Category: विश्व

  • युरोपमा स्वचालित सीमा जाँच सुरु

    युरोपमा स्वचालित सीमा जाँच सुरु

    ब्रसेल्स, बेल्जियम, २६ असोज (रासस\एएफपी)
    युरोपको सेन्जेन खुला सीमा क्षेत्रमा प्रवेश गर्ने गैर–इयू यात्रीहरूको गैरकानुनी प्रवेशलाई नियन्त्रण गर्न भन्दै आइतबारदेखि स्वचालित सीमा जाँच सुरु गरिएको छ। स्वचालित सीमा जाँच सेवा सञ्चालनमा आएसँगै सेन्जेन खुला सीमा क्षेत्रमा प्रवेश गर्ने व्यक्तिको फोटो खिचिनेछ र औठा छाप लिइनेछ । युरोपेली सङ्घले सीमा सुरक्षा र अवैध आप्रबासीहरूको प्रवेशमा नियन्त्रणका लागि भन्दै यो सेवा पहिले नै सुरू गर्ने तयारी गरेको भएपनि विविध कारण देखाउँदै धेरै ढिलो गरी स्वचालित सीमा जाँच सेवा सुरु गरेको हो ।

    नयाँ प्रणालीको उद्देश्य अन्ततः पासपोर्टमा हुने ‘म्यानुअल स्ट्याम्प’लाई प्रतिस्थापन गर्नु र इयू समूहका २७ राज्यहरूबीच राम्रो सूचना–साझेदारी सुरक्षित गर्नु हो। सीमा–जाँच प्रणालीले अधिकारीहरूलाई कुनै देशमा प्रवेश गर्ने र बाहिर निस्कने व्यक्तिहरू कहिले प्रवेश गरे भनेर जान्न अनुमति दिनेछ। यसको उद्देश्य भिसामा स्वीकृति प्राप्त समयभन्दा बढी बस्ने मानिसहरूबारे जानकारी प्राप्त गर्ने र प्रवेश गर्न अस्वीकार गर्ने व्यक्तिबारे सूचना पत्ता लगाउनु हो।

    लगभग एक दशकदेखि तातो बहस बनेको यो सेवा सञ्चालनले यातायात प्रदायक र यात्रुहरूमा चिन्ता बढाएको छ। जाँच प्रक्रियाले विमानस्थल र रेल स्टेशनहरूमा लामो लाइनहरू निम्त्याउन सक्छ भन्ने भय सिर्जना गरेको छ । अवरोधहरू सीमित गर्न त्यहाँ चरणबद्ध विस्तारित सेवालाई सञ्चालनमा ल्याइनेछ । सेवाको पहिलो चरण आइतबारदेखि सुरु गरिएको हो।

    साइप्रस र आयरल्याण्ड बाहेक इयू देशहरूमा छोटो बसाइका लागि आउने गैर–इयू नागरिकहरूलाई जाँच केन्द्रमा उनीहरूको पासपोर्ट नम्बरको लागि सोधिनेछ, औंठाछापहरू प्रदान गर्न र उनीहरूको फोटो लिइनेछ।

    आइसल्याण्ड, लिच्टेन्स्टाइन, नर्वे (युरोपेली संघसहित युरोपेली आर्थिक क्षेत्रका सदस्य राष्ट्रहरू) र स्विट्जरल्यान्डमा पनि यही सर्तहरू लागू हुनेछन्।
    फ्रान्स र जर्मनी लगायत इयूका ठूला देशहरूले विमानहरूमा ठूलो लाइनबाट बच्न सुरुमा सीमित चेकहरू मात्र गरिने बताइएको छ । केही साना सदस्य राष्ट्रहरूले आइतबारदेखि यो प्रणाली पूर्ण रूपमा लागू गरेका छन्।

    सदस्य राष्ट्रहरूले अप्रिलको मध्यसम्म उनीहरूको सीमामा सबै यात्रुहरूको लागि स्वचालित जाँच प्रयोग गर्न पाउनेछन्। सबैको आँखा बेलायतको सीमामा केन्द्रित हुनेछ किनकि ब्रेक्जिटपछि अब इयूका नागरिक रहनका लागि बेलायतीमा बसोबास गर्दै आएका इयूका नागरिकहरू पनि नयाँ जाँचको अधीनमा आउनु पर्नेछ ।

    बेलायती अधिकारीहरूले यसअघि नै बेलायती नागरिकहरूलाई सेन्जेन क्षेत्रमा प्रवेश गर्न केही मिनेट थप कुर्नुपर्ने चेतावनी दिइसकेका छन्। च्यानल टनेलका अपरेटर गेटलिङ्क र रेल सेवा यूरोस्टारले सेवाका लागि उनीहरू तयार भएको र प्रणाली सहज रूपमा चल्नेमा विश्वास व्यक्त गरेका छन् । बेलायतमा यात्रुहरूले सीमा पार गर्नु अघि विशेष गरी लन्डनको सेन्ट प्यानक्रास स्टेशन र डोभर बन्दरगाहमा जाँच गरिरहेका थिए। टर्मिनलहरू पहिले नै स्थापना गरिएको थियो।

  • ट्रम्प र सिसीले इजिप्टमा गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्ने

    ट्रम्प र सिसीले इजिप्टमा गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्ने

    कायरो, २६ असोज (रासस\एएफपी)
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्टका समकक्षी अब्देल फताह अल–सिसीले सोमबार शार्म अल–शेखमा हुने गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्ने भएका छन् । शिखर सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका प्रमुखसहित विश्वभरका नेताहरूले पनि भाग लिने कार्यक्रम छ । सिसीको कार्यालयका अनुसार रेड सी रिसोर्ट सहरमा हुने भेलाले ‘२० भन्दा बढी देशका नेताहरूलाई’ एकसाथ ल्याउनेछ । सम्मेलनको उद्देश्य गाजा पट्टीमा युद्धको अन्त्य गर्नु, मध्यपूर्वमा शान्ति र स्थिरता स्थापित गर्नु र क्षेत्रीय सुरक्षा र स्थिरताको नयाँ युगको सुरुआत गर्नु रहेको छ ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका प्रधानमन्त्री किर स्टार्मर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सहभागी हुने घोषणा गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगन पनि सम्मेलनमा उपस्थित हुनेछन् ।
    युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले प्रतिनिधित्व गर्नेछन् । एक प्रवक्ताका अनुसार यो योजनाले न्यायपूर्ण र दिगो शान्ति निर्माण गर्ने वास्तविक अवसर प्रदान गर्दछ र युरोपेली सङ्घ (इयु) यी प्रयासहरूलाई समर्थन गर्न र यसको कार्यान्वयनमा योगदान दिन पूर्ण रूपमा प्रतिबद्ध छ ।

    राज्य मिडियाका अनुसार जोर्डनका राजा अब्दुल्लाह द्वितीय पनि सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भाग लिने वा नलिने भन्नेबारे स्पष्ट जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन । हमासले सम्मेलनमा भाग नलिने स्पष्ट पारेको छ । हमासको राजनीतिक ब्युरोका सदस्य होसाम बद्रानले एएफपीलाई दिएको अन्तर्वार्तामा प्यालेस्टिनी लडाकू समूह संलग्न नहुने र गाजामा अघिल्लो वार्ताका क्रममा मुख्य रूपमा कतारी र इजिप्टका मध्यस्थकर्ताहरूमार्फत काम भएको बताए ।

  • हमासले युद्धपछिको गाजामा शासनमा भाग नलिने पुष्टि

    हमासले युद्धपछिको गाजामा शासनमा भाग नलिने पुष्टि

    दोहा, २६ असोज (रासस÷एएफपी) । समूहको वार्ता समितिका नजिकका हमास स्रोतले आइतबार युद्धपछिको गाजामा हमासले शासनमा भाग नलने पुष्टि गरेको छ । यो घोषणा विश्व नेताहरूले इजिप्टमा गाजा शान्ति शिखर सम्मेलनका लागि भेला हुने तयारीको बीचमा आएको हो । स्रोतका अनुसार इजरायल–हामास युद्धविराम लागू भएको केही दिनपछि दुवै पक्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०–बुँदे युद्ध अन्त्य योजना कार्यान्वयनका लागि छलफलमा छन् । उक्त योजना हमासको निःशस्त्रीकरण र समूहलाई गाजाको प्रशासनमा संलग्न नहुने आह्वान गर्दछ ।

    “हमासका लागि गाजा पट्टीको शासन एउटा बन्द मुद्दा हो । सङ्क्रमणकालीन चरणमा हमासले पूर्ण रूपमा भाग लिने छैन, जसको अर्थ यसले पट्टीको नियन्त्रण त्यागेको छ, तर अझै प्यालेस्टिनी बनावटको आधारभूत अंश बनेको छ”, स्रोतले संवेदनशील मामिलाहरूमा नाम नखुलाउने सर्तमा बतायो ।

    हमासको नेतृत्व विगतमा गाजाको भविष्यको प्रशासन लगायत प्रमुख विषयहरूमा विभाजित रहेको छ, तर निःशस्त्रीकरणको प्रश्नमा कुनै भिन्नता छैन । स्रोतका अनुसार हमास दीर्घकालीन युद्धविराममा सहमत छ र गाजामा इजरायली आक्रमण बाहेक हतियार प्रयोग गर्नेछैन ।

    ट्रम्पको २०–बुँदे योजनाको पहिलो खण्डले गाजालाई ‘छिमेकीहरूका लागि खतरा नपर्ने आतङ्कमुक्त क्षेत्र’ बनाउने आह्वान गरेको छ । योजनामा भविष्यको गाजा शासनमा हमासको कुनै भूमिका नहुने, यसको सैन्य पूर्वाधार र हतियार नष्ट र पुनर्निर्माण नगर्ने उल्लेख छ ।

    यस योजनाअन्तर्गत अस्थायी टेक्नोक्रेटिक र अराजनैतिक प्यालेस्टिनी समितिलाई सार्वजनिक सेवाहरूको दैनिक सञ्चालनको जिम्मा दिइनेछ । वार्ताकारहरूसँग नजिकका स्रोतका अनुसार मध्यस्थकर्ता इजिप्टलाई समितिको संरचनामा सहमति जनाउन अर्को हप्ताको अन्त्य अघि बैठक बोलाउन आग्रह गरिएको छ र ‘नामहरू लगभग तयार छन् ।’ स्रोतका अनुसार हमास र अन्य गुटहरूले ४० नाम पेस गरेका छन् । तिनीहरूमाथि कुनै भिटो छैन र कोही पनि हमाससँग सम्बन्धित छैनन् ।

