Category: विश्व

  • बेलायती राजालाई क्यान्सर भएको पुष्टी

    बेलायती राजालाई क्यान्सर भएको पुष्टी

    काठमाडौं । बेलायती राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पुष्टी भएको छ । बकिङ्गम दरबारले यसको सार्वजनिक जानकारी गराएको छ । प्रस्टेट बढेपछि जाँच गर्दा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ। क्यान्सरको प्रकार खुलाइएको छैन् तर दरबारको वक्तव्यअनुसार राजाले सोमवारबाट नियमित उपचार थालेका छन्।

    क्यान्सरको चरण वा अवस्थाबारे अहिले खुलाइएको छैन। पचहत्तर वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन्। उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्वहरू निर्वाह बताइएको छ । तर बकिङ्गम दरबारले राजा आफ्नो उपचारप्रति पूर्ण रूपमा सकारात्मक रहेको र जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको जनाएको छ।

    सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक उत्तरदायित्वलाई भने निर्वाह गरिरहने छन्। आइतवार उनलाई सान्ड्रिङ्गममा एउटा गिर्जाघरको प्रार्थानासभामा देखिएको थियो। त्यहाँ उनले मानिसहरूतिर हेरेर हात हल्लाएका थिए। उनले लन्डनस्थित एउटा निजी अस्पतालमा एक साताभन्दा केही समयअघि प्रस्टेटको उपचार गराएका थिए।

    राजाले आफ्नो प्रस्टेट उपचारलाई सार्वजनिक गर्ने निर्णय अरू मानिसहरूलाई पनि प्रस्टेट जाँच गराउन प्रेरित गर्ने उद्देश्यले लिएको बताइएको छ। उनले आफू यसबारे चेतना जगाउन पाउँदा प्रसन्न भएको बताइरहँदा ब्रिटेनको स्वास्थ्य संस्था एनएचएसको वेबसाइटका अनुसार प्रस्टेटसँग सम्बन्धित समस्या बढेको देखिएको छ। यो प्रस्टेट क्यान्सर नभएको बुझिएको छ तर प्रस्टेट बढेको उपचार गराउने क्रममा पत्ता लागेको हो। उनले निरन्तर उपचार जारी राख्ने छन् तर क्यान्सर प्रारम्भिक चरणमा ने हुँदा हुँदा पत्ता लागेको विश्वास गरिएको छ।

  • नामिबियाका राष्ट्रपतिको क्यान्सरका कारण मृत्यु

    नामिबियाका राष्ट्रपतिको क्यान्सरका कारण मृत्यु

    काठमाडौं । नामिबियाका राष्ट्रपति जिन्गोबको निधन भएको छ । राष्ट्रपति हेज जी गिन्गोबको आइतबार बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ। उनी क्यान्सरपीडित थिए ।

    ‘अत्यन्तै दुःख र खेदका साथ यो जानकारी गराउँछु, प्यारा डा. हागे जी. गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपति, आज, आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा निधन भएको छ, राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ । विज्ञप्तिमा भनिएको छ, नामिबियाले जनताको एक जना प्रतिष्ठित सेवक, मुक्ति सङ्घर्षका प्रतीक, हाम्रो संविधानको प्रमुख संरक्षक र सारा नामिबियाई जनताको घरको स्तम्भ गुमाएको छ।

    शनिबार मात्रै उपराष्ट्रपति एम्बुम्बाले राजधानी शहर विन्डहोकको लेडी पोहम्बा अस्पतालमा क्यान्सरको केमोथेरापी उपचार गराएपछि गिन्गोब गम्भीर तर स्थिर अवस्थामा रहेको जनाकारी गराएका थिए । उनी ८२ वर्षका थिए ।

  • गाजामा एक लाख भन्दा धेरैको हताहती भएको डब्लूएचओको भनाई

    गाजामा एक लाख भन्दा धेरैको हताहती भएको डब्लूएचओको भनाई

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजाको अवस्था बिग्रँदै जाँदा एक लाखभन्दा बढी गाजावासी हताहत (घाइते, बेपत्ता वा मृत्यु भएको) अनुमान गरेको छ । यो सङ्ख्या गाजाको २३ लाख जनसङ्ख्याको ४.३ प्रतिशत हो । जेरूसेलमबाट भिडियो लिङ्कमार्फत संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधि रिचार्ड पिपरकोर्नले बाँकी जनसङ्ख्याले गम्भीर परिस्थितिको सामना गर्नुपरेको र सुरक्षा, खाना, स्वास्थ्य र न्यानोपनजस्ता आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको बताएका छन् ।

    “मध्य गाजामा तनाव बढ्दै गएको छ, जसले विद्यमान स्वास्थ्य सुविधाहरूको पहुँचलाई थप कमजोर बनाएको छ,” उनले भने, बिरामी र स्वास्थ्यकर्मी दुवैका लागि अस्पतालहरूमा निरन्तर पहुँचको कमीप्रति गहिरो चिन्ता व्यक्त गर्दै पिपरकोर्नले गाजामा ३६ अस्पतालहरूमध्ये केवल १३ वटा मात्र आंशिक रूपमा सञ्चालनमा रहेको र ७३ प्राथमिक स्वास्थ्य केन्द्रहरूमध्ये १३ वटा मात्र सञ्चालनमा रहेको बताए । जारी द्वन्द्व र शत्रुताले स्वास्थ्य सेवालाई अस्तव्यस्त बनाएको छ । यसले युद्धसँग सम्बन्धित चोटपटक र दीर्घरोग दुवैको पर्याप्त उपचार प्रदान गर्न चुनौतीपूर्ण भएको छ ।

    “अब कम्तिमा आठ हजार गाजावासीहरूलाई उपचारका लागि रेफर गर्नु पर्ने भएको हामीले अनुमान गरेका छौँ,” पिपरकोर्नले भने । तीमध्ये छ हजार जना युद्धमा घाइते हुनुका साथै यसमध्ये कैयौँ गम्भीर घाइते रहेका छन् र उनीहरूमध्ये एउटा सानो अंशलाई मात्र दक्षिणी शहर राफामा सफलतापूर्वक स्थानान्तरण गरिएको उनले बताए । पिपरकोर्नले भने, “उत्तरी गाजामा प्रवेशमा कडा प्रतिबन्ध लगाइएको छ भने डब्ल्यूएचओको यस क्षेत्रका स्वास्थ्य संस्थाहरूमा पुग्न गरिएका अनुरोधलाई लगातार अस्वीकार गरिएको छ ।”

    उहाँले थप्नुभयो, “गाजामा रहेका युरोपेली अस्पतालमा २२ हजार मानिसहरूले आश्रय लिएका छन् भने त्यहाँ पनि स्वास्थ्य सामग्रीहरू अपर्याप्त भएका छन् । रोगहरू फैलिने खतरा बढिरहेको छ ।” स्वास्थ्यकर्मीहरूले बिरामी र उनीहरूका आफ्नै परिवारको हेरचाहमा सन्तुलन कायम गर्न अथाह चुनौतीहरूको सामना गरिरहेका छन् । कतिपय स्वास्थ्यकर्मीले तीन महिनादेखि लगातार काम गरिरहेका छन् । खान युनिस शहरको अल नासिर अस्पताल एउटा मात्र एम्बुलेन्समा सीमित बनेको छ र बिरामीहरूलाई गाडामा बोक्नुपर्ने बाध्यता रहेको छ ।

    खान यूनिसमा रहेका ४०० बिरामी हेर्न विशेषज्ञको अभावका कारण अस्पतालको पर्याप्त हेरचाह गर्ने क्षमता जोखिममा परेको छ । गम्भीर स्वास्थ्य समस्याहरू मानवीय सङ्कट स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर गएको छ । खाद्य असुरक्षा र पानी प्रदूषणले सङ्क्रामक रोगहरूको फैलावटको लागि उर्वर भूमि सिर्जना गरेको छ ।

