Category: विश्व

  • ‘नेपालको पर्यटन क्षेत्र भूकम्पबाट सुरक्षित’

    ‘नेपालको पर्यटन क्षेत्र भूकम्पबाट सुरक्षित’

    काठमाडौं । शुक्रबार राति जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पका कारण नेपाल यात्राबारे दोधारमा रहेका पर्यटकलाई लक्षित गरी सरोकारवालाले नेपालका पर्यटकीय क्षेत्र खुला र सुरक्षित रहेको सन्देश प्रवाह गरेका छन् । नेपाल पर्यटन बोर्ड तथा पर्यटनसँग सम्बन्धित निजी क्षेत्रका संघ संस्थाले भूकम्प गएको क्षेत्र केन्द्रीय राजधानी काठमाडौंबाट ५ सय किलोमिटर पर रहेको मुख्य पर्यटकीय क्षेत्रमा भूकम्पले कुनै पनि असर नगरेको बताएका छन् ।

    नेपाल पर्यटन बोर्डले भनेको छ, ‘पर्यटन क्षेत्र सुरक्षित छन् र पर्यटकीय गतिविधिहरु निर्वाध रुपमा सञ्चालनमा छन् ।’ निजी क्षेत्रका नेतृत्वदायी संघसंस्थाले समेत भूकम्प प्रभावित क्षेत्र राजधानी काठमाडौं भन्दा करिब ५ सय किमि पश्चिममा रहेको र सो क्षेत्रमा पर्यटनसँग सम्बन्धित प्रत्यक्ष गतिविधि कम रहेको बताएका छन् । प्रकोपले काठमाडौं, पोखरा, चितवन, लुम्बिनीसहितका पर्यटन क्षेत्र प्रभावित नभई सुरक्षित रहेको भन्दै नेपाल यात्रालाई निरन्तरता दिन सरोकारवालाले आग्रह गरेका छन् ।

  • नेपाल भूकम्पप्रति रुसी राष्ट्रपति दुखी

    नेपाल भूकम्पप्रति रुसी राष्ट्रपति दुखी

    काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
    उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

    राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरूका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

  • चिनियाँ राष्ट्रपतिले पठाए समवेदना सन्देश

    चिनियाँ राष्ट्रपतिले पठाए समवेदना सन्देश

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति समवेदना प्रकट गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई सन्देश पठाएका छन् । चिनियाँ सरकार र जनताको तर्फबाट सीले मृतकहरूप्रति गहिरो समवेदना प्रकट गर्दै, शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    सन्देशमा सीले कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पले ठूलो मानवीय र धनजनको क्षतिले आफू स्तब्ध भएको बताएका छन् । सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा पूननिर्माणको काम चाँडै सम्पन्न हुने विश्वास व्यक्त गर्दै आवश्यक विपद् सहयोग गर्न चीन इच्छुक रहेको बताएका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना सन्देश पठाएका थिए ।

  • नेपाल भूकम्पप्रति भारतीय प्रधानमन्त्रीले जनाए दुख:

    नेपाल भूकम्पप्रति भारतीय प्रधानमन्त्रीले जनाए दुख:

    काठमाडौं । जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् । उनले भारत नेपाली जनताको दुस्खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् ।

    प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ बढीको मृत्यु भएको छ ।

  • गाजाबाट धमाधम बाहिरिँदै विदेशी र घाइते

    गाजाबाट धमाधम बाहिरिँदै विदेशी र घाइते

    काठमाडौं । बुधवार आंशिक रूपमा खुला गरिएको गाजाको इजिप्टसँगको सिमानास्थित रफाह नाकाबाट विहीवार पनि विदेशी राहदानीवाहक र घाइते प्यालेस्टिनीहरू बाहिरिएका छन्। बिहीवार एउटा पूर्व स्वीकृति प्राप्त सूचीमा नाम रहेका झण्डै ४०० जना जतिलाई सिमा पार गरेर इजिप्ट जान अनुमित दिइएको हो। बीबीसीका रुश्दी अबु अलुफले जनाए अनुसार बिहीवार नाका पार गर्न अनुमति पाउनेहरूको नाम इजिप्टले नाकामा राख्ने गर्दछ। बुधवार सोही सङ्ख्यामा मानिसहरूले सिमा पार गरेका बताइएको छ।

    गाजा सीमाका अधिकारीहरूले नाका सञ्चालनमा नै रहने जनाएका छन्। कूटनीतिक समाचार स्रोतहरूले सङ्केत गरे अनुसार दुई हप्ताको समयमा साढे सात हजार विदेशी राहदानीवाहकहरूले गाजा छाड्न सक्नेछन्। इजरेली हमला जारी रहँदा गाजामा अस्पतालहरूमा अत्यावश्यक सामग्रीहरूको अभाव तीव्र बन्दै गएको अवस्थाले जरुरी स्वास्थ्य सेवा चाहिने मानिसहरू गाजाबाट बाहिरिने हतारोमा छन्।


    अमेरिकी राष्ट्रपति जो बाइडनले हप्तौँदेखि द्वन्द्वको चपेटामा परेर फसिरहेका गैर सैनिकहरूलाई पहिलोपल्ट गाजाबाट बाहिरिने व्यवस्था गरेको कूटनीतिक प्रयासको प्रशंसा गरेका छन्। त्यस्तो व्यवस्थाका लागि भएका वार्ताहरूका लागि उनले विशेष गरी कतारलाई धन्यवाद दिएका छन्। अमेरिकी राष्ट्रपतिले बन्धकहरूको रिहाइका लागि इजरेल र हमासबीचको लडाइँमा ुविरामु का लागि पनि आह्वान गरेका छन्। मिनेसोटा राज्यमा प्रचार भेलामा उपस्थित एकजना महिला श्रोताले युद्ध विरामको आह्वान गर्न उनलाई भनेपछि अमेरिकी राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएका थिए।

    उनले भने, मलाई लाग्छ त्यहाँ विरामको आवश्यकता छ। लडाइँमा विरामको अर्थ बन्दीहरूलाई बाहिर निकाल्नका लागि समय मिल्नु हो। त्यसको केही समयपछि ह्वाइट हाउसले राष्ट्रपतिको टिप्पणीलाई प्रष्ट पार्ने प्रयास गर्दै उनले मानवीय उद्धार सहायता र हमासले बन्धक बनाएर राखेका २४० जनाको सन्दर्भमा बोलेका जनाएको थियो।

    इजरेली सेनाले उस्का सैन्यहरू गाजा स्ट्रिपमा अझ अगाडि बढेका बताएको छ। आइडीएफका प्रवक्ता ड्यानिअल हागारीले स्थल, जल र हवाई संयुक्त सैन्यले गाजा स्ट्रिपमा हमासको अग्रपङ्क्ति पार गरेको बताएका छन्। प्यालेस्टिनी रेड क्रेसन्टले रातभर अल कुद्स अस्पतालसहित गाजा सिटीमा ठूलो विस्फोट र तोप हमलाको आवाज सुनिएको बताएको छ। उक्त परोपकारी संस्थाले उक्त अस्पतालको झ्यालबाट रेकर्ड गरिएको भिडिओ सामाजिक सञ्जालमा राखेको छ जसमा विस्फोटका आवाज सुनिनुका साथै चम्किला आगोका लप्काहरू देख्न सकिन्छ।

