Category: विश्व

  • म्यानमारको एक शिविरमा सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा २९ जना मारिए

    म्यानमारको एक शिविरमा सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा २९ जना मारिए

    काठमाडौं । उत्तरी म्यान्मारमा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा परी दर्जनौं घाइते भएको उक्त क्षेत्र नियन्त्रणमा लिएको जातीय विद्रोही समूहका एक प्रवक्ताले मंगलबार बताएका छन् । म्यान्मारको जुन्ता सरकारमाथि उसले सन् २०२१ मा गरेको कूविरुद्ध भएका प्रतिरोधलाई दबाउन नागरिक लक्षित रक्तपातपूर्ण आक्रमणहरू गरेको आरोप लगाइएको छ ।

    पछिल्लो आक्रमण स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे भएको कचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) का कर्णेल नाव बुले बताए । ‘बालबालिकासहित २९ शव फेला परेको छ, ५६ जना घाइते भएका छन्, शिविरमा कस्तो प्रकारको हमला भएको थियो भन्नेबारे अनुसन्धान गरिरहेको जानकारी दिँदै उनले भने, ‘हामीले कुनै विमानको आवाज सुनेनौँ ।’

    सेनाले चीनको सीमामा रहेको लाइजा सहर नजिकै रहेको शिविरमा ड्रोन हमला गरेको हो कि भन्नेबारे पत्ता लगाउन खोजिरहेको पनि उनले बताए । स्थानीय सञ्चारमाध्यमहरूले हमलापछि काठका भग्नावशेषहरूबाट शव निकाल्न उद्धारकर्मीहरूले टर्चलाइटको प्रयोग गरेको तस्बिर देखाएका छन् । तस्बिरमा जमिनमा तौलिया र त्रिपाल राखेर कम्तीमा १० जनाको शव देखाइएको थियो । कर्णेल नाव बुले लियाजा नजिकैको अस्पतालमा ४२ जनाको उपचार भइरहेको जानकारी दिए ।


    सेनाले सन् २०२१ मा आङ सान सु कीलाई सत्ताबाट हटाएयता कचिन राज्यमा १० हजारभन्दा बढी मानिस विस्थाति भएका छन् । सन् २०२१ मा भएको सैन्य विद्रोहको व्यापक विरोध भएको र यसमा असहमति असहमति सेनाले राख्नेमाथि रक्तपातपूर्ण कारबाही गरेका छ । राजनीतिक बन्दीहरूका लागि सहयोगी संस्था ९एएपीपी० का अनुसार सैन्य कारबाहीमा दसौँं हजार गिरफ्तार भएका छन् भने चार हजार एक सय मारिएका छन् ।

  • विश्वकप क्रिकेट : न्यूजिल्याण्डको लगातार दोस्रो दिन

    विश्वकप क्रिकेट : न्यूजिल्याण्डको लगातार दोस्रो दिन

    काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको छ। सोमबार न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हराउँदै जारी विश्वकपमा लगातार दोस्रो जित निकालेको हो। हैदरावादस्थित राजीव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डले दिएको ३२३ रनको फराकिलो लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६.३ ओभरमा अल-आउट हुँदै २३३ रनमा समेटियो।

    नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले सर्वाधिक ६९ रन बनाए। उनले ७३ बलमा ५ चौका प्रहार गरे। कप्तान स्कट एडवार्ड्सले २७ बलमा २ चौका र एक छक्कासहित ३० रन बनाए। सिब्रान्ड एंगलब्रेक्टले २९, तेजा निदमनुरू २१ बास दे लिड्स १६ र विक्रमजित सिंह १२ रन बनाएर आउट भए। बलिङमा न्युजिल्यान्डका मिचेल सान्तनरले सर्वाधिक ५ विकेट लिए। म्याट हेनरीले ३ र रचिन रवीन्द्रले एक विकेट लिए।

    पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पूरा ५० ओभर खेलेर ७ विकेटको क्षतिमा ३२२ रन बनाएको थियो। न्युजिल्यान्डका लागि विल योङले ८० बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७० रन बनाए। कप्तान टम लाथमले ४६ बलमा ६ चौका र एक छक्कासहित ५३ रन बनाए। ५१ बल खेलेका रचिन रवीन्द्रले ३ चौका र एक छक्कासहित ५१ रन बनाए।

    त्यस्तै डेरिल मिचेलले ४७ बलमा ५ चौका र २ चक्कासहित ४८ रनको योगदान गरे। मिचेल सान्तनरले ३६, डेभन कनवेले ३२ र म्याट हेनरीले १० रन जोडे। न्युजिल्यान्डले यसअघि विश्वकपको उद्घाटन खेलमै साविक विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो। नेदरल्यान्ड्स पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। विश्वकपमा भोलि इंग्ल्यान्ड र बंगलादेश तथा पाकिस्तान र श्रीलंकाबीच खेल हुनेछ।

  • हमास-इजरायल युद्धको असर : ४ प्रतिशतले बढ्यो कच्चा तेलको मूल्य

    हमास-इजरायल युद्धको असर : ४ प्रतिशतले बढ्यो कच्चा तेलको मूल्य

    काठमाडौं । शनिबारदेखि सुरु भएको हमास–इजरायल युद्धको असर कच्चा तेलको मूल्यमा देखिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ४ प्रतिशतसम्मले बढेको छ ।

    आयल प्राइस डटकमका अनुसार सोमबार विश्व बजारमा कच्चा तेलको भाउ २ देखि ४ प्रतिशतसम्म बढेको छ । सोमबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ ३.३३ प्रतिशतले बढेर प्रतिब्यारेल ८७.४० डलर पुगेको छ ।

    त्यस्तै, ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ ३.६१ प्रतिशतले बढेर प्रतिब्यारेल ८७.४० डलर पुगेको छ । यसैगरी, मुर्बान क्रुड आयलको भाउ ३.८९ प्रतिशतले बढेर प्रतिब्यारेल ८९.४७ डलर पुगेको छ भने अन्य अधिकांश क्रुडआयको भाउ पनि बढेको छ ।

    हमास इजरायल युद्ध लम्बिए कच्चा तेल उत्पादन र ढुवानीमा समेत असर पर्ने सक्ने भएकाले भाउ ह्वात्तै बढेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । इजरायलले हमास विरुद्ध युद्धको घोषणा गरेको छ । जसले गर्दा तत्कालै यो युद्ध मत्थर हुने देखिँदैन ।

    युद्धका कारण विश्वमा तेल निर्यात हुने प्रमुख मार्ग ‘स्ट्रेट अफ हर्मुच’ प्रभावित भए त्यसले थप संकट निम्त्याउने जानकारहरुले बताएका छन् ।

    सन् २०२२ को फेब्रुअरीमा रसिया–युक्रेन युद्ध सुरु भएसँगै विश्व बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो । त्यसको केही महिनापछि विस्तारै ओरालो लागेको तेलको भाउ प्रतिब्यारेल ७२ डलरसम्म झरेको थियो भने अप्रिलदेखि फेरि उकालो लागिरहेको छ ।

  • अफगानिस्तानमा गएको भूकम्पका परी मृत्यु हुनेको संख्या २ हजारमाथि

    अफगानिस्तानमा गएको भूकम्पका परी मृत्यु हुनेको संख्या २ हजारमाथि

    काठमाडौं । अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परी २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको तालिबान सरकारले पुष्टी गरेको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मोजाहिदका अनुसार भूकम्पमा परी २ हजार ५३ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४० जना घाइते भएका छन् । यस्तै १ हजार ३ सय २० घर पूर्ण तथा आशंका रूपमा भत्किएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने तालिबान सरकारले आशंका गरेको समाचार संस्था सीएनएनले उल्लेख गरेको छ ।

    इरानको सीमानजिकै रहेको पश्चिमी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा पर्छ । प्रवक्ता मोजाहिदका अनुसार उद्धार टोली हेरात पुगेको छ । यस्तै, खाद्यान्न, पानी, औषधि र लत्ताकपडा पनि घटनास्थलतर्फ पठाइएको छ । भूकम्पले हेरात सहर नजिकका १२ गाउँमा क्षति पुर्‍याएको अनुमान गरिएको छ । उद्धार टोलीले भग्नावशेषमा खोजी कार्य जारी राखेको तालिबान सरकारले जनाएको छ ।

  • हमास र इजरायलबीच आज पनि भिडन्त जारी

    हमास र इजरायलबीच आज पनि भिडन्त जारी

    काठमाडौं । प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण सुरु गरेको दोस्रो दिन आइतबार दक्षिण इजरायलका विभिन्न सीमा क्षेत्रमा हमास र इजरायली सेनाबीच भिडन्त भएको छ । हमासको आक्रमणयता आइतबार साँझसम्म कम्तीमा ४ सय इजरायलीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

    दर्जनौं इजरायलीलाई बन्धक बनाइएको छ । यस्तै, इजरायलको जवाफी कारबाहीमा परी गाजा क्षेत्रमा ३ सय १३ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएको प्यालेस्टिनी अधिकारीले जनाएका छन् । इजरायलको सुरक्षा परिषद्ले औपचारिक रूपमा ‘युद्ध स्थिति’ को घोषणा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    यो घोषणापछि सरकारलाई महत्त्वपूर्ण सैन्य गतिविधि गर्न अनुमति मिलेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रका स्थानीयलाई विस्थापित हुन चेतावनी दिँदै उक्त क्षेत्रलाई ‘निर्जन स्थल’ का रूपमा बदल्ने घोषणा गरेका छन् ।

