संलग्नता अस्वीकार गरेका छन् ।

  • सिड्नी गोलीबारीको इजरायलद्वारा निन्दा

    सिड्नी गोलीबारीको इजरायलद्वारा निन्दा

    जेरुसेलम, २९ मङ्सिर (रासस–एएफपी) । इजरायली नेताहरूले सिड्नीमा हनुक्का उत्सवलाई लक्षित गरी भएको गोलीबारीको कडा निन्दा गरेका छन् । आइतबार भएको गोलीबारीमा ११ जनाको ज्यान गएको थियो । यस घटनापछि इजरायली नेतृत्वले अस्ट्रेलियाले यहुदी विरोधविरुद्ध प्रभावकारी कदम चाल्न असफल भएको आरोप लगाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले क्यानबेराले लामो समयदेखि यहुदी विरोधी भावनालाई बढ्न दिएको आरोप लगाए ।

    उनले अस्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेपछि प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई अगस्टमा लेख्नुभएको पत्र स्मरण गर्दै ‘तपाईंहरूको नीतिले यहुदी विरोधको आगोमा तेल खन्याइरहेको छ’ भनेका थिए । दक्षिणी इजरायलमा आयोजित एक कार्यक्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै नेतान्याहुले भने, “नेताहरू मौन बस्दा यहुदी विरोध क्यान्सरझैँ फैलिन्छ ।”

    इजरायली विदेशमन्त्री गिडियोन सारले आफ्ना अूट्रेलियाली समकक्षी पेनी वोङसँग फोनवार्ता गर्दै अस्ट्रेलियामा यहुदी विरोध बढिरहेको भन्दै त्यसविरुद्ध कडा कारबाही गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा उहाँले अक्टोबर ७ पछि अस्ट्रेलियामा इजरायल र यहुदी समुदायविरुद्ध हिंसात्मक उक्साहट बढेको दाबी गर्नुभयो र केही प्रदर्शनमा सुनिने नाराहरूप्रति गम्भीर चिन्ता व्यक्त गरे ।


    राष्ट्रपति आइज्याक हर्जोगले बोन्डी समुद्र तटमा हनुक्काको पहिलो मैनबत्ती बाल्न भेला भएका यहुदीहरूमाथि भएको आक्रमणलाई ‘अत्यन्तै क्रूर’ भनेर निन्दा गरे । जेरुसेलममा आयोजित एक कार्यक्रममा उनले अस्ट्रेलियालाई आफ्नो समाजलाई सताइरहेको ‘यहुदी विरोधको विशाल लहर’ विरुद्ध दृढतापूर्वक उभिन आह्वान गरे ।
    सिड्नीको प्रसिद्ध बोन्डी समुद्र तटमा हनुक्काको पहिलो रातको अवसरमा आयोजना गरिएको ‘हनुक्का बाय द सी’ कार्यक्रममा गोलीबारी भएको थियो ।

    अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले घटनालाई ‘दुष्टता, यहुदी विरोध र आतङ्कवादको कार्य’ भन्दै निन्दा गर्नुभयो र ‘यहुदी अस्ट्रेलियालीमाथि भएको आक्रमण प्रत्येक अस्ट्रेलियालीमाथिको आक्रमण हो’ भनेका थिए ।
    यसैबीच राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन गभिरले अस्ट्रेलियाली सरकारमाथि यहुदीविरुद्धको आतङ्कवादलाई वैधानिकता दिएको आरोप लगाए । विपक्षी नेता यायर लापिदले विश्वका विभिन्न सहरमा यहुदी समुदाय लक्षित घातक आक्रमण बढ्दै गएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल र निर्णायक अन्तर्राष्ट्रिय कदम आवश्यक रहेको बताए ।

