Category: विश्व

  • दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित

    दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित

    टोकियो, ४ मङ्सिर (रासस–एपी) । दक्षिणपश्चिमी जापानको एक बस्तीमा लागेको भीषण आगो निभाउने प्रयासमा बुधबार दिनभरि अग्निनियन्त्रक तथा आत्म–रक्षा फौजका हेलिकप्टरहरूले १७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य हुनुपरेको अधिकारीहरूले पुष्टि गरेका छन् । जापानको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार कम्तीमा १७० घर पूर्ण रूपमा जलेका वा क्षतिग्रस्त भएका छन् । साथै, ७० वर्ष उमेरका एक पुरुष बेपत्ता भएपछि उद्धार टोली थप सतर्कताका साथ खोजीकार्यमा जुटिरहेको जनाइएको छ ।

    आगलागी मङ्गलबार साँझ ओइटा सहरको माछा मार्ने बन्दरगाह नजिकै सुरु भएको थियो । तीव्र हावाका कारण आगो तीव्र गतिमा फैलिँदै वरपरका घरहरू र नजिकको जङ्गलमा समेत पुगेको थियो । ओइटा दक्षिणी मुख्य टापु क्युशोमा अवस्थित सहर हो । यहाँ यो दुर्लभ स्तरको आगलागीले स्थानीयहरूलाई गम्भीर विपत्तिमा पारेको छ । दिउँसो प्रसारित जापानी टेलिभिजन दृश्यहरूमा विस्तृत क्षेत्रभरि जलेका र क्षतिग्रस्त घरहरूबाट बाक्लो धुवाँ उठिरहेको देखिन्थ्यो । यद्यपि प्रत्यक्ष ज्वाला भने धेरैजसो निभिसकेको देखिन्थ्यो ।

    एक स्थानीय बासिन्दाले क्योदो न्युजसँग कुरा गर्दै भने, “आगो आँखा झिम्क्याउँदा फैलियो । मलाई केही उठाउने फुर्सदै भएन, जीवन बचाउन मात्रै भाग्न सकेँ ।” आगो नियन्त्रणमा लिन दर्जनौँ फायर इन्जिन प्रयोग गरिएको छ र २०० भन्दा बढी अग्निनियन्त्रक खटिइरहेका छन् । तर आगलागी सुरु भएको करिब २० घण्टा बितिसक्दा पनि पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको अधिकारीहरूले बताएका छन् ।

    ग्राउन्ड सेल्फ–डिफेन्स फोर्स (जिएसडिएफ) ले पनि सहयोगस्वरूप दुई वटा युएच–१ सैन्य हेलिकप्टर परिचालन गरेको छ । ती हेलिकप्टरले आकाशबाट निरन्तर पानी छर्केर आगो निभाउने प्रयास गरिरहेका छन् । प्रधानमन्त्री साने ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया व्यक्त गर्दै आगलागीबाट पीडित भएका सबैप्रति हार्दिक सहानुभूति प्रकट गरे । उनले प्रभावित नागरिकहरूलाई आवश्यक सबै प्रकारका राहत तथा सहयोग ‘अधिकतम रूपमै उपलब्ध गराइने’ आश्वासन दिए ।

  • रूसी आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

    रूसी आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

    टेर्नोपिल, युक्रेन, ४ मङ्सिर (रासस–एएफपी) । पश्चिमी युक्रेनको टेर्नोपिल शहरमा बुधबार रुसी आक्रमणमा तीन बालबालिकासहित कम्तिमा २५ जनाको मृत्यु भएको छ । रूसी आक्रमणले टर्कीमा शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रयासलाई ओझेलमा पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ टर्कीमा हुने वार्तामा सहभागी नहुने भएका छन् । सन् २०२२ मा मस्कोले टेर्नोपिलमाथि हप्तौँसम्म आक्रमण गरेयता बुधबार भएको आक्रमण सबैभन्दा घातक र देशको पश्चिममा भएको सबैभन्दा ठूलो आक्रमण हो ।

    आक्रमणपछि दर्जनौं उद्धारकर्ताहरू भग्नावशेषमा खोजी गरिरहेका प्रत्यक्षदर्शी पत्रकार तथा स्थानीयले बताएका छन्। ध्वस्त भएको भवनमा पुग्न पत्रकारहरूसमेतले क्रेनको प्रयोग गरेका थिए। बिहान ७ बजे विस्फोटको आवाज सुनिएपछि बाक्लो खैरो धुवाँको मुस्लोले सडक ढाकिएको थियो । टेर्नोपिल अधिकारीहरूले आगोका कारण हावामा क्लोरीनको स्तर सामान्यभन्दा छ गुणा बढेको बताएका छन् र शहरका करिब दुई लाख बासिन्दाहरूलाई घरमै बस्न र झ्यालहरू बन्द गर्न आग्रह गरेका छन्।

    उद्धारकर्ताहरू पीडित सोभियत–कान अपार्टमेन्टको शीर्षतलामा पुग्न क्रेनहरूको सहायता लिएका थिए। युक्रेनीे गृह मन्त्रालयले रुसले गरेको गोलाबारीका कारण तीन बालबालिकासहित २५ जनाको मृत्यु भएको जनाएको छ । घटनामा १५ बालबालिकासहित ७५ जना घाइते भएका छन् । युक्रेनको विदेश मन्त्रालयले बिहीबार न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकमा ‘भयानक हत्या’ लाई छलफलको बिषय बनाउन माग गरिने बताएको छ र अन्तर्राष्ट्रिय निन्दा गर्न आह्वान गरेको छ।

    “रूसको ‘शान्ति योजना’ वास्तविकतामा यस्तै देखिन्छ,“ विदेशमन्त्री एन्ड्री सिबिगाले भने । रूसले जाडो अघि युक्रेनको ऊर्जा ग्रिडमा प्रहार गरिरहेको छ र युक्रेनको विस्तारित सेनाहरू सीमा क्षेत्रमा दबाबमा छन्। रूसी प्रशासन केन्द्र क्रेमलिनले करिब चार वर्ष लामो युद्ध अन्त्यका लागि अमेरिकासँग गोप्य योजनामा काम गरिरहेको भन्ने अमेरिकी सञ्चार माध्यम एक्सियोसको रिपोर्टमा टिप्पणी गर्न अस्वीकार गरेको छ। किएभको वायु सेनाले रुसले रातिको समयमा ४७६ भन्दा बढी ड्रोन र ४८ वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । उक्त आक्रमणमा उत्तरपूर्वी क्षेत्र खार्किभमा कम्तीमा ४६ जना घाइते भएका छन् भने पश्चिमी युक्रेनका अन्य क्षेत्रलाई लक्षित गरिएको छ ।

  • अन्तर्राष्ट्रिय गाजा सुरक्षा बलमा सामेल हुन अमेरिकाको यमनलाई आग्रह

    अन्तर्राष्ट्रिय गाजा सुरक्षा बलमा सामेल हुन अमेरिकाको यमनलाई आग्रह

    दुबई, ४ मङ्सिर (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको एक हिस्साका रूपमा गाजामा तैनाथ हुन लागेको अन्तर्राष्ट्रिय सुरक्षा बलमासामेल हुन यमनलाई अमेरिकाले आग्रह गरेको शीर्ष अधिकारीहरूसहित यमनका पाँच सरकारी स्रोतहरूले एएफपीलाई बताएका छन्। संयुक्त राष्ट्रसङ्घले यसै हप्ता ट्रम्पको शान्ति योजनालाई अनुमति दिने सङ्केत गरेको छ तर अरब र मुस्लिम राष्ट्रहरू प्यालेस्टिनी लडाकुसँग भिड्न सक्ने अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आइएसएफ) मा सहभागी हुन हिच्किचाइरहेका छन् ।

    यमनी सरकारले अझै कुनै निर्णय गर्न बाँकी रहेको यमनी कूटनीतिज्ञ, एक सैन्य अधिकारी र राष्ट्रपति नेतृत्व परिषद्का एक अधिकारीसहित स्रोतहरूले बताएका छन् । उनीहरू सबैले नाम नबताउने सर्तमा संवेदनशील विषयमा छलफल गरेको बताएका छन् । राष्ट्रपति परिषद् र यमनी कूटनीतिज्ञको एक स्रोतले भनेको छ, “बलमा कुनै पनि योगदान धेरै हदसम्म प्रतीकात्मक हुनेछ।”

    एक वरिष्ठ सैन्य अधिकारीले भने, “यमनको ‘अन्तर्राष्ट्रिय सेनामा सहभागिताको बारेमा अमेरिकीहरूसँग छलफल गरिएको छ, तर हामीले अझै पनि सेनामा सामेल हुन आधिकारिक अनुरोध प्राप्त गरेका छैनौं’।” यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार धेरै हदसम्म खण्डित र कमजोर छ। सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले राजधानी सानाबाट राष्ट्रसङ्घको समर्थन प्राप्त सरकारलाई लखेटेका थिए। हुथी समूहले अहिले यमनका अधिकांश जनसङ्ख्या र प्रशासनिक केन्द्रहरू नियन्त्रण गरेका छन्।” हमास अन्तर्राट्रिय बलको स्थापनाको विरोधमा छ र हमासको सहयोगी हुथी समूह पनि उक्त बलमा यमनी सहभागिताबाट आक्रोशित हुने सम्भावना रहेको छ।

  • विश्व प्रविधि क्षेत्रमा चीनको बढ्दो प्रभुत्व

    विश्व प्रविधि क्षेत्रमा चीनको बढ्दो प्रभुत्व

    लन्डन, ३ मङ्सिर (रासस–सिन्ह्वा) । चीनका सहरहरूले पहिलोपटक विश्वका शीर्ष दस वैज्ञानिक अनुसन्धान केन्द्रमध्ये आधाभन्दा बढी स्थान सुरक्षित गरेका छन् । ‘नेचर इंडेक्स सन् २०२५ साइन्स सिटिज’ परिशिष्टका अनुसार चीनका शीर्ष स्थानमा पर्ने सहरहरू सन् २०२३ का पाँचबाट सन् २०२४ मा छ पुगेका छन् । यससँगै शीर्ष दसमा चीनले पहिलोपटक बहुमत पाएको हो । यो प्रतिवेदनले सन् २०१५ देखि २०२४ सम्म प्रकाशित वैज्ञानिक लेखहरूको आधारमा प्रत्येक सहरको योगदान मापन गरेको छ । ‘सेयर’ नामक सूचक प्रयोग गरिने यो प्रणालीले कुनै सहरभित्रका सबै वैज्ञानिक संस्थानहरूले गरेका योगदानको जम्मा गरेर समग्र स्थान निर्धारण गर्दछ ।

    सूचकका अनुसार विश्वका शीर्ष विज्ञान सहरहरूमा बेइजिङ, साङ्घाइ, न्यूयोर्क क्षेत्र, बोस्टन क्षेत्र, नान्जिङ, ग्वाङ्गजोउ, सान फ्रान्सिस्को खाडी क्षेत्र, वुहान, बाल्टिमोर–वासिङ्टन क्षेत्र र हाङ्जोउ समावेश छन् । बेइजिङको समायोजित योगदान सन् २०२३ देखि २०२४ बीच ९ प्रतिशतभन्दा बढीले बढेको छ, जबकि साङ्घाइले २० प्रतिशतको उल्लेख्य वृद्धि हासिल गरेको छ । यसको विपरीत, शीर्ष दसमा रहेका अमेरिकी सहरहरूको संयुक्त योगदान घटेको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनले चीनले वैज्ञानिक क्षेत्रको अग्रता विस्तार गर्दै गएको र अमेरिकाको प्रभाव क्रमशः कमजोर हुँदै गएको प्रवृत्ति झल्किने निष्कर्ष निकालेको छ । रसायन, भौतिक विज्ञान तथा पृथ्वी–पर्यावरण विज्ञानजस्ता प्रमुख क्षेत्रहरूमा चीनका सहरहरू अग्रस्थानमा छन् । पहिलोपटक रसायन क्षेत्रमा शीर्ष दसै स्थान चीनले हात पारेको छ, भने अन्य दुई विषयमा पनि छ–छ स्थान चीनका सहरहरूले ओगटेका छन् । ती तीनै क्षेत्रमा बेइजिङ विश्वको एक नम्बरमा रहेको छ ।

  • भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर सङ्कटमा

    भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर सङ्कटमा

    नन्दुरबार (भारत), ३ मङ्सिर (रासस–एएफपी) । भारतको महाराष्ट्र राज्यका दूरदराजका खडेरीपीडित गाउँहरूमा रहेका बालिकाहरू शिक्षा र बाँच्नका लागि गरेको सङ्घर्षबीच दुविधामा परेको मार्मिक यथार्थ सतहमा आएको छ । प्रत्येक बिहान १७ वर्षीया रमाती मङ्गला झर्ना गाउँबाट धेरै किलोमिटर टाढासम्म नाङ्गो खुट्टा हिँड्दै पानी ल्याउन स्टिलको भाँडो लिएर प्रस्थान गर्छिन, जब उहाँ घर फर्कन्छिन्, तबसम्म विद्यालय सुरु भएर सकिनै लागेको हुन्छ ।

