Category: विश्व

  • एन्टार्क्‌टिकमा किन मरे एकसाथ हजारौं पेङ्ग्विन ?

    एन्टार्क्‌टिकमा किन मरे एकसाथ हजारौं पेङ्ग्विन ?

    काठमाडौं । दक्षिणी ध्रुव अर्थात् एन्टार्क्‌टिक क्षेत्रमा बस्ने एम्परर पेङ्ग्विनका बचेराहरूको मृत्युको सङ्ख्या बढ्ने क्रम देखा परेको छ। त्यहाँ झण्डै १० हजार त्यस्ता कलिला पक्षीहरूको मृत्यु भएको अनुमान गरिएको छ। ती चल्लाहरूले समुद्रमा पौडी खेल्नका लागि आवश्यक पानीमा नभिज्ने प्वाँखहरू विकास गर्न सक्नु अघि नै मुनिको समुद्री बरफ पग्लिएपछि त्यस्तो अवस्था सिर्जना भएको हो। ती चराहरू कि त डुबेर वा ठिहिरिएर मरेको हुनसक्ने बताइएको छ। सन् २०२२ को अन्त्यतिर भएको त्यस्तो घटना उक्त महादेशको पश्चिमतर्फ बेलिङ्जहाउजन सागरमा तैरिएको क्षेत्रमा भएको थियो।

    घटना भूउपग्रहमार्फत रेकर्ड गरिएको थियो। ब्रिटिश एन्टार्क्‌टिक सर्भे (बीएएस)का डा पिटर फ्रेटवेल त्यहाँ भएको विनाश भविष्यमा हुनसक्ने घटनाको सङ्केत रहेको बताउँछन्। एम्परर पेङ्ग्विनको ९० प्रतिशत भन्दा धेरै बथान यस शताब्दीको अन्त्यसम्ममा लोप हुने प्रक्षेपण गरिएको छ। उक्त महादेशको मौसमी बरफ सागरले पृथ्वीमा दिनदिनै बढिरहेको तापमानको मार खेपिरहेको छ। आफ्नो प्रजनन चक्रमा एम्पररहरू समुद्री बरफमा निर्भर हुन्छन्, चल्लाहरू हुर्काउनलाई यो स्थिर परिवेश हो। तर यदि त्यो बरफ हुनुपर्ने जति फराकिलो छैन वा धेरै छिटो टुट्यो भने यी चराहरू समस्यामा पर्छन्, उनले बीबीसीसँग भने।

    ू
    डा फ्रेटवेल र उनका सहकर्मीहरूले मृत्युको उक्त क्रमका बारेमा कम्युनिकेसन्स अर्थ एन्ड इन्भायरोमेन्ट जर्नलमा लेखेका छन्। ती वैज्ञानिकहरूले बेलिङ्जहाउजन सागर क्षेत्रमा रहेमा पाँच वटा बथानलाई अवलोकन गरेका थिए। ती क्षेत्रहरू रोत्थ्सचाइल्ड टापु, भर्डी इनलेट, स्माइली टापु, ब्रायन प्रायःद्वीप र फ्रग्नर प्वइन्ट छन्।

    ईयूको सेन्टिनेल(२ भूउपग्रहहरूको प्रयोग गरेर उनीहरूले पेङ्ग्विनका गतिविधिहरू अवलोकन गरेका थिए। पेङग्विनले सेताम्मे समुद्री बरफमा त्याग गरेका मलमूत्रको थुप्रोको आधारमा त्यस्तो अध्ययन गरिएको थियो। खैरो रङ्गको त्यस्तो मलमुत्रको धब्बा भूउपग्रहबाट समेत देखिन्छ। दक्षिणी गोलार्धमा मार्च महिनाको आसपास जाडो नजिकिँदै गर्दा वयस्क चराहरू समुद्री बरफमा हाम फाल्छन्। उनीहरू त्यहाँ जोडी बन्ने, संसर्ग गर्ने र अण्डा पार्ने काम गर्छन्। ती अण्डाहरू कोरलेपछि बचेराहरू स्वयंमा भर पर्न सक्ने नभएसम्म आउँदा महिनासम्म तिनको हेरचाह गर्छन्।

    त्यो सामान्यतः नयाँ चराहरू समुद्रमा आइपुग्ने समय डिसेम्बर–ज्यानुअरी महिनाको आसपास हुन्छ। तर अनुसन्धान टोलीले देखे अनुसार नोभेम्बरमा एम्पररका बथान मुनिको समुद्री बरफ टुक्रिएको थियो। त्यो हजारौँ चल्लाहरूले पौडी खेल्नको लागि आवश्यक चिल्लो प्वाँखहरू विकास गर्न समय पाउनुअघिको बेला थियो।

    फलस्वरूप चारवटा बथानमा प्रजननपछिको प्रकृया पूर्णतः विफल भयो। उत्तरी क्षेत्र रोत्थ्सचाइल्डमा मात्र केही सफलता देखा पर्‍यो। एन्टार्क्‌टिकको ग्रीष्मकालीन समुद्री बरफ सन् २०१६ पछि उल्लेखनीय रूपमा घटेको छ। जसले गर्दा उक्त महाद्वीपको वरिपरि जमेको पानीको कुल क्षेत्रमा नयाँ न्यूनतम रेकर्ड कायम भएको छ।
    बीबीसी

  • इयूले टिकटकलाई गरायो साढे ३४ करोड यूरो जरिवाना

    इयूले टिकटकलाई गरायो साढे ३४ करोड यूरो जरिवाना

    काठमाडौं । युरोपेली सङ्घको एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना सुनाएको छ ।
    टिकटकले बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा जरिबाना गरिएको समाचार संस्था एएफपीले जनाएको छ । आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति निकालेर दुई वर्षको अनुसन्धानमा तथ्याङ्क चोरी गरेको फेला परेको जनाएको छ ।

    आयोगले टिकटकलाई नियमअनुसार प्रक्रिया कार्यान्वयनमा ल्याउन तीन महिनाको समय दिएको छ । तथ्याङ्क चोरीबारे नियमनकारी संस्थाले सन् २०२१ को सेप्टेम्बरदेखि १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको व्यक्तिगत तथ्याङ्क सङ्कलन प्रक्रियाबारे टिकटकको अनुगमन शुरु गरेको थियो । तर, जरिबानापछि टिकटकले यो फैसलासँग सम्मानपूर्वक असहमत रहेको र अब कसरी अगाडि बढ्ने भन्नेबारे मूल्याङ्कन गरिरहेको जनाएको छ ।

  • लिबियामा यति ठूलो आपतकाल अगाडी किन दिइएन पुर्वसूचना ?

    लिबियामा यति ठूलो आपतकाल अगाडी किन दिइएन पुर्वसूचना ?

    काठमाडौ । संयुक्त राष्ट्र सङ्घको विश्व मौसम सङ्गठनका अध्यक्षले लिबियामा आएको बाढीबाट ज्यान गुमाएका मध्ये धेरैलाई जोगाउन सकिने अवस्था रहेको बताएका छन् । प्रमुख पेटेरी टालसले पत्रकारहरूसँग कुरा गर्दै उक्त देशले बेलैमा बाढी सम्बन्धी चेतावनी सन्देश जारी गर्न सक्ने अवस्था रहे पनि नगरेको उनले बताएका छन् ।

    आपतकालिन विपद व्यवस्थापन सैन्यले मानिसहरूलाई सुरक्षित स्थानमा लैजान सक्ने थिए र धेरैजसोको ज्यान जोगाउन सकिने थिया, उनलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले जनाएको छ। लिबियामा दुई थरी सरकार सक्रिय छ जुन अवस्थाले विपदप्रति तत्काल र संयोजित प्रतिक्रिया जनाउने कार्यलाई गाह्रो बनाएको छ।

    विनाशकारी बाढी निम्त्याएको समुद्री आँधी लिबिया तर्फअघि बढ्दै गर्दा त्यहाँका दुवै सरकारहरूले बेग्लाबेग्लै सावधानीका उपायको घोषणा गरेका थिए। यसैबीच विनाशकारी बाढीबाट प्रभावित लिबियामा दुई अलग क्षेत्रमा अवस्थित प्रतिद्वन्द्वी सरकारहरूले पीडितहरूलाई राहत उपलब्ध गराउन तथा उद्धारमा सहकार्य गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

    एउटा समुद्री आँधीका कारण देशको पूर्वी सहर डेर्नामा दुईवटा बाँध भत्किएर आएको विनाशकारी बाढीमा ५,३०० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ। कम्तीमा १०,००० जना हराइरहेको बताइएको छ र अन्य दशौँ हजार विस्थापित भएका छन्। डेर्नाका नगरप्रमुखले मृतकको सङ्ख्या १८,००० देखि २०,००० सम्म पुग्न सक्ने अनुमान गरेका छन्। डेर्नास्थित एक फोटोग्राफरका अनुसार अहिले त्यहाँ भत्किएका घरका भग्नावशेष र बाढीका कारण ज्यान गुमाउनेहरूको शव मात्र देखिन्छ।

    डेर्नाको अवस्थालाई भूकम्प आएपछिको अवस्थासँग तुलना गरिएको छ। बीबीसी रेडिओ फोरनको वर्ल्ड टुनाइट कार्यक्रमसँग कुरा गर्दै टर्किश रेड क्रेसन्टका सहायक निर्देशक इब्राहिम ओजरले त्यहाँ भएको क्षति भूकम्पका कारण भएको जस्तो देखिएको बताए। मैले बाढी, डढेलो र भूकम्पसहित धेरै विपद् देखेको छु तर यो निकै फरक छ, उनले भने। संयुक्त राष्ट्रसङ्घका एक अधिकारीका अनुसार देशको पूर्व र पश्चिममा अवस्थित सरकारहरूले अन्तर्राष्ट्रिय सहायताका लागि अह्वान गरेका छन् र एकअर्कासँग समन्वय गरिरहेका छन्।
    बीबीसी

