Category: विश्व

  • पेरिसमा डुङ्गा दुर्घटना, कम्तीमा १३ आप्रवासीको निधन

    पेरिसमा डुङ्गा दुर्घटना, कम्तीमा १३ आप्रवासीको निधन


    काठमाडौं । इङ्ग्लिस च्यानल पार गर्ने प्रयासमा मङ्गलबार एउटा डुङ्गा क्षतिग्रस्त हुँदा १३ आप्रवासीको मृत्यु भएको उद्धार कार्यमा प्रयोग भइरहेको फ्रान्सेली तटीय सहरका मेयरले बताएका छन् । दर्जनौँ आप्रवासी व्यस्त च्यानलको खतरनाक पानीमा डुबेका थिए ।

    “दुर्भाग्यवश डुङ्गाको तल्लो भाग खुल्यो”, बोलोग्ने–सुर–मेरको माछा मार्ने बन्दरगाह नजिकैको ले पोर्टेलका मेयर ओलिभियर बार्बरिनले भने, “यहाँ पीडितहरूको उपचारका लागि प्राथमिक उपचार चौकी स्थापना गरिएको थियो, यो ठूलो नाटक हो ।”

    दुर्घटनामा कम्तीमा १३ आप्रवासीको मृत्यु भएको नाम उल्लेख नगर्ने शर्तमा एक सामुद्रिक उद्धार अधिकारीले बताए ।

    समुद्रको उक्त क्षेत्रको निरीक्षण गर्ने फ्रान्सेली सामुद्रिक प्रान्तका प्रवक्ता एटिने बग्गियोले ‘१० भन्दा धेरै’ को मृत्यु भएको बताए ।  तर उनिसँग सही सङ्ख्या थिएन । प्रान्तले डुङ्गा ग्रिस–नेज विन्दुदेखि टाढा कठिनाइमा परेको बताएको छ ।

    बग्गियो र मेयर दुवैले उद्धारकर्मीहरूले ६१ आप्रवासीलाई पानीबाट उद्धार गरेको बताउनुभयो । उत्तरी फ्रान्समा समुद्रको तापक्रम करिब २० डिग्री सेल्सियस अर्थात करिब ६८ फरेनहाइट थियो ।

    इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार यस वर्ष बेलायत जाने प्रयासमा कम्तीमा ३० आप्रवासीको मृत्यु भएको वा बेपत्ता भएका छन् ।

    मङ्गलबार अद्यावधिक गरिएको बेलायती गृह मन्त्रालयको आँकडाअनुसार पछिल्लो सात दिनमा कम्तीमा दुई हजार एक सय नौ आप्रवासीले साना डुङ्गाहरू मार्फत इङ्ग्लिस च्यानल पार गर्न प्रयास गरेका छन् । आँकडामा च्यानलमा वा आगमनमा भेटिएका व्यक्तिहरू समावेश गरिएको हुन्छ ।

    युरोपको तीव्र कडा शरण नियम, बढ्दो जेनोफोबिया (अन्य मुलकका मानिसलाई मन नपराउने) र आप्रवासीप्रति शत्रुतापूर्ण व्यवहारले आप्रवासीहरूलाई उत्तरतिर धकेलिरहेको छ । रासस/एपी

  • कंगोमा जेल तोडेर भाग्ने प्रयास, कम्तिमा १२९ जनाको मृत्यु

    कंगोमा जेल तोडेर भाग्ने प्रयास, कम्तिमा १२९ जनाको मृत्यु

    काठमाडौं । गणतन्त्र कङ्गोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासमा कम्तीमा एक सय २९ जनाको ज्यान गएको छ । ५५ जनाभन्दा धेरै घाइते भएका कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जेल तोड्ने प्रयासलाई रोक्न नसकेपछि गोली चलाउनुपरेको उनले बताए । धेरै मानिसहरू भीडभाडमा कुल्चिएर पनि मारिएका तथा घाइते भएका मन्त्रालयको भनाइ छ ।

    कतिपय महिलाहरू बलात्कृतसमेत भएका मन्त्री शाबानीले बताए । जेल परिसरमा हिजो लामो समयसम्म गोली चलेको छ । कङ्गो सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई अहिले स्थिति नियन्त्रणमा रहेको बताए । कङ्गो सरकारले जेल तोड्ने प्रयास किन भयो र कति कैदीबन्दी भागे भन्नेबारेमा केही खुलाएको छैन ।

  • रुसले दुई दर्जन पत्रकारसहित ९२ अमेरिकीलाई लगायो प्रवेश प्रतिवन्ध

    रुसले दुई दर्जन पत्रकारसहित ९२ अमेरिकीलाई लगायो प्रवेश प्रतिवन्ध

    काठमाडौं । रुसले दुई दर्जनभन्दा बढी पत्रकारसहित ९२ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रुसी विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ । ‘‘मस्कोलाई रणनीतिक पराजय गराउने’ घोषित लक्ष्यका साथ बाइडेन प्रशासनको ‘रूसोफोबिक’ नीतिको प्रतिक्रियामा प्रतिबन्ध लगाइएको हो,” रुसको राष्ट्रिय समाचार संस्था तासले जनाएको छ ।

    रुसले प्रतिबन्ध लगाएको अमेरिकी नागरिकको सूचीमा अमेरिकी सरकारका सदस्यहरू, प्रजातन्त्र समर्थक कार्यकर्ता, शिक्षाविद् र रुस–युक्रेन द्वन्द्वकाबिच युक्रेनलाई हतियार आपूर्ति गर्ने रक्षा अनुबन्ध फर्महरू र वित्तीय संस्थाहरूका नेताहरू समावेश रहेका छन् । रुसी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार यो प्रतिबन्धको सूचीमा वाल स्ट्रिट जर्नल, वासिङ्टन पोस्ट र न्युयोर्क टाइम्सका केही पत्रकारको नाम उल्लेख गरिएको छ ।

    प्रतिबन्धित व्यक्तिहरूको सूचीमा ‘‘रुस र रुसी सेनाबारे वासिङ्टनले फैलाएको प्रोपागान्डाको बारेमा झुटो प्रसारमा संलग्न प्रमुख उदार–विश्वव्यापी प्रकाशनहरूका सम्पादकीय कर्मचारी र पत्रकारहरू समावेश छन्,” विदेश मन्त्रालयले भनेको छ । सूचीबद्ध पत्रकारमध्ये वाल स्ट्रिट जर्नल (डब्लुएसजे) का प्रधान सम्पादक एमा टकर पनि रहनुभएको छ ।

    सूचीमा रहेका डब्लुएसजेका अन्य १३ जना वर्तमान वा पूर्व कर्मचारीहरूमा सञ्चारमाध्यमका प्रमुख सम्पादक, विश्व समाचार विभागका प्रमुख, यसको किएभ ब्युरो प्रमुख, पूर्व मस्को ब्युरो प्रमुख र यसको सम्पादकीय बोर्डका सदस्य समावेश रहेका छन् ।

    प्रतिबन्ध गरिएका मानिसहरूको सूचीमा न्युयोर्क टाइम्सका पाँचजना पत्रकार, वासिङ्टन पोस्टका चारजना पत्रकार र केलायती पत्रिकाका केही पत्रकारको नाम पनि सूचीकृत छ ।

    अमेरिकी स्पेस कमान्डका कमान्डर स्टिफन ह्वाइटिङ, स्पेस सिस्टम कमान्डका कमान्डर फिलिप ग्यारान्ट र स्पेस पोलिसिका लागि सहायक उप–रक्षामन्त्री जोन प्लम्ब पनि प्रतिबन्धको सूचीमा परेका छन् । “अमेरिकी शासक वर्गले रुसमाथि लगाएको प्रतिबन्धको प्रतिक्रियामा रुसले यो प्रवेश प्रतिबन्ध जारी गरेको र रुस विरोधी गतिविधिहरूमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिलाई समावेश गरेर यो सूची विस्तार गर्ने अभ्यास दृढता र स्थिरताका साथ जारी रहनेछ,” रुसी विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ ।

    यसअघि, अमेरिकाले ‘युक्रेनमा क्रेमलिनको अवैध युद्ध’ का लागि रुस र बेलारूसमा अमेरिकी उत्पादन र ‘अमेरिकी ब्रान्डेड’ वस्तुको आपूर्तिलाई प्रतिबन्धित गरेको थियो । राससएएनआई