  • हमासले चाँडै बन्धक रिहाइको सङ्केत गरेपछि इजरायलद्वारा उनीहरूको सकुशल फिर्ताका लागि तयारी

    हमासले चाँडै बन्धक रिहाइको सङ्केत गरेपछि इजरायलद्वारा उनीहरूको सकुशल फिर्ताका लागि तयारी

    जेरूसेलम, २६ असोज (रासस÷सिन्ह्वा) । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार इजरायलले बन्धकहरूलाई ‘तुरुन्त बुझ्ने र सकुशल’ रिहा गर्ने तयारी गरेको बताएका छन् । नेतन्याहूको कार्यालयले बन्धक तथा बेपत्ता व्यक्तिहरूका लागि इजरायलका संयोजक गल हिर्शसँग उनीहरूको फिर्तीको तयारीका बारेमा कुराकानी गरेको जनाएको छ । एक इजरायली अधिकारीले सार्वजनिक प्रसारक कानसँग भने, “सेनाले बन्धकहरू सोमबार बिहानभन्दा पहिले आइपुग्ने अपेक्षा गरेको छ।”

    “आइडिएफले बन्धकहरुको रिहाइका लागि आफ्नो तयारी पूरा गरिसकेको छ र ट्रम्प आउनुअघि नै सबैलाई रिहा गरिने आँकलन गरेको छ,” अधिकारीले भनेका छन् । इजरायली सञ्चारमाध्यमका अनुसार हमासले मध्यस्थकर्ताहरूसँग यदि इजरायलले पहिले रिहाइ सूचीबाट हटाइएको सात उच्च प्रोफाइल प्यालेस्टिनी कैदीमध्ये कम्तिमा दुई जनालाई रिहा गरेको खण्डमा युद्धविराम सम्झौता अन्तर्गत सोमबारको समयसीमा भन्दा पहिले नै सबै २० जीवित बन्धकहरूलाई रिहा गर्न तयार छ। इजरायलले यो सर्त स्वीकार गर्छ वा गर्दैन भन्ने स्पष्ट छैन।

    युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजामा रहेका २० जीवित र २८ मृतक बन्धकहरूलाई रिहा गर्नेछ। बदलामा इजरायलले लगभग दुई हजार प्यालेस्टिनी बन्दीहरूलाई मुक्त गर्नेछ र इजरायली आक्रमणबाट तहसनहस भएको गाजा क्षेत्रमा थप मानवीय सहायता प्रवेशका लागि अनुमति दिनेछ।

  • प्यालेस्टिनी सात नेतालाई बन्धक र बन्दी आदानप्रदानमा रिहा गरिनुपर्ने हमासको अडान जारी

    प्यालेस्टिनी सात नेतालाई बन्धक र बन्दी आदानप्रदानमा रिहा गरिनुपर्ने हमासको अडान जारी

    गाजा शहर, २७ असोज (रासस\एएफपी) । हमासले गाजामा युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा गर्न लागेका कैदीहरूको सूचीमा सात वरिष्ठ प्यालेस्टिनी नेताहरू पनि समावेश हुनुपर्ने अडान जारी राखेको वार्तामा मध्यस्थ स्रोतले आइतबार एएफपीलाई बताएको छ।

    विवरणलाई दोस्रो स्रोतले पुष्टि गर्दै भन्यो, “हमासले अन्तिम सूचीमा सात वरिष्ठ नेताहरू खासगरी मारवान बरघोटी, अहमद सादत, इब्राहिम हामेद र अब्बास अल–सैयदलाई समावेश गर्न जोड दिइरहेकोे छ।” पहिलो स्रोतले हमास र उसका सहयोगी लडाकू समूहहरूले गाजामा रहेका सबै जीवित बन्धक र केही मृतकहरूलाई इजरायललाई हस्तान्तरण गर्ने ‘सबै तयारी पूरा गरिसकेका पनि बताएको छ ।

  • विपीन जोशी जीवित रहेका बन्धकमध्ये एक रहेको विश्वास

    विपीन जोशी जीवित रहेका बन्धकमध्ये एक रहेको विश्वास

    तेल अभिव, २७ असोज (रासस\एपी) । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि छन् । उनको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे ।

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ । गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनामध्ये कति जीवित छन् भन्ने अझै स्पष्ट छैन । तिनै बन्धकमध्ये एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । उनी जीवित रहेको विश्वास गरिएको छ ।

    चौबिस वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुगेका थिए । उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए । कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपीन जोशी घाइते भएर अपहरणमा परेका थिए ।


    विपीनका परिवारका अनुसार उनी गाजामा जीवित रहेको हुनसक्छ भन्ने विश्वास अझै बलियो छ । उनकी १७ वर्षीया बहिनी पुष्पा जोशीले आफ्ना दाजुको रिहाइका लागि अहोरात्र प्रयास गरिरहेकी छिन् । अधिकारीहरू र कूटनीतिक निकायहरूसँग भेट गरी दाजुको रिहाइका लागि आवाज उठाउन सकियोस् भनेर उनी पश्चिम नेपालको आफ्नो गाउँबाट प्रत्येक हप्ता काठमाडौँ आउन आठ–आठ घण्टाको बस यात्रा गरिन् । गत अगस्टमा जोशी परिवारले राष्ट्रपति आइज्याक हर्जोगलाई भेट्न र तेल अभिवको ‘होस्टेज स्क्वायर’ मा बन्धक परिवारहरूले आयोजना गर्ने प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा पनि गरेको थियो । उनीहरूले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग पनि जोशीको उद्धारका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै आएका छन् ।

    विपीन जोशी अहिले पनि गाजामा जीवित रहेको विश्वास इजरायली अधिकारीहरूले राखेका छन् । उनका साथीहरूले विपीन अध्ययनशील, मिलनसार र सहयोगी स्वभावका युवा रहेको बताएका छन् । विपीनले आफ्नो भविष्य कृषि विकासमा योगदान गर्ने सपनासँग इजरायल यात्रा गरेका थिए । इजरायलले युद्धविराम सुरु भएपछि बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने आशा व्यक्त गरेको छ । यसको बदलामा करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी भइरहेको छ । विपीनको परिवार भने आशाको झिल्को निभ्न नदिई, दाजु–छोरा फर्किने दिनको प्रतीक्षा गर्दै अझै पनि प्रतीक्षामा छ । परिवारका अनुसार ‘विपिन फर्किए भने त्यो केवल हाम्रो परिवारको जित होइन, यो नेपाल र मानवताकै जित हुनेछ ।’

  • गाजाबाट मुक्त हुने सबै बन्धकहरू इजरायली सीमामा प्रवेश भएपछि मात्र प्यालेस्टिनी कैदीहरू रिहा गरिने

    गाजाबाट मुक्त हुने सबै बन्धकहरू इजरायली सीमामा प्रवेश भएपछि मात्र प्यालेस्टिनी कैदीहरू रिहा गरिने

    जेरुसलेम, २६ असोज (रासस÷एएफपी) । इजरायलले गाजामा बन्धक बनाइएका सबै बन्धकहरू देश आइपुगेको पुष्टि भएपछि प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न सुरु गर्ने प्रधानमन्त्रीका प्रवक्ताले आइतबार बताएका छन्। “भोलि रिहा हुन लागेका हाम्रा सबै बन्धकहरू सीमा पार गरेर इजरायलमा प्रवेश गरेको पुष्टि भएपछि मात्र इजरायलबाट प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिनेछ,” शोस बेड्रोसियनले पत्रकारहरूसँग भने । यसअघिका युद्धविरामका क्रममा केही बन्धकहरूको अवशेष फरेन्सिक विज्ञहरूले इजरायल फर्केपछि पहिचान गरेका थिए ।

    बेड्रोसियनले भने, “पहिचान नहुँदासम्म प्यालेस्टिनी कैदीहरू रिहाइपछि प्रस्थान गर्न तयार बसहरूमा राखिनेछ।” उनले भने, “बन्धकहरू इजरायली इलाकामा प्रवेश गरेको पुष्टि हुनासाथ ती बसहरू प्रस्थान गर्नेछन् र आफ्नो यात्रा सुरु गर्नेछन्।” उनले दुई वर्षभन्दा बढी समयदेखि गाजा पट्टीमा राखिएका सबै बन्धकहरूको रिहाइको काम सोमबार बिहानै सुरु हुने अपेक्षा गरिएको बताए ।
    इजरायल र हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको योजनाको पहिलो चरणलाई अनुमोदन गरिसकेका छन्, जसको उद्देश्यसन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणपछि गाजामा सुरू भएको युद्ध अन्त्य गर्नु हो। योजनाका शर्तअनुसार, हमासले अक्टोबर ७ मा अपहरणमा परेका बाँकी ४७ बन्धक (जीवित र मृत) मध्ये सोमबार रिहा गर्ने भनिएका २० बन्धकलाई मध्याह्नसम्म रिहा गर्नेछ।

    सन् २०१४ मा गाजा युद्धमा मारिएका एक सैनिकको अवशेष पनि हस्तान्तरण गर्ने अपेक्षा गरिएको बेड्रोसियनले बताए । पछिल्लो युद्धविरामका क्रममा इजरायलको अबु कबिर फरेन्सिक इन्स्टिच्यूटमा पोष्टमार्टमपछि मात्र मृतक बन्धकको पहिचान पुष्टि भएको थियो । “हामी आशा गरिरहेका छौँ कि हाम्रा सबै २० जीवित बन्धकहरूलाई एकै पटकमा रेडक्रसमा रिहा गरिनेछ र छ देखि आठ वटा सवारी साधनहरूमा ढुवानी गरिनेछ,” उनले भने ।
    “त्यसपछि बन्धकहरूलाई गाजाको इजरायल–नियन्त्रित भागहरू भित्र सेनाको जिम्मा लगाइनेछ र त्यसपछि दक्षिणी इजरायलको रिम बेसमा स्थानान्तरण गरिनेछ, जहाँ उनीहरू आफ्नो परिवारसँग पुनर्मिलन हुनेछन्। त्यसपछि उनीहरूलाई ‘तीन मुख्य अस्पतालहरू मध्ये एक’ मा लगिनेछ। “शेबा मेडिकल सेन्टरमा दश, बेइलिन्सनमा पाँच बन्धकहरूलाई र इचिलोभमा पाँच बन्धकहरूलाई उपचार गरिनेछ,” बेड्रोसियनले बन्धकको उपचारका लागि तय गरिएका इजरायलका तीन अस्पतालको नाम दिँदै भने । प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सन्दर्भमा, धेरै इजरायलीहरूको हत्यामा दोषी ठहरिएका २५० बन्दीहरू सैन्य लडाकू हुन् भने करिब एक हजार ७०० लाई युद्ध सुरु भएपछि गाजामा इजरायली सेनाले हिरासतमा लिएको थियो।

  • नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

    काठमाडौँ, २६ असोजः नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । यही असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका एक सय १७ टोलीको सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ ।

    तोकिएको समयसीमा दुई दिनभित्रमा हतियार, करिब ७० पौण्ड तौलको उपकरण र बन्दोबस्तीका सामग्रीसहित ६० किलोमिटर दूरी पार गर्नुपर्ने त्यस अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षताको मूल्याङ्कन र परीक्षण गरिने निर्देशनालयले जनाएको छ । नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।

  • उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन

    उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन

    सियोल, २५ असोज (रासस÷एएफपी) । उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रदर्शन गरेको प्योङयाङको सरकारी मिडिया कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । उक्त परेडमा रुस र चीनका उच्च अधिकारीहरू पनि उपस्थित थिए ।
    परेडमा नेता किम जोङ उनले व्यक्तिगत रूपमा नेतृत्व गर्नुभएको थियो । हालै युक्रेनमा भइरहेको युद्धले उहाँलाई मस्कोसँग अझ निकट बनाएको देखिन्छ । उत्तर कोरियाले रुसको सेनासँगै लड्न हजारौँ सैनिक पठाइसकेको र त्यसको प्रतिफलस्वरूप रुसबाट महत्त्वपूर्ण सहयोग प्राप्त गरेको बताइन्छ ।
    रूसी सुरक्षा परिषद्का उप–प्रधान तथा राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्री मेदभेदेव, चिनियाँ प्रधानमन्त्री ली किआङ र भियतनामका नेता टो लाम परेडमा सहभागी हुनुभएको थियो । केसिएनएले प्रकाशित तस्बिरहरूमा सबैजना किमको छेउमै बसेका देखिनुभएको थियो ।

    उक्त परेडमा देशका अत्याधुनिक हतियारहरू प्रदर्शन गरिएको थियो, जसमा नयाँ ह्वासोङ–२० आइसिबिएम पनि समावेश थियो । केसिएनएले यस मिसाइललाई ‘सबैभन्दा शक्तिशाली आणविक रणनीतिक हतियार प्रणाली’ भनेर वर्णन गरेको छ ।
    राजधानी प्योङयाङमा राति सम्पन्न सो कार्यक्रम अत्यन्त रङ्गीन बनेको थियो । परम्परागत पहिरनमा सजिएका हजारौँ नागरिकहरूले राष्ट्रिय झण्डा फहराउँदै उत्साहपूर्वक हर्षोल्लास प्रकट गरेका थिए । मुख्य सडकहरूमा आधुनिक हतियारहरू प्रदर्शन भइरहेका दृश्यहरू टेलिभिजन प्रसारणमार्फत देखाइएका थिए ।
    केसिएनएका अनुसार लामो दूरीका रणनीतिक क्रूज मिसाइल, ड्रोन प्रक्षेपण सवारी साधन, भूमि–देखि–हावा र भूमि–देखि–भूमि मिसाइललगायत विशेष हतियारहरू क्रमशः परेडमा देखाइएका थिए ।
    नेता किम जोङ उनले सम्बोधन गर्दै देशको ‘अजेय’ सेनाले हरेक कठिनाइ पार गरेर उज्ज्वल भविष्यको निर्माणमा पार्टीका प्रयासलाई दोब्बर शक्ति थपेको बताउनुभयो । उहाँले युक्रेनविरुद्धको युद्धमा रुसको सेनासँगै लडिरहेका उत्तर कोरियाली सैनिकहरूको वीरता र बलिदानको खुलेर प्रशंसा गर्नुभयो ।

    “अन्तर्राष्ट्रिय न्यायका लागि विदेशी भूमिमा हाम्रा क्रान्तिकारी सशस्त्र सेनाले प्रदर्शन गरेको अदम्य लडाइँको भावना र जितले वैचारिक तथा आध्यात्मिक पूर्णता देखाएको छ”, उहाँले भन्नुभयो । दक्षिण कोरियाको दाबीअनुसार रुसका लागि लडिरहेका करिब छ सय उत्तर कोरियाली सैनिक मारिएका छन् भने हजारौँ घाइते भएका छन् ।

    केसिएनएले परेडलाई ‘देशको अतुलनीय रक्षा प्रविधि क्षमता र तीव्र विकासगत प्रगतिको प्रदर्शन’ भनेर वर्णन गरेको छ । यसले विश्वलाई अब उत्तर कोरियालाई बेवास्ता गर्न नसक्ने सन्देश दिएको जनाइएको छ । दक्षिण कोरियाले यस वर्षको एपेक शिखर सम्मेलनको अवसरमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच सम्भावित बैठकलाई ‘अस्वीकार गर्न नसकिने’ बताएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीनपटक भेट गर्नुभएको थियो र एकपटक ‘हामी प्रेममा पर्‍यौँ’ भन्दै असामान्य टिप्पणी गर्नुभएको थियो । तर ती भेटघाटहरूबाट स्थायी आणविक सम्झौता हुन सकेन । त्यसयता उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय आणविक राज्य’ घोषित गरेको छ ।

    गत महिना बेइजिङमा आयोजित विशाल सैन्य परेडमा किम, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन एकसाथ उपस्थित हुनुभएको थियो ।

    यसै हप्ता केसिएनएले मस्को र प्योङयाङबीच जारी संयुक्त वक्तव्यमा रुसको सत्तारूढ पार्टीले उत्तर कोरियाको रक्षा क्षमता विस्तारका लागि चालेका कदमहरूलाई दृढ समर्थन जनाएको उल्लेख गरेको थियो ।

    हार्वर्ड विश्वविद्यालयको एसिया सेन्टरका भिजिटिङ स्कलर सेओङ–ह्योन लीका अनुसार यो परेडलाई पृथक घटनाको रूपमा नभई, क्षेत्रीय भूराजनीतिक संरचनामा भइरहेको गहिरो परिवर्तनको चरम रूपका रूपमा बुझ्न जरुरी छ ।

    उहाँ भन्नुहुन्छ, “यो परेड वासिङ्टन र सियोलबीचको बलियो गठबन्धनलाई प्रत्यक्ष चुनौती दिने कडा चेतावनी हो, किनभने अब यसको ढोकामा चीन, रुस र उत्तर कोरियाको समेकित तथा शक्तिशाली त्रिपक्षीय ब्लक तयार भइसकेको छ ।”

  • गाजामा वेपत्ता हुनेको सङ्ख्या नौ हजार ५०० भन्दा बढी

    गाजामा वेपत्ता हुनेको सङ्ख्या नौ हजार ५०० भन्दा बढी

    गाजा, २५ असोज (रासस–सिन्ह्वा) । सन् २०२३ अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि अहिलेसम्म नौ हजार ५०० व्यक्तिहरूको अवस्था अज्ञात रहेको गाजास्थित नागरिक सुरक्षा निकायले शनिबार जानकारी गराएको छ। नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले एक विज्ञप्ति जारी गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई इजरायली अधिकारीहरूसँग समन्वय गरेर उनीहरूको भाग्य निर्धारण गर्न आग्रह गर्नुभएको छ ।

    “इजरायल र हमासबीच शुक्रबारदेखि युद्धविराम सम्झौता लागू भएदेखि नागरिक सुरक्षा कर्मचारीहरूले १५० भन्दा बढी शवहरू फेला पारेका छन् र सीमित उपकरणका कारण खोजी कार्यमा चुनौतीहरूको सामना गरिरहेका छन्,” बासालले भन्नुभयो।

    उहाँले भन्नुभयो, “अस्थायी आश्रयहरूको ‘लगभग पूर्ण अनुपस्थिति’ भए पनि युद्धविरामपछि तीन लाखभन्दा बढी विस्थापित बासिन्दाहरू गाजाको दक्षिणी सीमाबाट गाजा शहर र उत्तरी क्षेत्रमा फर्किएका छन्।

    गाजास्थित प्यालेष्टिनी सरकारी सञ्चारमाध्यमले गाजामा करिब ३० हजार आवास एकाइहरू ध्वस्त भएको र ९० प्रतिशतभन्दा बढी नागरिक पूर्वाधारहरू प्रभावित भएको जनाएको छ।

    यसले गाजा क्षेत्रमा लगाइएको नाकाबन्दी तत्काल हटाउन र मानवीय कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान गरेको छ।

    इजिप्टका विदेश मन्त्री बद्र अब्देलाट्टी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले शुक्रबार अबेर टेलिफोन वार्ता गरेका र दुवैले इजिप्टको रेड सीको सामुद्रिक शहर शर्म अल शेखमा हुने शिखर सम्मेलनको विस्तृत व्यवस्थाबारे छलफल गरेका थिए ।

    सम्मेलनकोसह–आयोजक इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले गर्नेछन्।

    इजिप्टको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अब्देलाट्टी र रुबियोले शिखर सम्मेलनमा विश्वव्यापी सहभागिताका साथै गाजा युद्धविराम सम्झौताको पहिलो चरणको कार्यान्वयनको व्यवस्थाबारे पनि छलफल गरेका थिए।”

  • इजरायल–प्यालेस्टाइन द्वन्द्वमा ६० हजारभन्दा बढी बालबालिका प्रत्यक्ष प्रभावित

    इजरायल–प्यालेस्टाइन द्वन्द्वमा ६० हजारभन्दा बढी बालबालिका प्रत्यक्ष प्रभावित

    जेनेभा, २२ असोज (रासस-एएफपी)
    संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु भएको दुई वर्षको अवधिमा करिब ६१ हजार बालबालिकाको मृत्यु भएको वा अपाङ्ग भएको जानकारी दिएको छ । स्विट्जरल्यान्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले हरेक १७ मिनेटमा औसतमा एक बालक मृत्यु हुने वा घाइते हुने गरेको बताए ।


