ढाका, १ कात्तिक (रासस\एएफपी) । बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार ठूलो आगलागी भएपछि सबै उडान अनिश्चितकालका लागि अवरूद्ध भएका छन्। विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरेपनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएपछि उडानसेवा अवद्ध बनेका छन्। फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमले भने, आगलागी नियन्त्रणका लागि ३७ अग्निनियन्त्रक युनिटहरू परिचालन गरिएको थियो भने दिउँसो सुरु भएको आगलागी सहजै नियन्त्रणमा नआएपछि थप सुरक्षा बललाई परिचालित गरिएको छ।
द डेली स्टार पत्रिकाले विमानस्थलका अधिकारीहरूलाई उद्धृत गर्दै उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको जनाएको छ। अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रण गरेसँगै विमानस्थल केही घण्टाभित्रै सञ्चालन सुरु हुने अपेक्षा गरिएको छ। स्वास्थ्य निर्देशनालयका एक वरिष्ठ अधिकारी मोइनुल असानले कम्तिमा चार जनालाई सामान्य चोटपटक लागेपछि अस्पताल लगिएको बताए । आगलागीको कारण भने खुल्न सकेको छैन ।
१ कात्तिक, काठमाडौं । अफगानिस्तानको पक्तिका प्रान्तमा पाकिस्तानले गरेको हवाई हमलामा परी तीन क्लब क्रिकेटर सहित आठ जना नागरिकको मृत्यु भएको छ । यस घटनाको पुष्टि गर्दै अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले विरोधस्वरूप नोभेम्बरमा पाकिस्तानमा हुने त्रिकोणीय टी–२० शृंखलाबाट बाहिरिने निर्णय गरेको छ। एसीबीले शुक्रबार साँझ पाकिस्तानबाट भएको यस हमलाको कडा शब्दमा निन्दा गरेको छ। पाकिस्तानको तर्फबाट भएको हमलामा क्लब स्तरका तीन क्रिकेटरहरू कबीर, सिब्घतुल्लाह र हारून सहित पाँच अन्य नागरिकहरूको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
एसीबीका अनुसार, मृत्यु भएका तीनै जना खेलाडीहरू पक्तिका प्रान्तको राजधानी शरानामा एउटा मैत्रीपूर्ण क्रिकेट म्याच खेलेर फर्किंदै गर्दा उनीहरूमाथि हमला भएको थियो। खेलाडीहरूको सम्मान र यस दुखद घटनाको प्रतिक्रियास्वरूप एसीबीले आगामी नोभेम्बरको अन्त्यमा पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच हुने त्रिकोणीय टी–२० शृंखलाबाट पछि हटेको घोषणा गरेको छ। प्रस्तावित टी–२० शृंखला नोभेम्बर १७ देखि २९ तारिखसम्म लाहोर र रावलपिण्डीमा हुने तय भएको थियो। अफगानिस्तानले पाकिस्तानी भूमिमा पाकिस्तानसँग क्रिकेट खेल्न लागेको यो पहिलो पटक हुनेवाला थियो ।
यस संवेदनशील घटना र एसीबीको निर्णयबारे पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। अफगान मिडिया टोलो न्यूजका अनुसार, हमलामा अर्गुन र बर्मल जिल्लाका धेरै घरहरू निशाना बनेका छन्। यो क्षेत्र दुई देशको सीमा डुरन्ड रेखा नजिक पर्छ। संयुक्त राष्ट्रसंघका अनुसार यस हप्ता पाकिस्तानी हमलामा अफगानिस्तानका ६ प्रान्तमा ३७ नागरिक मारिएका र ४२५ जना घाइते भएका छन्।
अफगानिस्तानको तालिवान सरकारले पाकिस्तानमाथि नागरिक क्षेत्रलाई निशाना बनाएको आरोप लगाएको छ, जबकि पाकिस्तानले आफूले आतंकवादीहरूका अखडाहरूमा कारबाही गरेको दाबी गर्दै आएको छ। दुई देश ८ अक्टोबरमा सुरु भएको संघर्षपछि ४८ घण्टाको युद्धविराममा सहमत भएका थिए, तर यो हवाई हमला युद्धविराम सहमति जनाइएकै अवधिमा भएको बुझिएको छ।
यस घटनापछि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले तालिवानको निर्णय ‘दिल्लीबाट भइरहेको’ भन्दै भारतमाथि ‘प्रोक्सी वार’ लडेको आरोप लगाएका छन्। उनले युद्धविराम टिक्नेमा शंका व्यक्त गर्दै पाकिस्तानलाई उक्साएमा सैन्य कारबाही गर्ने चेतावनी पनि दिएका छन्। यस घटनाले दुई देशबीच लामो समयदेखि जारी सीमा विवाद र राजनीतिक तनावलाई थप चर्काएको छ।
वासिङ्टन डिसी, असोज ३१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्न बाध्य हुने बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवीयताविरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नु बाहेक कुनै विकल्प नभएको बताए । हमासले बाँकी मृत बन्धकको खोजी र अमेरिकी मध्यस्थता शान्ति सम्झौताको प्रभावमा ध्यान केन्द्रित गर्दै ट्रम्पले गाजामा चलिरहेको अवस्थालाई सम्बोधन गरेको एक दिनपछि चेतावनी आएको हो ।
चेतावनीमार्फत उनले नागरिक र बन्धकमाथि मानवीयतामाथि आक्रमण जारी रहेमा बलियो अमेरिकी कारबाहीको सामना गर्नुपर्ने कुरामा जोड दिए । शवको खोजी र हस्तान्तरण गर्ने गम्भीर कार्यको वर्णन गर्दै, ट्रम्पले पत्रकारलाई यो जटिल प्रक्रिया भएको उल्लेख गरे । हतियारको सवालमा बोल्दै उनले हमासले आफ्नो हतियारका साथ आत्मसमर्पण गर्नुपर्ने कुरामा जोड दिए । यदि हमास समूहले यो नियमको पालन गर्न असफल भयो भने निर्णायक अमेरिकी कारबाहीको चेतावनी दिए । अमेरिकाले अर्जेन्टिनाको अर्थतन्त्रलाई स्थिर बनाउन २० अर्ब डलरको आर्थिक सहयोग प्याकेज घोषणा गरेको केही समयपछि ह्वाइट हाउसमा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेसँग द्विपक्षीय भोजको क्रममा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । राससएएनआई
३१ असोज, काठमाडौं । उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानूनी रूपमा अनुमति दिइएका मुलुकहरूमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देशमध्ये एक बनेको छ । दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र गर्भपतनलाई वैधानिकता दिँदै उदार कानूनहरूको इतिहास बनाइसकेको छ । अब ‘गरिमापूर्ण मृत्यु’ सम्बन्धी विधेयक पारित भएपछि इच्छामृत्यु पनि त्यस सूचिमा थपिएको हो ।
सिनेटमा भएको मतदानमा उपस्थित ३१ मध्ये २० जना सांसदले विधेयकको समर्थन गरेका थिए । तल्लो सदन अर्थात् प्रतिनिधिसभाले यसअघि अगस्टमा यसलाई अनुमोदन गरिसकेको थियो । करिब १० घण्टासम्म चलेको गम्भीर र भावनात्मक बहसपछि यो मतदान सम्पन्न भएको हो । यसलाई धेरै सांसदले ‘राजनीतिक रूपमा सबैभन्दा कठिन विषय’ भनेका थिए । विधानसभा भवनको ग्यालरीमा उपस्थित दर्शकमध्ये केहीले निर्णयपछि ‘हत्याराहरू’ भन्दै नाराबाजी गरे पनि बहस प्रायः मर्यादित र सभ्य रहेको थियो ।
‘म अहिले अत्यन्त राहत र खुशी महसुस गर्दैछु’, इच्छामृत्युका समर्थक फ्लोरेन्सिया सालगुइरोले मतदानपछि एएफपीसँग भने । उनले आफ्ना दिवङ्गत पिताको पीडादायी अन्तिम दिन सम्झिँदै भने, ‘मेरो बुबा ल्यु गेहरिग रोगले असह्य पीडा भोग्दै बाँच्न बाध्य हुनुभयो, तर आफ्नो इच्छा पूरा नगरी नै जानुभयो ।’ थोलिक चर्चले भने उक्त निर्णयप्रति ‘गहिरो दुःख र चिन्ता’ व्यक्त गरेको उल्लेख गर्दै भनेको छ, ‘जीवन पवित्र हो र यसको अन्त्य कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन ।’ ल्याटिन अमेरिकामा इच्छामृत्युबारे कानूनी मान्यता दिने प्रयासमा उरुग्वे अग्रणी बनेको छ । कोलम्बिया र इक्वेडरमा अदालतले कानून पारित नगरी नै इच्छामृत्युलाई अपराधमुक्त गरेको छ भने क्युबाले टर्मिनल बिरामीलाई कृत्रिम जीवन समर्थन अस्वीकार गर्ने अधिकार दिएको छ । उरुग्वेको सत्तारूढ वामपन्थी फ्रेन्टे एम्प्लियो पार्टीले विधेयक अघि सारेको थियो, जसले धार्मिक दक्षिणपन्थी समूहहरूबाट कडा विरोधको सामना गर्नुपरेको थियो ।
तर हालैको एक सर्वेक्षण अनुसार देशका ६० प्रतिशतभन्दा बढी नागरिकले कानूनी इच्छामृत्युलाई समर्थन गरेका छन् भने २४ प्रतिशतले मात्र विरोध गरेका छन् । नयाँ कानूनअनुसार वयस्क उरुग्वे नागरिक वा त्यहाँका स्थायी बासिन्दा जसको मानसिक क्षमता ठीक छ र असाध्य रोगको अन्तिम चरणमा छन् तर तिनीहरू निरन्तर पीडामा छन् भने तिनीहरूले चिकित्सकको सहयोगमा आफ्नो जीवन अन्त्य गर्न सक्नेछन् ।
दुई दशकदेखि न्युरोडिजेनेरेटिभ रोग एएलएससँग सङ्घर्ष गर्दै आएकी ७१ वर्षीया बिट्रिज गेलोसले भनिन, ‘यो निर्णय अत्यन्त दयालु र मानवतावादी हो । विरोधीहरूलाई यस्तो जीवन बिताउन कस्तो हुन्छ भन्ने थाहा छैन ।’ त्यस्तै वकिल मोनिका कानेपाका छोरा पाब्लो ९३९० असाध्य रोगले पूर्ण रूपमा पक्षघातले ग्रस्त छन् । उनले भावुक हुँदै भने, ‘पाब्लो केवल बाँचिरहेका छन्, तर त्यो जीवन होइन ।’
