Category: विश्व

  • थाइल्याण्डमा अधिक गर्मीले कम्तिमा ६१ जनाको मृत्यु

    थाइल्याण्डमा अधिक गर्मीले कम्तिमा ६१ जनाको मृत्यु

    काठमाडौं । थाइल्यान्डमा यस वर्षको अहिलेसम्म अत्यधिक गर्मीले ६१ जनाको ज्यान लिएको छ । यो २०२३ को तुलनामा धेरै तातो भएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले सम्पूर्ण क्षेत्रमा यो सातासम्म अत्यधिक गर्मी भएको बताएको छ । हालैका साताहरूमा थाइल्यान्डमा असाधारण तातो मौसमको लहरले अधिकारीहरूले लगभग दैनिक आधारमा यसबारेमा चेतावनी जारी गर्नुपर्‍यो ।


    स्वास्थ्य मन्त्रालयले शुक्रबार सन् २०२४ को सुरुदेखि गर्मीका कारण ६१ जनाको मृत्यु भएको बताएको छ । सन् २०२३ मा ३७ जनाको मृत्यु भएको थियो । थाइल्यान्डको उत्तरपूर्वी कृषिप्रधान क्षेत्रमा गर्मीका कारण सबैभन्दा धेरै मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैज्ञानिकहरूले लामो समयदेखि मानव–प्रेरित जलवायु परिवर्तनले अधिक बारम्बार, लामो र अधिक तीव्र तातो छालहरू उत्पादन गर्ने चेतावनी दिएका छन् ।

    संयुक्त राष्ट्रसङ्घको मौसमविज्ञान सङ्गठनका अनुसार अल निनोको घटनाले यस वर्षको असाधारण गर्मीको मौसमलाई ल्याउन सहयोग गरिरहेको छ । एसिया पनि विश्वव्यापी औसतभन्दा तीव्र गतिमा तातो भइरहेको छ । थाइल्यान्डको रोग नियन्त्रण विभागका सहायक अपिचार्ट वाचिराफानले अन्तर्निहित चिकित्सकीय अवस्था भएका मानिसहरूलाई बाहिर निस्कने समयलाई सीमित गर्न चेतावनी दिए ।

    सामान्य भन्दा लामो समयसम्म चल्ने तातो मौसमको साथ यस वर्ष राज्यले मनसुनको मौसममा ढिलाइ अनुभव गरेको छ । यस हप्ता राज्यका केही भागमा आँधीबेरी आउँदा तापक्रम कम भएको छ तर अधिकारीहरूबाट सम्भावित बाढीको चेतावनी ल्याएको छ । रासस-एएफपी

  • चेन्नईविरुद्ध गुजरातको सानदार प्रदर्शन

    चेन्नईविरुद्ध गुजरातको सानदार प्रदर्शन

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्सले चेन्नेइ सुपर किंग्सविरुद्ध सानदार प्रदर्शन गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा ओपनरद्वय कप्तान शुभमन गिल र साई सुदर्शनले शतक प्रहार गरे । गुजरातले चेन्नेईलाई ३५ रनले हरायो । २३२ रनको लक्ष्य पछ्याएको चेन्नेइले ८ विकेटको क्षतिमा १९६ रन मात्रै बनायो । चेन्नेइका ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाए । मोइन अलिले ५६, महेन्द्र सिंह धोनीले २६ र शिवम दुबेले २१ रन बनाए ।

    गुजरातका मोहित शर्माले ३, राशिद खानले २ तथा उमेश यादव र सन्दीप वारियरले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले गिल र सुर्शनको दुई शतकको मद्दतमा ३ विकेटको क्षतिमा २३१ रन बनाएको थियो । गिलले ५५ बलमा ९ चौका र ६ छक्कासहित १०४ रन बनाए भने सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्कासहित १०३ रन बनाए । डेविड मिलरले १६ रन थपे ।

    चेन्नेइका तुशार देशपाण्डेले २ विकेट लिए । यो जितसँगै गुजरात १० अंकसहित आठौ स्थानमा छ भने चेन्नेइ १२ अंकका साथ चौथो स्थानमा छ ।

  • केजरीवाल जमानतमा रिहा

    केजरीवाल जमानतमा रिहा

    काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ। उक्त अदालतका दुई जना न्यायाधीशहरू सम्मिलित एक इजलासले उनलाई अन्तरिम जमानत दिने निर्णय गरेको हो। आगामी जुन २ तारिखसम्मका लागि केजरीवालले जमानत पाएका छन्। त्यस दिन उनले पुनः उपस्थित हुनुपर्ने छ। केजरीवाललाई गत मार्च २१ तारिखदेखि हिरासतमा राखिएको छ।

    अदालतको निर्णय अनुसार अब उनले जुनसम्म लोकसभा चुनावका लागि प्रचारप्रसार गर्न पाउने छन्। अन्तरिम जमानत दिँदै अदालतले उनको गिरफ्तारीलाई चुनौती दिने खालका सबै मामिलाहरूको सुनुवाइ चाँडै सक्ने पनि जनाएको छ। अदालतको आदेशमा भनिएको छ, हामी चाँडै नै यो सुनुवाइ गरेर यो मामिला टुङ्ग्याउनेछौँ। हालसम्म उक्त आदेशको लिखित विवरण प्राप्त भएको छैन। उक्त विवरण प्राप्त भएपछि मात्र त्यसमा उल्लेख गरिएका सर्तहरूबारे थाहा हुनेछ।

    अदालतले जमानतसम्बन्धी आदेश दिइएको पत्र जेल अधिकारीहरूलाई पठाउन भनेको छ। त्यसो गर्दा उनी चाँडै रिहा हुने सम्भावना रहन्छ। सन् २०२२ को अगस्टमा दर्ता गरिएको मामिलामा केजरीवाललाई डेढ वर्षपछि मात्र गिरफ्तार गरिएको अदालतले जनाएको थियो। न्यायाधीश सञ्जीव खन्नाले भने, गिरफ्तार पहिले नै वा (चुनाव) पछि पनि गर्न सकिन्थ्यो। एक्काइस दिनमै केही फरक पर्दैन थियो।

    केजरीवालको पक्षमा मुद्दा लडिरहेका शादान फरासतले सञ्चारमाध्यमहरूसँग भने, अदालतले संक्षिप्त आदेश दिएको छ। हामीले अहिलेसम्म लिखित आदेश पाएका छैनौँ। उक्त आदेश वेबसाइटमा राखिन्छ भन्ने हामीलाई लागेको छ। अन्तरिम आदेशमार्फत् अदालतले अरविन्द केजरीवाललाई अन्तरिम राहत दिइरहेको छ भन्ने सङ्केत गरेको छ। उनका अनुसार यो आदेश जुन २ तारिखसम्म कायम रहनेछ। त्यो भनेको भारतमा संसदीय निर्वाचनको समय हो।

    त्यस्तै अदालतले उनलाई चुनाव प्रचारप्रसार गर्न कुनै खालको रोक लगाएको छैन। आदेशमा उनले के गर्न पाउने वा नपाउने भन्ने कुनै विषयबारे उल्लेख नगरिएको पनि उनले बताए। अन्य विषयबारे आदेश पूरा हेरेपछि मात्र थप बताउन सकिने केजरीवालका वकिलको भनाइ छ।

    BBC

  • माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता

    माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता

    काठमाडौं । भारत सरकारले मालदिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएपछि उनले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिएका थिए । भारतीय सैनिकलाई स्वदेश फिर्ता हुन दिइएको अन्तिम समयसीमा सकिनुभन्दा एक दिन अगाडि मालदिभ्सका विदेशमन्त्री मुसा जमिर विहीबार भारत भ्रमणमा आएका छन् ।


    यसै सन्दर्भमा भारतीय विदेश मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गरी मालदिभ्सबाट भारतीय सैनिक फिर्ता भएको जानकारी गराएको हो । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ती सैनिकहरुको स्थानमा गैरसैनिकको प्राविधिक टोली खटाइसकिएको छ । भारतको सरकारी आँकडा अनुसार मालदिभ्समा ८८ जना सैनिक थिए । मालदिभ्समा तीन विमानस्थलमा भारतीय सैनिकहरु तैनाथ थिए । उनीहरुले हिन्द महासागरमा पनि निगरानी गर्दथे ।

    ‘इण्डिया आउट’ चुनावी नारा दिएर सत्तामा आएका मुइज्जुले भारतीय सैनिकहरुलाई फिर्ता हुन १० मार्चदेखि १० मेसम्मको समयसीमा दिएका थिए । मालदिभ्सको मिहारु पत्रिकाका अनुसार एड्डु विमानस्थलमा २५ भारतीय सैनिक तैनाथ थिए । उनीहरु १० मार्चभन्दा अघि नै भारत फिर्ता भइसकेका थिए ।
    एड्डु विमानस्थलमा भारतका दुई हेलिकप्टर र एउटा हवाईजहाज छन् । तिनको सन्चालन अब गैरसैनिक कर्मचारीहरुले गर्ने छन् ।