    गाजामा हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको छ इजरेलको बम हमला आरम्भ भएयता त्यहाँ आठ हजार सातसय भन्दा बढीको ज्यान गइसकेको छ।

    संयुक्त राष्ट्र सङ्घको मानवअधिकार कार्यालयले जबालिया शरणार्थी शिविरमा इजरेलले गरेको हवाई हमलाहरू युद्ध अपराध हुनसक्ने जनाएको छ। उसका अनुसार त्यहाँ भएको गैर सैनिक हताहत हुनेको ठूलो सङ्ख्या र क्षतिको ठूलो स्तरले ती आक्रमणहरू असमानुपातिक रूपमा चर्को भएकोबारे गम्भीर चिन्ताहरू उत्पन्न गराएको छ। गाजास्थित हमासको सञ्चार कार्यालयले मङ्गलवार र बुधवार भएका ती हमलाहरूमा एक सय पञ्चानब्बे जनाको ज्यान गएको र एक सय २० जनाभन्दा बढी अझै हराइरहेका बताएको छ। इजरेलले ती हमलाहरूको बचाउ गरेको छ।

  • विश्वकप क्रिकेटमा भारतसामु निरिह श्रीलंका, ५५ रनमै अलआउट

    विश्वकप क्रिकेटमा भारतसामु निरिह श्रीलंका, ५५ रनमै अलआउट

    काठमाडौं । भारतले विश्वकप क्रिकेट-२०२३ मा बिहीबार श्रीलंकालाई ३ सय २ रनको ठूलो अन्तरले पराजित गरेको छ । जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो । जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका अविश्वसनीयरूपमा १९.४ ओभरमा ५५ रन बनाएर अलआउट भएको थियो ।

    भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३ विकेट प्राप्त गरे । यस्तै जसप्रित बुमराहको नाममा १ विकेट रह्यो । श्रीलंकाली ब्याटरमध्ये कसुन रजिथाको १४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । श्रीलंकाका ५ ब्याटर खाता खोल्न असफल रहे र शून्यमै आउट भए ।

    श्रीलंकाले इनिङ्सको पहिलो बलमै विकेट गुमाएको थियो र यो क्रम लगातार जारी रह्यो । उसले ३ रन बनाउँदासम्म ४ विकेट गुमाइसकेको थियो । त्यसपछि १४ रनमा ६ विकेट भयो भने लगत्तै स्थिति २२ रनमा ७ विकेट भएको थियो ।

    त्यस अगाडि श्रीलंकाले टस जितेर भारतलाई पहिले ब्याटिङको निर्णय गरेको थियो । त्यसमा क्रममा भारतले ८ विकेट गुमाएर ३ सय ५७ रनको विशाल स्कोर खडा गरेको थियो । त्यसमा भारतका तीन ब्याटर शतकको नजिक पुगेर चुके । ओपनर शुभमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस अयरले ८२ रन बनाए । शुभमनले ११ चौका र २ छक्का प्रहार गरे भने कोहलीको ब्याटबाट ११ चौका निस्केको थियो । यस्तै श्रेयसले ३ चौका र ६ छक्का आफ्नो नाममा लेखाए । भारतले ठूलो स्कोर खडा गरे पनि त्यसमा श्रीलंकाली बलर दिल्सन मदुसन्काले ८० रन खर्चेर ५ विकेट लिए ।

    यो जितपछि भारतको ७ खेलबाट १४ अंक भएको छ । यो उसको यसपल्टको विश्वकपमा लगातार सातौं जित पनि हो । यससँगै भारतले दक्षिण अफ्रिकालाई उछिनेर शीर्ष स्थानमा पनि पुग्यो । श्रीलंका भने सात खेलबाट ४ अंकमै सीमित रह्यो ।

  • कतारमा भारतीय जलसेनाका ८ अधिकारीलाई किन सुनाइएको छ मृत्युदण्डको सजाय ?

    कतारमा भारतीय जलसेनाका ८ अधिकारीलाई किन सुनाइएको छ मृत्युदण्डको सजाय ?

    काठमाडौं । भारतीय जलसेनाका आठ भूतपूर्व अधिकारीलाई कतारमा मृत्युदण्डको सजाय सुनाइएको छ । भारतको विदेश मन्त्रालयले उक्त फैसलाबाट भारत सरकार स्तब्ध बनेको र सबै कानुनी विकल्पको खोजी गरिने प्रतिक्रिया दिएको छ । विदेशमन्त्री एस जयशङ्करले ती आठ भारतीयका परिवारसँग सोमवार भेटघाट गरेका थिए।

    सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै उनले भनेका छन्, ‘कतारमा हिरासतमा रहेका आठ भारतीय नागरिकका परिवारसँग भेटघाट भयो। यो विषयलाई सरकारले ठूलो महत्त्व दिन्छ भन्ने कुरा बताए, हामी परिवारहरूको चिन्ता र पीडा बुझ्छौँ। सरकारले उनीहरूको मुक्ति निश्चित गर्नका लागि सबै प्रयास जारी राख्ने छ। परिवारसँग त्यसबारे समन्वय गरिने छ।’


    सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार भारतीय जलसेनाले ती आठ जनालाई सहयोग उपलब्ध गराउने प्रयास प्रधानमन्त्री कार्यालयमा कार्यरत कूटनीतिक अधिकारी दीपक मित्तलको नेतृत्वमा भइरहेको छ। उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासप्राप्त ‍कूटनीतिज्ञ मानिन्छ। यसअघि उनी कतारमा भारतका राजदूत थिए। कतार सरकारसँग उनको राम्रो सम्बन्ध भएको ठानिएको छ।

    मित्तललाई उच्च श्रेणीका वार्ताकार मानिन्छ। सन् २०१९ मा मित्तल द हेगमा अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा कुलभूषण जाधव मामिलाको सुनवाइका बेला चर्चामा आएका थिए। त्यति बेला उनले वरिष्ठ पाकिस्तानी अधिकारीले हात मिलाउन खोज्दा नमस्ते गरेका थिए। पाकिस्तानी अधिकारीले हात अगाडि सारेको र मित्तले नमस्ते गरेको तस्बिर निकै चर्चित बनेको थियो। सन् २०२० मा मित्तल भारतीय राजदूत बनेर कतार गएका थिए।

    मृत्युदण्डको सजाय सुनाइएका आठ जनाले अझै पनि माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्छन्। भारत सरकार पुनरावेदनका लागि सहयोग गरिरहेको छ। पुनरावेदनमा के हुन्छ त्यो हेर्न बाँकी नै छ। जानकारहरूका अनुसार अदालती प्रक्रियाबाट सजाय उल्टिएन भने कतारका अमीरले क्षमादान दिए भने मात्र उनीहरूको जीवनरक्षा हुन सक्छ। आधिकारिक रूपमा कतारले आठ भारतीयमाथि लागेका अभियोगबारे केही भनेको छैन। तर उनीहरूले कतारमा बसेर इजरायलका लागि जासुसी गरेको आरोप लगाइएको अनुमान गरिएको छ ।

  • गाजामा इजरायलको अमानवीय आक्रमणप्रति राष्ट्रसंघको निन्दा

    गाजामा इजरायलको अमानवीय आक्रमणप्रति राष्ट्रसंघको निन्दा

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा गरिएको आक्रमणको निन्दा गरेको छ। हमासका लडाकु समूहका कमाण्डरलाई लक्षित गरी इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको आक्रमणमा ११ जनाभन्दा धेरै सैनिकको ज्यान गएको छ । त्यस्तै सर्वसाधारणले ज्यान गुमाएका छन्। घटनाको संयुक्त राष्ट्रसङ्घले भर्त्सना गरेको हो । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यमार्फत् गाजामा युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको टिप्पणी गर्नुभएको छ।

