अमेरिकी समाचार संस्था फक्स न्युजले अमेरिकी निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा विजयी भएको घोषणा गरेको छ । यद्यपि धेरै स्थानको मतगणना जारी छ । ट्रम्पको निर्वाचन अभियानको मुख्यालयमा कार्यकर्ता र समर्थकको भिड लागेको छ । मत गणनाको रुझान विजयका लागि आवश्यक २७० इलेक्टोरल कलेज मत को नजिकै पुग्ने देखिएको छ । ट्रम्पले फ्लोरिडामा सम्बोधनको तयारी गरेका छन् । ह्यारिसले भने अहिलेसम्म सम्बोधन गर्ने खबर सार्वजनिक भएको छैन ।
Category: विश्व
-

अमेरिकी निर्वाचन : २४ करोड मतदाता, कुन-कुन राज्य हुन स्वीङ स्टेट ?
काठमाडौं । २४ करोड अमेरिकी यस पटक राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन्। सम्भवतस् तिनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफ निर्धारण गर्ने सञ्चारमाध्यमले लेखेका छन् । औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्र्याट् उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन्सका डोनल्ड ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको बीबीसीले उल्लेख गरेको छ ।
एरिजोना, जोर्जा, मिशिगन, नभाडा, नर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन त्यस्ता राज्य हुन् जसले ह्वाइट हाउसको चाबी आफूसँग राखेका हुन सक्छन्। अब चुनावका अन्तिम महिनाहरूमा ती राज्यका अनिर्णीत मतदाताको मन जित्न दुवै पक्ष जोडतोडले लागिरहेका छन्।
-

स्पेनका राजालाई जब बाढी पिडितले गरे दुर्व्यवहार
काठमाडौं । स्पेनका राजा फिलिप छैटौंलाई बाढीग्रस्त क्षेत्र भ्यालेन्सिया क्षेत्रको भ्रमणको क्रममा रुष्ट बाढी पीडितले दुर्व्यवहार गरेकोखबर सार्वजनिक भएको छ ।
बीबीसीका अनुसार बाढीबाट नराम्ररी प्रभावित उक्त क्षेत्रको भ्रमणमा पुगेका राजा फिलिपलाई रुष्ट भिडले ‘हत्यारा’ र ‘लाच पचाएको’ भन्दै माटो फ्याँकेका छन् । बाढी प्रभावित क्षेत्रमा आउन राजाले ढिला गरेको पनि प्रदर्शनकारीले बताएका छन् ।क्रोधित बाढी पीडितहरूले राजा फिलिपलाई यस्तो त्रासदी रोक्न केही गरेका थियौ कि थिएनौ भनेर प्रश्न गरेका छन् । स्पेनमा सोमबार आएको बाढीमा परी दुई सयभन्दा बढीको ज्यान गएको छ भने कैयौं अझै बेपत्ता छन् । दुखको यस घडीमा जनता एक अर्काको साथमा उभिएका छन् र पीडितलाई सहयोग गर्न अगाडि बढिरहेका छन् ।
आपतकालीन सेवाका कर्मचारीहरूले कार पार्किङ र सुरुङमा फसेका मानिस र शवहरूको खोजी गर्न निरन्तर काम गरिरहेका छन्। यसैबीच स्पेनका नेताहरूले बाढी प्रभावित क्षेत्र भ्रमण गर्ने राजाको निर्णय गलत रहेको टिप्पणी गरेका छन् । भ्यालेन्सियाका संसद सदस्य जुआन बोर्डेराले राजा फिलिपको बाढी प्रभावित भ्यालेन्सियाको भ्रमण ‘धेरै नराम्रो निर्णय’ भएको बताएका हुन् ।
‘जनता आक्रोशित हुनु स्वाभाविक हो, उनको भ्रमण किन महत्वपूर्ण छ भन्ने कुरा जनताले नबुझ्नु पनि अस्वभाविक होइन,’ उनले भने । भ्यालेन्सियाको प्रान्तीय सरकारले पनि भारी वर्षा र बाढीपछिको अवस्थालाई लिएर गम्भीर आलोचनाको सामना गरिरहेको छ । अहिलेसम्म सरकारले बेपत्ताको तथ्यांक पनि भन्न सकिरहेको छैन । स्पेनका एक मन्त्रीले मृतकको संख्या धेरै नै बढ्न सक्ने बताएका छन् ।
-

अमेरिकाले किन लगायो कैयौं भारतीय कम्पनीमाथि प्रतिवन्ध ?
काठमाडौं । एसेन्ड एभिएशन इन्डिया प्रालिले सन् २०२३ को मार्चदेखि सन् २०२४ को मार्चसम्म रुसी कम्पनीहरूलाई ७०० खेप सामान पठाएको अमेरिकाले जनाएको छ।अमेरिकाका अनुसार मास्क ट्रान्स कम्पनीले सन् २०२३ को एप्रिलदेखि सन् २०२४ को एप्रिलसम्म करिब साढे दुई करोड भारु बराबरका उड्डयनसम्बन्धी सामान पठाएको पाइएको छ।
अमेरिकी प्रतिबन्धमा पर्ने भारतीय नागरिकहरूमा विवेककुमार मिश्रा र सुधीर कुमार छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार विवेककुमार मिश्रा र सुधीर कुमार एसेन्ड एभिएशनका सहनिर्देशक एवं आंशिक शेअरधनी हुन्।
एसेन्ड एभिएशनको वेबसाइटमा उल्लेख गरिएअनुसार उक्त कम्पनी दिल्लीमा रहेको छ र अन्तर्राष्ट्रिय स्तरमा त्यसले हवाई उद्योगका स्पेअर पार्ट्सका साथै लुब्रिकेन्ट आपूर्ति गर्ने गर्छ।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि अतिक्रमण भएयता अमेरिका, यूके र युरोपेली सङ्घका साथै अस्ट्रेलिया, क्यानडा र जापानसहित कैयौँ देशले रुसविरुद्ध १६,५०० भन्दा बढी प्रतिबन्ध लगाएका छन्।
ती प्रतिबन्धअन्तर्गत रुसको विदेशी मुद्रा सञ्चयको करिब आधा हिस्सा रोक्का गरिएको छ जुन करिब २७६ अर्ब डलर हुन आउँछ।
विदेश मामिलाका जानकार तथा द इमेज इन्डिया इन्स्टिच्यूटका अध्यक्ष रवीन्द्र सचदेव भन्छन्, “प्रतिबन्धमा परेपछि सम्बन्धित कम्पनीहरू प्रतिबन्ध लगाउने देशसँग लेनदेन गर्न सक्दैनन्।”
“प्रतिबन्धमा परेका कम्पनीहरूको सम्पत्ति पनि ती देशमा पनि रोक्का हुन सक्छ ती प्रतिबन्धको पक्षमा छन्।”
तर प्रतिबन्धका कारण भारत र अमेरिकाबीचको सम्बन्धमा खासै असर नपर्ने उनको दाबी छ। किनकि दुई देशबीच सुमधुर सम्बन्ध रहिआएको छ।
बिबिसी -

पाकिस्तानमा असुरक्षित पत्रकार, सन् २०२४ सबैभन्दा घातक
काठमाडौं । फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक बताएको छ । यस वर्ष सरकारले पत्रकारहरूलाई बचाउन कम प्रयास गरेको थियो । मिडिया अनुगमन संस्था फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ अनुसार युट्युबरसहित छ मिडियाकर्मीको मृत्यु र ५७ वटा उल्लङ्घन दर्ता गरिएका छन् । रिपोर्टअनुसार सन् २०२३ अक्टोबरदेखि सन् २०२४ अगस्टसम्म पत्रकार र डिजिटल मिडियाकर्मीका गरी पाँच वटा हत्या भएका छन् । पत्रकारहरूमाथि ११ वटा हत्या प्रयास गरिएकाले यो रिपोर्ट चिन्ताजक थियो ।
“सिन्धु संरक्षण विधेयक र सङ्घीय संरक्षण ऐन जारी गरिएको भए पनि दुवै सङ्घीय र सिन्धु सरकार यी कानून लागू गर्न असफल रहँदा यसले पत्रकारहरूलाई असुरक्षित बनाएको छ”, फ्रिडम नेटवर्कका कार्यकारी निर्देशक इक्बाल खत्तकले भने, “पत्रकार संरक्षणका विशेष कानुनहरू लागू गर्ने राजनीतिक इच्छाशक्ति र संसाधनहरूको अभावले पाकिस्तानमा पत्रकारहरूका लागि स्थिति खतरनाक बनेको छ ।”
सिन्धु सबैभन्दा बढी उल्लङ्घनहरूको सूचीमा रहेको रिपोर्टले देखाएको छ । सिन्धुमा ५७ मध्ये २१ वटा मुद्दा र तीन वटा हत्या दर्ता भएका छन् । त्यसपछि पञ्जाब र इस्लामाबाद आउँछन् । पञ्जाबमा १३ र इस्लामाबादमा १२ मुद्दा दर्ता भएका छन् । खैबर पख्तुनख्वामा सात र बलुचिस्तानमा दुई मुद्दा छन् ।
टेलिभिजन पत्रकारहरूले ३० वटा उल्लङ्घनका मुद्दा भोगेका छन् । यसमा ५३ प्रतिशत पत्रकार समावेश छन् । प्रिन्ट मिडियाले ३५ प्रतिशत र डिजिटल मिडियाले १० प्रतिशत मुद्दा भोग्नुपरेको छ । रेडियो पत्रकारहरूले उल्लङ्घनहरूविरुद्ध दुई प्रतिशत मुद्दा भोगेका छन् ।प्रतिवेदनले महिला पत्रकारहरूविरुद्ध उल्लङ्घनहरू पनि निर्धारण गरेको छ ।
पाकिस्तानमा मिडिया स्वतन्त्रतालाई संरक्षण गर्न दण्ड मुक्तिको सामना गर्नु आवश्यक रहेको रिपोर्टले जोड दिएको छ । हरेक महिना औसतमा छ वटा पत्रकार विरुद्धका उल्लङ्घन रिपोर्ट हुन्छन् । सङ्घीय सरकारले पत्रकार सुरक्षाका लागि गरेका झुटा प्रतिबद्धताहरूपछि असफल हुनु चिन्ताजनक छ । रासस
-