  • लिबिया आँधी : नेपाली शान्ति सैनिक सुरक्षित

    लिबिया आँधी : नेपाली शान्ति सैनिक सुरक्षित

    काठमाडौं । लिबियामा डानिएल आँधीले ठूलो धनजनको क्षति गरेको छ । यहाँ १० हजार भन्दा बढी मानिस वेपत्ता भएको खबर छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै दुई सय ३५ जना नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको बताइएको छ र सैनिक प्रवक्ता कृष्ण प्रसाद भण्डारीले यस्तो जानकारी गराएका हुन् । घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब एक सय १३ किलोमिटरको दूरीमा छ ।

    सो भेगमा भने बाढीले क्षति नगरेको उनले जानकारी दिएका छन् । भारी वर्षापछि दुईवटा बाँध फुटेपछि लिबियाको तटीय सहर देर्नाको एक चौथाइ क्षेत्र बाढीमा विलय भएको थियो । नेपाली नागरिक र सेनाका तर्फबाट बाढीपीडितलाई सहयोगका लागि त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकले केही औषधि र चिकित्सा सामग्री पठाएको छ ।

    ती सामग्री संयुक्त राष्ट्रसङ्घ महासचिवका विशेष प्रतिनिधि र सहायक महासचिवमार्फत् यो सामग्री हस्तान्तरण गरिने भएको छ । बाढीबाट सडक सम्पर्कसमेतविच्छेद भएकाले हवाई अनुगमनबाट लिबियाको पूर्वी क्षेत्रमा भएको क्षतिको प्रारम्भिक अनुमान लिइएको हो ।

  • जब सिंगै बस्ती समुन्द्रमा विलय भयो…

    जब सिंगै बस्ती समुन्द्रमा विलय भयो…

    लिबियामा इतिहासकै सबैभन्दा विनासकारी प्राकृतिक प्रकोपले ठूलो मानवीय क्षति गरेको छ । सुनामी जस्र्तै गरी आएको विनाशकारी बाढीका कारण बगेर समुद्रमा पुगेका मानिसहरूको शव सङ्कलन गर्न उद्धार टोलीहरूलाई हम्मेहम्मे परिरहेको बीबीसीले जनाएको छ । सर्वाधिक प्रभावित डेर्ना सहरको एम्बुलेन्स अधिकारीहरूका अनुसार त्यहाँ कम्तीमा २,३०० जनाको ज्यान गइसकेको छ। डेर्नामा तटीय क्षेत्रमा आइतवार आइपुगेको एउटा समुद्री आँधीका कारण दुईवटा बाँध र चारवटा पुलहरू भत्किएका थिए। त्यसपछि सहरको धेरै भाग बाढी र डुबानमा परेका थिए।

    रेड क्रेसन्टले त्यहाँ १०,००० जनाजति मानिसहरू हराइरहेका प्रारम्भिक विवरण प्राप्त भएको र ज्यान गुमाउनेहरूको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ।
    इजिप्ट लगायतका देशहरूबाट बाढीपीडितहरूका लागि केही अन्तर्राष्ट्रिय राहत सामग्री भित्रिन थालेको छ। तर लिबियाको राजनीतिक अवस्थाका कारण देश दुईवटा प्रतिद्वन्द्वी सरकारहरूका बीचमा विभाजित भएकाले उद्धारकार्य प्रभावित भएको छ। अमेरिका, जर्मनी, इरान, इटली, कतार र टर्कीले राहत सामग्री पठाइसकेको वा पठाउन तयार रहेको बताएका छन्। बाढी आउँदा मानिसहरूलाई बगाएर समुद्रमा पुर्‍याएको, कोही घरको छतमा बसेर जोगिएका जस्ता हृदयविदारक विवरणहरू आइरहेका छन्।

    बीबीसी न्यूजका एफ्अ वाल्शका अनुसार डेर्ना सहरमा ज्यान गुमाएकाहरूको शव सामूहिक चिहानहरूमा समाधिस्थ गर्नुपरेको छ। आइतवारको समुद्री आँधीपछि बाँध भत्किँदा उर्लेर आएको बाढीले त्सुनामीले जसरी मानिसहरूलाई समुद्रमा बगाएर लगेको घटनामा कम्तीमा २, ३०० जनाको मृत्यु भएको जनाइएको छ। बोरा र कम्बलहरूमा बेरिएका शवहरूलाई त्यहाँका समाधिस्थलमा मशीनले खनेको ठूलो खाडलमा एकसाथ गाड्ने गरिएको छ। डेर्नामा कार्यरत एक स्वयंसेवक मोहम्मद कमाटीले उद्धारकर्ताहरूले अझै पनि जीवित फेला पर्न सक्ने मानिसहरूको खोजी गरिरहेको जनाएका छन्।

    “चिकित्सासम्बन्धी अध्ययन र अभ्यास गरेका लिबियाली युवाहरूलाई यहाँ आएर हामीलाई सहयोग गर्न हामी आह्वान गर्छौँ,” उनले रोएटर्स समाचारसंस्थालाई भने। “हामीसँग नर्सहरूको ठूलो अभाव छ, हामीलाई सहयोग चाहिन्छ।” जल इन्जिनियरिङविज्ञहरूले बीबीसीलाई बताएअनुसार सबभन्दा पहिला डेर्ना सहरभन्दा १२ किलोमिटर परको बाँध भत्किएको र त्यसको पानी ठूलो वेगले तल उपत्यकामा बग्दा सहरनजिक रहेको अर्को बाँध पनि बगाएको हुन सक्ने सम्भावना छ।

    आइतवार राति अँध्यारोमा खिचिएको जस्तो देखिने भिडिओ दृश्यहरूमा डेर्ना सहरमा बाढीको पानी उर्लेर बगेको र करिब एक लाख जनसङ्ख्या भएको उक्त सहरमा पानीको कडा धारमा सवारीसाधनरअु बगिरहेको देख्न सकिन्छ। बिहान उज्यालो भएपछिका दृश्यहरूमा बाढीले वितण्डा मच्चाएका बस्तीहरू र हिलोले पुरिएका सडकहरू अनि भत्केका भवनहरू र पल्टिएर छरिएका मोटरहरू देख्न सकिन्छ।

  • लिबियामा बाढीको ताण्डब, कम्तिमा १५ सय मानिस मारिए

    लिबियामा बाढीको ताण्डब, कम्तिमा १५ सय मानिस मारिए

    काठमाडौं । लिबियामा बाढीका कारण ठूलो मानवीय क्षति भएको छ । लिबियाको एउटा सहरमा मात्रै १,५०० जनाको ज्यान गएको डेर्नाको पूर्वी बन्दरगाह भ्रमण गरेका एक जना मन्त्रीले बताएका छन्। डेर्ना बन्दरगाह सहर हो। “त्यहाँ देखिएका कुराले म स्तब्ध भएको छु। त्यहाँ सुनामीको जस्तै अवस्था छ,” पूर्वी सरकारका उड्डयन मन्त्री तथा सरकारको आपत्कालीन प्रतिकार्य समितिका सदस्य रहेका हिचेम च्किओउआटले भने। दुई वटा बाँध र चार वटा पुल भत्किएपछि करिब १,००,००० मानिसहरूको बसोबास रहेको डेर्नाको अधिकांश भाग डुबानमा छ।

    सरकारका ती मन्त्रीले रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै “त्यहाँ जताततै शवहरू रहेको” बताएका छन्। ड्यान्यल नामक समुद्री आँधीका कारण अन्य तटीय क्षेत्रहरूमा पनि विनाशकारी बाढी निम्तिएको छ। उक्त समुद्री आँधी त्यहाँ आइतवार प्रवेश गरेको थियो। ती मन्त्रीले यसअघि ज्यान गुमाउनेहरूको सङ्ख्या निकै बढी हुने अनुमान गरिएको बताएका थिए। “पच्चीस प्रतिशत सहर बिलायो भन्दा बढाइचढाइ गरेको हुने छैन। थुप्रै भवनहरू भत्किएका छन्।” अन्तर्राष्ट्रिय सहायता निकाय आईएफआरसीका अनुसार बाढीका कारण हराउने मानिसको सङ्ख्या झन्डै १०,००० छ।

    मानवीय सहायता सञ्जाल रेड क्रेसन्टले पनि ड्यान्यल समुद्री आँधीका कारण बेपत्ता मानिसहरूको सङ्ख्या १०,००० पुगेको जनाएको छ। ठूलो वर्षापछि आएका बाढी र पहिरोका कारण सडक र घरहरू भत्किएका छन्। आईएफसारसीका तामेर रमादानका अनुसार त्यहाँ भएको विनाश ठूलो छ। ‘मृतकको सङ्ख्या ठूलो छ र त्यो हजारौँ पुग्न सक्छ,’ उनले भने।

    लिबियाविज्ञ जलेल हर्चाउईले बीबीसीलाई बताएअनुसार ज्यान गुमाउने मानिसको सङ्ख्या केही हजारसम्म पुग्न सक्ने देखिन्छ। जारी उद्धार तथा राहत अभियानका क्रममा सात सैनिकहरू बेपत्ता भएका छन्। पूर्वी क्षेत्रमा रहेका अधिकारीहरूले त्यहाँ कर्फ्यू लगाएका छन् भने विद्यालय तथा पसलहरू बन्द गर्न पनि निर्देशन दिएका छन्। पूर्वका सहरहरू बेन्गाजी, सुसे, डेर्ना र अल-मर्ज सबै नै प्रभावित भएका छन्। ज्यान गुमाउने मानिसहरूको सङ्ख्या बढ्नुका साथै ठूलो सङ्ख्यामा घरहरूमा पनि क्षति पुगेको लिबियाली रेडक्रसले जनाएको छ।