    यसैबीच, जोर्डनले पनि आक्रमणको विरोधमा आफ्नो राजदूतलाई तत्काल फिर्ता बोलाउने जनाएको छ । जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलका लागि जोर्डनका राजदूतलाई तत्काल फिर्ता बोलाउने निर्णय गरेको विदेश मन्त्रालयलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
    गाजामा निर्दोष मानिसले ज्यान गुमाएका र इजरायली युद्धको निन्दा गर्न यो कदम चालिएको जोर्डनको विदेश मन्त्रालयले जनाएको छ ।

  • विश्वकप क्रिकेट : न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग हार्दा पाकिस्तानको आशा जिवितै

    विश्वकप क्रिकेट : न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग हार्दा पाकिस्तानको आशा जिवितै

    काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई १९० रनको फराकिलो अन्तरले हराएको छ । भारतको पुनेमा भएको खेल जित्न दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई ३५८ रनको लक्ष्य दिएको थियो । जवाफमा ३५.३ ओभरमा १६७ रन बनाउँदा न्यूजिल्याण्ड अलआउट भयो । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए । विग योङले ३३ र डेरल मिचेलले २४ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन् । यसअघि टस जितेको न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दियो ।

    उसको निर्णय तब गलत लाग्न थाल्यो, जब क्विन्टन डी कक र रासी भानडेर डुसनले दोस्रो विकेटका लागि २०० रनको साझेदारी गरे । दुबैले शतक बनाए । रासी भानडेरले १३३ र डीकलले ११४ रन बनाए । डेभिड मिलर, हेनरिक क्लासन र एडिन मार्करमले तीव्र गतिमा रन जोडे । मिलरले ३० बलमा ५३ रन बनाएपछि दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनायो ।

    जित पाकिस्तानलाई सेमिफाइनलको रेसमा रहिराख्न दक्षिण अफ्रिकाको जित महत्वपूर्ण रह्यो । पाकिस्तानले ७ खेलबाट ६ अंक जोडेको छ । यदि न्यूजिल्याण्डले यो खेल जितेको भए पाकिस्तानको सेमिफाइनल सम्भावना कठिन हुने थियो । तर हारपछि न्यूजिल्याण्डको ८ अंक मात्र रह्यो र, उसले आउने खेल पाकिस्तानसँग नै खेल्नुपर्नेछ । यदि पाकिस्तानले त्यो खेल जित्यो भने अंक बराबरी हुन्छ । यत्तिले मात्र सेमिफाइनलमा भने पुग्दैन, बाँकी दुई खेलमा पनि ठूलो अन्तरले जितेर रन रेट बढाउनु पर्छ ।

  • हमास-इजरायल युद्धमा ३१ पत्रकार मारिए

    हमास-इजरायल युद्धमा ३१ पत्रकार मारिए

    काठमाडौं । अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजराइली र एक लेबनानी रहेका छन् ।

    यसका अतिरिक्त आठ पत्रकार घाइते भएका छन् भने नौ जना हराएका वा पक्राउ परेका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) को प्रतिवेदन उद्धृत गर्दै टाइम्स अफ इजराइलले पत्रकारहरूले लगातार हमला, पक्राउ, धम्की, सेन्सरसिप र परिवारका सदस्यको हत्याको सामना गर्नुपरिरहेको बताएको छ ।

    ती पत्रकारहरूमध्ये २६ जना गाजामा र तीमध्ये पनि अक्टोबर ७ मा इजराइलमा हमासको हमलाका क्रममा चार जना मारिएका थिए । हिज्बुल्लाहलाई लक्षित गरी गरिएको इजराइली गोलाबारीमा लेबनानमा एक पत्रकारको मृत्यु भएको थियो ।

    “सीपीजेले अन्य पत्रकारहरू मारिएको, बेपत्ता बनाइएको, हिरासतमा राखिएको, चोटपटक वा धम्की दिइएको र मिडिया कार्यालयहरू तथा पत्रकारहरूको घरमा क्षति पुर्‍याएको धेरै अपुष्ट रिपोर्टहरूको पनि अनुसन्धान गरिरहेको छ”, सीपीजेले भनेको छ ।

    “पत्रकारहरू सङ्कटको बेला महत्त्वपूर्ण काम गर्ने नागरिक हुन् र उनीहरूलाई युद्धरत पक्षहरूले निशाना बनाउन हुँदैन भन्नेमा सीपीजे जोड दिन्छ”, सीपीजेको मध्यपूर्व तथा उत्तर अफ्रिका कार्यक्रम संयोजक सेरिफ मन्सुरले भन्नुभयो । रासस/एएनआई

  • इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा ८ हजार ५ सय मानिसको मृत्यु

    इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा ८ हजार ५ सय मानिसको मृत्यु


    काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।

    अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ ।

    इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् ।

    सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ ।
    इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ ।

  • सोमबार नेपालको संसदमा राष्ट्र संघका महासचिवले सम्बोधन गर्ने

    सोमबार नेपालको संसदमा राष्ट्र संघका महासचिवले सम्बोधन गर्ने


    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ ।

    सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन्।

    गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति नेपाल आएका छन् ।
    गुटेरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरुलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गरेका छन् ।

    साथै उनले औपचारिक पोशाकमा आउन समेत भनेका छन् । ‘उक्त दिन औपचारिक पोशाकमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछु’, सभामुख घिमिरेले सांसदहरुलाई भनेका छन् ।

  • गाजा क्षेत्रमा युद्धविराम गर्न राष्ट्र संघका महासचिवको आह्वान

    गाजा क्षेत्रमा युद्धविराम गर्न राष्ट्र संघका महासचिवको आह्वान


    काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनको गाजा क्षेत्रमा आपतकालीन मानवीय युद्धविराम गर्न अपिल गरेका छन् ।

    भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यूएन महासचिव गुटेरेसले गाजा क्षेत्रमा इजरायलले गरिरहेको बम आक्रमणका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै त्यसलाई रोक्न तत्काल युद्धविराम गर्न अपिल गरेका हुन् 

    ‘संसारसामु मानवीय प्रकोप भइरहेको स्पष्ट छ । अत्याधिक बम आक्रमणको शिकार भएर २० लाख भन्दा बढी मानिसहरू असुरक्षित जीवन बिताइरहेका छन्’, उनले भने, ‘कहीँ जाने सुरक्षित स्थान छैन । जिउनका लागि अत्यावश्यक चीजहरू खाना, पानी, आश्रय र चिकित्सकीय हेरचाहबाट वञ्चित भइरहेका छन् । म जिम्मेवार सबैलाई आफ्नो कदमबाट पछि हट्न आग्रह गर्दछु । आपतकालीन मानवीय युद्धविरामको लागि मेरो अपील दोहोर्‍याउन चाहन्छु।

