काठमाडौं । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणमा मर्नेहरुको सङ्ख्या दुई सय ७४ पुगेको जानकारी गराएका छन् । यसमा २१ जना बालबालिका छन् । हजारौँ परिवार बमबारीबाट भागेका छन् । “एक्काइस बालबालिका र ३९ महिलासहित दुई सय ७४ जनाको मृत्यु भएको छ ।
यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो” अबियादले पत्रकार सम्मेलनमा भने, “लक्षित क्षेत्रहरुबाट हजारौँ परिवार विस्थापित भएका छन् ।” उनका अनुसार हिजबुल्लाह पेजर र वाकी(टाकीहरु विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए ।
प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरु हिंसामा तानिएका थिए । इजरायलले सोमबार दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ ।
हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ । स्वास्थ्य मन्त्रालयले ‘बिहानदेखि दक्षिणी सहर र गाउँहरुमा इजरायली शत्रुको आक्रमण’ ले ‘एक सय ८२ जनाको ज्यान लिएको र अन्य सात सय २७ जनालाई घाइते बनाएको’ बताएको छ । मृतक र घाइतेहरूमा बालबालिका, महिला र स्वास्थ्यकर्मीहरु पनि छन् ।
विश्व शक्तिहरले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्ला दिनहरुमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्ररुपमा सरेको छ ।
काठमाडौं । वामपन्थी झुकाव राख्ने अनुर कुमार दिशानायक ऐतिहासिक दोस्रो चरणको मतगणनाबाट श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले सोमबार नयाँ राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि राष्ट्रपति चुनाव देशको इतिहासमा नै पहिलो पटक दोस्रो चरणको मतगणना भएको थियो । श्रीलङ्कामा राष्ट्रपति चुनिनका लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। पहिलो चरणमा वामपन्थी नेता अनुर कुमार दिशानायकले ४२.३१ प्रतिशत र विपक्षी नेता सजिथ प्रेमदासाले ३२.७६ प्रतिशत मत ल्याएका थिए।
सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणका लागि कडा नीति लिने वाचा गरेका दिशानायक दोस्रो चरणको मतगणनाबाट निर्वाचित भए । मतदाताहरूलाई आफ्नो रोजाइको क्रम अनुसार तीन जना उम्मेदवार छान्न दिइएको थियो। दोस्रो चरणमा निर्वाचन आयोगले मतदाताहरूले दोस्रो र तेस्रो रोजाइमा राखेका उम्मेदवारहरूले पाएको मतको गणना गरेको थियो। दोस्रो चरणमा दिशानायक र प्रेमदासाबाहेक अरू सबै उम्मेदवारहरूलाई प्रतिस्पर्धाबाट हटाइएको थियो।
त्यसरी दौडबाट हटेका उम्मेदवारहरूको मतपत्रमा दोस्रो र तेस्रो प्राथमिकता क्रममा परेका उम्मेदवारहरूको मत दोस्रो चरणमा गणना गरिएको थियो। सन् २०२२ मा हालसम्मकै खराब आर्थिक सङ्कट उत्पन्न भएपछि श्रीलङ्कामा भएको जनआन्दोलनले देशका नेता गोटाबय राजक्षलाई पदबाट बर्खास्त गरेपछि शनिवार पहिलो चुनाव भएको हो। अहिलेको निर्वाचनलाई हालसम्मकै कडा प्रतिस्पर्धाको चुनावका रूपमा लिइएको थियो।
आइतवार बिहानसम्मको प्रारम्भिक नतिजाले दिशानायक जीततर्फ अग्रसर रहेको देखाएको थियो तर पछिको गणनामा विपक्षी नेता सजिथ प्रेमदासाले मत बढाएपछि गणना अर्को चरणमा प्रवेश गर्यो। मतगणना भइरहँदा दिशनायकलाई हालका राष्ट्रपति रनिल विक्रमसिङ्घ र विपक्षी नेता सजिथ प्रेमदासाका समर्थकहरूले बधाई दिइसकेका थिए। विदेशमन्त्री अली साबरीले सामाजिक सञ्जाल एक्समा प्रारम्भिक परिणामले दिशानायकको प्रस्ट जीतको सङ्केत दिएको बताएका थिए।
मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि गए राति कर्फ्यु लगाइएको थियो र त्यसलाई आइतवार अपरान्ह त्यसलाई हटाइएको छ। उक्त निर्वाचनलाई अर्थतन्त्रलाई सञ्चालन गर्ने सरकारको तरिकामाथिको जनमतसङ्ग्रहका रूपमा हेरिएको थियो। चुनावमा करिब ७० प्रतिशत मत खसेको थियो र कीर्तिमानी ३८ जना उम्मेदवारहरूले मुलुकको सर्वोच्च पदका लागि दाबी गरेका थिए। श्रीलङ्कामा सन् १९८२ यता भएका आठवटै राष्ट्रपतीय चुनावमा पहिलो चरणकै गणनाबाट विजेता छानिएका थिए।
शनिवारको निर्वाचनमा मत खसाल्न झन्डै एक करोड ७० लाख मतदाता योग्य रहेका थिए। दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुने प्रयास गरिरहेका रनिल विक्रमसिङ्घले १७ प्रतिशत मत ल्याएका छन्। हाल ७५ वर्षका विक्रमसिङ्घलाई पूर्व राष्ट्रपति गोटाबय राजपक्ष अपदस्थ भएको एक सातापछि संसद्ले राष्ट्रपतिमा नियुक्त गरेको थियो। यस पटक उनले तेस्रो स्थानमा मत पाए।
हाल ५५ वर्षका अनुर श्रीलङ्काकाका एक जना वामपन्थी नेता हुन् र सन् २००० बाट उनी निरन्तर सांसद रहँदै आएका छन्। उनी श्रीलङ्काको न्याश्नल पिपुल्स पावर गठबन्धनका नेता हुन् जसमा मार्क्सवादप्रति झुकाव राख्ने उनको दल जीभीपी आबद्ध छ। उनको दलले परम्परागत रूपमा नै राज्यले बलियो हस्तक्षेपहरू गर्नुपर्ने, करको दायरा घटाउनुपर्ने र बजार र अर्थतन्त्रसम्बन्धी नीतिहरूमा केही कडा व्यवस्थाहरू ल्याउनुपर्ने नीतिको समर्थन गर्ने गर्छ।
दिशानायकले मतदाताहरूलाई भ्रष्टाचार विरोधी कदमहरू चाल्ने र सुशासन दिने वाचा गरेका थिए। सन् २०२२ को सङ्कटपछि निरन्तर परिवर्तनको पक्षमा पैरवी गरिरहेका मतादाताहरूको भावनासँग उनले सम्प्रेषण गरेका ती सन्देशहरू मेल खाने गरेको जस्तो देखिन्थ्यो। जीभीपीको संसद्मा जम्मा तीन सिट रहेको थियो तर गरिब पक्षधर नीति र भ्रष्टाचारविरुद्ध उभिने प्रतिबद्धताले उनलाई लोकप्रिय बनायो।
उनले आफूलाई परिवर्तनको संवाहक नेताका रूपमा प्रस्तुत गर्ने क्रममा सत्तामा आएको ४५ दिनभित्र संसद्लाई भङ्ग गरिदिने र आफ्नो नीति कार्यान्वयनका लागि ताजा जनमत लिने उल्लेख गरेको रोएटर्स समाचार संस्थाले जनाएको छ। श्रीलङ्काका नयाँ राष्ट्रपतिलाई अर्थतन्त्र उकास्ने र दशौँ लाख मानिसहरूलाई गरिबीबाट पार लगाउने चुनौती हुनेछ। श्रीलङ्काको आर्थिक सङ्कटले सन् २०२२ मा राजपक्ष परिवारलाई सत्ताबाट बाहिर पुर्याएको थियो।
त्यो बेला श्रीलङ्काको विदेशी मुद्रा सञ्चिति कमजोर भएको थियो भने उक्त देशले इन्धन लगायत अत्यावश्यक वस्तुहरू आयात गर्न सकेको थिएन। सार्वजनिक ऋण वृद्धि भएर ८३ अर्ब डलर पुगेको थियो भने मुद्रास्फीति ७० प्रतिशतले बढेको थियो। सर्वसाधारणहरूलाई खानेकुरा र औषधिजस्ता आधारभूत आवश्यकता पुरा गर्न कठिन भएको थियो। कैयौँ नीतिगत कमजोरी, कमजोर निर्यात र वर्षौँदेखि कर प्रणालीमा रहेका समस्या लगायतलाई त्यस्तो अवस्था आउनुको कारण मानिएको छ। बीबीसीको सहयोगमा
