Category: विश्व

  • इरानमा सामुहिक बलात्कारको अभियोगमा ५ जनालाई मृत्युदण्ड

    इरानमा सामुहिक बलात्कारको अभियोगमा ५ जनालाई मृत्युदण्ड

    काठमाडौं । इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । “मे २०२२ मा मारान्ड सहरमा एक महिलालाई अपहरण गरी बलात्कार गर्ने पाँच जनालाई मृत्युदण्ड दिइएको छ,” न्यायपालिकाको मिजान अनलाइनले घोषणा गरेको छ । पूर्वी अजरबैजान प्रान्तमा भएको सामूहिक बलात्कारको चार दिनपछि पक्राउ परेका ती व्यक्ति अन्य अपराधमा पनि संलग्न रहेको मिजानले बताएको छ ।

    गत महिना पनि इरानले नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा उपचारको प्रलोभन देखाएर अर्धचेतन अवस्थामा बलात्कार गरेको अभियोगमा तीन जनालाई मृत्युदण्ड दिएको थियो । उनीहरूलाई सन् २०२१ को अन्त्यतिर दक्षिणी प्रान्त होर्मोज्गानमा यौन दुर्व्यवहारका थुप्रै घटनामा सहभागी रहेको अभियोगमा दोषी ठहर गरिएको मिजानले जनाएको छ । मानव अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका अनुसार इरानले एकाधबाहेक अन्य मुलुकको तुलनामा बढी मानिसलाई मृत्युदण्ड दिने गरेको छ । इरानमा गत वर्ष कम्तीमा ५८२ जनालाई फाँसी दिइएको थियो ।

    एम्नेस्टीका अनुसार इरानका अधिकारीहरूले ‘सबै अपराधका लागि मृत्युदण्डको सङ्ख्या’मा उल्लेखनीय वृद्धि गरेका छन् र सन् २०२३ मा अहिलेसम्म कम्तीमा २८२ जनालाई मृत्युदण्ड दिइएको छ । यो सङ्ख्या गत वर्षको जुन महिनाको सुरूमा मृत्युदण्ड दिइएकाहरूको सङ्ख्याभन्दा झण्डै दोब्बर हो ।

  • अमेरिकी राष्ट्रपतिलाई फेसबुकमार्फत धम्क्याउने व्यक्तिलाई गुप्तचरले मार्यो

    अमेरिकी राष्ट्रपतिलाई फेसबुकमार्फत धम्क्याउने व्यक्तिलाई गुप्तचरले मार्यो

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको छ । बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नामका व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो ।

    एफबीआईका अनुसार साल्ट लेक सिटीको दक्षिणमा पर्ने प्रोवो भन्ने स्थानमा रोबर्टसनकै घरमा उनीमाथि गोली प्रहार भएको थियो । एफबीआईको टोली उनलाई पक्रन गएको बेला गोली चलेको बीबीसीले जनाएको छ । यस घटनाबार थप विवरणहरु सार्वजनिक भएको छैन । ती व्यक्तिले फेसबुक वालमा बाइडन र बन्दुकका फोटाहरु राख्दै मार्ने धम्कीसहितका दर्जनौं स्टाटस राखेका थिए ।

  • इटालीमा डुंगा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

    इटालीमा डुंगा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

    काठमाडौं । इटालीको लाम्पेडुसा टापुनजिकै समुद्रमा आप्रवासीहरू बोकेको डुङ्गा दुर्घटनामा पर्दा ४१ जनाको मृत्यु भएको जीवित व्यक्तिहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। उक्त दुर्घटनामा परेर बाँच्न सफल चार जनाले उद्धारकर्ताहरूलाई आफूहरू ट्यूनिशियाबाट इटलीतिर जान डुङ्गामा चढेको बताएका छन्।

    ती चार जना आइभरी कोस्ट र गिनीका नागरिक हुन्। उनीहरू बुधवार लाम्पेडुसा पुगेका थिए। बाँच्न सफलमध्ये तीन पुरुष र एक महिला छन्। उनीहरू चढेको डुङ्गामा तीन जना बालबालिकासहित ४५ जना भएको उद्धारकर्मीहरूलाई बताएका छन्। उत्तरी अफ्रिकाबाट समुद्री बाटो हुँदै युरोप जाने क्रममा यो वर्ष मात्रै १,८०० जनाले ज्यान गुमाइसकेका छन्। उक्त डुङ्गा सात मिटरजति लामो भएको बताइएको छ।

    जीवित व्यक्तिहरूका अनुसार गत साता बिहीवार ट्यूनिशियाको स्फ्याक्सबाट निस्किएको उक्त डुङ्गा केही घण्टामै दुर्घटनामा परेको थियो। एउटा ठूलो छाल बज्रिएपछि डुङ्गा केही बेरमै समुद्रमा डुबेको उनीहरूले बताएका छन्। त्यसमा चढेकामध्ये केवल १७ जनाले लाइभ भेस्ट लगाएको उनीहरूले बताएका छन्।

    उनीहरूका अनुसार एउटा मालवाहक पानीजहाजले उनीहरूको उद्धार गरेर इटलीका तटरक्षकहरू जहाजलाई जिम्मा लगाएको थियो। इटलीको तटरक्षक बलले उक्त क्षेत्रमा दुईवटा डुङ्गा दुर्घटनामा परेको जानकारी आइतवार दिएको छ। तर ४१ जनाको ज्यान जानेगरी भएको दुर्घटना उसको विवरणमा परे नपरेको स्पष्ट छैन।

    ट्यूनिशियाका अधिकारीहरूका अनुसार लाम्पेडुसाबाट झन्डै १३० किलोमिटर टाढा रहेको स्फ्याक्स सुखद जीवनको अपेक्षामा युरोप प्रवेश गर्ने आप्रवासीहरूका लागि लोकप्रिय मार्गमा पर्छ। हालैका दिनहरूमा इटलीले गस्तीमा खटाएका डुङ्गा र सेवामूलक समूहहरूले लाम्पेडुसा पुगेका झन्डै २,००० आप्रवासीको उद्धार गरेका छन्।

    ट्यूनिशियामा अफ्रिकी मूलका अश्वेत जातिका मानिसहरूप्रति जातीय विभेद उच्च भएको छ र मानिसहरू डुङ्गा चढेर देशबाट बाहिरिने प्रयासहरू बढेका छन्। संयुक्त राष्ट्रसङ्घले सन् २०१४ यता भूमध्यसागरमा मध्यभागमा १७,००० जनाको मृत्यु भएको जनाएको छ। यो क्षेत्रमा आप्रवासीहरूले पार गर्ने सबैभन्दा खतरनाक मार्ग पर्छ।

    इटलीको चरम दक्षिणपन्थी सरकारले उद्धार गरिएका आप्रवासीहरूलाई लाम्पेडुसा वा सिसिलीमा ओर्लिन दिनुको साटो उद्धारका लागि तैनाथ डुङ्गालाई टाढा रहेका बन्दरगाहमा रोकिन दबाव दिने नीति अवलम्बन गरेको छ। इटली आउने डुङ्गाहरू एकै ठाउँमा केन्द्रित नहोऊन् भन्ने आफ्नो नीति भएको सरकारको दाबी छ। तर गैरसरकारी संस्थाहरूले इटली सरकारको नीतिका कारण डुङ्गा दुर्घटना भइरहने क्षेत्रमा गरिने गस्तीको समय घटेको बताएका छन्। बीबीसी

  • प्रचण्ड गर्मीले अमेरिकाका पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको मृत्यु

    प्रचण्ड गर्मीले अमेरिकाका पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको मृत्यु

    न्यूयोर्क । अमेरिकामा प्रचण्ड गर्मीका कारण पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ । मृत्युको रिपोर्ट तीन राज्यमा भएको छ जुन सबैभन्दा खराब पीडित छ ।

    यसै महिनाको प्रारम्भमा एरिजोनाको पिमा काउन्टीमा ६४ र म्यारीकोपामा ३९ जना, नेभाडाको क्लार्क काउन्टीमा २६ जना, टेक्सासको वेबमा ११ र ह्यारिस काउन्टीमा सात जनाको ज्यान गएको उनीहरूले बताएका छन् ।

