काठमाडौं । बङ्गलादेशमा गठित अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने भएका छन् । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
आज बेलुकी ८ बजे सपथ ग्रहणको कार्यक्रम हुनेछ । सल्लाहकार परिषद् १५ सदस्यीय हुने सम्भावना रहेको सेना प्रमुखको भनाइ छ । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बङ्गलादेशको परिस्थिति सामान्य हुने पनि बताएका छन् ।
विद्यार्थीले थालेको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिँदा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि सेना प्रमुख वाकरले अन्तरिम सरकार गठन गर्न अग्रसरता लिएका थिए । त्यसपछि आन्दोलनरत विद्यार्थीको मागअनुसार नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा सरकार गठन हुन लागेको हो ।
काठमाडौं । आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन बङ्गलादेशका निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदले बेलायतमा शरण नपाउने भएकी छिन् । बङ्गलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारत पलायन हसिनाले बेलायतमा शरण दिन अपिल गरेकी थिइन् ।
उनको अपिलप्रति बेवास्ता जनाउँदै बेलायत सरकारले शरणका लागि अन्यत्र विकल्प खोज्न सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बङ्गलादेशमा उत्पन्न हिंसात्मक परिस्थितिको जिम्मेवार कुनै न कुनै रूपमा हसिना भएको लक्षित गर्दै भविष्यमा हुने अनुसन्धानका कारण बेलायतमा अपेक्षित सुरक्षा प्रदान गर्न नसकिने बेलायतको विदेश मन्त्रालयले प्रस्ट पारेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता डेभिड लाम्मीले सो विषयमा व्यक्त गरेको धारणा अनुसार बेलायत सरकारले बङ्गलादेशमा सिर्जित घटनाबारे स्वतन्त्र र निष्पक्ष छानबिन होस् भन्ने चाहेको द इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ । त्यसका लागि बेलायतमा दिइने शरणले निष्पक्ष अनुसन्धानका कारण अपेक्षित सुरक्षा प्रदान गर्न नसक्ने उहाँले प्रस्ट्याएका छन् ।
विद्यार्थीको उग्र प्रदर्शनपछि सोमबार राजीनामा दिएर हसिना भारत पलायन भएकी छिन् । त्यहाँबाट बेलायतमा शरण लिन प्रक्रिया थालेकी छिन् । भविष्यमा हुने अनुसन्धानले बेलायतबाट बङ्गलादेश फिर्ता पठाउनुपर्ने अवस्था सिर्जना गरेमा त्यो झन् अप्ठ्यारो हुने भएकाले अमेरिका, फिनल्यान्ड वा अन्य मुलुकमा शरणका लागि अपिल गर्नुपर्नेमा जोड दिइएको छ ।
बेलायत सरकारले बङ्गलादेशमा घटित घटनाको संयुक्त राष्ट्रसङ्घले स्वतन्त्र अनुसन्धान गर्नुपर्ने धारणा यसअघि नै दिएकाले पनि हसिनालाई त्यहाँ शरण लिन अप्ठ्यारो परेको हो ।
काठमाडौं । नेपाल सरकारले बंगलादेशमा चाँडै प्रजातन्त्र पुनर्स्थापना हुने अपेक्षा राखेको बताएको छ । बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल सरकारले बुधबार आफ्नो धारणा सार्वजनिक गरेको हो । बंगलादेशका जनताले अहिलेको संक्रमणलाई हटाएर चाँडै मुलुकलाई शान्ति र स्थिरताको बाटोमा पुर्याउने नेपालले विश्वास गरेको छ ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । आन्दोलनबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछौं र आन्दोलनका क्रममा भएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुस बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए । मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार विजेता युनुसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुख समेत सहभागी थिए ।
मुहम्मद युनुस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । ‘गरिबहरुको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरुले अन्तरिम सरकारको प्रमुखको रुपमा प्रस्ताव गरेका थिए ।
उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन् । किनकि उनलाई शेख हसिनाले गरिबहरुको रगत चुसेको आरोप लगाउने गर्दथिन् । युनुसले आफ्नो पार्टी खोल्ने तयारी गरेको सूचना पाएपछि शेख हसिना उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने गरेकी थिइन् । गत जनवरी महिनामा युनुसलाई श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो । यद्यपि उनी जेलमा भने बस्नु परेको थिएन । ८४ वर्षीय युनुस हाल उपचारका लागि फ्रान्समा छन् । उनले अब स्वदेश फर्किने बताएका छन् ।
काठमाडौं । राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एक जना जिल्ला नेता सञ्चालक रहेको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ । बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनका अनुसार, अज्ञात व्यक्तिले अवामी लिग पार्टीका जेसोर जिल्ला महासचिव सहिन चकलादारको होटलमा आगजानी गरेका थिए । त्यसक्रममा होटलमा भएका अधिकांश मानिसहरु धुँवामा निसास्सिएर मारिएको समाचारमा भनिएको छ । कम्तीमा २५ देखि ३० जनाको उद्दार गरिएको समाचारमा उल्लेख गरिएको छ ।
होटलमा सोमबार ४ बजेदेखि आगलागी भएको थियो भने ८ बजे नियन्त्रणमा आएको थियो । ज्यान गुमाउनेमध्ये एक जना इन्डोनेसियाका नागरिक भएको बंगाली भाषाको अखबार प्रथोम आलोले लेखेको छ । जेसोर अस्पतालका डा। प्रार्थो प्रतिम चक्रवर्तीले आगजनीका कारण घाइते १५० जनाको उपचार भइरहेको बताएका छन् । आरक्षणको विरोधमा भएको आन्दोलनले हिंसात्मक रुप लिँदा सोमबार प्रधानमन्त्री शेख हसिना राजीनामा दिन बाध्य भएकी थिइन् ।