    “मेरो पुस्तकहरू सुरक्षित राखेको छु”, उनले भनिन्, “तर कहिल्यै समयमै फर्कने मौका पाइन भने के हुन्छ ?” महाराष्ट्रका नासिक र नन्दुरबार जिल्लामा कुवाहरू सुक्दै गएका छन् र वर्षा दिनप्रतिदिन अनियमित बन्दै गएको छ, जसले स्थानीय बासिन्दाहरूलाई कठोर जीवनस्थितिको सामना गर्न बाध्य पारेको छ । कामको खोजीमा पुरुषहरू नजिकका सहरतिर रोजगारीका लागि गएपछि मङ्गला जस्ता किशोरीहरूलाई घर–परिवारका लागि पानी जुटाउने जिम्मेवारीअनुसार भारी बोझ वहन गर्नुपर्ने बाध्यता छ । दैनिक घन्टौँ लाग्ने यो कामले विद्यालयमा हाजिरी राख्न अत्यन्तै कठिन बनाइदिएको छ ।

    स्थानीय अधिकारीहरूको अनुमानअनुसार यी क्षेत्रका करिब २० लाख जनसङ्ख्याले दैनिक पानीको अभाव भोगिरहेको छ । सन् २०२१ मा प्रकाशित युनेस्कोको प्रतिवेदनले जलवायुजन्य अवरोधहरूले विश्वभर लाखौँ बालिकाहरूलाई शिक्षाबाट वञ्चित गराउने खतरा रहेको चेतावनी दिएको थियो । भारतका ग्रामीण बस्तीहरूमा सो प्रतिकूल प्रभाव पहिले नै स्पष्ट रूपमा देखिन थालेको शिक्षकहरू बताउँछन् ।

    हालैका वर्षहरूमा विशेषतया सुक्खा महिनामा विद्यालयमा बालिकाहरूको उपस्थिति तीव्र रूपमा घटेको छ । पारिवारिक जीविकोपार्जनको सङ्कटले धेरै अभिभावकहरू बाध्य भएर छोरीहरूलाई घरमै राख्नुपर्ने वा चाँडै विवाह गरिदिनुपर्ने विकल्पमा पुगेका छन् ।

    संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ, “सुक्खाग्रस्त क्षेत्रमा बस्ने बालबालिकाहरू, विशेष गरी पानी ल्याउने दायित्व पाएका बालिकाहरू विद्यालयमा नियमित हाजिर हुन निकै कठिनाइ भोग्छन्, किनकि पानीको कमी र प्रदूषणका कारण पानी सङ्कलन गर्न लाग्ने समय झनै बढ्दो छ ।” भारतभरका किशोरीहरूको जीवनमा जलवायु परिवर्तनले पानी ल्याउने जस्तो सामान्य दैनिक कार्यलाई अब अस्तित्व र शिक्षाबीचको गम्भीर छनोटमा परिणत गरिदिएको छ ।

    मङ्गलाको कथालाई २५ वर्ष वा सोभन्दा कम उमेरका दक्षिण एसियाली फोटोग्राफरहरूका लागि खुला २०२५ माराई फोटो ग्रान्टमा फोटोग्राफर शेफाली रफीकले आफ्नो फोटोग्राफी शृङ्खलामार्फत उजागर गरेका छन् । सन् २०२५ को विषयवस्तु ‘जलवायु परिवर्तन’ र यसले दैनिक जीवन तथा त्यसमा संलग्न फोटोग्राफरहरूको समुदायलाई पारेको प्रभावमा केन्द्रित थियो ।

    एजेन्सी फ्रान्स–प्रेस (एएफपी) ले आफ्ना दिवङ्गत काबुल ब्युरो प्रमुख तथा अफगान फोटोग्राफीका प्रेरणादायी व्यक्तित्व शाह माराईको सम्मानमा यो पुरस्कार स्थापना गरेको हो । शाह माराईको सन् २०१८ अप्रिल ३० मा काबुलमा भएको आत्मघाती आक्रमणमा ४१ वर्षको उमेरमा कर्तव्यपालनका क्रममा निधन भएको थियो ।

  • कोलम्बियामा सैनिक कारबाहीका बीच अपहरणमा परेका १५ बालबालिकाको मृत्यु

    कोलम्बियामा सैनिक कारबाहीका बीच अपहरणमा परेका १५ बालबालिकाको मृत्यु

    बोगोटा, ३ मङ्सिर (रासस–एएफपी) । कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकूहरूलाई लक्षित गरी सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा १५ जना अपहरणमा परेका बालबालिकाहरूको ज्यान गएको अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । यसै सशस्त्र समूहद्वारा जबर्जस्ती अपहरणमा पारिएका ती नाबालिगहरू सेनाको कारबाहीमा गोलीको शिकार भएको बताइएको छ ।

    राष्ट्रपति गुस्ताभो पेट्रोले हालैका दुई सैन्य बम आक्रमणमा पाँच बालबालिकाको मृत्यु भएको प्रारम्भिक जानकारी सार्वजनिक गरेका थिए । कोलम्बियाको मानव अधिकार लोकपालको कार्यालयले सो सङ्ख्यामा सातसम्मको थप पुष्टि गरेको छ । ती बालबालिकाहरूको उमेर सार्वजनिक गरिएको छैन ।
    यसैबीच, कोलम्बियाको नेसनल इन्स्टिच्युट अफ लिगल मेडिसिन एन्ड फरेन्सिक साइन्सेजले सोमबार नै अगस्ट २४ मा दक्षिण–मध्य ग्वाभियर विभागमा भएको एक सैन्य आक्रमणका क्रममा तीन नाबालिगको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।

    सेना र अभियोजकहरूले अक्टोबर १० मा १९ गुरिल्ला सदस्य र सात बालबालिकाको ज्यान जाने गरी भएको आक्रमणबारे संयुक्त छानबिन सुरु गरेको जानकारी दिएपछि राष्ट्रपति पेट्रोले सामाजिक सञ्जाल एक्समार्फत लेख्दै भने, “सबै नाबालिगहरू अपराधी समूहहरूद्वारा जबर्जस्ती भर्ती गरिएका थिए, जसले उनीहरूलाई सीधै वैमनस्य र युद्धको मैदानमा धकेलेको थियो ।”

    कोलम्बियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले अपहरणमा परेका बालबालिकाहरूको सुरक्षाका लागि सेना तथा सुरक्षाकर्मीहरूले सकेसम्म सबै उपाय अपनाउनुपर्नेमा जोड दिँदै नाबालिगहरूको मृत्यु भएको घटनाप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । रिपोर्टहरूअनुसार कोलम्बियामा औसतमा प्रत्येक दुई दिनमा एक नाबालिगलाई छापामार समूहहरूले अपहरण गरी लडाकूका रूपमा तालिम दिने गरेका छन् ।

    राष्ट्रपति पेट्रोले सैनिकहरूको ज्यान जोगाउनका लागि आक्रमणको आदेश दिइएको बताएका छन् । उनले बालबालिकाहरूको ‘दुःखद क्षति’ प्रति गहिरो समवेदना व्यक्त गरेका छन् । ‘मैले यो पीडा आफ्नै अन्तस्करणमा बोकेको छु’ भन्दै पीडित आमाहरूसँग क्षमायाचना गरेका छन् ।


    तर उहाँले २०१६ को शान्ति सम्झौतापछि निरस्त्रीकरण गर्न अस्वीकार गरी पुनः सक्रिय भएका फार्कका असन्तुष्ट समूहहरूलाई लक्षित सैन्य कार्यवाही रोक्न लोकपालको कार्यालयले गरेको अनुरोध भने अस्वीकार गरेका छन् ।
    अभियोजनकर्ताहरूका अनुसार सन् २०१९ देखि २०२३ सम्म विभिन्न सशस्त्र समूहहरूले एक हजार १०० भन्दा बढी बालबालिकालाई अपहरण गरेका छन् । सन् १९९६ देखि २०१६ सम्म यो सङ्ख्या २३ हजार ८०० पुगेको थियो, जसले कोलम्बियामा दशौँ वर्षदेखि जारी हिंसा र बालअधिकार सङ्कटको गम्भीरता झनै उजागर गर्दछ ।

  • रोबोट र एआईले बदलिदिएको चीनको १५औँ राष्ट्रिय खेलकुद

    रोबोट र एआईले बदलिदिएको चीनको १५औँ राष्ट्रिय खेलकुद

    गुआङझाउ, २ मङ्सिर (रासस–सिन्ह्वा) । चीनको १५औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अहिले अत्याधुनिक प्रविधिको प्रदर्शन हुँदैछ । रोबोटहरूले खेलाडीहरूलाई मेडल प्रदान गर्दै दर्शकहरूको ध्यान तानेका छन् । प्रविधिको शहरका रूपमा चिनिने शेन्जेनमा रोबोटहरूले पोडियमसम्म पदक पु–याउँदा दर्शकहरू उत्साहित हुँदै तस्बिर खिचिरहेका छन् । ९२ किलोग्राम बक्सिङका रजत पदक विजेता मेङ फानलोङ्ग भने, “म निकै आश्चर्यचकित छु । भविष्यमा रोबोटहरू हामीभन्दा धेरै सक्षम हुनेजस्तो लाग्छ ।”

    यसपटकको ‘क्रस–बाउन्डरी’ खेलकुदमा विभिन्न प्रतिस्पर्धाहरूमा रोबोटहरूको व्यापक र प्रभावकारी प्रयोग भइरहेको छ । एथलेटिक्स मैदानमा रोबोटिक कुकुरहरूले जेभेलिन बोकेर कर्मचारीहरूको काम सजिलो बनाइरहेका छन्, जबकि अन्य रोबोटहरू स्थल गस्ती, पावर प्रणाली निरीक्षणको भूमिकासमेत निभाइरहेका छन् ।

    आयोजकका अनुसार प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता (एआई) र उन्नत सूचना प्रविधिसहित १३० भन्दा बढी हाई–टेक उपकरण प्रयोगमा छन् । उद्योग विशेषज्ञ पान हेलिनका अनुसार, यस्तो ठूलो स्तरको प्रतियोगिताले रोबोटिक्स र स्वचालित सवारीहरूको वास्तविक परीक्षण गर्ने उत्कृष्ट अवसर प्रदान गर्छ ।
    साइकल दौडमा उच्च प्रविधिको योगदान

    हङकङ–झुहाइ–मकाउ पुल हुँदै तीनै क्षेत्र जोड्ने पुरुष रोड साइकल दौडमा प्रविधिले सुरक्षा र व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेलेको छ । लिङडिङयाङ समुद्री क्षेत्रमा चालकविहीन गस्ती र एचडी क्यामेरासहित गस्ती गरिरहेका छन् ।

    दर्शकहरूका लागि समावेशी प्रविधि

    दर्शकहरू अहिले एकै क्लिकमा साङ्केतिक भाषा सुविधा प्रयोग गरिरहेका छन्, जसले खेल हेर्ने अनुभवलाई अझ समावेशी बनाइरहेको छ ।

    उद्योगमा दीर्घकालीन प्रभाव

    विशेषज्ञहरूका अनुसार राष्ट्रिय खेलकुदमा प्रयोग भएका यी प्रविधिहरूले खेल प्रविधि उद्योगमा सकारात्मक र दिगो प्रभाव पारिरहेका छन् ।

    शेन्जेनस्थित एक प्रविधि कम्पनीका प्रमुख ली जीले एआईको विकाससँगै खेल प्रकाश प्रणाली र डिजिटल सामग्रीको संयुक्त प्रदर्शन समाधान झनै लोकप्रिय बन्दै गएको बताउ । पान हेलिनका अनुसार, खेलकुदमा देखाइएको प्रविधिले उद्योग उत्पादनकर्ताहरूलाई व्यावहारिक सन्दर्भ र दिशा प्रदान गर्दै ग्रेटर बे एरियाको डिजिटल तथा बुद्धिमान विकासलाई मजबुत बनाइरहेको छ।

  • पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग

    पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग

    ढाका, १ मङ्सिर (रासस–एएफपी) । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसीको सजाय सुनाइएको केही घण्टापछि सोमबार भारतसँग सुपुर्दगी गर्न माग गरेको छ। हसिनालाई नयाँदिल्लीले समर्थन गरेको बताउने गरिएको छ। सन् २०२४ अगस्टमा भएको जनविद्रोहको बलमा ७८ वर्षीया हसिनालाई पदच्युत गरिएपछि उनी भागेर भारतको राजधानी नयाँदिल्ली पुगेकी छिन् । अहिले पनि उनी नयाँदिल्ली वा अन्य कुनै भारतीय शहरमा रहेको अनुमान गरिएको छ। भारतले पूर्व प्रधानमन्त्री हसिनालाई सहयोग गरेको र शरण दिएको बिषयले दुई छिमेकीबीचको सम्बन्ध बिग्रिएको छ।

    गत वर्ष विद्यार्थी नेतृत्वमा भएको विद्रोहविरुद्ध भएको घातक दमनमा मानवताविरुद्धको अपराधमा दोषी ठहर भएपछि ढाकाको एक अदालतले हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई उहाँहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको थियो। पूर्वमन्त्री कहाँ छन् भन्ने थाहा छैन, तर बङ्गलादेशले भने उनी पनि भारतमा रहेको दावी गर्दै आएको छ।

    बङ्गलादेशको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी भारत सरकारसँग आग्रह गर्छौं कि ती दुई दोषीलाई तत्काल बङ्गलादेशी अधिकारीहरू समक्ष सुपुर्दगी गरियोस् ।” बङ्गलादेशले चेतावनी स्वरमा भनेको छ, “यी दोषीहरुलाई शरण दिने बिषय अत्यन्त अमैत्रीपूर्ण र न्यायको अपमान हुनेछ।” भारतीय विदेश मन्त्रालयले हसिनाको फैसलालाई ध्यान दिएको जनाएको छ ।