काठमाडौं । इरानमा ग्याँस चुहावटका कारण एउटा कोइलाखानीमा भएको विस्फोटमा कम्तीमा ५१ जना मारिएको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएका छन्। साउथ खोअर्सन प्रान्तमा भएको विस्फोटमा अन्य २० जना घाइते भएका छन्। राजधानी तेहरान भन्दा ५४० किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा रहेको खानीमा मिथेन ग्यास चुहावटपछि खानीका दुई वटा ब्लकमा विस्फोट भएको थियो। स्थानीय समय अनुसार शनिवार राती ९ बजे विस्फोट भएको सरकारी सञ्चार माध्यमले जनाएको छ। प्रान्तका गभर्नर जाभेद गेनातजदेहले विस्फोट भएको समयमा ती ब्लकहरूमा ६९ जना कामदार रहेको बताएका छन्।
“दुर्भाग्यवश मदान्जु खानीमा विस्फोट भएको समयमा ६९ जना मानिसहरू बी र सी ब्लकमा काम गरिरहेका थिए,” उनलाई उद्धृत गर्दै एपी समाचार संस्थाले उल्लेख गरेको छ। एउटा ब्लकमा ४७ र अर्कोमा २२ जना काम गरिरहेका समयमा घटना भएको उनले बताएका छन्। अझै कति मानिसहरू खानीमा थुनिएका छन् र जीवित छन् भन्ने प्रस्ट छैन। आईआरएनए समाचार संस्थाले रेड क्रिसेन्टका इरान प्रमुखलाई उद्धृत गर्दै आइतवार २४ जना हराइरहेको जनाएको थियो।
समाचार संस्था रोएटर्सका अनुसार इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पीडित परिवारहरूप्रति सहानुभूति व्यक्त गरेका छन्। मैले मन्त्रीहरूसँग कुरा गरेको छु। हामी हामीले सक्ने गति गर्छौँ, उनले टेलिभिजनमार्फत् गरेको सम्बोधनमा भनेका छन्।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै क्षतिपूर्ति दिनुपर्ने विषय उठाएका हुन्।
प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिएका हुन्।
प्रधानमन्त्री ओलीले पेरिस सम्झौताबमोजिम स्थापित विश्वका विकसित मुलुकले भविष्यका लागि जलवायु अनुकूलनका लागि आर्थिक लगानी वृद्धि गर्नुपर्नेमा जोड पनि दिए। ‘हाम्रो भविष्य सुन्दर छ, किनकि हामीले भविष्यका लागि लगानी गर्दैछौँ,’ उनले भने। सम्बोधनपछि प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको थियो।
काठमाडौं । आम आदमी पार्टीकी नेता आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बनेकी छन् । उनले शनिबार नै उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् । ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुन् । यसअघि भारतीय जनता पार्टी (बीजेपी) की सुश्मा स्वराज र कांग्रेसकी शिला दीक्षित मुख्यमन्त्री भएकी थिइन् । स्वराज जम्मा ५२ दिन मुख्यमन्त्री रहिन् भने शिला तीन पटक गरी १५ वर्षभन्दा बढी दिल्लीमा शासन गरिन् ।
आतिशीको कार्यकाल चार महिना हुनेछ । किनकी फेब्रुअरी २०२५ मा विधानसभा चुनाव हुनेछ । आम आदमी पार्टीले केजरीवाललाई नयाँ मुख्यमन्त्रीका रुपमा अघि सारिसकेको छ । उनी २०१३ देखि (राष्ट्रपति शासन लागू भएको समय बाहेक) दिल्लीको मूख्यमन्त्री थिए । तर पछिल्लो पटक मदिरासम्बन्धी नीति बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरे ।
करिव ६ महिना हिरासतमा रहेका अरविन्द केजरीवाल अदालतको आदेशमा छुटे । तर तिहाड जेलबाट छुटेको दुई दिनपछि उनले आफूमाथि झुटो आरोप लागकोले जनताको परीक्षामा जाने भन्दै राजीनामा दिने घोषणा गरे । मंगलबार आम आदमी पार्टीको विधायक मण्डलको बैठक राखेर आतिशीलाई दल नेता चुने ।
त्यही दिन केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिए भने आतिशीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गरिन् । शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् । कैलाश गेहलोत, गोपाल राय, शौरभ भारद्धाज, इमरान हुसेन र मुकेश अहलावतले मन्त्री बनेका छन् । मुकेश नयाँ अनुहार हुन्, अरु चाहिँ केजरीवाल क्याबिनेटमा थिए ।
काठमाडौं । व्यापक प्रदर्शनबाट राष्ट्रपति हटेको डेढ वर्षपछि श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि शनिवार निर्वाचन हुँदै छ। देशको नवौँ कार्यकारी राष्ट्रपति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । श्रीलङ्काको सबैभन्दा खराब आर्थिक सङ्कटसँगै सुरु भएको प्रदर्शन उत्कर्षमा पुगेपछि सन् २०२२ को जुलाईमा मा राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिएका थिए। राष्ट्रपति पदमा आसीन हुँदै भागेर विदेश गएका उनले पछि सिङ्गापुरबाट राजीनामा दिएका थिए।
शनिवारको मतदानलाई देशको आर्थिक सुधारको जनमत सङ्ग्रहको रूपमा हेरिएको छ। राज्यबाट दिइने अनुदानमा कटौती र करको दरमा भएको वृद्धिका कारण धेरैले अझैसम्म गुजाराका लागि सङ्घर्ष गरिरहेका छन्। मतदाताले आर्थिक मुद्दालाई चुनावमा प्रमुख चासोका साथ हेरिरहेका कारण चुनावी प्रतिस्पर्धा पनि यही विषयमा केन्द्रित हुने कैयौँ विश्लेषकहरूले भविष्यवाणी गरेका छन्।
बढ्दो मुद्रास्फीति, आकासिँदो जीवनयापनको खर्च र गरिबीले मतदाताहरू बजार मूल्यमा स्थिरता र जीविकोपार्जनमा सुधार गर्ने उपायको व्यग्र खोजीमा छन्, भारतमाको थिङ्क ट्याङ्क ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’का अनुसन्धाता सौम्य भौमिकले बीबीसीसँग भने। आर्थिक सङ्कटबाट माथि उठ्न खोजिरहेको देशका लागि यो निर्वाचनले पुनरुत्थानको मार्गलाई आकार दिन र देशको शासनमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विश्वास पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।ू
श्रीलङ्कालाई आर्थिक सङ्कटबाट माथि उठाउने महत्त्वपूर्ण जिम्मेवारी पाएका राष्ट्रपति रनिल विक्रमसिङ्घले अर्को कार्यकालका लागि निर्वाचित हुने आकाङ्क्षा राखेका छन्। हाल ७५ वर्षका विक्रमसिङ्घलाई पूर्व राष्ट्रपति गोटाबय राजपक्ष अपदस्थ भएको एक सातापछि संसद्ले राष्ट्रपतिमा नियुक्त गरेको थियो।
राष्ट्रपति बनेको केही समयपछि उनीमाथि आन्दोलनको कार्यभारलाई बेवास्ता गरेको आरोप लाग्यो। उनीमाथि राजपक्ष परिवारको सुरक्षा कवच बनेको र उनीहरूलाई अभियोग लाग्नबाट जोगाएको र उनीहरूलाई पुनः एकत्रित हुने अनुमति दिएको आरोप पनि लागेको थियो। आफूमाथि लागेका आरोपलाई उनले अस्वीकार गर्दै आएका छन्।
राष्ट्रपति निर्वाचनमा दाबेदार वामपन्थी राजनीतिज्ञ अनुरा कुमारा दिशानायकलाई पनि बलियो उम्मेदवार मानिएको छ। उनको भ्रष्टाचार विरोधी अभियानले उनलाई जनसमर्थन बढेको बताइन्छ। यो पटकको निर्वाचनमा श्रीलङ्काको इतिहासमै सबैभन्दा धेरै उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्। राष्ट्रपतिको चुनावमा उम्मेदवारी दिएका तीन दर्जन उम्मेदवारमध्ये चार जनाले धेरै चर्चा पाएका छन्।