  • अमेरिकाले इजरायल पठाउन लागेको बमको ढुवानी रोक्यो

    अमेरिकाले इजरायल पठाउन लागेको बमको ढुवानी रोक्यो

    काठमाडौं । दक्षिणी गाजाको रफाह क्षेत्रमा इजरायलले ठूलो सैन्य कारबाही गर्न लागेको आशङ्कामा अमेरिकाले सो मुलुकलाई उपलब्ध गराउन लागेको विस्फोटक पदार्थ गत साता रोकिदिएको खुलासा भएको छ । बीबीसीका अनुसार अमेरिकी साझेदार सीबीएसलाई अमेरिकी अधिकारीले यसको खुलासा गरेका छन् । त्यो खेपमा १,८०० वटा ९०७ केजीका बम र १,७०० वटा २२६.८ केजीका बम थिए।

    रफाह क्षेत्रमा भएका गैरसैनिक नागरिकहरूको विषयमा अमेरिकाले व्यक्त गरेको सरोकारलाई इजरायलले पूर्ण रूपले सम्बोधन नगरेपछि अमेरिकाले हतियारको ढुवानी रोकेको बताइएको छ । इजरायलले यस विषयमा तत्काल कुनै टिप्पणी गरेको छैन। इजरायली सेनाले इजिप्टसँग सीमा जोडिएको भागपट्टि रफाह नाकामा नियन्त्रण कायम गरेको केही घण्टापछि मङ्गलवार राति गाजा स्ट्रिपमा थप हवाई आक्रमण गर्‍यो।

    इजरायलले रफाह क्षेत्रवरिवरि सघन बम आक्रमण गरिरहेको छ। स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार राति भएको एउटा आक्रमणमा एउटै परिवारका सात जनाको मृत्यु भएको छ। गाजामा सहायता पठाउनका लागि रहाफ एउटा महत्त्वपूर्ण नाका हो। गत अक्टोबर महिनामा इजरायल र हमासबीच लडाइँ सुरु भएपछि उक्त नाका हुँदै हजारौँ मानिसहरू अन्यत्र गएका छन्। सोमवार इजरेली सेनाले रफाह सहरको पूर्वी भागबाट दशौँ हजार मानिसहरूलाई अन्यत्र जान आदेश दिएको छ।

    इजरेली सेनाले हमासका लडाकुलाई निमिट्यान्न पार्न र तिनको भौतिक संरचानलाई ध्वस्त पार्न रफामा ूसीमितू सैन्य कारबाही गर्न लागेको बताउँदै आएको छ। अहिले गाजामा युद्धविराम गराउने प्रयास पनि भइरहेको छ। हमासले बन्धक बनाएका इजरेली नागरिक र इजरेलका जेलमा भएका प्यालेस्टिनीहरूको साटफेर गर्ने विषयमा छलफल भइरहेको छ। मध्यस्थकर्ताहरूको सहयोगमा दुवै पक्षका प्रतिनिधिहरूले कायरोमा फेरि वार्ता हुन लागेको छ।

  • धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इण्डियाका ८० भन्दा बढी उडान रद्द

    धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इण्डियाका ८० भन्दा बढी उडान रद्द

    काठमाडौं । एकैपटक ३०० बढी चालक दलका सहस्यहरूले बिरामी बिदा लिएपछि एयर इण्डिया र एयर इण्डिया एक्सप्रेस एयरलाइन्सका ८० भन्दा बढी उडान रद्द भएका छन् ।

    मंगलबार रातिदेखि बुधबार बिहानसम्म ८० भन्दा बढी उडान रद्द भएका हुन् । बुधबार दिउँसोको लागि तय भएका थप उडानहरू पनि रद्द हुन सक्ने अनुमान गरिएकाे छ ।

    दुवै एयरलाइन्सले सूचना जारी गर्दै यात्रीलाई बुधबारको आफ्नो विमानको उडान सम्बन्धी पूर्वजानकारी लिएरमात्र विमानस्थल आउन सूचित गरेका छन् ।

    ‘हाम्रा सिनियर क्रुको एउटा वर्गले हिजो राति अन्तिम क्षणमा बिरामी भएको सूचना दिएका कारण उडानमा ढिला भयो भने कयौँ उडान रद्द गरियो । हामी यो घटनाको पछाडि रहेका कारण बुझ्नका लागि क्रु मेम्बरसँग कुरा गरिरहेका छौँ । यात्रीहरूमा हुने असुविधा कम गर्नका लागि हाम्रो टिमले तीव्र रुपमा काम गरिरहेको छ,’ एयर इन्डिया एक्सप्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ ।

    दुवै एयरलाइन्सका कर्मचारीहरूले सदस्यहरूले बिरामी बिदा लिएको भए पनि आफ्नो जागिर धरापमा पर्न लागेकाले विरोधमा उत्रिएको जनाइएको छ । एयर इन्डिया र एयर इन्डिया एक्सप्रेस एयरलाइन्स आपसमा गाभिन लागेका छन् । त्यसैले दुवै एयरलाइन्सका कर्मचारीहरू अघोषित रुपमा आन्दोलनमा उत्रिएका हुन् ।

  • युक्रेनका राष्ट्रपतिको हत्या प्रयास विफल पारेको दावि

    युक्रेनका राष्ट्रपतिको हत्या प्रयास विफल पारेको दावि

    काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको हत्या गर्ने षडयन्त्रलाई विफल पारेको युक्रेनी अधिकारीहरुले दावि गरेका छन् । जेलेन्सीको हत्या षडयन्त्रमा संलग्न भएको आरोपमा युक्रेनी सेनाका दुई जना कर्णेललाई पक्राउ गरिएको छ । उनीहरुमाथि राज्यद्रोह आतंकवादसम्बन्धी अभियोग लगाइएको छ । युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयु)का अनुसार जेलेन्स्कीको हत्या गर्ने उद्देश्यले उनका अङ्गरक्षकहरुसम्म पुग्ने र प्रभावमा पार्ने कोसिसमा रुसको गुप्तचर निकाय (एफएसबी)को सन्जाल सक्रिय थियो । उक्त सन्जालको लागि जासुसी गरेको आरोप ती कर्णेहरुलाई लगाइएको छ ।

    रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै जेलेन्स्कीको हत्याको षडयन्त्र भइरहेको समाचार सार्वजनिक हुने गरेका थिए । तर बहालवाला कर्णेल नै जेलेन्स्कीको हत्याको षडयन्त्रमा संलग्न भएको भन्ने आरोपसहितको समाचार बीबीसीले लेखेको छ । रुसले युक्रेनका सैनिक जासुसी निकाय प्रमुख किरिलो बुदानोभ र सेक्युरिटी सर्भिसका प्रमुख भासु म्यालुयकको पनि हत्या योजना बनाएको एसबीयुले जनाएको छ । बुदानोभको हत्या योजना इशाई धर्मावलम्बीहरुको पर्व ईस्टरको अघिल्लो दिन बनाइएको थियो ।

    त्यसका लागि रुसले एन्टी ट्यांक मिसाइल समेत उपहारस्वरुप पठाएको थियो । उक्त हतियार बरामद गरिएको हत्या योजना विफल पारेको युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयु)ले जनाएको छ ।

  • गाजा क्षेत्रमा इजरायलमा  थाल्यो पुनः आक्रमण

    गाजा क्षेत्रमा इजरायलमा थाल्यो पुनः आक्रमण

    काठमाडौं । हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ । रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखिन्छ । सोमबार आक्रमण सुरु गर्नुअघि इजरायली सेनाले प्यालेस्टिनीहरुलाई रफा छाड्न भनेको थियो । त्यसपछि ठूलो संख्यामा प्यालेस्टिनीहरु र घरबार छाडेर हिँडेको देखिएको छ ।

    उनीहरु बालबच्चा, झोलाझ्याम्टा बोकेर उत्तरी रफाको खानयुनिसतर्फ गइरहेका छन् । इजरायली सेनाका प्रवक्ताले रफाबाट एक लाख प्यालेस्टिनीलाई बाहिर निकाल्न लागेको बताएका छन् । हमासले भने रफामा आक्रमण गरेर इजरायलले तनावलाई अझ बढाएको टिप्पणी गरेको छ । यसको परिणाम इजरायलले भोग्नुपर्ने चेतावनी दिँदै हमासले बन्धकहरुलाई मुक्त गर्न बाधा पुग्ने चेतावनी पनि दिएको छ ।

    हमासको तर्फबाट वार्ता टोलीमा संलग्न सामी अबु जुहारीले इजरायल–अमेरिका मिलेर प्यालेस्टिनीमाथि आक्रमण गरेको भन्दै त्यसलाई आतंकवाद भनेका छन् र यसको जम्मेवारी अमेरिकाले पनि लिनुपर्ने बताएका छन् । इजिप्टले कतारसँग मिलेर हमासको नियन्त्रणमा रहेका १३२ जनालाई रिहाइ गर्न मध्यस्थता गर्दै आएको छ ।