  • पाकिस्तानमा गाडीबाट झारेर ३९ जनालाई सडकमै हानियो गोली

    पाकिस्तानमा गाडीबाट झारेर ३९ जनालाई सडकमै हानियो गोली

    काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र आक्रमणकारीहरूले गोली हानी कम्तीमा ३९ जनालाई मारेका छन् । आइतवार राति आक्रमणकारीहरूले उक्त दक्षिणपश्चिमी प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसहरूलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेको बताइएको छ।

    सरकारी सुरक्षाकर्मीहरूले प्रत्याक्रमण गर्दा विभिन्न स्थानमा गरी कम्तीमा १२ जनाको मृत्यु भएको बीबीसी उर्दूले जनाएको छ। बलोचिस्तान प्रान्तमा साम्प्रदायिक, जातीय र पृथक्तावादी हिंसा हुँदै आएको छ।

    सशस्त्र समूहले परिचयपत्र जाँच्दै पन्जाब प्रान्तका मानिसहरूलाई छुट्ट्याएर गोली हानेको र सवारीसाधनमा आगो लगाइदिएको आरोप अधिकारीहरूले लगाएका छन्। बलोच लिबरेशन आर्मी (बीएलए) नामक लडाकु समूहले मुसाखेल जिल्लामा भएको उक्त घटना आफूले गराएको दाबी गरेको छ। स्थानीय अधिकारी नजिबुल्लाह काकरका अनुसार उक्त घटनामा ३० देखि ४० लडाकु संलग्न थिए।

    ूपन्जाबबाट आएका र पन्जाबतिर जान लागेका गाडीहरूमा जाँच गरियो अनि पन्जाबका मानिसहरूलाई पहिचान गरी गोली हानिएको बताइएको छ ।
    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले उक्त घटनालाई आतङ्कवादी आक्रमणको सङ्ज्ञा दिँदै त्यसको निन्दा गरेका छन्। समाचारसंस्था रोएटर्सका अनुसार बीएलएले सर्वसाधारण मानिसको भेषमा यात्रा गरेका सैनिकहरूलाई आफूले निसाना बनाएको दाबी गरेको छ।

    उक्त घटनाअघि बीएलएले बलोचिस्तानका सर्वसाधारणलाई राजमार्गबाट यात्रा नगर्न चेतावनी दिएको थियो। उसले आफ्नो सङ्घर्ष बलोचिस्ताने कब्जा गर्ने पाकिस्तानी सेनाविरुद्ध भएको बताएको छ । बलोचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो। प्राकृतिक स्रोतमा निकै धनी भए पनि उक्त प्रान्त सबैभन्दा कम विकसित छ।

  • रुसले युक्रेनमा थाल्यो मिसाइल आक्रमण

    रुसले युक्रेनमा थाल्यो मिसाइल आक्रमण

    काठमाडौं । रुसले युक्रेनमा मिसाइल र ड्रोनमार्फत् आक्रमण गर्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले एक सयभन्दा बढी ड्रोन र मिसाइलबाट आक्रमण गरेको बताए । रुसले कियभ, खारकिभ, ओडेसा र पश्चिमी क्षेत्रमा आक्रमण गरेको हो । युक्रेनका प्रधानमन्त्री डेनिस शमिशालले पनि देशका १५ क्षेत्रका शहरहरुमा विष्फोट भएको बताएका छन् । साथै रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा पनि आक्रमण गरेको उनले जानकारी दिएका छन् ।

    रुसको आक्रमणपछि युक्रेनमा रेड अलर्ट जारी गरिएको छ । युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रका विभिन्न स्थानमा प्रवेश गरेपछि रुसले आक्रमण तीव्र पारेको बीबीसीले जनाएको छ । रुस र युक्रेनबीच साढे दुई वर्षदेखि जारी लडाइँ जारी छ । भूमि विवाद चर्किएपछि रुसले युक्रेनमा २४ फेब्रुअरी सन् २०२२ देखि आक्रमण सुरु गरेको थियो ।

    गत सोमबार रुसले जलविद्युत आयोजनालगायतका ऊर्जा पूर्वाधारका क्षेत्रमा आक्रमण गरेर क्षति पुर्याएको युक्रेनको विदेश मन्त्रालयका अधिकारी एन्ड्री सिबिहाले सामाजिक सन्जाल एक्समा लेखेका छन् । उनका अनुसार यो आक्रमणमा मानवीय क्षति पनि भएको छ ।

    बीबीसीका अनुसार रुसले उत्तरपश्चिमको रिब्ने र बोलिनदेखि लिएर दक्षिण-पूर्वको जापोरिज्जासम्मको क्षेत्रमा आक्रमण गरेको छ । आक्रमणबाट राजधानी कियभको एक जलविद्युत आयोजनाको बाँधमा क्षति पुगेको छ । यसैगरी एउटा विद्युत् सबस्टेसन र तीन वटा ग्याँस कम्प्रेसर स्टेसनमा पनि क्षति पुगेको छ । आक्रमणपछि युक्रेनको राजधानी कियभसहित विभिन्न स्थानमा बिजुली र पानीको आपूर्ति बन्द भएको थियो ।

  • इजरायल र हिज्बुल्लाहबीच घमासान युद्ध सुरु

    इजरायल र हिज्बुल्लाहबीच घमासान युद्ध सुरु

    काठमाडौं । इजरेली सेनाले आफूमाथि हुनसक्ने ठूलो स्तरको हमलाको प्रतिरक्षामा लेबननका विभिन्न ठाउँमा हिज्बुल्लाहको निशानामा आक्रमण गरेको जनाएको छ। इजरेलले दक्षिण लेबननका ४० वटा त्यस्ता प्रक्षेपणस्थलहरूलाई निशाना बनाउन आफूले करिब १०० वटा विमानहरू प्रयोग गरेको जनाएको छ। उसले ‘उत्तरी र मध्य इजरेललाई निशाना बनाउने उद्देश्य लिएका हजारौँ हिज्बुल्लाह रकेट लन्चरहरूलाई ध्वस्त बनाइदिएको’ बताएको छ।

    हिज्बुल्लाहले आफ्ना एक कमान्डरको हत्याको बदलामा पहिलो चरणमा गरिएको कारबाहीमा इजरेलतर्फ ३ सय भन्दा बढी रकेट प्रहार गरेको जनाएको छ।
    उसले अहिलेका लागि उसको कारबाही सम्पन्न भएको जनाएको छ। लेबननको स्वास्थ्य मन्त्रालयले तीनजना मारिएको जनाएको छ। संयुक्त राज्य अमेरिकाले प्रतिरक्षाका लागि इजरेलले चालेको कदमप्रति समर्थन जनाएको छ।


    आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले भने, “आत्मरक्षाका लागि ती जोखिमहरू हटाउन आईडीएफले आतङ्कवादी निशानाहरूमा आक्रमण गरिरहेको छ।”
    इजरेलले लेबननका सर्वसाधारणहरूलाई इरानको समर्थन पाएको सिया मुसलमान समूहलाई हिज्बुल्लाह रहेका ठाउँ छाड्न आफूले चेतावनी दिएको जनाएको छ।

    त्यस लगत्तै हिज्बुल्लाहले आफूले अघिल्लो महिना समूहका वरिष्ठ सैन्य कमान्डरको हत्या गरिएको बदलामा इजरेलमा ठूलो स्तरको ड्रोन हमला गरेको जनाएको थियो। आइतवार बिहानै उत्तरी इजरेलमा रकेट आइरहेको जनाउ दिने चेतावनीका साइरनहरू बजेका थिए। इजरेलमा ४८ घण्टे सङ्कटकाल घोषणा गरिएको छ।

    तेलअबिबस्थित विमानस्थल केही समयका लागि बन्द भए पनि फेरि सञ्चालनमा आएको छ। हिज्बुल्लाहले इजरेलको उत्तरतर्फ रहेका सैन्य निशानाहरूलाई केन्द्रित गरेर ३२० वटा रकेट प्रहार गरेको जनाएको छ। उसले यसलाई इजरेलमाथिको ‘पहिलो चरण’ को आक्रमण भनेको छ।

    हिज्बुल्लाहले दक्षिण लेबननको खियाममा आफ्ना एकजना लडाकुको मृत्यु भएको पुष्टि गरेको छ। उक्त समूहले ती व्यक्तिको कुन अवस्थामा मृत्यु भएको खुलाइएको छैन। तर लेबननको स्वास्थ्य मन्त्रालयले उक्त सहरमा इजरेलले गरेको आक्रमणमा एउटा कार परेको र त्यसमा एक जना व्यक्तिको मृत्यु भएको जनाएको थियो।

