Category: विश्व

  • भारतमा माओवादी र प्रहरीबीच झडप, कम्तिमा २९ हताहती भएको सुरक्षाकर्मीको दावि

    भारतमा माओवादी र प्रहरीबीच झडप, कम्तिमा २९ हताहती भएको सुरक्षाकर्मीको दावि

    काठमाडौं । भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ । यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरुले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरुलाई बधाई दिएका छन् ।

    छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो । सुरुमा प्रहरीले १८ जना माओवादी मारिएको जानकारी दिएको थियो । पछि फेरि प्रहरीले विज्ञप्ति जारी गरी २९ जना माओवादीको शव बरामद भएको र ३ जना प्रहरी घाइते भएको जानकारी दिएको हो ।

    बस्तर क्षेत्रमा १९ अप्रिलमा लोक सभा निर्वाचन हुनुअघि माओवादीहरु मारिएका हुन् । लोक सभा चुनाव बहिस्कार गर्न माओवादीले अपिल गरेको थियो । भारतको केन्द्रीय गृहमन्त्री अमित शाहले छत्तीसगढमा माओवादीलाई मार्न सफल भएको भन्दै प्रहरीलाई बधाई दिएका छन् । उनले भनेका छन्, ‘आज छत्तीसगढमा सुरक्षा बलको अपरेसनमा ठूलो संख्यामा नक्सली मारिएका छन् । यो अपरेसनलाई सफल बनाउने सबै सुरक्षाकर्मीलाई बधाई दिन्छु र वीर प्रहरीहरु घाइते छन्, उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

    नक्सलवाद विकास, शान्ति र युवाहरुको उज्ज्वल भविष्यको सबैभन्दा ठूलो दुश्मन भएको भन्दै गृहमन्त्री शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशलाई नक्सलवादीहरुको आतंकबाट मुक्त गर्ने संकल्प लिइएको जानकारी पनि गराएका छन् । उनले भारत छिट्टै नक्सलवादीबाट मुक्त हुने पनि बताएका छन् ।

    छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव सायले यो घटनालाई इतिहासकै सबैभन्दा ठूलो सफलता भनेका छन् । भारतीय प्रहरीका आईजी पी सुन्दरराजका अनुसार प्रहरी कारबाहीमा भारतीय माओवादी नेताहरु शंकर राव, ललिता माडवीसहित २९ जना माओवादीहरु मारिएका छन् । भारत सरकारले शंकर राव र ललिता माडवीको टाउकोको मूल्य २५–२५ लाख भारतीय रुपैयाँ तोकेको थियो । प्रहरीका अनुसार एके फोर्टिसेभेन, एन्सास, कार्बाइन लगायतका हतियारहरु पनि बरामद भएका छन् ।

  • इरानले इजरायलमा थाल्यो आक्रमण, ड्रोन र क्षेप्यास्त्र प्रहार

    इरानले इजरायलमा थाल्यो आक्रमण, ड्रोन र क्षेप्यास्त्र प्रहार

    काठमाडौं । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला थालेको छ । इजरेली सेनाका अनुसार तेहरानले इजरेलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरिएको छ । ती धेरैजसोलाई निस्तेज पारिएको सेनाले जनाएको छ । मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन्। इरानको रिभोल्युशनरी गार्डस्‌ले एक विज्ञप्तिमार्फत ती हमलालाई इजरेली अपराधको जबाफ बताएको छ।

    जसमा उसले एप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलले दिने जबाफबारे छलफल गर्न वार क्याबिनेटको बैठक बोलाएका छन्। यसअघि इजरेल डिफेन्स फोर्सेस आईडिएफले तेहरानले ूअवस्थालाई थप चर्काउन खोजेकाले नतिजा झेल्नुपर्ने चेतावनी दिएको थियो। इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरेली जबाफ वा अमेरिकाको अन्य कुनै संलग्नताविरुद्ध चेतावनी दिएको छ।


    इजरेली सेनाले दक्षिणी इजरेलको एक सैन्य शिविरमा सामान्य क्षति भएको जनाएको छ। एम्बुलेन्स सेवाले विस्फोटनका क्रममा खसेको टुक्रा लागेर एक जना दश वर्षीया बालिका घाइते भएको जनाएको छ। एउटा पछिल्लो विज्ञप्तिमा आइडिएफले धेरैजसो हमलालाई आफ्नो एरो हवाई प्रतिरक्षा प्रणाली र उक्त क्षेत्रमा रहेका आफ्ना रणनीतिक साझेदारहरूसँगको साथमा इजरेली भूमि पार गर्नु अगावै निस्तेज पारिएको जनाएको छ।

    आइडिएफ प्रवक्ताले केही इरानी क्षेप्यास्त्र इजरेलमा खस्दा एक सैन्य केन्द्रमा थोरै क्षति भएको बताए तापनि त्यसबारे थप खुलाएनन्। इजरेलको हवाई प्रतिरक्षा प्रणालीले आकाशमा क्षेप्यास्त्रहरू रहेको थाहा पाएपछि जेरुसेलममा साइरनहरू बजेका थिए। अमेरिकी राष्ट्रपति जो बाइडन सप्ताहन्तको बिदा छोट्याउँदै आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार र मन्त्रीहरूलाई भेट्न ह्वाइट हाउस फर्केका छन्। ह्वाइटहाउसको सिचुएसन रुमुमा भएको बैठकको तस्बिरसहित उनले इरान र उसका प्रोक्सीबाट हुने जोखिमसँग जुझ्नका लाग इजरेलप्रतिको वासिङ्टनको प्रतिबद्धता फलामे कवच जस्तो रहेको बताएका छन्।

    अमेरिकी अधिकारीहरूका अनुसार इरानले प्रहार गरेका केही ड्रोनलाई निस्तेज पार्न अमेरिकी लडाकु जेटहरू समेत संलग्न भएका थिए। इजिप्टले आफ्नो हवाई प्रतिरक्षालाई अधिकतम सजग अवस्थामा राखेको जनाएको छ। कायरोले उक्त क्षेत्र र त्यहाँका मानिसहरूलाई अधिकतम रूपमा संयमित रहन आह्वान गरेको छ। ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले इरानी हमलालाई लापरबाही भन्दै निन्दा गरेका छन्। उनले इरानलाई आफै पछाडि भद्रगोल सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

    फ्रान्सले समेत इरानको निन्दा गर्दै उसको कदम अस्थिरताको नयाँ विन्दुमा पुगेको भन्दै चेतावनी दिएको छ। राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरसले आफू क्षेत्रीय रूपमा चर्कने अवस्थाको निकै वास्तविक खतरालाई लिएर गहिरो चिन्तामा परेको बताउँदै सबै पक्षलाई अधिकतम संयम अपनाउन आह्वान गरेका छन्।

    BBC

  • अष्ट्रेलियामा अन्धाधुन्ध चक्कु प्रहारबाट कम्तिमा ५ जनाको हत्या

    अष्ट्रेलियामा अन्धाधुन्ध चक्कु प्रहारबाट कम्तिमा ५ जनाको हत्या

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित एक सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहारबाट पाँच जनाको हत्या भएको छ। शनिबार स्थानीय समयअनुसार अपराह्न ३ बजेपछि सिड्नीको वेस्टफल्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा पाँच जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। त्यस्तै ९ महिनाका एक बालकसहित ८ जना घाइते भएको र उनीहरुलाई सिड्नीको विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको घटनापछि आयोजित प्रेस ब्रिफिङमा न्यू साउथ वेल्सका सहायक कमिश्नर एन्थोनी कुकले भने।

    उनीहरूको अवस्था गम्भीर रहेको पनि सहायक कमिश्नर कुकलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनामा मृत्यु भएकाहरूको परिचय खुलिसकेको छैन। छुरा प्रहारको घटनापछि प्रहरीले अभियुक्तलाई गोली हानी मारेको छ। बिबिसीका अनुसार छुरा प्रहार गर्ने व्यक्ति अपराह्न ३ः१० बजे सपिङ मलमा प्रवेश गरेका थिए। सपिङ मलमा प्रवेश गरेको १० मिनेटमै अर्थात ३ः२० बजे मलबाट बाहिरिएका थिए।

    संदिग्ध व्यक्ति बाहिरिएपछि मलबाट सयौं मानिसहरू आत्तिँदै बाहिर निस्किएका थिए। छुरा प्रहार भएको सूचनापछि उपस्थित भएको प्रहरीले त्यहाँबाट सयौं मानिसहरूलाई बाहिर निकालेको थियो। सपिङ मल परिसरमा दर्जनौंको संख्यामा एम्बुलेन्स तैनाथ राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ।

  • रुस र युक्रेन जान नेपालीले श्रम स्वीकृति नपाउने

    रुस र युक्रेन जान नेपालीले श्रम स्वीकृति नपाउने

    काठमाडौं । सरकारले युद्धरत रुस र युक्रेन जान नेपालीहरुलाई श्रम स्वीकृति नदिने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार सूचना निकालेर श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

    श्रम स्वीकृति दिँदा युद्धरत देशको सेनामा सहभागी हुनसक्ने र त्यसबाट सृजना हुनसक्ने मानवीय जोमिखलाई हेरेर अर्को व्यवस्था नभएसम्म रुस र युक्रेन जाने नेपाली कामदारलाई पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगत गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

  • भियतनाममा अर्बपति महिलामाथि किन सुनाइयो मृत्युदण्डको सजाय ?

