Category: विश्व

  • सुरक्षा परिषदबाट गाजामा युद्धविराम गर्नुपर्ने प्रस्ताव पारित

    सुरक्षा परिषदबाट गाजामा युद्धविराम गर्नुपर्ने प्रस्ताव पारित

    काठमाडौं । गाजामा तुरुन्त युद्धविराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पास भएको छ । लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ । चीनले राखेको युद्धविरामको प्रस्ताव मतदानबाट टुंगो लगाइएको हो । मतदानमा अमेरिकाले भाग लिएन । तर बहुमत सदस्यहरुले युद्धविराम रोक्नुपर्ने पक्षमा मतदान गरे । यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेर रोकेका थिए ।

    चीनले आफूले राखेको प्रस्ताव पास भएकोमा खुसी व्यक्त गरेको छ । यसका लागि अल्जेरिया र अन्य अरब देशले कडा मिहिनेत गरेको भन्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रशंसासमेत गरेका छन् । गत ७ अक्टुबरमा इजरायलमाथि हमासले आक्रमण गरेपछि इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा सैन्य कारबाही जारी राखेको छ । यो कारबाहीमा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • आइपीएल : चम्किए कोहली- आरसीबीको जित

    आइपीएल : चम्किए कोहली- आरसीबीको जित

    काठमाडौं । विराट कोहली चम्किएपछि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले इन्डियन प्रिमियर लिगमा पहिलो जित निकालेको छ । सोमबार राति भएको आफ्नो दोस्रो खेलमा आरसीबीले पञ्जाब किंग्सलाई चार विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १७७ रनको विजयी लक्ष्य आरसीबीले कोहलीको ७७ रनको मद्दतमा १९.२ ओभरमा ६ विकेटमा भेटायो । आरसीबीका दिनेश कार्तिकले नटआउट २८, महिपाल लोमरोरले नटआउट १७ रन बनाउँदा रजत पटिदारले १८ र अनुज रावतले ११ रनमा आउट भए ।

    पञ्जाबका कागिसो राबाडा र हरप्रित ब्रारले २–२ तथा साम करन र हर्षल पटेलले एक–एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ६ विकेट गुमाएर पूरै २० ओभर खेल्दै १७६ रन बनाएको थियो । शिखर धवनले ४५, जितेश शर्माले २७, प्रभसिमरन सिंहले २५ र साम करनले २३, शशांक सिंहले नटआउट २१ रन बनाए । आरसीबीका मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।
    पहिलो खेलमा भने आरसीबी चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो भने पञ्जाबले दिल्लीलाई पराजित गरेको थियो ।

  • मस्को आक्रमणका संदिग्ध सार्वजनिक

    मस्को आक्रमणका संदिग्ध सार्वजनिक

    एजेन्सी । रुसले मस्कोस्थित कन्सर्ट हलमा आक्रमण गरी कम्तीमा १३७ जनाको हत्या आरोपमा पक्राउ परेका चारजनालाई सार्वजनिक गरेको छ । रुसी समाचार एजेन्सी तासले जनाए अनुसार चारैजना ताजिकिस्तानका नागरिक भएको उल्लेख छ । उनिहरुमध्ये एकलाई ह्वीलचेयरमा र बाँकी तीनजनालाई हिँडाएर मस्को अदालतमा उपस्थित गराइएको हो । यी चारमाथि आतंकवादी कार्य गरेको अभियोग लगाइएको छ । अभियुक्त चारजनाको नाम दलर्दजोन मिर्जोयेभ, सैदाक्रामी मुरोदली रचाबालिजोडा, शम्सिदिन फरिदुनी र मुहम्मदसोबिर फयजोभ भनिएको छ ।चार बन्दुकधारीले उत्तरी मस्कोको क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा आक्रमण गरेका थिए ।

  • मस्को आक्रमण अगाडी अमेरिकाले पूर्व सूचना दिएको खुलासा

    मस्को आक्रमण अगाडी अमेरिकाले पूर्व सूचना दिएको खुलासा

    काठमाडौं । मस्कोमा भएको पछिल्लो हमलाको अमेरिकाले पूर्वचेतावनी दिएको पाइएको छ । मार्च ७ मा अमेरिकाले यस्तो चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसबेला ‘उग्रवादीहरूले मस्कोका ठूला भीड भएका ठाउँमा निकट भविष्यमा नै निशाना बनाउने योजना बनाएको’ चर्चा गरिएको थियो र ठ्याक्कै कन्सर्टको पनि उल्लेख गरिएको थियो। उसले सो सहरमा रहेका अमेरिकीहरूलाई त्यसपछिका ४८ घण्टा उक्त सहरमा हुने ठूला भिडभाडमा सहभागी नबन्न सूचना निकालेको थियो।

    हमलाको समय नमिलेको हो तर अन्य विवरण मार्च २२ मा भएको आक्रमणसँग लगभग पूर्ण रूपमा मेल खान्छ। वासिङ्टनसँग केही गुप्तचरी सूचना रहेको प्रस्ट देखिन्छ र त्यो मस्को हमलाको जिम्मेवारी लिएको इस्लामिक स्टेट (आईएस) समूहसँग जोडिएको देखिएको छ । आफ्ना नागरिकलाई सार्वजनिक रूपमा चेतावनी दिएको अमेरिकाले रुसी सरकारलाई पनि सोझै उक्त जानकारी दिएको जनाएको छ।

    “अमेरिकी सरकारले यो सूचना लामो समयदेखि कायम ‘चेतावनी दिने दायित्व’ सम्बन्धी नीति अन्तर्गत रुसी अधिकारीहरूलाई पनि जानकारी गराएको थियो,” हमलापछि एक जना अमेरिकी अधिकारीले भने। देशहरूबीच गुप्तचरी सूचनाहरू आदानप्रदान हुने माध्यमहरू हुन्छन्। सर्वसाधारणहरूमाथि आक्रमण हुने सम्भावित परिस्थितिमा साझेदार नरहेका देशहरूसँग पनि ती माध्यमबाट सूचना सम्प्रेषित गरिन्छ। मस्कोले ती चेतावनीलाई बेवास्ता गर्‍यो जुन समस्या बन्न पुगेको छ।

    हमलाको तीन दिन अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको रक्षा गर्ने जिम्मा पाएको रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) को उच्च नेतृत्वसँग छलफल गरेका थिए। भेला भएका सुरक्षा निकायका नेताहरूलाई पुटिनले आफ्नो मुलुकको उच्च प्राथमिकता विशेष सुरक्षा कारबाहीलाई समर्थन गर्नु भएको बताए। युक्रेनविरुद्धको लडाइँ बुझाउन उक्त पदावलीको प्रयोग गर्ने गरिन्छ।

    पुटिनले युक्रेनले ‘आतङ्कवादी दाउपेच’ अवलम्बन गरेको बताए। उनले पश्चिमा जगतबाट रुसभित्र सम्भावित आक्रमण हुने भनी ‘उत्तेजनात्मक टिप्पणी’ गरिएको बताए। ती चेतावनीहरूले ‘सोझै मोलतोल गर्ने र हाम्रो समाजलाई धम्क्याउने अनि अस्थिर बनाउने उद्देश्य’ राखेको पुटिनले बताएका थिए। यसले अमेरिका र रुसबिचको अविश्वासको अर्थ मस्कोले ती चेतावनी सुन्नै चाहँदैन थियो भन्ने सङ्केत दिन्छ। त्यसलाई युक्रेन द्वन्द्वसँग जोडेर आफ्नो मुलुकलाई धम्की दिने प्रयास गरिएको अर्थमा उसले लियो।

    अमेरिकासँग ठूलो जासुसी संयन्त्र रहेको छ र उसले आईएसलाई नजिकबाट निगरानी गर्छ। मस्कोमा हमला गरेको समूह अमेरिकी सुरक्षा बल र सर्वसाधारणहरूलाई सन् २०२१ को अगस्टमा काबुलमा भएको आक्रमणमा पनि जोडिएको छ। हालै इराकमा भएका घातक बम हमलामा पनि उसको भूमिका छ।

  • रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या ११५ पुग्यो

    रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या ११५ पुग्यो

    काठमाडौं । रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १ सय १५ जना पुगेको छ । मस्कोको क्रोकस सिटी हलमा गएराति भएको आक्रमणमा कम्तिमा १ सय १५ जनाको ज्यान गएको र ९० जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । गएराति एउटा कार्यक्रम भइरहेको हलभित्र पसेर आक्रमणकारीले अन्धाधुन्ध गोली बर्साएका थिए । त्यसपछि हलमा आगो लागेको थियो ।

    यो घटनाको जिम्मेवारी आतंकवादी सङ्गठन, इस्लामिक स्टेट्स (आईएस)ले लिएको छ । रुसको गुप्तचर निकायले अहिलेसम्म १८ जना पक्राउ परेका र ४ जना घटनामा प्रत्यक्ष संलग्न रहेको दाबी गरेको छ । आज रुसभरी हुने सबै सार्वजनिक कार्यक्रम स्थगित भएका छन् । अमेरिकाले यसअघि नै रुसलाई आक्रमण हुन सक्ने चेतावनी दिए पनि रुसले बेवास्ता गरेकाले ठूलो आतंककारी हमला भएको जनाएको छ ।