    हिज्बुल्लाहले लेबनन र दक्षिणको प्रतिरक्षामा आफ्नो राष्ट्रिय र जिहादी दायित्व पुरा गर्ने क्रममा ती व्यक्ति मारिएको जनाएको थियो। लेबननको मन्त्रालयले तीनजनाले इजरेली आक्रमणमा ज्यान गुमाएको बताएको छ। हिज्बुल्लाहले आजका लागि योजना गरिएको इजरेलमाथिको हमला ‘सम्पन्न भएको र सफल भएको’ पनि उल्लेख गरेको छ।

    आईडीएफले एउटा विज्ञप्तिमा हिज्बुल्लाहले ‘१५० भन्दा बढी रकेट लेबननबाट इजरेली भूमिमा प्रहार गरेको’ जनाएको छ। उसले तीनलाई विफल बनाउन ुआइरन डोमु क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि प्रयोग गरिएको जनाएको छ। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सुरक्षा क्याबिनेटको आपत्कालीन बैठक डाकिरहेको जनाएका छन्।

    नेतन्याहूको कार्यालयले प्रधानमन्त्री र रक्षामन्त्री योआभ गालान्टले तेलअबिबमा रहेको आईडीएफको सैन्य शिविर परिस्थितिलाई ‘व्यवस्थापन’ गरिरहेको जनाएका छन्। सामाजिक सञ्जाल एक्समा इजरेली विदेश मन्त्रालयले इरानको नेतृत्वमा रहेको ‘सैतानहरूको समूह’ बाट आफ्नो ‘नागरिक र भूगोलको रक्षा गर्नका लागि’ कदम चालिरहेको जनाएको छ। बीबीसी

  • भरतपुरबाट भारतीय वायुसेनाको जहाज बस दुर्घटनाका मृतकको शव लिएर उड्यो

    भरतपुरबाट भारतीय वायुसेनाको जहाज बस दुर्घटनाका मृतकको शव लिएर उड्यो

    काठमाडौं । बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको छ । भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको छ । चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    शुक्रबार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

    घाइतेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । २७ जना मृतकको शव भने पोस्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो । शनिबार भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेले काठमाडौं आएर घाइतेहरुसँग भेट गरिन् ।

    त्यसपछि भरतपुर गई शव जिम्मा लिएर भारत लिएर गएकी हुन् । बस चालक र सहचालकको घर भने नेपाली सीमाबाट नजिकै रहेकाले एम्बुलसेन्सबाट पठाइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

  • युक्रेन भ्रमणमा पुगे भारतीय प्रधानमन्त्री मोदी, के छ महत्व ?

    युक्रेन भ्रमणमा पुगे भारतीय प्रधानमन्त्री मोदी, के छ महत्व ?

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको छ । हिजो युक्रुेन पुग्नुभएका भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको बीबीसीले जनाएको छ । मोदी र जेलेन्स्कीले रुसी मिसाइल आक्रमणमा धेरै बालबालिका मारिएको ठाउँको पनि सँगै भ्रमण गरेका थिए ।


    भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा भेटको भिडिओ पोस्ट गर्दै बालबालिकाका परिवारलाई यो क्षति सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गरेका छन् । केही समय अघि रुसको भ्रमण गरेका भारतीय प्रधानमन्त्री मोदी अहिले युक्रेन पुगेका हुन् । प्रधानमन्त्री मोदीले युक्रेनको राजधानी कीभमा रहेको राष्ट्रिय सङ्ग्रहालयमा पनि भ्रमण गरेका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिएका छन् । युक्रेनको राजधानी कीभमा भएको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्री एस जयशङ्करले प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिएको र आफ्नो सुविधा अनुसार राष्ट्रपति जेलेन्स्कीले भारत भ्रमण गर्ने बताए । भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमण सन् १९९२ पछि पहिलो हो । जयशङ्करले युक्रेनलाई भारतले दिएको सहयोगबारे पनि चर्चा गरेका छन् ।

  • मङ्किपक्स कोभिडको नयाँ भेरियन्ट नभएको डब्यूएचओको स्पष्टीकरण

    मङ्किपक्स कोभिडको नयाँ भेरियन्ट नभएको डब्यूएचओको स्पष्टीकरण

    काठमाडौं । मङ्किपक्स ’एमपक्स’ भाइरस र यसको नियन्त्रणबारे पूर्वजानकारी रहेकोका जोड दिँदै यसको प्रकोप अर्को कोभिड–१९ भेरियन्ट नभएको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार बताएको छ । एमपक्स ‘क्लेड १ बी’ भेरियन्टको थप अनुसन्धान आवश्यक रहेको बताउदै संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

    एमपक्स प्रकोपलाई नियन्त्रण गर्न सकिन्छ“, डब्ल्यूएचओका युरोपेली निर्देशक हान्स क्लुगेले भनेका छन् सन् २०२२ जुलाईमा, डब्ल्यूएचओले एमपक्सको कम गम्भीर भेरियन्ट ’क्लेड २बी’ लाई पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

    “एमपक्स कोभिड भाइरसको नयाँ रुप होइन”, क्लुगेले भने । “हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने भन्ने थाहा छ । र युरोपेली क्षेत्रमा यसको सङ्क्रमणलाई पूर्ण रूपमा उन्मूलन गर्न आवश्यक अनुसन्धान भइरहेको छ ”,उनले जेनेभामा भिडियो–लिङ्क मार्फत बताए । “के डब्लुएचओ युरोपेली क्षेत्रमा लकडाउन गर्न जाँदैछ, यो कोभिड–१९ को नयाँ रुप हो रु भन्ने प्रश्नको जवाफ स्पष्ट छः ‘होइन’ ”, उनले भने । क्लुगेले व्यक्तिबीच छालाको सम्पर्क एमपक्स सङ्क्रमण फैलिने मुख्य कारक रहेको बताए । “सङ्क्रमण फैलिने अन्य कारण अझै अलि अस्पष्ट छन् । यस विषयमा थप अनुसन्धान आवश्यक छ ।”

    डब्लुएचओले मास्क प्रयोग गर्न सिफारिस नगरेको डब्लुएचओका प्रवक्ता तारिक जसारेभिकले बताए । “हामी अहिले विश्वव्यापी खोप अभियान सिफारिस गरिरहेका छैनौँ । हामीले हाल सबैभन्दा बढी जोखिममा रहेका समूहलाई खोप प्रयोग गर्न सिफारिस गर्दैछौं, ”उनले भने ।

  • इजरायलले गाजाका विद्यालयमा आक्रमण गर्दा कम्तिमा १२ जना मारिए

    इजरायलले गाजाका विद्यालयमा आक्रमण गर्दा कम्तिमा १२ जना मारिए


    काठमाडौं । गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार आश्रय शिविरको रुपमा प्रयोग भइरहेको एक विद्यालयमा इजरायली आक्रमण हुदाँ कम्तिमा १२ जनाको मृत्यु भएको बताएको छ । इजरायली सेनाले भने हामासको कमाण्ड सेन्टरमा आक्रमण गरेको बताएको छ ।

    “हाम्रो टोलीले गाजा सहरको पश्चिममा इजरायली सेनाले बम प्रहार गरेको मुस्तफा हाफिज विद्यालयबाट १ जनाको शव फेला पारेका छौँ”, विभागका प्रवक्ता महमुद बस्सालले बताए । गाजापट्टीमा जारी इजरायल–हमास युद्धकाबीच हजारौं विस्थापित प्यालेस्टिनी नागरिकले विद्यालयमा शरण लिइरहेको उनले बताए । इजरायली सेनाले भने हमासले विद्यालयलाई ‘कमाण्ड–एन्ड–कन्ट्रोल’को रुपमा प्रयोग गरिरहेको र कमाण्ड सेन्टर लक्षित आक्रमण गरेको बताएको छ ।

    “हमास लडाकु समुहले इजरायली सेना र इजरायल राज्यमाथि आक्रमणको योजना बनाउन र कार्यान्वयन गर्न विद्यालयलाई कमाण्ड–एन्ड–कन्ट्रोल सेन्टरको रुपमा प्रयोग गरिरहेका थिए”, सेनाले एक विज्ञप्तिमार्फत जनाएको छ । इजरायली सेनाले विद्यालयभित्र सक्रिय रहेका आतङ्ककारीहरूमाथि सटीक आक्रमण गरेको बताएको छ । एएफपीले प्रसारण गरेको तस्बिरहरूमा विद्यालय भग्नावशेषमा परिणत भएको र आक्रमणपछि विस्थापित प्यालेस्टिनी पुरुष र महिलाहरु बच्चा बोकेर उक्त स्थानबाट भागिरहेको देखाइएको छ ।

