Category: विश्व

  • ७० जनालाई राष्ट्रपति ट्रम्पले गरे आममाफीको घोषणा

    ७० जनालाई राष्ट्रपति ट्रम्पले गरे आममाफीको घोषणा

    वासिङ्टन, २४ कात्तिक (रासस÷एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनलाई बिथोल्ने प्रयास गरेको आरोप लागेका शीर्ष सहयोगीहरूलाई आममाफी दिएका छन् । ट्रम्प प्रशासनका ‘पार्डन एटोर्नी’ एड मार्टिनले एक्समा भनेका छन्, “राष्ट्रपतिका पूर्व वकिलहरू रुडी गिउलियानी र सिड्नी पावेल र ट्रम्पका पूर्व कर्मचारी प्रमुख मार्क मिडोजलगायत ७० भन्दा बढी व्यक्तिहरूको सूची सार्वजनिक गर्दै उनीहरूलाई ‘पूर्ण र बिना शर्त’ माफी दिइएको छ।”

    सूचीमा रहेका नामहरू एरिजोना, जर्जिया र मिशिगन लगायतका व्यापक चुनावी प्रतिस्पर्धा हुने राज्यहरूमा मतदाता नामावली परिवर्तन गर्ने योजनामा मुछिएका थिए । ती राज्यहरूमा जो बाइडेनले सन् २०२० को राष्ट्रपति दौडमा विजय हाँसिल गर्न सफल भएका थिए । ट्रम्प र उनका सहयोगीहरूको समर्थनमा रहेको त्यो षड्यन्त्रले प्रदर्शनलाई बढावा दिन मद्दत गरेको थियो र सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटल (संसद भवन_मा आक्रमण गर्ने दङ्गाग्रस्त भीडमा परिणत भएको थियो।

    चार पृष्ठको क्षमादानको पत्रमा नाम उल्लेख भएकाहरू मध्ये कसैलाई पनि संघीय स्तरमा आरोप लगाइएको थिएन तर यो निर्देशनले भविष्यका प्रशासनहरूलाई कथित सह–षड्यन्त्रमा संलग्न सहयोगीहरूलाई मुद्दा चलाउनबाट रोक्न सक्छ। माफी पाएकाहरूमा चुनाव परिणामको प्रमाणीकरण रोक्नको लागि रणनीतिहरू प्रस्ताव गरेका जोन इस्टम्यान र लामो समयदेखि ट्रम्पका सल्लाहकार रहेका बोरिस एप्स्टेन पनि रहेका छन्।

    ट्रम्पले लामो समयदेखि सङ्घीय अपराधका लागि आफुलाई नै माफी दिने शक्ति पनि उनीसँग रहेको बताउँदै आएका थिए । तर उनले अझै पनि यो सिद्धान्तको परीक्षण गरेका छैनन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनसँग सम्बन्धित वा मतदानमा धाँधली भएको पर्दाफास गर्ने प्रयासका लागि माफी दिने पत्रमा ट्रम्पले भनेका छन्, “यो माफी अमेरिकी राष्ट्रपतिलाई लागू हुँदैन ।”

  • दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट, आठ जनाको मृत्यु

    दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट, आठ जनाको मृत्यु

    नयाँदिल्ली, २४ कात्तिक (रासस–एएनआई) । भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमबार साँझ भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य सात जना सख्त घाइते भएका छन्। स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन् ।

    दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । उनले भने, “अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।” घटनास्थलमा पुगेका डिआइजी सिआरपिएफले केही भन्न हतार हुने बताए, “म घटनास्थलमा जाँदैछु,” उनले भने । अग्नि नियन्त्रण कार्यालयका उप प्रमुख एके मलिकले चाँदनी चोक मेट्रो स्टेशन नजिकै एउटा कारमा विस्फोट भएको जानकारी प्राप्त भएको बताए । उनले भने, “हामीले घटनालगत्तै प्रतिक्रिया दियौँ र सात युनिटहरू घटनास्थलमा पठाइयो। विस्फोटपछि लागेको आगो साँझ ७ः३० सम्ममा नियन्त्रणमा आएको छ । यसमा हताहती हुने सम्भावना रहेको छ । हाम्रा सबै टोली घटनास्थलमा उपस्थित छन्।”

    प्रत्यक्षदर्शीले केही व्यक्तिको मृत्यु भएको बताएका छन् । एक स्थानीयले एएनआईलाई भने, “जब हामीले सडकमा कसैको हात देख्यौँ, हामी पूर्ण रूपमा स्तब्ध भयौँ। म यसलाई शब्दमा व्याख्या गर्न सक्दिनँ। अर्का प्रत्यक्षदर्शीले भने, “जब हामी घटनास्थल नजिक पुग्यौँ, हामीले सडकमा शरीरका अङ्गहरू छरिएको देख्यौँ। के भयो कसैले पनि बुझ्न सकेनन् । धेरै कारहरू क्षतिग्रस्त भएका छन्।”

    एक स्थानीय पसलेले एएनआईलाई बताए अनुसार उनले आफ्नो जीवनमा यति ठूलो विस्फोट कहिल्यै सुनेका थिएनन्। उनले भने, “विष्फोटका कारण म तीन पटक लडेँ । यस्तो लाग्यो कि हामी सबै मृत्युको मुखमा गइरहेका छौँ । घटनामा धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।“ एलएनजेपी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले घाइतेमध्ये एक जनाको अवस्था स्थिर रहेको बताएका छन् । उनले भने, “पन्ध्र जनालाई लोकनायक अस्पतालमा ल्याइएको छ । तीमध्ये आठ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो । तीन जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था स्थिर रहेको छ।

  • उच्च प्रदुषणका कारण दिल्लीमा ‘श्वासप्रश्वास’ मा नै असहज

    उच्च प्रदुषणका कारण दिल्लीमा ‘श्वासप्रश्वास’ मा नै असहज

    नयाँ दिल्ली, २४ कात्तिक (रासस–एएफपी) । नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको पहल उल्लेख्य नभएको भन्दै दर्जनौं प्रदर्शनकारीहरूले आइतबार मास्क लगाएर प्रदर्शनमा सहभागी भएका छन् । पछिल्ला केही दिनदेखि दिल्लीको वातावरण निकै प्रदुषित बनेको छ । खतरनाक सूक्ष्म कणहरू भएको बाक्लो तुवाँलोले दिनदिनै भारतको सङ्घीय राजधानीलाई ढाकिरहेको छ।

    भीडमा रहेका अभिभावकहरूले आफ्ना बच्चाहरूलाई प्रदर्शनमा सहभागी गराएका थिए भने ‘प्लाकार्ड’ बोकेका ती बालबालिकाहरूले वातावरण प्रदुषण नियन्त्रण गर्न सरकारलाई आग्रह गर्दै नारा लगाइरहेका थिए। उनीहरूले जुलुसमा बोकेका ‘प्लाकार्ड’मा लेखिएको थियो, “म सास फेर्नै नसक्ने अवस्थामा पुगेको छु।”

    तीन करोड बासिन्दाहरूको विशाल महानगरीय क्षेत्र नयाँ दिल्ली पछिल्लो समय निरन्तर विश्वको सबैभन्दा प्रदूषित राजधानीहरू मध्ये एक बनेको छ।
    तीतापिरोे बाक्लो धुँवाले प्रत्येक जाडोमा दिल्लीको क्षितिजलाई ढाक्ने गर्छ । चिसो ऋतुसँगै बहने चिसो हावाले प्रदूषकहरूलाई जमिनको सतहको नजिक ल्याउँछ। यो त्यतिबेला अझ विकराल बन्छ जब राजधानी वरपरका किसानहरूले हिउदे खेती लगाउनुपूर्व ‘छापो’ पोल्छन्। दिल्लीमा रहेका कारखाना र भारी ट्राफिकबाट पनि प्रदुषणको उत्सर्जनको घातक मिश्रण सिर्जना हुन्छ।

    क्यान्सर निम्त्याउने सूक्ष्म कणहरू रक्तप्रवाहमा प्रवेश गर्न सक्ने पिएम २।५ को स्तर कहिलेकाहीँ संयुक्त राष्ट्र सङ्घको दैनिक स्वास्थ्य सीमाभन्दा ६० गुणासम्म बढ्छ। छोरासँगै प्रदर्शनमा आएकी नम्रता यादवले भन्नुभयो, “आज म आमा बनेर यहाँ छु । म यहाँ छु किनभने म जलवायु शरणार्थी बन्न चाहन्न।”

    आइतवार प्रदर्शनकारीहरू भेला भएको प्रतिष्ठित युद्ध स्मारक इन्डिया गेट वरपर पीएम २।५ को स्तर विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको दैनिक अधिकतम भन्दा १३ गुणा बढी थियो। “वर्षैपिच्छे एउटै कथा छ, तर कुनै समाधान छैन”, वकिल तन्वी कुसुमले भन्नुभयो, हामी निराश भएर प्रदशैनमा आएका छौँ।”

    “सरकारले कम्तिमा यस मुद्दालाई गम्भीरतापूर्वक लिन दबाब सिर्जना गर्नुपर्छ। प्रदुषण नियन्त्रणका लागि हुने टुक्रे सरकारी पहलहरूले उल्लेखनीय प्रभाव पार्न असफल भएका छन्।

    सरकारले केही दिन पहिले जीवाश्म ईन्धनबाट चल्ने यातायात र हावाबाट सिर्जना भएका कण हटाउन कुहिरो छर्कने र पानी बोक्ने ट्रकहरूमा आंशिक प्रतिबन्धहरू लगाउने निर्णय गरेको थियो । “प्रदुषणले हाम्रो जीवन बिताइरहेको छ”, एक युवतीले आफ्नो नाम बताउन अस्वीकार गर्दै भनिन्, “उनले आफुहरूले ‘दिल्लीबासीको तर्फबाट बोलेको’ दाबी गरिन् ।”

    गत वर्ष द ल्यान्सेट प्लानेटरी हेल्थमा प्रकाशित एक अध्ययनअनुसार सन् २००९ देखि २०१९ को बीचमा भारतमा ३८ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण सिर्जित रोगका कारण भएको थियो । प्रदूषित हावाले बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी गम्भीर सङ्क्रमणको उच्च जोखिममा राख्ने संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले चेतावनी दिएको छ।

  • ट्रम्प डक्युमेन्टरी सम्पादन विवादपछि बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखद्वारा राजीनामा

    ट्रम्प डक्युमेन्टरी सम्पादन विवादपछि बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखद्वारा राजीनामा

    २४ कात्तिक, लण्डन । बीबीसीको एक प्रसिद्ध कार्यक्रम प्यानोरमा अन्तर्गत प्रशारित एक वृत्तचित्रमा समावेश गरिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्पादित भाषणले दर्शकहरूलाई भ्रमित पारेको भन्दै आलोचना भएपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिएका छन्। यो सार्वजनिक प्रसारण संस्थाले विभिन्न विवाद र पूर्वाग्रहका आरोपहरू खेप्नुपरेपछि डेभी दबावमा परेका थिए। उनी पाँच वर्षदेखि उक्त पदमा थिए।

    बाहिर चुहिएको बीबीसीको एक आन्तरिक परिपत्रको विस्तृत विवरण द टेलिग्राफ पत्रिकाले सोमवार प्रकाशित गरेको थियो। त्यसमा प्यानोरमा कार्यक्रमले अमेरिकी राष्ट्रपतिको भाषणका दुई भागमा भएको सम्पादनले उनले ज्यानुअरी २०२१ मा क्यापिटल हिलमा भएको दङ्गा गर्न उक्साएको जस्तो देखाएको उल्लेख छ। यूकेका नेताहरूले डेभी र टर्नेसका राजीनामाले परिवर्तन हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले पनि उक्त निर्णयको स्वागत गरेका छन्।
    बीबीसीका कार्यकारी निर्देशक र समाचार प्रमुखले एकैदिन राजीनामा दिनु अभूतपूर्व घटना हो।

    बीबीसीबाट

  • ‘सुपर टाइफून’ फङ–वोङ फिलिपिन्समा अवतरण, यस्तो छ ताजा अवस्था

    ‘सुपर टाइफून’ फङ–वोङ फिलिपिन्समा अवतरण, यस्तो छ ताजा अवस्था

    मनिला, २४ कात्तिक (रासस–एएफपी) । फुङ–वोङ नामाकरण गरिएको सुपर टाइफून आइतवार फिलिपिन्सको पूर्वी समुद्री तटमा ठोक्किएको राष्ट्रिय मौसम विभागले जानकारी गराएको छ । फुङ–वोङका कारण कम्तिमा दुई व्यक्तिको मृत्यु भइसकेको छ भने बढी प्रभावित क्षेत्रका १० लाखभन्दा बढी व्यक्ति सुरक्षित स्थानमा जान बाध्य भएका छन्। फिलिपिन्सको लगभग सम्पूर्ण दायरामा फैलिएको आँधीले लुजोनको मुख्य टापु अरोरा प्रान्तमा स्थानीय समय अनुसार राति ९ः१० अवतरण गरेको फिलिपिन्सको मौसम पूर्वानुमान् निकायले जनाएको छ।

    फङ–वोङले फिलिपिन्सको अधिकांश क्षेत्रमा हावा र भारी वर्षा ल्याउने अपेक्षा गरिएको छ । फिलिपिन्समा गत हप्ता मात्र काल्मेगी नाम दिइएको आँधी आउँदा २२० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। नागरिक सुरक्षा कार्यालयले आँधीका कारण दुई जनाको बाढीमा डुबेर मृत्यु भएको पुष्टि गरेको छ ।
    “हामीलाई वास्तवमै डराउने कुरा के हो भने अपेक्षित आँधीको अवतरण रातिको समय हुनेछ,”३४ वर्षीय एएफपीले आइतबार एएफपीसँग भने ।