    प्यालेस्टाइन समर्थित विद्रोही समूह हमासले शनिबार इजरायलतर्फ मिसाइल आक्रमण गरेको थियो । त्यसयता प्यालेस्टाइन र इजरायलबीच फेरि युद्ध चर्किएको हो । यसबीच लेबनानस्थित विद्रोही समूह हिजबुल्लाह पनि यस युद्धमा जोडिएको छ । इजरायल नियन्त्रित सिब्बामा आइतबार हिजबुल्लाहले मोर्टार आक्रमण गरेको हो ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमाथि हमासको आक्रमणको निन्दा गरेका छन् । हमासद्वारा ठूलो संख्यामा इजरायलीमाथि अपहरण र आक्रमण भएको घटनाले आफू स्तब्ध भएको गुटेरेसले जनाएका छन् । अपहरण गरिएका सबैलाई तत्काल रिहा गर्न पनि उनले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई चाहिने सबै उपयुक्त सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् । इजरायली प्रधानमन्त्री नेतान्याहुलाई टेलिफोन गर्दै उनले इजरायली सरकार र जनतालाई सहयोग गर्न अमेरिका तयार रहेको बताएको टाइम्स अफ इजरायलले जनाएको छ ।

    सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई ‘भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानी’ का रूपमा लिँदै आएको छ ।

    यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रूप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २ हजार २ सय ५१ प्यालेस्टिनी मारिएका थिए । तीमध्ये १ हजार ४ सय ६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

    पछिल्लो पटक २०२२ अगस्टमा इजरायली सेनाले प्यालेस्टिनी विद्रोही अखडामा हवाई आक्रमण गर्दा ४४ जनाको मृत्यु भएको थियो । प्यालेस्टिनी विद्रोही समूहले १ हजारभन्दा बढी रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको थियो । त्यसअघि सन् २०२१ मा रमदानकै महिना इजरायल–प्यालेस्टाइन द्वन्द्व चर्किएको थियो ।

    ११ दिनसम्म लम्बिएको हिंसात्मक द्वन्द्वमा गाजा क्षेत्रका २ सय ५० जना र इजरायलका १३ जना मारिएका थिए । इजिप्टबाट कब्जामा लिएको ३८ वर्षपछि इजरायली सेना गाजाबाट एकतर्फी हटेको थियो । त्यस क्षेत्रलाई उसले प्यालेस्टाइनलाई छाडिदिएको थियो । त्यसयता कैयौं पटक इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किंदै आएको छ ।

  • इजरायलमा प्यालेस्टाइन द्धन्द्ध : दुई दिनमै एक हजार मानिस मारिए

    इजरायलमा प्यालेस्टाइन द्धन्द्ध : दुई दिनमै एक हजार मानिस मारिए

    काठमाडौं । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमण र इजरायलको जवाफी आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या झण्डै एक हजार पुगेको छ । इजरायलमा मात्र छ सय जनाभन्दा धेरैको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा छ सय जनाभन्दा धेरैको ज्यान गएको इजरायली अधिकारीले बताएका हुन् । एक सय जना विद्रोहीको अपहरणमा परेका र दुई हजार जनाभन्दा धेरै घाइते भएका इजरायलको सरकारले जनाएको छ ।

    इजरायली सेनाले पनि जवाफी कारबाहीमा तीन सय ७० जना प्यालेस्टिनीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजामा दुई हजार दुई सय जनाभन्दा धेरै घाइते भएका छन् । हिजो बिहान हमास विद्रोहीले इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ । दुवै पक्षबाट क्षेप्यास्त्र प्रहारसहित स्थलमार्गबाट गोलावारी भइरहेको बीबीसीले जनाएको छ ।

    यसैबीच इजरायली सेनाले गाजाको सीमा नजिकका शहरहरूमा बस्ने सबै बासिन्दालाई आउँदो २४ घण्टाभित्र अन्यत्र सार्ने बताएको छ । प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको सेनाले जनाएको छ । यस्तै हिजबुल्लाह समूहले तीन वटा इजरायली चौकीमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले लेबनानमा पनि आक्रमण शुरु गरेको छ ।

    इजरायल–प्यालेस्टिन युद्धलाई लिएर आज आइतवार संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्दै छ । अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई सबै खाले माध्यमबाट सहयोग गर्ने प्रस्ताव गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासका सबै सैन्य तथा सरकारी क्षमतालाई नष्ट गर्ने चेतावनी दिएका छन् । उनले गाजाका बासिन्दालाई आफ्नो घर छोडेर शरण लिन भनेको समेत बीबीसीले जनाएको छ । इजरायलले गाजा क्षेत्रमा विद्युत्, इन्धन र सामानको आपूर्ति बन्द गरेको छ ।

  • इजरायलले प्यालेष्टाइनमा प्रतिकर्मण आक्रमण गर्ने, सर्वसाधारणलाई भाग्न चेतावनी

    इजरायलले प्यालेष्टाइनमा प्रतिकर्मण आक्रमण गर्ने, सर्वसाधारणलाई भाग्न चेतावनी

    काठमाडौं\बीबीसी । इजरायलले गाजामा बसिरहेका मानिसहरूलाई शनिवार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै घर छाड्न चेतावनी दिएको छ। हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरायलले दिएपछि गाजाका मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेका छन्।
    दक्षिण इजरायलमा साइरनका आवाज सुनिएका छन्। हमासले आफूले इजरायलको एसकलोन शहरमा एक सयवटा रकेट प्रहार गरेको जनाएको छ। इजरायली सेनाले देशभित्रका कैयौँ ठाउँमा लडाइँ चलिरहेको बताएको छ। इजरायलले हमासको आक्रमणमा ३०० भन्दा बढी मानिस मारिएको जनाएको छ। गाजामा ज्यान गुमाउनेको सङ्ख्या २३० भन्दा बढी पुगेको छ।


    इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै गाजामा इजराययले विद्युत, इन्धन र सामानहरूको आपूर्ति बन्द गर्ने जनाइएको छ। इजरायली अधिकारीहरूले बिजुली काटिदिएपछि शनिवार राति नै गाजा अन्धकार बनेको थियो। इजिप्टसहित इजरायलले सुरक्षाको कारण देखाउँदै सन् २००७ यता गाजा स्ट्रिपमा नाकाबन्दी लगाएको छ।

    इजरायलले गाजामाथिको हवाई क्षेत्र र त्यहाँको तटीय क्षेत्रमा पनि नियन्त्रण कायम राखेको छ र उसले सीमाबाट के समान लैजान दिने या नदिने निर्धारण गर्छ। गाजाबाट प्रहार गरिएका रकेट निस्तेज पार्न इजरायलले डोम एन्टी मिसाइल प्रविधिको प्रयोग गर्दै आएको छ

    इजरायली सेना र हमास विद्रोहीहरूबीच लडाइँ जारी रहँदा प्रधानमन्त्री नेतान्याहुले आफ्ना नागरिकहरूलाई एउटा ‘लामो र अप्ठेरो युद्ध’ मा प्रवेश गरिएको बताए। उनले ‘हमासले गरेको नृशंस आक्रमणले युद्ध थोपरिदिएको’ भन्दै केही घण्टामा पहिलो चरणको लडाइँ समाप्त हुने र त्यसमा इजरेली भूमिमा रहेका अधिकांश विद्रोहीहरू समाप्त पारिने बताए। हमासले इजरायलको दक्षिणी क्षेत्रमा शनिवार घुसपैठ गरेको थियो र त्यसयता उसले ३०० भन्दा बढीको हत्या गरेको छ।

    इजरायली जबाफी हवाई हमलामा २३० जना भन्दा बढीले ज्यान गुमाएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। ती आक्रमणमा १,००० भन्दा बढी मानिस घाइते भएका छन्। इजरायली सेनाले उल्लेख्य रूपमा आफ्ना नागरिक र सैनिकलाई बन्धक बनाइएको उल्लेख गरेको छ। त्यसमा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरू रहेको उसको भनाई छ।

    एक जना सैनिक प्रवक्ताले कतिपय जीवितै रहेको र कतिपय मारिएको हुनसक्ने बताए। यसैबीच संयुक्त राज्य अमेरिकाको हवाई सेवा नियामक निकायहरूले इजरायली हवाई क्षेत्रमा उडान भर्दा ‘एकदमै सावधानी’ अपनाउन अमेरिकी वायुसेवा र विमान चालकहरूलाई अनुरोध गरेको छ। अमेरिकी विदेश मन्त्रालयले पनि इज्रायलमा रहेका आफ्ना नागरिकलाई चनाखो हुन र सुरक्षा बढाउन भनेको छ।

    बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोवेनका अनुसार पुस्तौँपछि सीमापारिबाट आफूले भोगेको सबैभन्दा गम्भीर आक्रमणलाई लिएर इजरायल आश्चर्यमा परेको थियो। उनका अनुसार महिनौँदेखि प्यालेस्टिनी सशस्त्र समूह र इजरेलबीच तनावले विस्फोटक रूप लिन सक्ने जोखिम प्रस्ट देखिएका थिए। इजरायल र प्यालेस्टिनीहरूको तनाव वेस्ट ब्याङ्कमा केन्द्रित थियो जून भूगोल जेरुसलेम र जोर्डनको बीचमा पर्छ। उक्त भूमि इजरेलले सन् १९६७ यता अधीनस्थ गरेको छ र त्यहाँ वर्षभरि हिंसा र मुठभेड भएका थिए।

    सशस्त्र प्यालेस्टिनीहरूले इजरेली सैनिकहरू र त्यहाँ बसेका यहुदीहरूलाई आक्रमण गरेका र इजरेली सेनाले कैयौँ कारबाही गरेका विवरणहरू आएका थिए। तर कसैले पनि हमासले गाजा भन्दा बाहिर यस्तो जटिल र संयोजित कारबाही गर्ला भन्ने नठानेको बीबीसीका अन्तर्राष्ट्रिय मामिला सम्पादक बोवेन बताउँछन्। एक जना हमासका कमान्डर मोहमद डिफले उक्त समूहलेअति भनेको अति हो भन्न चाहेको बताएका छन्।