    हालैका हप्ताहरूमा इजरायली सेनाले हमासले कमाण्ड सेन्टरको रुपमा प्रयोग गरिरहेको बताउँदै गाजाभरका धेरै विद्यालयहरूमा आक्रमण गरेको छ । रासस-एएफपी

  • भारतका सपिङ मलमा आक्रमणको धम्की

    भारतका सपिङ मलमा आक्रमणको धम्की

    भारतको राजधानीका विभिन्न सपिङ मलहरूमा मङ्गलबार बम आक्रमणको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ । दिल्ली प्रहरीकाअनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको थियो । सूचना प्राप्त हुने बित्तिकै मलका अधिकारीहरूले दिल्ली प्रहरीलाई जानकारी दिएको दिल्ली प्रहरीले बताएको छ ।

    दिल्ली प्रहरीले जानकारी पाएलगत्तै अनुसन्धान थालेको थियो । घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो । हालसम्म बम फेला परेको छैन ।
    प्रहरीले धम्कीबारे अनुसन्धान गरिरहेको छ । गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको थियो । तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ ।

    “एम्बियन्स मलको प्रशासनले मलमा बम राखिएको सूचना प्राप्त गरेको थियो । सूचना पाएपछि बम पत्ता लगाउने तथा डिस्पोजल टोलीलगायत सबै घटनास्थलमा पुगेका थिए,” एसीपी विकास कौशिकले पत्रकारलाई बताए । गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि पोस्ट वा इमेलमार्फत भ्रामक बम धम्की वा गलत जानकारी दिएको पाइएमा कानुनी कारबाही गरिने जनाएको छ । रासस, एएनआई

  • ट्रम्पको चुनावी अभियानमा इरानले आक्रमण गरेको पुष्टि

    ट्रम्पको चुनावी अभियानमा इरानले आक्रमण गरेको पुष्टि

    काठमाडौं । अमेरिकाको कट्टर विरोधी इरानले राष्ट्रपति पदको निर्वाचन अभियान ह्याक गरेको पुष्टि भएको छ । एक हप्ता अघि नै डोनाल्ड ट्रम्पका अभियन्ताले साइबर महला भएको बताए पनि सरकारी अधिकारीहरुबाट पुष्टि भएको थिएन ।

    तर अमेरिकाको संघीय अनुसन्धान व्युरो (एफबीआई)ले पनि त्यसको पुष्टि गरेको बीबीसीले जनाएको छ । एफबीआई र अन्य संघीय एजेन्सीहरुले संयुक्त विज्ञप्ति जारी गरेर भनेका छन्, ‘इरानले हाम्रो लोकतान्त्रिक संस्थानहरुमा मतभेद र अविश्वास सिर्जना गर्न अमेरिकी चुनावमा हस्तक्षेप गर्ने निर्णय गरेको छ ।’

    यसै महिनाको सुरुवातमा ट्रम्पका अभियन्ताहरुले चुनाव प्रचार अभियानको वेबसाइट ह्याक गरेर गोप्य दस्तावेज लिक गर्ने र फैलाउने काममा इरानका व्यक्तिहरुको संलग्नता भएको आरोप लगाएका थिए । तर इरानले त्यसको खण्डन गरेको थियो ।

    विश्वको दिग्गज आईटी कम्पनी माइक्रोसफ्टले हप्ता दिन अगाडि अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले इरानले अनलाइन गतिविधिहरुमाथि तीव्रता दिएको सुनसनीपूर्ण खुलासा गरेको थियो । माइक्रोसफ्टले भनेको थियो– इमेल फिसिङ्ग मार्फत् राष्ट्रपति चुनावको प्रचार अभियानलाई निशाना बनाइँदै छ ।

  • इजरायलले लेवनानमा गरेको आक्रमणमा १० जना मारिए

    इजरायलले लेवनानमा गरेको आक्रमणमा १० जना मारिए

    काठमाडौं । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा परी १० सिरियालीको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
    गत अक्टोबरमा गाजा पट्टीमा युद्ध सुरु भएपछि हेजबुल्लाह र इजरायली सेनाबीच सीमाक्षेत्रमा दैनिक जसो गोली हानाहान हुन थालेपछि दक्षिणी लेबनानको नाबातिहको वादी अल–काफुर क्षेत्रमा भएको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा ठूलो हो ।

    अन्तर्राष्ट्रिय मध्यस्थताकर्ताहरूले इजरायल र प्यालेस्टिनी हमास लडाकूहरूबीच गाजा युद्धविराममा पुग्ने प्रयास गरिरहेका छन् । वार्ताले युद्ध रोक्नका लागि मद्दत गर्ने विश्वास कूटनीतिज्ञहरूले लिएका छन् ।

    लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणको पुष्टि गरेको छ । अधिकारीहरूका अनुसार मृत्यु हुनेमा सिरियाली शरणार्थी तथा श्रमिकहरू रहेका छन् । लेबनानको सरकारी राष्ट्रिय सञ्चारमाध्यमले पनि लिवियाली अधिकारीलाई उद्धत गर्दै मृत्यु हुनेमा सिरियाली शरणार्थी र कामदार रहेको उल्लेख गरेको छ ।

    इजरायली सेनाले आफ्नो टेलिग्राम च्यानलमार्फत दिएको जानकारी अनुसार लेबनानको हेजबुल्लाहको हतियार भण्डारण केन्द्रमा रातभर आक्रमण गरिएको र उक्त क्षेत्र इजरायलबाट करिब १२ किलोमिटर टाढा रहेको नाबातिह क्षेत्रमा रहेको छ ।

    वादी अल–काफुरमा भएको मृत्युपछि हेज्बुल्लाहले उत्तरी इजरायलको आयलेट हा९शहरका समुदायमाथि कात्युशा रकेट प्रहार गरेको र करिब ५५ वटा रकेटको आक्रमणमा कोही पनि हताहत नभएको तर त्यसका कारण कतिपय स्थानमा आगलागी भएको इजरायली सेनाले जनाएको छ । रासस, एएफपी

  • नाइजेरियामा २० मेडिकल विद्यार्थी अपहरित

    नाइजेरियामा २० मेडिकल विद्यार्थी अपहरित

    काठमाडौं । पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थी अपहरणमा परेका प्रहरी र विश्वविद्यालयले जनाएका छन् । क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासङ्घले शनिबार जारी गरेको विज्ञप्तिमा विहीबार साँझ विद्यार्थीहरू एनुगु शहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा अपहरण भएको जनाएको छ ।

    ‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने,“मैदुगुरी र जोस विश्वविद्यालयका २० विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टर अपहरणमा परेका छन् । उनीहरुको रिहाइको बदलामा फिरौती मागिएको छ ।”

    नियमित रूपमा हमला र अपहरणको निशानामा रहने गरेको एनुगुबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको ओतुक्पो सहर नजिकैको सडकबाट विद्यार्थीहरूलाई अपहरण गरिएको थियो । बेनु राज्यको प्रहरी जनसम्पर्क अधिकारी क्याथरिन एनेनले पनि अपहरणको पुष्टि गरेका छन् ।

    नाइजेरियाले गम्भीर आर्थिक सङ्कटका कारण अपहरणमा उल्लेखनीय वृद्धिको सामना गरिरहेको छ । राष्ट्रपति बोला अहमद टिनुबु सत्तामा आएकादेखि नाइजेरियामा चार हजार ७७७ अपहरणजन्य अपराधका मुद्दाहरू दर्ता भएका छन् । रासस, एएफपी

  • अफ्रिका बाहिर पहिलो पटक स्वीडेनमा देखियो एमपक्स

    अफ्रिका बाहिर पहिलो पटक स्वीडेनमा देखियो एमपक्स

    काठमाडौं । अफ्रिका बाहिर पहिलो पटक यूरोपमा मङ्कीपक्स (एमपक्स)को संक्रमण पुष्टी भएको छ । अफ्रिका भ्रमण गरेका एक व्यक्तिमा सो संक्रमण पुष्टी भएको अधिकारीहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले एमपक्सलाई विश्वव्यापी आपतकाल घोषणा गरिसकेको छ । यससँगै अब यो संक्रमण अन्तर्राष्ट्रिय चिन्ताको विषय बनेको छ । अफ्रिकी देश कङ्गोमा यसको संक्रमणबाट ४५० भन्दा माथिको ज्यान गइसकेको छ । यो अधिक संक्रामक र घातक रोग मानिएको छ ।

  • इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा अहिलेसम्म ४० हजार माथि हताहत

    इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा अहिलेसम्म ४० हजार माथि हताहत

    काठमाडौं । इजरायलले प्यालेस्टाइमा गरेको पछिल्लो आक्रमणमा ज्यान गुमाउनेको संख्या ४० हजार नाघेको छ । हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार करिब दश महिना लामो इजरायली आक्रमणमा बिहीबारसम्म ४० हजार ५ जनाले ज्यान गुमाएका हुन् । मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको संख्या प्यालेस्टाइनको कूल जनसंख्याको १।७ प्रतिशत हो । बीबीसीका अनुसार इजरायली सेनाको आक्रमणका कारण गाजा क्षेत्रका करिब ६० प्रतिशत भवन क्षतिग्रस्त भएका छन् ।

    विद्रोही समूह ‘हमास’ले २०२३ अक्टोबर ७ मा इजरायलविरुद्ध इतिहासकै भयानक आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनविरुद्ध तनाव उत्कर्षमा पुगेको हो । उक्त आक्रमणका कारण करिब १ हजार ३ सय जनाले ज्यान गुमाएका थिए । आक्रमणपछि हमासले २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै क्रुद्ध इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेको हो । यसबीचमा युद्धविरामका लागि विभिन्न चरणमा भइरहेका वार्ता भने निष्कर्षमा पुग्न सकेका छैनन् ।

    प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको अस्तित्व नामेट पार्नुपर्ने बताउँदै आएको छ । हमासले सन् २००७ यता गाजापट्टीमा शासन गर्दै आएको छ । २३ लाख मानिसको बसोबास रहेको गाजापट्टी इजरायल, इजिप्ट र भूमध्यसागरबीचको ४१ किलोमिटर लामो र ६ देखि १२ किलोमिटर चौडा क्षेत्र हो । गाजाको आकाश (हवाई क्षेत्र) र समुद्री तटमाथि भने इजरायलको नियन्त्रण छ ।

  • युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्ष जेल सजाय

    युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्ष जेल सजाय

    काठमाडौं । रुसको एक अदालतले युक्रेनलाई चन्दा सहयोग गर्ने एक महिलालाई १२ वर्षको जेल सजाय तोकेको छ । अदालतले ३३ वर्षीया केसेनिया करेलिनालाई देशद्रोहको आरोपमा दोषी ठहर गरेको हो । अमेरिका र रुसको दोहोरो नागरिकता भएकी करेलिनाले युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ अमेरिकी डलर सहयोग गरेकी थिइन् ।

    पछिल्लो समय अमेरिकाको लस एन्जलस बस्दै आएकी करेलिनालाई पारिवारिक भ्रमणका क्रममा गत जनवरीमा यकातेरिनबर्गबाट पक्राउ गरिएको थियो । त्यसलगत्तै रुसी अभियोजनकर्ताले उनलाई १५ वर्षको जेल सजाय दिइनुपर्ने मागसहित मुद्दा दायर गरेका थिए ।

    मुद्दाको सुनुवाइका क्रममा करेलिनाका वकिल मिखाइल मुसाइलोभले रुस–युक्रेन युद्धबाट पीडित भएका दुवै पक्षलाई सहयोग गरिने विश्वासमा उनले उक्त रकम सहयोग गरेको बताएका थिए । रुसी सञ्चार माध्यमसँग कुरा गर्दै उनले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएका छन् ।

    सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेसँगै रुसले युद्धको आलोचना गर्ने र रुसी सेनाको बदनाम गर्नेहरूलाई कारबाही गर्ने कानुन ल्याएको थियो ।

  • अफ्रिकामा फैलियो मन्कीपक्स, आपतकाल घोषणा

    अफ्रिकामा फैलियो मन्कीपक्स, आपतकाल घोषणा

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकी मुलुकहरुमा मङ्कीपक्स (एमपक्स)को संक्रमण बढेसँगै स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
    बुधबार बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य निमामकको आपतकालीन कमिटीको बैठकमा सदस्यहरुको सुझावपछि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य आपतकाल घोषणा गरे । कुनै रोगको संक्रमण तीव्ररुपमा फैलिने जोखिम देखेमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय कानुन अनुसार आपतकाल घोषणा गर्दछ ।

    अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मंगलबार नै यो स्थितिको विश्लेषणपछि स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । अति संक्रामक रोग एमपक्स अफ्रिका महाद्वीपको कंगो गणराज्यबाट सुरु भएको थियो । यसको संक्रमण हाल बुरुण्डी, केन्या, रुवान्डा र युगाण्डासम्म फैलिसकेको छ । यसबाट ५२४ जनाको मृत्यु भइसकेको र १४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।

    डब्ल्यूएचओका अनुसार एमपक्स संक्रमित व्यक्तिको निकट सम्पर्कमा रहने व्यक्तिहरुलाई सर्दछ । संक्रमित व्यक्तिलाई छुँदा वा नजिकै गएर कुराकानी गर्दा स्वासप्रश्वासको माध्यमबाट पनि यो रोग सर्छ । यसको संक्रमण देखिएमा शरीरभरी फोकाहरु आएर घाउ हुने, उच्च ज्वरो आउने र ज्यान जाने गर्दछ । सुरुवातमा फ्लुको जस्तो लक्षण देखिन्छ ।

    एमपक्सका मुख्य दुई प्रकार छन्, क्लेड १ र क्लेड २ । सन् २०२२ मा क्लेड(२ प्रकारको संक्रमण फैलिँदा स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो । यसपटक क्लेड-१ संक्रमण देखिएको छ । यो क्लेड-२ को तुलनामा घातक रहेको वैज्ञानिकहरुले बताएका छन् । डब्ल्यूएचओले एमपक्सविरुद्ध दुईवटा भ्याक्सिनलाई स्वीकृति दिएको छ ।

    डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले एमपक्सको संक्रमण फैलावटको स्थिति चिन्ताजनक रहेको बताएका छन् । उनले यसबाट हुने मृत्युदर रोक्न स्वास्थ्य सतर्कताका सटिक र व्यापक अभियान सञ्चालन आवश्यक रहेको बताएका छन् । साथै प्रभावित देशका सरकार, अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र अन्य साझेदारहरुलाई मिलेर काम गर्न आह्वान गरेका छन् ।

    डब्ल्यूएचओले त्यसको फैलावट रोक्नका लागि निगरानी, तयारी र कारबाही सम्बन्धी गतिविधि सन्चालन गर्न सुरुमा डेढ करोड डलर आवश्यक पर्ने जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसका अनुसार १४ लाख डलर आपदा कोषमा जम्मा गरिएको छ । कोषमा थप रकम दान गर्न पनि उनले विश्व समुदायलाई अपिल गरेका छन् ।

  • जब अमेरिकी सैनिकले चीनलाई सैन्य सूचना बिक्रि गरेको स्वीकार गरे

    जब अमेरिकी सैनिकले चीनलाई सैन्य सूचना बिक्रि गरेको स्वीकार गरे

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको सेनामा कार्यरत एक विश्लेषकले गोप्य सैन्य सूचनाहरू चीनलाई बिक्री गरेको दोष स्वीकार गरेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ। सङ्घीय जाँच ब्यूरो एफबीआई र अमेरिकी सेनाको प्रतिगुप्तचरी निकायले गरेको एउटा अनुसन्धानपछि सार्जन्ट कोर्बेन शूल्ट्स गत मार्च महिनामा पक्राउ परेका थिए। सुरक्षासम्बन्धी दर्जनौँ संवेदनशील जानकारीका लागि उनले ४२,००० अमेरिकी डलर लिएको आरोप उनीमाथि लागेको थियो।


    अधिकारीहरूका अनुसार गोप्य सूचना बेच्ने आपराधिक षड्यन्त्र जुन २०२२ मा सुरु भई उनी पक्राउ नपर्दासम्म चलिरहेको थियो। आगामी ज्यानुअरीमा उनलाई सजाय सुनाइने छ। अदालतमा प्रस्तुत दस्ताबेजहरूका अनुसार निकै गोप्य सूचनामा पहुँच भएका शूल्ट्सले हङ्‌कङमा बस्ने भन्ठानिएका एक व्यक्तिसँग मिलेर डेटा सङ्कलन गर्ने षड्यन्त्र बनाएका थिए। ती दोस्रा व्यक्तिले शूल्ट्सलाई क्षेप्यास्त्र प्रतिरक्षा र एकठाउँबाट अर्को ठाउँमा लैजान मिल्ने आर्टिलरी प्रणालीबारे संवेदनशील जानकारी भेला पार्न अह्राएको अदालतमा पेस गरिएका दस्ताबेजमा भनिएको छ।

