Category: विश्व

  • इजरायलको आक्रमणयता गाजामा १३६ जना संयुक्त राष्ट्रसंघका कर्मचारी मारिए

    इजरायलको आक्रमणयता गाजामा १३६ जना संयुक्त राष्ट्रसंघका कर्मचारी मारिए

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबिच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसङ्घका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताएका छन् । राष्ट्र सङ्घको इतिहासमा यति धेरै सङ्ख्यामा आफ्ना कर्मचारीको हताहत भएको अहिलेसम्मको दुर्लभ घटना हो ।

    “गाजामा हाम्रा १३६ सहकर्मी ७५ दिनमा मारिएका छन्, जुन हामीले राष्ट्रसङ्घको इतिहासमा कहिल्यै देखेका छैनौँ । हाम्रा अधिकांश कर्मचारीलाई घरबाट निकालिएको छ,” संयुक्त राष्ट्रसङ्घका प्रमुखले एक्स (ट्विटर) पोस्टमा लेखेका छन् । उनले भने, “म गाजामा सर्वसाधारणलाई सहयोग गर्ने हजारौँ सहायताकर्मीप्रति आधार प्रकट गर्दछु ।” अक्टोबर ७ मा इस्लामिक कट्टरपन्थी समूह ९हमास० ले गरेको आक्रमणपछि गाजामा द्वन्द्व चर्किएको थियो ।

    करिब दुई हजार ५०० को सङ्ख्यामा हवाई, जल र स्थल मार्गबाट आक्रमणकारी लडाकु प्रवेश गरी इजरायली क्षेत्रमा आक्रमण गरेका थिए जसका कारण करिब एक हजार १४० जनाको हत्या गरेको थियो भने करिब २५० जनालाई बन्धक बनाएको इजरायली तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यसपछि इजरायलले निरन्तर हवाई र जमीनी अभियानको साथ आक्रमणको बदलामा जवाफ दिइरहेको छ । गाजा पट्टीस्थित हमास सरकारको सञ्चार कार्यालयले बुधबार दिएको जानकारीअनुसार कम्तीमा २० हजार व्यक्तिको मृत्यु भएको छ, जसमध्ये आठ हजार बालबालिका र छ हजार २०० महिला रहेका छन् ।

    इजरायलले गाजा आक्रमणलाई हमासको सम्पूर्ण आतङ्ककारी समूहलाई समाप्त गर्नका लागि पूर्वाधारलाई लक्षित गरेको र नागरिक हताहती लाई कम गर्ने प्रयासको रूपमा चित्रण गरेको छ । इजरायलको प्रतिरषा बलले गाजा सहरको शेजैया छिमेकमा पूर्ण ‘अपरेशनल कन्ट्रोल’ स्थापित गरेको बताएको छ । राससएएफपी

  • इजरायलले हमास र जिहादका २ सय सदस्य पक्राउ गरेको दावि

    इजरायलले हमास र जिहादका २ सय सदस्य पक्राउ गरेको दावि

    काठमाडौं । इजरायलले हमास र इस्लामिक जिहाद सङ्गठनका २ सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको दाबी गरेको छ । इजरायलका अनुसार उनीहरुले केही समय नागरिकमाझ लुकेर बसेका भए पनि अहिले स्वेच्छाले आत्मसमर्पण गरेका हुन् । इजरायलले एक विज्ञप्ति जारी गर्दै हमासलाई हटाउने उद्देश्यले गाजामा हमला गरेदेखि अहिलेसम्म सात सय प्यालेस्टिनी अतिवादीलाई पक्राउ गरिसकेको जनाएको बीबीसीले जनाएको छ ।

    गएको अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाइएको थियो । यसपछि इजरायलले गाजामा आक्रामक सैन्य अभियान शुरु गरेको हो । हमासको मातहतमा काम गर्ने गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म २० हजार मानिस मारिएको र झण्डै ५० हजार घाइते भएको जनाएको छ ।

  • मानव तस्करीको आरोपमा ३ सय यात्रु बोकेको भारतीय विमानलाई जब फ्रान्समा आकस्मिक अवतरण गराइयो…

    मानव तस्करीको आरोपमा ३ सय यात्रु बोकेको भारतीय विमानलाई जब फ्रान्समा आकस्मिक अवतरण गराइयो…

    काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई)बाट ३०३ जना भारतीय यात्रुहरूलाई लिएर उडेको एउटा विमानलाई शुक्रवार फ्रान्समा अवतरण गराइएको छ। सो विमान निकारागुआतर्फ गइरहेको थियो। फ्रान्सका सञ्चारमाध्यमहरूले उक्त विमानको प्रयोग मानव तस्करीका लागि भएको हुनसक्ने भन्दै त्यही कारणले त्यसलाई रोकिएको जनाएका छन्। फ्रान्समा एक जना वकिलले उक्त एअरबस ए३४० दुबईबाट निकारागुआको राजधानी मानागुआगा गइरहेको थियो।

    तर गोप्य सूचना पाएपछि त्यसलाई फ्रान्सको राजधानी प्यारिसबाट १५० किलोमिटर पर रहेको भ्याट्खी विमानस्थलमा अवतरण गराइएको जनाएका छन्। सुरक्षा अधिकारीहरूले विमानमा सवार केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएका छन्। त्यसपछि विमानस्थललाई बन्द गरिएको छ । उक्त विषयमा अनुसन्धान थालिएको छ र उक्त विमानलाई सो मध्य अमेरिकी देश किन लैजान खोजिएको थियो भन्नेबारे पत्ता लगाउने प्रयास भइरहेको छ।

    फ्रान्सस्थित भारतीय राजदूतावासले यस मामिलालाई पुष्टि गर्दै फ्रान्सका अधिकारीहरूले आफूलाई त्यसबारे जानकारी दिएको जनाएका छन्।
    दूतावासले भनेको छ, “दुबईबाट निकारागुआ गइरहेको विमानमा अधिकांश भारतीय मूलका नागरिक थिए। त्यसलाई मार्न क्षेत्रको भ्याट्खी विमानस्थलमा ‘टेकनिक्ल हल्ट’ भन्दै रोकिएको छ। दूतावासको टोली त्यहाँ पुगेको छ र उनीहरूलाई कन्सुलरसँगको पहुँच उपलब्ध गराइएको छ। दूतावासले पनि यस मामिलाको जाँच गरिरहेको छ।”

    उक्त विमान रुमेनियाको चार्टर कम्पनी लिजेन्ड एअरलाइन्सको स्वामित्वमा थियो। कम्पनीका वकिल लिलियाना बाकायोकोले फ्रान्सेली समाचार च्यानल बीएफएमटीभीलाई फ्रान्सका अधिकारीहरूलाई अनुसन्धानमा सघाउन तयार रहेको जनाएकी छन्। उनले उक्त विमान केही दिनभित्रै आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्ने अपेक्षा पनि गरेकी छन्। उक्त यात्राको उद्देश्य र सर्तहरूबारे अनुसन्धान थालिएको स्थानीय अधिकारीहरूले जनाएका छन्। उनीहरूले कतिपय यात्रुहरू गैरकानुनी आप्रवासी भएको हुनसक्ने जनाएका छन्।


    फ्रान्सको अखबार ‘लु मोन्ड’ का अनुसार देशको सङ्गठित अपराधविरोधी राष्ट्रिय निकाय जुनालले अनुसन्धानमा आफ्नो अग्रसरता लिएको छ। विशेष जाँच दलका अधिकारीहरूले विमानमा सवार सबै यात्रुहरूलाई सोधपुछ गर्ने काम थालेका छन्। दुई जना यात्रुलाई हिरासतमा लिइएको छ। अहिलेसम्म जाँच पूरा भइसकेको छैन।

    फ्रान्सका अधिकारीहरूले विमान अवतरण भएपछि सुरुमा यात्रुहरूलाई विमानमा नै बसिरहन भनिएको जनाएका छन्। तर पछि शुक्रवार रात त्यहाँ बस्ने प्रबन्ध मिलाउन भ्याट्खी विमानस्थलको आगमन कक्षलाई सुत्ने स्थानका रूपमा परिणत गरिएको थियो। प्रहरीले पुरै विमानस्थललाई घेराबन्दी गरेको छ।

    फ्रान्सका अभियोजनकर्ताको कार्यालयले उक्त विमानमा सवार केही व्यक्तिहरू मानव तस्करीको सिकार हुनसक्ने गुप्तचरी जानकारी प्राप्त भएको जनाएको थियो। हालैका महिनाहरूमा युरोप र अमेरिकाले आफ्नो आप्रवासन सम्बन्धी नियमहरूमा कडाइ गरेका छन्। युक्रेनमाथि रुसको आक्रमण, इजरेल र हमासबीचको युद्ध र कैयौँ अफ्रिकी देशहरूमा जारी गृहयुद्धका कारण गैरकानुनी माध्यमबाट अमेरिका र युरोप जाने मानिसहरूको सङ्ख्या बढ्दै गएको छ।
    बीबीसी