उरुग्वे मेडिकल एसोसिएसनले आफ्ना सदस्य चिकित्सकहरूलाई व्यक्तिगत अन्तःकरणअनुसार निर्णय गर्न स्वतन्त्रता दिने बताएको छ तर यसबारे कुनै आधिकारिक कदम चालेको छैन । क्याथोलिक चर्चले भने उक्त निर्णयप्रति ‘गहिरो दुःख र चिन्ता’ व्यक्त गरेको उल्लेख गर्दै भनेको छ, ‘जीवन पवित्र हो र यसको अन्त्य कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन ।’ यससँगै उरुग्वेले मानव मर्यादाको प्रश्नमा ल्याटिन अमेरिकामा नयाँ नजीर स्थापित गरेको छ ।
लन्डन, ३१ असोज (रासस÷एएफपी) । बेलायतका राजकुमार एन्ड्र्युमाथि तत्कालीन १७ वर्षीया भर्जिनिया गिफ्रेसँग यौन सम्बन्ध राख्दा उनले आफूलाई ‘जन्मसिद्ध अधिकार’ जस्तो व्यवहार गरेको आरोप गिफ्रेको मरणोपरान्त प्रकाशित संस्मरणमा उल्लेख गरिएको छ । गिफ्रेले आफ्नो पुस्तक ‘नोबडिज गर्ल : ए मेमोयर अफ सर्भाइभिङ एब्युज एन्ड फाइटिङ फर जस्टिस’ मा सन् २००१ मा लन्डनमा एन्ड्र्युसँग तीनवटा छुट्टै अवसरमा यौन सम्बन्ध राखिएको बताएकी छिन् । उनले अमेरिकी फाइनान्सर जेफ्री एपस्टेनले उनलाई यौन दासको रूपमा प्रयोग गरेको र एन्ड्र्युले उनीमाथि आक्रमण गरेका आरोप लगाइन् ।
एन्ड्र्युले बारम्बार आरोप अस्वीकार गर्दै करोडौँ डलरको सम्झौतासहित मुद्दा बेवास्ता गरेका थिए । गिफ्रेले सन् २००१ मार्चमा लन्डनमा एन्ड्र्युसँगको भेटको अनुभव, ट्र्याम्प नाइटक्लबमा उनीहरुको भेट र एपस्टेनको सहयोगी घिस्लेन म्याक्सवेलको घरमा यौन सम्बन्ध भएको वर्णन गरेकी छिन् । गिफ्रेले संस्मरणमा भनेकी छिन्, “उनी पर्याप्त मैत्रीपूर्ण थिए, तर अझै पनि हकदार थिए, जस्तो कि उनी मसँग यौन सम्बन्ध राख्नु आफ्नो जन्मसिद्ध अधिकार हो भन्ने विश्वास गर्थे ।” एपस्टेनले उनलाई १५ हजार डलर तिरेको पनि पुस्तकमा उल्लेख छ ।
एपस्टेनको सन् २०१९ मा जेलमा मृत्यु भएको थियो भने म्याक्सवेललाई सन् २०२२ मा कम उमेरका केटीहरू भर्ती गरेको आरोपमा अमेरिकी जेल सजाय सुनाइएको थियो । गिफ्रेको अप्रिल २५ मा पश्चिमी अस्ट्रेलियामा निधन भएको थियो । एन्ड्र्युसँगको सम्बन्धले उनको प्रतिष्ठामा ठूलो प्रभाव पारेको छ र सन् २०१९ को टिभी अन्तर्वार्तापछि उनको लोकप्रियता सर्वकालिक कममा झरेको थियो । पुस्तक अक्टोबर २१ मा नोफद्वारा प्रकाशित हुने तयारीमा छ ।
ब्रसेल्स, बेल्जियम, ३१ असोज (रासस÷एएफपी) । युरोपेली सांसदहरूले बिहीबार नाबालिगहरूलाई हानिकारक अनलाइन सामग्रीबाट जोगाउन अभिभावकको सहमति बिना सामाजिक सञ्जाल र एआईको सहयोगमा पहुँचका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने प्रस्ताव अघि सारेका छन् । युरोपेली संसदको आन्तरिक बजार तथा उपभोक्ता संरक्षण समितिले पारित गरेको प्रतिवेदनमा सांसदहरूले १३ वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिकालाई अभिभावकको अनुमतिबिना वा बिना सामाजिक सञ्जालमा पहुँच गर्न नदिन सिफारिस गरेका छन्।
उनीहरूले डिजिटल सेवा ऐन (डीएसए) अन्तर्गत नाबालिगहरूको सुरक्षा गर्ने यूरोपेली समूहको नियमहरूको उल्लङ्घन गर्ने प्लेटफर्महरूमा जरिवाना र प्रतिबन्धको लागि पनि आह्वान गरे । पछिल्लो समय बच्चाहरूको मानसिक स्वास्थ्य र सुरक्षामा अनलाइन प्रविधिहरूको प्रभावको बारेमा चिन्ता बढेको छ। “हामीलाई सामाजिक सञ्जालको पहुँचको लागि उच्च नियन्त्रण चाहिन्छ,” डेनिस इयू सांसद क्रिस्टेल शाल्डेमोसले भने, पहलको नेतृत्व गर्नुभएका शाल्डेमोसले अनलाइन सेवाहरू प्रयोग गर्ने नाबालिगहरूको लागि कडा सुरक्षा उपायहरू आवश्यक भएको बताए ।
हानिकारक सामग्रीको पहुँचलाई रोक्नको लागि, सांसदहरूले नाबालिगहरूको लागि सघाउनका लागि प्रयोग हुने एल्गोरिदममा प्रतिबन्ध लगाउने, लत लाग्ने खालका सामग्री प्रयोग र बच्चाहरूको लागि पहुँचयोग्य अनलाइन जुवाजस्ता खेलहरूलाई निषेध गर्ने प्रस्ताव गरिएको छ । रिपोर्टमा भनिएको छ, “कुनै पनि अनलाइन प्लेटफर्महरूले नावालिगलाई नकारात्मक प्रभाव पार्ने सामग्री बनाउने र प्रयोगका लागि प्रोत्साहित गर्ने काम रोक्नु पर्छ।”
भारी बहुमतले समितिमा पारित गरिएको यो प्रस्तावलाई नोभेम्बर २४ र २७ को बीचमा पूर्ण संसदको पूर्ण सत्रमा मतदानका लागि राखिनेछ। सांसदको यो प्रस्तावले बढ्दो डिजिटल पहुँचलाई नियमन गर्ने र बालबालिकाको लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउन इयूव्यापी पहललाई टेवा प्रदान गर्नेछ।
युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेन व्यक्तिगत रूपमा यस्तो कदमको समर्थन गर्दै एक विशेषज्ञ प्यानलले ईयू स्तरमा के कदम चाल्न सकिन्छ भनेर वर्षको अन्त्यसम्म रिपोर्ट गर्ने बताइन् । नर्वे र आइसल्याण्डसँगै इयूका २७ मध्ये २५ देशहरूले यस महिना एक घोषणापत्रमा हस्ताक्षर गर्दै भोन डेर लेयनको सम्भावित ब्लक–व्यापी डिजिटल बहुमत उमेरको अध्ययन गर्ने योजनालाई समर्थन गरेको छ भने नाबालिगहरूलाई अनावश्यक अनलाइन सेवाको प्रयोगबाट टाढा राख्न ‘दबाब’ दिनेमा जोड दिएका छन्।
वासिङ्टन, २९ असोज (रासस\एएफपी) । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बुधबार बेइजिङको दुर्लभ खनिज नियन्त्रण गर्ने चिनियाँ कदमको आलोचना गर्दै यो ‘चीन र बाँकी विश्व’ बचिको विवाद भएको बताएका छन् । वाशिङ्गटन र उसका सहयोगीहरूलाई यस सम्बन्धमा न त निर्देशित हुनेछन् न नियन्त्रण नै गरिनेछ। “हामी सँगै काम गर्नुपर्दछ र गर्नेछौँ भन्ने हाम्रा सहयोगीहरूका लागि स्पष्ट सङ्केत हुनुपर्दछ,” बेसेन्टले एक पत्रकार सम्मेलनमा भने ।
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कको बार्षिक बैठकका लागि यस हप्ता विभिन्न देशका प्रतिनिधिहरू वाशिङ्गटनमा भेला भएका बेला उनको यो टिप्पणी आएको हो। “हामी कसैलाई छुटाउन चाहँदैनौं। हामीले जोखिमलाई कम गर्न र हाम्रो आपूर्ति श्रृङ्खलालाई सकेसम्म चाँडो चीनबाट टाढा गर्न सँगै काम गर्नुपर्छ,“ बेसेन्टले भने । बेइजिङले दुर्लभ खनिज तत्व, प्रविधि र वस्तुहरूको निर्यातमा नयाँ नियन्त्रण गरेको केही दिनपछि उनले यस्तो बताएका हुन् ।
चीन कार, विद्युतीय र रक्षा उद्योग सामानको लागि चुम्बक बनाउन प्रयोग गरिने खनिजहरूको विश्वको अग्रणी उत्पादक हो। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले पत्रकार सम्मेलनमा भने, “यो केवल अमेरिकाको बारेमा मात्र होइन ।” उनले भने, “चीनको घोषणा विश्वव्यापी आपूर्ति श्रृङ्खलाको शक्ति कब्जाभन्दा बढी केही होइन।
“यो कदम समानुपातिक प्रतिशोध होइन। यो विश्वका हरेक देशमाथि आर्थिक जबर्जस्ती गर्ने अभ्यास हो,” उनले भने। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा वासिङ्टन र बेइजिङबीचको व्यापार तनाव फेरि बढेको छ । उनले दोस्रो कार्यकाल सम्हालेपछि कुनै बिन्दुमा प्रतिशोधात्मक कर तीन अङ्कमा पुगेको थियो।
दुबै पक्षले तनाव कम गरेका छन् तर उनीहरूको युद्धविराम अस्थनयी हो र नोभेम्बरको सुरूमा समाप्त हुनेछ। चीनबाट दुर्लभ खनिजको पछिल्लो नियन्त्रणसँगै ट्रम्पले नोभेम्बरदेखि चीनबाट आउने सामानमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । बेसेन्टले भने, “दुर्लभ खजिनको प्रतिबन्धमा ढिलाइका कारण उच्च करमा नियन्त्रण सम्भव छ ।”
जेरुसलेम, ३० असोज (रासस\एएफपी) । गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार पुनः बन्द गरियो । इजरायलले हमासलाई आफ्नो अन्तिम मृतक बन्धकहरूको अवशेष हस्तान्तरण गर्न आग्रह गर्दै उक्त सीमालाई बन्द गरेको हो। इजरायली सार्वजनिक प्रसारक ९कान०ले सीमा पार विन्दु पुनः खुल्ने जानकारी दिएपनि बुधबार अवेरसम्म यो नाका खुल्न सकेको छैन । इजरायली सरकारका एक प्रवक्ताले यस विषयमा सोधिएको प्रश्नबारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामले ध्वस्त प्यालेस्टाइन क्षेत्रमा आवश्यक राहतका लागि सहयोग गर्न नसकेकोमा निराशा व्यक्त गरे । “हमासले बन्धकका सबै शव तत्काल फिर्ता गर्न कडा प्रयास गर्ने सहमति जनाएको छ ।
मलाई गाजामा हमासबाट भएको नागरिकहरूविरुद्धको हिंसाले पनि गम्भीर रूपमा चिन्तित बनाएको छ,” फ्लेचरले भने । इजरायलले हप्तामा हजारौं ट्रकहरू पुग्ने गरी मानवीय सहायताको व्यापक वृद्धि गर्न अनुमति दिनुपर्छ,”उनले भने । उनले भने, “इजरायलले यसका लागि सहमति जनाएको छ । अहिले धेरै मानिसहरूको जीवन सहायता निर्भर छ र यसमा विश्वले जोड दिएको छ। हामीलाई थप खुला नाका चाहिन्छ।”