  • एसियाली खेलकुदका प्रतियोगिता सकिए, चीनले जित्यो कीर्तिमानी २०१ स्वर्ण

    एसियाली खेलकुदका प्रतियोगिता सकिए, चीनले जित्यो कीर्तिमानी २०१ स्वर्ण

    काठमाडौं । आयोजक चीनले १९औं एसियाली खेलकुद (एसियाड)मा कीर्तिमानी २०१ स्वर्ण जितेको छ । चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनाएको हो । यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो । आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हान्झाउमा जारी १९औं एसियाडको सबै खेलको स्पर्धा सकिएको छ ।

    जसमा चीनले सर्वाधिक २०१ स्वर्ण १११ रजत र ७१ कांस्यहसित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । चीनले अन्तिम दिन आइतबार आर्टिस्टिम स्विमिङमा स्वर्ण जित्दै कुल २०१ स्वर्ण जितेको हो । यस्तै जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो । यस्तै भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत ४१ कांस्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो ।

    एक रजत र एक कांस्य जितेको नेपाल २ पदकसहित संयुक्त रुपमा ३३औं स्थानमा रह्यो । २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा पनि नेपाल ३३औं स्थानमा थियो । यस पटक एसियाको ४५ राष्ट्र सहभागी भएकोमा ४१ राष्ट्रले पदक जितेका थिए । साउथ एसियन राष्ट्र भुटान र माल्दिभ्स, यमन र टिमोर लिस्टेले भने कुनै पदक जित्न सकेन । अहिलेसम्मकै ठूलो एसियडमा ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडी सहभागी थिए । उनीहरुले ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

    जसमा चीनकी पौडीबाट युफेई झाङले सर्वाधिक ६ स्वर्ण जितेकी थिइन् । झाङसहित पाँच स्वर्ण र एक रजत जितेका चीनकै हाइयाङ क्विन १९औं एसियाडको मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भए । १९औं एसियाडको समापन समारोह आइतबार बेलुका हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा रहेको बिग लोटस स्टेडियममा हुनेछ ।

    समापन समारोह स्थानीय समय अनुसार बेलुका ८ बजे सुरु हुनेछ । समापन समारोहमा चिनियाँ प्रधानमन्त्री लि छ्याङ उपस्थित हुने कार्यक्रम छ । समापन समारोहमा रजत विजेता नेपाली कराते खेलाडी एरिका गुरुङले नेपालको झण्डा बोक्नेछिन् ।

  • सिक्किममा बाढीका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो

    सिक्किममा बाढीका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो

    काठमाडौं । उत्तरी सिक्किमको ल्होनाक हिमताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । १८ सैनिकसहित ७८ जना अझै बेपत्ता छन् । बिहीबार साँझसम्म १८ जनाको मृत्यु राज्य सरकारले पुष्टि गरेको थियो । प्रहरी, सेना सहितको उद्धार टोलीले थप २० शव फेला पारेको हो । धेरैजसो शव बंगलादेश सीमा क्षेत्रमा फेला परेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ ।

    बाढीले बगाएर पश्चिम बंगालको तल्लो भेट बंगलादेशको सीमा नजिक पुर्‍याएका शवहरु पनि उद्धार गरिएको छ । बेपत्तामध्ये ४ जना सैनिकको शव बंगलादेश सीमा नजिक फेला परेको थियो । बाढीमा १८ भारतीय सैनिक अझै बेपत्ता छन् । भारतीय सैनिकको गोताखोर टोलीले बेपत्ता सैनिकको खोजी जारी राखेको छ । हाल वर्षा रोकिएको र पानीको सतह कम हुँदै गएकाले खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ ।

  • फ्रान्समा उडुस आतंक, स्वास्थ्य र सुरक्षामा प्रश्न

    फ्रान्समा उडुस आतंक, स्वास्थ्य र सुरक्षामा प्रश्न

    काठमाडौं । फ्रान्सको राजधानी पेरिस र अन्य सहरमा उडुसको प्रकोप बढेको छ । यसले आगामी वर्ष आयोजना हुन लागेको ओलिम्पिक्ससँग जोडेर स्वास्थ्य र सुरक्षाबारे प्रश्न उठ्न थालेको छ। बीबीिसीका अनुसार विगत केही सातामा उडुस फेला पर्ने क्रम बढेको छ। फ्रान्समा केही वर्षदेखि नै उडुस फैलिन थालेको पाइन्छ।

    प्रत्येक वर्ष गर्मी यामको उत्तरार्धतिर हामी उडुसको सङ्ख्या बढेको देख्छौँ, मार्सेको मुख्य अस्पतालमा कार्यरत कीटविज्ञ जाँ-मिशेल बेरेन्जर भनेका छन् । मानिसहरू जुलाई र अगस्ट महिनामा बाहिर जान्छन् र आफ्ना सामानमा उडुस लिएर फर्किने उनले बताए । प्रत्येक वर्ष हुने यस्तो मौसमी वृद्धि अघिल्लो वर्षको भन्दा बढी हुने समेत उनले बताए ।

    पेरिसमा फ्ल्याटमा बस्ने मानिसहरू लामो समयदेखि उडुसको त्रासमा छन्। विगत पाँच वर्षमा १० जनामध्ये एक जनाले उडुसको प्रकोप खेपेको सरकारी तथ्याङ्क छ। अहिले उडुस फैलिन सक्ने नयाँ सम्भावित स्रोतका कारण मानिसहरू तनावमा परेका छन्।

    सिनेमाघरमा पनि उडुस देखिएको विवरण प्रकाशित भएको छ। पुष्टि हुन नसके पनि त्यसलाई गम्भीरतापूर्वक लिइएको छ। मानिसहरूले आफूलाई उडुसले रेलमा पनि टोकेको दाबी गरेका छन्। अहिले पेरिसको स्थानीय प्रशासन र राष्ट्रपति माक्रोँको सरकारले उडुस नियन्त्रणका लागि उचित काम गर्न आह्वान गरेको छ।

    त्यसबाट उडुसको प्रकोप तथा ओलिम्पिक्स खेल आयोजना हुन लागेका बेला पेरिसको छविप्रति फ्रान्स कति गम्भीर छ भन्ने देखिन्छ। सामाजिक सञ्जालमा उडुस आतङ्कबारे निकै चर्चा हुने गरेको छ। तर प्रशासन त्यसलाई बेवास्ता गर्ने पक्षमा छैन। सिनेमाघरको कुर्सीमा अज्ञात कीरा देखिने भिडिओहरू सामाजिक सञ्जालमा फैलिएपछि सिनेमा हेर्न जाने मानिसको सङ्ख्या घट्न थालेको छ। मेट्रोमा पनि मानिसहरूले बस्नुअघि सीटमा केही पो छ कि भनेर हेर्न थालेका छन्। केही मानिस भने उठ्न नै रुचाउँछन्।

  • विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो

    विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो

    काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्युजिल्याण्ड विजयी भएको छ। भारतको अहमदावादस्थित नरेन्द्र मोदो स्टेडियममा गएराति सकिएको उद्घाटन खेलमा साविक विजेता इंग्ल्याण्डमाथि न्युजिल्याण्डले ९ विकेटको सानदार जित निकालेको हो। इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्याण्डले ८२ बल बाँकी छँदै एक विकेटको क्षतिमा पूरा गरेको थियो। न्युजिल्याण्डको जितमा डेभन कनवे र रचिन रविन्द्रले उत्कृष्ट साझेदारी खेले।


    कनवेले १२१ बलमा १९ चौका र ३ छक्का प्रहार गर्दै १५२ रन बनाए भने रविन्द्रले ९४ बलमा ११ चौका र ५ छक्कासहित १२३ रन बनाए। उनीहरूले २७५ रनको साझेदारी गरे। एकदिवसीय इतिहासमा यो चौथो ठूलो साझेदारी हो। खेलमा ओपनर विल योङ पहिलो बलमै आउट भएका थिए। न्युजिल्याण्डका साम कुरानले उनलाई जोस बट्लरबाट क्याच आउट गराए। न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो।

    इंग्ल्याण्डका लागि जो रूटले सर्वाधिक ७७ रन बनाए। उनले १४० बलमा ४ चौका र १ छक्का हाने। त्यस्तै कप्तान जोस बट्लरले ४३, ओपनर जोनी बैर्स्टोले ३३, लियम लिभिङस्टोनले २०, ह्यारी ब्रुकले २५, साम कुरानले १४, मोइन अलीले ११ डेविड मलानले १४ र आदिल रसिद र मार्क उडले नटआउट १५ र १३ रन बनाएको थियो।

    बलिङमा न्युजिल्याण्डका म्याट हेनरीले ३, मिचेल सान्तनर र ग्लेन फिलिप्सले २र२ र ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले १र१ विकेट लिए। अघिल्लोपटक न्युजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्डले विश्वकपको उपाधि जितेको थियो। यसपटकको उद्घाटन खेलमै साविक विजेतालाई पराजित खर्दै न्युजिल्याण्डले सुखद सुरूवात गरेको छ। विश्वकपमा आज पाकिस्तान र नेदरल्याण्ड खेल्दैछन्।

  • यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका लेखकलाई

    यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका लेखकलाई

    काठमाडौं । यस वर्षको नोबेल साहित्य पुरस्कार नर्वेली लेखक योन फसलाई दिइने भएको छ । बिहीबार रोयल स्विडिस एकेडेमीले एक समारोहबीच यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फोसलाई दिने घोषणा गरेको हो । एकेडेमीले लेखक फसलाई नभनिएका वा भन्न नसकिने कुरालाई प्रयोगात्मक नाटक तथा गद्यबाट आवाज दिएका कारण नोबेल साहित्य पुरस्कार दिइएको जनाएको छ ।

    एकेडेमीका अनुसार फसको शैलीलाई फस मिनिमलिज्म भनेर समेत चिनिने गरेको छ । वेकफुलनेस, मेलांकोलिया, मेलांकोली, सेप्टोलोजीलगायतका फसका चर्चित पुस्तक हुन् । एकेडेमीले फसको लेखनशैलीको प्रशंसा गर्दै भनेको छ, योन फस दैनन्दिनका यस्तो अवस्था प्रस्तुत गर्छन् कि जुन तत्काल नै हाम्रो जीवनबाट पहिचान हुन्छ ।

    नोबेल साहित्य पुरस्कार विजेताले १ करोड १० लाख स्विडिस क्रोनर(९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कार राशिमा १० लाख स्विडिस क्रोनर बढाइएको हो । गत वर्ष फ्रान्सेली लेखक यानी अर्नोलाई नोबेल साहित्य पुरस्कार दिइएको थियो । नोबेल कमिटीले लेखकीय साहसका लागि अर्नोलाई साहित्य पुरस्कार दिएको बताएको थियो ।


    साहित्यमा पहिलो नोबेल पुरस्कार भने सन् १९०१ मा फ्रान्सेली साहित्यकार सुली प्रुधोमलाई प्रदान गरिएको थियो । यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ । पछिल्लो समय नानोटेक्नोलोजी टुलबक्स का लागि महत्त्वपूर्ण भूमिका खेल्ने क्वान्टम डट खोजी गर्ने तीन जना वैज्ञानिक मौंगी जी बावेन्डी, लुई ई ब्रस र अलेक्सेई आई इकिमोभलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ ।

    त्यस्तै यस वर्ष सुक्ष्म समय पत्ता लगाउने प्रकाशसम्बन्धी प्रायोगिक विधिका लागि तीन जना वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । त्यस्तै कोरोना भाइरसविरुद्धको एमआरएन खोप विकासका लागि तीन वैज्ञानिकले चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाउने भएका छन् । यस वर्षको शान्तितर्फको नोबल पुरस्कार अक्टोबर ६ र अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर ९ मा घोषणा हुनेछ ।

  • संयुक्त राष्ट्रसघंका महासचिव गुटर्रेस नेपाल भ्रमणमा आउँदै

    संयुक्त राष्ट्रसघंका महासचिव गुटर्रेस नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउने भएका छन् । गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका भ्रमणमा गएका बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।


    प्रधानमन्त्री ‘प्रचण्ड’ ले मङ्गलबार नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसले नेपाल भ्रमण गर्न लागेको जानकारी गराएका हुन् । उनी असोज २६ मा नेपाल आउने तयारी छ । नेपालको शान्ति प्रव्रिmयालगायत अन्य विविध विषयमा महत्वपूर्ण छलफल हुने समेत बताइएको छ । असोज २६ गतेदेखि तीन दिन महासचिव गुटर्रेस नेपालमा रहने भएका छन् ।

  • सूक्ष्म कालखण्ड पत्ता लगाउने तीन वैज्ञानिकले पाउने भए भौतिक शास्त्र तर्फको नोवेल पुरस्कार

    सूक्ष्म कालखण्ड पत्ता लगाउने तीन वैज्ञानिकले पाउने भए भौतिक शास्त्र तर्फको नोवेल पुरस्कार

    काठमाडौं । यो वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार सूक्ष्म कालखण्ड पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि तीन वैज्ञानिकले पाउने भएका छन्। ती वैज्ञानिकहरू पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन लुहुलिए हुन्। नोबेल पुरस्कार समितिका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रक्रिया पत्ता लगाएकोमा उनीहरूलाई पुरस्कृत गर्न लागिएको हो। एक एटोसेकन्ड भनेको एक सेकन्डको १,०००,००,०००,००,०००,००,०००औँ भाग हो। विजेताहरूले संयुक्त रूपमा एक करोड स्वीडिश क्रोनर (आठ लाख अमेरिकी डलर) पाउने छन्।

    यसअघि सोमवार नोबेल पुरस्कार समितिले चिकित्साशास्त्रतर्फ कोभिड(१९ विरुद्ध एमआरएनए खोप बनाउन बाटो खोलिदिने प्रविधि विकसित गर्ने दुई वैज्ञानिकलाई सम्मानित गर्ने घोषणा गरेको थियो। उनीहरू वैज्ञानिक काटालिन कारिको र ड्रू भाइस्मान हुन्। कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो।

    तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो। अहिले अरू रोग र क्यान्सरको उपचारका लागि एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ। गत वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले हात पारेका थिए।

  • कोभिड-१९ को खोप बनाउने चिकित्सकलाई नोवेल पुरस्कार

    कोभिड-१९ को खोप बनाउने चिकित्सकलाई नोवेल पुरस्कार

    काठमाडौं । यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणको प्रथप्रदर्शन गर्ने दुई वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गरेका छन् । वैज्ञानिकद्वय काटालिन कारिको र ड्र भाइस्मानलाई चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो । बिबिसीका अनुसार दुई वैज्ञानिकले विश्वलाई कोभिड–१९ को महामारीले आक्रान्त पारेका बेला एमआरएनए कोभिड खोप निर्माणका लागि बाटो खोलिदिएका थिए ।


    प्रयोगात्मक अवस्थाको खोपको अनुसन्धानलाई पूर्णता दिँदै खोप निर्माण गरेर विश्वका जनताको जिउ ज्यानको रक्षाका खातिर वितरण गरिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । खोपका लागि आवश्यक गुणसहितको सो एमआरएनए प्रविधि पछिल्लो समय क्यान्सरलगायतका अन्य कडा रोगको खोपका लागि समेत प्रयोग गर्न सकिने सम्भावनालाई ध्यानमा राखी थप अनुसन्धान चलिरहेको छ ।

    समान्यतया भाइरस वा ब्याक्टेरियाको पहिचान गर्दै तिनैको कोष प्रयोग गरेर प्रतिरोध क्षमताको विकास गरी खोपमा परिणत गरिन्छ । तर एमआरएनए प्रविधिमा त्योभन्दा फरक तरिका अपनाएर प्रतिरोध क्षमतासहितको खोप निर्माण गर्न सघाएको थियो । जुन प्रविधि अपनाउँदै मोडेर्ना र फाइजर बायोटेक कम्पनीले खोपको तीव्र विकास गरेका थिए । नोबेल पुरस्कार समितिका अनुसार पुरस्कार विजेताले आधुनिक समयमा मानव स्वास्थ्यले सामना गरेको सबैभन्दा ठुलोमध्येको एक जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिएकाले नोबेल पुरस्कार प्रदान गरिएको हो ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले पनि कोभिड सङ्क्रमणको अवस्था विश्वबाट पूर्ण रूपमा मत्थर भइसकेको छैन । कोभिड भाइरसले आफ्नो जिनमै परिवर्तन गरेर आफ्नो स्वरूप बदल्दै मानव स्वास्थ्यमा बारम्बार आक्रमण गर्ने क्रम जारी रहेको छ । सङ्गठनका अनुसार हालसम्म विश्वका ६९ लाख ५९ हजार ३१६ जनाले कोभिड सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् । झन्डै ७८ करोड मानिस कोभिड सङ्क्रमणमा परेका छन् ।

  • मालेका युवा मेयर माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित

    मालेका युवा मेयर माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित

    काठमाडौं । माल्दिभ्समा शनिबार भएको राष्ट्रपतिको चुनावमा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार मोहम्मद मुइज्जु विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का उम्मेदवार इब्राहिम मोहम्मद सोलिहलाई हराए । मुइज्जुले चुनावमा ५४ प्रतिशत मत पाए ।
    राजधानी मालेका मेयर रहेका मुइज्जु चीनप्रति सहानुभूति लिने नेता मानिन्छन् । उनको मुख्य चुनावी नारा पनि माल्दिभ्सबाट ‘भारत हटाउ’ थियो । आगामी नोभेम्बर १७ मा मुइज्जुले पद बहाली गर्नेछन् । त्यसअघि सोलिह कामचलाउ सरकारका रूपमा रहनेछन् । सोलिहले आफ्नो हार स्वीकार गर्दै नवनिर्वाचित मुइज्जुलाई बधाईसमेत दिए ।

    ६१ वर्षीय सोलिह सन् २०१८ देखि सत्तामा थिए । उनले भारतसँगको सम्बन्धलाई बलियो बनाएका थिए, जुन देशसँग मालेको बलियो सांस्कृतिक तथा आर्थिक सहकार्य पनि थियो । उनले सधैं ‘भारत प्रथम’ नीतिलाई अघि बढाएका थिए । माल्दिभ्स लामो समयदेखि भारतको प्रभाव क्षेत्रमा रहँदै आएको छ । भारतलाई पनि यो टापुको देशबाट हिन्द सागरमा निगरानी गर्न सहज भएको थियो ।

    राष्ट्रपतिमा नवनिर्वाचित ४५ वर्षीय मुइज्जु भने प्रगतिशील गठबन्धनबाट थिए, जुन गठबन्धनले चीनसँग सम्बन्धको पक्षधरता लिँदै आएको छ । चीनले पनि यो महत्त्वपूर्ण स्थानमा तीव्रताका साथ सैन्य आधार खडा गर्न प्रयास गरिरहेको छ । भारत भने आफ्नो प्रतिस्पर्धी चीनलाई रोक्न चाहिरहेको छ । बेइजिङ भने खाडी मुलुकबाट यस क्षेत्र हुँदै आउने ऊर्जा आपूर्तिको सुरक्षाको योजनामा छ ।