    उनले सबै बन्दीहरूको बिना शर्त रिहाई गर्न पनि अनुरोध गरेका छन् । गाजाका जनताको आवश्यकताहरू पूरा गर्ने स्तरमा दिगो मानवीय राहत वितरणको व्यवस्था गर्न र गाजा, इजरायल र नेपाललगायत विश्वभरका प्रभावित मानिसहरूका लागि दुःस्वप्न बनेको यस युद्धको अन्त्य गर्न पनि महासचिव गुटेरेसले सम्बन्धित पक्षलाई आग्रह गरे ।
    उनले मध्यपूर्वमा भएको सङ्कट नेपालबाट हजारौं माइल टाढा भए पनि यसले नेपाली जनतालाई छोएको बताए।

  • मेक्सिकोमा आधी, कम्तीमा २७ जनाको मृत्यु

    मेक्सिकोमा आधी, कम्तीमा २७ जनाको मृत्यु

    काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् ।

    ओटिस् आँधीले गुरेरोमा ठुलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचनाहरू ध्वस्त बनाएको बताइएको छ । घरका छाना र झ्यालहरू उडाएको र सडकमा बाढी आएको बताइएको छ । मेक्सिकोको बन्दरगाह सहर अकापुल्को र वरपरका समुदायहरुमा रुखहरू र बिजुलीका खम्बाहरू ढालेको छ ।

  • इजरायलले गाजामा गरेको आक्रमणको विरोधमा उत्रियो टर्की

    इजरायलले गाजामा गरेको आक्रमणको विरोधमा उत्रियो टर्की

    काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हमासलाई आफ्नो भूमिको रक्षाका लागि लडिरहेको ‘मुक्ति समूह’ भएको बताएका छन् ।

    हमासलाई इजरायल, अमेरिका, ईयू र बेलायतले आतंकवादी समूहका रूपमा व्याख्या गरिरहेका बेला टर्कीका राष्ट्रपतिले यस्तो अभिव्यक्ति दिएका हुन ।

    टर्कीको संसदमा सम्बोधन गर्दै एर्डोगानले आफूले इजरायल भ्रमण गर्ने योजनासमेत रद्द गरेको बताएका छन् ।
    राष्ट्रपति उर्डोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग हात मिलाएको तर उनले टर्कीको असल नियतको दुरुपयोग गरेको आरोप समेत लगाए ।

    एर्डोगाल र नेतान्याहुले गत महिना न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा भेट गरेका थिए । उक्त भेटलाई टर्की र इजरायलबीच रहेको तिक्ततापूर्ण सम्बन्धमा आएको सुधारको महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको थियो ।

    गत ७ अक्टोबरमा हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेपछि १४०० भन्दा बढी मानिस मारिएका थिए । त्यसपछि इजरायलले प्यालेस्टाइनको गाजा र वेस्ट बैंक क्षेत्रमा आक्रमण गर्दा हजारौँ नागरिकको ज्यान गइसकेको छ भने लाखौं नागरिक घरवार विहिन भएका छन् ।

  • राष्ट्रसंघका महासचिव सङ्ग किन रिसायो इजरायल ?

    राष्ट्रसंघका महासचिव सङ्ग किन रिसायो इजरायल ?

    काठमाडौं । अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारबाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उनको राजीनामा माग गरेको छ ।

    राष्ट्रसङ्घमा इजराइली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उनको राजीनामा माग गरेका हुन् ।

    ‘बालबालिका, महिला र वृद्धवृद्धाहरूको सामूहिक हत्याको अभियानामा समझदारी देखाउने महासचिव राष्ट्रसङ्घको नेतृत्व गर्न योग्य हुनुहुन्न, म उहाँलाई तुरुन्त राजीनामा दिन आग्रह गर्दछु, इजराइली नागरिक र यहुदीहरूका विरुद्ध भएको सबैभन्दा भयानक अत्याचारका लागि दया देखाउने महासचिवसँग कुरा गर्नुको कुनै औचित्य नै छैन’, सामाजिक सञ्जाल एक्समा उनले भने ।
    राष्ट्रसङ्घका महासचिव गुटेरेसले हमासले गरेको हमला ‘शून्यमा नभएको’ भन्दै ‘प्यालेस्टिनी नागरिकहरूको सामूहिक सजाय’ लाई उचित नभएको भनी टिप्पणी गरेपछि इजराइलको उक्त भनाइ आएको हो ।
    हमासले गरेको हमला शुन्यमा भएको होइन भन्ने कुरालाई पनि मान्यता दिनु महत्वपूर्ण हो, प्यालेस्टिनी जनता ५६ वर्षदेखि दमनकारी कब्जामा परेका छन्, उनीहरूले आफ्नो भूमि निरन्तर बस्तीको व्यवस्थापन र हिंसाबाट ग्रस्त भएको देखेका छन्, उनीहरूको अर्थतन्त्र अवरुद्ध भएको छ, उनीहरूका मानिस विस्थापित भएका छन् र घर ध्वस्त भएको छ, आफ्नो दुर्दशाको राजनीतिक समाधान हुने उनीहरूको अपेक्षा हराउदै गइरहेको छ ।

  • गाजामा संयुक्त राष्ट्र संघका चार कर्मचारी मारिए

    गाजामा संयुक्त राष्ट्र संघका चार कर्मचारी मारिए


    काठमाडौं । गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका छ कामदार मारिएको राष्ट्रसङ्घले बताएको छ । यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको कूल सङ्ख्या ३५ पुगेको छ । 

    हमासका बन्दुकधारीहरूले इजराइलको ७५ वर्षको इतिहासमा सबैभन्दा भीषण हमला गरेपछि गाजापट्टीमा इजराइली बमबारी दुई साताभन्दा बढीको समयमा मानवीय र सहायताकर्मीहरूलाई पनि छोडिएको छैन । 

    “शत्रुता सुरु भएदेखि काम गरेकै अवस्थामा १६ स्वास्थ्यकर्मी मारिएका छन्, युएनआरडब्लुएका गरी कूल ३५ कर्मचारीको मृत्यु भएको छ” संयुक्त राष्ट्रसङ्घको मानवअधिकार एजेन्सी ओसीएचएले सोमबार साँझसम्मको स्थितिबारे मङ्गलबार पठाएको अपडेटमा भनिएकोछ, “तीमध्ये छ जना पछिल्लो २४ घन्टमा मारिएका छन् ।”

    युएनआरडब्लुएले गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलमका साथै जोर्डन, लेबनान र सिरियामा ५६ लाख प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्दछ । 

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको सङ्ख्याअनुसार गाजापट्टीमा इजराइलले गरेको बमबारीमा पाँच हजारभन्दा बढी मानिस मारिएका छन् ।  रासस/एएफपी

  • भारतीय सेनालाइ आफ्नो देश छोड्न माल्दिभ्सका राष्ट्रपतिको आह्वान

    भारतीय सेनालाइ आफ्नो देश छोड्न माल्दिभ्सका राष्ट्रपतिको आह्वान


    काठमाडौं/ बिबिसी। गत महिना माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित ‘चीननिकट’ भनी चिनिएका नेता मोहम्मद मुइज्जुले भारतीय सेनालाई आफ्नो देश छाड्न आग्रह गरेका छन्।

    “माल्दिभ्सको भूमिमा हामी कुनै पनि विदेशी सैन्य उपस्थिति चाहँदैनौँ… मैले माल्दिभ्सका जनतालाई यो वाचा गरेको थिएँ र पहिलो दिनदेखि नै म यो वाचामा प्रतिबद्ध छु,” बीबीसीसँगको एक अन्तर्वार्तामा उनले भनेका छन्।

    आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको शपथ लिने तयारीमा रहेका नेता मुइज्जुले गत महिनाको निर्वाचनमा आफू विजयी भएको केही दिनमै भारतीय राजदूतलाई भेटी “यहाँ भएको हरेक भारतीय सैनिक हटाइनुपर्नेबारे स्पष्टसँग कुरा गरेको” बताएका छन्।

    माल्दिभ्समा लामो समयदेखि भारतीय प्रभाव रहँदै आएको छ र मुइज्जुको अडानले दुई देशहरूबीच कूटनीतिक तनाव उत्पन्न हुने सम्भावना देखिएको छ।
    गत महिना मुइज्जु निर्वाचित हुँदा भारतलाई ‘झड्का’ लागेको मानिएको थियो। उनका प्रतिद्वन्द्वी तथा सत्ताबाट हट्न लागेका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले सन् २०१८ मा सरकार सम्हालेदेखि नै आफ्नो देशलाई दिल्लीनिकट बनाएका थिए।

    मुइज्जुलाई समर्थन गरेको गठबन्धनले सोलिहको ‘भारत पहिले’ नीतिबाट बलियो बनेको माले र दिल्लीबीचको सम्बन्धलाई माल्दिभ्सको सार्वभौमिकता र सुरक्षामाथिको चुनौतीका रूपमा लिएको थियो।

    बरु उनको गठबन्धनले चीनसँगको निकट सम्बन्धलाई प्राथमिकता दिएको छ।

    चीनले माल्दिभ्समा पूर्वाधार एवं विकास आयोजनामा ऋण तथा अनुदानका रूपमा करोडौँ डलर लगानी पनि गरेको छ।

    हुन त हिन्द महासागरको मुख्य अंशमाथि निगरानीका लागि रणनीतिक महत्त्वको स्थानमा अवस्थित यस टापु राष्ट्रमा प्रभाव राख्न चाहने भारतले पनि माल्दिभ्सलाई करिब २ अर्ब अमेरिकी डलर विकास सहायता प्रदान गरेको छ।

    यदि भारतीय सेनालाई माल्दिभ्स छाड्न बाध्य पारियो भने त्यो दिल्लीमाथि एक धक्का हुनेछ।

    भारत सरकारले माल्दिभ्सलाई सन् २०१० र १३ मा ‘उपहार’का रूपमा प्रदान गरेको दुई वटा हेलिकप्टर र सन् २०२० मा दिएको एउटा सानो विमानमाथिको तत्कालिक प्रतिक्रियाले ‘इन्डिया आउट’ अभियानलाई ठूलो सहयोग पुर्‍याएको थियो।

    दिल्लीका अनुसार ती हेलिकप्टर तथा विमान खोज तथा उद्धार अभियान र चिकीत्सकीय प्रयोजनका लागि दिइएका थिए। तर ती हेलिकप्टर तथा विमानको सञ्चालन र मर्मतसम्भारका लागि भन्दै ७५ भारतीय सैनिक पनि माल्दिभ्समै बसेको सन् २०२१ मा माल्दिभ्सको सुरक्षा बलले जानकारी दिएको थियो।

    यसपछि भारतले सुराकीका लागि तिनलाई त्यहाँ राखेको र हेलिकप्टर तथा विमानलाई भारतीय सैनिकलाई त्यहाँ राख्ने बहानाका रूपमा मात्र प्रयोग गरिएको आशङ्का उत्पन्न भएको थियो। मानिसहरू यसप्रति क्रोधित थिए।

    मुइज्जु पनि यी सैनिकहरूको उपस्थितिले माल्दिभ्सलाई जोखिममा राख्ने बताउँछन्। विशेषतः भारत र पाकिस्तानबीच हिमाली क्षेत्रको सीमाबारे तनाव बढ्दा यस्तो जोखिम पनि बढ्न सक्ने उनको भनाइ छ।

  • नयाँ दिल्लीमा वायु प्रदुषण बढ्यो

    नयाँ दिल्लीमा वायु प्रदुषण बढ्यो


    काठमाडौं । भारतको राजधानी दिल्लीको वायु गुणस्तर कमजोर स्तरमा पुगेको र आगामी दिनमा यो अझै खराब हुन सक्ने अधिकारीहरूले बताएका छन्। वर्षभरि नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ।

    तर कृषि बालीको अवशेष बाल्ने प्रवृत्ति, हावाको कम गति र चाडपर्वमा पड्काइने पटकालगायतका कारणबाट यहाँको हावा जाडोयाममा अझ विषालु बन्ने गर्दछ।

    दूषित हावाले हरेक वर्ष दिल्लीवासीहरूमाझ गम्भीर स्वास्थ्य समस्या निम्त्याउने गर्दछ।
    सरकारी तथ्याङ्कअनुसार सोमवार त्यहाँको पीएम २.५ को स्तर ३०६ थियो।

    पीएम २.५ भनेको फोक्सोलाई ढाकेर धेरै थरी रोग उत्पन्न गराउने धुलोका कणहरूको मात्रा हो। यसको मात्रा १०१ देखि २०० सम्म हुनुलाई मध्यम मानिन्छ भने २०१ देखि ३०० सम्म हुनुलाई कमजोर। त्यसभन्दा बढी मात्रामा पीएम २.५ हुनु भनेको वायुको गुणस्तर “अत्यन्त कमजोर” हुनु हो भने ५०० भन्दा माथिको मात्रालाई “चरम” मानिन्छ।

    भारतको मौसम विभागका एक वैज्ञानिक भीके सोनीका अनुसार दिल्लीको वायुको गुणस्तर आगामी केही दिन अझै “अत्यन्त कमजोर” रहने अपेक्षा गरिएको छ।

    त्यहाँका बासिन्दाहरूले पनि विशेषतः बिहानीपख तुवाँलोबारे गुनासो गर्ने गरेका छन्।

    “दिल्लीको प्रदूषणको स्तर विगत १०-१२ दिनदेखि बढिरहेको जस्तो मलाई लागेको छ। हामी हाम्रो आँखामा त्यो महसुस गर्न सक्छौँ,” एक साइक्लिस्टले एएनआई समाचार संस्थालाई बताए।

    केही स्थानीयहरूले अहिले दिल्लीको प्रदूषण चक्रको सुरुवाती दिन मात्र आएको र सबैभन्दा खराब अवस्था आउनै बाँकी रहेको बताएका छन्।

    सरकारी तथ्याङ्कअनुसार सोमवार त्यहाँको पीएम २.५ को स्तर ३०६ थियो।

    पीएम २.५ भनेको फोक्सोलाई ढाकेर धेरै थरी रोग उत्पन्न गराउने धुलोका कणहरूको मात्रा हो। यसको मात्रा १०१ देखि २०० सम्म हुनुलाई मध्यम मानिन्छ भने २०१ देखि ३०० सम्म हुनुलाई कमजोर। त्यसभन्दा बढी मात्रामा पीएम २.५ हुनु भनेको वायुको गुणस्तर “अत्यन्त कमजोर” हुनु हो भने ५०० भन्दा माथिको मात्रालाई “चरम” मानिन्छ।

    भारतको मौसम विभागका एक वैज्ञानिक भीके सोनीका अनुसार दिल्लीको वायुको गुणस्तर आगामी केही दिन अझै “अत्यन्त कमजोर” रहने अपेक्षा गरिएको छ।