A convoy of Red Cross vehicles transports the bodies of deceased Palestinians held by Israel during the war, after their release, in Deir al-Balah, Gaza, Wednesday, Oct. 15, 2025. (AP Photo/Abdel Kareem Hana)
–मानवीय जोखिम –
यसैबीच, अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले बुधबार अप्रत्यासितरूपमा अवरोध हुनपुगेको ट्रम्प योजना अन्तर्गत युद्धविराम सम्झौतामा सहमति भएको मानव अवशेषको आदानप्रदानलाई इजरायल र हमासले जारी राख्ने अपेक्षा गरिएको छ । यो आदानप्रदानले हमासले बन्धक बनाइ लगेका अन्तिम २० जीवित बन्धकहरू प्यालेष्टिनी लडाकूहरूको नियन्त्रणबबाट मुक्त भइसकेका छन् भने बदलामा इजरायली जेलबाट मुक्त भएका लगभग दुई हजार प्यालेस्टिनी कैदीहरू रिहा भएका छन् ।
सम्झौताले लडाई र बमबारीमा रोक लगाइएको छ। हमासले अहिलेसम्म आठ शव फिर्ता गरिसकेको छ, जसमध्ये सातको पहिचान भइसकेको छ । अन्य २० जनाको अवशेष गाजामा रहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई शवहरूलाई स्वदेश ल्याउन घरेलु दबाब छ। फिर्ता भएकामध्ये आठौँ शव पूर्व बन्धकको नभएको र यसको पहिचान हुन नसकेको इजरायली सेनाले बताएको छ। यस घटनालाई लिएर केही इजरायली राजनीतिज्ञहरूले हमासलाई युद्धविराम सम्झौता तोडेको आरोप लगाएका छन्।
इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गिभरले हमासले गाजामा रहेका सैनिकको अवशेष फिर्ता नगरेमा सहायता आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन्। यसैबीच, इजरायलले आफ्नो हिरासतमा रहेका थप ४५ प्यालेस्टिनी शवहरू दक्षिणी गाजाको नासिर अस्पतालमा स्थानान्तरण गरिएसँगै अहिलेसम्म ९० जनाको अवशेष फिर्ता भइसकेको हमास नियन्त्रित गाजाका स्वास्थ्य मन्त्रालयले जनाएको छ। ट्रम्पको योजना अन्तर्गत इजरायलले प्रत्येक मृतक इजरायलीका लागि १५ प्यालेस्टिनीको मृत शरीर फिर्ता गर्नेछ।
नयाँ दिल्ली, २९ असोज (रासस\सिन्ह्वा) । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन् । उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो । यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ ।
अधिकारीहरूका अनुसार ५७ यात्रु सवार रहेको बस राजमार्गमा यात्रा गरिरहेको बेला पछाडिको भागबाट धुवा निस्कन थालेपछि चालकले बस रोकेका थिए । तर केही समयमै बस पुरै आगोमा परिणत भयो र धेरै यात्रुहरू बसमै फसे । केही घाइतेहरूको अवस्था गम्भीर रहेको जनाइएको छ । यद्यपि आगलागीको कारण अझै पत्ता लाग्न बाँकी रहेको बताइएको छ, प्रहरीका अनुसार बसको भित्र विद्युतीय सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
वाशिङ्टन, ३० असोज (रासस\एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलानजिकै समुद्रमा लागूपदार्थ ओसारिरहेको आशङ्कामा एक सानो डुङ्गामाथि गरिएको हवाई आक्रमणमा ६ जनाको ज्यान गएको पुष्टि गरेका छन् । राष्ट्रपति ट्रम्पका अनुसार यो डुङ्गा ‘नार्कोटेररिस्ट नेटवर्क’ सँग सम्बन्धित थियो र एक चिनिएको लागूपदार्थ मार्गमा रहेको खुफिया सूचनाका आधारमा लक्षित गरिएको हो ।
उक्त आक्रमणको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ, जसमा डुङ्गा एक प्रक्षेपास्त्रको प्रहारबाट विस्फोट भएको देखिन्छ । आक्रमणपश्चात डुंगा आगलागी भएको अवस्थामा देखिन्छ । अमेरिकी पक्षका कुनैपनि सुरक्षाकर्मीलाई क्षति पुगेको छैन । यो आक्रमण हालसम्म ट्रम्प प्रशासनद्वारा गरिएका यस्ता पाँचौं कारबाहीमध्ये एक हो, जसमा राष्ट्रपति प्रशासनले लागूपदार्थ ओसारपसारमा संलग्नहरूलाई ‘अवैध लडाकु’को रूपमा मान्दै सैन्य कारबाही गरिरहेको छ ।
पूर्व अमेरिकी राजदूत जेम्स स्टोरीले यस्ता आक्रमणहरूले अमेरिका र त्यसका साझेदार राष्ट्रहरूबीचको खुफिया साझेदारीमा नकारात्मक असर पर्न सक्ने बताए । यसैबीच अमेरिकी संसदमा पनि यस विषयमा बहस चर्किएको छ । केही सांसदहरूले राष्ट्रपति ट्रम्पले यस्ता कारबाही गर्न कानुनी अधिकार राख्दैनन् भनी जिकिर गरेका छन् ।
सेन्टर अडम शिफले भन्नुभयो,“यी कारबाहीहरूले अमेरिका एक खुला युद्धमा तानिने जोखिम पैदा गर्छ।” भेनेजुएलाको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले प्रेस सम्मेलनमार्फत आक्रमणको निन्दा गर्दै अमेरिकाले ‘झूटा बहानामा आक्रमणको आधार बनाउँदैछ’ भन्ने आरोप लगाएका छन् ।
ढाका, ३० असोज (रासस\क्यूएनए) । बङ्गलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गर्दै आगलागीको कारण अहिले सम्म थाहा नभएको बताए । कपडा कारखानाको दोस्रो र तेस्रो तलामा १६ जनाको शव फेला परेको र खोजी जारी रहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको चौधरीले जनाए ।
नागरिक सुरक्षा अधिकारीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ढाकाको उत्तरी क्षेत्र मिरपुरमा रहेको कारखाना बाट आगलागी सुरु भई नजिकैको रासायनिक गोदाममा फैलिएको बताए । यस अघि बङ्गलादेशमा सन् २०१२ मा ढाकामा पश्चिमी देशहरूमा निर्यातका लागि कपडा उत्पादन गर्ने कपडा कारखानामा आगलागी हुँदा कम्तिमा १११ जना कामदारको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए ।
हङकङ, २८ असोज (रासस\एपी) । चीनले दक्षिण कोरियाली जहाज निर्माण कम्पनी हानवा ओसनका पाँच अमेरिकी सहायक कम्पनी (युनिट)माथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । चीनको वाणिज्य मन्त्रालयले मङ्गलबार उक्त कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकामा औद्योगिक पुनर्निर्माण गर्ने रणनीतिक पहलप्रतिको प्रतिक्रियास्वरूप लिइएको बताएको छ ।
मन्त्रालयका अनुसार चिनियाँ कम्पनीहरूले अबदेखि यी पाँच एकाइसँग कुनै पनि प्रकारको लेनदेन गर्न पाउने छैनन् । वासिङ्टनले विश्व जहाज निर्माण उद्योगमा चीनको बढ्दो प्रभुत्वबारे औपचारिक अनुसन्धान सुरु गरेपछि प्रतिबन्धको घोषणा गरिएको हो । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार अमेरिकाको उक्त अनुसन्धानले चीनको राष्ट्रिय सुरक्षा र यसको जहाज निर्माण उद्योगलाई खतरा पुर्याएको छ । अमेरिकी पक्षले आफ्नो अनुसन्धानमा हानवा ओसनको संलग्नता उल्लेख गर्दै चीनको औद्योगिक नीतिलाई ‘अनुचित प्रतिस्पर्धा’ भनेर चित्रण गरेको छ ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सन् २०२४ को अप्रिलमा धारा ३०१ अन्तर्गतको व्यापार अनुसन्धान आरम्भ गरेको थियो । उक्त अनुसन्धानले चीनको बढ्दो औद्योगिक प्रभाव अमेरिकी व्यवसायहरूका लागि प्रतिकूल रहेको निष्कर्ष निकालेको थियो । हाल अन्तर्राष्ट्रिय ढुवानी र जहाज निर्माण उद्योग वासिङ्टन र बेइजिङबीचको नयाँ व्यापारिक तनावको केन्द्रविन्दु बनेको छ । दुवै देशले मङ्गलबारदेखि एकअर्काका जहाजहरूमा नयाँ बन्दरगाह शुल्क ९पोर्ट ट्याक्स० लागू गरेका छन् ।
प्रतिबन्धित कम्पनीहरूमा हनवा शिपिङ एलएलसी, हनवा फिली शिपयार्ड इङ्क, हनवा ओसन युएसए इन्टरनेशनल एलएलसी, हनवा शिपिङ होल्डिङ्ग्स एलएलसी र एचएस युएसए होल्डिङ्ग्स कर्प सामेल छन् । सन् २०२४ को अन्त्यमा हानवा ओसनले अमेरिकी राज्य पेन्सिलभेनियामा अवस्थित फिली शिपयार्डलाई १० करोड डलरमा खरिद गरेको थियो । त्यसपछि कम्पनीले गत अगस्टमा विश्वव्यापी प्रतिस्पर्धी जहाज निर्माण क्षमताको पुनस्र्थापना गर्न अमेरिकाको पहललाई सहयोग पुर्याउने उद्देश्यले पाँच अर्ब डलरको लगानीमा नयाँ डक्स र क्वे (जहाज पार्किङ सुविधा) निर्माण गर्ने घोषणा गरेको थियो ।
चीनले आफ्ना नयाँ बन्दरगाह शुल्क अमेरिकी कम्पनीहरू तथा ती संस्थाहरूद्वारा स्वामित्व वा सञ्चालित जहाजहरूमा लागू हुने स्पष्ट गरेको छ । यसमा २५ प्रतिशत वा सोभन्दा बढी अमेरिकी स्वामित्व भएका, अमेरिकी झण्डा बोकेका वा संयुक्त राज्य अमेरिकामै निर्मित जहाजहरू समेत पर्ने बताइएको छ ।