    आँधी तीब्र वेगका साथ आउनेछ । आँधीका कारण उत्तरी कागायान प्रान्तको एक उद्धार केन्द्रमा आश्रय लिइरहेका मानिसहरुले बाढीको सामना गर्नुपर्ने डरले घर छोड्न बाध्य भएका अधिकारीले एएफपीलाई बताए । राजधानी मनिला सहित लुजोनको मुख्य टापुमा सोमबार विद्यालय र सरकारी कार्यालयहरू बन्द गर्न आदेश दिइएको छ र लगभग ३०० उडानहरू रद्द गरिएको छ।

    A man looks at a landslide-hit residential area in Guinobatan town, Albay province, south of Manila on November 9, 2025, following heavy rains brought about Super Typhoon Fung-wong. Super Typhoon Fung-wong slammed into the Philippines’ eastern seaboard on November 9, the national weather service said, after killing at least two people and forcing more than a million to evacuate. (Photo by CHARISM SAYAT / AFP)
  • सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

    सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

    मनिला, २४ कात्तिक (रासस–एपी) । यस वर्ष फिलिपिन्सलाई प्रत्यक्ष असर पार्ने सबैभन्दा शक्तिशाली आँधी सुपर टाइफुन फङ–वोङ (स्थानीय नाम उवान) ले आइतबार देशको उत्तर–पूर्वी तटमा नजिकिँदै गर्दा विनाशकारी हावा र मुसलधारे वर्षाका साथ प्रहार गर्न थालेको छ । तीव्र गतिका कारण देशभर बिजुली अवरुद्ध भएको छ भने करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ ।

    फङ–वोङले दक्षिणपूर्वी एसियाली द्वीपसमूहको करिब दुई–तिहाइ भू–भागलाई आफ्नो एक हजार ६०० किलोमिटर (९९४ माइल) चौडा हावा र वर्षाको घेराभित्र ल्याउने सम्भावना छ । यो आँधी फिलिपिन्स पुग्नुअघि नै प्रशान्त महासागरबाट तीव्र रूपमा नजिकिँदै थियो, त्यही बेला देश अझै पनि हालैको टाइफुन कलमेगीले पारेको व्यापक विनाशसँग जुधिरहेको थियो । कलमेगीले गत मङ्गलबार देशका मध्य प्रान्तहरूमा कम्तीमा २२४ जनाको ज्यान लिएको थियो ।

    राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले कलमेगीको विनाश र फङ–वोङबाट हुनसक्ने सम्भावित क्षतिका कारण राष्ट्रव्यापी आपतकाल घोषणा गरेका छन् । फिलिपिन्स मौसम विभागका अनुसार फङ–वोङले आइतबार दिउँसोसम्ममा पूर्वी क्याटान्डुआनेस प्रान्तको पान्डान सहर नजिक तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

    एक सय ८५ किलोमिटर प्रतिघण्टा (११५ माइल प्रतिघण्टा) को निरन्तर हावा र २३० किलोमिटर प्रतिघण्टा (१४३ माइल प्रतिघण्टा) सम्मका झोकासहितको यो आँधी उत्तरपश्चिम दिशातर्फ सर्दै अरोरा वा इसाबेला प्रान्तको तटमा आइतबार बेलुका वा सोमबार बिहान अवतरण गर्न सक्ने बताइएको छ । मुसलधारे वर्षा र बाक्लो कुहिरोका कारण प्रभावित क्षेत्रमा दृश्यता अत्यन्त सीमित बनेको छ ।

    फिलिपिन्समा १८५ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढी वेगका उष्णकटिबन्धीय चक्रवातहरूलाई ‘सुपर टाइफुन’ का रूपमा वर्गीकृत गरिन्छ — यो वर्गीकरण हालका वर्षहरूमा बढ्दो चरम मौसमी अवस्थासँग सम्बन्धित जोखिमलाई विशेष रूपमा औँल्याउन लागू गरिएको हो । देशको उत्तरपूर्वी क्षेत्र विशेषगरी बिकोल प्रान्तका तटीय गाउँहरूमा बाढी र माटोको बहावको जोखिम अत्यधिक रहेको बताइएको छ । त्यहाँ देशकै सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक मायोन पनि अवस्थित छ । अधिकारीहरूले उच्च जोखिम भएका क्षेत्रमा रहेका नौ लाख १६ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिसकेको जनाएका छन् ।

    रक्षा मन्त्रालयका प्रमुख गिल्बर्टो टिओडोरो जुनियरले शनिबार टेलिभिजन सम्बोधनमार्फत नागरिकहरूलाई सचेत रहन आग्रह गर्दै भने, “फङ–वोङ अत्यन्त शक्तिशाली छ । यसको प्रभावले देशको विशाल भू–भागलाई असर गर्न सक्छ — विशेषतः हालै कलमेगीले तहसनहस पारेका मध्य प्रान्तहरू, सेबू र राजधानी क्षेत्र महानगरीय मनिलासहित ।”

    नागरिक सुरक्षा कार्यालयका अनुसार तीन करोडभन्दा बढी मानिस प्रत्यक्ष रूपमा फङ–वोङको खतरामा पर्न सक्ने सम्भावना छ । टिओडोरोले उच्च जोखिमका क्षेत्रका बासिन्दालाई तुरुन्तै सुरक्षित ठाउँमा सार्न र अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गर्दै भन्नुभयो, “जब टाइफुन आइसक्छ र बाढी सुरु हुन्छ, त्यसपछि मानिसहरूलाई उद्धार गर्न निकै कठिन हुन्छ । त्यसैले पूर्वतयारी नै जीवनरक्षक उपाय हो ।”

    फिलिपिन्सले कलमेगीपछि तत्काल अन्तर्राष्ट्रिय सहायता नमागे पनि रक्षामन्त्री टिओडोरोले देशका दीर्घकालीन मित्रराष्ट्रहरू संयुक्त राज्य अमेरिका र जापान आवश्यक सहयोगका लागि तयार रहेको बताएका छन् । फङ–वोङले नजिकिँदै जाँदा देशका धेरै पूर्वी सहर र गाउँहरूमा बिजुली आपूर्ति पूर्ण रूपमा बन्द भएको छ । नागरिक रक्षा कार्यालयका उप–प्रशासक बर्नार्डो राफेलिटो अलेजान्ड्रोका अनुसार हावा र वर्षाको तीव्रताका कारण धेरै स्थानहरूमा सम्पर्क र सञ्चार अवरुद्ध भएको छ, जसले उद्धार र राहत कार्य कठिन बनाइरहेको छ ।

    उत्तरी प्रान्तका अधिकारीहरूले सोमबार र मङ्गलबार विद्यालय र सरकारी कार्यालयहरू बन्द गर्ने आदेश दिएका छन् । सप्ताहन्त र सोमबारसम्म ३२५ आन्तरिक र ६१ अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् र १०९ बन्दरगाहहरूमा छ हदार ६०० भन्दा बढी यात्रु र कर्मचारीहरू फसेका छन् । तटरक्षकले उच्च समुद्री जोखिमका कारण जहाजहरूलाई समुद्रमा जान निषेध गरेको छ । मौसम पूर्वानुमानकर्ताहरूले महानगरीय मनिलासहित २० भन्दा बढी प्रान्त र क्षेत्रहरूमा तीन मिटर ९१० फिट० भन्दा अग्ला समुद्री छाल र जीवनघातक आँधीबेहरीको जोखिम रहेको चेतावनी दिएका छन् ।

    फिलिपिन्स विश्वकै सबैभन्दा विपद्–संवेदनशील देशहरू मध्ये एक हो । हरेक वर्ष करिब २० वटा टाइफुन र आँधीबेहरीले यस देशलाई असर पार्छन् । साथै, बारम्बार भूकम्प आउने र एक दर्जनभन्दा बढी सक्रिय ज्वालामुखीहरू रहेकाले पनि यो द्वीपसमूह निरन्तर प्राकृतिक जोखिमको सामना गर्दै आएको छ ।

  • सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा

    सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा

    वासिङ्टन, २४ कात्तिक (रासस–एपी) । अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन् । सरकारी बन्द कहिले अन्त्य हुने कुनै सङ्केत नदेखिएपछि देशका प्रमुख विमानस्थलहरूमा यात्रुहरू अलमलमा परेका छन् ।

    देशका व्यस्त विमानस्थलहरूमा देखिएको अव्यवस्थाले लामो समयदेखि चलिरहेको सङ्घीय बन्दको असर झन् गहिरो बनाएको छ । यात्रुहरूका गुनासा बढिरहेका छन् । डोमिनिकन गणतन्त्रमा आफ्नो परिवार भेट्न गइरहनुभएकी मियामीकी ३६ वर्षीया एमी होल्गुइन भन्छन्, “हामी सबै कतै न कतै जानै पर्छ । म आशा गर्छु सरकारले छिट्टै समाधान गर्छ ।”

    विश्लेषकहरूका अनुसार यदि रद्द हुने दर यस्तै बढ्दै गयो भने आगामी थ्याङ्क्सगिभिङ हप्तामा स्थिति अझ भयावह हुन सक्छ र यसले केवल हवाई यातायात मात्र नभई समग्र अर्थतन्त्रमा पनि असर पार्नेछ । पर्यटन र छुट्टीका सामान ढुवानीमा नकारात्मक प्रभाव पर्न थालिसकेको बताइएको छ ।

    – उडान रद्दको तथ्याङ्क –

    उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार शनिबार मात्र एक हजार ५०० भन्दा बढी उडान रद्द भएका थिए । यसको अघिल्लो दिन सङ्ख्या एक हजार पुगेको थियो । आइतबारका लागि पनि थप एक हजारभन्दा बढी उडान रद्द गरिएको अमेरिकी एयरलाइन्सहरूले जनाएका छन् । एटलान्टा, शिकागो, नर्थ क्यारोलिनाको शार्लोट र न्युजर्सीको नेवार्क विमानस्थलमा दिनभर अवरोधका समाचार आएका छन् । विशेषगरी न्युयोर्क वरपरका विमानस्थलहरूमा हवाई नियन्त्रकहरूको अभावले ढिलाइ र रद्द बढाएको हो ।

    एफएएले सबै व्यावसायिक एयरलाइन्सहरूमा ४० प्रमुख विमानस्थलमा प्रारम्भिक रूपमा चार प्रतिशत उडान कटौती गरेको थियो । यो शुक्रबारसम्म बढ्दै १० प्रतिशत पुगेको हो । मङ्गलबार फेरि उडान कटौतीमा वृद्धि हुने अपेक्षा गरिएको छ । यातायात मन्त्री सिन डफीले यदि सरकारी बन्द लामो समयसम्म जारी रह्यो भने अझ धेरै हवाई यातायात नियन्त्रकहरू तलब बिना काम गर्न अस्वीकार गर्न सक्ने र त्यसले थप उडान कटौती गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

    – उडान किन रद्द भइरहेका छन् ? –

    नियन्त्रकहरूले लगभग एक महिनादेखि तलब बिना काम गरिरहेका छन् । धेरैजसो कर्मचारीहरू बिरामीको बहानामा काममा उपस्थित हुन सकेका छैनन् । नेसनल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसनका अनुसार अधिकांश नियन्त्रकहरूले हप्ताको छ दिनसम्म तलब बिना ओभरटाइम काम गर्न बाध्य छन् र कतिपयले बिल तिर्न दोस्रो रोजगारी लिनुपरेको छ । सङ्घीय बन्द अन्त्य गर्न माग गर्दै उक्त सङ्घले शनिबार अमेरिकी काङ्ग्रेसका सदस्यहरूलाई एक हजार ६०० हस्तलिखित पत्र पठाएको बताएको छ ।

    – यात्रुहरूको अवस्था –

    उडान रद्द भएका धेरै यात्रुहरूले शुक्रबारको तालिका केही सामान्य देखिएपछि राहत महसुस गरे पनि उनीहरू पुनः बुकिङ गर्न लामो प्रतीक्षामा छन् । लामो अन्तर्राष्ट्रिय उडानहरू अहिलेसम्म प्रभावित भएका छैनन्, तर यात्रुहरू अनिश्चितताबाट त्रसित छन् । शनिबार क्रुज यात्रा सकेर प्युटो रिको फर्किनुपर्ने मियामीकी ४६ वर्षीया हिथर जुले भन्छिन्, “यात्रा आफैँमा तनावपूर्ण हुन्छ । त्यसमा पनि यस्ता अवरोधले सबथोक अझ कठिन बनाउँछ ।”

    भाडाका सवारी कम्पनीहरूले एकतर्फी आरक्षणमा तीव्र वृद्धि भएको जनाएका छन् । केही यात्रुले उडान रद्द गर्दै वैकल्पिक यात्रा विकल्प रोजिरहेका छन् ।
    न्युजर्सीकी डायना अल्वियरले अर्को सप्ताहन्त क्यालिफोर्नियामा सासूलाई भेट्न बनाइएको पारिवारिक योजना रद्द गरेकी छिन् । नियन्त्रकहरूको कमी र लामो कामघण्टाका कारण उनले उडान सुरक्षामा चिन्ता व्यक्त गरेकी हुन् । “हामीले उडान रद्द गर्नुपर्‍यो । युनाइटेड एयरलाइन्सले टिकटको रकम फिर्ता गरे पनि एयरबिएनबीमा झण्डै सात सय डलर जम्मा रकम फिर्ता भएन”, उनले भनिन्, “यो हाम्रो लागि आर्थिक रूपमा कठिन र भावनात्मक रूपमा निराशाजनक छ ।”

    – अर्थतन्त्रमा असर –

    उडान रद्दले केवल यात्रुहरूलाई नभई अर्थतन्त्रका अन्य क्षेत्रमा पनि असर पार्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् । अमेरिकाको झण्डै आधा हवाई कार्गो यात्रुवाहक विमानको पेटमा पठाइने भएकाले ढुवानी अवरोधले बजारमा मूल्य वृद्धि गराउन सक्छ । सिराक्युज विश्वविद्यालयका आपूर्ति शृङ्खला विज्ञ प्रा. प्याट्रिक पेनफिल्डका अनुसार यदि प्रमुख हवाई ढुवानी सेवा प्रभावित रह्यो भने उच्च ढुवानी लागत अन्ततः उपभोक्तामा सारिनेछ ।