    “भारत शान्ति, लोकतन्त्र, समावेशिता र स्थिरता सहित बङ्गलादेशका जनताको सर्वोत्तम हितका लागि प्रतिबद्ध छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। हसिनाको १५ वर्षे कार्यकालमा व्यापक मानवअधिकार उल्लङ्घन भएको थियो, जसमा उहाँका राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्याहरू समावेश छन्।

    बङ्गलादेशले गत वर्ष हसिनाका लागि इन्टरपोलमा ‘अत्यन्त खोजी’ सूचना जारी गर्ने बताएको थियो, तर विश्वव्यापी प्रहरी निकायको सूचीमा कुनै रेकर्ड दर्ता नभएको बताइएको छ। बङ्गलादेशका अन्तरिम सरकारका नेता मोहम्मद युनुसले अदालतको फैसलाको स्वागत गरेका छन् । “पूर्व प्रधानमन्त्री हसिना र मन्त्री खान कमललाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको फैसला सुनाउनु ऐतिहासिक फैसला हो,” नोबेल शान्ति पुरस्कार विजेता युनुसले एक विज्ञप्तिमा भनका छन् । उनले शान्ति कायम गर्न आग्रह गर्दै ‘सार्वजनिक व्यवस्था उल्लङ्घन गर्ने कुनै पनि प्रयास’ नगर्न चेतावनी दिँदै ‘सबैलाई अनुशासनहीन कार्यबाट टाढा रहन आग्रह गर ।

  • बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्डको फैसला

    बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्डको फैसला

    ढाका, १ मङ्सिर (रासस–एएनआई) । बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सन् २०२४ को जुलाई–अगस्ट विद्यार्थी विद्रोहका क्रममा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ (आइसिटी–१) ले सोमबार दिउँसो सुनाएको ऐतिहासिक फैसलामा हसिनासहित तीन जना शीर्ष राजनीतिक तथा सुरक्षा नेतृत्वलाई दोषी ठहर गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    ढाका ट्रिब्युनका अनुसार न्यायाधिकरणले हसिनालाई मानवता विरुद्ध अपराधका पाँचवटै अभियोगमा दोषी ठहर गर्दै उनको आदेश, उक्साहट र नियन्त्रण असफलताले देशव्यापी हिंसा चर्किएको निष्कर्ष निकालेको छ । अदालतले हसिना, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलले विद्यार्थी आन्दोलन दमनका लागि अत्याचारको योजना बनाएको र सक्षम पारेको ठहर गरेको हो ।

    ७८ वर्षीया शेख हसिना हाल भारतमा निर्वासनमा छिन् । उनको अनुपस्थितिमै मुद्दा चलाइएको थियो । असदुज्जमान पनि भारतमै रहेको विश्वास गरिन्छ । उनीहरु दुवै जनालाई फरार अभियुक्त घोषित गरिएकाले मुद्दा अनुपस्थितिमै अघि बढाइएको थियो ।
    अदालतलाई उद्धृत गर्दै अल जजिराले भन्यो, “अभियुक्त शेख हसिनाले आफ्ना उक्साहटपूर्ण आदेशहरू मार्फत मानवता विरुद्ध अपराध गरिन्, र आरोप नं १ अन्तर्गत रोकथाम तथा दण्डात्मक कदम लिन असफल भइन् ।’ विशेष न्यायाधिकरणले थप जनाएको छ, “आरोप नं २ अन्तर्गत उनले ड्रोन, हेलिकप्टर र घातक हतियार प्रयोग गर्न आदेश दिएकी थिइन्, जसले मानवता विरुद्ध अपराधलाई आकार दियो ।”

    बङ्गलादेश टेलिभिजनले मुख्य न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा रहेको तीन सदस्यीय बेन्चबाट फैसला प्रत्यक्ष प्रसारण गरेको थियो । बेन्चका अन्य दुई सदस्यमा न्यायाधीश मोहम्मद सोफिउल आलम महमुद र न्यायाधीश मोहम्मद मोहितुल हक इनाम चौधरी रहेका थिए । एक मात्र हिरासतमा रहेका अभियुक्त, पूर्व प्रहरी प्रमुख मामुनलाई सोमबार बिहान अदालत ल्याइएको थियो । उनी यसअघि नै दोषी ठहर भइसकेका थिए । राज्यका साक्षी बनेका थिए ।


    फैसला अघि अदालत परिसर तथा वरिपरि उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको थियो । केही पीडितका परिवारहरू त्यसै दिन अदालतमा उपस्थित भएर कडा सजायको माग गरेका थिए । दोस्रो दिनदेखि हसिनाको पार्टी अवामी लिगले देशव्यापी ‘पूर्ण बन्द’ को घोषणा गरेको छ । ढाकासहित केही क्षेत्रमा छिटपुट विस्फोट र गाडी जलाइएका घटनाहरू रिपोर्ट भएका छन् ।

    आइसिटी–१ ले पाँचवटा अभियोगमा अभियुक्तहरूलाई दोषी ठहर गरेको छ । जसमा ढाकामा प्रदर्शनकारीहरूको सामूहिक हत्या, भीडमाथि गोली चलाउन ड्रोन र हेलिकप्टर प्रयोग, विद्यार्थी कार्यकर्ता अबु सैयदको हत्या, आशुलियामा शव जलाएर प्रमाण नष्ट गर्ने र चन्खरपुलमा विद्यार्थीहरूको समन्वित हत्या समावेश छन् ।

    मुद्दाको औपचारिक कागजात आठ हजार ७४७ पृष्ठका रहेका छन्, जसमा सन्दर्भहरू, जफत सामग्री तथा पीडितहरूको विस्तृत विवरण समावेश छ । हसिनाले सन् २०२४ जुलाई १४ मा गणभवनमा पत्रकार सम्मेलनमार्फत गरेको उक्साहटपछि कानून प्रवर्तन निकाय र सत्तारूढ दलका कार्यकर्ताहरूले विद्यार्थीहरूलाई लक्षित गरी व्यवस्थित आक्रमण गरेको अभियोजन पक्षको आरोप छ ।

    ढाका ट्रिब्युनका अनुसार अदालतले हसिना, कमल र मामुनले यी आक्रमणहरू उक्साएको, निर्देशन दिएको वा रोक्न असफल भएको, जसका कारण हत्या, हत्या प्रयास र यातनासहितका कृत्यहरू फैलिएको थियो भनी मूल्याङ्कन गरेको छ । सन् २०२४ अगस्ट ५ मा ढाकाको चन्खरपुल क्षेत्रमा प्रहरीले गोली चलाउँदा छ विद्यार्थीको मृत्यु भएको र त्यसको प्रत्यक्ष जिम्मेवारी शीर्ष नेतृत्वमाथि परेको अदालतको निष्कर्ष छ । त्यही दिन आशुलियामा पनि छ जनालाई गोली हानेर पाँच जनाको शव जलाइएको र एक जनालाई जीवितै जलाइएको आरोप कागजातमा उल्लेख छ ।

    प्रतिरक्षा वकिल मोहम्मद अमिर हुसेनले भने सबै आरोप झुट्टा र बनावटी रहेको दाबी गर्दै शेख हसिनाले कुनै पनि हत्याको आदेश दिएको प्रमाण नभएको प्रतिक्रिया दिएकी छिन् । उनले हिंसा ‘अलग समूहले’ गराएको बताएकी छिन् । सन् २०२४ अगस्टमा बङ्गलादेशबाट भागेर शेख हसिना नयाँदिल्लीमा बस्दै आएकी छिन् । त्यहीँबाट उनले सबै आरोप अस्वीकार गर्दै आइरहेकी छिन् ।

  • स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

    स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

    बिलबाओ (स्पेन), १ मंसिर, (रासस–एपी) । प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका स्पेनी खेलाडीहरूको समूहसँग राजनीतिक सन्दर्भले भरिएको मैत्रीपूर्ण प्रतिस्पर्धा खेलेको छ । यसको पृष्ठभूमि गाजामा इजरायलको सैन्य कारबाहीसँग जोडिएको छ । आयोजकहरूका अनुसार एथलेटिक बिलबाओको घरेलु मैदान सान मेम्स स्टेडियममा आयोजित खेलका लागि करिब ५० हजार दर्शकका लागि टिकट छुट्याइएको थियो । खेल सुरू हुनुअघि नै स्टेडियममा ठूलो भीड जम्मा भइसकेको थियो । धेरै समर्थकले प्यालेस्टिनी झण्डासँगै उत्तरी बास्क देशलाई प्रतिनिधित्व गर्ने झण्डाहरू समेत फहराउँदै ऐक्यबद्धता व्यक्त गरेका थिए ।

    यसअघि हजारौँ मानिसले समेत व्यापक समर्थन प्रदर्शन गर्दै झण्डा बोकी पदयात्रा गरेका थिए । सन् २०२३ अक्टोबरमा हमासद्वारा गरिएको आक्रमणपछि इजरायलको सैन्य प्रतिक्रियाविरुद्ध स्पेनभरि निरन्तर विरोध प्रदर्शनहरू जारी रहेका छन् । यसको प्रभाव यस खेलमा पनि देखिएको हो । सेप्टेम्बर महिनामा स्पेनका विभिन्न स्थानमा इजरायली स्वामित्वको साइक्लिङ टोलीविरुद्ध भएको विरोध अभियानको पहिलो केन्द्र बिलबाओ नै बनेको थियो । बास्क टोलीमा एथलेटिक बिलबाओ र रियल सोसिडाडका पेशेवर खेलाडीहरू सहित अन्य टोलीका खेलाडीहरूको सहभागिता रहेको थियो ।

    यसै समयमा स्पेनका राष्ट्रिय खेलाडीहरू विश्वकप छनोट खेलमा व्यस्त रहेका कारण उनीहरू यस मैत्रीपूर्ण खेलमा उपलब्ध थिएनन् । प्यालेस्टिनी टोलीले यही यात्राका क्रममा आगामी मङ्गलबार बार्सिलोनामा स्पेनको क्याटालोनिया क्षेत्रमा चयन गरिएका खेलाडीहरूको समूहसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ ।

  • भीषण खडेरीपछि इरानले वर्षा गराउन क्लाउड सिडिङ सुरु

    भीषण खडेरीपछि इरानले वर्षा गराउन क्लाउड सिडिङ सुरु

    तेहरान, १ मंसिर (रासस\एएफपी) । इरानी अधिकारीहरूले दशकौँयता देखिएको सबैभन्दा कडा खडेरीसँग जुध्न वर्षा उत्प्रेरणा गर्ने क्लाउड सिडिङ प्रक्रिया औपचारिक रूपमा सुरु गरेका छन् । सरकारी मिडियाका अनुसार यो वर्षको जल चक्रमा पहिलोपटक यस्तो प्रक्रिया सञ्चालन गरिएको हो । इरना समाचार एजेन्सीले शनिबार राति सूचित गरेअनुसार सेप्टेम्बरमा सुरु हुने चालु जल वर्षअन्तर्गत उर्मिया ताल बेसिनमा पहिलो क्लाउड सिडिङ उडान सम्पन्न गरिएको छ । देशको उत्तर–पश्चिममा रहेको उर्मिया इरानको सबैभन्दा ठूलो ताल हो तर दीर्घ खडेरीका कारण ठूलो भाग सुकेर विशाल नुनथलोमा परिणत भएको छ ।

    एजेन्सीले पूर्वी र पश्चिम अजरबैजान प्रान्तहरूमा आगामी दिनहरूमा थप सञ्चालन गरिने जानकारी दिएको छ । क्लाउड सिडिङमा विमानमार्फत बादलहरूमा सिल्भर आयोडाइड, नुन लगायतका सूक्ष्म कणहरू छर्केर वर्षा गराउने प्रयास गरिन्छ । गत वर्ष इरानले यस प्राविधिक प्रक्रियामा स्वदेशी प्रविधि विकास भएको घोषणा गरेको थियो । सरकारी मिडियाले शनिबार पनि देशको पश्चिमका इलाम, केरमानशाह, कुर्दिस्तान र लोरेस्तान तथा उत्तरपश्चिम पश्चिम अजरबैजान प्रान्तमा वर्षा भएको तथ्य सार्वजनिक गरेको थियो ।

    मौसम विज्ञान सङ्गठनका विवरणअनुसार इरानमा यस वर्ष दीर्घकालीन औसतको तुलनामा वर्षा करिब ८९ प्रतिशतले घटेको छ । “तपाईंहरूले अहिले देशले पछिल्ला ५० वर्षमा भोगेको सबैभन्दा सुक्खा शरद ऋतु अनुभव गरिरहनुभएको छ”, एजेन्सीले उल्लेख गरेको छ । तेहरान नजिकै अल्बोर्ज पर्वत शृङ्खलामा अवस्थित तोचल पर्वत र स्की रिसोर्टमा यो वर्ष पहिलोपटक हिउँ परेको दृश्य पनि राज्य मिडियाले सार्वजनिक गरेको छ ।

    धेरैजसो सुक्खा भू–भाग भएको इरान वर्षौंदेखि लगातार दीर्घ खडेरी, चर्को तापक्रम र गर्मीको लहरको सामना गर्दै आएको छ, जसलाई जलवायु परिवर्तनले झनै जटिल बनाइरहेको बताइन्छ । स्थानीय अधिकारीहरूले राजधानी तेहरानमा वर्षा एक शताब्दीमा सबैभन्दा न्यून स्तरमा झरेको र देशको आधा प्रान्तमा महिनौँदेखि वर्षाको एक थोपा पनि नपरेको जनाएका छन् ।