    भियतनाममा अर्बपति महिलामाथि किन सुनाइयो मृत्युदण्डको सजाय ?

    काठमाडौं । भियतनाममा एक अर्बपति महिला व्यवसायी ट्रूङ मी लानमाथि मृत्युदण्डको सजाय सुनाइएको छ । यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो ब्याङ्क ठगीसँग सम्बन्धित छ। ६७ वर्षीया महिला घरजग्गा कारोबारी हुन्। अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनायो। यो दुर्लभ फैसला हो। भियतनाममा कुनै वित्तीय अपराधमा महिलालाई पहिलो पटक मृत्युदण्ड सुनाइएको हो।

    लानले साइगन कमर्शल ब्याङ्क .(एससीबी) बाट ४४ अर्ब डलर ऋण लिएको दाबी गरिएको छ । अदालतले उनलाई २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको छ। तर अभियोजनकर्ताहरूले त्यो रकमध्ये २७ अर्ब डलर कहिल्यै पनि उठ्न नसक्ने आशङ्का व्यक्त गरेका छन्। केही व्यक्तिले हराइरहेको रकम फेला पार्न उनलाई दबाव दिने उद्देश्यले उनलाई मृत्युदण्डको सजाय सुनाइएको अनुमान गरेका छन्।


    प्रायः गोप्यता राख्न रुचाउने कम्युनिस्ट अधिकारीहरूले यो मुद्दाबारे धेरै कुरा सार्वजनिक गरेका छन्। यो मुद्दामा २,७०० जनासँग बयान लिइएको बताइएको छ। यो मुद्दामा १० सरकारी अभियोजक र झन्डै २०० वकिल संलग्न थिए। प्रमाणहरू १०४ वटा बाकसमा राखिएका छन्। तिनको तौल छ टन छ। ट्रूङ मी लानसहित ८५ जनालाई प्रतिवादी बनाइएको थियो। उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेकी थिइन्।

    उनीसहित १४ जनालाई मृत्युदण्ड माग गरिएको थियो। “यसरी कम्युनिस्ट शासनकालमा सार्वजनिक रूपमा यो स्तरमा प्रचार गरेर विगतमा कहिल्यै पनि सुनुवाइ भएको थिएन,” अमेरिकी विदेश मन्त्रालयका अवकाशप्राप्त अधिकारी डेभिड ब्राउन भन्छन्। यसलाई कम्युनिस्ट पार्टीका महासचिव नुइन फू चानको नेतृत्वमा अघि बढाइएको भ्रष्टाचारविरोधी अभियानको सबैभन्दा नाटकीय अध्याय मानिएको छ।

    यी महिलाले आफ्नी आमासँगै बजारमा शृङ्गारका सामान बेचिन्। कम्युनिस्ट पार्टीले दोई मोई नामक आर्थिक सुधार थालेदेखि सन् १९८६ मै उनी घरजग्गा किन्न थालिन्। सन् १९९० को दशकमा धेरै होटल र रेस्टुराँहरू उनको स्वामित्वमा थिए। ट्रुङ मी लान सन् २०११ सम्म हो ची मिन्ह सिटीमा चर्चित व्यापारीका रूपमा स्थापित भइसकेकी थिइन्। उनले आर्थिक सङ्कट खेपेका तीनवटा साना ब्याङ्क गाभेर एउटा ठूलो ुसाइगन कमर्शल ब्याङ्कु बनाउने अनुमति पाएकी थिइन्।

    भियतनामको कानुनले कुनै पनि व्यक्तिलाई कुनै पनि ब्याङ्कमा पाँच प्रतिशतभन्दा बढी शेअर राख्न प्रतिबन्ध लगाउँछ। तर अभियोजकहरूका अनुसार सयौँ ुशेल कम्पनीु खडा गरेर र नक्कली मानिसहरू उभ्याएर उनले साइगन कमर्शल ब्याङ्कको ९० प्रतिशत भन्दा बढी स्वामित्व आफूसँग राखेकी थिइन्।

    लिइएको ऋणको परिमाण पनि छक्क पार्ने खालको छ। सो ब्याङ्कले प्रवाह गरेको ऋणको ९३ प्रतिशत उनले लिएको देखिन्छ। अभियोजकहरूका अनुसार सन् २०१९ को फेब्रुअरीदेखि तीन वर्षको अवधिमा उनले आफ्ना चालकलाई चार अर्ब डलरभन्दा बढी रकम ब्याङ्कबाट निकाल्न लगाएकी थिइन्। त्यो रकम उनको घरको भुइँतलामा थुपारिएको थियो। भियतनामको सबैभन्दा ठूलो ब्याङ्क नोटबाट त्यति रकम निकाल्दा पनि त्यसको कुल तौल दुई टन हुने बताइन्छ।

    आफ्नो ऋणमाथि कहिल्यै पनि अनुसन्धान नगरियोस् भन्ने सुनिश्चित गर्न घुस खुवाएको आरोप पनि उनीमाथि छ। केन्द्रीय ब्याङ्कका एक प्रमुख निरिक्षणकर्तालाई पनि उनीसँग मिलेमतो गरेको अभियोग लागेको छ। उनले ५० लाख डलर घुस लिएको भन्दै आजीवन कारावासको सजाय माग गरिएको छ।

    बीबीसी

  • मेडियम वाइ बन्यो नेपालमा गुगलको आधिकारिक प्रतिनिधि

    मेडियम वाइ बन्यो नेपालमा गुगलको आधिकारिक प्रतिनिधि

    काठमाडौं । अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रूपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्नेछ । कम्पनीले स्थानीय विज्ञापनदाताका लागि सर्च इन्जिन, युट्युब र डिस्प्लेलगायतका सेवासम्बन्धी सेवा प्रदान गर्नेछ ।

    लक्षित उपभोक्तामा विज्ञापनको पहुँच बढाउनका लागि प्रभावकारी अभियान सञ्चालन गर्न पनि विभिन्न सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । गुगलमा प्रयोगकर्ताले प्रत्येक दिन अर्बौँ पटक विभिन्न कुरा खोजी गर्छन् । गुगल एडमार्फत विज्ञापनदाताले प्रयोगकर्ताका ती रुचि र आवश्यकताअनुसारका सूचना, उत्पादन र सेवाका माध्यमबाट उनीहरूसम्मको पहुँच स्थापित गर्नमा कम्पनीले सहयोगी भूमिका खेल्नेछ ।

  • भारतमा लगानी बिस्तारको योजना मस्क

    भारतमा लगानी बिस्तारको योजना मस्क

    न्यूयोर्क । टेस्ला कम्पनीका मालिक एलन मस्क भारतमा लगानी बिस्तारको योजनामा छन् । सोही क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने जानकारी गराएका छन् । सामाजिक सञ्जाल एक्समा एक पोष्ट जारी गर्दै उनले यस्तो जानकारी गराएका हुन् । मस्कले स्पेसमा समेत रकेट मार्फत यात्रा गराउने कम्पनी खोलेर काम थालिसकेका छन् ।

    अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मस्कले भारतमा ठूलो लगानी घोषणा गर्ने बताइएको छ । उनी २२ अप्रिलमा भारत भ्रमणमा आउने सम्भावना छ । मस्क र मोदीबीच यसअघि जुन २०२३ मा न्यूयोर्कमा भेट भएको थियो । भारत र यस आसपासमा विद्युतीय कारको बढ्दा मागलाई सम्बोधन गर्न मस्कले विद्युतीय कार निर्माण गर्ने प्लान्ट लगाउने सम्भावना छ ।