    पछिल्लोपटक इजिप्टको राजधानी कायरोमा इजरायल र हमासका वार्ता टोली सदस्यहरुबीच दुई दिनसम्म वार्ता भएको थियो । तर वार्ता निष्कर्षविहीन भएको थियो । वार्ता निष्कर्षविहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट हमला समेत भएको छ । गाजा क्षेत्रबाट भएको सो हमलामा परी आफ्ना तीन सैनिक मारिएको र केही घाइते भएका इजरायलले जनाएको छ ।

  • ब्राजिलमा बाढीको वितण्डा, व्यापक क्षति

    ब्राजिलमा बाढीको वितण्डा, व्यापक क्षति

    काठमाडौं । ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने ८८ हजार जना भन्दा बढी घरबारविहीन हुन पुगेका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बाढीबाट विस्थापित भएका १६ हजार जना भन्दा बढीलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । बाढी पहिरोका कारण करिब ८ लाख जनता खानेपानी, बिजुलीबाट समेत वञ्चित भएका छन् । ग्राण्डे डु सुलको राजधानी पोर्टो एलेग्रेस्थित गुइबा तलाउको सतह बढेपछि बाढीको रुप लिएर सडक र वस्ती डुबाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

  • अलजजिरालाई इजरायलमा किन लगाइयो प्रतिवन्ध ?

    अलजजिरालाई इजरायलमा किन लगाइयो प्रतिवन्ध ?

    काठमाडौं । इजरायलको सरकारले समाचार संस्था अलजजिरालाई प्रतिबन्ध लगाएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार कतारद्वारा सञ्चालित अलजजिरालाई बन्द गर्ने निर्णय गरेको बताएका हुन् । ‘इजरायलमा अलजजिरालाई बन्द गरिने सर्वसम्मतिले निर्णय गरिएको छ,’ उनले सामाजिक एक्समा उल्लेख गरेका छन् ।

    इजरायलका सञ्चारमन्त्री स्लोमो कारहीले विज्ञप्तिमा इजरायलमा हमास पक्षधरहरूलाई वाक् स्वतन्त्रता नहुने बताए । ‘अलजजिरालाई तुरुन्त बन्द गरिनेछ र उपकरणहरू जफत गरिनेछन्,’ विज्ञप्तिमा भनिएको छ । सम्पादन र राउटिङ उपकरण, क्यामेरा, माइक्रोफोन, सर्भर र ल्यापटपका साथ वायरलेस ट्रान्समिसन उपकरण र केही सेलफोन जफत गर्न उनले आदेश जारी गरेका हुन् ।

    इजरायल र प्यालेस्टिनी क्षेत्रमा अलजजिराको कार्यालय प्रमुख रहेका वालिद अल–ओमारीले उक्त निर्णयमाथि प्रतिक्रिया दिँदै इजरायलका चरम दक्षिणपन्थी मन्त्रीको सहज जितको खोजीको एउटा अभियान रहेको बताए ।

  • क्यानडामा सिख नेताको हत्या प्रकरण, तीन भारतीय पक्राउ

    क्यानडामा सिख नेताको हत्या प्रकरण, तीन भारतीय पक्राउ

    काठमाडौं । क्यानडामा सिख नेताको हत्यामा संलग्न रहेको आरोपमा तीन भारतीय पक्राउ परेका छन् । ४५ वर्षिय हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा २२ वर्षीय करण ब्रार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह पक्राउ परेका हुन् । उनीहरु तीनदेखि पाँच वर्ष क्यानडामा रहेको प्रहरीले जनाएको छ ।

    सिख पृथकतावादी नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेपछि दुई देशबीच ठूलो कूटनीतिक विवाद उत्पन्न भएको बीबीसीले लेखेको छ । निज्जरको अघिल्लो वर्ष जुन १८ तारिखमा क्यानडाको ब्रिटिश कोलम्बियामा रहेको एक सिख मन्दिर बाहिर गोली हानी हत्या भएको थियो ।

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हत्यामा भारत सरकारको संलग्नता हुनसक्ने आरोप लगाएपछि त्यसबेलादेखि नै कूटनीतिक विवाद बढेको थियो । तर दिल्लीले यो आरोपलाई अस्वीकार गरेको छ । हत्यामा अरु पनि संलग्न हुन सक्ने र थप पक्राउ वा मुद्दा लाग्न सक्ने क्यानडाको प्रहरीले जनाएको छ ।

  • यूएईमा पुनः भारी वर्षा, उडानहरु रद्द

    यूएईमा पुनः भारी वर्षा, उडानहरु रद्द

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ । संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार सुन्तला चेतावनी जारी गरिएको थियो । पछिल्लो केही दिनदेखि युएईले अस्थिर मौसमी लहरका लागि तयारी गरिरहेको छ ।

    यसै क्रममा सबै क्षेत्रका मानिसलाई सुरक्षाका उपायहरू अपनाउन सल्लाह दिइएको छ । विद्यालयहरू दूर शिक्षामा छन् भने कम्पनीहरूलाई घरबाटै काम गर्न अनुमति दिन आग्रह गरिएको छ । पार्क तथा समुद्र तटहरू बन्द गरिएका छन् । खालिज टाइम्सका अनुसार दुबईले इमिरेटमा अस्थिर मौसमका कारण मे २ र ३ मा सरकारी कर्मचारीहरूका लागि घरबाट काम गर्ने घोषणा गरेको थियो ।

    युएईको विपद् व्यवस्थापन प्राधिकरणले आगामी मौसमी अवस्थालाई सामना गर्न तयारी दोहोर्‍याएको छ । सम्बन्धित एजेन्सीहरू उपायहरू कार्यान्वयन गरेर पूर्वानुमानित मौसमको उतारचढाव सामना गर्न तयार रहेको उल्लेख गरिएको छ । यसअघि एनसिएम विज्ञले आगामी मौसमको अवस्था अप्रिल १६ को जस्तो नहुने अनुमान गरेका छन् । अधिकारीहरूले आवश्यक सावधानीका उपायहरूबारे छलफल गरेका छन् ।

    युएईले विद्यार्थीहरूले विद्यमान मौसमको कारण मे २ र ३ मा देशका सबै सरकारी विद्यालयहरूका लागि अनलाइन कक्षा लिने घोषणा गरेको छ । सरकारले सम्भावित अस्थिर मौसमी अवस्थाका कारण दुबईका सबै निजी विद्यालयमा मे २ र ३ मा अनलाइन सिकाइ हुने घोषणा गरेको छ । ज्ञान तथा मानव विकास प्राधिकरण ९केएचडिए० ले यो निर्णय सबै निजी विद्यालय, नर्सरी र विश्वविद्यालयमा लागु हुने घोषणा गरेको छ ।

    दुबई विमानस्थलका लागि पाँचवटा इनबाउन्ड उडान रातारात डाइभर्ट गरेको नौ आगमन तथा चार आउटबाउन्ड उडान रद्द गरेको विमानस्थलका प्रवक्तालाई उद्धत गर्दै खालिज टाइम्सले जनाएको छ । विमानस्थलका प्रवक्ताले भन्नुभयो, “दुबईको विमानस्थलबाट प्रस्थान गर्नेहरूलाई लागि थप समय छुट्याउन सल्लाह दिइएको छ । सडक भीडभाडको पूर्वानुमान गर्दै सम्भावित टर्मिनल १ र ३ मा पुग्न दुबई मेट्रोको उपयोग गर्न दृढतापूर्वक प्रोत्साहित गरिएको छ ।”

    इमिरेट्सले बिहीबार युएईभर खराब मौसमका कारण धेरै उडान रद्द गरी दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन कम गरेको छ । एक विज्ञप्तिमा मे २ मा दुबई विमानस्थलबाट आगमन–प्रस्थान गर्ने उडानहरू पुनःर्निर्धारित भएका कारण केही ढिलाइ हुनसक्ने उल्लेख गरिएको छ ।

    फ्लाईदुबईका प्रवक्ताले बिहीबार दुबईमा प्रतिकूल मौसमका कारण उडान सञ्चालनमा केही ढिलाइ भएको बताएको खालिज टाइम्सले उल्लेख गरेको छ । उहाँले यात्रुहरूलाई डीएक्सबीको यात्राका लागि अतिरिक्त समय दिन सल्लाह दिनुभयो ।

    शारजहास्थित एयर अरेबियाले अबुधाबी, शारजाह र रास अल खैमाहबाट उडान गर्ने यात्रुहरूलाई मौसमको अवस्थाका कारण विमानस्थलमा थप यात्रा समयको योजना बनाउन सल्लाह दिएको छ । अबुधाबीस्थित इत्तेहाद एयरवेजले जायद अन्तर्राष्ट्रिय विमानस्थल र दुबईबीचको इत्तेहाद बस सेवा प्रयोग गर्ने यात्रुहरूलाई विमानस्थलमा पुग्न थप समय दिन तथा स्थानान्तरणका लागि चाँडै जाँच गर्न आग्रह गरेको छ ।