  • युक्रेनको दावि : तीन रुसी जेट खसाल्यौं

    युक्रेनको दावि : तीन रुसी जेट खसाल्यौं

    काठमाडौं । युक्रेनको सेनाले शुक्रवार देशको दक्षिणमा तीन वटा रुसी लडाकु जेट खसालेको दावि गरेको छ । बमवर्षक सु २५ जेट विमानहरू खेअर्सन क्षेत्रमाथिबाट खसालिएको युक्रेनको एअर फोर्सले घोषणा गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ती विमान खसाल्ने सैनिकहरूलाई धन्यवाद दिँदै उक्त घटना युद्धग्रस्त खेअर्सन क्षेत्रमा भएको बताएका छन्।

    यी दाबीहरूबारे मस्कोले कुनै प्रतिक्रिया जनाएको छैन तर प्रभावशाली रुसी ब्लगरहरूले क्षतिबारे उल्लेख गरेका छन्। शुक्रवार आफ्नो रात्रिकालीन सम्बोधनका क्रममा जेलेन्स्कीले विमान खसालिएको घटनाले युक्रेनमा निशाना बनाइरहेका रुसी पाइलटहरूलाई कोही पनि सजाय नपाईकन नजाने भनेर सजग गराएको बताए।

    उनले नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेसँग कुरा गरेर भविष्यमा एफ १६ जेट पठाउनेबारे र नयाँ ईयू सहायता प्याकेजबारे छलफल गरेको बताए। मस्कोले जेटहरूको क्षतिका बारेमा प्रतिक्रिया जनाएको छैन तर फाइटरबमर भनेर परिचित युद्धसम्बन्धी एकजना प्रभावशाली रुसी ब्लगरले सङ्ख्या नखुलेका विमानहरूको क्षति भएको जनाउँदै ती सम्भवतः अमेरिकामा बनेका प्याट्रोइट क्षेप्यास्त्रहरूले खसालेको हुनसक्ने भनेका छन्।

    ती ब्लगरले बच्न सफल भएका पाइलट र मृतकहरूको शव फेला पारिएको जनाएका छन्। अर्का ब्लगर भोइनी ओस्भेदोमितेलले ती विमानहरू सम्भवतः रुस नियन्त्रित ड्निप्रो नदितर्फ रहेका युक्रेनी आधारहरूमा बम खसाल्न प्रयोग भएको हुनसक्ने बताएका छन्। सन् २०२२ को फेब्रुअरीयता पूर्ण आकारको अतिक्रमण सुरु गरेको रुसी फौजसँग लडिरहँदा युक्रेनले गोला बारुदको अभाव सामना गरिरहेको छ।
    बीबीसी

  • नेपाल र श्रीलंकाबीच समृद्धिका लागि साझेदारी गर्ने सहमति

    नेपाल र श्रीलंकाबीच समृद्धिका लागि साझेदारी गर्ने सहमति

    काठमाडौं । नेपाल र श्रीलङ्काबिच एकअर्कालाई सघाउँदै दिगो समृद्धिका लागि साझेदारी गर्ने सहमति भएको छ । काठमाडौँमा बिहीबार बसेको नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा लामो मित्रतामा नयाँ साझेदारीका पहललाई बढवा दिएर एकअर्कालाई सघाउने प्रतिबद्धतासहितको समझदारी भएको हो ।

    परराष्ट्रमन्त्री नारायणप्रकाश साउद तथा श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीको संयुक्त अध्यक्षतामा बसेको बैठकमा दुई देशबिच व्यापार र लगानी अभिवृद्धि गर्ने, बढ्दो हावा जडान, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदान, सार्क र बिम्स्टेक प्रक्रियालाई सुदृढ गर्नेलगायत क्षेत्रीय सहयोगसहितका बहुपक्षीय मञ्चमा सहकार्यका लागि दुई पक्षीय साझेदारीलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    बैठकमा दुई देशबिचको विकास साझेदारीको समीक्षा गर्दै सहकार्यका क्षेत्रहरूको प्रगति सन्तोषजनक रहेको भन्दै दुवै नेतृत्वले त्यसको सराहना गरेको छ । काठमाडौँ–कोलम्बो हवाई सम्पर्कको सुरुवात उत्साहजनक रहनुका साथै कोलम्बो र लुम्बिनीबिच सीधा हवाई सम्पर्कको सम्भावनाबारे छलफल भएको छ । श्रीलङ्कामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावना र उपायका बारेमा दुई मन्त्रीले परामर्श गरेका थिए ।

  • चेक गणराज्यको राजधानीमा गोली चल्यो, कम्तिमा १५ जना मारिए

    चेक गणराज्यको राजधानीमा गोली चल्यो, कम्तिमा १५ जना मारिए

    काठमाडौं । चेक गणराज्यको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा गोली काण्ड भएको छ । एक व्यक्तिले गोली प्रहार गरी १४ जनाको ज्यान लिएको समाचा एजेन्सीहरुले जनाएका छन् । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । कुल १५ जना मारिएको यो घटनामा अन्य २४ जना घाइते भएका छन् ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबार मानविकी संकाय (आर्टस् फ्याकल्टी)को एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएका थिए । गोली चलेपछि मानिसहरुको भागदौड मच्चिएको थियो । कतिपय छतबाट पनि हामफालेका थिए ।

    चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय हो । यो युरोपकै पुराना संस्थाहरुमध्ये एक हो । विश्वविद्यालय रहेको क्षेत्र विख्यात पर्यटकीय क्षेत्र पनि हो । यहाँ हरेक वर्ष नयाँ वर्ष मनाउन मानिसहरुको ठूलो भिड जम्मा हुन्छ ।

    राष्ट्रपति पिटर पावेलले विश्वविद्यालय क्षेत्रमा गोली चलेको घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । साथै मृतक परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । यो घटना कुनै अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित नभएको चेक प्रहरीले जनाएको छ ।

    चेक रिपब्लिकमा बन्दुकधारीको आक्रमणबाट मानिस मारिनु सामान्यजस्तै भइसकेको छ । यद्यपि चेक रिपब्लिकको स्वतन्त्रतापछि यो हालसम्मकै घातक आक्रमण भएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१५ मा एक रेष्टुरेन्टमा गोली चल्दा आठ जनाको ज्यान गएको थियो ।

  • रुस जानु अघि अब अनिवार्य ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने

    रुस जानु अघि अब अनिवार्य ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने

    काठमाडौं । रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर अर्थात् एनओसी अनिवार्य रुपमा लिनुपर्ने भएको छ । परराष्ट्र मन्त्रालयले बुधवार निकालेको विज्ञप्तिमा रुस यात्रा गर्नु परेमा एनओसी अनिवार्य रुपमा लिनुपर्ने प्रावधान रहेको जानकारी दिएको हो ।

    रुसी सेनामा नेपालीहरु भर्ती हुन जाने र युद्धको चपेटामा पर्ने खबर सार्वजनिक भएसँगै सरकारले एनओसी लिनुपर्ने प्रावधान ल्याएको हो । परराष्ट्र मन्त्रालयका अनुसार सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएको छ ।

    यस्तै, अरु विभिन्न गन्तव्यबाट रुस जाँदा पनि एनओसी आवश्यक हुने भएको छ । भारत, बङ्लादेश, श्रीलङ्का, यूएई, साउदी अरबिया, कुवेत, कतार र बहराईनबाट रुस यात्रा गर्नु परेमा पनि त्यहाँ रहेका नेपाली दूतावास र महावाणिज्य दूतावासहरुबाट एनओसी अनिवार्य रुपमा लिनु पर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • भारतमा लोकसभाका थप ४९ सांसद निलम्बित

    भारतमा लोकसभाका थप ४९ सांसद निलम्बित

    काठमाडौं । भारतमा सांसद निलम्बनको शृखंला निरन्तर जारी छ । मंगलबार पनि लोकसभाका ४९ जना विपक्षी सांसदलाई निलम्बन गरिएको छ । संसद् बैठकमा अवरोध गरेको भन्दै आज नेसनल कन्फरेन्सका नेतासमेत रहेका सांसद फारुक अब्दुल्लाह, कंग्रेस सांसद शशि थरूर, मनीष तिवारी, कार्ती चिदम्बरम, एनसीपी सांसद सुप्रिया सुले, समाजवादी पार्टीकी सांसद डिम्पल यादवलगायतका सांसदलाई लोकसभा अध्यक्ष ओम बिरलाले निलम्बन गरेका छन् ।

    सोमबार एकैदिन लोकसभाका ३३ र राज्यसभाका ४५ गरी ७८ विपक्षी सांसद निलम्बनमा परेका थिए । यो संख्या भारतीय संसदीय इतिहासकै सबैभन्दा धेरैसमेत हो । सन् १९८९ मा तत्कालीन राजीव गान्धी नेतृत्वको सरकारमा एकैपटक ६३ विपक्षी सांसद निलम्बनमा परेका थिए । त्यतिबेला इन्दिरा गान्धीको हत्याको अनुसन्धानका लागि गठित न्यायाधीश ठक्कर आयोगको रिपोर्ट पेश गर्न भन्दै विपक्षी सांसदहरूले संसद्मा अवरोध गरेका थिए ।

    अहिले पनि विपक्षी सांसदले संसद्‍मा भएको आक्रमणका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जवाफ माग्दै आएका छन् । त्यसक्रममा उनीहरूले संसद् बैठकमा नाराबाजी र प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेका छैन ।