    यसैबीच, नेपाल सरकारले आतंकवादी हमलाको निन्दा गर्दै मृतकमा श्रद्धाञ्जली व्यक्त गरेको छ । यो दुःखमा नेपाल सरकार रुसी सरकार र नागरिकसँगै रहेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, चिनियाँ राष्ट्रपति सि जिनपिङ, फ्रान्सका राष्ट्रपति इमानुुएल म्याँक्रो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समवेदना सन्देश पठाएका छन् । सन्देशमा आक्रमणको निन्दा गर्दैै ज्यान गुमाएकालाई श्रद्धाञ्जली व्यक्त गरिएको छ । तीनै जनाले आतंकवाद विश्वकै साझा चुनौतीको रुपमा रहेको र यसविरुद्ध एक भएर लड्नुपर्ने बताएको बीबीसीको खबरमा उल्लेख छ ।

  • रुसमा कन्सर्टमा आक्रमण, कम्तिमा ६० जना मारिए

    रुसमा कन्सर्टमा आक्रमण, कम्तिमा ६० जना मारिए

    काठमाडौं । रुसले मस्को बाहिर एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६० जना मारिएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ। इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेका छन्।

    सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चार जना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली चलाइरहेको देख्न सकिन्छ। अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचरी सूचना इस्लामिक स्टेटको दाबीसँग मेल खाएको जनाएको छ।

    दुई हप्ताअघि अमेरिकी राजदूतावासले उग्रवादीहरूले आक्रमणको योजना बुनिरहेको भन्दै मस्कोमा रहेका आफ्ना नागरिकहरूलाई भिडभाड हुने ठाउँमा नजान भनेको थियो। रुस र युक्रेनबीच लडाइँ चलिरहेको समयमा भएको यो गोली काण्डमा आफू संलग्न नरहेको किएभले बताएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त हमलाबारे प्रत्यक्ष सम्बोधन गरिसकेका छैनन् तर सरकारी सञ्चारमाध्यमहरूले उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरेको छ।

    संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले उक्त आक्रमणलाई ‘अक्षम्य र लाछी आतङ्कवादी हमला’ भन्दै आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती रहेको जनाएको छ। रुसी विदेश मन्त्रालयले उक्त ‘बर्बर आक्रमण’ लाई निन्दा गर्न त्यसअघि विश्वलाई अपिल गरेको थियो। अमेरिकामा ह्वाइट हाउसका प्रवक्ताले पनि गोलीकान्डका पीडितहरूप्रति आफ्नो सहानुभूति रहेको जनाएको छ।

    ह्वाइट हाउसले आफूले रुसी अधिकारीहरूलाई मार्चको सुरुवातमा मस्कोमा ठूला भीडहरूमा निशाना बनाउँदै आक्रमण हुनसक्ने चेतावनी दिएको उल्लेख गरेको छ। फ्रान्स, स्पेन र इटलीले पनि आश्चर्य प्रकट गर्दै हमलाको निन्दा गरेका छन्। इस्लामिक स्टेटको एउटा भातृ सङ्गठले मस्कोमा भएको आक्रमणमा आफ्नो हात रहेको जनाएको छ।

    यदि त्यो सत्य प्रमाणित भएमा, इस्लामवादी उग्रवादीहरूले रुसभित्र वा रुसलाई निशाना बनाएर गरेको यो पछिल्लो हमला हुनजान्छ। सन् २०१५ मा इजिप्टको साइनाइ मरुभूमिमा २२४ जना यात्रु सवार एउटा रुसी विमानलाई खसालिएको थियो। २२४ जना सवार उक्त विमानमा अधिकांश यात्रु रुसी थिए।

  • किन पक्राउ परे भ्रष्टाचार विरोधी अभियानबाट उदाएका केजरीवाल ?

    किन पक्राउ परे भ्रष्टाचार विरोधी अभियानबाट उदाएका केजरीवाल ?

    काठमाडौं । भारतको राजधानी प्रदेश दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा उनीमाथि अनुसन्धान गरिरहेको छ । दिल्लीस्थित उनको सरकारी निवासमा प्रवेश गरेका ईडीका अधिकारीले दुई घण्टा उनीसँग सोधपुछ गरेका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिइयो ।

    लोकसभा चुनाव घोषणा भइसकेको स्थितिमा विपक्षी नेताहरूमध्येका बलिया र चर्चित व्यक्ति केजरीवालको गिरफ्तारीले विपक्षी गठबन्धनलाई धक्का पुग्ने आशंका छ । १९ अप्रिलबाट १ जुनसम्म सात चरणमा भारतमा लोकसभाको १८ औं चुनाव हुँदै छ । देश चुनावमा होमिएका बेला विपक्षी गठबन्धन ‘इन्डिया’ का एक जना प्रभावशाली नेता केजरीवाल पक्राउ परेका हुन् ।

    दुई महिनाको अन्तरालमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमा केजरीवाल विपक्षी गठबन्धनका दोस्रो बहालवाला मुख्यमन्त्री हुन् । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई ईडीले केही समयअगाडि उनको राँचीस्थित सरकारी निवासबाटै नियन्त्रणमा लिएको थियो । सोरेनमाथि सरकारी जमिन खरिद बिक्रीमा भ्रष्टाचार गरेको आरोप छ ।

    मदिरासम्बन्धी नीति ल्याएर भ्रष्टाचार गरेको आरोपमा ईडीले केही समयदेखि उनलाई सोधपुछका लागि बोलाउँदै आएको थियो । एक दिनअगाडि मात्रै ईडीले केजरीवाललाई १० औं पटक बोलाएको थियो । तर, दिल्लीका मुख्यमन्त्री केजरीवाल ईडीको विरुद्ध दिल्ली उच्च अदालत गएका थिए ।

    तर, अदालतले बयानका लागि जान नपर्ने केजरीवालको माग अस्वीकार गरेपछि ईडीका अधिकारीहरू बिहीबार केजरीवालको गिरफ्तारीको तयारीसहित उनको निवास पुगेका थिए । मदिरासम्बन्धी नीति ल्याएर दिल्ली सरकारले भ्रष्टाचार गरेको आरोपमा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सांसद सञ्जय सिंह यसअघि नै हिरासतमा छन् ।

    दिल्ली सरकारले तीन वर्षअघि मदिरा बिक्रीसम्बन्धी नयाँ नीति ल्याएको थियो । त्यही नीतिलाई दिल्लीमा विपक्षीको भूमिकामा रहेको भारतीय जनता पार्टीले ‘नीति घोटाला’ भन्दै केजरीवाल सरकारलाई घेर्दै आएको छ । २०२१ अगाडि दिल्लीमा मदिराको विक्रेतामा ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी कारोबारी थिए । तर, केजरीवाल सरकारले नयाँ नीति ल्याएर मदिरा बिक्री वितरणको सम्पूर्ण जिम्मा निजी क्षेत्रलाई दिएको थियो ।

    यही प्रकरणमा दिल्ली सरकारमाथि सय करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप छ । त्यसमा भ्रष्टाचारको आरोप र विवाद बढेपछि केजरीवाल सरकारले एक वर्षपछि उक्त नीति फिर्ता लिएको थियो । ईडीले सोही प्रकरणको छानबिन गर्दै आएको छ । एक वर्षअगाडि सोही मुद्दामा उपमुख्यमन्त्री मनीष सिसोदियालाई ईडीले पक्राउ गरेको थियो । अहिलेसम्म उनी हिरासतमै छन् । केही महिनाअगाडि राज्यसभा सांसद सञ्जय सिंह पनि पक्राउ परे । मदिरासम्बन्धी नीति घोटालाबाहेक ईडीले केजरीवालमाथि दिल्ली जल बोर्डमा पनि भ्रष्टाचार गरेको आरोपमा सोधपुछ गरिरहेको छ ।

    मुख्यमन्त्री केजरीवाल र आम आदमी पार्टीले भने ईडीको कारबाहीलाई भाजपा निर्देशित भएको आरोप लगाउँदै आएका छन् । भाजपा नेतृत्वको केन्द्रीय सरकारले सरकारी जाँच एजेन्सीका अन्य दल र नेताविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन् । चुनावभन्दा अगाडि विपक्षी पार्टीको आवाज कमजोर गर्न भाजपाले षड्यन्त्र गरिरहेको आपका नेताहरूले बताएका छन् ।

  • ब्राजिलका फूटबल स्टार रोबिन्होमाथि बलात्कार अभियोग पुष्टी, ९ वर्षको जेल सजाय

    ब्राजिलका फूटबल स्टार रोबिन्होमाथि बलात्कार अभियोग पुष्टी, ९ वर्षको जेल सजाय

    काठमाडौं । ब्राजिलका पूर्व फुटबल स्टार रोबिन्होलाई बलात्कार अभियोग पुष्टी भएको छ । स्थानीय अदालतले उनलाई ९ वर्षको जेल सजाय सुनाएको सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो ।

    यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै ९ वर्षकै जेल सजायँ सुनाएको थियो । त्यतिबेला उनी एसी मिलानका लागि खेल्दथे । इटलीको अदालतले सजायँ सुनाउनु अघि नै उनी ब्राजिल फर्किसकेका थिए । त्यसपछि इटलीले ब्राजिललाई रोबिन्होविरुद्ध एक्सन लिन भनेको थियो ।

    स्काई न्यूजको रिपोर्ट अनुसार इटलीको अनुरोधपछि ब्राजिलको एक अदालतले उनीमाथि ९ वर्षको जेल सजायँ सुनाएको हो । उनले ब्राजिलमै जेल सजायँ काट्नुपर्ने फैसला अदालतले गरेको स्काई न्यूजमा उल्लेख छ । रोबिन्होलाई जेल सजायँ हुने कि नहुने भन्ने विषयमा ब्राजिलको सुपेरियर कोर्ट अफ जस्टिसका न्यायाधीशबीच मत विभाजन गरिएको थियो । कूल १० भोटमध्ये जेल सजायँ हुनुपर्छ भन्ने पक्षमा ८ भोट र विपक्षमा २ भोट परेको थियो ।

    रोबिन्होका वकिल जोस एडुआर्डो एल्कमिनले यो फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् । रोबिन्होले ब्राजिलबाट १०० पटक खेल खेलेका छन् । उनी चार वर्षसम्म रियल मड्रिडमा रहँदा रियलले दुई पटक ला लिगा च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि सन् २००८ मा ३२.५ मिलियन युरोमा उनी म्यानचेस्टर सिटीमा गएका थिए ।

  • केजरीवाल पक्राउले भारतमा हंगामा

    केजरीवाल पक्राउले भारतमा हंगामा

    काठमाडौं । प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेसँगै भारतमा हंगामा सुरु भएको छ । विपक्षी दलले निर्वाचनको अगाडी भएको यो गिरफतारीलाई राजनीतिक दाउपेचका रुपमा सरकारको आलोचना गरेका छन् । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो ।

    दुई घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् ।

    उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’ दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको छ । भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले मोदीले भारतलाई मुद्रा लोकतन्त्रमा रुपान्तण गर्न खोजेको आरोप लगाएका छन् । मोदी डराइरहेको समेत उनको भनाई छ ।

  • अफगानिस्थानमा आत्मघाती विष्फोट, कम्तिमा २१ जना मारिए

    अफगानिस्थानमा आत्मघाती विष्फोट, कम्तिमा २१ जना मारिए

    काठमाडौं । अफगानिस्तानको कान्धार सहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार आज बिहान ८ बजेतिर भएको विस्फोटमा तालिबान सरकारले भने तीन जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ । सिटी सेन्टरमा रहेको एक निजी बैंकमा भएको विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन ।

    अफगानिस्तान सरकारका कर्मचारी तलब लिन लाइनमा जम्मा भएको बैंकको शाखामा विस्फोट भएको थियो । विस्फोटमा ज्यान गुमाएका र झन्डै ५० जना घाइतेलाई सहरको सबैभन्दा ठूलो मिरवास अस्पतालमा लगिएको खबरमा उल्लेख छ ।

    कान्धार तालिबानको सत्ताको केन्द्र हो जुन तालिबानको सर्वोच्च कमान्डरको आधार क्षेत्र पनि हो । सन् २०२१ मा विदेशी सेनाको पूर्ण फिर्तीसँगै तालिबानले पूर्ण नियन्त्रण प्राप्त गरेपछि अफगानिस्तानको समग्र सुरक्षा सुधारमा आएको भए पनि हरेक वर्ष दर्जनौँ बम विस्फोट र आत्मघाती आक्रमणहरू भइरहेका छन् ।

  • आप्रवासन सम्बन्धी टेक्सस राज्यको विवादास्पद कानून तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

    आप्रवासन सम्बन्धी टेक्सस राज्यको विवादास्पद कानून तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको एउटा सङ्घीय पुनरावदेन अदालतले आप्रवासनसम्बन्धी टेक्सस राज्यको एउटा विवादास्पद कानुन तत्काल कार्यन्वयन नगर्न आदेश दिएको छ। उक्त कानुनलाई कुनै पनि अमेरिकी राज्यले बनाएको सबैभन्दा कठोर कानुन मानिन्छ। सर्वोच्च अदालतले एसबीफोर नामक आप्रवासनसम्बन्धी उक्त कानुनको पुनरावेदन सकिएपछि त्यसलाई कार्यान्वयनमा लैजान बाटो खोलिदिएको थियो। त्यसको केही घण्टापछि पुनरावेदन अदालतको निर्णय आएको हो। सो कानुनले टेक्ससस्थित अधिकारीहरू गैरकानुनी आप्रवासीहरूलाई पक्राउ गर्न र मुद्दा चलाउन अनुमति दिन्छ।

    टेक्ससका अधिकारीले देशनिकाला गरेका आप्रवासीलाई आफूले स्वीकार नगर्ने मेक्सिकोले जनाएको छ। जो बाइडन राष्ट्रपति बनेपछि अमेरिकाको दक्षिणी सीमामा आप्रवासीहरूको आगमन उच्चतम सङ्ख्यामा पुगेको छ। आगामी नोभेम्बर महिनाको चुनावअघि आप्रवासन एउटा गम्भीर मुद्दा बनेको छ। एसबीफोर कानुन मार्च ५ देखि कार्यान्वयनमा आउने भनिएको थियो। तर बाइडन सरकारले त्यो असंवैधानिक भएको भन्दै उक्त योजनालाई चुनौती दिँदै आएको छ।

    उक्त कानुनविरुद्ध परेका मुद्दामा यसअघि पनि अदालतबाट पटकपटक आदेशहरू आएका थिए। टेक्सस राज्यले बनाएको उक्त कानुन कार्यान्वयनमा आएको भए त्यसले अमेरिकामा आप्रवासनसम्बन्धी मुद्दा हेर्ने विषयमा उल्लेख्य परिवर्तन आउने थियो। विगतमा अदालतले अमेरिकाको कुनै एउटा राज्यले नभई सङ्घीय सरकारले मात्रै देशको आप्रवासन कानुनबारे निर्णय गर्न सक्ने जनाएको थियो। गैरकानुनी रूपमा अमेरिकाको सीमा पार गर्नु सङ्घीय अपराध हो। तर त्यसलाई आप्रवासन अदालत प्रणालीले देवानी मुद्दाका रूपमा हेर्ने गरेको थियो।

    एसबीफोर कानुनका अनुसार टेक्ससमा गैरकानुनी प्रवेश वा पुनर्प्रवेश गरे २० वर्षसम्मको जेल सजाय हुन सक्छ। उक्त कानुन कार्यान्वयनमा रहेको छोटो अवधिमा कोही आप्रवासी पक्राउ परे या नपरेको विवरण सार्वजनिक भएको छैन। मेक्सिकोको विदेश मन्त्रालयले मङ्गलवार भनेको छ, “कुनै पनि राज्य वा स्थानीय निकायहरूबाट आप्रवासन नियन्त्रणका लागि चालेका कदमहरू, कुनै नागरिक वा विदेशीहरूलाई पक्राउ गर्ने वा मेक्सिकोको भूभागमा फर्काउने कुरालाई मेक्सिको ठाडै अस्वीकार गर्छ।”

    पुनरावेदन अदातलको आदेश एसबीफोर कार्यान्वयन हुन सक्छ कि सक्दैन भन्ने विषयमा न्यापालिकाले दिएका विभिन्न निर्णयहरूमध्ये सबैभन्दा नयाँ हो।
    ज्यानुअरीमा बाइडन प्रशासनले टेक्सस राज्यमाथि मुद्दा दायर गर्दै आप्रवासन सङ्घीय मुद्दा भएको तर्क गरेको थियो। फेब्रुअरीमा एउटा जिल्ला अदालतले एसीबीफोर गैरकानुनी भएको ठहर गरेको थियो। उक्त कानुन कार्यान्वयनमा आएको खण्डमा प्रत्येक राज्यले छुट्टै आप्रवासन कानुन ल्याउन सक्ने अवस्था रहेको भन्दै त्यस्तो निर्णय सुनाइएको थियो।

    त्यसपछि न्यूओर्लियन्सस्थित फिफ्थ सर्किट यूएस कोर्ट अफ अपील्सले सर्वोच्च अदालतले हस्तक्षेप नगर्दासम्म उक्त कानुन कार्यान्वयनमा आउन सक्ने निर्णय सुनाएको थियो। बाइडन प्रशासनले त्यसपछि मुद्दा जारी रहेको अवधिभरि जिल्ला अदालतको निर्णयलाई कायम राखिनुपर्ने मागसहित तुरुन्तै सर्वोच्च अदालतमा आपत्कालीन निवेदन दिएको थियो। त्यस बीचमा सर्वोच्च अदालतका न्यायाधीश सामुअल अलीटोले उक्त कानुनलाई कसरी अघि बढाउने भनेर निर्णय लिन अदालतहरूलाई समय उपलब्ध गराउन त्यसलाई मुल्तबीमा राखिदिएका थिए।