  • दक्षिण कोरियामा विपक्षी गठबन्धनको जित

    दक्षिण कोरियामा विपक्षी गठबन्धनको जित

    काठमाडौं । दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनले जित निकालेको छ । बुधबार ३०० सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टी (डीपी)सहितको गठबन्धनले १७५ सिट जितेको कोरियाका मिडियाहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ ।

    यसैगरी राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी (पीपीपी)ले १०९ सिट जितेको छ । दक्षिण कोरियामा बुधबार भएको निर्वाचनमा ६७ प्रतिशत भोट खसेको थियो । यो ३२ वर्षयताको सबैभन्दा धेरै हो । बिहीबार बिहान ६ बजेसम्म ९९ प्रतिशत मतगणना भइसकेको छ । विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन ।

  • युक्रेनस्थित ऊर्जा केन्द्रमा हमला, दुर्घटनाको खतरा बढेको राष्ट्रसंघको चेतावनी

    युक्रेनस्थित ऊर्जा केन्द्रमा हमला, दुर्घटनाको खतरा बढेको राष्ट्रसंघको चेतावनी

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय परमाणु निगरानी निकायले युक्रेनस्थित जापोरीजा ऊर्जा केन्द्रमा भएको नयाँ ड्रोन हमलाले ठूलो पारमाणविक दुर्घटना निम्त्याउने खतरा बढाएको चेतावनी दिएको छ। रुसले उक्त ड्रोन हमलामा युक्रेनको हात रहेको आरोप लगाएको छ। आक्रमणमा तीन जना घाइते भएको बताइएको छ। युक्रेनले चाहिँ उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

    अहिले रुसको कब्जामा रहेको ६ वटा रिएक्टरहरू भएको उक्त विशाल ऊर्जा केन्द्र दुई देशबीचको युद्धको अग्रपङ्क्तिमा छ। संयुक्त राष्ट्र सङ्घीय निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले बारम्बार यस्ता आक्रमणविरुद्ध चेतावनी दिँदै आएको छ। आईएईएका प्रमुख रफाएल ग्रोसीले आइतवारको ड्रोन हमलालाई उक्त ऊर्जा केन्द्रले खेपिरहेको लापरबाहीपूर्ण गतिविधि र पारमाणविक सुरक्षामा बढ्दो खतरा भनेका छन्।

    दक्षिणी युक्रेनस्थिति जापोरीजा ऊर्जा केन्द्र युरोपको सबैभन्दा ठूलो पारमाणविक ऊर्जा केन्द्र हो। रुसी फौजले सन् २०२२ को फेब्रुअरीमा युक्रेनविरुद्ध पूर्ण रूपमा आक्रमण सुरु गरेको केही दिनपछि नै उक्त केन्द्र आफ्नो नियन्त्रणमा लिएका थिए। अहिले पनि जापोरीजा परमाणु ऊर्जा केन्द्र रुसी नियन्त्रणमै रहेको छ।

    जापोरीजाबारे जानकारी भएका विज्ञहरूको टोलीसमेत रहेको आईएईएले पछिल्लो आक्रमणका कारण उक्त ऊर्जा केन्द्रमा एउटा रिएक्टरसहित भौतिक क्षति भएको पुष्टि गरेको छ। उक्त केन्द्रको रुसी प्रशासनले विकिरणको स्तर सामान्य रहेको र कुनै गम्भीर क्षति नभएको बताएको छ।

    आईएईएले आक्रमणबाट भएको क्षतिका कारण पारमाणविक सुरक्षामा सम्झौता नभएको बताएको छ। तर उसले यो रिएक्टरको नियन्त्रण प्रणालीलाई कमजोर पार्नसक्ने सम्भावित गम्भीर खालको घटना भएको चेतावनी दिएको छ। ग्रोसीले ऊर्जा केन्द्रको प्रमुख रिएक्टर नियन्त्रण संरचनामा कम्तीमा तीन पटक प्रत्यक्ष प्रहार भएको बताए।

    BBC

  • आइपीएल : चेन्नईसँग हार्यो कोलकाता

    आइपीएल : चेन्नईसँग हार्यो कोलकाता

    काठमाडौं । चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२४ मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । कोलकाताको यो पहिलो हार हो । १३८ रनको लक्ष्य चेन्नाइले १७।४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । चेन्नाइका कप्तान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौकासहित सर्वाधिक ६७ रनमा नट आउट रहे । रचिन रविन्द्र १५, डर्याल मिचेल २५ र शिवम दुबेले २८ रन बनाए । महेन्द्रसिंह धोनी १ रनमा नट आउट रहे ।

    कोलकाताका वैभव आरोराले २ र सुनिल नारायणले १ विकेट लिए । त्यसअघि चेन्नाइको घरेलु मैदानमा चेपौकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । पछिल्लो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध २७२ रन बनाएको कोलकाता चेन्नाइको बलिङसामु भने चल्न सकेको थिएन ।

    कोलकाताका कप्तान श्रेयस ऐरले सर्वाधिक ३४, सुनिल नारायण २७, रगुवंशी २४, आन्द्रे रसेल १० र रिंकु सिंह ९ रनमा आउट भए । चेन्नाइका तुषारदेशपाण्डे र रवीन्द्र जडेजाले ३–३ तथा मुश्ताफिजुर रहमानले २ र महेश थिक्सेनाले १ विकेट लिए । राजस्थान ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा छ । कोलकाता ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । चेन्नाइ ५ खेलमा ३ मा जित र २ मा हारसहित चौथो स्थानमा छ । लखनउ ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ । १० टोली सहभागी आईपीएलका शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

  • चीनमा डुब्यो डुंगा, ८ जना वेपत्ता

    चीनमा डुब्यो डुंगा, ८ जना वेपत्ता

    काठमाडौं । दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले जनाएको छ । ‘युएनन आओयु ३६०६२’ नामक माछा मार्ने डुङ्गा बुधबार मध्यरातमा लेदोङ काउन्टीको यिङगेहाई टाउनबाट २२ नटिकल माइल दक्षिणपश्चिममा पनामाको कन्टेनर जहाज ‘एसआईटीसी डानाङ’ सँग ठोक्किएको थियो ।

    पानीको मुनिका रोबोटहरू र टाढाबाट सञ्चालित पनडुब्बीजस्ता उन्नत प्रविधिहरूको सहयोगमा खोजी र उद्धार प्रयासहरू जारी रहेका छन् । माछा मार्ने डुङ्गा डुबेको स्थान शनिबार निर्धारण गरिएको थियो । तर, उक्त स्थानमा पानीको तीव्र बहाव र डुबेको जहाजको चारैतिर माछा मार्ने जालको कारण गोताखोरको खोजी तथा अभियानमा कठिनाइ भएको बताइएको छ । हराइरहेका व्यक्तिको खोजीका लागि शनिबार उद्धार डुङ्गा, हवाईजहाज र उद्धारकर्मी पठाइएको थियो । रासस र एएफपी

  • आइपीएलमा मुम्बईको पहिलो जित

    आइपीएलमा मुम्बईको पहिलो जित

    काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पहिलो जित निकालेको छ । मुम्बईले आइतबार दिल्ली क्यापिटल्सलाई २९ रनले हराउन सफल भयो । २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्कासहित ७१ रनमा नट आउट लेखे ।

    पृथ्वी शाले ४० बलमा ८ चौका र ३ छक्कासहित ६६, डेविड वार्नर १० र अभिषेक पोरेलले ४१ रन बनाए । मुम्बईका जेराल्ड कोट्जीले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । जस्प्रित बुमराहले २ र रोमारियो शेफर्डले १ विकेट लिए । त्यसअघि वानखडे स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएको थियो ।

    टिम डेविड २१ बलमा २ चौका र ४ छक्कासहित ४५ रनमा नट आउट रहे । रोमारियो शेफर्ड १० बलमा ३ चौका र ४ छक्कासहित ३९ रनमा नट आउट रहे । अन्तिम ओभरमा शेफर्डले एनरिच नोर्कियालाई ३२ रन हान्नु खेलको टर्निङ प्वाइन्ट बनेको थियो । रोहित शर्मा ४९, ईशान किशन ४२ र हार्दिक पान्ड्या ३९ रनमा आउट भए । दिल्लीका अक्षर पटेल र एनरिच नोर्कियाले २–२ विकेट लिए । खलिल अहमदले १ विकेट लिए ।

