Category: विश्व

  • भारतमा क्रिकेटरको वर्गिकरण, चार खेलाडी परे ए-प्लसमा

    भारतमा क्रिकेटरको वर्गिकरण, चार खेलाडी परे ए-प्लसमा

    काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) क्रिकेटरको वर्गिकरण गरी सार्वजनिक गरेको छ । कप्तान रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा ए प्लस श्रेणीमा पर्न सफल भएका छन् । बोर्डले नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गर्दै चार खेलाडी उच्च स्थानमा रहेको बताएको हो । उनीहरु अघिल्लो वर्ष पनि ए प्लसमै थिए। नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी रहेका छन् । गत वर्षभन्दा चार खेलाडी थप भए ।

    तर श्रेयस अय्यर र इशान किशन यो सूचीमा अटाएका छैनन् । गत नोभेम्बरमा भारतलाई विश्वकपको फाइनलमा पुर्‍याउने प्रमुख खेलाडी मध्येका एक रहेका अय्यरले बोर्डले तोकेको न्यूनतम मापदण्ड पूरा गरे पनि आफ्नो ग्रेड बी सम्झौता गुमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    नयाँ सम्झौता अक्टोबरदेखि सुरु भएकोमा अय्यरले गत वर्ष चार टेस्ट, १२ एकदिवसीय र दुई टी-२० खेलेका थिए। किशनसँग गत वर्ष ग्रेड सी सम्झौता भएको थियो। पछिल्लो सम्झौता अवधिमा उनले दुई टेस्ट, १९ एकदिवसीय र १० टी–२० खेलेका थिए।

    ए प्लसमा रहने खेलाडीको वार्षिक पारिश्रमिक ७ करोड भारू (११.२० करोड नेपाली रूपैयाँ) हुन्छ । जसमा रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह र रवीन्द्र जडेजा छन् । ग्रेड एमा रहने खेलाडीको तलव वार्षिक ५ करोड भारू (८ करोड नेपाली रुपैयाँ) हुन्छ । जसमा रविचन्द्रन अश्विन, शुभमन गिल, मोहम्मद शमी, हार्दिक पाण्ड्या, मोहम्मद सिराज र केएल राहुल रहेका छन् ।

    ग्रेड बीमा रहने खेलाडीको तलव ३ करोड भारू (४.८० करोड नेपाली रुपैयाँ) हुन्छ । जससमा सूर्यकुमार यादव, यशस्वी जैसवाल, ऋषभ पन्त, कुलदीप यादव र अक्षर पटेल रहेका छन् । ग्रेड सीमा रहेका खेलाडीले १ करोड भारू (१.६० करोड नेपाली रुपैयाँ) पाउँछन् । जसमा रिन्कू सिंह, तिलक बर्मा, शिवम दुबे, रवि बिश्नोई, मुकेश कुमार, सन्जु सामसन, प्रसिद्ध कृष्णा, आवेश खान, रुतुराज गायकवाड, जितेश शर्मा, अर्शदीप सिंह, रजत पाटीदार, शार्दुल ठाकुर, वाशिन्टन सुन्दर र
    केएस भरत रहेका छन् ।

  • भारतले अन्तरिक्षमा मानव चालित यान पठाउँदै, वायुसेनाका चार चालक छानिए

    भारतले अन्तरिक्षमा मानव चालित यान पठाउँदै, वायुसेनाका चार चालक छानिए

    काठमाडौं । भारतले आगामी वर्ष अन्तरिक्षमा पहिलो मानवचालित यान पठाउने भएको छ । अन्तरिक्षयात्रा गर्न योग्य चार जनाको नाम सार्वजनिक भएको छ । उनीहरू भारतीय वायुसेनाका विमानचालक हुन्। गगनयान नामक उक्त अन्तरिक्षयानमा तीमध्ये तीन जनालाई अन्तरिक्षयात्रीका रूपमा पठाउने भारतको लक्ष्य छ। उक्त यान ४०० किलोमिटरमाथि पृथ्वीको कक्षमा पुग्ने र तीन दिनपछि फिर्ता हुने छ। भारतीय अन्तरिक्ष निकाय इसरोले उक्त उडानको तयारीका क्रममा परीक्षणहरू गरिरहेको छ। इसरोले गत अक्टोबरमा रकेटमा समस्या उत्पन्न भए चालकहरूलाई सुरक्षित रूपमा बाहिर निस्किन सक्ने उपाय सिकाउने एउटा मुख्य परीक्षण गरेको थियो।

    त्यसको सफलतापछि इसरोले सन् २०२५ मा मानवसहितको अन्तरिक्षयानलाई पठाउनुअघि एउटा रोबटलाई यसै वर्ष अन्तरिक्षमा पठाउने जनाएको थियो।
    दक्षिण भारतीय सहर तिरुवनन्तपुरमस्थित इसरो केन्द्रमा मङ्गलवार आयोजित एउटा कार्यक्रममा छानिएका चार अन्तरिक्षयात्रीहरूको प्रशंसा गरिएको थियो।
    उनीहरूलाई स्वप्नद्रष्टा, साहसिक, अन्तरिक्षमा जाने तयारीमा रहेका वीर पुरुष भनिएको थियो। ग्रूप क्याप्टेन प्रशान्त बालाकृष्णन नायर, ग्रूप क्याप्टेन अजित कृष्णन, ग्रूप क्याप्टेन अङ्गद प्रताप र विङ कमान्डर शुभांशु शुक्ल चारै जना भारतीय वायुसेनामा कार्यरत छन्।

    प्रधानमन्त्री नरेन्द्र मोदी र इसरो प्रमुख एस सोमनाथले उनीहरूको नाम घोषणा गरेका थिए। मोदीले ती चार जनालाई भारतको गौरव भनेका छन्। मोदीले भने, “यी चार नाम वा चार मानिसहरू मात्र होइनन्। एक सय ४० करोड आकाङ्कालाई अन्तरिक्षमा लैजाने शक्ति हुन्। म बधाई दिन्छु र सफलताको कामना गर्छु।”

    अधिकारीहरूले वायुसेनाका पाइलटमध्येबाट उनीहरूलाई छानिएको र सूचीमा पर्नुअघि उनीहरूको कडा शारीरिक र मनोवैज्ञानिक परीक्षण गरिएको बताएका छन्। उनीहरूले रुसमा गएर १३ महिनासम्म कठिन तालिम लिएका थिए र अहिले स्वदेश फर्केर पनि त्यसको निरन्तरता दिएका छन्। उक्त कार्यक्रममा प्रस्तुत भिडिओमा पनि उनीहरूले व्यायाम गरेको, पौडी खेलेको र योगाभ्यास गरेको देखिएको थियो।
    गगनयान भारतको मानवयात्री सवार हुने पहिलो अन्तरिक्ष अभियान हो। त्यसका लागि इसरोले ठूलो तयारी गरिरहेको छ। गगनयान परियोजनाको कुल लागत करिब ९० अर्ब भारतीय रुपैयाँ छ। यदि यो सफल भएमा भारत सोभियत सङ्घ, अमेरिका र चीनपछि अन्तरिक्षमा मानव पठाउने चौथो देश बन्ने छ। गत वर्ष भारतले अन्तरिक्षमा एउटा प्रमुख यात्रा गरेको थियो। अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुवनजिकै आफ्नो यानको सफल अवतरण गराएर भारतले नयाँ इतिहास बनाएको थियो।

    त्यसको केही सातापछि नै भारतले आदित्य(एलवन नामक सूर्यको अध्ययन गर्ने पहिलो यान अन्तरिक्षमा पठाएको थियो। त्यो यानले अहिले पनि सूर्यको अध्ययन गरिरहेको छ। भारतले अन्तरिक्षसम्बन्धी महत्वाकाङ्क्षी नयाँ योजनाहरू पनि घोषणा गरेको छ। उसले सन् २०३५ सम्ममा अन्तरिक्ष स्टेशन स्थापना गर्ने र २०४० सम्ममा चन्द्रमामा अन्तरिक्षयात्री पठाउने लक्ष्य राखेको छ।

    BBC

  • चन्द्रमामा चिसो सकिएपछि ब्यूँतियो जापानी यान

    चन्द्रमामा चिसो सकिएपछि ब्यूँतियो जापानी यान

    काठमाडौं । चन्द्रमामा अवतरण गरेको जापानी अन्तरिक्षयानको ल्यान्डर यान त्यहाँ चिसो सकिएसँगै ब्यूतिएको छ । यसले यान सक्रिय रहेको सङ्केत प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । बीबीसीका अनुसार ऊर्जा प्रणालीमा समस्या उत्पन्न भएपछि र चन्द्रमामा रात परेपछि उक्त ल्यान्डरले काम नगर्ला कि भन्ने डर जापानी अन्तरिक्ष निकाय (जाक्सा)लाई थियो ।

    जाक्साका अनुसार चन्द्रमामाा रात सकिएपछि स्लिमलाई पृथ्वीबाट निर्देशन दिइएको र त्यसले पठाएको प्रतिक्रिया पनि प्राप्त भएको बताइएको छ । चन्द्रमामा हुने रातको अवधि पृथ्वीमा दुई साताजति हुन्छ। रात पर्दा चन्द्रमामा निस्पट्ट अन्धकार हुन्छ र तापक्रम पनि निकै घट्छ।

    गत महिना चन्द्रमामा अवतरण गर्दा गर्दा उक्त ल्यान्डर उत्तानो अवस्थामा थियो। त्यसमा जडित सौर्य प्यानलहरू सूर्यतिर नफर्किएकाले ऊर्जा प्रणालीमा सङ्कट उत्पन्न भएको थियो। त्यसैले स्लिमलाई निष्कृय अर्थात् ,स्लीप मोड मा राखिएको थियो। सूर्यको प्रकाश अर्को दिशाबाट प्राप्त भएपछि उक्त यानले पृथ्वीमा तस्बिरहरू पठाउन सकेको थियो। तर चन्द्रमामा रात परेपछि फेरि त्यसलाई बन्द गरिएको थियो। जाक्साका अनुसार स्लिम को निर्माण कठोर चन्द्ररात्रिमा हुने अवस्था खप्ने गरी भएको थिएन।

    त्यतिबेला उक्त निकायले चन्द्रमामा फेरि सूर्योदय भएपछि मध्यफेब्रुअरीदेखि स्लिमका सौर्य प्यानलमा प्रकाश पर्ने र उक्त ल्यान्डरलाई फेरि सञ्चालन गर्न प्रयास गर्ने जनाएको थियो। चन्द्रमामा दीर्घकालीन रोबटिक वा मानवसहितको अभियान चलाउने हो भने चन्द्रमाको रातमा जोगिनु भनेको एउटा ठूलो प्राविधिक चुनौती पार गर्नु हो। स्लिम चन्द्रमाको मध्यरेखानजिकै ओर्लिएको थियो।

    यस स्थानमा मध्याह्नतिर तापक्रम १०० डिग्री सेल्सिअस पुग्छ तर राति ह्वात्तै झरेर माइनस १३० डिग्री हुन्छ। अवतरण गरेको केही समयमै ल्यान्डरसँगको सञ्चारसम्पर्क विच्छेद गरेको जानकारी जाक्साले दिएको थियो। त्यतिबेला त्यहाँ मध्यदिन थियो र सञ्चार गर्न प्रयोग हुने उपकरण निकै तातेको थियो।

  • रुस-युक्रेन युद्धमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु

    रुस-युक्रेन युद्धमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु

    काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा हालसम्म आफ्नो देशका ३१,००० सैनिकको ज्यान गइसकेको पुष्टी गरेका छन् । उनले रुसलाई सैन्य योजना बनाउन सहयोग पुग्न सक्ने भनी घाइतेहरूको सङ्ख्या भने सार्वजनिक गरेनन्। सामान्यतया युक्रेनले मृत्युको सङ्ख्या सार्वजनिक गर्दैन र अन्य स्रोतहरूले हाल बताइएको भन्दा धेरै जनाले ज्यान गुमाइसकेको अनुमान गरेका छन्।