    धेरै प्रान्तलाई पानी आपूर्ति गर्ने प्रमुख जलाशयहरूको सतह पनि रेकर्ड न्यूनमा पुगेको छ । यो महिनाको सुरुमा राष्ट्रपति मसुद पेजेस्कियानले पानी नपरेमा तेहरानले जाडो अघि नै सम्भावित निकासी स्थिति झेल्न सक्ने चेतावनी दिएका थिए । यद्यपि विस्तृत कारण खुलाइएको थिएन । यस्तै, संयुक्त अरब इमिरेट्ससहित क्षेत्रका अन्य देशहरूले पनि कृत्रिम रूपमा वर्षा उत्पादनका लागि क्लाउड सिडिङ प्रविधिको उपयोग गर्दै आएका छन् ।

  • ढाकामा सुरक्षा कडा, शेख हसिना विरुद्धको मुद्दाको फैसला अघि देशभर तनाब

    ढाकामा सुरक्षा कडा, शेख हसिना विरुद्धको मुद्दाको फैसला अघि देशभर तनाब

    ढाका, १ मंसिर, (रासस\एएनआई) । बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मुद्दामा फैसला सुनाउन तयारी गरिरहेकै बेला देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । यो मुद्दा सन् २०२४ जुलाई–अगस्टमा विद्यार्थी नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा मानवता विरुद्धका कथित अपराधसँग सम्बन्धित छ । हसिनाले भने आफूमाथि लागेको सम्पूर्ण आरोप अस्वीकार गरिरहेकी छिन् ।

    फैसला आउनुअघि नै देशको राजनीतिक वातावरण तनावपूर्ण बनेको छ । शेख हसिना नेतृत्वको बङ्गलादेश अवामी लिगले आइतबार बिहानदेखि देशभर दुई दिने बन्दको घोषणा गरेपछि सामान्य जनजीवन प्रभावित बनेको छ । राजधानी ढाकामा ट्राफिक अत्यन्तै कम देखिएको छ भने केही क्षेत्रमा पटाखा विस्फोट भएको रिपोर्टसमेत आएको छ ।

    आगामी आम चुनावले देशमा स्थिरता पुनःस्थापना गर्ने आशामा व्यवसायी तथा उद्योगीहरूले राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बिजिएमइए) का पूर्वअध्यक्ष काजी मोनिरुज्जमानले परिस्थितिलाई अत्यन्तै असहज भनेका छन् ।

    उनले भने, “हामी निकै चिन्तित छौँ । आशा छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेछ, जनता शान्तिपूर्वक मतदान गर्न पाउनेछन् र निर्वाचित सरकारले अहिले निकै कमजोर बनेको व्यापार, सामाजिक समस्या तथा कानून–व्यवस्थालाई सुधार गर्नेछ ।” उनले सन् १९७१ को मुक्ति युद्धका एक स्वतन्त्रता सेनानीका रूपमा जनतालाई परेको असुविधाप्रति दुःख व्यक्त गर्दै भने, “गत वर्ष अत्यन्त कठिन रह्यो । सन् २०२६ को निर्वाचनले देशलाई नयाँ आशा दिने अपेक्षा छ । हाम्रो सार्वभौमिकताको रक्षा गर्दै सबै छिमेकी राष्ट्रसँग सन्तुलित र मधुर सम्बन्ध राख्नु आवश्यक छ । यस क्षेत्रको शान्तिका लागि सबैले एकताबद्ध हुनुपर्छ ।”

    भारतसँगको सम्बन्धलाई लिएर पनि मोनिरुज्जमानले विशेष जोड दिँदै भने, “भारतले सन् १९७१ मा हामीलाई अमूल्य सहयोग गरेको थियो । स्वतन्त्रता सेनानीका रूपमा मैले त्यहाँ प्रशिक्षणसमेत पाएको हुँ । हाम्रो स्वतन्त्रता र सार्वभौमसत्तालाई सम्मान गर्दै भारतसँग सुदृढ सम्बन्ध कायम राख्नु आवश्यक छ । ठूलो छिमेकीका हैसियतले भारतले हाम्रो भावनाको सम्मान गर्नेछ भन्ने आशा छ ।”

    गार्मेन्ट उद्योगबारे उनले भने, “यो उद्योग हाम्रो देशको गर्व हो । धेरै वर्षदेखि यसको योगदान उच्च छ, तर अहिलेको अस्थिरताले यसलाई जोखिममा पारेको छ । कुनै पनि अशान्तिले उद्योगलाई हानि पु¥याउन सक्छ र विदेशी क्रेताहरूले विश्वास गुमाउन सक्छन् । अधिकांश विदेशी मुद्रा यही क्षेत्रबाट कमाइन्छ र विशेषगरी महिलाहरूको ठूलो रोजगारको स्रोत यही उद्योग हो । यदि उद्योग असुरक्षित बन्यो भने सामाजिक अशान्ति र आर्थिक सङ्कट थपिन सक्छ ।”

    अल्पसङ्ख्यकको प्रसङ्गमा उनले भने, “मानवका रूपमा म कुनै धार्मिक विभाजनमा विश्वास गर्दिनँ । हामी सबै पहिले बङ्गलादेशी हौँ, अनि मात्र विभिन्न धर्मका अनुयायी ।” यसैबीच, मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले अवामी लिग तथा यसको सम्बद्ध सङ्गठनहरूको गतिविधिमा प्रतिबन्ध लगाएदेखि पार्टी नेताहरूले अज्ञात स्थानबाट अनलाइनमार्फत कार्यक्रमहरूको घोषणा तथा प्रचार–प्रसार गरिरहेका छन् ।

    सन् २०२४ जुलाईको विद्यार्थी नेतृत्वको आन्दोलनपछि शेख हसिनाको सरकार अपदस्थ भएको थियो । सन् २०२४ अगस्ट ५ मा उनी भारत प्रस्थान गरेकी थिइन् । त्यसपछि मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनअनुसार सोही महिनामा भएको हिंसात्मक प्रदर्शनमा करिब एक हजार ४०० जनाको मृत्यु भएको हुनसक्ने उल्लेख छ ।

    शेख हसिनाको नेतृत्वमा नै सन् १९७१ को मुक्ति युद्धमा भएका अपराधको मुद्दा चलाउन अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण स्थापना गरिएको थियो । सोही ट्रिब्युनलले उनको कार्यकालमा जमात–ए–इस्लामीका धेरै नेतामाथि युद्ध अपराधका मुद्दा दायर गरेको थियो ।

  • दिल्लीमा कार विस्फोटमा सहयोगी मानिएका एक व्यक्ति पक्राउ

    दिल्लीमा कार विस्फोटमा सहयोगी मानिएका एक व्यक्ति पक्राउ

    नयाँ दिल्ली, १ मंसिर, (रासस–एएफपी) । भारतीय अधिकारीहरूले नयाँ दिल्लीमा गत हप्ता भएको घातक कार विस्फोटमा सहयोगी भूमिका रहेका एक व्यक्तिलाई आइतबार पक्राउ गरिएको बताएका छन् । अधिकारीहरूले आक्रमण ‘आत्मघाती हमलाकारी’ व्यक्तिद्वारा गरिएको दुःखद् घटना भएको बताएका छन्। राष्ट्रिय अनुसन्धान निकाय (एनआइए) ले आक्रमणकारी र दोस्रो संदिग्ध दुवै प्रहरीले हालैका दिनहरूमा व्यापक छापा मारेको भारत प्रशासित कश्मीरका भएको जनाएको छ ।

    अनुसन्धानमा सफलता आएको घोषणा गर्दै एनआइएले आमिर रसिद अलीलाई ‘आत्मघाती हमलाकारी’को सहयोगी भएको बताएको छ । प्रतिआतंकवाद एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनी विस्फोट गराउन प्रयोग गरिएको कार खरिदका लागि दिल्ली आएका थिए।” दुर्घटनामा चालकको नाम कश्मीरका उमर उन नबी रहेको र उनी उत्तरी राज्य हरियाणाको एक विश्वविद्यालयमा जनरल मेडिसिनका सहायक प्राध्यापक थिए ।

    सोमबार राजधानीको पुरानो दिल्लीस्थित ऐतिहासिक लाल किल्ला नजिकै रहेको व्यस्त मेट्रो स्टेशन नजिकै विस्फोट भएको थियो । उक्त स्थान नजिकै प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवस अवसरमा एउटा वार्षिक सम्बोधन गरिरहेका थिए । अस्पतालका एक अधिकारीले विस्फोटमा परी १२ जनाको मृत्यु भएको बताएका छन् । मृतक सङ्ख्यामा नाबीलाई समावेश गरिएको थियो वा थिएन भन्ने स्पष्ट भएको छैन।

    आक्रमणमा परी १० जनाको मृत्यु भएको र अन्य ३२ जना घाइते भएको भारतीय अनुसन्धान निकाय (एनआइए) ले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
    एनआइएले नाबीको अर्को गाडी पनि नियन्त्रणमा लिएको जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले उक्त आक्रमणलाई ‘षड्यन्त्र’ को संज्ञा दिएका छन् । उनको सरकारले ‘अपराधी, सहयोगी र प्रायोजक’ हरूलाई न्यायको कठघरामा ल्याउने वाचा गरेको छ।

    गत अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पर्यटकीय स्थल पहलगाममा २६ जना हिन्दु सर्वसाधारणको मृत्यु भएपछि पाकिस्तानसँग झडप भएपछि भएको यो सबैभन्दा ठूलोसुरक्षा घटना हो । सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै काश्मिर भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले पूर्ण रूपमा हिमाली क्षेत्र दाबी गर्छन्। नयाँ दिल्ली र इस्लामावादबीच तनाव उच्च रहेको छ ।

  • सामसुङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने

    सामसुङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने

    सियोल, १ मंसिर, (रासस–एएफपी) । दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसुङ) ले आगामी पाँच वर्षमा ३१० अर्ब डलर लगानी गर्ने योजना आइतवार सार्वजनिक गरेको छ । यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक्ष्यसाथ आएको हो । सामसङ इलेक्ट्रोनिक्स पहिले नै विश्वको शीर्ष मेमोरी–चिप निर्माताहरू मध्ये एक हो र यसले एआई उद्योग र यसमा निर्भर पूर्वाधारको लागि महत्त्वपूर्ण चिप्स आपूर्ति गर्छ ।

    दक्षिण कोरिया विश्वव्यापी सेमिकन्डक्टर बजारको अर्को प्रमुख प्रविधि उत्पादक एसके हाइनिक्स रहेको राष्ट्र पनि हो । पाँच वर्षको लगानी प्याकेजमा ‘मेमोरी चिप्सको मागहरू पूरा गर्न’ डिजाइन गरिएका नयाँ सेमिकन्डक्टर सुविधा प्योङटेक प्लान्ट ५० निर्माण गर्ने योजना समावेश रहेको छ,”सामसुङले एक विज्ञप्तिमा जनाएको छ।

    पूर्ण रूपमा सञ्चालनमा आएपछि प्योङटेक प्लान्टले विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति श्रृंखला र दक्षिण कोरियाको घरेलु चिप्स प्रणाली दुवैमा अझ ठूलो रणनीतिक भूमिका खेल्ने अपेक्षा गरिएको छ। नयाँ सेवा २०२८ मा सञ्चालन सुरु गर्ने योजना रहेको छ। कम्पनीले बिस्तृत विवरण सार्वजनिक नगरिकन भनेको छ, “सामसुङ एसडीएस, समूहको आइटी र लजिस्टिक शाखाले दक्षिण जियोला र गुमीमा दुई एआई डाटा सेन्टरहरू स्थापना गर्नेछ।”

    सामसुङ इलेक्ट्रोनिक्सल एआई–ईन्धनको मागको कारण तेस्रो त्रैमासिकमा यसको नाफा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतभन्दा बढीले बढेको छ। एआई–सम्बन्धित खर्च विश्वव्यापी रूपमा बढिरहेको र आकासिँदो प्रविधिको शेयर मूल्याङ्कनले एआई बजारमा देखिएका फोका अन्ततः फुट्न सक्छन् भन्ने चिन्तालाई बढाएको छ।

    दक्षिण कोरियाली सरकारले अर्को वर्ष आर्टिफिसियल इन्टेलिजेन्समा तीन गुणा बढी खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आइतबार घोषणा गरिएको लगानी प्याकेज आएको हो। अमेरिकी राष्ट्रपति ली जे म्युङले ‘एआई युगको सुरुवात’ गर्ने र देशलाई संयुक्त राज्य अमेरिका र चीनपछि विश्वको शीर्ष तीन एआई शक्तिमध्ये एक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • फ्रान्समा एक करोड २० लाख डलर बराबरको गहना चोरी

    फ्रान्समा एक करोड २० लाख डलर बराबरको गहना चोरी

    लिली, फ्रान्स, २९ कात्तिक (रासस–एएफपी) । उत्तरी फ्रान्समा चोरहरूले १२ लाख डलर बराबरका गहना चोरी गरेका छन् । चोरले कथित रूपमा बुधबार लिली नजिकैको मध्य रूबैक्समा एक गहना पसलमा तोडफोड गरी बहुमूल्य सामानहरू लिएर भाग्नु अघि जौहरी र उनकी श्रीमतीलाई केही समय बन्धकसमेत बनाएका थिए। प्रहरीका अनुसार चोरले लगेका गहनाहरूको मूल्य पाँच लाखदेखि १० लाख युरो अर्थात् पाँच लाख ८० हजारदेखि र १२ लाख अमेरिकी डलर बराबर रहेको छ।

