Category: विश्व

  • अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु

    अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु

    रासस\एएफपी
    १३ असोज, मिचिगन । मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार जनाको मृत्यु र धेरै जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘राष्ट्रिय हिंसाको महामारी’ को दुःखद उदाहरण भनेका छन् । स्थानीय प्रहरीका अनुसार आक्रमणकारीले पहिले आफ्नै गाडी चर्च भवनमा ठोक्काए, त्यसपछि भवनमा आगो लगाउँदै आक्रमणकारी राइफलले अन्धाधुन्ध गोली चलाए । आपत्कालीन कल आएको आठ मिनेटमै प्रहरी पुगेको थियो र पार्किङ क्षेत्रमै आक्रमणकारीलाई मारेको ग्रान्ड ब्लाङ्कका प्रहरी प्रमुख विलियम रेनीले पत्रकार सम्मेलनमा बताए ।


    रेनीका अनुसार सुरुमा दुई मृतक पुष्टि भए पनि, पछि जलेको भग्नावशेषभित्र थप दुई शव भेटिएका छन् । खोज तथा उद्धार कार्य अझै जारी छ । उनले आठ जना घाइते भएको पुष्टि गरे । जसमा एकजनाको अवस्था गम्भीर छ । प्रहरीले आक्रमणकारीको पहिचान ४० वर्षीय थोमस ज्याकब सानफोर्डका रूपमा गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूले उनलाई सो क्षेत्रमै हुर्किएको र सैन्य सेवामा संलग्न भइसकेको व्यक्ति बताएका छन् । आक्रमणपछि चर्च अफ जीसस क्राइस्ट अफ लेटर–डे सेन्ट्स (मोर्मोन चर्च)को अधिकांश भवन खरानी बनेको छ । तस्बिरहरूमा आक्रमणकारीले ट्रक भवनतर्फ चलाएको देखिन्छ, जसको पछाडि दुईवटा अमेरिकी झण्डा झुण्ड्याइएका थिए ।

    एफबिआईका विशेष एजेन्ट रुबेन कोलम्यानले पत्रकार सम्मेलनमा भने, “एफबिआईले अनुसन्धानको नेतृत्व गरिरहेको छ । यसलाई हामी लक्षित हिंसाको कार्यका रूपमा हेरेका छौँ ।” रेनीका अनुसार आक्रमणको समयमा चर्चभित्र सयौँ मानिस उपस्थित थिए, जसले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सङ्केत गरेको छ । राष्ट्रपति ट्रम्पले यस घटनालाई ‘भयानक’ भन्दै ‘संयुक्त राज्य अमेरिकामा इसाईहरूमाथि भएको अर्को लक्षित आक्रमण’ को संज्ञा दिएका छन् । उनले आफ्नो ट्रुथ सोसल पोस्टमार्फत लेखे, “हाम्रो देशमा हिंसाको यो प्रकोप तुरुन्तै अन्त्य हुनुपर्छ ।”

    मोर्मोन चर्चले पनि विज्ञप्ति जारी गर्दै यसलाई ‘हिंसाको दुखद कार्य’ बताएको छ । “पूजास्थलहरू शान्ति, प्रार्थना र सम्बन्धका पुण्य स्थान हुन् । हामी यस घटनाबाट पीडित सबैका लागि शान्ति र चाँडो स्वास्थ्य लाभको प्रार्थना गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । सन् १८३० मा स्थापित मोर्मोन चर्च विश्वभर लाखौँ अनुयायीहरूसहित पश्चिमी अमेरिकी राज्य युटाहमा केन्द्रित छ । यसका अनुयायीहरूले आफूलाई इसाई समुदायको हिस्सा माने पनि, यसको सिद्धान्त मोर्मोनको पुस्तकमा आधारित छ ।

    संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा लामो समयदेखि गम्भीर चुनौती बनेको छ । पछिल्ला हप्ताहरूमा युटाहमा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको हत्या, टेक्सासको सङ्घीय अध्यागमन प्रवर्तन केन्द्रमा गोलीकाण्ड र मिनेसोटाको क्याथोलिक चर्च तथा विद्यालयमा भएको सामूहिक गोलीबारी जस्ता घटनाले सार्वजनिक चिन्ता बढाएको छ । पछिल्लो आक्रमणसँगै राजनीतिक विभाजन झन् गहिरो बनेको छ । राष्ट्रपति ट्रम्पले वामपन्थी समूहहरूलाई लक्षित गर्दै ‘घरेलु आतङ्कवादी’ का रूपमा आरोप लगाएका छन् । त्यसविरुद्ध कडा अभियान सुरु गरेका छन् ।

  • श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कुलका विद्यार्थी रहेको पुष्टि

    श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कुलका विद्यार्थी रहेको पुष्टि

    १३ असोज, कोलम्बो । श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या रेकर्ड गरेको श्रीलङ्काको नेसनल डेंजरस ड्रग्स कन्ट्रोल बोर्ड (एनडीडिसिबी) ले सोमबार जनाएको छ । जसमा कोलम्बो जिल्लामा सबैभन्दा बढी केसहरू दर्ता भएकोे एनडीडिसिबीले जनाएको छ ।
    एनडिडिसिबीले विज्ञप्ति जारी गर्दै कोलम्बो र यसका उपनगरहरूमा कम आय भएका समुदायका बालबालिकाहरू दुर्व्यसनीको विशेष जोखिममा रहेको बताएको छ । गम्पाहा, कुरुनेगला, अनुराधापुरा, गाले, रत्नपुरा र कालुतारासहित क्यान्डी जिल्लाका केही भागहरू पनि उच्च जोखिममा रहेका क्षेत्रका रूपमा पहिचान भएको विज्ञप्तिमा उल्लेख छ ।

    साथीहरूको सङ्गतलाई विद्यार्थीहरूमा लागु औषध प्रयोगको प्रमुख कारणकको रूपमा उद्धृत गरिएको छ । यसै गरी लागु औषध रोकथाम नीतिहरूको कमजोर कार्यान्वयन तनावपूर्ण पारिवारिक वातावरण, उपेक्षा, गरिबी, कुपोषण र समुदायहरूमा लागुऔषधको सहज उपलब्धताले लगायतका कारणले दुव्यसनस् बढेको एनडीडिसिबीले जनाएको छ । यस प्रवृत्तिलाई नियन्त्रण गर्न, एनडीडिसिबीले वातावरणीय तथा मिडिया अभियानहरूसँगै विद्यालय, युवा, परिवार, कार्यस्थल र समुदायमा आधारित पहलहरूसहितका कार्यक्रमहरू सुरु गरिरहेको बताएको छ ।

    परामर्श सेवाहरू विस्तार गरी मध्यम र उच्च जोखिम भएका बच्चाहरूलाई विद्यालय वा व्यावसायिक शिक्षामा फर्कनु अघि एनडीडिसिबीको युवा उपचार केन्द्रमा उपचारका लागि पठाउने व्यवस्था गरेको जनाइको छ । यसैबीच, प्रहरीले स्थानीय मिडियालाई बताए अनुसार यस वर्ष जनवरी ९१ देखि अगस्ट९ ३१ को बीचमा २०६ बच्चाहरूलाई लागुऔषधसँग सम्बन्धित अपराधका लागि हिरासतमा लिइएको थियो। लागुऔषधको दुरुपयोग विरुद्ध लड्न विद्यालयहरूमा १५ हजार ६०० भन्दा बढी सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

  • अमेरिकाको उत्तरी क्यारोलिनामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते

    अमेरिकाको उत्तरी क्यारोलिनामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते

    १२ असोज, साउथपोर्ट । अमेरिकाको ‘नर्थ क्यारोलिना’ राज्यको साउथपोर्ट सहरको वाटरफ्रन्ट बारमा शनिबार राति गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको स्थानीय मिडियाले जनाएका छन् । बन्दुकधारीहरुले साउथपोर्ट याट बेसिनमा शनिबार राती ९ः३० बजे मानिसहरुको भीडमा गोली चलाएको शहरको सार्वजनिक सूचना अधिकारी चिएन केचमले बताए । उनका अनुसार शङ्कास्पद व्यक्तिलाई सोधपुछ गरिएको थियो ।

    साउथपोर्ट प्रहरी प्रमुख टोड कोरिङले घटनाको कारण हाल स्थानीय समुदायलाई कुनै खतरा नभएको आइतबार बताए । यस अघि सामाजिक सञ्जालमा साउथपोर्ट अधिकारीहरूले मानिसहरूलाई यस क्षेत्रबाट टाढा रहन र अनुसन्धान भइरहेको समयमा घरमै बस्न आग्रह गरेका थिए ।

  • भारतमा अभिनेता विजयको र्‍यालीमा भागदौड, ४० जनाको मृत्यु

    भारतमा अभिनेता विजयको र्‍यालीमा भागदौड, ४० जनाको मृत्यु

    १२ असोज, तमिलनाडु । दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्‍यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उहाँका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरवाहीको आरोप लगाइएको छ । शनिबार करिब २७ हजार मानिस विजयलाई हेर्न तमिलनाडु राज्यको करुर जिल्लामा भेला भएका थिए ।

    अपेक्षा गरिएको सङ्ख्याभन्दा झण्डै तीन गुणा बढी भिड आउँदा त्रास फैलियो र घातक दुर्घटना भयो । भारतमा यस्ता भीड दुर्घटनाहरू प्रायः ठूलो जमघट र कमजोर सुरक्षा तयारीका कारण हुने गरेका छन् । यसपटक पनि अपर्याप्त प्रहरी उपस्थिति, रूखमा चढेका केही मानिस दर्शकहरू खस्नु र घन्टौँ लामो पर्खाइले दुर्घटनालाई चर्काएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

    प्रहरीले विजयको पार्टीका वरिष्ठ सदस्यहरू बुसी आनन्द, जी.आर. निर्मल कुमार र भी.पी. मथियाजगनविरुद्ध मुद्दा दर्ता गरेको छ । वरिष्ठ प्रहरी अधिकारी एस। डेभिडसन देवसिरवथमले भने, “मुद्दा दर्ता भइसकेको छ । अनुसन्धानले यसमा संलग्न सबैको पहिचान गर्नेछ ।”वरिष्ठ जिल्ला अधिकारी एम. थाङ्गावेलका अनुसार मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ, जसमा नौ जना बालबालिका छन् । विजयले विज्ञप्ति जारी गर्दै भने, “मेरो हृदयमा परेको पीडा व्यक्त गर्न शब्द छैन । यो अपूरणीय क्षति हो ।”

    उनले प्रत्येक पीडित परिवारलाई २० लाख रुपैयाँ (करिब २२ हजार अमेरिकी डलर) क्षतिपूर्ति दिने घोषणा गरे । सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा विजयले आतङ्क फैलिनुअघि आफ्ना समर्थकलाई पानीको बोतल फ्याँक्दै गरेको देखिएको छ । भीड अनियन्त्रित बनेपछि उनले आफ्नो भाषण रोक्नुपरेको थियो । राज्य प्रहरी प्रमुख जी। वेङ्कटरमनका अनुसार भीड बिहान ११ बजेदेखि जम्मा हुन थालेको थियो तर विजय साँझ ७ः४० मा मात्र कार्यक्रममा पुगे ।
    “मानिसहरूलाई तातो घाममा खाना र पानीको अभावमा घण्टौँ पर्खनु पर्‍यो”, उनले भने ।
    दश हजार मानिस आउने अनुमान भए पनि झण्डै २७ हजार जनाको उपस्थिति भएपछि अवस्था नियन्त्रणबाहिर पुगेको थियो । बचेका १९ वर्षीय बी. कनिष्कले भने, “अचानक भीडले मलाई तल धकेल्यो । म बेहोस भएँ ।” अरू प्रत्यक्षदर्शीहरूले पनि खराब सङ्गठन, लामो पर्खाइ र घटनास्थलमा प्रहरीको अभावले दुर्घटना निम्त्याएको बताए । स्थानीय मिडियाले रूखमा चढेका केही समर्थक तल खसेपछि आतङ्क फैलिएको उल्लेख गरेको छ ।

    भारतमा भीड नियन्त्रणमा कमजोरीका कारण यसअघि पनि ठूला दुर्घटनाहरू भएका छन् । यस वर्ष जनवरीमा उत्तर प्रदेशको धार्मिक मेलामा ३० जनाको मृत्यु भएको थियो । गत वर्ष सोही राज्यमा हिन्दू प्रार्थना सभाका क्रममा १२१ जनाको मृत्यु भएको थियो । यसै वर्ष जुन महिनामा, बेङ्गलुरुमा क्रिकेट उत्सवका क्रममा ११ प्रशंसकले भिडले किचिएर ज्यान गुमाएका थिए । विजयले सन् २०२४ मा आफ्नै पार्टी स्थापना गरेका थिए । सन् २०२६ मा हुने तमिलनाडु राज्य चुनावलाई लक्षित गर्दै उनले आयोजना गर्ने प्रत्येक कार्यक्रममा ठूलो भीड जुट्ने गरेको छ ।

  • विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

    विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

    एजेन्सी
    ११ असोज, मस्को । रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस महिनाभरि विषाक्त मदिरा सेवनका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । क्षेत्रीय सरकारको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, तीमध्ये आठ जनाको मृत्यु प्रयोगशालामा पुष्टि भएको ‘मिथेनोल विषाक्तता’ का कारण भएको देखिएको छ । यस घटनामा संलग्न रहेको आशङ्कामा एक पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ र मुद्दा दर्ता गरी आवश्यक कानुनी अनुसन्धान अघि बढाइएको छ ।