    एलिभेट एभिएसन ग्रुपका प्रमुख कार्यकारी ग्रेग राइफ भन्छन्, “यो बन्दले कार्गो विमानहरू र व्यापारिक यात्रुहरूलाई मात्र नभई, सम्पूर्ण पर्यटन उद्योग र सहरका राजस्वलाई असर पार्नेछ । होटल र स्थानीय कर आम्दानीमा समेत गिरावट आउनेछ ।” सरकारी बन्द जारी रहेसम्म उडान अवरोध र यसको असर थप गहिरिँदै जाने निश्चित देखिएको छ ।

  • सरकारी बन्दका कारण अमेरिकी हवाई यात्रा ‘सुस्त’

    सरकारी बन्दका कारण अमेरिकी हवाई यात्रा ‘सुस्त’

    वासिङ्टन, २४ कात्तिक (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकामा हवाई यात्रा छिट्टै थप ‘सुस्त हुन सक्ने’ अधिकारीहरूले आइतबार चेतावनी दिएका छन् ।
    संघीय निकायहरू अक्टोबर १ मा कोष समाप्त भएदेखि ठप्प बनेका छन् । यसको प्रभाव अमेरिकामा हजारौँ उडानहरू रद्द वा ढिलो भएका छन् र यात्रुहरूले सरकारी बन्दका कारण अराजकताको सामना गरिरहेका छन्। ट्रम्प प्रशासनले बिना तलब काम गर्ने एयर ट्राफिक कन्ट्रोलरहरूको तनाव कम गर्न सकियोस् भनी ४० विमानस्थलहरूमा उडानहरू कम गर्न आदेश दिएको छ ।

    विमानस्थलका महत्त्वपूर्ण कर्मचारीहरू लगायत धेरै सरकारी कर्मचारीहरू या त तलब बिना ड्युटीमा छन् वा घरमै बिदा दिइएका छन्, रिपब्लिकन र डेमोक्र्याटहरूबीचको उच्च–जोखिम राजनीतिक गतिरोध समाप्त हुने प्रतीक्षामा छन्। यातायात मन्त्री सीन डफीले फक्स न्यूजसँग भने, “विदाको समय सबैजना आफ्नो परिवारलाई भेट्न यात्रा गर्न चाहन्छन् त्यसैले हवाई सेवामा चाप बढेको छ तर सरकारी बन्दका कारण हवाई यात्रा ढिलो हुँदै गएका छन् ।”

    उनले भने, “हामी हवाई ट्राफिक नियन्त्रकहरू खोजीरहेका छौँ । तीमध्ये धेरै कम मात्र काममा आउँदैछन् । यसको अर्थ केही निश्चित उडान र अवतरणहरू मात्र हुनेछन्।” उनले भने, “यसले हवाई क्षेत्रमा ठूलो अवरोध निम्त्याउनेछ र धेरै यात्रसहरू यसबाट क्रोधित बन्नेछन्।” डफीले सीएनएनको ‘स्टेट अफ द युनियन’ शोसँग भने, “ मानिसहरू छुट्टीमा परिवारलाई भेट्न उडान गर्न खोज्छन् तर बन्दका कारण सेवा निकै प्रभावित हुँदै गइरहेको छ । “यदि सरकारी बन्द खुलेन र सेवा नियन्त्रण कायम रह्यो भने तिनीहरूमध्ये धेरैले हवाई सेवा पाउन सक्ने छैनन् किनकि धेरै उडानहरू उड्ने छैनन्,” डफीले भने ।

  • दक्षिण अफ्रिकामा हुने जी–२० सम्मेलनमा अमेरिकी अधिकारी उपस्थित नहुने

    दक्षिण अफ्रिकामा हुने जी–२० सम्मेलनमा अमेरिकी अधिकारी उपस्थित नहुने

    वाशिङ्गटन, २३ कात्तिक (रासस–एएफपी) ।
    दक्षिण अफ्रिकामा स्वेत अफ्रिकीहरूलाई योजनावद्धरूपमा ‘हत्या’ गरिएको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ हुने जी–२० शिखर सम्मेलनमा कुनै पनि अमेरिकी अधिकारी उपस्थित नहुने बताएका छन् । दक्षिण अफ्रिकाले राष्ट्रपति ट्रम्पको आरोपलाई खण्डन गरेको छ। ट्रम्पले सेप्टेम्बरमा उपराष्ट्रपति जेडी भान्स यस महिनाको अन्त्यमा उनको सट्टा बैठकमा सहभागी हुने बताएको भए पनि यसलाई संशोधन गर्दै अमेरिकी प्रतिनिधिहरूले यसलाई पूर्ण रूपमा वेवास्ता गर्ने बताएका छन् ।


    “जी–२० दक्षिण अफ्रिकामा आयोजना गरिनु पूर्ण रूपमा लज्जाको बिषय हो,” ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन् । उनले भने, “यी मानवअधिकार उल्लङ्घनहरू जारी रहेसम्म कुनै पनि अमेरिकी सरकारी अधिकारी उपस्थित हुने छैनन्।” ट्रम्पले भने, “दक्षिण अफ्रिकाका युरोपबाट आप्रबासन गरी सवैभन्दा पहिले बसोबास गर्ने श्वेत अफ्रिकीहरूलाई ‘हत्या’ गरिएको र उनीहरूको जग्गा र खेतहरू अवैध रूपमा जफत गरिएको छ।”

    उनले थपे, “संयुक्त राज्य अमेरिका सन् २०२६ को जी–२० शिखर सम्मेलन आयोजना गर्न उत्सुक छ । अर्बपति अमेरिकी राष्ट्रपतिले विवादास्पद रूपमा फ्लोरिडाको मियामीमा रहेको आफ्नै गल्फ रिसोर्टमा सम्मेलन आयोजना गर्ने यस पहिले नै घोषणा गरेका छन् । दक्षिण अफ्रिकी विदेश मन्त्रालयले ट्रम्पको टिप्पणीलाई ‘खेदजनक’ भनेको छ र नोभेम्बर २२ र २३ मा तय गरिएको शिखर सम्मेलनको सफलतापूर्वक आयोजना गर्ने बताएको छ।

    “अफ्रिकीहरूलाई विशेष रूपमा गोरा समूहको देशको रूपमा चित्रण गर्नु ऐतिहासिक छ तर यो समुदायले सतावटको सामना गरिरहेको दाबी तथ्यले प्रमाणित गर्दैन,” विज्ञप्तिमा भनिएको छ। प्रिटोरियाले आफ्नो जी–२० अध्यक्षताको विषयवस्तुको रूपमा ‘एकता, समानता, र दिगोपन’ रोजेको तर वाशिङ्गटनबाट केही प्रतिरोधको सामना गर्नु परेको जनाएको छ। “दक्षिण अफ्रिकाको ध्यान यसको सकारात्मक विश्वव्यापी योगदानमा केन्द्रित छ,” विदेश मन्त्रालयले भनेको छ।

    “जातीय विभाजनबाट लोकतन्त्रसम्मको हाम्रो आफ्नै यात्रालाई ध्यानमा राख्दै हाम्रो राष्ट्र जी–२० भित्र वास्तविक एकताको भविष्यको विशिष्ट रूपमा काम गर्नेछ।” जनवरीमा ह्वाइट हाउस फर्केदेखि ट्रम्पले दक्षिण अफ्रिकालाई धेरै मुद्दाहरूमा कठोर व्यवहार गरेको आरोप लगाएका छन् । विशेष गरी दक्षिण अफ्रिकामा ‘श्वेत नरसंहार’ हुने गरेको दावी उहाँको छ।

    उनले यस वर्षको सुरुमा ओभल अफिसमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाविरूद्ध बोल्दै रङ्गभेद पछिको सरकारद्वारा गोरा किसानहरू विरुद्धको अभियान चलाएको आरोप लगाएका थिए । दक्षिण अफ्रिकाको सरकारले यस्तो कुनै पनि नीतिलाई अस्वीकार गर्दछ। ट्रम्पको प्रशासनले गत हप्ता संयुक्त राज्य अमेरिकाले वार्षिक रूपमा स्वीकार गर्ने शरणार्थीहरूको सङ्ख्यालाई सात हजार ५०० को रेकर्ड न्यूनतम सङ्ख्यामा घटाउने र गोरा दक्षिण अफ्रिकीहरूलाई प्राथमिकता दिने योजना घोषणा गरेको थियो ।

    संयुक्त राष्ट्र संघको सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय न्याय अदालतमा गाजामा इजरायललाई नरसंहारको आरोप लगाएको दक्षिण अफ्रिकाको मुद्दा लगायतका मुद्दाहरूमा पनि दुई देशहरू विवादमा परेका छन्। यसैबीच ट्रम्पले दक्षिण अफ्रिकाबाट आयातच हुने सामानमा ३० प्रतिशत कर लगाएका छन् र यो उप–सहारा अफ्रिकामा सबैभन्दा उच्च हो।

  • बिहार चुनाव २०२५ : मतदाताको नाम सूचीबाट हटाइएको काङ्ग्रेसको आरोप

    बिहार चुनाव २०२५ : मतदाताको नाम सूचीबाट हटाइएको काङ्ग्रेसको आरोप

    पटना, भारत, २३ कात्तिक (रासस–एएनआई) । कांग्रेस नेता पवन खेराले नोभेम्बर ६ मा भएको बिहार चुनावको पहिलो चरणमा लामो समयदेखि मतदान गर्दै आएका व्यक्तिहरूलाई मतदाता सूचीबाट हटाइएको आरोप लगाएका छन् । उनले भारतीय जनता पार्टी (भाजपा) र भारतीय निर्वाचन आयोग (इसिआई) ले हरियाणामा मत हेरफेर गर्न मिलेर काम गरेको आरोपसमेत लगाए । खेलाले भने, “हामीलाई हाम्रा कार्यकर्ताहरूबाट गुनासोहरू प्राप्त भएका छन् कि यो निर्वाचनमा लामो समयदेखि मतदान गर्दै आएका व्यक्तिहरूको नाम मतदाता सूचीबाट हटाइएको थियो।”

    उनले अगाडी भने, “सम्पूर्ण राष्ट्रले के देखेको छ भने भारतीय निर्वाचन आयोग र भाजपाको मिलोमतोमा बिहारमा भएको विशेष गहन संशोधन (एसआईआर) निर्वाचनलाई प्रभावित पार्ने एउटा गलत अभ्यासबाहेक केही थिएन । उनीहरूले मत चोरे र हामी हरियाणामा सरकार बनाउन सकेनौँ।” यसअघि, राहुल गान्धीले शुक्रबार बिहार चुनावमा ‘भोट चोरी’ भएको आरोप लगाएका थिए । उनले चुनावी सूचीमा नक्कली मतदाताहरू समावेश गरिएको दाबी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र निर्वाचन आयोगले हरियाणा चुनावमा मतदाता जालसाजी गरेको आरोप लगाएका थिए । उनले भने, “बिहारका युवाहरूले यस पटक यस्तो हेरफेर गर्न दिने छैनन्।”

    भागलपुरमा एक चुनावी सभालाई सम्बोधन गर्दै राहुल गान्धीले भने, “हरियाणामा दुई करोड मतदाता छन् र मतदान सूचीमा २५ लाखभन्दा बढी मतदाताहरू नक्कली छन् । म तपाईंलाई सुनिश्चित गछर्स कि प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र निर्वाचन आयोगले मिलेर हरियाणा निर्वाचनमा मतदाता चोर्ने षड्यन्त्र गरेका छन्।”

    उनले थपे, “हामीले प्रमाणसहित भनेका थियौँ उनीहरूले लोकसभा, महाराष्ट्र, मध्य प्रदेश, छत्तीसगढमा मतदाता चोरी गरेका थिए र अब उनीहरू बिहारको चुनाव जित्न पनि यही नीति अपनाइरहेका छन् । हामीलाई अन्तिम क्षणसम्म मतदाता सूची प्राप्त हुँदैन । बिहारको जेन–जीले यहाँ भोट चोरी हुन दिने छैन।”

    नोभेम्बर ६ मा, १८ जिल्लामा फैलिएका १२१ सिटका लागि मतदान भएको थियो, जसमा ६४.५ प्रतिशत मतदाता मतदान भएको थियो। दोस्रो चरणको विधानसभा चुनाव नोभेम्बर ११ मा हुने तय भएको छ, जसको मतगणना नोभेम्बर १४ मा हुनेछ। दोस्रो चरणमा बिहारका २० जिल्लाका १२२ सिटमा मतदान हुनेछ, त्यसपछि, बिहारमा चुनाव सकिनेछ । दोस्रो चरणमा औरङ्गाबाद, जहानाबाद, गया, नवादा, जमुई, भागलपुर, पूर्णिया र अन्य जिल्लाहरूमा मतदान हुँदैछ।

  • अझै पाँच इजरायली बन्धक फिर्ता हुन बाँकी

    अझै पाँच इजरायली बन्धक फिर्ता हुन बाँकी

    जेरुसेलम, २३ कात्तिक (रासस–एएफपी) । इजरायलले शनिबार प्यालेस्टिनी लडाकुहरूले गाजाबाट फिर्ता पठाएको पछिल्लो बन्धक अवशेष पहिचान गरेको छ। यससँगै दुई वर्षको युद्ध रोकिएको अमेरिकी मध्यस्थतामा भएको हमास र इजरायलबीचको युद्धविराम अन्तर्गत थप पाँच शव मात्र फिर्ता गर्न बाँकी छ।
    इजरायली सेनाले शुक्रबार हस्तान्तरण गरिएको शव स्वयंसेवक एम्बुलेन्स चालक लियोर रुडेफको भएको पुष्टि गरेको छ ।