  • सिड्नीको बोन्डी बिचमा गोली चल्यो, कम्तिमा १० जनाको मृत्यु

    सिड्नीको बोन्डी बिचमा गोली चल्यो, कम्तिमा १० जनाको मृत्यु

    सिड्नी, २८ मङ्सिर (रासस–सिन्ह्वा) । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा संलग्नता रहेको आशङ्कामा दुई जनालाई हिरासतमा लिइएको जनाएको छ। यहूदी समुदायका धेरै सदस्यहरू साँझमा दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो यहूदी पर्व हनुक्का मनाउने क्रममा छुट्टीमा समुद्र तटमा भेला भएका थिए।

    ‘अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’का अनुसार कम्तीमा १६ जनालाई अस्पताल लगिएको छ र धेरैको घटनास्थलमै उपचार भइरहेको छ। अस्ट्रेलियाको यहुदी सङ्घका प्रमुख रोबर्ट ग्रेगरीले सिड्नीको बोन्डी समुद्री तटमा हनुक्का कार्यक्रमका क्रममा आइतबार भएको गोलीकाण्ड ‘त्रासदीपूर्ण तर पूर्ण रूपमा पूर्वानुमानित’ भएको बताए । “अल्बानिज सरकारलाई धेरै पटक चेतावनी दिइयो तर सरकार यहुदी समुदायको रक्षाका लागि पर्याप्त कदम चाल्न असफल भएको छ,” फ्रान्सको प्रसिद्ध समाचार संस्था एएफपीले ग्रेगरीलेलाई उद्धृत गरी लेखेको छ ।

  • अमेरिकामा मौसमी फ्लु प्रकोप : अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो

    अमेरिकामा मौसमी फ्लु प्रकोप : अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो

    लस एन्जलस, २८ मङ्सिर (रासस–सिन्ह्वा) । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमानअनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ ।

    केन्द्रका अनुसार मौसमी इन्फ्लुएन्जा देशका अधिकांश भागमा बढ्दो क्रममा छ र यस सिजनमा इन्फ्लुएन्जा ए (एच३एन२) प्रमुख भाइरसको रूपमा फैलिरहेको छ । छ डिसेम्बरसम्मको हप्तामा अमेरिकी सार्वजनिक स्वास्थ्य प्रयोगशालाहरूले राष्ट्रव्यापी रूपमा पाँच सय सत्तालिस इन्फ्लुएन्जा भाइरस पत्ता लगाएका छन् । यसै हप्तामा यस सिजनको पहिलो बालबालिका मृत्युसँग सम्बन्धित फ्लुको रिपोर्ट पनि आएको छ ।

    केन्द्रले विशेष गरी छ महिना भन्दा माथिका व्यक्तिलाई, वार्षिक फ्लु खोप लगाउन सिफारिस गरेको छ । त्यसैगरी, केन्द्रका अनुसार, फ्लु उपचारका लागि केही औषधिहरू उपलब्ध छन् । यी औषधिहरू समयमै सुरु गर्दा सबैभन्दा प्रभावकारी हुन्छन् र विशेषगरी ती व्यक्तिहरूका लागि महत्वपूर्ण छन्, जसलाई गम्भीर फ्लु–सम्बन्धित जटिलता हुने जोखिम बढी हुन्छ ।

  • कम्बोडियासँगको युद्धमा चार थाई सैनिकको मृत्यु

    कम्बोडियासँगको युद्धमा चार थाई सैनिकको मृत्यु

    बैङ्कक, २८ मङ्सिर (रासस–एएफपी) । कम्बोडियाली सेनाले शनिबारको झडपका क्रममा चार थाई सैनिकको हत्या गरेको थाई अधिकारीले बताएका छन् ।
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि सहमति भएको भन्ने भनाइलाई थाई प्रधानमन्त्रीले खण्डन गरेका छन् । दक्षिणपूर्वी एसियाली छिमेकीहरूबीचको हिंसा उनीहरूको ८०० किलोमिटर (५०० माइल) सीमाको औपनिवेशिक युगको सीमाङ्कनलाई लिएर लामो समयदेखि चलिरहेको विवादबाट उत्पन्न भएको हो । दुबै पक्षका लगभग पाँच लाख मानिसहरू विस्थापित भएका छन् । द्वन्द्वमा कम्तीमा चार थाई सैनिकसहित २४ जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