    रूसमा सस्तो मूल्यमा पाइने घरेलु र अस्वीकृत मदिरा सेवनका कारण यस प्रकारका घटनाहरू समयसमयमा दोहोरिइरहेका छन् । विशेषगरी ग्रामीण र आर्थिक रूपमा कमजोर क्षेत्रहरूमा कानुनी मदिरा किन्न सक्ने स्थिति नहुने कारणले मानिसहरू विकल्पको रूपमा यस्ता पदार्थ सेवन गर्न बाध्य हुने गरेका छन् । यसअघि सन् २०२३ मा नक्कली साइडर सेवनबाट ५० जनाको मृत्यु भएको थियो भने, सन् २०१६ मा साइबेरियाको इरकुत्स्कमा मिथेनोल मिसिएको ‘बाथ ऑयल’ सेवनबाट ६० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए ।

    यस्ता घटनाहरूलाई ध्यानमा राख्दै सरकारद्वारा सम्बन्धित कानुन कडा पारिएको भए पनि विषाक्त र अवैध मदिराको पहुँच अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन, जुन सार्वजनिक स्वास्थ्यका लागि चिन्ताजनक विषय बनेको छ ।

  • युरोपेली सङ्घले रुसको ड्रोन हमला रोक्न प्रविधिमा आधारित सुरक्षा योजना बनाउँदै

    युरोपेली सङ्घले रुसको ड्रोन हमला रोक्न प्रविधिमा आधारित सुरक्षा योजना बनाउँदै

    एजेन्सी
    ११ असोज, काठमाडौं । युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले शुक्रबारदेखि रूसबाट आउने मानवरहित हवाई यान (ड्रोन) का सम्भावित आक्रमणलाई रोक्नका लागि ड्रोन प्रतिरोध प्रणाली निर्माणसम्बन्धी प्रारम्भिक छलफल सुरु गरेका छन् । हालसालै डेनमार्कमा केही विमानस्थलहरुमा अज्ञात ड्रोनका कारण अवरोध भएको घटना तथा पोल्यान्डमा नाटोले रूसी ड्रोनहरू खसालेको घटनाले युरोपको आकाशीय सुरक्षा आवश्यकताको महत्त्वलाई पुनः उजागर गरेको छ ।

    युरोपेली सङ्घका अध्यक्ष उर्सुला फन डर लायनले यस महिनाको सुरुमा दिएको सम्बोधनमा साझा प्रयासमा निर्माण गरिने यस्तो प्रणालीले युरोपेली भेउमा तत्काल प्रतिक्रिया दिन सक्ने क्षमता विकास गर्नुपर्ने बताए । युरोपेली सङ्घका रक्षा आयुक्त आन्द्रियुस कुबिलियसले करिब १० वटा सदस्य राष्ट्रका रक्षा अधिकारीहरूसँग भिडियो सम्मेलनमार्फत यस परियोजनाको आवश्यकताबारे थप छलफल गरेका छन् । छलफलमा पूर्वी सीमासँग जोडिएका देशहरू मुख्य सहभागी रहेको साथै युक्रेनलाई पनि समावेश गरिएको छ, जसले यस विषयमा आफ्ना अनुभव र प्रविधि उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

    यो परियोजनाको प्रारम्भिक चरणमा पूर्वी सीमामा ड्रोन पहिचान गर्ने संवेदनशील उपकरणहरू थपिने योजना रहेको छ भने थप समय लाग्ने भए तापनि एकीकृत ड्रोन खसाल्ने प्रणाली विकास गर्ने प्रयास पनि भइरहेको छ । नाटोले पोल्यान्डमा रूसी ड्रोन आक्रमणमा महँगा लडाकु विमान र क्षेप्यास्त्र प्रयोग गर्नु परेको हुँदा, यस्ता सस्तो र प्रभावकारी प्रणाली विकास गर्नु अत्यन्त आवश्यक रहेको अधिकारीहरूले बताएका छन् ।

    युरोपेली सङ्घले यो परियोजनालाई आफ्नो रक्षा क्षमता सुदृढीकरणको लागि महत्वपूर्ण पहलको रूपमा लिएको छ । आगामी हप्ता कोपेनहेगनमा हुने शिखर सम्मेलनमा यस विषयमा थप विचार–विमर्श हुने छ ।

  • लद्दाखमा जेन-जीको हिंसात्मक झडप, कडा सुरक्षा प्रतिबन्ध

    लद्दाखमा जेन-जीको हिंसात्मक झडप, कडा सुरक्षा प्रतिबन्ध

    १० असोज, लद्दाख । भारत सरकारबाट बढी स्वायत्तताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि चार जनाको मृत्यु र दर्जनौँ घाइते भएको एक दिनमै भारतीय अधिकारीहरूले दुर्गम लद्दाख क्षेत्रका दुई मुख्य जिल्लामा सुरक्षा प्रतिबन्ध लगाएका छन् । अधिकारीहरूले लेह र कारगिलमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएका छन् । बिहीबार सडकमा सयौँ प्रहरी र अर्धसैनिक परिचालन गरिँदा बजार र व्यवसाय बन्द भएका छन् ।

    उच्च उचाइको सहर लेहमै पदयात्रा रोकेपछि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका थिए । त्यसपछि प्रहरीले गोली, अश्रुग्याँस र लाठी प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको जनाइएको छ । प्रदर्शनकारीहरूले सरकारी भवन र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को स्थानीय कार्यालयमा समेत आगजनी गरेका थिए ।

    सन् २०१९ मा भारतले लद्दाखलाई जम्मु–काश्मीरबाट अलग गर्दै राज्यको दर्जा र अर्धस्वायत्तता खोसेपछि यस क्षेत्रमा राजनीतिक अधिकार र भूमि संरक्षणका माग चर्किएका छन् । प्रदर्शन हालै भोक हडतालमा सहभागी दुई जनाको स्वास्थ्य बिग्रिएपछि सुरु भएको हो । भारतको गृह मन्त्रालयले प्रहरीले ‘आत्मरक्षा’ मा गोली चलाएको बताउँदै शीर्ष जलवायु कार्यकर्ता सोनम वाङ्चुकको ‘उत्तेजक भाषण’ लाई हिंसाका लागि दोष दिएको छ । वाङ्चुकले त्यसपछि भोक हडताल फिर्ता लिएका छन् ।

    यो हिंसा दशकौँयताकै सबैभन्दा ठूलो भएको बताइएको छ, जसले स्थानीय बासिन्दाको निराशालाई उजागर गरेको छ । सुरुमा सन् २०१९ को परिवर्तनलाई समर्थन गरेका उनीहरू अहिले भूमि कब्जा, व्यापार घाटा र नाजुक इकोसिस्टममा क्षतिको डरले असन्तुष्ट भएका छन् । लद्दाख प्रतिनिधिहरूले भारत सरकारसँग पटक–पटक वार्ता गरे पनि परिणाम प्राप्त भएको छैन । अर्को बैठक अक्टोबर ६ मा तोकिएको छ । यस क्षेत्र जलवायु परिवर्तनबाट पनि गम्भीर रूपमा प्रभावित छ । हिमनदीहरू तीव्र गतिमा पग्लिँदै गएर लाखौँ मानिसको पानी आपूर्ति सङ्कटमा पारेको छ । चीनसँगको सीमा विवाद र सन् २०२० यताका सैन्य गतिविधिले प्रदूषण बढाई पग्लनलाई अझ गति दिएको छ ।

  • नेतान्याहूको विमान अनौठो हवाइ मार्ग प्रयोग गर्दै न्यूयोर्क प्रस्थान

    नेतान्याहूको विमान अनौठो हवाइ मार्ग प्रयोग गर्दै न्यूयोर्क प्रस्थान

    एजेन्सी
    १० असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने क्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सवार विमानले अनौठो हवाइ मार्गको प्रयोग गरेको बताइएको छ । विमान विभिन्न युरोपेली मुलुकहरूको हवाइ मार्ग हुँदै बिहीबार न्यूयोर्कका लागि प्रस्थान गरेको थियो। पछिल्लो समय फ्रान्ससहितका केही युरोपेली मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका छन् । नेतन्याहुले आफ्नो उडानका लागि अनौठो मार्ग तय गर्नुलाई प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणासँग सम्बन्धित सन्दर्भसँग जोडेर हेरिएको अनुमान गरिएको छ ।

    फ्रान्सले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न इजरायललाई अनुमति दिएको भएपनि उडान ‘ट्रयाकिङ् डाटा’ले नेतान्याहूको विमानले दक्षिणी बाटो लिएको देखाएको एएफपीसँग कुरा गर्ने एक फ्रान्सेली कूटनीतिक स्रोतले बताएकोे छ । विमानले सुरूमा ग्रीस र इटालीको आकास भएर एट्लान्टिक पार गर्नु अघि जिब्राल्टरको हवाइ मार्ग हुँदै दक्षिणतिर मोडिएको थियो । बेलायत, फ्रान्स र पोर्चुगलले यस हप्ता प्यालेस्टाइन राज्यलाई मान्यता दिने देशहरूको श्रृङ्खलामा आफुलाई सामेल गराएका थिए । यो कदमको प्रधानमन्त्री नेतान्याहूले कडा विरोध गर्नुभएको थियो । आयरल्याण्ड र स्पेनले अस अघि मे महिनामा नै प्यालेस्टाइनलाई एक स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका थिए ।

    केही इजरायली सञ्चारमाध्यमले नेतान्याहूको विमानले रोम सम्मेलनमा प्यालेस्टाइनलाई मान्यता दिने सहमति गर्ने प्रस्तावमा हस्ताक्षर गर्ने देशहरूको मार्ग प्रयोग नगर्ने उद्देश्य राखेको बताएका छन् । उनीहरूले आपतकालीन अवतरणको मामलामा अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गरेको गिरफ्तारी कानुन प्रयोग गर्न सक्ने सम्भावनाप्रति नेतन्याहुले आफुलाई सजग बनाएको हुनसक्ने अनुमान गरिएको केही इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

    गत नोभेम्बरमा आइसिसीले नेतन्याहू र उनका पूर्व रक्षामन्त्री योभ ग्यालान्टविरुद्ध गाजामा इजरायलको सैन्य आक्रमणका क्रममा भएको कथित युद्ध अपराधको आरोपमा पुर्जी जारी गरेको थियो। स्पेनले गत हप्ता आइसिसीको अनुसन्धानलाई समर्थन गर्ने घोषणा गरेको थियो र गाजामा कथित मानवअधिकार उल्लङ्घनको छानबिन गर्न एक टोली गठन गरेको थियो। नेतान्याहुले शुक्रबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले आगामी साता ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

  • सुपर टाइफुन रागासाले ताइवानमा ताल फुट्दा १४ को मृत्यु

    सुपर टाइफुन रागासाले ताइवानमा ताल फुट्दा १४ को मृत्यु

    एजेन्सी
    ९ असोज, सुपर टाइफुन रागासाले ताइवानमा दशकौँ पुरानो ताल फुट्दा कम्तीमा १४ जनाको ज्यान जानुका साथै १८ जना घाइते भएका छन् । आँधी दक्षिण चीनतर्फ प्रवेश गर्दा बुधबार हङकङ भीषण हावा, मुसलधारे वर्षा र उच्च समुद्री लहरले प्रभावित भयो । हङकङमा धेरै ठाउँमा रूख ढले, बाढी आयो र एक उच्चस्तरीय होटलको काँचको ढोका फुटेर लबीमा पानी पस्यो ।

    सहर अझै आँधीबेहरी–स्तरको हावाबाट प्रभावित हुने पूर्वानुमान हङकङ अब्जर्भेटरले जनाएको छ । तटीय क्षेत्रमा पानी सामान्य स्तरभन्दा तीन मिटरभन्दा माथि पुगेको छ । मकाउको क्यासिनो क्षेत्रमा पनि व्यापक बाढी देखिएपछि केही क्षेत्रमा बिजुली आपूर्ति काटिएको छ ।

    उत्तरी फिलिपिन्समा रागासाले दुई जनाको मृत्यु भइसकेको छ । चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले टाइफुन गुआङडोङ प्रान्तको झुहाई र झानजियाङबीच बुधबार दिउँसो अवतरण गर्ने जनाएको छ । चीनका दक्षिणी कम्तीमा १० सहरमा विद्यालय र व्यवसाय बन्द गरिएका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । याङजियाङ सहरमा सडकहरू खाली देखिए भने रेल सेवा स्थगित गरिएको छ ।

    सामाजिक सञ्जालमा प्रमाणित तस्बिरहरू अनुसार धेरै जिल्लामा बाढी आएको छ । ओसन पार्क नजिकैको होटलमा आँधीले काँच फोड्दा पानी पसेको छ । पैदल पुलको टुप्पो भाँच्चिएको र अग्ला भवनहरू हावाले हल्लिएका थिए । पचास अस्थायी आश्रयमा सात सय ६० जनाभन्दा बढी शरण लिएका छन् । रेल सेवा खुला खण्डमा बन्द गरिएको छ भने भूमिगत खण्डमा सीमित सञ्चालन भइरहेको छ । विमानस्थलमा सयौँ उडान रद्द भएका छन्, कार्गो उडानहरू मात्रै सञ्चालनमा छन् ।

    मङ्गलबार चाई वान जिल्लामा छाल हेरिरहेका पाँच वर्षीय बालक र उनकी आमा समुद्रमा खसेपछि गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । उनीहरूलाई बचाउन दौडिएका ४० वर्षीय बुबा पनि अस्पतालमा भर्ना भएका छन् । गभर्नर र अधिकारीहरूले भारी वर्षाले थप क्षति गर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