    GETTY IMAGES\BBC

    एक लाख जनसङ्ख्या भएको डेर्ना सहरमा दुईवटा बाँधहरू भत्किएका छन् भने त्यस वरपरको ठूलो क्षेत्र डुबानमा परेको छ र केही बासिन्दाको पानीमा डुबेर ज्यान गएको बताइएको छ। अधिकारीहरूले त्यस क्षेत्रलाई विपद्‌ग्रस्त सहर घोषणा गरेका छन्। पूर्वी लिबियाका प्रधानमन्त्री ओसामा हमादले एक लिबियाली टेलिभिजन च्यानलसँग कुरा गर्दै भने, “हराइरहेका मानिसहरूको सङ्ख्या हजारौँमा छ। डेर्नामा पूरै बस्तीहरू नै नष्ट भएका छन्। त्यहाँका बासिन्दाहरूसहित सबैलाई पानीले बगाएको छ।”

    ओसामा हमादले त्यस्तो तथ्याङ्कको स्रोत भने उल्लेख गरेनन्। पूर्वका क्षेत्रहरूका साथै बाढीको चपेटामा पश्चिमी सहर मिस्राटा पनि परेको छ। अनलाइनमा आँधीले पारेका प्रभावका बारेमा अपुष्ट भिडिओहरूको चर्चा भैरहेको छ। त्यसमध्ये एउटामा बाढीको पानीको बेगले एकजना मानिसलाई बगाएर लगेको देख्न सकिन्छ। अन्य भिडिओ दृश्यहरूमा बाढीमा फसेका सवारीचालकहरू आफ्ना सवारीसाधनको छतमा बसिरहेका देख्न सकिन्छ। आँधीका कारण विद्यालय र पसलहरूका साथै चारवटा ठूला तेल बन्दरगाहहरू बन्द भएका छन्।

    बेन्गाजीमा रहेको प्रशासनले देशको पूर्वको अवस्थालाई हेरिरहेको छ भने राजधानी त्रिपोलीमा अवस्थित त्यसको प्रतिद्वन्द्वी तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार पनि सक्रिय भएको छ। त्यहाँका प्रधानमन्त्री अब्दुल हमिद ड्बेइबाले आइतवार आफूले राज्यका सबै निकायहरूलाई बाढीले पुर्‍याएको क्षतिप्रति तत्काल प्रतिक्रिया जनाउन निर्देशन दिइएको बताएका छन्। लिबियाका लामो समयदेखिका नेता मुअम्मर गद्दाफी सन् २०११ मा मारिएपछि सन् २०१४ देखि लिबिया दुई प्रतिद्वन्द्वी प्रशासनबीच बाँडिएको छ। ड्यान्यल समुद्री आँधीबाट पुगेको क्षतिपछि दुवैप्रशासनले देशमा तीनदिने शोक घोषणा गरेका छन्।
    बीबीसीको सहयोगमा

  • मोरक्कोमा विनासकारी भूकम्पको भग्नावशेषमा पुरिएकाको उद्दारमा कठिनाई

    मोरक्कोमा विनासकारी भूकम्पको भग्नावशेषमा पुरिएकाको उद्दारमा कठिनाई

    काठमाडौं । विनासकारी भूकम्पको सामना गरेको मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको खबर सार्वजनिक भएको छ । कतिपय स्थानमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएको खबर सार्वजनिक भए पनि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको उद्धारकर्मीलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।

    ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेको अनुमान गरिएको छ । तर, भूकम्प अति प्रभावित ठाउँमा उद्धारकर्मीसँगै राहतका सामग्री पठाउन कठिनाइ भइरहेको बीबीसीले लेखेको छ । भूकम्पका कारण ग्रामीण क्षेत्र जाने कतिपय सडक भत्किएका छन् । यसले प्रभावित क्षेत्रसम्म पुग्न कठिन भएको छ । भूकम्पको केन्द्रबिन्दु मराकेशबाट ७५ किलोमिटर टाढा पहाडी क्षेत्र हाइ एट्लस माउन्टेन्समा रहेको छ ।


    भूकम्प पछि धेरै मानिसले खुल्ला आकाशमुनि रात बिताइरहेका छन् । गएको शुक्रवार राति गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको असर माराकेशसहित अन्य धेरै सहरहरुमा परेको छ । यस्तै, दुर्गम पहाडी इलाकामा पूरै गाउँहरू नै ध्वस्त भएका विवरण सार्वजनिक भएका छन् । भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार सयभन्दा धेरै घाइते भएका छन् ।

  • चुम्बन विवादमा मुछिएका स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजिनामा

    चुम्बन विवादमा मुछिएका स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजिनामा

    काठमाडौं । चुम्बन विवादमा परेका स्पानिस पुटबल महासंघका अध्यक्ष लुइस रुबियल्सले राजीनामा गरेका छन् । महिला विश्वकप फाइनलमा इंग्ल्याण्डलाई १–० ले हराएर स्पेनले उपाधि जितेपछि पुरस्कार वितरण समारोहमा रुबियल्सले स्पानिस फरवार्ड जेनीफर हेर्मोसोलाई चुम्बन गरेका थिए । ३३ वर्षीया हेर्मोसोले गत मंगलबार यो सहमतिमा नभएको भन्दै रुबियल्सविरुद्ध अदालतमा उजुरी दिएकी थिइन् ।

    रुबियल्सले कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई आफूले राजीनामा बुझाएको स्टेटमेन्टमार्फत जनाएका छन् । ‘म मेरो कामलाई निरन्तरता दिन सक्दिन,’ उनले एक टेलिभजन सो मा पिएर्स मोर्गनलाई भनेका छन्न् । ४६ वर्षीय रुबियल्सले यूईएफएको उपाध्यक्ष पदबाट समेत राजीनामा दिएका छन् ।

    रुबियल्सको चुम्बन विवादले गर्दा पहिलो पटक विश्वकप जितेको स्पानिस फुटबलको चर्चा छायामा परेको छ । रुबियल्सले चुम्बन आपसी र सहमतिमा भएको बताउँदै आएका थिए तर विश्व पुटबलको सर्वोच्च निकाय फिफाले भने उनलाई प्रारम्भिक रुपमा निलम्बन गरेको थियो । ‘फिफाले गरेको निलम्बन र मविरुद्धको बाँकी खुला कारबाही पछि यो स्पष्ट छ कि म आफ्नो स्थितिमा फर्कन सक्षम हुनेछैन,’ रुबियल्सको विज्ञप्तिमा भनिएको ।

  • एसिया कप : आज भारत र पाकिस्तानबीच हेभिवेट भिडन्त

    एसिया कप : आज भारत र पाकिस्तानबीच हेभिवेट भिडन्त

    काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् । दुई देशबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले सुपर फोरको पहिलो खेल खेल्न लागेको हो ।

    आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा रिजर्भ डे राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन् । हिजो भएको खेलमा श्रीलङ्कासँग २१ रनले पराजित बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको छ । उसले अब भारतसँग खेल्न बाँकी छ । भारत र बङ्लादेशबीचको खेल शुक्रवार हुनेछ ।

  • जर्मनीमाथि जापानको सानदार जित

    जर्मनीमाथि जापानको सानदार जित

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले जर्मनीमाथि ४–१ को सानदार जित निकालेको छ । गत कतार विश्वकपमा समेत जापानले जर्मनीलाई हराएको थियो । जर्मनीको मैदान वुल्फ्सबर्गको फक्सवागन वोल्सवागेन एरेनामा भएको खेलमा जापानले जर्मनीलाई ठूलो अन्तरको हार चखाएको हो ।

    खेलको ११ मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाए पनि बायर्न म्युनिखका फरवार्ड लेरोय सानेले १९औं मिनेटमै बराबरी गोल फर्काए । इटोकै पासमा २२औं मिनेटमा आयसे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । त्यसपछि ९०औं मिनेटमा ताकुमा असानो र इन्जुरी टाइममा आओ तनाकाले गोल गर्दै जापानलाई ४–१ को जित दिलाए ।

    जर्मनीको पछिल्लो पाँच खेलमा यो चौथो पराजय हो भने सन् २०२० मा नेसन्स लिगमा स्पेनसँग ६–० ले पराजित भएपछिको यो सबैभन्दा ठूलो हार हो । २०२२ मा कतारमा भएको विश्वकपमा पनि जर्मनी जापानसँग २–१ ले पराजित भएको थियो ।

  • मोरक्को भुकम्पमा ज्यान गुमाउनेको संख्या १ हजार भन्दा माथि

    मोरक्को भुकम्पमा ज्यान गुमाउनेको संख्या १ हजार भन्दा माथि

    काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

    साथै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेकाहरु धेरै मानिसहरुले दोस्रो दिनको रात पनि खुल्ला आकास मुनि बिताएका छन् । शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    धेरै क्षति पनि पहाडी क्षेत्रका गाउँहरुमा भएको छ । खोज तथा उद्धार कार्य जारी छ । ग्रामीण क्षेत्रबाट एकिन विवरण आउन बाँकी रहेकाले हताहतीको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

  • जी-२० का मुलुकहरु कस्तो संयुक्त घोषणापत्र बनाउँदै छन् ?

    जी-२० का मुलुकहरु कस्तो संयुक्त घोषणापत्र बनाउँदै छन् ?