अन्तानानारिभो, मेडागास्कर, २९ असोज (रासस÷एएफपी) । मेडागास्करको राष्ट्रपतिको कार्यालयले मंगलबार एक विशिष्ट सैनिक इकाइले सत्ता कब्जा गरेको दाबीलाई ‘कू प्रयास’ भन्दै कडा निन्दा गरेको छ । केही हप्तादेखि सरकारविरुद्ध चलिरहेको प्रदर्शनबीच आएको यो घटनालाई असंवैधानिक भन्दै राष्ट्रपति एन्ड्री रजोएलिना अझै पदमा रहेको पुष्टि गरिएको छ ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति महल अगाडि सशस्त्र सैनिकहरूको उपस्थिति स्पष्ट रूपमा कू प्रयास हो ।” त्यसैगरी, विज्ञप्तिमा भनिएको छ,“राष्ट्रपति गणतन्त्रका प्रमुखको रूपमा पूर्ण रूपमा पदमा रहनु भएको छ र संविधान र राष्ट्रिय स्थिरता कायम राख्न प्रतिबद्ध हुनुहुन्छ ।” गत केही हप्तादेखि सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका बेला ‘सीएपीएसएटी’ नामक विशेष सैनिक समूहले सत्ता कब्जा गरेको दाबी गरेको थियो ।
एन्टानानारिभो, २९ असोज (रासस÷एएफपी) । मडागास्करका सङ्कटग्रस्त राष्ट्रपति एन्ड्री राजोलिनाले सोमबार आफ्नो ज्यानमाथि भएको आक्रमण प्रयासपछि आफू अहिले ‘सुरक्षित स्थान’ मा रहेको बताउँदै बढ्दो अशान्ति र विरोधका बीच पनि राजीनामाको आह्वानलाई अस्वीकार गरेका छन् । देशमा फैलिएको विरोध प्रदर्शन र सेनाको केही हिस्साले सरकार विरोधी आन्दोलनमा समर्थन जनाएपछि दुई पटक ढिलाइ भएको भाषणमार्फत उनले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो अवस्था स्पष्ट पारे । पछिल्ला दिनहरूमा उहाँ देश छोडेर भागेको हुनसक्ने भन्ने समाचारहरू पनि सार्वजनिक भएका थिए ।
“सेप्टेम्बर २५ देखि मेरो ज्यान लिने र विद्रोह गर्ने प्रयासहरू भइरहेका छन् । केही सैन्य अधिकारी र राजनीतिज्ञको समूहले मेरो हत्या गर्ने योजना बनाएको थियो”, उनले फेसबुकमार्फत प्रत्यक्ष सम्बोधन गर्दै र आफ्नो स्थान गोप्य राख्दै भने, “त्यस कारण म आफ्नो जीवनको सुरक्षाका लागि सुरक्षित स्थानमा रहन बाध्य भएँ ।”
राजधानी एन्टानानारिभोमा भइरहेको प्रदर्शनहरू प्रारम्भमा दीर्घकालीन बिजुली र पानी आपूर्तिमा अवरोधको विरोधमा सुरु भएका थिए । तर ती आन्दोलनहरू क्रमशः व्यापक सरकारविरोधी अभियानमा परिणत हुँदै राष्ट्रपतिको राजीनामाको मागमा केन्द्रित भएका छन् । राजधानीका पूर्व मेयर समेत रहनुभएका राष्ट्रपति राजोलिनाले भने संविधानको सम्मान गर्न सबैलाई आह्वान गर्दै ‘म समाधान खोज्ने अभियानमा छु,’ भनेका छन् ।
सन् २००९ मा तत्कालीन राष्ट्रपति मार्क रावलमानानालाई अपदस्थ गर्ने विद्रोहपछि राजोलिना पहिलोपटक सत्तामा आएका थिए । हाल फेरि उही किसिमको राजनीतिक तनावले देशलाई सङ्कटमा धकेलेको छ । यसैबीच फ्रान्सेली सञ्चारमाध्यम रेडियो फ्रान्स इन्टरनेसनलले राजोलिनाले सप्ताहन्तमा फ्रान्सेली सैन्य विमानमार्फत देश छोडेको दाबी गरेको छ । यद्यपि फ्रान्सेली अधिकारीहरूले यसबारे एएफपीको प्रश्नमा प्रतिक्रिया जनाएका छैनन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि उक्त समाचार पुष्टि गर्न अस्वीकार गर्दै टापु राष्ट्रको सङ्कटप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेका थिए ।
राजोलिना बुधबारदेखि सार्वजनिक रूपमा देखिएका छैनन् । सशस्त्र बलका केही समूहले राज्य प्रसारकमा कब्जा जमाउने प्रयास गरेका कारण राज्य टेलिभिजनमार्फत प्रसारण हुने भनिएको उनको सम्बोधन पनि दुई पटक ढिलाइ गरिएको थियो । सप्ताहन्तमा एन्टानानारिभोको सिटी हल अगाडि भेला भएका हजारौँ प्रदर्शनकारीहरूको समर्थनमा विद्रोही सैनिक र सुरक्षाकर्मीहरू समेत सामेल भएका थिए । तीमध्ये केहीले सन् २००९ को विद्रोहमा समेत भूमिका खेलेका थिए । शनिबार उक्त युनिटले ‘विरोधमा गोली चलाउने आदेश अस्वीकार गर्ने’ घोषणा गरेको थियो ।
विरोधका क्रममा अर्धसैनिक प्रहरी बलका केही अधिकारी पनि प्रदर्शन स्थलमा पुगेका थिए । उनीहरूले पछिल्लो भिडियो सन्देशमार्फत ‘आफ्नो प्रतिक्रियामा गल्ती र ज्यादती भएको’ स्वीकार गरेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार प्रदर्शनको पहिलो दिनमै कम्तीमा २२ जनाको मृत्यु भएको छ, जसमा केही सुरक्षा बलका सदस्य पनि परेका छन् । राष्ट्रपतिले भने आधिकारिक रूपमा ‘१२ जनाको मृत्यु मात्र पुष्टि भएको र ती सबै लुटेरा वा भिडन्तमा संलग्न व्यक्ति’ भएको दाबी गरे । दबाब बढ्दै गएपछि राजोलिनाले सोमबार २०२१ को असफल विद्रोह प्रयासमा जेल सजाय पाएका आठ जना लाई माफी दिएका छन् ।
तिनीहरूमा फ्रान्सेली–मालागासी नागरिक पल मैलोट राफानोहाराना पनि समावेश छन् । यसबीच, सहरका प्रदर्शनकारीहरूले भने राष्ट्रपतिबाट राजीनामा र माफी दुवै अपेक्षा गरेका छन ्। “हामी चाहन्छौँ उहाँले मालागासी जनतासँग माफी माग्नुहोस् र राजीनामा दिनुहोस्”, २४ वर्षीया कानून विद्यार्थी फिनारिट्रा मनित्रा एन्ड्रियानमेलासोआले भने । अर्का प्रदर्शनकारी १९ वर्षीय स्टिभन रासोलोन्जानहरीले भने, “हामीमध्ये धेरैका आफन्तहरू विरोधका क्रममा घाइते वा मारिएका छन्, त्यसैले अब उनले जिम्मेवारी लिनैपर्छ ।”
राष्ट्रपतिले केही हप्ताअघि स्थिति शान्त पार्ने प्रयासस्वरूप सम्पूर्ण सरकार बर्खास्त गरेका छन् । प्रदर्शनकारीहरूको अर्को माग पूरा गर्दै सिनेटले आइतबार आफ्नो अध्यक्ष र पूर्व जेन्डरमेरी प्रमुख रिचर्ड रावलमानानालाई पदमुक्त गरेको छ । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेदेखि नै मडागास्करमा राजनीतिक अस्थिरता र सैनिक हस्तक्षेप दोहोरिँदै आएको छ । पछिल्लो घटनाक्रमले फेरि एकपटक देशलाई गम्भीर सङ्कटतर्फ धकेलेको छ ।
अफ्रिकी सङ्घको सुरक्षा परिषद्ले सबै सशस्त्र सेनालाई ‘संविधानको पालना गर्न र देशको राजनीतिक मामिलामा हस्तक्षेप नगर्न’ आग्रह गर्दै संयम र शान्तिपूर्ण समाधानको आह्वान गरेको छ ।
स्कोप्जे, उत्तर म्यासेडोनिया, २९ असोज (रासस\एएफपी) । उत्तर म्यासेडोनियाको कोचानीस्थित एक नाइटक्लबमा गत मार्चमा भएको आगलागीमा गम्भीर घाइते भएका एक सङ्गीतकर्मीको मङ्गलबार निधन भएपछि मृतक सङ्ख्या ६३ पुगेको छ । देशको अभियोजन कार्यालयका अनुसार, ४६ वर्षीय भ्लादिमिर ब्लाजेव–पान्चो स्कोप्जेस्थित अस्पतालमा सात महिनादेखि उपचाररत थिए । यो भीषण दुर्घटना मार्च १६ मा कोचानीमा आयोजना गरिएको हिप–हप कन्सर्टका क्रममा भएको थियो । क्लबमा भएको भीडभाड, सुरक्षा उपायको अभाव र कन्सर्टकै बीचमा प्रज्वलित आतिशबाजीका कारण आगलागी हुँदा भागदौड मच्चिएको थियो ।
उक्त घटनामा करिब २०० जना घाइते भएका थिए भने आठ सङ्गीतकर्मी सहित दर्जनौँको ज्यान गएको थियो । घटनापछि गरिएको अनुसन्धानले क्लबले प्रायः कुनै पनि सुरक्षा मापदण्ड पालना नगरेको देखाएको छ । अभियोजन पक्षका अनुसार, क्लब सञ्चालकदेखि लिएर सरकारी अधिकारीहरू सम्मकै लापरवाहीले घटना भएको हो । यसै महिनाको सुरुमा अदालतले ३४ जना विरुद्ध अभियोग दर्ता गर्न अनुमति दिएको छ । अभियुक्तहरूमा एकजना सरकार मन्त्री, दुई पूर्वमन्त्री, क्लब सञ्चालक, भवन निरीक्षक तथा कोचानीका तीन जना पूर्व नगरप्रमुखसमेत रहेका छन् ।
अलग अनुसन्धान अन्तर्गत, भ्रष्टाचार र सङ्गठित अपराधसँग सम्बन्धित मुद्दामा धेरैजसो प्रहरी र अधिकारीहरू पनि घटनामा संलग्न रहेको आशङ्का गरिएको छ । पीडित परिवारका अनुसार, मृतक र घाइतेमध्ये अधिकांश १६ देखि २६ वर्ष उमेर समूहका थिए । उनीहरूका अभिभावकहरू न्यायको माग गर्दै प्रत्येक सप्ताह शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन् ।
सिड्नी, २८ असोज (रासस\सिन्ह्वा) । अष्ट्रेलियामा गरिबीमा जीवन यापन गर्ने जनसङ्ख्या सन् २०२४–२५ आर्थिक वर्षमा ३७ लाख पुगेको छ, जुन देशको कुल जनसङ्ख्याको १४.२ प्रतिशत हो । अष्ट्रेलियन सामाजिक सेवा परिषद् (एसीओएसएस) र न्यु साउथ वेल्स विश्वविद्यालयले तयार पारेको ‘अष्ट्रेलियामा गरिबी सन् २०२५ ः सारांश’ प्रतिवेदनअनुसार, अघिल्लो तथ्याङ्क सन् २०२१–२३ मा गरिबी दर १२।४ प्रतिशत थियो, जुन अब उल्लेखनीय रूपमा बढेर १४.२ प्रतिशत पुगेको छ ।
न्यु साउथ वेल्स विश्वविद्यालयकी वरिष्ठ अनुसन्धानकर्ता युविस्थी नायडूका अनुसार, पछिल्ला दुई वर्षमा घरभाडामा अत्यधिक वृद्धि भएकोले खासगरी न्यून आम्दानी भएका व्यक्तिहरूको जीवनमा गम्भीर असर परेको छ । प्रतिवेदन अनुसार, सन् २०२१ अगस्तदेखि २०२३ अगस्तसम्मको अवधिमा ब्रिस्बेनमा घरभाडा ४१ प्रतिशत, सिड्नीमा ४० प्रतिशत र मेलबोर्नमा ३४ प्रतिशतले बढेको छ ।
बालबालिकाको अवस्थासमेत चिन्ताजनक रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३–२४ मा अष्ट्रेलियामा प्रत्येक ६ बालबालिकामध्ये एक जना गरिबीको चपेटामा छन्, जसको सङ्ख्या ७ लाख ५७ हजार पुग्छ । एसीओएसएसकी प्रमुख कार्यकारी अधिकृत क्यासान्ड्रा गोल्डीले सरकारको हालसम्मका प्रयासहरू स्वागतयोग्य भए पनि ती अपर्याप्त रहेको बताउँदै थप ठोस कदम चाल्न आवश्यक रहेको बताइन् ।
उनल भनिन्, “सरकारले अत्यन्तै न्यून रहेका आम्दानी सहायता भत्ता बढाउनुपर्ने, गरिबी न्यूनीकरणका लागि स्पष्ट लक्ष्य तोक्नुपर्ने, सामाजिक आवासको व्यवस्था विस्तार गर्नुपर्ने र सबैलाई रोजगारी सुनिश्चित गर्ने नीति ल्याउनुपर्छ । साथै, गरिबी घटाउने कार्यमा सबैलाई जिम्मेवार बनाउने गरी समयबद्ध लक्ष्य निर्धारण गरिनुपर्छ ।”
स्टकहोम, २७ असोज (रासस\एपी) । नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ । मोकिर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध हुनुहुन्छ । अघियन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग तथा हाविट अमेरिकाकै ब्राउन विश्वविद्यालयसँग आबद्ध छन् ।
नोबेल समितिले विज्ञप्तिमा उल्लेख गरेको छ, “मोकिरले आविष्कारहरू कसरी आत्म–उत्पादन प्रक्रियामा एकअर्कालाई प्रोत्साहित गर्छन् भन्ने देखाए । उनको शोधले के काम गर्छ भन्ने मात्रै होइन, किन गर्छ भन्ने वैज्ञानिक स्पष्टीकरणको आवश्यकता पनि औँल्याएको छ ।” त्यस्तै अघियन र हाविटले सन् १९९२ मा प्रकाशित एक प्रसिद्ध शोधपत्रमार्फत निरन्तर आर्थिक वृद्धिको संयन्त्र स्पष्ट गरे । उनीहरुले ‘रचनात्मक विनाश’ (क्रिएटिभ डिस्ट्रक्सन) को अवधारणामा आधारित गणितीय मोडेल विकास गरे । जसमा नयाँ र उन्नत उत्पादन बजारमा प्रवेश गर्दा पुराना उत्पादनहरू र तिनीहरू बेच्ने कम्पनीहरू प्रतिस्थापित हुने प्रक्रिया समावेश छ ।
अर्थशास्त्र पुरस्कार समितिका अध्यक्ष प्राध्यापक ह्यासलरले भने, “आर्थिक वृद्धि कुनै सहज विषय होइन भन्ने यी पुरस्कार विजेताहरूको कार्यले देखाउँछ । हामीले रचनात्मक विनाशका संयन्त्रहरूलाई समर्थन गर्नुपर्छ, ताकि अर्थतन्त्र स्थिरतामा नफँसियोस् ।” गत वर्ष यो पुरस्कार तीन अर्थशास्त्री डारोन एसेमोग्लु, साइमन जोनसन र जेम्स ए. रोबिन्सनलाई प्रदान गरिएको थियो । उनीहरुले किन केही देशहरू धनी र अरूहरू गरिब छन् भन्ने विषयमा गहिरो अध्ययन गर्दै स्वतन्त्र र खुला समाजहरू आर्थिक रूपमा समृद्ध हुने सम्भावना बढी रहने निष्कर्ष प्रस्तुत गरेका थिए । अर्थशास्त्र पुरस्कारलाई औपचारिक रूपमा ‘अल्फ्रेड नोबेलको सम्झनामा आर्थिक विज्ञानमा बैंक अफ स्विडेन पुरस्कार’ भनिन्छ । स्विडेनको केन्द्रीय बैंकले यसलाई सन् १९६८ मा स्थापनागरेको थियो । बैंकले १९औँ शताब्दीका प्रसिद्ध आविष्कारक, व्यापारी र रसायनशास्त्री अल्फ्रेड नोबेलको स्मृतिमा यो सम्मान सुरु गरेको हो । नोबेलले डाइनामाइटको आविष्कार गर्दै पाँचवटा नोबेल पुरस्कारको परम्परा आरम्भ गरेका हुन् ।
स्थापनाको सुरुआतदेखि अहिलेसम्म यो पुरस्कार ५६ पटकमा ९६ जना विज्ञलाई प्रदान भइसकेको छ । यसमा तीन जना मात्र महिला रहेका छन् । नोबेल परम्पराका शुद्धतावादीहरूले भने यस पुरस्कारलाई प्राविधिक रूपमा ‘नोबेल पुरस्कार’ नभएको तर्क गर्छन्, तर अन्य नोबेल पुरस्कारहरूसँगै हरेक वर्ष डिसेम्बर १० मा, सन् १८९६ मा अल्फ्रेड नोबेलको निधनको वार्षिकोत्सवका दिन नै यो सम्मान पनि प्रदान गरिन्छ । गत हप्तासम्म चिकित्सा, भौतिक विज्ञान, रसायन विज्ञान, साहित्य र शान्तिका नोबेल पुरस्कारहरूको घोषणा भइसकेको छ ।
जोहनस्बर्ग,२८ असोज (रासस÷एएफपी) । दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा भएको एक भीषण बस दुर्घटनामा परी कम्तीमा ४० जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा मालावी र जिम्बावेका नागरिकहरू पनि रहेका छन् । दुर्घटना आइतवार भएको हो, जब जिम्बावे जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा गम्भीर दुर्घटना भएको थियो । बस दक्षिण अफ्रिकाको ग्क्वेबेर्हा सहरबाट छुटेको थियो, जुन जिम्बावे सीमाबाट करिब एक हजार ५०० किलोमिटर टाढा पर्छ ।
लिम्पोपो प्रदेशकी यातायात मन्त्री भायोलेट माथ्येका अनुसार,“हाल उद्धारकार्य जारी छ, तर अहिलेसम्म ४० जनाको मृत्यु पुष्टि भइसकेको छ ।” मृतकमध्ये एक १० महिनाकी बालिका पनि रहेको उनले जानकारी दिइन् । उक्त दुर्घटनामा ३८ जना यात्रु घाइते भएका छन्, जसलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उद्धार टोलीले अझै पनि बाँकी यात्रुहरूको खोजी गरिरहेको छ ।
दुर्घटनाको सम्भावित कारणबारे मन्त्री माथ्येले भनिन्, “चालकको थकान वा गाडीमा आएको यान्त्रिक खराबीका कारण दुर्घटना भएको हुन सक्छ ।” दक्षिण अफ्रिका आधुनिक सडक सञ्जाल भएको मुलुक भए पनि दुर्घटनाको दर निकै उच्च छ । यहाँको सडक दुर्घटनामा प्रायः अतिवेग, लापरवाहीपूर्ण ड्राइभिङ र असुरक्षित सवारीसाधनहरू जिम्मेवार हुने गरेको बताइन्छ ।
मेक्सिको सिटी, २८ असोज (रासस÷एएफपी) । मेक्सिकोको मध्य र पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ भने अन्य ६५ जना अझै हराइरहेका छन् । मेक्सिकोको नागरिक सुरक्षा अधिकारीहरूका प्रमुख लौरा वेलाज्क्वेजले बाढीले प्रायः भेराक्रुज, हिडाल्गो र पुएब्ला राज्यमा बढी क्षति पु¥याएको बताए । मृत्यु हुनेको सङ्ख्या १२ घण्टाअघिको सङ्ख्याभन्दा १७ प्रतिशतले वृद्धि भएको र यसले प्रकोपको अझै पनि बढ्दो परिमाणलाई सङ्केत गर्दछ। बाढीले पूरै गाउँमा नदीहरू पसेकोे, ठाउठाउमा साना ठूला पहिरो निम्त्याएको र सडक तथा पुलहरू बगाएको छ।
राष्ट्रपति क्लाउडिया शेनबामले उद्धार प्रयासमा सहयोगका लागि हजारौं सैनिकका साथै डुङ्गा, विमान र हेलिकप्टर परिचालन गरिएको बताए । उनले भने, “प्रभावित क्षेत्रमा १० हजारभन्दा बढी सैनिकहरू तैनाथ हुनेछन् सेनाले उद्धार उपकरण र सवारी साधनहरूको सहयोगमा प्रभावित क्षेत्रमा सहायता वितरण गर्न मद्दत गर्नेछ। घरबाट विस्थापित भएकाहरूका लागि दर्जनौँ आश्रयस्थलमा राखिएको छ । मेक्सिकोमा सन् २०२५ भरि विशेष गरी भारी वर्षा भएको छ भने राजधानी मेक्सिको सिटीमा वर्षाको उच्च रेकर्ड कायम भएको छ।
वासिङ्टन, २८ असोज (रासस\एएफपी) । विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच नयाँ व्यापार चुनौतीको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैङ्कले अर्थमन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नरहरूको अर्धवार्षिक भेला सोमबारदेखि वासिङ्टनमा सुरु गरेको छ । गत हप्ता चीनले महत्त्वपूर्ण खनिजको निर्यातमा नयाँ प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको जवाफमा बेइजिङमाथि १०० प्रतिशत नयाँ कर लगाउने बताएका थिए ।
शुक्रबार अमेरिकी शेयर बजार कारोबार समय बन्द भएपछि आएको यो समाचारले लगानीकर्ताहरूले पुनर्जीवित व्यापार युद्धको सम्भावनालाई उजागर गरेपछि केही घण्टापछि सेयरमा गिरावट आएको थियो । राष्ट्रपति ट्रम्पले गत साताको अन्त्यमा चेतावनी दिएको चीनविद्ध कर वृद्धिको योजना फिर्ता गर्नुभयो र सोमबार बिहानसम्म कारोबारहरू केही हदसम्म स्थिर भएको देखिन्छ। सबै तीन प्रमुख वाल स्ट्रिट सूचकाङ्कमा उच्च वृद्धि देखिएको छ।
आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र विश्व बैङ्कका अध्यक्ष अजय बङ्गाले सोमबार वाशिङ्गटनमा बोल्ने कार्यक्रम रहेको छ ।
बैठकअघि वासिङ्टनमा आयोजित एक कार्यक्रममा जर्जिएभाले विश्व अर्थतन्त्रले ‘डरभन्दा राम्रो तर आवश्यकताभन्दा खराब’ गरिरहेको बताए । उनले थपे, “कोषले अब संयुक्त राज्य अमेरिका र केही अन्य विकसित अर्थव्यवस्था, उदीयमान बजार र विकासशील देशहरूको अपेक्षा गरेभन्दा राम्रो अवस्थाको कारण विश्वव्यापी वृद्धि ‘यस वर्ष र अर्को वर्ष मात्र थोरै सुस्त’ हुने अपेक्षा गरेको छ। ह्वाइट हाउसबाट केही दूरीमा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैङ्कको मुख्यालयमा वार्षिक बैठकहरू हुनेछन्।
जेरुसेलम, २८ असोज (रासस÷एएफपी) । इजरायली कारागार सेवाले सोमबार गाजामा युद्धविराम सम्झौताको एक भागको रूपमा करिब दुई हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ। एक विज्ञप्तिमा भनिएको छ, “देशभरका विभिन्न जेलबाट एक हजार ९६८ जना ‘आतङ्ककारी’लाई आवश्यक प्रक्रियाका लागि ओफर र क्ट्जियोट जेलमा स्थानान्तरण गरिएको छ ।”
