Category: विश्व

  • इराकमा २०१६ को बम काण्डका दोषिलाई फाँसी, जहाँ मारिएका थिए ३००

    इराकमा २०१६ को बम काण्डका दोषिलाई फाँसी, जहाँ मारिएका थिए ३००

    काठमाडौं । इराकले ३०० भन्दा बढी मानिसको ज्यान लिने गरी २०१६ मा बग्दादमा भएको बम विस्फोटका दोषिलाई फाँसीको सजाय दिएको छ । तीन जनालाई इराकमा मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यो घटना २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणयताको सबैभन्दा घातक थियो । घटनाको इस्लामिक स्टेट समूह (आईएस)ले जिम्मा लिएको थियो ।

    इराकका प्रधानमन्त्री मोहम्मह शिया अल सुदानीको कार्यालयले फाँसी दिइएका व्यक्तिहरु कोको हुन् र उनीहरुलाई कहिले फाँसी दिइयो भन्ने सार्वजनिक भने गरेको छैन । प्रधानमन्त्री कार्यालयले पीडित परिवारलाई बम आक्रमणमा संलग्नहरुलाई उचित सजाय दिइएको जनाएको छ । सरकारी स्रोतले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार फाँसी दिइएकामध्ये एक आईएसका मास्टरमाइण्ड मानिने गजवान अल जौबाई छन् । उनी २०२१ मा पक्राउ परेका हुन् ।
    ३ जुलाई २०१६ मा इराकी राजधानीको मुख्य शिया मुस्लिम क्षेत्र कर्राडाको शपिङ सेन्टर नजिककै विस्फोटक पदार्थले भरिएको एक सवारीमा विस्फोट गराइएको थियो । त्यो समयमा रमजानका लागि आफ्नो दैनिक उपवास तोडेपछि रातको समय मानिसहरु त्यहाँ जम्मा भएका थिए । बम विस्फोटपछि भवनमा आगो लागेको थियो, जसमा परेर मानिसहरुले ज्यान गुमाए । यो घटनापछि तत्कालीन आन्तरिक मामिलामन्त्री मोहम्मद गब्बनले राजीनामा दिएका थिए ।

  • स्विटजरल्यान्डको उच्च संरक्षित क्षेत्रमा लुटेरा सक्रिय

    स्विटजरल्यान्डको उच्च संरक्षित क्षेत्रमा लुटेरा सक्रिय

    काठमाडौं । स्विटजरल्यान्डमा चोरहरूले देशको सबैभन्दा चुनौतीपूर्ण संरक्षित क्षेत्रमा लुटपाट गरेपछि त्यसले धेरैलाई आश्चर्यमा पारिदिएको छ। उनीहरू २,३५० मिटर उचाइमा चढेका थिए र पातला स्टिलका तारहरूहुँदै खोँच पार गरेर चन्दा रकम राखिएको एउटा बाकसबाट रकम लुटेका थिए। उक्त बाकस एउटा स्थानीय आरोहण क्लबको हो। सो क्लबले स्विटजरल्यान्डको सबैभन्दा लामो संरक्षित आरोहण मार्ग गेम्मी पासको व्यवस्थापन गर्छ। सो पास लोएकरबाट गाउँभन्दा माथि रहेको छ।

    आश्चर्यमा पार्ने कुरा के हो भने त्यो चन्दा बाकस सबैभन्दा अनुभवी आरोहीहरूको मात्रै पहुँचमा रहेको थियो। भिया फराटा भनिने उक्त रुटलाई पाचौँ श्रेणीको मार्गका रूपमा वर्गीकरण गरिएको छ जुन अत्यधिक अप्ठेरो हुने गर्छ। गम्भीर खालको आरोहण गर्ने क्रममा ठाडो चट्टान चढ्दै पातलो स्टिलका तारहरूलाई पक्रिएर खोँचहरू पार गर्नुपर्छ। “यी कस्ता खालका मानिसहरू हुन्रु” उक्त आरोहण क्लबले आफ्नो फेसबुक पेजमा लेखेको छ।

    “यो आरोहण क्लबले बिना तलब भिया फराटालाई हेरविचार गर्ने गर्छ। हामी केही पनि माग्दैनौँ र अहिले कसैले यसको व्यवस्थापनका लागि दिइएको चन्दा रकम चोरिदिएको छ।” उक्त चोरीलाई सुरुमा थाह पाएका व्यक्तिहरूले यसलाई सुरुमै सोचविचारपूर्वक योजना गरेर चालिएको कदमका रूपमा उल्लेख गरिएको छ।

    ती चोरहरू सिपालु आरोहीहरू मात्रै नभई उनीहरूसँग आरोहण सामाग्रीहरू पनि थियो। उक्त क्लबका अनुसार उनीहरूले चन्दा बाकसलाई ‘बल प्रयोग गरेर खोल्न’ का लागि आवश्यक पर्ने साधनहरू पनि लिएर आएका थिए। सबैलाई छक्क पार्ने गरी उनीहरूले त्यसपछि लुटेको रकमसहित आफ्नो आरोहणलाई निरन्तरता दिए। उनीहरू २,९४१ मिटर अग्लो डाबरहोर्न पर्वतको चुचुरोमा पुगेका थिए।

    यो अपराध कसले गर्‍यो ठ्याक्कै पत्ता लगाउन कठिन हुनसक्ने देखिन्छ। पछिल्ला केही दिनको मौसम आरोहणका लागि एकदमै उपयुक्त थियो र धेरै आरोहीहरू भिया फराटामा रमाइरहेका थिए। उक्त आरोहण क्लब ठ्याक्कै कति रकम चोरियो भन्नेमा प्रस्ट छैन्। तर क्लबका सदस्य एवं पर्वतारोहण पथ प्रदर्शक रिचर्ड वर्लिनले बीबीसीलाई त्यहाँ ४०० देखि ५०० स्विस फ्रयाङ्क (६० हजारदेखी ७५ हजार रुपियाँसम्म) रहेको हुनसक्ने बताए।

    अझै पनि नगद नियमित रूपमा प्रयोग गरिने देशमा स्विटरजल्याण्ड पर्छ र त्यहाँका नागरिकहरू पदयात्रा र आरोहणमार्गको व्यवस्थापन जस्ता आफ्ना स्वयंसेवी कामहरूप्रति गर्व गर्ने गर्छन्। त्यस्तो प्रयासका लागि चन्दा अपेक्षा गर्ने गरिन्छ र देशको ठूलो जनसङ्ख्याले मन खोलेरै सहयोग गर्ने पनि गर्छन्।

    तर अब आरोहणमा काम गर्ने क्लबहरूले चन्दा सङ्कलन गर्ने आफ्नो शैलीमा परिवर्तन गर्नुपर्ने हुनसक्छ। नगदप्रतिको व्यापक आकर्षणले स्विटरजरल्यान्डमा अझ राम्रो सुरक्षा उपाय हुने ठानिएका एटीएम मशिनहरूमा समेत लुटपाटका घटना निम्त्याएको छ। पछिल्लो तीन वर्षमा मात्रै स्विटजरल्याण्डमा दशौँ लाख फ्रयाङ्क लुटपाट भएको छ। स्वीस सङ्घीय प्रहरीले नियमित रूपमा नगदले भर्ने गरिएका र अधिकांश अवस्थामा कमजोर अनुगमन भएका मशिनहरूले युरोपभरिका चोरहरूलाई स्विटजरल्यान्डमा आकर्षण गरिरहेको चेतावनी दिएको थियो।

    तर अहिलेको लागि उक्त आरोहण क्लबले रकम चोर्ने जो सुकैलाई ‘पछुतो महसुस गरेर’ र चुपचाप फिर्ता गर्न अनुरोध गरेको छ। र, यो बीचमा रिचर्ड वर्लिनले केही सान्त्वना पनि प्राप्त गरेका छन्। एक जना स्थानीय समर्थकले चोरिएको चन्दा रकमको सट्टा ५०० फ्रयाङ्क उपलब्ध गराएका छन्।
    बीबीसी

  • फ्रान्सका राजदूतलाई नाइजरको सेनाले भन्यो : देश छाड

    फ्रान्सका राजदूतलाई नाइजरको सेनाले भन्यो : देश छाड

    काठमाडौं । नाइजरको सैन्य नेतृत्वले फ्रान्सेली राजदूतलाई देश छोड्न आदेश दिएको छ । सैन्य सरकारको यो कदमले पश्चिम अफ्रिकी राष्ट्रमा प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई पदच्युत गरेपछि अन्तर्राष्ट्रिय सङ्कटलाई अझ बढाएको अल जजीराले जनाएको छ । फ्रान्सेली राजदूत सिल्भेन इट्टेलाई ४८ घण्टाभित्र नाइजर छोड्न भनिएको छ ।

    शुक्रबार उहाँलाई सैन्य सरकारले पठाएको एक पत्रमा छलफलका निम्ति विदेश मन्त्रालयमा उपस्थित हुन गरिएको आमन्त्रणाको बेवास्ता गरेको आरोप पनि लगाइएको छ । राजदूत इट्टेको निष्कासनको कारण ‘नाइजरको हित विपरीत फ्रान्सेली सरकारको काम हो’ भनिएको छ ।