  • अमेरिकामा नयाँ घर बिक्री दर सन् २०२२ पछि कै उच्च

    अमेरिकामा नयाँ घर बिक्री दर सन् २०२२ पछि कै उच्च

    एजेन्सी
    ९ असोज, न्यूयोर्क । अमेरिकामा नयाँ घरहरूको बिक्री दर अगस्टमा सन् २०२२ को शुरुवातपछि सबैभन्दा उच्च विन्दुमा पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । धितो दरहरू हटाइएसँगै निर्माणकर्ताहरूले खरीदकर्ताहरूलाई लोभ्याउन प्रोत्साहन प्रस्ताव गरेका छन्। वाणिज्य विभागको तथ्याङ्क अनुसार नयाँ घरहरूको बिक्री अघिल्लो महिनाको तुलनामा २०.५ प्रतिशतले बढेर मौसमी रूपमा समायोजित वार्षिक दरमा आठ लाख अमेरिकी डलर पुगेको छ।

    यो दर ब्रिफिङ डट कमको सर्वसम्मत पूर्वानुमानले अपेक्षा गरेको छ लाख ५० हजारभन्दा माथि पुगेको थियो। हालैका वर्षहरूमा विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था मानिने अमेरिकामा खर्च गर्न सक्ने दरमा आएको कमीले घरजग्गा खरिद्बिक्रीलाई ह्वात्तै तल झारेको छ । “खरीदकर्ताहरूले कम धितो दर र निर्माणकर्ताहरूबाट प्रोत्साहनका लागि आ प्रतिक्रिया दिइरहेका छन्,“ नेवी फेडरल क्रेडिट युनियनका प्रमुख अर्थशास्त्री हेदर लङले भने ।


    “उनीहरूले नयाँ घरहरूको मूल्य धेरै देखिरहेका छन् र बजारमा बिक्रीको लागि नयाँ घरहरूको असामान्य रूपमा उच्च कारोबारको फाइदा लिइरहेका छन्,“ उहाँले सामाजिक सञ्जालमा जारी एक सन्देशमा भने । बेचिएका नयाँ घरहरूको औसत मूल्य चार लाख १३ हजार ५०० अमेरिकी डलर कायम भएको र यो जुलाईको स्तरभन्दा ४.७ प्रतिशत बढी हो।

    लङले भन्नुभयो, “धेरै अमेरिकीहरू लागतको दबाब कम हुने अवसरलाई पर्खिरहेका छन्।” गत हप्ता, अमेरिकी केन्द्रीय बैङ्कले सन् २०२५ मा पहिलो पटक ब्याजदर कटौती गर्दै प्रमुख कर्जा दरलाइ २५ आधार बिन्दुले घटाएको थियो र यो वर्ष थप कटौतीको सङ्केत गरेको थियो । “घर निर्माणकर्ताहरूले बिक्रीलाई प्रोत्साहित गर्न मूल्य कटौती र अन्य प्रोत्साहनहरू प्रस्ताव गरिरहेका छन्,” अक्सफोर्ड इकोनोमिक्सका प्रमुख अर्थशास्त्री न्यान्सी भ्यान्डेन हाउटेनले भने ।

    उनले अगाडि भने, “केही निर्माणकर्ताहरूले ती प्रोत्साहनहरूमा कटौती गर्ने सङ्केतहरू छन् किनकि नाफाको सीमा घटाइएको छ।” कतिपय विश्लेषकहरूले नयाँ घर खरिदबिक्री अस्थिर भएको र समग्र बजारको सानो आकारको लागि लेखाङ्कन जारी रहेको चेतावनी दिएका छन्।

  • अष्ट्रेलियामा ह्वाट्सएप, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्म प्रतिबन्ध हुँदै

    अष्ट्रेलियामा ह्वाट्सएप, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्म प्रतिबन्ध हुँदै

    एजेन्सी
    ९ असोज, काठमाडौं । अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राख्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ । यस अन्तर्गत अब ह्वाट्सएप, रेडिट, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्महरू पनि प्रतिबन्धको सूचीमा पर्न सक्ने सम्भावना देखिएको छ । यसअघि नै फेसबुक, स्न्यापच्याट, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालहरूमा बालबालिकालाई प्रतिबन्ध लगाइएको छ ।

    अष्ट्रेलियाको ई–सुरक्षा आयोगका प्रमुख जुली इनम्यान ग्रान्टले थप १६ कम्पनीहरूलाई पत्र पठाई आफ्नो सेवा प्रतिबन्धको दायरामा पर्छ कि पर्दैन भन्ने ‘आत्म–मूल्याङ्कन’ गर्न निर्देशन दिए । नयाँ सूचिमा पिन्टरेस्ट, लेगो प्ले, किक, स्टिमजस्ता सेवा प्रदायकहरू पनि परेका छन् । यी कम्पनीहरूले यदि आफ्नो सेवा बालबालिकालाई सुरक्षित रहेको दाबी गर्न चाहन्छन् भने त्यसको प्रमाणसहितको निवेदन दिनुपर्ने हुन्छ ।

    इनम्यान ग्रान्टले भने, केही सेवाहरू स्पष्ट रूपमा प्रतिबन्धको दायरामा पर्छन्, तर हामी सबै कम्पनीलाई न्यायपूर्ण प्रक्रिया दिनेछौं । सबै पक्षलाई सुनिनेछ ।”
    नियामक निकायले सुरुवाती चरणमा सबैभन्दा बढी प्रयोगकर्ताहरू भएका प्लेटफर्महरूमा ध्यान केन्द्रित गर्ने बताएको छ, जहाँ बालबालिकामाथि हानिको जोखिम पनि बढी हुने गर्छ । यद्यपि अष्ट्रेलिया इन्टरनेट प्रयोगमा बालबालिकाको सुरक्षाका लागि कानुनी पहलमा अगाडि देखिए पनि हालको कानुन कार्यान्वयन कसरी गर्ने भन्नेमा अस्पष्टता देखिएको छ । यसले विज्ञहरूमा यो कानुन व्यवहारमा लागू गर्न गाह्रो हुने भन्दै चिन्ता उत्पन्न गराएको छ ।

    यदि कुनै कम्पनीले नियमको उल्लङ्घन ग¥यो भने, ई–सुरक्षा आयोगले ती कम्पनीलाई चार करोड ९५ लाख अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्नेछ ।
    कैयौं सामाजिक सञ्जाल कम्पनीहरूले भने यो कानुनलाई ‘अस्पष्ट’ र ‘अव्यवस्थित’ भनेर आलोचना गरेका छन् । कसरी प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने भन्ने विषयमा सरकार अझै स्पष्ट छैन । सरकारको निर्देशनमा गरिएको एउटा स्वतन्त्र अध्ययनले उमेर प्रमाणीकरण गोप्य, प्रभावकारी र सरल रूपमा गर्न सकिने देखाए तापनि एउटै उपाय सबै प्लेटफर्ममा लागू गर्न नसकिने उल्लेख गरिएको छ ।


    बालबालिकाको सुरक्षाका लागि अन्य कडा नियम ई–सुरक्षा आयोगले यसै वर्षदेखि केही नयाँ नियमहरू लागू गर्दैछ, जसले ‘कानुनी तर हानिकारक’ सामग्रीहरूबाट बालबालिकालाई जोगाउने प्रयास गरिनेछ । यसै सन्दर्भमा, रोब्लक्सले अष्ट्रेलियामा बालबालिकालाई अनलाइन दुव्र्यवहारबाट जोगाउन केही कडाइ अपनाउने निर्णय गरेको छ ।

  • सिङ्गापुरको मुद्रास्फीति दरमा व्यापक कमी

    सिङ्गापुरको मुद्रास्फीति दरमा व्यापक कमी

    ८ असोज, काठमाडौं । सिङ्गापुरमा वार्षिक आधारमा मापन हुने मूल्य वृद्धि (मुद्रास्फीति) दर अगस्ट महिनामा ०.३ प्रतिशतमा झरेको छ, जुन जुलाई महिनाको ०.५ प्रतिशतभन्दा कम हो । यो तथ्य सरकारी तथ्याङ्कले मङ्गलबार सार्वजनिक गरेको हो । व्यापार तथा उद्योग मन्त्रालय र सिङ्गापुरको मौद्रिक प्राधिकरणले संयुक्त विज्ञप्तिमा सेवासम्बन्धी मूल्य वृद्धिमा भएको कमीले कुल मूल्य वृद्धिलाई कम गरेको बताएको छ ।

    महिनाका आधारमा मूल्य सूचकाङ्कमा ०.१ प्रतिशतको वृद्धि देखिएको छ । यस सूचकाङ्कले आवास र निजी यातायात खर्चलाई बाहिर राखेर उपभोक्तामाझ मागमा आधारित मूल्य वृद्धिलाई मापन गर्छ । अगस्ट महिनामा वार्षिक आधारमा यो ०.५ प्रतिशत पुगेको छ, जुन जुलाईको ०.६ प्रतिशतभन्दा कम हो । विज्ञप्तिमा मूल मूल्य वृद्धि घट्नुका साथै आवाससम्बन्धी मूल्य वृद्धि पनि घटेको उल्लेख गरिएको छ ।

  • विश्वको आर्थिक वृद्धिदर निरन्तर घट्ने प्रक्षेपण

    विश्वको आर्थिक वृद्धिदर निरन्तर घट्ने प्रक्षेपण

    ८ असोज, काठमाडौं । आर्थिक सहयोग तथा विकास संगठन (ओईसिडी) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार, विश्वको आर्थिक वृद्धिदर क्रमशः घट्दै जाने प्रक्षेपण गरिएको छ । सन् २०२४ मा ३.३ प्रतिशत रहेको वृद्धिदर सन् २०२५ मा ३.२ प्रतिशत र सन् २०२६ मा झनै घटेर २.९ प्रतिशतमा पुग्ने अनुमान छ । यस गिरावटको मुख्य कारणहरूमा अग्रिम व्यापार आपूर्ति प्रणालीको अन्त्य, भन्सार दरमा वृद्धि र नीतिगत अनिश्चितता रहेका छन्, जसले लगानी र अन्तर्राष्ट्रिय व्यापारलाई कमजोर बनाएको ओईसिडीको भनाइ छ ।


    यद्यपि दीर्घकालीन अनुमान कमजोर देखिए पनि, सन् २०२५ को पहिलो छ महिनामा केही राष्ट्रहरूमा, विशेषतः उदाउँदो अर्थतन्त्रहरूमा, अपेक्षाभन्दा मजबुत आर्थिक गति देखिएको छ । व्यापारिक कम्पनीहरूले भन्सार बढ्नुअघि सामान आपूर्ति तीव्र बनाएकाले उत्पादन र व्यापारमा अस्थायी वृद्धि भएको हो ।
    यसैबीच, संयुक्त राज्यले अधिकांश व्यापार साझेदारहरूमाथि भन्सार दर तीव्र रूपमा बढाएको छ ।

    ओईसिडीले सन् २०२५ को अन्त्यसम्ममा अमेरिकी भन्सार दर १९.५ प्रतिशत पुगेको बताएको छ, जुन सन् १९३३ पछि कै सबैभन्दा उच्च हो । प्रतिवेदनमा भविष्यमा आर्थिक वृद्धिमा थप जोखिमहरू रहन सक्ने भनिएको छ, जसमा भन्सार दरको फेरि बढोत्तरी, मूल्यवृद्धिको चाप, बजेटीय असन्तुलन र वित्तीय बजारको अस्थिरता प्रमुख हुन् । संयुक्त राज्यको आर्थिक वृद्धिदर सन् २०२६ सम्ममा १.५ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जहाँ प्रविधिमा लगानी बढे पनि भन्सार र आप्रवासन नीतिका कारण समग्र वृद्धिमा अवरोध देखिएको छ ।

    युरोपेली क्षेत्रमा पनि आर्थिक गति सुस्त हुने देखिएको छ । सन् २०२५ मा १.२ प्रतिशत र सन् २०२६ मा १.० प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ । सहज कर्जा उपलब्धताले केही राहत दिए पनि व्यापारिक अवरोध र भू–राजनीतिक जोखिमले प्रभाव पार्नेछ । ओईसिडीले अन्त्यमा जीवनस्तरमा सुधार र नयाँ प्रविधिको प्रभावकारी उपयोग गर्नका लागि गहिरो संरचनात्मक सुधारहरू अनिवार्य रहेको जोड दिएको छ ।

  • संयुक्त राष्ट्र महासभा : नेताहरूको सहभागिता र प्रमुख एजेन्डा

    संयुक्त राष्ट्र महासभा : नेताहरूको सहभागिता र प्रमुख एजेन्डा

    एजेन्सी
    ८ असोज, काठमाडौं । विश्व नेताहरू यस हप्ता संयुक्त राष्ट्र महासभाको ८०औँ सत्रका लागि न्युयोर्कमा भेला भएका छन् । त्यहाँ गाजा र युक्रेन द्वन्द्व प्रमुख छलफलको विषय बन्ने अपेक्षा गरिएको छ । म्यानहट्टनस्थित संयुक्त राष्ट्र मुख्यालयमा मङ्गलबारदेखि सुरु भएको उच्चस्तरीय सामान्य बहससँगै वार्षिक सभा सेप्टेम्बर ९ मा आधिकारिक रूपमा प्रारम्भ भएको हो । परम्पराअनुसार ब्राजिलले पहिलो वक्ताका रूपमा बोल्ने गर्दछ, त्यसपछि आयोजक राष्ट्र अमेरिकाले सम्बोधन गर्छ । यो परम्परा सन् १९५५ देखि कायम छ ।