    पछिल्लो दशकमा दिल्लीले माल्दिभ्सलाई सैन्यसम्बन्धी दुई हेलिकोप्टर र सानो विमान दिएको थियो । सन् २०२१ मा माल्दिभ्सको सुरक्षा निकायले उक्त विमान सञ्चालन र मर्मतका लागि ७५ जना भारतीय सैनिक आफ्नो देशमा रहेको जानकारी दिएको थियो । लगत्तै विपक्षी दलले ‘भारत हटाउ’ अभियान सुरु गरेका थिए, जसले भारतीय सैनिक फिर्ताको माग गरेको थियो । सोलिहअघि पीपीएम पार्टीका अब्दुल्ला यामिन सन् २०१३ देखि २०१८ सम्म राष्ट्रपति थिए । उनको कार्यकालमा माल्दिभ्स चीनसँग नजिकिएको थियो भने चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) योजनामा सहभागी भएको थियो । यामिन अहिले भ्रष्टाचारको आरोपमा ११ वर्षे जेल सजाय भुक्तान गरिरहेका छन्, जसका कारण उनी यस पटक चुनावमा सहभागी हुन पाएनन् ।

    बेलायतको लिड्स विश्वविद्यालयबाट पीएचडी गरेका मुइज्जु सन् २०१२ मा आवासमन्त्रीमा नियुक्त हुँदै राजनीतिमा छिरेका थिए । यामिन राष्ट्रपति भएपछि पनि उनको मन्त्री पदले निरन्तरता पाएको थियो । त्यतिबेला उनले २० करोड अमेरिकी डलर लागतको पुल निर्माणका लागि सम्झौता गरेका थिए, जसले अर्को टापुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई राजधानी मालेसँग जोड्छ । २.१ किलोमिटर लामो र चार लेनको उक्त पुलमा चीनले लगानी गरेको थियो । सन् २०१८ मा यामिन राष्ट्रपति हुँदा उक्त पुलको उद्घाटन गरिएको थियो । सन् २०२१ मा मुइज्जु मालेको मेयरमा चुनिएका थिए ।

    राष्ट्रपतिमा निर्वाचित भए पनि मुइज्जुलाई भारतको प्रभाव कम गर्न कठिनाइ हुने विश्लेषकहरूको भनाइ छ । सार्वजनिक रूपमा चीन पक्षधरता लिँदै आएका उनलाई माल्दिभ्सको अर्थतन्त्र, व्यापार र पूर्वाधार निर्माणमा संलग्न रहेको भारतलाई रोक्न सहज हुनेछैन । यस्तै, माल्दिभ्सका विभिन्न संरचना निर्माणका लागि चीनबाट लिएको ऋण पनि उनका लागि चुनौती हुनेछ ।

    माल्दिभ्समा आफ्नो प्रभाव कायम गर्न भारत र चीनले प्रतिस्पर्धा गर्दै आएका छन् । सन् २०१६ मा माल्दिभ्सले ४ करोड अमेरिकी डलरमा ५० वर्षका लागि एउटा टापु चीनलाई भाडामा दिएको थियो । यस्तै, भारतले पनि पछिल्लो वर्षमा दुई अर्ब डलर ऋण तथा सहायता माल्दिभ्सलाई उपलब्ध गराएको थियो । मुइज्जुको जितले माल्दिभ्स अझ चीनतर्फ ढल्किने विश्लेषकहरूको भनाइ छ ।

  • स्पेनमा नाइट क्लवमा आगलागी, कम्तिमा १३ जना मारिए

    स्पेनमा नाइट क्लवमा आगलागी, कम्तिमा १३ जना मारिए

    काठमाडौं । दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् । स्थानीय समयअनुसार ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट क्लब रहेको भवनमा आगो लागेको थियो । त्यतिबेला नाइट क्लबमा भीडभाड थियो । आगो वरपरका अरु क्लबमा पनि फैलिएको थियो । त्यसैले अधिकारीहरुले आगलागीमा परी मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाएका छन् ।

    सामाजिक सन्जालमा सेयर गरिएको भिडियोमा गाढा कालो धुवाँ निस्किरहेको देखिन्छ । आगलागीको कारण भने खुलेको छैन । आपतकालीन सेवाका कर्मचारीहरु उद्धार तथा खोजमा खटिएका छन् । एक २८ वर्षीया महिलाले आफ्नी आमालाई पठाएको अडियो म्यासेजमा ‘आमा म हजुरलाई धेरै माया गर्छु, हाम्रो मृत्यु हुनेवाला छ’ भनेकी छन् । ती महिला आफ्नो पार्टनर र साथीहरुसँग नाइट क्लबमा गएकी थिइन् । उनी जीवित छिन् कि मृत्यु भइसक्यो भन्ने खुलिनसकेको बीबीसीले जनाएको छ ।

  • अमेरिका पुनः चन्द्रमामा पुग्ने तयारीमा

    अमेरिका पुनः चन्द्रमामा पुग्ने तयारीमा

    काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय (नासा)का प्रमुखले संयुक्त राज्य अमेरिका चन्द्रमा फेरि पुग्ने अभियानमा चीनसँग प्रतिस्पर्धामा रहेको बताएका छन्। बीबीसीसँगको अन्तरवार्तामा उनले आफूले ‘हामी त्यहाँ पहिला पुगेको’ सुनिश्चित गर्न चाहेको बताए। उनको प्रतिक्रियाले सन् १९६० र सन् १९७० को दशक सम्झाएको छ( जुनबेला नासा सोभियत सङ्घसँग अन्तरिक्षमा प्रतिस्पर्धा गरिरहेको थियो।

    तर आधा शताब्दीपछि नासाले अधिकांश कामहरू गर्नका लागि निजी क्षेत्रका कम्पनीहरूलाई खटाएको छ। बिल नेल्सनले तिनीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै त्यसले उच्च लागतमा साझेदारी गर्न र नासालाई ‘निजी क्षेत्रका उद्यमीहरूको रचनात्मकताबाट’ लाभ लिन सघाउने बताए। नेल्सनले इलोन मस्कको स्पेस एक्सलाई चन्द्रमा मिशनमा प्रयोग हुने ल्यान्डर निर्माणका लागि सन् २०२१ मा ३ अर्ब बराबरको ठेक्का दिइएको उल्लेख गर्दै उक्त कम्पनीले हालसम्मकै सर्वाधिक शक्तिशाली रकेटको विकास गरेको पनि उल्लेख गरे। अन्तरिक्ष मिशनमा देखा परिरहेको प्रतिस्पर्धाबाट अन्य निजी फर्महरूलाई पनि फाइदा भइरहेको छ।

    यसै वर्षको सुरुमा नासाले जेफ बेजोसको ब्लू ओरिजिनसँग तत्कालको नभई भावी चन्द्र मिसनहरूको अवतरणका लागि ल्यान्डर निर्माण गरिदिन ३।४ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको थियो। अर्बौँ डलरको सरकारी लगानीबाट लाभ पाएका यी दुई कम्पनी मात्रै हुन्। यो रकम विश्वका सबैभन्दा दुई ठूला अर्थतन्त्रबीचको बृहत् तनावमाझ कम्तीमा चीनभन्दा अघि अन्तरिक्ष प्रतिस्पर्धा आफूलाई उभ्याउन खर्च भइरहेको छ।

    गएको अगस्टको अन्त्यमा भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गराउन सफल चौथो देश बनेको थियो। चन्द्रमाको दक्षिणी ध्रुवमा मानव रहित अन्तरीक्षयानलाई अवतरण गराउने पहिलो देश भारत बनेको थियो। उक्त सफलताका बावजुद चीनको अन्तरिक्ष कार्यक्रमलाई नासाले नजिकबाट नियालिरहेको छ। आफ्नै अन्तरिक्ष केन्द्र भएको एकमात्र देश चीन हो। उसले चन्द्रमाबाट नमुनाहरू पृथ्वीमा ल्याइसकेको छ। चन्द्रमाको ध्रुवीय क्षेत्रको नजिक पुग्ने लक्ष्य उसले राखेको छ।

    यसले नेल्सनलाई चिन्तित तुल्याएको छ। “मलाई के चिन्ता लागेको छ भने हामीले चन्द्रमाको दक्षिणी ध्रुवमा पानी फेला पार्न सक्छौँ। चीन त्यहाँ पुग्यो र उसले यो हाम्रो भूमि हो। तिमी यहाँ आउन पाउँदैनौँ भन्यो, यो हाम्रो हो भन्यो भने।” नेल्सनले कृत्रिम टापुहरू निर्माण गरेर साउथ चाइना सीका अरू क्षेत्रहरूमा सार्वभौमसत्ता दाबी गर्ने चीनको कदमले आफ्नो चिन्तालाई आधार दिएको बताए।


    नेल्सनले चीनले अमेरिकी नेतृत्वमा अन्तरिक्ष र चन्द्रमामा अपनाउनुपर्ने असल अचारणबारे तयार पारिएको आर्टिमिस सम्झौतामा हस्ताक्षर नगरेको पनि उल्लेख गरे। चीनले आफू शान्तिपूर्ण रूपमा अन्तरिक्षको अन्वेषण गर्न प्रतिबद्ध रहेको बताएको छ। विगतमा उसले आफ्ना कार्यक्रमबारेका अमेरिकी चिन्ताहरूलाई चीनका नियमित र उद्देश्यसहितको बाहिरी अन्तरिक्ष प्रयासहरूलाई बदनाम गराउने अभियान भएको बताएको थियो।