    उनी सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणमा मारिएका थिए । शनिबार पहिचान भएको अवशेष अजेन्टिनी मूलका इजरायली नागरिकको भएको र उनी इजरायलमा हमासको रक्तपातपूर्ण आक्रमणको समयमा ६१ वर्षको थिए ।


    उनी आफ्नो समुदाय निर यित्जाक किबुट्जको रक्षा गर्ने प्रयास गर्दा मारिएका पाँच सशस्त्र नागरिकहरूमध्ये एकथिए । इजरायली अधिकारीहरूले सन् २०२४ मेमा उहाँको मृत्यु भएको पुष्टि गरेका थिए । हमासले २८ मृत पूर्व बन्धकहरूको सूचीमा उहाँको नाम समावेश गरेका थिए । हमासले अक्टोबर युद्धविरामको सर्तहरू अन्तर्गत फिर्ता गर्न सहमत भएकामध्ये अहिलेसम्म २३ मृत बन्धकको अवशेष फिर्ता गरिसकेको छ भने २० जीवित बनधकलाई पनि फिर्ता गरिसकेको छ।

    सम्झौता अन्तर्गत फिर्ता गर्न बाँकी अझै पाँच शवमध्ये तीन इजरायली र एक थाई गरी चार अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइ लगेका व्यक्तिका हुन् र अर्को एक सन् २०१४ मा अघिल्लो गाजा द्वन्द्वको क्रममा युद्धमा मारिएका एक सिपाहीको अवशेष हो। सङ्कटमा फसेका इजरायली परिवारहरूको प्रतिनिधित्व गर्ने अभियान समूह ‘द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले मृतक रुडेफको अवशेषलाई स्वदेश फिर्ता गरिएकोमा स्वागत गरेको छ।

    “रूडेफको फिर्तीले दुई वर्षभन्दा बढी समयदेखि पीडादायी अनिश्चितता र शङ्काको साथ बाँचिरहेको परिवारलाई केही हदसम्म सान्त्वना प्रदान गर्दछ,” फोरमाले भनेको छ। “हामी अन्तिम बन्धकलाई घर नल्याएसम्म आराम गर्ने छैनौं,” फोरमले भनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना मध्यस्थता गरेको गाजा युद्धविराम सम्झौताको पहिलो चरण बन्धक र कैदी आदानप्रदानको लागि तय भएकोे थियो।

    सम्झौता अनुसार युद्धविराम योजनाको कडा गणित अन्तर्गत प्रत्येक मृत इजरायली बन्धकको लागि १५ मारिएका प्यालेस्टिनीहरूको शव फिर्ता गरिन्छ। शनिबार खान युनिसस्थित नासेर मेडिकल सेन्टरले इजरायलले नियन्त्रणमा लिएको गाजा पट्टीबाट १५ जना शहीदहरूको शव आइपुगेको घोषणा गरेको छ यो सँगै फिर्ता गरिएका मृत प्यालेष्टिनीको सङ्ख्या ३०० पुगेको छ।

    पहिलेको स्थानान्तरणमा जस्तै रेडक्रसले प्यालेस्टिनी शवहरूलाई अस्पतालमा फिर्ता पठाएको थियो। प्यालेस्टिनी अवशेषहरू पहिचान नभएको अवस्थामा फिर्ता पठाइएको छ र धेरैलाई सामूहिक चिहानमा पु¥याइएको छ। हमासको अख्तियार अन्तर्गत सञ्चालन हुने गाजाको स्वास्थ्य मन्त्रालयले प्राप्त ३०० प्यालेस्टिनी शवहरूमध्ये अहिलेसम्म ८९ जनाको मात्र पहिचान भएको बताएको छ।

  • अमेरिकी एयरलाइन्सहरुले किन गरे एक हजार उडान रद्द ?

    अमेरिकी एयरलाइन्सहरुले किन गरे एक हजार उडान रद्द ?

    वासिङ्टन, २२ कात्तिक (रासस–एपी) । अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् । यद्यपि अधिकांश तालिकाहरू सामान्य रहे पनि यात्रुहरू अझै पनि असहज अवस्थामा परेका छन् । सङ्घीय उड्डयन प्रशासन (एफएए)ले हवाई यातायात नियन्त्रकहरूमा अत्यधिक कार्यभार र तलब नपाएका कारण उत्पन्न तनाव कम गर्न व्यस्त विमानस्थलहरूमा सेवा घटाउने आदेश जारी गरेको छ । यसका कारण एटलान्टा, डलास, डेनभर, शार्लोटलगायत देशका प्रमुख विमानस्थलहरूमा लामो सुरक्षा लाइन र अन्तिम क्षणका उडान रद्दहरू देखिएका छन् ।

    एफएएको आदेशअनुसार हाल करिब चार प्रतिशत उडानहरू कटौती गरिएका छन् । यसको दर आगामी सातामा १० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । यातायातमन्त्री सिन डफीका अनुसार यदि सरकारी बन्द लामो समयसम्म रह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ ।

    – यात्रुहरू असहज, उडान पुनः बुकिङको हतारो –

    ह्युस्टनको जर्ज बुश इन्टरकन्टिनेन्टल विमानस्थलमा यात्रुहरू बिहानैदेखि लामो लाइनमा उभिन बाध्य भए । कतिपयले कुर्दा–कुर्दै कुर्सीमा सुत्नुपरेको अनुभव सुनाए । एटलान्टामा पुगेकी कारा बर्गेरोनले भनिन्, “लाइनहरू लगातार सर्दै थिए, यस्तो भीड मैले पहिले कहिल्यै देखेकी थिइनँ ।” केही यात्रुलाई भने अझ कठिनाइ भयो । कनेक्टिकटकी चिकित्सक करेन सोइकाको उडान न्युजर्सीको नेवार्कबाट रद्द भएपछि उनलाई न्युयोर्कको जोन एफ. केनेडी विमानस्थल पुग्नुपर्ने अवस्था आयो । उनले उटाह जाने योजनाका लागि कार भाडामा लिन खोजिन, तर उपलब्ध भएन । अन्ततः उनले ‘क्रस–कन्ट्री ट्रक चलाएर जानुपर्ने’ बताइन् । भाडाका कार कम्पनीहरूले पनि एकतर्फी यात्राको माग तीव्र रूपमा बढेको जनाएका छन् ।

    – एयरलाइन्सको प्रतिक्रिया र उडान कटौतीको अवस्था –

    उडान टङ्याकिङ वेबसाइट फ्लाइटअवेयर का अनुसार शुक्रबार मात्रै एक हजारभन्दा बढी उडानहरू रद्द भएका थिए । यो बिहीबारको तुलनामा पाँच गुणा बढी हो । वासिङ्टनस्थित रेगन राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित रह्यो । यहाँ १८ प्रतिशत उडान अर्थात करिब ८० भन्दा बढी रद्द गरिए ।
    डेल्टा एयरलाइन्सले शुक्रबार १७० उडान स्थगित गरेको बताएको छ भने अमेरिकन एयरलाइन्सले सोमबारसम्म दैनिक २२० उडान कटौती गर्ने योजना बनाएको छ । साउथवेस्ट एयरलाइन्सले पनि करिब १२० उडान रद्द गरेको छ । युनाइटेड र अमेरिकन दुवैले प्रभावित यात्रुहरूलाई पुनः बुक गर्न सक्रिय प्रयास भइरहेको बताएका छन् ।

    – राजनीतिक गतिरोध र दीर्घकालीन जोखिम –

    ट्रम्प प्रशासनले डेमोक्रेट सांसदहरूलाई सरकारी बन्द अन्त्य गर्न दबाब दिँदै गर्दा एफएएको आदेश आएको हो । नियन्त्रकहरूलाई महिनाभर तलब नदिइँदा उनीहरूमा आर्थिक र मानसिक दबाब बढेको एफएएको भनाइ छ । यातायातमन्त्री डफीले भने, “हामी ढिलाइ वा अवरोध देख्न चाहन्नौँ, तर जबसम्म सुरक्षा मापदण्ड सुधार हुँदैन, उडान कटौती आवश्यक छ ।”

    विश्लेषकहरूका अनुसार लामो समयसम्मको बन्दले अमेरिकी हवाई ढुवानी प्रणालीमा गम्भीर असर पार्न सक्छ । अमेरिकी हवाई मालसामानको करिब आधा हिस्सा यात्रु विमानमार्फत ढुवानी हुने भएकाले ढिलाइले आपूर्ति शृङ्खलामा पनि प्रभाव पार्नेछ । एलिभेट एभियसन ग्रुपका प्रमुख ग्रेग राइफलले भन्नुभयो, “हवाई यातायात अमेरिकी अर्थतन्त्रको मेरुदण्ड हो । यो बन्दले व्यापारिक बैठकदेखि लिएर पर्यटकहरूको यात्रा, सबै क्षेत्रमा असर पार्नेछ ।”

    – यात्रुहरूका लागि सल्लाह –

    सरकारको निर्देशन अनुसार ढिलाइ आफूहरूको नियन्त्रणभित्रको कारणले नभएसम्म एयरलाइन्सहरूले रद्द भएका उडानका टिकट फिर्ता गर्नुपर्छ तर खाना र आवास खर्च वहन गर्नुपर्ने छैन । यात्रा सल्लाहकार क्रिस्टिना श्लेगलले भनिन्, “आतङ्कित नहुनुहोस्, आफ्नो उडानको स्थिति निरन्तर जाँच गर्नुहोस् र वैकल्पिक मार्गको जानकारी तयार राख्नुहोस् ।” यदि सरकारी बन्द छिट्टै अन्त्य भएन भने आगामी बिदाहरूअघि हवाई यात्रा अझ अव्यवस्थित र महँगो बन्ने विश्लेषकहरूले चेतावनी दिएका छन् ।

  • एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

    एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

    नयाँदिल्ली, २१ कात्तिक (रासस–एएफपी) ।
    विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गरेका छन् । स्टारलिङ्कले कम–कक्षीय उपग्रहहरू (लो–अर्थ अर्बिट स्याटेलाइट्स) मार्फत दुर्गम तथा पहुँचविहीन क्षेत्रमा उच्च–गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । यो प्रक्षेपणले भारतमा मूल्य प्रतिस्पर्धा, स्पेक्ट्रम वितरण र बजार नीतिहरू सम्बन्धी गम्भीर बहसलाई पुनः ताजा बनाएको छ ।

    भारतमा यस वर्षको अन्त्यसम्म ९० करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता हुने अनुमान छ । यही पृष्ठभूमिमा सरकारले जुन महिनामा स्टारलिङ्कलाई देशमा सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गरेको थियो । “महाराष्ट्र स्टारलिङ्कसँग औपचारिक रूपमा सहकार्य गर्ने पहिलो भारतीय राज्य बन्ने तयारीमा छ”, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नाविसले मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा लेख्दै भने, “यो सहकार्यले भारतलाई स्याटेलाइट–सक्षम डिजिटल पूर्वाधारमा अग्रणी बनाउनेछ ।”

    यसअघि, भारतका सबैभन्दा ठूला दूरसञ्चार कम्पनीहरू जियो प्लेटफर्म्स र यसको प्रतिस्पर्धी भारती एयरटेलले समेत आफ्ना ग्राहकहरूलाई स्टारलिङ्क इन्टरनेट उपलब्ध गराउन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गर्ने योजना सार्वजनिक गरेका थिए । स्टारलिङ्ककी व्यापार सञ्चालन उपाध्यक्ष लरेन ड्रेयरले भारतको डिजिटल दृष्टिकोणलाई समर्थन गर्न पाउँदा आफू ‘अत्यन्त उत्साहित’ भएको बताउँदै एक विज्ञप्तिमा भनिन्, “स्टारलिङ्कले अन्तिम स्वीकृति प्राप्त गरेपछि हामी भारतका सबैभन्दा दुर्गम तथा असम्बन्धित क्षेत्रहरूमा विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक सेवाहरूलाई इन्टरनेटसँग जोड्नेछौँ ।”

    अहिले विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतमा प्रमुख प्रविधि कम्पनीहरू तीव्र रूपमा आफ्नो व्यवसाय विस्तार गर्नतिर लागिरहेका छन् । अक्टोबर महिनामा गुगलले आगामी पाँच वर्षभित्र भारतमा १५ अर्ब डलर लगानी गरी देशकै सबैभन्दा ठूलो एआई हब र डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको थियो । त्यस्तै, अमेरिकी प्रविधि कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले भारतमा आफ्ना कार्यालय खोल्ने तयारी गरिरहेका छन् भने पप्लेर्क्सिटीले जुलाईमा भारतीय दूरसञ्चार कम्पनी एयरटेलसँग ठूलो रणनीतिक साझेदारीको घोषणा गरेको थियो । भारतको डिजिटल रूपान्तरणमा अब स्टारलिङ्कको प्रवेशले ग्रामीण र दुर्गम क्षेत्रका लाखौँ नागरिकलाई इन्टरनेट पहुँच दिलाउने नयाँ अध्याय सुरू गर्ने अपेक्षा गरिएको छ ।

  • अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो

    अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो

    काबुल, २१ कात्तिक (रासस/एएफपी) :
    अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैसँगै उक्त निकायले सिन्थेटिक औषधि उत्पादन र तस्करीमा एकैसाथ तीव्र वृद्धि हुने खतरा रहेको चेतावनीसमेत दिएको छ । तालिबान सरकारका अधिकारीहरूले सत्तामा पुनः फर्किएको एक वर्षपछि सन् २०२२ मा राष्ट्रव्यापी रूपमा अफिम खेतीमा प्रतिबन्ध लगाएका थिए । उक्त प्रतिबन्धपछि अफिम खेतीका लागि समर्पित क्षेत्र सन् २०२४ को १२ हजार ८०० हेक्टर (करिब ३१ हजार ६०० एकड) बाट घटेर सन् २०२५ मा १० हजार २०० हेक्टरमा पुगेको संयुक्त राष्ट्रसङ्घको लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा जनाइएको छ ।