    यस पटकको महासभा बढ्दो अन्तर्राष्ट्रिय तनावबीच आयोजना भएको हो । गाजामा इजरायलको सैन्य अभियान र युक्रेनमा रुसको युद्ध छलफल र कूटनीतिक भेटवार्तामा प्रमुख हुने देखिएको छ । फ्रान्स र साउदी अरेबियाले सोमबार प्यालेस्टिनी राज्यको मान्यताका लागि बैठक आयोजना गरेका थिए । अमेरिकी भिसा नपाएका प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले भिडियोमार्फत सम्बोधन गर्नुहुनेछ भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार बोल्नुहुनेछ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की न्युयोर्क आइपुगेका छन् । उनले सामान्य बहस र द्विपक्षीय बैठक दुवैमा भाग लिनेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रथम महिलासहित मुख्य सम्बोधन गर्ने र विभिन्न राष्ट्र प्रमुखहरूसँग बहुपक्षीय छलफल गर्ने कार्यक्रम छ । यसपटक धेरै प्रमुख शक्तिहरूका शीर्ष नेताहरू उपस्थित छैनन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सट्टा विदेशमन्त्री सर्गेई लाभरोभले प्रतिनिधित्व गर्नेछन् । चीनको नेतृत्व प्रधानमन्त्री ली किआङले गर्नेछन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्थानमा विदेशमन्त्री एस जयशङ्करले प्रतिनिधित्व गर्नेछन् ।


    जयशङ्करले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग व्यापार, रक्षा, ऊर्जा र खनिज सहयोगबारे छलफल गरेका छन् । उनले युरोपेली युनियन (इयु) का विदेशमन्त्री र अमेरिकाका राजदूत सर्जियो गोरसँग पनि भेटवार्ता गरेका छन् । विशेषतः सिरियाका राष्ट्रपति अहमद अल–साराले सन् १९६७ पछि पहिलो पटक महासभामा सम्बोधन गर्नेछन् । इरानी राष्ट्रपति मसुद पेजेस्कियान र कतारी अमिर शेख तमिम बिन हमद अल–थानी पनि सहभागी हुनेछन् । यस वर्षको विषयवस्तु ‘एकसाथ राम्रोः शान्ति, विकास र मानव अधिकारका लागि ८० वर्ष र सोभन्दा बढी’ रहेको छ ।

    महासभा अध्यक्ष एनालेना बारबकले यसलाई अन्तर्राष्ट्रिय सहयोगलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा प्रस्तुत गरिन् । सन् १९४५ मा स्थापनापछि संयुक्त राष्ट्रसङ्घले ल्याएको उपलब्धि सुरक्षित गर्ने, संस्थालाई भविष्यअनुकूल बनाउने र विश्वव्यापी सङ्कटबीच सहयोग बढाउने महासभाको प्रमुख लक्ष्य रहेको छ ।

  • इरानमा मृत्युदण्डको सङ्ख्या वृद्धि, अन्तर्राष्ट्रिय आलोचना

    इरानमा मृत्युदण्डको सङ्ख्या वृद्धि, अन्तर्राष्ट्रिय आलोचना

    ८ असोज, काठमाडौं । इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक हजार जनालाई मृत्युदण्ड दिइएको गैरसरकारी संस्था इरान मानवअधिकार (आइएचआर) ले जानकारी गराएको छ । उक्त संस्थाले यो कार्यलाई ‘भय सिर्जना गर्ने उद्देश्यले गरिँदै आएको सामूहिक मृत्युदण्ड अभियान’ को रूपमा चित्रण गरेको छ । गत सातामात्रै ६४ जनालाई फाँसी दिइएको जनाएको छ, जसको औसत दर दैनिक नौभन्दा बढी रहेको छ ।

    यो सङ्ख्या सन् २००८ यता सबैभन्दा उच्च हो, जबदेखि संस्थाले मृत्युदण्डसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न थालेको हो । मानवअधिकारकर्मीहरूको भनाइमा, पछिल्ला वर्षहरूमा देखा परेका विरोध–प्रदर्शन तथा इजरायलसँगको द्वन्द्वपछि इरानले मृत्युदण्डलाई अझ तीव्र रूपमा प्रयोग गर्दै आएको देखिएको छ ।


    इरान मानव अधिकारका निर्देशक महमूद अमीरी–मोगहद्दमले भने, “अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक प्रतिक्रिया नआएको अवस्थामा, इरानमा मृत्युदण्ड दिनप्रतिदिन विस्तार भइरहेको देखिन्छ । यो अवस्था मानव अधिकारका दृष्टिले गम्भीर चिन्ताको विषय हो ।” संस्थाले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय निकायलाई मृत्युदण्डको यस प्रवृत्तिलाई मानवताविरुद्धको अपराध को रूपमा गम्भीरतापूर्वक हेर्न आग्रह गरेको छ । इरानी संस्थाका अनुसार झण्डै ५० प्रतिशत मृत्युदण्ड मादक पदार्थसम्बन्धी गैर–घातक अपराधमा दिइएका छन् ।

    यस वर्ष मृत्युदण्ड पाउनेमध्ये २८ जना महिला रहेका छन्, जसमध्ये धेरैजसोले आफूलाई हिंसा गर्ने वा जबर्जस्ती विवाह गरिएका श्रीमानको हत्या गरेको आरोपमा सजाय भोगिरहेका थिए । मानवअधिकार समूह एम्नेस्टी इन्टरनेशनललगायत संस्थाहरूका अनुसार, इरान विश्वको दोस्रो सबैभन्दा बढी मृत्युदण्ड दिने देश हो । एम्नेस्टीले हालै प्रकाशित प्रतिवेदनमा इरानमा मृत्युदण्डको प्रयोग ‘डर लाग्दो अवस्थामा पुगेको’ भन्दै निष्पक्ष सुनुवाइविना थुप्रै नागरिक मृत्युदण्डको जोखिममा रहेको उल्लेख गरेको छ ।

  • सुपर टाइफुन रागासा : फिलिपिन्समा अवतरण, चीनमा ४ लाखलाई सार्ने तयारी

    सुपर टाइफुन रागासा : फिलिपिन्समा अवतरण, चीनमा ४ लाखलाई सार्ने तयारी

    एजेन्सी
    ७ असोज, मनिला । सुपर टाइफुन रागासा फिलिपिन्सको उत्तरमा अवतरण गरेपछि चीनको सेन्जेन सहरले करिब चार लाख मानिसलाई निकाल्ने तयारी थालेको छ । फिलिपिन्स मौसम सेवाका अनुसार दिउँसो ३ बजे टाइफुनले अत्यन्त कम जनसङ्ख्या भएको बाबुयान शृङ्खलाको कालायन टापुमा जमिन छोयो । दिउँसो २ बजेसम्म आँधीको केन्द्रमा दुई सय १५ किलोमिटर प्रतिघण्टा स्थिर हावा र दुई सय ९५ किलोमिटरसम्मका झट्कासहितको हावाको रिपोर्ट गरिएको थियो ।

    “तीव्र हावाले झ्यालमा ठोक्किँदा स्विच अन भएको मेसिनजस्तो लाग्यो”, उत्तरी कागायन प्रान्तको अपार्रीका बासिन्दा तिर्सो तुगागाओले भने । प्रान्तीय विपद् प्रमुख रुएली राप्सिङले आफ्ना टोलीहरू ‘सबैभन्दा खराब’ अवस्थाका लागि तयारीमा रहेको बताए । मनिला र अन्य २९ प्रान्तमा विद्यालय तथा सरकारी कार्यालय बन्द भएका छन् । देशभर १० हजारभन्दा बढी मानिसलाई निकासी गरिएको छ ।

    चीनतर्फ सेन्जेनमा ठूलो स्तरको सारसार गर्ने तयारी भइरहेको छ । तटीय र तल्लो क्षेत्रका बासिन्दालाई आइतबार रातिदेखि नै सार्ने योजना बनेको हो । गुआङ्डोङ प्रान्तका अन्य सहरहरूमा पनि कक्षा तथा कामकाज रोकिएको छ भने सार्वजनिक यातायात स्थगित गरिएको छ । हङकङस्थित क्याथे प्यासिफिकले पाँच सयभन्दा बढी उडानहरू रद्द गर्ने घोषणा गरेको छ । मङ्गलबार साँझ ६ बजेदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा यातायात अवरुद्ध हुने र बिहीबार दिउँसोतिर मात्र पुनः सुरु हुने बताइएको छ ।

    ताइवानको मौसम सेवाले देशको पूर्वी भागमा ‘अत्यन्त मुसलधारे वर्षा’ हुने चेतावनी दिएको छ । करिब तीन सय २० किलोमिटर फैलिएको आँधीको दायरा अहिले नै टाढा भागसम्म असर गरिरहेको बताइएको छ । पिङटुङ नजिकैको पहाडी क्षेत्रमा निकासी कार्य भइरहेको स्थानीय अधिकारी जेम्स वुले जानकारी दिए । “क्षति दुई वर्षअघि टाइफुन कोइनु जस्तै हुने डर छ”, उहाँले युटिलिटी पोलहरू ढलेको र छाना उडेको विवरण दिँदै भने ।


    फिलिपिन्स मौसमविद् जोन ग्रेन्डर अल्मारियोले उत्तरी लुजोनमा ‘गम्भीर बाढी र भूस्खलन’ हुनसक्ने चेतावनी दिनुभएको छ । विगतका वर्षा नियन्त्रण आयोजना अपूरै रहेका वा बिग्रिएका कारण भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शनपछि आएको यो खतरा थप संवेदनशील बनेको हो । प्रशान्त चक्रवात बेल्टको अगाडि पर्ने फिलिपिन्समा वर्षैभर औसत २० वटा आँधीबेहरी वा टाइफुन आउने गर्छन् । यसले लाखौँलाई गरिबी र विपद्–जोखिममा पारिरहेको छ । वैज्ञानिकहरूले भने विश्व तातो हुँदै जाँदा मानवसृजित जलवायु परिवर्तनका कारण आँधीबेहरी अझ शक्तिशाली बन्दै गएको चेतावनी दिएका छन् ।

  • अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

    अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

    एजेन्सी
    ७ असोज, काठमाडौं । बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको संस्करण (एल्गोरिदम) को लागि सुरक्षा प्रदान गर्ने तयारी गरेको ह्वाइट हाउसले सोमबार जानकारी गराएको छ । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले भने, “यो प्रस्तावले टिकटकको अमेरिकी संस्करणलाई नियमन गर्नेछ।” यसका लागि ओरेकलले सुरक्षा प्रदायकको रूपमा सेवा गर्ने अपेक्षा गरिएको छ। सम्झौताले टिकटकको सामग्री सिफारिस एल्गोरिदमको एक प्रतिलिपि अमेरिकी संयुक्त उद्यम प्रणालीमा ल्याइने व्यवस्था गरेको छ।

    नाम नबताउने सर्तमा ती अधिकारीले भने, “टिकटकलाई अमेरिकी प्रयोगकर्ताको तथ्याङ्कमा सुरक्षा प्रदायकद्वारा पूर्ण रूपमा निरीक्षण र पुनः प्रशिक्षित गरिनेछ, र त्यसपछि यो अमेरिकी संस्थाद्वारा सञ्चालन गरिनेछ।” वाशिङटनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटकलाई अमेरिकी संस्करणलाई चिनियाँ मातृ कम्पनी बाइटडान्सको हातबाट लिन खोजेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्ववर्ती जो बाइडेनको शासनकालमा अमेरिकी संसद् (कङ्ग्रेस)ले बाइटडान्सलाई अमेरिकी संस्करण बेच्न बाध्य पार्ने कानुन पारित गरेको थियो ।

    ट्रम्पको पहिलो कार्यकालमा रहेका अमेरिकी नीति निर्माताहरूले चीनले टिकटकको प्रयोगबाट अमेरिकीहरूको तथ्याङ्क चोनै वा उनीहरूले सामाजिक सञ्जालमा देखेका कुराहरूमा प्रभाव पार्न सक्ने चेतावनी दिएका छन् ।

    सोमबार अमेरिकी अधिकारीले भने, “एल्गोरिदमलाई ‘अनावश्यक प्रभाव नपरोस’ भनेर सुनिश्चित गर्न ‘निरन्तर निगरानी’ गरिनेछ। राष्ट्रपति ट्रम्प राष्ट्रपतिमा फर्किएपछि सुरू भएको टिकटकबारे बहस शुक्रबार दुई देशका राष्ट्रपतिले टेलिफोनमा कुराकानी गरेपछि समाधानजजिक पुगेको हो । शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको टिकटकलगायतका मुद्दाहरूमा भएको प्रगतिको ट्रम्पले प्रशंसा गरे ।
    ट्रम्पले यसै हप्ता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ, जसमा टिकटक सम्झौताका सर्तहरूले अमेरिकी राष्ट्रिय सुरक्षा आवश्यकताहरू पूरा गरेको घोषणा गरिएको हुनेछ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले सप्ताहन्तमा फक्स न्यूजसँग भनिन्, “संयुक्त राज्य अमेरिकामा एपलाई नियन्त्रण गर्ने समितिमा सात सदस्य हुनेछन्, र तीमध्ये छ जना अमेरिकी नै हुनेछन्।” छुट्टै प्रसङ्गमा अमेरिकी राष्ट्रपति ट्रम्पले विशाल मिडिया कम्पनीका मालिक रुपर्ट मर्डोक र उनका जेठा छोरा लाचलान संयुक्त राज्य अमेरिकामा टिकटकको नियन्त्रण गर्ने लगानीकर्तामा पर्न सक्ने बताए ।