    अमेरिकी अधिकारीहरूले गत अगस्टमा ७०,००० सैनिक मारिएको र १,२०,००० मानिस घाइते भएको तथ्याङ्क अगाडि सारेका थिए। तर युक्रेनी रक्षामन्त्रीले हालै पश्चिमा शक्तिले प्रतिबद्धता गरेको सहायताको आधा परिमाण प्राप्त हुन ढिला भइरहेकाले आफ्नो देशले जनधन र भूभाग गुमाउनु परिरहेको बताएसँगै यो तथ्याङ्क सार्वजनिक गरिएको छ।

    जेलेन्स्कीले रुसले युक्रेनले भोगेको मानवीय क्षतिको अतिरञ्‍जित तथ्याङ्क फैलाएकोले आफूले अद्यावधिक जानकारी दिएको बताए। यस युद्धमा ३१,००० युक्रेनी सैनिकहरूको मृत्यु भएको छ, ३,००,००० वा १,५०,००० वा पुटिन र उनका सहयोगीहरूले बताउँदै आएजस्तो अन्य कुनै मिथ्या सङ्ख्या होइन। तर मारिएको हरेक व्यक्ति हाम्रो लागि ठूलो क्षति हो। तर उनले रुसले कब्जा गरेको क्षेत्रहरूमा हजारौँ सर्वसाधारणको मृत्यु भइसकेको र ठ्याक्कै सङ्ख्या थाहा हुन नसकेको पनि बताए।

    उनले भने, ‘मलाई थाहा छैन कति मरे, कतिलाई मारियो, कतिलाई यातना दिइयो, कतिलाई निकाला गरियो।’ फेब्रुअरीमा ब्रिटेनको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा ३,५०,००० रुसी सैनिकहरू मरिसकेको वा घाइते भएको बताएको थियो। राष्ट्रपति जेलेन्स्कीले यो सबै जानकारी उनका रक्षामन्त्री रुसटम उमेरभले पश्चिमा मित्रराष्ट्रहरूले सैन्य सहायता प्रदान गर्न ढिलाइ गरेको भनी असन्तुष्टि पोखेपछि प्रस्तुत गरेका हुन्।

  • भारतीय युवा पनि रुसी सेनामा भर्ती भएको पुष्टी

    भारतीय युवा पनि रुसी सेनामा भर्ती भएको पुष्टी

    काठमाडौं । भारतीय युवाहरु समेत रुसी सेनामा भर्ती भएको पुष्टी भएको छ । लाखौँ रुपैयाँ कमाउने आशामा भारतबाट रुस पुगेका युवा समस्यामा परेपछि यो जानकारी सार्वजनिक भएको बीबीसीले जनाएको छ । कामको प्रलोभनमा आफूलाई एजेन्टहरूले रुस बोलाएर सेनामा भर्ती गराएको केही युवाको दाबी छ। एजेन्टहरूले सेनामा नभई हेल्पर र सुरक्षागार्डको जागिर दिने भनेर आफूहरूलाई रुस पुर्‍याएको उनीहरूले बताएका छन्। पछिल्लो समय भारतको कर्नाटक, गुजरात, महाराष्ट्र, जम्मू तथा कश्मीर र तेलङ्गानाबाट १६ जना रुस पुगेका छन्। उनीहरूलाई रुस पुर्‍याउने केही एजेन्टहरू भारत, यूएई र रुसमा रहेर काम गरिरहेको दाबी गरिएको छ।

    हेल्परको काम दिने आश्वासनमा रुस पुर्‍याइएका उनीहरूलाई केही दिनको लागि तालिमलगत्तै सन् २०२३ को डिसेम्बरबाट रुसी सेनामा भर्ती गरिएको परिवारका सदस्यहरूले बताएका छन्। रुसी सेनामा भारतीय युवाहरूलाई पुर्‍याउन यूएईमा बसेर काम गरिरहेको आरोप लागेका बाबा भ्लग चलाउने फैसल खानसँग बीबीसीले कुरा गरेको छ। उनले आफूले रुसी सेनाको सहयोगीको जागिर भन्ने जानकारी दिएरै युवाहरूलाई रुस पठाएको दाबी गरेका छन्। ूमैले जागिर खोज्ने उम्मेदवारहरूलाई यो सेनामै हेल्परको जागिर हो भनेको थिएँ,” उनले भने। रुस पुगेका भारतीय युवाले लामो समयसम्म आफ्नो परिवारसँग सम्पर्क गर्न नसकेपछि यो कुरा बाहिर आएको थियो।

    पछिल्लो समय उनीहरूका केही भिडिओहरू पनि बाहिर आएका छन् जसमा उनीहरू हताश भएर सहयोग मागिरहेको देखिएको छ। भाइरल भएकामध्ये एउटा भिडिओमा तेलङ्गानाका दुई जनाले आफूहरूलाई झुक्क्याइएको दाबी गरेका छन्। हामीलाई सुरक्षा हेल्परको काम भनिएको थियो तर रुसी सेनामा भर्ती गरियो। रुसी अधिकारीहरूले युद्धको अग्रमोर्चामा ल्याए। हामीलाई युद्ध क्षेत्रको एउटा जङ्गलमा तैनाथ गरिएको छ। बाबा भ्लगका एजेन्टले हामीलाई धोका दिए, उनीहरूले भनेका छन्।

  • माल्टामा आप्रवासी बोकेको डुंगा दुर्घटना, कैयौं हताहत

    माल्टामा आप्रवासी बोकेको डुंगा दुर्घटना, कैयौं हताहत

    काठमाडौं । माल्टामा आप्रवासी बोकेको डुंगा पल्टिएर भएको दुर्घटनामा कैयौं मानिसको ज्यान गएको छ । उद्धार कार्यको क्रममा माल्टाको किनारमा आप्रवासी डुंगा पल्टिँदा पाँच जनाको मृत्यु भएको पुष्टी भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आठ जना घाइते भएका छन् । माल्टाको सशस्त्र बल (एएफएम)ले यसको पुष्टी गरेको हो ।

    करिव ७ दशमलव ६ मिटर लामो र दुईवटा मोटरबाट सञ्चालित उक्त डुंगामा सिरिया, इरिट्रिया, घाना र इजिप्टका ३४ जना यात्रु बोकेर भूमध्यसागर पार गर्दै थिए । डुंगा करिव ३.५ नटिकल माइल (६.५ किलोमिटर) पुगेपछि घटनास्थलमा एएफएम विमान पठाइएको थियो । एक एएफएम जहाज घटनास्थलमा पठाइएको थियो तर उद्धार कार्यको क्रममा डुंगा पल्टिएको बताइएको छ । घटनाको छानबिन जारी रहेको बताइएको छ ।

  • रुस-युक्रेन युद्धको दुई वर्ष पुरा

    रुस-युक्रेन युद्धको दुई वर्ष पुरा

    काठमाडौं । रुस युक्रेन युद्धको दुई वर्ष पुरा भएको छ । रुसी राष्ट्रपति भलादमिर पुटिनले सुरु गरेको पूर्ण आकारको अतिक्रमणको दुई वर्ष पूरा भई तेस्रो वर्ष सुरु भएको हो । यद्दपी युद्ध भने जारी छ । पछिल्लो समय युक्रेनी सहरहरूमा थप रुसी हमला भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनलाई सैन्य सहायता दिन ढिलो भइरहँदा रुसले त्यसको लाभ उठाइरहेको चिन्ता युक्रेनमा रहेको छ ।

    शनिवार युक्रेनी राष्ट्रपतिले युक्रेनमा विदेशी नेताहरूका सान्त्वना दिने शब्द र भ्रमणहरू भइरहेका तर आफूहरूलाई अस्त्रको आवश्यकता रहेको बताएका थिए । उक्त द्वन्द्वको मूल्य भयानक छ। दुवै पक्षमा हजारौँ सैनिकहरू मारिएका छन्। हजारौँको सङ्ख्यामा युक्रेनी सर्वसाधारणको समेत युद्धका क्रममा मृत्यु भएको छ। विश्व ब्याङ्कको अनुमान अनुसार युक्रेनी अर्थतन्त्रलाई पुनरुत्थान गर्न पाँच सय अर्ब डलर लाग्नेछ।

  • युक्रेनको हवाई हमलामा कम्तिमा ६० रुसी सैनिकको ज्यान गयो

    युक्रेनको हवाई हमलामा कम्तिमा ६० रुसी सैनिकको ज्यान गयो

    काठमाडौं । अधिनस्थ पूर्वी युक्रेनस्थित एउटा सैनिक प्रशिक्षण क्षेत्रमा गरिएका दुईवटा क्षेप्यास्त्र हमलामा परी कम्तीमा ६० जना रुसी सैनिकहरू मारिएको विवरणमा जनाइएको छ। घटनाबारे जानकार स्रोतहरूले बीबीसीलाई बताएअनुसार एकजना वरिष्ठ रुसी कमान्डरको स्वागतका लागि दोनेत्स्क क्षेत्रमा सैनिकहरू भेला भएका थिए। ठूलो सङ्ख्यामा हताहती भएको उक्त घटनासम्बन्धी भिडिओ फुटेजमा देखिन्छ। बीबीसीले त्यसको आधिकारिकता पुष्टि गर्ने प्रयास गरिरहेको बताएको छ । एकजना रुसी अधिकारीले हमला गरिएको पुष्टि गरेका छन्।

    युक्रेनले अमेरिकामा निर्मित हाइमार्स क्षेप्यास्त्र प्रहार गरेको ठानिएको छ। तर युक्रेनी अधिकारीहरूको तर्फबाट अहिलेसम्म त्यसबारे कुनै टिप्पणी गरिएको छैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सेर्गेई शोइगुसँग बैठक गरेको केही घण्टापछि घटना भएको बताइएको छ।

    बैठकका क्रममा शोइगुले धेरै क्षेत्रको अग्रपङ्क्तिमा रुसले सफलता हासिल गरिरहेको दाबी गर्दै पछिल्लो समय एभ्डीभ्का नगरमाथि गरिएको कब्जाबारे उल्लेख गरे। तर दोनेत्स्कमा भएको घटनाबारे उनले केही उल्लेख गरेनन्। घटनामा बाँच्न सफल एक सैनिकका अनुसार मेजर जेनरल ओलेग मोइसिएफको स्वागतका लागि सैनिक जवानहरूलाई ब्रिगेड कमान्डरहरूले खुला मैदानमा उभिन लगाएका थिए।

    उनीहरूलाई दुईवटा क्षेप्यास्त्रले निशाना बनाइएको बताइएको छ। सो क्षेत्रका गभर्नर एलेक्सान्डर ओसिपोभले घुमाउरो तरिकाले घटनाको पुष्टि गरेका छन्।
    तर त्यसबारे आएका विवरणहरूलाई ओसिपोभले उनकै शब्दमा तथ्यमा आधारित नभएको र बढाइचढाइ गरिएको दाबी गरेका छन्।

  • स्पेनमा पूर्व रुसी पाइलटको हत्या

    स्पेनमा पूर्व रुसी पाइलटको हत्या


    काठमाडौं । स्पेनमा पूर्वरुसी पाइलटको हत्या गरिएको छ । गत वर्ष भागेर युक्रेन गएका रुसी हेलिकप्टर पाइलटको स्पेनमा हत्या गरिएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष अगस्टमा म्याक्सीम कुज्मीनोभले युक्रेनी क्षेत्रमा हेलिकप्टर उडाएका थिए र उनी आफैँले युक्रेनसमक्ष आत्मसमर्पण गरेका थिए। गत साता अलिकान्टीनजिकै मारिएका एक व्यक्तिको परिचय स्पेनी प्रहरीले सार्वजनिक रूपमा खुलाएको छैन। यद्यपि युक्रेनी गुप्तचरहरूले सोमवार कुज्मीनोभको मृत्यु भएको पुष्टि गरेका छन्।

    एकजना प्रवक्ताले युक्रेनी समाचार संस्था युक्रेइन्स्का प्राभ्दालाई भनेका छन्, हामी उनको मृत्यु भएको कुरालाई पुष्टि गर्छौं, उनले यहाँ बस्नुको साटो स्पेन जाने निर्णय गरेका थिए। हामीलाई के थाहा छ भने उनले आफ्नी पूर्वपत्नीलाई आफू बसेको ठाउँमा बोलाएका थिए। त्यसपछि उनको गोली हानी हत्या गरियो। स्पेनी अधिकारीहरूले बीबीसीलाई पीडित गलत पहिचानका साथ रहेको हुनसक्ने बताएका छन्।