    काठमाडौं । २० देशका नेता संयुक्त घोषणापत्रप्रति सहमत भएको उक्त शिखर सम्मेलनको आयोजक राष्ट्र भारतले जनाएको छ। त्यसको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँले दिएका हुन्। मोदीले भने, ‘हाम्रो टोलीको कडा परिश्रम र तपाईँहरू सबैको साथ सहयोगले ‘नयाँ दिल्ली–जी–२० लिडर्स घोषणापत्र’मा सहमति जुटेको छ, यो घोषणापत्र स्वीकृत होस् भन्ने मेरो प्रस्ताव छ। म यो घोषणापत्र स्वीकार गरेको घोषणा गर्छु।’


    जी(२० का लागि भारतीय मध्यस्थकर्ता अमिताभ कान्तले सामाजिक सञ्जालमा नयाँ दिल्ली घोषणापत्रमा उल्लेख गरिएका कुराहरू साझा गरेका छन्। उनका अनुसार बलियो, दीर्घकालीन, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यको प्रगतिलाई गति दिने, दिर्घकालीन भविष्यको लागि हरित विकास सम्झौता, एक्काइसौँ शताब्दीका लागि बहुपक्षीय संगठनहरू, बहुपक्षवादलाई पुनर्जीवित गर्ने विषय घोषणा पत्रमा समेटिएको छ । घोषणापत्रमा युक्रेनमा जारी युद्धको सन्दर्भमा गत वर्ष बालीमा भएको छलफललाई दोहोर्‍याइएको छ।

    नयाँ दिल्ली घोषणापत्रमा भनिएको छ, ‘युक्रेनको युद्धका सम्बन्धमा बालीमा भएको छलफललाई दोहोर्‍याउँदै हामीले संयुक्त राष्ट्रसङ्घ सङ्घीय सुरक्षा परिषद् र संयुक्त राष्ट्रसङ्घको महासभाका प्रस्तावहरूमा हाम्रो राष्ट्रिय अडानलाई दोहोर्‍यायौँ र सबै देशहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्र, उद्देश्य र सिद्धान्त अनुरूप सहयोग गर्नुपर्छ भनेर जोड दिएका छौ, संयुक्त राष्ट्रसङ्घको बडापत्र अनुसार सबै देशले क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता वा अन्य कुनै पनि राज्यको राजनीतिक स्वतन्त्रता विरुद्ध क्षेत्रीय अधिग्रहण वा बल प्रयोगको खतराबाट टाढा रहनुपर्छ। आणविक हतियारको प्रयोग वा प्रयोगको धम्की अस्वीकार्य छ।’

    भारतमा जी–२० सम्मेलनका लागि भेला भएका विश्वका नेताहरूबीच सबैभन्दा ठूलो मतभेद युक्रेनमाथिको रुसी आक्रमणलाई लिएर थियो। शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले सम्मेलनको आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए र दुई नेताले कैयौँ क्षेत्रमा सहकार्य गर्ने वाचा गरेका थिए।

    तर उक्त शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली राष्ट्रहरू रुस र चीनका सरकार प्रमुख अनुपस्थित छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङले बैठकमा भाग लिन आफ्ना प्रतिनिधि पठाएका छन्। मतभेदमाझ भारतले सदस्य राष्ट्रहरूलाई एउटा संयुक्त घोषणापत्रमा सहमत गराउने अथक प्रयास गरेको बताइएको छ। मोदीले पनि आफ्ना सहकर्मीले व्यापक मेहनत गरेर सहमति जुटाएको उल्लेख गरेका छन्।

    यो शिखर सम्मेलनमा संयुक्त घोषणापत्र जारी नभएको भए उक्त संस्थाको शिखर सम्मेलनमा संयुक्त घोषणापत्र जारी हुन नसकेको यो नै पहिलो घटना हुने थियो। अघिल्लो वर्ष इन्डोनेसियामा भएको जी–२० शिखर सम्मेलनलाई पनि युक्रेनमाथि रुसी हमलाले ओझेलमा पारेको थियो तर उक्त लडाइँलाई लिएर अभिव्यक्त मतभेदमाझ नेताहरूले आ-आफ्ना फरक धारणासहितको घोषणापत्र ल्याएका थिए। त्यसयता देशहरूका अडान अझ कठोर भएका छन्।

    त्यसैलाई लिएर विश्लेषकहरूले रुस र चीनले त्यस्तो छुट नदिन सक्ने र अमेरिकी नेतृत्वमा पश्चिमा देशहरूको समूहले युद्धको निन्दाबाहेक अन्यखाले शब्द कुरा स्वीकार गर्न नसकिने धारणा राख्नसक्ने ठानेका थिए। अझ सी र पुटिनको अनुपस्थितिले निर्णय प्रक्रियालाई झन् कठिन बनाउन सक्ने ठानिएको थियो।

    रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोफ र चिनियाँ प्रधानमन्त्री ली क्चियाङले आ-आफ्ना देशको प्रतिनिधित्व गरेका छन् तर आफ्ना नेताहरूसँग अनुमति नलिइकन उनीहरूले अन्तिम घडीमा निर्णयहरू लिने राजनीतिक सामर्थ्य नराख्न सक्छन् भन्ने ठानिएको थियो। यसै वर्षको सुरुमा ज-(२० का विदेश र अर्थमन्त्रीहरूको बैठक पनि संयुक्त विज्ञप्ति जारी नगरी सकिएको थियो।

  • मोरक्कोमा शक्तिशाली भूकम्प, कम्तिमा ८२० जनाको मृत्यु

    मोरक्कोमा शक्तिशाली भूकम्प, कम्तिमा ८२० जनाको मृत्यु

    काठमाडौं । मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा ८२० जनाको ज्यान गएको छ । भूकम्पका कारण कैयौँ क्षेत्रमा व्यापक क्षति भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। उक्त भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स रहेको थियो जुन माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ।

    यूएस जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ। स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको थियो। त्यसको १९ मिनेटपछिको परकम्प ४.९ म्याग्निट्यूडको मापन गरिएको छ। माराकेस र त्यहाँबाट दक्षिणका क्षेत्रमा मानिसहरूले ज्यान गुमाएका बताइएको छ।

    भूकम्पले ८२० जनाको ज्यान लिएको र सयौँ घाइतेहरूको उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्। मोरोक्कोको प्रमुख मध्येको शहर माराकेशमा ठूलो क्षति भएको र कतिपय परिवार भग्नावशेषमा पुरिएका विवरण आएका छन्। उक्त शहरमा अवस्थित राष्ट्रसङ्घ सम्पदा सूचीमा परेको मेडिनाका केही हिस्सामा क्षति पुगेका जनाइएको छ। सामाजिक सञ्जाल एक्समा राखिएका भिडिओमा भत्किएका भवनहरू, हल्लिरहेका घरहरू र चोकमा जम्मा भग्नावशेषहरू देख्न सकिन्छ। धुलोको मुस्लोहुँदै मानिसहरू हिँडिरहेको र केही मानिसहरू भागिरहेको पनि देख्न सकिन्छ।

    माराकेशको पुरानो शहरका कतिपय भवनहरू ध्वस्त भएको एक जना स्थानीय बासिन्दाले रोयटर्स समाचार संस्थालाई बताएका छन्। सामाजिक सञ्जाल एक्सका कैयौँ क्लिपहरूमा भवनहरू भत्किरहेको देख्न सकिन्छ तर बीबीसीले ती कहाँका भवनहरू हुन भन्ने पुष्टि गर्नसकेको छैन। शक्तिशाली परकम्प आउनसक्ने डरले मानिसहरूले आफ्ना घर बाहिर नै बस्ने निधो गरेका छन्। उक्त ऐतिहासिक शहरका अर्का व्यक्तिले ‘खतरनाक कम्पन’महसुस गरेको र घरहरू हल्लिएको देखेको बताए।

    “मानिसहरू डराएका र स्तब्ध भएका थिए। बच्चाहरू रोइरहेका थिए र अभिभावकहरू तनावमा थिए,” अब्देलहक एल एमारानीले एएफपी समाचार संस्थासँग भने। एएफपी समाचार संस्थाले एउटा परिवार भग्नावशेषमुनि पुरिएको भन्दै कैयौँ मानिसहरूलाई अस्पताल लगिएको जनाएको छ। भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्सको दुर्गम क्षेत्रमा भएको भएपनि कम्पनहरू राजधानी रुबात अनि कासाब्लाङ्का र सुइरासम्म महसुस गरिएका थिए। भूकम्पको केन्द्रबिन्दु नजिकैका स्थानमा भवनहरू सग्लो नरहेको हुनसक्ने आशङ्का गरिएको छ। उक्त दुर्गम स्थानबाट क्षतिका विवरणहरू आउन समय लाग्नसक्ने ठानिएको छ।

  • हङ्‌कङ र दक्षिणी चीनमा ठूलो वर्षा, बाढी र डुबानको समस्या

    हङ्‌कङ र दक्षिणी चीनमा ठूलो वर्षा, बाढी र डुबानको समस्या

    काठमाडौं । हङ्‌कङ र दक्षिणी चीनका सहरमा अहिलेसम्मकै ठूलो वर्षाका कारण आएको बाढी र डुबानको समस्या आएको छ । शुक्रवार हङ्‌कङका सडक र भूमिगत रेल स्टेशनहरू डुबानमा परेका छन्। बाढीका कारण उत्पन्न समस्याका कारण अधिकारीहरूले विद्यालय र कार्यालयहरू बन्द गर्न निर्देशन दिएका थिए। स्थानीय मौसम ब्यूरोले शुक्रवारदेखि हुन थालेको मुसलधारे वर्षा उक्त सहरमा ूविगत १४० वर्षयता भएको सबैभन्दा ठूलोू भएको बताएको छ।

    आपत्कालीन उद्धार गर्ने निकायका अनुसार वर्षाका कारण प्रभावित १०० जनाभन्दा बढी मानिसलाई अस्पताल लग्नुपरेको छ भने उद्धारसम्बन्धी विभिन्न कार्य गर्नुपरेको छ। हङ्‌कङबाट प्राप्त तस्बिरहरूमा बिहीवारको मुसलधारे वर्षाले त्यहाँका सडकलाई बाढी उर्लेको खोला जस्तो बनाइदिएको देख्न सकिन्छ। शपिङ सेन्टर र सार्वजनिक यातायात सेवाहरू डुबानमा परेका छन्।

    सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा बाढीको पानीबाट जोगिन मानिसहरूले सवारीसाधनमाथि र अन्य अग्ला स्थानरूमा उक्लिरहेका देख्न सकिन्छ। कुनै स्थानमा पानीको तह केही मिटरमाथिसम्म बढेको छ। परिणामस्वरूप भूमिगत रेल स्टेशनहरूसम्म पुग्ने बाटोहरू पनि जलमग्न भएका छन्। मुख्य टापुलाई उत्तरमा अवस्थित काउलुन प्रायःद्वीपसँग जोड्ने महत्त्वपूर्ण अन्तरबन्दरगाह सुरुङमार्ग पनि डुबानमा परेको छ।

    हङकङको पहाडी क्षेत्रमा वर्षाका कारण पहिरो गएको छ र त्यसबाट केही राजमार्गहरू अवरुद्ध भएका छन्। शुक्रबार अपराह्ण वर्षा हुने क्रम केही घटेपछि अधिकारीहरूले पहिला जारी गरिएको खतराको सङ्केतको स्तरलाई उच्च कालोबाट केही तह कम सुन्तले रङ्गमा झारेका छन्। तर मौसमविद्हरूले शनिवारसम्म ठूलो वर्षा हुने बताएका छन्।

    बिहीवार एक घण्टामा ७० मिलिमिटरभन्दा वर्षा भएपछि अधिकारीहरूले उच्च जोखिम जनाउने खतराको कालो सङ्केत जारी गर्नुपरेको थियो। राति १५८.१ मिलिमिटर प्रतिघण्टाको दरमा वर्षा भएको हङ्‌कङ अब्जर्भटरीले जनाएको थियो। त्यो सन् १८८४ मा त्यहाँ वर्षासम्बन्धी अभिलेख राख्न थालिएयताकै सबैभन्दा उच्च वर्षा हो।

    हङ्‌कङ टापु, काउलुन र सहरको उत्तरपूर्वी भेगमा साँझको ६ बजेदेखि मध्यरातका बीचमा २०० मिलिमिटरभन्दा बढी पानी परेको अभिलेख छ। ठूलो वर्षाका कारन दक्षिणी चीनलाई प्रभावित भएको छ। हङ्‌कङपारि रहेको शेन्जेन सहरमा सन् १९५२ यताकै उच्चतम वर्षा भएको थियो।

    मौसमका कारण गुआङ्डोङ प्रान्तको विस्तारित क्षेत्रमा सयौँ उडानहरू रद्द गर्नुपरेको छ भने तल्लो भूभागमा रहेकाहरूलाई अग्लो स्थानतर्फ जान अधिरकारीहरूले अनुरोध गरेका छन्। दक्षिणी चीनको सघन जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा करौँडौँ मानिसहरू बसोबास गर्छन्।

  • मालीमा विद्रोहीको आक्रमणबाट डुब्यो डुंगा, कम्तिमा ४९ जनाको मृत्यु

    मालीमा विद्रोहीको आक्रमणबाट डुब्यो डुंगा, कम्तिमा ४९ जनाको मृत्यु

    काठमाडौं । पूर्वोत्तर मालीमा इस्लामवादी विद्रोहीहरूले एउटा डुङ्गामा आक्रमण गर्दा कम्तीमा ४९ सर्वसाधारण नागरिकको मृत्यु भएको त्यहाँको अन्तरिम सरकारले बताएको छ। उनीहरूले एउटा सैन्य शिविरमा पनि आक्रमण गरी १५ सैनिकको हत्या गरेका छन्। आक्रमणकारीहरूतर्फ झन्डै ५० जनाको ज्यान गएको बताइएको छ। घटनापछि सरकारले तीन दिनका लागि राष्ट्रिय शोक घोषणा गरेको छ। रुसी भाडाका सैनिकहरूको समूह वाग्नरले आफ्नो अभियान फिर्ता लिन लागेको सेनाको दाबी छ। मालीमा इस्लामवादी आक्रमणका धम्कीहरू बढिरहेको बीबीसीले जनाएको छ ।


    गत महिनाको अन्त्यदेखि उत्तरी नगर टिम्बक्टूमा नाकाबन्दी गरिएको छ। त्यहाँ यातायातका साधनमाथि बारम्बार आक्रमण भइरहेको छ। राष्ट्रिय टेलिभिजनमार्फत् सरकारद्वारा जारी विवरणलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न भने सकेको छैन। नीजेर नदीमा बहँदै गाओबाट मोप्ती सहरतर्फ जान लागेको डुङ्गामा आक्रमण भएको बताइएको छ।

    गाओ क्षेत्रकै बोरेम सर्कलमा रहेको सैन्य शिविरमा पनि आक्रमण भएको छ। ग्रेनिच मीन टाइम (जीएमटी) सँग ठ्याक्कै मिल्ने स्थानीय समयानुसार बिहीवार बिहान ११ बजे सशस्त्र आतङ्ककारी समूहूले डुङ्गामा आक्रमण गरेको मालीको सेनाले सामाजिक सञ्जालमा लेखेको छ।


    कम्तीमा तीनवटा रकेटले डुङ्गाको इन्जिनलाई लक्ष्य बनाएर आक्रमण गरेको डुङ्गा सञ्चालक कम्पनी कमन्याभले एएफपी समाचारसंस्थालाई बताएको छ। त्यसपछि उक्त डुङ्गालाई नदीमै रोकी सेनाले यात्रुहरूलाई बाहिर निकालेको कमन्याभका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताए। तत्कालिक राष्ट्रपति इब्राहिम बुबाकर केइटाविरुद्ध विरोध प्रदर्शनपछि सेनाले सत्ता कब्जा गर्दा यसले विशाल जनसमर्थन पाएको थियो। त्यतिबेला मानिसहरू आर्थिक अस्थिरता, विवादास्पद निर्वाचन र निरन्तरको असुरक्षाबाट असन्तुष्ट थिए।

    तर त्यसपछि मालीको सैन्य सरकारले देशका विभिन्न भागको नियन्त्रण गर्ने इस्लामवादी समूहहरूसँगको लडाइँमा खासै प्रगति गर्न नसकेको तथ्याङ्कहरूमा देखिएको छ। सन् २०१२ देखि उत्तरी मालीमा अल-कायदा र इस्लामिक स्टेटसँग सम्बद्ध समूहहरूले सत्ता कब्जाको उद्देश्यले हिंसात्मक गतिविधिहरू गरिरहेका छन्।

  • भारतको सूर्ययानले यस्तो पठायो पहिलो तस्वीर

    भारतको सूर्ययानले यस्तो पठायो पहिलो तस्वीर

    काठमाडौं । भारतको अन्तरिक्ष निकाय इसरोले सूर्यको अवलोकनका लागि त्यसतर्फ जाँदै गरेको आफ्नो अन्तरिक्षयानले पठाएको पहिलो तस्बिर सार्वजनिक गरेको छ। भारतको अन्तरिक्ष अभियान आदित्य एल १ ले पृथ्वीबाट सूर्यतर्फको १५ लाख किलोमिटर टाढाको यात्रामा अघि बढिरहेको छ।

    यो भाग पृथ्वी र सूर्यबीचको पूरा दूरीको १ प्रतिशत मात्रै हो। यो अन्तरिक्ष यानलाई आफ्नो गन्तव्यमा पुग्न चार महिना लाग्ने इसरोले जनाएको छ। चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो ल्यान्डर अवतरण गर्ने पहिलो देश बनेको केही दिनमै भारतको पहिलो सौर्य अन्तरिक्ष अभियान प्रक्षेपण भएको हो।

    बिहीवार बिहान इसरोले आदित्यमा जडित क्यामराबाट सेप्टेम्बर ४ मा लिइएका दुई वटा तस्बिर सार्वजनिक गर्‍यो। त्यसमध्ये एउटा तस्बिरमा एउटै फ्रेमभित्र पृथ्वी र चन्द्रमा देखिन्छन्। त्यसमा पृथ्वी निकै ठूलो देखिएको छ भने चन्द्रमा निकै टाढा र सानो धब्बाजस्तो मात्रै देखिन्छ।

    दोस्रो तस्बिर चाहिँ सेल्फी हो। त्यसमा सूर्यतर्फ गइरहेको अन्तरिक्षयानमा रहेका सात वटा वैज्ञानिक उपकरणहरूमध्ये दुई वटा उपकरण देखिन्छन्। सौर्य प्रणालीको सबैभन्दा ठूलो वस्तु अध्ययनका लागि भारतले पठाएको अन्तरिक्षमा आधारित पहिलो अभियानको नाम पनि सूर्यको नामबाट राखिएको छ। हिन्दू धर्ममा देवताको रूपमा पुजिने सूर्यलाई आदित्य नामले पनि चिनिन्छ। एल १ को अर्थ लाग्रान्ज विन्दु १ हो। यही विन्दुतर्फ भारतको अन्तरिक्षयान गइरहेको छ।

  • उत्तर कोरियाली नेता किम रुस भ्रमणमा जाने तयारीसँगै अमेरिका रुष्ट

    उत्तर कोरियाली नेता किम रुस भ्रमणमा जाने तयारीसँगै अमेरिका रुष्ट

    काठमाडौं । उत्तर कोरियाली नेता किम जङ उन रुस भ्रमणमा जाने भएका छन् । यसका लागि तयारी तिव्र पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो तयारीसँगै अमेरिका भने रुष्ट बनेको छ । उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने एक जना अमेरिकी अधिकारीले बताएका छन् ।

    उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर सघन वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको तथा उत्तर कोरियाली नेता किम जङ उन रुस भ्रमणमा जाने विवरण सार्वजनिक भएको हो । यदि उत्तर कोरियाले युक्रेनविरुद्ध युद्ध लड्न रुसलाई हतियार प्रदान गरेमा उसले त्यसको मूल्य चुकाउनुपर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबारको एक ब्रिफिङमा बताए ।