    ट्रम्पले युद्धविराममा सहमति भएको भन्नुअघि दुवै पक्षले द्वन्द्व भड्काएको आरोप एक अर्कोमाथि लगाएका थिए । थाई प्रधानमन्त्री अनुतिन चर्नविराकुलले शुक्रबार टेलिफोन वार्ताका क्रममा ट्रम्पले युद्धविराम गर्ने वा नगर्ने भन्ने कुरा उल्लेख नगरेको बताएका छन् । अनुतिनले शनिबार सञ्चारमाध्यमहरूलाई दिएको जानकारीमा भनिएको छ, “दुई देशका नेताहरूले यस विषयमा ‘छलफल गरेका छैनन्’।” ट्रम्पले शुक्रबार अनुतिन र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटसँगको ‘धेरै राम्रो कुराकानी’ को प्रशंसा गरेका थिए ।


    ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’ मा लेखेका छन्, “उनीहरु आज साँझदेखि लागू हुने गरी सबै आक्रमण बन्द गर्न सहमत भएका छन् र जुलाईमा भएको मूल शान्ति सम्झौतामा फर्कन सहमत भएका छन् । ” संयुक्त राज्य अमेरिका, चीन र क्षेत्रीय समूह आसियानको अध्यक्षका रूपमा मलेसियाले जुलाईमा पाँच दिनको हिंसापछि युद्धविरामको मध्यस्थता गरेका थिए । गत अक्टोबरमा ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीचको संयुक्त घोषणालाई समर्थन गर्दै युद्धविरामलाई लम्ब्याउन सहमति जनाएपछि नयाँ व्यापार सम्झौताको घोषणा गर्नुभएको थियो तर थाई सैनिकहरू सीमामा बारुदी सुरुङमा घाइते भएपछि थाइल्यान्डले अर्को महिना यो सम्झौता स्थगित गरेको थियो ।

    थाइल्यान्डबाट विस्थापित कन्यापत साओप्रियाले आफू अब कम्बोडियालाई विश्वास नगरेको बताएका छन् । “शान्ति प्रयासको अन्तिम चरणको प्रयास सफल भएन । यो पनि हुन्छ कि हुँदैन मलाई थाहा छैन,” ३९ वर्षीय सीले एएफपीसँग भने । सीमा पार गरेर आएकी एक कम्बोडियाली शरणार्थीले ट्रम्पको हस्तक्षेपका बाबजुद पनि लडाइँ नरोकिएकोमा आफू ‘दुःखी’ भएको बताए । “म क्रूर कार्यबाट खुसी छैन,” ४३ वर्षीया भि रिनाले भनिन्,

    – नागरिकहरूमाथि दोषारोपण –

    बैंकक र नोमपेनमा सर्वसाधारणमाथि आक्रमण भएको आरोप लगाइएको छ भने थाई सेनाले शनिबार कम्बोडियाली रकेट आक्रमणबाट छ जना घाइते भएको जनाएको छ । यसैबीच, कम्बोडियाका सूचना मन्त्री नेथ फेक्ट्राले भन्नुभयो, “थाई सेनाले आक्रमणलाई विस्तार गर्दै ‘नागरिक पूर्वाधार र कम्बोडियाली नागरिक’ लाई लक्षित गरेको छ । ” थाई नौसेनाका प्रवक्ताले द्वन्द्वग्रस्त क्षेत्रमा हतियार ओसारपसार गर्न प्रयोग गरिएका कम्बोडियाका दुईवटा पुललाई ध्वस्त पारेको बताएका छन् ।