  • अफगानिस्तानको भारतस्थित दूतावास बन्द

    अफगानिस्तानको भारतस्थित दूतावास बन्द

    काठमाडौं । नयाँदिल्लीमा रहेको अफगानिस्तानको दूतावास आजदेखि बन्द भएको छ । भारत सरकारको असहयोगका कारण काम बन्द गर्नुपरेको दूतावासका एक सञ्चार अधिकृतलाई उद्धृत गरी रोयटर्सले लेखेको छ । सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका धेरैजसो कुटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौँ भएको छ ।

    रिक्त स्थानमा नयाँ नियुक्ति गरिएको छैन । भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन । तालिबान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कुटनीतिक उपस्थिति पनि जनाएको छैन । यसअघि नै भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाएर अफगानिस्तानको दूतावासले कुटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा दूतावास बन्द गर्नुपर्ने अवस्था आएको जानकारी गराएको थियो ।

  • पाकिस्तानमा बम विष्फोट, कम्तिमा ५२ जनाको मृत्यु

    पाकिस्तानमा बम विष्फोट, कम्तिमा ५२ जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा शुक्रबार आत्मघाती बम विस्फोटमा परी ५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी अधिकारी पनि छन् । बलुचिस्तानको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा परी करिब ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यम डनन्युजले जनाएको छ । जिल्ला स्वास्थ्य अधिकारी अब्दुल रशिद शाहीले घटनाको मृतकको संख्या पुष्टि गरेका छन् ।

    उनका अनुसार अल फलाह रोडस्थित मदिना मस्जिदमा धार्मिक कार्यक्रमका लागि स्थानीय जम्मा भएको समयमा विस्फोट भएको हो । मस्जिद नजिक स्थानीय इद उल मिलादको उत्सव मनाउने र जुलुस निकाल्ने तयारीमा थिए । डीआईजी मुनिर अहमदका अनुसार आक्रमणकारीले प्रहरीको सवारीनजिक विस्फोट गरेका थिए । विस्फोटमा परी नवाज गशगुरीको मृत्यु भएको छ ।

    सहिद नबाब गौस बख्स रायसानी मेमोरियल अस्पतालका प्रमुख कार्यकारी डा। सइद मिरवानीले आफ्नो अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताए । उनले २० भन्दा घाइतेलाई थप उपचारका लागि क्वेटा रेफर गरिएको पनि बताए । सामाजिक सञ्जालमा आएका भिडियोमा उद्धारकर्मी र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको दृश्य देखिएको छ । हालसम्म यो घटनाको कसैले जिम्मेवारी लिएका छैनन् ।

    पाकिस्तानका गृहमन्त्री सरफराज बुग्तीले घटनाको निन्दा गरेका छन् । बलुचिस्तानका कार्यवाहक मुख्यमन्त्री मिर अली मर्दन खान डोमकीले घटनाको जाँच गर्न आदेश दिएका छन् । ‘घटनामा संलग्न तत्व दयाका पात्र हुनेछैनन् । शान्तिपूर्ण जुलुसलाई निशाना बनाउनेविरुद्ध कडा कदम चालिनेछ,’ उनको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।

    यस्तै, शुक्रबार नै खैबर पख्तुनख्वाको हंगुस्थित दोआबा प्रहरी स्टेसनमा दुई विस्फोट हुँदा एक प्रहरी अधिकारीसहित कम्पनीमा चार जनाएको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् । पहिलो विस्फोट प्रहरी स्टेसनको प्रवेशद्वारमा भएको हंगु जिल्ला प्रहरी अधिकारी निसार अहमदले बताए । त्यसपछि घटनास्थलमा स्थानीय जम्मा भएका थिए । त्यसपछि प्रहरी स्टेसनको परिसरस्थित एक मस्जिदमा अर्को विस्फोट भएको थियो ।

  • क्यानडा र भारतको विवादका बीच विदेशमन्त्री जयशंकरले मागे ठोस प्रमाण

    क्यानडा र भारतको विवादका बीच विदेशमन्त्री जयशंकरले मागे ठोस प्रमाण

    काठमाडौं । भारतका विदेशमन्त्री एस जयशङ्करले क्यानडामा एक सिख पृथकतावादी नेताको हत्याको विषयमा क्यानडा सरकारले उपलब्ध गराउने कुनै पनि ूनिश्चितू जानकारीबारे अनुसन्धान गर्न आफ्नो देश तयार रहेको बताएका छन्। भारतीय विदेश मन्त्री जयशङ्करले गत जुन महिनामा क्यानडामा भएको हरदीप सिंह निज्जरको हत्याबारे संयुक्त राष्ट्रसङ्घको महासभाका बेला अलग्गै बसेको एउटा बैठकमा बोल्ने क्रममा त्यसो भनेको बीबीसीले लेखेको छ । क्यानडाले उक्त घटनामा भारतीय राज्यको संलग्नताबारेका ूविश्वासिला आरोपूको आफूले अध्ययन गरिरहेको बताएपछि दुई देशबीचको तनाव चर्किएको छ।

    भारतले उक्त दाबीलाई उदेकलाग्दो भन्दै खारेज गरेको थियो। भारत सरकारले क्यानडालाई जुनसुकै सान्दर्भिक आरोपबारे अनुसन्धान गर्न आफूहरू खुला रहेको भनेको जयशङ्करले बताए। तर उनले उक्त हत्या प्रकरणमा भारतको भूमिका नरहेकोमा जोड दिए। मङ्गलवार संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुअघि न्यूयोर्कमा आयोजित एक कार्यक्रममा बोल्दै जयशङ्करले भने, पहिलो, हामीले क्यानडेलीहरूलाई यस्तो गैरन्यायिक हत्यो भारत सरकारको नीति नरहेको भनेका छौँ।

    ूदोस्रो, त्यसो भनिरहेका क्यानडेलीहरूलाई उनीहरूसँग केही निश्चित, केही सान्दर्भिक जानकारीहरू छन् भने त्यसबारे हामीलाई पनि जानकारी दिनुहोस्( हामी त्यसबारेमा सोधखोज गर्नका लागि तयार छौँ । हरदीप सिंह निज्जरको गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर गोली हानी हत्या भएको थियो। भारतले यसअघि उनलाई एक पृथकतावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतङ्ककारीको संज्ञा दिएको थियो। उनका समर्थकहरू ती आरोपलाई आधारहीन मान्छन्।

    भारत सरकारले पश्चिमा राष्ट्रमा स्वतन्त्र सिख राज्य खालिस्तान स्थापनाको मागलाई कडा रूपमा प्रतिक्रिया जनाउने गरेको छ। भारतमा खालिस्तान आन्दोलन सन् १९८० को दशकमा सिख बहुल पञ्जाब राज्यमा हिंसात्मक विद्रोहका साथ उत्कर्षमा पुगेको थियो। जसलाई बलपूर्वक नियन्त्रण गरिएपछि अहिले भारतमा यसको प्रभाव कम छ। तर सिखहरूको उल्लेख्य बसोबास रहेका क्यानडा, अस्ट्रेलिया र यूकेजस्ता देशमा त्यो अझै चर्चित छ। यसैबीच जयशङ्करले क्यानडालाई भारतले देशबाहिर रहेर काम गर्ने पृथकतावादी सङ्गठित अपराध र नेतृत्वबारे कैयौँ सूचना दिएको जनाएका छन्।

  • इराकमा विवाह समारोहमा भएको आगलागीमा कम्तिमा १ सय मारिए

    इराकमा विवाह समारोहमा भएको आगलागीमा कम्तिमा १ सय मारिए

    काठमाडौं । इराकमा एक विवाह समारोहमा आगलागी भएको छ । सो क्रममा कम्तिमा एक सय जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । उत्तरी इराकको निनवेह प्रान्तमा भएको आगलागीमा दुलहा र दुलहीको अवस्था सार्वजनिक हुन सकेको छैन ।

    प्रारम्भिक रिपोर्टका अनुसार आतिशबाजी पछि आगलागी भएको हुनसक्ने अनुमान छ । अग्नि नियन्त्रक तथा स्थानीयबासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् । इराक सरकारले घटनाबाट प्रभावितको तत्काल उद्धार र राहतका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएको छ । थप विवरण आउन बाँकी छ ।

  • चीनमा कोइला खानीमा आगलागी, कम्तिमा १६ जना मारिए

    चीनमा कोइला खानीमा आगलागी, कम्तिमा १६ जना मारिए

    काठमाडौं । चीनको दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी भएको छ । दुर्घटनामा कम्तिमा १६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बेइजिङबाट झण्डै तीन हजार ६ सय किलोमिटर दक्षिणपश्चिममा रहेको कोइला खानीमा आगलागी भएको हो ।

    सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । सुरक्षा सावधानी नअपनाउँदा चीनमा पटक पटक कोइला खानीमा आगलागी हुने गरेको छ । पछिल्लोे समय भने खानी क्षेत्रको सुरक्षामा सुधार हुँदै गएको तर, नियम उल्लङ्घनका कारण दुर्घटना हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • एसियाली खेलकुदको भव्य उद्घाटन, नेपालबाट प्रधानमन्त्री अतिथिका रुपमा सहभागी

    एसियाली खेलकुदको भव्य उद्घाटन, नेपालबाट प्रधानमन्त्री अतिथिका रुपमा सहभागी

    काठमाडौं । चीनको हाङ्झाउमा १९ औं एसियाली खेलको भव्य उद्घाटन गरिएको छ । शनिबार हाङझाउ ओलम्पिक रंगशालामा चिनियाँ राष्ट्रपति सी चिन फिनले उद्‌घाटन गरे । समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अतिथिका रुपमा सहभागी बने । दुई घन्टासम्म चलेको उद्‌घाटन समारोहको मार्चपासमा नेपालको झन्डा तेक्वान्दो खेलाडी वीरबहादुर महरा र उसु खेलाडी निमा घर्ती मगरले बोके ।