    गाजास्थित डब्लुएचओका प्रतिनिधिले चिन्ताजनक तथ्याङ्कहरू उद्धृत गर्दै भनेका छन्, “दुई लाख ४५ हजारभन्दा बढी श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणका घटनाहरू, पाँच वर्षमुनिका बालबालिकाहरूमा पखालाका एक लाख ६० घटनाहरू, र लगभग ७० हजार छाला र अन्य समस्या रहेको देखिएको छ ।”

    गाजामा सीमित खाद्यान्न वितरणका कारण कुपोषण एउटा महत्त्वपूर्ण चिन्ताको विषय बनेको छ । पिपरकोर्नले ३४२ आक्रमणमा ६२७ जनाको मृत्यु भएको र ७८३ जना घाइते भएका छन् । हाल ६१ जना स्वास्थ्यकर्मीलाई हिरासतमा लिइएको छ, जसले पहिलेदेखि नै समस्याग्रस्त स्वास्थ्य सेवा प्रणालीलाई थप जटिल बनाएको छ ।

    डब्लुएचओ गाजास्थित उपशाखाका प्रमुख अहमद दाहिरले खाना र सुरक्षाको खोजीमा हजारौं मानिस राफातर्फ पलायन भइरहेको र खानाको अभावका कारण धेरै दुब्लो र कमजोर देखिएको बताए । बिरामी र घाइतेहरूले पर्याप्त स्वास्थ्य सेवा पाउन सङ्घर्ष गरिरहेका छन् तर वरिपरिको तनावले प्रमुख चिकित्सा सुविधा, बिरामी र स्वास्थ्य सेवा प्रदायकहरूको पहुँचमा बाधा पुर्‍याएको उनले बताए । रासस-सिन्ह्वा

  • स्कटल्याण्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको निधन

    स्कटल्याण्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको निधन

    काठमाडौं । स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ । एबरडिनको ब्याक हिल्टन रोड बस्ने अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको गत सोमबार साँझ ६ बजे भएको आगलागीमा परेर मृत्यु भएको हो ।

    छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका उनीहरु आत्तिँदै भुईंतलामा झर्दा धुंवाको मुस्लोले निस्सासिएर बेहोस भएका र पछि निधन भएको नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्डका अध्यक्ष डा. शिव तिवारीको भनाइ उधृत गर्दै एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिएका छन् । घटनास्थलमै निधन भएका दिदीबहिनी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक डा. यज्ञराज सुवेदीका छोरीहरू हुन् । नेपाल पोखरा घर भएका सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बस्दै आएको छ।

    ज्यान गुमाएका माइली र कान्छी दिदीबहिनी, बाबुआमा र ठूली दिदी तीन बेग्लाबेग्लै फ्ल्याटमा बस्ने गरेको स्कटल्यान्डको सोसल सेक्युरिटी विभागमा कार्यरत कर्मचारी अनल गौतमले जनाए । मृतक दिदीबहिनीको दाहसंस्कार आउँदो मंगलबार गर्ने तयारी छ । स्कटिस फायर एन्ड रेस्क्यु सर्भिसका क्षेत्रीय कमान्डर एन्ड्रयू राइटले भवन आगलागी भएपछि सात वटा दमकल र विशेषज्ञ टोली पठाइएको जनाएका छन् । सावधानीका रूपमा छिमेकीका घरहरु खाली गराइ केही समय सडक पनि बन्द गरिएको थियो ।

    स्कटल्यान्ड प्रहरी प्रवक्ताले सोमबार साँझ लगभग ६ बजे प्रहरी अधिकृतहरूलाई आगलागीको खबर आएको जनाएका छन् । तत्काल आकस्मिक सेवाहरू घटनास्थल पुगे पनि दुई दिदीबहिनीलाई घटनास्थलमै मृत घोषित गरिएको जनाइएको छ । आगलागीमा उनीहरुको एउटा बिरालो पनि मरेको छ । एक बच्चालाई सावधानी अपनाउँदै अस्पताल लगिएको थियो । उनी अहिले अस्पतालबाट घर फर्किइसकेका छन् । त्यस्तै अन्य ५ जनालाई स्कटिस एम्बुलेन्स सर्भिसले उद्धार गरेको थियो ।

    साँझ ६ बजेतिर सुरु भएको आगलागी स्कटिस फायर एन्ड रेस्क्यू सर्भिसले करिब तीन घण्टापछि राति ९ः ०२ बजेतिर नियन्त्रणमा लिएको थियो । आगलागीको कारण नखुले पनि यसलाई प्रहरीले शंकास्पद ठानेको छैन । यसबारे स्थानीय प्रहरी र फायर सर्भिस्ले अनुसन्धान गरिरहेका जनाइएको छ। एबरडिन ग्रामर स्कुल पढ्ने उनीहरूका सहपाठी र परिवारजनले दिवंगत दिदीबहिनी सुन्दर, दयालु र मायालु भएका उल्लेख गर्दै आर्थिक सहयोग संकलन सुरु गरेका छन् ।
    कान्तिपुर दैनिकबाट

  • भारतमा पहिलो चार महिनाका लागि आज बजेट आउँदै

    भारतमा पहिलो चार महिनाका लागि आज बजेट आउँदै

    काठमाडौं । भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज संसदमा वित्त वर्ष २०२४\२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट पेश गर्दैछिन् । मोदी सरकारको दोस्रो कार्यकालको यो अन्तिम बजेट हुनेछ । वित्तमन्त्री सीतारमणको यो कुल छैठौं र पहिलो अन्तरिम बजेट हुनेछ ।

    निर्मला सीतारमणले बिहान ११ बजे लोकसभामा बजेट भाषण पढ़न सुरु गर्ने तयारी छ । यो बजेट महंगी नियन्त्रणमा केन्द्रित रहेको अधिकारीहरुले बताएका छन् । खपत र ग्रामीण अर्थव्यवस्था मजवुत गराउन समेत सरका।माथि दवाव छ । जागिरेहरुलाई समेत केही स्कीम ल्याउने तयारी छ ।

  • झारखण्डका मूख्यमन्त्री किन परे पक्राउ ?

    झारखण्डका मूख्यमन्त्री किन परे पक्राउ ?

    काठमाडौं । भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ । बुधबार दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गतरात मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको हो । पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपालकहाँ गएर मुख्यमन्त्री पदबाट राजिनामा दिएका बीबीसीले जनाएको छ । ईडी सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लङ्घन लगायत विषयमा छानबिन गर्ने केन्द्रीय निकाय हो ।

    ईडीले सोरेनमाथि राँचीमा सेनाको मातहतमा रहेको ४ एकडभन्दा बढी जमिनको नक्कली कागजात बनाएर अवैध खरीद र बिक्री गरेको आरोप लगाएको छ । यस घटनामा सोरेनसँग यसअघि पनि सोधपुछ भइसकेको थियो । जग्गा घोटाला सम्बन्धी मामिलामा अनुसन्धान अगाडि बढ्दै जाँदा ईडीले अहिलेसम्म १४ जना आरोपीहरूलाई पक्राउ गरिसकेको छ । अभियुक्तले सरकारी अधिकारीसँग मिलेर भूमाफियाको नाममा ठगी गरी ती जग्गा हस्तान्तरण गरेको अनुसन्धानबाट खुलेको छ

  • भारतमा कुहिरो कहर-हवाई र रेल सेवामा व्यापक कटौती

    भारतमा कुहिरो कहर-हवाई र रेल सेवामा व्यापक कटौती

    काठमाडौं । मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिएका छन् । खराब मौसमका कारण जम्मुतवी–दिल्ली एक्सप्रेस, हावडा–दिल्ली डोरोन्थो, हावडा–दिल्ली राजधानी एक्सप्रेस, भुवनेश्वर–दिल्ली राजधानी एक्सप्रेस, डिब्रूगढ–दिल्ली राजधानी एक्सप्रेस र पुरी–दिल्ली एक्सप्रेस ढिला भएका थिए ।