उनी राजीनामा दिएर सैनिक हेलिकप्टरमा भारततर्फ गएकी छन् । लगत्तै सत्तारुढ पार्टी अवामी लिगका नेताका घर, होटल लगायतमा भिडले आक्रमण गरेको थियो । प्रथोम आलो पत्रिकाका अनुसार, सतखिरामा भएको आक्रमणमा १४ जना मारिएका छन् । ज्यान गुमाउनेमा ५ जना सत्तारुढ अवामी लिग पार्टीका नेताका आफन्तहरु छन् ।
समाचारमा उल्लेख भएअनुसार हसिनाले देश छाडेको समाचार आएलगत्तै अवामी लिगका नेता जाकिर हुसेनको कल्याणपुरस्थित घरमा आक्रमण भएको थियो । त्यसक्रममा गोली समेत चलेको थियो । भिडले सतखिरा सदर प्रहरी चौकी, ट्राफिक प्रहरी चौकी र श्यामनगर प्रहरी चौकीमा पनि आगजनी र तोडफोड गरेका छन् । स्थानीय प्रहरी कार्यालयमा प्रहरी अधिकारीहरु नभएकाले क्षतिको यकिन विवरण बाहिर नआएको समाचारमा उल्लेख गरिएको छ ।
बंगलादेशका प्रहरी प्रमुखले मंगलबार प्रहरी कानुनको पालक मात्र भएको भन्दै समस्या नेतृत्वमा भएकाले प्रहरीमाथि आक्रमण नगर्न आग्रह गरेका थिए । बंगलादेश प्रहरीका डीआईजी साहेन रानाले विद्यार्थी र आमनागरिकको हत्यामा संलग्नमाथि छानबिन हुने भन्दै संगठनप्रति आक्रमण नगर्न समेत आग्रह गरेका छन् । यहीबीच बंगलादेशी सेनाको उच्च तहमा रहेका अधिकारीहरुको पनि जिम्मेवारी हेरफेर भएको ढाकाको पत्रिका डेली स्टारले समाचार लेखेको छ ।
काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्न दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको छ ।
आवेदकमध्ये कागजात नपुगेका तथा रीत नपुगेका कारण १९७ पुरुष र १२४ महिला गरी ३२१ जनाको आवेदन रद्द भएको विभागले जनाएको छ । केयर गिभरका लागि विभागले गत असार ११ गतेदेखि साउन ११ गतेसम्म एक हजार वैकल्पिकसहित दुई हजार आवेदन आह्वान गरेको थियो । नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाइँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन ।
विभागका महानिर्देशक डण्डुराज घिमिरेले कागजात अपुग भएका ३२१ बढी उम्मेदवारको आवेदन रद्द गर्नु परेको जानकारी दिए । विभागका अनुसार योग्यता पुगेका दुई हजारलाई छनोट गरेर एक हजारलाई वैकल्पिकमा राखिने छ । विभागले २५ देखि ४५ वर्ष ननाघेको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन वा १२ कक्षा उत्तीर्ण भएको लगायतका मापदण्ड तोकिएको थियो ।
काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा पुनरागमन नगर्ने भएकी छन् । उनका छोरा सजीब वाजेदले आफ्नी आमाको राजनीतिक पुनरागमन नहुने स्पष्ट पारेका हुन् । सोमबार बिबिसी वर्ल्ड सर्भिससँग कुराकानी गर्दै वाजेदले हसिनाको राजनीतिक पुनरागमन नहुने स्पष्ट पारे ।
अल्पसंख्यक समुदायलाई लक्षित गरी काम गरेको भए पनि हसिनाविरूद्ध नै प्रदर्शन भएको देखेर उनी निकै निराश रहेको समेत वाजेदले बताए । वाजेद हसिनाका आधिकारिक सल्लाहकार समेत हुन् ।
बंगलादेशमा प्रदर्शन बढ्दै गएपछि हसिनाले आइतबारदेखि नै राजीनामा दिने सोच बनाएको उनले जानकारी दिए । उनको सुरक्षाका लागि परिवारले दबाब दिएपछि देश छाडेको समेत वाजेदको भनाई छ । ‘
उनले बंगलादेशलाई परिवर्तन गरेको छ। जब उनले बंगलादेशको सत्ता हातमा लिएकी थिइन्, त्यही बेलादेखि राज्य असफल हुँदै थियो। बंगलादेश एक गरिब राष्ट्र थियो। आज बंगलादेशलाई विकसित एसियन टाइगरको रूपमा मान्न थालेको थियो। उनी निकै निराश छिन्,’ वाजेदले बिबिसीसँगको अन्तर्वार्तामा भनेका छन् ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना हाल भारतमा छिन्। उनी त्यहाँबाट बेलायत जाने चर्चा छ। यद्यपि उनी कहिले र कसरी जान्छिन् भन्ने खुलिसकेको छैन।हसिनाले बंगलादेश छाडेसँगै त्यहाँ सेना प्रमुखले अन्तरिम सरकार बनाउन तयारी थालिसकेका छन्। प्रदर्शनकारीहरूले पनि खुसीयाली मनाएका छन् ।
प्रदर्शनकारीहरूले सोमबार बंगलादेशको प्रधानमन्त्री निवास नै कब्जा गरे । आरक्षणविरूद्धको प्रदर्शनमा बंगलादेशमा हालसम्म ३ सय जना भन्दा बढीले ज्यान गुमाएका छन्।
आइतबारमात्रै कम्तिमा ९१ जनाले ज्यान गुमाएका थिए। यस्तै सोमबार ढाकामा भएको प्रदर्शनमा झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकको शव ढाका मेडिकल कलेजमा राखिएको एक प्रहरी इन्स्पेक्टरले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग भनेका छन्।
बंगलादेशमा भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको हो। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका थिए।
हसिना सन् २००९ देखि सत्तामा थिइन्। १५ वर्षे सत्तामा चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो। उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ। ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन्।
काठमाडौं । बंगलादेशमा प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले भने केही समय अगाडि मात्र निवास छाडेकी थिइन् । उनले राजीनामा ममेत दिइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो ।
तर आन्दोलन रोकिएन । पछिल्लो दिन प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आन्दोलन चर्किएको थियो । हिंसात्मक आन्दोलनका क्रममा आइतबार मात्र ९१ जनाको मृत्यु भएको थियो । आन्दोलनकारी प्रधानमन्त्री निवास गणभवनभित्रै प्रवेश गरेका छन् । त्यहाँबाट टेबुल कुर्सीहरु बाहिर निकालेका भिडियो सार्वजनिक भएका छन् । स्वीमिङ पुलमा बोटिङ गर्नुका साथै घरपालुवा जनावारहरु समेत निकालेको देखिएको छ ।
काठमाडौं । बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् ।
उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । हसिनाले देश छाडेको केहीबेरपछि सेना प्रमुख उज–जमानले पत्रकार सम्मेलन गर्दै अन्तरिम सरकार बनाउने बताएका हुन् । अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दल नागरिक समाजसँग सम्वाद गरेको बताए । तर हसिनाको दल अवामी लिगको भने उनले नाम लिएनन् ।