  • इक्वेडरमा कैदीबीच बन्दुक र विस्फोटक पदार्थ, चौधको मृत्यु

    इक्वेडरमा कैदीबीच बन्दुक र विस्फोटक पदार्थ, चौधको मृत्यु

    ७ असोज, काठमाडौं । इक्वेडरमा कैदीहरूबीच भएको झढपमा बन्दुक र विस्फोटक पदार्थको प्रयोग हुँदा कम्तीमा १३ कैँदी र एक गार्डको मृत्यु भएको छ ।
    कुनै समय शान्तिपूर्ण मानिने देशमा अहिले अमेरिकी लागुऔषध व्यापारका लागि हुने चलखेलका कारण बढेका हिंसात्मक गतिविधिमा संलग्नहरूको गिरोहले जेल भरिएको र भीडभाडयुक्त जेलमा भएको यो रक्तपातको श्रृङ्खलाको पछिल्लो घटना हो । कमाण्डर कर्णेल विलियम क्याले इक्वेभिसा च्यानलसँग भन्नुभयो, “प्रतिद्वन्द्वी गिरोहहरूबीचको झडपमा १४ कैँदीको मृत्यु भएको, कैयौँ कैदीहरू भागेका र १४ जना घाइते भएका छन्।”

    तेह्र कैदीहरूलाई पुनः पक्राउ गरिएको छ। कर्नेल क्यालेले भने, “पेरुको सीमा नजिकै दक्षिणपश्चिम इक्वेडरको माचालाको जेलको एक भागमा बिहान सबेरै गोली चलेको र तत्काल जेल गार्ड र प्रहरी घटनास्थलमा पुगेको थियो ।” सुरक्षाकर्मीका एक पथप्रदर्शकलाई जेलमा छिर्ने क्रममा गोली हानी मारिएको थियो भने केहीलाई बन्धक बनाइएको अधिकारीले बताए। क्यालेले भने, “कैदीहरूले बन्दुक चलाएको र बम, ग्रिनेडको प्रयोग गरी भएको भिडन्त लगभग ४० मिनेट चलेको थियो।”

    मारिएका कैदीहरू प्रतिद्वन्द्वी लस चोनेरोस र लस लोबोस गिरोहका थिए । उनीहरू इक्वेडरको सबैभन्दा ठूलो लागुऔषध ओसारपसार समूहहरू मध्ये दुई हुन्। प्रहरीले यो हिंसा ‘गिरोहहरू बीचको झगडा’ को परिणाम भएको बताएको छ । प्रहरीले जेलको क्षमता त्यहाँ राखिएका कैदीहरूको सङ्ख्याको दोब्बर सङ्ख्याका लागि प्रयाप्त थियो । सङ्गठित अपराधले करिब १७ करोड जनसङ्ख्या भएको इक्वेडरलाई संसारकै सबैभन्दा हिंस्रक राष्ट्रमा परिणत गरेको छ।

    क्यालेले भने, “जेलमा अहिले नियन्त्रण रहेको र भागेका कैँदीहरूसमेत फर्किन थालेका छन् ।” उनले बन्धकहरूको अवस्था र फरार कैँदीको सङ्ख्याबारे भने तत्काल प्रतिक्रिया दिन चाहेनन् । विश्वका दुई शीर्ष कोकिन निर्यातकर्ताहरू कोलम्बिया र पेरुको बीचमा रहेको इक्वेडरमा हालैका वर्षहरूमा हिंसा बढेको छ । मेक्सिकन र कोलम्बियाली कार्टेलहरूसँग सम्बन्ध भएका प्रतिद्वन्द्वी गिरोहहरू कोकिन नियन्त्रणका लागि प्रतिस्पर्धा गरिरहेको पाइने गरिएको छ।

    सरकारी तथ्याङ्क अनुसार विश्वमा उत्पादन हुने कोकिनको ७० प्रतिशतभन्दा बढी इक्वेडरको समुद्री शहरहरू भएर जाने गरेको छ । इक्वेडरमा सन् २०२१ को फेब्रुअरीदेखि अहिलेसम्म प्रायः भयानक शैलीमा करिब ५०० कैदीहरू मारिएका छन् । जेलमा हुने झडपपछि कतिपय अवस्थामा उनीहरूको शरीरलाई टुक्रा–टुक्रा पारिएको र जलाइएको अवस्थामा पाउने गरिएको छ।

  • फिलिपिन्स–ताइवानमा रागासा सुपर टाइफुन : निकासी, विद्यालय–कार्यालय बन्द

    फिलिपिन्स–ताइवानमा रागासा सुपर टाइफुन : निकासी, विद्यालय–कार्यालय बन्द

    ७ असोज, काठमाडौं । यस वर्षको सबैभन्दा शक्तिशाली टाइफुन ‘रागासा’ ले उत्तरी फिलिपिन्स र छिमेकी ताइवानमा ठूलो जोखिम निम्त्याएपछि हजारौँ मानिसलाई निकासी गरिएको छ भने विद्यालय र कार्यालयहरू बन्द गरिएको छ । आँधीबेहरीले दक्षिणपूर्वी चीनमा बाढी र भूस्खलनको उच्च सम्भावना बढाएको अधिकारीहरूले चेतावनी दिएका छन् । रागासाले दुई सय १५ किलोमिटर प्रतिघण्टा (एक सय ३४ माइल प्रतिघण्टा) को स्थायी हावासहित दुई सय ६५ किलोमिटर प्रतिघण्टा (एक सय ६५ माइल प्रतिघण्टा) को झटका ल्याएको छ ।

    फिलिपिन्सका पूर्वानुमानकर्ताहरूका अनुसार यो कागायन प्रान्तको कालायन टापु सहरको पूर्वमा केन्द्रित छ र २० किलोमिटर प्रतिघण्टा (१२ माइल प्रतिघण्टा) को गतिमा पश्चिमतर्फ सरिरहेको छ । सोमबार दिउँसो वा साँझ कागायनको बाबुयान टापुहरू नजिकै अवतरण गर्नसक्ने अनुमान छ । फिलिपिन्स मौसम एजेन्सीले कागायन, बाटानेस, इलोकोस नोर्टे र इलोकोस सुरका तटीय क्षेत्रमा आगामी २४ घण्टाभित्र तीन मिटर (लगभग १० फिट) भन्दा अग्लो जीवनघातक समुद्री छाल आउन सक्ने चेतावनी दिएको छ ।

    कालायन टापु र अपायाओ प्रान्तमा विद्युत् आपूर्ति बन्द भएको छ । अहिलेसम्म स्थानीय रूपमा ‘नन्दो’ भनिने रागसाबाट हताहत वा ठूलो क्षतिको रिपोर्ट आएको छैन । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले राजधानी मनिला र उत्तरी लुजोन क्षेत्रका २९ प्रान्तमा सरकारी कामकाज र कक्षाहरू स्थगित गरेका छन् । कागायनमा आठ हजार दुई सयभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिएका छन् भने आकस्मिक बाढी र भूस्खलनको जोखिममा रहेका एक हजार दुई सय २० जना आपत्कालीन आश्रयमा पुगेका छन् ।

    आँधीबेहरीका कारण उत्तरी प्रान्तका घरेलु उडानहरू स्थगित भएका छन् । माछा मार्ने डुङ्गा तथा अन्तर–टापु यातायातलाई बन्दरगाह नछोड्न निर्देशन दिइएको छ । यो वर्ष फिलिपिन्समा प्रहार गर्ने १४औँ मौसमी गडबडी बनेको रागासाको बेला संसद् र काङ्ग्रेस दुवैमा भ्रष्टाचार घोटालाको छानबिन भइरहेको छ, जसले घटिया वा अस्तित्वहीन बाढी नियन्त्रण परियोजनाहरू निम्त्याएको आरोप लागेको छ ।

    पूर्वानुमानअनुसार रागासा चीनको मुख्यभूमि प्रवेश गर्नुअघि ताइवान र हङकङको दक्षिण हुँदै बुधबारसम्म दक्षिण चीन सागरमै रहनेछ । ताइवानका ताइतुङ र पिङटुङ काउन्टीका केही तटीय र पहाडी क्षेत्र, अर्किड र ग्रीन टापुमा बन्द गर्ने आदेश दिइएको छ । हङकङ र मकाउतर्फ आँधीको असर पर्ने भएकाले हङकङमा बाढी जोखिम भएका क्षेत्रमा सामान्यभन्दा दोब्बर बालुवाका बोरा उपलब्ध गराइएको छ । मकाउ प्रहरीले तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित निकासीका लागि तयारी गर्न आग्रह गरेको छ ।

    मङ्गलबारदेखि चीनको गुआङ्गडोङ प्रान्तमा भारी वर्षा र प्रचण्ड हावाहुरी ल्याउने अनुमान छ । जियाङमेन, याङजियाङ, झोङ्सान र झुहाई सहरमा विद्यालय, कार्यालय, कारखाना र यातायात सेवा निलम्बन गर्ने आदेश जारी गरिएको छ । चीनको मौसम एजेन्सीका अनुसार रागासाले गुआङ्गडोङमा एकभन्दा बढी पटक अवतरण गर्न सक्नेछ । अधिकारीहरूले स्थानीय बासिन्दालाई आपत्कालीन आपूर्ति भण्डारण, ढोका–झ्याल मजबुत बनाउने र भूमिगत क्षेत्र खाली गर्न आग्रह गरेका छन् ।

  • ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने

    ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने

    एजेन्सी
    ५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा (एच–१ बी) का लागि नयाँ वार्षिक एक लाख अमेरिकी डलर शुल्क उठाउने घोषणा गरेको छ । यसले प्रविधि उद्योगमा ठूलो असर पार्न सक्ने भन्दै घोषणाप्रति भारतको प्रमुख व्यापारिक निकाय (नासकोम) ले शनिबार चासो व्यक्त गरेको छ। अमेरिकामा त्यस्ता भिसा अनुमतिहरू व्यापक रहेका नासकोमले बताएको छ । शुक्रबार वाशिङ्गटनमा घोषणा गरिएका नयाँ उपायले कैयौँ कानुनी चुनौतीहरूको सामना गर्नुपर्नेछ। राष्ट्रपति ट्रम्पले केही महिना पहिले १० लाख अमेरिकी डलरको ‘गोल्ड कार्ड’ आवासीय कार्यक्रमबारे पुनरावलोकन गरेका थिए ।


    “मुख्य कुरा के हो भने हामी यहाँ महान् व्यक्तिहरूलाई ल्याउँदैछौँ र उनीहरूले तिर्ने छन्,” राष्ट्रपति ट्रम्पले एच–१ बी भिसा शुल्क उठाउने निर्णयमा ओभल अफिसमा आदेशमा हस्ताक्षर गरेपछि पत्रकारहरूसँग भने । एच–१ बी भिसाले वैज्ञानिक, इन्जिनियर र कम्प्युटर प्रोग्रामरजस्ता दक्षता भएका विदेशी कामदारलाई संयुक्तराज्य अमेरिकामा काम गर्न प्रायोजन गर्न पाउँछन् । यो भिसा सुरुमा तीन बर्षका लागि हुनेछ तर छ बर्षसम्म बढाउन सकिनेछ ।

    संयुक्त राज्य अमेरिकाले प्रति वर्ष लटरी प्रणालीमार्फत् ८५ हजार एच–१ बी भिसा प्रदान गर्दछ । यो सुविधा प्राप्त गर्नेहरूको लगभग तीन चौथाइ भारतीय हुनेगरेको बताइएको छ । भारतको शीर्ष व्यापार निकाय नासकमले भनेको छ, “ट्रम्प प्रशासनको निर्णयबाट तटवर्ती परियोजनाहरूको व्यवसायिक निरन्तरतामा अवरोध हुने र प्रविधि कम्पनीहरू प्रभावित हुनेछन्।

    ट्रम्पको आदेश अन्तर्गत नयाँ शुल्कहरू आइतबारदेखि लागू हुनेछन्। “एक दिनको समयसीमाभित्रै लागु हुने एच–१ बी भिसासम्बन्धी नयाँ निर्णयले विश्वभरका व्यवसाय, व्यावसायी र विद्यार्थीका लागि निकै अन्योल सिर्जना गरेको छ,” नासकमले एक विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यस स्तरको नीति परिवर्तनहरू पर्याप्त सङ्क्रमण अवधिको साथ पेश गरिनु उत्तम हुन्छ । यसले सङ्गठन र व्यक्तिहरूलाई प्रभावकारी रूपमा योजना बनाउन र अवरोध कम गर्न अनुमति दिन्छ।”

    ठूला प्रविधि कम्पनीहरू भारतीय कामदारहरूमा निर्भर छन् र यिनीहरूे कि त संयुक्त राज्य अमेरिकामा सर्छन् वा दुई देशहरू बीच आवतजावत गर्छन् ।
    ट्रम्पका पूर्व सहयोगी एलन मस्कलगायत प्रविधि उद्यमीहरूले एच–१बी भिसालाई लक्षित नगर्न चेतावनी दिएका छन् र भनेका छन्, “संयुक्त राज्य अमेरिकासँग टेक्नोलोजी क्षेत्रका महत्त्वपूर्ण रिक्त पदहरू पूर्ति गर्न पर्याप्त स्वदेशी प्रतिभा छैन। ट्रम्पसँगै ओभल अफिसमा सहभागी वाणिज्य मन्त्री हावर्ड लुटनिकले भने, “सबै ठूला कम्पनीहरूले यो सुविधा प्रयोग गर्नेछन्।