    रेवा–आनन्द विहार टर्मिनल, भागलपुर–आनन्दविहार एक्सप्रेस, बनारस–दिल्ली एक्सप्रेस, चेन्नई–दिल्ली एक्सप्रेस, हैदराबाद–दिल्ली एक्सप्रेस र रानीकमलापति–हजरत निजामुद्दीन एक्सप्रेस पनि प्रभावित भएका छन् । नयाँ दिल्ली रेलवे स्टेसनमा रेलहरू निर्धारित समयभन्दा ढिलो चल्दा यात्रुहरू समस्यामा परेका थिए । यसैबिच, मङ्गलबार बिहान राजधानीमा घना कुहिरोका कारण दिल्ली विमानस्थलमा उडान पनि अवरुद्ध भएको छ ।

    विमानस्थलले मङ्गलबार सूचना जारी गर्दै मापदण्ड पूरा नगर्ने उडानहरूले अवतरण र टेक–अफको समयमा अवरोधको सामना गर्न सक्ने बताएको छ । यात्रुहरूलाई उडानको स्थितिसम्बन्धी अद्यावधिक जानकारीका लागि एयरलाइन्सलाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ । सोमबार पनि, कुहिरो तथा अधिक चिसोले राजधानीमा रेल तथा हवाई उडानलाई असर गर्दा रेल र उडानहरू ढिलाइ भएका थिए । भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले मङ्गलबार राजधानीका थप्रै भागहरूमा कुहिरो लाग्ने पूर्वानुमान गरेको थियो । राससएएनहाई

  • भारतीय सेनाले सोमालियाका समुन्द्री डाकाको कब्जामा रहेका १९ पाकिस्तानीको गरे उद्धार

    भारतीय सेनाले सोमालियाका समुन्द्री डाकाको कब्जामा रहेका १९ पाकिस्तानीको गरे उद्धार

    काठमाडौं । भारतीय जलसेनाले सोमालियानजिकै समुद्रमा समुद्री डाँकाहरूले अपहरण गरेका १९ पाकिस्तानी नाविकलाई मुक्त गराएका छन्। भारतीय सेनाको पानीजहाज ‘आईएनएस सुमित्रा’ले ३६ घण्टाको अवधिमा दोस्रो पटक कारबाही गर्दै उनीहरूको उद्धार गरेको हो। त्यसअघि समुद्री डाँकाहरूले अपहरण गरेको एउटा इरानी जहाजका १७ जनालाई मुक्त गराइएको भारतीय जलसेनाले जनाएको छ।

    विगत केही सातामा विभिन्न पानीजहाज र नाविकहरूले उद्धार र सहयोगका लागि गरेको आग्रहअनुसार आफूले काम गरेको भारतीय जलसेनाले जनाएको छ। केही समययता सोमालियानजिकै समुद्रमा पानीजहाजमा भएका आक्रमणहरूले उक्त क्षेत्रमा लुटेराहरू पुनः सक्रिय हुन थालेका हुन् कि भन्ने चिन्ता बढेको छ।

    आईएनएस सुमित्रा सोमालियाको पूर्वी तट र गल्फ अफ एडनमा सामुद्रिक सुरक्षा अभियानअन्तर्गत पारिचालित छ। भारतीय जलसेनाले जारी गरेको विज्ञप्तिअनुसार ज्यानुअरी २८ मा गुहार माग्दै पठाइएको एउटा सन्देश प्राप्त भएपछि आईएनएस सुमित्राले उद्धारको काम थालेको थियो। त्यस क्रममा इरानी झण्डा भएको एउटा जहाजलाई रोकिएको उसले जनाएको छ।

    सामाजिक सञ्जालमा जलसेनाले जनाएअनुसार त्यसपछि जलसेनाका अधिकारीहरूले “समुद्री डाँकाहरूलाई जहाज र त्यसका कर्मचारीलाई मुक्त गर्न बाध्य पारेका थिए। जहाजका १७ कर्मचारी मुक्त भएपछि जहाजको सरसफाइ गरियो र त्यो आफ्नो यात्रा पुनः निस्कियो।

    तर जलसेनाको विज्ञप्तिमा समुद्री डाँकाहरूको अवस्थाबारे केही उल्लेख गरिएको छैन। मङ्गलवार भारतीय जलसेनाले आईएनएस सुमित्राले फेरि अर्को इरानी झण्डावाहक जहाजको अवस्थिति पत्ता लगाएको र त्यसलाई रोकेको जनाएको छ। अल नईम नामक उक्त जहाज माछा मार्ने प्रयोजनमा प्रयोग हुन्छ।

    आफ्ना जवानहरू सरसफाइ गर्न र चालकदलका सदस्यको अवस्था बुझ्न उक्त जहाजमा गएको पनि भारतीय जलसेनाले जनाएको छ। उक्त घटनामा पनि लुटेराहरूको अवस्थाबारे केही भनिएको छैन। तर एक्समा प्रेषित एउटा तस्बिरमा हात पछाडि लगेर बाँधिएका मानिसहरूनजिकै जलसेनाका जवान उभिएको देखिन्छ। शनिवार सेशेल्सको सुरक्षा फौजले श्रीलङ्काका छ माझीलाई उद्धार गरेको थियो। उनीहरूको जहाज अपहरणमा परेको थियो।

    ब्लूमबर्गमा प्रकाशित एउटा विवरणका अनुसार रेड सीमा इरानबाट समर्थनप्राप्त हूथी लडाकु समूहले शृङ्खलाबद्ध आक्रमण गर्दा सामुद्रिक सुरक्षामा खलल पुगेको र परिणामस्वरूप सोमालियानजिकै समुद्रमा डकैतीको सङ्ख्या बढेको हो। ज्यानुअरी २६ मा भारतीय जलसेनाले मर्लिन लुआन्डा नामक ट्याङ्करबाट सहयोगको याचना गरिएपछि आफ्नो पानीजहाज आईएनएस विशाखापटनम गल्फ अफ एडनमा पठाइएको जनाएको थियो। हूथी विद्रोहीहरूले एउटा क्षेप्यास्त्र प्रहार गरेपछि यूकेसँग सम्बन्ध भएको उक्त ट्याङ्करमा घण्टौँ आगो लागेको थियो।

    फ्रान्स र संयुक्त राज्य अमेरिकाका जलसेनाका जहाजले पनि त्यस क्रममा सहयोग गरेका थिए। ज्यानुअरी महिनाको सुरुतिर भारतीय जलसेनाका कमान्डोहरूले समुद्री लुटेराहरूले आक्रमण गरेको लाइबेरियाली झण्डावाहक एउटा जहाजबाट २१ जनालाई उद्धार गरेका थिए।
    बीबीसी

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय

    पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय

    काठमाडौं । पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ । अदालतको यो फैसलाले इमरान खानलाई ठूलो झट्का लागेको छ । उनी आमचुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा थिए । पाकिस्तानमा आउँदो फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ ।

    इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ई–इन्साफ (पीटीआई) ले विशेष अदालतलको फैसलालाई लिएर उच्च अदालतमा अपिल गर्ने बताएको छ । इमरान खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ढाल्ने अमेरिकी षड्यन्त्र भएको दाबी गरेका छन् । विश्वासको मत पाउन नसकेपछि उनी सन् २०२२ मा पदबाट हट्नुपरेको थियो ।

  • माल्दिभ्सका राष्ट्रपति विरुद्ध आउँदैछ महाअभियोग ?

    माल्दिभ्सका राष्ट्रपति विरुद्ध आउँदैछ महाअभियोग ?