विक्रमसिङ्घ र दिशानायक बाहेक विपक्षी नेता सजिथ प्रेमदासा र अपदस्थ राष्ट्रपतिका ३८ वर्षीय भतिज नमल राजपक्ष पनि चर्चामा छन्। स्थानीय समय अनुसार ४ बजेसम्म मतदानको समय तोकिएको छ। त्यस लगत्तै सुरु हुने मतगणनाको प्रारम्भिक परिणाम आइतवार बिहान मात्रै आउने ठानिएको छ।
काठमाडौं । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन् । पछिल्ला वर्षहरूमा सुरक्षा बलहरूले भोग्नुपरेको यो सबैभन्दा उच्च हताहतको घटनाहरू मध्ये एक हो । मृतकको सङ्ख्या लगभग एक सय पुगेको र ८१ जनाको नाम सूचीकृत गरेको एउटा प्रमाणित गोप्य आधिकारिक दस्तावेजले जनाएको छ । बिहीबारको ले सोइर दैनिकले त्यस दिन करिब ५० जना सैनिक प्रहरी विद्यार्थीको अन्त्येष्टि गरिने जनाएको छ ।
मालीको सैनिक नेतृत्वले अहिलेसम्म भएको आक्रमणमा मारिनेको स्पष्ट सङ्ख्या सार्वजनिक गरेको छैन । यो आक्रमणको दाबी अल–कायदा सम्बद्ध समूह ग्रुप टु सपोर्ट इस्लाम एन्ड मुस्लिम्स (जेएनआइएम) ले गरेको छ । विशेषज्ञहरूका अनुसार यो आक्रमण वर्षौंमा आफ्नो प्रकारको पहिलो थियो र यसले सत्तारूढ जुन्टालाई निकै ठूलो धक्का पुर्याएको छ ।
मालीको केही भागमा करिब दैनिक रूपमा हुने यस्ता किसिमको आक्रमणबाट राजधानी बामाको सामान्यतया जोगिने गरेको छ । जनरल स्टाफले मङ्गलबार राति विशेषगरी सैन्य प्रहरी केन्द्रका कर्मचारीहरूको जीवन क्षति भएको स्वीकार गरेको छ ।
जेएनआइएमले रुसी अर्धसैनिक समूह वाग्नरका सदस्यसमेत संलग्न रहेका उसका केही दर्जन लडाकूहरूले विरोधी पङ्क्तिका ‘सयौँ’ मानिसलाई मारेको र घाइते बनाएको दाबी गरेको छ ।
यो हमला जुन्टा नेतृत्वको माली, नाइजर र बुर्किना फासोले आफ्नो पृथक समूह अलायन्स अफ साहेल स्टेट्सको स्थापना गरेको एक वर्ष पूरा भएको दिनपछि भएको हो । सन् २०२० देखि लगातार सैन्य विद्रोहपछि तीन वटै मुलुक सैन्य शासनको अधीनमा छन् र जनवरीमा उनीहरूले क्षेत्रीय ब्लक इसिओडब्लुएएससँगको सम्बन्ध तोड्ने घोषणा गरे । मालीलाई सनु २०१२ देखि अल–कायदा र इस्लामिक स्टेट समूहसँग सम्बन्धित विभिन्न गुटहरूले ध्वस्त बनाएका छन् । राससको सहयोगमा
काठमाडौं । प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । यो प्रस्तावमा भने नेपाल तटस्थ बसेको थियो । प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स सहित १२४ देश उभिएका थिए ।
अमेरिकासहित १४ देशले विपक्षमा मतदान गरे । संयुक्त राष्ट्रसंघका स्थायी सदस्यहरुमध्ये विपक्षमा उभिएको अमेरिकामात्र हो । नेपाल, भारत, बेलायतसहित ४३ देश भने कसैको पनि पक्ष–विपक्षमा नलागी तटस्थ बसेका थिए ।
नेपालले इजरायल र प्यालेस्टाइन दुवै देशलाई मान्यता दिएको छ । नेपालले यी दुवै देशको समस्या समाधानमा जोड दिँदै आएको छ । तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको पालामा नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । यहुदी देश इजरायललाई मान्यता दिने नेपाल एसियाकै पहिलो देश थियो ।
नेपाली विद्यार्थीहरु कृषि विषय पढ्दै कमाउँदै गर्नका लागि इजरायल जाने गरेका छन् । यसै क्रममा गत ७ अक्टुबरमा प्यालेस्टिनी भूमिबाट इजरायलमा प्रवेश गरेका हमासका लडाकुहरुले आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जनाको मृत्यु भएको थियो । नेपालका विपिन जोशी अहिलेसम्म पनि बेपत्ता छन् ।
आक्रमणको बदला लिन भन्दै इजरायलले प्यालेस्टिनी भूमिमा आक्रमण गर्दा ४ हजार १ सय भन्दा धेरै जनाको मृत्यु भइसकेको हमासबाट सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा महिला र बालबालिकाहरुको संख्या धेरै छ । लाखौं व्यक्ति विस्थापित भएका छन् । भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।
इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) ले प्यालेस्टिनी भूभागमा इजरायलको उपस्थिति अवैधानिक भएको भन्दै त्यहाँबाट हट्न भनेको थियो । यसैगरी नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतन्याहु र हमासका नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै मुद्दा परेको छ ।
इजरायलको हमला जारी रहेकाले प्यालेस्टिनी भूमिमा राहत सामग्री, खाद्यान्न, औषधि, पानी र इन्धन आपूर्तिमा भयानक संकट पैदा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
काठमाडौं । यस साता लेबनानभर भएको अपत्यारिलो आक्रमणमा हिजबुल्लाहद्वारा प्रयोग गरिएका पेजर र वाकी(टाकी विस्फोटमा ३७ जनाको मृत्यु भएको छ । दुई हजार नौ सयभन्दा बढी घाइते भएका छन् । दुई दिनसम्म भएका यी विस्फोटले इरान समर्थित उग्रवादी समूह हिजबुल्लाहलाई ठूलो धक्का पुगेको छ ।
उसले आफ्नो कट्टर शत्रु इजरायलमाथि आक्रमणको दोष लगाएको छ र बदला लिने प्रतिज्ञा गरेको छ । हिजबुल्लाहका नेता हसन नसरल्लाहले बिहीबार राष्ट्रलाई सम्बोधन गर्ने योजना बनाएका छन् । कुनै प्रतिक्रियाको सङ्केत पाउन सकियोस् भनेर धेरैले उहाँको भाषणलाई ध्यानपूर्वक सुन्ने आशा गरिरहेका छन् ।
मङ्गलबार हिजबुल्लाहका कार्यकर्ताहरुले बोकेको सयौँ पेजर दक्षिण बेरुत, पूर्वी लेबनान र मुलुकको दक्षिणमा समूहको गढमा लगभग एकै समयमा विस्फोट भए । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले बिहीबार ती विस्फोटले दुई बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको र दुई हजार तीन सय २३ जना घाइते भएको जानकारी दिए ।
पछिल्लो तथ्याङ्कअनुसार बुधबार हिजबुल्लाहको नियन्त्रणमा रहेको क्षेत्रमा भएको अर्को विस्फोटको लहरमा यस पटक वाकी(टाकीहरु विस्फोट हुँदा २५ जनाको मृत्यु भयो । छ सय आठ जना घाइते भए । हिजबुल्लाहले आफ्ना २५ सदस्यको मृत्यु भएको घोषणा गरेको छ ।
इजरायलले आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन । यद्यपि पहिलो विस्फोटको लहरअघि इजरायलले प्यालेस्टिनी लडाकू समूह हमाससँग आफ्नो युद्धको लक्ष्यलाई विस्तार गर्दै लेबनानसँगको उत्तरी मोर्चा सुरक्षित गर्ने निर्णय गरेको घोषणा गरेको थियो । हमासको अक्टोबर ७ को आक्रमणपछि इजरायलले हमासद्वारा बन्धक बनाइएका सयौँ मानिसलाई फिर्ता ल्याउने र हमासलाई समाप्त पार्ने प्रतिज्ञा गरेको थियो । अक्टोबरपछि हमासको सहयोगी हिजबुल्लाहले पनि लेबनान–इजरायल सीमामा इजरायली सेनासँग लगभग दैनिक गोलीबारी गरिरहेको छ ।