    युएनओडिसीका अनुसार सन् २०२२ मा अफिम खेतीको क्षेत्र करिब दुई लाख ३२ हजार हेक्टरमा फैलिएको थियो । हेरोइनको प्रमुख स्रोत मानिने अफिमको उत्पादन सन् २०२५ मा करिब २९६ टन मात्र भएको अनुमान गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले घटेको हो । प्रतिवेदनअनुसार अफिम बिक्रीबाट अफगान किसानहरूले सन् २०२४ मा प्राप्त गरेको २६ करोड अमेरिकी डलर आम्दानी यस वर्ष घटेर १३ करोड ४० लाख डलरमा सीमित भएको छ । यद्यपि सन् २०२५ मा खेती र उत्पादन घटे पनि सुक्खा अफिमको मूल्य प्रतिबन्धपूर्वको औसतभन्दा अझै पाँच गुणा बढी रहेको बताइएको छ ।

    संयुक्त राष्ट्रसङ्घको उक्त निकायले सिन्थेटिक औषधि, विशेषतः मेथामफेटामाइनको उत्पादन र तस्करी तीव्र गतिमा बढ्दै गएको चेतावनीसमेत दिएको छ । प्रतिवेदनमा भनिएको छ, “उत्पादनको सहजता, नियन्त्रण निकायका लागि पत्ता लगाउनको कठिनाइ र जलवायु परिवर्तनको असरबाट तुलनात्मक रूपमा कम प्रभावित हुने क्षमताका कारण सिन्थेटिक औषधिहरू सङ्गठित आपराधिक समूहहरूका लागि नयाँ व्यापार मोडेलका रूपमा उदाएका छन् ।”

    संयुक्त राष्ट्रसङ्घले बारम्बार अन्तर्राष्ट्रिय समुदायलाई अफगान किसानहरूलाई वैकल्पिक जीविकोपार्जनका उपायहरू उपलब्ध गराउन र अफिम खेतीबाट अन्य बालीतर्फ सर्न सहयोग गर्न आग्रह गर्दै आएको छ । तालिबान सरकारले पनि यस विषयमा विश्व समुदायसँग सहयोगको याचना गरेको छ । प्रतिवेदनका अनुसार अफिम प्रतिबन्धपछि धेरै किसानहरू अन्न र अन्य बालीतर्फ आकर्षित भएका छन्, तर खडेरी र कम वर्षा जस्ता प्रतिकूल मौसमका कारण ४० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहँदै आएको छ ।

    सन् २०२२ को प्रतिबन्धपछि अफगानिस्तानका खेतीयोग्य क्षेत्रहरूमा उल्लेखनीय भौगोलिक परिवर्तन आएको देखिएको छ । दक्षिणका तालिबान गढहरूबाट टाढा रहेका उत्तरपूर्वी क्षेत्रमा खेती बढेको र त्यहाँ केही प्रतिरोध पनि देखिएको प्रतिवेदनमा उल्लेख छ । बदख्सान प्रान्तमा सन् २०२४ को मे महिनामा अफिम खेती नष्ट गर्न पठाइएका सुरक्षाकर्मी र किसानहरूबीच झडप हुँदा कैयौँ नागरिकले ज्यान गुमाउनुपरेको पनि उल्लेख गरिएको छ । अफिम खेती घट्नुले अफगान अर्थतन्त्र र ग्रामीण जीवनमा गम्भीर असर पारेको तर प्रतिबन्धपछि अवैध औषधि व्यापार अन्य रूपमा विस्तार भइरहेको राष्ट्रसङ्घले चेतावनी दिएको छ ।

  • विश्व तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्न असफल

    विश्व तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्न असफल

    बेलेम, ब्राजिल, २१ कात्तिक (रासस-एएफपी) । विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार बताएका छन् । उनले कोप–३० सम्मेलनका अवसरमा ब्राजिलमा विश्व नेताहरूसँगको एक छलफलमा भने, “हामी तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएका छौँ । यो विश्वका सवै राष्ट्रको लागि ठूलो लागत र विनाशको कारक बन्नेछ।”

    कोप–३० जलवायु वार्ता अघि बेलेममा भएको नेताहरूको शिखर सम्मेलनमा गुटेर्रेसले भने, “दशकौँको ढिलाइ र अस्वीकारको अर्थ पेरिस सम्झौताको सबैभन्दा महत्वाकाङ्क्षी लक्ष्य, पूर्व–औद्योगिक युगदेखि तापक्रम १.५ डिग्रीभन्दा कम वृद्धिमा राख्ने अवस्था सुनिश्चित गर्न हामी असफल भएका छौँ।” “यो नैतिक असफलता हो र घातक लापरवाही हो,” उनले भने । उनले थपे, “विश्वले जीवाश्म इन्धनहरू चरणबद्ध रूपमा बन्द गर्नेजस्ता द्रुत कार्यहरूद्वारा अझै पनि क्षतिलाई कम गर्न सक्छ तर यसका लागि सबैको तत्परता आवश्यक छ।”

  • बिया विश्वकै सबैभन्दा वृद्ध जीवित राष्ट्रपति, क्यामरुनको राष्ट्रपतिमा आठौँ कार्यकालको लागि शपथ ग्रहण

    बिया विश्वकै सबैभन्दा वृद्ध जीवित राष्ट्रपति, क्यामरुनको राष्ट्रपतिमा आठौँ कार्यकालको लागि शपथ ग्रहण

    याउन्डे, २१ कात्तिक (रासस–एएफपी) । विगत ४३ वर्षदेखि क्यामरुनमा राष्ट्रपति रहेका पल बियाले बिहीबार आठौं कार्यकालको लागि शपथ लिएका छन् । यस बर्षको निर्वाचनमा ठूलो विरोध प्रदर्शन दमनपछि उनलदे ५३.७ प्रतिशत मत प्राप्त गरी विजय भएका थिए । विश्वकै सबैभन्दा वृद्ध राष्ट्रप्रमुख बन्न सफल ९२ वर्षीय बियाले अक्टोबर १२ मा भएको मतदानमा बहुमत प्राप्त भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी पूर्व मन्त्री इस्सा चिरोमा बाकारीले ३५.२ प्रतिशत मत प्राप्त गरेका थिए । मध्य अफ्रिकी देशको नेतृत्वमा नयाँ सात वर्षे कार्यकालको लागि क्यारूनको संसद्मा आयोजित एक समारोहबचि उनले सपथ ग्रहण गरे ।


    “म यो विश्वासको योग्य बन्न कुनै कसर बाँकी राख्ने छैन,” बियाले स्थानीय राजनीतिक व्यक्तित्वहरू उपस्थित भएको भेलालाई सम्बोधन गर्दै सपथ ग्रहण कार्यक्रमपछि भने । उनले भने, “हाम्रो देशले भोगिरहेको अवस्थाको गम्भीरता म पूर्ण रूपमा बुझ्छु। हामीले सामना गर्ने चुनौतीहरूको सङ्ख्या र गम्भीरता म बुझ्छु र निराशाको गहिराइ र अपेक्षाहरूको मात्रा म बुझ्छु।“

    पूर्व बिया सहयोगीबाट विपक्षी व्यक्ति बनेका टिचिरोमाले परिवर्तनको लागि उत्सुक युवा मतदाताहरूमा अप्रत्याशित उत्साह जगाएका थिए । उनले मतदानबाट आफू वास्तविक विजेता आफू भएकोमा जोड दिए । उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, “अब देशमा दुई राष्ट्रपतिहरू छन् । क्यामेरोनियाली जनताद्वारा निर्वाचित राष्ट्रपति (म) र संवैधानिक परिषद्द्वारा नियुक्त राष्ट्रपति (विया)।” उनले बारम्बार समर्थकहरूलाई घोषित नतिजाहरूको विरोध गर्न आग्रह गरे । अक्टोबर २७ मा बियाको जितको घोषणा हुनुभन्दा ठीक अघि र पछि सुरक्षा बलहरूले विपक्षी जुलुसहरूलाई दबाउँदा धेरै मानिसहरूको मृत्यु भएको थियो ।

  • न्यूयोर्कका सबैभन्दा कान्छा मेयर जोहरान मम्दानी को हुन् ?

    न्यूयोर्कका सबैभन्दा कान्छा मेयर जोहरान मम्दानी को हुन् ?


    २० कात्तिक, काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्क सिटीमा मुस्लिम समुदायका जोहरान मम्दानी नगरप्रमुख निर्वाचित भएका छन्। केही महिनाअघिसम्म खासै नचिनिएका मम्दानीले आफ्नो निर्वाचन अभियानका क्रममा समाजवादी नाराअघि सारेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले माम्दानी निर्वाचित भए न्यूयोर्कलाई दिइने सङ्घीय बजेट कटौती गर्ने चेतावनी दिएका थिए।

    चुनाव जितेपछि समर्थकहरूलाई सम्बोधन गर्दै मम्दानीले यो विजयले न्यूयोर्कवासीहरूले परिवर्तनका लागि कार्यादेश दिएको टिप्पणी गरेका छन्। आधा घण्टाजतिको भाषणमा मम्दानीले निर्वाचन प्रचारप्रसारका बेला गरेका वाचाहरू दोहोर्‍याउँदै तिनलाई पूरा गर्ने बताए। अन्धकारमय यो बेला न्यूयोर्क उज्ज्यालो बन्ने छ, उनले प्रतीकात्मक रूपमा भने।

    ट्रम्पलाई जबाफ दिने क्रममा उनले जुन सहरले उनलाई उदाउन सघायो, त्यसैले उनलाई पराजित पनि गर्न सक्ने बताए। उनले आफ्नो पक्षमा मतदान नगर्ने मानिसहरू, यहुदीविरोधी भावनाबाट पीडित यहुदीहरू र आप्रवासीहरूसहित सबै न्यूयोर्कवासीहरूका पक्षमा उभिने वाचा गरे। उनी र्‍यापर पनि हुन्। न्यूयोर्क सिटीमा उनको चयनलाई धेरै अर्थमा महत्त्वपूर्ण मानिएको छ।

    यो महानगरमा उनी सन् १८९२ पछि निर्वाचित सबैभन्दा कान्छा नेता हुन्। उनी न्यूयोर्कमा मेयर हुने पहिलो मुस्लिम तथा अफ्रिकामा जन्मिएका पहिलो व्यक्ति पनि हुन्। यति मात्रैले पनि पूर्व गभर्नर एन्ड्रू क्वोमो र रिपब्लिकन उम्मेदवार कर्टिस सिल्वामाथि उनको विजय स्मरणयोग्य बनाएको छ। उनी डेमोक्र्याटिक पार्टीमा प्रगतिशील विचार राख्ने कतिपय व्यक्तिहरूले वर्षौँदेखि खोज्दै आएका नेता पनि हुन्।

    उनी युवा मात्रै छैनन्, गतिशील पनि छन् अनि आफ्नो पुस्तासँग सामाजिक सञ्जालमा सहजै भेटिने नेता पनि। उनको पारिवारिक जरोले उनको पार्टीको विविधताको आधार प्रतिबिम्बित गर्छ। उनले निःशुल्क बालस्याहार , सार्वजनिक यातायातको विस्तार र स्वतन्त्र बजारमा सरकारी हस्तक्षेपजस्ता वामपन्थी झुकावका मुद्दा उठाएका छन्।

    मम्दानीले कामकाजी वर्गका मतदाताका खास आर्थिक समस्याबारे पनि ध्यान दिन सक्ने आफ्नो दक्षता प्रदर्शन गरेका थिए। उनका आलोचकहरूले अमेरिकाको ठूलो क्षेत्रले उनीजस्ता उम्मेदवारलाई स्वीकार नगर्ने बताइरहँदा न्यूयोर्कले मङ्गलवार राति तिनै कम आँकिएका व्यक्तिलाई नेताका रूपमा पाएको छ। न्यूयोर्कका पूर्वगभर्नर र गभर्नरकै छोरा समेत रहेका क्वोमोलाई पराजित गर्न उनलाई सहज थिएन। त्यसैले पनि मम्दानीको चुनावी प्रचारले सञ्चारमाध्यमको ठूलो ध्यान तानेको थियो। यसको अर्थ उनका सफलता र विफलताहरूमा अब धेरैको ध्यान जाने छ।

    आजभन्दा १२ वर्षअघि न्यूयोर्कको आर्थिक र सामाजिक असमानतालाई सम्बोधन गर्ने वाचा गरेका बिल डे ब्लाजिओ नगरप्रमुख भएका थिए। मम्दानीसँग समान धारणा राखने वामपन्थी अमेरिकीहरू उनको कार्यकालमा उदारवादी शासनको उदाहरण कायम हुने विश्वास गर्छन्। युगान्डाको कम्पालामा जन्मिएका मम्दानी सात वर्षको उमेरमा आफ्नो परिवारसँगै न्यूयोर्क आएका थिए। उनले कलेजमा अध्ययन गरिरहँदा प्यालेस्टाइनको न्यायका पक्षमा विद्यार्थीहरूको सङ्गठन बनाएका थिए।

    उनले चुनावी प्रचारका क्रममा हिन्दी चलचित्रका शब्दहरू मिश्रित उर्दूमा पनि भाषण गरेका थिए। उनले स्पेनिश भाषामा पनि प्रचार गरेका थिए। हाल २७ वर्षकी श्रीमती रामा दुवाजीलाई उनले डेटिङ एपमा भेटेका थिए। उनकी आमा मीरा नायर भारतीय मूलकी चर्चित चलचित्र निर्देशक हुन्। उनका बुवा प्राध्यापक महमूद मम्दानीले कोलम्बियामा प्राध्यापन गर्छन्। उनका आमाबुवा दुवै जनाले हार्भर्ड विश्वविद्यालय अध्ययन गरेका हुन्।

    राजनीतिमा आउनुअघि उनले घरजग्गाबारे परामर्शदाताका रूपमा काम गरेका थिए। त्यस बेला उनले क्वीन्समा न्यून आय भएका मानिसहरूलाई सहयोग गरेका थिए। पूर्वगभर्नर क्वोमो र अन्यले तीन लाख नगर कर्मचारी र ११ करोड अमेरिकी डलर बजेट रहेको नगरका लागि मम्दानीलाई परीक्षण नभएका र अति अनुदारवादी भनेका छन्।