    त्यहाँका बासिन्दाहरूले पनि विशेषतः बिहानीपख तुवाँलोबारे गुनासो गर्ने गरेका छन्।

    “दिल्लीको प्रदूषणको स्तर विगत १०-१२ दिनदेखि बढिरहेको जस्तो मलाई लागेको छ। हामी हाम्रो आँखामा त्यो महसुस गर्न सक्छौँ,” एक साइक्लिस्टले एएनआई समाचार संस्थालाई बताए।

    केही स्थानीयहरूले अहिले दिल्लीको प्रदूषण चक्रको सुरुवाती दिन मात्र आएको र सबैभन्दा खराब अवस्था आउनै बाँकी रहेको बताएका छन्।
    बिबिसी

  • गाजामा जान थाल्यो सहायता सामग्री

    गाजामा जान थाल्यो सहायता सामग्री

    काठमाडौं । इजिप्टले रफाह सीमा नाका खोलेपछि सहायता सामग्री बोकेका ट्रकहरू गाजा प्रवेश गरेका छन् । इजरायलले १५ दिनदेखि गाजामा खाद्यान्न, पानी, बिजुली र अत्यावश्यक औषधिसमेत जान दिएको थिएन । इजरायलको नाकाबन्दीपछि गाजामा पुग्ने एकमात्र रफाह नाका इजिप्टले पनि बन्द गरेको थियो ।

    अमेरिकी राष्ट्रपति जो बाइडेन, चीन र संयुक्त राष्ट्र सङ्घको प्रयासमा इजिप्टले सङ्ख्या तोकेर ट्रक प्रवेश गर्न दिने गरी नाका खोलेको हो । आज शनिवार बिहानैदेखि ट्रक गाजा गइरहेका र मानवीय सहायता सामग्री ट्रकबाट झार्दै गरेको तस्बिर सार्वजनिक भएका छन् । इजिप्टले दैनिक जम्मा २० वटा ट्रक मात्रै प्रवेश गर्न दिने जनाएको छ । तर अहिलेको अवस्थामा गाजामा कम्तीमा दुई सय वटा ट्रक मानवीय सामग्री चाहिने राष्ट्र सङ्घले जनाएको छ ।

    गाजाका मानिसहरू खाना, पानी, बिजुली, लत्ताकपडा, अत्यावश्यक औषधि लगायतको चरम अभावमा छन् । अस्पतालको उपचार सेवा नै बन्द हुने अवस्थामा छ । संयुक्त राष्ट्र सङ्घीय निकायसँग सम्बद्ध जुलिएट टोमाले गाजामा पानी सकिएको र पानी खानै नपाएर मानिसको ज्यान जाने जोखिम रहेको चेतावनी दिएका छन् ।  उनले  गाजामा एक जना व्यक्तिले दैनिक दुई लिटर पनि पानी नपाएको बताए । गाजामा दैनिक २० ट्रक मानवीय सामग्री समुद्रमा झरेको पानीकाे थोपाजस्तै भएको एजेन्सीले जनाएको छ ।

  • अमेरिकाद्वारा हमासका १० सदस्य र आर्थिक सहजकर्तामाथि प्रतिबन्ध

    अमेरिकाद्वारा हमासका १० सदस्य र आर्थिक सहजकर्तामाथि प्रतिबन्ध

    वासिङ्टन । इजरायलमा हमाससमूहले अचानक गरेको आक्रमणपछि द्वन्द्व चर्किरहेका बेला अमेरिकी अर्थ मन्त्रालयले बुधबार हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

    गाजा, सुडान, टर्की, अल्जेरिया र कतारलगायत अन्य मुलुकका नागरिकलाई लक्षित गरी नयाँ प्रतिबन्ध लगाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।

    अमेरिकी अर्थमन्त्री जेनेट येलेनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘बालबालिकासहित इजरायली नागरिकको निर्मम र अकल्पनीय नरसंहारपछि अमेरिकाले हमासका वित्तदाता र सहजकर्तालाई लक्षित गर्न तीव्र र निर्णायक कदम चालिरहेको छ ।’

    हमासले गत अक्टोबर ७ मा इजरायलमा एक्कासी आक्रमण गर्दा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । इजरायलले युद्धको घोषणा गरेपछि र जवाफी हमला सुरु गरेपछि गाजामा करिब ३ हजार मानिसको मृत्यु भएको हमासका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने क्रममा उक्त प्रतिबन्ध लगाइएको हो ।

    येलेनले भने, ‘अमेरिकी अर्थमन्त्रालयले आतङ्कवादको वित्तपोषणलाई प्रभावकारी रूपमा अवरोध गरेको लामो इतिहास छ र हामी हमासविरुद्ध हाम्रा उपकरणहरू प्रयोग गर्न हिचकिचाउने छैनौं ।’

    उनले हमासले ‘ज्यादती’ गर्नका लागि आर्थिक सहयोग जुटाउने क्षमताबाट बञ्चित गर्न वासिङ्टनले आवश्यक सबै कदम चाल्ने बताएका छन् ।

    अमेरिकाले यसअघि पनि हमासलाई आतंकवादी सङ्गठन घोषणा गरिसकेको छ । अहिलेसम्म इरानी शासन र हमास र हिजबुल्लाहलगायतका समूहद्वारा आतङ्कवाद र आतङ्कवादी वित्तपोषणसँग सम्बन्धित करिब एक हजार व्यक्ति र संस्थाहरूलाई निशाना बनाइएको ट्रेजरीले जनाएको छ ।

  • विश्वकप क्रिकेट : उत्कृष्ट फर्ममा रहेको दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग स्तब्ध

    विश्वकप क्रिकेट : उत्कृष्ट फर्ममा रहेको दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग स्तब्ध

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको छ । गएराति धर्मशालामा भएको खेलमा दक्षिण अफ्रिका ३८ रनले नेदरल्याण्ड्सँग पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २ सय ७ रनमा अलआउट भयो ।
    दक्षिण अफ्रिकाका लागि डेभिड मिल्लरले सर्वाधिक ४३ रन जोडे भने केशव महाराजले ४०, हेनरिक क्लासेनले २८ रन जोडे । नेदरल्याण्ड्सका लागि लोगन भान विकले ३ विकेट लिए भने पल भेन मिकेरेन, रोलेफ भान डेर र बास डी लिडले २– २ विकेट लिए ।

    यस्तै, कोभिन एकरम्यानले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ४३ ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो । कप्तान स्कट एडवार्ड्सले ७८ रन अर्धशतकीय पारी खेले । यस्तै, रोलेफ भान डेरले २९ र आर्यन दत्त २३ रन जोडे ।

    दक्षिण अफ्रिकाका लुंगी एनगिदी, मार्को ज्यानसेन, कगिसो रबाडाले २–२ तथा जेराल्ड कोएत्जी र केशव महाराजले समान एक एक विकेट लिए । जारी प्रतियोगितामा नेदल्याण्ड्सको यो पहिलो जित हो । यसअघि दुई खेलमा दुवै खेल हारेर पुछारमा रहेको नेदरल्याण्ड्स यो जितसँगै २ अंक जोड्दै एक स्थान माथि उक्लिएको छ । श्रीलंका पुछारमा धकेलिएको छ । दक्षिण अफ्रिकाको भने यो पहिलो हार हो । यस अघिका दुई खेल जितेको दक्षिण अफ्रिका ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ ।