    पिरेसले यस तथ्यप्रति खेद व्यक्त गर्दै भने, बच्चाहरू ‘शारीरिक र मानसिक’ रूपमा धेरै लामो समयदेखि पीडित छन् र आघातमा बाँचिरहेका छन।”
    उनले अगाडी थपे, “कुनै पनि बच्चाले कहिल्यै देख्नु नपर्ने डरलाग्दो अवस्थाको सामना गरिरहेका र अत्यधिक पीडाबीच बाँच्नुपरेको छ।” उनले भने, “गाजामा प्रत्येक पाँच बच्चामध्ये एक समय नपुगीकन जन्मन्छ । यसरी जन्मने बच्चाहरूलाई जीवित रहनको लागि अक्सिजन मास्क आवश्यक पर्ने तर यस क्षेत्रमा उनीहरूको अस्तित्व सुनिश्चित गर्न आवश्यक पूर्वाधारको अभाव छ ।

    युनिसेफले गाजामा उसको टोलीहरू अझै पनि गाजा क्षेत्रकोे उत्तरबाट निकालिएका र समय नपुगी जन्मिएका बच्चाहरूको लागि इन्क्युबेटर र भेन्टिलेटर भित्राउनका लागि सकारात्मक सन्देशको पर्खाइमा छन्। पाइरेसले भने, “हामीले अर्को स्वास्थ्य क्षेत्रमा बच्चाहरूलाई सारेर भएपनि सम्भव भएसम्म सुविधा दिएका छौँ । गाजाको सुरक्षा अवस्थाले यसका लागि पनि सहज वातावरण सुनिश्चित गर्दैन । हामीले इन्क्युबेटरहरू सार्न सकेका छैनौँ, यो अहिलेसम्म अस्वीकार गरिएको छ।”

  • बाढीपहिरोको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    बाढीपहिरोको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    काठमाडौँ, २१ असोजः पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल एक्समार्फत उनले बाढीपहिरोमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका परिवारमा गहिरो समवेदना प्रकट गरे उनले भनेका छन्, “यस कठिन समयमा पाकिस्तान सरकार र यहाँका जनता नेपाल सरकार र नेपालीहरुसँग उभिएका छन् ।”

  • दार्जिलिङमा भीषण पहिरो र बाढी, कम्तीमा २० जनाको निधन

    दार्जिलिङमा भीषण पहिरो र बाढी, कम्तीमा २० जनाको निधन

    कोलकाता, १९ असोज

    रासस\एएफपी । भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा कम्तीमा २० जनाको ज्यान गएको यस क्षेत्रका सांसदले आइतबार जानकारी दिएका छन् । पूर्वी राज्य पश्चिम बङ्गालको पहाडी जिल्लामा रातभरको भीषण वर्षाले ३०० मिलिमिटर (१२ इन्च) भन्दा बढी वर्षा हुँदा नदीहरूमा आएको भेलले गाउँ तथा पूर्वाधारहरूमा ठूलो क्षति पुर्‍याएको छ ।

    प्रचण्ड पानीको भेलले पुलहरू भत्काइदिएको छ र सडकहरू ध्वस्त पारेका छन् । “गत रात दार्जिलिङ पहाडमा आएको भीषण आँधी–वर्षाका कारण २० जनाभन्दा बढीले ज्यान गुमाएका छन्”, भारतको माथिल्लो सदनका सांसद हर्षवर्धन शृङ्गलाले भने ।
    प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा गहिरो दुःख व्यक्त गर्दै ‘ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । दार्जिलिङ र आसपासका क्षेत्रमा वर्षा र पहिरोपछि उत्पन्न अवस्थालाई सरकार निरन्तर निगरानी गरिरहेको उनले बताएका छन् । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले पनि विज्ञप्ति जारी गर्दै भनिन्, “हिजो राति केही घण्टाभित्र परेको अप्रत्याशित भारी वर्षा र नदीमा आएको तीव्र भेलका कारण धेरै क्षेत्रहरू बाढी र पहिरोबाट प्रभावित भएका छन् ।”

    मुख्यमन्त्री बनर्जीका अनुसार दुईवटा फलामका पुलहरू भत्किएका छन्, धेरै सडकहरू क्षतिग्रस्त भएका छन्, र ठूला क्षेत्रहरू पानीमा डुबानमा परेका छन् ।
    दक्षिण एसियामा मनसुनको समयमा बाढी र पहिरो सामान्य भए पनि वातावरणविद्हरूका अनुसार जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण यस्ता प्राकृतिक विपद् हालका वर्षहरूमा झन् बारम्बार र घातक बन्दै गएका छन् ।

  • बङ्गलादेशः डेङ्गु ज्वरोका कारण २१२ जनाको मृत्यु

    बङ्गलादेशः डेङ्गु ज्वरोका कारण २१२ जनाको मृत्यु

    २० असोज, ढाका । बङ्गलादेशमा आइतबार डेङ्गु रोग सङ्क्रमित नौ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा यो वर्ष एकै दिनमा सबैभन्दा धेरै डेङ्गु सङ्क्रमितको मृत्यु भएको हो । यो बर्ष कुल डेङ्गु सङ्क्रमितको मृतकको सङ्ख्या २१२ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जानकारी दिएको छ ।


    तथ्याङ्क अनुसार बङ्गलादेशभर आइतबार यस वर्ष एकै दिनमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित उपचारका लागि भर्ना भएका छन्। स्थानीय समयअनुसार आइतबार बिहान ८ः०० बजेसम्म पछिल्लो २४ घण्टामा अस्पताल भर्ना भएका डेङ्गु सङ्क्रमित बिरामीहरूको सङ्ख्या एक हजार ४२रेकर्ड गरिएको छ । यससँगै यो वर्ष लामखुट्टेबाट सर्ने डेङ्गु रोगको कुल सङ्क्रमितहरूको सङ्ख्या ४९ हजार ९०७ पुगेको छ।

    डेङ्गुको थप फैलावटलाई रोक्नका लागि बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन दर रोक्न र लार्भा नस्ट गर्ने अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन्। बङ्गलादेशमा सन् २०२३ मा डेङ्गुका कारण एक हजार ७०५ जनाको मृत्यु भएको थियो । यो पछिल्ला केही बर्षमा सबैभन्दा बढी वार्षिक मृत्यु सङ्ख्या हो। सामान्यतया बङ्गलादेशमा मनसुनको मौसममा देखिने डेङ्गु ज्वरो अहिले जुन–सेप्टेम्बर अवधिभन्दा बढी फैलिरहेको पाइएको छ।

  • मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र

    मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र

    रबात (मोरक्को), १८ असोज (रासस/एपी)
    पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकारविरोधी आन्दोलन लगातार बढ्दै गएको छ । अघिल्लो रात सुरक्षाकर्मीहरूले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि थप हिंसाको डर भए पनि बिहीबार साँझ देशका कम्तीमा एक दर्जन सहरमा विरोध प्रदर्शन निरन्तर जारी रह्यो ।

    प्रदर्शनकारीहरूले विशेषगरी उच्चस्तरीय विद्यालय र गुणस्तरीय अस्पतालहरूको माग अघि सारेका छन् । धेरैले प्रधानमन्त्री अजिज अखान्नोचलाई राजीनामा दिन आह्वान गरेका छन् । राजधानी रबातदेखि व्यापारिक सहर कासाब्लान्कासम्म ठूलो सङ्ख्यामा युवाहरू सडकमा उत्रिएका छन् ।

    – आन्दोलनको माग र नाराहरू –

    प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि केही ठाउँमा हिंसात्मक घटनामा परिणत भएका छन् । बुधबार मात्रै, बैंकहरू लुटिएका, कारहरू जलाइएका र सार्वजनिक सम्पत्ति नष्ट गरिएका थिए । त्यस क्रममा प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको थियो ।

    मोरक्कोमा राजा मोहम्मद छैटौँ सर्वोच्च शासक भए पनि प्रदर्शनकारीहरूको असन्तोष प्रायः सरकारतर्फ नै केन्द्रित हुँदै आएको छ । बिहीबारको प्रदर्शनमा सहभागी सयौँ युवाले ‘जनताले अखान्नोचलाई हटाउन चाहन्छन्’ र ‘सरकारलाई हटाऊ’ भन्ने नारा लगाउँदै राजालाई हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

    – प्रधानमन्त्रीको प्रतिक्रिया –

    प्रधानमन्त्री अजिज अखान्नोचले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै मृतकहरूको निधनमा शोक व्यक्त गर्नुभयो । उहाँले सुरक्षाकर्मीहरूले कानून र व्यवस्था कायम गर्न गरेको प्रयासको प्रशंसा गर्दै सरकार संवादमार्फत समाधान खोज्न इच्छुक रहेको सङ्केत गर्नुभयो ।

    “संवादमै आधारित दृष्टिकोण नै हाम्रो देशले सामना गर्ने समस्याहरूलाई समाधान गर्ने एक मात्र सही बाटो हो”, अखान्नोचले भन्नुभयो ।

    – हिंसा र क्षतिको विवरण –

    गृह मन्त्रालयका अनुसार तटीय सहर अगादिर नजिकैको लेक्लिया भन्ने सानो सहरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भीषण झडप हुँदा तीन युवाको मृत्यु भयो । मन्त्रालयले उनीहरू प्रहरी हतियार खोस्ने प्रयासमा मारिएको दाबी गरेको छ, तर प्रत्यक्षदर्शीहरूले यसलाई पुष्टि गर्न सकेका छैनन् ।

    उक्त भिडन्तमा ३५४ जना घाइते भएको बताइएको छ, जसमा अधिकांश सुरक्षाकर्मी रहेको मन्त्रालयको दाबी छ । तेइस वटा प्रान्तमा सयौँ कार, बैंक, पसल र सार्वजनिक भवन क्षतिग्रस्त भएका छन् । मन्त्रालयले देशभर करिब ७० प्रतिशत प्रदर्शनकारीहरू नाबालिग रहेको अनुमान गरेको छ ।

    – ‘जेन जेड २१२’ आन्दोलन –

    कथित जनरेशन जेड २१२ नामक नेतृत्वविहीन आन्दोलनले यी प्रदर्शनहरू आयोजना गरेको हो । इन्टरनेट र सामाजिक सञ्जालको सक्रिय प्रयोग गर्ने युवाहरूको यो समूह हालसम्म मोरक्कोमा देखिएको सबैभन्दा ठूलो युवा आन्दोलन बनेको छ ।

    प्रदर्शनकारीहरूले दैनिक जनताका लागि आवश्यक स्वास्थ्य र शिक्षा सेवामा भएको कमीलाई भ्रष्टाचारसँग जोड्दै आलोचना गरेका छन् । उनीहरूले सन् २०३० को विश्वकप आयोजनाका लागि अर्बौं डलर खर्च भइरहे पनि विद्यालय र अस्पतालहरू अभावग्रस्त अवस्थामा रहेको आरोप लगाएका छन् ।

    स्वास्थ्य सेवा पहिले, हामीलाई विश्वकप चाहिँदैन’ भन्ने नारा सडकमा सबैभन्दा लोकप्रिय बनेको छ । अर्को चर्चित नारा थियो – ‘स्टेडियमहरू तयार छन्, तर अस्पतालहरू कहाँ छन ?’