साँझसम्म एउटा निकासमा पुग्ने आश रहेको भक्न्दै उनले भने, ‘अवस्थामा सुधार आयो भने कफ्र्यू आवश्यक हुन्न ।’ उनले सबै जिम्मेवारी आफूले लिने भन्दै प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरे । अब सुरक्षाकर्मीहरुलाई गोली नचलाउन निर्देशन दिइसकेको भन्दै सेना प्रमुखले भने, ‘देशलाई धेरै क्षति भयो । अर्थ व्यवस्था प्रभावित भयो कयौं मानिस मानिए । मलाई आश छ, यो सम्बोधनपछि अवस्थामा सुधार आउनेछ ।’
काठमाडौं । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ ।
प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् । बीबीसी बंगला सेवाका अनुसार, यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेकी थिइन् । तर, सम्भव भएन ।
बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन् । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारी समेत छ ।
आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या कम्तीमा ३ सय पुगिसकेको छ । प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा आइतबार मात्रै कम्तीमा ९० जना मारिएको र सयौं घाइते भएको बीबीसीले लेखेको छ ।
प्रधानमन्त्री हसिनाले सुरक्षा निकायका प्रमुखहरुसँग छलफलपछि आइतबार हसिनाले आन्दोलनकारीहरु ‘विद्यार्थी नभई देशमा अस्थिरता चाहने आतंकवादी भएको’ बताएको प्रतिक्रिया दिएकी थिइन् । तनावका कारण बंगलादेशमा सोमबार देशभर इन्टरनेट सेवा समेत अबरुद्ध छ ।
काठमाडौं । इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा तनावग्रस्त अवस्था सिर्जना भएकाले लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत गराएको छ । दूतावासले सूचना सार्वजनिक गर्दै लेबनानको दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएकाले त्यहाँ रहेका नेपालीलाई सुरक्षित भएर बस्न सचेत गराएको हो ।
लेबनानसमेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा कार्यरत नेपाली श्रमिकलाई समस्या पर्न सक्नेप्रति सचेत भई उद्धारका लागि आफ्ना नागरिकको विवरण सङ्कलन सुरु गरेको जनाएको छ । साथै दूतावासको सूचनामा नेपाली श्रमिकलाई बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ । विकसित घटनाक्रमको निरन्तरता अनुगमन गरिरहेको एवं नेपाली नागरिकको सुरक्षाका लागि बेरुतस्थित अवैतनिक वाणिज्य दूतावासमार्फत सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरिरहेको दूतावासको सूचनामा उल्लेख छ ।
दूतावासको विज्ञप्तिमा लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गराउने उद्देश्यका साथ दूतावासले वेभसाइटमा लेबनानमा रहेका नेपाली नागरिकलाई आफू रहेको ठेगनासहित आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
इजरायली आक्रमणमा इरानमा प्यालेस्टाइनका पूर्वप्रधानमन्त्री तथा हमासका नेता इस्माइल हानिया पनि मारिएका छन् । उहाँको हत्याको बदला लिइने भन्दै इरानले इजरायललाई चेतावनी दिइसकेको छ । यसले मध्यपूर्वमा द्वन्द्व चर्किने सङ्केत देखिएको छ । हमासले गत वर्ष असोज २० इजरायलविरुद्ध आक्रमण गरेको थियो । आक्रमणमा एक हजार दुई सय जना तत्काल मारिएका थिए भने सय जनाभन्दा बढीले आक्रमणको केही दिनमा ज्यान गुमाएका थिए ।
काठमाडौं । लेबननको शक्तिशाली मिलिशिया तथा राजनीतिक अभियानका वरिष्ठ कमान्डर फुआद शुकर इजरायली आक्रमणमा मारिए पछि पुनः एक पटक हिज्बुल्लाह समूह चर्चामा छ । उसले इजरायलविरुद्ध प्रतिक्रामण गर्ने तयारी गरेको छ ।
दुई पक्षबीच द्वन्द्व बढेकै बेला इजरायलद्वारा हत्या गरिएका उनी सबैभन्दा उच्च तहका हिज्बुल्लाह सदस्य हुन् । इजरायली सेनाले गत शनिवार उसको अधीनमा रहेको गोलन हाइट्सस्थित एउटा फुटबल मैदानमा बालबालिकासहित १२ जनानको ज्यान जाने गरी भएको क्षेप्यास्त्र आक्रमणमा शुकरको हात रहेको आरोप लगाएको छ। हिज्बुल्लाहले उक्त घटनामा आफ्नो समूहको संलग्नता अस्वीकार गरेको छ। यद्यपि उसले उक्त स्थान नजिकैको सैन्य आधारशिविरमा आक्रमण गरेको दाबी गरेको थियो। त्यसैले उक्त क्षेप्यास्त्र पनि हिज्बुल्लाहको लक्ष्यभन्दा बाहिर गएको हुन सक्ने सम्भावना भएको कतिपयको विश्लेषण छ। अल–हज मोहसिन पनि भनिने शुकर हिज्बुल्लाह नेता हसन नस्रल्लाहका निकट सल्लाहकार मानिन्थे र उनी लामो समयदेखि उक्त समूहमा आबद्ध थिए।
नस्रल्लाहले टेलिभिजनबाट आफ्ना समर्थकलाई सम्बोधन गरे। त्यसलाई हिज्बुल्लाहको सम्भावित अर्को कदमको कुनै पनि सङ्केतका रूपमा धेरैले चासोपूर्वक हेरेका थिए। उनले गोप्य स्थानबाट बोल्दै इजरेलसँगको द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको उद्घोष गरे। सुरक्षाका कारण उनले सधैँ त्यसरी सम्बोधन गर्छन्।
नस्रल्लाहले अवश्यम्भावी प्रतिक्रिया कुर्न इजरायललाई चेतावनी दिए। शत्रुपक्षले सीमा नाघेकाले त्यसको मूल्य चुकाउनुपर्ने उनले बताए। इजरेलले गैरसैनिक भवनलाई लक्षित गरेर हमला गरेको बताउँदै उनले हिज्बुल्लाहले पनि समान खालको प्रतिक्रिया दिन सक्ने सङ्केत गरे। उनको सम्बोधनको भाकाले इजरेलसँग अर्को ठूलो युद्धमा उक्त समूहले चासो नदेखाएको सङ्केत गरेको जस्तो देखिन्छ। तर त्यो उनीहरूको रणनीति पनि हुन सक्ने ठानिएको छ।
शुकरको गत मङ्गलवार हत्या भएको थियो। त्यस क्रममा दुई बालकसहित अन्य छ जनाको पनि ज्यान गएको थियो। आफ्ना सैन्य नेता मारिएपछि हिज्बुल्लाह र इजरेलबीच पुनः द्वन्द्व चर्किने र त्यो मध्यपूर्वभरि फैलिन सक्ने चिन्ताहरू उत्पन्न भएका छन्। गत अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणको भोलिपल्टदेखि हिज्बुल्लाहले पनि इजरेललक्षित हमलाहरू सुरु गरेको थियो।