    तलको सङ्घीय पुनरावदेन अदालतले उक्त कानुनको वैधानिकता जाँच गर्दै गर्दा मङ्गलवार सर्वोच्च अदालतले उक्त व्यवस्था कार्यान्वयन गर्न बाटो खोलिदिएको थियो। त्यसपछि मङ्गलवार राति नै फिफ्थ सर्किटको तीन(सदस्यीय इजलासले पुनरावेदनको सुनुवाइ गर्दै त्यसको कार्यान्वयन रोक्का गरिदियो। बुधवार पनि इजलास तोकिएको छ। सङ्घीय सरकारले पहिलादेखि नै आप्रवासनसम्बन्धी नियम र कानुन बनाउँदै आएको छ। तर अमेरिकाको संविधानले स्पष्ट रूपमा सरकारले त्यसो गर्ने अधिकारी दिएको छैन।

    अन्य देशहरूसँग सन्धि र सम्झौताबारे कुराकानी गर्ने काम पनि सङ्घीय सरकारहरूले नै गर्छन्। रिपब्लिकनहरूले डेमोक्र्याटिक राष्ट्रपति बाइडनले अमेरिका-मेक्सिको सीमाबारे अवलम्बन गरेको नीतिको बारम्बार आलोचना गर्दै आएका छन्। सर्वेक्षणहरूले नोभेम्बरको चुनावमा आप्रवासन मुख्य मुद्दा बन्न सक्ने देखाएका छन्। फेब्रुअरीमा सार्वजनिक गरिएको ग्यालप सर्वेक्षणमा झन्डै एकतिहाइ अमेरिकीहरूले देशमा देखा परेको सबैभन्दा ठूलो समस्या आप्रवासनसँग सम्बन्धित रहेको धारणा व्यक्त गरेका थिए। त्यसपछि बल्ल अर्थतन्त्र र मूल्यवृद्धिलाई अमेरिकीहरूले मुख्य समस्या ठानेका थिए।
    बीबीसीको सहयोगमा

  • आइसीसी अध्यक्ष बार्क नेपाल भ्रमणमा, के के छन् कार्यक्रम ?

    आइसीसी अध्यक्ष बार्क नेपाल भ्रमणमा, के के छन् कार्यक्रम ?

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल भ्रमणका सिलसिलामा काठमाडौं अवतरण गरेका छन् । सोमबार ४ बजे नेपाल आइपुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरे । नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताए । उनी चैत ८ सम्म नेपालमा बस्ने क्यानले जनाएको छ ।

    उनले नेपालमा टीयू र मूलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन् । त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ । यी सबै सकेर चैत ८ मा फर्किनेछन् । उनी भारतबाट नेपाल आएका हुन् । वुमन्स प्रिमियर लिगको फाइनलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको फाइनल हेर्न भारत आएका थिए ।

    नेपालले २०२७ मा आईसीसी वुमन्स यु–१९ विश्वकप आयोजना गर्दैछ । त्यसको लागि उनले मूलपानी र टीयूको मैदान निरीक्षण गर्नेछन् । उनले भोलि मैदानको निरिक्षण गर्ने भएका छन् । भोलि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग भेट्ने कार्यक्रम छ ।

  • गाजामा थप आक्रमणको योजनामा इजरायल

    गाजामा थप आक्रमणको योजनामा इजरायल

    काठमाडौं । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइली सैनिकले दक्षिणी गाजाको रफामा योजनाबद्ध स्थल आक्रमणको योजना रहेको बताएका छन् । यसबाट थप ठूलो मात्रामा नागरिक मारिने आशङ्का बढेको छ । “हमासलाई समाप्त पार्न, हाम्रा सबै बन्धकलाई रिहा गर्न र गाजाबाट इजराइलविरुद्ध खतरा सिर्जना नहोस् भन्ने सुनिश्चित गर्न कुनै पनि अन्तर्राष्ट्रिय दबाबले हामीलाई युद्धका सबै लक्ष्य साकार गर्नबाट रोक्न सक्तैन”, नेतान्याहुले मन्त्रिपरिषद्को बैठकमा जारी गर्नुभएको भिडियोमा भने, “यस्तो गर्नका लागि हामी रफामा पनि काम गर्नेछौँ ।”

    कतारको राजधानी दोहामा गाजामा युद्धविरामको दिशामा पुनः वार्ता सुरु हुने अपेक्षा गरिएको बेला उनको यस्तो टिप्पणी आएको हो । गाजामा इजराइलले पाँच महिनाभन्दा बढी समयदेखि हमास लडाकूविरुद्ध सैन्य अभियान सञ्चालन गरेको छ ।

    नेतान्याहुले आइतबार जर्मन चान्सलर ओलाफ सोल्ससँग भेट गर्ने तयारी गरेका छन् । भेटमा सोल्सले रफामा स्थल आक्रमणविरुद्ध आफ्नो चेतावनी दोहोराउने अपेक्षा गरिएको थियो । रफामा अधिकांश गाजाबासीले लगातारको इजराइली आक्रमणबाट शरण मागेका छन् ।

    गाजा युद्धमा इजराइलको समर्थन गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वसनीय नागरिक सुरक्षा योजनाबिना रफामा गरिने आक्रमणले इजराइल ‘वार्ताबाट भागेको’ हुने बताए । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानम घेब्रेयससले शुक्रबार ‘मानवताको नाममा’ इजराइलसँग रफामा आक्रमण नगर्न आग्रह गरेका छन् ।


    नेतान्याहुले रफामा अपरेसनका लागि सेनाको योजनालाई अनुमति दिएको उनको कार्यालयले बताएको छ । यद्यपि आक्रमणका लागि कुनै समयतालिका दिइएको छैन । रफा गाजामा अन्तिम प्रमुख जनसङ्ख्या केन्द्र हो । यहाँ अहिलेसम्म युद्धमा स्थल आक्रमण भएको छैन । दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासको आक्रमणपछि युद्ध सुरु भएको थियो । राससको सहयोगमा

  • पुटिन पुनः राष्ट्रपति बन्ने निश्चित

    पुटिन पुनः राष्ट्रपति बन्ने निश्चित

    काठमाडौं । रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन आउने निश्चित बनेको छ । चुनावी सर्वेक्षणमा उनले ८८ प्रतिशतभन्दा बढी मतसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भइसकेको छ । सीएनएनका अनुसार पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलमा पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको छ । जो रुसको सोभियत इतिहासमा सबैभन्दा ठूलो परिणाम हो ।

    यसैगरी रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जनाएको छ । यी रिसर्च सेन्टरका अघिल्ला एग्जिट पोलहरु सटिक थिए । यसपटकको राष्ट्रपति चुनावमा ७१ वर्षीय पुटिन उनी एकल दाबेदार थिए । यद्यपि प्रतिस्पर्धामा क्रेमलिनद्वारा समर्थित तीन उम्मेदवार थिए । उनीहरु सशक्त उम्मेदवार थिएनन् । पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको र अरु सशक्त उम्मेदवार कोही नहुँदा पुटिनको जित पहिल्यै सुनिश्चित थियो । उनका केही विरोधीहरु अहिले पनि जेलमै छन् ।

    त्यसैले कतिपयले रुसमा भएको राष्ट्रपतिको निर्वाचन निष्पक्ष नभएको भनेर आलोचना पनि गरेका छन् । निर्वाचनको दिन पनि पुटिनका विरोधीहरुले मतदान केन्द्र बाहिर विरोध प्रदर्शन गरेका थिए । अमेरिकाले निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भनेर आलोचना गरेको छ । जर्मनीले पनि सेन्सरसिप, दमन र हिंसाको जगमा छद्म चुनाव गराइएको टिप्पणी गरेको छ । बेलायतले पनि चुनावलाई अवैध भनेर निन्दा गरेको छ ।

    तर पुटिनले भने रुसको लोकतन्त्र अन्य देशहरुको तुलनामा अधिक पारदर्शी रहेको जिकीर गरेका छन् । पुटिन सन् १९९९ देखि रुसको सत्तामा छन् । बोरिस यल्तसिनले आफ्नो खराब स्वास्थ्यका कारण पुटिनलाई सत्ता सुम्पिएका थिए । त्यसयता उनले चुनाव हारेका छैनन् । थप ६ वर्षका लागि राष्ट्रपति पदमा औपचारिक रुपमा निर्वाचित भएपछि पुटिनले जोसेफ स्टालिनको रेकर्ड तोड्ने छन् ।

  • भारतमा लोकसभा चुनावको मिति घोषणा, कुन कुन दिन तोकियो ?

    भारतमा लोकसभा चुनावको मिति घोषणा, कुन कुन दिन तोकियो ?