आक्रमणहरुको प्रभावकारिता यसको असामान्य प्रकृतिबाट उत्पन्न हुन्छ । यसमा हिजबुल्लाहको सञ्चार उपकरणहरुलाई हतियारमा रुपान्तरण गरिएको थियो । विश्लेषकहरुका अनुसार विस्फोटक सामग्रीहरु हिजबुल्लाहसम्म पुर्याउनुअघि सम्भवतः पेजरमा राखिएका थिए । एक सुरक्षा अधिकारीका अनुसार लेबनानी अनुसन्धानका प्रारम्भिक निष्कर्षले पेजरहरूलाई ‘ट्र्याप’ पारिएको पत्ता लगाएको छ ।
“उपकरणहरु पूर्व(प्रोग्राम गरिएको थियो र ब्याट्रीको नजिक विस्फोटक सामग्री राखिएको थियो भन्ने डेटाले देखाउँछ”, संवेदनशील विषयमा चर्चाका लागि नाम नछाप्ने शर्तमा ती अधिकारीले भने । हिजबुल्लाहसँग निकट स्रोतले नाम उल्लेख नगर्ने शर्तमा पेजरहरु ‘हालै आयात गरिएको’ र “स्रोतमा तोडफोड गरिएको’ जस्तो देखिएको बतायो ।
न्युयोर्क टाइम्सले बुधबार विस्फोट भएका पेजरहरु ताइवानी निर्माता गोल्ड अपोलोबाट अर्डर गरिएको रिपोर्ट गरेपछि कम्पनीले उसको पेजरको उत्पादन हङ्गेरीको साझेदार बिएसी कन्सल्टिङ केएफटीले गरेको बताएको छ । बुडापेस्टमा सरकारी प्रवक्ताले कम्पनी ‘हङ्गेरीमा कुनै निर्माण वा सञ्चालन स्थल नरहेको एक व्यापारिक मध्यस्थ थियो’ भनेका छन् । जापानी कम्पनी आइकमले बुधबारको विस्फोटमा प्रयोग भएको भनिएको वाकी(टाकी मोडेलको उत्पादन लगभग १० वर्षअघि रोकिएको जानकारी दिएको छ ।
काठमाडौं । लेवनन र सिरियामा मंगलबार अपराह्न सयौंको संख्यामा पेजरबाट आक्रमण भएको छ । बिबिसीका अनुसार विस्फोटमा परी अहिलेसम्म ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उग्रवादी समूह हिजबुल्लाहका सदस्य र एक बालिका छन्। घटनामा २ हजार सात सय पचास जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये दुई सय जनाको अवस्था गम्भीर भएको लेबननका स्वास्थ्य मन्त्री फिरास अबियादले जानकारी दिएका छन्।
घाइते हुनेमा इरानी राजदूत पनि छन्। इरानको सरकारी सञ्चालित आइआरएनए समाचार एजेन्सीका अनुसार राजदूत मोजताबा अमानीलाई विस्फोट भएको पेजरले सामान्य चोट लागेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ। घटनापछि लेबननको सीमा क्षेत्रमा तनाव बढेको छ। हिजबुल्लाहले यो घटनामा इसराइललाई दोषी ठहर्याएको छ र कारबाहीको चेतावनी दिएको छ। इसराइली सेनाले भने यसबारे कुनै टिप्पणी गरेको छैन।
हिजबुल्लाहका नेता हसन नसरल्लाहले यसअघि समूहका सदस्यहरूलाई इसराइलले उनीहरूको गतिविधि ट्र्याक गर्न र लक्षित आक्रमण गर्न फोन प्रयोग गर्न सक्ने भनेर मोबाइल नबोक्न चेतावनी दिएका थिए। नाम नखुलाउने सर्तमा बोल्ने हिजबुल्लाहका एक अधिकारीले एपीलाई बताए अनुसार समूहले प्रयोग गर्ने नयाँ ब्रान्डका पेजरहरू पहिले तातेका थिए। अनि विस्फोट भएका हुन्।
लेबननको स्वास्थ्य मन्त्रालयले पेजर भएका मानिसहरूलाई यसबाट टाढा रहन भनेको छ। साथै स्वास्थ्यकर्मीहरूलाई वायरलेस उपकरण प्रयोग नगर्न पनि सुझाव दिएको छ।
काठमाडौं । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिएका छन् । केजरीवालले दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाएको बीबीसीले जनाएको छ । आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बनेकी छिन् । आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको बताए ।
विधायक दलको बैठकमा केजरीवालले नै आतिशीको नाम प्रस्ताव गरेका हुन् । आतिशी आउँदो विधानसभा चुनावसम्म दिल्लीको मुख्यमन्त्री रहनेभएकी छिन् । आतिशीले नयाँ मुख्यमन्त्री बन्न दाबी समेत पेश गरेकी छिन् । दिल्लीले आतिशीलाई तेस्रो महिला मुख्यमन्त्रीका रूपमा पाएने छ । यसअघि सुषमा स्वराज र शीला दीक्षित दिल्लीको मुख्यमन्त्री बनेका थिए । दिल्लीको रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको आरोपमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतको आदेशपछि यही सेप्टेम्बर १३ मा रिहा भएका छन् ।
काठमाडौं । मध्य तथा पूर्वी युरोपका विभिन्न देशमा दशकयताकै ठूलो बाढीका कारण कम्तीमा ८ जनाको ज्यान गएको छ । बाढीका कारण रोमानियामा ६ जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ । पोल्यान्ड र अस्ट्रियामा एक–एक जनाको मृत्यु भएको हो । रोमानियका गृहमन्त्री कटालिन प्रेडोयुले देशका विभिन्न सात क्षेत्रमा बाढीले निकै क्षति पुर्याएको जनाएका छन् ।
उनले बाढीमा फसेका सयौं जनाको उद्धार गरिएको जनाएका छन् । उनका अनुसार गलाटी क्षेत्रमा कम्तीमा ५ हजार ४ सय घरमा क्षतिग्रस्त भएका छन् । त्यस्तै, बाढीले चेक गणतन्त्र, पोल्यान्ड, जर्मनी र स्लोभाकियाका विभिन्न सहरमा क्षति पुर्याएको छ । अस्ट्रियाको राजधानी भियना र नजिकैका प्रान्तहरूको अवस्था असामान्य रहेको अधिकारीहरूले जनाएका छन् ।
बाढीपछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले देशमा ‘विपद् आपत्काल’ घोषणा गरेका छन् । उनले राजधानी भियना र नजिकैका प्रान्तहरूको अवस्था असान्य रहेको बताएका छन् । टस्कले पोल्याण्डको कोल्दज्को क्षेत्रबाट सहरबाट एकहजार ६ सयजनाको उद्धार गरिएको जनाए ।
सीएनएनका अनुसार चेक गणतन्त्रका बाढी प्रभावित स्थानबाट कम्तीमा १० हजार ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । क्रोनोभ सहरको ७० देखि ८० प्रतिशत क्षेत्र डुबानमा परेको छ । बाढीपछि युरोपका करिब ३ लाख घरमा विद्युत् आपूर्ति बन्द भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए ।
ओपनर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए । क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २-२ विकेट लिए । सादविन जाफरले १ विकेट लिए ।
त्यसअघि किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । एक समय ४० ओेभरमा १४९-५ को अवस्थामा रहेको क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोड्दै बलियो योगफलमा पुगेको थियो ।
कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेले । नवनीत धालिवालले ९० बलमा ४ चौकासहित ४८, आरोन जोनसन १०, परगत सिंह १७, हर्ष थाकेर २७, डिलोन हेलिगर ३० र साद बिन जाफरले १७ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए ।
सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १-१ विकेट लिए । नेपालले बुधबार ओमानसँग खेल्नेछ । नेपाल लिग २ मा ५ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । क्यानडा भने ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा पुगेको छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ ।
काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको ४ दिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेल, विभागीय मन्त्री र निजी क्षेत्रसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । उनले उद्योगमन्त्री दामोदर भण्डारीसँगको भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधिक तथा आर्थिक लगानीको प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा पनि जाम्बियासँग खानी उत्खननको विषयमा राम्रो ज्ञान भएको र नेपालमा पनि सो क्षेत्रमा लगानी गर्न जाम्बियाली लगानीकर्ता इच्छुक रहेको जानकारी गराएका छन् । आफूहरूका लागि नेपाल लगानीका लागि आकर्षक गन्तव्य हुने भन्दै सो विषयमा सहकार्य गर्न तयार रहेको उनले बताए ।
भ्रमणका क्रममा प्याट्सले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी दुई देशका लगानीकर्ताबीच सहकार्य गरी अघि बढन् आग्रह गरेका थिए । उनले नेपाल उद्योग वाणिज्य महासंघ र जाम्बियाको उद्योग वाणिज्य संघबीच व्यावसायिक समझदारी पत्रमा हस्ताक्षर गरी अघि बढ्ने प्रस्ताव समेत राखेका थिए । प्याट्सको भ्रमणले नेपालमा जाम्बियाबाट लगानी भित्र्याउन मार्गप्रशस्त गरेको जाम्बियाका लागि नेपाली वाणिज्य दूत देशबन्धु बस्नेतले बताए ।
काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन् । तिहाड जेलबाट छुटेको दुई दिनपछि आइतबार आम आदमी पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले अबको दुई दिनपछि राजीनामा दिने बताएका हुन् । सराब घोटाला प्रकरणमा सरकारी निकाय ईडीले पक्राउ गरेलगत्तै भारतीय जनता पार्टी (बीजेपी) ले मुख्यमन्त्री केजरीवालको राजीनामा मागेको थियो । तर सर्वोच्च अदालतले समेत अनुमति दिएपछि उनले जेलबाटै दिल्लीको सरकार चलाए ।
सर्वोच्च अदालतको आदेशमा धरौटीमा छुटेपछि भने केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । आफूमाथि चोर, भ्रष्टाचारी जस्ता आरोप लगाएको भन्दै उनले सत्ताबाट पैसा, पैसाबाट सत्ताको खेल खेल्न नआएको दाबी गरे । १४ वर्षपछि भगवान राम बनवासबाट फर्किदा सीताले अग्नि परीक्षा दिनुपरेको भन्दै केजरीवालले भने, ‘आज म जेलबाट आएको छु र अग्नि परीक्षा दिन तयार छु ।’
अबको केही महिनापछि दिल्ली विधानसभाको चुनाव हुनेछ । यदि केजरीवाल इमान्दार हो भन्ने लाग्छ भने आफ्नो पक्षमा भेट दिन उनले आग्रह गरे । आफू दोषी हो भन्ने लाग्छ भने मत नदिन आग्रह गर्दै उनले भने, ‘जबसम्म जनताले केजरीवाल इमान्दार छन् भनेर फैसला सुनाउने छैनन्, तबसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’
काठमाडौं । डीआर कङ्गोमा राष्ट्रपतिलाई सत्ताच्युत पार्न प्रयास गरेको भन्दै ३७ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। जसमा तीन जना अमेरिकी, एक जना ब्रिटिश, एक जना बेल्जिअन र एक जना क्यानडेली नागरिक समेत छन्। ती मानिसलाई गत मे महिनामा राष्ट्रपति निवास र राष्ट्रपति फेलिक्स चिसकेडीका एक जना साझेदारको घरमा भएका हमलाको नेतृत्व गरेको आरोप लगाइएको छ। सत्ताच्युत पार्ने उक्त असफल योजनाका सन्दिग्ध नेतृत्वकर्ता कङ्गो मूल भएका एक अमेरिकी नागरिक क्रिस्टिआन मलाङ्गा उक्त हमलाकै क्रममा अन्य पाँच जना सहित मारिएका थिए।
कुल ५१ जना मानिसहरूलाई सैन्य अदालतमा मुद्दा चलाइएको उक्त प्रकरणको सुनुवाइ राष्ट्रिय टेलिभिजन र रेडिओमा प्रत्यक्ष प्रसारण गरिएको थियो। मुद्दा चलाइएका ५१ जनामध्ये १४ जनालाई उक्त हमलामा सम्बन्ध नदेखिएको भन्दै निर्दोष ठहर गरेर जेलमुक्त गरिएको थियो। मलाङ्गाका छोरा मार्सेल मृत्युदण्ड सुनाइएका एक अमेरिकी नागरिक हुन्। यसअघि अदालतमा उनले यदि उक्त कू प्रयासमा सहभागी नभएमा आफ्ना बुवाले मार्ने धम्की दिएको बताएका थिए।
उनका साथी टेइलर थमसनलाई समेत मृत्युदण्ड सुनाइएको छ। उनीहरू दुवै जनाको उमेर २० वर्षभन्दा केही बढी छ र अमेरिकी राज्य युटामा उनीहरू एकसाथ फुटबल खेल्नेगर्थे। गत जुन महिनामा बीबीसीसँग कुरा गर्दै उनकी सौतेनी आमा मिरान्डा थमसनले उनी कसरी डीआर कङ्गोमा त्यस काममा पुगे भन्ने परिवारलाई शून्य जानकारी भएको बताएकी थिइन्।
सजाय सुनाइएका तेस्रो अमेरिकी बेन्जमिन जलमान(पोलुनको क्रिस्टिआन मलङ्गासँग व्यापारिक सम्बन्ध थियो। त्यसैगरी मृत्युदण्डको सजाय सुनाइएका अर्का बेल्जिअन र कङ्गोको दोहोरो नागरिकता भएका जँ(ज्याक्क वन्डो छन्। यसअघि ह्युमन राइट्स वाचले उनलाई क्षेत्रीय राजनीति र सुरक्षासम्बन्धी एक जना प्रभावशाली अनुसन्धानदाताका रूपमा चिनाउँदै उक्त कू प्रयाससँगको उनको साइनो निकै कम रहेको जनाएको थियो।
एएफपी समाचार संस्थाले सजाय सुनाइएका ब्रिटिश र क्यानडेली नागरिकहरू समेत कङ्गो मूल भएकाहरू रहेको जनाएको छ। फैसला सुनाएको अदालतले ब्रिटिश नागरिक युसुफ इजाङ्गीले कू प्रयासमा संलग्न हुनका लागि मानिसहरू जुटाएको उल्लेख गरेको छ। गत १९ मेमा राजधानी कन्शासमा सबेरै भएको एउटा कू प्रयासलाई सुरक्षा फौजले निस्तेज पारिदिएको त्यहाँको सेनाले जनाएको थियो । दोषी ठहर भएकाहरूसँग पुनरावेदनका लागि पाँच दिनको समय छ।
डीआर कङ्गोमा झण्डै दुई दशकमा मृत्युदण्ड कार्यान्वयन गरिएको छैन। बरु त्यस्तो सजाय पाउनेहरूले आजीवन कारावास बेहोर्ने गरेका छन्। सरकारले राष्ट्रको निष्क्रिय सेनाबाट देशद्रोही हटाउन आवश्यक रहेको भन्दै यस वर्ष मार्चमा उक्त रोक हटाएको छ। यद्यपि त्यसयता पनि कुनै मृत्युदण्ड कार्यान्वयन भएको छैन।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ १६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको छ ।
साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८९ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ३४ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ९३ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं । नासाका अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोरले अन्तरिक्षमा अझै सन् २०२५ को फेब्रुअरीसम्म बस्नुपर्ने भएपछि आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)बाट मतदान गर्न उत्सुक रहेको बताएका छन् । अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको एक हप्तापछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विलियम्स र विल्मोरले आइएसएसबाट सहभागी भएको न्यूओर्क टाइम्सले जनाएको छ ।