    फ्रान्सको विदेश मन्त्रालयले शुक्रबार नै नाइजरका सत्ता विप्लवीसँग आफ्ना राजदूतलाई फिर्ता जान आदेश दिने कुनै अधिकार नभएको बताएको छ । सैन्य विद्रोह अघिसम्म नाइजरसँग फ्रान्सको सुमधुर सम्बन्ध थियो । आफ्नो पूर्वउपनिवेश नाइजरलाई सशस्त्र समूहविरुद्धको लडाइँमा पेरिसले सघाउँदै आएको थियो ।

    गत महिना सेनाले सत्ता कब्जा गरेपछि नाइजरमा फ्रान्स विरोधी भावना बढ्दै गएको छ भने केही स्थानीयले आफ्नो आन्तरिक मामिलामा पेरिसले हस्तक्षेप गरेको आरोप लगाएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले नाइजरका विद्रोहीको आलोचना गर्दै अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

    सैन्य नेता जनरल अब्दरहमाने त्चियानीले आक्रमणको अवस्थामा नाइजर क्षेत्रमा हस्तक्षेप गर्न बुर्किना फासो र मालीका सुरक्षा बललाई अधिकार दिने दुई वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका सैन्य अधिकारी ओमारो इब्राहिम सिदीले बताएका छन् । रासस-एएनआई

  • चुम्बन प्रकरणपछि विवादमा स्पेनी फुटबल महासंघ, खेलाडी आन्दोलित

    चुम्बन प्रकरणपछि विवादमा स्पेनी फुटबल महासंघ, खेलाडी आन्दोलित

    काठमाडौं । स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबिआलेसलाई विश्वको सर्वोच्च निकाय फिफाले अस्थायी रूपमा निलम्बन गरेको छ। उनलाई तत्कालका लागि ९० दिने निलम्बन गरिएको हो। स्पेनको अग्रपङ्क्तिकी खेलाडी जेनीफेर एर्मेसोले अध्यक्ष रुबिआलेसले उनको अनुमतिबिनै चुम्बन गरेको बताएकी थिइन्।

    महिला खेलाडीलाई चुम्बन गरेको प्रकरणपछि स्पेनका ८१ जना महिला खेलाडीले रुबिआलेसलाई पदबाट नहटाएसम्म स्पेनको महिला टोलीबाट नखेल्ने घोषणा गरेका थिए। रुबिआलेसले भने राजीनामा दिन अस्वीकार गरेपछि उनलाई निलम्बन गरिएको हो।

    अस्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इङ्गल्यान्डलाई पराजित गरेपछि स्पेनको अग्रपङ्क्तिकी खेलाडी एर्मोसोको ओठमै महासङ्घका अध्यक्षले चुम्बन गरेका थिए। यसअघि स्पेन सरकारले ४६ वर्षीय रुबिआलेसलाई निलम्बन गर्न कानुनी कारबाही सुरु गरेको जनाएको थियो। विश्व फुटबल महासङ्घ फिफाले पनि उनीमाथि अनुशासनको कारबाही सुरु गरेको बताएको थियो।

    स्पेनिस फुटबल फेडेरेसन (आरएफईएफ) द्वारा बोलाइएको विशेष साधारणसभामा रुबिआलेसले राजीनामा दिने ठानिएको थियो। तर उनले आफू त्यसका लागि योग्य नभएको बताउँदै राजीनामा दिन अस्वीकार गरे। उनले आफूले चुम्बनका लागि अनुमति मागेको र जेनिफेरले ठीक छ भनेको बताएका छन्।

    ूयो एउटा स्वतःस्फूर्त चुम्बन थियो। पारस्परिक, उत्साहपूर्ण र आपसी सहमतिमा। चुरो कुरा त्यही हो। मलाई यहाँबाट निकाल्नका लागि सहमतिमा मैले चुम्बन गरेको कुरा नै पर्याप्त छ? उनले आफ्नो प्रतिरक्षा गर्दै साधारणसभामा भनेका थिए। फुटबल क्लब पाचुकाबाट खेल्ने एर्मोसले यसबारे आफ्नो सामाजिक सञ्जालमा लामो वक्तव्य जारी गरेकी छिन्।

    ूम स्पष्ट गर्न चाहन्छु लुइस रुबिआलेसले उल्लेख गरेको कुराकानी कुनै पनि कुराकानी हामीबीच भएको भएको थिएन र सबैभन्दा महत्त्वपूर्ण कुरा, न त उनको चुम्बन सहमतिमा थियो,ू उनले भनेकी छिन्। उनले रुबिआलेसको दाबी “झूटो र अतिरञ्जित भएको बताएकी छिन्। उक्त घटनाबारे उजुरी दिनुपर्ने महसुस भएको भन्दै उनले कुनै पनि काम, खेलकुद वा सामाजिक परिवेशमा यस प्रकारको असहमतिपूर्ण व्यवहारको सिकार कोही पनि नहुन् भन्ने आफूलाई लागेको बताएकी छिन्।

    मैले आफूलाई कमजोर महसुस गरेकी छु र आवेगमा आउने, लिङ्गका आधारमा विभेद गर्ने मानिसको सिकार भएको ठानेकी छु। मेरो तर्फबाट कुनै पनि सहमतिबिना उक्त कार्य भयो,ू उनले भनेकी छिन्। सरल भाषामा भन्दा मलाई सम्मानित महसुस भएन, उनले भनिन्। यसैबीच स्पेनी फुटबल महासङ्घ संस्थाका अध्यक्षविरुद्ध गरेको टिप्पणीलाई लिएर जेनीफेर एर्मेसोमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। “प्रमाण आफैँ प्रस्ट छ,” महासङ्घले भनेको छ। “सभापतिले झूटो बोलेका छैनन्।ू

    रुबिआलेसको भनाइलाई सहयोग पुग्ने गरी बोलिदिन आफूलाई निरन्तर दबाव दिइएको भन्दै महिला खेलाडी एर्मेसोले यस्तो दबाव आफ्नो परिवार, साथीहरू र फुटबल टोलीकै साथीहरूबाट पनि आफूलाई आएको उनले बताएकी छिन्। ूखेलाडीहरूले निन्दा गर्दै आएका अवस्थाहरूको लामो सूचीमा यस्तो घटना पनि थपिन्छ। यो निर्णायक घटना हो र सबैले टेलिभिजनमा प्रत्यक्ष देखेको हो,” आफ्नो टोलीका लागि लामो समयदेखि दैनिक जीवनको हिस्सा जस्तै भएका घटनाहरूबारे उनले भनिन्।

    फाइनलमा स्पेनसँग पराजित भएको लायोनेसेस भनेर चिनिने इङ्गल्यान्डको राष्ट्रिय टोलीले विज्ञप्तिमा उक्त घटना अस्वीकार्य भएको बताएको छ। आफूलाई अजेय ठान्नेहरूको व्यवहार सहेर बस्न नहुने र उत्पीडनमा संलग्नको कुरा सुनेर उनीहरूविरुद्ध कारबाही रोक्न नहुने” पनि उक्त टोलीले जनाएको छ। हामी तिम्रो साथमा छौँ, जेनी एर्मेसो। खेलाडी युनियन फुटप्रोले जारी गरेको एउटा विज्ञप्तिमा भर्खरै विश्वकप जितेको स्पेनी टोलीका सबै २३ खेलाडीसहित कैयौँ खेलाडीले हस्ताक्षर गरेका छन्।
    बीबीसी

  • फ्रान्समा गर्मीले जनजीवन प्रभावित

    फ्रान्समा गर्मीले जनजीवन प्रभावित

    काठमाडौं । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो । गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्रि सेल्सियससम्म पुगेको छ ।

    गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरु रेड अलर्टमा रहेका छन् । गर्मी उच्चस्तरमा पुग्ने भएसँगै होशियार रहन आग्रह गरिएको छ । स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य सुरक्षाको लागि विभिन्न उपायहरु अपनाउन आग्रह गरेका छन् ।

    बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा शतर्क रहन आग्रह गरेका छन् । राष्ट्रिय मौसम विज्ञान निकाय मेटियो फ्रान्सका अनुसार यो यस वर्षकै धेरै गर्मी हो । गत सोमवार फ्रान्समा १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो । ड्रोमको न्योन्समा ४२ दशमलव २ डिग्रि सेल्सियसको उच्च तापक्रम मापन गरिएको थियो ।

  • सी जिन्पिङ र मोदी सीमामा तनाव हटाउन सहमत

    सी जिन्पिङ र मोदी सीमामा तनाव हटाउन सहमत

    काठमाडौं । भारत र चीनका नेताहरू दुई देशबीचको विवादास्पद सीमामा विद्यमान तनाव घटाउन सहमत भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन्पिङ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका छन्। उनीहरूले बुधवार एक्लाएक्लै भेटवार्ता गरेका थिए ।

    बेइजिङका अनुसार भारतीय प्रधानमन्त्रीको अनुरोधमा सीले उनलाई भेटेका हुन्। सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ।

    यी शक्तिसम्पन्न राष्ट्रबीच हिमाली क्षेत्र अवस्थित ३,४४० किलोमिटर लामो सीमामा अस्पष्टता छ। त्यसलाई लाइन अफ एक्चूअल कन्ट्रोल (एलएसी) भनिन्छ ।
    भारत र चीन एलएसीबाट सैनिकहरूलाई हटाउने प्रयास अघि बढाउन सहमत भएको भारतका विदेशसचिव विनय मोहन क्वात्राले बिहीवार बताएका हुन्।