    स्पेनी समाचार एजेन्सी एफएका अनुसार कुज्मीनोभको शव स्पेनको पूर्वी तटमा रहेको भीयाखोयोसा सहरमा पाइएको थियो। उक्त शवसँग उनको राष्ट्रियतासँग मेल खाने कागजपत्र फेला परेका थिए। तर ती कागजपत्रमा नाम भने फरक थियो। युक्रेनी गुप्तचर निकायको सञ्चार सेवाले आक्रमणकारीहरूले प्रयोग गरेको हुनसक्ने एउटा जलेको कार घटनास्थलनजिकै फेला परेको जानकारी उक्त समाचार संस्थालाई दिएको थियो।

    कुज्मीनोभले युक्रेनी ुसिक्रेट सर्भिसुलाई गत वर्ष कुनै बेला देश छोड्ने आफ्नो निर्णयबारे जानकारी दिन सम्पर्क गरेका थिए। अन्ततः उनले आफ्नो एमआई(८ हेलिकप्टरलाई सीमा क्षेत्रमा उडाएको र अगस्ट ९ मा पूर्वी युक्रेनमा अवतरण गरेको देखियो। कुज्मीनोभको योजनाबारे अनभिज्ञ उक्त उडानमा रहेका अन्य दुईजना हेलिकप्टर अवतरणपछि सीमातर्फ फर्कन थालेका थिए। उनीहरूको गोली हानी हत्या गरिएको थियो। कुज्मीनोभलाई पनि गोडामा गोली लागेको थियो। उनले चाहिँ ती हत्याका लागि रुसी सेनालाई दोष दिएका थिए।

    गत वर्ष अगस्टमा म्याक्सीम कुज्मीनोभले युक्रेनी क्षेत्रमा हेलिकप्टर उडाएका थिए र उनी आफैँले युक्रेनसमक्ष आत्मसमर्पण गरेका थिए । गत वर्ष सेप्टेम्बरमा एउटा पत्रकार सम्मेलनमा कुज्मीनोभले युक्रेनमाथि रुसी हमलाको विरोध गर्दा आफूले देश छाड्नुपरेको बताएका थिए। उनले युक्रेनले उनलाई नयाँ कागजात र उनको परिवारको सुरक्षाको ग्यारेन्टीसहित पाँच लाख डलर दिने वाचा गरेको पनि बताएका थिए। युक्रेनी अधिकारीहरूले कुज्मीनोभलाई युक्रेनमा बस्ने मौका दिएको बताएका छन्।

    युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले भने, उनी पक्कै पनि यहाँ सुरक्षित हुने थिए। मलाई लाग्दैन उनीहरूले स्पेनमा गरेजस्तो अपमानजनक व्यवहार यहाँ गर्न सक्थे। उक्त घटनाबारे रुसी अधिकारीहरूले आधिकारिक टिप्पणी गरेका छैनन्। यद्यपि मङ्गलवार रुसको एउटा गुप्तचर सेवाका निर्देशकले ूत्यो देशद्रोही र अपराधीको लाश भएकोू बताएका छन्।

  • इजरायलको आक्रमणबाट गाजामा झण्डै २९ हजार सर्वसाधारणको मृत्यु

    इजरायलको आक्रमणबाट गाजामा झण्डै २९ हजार सर्वसाधारणको मृत्यु


    काठमाडौं । गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ । मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा निर्दोष सर्वसाधारण रहेका प्यालेष्टिनी प्रशासनले दाबी गर्दै आएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल–हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन् । इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने २०५ जना घाइते भएका छन् ।

    प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले दक्षिणी गाजा पट्टीको खान युनिस शहरको अल–अमल अस्पतालले इजरायली ट्याङ्कहरूबाट थुप्रै प्रत्यक्ष आक्रमणहरू भएको बताएको छ। गाजा पट्टीको मध्य क्षेत्रमा आवासीय घरहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणमा शनिबार कम्तीमा ४० जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।

    प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार इजरायली लडाकू विमानले मध्य गाजा पट्टीको नुसिरात, अल–जावैदा र देइर अल–बलाह क्षेत्रका घरहरूमा सशस्त्र छापा मार्दा सयौं मानिसको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् । उद्धारकर्ताहरूले ४० वटा शव उद्धार गर्न सक्षम भए भने अझै पनि दर्जनौं भग्नावशेषमुनि छन् । मृतक तथा घाइतेहरूलाई देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा राखिएको छ।

    हमासले गाजापट्टीको छेउमा रहेका इजरायली सहरमा आक्रमण गरेपछि इजरायलले लगातार पाँचौं महिना गाजा पट्टीमा ठूलो मात्रामा सैन्य कारबाही चलाएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब एक हजार २०० इजरायलीको मृत्यु भएको थियो भने दुई सयभन्दा बढी बन्धक बनाइएका थिए । बन्धकमध्ये करिब एक सयलाई युद्धविराम सम्झौताअन्तर्गत मुक्त गरिएको छ भने करिब ३० जनाको मृत्यु भएको र बाँकी अझै हमासको नियन्त्रणमा रहेको उल्लेख छ । रासस–सिन्ह्वा

  • पपुवा न्यू गिनीमा गोली हानेर ५३ जनाको हत्या

    पपुवा न्यू गिनीमा गोली हानेर ५३ जनाको हत्या

    काठमाडौं । पपआ न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ५३ जनाको हत्या भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार सबैको गोली हानेर हत्या भएको हो । यो घटना सुदूर हाइल्याण्ड क्षेत्रमा पर्ने एंगा प्रान्तमा आइतबार भएको हो । समाचार एजेन्सी एपीका अनुसार घात लगाएर बसेकाहरुले एक्कासी आक्रमण गरेका थिए । एपीले यस राजधानीको प्रहरीलाई सोधिएको तर कुनै उत्तर नपाएको जनाएको छ ।

    बीबीसीले भने राष्ट्रिय प्रहरी प्रवक्ताले एंगा प्रान्तमा गोली हानेर मानिसहरुको हत्या भएको पुष्टि गरेको जनाएको छ । यसैगरी एबीसीले शवहरु प्रहरीको ट्रकमा राखेर ओसारिएको फोटो सार्वजनिक भएको जनाएको छ । दक्षिण प्रशान्त द्वीप राष्ट्र पपुआ न्यू गिनीमा सुरक्षा व्यवस्था चुनौतीको विषय बन्ने गरेको छ । गत जनवरी महिनामा पनि त्यहाँ १६ जनाको हत्या भएको थियो ।

    उक्त घटनापछि देशमा आपतकाल घोषणा गरिएको थियो भने केही सरकारी सुरक्षा अधिकृतहरु निलम्बनमा परेका थिए । पपआ न्यू गिनी विकासशील देशमा गनिन्छ । यहाँ ठूलो संख्यामा आदिवासी जनजातीहरुको बसोबास छ भने करिब ८०० भाषा बोलिन्छ ।

  • भारतीय नागरिकलाई मेक्सिको हुँदै अमेरिका पुर्याउने गिरोह नेपालमा पक्राउ

    भारतीय नागरिकलाई मेक्सिको हुँदै अमेरिका पुर्याउने गिरोह नेपालमा पक्राउ

    काठमाडौं । नेपालबाट अवैध रुपमा मेक्सिको हुँदै ११ भारतीयहरूलाई अमेरिका पठाउन सक्रिय रहेको आरोपसहित प्रहरीले ८ जना भारतीयलाई पक्राउ गरेको छ। उनीहरूमाथि अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले उक्त गिरफ्तारीबारे बिहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। उनीहरूलाई नक्कली कागजपत्र बनाउन सहयोग गरेको भन्दै एक जना नेपाली पनि पक्राउ परेका छन्। अमेरिका जान भनेर नेपाल ल्याइएका भनिएका ११ जना भारतीय नागरिकहरूलाई उद्धार गरिएको र उक्त गतिविधिमा संलग्न रहेको ठानिएका ८ जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।


    अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी एउटा प्रतिवेदनले गैर कानुनी आप्रवासनका क्रममा नेपाललाई मानव तस्करहरूलाई ‘ट्रान्जिट’ मुलुकका रूपमा पनि प्रयोग गर्ने गरेको उल्लेख गरेको छ। प्रहरीका अनुसार गिरोहले मेक्सिको हुँदै अमेरिका पठाइदिन्छु भनेर ठूलो रकम लिएर नेपालमा ल्याएर दुबइ हुँदै त्यता पठाउने भनेर राखेको भेटिएको छ । पक्राउ परेको समूहबाट नक्कली कागजपत्रहरू पनि पाइएको छ । प्रहरीका अनुसार फर्जी राहदानीदेखि टिकट र स्ट्याम्पसमेत सो समूहबाट प्रहरीले बरामद गरेको छ। पीडितहरू भारतको हरियाणा, दिल्ली लगायत विभिन्न ठाउँका रहेको भन्दै त्यसबारे आफूहरूले अनुसन्धान गरिरहेको खत्रीले बताए।

    “पक्राउ पर्नेहरू पनि सबै भारतीय नै छन्। पञ्जाब र मध्यप्रदेश सहितका ठाउँका मानिसहरू गिरफ्तार भएका छन्।” पत्रकार सम्मेलनमा खत्रीले अपरेशन डङ्की नाम दिइएको उक्त कारबाहीलाई सङ्गठित अपराधका रूपमा हेरिएको बताए। अनुसन्धानका क्रममा भारतीय गिरोहले अमेरिका नपठाउने उद्देश्य राखेर ती पीडितहरूलाई बन्धक बनाएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले पत्रकार सम्मेलनका बेला विभिन्न एअरलाइन्सका नक्कली बोर्डिङ पास, पीडितहरूको पासपोर्ट, यातना दिन प्रयोग गर्ने गरिएको पाइप र विभिन्न देशका मुद्राहरू सबुत प्रमाणका रूपमा सार्वजनिक गरेको छ।

    प्रहरीले मुलुकी अपराध संहिता २०७४ को अपहरण तथा शरीर बन्धक सम्बन्धी महल र मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारबाही गरिने बताएको छ। प्रहरीका अनुसार पीडितहरूलाई काठमाडौंको रातोपुलमा सिङ्गै घर भाडामा लिएर राखिएको अवस्थामा पाइएको छ। ती व्यक्तिहरूलाई ४० देखि ४५ लाख भारतीय रुपैयाँ बुझाउन भनिएको र काठमाडौंमा ३ हजार डलर र पासपोर्ट बुझाउनुपर्ने सर्त राखिएको थियो । उनले कूल नौ जना पक्राउ गरिएको र त्यसमा कागजात बनाउन सहयोग गर्ने एक जना नेपाली मतियार रहेको बताइएको छ । भारतीयहरूले ७५ हजार मासिक शुल्क तिरेर घर भाडामा लिएको बताउँदै उनीहरूले पीडितहरूलाई बन्धक बनाएको र यातना दिएको पाइएको बताए।

  • आँधीले अष्ट्रेलियामा जनजीवन प्रभावित, क्षति कति ?

    आँधीले अष्ट्रेलियामा जनजीवन प्रभावित, क्षति कति ?