    जुनको अन्तिम सातादेखि बढेको गर्मी अझैसम्म जारी नै छ । जुन र जुलाई महिनामा लगातार ३१ दिन एक सय १० डिग्री फरेनहाइटभन्दा माथि तापक्रम पुगेपछि जनजीवन अस्तव्यस्त भएको थियो ।

    आँधी र बाढीमा भन्दा गर्मीले ज्यान गुमाउनेको सङ्ख्या अधिक भएकामा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । जलवायु सङ्कटले यस्तो अवस्था निम्त्याएको उनीहरूको तर्क छ । हार्वर्ड विश्वविद्यालयका चिकित्सक डेभिड एस जोन्स देशभरिबाट सङ्कलन गरिएको मृत्युको विवरण कम भएको टिप्पणी गर्दै गणनालाई रहस्यमय भनेका छन् ।

  • युक्रेनी राष्ट्रपतिको हत्याको योजना बनाउने महिला पक्राउ

    युक्रेनी राष्ट्रपतिको हत्याको योजना बनाउने महिला पक्राउ

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्‌यन्त्रमा संलग्न भएको आरोपमा एक महिलालाई पक्राउ गरिएको युक्रेनको सुरक्षा निकायले जनाएको छ। ती महिलाले गत जुन महिनामा बाढी प्रभावित क्षेत्र माइकोलाइभको भ्रमण गर्नुअघि जेलेन्स्कीको यात्रा कार्यक्रम पत्ता लगाउने प्रयास गरेको उक्त सेवाले जनाएको छ।

    युक्रेनले रुसलाई समर्थन गर्ने आफ्ना नागरिकलाई मस्कोको सेनालाई सहयोग गर्न सूचना प्रवाह गरेको आरोप लगाउँदै आएको छ। जेलेन्स्कीले एसबीयूका प्रमुखले आफूलाई “धोकेबाज विरुद्धको लडाइँ”बारे खबर गरेको भन्दै ती महिलाको गिरफ्तारीबारे आफूलाई जानकारी दिइएको पुष्टि गरेका छन्। रुसले यस गिरफ्तारीबारे कुनै टिप्पणी गरेको छैन।

    युक्रेनको सुरक्षा सेवासम्बन्धी निकाय एसबीयूले एक विज्ञप्ति जारी गर्दै ती महिलालाई रुसीहरूलाई गुप्तचरी सूचना दिन खोज्दा “रङ्गेहात” पक्राउ गरिएको जनाएको छ। ती महिलाले दक्षिणी माइकोलाइभ क्षेत्रमा जेलेन्स्कीको भ्रमणअघि नै त्यहाँको यात्रा योजना पत्ता लगाउन गुप्तचर सूचना सङ्कलन गर्ने प्रयास गरेको उनीहरूको आरोप छ। उनीहरूले एसबीयूको भान्सामा उभिएकी सन्दिग्धको मुखौटोसहितको तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरमा ती महिला र सँगै उभिएका अधिकारीहरूलाई प्रस्ट देखिँदैन।

    जेलेन्स्कीले कखोभ्का बाँध भत्किँदा भएको क्षति निरीक्षणका लागि गत जुन महिनामा माइकोलाइभको भ्रमण गरेका थिए। त्यसपछि जुलाईमा रुसको भारी गोलाबारीपछि उनी त्यहाँ पुगेका थिए।

    सुरक्षा सेवा निकायले भ्रमणअघि नै आफू उक्त षडयन्त्रबारे जानकार रहेको र सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ। उक्त निकायले रुसले “माइकोलाइभ क्षेत्रमा ठूलो हवाई आक्रमणको योजना बनाइरहेको” र सन्दिग्ध महिलाले उनीहरूलाई युद्ध गतिविधिबारे विद्युतीय प्रणाली तथा गोला बारुदसहितको गोदामका बारेमा जानकारी दिन खोजेको आरोप लगाइएको छ।

    एसबीयूका अनुसार सन्दिग्ध महिला ओचाकिएभ नामक सानो सहरकी बासिन्दा हुन् जहाँ जेलेन्स्कीले गत जुलाईमा भ्रमण गरेका थिए। उनी त्यहाँको एक सैन्य अखडामा रहेको पसलमा काम गर्थिन्।

    भ्रमणका क्रममा एसबीयूले सन्दिग्धलाई पक्राउ नगरी युक्रेनी राष्ट्रपतिमाथि हुनसक्ने आक्रमण रोक्ने उपाय अपनाएको बुझिएको छ। एसबीयूका अनुसार उसका केही प्रतिनिधिहरूले भ्रमणपछि ती महिलाको गतिविधि तथा रुसी पक्षबाट प्राप्त गरेका ुजिम्मेवारीहरूुबारे थप जानकारी लिन उनलाई पछ्याए। विज्ञप्तिमा सन्दिग्धले उक्त क्षेत्रमा गाडी चलाएको र युक्रेनी सैन्य सुविधाको फोटो तथा भिडिओ खिचेको जनाइएको छ।

    उनीमाथि हतियार र सैनिकको गतिविधिबारे अनधिकृत रूपमा सूचना सम्प्रेषण गरेको आरोप लाग्ने अनुमान गरिएको छ। दोषी ठहर भएको खण्डमा उनलाई १२ वर्षसम्म जेल सजाय हुन सक्छ। युक्रेनी सुरक्षा बलले रुसी हवाई आक्रमणको लक्ष्य पत्ता लगाउन मद्दत गर्ने कथित रुसी एजेन्टहरूलाई धेरै पटक गिरफ्तार गरेको छ।
    बीबीसी

  • इमरान खानलाई ५ वर्षसम्म निर्वाचन लड्न रोक

    इमरान खानलाई ५ वर्षसम्म निर्वाचन लड्न रोक

    कराची । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । इमरान खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले ५ अगस्टमा तीन वर्षको जेल सजायँ तोकेको छ । उनी हाल जेलमा छन् ।

    पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका नेता इमरान खान सन् २०१८ को मेमा प्रधानमन्त्री बनेका थिए । उनी विरुद्ध संसदले अविश्वास प्रस्ताव पारित गरेपछि १० अप्रिल २०२२ मा प्रधानमन्त्री पदबाट मुक्त भएका थिए । हाल पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरिफ छन् । शहबाज सत्तामा आएपछि इमरान खानविरुद्ध १०० भन्दा बढी आरोपमा मुद्दा दायर भएको छ । तर खानले आफूमाथि लागेका आरोपहरुको खण्डन गर्दै ती सबै राजनीति प्रेरित भएको बताउँदै आएका छन् ।

  • इटालीमा पानी जहाज डुब्दा कम्तिमा ३० जना आप्रवासी वेपत्ता

    इटालीमा पानी जहाज डुब्दा कम्तिमा ३० जना आप्रवासी वेपत्ता

    काठमाडौं । इटालीको लाम्पेडुसा टापुमा दुई जहाज डुब्दा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा ३० जना बेपत्ता भएका छन् । ट्युनिसियाको स्फैक्स बन्दरगाहबाट छुटेको ती जहाजमा आप्रवासी सवार थिए ।

    संयुक्त राष्ट्रसंघको आप्रवासी एजेन्सीका अनुसार एउटा जहाजमा ४८ र अर्कोमा ४२ जना चढेका थिए । इटालीको सुरक्षाकर्मीले एक महिला र एक वर्षीय बालकको शव फेला परेका छन् । उनीहरूले ५७ जना आप्रवासीको उद्धार पनि गरेका छन् ।

    सुरक्षाकर्मीले जहाजको टुक्राको अनुसन्धान गरिरहेको बताएका छन् । मानव तस्करलाई समुद्रको खराब मौसमको पूर्वानुमानबारे जारी सूचना थाहा भए पनि उनीहरूले सुरक्षा अधिकारीलाई झुक्याउन जहाज अघि बढाएको इटालीका सुरक्षा अधिकारीहरूको भनाइ छ ।