    काठमाडौं । मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय मिडिया सन इन्टरनेशनलका अनुसार एमडीपीले महाअभियोग प्रस्तावमा पर्याप्त संख्यामा सांसदहरुको समर्थन पाएको छ । एमडीपीका एक सांसदले सन इन्टरनेशनललाई महाअभियोगको तयारीबारे जानकारी दिएका छन् । यद्यपि महाअभियोग प्रस्ताव दर्ता भने भइसकेको छैन । हालै मालदिभ्सको संसदमा महाअभियोग प्रस्ताव दर्ता गराउने नियमहरुलाई सहज बनाइएको बीबीसीले जनाएको छ ।

    महाअभियोग प्रस्तावको पक्षमा एमडीपीसँगै डेमोक्रेट्स सांसदहरु पनि छन् । एमडीपीका ४३ र डेमोक्रेट्सका १३ गरी कूल ५६ सांसद छन् । संविधान अनुसार राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव पास गर्नका लागि ५६ भोट नै चाहिन्छ । संसदका सभामुख र उपसभामुख एमडीपीका हुन् । मुइज्जु नेतृत्वको सरकारमा चार सदस्य थप्ने विषयमा विवाद हुँदा मालदिभ्सको संसदमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरुबीच कुटाकुट भएको थियो । लगत्तै राष्ट्रपति मुइज्जुविरुद्ध महाअभियोग लगाउने चर्चा सुरु भएको छ ।

    मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स र पिपल्स नेशनल कांग्रेस (पीपीएम० र पीएनसीको गठबन्धन सरकार छ । ‘इण्डिया आउट’ नारा दिँदै चुनाव जितेका मोहम्मद मुइज्जु राष्ट्रपति छन् । अर्कोतर्फ मालदिभ्सको विपक्षी दल भारतसँग निकट छ । वर्तमान सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै विपक्षी दलले सरकारको कडा आलोचना गर्दै आएको छ ।

  • राम मन्दिरको गर्भ गृहमा चाँदीको झाडु प्रयोग हुने

    राम मन्दिरको गर्भ गृहमा चाँदीको झाडु प्रयोग हुने

    एजेन्सी । भारत अयोध्यास्थित राम मन्दिरमा चाँदीको झाडु प्रयोग हुने भएको छ। दानमा दिइएको चाँदीको झाडू अबदेखि मन्दिरको गर्भ गृहमा प्रयोग हुने भएको हो।

    अखिल भारतीय माग समाजले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई चाँदीको झाडू दान गरेको हो। उक्त झाडू १ हजार ७५१ किलोग्रामको रहेको बताइएको छ। यसैबीच, मन्दिरको उद्घाटन भएको ६ दिनसम्म करिब १९ लाखले दर्शन गरेका छन्।

  • माल्दिभ्सको संसदमा हंगामा, भिडे सत्तापक्ष र विपक्षी

    माल्दिभ्सको संसदमा हंगामा, भिडे सत्तापक्ष र विपक्षी

    काठमाडौं । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् । चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो ।

    प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषय नै झडपको कारण भएको बीबीसीले जनाएको छ । यो विवाद यति धेरै बढ्यो कि सत्ता पक्ष र प्रतिपक्षीबीच हात हालाहाल नै भयो । कुटपिटबाट केही सांसदको टाउकोमा चोट लागेको छ । एक जना सांसदलाई त उपचारका लागि अस्पतालमै पुर्याउनु परेको छ । संसदमा भएको यो झडपको भिडियो सामाजिक सन्जालमा भाइरल छ ।

    मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स र पिपल्स नेशनल कांग्रेस (पीपीएम) र पीएनसीको गठबन्धन सरकार छ । ‘इण्डिया आउट’ नारा दिँदै चुनाव जितेका मोहम्मद मुइज्जु प्रधानमन्त्री छन् । अर्कोतर्फ मालदिभ्सको विपक्षी दल भारतसँग निकट छ । वर्तमान सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै विपक्षी दलले सरकारको कडा आलोचना गर्दै आएको छ ।


    मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले सरकारले नियुक्त गर्न खाजेका चार सदस्यको विरोध गरेको छ । एमडीपीले संसदमा मतदान हुनु अगाडि नै मन्त्रिपरिषद्मा नियुक्त गर्न लागिएका चार सदस्यको प्रस्तावमा समर्थन नगर्ने निर्णय गरेको थियो । त्यसप्रति सत्ता पक्षका सांसदहरुले विरोध जनाएपछि त्यही विवाद झडपमा परिणत भएको बीबीसीले जनाएको छ । त्यसपछि मन्त्रिपरिषदका सदस्यको नियुक्ति प्रस्ताव पास गर्ने विषयमा भोटिङ हुन पाएन ।

    गठबन्धन सरकारले आवास, भूमि तथा शहरी विकास मन्त्री डा। अली हैदर, इस्लामिक मामिला मन्त्री मोहमद शहीम अली सईद, आर्थिक तथा व्यापार विकास मन्त्री मोहम्मद सईद र महान्यायाधिवक्ता अहमद उशमलाई नियुक्त गर्न चाहेको छ ।

  • चीन र थाइल्याण्डले एक-अर्का मुलुकका नागरिकको भ्रमणमा भिसा नलिने

    चीन र थाइल्याण्डले एक-अर्का मुलुकका नागरिकको भ्रमणमा भिसा नलिने

    काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताएका छन् । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। थाइल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री पर्णप्री बहिद्धा–नुकारासँगको परामर्शपछि संयुक्त पत्रकार सम्मेलनमा वाङले यस्तो टिप्पणी गरेका छन् ।

    यसले पक्कै पनि द्विपक्षीय जनता–जनताबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने मन्त्री वाङको विश्वास छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले छिमेकी देशहरूसँगको कूटनीतिमा थाइल्याण्डलाई चीनले सधैं प्राथमिकताका रूपमा हेरेको बताएका छन् ।

    उनले एक चीन सिद्धान्तप्रति थाइल्यान्डको दृढ प्रतिबद्धता र विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहलका लागि सक्रिय सहयोगको चीनले सदैव प्रशंसा गरेको बताए । आगामी वर्ष चीन–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव मनाउने उल्लेख गर्दै वाङले विगत आधा शताब्दीमा द्विपक्षीय सम्बन्धले बदलिँदो अन्तर्राष्ट्रिय परिदृश्यको परीक्षालाई सामना गरेको र त्यसमा बलियो हुँदै गएको बताए । रासस, सिन्ह्वा

  • नीतिश कुमार बिहारमा ९ औं पटक बने मूख्यमन्त्री

    नीतिश कुमार बिहारमा ९ औं पटक बने मूख्यमन्त्री

    काठमाडौं । भारत बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नियुक्त भएका छन् । यसअघि राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका उनी भारतीय जनना पार्टी बीजेपीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनले शपथ पनि लिएका छन् । शपथ ग्रहण समारोहमा बीजेपी अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी ९रामविलास० नेता चिराग पासवान सहित धेरै नेताहरू उपस्थित थिए । आज आइतबार राजीनामा दिएका उनी ६ घन्टा पनि नबित्दै पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी बिहारको मुख्यमन्त्री बनेको यो नवौं पटक हो ।

    नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राष्ट्रिय जनता दलसँग मिलेका थिए । तर त्यो गठबन्धन तोड्दै नितिश कुमारको जनता दल युनाइटेड फेरि बीजेपीसँग मिलेको हो । फेरि बीजेपी गठबन्धनमा नै गएका नीतिश कुमारको यो युटर्न थियो । राजनीतिमा करिब पाँच दशक विताइसकेका नीतिश कुमारले आफ्नो सहुलियतका लागि दल र गठबन्धन फेर्दै आएका छन् ।

  • टर्की र अमेरिकाबीच ‘विग डिल’, २३ अर्ब डलरमा लडाकु विमान किनबेचको सहमति

    टर्की र अमेरिकाबीच ‘विग डिल’, २३ अर्ब डलरमा लडाकु विमान किनबेचको सहमति

    काठमाडौं । टर्की र अमेरिकाबीच २३ अर्ब डबर बराबरका लडाकु विमान किनबेच गर्ने सहमति भएको छ । स्वीडेनलाई नेटोको सदस्यता अनुमोदन गर्ने निर्णय गरेसँगै अमेरिका र टर्कीबीच लडाकु विमान खरिदको सम्झौता भएको हो । टर्कीले चार वर्षदेखि अमेरिकासँग अत्याधुनिक सैन्य विमान खरिद गर्ने योजना बनाए पनि अमेरिकाले स्वीडेनलाई नेटोको सदस्य बन्ने बाटो खोलिदिनुपर्ने सर्त राखेको थियो। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटोमा स्वीडेनको सदस्यतालाई अनुमोदन गरेसँगै अमेरिकी सरकारले टर्कीलाई ४० वटा नयाँ एफ–१६ लडाकु विमान बेच्ने सम्झौतालाई अनुमोदन गरेको हो ।