    थाइल्यान्डको बुरिरामस्थित एक शिविरमा कुरा गर्दै विस्थापित बासिन्दाहरूले सीमा नजिकै आफन्तहरूलाई फोन गरेको देखेका र उनीहरूले लडाइँ जारी रहेको बताएका स्थानीय सञ्चारकर्मीले बताए । थाइल्यान्डका प्रधानमन्त्रीले ‘आफ्नोे भूमि र जनतामाथि कुनै हानि र खतरा महसुस नगरेसम्म’ सैन्य कारवाही जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ट्रम्पसँगको टेलिफोनपछि अनुतिनले भने, “सम्झौताको उल्लङ्घन गर्नेले परिस्थितिलाई सुधार गर्न आवश्यक छ ।”
    यसैबीच, कम्बोडियाका नेता हुन मानेटले आफ्नो देशले ‘विवाद समाधानका लागि सधैं शान्तिपूर्ण उपायहरूको पालना गर्दै आएको बताएका छन् ।

  • थाइल्याण्डमा संसद् विघटन, आगामी आम निर्वाचनको मार्ग प्रशस्त

    थाइल्याण्डमा संसद् विघटन, आगामी आम निर्वाचनको मार्ग प्रशस्त

    बैङ्कक, २७ मङ्सिर (रासस–एएफपी) । थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गरेका छन् । उक्त कदम छिमेकी क्याम्बोडियासँग जारी सीमा विवादको बीचमा जनताको सुरक्षालाई ध्यानमा राख्दै लिइएको निर्णय हो । सरकारी राजपत्रमा प्रकाशित सूचनामा सरकारले विभिन्न चुनौतीहरूको सामना गरिरहेको र स्थिर तथा प्रभावकारी रूपमा प्रशासन सञ्चालन गर्न कठिनाइ भइरहेको हुँदा नयाँ निर्वाचन गर्नु उपयुक्त उपाय ठहरिएको उल्लेख छ ।

    थाइल्याण्डको कानुनअनुसार, संसद् विघटन भएपछिका ४५–६० दिनभित्र मतदान हुनुपर्छ, त्यसैले मतदान जनवरी अन्त्य वा फेब्रुअरी सुरुमा हुने अपेक्षा गरिएको छ । क्याम्बोडियासँगको सीमा विवादमा कम्तीमा २० जनाको ज्यान लिएको र करिब ६ लाख नागरिक विस्थापित भएको छ, जसमध्ये अधिकांश थाइल्याण्डमा छन् । झडपमा हवाई आक्रमण र ट्याङ्क प्रयोग भएको र दुबै देशले एकअर्कालाई जिम्मेवार ठहराएको जनाइएको छ ।

    प्रधानमन्त्री अनुटिनले संसद् विघटन गर्दा गठबन्धन साझेदारहरूको अनुरोधको सम्मान गर्दै यो कदम चालिएको र ‘सत्ता जनतासँग फर्काउने’ उद्देश्य रहेको व्यक्त गरेका छन् । तीन महिनाको कार्यकालमा उनले सीमा सुरक्षा र म्यानमाबाट आएका शरणार्थीहरूको व्यवस्थापन जस्ता चुनौतीहरू व्यवस्थित रूपमा व्यवस्थापन गरेका छन् ।

  • सन् २०२७ मा युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव

    सन् २०२७ मा युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव

    किएभ, २७ मङ्सिर (रासस–एएफपी) । रुससँगको युद्ध अन्त्य गर्ने अमेरिकी पछिल्लो योजनाअन्तर्गत युक्रेन सन् २०२७ जनवरीको सुरुमै युरोपेली संघमा सामेल हुन सक्ने यस विषयमा जानकार एक वरिष्ठ स्रोतले शुक्रबार एएफपीलाई बताएको छ। इयू प्रवेश प्रक्रियाको जटिल प्रक्रियाले सामान्यतया वर्षौं लिन्छ र समूहका सबै २७ सदस्यहरूको सर्वसम्मत मत आवश्यक पर्दछ ।