  • कच्चा तेलको भाउ ४ महिना यताकै महँगो

    कच्चा तेलको भाउ ४ महिना यताकै महँगो

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ४ महिना यताकै महँगो भएको छ । विश्वका ठूला तेल उत्पादक देशहरुले उत्पादनमा कटौती गरेसँगै गत अप्रिलदेखि कच्चा तेलको भाउ लगातार उकालो लागेको हो ।

    पछिल्लो ४ महिनामा कच्चातेलको भाउ २० प्रतिशतले बढिसकेको छ । सोमबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ प्रतिब्यारेल ८६.२१ डलर पुगेको छ । यो पछिल्लो ४ महिना यताकै उच्च हो । यसअघि गत अप्रिल १४ मा ब्रेन्टको भाउ प्रतिब्यारेल ८६ डलर थियो । अप्रिलपछि घटेर ब्रेन्टको भाउ ७१ डलरसम्म झरेको थियो ।

    यसैगरी, आज ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ ८२.७६ डलर पुगेको छ । डेढ महिना अघि यसको भाउ प्रतिब्यारेल ६६ डलर थियो । यस्तै, मुर्बान क्रुड आयलको भाउ प्रतिब्यारेल ८८ डलर पुगेको छ ।

    साउदी अरबले बिहीबार थप एक महिना दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो । यस्तै, रुसले पनि निर्यात कटौती गर्ने बताएको छ । यिनै कारणले तेल आपूर्तिमा कमी आउँदा भाउ बढेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्छ । नेपालले अहिले सिधै अन्तर्राष्ट्रिय बजारबाट तेल खरिद नगरी भारतसँग खरिद गरेर ल्याउने गरेको छ । विश्व बजारमा कच्चा तेलको भाउ बढ्दा भारतमा पनि बढ्ने हुनाले त्यसको प्रभाव नेपालमा पनि पर्छ ।

    नेपाल आयल निगमले गत साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको छ । सो अनुसार भारतबाट भाउ बढेर आए नेपालमा पनि बढ्ने र घटेर आए घट्ने गर्छ । विश्व बजारमा भाउ बढिरहेकाले आगामी दिनमा नेपालमा पनि तेलको भाउ बढ्ने सम्भावना देखिन्छ । गत साता मात्रै निगमले डिजेल र पेट्रोलको भाउ बढाएको थियो ।

  • आफ्नो टीमको जितमा खुसी मनाउँदा ११ वर्षदेखि फरार खुंखार अपराधी पक्राउ

    आफ्नो टीमको जितमा खुसी मनाउँदा ११ वर्षदेखि फरार खुंखार अपराधी पक्राउ

    काठमाडौं । आफूले समर्थन गरेको फुटबल टोलीलाई ग्रीसमा समर्थन गरिरहेको तस्बिर सार्वजनिक भएपछि इटलीका सर्वाधिक खतरनाक मध्येका एक जना फरार अभियुक्त पक्राउ परेका छन्। साठी वर्षका भिन्चेन्ट्सो ला पोर्टाको नेपल्सको सङ्गठित आपराधिक समूह क्यामोरासँग नजिकको सम्बन्ध रहेको ठानिएको छ।

    उनी ११ वर्षदेखि फरार थिए तर यसै वर्षको सुरुमा ग्रीसमा खुसी मनाइरहेका फुटबल समर्थकमाझ देखिएको बीबीसीले लेखेको छ । नेपल्स क्याराबिनिअरी प्रहरीले भनेको छ, “उनलाई फुटबल त्यसमा पनि नापोलीप्रतिको लगावले धोका दियो।” तीन दशकभन्दा बढीको अन्तरालमा नापोलीले यो वर्ष पहिलो पल्ट इटालिअन च्याम्पिअनसीप जित्दा ती तस्बिरहरू लिइएको अधिकारीहरूले जनाएका छन्।

    “च्याम्पिअनसीपमा विजयी भएपछि, ला पोर्टाले खुसीयाली मनाउनबाट आफूलाई रोक्न सकेनन्,”प्रहरीले भनेको छ। इटलीमा फौजदारी अभियोग, कर छली र ठगी जस्ता मुद्दामा उनी फरार रहेकै अवस्थामा दोषी ठहर भइसकेका छन्। प्रहरीले उनलाई ग्रीसको कोर्फु टापुमा आफ्नो मोपेड चलाइरहेको समयमा पक्राउ गरेको थियो।

    उनी हाल थुनामा छन् र उनलाई इटलीमा सुपुर्दगी गरेर पठाउने तयारी छ। यदि सुपुर्दगी गरिएको खण्डमा उनले इटलीको जेलमा १४ वर्ष चार महिना बिताउनुपर्ने हुन्छ। ला पोर्टाका वकिलले एपी समाचार संस्थालाई भनेका छन्, “उनले ग्रीसमा नयाँ परिवार सुरु गरेका छन्।

    ूउनका नौ वर्षका छोरा छन्। उनी कूकका रूपमा काम गर्छन्। उनलाई मुटुसम्बन्धी समस्याहरू छन्। यदि सुपुर्दगी गरियो भने उनको र उनको परिवारको भविष्य अस्तव्यस्त हुनेछ।” अधिकारीहरूले ला पोर्टासम्म पुग्न निरन्तर प्रयास गरेका र नजिकबाट उनका आर्थिक र अनलाइन गतिविधिलाई नियालिरहेका थिए। उनीहरूले उनले ‘एउटा गल्ती गरुन्’ भन्ने चाहन्थे। यो वर्षको सिरी ए नापोलीले जितेको थियो । गएको मे महिनामा, ३३ वर्षपछि नापोलीले सिरी ए लिग जितेपछि ला पोर्टाले आफ्नो उत्साह रोक्न सकेनन्।

    प्रहरीले एउटा तस्बिरमा कोर्फुको एउटा रेस्टुराँबाहिर नापोलीका समर्थकमाझ उनलाई बेसबल क्याप लगाएको र उक्त टोलीको आकाशे र सेतो रङ्गको झन्डा फहराइरहेको अवस्थामा देखेका थिए। अनुसन्धानकर्ताहरूले ती व्यक्तिलाई चिने र उनलाई ग्रीससम्म पछ्याएका थिए। आफ्ना ग्रीसका सहकर्मीहरूको मद्दतले उनलाई शुक्रवार पक्राउ गरिएको थियो। यसै वर्षको ज्यानुअरीमा दशकौँदेखि फरार एक जना इटलीका माफिया समूहका सरदारलाई गुगल म्याप्समा देखिएपछि पक्राउ गरिएको थियो।

  • पाकिस्तानमा रेल दुर्घटना, कम्तिमा ३० जनाको मृत्यु

    पाकिस्तानमा रेल दुर्घटना, कम्तिमा ३० जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । १०० जना घाइते भएका छन् । कराचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेसको रेल आइतबार दिउँसो सिन्ध प्रान्तको संघार जिल्लामा दुर्घटना भएको थियो ।

    रेलको इन्जिन छुट्टिएपछि १० वटा डिब्बा पल्टिएको र ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । पाकिस्तानका रेल मन्त्री ख्वाजा साद रफिकले पत्रकार सम्मेलन गरी दुर्घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन् ।

  • युक्रेन युद्ध अन्त्य गर्नेबारे साउदीमा शिखर सम्मेलन

    युक्रेन युद्ध अन्त्य गर्नेबारे साउदीमा शिखर सम्मेलन

    काठमाडौं । युक्रेनमा रुसी आक्रमण कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न साउदी अरेबियामा शिखर सम्मेलन सुरु भएको छ । साउदी अरबको जेद्दामा आयोजित यस सम्मेलनमा ४० देशका वरिष्ठ अधिकारीहरू सहभागी छन् । रुस वाहेकका मुलुकका प्रतिनिधिहरू सम्मिलित उक्त बैठकले रूसको आक्रमण कसरी अन्त्य गर्ने भन्नेबारे मस्यौदा तयार पार्ने छन् । शनिबार सुरु भएको सम्मेलनमा रुस युक्रेन युद्धका कारण खाद्यान्न, इन्धन लगायतमा प्रभावित विकासोन्मुख देशका प्रतिनिधिहरू पनि सहभागी छन् ।