  • गाजा–इजरायल युद्धको ६ महिना पुरा, ठूलो मानवीय क्षति

    गाजा–इजरायल युद्धको ६ महिना पुरा, ठूलो मानवीय क्षति

    काठमाडौं । गाजाँसँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै इजरायलमा प्रदर्शन भएको छ । इजरायली सेनाले एकजना बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित मुख्य सहरमा दशौं हजारले प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।

    प्रदर्शनकारीले तत्काल गाजासँग सम्झौता गरेर बाँकी रहेका बन्धक फिर्ता ल्याउन र शान्ति कायम गर्न माग गरेका छन् । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरालमा आक्रमण गर्दा दुई सय ५३ जनालाई बन्धक बनाएर लगेको थियो । उनीहरुमध्ये एक सय २४ जना रिहा भएका छन् ।

    बाँकी एक सय २९ जनामध्ये इजरायली सेनाले अहिलेसम्म १४ जनाको शव फेला पारेको छ । छ महिना पूरा भएको युद्धमा इजरायली सेनाको आक्रमणबाट गाजामा ३३ हजार एकसय जनाभन्दा धेरैको ज्यान गएको छ । नोभेम्बरमा एक हप्ताको युद्धविरामपछि पुनः शुरु भएको वार्तामा कुनै प्रगति भएको छैन ।

  • इरानले इजरायलमा आक्रमण गर्न सक्ने आशंकाका बीच अमेरिकी सुरक्षा बल उच्च सतर्कतामा

    इरानले इजरायलमा आक्रमण गर्न सक्ने आशंकाका बीच अमेरिकी सुरक्षा बल उच्च सतर्कतामा

    काठमाडौं । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले सिरियाको राजधानी दमास्कसस्थित आफ्नो कूटनीतिक नियोगको परिसरमा गरिएको हमलाको बदलामा इरानले इजरेलमा आक्रमण गर्न सक्ने भन्दै आफ्ना सुरक्षा बललाई ‘उच्च सतर्कता’ अवस्थामा राखिएको जनाएका छन्। इरानले पनि उसले सेनालाई ‘उच्च सतर्क’ अवस्थामा राखेको विवरणहरू आइरहेका छन्। गत सोमवार दमास्कसमा गरिएको आक्रमणमा रिभोल्युसनरी गार्ड्सका कमान्डरहरू मारिएका थिए र तेहरानले त्यसमा इजरेलको हात रहेको आरोप लगाइरहेको छ। इजरेली सेनाले प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

    वाशिङ्टनमा इरानले मध्यपूर्वमा अवस्थित अमेरिकी सेना रहेका आधार शिविरहरू तथा नियोगहरूसमेत आक्रमण गर्न सक्ने आशङ्काहरू व्यक्त भइरहेका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका खबरहरूमा इजरेलमाथि आरोप लगाइएको दमास्कस हमलाको जवाफमा इरानले कुनै प्रकारको सैन्य कारबाहीको तयारी गरिरहेको जनाइएको छ।

    यद्यपि रमजानको अन्तिम शुक्रवार प्यालेस्टाइनको समर्थनमा मनाइने दिवस कुड्स डे कुनै पनि घटना बिना नै बितेको छ। तर पनि इरान वा यसको कुनै क्षेत्रीय साझेदारले उक्त महत्त्वपूर्ण दिनलाई आफ्ना कमान्डरहरूको ज्यान गएको हमलाको बदला लिनका लागि प्रयोग गर्न सक्ने कतिपयले ठानेका थिए।

    त्यस्तो नभए पनि अमेरिकी सञ्चारमाध्यमहरूमा आएका विवरणहरूले आक्रमण निकट भविष्यमै हुने आकलन गरिरहेका छन्। अमेरिकी अधिकारीहरूले एउटा बिफ्रिङ दिएका छन् जसमा उनीहरूले इरानले ड्रोन र क्रुज क्षेप्यास्त्र प्रयोग गरी हमला गर्ने योजना बनाइरहेको उल्लेख गरेका छन्। तर हमलाको समय र निसानाबारे कुनै जानकारी दिइएको छैन।

    एउटा अलग्गै अमेरिकी विवरणमा दुई जना इरानी अधिकारीहरूलाई उद्धृत गर्दै तेहरानले आफ्नो सैन्य बललाई उच्च सतर्कतामा राखेको जनाइएको छ।
    त्यसले हालै जगेडामा राखिएका सैनिकहरूलाई बोलाउने र लडाइमा खटिने सैनिकहरूको बिदा रद्द गर्ने इजरेली कदमको साङ्केतिक अर्थलाई प्रस्ट पार्छ।
    कुद्स दिवसका दिन दिएको सन्देशमा इरानसँग निकट सम्बन्ध रहेको शक्तिशाली क्षेत्रीय शक्ति हेजबुल्लाहका नेता हसन नसराल्लाहले दमास्कस आक्रमण जारी द्वन्द्वको निर्णायक मोड रहेको बताएका थिए।

    आउँदो हप्ता आक्रमण हुन सक्ने विवरण अमेरिकी सञ्चारमाध्यम सीएनएनले प्रकाशित गरेको छ। रोएटर्सका अनुसार एक जना अमेरिकी अधिकारीले त्यसलाई पुष्टि गर्दै भनेका छन्, “हामीले उच्चस्तरको निगरानी गरिरहेका छौँ।” इजरेलले आफ्नो देशका विभिन्न भागमा जीपीएस नचल्ने बनाएका विवरण आएका छन् । इजरेली युद्ध विमानहरूमाथि दमास्कसस्थित इरानी राजदूतावासमा बम खसालेको आरोप लागेको छ।

    सो आक्रमणमा एक जना इरानी सैन्य कमान्डर मारिएका थिए भने ७ जना इरानी सैन्य सल्लाहकारहरू मारिएको इरानको रिभोल्युशनरी गार्डस्‌ले जनाएको थियो। मारिनेमा विदेशी गुप्तचर समेत हेर्ने विशेष अर्ध सैनिक बल कुड्स फोर्सका एक जना वरिष्ठ कमान्डर मोहम्मद रेजा जाहेदी पनि रहेको विवरण आएका छन्। इरानले ‘निर्णायक प्रतिक्रिया जनाउने’ अधिकार आफूमा रहेको बताएको छ। उक्त घटनापछि इरानबाट हुन सक्ने जोखिमबारे अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग छलफल गरेका छन्। बाइडन प्रशासनका एक जना वरिष्ठ अधिकारीले अमेरिकाले इरानबाट हुन सक्ने जोखिममा इजरेललाई पूर्ण समर्थन गर्ने बताएका छन्।
    बीबीसी

  • अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का

    अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का

    न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का महसुस भएको छ । शुक्रबार आएको भूकम्पको तिव्रता ४.८ रेक्टर स्केल मापन गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरुमा न्युयोर्कको आइकोनिक प्रतिमा स्टेचु अफ लिबर्टी समेत हल्लिएको पाइएको छ । न्यूयोर्कका गगनचुम्बी भवन समेत केही बेर हल्लिएका थिए ।

    भूकम्पको केन्द्र न्यू जर्सी नजिकै रहेको पाइएको छ । यसको अनुभव भने पेन्सिलभेनियासम्म गरिएको छ । अहिलेसम्म भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । यूनाइटेड स्टेट्स अफ नियोलोजिकल सर्वेका अनुसार मूख्य भूकम्पपछि ६ पराकम्पहरु महसुस भएको भएको थियो । जसमध्ये एटा ४ रेक्टरस्केल बराबरको थियो ।

  • घर फर्किए सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका बिरामी, मिर्गौलाले काम गर्न थाल्यो

    घर फर्किए सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका बिरामी, मिर्गौलाले काम गर्न थाल्यो

    काठमाडौं । सुँगुरको मृगौला प्रत्यारोपण गरेका व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) मा गरिएको शल्यक्रियाको दुई हप्तापछि ६२ वर्षीय उनलाई बुधबार घर पठाइएको थियो ।