यो जोडी गत जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा चढेर अन्तरिक्ष पुगेका थिए । यानमा हिलियम लिक र थ्रस्टरमा समस्या देखिएपछि दुई अन्तरिक्ष यात्री निर्धारित समयमा पृथ्वीमा फर्किन नसकेका हुन् । अन्तरिक्ष यान स्टारलाइनरलाई यसको चालक दलबिना पृथ्वीमा फिर्ता गर्ने निर्णय गरियो र तीन महिनाभन्दा बढी अन्तरिक्षमा रहेपछि सेप्टेम्बर ६ मा सफलतापूर्वक पृथ्वीमा फर्काइयो ।
दुवै अन्तरिक्ष यात्रीलाई स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानबाट आगामी वर्षको फेब्रुअरीमा पृथ्वीमा फर्काइने तय भएको छ । अन्तरिक्ष यात्रीले मतदानमा नागरिकको महत्त्वपूर्ण भूमिका रहेको भन्दै मतपत्रका लागि अनुरोध गरेको बताएका छन् । “मैले आज मतपत्रका लागि अनुरोध पठाएको छु । हामीले केही हप्तामा मतपत्र प्राप्त गर्नेछौँ”, विल्मोरले भने, “मतदानको अधिकार नागरिकको एक महत्त्वपूर्ण अधिकार हो, नासाले प्रदान गरेको यस अवसरका लागि हामी उत्साहित छौँ ।”
टेक्सास विधायिकाले नासाका कर्मचारीलाई अन्तरिक्षबाट मतदान गर्न अनुमति दिने विधेयक पारित गरेपछि अन्तरिक्ष यात्रीहरूले सन् १९९७ देखि अन्तरिक्षबाट मतदान गर्दै आएको न्युयोर्क पोस्टले जनाएको छ । त्यस वर्ष नासाका डेभिड वुल्फ अन्तरिक्षबाट मतदान गर्ने पहिलो अन्तरिक्ष यात्री बन्नुभयो । सन् २०२० मा नासाकी अन्तरिक्ष यात्री केट रुबिन्सले पनि अन्तरिक्षबाट आफ्नो नागरिक कर्तव्य पालना गर्नुभएको थियो । रासस-एएनआई
पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानलाई आरोपमुक्त गर्न अदालतको अश्विकार काठमाडौं । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको भ्रष्टाचारको मुद्दामा सन् १९९९ को संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेशअन्तर्गत आरोपमुक्त माग गर्दै दायर गरेको जाहेरी अस्वीकार गरेको छ । संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेशको आधारमा खानले आफूविरुद्धको मुद्दा सङ्घीय मन्त्रिपरिषद् बैठकको आधारमा सुरु गरी कानुनले मन्त्रिपरिषद् निर्णयलाई संरक्षण गरेको बताएका छन् ।
पीटीआईका संस्थापक इमरान खानले दायर गरेको याचिकामा भनिएको छ, “यो मुद्दा ‘नेशनल अकाउन्टेबिलिटी अर्डिन्यान्स (एनएओ)’ को दायराभित्र पर्दैन भन्ने पूर्ण जानकारी हुँदाहुँदै पनि ‘नेशनल अकाउन्टेबिलिटी ब्युरो (एनएबी)’ले आफ्नो क्षेत्राधिकार नाघी पाकिस्तानको प्रधानमन्त्रीका रूपमा आवेदकले डिसेम्बर ३, सन् २०१९ मा भएको क्याबिनेट बैठकको अध्यक्षता गरी झुटो र भ्रामक सन्दर्भ दायर गरेको देखिन्छ ।”
एनएबीले पूर्वप्रधानमन्त्री खानलाई उक्त प्रस्तावका लागि आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ र बदलामा झेलम जिल्लाको तहसील सोहवामा लगभग ४५८ कनाल (उत्तरी भारत र पाकिस्तानमा जग्गाको क्षेत्रफल मापन गर्ने एकाइ) जमिन, पाकिस्तानी रूपियाँ (पीकेआर) २८ करोड ५० लाख नगद र अल–कादिर युनिभर्सिटी प्रोजेक्ट ट्रस्टका लागि चन्दासहित अन्य लाभहरू लिएको आरोप लगाएको छ ।
डन पत्रिकाले समाचारमा उल्लेख गरे अनुसार जाहेरीमा खान दम्पतीले सहयोगी फरहत शेहजादी मार्फत सह–अभियुक्त अहमद अली रियाजबाट व्यक्तिगत लाभको क्षतिपूर्तिका रूपमा २४० कनाल जग्गा प्राप्त गरेका थिए । सार्वजनिक पदाधिकारीको रूपमा, दान तथा अन्य सुविधा पूर्व प्रधानमन्त्री खानले आफू र पत्नीको व्यक्तिगत लाभका लागि अधिकारको दुरुपयोग गरेको आरोप लगाइएको डनले लेखेको छ ।
अभियोजकका अनुसार खानले मन्त्रिपरिषद् सदस्यसँग तथ्य खुलासा नगरी गोप्य कागजातलाई सिल गरी अनुमोदन गर्न बाध्य पारेका थिए । पूर्वप्रधानमन्त्री खानले सङ्घीय सरकारका कानुनीमामिला प्रवक्ता ब्यारिस्टर अकील मलिकले दिएको बयानले उनको आशङ्कालाई विश्वास दिलाएको बताए । याचिकाकर्ताहरूलाई सैन्य अदालतमा मुद्दा चलाउन सकिन्छ, र पाकिस्तानी सेनाको अधिनियम १९५२ का प्रावधानहरू यस मुद्दामा आकर्षित हुन्छन् । खानले सङ्घीय कानुन र न्यायमन्त्री आजम नजीर तरारको बयानलाई उल्लेख गर्दै पिटिआईविरुद्धको मुद्दा पञ्जाब सरकारको विशेषाधिकार हुने बताए । रासस–एएनआई
काठमाडौं । चीनले अवकाश (रिटायरमेन्ट)को उमेर बढाएको छ । सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो । यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम) का लागि महिलाको उमेर ५० वर्षबाट बढाएर ५५ वर्ष कायम गरिएको छ । यस्तै ह्वाइट कलर (पेशेवर) महिलाका लागि उमेर हद ५५ बाट ५८ वर्ष बनाइएको छ ।
पुरुषको अवकाश उमेर भने ६० वर्षबाट बढाएर ६३ वर्ष बनाइएको छ । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार नयाँ अवकाश उमेर १ जनवरी २०२५ बाट लागू हुनेछ । र, १५ वर्षसम्म केही महिनामा थोरै थोरै अवकाशको उमेर बढाइनेछ । सिन्ह्वाका अनुसार कानुनले तोकेको उमेरभन्दा पहिला अवकाशका लागि अनुमति दिइने छैन ।
काठमाडौं । सर्वोच्च अदालतले आदेशपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन् । तिहाड जेलबाट बाहिर आएका केजरीवालले आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन् । भारतको सर्वोच्च अदालतले शुक्रबार आम आदमी पार्टीका प्रमुख समेत रहेका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा छोड्न आदेश दिएको थियो । ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो ।
सर्वोच्च अदालतले जुलाईमा जमानत दियो, तर सीआईबीले फेरि पक्राउ ग¥यो । जेलबाट बाहिर आएपछि केजरीवाल समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा भावुक भए । ‘उनीहरुले मलाई जेलमा हाले, उनीहरुलाई लागेको थियो कि केजरीवालललाई जेलमा हाल्दा हतोत्साहित हुन्छन्’, उनले भने, ‘आज म तपाईँहरुलाई भन्न चाहन्छु, म जेलबाट बाहिर आएँ । मेरो हौसला १०० गुना बढेको छ ।’
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ७९ औं सत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । ७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गले हथौडा हस्तान्तरण गरेपछि औपचारिक रुपमा सुरु भएको हो । सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन, हिंस्रक संघर्ष र दिगो विकासको धिमा गति लगायत अन्य विश्वव्यापी चुनौतीबाट लड्नका लागि विविधतामा एकतामा आफ्नो दृष्टिकोण पेश गर्दै अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरे ।
उनले समतापूर्ण आर्थिक उन्नती हासिल गर्नुपर्नेमा जोड दिए । यसका लागि नवीनता र हरित अर्थव्यवस्थालाई प्रोत्साहन दिँदै आर्थिक विकासको लाभ हरेक देशलाई सुनिश्चित गर्नुपर्ने बताए । फिलेमान यङ्गले शान्ति र सुरक्षा आफ्नो मुख्य प्राथमिकता भएको बताए । यसक्रममा उलने देशहरुलाई गाजा क्षेत्र, हैटी, युक्रेन र अफ्रिकाको ग्रेट लेक्स क्षेत्रमा जारी हिंसा अन्त्यको पहल गर्न आह्वान गरे ।