“जेलमा आवश्यक गतिविधिहरू पूरा भएपछि र राजनीतिक अधिकारीहरूको स्वीकृतिपछि रिहाँ गरिएका सबै प्यालेष्टिनी बन्दीलाई ओफर जेलबाट वेस्ट बैङ्क, पूर्वी जेरुसेलम र क्ट्जिओट जेलबाट केरेम शालोममा रिहा गरिएको छ।” गाजातर्फ प्रवेश गर्ने एक स्थानलाई सङ्केत गर्दै विज्ञप्तिमा भनिएको छ।
इजरायल–गाजा युद्धविराम सम्झौता अनुसार यसअघि सोमबार नै प्यालेष्टिनी सशस्त्र लडाकू समूह ९हमास० लगायतका अन्य समूहद्वारा सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणमा बन्धक बनाइ लगिएका बाँकी सबै जीवित बन्धक लाई रेडक्रसको जिम्मा लगाई गाजाबाट इजरायलतर्फ फिर्ता गरिएको थियो ।
सम्झौता अनुसार सबै जीवित र मृत बन्धकलाई सोमबार नै फिर्ता गर्ने भनिए पनि मृतक र वेपत्ता भनिएका २८ मध्ये यो समाचार तयार पार्दासम्म चार जनाको मृत शरिर इजरायलतर्फ पठाइएको छ ।
काठमाडौँ, २७ असोजः प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनले भने, “एयर एसियाको उडानद्वारा बैङ्ककबाट काठमाडौँ आएका उनीहरूलाई त्रिभवुन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा करिब ११ किलो २७५ ग्राम गाँजा फेला पारी पक्राउ गरेको हो ।” पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिरेले बताए ।
२७ असोज, काठमाडौं । गाजा युद्धविराम सम्झौताको कार्यान्वयनका रूपमा सोमबार बन्धक रिहा गरिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल र इजिप्टको भ्रमणका लागि अवतरण गरेका छन् । उनले आफ्ना इजिप्टका समकक्षी अब्देल फताह अल–सिसीसँग मिलेर शार्म अल–शेखमा आयोजना हुने गाजा शान्ति शिखर सम्मेलनको सह–अध्यक्षता गर्दैछन् ।
In this photo provided by the Israeli Defense Forces, Eitan Mor speaks with an IDF representative in Israel on Monday, Oct. 13, 2025. (IDF via AP)
गाजा शान्ति सम्झौताअनुसार दुवै पक्षले सन् २०२३ अक्टोबर ७ का घटनापछि एकअर्काको नियन्त्रणमा रहेका कैदी र बन्धकहरूको साटासाट गर्ने सहमति जनाएका छन् । युद्धविरामको प्रारम्भिक चरणमा इजरायलले नियन्त्रणमा राखेका २५० प्यालेस्टिनी कैदी र गाजामा रहेका एक हजार ७०० कैदीको सट्टामा ४७ जना इजरायली बन्धकहरू—जसमध्ये केही मृत र केही जीवित छन्—रिहा गरिने भएको छ ।
Members of an Israeli military band watch a live broadcast showing the first group of hostages being released from Hamas captivity in Gaza, ahead of a welcoming ceremony for U.S. President Donald Trump’s arrival at Ben Gurion Airport near Tel Aviv, Israel, Monday, Oct. 13, 2025. (AP Photo/Ariel Schalit)
हमासले सन् २०१४ को अघिल्लो गाजा युद्धमा मारिएका एक इजरायली सैनिकको अवशेष पनि हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ । हमासको सशस्त्र शाखाले सोमबार जीवित बन्धकहरूलाई रिहा गर्ने तयारी भइरहेको पुष्टि गर्दै २० जनाको नामावली सार्वजनिक गरेको छ । त्यसको केही समयपछि इजरायली सेनाले रेडक्रसले ती बन्धकहरू लिन गएका हुन् । इजरायली सेनाको विज्ञप्तिअनुसार बन्धकहरूको हस्तान्तरण उत्तरी गाजाको निर्दिष्ट विन्दुमा भयो । त्यहाँ धेरै बन्धकलाई एकैसाथ रेडक्रसलाई हस्तान्तरण गरिएको छ ।
Matan Angrest, an Israeli hostage released from the Gaza Strip puts his hands on his face after coming off a helicopter at the Ichilov Hospital, in Tel Aviv, Israel, Monday, Oct. 13, 2025. (AP Photo/Ohad Zwigenberg)
यसैबीच, इजिप्टको शार्म अल–शेखमा अमेरिकी राष्ट्रपति ट्रम्प र इजिप्टका राष्ट्रपति सिसीको सह–अध्यक्षतामा २० भन्दा बढी विश्व नेताहरू सहभागी हुने गाजा शान्ति शिखर सम्मेलन सोमबार नै सुरु हुँदैछ । इजिप्टका राष्ट्रपतिको कार्यालयका अनुसार यस सम्मेलनको उद्देश्य ‘गाजा पट्टीमा युद्धको स्थायी अन्त्य, मध्यपूर्वमा शान्ति र स्थिरता स्थापना र क्षेत्रीय सुरक्षाको नयाँ युगको सुरुवात गर्नु’ हो ।
Omri Miran, an Israeli hostage released from the Gaza Strip waves an Israeli flag after coming off a helicopter at the Ichilov Hospital, in Tel Aviv, Israel, Monday, Oct. 13, 2025. (AP Photo/Ohad Zwigenberg)
इजिप्टको विदेश मन्त्रालयले यस ऐतिहासिक भनिएको शिखर सम्मेलनमा ‘गाजा युद्ध अन्त्य गर्ने दस्तावेज’ मा हस्ताक्षर हुने अपेक्षा व्यक्त गरेको छ । एक कूटनीतिक स्रोतका अनुसार अमेरिका, इजिप्ट, कतार र सम्भवतः टर्कीले ग्यारेन्टी दस्तावेजमा हस्ताक्षर गर्नेछन् । तर युद्धरत दुवै पक्ष—इजरायल र हमास—प्रत्यक्ष रूपमा शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । नेतान्याहुको कार्यालयले कुनै पनि इजरायली अधिकारी सहभागी नहुने स्पष्ट पारेको छ भने हमासले पनि प्रतिनिधि नपठाउने घोषणा गरेको छ ।
President Donald Trump shakes hands with Israeli opposition leader Yair Lapid at the Knesset, Israel’s parliament, Monday, Oct. 13, 2025, in Jerusalem. (Evelyn Hockstein/Pool via AP)
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, जोर्डनका राजा अब्दुल्लाह द्वितीय, बेलायती प्रधानमन्त्री किर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगन र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । इजिप्टका अनुसार सम्मेलनमा २१ राष्ट्रका प्रतिनिधिहरू, युरोपेली सङ्घ (इयु), अरब लिग, संयुक्त अरब इमिरेट्स, ओमान, पाकिस्तान, इन्डोनेसिया, भारत र जर्मनीका अधिकारीहरू पनि सहभागी हुनेछन् ।
Freed Palestinian prisoners are greeted as they arrive in the Gaza Strip after their release from Israeli jails under a ceasefire agreement between Hamas and Israel, in Khan Younis, southern Gaza Strip, Monday, Oct. 13, 2025. (AP Photo/Jehad Alshrafi)
इरानले आमन्त्रण प्राप्त भएको पुष्टि गर्दै पनि आफ्ना राष्ट्रपति मसुद पेजेस्कियान वा विदेशमन्त्री अब्बास अराघची उपस्थित नहुने जनाएको छ । हमासको वार्ता समितिसँग नजिकको स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार समूहले युद्धपछिको गाजा प्रशासनमा भाग नलिने निर्णय गरेको छ । स्रोतका अनुसार, हमासले ‘गाजा पट्टीको नियन्त्रण त्यागेको’ भए पनि ‘प्यालेस्टिनी राजनीतिक संरचनाको एक आधारभूत अंश बनेर रहिरहने’ स्पष्ट गरेको छ ।
People react as they gather to watch a live broadcast of Israeli hostages released from Gaza at a plaza known as hostages square in Tel Aviv, Israel, Monday, Oct. 13, 2025. The release took place as part of a cease-fire agreement between Israel and Hamas. (AP Photo/Oded Balilty)
हमास दीर्घकालीन युद्धविराममा सहमत भएको र गाजामा इजरायली आक्रमण नभएसम्म आफ्नो हतियार प्रयोग नगर्ने बताइएको छ । तर समूहका एक वरिष्ठ अधिकारीले यसअघि एएफपीसँग कुरा गर्दै ‘हमासको पूर्ण निःशस्त्रीकरण प्रश्नबाहिरको कुरा’ भएको बताएका थिए । यसबीच, गाजाका लागि मानवतावादी सहायता पनि तीव्र रूपमा जारी छ । आइतबार केरेम सालोम क्रसिङमार्फत छ वटा डिजेल इन्धन ट्रक र पाँच वटा खाना पकाउने ग्यास बोकेका ट्रकसहित २०० भन्दा बढी सहायता ट्रक गाजामा प्रवेश गरेका छन् ।
French President Emmanuel Macron, center, meets Turkish President Recep Tayyip Erdogan, right, and British Prime Minister Keir Starmer during a meeting at the Gaza International Peace Summit, in Sharm el-Sheikh, Egypt, Monday, Oct.13 2025. (Yoan Valat, Pool photo via AP)
बन्दुक शान्त भएपछि लाखौँ प्यालेस्टिनी शनिबारदेखि ध्वस्त भएको गाजा सहरमा फर्किरहेका छन् । हमासको नियन्त्रणमा रहेको गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबार साँझसम्म करिब पाँच लाख मानिस आफ्ना घर फर्किएका छन् ।
Elkana Bohbot, an Israeli hostage released from the Gaza Strip waves walks off a helicopter at the Sheba Medical Center in Ramat Gan, Israel, Monday, Oct. 13, 2025. (AP Photo/Leo Correa)