    शूल्ट्सले अमेरिकी लडाकु विमान, सैन्य रणनीति र युक्रेनमा जारी युद्धका आधारमा ताइवानको सन्दर्भमा अमेरिकी सेनाले बनाएको प्रतिरक्षात्मक रणनीतिबारे पनि सूचना सङ्कलन गरेका थिए। संयुक्त राज्य अमेरिकाभन्दा बाहिर बस्ने कुनै व्यक्तिलाई देशको प्रतिरक्षासम्बन्धी सूचना पठाएर प्रतिवादीले हाम्रो सेनाले उनीप्रति राखेको विश्वासको फाइदा उठाउँदै हाम्रो राष्ट्रिय सुरक्षालाई गम्भीर जोखिममा पारे, अमेरिकी न्याय मन्त्रालयको राष्ट्रिय सुरक्षा विभागका सहायक महान्यायाधिवक्ता म्याथ्यू ओल्सनले भने।

    शूल्ट्सले आफूविरुद्ध लागेका सबै अभियोग मङ्गलवार स्वीकार गरेका हुन्। उनीविरुद्ध रक्षासम्बन्धी सूचना प्राप्त गर्ने र खुलाउने षड्यन्त्र गरेको र सार्वजनिक पदमा रहेर घुस लिएको अभियोगहरू पनि थिए। अभियोगपत्रमा शूल्ट्सले हङ्‌कङमा बस्ने भन्ठानिएका व्यक्तिलाई पठाएका सन्देशहरू विस्तारपूर्वक समाविष्ट छन्। ती दोस्रा व्यक्तिलाई षड्यन्त्रकारी ए भनिएको छ।

    एउटा सन्देशमा शूल्ट्सले आफू जेसन बोर्न बन्न पाए हुन्थ्यो भनेका छन्। जेसन बोर्न काल्पनिक जासुस हुन्। थप पैसा पाउने आश्वासन पाएपछि शूल्ट्सले अर्को सन्देशमा भनेका थिए, त्यो सत्य होस्, मैले आफ्नो अर्को बीएमडब्ल्यू फिर्ता ल्याउनु छ । एफबीआई र अमेरिकी सेनाको ुकाउन्टरइन्टेलिजन्स कम्यान्डुले उक्त घटनाबारे अनुसन्धान जारी राखेको छ।
    बीबीसीको सहयोगमा

  • संविधान उल्लघंन गरेको आरोपमा थाइल्याण्डका प्रधानमन्त्री पदमुक्त

    संविधान उल्लघंन गरेको आरोपमा थाइल्याण्डका प्रधानमन्त्री पदमुक्त

    काठमाडौं । थाईल्यान्डमा एक अदालतले संविधान उल्लङ्घन गरेको आरोपमा प्रधामन्त्री सेटा टवीसिनलाई पदमुक्त गरेको छ । टवीसिनले पहिला जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर अवज्ञापूर्ण व्यवहार देखाएको र नैतिकताको नियम उल्लङ्घन गरेको ठहर थाईल्यान्डको संवैधानिक अदालतको छ।
    सतसट्ठी वर्षीय सेटा प्रधानमन्त्री बनेको एक वर्ष पनि पूरा भएको छैन। उक्त अदालतले १६ वर्षको अवधिमा उनीसहित तीन जनालाई पदमुक्त गरेको छ।

    अब थाई संसद्ले नयाँ प्रधानमन्त्री नछान्दासम्म अन्तरिम प्रधानमन्त्रीले काम गर्ने छन्। म आफ्नो इमानप्रति विश्वस्त छु, मलाई दुःख लागेको छ तर म आफू यो आदेशप्रति असहमत छु भन्दिनँ, अदालतले फैसला सुनाएपछि टवीसिनले पत्रकार सम्मेलनमा भने। उक्त अदालतको निर्णय अन्तिम हुन्छ र त्यसमाथि पुनरावेदन गर्न पाइँदैन। थाईल्यान्डको संवैधानिक अदालतसँग असीमित शक्ति छ।

    थाईल्यान्डको राजनीति सदाचारका लागि नभई भ्रष्टाचारका लागि चिनिन्छ। त्यहाँ पहिला पनि गम्भीर मुद्दामा दोषी ठहर भएका व्यक्तिहरूले सार्वजनिक पदमा बस्ने अवसर पाएका थिए। थाईल्यान्डमा धेरै मानिसहरूले यो निर्णयलाई राजनीतिक मान्ने छन्। पिजित चिन्बानलाई मन्त्री बनाएपछि गत मे महिनामा ४० जनाजति सांसदले प्रधानमन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित मुद्दा हालेका थिए। घुस लेनदेनको प्रयासमा दोषी ठहर भएपछि चुन्बानलाई छ महिनाको जेल सजाय सुनाइएको थियो।

    विवाद भएपछि चुन्बानले आफू मन्त्री नियुक्त भएको १९ दिनपछि राजीनामा दिएका थिए। बुधवार संवैधानिक अदालतका नौमध्ये पाँच न्यायाधीशहरू उक्त नियुक्ति गर्दा प्रधानमन्त्रीले आफ्नो पदीय आचरण उल्लङ्घन गरेको निष्कर्षमा पुगे। नौवर्षे सैन्य शासन अन्त्य भएसँगै टवीसिन गत वर्ष अगस्टमा प्रधानमन्त्री नियुक्त भएका थिए।

    गत वर्ष भएको निर्वाचनमा धेरै सीट जितेको मूभ फर्वर्ड पार्टीलाई रोक्ने प्रयास भएसँगै बनेको राजनीतिक समीकरणका बलमा टवीसिन प्रधानमन्त्री बन्न सफल भएका थिए।देशको अर्थतन्त्र सुधार गर्न सङ्घर्ष गरिरहेको थाईल्यान्डमा अब नयाँ प्रधानमन्त्री छान्न नेपथ्यमा निकै मोलतोल हुने छ। दुई पटक भएको सैन्य कूपछि पुनः प्रजातान्त्रिक पद्धतिमा फर्किन खोजेको थाईल्यान्डमा राजनीतिक अस्थिरता सकिएको अपेक्षा फेरि तुहिएको छ।

    निर्वाचनपछि पिटा लिम्जार्‍याटले नेतृत्व गरेको मूभ फर्वर्ड पार्टीले सरकार बनाउने ठानिएको थियो। तर सेनाको प्रभाव रहेको सिनेटले त्यसो हुन दिएन।
    त्यसपछि दोस्रो ठूलो दल फूए थाईले सेनाले समर्थन गरेका अरू दलहरूसँग सहमति गर्दा टवीसिन सत्तामा पुगे। गत साता सोही अदालतले निर्वाचनका बेला असंवैधानिक वचन दिएको भन्दै मूभ फर्वर्ड पार्टी विघटन गर्ने आदेश दिएको थियो। अदालतले उक्त पार्टीका ११ सांसदलाई १० वर्ष राजनीति गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।
    बीबीसी

  • पर्यटकलाई भारततर्फका सबै नाका खुला

    पर्यटकलाई भारततर्फका सबै नाका खुला

    काठमाडौं । कोरोना महामारीका बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ । अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालका अनुसार कोरोना महामारीका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा नेपाल भारतबिचका सात वटा नाकामध्ये दुई वटा नाकाबाट मात्रै तेस्रो देशका नागरिकले भारत जाने गरेकामा साउन १६ गतेदेखि भारतसँग जोडिएका सात वटै नाकाबाट पर्यटकले भारत प्रवेश पाइरहेको बताए ।


    महामारीका कारण भैरहवा र वीरगन्ज नाकामार्फत भारत प्रवेश गर्दै आएका पर्यटक अहिले भारतसँग जोडिएका सात वटै नाकाबाट सहज रूपमा प्रवेश पाइरहेको उनले बताए । “पर्यटकको आवागमनमा कुनै अवरोध नभएपछि नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा समेत बढोत्तरी हुने अपेक्षा लिएका छौँ,” उनले भने ।


    अध्यागमन विभागले चीनतर्फबाट समेत पर्यटक आवागमन सहज बनाउन मुस्ताङको कोरला र ताप्लेजुङको टिपताला नाकामा अध्यागमन कार्यालयको स्थापना गर्न लागेको उनले जानकारी दिए । हाल सञ्चालनमा रहेका तातोपानी, तिमुरबोटे र हिल्सा नाकाबाट पर्यटन आवागमनमा कुनै समस्या नरहेको उनले प्रस्ट पारे ।