    ट्रम्पले आफ्नो पहिलो कार्यकालदेखि नै एच–१ बी कार्यक्रम आफ्नो दृष्टिमा राखेका थिए । तर उनले आफ्नो पहिलेको दृष्टिकोणमा अदालती चुनौतीहरूको सामना गर्नुपरेको थियो, जसले योग्य रोजगारीका प्रकारहरूलाई लक्षित गरेको थियो। हालको पुनरावृत्ति उहाँको दोस्रो कार्यकालको प्रमुख आप्रवासन नियन्त्रणको पछिल्लो कदम बनेको छ। सन् २०२२ मा डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनको नेतृत्वमा अनुमोदनको उच्च विन्दुमा शिखरमा हालैका वर्षहरूमा एच–१बी भिसा आवेदनहरूको सङ्ख्या तीव्र रूपमा बढेको छ ।

    यसको विपरीत अस्वीकृति दर ह्वाइट हाउसमा ट्रम्पको पहिलो कार्यकालको समयमा सन् २०१८ मा उच्च रेकर्ड गरिएको थियो। संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा लगभग चार लाख एच–१बी भिसा स्वीकृत गरेको र ती मध्ये दुई–तिहाई नवीकरण गरेको थियो। ट्रम्पले शुक्रबार गरेको आदेशमा भनिएको छ, “जसले १० लाख डलर तिर्छन् वा कर्पोरेट प्रायोजकहरूले २० लाख डलर तिर्नुपर्ने अमेरिकी आवासीय भिसाको लागि नयाँ द्रुत मार्ग सिर्जना गर्दछ।”

    “मलाई लाग्छ यो एकदम सफल हुनेछ,” उनले भने । दक्षिण कोरियाको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै अधिकारीहरूले अमेरिकी बजारमा दक्षिण कोरियाली कम्पनीहरू र व्यावसायिक प्रतिभाको प्रगतिमा यी उपायहरूको प्रभावको विस्तृत मूल्याङ्कन गर्ने र अमेरिकासँग आवश्यक संवादमा संलग्न हुने बताएको छ । यसै महिना जर्जिया राज्यको हुन्डाई–एलजी ब्याट्री फ्याक्ट्री स्थलमा अमेरिकी अध्यागमन आक्रमणको क्रममा सयौं दक्षिण कोरियालीहरूलाई पक्राउ गरिएको थियो।

  • सबै बन्धकलाई ‘वेपत्ता इजरायली विमान चालक’ को नियति बनाउने हमासको चेतावनी

    सबै बन्धकलाई ‘वेपत्ता इजरायली विमान चालक’ को नियति बनाउने हमासको चेतावनी

    एजेन्सी
    ५ असोज, काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा बाँकी रहेका अधिकांश बन्धकहरूको ‘विदाइ’ हुनसक्ने भन्दै रिहा हुन बाँकी ४६ जनाको तस्बिर शनिबार प्रकाशित गरेको छ । हमासले गाजा शहरमा जारी पछिल्लो इजरायलको आक्रमणले उनीहरूलाई खतरामा पार्न सक्ने बताएको छ । यी तस्बिरहरूले सन् १९८६ मा लेबनानमा गोली हानेर मारिएका एक इजरायली विमान चालकको घटनालाई स्मरण गराएको छ। सन् २०२३ को अक्टोबरमा इजरायलमाथि आक्रमण गर्दा प्यालेस्टिनी लडाकुहरूले कब्जा गरेका २५१ जनामध्ये ४७ जना गाजामा छन्, जसमध्ये २५ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ।

    “इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको जिद्दी र सैन्य प्रमुख इयाल जमिरको गाजालाई अधीनमा राख्ने पहलका कारण गाजा शहरमा कारबाहीकोे सुरूवातमा लिइएको एक ‘बिदाइ’ फोटो सार्वजनिक गरिएको छ,” हमासको सशस्त्र शाखाले सार्वजनिक फोटोको साथ लेखेको छ। इजरायलले गाजा शहरको सबैभन्दा ठूलो शहरी केन्द्रमा हप्तौंको भारी हवाई आक्रमणपछि मङ्गलबार जमिनी आक्रमण सुरु गरेको छ।

    लाखौं बासिन्दाहरू भागेका छन् । यसैबीच, बन्धकका परिवारहरूले सरकारलाई आक्रमण रोक्न आग्रह गरेका छन् र यसले गाजामा अझै पनि कैदमा रहेका आफ्ना प्रियजनहरूको जीवन जोखिममा पार्ने चेतावनी दिएका छन्। हमासको एजेदिन अल–कसम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा बन्धकहरूको ४६ तस्बिरहरू जारी गरेको छ । सार्वजनिक प्रत्येक फोटोमा सन् १९८६ मा लेबनानी गृहयुद्धको समयमा दक्षिणी लेबनानमा खसेको इजरायली वायु सेनाका चालककोे नाम लेखिएको छ ।

    चालक रोन अरादलाई सुरुमा लेबनानमा शिया समूहहरूले कब्जा गरेको विश्वास गरिएको थियो तर अहिले उहाँलाई मृत मानिएको छ । उनको अवशेष फिर्ता गरिएको छैन। हराएका वा कब्जा गरिएका सैनिकहरूलाई घर ल्याउनु राष्ट्रिय कर्तव्य मानिने यजरायलमा उहाँलाई दशकौंदेखि एक दुःखद् घटनाको स्मरण गराउने व्यक्तिका रूपमा चित्रित गरिँदै आएको छ।

  • पेन्टागनद्वारा मिडियामाथि थप ‘नियन्त्रण’को घोषणा

    पेन्टागनद्वारा मिडियामाथि थप ‘नियन्त्रण’को घोषणा

    रासस\एएफपी
    ५ असोज, वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यममाथि थप नियन्त्रणको नियम लगाएको छ ।
    गर्न नपाइने नियम वा नियन्त्रण (प्रतिबन्ध)मा उनीहरूले औपचारिक रूपमा प्रकाशनका लागि अधिकृत नभएको कुनै पनि कुरा खुलासा नगर्न र युद्ध विभागभित्र उनीहरूको आवागमनलाई सीमित गर्न भनिएको छ ।

    शुक्रबार पत्रकारहरूलाई वितरण गरिएको एक लामो जानकारी पत्रमा राखिएको नयाँ निर्देशनमा पत्रलाई पालना गर्ने प्रतिज्ञा गर्दै शपथ पत्रमा हस्ताक्षर गर्न आवश्यक छ वा उनीहरूले सैनिक गतिविधिमा पहुँच गुमाउने जोखिम रहने उल्लेख छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले नकारात्मक सञ्चार सामग्री ‘अवैध’ हुन सक्ने सुझाव दिएपछि प्रशासनले आफ्ना नीतिहरूको विरोधमा मिडिया कभरेजलाई नियन्त्रण गर्न गरेको यो पछिल्लो कदम हो ।

    “पेन्टागन ‘जवाफदेहिता र जनताको विश्वास प्रवद्र्धन गर्न पारदर्शिता’का लागि प्रतिबद्ध छ,” पत्रमा भनिएको छ । पत्रमा अगाडि भनिएको छ,“पेन्टागन अज्ञात अधिकारीहरूलाई उद्धृत गरी सामग्रीलाई प्रशारण गर्न प्रभावकारी रूपमा प्रतिबन्धित गर्दछ । सूचना जारी गर्नु अघि एक उपयुक्त आधिकारिक अधिकारीद्वारा सार्वजनिक विज्ञप्तिको लागि स्वीकृत हुनुपर्दछ, चाहे त्यो अवर्गीकृत नै किन नहोस्।”

    यो नयाँ प्रतिबन्ध दुबै वर्गीकृत र ‘नियन्त्रित अवर्गीकृत जानकारी’ मा लागू हुनेछ। पत्रमा पेन्टागनका पत्रकारहरू वाशिङ्गटनको बाहिर सेनाको विशाल मुख्यालयमा आधिकारिक अनुमतिबिना कहीँ जान सक्छन् भन्ने बारेमा व्यापक नयाँ प्रतिबन्धहरूको विवरण पनि दिइएको छ। रक्षामन्त्री पिट हेगसेथले एक्समा लेखेका छन्, “प्रेसले पेन्टागन चलाउँदैन ।”

    उनले भने, “प्रेसलाई अब सुरक्षित सुविधाको हलमा घुम्न अनुमति छैन। बिल्ला लगाउनुहोस् र नियमहरू पालना गर्नुहोस् वा घर जानुहोस्।” हेगसेथले यमनका हुथी विद्रोहीहरूमाथि अमेरिकी हवाई आक्रमणको समय खुलासा गरेको कारण कडा आलोचनाको सामना गर्नुपरेको केही महिनापछि नयाँ नियमहरू आएका हुन् । फक्स न्यूजका पूर्व कार्यक्रम सहसञ्चालक र आर्मी नेशनल गार्डका अनुभवी हेगसेथले पनि ती विवरणहरू एक छुट्टै सिग्नल समूह श्रृंखलामा साझा गरेको रिपोर्ट गरिएको थियो, जसमा उनकी पत्नी पनि समावेश थिइन् ।


    द न्यूयोर्क टाइम्सका प्रवक्ताले नयाँ नियमहरूलाई ‘करदाताको खर्चमा अमेरिकी सेनाले गरिरहेको कार्यमा पहुँच घटाउने चिन्ताजनक ढाँचामा अर्को कदम’ भनेका छन्। नेसनल प्रेस क्लबका अध्यक्ष माइक बाल्सामोले पेन्टागनलाई नयाँ नियमहरू तत्काल खारेज गर्न आग्रह गरे । “यदि हाम्रो सेनाको बारेमा समाचार पहिले सरकारले अनुमोदन गर्नुपर्दछ भने, तब जनताले स्वतन्त्र रिपोर्टिङ पाउँदैनन्,” बाल्सामोले एक विज्ञप्तिमा भन् । प्रतिबन्धले केवल अधिकारीहरूले हेर्न चाहेको कुरा पाउनेछन् । यसले प्रत्येक अमेरिकीलाई चिन्तित पार्नुपर्छ।

  • युरोपेली विमानस्थलहरूमा ’साइबर अवरोध’, उडानहरु प्रभावित

    युरोपेली विमानस्थलहरूमा ’साइबर अवरोध’, उडानहरु प्रभावित

    ४ असोज, काठमाडौं । ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायतका प्रमुख युरोपेली विमानस्थलहरू शनिबार “साइबर–सम्बन्धित अवरोध“ बाट प्रभावित भएको जनाइएको छ । अवरोधले चेक–इन र ब्यागेज ड्रप प्रणालीलाई असर गर्दा सेवा प्रभावित भएको सेवा प्रदायक कोलिन्स एरोस्पेसलाई उदृत गर्दै एएफपीले जनाएको छ । युरोपेली हवाई सेवा प्रदायकहरुले अवरोधको सामना गर्दा उडानमा ढिलाइ तथा उडान रद्द हुने चेतावनी दिए पछि ‘एयरस्पेस फर्म’ ले सम्बन्धित एयरपोर्टहरूका सफ्टवेयरमा साइबर–सम्बन्धित अवरोधको बारेमा सचेत भएको जनाएका छन् ।

    अवरोध इलेक्ट्रोनिक ग्राहक चेक–इन र ब्यागेज ड्रपमा मात्र भएकाले म्यानुअल चेक–इन अपरेसनद्वारा सेवा प्रवाह गर्न सकिने कोलिन्स एरोस्पेसले बताएका छन् । शुक्रबार राति ुसाइबर आक्रमणु को चपेटामा परेपछि ब्रसेल्स विमानस्थलबाट कम्तीमा १० वटा उडानहरू रद्द गरिएको तथा अन्य १७ वटा उडानहरू ढिलाइ भएको विमानस्थलले जनाएको छ ।

    ब्रसेल्समा म्यानुअल चेक–इन र बोर्डिङ सेवा सुचारु गरिएको थियो, भने शनिबार उडान गर्ने यात्रुहरूलाई एयरपोर्टमा जानु अघि एयरलाइन्ससँग सम्पर्क गरी उडानको स्थिति जाँच गर्न सुचना जारी गरिएको थियो । लन्डनको हिथ्रो एयरपोर्टमा भने चेक–इन र बोर्डिङ प्रणाली पनि प्राविधिक समस्याबाट प्रभावित भएकाले उडानमा ढिलाई हुन सक्ने जनाइएको छ । बर्लिन विमानस्थलको वेबसाइटमा अवरोधका कारण युरोपमा चेक–इनमा यात्रुहरुलाई लामो समय प्रतीक्षा गर्नु परेको जनाएको छ ।

  • अमेरिकी कर नीतिका कारण जापानी निर्यातमा १४ प्रतिशत गिरावट

    अमेरिकी कर नीतिका कारण जापानी निर्यातमा १४ प्रतिशत गिरावट

    एजेन्सी
    २ असोज, टोकियो । अगस्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ कर नीतिले ठूलो असर पारेको तथ्याङ्क बुधबार सार्वजनिक भएको छ । तथ्याङ्कअनुसार अटो ढुवानी एक चौथाइभन्दा बढी घटेको छ । अमेरिकी राष्ट्रपतिले बजार र विश्वव्यापी व्यापारमा हलचल ल्याउने गरी विभिन्न देशहरूमा कर लगाउने घोषणा गरेपछि यो पछिल्लो ठूलो गिरावट देखिएको हो । ब्लुमबर्गका अनुसार अमेरिकातर्फको जापानी सामानको मूल्य १३ दशमलव आठ प्रतिशतले घटेको यो चार वर्षकै सबैभन्दा ठूलो कमी हो ।