    इन्डियन एयरलाइन्स इन्डिगोले दुबई, शारजाह, रास अल खैमाह र अबुधाबीमा खराब मौसमका कारण उडान सञ्चालन प्रभावित भएको बताएको छ । भिस्तारा र स्पाइसजेटले पनि खराब मौसमका कारण प्रस्थान, आगमन र उडानमा असर पर्ने बताएका छन् । रासस-एएनआई

  • ट्याटु बनाउँदा ४० जनालाई सर्‍यो एचआइभी

    ट्याटु बनाउँदा ४० जनालाई सर्‍यो एचआइभी

    एजेन्सी । भारतको पूर्वाञ्चलका ४० जनामा ट्याटु बनाउँदै एचआइएभी सरेको पाइएको छ। त्यसरी एचआइभी पोजेटिभ हुनेमा बाणारसीका २६, आजमगढका १२, सोनभद्र र मऊका एक-एक जना रहेको अमरउजालालले उल्लेख गरेको छ। चिकित्सकहरुले एउटै सुई धेरै व्यक्तिमा प्रयोग गरेर ट्याटु बनाउँदा एचआइभी सरेको हुनसक्ने बताएका छन्। एउटा सुईकै १२ सय भारतीय रुपैयाँ पर्ने भएपनि चौक-चौराहमा जम्मा २०० रुपैयाँमा ट्याटू बनाइने गरेको पाइएको छ।

  • सलमानको घर बाहिर गोली हान्ने आरोपीले हिरासतमा गरे आत्महत्या !

    सलमानको घर बाहिर गोली हान्ने आरोपीले हिरासतमा गरे आत्महत्या !

    काठमाडौं । बलिउड अभिनेता सलमान खानको मुम्बई स्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक अभियुक्तले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पतालमा भर्ना गरेको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका छन् ।

    प्रहरीले सलमान खानको घरबाहिर गोली हान्ने चार जना विक्की गुप्ता, सागर पाल, सोनुकुमार चन्दर बिश्नोई र अनुज थापनलाई पक्राउ गरेको थियो । यस मामिलामा पक्राउ परेका बिश्नोई ग्याङका दुई सुटर विक्की गुप्ता र सागर पाल पनि प्रहरी हिरासतमा छन् ।

    प्रहरीले गोली प्रहारका अभियुक्त विक्की गुप्ता र सागर पालका साथै यस घटनामा हतियार उपलब्ध गराउने सोनुकुमार चन्द्र बिश्नोई र अनुज थापान र गुण्डा नाइके लरेन्स बिश्नोई र उनका भाइ अनमोल बिश्नोईलाई पनि मुद्दा दायर गरेको थियो ।

  • उत्तराखण्ड सरकारद्धारा पतन्जलीका १४ उत्पादनको लाइसेन्स रद्द

    उत्तराखण्ड सरकारद्धारा पतन्जलीका १४ उत्पादनको लाइसेन्स रद्द

    काठमाडौं । उत्तराखण्ड सरकारले पतन्जलीका १४ उत्पादनको लाइसेन्स रद्द गरेको छ । सरकारले भारतीय सर्वोच्च अदालतमा यसबारे जानकारी गराएको हो । उत्तराखण्ड सरकारका अनुसार १५ अप्रिलबाट पतन्जलीका उत्पादनमा रोक लगाइएको हो । ड्रग्स एण्ड रेमेडीज एक्ट उल्लंघन गरेको पाइएपछि बाबा रामदेव र आचार्य बालकृष्णको पचन्जलीका विरुद्ध थुप्रै उजुरी परेका थिए ।

    यसरी लाइलेन्स रद्द गरिएका उत्पादनमा स्वासारी गोल्ड, स्वासारी वडी, ब्रोक्रोम, स्वासारी प्रवाही, स्वासारी अवलेह, मुक्तावटी एक्स्ट्रा पावर, लिपिडोम, विपि ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एस्ट्रा पावर, लिवामृत एडभान्स, लिवोग्रिट, आइग्रिट गोल्ड तथा पतन्जली दृष्टी आइड्रप रहेका छन् ।

  • भारत भ्रमण रद्द गरी चीन लागे एलन मस्क

    भारत भ्रमण रद्द गरी चीन लागे एलन मस्क

    काठमाडौं । आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवम् टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा सवार भएका छन् ।

    एक वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क बेइजिङ पुगेका हुन् । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार चीनमा आफ्नो कम्पनीको भाग्य बढाउन उनले प्रधानमन्त्री ली कियाङसहित शीर्ष अधिकारीहरूसँग भेट गरेको समाचारमा उल्ल्ेख छ ।


    सोही दिन चीनको तथ्याङ्क सुरक्षा आवश्यकतारू पूरा गर्ने टेस्लाको स्थानीयरूपमा उत्पादित मोडेलहरू विद्युतीय सवारीहरूमा सूचीबद्ध भएका छन् । मस्क दिउँसो एक बजे बेइजिङ क्यापिटल विमानस्थलमा आफ्नो निजी जेटमा बेइजिङ गएका हुन् । ब्लुमबर्गका अनुसार अमेरिकी विद्युतीय कार कम्पनी टेस्ला नक्सा र नेभिगेसन सुविधाका लागि टेक टाइटन बाइडुसँग मिलेर चीनमा आफ्नो सहायक ड्राइभिङ प्रविधिको उपयोग गर्न सरकारको स्वीकृति नजिक पुगेको छ ।

    बिवाइडीजस्ता घरेलु कम्पनीहरूसँग तीव्र प्रतिस्पर्धा गरे पनि टेस्ला चीनमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमध्ये एक बनेको छ । यद्यपि उसले कडा तथ्याङ्क र गोपनीय कानुनको पालना गर्न आवश्यक ‘फुल सेल्फ ड्राइभिङ (एफएसडी)’ जस्ता सुविधाका साथ आफ्नो बिक्री बढाउन कोसिस गरिरहेको छ ।

    चाइना एसोसिएसन अफ अटोमोबाइल्स मेनुफेक्चरर्स (सिएएएम)ले सन् २०२३ नोभेम्बरदेखि राष्ट्रिय कम्प्युटर सुरक्षा नियामकसँग मिलेर सवारी साधनको व्यक्तिगत जानकारी र कारको बाहिरी मुखाकृतिको रेकर्डिङलगायत कसरी तथ्याङ्क सङ्कलन र प्रशोधन गर्ने भन्नेबारे परीक्षण गरेको बताएको छ ।

    “तीमध्ये छ कम्पनी (बिवाइडी, ली अटो, लोटस, होजोन अटो, टेस्ला र एनआइओ) का ७६ मोडलले अटोमोटिभ तथ्याङ्क सुरक्षाका चार अनुपालन आवश्यकताहरू पूरा गर्दछन्”, सिएएएमले विज्ञप्तिमा भनेको छ ।

    साङ्घाईको विशाल कारखानामा निर्मित टेस्लाको मोडल३ र मोडल वाइ सूचीमा थियो । कम्पनीको उन्नत सहायक ड्राइभिङ सुविधाले उसका कारहरूलाई पूर्णरूपमा स्वायत्त बनाउँदैन र टेस्लाले उसको अटोपाइलट र एफएसडी क्षमताहरूको प्रयोग ड्राइभरको सुपरीवेक्षणमा प्रयोग गर्नका लागि भएको बताएको छ । कम्पनीले एफएसडी अमेरिकामा आठ हजार डरल वा मासिक ९९ डलरको सदस्यतामा बिक्री गर्दछ ।

    चीनमा एफएसडी र बाइडुसँग कथित साझेदारीका बारेमा एएफपीले गरेको प्रश्नमा टेस्लाले तत्काल जवाफ दिएको छैन । यसै महिनाको प्रारम्भमा आफ्नो सामाजिक सञ्जाल एक्समा एक प्रश्नको जवाफमा मस्कले चीनमा एफएसडीको उपलब्धता ‘चाँडै नै सम्भव हुनसक्ने’ बताए । रासस\एएफपी

  • राजस्थानको विजयी यात्रा कायमै

    राजस्थानको विजयी यात्रा कायमै

    काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै प्लेअफमा स्थान करीव पका गरेको छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ । १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

    कप्तान सञ्जु सामसन ३३ बलमा ७ चौका र ४ छक्कासहित ७१ रनमा नट आउट रहँदै प्लेयर अफ द म्याच चुनिए । ध्रुब जुरेल ३४ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा नटआउट रहँदा यशस्वी जैसवाल २४, जस बटलर ३४ र रियान पराग १४ रनमा आउट भए । लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । लखनउका लोकेश राहुलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाए । दीपक हुडा ३१ बलमा ७ चौकासहित ५०, क्विन्टन डि कक ८, मार्कस स्टोइनिस शून्य, निकोलस पुरन ११, आयुश बदोनी १८ र क्रुनाल पाण्ड्यले १५ रन जोडे ।