    केही देशहरू र विशेष गरी हङ्गेरीले लगातार युक्रेनको इयूमा सामेल हुने विरोधमा आवाज उठाउँदै आएका छन्। द्रुत प्रवेशको विचार युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको पछिल्लो संस्करणमा समावेश गरिएको योजनाले युक्रेनले रूसलाई केही भूमि सुम्पिने उल्लेख गरिएको छ। हालैका हप्ताहरूमा युरोपभरि कूटनीतिक उन्माद निम्त्याएको छ ।

    युक्रेनको सदस्यताको विरोध गर्ने नेताहरूलाई आफ्नो अडान परिवर्तन गर्न मनाउन वाशिङ्गटनसँग आवश्यक शक्ति छ, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार एएफपी लगायतका पत्रकारहरूसँगको भेटमा भने । “संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घमा हाम्रो बाटो खोल्न कदम चाल्न सक्छ”, उनले भने, “अमेरिकी राष्ट्रपतिसँग प्रभावका विभिन्न उत्तोलकहरू छन् र यसले युक्रेनलाई रोक्नेहरूमा प्रभाव पार्नेछ।”

    किएभले लामो समयदेखि युरोपेली सङ्घको सदस्यताका लागि प्रयास गरिरहेको छ र सन् २०१४ को युरोपेली समूहको समर्थक क्रान्तिदेखि नै सुधारहरू कार्यान्वयन गर्दै आएको छ तर स्थानीय भ्रष्टाचार उन्मूलनका लागि सङ्घर्ष गरिरहेको छ जुन ईयूमा सामेल हुनको लागि एक मुख्य शर्त हो। गत हप्ता युरोपको कूटनीतिक भ्रमण पूरा गरेपछि जेलेन्स्कीले योजनाबारे थप वार्ताका लागि सोमबार बर्लिन जाने कार्यक्रम सार्वजनिक गरेका थिए । तर उनले वार्ताको पूर्ण विवरण सार्वजनिक गरेका थिएनन् ।
    “यदि सुरक्षाले साथ दिएमा उनी त्यहाँ उपस्थित हुनेछन्, ती अधिकारीले एएफपीसँग बताए । मस्कोले ऊ अमेरिकी योजनालाई संशोधन गर्ने प्रयासको बारेमा शंकास्पद भएको शुक्रबार सङ्केत गरेको थियो । यद्यपि, आफ्ना अधिकांश मुख्य मागहरू पूरा गरेको मस्कोले योजनाको धेरै हदसम्म समर्थन गर्दै आएको छ ।

  • डिजिटल अर्थतन्त्र र प्रविधि नवप्रवर्तनलाई चीनको १५औँ पञ्चवर्षीय योजनामा प्राथमिकता

    डिजिटल अर्थतन्त्र र प्रविधि नवप्रवर्तनलाई चीनको १५औँ पञ्चवर्षीय योजनामा प्राथमिकता

    बेइजिङ, २६ मङ्सिर (रासस–सिन्ह्वा) । चीनले सन् २०२६ का लागि आर्थिक लक्ष्य र नीति निर्धारण गर्न वार्षिक केन्द्रीय आर्थिक कार्य सम्मेलन बुधबार र बिहीबार बेइजिङमा सम्पन्न गरेको छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०२५ को आर्थिक कामको समीक्षा गर्दै हालको आर्थिक अवस्थाको विश्लेषण गर्नुभयो, र आगामी वर्षका लागि कार्यदिशा प्रस्तुत गर्नुभयो ।


    सम्मेलनले सन् २०२५ लाई ‘असाधारण उपलब्धिको वर्ष’ भन्दै आर्थिक तथा सामाजिक विकासका प्रमुख लक्ष्यहरू सफलतापूर्वक हासिल हुने निष्कर्ष निकाले । १४औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अन्तिम चरणमा पुगेको र चीनले विविध चुनौतीहरू पार गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको पनि बैठकमा उल्लेख गरियो ।