    यो सम्झौता २३ अर्ब डलरको छ । यस्तै, टर्कीमा रहेका ७९ वटा एफ–१६ विमानको आधुनिकीकरणको पनि सम्झौता भएको छ । टर्कीले सन् २०२१ देखि नै नयाँ लडाकु जहाज खरिद र पुरानाको आधुनिकीकरणको लागि अमेरिकासँग आग्रह गर्दै आएको थियो । तर रुस वरपरका देशलाई नेटो देशका सदस्य बनाएर घेर्ने रणनीति लिएको अमेरिकाले स्वीडेनलाई नेटोको सदस्यता दिनुपर्ने सर्त राख्दै आएको थियो ।

    टर्कीलाई टुक्राउने मागसहित हतियारसहितको विद्रोह गरेका कुर्दिस लडाकुलाई स्वीडेनले आश्रय दिएको टर्कीको आरोप थियो । अब टर्कीले स्वीकृति दिए पनि स्वीडेनलाई नेटोको सदस्यता बन्ने प्रस्तावलाई हङ्गेरीले भने स्वीकृति दिएको छैन । नयाँ सदस्यताको लागि नेटोका सबै देशको स्वीकृति चाहिन्छ । अहिले नेटोमा ३१ देश सदस्य छन् । यसअघि टर्कीले फिनल्याण्डलाई पनि नेटोको सदस्य बन्न रोकेकोमा गएको वर्ष स्वीकृति दिएको थियो ।

    नेटोका कुनै एक सदस्यमाथि कतैबाट हमला भएमा सबै राष्ट्र मिलेर प्रत्याक्रमण गर्नुपर्ने नियम छ। युक्रेनले पनि लामो समयदेखि नेटोको सदस्य बन्न आवेदन दिइरहेको छ, तर युक्रेनले नेटोको सदस्यता पाएमा ३१ वटै देश रुससँग लड्नुपर्ने जोखिम देखेर सदस्यता दिएका छैनन ।

  • निरन्तरको असफलतासँगै बार्सिलोनाका प्रशिक्षक जाभीले गरे पद त्यागको घोषणा

    निरन्तरको असफलतासँगै बार्सिलोनाका प्रशिक्षक जाभीले गरे पद त्यागको घोषणा

    काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार फेरि अर्को हार बेहोरेको छ । नु क्याम्पमा बार्सिलोना भिल्लारियलको हातबाट ५–३ ले पराजित भयो । यो नतिजासँगै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग दस अंकको दूरीमा रह्यो । यस नतिजासँगै प्रशिक्षक जाभीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पनि घोषणा गरेका छन् । उनले सन् २०२१ को नोभेम्बरमा बार्सिलोना सम्हाल्न सुरु गरेका थिए ।

    उनले क्लब छाड्ने बताउँदै टिममा अर्को सिजनका लागि परिवर्तत आवश्यक रहेको पनि दाबी गरे । शनिबारका अन्य खेलमा रियलले लास पाल्मासलाई २–१ ले हरायो भने रियल बेटिस मार्लोकामाथि १–० ले विजयी रह्यो । यस्तै रियल सोसिडाड र रायो भाल्कानोले गोलरहित बराबरी खेले । रियल ५४ अंकमा शीर्ष स्थानमा छ । बार्सिलोनाबाट स्टार लियोनल मेसी बाहिरिएसँगै यो क्लवले राम्रो प्रदर्शन दोहोर्याउन सकेको छैन ।

  • इजरायलले नरसंहार गरिरहेको हेगको निष्कर्ष

    इजरायलले नरसंहार गरिरहेको हेगको निष्कर्ष

    काठमाडौं । दी हेग अर्थात संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत (आइसीजे)ले इजरायलले गाजामा नरसंहार गरिरहेको निष्कर्ष निकालेको छ । उसले नरसंहार रोक्नुपर्ने र कब्जा गरिएको क्षेत्रमा ‘तत्काल आवश्यक’ मानवीय सहायता प्रदान गर्नुपर्ने फैसला गरेको छ । विश्वव्यापी ध्यानाकर्षण भएको मुद्दामा शुक्रबार फैसला गर्दै आइसीजेले प्यालेस्टिनीहरूले सामना गरिरहेको जीवनको प्रतिकूल परिस्थितिलाई सम्बोधन गर्न आवश्यक आधारभूत सेवा र मानवीय सहायताको प्रावधानलाई सक्षम बनाउन इजरायलले तत्काल र प्रभावकारी कदम चाल्नुपर्ने बताएको छ ।

    अदालतले युद्धविरामको आदेश भने नदिएको बीबीसीले लेखेको छ । फैसलामा इजरायलले नरसंहार रोक्न कुनै पनि उक्साहटलाई ‘रोक्न र दण्डित’ गर्नुपर्ने उल्लेख छ । दक्षिण अफ्रिकाले इजरायलमाथि संयुक्त राष्ट्रसङ्घीय नरसंहार महासन्धिको उल्लङ्घन गरेको आरोप लगाएर यो मुद्दा दर्ता गरेको थियो । इजरायलले भने आफ्नो उद्देश्य द्वन्द्व फैलाउने नभइ आफ्ना नागरिकको रक्षाका लागि चालेको कदम भएको दावी गर्दै आएको छ ।

  • कार चढाएर सिंह घुमाउने महिला पक्राउ

    कार चढाएर सिंह घुमाउने महिला पक्राउ

    काठमाडौं । थाईल्यान्डमा सडकमा कार चढाएर सिंह घुमाउने एक महिला पक्राउ परेकी छिन् । पतायाको सडकमा घरपालुवा सिंह चढेको एउटा कार गुडिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि एक महिला पक्राउ परेको बीबीसीले जनाएको छ । उक्त भिडिओमा पछाडिपट्टिको भाग खुल्ला हुने बेन्ट्ली कारमा सिंहको बच्चा बसेको देखिन्छ। घाँटीमा पेटी बाँधिएको उक्त सिंहलाई कारमा राखेर डुलाउने व्यक्ति श्रीलङ्काका एक पुरुष थिए। उनले थाईल्यान्ड छाडिसकेका छन्।

    ती व्यक्ति अहिले पक्राउ परेकी महिला सवाङ्जित कोसुङ्ननका साथी भएको ठानिएको छ। थाईल्यान्डमा सिंह पाल्नु गैरकानुनी नभए पनि त्यसका लागि दर्ता गराउनुपर्ने नियम छ। थाई अधिकारीहरूका अनुसार सवाङ्जितले उक्त सिंह थाईल्यान्डकै अर्को एक प्रान्तबाट किनेको र बेच्ने व्यक्तिले पतायासम्म सिंह आफू भएको ठाउँमा ल्याउन सहयोग गरेको दाबी गरेकी छन्। तर सिंह ढुवानी गर्नुअघि ती व्यक्तिले आधिकारिक निकायबाट सिंह पालेको ठाउँको जाँच नगराएको र सिंह पाल्ने स्वीकृति पनि नलिएको हुनाले उक्त जनावर पाल्ने र ओसारप्रसार गर्ने काम दुवै गैरकानुनी मानिएको छ।

    सवाङ्जितलाई नियन्त्रित वन्यजन्तु बिनाअनुमति पालेको अभियोग लागेको छ। यस्तो अभियोगमा एक वर्षसम्मको जेल सजायका साथै एक लाख थाई भाट जरिवाना तिर्नुपर्ने हुन सक्छ। प्रहरीले उक्त सिंह घुमाउने श्रीलङ्काली नागरिकको पनि खोजी गरिरहेको बताइएको छ। उनले आफू भाडामा बसेको एउटा घरमा त्यो सिंह राखेका थिए। तर उनी थाईल्यान्डमा नभएका कारण पक्राउ परेका छैनन्।

    उनलाई नियन्त्रित वन्यजीवलाई सार्वजनिक स्थलमा लगेको अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ। त्यस्तो कसुरमा छ महिना कारावास र ५०,००० थाई भाट जरिवाना हुन सक्छ। स्वाङ्जितलाई सिंह बिक्री गर्ने व्यक्तिलाई पनि अनुमति नलिई वन्यजन्तु ओसारप्रसार गरेको अभियोग लाग्ने भएको छ। अधिकारीहरूका अनुसार थाईल्यान्डमा अनुमति लिएर पालिएका सिंहको सङ्ख्या २२४ छ।