    आनुवंशिक रूपले परिमार्जित सुँगुरको अङ्ग प्रत्यारोपण विगतमा धेरै पटक असफल भएको थियो। तर यो प्रक्रियाको अहिलेसम्मको सफलतालाई वैज्ञानिकहरूले प्रत्यारोपणको क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गाको रूपमा प्रशंसा गरेका छन्।

    अमेरिकाको बोस्टन शहरमा रहेको हार्वर्ड मेडिकल स्कुलको सबैभन्दा ठूलो शिक्षण अस्पताल एमजीएचले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

    म्यासाचुसेट्स राज्यको वेमाउथका रिचार्ड रिक स्लेम्यान नाम गरेका ती बिरामीको मृगौलाको अन्तिम चरणको रोगसँग जुधिरहेको र अंग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेका थिए ।

    उनका चिकित्सकहरूले १६ मार्चमा चार घण्टा लामो शल्यक्रियामा आनुवंशिक रूपमा सम्पादन अर्थात जेनिटिकल्ली एडिटेड गरिएको सुँगुरको मृगौला सफलतापूर्वक उनको शरीरमा प्रत्यारोपण गरेका थिए।

    उनका अनुसार स्लेम्यानको मृगौलाले अहिले राम्रोसँग काम गरिरहेको छ र उनी अहिले डायलासिस गर्नुपर्दैन । स्लेम्यानले एक विज्ञप्ति जारी गर्दै अस्पताल छोडेर घर जान पाउनु आफ्नो जीवनको सबैभन्दा खुशीको क्षण भएको बताएका छन् ।

  • ताइवानमा भूकम्पबाट भएको क्षतिको विवरण के छ ?

    ताइवानमा भूकम्पबाट भएको क्षतिको विवरण के छ ?

    काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा धनजनको क्षति भएको छ । प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको अधिकारीले बताएका छन्। अहिलेसम्म कम्तीमा नौजनाको मृत्यु भएको खबर छ । आठ सयभन्दा बढी मानिस घाइते भएका छन्।

    क्षतिग्रस्त तटीय क्षेत्रमा पर्ने पहाडी क्षेत्रका सुरुङ भत्कँदा त्यहाँ झण्डै १२७ जना मानिस फसिरहेको जानकारी आएको छ । तटीय सुहुआ राजमार्गमा पर्ने एउटा सुरुङभित्र मात्र साठी जना मानिसहरू फसेको ठानिएको छ जसमध्ये होटलका कर्मचारीहरूले भरिएका चार मिनिबस समेत छन्।

    एक पर्वतीय ह्वालिएन क्षेत्रमा दर्जनौँको सङ्ख्यामा खानीका कामदारहरू समेत सम्पर्कविहीन भएको बताइएको छ। ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो।

    भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको थियो। तर पछि चेतावनी फिर्ता गरियो। ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन्। भूकम्पका कारण पहाडी भेगमा ठाउँठाउँमा पहिरो गएको छ। ताइवानको केन्द्रीय आपत्कालीन केन्द्रले स्थानीय समयानुसार दिउँसो ३ बजेसम्म १०१ वटा परकम्प मापन गरिएको जनाएको छ।

    ताइवानकी राष्ट्रपतिले उद्धारकार्यमा सेना परिचालन गरिने बताएकी छन्। जापान र चीनले ताइवानलाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेका छन्। राजधानी ताइपेईमा खिचिएको भिडिओमा भवनहरू हल्लिएको देखिन्छ। स्थानीय समयानुसार बिहान ७ः५८ बजे जमिनको सतहबाट १५.५ किलोमिटरभित्र भूकम्प उत्पन्न भएको थियो।

  • इस्तानबुलमा आवासीय भवनमा आगलागी, २५ जनाको मृत्यु

    इस्तानबुलमा आवासीय भवनमा आगलागी, २५ जनाको मृत्यु

    काठमाडौं । इस्तानबुलको एक आवासीय भवनमा मङ्गलबार आगलागी हुँदा २५ जनाको मृत्यु हुनाका साथै तीन जना घाइत भएका छन् । सहरको गभर्नरको कार्यालयले यसअघि १५ जनाको मृत्यु र आठ जना घाइते भएको जानकारी दिएको थियो । अग्निनियन्त्रकहरूले आगो निभाएको भए पनि आगलागीमा २५ जनाको ज्यान गएको छ र गम्भीर घाइते तीन जनाको अस्पतालमा उपचार भइरहेको छ”, गभर्नर दाभट गलको कार्यालयले विज्ञप्तिमा भनेको छ ।

    “मध्य इस्तानबुल जिल्ला बेसिक्टासस्थित गेरेटेपेमा रहेको १६ तल्ले भवनको बेसमेन्टमा निर्माण कार्य चलिरहँदा आगलागी भएको हो”, गलले पत्रकारहरूलाई भने । घटनास्थलमा पुगेका इस्तानबुलका नवनिर्वाचित मेयर एक्रेम इमामोग्लुले बेसमेन्टमा नाइटक्लब सञ्चालनमा रहेको जानकारी दिए । “आगलागी नियन्त्रणमा छ । आशा गरौँ त्यहाँ थप पीडितहरू छैनन्”, इमामोग्लुले मृतक र घाइतेका आफन्तहरूप्रति समवेदना प्रकट गर्दै भने ।

  • ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प

    ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प

    काठमाडौं । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । यो भूकम्प पछि पनि साना ठूला परकम्पहरु आउने क्रम जारी छ । एउटा शक्तिशाली परकम्प ६.५ म्याग्निच्युडको छ ।

    भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ । सामाजिक सञ्जालमा सेयर भएका भिडियोहरूमा केही भवनहरू भत्किएको देखिन्छ ।
    भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो ।

    समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ । भूकम्पले पुर्‍याएको क्षतिको विवरण आउन बाँकी छ ।

  • क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका २ सय भारतीयको उद्दार

    क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका २ सय भारतीयको उद्दार

    काठमाडौं । भारत सरकारले क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका आफ्ना २५० जना नागरिकको उद्धार गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरूलाई अन्य काम दिने बहानामा क्याम्बोडिया पुर्‍याइएको भए पनि त्यहाँ साइबरसम्बन्धी गैरकानुनी काम गर्न बाध्य पारिएको थियो। क्याम्बोडियामा यसरी जबर्जस्ती काममा लगाइएका भारतीयहरूको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको समाचारहरूमा बताइएको छ।

    संसारको अन्य भागका पनि हजारौँ मानिस दक्षिणपूर्वी एशियामा ठगीमा संलग्न गिरोह सञ्चालकको जालमा परेको समाचार प्राप्त भएको छ। युवा उमेरका तथा प्रविधिमा दख्खल राख्ने मानिसहरूलाई अवैध साइबर गतिविधिमा लगाउने गरेको पाइएको छ । यस्ता गिरोहले विशेषगरी युवा उमेरका तथा प्रविधिमा दख्खल राख्ने मानिसहरूलाई सुरुमा आकर्षक कामको प्रलोभन देखाउँछन् तर त्यसपछि सम्पत्ति शुद्धीकरण र क्रिप्टोकरेन्सीसम्बन्धी ठगीजस्ता अवैध काममा लगाउँछन्।

    साथै प्रेमी वा प्रेमिका बनेर अरूसँग सम्बन्ध गाँस्न लगाई ठगी गर्नेजस्ता गतिविधि पनि त्यहाँ भएको पाइन्छ। त्यसलाई लभ स्क्याम भनिएको छ। सन् २०२३ को अगस्टमा प्रकाशित एक राष्ट्रसङ्घीय प्रतिवेदनअनुसार म्यान्मारमा कम्तीमा एक लाख २० हजार मानिसलाई अवैध साइबर गतिविधिमा लगाइएको छ। क्याम्बोडियामा यस्ता पीडितको सङ्ख्या कम्तीमा एक लाख रहेको प्रतिवेदनमा उल्लेख छ।

    गत मार्चमा फिलिपिन्सको प्रहरीले यस्ता अवैध काममा जबर्जस्ती लगाइएका सयौँ मानिसहरूलाई उद्धार गरेको बताएको थियो। त्यसको केही साताअघि चीनले म्यान्मारमा यसरी काममा लगाइएका आफ्ना सयौँ नागरिकलाई उद्धार गरेको थियो। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले ठगीका गतिविधिका लागि जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न भारतले क्याम्बोडियाका सम्बन्धित निकायहरूसँग सहकार्य गरिरहेको बताएका छन्।