    भारत-चीन सम्बन्धलाई सामान्य बनाउनका लागि प्रधानमन्त्री ‘मोदीे ले सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्नुपर्ने तथा एलएसीलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो, उनले भने। यस सन्दर्भमा दुई नेताबीच आफ्ना सम्बन्धित अधिकारीहरूलाई शीघ्र ‘एलएसी’बाटे सैनिक हटाउने र तनाव घटाउने कामलाई घनीभूत बनाउन निर्देशन दिने सहमति भयो, उनले भने।

    चिनियाँ विदेश मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गर्दै सी र मोदीबीच चीन–भारतबीच विद्यमान वर्तमान सम्बन्ध र पारस्परिक हितसँग सम्बन्धित अन्य विषयमा खुलस्त र गहिरो छलफल भएको जनाएको छ। राष्ट्रपति सीले चीन-भारत सम्बन्ध सुधार हुँदा दुवै देश र जनताको समान हित हुने तथा त्यो विश्व र क्षेत्रको शान्ति, स्थिरता र विकासका लागि पनि अनूकुल हुनेमा जोड दिनुभयो।

    ‘दुवै पक्षले द्विपक्षीय सम्बन्धका समस्त विषयबारे सोच्नुपर्छ र सीमावर्ती क्षेत्रमा मिलेर शान्ति सुनिश्चित गर्न सीमासँग सम्बन्धित विषयमा उपयुक्त तरिकाले व्यवहार गर्नुपर्छ, विज्ञप्तिमा भनिएको छ। भारतबाट प्रकाशित हुने द इन्डियन एक्सप्रेस अङ्ग्रेजी पत्रिकाका अनुसार सी र मोदीबीच वार्ता हुँदा दुवै नेताले दोभासे वा टिपोटकर्ता राखेका थिएनन्।

    यसअघि सी र मोदीबीच जी२० शिखर सम्मेलनमा सहभागी हुन जाँदा वार्ता भएको थियो। आगामी महिना जी२० शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति भारत जाने अपेक्षा गरिएको छ। उक्त सम्मेलन सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुन लागेको छ।

    BBC

  • साउदी सीमारक्षकले आप्रवासीहरुको व्यापक नरसंहार गरिरहेको खुलासा

    साउदी सीमारक्षकले आप्रवासीहरुको व्यापक नरसंहार गरिरहेको खुलासा

    काठमाडौं । मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्यूमन राइट्स वाचको नयाँ प्रतिवेदनमा साउदी सीमारक्षकहरूले यमनसँग सीमा जोडिएको क्षेत्रमा कैयौँ आप्रवासीहरूको सामूहिक हत्या गरेको आरोप लगाइएको छ।

    बीबीसीका अनुसार प्रतिवेदनमा युद्धग्रस्त यमन हुँदै साउदी अरब जान खोज्ने सयौँ मानिसलाई गोली हानेर हत्या गरिएको उल्लेख छ। साउदी सीमारक्षकहरूद्वारा मारिएका भनिएका आप्रवासीमध्ये अधिकांश इथियोपियाली नागरिक हुन् । आप्रवासीहरूले गोली लागेर आफ्नो अङ्गभङ्ग भएको र आफूहरूले बाटोमा शवहरू देखेको बीबीसीलाई बताएका छन्।

    साउदी अरबले यसअघि नियोजित हत्याको आरोप अस्वीकार गरेको थियो। ह्ययूमन राइट्स वाचको प्रतिवेदनमा आप्रवासीहरूले सुनाएको बीभत्स वर्णन समावेश छ। उनीहरूले साउदी प्रहरी तथा सैनिकहरूले साउदी अरब र यमनबीचको अप्ठ्यारो सीमामा आफूहरूमाथि गोली प्रहार गरेको र विस्फोटक अस्त्र ताकेको बताएका छन्। बीबीसीले छुट्टै कुरा गरेका आप्रवासीहरूले पनि रातको समयमा सीमा पार गर्दाको अत्यासलाग्दो अवस्था वर्णन गरेका छन्।

    उनीहरूका अनुसार महिला र बालबालिकासहित साउदी अरब प्रवेश गर्ने इथियोपियालीहरूको ठूलो समूहमा गोली प्रहार भएको थियो। उनीहरूलाई यमनी र इथियोपियाली तस्करहरूले त्यहाँ पुर्‍याएका थिए। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आईओएमका अनुसार प्रत्येक वर्ष दशौँ हजार मानिसहरू होर्न अफ अफ्रिकाबाट समुद्र पार गरेर यमन साउदी अरबतिर जान्छन्। मानव अधिकारवादी संस्थाहरूका अनुसार धेरै मानिस बाटोमै जेल पर्छन् वा कुटिन्छन्।

    यहाँको समुद्र पार गर्न पनि निकै डरलाग्दो छ। गत साता मात्रै जिबूटीनजिकै समुद्रमा एउटा डुङ्गा डुब्दा २४ जनाभन्दा धेरै आप्रवासी हराइरहेका छन्। यमन हुँदै आप्रवासीहरू साउदी सीमासम्म जाने बाटोमा चिहानहरूको लस्कर छ। यात्राका क्रममा ज्यान गुमाएका मानिसहरू त्यहाँ पुरिएका छन्।

    यमनको अधिकांश उत्तरी क्षेत्र त्यहाँका विद्रोहीहरूको कब्जामा छ। उनीहरूले सञ्चालन गरेको हिरासतमा दुई वर्षअघि आगलागी हुँदा दर्जनौँ आप्रवासीहरूको मृत्यु भएको थियो। तर ह्यूमन राइट्स वाचले औँल्याएको दुर्व्यवहारको मात्रा योभन्दा पनि ठूलो छ।

  • रुसको निजी सैन्य समूहका प्रमुख विमान दुर्घटनामा मारिए, षडयन्त्र की भवितब्य ?

    रुसको निजी सैन्य समूहका प्रमुख विमान दुर्घटनामा मारिए, षडयन्त्र की भवितब्य ?

    काठमाडौं । रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ । दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन् । रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ ।

    प्रिगोजिनको विमान रुसको तेवेर शहरमा दुर्घटना भएको हो । यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्ने एकिन भइसकेको छैन ।

    दुर्घटनापछि विमानमा आगो लागेको थियो । वागनर भाडाका सैनिकहरुको समूह हो । यो समूहका लडाकुहरु पैसाका लागि लड्छन् । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ । युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरुलाई पर्याप्त हतियार नदिएको भन्दै वागनर समूह असन्तुष्ट थियो । यसअघि गत जुन महिनामा आफ्ना असन्तुष्टिका बीच वागनर समूह युक्रेनबाट फर्किएर रुसकै रोस्तोव शहर कब्जा गरेर बसेको थियो ।

    आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्को कब्जा गर्ने धम्की दिएपछि रुसमा हलचल मच्चिएको थियो । तर पछि वागनर समूह पछि हटेको थियो । रक्तपात रोक्नका लागि विद्रोह स्थगित गरेको भन्दै प्रिगोजिन बेलारुस गएका थिए । त्यतिबेला वागनर समूहको विद्रोहको धम्की सार्वजनिक भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई धोका दिने हरेक व्यक्तिले दण्ड सजायँ भोग्नुपर्ने चेतावनी दिएका थिए ।

  • चन्द्रमामा यान उतार्दै भारतले बनायो कीर्तिमान

    चन्द्रमामा यान उतार्दै भारतले बनायो कीर्तिमान

    काठमाडौं । भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो। नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ। इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो।

    जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो। चन्द्रयान–३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग छन्। ल्यान्डरको नाम विक्रम राखिएको छ। इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन ९इसरो० का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो।

    विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ। प्रज्ञानको तौल २६ किलो छ। सन् २०१९ मा भारतले पठाएको चन्द्रयान-२ को ल्यान्डर अवतरण हुने क्रममा दुर्घटनामा परेर सम्पर्कविच्छेद भएको थियो। इसरोका प्रमुख श्रीधर पानिकर सोमनाथले २०१९ मा अवतरणका क्रममा भएका प्राविधिक गल्तीलाई यसपालि सच्याइएको बताएका छन्।

    यसअघि अमेरिका, चीन र तत्कालीन सोभियत संघले चन्द्रमामा यान पठाएका थिए। तर उनीहरू सबैले चन्द्रमाको भूमध्यरेखा आसपासमा यान पठाएका थिए अमेरिकाले पटक-पटक अन्तरिक्षयात्री पठाएको छ। चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो मुलुक हो। प्रज्ञान रोभरले अब चन्द्रमाको दक्षिणी ध्रुवको सतहको अध्ययन गर्ने छ।

  • भारतीय चन्द्रयान आज चन्द्र सतहमा अवतरण गर्दै, बन्ने छ इतिहास

    भारतीय चन्द्रयान आज चन्द्र सतहमा अवतरण गर्दै, बन्ने छ इतिहास

    काठमाडौं । रूसको चन्द्रमा यात्रा विफल भएपछि विश्वभरिको ध्यान भारतको चन्द्रमा यात्रामा टिकेको छ । भारतको चन्द्रयान–३ बुधबार साँझ (अगस्ट २३) ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा टेक्ने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ । इसरोले चन्द्रयान अवतरणको अन्तिम तयारीमा रहेको मंगलबार जनाएको हो । सबै सिस्टमलाई समय समयमा जाँच गरिएको र सबै सही ढंगले काम गरिरहेको इसरोको भनाइ छ ।