  • चीनमा आगलागीमा परी कम्तिमा ३९ जनाको मृत्यु

    चीनमा आगलागीमा परी कम्तिमा ३९ जनाको मृत्यु

    काठमाडौं । चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र अझै केही मानिस आगलागीमा फसेका बीबीसीको खबरमा उल्लेख छ ।

    आगलागी पछि चिनियाँ राष्ट्रपति सी जिनपिङले देशमा पहिरो, आगलागीलगायतका आकस्मिक दुर्घटना बढिरहेकाले यसको नियन्त्रणका लागि डटेर लड्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    उनले मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा तथा समग्र सामाजिक स्थिरता सुनिश्चित गर्नका लागि बारम्बार भइरहेका यस्ता दुर्घटनाहरूलाई रोकथाम गर्न आवश्यक रहेको बताएका छन् । यसअघि युनान प्रान्तमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ३१ जना पुगेको बीबीसीले जनाएको छ ।

  • युक्रेन सीमा नजिक रुसी विमान दुर्घटना ग्रस्त, कम्तिमा ७४ जना मारिए

    युक्रेन सीमा नजिक रुसी विमान दुर्घटना ग्रस्त, कम्तिमा ७४ जना मारिए

    काठमाडौं । रुस र युक्रेनको सीमामा रुसी विमान दुर्घटनामा परेको छ । यस क्रममा ७४ जनाको ज्यान गएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटनामा परेको हो । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो ।

    दुर्घटनामा विमानमा सवार सबै ७४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीहरुका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट (गार्ड) थिए । उक्त विमान युक्रेनले खसालेको आरोप रुसले लगाएको छ । खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त घटनालाई ‘आतंकवादी काम’ भनेको छ । मन्त्रालयका अनुसार उक्त दुर्घटना बुधबार बेलगोरोडको सीमामा भएको बन्दी आदानप्रदानमा सहमति भएको केही घन्टाअघि भएको थियो ।

    यसबारे युक्रेनले भने कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय मिडियाले सुरुमा रक्षा स्रोतहरूलाई उद्धृत गर्दै युक्रेनी सेनाले विमानलाई खसालेको र त्यसमा क्षेप्यास्त्र रहेको बताएको थियो । पछि उक्त दावी फिर्ता लिइएको थियो । बन्दीहरूको आदानप्रदानका लागि जिम्मेवार अधिकारीमध्येका युक्रेनी जाँच अधिकारी दिमित्रो लुबिनेट्सले आफ्नो कार्यालयले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् ।

  • अमेरिका र बेलायतले यमनमा पुन: थाले आक्रमण

    अमेरिका र बेलायतले यमनमा पुन: थाले आक्रमण

    काठमाडौं । संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा विद्रोही समूह हुथीविरुद्ध संयुक्त हवाई आक्रमण शुरु गरेका छन् । नयाँ हवाई आक्रमणले हुथी समूहको भूमिगत भण्डारण, मिसाइल र यसको निगरानी क्षमतालाई लक्षित गरेको अमेरिकी रक्षा विभाग पेन्टागनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।


    इरान समर्थित हुथीहरूले महत्त्वपूर्ण लाल सागर व्यापार मार्गबाट यात्रा गर्ने इजरायल र पश्चिमसँग जोडिएका जहाजहरूलाई निशाना बनाएपछि अमेरिका र बेलायतले स्वतन्त्र व्यापार वाणिज्यलाई जोगाउन प्रयास गरिरहेका खबरमा उल्लेख छ । यमनमा हुथी विरुद्ध अमेरिकाले गरेको यो आठौँ आक्रमण हो । गएको जनवरी ११ मा पनि अमेरिका र बेलायतले हुथी समूहमाथि संयुक्त आक्रमण गरेका थिए ।

  • अयोध्यामा चर्चित राम मन्दिरको प्राण-प्रतिष्ठा आज, को -को पुग्दैछन् ?

    अयोध्यामा चर्चित राम मन्दिरको प्राण-प्रतिष्ठा आज, को -को पुग्दैछन् ?

    काठमाडौं । अयोध्यामा बनेको भव्य राम मन्दिरमा भगवान रामललाको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम आज (सोमवार)का लागि राखिएको छ यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन् । राम जन्मभूमि ट्रस्टका अनुसार कार्यक्रमको सबै तयारी पुरा भएको छ । प्राण प्रतिष्ठा समारोहमा आमन्त्रित व्यक्तिहरु अयोध्या पुग्न सुरु भइसकेको छ । जसमा प्रमुख सन्त, नेता, फिल्म स्टार र खिलाडी समावेश छन् ।

    अयोध्यामा प्राण प्रतिष्ठा कार्यक्रमलाइ लक्षित गरी सुरक्षा प्रवन्ध कडा बनाइएको छ । दस हजार सीसीटीभी क्यामरा, आर्टिफिसियल इन्टिलेन्स देखि ड्रोन सम्मले यहाँका गतिविधिको निगरानी गरिने भएको छ । अयोध्यामा सोमवार को प्राण प्रतिष्ठा कार्यक्रम अपरान्ह साढे १२ बजेहुने छ । कार्यक्रम एक बजेसम्म हुने छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विधि विधानका साथ यसमा भाग लिने भएका छन् । त्यसपछि मन्दिर आम मानिसको दर्शनका लागि खुल्ने छ ।

  • रुसको एक शहरमा बम विष्फोट, कम्तिमा २५ जनाको मृत्यु

    रुसको एक शहरमा बम विष्फोट, कम्तिमा २५ जनाको मृत्यु

    काठमाडौं । रुस नियन्त्रित दोनेत्स्क सहरमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको रुसी सञ्चारमाध्यमले पुष्टी गरेकाछन् । दोनेत्स्क क्षेत्रका रुसी नेता डेनिस पुसिलिनले आक्रमणको पुष्टि गर्दै २५ जनाको ज्यान गएको र २० भन्दा बढी घाइते भएको बताएका छन् । आपतकालिन सेवाका अधिकारीहरू उद्धारका लागि जुटिसकेका र मृतक तथा घाइतेको संख्या बढ्न सक्ने उनको भनाइ छ । घटनाबारे युक्रेनले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन । समाचार संस्थाहरूले सार्वजनिक गरेका तस्बिरहरूमा घाइते तथा मृतकहरू सडकमा लडेको अवस्था देखिन्छन् । त्यस्तै तस्बिरहरूमा विस्फोट भएको स्थल वरपरका पसलहरू ध्वस्त भएका देखिन्छ ।

    रुसी विदेश मन्त्रालयले घटनालाई सर्वसाधारणमाथिको ‘बर्बर आतंककारी आक्रमण’ भएको उल्लेख गरेको छ । पुसिलिनले बजारहरू व्यस्त रहेको मौका छोपेर ‘भयानक आक्रमण’ गरिएको बताएका छन् । दोनेत्स्क र पूर्वी युक्रेनको केही भूभाग रुसले २०१४ मा नियन्त्रणमा लिएको थियो । त्यसयता ती क्षेत्र आंशिक रूपमा रुसको नियन्त्रणमा छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ को सेप्टेम्बर ३० एक जनमत संग्रहमा गर्दै दोनेत्स्क सहित खेर्सन, लुहान्स्क र जापोरिज्जा क्षेत्रलाई आधिकारिक रुपमा आफ्नो देशमा गाभेका थिए । दोनेत्स्क नजिकका मरिन्का र अभ्दिभ्का क्षेत्रमा हाल रुस र युक्रेनी सेनाबीच भीषण लडाईं भइरहेको छ । संघर्ष जारी रहेका क्षेत्रबाट दोनेत्स्क करिब २० किलोमिटरको दूरीमा छ ।