    बैठकले सुधार, नवप्रवर्तन र आन्तरिक क्षमतामा जोड दिँदै आर्थिक सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दियो । यसै क्रममा, बजार गतिशीलता र सरकारी नियमन दुवैलाई सन्तुलित रूपमा अघि बढाउने आवश्यकतामा पनि बल दिइयो । चीनले आगामी वर्ष सक्रिय वित्तीय नीति लागू गर्ने, आवश्यक सरकारी खर्च र ऋण स्तर व्यवस्थित गर्ने, कर तथा अनुदान प्रणाली सुधार गर्ने र स्थानीय सरकारका वित्तीय चुनौतीहरूको समाधानमा ध्यान दिने योजना बनाएको छ ।

    मौद्रिक नीतिमा चीनले मध्यम रूपमा खुकुलो नीति कायम राख्ने, ब्याजदर र आरक्षित अनुपात जस्ता उपकरण लचिलो रूपमा प्रयोग गर्ने र घरेलु माग, प्रविधि–नवाचार तथा साना तथा मध्यम उद्योगमा बैंकिङ समर्थन बढाउने जनाएको छ । सम्मेलनले रोजगारी, व्यवसाय र बजारमा स्थिरता कायम राख्दै सामाजिक अपेक्षालाई मजबुत बनाउने तथा यसै आधारमा १५औँ पञ्चवर्षीय योजना (सन् २०२६–२०३०) लाई सशक्त सुरुआत दिने लक्ष्य राखेको छ ।

  • चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

    चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

    बेइजिङ, २५ मङ्सिर (रासस–एएफपी) । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मङ्गलबार राति ९ः२० बजे सूरु भएको आगलागी राति १०ः०० बजे पछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्ति मार्फत जनाएको छ । यस अघि गुआङडोङ र हङकङका आवासीय टावरहरूमा ठुलो आगलागी हुँदा १६० जनाको मृत्यु भएको थियो ।

    “आगोले भवनको १५० वर्ग मिटर क्षेत्रलाई असर गरेको जनाउदै चाओनान जिल्ला फायर एण्ड रेस्क्यु टोलीले आगलागीको कारण अनुसन्धान तथा र व्यवस्थापनको कार्य भइरहेको बताएको छ । यस अघि बुधबार बिहानको प्रारम्भिक रिपोर्टमा आठ जनाको मृत्यु भएको र चार घाइतेलाई अस्पताल लगिएको जनाइएको थियो । हाल चिनियाँ सरकारी समाचार एजेन्सि सिन्ह्वाले १२ जनाको मृत्यु भएको बताएको छ । गत महिना हङकङमा आगलागी भएपछि चीनले अग्ला भवनहरूमा आगोको खतरा विरुद्ध अभियानसमेत चलाएको छ ।

  • कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित

    कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित

    बैङ्कक, २५ मङ्सिर (रासस–सिन्ह्वा) । कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाख भन्दा बढी थाई बासिन्दाहरूलाई आफ्नो आश्रय स्थल छोडी अनेत्र जना बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताउनु भएको छ । थाइल्यान्डको आर्मी एरिया कमान्डले सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय समय अनुसार विहान ५ः०० बजे देखि सुरु भएको आक्रमण बुरिराम, सुरिन, सिसाकेट र उबोन रत्चथानी प्रान्तको सिमानाका धेरै क्षेत्रहरूमा भएको र अहिलेसम्म कुनै हताहत नभएको जनाएको छ ।