    अहिले अनुमान गरिएको समयमा चन्द्रयान–३ विक्रमलाई अवतरणमा कुनै समस्या आए त्यसको ल्यान्डिङ समयलाई अगस्ट २७ पुर्‍याइने इसरोले जनाएको छ । यस विषयको अन्तिम निर्णय भने बुधबारलाई निर्धारित अवतरणको समयभन्दा दुई घण्टा पहिले लिइनेछ । भारतले चन्द्रमा मिसनका लागि २०२३ जुलाई १४ मा अन्तरिक्ष यान पठाएको हो । चन्द्रमाको कक्षसम्म पुग्ने लक्ष्य लिएर यान पठाइएको थियो ।

    चार वर्ष अगाडि चन्द्रमामा अवतरण गर्ने भारतको लक्ष्य पूरा हुन सकेको थिए । अवतरण गर्ने क्रममा सन् २०१९ सेप्टेम्बर ७ का दिन अन्तिम समयमा चन्द्रयान–२ सँग भारतीय वैज्ञानिकहरूको सम्पर्क टुट्न पुगेको थियो । त्यतिबेला चन्द्रयान–२ विक्रम ल्यान्डर चन्द्रमाभन्दा २।१ किलोमिटर दूरीमा मात्रै थियो । त्यो असफलतापछि भारतले थप तयारीका साथ पुनः प्रयास गरेको हो ।

    भारतले चन्द्रयान–३ पठाएको करिब एक महिनापछि रुसले ११ अगस्टका दिन लुना–२५ अन्तरिक्ष यानलाई चन्द्रमातर्फ पठाएको थियो । भारतभन्दा तीव्र रफ्तारका साथ छिटो अवतरण गर्ने लक्ष्य रुसी यानको थियो । भारत र रुसको चन्द्रमा मिसन एकैसाथ अन्तरिक्षमा सुरु भएपछि एक प्रकारले प्रतिस्पर्धा नै मानिएको थियो । तर, लुना–२५ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ ।

    चन्द्रमाको दक्षिणी ध्रुवमा मानवरहित यान अवतरण गराउन रुसको सपना यस पटक रोकिन पुगेको छ । रुसले ४७ वर्षपछि चन्द्रका लागि मिसन गरेको थियो । दुई–चार दिनको फरकमा चन्द्रमाको दक्षिणी ध्रुवमै रुस र भारतको अन्तरिक्ष यान अवतरणको लक्ष्य थियो । रुसको मिसन असफल भएपछि दुनियाँभरका अन्तरिक्ष वैज्ञानिक र मिडियाको नजर भारतीय मिसनतिर सोझिएको हो ।

    हालसम्म चन्द्रमाको उत्तरी या मध्य क्षेत्रमा अवतरणका लागि अन्तरिक्ष यानहरू पठाइएका छन् । तर, दक्षिणी ध्रुवमा पहिलो पटक अवतरण गर्न लागिएको हो । भारतको चन्द्रयान–३ ले सुरक्षित अवतरण गरेको खण्डमा चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्ड गर्ने पहिलो देश भारत बन्नेछ । चन्द्रमाको सतहमा पुग्ने चौथो देशमा दर्ज हुनेछ ।

    यसअघि अमेरिका, रुस र चीनले उक्त सफलता पाइसकेका छन् । इसरोका अनुसार विभिन्न इलेक्ट्रिक र मेकानिकल सबसिस्टम जोडिएको यो यानको उद्देश्य सुरक्षित ‘सफ्ट ल्यान्डिङ’ हो । यानसँग पठाइएको रोबरलाई चन्द्रमाको सतहमा छोड्ने र दुईतर्फी सञ्चार गर्नेलगायतका क्षमता चन्द्रयान–३ को रहेको इसरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    चन्द्रयान–३ का लागि भारत सरकारले २ सय ५० करोड बजेट खर्च गरेको छ । चन्द्रयान यात्रा सुरु भएको ३३ दिनमा चन्द्रमाको सतहमा पुग्ने लक्ष्य राखिएकामा लम्बिएर ४० दिन पुगेको थियो । चन्द्रमा पृथ्वीभन्दा ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा छ । भारतीय चन्द्रयान विक्रम लगभग १।६८ किलोमिटर प्रतिसेकेन्डको गतिले चन्द्रमामा अवतरणको कोसिसमा छ । इसरोका वैज्ञानिकका अनुसार चन्द्रयान–३ लाई चन्द्रमाको सतहमा अवतरण गर्न १५ देखि १७ मिनेट लाग्नेछ ।

  • रुसको राजधानी मस्कको एक भवनमा कसले गर्यो ड्रोन आक्रमण ?

    रुसको राजधानी मस्कको एक भवनमा कसले गर्यो ड्रोन आक्रमण ?

    काठमाडौं । रुसको राजधानी मस्कोको मध्य भागस्थित एक निर्माणाधीन भवनमा ड्रोनबाट आक्रमण भएको छ । त्यस शहरका मेयर सेर्गेइ सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राम मार्फत दिएको जानकारी अनुसार हवाई प्रतिरक्षा प्रणालीले अर्को ड्रोन मस्कोको मोजाइस्क इलाकामा खसालिदिएको थियो। कुनै हताहत भएको खबर भने आएको छैन। रिया समाचार एजेन्सीका अनुसार खिम्की र मितिनो इलाकामा पनि विस्फोटनहरू भएका बारे आपत्कालीन सेवा प्रदायकहरूलाई सूचना गरिएको थियो।

    रुसको रक्षा मन्त्रालयले उसले युक्रेनबाट भएका ड्रोन हमलालाई विफल बनाइदिएको बताएको छ। उसका अनुसार हवाई प्रतिरक्षा प्रणालीले मस्कोतर्फ आइरहेका तीनवटा मानवरहित ड्रोनलाई खसालिदिएको थियो। दुईवटा ड्रोन मोजाइस्क र खिम्की इलाकामा नष्ट गरिएको तर तेस्रो ड्रोन अनियन्त्रित भइ मस्को सहरको एक व्यापारिक कम्प्लेक्समा रहेको निर्माणाधीन भवनमा ठोक्किन पुगेको उसले बताएको छ।

    लगातार दोस्रो रात मस्कोका विमानस्थलहरूमा भित्रने र बाहिरिने उडानहरू अस्थायी स्थगन भएका छन्। यसै साता युक्रेनी ड्रोन आक्रमणमा परी रुसको लामो दूरीको बमवर्षक विमान नष्ट भएको विवरणहरू सार्वजनिक भएका थिए। सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी–२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू–२२ विमानमा आगो लागेको थियो। रक्षा अधिकारीहरूका अनुसार युक्रेनी सीमाको उत्तर–पूर्वमा रहेको ब्रायन्स्क क्षेत्रमा अन्य दुई वटा ड्रोनलाई रोकिएको थियो। रुसी अधिकारीहरूले ड्रोन हमलालाई युक्रेनले गराएको आतङ्ककारी कार्य भनेका छन्।

    ड्रोन हमलाबारेका विवरणमा टिप्पणी गर्दै अमेरिकी विदेश मन्त्रालयले उसले रुसभित्र ड्रोन आक्रमण गर्न प्रोत्साहन नगरेको जनाएको छ। यसबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स समूहको सम्मेलनलाई सम्बोधन गर्दै उक्त समूह विश्वका अधिकांश मानिसहरूको आकाङ्क्षा पूरा गर्ने दिशामा लागिपरेको बताए। राष्ट्रपति पुटिनले उक्त सम्मेलनलाई भिडिओमार्फत सम्बोधन गरेका थिए। किनभने उनी विरुद्ध युद्ध अपराधका अभियोगमा अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरिएको थियो।

    बीबीसीको सहयोगमा

  • पाकिस्तानमा १५ घण्टासम्म नदीमाथि केवलकारमा फसेका ८ जनाको उद्दार

    पाकिस्तानमा १५ घण्टासम्म नदीमाथि केवलकारमा फसेका ८ जनाको उद्दार

    इश्लामावाद । पश्चिम पाकिस्तानमा केबलकार अड्किएपछि एउटा नदीमाथि आकाशमा फसेका आठै जनाको उद्धार भएको छ । पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले मङ्गलवार राती अन्तिम तीन जनाको उद्धार गरिएसँगै उद्धार कार्य पुरा भएको जनाएको छ। केबलकारसँगै अड्किएका केही बालकहरूलाई रात पर्नुअघि नै हेलिकप्टरबाट उद्धार गरिएको थियो।

    बाँकीलाई जिप लाइनबाट मध्यरातसम्म उद्धार गरिएको छ । पाकिस्तानको सेनाले जिप लाइनका विज्ञहरू लगेर केबलकारमा अड्किएकाहरूको उद्धार सुरू गरेको जनाएको थियो। उक्त केबलकारमा छजना बालबालिकासहित आठजना सवार थिए।