उसले आफ्नो अभियान गाजास्थित प्यालेस्टिनीहरूको समर्थन चलाइएको बताएको छ। अहिलेसम्म उक्त समूहका अधिकांश आक्रमण र इजरेलको प्रत्याक्रमण लेबनन र इजरेलका सीमावर्ती क्षेत्रमा सीमित छन्।
इरानको समर्थन पाएको हिज्बुल्लाहलाई इजरेलले हमासभन्दा धेरै शक्तिशाली शत्रुको रूपमा हेर्दै आएको छ। उक्त समूहसँग उन्नत अस्त्रहरूको ठूलो भण्डार छ। त्यस्ता अस्त्रहरूमा ड्रोनहरू र इजरेली भूमिभित्र प्रहार गर्न सकिने खालका उच्चस्तरीय प्रविधिमा आधारित क्षेप्यास्त्रहरू पनि छन्।
हिज्बुल्लाहसँग द्वन्द्व बढेमा इरानको समर्थन पाएका उक्त क्षेत्रका अन्य समूह पनि त्यसमा संलग्न हुन सक्छन्। ती समूहहरूको अनौपचारिक सैन्य गठबन्धनलाई तेहरानले एक्सिस अफ रेजिस्टन्स भन्ने गर्छ। त्यस्ता समूहमा यमनको हूथी र इराकका लडाकु समूहहरू पनि पर्छन्।
इरानले पनि आफ्ना नयाँ राष्ट्रपतिले पदभार गर्ने दिन आयोजित विशेष समारोहमा सहभागी हुन तेहरान भ्रमणमा रहेका बेला बुधवार मारिएका हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्याको जबाफ दिने वाचा गरेको छ। बीबीसीको सहयोगमा
काठमाडौं । हमासका शीर्ष नेता इस्माइल हनियेको इरानको राजधानी तेहरानमा हत्या भएको भोलिपल्ट इसराइलले हमासका सैन्य कमान्डर मोहम्मद देइफलाई समेत मारेको दावि गरेको छ । उनको १९ दिनअघि नै हत्या भएको बताइएको छ । इसराइलले जुलाई १३ मा गाजाको खान युनिस सहरबाहिर एउटा पर्खालले घेरिएको भवनमा हवाइ आक्रमण गरेर देइफलाई मारेको दाबी गरेको छ ।
अरू ९० जनाभन्दा धेरैको मृत्यु भएको त्यो आक्रमणमा पछि उसले हमासका अर्का सैन्य कमान्डर रफा सलामाको पनि मृत्यु भएको बताएको छ । बिहीबार उसले खुफिया विश्लेषणका आधारमा सो आक्रमणमा देइफ मारिएको पुष्टि भएको दाबी गरेको छ।
हमास स्रोतले अहिलेको समयमा उनको मृत्यु भएको हो कि होइन भन्न नसकिने जनाएको छ। अलजजिरा टेलिभिजनले हमास स्रोतलाई उल्लेख गर्दै देइफको निधनबारे आधिकारिक पुष्टि हमास वा कसाम ब्रिगेडको नेतृत्वले मात्रै गर्न सक्ने बताएको छ। मंगलबार इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा उपस्थित भएको केही घण्टापछि हमासको राजनीतिक विभागका ६१ वर्षीय प्रमुख हनियेको हत्या भएको छ । हमासले हनियेको हत्या इसराइलले गरेको आरोप लगाए पनि इसराइलले अहिलेसम्म त्यसको जिम्मेवारी लिएको छैन।
सन् २०२३ अक्टोबर ७ मा हमासले नेपालका दस र अरू केही विदेशीका साथै १२०० इसराइलीको ज्यान जाने गरी इसराइलमा आक्रमण गरेको थियो। त्यसपछि गजामा सैन्य कारबाही सुरू गरेको इसराइलले हमासलाई सिध्याउने घोषणा गरेको हुँदा इसराइलले नै हत्या गरेको मानिएको छ।
इसराइलले लेबननको राजधानी बेरूतमा हिजबुल्लाह समूहका सर्वोच्च सैन्य कमान्डरको हवाइ आक्रमणमा हत्या गरेको केही घण्टामै हनियेको हत्या भएको थियो। इसराइली नियन्त्रणमा रहेको गोलन हाइट्समा जुलाई २७ मा १२ केटाकेटीहरूको ज्यान जाने गरी भएको रकेट हमलाको बदला लिन इसराइलले हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको बताएको छ।
हमासका शीर्ष नेता हनियेको हत्या भएको भोलिपल्टै इसराइलले दोस्रो वरीयताका नेता र सैन्य कमान्डर देइफलाई पनि मारिसकेको दाबी गरेको छ। देइफ र हनियेको ठाउँमा सन् २०१७ मा हमासको गजा प्रमुख बनेका याह्या सिन्वरले मिलेर हनियेलाई समेत जानकारी नदिई इसराइलमा अक्टोबर ७ मा हमला गर्ने योजना बनाएको मानिन्छ।
Palestinian militant group Hamas’ leader Ismael Haniyeh (C-R) and other officials, flash the victory sign during a swearing in ceremony for the new president, at the parliament in Tehran, on July 30 2024. Iranian reformist Masoud Pezeshkian was sworn as the Islamic republic’s ninth president. (Photo by AFP)
देइफको पनि हत्या भइसकेको हो भने हमासका दुवै शीर्ष नेता मारिएका छन्। त्यस्तै अक्टोबर ७ पछि हमासका शीर्ष ६ जनामध्ये सिन्वरसहित दुई जना मात्रै जीवित रहेको इसराइलको दाबी छ। पाहुनाको नामले चिनिने हमासको अल कसाम ब्रिगेडका प्रमुख देइफ सार्वजनिक रूपमा विरलै देखिने नेता थिए। इसराइली जासुसले नभेट्टाउन् भनेर प्यालेस्टिनी लडाकुहरू आफूप्रति सहानुभूति राख्नेहरूका घरमा फेरी फेरी पाहुना बस्ने प्रचलनका कारण देइफलाई पाहुना भनिएको मानिन्छ।
इसराइलले पटक पटक आक्रमण गरेर मारेको दाबी गरिएका देइफ २० वर्षअघि गरिएको एक हवाइ आक्रमणमा एक हात र एक खुट्टा गुमाएर ह्विलचेयरमा सीमित भएको भनिन्थ्यो। तर पछि उनी सबल रहेको पुष्टि भएको थियो। र उनले नै सिन्वरसँग मिलेर अक्टोबर ७ को हमलाको योजना बनाएको इसराइलले मानेको छ।
सन् १९६५ मा खान युनिस शरणार्थी शिविरमा जन्मिएका देइफको जन्मपछिको नाम मोहम्मद दिएब इब्राहिम अल मास्री भएको मानिन्छ। हमासमा जोडिएपछि उनले नाम परिवर्तन गरेर मोहम्मद देइफ राखेका हुन्। सन् १९८९ मा देइफलाई इसराइलले पक्राउ गरेको थियो। १६ महिनासम्म उनलाई हिरासतमा राखिएको थियो।
युनिभर्सिटी अफ गजाबाट उनले विज्ञानमा स्नाकोत्तर गरेका हुन्। त्यहाँ उनले भौतिक शास्त्र, रसायन शास्त्र र जीव विज्ञान अध्ययन गरेका थिए। हमासमा प्रभाव बढ्दै गएपछि उनले गजामा टनेलको नेटवर्क र बम बनाउने क्षमताको विज्ञता बढाएका थिए।इसराइलमाथि भएका विभिन्न समयका धेरै आत्मघाती बम बिस्फोट उनले गराएका थिए। दशकौंसम्म उनी इसराइलको मोस्ट वान्टेड सूचीको पहिलो नम्बरमा थिए।