    उत्तर कोरियाली नेता किम राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियारसम्बन्धी वार्ता गर्न यसै महिना रुसको भ्रमण गर्ने योजनामा रहेको बताउँदै सल्लाहकार सुलिभानले दुवै नेताबीच कहिले भेटवार्ता हुन्छ भन्नेबारेमा भने केही खुलाएनन् । उनले नेताद्वयबीच रुसमा भेटवार्ता हुने जानकारी अमेरिकासँग रहेको दाबी गरे ।

    गत जुलाईमा रुसी रक्षामन्त्री सर्गेई सोइगुको उत्तर कोरियाको भ्रमणपछि नेता किम रुस भ्रमण निस्कन लागेका हुन् । प्योङयाङका तर्फबाट हतियार सम्झौता गर्न उनी रुस भ्रमणमा जान लागेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनलाई उद्धृत गर्दै केबल न्युज नेटवर्कले जनाएको छ ।

  • संयुक्त राष्ट्रसंघको ७८ औं महासभा सुरु

    संयुक्त राष्ट्रसंघको ७८ औं महासभा सुरु

    काठमाडौं । संयुक्त राष्ट्र संघको ७८ औं महासभा सुरु भएको छ । मंगलबार ७८ औं महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले महासभाको अधिवेशन उद्घाटन गरे । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको तर्फबाट उपप्रमुख अमिना मोहम्मदले उनको मन्तव्य अधिवेशनमा पढेर सुनाएका थिए ।


    उनले यो निराशाको नभइ काम गर्नुपर्ने क्षण भएको बताए । शान्ति र मानव अधिकारको लागि कार्य, दिगो विकास लक्ष्य, जलवायु परिवर्तनका कारण आएको खतरालाई सम्बोधन गर्नुपर्ने बताए । उत्पादनशील रोजगारी सिर्जना, महिला र युवाहरुका लागि रोजगारीको अवसरमा आवश्यक जोड दिनुपर्ने उनको भनाइ छ ।

    फ्रान्सिसले महासभाको नयाँ शैक्षिक सत्र विश्वको डरलाग्दो अवस्थाका बीचमा सुरु भएको र धेरै चुनौतिहरु रहेको बताए । अहिले भइरहेका विश्वव्यापी समस्या समाधानका लागि काम गर्न आवश्यक रहेको बताए । उनले विश्वव्यापी सहयोग र साझा प्रतिवद्धतामा नविकरण गरी वातावरणलाई जीवन्त बनाउन सबै लाग्नुपर्ने बताए ।

  • ब्राजिलमा सामुन्द्रिक आँधी, कम्तिमा २७ जनाको मृत्यु

    ब्राजिलमा सामुन्द्रिक आँधी, कम्तिमा २७ जनाको मृत्यु

    काठमाडौं । ब्राजिलमा सामुद्रिक आँधीपछिको वर्षा र हावाहुरीका कारण कम्तीमा २७ जनाको ज्यान गएको छ । आँधीकार काण धेरै मानिस बेपत्ता भएका छन् । हजारौँ मानिस विस्थापित भएका र सयौँलाई घरको छतबाट हेलिकप्टरमार्फत उद्धार गरिएको उद्धार अधिकारीहरूलाई उद्धृत गर्दै कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

    राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले देशमा थप बाढी आउन सक्ने भन्दै सुरक्षित रहन आग्रह गरेका छन् । उनले उद्धार र राहतका लागि तयारी अवस्थमा बस्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत अल जजिराले जनाएको छ । रियो ग्रान्डे डो सूलका गभर्नरले राज्यले भोगेको यो अहिलेसम्मकै मौसमसम्बन्धी ठूलो प्रकोप भएको बताएका छन् । राज्यमा पछिल्लो २४ घण्टामा तीन सय मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

  • चीनको ग्रेटवालामा कसले पुर्यायो ठूलो क्षति ?

    चीनको ग्रेटवालामा कसले पुर्यायो ठूलो क्षति ?

    काठमाडौं । निर्माण कामदारहरूले यान्त्रिक एक्स्काभेटर प्रयोग गरेर खन्दा चीनको शान्शी प्रान्तस्थित ग्रेट वालको एउटा भागमा ठूलो क्षति पुगेको छ। निर्माणका लागि छोटो बाटो बनाउने क्रममा उनीहरूले ग्रेट वालमा भ्वाङ बनाएका थिए।

    सम्पदा क्षेत्रमा क्षति पुर्‍याएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ग्रेट वालमा क्षति पुगेको क्षेत्रमा एक जना ३८ वर्षका पुरुष र ५५ वर्षकी महिला काम गरिरहेका थिए। उनीहरूले ग्रेट वालमा यसअघि नै रहेको एउटा भ्वाङलाई एक्स्काभेटर प्रयोग गरेर अझै चौडा बनाएका थिए।

    प्रहरीका अनुसार उनीहरूले ओहोरदोहोर गर्न घुमाउरो बाटो प्रयोग गर्नुको साटो ग्रेट वालको भ्वाङ चौडा बनाउने जुक्ति लगाएका थिए। त्यसबाट मिङ शासनकालमा बनेको ऐतिहासिक र सांस्कृतिक सम्पदामा अपूरणीय क्षति पुगेको प्रहरीले जनाएको छ। योयु काउन्टीमा रहेको ग्रेट वालको उक्त खण्ड ऐतिहासिक र सांस्कृतिक महत्त्वको मानिन्छ । यो प्रान्तीय स्तरमा संरक्षित क्षेत्र पनि हो। अधिकारीहरूले अगस्ट २४ मा उक्त क्षतिबारे सूचना पाएका थिए।

    सन् १९८७ यता निरन्तर युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको ग्रेट वाल इसापूर्व २२० देखि निरन्तर बन्दै सन् १६०० को मिङ वंशको शासनकालसम्म निर्माण भएको थियो। त्यस बेला यसलाई विश्वकै सबैभन्दा ठूलो सैन्य संरचना मानिएको थियो।

    सबैभन्दा राम्रोसँग संरक्षण गरिएका भागहरू १४औँ र १७औँ शताब्दीको बीचमा मिङ शासकहरूले बनाएका थिए। अहिले ठूलो भ्वाङ बनाइएको ठाउँ त्यही संरक्षित क्षेत्रमा पर्छ। धेरैलाई थाहा भएको ग्रेट वालको क्षेत्रमा सुन्दर संरचनाहरू र पहराका लागि बनाइएका अग्ला भागहरू छन्।

    तर अन्य भागहरू भने भत्कँदै गएको विभिन्न विवरणहरूमा उल्लेख छ। बेइजिङ टाइम्स पत्रिकाले सन् २०१६ मा प्रकाशित गरेको एउटा विवरण अनुसार मिङ शासनकालमा बनेको ग्रेट वालको ३० प्रतिशत क्षेत्र अहिले हराइसकेको छ भने आठ प्रतिशत क्षेत्रको मात्रै राम्रो संरक्षण भएको छ।

    ग्रेट वालका कतिपय खण्डहरू त्यहाँ ऐतिहासिक पर्खाल भएको पत्ता लगाउन पनि मुस्किल पर्ने गरी हराउँदै गएका छन्। उनका अनुसार हजारौँ वर्ष पहिले बनाइएको ठानिएको ग्रेट वालको सबैभन्दा पहिले बनेको क्षेत्र अहिले ढिस्कोजस्तो मात्रै छ।

    ग्रेट वालको क्षयीकरण हुनुमा प्रमुख दोष स्थानीय किसानहरूलाई दिइने गरिएको छ। उनीहरूमाथि घर र जनावरका लागि गोठ बनाउन उहाँका ढुङ्गा र इँटा चोरेको आरोप छ। चीनका सर्वसाधारहरूका लागि ग्रेट वालको ऐतिहासिक संरचना विनाश हुने गरी भएका पछिल्ला गतिविधि नौला त होइनन् तर उनीहरू यसबारे चिन्तित छन्। यूनेस्को विश्व सम्पदा सूचीमा पर्ने २० हजार किलोमिटर लामो ग्रेट वालको निर्माण कार्य आजभन्दा दुई हजार वर्षअघि सुरु भएको थियो।
    बीबीसी

  • चिनियाँ राष्ट्रपति ‘जी २०’ सम्मेलनमा नजाने, अमेरिकी राष्ट्रपति ‘निराश’

    चिनियाँ राष्ट्रपति ‘जी २०’ सम्मेलनमा नजाने, अमेरिकी राष्ट्रपति ‘निराश’

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन्पिङ सेप्टेम्बर ९ देखि १० मा दिल्लीमा हुने जी२० सम्मेलनमा सहभागी हुन भारत नजाने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सका अनुसार भारतको निमन्त्रणामा चिनियाँ प्रधानमन्त्री ली चियाङ उक्त सम्मेलनमा सहभागी हुन दिल्ली जाने छन्।

    चीनअघि रुसले पनि राष्ट्रपति भ्लादिमिर पुटिन जी२० सम्मेलनमा सहभागी हुन भारत जाने बताइएको थियो। बेइजिङले औपचारिक रूपमा त्यसको पुष्टि गर्नुअगाडि नै अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना चिनियाँ समकक्षीले सम्मेलनमा सहभागी नहुने योजना बनाएकोमा आफू ‘निराश’ भएको बताएका थिए।

    ‘म निराश छु…तर मेरो उनीसँग भेट हुने छ,’ बाइडनले आइतवार संवाददाताहरूसँग भने। तर त्यस्तो भेट कहिले होला भन्ने कुरा उनले खुलाएनन्। सी र बाइडनबीच पछिल्लो पटक गत वर्षको जी२० सम्मेलनमा भेट भएको थियो। वार्तालाई पुनर्जीवित गर्न यस वर्ष वाशिङ्टनबाट कयौँ कूटनीतिक भ्रमणहरू भए तापनि अमेरिका-चीन सम्बन्ध तनावपूर्ण अवस्थामा छ।

    सोमबारको पत्रकार सम्मेलनमा सीको सहभागिताबारे स्पष्टसँग सोधिँदा चिनियाँ विदेश मन्त्रालयले कूटनीतिक उत्तर दियो। ‘ली चियाङले जी२० सम्मेलनमा प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। यो एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो। चीनले सधैँ त्यसलाई महत्त्व दिने र सक्रिय सहभागिता जनाउने काम गरेको छ,’ मन्त्रालयका प्रवक्ताको भनाइ थियो।

    यो विषयमा जानकार तर नाम उल्लेख नगरिएका स्रोतहरूलाई उल्लेख गर्दै गत सातादेखि नै सीले जी२० मा सहभागी नजनाउने योजना बनाएको समाचार प्रकाशित हुँदै आएको छ। दुई देशबीच हिमाली क्षेत्रमा विवादित सीमाका कारण तनाव बढेको छ। गत साता अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कैयौँ भूभागलाई चीनले नयाँ नक्सामा आफ्नो सीमामा राखेको भन्दै भारतले बेइजिङसँग कडा आपत्ति जनाएको छ।

    सी-बाइडन भेट कहिले होला?