  • गाजामा एक अस्पतालमा रकेट आक्रमण, कम्तिमा ५ सय मारिए

    गाजामा एक अस्पतालमा रकेट आक्रमण, कम्तिमा ५ सय मारिए

    काठमाडौं । इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको छ । सो आक्रमणमा कम्तिमा ५ सय जना मारिएका छन् । उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको दावि गरेकाछन् । आक्रमणको आरोप हमासलाई नै लगाउँदै नेतन्याहुले भनेका छन्, ‘जसले हाम्रा बच्चाको क्रुरतापूर्वक हत्या गर्छन्, उनीहरुले आफ्ना बच्चाको पनि हत्या गर्दछन् ।’

    इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले अस्पतालमा आक्रमणको दोष इस्लामिक जिहादमाथि लगाएको छ । उसले भनेको थियो, ‘इजरायलमाथि थुप्रै रकेट प्रहार भएका थिए, त्यसैमध्येको एउटा रकेटले गाजाको अस्पताललाई निशाना बनाइयो । हामीसँग रहेको गुप्त सूचनाका अनुसार अस्पतालमा भएको रकेट आक्रमणका लागि इस्लामिक जिहाज आतंकवादी संगठन जिम्मेवार छ ।’

    अल-अहली अल-अरबी बाप्टिस्ट अस्पतालमा इजरायलको युद्धबाट विस्थापित भएकाहरूले आश्रय लिइरहेका थिए । उक्त आक्रमणमा परी ५०० जनाको मृत्यु भएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ । भग्नावशेष पन्छाएर शव निकाल्ने क्रम जारी छ ।

  • विश्वकप क्रिकेट : अष्ट्रेलियाको पहिलो जित

    विश्वकप क्रिकेट : अष्ट्रेलियाको पहिलो जित

    काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पहिलो जित हात पारेको छ । सोमबार लखउनमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो। श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित भयो।

    श्रीलंकाले दिएको २१० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५.२ ओभरमा पूरा गर्‍यो। अस्ट्रेलियाका लागि मर्कस स्टोइनिसले नटआउट २० रन र ग्लेन म्याक्सवेलले नटआउट ३१ रन जोडे। त्यसअघि मिचेल मार्सले ५२ रन र जोस इंग्लिसले ५८ रनको योगदान दिए। बलिङमा श्रीलंकाका दिलसान मधुसंकाले ३ विकेट लिए।

    टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४३.३ ओभरमा २०९ रनमा अलआउट भयो। श्रीलंका लागि ओपनरद्वय पाथुन निसंकाले ६१ रन र कुशल परेराले ७८ रन जोडे। दुईबीच पहिलो विकेटका लागि २१.४ ओभरमा १२५ रनको साझेदारी भयो। त्यसपछि भने श्रीलंका अरु ब्याटर चल्न सकेनन्। बलिङमा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिन सफल भए।

  • गाजामा ‘युद्धविराम’ इजरायलद्वारा अस्वीकार

    गाजामा ‘युद्धविराम’ इजरायलद्वारा अस्वीकार

    एजेन्सी । विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ। उत्तरी गाजाबाट दक्षिणतिर भाग्न स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्न इजराइली सेनाले वाचा गरेको छ। इजराइल, इजिप्ट र अमेरिकाबीच गाजा र इजिप्टको बीचमा रफाह पार गर्न विदेशी नागरिकलाई भाग्न र राहत सामग्रीहरू प्रवेश गर्न अनुमति दिन उक्त प्रवेशद्वार केही घन्टा खोल्न सहमत भएको समाचारहरूमा बताइएको थियो।

  • कंगोमा डुंगा डुब्दा कम्तिमा २८ जना मारिए, २६१ वेपत्ता

    कंगोमा डुंगा डुब्दा कम्तिमा २८ जना मारिए, २६१ वेपत्ता

    काठमाडौं । उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ । दुर्घटनास्थलको निरीक्षण गर्नुभएका डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले एक भिडियो वक्तव्यजारी गर्दै ‘गम्भीर अवस्था रहेको र दोषीहरूलाई कारबाहीका लागि कडाइका साथ निर्णय गरिने’ बताएका छन् ।

    प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुङ्गा कङ्गो नदीको बन्दरगाह शहर मबान्डाकाबाट शुक्रबार राति ३०० किलोमिटर भन्दा बढी दूरीमा रहेको बोलोम्बाका लागि छुटेको थियो । प्रत्यक्षदर्शीले सिन्ह्वालाई दिएको जानकारीअनुसार अत्यधिक भारका कारण डुङ्गा पल्टिएको तर डुङ्गामा सवार यात्रुको सङ्ख्या भने अज्ञात छ । विशेष गरी कङ्गो नदीमा अत्यधिक भार र डुङ्गाहरूको खराब अवस्था अधिकांश दुर्घटनाहरूको कारण हुनेगरेको छ । एजेन्सी

  • इजरायलको आक्रमणबाट मारिए हमासले नियन्त्रणमा लिएका १३ वन्धक

    इजरायलको आक्रमणबाट मारिए हमासले नियन्त्रणमा लिएका १३ वन्धक

    काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको ज्यान गएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले जनाएको छ । उत्तरी गाजा र गाजा सहरभित्र इजरायली आक्रमणमा परि विदेशी र इजरायलीको ज्यान गएको एक विज्ञप्तिमा भनिएको छ । उत्तरी गाजा पट्टीमा ६ जनाको र गाजा सहरका अन्य छुट्टाछुट्टै ठाउँमा सात जनाको ज्यान गएको दाबी गरिएको छ ।

    इजरायली सेनाले बिहीवार राति गाजा पट्टीमा भूमिगत सुरुङ, सैन्य परिसर र घरहरू, हतियार डिपोहरू तथा सञ्चार कक्षहरूसहित लगभग ७ सय ५० ठाउँ लक्षित आक्रमणको घोषणा गरेको छ । इजरायली सेनाको निर्देशन पछि गाजाको उत्तरी क्षेत्रका बासिन्दाहरु दक्षिणी गाजातर्फ लागेका छन् । इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा आक्रमण गर्ने भन्दै त्यहाँका झण्डै ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजामा जान निर्देशन दिएको थियो ।

    हमासले इजरायलमा आक्रमण गरेको आज एक हप्ता भएको छ । हमास र इजरायली सेनाबीच युद्ध चर्किँदै गएको छ । हमासको आक्रमणमा इजरायलतर्फ एक हजार ३ सयभन्दा धेरैको ज्यान गएको छ भने इजरायली सेनाको आक्रमणमा झण्डै एक हजार आठ सय जना प्यालेस्टिन मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन्।

  • हमासको आक्रमणमा इरानतर्फ किन सोझिएको छ प्रश्न ?

    हमासको आक्रमणमा इरानतर्फ किन सोझिएको छ प्रश्न ?