    राजस्थानका सन्दीप शर्माले २, ट्रेन्ट बोल्ट, आवेश खानर रवीचन्द्रन आश्विनले एकरएक विकेट लिए । राजस्थान ९ खेलमा ८ मा जित र १ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । बाँकी ५ मध्य एक खेल जित प्लेअफ खेल्न पक्का हुनेछ । लखनउ ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ । समान ८ खेलमा १०–१० अंक भए पनि कोलकाता दोस्रो र हैदराबाद तेस्रो स्थानमा छन् । दिल्ली १० खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ ।

  • भारतको लोकसभामा आज दोस्रो चरणको मतदान

    भारतको लोकसभामा आज दोस्रो चरणको मतदान

    काठमाडौं । भारतको लोकसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान सुरू भएको छ। विभिन्न १३ राज्यका ८८ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दोस्रो चरणमा एक लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाताले मतदान गर्नेछन्। मतदान बेलुका ६ बजेसम्म सञ्चालन हुने बताइएको छ।

    असमका ५, बिहारमा ५, छत्तीसगढमा ३, जम्मू र कश्मिरमा १, कर्नाटकामा १४, केरलामा २०, मध्यप्रदेशमा ७, महाराष्ट्रमा ८, मणिपुरमा एक, राजस्थानमा १३, त्रिपुरामा १, उत्तर प्रदेशमा ८ र पश्चिम बंगालका ३ सिटका लागि आज मतदान हुँदैछ। पहिलो चरणमा २१ राज्यका १०२ सिटका लागि वैशाख ७ गते मतदान भएको थियो।

  • फिलिपिन्समा चरम गर्मी, कम्तीमा ६ जनाको मृत्यु

    फिलिपिन्समा चरम गर्मी, कम्तीमा ६ जनाको मृत्यु

    काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्म गर्मी बढ्दा ६ जनाको मृत्यु भएको जानकारी गराएको छ । मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक सचिव अल्बर्ट डोमिङ्गोले बताए । गर्मीसम्बन्धी ३४ वटा घटनामध्ये फिलिपिन्सको केन्द्रीय भिसायास क्षेत्र, उत्तरी फिलिपिन्सको इलोकोस क्षेत्र र दक्षिणी फिलिपिन्सको सोक्सस्कार्गेन क्षेत्रबाट रिपोर्ट गरिएको थियो ।

    राज्य मौसम ब्युरोले गर्मी सूचकाङ्क ४२ डिग्री सेल्सियसभन्दा बढी खतराको स्तरमा पुग्ने चेतावनी दिएपछि मेट्रो मनिलासहित पाँच क्षेत्रका एघार क्षेत्रले बुधबार व्यक्तिगत कक्षाहरू स्थगित गरेका छन् । ब्युरोले तातो मौसमका कारण दुखाइ, गर्मीको थकान र गर्मीको स्ट्रोक पनि निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

    यसै महिनाको सुरुमा ब्युरोले फिलिपिन्सभर केही क्षेत्रमा ५१ डिग्री सेल्सियससम्मको तापक्रमको चेतावनी दिएको थियो । यसले आगामी महिनासम्म गर्मी बढ्दै जाने देखाएको छ । बढ्दो गर्मी मौसमले विद्यालयलाई विद्यार्थी तथा बालबालिकालाई उच्च गर्मीको प्रभावबाट जोगाउन अनलाइन कक्षाहरू सञ्चालन गर्न बाध्य पारेको छ ।अत्यधिक गर्मीबाट हुने सम्भावित जटिलताबाट बच्न ब्युरोले जनतालाई बाहिरी गतिविधिहरू सीमित गर्न र प्रशस्त पानी पिउन सल्लाह दिएको छ । रासस

  • अमेरिकी संसदबाट टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित

    अमेरिकी संसदबाट टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित


    बीबीसी । संयुक्त राज्य अमेरिकाको सिनेटले एउटा विवादास्पद विधेयक अनुमोदन गरेको छ जसले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्छ। यो विधेयकले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकामा प्रतिबन्ध खेप्ने विकल्प दिएको छ।

    यो विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडनसमक्ष पठाइने छ। बाइडनले उक्त विधयेक आफूकहाँ आएपछि अविलम्ब हस्ताक्षर गर्ने बताएका छन्। बाइटड्यान्सले अमेरिकी सिनेटको निर्णयबारे आफ्नो कुनै प्रतिक्रिया नभएको बताएको छ। यसअघि उक्त कम्पनीले टिकटक बिक्री गर्न लगाउने दबावको विरोध गर्ने जनाएको थियो।

    अब के हुन्छ

    अमेरिकाले बाइटड्यान्सलाई टिकटक बिक्री गर्न बाध्य पार्न सक्यो भने पनि त्यसका लागि चिनियाँ अधिकारीहरूबाट स्वीकृति आवश्यक पर्छ। बेइजिङले त्यसको विरोध गर्ने जनाइसकेको छ।

    विश्लेषकहरूका अनुसार यो प्रक्रिया टुङ्गिन वर्षौँ लाग्ने औँल्याएका छन्। सिनेटले टिकटकसम्बन्धी विषयसहित युक्रेन, इजरेल, ताइवान र इन्डो-प्यासिफिक क्षेत्रका अन्य अमेरिकी साझेदारहरूलाई सैन्य सहयोग दिने विषय गरी चारवटा विधयेक पारित गरेको हो।

    सिनेटमा व्यापक समर्थन पाएको उक्त विधेयकको पक्षमा ७९ र विपक्षमा १८ जनाले मतदान गरेका थिए।

    यूनिभर्सिटी अफ रिच्मन्डका कानुनका प्राध्यापक कार्ल टोबियासले लामो कानुनी लडाइँ सुरू हुन सक्ने र त्यो झन्डै दुई वर्षसम्म चल्न सक्ने बताएका छन्।उनका अनुसार यदि नौ महिनाभित्र बाइटड्यान्सबाट स्वामित्व किन्न इच्छुक पक्ष नभेटिए अमेरिकामा टिकटिकविरुद्ध हुने कारबाहीमा विलम्ब हुने छ।

    अमेरिका किन टिकटक नियन्त्रण गर्न चाहन्छ

    ‘वर्षौँसम्म हामीले चिनियाँ कम्युनिस्ट पार्टीलाई अमेरिकामा सर्वाधिक लोकप्रिय एउटा एप नियन्त्रण गर्न दियौँ जुन खतरनाक र अदूरदर्शी काम थियो,’सिनेटको इन्टेलिजन्स कमिटीका प्रमुख रिपब्लिकन नेता मार्को रुबियोले भने।

    उनका अनुसार नयाँ कानुनले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनीलाई त्यो एप बिक्री गर्न बाध्य पार्ने भएकाले त्यो अमेरिकाका लागि लाभप्रद हुन्छ। लाखौँ अमेरिकी प्रयोगकर्तासँग सम्बन्धित डेटा टिकटकबाट चीनले हात पारेको वा पार्न सक्ने आशङ्का अमेरिकी पक्ष छ। त्यसैले अमेरिकी संसद्ले टिकटकलाई चीनमा भएको कम्पनीबाट छुट्ट्याउने प्रयास गरेको हो।

    टिकटकले अब के गर्ला

    यस विषयमा प्रतिक्रियाका लागि अनुरोध गर्दा टिकटकले तत्कालै जबाफ दिएन।

    तर गत साता उक्त सामाजिक सञ्जाल कम्पनीले सो विधेयकले ‘१७ करोड अमेरिकीको अभिव्यक्ति स्वतन्त्रमाथि कुल्चने, ७० लाख जनाको रोजगारी ध्वस्त पार्ने र अमेरिकी अर्थतन्त्रमा बर्सेनि २४ अर्ब डलर योगदान पुर्‍याइरहेको मञ्च बन्द गरिदिने’ टिप्पणी गरेको थियो।

    टिकटकका प्रमुख कार्यकारी शोउ जी चूले गत महिना उक्त सञ्जालको रक्षाका लागि आफ्नो ‘कानुनी अधिकार’ प्रयोग गर्न यथासम्भव सबै कुरा गर्ने बताएका थिए। टिकटकले बाइटड्यान्स ‘चीन वा अरू कुनै देशको एजेन्ट नभएको ‘ दाबी गर्दै आएको छ। बाइटड्यान्सले विश्वका लगानी कम्पनीहरूको ६० प्रतिशत स्वामित्व भएको भन्दै आफू चिनियाँ कम्पनी नभएको तर्क गर्दै आएको छ।

  • इजरेलका गुप्तचर प्रमुखले दिए राजिनामा, के हो कारण ?

    इजरेलका गुप्तचर प्रमुखले दिए राजिनामा, के हो कारण ?