    काठमाडौं । शक्तिशाली आँधीका कारण पूर्वी अष्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीले बताएका छन् । भिक्टोरिया राज्यको ठूलो भूभागमा मङ्गलबार खराब मौसमका कारण १५० किलोमिटर प्रतिघण्टा (९० माइल प्रतिघण्टा) भन्दा बढीको हुरी चलेको राज्य सरकार र आपतकालीन सेवाहरूले बताएका छन् ।

    भिक्टोरिया प्रहरीले एक विज्ञप्ति जारी गर्दै ५० वर्षीय एक डेरी किसानको छतमा काम गर्ने क्रममा उडेको भग्नावशेषले किचेर मृत्यु भएको जनाएको छ । आँधीका कारण मेलबर्नको पश्चिममा रहेको ग्रामपियन क्षेत्रमा पनि डढेलो लागेको र एउटा सानो सहरका केही घर टहरा जलेर नष्ट भएको राज्यको अग्नि नियन्त्रण प्राधिकरणले जनाएको छ ।

    अष्ट्रेलियाली इन्धन बजार सञ्चालकका अनुसार आँधीका कारण सुरूमा पाँच लाख ३० हजार घर परिवार तथा व्यवसाय विद्युतविहीन बनेका छन् । बुधबार दिउँसोसम्म पनि करिब एक लाख ७४ हजार घर परिवार विद्युत् सेवाबाट बञ्चित भएको बताइएको छ । प्राधिकरणले भनेको छ, “व्यापक क्षतिको मात्रालाई ध्यानमा राख्दै प्रभावित सबैलाई पुनः विद्युत सेवा सञ्चालन गर्न केही दिन लाग्न सक्ने देखिन्छ ।” हावाहुरीले घरका छाना उडाएको, रुख र बिजुलीका खम्बाहरू ढलाएको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरहरूमा देखिएको छ ।

    राज्यको ऊर्जा प्राधिकरणका अनुसार ढलेको ट्रान्समिसन टावरका कारण भिक्टोरियाको सबैभन्दा ठूलो बिजुली जेनेरेटर लोय याङ ए बन्द भएको छ भने यसलाई अहिले ग्रिडमा पुनः जडान गर्ने काम भइरहेको छ । भिक्टोरियाका ऊर्जामन्त्री लिली डी एम्ब्रोसियोले भने, “यो राज्यको इतिहासमा सबैभन्दा ठूलो विद्युत् सेवा अवरोध घटनामध्ये एक हो । भिक्टोरिया राज्यका आपतकालीन व्यवस्थापन आयुक्त रिक नुगेन्टले चट्याङका कारण भिक्टोरियामा ‘धेरै पटक आगलागी’ भएको बताए ।

    नुगेन्टले पत्रकार सम्मेलनमा भने, “अति प्रभावित ग्रामपियन क्षेत्रमा आगोको ज्वालाले पोमोनलमा ‘धेरै आवासीय घरहरू’ जलाएको छ । ती घरहरूमा सयौँ बासिन्दा बसोबास गर्दै आएका थिए । मेलबर्नको द एज पत्रिकामा प्रकाशित एक रिपोर्टअनुसार कति घरमा क्षति भयो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको राज्यका अग्निनियन्त्रक अधिकारीले बताएका छन् । भिक्टोरियाली अधिकारीहरूले राज्यभर डढेलो र मौसमको चेतावनी कम गरिएकाले विद्युत आपूर्ति सुचारु गर्न र आगलागीबाट भएको क्षतिको पूर्ण मात्रा पत्ता लगाउन काम गरिरहेको बताएका छन् । रासस-एएफपी

  • रुसी सेनामा भर्ती भई मारिएका नेपालीका परिवारले क्षतिपूर्ति पाउने

    रुसी सेनामा भर्ती भई मारिएका नेपालीका परिवारले क्षतिपूर्ति पाउने

    काठमाडौं । रुसको सेनामा भर्ती भएर युद्धका क्रममा मारिएका नेपाली नागरिकले पाउनुपर्ने क्षतिपूर्ति सरकारी संयन्त्रबाटै आउने भएको छ । रुसी सरकारले गरेको यो निर्णयसँगै हालसम्म रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले क्षतिपूर्ति पाउने भएका हुन् । त्यसरी युद्धमा मारिएका नागरिकको परिवारलाई दिनुपर्ने क्षतिपूर्तिको प्रक्रिया रुसमा रहेको नेपाली दूतावासमार्फत गर्न नेपाल सरकारले अनुरोध गरे अनुसार सरकारी संयन्त्रबाटै दिन रुस सरकारले सहमति जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसअघि क्षतिपूर्ति लिन मृतकका परिवारका सदस्य नै रुस पुग्नुपर्ने भन्ने रुस सरकारको निर्णय रहेकोमा त्यो सच्याएर सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति दिइने भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । उनका अनुसार रुसी सेनामा भर्ती हुने बेला भएको करार अनुसार नेपाली नागरिकले क्षतिपूर्ति पाउने छन् तर करारमा के कति कुरा लेखिएका छन् भन्ने विवरण दूतावास र मन्त्रालयमा नआएको उनले बताए ।

    उनका अनुसार सरकारले परिवार नै रुस गएर क्षतिपूर्ति लिन सम्भव नहुने भन्दै रुस सरकारलाई औपचारिक पत्राचार गरेको थियो । उनले भने, “त्यस्तो सम्भव हुँदैन, मस्कोमा नेपालको दूतावास र उसैले परिवारको प्रतिनिधित्व गर्छ भनेका थियौँ ।”

    सोही अनुसार क्षतिपूर्तिका लागि रुसमा नेपाली दूतावासले नेपालमा मृतकका परिवारसँग समन्वय गरेर मृतकको पहिचान र सम्बन्ध खुलाउने कागजात पठाउने भएको छ । प्रक्रिया अनुसार मस्कोस्थित नेपाली दूतावासले कागज प्रमाणित गरेर क्षतिपूर्ति रकम बुझेपछि त्यो रकम परराष्ट्र मन्त्रालयमा आउने छ ।

    त्यसपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत पीडितका परिवारलाई क्षतिपूर्तिबापतको रकम हस्तान्तरण गरिने मन्त्रालयले स्पष्ट पारेको छ तर कति रकम बराबरको क्षतिपूर्ति पाउँछन् भन्ने विषय रुस सरकारले खुलाएको छैन ।

    नेपालमा रहेका परिवारजनबाट आएको तथ्य अनुसार २१३ जना नेपाली रुसी सेनामा छन् । रुस सरकारसँग नेपाल सरकारले कति नेपाली रुसी सेनामा छन् भनेर मागिएको विवरणको जवाफ आएको छैन । मारिएका १० जनाको भने रुस सरकारले पुष्टि गरेर विवरण पठाएको प्रवक्ता राईले जानकारी दिए । थप दुई जनाको पनि युद्धका क्रममा मृत्यु भएको खबर परिवारले मन्त्रालयमा दिएको छ । त्यसको पनि रुस सरकारले पुष्टि गर्न बाँकी रहेको छ ।

  • मुस्लिम देश यूएईमा बन्यो भब्य हिन्दु मन्दिर, मोदीले गरे उद्घाटन

    मुस्लिम देश यूएईमा बन्यो भब्य हिन्दु मन्दिर, मोदीले गरे उद्घाटन

    काठमाडौं । मुस्लिम देश यूएईले भब्य हिन्दु मन्दिर बनाएर संसारलाई आश्चर्यचकित बनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि मङ्गलवार यूएई पुगेका छन्। उनले बुधवार त्यहाँ एउटा हिन्दू मन्दिरको उद्घाटन गरे । उक्त मन्दिरको उद्घाटनबारे अहिले भारत र अन्यत्र पनि चर्चा भइरहेको छ। सन् २०१५ यता प्रधानमन्त्री मोदीको यो सातौँ यूएई भ्रमण हो। मङ्गलवार मोदीले आबुधाबीमा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग भेट गरेका छन्।

    त्यस क्रममा दुवै नेताले यूपीआई रुपे कार्ड सेवा सुरुवात गरेका छन्। भारत र यूएईबीच कैयौँ महत्वपूर्ण सम्झौता पनि भएको जनाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यूएई र भारतबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल गरेका छन्। उनले त्यहाँ निर्माण भएको मन्दिरमा प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसलाई दुई देशबीचको अनुपम सम्बन्धको शक्ति भएको बताए। उनले उक्त भेटघाटको भिडिओ पनि सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन्।

    मोदीले त्यहाँ बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थाको मन्दिर स्थापनामा यूएईले गरेको सहयोगको प्रशंसा पनि गरेका छन्। उक्त संस्थाले विश्वभरि १,००० वटा मन्दिर र ३,८५० केन्द्र बनाएको छ। यो मन्दिर संयुक्त अरब इमिरेट्समा २७ एकड जमिनमा बनेको छ। यूएईमा भएका सात अमिरातलाई सङ्केत गर्न मन्दिरमा सातवटा शिखर बनाइएको छ। मन्दिर निर्माणका लागि यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले जग्गा उपलब्ध गराएका हुन्।

    प्रधानमन्त्री मोदीले यूएईमा उद्घाटन गर्न लागेको मन्दिरका मूलपुजारी ब्रह्मविहारीदास स्वामीले दुई देशबीचको सम्बन्ध यसअघि कहिल्यै अहिलेको जस्तो बलियो नभएको बीबीसी हिन्दीलाई बताएका छन्। मन्दिरको उद्घाटन विधिवत् रूपमा गर्न भारतबाट सात पुजारी आबुधाबी गएका थिए। बुट्टा र विभिन्न सङ्केत कुँदिएका ३०,००० वटा पत्थर प्रयोग गरी मन्दिर बनाइएको छ। ती बुट्टा राजस्थानका झन्डै २५,००० कलाकारले बनाएको बीबीसी हिन्दीले जनाएको छ।

    विभिन्न धर्मग्रन्थमा वर्णित कथा प्रतिबिम्बित हुने गरी पत्थरमा हात्ती, गाई र मयूरजस्ता जीवका आकृति बनाइएको छ। तिनमा मृग, ऊँट र बाजजस्ता अन्य जीवका आकृति पनि छ। हिन्दूहरूले पवित्र मान्ने नदी गङ्गा, यमुना र सरस्वतीका प्रतीकका रूपमा मन्दिर परिसरमा तीनवटा पोखरी पनि छन्। उक्त मन्दिरमा यो साता वैश्विक शान्तिका लागि यज्ञसहित विभिन्न धार्मिक गतिविधि गरिएको स्वामीनारायण संस्थाले जनाएको छ। कतिपयले यूएईको उक्त मन्दिरलाई ूअरब विश्वको पहिलो हिन्दू मन्दिरू भनेर पनि प्रचार गरेका छन्। तर यूएईमा पहिलादेखि नै अरू मन्दिर छन्।

    मन्दिरको उद्घाटन गर्न प्रधानमन्त्री मोदी आबुधाबी पुगेका बेला दुबईस्थित कार्यरत भारतीय नागरिक श्याम कुमारले बीबीसी हिन्दीसँग भने, “यूएईको पहिलो मन्दिर आबुधाबीमा बनेको होइन। दुबईमा पहिले नै दुईवटा मन्दिर थिए।” उनी बिहारको औरङ्गाबादका हुन् र दुबईमा एउटा कम्पनीमा प्रबन्धक छन्। उनका अनुसार दुवै मन्दिर दुबई थिए तर तिनको आकार मन्दिरको जस्तो थिएन। सन् २०२२ मा कृष्ण मन्दिर दुबईको जेबेल अलीमा सारिएको थियो।

    जेबेल अलीमा एउटा चर्च र गुरुद्वारा पनि छन्। त्यहाँ मन्दिरभित्रै गुरुद्वारा छ। यद्यपि उनी आबुधाबीको मन्दिर विशाल र भव्य भएकाले त्यसको विशेष अर्थ रहेको बताउँछन्। उक्त मन्दिर स्वामीनारायण सम्प्रदायको हो। उनले दिएको जानकारीअनुसार बाहरेन र ओमनमा पनि हिन्दू मन्दिरहरू छन्। त्यस्तै दुबईमा ठूलो सङ्ख्यामा जैन धर्मावलम्बी पनि छन्। उनीहरूले आफ्नो घरको भुइँतलामा मन्दिर बनाएका छन्।

  • भारतमा पुनः चर्कियो किसान आन्दोलन, मोदी सरकारलाई चूनौति

    भारतमा पुनः चर्कियो किसान आन्दोलन, मोदी सरकारलाई चूनौति

    काठमाडौं । भारतमा आफूले फलाएको अन्नबालीले उचित मूल्य नपाएको भन्दै विभिन्न राज्यमा किसान आन्दोलन चर्किएको छ । आन्दोलनकारी दिल्लीतिर अघि बढ्दै जाँदा सरकारले दिल्लीमा निषेधाज्ञा तोकेको छ । साथै विभिन्न स्थानमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। सन् २०२० मा पनि किसानहरूले दिल्लीको सीमामा कैयौँ दिनसम्म धर्ना दिएका थिए। त्यस बेला उनीहरूले एउटा विवादित कृषि कानुनको विरोध गरेका थिए।