साथै अन्तर्राष्ट्रिय कानुन र न्यायको फ्रेमवर्कलाई बलियो बनाउन प्रयास गर्दै मावनीय सहायताका लागि आपसी समन्वयलाई बढावा दिइने बताए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि बैठकलाई सम्बोधन गरेका थिए । संकटले घेरिएको विश्वको समस्या समाधान गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।
काठमाडौं । उत्तरी भियतनाममा शक्तिशाली टाइफुन यागी आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय २७ जना पुगेको छ । गएको शनिवार आएको शक्तिशाली टाइफुन पछि भइरहेको ठूलो वर्षा, पहिरो र बाढीमा परी अरु ५४ जना हराइरहेका छन् । पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनाएको बीबीसीले जनाएको छ । पश्चिमतर्फ सर्ने क्रममा रहेको यागीले थप विनाश गर्ने त्यहाँका अधिकारीहरूले चेतावनी दिएका छन् । प्रतिघण्टा २ सय ३ किलोमिटरको वेगको यस आँधीबाट २ सय ४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन् ।
यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली आँधी हो । भियतनामको व्यस्त रहने फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कूटर नदीमा खसेको भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जानकारी दिए । आँधीले घरका छानाहरू उडाउने, रूखहरू ढाल्ने र उत्तरी भागमा पूर्वाधार तथा कारखानाहरूमा व्यापक क्षति पुर्याएको खबरमा उल्लेख छ । भियतनामका तटीय सहरहरूबाट झण्डै ५० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । उत्तरी प्रान्तमा रहेका विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।
काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ । कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले एक गोल गरे । खेलको २५औं मिनेटमा मोस्केराले रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा सुरुमै गोल फर्कायो । निको गोन्जालेजले ४८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
तर, ६०औं मिनेटमा जेम्स रोड्रिग्वेजले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २१ को अग्रता दिलाए । त्यसपछि थप गोल नहुँदा कोलम्बयालाई विजयी हुँदै ३ अंक जोडेको हो । जितपछि ८ खेलबाट १६ अंक जोडेर कोलम्बिया दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको अर्जेन्टिनाभन्दा कोलम्बिया २ अंकले पछि छ । कोलम्बियाले ८ खेलमा ४ खेल जित्दा ४ बराबरी खेलेको छ ।
छनोट दोस्रो हार व्यहोरेको अर्जेन्टिना भने १८ अंकसहित शीर्ष स्थानमै छ । दक्षिण अमेरिकी छनोटको अन्य खेलमा इक्वेडरले पेरुलाई १–० ले पराजित गरेको छ । चिली बोलिभियासँग २–१ ले पराजित भएको छ । उरुग्वे र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
काठमाडौं । कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा मंगलबारदेखि सुरु हुँदैछ । राष्ट्रसङ्घको महासभा मंगलबारदेखि सुरु भए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ । उक्त छलफल असोज १२ गतेसम्म हुने र समापन असोज १४मा हुने कार्यतालिकामा उल्लेख छ ।
नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्ने राष्ट्रसङ्घको कार्यतालिकामा उल्लेख गरिएको छ । विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले विश्वव्यापी रूपमा पारेको असर, कोरोनापश्चातको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य सङ्कटलगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा हुने छलफलमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले महासभामा भाग लिनेछन् ।
यसपटकको महासभा नेपालका लागि निकै महत्त्वपूर्ण रहेको जनाइएको छ । खासगरी संघीय संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश प्रेषित गर्न सक्नेछ । यसले नेपालले शान्ति प्रक्रियालाई निर्णायक बिन्दुमा पुर्याउन सफल भएको विश्वकै नमूनाका रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ ।
नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि खटाएको सुरक्षाकर्मी र उनीहरूको योगदान अर्को महत्त्वपूर्ण अवसरका रूपमा उक्त फोरममा प्रस्तुत गर्न सक्नेछ । न्युयोर्कस्थित नेपाली नियोगका अनुसार नेपालले उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागिता र साइडलाइन बैठकहरूमा आफ्ना विकास साझेदारहरूसँगको छलफललाई उच्च प्राथमिकतामा राख्ने छ ।
नेपालले दिगो विकासको लक्ष्य हासिलमा आफ्नो प्रतिबद्धताअनुसार काम गर्दै आएको विषयलाई समेत उच्च प्राथमिकतामा राखेको छ । त्यसैले ‘समिट अफ द फ्युचर २०२४’ मा नेपालले उच्चस्तरीय सहभागिता जनाएर भएरगरेका कामका बारेमा विश्व समुदायलाई जानकारी गराउनेछ ।
काठमाडौं । भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको ज्यान गएको छ । छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ पर्दा अरु थुप्रै मानिस घाइते भएका छन् छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले मोहत्रा गाउँमा चट्याङ लागेर ७ जनाको ज्यान गएको र कैयौँ घाइते भएका पुष्टि गरेका छन् । उनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्याएको जानकारी दिएका छन् ।
मुख्यमन्त्रीले मृतकका परिवारप्रति समवेदनासहित दिवङ्गत आत्माको चिरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । हरेक वर्ष मनसुनको समयमा भारतमा चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ ।
काठमाडौं । भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ । जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो । स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने जनाइएको छ ।
शुक्रबार एक विद्रोही समूहले मणिपुरको बिष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो भने स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ । ब्यारेजमा एक व्यक्तिको मृत्यु भएको र छ जना घाइते भएको प्रहरीले जनाएको छ । आक्रमणको जवाफमा अधिकारीलाई सन्दिग्ध कुकी आतङ्ककारीहरूले गोली हानेपनि जवाफी आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ ।
मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट प्रहार हुँदा एक व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । शुक्रबारको आक्रमण विद्रोहीहरूले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरे पछि प्रहरीले राज्यमा हिंसाको वृद्धि भएको जनाएको छ ।
मेइतेई र कुकी समुदायहरूबीच जमिन र सार्वजनिक रोजगारीका लागि भएको विवादबीच राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप मानव अधिकारवादी समूहले लगाएका छन् । रासस
काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन् । हर्ज पर्वतमा शुक्रबारदेखि धेरैतिरबाट डढेलो सुरु भएको र साँझसम्ममा यसले भीषण रूप लिएको थियो । स्याक्सोनी–अनहाल्ट राज्यको हर्ज जिल्लाका अधिकारीहरूका अनुसार ब्रोकेन पर्वतमा करिब १५० अग्नि नियन्त्रक, विमान र हेलिकोप्टरहरू तैनाथ गरिएको छ र वरपरको क्षेत्र बन्द गरिएको छ ।
शनिबार पनि आगोको प्रकोप जारी रहेको र अग्नि नियन्त्रकलाई सहयोग गर्न विमान र हेलिकप्टर पुनः पठाइएको जर्मन अधिकारीले बताएका छन् । थप तीन वटा विमान र अर्को हेलिकोप्टर पनि यस प्रयासमा सामेल हुने अपेक्षा गरिएको छ । अधिकारीले भने, “थप विमानका लागि अनुरोध गरिएको छ । अग्नि नियन्त्रकहरूले अझै पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।”
पदयात्री र पर्यटकलाई उक्त क्षेत्र छोड्न आग्रह गरिएको छ र शुक्रबार दिउँसो बसमार्फत ५०० जनालाई सुरक्षित स्थानमा ल्याइएको स्थानीय प्रसारक एनडीआरले जनाएको छ । सन् २०२२ को सेप्टेम्बरमा हर्ज पर्वतको जङ्गलमा भीषण आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन अधिकारीहरूले आपत्कालीन अवस्थाको घोषणा गरी सयौँ अग्नि नियन्त्रकहरूले केही दिनसम्म दिनरात काम गरेका थिए ।
अन्य देशहरूजस्तै जर्मनीले पनि हालैका वर्षहरूमा गर्मीयाममा उच्च तापक्रम अनुभव गरिरहेको छ । वैज्ञानिकहरूले मानव–प्रेरित जलवायु परिवर्तनले तीव्र बनाएको बताएको तापक्रम वृद्धिले यस वर्ष पनि संसारभर मौसमी सङ्कटको सामना गरिरहेका छन् । रासस-एएफपी
काठमाडौं । केन्यामा एउटा विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ। मध्यकेन्याको न्येरी काउन्टीमा बिहीवार राति भएको उक्त घटनामा परेर गम्भीर रूपमा जलेका एक दर्जनभन्दा बढी बालबालिकालाई अस्पताल लगिएको छ। मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। केन्याका राष्ट्रपति विलिअम रुटोले भयङ्करू र विनाशकारी घटना भएको भन्दै छानबिन गर्न आदेश दिएका छन्। आगलागीको कारण स्पष्ट भइसकेको छैन। त्यसबारे छानबिन भइरहेको प्रहरीकी प्रवक्ता रेसिला ओन्याङ्गोले स्थानीय सञ्चारमाध्यमलाई बताएकी छन्। जो जिम्मेदार छन्, उनीहरूलाई जबाहदेही बनाइन्छ,ू रुटोले सामाजिक सञ्जाल, एक्सुमा लेखेका छन्।
प्रहरीका अनुसार अनुसन्धान गर्न घटनास्थलमा एउटा टोली पुगिसकेको छ। केन्या रेड क्रसले विद्यार्थी, शिक्षक र प्रभावित परिवारहरूलाई आफूले मनोसामाजिक सहयोग दिने जनाएको छ। सहयोग आवश्यक पर्ने व्यक्तिहरू पहिचान गर्न उक्त संस्थाले सो विद्यालयमा एउटा टोली खटाएको छ। सन् २०१७ मा केन्याको राजधानी नाइरोबीमा छात्राहरू मात्र पढ्ने एउटा विद्यालयमा आगजनीको घटना हुँदा १० विद्यार्थीको जलेर मृत्यु भएको थियो।
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर सम्बन्धी मुद्दामा गल्ती गरेको अभियोग स्वीकार गरेका छन्। हन्टरले कर छलेको र करका लागि झुटो व्यहोरा बुझाएको सम्बन्धी लस एन्जलसको संघीय अदालतमा चलिरहेको मुद्दामा उनले बिहीबार एक्कासी नौ वटा कसुर गरेर घटीमा १४ लाख डलर कर नतिरेको स्वीकार गरेका छन्।
अदालतमा सो मुद्दा हेर्ने ज्युरी छान्न १०० जनाभन्दा बढीलाई अन्तर्वार्ताका लागि बोलाइसके पछि हन्टरले गल्ती गरेको स्वीकार गरेका हुन्। सुरूमा उनका वकिलले ुअल्फर्ड प्लीु का लागि कुरा गरेका थिए। सन् १९७० मा सर्वोच्च अदालतमा हेन्री अल्फर्डलाई लागेको ज्यान मुद्दामा उनले आफू निर्दोष रहेको तर मृत्युदण्डबाट जोगिनका लागि सेकेन्ड डिग्री मर्डर गरेको स्वीकार गरेका थिए।
योजना नबनाई गरिएको नियतवश हत्या र मानव जीवनको वास्ता नगरी चरम लापरवाहीका कारण ज्यान गएमा अमेरिकी न्याय प्रणालीमा त्यसलाई सेकेन्ड डिग्री मर्डर भनिन्छ।
न्यायाधीशले उनको माग स्वीकार गरेर अल्फर्डलाई मृत्युदण्ड नदिएर सेकेन्ड डिग्री मर्डरका लागि ३० वर्ष सजाय दिएका थिए। अमेरिकामा बिरलै मात्रै प्रयोग हुने अल्फर्ड प्लीु दिन न्यायाधीशले माने अभियुक्तले गल्ती स्वीकार गरेपनि उनलाई निर्दोष मानिन्छ। हन्टरले बिहीबार अल्फर्ड प्ली मागे पछि भने सरकारी वकिलले कडा प्रतिवाद गर्दै उनी दोषी भएको जिकिर गरेका थिए। त्यसको केहीबेर पछि हन्टरले अप्रत्यासित रूपमा गल्ती गरेको स्वीकार गरेका थिए।
अमेरिकामा सरकारी वकिलसँग सहमति गरेर ठूलो सजायबाट जोगिन थोरै सजाय भएको कसूर स्वीकार गर्ने चलन हुन्छ। तर हन्टरले त्यस्तो सहमति नगरी एकतर्फी रूपमा गल्ती स्वीकार गरेका हुन्। उनले गल्ती स्वीकार गरेपछि यो मुद्दामा सजाय निर्धारण भने राष्ट्रपतिको चुनाव पछि आगामी डिसेम्बरमा हुनेछ। उनले बढीमा १७ वर्ष कैद वा १३ लाख डलरसम्म जरिवानाको सजाय पाउनेछन्।
गत जुनमा मात्रै हन्टर बन्दुक किन्दा झुटो विवरण भरेको मुद्दामा दोषी ठहरिएका थिए। त्यसमा पनि सजाय सुनाइएको छैन र उनलाई त्यसका लागि छुट्टै २५ वर्षसम्मको जेल सजाय हुनसक्छ। हन्टर दुर्व्यसनी भएको समयमा करसम्बन्धी दुई सामान्य कसुर उनले स्वीकार गरे करसम्बन्धी अरू कसूर र बन्दुक मामिलाको मुद्दा नचलाउने भनेर उनका वकिल र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका संघीय सरकारी वकिल डेभिड वेसबीच कुरा मिलिसकेको थियो।
तर ट्रम्प राष्ट्रपति हुँदा उनले नियुक्त गरेकी न्यायाधीश म्यारिएलेन नोराइकाले सो लेनदेन रोकेकी थिइन्। त्यसपछि बन्दुकसम्बन्धी र करसम्बन्धी छुट्टा-छुट्टै मुद्दा चले। बन्दुक सम्बन्धी मुद्दामा उनी दोषी ठहरिइसकेका छन् भने करसम्बन्धी मुद्दामा उनले गल्ती स्वीकार गरेका छन्।
उनले बन्दुकसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा परिवारका सदस्यले लामो समयसम्म बेइज्जती बेहोर्नु परेकाले फेरि परिवारले त्यस्तो नबेहोर्नुपरोस् भनेर गल्ती स्वीकार गरेको भनेका छन्। अमेरिकामा संघीय मुद्दामा सजाय पाएकालाई राष्ट्रपतिले आममाफी दिनसक्छन्। तर अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुककै मुद्दा चल्दा पनि आफ्ना छोरालाई माफी नदिने भनिसकेका छन्।