    काठमाडौं । इजरेलको सैन्य गुप्तचर निर्देशनालयका प्रमुखले गत अक्टोबर ७ मा हमासले भीषण आक्रमण गर्नुअघि त्रुटिहरू भएको स्वीकार गर्दै राजीनामा दिएका छन्। इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार उनको उत्तराधिकारीको नाम टुङ्गो लागेपछि मेजर जेनरल आरोन हालिभा पदबाट हट्ने छन्।

    एउटा पत्रमा हालिभाले आफ्नो नेतृत्वमा रहेको निर्देशनालयले दिइएको जिम्मेवारी यथोचित वहन गर्न नसकेको स्वीकार गरेका छन्। अक्टोबर ७ का दिन सयौँ लडाकुहरू गाजास्थित सीमाको तारबार नाघेर इजरेलभित्र छिरेको भन्ने सूचनालाई इजरेली सैन्य र गुप्तचर अधिकारीहरूले बेवास्ता गरेका थिए।

    इजरेलको इतिहासमा भएको उक्त भयानक आक्रमणमा केही विदेशीसहित झन्डै १,२०० जनाको ज्यान गएको थियो। ज्यान गुमाउनेमध्ये केही नेपाली विद्यार्थी पनि थिए। आक्रमणपछि हमासका लडाकुहरूले आफूसँगै २५३ जनालाई बन्धक बनाएर लगेका थिए। उक्त अप्रत्याशित घटनापछि इजरेलले हमासलाई सखाप पार्ने उद्घोष गर्दै गाजामा सैन्य कारबाही थालेको थियो। इजरेली आक्रमणमा परी गाजामा अहिलेसम्म ३४,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    उसका अनुसार मृतकमध्ये अधिकांश महिला र बालबालिका छन्। युद्धका कारण गाजामा भोकमरी निम्तिन सक्ने चेतावनी संयुक्त राष्ट्रसङ्घ र अन्य दाताहरूले दिँदै आएका छन्।
    बीबीसी

  • चीनमा भिषण आँधी : ११ जना बेपत्ता

    चीनमा भिषण आँधी : ११ जना बेपत्ता

    दक्षिणी चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता भएका छन् । दशौँ हजारलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको चिनियाँ मिडियाले जनाएको छ । पछिल्लो समय गुआङ्गडोङको दक्षिणी प्रान्तमा भारी वर्षा भएकाले नदीहरूको सतह बढ्दा गम्भीर बाढीको डर बढेको बताइएको छ । यस्तो भिषण आँधी ‘शताब्दीमा एक पटक’ हुने चिनियाँ मिडियाले जनाएका छन् ।

    गुआङ्गडोङका धेरै भागमा लगातारको भारी वर्षाले ११ जना बेपत्ता भएको स्थानीय आपतकालीन व्यवस्थापन विभागलाई उदृत गर्दै राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । बाढीको जोखिमबाट बचाउन ५३ हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको एजेन्सीले जनाएको छ ।

    तीमध्ये ४५ हजारभन्दा बढीलाई उत्तरी गुआङ्गडोङ सहर किङयुआनबाट विस्थापित गरिएको थियो । उक्त सहर फराकिलो नदी डेल्टामा सहायक नदी बेई नदीको किनारमा फैलिएको छ ।

    मौसम विज्ञान अधिकारीहरूले ‘गुआङ्गडोङको तटीय पानीमा आँधीबेहरी र तीव्र हावा’ हङकङ र शेन्जेनलगायत प्रमुख सहरहरूको सिमानामा रहेको समुद्री क्षेत्रमा रहेको पूर्वानुमान गरेका छन् । फुजियान, गुइझोउ र गुआङ्सीलगायत छिमेकी प्रान्तहरू पनि ‘अल्पकालीन भारी वर्षा’ बाट प्रभावित हुने राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । गुआङडोङ चीनको सघन जनसङ्ख्या भएको प्रान्त हो । यहाँ करिब १२ करोड ७० लाख मानिस बस्छन् ।

    जियाङवान सहरमा भारी वर्षाका कारण भूस्खलनमा छ जना घाइते भएका छन् भने धेरैजना प्रभावित भएका छन् । राज्य प्रसारणकर्ता सिसिटिभीको तस्बिरहरूमा खैरो माटोको पर्खालले घरहरू ध्वस्त पार्दा मानिसहरू प्रवाभित भई सार्वजनिक खेलकुद कोर्टमा शरण लिइरहेको देखाइएको छ । पर्ल नदीको सहायक नदीहरूमा सोमबार बिहान चेतावनी सीमाभन्दा पाँच दशमलव आठमाथि बाढी आउने सिसिटिभीले रिपोर्ट गरेको छ । रासस

  • श्रीलंकामा भिडमा गुड्यो कार, कम्तिमा ७ जनाको मृत्यु

    श्रीलंकामा भिडमा गुड्यो कार, कम्तिमा ७ जनाको मृत्यु

    काठमाडौं । श्रीलंकामा खेल प्रतियोगिताको क्रममा एउटा कार मानिसहरुको भिडमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । टाइम म्यागेजिनको अनलाइन संस्करणका अनुसार यो दुर्घटना राजधानी कोलम्बोबाट करिब १८० किलोमिटर पूर्वमा पर्ने दियातालावा भन्ने शहरमा आइतबार भएको हो । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन । श्रीलंकाको सैनिक एकेडेमीमा आयोजित प्रतियोगिता हेर्दा करिब ४५ हजार दर्शक सहभागी थिए ।

    श्रीलंका सैनिक र श्रीलंका अटोमोबाइल स्पोर्ट्सले प्रतियोगिता आयोजना गरेका थिए । यो घटनापछि प्रतियोगिता रोकिएको थियो । प्रहरी प्रवक्ताले एउटा कार ट्र्याक छोड्दै कार्यक्रमका दर्शक र खेल अधिकारीहरुको भीडमा ठोक्किएको बताए । उनका अनुसार चार अधिकारीसहित सात जनाको दुर्घटनामा मृत्यु भएको छ । घाइते २० जनाको उपचार अस्पतालमा भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

  • थाई र म्यानमार सीमामा किन भइरहेको छ झडप ?

    थाई र म्यानमार सीमामा किन भइरहेको छ झडप ?

    काठमाडौं । एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबिच थाइल्यान्डको सीमा नजिकैको एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्र नजिकै पुनः झडपहरू सुरु भएको एक सशस्त्र समूहका प्रवक्ता र थाई सेनाले शनिबार बताएका छन् । सन् २०२१ मा सेनाले लोकतान्त्रिकरूपमा निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यान्मा द्वन्द्वको चपेटामा परेको छ । यसै महिनाको प्रारम्भमा म्यान्माको व्यापारिक केन्द्र म्यावाडी वरपर भीषण लडाइँ सुरु भएको थियो र सेना सहरमा आफ्नो स्थितिबाट पछि हट्न बाध्य भएको थियो ।

    गत साता यस क्षेत्र अधिकांश शान्त रहेको थियो र स्थानीय बासिन्दाले कुनै लडाइँ नभएको बताएका थिए । यद्यपि एउटा क्षेत्रीय गुटले शुक्रबार जारी स्थितिमाथि ‘गहिरो चिन्ता’ व्यक्त गरेको थियो । जुन्ताविरोधी करेन नेसनल युनियन ९केएनयु० का अनुसार पहिलेका झडपहरूमा केही सैनिकले म्याडवाड्डीलाई थाई सहर माई सोटसँग जोड्ने एउटा पुलमुनि शरण लिएका थिए । केएनयुका प्रवक्ता पडोह साव ताव नीले म्यावाडीमा समूहले जुन्ताविरुद्ध लडिरहेको पुष्टि गर्नुभयो । यद्यपि उहाँले थप विवरण दिनुभएन ।

    शनिबार बिहान सीमामा तैनाथ थाई सेनाको एउटा एकाइले पुलमुनि जुन्ता सैनिकलाई निशाना बनाउने बलहरूसँग झडप भइरहेको बताएको छ । राजम्नु स्पेसल टास्क फोर्सले फेसबुकमा भनेको छ, “अहिले लडाइँ जारी छ, कुनै क्षतिको जानकारी प्राप्त भएको छैन ।”

    दोस्रो मैत्रीपूर्ण पुलमुनि सशस्त्र बलहरूले सैनिकहरूविरुद्ध ‘ड्रोन’ तैनाथ गरेको राजम्नु स्पेसल टास्क फोर्सले बताएको छ । नगदको अभावमा रहेको म्यान्माको सेनाका लागि म्यावाडी प्रमुख व्याापरिक विन्दु हो । थाई टास्क फोर्सले पुल बन्द भएको पुष्टि गर्दै त्यहाँ आफ्ना सैनिक उभिएको बताएको छ ।

    थाई विदेशमन्त्री पर्नप्री बहिधा–नुकाराले ट्विट गर्दै शुक्रबार राति भएको झडपको रिपोर्टपछि स्थितिलाई नजिकबाट नियालिरहेको बताउनुभएको छ ।