    ुयो धेरै महत्त्वपूर्ण छ किनभने, खाद्य सुरक्षा जस्ता मुद्दाहरूमा अफ्रिका, एसिया र अन्य भागका लाखौं मानिसहरूको भाग्य विश्वले शान्ति कायम गर्न कत्तिको चाँडो अघि बढ्छ भन्ने कुराले प्रत्यक्ष निर्भर गरेको छ, युक्रेनका नेता जेलेन्स्कीले भने । जेलेन्स्कीले यो सम्मेलनले यसै वर्ष विश्वका नेताहरूको शान्ति शिखर सम्मेलन गर्ने सिद्धान्तलाई समर्थन गर्ने अपेक्षा गरेका छन् । जुन किभको १० बुँदे सूत्रमा आधारित हुनुपर्ने उनको धारणा छ । युक्रेनको उक्त सूत्रले क्षेत्रीय अखण्डताको सम्मान र रुसी सेनालाई फिर्ता गर्ने कुरा समेटेको बताइन्छ ।

    तर युक्रेनको शान्ति सूत्रलाई इन्कार गर्दै आएको रुसलाई भने यस शिखर सम्मेलनमा बोलाइएको छैन । यस शिखर सम्मेलनको विषयमा रुसका उच्च अधिकारीहरूले यसै साताको सुरुमा त्यहाँ के छलफल हुन्छ र के लक्ष्य राखिन्छ भन्नेबारे बुझ्न आवश्यक रहेको प्रतिक्रिया दिएका थिए ।

    यसैबीच युक्रेन युद्धमा तटस्थ बसेका भारत र ब्राजिलसँग पनि संवादको पहुँच पुर्‍याउने अवसरको रुपमा यो सम्मेलन युक्रेनका लागि महत्त्वपूर्ण रहेको बताइन्छ । साथै रुसको सहयोगी रहेको चीनको उपस्थितिलाई विशेष महत्त्वका साथ हेरिएको छ । जहाँ चीनले पनि जेलेन्स्कीको शान्ति योजनालाई समर्थन गर्नसक्ने भन्दै युक्रेनले अपेक्षा गरेको बताइन्छ ।

    युक्रेनका उच्च अधिकारीले आफूहरूबीच धेरै असमझदारी भए पनि आफ्ना समस्या व्यक्त गर्न पाइने भएकाले यो सम्मेलन आफ्ना लागि महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । चीन सरकारका प्रवक्ता वाङ वेनबिनले भने आफूहरू युक्रेनको संकटपूर्ण राजनीतिक समाधानमा रचनात्मक भूमिका खेल्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।

  • पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान पक्राउ

    पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान पक्राउ

    काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–एइन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । अदालतको फैसला लगत्तै खानलाई खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।

    इमरानको पार्टी तेहरिक ए इन्साफले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ । ‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पूर्वाग्रही न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ,’ पार्टीका प्रवक्ताले वक्तव्यमा भनेका छन् । पाकिस्तान निर्वाचन आयोगका एक अधिकारी अमजद परवेजले अदालतको यो सजायपछि इमरान खान पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।

  • साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

    साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

    काठमाडौं । विश्वको प्रमुख तेल उत्पादक साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ ।

    बिहीबार साउदीको ऊर्जा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै आगामी सेम्टेम्बरसम्म दैनिक १० लाख ब्यारेल तेल घटाउने घोषणा गरेको हो । साउदीले विगत ३ महिनादेखि तेल उत्पादन घटाउँदै आएको छ ।

    ‘साउदी अरबले प्रति दिन १० लाख ब्यारेलको तेल कटौती स्वैच्छिकरुपमा बढाउनेछ । थप अर्को एक महिना सेप्टेम्बरसम्मका लागि निर्णय तत्काल कार्यान्वयनमा आउनेछ,’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

    पहिलो पटक जुलाईका लागि लागू भएको यो कटौती अझै लामो वा अझ गहिरो हुन सक्ने ऊर्जा मन्त्रालयले जनाएको छ । यस कदमले विश्वको सबैभन्दा ठूलोमध्ये एक कच्चा तेल निर्यातकर्ताद्वारा दैनिक उत्पादनलाई लगभग ९० लाख ब्यारेल बजारमा पठाउनेछ ।

    ‘तेल बजारको स्थिरता र सन्तुलनलाई समर्थन गर्ने उद्देश्यले ‘ओपेक प्लस’ देशहरुले गरेको सावधानीको प्रयासलाई सुदृढ गर्न स्वैच्छिक कटौती गरिएको हो,’ ऊर्जा मन्त्रालयले भनेको छ ।

    साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुलअजीज बिन सलमानले २३ राष्ट्रको ओपेक प्लस गठबन्धनको जुनमा भएको बैठकपछि कटौतीको घोषणा गर्दै यो कटौती पनि सम्भावित ‘विस्तारयोग्य’ भएको उल्लेख गरेका छन् । यसले अप्रिलमा धेरै ओपेक सदस्य राष्ट्रहरुले स्वेच्छिक रुपमा प्रतिदिन १० लाख ब्यारेलभन्दा बढी उत्पादन कटौती गर्ने निर्णय लाई पछ्याएको हो ।

    यो आश्चर्यजनक कदमले केही समयको लागि मूल्यहरूलाई समर्थन गरेको भए पनि स्थायी सुधार ल्याउन असफल भएको छ । युक्रेनमा रुसी आक्रमण र चीनको कमजोर आर्थिक पुनःरुत्थानको निरन्तर परिणामलाई प्रतिबिम्बित गर्दै तेल उत्पादकहरु घट्दो मूल्य र उच्च बजार अस्थिरतासँग जुधिरहेका छन् ।

    विगत डेढ महिना यता अन्तर्राष्ट्रिय बजारमा कच्चा चेलको भाउ लगातार बढिरहेको छ । यस अवधिमै कच्चा तेलको भाउ १५ देखि २१ प्रतिशतसम्म बढेको छ । साउदी उत्पादन कटौती घोषणाले आपूर्तिमा कर्मी आई आगामी दिनमै तेलको भाउ झनै बढ्ने देखिन्छ ।एजेन्सी

  • १४० वर्षयताकै भीषण वर्षा र बाढीले तहसनहस बेइजिङ

    १४० वर्षयताकै भीषण वर्षा र बाढीले तहसनहस बेइजिङ

    काठमाडौं । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा १४० वर्षपछि भीषण भएको बेइजिङ मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको छ ।

    सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो । राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा ९ लाख ७४ हजार ४ सय जना विस्थापित भएका छन् ।

    वर्षामा कमी आएसँगै नदीमा जलस्तर घट्न थालेको छ । अधिकारीहरूले जोखिम सूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् ।

    बाढीपहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ, कैयौं घाइते भएका छन् । राजधानीका एक लाख बाढीपीडितलाई उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकोप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको छ । साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए ।

    उद्धारका क्रममा मंगलबार बेइजिङमा दुई जनाको मृत्यु भएको बताइएको छ । यसैबीच चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीको संगठन विभागले बेइजिङ, हेबेई र टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न ६१ करोड ७० लाख अमेरिकी डलर विनियोजन गरेको छ ।

    उक्त रकम केन्द्रीय कमिटीका सदस्यबाट सदस्यता शुल्कबापत संकलन गरिएको हो । संगठन विभागले सदस्यता रकम व्यवस्थापन र कोष सञ्चालन गर्दै आएको छ । विभागले बाढी नियन्त्रण तथा विपद् व्यवस्थापन, पीडित परिवारलाई सहयोग, सर्वसाधारणको जीवन र सम्पत्तिको सुरक्षा, समग्र सामाजिक स्थायित्वको सुनिश्चितताका निम्ति सहायता रकम प्रदान गरेको हो ।

    विभागले पार्टीका सबै तहका कार्यकर्तालाई नागरिक सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गरेको छ । विभागले अग्रपंक्तिमा काममा खटिएका तथा बाढीबाट गम्भीर समस्यामा परेकालाई तत्काल सहयोग हुने गरी कोष विनियोजन गर्नुपर्नेमा जोड दिएको छ ।