    काठमाडौं । गाजाक्षेत्र आसपासका इजरेली समुदायमाथि हमासले गरेको घातक आक्रमणमा इजरायलको शत्रु राष्ट्र इरानको संलग्नताबारे प्रश्न उठ्न थालेको छ । वालस्ट्रिट जर्नलमा प्रकाशित एक विवरणमा नाम उल्लेख नगरिएका हमासका र लेबननका गुरिल्ला हिजबुल्लाहका सदस्यलाई उद्धृत गर्दै इरानले एक साता अघि नै इजरायलमा आक्रमण गर्न अनुमति दिएको उल्लेख गरिएसँगै इरानमाथि प्रश्न उठ्न थालेको हो ।

    आक्रमण पछाडि इरानको हात देखिएमा यसले द्वन्द्वलाई क्षेत्रीय स्तरको द्वन्द्वमा विस्तार गर्नसक्ने बीबीसीले लेखेको छ । उक्त आक्रमणको प्रशंसा गर्न र त्यसमा हर्षोल्लास मनाउन इरानी नेताहरू अगाडि देखिए पनि उनीहरूले तत्कालै आफ्नो संलग्नता अस्वीकार गरेका छन् । इरानको भूमिकाबारेका आरोपहरू। राजनीतिक कारणबाट प्रेरित छन्, इरानको विदेश मन्त्रालयले भनेको छ।

    हमासका प्रवक्ता गाजी हमादले उक्त आक्रमणका लागि आफ्नो समूहलाई इरानबाट प्रत्यक्ष आड रहेको बीबीसीसँग बताएको बताइएको छ । इरानले प्यालेस्टाइन र जेरुसलेमको मुक्तिका लागि प्यालेस्टिनी लडाकुहरूको पक्षमा उभिने वाचा गरेको उनको भनाई छ ।

    अमेरिकाले हमास हमलापछाडि इरानको संलग्नताबारे अहिलेसम्म कुनै पनि प्रमाण नभेटिएको जनाएको छ। यद्यपि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले घटनाक्रमपछि पक्कै पनि लामो सम्बन्ध रहेको दाबी गरेका छन्। तेहरान वर्षौँदेखि हमासको प्रमुख आर्थिक दाताको रूपमा रहेको छ। उसले आर्थिक सहयोगका अतिरिक्त हमासलाई रकेट सहितका कैयौँ अस्त्रहरू पनि उपलब्ध गराउँदै आएको छ।

  • अतिक्रमिक नेपालको भूमिमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण, कुटनीतिक क्षेत्रमा तरंग

    अतिक्रमिक नेपालको भूमिमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण, कुटनीतिक क्षेत्रमा तरंग

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रको भ्रमण गरेसँगै कूटनीतिक क्षेत्रमा तरंग उत्पन्न भएको छ । यो क्षेत्र नेपालको नक्सामा समटिएको छ । तर, भारतले भने यसलाई आफ्नो भूमी ठान्दछ । भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास गाउँपालिका–१ स्थित कुटी, नावी, गुञ्जी क्षेत्रमा बिहीबार मोदी र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भ्रमण गरे ।

    हेलिकोप्टरबाट बिहानै कुटीको जोलिङकाङ हेलिप्याडमा उत्रिएका मोदीले त्यहाँस्थित पार्वतीकुण्डमा पूजापाठ र कैलाश मानसरोवरको दूरदर्शन गरे ।
    हेलिकोप्टरबाट साढे ८ बजे नेपाली भूमि कुटीस्थित जोलिङकाङ उत्रिएका उनले त्यहीँबाट मानसरोवरको दर्शन गरेका हुन् । भारतबाट अतिक्रमित अर्को बस्ती गुञ्जीमा उनले स्थानीयसँग छलफल गरेका थिए भने कुटी, नावी, गुञ्जीका साथै भारतका रोङकाङ, नपलच्यु, गर्ब्याङ गाउँका बासिन्दासँग भेटघाट गरे ।

    नेपाल र भारतका ६ वटै बस्तीका केही व्यक्तिसँग छुट्टै छलफल पनि गरेका थिए ।
    मोदीले कालापानीलगायत व्यास क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बलका अधिकारीसँग छलफल गरेका थिए । भारतको अल्मोडास्थित जागेश्वर धाममा पूजा गरेर पिथौरागढमा आयोजना गरिएको जनसभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री मोदीसँग उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।


    अतिक्रमित नेपाली भूमिमा भारतीय प्रधानमन्त्री आउँदा नेपाललाई भने आधिकारिक जानकारी थिएन । दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार भारतले कर्मचारी र नेताहरूको भ्रमणबारे जानकारी दिँदैन । प्रधानमन्त्री मोदीले बिहीबार भ्रमण गरेको अतिक्रमित भूमिमा नेपालीलाई भने प्रवेश निधेष छ । उक्त क्षेत्रका भारतीय नागरिकलाई पनि प्रशासनको अनुमतिबेगर जान मिल्दैन । मोदीको भ्रमणलाई लक्षित गरी भारतीय पक्षले सीमा क्षेत्रमा झन्डै १० दिनदेखि सुरक्षा जाँच बढाएको थियो ।

    भारतीय प्रशासनले साता दिनदेखि छियालेकभन्दा माथि जाने ‘बहुयात्रा’ अनुमतिपत्र दिन रोकेको थियो । ओमपर्वत र आदिकैलाश दर्शनका लागि भारतका विभिन्न ठाउँबाट दार्चुलापारिको धारचुला क्षेत्रमा पुगेर हजारौं भारतीय दर्शनार्थी रोकिएका छन् । धारचुलाबाट करिब ८० किलोमिटर उत्तरको छियालेकभन्दा माथि भारतीय प्रशासनको अनुमतिबेगर जान पाउँदैनन् ।

  • विश्वकप क्रिकेट : अफगानिस्तान विरुद्ध भारतको सानदार जित

    विश्वकप क्रिकेट : अफगानिस्तान विरुद्ध भारतको सानदार जित

    काठमाडौं । अफगानिस्तानमाथि भारतले सानदार जित निकालेको छ । कप्तान रोहित शर्माको कीर्तिमान शतकको मद्दतले भारतले आईसीसी विश्वकपमा बुधबार अफगानिस्तानमाथि ८ विकेटको जित निकालेको हो । जितका लागि २ सय ७३ रनको लक्ष्य पाएको भारत ३५ ओभरमा २ विकेट गुमाएर सजिलै जितसम्म पुगेको थियो । रोहितले ८४ बलमा आक्रामक १ सय ३१ रन बनाए ।

    यसै क्रममा उनी भारतका लागि विश्वकपमा सर्वाधिक सात शतक बनाउने ब्याटर बने । सचिन तेन्दुलकरले वान डे विश्वकपमा ६ शतक बनाएका छन् । रोहितको शतक विश्वकपमा भारतका लागि सर्वाधिक तीव्र गतिको पनि रह्यो । उनले ६३ बलमै शतक पूरा गरेका हुन् र यसक्रममा कपिल देवले सन् १९८३ मा ७२ बलमा बनाएको शतकलाई उछिने । उनले १६ चौका र ५ छक्का प्रहार गरे ।

    रोहितले पहिलो विकेटका लागि इसान किसनसँग मिलेर १ सय ५६ रनको साझेदारी गरे । किसनले ४७ रन बनाए । त्यसबाहेक नआउट दुई ब्याटरमा विराट कोहलीले पनि आफ्नो अर्धशतक पूरा गर्दै ५५ रन बनाए । यस्तै श्रेयर अयरले २५ रन जोडे ।

    त्यसअगाडि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो । त्यसमा दुई ब्याटरले अर्धशतकीय योगदान दिए । कप्तान हसमतुल्लाह साहिदीले ८८ बलमा ८० रन बनाए । उनले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै अजमतुल्लाह उमरजाईले ६९ बलमा ६२ रन जोडे । उनको ब्याटबाट २ चौका र ४ छक्का निस्केको थियो ।