    अहिलेसम्म उद्धार गरिएका २५० जनामध्ये ७५ जनालाई विगत तीन महिनामा उद्धार गरेको भारतीय अधिकारीहरूले बताएका छन्। बाँकीको उद्धार कहिले भएको हो भन्ने स्पष्ट हुन सकेको छैन। बीबीसीले भारतस्थित क्याम्बोडियाको राजदूतावाससँग प्रतिक्रिया मागेको छ। गत साता इन्डियन एक्स्प्रेस पत्रिकामा प्रकाशित एक समाचारका अनुसार क्याम्बोडियामा आफ्नो इच्छाविपरीत काममा लगाइएको भनेर १३० जनाले त्यहाँस्थित भारतीय दूतावासमा उजुरी दिएका छन्।

    सो पत्रिकाका अनुसार क्याम्बोडियामा काम दिलाएर आफूलाई फसाइएको भन्दै दूतावासमा हरेक दिन औसतमा चार-पाँचवटा उजुरी दर्ता भएका छन्। दक्षिणपूर्वी एशियाका विभिन्न देशमा रहेका साइबर सेन्टरले भारतीय नागरिकलाई प्रयोग गर्दै भारतीयहरूलाई नै समेत ठग्ने गरेको बताइएको छ। कतिपयले आफू कानुन कार्यान्वयन गर्ने निकायको अधिकारी भएको बताउँदै पैसा माग्ने समेत गरेका छन्। ुइन्डियन एक्स्प्रेसुका अनुसार विगत छ महिनामा मात्र यस्ता गतिविधिहरूमा भारतीयहरूले कम्तीमा पाँच अर्ब रुपैयाँ गुमाइसकेका छन्।

    स्टेफन भनी चिनाइएका एक पीडितले सो पत्रिकालाई बताएअनुसार मङ्गलुरु नामको दक्षिण भारतीय राज्यका एक दलालले उनलाई क्याम्बोडियामा डेटा इन्ट्रीको काम लगाइदिएका थिए। क्याम्बोडिया पुगेपछि उनलाई महिलाका तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा नक्कली खाता बनाउन र ती खातामार्फत् मानिसहरूसँग सम्पर्क गर्न लगाइएको उनले बताएका थिए।

  • जर्मनीमा गाँजाले पायो वैधानिकता

    जर्मनीमा गाँजाले पायो वैधानिकता

    काठमाडौं । जर्मनीले सन् २०२४ को एप्रिल १ देखि गाँजा प्रयोगलाई कानुनी मान्यता दिएको छ। उता, प्रहरी सङ्गठनहरूले भने त्यसले नोक्सान पुर्‍याउन सक्ने चेतावनी दिइरहेका छन्। एप्रिल फूल अर्थात् १ एप्रिलका दिन कानुनमा परिवर्तन भएको भए पनि यो ठट्टा भने होइन। गाँजालाई कानुनी नबनाएर अपराध मान्दा समेत दशौँ लाखले गाँजा सेवन गर्ने गरेका थिए । गाँजा कानुनी रूपमा उपलब्ध हुनुपर्ने वकालत गर्दै आएका समर्थकहरू भन्छन्( यसले कालो बजार अन्त्य गर्नेछ र गाँजाको गुणस्तर नियन्त्रणमा सुधार हुनेछ।

    नयाँ नियम अनुसार १८ वर्ष माथिका व्यक्तिले सार्वजनिक स्थानमा जाँदा २५ ग्रामसम्म गाँजा आफ्नो साथमा राख्न पाउँछन् । हरेक घरमा तीन वटासम्म गाँजाका बिरुवा हुर्काउन पाइनेछ । मानिसहरूले विद्यालय र खेल केन्द्र वा पैदल यात्री हिँड्ने क्षेत्रमा बिहान ७ देखि बेलुका ८ बजेसम्म देखिने गरी गाँजा खान पाउने छैनन् । ५०० सदस्यसम्म रहन पाउने गरी गाँजा हुर्काउनेहरूको सङ्गठन वा “सोसल क्लब”हरू खोल्न पाइनेछ । त्यस्ता क्लबका सदस्यको उमेर १८ वर्ष माथि हुनु पर्नेछ र जर्मनीमा बसोबास गर्ने हुनुपर्नेछ । क्लबहरूले गाँजा खेती र गाँजा वितरण गैरनाफामुखी तवरमा मात्र गर्न पाउनेछन् । गाँजाखेती हुने ठाउँमै गाँजा खाने अनुमति हुनेछैन ।

    नयाँ व्यवस्थाले कालो बजारीलाई झन् बलियो बनाउने जर्मन प्रहरी युनियनका एलेक्जेन्डर पोइट्ज ठान्छन् । जर्मन प्रहरी यूनियन गेवेर्कसाफ्ट डेर पोलित्जाई ९जीडीपी०का एलेक्जेन्डर पोइट्ज भन्छन्, “यस्तो व्यवस्थाले कालो बजार झन् बलियो बनाउने हामी ठान्छौँ।” उनको विश्वास छस् “मागचाहिँ कानुनी मान्यताले दिने आपूर्ति भन्दा बढी हुनेछ। किनभने घरमा गाँजा लगाउनु भनेको त्यसको देखभाल गरेर महिनौँ लगाएर मात्र गाँजा उपलब्ध हुनु हो।”

    बच्चाहरूको खेल्ने चौर, विद्यालय र खेल केन्द्रको १०० मिटर वरपरसम्म गाँजा खान पाइने छैन। व्यस्त र भिडभाडयुक्त सहरमा गाँजा खान मात्र पाइने स्थान बनाउनुपर्ने हुन सक्छ। प्रहरीले उपभोक्ता र विक्रेता भनेर छुट्याउन पनि मुस्किल पर्न सक्छ। किनभने एक जनाले सार्वजनिक स्थानमा जाँदा २५ ग्राम सम्म गाँजा साथमा राख्न पाउने भनिएको छ र त्यो दर्जनौँ पटक गाँजा खान सकिने मात्रा हो।


    गाँजालाई वैध बनाउँदा हुने फाइदा र बेफाइदाबारे बहस गरिरहेका मुलुकहरूको लामो सूचिमा जर्मनी समेत छ। जर्मन सरकारले सन् २०२१ मा गरेको एक सर्वेक्षणमा १०.७५ पुरुष र ६.८५ महिलाले गत १२ महिनामा कम्तीमा एक पटक गाँजा प्रयोग गरेको पाइएको उल्लेख गरेको छ।

    BBC

  • केजरीवाललाई थप १५ दिन हिरासतमा राख्न आदेश

    केजरीवाललाई थप १५ दिन हिरासतमा राख्न आदेश

    काठमाडौं । भारतको राजधानी सहरसमेत रहेको दिल्ली प्रान्तीय सरकारको मदिरा नीति घोटाला आरोपमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ। दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो। यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए। केजरीवालका वकील रमेश गुप्ताले अदालतसँग जेलमा के ३ वटा किता गीता, रामायण र नीरजा चौधरीको किताब ‘हाऊ प्राइम मिनिस्टर्स डिसाइड’ दिन माग गरेका छन्। सुनवाइका क्रममा केजरीवालकी पत्नी सुनिता, दिल्लीकी मन्त्री आतिशी, गोपाल राय र सौरभ भारद्वाज पनि अदालतमा उपस्थित थिए।

  • पश्चिम बंगालमा आँधी, कम्तिमा ४ जनाको मृत्यु

    पश्चिम बंगालमा आँधी, कम्तिमा ४ जनाको मृत्यु

    काठमाडौं । भारतको पश्चिम बङ्गालको जलपाईगुडीमा भारी वर्षा, असिना र आँधीले जनधनमा ठूलो क्षति पुर्‍याएको छ । गर्मीको समयमा आउने काल वैशाखी नामको आँधीका कारण रुख ढल्दा लागेर चारजनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । आँधीमा परेर घाइते भएका तीनसय जनालाई अस्पताल भर्ना गरिएको छ । तीमध्ये २० जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । जलपाईगुडीका एक स्थानीय बासिन्दाले धेरै शक्तिशाली आँधीले त्यस क्षेत्रका धेरै ठाउँमा असर गरेको बताएका छन् ।

    पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले यस विपत्तिसँग जुध्न नागरिकलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएकी छिन् । उनी गत राति नै घटनाको जानकारी लिन र घाइतेहरूलाई भेट्न आँधी प्रभावित क्षेत्रमा पुगेकी छिन् । उनले मृतक र घाइतेका आफन्तलाई जिल्ला प्रशासनले आचारसंहिता पालना गरी नियम कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने बताइन् । उनले विपद् व्यवस्थापन कार्यमा सम्बन्धित सबैलाई संलग्न भएर राहत दिन आग्रह गरिन् । यस प्रकोपबाट प्रभावित मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ ।

  • केजरीवाल पक्राउपछि दिल्लीमा आज विपक्षी दलको शक्ति प्रदर्शन

    केजरीवाल पक्राउपछि दिल्लीमा आज विपक्षी दलको शक्ति प्रदर्शन

    काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफतारीपछि आज दिल्लीमा विपक्षी दलहरुले विशाल शक्ति प्रदर्शनको तयारी गरेका छन् । भारतको राजधानी दिल्लीमा इण्डिया गठबन्धनमा आवद्ध २८ वछा दलका नेता सहभागी हुने भएका छन् । प्रदर्शनमा सोनिया गान्धी, राहुल गान्धी, लालू यादव, ममता बनर्जी, फारूक अब्दुल्ला, एमके स्टालिन, उद्धव ठाकरे, अखिलेश यादव समेत सहभागी हुने समाचारमा उल्लेख छ ।

    कांग्रेसले यस प्रदर्शनलाई लोकतन्त्र बचाउ अभियानका रुपमा लिएको बताएको छ । यसको उद्देश्य कुनै व्यक्तिलाई बचाउने नभई समग्र लोकतन्त्रको रक्षा गर्नु रहेको कांग्रेसको भनाई छ । आइतबार प्रधानमन्त्री निवास नजिकै हुने प्रदर्शनले विपक्षी दलले भाजपालाई चूनौति दिन खोजेका छन् । दिल्लीका मूख्यमन्त्री केजरीवाललाई केन्द्र सरकारले पक्राउ गरेको छ । उनीमाथि घाटालाको आरोप लगाइएको छ ।

  • दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न रोक

    दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न रोक

    काठमाडौं्र । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । दक्षिण अफ्रिकामा आगामी मे २९ अर्थात् २०८१ जेठ १६ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् १९९४ यता पहिलो पटक राष्ट्रपति निर्वाचन सर्वाधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको अल जजिराले जनाएको छ ।

    दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो दल अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) परित्याग गरेका पूर्व राष्ट्रपति जुमाले हालै नयाँ दल एमखोन्टो विसिज्वे (एमके) पार्टी खोलेका थिए । सन् २०२१ मा अदालतको अवहेलनाको आरोपमा केही समय जेलसजाय भोगेका जुमाले नयाँ दल खोलेर आफ्नो राजनीतिक यात्रा पुनः प्रारम्भ गर्न चाहेका छन् ।

    दक्षिण अफ्रिकी निर्वाचन आयोगका अध्यक्ष मोसोथो मोप्याले पूर्व राष्ट्रपति जुमालाई निर्वाचनमा भाग लिन नपाउने गरी निर्णय भएको पुष्टि गरे । उनी विरुद्ध एक उजुरी परेको थियो, जसलाई आयोगले स्वीकार गरेको छ ।

    सन् १९९४ मा सत्तामा आएयता एएनसीले पहिलो पटक ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने अनुमान गरिएको छ । अफ्रिकामा राष्ट्रपति निर्वाचित हुन कम्तिमा ५० प्रतिशत मत ल्याउनुपर्दछ । मुलुकको कमजोर आर्थिक अवस्था तथा अत्यधिक भ्रष्टाचारको आरोप खेपिरहेको एएनसीलाई जनमत हासिल गर्न निकै धौधौ परेको बताइन्छ ।

  • थाइ संसदबाट पास भयो समलिंगी विवाहलाई मान्यता दिने विधेयक

    थाइ संसदबाट पास भयो समलिंगी विवाहलाई मान्यता दिने विधेयक

    काठमाडौं । संसद्‌को तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । यससँगै अब थाईल्यान्डले वैवाहिक समानतासम्बन्धी एउटा ऐतिहासिक कदम चालेको छ। उक्त विधेयक कानुन बन्न माथिल्लो सदन (सिनेट) र शाही अनुमोदन आवश्यक पर्छ। यद्यपि यसै वर्षको अन्त्य सम्ममा त्यस्तो अनुमोदन हुने अपेक्षा गरिएको छ। त्यो सँगै थाइल्यान्ड समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो दक्षिण पूर्व एशियाली देश बन्नेछ। यो कदमले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि तुलनात्मक रूपमा उक्त क्षेत्रको सबैभन्दा उदार मानिने थाईल्यान्डलाई थप खुला बनाउनेछ।

    ूयो समानताको सुरुवात हो। यो हर समस्याको सर्वस्वीकार्य हल होइन तर समानता तर्फको पहिलो पाइला हो,, सांसद तथा तल्लो सदनस्थित वैवाहिक समानतासम्बन्धी समितिका अध्यक्ष न्यानुफोर्न पुनकान्तले विधेयकको मस्यौदा प्रस्तुत गर्ने क्रममा भने। तल्लो सदनमा उपस्थित ४१५ सांसदमध्ये ४०० जनाले उक्त विधेयकको पक्षमा मतदान गरे। त्यो विधेयकले विवाहलाई महिला र पुरुषबीचको भन्दा पनि दुई व्यक्तिबीचको साझेदारीको रूपमा परिभाषित गरेको छ।

    त्यसले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीहरूलाई विवाहका कारण पाइने कर छुट सुविधा लिन, सम्पत्ति जोड्न र उपचारका लागि आफ्नो सहयात्रीका निम्ति मञ्जुरी दिन पाउने व्यवस्था गरेको छ। नयाँ कानुन अनुसार विवाहित समलिङ्गी जोडीले सन्तानका रूपमा धर्मपुत्र–पुत्री पाल्न सक्नेछन्।

    तर थाई संसद्‌को तल्लो सदनले बाआमाको साटोमा त्यस्ता जोडीलाई अभिभावक शब्द प्रयोग गर्नुपर्ने भनी समितिले दिएको सुझावलाई स्वीकार गरेन। व्यापक जनसमर्थन हुँदाहुँदै पनि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विगतका प्रयासहरू असफल भएका थिए। गत वर्षको अन्त्यमा गरिएको एउटा सरकारी सर्वेक्षणले त्यसमा सहभागीमध्ये ९६.६ विधेयकको पक्षमा देखिएका थिए।

  • गाजामा भोकमरी, युद्ध अपराध ठहरिने

    गाजामा भोकमरी, युद्ध अपराध ठहरिने

    काठमाडौं । महिनौँको चेतावनीपछि संयुक्त राष्ट्रसङ्घले सघाएको पछिल्लो एक प्रतिवेदनले तथ्याङ्कसहितको बलिया प्रमाण पेस गर्दै गाजाको मानवीय विपद् मानव सिर्जित अनिकाल बनेको जनाएको छ। राष्ट्रसङ्घका शीर्ष मानवअधिकार अधिकारीले बीबीसीका जेरमी बोअनसँगको एक अन्तर्वार्तामा त्यसको उल्लेख्य दोष इजरेलको रहेको र उसले गाजामा भोकमरीलाई युद्ध अस्त्रको रूपमा प्रयोग गरेको भरपर्दो आधार रहेको बताएका छन् । राष्ट्रसङ्घीय मानवअधिकार निकायका उच्चायुक्त फोल्कर ट्यूर्कले यदि उनीहरूको मनसाय पुष्टि भएमा त्यो युद्ध अपराध हुने बताए।


    इजरेलका अर्थमन्त्री तथा प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको दलका एकजना वरिष्ठ नेता निर बर्कटले ट्यूर्कको चेतावनीलाई पूरै बेतुकको – एउटा पूरै गैरजिम्मेवार अभिव्यक्ति भनेका छन्। इजरेली मन्त्रीमण्डलका अन्यलेझैँ बर्कटले समेत इजरेलले अमेरिका र अन्यत्रबाट आएका सहायता गाजा लैजान दिइएको दाबी गरेका छन्। इजरेलले राष्ट्रसङ्घ सहायता वितरण गर्न विफल भएको र यसअघि बचेखुचेको सामग्री समेत हमासले प्रयोग गरेको बताउने गर्छ।