    जापानको वित्त मन्त्रालयअनुसार अटो निर्यात २८ दशमलव चार प्रतिशत र अटो पाट्र्स सात दशमलव एक प्रतिशतले घटेका छन् । वर्षको सुरुदेखि नै ट्रम्पको व्यापार युद्धका कारण कार तथा सवारी साधनहरूको ढुवानीमा निरन्तर गिरावट आएको छ । अमेरिकातर्फ हुने जापानी निर्यातको झन्डै एक तिहाइ हिस्सा ओगट्ने अटो उद्योग २७ दशमलव पाँच प्रतिशत लेवीको मारमा परेको छ । यद्यपि मङ्गलबार लागू भएको नयाँ व्यापार सम्झौतापछि जापानी अटोहरूमा केही कम अमेरिकी शुल्क लागू भएको छ । अब कारलगायतका सवारी साधनहरूले अन्य धेरै वस्तु सरह १५ प्रतिशत टोल भुक्तान गर्नुपर्नेछ ।

    सम्झौताको कार्यान्वयनलाई जापानका उद्योगका लागि अस्थायी जित मानिएको छ । तर लेवीहरूको दबाबका कारण जापानी व्यापारिक लबीहरूले टोकियोले थप वार्ता अघि बढाउने अपेक्षा राखेका छन् ।

    अमेरिकी उत्पादन बढाउन र विशाल व्यापार घाटा कम गर्न ट्रम्पले विश्वभरका देशहरूमा उच्च आयात भन्सार शुल्क लगाएका छन् । जापानको अटोमोबाइल उद्योगले—टोयोटा र होन्डा जस्ता ठूला कम्पनीहरूसहित—देशको कुल रोजगारीको करिब आठ प्रतिशत हिस्सा ओगट्छ । ट्रम्पले लामो समयदेखि आलोचना गर्दै आएको अमेरिकासँगको जापानी व्यापार अधिशेष अगस्टमा ५० प्रतिशतले घटेर तीन खर्ब २४ अर्ब येन (दुई अर्ब २१ करोड डलर) मा सीमित भएको छ ।

  • श्रीलङ्कामा पर्यावरण संरक्षणका लागि चार प्रकारका माछा प्रतिबन्धित

    श्रीलङ्कामा पर्यावरण संरक्षणका लागि चार प्रकारका माछा प्रतिबन्धित

    एजेन्सी
    २ असोज, कोलम्बो । श्रीलङ्काले आफ्ना नदी र तालमा हुने असर रोक्न चार प्रकारका विदेशी माछामा प्रतिबन्ध लगाउने भएको छ । मत्स्यमन्त्री रामलिङ्गम चन्द्रशेखरले बुधबार भने, “हामी हाम्रो जलाशयहरूलाई विदेशी प्रजातिबाट जोगाउन चाहन्छौं । यो निर्णय स्थानीय माछा मार्ने समुदायको जीविकोपार्जन जोगाउनका लागि पनि हो ।” शनिबारदेखि रेडलाइन स्नेकहेड, नाइफ फिश, एलीगेटर गार र पिरान्हा माछाको आयात, बिक्री र यातायातमा पूर्ण प्रतिबन्ध लाग्ने छ । यी माछा मुख्य रूपमा दक्षिणपूर्वी एसियाबाट ल्याइएका हुन् ।

    स्नेकहेड माछा उत्तरपश्चिमी श्रीलङ्काको डेदुरु ओया तालमा देखिएको छ, जहाँ यसले स्थानीय जैविक सन्तुलनमा असर पु¥याएको छ । ती माछा पाल्न नसकेका व्यक्तिहरूले तालमा छाडेका हुन सक्ने आशङ्का गरिन्छ । सरकारले शनिबार स्नेकहेड माछा समात्ने प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ । स्थानीय मानिसहरू यस्ता माछा साना माछा र अन्य जलचरहरू खाएर वातावरणमा असन्तुलन ल्याइरहेका बताएका छन् । सरकारले यस्ता माछा घरमा पालिरहेका व्यक्तिहरूलाई सम्बन्धित निकायमा जानकारी गराई ती माछा सरकारी एक्वेरियममा बुझाउन अनुरोध गरेको छ ।

  • बाढीले पञ्जाबको अन्न भण्डार ध्वस्त, किसान सङ्कटमा

    बाढीले पञ्जाबको अन्न भण्डार ध्वस्त, किसान सङ्कटमा

    एजेन्सी
    २ असोज, पञ्जाव । खेतहरू पानीले भरिएका छन् तर धान खैरो र सुकेको छ । सडेको बाली र गाईवस्तुको दुर्गन्धले हावा गन्हाएको छ ।यस वर्षको रेकर्ड मनसुनी वर्षाले भारतको अन्न भण्डार पञ्जाबलाई तहसनहस पारेको छ । लन्डन र न्युयोर्क सहरको संयुक्त आकार बराबरको खेतीयोग्य जमिन बाढीले डुबाएको छ । भारतका कृषि मन्त्रीले ‘बालीहरू पूर्णतया नष्ट’ भएको बताउनुभयो भने पञ्जाबका मुख्यमन्त्रीले यसलाई ‘दशकौँदेखिको सबैभन्दा भीषण बाढी’ भन्नुभएको छ ।

    अमृतसर नजिकै शेहजादा गाउँका ७० वर्षीय किसान बलकार सिंहले भने, “यस्तो बाढी अन्तिम पटक सन् १९८८ मा देखेका थियौँ ।” उनको धानबारी दलदल बनेको छ र घरका भित्तामा चिरा परेको छ । मनसुनमा बाढी र भूस्खलन सामान्य भए पनि विज्ञहरूका अनुसार जलवायु परिवर्तन र कमजोर योजनाबद्ध विकासले यसको आवृत्ति र विनाश बढाएको छ ।

    राष्ट्रिय मौसम विभागका अनुसार पञ्जाबमा वर्षा औसतभन्दा दुई तिहाइले बढी भएको छ । यसले कम्तीमा ५२ जनाको ज्यान लिएको छ र चार लाखभन्दा बढीलाई प्रभावित पारेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले १८ करोड डलरको राहत प्याकेज घोषणा गरेका छन् ।

    गुरदासपुर जिल्लाको तुर गाउँ बाढीले पूर्णतया ध्वस्त पारेको छ । खेत मजदुर सुरजन लालले भने, “अगस्ट २६ को मध्यरातमा पानी आयो, केही मिनेटमै १० फिटसम्म पुग्यो । हामी छतमा मात्र अडिएर बस्यौँ, जनावर र सबै सामान बगायो ।” “यो वर्ष मेरो लगानी सबै डुब्यो । गहुँ रोप्न खेत तयार नहुने चिन्ता छ”, सीमावर्ती लस्सियाका किसान राकेश कुमारले भने, “पहिले सुकाएर हिलो सफा नगरी केही सम्भव छैन ।”

    भूमिहीन मजदुर मनदीप कौर अझै सङ्कटमा परेका छन्, “जमिनदारका खेतमा काम गरेर बाँच्थ्यौँ, तर अहिले सबै खेत डुबेका छन्”, उनले भने । उनको घर बगाएपछि उहाँ आँगनमा तिरपालमुनि सुत्न बाध्य छन् । त्यहाँ सर्पहरूको डर छ । पञ्जाब भारतको खाद्य सुरक्षाका लागि गहुँ र चामलको प्रमुख आपूर्तिकर्ता हो । पञ्जाबले ८० करोडभन्दा बढीलाई अनुदानित अन्न दिन्छ । यस वर्षको घाटाले घरेलु आपूर्ति तत्काल प्रभावित नगरे पनि प्रिमियम बासमती चामलको निर्यातमा ठूलो असर पर्ने अनुमान छ ।

    अर्थशास्त्री अविनाश किशोरका अनुसार बासमती चामल उत्पादन, मूल्य र निर्यातमा सीधा असर पर्छ । पहिले नै अमेरिकी भन्सार शुल्कले भारतीय बासमतीलाई कमजोर बनाइसकेको अवस्थामा बाढीले थप चुनौती थपेको छ । राज्य आफ्नो सिँचाइ सञ्जाल बलियो भएका कारण सङ्घीय बीमा योजनामा सहभागी नभएकाले पञ्जाबका किसानहरूका लागि पुनःउत्थान कठिन हुने देखिन्छ । किसान बलकार सिंहले भने, “मेरो खेत अझै घुँडासम्म पानीले ढाकिएको छ । भविष्यमा हाम्रो हालत के हुन्छ, भन्न सक्दिनँ ।”

  • भारतमा जुवा प्रतिबन्ध, खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

    भारतमा जुवा प्रतिबन्ध, खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

    एजेन्सी
    २ असोज, नयाँ दिल्ली । भारतमा अनलाइन जुवामा गरिएको प्रतिबन्धले सयौँ करोड प्रयोगकर्ताहरूलाई सेवा दिने अर्बौं डलरको उद्योग बन्द गराएको छ र राष्ट्रिय क्रिकेट टोलीको प्रायोजनसमेत प्रभावित पारेको छ । तर खेलाडीहरूको भनाइमा शर्त लगाउन अडिग मानिसहरूले विदेशी र अनियमित वेबसाइटतर्फ जाने बाटो फेला पारिरहेका छन् । यद्यपि नगदका लागि नभई पुरस्कारका लागि काल्पनिक खेल अनुप्रयोगका प्रशंसकहरू अझै पनि खेलिरहेका छन् ।

    काल्पनिक खेल खेल्ने विज्ञापन व्यवसायी आदर्श शर्माले भारतीय जुवाडेहरूले वैकल्पिक बाटो खोज्दा अपतटीय साइटहरूमा ‘अचानक उछाल आउने’ दाबी गरे । “एक पटक बनेको बानी सजिलै छोडिँदैन”, उनले भने, “यो लत हो र मानिसहरूले जुवाको बाटो फेला पार्छन् ।” गत महिना भारतीय संसद्ले अनलाइन जुवामा प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो । सरकारी तथ्याङ्कअनुसार कम्पनीहरूले ४५ करोड मिलियन मानिसबाट वार्षिक दुई अर्ब ३० करोड डलर उठाइरहेका थिए ।

    अधिकारीहरूका अनुसार प्लेटफर्मको तीव्र विस्तारले आर्थिक सङ्कट, लत, आत्महत्या, धोखाधडी, मनी लन्ड्रिङ र आतङ्कवादलाई वित्तपोषणसम्म निम्त्याएको छ । कानूनलाई शीर्ष अनलाइन कार्ड गेम प्लेटफर्मले अदालतमा चुनौती दिएको छ । नयाँ कानुनअनुसार कार्ड गेम र काल्पनिक खेल वेबसाइट तथा एपहरू—भारतमा लोकप्रिय काल्पनिक क्रिकेटसहित—प्रतिबन्धित छन् । अपराधीलाई पाँच वर्षसम्म जेल सजाय हुने प्रावधान छ ।

    जुवाडेहरूले अब भर्चुअल प्राइभेट नेटवर्क ९भिपिएन० र प्रोक्सी क्रेडिट कार्डमार्फत विदेशी साइटमा पुग्नुपर्नेछ । यो सामान्य प्रयोगकर्ताका लागि कठिन भए पनि खेलाडीहरू यसबारे जानकार छन् । एक प्रशंसकले नाम नखुलाउने सर्तमा भने, “हामीले यो पहिले पनि गरेका थियौँ, फेरि गर्नेछौंँ पुराना तरिकामा फर्किन्छौँ ।”

    प्रविधिमन्त्री अश्विनी वैष्णवका अनुसार, नयाँ कानूनले कानूनी इस्पोर्ट्सलाई सुरक्षित राख्दै प्रयोगकर्तालाई झुटो नाफाको वाचा गरेर शोषण गर्ने सट्टेबाजी, जुवा र काल्पनिक नगद खेलहरूलाई मात्र लक्षित गरेको हो । विश्वकै सबैभन्दा ठूलो काल्पनिक खेल प्लेटफर्म ‘ड्रिम ११८’ (२६ करोड प्रयोगकर्ता) ले ‘नगद खेल बन्द गरिएको’ घोषणा गर्दै अब कार, फोन, फ्रिज जस्ता पुरस्कार दिने बताएको छ । यसले भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) सँगको चार करोड ३० लाख डलरको सम्झौता पनि तोडेको छ, जसले भारतीय खेलाडीहरूको जर्सीबाट यसको लोगो हटाएको छ ।

    दिल्लीका कसाई जमशेद नूरले आफूले पाएको ठूलो जित श्रमिकको दैनिक ज्याला छ सय रुपैयाँ (करिब सात ७ डलर) भएको बताउनुभयो । “हामी क्रिकेटको प्रेमका लागि खेल्छौँ”, उनले भने, “पैसा आकर्षण थियो, तर अब नगद नभए पनि म खेलिरहन्छु ।” यस प्रतिबन्धले इन्डियन प्रिमियर लिग (आइपिएल) जस्ता आकर्षक प्रतियोगितासहित समग्र खेल उद्योगलाई झट्का दिने देखिन्छ ।