BBC
इसराइलले उनको हत्या गर्न गरेको आक्रमणमा परेका उनले एक आँखा गुमाएका थिए भने एउटा खुट्टामा पनि गम्भीर चोट लागेको थियो। उनकी श्रीमती, ३ वर्षकी छोरी र ७ महिनाका छोराको सन् २०१४ मा इसराइलले गरेको हवाइ आक्रमणमा मृत्यु भएको थियो। हमास स्रोतका अनुसार उनी स्मार्टफोन लगायत पछिल्लो समय प्रचलित प्राविधिक सामान प्रयोग गर्दैन थिए। उनका अहिलेसम्म तीन वटा तस्बिर मात्र सार्वजनिक छन्।
एउटा उनी २०–३० वर्ष हुँदाको हो भने अर्को फोटोमा उनले मास्क लगाएका छन्। यस्तै, तेस्रो फोटोमा उनको छाया मात्र खिचिएको छ। उक्त फोटो उनले सार्वजनिक गर्ने अडिओहरूमा प्रयोग गरिएको हुन्छ। सन् २०२१ मा पनि इसराइलले उनलाई मार्न कारबाही चलाएको थियो। तर उनी बाँच्न सफल भएका थिए। उनले अडिओहरू विरलै सार्वजनिक गर्थे र सार्वजनिक रूपमा देखा नै पर्दैन थिए।
काठमाडौं । भारतको केरलापछि हिमाचल प्रदेशमा पनि भारी वर्षासँगै बाढी–पहिरोको विपत्ति निम्तिएको छ । हिमाचल प्रदेशका सिमला लगायतका जिल्लामा कम्तिमा ५० जना बेपत्ता भएका छन् । जाओन, कुल्लु, निरमण्ड, सरपारा लगायत ठाउँ बाढीपहिरोको चपेटामा परेका छन् ।
यो जानकारी हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । हिमाचल प्रदेश सरकारका एक मन्त्री जगत सिंहले सिमला जिल्लाको सरपारा गाउँमा मात्रै ३६ जना बेपत्ता भएको जानकारी दिएका छन् ।
कुल्लु क्षेत्रको मलाणा हाइड्रोपावरको बाँध भत्किएको छ । सडक पनि भत्किएकाले सम्पर्क टुटेको छ । निरमण्डमा चारवटा पक्की पुल र २५ भन्दा बढी कच्ची पुल भत्किएका छन् । बाढी–पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ । सरकारको आपतकालीन बैठक पनि बोलाइएको छ । यसैबीच भारतको उत्तराखण्डमा पर्ने प्रसिद्ध धार्मिक क्षेत्र केदारनाथ र रुद्रप्रयाग पनि बुधबार रातिको भारी वर्षाका कारण बाढी–पहिरोले प्रभावित भएको छ । सरकारले केदारनाथको यात्रा नगर्न सबैलाई आह्वान गरेको छ ।
सोनप्रयाग, भीमबली लगायतका स्थानमा पुग्ने बाटो बन्द भएको छ । ठूलाठूला ढुंगासहितको पहिरो खसेर बन्द भएका सडक खुलाउने प्रयास जारी छ । बाटो बन्द भएकाले करिब २०० तिर्थयात्री भीमबलीका होटलहरुमा रोकिन बाध्य छन् । प्रहरीले रुद्रप्रयाग पुगिसकेका यात्रीहरुलाई त्यहीँ सुरक्षित रुपमा बस्न अनुरोध गरेको छ ।
काठमाडौं । प्यालेस्टाइन विद्रोही समूह हमासका प्रमुख नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएको छ । यसले मध्यपूर्वमा तनावको डर मडारिएको अन्तर्राष्ट्रिय समुदायले जनाएका छन् । मध्यपूर्वका धेरैजसो देशले यो हत्याले तनाव झनै बढ्ने चेतावनी दिएका छन् ।
इजरायली सेनाले पछिल्लो समय हमासका नेतालाई लक्षित गरी आक्रमण गरिरहेको छ । हानियाको हत्या पनि इजरायलले नै गरेको हुनसक्ने शङ्का छ । इजरायलले भने औपचारिक प्रतिक्रिया दिएको छैन । हानियाका छोरा र नातिनातिनीलाई पनि इजरायलले यसअघि मारेको छ ।
बीबीसीका अनुसार इजरायलले हमासका नेता हानियालाई यसअघि नै हत्या गर्न खोजेको थियो तर उनी कतारमा रहेकाले त्यहाँ हत्या गर्न सम्भव थिएन । त्यसैले हिजो इरानमा रहेको मौकामा मिसाइल प्रहार गरेर हत्या भएको हुन सक्ने जनाइएको छ । पटक–पटक इरानमा आक्रमण गर्दै विभिन्न व्यक्तिको हत्या गरेर इजरायलले आफूविरुद्ध लाग्नेहरू कतै पनि सुरक्षित छैनन् भन्ने सन्देश दिएको खबरमा उल्लेख छ ।
हानिया इजरायलसँगको युद्धविराम र बन्धक रिहाइको वार्तामा संलग्न थिए, उनै हानियाको हत्या भएकाले अब इजरायल र हमासबीच वार्ता कसरी हुन्छ भनेर कतारले प्रश्न सोधेको छ । जोर्डनले हमासका नेताको हत्यालाई कडा शब्दमा निन्दा गर्दै यो घटनाले मध्यपूर्वमा थप तनाव र अराजकता निम्त्याउने बताएको छ । लेबनानले पनि घटनाको निन्दा गर्दै यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ ।
यस्तै आज मात्रै शपथ लिएका इरानका राष्ट्रपति मसूद पेजेस्कीयनले हानियाको हत्या गर्नेहरू पछुताउनुपर्ने चेतावनी दिएका छन् । उनले हानियाको रगतलाई कहिल्यै खेर जान नदिने पनि बताए । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामिनीले पनि हानियाको हत्याको बदला लिनु तेहरानको कर्तव्य भएको बताए ।
काठमाडौं । भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार जारी छ । यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।
तर बीबीसी हिन्दीले मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीलाई उद्धृत गर्दै मृतकको संख्या १२३ पुगेको लेखेको छ । केरलाकी स्वास्थ्यमन्त्री विना जोर्जका अनुसार मंगलबार बिहान २(३ बजेतिर यो घटना भएको हो । पहिरोमा परी कयौं घर, पसल र गाडीहरु पुरिएका थिए । कतिपय मानिसहरु वायनाड क्षेत्र भएर बग्ने चलियार नदीमा बगेका थिए ।
अधिकारीहरुका अनुसार वायनाडका गाउँ बाढीपहिरोबाट तहसनहस भएका छन् । मुण्डाक्कई क्षेत्रलाई आसपासका अरु क्षेत्रसँग जोड्ने एकमात्र पुल भत्किएपछि उद्धार कार्यमा समस्या परेको छ । सो क्षेत्रमा अस्थायी पुल निर्माणका लागि सहयोग गर्न मुख्यमन्त्रीले पिनरई विजयनले आह्वान गरेका छन् ।
यद्यपि आपदा मोचन बलको टोली डोरीको सहायताले मुण्डाक्कईमा पुगेर एकै स्थानबाट ३० भन्दा बढी शवहरु संकलन गरेको थियो । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने अधिकारीहरुले बताएका छन् ।
केरलाका कृषि फर्महरुमा नेपालीहरुले पनि काम गर्दछन् । तर यो बाढीपहिरोमा नेपालीहरु परेरनपरेको अझै स्पष्ट हुन सकेको छैन । खोज तथा उद्धारमा सेना, नौसेना, वायु सेना, आपदा मोचन बल सहितका उद्धारकर्मीहरु परिचालन गरिएको छ । उद्धार टोलीले २५० भन्दा बढीलाई जोगाएको बताइएको छ ।
राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस आई अध्यक्ष एवम् वायनाडका सांसद राहुल गान्धी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत दिने जनाएको छ ।
केही दिनदेखि नै केरलाका विभिन्न स्थानमा भारी वर्षा हुँदै आएको थियो । आपदा प्रबन्धन विभागले ३० जुलाईको दिन वायनाड, कोझीकोड, मल्लापुरम, कन्नुर लगायतका क्षेत्रमा खतराको संकेत स्वरुप रेड अलर्ट जारी गरेको थियो । मौसम विभागका अनुसार ती क्षेत्रमा २४ घण्टाको अवधिमा २०४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
भारतको केरला पहाडी इलाका हो । यहाँ ठूलो संख्यामा पर्यटकहरु पुग्ने गर्दछन् । सन् २०१८ मा केरलामा आएको बाढीपहिरोमा ५०० जनाको मृत्यु भएको थियो ।
काठमाडौं । दक्षिण भारतको केरला राज्यमा भीषण वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ । मंगलबार बिहानै केरलाको वायनाड जिल्लामा गएको पहिरोमा परी कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ । पहिरो गएकै स्थानमा ६५ जनाको शव फेला परेको छ ।
अन्य शव चलियार नदीले बगाएर छिमेक मालाप्पुरमा जिल्ला पुर्याएको थियो । पहिरोका कारण वायनाड जिल्लाको मुन्दक्कै, अटामाला, चोरलमाला र कुनहोम क्षेत्र प्रभावित भएका छन् । भारी वर्षा र पुलहरू भत्केको कारण उद्दार भइरहे पनि समस्या भइरहेको छ । सेना र प्रहरी गरी २०० जना उद्दार कार्यमा संलग्न भएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रदेश स्वास्थ्यमन्त्री विना गोरेजले केही समयपछि क्षतिको यकिन विवरण दिन सकिने प्रतिक्रिया दिएकी छन् । उनले १२५ जना घाइतेको उपचार भइरहेको र २५० जनाको उद्दार गरिएको बताएकी छन् । स्थानीयले फरकफरक स्थानमा कम्तीमा तीन ठूला पहिरो गएको बताएका छन् । अहिले पनि त्यहाँ लेदो, ढुङ्गामाटो बगिरहेको छ । भारी वर्षाका कारण केरलाका १० जिल्लाका विद्यालय तथा कलेज बन्द गरिएको छ ।
भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ । सन् २०१८ यतामात्रै केरलाको विभिन्न क्षेत्रमा गएको पहिरोले ४०० जनाको ज्यान गइसकेको छ । २०१९ मा अहिलेको भन्दा १० किलोमिटर पर गएको पहिरोले १७ जनाको ज्यान लिएको थियो ।
केरला । भारतको केरलामा भिषण पहिरो गएको छ । जसमा सयौं मानिस बगेको आशंका गरिएको छ । अहिले रेस्क्यू अपरेशन जारी रहेको छ । केरलाको वायनाड जिल्लामा पहिरो गएको हो ।
केरलामा लगातारको वर्षापछि पहिरो गएको बताएको छ । अहिलेसम्म १२ जनाको मृत्यु भएको खबर आएको छ । प्रशासनले चार जनाको मात्र मृत्युको पुष्टी गरेको छ । ५० जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
काठमाडौं । मुम्बई–हावडा रेल्वे अन्तर्गत झारखण्डमा एक रेल गाडीका १० डिब्बा पटरीबाट उछिट्टिएका छन् । घटनामा अहिलेसम्म ६ मानिस घाइते भएको खबर छ । झारखण्डको सरायकेला–खरसावाँ जिल्लामा मंगलबार यो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि यो रेल्वे लाइनमा सेवा अवरुद्ध भएको छ ।
काठमाडौं । पाकिस्तानको कुर्रम जिल्लामा जनजातिहरूबीच भएको भूमिसम्बन्धी विवादमा साम्प्रदायिक हिंसा भएको छ । घटनामा ४३ जनाको हत्या भएको छ । ३० एकड अर्थात झण्डै एक सय कनाल जग्गाको स्वामित्वको विषयमा विवाद हुँदा अरु एक सय ५० भन्दा धेरै मानिस घाइते भएका छन् । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीचको हो ।
अधिकारीहरुकाअनुसार ६ दिन अघि शुरु भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको छ । दशकौँदेखि भइरहेको कृषि भूमि विवादमा वार्ता गरिरहेको परिषद्मा एकजनाले गोली चलाएपछि साम्प्रदायिक हिंसा शुरू भएको हो । सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिबीच गएको बुधवारदेखि हिंसा भइरहेको बीबीसीले जनाएको छ ।
त्यहाँको सरकारी अधिकारीकाअनुसार हिंसामा सबैभन्दा धेरै अल्पसङ्ख्यक सम्प्रदायका छन् । कुर्रम पूर्व सङ्घीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा भएपनि सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा विलय भएको थियो ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन भ्रमणको तयारी गरेका छन् । उनले आगामी अगष्ट महिनामा युक्रेन भ्रमण गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो भ्रमणका दौरान रुस र युक्रेन युद्ध समाप्तिका लागि मध्यस्थता गर्ने छन् ।
भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमणको समाचार समेत रुसी सरकारी सञ्चारमाध्यमले ब्रेक गरेका छन् । रुसको रुसी सरकारी टिभी च्यानल तासले यसको जानकारी गराएको छ । भारत र रुस बीच पुरानो सम्बन्ध छ । यसअघि मोदीले रुसको औपचारिक भ्रमण गरिसकेका छन् ।
काठमाडौं । इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु अमेरिका भ्रमण बीचमै छाडेर स्वदेश फर्किएका छन् । इजरायलको नियन्त्रणमा रहेको गोलान ह्वाइट्समा रकेट आक्रमण भएसँगै उनी अमेरिकाबाट इजरायल फर्किएको बीबीसीले जनाएको छ । उनले स्वदेश फर्किनासाथ् आफ्नो सुरक्षा क्याविनेटको बैठक राखेका छन् । यस बैठकले लेवनानको चरमपन्थी संगठन हिज्बुल्लाह विरुद्ध कारवाहीलाई स्वीकृति दिएको छ ।
यसले अब इजरायलको लडाई लेवनानतर्फ केन्द्रित हुने देखिएको छ । उता, अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकनले समेत गोलन ह्वाइटमा हिज्बुल्लाहले रकेट आक्रमण गरेको पुष्टी गरेका छन् । शनिबार भएको यो आक्रमणमा १२ जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश बच्चा छन् । आक्रमण लगत्तै प्रधानमन्त्री नेतान्याहूले हिज्बुल्लाहले यसको ठूलो मूल्य चूकाउनु पर्ने चेतावनी दिएका थिए ।