    हालै अगादिरको एक सार्वजनिक अस्पतालमा आठ महिलाको मृत्यु भएको घटनाले स्वास्थ्य प्रणालीप्रति असन्तोष झन् बढाएको छ ।

    – व्यापक असमानताप्रति आक्रोश –

    मोरक्को द्रुत विकासतर्फ अघि बढिरहेको भए पनि समाजमा गहिरो असमानता रहेको तथ्य प्रदर्शनहरूले उजागर गरेका छन् । ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य सुविधाको अवस्था निकै कमजोर छ, रोजगारीको अवसर न्यून छ र यही कारण युवाहरू आक्रोशित भएका छन् ।

    जनरेशन जेड २१२ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य, शिक्षा र सम्मानजनक जीवनको अधिकार केवल नारा होइन, यो गम्भीर माग हो ।”

    – गिरफ्तारी र झडप –

    देशभर एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । मानव अधिकार संस्थाहरूका अनुसार, पक्राउ परेकामध्ये धेरैजना नाबालिग छन् । केहीलाई सादा पोशाकमा आएका सुरक्षाकर्मीहरूले प्रत्यक्ष टेलिभिजन अन्तर्वार्ताका क्रममा समेत नियन्त्रणमा लिएको देखिएको छ ।

    प्रदर्शनका आयोजकहरूले बारम्बार आन्दोलनलाई शान्तिपूर्ण राख्न आग्रह गरे पनि कतिपय सहरमा स्थिति नियन्त्रण बाहिर गएको छ । डिस्कोर्डमार्फत जारी एक सन्देशमा आयोजकहरूले ‘दमनकारी सुरक्षा दृष्टिकोण’ को निन्दा गर्दै प्रदर्शनकारीलाई संयमित रहन अपिल गरेका थिए ।

    तर विभिन्न सहरका प्रत्यक्षदर्शीहरूले दिएको विवरणअनुसार, धेरै स्थानमा प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरे, गाडीमा आगो लगाए र सरकारी भवनहरूमा तोडफोड गरे ।

    – अन्तर्राष्ट्रिय तुलना –

    विशेषज्ञहरूले मोरक्कोको यो आन्दोलनलाई नेपाल, केन्या र मेडागास्कर जस्ता मुलुकहरूमा हालै देखिएका युवानिर्देशित आन्दोलनसँग तुलना गरेका छन् ।

    यी सबै आन्दोलनहरूको केन्द्रमा भ्रष्टाचारविरुद्धको असन्तोष, असमानता र आधारभूत सेवाप्रतिको माग रहेको देखिन्छ ।

  • मदिरा सेवनका कारण हरेक वर्ष २२ हजार श्रीलङ्कालीको मृत्यु

    मदिरा सेवनका कारण हरेक वर्ष २२ हजार श्रीलङ्कालीको मृत्यु

    कोलम्बो, १७ असोज (रासस\सिन्ह्वा)

    मदिरा सेवनका कारणले उत्पन्न समस्याका कारणले गर्दा वार्षिक करिब २२ हजार श्रीलङ्कालीहरूको मृत्यु हुने गरेको तम्बाकू र मदिरा सम्बन्धी राष्ट्रिय प्राधिकरणका अधिकारीहरुले शुक्रबार जनाएका छन् । श्रीलङ्काले विश्व आत्म संयम दिवस मनाउँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै, नेशनल अथोरिटी अन टोब्याको एन्ड अल्कोहलका अध्यक्ष डा आनन्द रत्नयाकाले रक्सीको प्रयोग देशमा सार्वजनिक स्वास्थ्यका लागि महत्त्वपूर्ण खतरा बनेको उल्लेख गर्दै २१ प्रतिशत जनसङ्ख्याले रक्सी पिउँने गरेको बताउनु भएको छ ।

    श्रीलङ्कामा मदिरा सेवनका खतराहरूबारे चेतना जगाउने र स्वस्थ जीवन शैलीलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्रव्यापी कार्यक्रमहरूको श्रृङ्खलाका साथ देश भरि विश्व समानुभूति दिवस मनाइन्छ । यस पर्वको अवसरमा श्रीलङ्का भरिका सबै मदिरा पसलहरू शुक्रबार बन्द रहन्छन् ।

  • युक्रेनमा भएको रूसी आक्रमणमा १३ हजार सुँगुरको मृत्यु

    युक्रेनमा भएको रूसी आक्रमणमा १३ हजार सुँगुरको मृत्यु

    किएभ १७ असोज (रासस/एएफपी)
    युक्रेनको उत्तरपूर्वमा रहेको एउटा खेतमा भएको रूसी ड्रोन आक्रमणले आगलागी निम्त्याउदा करिब १३ हजार सुँगुरको मृत्यु भएको आपतकालीन सेवाले शुक्रबार जनाएको छ । साढे तीन वर्षको युद्धमा मानिससँगै जनावरहरूले पनि पीडा भोगेको जनाइएको छ भने अघिल्लो रूसी आक्रमणहरूले अस्तबल र चिडियाखानामा प्रहार गरेको थियो ।

    युक्रेनको राज्य आपतकालीन सेवाले खार्किव क्षेत्रमा नोभोभोडोलाज्का समुदायको कृषि उद्यममा रूसी युएभी को आक्रमणको परिणामस्वरूप सुँगुरहरूको मृत्यु भएको र फार्मका एक जना कामदार घाइते भएको बताएको छ ।

    सेवाले सार्वजनिक गरेको तस्बिरहरूमा सुँगुरको शवहरू देखाइएको छ जुन आंशिक रूपमा जलेको थियो, केही टुटेकोअवस्थामा रहेको जनाइएको छ ।

    करिव तेह्र हजार वर्ग मिटर मा फैलिएको आठवटा स्टलमा सुँगुरहरू राखिएकोमा ती सबै आगोमा जलेको आपतकालीन सेवाले जनाएको छ ।

    गत सेप्टेम्बरमा रूसले एउटा घोडसवार क्लबमा प्रहार गर्दा सातवटा घोडाहरू मारिएको जनाइएको छ ।

  • रुसको तेल खरिद बढाउनेलाई जी–७ को कडा चेतावनी

    रुसको तेल खरिद बढाउनेलाई जी–७ को कडा चेतावनी

    रासस\एएफपी

    वासिङ्टन, १७ असोज । युक्रेनमाथि मस्कोले गरेको आक्रमणलाई तीन वर्ष पूरा हुँदै गर्दा सात प्रमुख अर्थतन्त्रहरूको समूह (जी–७) का अर्थमन्त्रीहरूले रुसबाट तेल खरिद बढाउँदै लैजाने मुलुक र संस्थाहरूमाथि अब कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । बुधबार सम्पन्न भर्चुअल बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले ‘रुसको तेल निर्यातमा अधिकतम दबाब दिनुपर्ने समय आएको’ स्पष्ट उल्लेख गरेका छन् । यसले युद्धका लागि अत्यावश्यक रहेको मस्कोको राजस्वलाई कमजोर पार्ने लक्ष्य राखिएको हो ।

    मन्त्रीहरूले भनेका छन्, “युक्रेनमाथि आक्रमण भएपछि पनि लगातार रुसको तेल खरिद गर्दै आएका तथा त्यसलाई सहज बनाउनेहरूलाई हामी अब प्रत्यक्ष रूपमा लक्षित गर्नेछौँ ।” उनीहरूले रूसी तेलको कारोबार घटाउने उद्देश्यले भन्सार शुल्कसहितका व्यापारिक उपाय, आयात तथा निर्यातमा प्रतिबन्धजस्ता विकल्पहरूमा सहमति भएको जानकारी दिए ।


    साथै, ‘रूसबाट उत्पादित परिष्कृत पेट्रोलियम पदार्थ खरिद गरेर युद्ध प्रयासलाई अप्रत्यक्ष आर्थिक सहयोग गर्ने मुलुक र संस्थाहरूमाथि समेत गम्भीर रूपमा प्रतिबन्ध वा व्यापारिक अवरोध लागू गर्ने’ चेतावनी दिएका छन् । गत महिनामात्रै संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घ (इयु) सँग सहकार्य गर्दै यस्तो कदम चालेमा रुसका तेल खरिदकर्तालाई लक्षित गरी थप भन्सार शुल्क विस्तार गर्न तयार रहेको सङ्केत दिएको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीन र भारतजस्ता ठूला खरिदकर्तामाथि ५० देखि १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने सम्भावना रहेको बताएका थिए । युरोपेली आयोगले समेत ट्रम्पको कडा दबाबबीच ब्लकभित्र रूसी तेल आयातमा सम्भावित भन्सार शुल्क लगाउने कार्य चलिरहेको पुष्टि गरेको थियो । अमेरिकाले भने युरोपका नेताहरूसँग प्रतिबन्धमा सहमत हुनुअघि नै मस्कोबाट ऊर्जा आयात पूर्ण रूपमा बन्द गर्न माग गर्दै आएको छ ।

    जी–७ का अर्थमन्त्रीहरू यसै महिना वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र विश्व बैंकको वार्षिक बैठकको अवसरमा पुनः प्रत्यक्ष भेला भई प्रतिबन्ध र व्यापारिक उपायहरूलाई थप ठोस बनाउने तयारीमा रहनेछन् । यसरी, जी–७ को ताजा चेतावनीले अब रुसबाट बढ्दो तेल खरिद गर्ने मुलुक र कम्पनीहरूलाई थप दबाबमा पार्ने स्पष्ट सङ्केत गरेको छ ।

  • सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

    सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

    रासस\एएफपी

    जेनेभा, १७ असोज । २०२२ को सुरु देखि हाइटीमा सशस्त्र हिंसाका कारण १६ हजार भन्दा बढी मानिसहरु मारिएको जनाउदै संयुक्त राष्ट्र सङ्घले अझै यो भन्दा खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ । “हाइटीमा मानव अधिकारको अवस्था बिकराल बन्नुका साथै दुव्र्यवहार र हिंसा बढेको मार्च देखि तीव्र हिंसा भएको संयुक्त राष्ट्रका अधिकार प्रमुख भोल्कर टर्कले बताए ।