    काठमाडौं । भारतको केन्द्रीय निर्वाचन आयोगले १८ औँ लोकसभा चुनावको मिति घोषणा गरेको छ । आयोगले शनिबार गरेको घोषणा अनुसार २० मार्चबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ । सात चरणमा सम्पन्न हुने चुनावको पहिलो चरणको मतदान १९ अप्रिलमा सुरु हुनेछ र यो क्रम १ जुनसम्म चल्नेछ । त्यसपछि ४ जुनमा मतगणना हुनेछ । आयोगका अनुसार आम निर्वाचनसँगै तीन चरणमा विधानसभाका २६ सिटमा उपचुनाव पनि हुनेछ । निर्वाचनमा ५५ लाख इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोग गरिने भएको छ । भारतको १७ औं लोकसभाको कार्यकाल आगामी १६ जुन २०२४ मा पूरा हँदैछ ।

    पहिलो चरणमा २१ वटा राज्यका १०२ सिटका लागि चुनाव हुनेछ । त्यसका लागि २० मार्चमा राजपत्रमा सूचना प्रकाशित हुनेछ भने १९ अप्रिलमा मतदान हुनेछ । त्यस दिन अरुणाञ्चल, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मू कश्मीर, लक्ष्यद्वीप र पोन्डीचेरीमा मतदान हुनेछ ।

    दोस्रो चरणमा १३ राज्यका ८९ सिटका लागि चुनाव हुनेछ । त्यसका लागि २८ मार्चमा राजपत्रमा सूचना प्रकाशित हुनेछ भने २६ अप्रिलमा मतदान हुनेछ । त्यस दिन आसाम, बिहार, छत्तीसगढ, कर्नाटक, केरला, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीरमा मतदान हुनेछ ।

    तेस्रो चरणमा १२ राज्यका ९४ सिटका लागि चुनाव हुनेछ । त्यसका लागि १२ अप्रिलमा राजपत्रमा सूचना प्रकाशित हुनेछ भने ७ मेमा मतदान हुनेछ । त्यस दिन आसाम, बिहार, छत्तीसगठ, गोवा, गुजरात, कर्नाटक, मध्यप्रदेश, महाराष्ट्र, उत्तर प्रदेश, पश्चिम बंगाल, दादर नागर हवेली र दमन दीपमा मतदान हुनेछ ।
    चौथो चरणमा १० राज्यका ९६ सिटका लागि चुनाव हुनेछ । त्यसका लागि ८ अप्रिलमा राजपत्रमा सूचना जारी हुनेछ भने १३ मेमा मतदान हुनेछ । त्यस दिन आन्ध्र प्रदेश, बिहार, झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगना, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीरमा मतदान हुनेछ ।

    पाँचौ चरणमा ८ राज्यका ४९ सिटका लागि चुनाव हुनेछ । त्यसका लागि २६ अप्रिलमा राजपत्रमा सूचना जारी हुनेछ भने २० मेमा मतदान हुनेछ । त्यस दिन छत्तीसगढ, झारखण्ड, महाराष्ट्र, ओडिसा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीर र लद्दाखमा मतदान हुनेछ । छैटौ चरणमा ७ राज्यका ५७ सिटका लागि चुनाव हुनेछ । त्यसका लागि २९ अप्रिलमा राजपत्रमा सूचना प्रकाशित हुनेछ भने २५ मेमा मतदान हुनेछ । त्यस दिन बिहार, हरियाणा, झारखण्ड, ओडिसा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीमा मतदान हुनेछ ।

    र अन्तिममा सातौं चरणमा ८ राज्यका ५७ सिटका लागि चुनाव हुनेछ । त्यसका लागि ७ मेमा राजपत्रमा सूचना प्रकाशित हुनेछ भने १ जुनमा मतदान हुनेछ । जसअन्तर्गत बिहार, हिमाचल प्रदेश, झारखण्ड, ओडिसा, पञ्चाब, उत्तर प्रदेश, पश्चिम बंगाल र चण्डीगढमा मतदान हुनेछ ।

    संसदीय चुनावका साथै चारवटा राज्यमा विधानसभा चुनाव पनि हुनेछ । ओडिसामा चार चरणमा विधानसभा चुनाव हुने आयोगले जनाएको छ । १३ मे, २० मे, ५ मे र १ जुनमा मतदान हुनेछ । अरुणाञ्चल प्रदेश विधानसभाका ६० सिटका लागि २० मार्चमा सूचना प्रकाशित हुने हुने र १९ अप्रिममा मतदान हुने जनाइएको छ ।

    सिक्किम विधानसभाका लागि यही समयमा चुनाव हुनेछ । आन्ध्र प्रदेश विधानसभाका १७५ वटै सिटका लागि १८ अप्रिलमा सूचना प्रकाशित गरी १३ मेमा मतदान हुनेछ । यसका साथै, अलग–अलग राज्यका २६ वटा विधानसभाका लागि उपचुनाव पनि आम चुनावसँगै हुने भएको भारतको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

    भारतको केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल ९६ करोड ८० लाख मतदाता सूचीकृत भएका छन् । जसमा ४७ करोड १० लाख महिला र ४९ करोड ७० लाख पुरुष मतदाता छन् । यसमा पनि १ करोड ८९ लाख मतदाता पहिलोपटक मतदानमा भाग लिनेछन् । जसमा १९ करोड ७४ लाख मतदाता २० देखि २९ वर्ष उमेरका छन् । यसमा १ जनवरी २०२४ सम्म १८ वर्ष उमेर नपुग्नेहरूको संख्यासमेत जोडिएको छ । यसमा १३ लाख ४० हजार मतदाता १ अप्रिलसम्म १८ वर्ष उमेर पूरा गर्नेछन् र मतदानमा भाग लिन पाउनेछन् ।

    साथै, ८८ लाख ४० हजार मतदाता अपाङ्ग, ८२ लाख मतदाता ८५ वर्षभन्दा बढी उमेरका र ४८ हजार मतदाता ट्रान्सजेन्डर समूहका छन् । ८५ वर्षभन्दा बढी उमेर भएकाहरूका लागि घरबाटै मतदान गर्ने सुविधा उपलब्ध गराउने निर्वाचन आयोगले जनाएको छ ।

    भारतीय संविधानमा प्रत्येक पाँच वर्षमा हुने लोकसभाको चुनावका लागि अधिकतम ५५२ वटा सिट हुन सक्ने व्यवस्था छ । अहिले भारतको लोकसभाको सिट संख्या ५४५ छ । जसमा सबै राज्य र केन्द्र शासित प्रदेशमा ५४३ सिटका लागि चुनाव हुन्छ भने राष्ट्रपतिलाई एंग्लो इन्डियन समुदायको लोकसभामा प्रतिनिधित्व पुगेन भन्ने लाग्यो भने दुई जनालाई मनोनित गर्न सक्ने व्यवस्था छ ।

    यसका साथै, लोकसभाका कुल सिटमध्ये १३१ सिट आरक्षणका लागि छुट्याइएको छ । त्यसमा अनुसूचित जातिका लागि ८४ र जनजातिका लागि ४७ सिट छुट्याइएको छ । भारतको लोकसभामा कुनै पनि पार्टीले एकल बहुमत ल्याउनका लागि २७२ सिटमा जित निकाल्नुपर्छ । यदि यसभन्दा केही सिट कम भएमा अर्को दलसँग गठबन्धन बनाएर सरकार बनाउन सक्छ । लोकसभामा विपक्षी दलको नेता बन्नका लागि कम्तीमा कुल सिटको १० प्रतिशत अर्थात ५५ सिट चाहिन्छ । २०१४ को चुनावमा कांग्रेसले ४४ सिट मात्रै पाएको थियो भने २०१९ मा पनि ५२ सिट मात्रै पाएको थियो ।

  • अमेरिकी राष्ट्रपति निर्वाचनमा फेरि बाइडन र ट्रम्प भिड्ने पक्का, यस्ता छन् चुनावी एजेन्डा

    अमेरिकी राष्ट्रपति निर्वाचनमा फेरि बाइडन र ट्रम्प भिड्ने पक्का, यस्ता छन् चुनावी एजेन्डा


    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आगामी निर्वाचनमा उम्मेदवार हुन उनीहरूको दलबाट आवश्यक प्रतिनिधिहरूको समर्थन जुटाउन सफल भएका छन्।

    कैयौँ राज्यहरूमा भएका प्राइमरी चुनावहरूबाट उनीहरू दुवै जनाले मङ्गलवार आवश्यक प्रतिनिधि सङ्ख्या जुटाएका हुन्। ट्रम्पको रिपब्लिकन पार्टीका उम्मेदवारले कम्तीमा १,२१५ जना पार्टी प्रतिनिधिको समर्थन जुटाउन आवश्यक छ भने बाइडनको डेमोक्र्याट पार्टीका उम्मेदवारले कम्तीमा १,९६८ पार्टी प्रतिनिधिको समर्थन जुटाउन आवश्यक छ।

    नयाँ इतिहास

    अब ७० वर्षयता पहिलोपटक अमेरिकी निर्वाचनमा अघिल्लो निर्वाचनकै झल्को दिने गरी उही दुईजना प्रतिस्पर्धी हुने पक्का भएको छ। सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट लडेका बाइडनले रिपब्लिकन पार्टीबाट उठेका तत्कालीन राष्ट्रपति ट्रम्पलाई पराजित गरेका थिए। पार्टिको उम्मेदवारी जित्नका लागि भएका प्राइमरी चुनावहरूमा बाइडनका विरुद्ध खासै प्रतिस्पर्धी नै थिएनन्।