    ४५ देशका खेलाडीहरूको मार्चपासका लागि ४० मिनेट समय लागेको थियो। त्यसपछि कार्यक्रमको औपचारिक समारोह सुरू गरिएको थियो । औपचारिक उद्घाटनपछि भएको सांस्कृतिक प्रस्तुति करिब ४५ मिनेटसम्म चल्यो। जहाँ चीनको सांस्कृतिक सम्पदा, पूर्वी सौन्दर्य र आधुनिक प्रविधिको शक्तिलाई लाइटिङको अनुपम संयोजनमार्फत देखाइएको थियो । क्विनताङ नदीको किनारमा रहेको बिग लोटस लाई सेटमा उतारिएको थियो।


    नांगो आँखाका लागि थ्रिडी स्टेज प्रयोग गरिँदा रंगशालाको स्टेज भव्य देखिन्थ्यो। जहाँ नदी र पुल समेत लाइटिङमार्फत देखाइएको थियो। चीनको राष्ट्रिय झन्डा फहराउनुअघि एक गायकले म तिमीलाई माया गर्छु चाइनाु बोलको गीत गाए । एसियाली खेलकुदका लागि पहिलो पटक एसियाली खेलकुदको टर्च डिजिटल र रियल टाइम दुवैमा प्रज्वलित गरिएको थियो।

    एसियाली देशहरूको खेलकुदको कुम्भमेला एसियाली खेलकुदमा ४० खेलमा ४५ देशका खेलाडीले भाग लिँदैछन्। यसपटकको एसियाली खेलकुदमा १२ हजार बढी खेलाडी सहभागी हुने छन्। ओलम्पिकपछिको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता मानिने एसियाली खेलकुदमा नेपालले यसपटक २९ खेलमा प्रतिस्पर्धा गर्दैछ। २९ खेलमा नेपालका २५३ खेलाडीले भाग लिँदैछन्। एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण पदक जित्न नसकेको नेपालले पछिल्ला तीन संस्करणमा एक–एक पदक मात्र जित्न सकेको छ।

  • युक्रेनले रुसमा हान्यो मिसाइल, क्षति कति ?

    युक्रेनले रुसमा हान्यो मिसाइल, क्षति कति ?

    काठमाडौं । युक्रेनले रुसको सेवास्तोपोल भन्ने स्थानमा मिसाइल आक्रमण गरेको छ । रुसी नौसेनाका अधिकारीहरुलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् । आक्रमणबाट दर्जनौंको मृत्यु भएको र घाइते भएको दाबी युक्रनी सेनाको छ । रुसले भने आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ ।


    रुसको ब्ल्याक सी क्षेत्रका कमाण्डरहरु सेवास्तोपोल भन्ने स्थानमा बैठक बसिरहेको बेला सोही बैठकलाई लक्षित गरी युक्रेनले शुक्रबार आक्रमण गरेको थियो । सेवास्तोपोललाई रुसी नौसेनाको सबैभन्दा बलियो अड्डा मानिन्छ । आक्रमणमा स्टोर्म श्याडो मिसाइलको आक्रमण गरिएको थियो । यो मिसाइल युक्रेनलाई फ्रान्स र बेलायतले उपलब्ध गराएका थिए ।

    युक्रेनको सेनाले संक्षिप्त सूचना जारी गर्दै भनेको छ, ‘यो हमलाबाट दर्जनौं मारिएका छन् र घाइते भएका छन् । यो अड्डामा जहाज व्यवस्थापनका शीर्ष व्यक्तिहरु थिए ।’ बीबीसीले भने युक्रेन र रुस दुवैको दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको जनाएको छ । रुस र युक्रेन दुबैले आक्रमण सम्बन्धमा अलग-अलग दाबी गर्दै आएका छन् ।

  • भारतद्धारा क्यानडाका नागरिकलाई भिसा दिन रोक, दूतावासको सेवा अनिश्चतकालीन बन्द

    भारतद्धारा क्यानडाका नागरिकलाई भिसा दिन रोक, दूतावासको सेवा अनिश्चतकालीन बन्द

    ओटावा । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बीएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ ।

    विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक सेवा प्रवाहका साथै प्रबन्ध गर्दै आएको छ । बिएसएले सरकारी र विश्वका विभिन्न देशमा रहेका भारतीय कूटनीतिक नियोगमा सेवा प्रवाह गर्दै आएको छ ।

    उक्त कम्पनीले आज एक सूचना जारी गर्दै भारतीय भिसा सेवा अर्को सूचना नभएसम्म स्थगन गरिएको जनाउँदै बेलाबेलामा कम्पनीको वेबसाइट हेर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको छ ।

    आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियास्थित गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो ।

    क्यानाडाको संसद्मा प्रधानमन्त्री ट्रुडोले आफ्नो देशको राष्ट्रिय सुरक्षा अधिकारीहरूले निज्जरको हत्यामा भारत सरकारका ‘एजेन्ट’हरू संलग्न रहेका विश्वसनीय प्रमाण रहेको जानकारी दिएका बताएका थिए ।

    क्यानडाका प्रधानमन्त्री र विदेश मन्त्रीले लगाएको आरोपलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गर्दै दुवै नेताका भनाइलाई ‘बेतुक’ बताएको थियो ।

    भारतको विदेश मन्त्रालयले बुधबार भारतीय नागरिक, क्यानडामा रहेका विद्यार्थी र भारत फर्कने योजनामा रहेकाहरूलाई सावधानी अपनाउन सुझाव दिएको छ । भारत विरोधी गतिविधि भएका क्षेत्र र हुनसक्ने सम्भावित स्थानमा नजान भारतीय नागरिक र भारतीय विद्यार्थीहरूलाई आग्रह गर्दै मन्त्रालयले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

  • भारत र क्यानडाबीचको सम्बन्ध चिसिँदा अन्तर्राष्ट्रिय समुदाय चिन्तित

    भारत र क्यानडाबीचको सम्बन्ध चिसिँदा अन्तर्राष्ट्रिय समुदाय चिन्तित

    काठमाडौं । भारत र क्यानडाबीच देखिएको कूटनीतिक विवादको बाछिटा अन्य अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न नदिन पश्चिमा देशका मन्त्री र अधिकारीहरूले ठूलो मेहनत गरिरहेको समाचार माध्यमहरुले जनाएका छन् । अमेरिका र अन्य पश्चिमा शक्तिहरूले क्यानडासँगको विवादका कारण भारतसँग आफ्नो सम्बन्ध नबिग्रियोस् भन्ने चाहेको समेत समाचारमा जनाइएको छ ।

    भू–राजनीतिको ठूलो मैदानमा भारत एउटा प्रमुख खेलाडी भइसकेको छ। भारत विश्वमै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश मात्र नभएर यो उदीयमान शक्ति राष्ट्र र विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र पनि हो। यसलाई पश्चिमा राष्ट्रहरूले चीनसँगको सम्भावित सुरक्षा पर्खालको रूपमा पनि हेरेका छन्।

    भारतमा हालै भएको जी२० सम्मेलनका क्रममा पनि यो देखियो। युक्रेनका पश्चिमा सहयोगी देशहरूले सम्मेलनपछि जारी गरेको वक्तव्यमा युक्रेनमाथिको आक्रमणबारे भर्त्सना गर्ने क्रममा रुसको नाम लिएनन्। उनीहरूले वक्तव्यमा लेखिने शब्दको विषयमा विवाद गरेर भारतसँगको सम्बन्ध बिगार्न चाहेनन्। बरु यसले किएभमा कतिपयलाई रुष्ट बनायो।

    पश्चिमा कूटनीतिज्ञहरूलाई अहिले क्यानडा र भारतबीचको विवादमा देशहरूले एउटाको पक्ष लिन सुरु गर्लान् कि भन्ने डर छ। क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रूडोले पश्चिमी क्यानडामा गत जुनमा मारिएका एक जना सिख अभियानकर्मीको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि पछिल्लो साता भारत र क्यानडाबीचको विवाद चिसिएको छ।

    पछिल्लो महिनाहरूमा भारतले विकासशील देशहरूको नेताको रूपमा आफूलाई अघि सारेको छ। यसमा रहेका धेरै देशहरूले युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्न अस्वीकार गरेका छन्। अमेरिका र युरोपेली देशहरूले युद्धले यी देश र तीनको अर्थतन्त्रमा असर गर्ने भन्दै यी देशहरूलाई आफ्नो पक्षमा ल्याउन ठूलो मेहनत गरिरहेका छन्। कूटनीतिज्ञहरू यो विवादले आफ्नो प्रयासलाई असर नगरोस् भन्ने चाहन्छन्।

    क्यानडाको विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री ट्रूडोले आफ्नो विषय अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकसँग उठाइसकेका छन्। अहिले क्यानडाका सहयोगी देशहरू उक्त देशप्रति इमानदार देखिए पनि सावधान भएका छन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले हत्याको आरोपबारे “निकै चिन्तित रहेको” बताउँदै “क्यानडाको अनुसन्धान अघि बढ्ने र दोषीहरूलाई सजाय हुनुपर्ने” बताएको छ।