    बिल क्लिन्टनसहित ठूला चन्दादाता र मध्यमार्गीले क्वोमोलाई समर्थन गरेका थिए। उनीहरूले अनुभव, प्रतिस्पर्धी क्षमता, कामबारेको ज्ञान, ट्रम्पसँग कुरा गर्ने क्षमता तथा वाशिङ्टन र राज्यसभा लगायतका संरचनासँग समन्वय गर्ने क्षमता न्यूयोर्कका मेयरमा हुनुपर्ने तर्क अघि सारेका थिए। तर एक राजनीतिक रणनीतिकार ट्रिप याङ राजनीतिक क्षेत्रमा अनुभव मात्रै महत्त्वपूर्ण नहुने बताउँछन्। उनको पक्षमा हजारौँ स्वयंसेवक र सयौँ नयाँ चन्दादाता अघि सरेको उदाहरण दिँदै उनले मम्दानीको पक्षमा जनस्तरबाट उत्साह देखिएको बताए। बीबीसीबाट

  • क्यानाडाका प्रधानमन्त्री कार्नीको पहिलो बजेट : अमेरिका माथिको निर्भरता घटाउने लक्ष्य

    क्यानाडाका प्रधानमन्त्री कार्नीको पहिलो बजेट : अमेरिका माथिको निर्भरता घटाउने लक्ष्य

    ओटावा, १८ कात्तिक (रासस–एएफपी) । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मङ्गलबार आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै अमेरिकामाथिको आर्थिक निर्भरता घटाउने र नयाँ भूराजनीतिक वास्तविकतालाई सम्बोधन गर्ने दीर्घकालीन रणनीति प्रस्तुत गरेको छ । उनले यस बजेटलाई अमेरिकी कर नीतिका कारण दबाबमा परेको क्यानाडाली अर्थतन्त्रका लागि ‘दृढ उत्तर’ का रूपमा परिभाषित गरे ।
    राजनीतिमा प्रवेश गर्नुअघि क्यानाडा र बेलायत दुवै देशका केन्द्रीय बैंकका गभर्नर रहिसकेका कार्नीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण उत्पन्न चुनौतीपूर्ण अमेरिकी सम्बन्धको अवस्थाबाट देशलाई पार लगाउने ‘अनुभवी नेतृत्व’ भएको व्यक्ति भनेर प्रस्तुत गरेका छन् । ट्रम्प प्रशासनले लगाएको उच्च करका कारण क्यानाडाको अटोमोबाइल, एल्युमिनियम र स्टिल उद्योगहरूमा ठूलो असर परेको छ । त्यसले बेरोजगारी बढाएको र उद्योगहरूमा लगानी घटाएको छ ।

    “नयाँ अमेरिकी व्यापार नीतिले सिर्जना गरेको अवरोधका बीच हामीले अब वृद्धि र अवसर कहाँ खोज्ने भन्ने प्रश्नको उत्तर यही बजेटले दिनेछ”, प्रधानमन्त्री कार्नीले गत साता दक्षिण कोरियामा पत्रकारहरूसँग भनेका थिए । उनको लिबरल सरकारका अनुसार यो बजेटले क्यानाडाको आर्थिक र सुरक्षा नीति दुवैलाई अमेरिकी दबाबबाट स्वावलम्बी दिशातर्फ मोड्नेछ । अर्थमन्त्री फ्रान्कोइस–फिलिप च्याम्पेनले संसद्मा बजेट प्रस्तुत गर्नुअघि यसलाई ‘लगानीमुखी बजेट’ भनेर परिभाषित गर्दै भने, “यो भोलिको क्यानाडा निर्माण गर्ने योजना हो ।”

    अर्थ मन्त्रालयले बजेटको विस्तृत विवरण अन्तिम घडीसम्म गोप्य राखे पनि प्रमुख प्रावधानहरूमा नाटोको लक्ष्य अनुसार रक्षा खर्चमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । साथै, प्रधानमन्त्री कार्नीले अमेरिकासँगको आर्थिक ‘विच्छेद’ का बीच क्यानाडाको आर्थिक सार्वभौमिकता बलियो पार्ने उद्देश्यले राष्ट्रिय स्तरका ठूला पूर्वाधार तथा ऊर्जा परियोजनाहरूका लागि रकम छुट्याउने तयारी गरेका छन् ।
    यी परियोजनामा बन्दरगाह विस्तार, ऊर्जा उत्पादन र दुर्गम क्षेत्रका महत्त्वपूर्ण खनिज उत्खननलाई सशक्त पार्ने योजनाहरू समावेश छन् ।

    प्रधानमन्त्रीले यसलाई ‘क्यानाडाको भविष्यका लागि दीर्घकालीन लगानी’ का रूपमा वर्णन गरे । अप्रिलमा सम्पन्न आमनिर्वाचनमा पूर्ण कार्यकालका लागि निर्वाचित हुनुअघि उनले जनवरीमा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई प्रतिस्थापन गरेका थिए । कार्नीले ट्रम्प–युगका तनावहरू ‘अझै समाप्त भएका छैनन्’ र त्यसको असरबाट बच्न क्यानाडाले दीर्घकालीन रणनीति अवलम्बन गर्नैपर्नेछ भन्दै पटक–पटक चेतावनी दिँदै आएका छन् ।


    “यो बजेटले अमेरिकामाथिको हाम्रो निर्भरता घटाउनेछ”, उनले भने, “तर यस्तो रूपान्तरण रातारात सम्भव हुँदैन ।” हाल संसद्मा लिबरल पार्टी बहुमतभन्दा तीन सिटले कम भएकाले सरकारलाई बजेट पारित गर्न विपक्षीहरूको समर्थन वा अनुपस्थितिको आवश्यकता छ । बजेट ‘विश्वास मत’ भएकाले त्यसमा असफल भएमा नयाँ निर्वाचनको सम्भावना स्वतः खुल्नेछ ।

    सबैभन्दा ठूलो विपक्षी कन्जर्भेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले समर्थनको सर्तका रूपमा घाटा घटाउने माग गरेका छन् । यसबीच ओटावा विश्वविद्यालयकी सार्वजनिक नीति विज्ञ जेनेभिभ टेलियरले भनिन्, “म बजेट घाटा निकै ठूलो हुने अपेक्षा गर्छु, तर सरकारले खस्ने सम्भावना भने न्यून देखिन्छ ।”

    वामपन्थी न्यु डेमोक्रेट पार्टी अर्को चुनाव टार्ने मनस्थितिमा देखिएकाले सम्भवतः मतदानबाट टाढा रहनेछ । यस पार्टीले अप्रिलमा कमजोर प्रदर्शन गरेपछि आधिकारिक विपक्षको दर्जा गुमाएको छ । “म पूर्ण रूपमा विश्वस्त छु कि यो बजेट देशको आवश्यकता अनुरूपको सही बजेट हो”, सप्ताहन्तमा पत्रकारहरूले बजेट पारित हुने आत्मविश्वासबारे सोध्दा प्रधानमन्त्री कार्नीले भने, “यो कुनै खेल होइन—आवश्यक परे मैले आफ्ना नीतिहरूको रक्षा चुनावी मैदानमै गर्नेछु ।”

  • दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

    दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

    सियोल, १८ कात्तिक (रासस\एएफपी) । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गरेका छन् । उनले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ निर्णायक रूपमा अघि बढ्ने’ घोषणा गरे ।

    राष्ट्रपति लीले १०१ खर्ब वोन (करिब सात अर्ब अमेरिकी डलर) को लगानीद्वारा दक्षिण कोरियालाई संयुक्त राज्य अमेरिका र चीनसँगै विश्वका शीर्ष तीन एआई शक्तिहरूमध्ये एक बनाउने लक्ष्य लिइएको बताए । “हामी एआई युगको नयाँ अध्याय खोल्दैछौँ, जसका लागि लगानी अभूतपूर्व रूपमा विस्तार गरिनेछ”, उनले सम्बोधनमा भने । उक्त रकम यस वर्षको एआई सम्बन्धी बजेटभन्दा तीन गुणा बढी हो ।

    सन् २०२६ का लागि प्रस्तुत गरिएको सरकारी बजेटको कुल आकार सात हजार २८० खर्ब वोन रहेको छ । यो चालु वर्षको तुलनामा ८.१ प्रतिशतले बढी हो । राष्ट्रपति लीको डेमोक्रेटिक पार्टीले संसद्मा बहुमत राखेकाले बजेट पारित हुने सम्भावना प्रबल देखिएको छ । रक्षा क्षेत्रको बजेटमा समेत उल्लेखनीय वृद्धि प्रस्ताव गरिएको छ । राष्ट्रपतिले यस वर्षको तुलनामा ८.२ प्रतिशत बढाएर ६६३ खर्ब वोन पुर्‍याउने लक्ष्य राखेका छन् । यो पारित भएमा सन् २०१९ पछि यो सबैभन्दा ठूलो वार्षिक वृद्धि हुनेछ ।

    उनले भने, “हामी परम्परागत हतियार प्रणालीहरूलाई सुधार्दै एआई युगका लागि उपयुक्त अत्याधुनिक प्रविधि अपनाउनेछौँ, जसले हाम्रो सेनालाई छिटो एक बुद्धिमान र सक्षम शक्तिमा रूपान्तरण गर्नेछ ।” राष्ट्रपति लीका अनुसार आगामी वर्षको एआई बजेटमध्ये २६ खर्ब वोन उद्योग, दैनन्दिन जीवन र सार्वजनिक क्षेत्रमा एआई प्रविधिको विस्तारमा खर्च गरिनेछ भने ७५ खर्ब वोन प्रतिभा विकास र पूर्वाधार निर्माणमा लगानी हुनेछ ।

    दक्षिण कोरिया विश्वका दुई ठूला मेमोरी चिप उत्पादक कम्पनी—सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स—को गृह देश हो । यी दुवै कम्पनीले एआई प्रविधि र उच्च क्षमतायुक्त डेटा सेन्टरहरूका लागि आवश्यक चिप्स उत्पादन गर्छन् ।

    गत हप्ता अमेरिकी चिप कम्पनी एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङले दक्षिण कोरियालाई आफ्नो कम्पनीका सबैभन्दा उन्नत दुई लाख ६० हजार चिप्स आपूर्ति गर्ने योजना घोषणा गरेका थिए । उनले त्यसलाई ‘महत्त्वाकांक्षी लक्ष्य’ बताउँदै भने, “कोरियाले यो लक्ष्य हासिल गर्न नसक्ने कुनै कारण छैन—तपाईंहरूसँग प्रविधि, सफ्टवेयर दक्षता र विश्वस्तरीय उत्पादन क्षमतासम्म छ ।”

    दक्षिण कोरिया अमेरिकाको प्रमुख सैन्य सहयोगी राष्ट्र हो । यस मुलुकमा हाल करिब २८ हजार ५०० अमेरिकी सैनिक उत्तर कोरियाको सम्भावित खतराबाट सुरक्षा गर्न तैनाथ छन् । जुन महिनामा पदभार ग्रहण गरेदेखि राष्ट्रपति लीले उत्तर कोरियासँग पूर्व शर्तबिनाको संवाद र पारस्परिक सम्मानको नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।


    उनले मङ्गलबारको सम्बोधनमा भने, “दक्षिण कोरियाले अहिले नै उत्तर कोरियाको वार्षिक कुल गार्हस्थ्य उत्पादनको डेढ गुणा रक्षा क्षेत्रमा खर्च गरिरहेको छ र हाम्रो देश विश्वका पाँचौँ शक्तिशाली सैन्य राष्ट्रहरूको सूचीमा पर्छ ।” सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सन्धि नभई केवल युद्धविराम सम्झौतामा समाप्त भएकाले सियोल र प्योङयाङबीचको द्वन्द्व औपचारिक रूपमा अझै अन्त्य भएको छैन ।

  • अनिल अम्बानीको सम्पत्ति किन भयो जफत ?

    अनिल अम्बानीको सम्पत्ति किन भयो जफत ?