    उम्मेदवारी जितेपछि उनले पार्टीले आफूमाथि पुन: विश्वास गरेकोप्रति सम्मानित अनुभव गरेको प्रतिक्रिया दिएका छन्। तर उनको उम्मेदवारीको औपचारिक घोषणा भने अगस्टमा हुने डेमोक्र्याटिक नेशनल कन्भेनशनपश्चात् मात्र गरिनेछ। रिपब्लिकन पार्टीले पनि उसको राष्ट्रिय सम्मेलनबाट उम्मेदवारको घोषणा गर्नेछ।

    ट्रम्पले रिपब्लिकन प्राइमरी चुनावहरूमा वर्चश्व कायम गर्दै आएका छन्। अहिलेसम्म भएका प्राइमरी चुनावमध्ये एउटा बाहेक सबै ठाउँमा उनले जितेका थिए। उनका प्रमुख प्रतिस्पर्धी राष्ट्रसङ्घकी पूर्वराजदूत निकी ह्याली गत साता चुनावी मैदानबाट पछाडि हटेकी थिइन्।

    उमेरसम्बन्धी प्रश्न

    राष्ट्रपति बाइडनले आफ्नो स्मरण शक्ति ठीक रहेको बताउने गरेका छन् । ८१ वर्षका राष्ट्रपति बाइडनले निरन्तर धेरै उमेर र त्यसका कारण राष्ट्रपतिको रूपमा जिम्मेवारी बहन गर्न सक्ने उनको क्षमताबारे प्रश्न झेलिरहेका छन्।तर, उनको पार्टीले भने उनैलाई पत्याएको छ।

    वर्तमान राष्ट्रपति भएका कारण पनि उनले पार्टीभित्र खासै प्रतिरोध बेहोर्न परेन। त्यसभन्दा ४ वर्ष कान्छा ट्रम्प चाहिँ रिपब्लिकन दलका आधार रहेका मतदाताहरूमाझ निकै लोकप्रिय पाइएका छन् जसले उनलाई एकपछि अर्को प्राइमरी चुनावमा जिताए।

    के-के छन् चुनावी मुद्दा ?

    ट्रम्पले कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाइरहेका छन्। बाइडनले अमेरिकी अर्थतन्त्रमा देखिएका सकारात्मक प्रवृत्तिहरूको बखान गरिरहेका छन्। उनले महिलाहरूको गर्भपतन अधिकार सङ्कुचित पार्ने तथा सामाजिक कार्यक्रमहरू कटौती गर्ने प्रयासहरूबारे सचेत हुन आह्वान गरिरहेका छन्।

    बाइडनले ट्रम्पले जितेमा ‘देश पछाडि फर्कने’ जोखिम पनि औँल्याउँदै आएका छन्। ट्रम्पले चाहिँ कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाइरहेका छन्। उनले ‘सीमा बन्द’ गर्नेदेखि लिएर ‘कीर्तिमानी सङ्ख्यामा’ अवैध आप्रवासीलाई देशनिकाला गर्न वाचा गर्दै आएका छन्।

    ट्रम्पले अपराध घटाउने, घरेलु ऊर्जा उत्पादन बढाउने, विदेशी आयातमा थप शुल्क लगाउने, युक्रेन युद्ध अन्त्य गर्ने र विश्वमामिलामा उनको ‘अमेरिका पहिले’को नारा पुन: लागू गर्ने बताउँदै आएका छन्। अमेरिकाकाे आगामी राष्ट्रपति निर्वाचन नोभेम्बर ५ मा हुँदै छ।-बीबीसी

  • जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको प्रयास असफल, केही सेकेन्डमै विस्फोट

    जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको प्रयास असफल, केही सेकेन्डमै विस्फोट

    टोकियो । जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ ।

    टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो ।

    विस्फोट हुनु पहिले सुदूरपहाडी क्षेत्रमा सेतो धुवाँ निस्किएको थियो । उक्त रकेट केही सेकेन्डभित्रमा नैै विस्फोट भई जमिनमा भीषण ज्वालासहित खसेको थियो ।

    ‘पहिलो काइरोस रकेटको प्रक्षेपण गरिएको थियो, तर प्रक्षेपणपछि प्रविधिक समस्या देखिएपछि यसलाई रद्द गरिएको छ,’ स्पेस वानद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘विस्तृत अनुसन्धान भइरहेको छ ।’

    एक वृद्ध व्यक्तिले सार्वजनिक प्रसारक एनएचकेसँग भने, ‘मैले यो रकेट प्रक्षेपणबाट धेरै आशा गरेको थिएँ । सफलता मिल्न सकेन, त्यसैले म निराश छु । के भयो, अनुसन्धान भइरहेको बताइएको छ, पछि थाहा हुने नै छ ।’

    स्पेस वनले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने राष्ट्रको पहिलो निजी फर्म बन्ने आशा गरेको छ । यो आशा काइरोसबाट गरिएको थियो ।

    प्राचीन ग्रीक भाषाअनुसार काइरोसको अर्थ ‘सही क्षण’ हो । उडानको लगभग ५१ मिनेटपछि उक्त सही क्षण आउने अपेक्षा कम्पनी र अन्तरिक्षविद्ले गरेका थिए ।

    पार्टपुर्जाको अभाव र अरू समस्याका कारण स्पेस वानले बुधबारको प्रयासअघि काइरोसको प्रक्षेपण पाँचपटक स्थगित गरेको थियो । रासस/एएफपी

  • अष्ट्रेलियामा जहाजमा यात्रा गरिरहेका १२ यात्रु अस्पताल भर्ना

    अष्ट्रेलियामा जहाजमा यात्रा गरिरहेका १२ यात्रु अस्पताल भर्ना

    काठमाडौं । विमानमा प्राविधिक समस्या आएपछि यात्रारत १२ जना यात्रुलाई उपचारका लागि अस्पताल भर्ना गर्नु परेको छ । सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा विरामी परेका १२ यात्रुलाई सोमबार अस्पताल भर्ना गरिएको हो । विमान कम्पनी र सुरक्षाकर्मीले सोमबार यसको जानकारी गराएका छन् ।

    तस्मान सागरमा एलए ८०० विमानमा समस्या आएका कारण विमानमा कम्पन आएको थियो । त्यसमध्ये कम्तीमा एक जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । यात्रुहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार विमानको उचाइ एक्कासि गुमेको र सिटबेल्ट नभएकाहरू सीटमा उफ्रेका थिए ।

    लाटामका अनुसार ‘बोइङ ७८७ ड्रीमलाइनर’ विमानमा उडानका क्रममा समस्या आएको हो । अमेरिकी विमान निर्माता कम्पनी बोइङले हालैका वर्षहरूमा घातक लायन एयर र इथियोपियन एयरलाइन्सका ७३७ म्याक्स विमानहरूमा दुर्घटनाग्रस्त भएकालगायत सुरक्षा समस्याहरूको शृङ्खलाको सामना गर्नुपरेको छ ।

  • उडिरहेको जहाजका दुबै पाइलट निदाएपछि….

    उडिरहेको जहाजका दुबै पाइलट निदाएपछि….

    काठमाडौं । इन्डोनेशियाको एउटा स्थानीय वायु सेवा बटिक एअरको एक उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएको घटना सार्वजनिक भएको छ । त्यसबारे छानबिन थालेको यातायात मन्त्रालयले जनाएको छ। सूलवेसीदेखि राजधानी जकार्तासम्मको उडानका क्रममा एअरबस ए३२० उडानका दुवै चालकहरू झन्डै २८ मिनेटसम्म निदाउँदा विमान छोटो समयका लागि आफ्नो बाटोबाट बाहिर गएको बताइएको छ।

    यद्यपि यसले सुरक्षित अवतरण गरेको थियो। विमानमा सवार १५३ यात्रु र चालकदलका सदस्य कसैलाई कुनै चोट पनि लागेन। गत २५ ज्यानुअरीको त्यो घटनापछि दुवै पाइलटलाई निलम्बन गरिएको छ। उक्त उडान सुरु भएपछि ३२ वर्षे लीडपाइलटले कोपाइलटलाई आफूलाई आरामको आवश्यकता रहेको भन्दै विमानको हेरविचार गर्न भनेको बताइएको छ। त्यसमा २८ वर्षे कोपाइलटले सहमति जनाएको यातायात मन्त्रालयको एउटा प्रतिवेदनमा उल्लेख छ।

    तर केहीबेरमा कोपाइलट पनि निदाए। मन्त्रालयको प्रतिवेदनअनुसार उनकी श्रीमतीले जुम्ल्याहा बच्चा जन्माएको एक महिना मात्र भएको थियो र उनी पनि बच्चाको रेखदेखमा संलग्न थिए। जकार्तामा रहेको एअर ट्राफिक कन्ट्रोल कार्यालयले उक्त विमानको ककपिटमा सम्पर्क गर्दा कुनै जबाफ नभएपछि घटनाबारे पहिलो पटक थाहा भएको थियो। ट्राफिक कन्ट्रोलको सम्पर्कमा रहेको रेडिओ उपकरण २८ मिनेटसम्म मौन रहेको बताइएको छ।