    ती बालबालिका विद्यालय जान केबलकार चढेका थिए। तर एउटा तार चुँडिएपछि उक्त केबलकार जमिनभन्दा ९०० फिटमाथि १५ घण्टाभन्दा बढी झुन्डिएको थियो। पाकिस्तानका अन्तरिम प्रधानमन्त्रीले खाइबर पख्तून्ख्वास्थित बट्टग्राममा केबलकारमा फसेका मानिसहरूलाई उद्धार भएकोमा आभार व्यक्त गरेका छन्।

    उक्त केबलकारनजिक सेनाका हेलिकप्टरहरू पुगे पनि तीव्र हावाका कारण समयमा उद्धार हुन सकेको थिएन। स्थानीय पत्रिका डनको अनलाइन संस्करणका अनुसार केबलकारमा मानिसहरू फसेको चार घण्टापछि बल्ल एउटा हेलिकप्टर उक्त स्थानमा पुगेको थियो। अल्लाई उपत्यकामा स्थानीय समयानुसार बिहान ७ बजेतिर यो घटना भएको हो। आकाशमा केबलकार झुन्डिएको देखेपछि स्थानीय बासिन्दाहरूले माइकबाट सरकारी अधिकारीहरूलाई सूचित गरेका थिए।

    छतबिनाको उक्त केबलकार अहिले एउटा तारको भरमा मात्र झुन्डिएको स्थानीय उद्धार अधिकारी अब्दुल बासित खानले समाचारसंस्था एएफपीलाई बताए। ‘ईश्वरका लागि हामीलाई सहयोग गर्नुहोस्,’ केबलकारमा फसेका गुलफराजले पाकिस्तानी टेलिभिजन जिओ न्यूजलाई फोनबाट भनेका थिए। उनले केबलकारमा आफूसहित छ जना भएको पुष्टि गरेका थिए।


    उनका अनुसार ती विद्यार्थीहरू १० देखि १५ वर्षका छन्। तीमध्ये एक जना अचेत भएको उनले बताए। उद्धारकार्य हेर्न मानिसहरूको भिड जम्मा भएको थियो। अधिकारीहरूले कारमुनि जाली फैलाउने प्रयास गरेका थिए। उक्त स्थानमा हेलिकप्टर पुगेको भए पनि तीव्र गतिको वायुका कारण उद्धारकार्य जटिल बनेको थियो। हेलिकप्टरका पङ्खाले केबलकारलाई अस्थिर बनाउन सक्ने चिन्ता पनि देखिएको उद्धारकार्यमा संलग्न एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएका थिए।

  • पाकिस्तानमा यात्रु बसमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु

    पाकिस्तानमा यात्रु बसमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु

    पञ्जाव । पाकिस्तानको पन्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबसमा आगो सल्केको थियो ।

    फैसलावाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्‍याएका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए । दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह सहर कराँचीबाट सङ्घीय राजधानी इस्लामवादतर्फ गइरहेको थियो । दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन् ।

    अघिल्लो साता पन्जाब प्रान्तमा भएका दुई हजार आठ सय ९३ वटा शृङ्खलाबद्ध सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिए भने तीन हजार एक सय ११ जना घाइते भएका थिए । आपत्कालीन सेवा विभागका अनुसार ९९ जनाको टाउको गम्भीर चोट लागेको, एक सय ८७ जनाका शरीरका विभिन्न भाग भाँच्चिएका, आठ सय ५० जना घाइते अस्पताल भर्ना भएका थिए ।

  • भारतलाई उछिन्न रुसले पठाएको अन्तरिक्षयान दुर्घटनाग्रस्त

    भारतलाई उछिन्न रुसले पठाएको अन्तरिक्षयान दुर्घटनाग्रस्त

    काठमाडौं । रुसले चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य मस्कोले राखेको थियो। लूना–२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको पहिलो चन्द्र अभियान थियो।

    यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो। मानवरहित उक्त यान चन्द्रमाको दक्षिणी ध्रुवमा नियन्त्रित अवतरण गर्ने क्रममा थियो। तर अवतरण गर्नुअघिको कक्षमा पुगेपछि त्यसमा समस्या देखिएको थियो। रुसी सरकारी अन्तरिक्ष निकाय रोसकोमोसले लूना–२५ मा समस्या देखा परेलगत्तै त्यससँग सम्पर्क गुमाएको जनाएको छ। उक्त यानको अवतरण सोमवारका लागि तय गरिएको थियो। चन्द्रमाको उक्त क्षेत्रमा बरफ र महत्त्वपूर्ण तत्त्वहरू हुनसक्ने वैज्ञानिकहरूले ठानेका छन्।

    पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेको रुसले थप चन्द्रयानहरू पठाउने र चीनसँग मिलेर पनि अन्तरिक्ष अभियान अघि बढाउने बताउने गरेको छ। हालसम्म कुनै पनि देश नपुगेको दक्षिणी ध्रुवमा यतिखेर भारत तथा रुसबिच प्रतिस्पर्धा चलेको थियो जहाँ भारतको चन्द्रयान–३ अर्को साता त्यहाँ अवतरण गर्ने प्रयासमा छ। यद्यपि अमेरिका र चीनले चन्द्रमाको सतहमा नियन्त्रित अवतरण गरिसकेका छन्।

  • रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तिमा ७ मारिए

    रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तिमा ७ मारिए

    काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोका शीर्ष सैन्य कमाण्डरसँग भेटेको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी सहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् । कीएभबाट करिब १५० किलोमिटर उत्तरमा बेलारुसतर्फ रहेको चेर्निहिभ रूसको आक्रमणको पहिलो महिनादेखि नै ठूला आक्रमणबाट धेरै हदसम्म जोगिएको थियो ।

    फेब्रुअरी २०२२ मा बेलारूस हुँदै युक्रेनमा आक्रमण गर्दा रुसी सेनाले शहरभरि मार्च गरेको थियो । पुटिनले दक्षिणी रूसको रोस्तोभ–अन–डोनको दुर्लभ भ्रमणका क्रममा रूसी सेनाका शीर्ष जर्नेललाई भेटेपछि यो आक्रमण भएको हो ।

    यो आक्रमण हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीडेनको भ्रमणका लागि त्यसतर्फ लागेका थिए । चेर्निहिभ आक्रमणबारे पुष्टि गर्दै युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले टेलिग्राममा भनेकाछन्, “पाँच जनाको मृत्यु भएको छ । कम्तीमा ११ बालबालिकासहित ३७ जना घाइते भएका छन् ।”

    जेलेन्स्कीका अनुसार यो आक्रमण ‘सहरको मध्यभागमा’ एउटा चोकमा भएको थियो, जहाँ ‘पोलिटेक्निक विश्वविद्यालय र एउटा नाट्यशाला’ छ । ‘एउटा सामान्य शनिबारलाई रूसले पीडा र क्षतिको दिनमा परिणत गरेको छ,” युक्रेनी नेताले स्वीडेन पुगेपछि भने । उनले घटनास्थलबाट एउटा भिडियो पोस्ट गरेका थिए ।

    यसमा सोभियत कालीन एउटा ठूलो भवनको चारैतिर भग्नावशेष देखिएको छ, त्यसको वरिपरि रोकेर राखिएका कारहरूमा आंशिक रूपमा क्षति भएको छ । एएफपीका सञ्चारकर्मीहरूले तारास शेभचेन्को नाट्यशाला सङ्गीत एकेडेमी बाहिर दमकल देखेको बताएका छन् । आसपासका केही भवनमा पनि सामान्य क्षति पुगेको छ । रासस

  • भारतको चन्द्र अभियानले पठाएको पहिलो तस्वीर सार्वजनिक

    भारतको चन्द्र अभियानले पठाएको पहिलो तस्वीर सार्वजनिक

    काठमाडौं । भारतको तेस्रो चन्द्र अभियान अहिलेसम्म सबैभन्दा कम खोजी भएको चन्द्रमाको दक्षिणी ध्रुवतर्फ नजिकिँदै गर्दा भारतको अन्तरिक्ष निकायले चन्द्रमाको पछिल्लो तस्बिर सार्वजनिक गरेको छ। उक्त तस्बिर चन्द्रयान–३ सँगै पठाइएको विक्रम नाम दिइएको ल्यान्डरले खिचेको हो।

    विक्रमले चन्द्रमामा अवतरणका लागि आफ्नो अन्तिम चरणको अभियान बिहीवारबाट सुरू गरेको छ। २३ अगस्टमा रोभर लिएर गएको विक्रम चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्दैछ। चन्द्र सतहको निकै नजिकसम्म पुर्‍याएपछि ल्यान्डर यसको प्रोपल्सन प्रणालीबाट अलग भइसकेको छ।

    सार्वजनिक भएको श्यामश्वेत तस्बिरमा चन्द्रमाको सतहमा चट्टान र खाडलहरू देखिन्छन्। एउटा तस्बिरमा प्रोपल्सन पनि देखिएको छ। चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ। त्यहाँ ठूलाठूला खाडल र भीरहरू छन्। केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन। भारतको चन्द्रयान–३ सँगै रुसको ‘लुना–२५’ पनि चन्द्रमाको दक्षिणी ध्रुवतर्फ गइरहेको छ। दुवै अन्तरिक्षयानहरू यहाँ केही दिनको अन्तरालमा अवतरण हुने अपेक्षा गरिएको छ।