यूक्रेनमा रुस विजयी नभएसम्म साथ दिने उत्तर कोरियाको घोषणा
काठमाडौं । युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषणा गरेका छन् । यसअघि नै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ। अमेरिका र दक्षिण कोरियाले दश हजार उत्तर कोरियाली सैनिकहरू रूसमा प्रशिक्षण लिइरहेको उनीहरु र रूसको पक्षमा लडाइँमा सहभागी हुने बताउँदै आएका छन्।
वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही सेना कुर्स्क सीमा क्षेत्रमा पुगेको अमेरिकी गुप्तचरले जनाएको छ। “विजयसम्म सधैँ रुसी सेनासँग दृढतापूर्वक उभिने विदेश मन्त्री चो सोन हुईले रूसी समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गरेका हुन् । उनले उत्तर कोरियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको “बुद्धिमानी नेतृत्व“ मा कुनै शङ्का नभएको र प्योङयाङसँग आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको बताउँदै सम्बन्ध सक्षम बनाएको उल्लेख गरेका छन् । उनले उत्तर कोरियाले आणविक हतियारको विकास जारी राख्ने वाचा गरेका छन् ।प्योङयाङले सैन्य सहयोगको बदलामा रूसबाट आणविक प्रविधि चाहेको आशङ्का गरिएको छ।
रूसी विदेशमन्त्री लाभ्रोभले दुई देशका “सेना र विशेष सेवाहरू“ बीचको “घनिष्ठ सम्बन्ध“ को प्रशंसा गरेका छन् । युक्रेनमा उत्तर कोरियाको सहयोगका लागि रूस आभारी“ रहेको बताएका छन् । सन् २०२२ फेब्रुअरीमा सुरु भएको रूस युक्रेन आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडेको छ भने उत्तर कोरिया र इरान रूसको समर्थकका रूपमा देखापरेका छन्। लाभ्रोभले पुटिनको जुलाईको प्योङयाङ भ्रमणले सम्बन्धको “नयाँ चरण“ सुरु गरेको बताएका छन् ।
-

स्पेनमा भिषण बाढी, मृत्यु हुनेको संख्या १५०
काठमाडौं । स्पेनमा दशकौँयता आएको भीषण बाढीमा मृत्यु हुनेको सङ्ख्या १५० नाघेको छ। विषम मौषमी अवस्थाबीच उद्धारकर्मीहरू हराइरहेका कैयौँ मानिसहरूको खोजीमा जुटेका छन्। बेपत्ता हुनेहरूको सङ्ख्या अझै प्रस्ट छैन। बिहीवार १,२०० जना उद्धारकर्मीहरू ड्रोन सहित खटिए पनि देशको केही भागमा जारी वर्षाका कारण उनीहरूको काम प्रभावित भएको थियो।
“अहिलेको सबैभन्दा प्रमुख कुरा सकेसम्म धेरै मानिसहरूको ज्यान बचाउने हो,” बाढी प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री पेड्रो सान्चेजले पीडितहरूसँग भने। ज्यान गुमाउने अधिकांश भ्यालेन्सीया क्षेत्रका छन् जहाँ केही घण्टामै एक वर्षमा पर्ने परिमाणको पानी परेको थियो। उक्त सहरमा मात्रै १५५ जनाको मृत्यु भएको तथ्याङ्क छ।
मङ्गलवारको मुसलधारे वर्षापछि आएको बाढीले बाँध भत्काउनुका साथै पुल र भवनहरू बगाएको थियो भने मानिसहरू ज्यान जोगाउन घरका छत र रूखहरू चढ्न बाध्य भएका थिए। बाढीले ल्याएको माटो, भग्नावशेष र बगाएका कारहरूका कारण सडकहरू पनि अवरुद्ध छन्। धेरै मानिसहरू विद्युत् विना बसिरहेका छन्। सरकारले देशमा तीन दिने शोकको घोषणा गरेको छ। अझै पनि धेरै मानिसहरू हराइरहेकाले यो प्राकृतिक विपद्मा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने पनि सरकारले बताएको छ।
पूर्वी भ्यालेन्सीया प्रान्त र त्यहाँभन्दा बाहिरका ठाउँहरूमा भीषण वर्षाले दशकौँयताको सबैभन्दा खराब विपद् निम्त्याएको हो। सन् १९७३ यता बाढीका कारणले स्पेनमा यति धेरै सङ्ख्यामा मानिसको ज्यान गएको यो पहिलो पटक हो। त्यसबेला देशको दक्षिण पूर्वी क्षेत्रमा गएको अहिलेसम्मकै सर्वाधिक खराब बाढीमा कम्तिमा १५० जनाको मृत्यु भएको थियो।बुधवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सान्चेजले नागरिकहरूलाई सावधानी अपनाउन अनुरोध गरे र पूर्ण रूपमा पुनर्स्थापनाको वाचा गरे। उनले भने, “पूरै स्पेन तपाईँहरूसँगै रोइरहेको छ‘ हामी तपाईँहरूलाई यसै छाडिदिने छैनौँ।”
स्पेनको सरकारी मौसम एजेन्सीका अनुसार भ्यालेन्सीया नजिकैको एउटा नगर चीभामा एक वर्ष बराबरको पानी जम्मा ८ घण्टामै परेको थियो। स्पेनको सेना र आपत्तकालीन उद्धारकर्ताहरूले बुधवार बिहान मानिसहरूलाई घर र कारको छतहरूबाट उद्धार गरेको थियो। ज्यान जोगाएका मानिसहरूले मंगलवार रातिको बाढीको आतङ्कको चर्चा गरेका थिए। अकस्मात चोक र सडक नदीमा परिणत भएको थियो। धेरै सवारी चालकहरूले बाढीले त्यस्तो स्वरूप लिने अनुमान नै गर्न सकेका थिएनन्।
भ्यालेन्सीया नजिकैकाका गिलेर्मो सेरानो पेरेजले राजमार्गमा ‘सुनामी’ जस्तै गरी पानी छिरेको बताए। २१ वर्षका उनी र उनका अभिभावक कार छाडेर ज्यान जोगाउन रुखमा चढ्न बाध्य भएका थिए। अर्का प्रत्यक्षदर्शीले मोटरवेमा सवारी चलाइरहेका व्यक्तिहरूले आफूतिर तीव्र गतिमा पानी आइरहेको देखेपछि हाते साङ्लो बनाएर भागेको सम्झना गरे। प्याट्रिसिया रोड्रिगेजले एल पाइस समाचारपत्रलाई भनिन्, “कोही पनि चिप्लिएनन्। किनभने कोही लडेको भए, पानीको वेगले उनीहरूलाई बगाएर लैजान्थ्यो।”
ला टोरेका एकजना बासिन्दाले बीबीसीसँग कुरा गर्दै उनका कतिपय साथीहरूले घर गुमाएको र मंगलवार राति ‘कार पानीमा तैरिरहेको’ र पानीको वेगले ‘पर्खालहरू भत्काएको’ जनाए। भ्यालेन्सीयाबाहिरको एउटा नगर होर्नो डी एलसिडोका मेयरले बीबीसीको न्यूजआवरलाई केही मिनेटभित्रै पानीको तह एक मिटरभन्दा बढीले बढेको बताए। “पानीको वेग ज्यादै तीव्र थियो त्यही भएर हामीले आपत्कालीन सेवाका मानिसहरूलाई बोलायौँ जसले घाँटीसम्म पानीमा डुबिरहेका केही व्यक्तिहरूको उद्धार गरे,” कोनसुएलो टाराजोनले भने।
स्पेनमा धेरै घटनाहरूमा विपद् उद्धारसँग सम्बन्धीत चेतावनी दिइदाँसमेत समयमा नै कदम चाल्न अधिकारीहरू असफल हुने गरेका आरोप लागेका छन्। यसको कारण मानिसहरू सुरक्षित स्थानमा पुग्न नसकेको कुरा यसपटक पनि उठिरहेको छ। विपद्को समयमा परिचालित हुने गरेको नागरिक सुरक्षा एजेन्सीले स्थानीय समय अनुसार २०स्१५ सम्म चेतावनी जारि गरेको थिएन। तर त्यो बेलासम्म चीभा र अन्य कैयौँ शहरहरूमा दुई घण्टा देखि बाढी पसिरहेको थियो।
उद्धारका लागि स्पेनले १ हजार फौज परिचालन गरेको भएपनि सडक, विद्यूत र सञ्चारमा देखिएको अवरोधका कारण धेरै जना प्रभावित रहेका ठाउँसम्म पुग्न विफल भएका थिए। युरोपेली सङ्घकी प्रमुख उर्जुला फोन डेर लाइअनले उद्धारमा सघाउन कोपरनिकस भूउपग्रह प्रणालीलाई सक्रिय तुल्याइएको बताएकी छन्। अरू छिमेकी देशहरूले पनि सहयता पठाउने जनाएका छन्।
स्पेनकी रक्षामन्त्री मार्गरिटा रोब्लेसले बुधवारको बाढी ‘अभूतपूर्व घटना’ रहेको बताएकी छन्। उक्त वर्षा देशको मध्यपूर्वतर्फ सहज देखिएको थियो तर मौसम अधिकारीहरूले वर्षा उत्तरपूर्वको क्याटोलिनातर्फ अघि बढेको जनाएका छन्। मानिसहरूलाई सुरक्षित स्थानमा आश्रय लिन भन्दै मौसमसम्बन्धी चेतावनी पनि दिइएको छ। बाढीका लागि विभिन्न कारणहरू जिम्मेवार हुन्छन्। तर जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा भीषण वर्षाको सम्भवना बढी हुन्छ।
बीबीसीबाट सभार -