    तर सहायता सामग्री भरिएको लरीहरूको लामो ताँती गाजाको इजिप्टतर्फको सीमानाका रफाहमा रोकिराखेको छ। ती इजरेलमार्फत मात्रै लम्बे प्रक्रिया र जाँच पासपछि गाजा प्रवेश गर्न पाउँछन्। गाजामा अत्यावश्यक सामग्रीको अभावले जोर्डन, अमेरिका र यूके सहितका देशलाई सहायता आकाशबाट छाड्ने उपाय रोज्न बाध्य पारेको छ।

    मानवीय सहायताका लागि त्यो सबैभन्दा कम प्रभावकारी तरिका मानिन्छ। तर राष्ट्रसङ्घीय उच्च अधिकारीको यस अभिव्यक्तिले इजरेललाई प्यालेस्टिनी नागरिकहरूको संरक्षण गर्न कानुनी जिम्मेवारीहरू पालना गर्न र मानिसहरूसम्म मानवीय सहायता पुर्‍याउन दबाब बढाएको छ।

    इजरेली सेनाको लडाइँ यतिखेर गाजाका तीन अस्पताल वरपर केन्द्रित बनेको छ। इजरेलले गाजा सहरको अल–शिफा अस्पताललाई ११औँ दिनयता कब्जा गरेको जनाउँदै त्यस बीचमा कम्तीमा २०० हमास र इस्लामिक जिहादी लडाकुहरू मारिएको जनाएको छ। तर एक प्यालेस्टिनी नागरिक समूहका प्रवक्ताले भने निर्दोष मानिसहरू मारिएको र लडाइँबीचमा महिला र बालबालिकाहरू फसेको जनाएका छन्।

    अस्पतालबाट बाहिर निकालिएका केही प्यालेस्टिनी चिकित्सकहरूले बिरामीहरूलाई तत्काल अन्यत्र सारिनुपर्ने बताएका छन्। दक्षिणतर्फको खान यूनिसमा इजरेली ट्याङ्क र स्थल फौजले पुनस् अल-अमल र अल-नासेर अस्पताल घेरेका छन्। नासेर अस्पतालमा हजारौँ मानिसहरू रहेकाले उनीहरूको सुरक्षा चिन्ता बढेको छ। बीबीसी संवाददाताले त्यहाँको अवस्था बताउँदै निकै कम अस्पतालले समेत आंशिक रूपमा मात्र काम गर्न सकिरहेको जनाएका छन्।
    बीबीसी

  • दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तिमा ४५ जना मारिए

    दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तिमा ४५ जना मारिए

    काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका हुन् ।

    उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो । त्यसपछि बसमा आगो लागेको थियो । दुर्घटनास्थल जोहानेसबर्गबाट करिब ३०० किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्दछ ।

  • रुसमा हमला गर्ने चार जनाविरुद्ध आतकंवाद अभियोगमा मुद्दा

    रुसमा हमला गर्ने चार जनाविरुद्ध आतकंवाद अभियोगमा मुद्दा

    काठमाडौं । मस्कोको बासमानी जिल्ला अदालतले मस्कोको कन्सर्ट हलमा भएको नरसंहारमा संलग्न आरोपमा चार जना संदिग्धलाई आतङ्कवाद अभियोग लगाएको छ । दोषी ठहर भए उनीहरूलाई आजीवन कारावासको सजाय हुनेछ । अहिले उनीहरूलाई मे २२ सम्मका लागि थुनामा राखिएको छ ।

    मुद्दाको सुनुवाइको मितिका आधारमा म्याद थप गर्न सकिने अदालतले जनाएको छ । उनीहरूलाई आइतबार हिरासतमा लिइएको थियो । अदालतले दुई जना प्रतिवादीले आफ्नो अपराध स्वीकारेको र तीमध्ये एक जना ताजिकिस्तानका नागरिक रहेको र उनले आफ्नो अपराध पूर्णरुपमा स्वीकारेको जनाएको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘बर्बर आतङ्कवादी हमला’मा संलग्नलाई दण्डित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार युक्रेनतर्फ भाग्ने क्रममा चारै जना बन्दुकधारीलाई पक्राउ गरिएको रुसी अधिकारीले बताएका थिए । किएभले उक्त आक्रमणमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको दाबी गर्दै आएको छ । पुटिनले इस्लामिक स्टेट (आइएस)समूहको जिम्मेवारीबारे सार्वजनिकरुपमा कुनै भनाई राखेका छैनन् ।


    मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा शुक्रबार साँझ बन्दुकधारीले आक्रमण गरी भवनमा आगजनी गर्दा तीन बालबालिकासहित कम्तीमा १३७ जनाको मृत्यु भएको थियो । आइएसले युरोपमा गरेको यो सबैभन्दा घातक आक्रमण हो । रुसी अनुसन्धान समितिले मस्कोस्थित आफ्नो मुख्यालयमा चार संदिग्धलाई घिसार्दै लगेको भिडियो सार्वजनिक गरेको छ । आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्य सात जनाको बारेमा भने केही बताइएको छैन ।

    अधिकारीहरूले बन्दुकधारीहरू सबै विदेशी नागरिक भएको बताएका छन् । इस्लामिक स्टेट समूहले शनिबार टेलिग्राममा पोस्ट गरेको एक पोस्टमा ‘चार जना आइएस लडाकुले मेसिनगन, पेस्तोल, चक्कु र फायरबमसहित आक्रमण गरेका’ देख्न सकिन्छ । एसआईटीई गुप्तचर समूहका अनुसार बन्दुकधारीले खिचेको करिब डेढ मिनेट लामो भिडियो विभिन्न सामाजिक सञ्जालका अकाउन्टमा पनि पोस्ट गरिएको छ । रासस-एएफपी

  • बेलायत सरकारले आफ्नो मुलुकमा भएको साइबर हमलामा चीनलाई लगायो आरोप

    बेलायत सरकारले आफ्नो मुलुकमा भएको साइबर हमलामा चीनलाई लगायो आरोप

    काठमाडौं । यूके सरकारले आफ्नो देशका सांसद र निर्वाचन आयोगमाथि दुर्भावनापूर्वक भएका साइबर आक्रमणमा चीन संलग्न भएको आरोप लगाएको छ।
    सरकारले ती साइबर आक्रमणमा संलग्न भएको भन्दै दुई चिनियाँ नागरिक र कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ। यूकेका उपप्रधानमन्त्री ओलिभर डाउडनले ती व्यक्ति र कम्पनीले बेइजिङको आलोचना गर्दै आएका ब्रिटिश सांसदहरूको विवरणमा अनधिकृत पहुँच स्थापित गर्ने प्रयास गरेको बताएका छन्। सन्दिग्ध साइबर आक्रमणकारीहरूले चार करोड ब्रिटिश मतदातासँग सम्बन्धित डेटामा पहुँच पाएको पनि विश्वास गरिएको छ।

    तर डाउडनले उक्त आक्रमणका कारण चुनावको सुरक्षामा गम्भीर सम्झौता हुने खालको कार्य नभएको बताए। चीनले चाहिँ लगातार जासुसी तथा गलत काम गरेको भन्ने आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। यूकेस्थित चिनियाँ दूतावासले निराधार दाबी गरिएको भन्दै त्यसलाई दुर्भावनापूर्ण लाञ्छना को सङ्ज्ञा दिएको छ। ब्रिटेनले प्रतिबन्ध लगाएका दुई चिनियाँ नागरिक चाओ गुआङ्जोङ र नि गाओबिन हुन् भने कम्पनी वुहान श्याओरुइची साइन्स एन्ड टेक्नोलजी हो।

    ती चिनियाँ नागरिक र कम्पनीले चीन सरकारसँग सम्बन्ध भएको साइबर जासुसी समूह एड्भान्स्ड पर्सिस्टन्ट थ्रेट ग्रूप ३१ (एपीटी३१) का लागि काम गरेको ब्रिटिश सरकारको दाबी छ। ब्रिटिश प्रतिबन्धअन्तर्गत ती व्यक्ति तथा कम्पनीको सम्पत्ति रोक्का गरिएको छ। त्यसले गर्दा ब्रिटिश नागरिक वा व्यवसायीहरूले ती चिनियाँहरूको स्रोत र सम्पत्ति कुनै किसिमले पनि उपयोग गर्न पाउँदैनन्। उनीहरूलाई ब्रिटेनको भ्रमण गर्न र ब्रिटेनमा बस्न पनि निषेध गरिएको छ।