    प्रहरीले घटनामा संलग्नता रहेको आशङ्कामा पक्रउ गरेका केही व्यक्तिविरूद्ध अपहरण, सङ्गठित अपराध र सशस्त्र चन्दा असुलीको बिषयमा अनुसन्धान सुरु गरेको छ । बुधबार एक फरक घटनामा धेरै व्यक्तिहरूले रूबैक्सको मुख्य हुलाक कार्यालयको नगद स्थानान्तरण धुकुटी तोडफोड गरी त्यसभित्र रहेको झोला लिएर भागेका थिए। झोलामा खाली झोलाबाहेक अरू केही थिएन। यस घटनामा संलग्न छ जनालाई त्यसै साँझ पक्राउ गरिएको थियो। गत महिना पेरिसको लुभ्र म्युजियममा एक गिरोहले दिनदहाडै छापा मारी १० करोड २० लाख अमेरिकी डलर बराबरको बहुमूल्य तथा ऐतिहासिक महत्वका गहना चोरी गरेका थिए ।

  • गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

    गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

    संयुक्त राष्ट्र, २९ कात्तिक (रासस–सिन्ह्वा) । गाजामा शुक्रबार परेको भारी वर्षापछि हजारौं विस्थापित परिवार प्रभावित भएका छन् । यस सन्दर्भमा, संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले राहत कार्यका लागि छिटो प्रतिक्रिया टोली परिचालित गरेको जनाएको छ । वर्षाले परिवारका व्यक्तिगत सामग्रीहरूमा क्षति पु¥याएको र धेरैलाई खुला आकाशमा जाडो मौसमसँग जुध्नु परेको छ ।

    यसले वृद्ध, अशक्त र अन्य संवेदनशील समूहमा स्वास्थ्य र सुरक्षा सम्बन्धी चिन्ता बढाएको छ । राहत कार्यमा संलग्न संस्थाहरूले बाढी नियन्त्रणका उपकरणहरू उपलब्ध नभएको जनाएको छ । पानी निकाल्ने, फोहोर र भग्नावशेष हटाउने साधन नहुँदा राहत कार्यमा समस्या परेको छ । लाखौं आवश्यक सामग्रीहरू अन्य देशमा रोकिएका छन् र गाजामा ल्याउन अनुमति पर्खिनुपर्ने स्थिति छ ।

    युद्धविरामपछि आवश्यक राहत ल्याउन धेरै प्रयास अस्वीकृत भएका छन् । राहत साझेदारहरूले डेर अल–बालाह र खान युनिसमा हजारौं टेन्ट, कम्बल, टारपोलिन र जाडो कपडा वितरण गरेका छन् । हालको अवस्थाले मानिसहरूलाई विस्फोटक पदार्थसँग जोखिममा पार्दैछ। बालबालिका सबैभन्दा बढी संवेदनशील छन् ।

    केहीले इन्धन सङ्कलन गर्दा चोटपटक पाएका छन् भने केहीले सुरक्षित स्थान नपाई जोखिमपूर्ण ठाउँमा टेन्ट राख्न बाध्य भएका छन् । खनिज विस्फोटक पदार्थमा काम गर्ने टोलीहरूले आवश्यक उपकरण र साधन पाएपछि थप राहत कार्य गर्न सकिने बताइएको छ ।

  • भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते

    भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते

    नयाँ दिल्ली, २९ कात्तिक (रासस–सिन्ह्वा\एएफपी) । भारतको काश्मिरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु र करिब ३१ जना घाइते भएका छन् । विस्फोटपछि प्रहरी चौकी र परिसरभित्र रहेका सवारीसाधनमा आगलागी भई ठूलो क्षति पुगेको छ । स्थानीय मिडियाका अनुसार, दिल्लीमा हालै भएको कार बम विस्फोटसम्बन्धी अनुसन्धानका क्रममा फरीदाबादबाट ल्याइएका विस्फोटक सामग्री जाँच गर्ने क्रममा दुर्घटना भएको बताइए पनि प्रहरीले आधिकारिक बयान दिएको छैन ।


    मृतकमध्ये अधिकांश प्रहरी तथा फरेन्सिक टोलीका सदस्य रहेको जनाइएको छ । घटनापछि ठूलो सङ्ख्यामा दमकल र एम्बुलेन्स परिचालित गरी घाइतेहरूलाई नजिकका अस्पताल पुगेको छ । यसअघि दिल्लीको लालकिल्ला नजिकै सोमबार भएको कार विस्फोटमा ८ जनाको मृत्यु भएकोमा पछिल्ला रिपोर्टले मृतक सङ्ख्या १३ पुगेको उल्लेख गरेका छन् ।

  • जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

    जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

    टोकियो, २८ कात्तिक (रासस–एएफपी) । टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु विरुद्ध गोली हान्न अनुमती दिएको बताइएको छ ।

    अप्रिल देखि देशभर जनावरको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको जनाइएको छ भने लगभग दिनहु जसो भालुहरू घरभित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू रिपोर्ट गरिएको छ । सरकारले आक्रमणमा भएको वृद्धिलाई सामना गर्न खोजिरहेको छ, भने वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या, द्रुत गतिमा बढिरहेको भालुहरूको सङ्ख्या लगायतका कारणले आक्रमण बढी रहेको बताएका छन् ।

    अधिकांश आक्रमणहरू भएका अकिता र इवाटेका उत्तरी क्षेत्रहरूमा बिहीबार एक समारोह आयोजना गरि प्रहरीलाई जनधनको सुरक्षाको लागि भालुहरूलाई गोली हान्न राइफल लगायतका हतियार प्रयोग गर्न अनुमति दिएको हो । गत हप्ताको घोषणा पछि हातहतियार सम्बन्धि नियमहरूमा परिवर्तन गरी बिहीबार देखि लागु भएको स्थानीय अधिकारीहरूलाई उदृत गरी एएफपीले जनाएको छ ।

    टोकियो स्थित अमेरिकी दूतावासले बुधबार आफ्नो वेबसाइटमा चेतावनी जारी गर्दै मानिसहरूलाई भालुहरू देखिएका क्षेत्रहरूमा एक्लै नहिँड्न र आक्रमणबाट जोगिन पूर्ण रूपमा भालुबाट टाढा रहन चेतावनी दिएको छ । बेलायती सरकारले पनि यात्रुहरूलाई भालुहरू देखिएका क्षेत्रहरूमा एक्लै नहिँड्न र आक्रमणबाट जोगिन आग्रह गरेको छ ।

    पछिल्लो समयमा जापानमा नियमित रूपमा आक्रमणहरू भएका छन् । इवाटे प्रान्तको इवाटे हानामाकी एयरपोर्टको वरपर बुधबार, एउटा भालुको बच्चा देखा परे पछि रनवे करीव एक घण्टाका लागि बन्द हुदाँ दुई वटा घरेलु उडानहरू ढिलाइ भएको स्थानीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
    जापानले पनि गत हप्ता देखि अकिता क्षेत्रमा सैनिकहरू तैनाथ गर्न थालेको छ, यद्यपि सैनिकहरूलाई भालुहरूको सिकार गर्ने अनुमती भने दिएको छैन ।

  • टोयोटाको अमेरिकामा १० अर्ब डलरको नयाँ लगानी घोषणा

    टोयोटाको अमेरिकामा १० अर्ब डलरको नयाँ लगानी घोषणा

    टोकियो, २८ कात्तिक (रासस–एएफपी) । जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ । यो लगानी योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसियाली भ्रमणका क्रममा गरिएको प्रारम्भिक टिप्पणीहरूको पुष्टि हो । गत अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले टोकियो भ्रमणका क्रममा टोयोटाका प्रमुख कार्यकारी अधिकारी (सिइओ) एकियो टोयोडासँगको भेटपछि उक्त लगानी योजनाको उल्लेख गर्दै ‘उनीहरूले १० अर्ब डलर खर्च गर्न जाँदैछन्, नयाँ कार प्लान्टहरू निर्माण गर्न लाग्दैछन् र यो विभिन्न अमेरिकी राज्यहरूमा हुनेछ’ भनेर बताएका थिए ।


    तर त्यतिबेला टोयोटाका वित्त प्रमुख केन्टा कोनले ‘१० अर्ब डलरको यो तथ्याङ्क पुष्टि गर्न कठिन’ भएको भन्दै राष्ट्रपति ट्रम्पका टिप्पणीहरूबारे प्रत्यक्ष रूपमा कुनै टिप्पणी गरेका थिएनन् । बिहीबार जारी गरिएको विज्ञप्तिमा कम्पनीले भने आगामी पाँच वर्षभित्र अमेरिकामा १० अर्ब अमेरिकी डलरको ‘अतिरिक्त लगानी’ गर्ने स्पष्ट घोषणा गरेको छ । टोयोटाका अनुसार यो नयाँ लगानीले अमेरिकामा कम्पनीको कुल लगानी लगभग ६० अर्ब डलरमा पुग्नेछ । यसको सुरुआत करिब ७० वर्षअघि कम्पनीले आफ्नो अमेरिकी सञ्चालन प्रारम्भ गर्दा भएको थियो ।

    यो घोषणा विद्युतीय तथा हाइब्रिड सवारी साधनहरूका लागि लिथियम–आयन ब्याट्री उत्पादन गर्ने पहिलो अमेरिकी कारखानाको उद्घाटनसँगै गरिएको हो । नर्थ क्यारोलिनामा स्थापना गरिएको उक्त कारखाना अमेरिकामा टोयोटाको एघारौँ उत्पादन केन्द्र बनेको छ, जसमा करिब १४ अर्ब डलर बराबरको पूँजी लगानी र पाँच हजार १०० नयाँ रोजगारी सिर्जना हुने भन्ने कम्पनीको दाबी छ ।

    यसअघि, जापान र संयुक्त राज्य अमेरिकाबीच सवारी साधनमा लाग्ने कर दर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत पु¥याउने सहमति भएपछि टोकियो सरकारले अमेरिकी अर्थतन्त्रमा पाँच खर्ब ५० अर्ब डलर लगानी गर्ने निर्णय गरेको थियो ।

    ट्रम्प प्रशासनले जापानी अटो निर्माताहरूलाई आफ्ना अमेरिकी कारखानामा बनेका सवारी साधनहरू जापानमै निर्यात गर्न प्रोत्साहित गर्दै आएको छ । यस सन्दर्भमा टोयोटाका सार्वजनिक मामिलाका प्रमुख हिरोयुकी उडाले टोकियो मोटर शोमा भन्नुभएको छ, “संयुक्त राज्य अमेरिकासँग जापानी प्रमाणीकरण मापदण्डहरू समायोजन गर्ने प्रयासहरू भइरहेको छ । यदि यी तयारीहरू सफल भए हामी यसबारे गम्भीरतापूर्वक विचार गर्न इच्छुक हुनेछौँ ।”

    टोयोटाका अनुसार कम्पनीले गत वर्ष अमेरिकामा बिक्री गरेका सवारी साधनमध्ये करिब आधा विदेशबाट आयात गरिएका थिए । तीमध्ये अधिकांश क्यानाडा र मेक्सिकोमा बनेका सवारी साधनहरू थिए भने जापानमा उत्पादन गरिएका करिब दुई लाख एकासी हजार गाडी पनि अमेरिकामा बिक्री भएका थिए । यो लगानी योजनाबाट टोयोटाको अमेरिकी बजारमा उपस्थितिलाई अझ सुदृढ बनाउने र विद्युतीय सवारी साधन उत्पादनमा कम्पनीको अग्रणी भूमिका विस्तार गर्ने अपेक्षा गरिएको छ ।

  • आगामी युद्ध अन्तरिक्षबाट सुरु हुन्छ : म्याक्रोँ

    आगामी युद्ध अन्तरिक्षबाट सुरु हुन्छ : म्याक्रोँ

    पेरिस, २८ कात्तिक (रासस–एएफपी) । रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘भविष्य’ को युद्ध अन्तरिक्षमा सुरु हुने बताएका छन् । उनले अन्तरिक्षमा सैन्य गतिविधिमा अरबौँ युरो खर्च बढाउने घोषणा गर्दै बुधबार भने, “अहिले विश्व आकाशमा युद्ध लडिरहेको छ र भोलिको युद्ध अन्तरिक्षबाट सुरु हुनेछ,” म्याक्रोँले फ्रान्सको नयाँ अन्तरिक्ष सैन्य कमान्ड सेन्टर रहेको टुलुसमा भने । म्याक्रोँले भने, “अन्तरिक्ष अब अभयारण्य होइन, यो युद्धको मैदान बनेको छ ।”

    उनले भने, “रूसले २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि अन्तरिक्षमा ‘जासुसी’ गतिविधिहरू गरिरहेको छ। “रुसी अन्तरिक्ष यानहरूले फ्रान्सेली उपग्रहहरूको निगरानी गरिरहेका थिए, त्यहाँ जीपीएस सिग्नलहरू सामूहिक जाम भएका थिए र अन्तरिक्ष पूर्वाधारहरूमा साइबर आक्रमण भएको थियो,” उनले भने । म्याक्रोँले अन्तरिक्षमा आणविक हतियारको रुसी धम्कीलाई पनि औंल्याउँदै भने, “अन्तरिक्षमा आणविक हतियारको प्रभाव सम्पूर्ण विश्वका लागि विनाशकारी हुनेछ।”