रुसले गुगललाई लगायो हिसावमा गन्नै नसकिने रकम जरिवाना
काठमाडौं । रुसको एक अदालतले युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गुगलमाथि भयंकर परिमाणको जरिवाना तोकेको छ । जरिवानाको रकम अति धेरै छ कि गन्न पनि गाह्रो छ । बीबीसीका अनुसार रुसको अदालतले २८ अक्टुबरको दिन २।५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिबानाको फैसला गरेको हो । १ अण्डसिलियनमा १ पछि ३६ वटा जिरो हुन्छन् । अर्थात् रुसी अदालतले गुगललाई २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० अमेरिकी डलर जरिबाना तिर्न भनेको छ । यो धनराशि गुगलको पूरै सम्पत्ति बेचेर पनि पुग्दैन । त्यतिमात्रै होइन यो विश्वभरको कूल जीडीपी भन्दा पनि धेरै छ । विश्वभरको कूल जीडीपी जोड्दा १०० ट्रिलियन डलर हुने अनुमान छ ।
अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समयसीमा दिएको छ । यदि ९ महिनाभित्र पनि तिर्न नसकेमा जरिबाना रकम दैनिक डबल हुने अदालतले जनाएको छ । रुसी अदालतले गन्न पनि गाह्रो हुने रकम जरिवानाको फैसला गुगलविरुद्ध चार वर्षसम्म चलेको कानुनी लडाइँ पछि गरेको हो । गुगलले रुसका केही सञ्चार माध्यमहरुमाथि प्रतिबन्ध लगाएको थियो । ती सञ्चार माध्मयको सूचीमा रुसका सरकारी सञ्चार माध्यम पनि थिए ।रुसको राष्ट्रवादी भनिने च्यानल जारग्रेडलाई गुगलले युट्युबबाट हटाइएको थियो । जारग्रेड च्यानलका प्रमुखलाई अमेरिकाले प्रतिबन्ध समेत लगाएको थियो । त्यसपछि मिडियाहरुले गुगलविरुद्ध अदालतमा मुद्दा हालेका थिए । रुसी अदालतले गुगललाई प्रतिबन्ध लगाइएका च्यानललाई फुकुवा गर्न भनेको छ । साथै जरिबाना रकम तिरिसकेपछि मात्रै रुसी बजारमा गुगललाई प्रवेश दिने जनाएको छ । यद्यपि गुगल हाल रुसमा कुनै पनि प्रकारको व्यापार गर्दैन । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि गुगलले रुसमा आफ्ना सबै गतिविधि बन्द गरेको थियो ।
-

इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ९३ जना मारिए
काठमाडौं । गाजाको उत्तरी शहर बेइत लाहिआमा इजरेलले गरेको एउटा हवाई आक्रमणमा २० जना बालबालिकासहित कम्तीमा ९३ प्यालेस्टिनी मारिएका वा हराइरहेका हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ। छिमेकीहरूले भग्नावशेषबाट शव र अङ्गहरू निकाल्ने प्रयास गरिरहेका प्रत्यक्षदर्शीहरूले बताएका छन्।
ज्यान गुमाउनेहरूमा अधिकांश इजरेली आक्रमणका कारण उत्तरी गाजाबाट विस्थापित भएका मानिसहरू रहेका बताइएको छ। पाँचतले आवासीय भवनलाई निशाना बनाइएको उद्धारकर्मीले बताएका छन्। हमासका लडाकुहरू फेरि सङ्गठित हुन थालेका भन्दै यसै महिनाको शुरूतिर नयाँ हमला थालेको इजरेली सेनाले ताजा आक्रमणबारे केही प्रतिक्रिया जनाइसकेको छैन।
इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) विगत दुई सातादेखि उत्तरी गाजाका खासगरी जबालिआ, बेइत लाहिआ र बेइत हनउनमा परिचालित छ। नजिकै पर्ने जबालिआस्थित कमाल अदवान अस्पातलका निर्देशक हुसैन अबु साफिआले समाचारसंस्था एएफपीलाई बताएअनुसार कर्मचारी तथा औषधिको अभावबीच बिरामी हेरिरहेको अस्पातलमा बालबालिकाको उपचार भइरहेको छ।
“हाम्रा चिकित्सक टोली र कर्मचारीलाई सेनाले गिरफ्तार गरेर लगेयता कमाल अदवान अस्पतालमा प्राथमिक उपचारका सामग्रीबाहेक केही पनि छैन,” अबु साफिआले भने। उपचारका सामग्रीबाहेक केही पनि छैन,” अबु साफिआले भने।
हमास लडाकुहरूले अस्पतालको प्रयोग गरिरहेका भन्दै आईडीएफले गत साता छापा मारेको थियो। उत्तरी गाजामा हमला गर्नुको उद्देश्य हमास लडाकुहरूलाई पुनः सङ्गठित हुन नदिनु रहेको इजरेलले दाबी गर्दै आएको छ। गैरसैनिकबीच लडाकुहरू मिसिने गरेको इजरेली दाबी हमासले चाहिँ खण्डन गर्दै आएको छ। मङ्गलवार एउटा वक्तव्य जारी गर्दै इजरेलले जबालिआमा ४० जना “आतङ्कवादी” मारिएको जनाएको छ।
त्यसै गरी गत २४ घण्टाभित्र मध्य गाजामा “थुपै आतङ्कवादीहरू निर्मूल” पारेको उसले उल्लेख गरेको छ। इजरेलले “सिङ्गो जनसङ्ख्यालाई बमबारी, घेराबन्दी र भोकमरीको जोखिममा पारिरहेको” संयुक्त राष्ट्रसङ्घको मानव अधिकार प्रमुख फोल्कर ट्युर्कले शुक्रवार बताएका थिए। प्यालेस्टिनी सशस्त्र समूहहरूले गैरसैनिकहरूबीच रहेर गरिरहेका भनिएको कारबाही स्वीकार्य नहुने पनि उनले बताए।
बीबीसी -

राष्ट्रपतिको अजरबैजान यात्रा स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्षराष्ट्रहरूको २९ औँ सम्मेलन (कोप २९) मा सहभागिताका लागि हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल कात्तिक २५ देखि ३० सम्म अजरबैजान भ्रमणमा जाने कार्यक्रम स्वीकृत भएको एक मन्त्रीले जानकारी दिए ।
भ्रमण दलमा वन तथा वातावणमन्त्री ऐनबहादुर शाही अजरबैजान जाने कार्यक्रम स्वीकृत भएको हो । राष्ट्रपति पौडेलले अजरबैजानको बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रममा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सम्मेलनका क्रममा राष्ट्रपतिले विभिन्न मुलुकका राष्ट्रप्रमुखसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
-

भारतीय विमानमा बम रहेको भन्दै झुटो सूचना दिने एक जना भारतमा पक्राउ
काठमाडौं । भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ । न्यूज १८ इण्डियाका अनुसार नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको छ । नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुटो खबर दिंदै आएका इमेल उनीसम्म ट्रेस भएको बताएको छ । पक्राउ परेका जगदिशले २०२३ जुलाई ५ मा ‘आतंकवाद एक तुफानी राक्षस’ नामक किताब समेत लेखेका थिए ।
पुस्तकबारे व्याख्या गर्दै उनले यसमा आतंकवादलाई जरैदेखि सक्ने उपायबारे लेखेको बताएका थिए । हिन्दी भाषामा लेखिएको उनको पुस्तक अंग्रेजीमा पनि अनुवाद भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार, महाराष्ट्र प्रहरीका डीसीपी स्वेता खेड्करको नेतृत्वमा भएको अनुसन्धान उन्केसम्म पुगेको थियो । उनी यसअघि पनि २०२१ मा पक्राउ परेका थिए । उनले किन बम रहेको भन्दै आतंक सिर्जना गरे भन्ने हालसम्म खुलेको छैन ।प्रहरीका अनुसार, उनले प्रधानमन्त्री कार्यालय, रेलवे मन्त्रीको कार्यालय, महाराष्ट्रका मुख्यमन्त्री लगायतलाई पनि इमेल पठाएको भेटिएको छ । नेपालमा पनि सोमबार एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि केही घन्टा विमानस्थल अस्तव्यस्त बनेको थियो । त्यसअघि भिस्टारा एयरवेजको विमानमा पनि बम रहेको हल्ला फैलिएको थियो । ७ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, दुवैपटक शंकास्पद वस्तु फेला परेन ।
-

बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई अब संग्रहालय बनाइने
काठमाडौं । बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने भएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरे । ‘संग्रहालयले हसिनाको कथित कुशासन र उनलाई सत्ताबाट हटाउनका लागि जनताले गरेको संघर्षका सम्झनाहरू जोगाउनेछ,’ युनुसले गणभवन दरबारको भ्रमणका क्रममा सोमबार भने ।
पूर्वप्रधानमन्त्री हसिना ‘एन्टी–डिस्क्रिमिनेसन स्टुडेन्ट मुभमेन्ट’का कारण गत अगस्ट ५ मा देश छाडेर भागेकी थिइन् । उनको बहिर्गमनपछि ८४ वर्षीय युनुस देशको मुख्य सल्लाहकारमा नियुक्त भएका थिए । हसिनामाथि डेढ दशक लामो शासनकालमा राजनीतिक विपक्षीहरूलाई नजरबन्दमा राख्ने र गैरन्यायिक हत्यालगायतका व्यापक मानवअधिकार उल्लंघन गरेको आरोप छ । बंगलादेशको एक अदालतले उनलाई पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ ।
हसिनालाई पतन गराउने आन्दोलनमाथि गरिएको चरम प्रहरी दमनका कारण कम्तीमा ७ सय जनाको ज्यान गएको थियो । अगष्ट ५ मा हसिना भागेसँगै सयौं आन्दोलनकारीले ‘दमनको प्रतीक’ भन्दै उनको निवासमा आक्रमण गरेका थिए । त्यसका साथै आन्दोलनकारीले हसिनाका बुबा तथा बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको घरमा रहेको संग्रहालयमा पनि तोडफोड गरेका थिए । बंगलादेशबाट भागेपछि हसिना हालसम्म सार्वजनिक रूपमा देखिएकी छैनन् । ७७ वर्षीय हसिना अन्तिम पटक भारतको राजधानी नयाँदिल्ली नजिकैको सैन्य हवाई अखडामा पुगेको बताइएको थियो ।
-

रुसमा उत्तर कोरियाली फौज परिचालन रहेको नेटोको बयान
काठमाडौं । उत्तर कोरियाली फौजहरू रुसमा परिचालित रहेका र उनीहरू युक्रेनी फौजको बलियो पकड रहेको कुर्क्स सीमाक्षेत्रमा कार्यरत रहेका उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले पहिलो पटक बताएको छ। सोमवार दक्षिण कोरियाका सुरक्षाकर्मी तथा रक्षा अधिकारीहरूसँग एउटा बैठक गरेपछि नेटोका महासचिव मार्क रुटले हप्तौँको गुप्तचार रिपोर्टहरूपछि आफूले उत्तर कोरियाली फौजहरू परिचालित रहेका पुष्टि गर्न सक्ने बताएका हुन्। नेटोका नवनियुक्त प्रमुखले उत्तर कोरियाली फौज परिचालनले “ठूलो उक्साहट” र युक्रेनमा रुसी युद्ध “खतरनाक रूपमा विस्तार” भएको भन्ने दर्शाएको टिप्पणी गरे।
प्योङ्गयाङले आफ्नो साझेदारलाई सघाउनका निम्ति हजारौँको सङ्ख्यामा फौज पठाउन लागेका विवरणबीच गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा उत्तर कोरियाली फौज पुगेको अस्वीकार गरेका थिए। “यो हाम्रो सार्वभौम निर्णय हो,” एउटा पत्रकार सम्मेलनका क्रममा प्रश्न पन्छाउँदै पुटिनले भने।
“हामी त्यसको प्रयोग गर्छौँ अथवा गर्दैनौँ, कहाँ, कहिले अथवा हामी अभ्यास, प्रशिक्षण वा केही अनुभव आदानप्रदान गर्छौँ। यो हाम्रो सरोकारको विषय हो,” उनले थपे। कति सङ्ख्यामा उत्तर कोरियाली सैनिकहरू रुस पठाइएका छन् भन्ने कुरा स्पष्ट भएको छैन।दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार यसै महिनाको शुरूतिर कम्तीमा १,५०० उत्तर कोरियाली सैनिक रुस पुगिसकेका छन्। तर नेटोले प्योङ्गयाङका फौजहरू रुसमा कार्यरत रहेका औपचारिक रूपमा स्वीकारेको यो पहिलोचोटि हो। युक्रेनविरुद्ध प्रयोगका निम्ति उत्तर कोरियाले यसअघि नै बलिस्टिक क्षेप्यास्त्र तथा लाखौँ राउन्ड गोलीहरू रुस पठाइसकेको रुटले बताएका छन्।
त्यसको बदलामा पुटिनले उत्तर कोरियालाई सैन्य प्रविधिहरू र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू झेल्नका लागि अरू सहयोगहरू पठाउन सहमति जनाएको रुटले उल्लेख गरे। मस्को र प्योङयाङबीचको गहिरो सम्बन्ध “इन्डो(प्यासिफिक र यूरो(एट्लान्टिक क्षेत्रको शान्ति तथा सुरक्षाका निम्ति खतरा भएको” समेत उनले बताए। कुर्क्स क्षेत्रमा उत्तर कोरियाली फौजहरूको तैनाथीले पश्चिमा देशका राजधानीहरूमा चिन्ता निम्त्याउन सक्ने रुटले चेतावनी दिए।
रुसलाई आश्चर्यमा पार्ने गरी उसको पश्चिमी क्षेत्रमा पहिलो पटक युक्रेनी फौजहरू पुगेपछि दुई महिनायता त्यहाँ मस्को र किएभबीच लडाइँ जारी छ। युक्रेनलाई अगाडि बढ्न नदिने प्रयास स्वरूप रुसले सो क्षेत्रमा हजारौँको सङ्ख्यामा फौजहरू पठाएको बताइएको छ। कुर्क्समा उत्तर कोरियाली फौजहरूको आगमनले किएभका फौजहरूमाथि थप दबाव सिर्जना गर्न सक्ने विज्ञहरू बताउँछन्। गत शुक्रवार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि ती फौजहरू केही दिनभित्रै युद्धमैदानमा परिचालित हुन सक्ने सूचना आफ्नो सरकारसँग रहेको बताएका थिए।
पश्चिमा नेताहरूले त्यस्तो कदमले द्वन्द्व थप चर्काउन सक्ने चेतावनी हप्तौँदेखि दिँदै आएका छन्। सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि अतिक्रमण गरेपछि आफू एक्लिँदै गएको पाएको मस्कोले उत्तर कोरियासँग सम्बन्ध अझ गाढा बनाउँदै गएको छ।
बीबीसी -

बोलिभियाका पूर्वराष्ट्रपतिको कारमा गोली प्रहार
काठमाडौं । बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेसले आइतबार आफ्नो कारमा गोली प्रहार गरिएको बताएका छन् । केन्द्रीय शहर कोचाबाम्बामा रेडियो अन्तर्वार्ताका लागि यात्रा गर्दा बन्दुकधारीले आफ्नो कारमा गोली प्रहार गरेको र चालक घाइते भएको उनले बताए । “म आइपुगेको कारमा १४ वटा गोली लागेका प्वाल छन्” मोरालेसले भने, “यो योजनाबद्ध थियो । इभोलाई मार्ने विचार थियो ।”
अन्तर्वार्ता गर्ने रेडियो स्टेशन कौसाचुन कोकाले मोरालेस सवार भएको गोली लागेको पिकअप ट्रकको भिडियो सार्वजनिक गरेको छ । विन्डशिल्डमा तीन गोली लागेका प्वाल थिए र चालकको टाउकोमा रगत देखिन्थ्यो। मोरालेसले वर्तमान राष्ट्रपति लुइस आर्सेलाई आक्रमणको दोष दिए । लुइस आर्से मोरालेसका पूर्व सहयोगी र मन्त्रिपरिषद् सदस्य थिए । दुवैबिच सम्बन्ध बिग्रिएको छ।
“लुचोले बोलिभियालाई नष्ट गरेका छन् र अब उनी इभोलाई मारेर हाम्रो प्रक्रियालाई समाप्त गर्न चाहन्छन्” मोरालेसले राष्ट्रपतिको उपनाम प्रयोग गर्दै आफ्नै राष्ट्रपति पद पुनः प्राप्त गर्ने प्रयासका बारेमा भने । अहिले ६५ वर्ष पुग्नुभएका मोरालेस पूर्व कोका उत्पादक र २००६ देखि २०१९ सम्म राष्ट्रपति थिए ।
चौथो कार्यकालका लागि संविधान छल्ने प्रयास नगर्दासम्म उनी बोलिभियामा अत्यन्त लोकप्रिय थिए । धाँधलीको आरोप लागेको चुनावपछि सेनाको समर्थन गुमाएपछि उनलाई राजीनामा दिन बाध्य पारियो । उनी मेक्सिको भागेका थिए । उनी सन् २०२० मा राजनीतिक पुनर्जीवनको खोजीमा बोलिभिया फर्किएका थिए ।
-