    भारतीय पक्षले साउनको दोस्रो सातादेखि नै अध्यागमन सेवामा गरेको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काएपछि अहिले झापादेखि कञ्चनपुरसम्मका नाकाबाट पर्यटक आवागमन सहज भएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार इलामको पशुपतिनगर नाकाबाट भारत जान भारततर्फ अध्यागमन कार्यालय नभएका कारणबाहेक भारतसित जोडिएका मुलुक अरू सबै नाकाबाट पर्यटक आवागमन सहज भइसकेको छ ।

    अहिले झापाको काकँडभित्ता, कैलालीको मोहना, कञ्चनपुरको गड्डाचौकी, बाँकेको जमुनाहा, भैरवाको बेलहिया, विराटनगर र वीरगन्ज नाकामा पर्यटक भारततर्फ जान थालेका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार नाका सहज भएयता काकँडभित्ता नाकाबाट ७८ जना तेस्रो मुलुकका पर्यटक भारततर्फ गएका छन् भने सो नाकाबाट ११४ जना नेपाल भित्रिएका छन् । त्यसै गरी कैलालीको मोहनाबाट एक जना भित्रिएका छन् भने वीरगन्ज नाकाबाट ३० जना बाहिरिनुका साथै ३७ जना पर्यटक नेपाल प्रवेश गरेका छन् ।

    त्यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट नौ जना तेस्रो मुलुकका पर्यटक बाहिरिनुका साथै १२ जना पर्यटक भित्रिएका छन् । भारतीय पक्षले कोरोनाका बेला सन् २०२१ डिसेम्बर २० तारिखदेखि पाँच वटा नाकामा तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा अवरोध गरेको थियो ।

  • भारतीय विदेश सचिवको नेपाल भ्रमणको अर्थ के हो ?

    भारतीय विदेश सचिवको नेपाल भ्रमणको अर्थ के हो ?

    काठमाडौं । भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीको दुई दिने नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन थप मद्दत मिलेको प्रतिक्रिया दिएको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपालको दुई दिने भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किएपछि भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ । विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत गरेको उल्लेख गरेको छ ।


    मिश्रीले औपचारिक भ्रमणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री प्रकाशमान सिंह, विभिन्न मन्त्री एवम् सचिवहरुसँग भेटवार्ता गरेका थिए । भारतीय विदेश सचिवको भ्रमणका क्रममा नेपाल–भारत एयर कनेक्टिभिटी बढाउन नेपाललाई थप हवाई रुटको उपलब्ध गराउन माग गरिएको छ ।

    साथै परराष्ट्र मन्त्री डा. आरजु राणाले पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा कुरा उठाएको बताइएको छ । व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि द्विपक्षीय कुराकानी भएको छ । विदेश सचिव मिश्री गएराति स्वदेश फर्किए ।

  • रुसको भू-भागमै छिरेर युक्रेनले थाल्यो आक्रमण

    रुसको भू-भागमै छिरेर युक्रेनले थाल्यो आक्रमण

    काठमाडौं । रुसी आक्रमणविरुद्ध प्रत्याक्रमण गरिरहेको युक्रेनी सेना रुसी भूभागमा ३० किलोमिटर भित्रसम्म प्रवेश गरेको छ। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरे यता युक्रेनी सेना रुसी भूभागमा सबैभन्दा भित्रसम्म पुगेको यो पहिलो घटना हो। रुसको रक्षा मन्त्रालयले आफ्नो फौज र युक्रेनी सेनाबीच टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जनाएको छ। रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेना प्रवेश गरेको छैटौँ दिन सीमाभन्दा ३० किलोमिटर भित्रसम्मका गाउँ पुगेको हो।

    रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिआ जाखारोभाले “रुसको शान्त जनसङ्ख्यालाई धम्की दिएको” आरोप किएभमाथि लगाएकी छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो फौजबाट युक्रेनी भूभागमा आक्रमण भएको स्वीकार गरेका छन्। एक सम्बोधनका क्रममा जेलेन्स्कीले रुसले कुर्स्क क्षेत्रबाट यो बर्खा याममा मात्रै २,००० आक्रमण आफ्नो देशतर्फ गरेको बताए।

    ूतोप, मोर्टार, ड्रोन र क्षेप्यास्त्र आक्रमण पनि भएको अभिलेख हामीले राखेका छौँ। यी प्रत्येक यस्ता आक्रमणले जवाफ पाउँछन्,ू किएभबाट देशवासीलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने। एक जना युक्रेनी वरिष्ठ अधिकारीले हजारौँ सैनिकहरू उक्त कारबाहीमा संलग्न भएको एएफपी समाचार संस्थालाई बताएका छन्।

    युक्रेन समर्थित एउटा समूहले पनि छिटपुट आक्रमण गर्दै आएको कुर्स्क क्षेत्रमा किएभले सबैभन्दा ठूलो योजनाबद्ध आक्रमण गरेको हो। उनीहरूतर्फ सकेसम्म धेरै क्षति पुर्‍याएर अस्थिर अवस्था सिर्जना गर्दै रुसले आफ्नै सीमाको रक्षा गर्न नसक्ने बनाउनु हो,” ती अधिकारीले भने।

    रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले “बख्तरबन्द गाडीसहित रुसको भित्री भागमा प्रवेश गर्न खोज्ने विपक्षीका घुम्ती समूहको प्रयास असफल बनाइदिएको” बताएको छ। तर रुसले सीमाभन्दा २५ र ३० किलोमिटर दूरीमा रहेका टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जानकारी दिने क्रममा किएभका फौज कुर्स्क सीमाको भित्री भागमा प्रवेश गरेको स्वीकार गरेको छ।
    बीबीसी

  • शरणार्थी शिविरबाट ओलम्पिक खेलेकी अफगानी खेलाडी किन घोषित भइन् अयोग्य ?

    शरणार्थी शिविरबाट ओलम्पिक खेलेकी अफगानी खेलाडी किन घोषित भइन् अयोग्य ?

    काठमाडौं । शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलासलाई “अफगानी महिलालाई स्वतन्त्र गर’’ लेखिएको पहिरन प्रदर्शन गरेपछि पेरिस ओलम्पिकमा अयोग्य घोषित गरिएको छ । विश्व डान्सस्पोर्ट महासङ्घले शनिबार यसको जानकारी गराएको हो । २१ वर्षीया बी–गर्ल तलास नेदरल्यान्ड्सको इन्डिया सार्डजो विरुद्धको पहिलो प्रतिस्पर्धाको ठिक अघि शुक्रबार नारा सहितको निलो पहिरन पहिरिएर प्रस्तुत भएकी थिइन् ।

    “शरणार्थी टोलीका सदस्य एथलीट बी–गर्ल तलातले ओलम्पिक अधिकारपत्रको नियम ५० को उल्लङ्घन गर्दै आफ्नो पोसाकमा राजनीतिक नारा प्रदर्शन गरेकोमा अयोग्य घोषित गरिएको हो”, डान्सस्पोर्ट महासङ्घले विज्ञप्तिमा जनाएको छ । नियम ५० ले कुनै पनि ओलम्पिकस्थल वा अन्य क्षेत्रमा कुनै पनि प्रकारको प्रदर्शन वा राजनीतिक, धार्मिक वा जातीय प्रचारमा प्रतिबन्ध लगाएको छ ।

    सन् २०२१ देखि तालिबानको नियन्त्रणमा रहेको काबुलमा जन्मिएकी तलास देशबाट भागेर आफ्ना दुई दाजुभाइसँग स्पेनमा बस्दै आएकी छिन् ।
    “मैले तालिबानसँग डराएर वा अफगानिस्तानमा बस्न नसकेर देश छाडेको होइन । मैले अफगानिस्तानका महिलाहरूका लागि,आफ्नो भविष्यको लागि देश छोडेको हो”, उनले प्रतियोगिता अघि भनेकी थिइन् । ‘मैले आफ्नो लक्ष्य पुरा गर्ने जोखिम लिएँ। मेरो हृदयमा डर छ तर म हार मान्दिनँ”, उनले भनिन् ।

    पेरिस ओलम्पिकमा साइक्लिङ, एथलेटिक्स, पौडी खेल्ने र जुडो स्पर्धामा तालिबान सरकारले स्वीकार नगरेको तीन महिलासहित ६ जना खेलाडीले अफगानिस्तानको प्रतिनिधित्व गरेका थिए । राससएएफपी

  • भारतीय विदेश सचिव आजबाट नेपाल भ्रमण गर्दै

    भारतीय विदेश सचिव आजबाट नेपाल भ्रमण गर्दै

    काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणमा आज काठमाडौं आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन् । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।