    मुम्बई, १८ कात्तिक (रासस\एएफपी) । भारतको शीर्ष वित्तीय अपराध अनुसन्धान निकाय, प्रवर्तन निदेशालय (इडी) ले प्रतिष्ठित उद्योगपति अनिल अम्बानीसँग सम्बन्धित विभिन्न कम्पनीहरूबाट ८४ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी (करिब ७५ अर्ब भारतीय रुपैयाँ) बराबरको सम्पत्ति जफत गरेको जनाएको छ । यो कारबाही बैंक धोखाधडी र मनी लन्ड्रिङसम्बन्धी अनुसन्धानको एक महत्त्वपूर्ण अंशका रूपमा गरिएको हो ।

    एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा भाइ अनिल अम्बानी विगत दुई दशकयता आफ्नो व्यवसायिक साम्राज्यमा आएको गिरावटका कारण निरन्तर विवादमा परिरहनुभएको छ । एक समय ऊर्जादेखि दूरसञ्चार र रक्षा उद्योगसम्म फैलिएको विशाल व्यापारिक साम्राज्यका स्वामी रहनुभएका उहाँ अहिले विभिन्न आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानको केन्द्रमा पर्नुभएको छ ।

    इडीले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा कार्यालय परिसर, आवासीय एकाइहरू र करिब १३२ एकड (५३ हेक्टर) जग्गासहितको सम्पत्ति फ्रिज गरिएको जानकारी दिएको छ । निकायले भनेको छ, “रिलायन्स अनिल अम्बानी समूहका विभिन्न कम्पनीहरूले सार्वजनिक कोषको धोखाधडीपूर्ण हेरफेर गरेका छन् र संस्थाले ती गैरकानूनी आम्दानीलाई सही दावीकर्ताहरूलाई पुनःस्थापित गर्न प्रतिबद्ध रहेको स्पष्ट गरेको छ ।”

    इडीको यो अनुसन्धान भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले गत अगस्टमा दायर गरेको आपराधिक मुद्दाको आधारमा प्रारम्भ भएको हो । सो मुद्दा देशकै सबैभन्दा ठूलो बैंक, स्टेट बैंक अफ इन्डिया (एसबिआई) ले दर्ता गरेको ठगी उजुरीबाट उत्पन्न भएको बताइन्छ । उजुरीमा रिलायन्स कम्युनिकेसनले बैंक कोषको दुरुपयोग गरी करिब २९ अर्ब २९ करोड रुपैयाँको नोक्सानी पुर्‍याएको आरोप लगाइएको थियो ।

    यसबीच, अनिल अम्बानी नियन्त्रित कम्पनी रिलायन्स इन्फ्रास्ट्रक्चरले सोमबार विज्ञप्ति जारी गर्दै इडीको निर्णयले आफ्नो नियमित व्यापारिक सञ्चालनमा ‘कुनै असर नपार्ने’ जनाएको छ । कम्पनीका प्रवक्ताले अम्बानीका तर्फबाट भने, “उहाँले सबै आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्नुभएको छ र कानूनी रूपमा आफ्नो बचाउ गर्नुहुनेछ ।”

    अम्बानी सन् २०१८ मा विपक्षी नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँमाथि फ्रान्सबाट राफेल लडाकू विमान खरिद सम्झौतासम्बन्धी कथित अनियमितताको आरोप लगाएको समयमा पनि सार्वजनिक चर्चामा आएका थिए । तथापि, ती आरोपहरू दुवै पक्षले अस्वीकार गरेका थिए । भारतको सर्वोच्च अदालतले सो मुद्दामाथि अनुसन्धानको मागलाई सन् २०१८ डिसेम्बरमा खारेज गरेको थियो र त्यसपछि यो विवाद औपचारिक रूपमा बन्द भएको मानिएको थियो । हाल इडीको ताजा कारबाहीले पुनः एकपटक अनिल अम्बानीलाई भारतीय वित्तीय क्षेत्र र कानूनी निकायहरूको गम्भीर ध्यानको केन्द्रमा ल्याएको छ ।

  • श्रीलङ्कामा प्लास्टिकका झोला निःशुल्क वितरण गर्न नपाइने

    श्रीलङ्कामा प्लास्टिकका झोला निःशुल्क वितरण गर्न नपाइने

    कोलम्बो, १८ कात्तिक (रासस\सिन्ह्वा) । श्रीलङ्काको केन्द्रीय वातावरण प्राधिकरण (सिइए) ले नयाँ नियम अन्तर्गत सन् २०२५ नोभेम्बर १ देखि लागू हुनगरी कम घनत्व भएका पोलिथीन (प्लास्टिकका झोला) अब उपभोक्ताहरूलाई निःशुल्क वितरण गर्न नपाउने व्यवस्था गरेको जनाएको छ। अक्टोबर १ मा सरकारी राजपत्रमा प्रकाशित निर्देशन अनुसार व्यापारीहरूले त्यस्ता झोलाहरूको मूल्य उनीहरूको व्यावसायिक परिसरमा प्रमुखताका साथ प्रदर्शन गर्नुपर्नेछ र ग्राहकको बिलमा स्पष्ट रूपमा लागत खुल्नेगरी समावेश गर्नुपर्नेछ।

    यो नियम दैनिक बजारमा प्लास्टिकको अत्यधिक प्रयोग कम गर्ने र वातावरणीय जिम्मेवार व्यवहारलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ जारी गरिएको हो।
    सरकारले यो उपायले जनतामा पुनः प्रयोग गर्न मिल्ने झोलाहरूको प्रयोगलाई बढावा दिन र डिस्पोजेबल पोलिथिन फोहोरबाट हुने वातावरणीय क्षतिलाई कम गर्न खोजेको सीइएले जनाएको छ। उपभोक्ताहरूलाई दिगो उपभोगको लागि राष्ट्रिय प्रयासलाई समर्थन गर्न बजारमा जाँदा पुनः प्रयोग गर्न मिल्ने झोला बोक्न आग्रह गरिएको छ।

  • विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

    विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

    थिम्पू (भुटान), १९ कात्तिक (रासस\एएनआई) । भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ । यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ । यसले द्वन्द्व र विभाजनले दिग्भ्रमित संसारमा शान्ति, करुणा र सद्भावलाई बढावा दिन सबै बौद्ध परम्पराहरूका आध्यात्मिकहरूलाई एकजुट गर्ने भुमिका खेल्ने जनाइएको छ ।

    भुटानी सरकारले आयोजना गरेको विश्वव्यापी शान्ति प्रार्थना महोत्सवमा पवित्र अनुष्ठान, गैर–साम्प्रदायिक विश्वव्यापी शान्ति प्रार्थना, सामूहिक पाठ, सार्वजनिक आशीर्वाद र कालचक्र सशक्तिकरण समावेश भएको जनाइएको छ । थेरवाद, महायान र वज्रयान परम्पराका प्रख्यात लामा, विद्वान र अभ्यासकर्ताहरूको सहभागिता रहेको यो उत्सवले विश्वव्यापी सद्भावका लागि माया–दया र जागरूकताको रूपान्तरणकारी शक्तिको उपयोग गर्ने भुटानको प्रयासलाई प्रतिबिम्बित गर्दछ ।

    कुएन्सेलफोद्राङमा केन्द्रीय मठ निकायद्वारा सञ्चालित जब्जी धोचोगको पवित्र अनुष्ठानबाट महोत्सव सुरु भएको र यो दुर्लभ अनुष्ठानले, नकारात्मक कर्मको शरीर, बोली र मनलाई शुद्ध गर्न क्रोधित संरक्षणको साथ शान्तिपूर्ण प्रसादहरू संयोजन गर्दछ । चाङ्लिमिथाङ मैदानमा, विभिन्न बौद्ध सम्प्रदायका प्रतिनिधिहरू एकीकृत विश्वव्यापी शान्ति प्रार्थनामा सामेल हुनेछन् । अङ्ग्रेजी, तिब्बती र जोङ्खासहितका धेरै भाषाहरूमा विश्व शान्तिका लागि प्रार्थना गरिने छ । लामाहरूले भक्तहरूलाई सार्वजनिक आशीर्वाद दिनेछन्, भने विश्व शान्तिका लागि सहभागीहरूलाई एकताबद्ध गर्न बजागुरु मन्त्रको सामूहिक पाठ हुनेछ ।

    महोत्सवको मुख्य आकर्षण “कालचक्र इनिसिएसन एन्ड एम्पावरमेन्ट” हुनेछ, जसको अध्यक्षता परम पूज्य जे खेन्पोले गर्नु हुने छ । यसले व्यक्ति र ब्रह्माण्डबिचको पवित्र सम्बन्ध र सबै प्राणीहरूमा विद्यमान जन्मजात बुद्ध प्रकृतिका बारेमा गहन शिक्षा प्रदान गर्नेछ । महोत्सवमा मुख्य समारोहका अतिरिक्त, कालचक्र परम्परामा विद्वतापूर्ण सेमिनारहरू सँगै कालचक्र कला र कलाकृतिहरूको प्रदर्शनी हुनेछ ।

    यी घटनाहरूले बौद्ध धर्मको आध्यात्मिक सम्पदाको संरक्षण र साझेदारी गर्ने भुटानको स्थायी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । भुटानको विश्वव्यापी शान्ति प्रार्थना महोत्सव एकता, भक्ति र सामूहिक उपचारको ऐतिहासिक अवसरको अवसर हो जसले बढ्दो विभाजित संसारमा करुणा, विश्वास र आशाको शक्तिशाली सन्देश प्रदान गर्दछ ।

  • ‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न उत्तर कोरियाले रुसमा पाँच हजार सैनिक पठायो

    ‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न उत्तर कोरियाले रुसमा पाँच हजार सैनिक पठायो

    सियोल, १९ कात्तिक (रासस–एएफपी) । उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न सेप्टेम्बरदेखि करिब पाँच निर्माण सेना पठाएको छ। दक्षिण कोरियाली सांसदले मङ्गलबार सियोलको गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाबाट करिब पाँच निर्माण सेना रूस पठाइएको जनाएका छन् । उत्तर कोरियाली नेता किम जोङ उन युक्रेनमा जारी युद्धबाट उत्साहित भएका र रुसी सेनासँग लड्न हजारौं सेना पठाएका र यसको बदलामा मस्कोबाट महत्वपूर्ण सहयोग पाएको दक्षिण कोरियाली श्रोतले बताएको छ।

    दक्षिण कोरियाली सांसद ली सियोङ–क्वेनले भने, “करिब पाँच हजार उत्तर कोरियाली सैनिक सेप्टेम्बरदेखि चरणबद्ध रूपमा रुस जाँदैछन् र उनीहरूलाई पूर्वाधार पुनर्निर्माणका लागि परिचालन गरिने अपेक्षा गरिएको छ ।” उनले थपे, “थप सेना तैनाथीको तयारीका लागि प्रशिक्षण र कर्मचारी चयनको निरन्तर सङ्केतहरू फेला परेका छन्।” दक्षिण कोरियाली गुप्तचर निकायले सांसदहरूलाई भनेको छ, “हाल रूस–युक्रेन सीमा नजिक लगभग १० हजार उत्तर कोरियाली सेना तैनाथ गरिएको अनुमान गरिएको छ।

    युक्रेन युद्धमा कम्तीमा ६०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको र हजारौं घाइते भएका दक्षिण कोरियाको दावी रहेको छ। विश्लेषकहरूका अनुसार उत्तर कोरियाले सेना पठाउने बदलामा रुसबाट आर्थिक सहायता, सैन्य प्रविधि र खाद्यान्न तथा ऊर्जा क्षेत्रमा आपूर्ति प्राप्त गरिरहेको छ। यसले उत्तर कोरियालाई आफ्नो परमाणु र मिसाइल कार्यक्रमहरूमा लगाइएको कडा अन्तर्राष्ट्रिय प्रतिबन्धका बीच आर्थिकरूपमा पनि राहत मिलेको छ ।

  • जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने

    जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने

    बर्लिन, १९ कात्तिक (रासस–एएफपी) । जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने तयारी गरेको छ। रुसविरुद्धको लडाइँमा युक्रेनलाइृ सहयोग गर्न आगामी वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा तीन अर्ब युरो बढाएर करिब ११.५ अर्ब युरो (१३.२ अर्ब डलर) पु¥याउने योजना बनाएको अर्थ मन्त्रालयले मङ्गलबार जनाएको हो।

    जर्मनीको अर्थ मन्त्रालयका प्रवक्ताले एएफपीसँग भने, “अर्थमन्त्री लार्स क्लिङबेलले सन् २०२६ को संसदीय बजेट प्रक्रियामा युक्रेनको सहयोगका लागि थप तीन अर्ब युरो प्रस्ताव गर्नुहुनेछ।” “यसमा अन्य सहयोगहरूको साथ तोपखाना, ड्रोन, बख्तरबन्द वाहन र दुई प्याट्रियट प्रणालीहरूको प्रतिस्थापन समावेश छ।

    प्रवक्ताले थपे, “जर्मनी युक्रेनको पक्षमा दृढतापूर्वक उभिएको छ र युरोपमा युक्रेनको सबैभन्दा ठूलो समर्थक हो। यो आर्थिक र सैन्य सहयोगका रूपमा लागू हुन्छ।” “हामी रूसको आक्रामक युद्धबिरूद्ध युक्रेनी भूगोल र नागरिकको रक्षार्थ आवश्यक भएसम्म हाम्रो समर्थन जारी राख्नेछौँं।”

  • मलेसिया सरकारलाई वैदेशिक रोजगारसम्बन्धी मापदण्ड स्वीकार गर्न नसकिनेबारे पत्राचार

    मलेसिया सरकारलाई वैदेशिक रोजगारसम्बन्धी मापदण्ड स्वीकार गर्न नसकिनेबारे पत्राचार

    काठमाडौँ, १९ कात्तिकः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारले नेपाललगायत पाँच देशमा लक्षित ‘म्यानपावर’ कम्पनीका लागि निर्धारण गरेको १० बुँदे मापदण्ड स्वीकार गर्न असमर्थन रहेकाबारे जानकारी गराएको छ । मन्त्रालयले आज परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई लिखित रूपमा पत्र पठाएर उक्त जानकारी गराएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । उनका अनुसार मलेसियाले वैदेशिक रोजगारका सन्र्दभमा म्यानपावर कम्पनीलाई निर्धारण गरेका १० बुँदे मापदण्ड लागू गर्न असमर्थन रहेको जनाउँदै यस समस्यालाई कूटनीतिक हिसाबले समाधान निकाल्न पत्राचार गरिएको हो ।

    “मलेसिया सरकारले ल्याएको मापदण्डमा व्यवसायीबाटै विमति आएको छ”, प्रवक्ता घिमिरेले भने, “हालको अवस्थामा भएको मापदण्ड स्वीकार गर्न हामी असर्मथ भएको जानकारी पत्र परराष्ट्रसमक्ष बुझाएका छौँ ।” मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई पत्राचार गरेर १० बुँदे मापदण्डबारे जानकारी गराएको थियो । त्यसअनुसार मलेसियाको मानव संसाधन मन्त्रालयले १५ नोभेम्बर २०२५ भित्र म्यानपावर कम्पनीको विवरण पठाउन अनुरोध गरेको छ । यस्ता देशमा नेपालसहित भारत, बङ्गालादेश, पाकिस्तान र म्यानमार छन् ।