सुडानमा लडाकुको हिंसात्मक गतिविधि, कम्तिमा ५० जना मारिए
काठमाडौं । मध्य सुडानको एउटा गाउँमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले शुक्रबार गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै दुई सय भन्दा बढी घाइते भएका गैरसरकारी समूहहरुले जनाएका छन् । गेजिरा राज्यको राजधानी वड मदनीमा रहेको प्रतिरोध समितिले भनेको छ, “शुक्रबार बिहान, आरएसएफले अल कमलिन क्षेत्रको अलसेरिहा गाउँमा भारी गोलाबारी र बमबारी गरेका छन् ।” समितिले भनेको छ, “अलसेरिहा गाउँका ५३ भन्दा बढी सर्वसाधारण मारिएका छन भने २०० भन्दा बढी अन्य घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।”
शुक्रबार बिहानैदेखि आरएसएफ लडाकूले गेजिरा राज्यको उत्तरमा रहेको अल कमलिन इलाकाको अलसेरिहा गाउँमा आक्रमण गरेको थियो । लडाकूहरुले हतियार र तोपमार्फत् अग्लो भवनबाट निहत्था नागरिकहरुमा गोली हान्न थालेको एक गैर(सरकारी समूहले जनाएको छ । सुडानको विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत गेजिरा राज्यका गाउँ र शहरविरुद्ध आरएसएफको प्रतिशोधात्मक अभियानको निन्दा गरेको छ ।
आरएसएफले जनजाति र क्षेत्रीय आधार इलाकाहरूमा अभियानह सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । सन् २०२३ मध्य अप्रिलदेखि सुडानमा सशस्त्र सेना र आरएसएफ बीचको द्वन्द्वले सुडानमा व्यापक आर्थिक तथा भौतिक क्षति पुगेको छ । सशस्त्र द्वन्द्वका कारण यहाँ हालसम्म २४ हजार ८५० भन्दा बढीको ज्यान गएको छ । रासससिन्ह्वा
-

इजरायलले थाल्यो इरानमा हमला
काठमाडौं । इजरेलले इरानी सैन्य स्थलहरूमा निशानाबद्ध हवाई हमला थालेको छ । ती हमलालाई इजरेलले आफूविरुद्ध इरान र उसको साथ पाएका समूहहरूले बारम्बार गरेका हमलाको जबाफ भएको बताएको छ। इजरेली सेनाले हमलाको काम पूरा भएको जनाउँदै भनेको छ, हाम्रा विमानहरू सुरक्षित रूपमा घर फर्किएका छन्। तर कुन–कुन ठाउँहरू प्रहार गरिएको हो र क्षतिको तह कस्तो छ भन्ने प्रस्ट भइसकेको छैन।
इजरेली डिफेन्स फोर्सेस आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले आफ्नो प्रतिरक्षा गर्ने अधिकार र दायित्व इजरेल सामु भएको जनाएका छन्। तीन साताअघि इरानले इजरेलमा झण्डै दुई सयको सङ्ख्यामा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।
इरानको रेभुलस्नरी गार्ड्सनिकट एक समाचार संस्थाका अनुसार इरानको राजधानीको पश्चिम र दक्षिण पश्चिममा रहेका सैन्य आधारहरू निशानामा पारिएका छन्।जेरुसलेमस्थित एकजना बीबीसी संवाददाताले इजरेलले आफ्ना हमला परमाणु वा तेल प्रशोधन केन्द्रमा नभई सैन्य निशानामा केन्द्रित गरेको देखिएको जनाएका छन्। इजरेली हवाई हमलाको निशानामा सिरियाको राजधानी दमास्कससहित देशका मध्य र दक्षिणी क्षेत्रका सैन्य स्थल समेत पारिएको सिरियाको सरकारी समाचार संस्थाले जनाएको छ। इराकमा समेत राजधानी बग्दादनजिकै विस्फोटनका विवरण आएका छन्।
इजरेलले भने इरानबाहिर भएका हमलाका विवरणबारे प्रतिक्रिया जनाएको छैन। अहिलेसम्मको अवस्थामा इरानी सरकारी सञ्चारमाध्यमले भने आफूविरुद्धका हमला असफल भएको बताएका छन्। तर विज्ञहरूले त्यस्ता हमलापछि त्यो इरानले सामान्यतः दिने प्रतिक्रियाको शैली भएको बताएका छन्। गम्भीर क्षति वा मृत्युका विवरण सतहमा देखा परेमा त्यो परिवर्तन हुनसक्ने भन्दै विज्ञहरूले सजग गराएका छन्। ह्वाइटहाउसले इजरेलको आत्मरक्षाको अभ्यासमा अमेरिकाको कुनै संलग्नता नरहेको जनाएको छ।
BBC
-

अमेरिकी गप्तचरको चेतावनीपछि श्रीलंकामा बढाइयो इजरायली पर्यटकको सुरक्षा
काठमाडौं । श्रीलङ्काली प्रहरीले मुलुकमा भ्रमण गर्ने इजरायली पर्यटकमाथि सम्भावित आक्रमणको अमेरिकी गुप्तचर चेतावनीपछि तीन जनालाई पक्राउ गरेको छ । “हामीले तीन स्थानीय पुरुषलाई सोधपुछ गरिरहेका छौँ”, विदेशमन्त्री विजिता हेराथले कोलम्बोमा पत्रकारलाई भने, “हामीले अमेरिकी चेतावनीलाई गम्भीरतापूर्वक लिएका छौँ र सुरक्षा बढाएका छौँ ।” उनले ती पुरुषलाई मुलुकको पूर्वी भागमा रहेको एक यहुदी सामुदायिक केन्द्रलाई लक्षित गर्ने कथित षड्यन्त्रको सिलसिलामा पक्राउ गरिएको जानकारी दिए ।
श्रीलंकाले अमेरिकी दूतावासले सम्भावित आक्रमणको चेतावनी दिएपछि सर्फिङ रिसोर्ट अरुगम बेमा र अन्य लोकप्रिय पर्यटकीय स्थलहरुमा सैनिक तैनाथ गरेको सार्वजनिक सुरक्षामन्त्रीसमेत रहनुभएका हेराथले बताए । यस वर्षको पहिलो नौ महिनामा श्रीलङ्कामा भ्रमण गर्ने १५ लाख पर्यटकमध्ये इजरायलीहरूको सङ्ख्या एक दशमलव पाँच प्रतिशतभन्दा कम अर्थात करिब २० हजार थियो ।प्रहरीले इजरायलीहरूका लागि हटलाइन स्थापना गरेको थियो । प्रहरीका अनुसार हाल देशमा करिब पाँच सय ७० इजरायली नागरिकहरु रहेको छ । कोलम्बोबाट सडक मार्ग हुँदै चार सय किलोमिटर पूर्वमा अवस्थित अरुगम बे इजरायली पर्यटकहरुको लोकप्रिय गन्तव्य हो ।
अमेरिकी चेतावनी इजरायली स्वामित्वका व्यवसायहरूको बहिष्कारका लागि सामाजिक सञ्जालमा गरिएका पोस्टहरूपछि आएको हो । गाजा र लेबनानमा इरान समर्थित हमास र हिजबुल्लाहसँगको इजरायलको द्वन्द्वको विरोधमा स्थानीय मुस्लिम समूहहरुले प्रदर्शन पनि गरेका थिए ।
अस्ट्रेलिया, बेलायत, क्यानाडा र न्युजिल्यान्डले आफ्ना वेबसाइटहरुमा अमेरिकी चेतावनी साझा गरेका छन् भने रुसी दूतावासले आफ्ना नागरिकहरूलाई श्रीलङ्का भ्रमण गर्दा भीडभाड भएका ठाउँहरुमा नजान सल्लाह दिएको छ ।
पैँतालिस विदेशी नागरिकसहित दुई सय ७९ जनाको ज्यान लिएको सन् २०१९ को इस्टर सन्डे बम विस्फोटपछि श्रीलङ्कामा कुनै आक्रमण भएको छैन । तीन वटा विलासी होटल र तीन वटा चर्चविरुद्ध भएको समन्वित आक्रमण इस्लामिक स्टेट समूहप्रति वफादारी जनाउने एक स्थानीय जिहादी समूहको काम भएको आरोप लगाइएको थियो ।
त्यसपछि पर्यटक सङ्ख्यामा तीव्र गिरावट आएको थियो र सन् २०२२ को आर्थिक मन्दीले व्यापक नागरिक अशान्ति निम्त्याएपछि अझै प्रभावित भएको थियो । तर गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोषको राहत प्याकेजले अर्थतन्त्र स्थिर पार्न मद्दत गरेपछि विदेशी पर्यटकहरुको सङ्ख्या बढेको छ । रासस\एएफपी
-

भारतका पूर्वी राज्यमा विनासकारी आँधी, १५ लाख मानिस विष्थापित
काठमाडौं । भारतका पूर्वी राज्यहरू उडिसा र पश्चिम बंगाल क्षेत्रबाट आउन लागेको चक्रवातका कारण करिब १५ लाख मानिसलाई अन्यत्र सारिएको छ । भारतीय अधिकारीहरूले चक्रवात ‘दाना’ आगामी २४ घण्टासम्म सक्रिय रहने र यसले व्यापक क्षति पुर्याउने अनुमान गरेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार चक्रवातका कारण हुने क्षति न्यूनीकरण गर्न हजारौं राहत कार्यकर्ता खटाइएको छ ।
‘दाना’ का कारण यातायात सेवा पहिले नै प्रभावित भएको छ, धेरै रेल सञ्जाल र हवाई उडानहरू रद्द भएका छन् । भारतको मौसम विभागले बंगालको खाडीमा बनेको न्यून चाप बिहीबार साँझसम्म ठूलो आँधीमा परिणत हुने जनाएको छ । आँधीका कारण तटीय क्षेत्रहरू १२० किमि प्रतिघन्टाको गतिमा हावाहुरी आउने बताइएको छ । बुधबार उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले चक्रवातको मार्गमा रहेका जिल्लाका बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यवस्था गरिएको बताएका थिए ।
अधिकारीहरूले खाना, पानी र स्वास्थ्य सुविधाहरूसहित अस्थायी राहत शिविरहरू तयार पारेको जनाइएको छ । ‘हामी आँधीसँग लड्न पूर्ण रूपमा तयार छौं । नआत्तिनुहोस्, सुरक्षित र सावधान रहनुहोस्,’ माझीले भनेका थिए । उडिसा राज्यका १४ जिल्लाबाट कम्तीमा १० लाख र पश्चिम बंगाल राज्यका तटीय क्षेत्रहरूबाट कम्तीमा ३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । दुवै राज्यमा तटीय क्षेत्रका विद्यालयहरू बन्द गरिनुका साथै अधिकारीहरू र उद्धार टोलीहरू तयारी अवस्थामा रहेको जनाइएको छ ।
बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म भुवनेश्वर र कोलकाता सहरका विमानस्थलबाट उडान स्थगन गरिएको र आँधीका कारण २ सयभन्दा बढी रेल सेवा अवरुद्ध भएको जनाइएको छ । उडिसा र पश्चिम बंगालमा हरेक वर्ष ठूलो आँधी तथा चक्रवात आउने गर्छ । सन् १९९९ मा उडिसामा चक्रवातका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । गत वर्ष भारत र बंगलादेशमा आँधीका कारण कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए । -

उत्तर कोरियाले रुसमा सैनिक पठाएको अमेरिकाको दावि
काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको दावि गरेका छन् । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ ड्रोन र अन्य उपकरणको तालिम लिइरहेको र युक्रेनको युद्धभूमिमा खटाइने तयारी भइरहेको बताएका थिए ।
त्यसलगत्तै अमेरिकी रक्षामन्त्रीको बयान सार्वजनिक भएको हो । इटालीको रोम भ्रमणमा रहेका उनले पत्रकारहरुसँग कुरा गर्दै कोरियाली सैनिकले ठ्याक्कै के गरिरहेका छन्, त्यो हेर्न बाँकी रहेको बताए । उनले भनेका छन्, “यदि ती सैनिकहरूले रुसको पक्षमा युक्रेन युद्धमा भाग लिए भने यो ‘धेरै गम्भीर मुद्दा’ हुनेछ”, यसले युरोप र इन्डो–प्यासिफिक क्षेत्रमा प्रभाव पार्ने उनको दावि छ ।
दक्षिण कोरियाली गुप्तचर निकायले यसै महिना रुसी नौसेनाले एक हजार पाँच सय उत्तर कोरियाली विशेष युद्ध सैनिकलाई रुस लगेको रिपोर्ट सार्वजनिक गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसअघि १० हजार उत्तर कोरियाली सैनिकलाई रुसी आक्रमणकारी सेनामा सामेल हुन तयार पारिँदै गरेको गुप्तचर जानकारी आफ्नो सरकारसँग रहेको बताएका थिए ।
अमेरिका र नाटोले यसअघि उत्तर कोरियाको कथित सैनिक प्रेषणलाई औपचारिकरुपमा पुष्टि गरेका थिएनन् तर यदि यो सत्य भएमा त्यस्तो विकासको खतराबारे चेतावनी दिएका थिए । रुस र उत्तर कोरियाले अहिलेसम्म सैनिक आवागमनको खण्डन गर्दै आएका छन् ।
दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) का निर्देशक चो ताए–योङले बुधबार सांसदहरुलाई अर्को एक हजार पाँच सय उत्तर कोरियाली सैनिक रुस प्रवेश गरेको जानकारी दिएका छन् ।
-

फिलिपिन्समा शक्तिशाली आँधी, कम्तिमा १४ जनाको मृत्यु
काठमाडौं । फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ । हजारौँ विस्थापित भएका छन् । उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरूसमक्ष पुग्ने प्रयास गरेका थिए । मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् ।
पूरै गाउँ डुबानमा छन् । उत्तरी फिलिपिन्समा बाढीले कम्तीमा ३२ हजार मानिस आफ्नो घर छोडेर भागेको प्रहरीले बताएका छन् । राजधानी मनिलाबाट करिब चारसय किलोमिटर दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा अप्रत्याशित रूपमा उच्च बाढीले उद्धार कार्यलाई जटिल बनाइरहेको प्रहरीले जनाएको छ ।
“हामीले प्रहरी उद्धार टोलीहरू पठाएका थियौँ तर उनीहरूलाई केही क्षेत्रमा प्रवेश गर्न कठिनाइ भएको थियो” क्षेत्रीय प्रहरी प्रवक्ता लुइसा कालुबाकिबले भने ।
नागाको बिकोल सहरमा बाढीमा डुबेर ११ जनाको मृत्यु भएको स्थानीय प्रहरी प्रमुख इर्विन रिबेलियनले बताए । राजधानीको दक्षिणपूर्व क्वेजोन प्रान्तमा एक वृद्धाको डुबेर मृत्यु भएको छ । एक बालकको पनि बाढी आएको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।मनिलाको सिभिल डिफेन्स अफिसले रुखको हाँगाबाट खसेर एक जनाको मृत्यु भएको जनाएको छ । बेलुका ८ बजेसम्म आँधीको केन्द्र लुजोनको इसाबेला प्रान्तबाट एकसय ५० किलोमिटर पूर्वमा रहेको थियो र अधिकतम निरन्तर हावा ९५ किलोमिटर प्रतिघन्टासम्म बढेको राष्ट्रिय मौसम एजेन्सीले जनाएको छ ।
यो रातिको समयमा इसाबेलाको तटमा ठोक्किने अपेक्षा गरिएको थियो । यो टापू पार गरेर दक्षिण चीन सागरमा जाँदा थोरै कमजोर हुँदै गएको थियो । विगत २४ घण्टामा यस क्षेत्रमा पाँचसय मिलिमिटरभन्दा बढी वा एक महिनाभन्दा बढीको वर्षा भइसकेको छ । रासस, एएफपी
-

रुसमा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको भेट, कुन मुद्दामा भयो कुराकानी ?
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच रुसको कजानमा भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनका क्रममा दुई देशका नेताहरुबीच द्वीपक्षीय भेटवार्ता भएको हो । दुई नेताबीच करिव ५० मिनेट कुराकानी भएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको तस्वीर एक्समा पोष्ट गर्दै भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘‘दुई देशका नागरिकका साथै क्षेत्रीय र विश्व शान्तिका साथै स्थिरताका लागि भारत र चीनको सम्बन्ध महत्वपूर्ण छ । आपसी विश्वास, आदर र संवेदनशीलताले नै दुबै देशको द्वीपक्षीय सम्बन्धको बाटो देखाउने छ ।’
भारतीय विदेश मन्त्रालयका अनुसार भेटमा दुबै नेताले एलएसी अर्थात दशगजा क्षेत्रबाट सैनिक हटाउने र २०२० मा सुरु भएको विवाद समाधान गर्ने सहमतिको स्वागत गरेका छन् । मोदीले दुबै देशको बीचमा रहेको विवाद र मतभेद हल गर्नुपर्नेमा जोड दिएका छन् । साथै सीमा विवादमा दुबै देशबीच विशेष प्रतिनिधिबारे समेत सहमति भएको छ, जसले सीमामा शान्ति कायम गर्न र पारस्परिक रुपमा स्वीकार्य समाधानको खोजी गर्ने छन् । दुई देशका विदेश मन्त्रीस्तरीय सम्बन्धलाई पुनः अगाडि बढाउन पनि सम्वाद सुरु गरिनेछ ।
चिनियाँ विदेश मन्त्रालयले पनि दुबै देशको आपसी सम्पर्क र सहयोग बढाउने र असहमति तथा मतभेदलाई समझदारीका साथ सुल्झाउन दुई नेताले जोड दिएको बताएको छ ।
-