    विज्ञप्तिमा विहान ८ः४० मा कम्बोडियन पक्षबाट फायर गरिएको बीएम–२१ रकेट सुरिन प्रान्तको एक अस्पताल नजिकै अवतरण भए पछि बिरामी र कर्मचारीहरूलाई सुरक्षित आश्रयमा सारेको जनाइएको छ । थाई मिडियाका अनुसार थाइल्यान्ड र कम्बोडियाबिचको सीमा झडपले थाइल्यान्डको सीमावर्ती प्रान्तहरूमा ८०० भन्दा बढी विद्यालय र ठुलो सङ्ख्यामा अस्पतालहरू अस्थायी रूपमा बन्द गर्न बाध्य पारेको छ । कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व आइतबार दिउँसो देखि पुनः सुरु भएको छ भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाउदै आएका छन् ।

  • बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

    बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

    ढाका, २५मङ्सिर (रासस–सिन्ह्वा) । बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जारी गरेको तथ्याङ्क अनुसार दक्षिण एसियाली मुलुक बङ्गलादेशमा जनवरी देखि डेङ्गु ज्वरोका सङ्क्रमितको सङ्ख्या ९८ हजार ७०५ पुगेको छ । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको र थप ४२१ जनालाई डेंगु संक्रमण भएको रेकर्ड गरेको जनाइएको छ ।

    डिजिएचएसका अनुसार डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ४०१ नागेको छ, जसमा डिसेम्बरमा १९ र नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको छ । नोभेम्बरमा २४ हजार ५३५ जनालाई नयाँ सङ्क्रमण भएकोमा डिसेम्बरमा अहिलेसम्म ४ हजार ३०८ जना सङ्क्रमित भेटिएको जनाइएको छ ।


    तिव्र डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र लार्भा विरोधी अपरेसनहरू सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । डेङ्गु ज्वरो सङक्रमित एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यस रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने थकान, गम्भीर मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने चक्कर लमग्ने जस्ता लक्षणहरूसहित मानिसहरुलाई सिथिल बनाउने जनाइएको छ ।

  • श्रीलङ्कामा विपद् प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा

    श्रीलङ्कामा विपद् प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा

    कोलम्बो, २५ मङ्सिर (रासस–सिन्ह्वा) । श्रीलङ्काको महिला तथा बालबालिका मन्त्रालयले विनासकारी चक्रवातले निम्त्याएको बाढी र पहिरोबाट प्रभावित बालबालिकाको सुरक्षाका लागि विशेष कार्यक्रमको घोषणा गरेको छ । महिला तथा बाल–बालिका उपमन्त्री नमल सुदर्शनले विपद्का कारण देशव्यापी रूपमा एक लाख भन्दा बढी बालबालिका गम्भीर रूपमा प्रभावित भएको जनाउदै सबै भन्दा बढी पुत्तलम जिल्लामा ४३ हजार बालबालिका प्रभावित भएको बताउनु भएको छ ।

    प्रभावित बालबालिकाका लागि सहायता कार्यक्रम विकास गर्न सरकारले डिसेम्बर ११–१२ मा अन्तर्राष्ट्रिय बाल कोषसँग पनि छलफल गर्ने उहाँले बताउनु भएको छ । बैठक पछि मन्त्रालय र अन्तर्राष्ट्रिय साझेदारहरूले विपद् प्रभावित क्षेत्रमा बाल संरक्षण संयन्त्रलाई बलियो बनाउन संयुक्त पहल गर्ने अपेक्षा गरिएको उहाँले बताउनु भएको छ ।

  • मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र

    मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र

    रबात, मोरक्को, २५ मङ्सिर (रासस–एएफपी) । मोरक्कोको फे्स शहरमा दुई चारतले भवन भत्किँदा कम्तीमा उन्नाइस जनाको मृत्यु भएको छ भने सोह्र जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उद्धार कार्य अझै जारी रहेको र पुरिएका अरू मानिसलाई जोगाउने प्रयास भइरहेको बताएका छन् ।