    झन्डै एक वर्ष चलेको उक्त आन्दोलनमा कैयौँ सहभागीको ज्यान गएको थियो। सरकारले विवादित कानुन फिर्ता लिएपछि बल्ल किसानहरूले आन्दोलन फिर्ता लिएका थिए। अहिले किसानहरू पुनः आफ्ना माग पूरा नभएको भन्दै सडकमा आएका हुन्। प्रहरीले हरियाणा र पन्जाबको सीमामा प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रहर गरेको थियो।

    विरोधप्रदर्शन गर्न हिँडेका अधिकांश किसान पन्जाब प्रान्तका हुन्। उनीहरूले शान्तिपूर्वक हरियाणा हुँदै दिल्ली जान खोजेको तर आफूहरूलाई त्यसो गर्न नदिइएको बताएका छन्। शम्भु सीमामा प्रहरी र प्रदर्शनकारीबीच झडपहरू भएको विवरण प्राप्त भएको छ। त्यहाँको अवस्था तनावपूर्ण रहेको बताइएको छ। किसानहरूले आफ्नो माग पूरा नहुन्जेल दिल्लीमा प्रदर्शन गर्ने बताएका छन्। किसानहरूलाई दिल्लीमा प्रवेश गर्न नदिन सुरक्षाकर्मीहरूले राजधानी दिल्लीसँग जोडिएको सीमा तीनतिर बन्द गरिदिएका छन्

    कृषकहरूको प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले दिल्लीसँग जोडिएका सीमा तीनतिर बन्द गरिदिएको छ। सन् २०२० मा किसानको प्रदर्शनका कारण छिमेकी राज्यहरूलाई जोड्ने राष्ट्रिय राजमार्गहरू बन्द भएका थिए। यसपालि त्यस्तो हुन नदिन प्रहरीले सीमा बन्द गरिदिएको हो। बाटो बन्द गरिएकाले दिल्लीमा मङ्गलवार ठाउँठाउँमा ट्राफिक जाम भयो। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका निम्ति किसानहरूको आन्दोलनलाई एउटा ठूलो चुनौतीका रूपमा हेरिएको छ।

    कृषक सङ्गठनका नेताहरू तथा सङ्घीय सरकारका मन्त्रीहरूबीच दुई चरणको वार्ता भएको थियो। तर वार्ताबाट कुनै समाधान ननिस्किएपछि किसानहरू फेरि आन्दोलनमा होमिएका हुन्। कृषकहरूले कृषि उपजको न्यूनतम मूल्य निर्धारण गरी त्यसको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। त्यसलाई न्यूनतम समर्थन मूल्य अर्थात् एमएसपी भन्ने गरिन्छ। एमएसपीले कृषकलाई तोकिएको न्यूनतम मूल्यमा आफ्ना उत्पादनहरू सरकारी स्वामित्वका थोक बजार वा मन्डीमा बिक्री गर्न पाउने प्रत्याभूति दिन्छ। उनीहरूले आफ्नो आम्दानी दोबर बनाउने प्रतिबद्धता सरकरले पूरा नगरेको भन्दै त्यो तत्काल पूरा हुनुपर्ने माग पनि राखेका छन्।

  • के भारतले म्यानमार सीमामा तारबार लगाउँदैछ ?

    के भारतले म्यानमार सीमामा तारबार लगाउँदैछ ?

    काठमाडौं । भारतले म्यानमारसँगको खुला सीमाामा तारबार लगाउने योजना बनाइरहेको विवरण सार्वजनिक भएको छ । गृहमन्त्री अमित शाहले केही साताअघि छिमेकी देश म्यान्मारसँगको खुला सीमामा छेकबार लगाउने योजना घोषणा हुन् । भारतले अप्ठ्यारो खेप्नुपरेको १,६४३ किलोमिटर लामो सीमालाई “बाङ्ग्लादेशसँगको सीमामा छेकबार लगाए जसरी” सुरक्षित बनाउने उनको भनाइ छ ।

    भारत र बाङ्ग्लादेशबीच त्योभन्दा झन्डै दुईगुना लामो सीमा छ। शाहले भारत र म्यान्मारको सीमावर्ती क्षेत्रका मानिसहरूलाई भिसाबिनै एकअर्काको देशमा १६ किलोमिटरसम्म यात्रा गर्न अनुमति दिने एउटा पुरानो सम्झौता खारेज गर्ने विषयमा पनि विचार भइरहेको बताएका छन् । छेकबार कसरी र कहिले लगाउने भन्ने चाहिँ उनले खुलाएका छैनन् ।

    तर सीमामा छेकबार लगाउने काम निकै चुनौतीपूर्ण हुने छ। केही विज्ञहरूका अनुसार पहाडी भूभागमा छेकबार लगाउन असम्भवप्रायः छ। दिल्लीको योजनाका कारण सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूबीच कायम पुरानो सन्तुलन बिग्रिन अनि दुई देशबीच तनाव बढ्न सक्छ। म्यान्मारसँग पूर्वोत्तर भारतका अरुणाचल, नागाल्यान्ड, मणिपुर र मिजोरम गरी चारवटा राज्यको सीमा जोडिएको छ।


    पहिलो, सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूपछि म्यान्मारमा बढेको द्वन्द्वका कारण भारतलाई हानि हुने जोखिम बढेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार द्वन्द्वका कारण म्यान्मारबाट झन्डै २० लाख मानिस विस्थापित भएका छन्। म्यान्मारसँग ४०० किलोमिटर लामो सीमा जोडिएको मणिपुरमा गत वर्ष सुरु भएको साम्प्रदायिक हिंसाका कारण समेत भारत यसतर्फ सोचिरहेको बताइन्छ ।

    बहुसङ्ख्यक मैतेई समुदायलाई पनि अनुसूचित जातिमा राख्न अदालतले सरकारलाई निर्देशन दिएपछि त्यसको विरोधमा जनजाति समुदायहरू आन्दोलित हुँदा हिंसा सुरु भएको थियो । बहुसङ्ख्यक मैतेई र आदिवासी कुकी अल्पसङ्ख्यक समुदायबीच झडपमा १७० जनाभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ मानिस विस्थापित भएका छन्।

  • इजरायलले जागामा गर्यो व्यापक नरसंहार, थप १ सय भन्दा बढीको मृत्यु

    इजरायलले जागामा गर्यो व्यापक नरसंहार, थप १ सय भन्दा बढीको मृत्यु

    काठमाडौं । इजरायली सेनाले गाजाको रफाह सहरका विभिन्न स्थानमा गरेका आक्रमणमा करिब एक सय प्यालेस्टिनी मारिएका छन् । मृत्यु हुनेमध्ये कैयौं बालबालिका तथा महिला छन् । प्यालेस्टाइनको रेड क्रेसन्ट सोसाइटीले रफाहमा भीषण आक्रमण गरिएको र कम्तीमा सय जनाको ज्यान गएको जनाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

    यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले इजरायललाई रफाहमा आक्रमण नगर्न आग्रह गरेका थिए । रफाहमा हाल कम्तीमा १५ लाख मानिसले आश्रय लिएका छन् । तीमध्ये अधिकांश मानिसहरू गाजाका अन्य ठाउँबाट भागेर त्यहाँ पुगेका हुन् । रफाहमा भएका मानिसहरू अब जाने कुनै पनि सुरक्षित ठाउँ नरहेको बताइएको छ ।

    इजरायली सेनाले आक्रमणपछि रफाह सहरबाट हमासले बन्धक बनाएका दुई इजरायली पुरुषलाई मुक्त गरिएको जनाएको छ । इजरायल डिफेन्स फोर्सेज ९आईडीएफले० ले मुक्त भएका बन्धकहरू फर्नान्डो साइमन मार्मन र लुई हारको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ । रफाह सहरमा आक्रमण गरेको जनाए पनि इजरायलले विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

    हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेयता गाजा क्षेत्रमा तनाव जारी छ । उक्त आक्रमणमा एक हजार दुई सय इजरायलीको ज्यान गएको थियो । हमासले इजरायली क्षेत्रबाट २ सय ५३ जनालाई बन्धक बनाएर लगेको थियो । त्यसयता इजरायलले गरेका आक्रमणमा कम्तीमा २८ हजार एक सय प्यालेस्टिनीको ज्यान गइसकेको छ । ६७ हजार ५ सयभन्दा बढी घाइते भएको जनाइएको छ ।

  • प्यालेस्टाइन शरणार्थी बसेको शहरमा आक्रमणको योजनामा इजरायल, अन्तर्राष्ट्रिय समुदायको आपत्ति

    प्यालेस्टाइन शरणार्थी बसेको शहरमा आक्रमणको योजनामा इजरायल, अन्तर्राष्ट्रिय समुदायको आपत्ति

    काठमाडौं । प्यालेस्टिनी शरणार्थीले भरिएको दक्षिणी गाजास्थित रफाह सहरमा इजरायलले आक्रमणको योजना बनाएको छ । यसप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता र चेतावनी दिइरहेका छन् । ब्रिटिश विदेशमन्त्री डेभिड क्यामेरोनले इजरेली योजनाका कारण त्यस क्षेत्रमा आश्रय लिइरहेका गाजाका आधाभन्दा बढी जनसङ्ख्यालाई असर पर्न सक्ने बताएको बीबीसीले लेखेको छ ।

    डच विदेशमन्त्री हान्क ब्राउन्स स्लटले इजरेली योजनाबाट धेरै आम नागरिकको ज्यान जानसक्ने बताइन्। साउदी अरबले रफाहमा आक्रमण भए त्यसको परिणाम धेरै गम्भीर हुने चेतावनी दिएको छ। गाजामा शासन गरिरहेको हमासले त्यहाँ दशौँ हजार हताहत हुन सक्ने बताएको छ। गत अक्टोबर ७ मा हमास बन्दुकधारीहरूले दक्षिणी इजरेलमा १,२०० जना भन्दा बढी मारिने गरी आक्रमण गरेपछि इजरेलले गाजामा निरन्तर हमला गरिरहेको छ।

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा भएको इजरेली हमलामा हालसम्म २७,९०० जना भन्दा बढी मानिसहरू मारिएका छन् भने कम्तीमा ६७,००० जना घाइते भएका छन्। अधिकांश गजावासीहरूले अक्टोबरयता कम्तीमा एक पटक आफ्नो घर छाडेर शरण लिन रफाहमा पुग्नु परेको छ। इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रवार हमासविरुद्धको नयाँ विस्तारित आक्रमणबारे घोषणा गरेपछि अन्तर्राष्ट्रिय समुदायबाट ती चेतावनीहरू आएका हुन्।

  • पाकिस्तानमा इमरान खानको पार्टीका स्वतन्त्र उम्मेदवारले जिते १०१ सिट

    पाकिस्तानमा इमरान खानको पार्टीका स्वतन्त्र उम्मेदवारले जिते १०१ सिट

    काठमाडौं । पाकिस्तानमा जेल जिवन बिताइरहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले १०१ सिटमा जित हात पारेको छ । प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गतरातसम्म २६४ क्षेत्रको नतिजा आएको छ । एक सिटको निर्वाचन रद्द भएको । एक क्षेत्रमा मतगणना स्थगित भएको छ।

    निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न नदिएपछि पिटिआईका र त्यसका समर्थित नेताले स्वतन्त्र उम्मेदवारी दिएका थिए। नवाज सरिफको पाकिस्तान मुस्लिम लिग(नेश्नलिस्ट (पिएमएल–एन)लाई पाकिस्तानी सेनाको समर्थन थियो। सेनाको समर्थनका बाबजुद उक्त दलले बहुमत पाउन सकेन। पिएमएल–एनले ७५ सिट मात्र ल्याएको छ । बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टेरियन (पिपिपी)ले ५४ सिट मात्र जितेको छ । मुत्ताहिडा क्वमी मुभमेन्टले १७ सिट जितेको छ।