बेलायती राजालाई अष्ट्रेलियामा भनियो : तपाई हाम्रो राजा होइन
काठमाडौं । बेलायती राजा चार्ल्स तृतीय माथि नसोचेको व्यवहार भएको छ । राजा चार्ल्सले सोमबार बिहान अस्ट्रेलियाको संसद्लाई सम्बोधन गर्ने कार्यक्रम थियो ।
११ मिनेट लामो सम्बोधन सक्ने बित्तिकै माथिल्लो सदन सिनेटकी एक सदस्यले चार्ल्स अस्ट्रेलियाको राजा नभएको भन्दै चिच्चाएकी छिन् । ‘दिस इज नट योर ल्यान्ड । यू आर नट माइ किङ । भिक्टोरिया राज्यबाट निर्वाचित सिनेट सदस्य लिडिया थोर्पले चार्ल्सलाई भनिन् ।अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संसद् भवनमा भएको समारोहमा करिब एक मिनेट आफ्ना असन्तुष्टि पोख्दै चिच्याएपछि आदिवासी सांसदलाई सुरक्षाकर्मीले संसद् भवनबाहिर निकालेका थिए । त्यसअघि राजा चार्ल्स र रानी क्यामिलालाई स्वागत गर्ने आदिवासी अगुवा आन्टी भायोलेट सेरिडनले भने थोर्पको विरोध अपमानजनक भएको बताइन् । थोर्पलाई सुरक्षाकर्मीले भवनबाहिर निकालेलगत्तै स्थिति सामान्य बन्यो र शाही दम्पतीले आफूहरूलाई स्वागत गर्न बाहिर पर्खिरहेका सयौं मानिसलाई भेट्न अगाडि बढे ।
अस्ट्रेलिया राष्ट्रमण्डलको एक देश हो र त्यहाँ राजाले राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्छन् । तर अस्ट्रेलियामा हालै राजालाई भूमिकाबाट हटाउनेबारे बहस सुरू भएको छ । भिक्टोरिया राज्यबाट स्वतन्त्र रूपमा सिनेटरमा निर्वाचित थोर्पले अस्ट्रेलिया सरकार र यसका आदिवासीबीचको सन्धिको वकालत गर्नेहरूमध्ये एक हुन् ।
चार्ल्सलाई विरोध जनाएपछि थोर्पले बीबीसीसँग आफूले राजालाई स्पष्ट सन्देश दिन चाहेको प्रतिक्रिया दिएकी छन् ।‘सार्वभौम हुनका लागि तपाईं कुनै भूमिको हुनुपर्छ,’ उनले भनिन्, ‘यो उनको देश होइन ।’ राजाले आदिवासीसँग शान्ति सन्धिबारे छलफल गर्न संसदलाई निर्देशन दिनुपर्ने थोर्पको भनाइ छ । ‘हामीले त्यसको नेतृत्व गर्न सक्छौं, हामी त्यो गर्न सक्छौं, हामी राम्रो देश बन्न सक्छौं । तर सामूहिक हत्या र सामूहिक नरसंहारका लागि जिम्मेवार रहेका उपनिवेशकर्ताका पुस्तासँग हामी झुक्न सक्दैनौं,’ थोर्पले भनेकी छन् ।
बिग्रँदो स्वास्थ्य, सम्पत्ति र शिक्षाका कारण अस्ट्रेलियामा आदिवासी र अन्य नागरिकबीचको असमानता कसरी सम्बोधन गर्ने भन्नेबारेमा लामो समयदेखि बहस जारी छ । गत वर्ष ‘भ्वाइस’ भनेर चिनिने आदिवासी जनजातिलाई बृहत्तर राजनीतिक अधिकार र मान्यता दिने सम्बन्धमा भएको जनमतसंग्रह अस्वीकृत भएको थियो ।
ग्रीन्सको सदस्यका रूपमा संसद्मा निर्वाचित भएकी थोर्पले भ्वाइसको समर्थनका लागि पार्टी छाडेकी थिइन् । उनले विगतमा पनि आदिवासीको पक्षमा बाह्य दुनियाको ध्यान आकर्षित गर्ने विरोध प्रदर्शनहरू गरेकी थिइन् ।
-

ट्रम्पका एक मतदातालाई प्रतिदिन १० लाख डलर दिने अर्बपति व्यापारी मस्कको अभियान किन विवादित ?
काठमाडौं । अर्बपति व्यापारी इलोन मस्कले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा निर्णायक हुन सक्ने ठानिएका राज्यका मतदातामध्ये एक जनालाई दैनिक १० लाख अमेरिकी डलर वितरण गर्ने घोषणा गरेका छन्। उनको यो निर्णय विधानसम्मत छ कि छैन भनेर प्रश्न उठेको छ।
अमेरिकामा नोभेम्बर ५ मा निर्वाचन हुन लागेको छ। मस्कले राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा समर्थन जुटाउन ‘अमेरिका पीएसी’ अभियान थालेका छन्। त्यसमा सहभागी हुन सहमत हुने पेन्सिल्भेनिया राज्यका मतदाताहरूलाई हस्ताक्षर गरेकै आधारमा मस्कले नगद पुरस्कार दिने घोषणा गरेका हुन्।
सो अभियानमा सहभागी हुन हस्ताक्षर गर्ने स्विङ स्टेट मानिएका सात राज्यका मतदातामध्येबाट प्रत्येक दिन एक जनाले १० लाख अमेरिकी डलर हात पार्ने छन्। त्यो क्रम मतदान हुने दिनसम्म चल्ने छ। केही कानुनविद्हरूले कुनै अभियानमा समर्थन जनाएबापत मतदाताहरूलाई नगद दिने कार्यबाट अमेरिकी कानुनको उल्लङ्घन हुने छन्।
यस विषयमा बीबीसीले मस्कको टोली र अमेरिका पीएसीसँग प्रतिक्रिया मागेको छ। अमेरिका पीएसीले “अभिव्यक्ति स्वतन्त्रता र हातहतियार बोक्न पाउने अधिकार”सम्बन्धी एक प्रस्ताव तयार गरेको छ। त्यो प्रस्तावमा अहिलेसम्म अनिर्णीत देखिएका र राष्ट्रपतीय निर्वाचनमा निर्णायक ठानिएका जोर्जा, नभाडा, एरिजोना, मिशिगन, नोर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यका मतदाताहरूलाई हस्ताक्षर गर्न आह्वान गरिएको छ।
अर्का एक मतदातालाई हस्ताक्षर गर्न सिफारिस गर्ने मतदातालाई ती मतदाताले हस्ताक्षर गरेको अवस्थामा ४७ अमेरिकी डलर (६,००० नेपाली रुपैयाँभन्दा बढी) पुरस्कार दिने भनिएको छ। पेन्सिल्भेनिया राज्यमा सो प्रस्तावमा हस्ताक्षर वा सिफारिस गर्ने मतदाताले भने सबैभन्दा धेरै १०० डलर पाउँछन्। अहिले कमला ह्यारिस र ट्रम्प दुवै उम्मेदवारले उक्त राज्यमा आफ्नो ध्यान केन्द्रित गरेका छन्।
सो प्रस्तावमा हस्ताक्षर गर्नेहरूले आफू देशको संविधानको पहिलो र दोस्रो संशोधनको पक्षमा रहेको सङ्केत गरेको अमेरिका पीएसीले दाबी गरेको छ।
मस्कले घोषणा गरेको १० लाख डलर पुरस्कार पहिलो पटक अक्टोबर १९ मा पेन्सिल्भेनियाकी एक महिलाले पाएकी थिइन्। त्यसरी वितरण गरिने पुरस्कारको कुल रकम १३ करोड रुपैयाँभन्दा बढी हुन्छ। जोर्ज वाशिङ्टन यूनिभर्सिटीमा कानुनका प्राध्यापक पोल शिफ बर्मन भन्छन्, “मलाई लाग्छ मस्कको यो प्रस्ताव पक्कै गैरकानुनी हो।”अमेरिकी निर्वाचन कानुनमा मतदाताको रूपमा दर्ता हुन वा कसैको पक्षमा मतदान गर्न पैसा दिने र लिनेलाई १०,००० अमेरिकी डलरसम्म जरिबाना वा पाँच वर्ष कैद हुन सक्ने प्रावधान रहेको उनले औँल्याए। “उनले मतदाताको रूपमा दर्ता भएका मानिसहरूलाई मात्रै नगद दिने भनेका छन्। त्यस कारण उनको प्रस्तावले यो व्यवस्था उल्लङ्घन गर्छ भन्ने मलाई लाग्छ,” बर्मनले बीबीसीसँग भने।
बीबीसीबाट
-

सीमा क्षेत्रको गस्तीबारे चीन र भारतबीच के भयो नयाँ सम्झौता ?
काठमाडौं । चीन र भारतले लाइन अफ एक्युअल कन्ट्रोल (एलएसी) अर्थात दशगजा क्षेत्रमा हुने सैनिक गस्तीबारे नयाँ सम्झौता गरेका छन् । यसबाट सीमामा रहेका दुई देशका सैनिक पछाडि हट्ने र सन् २०२० को विवाद समाधान हुने अपेक्षा छ । सोमबार पत्रकार सम्मेलन गरेर भारतीय विदेश सचिव विक्रम मिस्रीले दिएको जानकारीअनुसार पछिल्लो केही सातादेखि भारत र चीनको बीचमा राजनीतिक र सैन्यस्तरमा कुराकानी भइरहेको थियो । उनले अगाडि भनेका छन्, ‘दुबै देश एलएसीमा सैनिक गस्तीलाई लिएर एउटा सम्झौतामा पुगेका छन् ।’
२०२० मा पूर्वी लद्दाखमा चीन र भारतका सैनिकहरुबीच हिंसात्मक झपड भएको थियो । यसमा २० भारतीय सैनिक मारिए, केही चिनियाँ सैनिकको पनि मृत्यु भयो । यो घटनापछि दुबै देशको सीमामा तनाव छ । यो घटनापछि दशजगाको जुन इलाकासम्म भारतीय सैनिकले गस्ती गर्थ्यो, त्यहाँ पुग्न चीनले रोकेको भारतीय दाबी छ । अब भारत २०२० को अवस्थामा फर्किने विदेशमन्त्री एस जयशंकरले बताएका छन् ।भारतका सामरिक विशेषज्ञ ब्रम्हा चेलानी भने भारत र चीनको बीचमा सन्य गतिविधि अन्त्य गर्ने कुनै घोषणा नभएको बताउँछन् । बीबीसी हिन्दीका अनुसार उनले भनेका छन्, ‘ब्रिक्स समिटमा मोदी र सी जिनपिङको बैठकलाई सहज बनाउन दुबै देश गस्तीबारे एउटा सहमतिमा पुगेका हुन् ।’ब्रिक्स समिट २२–२३ अक्टोबरमा रुसमा हुनेछ । सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्वीपक्षीय भेट हुनसक्ने छ । भारतीय विदेश सचिव मिस्रीले भने भेटवार्ताको पुष्टि गरेका छैनन् ।
-