    एक साता अगाडि गत बुधबार दुई जना युवाहरू दर्शकदिर्घाबाट बैठक चलिरहेकै बेला संसद् कक्षमा कुदेर प्रदर्शन गरेका थिए । उनीहरूले पहलो रंगको धुँवा संसद्‍मा फैलाएका थिए । संसद् भवनमा आतंकवादी हमला भएको २२ वर्ष पुगेकै दिन पाँच तहको सुरक्षा व्यवस्थालाई झुक्याएर केही युवाले संसद् बैठक कक्षमै प्रदर्शन गरेका थिए । १३ डिसेम्बर २००१ का दिन संसद् भवनमाथि आतंकवादी हमला भएको थियो ।

    घटना भएको अर्को दिनदेखि नै विपक्षी सांसदहरूले सरकारलाई घेर्दै संसद्‍मा विरोध प्रदर्शन थालेका थिए । त्यसदिन नै लोकसभाबाट १३ र राज्यसभाबाट १ जना गरी १४ सांसदलाई निलम्बन गरिएको थियो । पछिल्लो समय उक्त निलम्बनलाई खारेज गरिनुपर्ने मागसमेत थपेर विपक्षी सांसदहरूले संसद्‍मा नाराबाजी गरिरहेका बेला ठूलो संख्यामा थप सांसद निलम्बनमा परेका हुन् ।

    शीतकालीन सत्रका लागि जम्मा लोकसभा र राज्यसभा गरी १४१ सांसद निलम्बनमा परिसकेका छन् । यतिबेला लोकसभामा सांसदहरूको संख्या ५ सय ३८ छ । त्यसमा विपक्षी गठबन्धनसँग १ सय ४२ सांसद छन् । त्यस्तै, राज्यसभाको २ सय ४५ जनामध्ये विपक्षी गठबन्धनको सांसदको संख्या ६४ छ । त्यसमा ४६ जना निलम्बित भएका छन् ।

    भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खरगेले गम्भीर सुरक्षा त्रुटिका बाबजुद गृहमन्त्री संसद्‍मा बयान दिनुको साटो विपक्षी सांसदहरूलाई निलम्बन गरिएको बताएका छन् । ुमलाई दुस्ख छ इतिहासमा पहिलोपल्ट यति धेरै सांसदलाई निलम्बन गरिएको छ । यो लोकतन्त्रको धज्जी उठाउनुजस्तै हो । सदनको मर्यादामा पनि यसले गहिरो असर पुगेको छ,उनले भनेका छन् ।

    ४ नोभेम्बरबाट प्रारम्भ भएको शीतकालीन सत्र तीन दिनपछि २२ डिसेमबरमा सकिँदैछ । यस सत्रमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू सरकारले पारित गराउने योजना बनाएको छ । विपक्षीको विरोधले त्यसमा अवराध हुने देखिएपछि सत्तारुढ दलबाट निलम्बनको प्रस्ताव ल्याइएको हो ।

  • चीनमा भूकम्पबाट डेढ लाख भवनमा क्षति

    चीनमा भूकम्पबाट डेढ लाख भवनमा क्षति

    काठमाडौं । उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् । गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । त्यहाँ माइनस १७ डिग्री तापक्रम रहने अनुमान छ ।

    सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छिमेकी किङ्घाई प्रान्तको ह्याडोङमा थप १४ जनाको मृत्यु र एक सय ९८ जना घाइते भएका छन् । सरकारी प्रसारक सिसिटिभीका अनुसार भूकम्पबाट एक लाख ५५ हजारभन्दा धेरै भवन क्षतिग्रस्त भएका छन् र बासिन्दाहरू सुरक्षाका लागि चिसो सडकमा भागेका थिए । भूकम्पको केन्द्र नजिकै एक गाउँमा इँटाले बनेको एउटा घरको बाहिर र भित्री पर्खाल तथा अर्को भवनको छत पूरै ढलेको देखेको एएफपीका संवाददाताहरूले बताएका छन् ।

    “म ७० वर्षको भएँ र मैले मेरो जीवनमा यति शक्तिशाली भूकम्पको अनुभव कहिले गरेको छैन”, उक्त घरका बासिन्दा वेनचाङले भने, “म अब यो घरमा बस्न सक्तिनँ किनकि यो धेरै खतरनाक छ, मेरा आफन्तलाई अन्यत्र कतै सारिएको छ ।” अर्को स्थानमा एउटा मस्जिदको छानो भत्किएको छ र अर्को भवन भग्नावशेषमा परिणत भएको छ । सडकहरू आपत्कालीन सवारीले भरिएका थिए ।

    साँझ भएपछि स्वयंसेवकहरूले उद्धारकर्मीहरूका लागि आधार बनाउन सहरको चोकमा टेन्ट लगाउन प्रयास गरेका छन् । छेउमा दुई दर्जन सैन्य ट्रक राखिएका थिए । “हाम्रा लागि अत्यावश्यक चिजहरू चाँडो तयार गर्नुछ किनकि आज राति तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म पुग्नेछ ।” रासस, एएफपी

  • इजरायलको आक्रमणबाट गाजामा झण्डै २० हजार सर्वसाधारण मारिए

    इजरायलको आक्रमणबाट गाजामा झण्डै २० हजार सर्वसाधारण मारिए

    काठमाडौं । हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ तारिखमा युद्ध सुरु भएयता १९,६६७ जना मारिएका जनाएको छ। मारिनेको पछिल्लो सङ्ख्या सामाजिक सञ्जालमा खुलाउँदै मन्त्रालयले थप ५२,५८६ व्यक्ति घाइते भएका जनाएको छ। उक्त क्षेत्रमा लडाइँ रोक्न अन्तर्राष्ट्रिय रूपमा तीव्र दबाव परिरहेका बेला मृत्यु हुने र घाइते हुने मानिसको ताजा सङ्ख्या सार्वजनिक भएको हो। अक्टोबरमा हमासका बन्दुकधारीले दक्षिणी इजरेलमा गरेको हमलायता भएको युद्धको १० साता बितिसकेको छ।

    दक्षिणी गाजास्थित रफाहमा बस्ने सर्वसाधारणले इजरेलको भारी बमबारीका कारण त्यहाँको जीवन कस्तो छ भन्नेबारे सुनाएका छन्। प्यालेस्टिनी जिहाद जुरोबले सञ्चारसंस्था एएफपीसँग बोल्दै भने, “ठूलो विस्फोटनको आवाज सुन्दा हामी सुतिरहेका थियौँ।” गाजा सहरबाट आन्तरिक रूपमा विस्थापित भएका उनले आफूले चमत्कारले मृत्यु छलेको र लुगा राख्ने ठाउँबाट आफूहरूको उद्धार भएको बताए।

    उनले सुरक्षाका लागि दक्षिणी क्षेत्र छोडेको भए पनि गाजामा जताततै बमबारी भएका कारण कतै पनि सुरक्षित ठाउँ नरहेको बताए। गाजा सहरबाट विस्थापित भएका अर्का व्यक्ति मोहम्मद जुरोबले हमलापछि इँटाहरू आफूमाथि खसेपछि ब्युँझिएको बताए। मेरो शरीरमा जताततै चोटहरू छन्, मेरो खुट्टा यस्ता चोटहरूले भरिएका छन्। हमलामा ज्यान गुमाउनेमा काका, काकाका सन्तानलगायत रहेको उनले बताए। मैले यहाँ आफ्नो परिवारका नौजना गुमाए,” उनले भने।


    गाजामा युद्धविराम गर्नेबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा मतदान हुनुअघि जिनिभामा सहायता निकायहरूले बालबालिकासहित सर्वसाधारणले भोगिरहेको पीडाप्रति एक पटक फेरि आफ्नो आक्रोश र निराशा व्यक्त गरेका छन्। राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा गाजामा युद्धविरामबारे दोस्रो पटक मतदानको तयारी भइरहेको छ। यसअघि भएको मतदानमा अमेरिकाले भिटो प्रयोग गरेको थियो। विश्व स्वास्थ्य सङ्गठनकी मार्गरेट ह्यारिसले भनिन्, “विश्वले यस्तो काम हुन दिइरहेको छ भन्ने नै विश्वास गर्नै नसकिने कुरा हो, यो अनुचित हो।

    विश्व स्वास्थ्य सङ्गठनले गाजामा मुस्किलले एक तिहाइ अस्पतालहरू अझै सञ्चालनमा रहेको र तिनीहरूले एकदमै कम सेवा दिन सकिरहेको बताएको छ। ह्यारिसले गाजामा रहेका आफ्ना सहकर्मीहरूसँग त्यहाँ आफूले देखेको भयावह अवस्था व्याख्या गर्न शब्द नै नभएको बताइन्। सहायता निकायहरूको अस्पष्टताले अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसङ्घको सुरक्षा परिषद्को यो र अन्य द्वन्द्व सल्टाउन नसकेकोप्रति बढ्दो आक्रोश देखाउँछ जुन द्वन्द्वमा बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका मानिसहरूले सबैभन्दा बढी मूल्य चुकाउनुपरेको छ।
    बीबीसी

  • भारतमा एकै पटक ७८ जना सांसद निलम्बित

    भारतमा एकै पटक ७८ जना सांसद निलम्बित

    काठमाडौं । विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ । भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसदको संलग्नता रहेको यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ । गत साता लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसदलाई सदनको कार्यवाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बित गरिएको थियो ।

    त्यसैगरी, गत डिसेम्बर १३ मा दुईजना युवाले भिजिटर्स ग्यालरीबाट लोकसभा प्रवेश गरी सङ्घीय सरकारविरुद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि संसदभित्र सुरक्षा उल्लङ्घनको विषय उठाउँदै पटक–पटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन् ।

    सोमबार निलम्बित विपक्षी सांसदहरूले सांसदहरूको निलम्बन फुकुवा गर्न र संघीय गृहमन्त्री अमित शाहले गत हप्ता संसद सुरक्षा उल्लङ्घनको घटनालाई लिएर वक्तव्य जारी गर्न माग गरेका थिए । निलम्बनपछि लोकसभाको नियमित कारबाही दिनभरका लागि स्थगित गरिएको थियो । सिह्न्वा, रासस

  • चीनमा विनासकारी भूकम्प, कम्तिमा १ सयको मृत्यु

    चीनमा विनासकारी भूकम्प, कम्तिमा १ सयको मृत्यु

    काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।

    भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् । बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् । गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो ।

  • गाजामा युद्धविराम गर्न अन्तर्राष्ट्रिय दवाव

    गाजामा युद्धविराम गर्न अन्तर्राष्ट्रिय दवाव

    काठमाडौं । गाजामा युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहँदा अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले इजरायलमा वार्ता गरिरहेका छन्। इजरायलको सैन्य कारबाहीमा दृढतापूर्वक साथ दिइरहँदा वासिङ्टन बढ्दो रूपमा एक्लिरहेको छ। आइतवार ब्रिटेन, जर्मनी र फ्रान्सले निकै धेरै सर्वसाधारण मारिएको भन्दै दीर्घकालीन युद्धविरामको लागि कामहरू गर्न आग्रह गरेका छन्। यो यूकेको हकमा देखिएको परिवर्तन हो। यद्यपि उनीहरूले तत्काल युद्धविराम भन्न छाडेका छन्।

    यूकेका प्रधानमन्त्री ऋषि सुनकले यस युद्धमा निकै धेरै सर्वसाधारणको मृत्यु भएकोू बताउँदै कसैले पनि यस द्वन्द्व आवश्यक भन्दा एक दिन पनि लम्बिएको देख्न नचाहेकोू बताए। हमास अधिकारीहरूले आइतवार जबालियास्थित गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा कम्तीमा ११० प्यालेस्टिनीहरू मारिएको बताएका छन्। आफूले आतङ्कवादीका पूर्वाधारमा निशाना बनाएकोमा जोड दिने गरेको इजरेलले यस घटनालाई लिएर कुनै ठोस प्रतिक्रिया जनाएको छैन।

    ह्युमन राइट्स वाचले इजरेललाई जारी युद्धमा उसले भोकमरीलाई युद्ध अस्त्रको रूपमा प्रयोग गरेको आरोप लगाएको छ। उसले इजरेली सेनाले पानी, खाद्यान्न र इन्धनका साथै ूमानवीय सहायतामा जानाजान अवरोध पुर्‍याएकोू आरोप लगाएको छ। अन्तर्राष्ट्रिय कानुन अनुसार भोकमरीलाई युद्धमा रणनीतिका रूपमा प्रयोग गर्नु हुँदैन। इजरेलको विदेश मन्त्रालयका एकजना प्रवक्ताले एएफपी समाचार संस्थालाई दिएको प्रतिक्रियामा ह्युमन राइट्स वाचको उक्त भनाइलाई यहुदी विरोधी बताए।
    बीबीसीको सहयोगमा

  • लिवियामा ६० भन्दा धेरै आप्रवासीको डुबेर मृत्यु भएको दावि

    लिवियामा ६० भन्दा धेरै आप्रवासीको डुबेर मृत्यु भएको दावि

    काठमाडौं । लिबियाको तटमा डुबेर ६० जनाभन्दा बढी आप्रवासीको मृत्यु भएको हुनसक्ने अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम)ले जनाएको छ। घटनामा बच्न सफल भएका आप्रवासीलाई उद्धृत गर्दै उक्त संयुक्त राष्ट्रसङ्घीय निकायले “एउटा समुद्री डुङ्गा जुवारा सहरबाट हिँड्दा त्यसमा करिब ८६ जना चढेका थिए” भनेको छ।

    उसले उच्च छालहरूले डुङ्गालाई बगाएको र बालबालिकासहित ६१ जना आप्रवासी बेपत्ता भएको तथा सम्भवतः उनीहरूको ज्यान गएको हुनसक्ने अनुमान गरेको छ। भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरूको लागि लिबिया मुख्य प्रस्थानबिन्दु हो। आईओएमको अनुमान अनुसार यो वर्ष मात्र उक्त क्षेत्रलाई पार गर्ने प्रयास गर्दा दुई हजार दुई सयभन्दा बढी मानिस भूमध्यसागरमा डुबेका छन्।

    त्यसले गर्दा उक्त समुद्री बाटो विश्वको सबैभन्दा खतरनाक आप्रवासी मार्गमध्ये एक बन्न पुगेको छ। आईओएमले पछिल्लो घटनामा पर्ने अधिकांश मानिसहरू नाइजिरिया, गाम्बिया र अन्य अफ्रिकी देशका रहेको बताएको समाचार एजेन्सी एएफपीले जनाएको छ। उक्त निकायले बचेका २५ जनालाई लिबियाको हिरासतमा स्थानान्तरण गरिएको र उनीहरूलाई चिकित्सा सहायता दिइएको बताएको छ।

    पहिले ट्विटर भनिने एक्समा लेख्दै आईओएमका एकजना प्रवक्ताले यस वर्षको मृत्युको सङ्ख्यालाई एकदमै उच्च भनेका छन्। उनले त्यो सङ्ख्याले आप्रवासीहरूको जीवन बचाउन पर्याप्त काम भइरहेको छैन भन्ने देखाउने उनले उल्लेख गरेका छन्। गत जुनमा दक्षिणी ग्रीसमा माछा मार्ने डुङ्गामा चढेका आप्रवासीहरू डुब्दा कम्तीमा ७८ जनाको मृत्यु भएको थियो। उक्त घटनामा अन्य १०० जनाको उद्धार गरिएको थियो।

    भूमध्यसागर पार गरेर युरोप जानका लागि प्रायः धेरै आप्रवासीहरूलाई उक्त मार्गबाट असुरक्षित रूपमा डुङ्गाहरूमा राखेर लगिएको देखिन्छ। त्यसरी असुरक्षित रूपमा यात्रा गर्नेहरूमध्ये अधिकांशले इटली पुग्ने आशा राखेका हुन्छन्। त्यहाँबाट उनीहरू अन्य युरोपेली देश जान चाहन्छन्। कतिपय आप्रवासीहरू द्वन्द्वका कारण देश छाडेका हुन्छन् भने कतिपयले चाहिँ कामका लागि युरोप जाने सपना देखेका हुन्छन्।

    आईओएमका अनुसार आप्रवासीका लागि मध्य भूमध्यसागर संसारकै सबैभन्दा घातक मार्ग हो। प्रायः केही परिष्कृत रबर डिङ्गीजस्ता डुङ्गामार्फत् धेरै मानिसहरूले सागर पार गर्ने प्रयास गर्छन्। त्यसले गर्दा यात्रा झनै जोखिमपूर्ण हुन्छ र घातक हुने सम्भावना बढ्छ। त्यस्ता डुङ्गाहरू धेरैजसो आपराधिक गिरोह र मानवतस्करहरूले सञ्चालन गर्छन्। मध्य भूमध्यसागरको मार्ग हुँदै युरोप पुग्न खोज्ने आप्रवासीहरूका लागि लिबियाको छेउमा अवस्थित ट्यूनिशिया पनि मुख्य प्रस्थानबिन्दु हो।

    त्यहाँ समुद्रमा डुबेर ज्यान गुमाउने मानिसका लाग आरक्षित चिहान पनि छ। तर त्यसले पनि आप्रवासीहरूलाई उक्त बाटो प्रयोग गर्नबाट रोकेको छैन। आईओएमजस्ता संस्थालाई भने अन्य आप्रवासीहरूलाई यी कुराले निरुत्साहित नगर्ने डर छ। उसले सधैँ त्यसबारे चिन्ता व्यक्त गर्दै आएको छ। युरोपेली सीमा र तटरक्षक निकाय फ्रन्टेक्सको विवरणअनुसार सन् २०१५ देखि २०२२ बीचमा झन्डै तीन लाख मानिसहरूलाई त्यहाँबाट उद्धार गरिएको थियो।

    संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगका अनुसार यो वर्ष ट्युनिशिया र लिबियाबाट एक लाख ५३ हजार भन्दा बढी आप्रवासीहरू इटली पुगेका छन्। शनिवार यूकेका प्रधानमन्त्री ऋषि सुनकले आफ्ना इटली र अल्बेनियाका समकक्षीहरूसँग युरोपमा गैरकानुनी आप्रवासी रोक्ने विषयमा रोममा छलफल गरेका थिए। यसै वर्षको सुरुमा सुनकले इङ्ग्लिस च्यानलमा साना डुङ्गा पार गर्ने कामलाई रोक्ने विषयलाई आफ्नो सरकारको प्रमुख पाँच प्राथमिकताको क्षेत्रका रूपमा घोषणा गरेका थिए।

  • विश्वभर आणविक ऊर्जाको प्रयोग बढ्दै, युरेनियमको मूल्य १७ वर्षयताकै उच्च

    विश्वभर आणविक ऊर्जाको प्रयोग बढ्दै, युरेनियमको मूल्य १७ वर्षयताकै उच्च

    न्युयोर्क । आणविक ऊर्जामा नयाँ चासोको पृष्ठभूमिमा सीमित आपूर्ति र तीव्र मागका कारण युरेनियमको मूल्य करिब १७ वर्षयताकै उच्च स्तरमा पुगेको छ ।

    आणविक ईन्धनको रूपमा प्रयोग गरिने युरेनियम अक्साइडको कारोबारका लागि महत्वपूर्ण मानिने सम्झौता जनवरी २००७ पछि पहिलो पटक प्रति पाउण्ड अर्थात् करिब ४५३ ग्रामको ८६ डलर पुगेको छ ।

    आणविक ऊर्जामा नयाँ चासोको कारण मागमा भएको वृद्धि र युक्रेनमा रूसको आक्रमणपछि तेल र ग्यास आपूर्तिको बारेमा डरको कारण पनि यो मूल्य वृद्धि कारकहरूको संयोजनको परिणाम हो ।

    अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार सन् २०२१ मा आणविक ऊर्जाबाट करिब ७० प्रतिशत विद्युत् उत्पादन गर्ने फ्रान्सजस्ता आणविक ऊर्जामा अत्यधिक निर्भर मुलुकका लागि उच्च मूल्यले टाउको दुखाइको विषय बन्नेछ ।

    फ्रान्स, बेल्जियम, बेलायत र रोमानियाले हालै धेरै अवरूद्ध पावर प्लान्टहरूको सञ्चालन र विस्तारको लागि अनुमति दिएका छन् ।

    संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको पब्लिक युटिलिटीज कमिसन (सीपीयूसी) ले बिहीबार लस एन्जलस नजिकैका दुई रिएक्टरको आयु ५ वर्ष थप्नु स्वीकृति दिएको छ ।

    विशेष गरी चीनमा नयाँ परियोजनाहरू पनि सुरु गरिएका छन् । चीनमा २५ रिएक्टरहरू निर्माणाधीन छन् । भारत, टर्की र इजिप्टमा पनि नयाँ परियोजनाहरूको उल्लेख्यरूपमा वृद्धि भएको छ ।

    आणविक उद्योग अनुसन्धान फर्म युएक्ससीका अध्यक्ष जोनाथन हिन्जेका अनुसार आणविक ऊर्जाको बढिरहेको मागलाई आपूर्तिले सम्बोधन गर्न सकिरहेको छैन ।

    विश्व आणविक सङ्घ (डब्लूएनए) का अनुसार विश्वको सबैभन्दा ठूलो युरेनियम उत्पादक कजाकस्तानमा रहेको मागलाई आपूर्तिले सम्बोधन गर्न सकेको छैन । गत वर्ष विश्वव्यापी उत्पादनको ४३ प्रतिशत काजकस्तानले सम्बोधन गरेको थियो ।

    कजाकस्तानले विशेष गरी निकासीको लागि प्रयोग गरिएको सल्फ्यूरिक एसिडको कमी र बन्दोबस्तीको समस्याहरूको सामना गर्नुपरेको हिन्जले बताए ।

    डब्लूएनएका अनुसार सन् २०२२ मा विश्वभर करिब ५८ हजार टन युरेनियम निकालिएको थियो ।

    गत वर्ष विश्वमा युरेनियम उत्पादनको चार प्रतिशत हिस्सा ओगटेको नाइजरमा हालै भएको सैन्य ’कू’बाट पनि वित्तीय बजार चिन्तित भएको हिन्जेले बताए ।

    रिपब्लीकन नेतृत्वको अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सले सोमबार रूसबाट युरेनियम आयातमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ ।

    यो विधेयक अझै पनि डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहेको सिनेटबाट पारित हुन बाँकी छ ।

    यी सबै कारकहरू युरेनियमको ठूलो भण्डार जम्मा गर्ने र मूल्य वृद्धि गर्ने वित्तीय खेलाडीहरूको उदयबाट जटिल छन् ।

    यीमध्ये सबैभन्दा ठूलो भण्डार गृह क्यानडाको स्प्रोट हो, जसले जूनको अन्त्य सम्ममा लगभग २८ हजार टन यूरेनियम भण्डारण गरेको छ ।

    युरेनियमको बढ्दो मागपूरा गर्न अमेरिकी राज्य उटाहजस्ता स्थानहरू जस्तै विश्वभरिका पुराना खानीहरू पुनः खोलिएका छन् ।

    ‘युरेनियमको माग बलियो रहनेछ र बढ्नेछ,’ युएक्ससीका हिन्जेले भने, ‘रातारात आपूर्ति बढाउन सम्भव छैन । नतिजाको रूपमा यदि केही छ भने, मूल्य अझ बढ्नेछ, घट्ने वा नियन्त्रण हुने होइन ।’ एजेन्सी

  • इराकमा सुरक्षाकर्मीले पनि पाए मतदानको अधिकार

    इराकमा सुरक्षाकर्मीले पनि पाए मतदानको अधिकार

    काठमाडौं । १० वर्ष वर्षपछि सोमवार हुने प्रान्तीय निर्वाचनअघि इराकी सुरक्षाकर्मीले शनिवार देशका १८ प्रान्तमध्ये १५ प्रान्तमा मतदान गरेका छन् । स्थानीय समयानुसार बिहान ७ बजेपछि मतदान सुरु भएको हो । इराकी राजधानी बगदाद र सेमीका तीन प्रान्तहरू बाहेक देशका १५ प्रान्तका अन्य धेरै सहरका मतदान केन्द्रहरूमा सैनिक र प्रहरीहरू मतदान गरेका छन् ।

    इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगको तथ्याङ्क अनुसार १५ प्रान्तका ५६५ मतदान केन्द्रहरूमा सुरक्षाकर्मीहरूबाट १० लाखभन्दा बढी मतदाताहरूले मतदान गर्ने अपेक्षा गरिएको छ । इराकमा पछिल्लो प्रान्तीय निर्वाचन अप्रिल २०१३ मा भएको थियो । सिन्ह्वा

  • रूस-युक्रेन युद्ध: रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

    रूस-युक्रेन युद्ध: रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

    काठमाडौं । रुसी सेनामा भर्ती भएका कैलाली टीकापुरका एक युवाको मृत्यु भएको छ । तीन महिनअघिरुसी सेनामा भर्ती भएका टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युद्धमा मृत्यु भएको हो ।

    करिब आठ वर्ष नेपाल प्रहरीको जवान भएर काम गरेर शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा दिएर दुबई पुगेका थिए । शाहको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले औपचारिकरूपमा परिवारलाई जानकारी दिएका छैनन् ।

    उनीसँगै सेनामा भर्ती भएका कञ्चनपुरको एक युवाले शाहको मृत्यु भएको सन्देश पठाएका हुन् । योसँगै सातजना नेपालीले रुस–युक्रेनको लडाइँमा ज्यान गुमाएका छन् ।

    हालसम्म परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका ६ नेपालीको मृत्यु भएको सार्वजनिक गरेको छ ।

  • प्रदूषणको खतरनाक स्तरसँग लड्न पहिलो पटक पाकिस्तानमा कृत्रिम वर्षा

    प्रदूषणको खतरनाक स्तरसँग लड्न पहिलो पटक पाकिस्तानमा कृत्रिम वर्षा

    लाहोर । पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षा गराइएको छ । प्रान्तीय सरकारका अनुसार लाहोरको मेगासिटीमा प्रदूषणको खतरनाक स्तरसँग लड्न पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षाको प्रयोग गरिएको हो ।

    क्लाउड– सीडिङ ​​उपकरणले सुसज्जित विमानहरू शनिबार पूर्वी शहरमा उडाइएको थियो । वायु प्रदूषणको लागि विश्वव्यापी रूपमा सबैभन्दा खराब स्थानहरूमध्ये एक हो, जहाँ ती विमान उडाइएको थियो ।

    ‘जसका कारण लाहोरको कम्तीमा १० क्षेत्रमा चिसो बढेको छ,’ पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले पत्रकारहरूलाई भने, ‘अधिकारीहरूले १५ किलोमिटरको दायरामा कृत्रिम वर्षाको प्रभावको अनुगमन गरिरहेका छन् ।’

    लाहोरमा हावाको गुणस्तर विगत केही हप्ताहरूमा खराब भएको छ र पञ्जाब सरकारले हावाको गुणस्तर सुधार गर्न मद्दत गर्नका लागि व्यवसायहरू चाँडै बन्द गर्ने र विद्यालयहरू दुई थप दिनको लागि बन्द राख्ने जस्ता धेरै रणनीतिहरू प्रयोग गरे पनि कुनै काम भइरहेको थिएन ।

    ‘तर, ती उपहार संयुक्त अरब इमिरेट्सद्वारा प्रदान गरिएको थियो,’ नक्वीले भने, ‘युएईका टोलीहरू दुईओटा विमानसहित १० देखि १२ दिन अघि यहाँ आइपुगेका थिए। तिनीहरूले वर्षा सिर्जना गर्न ४८ फ्लेयर प्रयोग गरे,’ उनले भने। नक्वीले भने कि टोलीले शनिबार रातिसम्म प्रयोगको प्रभावको मूल्याङ्कन गर्न सक्षम हुनेछ।

    यूएईले बढ्दो रूपमा क्लाउड सीडिङ ​​प्रयोग गरेको छ, कहिलेकाहिँ कृत्रिम वर्षा वा ब्लु स्किइङ भनेर चिनिन्छ, देशको सुख्खा विस्तारमा वर्षा सिर्जना गर्न यो प्रयोग गर्दै आएको छ । क्लाउड–सिडिङ प्रक्रियामा, सिल्भर आयोडाइड, एक पहेंलो नुन, एसीटोनको साथ कम्पाउन्डमा बादलमा जलाइन्छ ताकि कन्डेन्सेसनलाई वर्षाको रूपमा धर्तीमा झारिन्छ ।

  • गाजामा तीन जना बन्धक भुलवस मारिएको इजरायलको दावि

    गाजामा तीन जना बन्धक भुलवस मारिएको इजरायलको दावि

    काठमाडौं । इजरायलको सेनाले गाजामा लडाइँका क्रममा भुलवश तीनजना बन्धकहरू मारिएको जनाएको छ। उनीहरूलाई जोखिमका रूपमा गलत पहिचान हुँदा त्यसो हुन पुगेको इजरेली डिफेन्स फोर्स आइडिएफले जनाएको छ। ती २८ वर्षीय योतम हइम, २२ वर्षीय समीर तलल्का र र २६ वर्षीय एलोन सम्रिज रहेको जनाइएको छ।

    इजरायली सेनाले आत्मग्लानि महसुस गरेको जनाउँदै उनीहरूको उत्तरी गाजामा तैनाथ फौजहरूको गोली प्रहारबाट मृत्यु भएको जनाएको छ। इजरायमा ७ अक्टोबरमा भएको हमलापछि नियन्त्रणमा लिइएकामध्ये १०० भन्दा धेरै अझै गाजामा बन्धक अवस्थामा छन्।


    आइडिएफले शुक्रवारको घटना अनुसन्धानका क्रममा रहेको बताउँदै त्यस दुखद घटनालाई लिएर गहिरो आत्मग्लानि व्यक्त गरेको र उनीहरूका परिवारलाई समवेदना जनाइएको उल्लेख गरेको छ। जसमा थप भनिएको छ हाम्रो राष्ट्रिय उद्देश्य हराइरहेकालाई खोज्ने र सबै बन्धकहरूलाई घर फिर्ता ल्याउने छ।


    गलत पहिचान कसरी भयो भन्ने विषयमा आइडिएफका एकजना प्रवक्ता जोनाथन कनरिकसले दुई सम्भावित कारण बताए। “एक, उनीहरू सर्वसाधारणले लगाउने पोसाकमा थिए, जुन सम्भवतः हामीले हमास लडाकुहरूलाई जस्तो स्वरूपमा देख्छौँ त्यस्तै थियो,” उनले भने। तर उनले ती बन्धकहरूसँग हतियार थियो कि थिएन भन्नेबारे प्रस्ट पारेनन्। “दोस्रो चाहिँ यस दुस्खद् गल्ती हुनुअघि र पछि उक्त क्षेत्रमा इजरेली फौज र हमासका लडाकुबीच लडाइँ भएको थियो।”


    उक्त घोषणापछि मध्य तेलअभिभमा सयौँ मानिसहरू जम्मा भएर उक्त सहरमा रहेको आइडिएफको सैन्य शिविरतर्फ गएका थिए। उनीहरूले सरकारसँग बाँकी बन्धकहरूलाई छुटाउनेगरी सम्झौता गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले मैनबत्ती एवं उनीहरूलाईे घर ल्याउन र अब बन्धक साटासाट गरौँ लेखिएका प्लेकार्ड बोकेका थिए। मारिएका तीनजना पुरुषहरूका शवलाई इजरायल ल्याएर उनीहरूको पहिचान पुष्टि गरिसकिएको छ। इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उनीहरूको मृत्युलाई असह्य दुःख भनेका छन्।

    ूयस दुःखद् साँझमा समेत हामी आफ्नो घाउमा पट्टि लगाउँदै, पाठहरू सिक्दै र हाम्रा सबै बन्धक बनाइएकाहरूलाई सुरक्षित घर फर्काउने उच्चतम प्रयास जारी राख्नेछौँ, उनले भने। ह्वाइटहाउसका प्रवक्ता जोन किर्बीले ती हत्या एउटा दुस्खद् भूल भएको र अमेरिकासँग त्यस कारबाही ठ्याक्कै कसरी भयो भन्ने जानकारी नरहेको बताए। अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाएर लगेको थियो जसमध्ये केही एउटा अस्थायी युद्धविरामका क्रममा छाडिएका थिए।

    त्यसयता इजरेलले गरेको हमलामा १८,८०० जनाभन्दा बढी मारिएको र ५०,००० भन्दा धेरै घाइते हुन पुगेको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। अल जजिराले आफ्ना एकजना पत्रकार समिर अबु दका गाजाको खान यूनिसमा भएको क्षेप्यास्त्र प्रहारमा परेर मारिएको जनाएको छ। इजरायलले हमासले बन्धक बनाएका थप तीन मानिसहरूको शव गाजाबाट बरामद गरेको जनाएको छ। जसमध्ये दुई इजरेली सैनिक र एक सर्वसाधारण छन्।

  • आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग

    आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग

    किएभ । युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलरको तेस्रो किस्ता प्राप्त गरेको छ ।

    ‘विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकताको बजेट खर्च व्यवस्थापन गर्न र मार्शल कानून अन्तर्गत समष्टिगत आर्थिक स्थिरता सुनिश्चित गर्न मद्दत गर्नेछ,’ युक्रेनी वित्त मन्त्री सेर्गी मार्चेन्कोले भनेका छन्।

    ‘ईएफएफ कार्यक्रमले युरोपेली सङ्घमा पूर्ण एकीकरणको बाटोमा युक्रेनी सरकारको आर्थिक कार्यक्रमको विकासको लागि एक ठोस आधार बनाउनेछ,’ मार्चेन्कोले भने ।

    गत मार्चमा आईएमएफले युक्रेनको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउन युक्रेनका लागि करिब १५ अर्ब ६० करोड डलर बराबरको ४८ महिनाको ईएफएफ व्यवस्था स्वीकृत गरेको थियो । यस कार्यक्रम अन्तर्गत पूर्वी युरोपेली यस मुलुकले यसअघि नै विश्व ऋणदाताबाट ४.५ अर्ब डलर लिइसकेको छ ।

  • गाजामा मृत्यु हुनेको प्यालेस्टाइनीको संख्या १८ हजार नाघ्यो

    गाजामा मृत्यु हुनेको प्यालेस्टाइनीको संख्या १८ हजार नाघ्यो

    काठमाडौं । गाजामा मृत्यु हुनेको प्यालेस्टाइनीहरुको संख्या १८ हजार ४ सय पुगेको प्यालेस्टाइनले जनाएको छ । अक्टोबर ७ मा हमास–इजरेल द्वन्द्व शुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघेको हो ।

    साथै मङ्गलवार वेस्ट बैंकको जेनिन शहरमा इजरेली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरेली सेनाले मङ्गलवार जेनिन शहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो । धेरै घण्टासम्म चलेको सैन्य कारबाहीमा ४ जनाको मृत्यु भएको छ ।

  • अस्ट्रेलियाले आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थी भिसामा कडाइ

    अस्ट्रेलियाले आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थी भिसामा कडाइ

    काठमाडौं । अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घाउने जनाएको छ। देशको ‘बिग्रिएको’ आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यसो गर्न लागिएको उसको भनाइ छ।

    अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ। त्यो सङ्ख्या कोभिड महामारीअघिको जस्तै छ।

    नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसा दिने नियममा पनि त्यति सहज हुने छैन।

    अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा भौतिक पूर्वाधारमा चाप बढेको बताइन्छ। तर त्यहाँ दक्ष कामदारको अभाव छ र तिनलाई आकर्षित गर्न अस्ट्रेलिया सङ्घर्षरत छ।

    नयाँ आप्रवासन रणनीति किन

    गृहमन्त्री क्लेर ओ’ नीलले सोमवार एउटा पत्रकार सम्मेलन आयोजना गरेर सरकारको दशवर्षे आप्रवासन रणनीति सार्वजनिक गरिन्। उक्त सम्मेनलनमा बोल्दै उनले पूर्ववर्ती सरकारले बसाइँसराइ प्रणालीलाई ‘छिन्नभिन्न’ पारेको आरोप लगाइन्।

    यस वर्षको सुरुमा गरिएको एउटा समीक्षाले उक्त प्रणाली ‘नराम्ररी भत्किएको’, अनावश्यक रूपमा जटिल, सुस्त र प्रभावहीन भएको भन्दै त्यसमा ‘ठूलो सुधार ‘ आवश्यक रहेको औँल्याएको थियो।

    सन् २०२३ को जुन महिनामा विदेशबाट पाँच लाख १० हजार मानिस अस्ट्रेलिया आएका थिए। त्यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो। तर गृहमन्त्रीले आफ्नो सरकारले ‘आप्रवासीको सङ्ख्या नियन्त्रण गर्ने’ र देशमा भित्रने मानिसको सङ्ख्या वार्षिक ५० प्रतिशतले घटाउने बताइन्।

    विद्यार्थीलाई कस्तो नियम?

    यो रणनीतिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भाषिक सीपको आवश्यकता पनि परिमार्जन गरिएको छ। अब विद्यार्थीहरूले दिनुपर्ने अङ्ग्रेजी भाषाको परीक्षामा कडाइ हुने छ।

    दोस्रो भिसा आवेदन दिनेहरूका हकमा थप समीक्षा गरिने बताइएको छ। त्यस क्रममा विद्यार्थीहरूले आफूले गर्न खोजेको थप अध्ययनले उनीहरूको प्राज्ञिक उद्देश्य वा करिअरलाई अगाडि बढाउने कुरा प्रमाणित गर्न सक्नुपर्ने छ।

    सरकारी विवरणहरूका अनुसार हाल अस्ट्रेलियामा साढे ६ लाख विदेशी विद्यार्थी छन्। तीमध्ये धेरैजसोले दोस्रो पटक भिसा लिएका छन्।

    ‘विशेषज्ञ’ वा ‘अत्यावश्यक’ सीप भएका आप्रवासीहरूका हकमा उनीहरूलाई स्थायी आवास दिनका लागि भिसा प्रक्रियामा सुधार गर्दै राम्रो व्यवस्था गरिएको छ। प्रविधि क्षेत्रका र स्याहारको काम गर्ने मानिसका लागि यो लागू हुने छ।

    अस्ट्रेलिया सरकारमाथि कस्तो दबाब?

    नयाँ नीतिले अस्ट्रेलियाका लागि आवश्यक थप कामदार आकर्षित गर्नुका साथै र त्यहाँ बस्ने, काम गर्ने र अध्ययन गर्नेहरूका लागि शोषणको जोखिम घटाउन सहयोग पुग्ने गृहमन्त्रीले बताइन्।

    आप्रवासनसम्बन्धी विपक्षी प्रवक्ता ड्यान टेहनले सरकारले अस्ट्रेलियालाई महामारीबाट तङ्ग्रन सघाउ पुग्ने आप्रवासन नीतिहरू समायोजन गर्न धेरै ढिलो गरेको बताए।

    गत वर्षको चुनावपछि सत्तामा आएको लेबर पार्टीको सरकारको लोकप्रियता घटेको छ। केही सातायता अस्ट्रेलियाको आवास सङ्कटलाई कम गर्ने गरी आप्रवासनलाई अस्थायी रूपमा घटाउन सरकारमाथि विभिन्न क्षेत्रबाट दबाव परेको छ।-बीबीसी

  • जिम्बाब्वेमा खडेरी, पानीकै अभावले मरे सय हात्ती

    जिम्बाब्वेमा खडेरी, पानीकै अभावले मरे सय हात्ती

    हरारे । जिम्बाब्वेमा खडेरीको कारण कम्तीमा एक सय वटा हात्ती मरेका छन् ।

    जिम्बाब्बेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्ती मरेको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ ।

    पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्तिअनुसार हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो सुरु भएको छ । जसका कारण झन्डै ४५ हजार हात्तीको बास स्थान रहेको जिम्बाब्वेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा दजनौँ हात्तीहरू मरेका छन् ।

    कम्तीमा पनि एक सय हात्तीहरू पानीकै अभावका कारण मृत्यु भएको कोषले उल्लेख गरेको छ । संस्थाको पार्कमा रहेका १०४ वटा सौर्य उर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ ।

    खडेरीले गर्दा पानीका मुहान सुक्दै गएको र वन्यजन्तुलाई खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा

  • बाङ्लादेशमा विपक्षी पार्टीका ५ सदस्यको जेलमा मृत्यु

    बाङ्लादेशमा विपक्षी पार्टीका ५ सदस्यको जेलमा मृत्यु

    काठमाडौं । प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् । 

    बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले आगामी जनवरी ७ मा हुन गइरहेको आम निर्वाचनलाई बहिष्कार गरेको छ । उक्त निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने तय भएको छ । 

    बिएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल प्रदर्शनपछि भएको ‘अभूतपूर्व कारबाही’ मा पछिल्ला पाँच सातामा उसको सम्पूर्ण नेतृत्व र २० हजारभन्दा बढी राजनीतिज्ञलाई पक्राउ गरिएको छ । प्रहरीले बिएनपीको गिरफ्तारीको आँकडालाई अस्वीकार गरेको छ तर कति विपक्षी कार्यकर्तालाई हिरासतमा लिइएको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन । 

    कैदी परिवारका केही सदस्यसहित बिएनपीका केही हजार समर्थक कार्यकर्ताहरूको रिहाइको माग गर्न आइतबार मध्य ढाकामा जम्मा भएका थिए । गत महिना न्युयोर्कस्थित ह्युमन राइट्स वाचले अक्टोबर २८ को प्रदर्शनपछि कम्तीमा १० हजार विपक्षी समर्थकलाई गिरफ्तार गरिएको अनुमान गरेको थियो । 

    प्रहरीका अनुसार सो प्रदर्शनपछि भएको हिंसामा एक प्रहरी अधिकारी र पाँच सर्वसाधारणको ज्यान गएको तथा करिब तीन सय बसमा आगजनी भएको थियो । यद्यपि बिएनपी र सबैभन्दा ठूलो इस्लामी दल जमात–ए–इस्लामीले कम्तीमा २० मानिसको ज्यान गएको बताएका छन् । जमात–ए–इस्लामीमाथि गत महिना प्रतिबन्ध लगाइएको थियो । 

    बिएनपीले पछिल्ला दुई सातामा हिरासतमा आफ्ना पाँच कार्यकर्ताको मृत्यु भएको पार्टीका कानून प्रमुख कैसर कमालले एएफपीलाई बताउनुभयो । “हामी मृत्युको पूर्ण न्यायिक र निष्पक्ष अनुसन्धान चाहन्छौँ, यो गम्भीर छ”, उहाँले भन्नुभयो, “राष्ट्रव्यापी कारवाहीमा गिरफ्तार गरिएपछि धेरै बिएनपी कार्यकर्तालाई प्रहरी हिरासतमा प्रताडित गरिएको थियो भन्ने हामीलाई थाहा भएको छ ।” रासस, एएफपी 

  • पुटिन पुनः राष्ट्रपतिको उम्मेदवार बन्दै

    पुटिन पुनः राष्ट्रपतिको उम्मेदवार बन्दै

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने आफ्नो योजना प्रस्तुत गरेका छन् । पुटिन र रूसको विशेष सैन्य अप्रेसनका सहभागीहरूबीचको अनौपचारिक वार्तालापको क्रममा उनले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनाव लड्ने घोषणा गरेका हुन् । उनले रूसका सेनाहरूलाई गोल्ड स्टार पदक पनि प्रदान गरेका छन् । बिहीबार, रूसको सङ्घ परिषद् वा संसद्को माथिल्लो सदन मार्च १७, २०२४ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान गरेको थियो । सिन्ह्वा

  • अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच वार्ता

    अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच वार्ता

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गरेका छन्। नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ।

    दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमहरू बारे छलफल केन्द्रित गरेको बताइएको छ। राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाहको महत्त्वमा विशेष जोड दिएका छन्।

    उनले इन्धनको व्यवस्थापन सुनिश्चित गर्ने इजरायलको निर्णयलाई स्वागत पनि गरेका छन्। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रपतिले नागरिकको सुरक्षा गर्न र नागरिकलाई हमासबाट अलग्गै राख्न महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको विषयमा जोड दिनुभएको छ।’

    राष्ट्रपति बाइडेनले प्यालेस्टिनीहरू विरुद्ध गरिएको चरमपन्थी हिंसाका विषय र वेस्ट बैंकमा स्थायित्व बढाउनु पर्ने आवश्यकताको बारेमा आफ्नो चिन्ता दोहोर्याउनुछ।

    बाइडेनले गाजा क्षेत्रमा रहेका बन्धकहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै अन्तरराष्ट्रिय समिति आईसीआरसीलाई हमास आतङ्ककारीहरूले राखेका बाँकी बन्धकहरूसम्म पुग्न अनुमति दिनुपर्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।

    ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार उनले युवती महिला नागरिक बन्धकहरूलाई रिहा गर्न हमासले गरेको इन्कारले मानवीय संवेदनशीलतामा आँच पुगेको बाइडेनको ठहर छ।

  • जलवायु परिवर्तनको असर : बंगलादेशमा बालविवाह ३९ प्रतिशत बढ्यो

    जलवायु परिवर्तनको असर : बंगलादेशमा बालविवाह ३९ प्रतिशत बढ्यो

    एजेन्सी । अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी)ले बुधबार सार्वजनिक गरेको अध्ययनले बंगलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको खुलासा गरेको छ । अत्यधिक प्रकोप-प्रवण र जलवायु-संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक भएको हो ।
    बंगलादेशका थुप्रै तटीय समुदायहरूमा जलवायु परिवर्तनको प्रभावमा जबरजस्ती बसाइँसराइ, चरम गरिबी, बढ्दो लैङ्गिक हिंसा, शिक्षामा सीमित पहुँच र खाद्य सुरक्षा चुनौतीहरू लगायतका कारणले बालविवाह गर्न वाध्यता सृजना भएको आईआरसीले उल्लेख गरेको छ । अध्ययनले विगत दुई दशकमा बाढी र चक्रवातजस्ता प्रकोपमा भएको वृद्धि पनि बढ्दो बालविवाहको एक प्रमुख कारण मानेको छ ।
    यस्ता विभिन्न किसिमका कारणहरू सृजित समस्याहरूलाई सम्बोधन गर्न आईआरसीले विकसित स्थितिको मूल्याङ्कन गरिरहेको र जलवायु परिवर्तन र जलवायु-प्रेरित प्रकोपहरूबाट बालबालिकालाई हुन सक्ने प्रत्यक्ष क्षतिबाट जोगाउन उपलब्ध स्रोत समेत परिचालन गरिरहेको बताएको छ ।

    आईआरसी बंगलादेशकी निर्देशक हसिना रहमानले भनेका छन्‌, ‘आज बंगलादेशमा विवाहयोग्य उमेर हुँदै गरेका आधा केटीहरूको १८ वर्ष नपुग्दै विवाह हुने गरेको पाइएको छ भने २२ प्रतिशत केटीहरूको १५ वर्षको उमेर अघि नै विवाह हुने गरेको पाइएको छ ।’

    खाद्य असुरक्षा र गरिबी, अनियमित वर्षाको ढाँचा, बढ्दो तापक्रम, र बढ्दो आवृत्ति र प्रकोपहरूको तीव्रताको सामना गरिरहेका तटीय क्षेत्रहरूमा बस्ने केटीहरूको लागि यो अवस्था अझ बढी अस्थिर र दर्दनाक छ ।

    यसैबीच आईआरसीले जलवायु परिवर्तन सृजित समस्याहरूलाई सम्बोधन गर्न दिगो कोष स्थापना गर्न र यस जटिल संकटलाई सम्बोधन गर्न सरकार, दाताहरू र गैरसरकारी संस्थाहरूबाट तत्काल सहयोगको लागि आह्वान समेत गरेको छ।

  • के भारत माल्दिभ्सबाट आफ्नो सेना फिर्ता गर्दैछ?

    के भारत माल्दिभ्सबाट आफ्नो सेना फिर्ता गर्दैछ?


    काठमाडौं ।  रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताएका छन् । राष्ट्रपति निर्वाचनअघि उनले भारतीय सेना फिर्ता गराउने वाचा गरेका थिए ।

    यद्यपि राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनाको स्थानमा चिनियाँ सैनिक तैनाथ गरेर क्षेत्रीय सन्तुलनलाई बिगार्ने आफ्नो मनसाय नरहेको बताए । भ्रष्टाचारको आरोपमा कारागारमा रहेका चीन समर्थक पूर्वराष्ट्रपतिको अप्रत्यक्ष सहयोगमा मुइज्जु गत सेप्टेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

    “भारत सरकारसँगको शृङ्खलाबद्ध रचनात्मक बैठक र संवादपछि भारतीय सैनिक फिर्ता गर्ने सहमति भएको छ”, आइतबार राति राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ । समुद्री क्षेत्रमा गस्ती गर्ने तीनवटा उपहारप्राप्त विमान सञ्चालन गर्नका लागि भारतीय सैनिकहरू माल्दिभ्समा तैनाथ छन् ।

    प्राचीन सेतो समुद्री तट र एकान्त रिसोर्टहरूका साथ मुख्यरूपमा दक्षिण एसियाको सबैभन्दा महँगो बिदा मनाउने स्थलहरूमध्येको एकका रूपमा चिनिने माल्दिभ्स भूराजनीतिक ‘हटस्पट’ बनेको छ । विश्वव्यापी पूर्व–पश्चिम ढुवानी लेनहरूले भूमध्य रेखा पार गरी आठ सय किलोमिटर (पाँच सय माइल) फैलिएको माल्दिभ्सको एक हजार एक सय ९२ साना कोरल टापुहरूको शृङ्खलालाई पार गर्दछ ।

    राष्ट्रपति मुइज्जुको कार्यालयले भारतीय सैनिकहरूको फिर्तीको सम्झौता ‘प्राविधिस्तरमा प्रगतिमा रहेको’ जनाएको छ । आफ्नो माटोमा विदेशी सैन्य उपस्थितिको अनुपस्थिति सुनिश्चित गर्नका लागि प्राथमिकरूपमा कूटनीतिक च्यानलहरू प्रयोग गर्ने आफ्नो प्रतिबद्धतामाथि जोड दिइएको विज्ञप्तिमा उल्लेख छ ।

    माल्दिभ्सले सेना फिर्ताका लागि कुनै समयसीमा दिएको छैन र सोमबार नयाँदिल्लीबाट पनि तत्काल कुनै प्रतिक्रिया आएको छैन । दुबईमा संयुक्त राष्ट्रसङ्घीय कोप२८ सम्मेलनका अवसरमा राष्ट्रपति मुइज्जु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको एक बैठकपछि यस्तो सहमति भएको हो ।

    माल्दिभ्सले भनेको छ, “दुवै नेता माल्दिभ्समा जारी विकास परियोजनाहरूसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गर्न समन्वय गर्ने प्रयासका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत हुनुभएको छ ।” रासस/एएफपी

  • गाजामा कहालीलाग्दो भोकमरी

    गाजामा कहालीलाग्दो भोकमरी

    काठमाडौं । गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चेतावनी दिएको छ । डब्लुएफपीले इजरायल र हमासबिच चार दिने युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार एक सय ६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ ।

    पछिल्लो समय मङ्गलबार दुई दिनका लागि युद्धविराम थपिएको छ । युद्धविरामका लागि धन्यवाद दिँदै डब्लुएफपी मध्यपूर्वका निर्देशक कोरिन फ्लेसरले भने, “हाम्रा टोली सम्बन्धित क्षेत्रमै छन्, हामी लामो समयदेखि पुग्न नपाएका ठाउँमा जाँदैछौँ, हामीले जे देखिरहेका छौँ, त्यो विनाशकारी छ ।”

    डब्लुएफपीले अनुमान गर्दै भनेको छ, “यदि डब्लुएफपीले निरन्तररूपमा खाना पुर्‍याउन सकेन भने गाजाको जनसङ्ख्या र विशेषगरी महिला तथा बालबालिका भोकमरीको उच्च जोखिममा पर्नेछन् ।” खाद्यान्नको निर्बाध र नियमित आपूर्तिका लागि आह्वान गर्दै उसले युद्धविरामका लागि छ दिन कुनै सार्थक प्रभाव पार्न पर्याप्त नभएको बताएको छ । गाजामा सङ्कट सुरु भएपछि डब्लुएफपीले सात लाख ५९ हजार ८२ मानिसलाई खाद्यान्न उपलब्ध गराइसकेको छ । रासस-एएफपी

  • उत्तरकाशीमा मानवीय उद्धारमा ठूलो सफलता, सुरुङमा फसेका ४१ जना मजदुरलाई निकाल्न थालियो

    उत्तरकाशीमा मानवीय उद्धारमा ठूलो सफलता, सुरुङमा फसेका ४१ जना मजदुरलाई निकाल्न थालियो

    काठमाडौं । उत्तराखण्डको उत्तरकाशीमा एक निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरमध्ये आधाभन्दा धेरैलाई व्यक्तिलाई बाहिर निकालिएको छ। उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका ती व्यक्तिहरूलाई भेटेका छन् । सुरुङको प्रवेशद्वारमा एउटा अस्थायी क्लिनिक बनाइएको छ र उद्धारलगत्तै उनीहरूलाई नजिकैको अस्पताल लैजानका लागि एम्बुलेन्सहरूलाई तयार अवस्थामा राखिएको छ।

    उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक–एक गर्दै निकाल्ने बताएका छन्। नजिकै गएको एउटा पहिरोका कारण ढुङ्गा र माटो थुप्रिएपछि ती मजदुरहरू सुरुङभित्र थुनिएका थिए। उनीहरू सबै जना सकुशल भएको ठानिएको छ। गत नोभेम्बर १३ देखि भारतको उक्त निर्माणाधीन सुरुङमा फसेका मजदुरहरूलाई बाहिर निकाल्नका लागि सुरुङमा पाइप जडान गर्ने काम केही घण्टाअघि सकिएको अधिकारीहरूले जनाएका छन्र । नोभेम्बर १३ मा स्थानीय समयानुसार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो।

    उत्तरकाशी जिल्लामा निर्माणाधीन उक्त सुरुङ उत्तराखण्डका प्रसिद्ध तीर्थस्थलहरूलाई जोड्न यातायात व्यवस्थामा सुधार ल्याउने सङ्घीय सरकारको महत्वाकाङ्क्षी राजमार्ग परियोजनाको अङ्ग हो। कतिपय हिमाल र हिमनदीहरू रहेको उक्त क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूका केही प्रसिद्ध तीर्थस्थलहरू छन्। बीबीसी