  • पाकिस्तानमा कुनै पनि दलले ल्याएनन् बहुमत, सेनाको भूमिका शंकास्पद

    पाकिस्तानमा कुनै पनि दलले ल्याएनन् बहुमत, सेनाको भूमिका शंकास्पद

    काठमाडौं । पाकिस्तानमा कुनै पनि दलले बहुमत ल्याउन नसकेको बताइएको छ । आम चुनावको अधिकांश नतिजा आइसक्दा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेका छैनन् । जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानले बिहीवारको चुनावमा जित हासिल गरेको दाबी गरेका छन्। उनको साथ पाएका स्वतन्त्र उम्मेदवारहरूले हालसम्म सबैभन्दा धेरै स्थानमा जितेका छन् ।

    तर अर्का पूर्व प्रधानमन्त्री नवाज शरिफले आफ्नो दल सबैभन्दा ठूलो बनेको भन्दै अन्यलाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन्। समाचारहरूका अनुसार शरिफको पीएमएल-एन दल र अन्य समूहबीच गठबन्धन बनाउनेबारे छलफल चलिरहेको छ। आम चुनावको औपचारिक नतिजा घोषणा हुन अझै बाँकी छ। यस अवस्थामा सेनाको भूमिका शंकास्पद मानिएको छ । पाकिस्तानका शक्तिशाली सेना प्रमुखले देशलाई अराजकता र ध्रुवीकरणको राजनीतिबाट बाहिर निकाल्न आह्वान गरेका छन्। जेनरल असिम मुनिरले एउटा स्थिर नेतृत्व आवश्यक रहेको बताए।
    चुनाव लड्न प्रतिबन्ध लगाइएसँगै पीटीआईलाई पार्टीको रूपमा मान्यता दिइएको छैन। एआईद्वारा तयार पारिएको एक भिडिओ सन्देश एक्समा राख्दै इमरान खानले आफ्नो पीटीआई पार्टीले विशाल जित हासिल गरेको बताएका छन्। उनले आफ्नो दलविरुद्धका अनेकौँ कारबाहीबीच आफूहरूले उक्त सफलता हासिल गर्न सकेको बताएका छन्।

    उक्त सन्देशमा भनिएको छः म तपाईँहरू प्रत्येकलाई सन् २०२४ को चुनाव जितेकोमा बधाई दिन चाहन्छ, तपाईँहरूले इतिहास रच्नुभएको छ। खान यतिखेर जेलमा छन्। आफू दोषी पाइएका मुद्दालाई उनले राजनीतिक मनसायबाट प्रेरित बताएका छन्। पीटीआईसँग सम्बन्ध भएका उम्मेदवारहरूको जित अनपेक्षित खालको छ। किनकि त्यहाँ कैयौँ विज्ञहरूले शरिफलाई देशको शक्तिशाली सेनाको साथ रहेको बताउँदै आएका थिए। तर चुनाव लड्न प्रतिबन्ध लगाइएसँगै पीटीआईलाई पार्टीको रूपमा मान्यता दिइएको छैन।

  • यूरोपमा किन फैलिरहेको छ किसान आन्दोलन ?

    यूरोपमा किन फैलिरहेको छ किसान आन्दोलन ?

    काठमाडौं । फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका धेरै देशमा फैलिएको छ । फ्रान्ससहित इटली, पोल्यान्ड, स्पेन, बुल्गेरियालगायत देशमा किसानले प्रदर्शन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युरोपेली युनियनभन्दा बाहिरका देशबाट भइरहेको सस्तो आयातको विरूद्धमा उनीहरुले प्रदर्शन गरेको समाचारमा उल्लेख छ ।

    इटलीमा शुक्रवार ट्र्याक्टरसहितका हजारौँ किसानले रोममा प्रदर्शन गरे । केही घण्टापछि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले वार्षिक १० हजार ८ सय अमेरिकी डलरसम्मको व्यक्तिगत आयकर छुट दिने घोषणा गरे । उता, पोल्यान्डमा आन्दोलनमा रहेका किसानले युक्रेनसँगको सीमा नाका बन्द गरेका छन्, युक्रेनबाट आयात हुने सस्तो खाद्यान्न र तरकारीले आफूहरुको उत्पादन नबिकेको भन्दै विरोध भएको छ । पोल्यान्डका किसानले ३० दिने आन्दोलनको घोषणा गरेका छन् ।

    स्पेनका किसानले पनि अत्यधिक कर र वातावरणीय नियमको विरोध गर्दै देशभरका धेरै सडक, राजमार्ग र बन्दरगाहहरू अवरुद्ध गर्दै आएका छन् । उनीहरुले ट्र्याक्टरहरूसहित मड्रिड घेराउ गर्ने चेतावनी दिएका छन् । बुल्गेरियाका किसानहरुको विरोधले रोमानियासँगको नाका अवरुद्ध भएको थियो ।

    किसानहरूले कम उत्पादन मूल्य, बढ्दो लागत, सस्तो आयात र जलवायु परिवर्तन विरुद्ध ईयूको नीतिहरूसँग सम्बन्धित प्रतिबन्धहरूको विरोधमा युरोपभरि प्रदर्शनहरू गरेका छन् । युरोपेली युनियनले वातावरण संरक्षणको लागि भन्दै तरकारी र खाद्यान्न बालीमा विभिन्न विषादी र कृषि प्रविधिमा रोक लगाएको छ।

  • पाकिस्तानको मतगणनामा के आइरहेको छ नतिजा ?

    पाकिस्तानको मतगणनामा के आइरहेको छ नतिजा ?

    काठमाडौं । पाकिस्तानमा बिहीवार सम्पन्न आमनिर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरिक–ए(इन्साफ पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन्। शुक्रवार साँझसम्म देशका कुल निर्वाचन क्षेत्रमध्ये आधा क्षेत्रको मतपरिणाम पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको छ। तीमध्ये सबैभन्दा धेरै ७० भन्दा धेरै क्षेत्रमा खानको दल समर्थित स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएको बीबीसी उर्दूले जनाएको छ। पीटीआईमाथि देशभरि प्रतिबन्ध लगाइएपछि खान समर्थित उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

    उनीहरूलाई पार्टीको निर्वाचन चिह्न क्रिकेटको ब्याट प्रयोग गर्न पनि निर्वाचन आयोगले रोक लगाएको थियो। गत वर्ष स्वैच्छिक निर्वासनबाट फर्किएका अर्का पूर्वप्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लीग (नवाज) पार्टीले स्वतन्त्र उम्मेदवारपछि सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको छ। यो दलले ६० भन्दा धेरै सिटमा जित हासिल गरेको छ। यो पार्टीका प्रमुख नवाज शरिफ लाहोरबाट विजयी भएका छन्। यसअघि तीन पटक प्रधानमन्त्री बनिसकेका नवाज शरिफलाई पाकिस्तानको शक्तिशाली सेनाले साथ दिएको कतिपय विश्लेषकहरूले बताउँदै आएका छन्।

    निर्वाचनको पूरा नतिजा नआउँदै खान र शरीफको दलले आ(आफ्नो जितको दाबी गर्दै आएका छन्। मतपरिणाम आउन बाँकी क्षेत्र पाकिस्तानका विभिन्न प्रान्तहरूमा पर्छन्। ती क्षेत्रहरूमा यसअघि शरिफको दलले पकड देखिएको थियो। तेस्रो धेरै मत हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टो जरदारीको दल पाकिस्तान पिपल्स पार्टीले ल्याएको छ। उक्त दलले शुक्रवार साँझसम्म ५० भन्दा धेरै क्षेत्रमा जित हासिल गरेको छ। जरदारी कम्बर शहादत्तकोट क्षेत्रबाट निर्वाचित भएका छन्।

    विश्लेषकहरूले हालसम्मको मत परिणामका आधारमा कुनै एक पार्टीले बहुमत पाउने प्रस्ट नदेखिएको बताएका छन्। निर्वाचन आयोगको नियम अनुसार स्वतन्त्र उम्मेदवारहरू चुनावमा निर्वाचित भएपछि निर्वाचन चिह्न भएको कुनै दलमा आबद्ध हुने ठानिएको छ। तहरिक(ए(इन्साफ पार्टीको चुनाव चिह्न नभएका कारण खानको दलले समर्थन गरेका उम्मेदवारहरू अर्को दलमा जानुपर्ने बाध्यता छ। उनीहरूलाई नवाज शरिफ र बिलावल भुट्टो जरदारी दुवैको दलले आफ्नो दलमा ल्याउन प्रयास गरिरहेका छन्।
    राजनीतिक विश्लेषक रफिउल्लाह काकड स्वतन्त्र उम्मेदवारहरूलाई जरदारीको दल र अर्को कुनै सानो दलसँग मिलेर गठबन्धन बनाउने वा खानको पीटीआईमै आबद्ध हुने व्यवस्था खोज्ने दुई विकल्प देखिएको बताउँछन्। पाकिस्तानमा करिब १२ करोड ८० लाख मतदाता छन्। राष्ट्रियसभा भनिने सङ्घीय संसद्‌सहित प्रान्तीय सभाहरूमा समेत गरेर देशभरि ५,००० जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। धाँधलीको आरोपप्रत्यारोपमाझ भएको निर्वाचनको परिणाम विगतका चुनावहरूको भन्दा ढिलो आएको भन्दै विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।

  • शिवसेना नेताको भारतमा फेसबुक लाइभकै दौरान गरियो गोली हानेर हत्या

    शिवसेना नेताको भारतमा फेसबुक लाइभकै दौरान गरियो गोली हानेर हत्या

    काठमाडौं । भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या गरिएको पुष्टी भएको छ । फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैंलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् । अभिषेकमाथि गोली लागेको भिडियो सामाजिक सन्जालमा भाइरल छ । भारतीय मिडियाहरुका अनुसार अभिषेक र मोरिस साथी–साथी हुन् । उनीहरुबीच केही दिन अघि विवाद भएको थियो । हत्याको कारण आपसी विवाद नै हुनसक्ने अनुमान गरिएको छ ।

    सामाजिक सन्जालमा भाइरल भइरहेको एक भिडियोमा अभिषेक र रातो टिसर्ट लगाएका मोरिस एउटा कोठाभित्र सँगै देखिन्छन् । उनीहरु हाँसीखुसी भिडियो च्याट गरिरहेको देखिन्छ । केहीबेरमा अभिषेक उठ्न खोज्दा उनीमाथि गोली चल्छ । अभिषेक कराउँदै लडखडाएको देखिन्छ । तर गोली चलाउने व्यक्ति भने भिडियोमा देखिँदैन । भारतीय मिडियाहरुका अनुसार अभिषेकलाई उनकै साथी मोरिसले आफ्नो अफिसमा बोलाएर गोली हानेका हुन् । त्यसपछि मोरिसले पनि आफैंमाथि गोली चलाएर आत्महत्या गरेको समाचारमा जनाइएको छ ।

    अभिषेकलाई बोरीवली करुणा अस्पताल पुर्याइएको र उपचारको क्रममा ज्यान गएको मिडिया रिपोर्टहरुमा उल्लेख छ । मृतक अभिषेक शिवसेनाको उद्धव ठाकरे गुटका पूर्व विधायक विनोद घोषालकरका छोरा हुन् । बोरीवली विधानसभा क्षेत्रमा घोषालकर परिवारको दबदबा छ । मृतक अभिषेककी पत्नी तेजस्विनी हाल पार्षद छिन् । अभिषेक भने मुम्बईको दहिसर वार्ड नम्बर १ का पूर्व नगरसेवक हुन् । उनी मुम्बई बैंकको निर्देशकसमेत हुन् ।

    गत हप्ता पनि महाराष्ट्रको उल्हासनगरमा विशसेनाको एकनाथ शिन्दे गुटका नेता महेश गायकवाडमाथि प्रहरी स्टेसनभित्रै गोली प्रहार भएको थियो । अभिषेकको हत्यापछि शिवसेना ९उद्धव ठाकरे गुट०ले सरकारको आलोचना गरेको छ । उद्धव गुटका नेता एवम् सांसद सन्जय राउतले महाराष्ट्रका गृहमन्त्री देवेन्द्र फडनविसको राजीनामा मागेका छन् ।