हिजबुल्लाहले इजरायलमा हान्यो क्षेप्यास्त्र, असर भने कम
काठमाडौं । लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ) ले जनाएको छ । उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खलाका कारण लागेको डढेलो निभाउन अग्निनियन्त्रकहरूले काम गरिरहेका छन्। यसअघि इजरायली सेनाले लेबनानको दक्षिणी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयमा गरेको आक्रमणमा तीन जना ‘प्रमुख’ अधिकारीको मृत्यु भएको अलजजिराले जनाएको छ ।
इजरायली सेनाले उक्त आक्रमणमा हेजबुल्लाहका प्रमुख व्यक्तित्वहरु एहाग अब्बास सलामेह, रचा अब्बास इचा र अहमद अली हसिनको मृत्यु भएको जनाएको छ । लेबनानको राजधानीमा रहेको भूमिगत हतियार कारखानामा भएको कारबाहीमा उनीहरूको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । यसैबीच इजरायलले हिजबुल्लाहले इजरायली नागरिकमाथि आतङ्क मच्चाइरहेको र आईडीएफले ३७८ दिनसम्म निरन्तर आक्रमण गरिरहेको जनाएको छ । एजेन्सी
-

इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ७३ जना मारिए
काठमाडौं । उत्तरी गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ७३ जनजाको मृत्यु भएको हमासका अधिकारीहरुले बताएका छन् । हमासका अधिकारीहरुका अनुसार उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले शनिबार मध्यराति बम आक्रमण गरेको थियो ।
सो आक्रमणबाट महिला र बालबालिकासहित ७३ जनाको मृत्यु भएको हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अधिकारीहरुका अनुसार आक्रमणबाट कयौं घाइते भएका छन् भने केही व्यक्तिहरु भत्किएका संरचनामा च्यापिएका छन् ।
बीबीसीका अनुसार इजरायलले यस आक्रमणबारे सार्वजनिक समाचारबारे जाँच गरिरहेको जनाएको छ । इजरायली सेनाका अनुसार हमासले बढाइचढाइ गरेर मिडिया रिपोर्ट सार्वजनिक गर्ने गरेको छ, जुन आफूहरुको रिपोर्टसँग मिल्दैन । यसैबीच स्वास्थ्य अधिकारीहरुले उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले आक्रमण गरेपछि इन्टरनेट र सञ्चार सेवा पनि पूर्णरुपमा अवरुद्ध भएको छ । यसबाट खोज तथा उद्धारको काम प्रभावित भएको छ ।
हमासको आधिकारिक मिडियाका अनुसार इजरायलले घना वस्ती भएको स्थानलाई लक्षित गरी बम आक्रमण गरेको थियो । प्यालेस्टिनी समाचार एजेन्सी वफाका अनुसार इजरायलको आक्रमणबाट एउटा पूरै आवासीय क्षेत्र नष्ट भएको छ ।
-

इजरायली प्रधानमन्त्रीको निवासलाई लक्षित गरी ड्रोन आक्रमण
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा नेतन्याहु र उहाँकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ । टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोनहरू इजरायलको हवाई सुरक्षा द्वारा खसालेका थिए ।
इजरायल र हमासबिच चलिरहेको द्वन्द्वको बिचमा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार गाजाका जनतालाई सम्बोधन गर्दै भने, “यदि हमासले हतियार छोड्न र बन्धकहरूलाई फिर्ता गर्न सहमत भएमा युद्ध भोलि समाप्त हुन सक्छ ।”
इजरायलले हमास प्रमुख र अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिन्वारको हत्या भएको पुष्टि गरेको केही घण्टापछि उनले यस्तो टिप्पणी गरेका हुन् । इजरायली रक्षा बलले बिहीबार सिन्वार र अन्य दुई आतङ्ककारी इजरायलले मारेको खुलासा गरेको छ । नेतान्याहुले हमासले हाल गाजामा १०१ जनालाई बन्धक बनाएको खुलासा गरेका छन् । जसमा इजरायलसहित २३ वटा विभिन्न देशका नागरिक छन् । एजेन्सी
-

मलेसियामा बढ्यो कामदारको न्यूनतम तलव
काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्याउने घोषणा गरेको हो । प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने बताए ।
‘सरकारले सधैं जनताको आम्दानीको मुद्दालाई प्राथमिकता दिन्छ । जनताले जीवनलाई अझ सहज बनाउन पर्याप्त तलब र पारिश्रमिक पाउँदा मात्र आर्थिक पुनर्संरचना सफल भएको मानिन्छ,’ उनले भनेका छन्, ‘सरकारले न्यूनतम तलब १५०० बाट १७०० मलेसियन रिङ्गेट प्रतिमहिना बढाउने निर्णय गरेको छ, जुन १ फेब्रुअरी २०२५ देखि लागू हुनेछ ।’
नयाँ तलब कार्यान्वयन हुनुअघि त्यहाँको मान संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गरी प्रकाशित गर्नेछ । त्यसैले नयाँ तलब कार्यान्वयनमा केही ढिला हुने भएको हो । मलेसियामा १९ मार्च २०२२ यता न्यूनतम तलब १५०० रिङ्गेट थियो । तर, उद्योग र उत्पादन प्राविधिकको सुरुआति तलब भने यसअघि नै करिब २३०० रिङ्गेट छ ।
-

हमासका नेता मारिँदा अमेरिकी राष्ट्रपति खुसी
काठमाडौं । इजरायली कारबाहीमा हमास प्रमुख याह्या सिनवार मारिएका छन् । यस घटनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वकै लागि राम्रो दिनको रूपमा टिप्पणी गरेका छन् । ‘इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा उनीहरूको एउटा अपरेशनको एक हिस्साको रूपमा मारिएको जानकारी दिएका छन्’ बाइडेनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘डीएनए परीक्षणले पनि हमास नेताको मृत्यु भएको पुष्टि गरेको छ। इजरायल, अमेरिका र सम्पूर्ण विश्वका लागि यो राम्रो दिन हो।’
अमेरिकी राष्ट्रपति बाइडेनले सिनवारको निन्दा गर्दै भने, ‘हमास नेताका रूपमा याह्या सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी र ३० भन्दा बढी देशका नागरिकको मृत्युका लागि जिम्मेवार थिए।’ बाइडेनले अक्टोबर ७ मा इजरायलमा हमासको हमलाको मुख्य योजनाकार याह्या सिनवार रहेको पनि बताएका छन् ।
‘सिनवार ती सबै लक्ष्यहरू प्राप्त गर्नमा एक अपार बाधा थिए। त्यो बाधा अब रहेन। तर अझै धेरै काम बाँकी छ’ बाइडनले विज्ञप्तिमा भनेका छन्, ‘म छिट्टै प्रधानमन्त्री नेतन्याहू र अन्य इजरायली नेताहरूसँग कुरा गर्नेछु र उनीहरूलाई बधाई दिनेछु ।’
उनले अगाडि थपेका छन्, ‘बन्धकहरूलाई उनीहरूका परिवारहरूमा फर्काउने मार्गका बारेमा छलफल गर्नेछु र यस युद्धलाई एक पटक र सबैका लागि समाप्त गर्नेछु, जसले निर्दोष मानिसहरूलाई धेरै विनाश गरेको छ ।’ उपराष्ट्रपति कमला ह्यारिसले सिनवारको मृत्युको स्वागत गर्दै यसलाई ‘अन्ततः गाजामा युद्ध समाप्त गर्ने’ अवसरका रूपमा चित्रित गरेकी छन् ।
‘न्याय भएको छ’ ह्यारिसले सञ्चारकर्मीहरूसँग भनिन्, ‘सिनवार हजारौं निर्दोष मानिसहरूको हत्याका जिम्मेवार थिए, जसमा अक्टोबर ७ का पीडितहरू र गाजामा मारिएका बन्धकहरू पनि थिए।’ उनले सिनवारको मृत्युले हमासका पीडितहरूका परिवारले राहतको भावना महसुस गरिरहेको टिप्पणी गरिन् ।
बिहीबार राति इजरायलले हमासका नेता याह्या सिनवार आफ्नो आक्रमणमा मारिएको जानकारी दिएको थियो । इजरायली विदेशमन्त्री काट्जले विहीबार गाजामा इजरायली सेनाले गरेको कारबाहीमा सिनवार मारिएको बताएका छन् । उनले सिनवारलाई गत अक्टोबर ७ मा भएको आक्रमणको मुख्य योजनाकार भएको बताए ।
जुलाईमा हमास नेता इस्माइल हानियाको मृत्युपछि याह्या सिनवार हमासको नेता बनेका थिए । इजरायली कारबाहीका क्रममा तेहरानमा इस्माइल हानिया मारिएका थिए । गाजामा हमासको राजनीतिक शाखाका नेता याह्या सिनवार इजरायलको मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक थिए।
-

नाइजेरियामा इन्धन ट्यांकर विष्फोट, कम्तिमा १४० जना मारिए
काठमाडौं । उत्तरी नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट भएको छ । एजेन्सीहरुका अनुसार यस घटनामा कम्तिमा एक सय ४० जना मानिस मारिएका छन् । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले लेखेको छ ।
नाइजेरियाले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोलको भाउ बढेका बेला भएको यो दुर्घटनाले थप क्षति गरेको बताएको छ । दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्न थालेपछि ठूलो मानवीय क्षति व्यहोर्नु परेको नाइजेरियाका प्रहरीले बताएका छन् ।
राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता नुरा अब्दुल्लाहले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । राष्ट्रपति बोला अहमद टिनुबुले गएको वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ । त्यहाँ पेट्रोल प्रायः अभाव हुने गर्छ । गएको हप्ता मात्र सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ ।