    व्यापारिक सहर म्यावाडीका पोस्टहरूबाट सैनिकहरूलाई हटाउने निर्णय जुन्ताका लागि ठूलो झट्का थियो । यसबाट हालका महिनामा जुन्ताले धेरै घाटा बेहोर्नुपरेको छ । जुन्ताका लागि म्यावाडी विशेष महत्त्वपूर्ण छ । यहाँबाट अप्रिलसम्मको १२ महिनामा एक अर्ब १० करोड डलरभन्दा बढीको व्यापार भएको थियो ।

    म्यावाडीका एक ट्रक चालकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा आफूले झडपहरूको आवाज सुनेको बताउनुभयो । “लडाइँ सहरमा नभएर सहरबाहिर भएको छ, हामीले अहिलेसम्म केही सुनेका छैनौँ ।” स्थानीय थाई मिडियाले शनिबार बिहानै थाइल्यान्डमा प्रवेश गर्नका लागि लाइनमा उभिएका मानिसहरूको भिडियो साझा गरेका थिए । राससएएफपी

  • भारतमा पहिलो चरणको निर्वाचन सम्पन्न

    भारतमा पहिलो चरणको निर्वाचन सम्पन्न

    काठमाडौं । भारतमा सात चरणमा हुने आमचुनावको पहिलो चरण सम्पन्न भएको छ। छ सातासम्म चल्ने यो चुनावमा पहिलो दिन मत खसाल्न लाखौँ मानिस पुगेका थिए भने प्रारम्भिक विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको छ। हिंसाका छिटपुट घटनाबाहेक समग्रमा देशैभरि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको अधिकारीहरूले बताएका छन्। दिल्लीमा रहेकी बीबीसीकी समिरा हुसैनले चुनाव बृहत् भएको बताइन्। उनले भनिन्, ‘भारतमा मतदान यति ठूलो कार्य हुनुका विभिन्न कारणमध्ये जनसङ्ख्या धेरै हुनुमात्रै नभई देश ठूलो हुनु पनि हो र देशभित्रै पनि धेरै विविधता छन्।’

    लोकसभा चुनाव शुक्रवार बिहान सात बजेबाट सुरु भएको थियो। सात चरणमा हुने यो निर्वाचन अन्तर्गत पहिलो चरणमा १०२ सिटका लागि मतदान भएको हो। निर्वाचनलाई संसारकै हालसम्मको सबैभन्दा ठूलो चुनाव भनिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि चुनिने लक्ष्य राखेका छन्। मोदीलाई चुनौती दिन कैयौँ विपक्षी दलहरूले मिलेर गठबन्धन बनाएका छन्।

    चुनावको परिणाम जून ४ मा घोषणा गरिनेछ। भारतको संसद् दुई सदनात्मक छ। तल्लो सदनलाई लोकसभा र माथिल्लो सदनलाई राज्यसभा भन्ने गरिएको छ। शुक्रवार लोकसभाका सदस्यहरू चुन्नका लागि मतदान हुन लागेको हो। भारतमा बसोबास गरिरहेका १८ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिहरू मत दिनका लागि योग्य छन्। चुनाव जित्नका लागि गठबन्धनलाई ५ सय ४३ सदस्य रहेको सदनमा २७२ सीट आवश्यक पर्छ।

    अघिल्लो चुनावमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी ९बीजेपी० ले ३०३ सिट ल्याएको थियो। अहिले उसले लगातार तेस्रो कार्यकाल निर्वाचित हुने लक्ष्य लिएको छ। कंग्रेससहित दूई दर्जनभन्दा बढी दल मिलेर इन्डिया गठबन्धन निर्माण गरेका छन् र उनीहरूले मोदीलाई चुनौती दिइरहेका छन्। सन् २०१४ मा बीजेपीको उदय हुनुअघि ६० वर्षसम्म भारतको राजनीतिमा कंग्रेसको दबदबा थियो।

    पहिलो चरणको चुनाव अन्तर्गत २१ वटा राज्य र केन्द्र शासित प्रदेशका १०२ सीटमा मतदान हुन लागिरहेको छ। यो चरणमा मोदीको मन्त्रिमण्डलका ८ सदस्य, ३ पूर्व मुख्य मन्त्री र एक पूर्व राज्यपाल चुनावी मैदानमा छन्। पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड , रास्थान, सिक्किम, तामिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखन्ड, पश्चिम बङ्गाल, अंडमान निकोबार, जम्मू र कश्मीर अनि लक्षद्वीप र पुद्दुचेरीमा मतदान भइरहेका छन्।

    तामिलनाडुका सबै ३९ सीटमा मतदान भइरहेको छ। राजस्थानका १२, उत्तर प्रदेशका ८, महाराष्ट्रका ५ र बिहारका ४ सीटमा पहिलो चरणमा मतदान हुँदैछ। भारतको निर्वाचन प्रक्रिया लामो, विशिष्ट र रोमाञ्चक रहने कैयौँले बताउने गरेको पाइन्छ। त्यहाँ योग्य मतदाताको सङ्ख्या नै ९६ करोड ९० लाख रहेको छ जुन संसारकै सबैभन्दा ठूलो सङ्ख्या हो। निर्वाचनका लागि १५ लाख मतदान केन्द्र स्थापना गरिएको छ र ५५ लाख विद्युतीय भोटिङ मसिन जडान गरिएका छन्।

    निर्वाचन आयोगले १ करोड ५० लाख निर्वाचन र सुरक्षा अधिकारीलाई तालिम दिएर खटाइएको र उनीहरूको आवतजावतका लागि ४ लाख सवारी साधन प्रयोग गरिने जनाएको छ। अधिकारीहरूले दोस्रो चरणको मतदान ८८ सीटका लागि एप्रिल २६ मा हुने जनाएका छन्। भारत संसारकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो। त्यहाँका २८ राज्य र ८ केन्द्र शासित भूभागहरूका प्रत्येक योग्य मतदाताले भोट खसाल्ने अवसर पाउनेछन्।

    यो अभ्यास डेढ महिनासम्म चल्नेछ र चुनावलाई योजनाबद्ध र शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्न व्यापक तयारीहरू आवश्यक पर्छ। साना राज्यहरू र सङ्घले शासन गरिरहेका भूभागमा एक दिनमै मतदान सम्पन्न हुनेछ। कतिपय ठूला राज्यहरूमा दुईदेखि चार दिनसम्म मतदान चल्नेछ। ठूलो जनसङ्ख्या भएका उत्तर प्रदेश, बिहार र पश्चिम बङ्गालमा सातै चरणमा मतदान हुनेछ।

    BBC

  • इजरायलबाट इरानमा मिसाइल हानियो

    इजरायलबाट इरानमा मिसाइल हानियो

    काठमाडौं । अमेरिकाका अधिकारीहरुले इसराइलबाट ईरानमा मिसाइल प्रहार भएको जानकारी गराएका छन् । यसको पुष्टी ईरानका सरकारी सञ्चारमाध्यमले समेत गराएका छन् । उनीहरुका अनुसार इरानको एयर डिफेंस सिस्टमलाई विभिन्न प्रान्तमा सक्रिय बनाइएको छ । ईरानको एक समाचार एजेंसीलाई उदृत गर्दै बीबीसीले लेखे अनुसार ईरानको उत्तर–पश्चिमी शहर इस्फ़हानमा शुक्रवार बिहान ठूलो विष्फोटको आवाज आएको थियो ।

    समाचार एजेंसी एपीका अनुसार इरानका कतिपय शहरमा हवाई उडान रद्द गरिएको छ । यसमा तेहरान, शिराक्स र इस्फ़हान छन् । यसअघि ईरानक्ँ विदेश मंत्री हुसैन अमीर अब्दुल्लाह्यानले इजरायलको तर्फबाट कुनै हमला भए त्यसको उच्चस्तरबाट जवाफ दिने बताएका थिए । गत आइतबार इरानले इजरायलको भूमीतर्फ ड्रोन र मिसाइल हानेको थियो । दुई शक्तिशाली मुलुकबीच बढ्दो तनावका बीच मध्यक्षेत्रमा अशान्ती बढेको छ ।

  • भारतमा आजबाट लोकसभा निर्वाचन, मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा

    भारतमा आजबाट लोकसभा निर्वाचन, मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा

    काठमाडौं । भारतमा लोकसभा चुनाव आजबाट सुरु हुँदैछ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदानको कार्यक्रम राखिएको छ । पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात सदस्य र तीन पूर्व मुख्यमन्त्री तथा एक पूर्व राज्यपाल चुनावी भिडन्तमा उत्रिएका छन् ।
    पहिलो चरणमा अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालयमा मतदान छ ।

    मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अंडमान निकोबारमा पनि आजै मतदान हुने भएको छ । पहिलो चरणमा चुनाव हुने अन्य क्षेत्रमा जम्मु(कश्मीर, लक्षद्वीप, पुडुचेरी छन् । कुल २१ राज्यबाट पहिलो चरणको चुनावमा १०२ लोकसभा सदस्य चयन हुनेछन् ।