  • चन्द्रमा पुग्ने पाँचौं देश बन्यो जापान

    चन्द्रमा पुग्ने पाँचौं देश बन्यो जापान

    काठमाडौं । चन्द्रमामा नियन्त्रित उपकरणद्धारा सफल अवतरण गर्ने मुलुकमा जापान पाँचौं मुलुक बनेको छ । एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन् । तर त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएसँगै उक्त मिसनले केही घण्टा मात्र काम गर्न सक्ने देखिएको छ। द स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्य रेखा नजिकैको खाडल क्रेटरमा नियन्त्रित रूपमा अवतरण गरेको हो।

    यस सफलतासँगै एशियाली मुलुक जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौँ देश बनेको छ। यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगेका छन्। यद्यपि इन्जिनियरहरू अझै उक्त मिसनलाई जोगाउन लागि परेका छन्। अझै कारण थाहा नभए तापनि उक्त यानमा रहेका सौर्य ब्याट्रीले ऊर्जा उत्पादन गर्नेछैनन्। जसका कारण स्लिम पूर्णतः उसका ब्याट्रीमा भर पर्नेछ र ती बिस्तारै डिस्चार्ज हुनेछन्।

    त्यसो भएपछि अन्तरिक्ष यानले काम गर्नेछैन। त्यसले कमान्डहरू लिनेछैन र पृथ्वीसँग सम्पर्कमा रहन सक्नेछैन। इञ्जिनिअरहरूले अहिले प्राथमिकता निर्धारण गर्दै आफ्ना कामहरू गरिरहेका छन्। उनीहरूले लुनार ल्यान्डरबाट ब्याट्री सकिनु अगाडी सक्दो धेरै डेटा हात पार्ने प्रयास गरिरहेका छन्। जसक्रममा उनीहरूले हिटरहरू बन्द गरेका छन् त्यसले खिचेका तस्बिरहरू समेत निकाल्ने काम गरिरहेका छन्।

    उनीहरूले निकालिरहेको अर्को एक डेटाले अवतरण सम्बन्धी सफ्टवेअरले कसरी काम गर्‍यो भन्ने जानकारी दिनेछ। जापानी अन्तरिक्ष निकायका अधिकारीहरूले स्लिम निष्क्रिय अवस्थामा गइहालेमा पनि तत्कालै सबै प्रयास छाडिहाल्ने छैनन्। उनीहरूका अनुसार चन्द्रमामा प्रकाशको दिशा परिवर्तन हुँदा स्लिम पुनः सक्रिय हुनसक्ने सम्भावना रहन सक्छ।

    BBC

  • थाई राजसंस्थाको अपमानजनक टिप्पणी गरेको भन्दै ५० वर्षको जेल सजाय

    थाई राजसंस्थाको अपमानजनक टिप्पणी गरेको भन्दै ५० वर्षको जेल सजाय

    काठमाडौं । राजसंस्थाको अपमान हुने खालको टिप्पणीका लागि थाईल्यान्डमा एउटा अदालतले एक व्यक्तिलाई ५० वर्षको जेल सजाय सुनाएको छ। थाई राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने गरी ल्याइएको कानुनअन्तर्गत अहिलेसम्म दिइएको यो सबैभन्दा कठोर सजाय हो।

    तीन वर्षअघि फेसबुकमा पोस्ट गरेको सामग्रीका लागि यसअघि मङ्कोन तिराकोटलाई दोषी ठहर गर्दै २८ वर्षको जेल सजाय सुनाइएको थियो। अहिले उनी ३० वर्षका भए। बिहीवार पुनरावेदन अदालतले उक्त सजायमा २२ वर्ष थपेको हो।


    थाईल्यान्डमा लीज म्याजस्टी कानुनले राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाएको छ। तर त्यसको चर्को आलोचना हुँदै आएको छ। थाईल्यान्डमा १० वर्षमा पहिलो पटक गत वर्ष निर्वाचित सरकार गठन भएको भए पनि उक्त कानुनले निरन्तरता पाएको छ। बिहीवारको सुनुवाइपछि न्यायाधीशले सहयोगी व्यवहारका कारण आफूले तिराकोटको सजाय एकतिहाइले घटाइदिएको बताए।

    चियाङराई प्रान्तका तिराकोट अनलाइन माध्यमबाट कपडा व्यापार गर्थे। उनीमाथि किन त्यति कठोर सजाय सुनाइयो भन्ने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। तर न्यायाधीशले फेसबुकमा धेरै प्रतिक्रिया लेखिएकोतिर सङ्केत गरेका छन्। थाई अदालतले प्रत्येक पोस्टका लागि थप सजाय दिने अभ्यास गर्दै आएका छन्।

    वाचिरालोङ्कोर्न राजा बनेपछि सन् २०१९ मा केही समयका लागि लीज म्याजस्टी कानुन निलम्बित भएको थियो। तर पछि त्यो बिउँत्याइयो। तीन वर्षअघि राजसंस्थामा आमूल सुधार हुनुपर्ने मागसहित विद्यार्थीहरूको आन्दोलन चर्किएपछि उक्त कानुन व्यापक रूपमा प्रयोग हुन थाल्यो। राजसंस्थाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेका अभियानकर्ता तथा वकिल आनोन नाम्पाले पाएको जेल सजाय पनि बुधवार चार वर्षले बढाइएको थियो।

    यसै महिनाको अन्त्यतिर संवैधानिक अदालतले उक्त कानुनमा संशोधन गर्नुपर्ने माग गर्दै आएको मूभ फर्वड दल विघटन गर्ने या नगर्ने भन्ने मुद्दामा निर्णय सुनाउन लागेको छ। उक्त दलले गत निर्वाचनमा सर्वाधिक सीट जितेको थियो। लीज म्याजस्टी कानुनमा संशोधन गर्नु भनेको सम्पूर्ण राजनीतिक व्यवस्थालाई उल्ट्याउने प्रयाससरह भएको धारणा केही थाई रूढिवादीहरूको छ।

  • गुजरातमा डुङ्गा दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

    गुजरातमा डुङ्गा दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

    काठमाडौं । भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ । छ जना बेपत्ता भएका छन् । 

    हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ ।

    डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुकाे खोजी भइरहेको खबरमा उल्लेख छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    उनले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको बीबीसीले जनाएको छ।

  • डेनमार्कका युवराज फ्रेडरिक बने नयाँ राजा

    डेनमार्कका युवराज फ्रेडरिक बने नयाँ राजा

    काठमाडौं । डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित भएका छन् । उनलाई आइतबार डेनमार्कका प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन् ।
    महारानी मार्गरेट द्वितीयले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो । यसअघि डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा पद त्यागको घोषणा गरेकी थिइन् । त्यही समयमा उनले सिंहासन युवराज फ्रेडरिकलाई हस्तान्तरण गर्ने बताएकी थिइन् ।

  • ब्रुनाईका राजकुमारको विवाहले विश्वभर पाएको चर्चा

    ब्रुनाईका राजकुमारको विवाहले विश्वभर पाएको चर्चा

    काठमाडौं । एसियाकै सबैभन्दा योग्य वरको उपमा पाएका ब्रुनाईका राजकुमार अब्दुल मतीन विवाह बन्धनमा बाँधिएका छन् । उनको विवाहको चर्चा विश्वभर भइरहेको छ । सैन्य सेवामा गरेको काम र आकर्षक व्यक्तित्वका कारण उनी प्रशंसामा रहने गर्छन् । राजकुमारको विवाह एक सर्वसाधारण महिलासँग भएसँगै उनको चर्चा अझ चुलिएको हो । उनको वैवाहिक कार्यक्रम १० दिनसम्म चलेको छ । इन्टरनेटमा चर्चित राजकुमारले गत डिसेम्बरमा याङ मुलिआ अनिशा रोस्नासँग विवाह हुन लागेको खुलासा गरेका थिए।

    उनकी दुलही ब्रुनाईका नेता सुल्तान हसनल बोकिआकी नातिनी हुन्। उनले फेसन र पर्यटनसम्बन्धी कम्पनी सञ्चालन गर्दै आएको बताइएको छ। स्तान नूरूल इमान दरबारमा भएको वैवाहिक कार्यक्रममा ३२ वर्षका राजकुमार औपचारिक पोसाकमा देखिएका छन्। उनकी २९ वर्षीय दुलहीले सेतो रङ्गको लामो पोसाक र गरगहना लगाएकी छिन्।