    म्याक्रोँले सन् २०३० सम्म सैन्य अन्तरिक्ष गतिविधिका लागि थप ४.२ अर्ब युरो (४.९ अर्ब डलर) को कोष घोषणा गरेका छन् । युरोपेली अन्तरिक्ष क्षेत्रमा ‘कमजोर’ रहेको बताउँदै उनले भने, “हाम्रा युरोपेली च्याम्पियनहरू विश्व बजारमा प्रतिस्पर्धी हुनुपर्ने आवश्यकतामा पनि जोड दिए । फ्रान्सको अन्तरिक्ष रणनीतिका लागि उल्लिखित प्राथमिकताहरूमा ‘भविष्यका प्रक्षेपकहरू विकास गर्ने’ र पुनः प्रयोग गर्न योग्य, कम लागतको प्रणोदन र उच्च–थ्रस्ट इन्जिनहरू रहेका छन्।

    स्पेस एक्सको नेतृत्व गरिरहेका अमेरिकी अर्बपति एलन मस्क र जेफ बेजोसको ब्लू ओरिजिनको महत्वाकाङ्क्षी कार्यक्रमलाई सङ्केत गर्दै म्याक्रोँले भने, “प्रमुख तेस्रो पक्ष शक्ति वा कुनै पनि ‘स्पेस म्याग्नेट’ मा निर्भर हुने प्रश्नै छैन।” उनले भने, “हामी तयार होऔंः यो जमिनमा, हावा र समुद्रमा सैन्य अभियानको सफलताको लागि एक शर्त हुनेछ।”

    उनले भने, “फ्रान्सले जर्मनीसँगको सहकार्यमा उन्नत चेतावनी क्षमताहरूको विकासलाई गति दिइरहेको छ, अन्य राज्यहरूमा निर्भरता कम गर्न ‘अरोर राडार’ प्रणालीको साथ अन्तरिक्ष निगरानीलाई बलियो बनाइरहेको छ। उनले भने, “हामी अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्दै जमिन र अन्तरिक्षबाट कामका माध्यमहरूमा कुनै छलकपटबिना लगानी गरिरहेका छौँ।”

  • भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

    भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

    श्रीनगर (भारत), २८ कात्तिक (रासस–एपी) । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको आतङ्कवादी आक्रमण’ ठहर गरेको छ । यद्यपि सरकारले घटनासँग सम्बन्धित कुनै नयाँ प्रमाण सार्वजनिक गरेको छैन । सोमबार ऐतिहासिक लालकिल्ला नजिकै भएको विस्फोटमा आठ जनाको मृत्यु र कैयौँ घाइते भएका थिए । अनुसन्धानका क्रममा बुधबार अधिकारीहरूले विवादित काश्मीर क्षेत्रका विभिन्न भागबाट केही सन्दिग्धलाई पक्राउ गरेको जनाएका छन् । भारत सरकारले मङ्गलबारदेखि नै यस घटनालाई सम्भावित आतङ्कवादी गतिविधि मानेर अनुसन्धान सुरु गरेको हो, जसअन्तर्गत अधिकारीहरूलाई व्यापक कानूनी अधिकार प्राप्त भएको छ ।

    बुधबार राति मन्त्रिपरिषद्ले पारित गरेको प्रस्तावमा सो घटनालाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको जघन्य आतङ्ककारी कृत्य’ भनेर व्याख्या गरिएको छ । प्रत्येक वर्ष स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीले देशलाई सम्बोधन गर्ने लालकिल्लालाई भारतीय गौरवको प्रतीक मानिन्छ । यदि यो योजनाबद्ध आक्रमणको रूपमा पुष्टि भयो भने सन् २०११ पछि भारतको राजधानीमा भएको सबैभन्दा घातक विस्फोट हुनेछ ।

    – कश्मीरमा गिरफ्तारी र अनुसन्धान –

    पुलवामा जिल्लामा मङ्गलबार राति सञ्चालन गरिएको छापामारीमा कम्तीमा पाँच व्यक्तिलाई सोधपुछका लागि हिरासतमा लिइएको छ । विस्फोटको केही घण्टाअघि काश्मीरमा कार्यरत सुरक्षा निकायहरूले नयाँदिल्ली बाहिर फरीदाबादमा रहेको एक सन्दिग्ध आतङ्कवादी सेल ध्वस्त गरेको घोषणा गरेका थिए । त्यस क्रममा दुई चिकित्सकसहित सात जनालाई पक्राउ गरिएको र ठूलो मात्रामा विस्फोटक पदार्थ र हतियार बरामद गरिएको थियो ।

    भारतीय सञ्चार माध्यमहरूले फरीदाबादको सो सेल र लालकिल्ला विस्फोटबीच सम्बन्ध हुन सक्ने आशङ्का प्रकट गरेका छन् । यद्यपि प्रहरीले आधिकारिक रूपमा कुनै पुष्टि गरेको छैन । प्रहरी अधिकारीहरूले नाम नखुलाउने सर्तमा बताएअनुसार श्रीनगर वरिपरि अक्टोबर १९ मा देखा परेका भारतविरोधी पोस्टरहरूको अनुसन्धानकै क्रममा सो सेलको सुराकी फेला परेको थियो । ती पोस्टरहरूले भारतीय सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्ने धम्की दिएका थिए ।

    सिसिटिभी फुटेजको सहायताले प्रारम्भिक तीन सन्दिग्ध पहिचान गरिएका थिए । त्यसपछिका दिनहरूमा दुई काश्मीरी चिकित्सक र अन्य केही व्यक्तिलाई समेत पक्राउ गरिएको बताइएको छ । स्थानीय मिडियाले विस्फोट भएको कारको चालक पनि काश्मीरी भएको उल्लेख गरेका छन् ।

    प्रहरीले फरीदाबादको मेडिकल कलेजमा अध्यापन गर्ने एक चिकित्सकले उक्त कार चलाइरहेका थिए कि थिएनन् भन्नेबारे पनि अनुसन्धान गरिरहेको छ । केही रिपोर्टअनुसार उनले विस्फोटबाट बच्न जानाजानी बम विस्फोट गराएका हुन सक्छन् वा दुर्घटनावश विस्फोटक पदार्थ ओसार्दा घटना घटेको हुन सक्छ ।

    दिल्ली प्रहरीका प्रवक्ता सञ्जय त्यागीले अनुसन्धान टोलीले ‘आतङ्कवादी आक्रमण, आकस्मिक विस्फोट वा यान्त्रिक त्रुटि — सबै कोणबाट अनुसन्धान भइरहेको’ बताए । पुलवामाकी शगुफ्ता जान नामक महिलाले आफ्नो चिकित्सक दाजु गत शुक्रबारदेखि सम्पर्कविहीन रहेको बताउँदै चिन्ता व्यक्त गर्नुभयो । “उहाँले हामीलाई फोन गरेर घर आउने बताउनुभएको थियो, तर त्यसपछि कुनै सम्पर्क भएन”, उहाँले भन्नुभयो । प्रहरीहरूले सोमबार राति उनका परिवारका सदस्यहरूलाई पनि सोधपुछका लागि लगेको जनाइएको छ ।

    – भारत–पाकिस्तान तनाव फेरि बढ्ने आशङ्का –

    यस घटनाले पुनः भारत र पाकिस्तानबीच तनाव चुलिन सक्ने चिन्ता बढाएको छ । भारतले लामो समयदेखि पाकिस्तानमाथि आफ्नो भूमिमा हुने आतङ्कवादी आक्रमणहरूलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ । इस्लामाबादले भने यस्ता आरोपलाई अस्वीकार गर्दै आएको छ ।

    यस वर्ष अप्रिलमा काश्मीरमा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमा धेरैजसो हिन्दू तीर्थयात्रीहरू थिए । नयाँदिल्लीले त्यस घटनाको दोष पाकिस्तानमाथि थोपरेको थियो, जसले त्यसपछि दुवै देशबीच सैन्य झडपको अवस्था सिर्जना गरेको थियो ।

    भारत र पाकिस्तान दुवैले काश्मीरको आंशिक प्रशासन गर्छन्, तर दुवै देशले सम्पूर्ण क्षेत्रमाथि दाबी गर्दछन् । सन् १९८९ देखि काश्मीरी विद्रोहीहरू भारतको नियन्त्रण विरुद्ध लडिरहेका छन् । भारतले यो सघर्षलाई पाकिस्तानद्वारा प्रायोजित आतङ्कवाद मानेको छ भने पाकिस्तानले यसलाई काश्मीरी जनताको स्वतन्त्रता सङ्घर्ष’ को रूपमा व्याख्या गर्छ ।

    नयाँदिल्लीले विगतमा पनि ठूला आतङ्कवादी आक्रमणहरू भोगिसकेको छ । सन् १९९६ मा लाजपत नगर बजारमा भएको कार बम विस्फोटमा १३ जनाको मृत्यु भएको थियो भने २००८ मा समन्वित विस्फोटहरूमा २० जनाको ज्यान गएको थियो । ती घटनाहरूमा पनि काश्मीरी उग्रवादी समूह र एक भारतीय इस्लामिक विद्यार्थी सङ्गठनमाथि संलग्नताको आरोप लगाइएको थियो । नयाँदिल्लीको हालको कार विस्फोटले राजधानीको सुरक्षामा प्रश्न उठाएको मात्र नभई काश्मीर विवाद र भारत–पाकिस्तान सम्बन्धमा पुनः अशान्ति निम्त्याउने सङ्केत पनि देखिएको छ ।

  • दक्षिणी पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

    दक्षिणी पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

    लिमा, २७ कात्तिक (रासस–एएफपी) । पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु हुनुको साथै २४ जना घाइते भएका छन्। दक्षिणी पेरुको अरेक्विपामा भएको दुर्घटना दक्षिण अमेरिकी राष्ट्रमा हालैका वर्षहरूमा भएको सबैभन्दा खराब दुर्घटनामध्ये एक हो।


    पेरुलाई चिलीसँग जोड्ने पानामेरिकाना सुर राजमार्गको एक भागमा बिहानै यो घटना भएको थियो। “हामीसँग ३७ जनाको मृत्यु भएको र २४ जना घाइते भएका जानकारी प्राप्त भएको छ,” अरेक्विपाका क्षेत्रीय स्वास्थ्य प्रबन्धक वाल्थर ओपोर्टोले भने । लामोसस कम्पनीले सञ्चालन गरेको बस कारवेली प्रान्तको चालाबाट अरेक्विपातर्फ जाँदै थियो। बसमा ६० जना यात्रु सवार थिए ।

    स्थानीय मिडिया रिपोर्टका अनुसार आपसमा दुई सवारी साधन ठक्कर खाएपछि गाडी लगभग २०० मिटर (६५० फिट) गहिरो खोँचमा खसेको थियो भने पिकअप ट्रक सडक नजिकै पल्टेको थियो। अत्यधिक गति, खराब सडकको अवस्था, ट्राफिक सङ्केतको अभाव र अधिकारीहरूको कमजोर कार्यान्वयनका कारण पेरूमा ट्राफिक दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।

  • बङ्गलादेशको मदिरा उद्योगको आश्चर्यजनक सफलता

    बङ्गलादेशको मदिरा उद्योगको आश्चर्यजनक सफलता

    दारसाना (बङ्गलादेश), (रासस\एएफपी) । हाल इस्लामवादी शक्तिहरू पुनः राजनीतिक रूपमा सक्रिय हुँदै गरेको मुस्लिम बहुल देश बङ्गलादेशमा त्यहीँको एक मात्र सरकारी इजाजत प्राप्त डिस्टिलरीको परिसरमा मिठास मिसिएको सिरपको सुगन्ध फैलिएको छ । सरकारी स्वामित्वको ‘क्यारो एन्ड कम्पनी’ नामक यो उद्योगले पछिल्लो आर्थिक वर्षमा अभूतपूर्व नाफा कमाएको छ । यसलाई देशको कठोर मदिरा नीति र सामाजिक निषेधबीचको आश्चर्यजनक उपलब्धि मानिएको छ ।

    विश्वको चौथो सबैभन्दा बढी जनसङ्ख्या भएको मुस्लिम राष्ट्र बङ्गलादेशमा मदिरा उत्पादन र बिक्री कडा रूपमा नियमनमा राखिएको छ । करिब १७ करोड जनसङ्ख्या भएको देशमा विशाल बहुमतले यसका उत्पादन किन्न वा उपभोग गर्न पाउँदैनन् । यद्यपि, ८७ वर्षअघि ब्रिटिस शासनकालमा स्थापना भएको क्यारो एन्ड कम्पनीले आर्थिक वर्ष २०२४–२५ मा एक करोड अमेरिकी डलर बराबरको नाफा कमाएको र कर तिरेको कम्पनीका प्रबन्ध निर्देशक रबिक हसनले बताए ।


    “कम्पनीको इतिहासमै यो सबैभन्दा बढी नाफा हो”, हसनले भने, “हामीले आगामी वर्षहरूमा अझ वृद्धि हुने अपेक्षा राखिरहेका छौँ ।” बङ्गलादेश पछिल्ला वर्षहरूमा राजनीतिक अस्थिरताबाट गुज्रिएको छ । सन् २०२४ को अगस्टमा भएको जनआन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारलाई अपदस्थ गरेको थियो । मानव अधिकार उल्लङ्घनको आरोपमा आलोचना खेप्दै १५ वर्ष शासन गरेकी हसिनाले इस्लामवादी समूहहरूप्रति कडा नीति लिइरहनुभएको थिइन् । उनी भारततर्फ पलायन गरेपछि देशभित्रका इस्लामवादी शक्तिहरू पुनः दृढ बनेका छन् ।