  • स्ट्राइकर साडियो माने समेत अब साउदीमा खेल्ने

    स्ट्राइकर साडियो माने समेत अब साउदीमा खेल्ने

    काठमाडौं । स्ट्राइकर साडियो माने पनि अब साउदीमा खेल्ने भएका छन् । उनी प्रो विग क्लब अल नासरमा अनुबन्धित भएका छन् । अल नासरले मंगलबार मानेलाई अनुबन्ध गर्दै कलबको खेलाडीको रुपमा सार्वजनिक गरेको छ । जर्मन क्लब बायर्न म्युनिख छाड्दै माने साउदी क्लब पुगेका हुन् ।

    मानेले अल नासरसँग चार वर्षको लागि सम्झौता गरेको क्लबले जनाएको छ । उनले पाँच पटकको बालोन डे’ओर विजेता क्रिस्टियानो रोनाल्डोसँगै खेल्नेछन् । सेनेगललाई अफ्रिकन कप अफ नेसन्स जिताउँदा माने कप्तान थिए । उनले दुई पटक अफ्रिकी वर्ष खेलाडीको अवार्डसमेत जितेका थिए ।

    आर्थिक पक्ष सार्वजनिक नगरिए पनि विभिन्न रिपोर्टहरुका अनुसार साउदी क्लबले मानेका लागि ४० मिलियन युरो तिरेको रोएटर्सले उल्लेख गरेको छ । ३१ वर्षका मानेले बायर्नका लागि ३८ खेलमा १२ गोल गरेका थिए ।

    लिभरपुलमा उत्कृष्ट प्रदर्शन गर्दै २६९ खेलमा १२० गोल गरेपछि उनी गत सिजन बायर्न म्युनिख पुगेका थिए । तर त्यहाँ उनको प्रदर्शन सोचे जस्तो हुन सकेन । मानेले अल नासरमा अनुबन्धित भएपछि क्लबको हिस्सा बन्न पाउँदा खुशी लागेको र खेलको लागि धेरै पर्खन नसक्ने बताएका छन् ।

  • गुडिरहेको रेलमा प्रहरीले गोली प्रहार गर्दा भारतमा कम्तिमा ४ जना मारिए

    गुडिरहेको रेलमा प्रहरीले गोली प्रहार गर्दा भारतमा कम्तिमा ४ जना मारिए

    काठमाडौं । भारतको मुम्बईनजिकै एउटा यात्रुवाहक रेलमा चार जनाको गोली हानी हत्या गरेको अभियोगमा भारतीय रेल सेवाको सुरक्षाका लागि खटिएका एक प्रहरी जवान पक्राउ परेका छन्। रेलवे प्रोटेक्शन फोर्स आरटीएफुमा कार्यरत चेतन कुमारमाथि एक वरिष्ठ सुरक्षा अधिकारी र तीन यात्रुको गोली हानी हत्या गरेको आरोप छ।

    अधिकारीहरूले उनको नियतबारे अनुसन्धान भइरहेको र मृतकहरूको पहिचान गर्ने प्रयासमा आफूहरू रहेको बताएका छन्। भारतीय रेलसेवामा यात्रु र सम्पत्तिको सुरक्षाका लागि आरटीएफका सुरक्षाकर्मीहरू परिचालित गरिन्छ। पश्चिमी राज्य राजस्थानको जयपुरबाट महाराष्ट्रको मुम्बई जाँदै गरेको रेलमा स्थानीय समयानुसार सोमवार बिहान ५ः३० बजे उक्त घटना भएको थियो।

    प्रहरी जवान चेतन कुमारले सबैभन्दा पहिले नायब निरीक्षक टीकाराम मीणामाथि गोली प्रहार गरेका थिए। त्यसपछि उनले तीन यात्रुलाई गोली हानेको आरटीएफले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ। उक्त घटना महाराष्ट्रको राजधानी मुम्बई बाट ९६ किलोमिटर टाढाको पालघरबाट रेल पार गरेको केही क्षणमै भएको थियो। गोली प्रहारपछि कुमारले आपत्कालीन अवस्थामा रेल रोक्न प्रयोग गरिने सिक्री तानेका थिए।

    लगत्तै उनले भाग्ने प्रयास गरेको तर मुम्बईको बाहिरी भागबाट उनलाई पक्राउ गरिएको वेस्टर्न रेल्वेजले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ। वेस्टर्न रेल्वेजका एक उच्च अधिकारीले गोली प्रहारको घटनाअघि कुमारको अरू व्यक्तिहरूसँग कुनै पनि विवाद भएको नदेखिएको उल्लेख गरेका छन्। “उनी स्वस्थ नभएको जस्तो देखिन्छ,” उनले भने।

  • अमेरिकाले ताइवानलाई दिने भयो ४० अर्ब हाराहारीको सैन्य सहायता

    अमेरिकाले ताइवानलाई दिने भयो ४० अर्ब हाराहारीको सैन्य सहायता

    काठमाडौं । अमेरिकाले ताइवानलाई ३४ करोड ५० लाख डलरको सैन्य सहायता घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति प्रशासनले शुक्रबार रक्षा सामग्री, सैन्य शिक्षा र प्रशिक्षण सहायता हुने जनाएको हो । यद्यपि, उसले दिने हतियार वा उपकरणको बारेमा विस्तृत जानकारी खुलाएको छैन ।

    तर, अमेरिकी सञ्चारमाध्यमले ती उपकरणहरूमा वायु रक्षा प्रणाली, साना हतियार, युद्ध सामग्री हुने उल्लेख गरेका छन् । अमेरिकाको उक्त घोषणाको चीनले विरोध गरेको छ । ताइवानलाई चीनले आफ्नो स्वशासित क्षेत्र दाबी गर्दै आएको छ ।

    तर, ताइवानले भने आफूलाई स्वतन्त्र राज्य रहेको बताउने गरेको छ । चीनले आवश्यकता परेमा बलपूर्वक ताइवानलाई आफ्नो भूमिमा एकीकृत गर्ने चेतावनी दिएको छ । वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लियु पेंग्युले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले ताइवानलाई हतियार बेच्न बन्द गर्नुपर्ने उल्लेख गरेका छन् ।

  • युक्रेनसँग शान्ति वार्ता अश्विकार नगर्ने पुटिनको संकेत

    युक्रेनसँग शान्ति वार्ता अश्विकार नगर्ने पुटिनको संकेत

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मामिलामा शान्ति वार्ताको अवधारणालाई अस्वीकार नगर्ने बताएका छन्। सेन्ट पिट्सबर्गमा अफ्रिकी नेताहरूलाई भेटेपछि बोल्दै उनले शान्ति वार्ताका लागि अफ्रिकीहरू र चिनियाँले गरेको पहलले पनि भूमिका खेल्नसक्ने बताए।

    राष्ट्रपति पुटिनले युक्रेनी सेनाले प्रत्याक्रमण जारी राखेका बेला युद्धविराम कार्यान्वयन गर्न असहज भएको पनि बताएका छन्। युक्रेन र रुस दुवैले यसअघि केही पूर्वसर्तहरू पूरा नभइ वार्ताको टेबलमा नआउने बताएका थिए।


    युक्रेन आफ्नो सिमाना सन् १९९१ का बेलामा जस्तै पुनर्स्थापित होस् भन्ने चाहन्छ भने त्यसप्रति क्रेम्लिनको गहिरो विरोध रहँदै आएको छ। त्यसको साटो वार्ताका लागि किएभले आफ्नो देशको ‘नयाँ भौगोलिक वास्तविकता’लाई स्वीकार गर्नुपर्ने अडान मस्कोले राख्दै आएको छ।

    पुटिनले शनिवार अबेर राति पत्रकार सम्मेलनमा युक्रेनी अग्रमोर्चामा तत्काल कारबाहीको कुनै योजना नभएको बताए। उनले क्रेम्लिनको आलोचना गर्नेहरूलाई गिरफ्तार गरिएको भन्ने आरोपको पनि खण्डन गरे र केही व्यक्तिहरूले रुसलाई भित्रबाटै हानी पुर्‍याइरहेको बताए।