काठमाडौं । जापानकी १४ वर्षीया कोको योशिजावाले वुमेन्स स्ट्रिट स्केटबोर्डमा स्वर्ण जितेकी छिन् । यससँगै जापान पेरिस ओलम्पिकमा आइतबार पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जापान चार स्वर्ण, दुई रजत र एक कांस्यसहित शीर्ष स्थानमा रहेको छ । योसिजावालाई आफ्नै देशकी लिज आकामालाई बलियो चुनौती पेस गरे पनि निर्णायक मोडमा सकिनन् । जापानको अर्को स्वर्ण फेन्सिङबाट आएको हो । इन्डिभ्युजल ऐपीमा कोकी कानोले स्वर्ण जिते ।
अस्ट्रेलिया समान चार स्वर्णसहित दोस्रो स्थानमा छ । उसले दुई रजत पनि जितेको छ । अमेरिकाले भने समग्रमा बढी पदक जितेको छ । अमेरिकाको तीन स्वर्ण, छ रजत र तीन कांस्य गरेर कुल १२ पदक रहेको छ । आयोजक फ्रान्स, दक्षिण कोरिया र चीनको तीन–तीन स्वर्ण रहेको छ । अहिलेसम्म कुल २२ देशले पदक जितेका छन् । भारतले एक पदक भित्राउन सफल भएको छ ।
काठमाडौं । अमेरिकी निर्वाचनको एक सय दिने दौड आइतबार सुरु भएको छ । यो निर्वाचन हत्या प्रयास र राष्ट्रपति जो बाइडेनको आश्चर्यजनक निकासले परिवर्तन गरेको अभियानको अन्तिम काम थियो । बाइडेनको उम्मेदवारीलाई लिएर हप्तौँको आन्तरिक कलह र निराशापछि डेमोक्रेटहरू उपराष्ट्रपति कमला ह्यारिस पछाडि एकजुट भएका छन् । यो नोभेम्बर ५ को दौडमा मौलिक रूपमा आकार दिँदै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउने सम्भावना बनिरहेको थियो ।
ह्यारिसको उम्मेदवारीले स्पष्ट रूपमा डेमोक्रेटिक अभियानलाई पुनः बलियो बनाएको छ । अभियानले आइतबार २० करोड डलर सङ्कलन गरेको बताएको छ । वाल स्ट्रिट जर्नलको नयाँ सर्वेक्षणअनुसार ह्यारिसले काला, ल्याटिनी र युवा मतदाताको बढ्दो समर्थनका साथ ट्रम्पसँग बाइडेनको छ अङ्कको घाटालाई दुई अङ्कमा मात्र सीमित गरेकी छिन् ।
तर जर्नल सर्वेक्षण गर्ने रिपब्लिकन सर्वेक्षणकर्ता डेभिड लीले डेमोक्रेटहरूलाई दौडको चक्करमा नपर्न चेतावनी दिएका छन् । “सन् २०२० को निर्वाचनको तुलनामा डोनाल्ड ट्रम्प यो निर्वाचनमा धेरै राम्रो स्थितिमा छन्,”, उनले भने ।
राष्ट्रिय स्तरमा दौड अत्यन्त सुस्त हुँदा राष्ट्रपतिका लागि इलेक्टोरेल कलेज प्रणालीको गणितलाई हेर्दा अझै पनि ट्रम्पलाई फाइदा छ । सन् २०१६ को निर्वाचनमा हिलारी क्लिन्टनमाथि मुलुकभर ३० लाख मतपत्रले देशव्यापी लोकप्रिय मत गुमाए पनि ट्रम्प विजयी भए । “हामी यो दौडमा पछि छौँ”, शनिबार कोष सङ्कलन कार्यक्रममा ह्यारिसले स्वीकार गर्दै भने, “तर जन–सञ्चालित अभियान हो र हामीसँग गति छ ।”
अगस्टको मध्यमा डेमोक्रेटिक सम्मेलनले ह्यारिसको उम्मेदवारीको उल्लासपूर्ण उत्सवका साथ उक्त गतिलाई जारी राख्ने प्रयास गर्नेछ । जुन २७ मा बाइडेनको निराशाजनक बहसले उनको पार्टीभित्र चिन्ता र घबराहटको वातावरण देखाइरहेको थियो ।
पेन्सिलभेनियामा एक चुनावी अभियानमा ट्रम्पको असफल हत्या प्रयासको केही दिनपछि रिपब्लिकन राष्ट्रिय सम्मेलनमा ७८ वर्षीय ट्रम्पका पछाडि एकताको निर्दोष प्रदर्शन देखिएको थियो । अवज्ञाको सुरुआती प्रदर्शनपछि बाइडेन अपरिहार्यताअघि झुके र गत साता चुनावी दौडबाट बाहिरिए । उन्साठ्ठी वर्षकी युवा ह्यारिसले आफ्नो टोपी रिङमा फ्याँकिन र दुई अलोकप्रिय, वृद्ध, सेता पुरुष उम्मेदवारहरूबीच बासी प्रतिस्पर्धालाई गतिशील र अप्रत्याशित प्रदर्शनमा परिणत गरिन् ।
नोभेम्बर ५ को अन्तिम परिणाम सम्भवतः युद्धको मैदानमा करिब एक लाख स्वतन्त्र, अनिर्णित मतदाताहरूले निर्धारण गर्नेछन् । उनीहरूका अनुसार दुर्व अभियान आगामी तीन महिनामा व्यापक रूपमा लक्षित हुनेछन् । रासस, एएफपी
काठमाडौं । भारतलाई हराउँदै श्रीलंकाले महिला एसिया कपको उपाधी जितेको छ । डम्बुला क्रिकेट रंगशालामा आइतबार भारतले दिएको १६६ रनको विजयी लक्ष्य श्रीलंकाले १८ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । गत संस्करणमा भारतले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।
एसिया कपमा श्रीलंका र भारतको फाइनलमा भेट यो पाँचौं पटक हो । २००४ यता सुरु भएको महिला एसिया कपमा २०१८ को सिजनमा भारतलाई ३ विकेटले हराउँदै बंगलादेशले उपाधि जितेको थियो । त्यसबाहेक २००४, २००५, २००६, २००८, २०१२, २०१६ र २०२२ को उपाधि भारतले जितेको थियो ।
काठमाडौं । पेरिस ओलम्पिकको शनिबार पहिलो दिनमै अस्ट्रेलियाले तीन स्वर्ण जित्न सफल भएको छ । अस्ट्रेलिया तीन स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलियाले पौडीतर्फ बलियो सुरुआत लिन सफल भयो । उसको पछाडि चीनको दुई स्वर्ण रहेको छ । पहिलो दिन कुल १३ स्वर्णको निर्णय भएको हो । एक–एक स्वर्ण जित्ने अन्य देशमा अमेरिका, फ्रान्स, दक्षिण कोरिया, बेल्जियम, जापान, काजाकिस्तान, बेलायत, जर्मनी र हङकङ रहेका छन् ।
प्रतियोगिताकै पहिलो स्वर्ण जित्ने खेलाडी भने चीनका रहे । ह्वाङ युटिङ र सेङ लिहाओले दस मिटर एयर रायफल्सको मिक्ड स्पर्धामा स्वर्ण जितेका हुन् । पौडीतर्फ अस्ट्रेलियाले महिला चार गुणा सय मिटर फ्रि स्टाइलमा पहिलो स्वर्ण हात पारे । यस्तै ग्रेस ब्राउनले साइक्लिङको महिला टाइम ट्रायलमा स्वर्ण हात पारिन् ।
काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक कोचिङ सेन्टरको बेसमेन्टमा वर्षाको पानी भरिँदा तीन जना विद्यार्थीको ज्यान गएको छ । राजेन्द्रनगरस्थित राव आईएएस कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर दुई छात्रा र एक छात्रको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गतराति एक जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो । खोजीको क्रममा बेपत्ता भएका दुबैको शव फेला परेपछि मृतकको संख्या तीन पुगेको हो ।