मेक्सिको सिटी, (रासस\क्यूएनए) । मेक्सिकोमा भारी वर्षा पछि आएको बाढीका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४४ पुगेको छ । बाढीले देशभर अनपेक्षित विनाश गरेको जनाइएको छ । मेक्सिकन अधिकारीहरूले विशेष गरी पाहाडी क्षेत्रहरू, हिमश्रङ्खला लगायतका संरचना पानीको कारण प्रभावित भएको र राहतकर्मीहरू राहत वितरणका लागि हर सम्भव प्रयास गरिरहेको जनाएका छन् ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सामाजिक सञ्जाल एक्स मार्फत मौसमी अवस्थाका कारण टाढा रहेका समुदायहरूमा एयरलिफ्ट गर्न अनुमति दिएको जनाए । फसेका बासिन्दाहरूलाई उद्धार गर्न र प्रभावित समुदायहरूमा खाना पुर्याउन लगभग दश हजार सेना तैनाथ गरिएको छ । मेक्सिकोले सन् २०२५ मा असामान्य प्रकृतीको भारी वर्षाको अनुभव गर्नुका साथै राजधानी मेक्सिको सिटीमा अहिले सम्मको सबैभन्दा बढी वर्षा रेकर्ड गरिएको थियो ।
अधिकारीहरूले उष्णकटिबन्धीय आँधीबेहरी रेमण्ड र प्रिस्किल्लाका कारण प्रशान्त तटका क्षेत्रहरूलाई नजिकबाट निगरानी गरिरहेका छन् । आँधीबेहरी र बर्षा बाट संरचना कमजोर भएको र अझै पनि देशको पश्चिमी भागमा भारी वर्षा भइरहेकोले चियापास, ग्युरेरो, ओक्साका र मिचोआकन राज्यहरूमा क्षति पुरयाइरहेको जनाएका छन् ।
जेरुसेलम, २७ असोज (रासस\एएफपी) । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई गाजाबाट बन्धकहरूको रिहाइमा महत्त्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यका प्रयासमा योगदान पुर्याएको भन्दै देशको सर्वोच्च नागरिक सम्मान ‘इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर’ प्रदान गर्ने घोषणा गरेका छन् ।
राष्ट्रपति हर्जोगले सोमबार आफ्नो कार्यालयमार्फत जारी गरिएको विज्ञप्तिमा भने, “आफ्नो अथक र निष्ठापूर्ण प्रयासद्वारा राष्ट्रपति ट्रम्पले हाम्रा प्रियजनहरूलाई घर फर्काउन मात्र सहयोग गर्नुभएन, उहाँले सुरक्षा, सहकार्य र शान्तिपूर्ण भविष्यमा आधारित नयाँ मध्यपूर्वको युगको जग समेत बसाल्नुभएको छ ।”
हर्जोगका अनुसार यो पुरस्कार ‘आगामी महिनाहरूमा’ प्रदान गरिनेछ । अमेरिकी राष्ट्रपति ट्रम्पको हालैको इजरायल भ्रमणका क्रममा हर्जोगले उनलाई यसबारे औपचारिक रूपमा जानकारी गराए । सोमबार इजरायल र हमासबीच ट्रम्पले प्रस्ताव गरेको शान्ति योजनाको पहिलो चरणको भागस्वरूप बन्धक–कैदी आदानप्रदान प्रक्रिया आरम्भ हुने तयारी भइरहेको पनि बताइएको छ ।
ट्रम्पको २० बुँदे शान्ति योजनाले इजरायल र हमासबीच सन् २०२३ अक्टोबर ७ मा सुरु भएको र दुई वर्षभन्दा बढी समयदेखि जारी युद्धको अन्त्य गर्ने लक्ष्य लिएको छ । सो दिन प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमा अभूतपूर्व आक्रमण गरेको थियो । त्यसपछि निरन्तर द्वन्द्व जारी रहँदै आएको हो । इजरायल भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले बन्धक परिवारका सदस्यहरूसँग भेटवार्ता गर्ने र इजरायली संसद् ९नेसेट० लाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
राष्ट्रपति हर्जोगले भने, “यो सम्मान ती महान् व्यक्तित्वहरूलाई प्रदान गरिन्छ जसले इजरायल राज्य वा सम्पूर्ण मानव जातिको हितका लागि असाधारण योगदान पु¥याएका हुन्छन् ।” यसअघि सन् २०१३ मा इजरायलले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि यही पुरस्कार प्रदान गरेको थियो ।
एजेन्सी २७ असोज, काठमाडौं । हमासले विगत ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युको पुष्टी गरेको छ । उनको शव आजै इजरेललाई बुझाइने भएको छ । यसअघि उनको अवस्था अज्ञात रहेको बताइएको थियो। इजरेलसँग सङ्घर्षविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमवार मुक्त गरेको छ ।
मृत्यु भएको ठानिएका २८ जनाको शव सोमवारै हस्तान्तरण गरिने सम्झौता भएको इजरेली दाबी भए पनि जोशीसहित चार जना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले जनाएको छ। इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार इजरेली सेनाले सोमवार हस्तान्तरण गर्न लागिएका चार शवमध्ये जोशीको पनि हुन सक्ने जानकारी दिएको छ। इजरेलस्थित नेपाली अवैतनिक महावाणिज्यदूत नद्दाब बेन यहूदालाई फोन गरेर चार जनामध्ये विपिनको पनि शव आउन सक्ने खबर गरेको बताइएको छ ।
राजदूत पण्डितले इजरेली सरकारले परिवारलाई औपचारिक जानकारी दिएपछि मात्रै उनको मृत्यु भए नभएको आधिकारिक पुष्टि हुने बताए। विपिनका ठूलोबुवाका छोरा (दाजु) किशोर जोशीले इजरेलबाट नराम्रो खबर आएको सोमवार बेलुका बताएका छन्। परिवारसँग सम्पर्कमा रहेका इजरेली अधिकारीहरूले विपिनको अवस्थाबारे परिवारलाई जानकारी दिइसकेको उनले बताएका छन्। परराष्ट्र मन्त्रालले बन्दीहरूको रिहाइ र शव हस्तान्तरण प्रक्रियबारे निरन्तर जानकारी अद्यावधिक गरिरहेको जनाएको छ।
परिवारलाई इजरेल नै बोलाएर शव हस्तान्तरण गरिने भएका कारण हमासले बुझाएका विदेशी नागरिकको शव बुझ्न केही दिने लाग्ने बताइएको छ। दुई वर्षअघि हमासले इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी यसअघि इजरेली सेनाले परिवार र इजरेलस्थित नेपाली दूतावासलाई गराएको थियो।
हमासको नियन्त्रणमा बाँकी रहेका ४८ जनामध्ये २० जीवित र २६ मृत बन्धकको नाम हमासले इजरेली पक्षलाई उपलब्ध गराएको थियो। तर विपिन जोशीको नाम जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा थिएन। हमासले पहिलो चरणमा सात बन्धकलाई उत्तरी गाजाबाट र दोस्रो चरणमा १३ जनालाई दक्षिणी गाजाबाट मुक्त गरेको थियो। इजरेली सेनाले उनीहरू इजरेल पुगिसकेको जनाएको छ। ज्यान गुमाइसकेका बन्धकहरूको शव भने हस्तान्तरण हुन बाँकी नै छ।
दुई पक्षबीच भएको सहमतिअनुसार इजरेलको हिरासतमा रहेका १,७०० जना कैदी र २५० बन्धक मुक्त हुन लागेका छन्। बन्धकहरू मुक्त हुनुअघि हमासले मृत र जीवित बन्धकहरूको सूची इजरेली पक्षलाई उपलब्ध गराएको थियो। तर विपिन जोशी र अर्का एक बन्धकको नाम दुवै सूचीमा थिएन। हमासले उपलब्ध गराएको सूची इजरेल डिफेन्स फोर्स आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताएका थिए। सन् २०२३ मा हमासको नेतृत्वमा इजरेलमा भएको अप्रत्याशित आक्रमणपछि जोशीसहित २५१ जनालाई लडाकुहरूले बन्धक बनाएर लगेका थिए।
इजरेलमा भएको आक्रमणमा १० नेपालीसहित १,२०० जनाको ज्यान गएको थियो। अक्टोबर २०२३ को घटनामा मृत्यु हुने सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा ुलर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए। कञ्चनपुरका विपिन जोशी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।
अरू चारजना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुई जना भने सकुशल थिए। विपिन जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए। तर पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए। बीबीसीको सहयोगमा
जेरुसेलम, २७ असोज (रासस\एपी) । गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत आएको हो । यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा रहनुभएका बेला उक्त अमेरिकी मध्यस्थताको युद्धविराम र बन्धक सम्झौता औपचारिक रूपमा लागू भएको घोषणा गरिएको थियो । राष्ट्रपति ट्रम्पले यस सम्झौताले युद्धलाई ‘प्रभावकारी रूपमा समाप्त गर्दै क्षेत्रीय शान्तिको ढोका खोलेको’ बताए । सम्झौताअनुसार इजरायलले एक हजार ९०० भन्दा बढी प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ र गाजामा खाद्य सामग्री तथा मानवतावादी सहायता निर्बाध रूपमा आपूर्ति गर्न अनुमति दिनेछ । यो कदम युद्धपछिको पुनर्निर्माण र जनजीवन सामान्यीकरणतर्फको एक महत्त्वपूर्ण सुरुआतका रूपमा हेरिएको छ ।
यसबीच, इजरायली सेनाले अन्तर्राष्ट्रिय रेडक्रस समितिमार्फत १३ जना बन्धक प्राप्त गरेको पुष्टि गरेको छ । यी बन्धकलाई दक्षिणी इजरायलको एक सैन्य आधारमा लगिएको छ । त्यहाँ उनीहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइनेछ । त्यसपछि हेलिकप्टरमार्फत तिनीहरूलाई इजरायलका विभिन्न अस्पतालमा स्वास्थ्य परीक्षणका लागि स्थानान्तरण गरिने योजना रहेको बताइएको छ ।
हमासले पनि १३ जना जीवित बन्धकहरूलाई रेडक्रस अधिकारीहरूलाई आधिकारिक रूपमा हस्तान्तरण गरेको जनाएको छ । इजरायली सेनाका अनुसार सबै बन्धकलाई सुरक्षित रूपमा इजरायलमा ल्याइनेछ र उनीहरूको स्वास्थ्य अवस्थाको परीक्षणपछि आवश्यक सहयोग प्रदान गरिनेछ ।