    विवाहमा ५,००० जना निम्तालुहरू बोलाइएको जनाइएको छ। जसमा साउदी अरब र जोर्डनका राज परिवारका सदस्यहरू साथै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र फिलिपिन्सका नेता फर्डिनान्ड मार्कोस जुनिअर पनि थिए। यो जोडी माथिल्लो भाग खुला रहेको रोल्स रोएसमा चढेर आफ्ना शुभेच्छुकहरूलाई हात हल्लाउँदै विवाहित दम्पतीको रूपमा आफ्नो पहिलो सार्वजनिक उपस्थिति देखाएको थियो।

    उनीहरूको भव्य टोली राजधानी बन्दुर श्री बगावन हुँदै अघि बढेको थियो। विद्यालयकी एक जना शिक्षिका नोर्लिहा मोहम्मदले राज परिवारको यो दम्पतीलाई देख्ने मौका “जीवनमा एक पटक मात्रै पाइने” दुर्लभ अवसर भएको एएफपी समाचार संस्थासँग बताइन्। यो सानो तेलको धनी राष्ट्रका स्थानीय टेलिभिजन स्टेसनहरूले बुधवार वैवाहिक कार्यक्रमका केही झलकहरू प्रसारण गरेका थिए।


    सबैभन्दा लामो समयसम्म शासन गर्ने विश्वकै एक मात्र सुल्तानका राजकुमार मतीन दशौँ सन्तान हुन्। ब्रुनाईका सुल्तान विश्वमै धनी शासकहरूमध्ये पनि एक हुन्। राजकुमार मतीनले ब्रुनाईको सिंहासनको उत्तराधिकारी दाबी गर्ने स्थिति छैन। तर इन्स्टाग्राममा दशौँ लाख फलोअर रहेका उनको व्यक्तित्व भने निकै उच्च भएको छ।

    राजकुमारले शाही कार्यक्रमहरूमा सहभागिता जनाउँदाका, पोलो खेल्दाका हुन् वा सैन्य पोसाकमा देखिँदाका सम्पादित भिडिओ क्लिपहरू अनलाइनमा व्यापक भेटिन्छन्। जनवरी ७ मा सुरु भएको वैवाहिक कार्यक्रम आइतवार भव्य समारोहसँगै समापन भएको छ । इस्लाम परम्परा बुधवार विवाह भएपछि राजकुमार मतीनको विवाहले औपचारिक मान्यता पाएको थियो। उक्त कार्यक्रममा बिहे गर्ने पक्षबाट राजकुमार र उनका बुबा लगायत पुरुषहरू मात्रै उपस्थित थिए।

    बुधवारका भिडिओहरूमा राजकुमार मतीन उनकी दुलही ल्याउन सुनको गुम्बज भएको मस्जिदमा जाँदै गर्दा राजधानीका सडकमा नागरिकहरू लाइन लागेको देखिन्छ। राजकुमार मतीनले परम्परागत सेतो पहिरन लगाएका छन् र शिरमा हीराको बुट्टा भएको गहना लगाएका छन्। इमामले आशीर्वाद दिइसकेपछि उनले झुकेर आफ्ना बुबाप्रति आदर देखाएका थिए।

    BBC

  • ताइवानका नयाँ राष्ट्रपतिलाई बधाई दिएपछि अमेरिकासँग रिसायो चीन

    ताइवानका नयाँ राष्ट्रपतिलाई बधाई दिएपछि अमेरिकासँग रिसायो चीन

    काठमाडौं । ताइवानको राष्ट्रपतिमा निर्वाचित विलियम लाईलाई बधाई दिएपछि अमेरिकासँग चीन रिसाएको छ । अमेरिकाको यस्तो कदमले यो टापुको स्वतन्त्रताका लागि वकालत गरिरहेकाहरूमाझ गलत सन्देश गएको चीनले बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बधाई दिन जारी गरेको वक्तव्यले ताइवानसँग अनौपचारिक सम्बन्ध मात्रै कायम राख्ने वासिङ्टनको प्रतिबद्धता उल्लङ्घन गरेको समेत बेइजिङको टिप्पणी छ।

    बेइजिङले यस विषयमा औपचारिक कूटनीतिक विरोध गरिएको जनाएको छ। ताइवानलाई चीनको हस्तक्षेपबाट मुक्त गर्ने र देशको प्रजातान्त्रिक पद्धतिलाई संरक्षण गर्ने वाचा गरेका विलियम लाईलाई विश्वभरिका नेताहरूले बधाई दिइरहेका छन्।

    चीनले भने उनको विजयलाई स्वीकार गरेको छैन र स्वशासित हैसियतमा रहेको यो टापु आफ्नै भूभागको हिस्सा रहेको दोहोर्‍याएको छ। लाईले आफ्ना दुई प्रतिद्वन्द्वीलाई सहजै हराएका छन् । ताइवानका मतदाताहरूले उक्त टापुको सार्वभौमसत्ताको पक्षधर रहेका उम्मेदवार विलियम लाईलाई एउटा ऐतिहासिक निर्वाचनमा राष्ट्रपतिका रूपमा चुनेका छन् । उक्त मतलाई चीनभन्दा पृथक् धारणा राखेको अर्थ लगाइएको छ। त्यसप्रति आक्रोश व्यक्त गर्दै बेइजिङले एउटा विज्ञप्ति जारी गरेको छ जसमा “ताइवान चीनको हिस्सा रहेको” अडान व्यक्त गरिएको छ।

    बेइजिङले “शान्तिपूर्ण पुनःएकिकरण” को कुरा उठाउने गरेको भए पनि उसले बल प्रयोग गर्ने विषयलाई पनि नकारेको छैन। त्यसले ताइवानको निर्वाचनलाई “युद्ध वा शान्ति”बीचको रोजाइका रूपमा हेरिएको थियो। हालैका महिनाहरूमा चीनले उक्त प्रायद्वीप वरपर सैनिक उपस्थिति वृद्धि गरेको छ जसले सम्भावित द्वन्द्वको भय बढाएको छ।

    बेइजिङको कम्युनिस्ट सरकारले ताइवानमा आठ वर्ष शासन गरेको लाईको स्वतन्त्रता पक्षधर डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)लाई निन्दा गर्छ।आफ्नो दलले अभूतपूर्व तेस्रो कार्यकाल राष्ट्रपति चुनाव जितेपछि लाईले नयाँ कीर्तिमान रचेका छन्। विपक्षीहरूले पराजय स्वीकार गरेपछि उनले अब पछाडि फर्किने बाटो नरहेको सङ्केत गरे।

  • चीनमा कोइला खानीमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    चीनमा कोइला खानीमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं । चीनको हेनान प्रान्तस्थित कोइला खानीमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको चिनियाँ सञ्चार माध्यमले शनिबार जनाएका छन् । दुर्घटना कोइलाखानीमा ग्यास विस्फोटको कारण भएको र खोजी तथा उद्धार कार्य जारी रहेको सिसिटिभीले जनाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले विस्फोट हुँदा ४२५ जनाले भूमिगत काम गरिरहेको बताएको छ ।

    खानीको जिम्मा लिनेहरूलाई अधिकारीहरूले हिरासतमा लिएको सिन्ह्वाले जनाएको छ । चीनमा खानी सुरक्षा पछिल्लो दशकहरूमा सुधार भएको बताउने गरिएको छ । यद्यपि, कमजोर सुरक्षा व्यवस्थाका कारण उद्योगमा दुर्घटनाहरू अझै भइरहन्छन् । आधिकारिक तथ्याङ्क अनुसार २०२२ मा १६८ दुर्घटनामा २४५ जनाको मृत्यु भएको थियो । गत महिना उत्तरपूर्वी हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागमा भएको खानी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

    नोभेम्बरमा सोही प्रान्तको अर्को कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । यसैगरी, सेप्टेम्बरमा, दक्षिणपश्चिम चीनको कुइझोउ प्रान्तमा कोइला खानीमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो । रासस-एएफपी