    इस्लाममा निषेधित रक्सीलाई तिनले खासै निशाना नबनाए पनि सङ्गीत तथा नाटक उत्सव, महिला फुटबल प्रतियोगिता र चङ्गा उडाउने पर्व जस्ता ‘इस्लामविरोधी’ ठानेका सांस्कृतिक गतिविधिहरूमाथि प्रतिबन्धको माग गर्न थालेका छन् । यस्तै अवस्थामा अन्तरिम सरकारले अब देशलाई सन् २०२६ फेब्रुअरीमा तय गरिएको आम निर्वाचनतर्फ अघि बढाइरहेको छ ।

    दारसाना सीमावर्ती औद्योगिक क्षेत्रमा अवस्थित क्यारोको विशाल कारखानामा लगातार गुन्जिने मेसिनहरूको आवाजबीच बोतलहरू भरिँदै गर्छन् । कम्पनीका प्रमुख उत्पादनहरू ‘इम्पेरियल ह्विस्की’ र ‘सारिना भोड्का’ हुन्, जसलाई नेदरल्यान्ड्सबाट आयात गरिएको स्वादका साथ उखुबाट डिस्टिल्ड गरिन्छ । “हामी कसैलाई पनि पिउन प्रोत्साहित गर्दैनौँ”, हसनले स्पष्ट पार्दै थपे, “हामीले उत्पादन तिनीहरूलाई मात्र बेच्ने गर्छौं, जो पहिले नै पिउँछन् ।”

    बङ्गलादेशमा मादक पदार्थ खरिद गर्न सरकारी अनुमति अनिवार्य छ । मादक पदार्थ खरिद गर्न २१ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई मात्र दिइन्छ र प्रायः गैर–मुस्लिमहरूलाई मात्र उपलब्ध हुन्छ । अनुमतिपत्र लिन चिकित्सकीय सिफारिस आवश्यक हुन्छ । नार्कोटिक्स कन्ट्रोल विभागका महानिर्देशक हसन मारुफका अनुसार मदिरा निषेधित छ, तर केही समुदायका लागि अपवादको व्यवस्था गरिएको छ ।

    त्यस्ता समुदायमा देशका चिया बगानमा कार्यरत विदेशी र स्थानीय कामदारहरू पर्छन् । क्यारोको सस्तो मदिरा त्यहाँका करिब एक लाख ५० हजार मुख्यतया हिन्दू कामदारहरूबीच लोकप्रिय छ । बङ्गलादेशको करिब १० प्रतिशत जनसङ्ख्या गैर–मुस्लिम (मुख्यतया हिन्दू) रहेको अनुमान छ ।यस वर्ष कम्पनीको चिनी विभागले घाटा बेहोरे पनि त्यसका मिलहरूले मल, भिनेगर र औद्योगिक मदिरा उत्पादन गरेका छन् । जमुना समूहको स्वामित्वमा रहेको देशको एक मात्र बियर उत्पादन गर्ने ‘हन्टर ब्रुअरी’ सँगै क्यारोले वैधानिक मदिराको प्रमुख स्रोत उपलब्ध गराइरहेको छ ।

    अवैध मुनशाइन उत्पादन र आयातित मदिरामा हुने खतरनाक मिलावटको समस्याले ग्रस्त देशमा यी उत्पादनहरू सुरक्षित विकल्पका रूपमा स्थापित भएका छन् । ४२ वर्षीय माछा व्यापारी प्रिन्स मामुनले आफू दुई दशकदेखि क्यारोका उत्पादन सेवन गर्दै आएको बताए । “यो आयातित ब्रान्डभन्दा सस्तो र भरपर्दो छ”, उनले भने, महिनामा करिब २० दिन पिउने मामुनसँग आधिकारिक अनुमति पनि छ । “म क्यारोका उत्पादनहरू कुनै शङ्का बिना पिउँछु”, उनले भने ।

    त्यस्तै, बोटलिङ युनिटमा कार्यरत ३८ वर्षीय शाह आलम नामका कर्मचारी कट्टर मुस्लिम हुनुहुन्छ तर कहिल्यै मदिरा नपिएको बताउँछन् । तर उनले डिस्टिलरीले स्थानीय समुदायमा रोजगारी, शिक्षा र सामाजिक सहयोगमार्फत पु¥याएको योगदानको प्रशंसा गर्छन् । “म आफैँ केही पिउँदिनँ, न त बिक्रीमा संलग्न छु”, आलमले भने, “तर म गर्वका साथ भन्छु—यहाँ मैले गरिरहेको काम मेरो इमानदार पेशा हो ।” यसरी, धार्मिक र सामाजिक प्रतिबन्धबीच पनि क्यारो एन्ड कम्पनीको सफलताले बङ्गलादेशको अर्थतन्त्रमा अद्भुत विरोधाभास र अनपेक्षित उपलब्धिको उदाहरण प्रस्तुत गरेको छ।

  • जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको दुःखद मृत्यु

    जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको दुःखद मृत्यु

    इस्तानबुल, २७ कात्तिक (रासस–एएफपी) । टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको मृत्यु भएको टर्की सरकारले पुष्टि गरेको छ । टर्कीको रक्षा मन्त्रालयका अनुसार उक्त सी–१३० हर्कुलस विमानले मङ्गलबार दिउँसो अजरबैजानको पश्चिमी सहर गन्जाबाट उडान भरेको थियो र केही समयपछि जर्जियाको आकाशीय क्षेत्र पार गर्दै गर्दा दुर्घटनामा परेको हो ।

    विमानमा रहेका सबै २० जना सुरक्षाकर्मी र प्राविधिक जनशक्तिको निधन भएको जनाइएको छ । टर्कीका रक्षामन्त्री यासर गुलरले आफ्नो आधिकारिक एक्स खातामा विज्ञप्ति प्रकाशित गर्दै भने, “अजरबैजानबाट स्वदेश फर्कंदै गरेको हाम्रो सी–१३० सैन्य कार्गो विमान दुर्घटनामा परेर ११ नोभेम्बर २०२५ मा हाम्रा वीर सहकर्मीहरू शहीद हुनुभएको छ । देशले उहाँहरूको बलिदानलाई सधैँ सम्झनेछ ।”

    दुर्घटनाको कारणबारे टर्कीले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन । तर अजरबैजानका सञ्चारमाध्यमहरूले प्रकाशित गरेका प्रत्यक्षदर्शी दृश्यहरूमा विमान हावाबाट तीव्र रूपमा खस्दै जमिनमा ठोक्किएपछि ठूला–ठूला टुक्रामा फुटेको र वरिपरि धुवाँको मुस्लो उठेको देखिन्छ । जर्जियाको गृह मन्त्रालयका अनुसार दुर्घटना अजरबैजान सीमाबाट करिब पाँच किलोमिटर टाढा सिघनाघी क्षेत्रमा भएको हो । मन्त्रालयले स्थानीय सुरक्षा निकाय र उद्धार टोलीहरू घटनास्थलमा पठाइसकेको छ र आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।

    जर्जियाको एयर ट्राफिक कन्ट्रोलका अधिकारीहरूले विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै राडार सम्पर्क हराएको जानकारी दिएका छन् । “विमानले कुनै सङ्कट सङ्केत प्रसारण नगरी अचानक सम्पर्क विच्छेद भयो”, एक वरिष्ठ अधिकारीले भने । त्यसपछि आपतकालीन सेवाहरूले दुर्घटनास्थल पत्ता लगाएका थिए ।

    दुर्घटनामा परेको सी–१३० हर्कुलस विमान अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित हो । यसलाई विश्वभरका सेनाहरूले मालसामान र जनशक्ति ढुवानीका लागि प्रयोग गर्ने गर्छन् । टर्की र जर्जियाका अधिकारीहरूले संयुक्त रूपमा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् । प्रारम्भिक मूल्याङ्कन अनुसार खराब मौसम वा प्रविधिगत समस्या दुर्घटनाको सम्भावित कारण हुनसक्ने बताइएको छ । टर्की सरकारले शहीद सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति समवेदना प्रकट गरेको छ ।

  • अस्ट्रेलियामा ‘लुसिफर’ मौरी भेटियो, वैज्ञानिक चकित

    अस्ट्रेलियामा ‘लुसिफर’ मौरी भेटियो, वैज्ञानिक चकित

    सिड्नी, २६ कात्तिक (रासस–एएफपी) । घातक सर्प, माकुरा र शार्कका कारण पहिले नै चर्चित अस्ट्रेलियामा अहिले अर्को अद्भुत र डरलाग्दो जीवको खोज भएको छ(सिङ भएको ‘लुसिफर’ मौरी । वैज्ञानिकहरूले यसलाई मेगाकाइल ९ह्याकेरियापिस० लुसिफर नाम दिएका छन्, जसको स्वरूप र नाम दुवैले निकै ध्यान आकर्षित गरेको छ । यो नयाँ मौरी प्रजाति पश्चिमी अस्ट्रेलिया राज्यमा फेला परेको हो । यसको जानकारी कर्टिन युनिभर्सिटीले मङ्गलबार सार्वजनिक गरेको छ । विश्वविद्यालयको ‘स्कुल अफ मोलिक्युलर एन्ड लाइफ साइन्सेज’ की वैज्ञानिक डा. किट प्रिन्डरगास्टले सन् २०१९ मा खतरामा परेका जङ्गली फूलहरूको सर्वेक्षणका क्रममा यस विशेष मौरीलाई पत्ता लगाएकी हुन् ।

    डा. प्रिन्डरगास्टका अनुसार उक्त मौरीको महिलाको अनुहारमा देखिने साना र तीखा सिँगहरू अत्यन्तै आकर्षक र असामान्य देखिन्थे । “महिलाको अनुहारमा यी अविश्वसनीय सिँगहरू थिए, जुन मैले पहिले कहिल्यै देखेकी थिइनँ”, उनले भनिन् । नेटफ्लिक्सको चर्चित टेलिभिजन कार्यक्रम ‘लुसिफर’ की प्रशंसक समेत रहेकी उनले मौरीको अनौठो स्वरूपका कारण यसलाई ‘लुसिफर’ नाम दिन उपयुक्त ठानेकी हुन् ।


    डा. प्रिन्डरगास्टले यस खोजलाई अस्ट्रेलियाको जैविक विविधताको दृष्टिले ऐतिहासिक भनेकी छिन् । उनले भनिन्, “यो मौरी समूहको नयाँ सदस्य हो, जुन २० वर्षभन्दा बढी समयपछि वर्णन गरिएको पहिलो प्रजाति हो । यसले हामीले अझ कति नयाँ जीवनरूपहरू पत्ता लगाउन बाँकी छ भन्ने कुराको सङ्केत दिन्छ ।”

    विशेषगरी खानी उद्योगका गतिविधिहरूका कारण देशी प्रजातिहरू गुम्ने जोखिम बढ्दै गएका क्षेत्रहरूमा यो खोजले अज्ञात र पत्ता नलागेका जीवहरूको संरक्षणका लागि चेतना जगाउने उनले आशा व्यक्त गरिन् । “धेरै खानी कम्पनीले अझै देशी मौरीहरूको अध्ययन गर्दैनन्”, उनले भनिन्, “त्यसैले हामीले केही प्रजातिहरूलाई आधिकारिक रूपमा वर्णन गर्नुअघि नै गुमाइरहेका हुन सक्छौँ । यी मौरीहरूले खतरामा परेका बोटबिरुवाहरू र सम्पूर्ण पारिस्थितिक तन्त्रलाई समर्थन गर्ने अत्यावश्यक भूमिका खेल्छन् ।”

    डा. प्रिन्डरगास्टले भनिन्, “यदि हामीलाई कुन मौरीहरू कहाँ अवस्थित छन् र तिनीहरू कुन बोटबिरुवाहरूमा निर्भर छन् भन्ने थाहा छैन भने, हामीले तिनीहरू अस्तित्वमै छन् भन्ने पत्ता लगाउनुअघि नै मौरी र बोटबिरुवा दुवै गुमाउने खतरा बेहोर्न सक्छौँ ।” वैज्ञानिकहरूका अनुसार संसारका अधिकांश फूल फुल्ने बोटबिरुवाहरू परागणकर्ताहरूमा, विशेष गरी मौरीहरूमा निर्भर छन् । तर बासस्थानको विनाश, खानी उत्खनन र जलवायु परिवर्तनका कारण धेरै देशी मौरी प्रजातिहरू हाल लोप हुने सङ्कटमा छन् । नयाँ ‘लुसिफर मौरी’ को खोजले अस्ट्रेलियामा अझै धेरै अज्ञात जीवनरूपहरू अस्तित्वमा रहेको पुष्टि गरेको छ । वैज्ञानिकहरूले यसलाई मौरी संरक्षण र जैविक विविधता बचाउनका लागि नयाँ सुरुआतको रूपमा हेरेका छन् ।

  • पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु

    पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु

    इस्लामावाद, २६ कात्तिक (रासस–सिन्ह्वा) । पाकिस्तानको राजधानी इस्लामाबादको जिल्ला अदालत बाहिर मङ्गलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले मिडियालाई बताएका छन् । उनले आत्मघाती विस्पोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थानमा धेरै जिल्ला अदालत रहेको बताए । प्रहरी र उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगी शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको जनाइएको छ ।