स्थानीय समय अनुसार शनिबार बेलुकी सात बजे बेसमेन्टमा सात फिटसम्म पानी भरिएको र विद्यार्थीहरु फसेको जानकारी पाएपछि भारतको राष्ट्रिय विपद व्यवस्थापन बलको टोली खोज तथा उद्धारमा खटिएको थियो । बेसमेन्टमा भरिएको पानी पम्पसेटको सहायताले बाहिर निकालिएको छ । घटनाको विरोधमा विद्यार्थीहरुले प्रदर्शनसमेत गरेका थिए । लगत्तै दिल्ली सरकारले घटनाको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली सरकारले कोचिङ सेन्टर सञ्चालकविरुद्ध आपराधिक मामिलामा मुद्दा दायर गरेर थप अनुसन्धान सुरु गरिसकेको छ । दुई जना प्रहरी हिरासतमा छन् । गतराति भारतको राजधानी नयाँदिल्लीसहित महाराष्ट्र, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश लगायतका जिल्लाहरुमा भारी वर्षा भएको थियो । वर्षासँगको बाढी र पहिरोबाट दर्जनौंको मृत्यु भएको र जनजीवन प्रभावित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
काठमाडौं । ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रेन्समा हाई स्पीड रेल सेवा अवरुद्ध भएको छ । फ्रान्सिस रेल कम्पनी एसएनतसीएफका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा क्षति पुर्याइएको छ । रेल लाइनमा क्षति पुर्याउन जानीबुझी आगो लगाइएको पाइएको छ । कम्पनीले रेल स्टेशनतर्फ नआउन र सम्भव भए केही घन्टाका लागि यात्रा सार्न आग्रह गरेको छ ।
फ्रान्सका यातायातमन्त्री पेट्रिस वग्रीटले घटनालाई आपराधिक कृत्य भनोक छन् र यसको निन्दा गरेका छन् । खेलमन्त्री एमिली ओडेयाले आम मानिससँगै ओलम्पिकमा भाग लिने आइरहेका खेलाडीहरूलाई समेत असर गर्न आशंका गरे । पेरिस ओलम्किपको शुक्रबार उद्घाटन समारोह छ, जसमा ३ लाखभन्दा बढी मानिस सहभागी हुने अनुमान छ ।
काठमाडौं । मौरितानियाको समुद्रमा एउटा पानीजहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा एक सय ९० जना हराइरहेका छन् । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले हराइरहेका एक सय ९० जनालाई निकाल्न उद्धार कार्य चलिरहेको जनाएको छ । मौरितानियाको तटरक्षकले एक सय तीन जना आप्रवासीलाई उद्धार गरेको र २५ जनाको शव बरामद गरेको बताएको छ । आईओएमका अनुसार झन्डै तीन सय जनाले काठको डुङ्गामा गाम्बिया छोडेका थिए र जुलाई २२ मा डुङ्गा पल्टिनुअघि सात दिन समुद्रमा बिताएका थिए ।
तटरक्षक पुग्नुअघि १५ जनाको ज्यान गएको थियो भने १० जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएकोमा सबैको ज्यान गएको छ । यस्तै घटना जुलाई ५ तारिखमा पनि भएको थियो जसमा मौरितानियाली तटरक्षकले ८९ जना आप्रवासीको शवलाई पल्टिएको डुङ्गाबाट बरामद गरेका थिए । धेरै आप्रवासी मोरक्कोको तटबाट क्यानरी टापुहरूमा पुग्न खोज्छन् । पश्चिम अफ्रिकाबाट स्पेनसम्मको यो मार्ग संसारको सबैभन्दा खतरनाक मार्गमध्ये एक हो ।
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या गर्ने उद्देश्यले भएको आक्रमणमा सुरक्षा प्रणाली विफल भएको आरोप लागेपछि अमेरिकी विशेष सुरक्षा निकाय सीक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चीटलले राजीनामा दिएकी छन्।
‘तपाईँको निर्देशकको हैसियतले म सुरक्षा त्रुटिको लागि सम्पूर्ण जिम्मेवारी लिन्छु’, उनले मङ्गलवार राति दिएको राजीनामामा सीक्रेट सर्भिसका कर्मचारीहरूलाई सम्बोधन गर्दै भनेकी छन्। घटनाका बारेमा सोमवार संसदीय समितिमा लामो सुनुवाइपछि डेमोक्र्याट र रिपब्लिकन पार्टीका सांसदले उनको राजीनामा माग गरेका थिए।
पेन्सिल्भेनिआको बट्लरमा आयोजित चुनावी र्यालीमा सहभागी ट्रम्पमाथि जुलाई १३ मा भएको गोली प्रहारको घटनाबारे प्रश्नहरूको उत्तर दिन अस्वीकार गरेपछि सांसदहरू उनीसँग निराश भएका थिए। सीक्रेट सर्भिसकी निर्देशक चीटलले आफूले “भारी मन बनाएर” राजीनामा दिएको उल्लेख गरेकी छन्। मङ्गलवार राति दिएको राजीनामामा आफूले “निकायको आवश्यकतालाई सधैँ पहिलो प्राथमिकता दिएको” चीटलले उल्लेख गरेकी छन्।
“अघिल्लो साताको सुरक्षा व्यवस्था निकै कडा थियो र हाम्रो सञ्चालन गति बढाउन सक्ने हो भने त्यो जारी रहन्छ,” उनले भनेकी छन्। “मेरो राजीनामा माग भएका कारण महत्त्वपूर्ण लक्ष्यका साथ तपाईँहरू प्रत्येकले गरिरहेको राम्रो कामबाट ध्यान अन्यत्र नमोडिओस् भन्ने म चाहन्छु।” राष्ट्रपति जो बाइडनले एक विज्ञप्तिमार्फत् उनको एक दशक लामो सार्वजनिक सेवाका लागि आभार व्यक्त गरेका छन्।
“जुलाई १३ मा भएको के हो भन्नेबारे स्वतन्त्र समीक्षाको काम जारी नै रहन्छ र म त्यसको निष्कर्षका लागि सहयोग गर्न आग्रह पनि गर्छु। हामी सबैलाई थाहा छ त्यो दिन जे भयो त्यो अब कहिल्यै दोहोरिने छैन,” बाइडनले भनेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले सीक्रेट सर्भिसको नयाँ निर्देशक छिट्टै नियुक्त गर्ने बताएका छन्। तत्कालका लागि गृहमन्त्री आलेहान्द्रो मायोर्कासले रोनल्ड रोलाई कार्यवाहक निर्देशक नियुक्त गरेका छन्। सीक्रेट सर्भिसमा विगत २४ वर्षदेखि कार्यरत रोनल्ड रो सन् २०२३ मा उपनिर्देशक भएका थिए।
राष्ट्रपति बाइडनले सन् २०२२ मा चीटललाई सीक्रेट सर्भिसको प्रमुख नियुक्त गरेका थिए। उनले उक्त निकायका लागि विभिन्न भूमिकामा २७ वर्ष काम गरेकी छन्। अमेरिकी सीक्रेट सर्भिसले वर्तमान र पूर्व राष्ट्रपति सहित अन्य अधिकारीहरूको सुरक्षा हेर्ने गरेको छ। बीबीसी