    त्यसपछि लीडपाइलट बिउँझिदा उनले आफ्ना कोपाइलट निदाएको र विमान केही समयका लागि निर्धारित मार्गभन्दा बाहिर गएको पत्ता लगाएको बताइएको छ। त्यसपछि भने उनी जकार्ता ट्राफिक कन्ट्रोलको सम्पर्कमा आएकाले विमानको सुरक्षित अवतरण गराउन सफल भएको बताइएको छ। उडानभन्दा अघिको स्वास्थ्यपरीक्षणमा दुवै पाइलट उडानका लागि योग्य रहेको पाइएको थियो। उनीहरूको रक्तचाप र मुटुको गति सामान्य थियो र मदिरा सेवन नगरेको पाइएको थियो।

    साथै दुवै पाइलटले पर्याप्त आराम पाएजस्तो देखिएको थियो। यद्यपि उनीहरूको विश्रामको गुणस्तर पनि राम्रो थियो भनी प्रमाणित गर्न ती परीक्षणहरू विफल रहेका उड्डयनविज्ञ एल्भिन लाईले बीबीसी इन्डोनेशिअनलाई बताएका छन्। घटनापछि अधिकारीहरूले बटिक एअरलाई कडा चेतावनीूदिएका छन्। इन्डोनेशियाका हवाई यातायात प्रमुख एम क्रिस्टी एन्डा मुर्नीले कम्पनीले चालकदलको विश्रामबारे थप ध्यान दिनुपर्ने बताएकी छन्।

    बटिक एअरले भने आफू ूपर्याप्त आरामको नीतिअनुसार नै सञ्चालनमा रहेकोू र ूसुरक्षासम्बन्धी सबै सिफारिस कार्यान्वयनका लागि प्रतिबद्ध रहेकोू बताएको छ। सन् २०१९ मा यसै कम्पनीको एक विमानका चालक बेहोस भएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो।
    बीबीसी

  • ब्रिटिश प्रधानमन्त्रीकी सासु भारतमा बनिन् सांसद

    ब्रिटिश प्रधानमन्त्रीकी सासु भारतमा बनिन् सांसद

    काठमाडौं । ब्रिटिश प्रधानमन्त्री ऋषि सुनककी सासूलाई भारतीय संसद्को माथिल्लो सदनकी सदस्यका रूपमा मनोनयन गरिएको छ। त्रिहत्तर वर्षीया सुधा मूर्तिले प्रविधि कम्पनी इन्फोसिसका सह-संस्थापक तथा अर्बपति एनआर नारायण मूर्तिसँग बिहे गरेकी थिइन्। उनकी छोरी अक्षताले सुनकसँग सन् २००९ मा बिहे गरेकी हुन्। सुनक सन् २०२२ देखि ब्रिटेनका प्रधानमन्त्री छन्। भारतीय संसद्‌को माथिल्लो सदन राज्यसभामा अधिकांश सदस्यहरू निर्वाचित हुन्छन्।

    यद्यपि उक्त सदनमा समाजका गन्यमान्य व्यक्तिमध्येबाट १२ जना सदस्यलाई राष्ट्रपतिले ६ वर्षका लागि मनोनयन गर्ने व्यवस्था पनि छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मूर्तिको मनोनयनलाई ‘नारी शक्ति’को उदाहरण भएको जनाएका छन्। मोदीले यसले भारतको लक्ष्य निर्धारणका निम्ति महिलाको शक्ति र क्षमताको उदाहरण प्रस्तुत गर्ने पनि उल्लेख गरेका छन्।

    मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै मूर्तिको ‘सामाजिक कार्य, परोपकार र शिक्षा लगायतका विविध क्षेत्रमा व्यापक र प्रेरणादायी योगदान रहेको’ जनाएका छन्। गत वर्ष उनको समाजसेवालाई कदर गर्दै सरकारले भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषण पनि प्रदान गरेको थियो। इन्जिनियरिङ अध्ययन गरेकी मूर्तिले मोदीलाई धन्यवाद दिँदै देशको सेवा गर्ने अवसरको लागि कृतज्ञ भएको बताएकी छन्।

    उनले द हिन्दू पत्रिकासँग भनेकी छन्, मनोनयनमा मेरो नाम एउटा सुखद आश्चर्यका रूपमा आएको छ र अन्तर्राष्ट्रिय महिला दिवसका दिन यस्तो सम्मान पाउँदा म दोबर उत्साहित भएकी छु। संसदीय कार्यकालका लागि मैले योजनाहरू बनाउन बाँकी छ। म यो मञ्चलाई भारतका जनताका निम्ति काम गर्न उपयोग गर्नेछु।

    फोर्ब्स पत्रिकाका अनुसार मूर्तिका पतिको अनुमानित कुल सम्पत्ति ४ अर्ब ७० करोड अमेरिकी डलर बराबर छ। नारायण मूर्तिले एक पटक आफ्नो कम्पनी सुरु गर्न आफ्नी पत्नीबाट २५० डलर सापटी लिएको बताएका थिए। यो कम्पनी अहिले भारतको सातौँ ठूलो र न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीमा परेको पहिलो भारतीय कम्पनीका रूपमा रहेको छ। सुधा मूर्ति भारतीय टीभीहरूमा हुने छलफलहरूमा देखा परिरहने हुनाले उनी भारतमा परिचित व्यक्ति हुन्।

    त्यस्तै एउटा छलफलमा उनले आफूले यूकेका अद्यागमन अधिकारीहरूसँग आफू डाउनिङ स्ट्रिटमा बस्न जाने बताएको उल्लेख गरिन्। उनको त्यो भनाइ सुनेर ती अधिकृतहरूले उनले ठट्टा गरिरहेकी होलिन् भन्ने ठानेका थिए। उनले आफूले आफ्नो श्रीमान्‌लाई व्यवसायी बनाउन सफल भएको उल्लेख गर्दै ,मेरी छोरीले पनि आफ्नो पतिलाई ब्रिटिश प्रधानमन्त्री बनाएकी छन्, भनेकी थिइन्।
    बीबीसीको सहयोगमा

  • पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी

    पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी

    काठमाडौं । पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी भारी मतका साथ विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले जनाए अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभा लगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर विजयी भएका हुन् । जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरेका छन् ।

    पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरे । जरदारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १८१ मत प्राप्त गरे । ६८ वर्षीय जरदारीले शुक्रबार विदाइ हुनु भएका निवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिँदैछन् ।

    सन् २००८ देखि २०१३ सम्म ११ औं राष्ट्रपति रहनु भएका जरदारीको उक्त पदमा यो दोस्रो विजयी हो । जरदारी सन् २०२४ फेब्रुअरी ८ मा भएको आम निर्वाचनमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । राष्ट्रपतिको शपथ लिनुअघि उनले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ। रासस, सिन्ह्वा

  • भारतमा एक बालकले जब चितुवालाई कोठा भित्र थुने

    भारतमा एक बालकले जब चितुवालाई कोठा भित्र थुने

    काठमाडौं : भारतमा एक बालकले चितुवालाई कोठा भित्र थुनेर आफु भाग्न सफल भएका छन् । यसको भिडियो भाइरल भएको छ । भारतको महाराष्ट्रस्थित नाशिक जिल्लामा एक बालकले चितुवालाई कोठाभित्र थुनेको दृश्य अहिले ‘भाइरल’ भएको हो । साई सेलब्रेशन लनको कार्यालयको एक कोठामा चितुवा पस्दा १२ वर्षे मोहितविजय अहिरे ढोका नजिकै रहेको सोफामा बसेर मोबाइलमा खेलिरहेका थिए।

    मोहित डरले भागेनन्, बरु संयमित भए र चितुवालाई भित्र राखेर ढोका बन्द गरे। आफू चाहिँ बाहिर भागे। पछि वन विभागका अधिकारीहरूले चितुवालाई नियन्त्रणमा लिए। यो दृष्य भने सीसीटीभीमा कैद भएको थियो । अहिले सोही दृष्य भाइरल भएको हो ।

  • मोदीको चुनावकेन्द्रीत योजना : महिला दिवसमा एक सयले घट्यो एलपीजीको मूल्य

    मोदीको चुनावकेन्द्रीत योजना : महिला दिवसमा एक सयले घट्यो एलपीजीको मूल्य

    काठमाडौं । भारतको केन्द्र सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार एलपी ग्यास सस्तो बनाउने घोषणा गरेको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स बाट ट्वीट गर्दै सरकारले एलपी ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँ छुट दिने निर्णय गरेको बताएका छन् ।