    घाइते मध्ये इस्लामाबादको मिडिया शाखाका केही अधिकारीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार आक्रमणकारीहरु न्यायिक परिसरमा प्रवेश गर्न चाहेको तर कडा सुरक्षा घेरा पार गर्न नसके पछि अन्ततः परिसर बाहिर प्रहरीको गाडीमा आक्रमण गरेको जनाइएको छ । विस्फोटको कारण केहि गाडीहरूमा आगो लाग्नुका साथै केही क्षतिग्रस्त भएको जनाइएको छ ।

    घटनास्थलबाट आत्मघाती आक्रमणकारीहरुले शरीरका अङ्गहरू बरामद गरेको प्रहरीले जनाएको छ भने फरेन्सिक टोलीले आक्रमणकारीको पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासनले अदालत परिसर खाली गरेको छ भने सुरक्षा विभागले उक्त क्षेत्रमा खोजी अभियान सुरु गरेको जनाइएको छ ।
    अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी नलिएको जनाइएको छ । यद्यपि, सुरक्षा स्रोतहरूलाई उदृत गर्दै सिन्ह्वाले अफगानिस्तानबाट सञ्चालित प्रतिबन्धित सङ्गठन तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले आक्रमण गरेको जनाएको छ ।

  • सन् २०२६ को विश्वकप खेल्ने रोनाल्डोको घोषणा

    सन् २०२६ को विश्वकप खेल्ने रोनाल्डोको घोषणा

    रियाद, २६ कात्तिक (रासस\एएफपी) । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने बताए । “यो निश्चित हो,” उनले भिडियो लिङ्कमा साउदी फोरमसँग भने, उनलाई सोधिएको प्रश्नमा उनले भनेका छन्, “सन् २०२६ मेरोे विश्वकप खेलका लागि अन्तिम स्पर्धा हुनेछ।”

    “म ४१ वर्षको हुनलागेँ र मलाई लाग्छ यो क्षण अन्तराष्ट्रिय खेलबाट विदा लिन उपयुक्त हुनेछ।” सन् २०२३ मा साउदी अरबको अल नासरमा आकर्षक कार्यकाल सुरु गरेका रोनाल्डोले गत हप्ता आफूले चाँडै नै संन्यास लिने बताए । “सम्भवतः अझै एक वा दुई वर्ष हो म खेलमा हुनेछु,” उनले भने । पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले आगामी वर्ष छैटौँ पटक विश्वकप खेलमा प्रतिस्पर्धा गर्ने लक्ष्य राखेका छन् । सन् २००६ मा पोर्चुगल सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो र यो नै उनको नेतृत्वमा पोचुगलका लागि उपाधिको लागि सबैभन्दा उत्कर्ष अवस्था थियो ।

    पोर्चुगलले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा छनोट हुन सकेको छैन तर बिहीबार आयरल्यान्डलाई पराजित गरेमा पोर्चुगलले आफ्नो स्थान सुरक्षित गर्नेछ । रोनाल्डो २०२२ को अन्त्यमा दोस्रो पटक म्यानचेस्टर युनाइटेड छोडेपछि अल नासरमा सामेल भएका थिए । उनको आगमनले तेलको धनी राष्ट्र साउदी अरबमा पछिल्लो समय विश्वका प्रसिद्ध खेलाडी आगमनका लागि तयार बनेका छन् ।

    आर्थिक विविधीकरण योजनाअन्तर्गत खेलकुद र मनोरञ्जनमा ठूलो रकम खर्च गरिरहेको साउदी अरबलाई गत डिसेम्बरमा सन् २०३४ को विश्वकप आयोजनाको लागि अवसर दिने फुटकलको सबैभन्दा उच्च अन्तर्राष्ट्रिय समिति फिफाले घोषणा गरेको थियो ।

  • लाल किल्ला विष्फोटबारे अहिलेसम्म के पत्ता लाग्यो ?

    लाल किल्ला विष्फोटबारे अहिलेसम्म के पत्ता लाग्यो ?

    नयाँदिल्ली, २४ कात्तिक (रासस–एएफपी) । भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ ७ बजे दिल्लीको लाल किल्लानजिकै भएको विस्फोटबारे सबै सम्भावनालाई ध्यानमा राखी अनुसन्धान गरिने बताएका छन् । उनले रेडफोर्ट नजिकैको सुभाष मार्गको ट्राफिक सिग्नलमा हुण्डाई आई २० कारमा विस्फोट भएको र केही पैदल यात्रीहरू घाइते भएका छन् भने केही सवारी साधनमा क्षति पुगेको जानकारी दिए । गृहमन्त्री शाहले एएनआईसँग भने, “दिल्ली क्राइम ब्रांच र दिल्ली स्पेशल ब्रान्चको टोली विस्फोटको सूचना पाएको १० मिनेटभित्र घटनास्थलमा पुगेको थियो।” उनका अनुसार घटनामा केही मानिसले ज्यान गुमाएका छन् ।

    अमित शाहले भने, “टोलीहरूले विस्तृत अनुसन्धान सुरु गरेका छन् र यसका लागि नजिकैका सबै सीसीटीभी क्यामेराहरूको जाँच गर्न आदेश दिइएको छ।”
    ’मैले दिल्लीका सीपी र विशेष शाखाका इन्चार्जसँग पनि कुरा गरेको छु । घटनास्थलमा दिल्ली सीपी र विशेष शाखा प्रमुख उपस्थित छन्। हामी सबैसम्भावनालाई ध्यानमा राखेर गहन अनुसन्धान गर्नेछौँ । सबै विकल्पहरूको तुरुन्त अनुसन्धान गरिनेछ र हामी परिणामहरू सार्वजनिक गर्नेछौँ,” उनले भने ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा भएको विस्फोटको अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री अमित शाहसँग कुरा गरी घटना र त्यसपछिको अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रिय राजधानीको लाल किल्ला मेट्रो स्टेसन नजिकै विस्फोटमा आठ जनाको मृत्यु भएको र सात जना घाइते भएका स्थानीय एक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टले पुष्टि गरेका छन् ।

    स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपु¥याउँदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन् । यसअघि, दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका थिए । उनले भने, “अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।”

  • इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

    इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

    क्विटो, २५ कात्तिक (रासस–एएफपी) । इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ । बिहान भएको सशस्त्र झडपमा चार जनाको मृत्यु भएपछि दिउँसो श्वासप्रश्वासमा समस्या भएर थप २७ कैदीको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । जेल प्रशासन एसएनएआईले एक विज्ञप्तिमा मचाला जेलभित्र मृत फेला परेकाहरू ‘आपसी सङ्घर्षका क्रममा श्वासप्रश्वास अवरुद्ध भएर तुरुन्त मृत्यु भएका’ हुन् । घटनाको कारण र विस्तृत विवरण स्पष्ट गर्न फरेन्सिक टोली अहिले पनि स्थलमै कार्यरत छ ।

    स्थानीय बासिन्दाहरूले जेलभित्रबाट गोली, विस्फोट र सहयोगका लागि कराएको आवाज सुनेका थिए । बिहान ३ बजे तिर सुरु भएको हिंसा केही घण्टामै नियन्त्रणबाहिर पुगेको थियो । एसएनएआईका अनुसार प्रारम्भिक भिडन्तमा चार जनाको मृत्यु भएको र ३३ जना कैदीसहित एक प्रहरी अधिकारी घाइते भएका थिए । त्यसपछि विशेष प्रहरी टोलीले तुरुन्तै जेलमा प्रवेश गरी नियन्त्रण पुनःस्थापना गरेको बताइएको छ ।

    अधिकारीहरूले मृतकहरूको पहिचान अझै सार्वजनिक गरेका छैनन् । घटनाको कारण प्रतिस्पर्धी लागुऔषध तस्करी गिरोहबीचको अन्तरद्वन्द्व हुनसक्ने अनुमान गरिएको छ । इक्वेडरका जेलहरू पछिल्ला वर्षहरूमा लागुऔषध तस्करी गिरोहहरूको प्रमुख सञ्चालन केन्द्र बनेका छन्, जसले अवैध व्यापार नियन्त्रणका लागि एक–अर्कासँग हिंसात्मक सङ्घर्ष गर्दै आएका छन् । सन् २०२१ यताका विभिन्न दङ्गामा ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ ।

    सरकारले यस महिनामा अर्को प्रान्तमा निर्माण सम्पन्न भएको नयाँ अधिकतम सुरक्षा जेल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यही स्थानान्तरण योजनासँग पछिल्लो हिंसा जोडिएको हुनसक्ने अधिकारीहरूको विश्वास छ । गत सेप्टेम्बरमा मचाला जेलमै भएको अर्को भिडन्तमा १३ कैदी र एक जेल अधिकारीको मृत्यु भएको थियो । वर्तमान घटना त्यसै शृङ्खलाको अर्को दुःखद अध्याय बनेको छ ।

  • नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु

    नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु

    कानो (नाइजेरिया), २४ कात्तिक (रासस\एएफपी) । उत्तरपूर्वी नाइजेरियामा प्रतिद्वन्द्वी जिहादी समूहहरूबीच भएको भीषण झडपमा करिब २०० जनाको ज्यान गएको बताइएको छ । अशान्त लेक चाड क्षेत्रमा भएको उक्त रक्तपातपूर्ण सङ्घर्षबारे गुप्तचर निकाय, स्थानीय मिलिसिया र जिहादी स्रोतहरूले सोमबार एएफपीलाई जानकारी दिएका हुन् ।

    बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका (आइएसडब्लुएपी) बीच चाड तालको किनारमा अवस्थित डोगोन चिकु क्षेत्रमा आइतबारदेखि भीषण युद्ध सुरु भएको थियो । दुवै समूहबीच वैचारिक विभाजनका कारण लामो समयदेखि तनाव रहँदै आएको भए पनि यसपटक क्षेत्रीय नियन्त्रणका लागि लडाइँ चरममा पुगेको बताइएको छ ।

    नाइजेरियाली सेनालाई सहयोग गर्ने जिहादीविरोधी मिलिसियाका सदस्य बाबाकुरा कोलाले भने, “हामीले प्राप्त गरेको विवरणअनुसार लडाइँमा करिब २०० जना बोको हरामका लडाकू मारिएका छन् ।” त्यसबेलादेखि हिंसक गतिविधि त्यागेर यस क्षेत्रमा जिहादीहरूका गतिविधि निगरानी गर्दै आएका बोको हरामका एक पूर्व लडाकू सादिकुले पनि भने, “झडपमा करिब २०० जना आइएसडब्लुएपीका लडाकू मारिए र उनीहरूको ठूलो मात्रामा हतियार पनि जफत गरियो ।”

    सादिकुका अनुसार बोको हरामले यस युद्धमा आफ्ना चार जना लडाकु गुमायो । उनले भने, “दुई समूहले एकअर्कामाथि प्रत्यक्ष आक्रमण गर्न थालेपछि यो पछिल्ला वर्षहरूको सबैभन्दा भीषण झडप हो ।” सादिकु हाल बोर्नो राज्यको राजधानी मैदुगुरीमा बसोबास गर्दै आउनुभएको छ । उक्त क्षेत्र लामो समयदेखि इस्लामिक उग्रवादको केन्द्रविन्दु रहँदै आएको छ ।

    यसैबीच, नाइजेरियाको एक गुप्तचर स्रोतले पनि झडपमा ‘१५० भन्दा बढीको मृत्यु भएको’ अनुमान गर्दै घटनाको परिणाम नजिकैबाट पछ्याइरहेको बताएको छ । स्रोतले भनेको छ, “हामी यो लडाइँबारे सचेत छौँ र यसले दुवै समूहको क्षमतामा ठूलो आघात पुर्‍याएको छ, जुन हाम्रो सुरक्षाका लागि सकारात्मक सङ्केत हो ।”

    आइएसडब्लुएपीले इस्लामिक स्टेटसँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै अलग्गिएपछि आइएसडब्लुएपी र बोको हरामबीचको वैचारिक मतभेद सन् २०१६ मा सुरु भएको हो । त्यसयता, दुवै समूहबीच चाड ताल क्षेत्रको नियन्त्रणका लागि अनेकौँ पटक रक्तपातपूर्ण युद्धहरू भएका छन् । लेक चाड क्षेत्र नाइजेरिया, नाइजर, चाड र क्यामरुनको सीमामा पर्ने रणनीतिक क्षेत्र हो । यहाँ जिहादीहरूले प्रायः आफ्नो गतिविधि सञ्चालन गर्दै आएका छन् । पछिल्ला केही वर्षयता नाइजेरियाली सेनाले उग्रवादीहरूविरुद्ध कारबाही तीव्र पारेको भए पनि बोको हराम र आइएसडब्लुएपीबीचको आन्तरिक सङ्घर्षले क्षेत्रलाई अझ अस्थिर बनाएको छ ।

    स्थानीय बासिन्दाहरूका अनुसार लडाइँपछि धेरै शवहरू अझै पनि क्षेत्रका दलदली भागमा फेला परिरहेका छन् र बाँकी बाँचेकाहरू वरपरका गाउँहरूमा भागेका छन् । सुरक्षाकर्मीहरूले भने अझै पनि युद्धस्थलको नियन्त्रण लिन प्रयास जारी राखेका छन् । यो पछिल्लो घटनाले लेक चाड क्षेत्रको अस्थिर सुरक्षास्थितिलाई फेरि उजागर गरेको छ, जहाँ दशकौँदेखि उग्रवादी हिंसाले हजारौँ नागरिकको ज्यान लिइसकेको छ र लाखौँलाई विस्थापित पारेको छ ।