    सिखहरूको ठूलो समुदाय बसोबास गर्ने यूके र अस्ट्रेलिया जस्ता देशहरूका लागि यस्तो कूटनीतिक विवादको असर आन्तरिक राजनीतिमा पनि पर्ने जोखिम हुन्छ। यूकेका विदेशमन्त्री जेम्स क्लेभर्लीले ब्रिटेनले “क्यानडाले उठाएको गम्भीर विषय धेरै नै गम्भीर रूपमा लिएको” बताएका छन्। उनका अनुसार “क्यानडाले भनेका कुराहरूलाई यूकेले गम्भीर रूपमा लिएको छ”।

    अस्ट्रेलियाको विदेश मन्त्रालयले पनि आरोपबारे “निकै चिन्तित” रहेको बताउँदै क्यानबेराले आफ्नो “गम्भीर चिन्ता भारतको उच्च नेतृत्व समझ राखेको” जनाएको छ। अहिलेका लागि पश्चिमा देशहरूले अनुसन्धान प्रक्रिया नसकिँदासम्म पर्खने मनस्थिति बनाएका छन्। केही सहयोगी देशहरूलाई क्यानडाको गुप्तचरले हालसम्म थाहा पाएका कुराहरूमा पहुँच दिइन सक्छ।

    यदि अकाट्य प्रमाण भेटियो भने परिस्थिति फेरिन सक्छ। त्यो अवस्थामा पश्चिमा देशहरूले ओट्टावा र नयाँ दिल्लीमध्ये एउटा रोज्नुपर्ने हुनसक्छ। त्यो अवस्था भनेको कानुनी शासन र राजनीतिको आवश्यकता मध्येको एउटा रोजाइ हुनसक्छ। पश्चिमा देशहरूले विगतमा भने रुस, इरान वा साउदी अरब जस्ता देशहरूले अर्को देशमा गराएका हत्याका आरोपहरूमा निन्दा गरेका थिए। भारत पनि त्यो समूहमा परोस् भन्ने उनीहरू चाहँदैनन्।

    BBC\nepal

  • न्यूयोर्कमा सार्क सक्रिय बनाउने नेपालको प्रयास किन सफल भएन ?

    न्यूयोर्कमा सार्क सक्रिय बनाउने नेपालको प्रयास किन सफल भएन ?

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा आयोजना हुँदै आएको सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरूको बैठक यस वर्ष पनि हुन नसकेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कमा दक्षिण एशियाका आठ राष्ट्र सदस्य छन्। न्यूयोर्कबाट बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै मन्त्री साउदले सार्क राष्ट्रका केही देशहरूले उक्त बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको बताएका हुन् ।

    परराष्ट्रमन्त्री साउदले बैठकमा उपस्थित नहुने जानकारी गराएका देशहरूको नाम भने खुलाएनन्। “सार्क र बिमस्टेकका साइडलाइन बैठकहरू तय गरिएको थियो। तर हाम्रा सबै सदस्य राष्ट्रहरू त्यो बैठकमा उपस्थित हुन नसक्ने जानकारी हामीले पाएका छौँ,” मन्त्री साउदले भने। “सहमतिले मात्रै सम्पन्न हुन सक्ने यस्ता बैठकहरू तत्काल हुन कठिन भएको छ।” सन् २०१४ मा नेपालमा १८औँ सार्क शिखर सम्मेलन भएयता सार्कको नेतृत्व हस्तान्तरण हुन सकेको छैन ।


    नेपालपछि १९औँ सार्क शिखर सम्मेलनको आयोजना गर्ने पालो पाकिस्तानको भए पनि सन् २०१६ को अन्त्यतिर जम्मु–कश्मीरको उरीमा आफ्ना सैनिकहरूमाथि भएको आक्रमणको दोष पाकिस्तानलाई लगाउँदै भारतले त्यसपछिको शिखर सम्मेलन गर्न चासो दिएको छैन। सार्कका गतिविधि सुस्ताउँदै जाँदा पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानबाहेक दक्षिण एशियाली र दक्षिणपूर्वी एशियाली राष्ट्रहरू सदस्य रहेको बिमस्टेक सक्रिय हुँदै गएको छ। लामो समय बडापत्रबिनै रहेको यो सङ्गठनले गत वर्ष पारित गरेको बडापत्र विभिन्न देशहरूले अनुमोदन गरिरहेका छन्।

    यसअघि सन् २०१९ महासभाका बेला सार्कका मन्त्रीहरूको बैठक भएयता कोभिड महामारीका कारण त्यस्ता बैठकहरू भएका छैनन्। भारत र पाकिस्तानबीचको असमझदारीका कारण पछिल्ला वर्षहरूमा सार्क निष्क्रियजस्तै भएको छ। यसअघि कोभिड महामारीको समयमा सार्कमार्फत् भारतले आयोजना गरेको सरकार प्रमुखस्तरीय भर्चूअल बैठकमा पाकिस्तानले प्रधानमन्त्रीका सल्लाहकारलाई उपस्थित गराएको थियो। सार्कको अध्यक्षका हैसियतले सार्क राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको बैठकका लागि नेपालले प्रयास गर्दै आएको थियो।

  • चिनियाँ रक्षामन्त्री भ्रष्टाचार अभियोगमा बर्खास्तीमा परेको हुन सक्ने आशंका

    चिनियाँ रक्षामन्त्री भ्रष्टाचार अभियोगमा बर्खास्तीमा परेको हुन सक्ने आशंका

    काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशंका अन्तर्राष्ट्रिय समुदायले गरेका छन् । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएपछि उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वालस्ट्रिट जर्नलले लेखेको छ । रक्षामन्त्री लीको अनुपस्थितिलाई लिएर एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले प्रश्न उठाएका छन् ।

    जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले चिनियाँ सरकारमा ‘बेरोजगारी दर’ अति उच्च रहेको तथा धेरै वरिष्ठ सैन्य अधिकारीलाई अवकाशमा पठाइएको उल्लेख गर्दै रक्षामन्त्री लीको अनुपस्थितिले उनलाई जिम्मेवारीविहीन बनाइएको पुष्टि गर्न बल मिलेको बताए ।

    ुअमेरिकाका लागि चीनका राजदूत रहेका छिन गङलाई अप्रत्यासित रुपमा बेइजिङ बोलाएर विदेशमन्त्री बनाएको केही महिना बित्न नपाउँदै उनलाई बर्खास्त गरेर वाङ यीलाई पुनः विदेशमन्त्री नियुक्त गरिएको कारण हाल सम्म खुलाइएको छैन । जनरल लीका सम्बन्धमा पनि चिनियाँ सरकारले धेरै कुरा गरेको छैन, अमेरिकी राजदूतले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । रक्षामन्त्री ली राष्ट्रपति सीकै निकट रहेको अलजजिराले उल्लेख गरेको छ ।

    यसै साताको प्रारम्भमा रक्षामन्त्रीको अनुपस्थितिलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्तासमक्ष प्रश्न गर्दा त्यससम्बन्धमा आफूलाई कुनै जानकारी नभएको जवाफ दिएकी थिइन् । तीन साताअघि जनरल लीको अन्तिम सार्वजनिक उपस्थिति बेइजिङमा आयोजित अफ्रिकी राष्ट्रहरूको सुरक्षा फोरममा भएको थियो । यद्यपि रक्षामन्त्रीहरू केही सातासम्म सार्वजनिक दृष्टिकोणबाट अनुपस्थित हुनु असामान्य होइन ।

    अलजजिराका अनुसार रक्षामन्त्री ली गत अगस्ट १५ मा रुसको मस्कोमा आयोजित एक सुरक्षा सम्मेलनमा सहभागी भएका थिए । त्यसको दुई दिनपछि बेलारुस सरकारले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेंकोसँग मिन्स्कमा भएको भेटवार्ताको तस्बिर सार्वजनिक गरेको थियो । त्यस्तै अगस्ट २९ मा लीले बेइजिङमा आयोजित अफ्रिका पिस एन्ड सेक्युरिटी फोरममा मुख्य प्रवचन दिएका थिए ।

    यसअघि चिनियाँ परराष्ट्रमन्त्री छिन काङलाई पदबाट बर्खास्त गरिएको थियो । राष्ट्रपति सी चिनफिङका निकट मानिएका काङ अचानक बर्खास्तीमा परेका हुन् । काङको बर्खास्तीपछि वाङ यीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको थियो । नेपाल मामिलाका पनि जानकार मानिने वाङ भने दोस्रो पटक परराष्ट्रमन्त्री बनेका हुन् । उनी यसअघि २०१३ देखि २०२२ को डिसेम्बरसम्म परराष्ट्रमन्त्री थिए । गत डिसेम्बरमा वाङपछि काङले नै परराष्ट्र मन्त्रालय सम्हालेका थिए ।

  • लिबियामा आँधीका कारण ज्यान गुमाउनेको संख्या ११ हजार माथि

    लिबियामा आँधीका कारण ज्यान गुमाउनेको संख्या ११ हजार माथि

    काठमाडौं । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ । पूर्वी सहर डेर्नामा यति धेरैले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले बताएका छन् । डेर्नामा मात्र अझै दश हजार एक सय जना हराइरहेका छन् भने देशका अन्य भागबाट दशौँ हजार बेपत्ता भएका तथा ५० हजारभन्दा बढी विस्थापित भएका छन् । गत आइतबार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–सहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । बाढीको विनाशबाहेक डेर्नामा केही देखिँदैन ।

    बाढीबाट सर्वाधिक प्रभावित पूर्वी सहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन ९आईओएम०ले जनाएको छ । नब्बे हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका र उद्धारकर्ता एवम् सामाजिक सङ्घसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ । सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ । हालसम्म तीन हजार एक सय ९० जनाको अन्त्येष्टि गरिएको छ ।

    यसैबिच, पूर्वी लिबियाको बन्दरगाह सहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् । डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् । रासस–एपी