    गरिबी समस्याले ग्रस्त देश हाइटीले लामो समयदेखि राजनीतिक अस्थिरताको पृष्ठभूमिमा हत्या, बलात्कार, लुटपाट र अपहरण गर्ने हिंसात्मक आपराधिक गिरोहबाट पीडित रहेको छ । सन् २०२२ जनवरी–१ देखि सशस्त्र हिंसामा उल्लेखित भन्दा बढी मानिस मारिएको तथा र करिब सात हजार मानिसहरू घाइते भएको जनाउदै गिरोह र सम्बन्धित हिंसाको निगरानी सुरु गरेको टर्कले जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषदलाई बताए ।


    गिरोहहरूले राजधानी पोर्ट–अ–प्रिन्स भन्दा बाहिर डर फैलाउँदै हिंसाले “व्यापक क्षेत्रलाई अस्थिर पार्ने“ खतरा रहेको उनले बताए । न्यूयोर्कमा मङगलबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले हाइटीमा संयुक्त राष्ट्र समर्थित सुरक्षा मिसनलाई सैन्य सेनासहित पूर्ण बलको रूपमा रूपान्तरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    नयाँ फोर्समा अब प्रहरी अधिकारी र सैनिकहरू सहित अधिकतम पाँच हजार ५०० वर्दीधारी कर्मचारीहरू हुन सक्ने जनाइएको छ । “यसका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र समर्थन जरुरी रहेको टर्कले बताए । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले गिरोहका सदस्यहरू, जनसङ्ख्या र सुरक्षा बलहरू बिचको “हिंसाको चरमोउत्कर्ष“ को निन्दा गरेका छन् ।

    गत मार्च देखि नै हाइटी सरकारले राजधानीमा आफ्नो गिरोह विरोधी कारबाहीमा विस्फोटक ड्रोनको प्रयोग बढाएको उनले बताए । सेप्टेम्बरको मध्य सम्ममा ड्रोन आक्रमणमा ११ जना बालबालिका सहित कम्तीमा ५५९ जनाको मृत्यु भएको छ । यी अधिकांश ड्रोन आक्रमणहरू अन्तर्राष्ट्रिय मानव अधिकार कानुन अन्तर्गत गैरकानूनी हुने तुर्कले बताए ।


    तथाकथित समूहले यस वर्ष ५०० भन्दा बढी कथित गिरोहका सदस्यहरूको हत्या गरेको कुरा पनि “गहिरो चिन्ताको विषय“ भएको उनले बताए । हाइटीका बालबालिकाहरू गिरोहद्वारा तस्करी, शोषण र जबरजस्ती भर्तीको सिकार भएको भन्दै उनले चिन्ता व्यक्त गरे । “हामी हाइटीका जनताका लागि यो अवस्थालाई परिवर्तन गर्न सक्छौँ र गर्नुपर्छ “टर्कले भने ।

  • इजरायलद्वारा फ्लोटिलाबाट ४० वटा जहाज रोकी कार्यकर्ता पक्राउ

    इजरायलद्वारा फ्लोटिलाबाट ४० वटा जहाज रोकी कार्यकर्ता पक्राउ

    रासस\क्यूएनए

    गाजा, १७ असोज । इजरायली सेनाले गाजा पट्टीमा लगाइएको नाकाबन्दीको प्रवाह नगरी र मानवीय सहायता पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय मिसनको रूपमा गाजा पट्टी जाने ४४ वटा पानी जहाजहरू मध्ये ४० वटा रोकेको फ्लोटिलाका आयोजकहरूले बताएका छन् । इजरायली सेनाले जहाजहरूमा आक्रमण गरी जहाजमा रहेका २५ जना टर्की कार्यकर्ताहरूलाई पक्राउ गरेको उनीहरुले बताएका छन् ।

    विज्ञप्तिमा, गाजामा मानवीय सहायता ढुवानी गर्ने नागरिक र शान्तिपूर्ण फ्लोटिलालाई अन्तर्राष्ट्रिय जल क्षेत्रमा इजरायली सेनाले “अवैध छापा“ मारेको उल्लेख गरिएको छ । यसले इजरायली कब्जाको अभ्यासले अन्तर्राष्ट्रिय कानून र समुद्री सुरक्षाको गम्भीर उल्लङ्घन भएको जनाउदै फ्लोटिला पूर्ण रूपमा मानवीय उद्देश्यका लागि स्थापित भएको कुरामा जोड दिएको छ ।

    इजरायलले फ्लोटिलाका अधिकांश जहाजहरुलाई रोके पनि कम्तिमा दुईवटा जहाजले गाजा पट्टीमा आफ्नो यात्रा जारी राखेको मिडिया स्रोतहरूले रिपोर्ट गरे । मानवीय सहायता, विशेष गरी चिकित्सा आपूर्तिका अतिरिक्त ४५ भन्दा बढी देशका ५३२ नागरिक समाजका कार्यकर्ताहरू बोकेको लगभग ५० वटा जहाजहरू गाजातर्फ एकैसाथ यात्रा गरेको यो पहिलो पटक हो ।

    गाजामा घेराबन्दी तोड्ने प्रयास गर्ने अन्तर्राष्ट्रिय समितिले इजरायलले फ्लोटिलाका केही जहाजहरूमा छापा मारेको पुष्टि गरेको छ । एम्नेस्टी इन्टरनेसनल लगायत अन्तर्राष्ट्रिय संस्थाहरूले फ्लोटिला को सुरक्षाका लागि आह्वान गरेका छन् भने संयुक्त राष्ट्र सङ्घले यसमा भएको कुनै पनि आक्रमण “अस्वीकार्य“ भएको पुष्टि गरेको छ ।

  • गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने पत्रकारको सङ्ख्या २५४ पुग्यो

    गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने पत्रकारको सङ्ख्या २५४ पुग्यो

    रासस\क्यूएनए

    गाजा, १७ असोज । सन् २०२३ अक्टोबर– ७, देखि गाजा पट्टीमा भएको इजरायली आक्रमणको क्रममा मृत्यु भएका प्यालेस्टिनी पत्रकारहरूको सङ्ख्या २५४ पुगेको जनाइएको छ । एक विज्ञप्ति जारी गर्दै गाजाको सरकारी मिडिया कार्यालयले पत्रकार सामी दाउद र याह्या मोहम्मद बर्जाकको मृत्यु घोषणा भए पछि इजरायली युद्ध सुरु भएदेखि मारिएका प्यालेस्टिनी पत्रकारको सङ्ख्या २५४ पुगेको जनाएको हो ।

    कार्यालयले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अरब पत्रकार महासङ्घ र विश्वभरिका सबै पत्रकार सङ्गठनहरूलाई गाजा पट्टीमा पत्रकार र मिडिया व्यवसायीहरू विरुद्धको यी “व्यवस्थित अपराध“ को निन्दा गर्न आह्वान गरेको छ । यसले नरसंहारको अपराध रोक्न, गाजा पट्टीमा पत्रकार र मिडिया पेशेवरहरूको सुरक्षा गर्न र हत्याको अन्त्येको “गम्भीर र प्रभावकारी दबाब“ का लागि पनि सम्बन्धित पक्षलाई सहयोगका लागि आह्वान गरेको छ ।

  • फिलिपिन्स भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुग्यो, २९४ घाइते

    फिलिपिन्स भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुग्यो, २९४ घाइते

    रासस\क्यूएनए

    (फिलिपिन्स) मनिला, १७ असोज । मध्य फिलिपिन्सको बोगो र सेबू सहरमा मङ्गलबार आएको ६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ । नेसनल डिजास्टर रिस्क रिडक्सन एण्ड म्यानेजमेन्ट काउन्सिलले बिहीबार मध्य विसाया क्षेत्रमा उनीहरुको मृत्यु भएको र भूकम्पमा कम्तीमा २९४ जना घाइते भएको जनाएको छ ।

    मध्य बिसायाका ५३ वटा गाउँमा बसोबास गर्ने ४७ हजार २२१ परिवारहरूको भूकम्पको कारण प्रभावित भएको जनाइएको छ । राष्ट्रिय विपद् व्यवस्थापन आयोगले अझै पूर्वाधार र कृषिमा भएको क्षतिको परिमाण निर्धारण गर्न बाँकी रहेको जनाएको छ । फिलिपिन्स प्यासिफिक रिंग अफ फायरमा अवस्थित भएको कारण ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिममा रहेको छ ।

  • रूस र युक्रेनद्वारा १८५ जना युद्धबन्दीहरू साटासाट

    रूस र युक्रेनद्वारा १८५ जना युद्धबन्दीहरू साटासाट

    मस्को, १७ असोज (रासस\एएफपी)
    रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दीहरू साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । द्वन्द्व अन्त्य गर्ने सन्दर्भमा प्रगति नभएको भए पनि जारी रहेको विनिमयको श्रृंखलामा यो पछिल्लो हो । रक्षा मन्त्रालयले टेलिग्राममा युक्रेनले “१८५ रूसी सैनिकहरू फिर्ता गरेको“ बताएको छ, क्रमममा २० जना सर्वसाधारणलाई पनि रिहा गरिएको जनाइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रिहा गरिएका युक्रेनीहरूको तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै, आदान प्रदानको पुष्टि गरेका छन् । उनीहरूलाई आवश्यक पर्ने सबै सहयोग प्राप्त गर्ने वातावरण तयार भएको जेलेन्स्कीले बताए ।


    आक्रमण सुरु भएदेखि नै हामीले हाम्रा सात हजार भन्दा बढी मानिसहरूलाई घर फर्काएका छौँ“, उनले भने । गत मे र जुलाईको बीचमा इस्तानबुलमा रूसी र युक्रेनी प्रतिनिधिमण्डलहरू बिच तीन चरणको शान्ति वार्ताको परिणाम स्वरुप ठूलो मात्रामा कैदी आदानप्रदान गरेको जनाइएको छ ।

    दुवै पक्षले युद्धको बिचमा युक्रेन र रूसबिचको सहयोगका क्षेत्रका रूपमा मारिएका सैनिकहरूको स्वदेश फिर्तीका धेरै चरणहरू पनि सञ्चालन गरेका छन् ।
    सन् २०२२ मा रुसले आक्रमण सुरु गरेदेखि दुवै पक्षका दशौँ हजार सैनिक मारिएका छन्, यद्यपि दुवै पक्षले नियमित रूपमा आफ्नो हताहतको तथ्याङ्क भने सार्वजनिक गरेका छैनन् ।