    उक्त विस्तृत पत्रकार सम्मेलनमा रुसी राष्ट्रपतिले सञ्चारकर्मीहरूलाई यसै महिनाको सुरुमा क्राइमियाको पुलमा विस्फोट भएपछि मस्कोले त्यस्ता गतिविधि रोक्न केही हमलाहरू गरेको दाबी गरे। दुईजनाको ज्यान जानेगरी भएको उक्त घटनापछि पुटिनले त्यसलाई युक्रेनको आतङ्कवादी कार्य भएको दाबी गर्दै त्यसको जवाफ दिने वाचा गरेका थिए। रुसले कब्जा गरेको प्रायद्वीपलाई उससँग जोड्ने उक्त पुलमा भएको त्यस घटनाको जिम्मेवारी आधिकारिक रूपमा किएभले लिएको थिएन।
    सात अफ्रिकी देशका नेता र प्रतिनिधिहरूले गत महिना युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र पुटिनलाई भेटेपछि रुस-अफ्रिका शिखर सम्मेलन भएको हो। यसैबीच आइतवार बिहान मस्कोमा ड्रोन आक्रमणमा दुईवटा कार्यालय भवनहरू क्षतिग्रस्त भएको रुसले बताएको छ। मस्कोका मेयर सेर्गेई सोब्यानिनले आक्रमणमा कोही पनि घाइते नभएको बताएका छन्। आक्रमणका लागि युक्रेन जिम्मेवार रहेको उनको आरोप छ।

    उक्त घटनापछि मस्को माथिको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको थियो तर केही विमानस्थलहरू पुनः सञ्चालनमा आइसकेका छन्। आफ्नो पहिलो नाम लीया बताएकी एक जना प्रत्यक्षदर्शीले रोएटर्स समाचार संस्थालाई आफूले आगो र धुवाँ देखेको बताएकी छन्। उनले भनिन्, “हामीले एउटा विस्फोट सुन्यौ र त्यो छाल जस्तै थियो, अनि सबै जनाले हाम फाले।”

    उनले थपिन्, “त्यसपछि त्यहाँ एकदमै धेरै धुवाँ थियो र तपाईँले केही पनि देख्नसक्ने अवस्था थिएन। माथिबाट आगो देख्न सकिन्थ्यो।” यसैगरी युक्रेनका विभिन्न सहरहरूमा पनि क्षेप्यास्त्रहरू प्रहार भएका खबरहरू आएका छन्। किएभले आफ्ना सेनाहरू रुसले कब्जा गरेका सहरहरूतर्फ अघि बढिरहेको जनाएको छ। युक्रेनले रुसी फौजमाथिको प्रत्याक्रमणलाई जारी राखेको छ।

  • पाकिस्तानमा बम विष्फोट, कम्तिमा ३५ जनाको मृत्यु

    पाकिस्तानमा बम विष्फोट, कम्तिमा ३५ जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानको कट्टरपन्थी राजनीतिक तथा धार्मिक समूह जमियत उलेमा इस्लाम–फजलका कार्यकर्ताहरूको र्‍यालीमा शक्तिशाली बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । साथै २ सय जना घाइते भएका छन् ।

    अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको हो । विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ ।

    कार्यवाहक सञ्चारमन्त्री फिरोज शाह जमालले घटनाको पुष्टी गर्नुका साथै बजौर र छिमेकी क्षेत्रका अस्पतालहरूमा उच्च सतर्कता अपनाइएको बताएका छन् । साथै गम्भीर घाइतेहरूलाई पेशावर र अन्य अस्पतालमा लगिएको पनि उनले बताए । बजौर जिल्लाका अधिकारीहरूका अनुसार विस्फोटको क्रममा जमियत उलेमा इस्लाम–फजलका नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको छ ।

    बजौर जिल्लाका स्वास्थ्य अधिकृत पैसल कमालले विस्फोटमा घाइते भएका १ सय ५० जनालाई बजौर जिल्ला सदरमुकामका अस्पतालमा उपचार गरिएको बताएका छन् । जवकि गम्भीर घाइतेहरूलाई हेलीकोप्टरमार्फत् पेशावरस्थित लेडी रिडिङ हस्पिटलमा लगिएको छ ।

    पाकिस्तानी सञ्चारमाध्यम डनन्युजका अनुसार विस्फोटको क्रममा घटनास्थलमा रहेका एक स्थानीय पत्रकार पनि घाइते भएका छन् । साथै विस्फोटको समयमा जमियत उलेमा इस्लाम-फजलको कार्यक्रममा ५ सयभन्दा धेरै मानिस भेला भएका थिए ।

  • थाइल्याण्डमा पटाका गोदाममा विष्फोट, कम्तिमा ९ जना मारिए

    थाइल्याण्डमा पटाका गोदाममा विष्फोट, कम्तिमा ९ जना मारिए

    काठमाडौं । थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको ज्यान गएको छ । घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ ।

    नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले पटाका भण्डारण गर्ने गोदाममा विस्फोट भएको र एक सय १५ जना घाइते भएका बताएका छन् । उनीहरुको उपचार भैरहेको छ । गोदाममा लागेको आगो निभाइएको छ । विस्फोटका कारण थुप्रै घर, पसल र गाडीमा पनि क्षति पुगेको छ ।

  • सिंगापुरमा एक महिलालाई दिइयो मृत्युदण्ड

    सिंगापुरमा एक महिलालाई दिइयो मृत्युदण्ड

    काठमाडौं । सिङ्गापुरमा ३० ग्राम लागुपदार्थ हिरोइनको तस्करी गरेको अभियोगमा एक महिलालाई मृत्युदण्ड दिइएको छ । ३० ग्राम हिरोइनसहित सन् २०१८ मा पक्राउ परेकी ४५ वर्षकी सारिदेबी जमानीलाई आज मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । सिङ्गापुरमा बितेको २० वर्षपछि पहिलोपल्ट महिलालाई मृत्युदण्ड दिइएको हो । सिङ्गापुरमा बितेको तीन दिनमा दोस्रो व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको छ ।

    ५० ग्राम हिरोइन तस्करी गरेको अभियोगमा यही हप्ता मोहम्मद अजिल बिललाई पनि मृत्युदण्ड दिएको थियो । सिङ्गापुरमा बितेको १५ महिनामा १५ जनाले मृत्युदण्डको सजाय पाएका बीबीसीले जनाएको छ । सिङ्गापुरमा पाँच सय ग्राम गाँजा वा १५ ग्राम हिरोइनसहित पक्राउ परेका व्यक्तिलाई मृत्युदण्डको सजाय दिन सक्ने कानुनी व्यवस्था रहेको छ ।

  • कुवेतले दियो ५ जनालाई मृत्युदण्ड

    कुवेतले दियो ५ जनालाई मृत्युदण्ड

    काठमाडौं । कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विफोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेती सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ ।

    उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए । कुवेती अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ । मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ । रासस\एएफपी

  • भारतीय प्रधानमन्त्री मोदी विरुद्ध किन आयो अविश्वासको प्रस्ताव ?

    भारतीय प्रधानमन्त्री मोदी विरुद्ध किन आयो अविश्वासको प्रस्ताव ?