    लुना–२५ सन् १९७६ यता रुसले प्रक्षेपण गरेको आफ्नो पहिलो चन्द्रयान हो। त्यसबेला सोभियत सङ्घको अङ्ग रहेकै समयमा रुसले चन्द्रमामा अन्तरिक्षयान पठाएको थियो। गत साता प्रक्षेपण गरिएको रुसको अन्तरिक्षयान अगस्ट २१ वा २२ मा चन्द्रमामा अवतरण हुने ठानिएको छ। भारतीय अन्तरिक्षयान भन्दा केही दिन अगाडी मात्रै अवतरण हुने ठानिएको उक्त अभियान सफल भए रुसले यसमा इतिहास बनाउने छ।

    त्यो अवस्थामा भारतको चन्द्रयान दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो हुनेछ। यद्यपि भारत चन्द्रमामा अन्तरिक्षयान अवतरण गर्ने अमेरिका, पूर्व सोभियत युनियन र चीनपछि चौथो देश हुनेछ। भारतको अन्तरिक्ष अन्वेषण सम्बन्धी निकाय इसरोले शुक्रवार आफ्नो ल्यान्डर मोड्यूलले तल्लो कक्षतर्फ अवतरणको क्रम सुरु गरेको जनाएको छ।

    भारतले चन्द्रमाको अन्वेषणका लागि प्रक्षेपण गरेको तेस्रो अभियान चन्द्रयान–३ यसअघिका सफलताहरूमा आधारित छ। सन् २००८ मा भएको पहिलो चन्द्र अभियानको १३ वर्षपछि भारतले तेस्रो यान चन्द्रमामा पठाएको हो। भारतको पहिलो अभियानले चन्द्रमाको सतहमा पानीका अणुहरूको उपस्थिति पत्ता लगाउनुका साथै दिउसोको समयमा चन्द्रमामा वायुमण्डल रहेको स्थापित गरेको थियो।

    चन्द्रयान–२ मा पनि अर्बिटर, ल्यान्डर र रोभर पठाइएको थियो। सन् २०१९ मा प्रक्षेपण गरिएको यो अन्तरिक्ष अभियानले आंशिक मात्रै सफलता हात पारेको थियो। यद्यपि यसको अर्बिटरले अहिले पनि चन्द्रमाको परिक्रमा र अध्ययन गरिरहेको छ। तर यसको ल्यान्डर रोभर सतहमा नियन्त्रित रूपमा अवतरण गर्न असफल भएको थियो र सतहमा उत्रने क्रममा दुर्घटनाग्रस्त भएको थियो।

    इसरोका प्रमुख श्रीधर पानिकर सोमनाथले भारतको अन्तरिक्ष निकायले चन्द्रयान–२ मा भएको दुर्घटनाको होसियारीका साथ अध्ययन गरेको र त्यसक्रममा भएका त्रुटिहरू चन्द्रयान–३ मा एक–एक गरी सुधारेको बताएका छन् ।

    चन्द्रयान ३ को तौल ३,९०० किलोग्राम छ र यसको लागत करिब ६ अर्ब १५ करोड भारतीय रुपैयाँ हो। विगत दुई दशकमा भारतको अन्तरिक्ष कार्यक्रममा निकै विकास भएको छ। खर्च घटाउन सक्ने सामर्थ्यका कारण विश्वको ध्यान भारततिर आकर्षित भएको छ।

    यसको ल्यान्डर मोड्यूल करिब १,५०० किलोग्रामको छ। यसमा प्रज्ञान नामको २६ किलोग्राम रोभर छ। ल्यान्डरको नाम भारतीय अन्तरिक्ष निकायका संस्थापक विक्रमको नामबाट र रोभरको नाम संस्कृतमा ज्ञान अर्थ लाग्ने गरी प्रज्ञान राखिएको हो।

    चन्द्रमाको दक्षिणी ध्रुव खासै अन्वेषण नभएको क्षेत्र हो। अधिकांश समय सूर्यको प्रकाशबाट छायामा पर्ने यहाँको सतही क्षेत्र चन्द्रमाको उत्तरी ध्रुवभन्दा फराकिलो छ। वैज्ञानिकहरूले स्थायी रूपमै सूर्यको प्रकाश नपर्ने क्षेत्रमा पानी पाइनसक्ने सम्भावना रहेको बताएका छन्। चन्द्रयान-३ र लुना-२५ दुवै अन्तरिक्ष अभियानको प्रमुख उद्देश्य यहाँ पानी भएको बरफ खोज्नु हो।

    वैज्ञानिकहरूले पानी भेटिएको अवस्थामा भविष्यमा चन्द्रमामा मानव बस्ती बस्न सक्ने बताउँदै आएका छन्। मङ्गल वा टाढाका अन्य ग्रहहरूमा अन्तरिक्ष यान पठाउनका लागि प्रोपेलेन्ट आपूर्तिका लागि पनि यो स्थान काममा आउन सक्ने उनीहरूको ठम्याई छ।

    BBC

  • ट्रम्पलाई चिठीमा विष पठाउने महिलालाई २२ वर्ष जेल

    ट्रम्पलाई चिठीमा विष पठाउने महिलालाई २२ वर्ष जेल

    काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् जैविक हतियार (विष) पठाएको आरोपमा क्यानडाकी एक महिलालाई अदालतले झण्डै २२ वर्षको जेल सजायँ सुनाएको छ । ५६ वर्षीया पास्कल फेरियरलाई अदालतले २६२ महिना (झण्डै २२ वर्ष) जेल सजायँ सुनाएको हो ।

    सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको एक घातक चिठी ह्वाइट हाउस पुग्नुभन्दा अगाडि नै सुरक्षाकर्मीले बरामद गरेका थिए । सो चिठीमा रिसिन नामको विष रहेको पत्ता लागेको थियो । लगत्तै उनी पक्राउ परेकी थिइन् ।


    फेरियरले अदालत समक्ष आफूले जैविक हतियार ट्रम्पलाई पठाएको स्वीकारसमेत गरेकी थिइन् । तर उक्त जैविक हतियार ट्रम्पसम्म पुग्न नपाएकोमा आफू दुःखी भएको उनले बताएकी थिइन् । फेरियरले जेल सजायँ भोगिसकेपछि अमेरिकाबाट निर्वासनमा पठाइने र यदि अमेरिका फर्किए पनि कडा निगरानीमा राखिने बीबीसीले जनाएको छ ।

    रिसिन विषाक्त प्रोटिन हो । यो अडेर (अरन्डी) को बिउमा पाइन्छ । यसमा तेलको मात्रा बढी हुन्छ । अडेरको तेल औषधिको रुपमा प्रयोग हुन्छ । बिउबाट तेल निकालिसकेपछिको पिनामा ५ देखि १० प्रतिशत रिसन नामको विष पनि हुन्छ । निश्चित प्रक्रिया पूरा गरी त्यसबाट विष निकालिन्छ ।

    त्यो प्रक्रिया सरल भएकाले अमेरिकाले त्यसको रेसिपीलाई इन्टरनेटमा प्रतिबन्ध लगाइदिएको छ । त्यो विष सेवन गरेमा वा नाकको माध्यमबाट शरीरमा प्रवेश गरेमा मानिसमा ज्वरो आउने, रुखाखोकी लाग्ने, फोक्सोमा पानी जम्ने र मानिसको मृत्यु पनि हुन सक्ने जोखिम रहन्छ ।

  • मलेसियामा सडकमै भयो विमान दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    मलेसियामा सडकमै भयो विमान दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं । मलेसियाको मध्य सेलान्गोर राज्यमा आज बिहीवार एक सानो निजी विमान सडकमा ठोकिँदा १० जनाको ज्यान गएको छ । विमान दुर्घटना हुँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको ज्यान गएको स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले बताए ।


    मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति निकालेर विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेका जनाएको छ । प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ उडेको थियो ।

    हवाई दुर्घटनाबारे ब्युरोले तत्काल अनुसन्धान शुरु गर्ने उनले बताए । प्रत्यक्षदर्शीका अनुसार विचक्राफ्ट मोडेल ३९० शाह आलमको उपनगर नजिकै एल्मिना इस्टेटको जमिनमा ठोक्किँदा आगो लागेको थियो । विस्फोटको ठूलो आवाज पनि सुनिएको प्रहरीले जनाएको छ ।

  • कोलम्बियामा बढ्यो नरसंहारका घटना, राष्ट्रसंघ चिन्तित

    कोलम्बियामा बढ्यो नरसंहारका घटना, राष्ट्रसंघ चिन्तित

    काठमाडौंं । संयुक्त राष्ट्रसङ्घले कोलम्बियामा नाटकीय ढङ्गले हिंसात्मक घटना बढेकामा त्यसको निन्दा गरेको छ । कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० भन्दा बढी नरसंहारका घटना भएका छन् । सरकार र सशस्त्र समूहबीचको युद्धविरामका बाबजुद ११ प्रतिशतले हिंसा बढेको राष्ट्र सङ्घले जनाएको छ ।

    मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रतिनिधि जुलिएट डे रिवेरोले बढ्दो हिंसाप्रति दुःख व्यक्त गर्नुभएको छ । बोगोटामा मानवीय अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै उहाँले सुरक्षा बलमाथि भएका अन्धाधुन्ध आक्रमण, गैर–राज्य र सशस्त्र समूह तथा आपराधिक सङ्गठनका नरसंहारका घटनाले सबैलाई चिन्तित तुल्याएको बताउनुभयो ।