    इजाजतपत्र लिएको कम्तीमा पाँच वर्ष भएको, पछिल्लो तीन वर्षमा तीन हजार श्रमिक पठाएको अनुभव र प्रमाण, एजेन्सीहरूले पछिल्ला पाँच वर्षभित्र कम्तीमा तीन देशमा श्रमिक पठाएको हुनुपर्ने, सम्बन्धित निकायबाट तालिम, मूल्याङ्कन, भर्ती र कामदार पठाउनेसम्बन्धी सबै वैध अनुमति प्राप्त गरेको र आफ्नो देशका सम्बन्धित निकायबाट जारी गरिएको सदाचार प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने भनिएको छ ।

    साथै, म्यानपावर कम्पनी कुनै प्रकारका जबर्जस्ती श्रम, मानव बेचबिखन, श्रम ऐन उल्लङ्घन, जबर्जस्ती असुली जस्ता गलत क्रियाकलापमा संलग्न नरहेको, कम्पनी कम्तीमा १० हजार वर्गफिट क्षेत्रमा स्थायी रूपमा सञ्चालनमा रहेको र पर्याप्त पूर्वाधार भएको, कुनै ठगी वा अन्य आर्थिक आपराधिक क्रियाकलापमा संलग्न नरहेको हुनुपर्ने र अन्तरराष्ट्रिय रोजगारदताबाट प्राप्त सिफारिस पत्र(टेस्टिमोनियल) पेस गर्नुपर्ने मापदण्डमा उल्लेख छ । यस मापदण्डमा वैदेशिक रोजगार व्यवसायीहरूले विमती जनाउदै आएका छन् । रासस

  • दक्षिणी भारतमा सडक दुर्घटनाः ट्रक बसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ घाइते

    दक्षिणी भारतमा सडक दुर्घटनाः ट्रक बसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ घाइते

    हैदराबाद, १८ कात्तिक (रासस\एपी) । दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको र करिब दुई दर्जन व्यक्ति घाइते भएको पुष्टि भएको छ । कङ्क्रिट ढुङ्गा बोकेको ट्रक यात्रुबसमा ठोक्किँदा यो दुःखद घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

    राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के। चन्द्रकलाले जानकारी दिनुभयो । उहाँका अनुसार बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको र धेरै यात्रु भित्रै फसेका थिए ।

    चेभल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा। राजेन्द्र प्रसादका अनुसार दुर्घटनास्थलबाट २० जनाको शव शवगृहमा लगिएको छ र कानूनी प्रक्रिया पूरा भएपछि तिनीहरूका पारिवारिकजनलाई हस्तान्तरण गरिनेछ । घाइतेहरूलाई नजिकका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ ।

    यो दुर्घटना भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार राति भएको अर्को दुर्घटनाको ठीक भोलिपल्ट भएको हो । राजस्थानमा यात्रु बोकेको मिनीबस राजमार्गमा पार्क गरिएको ट्रकमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । राजस्थानको कोलायत तीर्थस्थलमा पूजापाठ गरेर फर्किरहेका ती यात्रुहरू मरुभूमि सहर जोधपुरतर्फ गइरहेका थिए । मृतकमध्ये १० महिला, चार बालबालिका र बस चालक रहेको वरिष्ठ सरकारी अधिकारी श्रीमती श्वेता चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

    दुर्घटनामा मिनीबसको अगाडिको भाग च्यातिएको थियो र धातुको टुक्रामा पीडितहरू फसेका थिए । वरिष्ठ प्रहरी अधिकारी कुन्दन कन्वारियाले प्रारम्भिक अनुसन्धानको नतिजा उद्धृत गर्दै भने, “बस चालकले अर्को सवारीलाई ओभरटेक गर्ने प्रयास गर्दा राजमार्गमा पार्क गरिएको ट्रकमा ठोक्किएको देखिन्छ । सम्भवतः उनले ब्रेक लगाउन पनि समय पाएनन् ।”

    भारतमा राजमार्गहरूमा ट्रक र ट्रेलरहरू चेतावनी बत्ती वा परावर्तक चिह्नबिना नै अव्यवस्थित रूपमा पार्क गरिने सामान्य प्रवृत्ति रहेको बताउँदै अधिकारीहरूले यस्तो लापरवाहीले रातको समयमा गम्भीर जोखिम निम्त्याउने र पछिल्ला वर्षहरूमा यस्तै कारणले धेरै घातक दुर्घटनाहरू भएको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदी, तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डी तथा राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले दुवै दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्दै मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । राजस्थानमै करिब तीन हप्ताअघि यात्रुबसमा सर्ट सर्किटका कारण आगलागी भई कम्तीमा २० जनाको ज्यान गएको घटनापछि पुनः यस्तो ठूलो दुर्घटना हुनुका कारण भारतको सडक सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

  • अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

    अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

    अफगानिस्तान, १८ कात्तिक (रासस÷एएफपी) । उत्तरी अफगानिस्तानमा आएको ६।३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर गहिराइमा उक्त भूकम्प गएको थियो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान प्रान्तमा ३२० जना घाइते भएको बताए । अफगानिस्तानको उत्तरी सहर मजार–ए–सरिफका बासिन्दाहरू आफ्ना घरहरू भूकम्पले ढल्ने डरले सडकमा उत्रिएको एएफपीले जनाएको छ । प्रभावित क्षेत्र देखि करिब ४२० किलोमिटर टाढाको राजधानी काबुलका संवाददाताहरूले पनि कम्पन महसुस गरेको बताएका छन् । पाहाडी अफगानिस्तानमा कमजोर सञ्चार सञ्जाल र पूर्वाधारले उद्धार प्रक्रियामा बाधा पुर्याएकाले अधिकारीहरूलाई प्रभावित क्षेत्रमा पुग्न असहज भएको जनाइएको छ ।

    Damage is seen along a road near the site of a powerful 6.3-magnitude earthquake in a rural area of the Khulm District in Samangan Province, northern Afghanistan, Monday, Nov. 3, 2025. (AP Photo/Sirat Noori)

    यो तालिबान सरकारका लागि पछिल्लो प्राकृतिक प्रकोप हो, जसले सन् २०२१ मा अफगानिस्तान कब्जा गरेदेखि तीनवटा ठूला घातक भूकम्पहरूको सामना गरेको छ । अगस्टमा, देशको पूर्वमा ६.०–म्याग्निच्युडको भूकम्पले पहाडी गाउँहरू नष्ट गर्नु का साथै दुई हजार २०० भन्दा बढीको ज्यान लिएको थियो ।

    सन् २०२३ मा इरानी सीमा नजिकैको पश्चिमी हेरात र सन् २०२२ मा पूर्वी नङ्गरहार प्रान्तमा ठुलो भूकम्पले सयौंको ज्यान लिनुका साथै हजारौं घरहरू ध्वस्त पारेको थियो । संयुक्त राष्ट्र संघ र सहायता एजेन्सीहरूले अफगानीस्तानमा भोकमरी बढिरहेको चेतावनी दिएका छन् । अफगानिस्तान खडेरी, बैङ्किङ क्षेत्रमा आर्थिक प्रतिबन्ध र छिमेकी इरान र पाकिस्तानबाट लाखौं अफगान नागरिकहरू निरन्तर स्वदेश फर्कका कारणले मानवीय सङ्कटबाट ग्रस्त भएको जनाइएको छ ।

  • चीनमा रोबोटिक उपकरणको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

    चीनमा रोबोटिक उपकरणको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

    ग्वाङझाउ, १८ कात्तिक (रासस\एएफपी) । चीनको एक मेडिकल टिमले चार हजार किलोमिटर टाढाको बिरामीको उपचार गर्न फाइभजी जडित रोबोटको प्रयोग गरेर आँखाको सफल शल्यक्रिया गरेको छ। उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीस्थित एक अस्पतालमा आइतवार दक्षिणी शहर ग्वाङझाउका शल्य चिकित्सकहरूले रोबोटको हातलाई टाढैबाट नियन्त्रण गरेर आँखाको शल्यक्रिया गरेका हुन् । माइक्रोन–स्तरको सटीकताका साथ गरिएको शल्यक्रियाले प्रविधिको लाभ उठाउँदै विकसित तटीय क्षेत्र र दुर्गम क्षेत्रहरू बीचको चिकित्सा संसाधन खाडललाई कम गर्न महत्त्वपूर्ण कदम मानिएको छ।

    उरुम्कीमा रोबोटले बिरामीको आँखामा माइक्रोस्कोपिक सुई राखेपछि, ग्वाङझाउका शल्य चिकित्सकहरूले रिमोट कन्ट्रोलको सहायतामा सुईलाई रेटिनाको सतहमा लगी पूर्व–निर्धारित गहिराइमा इन्जेक्सनमार्फत् औषधि दिएका थिए। टाढाबाट उपकरणको सहयोगमा गरिएको सम्पूर्ण शल्यक्रियाका लागिसात मिनेट भन्दा कम समय लागेको बताइएको छ । शल्यक्रियाका क्रममा नेटवर्क स्थिर रहेकोले रोबोटले कुनै कम्पन बिना सजिलैसँग काम गरेको थियो ।

    ‘सवरेटिनल इन्जेक्सन’ एउटा यस्तो कमजोर नाजुक माइक्रोसर्जिकल प्रविधि हो जसले ‘सबम्याकुलर हेमोरेज’ जस्ता अन्धा विकारहरूमा दृष्टि बचाउन प्रयोग गरिन्छ। “यो क्लिनिकल शल्यक्रिया चीनमा रिमोटद्वारा आँखाको शल्यक्रियाको सफल उपचारको सम्भाव्यताको व्यावहारिकतामा एक महत्वपूर्ण फड्को हो,” सन यात–सेन विश्वविद्यालयको झोङशान आँखा उपचार केन्द्रका परियोजनाका प्रमुख लिन हाओटियनले भने ।

  • भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

    भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

    हनोई, १७ कात्तिक (रासस–एएफपी) । यस हप्ताको लगातार भारी वर्षा र बाढीका कारण मध्य भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार २४ घण्टाभित्र १.७ मिटर (५ फिट ६ इन्च) सम्मको रेकर्ड वर्षा भएपछि तटीय प्रान्तहरू तहसनहस भएका छन् । भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरण (भिडिडिएमए) का अनुसार मृतकहरू ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तका रहेका छन् । युनेस्को विश्व सम्पदा सूचीमा रहेको प्राचीन सहर होइ एन पनि कम्मर–गहिरो पानीमा डुबानमा परेको छ । स्थानीय नदी ६० वर्षयताको उच्चतम स्तरमा पुगेपछि बासिन्दाहरू काठका डुङ्गा प्रयोग गरी सहरमा यात्रा गर्न बाध्य भएका छन् ।

    होइ एनका निवासी चुओङ गुयेनले भने, “सबैजना स्तब्ध छन् । हामीले बाढीका लागि तयारी गरेका थियौँ तर पानी यति बढ्ने अपेक्षा गरेका थिएनौँ । धेरै घरहरू समयमै तयार हुन नसक्दा धेरै सामान नष्ट भए ।” भिडिडिएमएका अनुसार १६ हजार ५०० भन्दा बढी घर डुबानमा परेका छन्, ४० हजारभन्दा बढी कुखुरा र गाईवस्तु बगाएका छन् र करिब पाँच हजार ३०० हेक्टर ९१३ हजार एकड० बाली जमिन बाढीले नष्ट गरेको छ । वातावरण मन्त्रालयका अनुसार कुल एक लाखभन्दा बढी घर बाढीले प्रभावित भएका छन् र १५० भन्दा बढी स्थानमा भूस्खलन भएको छ ।

    वैज्ञानिकहरूका अनुसार मानव–सिर्जित जलवायु परिवर्तनका कारण बाढी, आँधीबेहरी र भूस्खलनजस्ता चरम मौसमी घटनाहरू अझ घातक र विनाशकारी बन्दै गएका छन् । भियतनाम पृथ्वीको सबैभन्दा सक्रिय उष्णकटिबन्धीय चक्रवात क्षेत्रहरूमध्ये एक हो, जहाँ सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुन्छ ।

    तर सन् २०२५ मा मात्र देशले १२ वटा उष्णकटिबन्धीय आँधीबेहरीको सामना गरिसकेको छ । प्राकृतिक प्रकोप—मुख्यतया आँधीबेहरी, बाढी र भूस्खलन—का कारण यस वर्षको पहिलो नौ महिनामा मात्रै १८७ जनाको मृत्यु वा बेपत्ता भएको सरकारी तथ्याङ्कले जनाउँछ । सरकारका अनुसार बाढी र प्रकोपजन्य क्षतिको आर्थिक मूल्य ६१ करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । राहत र उद्धारका लागि स्थानीय निकायहरू सक्रिय रहेका छन् तर लगातार वर्षाका कारण कार्य कठिन बनेको छ ।

  • हिमपहिरोमा परी इटालीमा पाँच जर्मन आरोहीको मृत्यु

    हिमपहिरोमा परी इटालीमा पाँच जर्मन आरोहीको मृत्यु

    रोम, १७ कात्तिक (रासस–सिन्ह्वा) । उत्तरी इटालीको आल्प्सस्थित माउन्ट ओर्टल्समा हिमपहिरोमा परी पाँच जर्मन स्की आरोहीको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार जानकारी दिएका छन् । इटालीको एएनएसए समाचार एजेन्सीका अनुसार स्थानीय समयानुसार शनिबार अपराह्न ४ बजे दक्षिणी टायरोलको सिमा भर्टानाको उत्तरी ढलानमा हिमपहिरो जाँदा पाँच जना जर्मन पर्यटकहरूलाई हिउँले बगाएको हो ।

    शनिबार तीन जनाको शव फेला परेको थियो भने आइतबार बिहान दुई जनाको शव फेला परेको हो । अधिकारीहरूले यस क्षेत्रमा बढ्दो तापक्रमले हिउँको अवस्था अस्थिर बनाएको र हिमपहिरोको जोखिम बढाएको चेतावनी दिएका छन्। उनीहरूले पर्वतारोही र स्की उत्साहीहरूलाई मौसम र हिमपहिरोबाट सावधानी अपनाउन र उच्च जोखिम भएका हिमाली क्षेत्रहरूमा आरोहण नगर्न आग्रह गरे।