  • पेरिसका अन्तिम समाचारपत्र हकर अली अकबर : साहस र हास्यले भरिएको जीवनकथा

    पेरिसका अन्तिम समाचारपत्र हकर अली अकबर : साहस र हास्यले भरिएको जीवनकथा

    १६ असोज, पेरिस । रासस–एएफपी ।
    पेरिसका सबैले चिनेका अली अकबर अब ७३ वर्ष पुगेका छन् । उनी फ्रान्सेली राजधानीका अन्तिम समाचारपत्र हकर हुन् । उनी सेन्ट–जर्मन–डेस–प्रेसका क्याफेदेखि ल्याटिन क्वार्टरका गल्लीसम्म हरेक दिन समाचारपत्र बेच्दै हँसिला हेडलाइन चिच्याउँदै हिँड्छन् ।

    ‘फ्रान्स राम्रो हुँदै गइरहेको छ ?’ वा ‘(एरिक) जेम्मुरले इस्लाम धर्म परिवर्तन गरे ?’ जस्ता रमाइला हेडलाइनसहित उनी भीड आकर्षित गर्छन् । लेफ्ट बैंकका बुद्धिजीवीदेखि पर्यटकसम्म सबै उनको उपस्थिति देखेर मुस्कुराउँछन् । २० वर्षदेखि उनलाई चिन्ने एक वेट्रेस अमिना किसी भन्छिन्, “यदि अली देखिएनन् भने पर्यटकहरूले उनी कहाँ छन् भनेर सोध्छन् ।”

    – कठिन जीवन र साहस –

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अली अकबरलाई ‘फ्रान्सप्रति समर्पित सेवाको’ मान्यतामा चाँडै राष्ट्रिय योग्यताको क्रममा नाइट उपाधि दिने घोषणा गरेका छन् । अकबर आफैँलाई यो अप्रत्याशित लागेपनि ‘मलाई लाग्छ यो मेरो साहस र कडा मेहनतको कदर हो’ भनी प्रतिक्रिया दिए । गोल चश्मा, नीलो ज्याकेट र ग्याभ्रोचे टोपीसहित परिचित देखिने अकबर मुख्यतया ले मोन्डको प्रतिलिपि बेच्छन् । २० वर्षको उमेरमा पाकिस्तानबाट गरिबीबाट बच्न फ्रान्स आएका उनले सुरुमा रेस्टुरेन्टमा नाविक र भाँडा माझ्ने काम गरे । पछि हास्यकार जर्ज बर्नियर (प्रोफेसर चोरोन) सँग भेट भएपछि उनलाई हारा–किरी र चार्ली हेब्डो बेच्ने अवसर मिल्यो ।

    जीवनमा धेरै कठिनाइ भोगेका अकबर केही समय घरबारविहीन पनि बने । आक्रमणको सामना गर्नुपरे पनि उनले कहिल्यै हार मानेनन् । उनका कान्छा छोरा शाहाब भन्छन्, “म बुबाप्रति गर्व गर्छु, उहाँ हाम्रो परिवारका लागि मात्र नभई पेरिसकै लागि प्रेरणा हो ।”
    – हेडलाइनमार्फत हास्य –
    सन् १९७० दशकमा उनले सेन नदीको लेफ्ट बैंकमा समाचारपत्र बिक्री गर्न थाले । प्रतिष्ठित साइन्सेज पो विश्वविद्यालय अगाडि उनले पूर्वप्रधानमन्त्री एडवर्ड फिलिप लगायतका विद्यार्थीहरूसँग भेटघाट गर्दै फ्रान्सेली भाषा सिके । सन् १९८० को दशकबाट उनले मानिसलाई हसाउन उदार हेडलाइन सिर्जना गर्न थाले । “म मानिसलाई खुसी बनाउन चाहन्छु, त्यसैले रमाइला समाचार बनाउँछु”, उनी भन्छन् ।
    तर आजकल राम्रो जोक ल्याउन कठिन भएको उनी स्वीकार गर्छन् । “सबै कुरा यति गडबडी छ”, उनले हाँस्दै भने ।


    – निरन्तरता र प्रेरणा –

    एक महिनामा एक हजार युरो पेन्सन पाउने अकबर अझै पनि हरेक दिन दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सडकमा निस्किन्छन् । सुरुमा उनी दैनिक १५०–२०० प्रतिलिपि बेच्ने । अहिले औसतमा ३० प्रतिलिपि मात्र बेचिन्छ । “जबसम्म ऊर्जा छ, म काम गर्दै जानेछु—म मरेसम्म पनि”, उनले ठट्यौली गर्दै भने । एक क्याफेमा नियमित ग्राहक ३६ वर्षीया अमेल घाली भन्छन्, “अली साँच्चै प्रेरणादायी छन्, डिजिटल युगमा पनि उहाँजस्ता व्यक्तिलाई देख्न पाउनु सौभाग्य हो । दुर्भाग्यवश, हाम्रा बच्चाहरूले कफीसँगै समाचारपत्र पढ्ने आनन्द अनुभव गर्न पाउँदैनन् ।”

    अली अकबर आज केवल पेरिसका अन्तिम समाचारपत्र हकर मात्र होइनन्, बरु कठिनाइलाई साहस, हास्य र सकारात्मक ऊर्जा मार्फत जित्ने जीवित प्रतीक बनको छन् ।

  • एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्दै

    एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्दै

    वासिङ्टन, १६ असोज (रासस\एएफपी)
    विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोब्र्स पत्रिकाले रिपोर्ट गरेको छ । मस्क अहिले विश्वको पहिलो दुई अङ्कको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका छन् । टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै पाँच खर्ब डलर नाघेको थियो । यद्यपि, उनको विद्युतीय गाडी कम्पनी टेस्लाको सेयरमा उतार–चढावका कारण बुधबार बिहान पाँच खर्ब १० अर्ब डलर पुगेको सम्पत्ति केही समयमै झरेर चार खर्ब ९९ अर्ब १० करोड डलरमा पुगेको फोब्र्सको रियल–टाइम बिलियनेयर्स ट्र्याकर मा उल्लेख छ ।

    मस्कपछि दोस्रो स्थानमा ओरेकलका सिइओ ल्यारी एलिसन तीन खर्ब ५० अर्ब ७० करोड डलर नेटवर्थसहित रहेका छन् । तेस्रो स्थानमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग दुई खर्ब ४५ अर्ब ८० करोड डलर सम्पत्तिसहित अगाडि छन् । पेन्सिलभेनिया विश्वविद्यालयबाट स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन सुरु गरे पनि पूरा नगरेका मस्कले सन् १९९९ मा पहिलो ठूलो सफलता पाए । उनले आफ्नै अनलाइन प्रकाशन सफ्टवेयर कम्पनीलाई अमेरिकी कम्प्युटर निर्माता कम्प्याकलाई ३० करोड डलरभन्दा बढीमा बेचे ।


    त्यसपछि सुरु गरिएको अर्को कम्पनी पछि पेपालसँग मर्ज भयो । त्यो उद्यम छोडेपछि दक्षिण अफ्रिकामा जन्मेका यी टेक उद्यमीले सन् २००२ मा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स स्थापना गरे । त्यसपछि सन् २००४ मा विद्युतीय कार निर्माता टेस्लाको अध्यक्ष बने । उनले कम्पनीलाई विश्वकै अग्रणी प्रविधि व्यवसायमध्ये एकमा उभ्याएका छन् ।


    विशेषज्ञहरूको भनाइमा मस्कको सम्पत्ति वृद्धि टेस्ला, स्पेसएक्स र अन्य प्रविधि व्यवसायको तीव्र विस्तारसँग जोडिएको छ । हालको प्रगति हेर्दा उनलाई विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्ने सम्भावना निकट देखिएको छ । मस्कले आफ्नो व्यवसायिक साहस, नवीन सोच र प्रविधिमा लगानीमार्फत सम्पत्ति मात्र नभई विश्व अर्थतन्त्रको भविष्यलाई समेत पुनः परिभाषित गरिरहेको फोब्र्सले टिप्पणी गरेको छ ।

  • इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

    इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

    १६ असोज, जाकार्ता । इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ र उद्धार टोलीहरू बाँचेका व्यक्तिहरूको खोजीमा अहोरात्र खटिएका छन् ।

    स्थानीय प्रतिवेदनअनुसार उक्त विद्यालय सोमबार दिउँसो विद्यार्थीहरू प्रार्थनाका लागि भेला भएका समयमा एक्कासि भत्किएको थियो । राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले विज्ञप्ति जारी गर्दै भने, न्नुभयो, “विद्यार्थी उपस्थितिको विवरणअनुसार करिब ९१ जना अझै भवनको भग्नावशेषमुनि गाडिएको आशङ्का गरिएको छ ।”

    यसअघि प्रारम्भिक जानकारीअनुसार तीन जनाको मृत्यु भएको र ३८ जना बेपत्ता रहेको पुष्टि भएको थियो । तर पछिल्लो विवरणअनुसार मृत्यु हुनेहरूको सङ्ख्या ठूलो मात्रामा बढेको छ । अधिकारीहरूले बुधबार पत्रकार सम्मेलनमा बेपत्ता हुनेहरूको सही सङ्ख्या अझै पुष्टि गर्ने प्रयास भइरहेको बताए । यसबीच, उद्धार टोलीले भग्नावशेषमुनि फसेकाहरूसम्म जीवनरक्षक आपूर्ति पुर्‍याउन विशेष ध्यान दिएको छ ।

    राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अपरेसन प्रमुख एमी फ्रिजरका अनुसार सात वटा क्षेत्रमा जीवनको सङ्केत पाइएको छ र त्यहाँ केन्द्रित भएर उद्धार भइरहेको छ । “मुख्य संरचना पूर्ण रूपमा ध्वस्त भइसकेको छ । हामीले प्राथमिकता ती व्यक्तिलाई दिएका छौँ जो अझै पनि प्रतिक्रियाशील अवस्थामा छन्”, फ्रिजरले भने ।