    भवन फे्सको अल–मस्सिरा क्षेत्रमा रहेका थिए, र आठ परिवार त्यहाँ बस्दै आएका थिए । प्रारम्भिक दृश्यमा उद्धारकर्मीहरूले शव बोकेर सवारीमा लैजाँदै गरेको देखिएको छ, जबकि स्थानीय बासिन्दाहरू उद्धार प्रयास हेर्न जम्मा भएका थिए । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या आगामी घण्टामा बढ्न सक्ने चेतावनी दिएका छन् ।

    सुरक्षा अधिकारीहरूले वरिपरि क्षेत्र सुरक्षित गर्ने आवश्यक कदमहरू उठाइरहेका छन् । घाइतेहरू फे्सको विश्वविद्यालय अस्पताल केन्द्रमा उपचारका लागि भर्ना गरिएका छन् । यो दुर्घटना पछिल्ला वर्षहरूमा यस्तै प्रकारको सबैभन्दा घातक घटना मानिएको छ । गत वर्ष फेब्रुअरीमा फे्सको पुरानो शहरमा एउटा घर भत्किँदा पाँच जनाको मृत्यु भएको थियो ।

    करिब एक दशकअघि, सन् २०१६ मा एक हप्ताभित्र दुई भवन भत्किएका थिए । पश्चिमी शहर मेराकेशमा एउटा घर भत्किँदा दुई बच्चाको मृत्यु भएको थियो भने अर्को चारतले भवन भत्किँदा चार जनाको मृत्यु र दुई दर्जन बढी घाइते भएका थिए । सन् २०१४ मा पश्चिमी शहर कासाब्लाङ्कामा तीन भवन भत्किँदा तेइस जनाको मृत्यु भएको थियो ।

  • दक्षिण कोरियाको श्रम बजारमा सुधार

    दक्षिण कोरियाको श्रम बजारमा सुधार

    सिओल, २५ मङ्सिर (रासस–सिन्ह्वा) । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ । विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर व्याख्या गरेका छन् । यसले आर्थिक स्थिरता र समाजमा वृद्ध व्यक्तिहरूको सक्रिय सहभागितालाई देखाउँछ । १५ वर्षभन्दा माथिका कुल रोजगारी वर्षैपिच्छे ०।८ प्रतिशतले बढेर दुई करोड ९० लाख ४६ हजार पुगेको छ, जसअन्तर्गत ६० वर्षभन्दा माथिका व्यक्तिहरूका रोजगारी मात्र तीन लाख ३३ हजारले बढेका छन्, तर १५–२९ वर्ष उमेर समूहमा एक लाख ७७ हजार र ४० को दशकमा ९ हजारले रोजगारी घटेको छ ।

    स्वास्थ्य तथा सामाजिक सेवा, व्यवसाय व्यवस्थापन, खेलकुद तथा मनोरञ्जन क्षेत्रमा क्रमशः दुई लाख ८१ हजार, ६३ हजार र ६१ हजार रोजगारी बढेका छन्, भने निर्माण र उत्पादन क्षेत्र क्रमशः एक लाख ३१ हजार रहेका छन् । नियमित र अनियमित कर्मचारी सङ्ख्या बढे पनि दैनिक मजदुर र एक्लै व्यवसाय गर्ने स्व–रोजगार घटेका छन् । रोजगार दर १५ वर्षमाथिका जनसङ्ख्यामा ०.२ प्रतिशतले बढेर ६३.४ प्रतिशत पुगेको छ, जबकि ओईसीडी विधिअनुसार १५–६४ वर्ष समूहको दर ७०.२ प्रतिशतमा उक्लिएको छ । बेरोजगारी दर २.२ प्रतिशतमै स्थिर रहे पनि बेरोजगार सङ्ख्या पाँच हजारले बढेर ६ लाख ६१ हजारमा पुगेको छ । आर्थिक रूपमा निष्क्रिय जनसङ्ख्या अलि घटेको छ ।