    सी र बाइडनबीच नोभेम्बरमा संवाद हुन सक्ने एउटा अवसर छ।”त्यतिखेर सान फ्रान्सिस्कोमा एशिया प्यासिफिक इकोनोमिक कोअपरेशनसँग आबद्ध देशका नेताहरू भेला हुन लागेका छन्।

    दुई नेताहरू गत नोभेम्बरमा इन्डोनेशियाको बालीमा भेटेको दुई महिनापछि अमेरिकी आकाशमा एउटा सन्दिग्ध जासुसी बलून देखा परेको थियो र त्यसले द्विपक्षीय सम्बन्ध सुधार हुने आशामा अवरोध पुर्‍यायो।

    चीन र अमेरिकाबीच युक्रेनमा भएको रुसी आक्रमण, शिन्जियाङ र हङकङको मानव अधिकार, ताइवान र दक्षिण चिनियाँ सागरमा गरिएको दाबी, प्रविधिका महत्त्वपूर्ण सामग्रीमा बेइजिङको पहुँच सीमित पार्ने गरी भएका आर्थिक प्रतिबन्ध लगायत कैयौँ विषयमा असहमति छन्।

    सम्बन्ध सुधार गर्ने प्रयासमा पछिल्ला महिनामा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कन, अर्थमन्त्री जनेट यलन र जलवायु मामिलाका अमेरिकी विशेष दूत जोन केरीले चीन भ्रमण गरेका थिए।

    यसैबीच राष्ट्रपति सीले वाशिङ्टनको नेतृत्वमा विश्वव्यवस्थाको विकल्पको लागि समर्थन जुटाउँदै बेइजिङलाई विकासोन्मुख विश्वको नेताको रूपमा चित्रण गर्ने काम जारी राखेका छन्।

    गत महिना ब्रिक्स देशका नेताहरूलाई भेट्न दक्षिण अफ्रिका पुगेका सीले पश्चिममा विश्वको ‘प्रभुत्ववाद’को आलोचना गरे र आफ्नो मन्तव्यमा विकासोन्मुख देशहरूलाई ‘उपनिवेशवादको धङधङी परित्याग गर्न’ आह्वान गरेका थिए।

    ब्रिक्स समूहमा ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन्। ज्यानुअरीमा ६ नयाँ देशहरू आर्जेन्टिना, इजिप्ट, इरान, इथियोपिया, साउदी अरब र यूनाइटेड अरब इमिरेट्स पनि समाविष्ट हुने बताइएको उक्त समूहलाई बेइजिङको कूटनीतिक सफलताको रूपमा हेरिएको छ। बीबीसी

  • उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु

    उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु

    उडिसा । उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ । गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको थियो । रासस-एएनआई

  • विश्व बजारमा कच्चा तेलको मूल्य १० महिना यताकै महँगो

    विश्व बजारमा कच्चा तेलको मूल्य १० महिना यताकै महँगो

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ १० महिना यताकै महँगो भएको छ । बजारमा तेलको माग अनुसार आपूर्ति नहुँदा कच्चा तेलको भाउ १० महिना यताकै उच्च पुगेको हो ।

    आयल प्राइसका अनुसार आइतबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ १.९८ प्रतिशतले बढेर प्रतिब्यारेल ८८.५५ डलर पुगेको छ । यो सन् २०२२ को अक्टोबर यताकै उच्च हो । गत अप्रिलमा घटेर ब्रेन्टको भाउ प्रतिब्यारेल ७१ डलरसम्म झरेको थियो ।

    यसैगरी, आज ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ २.३ प्रतिशत बढेर ८५.५५ डलर पुगेको छ । डेढ महिना अघि यसको भाउ प्रतिब्यारेल ७९ डलर थियो । यस्तै, मुर्बान क्रुड आयलको भाउ प्रतिब्यारेल ९०.६९ डलर पुगेको छ ।

    अहिले विश्व बजारमा कच्चा तेलको मूल्य बढ्नुमा मुख्यतः दुई कारण रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अमेरिकाको इनर्जी इन्फर्मेसन प्रशासनका अनुसार तेलको माग बढ्दा एक सातामै अमेरिकाको तेल मौज्दात २.४ प्रतिशत (१ करोड ६ लाख ब्यारेल) घटेको आयल प्राइसले जनाएकाे छ । जसले कच्चा तेलको मूल्य ह्वात्तै बढेको हो ।

    त्यसैगरी, आगामी अक्टोबर महिनादेखि विश्वकै दुई ठूला तेल उत्पादकहरु साउदी अरेबिया र रुसले कच्चा तेलको उत्पादनमा कटौती गर्ने तयारी थालेका छन् । साउदीले दैनिक करिब १० लाख ब्यारेल कटौती गर्ने घोषणा गरिसकेको छ भने रुसले यो साता तेल कटौती बारेको निर्णय गर्ने जनाइएको छ ।

    रुस युक्रेन युद्धका बेला सन् २०२२ को मार्चमा विश्व बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो ।

    नेपालमा अझै भाउ बढ्ने

    नेपालमा पछिल्लो एक महिनामा मात्रै दुइपटक पेट्रोलियम पद्धार्थको मूल्य बढिसकेको छ भने आगामी दिनमा पनि अझै बढ्ने संकेत देखिएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्छ । नेपालले अहिले सिधै अन्तर्राष्ट्रिय बजारबाट तेल खरिद नगरी भारतसँग खरिद गरेर ल्याउने गरेको छ । विश्व बजारमा कच्चा तेलको भाउ बढ्दा भारतमा पनि बढ्ने हुनाले त्यसको प्रभाव नेपालमा पनि पर्छ ।

    नेपाल आयल निगमले गत साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको छ । सो अनुसार भारतबाट भाउ बढेर आए नेपालमा पनि बढ्ने र घटेर आए घट्ने गर्छ । अहिले विश्व बजारमा भाउ बढिरहेकाले भारतले पनि मूल्य बढाएर पठाउने हुँदा आगामी दिनमा नेपालमा पनि तेलको भाउ बढ्ने सम्भावना देखिन्छ ।

  • इराकमा सवारी दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु

    इराकमा सवारी दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु

    काठमाडौं । इराकको उत्तरी क्षेत्रस्थित दुजैल र समारा सहरको मध्यभागमा सवारी दुर्घटनामा १६ तीर्थयात्रीहरुको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये धेरैजसो शिया इरानी तीर्थयात्रीहरू छन् । विश्वकै ठूलो धार्मिक मेलामध्येको एक मानिने अर्बेनका लागि कर्बाला सहरमा जाने क्रममा तीर्थयात्रीहरू चढेको बस ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा १३ जना घाइते छन् । दुर्घटनास्थलमा अहिले उद्धारको काम भइरहेको छ । घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ । सरकारी अधिकारीहरूका अनुसार दुईवटा मिनीबस आपसमा ठोक्किएका थिए ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रत्यक्ष्यदर्शीहरूले बसका चालक निदाइरहेको देखेको बताएका छन् । इराकी स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार इराकमा गत वर्ष सडक दुर्घटनाबाट कम्तीमा ४ हजार ९ सय जनाको मृत्यु भएको थियो । औसतमा हरेक दिन १३ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको तथ्यांक छ । यस वर्ष इराकमा भित्रिएका २६ लाख तीर्थयात्रीहरूमध्ये अधिकांश इरानबाट गएका छन् ।

  • कंगोमा राष्ट्रसंघ विरुद्ध हिंसात्मक प्रदर्शन, कम्तिमा ४८ जना मारिए

    कंगोमा राष्ट्रसंघ विरुद्ध हिंसात्मक प्रदर्शन, कम्तिमा ४८ जना मारिए

    काठमाडौं । पूर्वी कङ्गोमा संयुक्त राष्ट्रसङ्घविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको स्थानीय स्रोतले बिहीबार जनाएको छ । एएफपीलाई प्राप्त आधिकारिक दस्तावेजमा आक्रमण र हताहतको पुष्टि गरिएको छ । गत बुधबार कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए ।

    सुरुमा करिब १० जनाको मृत्यु भएको बताइएको थियो, जसमा एक जना प्रहरी अधिकारी पनि थिए । मृतक प्रहरीलाई सम्प्रदायका सदस्यहरूले नराम्रोसँग पिटेका थिए । तर एएफपीले परामर्श गरेको र सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा मारिने प्रहरीबाहेक ४८ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ ।

    उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेता सहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले बताएका छन् । कङ्गोको मानव अधिकार अधिकार समूह लुचाले पनि बिहीबार मारिएको प्रदर्शनकारीको सङ्ख्या ५० को हाराहारीमा रहेको जनाएको छ ।