    पहिलो चरणमा उत्तर प्रदेशको आठ सिट, पश्चिम बंगलाको तीन सिट, महाराष्ट्रको पाँच सिटमा चुनाव छ । यस्तै, छत्तीसगढको एक, राजस्थानको १२, मणिपुरको २ र तमिलनाडुको ३९ सिटमा चुनाव छ । यता उत्तराखण्डको पाँच सिटमा, अरुणाचलको २ सिट र मेघालयको २ सिटमा पनि चुनाव छ । पुडुचेरी र सिक्किममा पनि पहिलो चरणमा एक–एक सिटका लागि मतदान छ । यो चुनावपछि प्रधानमन्त्री मोद ितेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको दावेदार छन् ।

  • खाडी मुलुकमा भिषण वर्षा र बाढी, व्यापक क्षति

    खाडी मुलुकमा भिषण वर्षा र बाढी, व्यापक क्षति

    काठमाडौं । खाडी देशहरूमा परेको भारी वर्षाको मारले घातक आकस्मिक बाढी आउनुका साथै विश्वको दोस्रो व्यस्त विमानस्थलमा उडानहरूमा असर पारेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलले आफूले निकै चुनौतिपूर्ण अवस्था सामना गरिरहेको जनाएको छ। विमानस्थल क्षेत्रमा पानीको भेल पसेकाले विमानस्थलले केही यात्रुहरूलाई त्यहाँ आइनहाल्न भनेको छ।

    त्यहाँ अचानक आएको बाढीमा आफ्नो कार परेपछि एकजनाले ज्यान गुमाएका छन्। ओमानमा आइतवारयता पछिल्लो विपद्‍मा परेर १९ जनाको मृत्यु भएको विवरण छ। बुधवार दुबईका लागि र त्यहाँबाट उड्ने तय गरिएका झण्डै २९० उडानहरू रद्द गरिएको फ्लाइट अवेर डेटाले साँझको जीएमटी समय ९ बजे जनाएको छ।

    उसको विवरणमा थप ४४० उडानहरू थप ढिलो भइरहेको उल्लेख छ। दुबई विमानस्थल सबै महादेशहरू जोडिने उडानको एउटा मुख्य केन्द्रका रूपमा छ। गत वर्ष मात्र उक्त विमानस्थललाई ८ करोड यात्रुहरूले प्रयोग गरेका थिए जुन अमेरिकाको एट्लान्टापछि दोस्रो हो। विमानस्थलले सामान्य अवस्थामा फर्कन केही समय लाग्ने भन्दै सजग गराएको छ। उसको पछिल्लो सूचनामा विमान कम्पनीहरूसँग पुष्टि नगरीकन विमानस्थलको टर्मिनल वानको प्रयोग र विमानस्थलतर्फ अनावश्यक यात्रा नगर्न भनिएको छ।

    दुबईमा मुख्यालय रहेको एउटा प्रमुख अन्तर्राष्ट्रिय एअरलाइन इमिरेत्सले बिहीवारसम्मका लागि सहर छाड्ने यात्रुहरूको चेक इन रद्द गरेको थियो। अधिकारीहरूले थप चट्याङ, ठूलो वर्षा र शक्तिशाली हुरीको पूर्वानुमान रहेको भन्दै चेतावनी दिएका छन्। त्यहाँका कैयौँ तल्लो तटीय क्षेत्र अझै डुबानमा छन्। ओमानको उत्तरी छिमेकी यूएईले मङ्गलवार सामना गरेको वर्षा विवरण राख्न थालिएको ७५ वर्ष यताकै सबैभन्दा ठूलो हो।

    त्यहाँको मौसम निकायले यूएईको अल-अइन क्षेत्रको एक स्थानमा २४ घण्टाभन्दा कम अवधिमा २५४.८ मिलिमिटर वर्षा भएको उल्लेख गरेको छ। यूएईमा वर्षेनी औसत १४०.२०० मिलिमिटर र दुबईमा सामान्यतः वार्षिक ९७ मिलिमिटर वर्षा हुन्छ । यसअघि त्यहाँको एप्रिल महिनाको औसत वर्षा झण्डै ८ मिलिमिटर रहेको थियो। मध्य दुबईबाट लिइएका भिडिओहरूमा शेख जयेद रोडको डुबान क्षेत्रमा दर्जनौँ गाडीहरू जलमग्न अवस्थामा देखिन्छन्। अन्यत्रका १२ लेन फराकिला सडकमा समेत लामो ट्राफिक जाम देखिन्छ।

  • पाकिस्तानमा बाढी र पहिरोको वितण्डा, कम्तिमा ६३ जनाको मृत्यु

    पाकिस्तानमा बाढी र पहिरोको वितण्डा, कम्तिमा ६३ जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानमा चार दिनदेखिको वर्षा र त्यसपछि आएका विपदजन्य घटनामा मृत्यु हुनेको संख्या ६३ पुगेको छ। मंगलबार मात्रै त्यहाँ १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। उत्तरपश्चिम खिबर पख्तुनख्वा प्रान्तमा ३२ जना, पञ्जाबमा २१ जना र बलुचिस्तानमा १० जनाको मृत्यु भएको समाचार संस्था एशोसियट प्रेसले उल्लेख गरेको छ। खिबर पख्तुनख्वा प्रदेशमा चार दिन देखि खराब मौसम र त्यसपछि आएका बाढी पहिरोले १ हजार भन्दा बढी घरहरूमा क्षती पुर्‍याएको विपद व्यवस्थापन विभागका प्रवक्ता खुर्शीद अन्सारीले बताएका छन्।

    कश्मिरमा पनि भारी वर्षा भएको छ। कराँची लगायतका कैयौं सहरहरूमा भारी वर्षाको नयाँ चरण सुरू हुने पूर्वानुमान त्यहाँको मौसम विभागले गरेको छ।
    उद्धार कार्यका लागि टोलीहरू खटाइए पनि अत्यधिक खराब मौसमका कारण उद्धार कार्य सहजताका साथ हुन सकिरहेको छैन। बलुचिस्तानमा अघिल्लो वर्षको यही महिनाको तुलनामा यसपालि ३५३ प्रतिशत बढी पानी परेको र देशभर ९९ प्रतिशत बढी पानी परेको एपीले उल्लेख गरेको छ।


    यसको कारण जलवायु परिवर्तन भनिएको छ। २०२२ मा बाढी पहिरा लगायत विपदका घटनामा १ हजार ७३९ मानिसहरूको मृत्यु भएको थियो। पाकिस्तानको छिमेकी मुलुक अफगानिस्तानमा पनि भारी वर्षा भएको जनधनको क्षति भएको बताइएको छ।

  • हिजबुल्लाहले इजरायलमा गर्यो हमला, क्षति भने न्यून

    हिजबुल्लाहले इजरायलमा गर्यो हमला, क्षति भने न्यून

    काठमाडौं । लेबनानको सैन्य समूह हिजबुल्लाहले उत्तरी इसराइलमा मिसाइल र ड्रोन हमला गरेको छ। बुधबार हिजबुल्लाहले इसराइलको उत्तरी भूभाग अरब अल अरमशीको बेदोइनमा रहेको सैन्य अड्डामा हवाई हमला गरेको हो। समाचार संस्था रोयटर्सका अनुसार उक्त हमलामा परी १४ जना इसराइली सेना घाइते भएका छन्।

    इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले पनि लेबनानबाट हिजबुल्लाहले इसराइलमाथि आक्रमण गरेको पुष्टि गरेको छ। हिजबुल्लाहले उक्त हमलालाई मंगलबार इसराइलले मंगलबार लेबनानमा गरेको आक्रमणको जबाफ भनेको छ।इसराइलको उक्त आक्रमणमा हिजबुल्लाहको फिल्ड कमाण्डरसहित ३ लडाकुको मृत्यु भएको थियो।


    हिजबुल्लाहको आक्रमणबाट घाइते भएका १४ इसराइली सैनिकमध्ये ६ जनाको अवस्था गम्भीर रहेको रोयटर्सले उल्लेख गरेको छ। हिजबुल्लाह र इसराइलबीच ६ महिनादेखि आक्रमण प्रत्याक्रमण भइरहेको छ। इसराइलले गजामा लगातार हमला गर्न थालेपछि इसराइलमाथि दबाब बढाउन हिजबुल्लाहले लेबनानबाट आक्रमण गरिरहेको छ।

    इसराइलको जवाफी आक्रमणमा अहिलेसम्म त्यहाँ ३७० जना मारिएको रोयटर्सले उल्लेख गरेको छ। जसमध्ये २४० जना हिजबुल्लाह लडाकु र ६८ जना लेबनानी नागरिक रहेका छन्। हिजबुल्लाहको आक्रमणमा १८ जना इसराइली सैनिक मारिएको बताइएको छ।