    काठमाडौं । मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधका माझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्‌मा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ।

    कंग्रेस पार्टीका एकजना सांसदले अविश्वासको प्रस्ताव बुधवार दर्ता गराएका हुन्। विपक्षी नेताहरूले प्रधानमन्त्री मोदीलाई मणिपुरबारे बोल्न बाध्य पार्न यसो गरिएको बताएका छन्।

    उनीहरूले उक्त राज्यमा देखिएको जातीय द्वन्द्वबारे प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन्।

    गृहमन्त्री अमित शाहले लोकसभामा यसै साता बोल्दै सरकार मणिपुरका विषयमा छलफल गर्न तयार रहेको भए पनि विपक्षीले त्यसमा अवरोध पुर्‍याइरहेको बताएका थिए।

    मे महिनायता मणिपुरमा भएका हिंसात्मक घटनाहरूमा कम्तीमा १३० जनाको ज्यान गएको छ भने दशौँ हजार विस्थापित भएका छन्।

    त्यहाँ बहुसङ्ख्यक मैतेई र अल्पसङ्ख्यक कुकी समुदायबीच द्वन्द्व भइरहेको छ।

    अघिल्लो हप्ता दुईजना महिलालाई भिडले निर्वस्त्र पारेर हिँड्न लगाएको एउटा भिडिओ सार्वजनिक भएपछि त्यसले विश्वव्यापी आक्रोश र निन्दा निम्त्याएको थियो।

    त्यसले प्रधानमन्त्रीलाई मोदीलाई मौनता तोड्नुपर्ने अवस्था निम्त्याएको थियो। उनले उक्त घटनाले भारतलाई ‘लज्जित तुल्याएको’ भन्दै आक्रमणकारीहरूलाई नछाडिने बताएका थिए।

    सन् २०१४ मा सत्तामा आएयता मोदीले अविश्वासको प्रस्तावको सामना गर्नुपरेको यो दोस्रो घटना हो।

    सन् २०१८ मा एकजना सांसदले मणिपुरलाई विशेष हैसियत दिनुपर्ने माग गर्दै प्रस्ताव दर्ता गराएका थिए। १२ घण्टाको बहसपछि त्यो विफल भएको थियो।

    भारतमा संसद्‌को तल्लो सदन लोकसभामा अविश्वासको प्रस्ताव दर्ता गर्न सकिन्छ। तर कम्तीमा ५० जना सांसदको समर्थन भए मात्रै त्यसलाई स्वीकार गरिन्छ।

    स्वीकार गरिएको अवस्थामा सभामुखले १० दिनभित्र मतदानको मिति तोक्ने छन्।

    यदि सरकार बहुमत कायम गर्न विफल भएमा उसले राजीनामा दिनुपर्ने हुन्छ।

    बुधवार कंग्रेस र भारत राष्ट्र समितिका सांसदहरूले दुईवटा प्रस्ताव अघि बढाएका थिए। तीमध्ये पहिलो स्वीकार गरिएको थियो।

    सभामुख ओम बिरलाले आफूले सबै दलका नेताहरूसँग छलफल गरेपछि बहसको मिति तोक्ने बताएका छन्।

    मोदीको भारतीय जनता पार्टीले मतदानमा पराजित हुने भनेर चिन्ता लिने छैन। उक्त दल र उसका साझेदारसँग ५४३ सदस्यीय लोकसभामा स्पष्ट बहुमत छ।

    तर प्रधानमन्त्रीले आफ्नो सरकारको बचाउ गर्नुपर्ने हुन्छ जुन विपक्षीको उद्देश्य हो।

    “हामी जानकार छौँ कि सङ्ख्या हाम्रो पक्षमा छैन” एकजना विपक्षी सांसद मनोज के झाले भने। “तर यो सङ्ख्यासँग जोडिएको छैन, प्रधानमन्त्रीले अविश्वासको प्रस्तावपछि सदनमा बोल्नुपर्ने हुन्छ।”

    कांग्रेस नेता मनिकराम टैगोरले ‘अन्तिम अस्त्र भएकाले विपक्षीहरू अविश्वासको प्रस्ताव ल्याउन’ बाध्य भएको बताए

  • सम्पर्कविहिन चिनियाँ विदेशमन्त्री बर्खास्त भए

    सम्पर्कविहिन चिनियाँ विदेशमन्त्री बर्खास्त भए

    काठमाडौं । एक महिनादेखि सम्पर्कविहीन रहेका विदेशमन्त्री छिन काङलाई चीन सरकारले बर्खास्त गरेको छ । चिनियाँ सरकारी टेलिभिजन नेटवर्क सीसीटीभीलाई उधृत गर्दै हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सम्पर्कमा नरहेका विदेशमन्त्री छिनलाई सरकारले बर्खास्त गरेको हो । उनको स्थानमा यसअघि विदेशमन्त्रीको भूमिकामा रहेका चिनियाँ वरिष्ठ कूटनीतिज्ञ वाङ यीलाई जिम्मेवारीमा फर्काइएको छ ।

    २५ जुनमा अन्तिमपटक सार्वजनिक रूपमा देखिएका छिन त्यसपछि सम्पर्क विहिन भएका थिए । अमेरिकाका लागि चीनका राजदूत रहेका छिन राष्ट्रपति सी जिनपिङका विश्वास पात्र मानिन्थे । उनलाई सीले पार्टीको १४ औं महाधिवेशनपछि महत्वपूर्ण जिम्मेवारी दिएर राजदूतबाट सिधै चीनको विदेशमन्त्रीको जिम्मेवारीमा ल्याएका थिए ।

    पुनः विदेशमन्त्रीको जिम्मेवारीमा फर्किएका वाङ यी
    गएको डिसेम्बरबाट जिम्मेवारी सम्हालेका उनले पछिल्लो समय विभिन्न मुलुकमा कूटनीतिक भ्रमणलाई तीव्रता दिएका थिए । साथै, लामो समयदेखि रोकिएको अमेरिकी उच्च अधिकारीहरूले समेत चीन भ्रमण गरेका थिए ।

    राष्ट्रपति सीले युक्रेनसँग युद्धमा रहेको रुसको भ्रमण गरेर शान्तिपूर्ण ढंगले समाधान खोज्नुपर्ने सुझाव समेत दिएका थिए । कूटनीतिक भ्रमण र भेटमा सक्रिय रहेका विदेशमन्त्री छिनले २५ जुनमा श्रीलंका र रुसका विदेशमन्त्रीहरूसँग भेट गरेका थिए ।

  • नेपाल र पाकिस्तानबीच सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको माग

    नेपाल र पाकिस्तानबीच सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको माग

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि पहल गर्न नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजीकरण एवम् पर्यटकीय गतिविधि वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेको चेम्बरले जनाएको छ ।

    नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत हास्मीसागको भेटमा अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदान प्रदान एवम् आर्थिक, व्यापारिक गतिविधि विस्तारका लागि तत्काल काठमाडौं–कराँची हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।


    हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र निजी क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदूत हास्मीसँग आग्रह गरे । ‘नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा ३ घण्टाको छ, यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि र पर्यटन विस्तार गर्न सकिन्छ’ मल्लले भने ‘सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधि बढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन् ।’

    नेपाल चेम्बर अफ कमर्स र पाकिस्तान चेम्बर अफ कमर्सबीच थुप्रै क्षेत्रमा व्यापारिक सहकार्यको सम्भावना रहेकाले उच्चस्तरीय भेटवार्ताका लागि आफूहरु तयार रहेको उनले बताए । निजी क्षेत्रबीचको सहकार्य मार्फत हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा संयुक्त लगानी बढाएर दुवै देशले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको अध्यक्ष मल्लको भनाइ छ । नेपालका लागि पाकिस्तानी राजदूत हास्मीले हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताए ।

    पाकिस्ताबाट नेपालले अहिले औषधि, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी बस्तु, जुत्ता, चप्पल लगायतका वस्तु आयत गर्दै आएको भने मह, कफी , चिया, हस्तकलाका सामान, अलैंची, आाखाको लेन्स, उनी धागो लगायतका वस्तु निर्यात गर्ने गरेको छ । यसले पर्यटन गतिविधि बढाउन पनि सहज हुने अध्यक्ष मल्लको भनाइ छ ।

  • मणिपुरमा बर्बर महिला हिंसाको भिडियो रेकर्ड भएको मोवाइल बरामद, ६ जना पक्राउ

    मणिपुरमा बर्बर महिला हिंसाको भिडियो रेकर्ड भएको मोवाइल बरामद, ६ जना पक्राउ

    मणिपुर । मणिपुरमा गत ४ मेमा भएको महिला माथिको बर्बर घटना रेकर्ड भएको मोवाइल प्रहरीले बरामद गरेको छ । सो दिन महिलालाई बिना कपडा भीडले खुला स्थानमा घुमाएको थियो । साथमा महिलामाथि यौन उत्पिडन भएको थियो । यस घटनामा पुलिसले एक्सन जारी राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुलिसले ६ आरोपितलाई गिरफ्तार गरिसकेको छ ।