    बिहीबार सामाजिक सञ्जालमा प्रसारित दुई अपुष्ट भिडियोमा कङ्गोका सैनिकहरूले रगतले लतपतिएका मृत शरीरहरू सैन्य गाडीको पछाडि फ्याँकेको देखिन्छ ।

    प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लाडाकूको हिंसाको चपेटामा परेको छ, जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासत हो ।

    यस क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन विश्वको सबैभन्दा ठूलो र महँगो मध्ये एक हो, जसको वार्षिक बजेट लगभग एक अर्ब डलर छ । संयुक्त राष्ट्रसङ्घले मध्य अफ्रिकी राष्ट्रमा भएका हिंसातमक घटनाको कडा आलोचना गरिरहेको छ । यस क्षेत्रमा धेरै मानिसहरूले शान्ति सैनिकहरूलाई द्वन्द्व रोक्न असफल भएको ठान्छन् । एएफपी

  • हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडी २०२३

    हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडी २०२३

    काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका छन् । मोनाकोमा भएको एक समारोहकाबीच उनले यो उपाधि हात पारेका हुन् । अर्जेन्टिनी खेलाडी लियोनल मेसी र आफ्नै टिमका केभिन डी ब्रुइनलाई पछि पार्दै हालान्ड वर्षको उत्कृष्ट खेलाडी बने । गत सिजन मात्र म्यानचेस्टर सिटी गएका हालान्डले पहिलो सिजनमै प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग सहित प्रतिष्ठित ट्रेबल जितेका थिए ।

    हालान्डले गत सिजन क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए । उनले पहिलो प्रिमियर लिग सिजनमै मोहम्मद सालाहको एक सिजनको गोल रेकर्ड तोड्दै ३६ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा ११ खेलमा १२ गोल गरेका थिए । महिलातर्फ बार्सिलोना र स्पेनकी आईटाना बोनमाटीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छिन् । उनले गत सिजन बार्सिलोनाका लागि स्पेनिस शीर्ष डभिजनको उपाधि, सुपरकोपा र च्याम्पियन लिग जितेकी थिइन् ।

    उनले केही दिन अघिमात्र सम्पन्न महिला विश्वकपको उपाधि समेत जितेको हुन् । उनी विश्वकपमा उत्कृष्ट खेलाडी समेत चुनिएकी थिइन् । म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष वर्ष प्रशिक्षकको अवार्ड जिते । उत्कृष्ट महिला प्रशिक्षकमा इंग्ल्यान्डकी सरिना विगमनले बाजी मारिन् । उनकै प्रशिक्षणमा इङ्ल्यान्ड महिला विश्वकपको फाइनल पुगेको थियो । इङ्ल्यान्ड विश्वकप फाइनलमा स्पेनसँग पराजित हुन पुगेको थियो ।

  • चीनमा बाढी पहिरो–कम्तिमा ४ जनाको मृत्यु, ४८ जना वेपत्ता

    चीनमा बाढी पहिरो–कम्तिमा ४ जनाको मृत्यु, ४८ जना वेपत्ता

    काठमाडौं । चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अन्य ४८ जना बेपत्ता भएका छन् ।

    राजमार्ग निर्माणस्थलमा पहिरो खसेको तर घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको अभियोगमा निर्माण कम्पनीका चार जनालाई पक्राउ गरिएको प्रान्तीय आन्तरिक सुरक्षा विभागमा उपनिर्देशक युआन ग्याङले पत्रकार सम्मेलनमा बताएका छन् । नौ दिनअघि भएको उक्त घटनाको विवरण ढिलो उपलब्ध गराएकामा उनले निर्माण कम्पनीका कर्मचारीमाथि कारवाही गरिने बताएका छन् ।

    राजमार्ग निर्माणस्थलमा भएको उक्त दुर्घटनाको छानबिनमा खटिएको टोलीले पहिरो खसेका बेला उक्त स्थानमा दुई सय एक जना रहेका जनाएको छ । एक सय ४९ जना ज्यान जोगाएर भागेका थिए । प्रहरीले घटानको छानबिन र बेपत्ता भएकाहरूको खोजी जारी राखेको उपनिर्देशक युआनले बताएका छन् । रासस-सिह्वा

  • गाबोनमा सेनाले गर्यो सत्ता कब्जा

    गाबोनमा सेनाले गर्यो सत्ता कब्जा

    काठमाडौं । अफ्रिकी देश गाबोनमा सेनाले सत्ता कब्जा गरेको छ । सेना अधिकारीहरूले आफूले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका बीबीसीले जनाएको छ ।

    सेनाका अधिकारीहरूले गएको चुनावको नतिजा रद्द गरेको बताएका छन् । चुनाव आयोगले राष्ट्रपति अली बोङ्गो झन्डै दुई तिहाइ मतसहित विजयी भएको घोषणा गरेको थियो । विपक्षीले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

    यो विद्रोहसँगै देशमा बोङ्गो परिवारको ५३ वर्ष लामो शासनको अन्त्य भएको छ । समाचार एजेन्सी एएफपीले सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै अपदस्थ राष्ट्रपति अली बोङ्गोलाई उहाँको घरमा हिरासतमा राखिएको बताएको छ ।

    सेनाका अधिकारीहरूले ग्याबोनको सीमा बन्द गरिएको बताएका छन् । राजधानी लिब्रेभिलमा आज बुधवार बिहानै गोली चलेको आवाज सुनिएको थियो । राजधानीका सडक सुनसान थिए । ग्याबोन प्राकृतिक तेलको स्रोतमा धनी देश हो ।

  • अरुणाञ्चलसमेत समेटेर चीनले निकाल्यो नयाँ नक्सा, भारतको प्रतिक्रिया के ?

    अरुणाञ्चलसमेत समेटेर चीनले निकाल्यो नयाँ नक्सा, भारतको प्रतिक्रिया के ?

    काठमाडौं । चीनले सोमवार नयाँ नक्सा जारी गरेको छ। त्यसलाई आफ्नो ‘प्रचलित नक्सा’ बताएको बेइजिङले अरुणाचल प्रदेश र अक्साई चीनलाई पुनः एकपटक चीनको हिस्साको रूपमा उल्लेख गरिएको छ । चीनको उक्त नक्सामा साउथ चाइना सी र ताइवानसमेत चीनको हिस्साका रूपमा प्रस्तुत गरिएको छ।

    उक्त नक्सा सार्वजनिक गर्दै चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अङ्ग्रेजी दैनिक द ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा लेखेको छ, “चीनको सन् २०२३ को प्रचलित नक्सा सोमवार सार्वजनिक गरिएको छ। यस नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो। यो नक्सा चीन र विश्वका अन्य देशको ुड्रइङु पद्धतिको आधारमा बनाइएको हो।”

    भारतीय जनता पार्टी भाजपाका नेता सुब्रमण्यम स्वामीले चीनको नयाँ नक्सालाई लिएर व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मोदीलाई भन्नुहोस् कि यदि उहाँले कुनै बाध्यताका कारण भारत माताको रक्षा गर्न सक्नुहुन्न भने कम्तीमा पद छोडेर मार्गदर्शक मण्डलमा जानुहोस्। भारतलाई झुटले बचाउन सकिँदैन। भारतले अर्को नेहरु सहन सक्दैन।’ केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेटवार्ता भएको पृष्ठभूमिमा यो नक्सा जारी गरिएको हो।

    दुवै देशका नेताबीच सीमा विवादबारे समेत कुराकानी भएको थियो । चीनले जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग समेटिएकोप्रति भारत सरकारले विरोध जनाएको छ। भारतीय विदेश मन्त्रालयले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै आफ्नो विरोध कूटनीतिक माध्यमबाट चिनियाँ पक्षसमक्ष पुर्‍याइसकिएको जनाएको छ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता के अरिन्दम बागचीले सामाजिक सञ्जाल एक्स (टुइटर)मा भनेका छन् “आज हामीले कथित ‘मानक नक्सा’लाई लिएर चीनसँग कूटनीतिक तहमा कडा विरोध जनाएका छौँ।” ूयस्तो दाबीको कुनै आधार छैन। चीनको यस्तो कदमले सीमा समस्याको समाधानलाई जटिल बनाउँछ।”

    भारतीय कांग्रेस सभापति मल्लिकार्जुन खड्गेले पनि चीनको दाबी आपत्तिजनक रहेको बताएका छन्। यसअघि सन् २०२३ को एप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो।

    चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैधरूपमा कब्जा गरेको दाबी गरेको छ। सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ।
    बीबीसी

  • इमरान खानलाई रिहा गर्न उच्च अदालतको आदेश

    इमरान खानलाई रिहा गर्न उच्च अदालतको आदेश

    काठमाडौं । इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ। तोशाखाना मामिलामा ट्रायल कोर्टले खानलाई ३ वर्षको सजाय सुनाएको थियो। उच्च अदालतले भने आज इमरानलाई जमानतमा रिहा गर्न आदेश दिएको हो। हाल इमरानलाई एट्टक जेलमा राखिएको छ।अदालतले खानलाई सुनाइएको जेल सजाय पनि निलम्बनमा राख्न फैसलामा भनेको छ। अगस्ट ५ मा इस्लामावादको ट्रायल कोर्टले पाकिस्तान तेहरिक इन्साफ पार्टीका नेतासमेत रहेका खानलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो। राज्यलाई प्रदान गरिएको उपहारको दुरुपयोग गरेकोमा खानलाई दोषी ठहर गर्दै ३ वर्षको सजाय सुनाइएको थियो। सो फैसलाका कारण खान ५ वर्षसम्म कुनै पनि निर्वाचनमा प्रतिस्पर्धा गर्न अयोग्य भएका थिए। पाकिस्तानमा आउने केही महिनामा नै संसदीय निर्वाचन हुँदैछ।