  • पाकिस्तानमा इमरान खानको पार्टीलाई प्रारम्भिक अग्रता

    पाकिस्तानमा इमरान खानको पार्टीलाई प्रारम्भिक अग्रता

    काठमाडौं । पाकिस्तानमा बिहीबार भएको आम निर्वाचनको मत गणना जारी रहँदा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु अगाडि देखिएका छन् । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार १२० सिटमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवार अगाडि छन् ।

    पीटीआईका अध्यक्ष गौहर रजाले आफूहरु १५० भन्दा बढी सिटमा अगाडि रहेको दाबी गरेका छन् । उनले जेलमा रहेका कैदी (इमरान खान) देशको प्रधानमन्त्री बन्ने दाबी समेत गरे । पाकिस्तानको नेशनल एसेम्लीमा कुल ३३६ सिटमध्ये २६५ सिटमा बिहीबार निर्वाचन भएको थियो । बाँकी सिट आरक्षित छन् । सरकार बनाउनका लागि १६९ सिट जित्नुपर्दछ ।

    वर्तमान सरकारले पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार आरोपमा १४ वर्ष जेल सुनाउँदै उनको पार्टी पीटीआईलाई निर्वाचन लड्न समेत प्रतिबन्ध लगाएको थियो । त्यसपछि पीटीआई समर्थित उम्मेदवारहरु स्वतन्त्र रुपमा चुनाव लडेका थिए । सरकारले पक्रेर जेलमा हालेका कतिपय उम्मेदवाररु जेलबाटै चुनाव लडेका छन् । सबैभन्दा धेरै सिटमा अग्रता देखिएपछि उत्साहित भएका पीटीआईका कार्यकर्ताहरुले ठाउँठाउँमा खुसियाली जुलुस निकालेका छन् ।

    पीटीआईको सुरुवाती अग्रतालाई अप्रत्यासित मानिएको छ । किनभने इमरान खान जेलमा भएको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न प्रतिबन्ध लगाइएकाले नवाज शरीफ नेतृत्वको पार्टीले धेरै स्थानमा चुनाव जित्ने प्रक्षेपणहरु सार्वजनिक भएका थिए । तर मत गणनाको सुरुवाती चरणमा शरीफको पार्टी दोस्रो र बिलावल भुट्टोको पार्टी तेस्रो स्थानमा छन् ।

    इमरान खान नेतृत्वको पार्टीका स्वतन्त्र उम्मेदवारहरु अग्रस्थानमा रहेपछि मत परिणाम सार्वजनिक गर्न ढिलाइ गरिरहेको आरोप निर्वाचन आयोगलाई लागेको द डनको अनलाइन संस्करणमा उल्लेख छ । विद्युतीय मेसिनबाट मतदानबाट गरिएकाले सबै निर्वाचन परिणाम आजै सार्वजनिक हुने अनुमान छ ।

  • केन्याली नेतामाथि लाग्यो १९१ जना बालबालिकाको हत्या अभियोग

    केन्याली नेतामाथि लाग्यो १९१ जना बालबालिकाको हत्या अभियोग

    काठमाडौं । मालिन्दी उच्च अदालतले केन्याली ईसाई पन्थ नेता पल नथेन्ज म्याकेन्जी र अन्य २९ जना संदिग्धलाई एक सय ९१ बालबालिकाको हत्या गरेको अभियोग लगाएको सिएनएनले बताएको छ । गत वर्ष पूर्वी केन्याको शाकाहोला जङ्गलबाट शव निकालिएको थियो । त्यहाँ म्याकेन्जी र उहाँका सहयोगीहरूमाथि मृत्यु संस्कार सञ्चालन गरेको आरोप लगाइएको थियो ।

    महिनौँसम्म खोजी गरेपछि अधिकारीहरूले ती शव विशाल जङ्गलबाट बाहिर निकालेका थिए । यद्यपि सिएनएनका अनुसार म्याकेन्जी र अन्य २९ जनाले दोषी नभएको स्वीकार गरेका छन् । संदिग्धमध्ये एक जनालाई मुद्दा चलाउनका लागि मानसिकरूपमा अयोग्य पाइएको छ । यसका साथै म्याकेन्जीमाथि आतङ्कवाद, हत्या र बाल क्रुरतासहित अन्य थुप्रै आरोप लगाइको छ ।

    कथितरूपमा उहाँको ट्रायल माच ७ देखि सुरु हुने सिएनएनले बताएको छ । गुड न्युज इन्टरनेसनल चर्च सञ्चालन गर्ने म्याकेन्जीमाथि डुम्सडे ९प्रलयको दिन० पन्थको नेतृत्व गरेको आरोप छ । डुम्सडेमा उहाँले मृतकहरू स्वर्गमा पुग्न सकुन् भनेर आफ्ना अनुयायीहरूलाई आफू र आफ्ना छोराछोरीलाई भोकै मर्न निर्देशन दिनुभएको थियो ।

    त्यसपछि म्याकेन्जीको निर्देशनअनुसार पन्थले संसारको अन्त्यको तयारी गरिरहेको अनुसन्धानकर्ताहरूले आरोप लगाएका छन् । अनुसन्धनकर्ताहरूले प्रमाणका लागि जङ्गलमा महिनौँसम्म खोजबिन गरेकाले म्याकेन्जी गत अप्रिलदेखि हिरासतमा हुनुहुन्छ । पछि शव परीक्षणको नतिजाबाट बरामद गरिएका शवहरूमध्ये धेरैको भोकमरीले मृत्यु भएको पत्ता लागेको थियो ।

    अन्य शवमा आघात र घाँटी थिचेको लक्षण देखिएको सिएनएनले बताएको छ । गत महिना एक अदालतले म्याकेन्जीविरुद्ध अभियोजकहरूले आरोप नल्याए उनलाई रिहा गर्ने धम्की दिएको थियो । धेरैजसो शवहरू गम्भीररूपमा कुहिएका कारण डिएनएमार्फत पीडितहरू पहिचान गर्न लामो प्रक्रियाको सामना गर्नुपरेको अभियोजकहरूले जवाफ दिएका थिए । रासस–एएनआई

  • हिंसाका बीच पाकिस्तानमा आज आम निर्वाचन, नयाँ प्रधानमन्त्री छानिने

    हिंसाका बीच पाकिस्तानमा आज आम निर्वाचन, नयाँ प्रधानमन्त्री छानिने

    काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा हिंसात्मक घटना बढेका छन् । उता सरकारले सुरक्षा प्रवन्ध कडा बनाएको बताएको छ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जना घटिएको रेडियो पाकिस्तानले उल्लेख गरेको छ । पाकिस्तान निर्वाचन आयोगका अनुसार कूल १२ करोड ८५ लाख ८५ हजार ७६० जना मतदाता छन् । मतदानका लागि ९ लाख भन्दा बढी मतदान केन्द्र बनाइएको छ ।

    निर्वाचन आयोगका अनुसार ४४ हजार मतदान केन्द्र सामान्य छन् । २९ हजार ९८५ मतदान केन्द्र संवेदनशील र १६ हजार ७६६ मतदान केन्द्र अति संवेदनशील घोषणा गरिएको छ । निर्वाचनमा ५ हजार १२१ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये ४ हजार ८०७ जना पुरुष, ३१२ महिला र दुई जना यौनिक अल्पसंख्यक उम्मेदवार छन् । यो निर्वाचनबाट को प्रधानमन्त्री बन्ला भन्ने चासो छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलमा रहेका कारण प्रधानमन्त्रीको प्रतिस्पर्धामा छैनन् ।


    इमरान खालको पार्टी पाकिस्तान तेहरिक–ए-इन्साफ (पीटीआई)ले आफ्नो चुनाव चिह्न क्रिकेट ब्याट पनि पाएको छैन । निर्वाचन आयोगले पीटीआईलाई क्रिकेट ब्याट चुनाव चिह्न प्रयोग गर्न नदिने निर्णय गरेपछि सो पार्टीका उम्मेदवारहरु स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका छन् । पीटीआईको समर्थनमा केही नयाँ अनुहारका युवा उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।

    यो निर्वाचनको प्रतिस्पर्धामा सबैभन्दा अगाडि ७४ वर्षीय पूर्वप्रधानमन्त्री नवाज शरीफ रहेको चर्चा छ । यदि उनको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले चुनाव जितेमा नवाज शरीफ चौथो पटक प्रधानमन्त्री बन्ने छन् । अमेरिकी थिङ्कट्यांक विल्सन सेन्टरका दक्षिण एशियाका निर्देशक माइकल कुगल्मनलाई उद्धृत गर्दै बीबीसी नेपालीले लेखेको छ, ‘उनी निकै लोकप्रिय भएर हैन, सही तरिकाले राजनीतिक चाल चलेका कारण भावी प्रधानमन्त्रीको प्रबल दाबेदार बनेका हुन् ।’

    नवाज शरीफ १ नोभेम्बर १९९० देखि १८ जुलाई १९९३ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि दोस्रो पटक १७ फेब्रुअरी १९९७ देखि १२ अक्टुबर १९९९ सम्म प्रधानमन्त्री बने । उनको दोस्रो कार्यकालमा तत्कालीन सैनिक शासक परवेज मुशर्रफले कू गरेपछि नवाज शरीफ सत्ताच्युत भएका थिए । सन् २०१३ मा भएको निर्वाचनपछि उनी तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । उनी पछिल्लो पटक ५ जुन २०१३ देखि २८ जुलाई २०१७ सम्म प्रधानमन्त्री थिए । तीनपटकसम्म प्रधानमन्त्री बन्ने उनी पाकिस्तानको पहिलो नेता हुन् ।

    भ्रष्टाचारको अभियोग लागेपछि उनी चार वर्षसम्म पाकिस्तानबाट निर्वासित भएका थिए । चुनाव लड्ने तयारीका साथ उनी गत अक्टुबरमा मात्र स्वदेश फर्किएका थिए । उनीमाथिका अभियोग पनि एक-एक गर्दै चुनाव अगाडि टुंगो लगाइएको छ । साथै पाकिस्तानको सेनाको साथ पनि नवाज शरीफलाई रहेकाले उनी यो निर्वाचनबाट फेरि सत्तामा फर्किने अनुमान गरिएको छ ।

    नवाज शरीफको कट्टर आलोचक इमरान खान जेलमा रहेको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न रोक लगाइएकाले नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले चुनावबाट सबैभन्दा ठूलो दल बनेर सरकार बनाउने अनुमान गरिएको हो । यसैगरी बुलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पनि यो निर्वाचनको प्रमुख प्रतिस्पर्धी हो । पीपीपीले जरदारीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।

  • पाकिस्तानमा बम विष्फोट, कम्तिमा दुई दर्जन मारिए

    पाकिस्तानमा बम विष्फोट, कम्तिमा दुई दर्जन मारिए

    काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा दुईटा बम विस्फोटन हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पाकिस्तानमा बिहीवार निर्वाचन हुन लागेको छ। पहिलो विस्फोटन पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालयअगाडि भएको थियो। त्यसमा परी १४ जनाको मृत्यु भयो। दोस्रो विस्फोटन त्यहाँबाट १५० किलोमिटर टाढा अवस्थित किल्ला सैफ उल्लाह जिल्लामा भएको बताइएको छ। त्यसमा परी आठ जनाको मृत्यु भयो। दुवै घटनामा कैयौँ मानिसहरू घाइते भएका छन्। पाकिस्तानमा निर्वाचनको पूर्वसन्ध्यामा हिंसात्मक घटनाहरू भएका छन् भने धाँधली गरिएको वा हुन लागेको आरोप पनि लगाइएको छ।

    पिशिनमा भएको आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिइसकेको छैन। पिशिन प्रान्तीय राजधानी क्वेटाबाट ५० किलोमिटर टाढा र अफगान सीमाबाट १०० किलोमिटर दक्षिणपूर्वमा छ। त्यहाँ २५ जना घाइते भएको अधिकारीहरूले बताएका छन्। दोस्रो विस्फोटनबारे विस्तृत विवरण आउन बाँकी छ। एक वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचारसंस्थालाई दिएको जानकारीअनुसार जिल्लाहको मुख्य बजारमा विस्फोटन भएको थियो। त्यसको निसानामा जेयूआई(एफ पार्टीको चुनावी अभियान सञ्चालन गर्ने कार्यालय थियो।

    सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा पिशिनमा विष्फोटनका कारण गाडी र मोटरसाइकलहरू ध्वस्त भएको देखिन्छ। प्रहरीले विस्फोटन कसरी गराइयो भन्ने पत्ता लगाउन खोजिरहेको छ। घाइतेहरूलाई नजिकैका अस्पतालमा लगिएको छ। निर्वाचनको मुखमा गत साता बलोचिस्तान र खैबर पख्तूनख्वा प्रान्तमा थुप्रै हिंसात्मक घटना भएका छन्। यद्यपि बलोचिस्तान सरकारले मतदान योजनाअनुसार नै अघि बढ्ने बताएको छ। ‘ढुक्क रहनुहोस्, हामी आतङ्कवादीहरूलाई हाम्रो महत्त्वपूर्ण प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न दिने छैनौँ, प्रान्तीय सूचनामन्त्री जन अचकजाईले पहिले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

  • नाइजेरियामा विवाह समारोहबाटै ३५ महिलाको अपहरण

    नाइजेरियामा विवाह समारोहबाटै ३५ महिलाको अपहरण

    काठमाडौं । उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् । कटसिना राज्यमा भएको सामूहिक अपहरण अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालै भएका अपहरणको शृङ्खलामा पछिल्लो सबैभन्दा ठूलो हो । प्रहरी प्रवक्ता अबुबकर अलियुले बिहीबार राति साबुवा क्षेत्रमा विवाहबाट फर्किरहेका माथि संदिग्ध हतियारधारी डाकाहरूले आक्रमण गरी करिब ३५ महिलालाई अपहरण गरेको जानकारी दिए ।


    राज्यको आन्तरिक सुरक्षा आयुक्त नासिरु मुआजले बेहुलीलाई बेहुलाको घर पुराउने क्रममा दामरी गाउँ फर्किंदै गर्दा ५० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको उनले बताएका छन् । आयुक्त मुआजले बासिन्दाहरूसँग रातको समयमा यात्रा नगर्न आग्रह गर्दै सुरक्षाकर्मीले अपहृतहरूलाई खोज्ने र उद्धार गर्ने प्रयास गरिरहेको बताए ।


    नाइजेरियामा फिरौतीका लागि अपहरण एउटा ठूलो समस्या बनेको छ । आपराधिक गिरोहले राजमार्ग, अपार्टमेन्ट र यहाँसम्म कि स्कुलहरूबाट विद्यार्थीहरूलाई समेत लुट्न निशाना बनाउँछन् । स्थानीयरूपमा डाकुहरू भनेर चिनिने गिरोहले उत्तरपश्चिमी तथा मध्य राज्यहरूका जङ्गलस्थित आधारबाट अपहरण गर्दै आएका छन् ।

    वर्षको प्रारम्भमा अपराधीहरूले राजधानी अबुजा नजिकै पाँच दिदीबहिनीलाई अपहरण गरी फिरौतीको समय समाप्त भएपछि एक बहिनीको हत्या गरेका थिए । यसबाट राष्ट्रिय आक्रोश बढेको थियो । गत साता अपहरणकारीहरूले नाइजेरियाली स्कुल बसमा आक्रमण गरी दक्षिणपश्चिमी एकिटी राज्यमा पाँच बालबालिका र उनीहरूका शिक्षकहरूलाई अपहरण गरेका थिए ।

    गत सोमबार सोही राज्यमा छुट्टै आक्रमणमा दुई परम्परागत शासकको हत्या भएको थियो । बन्दुकधारीहरूले बिहीबार क्वारा राज्यमा अर्का एक परम्परागत राजाको गोली हानी हत्या गरे र उहाँकी पत्नीलाई अपहरण गरे । गत वर्ष मेमा राष्ट्रपतिमा निर्वाचित भएपछि बोला अहमद टिनुबुले असुरक्षालाई सम्बोधन गर्ने आफ्ना प्रमुख वाचाहरूमध्ये एक बनाउनु भएको छ ।

    नाइजेरियाले उत्तरपूर्वी क्षेत्रमा जिहादी, उत्तरपश्चिममा आपराधिक मिलिसिया र केन्द्रीय राज्यहरूमा अन्तर–साम्प्रदायिक हिंसाको सामना गरिरहेको छ । नाइजेरियाली रिस्क कन्सल्टेन्सी एसबिएम इन्टेलिजेन्सका अनुसार मेमा टिनुबुले पदभार सम्हालेदेखि नाइजेरियामा तीन हजार नौ सय ६४ व्यक्ति अपहरणमा परेको रेकर्ड गरिएको जनाएको छ । रासस\एएफपी

  • जाकार्ता डुब्ने भयसँगै राजधानी सार्ने इन्डोनेशियाको योजना कहाँ पुग्यो ?

    जाकार्ता डुब्ने भयसँगै राजधानी सार्ने इन्डोनेशियाको योजना कहाँ पुग्यो ?

    काठमाडौं । इन्डोनेशियाको राजधानीलाई जाकार्ताबाट नुसन्तारामा सार्ने महात्वाकांक्षी योजना अन्तर्गतका काममा ढिलाइ भएको छ । सन् २०२४ मा राजधानी सारिसक्ने निर्णय सरकारले गरे पनि काम पूरा नहुने संकेत देखिएको छ । राष्ट्रपति जोको बिडोडोले राजधानी सार्ने घोषणा सन् २०१९ मै गरेका थिए । त्यसका लागि सन् २०२२ मा एक कानुन पारित गरिएको थियो । त्यसपछि भौतिक पूर्वाधार निर्माणका काम जारी छ । यसबीचमा राष्ट्रपति चुनाव नजिकिएको र निर्माणका धेरै काम बाँकी नै भएकाले सन् २०२४ मा राजधानी सार्ने काम सकिनेमा शंका छ ।

    इन्डोनेसियाको राष्ट्रिय अनुसन्धान केन्द्रका राजनीति शास्त्र विभाग प्रमुख डाक्टर अतिका नूर अलामीका अनुसार सन् १९४५ देखि जाकार्ता देशको राजधानी बनेको हो । त्यतिबेलादेखि नै राजधानी सार्ने बहस सुरु भएको थियो । यो बहस चलेको आठ दशक भइसकेको छ । उनले बीबीसीलाई बताएअनुसार इन्डोनेसियाका पहिलो राष्ट्रपति डाक्टर सुकर्णोको पालादेखि नै राजधानी सार्ने चर्चा सुरु भएको थियो । राष्ट्रपति सुकर्णोले पलंगकराया शहरमा राजधानी सार्ने सम्भावनाबारे सोचेका थिए । उनीपछि राष्ट्रपति सुहार्तोले जाकार्ताकै नजिक राजधानीका लागि नयाँ शहर बसाउन चाहन्थे । सन् २०१९ मा भने राष्ट्रपति बिडोडोले राजधानी सार्ने औपचारिक घोषणा नै गरे ।

    ६६१.२३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको जाकार्तामा एक करोड १० लाखभन्दा बढी मानिसहरुको बसोबास रहेको बीबीसीले जनाएको छ । जाभा द्वीपमा पर्ने जाकार्ता विश्वकै बढी जनघनत्व भएको शहरहरुमध्ये एक हो । यहाँ ट्राफिक जाम, वायु र जल प्रदूषण जस्ता पर्यावरणीय समस्या छन् । नदीको पानी प्रदूषित छ भने मानिसहरुमा बिरामीको दर बढेको छ । समुद्रको जलस्तर बढ्दै जाँदा बाढी र डुबानको समस्या पनि छ । बीबीसीका अनुसार समुद्रको जलस्तर बढेकाले जाकार्ता हरेक वर्ष १७ सेन्टिमिटर डुब्दै गएको छ जुन अत्यन्त चिन्ताजनक छ ।

    त्यसैले इन्डोनेसियाको राष्ट्रिय अनुसन्धान केन्द्रका राजनीति शास्त्र विभाग प्रमुख डाक्टर अतिका नूर अलामी भन्छन्, ‘जाकार्ताबाट राजधानी सार्ने निर्णय सही छ । किनभने जाकार्तामा बोझ बढी भइसकेको छ ।’ नयाँ राजधानी बसाउन लागिएको नुसन्ताराको क्षेत्रफल जाकार्ताकोभन्दा बढी छ । नुसन्तारा २ हजार ५६१ वर्गकिलोमिटरमा फैलिएको छ । पूर्वी कालिमन्तान क्षेत्रको बोर्नियो द्वीपमा पर्ने नुसन्तारा जाकार्ताबाट करिब दुई हजार किलोमिटर टाढा छ ।

    त्यहाँ व्यवस्थित राजधानी शहर बसाउन ३५ अर्ब डलर खर्च हुने अनुमान छ । यो महात्वाकांक्षी योजनालाई ‘गोल्डेन इन्डोनेसिया २०४५’ नाम दिइएको छ । किनभने राष्ट्रपति बिडोडोले सन् २०४५ भित्र इन्डोनेसियालाई विश्वको पाँचौं ठूलो अर्थव्यवस्था भएको देश बनाउने उद्देश्य लिएका छन् । अन्य द्वीपमा पनि आर्थिक गतिविधि बढोस् र विकास पनि होस् भन्ने चाहना सरकारको छ । त्यसैले राष्ट्रपति बिडोडोले जाकार्ताबाट राजधानी सार्ने निर्णय गरेको बीबीसीले जनाएको छ । यसबाट जाभा द्वीप केन्द्रित सोच हट्ने छ ।

    नयाँ राजधानी शहर बसाउनका लागि ३५ अर्ब डलर खर्च हुने अनुमान छ । त्यसमा इन्डोनेसिया सरकारको लगानी १९ प्रतिशत हुने छ । बाँकी रकम विदेशी सहयोगबाट जुटाइने छ । नुसन्तारा पनि प्रायद्वीप भएकाले बाढी र डुबानको जोखिम छ । त्यसैले शहर निर्माणको क्रममा सबैभन्दा पहिले यहाँ बाँध बनाउने कामलाई प्राथमिकता दिइएको छ ।

    शहर सार्ने योजना पाँच चरणमा पूरा गर्ने लक्ष्य छ । पहिलो चरणको पाँच वर्ष सन् २०२४ मा समाप्त हुने छ । यो चरणमा राष्ट्रपति निवासदेखि प्रमुख सरकारी कार्यालय, प्रशासनिक कार्यालय, अस्पताल र राजधानीमा काम गर्नेहरुका लागि आवासीय भवन बनाउने काम जारी छ । विमानस्थल र राष्ट्रिय राजमार्ग पनि बन्ने क्रममा छन् । यो कामका लागि करिब दुई लाख श्रमिकलाई खटाइएको र ४० प्रतिशत काम पूरा भएको बीबीसीले जनाएको छ ।

    पहिलो चरणको बाँकी काम आगामी वर्षको अन्त्यतिर सकिने अनुमान गरिएको इण्डोनेसियाको ब्राविजया युनिभर्सिटीका शहरी तथा क्षेत्रीय योजना विभागका सहायक प्रोफेसर दिमास विष्णु अद्रियान्तेले बताएका छन् । आगामी चरणमा यातायात सन्जाल, स्वास्थ्य र शिक्षासँग सम्बन्धित काम हुनेछन् । अन्तिम चरण सन् २०४० देखि २०४५ सम्म हुने छ । यस चरणमा आवासीय क्षेत्रलाई विस्तार गरिने छ ।

    सहायक प्रोफेसर दिमास विष्णु अद्रियान्तेका अनुसार सन् २०४५ सम्म २० लाख मानिस बस्न मिल्ने व्यवस्था भइसक्ने छ । मानिसहरुलाई नयाँ राजधानी शहरमा बसाउने काम धेरै चरण हुनेछन् । सबैभन्दा पहिले मन्त्रालयका कर्मचारीहरु आउने छन् । सन् २०३० देखि २०३५ को बीचमा सरकारी कर्मचारीका अलावा अन्य अनौपचारिक क्षेत्रमा काम गर्नेहरु पनि बस्न थाल्नेछन् । यसबीचमा विभिन्न कानुनहरु बनाउने काम पनि जारी रहने छ । किनभने राजधानी स्थानान्तरण गर्नुअघि जाकार्तालाई विशेष आर्थिक क्षेत्रको दर्जा दिइने छ ।