गाजा युद्धका कारण दशौँ हजार प्यालेस्टिनीको मृत्यु र व्यापक विनाश भएपछि यो सम्झौता शान्ति स्थापनातर्फको एक निर्णायक मोडका रूपमा देखिएको छ । सोमबारको रिहाइले युद्धविरामको व्यवहारिक कार्यान्वयनको सुरुवात गर्दै क्षेत्रीय स्थायित्वको नयाँ सम्भावना उजागर गरेको छ ।
काठमाडौँ, २७ असोजः विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ)ले इजरायलका लागि नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो ।
उक्त बैठकमा इजरायली सेनाले आज रिहा हुने बन्दीमा जोशीको नाम समावेश नभएको र उहाँको अवस्था अज्ञात रहेको जानकारी दिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ को प्रथम चरणअन्तर्गत आज बन्दी आदान–प्रदान गरिएको हो । उल्लिखित मितिदेखि नै हमासको कब्जामा रहेका इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशी पनि हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा रहने अपेक्षा गरिएको थियो ।
यस सन्दर्भमा निजको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत दुई वर्षदेखि विभिन्न तहबाट कूटनीतिक प्रयास गरेको थियो । हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृतक बन्दीको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्ने जनाएको छ ।
वासिङ्टन, २७ असोज (रासस\एएफपी) । अमेरिकी राज्य टेनेसीस्थित एक विस्फोटक कारखानामा भएको भीषण विस्फोटमा १६ जनाको निधन भएको अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । यसअघि बेपत्ता र मृत मानिएका दुई व्यक्तिलाई जीवित पाइएकोले मृतकको सङ्ख्या घटाइएको थियो । शुक्रबार बक्सनोर्ट सहरमा रहेको एक्युरेट एनर्जेटिक सिस्टम्स कम्पनीको स्वामित्वमा रहेको उक्त कारखानामा विस्फोट भएको हो । कम्पनीले सैन्य प्रयोजनका साथै विध्वंसका लागि समेत प्रयोग गरिने विभिन्न प्रकारका विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ ।
विस्फोट यति शक्तिशाली थियो कि यसले प्लान्टको विशाल परिसरमा रहेका भवनहरू पूर्णरूपमा ध्वस्त पारेको, माइलौँ टाढाका घरहरू हल्लिएको र भग्नावशेष हावामा उडिरहेको दृश्यहरू प्रत्यक्षदर्शीहरूले देखेको जनाएका छन् । “प्रारम्भिक रूपमा १८ जनाको मृत्यु भएको जानकारी दिइए पनि हामीले खोजीपछि पत्ता लगाएका दुई जना विस्फोटको समयमा कारखानामा उपस्थित नभएको पुष्टि गरेका छौँ”, हम्फ्रीज काउन्टीका शेरिफ क्रिस डेभिसले पत्रकारहरूलाई भने । उनका अनुसार ती व्यक्तिहरूका सवारीसाधन र व्यक्तिगत सामान भने घटनास्थलमै भेटिएका थिए, जसका कारण सुरुमा उनीहरू पनि पीडित भएको अनुमान गरिएको थियो ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई ‘एउटा गहिरो दुःखद दुर्घटना’ का रूपमा उल्लेख गर्दै पीडित परिवारप्रति संवेदना प्रकट गरेको छ । तर, ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्सका वरिष्ठ अधिकारी ब्राइस म्याक््र्यानले ‘हामी अहिले पनि विस्फोटको वास्तविक कारण र उत्पत्तिबारे निश्चित नतिजामा पुग्न सकेका छैनौँ’ भन्दै अनुसन्धान अझै जारी रहेको जानकारी दिए ।
शेरिफ डेभिसले भने, “यो घटनामा कुनै आपराधिक गतिविधि संलग्न छ कि छैन भन्ने प्रश्नको उत्तर अहिले दिन सकिँदैन । यसबारे निष्कर्षमा पुग्न केही दिन, हप्ता वा महिना पनि लाग्न सक्छ ।” अधिकारीहरूले अत्यन्त सावधानीपूर्वक घटनास्थलको परीक्षण गरिरहेका छन्। बम निष्क्रिय विशेषज्ञहरूलाई पनि बारम्बार खतराको सम्भावना देखिँदा बोलाइने गरिएको शेरिफले बताए । घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचानका लागि डिएनए परीक्षण गरिने तयारी भइरहेको अधिकारीहरूले बताएका छन् ।
पेशावर, २६ असोज (रासस\एपी) । अफगानिस्तानले आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएको दाबी गर्दै आइतबार राति सञ्चालन गरिएको सीमा कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ । यसअघि यसै साताको सुरुआतमा अफगान अधिकारीहरूले पाकिस्तानले राजधानी काबुल र देशको पूर्वी भागका बजारहरूमा बम प्रहार गरेको आरोप लगाएका थिए । पाकिस्तानले भने सो आक्रमणको जिम्मेवारी अस्वीकार गरेको छ ।
तालिबान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार अफगान सेनाले २५ वटा पाकिस्तानी चौकीहरू कब्जा गरेको र यसमा ५८ जना पाकिस्तानी सैनिक मारिएका र करिब ३० जना घाइते भएका छन् । उहाँका अनुसार अफगान सुरक्षाबलले शनिबार राति पाकिस्तानी सीमा चौकीहरूमा गरेको आक्रमण आफ्नो देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्तामाथि भएको बारम्बारको उल्लङ्घनको जवाफी कारबाही हो । यस घटनाले दुई छिमेकी देशबीचको सुरक्षा तनाव अझ गहिरो पारेको बताइएको छ ।
अफगान राज्य सञ्चालित मिडियाले पनि एक दर्जनभन्दा बढी पाकिस्तानी सैनिक मारिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा ठूलो सङ्घर्ष भएको जनाएको छ । तर इस्लामाबादले भने घटनाबारे तत्काल कुनै पुष्टि गरेको छैन । तालिबान सरकारको रक्षा मन्त्रालयले आइतबार बिहान विज्ञप्ति जारी गर्दै आफ्नो सेनाले सीमामा ‘जवाबी र सफल अपरेसन’ सञ्चालन गरेको जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, “यदि विपक्षी पक्षले पुनः अफगानिस्तानको क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने प्रयास गर्यो भने, हाम्रा सशस्त्र सेनाहरू सिमानाको रक्षा गर्न पूर्ण रूपमा तयार छन् र कडा जवाफ दिनेछन् ।”
राज्य सञ्चालित मिडिया आरटिएका अनुसार ‘प्रतिशोधात्मक अपरेसन’ अन्तर्गत अफगान सेनाले तीनवटा पाकिस्तानी सैन्य चौकीहरू कब्जा गरेको र दक्षिणी हेलमन्ड प्रान्तको सीमाक्षेत्रमा १५ जना पाकिस्तानी सैनिक मारिएका छन् । यस घटनापछि दुई देशबीचको प्रमुख व्यापारिक नाका तोरखाम आइतबार बिहान ८ बजे खुल्नुपर्ने समयमा पनि बन्द रहेको बताइएको छ ।
पाकिस्तानले अफगान सरकारमाथि प्रतिबन्धित समूह तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) का सदस्यहरूलाई आफ्नो भूमिमा शरण दिएको आरोप लगाउँदै आएको छ । पाकिस्तानको दाबी अनुसार सो समूहले पाकिस्तानी भूभागमा घातक आक्रमणहरू गर्दै आएको छ । तर काबुलले आफ्नो भूमि अन्य मुलुकविरुद्ध प्रयोग गर्न नदिने अडान लिँदै उक्त आरोप अस्वीकार गरेको छ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले शनिबार राति भएको आक्रमणको कडा निन्दा गर्दै आफ्नो देशको सेनाले ‘अफगानिस्तानको उक्साहटको उचित जवाफ मात्र नदिई, उनीहरूको धेरै चौकीहरू पनि नष्ट गरी पछि हट्न बाध्य पारेको’ दाबी गरे । पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले शनिबार रातिको गोलीबारीप्रति कडा आपत्ति जनाउँदै भन्नुभएको छ, “यस प्रकारको उक्साहटपूर्ण गतिविधिलाई भारतजस्तै उपयुक्त जवाफ दिइनेछ ।” उनले यस सन्दर्भमा यो वर्षको सुरुमा दुई आणविक–सशस्त्र प्रतिद्वन्द्वीहरूबीच युद्धको नजिक पुगेको सङ्कटलाई स्मरण गर्नुभएको थियो ।
कतारको विदेश मन्त्रालयले सीमा क्षेत्रमा बढ्दै गएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले क्षेत्रीय सुरक्षा र स्थिरतामा नकारात्मक असर पार्ने चेतावनी दिएको छ । कतारले दुवै देशलाई ‘संवाद, कूटनीति र संयम’ अपनाउन आग्रह गरेको छ । एक वरिष्ठ पाकिस्तानी सुरक्षा अधिकारीले नाम नखुलाउने सर्तमा मिडियासँग कुरा गर्दै अफगान सेनाले चित्राल, बाजौर, मोहमण्ड, अङ्गुर अड्डा र कुर्रमसहित खैबर पख्तुनख्वा प्रान्तका उत्तरपश्चिमी सीमाक्षेत्रहरूमा गोली प्रहार गरेको जानकारी दिए । उनका अनुसार पाकिस्तानी सेनाले पनि खैबर जिल्लाको तिराह क्षेत्रमा र अफगानिस्तानको नङ्गरहार प्रान्ततर्फ भारी हतियार प्रयोग गरेर प्रत्युत्तर दिएको थियो ।
अर्का पाकिस्तानी अधिकारीले कुर्रम जिल्लाको टिरी गाउँमा अफगान पक्षबाट प्रक्षेपण गरिएको मोर्टार शेल खस्दा कम्तीमा एक व्यक्तिको मृत्यु भएको र अर्को व्यक्ति घाइते भएको बताए । दुवै देशले दुई हजार ६११ किलोमिटर (एक हजार ६२२ माइल) लामो डुरान्ड रेखा साझा गर्छन्, तर अफगानिस्तानले आजसम्म यस सीमालाई औपचारिक रूपमा मान्यता दिएको छैन ।