    उनीहरुमध्ये एक जनाको साथमा रहेको मोवाइलमा यी भिडियो रेकर्ड थिए । घटना भने अघिल्लो साता मात्र सार्वजनिक भएको थियो, जब भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । प्रहरीले अन्य व्यक्तिलाई समेत पक्राउको प्रक्रिया जारी राखेको बताएको छ । प्रहरीले सो फोन साइबर सेललाई बुझाएको छ ।

    पक्राउ परेका ६ जनाको बयानका आधारमा थप मानिसहरु समात्ने प्रयास भइरहेको प्रहरीको भनाई छ । ४ मेका दिन कांगपोकपी जिल्लामा भीडले दुई महिलालाई निर्वस्त्र बनाएर घुमाएको थियो । यो घटना सार्वजनिक भएसँगै भारतभर आक्रोस जारी छ । मणिपुरमा ३ मेदेखि भड्किएको हिंसामा १६० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

  • भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि

    भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि

    काठमाडौं । भारतको ‘ए’ टिमलाई पराजित गर्दै पाकिस्तानको ‘ए’ टिमले एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ। आइतबार श्रीलंकामा भएको फाइनलमा पाकिस्तानले भारतलाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

    पाकिस्तानले दिएको ३५३ रन लक्ष्य पछ्याएको भारत ४० ओभरमै २४० रनमा अलआउट भयो। भारतका लागि ओपनिङ ब्याट्सम्यान अभिषेक शर्माले ६१ रन जोडे। अर्का ओपनर साइ सुदर्शन २९ रनमा आउट भए। कप्तान यश धुल ३९ रनमा पभिलियन फर्के।

    बलिङमा पाकिस्तानका सुफियान मुकिमले ३ विकेट लिए। अर्सद इकबाल, मेहरम मुम्ताज र मोहमद वासिमले २–२ विकेट लिए। त्यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा ३५२ रन जोड्यो। पाकिस्तानका लागि तयब तहिरले शतक प्रहार गरे। उनले ७१ बलमा १२ चौका र ४ छक्काको मद्दतमा १०८ रन जोडे। ओपनरद्वय सइम अयुबले ५९ रन र सहिबजाडा फरहानले ६५ रनको योगदान दिए।

    बलिङमा भारतका रविबद्धन र रियान परागले २\२ विकेट लिए। यसअघि समूह चरणमा भारतले पाकिस्तानमाथि जित निकालेको थियो। समूह ‘ए’ मा नेपालले पनि प्रतिस्पर्धा गरेको थियो। नेपालले भारत र पाकिस्तान दुवै टिमसँग पराजय भोगेको थियो।

  • भयानक आगलागीसँगै जुध्दै ग्रीस, मानिसहरुको उद्धार जारी

    भयानक आगलागीसँगै जुध्दै ग्रीस, मानिसहरुको उद्धार जारी

    काठमाडौं । ग्रीसको रोड्स द्वीपमा जारी भयानक आगलागीका कारण हजारौं मानिस प्रभावित बनेका छन् । अत्यधिक तापमानका कारण यूरोप अहिले अति प्रभावित छ । त्यसमाथि ग्रीसमा आगलागीले सताइरहेको छ । जंगलमा लागेको आगोका कारण अहिलेसम्म पर्यटकसहित हजारौ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मुलुकको दमकल विभागले यो आगोले अहिलेसम्मकै चूनौतिपूर्ण परिस्थिति सिर्जना गरेको जनाएको छ ।

    अहिलेसम्म ३५ सय मानिसको उद्धार गरिएको छ । पुरै यूरोप यतिबेला हीटवेवको चपेटामा छ । यो द्वीपको जंगलमा मंगलवारदेखि आगो सल्किएको हो । तीब्र गतिमा चल्ने तातो हावाले अझै आगो फैलाइरहेको छ । ग्रीसको क्लाइमेट क्राइसिस तथा सिविल प्रोटेक्शन मिनिस्ट्रीका अनुसार अहिलेसम्म मानवीय क्षतिको भने खबर छैन । मन्त्रालयका अनुसार रोड्सकाहोटलमा रहेका पर्यटकलाई समेत त्यहाँबाट निकालेर दोस्रो द्धिपमा पठाइएको छ । यहाँ हेलीकप्टर र दमकल विभागका तर्फबाट अग्नी नियन्त्रणको काम जारी छ । मौसम विभागका अनुसार यहाँ तापक्रम ४५ डिग्रीसम्म जाने अनुमान छ ।

  • इण्डोनेसियामा कुकुर र बिरालोको मासु बेच्न प्रतिवन्ध

    इण्डोनेसियामा कुकुर र बिरालोको मासु बेच्न प्रतिवन्ध

    जाकार्ता । इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर–बिरालोको मासु किनबेच नहुने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए । चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो ।

    शुक्रबारदेखि कुकर, बिरालोको मासु बेच्न नपाइने प्रतिबन्धात्मक आदेश जारी भएको छ । विगतमा निर्दयी बनेका पशुबजारका व्यापारी यसपटक भने कुकुर र बिरालाको मासु नबेच्न सहमत भएका छन् । पशुअधिकारकर्मी संस्था ह्युमेन सोसाइटी इन्टरनेश्नलले शुक्रबार विज्ञप्ती जारी गर्दै यसबारे जानकारी गराएको हो ।

    कुकुर–बिरालाको मासु बेच्न नपाइने सरकारी आदेशपछि मानव उपभोगका खातिर हजारौँ पशुले चरम यातना खपेर अब मर्नु नपर्ने भएको उल्लेख गर्दै सोसाइटीले सरकारी निर्णयलाई ऐतिहासिक कदम भनेको छ । साथै उसले उक्त निर्णयको स्वागत गरेको छ ।

    स्थानीय संस्कृतिका कारण कुकुर–बिरालाको मासु बेच्ने विश्वका अति थोरै मुलुकको सूचीमा इण्डोनेशिया रहेको छ । शुक्रबार पशुबजारका छ जना व्यापारी र तोमोहन नगरका प्रमुखबीच कुकुर–बिरालाको मासु नबेच्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । व्यापारीले अब उप्रान्त कुकुर–बिरालाको मासु नबेच्न प्रतिबद्धतासमेत जनाएका सोसाइटीले विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त टापुमा बर्सेनि एक लाख ३० हजार कुकर मासुका लागि मारिने गरेका थिए ।

    पशुलाई नमरुन्जेल कुट्ने, झन्ड्याउने, जिउँदै आगोलगाउनेजस्ता क्रूर एवम् अमानवीय व्यवहारका कारण सुलावेसीको पशुबजार अति आलोचित छ । सन् २०२० मा चिनियाँ सहर बुहानबाट कोरोना भाइरस यस्तै मासुबजारबाट मानवमा सरेको भन्ने जानकारी बारम्बार गराएपछि मासु व्यापारी सहमत भएका बताइएको छ । यसबाट रेबिजको सङ्क्रमण रोक्न पनि मद्दत पुग्ने वास्तविकताबारे उनीहरूलाई अवगत गराइएको थियो ।

  • बंगलादेशमा डेंगुबाट १५५ जनाको मृत्यु

    बंगलादेशमा डेंगुबाट १५५ जनाको मृत्यु

    काठमाडौं । बङ्गलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या १५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको डिजीएचएसले दिएको तथ्याङ्कअनुसार जुलाईको पहिलो २० दिनमा गत महिना पाँच हजार नौ सय ५६ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट सङ्क्रमित भएपछि देशभर डेंगुका १९ हजार पाँच सय ६९ सङ्क्रमित थपिएका छन् ।

    महानिर्देशनालयका अनुसार बिहीबार बिहान एकै दिन राजधानी ढाकामा आठ सय ४५ सहित कुल एक हजार सात सय ५५ नयाँ बिरामी थपिएका छन् । यो वर्षको प्रारम्भदेखि अहिलेसम्म बिरामीको कुल सङ्ख्या २७ हजार पाँच सय ४७ पुगेको छ । महानिर्देशनालयले सर्वसाधारणलाई झुलभित्र सुत्नेलगायत आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गर्दै लामखुट्टेको प्रजननस्थल पहिचान एवम् नष्ट गर्ने ‘एन्टी लार्भा’ अभियान सञ्चालन गरिएको बताएको छ । रासस\सिन्ह्वा