    गत वर्षको अन्त्यमा राष्ट्रपति गुस्ताभो पेट्रोले देशका पाँच प्रमुख सशस्त्र समूहहरूसँग द्विपक्षीय युद्धविरामको घोषणा गर्नुभएको थियो तर त्यसको पूर्ण पालना नहुँदा अमूल्य मानव जीवन अतिवादी समूहको आक्रमणमा नाश भइरहेको छ । बितेका छ महिनामा नरसंहारका घटनामा १९ जना बालबालिकाका साथै एक सय ६८ जना मारिएका छन् । रासस-एएफपी

  • भारतको हिमाचलमा बाढी, कम्तिमा ५० जनाको मृत्यु

    भारतको हिमाचलमा बाढी, कम्तिमा ५० जनाको मृत्यु

    काठमाडौं । भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ । राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका कारण राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरू बन्द गर्न आदेश दिएको छ ।

    भारतीय मौसम विज्ञान विभाग आईएमडीे ले राज्यमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । राज्य आपत्कालीन सञ्चालन केन्द्रका अनुसार राज्यमा सात सय ५२ सडक बन्द गरिएको छ ।

  • रुसमा पेट्रोल पम्पमा विष्फोट, कम्तिमा एक दर्जन मारिए

    रुसमा पेट्रोल पम्पमा विष्फोट, कम्तिमा एक दर्जन मारिए

    काठमाडौं । रुसको दक्षिणी क्षेत्र डागेस्तानको एक पेट्रोल पम्पमा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा १२ जना मानिसको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यद्यपि मृतकको सङ्ख्याबारे स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ ।

    चिकित्सकलाई उद्धृत गरिएको एक अपुष्ट रुसी विवरणका अनुसार मृत्यु हुनेको सङ्ख्या करिब २५ पुगेको छ र ६० जनाभन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार मृत्यु हुनेमा केही बालबालिका समेत रहेका छन्। आगोको रापका कारण गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि मस्को लगिएको बताइएको छ।


    क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाच्कला सहरमा भएको विस्फोटको कारण भने हालसम्म खुल्न सकेको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार पेट्रोल पम्पमा फैलनुअघि त्यहाँ नजिकै कार पार्किङ गरिएको क्षेत्रबाट आगो लाग्न सुरु भएको थियो। अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार रातिको ९ः४० बजे फैलन सुरु भएको आगो नियन्त्रणमा लिन सयौँ अग्नि नियन्त्रकहरूलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो।

    सार्वजनिक भएको तस्बिरमा रातिको समयमा ठूलो आगो लागेको देखिन्छ। घटनास्थल वरपर थुप्रै दमकलहरू देखिएका छन्। त्यहाँ करिब २६० जना आपत्कालीन कर्मचारीलाई परिचालन गरिएको छ। गम्भीर घाइतेलाई मस्को लैजानका लागि सरकारले एउटा विमान पनि तैनाथ गरेको मन्त्रालयले जनाएको छ। रुसी समाचार संस्था इन्टरफ्याक्सले चिकित्सकलाई उद्धृत गर्दै मृत्यु हुनेमा तीन जना बालबालिका रहेको जनाएको हो। आगलागी ६०० वर्गमिटर क्षेत्रमा फैलिएको र थप विस्फोटको खतरा रहेको जनाइएको छ।


    परिचय नखुलाई एक जना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रुसी पत्रिका इज्भेस्टिआले पेट्रोल पम्पको अगाडि रहेको कारमा आगलागी भएको जनाएको छ। “विस्फोटपछि सबै कुरा हाम्रो टाउकोमा खसेसरह भएको थियो। त्यसपछि हामीले केही पनि देख्न सकेनौँ,” ती प्रत्यक्षदर्शीले भनेका छन्। द रिपब्लिक अफ डागेस्तान रुसी सङ्घको ८३ वटा क्षेत्रहरू मध्येको एक हो र यो देशको दक्षिणी भागमा पर्छ। मखाच्कला मस्कोबाट लगभग १,६०० किलोमिटर टाढा छ।

  • पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री बने काकर

    पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री बने काकर

    काठमाडौं । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले शनिबार सांसद अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति अल्वीले पाकिस्तानको संविधानको धारा २२४ (१–ए) अनुसार स्वीकृति दिएका हुन् । यसअघि पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले विपक्षी दलका नेता राजा रियाजसँग विस्तृत परामर्श गरेपछि उनको नाम राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    काकर सन् २०१८ मार्चदेखि सांसद छन् । उनी सन् २०१८ को पाकिस्तानी संसद चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट संसदीय सदस्यका लागि स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भएका थिए । पाकिस्तानमा नयाँ निर्वाचनका लागि राष्ट्रपति अल्वीले बुधबार मध्यराति संसद् विघटन गरेका थिए ।

    संसद् विघटनसँगै मन्त्रिमण्डल पनि भंग भएको थियो । पाकिस्तानमा संसद् विघटनको तीन दिनभित्र कामचलाउ प्रधानमन्त्रीको नियुक्त गर्ने संवैधानिक प्रावधानअनुसार काकरलाई चयन गरिएको हो । नयाँ सरकारलाई चुनाव गराउन ९० दिनको अवधि प्राप्त हुनेछ ।

  • एक वर्षमा अमेरिकामा झण्डै ५० हजार मानिसले गरे आत्महत्या

    एक वर्षमा अमेरिकामा झण्डै ५० हजार मानिसले गरे आत्महत्या

    काठमाडौं । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ । सन् २०२२ मा ४९ हजार ४४९ जनाको ज्यान गुमाएका छन् । प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुने गरेको सीएनएनले बिहीबार डाटालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

    विगत दुई वर्षमा यहाँ आत्महत्या गर्नेको सङ्ख्यामा १० प्रतिशतले वृद्धि भएको पाइएको छ । तथ्याङ्कले अप्राकृतिक मृत्युमध्ये सन् २०२१ मा आत्महत्या ११औँ प्रमुख कारणमा रहेको त्यस्तै २०२२ को अस्थायी तथ्याङ्कले पनि त्यसैलाई पुष्टि गरेको छ । रासस

  • फ्रान्सको आइफिल टावरमा कसले दियो बम पड्काउने चेतावनी ?

    फ्रान्सको आइफिल टावरमा कसले दियो बम पड्काउने चेतावनी ?

    काठमाडौं । फ्रान्सको चर्चित आइफिल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनीपछि खाली गर्नुपरेको छ । चेतावनीपछि आइफिल टावरमा दुई घण्टा सेवा बन्द भएको हो । टावरको सबै क्षेत्रमा परीक्षण गरेपछि आवागमन खोलिएको थियो । सेवा खोले पनि त्यहाँ प्रहरी बललाई तैनाथ गरी अवलोकन गर्ने वातावरण बनाइएको छ ।

    चेतावनी दिने समूहबारे थप अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । आइफिल राजधानी सहर पेरिसमा रहेको ऐतिहासिक टावर हो । यो टावर हेर्न बर्सेनि लाखौँ पर्यटक आउने गर्छन् । यसअघि सन् २०२० को सेप्टेम्बरमा पनि प्रहरीलाई बेनामी फोनबाट टावरमा खतरा रहेको चेतावनी दिएपछि खाली गराइएको थियो ।

  • अमेरिकाको हवाईमा डडेलोमा परी कम्तिमा ८० जनाको मृत्यु

    अमेरिकाको हवाईमा डडेलोमा परी कम्तिमा ८० जनाको मृत्यु

    काठमाडौं । अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ८० पुगिसकेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा ठूलो मात्रामा मानवीय र भौतिक संरचनाहरूको क्षति भएको छ । डढेलोमा थुप्रै घाइते भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् ।

    घटनापछि हवाई राज्यमा आपत्काल घोषणा गरिएको छ । माउई काउन्टी सरकारले डढेलो नियन्त्रणको प्रयास गरिएको जानकारी दिएको छ । यद्यपि, तीव्र हावा र सुख्खा अवस्थाले अग्नि नियन्त्रकलाई डढेलो नियन्त्रणमा लिन मुस्किल परेको बताइएको छ । यस्तै ११ हजारभन्दा बढीको हवाई उद्धार गरिएको पनि स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

  • सिरियामा लडाकुको एम्बुसमा परी २० सुरक्षाकर्मी मारिए

    सिरियामा लडाकुको एम्बुसमा परी २० सुरक्षाकर्मी मारिए

    काठमाडौं । सिरियामा हतियारधारी समूहको एम्बुसमा परी २० जना सुरक्षाकर्मी मारिएका छन् । साथै केही घाइते छन् । मानवअधिकार सम्बन्धी कतिपय संस्थाले भने मृत्यु हुनेको संख्या २३ रहेको र १० जना घाइते भएको जनाएका छन् । शुक्रबार दिर अज जोर प्रान्तको पूर्वी सहर मायादीनमा सुरक्षाकर्मी चढेको बस एम्बुसमा पारिएको थियो ।