    विदेश सचिव बनेलगत्तै मिश्रीले पहिलो भ्रमण भने भुटानमा गरेका थिए । नेपाल भ्रमणका क्रममा उनले नेपाल(भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम छ ।

    भारतस्थित विदेश मन्त्रालयले मिश्रीको यो भ्रमणबाट नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको र ‘छिमेकी पहिलो नीति’ अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने जनाएको छ । दुई देशबीच सदियौं पुरानो सभ्यतागत, साँस्कृतिक र जनता(जनताबीचको सम्बन्ध रहेको भन्दै मन्त्रालयले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुने पनि जनाएको छ ।

    भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिंदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको भारतीय अधिकारीहरुको भनाइ छ ।

  • आन्दोलनपछि बंगलादेशमा प्रधानन्यायाधीशले समेत दिए राजिनामा

    आन्दोलनपछि बंगलादेशमा प्रधानन्यायाधीशले समेत दिए राजिनामा

    काठमाडौं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन्। उनको राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत परिसर घेरेपछि प्रधानन्यायाधीश हसनले राजीनामा दिएका हुन्। शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

    आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए। अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरेका हुन्।

    अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए। हसनले सर्वोच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको पनि बताएका छन्। राजीनामाका लागि केही औपचारिकताहरू बाँकी छन्। ती पूरा गरेर साँझसम्ममा राष्ट्रपति मोहम्मद शहाबुद्दिनलाई राजीनामा पत्र बुझाउँछु,’ प्रधानन्यायाधीश हसनले भने।

  • इजरायल र लेवनानमा रहेका नेपालीलाई सतर्क रहन आह्वान

    इजरायल र लेवनानमा रहेका नेपालीलाई सतर्क रहन आह्वान

    काठमाडौं । इजरायल र लेबनानका हिजबुल्लाह समूहबिच तनाव बढ्दै गएपछि दुवै देशमा रहेका नेपाली श्रमिकलाई सचेत रहन सम्बन्धित देशका नेपाली दूतावासले अनुरोध गरेका छन् । इजरायलस्थित नेपाली दूतावास र लेबनान हेर्ने इजिप्टको कायरो दूतावासले इजरायल र लेबनान पक्षबिच हुन सक्ने युद्धलाई ध्यानमा राख्दै सुरक्षित हुन त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको हो ।

    गत अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायल र उसका केही छिमेकी देशमा रहेका अतिवादीबिच विवाद बढ्दै जाँदा इजरायललगायत नेपाली श्रम गन्तव्य मुलुकमा युद्धको त्रास बढेको छ । पछिल्लो समय इजरायलमा रोजगारीका लागि नेपालीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षा चासो बढेको छ । केही समययता इजरायल र लेबनान तथा इरानबिच तनाव बढ्न थालेपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले समेत लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत हुन अनुरोध गरेको छ ।

    इजरायलस्थित नेपाली दूतावासले पछिल्लो समय विकसित परिस्थितिलाई ध्यानमा राखी जुनसुकै बेला इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशन जारी हुन सक्ने जनाउँदै सचेत हुन आग्रह गरेको हो । दूतावासले त्यहाँ रहेका नेपालीलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अद्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकारी राख्नसमेत आग्रह गरेको छ ।

    दूतावासको सूचनामा भनिएको छ, “उक्त प्रोटोकल पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहनसमेत हार्दिक अनुरोध गर्दछौँ ।”

    दूतावासले आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकारी राखेर आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन र अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कनसमेत नेपालीलाई आग्रह गरेको छ ।

    लेबनान तथा इरान र इजरायलबिचको तनाव बढ्दै गए त्यहाँको अवस्था असहज हुने देखिएपछि परराष्ट्र मन्त्रालयले दुवै देशका नेपाली दूतावासलाई परिस्थितिबारे सचेत रहन अनुराध गरेको छ । पछिल्लो समय इजरायलमा एक हजार एक सयभन्दा बढी जिटुजी श्रमिक र अन्य गरी करिब पाँच हजार नेपाली छन् ।

    गत महिना मात्रै इजरायलले थप एक हजार नेपालीलाई रोजगारी दिने गरी आवेदन आह्वान गरेको थियो । युद्धको त्रास बढ्दै गए तत्काल पठाउनुपर्ने नेपाली र हाल गइरहेका श्रमिक रोकिने सम्भावना देखिएको छ ।

    यसै गरी लेबनान हेर्ने कायरोस्थित नेपाली दूतावासले लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका नेपालीलाई आवश्यक सतर्कता अपनाउन र सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    लेबनानमा विगत तीन वर्षमा श्रम स्वीकृति लिएर गएका १७५ नेपाली छन् । विभिन्न भिसामा त्यहाँ गएर काम गर्ने नेपालीको सङ्ख्या एक हजारभन्दा बढी छ ।

  • ब्राजिलमा यात्रुबाहक जहाज दुर्घटना, ६१ जनाको मृत्यु

    ब्राजिलमा यात्रुबाहक जहाज दुर्घटना, ६१ जनाको मृत्यु

    काठमाडौं । ब्राजिलमा यात्रुवाहक जहाज दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ। ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटनामा परेको हो । त्यसमा सवार सबै यात्रुको मृत्यु भएको छ । जहाजमा ५७ यात्रु र चालक दलका ४ सदस्य रहेको एयरलाइन्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।


    समाचार संस्था रोयटर्सका अनुसार विमान पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै थियो। साओ पाउलोमा सेमिनारमा भाग लिन जाँदै गरेका डाक्टरहरू उक्त जहाजमा सवार थिए। साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिम विन्हेडो शहरस्थित एउटा घरनजिकै जहाज खसेर दुर्घटना भएको हो।

    दुर्घटनास्थलमा अन्य मानिसहरू नपरेको पनि त्यहाँको प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ। दुर्घटनापछि विमान कम्पनीले विज्ञप्ती जारी गरेर भनेको छ, ‘फ्लाइट २२८३ मा सवार सबै ६१ जनाको दुर्घटनास्थलमै मृत्यु भएको जानकारी गराउनुपर्दा हामी दुःखी छौं। यो समय वोयपास पीडितका परिवारलाई सहायता गर्ने विषयलाई प्राथमिकतामा राख्छ। दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूलाई सहयोग गरिरहेका छौं।’

    यात्रुहरूबारे थप विविरण सार्वजनिक भएको छैन। जहाज के कारणले दुर्घटना हुन पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ। जहाजको ब्ल्याक बक्स पनि भेटिएको प्रहरीले जनाएको छ।

  • बंगलादेशको मन्त्रिपरिषद्मा२  विद्यार्थी नेता

    बंगलादेशको मन्त्रिपरिषद्मा२ विद्यार्थी नेता

    काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् । उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा भेदभावविरोधी विद्यार्थी आन्दोलनका दुई नेता नासिद इस्लाम र आसिफ महमूद पनि छन् । मन्त्रिपरिषद्‍मा पूर्व ब्रिगेडियर जनरल एम सखावत हुसेन पनि छन् । विद्यार्थी नेताहरुको प्रस्ताव अनुसार अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएका युनुस बिहीबार मात्र ढाका पुगेका थिए ।

    सरकारी रोजगारीमा रहेको कोटाविरुद्ध विद्यार्थीहरुले थालेको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले २१ गते राजीनामा दिएर देश छोडकी थिइन् । लगतै सेना प्रमुखले पत्रकार सम्मेलन गरेर अन्तरिम सरकार बनाउने बताए ।

    विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा सरकार स्वीकार नगर्ने बताउँदै युनुसको नाम अगाडि सारे । संसद भंग गर्न माग गरे । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सर्वपक्षीय छलफल गरेर विद्यार्थीहरुको मागअनुसार संसद भंग गर्नुका साथे नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए ।

  • जापानमा शक्तिशाली भुकम्प, सुनामी आउने चेतावनी

    जापानमा शक्तिशाली भुकम्प, सुनामी आउने चेतावनी


    काठमाडौं । जापानमा शक्तिशाली भुकम्प गएको छ । त्यहा सुनामीको चेतावनी जारी भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार भुकम्पको तिव्रता ७ रेक्टर स्केल देखिएको छ । भुकम्पको केन्द्र मियाजाकी प्रान्त रहेको छ ।

    जसले गर्दा मियाजाकी र कोची प्रान्तमा सुनामी आउने चेतावनी जारी भएको हो । भुकम्पबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन ।