Category: विश्व

  • रूस-युक्रेन युद्ध : रूसी सेनामा कार्यरत राजकुमार रोक्काको मृत्यु

    रूस-युक्रेन युद्ध : रूसी सेनामा कार्यरत राजकुमार रोक्काको मृत्यु

    काठमाडौं । रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले जानाकारी दिए अनुसार दोलखाका राजकुमार रोक्काको आइतबार रसिया र युक्रेनको भिडन्तमा मृत्यु भएको हो । रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए ।

    नेपालको फर्निचर व्यवसाय छाडेर रोक्का रूसी सेनामा भर्ना हुन गएका थिए । उनीबारे थप विवरण आउन बाँकी छ । रुस र युक्रेकबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका छ ।

  • भारतको गुजरातमा चट्याङका कारण १८ जनाको मृत्यु

    भारतको गुजरातमा चट्याङका कारण १८ जनाको मृत्यु

    काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण १८ जनाको मृत्यु भएको छ भने २३ जना जति घाइते भएको अधिकारीहरूले बताएका छन् । जाडोयाममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा नगरिएको त्यहाँका अधिकारीले बताएका छन् । आइतबार र सोमबार भिषण हावाहुरीसँगै परेको चट्याङले धेरैलाई प्रभावित बनाएको छ ।

    भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको भएपनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटनाहरू निम्त्याइरहेको बताएका छन् । भारी वर्षाका कारण कम्तीमा कम्तीमा ४० वटा जनावर पनि मारिएका गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । भातरका गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै मृत्युबाट आफू निकै दुःखी भएको बताएका छन् ।

  • थाइल्याण्डमा बिहेकै दिन बेहुलाले बेहुलीसहित चार जनाको गरे हत्या

    थाइल्याण्डमा बिहेकै दिन बेहुलाले बेहुलीसहित चार जनाको गरे हत्या

    काठमाडौं । थाईल्यान्डमा अपाङ्गता भएका एक खेलाडीले आफ्नै बिहेको दिन गोली हानी बेहुली र अरू तीन जनाको हत्या र त्यसपछि आत्महत्या गरेको प्रहरीले बीबीसीलाई बताएको छ। उनी भूतपूर्व सैनिक पनि हुन्। प्रहरीका अनुसार गत शनिवार २९ वर्षीय चतुलोङ सुक्सुक र ४४ वर्षीया कान्चना पाथुन्टुकको विवाह पूर्वोत्तर थाईल्यान्डमा भएको थियो। सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार बेहुला चतुरङ सुक्सुक बिहेको भोजबाट अकस्मात् बाहिर गए। फर्केर आउँदा उनले एउटा बन्दुक ल्याए।

    त्यही बन्दुक चलाएर उनले आफ्नी नवविवाहिता पत्नी, उनकी ६२ वर्षे आमा र ३८ वर्षे बहिनीको ज्यान लिए। उक्त समारोहमा उपस्थित अरू दुई जनालाई पनि गोली लागेको थियो। उनीहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो। उपचारका क्रममा तीमध्ये एक जनाको मृत्यु भयो।

    प्रहरीले बीबीसीलाई दिएको जानकारीअनुसार चतुलोङ घटना भएका बेला “निकै मातेका थिए। तर उनले किन त्यस्तो घातक काम गरे भन्ने स्पष्ट भइसकेको छैन। प्रहरीका अनुसार उनले गत वर्ष बन्दुक र गोली वैधानिक रूपमै किनेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार बिहेमा आएका निम्तालुहरूले प्रहरीलाई बताएअनुसार भोजका बेला नवदम्पतीबीच केही भनाभन भएको थियो।पत्नी र आफ्नो उमेरमा ठूलो भिन्नता भएकाले उनले केही असुरक्षित महसुस गरेको विवरण पनि आएको छ।

    तर प्रहरीले त्यसलाई अनुमान मात्र भनेको छ। आफूले प्रमाण सङ्कलन गरिसकेको र यो घटनाको छानबिन “छिट्टै” टुङ्गोमा पुग्ने उसको भनाइ छ। चतुरङ र कन्चना बिहे गर्नुअघि तीन वर्षदेखि सँगसँगै बस्दै आएका थिए। चतुरङले गत वर्ष इन्डोनेशियामा भएको आसियान प्यारा गेम्समा पौडी प्रतियोगितामा रजत पदक जितेका थिए। थाईल्यान्डमा आगामी महिना हुने वर्ल्ड अबिलिटीस्पोर्ट गेम्समा उनी पनि सहभागी हुने ठानिएको थियो।

    उनले थाईल्यान्डको सीमामा गस्ती लगाउने प्यारामिलिट्री लाइट इनफ्यान्ट्री फोर्समा पनि काम थिए। कामकै सिलसिलामा उनले दाहिने खुट्टा गुमाउन पुगेका थिए। थाईल्यान्डमा कानुनी स्वीकृति लिएर बन्दुक राख्न पाइन्छ। गत महिना एउटा ब्याङ्ककको एउटा व्यापरिक मलमा गोली प्रहार हुँदा तीन जनाको ज्यान गएको थियो। एक वर्षअघि पूर्वोत्तर थाईल्यान्डमा एक पूर्वप्रहरीले बन्दुक र चक्कु प्रहार गरी एउटा शिशुविद्यालयमा ३७ बालबालिकाको ज्यान लिएका थिए।

  • बंगलादेश क्रिकेट टीमका कप्तान हसन सांसदको चुनाव लड्दै

    बंगलादेश क्रिकेट टीमका कप्तान हसन सांसदको चुनाव लड्दै

    काठमाडौं । बंगलादेश क्रिकेट टीमका कप्तान शाकिब अल हसन सांसदको चुनाव लड्ने भएका छन् । सत्तारूढ पार्टी अवामी लीगले उनलाई गृहजिल्ला मगुरा १ सीटमा संसदीय चुनावको टिकट दिएको हो । ढाका ट्रिब्यूनका अनुसार अवामी लीगका महासचिव ओबैदुल क़ादरले आइतबार एक पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् ।

    यस अघि बंगलादेशका पूर्व कप्तान मशरफ़े मुर्तजा पछिल्लो चुनावका दौरान नरैलमा चुनाव लडेका थिए । उनी निर्वाचित भई सांसद समेत बनेका छन् । मशरफ़े हमेशा सधै भरी आफ्नो गृह राज्यको सामाजिक काममा घट्ने गरेका थिए । शाकिबमा भने यस्तो बानी छैन ।

  • उत्तरकाशीमा १५ दिनदेखि सुरुंग भित्र फसेका ४१ मजदुर अझै उद्दारको पर्खाइमा, हिमपातले थप्दै समस्या

    उत्तरकाशीमा १५ दिनदेखि सुरुंग भित्र फसेका ४१ मजदुर अझै उद्दारको पर्खाइमा, हिमपातले थप्दै समस्या

    काठमाडौं । भारतको उत्तरकाशीमा एक निर्माणाधिन सुरुंग भत्किएपछि ४१ जना मजदुर फसेको १५ दिन बितेको छ । भारतीय सेनाले उनीहरुको उद्दारका लागि निरन्तर काम गरिरहेको छ । तर, अझै सफलता हात परेको छैन । भारतीय सञ्चारमाध्यमहरुका अनुसार १५ दिनसम्म पनि मजदुर सुरुंग भित्र सकुसल छन् । उनीहरुलाई निकाल्ने क्रममा वैकल्पिक स्थानबाट जमिन ड्रिल गरिएको छ र उनीसम्म पुग्ने प्रयास जारी छ ।

    यसैबीच मौसम विभागले सो भेगमा हिमपातको चेतावनी जारी गरेको छ । यसले थप आपत्ति निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यो घण्टा उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा भएको हो । उद्दारमा भइरहेको ढिलाईले मजदुरको मनोवल गिर्दै गएकोतर्फ भने चिन्ता व्यक्त गरिएको छ ।

  • युद्धबिरामको दोस्रो दिन छुटे ५६ कैदी\बन्धक

    युद्धबिरामको दोस्रो दिन छुटे ५६ कैदी\बन्धक

    काठमाडौं । गाजामा युद्धविरामको दोस्रो दिन प्यालेस्टाइन र इजरायलका तर्फबाट ५६ कैदी\बन्धक छुटेका छन् । हमासले १७ बन्धक छाडेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो। बदलामा इजराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको हो । इजराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इजराइल पुर्‍याइ अस्पताल लगेको छ।

    युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इजराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो। योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इजराइलको जेलबाट मुक्त भएका छन्।

    युद्धविरामबीच गजामा विभिन्न मुलुकहरूले मानवीय सहायता पुर्‍याइरहेका छन्। त्यहाँ अत्यावश्यक इन्धन, खाद्यान्न र औषधी लगायतका मानवीय सहायता इजिप्ट लगायतका देशहरूले लगिरहेका छन्। इजराइल र हमासबीच पहिलो चरणमा ५० जना बन्धक र १५० जना कैदी छाड्ने सहमति भएको थियो। उक्त सहमतिलाई इजराइलको मंगलबार अनुमोदन गरेको थियो भने शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो।

    हमासले प्रत्येक दिन कम्तिमा १० जना बन्धक मुक्त गर्ने र त्यसवापत इसराइलले गजामा थप एकदिन युद्धविराम लम्ब्याउने भनिएको छ। अक्टोबर ७ मा हमासले इजराइलमाथि आक्रमण गरी इजराइलसहित २६ देशका २३९ नागरिकहरूलाई बन्दी बनाएर गजा लगेको थियो। जसमा नेपालका विपिन जोशी पनि छन्।

    हमासको आक्रमणमा इजराइलमा १० नेपाली नागरिकसहित १ हजार २ सय जना मारिएको थिए। त्यसयता हमासलाई निशाना बनाउँदै इजराइलले लगातार गजामा आक्रमण गर्दै आइरहेको छ । इजराइलको आक्रमणबाट गजामा १३ हजारभन्दा बढी नागरिकहरूको मृत्यु भइसकेको छ। ठूलो संख्यामा नागरिकहरूको मृत्यु भएपछि गजामा युद्धविराम गर्न अन्तर्राष्ट्रिय समूदाय र संयुक्त राष्ट्रसंघले इजराइललाई दबाव दिँदै आइरहेको थियो।

  • हमासले रिहा गरेका २४ बन्धक को हुन् ?

    हमासले रिहा गरेका २४ बन्धक को हुन् ?

    काठमाडौं । हमासले १३ इजरेली ११ विदेशीसहित २४ बन्धकलाई मुक्त गरेपछि दुई पक्षबीच भएको सहमतिअनुसार इजरेलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ। हमासले चार दिनभित्रमा जम्मा ५० जना बन्धक रिहा गर्ने बताइए पनि त्यसमा नेपालका विपिन जोशी पर्ने नपर्नेबारे कुनै विवरण आएको छैन।

    कतारले मध्यस्थता गरेको सहमतिपछि इजरेल र हमासबीच चारदिने सङ्घर्षविराम सुरु भएको छ। रिहा गरिएका प्यालेस्टिनीहरूमाथि हत्या प्रयास गरेको, ढुङ्गा हानेको जस्ता कैयौँ आरोपहरू लगाइएको थियो। तीमध्ये कतिपय दोषी ठहर भइसकेका थिए भने केहीविरुद्धको मुद्दा सुनुवाइकै क्रममा थियो। रिहा हुनेमा २४ जना महिला र १५ किशोरकिशोरी छन्।

    वेस्ट ब्याङ्कमा रिहा गरिएका उनीहरू आफ्नो घर फर्कन सक्ने इजरेली कारागारले जनाएको छ। रिहा भएका प्यालेस्टिनीहरू इजरेलले पक्राउ गरेका ३०० जना महिला र नाबालकहरूमध्येबाट इजरेल आफैँले छानेका मानिसहरू हुन्। हमासले रिहा गरेका मानिसहरूमध्ये १० जना थाई नागरिक र एक फिलिपिनो छन्। उनीहरू हमास र इजिप्टको सरकारबीचको छुट्टै सम्झौता अनुसार रिहा भएका हुन्। हमासले रिहा गरेका मानिसहरूमध्ये १३ जना इजरेली छन्।


    रिहा हुने इजरेलीमा दुई वर्षदेखि ८५ वर्षसम्मका मानिस छन्। हमासले ती ८५ वर्षकी महिलालाई उनको गाउँबाटै अपहरण गरेको थियो। त्यस्तै ७८ वर्षकी क्यान्सरपीडित, ७९ वर्ष,७७ वर्ष र ७२ वर्षका वृद्धाहरू छन्। हमासले रिहा गरेका मानिसहरूमा दुई, चार र छ वर्षका बच्चाहरू र उनीहरूका आमा पनि छन्। इजरेल र हमासबीचको अस्थायी युद्धविरामअन्तर्गत चार दिनभित्रमा ५० जना बन्धक रिहा हुने जनाइएको छ।

    हमासका अनुसार त्यसको बदलामा इजरेली पक्षले उसको जेलबाट कुल १५० जना महिला र किशोर किशोरीहरू रिहा गर्ने छ। इजरेलले गजामा मानवीय सहायता, औषधि र इन्धन बोकेका सयौँ लरीहरूको प्रवेशलाई समेत अनुमति दिने सहमति जनाएको हमासले बताएको छ।
    बीबीसी

  • हमास र इजरायलले एक अर्काका कैदी बन्दी छाड्दै

    हमास र इजरायलले एक अर्काका कैदी बन्दी छाड्दै

    काठमाडौं । हमास लडाकु समूहले १३ जना बन्धकलाई रिहा गरेसँगै इजरायली जेलबाट ३९ जना प्यालेस्टिनी रिहा भएका छन् । इजरायली जेलमा राखिएका २४ जना महिला र १५ किशोरीलाई गएराति रिहा गरिएको हो । उनीहरुमाथि ढुङ्गा हान्नेदेखि हत्या प्रयाससम्मका विभिन्न आरोप लागेको थियो । प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलसँगको युद्धविरामको पहिलो दिन पहिलो चरणमा हिजो २४ जना बन्धकलाई रिहा गरेको छ । गाजाबाट रिहा हुनेमा १३ जना इजरायली र अरु थाइ नागरिक रहेका छन् ।

    अन्तर्राष्ट्रिय रेडक्रसले इजरायली महिला र बालबालिका तथा थाइल्यान्डका कामदारहरू रिहा भएको जनाएको छ । उनीहरु रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका बीबीसीले जनाएको छ । कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार लडाइँ पनि चार दिनका लागि रोकिएको छ ।

    इजरायल र हमासले अस्थायी युद्धविरामको अवधिमा ५० बन्धक र एक सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गरेको थियो । अक्टोबर ७ तारिखमा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २ सय ४० जनालाई बन्धक बनाइएको थियो । त्यसलगत्तै इजरायलले गरेको आक्रमणमा १४ हजार जनाभन्दा धेरै मानिस मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • इजरायल र हमासबीच युद्धबिराम शुक्रबार ७ बजेबाट लागु

    इजरायल र हमासबीच युद्धबिराम शुक्रबार ७ बजेबाट लागु

    काठमाडौं । इजरायल र हमासबीच भएको चार दिने सङ्घर्षविराम सहमति शुक्रवार स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु हुने कतारले जनाएको छ। दोहास्थित विदेश मन्त्रालयका एक प्रवक्ताले मानवीय सहायताको आपूर्ति चाँडोभन्दा चाँडो सुरु गरिने पनि बताएका छन्। हमास र इजरायलबीच चार दिनका लागि सङ्घर्षविराम गर्ने र बन्दी साटफेर गर्ने विषयमा भएको सहमतिका लागि कतारले मध्यस्थता गरेको थियो।

    सहमतिअनुसार इजरायली जेलबाट १५० प्यालेस्टिनी महिला र किशोरकिशोरी पनि मुक्त हुने छन् भने गाजामा मानवीय सहायता बढाइने छ। शुक्रवार हमासले १३ बन्धक छाड्ने अनि केही सङ्ख्यामा प्यालेस्टीनी बन्दी इजरायलले समेत छाड्ने प्रवक्ता मजिद अल अन्सारीले बताए।

    त्यसैगरी इजरायलको प्रधानमन्त्री कार्यालयले समेत शुक्रवार छाड्न लागिएका बन्धकहरूको प्रारम्भीक सूची प्राप्त गरेको अधिकारीहरूले उनीहरूका परिवारलाई सम्पर्क गर्न थालेको जनाएको छ। यसअघि बिहीवार देखि उक्त सङ्घर्षविराम हुने र केही बन्धकहरूको अनि केही प्यालेस्टीनी बन्दीहरूको रिहाइ हुने भनिए तापनि त्यसमा ढिलाइ भएको थियो।

    इजरायली सेना इजरेली डिफेन्स फोर्सेजका प्रवक्ता पिटर लेर्नरले हालका निम्ति आफ्ना सैन्य कारबाही जारी रहने बताएका थिए। उनले भने, ूहामी अहिलेसम्म निरन्तर लडाइँकै अवस्थामा छौँ। सरकारले लडाइँ रोक्न भन्ने बित्तिकै हामी त्यसो गर्नेछौँ। हालसम्म त्यस्तो निर्देशन आएको छैन।


    कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार बिहान सात बजे सङ्घर्षबिराम सुरु हुनेछ भने दिउसो चार बजे बन्धकहरू छाडिनेछन्। ती प्रवक्ताले चार दिने सङ्घर्षबिरामको यो पहिलो दिनको तालिका मात्र सार्वजनिक गरिएको बताए। जस अनुसार शुक्रवार १३ जना बन्धकहरू छाडिने बताए। दुई पक्षबीचको सहमती अनुसार चार दिने सङ्घर्षबिरामका बेला हमास नियन्त्रणमा रहेका ५० जना बन्धकहरू छाडिनेछन्।

    कतारको विदेश मन्त्रालयका अनुसार छाडिन लागेकाहरूमा केही जेष्ठ महिला र केही बालबालिकाहरू हुनेछन्। प्रवक्ता अन्सारीका अनुसार बन्धकहरूको स्थानान्तरण सबै पक्षका लागि सुरक्षित हुने सोचका आधारमा उनीहरू रेडक्रसलाई बुझाइनेछ। बीबीसी

  • उत्तर कोरियाले जासुसी भू उपग्रह प्रक्षपण गर्ने तयारी

    उत्तर कोरियाले जासुसी भू उपग्रह प्रक्षपण गर्ने तयारी

    काठमाडौं । उत्तर कोरियाले ुगुप्तचरी गर्ने उद्देश्यले पुनः भूउपग्रह प्रक्षेपण गर्न सक्ने जापानले दाबी गरेको छ। जापानी सञ्चारमाध्यममा प्रकाशित विवरणका अनुसार त्यस्तो प्रक्षेपण चाँडोमा बुधवार मध्यरातसम्म हुन सक्छ। टोक्योका अनुसार प्योङ्याङले नौ दिनको अवधिभित्र जासुसी भूउपग्रह प्रक्षेपण गर्ने जानकारी प्राप्त भएको बीबीसीले उल्लेख गरेको छ । उक्त अवधि आगामी साता बिहीवार नोभेम्बर ३० को मध्यरातमा सकिन्छ।

    जापानले दक्षिण कोरियासँग मिलेर प्योङ्याङलाई त्यस्तो प्रक्षेपण रोक्न आग्रह गर्ने भएको छ। दुवै देशले जासुसी भूउपग्रह अन्तरिक्षमा पठाउनु संयुक्त राष्ट्रसङ्घबाट पारित सङ्कल्प प्रस्तावहरूको उल्लङ्घन गर्नु हो भनेका छन्। यसअघि उत्तर कोरियाले दुई पटक जासुसी भूउपग्रह अन्तरिक्षमा पठाउने प्रयास गरेको थियो। तर दुवै पटक प्रक्षेपणहरू विफल भएका थिए।

    गत अगस्ट महिनाको अन्तिम सातामा उत्तर कोरियाले दक्षिण कोरियाका सैन्य स्थलहरूमा परमाणु आक्रमणको सिम्यूलेशन अर्थात परिकल्पनाका आधारमा गरिएको अभ्यास भन्दै छोटा दूरीका दुइटा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरिएको दाबी गरेको थियो। संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरिरहेको बेला चेतावनी दिन प्योङ्याङले त्यसो गरेको बताएको थियो।

    जापान कोस्ट गार्डका अनुसार उत्तर कोरियाले पठाएको सूचनामा तीनवटा सामुद्रिक क्षेत्र उल्लिखित छन्। ती क्षेत्रमा उत्तर कोरियाले प्रक्षेपण गर्ने भूउपग्रह बोक्ने रकेटका भग्नावशेषहरू खस्न सक्ने ठानिएको छ। तीमध्ये दुई क्षेत्र कोरियाली प्रायःद्वीपभन्दा पश्चिममा छन् भने एउटा फिलिपिन्सको लुजोन टापुभन्दा पूर्वमा छ। प्योङ्याङले जासुसी भूउपग्रह प्रक्षेपण गरे सोलले आवश्यक कदम चाल्ने चेतावनी दक्षिण कोरियाली सेनाका वरिष्ठ अधिकारी काङ हो पिलले दिएका छन्। उत्तर कोरियाका नेता किम जङ अनका लागि जासुसी भूउपग्रहको सफल प्रक्षेपण एउटा ठूलो उपलब्धि हुने ठानिएको छ।

    त्यसबाट उत्तर कोरियामाथि हुन सक्ने आक्रमण पत्ता लगाउन सहज हुने छ अनि किम आफैँले आफूअनुकूल सैन्य आक्रमणका योजना बनाउन पाउने छन्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले प्योङ्याङलाई भूउपग्रह प्रक्षेपण गर्न प्रतिबन्ध लगाएको छ। राष्ट्रसङ्घले भूउपग्रह प्रक्षेपणलाई उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको पूर्वाभ्यास मानेको छ।

  • बन्धक छुटाउन इजरायल र हमासबीच सम्झौता

    बन्धक छुटाउन इजरायल र हमासबीच सम्झौता

    काठमाडौं । इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौतालाई स्वीकृत गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इजरायल बन्धक छुट्ने समयसम्मका लागि युद्ध रोक्न तयार भएको हो । इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्नेछन् । हमासले थप बन्धक छाड्दै गएमा थप केही दिन युद्धविराम पनि लम्बिने इजरायल सरकारले जनाएको छ । इजरायली सरकारको वक्तव्यमा भनिएको छ, थप १० जना बन्धक छाडिएमा थप एक दिन युद्ध रोकिनेछ ।

    इजरायल र हमासबीच बन्धक छाड्ने विषयमा कतारले मध्यस्थता गरिरहेको छ । कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ जना बन्धक छाडेको थियो । सीएनएनका अनुसार कतारी अधिकारीहरूले बुधबार बिहान इजरायललाई सम्झौताको प्रस्ताव पेस गरेका थिए । त्यसपछि बसेको इजरायली मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो । बन्धक कहिलेदेखि छोडिन्छ भन्नेबारेमा भने स्पष्ट जानकारी आएको छैन । सीएनएनका अनुसार पहिलो चरणमा तीन जना अमेरिकी नागरिकसहित बालबालिका र महिलाहरूलाई हमासले छाड्ने छ ।

    इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सबै जना बन्धक सुरक्षित रूपमा घर फर्किएपछि पुनस् हमासविरुद्धको कारबाही सुरु हुने बताएका छन् । बन्धक बनाइएकाहरूको घरफिर्ती आफूहरूको ुठूलो लक्ष्यु भए पनि पूर्ण रूपमा जित हात नपारेसम्म हमासविरुद्धको कारबाही जारी रहने उनको भनाइ छ ।
    हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ ।

    जसमा नेपालका विद्यार्थी विपिन जोशीसमेत रहेका छन् । इजरायली सुरक्षा फौजले जोशी हमासको कब्जामा गाजामा रहेको दाबी गरेको छ । जोशी र अर्का एक थाई नागरिकलाई हमासले उपचारका लागि अस्पतालमा लैजाँदै गरेको भिडियो उसले सार्वजनिक समेत गरेको छ । तर उक्त भिडियोको स्वतन्त्र पुष्टि भने भएको छैन ।

    गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।

  • नेपोलियनको टोपी २८ करोडमा लिलामी

    नेपोलियनको टोपी २८ करोडमा लिलामी

    काठमाडौं । नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ। बीबीसीका अनुसार प्यारिस अक्सनका क्रममा १९औँ शताब्दीमा फ्रान्समा शासन गरेका बोनापार्टको ह्याट २१ लाख अमेरिकी डलरमा बिक्री भएको हो। जुन नेपाली रुपैयाँ २७ करोड ८६ लाख बराबर हुन्छ। अधिकांश समय उनले लगाउने गरेको यो विशेष किसिमको सैनिक टोपीको मूल्याङ्कन छ लाख देखि आठ लाख युरो गरिएको थियो। यो टोपी किन्ने व्यक्तिले आफ्नो परिचय सार्वजनिक गरेका छैनन्।

    इतिहासकारहरूले यो टोपी उनको ब्रान्ड जस्तै बनेको बताएका छन्। नेपोलियनले यसलाई ढल्काएर लगाउँथे र युद्धका क्रममा उनलाई टाढैबाट पहिचान गर्न सकिन्थ्यो। उनले आफ्नो जीवनकालमा १२० वटा जति यस्ता टोपी प्रयोग गरेका थिए। यद्यपि त्यसमध्ये २० वटा मात्रै बाँकी रहेको र अधिकांश निजी सङ्कलनमा रहेको बताइन्छ। गत वर्ष मृत्यु भएका एक जना उद्योगपतिले सङ्कलन गरेका नेपोलियनसँग सम्बन्धित स्मरणीय सामग्रीहरूसँगै यो टोपी पनि बिक्रीका लागि राखिएको थियो।

    यसको बिक्रीमा संलग्नहरूले यो टोपी खास रहेको र पाउन कठिन रहेको बताएका थिए। नेपोलियनले यो टोपी लगाउने शैली पनि उनका अन्य अफिसरहरूले लगाउने भन्दा भिन्नै हुने गर्थ्यो। दुई तर्फ चुच्चो परेको र त्रिरङ्गी ब्याच भएको फ्रान्सेली शासकको उक्त “ब्ल्याक बिभर” ह्याट फ्रान्सको प्यारिस स्थित ओसेनट अक्सन हाउसमा बिक्रीका लागि राखिनु अघि प्रदर्शनीमा राखिएको थियो। यसको बिक्री गर्ने जँ पिएर ओसेनट भन्छन् “मानिसहरूले जहाँ पनि यो टोपी चिन्थे। उनीहरूले युद्धमैदानमा यो देख्नासाथ नेपोलियन त्यहाँ छन् भन्ने थाहा पाउँथे।”

    “उनी एकान्तमा रहँदा पनि यो टोपी या त उनको शिरमा हुन्थ्यो या त उनको हातमा हुन्थ्यो। कतिपय अवस्थामा उनले यसलाई भुईँमा पनि फालिदिन्थे। त्यो नै ती सम्राट्को छवि र प्रतीक थियो।” यसका बिक्रीकर्ताहरूले नेपोलियनको दरबारमा क्वार्टरमास्टर भएर काम गरेका व्यक्तिको परिवारमा यो दुर्लभ टोपी १९ औँ शताब्दीभरि रहेको बताएका छन्।

    यो टोपी बिक्रीका लागि राखिएको ओसेनट अक्सन हाउसमा सन् १८१५ मा नेपोलियनले भूमध्यसागर पार गर्ने क्रममा लगाएको कोकेड पनि टाँसिएको छ। उनी त्यसबेला हाल इटलीमा रहेको एल्बामा निर्वासन बिताएर फ्रान्सको एन्टिब फर्किएका थिए र छोटो समय सत्तामा पनि रहेका थिए। यहाँ बिक्रीमा राखिएका अन्य सामग्रीहरूमा सन् १८१५ मा वाटरलूमा उनी पराजित भएपछि नेपोलियनको बग्गीबाट लुटिएको रजत प्लेट, उनको एउटा काठको कन्तुर, दाँत माझ्ने चाँदीको ब्रस, कैँची र अन्य सामग्रीहरू छन्।

  • उत्तरी चीनमा खानीमा आगलागी, २६ जनाको मृत्यु

    उत्तरी चीनमा खानीमा आगलागी, २६ जनाको मृत्यु

    काठमाडौं । उत्तरी चीनको शान्क्सी प्रान्तमा रहेको एक निजी कोइला खानीको भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ।

    बिहीबार बिहान ७ बजे ल्युलियाङ सहरको लिशी जिल्लामा रहेको पाँच तले भवनको दोस्रो तल्लामा आगलागी भएको हो।

    बिहीबार दिउँसोसम्म आगो नियन्त्रणमा लिइएपनि उद्धार कार्य भइरहेको उद्धारकर्ताहरूलाई उद्धृत गर्दै सिन्ह्वाले उल्लेख गरेको छ।  

    दिउँसोसम्म मृत्यु हुनेको संख्या २६ पुगेको र ५० भन्दा बढी व्यक्तिहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको बिबिसीले जनाएको छ ।
    शान्क्सी कोइला उत्पादनको आधारमा चीनको सबैभन्दा ठूलो प्रान्त रहेको बिबिसीले उल्लेख गरेको छ।

  • जम्मु कश्मिरमा बस दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु

    जम्मु कश्मिरमा बस दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु

    काठमाडौं । जम्मु-कश्मिरको डोडा भन्ने स्थानमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । १७ जना घाइते भएका छन् ।

    सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । बस दुर्घटनाको अनुसन्धान जारी छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

  • उत्तराखण्डमा सुरुङमा फसेका ४० मजदुरको उद्दार जारी

    उत्तराखण्डमा सुरुङमा फसेका ४० मजदुरको उद्दार जारी

    काठमाडौं । उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पहिरो गएपछि फसेका मजदुरलाई निकाल्ने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् । उत्तराखण्डको उत्तरकाशीमा आइतबार निर्माणाधीन सुरुङ पहिरो गएपछि ४० जना मजदुर थुनिएका थिए । भारतीय समाचार संस्था पीटीआईका अनुसार मजदुरहरू निकाल्न ड्रिलिङ मेसिनको सहायता लिइएको छ ।

    राष्ट्रिय राजमार्ग एवं अवसंरचना विकास निगम लिमिटेडका निर्देशक अंशु मनीष खाल्कोका अनुसार भित्र थुनिएका मजदुर सुरक्षित अवस्थामा रहेका छन् । उनले भनेका छन्, अवस्था अहिले राम्रो छ । सबै मजदुर सुरक्षित छन् । हामीले खाना र पानी उपलब्ध गराइरहेका छौँ । हामीले सक्दो राम्रो गरिरहेका छौँ ।

    माथिबाट पहिरो खस्दा करिब ६० मिटर जति सुरुङ थुनिएको थियो । जसमध्ये २० मिटर सफा गरिसकेको र बाँकी आजै सकिने उत्तरकाशीका एसपी अर्पण यदुवंशीले जनाएका छन् । पाइपमार्फत मजदुरहरूलाई खाना र पानी पठाइएको उनले बताए । थुनिएका मजदुरहरू उत्तर प्रदेश, बिहार र झारखण्डका रहेका छन् । उनीहरू सुरुङको मुखबाट दुई सय मिटरभित्र छन् । त्यस क्षेत्रमा प्रशस्तै नेपाली कामदारहरू पनि कामका लागि पुग्ने गरेका छन् । सुरुङभित्र कोही पनि नेपाली नपरेको जनाएका छन् ।

    यमुनोत्री राष्ट्रिय राजमार्गमा उक्त सुरुङ मार्गको निर्माण हुँदै थियो । ४ किलोमिटर लामो र १४ मिटर चौडाइको निर्माणाधीन सुरुङमा एक्कासि बाहिरिने मार्ग नै थुनिन पुगेको हो । चारधाम सडक परियोजनाअन्तर्गत सबै मौसममा सवारी साधन सञ्चालन राख्ने उद्देश्यले सुरुङको निर्माण थालिएको हो ।

  • इजरायलका कारण गाजाका अस्पताल मसानघाट जस्तै

    इजरायलका कारण गाजाका अस्पताल मसानघाट जस्तै

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताल झन्डै श्मशान घाटु जस्तै भएको बताएको छ । उत्तरी गाजामा रहेको अल(शिफा अस्पताल इजरायली डिफेन्स फोर्स(आईडीएफ) को आक्रमणको निशानामा परेको छ । आईडीएफले हमासले अस्पतालको मुनि रहेको सुरुङबाट इजरायलविरुद्ध आक्रमणको षड्यन्त्र रचिरहेको आरोप लगाउँदै आएको छ ।

    तर हमास र अस्पतालले भने त्यसको खण्डन गर्दै आएका छन् । डब्लूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमायरले करिब ६ सय जनाले अस्पतालमा आश्रय लिइरहेको बताएका छन् । ुअस्पतालभरि शवै शव रहेको छ । जसको उचित व्यवस्थापन गर्न सकिएको छैन । शवलाई पुर्न वा मुर्दाघरमा लैजान सकिएको छैन,ु उनले भनेका छन् ।

    हमासको स्वास्थ्य मन्त्रालयले करिब ६५० बिरामीसहित करिब २ हजार ३ सय जना अस्पतालमा रहेको बताएको छ । अस्पतालका व्यवस्थापक डाक्टर मोहम्मद अबु सेलमियाले प्रतिबन्धका बाबजुद अस्पताल चलाउन निकै कठिन भएको बताएका छन् । उनले शवहरू कुहिन थालेको र कुकुरहरू पसेर खान थालेको समेत बताएका छन् ।

    इजरायललले शवहरू व्यवस्थापनका लागि अनुमति नदिएको पनि उनको भनाइ छ । विद्युत् कटौती हुँदा नवजात शिशुहरूको मृत्युसमेत भएको उनले बताए । बीबीसीसँगको कुराकानीमा उनले सात जना नवजात शिशुको अक्सिजन अभावले मृत्यु भएको जानकारी दिएका छन् ।

    गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै इजरायलको आक्रमणमा परी ११ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।

  • डब्लूएचओले भन्यो : गाजाका अस्पताल काम गर्न नसक्ने अवस्थामा

    डब्लूएचओले भन्यो : गाजाका अस्पताल काम गर्न नसक्ने अवस्थामा

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन, डब्ल्यूएचओले गाजास्थित प्रमुख स्वास्थ्य केन्द्र अल-शिफा अस्पतालको अवस्था “दयनीय र जोखिमपूर्ण” बनेको चेतावनी दिएको छ। उक्त अस्पताल अहिले लगभग बिजुली नभएको र खानेकुरा तथा पानीको अभावको अवस्थाबाट गुज्रिरहेको छ। पहिल्यैदेखिको गम्भीर अवस्थालाई अस्पताल क्षेत्र आसपास “निरन्तर भइरहेका गोलाबारी र बमबारी” ले झन् बिगारेको र अल-शिफाले “अस्पतालको रूपमा काम गर्न छोडेको” डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन्।

    त्यहाँ उपचाररत जोखिममा रहेका नवजात शिशुहरूलाई उक्त अस्पतालबाट अर्को अस्पतालमा सार्ने काममा “ सघाउन तयार रहेको” इजरेली सेनाले दोहोर्‍याएको छ। महिना नपुगी जन्मेका प्रत्येक तीनमध्ये एक शिशुको बिजुली अभावका कारण ज्यान जाने गरेको अल–शिफा अस्पतालका शल्यक्रिया प्रमुख मारवान अबु सादाले बीबीसीलाई बताए।

    यसअघि इन्क्यूबेटरमा राखिएका नवजात शिशुहरूलाई बिजुली अभावका कारण शल्यचिकित्सा वार्डका शय्याहरूमा सारिएको छ। थुप्रै नवजात शिशुहरूले पाउनुपर्ने सेवा नपाइरहेको भन्दै उनले “ती सबैको ज्यान जान सक्ने डर भएको” बताए। यसअघि बीबीसीसँग कुरा गर्दै इजरेली राष्ट्रपति आइजक हर्टसोगले अलशिफा अस्पतालमा हमास र त्यसका मुख्यालयहरू रहेका आरोप दोहोर्‍याएका थिए।

    हमास समूहलले अस्पताललाई सैन्य उद्देश्यका लागि प्रयोग गरेको अस्वीकार गर्दै आएको छ। डा। अबु सादाले पनि इजरेली आरोपलाई “ठूलो झूट” को सङ्ज्ञा दिँदै नजिक रहेका फौजहरूलाई आउन र अस्पतालको निरीक्षण गर्न “खुला निम्तो” दिएका छन्। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अलशिफा अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अस्पतालभित्र अझै कम्तीमा २,३०० जना रहेका जनाएको छ।

    त्यो सङ्ख्याबारे डब्ल्यूएचओलाई जानकारी गराइएको र उसले सामाजिक सञ्जाल एक्समा त्यसलाई पोस्ट गरेको हो। मन्त्रालयको अद्यावधिक जानकारी अनुसार ६०० देखि ६५० जना उपचाररत रहेका छन् भने २०० देखि ५०० स्वास्थ्यकर्मी र आश्रय लिएका विस्थापितहरू करिब १,५०० जना छन्। बिजुली, पानी र खानेकुराको अभावले जीवन “तत्काल जोखिममा रहेको” पनि मन्त्रालयले जनाएको छ।

    “तत्काल युद्धविराम” गर्न र “सर्वसाधारण तथा स्वास्थ्य संस्थाहरूलाई जोगाउन” विश्व स्वास्थ्य सङ्गठनले फेरि आह्वान गरेको छ। डक्टर्स विदआउट बोर्डर्सले गए रातियता अल-शिफा अस्पतालस्थित आफ्ना कर्मचारीहरूसँग सम्पर्क हुन नसकेको जनाएको छ। अलशिफा अस्पताल गाजा स्ट्रिपमा रहेकामध्ये सबैभन्दा ठूलो अस्पताल हो । BBC

  • बंगलादेशमा श्रमिकको आन्दोलन हिंसात्मक बन्दै, चार जना मारिए

    बंगलादेशमा श्रमिकको आन्दोलन हिंसात्मक बन्दै, चार जना मारिए

    काठमाडौं । श्रमिकको विरोध प्रदर्शनका कारण बङ्लादेश अशान्त बन्दै गएको छ । सरकारले पारिश्रमिक बढाउन गरेको प्रस्ताव अत्यन्तै कम भएको विरोधमा तयारी पोसाक कारखानाका श्रमिकले निरन्तर प्रदर्शन गर्दै आएका छन् । उचित पारिश्रमिकको माग गर्दै हिजो पनि उनीहरुले जुलुस निकालेका थिए । गएको महिना शुरु भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा मर्नेको सङ्ख्या चार जना पुगेको छ । विरोध प्रदर्शनका क्रममा कम्तीमा ७० कारखानामा तोडफोड भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    विगत एक दशकमा भएको यो प्रदर्शनलाई सबैभन्दा खराब मानिएको छ । न्यूनतम पारिश्रमिक तीन गुणाले बढाएर २३ हजार टाका बनाउनुपर्ने माग गर्दै हजारौँ श्रमिक सडकमा छन् । बङ्लादेशको तीन हजार पाँच सय तयारी पोसाक कारखानाले देशको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा झण्डै ८५ प्रतिशत योगदान गर्छ । तर यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको अवस्था दयनीय छ । त्यसमा पनि धेरैजसो महिला छन् । सरकारले तयारी पोसाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको थियो । श्रमिकहरूले यो प्रस्तावलाई अस्वीकार गरेका छन् ।

  • विश्वकप क्रिकेट : भारतको उच्च लय कायमै, नेदरल्याण्ड्स विरुद्ध सानदार जित

    विश्वकप क्रिकेट : भारतको उच्च लय कायमै, नेदरल्याण्ड्स विरुद्ध सानदार जित

    काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणका सबै खेल सकिएका छन् । आइतबार सम्पन्न भारत र नेदरल्याण्ड्सको खेलसँगै लिग चरणका ४५ वटै खेल सकिएको छ। लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्समाथि १६० रनको फराकिलो जित हात पार्‍यो। टस जितेर ब्याटिङ रोजेको भारतले पूरा ओभर खेलेर ४ विकेट गुमाउँदै ४१० रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेदरल्याण्ड्स ४७.४ ओभरमा २५० रन बनाएर अल आउट भयो ।

    भारतको जितमा केएल राहुल र श्रीयास ऐयरले शतक प्रहार गरे भने रोहित शर्मा शुभमन गिल र विराट कोहलीले अर्धशतक बनाए । जवाफमा नेदरल्याण्ड्सका तेजा निदामनुरूले ५४ रनको अर्धशतकीय पारी खेले। सिब्राण्ड एंगलब्रेक्टले ४५ रन, कोलिन एकरमनले ३५ रन बनाए । नेदरल्याण्ड्सलाई सस्तोमा समेट्न भारतका जस्प्रित बुमरा, मोहम्मद सिराज, कुलदिप यादव र रविन्द्र जडेजा २र२ विकेट लिए। रोहित शर्मा र विराट कोहलीले पनि एक–एक विकेट लिए।


    यसपालिको विश्वकपमा उच्च लयमा देखिएको भारत लिग चरणका सबै खेलहरूमा अपराजित रह्यो। भारत ९ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। भारतसँगै दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्याण्ड नक आउट चरणमा प्रवेश गरेको छ। दक्षिण अफ्रिकाले ९ खेलमध्ये ७ खेल जितेको थियो। अष्ट्रेलियाले ७ र न्युजिल्याण्डले ५ खेल जित्दै नकआउट पुगेका हुन्।

    ४ खेलमात्रै जितेको पाकिस्तान लिग चरणबाट बाहिरिएको छ। नकआउट चरणमा शीर्ष स्थानमा रहेको टोलीले चौथो स्थानमा रहेको टिमसँग तथा दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच प्रतिस्पर्धा हुनेछ। नकआउट चरणका खेल बुधबारबाट सुरू हुनेछ। बुधबार पहिलो स्थानमा रहेको भारतले चौथो स्थानको न्युजिल्याण्डसँग खेल्नेछ। बिहीबार दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच दोस्रो सेमिफाइनल हुनेछ। सेमिफाइनलमा जित्ने दुई टिमले एकदिवसीय विश्वकपको उपाधिका लागि खेल्नेछ। फाइनल खेल मंसिर ३ गते आइतबार हुनेछ।

  • लेवनानलाई पनि गाजा जस्तै बनाइदिने इजरायलको धम्की

    लेवनानलाई पनि गाजा जस्तै बनाइदिने इजरायलको धम्की

    काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ । लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरलल्लाहले इजरायलविरोधी अभिव्यक्ति दिएपछि इजरायलका रक्षामन्त्री योआब गेलेन्टले बेरुतको पनि गाजाको जस्तै हालत बनाइदिने चेतावनी दिएका हुन् ।

    रक्षामन्त्री गेलेन्टले भनेका छन्, ‘हिजबुल्लाह गम्भीर गल्तीको नजिक पुगेको छ । यसको परिणाम लेबनानका नागरिकले भोग्ने छन् । हामीले अहिले गाजामा जे गरिरहेका छौं, त्यस्तो बेरुतमा कसरी गर्ने भन्ने कुरा हामीलाई थाहा छ । बेरुतको पनि त्यसै हालत हुनेछ, जो गाजाको छ ।’

    प्यालेस्टाइन चरमपन्थी समूह हमासले गत असोज २० गते इजरायलमा एक्कासी आक्रमण गर्दा १० नेपालीसहित १ हजार ४०० जनाको मृत्यु भएको थियो । लगत्तै इजरायलले युद्ध घोषणा गर्दै हवाई र स्थल कारबाही सुरु गरेको थियो । हमासलाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणबाट गाजा क्षेत्र तहसनहस भएको छ । इजरायलको आक्रमणबाट बालबालिकाहरुसहित १० हजार जतिको मृत्यु भएको अनुमान छ ।

    इजरायल विरोधी देश र समूहहरुले इजरायललाई आक्रमण रोक्न दबाब दिँदै आएका छन् । आक्रमणको विरोध गर्दै हिजबुल्लाहले लेबनानतर्फबाट इजरायलमा आक्रमण जारी राखेको छ । लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहले इजरायलले युद्ध अपराध गरेको अभिव्यक्ति शनिबार दिएका थिए ।

    हिजबुल्लाहको टेलिभिजनबाट सार्वजनिक भाषणमा उनले इजरायलमाथि दक्षिणी लेबनानतर्फबाट आक्रमण जारी राख्ने बताएका छन् । ‘यो आक्रमण गाजामा चलिरहेको इजरायल(हमास युद्धमा प्यालेस्टिनी जनताको समर्थनका लागि हो,’ उनले भनेका छन् । हिजबुल्लाहका नेताको यही भाषण सार्वजनिक भएपछि इजरायलले कडा प्रतिक्रिया जनाएको हो ।

    इजरायलले प्यालेस्टिनी जनताको विद्रोह दबाउन खोजेको तर उसको उद्देश्य पूरा नहुने भन्दै नसरल्लाहले नयाँ पुस्ताले इजरायलको झन् बढी विरोध गर्ने बताए । उनले इजरायलविरुद्ध इस्लामिक देशहरुलाई एकजुट हुन अपिलसमेत गरेका थिए ।

    शनिबार नै साउदी अरबको राजधानी रियादमा इस्लामिक र अरब देशहरुको संयुक्त सम्मेलन आयोजना गरिएको थियो । ‘आपतकालीन’ र ‘असाधारण’ भनिएको यो सम्मेलनले इजरायललाई तुरुन्त संघर्ष विरा मगर्न अपिल गरेको छ ।

  • पाकिस्तानमा समेत फैलियो भारतमा जस्तै विशाक्त हावा

    पाकिस्तानमा समेत फैलियो भारतमा जस्तै विशाक्त हावा

    काठमाडौं । पूर्वी पाकिस्तानमा विषाक्त तुवाँलोले हजारौँ मानिसहरूलाई बिरामी पारेपछि त्यहाँका अधिकारीहरूले केही सहरहरू बन्द गराएका छन्। पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा वायु प्रदूषणको स्तर खतराको तहमा पुगेको बताइएको छ। पन्जाब प्रदेश सरकारले लाहोरलगायत तीन सहरका विद्यालय, कार्यालय, शपिङ मल र पार्कहरू आगामी आइतबारसम्मका लागि बन्द गराएको छ। यो प्रदेश उही नामको भारतीय राज्यसँग जोडिएको छ। वर्षभरि नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ

    विगत केही दिनदेखि लाहोरको वायु गुणस्तर सूचक करिब ४०० अङ्कको आसपास छ। साान्यतया १०० वा त्यसभन्दा कम अङ्कको वायु गुणस्तर सूचकलाई सन्तोषजनक मानिन्छ। यो सहर भारतको अमृतसर सहरसँग जोडिएको छ। अहिले उत्तरी भारत पनि विषाक्त तुवाँलोबाट आक्रान्त छ। भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको तहले चेतावनीको स्तर पार गरिसकेको छ। मङ्गलवार त्यहाँको वायु गुणस्तर सूचक ३०० थियो।

    सामान्यतया ३०१ देखि ५०० सम्मको अङ्कमा वायु गुणस्तर हुनुलाई हानिकारक मानिन्छ। लाहोरका केही बासिन्दाले बीबीसी उर्दूलाई बताएअनुसार त्यहाँको वायुको गुणस्तर बारम्बार अत्यन्त हानिकारक तहमा पुग्छ। यसले उनीहरूको स्वास्थ्य र दैनिक जनजीवन प्रभावित पार्ने गर्दछ। विषाक्त वायुमण्डल हाम्रो जीवनकै अङ्ग बनिसकेको छ, कामका लागि दैनिक मोटरसाइकलमा आवतजावत गर्ने व्यापारी अमीर हाज्माले बताए।

    सामान बेच्नका लागि म विभिन्न ठाउँमा जान्छु। दिनभरि लामो समय काम गरेर घर जाँदा वायुप्रदूषणका कारण मेरा आँखा राता भएका हुन्छन् र चिलाउँछन्। बारम्बार बिरामी पर्दा मेरो काम पनि प्रभावित भएको छ। अहिले पनि म रुघा, खोकी र घाँटी दुखाइबाट पीडित छु र आफूलाई स्याहार गरिरहेको छु, उनले भने।

    तुवाँलोका कारण मुख वरिपरि सुनिएपछि आफ्नी डेढ वर्षे छोरीले राम्रोसँग खानपिन गर्न नसकेको सारा जीशनले बताइन्। तुवाँलोमा निरन्तर बस्दा दीर्घकालीन रूपमा स्वास्थ्यमा हानि हुने र फोक्सोको क्यान्सरसमेत हुन सक्ने चिकित्सकहरू बताउँछन्।

    हिउँद याममा खेती गर्नका लागि खेत खाली गर्न धान गहुँ जो जस्ता अन्नबालीका ठूटा जलाउने प्रवृत्ति नै वायुप्रदूषणको मूल कारण भएको केही विशेषज्ञहरू बताउँछन्। स्थानीय सञ्चार माध्यमहरूका अनुसार पाकिस्तानी सरकारले गत साता यस विषयमा भारतीय अधिकारीहरूसँग कूटनीतिक तहमा कुरा गर्ने बताएका थिए। उनीहरूले यस विषयमा विस्तृत जानकारी भने दिएनन्।

    तर केही विशेषज्ञहरूका अनुसार पाकिस्तानी किसानहरूले पनि भारतीयहरूको जस्तै अवशेष जलाउने गर्दछन्। पन्जाबमा स्वास्थ्य संस्था, किराना पसल र ग्यास स्टेशनहरू भने खुलै रहन्छन्। अधिकारीहरूले बाहिरै जानै पर्ने भए मास्क लगाउन स्थानीयवासीलाई सचेत गराएका छन्। प्रदूषणको समस्या समाधानका लागि सरकारले लागु गरेका नीतिहरू हतारमा तयार गरिएका भएकाले काम नलाग्ने वातावरणविद् रफी आलमले बताए।

    समस्यालाई समस्याका रूपमा पहिचान नगरेसम्म तपाईँ यसलाई कसरी समाधान गर्न सक्नुहुन्छ ? साताको तीन दिन पानी छम्केर वा विद्यालय बन्द गरेर तुवाँलोको समस्या समाधान हुन्छ त ? उनले भने। शिकागो विश्वविद्यालयले तयार गरेको वायु गुणस्तर जीवन सूचकका अनुसार लाहोरलगायत पाकिस्तानका सबैभन्दा प्रदूषित क्षेत्रमा वायुप्रदूषणले मानिसको जीवन करिब सात वर्षको दरले छोट्टिने गर्दछ।
    बीबीसी

  • किन निलम्बनमा पर्यो श्रीलंका क्रिकेट बोर्ड

    किन निलम्बनमा पर्यो श्रीलंका क्रिकेट बोर्ड

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंकाको क्रिकेट बोर्ड श्रीलंका क्रिकेटलाई निलम्बन गरेको छ । आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने गरि निलम्बन गर्ने निर्णय गरेको हो ।

    अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका थिए । खेलमन्त्री रणसिंघले सिल्भा नेतृत्वको बोर्डले गरेका खर्च र अन्य कामकारबाहीका बारेमा छानबिन पनि गर्ने घोषणा गरेका थिए ।

    रणसिंघले अन्तरिम कमिटीको प्रमुखमा अर्जुन रणतुंगालाई नियुक्त गरेका छन् । सन् १९९६ मा श्रीलंकालाई विश्वकप क्रिकेट उपाधि जिताउने कप्तान हुन् । उनी अहिले राजनीतिमा पनि संलग्न छन् ।

    भारतमा चलिरहेको विश्वकपमा टिमले खराब प्रदर्शन गरेको बेला श्रीलंकाको सदस्यता निलम्बनमा परेको हो । भारतमा जारी विश्वकपको समूह चरणामा आफ्ना सबै खेल खेलिसक्दा नवौं स्थानमा रहेको श्रीलंका सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफीमा छनोट हुनसमेत असफल भएको छ ।

  • इजरायल चार घण्टाका लागि युद्धबिराम गर्न तयार

    इजरायल चार घण्टाका लागि युद्धबिराम गर्न तयार

    काठमाडौं । इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । संघर्षविरामको अवधि चार घण्टासम्म मात्र रहने छ । यो जानकारी अमेरिकाले दिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले मिडियाहरुलाई बताएअनुसार यस प्रकारको युद्ध विरामको घोषणा तीन घण्टा अगाडि नै गरिने छ ।

    उनले भनेका छन्, ‘हामीलाई इजरायलले भनेको छ कि अल्पकालीन संघर्षविरामको बेला कुनै पनि प्रकारको सैन्य गतिविधि हुनेछैन र यो प्रक्रिया आजैबाट सुरु हुने छ ।’ यसअघि इजरायली सेनाले भनेको थियो, अल्पकालीन अस्थायी विरामलाई संघर्ष विराम मान्नु गलत हुने छ ।

    प्यालेस्टिनी विद्रोही समूह हमासले गत ७ अक्टुबरमा इजरायलमा हमला गरेपछि इजरायलले युद्धको घोषणा गर्दै हमासविरुद्ध सैन्य कारबाही जारी राखेको छ । यो कारबाहीमा इजरायललाई अमेरिकाले साथ दिएको छ । इजरायलको सैन्य कारबाहीमा बालबालिकासहित सर्वसाधारण प्यालेस्टिनी नागरिकको धेरै ज्यान गएपछि इजरायल र अमेरिका दुबैको आलोचना हुँदै आएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले भने एक महिना लामो युद्धपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्ध रोक्न दबाब दिँदै आएको बताएका छन् । उनले सामाजिक सन्जाल एक्समा लेखेका छन्, ‘मैले हप्तौंदेखि युद्ध विराम गर्नका लागि इजरायलका नेताहरुसँग कुरा गरिरहेको छु । यो युद्धविराम नागरिकहरुलाई लडाइबाट जोगाउन र सुरक्षित क्षेत्रमा लैजान मद्दत गर्ने छ । यो एक सही कदम हो ।’

    हमासले ७ अक्टुबरमा इजरायलमा गरेको आक्रमणबाट १० नेपालीहरुसहित १ हजार ४०० जनाको मृत्यु भएको थियो । लगत्तै इजरायलले हमासलाई निमिट्यान्न पार्ने भन्दै सुरु गरेको हवाई र स्थल आक्रमणबाट हालसम्म १० हजार ८०० जनाभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । मारिनेहरुमा धेरै बालबालिकाहरु पनि परेका छन् ।

  • भूकम्प पिडितलाई युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने

    भूकम्प पिडितलाई युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने

    काठमाडौं । जाजरकोट र रूकुमका भुइँचालो पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ। सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँग भएको औपचारिक भेटवार्ता क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले उक्त सहयोग घोषणा गरेका हुन्।

    त्यस क्रममा सचिव वाङ निङले असल छिमेकीका हिसाबले नेपाललाई दैवी प्रकोपमा सहयोग गर्न आफूहरू तत्पर रहेको उल्लेख गरे। युनान प्रान्तले कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसँग साट्न आफूहरू तयार रहेको पनि उनले बताए। अध्यक्ष नेपालले सहयोगका लागि धन्यवाद दिँदै कृषिमा युनानले प्राप्त गरेको उपलब्धिलाई नेपालले सदुपयोग गर्ने प्रतिबद्धता जनाए।

    चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको आमन्त्रणमा अध्यक्ष नेपाल, उपाध्यक्षसमेत रहेका कृषिमन्त्री वेदुराम भुसालसहितको १५ सदस्यीय टोली साताव्यापी चीन भ्रमणमा छ। एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीलाई चीनले पहिलोपटक औपचारिक आमन्त्रण गरेको हो। भ्रमण क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाटको कार्यक्रम रहेको उपाध्यक्ष भुसालले जानकारी दिए।

    हाम्रो पार्टीलाई चीनले महत्त्व दिएको पायौं, उनले भने, भेटघाट सुरू भएको छ। नेताहरूसँग भेट्ने देश र पार्टी हितका विषय कुरा हुँदैछन्। उहाँहरूको व्यवहारले हामीलाई उत्साहित बनाएको छ। बिहीबार कुङ्मिङमा राजनीति दल र कृषि कोअपरेसन भन्ने विषयमा चिनियाँ कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। उक्त सम्मेलनलाई पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सम्बोधन गर्नेछन्।

  • इण्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको खबर छैन

    इण्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको खबर छैन

    काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। बुधबार बन्दा समुद्री क्षेत्रमा ६.९ म्याग्नेच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ। समुन्द्रमा केन्द्रविन्दु बनाएपनि यसबाट सुनामीको खतरा नभएको प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ।

    युरोपियन भूमध्यसागर भूकम्प विज्ञान केन्द्रले सुरूमा ६.८ म्याग्निच्युडको भूकम्प मापन भएको बताएको थियो। पछि दक्षिणपूर्वी टापु एम्बोनबाट ३७० किलोमिटर पर केन्द्रविन्दु बनाएको भूकम्प ६.९ म्याग्नेच्युडको भएको बताएको हो। भूकम्पबाट भएको क्षतिबारे भने कुनै खबर सार्वजनिक भएको छैन ।

  • भूकम्प पिडितका लागि संयुक्त राष्ट्रसंघले थाल्यो संयुक्त आपत्कालीन प्रतिकार्य

    भूकम्प पिडितका लागि संयुक्त राष्ट्रसंघले थाल्यो संयुक्त आपत्कालीन प्रतिकार्य

    काठमाडौं । भूकम्पपीडितहरूलाई लक्षित गरेर नेपालमा काम गरिरहेका संयुक्त राष्ट्रसंघ (यूएन) का विभिन्न एजेन्सीहरूले ुसंयुक्त आपत्कालीन प्रतिकार्यु को सुरुआत गरेका छन् । राष्ट्रसंघको उत्तरदायित्वका रूपमा उक्त कामको थालनी गरेको नेपालस्थित राष्ट्रसंघको राष्ट्रिय सूचना केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कर्णाली प्रदेशको जाजरकोटा र रुकुम पश्चिममा गरेको भूकम्पबाट एक सय ५३ जनाको मृत्यु भएको छ ।

    साथै, घाइते र पीडितहरूको उद्धारका लागि राष्ट्रसंघले उक्त संयुक्त आपत्कालीन प्रतिकार्य स्थापना गरेर काम थालेको हो । नेपालका लागि राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्डीले सरकारले तुरुन्तै खोज र उद्धार कार्यमा सरकारले धेरै प्रभावकारी काम गरेको बताइन् । ‘भौगोलिक विकटता र परिचालन वातावरणका बाबजुद, संयुक्त राष्ट्र संघका एजेन्सीहरू र मानवीय साझेदारहरू लगभग ३ हजार घरपरिवारमा खाना, बस्ने, सरसफाई, सुरक्षित राख्ने तथा स्वास्थ्यमा सरकारले गरेको प्रयासको साथ दिन्छ,’ उनले भनेकी छन् ।

    उक्त क्षेत्रमा विश्व खाद्य कार्यक्रमले तीन दिनमा करिब ७ हजार ५०० जनालाई खाना सहयोग गरेको छ । राष्ट्रसंघको अर्को एजेन्सी युनिसेफले भूकम्प गएको क्षेत्रमा सरसफाइलाई आवश्यक पर्ने सामग्री प्रदान गरेको छ । यूएनएफपीएले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

    यूएनडीपीले सूचना संकलन गर्ने भूमिका निर्वाह गरिरहेको छ । यूएन वुमनले कम्युनिटी किचेन र राहत सामग्री उपलब्ध गराएको छ । साथै, बालबालिका र गर्भावस्थामा रहेका महिलाहरूको हेरचाहमा सहयोग गरेको छ । आईओएमले प्रदेशको संयुक्त आपत्कालीन केन्द्रलाई आवश्यक व्यवस्थापन गर्न आवश्यक सूचना संकलन गर्ने काम गरिरहेको छ ।

  • एञ्जेलो म्याथुजका लागि सम्झिइरहने खेल बन्यो बंगलादेश–श्रीलंका भिडन्त

    एञ्जेलो म्याथुजका लागि सम्झिइरहने खेल बन्यो बंगलादेश–श्रीलंका भिडन्त

    काठमाडौं । श्रीलंकाका एञ्जेलो म्याथुज एक बल पनि फेस नगरी ‘टाइम आउट’ हुने विश्वकै पहिलो क्रिकेटर बनेका छन् । विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा उनलाई एक बल पनि फेस गर्न नपाउँदै अम्पायरले आउट दिएका हुन् । छैटौं नम्बरमा ब्याटिङमा आएका उनलाई अम्पायरले ‘टाइम आउट’ गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यान आउट भएपछि त्यसको २ मिनेट भित्रमा नयाँ ब्याट्सम्यानले क्रिजमा पुगेर बल फेस गर्नका लागि तयारी अवस्थामा बस्नु पर्छ ।

    २४।२ ओभरमा सकिब अल हसनको बलमा सदिरा समराविक्रम आउट भएपछि म्याथुज ब्याटिङमा आएका थिए । तर उनले क्रिजमा पुग्न समय लगाए । क्रिजमा पुगेर पनि हेलमेट बाँध्न केहीबेर अलमलिएका उनले नयाँ हेलमेटका लागि ड्रेसिङ रुममा संकेत गरेका थिए । त्यतिबेलासम्म २ मिनेट नाघिसकेको थियो । त्यसैले बंगलादेशी कप्तान सकिब उल हसन र बंगलादेश टिमले म्याथुज ‘टाइम आउट’ भएको अपिल गरे । जस अनुसार अम्पायरले म्याथुजलाई १ बल पनि खेल्न नपाउँदै पभेलियन पठाए ।

    म्याथुज पुरुष तथा महिलाको कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने खेलाडी रहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ । आईसीसी विश्वकप २०२३ को प्लेइङ कन्डिसनमा पनि २ मिनेटमा ब्याटिङका लागि तयार नहुने खेलाडीलाई अम्पायरले ‘टाइम आउट’ गर्ने उल्लेख रहेको आईसीसीले स्पष्ट पारेको छ । टाइम आउट हुने ३६ वर्षका म्याथुज श्रीलंकाका अनुभवी अलराउण्डर हुन् । उनले श्रीलंकाका लागि २२४ वटा ओडीआई र १०६ वटा टेष्ट खेलेका छन् ।

  • वायु प्रदुषणका कारण नयाँ दिल्लीमा विद्यालय एक साता बन्द

    वायु प्रदुषणका कारण नयाँ दिल्लीमा विद्यालय एक साता बन्द

    काठमाडौं । वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढेको छ । गएको शुक्रवारदेखि विद्यालय बन्द गरेकोमा आजदेखि लागू हुने गरी थप एक हप्ता दिल्लीका सबै विद्यालय बन्द गरिएको दिल्ली राज्यका शिक्षामन्त्री आतिशीललाई उद्धृत गर्दै एएफपीले जनाएको छ । विद्यालयहरुलाई सम्भव भएमा अनलाइनबाट पढाउन भनिएको छ ।

    अत्यन्तै घातक अवस्थामा रहेको प्रदूषणको अवस्थामा सुधार हुने नदेखिएपछि विद्यालय बन्द गर्नुपरेको दिल्ली सरकारले जनाएको छ । दिल्लीमा निर्माण कार्य पूर्णरुपमा रोकिएको छ । मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ ।

    वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा अत्यन्तै घातक मानिनेमा दिल्लीको वायुको एक्यूआई केही दिनदेखि लगातार चार सयभन्दा माथि रहेको छ । छिमेकी कृषि प्रधान राज्यहरूमा किसानहरूले पराल जलाउने गरेकाले हरेक शरद याममा दिल्लीलाई धुवाँले ढाक्ने गर्छ । नयाँ दिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ ।

  • विश्वकप : भारत सामु दक्षिण अफ्रिका निरिह

    विश्वकप : भारत सामु दक्षिण अफ्रिका निरिह

    काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले लगातार आठौं खेलमा जित निकालेर शीर्ष स्थानमा बलियो पकड बनाएको छ। भारतले आइतबार दोस्रो स्थानको दक्षिण अफ्रिकालाई २४३ रनले पराजित गर्‍यो। कोलकतामा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३२६ रन जोडेको थियो। भारतका लागि विराट कोहलीले नटआउट १०१ रन जोडे भने श्रेयस अय्यरले ७७ रनको योगदान गरे। यो कोहलीको ४९औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो।

    यससँगै कोहलीले सर्वाधिक एकदिवसीय शतक प्रहार गर्ने सचिन तेन्दुल्करको रेकर्ड बराबरी गरे। ३२७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमै अलआउट भयो। उसका लागि मार्को जानसेनले सबैभन्दा बढी १४ रन जोडे। बलिङमा भारतका रविन्द्र जडेजाले ५ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्दा ३३ रन खर्चिए। मोहमद सामी र कुलदिप यादवले २–२ विकेट लिए।

  • इजरायलले गाजामा गर्यो ९ हजार ७७० प्यालेष्टाइन नागरिकको हत्या, ४ हजार बालबालिका

    इजरायलले गाजामा गर्यो ९ हजार ७७० प्यालेष्टाइन नागरिकको हत्या, ४ हजार बालबालिका

    काठमाडौं । इसराइलको आक्रमणबाट गाजा क्षेत्रमा अहिलेसम्म ९ हजार ७७० प्यालेस्टाइनी नागरिकहरूको ज्यान गएको छ । बिबिसीका अनुसार इसराइल-हमास युद्ध २९ औं दिनमा पुग्दा गजामा साढे ९ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ हजार भन्दा बढी बालबालिका रहेको पनि बिबिसीले उल्लेख गरेको छ । अक्टोबर ७ ९असोज २०० मा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इसराइलमा आक्रमण गर्दा त्यहाँ १ हजार ४ सय मानिसहरूको मृत्यु भएको थियो।

    हमासले इसराइलबाट २४० जनालाई बन्धक पनि बनाएको थियो। प्रतिआक्रमणमा उत्रिएको इसराइलले गजाबाट हमास सक्काउने योजनासहित हवाई हमलासँगै जमिन र समूद्रबाट पनि आक्रमण गरिरहेको छ। इसराइलले शरणार्थी शिविर र अस्पातालहरूमा हमासका लडाकुहरू लुकेर बसेको दाबी गरेको छ।

    उसले आइतबार गजापट्टीको अ-(मगाजी शरणार्थी शिविरमा आक्रमण गर्दा त्यहाँ ३० जनाभन्दा बढीको मृत्यु भएको हमास शासित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। गत मंगलबार र बुधबार इसराइलले गजाको बाक्लो आवादी भएको जबालिया शरणार्थी शिविरमा हवाई आक्रमण गरेको थियो।

    उसले हमासका युनिट कमान्डरलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेपनि त्यहाँ दर्जनौं नागरिकहरू मारिएका थिए। इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले उक्त आक्रमणमा हमासका युनिट कमान्डरहरू इब्राहिम बियारी र मुहम्मद एसार मारिएको दाबी गरेको थियो। गजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आह्वानलाई इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अस्वीकार गर्दै आतंकवादविरूद्ध आत्मसमर्पण नगर्ने बताएका थिए।

    लगातारको आक्रमणबाट गजामा हमासका २ हजार ५ सय भन्दा बढी क्याम्प ध्वस्त बनाएको आइडिएफको दाबी छ। उसले उत्तरी गाजाबाट नागरिहरूलाई दक्षिणमा सार्न समेत चेतावनी दिइरहेको छ। यसबीच मध्यपूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्यालेस्टाइनी प्रशासनका प्रमुख मोहमुद अब्बाससँग भेटवार्ता गरेका छन्। भेटमा अब्बासले गजामा युद्धविराम हुनुपर्नेमा जोड दिएका छन्।

    ब्लिन्केनले भने गाजामा आम नागरिकहरूको मृत्यु हुने अवस्थालाई रोक्नुपर्ने बताएका छन्। उनले अक्टोबर ७ पछि इसराइललाई आत्मरक्षाको अधिकार रहेको पनि बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। गाजामा इसराइलको आक्रमणबाट १५ लाखभन्दा बढी मानिसहरू विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।