    सरकारले भने आईएसआईएलमाथि आक्रमणको आरोप लगाउँदै आएको छ । सन् २०१९ मा आईएसआईएललाई सरकारी फौजले हराए पनि यसका लडाकुहरू अझै सिरियाका विभिन्न स्थानमा आक्रमण सक्रिय छन् । यसबीचमा उनीहरूले घातक हमला गरिसकेका छन् ।

    उक्त प्रान्त इरान र रुसको समर्थनको सिरियाली फौज र अमेरिकी समर्थनमा बनेको कुर्दीश नेतृत्वको लडाकुहरूको कब्जामा विभाजित छ । पछिल्लो समय आईएसआईएलले यस क्षेत्रमा सर्वसाधारणसहित कुर्दीश नेतृत्वका लडाकु र सरकारी सुरक्षाकर्मीहरूलाई निशाना बनाउँदै आएको छ ।

  • आप्रवासीका कारण स्पेनमा अहिलेसम्मकै उच्च जनसंख्या

    आप्रवासीका कारण स्पेनमा अहिलेसम्मकै उच्च जनसंख्या

    काठमाडौं । स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसङ्ख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मङ्गलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो । त्रैमासिक निरन्तर जनसङ्ख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड ८३ लाख ४५ हजार २२३ जना मानिस बसोबास गरिरहेको देखाएको छ ।

    जुन अहिलेसम्म रेकर्ड गरिएकोमध्ये सबैभन्दा धेरै हो । २०२३ को दोस्रो त्रैमासिकमा १३ लाख ५ हजार १८६ जनाले वृद्धि भएको छ । थपिएको जनसङ्ख्या मध्ये १ लाख ३९४ जना स्पेन बाहिर जन्मिएका थिए । अब विदेशी भूमिमा जन्मिएका बासिन्दाहरूको कुल सङ्ख्या ८४ लाख ५७ हजार ८८६ पुगेको छ ।

    स्पेनका राष्ट्रिय तथ्याङ्क संस्थानका प्राविधिक मिगुएल कार्लोस गालानले भने, ‘यो वृद्धि जन्मको कारणले भएको होइन किनभने जन्म र मृत्यु बिचको भिन्नता व्यावहारिक रूपमा शून्य भएको छ, तर मूलतः के भएको छ कि आप्रवासन बढेको छ ।’ अप्रिल र जुनको बिचमा स्पेन आउने अधिकांश आप्रवासी कोलम्बिया र मोरक्कोका थिए ।

    विदेशमा बसोबास गरेर आफ्नो मातृभूमिमा फर्केका स्पेनीहरुको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । गालानले भने, ‘स्पेनमा जनसङ्ख्या भविष्यमा अलिकति घट्न सक्छ । जनसङ्ख्या घट्न नदिने सुनिश्चित गर्न आप्रवासीहरूको धेरै ठुलो प्रवाह आवश्यक छ ।’

  • पाकिस्तानमा संसद भंग, नयाँ निर्वाचन कहिले ?

    पाकिस्तानमा संसद भंग, नयाँ निर्वाचन कहिले ?

    काठमाडौं । पाकिस्तानको संसद् औपचारिक रूपमा विघटन भएको छ। अब ९० दिनभित्र गर्नुपर्ने निर्वाचन गरिसक्नु पर्छ । निर्वाचन आयोगले जनगणनाको ताजा तथ्याङ्क प्रतिविम्बित हुनेगरी निर्वाचन क्षेत्रहरू पुनः निर्धारण गरिनुपर्ने बताएको छ। निर्वाचन क्षेत्र परिवर्तन गर्ने प्रक्रियाका लागि महिनौँ लाग्न सक्छ। गत साता पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेर जेल चलान गरिएको थियो। उनलाई पाँच वर्ष राजनीति गर्न नपाउनेगरी प्रतिबन्ध लगाइएको छ।

    उनले पाकिस्तानको शक्तिशाली सैन्य संस्थापनलाई चुनौती दिएका थिए र सेना निर्वाचनबाट भयभीत भएको दाबी गरेका थिए। राष्ट्रपति आरिफ अल्भीले बुधवार देशको संसद् विघटन गरेका थिए। त्यसयता सरकार कामचलाउ बनेको शहबाज शरिफको सरकारलाई तीन दिनभित्र अन्तरिम प्रधानमन्त्री चयन गर्न समय दिइएको छ।

    प्रधानमन्त्री शरिफले हालै “राष्ट्रिय एकता नभएसम्म” देशले प्रगति गर्न नसक्ने चेतावनी दिँदै पत्रकारहरूसँग यो वर्ष निर्वाचन नहुन सक्ने बताएका थिए।
    कतिपयले सत्तारूढ दल पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल(एन) नेतृत्वको गठबन्धनसँग परिणाम आफ्नो पक्षमा आउने आत्मविश्वास नभएका कारण निर्वाचन सार्न लागिएको आशङ्का गरेका छन्।

    अन्तर्राष्ट्रिय मुद्रा कोषबाट उद्धार प्याकेजका बाबजुद देशमा महँगी बढेको र जेल चलान भएका पूर्वप्रधानमन्त्री इमरान खान निकै लोकप्रिय रहेकाले समयमा निर्वाचन नगराउन लागिएको उनीहरूको आशङ्का छ।

    इमरान खानको कुनै बेला सेनासँग निकै राम्रो सम्बन्ध थियो। तर पछि उनले अरू राजनीतिज्ञले भन्दा सेनाको कटु आलोचना गरे। वरिष्ठ विश्लेषक रसुल बख्स रईसका अनुसार जेल परेपछि इमरान खानको लोकप्रियता अझ बढ्न सक्छ। गत मे महिनामा भ्रष्टाचारको आरोपमा खान पक्राउ परेपछि देशभरि प्रदर्शन भएको थियो। उक्त प्रदर्शनका क्रममा आठ जनाको मृत्यु हुनुका साथै १,४०० जना पक्राउ परेका थिए।

    खान पक्राउ परेपछि आक्रोशित भिडले अभूतपूर्व रूपमा त्यहाँका सैन्य संरचनामा आक्रमण गरेका थिए। आफूमाथि लागेको भ्रष्टाचारको मुद्दामा उनले पुनरावेदन दिएका छन्। उनले पाकिस्तानको सेनाले आफूलाई जेलमा राख्न र आफ्नो पार्टीलाई निस्तेज पार्न खोजेको दाबी गरेका छन्। पाकिस्तानको सैन्य नेतृत्वलाई चुनौती दिने कुनै पनि नेतालाई राजनीतिमा टिकिरहन सहज छैन।

    त्यो खानजस्तो प्रभावशाली र अन्तर्राष्ट्रिय छवि भएका व्यक्तिका हकमा पनि लागु हुन्छ। भूतपूर्व चर्चित क्रिकेट खेलाडी खान पनि सन् १९७० यता उस्तै नियति भोग्ने राजनीतिज्ञहरूमध्ये एक हुन्। सेना र गुप्तचर निकायको अधिकारलाई थप बढाउने उद्देश्यले गत साता त्यहाँको तल्लो सदनमा दुई कठोर कानुन पेस भएका थिए।

  • मोदी विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

    मोदी विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । लोकसभाका अध्यक्ष ओम बिरलाले आज बिहीवार सदनको कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव अस्वीकृत भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

    यसअघि अविश्वास प्रस्तावलाई लिएर लोकसभामा तीन दिनसम्म सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार राखेका थिए । प्रधानमन्त्री मोदीले जवाफ दिएपछि लोकसभाका अध्यक्षले अविश्वास प्रस्तावमाथि ध्वनि मतका आधारमा प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका हुन् ।

    आजको बैठकमा मोदीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षी दलहरूको चर्को आलोचना गर्दै मणिपुर राज्यमा शान्ति कायम गराएरै छाडिने बताए । उनले मणिपुरमा महिलाहरूमाथि अक्षम्य अपराध भएको भन्दै दोषीलाई कडाभन्दा कडा सजाय दिलाउन केन्द्र र राज्य सरकार मिलेर काम गरिरहेको बताए ।
    जवाफकै क्रममा मोदीले विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताउँदै सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दाबी गरे ।

    मणिपुर राज्यमा भएको हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरङ्कुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । यसअघि सन् २०१८ मा पनि नरेन्द्र मोदी सरकारको विरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएको थियो । सदनमा ११ घण्टा लामो छलफलपछि अन्ततः मोदी सरकारले सदनमा आफ्नो बहुमत पुर्‍याएको थियो ।

  • इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानेर हत्या

    इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानेर हत्या

    काठमाडौं । इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानेर हत्या गरिएको छ । सो देशका उनी सांसद समेत थिए । उनको नाम फर्नान्डो विलाविसेंशियो हो । उनीमाथि बुधवार एक चुनावी अभियानमा सहभागी हुने क्रममा गोली हानिएको हो । घटना उत्तरी शहर क्विटोमा भएको हो ।

    उनी कारमा सवार भएका बेला गोली हानिएको थियो । उनको शिरमा गोली हानिएको थियो । राष्ट्रपति गुलेरमो लासोले कसम खादै भनेका छन्, अपराधीलाई कडा कारवाही हुने छ । आक्रमणकारीलाई समेत प्रहरीेले मारेको बताइएको छ । इक्वेडरमा पहिलो चरणको निर्वाचन २० अगस्तबाट सुरु हुँदैछ ।