    बुधबार बिहानदेखि दर्जनौँ अभिभावकहरू ढलेको विद्यालयको भग्नावशेष नजिकै बस्दै आफ्ना छोराछोरीको सुरक्षाबारे चिन्तित मुद्रामा प्रतीक्षा गरिरहेका थिए । उद्धार टोलीले भारी मेसिनरी र हातैले भग्नावशेष हटाउँदै बाँचेका व्यक्तिहरूलाई जीवितै निकाल्ने प्रयासलाई निरन्तरता दिइरहेका छन् ।

  • फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते

    फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते

    १५ असोज, मनिला । मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण निधन हुनेहरूको सङ्ख्या बुधबारसम्म ६० पुगेको छ भने सयौँ घाइते भएका छन् । घाइतेहरूको भीडले अस्पतालहरू भरिएका कारण कतिपयलाई बाहिर निलो टेन्टमुनि उपचार गर्न बाध्य हुनुपरेको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस)का अनुसार मङ्गलबार साँझ ९ः५९ बजे (१३ः५९ जिएमटी) सेबु प्रान्तको बोगो नजिकै केन्द्रविन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । यस सहरमा करिब ९० हजार मानिस बसोबास गर्छन ।

    भूकम्पपछि लगातार सयौँ पटक परकम्प आएका कारण स्थानीय बासिन्दा रातभर बाहिरै बस्न बाध्य भए । अस्पताल परिसरमा घाइते बालबालिकाहरू रोइरहेका र वयस्कहरू चिच्याइरहेका दृश्य देखिएको थियो । त्यहीँ कर्मचारीहरूले स्ट्रेचरमा कालो शरीरका झोलाहरू राखी शवगृहतर्फ लैजाने कार्य जारी राखेका थिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार केन्द्रीय टापुहरूमा १४७ जना घाइते भएको र कम्तीमा २२ भवन क्षतिग्रस्त भएको पुष्टि गरिएको छ । नागरिक सुरक्षा उप–प्रशासक राफेलिटो अलेजान्ड्रोले पत्रकारहरूसँग भने, “हामीलाई थप हताहतको विवरण प्राप्त भइरहेको छ, परिस्थिति अत्यन्त संवेदनशील र परिवर्तनशील छ ।”

    स्थानीय उद्धारकर्ता टेडी फन्टिलासका अनुसार बोगोको अस्पताल भरिसकेपछि घाइतेहरूलाई करिब १०० किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी सेबु सहरका अस्पतालतर्फ सार्नुपरेको छ । सेबु प्रान्तीय गभर्नर पामेला बारिकुएट्रोले आफ्नो आधिकारिक फेसबुकमार्फत गम्भीर घाइतेहरूको उपचारका लागि अस्पताल बाहिर समेत आपत्कालीन उपचार गर्नुपरेको जानकारी दिए ।


    भूकम्पका कारण ऐतिहासिक संरचना र सार्वजनिक भवनहरूमा समेत क्षति पुगेको छ । सेबु नजिकैको बान्टायन टापुको पुरानो क्याथोलिक चर्चको बेल्फ्री खस्दा भाग्यवश कसैलाई चोट नलागेको प्रत्यक्षदर्शीहरूले बताए । त्यस्तै, स्थानीय टेलिभिजनले सेबु पुल हल्लिँदा मोटरसाइकल यात्रीहरू रेलिङ समातेर ज्यान जोगाइरहेको दृश्य देखाएको छ ।

    अनलाइन व्यापारी जेफोर्ड मारङ्गाले भन्नुभयो, “हामी फुड कोर्टमा थियौँ, अचानक सबैतिर थरथर हल्लियो । मलको छत खस्न सक्छ भन्ने डरले हामी टेबलमुनि लुक्यौँ ।” उहाँका साथी सामान्य घाइते भएका थिए । सेबु प्रान्तीय सरकारले उद्धारमा सहयोग गर्न चिकित्सक र स्वयंसेवकलाई आह्वान गरेको छ । प्रान्तीय उद्धार अधिकारी विल्सन रामोसका अनुसार अँध्यारो र निरन्तर परकम्पले उद्धार कार्यमा थप कठिनाइ ल्याएको छ ।

    फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार हालसम्म ३७९ पटक परकम्प आइसकेका छन् । भूकम्पपछि सेबु र वरपरका टापुहरूमा विद्युत् आपूर्ति अवरुद्ध भए पनि मध्यरातपछि पुनः सञ्चालनमा ल्याइएको छ । बान्टायनमा एक व्यावसायिक भवन र विद्यालय ढलेका छन् भने बोगोस्थित फास्टफुड रेस्टुरेन्टमा ठूलो क्षति पुगेको छ । स्थानीय बासिन्दा एग्नेस मेर्जाले आफ्नो घरको भान्साको टाइल भत्किएको र छिमेकीहरू घरबाट भागेको अनुभव सुनाउँदै भन्नुभयो, “यो मेरो जीवनकै पहिलो ठूलो अनुभव हो । यस्तो लाग्यो कि हामी सबै तलै खस्नेछौँ ।”

    त्यस्तै, टाबोगन सहरका सडकहरूमा करिब पाँच सेन्टिमिटर दरार देखिएको छ । सुरुमा युएसजिएसले ७.० म्याग्निच्युडको भूकम्प भएको बताए पनि पछि ६.९ मा परिमार्जन गरिएको हो । प्यासिफिक सुनामी चेतावनी केन्द्रले भने यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको स्पष्ट पारेको छ । फिलिपिन्स प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा अवस्थित भएकाले यहाँ दैनिकजसो हल्का भूकम्प अनुभव हुने गर्दछ । यद्यपि यसपटकको जस्तो शक्तिशाली र विनाशकारी भूकम्प कहिले र कहाँ आउँछ भन्ने भविष्यवाणी गर्ने प्रविधि अझै उपलब्ध छैन ।

  • गाजामा अनिकाल र कुपोषणका कारण मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४५३ पुग्यो

    गाजामा अनिकाल र कुपोषणका कारण मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४५३ पुग्यो

    १४ असोज, काठमाडौं । गाजा पट्टीमा कुपोषण र अनिकालबाट दिनहु जसो महिला तथा बालबालिकाको मृत्यु भइरहेको जनाइएको छ, अनिकाल र कुपोषणबाट हाल सम्म १५० बालबालिका सहित ४५३ जनाको मृत्यु भएको छ । प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण ९आईपीसी० ले गाजामा अनिकाल घोषणा गरे देखि अहिले सम्म ३५ बालबालिका सहित १७५ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ ।

    गाजा पट्टीका अस्पतालहरूले गम्भीर भोकमरी र कुपोषणबाट पीडित र चरम तनावको अवस्थामा रहेका सबै उमेरका सयौं मानिसहरूको उपचार गरिरहेको जनाएका छन् । चिकित्सा स्रोतहरूले उल्लेख गरे अनुसार १७ हजार बालबालिका गम्भीर कुपोषणबाट पीडित छन् । बिरामीहरूलाई गम्भीर भोकले तनाव र स्मरण शक्तीको ह्रासको उपचार भइरहेको छ । गम्भीर कुपोषणबाट पीडित कयौँ मानिसहरूका लागि अस्पतालहरूमा पर्याप्त वेड र औषधिको अभाव छ ।

    प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा इजरायली नाकाबंदीको परिणामस्वरूप मार्च र जुनको बीचमा पाँच वर्ष मुनिका बालबालिकामा कुपोषण दोब्बर भएको चेतावनी दिएको छ । युएनआरडब्लुएले स्वास्थ्य केन्द्र र चिकित्सा केन्द्रहरूले यस अवधिमा बच्चाहरूको लागि लगभग ७४ हजारमा कुपोषण परीक्षणहरू गरेको तथा विश्वव्यापी तीव्र कुपोषणका लगभग ५ हजार ५०० घटनाहरू र तीव्र कुपोषणका ८०० भन्दा बढी घटनाहरू पहिचान गरेको जनाएको छ ।

  • इन्डोनेसियाका एक हजार अवैध टिन खानी बन्द हुने

    इन्डोनेसियाका एक हजार अवैध टिन खानी बन्द हुने

    १४ असोज, काठमाडौं । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले सोमबार देशको प्रमुख टिन उत्पादन गर्ने क्षेत्र सुमात्रा टापुको बङ्गका बेलितुङ प्रान्तमा करिब एक हजार अवैध टिन खानी बन्द गर्ने आदेश दिएका छन् । गत सेप्टेम्बर–१ मा सुरु गरिएको यो कदमले २०२६ सम्ममा ४५ ट्रिलियन (लगभग २.८ बिलियन अमेरिकी डलर) सम्मको राज्यको घाटा रोक्ने अनुमान गरिएको छ ।

    “बङ्गका बेलितुङबाट हुने टिन उत्पादनको करिब ८० प्रतिशत साना डुङ्गा देखि यात्रु डुङ्गासम्म विभिन्न च्यानल मार्फत विदेशमा तस्करी गरिएको प्राबोवोले बताए । उनले सबै तस्करी मार्गहरू आललाई बन्द गरिएको बताउदै तस्करीको लागी कुनै बाटो नरहेको र डुङ्गाबाट तस्करी गर्न नसक्ने व्यवस्था मिलाएको बताए ।

    अवैध खननलाई रोक्न र राज्यको राजस्वलाई सुदृढ पार्ने आफ्नो प्रशासनको दृढतालाई उल्लेख गदै प्रबोवोले खनिजहरू पहिचान गर्न मद्दत गर्न रसायनशास्त्री भर्ती गर्न भन्सार महानिदेशालयलाई निर्देशन दिएका छन् ।

  • भियतनाममा टाइफुन ’बुलोई’का कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

    भियतनाममा टाइफुन ’बुलोई’का कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

    एजेन्सी
    १४ असोज, काठमाडौं । भियतनाममा टाइफुन बुआलोइका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ, भने १३ जना अझै बेपत्ता छन् । टाइफुनका कारण अन्य ३३ जना घाइते भएको स्थानीय दैनिक अखबार नहान दान (पिपल) ले सोमबार रिपोर्ट गरेको छ । टाइफुनका कारण आएको आँधीले धेरै सार्वजनिक पूर्वाधार, घरहरू, माछा मार्ने डुङ्गालाई क्षति पुर्याएको जनाइएको छ ।

    यसै गरी उत्तरी र मध्य भियतनाममा बिजुली बाढीको प्रभाव पछि कटौती भएको रिपोर्ट गरिएको छ । भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले सोमबार पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै अधिकारीलाई आँधीबेहरी र त्यसपछिको बाढीलाई द्रुत रूपमा सम्बोधन गर्न आग्रह गर्नु भएको छ ।