    एलारा क्यापिटलका करण तौरानीका अनुसार फ्यान्टसी प्लेटफर्महरू आइपिएल र विश्व क्रिकेटका सबैभन्दा आक्रामक विज्ञापनदातामध्ये पर्छन्, अब उनीहरूले विदेशी बजारतर्फ मोडिन सक्छन् । डि एन्ड पी एडभाइजरीका सन्तोष एनले यस वर्ष आइपिएल प्रसारण विज्ञापन आम्दानीको ४० प्रतिशतसम्म फ्यान्टसी स्पोट्र्स र क्रिप्टो प्लेटफर्मले ओगटेको अनुमान गर्नुभयो ।

    उहाँका अनुसार प्रतिबन्धपछि उनीहरूको व्यापार मोडेल जोखिममा परेको वा नष्ट भएको छ, जसले विज्ञापन खर्च कटौती गराउनेछ । यसले प्रत्यक्ष रूपमा प्रसारणकर्ताहरूको आम्दानी घटाउनेछ । “सन् २०२७ मा जब बिसिसिआईले मिडिया अधिकार नवीकरण गर्छ, प्रसारणकर्ताले पहिले जस्तो ठूलो रकम तिर्न नसक्ने भएकाले नवीकरण प्रिमियम कम हुनेछ”, सन्तोषले चेतावनी दिए ।

  • गाजा सहर आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन सहायता समूहहरूको आग्रह

    गाजा सहर आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन सहायता समूहहरूको आग्रह

    एजेन्सी
    २ असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको आयोगले गाजामा इजरायलले नरसंहार गरिरहेको निष्कर्ष निकालेपछि प्रमुख सहायता समूहहरूको गठबन्धनले बुधबार अन्तर्राष्ट्रिय समुदायलाई गाजा सहरमा इजरायलको आक्रमण रोक्न कडा कदम चाल्न आग्रह गरेको छ । इजरायलले पहिले नै विनाश भइसकेको उत्तर क्षेत्रमा सैन्य अभियानलाई विस्तार गर्दै जाँदा गाजामा प्यालेस्टिनी मृतकको सङ्ख्या ६५ हजार नजिक पुगेको छ ।

    “गाजामा देखिएको अवस्था केवल अभूतपूर्व मानवीय प्रकोप मात्र होइन, संयुक्त राष्ट्रसङ्घीय अनुसन्धान आयोगको निष्कर्षअनुसार यो नरसंहार हो”, सहायता समूहहरूको वक्तव्यमा भनिएको छ, “राज्यहरूले उपलब्ध सबै राजनीतिक, आर्थिक र कानूनी उपकरण प्रयोग गरेर हस्तक्षेप गर्नुपर्छ । बयानबाजी र आधा उपाय पर्याप्त हुँदैनन् । यो क्षण निर्णायक कार्यको माग गर्दछ ।”

    सन्देशमा नर्वेली शरणार्थी परिषद्, अनेरा, सेभ द चिल्ड्रेनलगायत २० भन्दा बढी संस्थाका नेताहरूले हस्ताक्षर गरेका थिए । यो बयान इजरायलले गाजा सहरमा आफ्नो आक्रमण सुरु गरेको एक दिनपछि आएको हो । युद्ध सुरु भएको करिब दुई वर्षपछि इजरायलले सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिने प्रतिज्ञा गरेको छ । बुधबार गाजास्थित अस्पताल अधिकारीहरूले रातभरका आक्रमणमा महिला र बालबालिका सहित कम्तीमा १३ प्यालेस्टिनी मारिएको जनाए । शिफा जिल्लाका अधिकारीका अनुसार गाजा सहरको आक्रमणमा मृत्यु भएकामध्ये आधाभन्दा बढी एकै परिवारका थिए, जसमा आमासहित एक बालक पनि थिए ।

    मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा घरमा प्रहार हुँदा गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको अल–अवाडा अस्पतालले जनाएको छ । त्यस्तै, खान युनिस नजिकै मुवासी क्षेत्रमा त्रिपालमा भएको आक्रमणमा दुई आमाबाबु र उनीहरूको बच्चाको मृत्यु भएको नासेर जिल्लाले पुष्टि गरेको छ । इजरायली सेनाले ती आक्रमणबारे तत्काल टिप्पणी गरेन, तर विगतमा उसले हमासलाई नागरिक क्षेत्रभित्र सैन्य पूर्वाधार बनाएको आरोप लगाउँदै आएको छ ।

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि हालसम्म ६४ हजार नौ सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । मृतकमध्ये झन्डै आधा महिला र बालबालिका भएको बताइएको छ । मन्त्रालय हमासद्वारा सञ्चालित भए पनि त्यहाँका चिकित्सकहरूले यसलाई पुष्टि गरेका छन् । यसैबीच, इजरायली सेनाले गाजा सहरबाट दक्षिणतर्फ भाग्नेहरूका लागि सालाह अल–दिन सडकमार्ग दुई दिनका लागि खोलिने जनाएको छ ।

    आक्रमण अघि करिब १० लाख मानिस गाजा सहर क्षेत्रमा रहेका थिए, जसमा करिब तीन लाख ५० हजार पलायन भइसकेको सेनाले दाबी गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना मात्र दुई लाख २० हजारभन्दा बढी उत्तरी गाजाबाट विस्थापित भएका थिए । अझै सयौँ हजार नागरिक सहरमै फँसेका छन् ।
    एक इजरायली सैन्य ग्राफिकअनुसार यस अभियानपछि समुद्रतट छेउको केही भूभागबाहेक सम्पूर्ण गाजा पट्टी नियन्त्रणमा लिने लक्ष्य राखिएको छ । सेनाले यसअघि पनि गाजा सहरमा ठूला–ठूला छापा मारेको थियो, जसले विस्थापन र विनाश निम्त्याएको थियो, तर उग्रवादीहरू फेरि समूहबद्ध हुनसक्ने देखिन्थ्यो । यस पटक भने सम्पूर्ण सहर नियन्त्रणमा लिने दाबी गरिएको छ ।

    इजरायली सैन्य अधिकारीका अनुसार हाल गाजा सहरमा करिब दुई हजारदेखि तीन हजार हमास लडाकू बाँकी छन् । सुरुङमार्गहरू अझै प्रयोग भइरहेको विश्वास गरिएको छ । हमासको सैन्य क्षमता कमजोर भइसकेको भए पनि उनीहरूले साना छापामार समूहमार्फत विस्फोटक बिछ्याउने वा सैन्य चौकीमा आकस्मिक आक्रमण गर्ने गतिविधि जारी राखेका छन् ।

  • फेडद्वारा सन् २०२५ को पहिलो ब्याजदर कटौतीको तयारी

    फेडद्वारा सन् २०२५ को पहिलो ब्याजदर कटौतीको तयारी

    एजेन्सी
    २ असोज, वासिंटन डिसी । अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ)ले बुधबार सन् २०२५ को पहिलो ब्याजदर कटौती गर्ने तयारी गरेको छ । यसले बढ्दो राजनीतिक दबाब र सम्भावित विभाजनका साथ अगाडि बढ्ने बाटोमा प्रतिस्पर्धी शक्तिहरूको आलोचना खेप्नुपरेको छ । फेडले आफ्नो दुई दिने नीति समीक्षा बैठकको अन्त्यमा दरहरू घटाउने कुरामा करिब सकारात्मक देखिएको छ । व्यापक रूपमा कमजोर रोजगार बजारबाट प्रेरित हुँदै २५ आधार बिन्दुको कटौतीको अपेक्षा बजारले गरेको छ। आउने थप कटौतीको गति र आकार पक्का भने अझै भएको छैन ।

    बुधबार फेडको दर–निर्धारण गर्ने खुला बजार समिति (एफओएमसी) ले आफ्नो दोस्रो दिनको छलफललाई स्थानीय समयअनुसार बुधबार बिहान ९ः०० बजेका लागि निर्धारित गरेको बैङ्कका एक प्रवक्ताले बताए। मङ्गलबार बिहानै समितिको बैठक बस्नुअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमले यसको संरचनामा अनिश्चितता पैदा गरेको थियो। केन्द्रीय बैङ्कलाई दरहरू घटाउन महिनौँसम्म दबाब दिएका राष्ट्रपति ट्रम्पले अगस्टमा फेड गभर्नर लिसा कुकलाई बर्खास्त गर्ने कदम चाल्नुभयो । यसले उहाँको कानुनी लडाई सुरु भएका कारण उहाँलाई दर बैठकमा भाग लिनबाट रोक्न सक्थ्यो।

    गत महिना अर्का एक अधिकारीले अप्रत्याशित रूपमा राजीनामा दिएपछि ट्रम्पले फेडको बोर्ड अफ गभर्नरमा एक प्रमुख आर्थिक सल्लाहकारलाई पनि मनोनयन गर्नुभएको छ । यसको अनुमोदन प्रक्रिया एघारौं घण्टामा समाप्त भएको थियो। ह्वाइट हाउस काउन्सिल अफ इकोनोमिक एडभाइजर्स (सिइए) को अध्यक्षता गर्दै आएका स्टिफन मिरानले एफओएमसी भेलाअघि फेड गभर्नरको रूपमा शपथ लिएका थिए । उनी आफ्नो ह्वाइट हाउसको भूमिकाबाट राजीनामा दिनुको सट्टा बिदा लिएको भन्दै डेमोक्र्याटिक सांसदहरूको आलोचनामा परेका थिए । यो निर्णय उहाँको जनवरी ३१ मा समाप्त हुने छोटो कार्यकालका कारण लिइएको बताइएको छ ।

    अर्थशास्त्रीहरूले एफओएमसीको बीचमा थप विभाजन देख्ने अपेक्षा गरेका छन्, किनकि नीति निर्माताहरू ट्रम्पको नयाँ कर नीति र बिग्रँदो रोजगार बजारका कारण उच्च मुद्रास्फीतिको जोखिमलाई सन्तुलनमा राख्दै अगाडि बढ्नेछन्। सामान्यतया, फेडले मुद्रास्फीतिलाई आफ्नो दुई प्रतिशतको लक्ष्यमा फिर्ता ल्याउन दरहरू उच्च स्तरमा राख्न इच्छुक हुन सक्छ । यसले कमजोर श्रम बजारलाई समर्थन गर्न दरहरू घटाउने निर्णय लिन पनि सक्छ।

    मुद्रास्फीति उल्लेखनीय रूपमा २।० प्रतिशतभन्दा माथि छ तर यस पटक रोजगारीको चिन्ताले जित्ने अनुमान गरिएको छ। तर आर्थिक चित्रको अर्थ यो हो कि यदि अधिकांशले २५ आधार बिन्दुको कटौतीको लागि मतदान गरे पनि अधिकारीहरूले दुबै दिशामा असहमति जनाउन सक्दछन् । यो स्थिति सन् २०१९ पछि देखिएको थिएन।

    “यो राम्रो ठाउँ होइन,” केपीएमजीका प्रमुख अर्थशास्त्री डायन स्वङ्कले भने । “वास्तविकता मुद्रास्फीति र यसका कारण देखिएको बेरोजगारी दर हो,” उनले भने । उनले भने, “त्यो केवल ‘अस्थिर’ नै किन नहोस्। यसले सुस्त वृद्धि र बढ्दो मूल्यको अवस्थालाई जनाउँछ।” फेड गभर्नरहरू क्रिस्टोफर वालर र मिशेल बोमनले ५० अङ्कको कटौतीको पक्षमा सहमति नजनाउन सक्छन् । उनीहरूले एफओएमसीको दरहरू कटौती गर्नेभन्दा स्थिर राख्ने निर्णयको पक्षमा मतदान गरेका छन् ।

  • कतारले क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्ने

    कतारले क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्ने

    एजेन्सी
    २ असोज, काठमाडौं । कतार लगानी प्राधिकरणले बुधबार उप–सहारा अफ्रिकामा खानि परियोजनाहरू विकास गर्ने क्यानडेली कम्पनी इभान्हो माइन्समा ५० करोड डलर लगानीको घोषणा गरेको छ । खाडी राज्यको सार्वभौम सम्पत्ति कोषले लगानी पूरा भएपछि इभान्हो माइन्सको लगभग चार प्रतिशत स्वामित्व राख्नेछ क्यूआईएले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । कतारी कोषका प्रमुख कार्यकारी मोहम्मद सैफ अल–सोवैदीले यो लगानीले इभानहोलाई ’विश्वव्यापी ऊर्जा सङ्क्रमण र उन्नत प्रविधिका लागि आवश्यक पर्ने महत्वपूर्ण खनिजको खोज, विकास र दिगो आपूर्ति’ मा सहयोग पुग्ने बताए । ।

    इभान्हो माइन्सका कार्यकारी रोबर्ट फ्राइडल्याण्डले भने, “यो लगानी ‘महत्वपूर्ण धातुहरूको अग्रणी आपूर्तिकर्ता हुन फर्मको प्रयासको समर्थन हो । यसले विश्वव्यापी अर्थव्यवस्थाको विद्युतीकरण, नयाँ ऊर्जा पूर्वाधारको विकास र एआईसहित उन्नत प्रविधिहरूको विकासलाई सञ्चालन गर्नेछ। भ्यानकुभरमा मुख्यालय रहेको इभान्हो माइन्सको मुख्य परियोजनाहरू यसको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेका कामोआ–काकुला तामा खानी र किपुशी तामा खानी हुन् । इभान्होले दक्षिण अफ्रिकाको प्लाट्रिफ खानीले सन् २०२५ को अन्त्यसम्म उत्पादन सुरु गर्न तयार छ। क्यानेडियन फर्मले डीआर कंगो, अंगोला, जाम्बिया र कजाकिस्तानमा तामा अन्वेषण परियोजनाहरू पनि सञ्चालन गरिरहेको छ।