    उनले लेखेका छन्, ‘आज महिला दिवसको अवसरमा हामीले ग्यास सिलिन्डरको मूल्यमा १०० रुपैयाँ छुट दिने ठूलो निर्णय गरेका छौं । यसले महिला शक्तिको जीवन सहज मात्रै होइन करोडौं परिवारको आर्थिक बोझ पनि कम गर्नेछ । यो कदम पर्यावरण संरक्षणमा पनि सहयोगी हुनेछ, जसले सम्पूर्ण परिवारको स्वास्थ्य सुधार गर्नेछ।’ दुई दिनअघि बुधबार मात्रै सीएनजीको मूल्य घटाउने घोषणा गरिएको थियो ।

    प्रधानमन्त्रीले आफ्नो ट्विटमा भनेका छन्, ‘यो निर्णय महिला सशक्तिकरण र उनीहरूको जीवन सहज बनाउने हाम्रो प्रतिबद्धता अनुरूप छ।’

    दुई दिनअघि बुधबार मात्रै सीएनजीको मूल्य घटाउने घोषणा गरिएको थियो। बुधबार प्रतिकिलो २.५ रुपैयाँ घटाएपछि दिल्लीमा सीएनजीको मूल्य ७४.०९ रुपैयाँमा झरेको छ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई महिला दिवसको अवसरमा घटाएको भने पनि यसले उनलाई चुनावी एजेन्डा बनाइरहेको बुझ्न कठिन छैन। भारतमा आगामी मे २४ मा लोकसभा निर्वाचन हुँदैछ।

  • सरकार परिवर्तन भएसँगै लुम्बिनी शिखर सम्मेलन स्थगित

    सरकार परिवर्तन भएसँगै लुम्बिनी शिखर सम्मेलन स्थगित

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एन्ड लिड्स’ शिखर सम्मेलन स्थगित गरेको छ । आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । विशेष कारणवश सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

  • मंगोलियामा अधिक जाडोले मरे ३० लाख भन्दा धेरै गाइवस्तु

    मंगोलियामा अधिक जाडोले मरे ३० लाख भन्दा धेरै गाइवस्तु

    काठमाडौं । मङ्गोलियामा जुड भनिने चरम जाडो मौसमले मङ्गोलियामा यस वर्षको हालसम्म ३० लाखभन्दा बढी पशुपक्षीहरूको ज्यान लिएको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ । जुडका कारण मङ्गोलियामा अहिलेसम्म कम्तीमा ३० लाख ८९ हजार ४२० गाईबस्तु मरेको एसईसीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । जुड गम्भीर चिसोले अधिक जाडो बढेको अवस्थामा प्रयोग गरिने मङ्गोलियाली शब्द हो ।

    यो अवस्थामा जमिन हिउँले ढाकिएको कारण अधिक चिसो हुने र ठुलो सङ्ख्यामा गाईबस्तुहरू मर्ने गर्छन् । मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियामा यस वर्षको जाडोमा सामान्यभन्दा धेरै हिउँ परेको छ । मङ्गोलियाको ८० प्रतिशतभन्दा बढी क्षेत्र अहिलेसम्म १०० सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख रहेको थियो । रासससिन्ह्वा

  • पृथ्वीको सबैभन्दा ठूलो मूरुभूमीको उत्पत्ति बारे वैज्ञानिकले पत्ता लगाए उमेर

    पृथ्वीको सबैभन्दा ठूलो मूरुभूमीको उत्पत्ति बारे वैज्ञानिकले पत्ता लगाए उमेर

    काठमाडौं । पृथ्वीको सबैभन्दा ठूलो र जटिल प्रकारमध्ये एउटा बालुवाको ढिस्कोको उमेर पहिलो पटक गणना गरिएको छ। विशेष खालका आकार भएका कारण यिनीहरूलाई अङ्ग्रेजीमा स्टार ड्यून्स अथवा पिरामिड ड्यून्स नाम दिइएको छ।

    बालुवाका यी विशेष ढिस्काहरू सयौँ मिटर अग्ला हुन्छन्। यस्ता ढिस्काहरू अफ्रिका, एसिया र उत्तर अमेरिकासहित मङ्गल ग्रहसम्म भेटिएका छन् तर विज्ञहरूले अहिलेसम्म ती ढिस्काहरू कहिले बनेका थिए भनेर पत्ता लगाउन सकेका थिएनन्। अहिले भने वैज्ञानिकहरूले मोरोक्कोमा रहेको लाला लालिया नामको बालुवाको ढिस्को १३ हजार वर्ष पहिले बनेको पत्ता लगाएका छन्।

    स्टार ड्यून्स विपरीत तर्फबाट आएको हावाका कारण बन्ने गर्छन्। बालुवाको ढिस्कोको उमेरले वैज्ञानिकलाई ती हावाबारे बुझ्न मद्दत गर्छ जसले त्यो समयको जलवायुबारे बुझ्न सहयोग गर्ने युनिभर्सिटी अफ अबरिस्टविथका प्राध्यापक जियोफ ड्यूलरले भने। उनले बर्कबेक युनिभर्सिटीस्थित प्राध्यापक चार्ल्स ब्रिस्टोसँग मिलेर आफ्नो अनुसन्धान प्रकाशित गरेका छन्।


    लाला लालिया (रैथाने अमेजिया नाम जसको अर्थ पवित्र उच्च विन्दु हुन्छ) दक्षिण(पूर्वी मोरोक्कोस्थित एर्ग चेबी स्यान्ड सीमा अवस्थित छ। यो एक सय मिटर अग्लो र ७०० मिटर चौडा फैलिएको छ। सुरुमा बनेपछि यो करिब ८००० वर्षसम्म वृद्धि हुन छोडेको थियो। त्यसपछिका पछिल्ला केही हजार वर्षहरूमा भने तीव्र रूपमा यसको आकार वृद्धि भएको छ।

    सामान्यतः मरुभूमिहरूको पहिचान पृथ्वीको भौगर्भिक इतिहासमा गर्न सकिन्छ। हुन्छ तर अहिलेसम्म स्टार ड्यून्सबारे जानकारी भने पाइन्नथ्यो। प्रोफेशर ड्यूलर भन्छन्, शायद यी ढिस्काहरू निकै ठूला हुने भएकाले विज्ञहरूले एउटा विशेष खालको ढिस्कोबारे अवलोकन गरिरहेका छन् भन्ने महसुस नै गरेका थिएनन्।

    ूयी अध्ययन परिणामले सम्भवतः धेरै मानिसलाई चकित पार्न सक्छ किनभने यी ढिस्काहरू कति छिट्टै बने भन्ने कुरा हामी देख्न सक्छौँ। यो मरुभूमिभरि प्रतिवर्ष करिब ५० सेन्टिमिटरले बढिहेको छ, उनले थपे। वैज्ञानिकहरूले स्टार ड्यूनको उमेर पत्ता लगाउन लुमनेसेन्स प्रविधिको प्रयोग गरेका थिए।


    यो विधिले बालुवाको कणमा पछिल्लो पटक कहिले दिनको उज्यालो परेको थियो भन्ने गणना गर्छ। मोरोक्कोबाट अँध्यारोमा लिइएका बालुवाको नमुनाहरूलाई लिएर प्रयोगशालामा पुरानो शैलीको फोटोग्राफी कार्यशालामा जस्तै धमिलो रातो प्रकाशमा त्यसको विश्लेषण गरिएको थियो।

    प्राध्यापक ड्यूलरले बालुवाको कणमा भएका खनिज तत्वहरूलाई साना रिचार्ज गर्न मिल्ने ब्याट्रीजस्तै भनेर व्याख्या गर्छन्। त्यस्ता तत्वहरूले प्राकृतिक वातावरणमा भएको रेडियोएक्टिभिटीबाट आएको ऊर्जालाई बालुवाको कणमा सञ्चित गर्छन्। बालुवा जति धेरै जमिनमुनि रहन्छ त्यति नै धेरै रेडियोएक्टिभिटी देखा पर्छ र धेरै ऊर्जा उसले विकसित गर्छ। जब कणहरू प्रयोगशालामा लगियो ती कणहरूले ऊर्जा निष्कासन गरे र त्यसबाट वैज्ञानिकहरूले त्यसको उमेर गणना गर्न सके।

    ूहाम्रा अँध्यारा प्रयोगशालामा प्रयोग गर्दा ती बालुवाका कणबाट प्रकाशका रूपमा ऊर्जा निष्कासन गरे र त्यसकै आधारमा वैज्ञानिकहरूले उमेर गणना गर्न सके,ू प्राध्यापक ड्यूलरले भने। जति बढी उज्यालो हुन्थ्यो त्यति नै बढी ती बालुवाका कणको उमेर हुन्थ्यो र त्यति बढी ती कणहरू पुरिएको अवस्थामा थिए भन्ने थाहा हुन्थ्यो।,


    बालुवाका यी ठूला ढिस्काहरूमध्ये उत्तर अमेरिकाको कोलोराडोस्थित ढिस्को एक हो जसको फेददेखिको उचाइ २२५ मिटर मापन गरिएको छ। यी ढिस्काहरू चढ्ने काम निकै कठिन हुने प्राध्यापक ड्यूलर बताउँछन्। ढिस्को चढ्दा दुई कदम उकालो चढ्दा एक कदम पछाडि चिप्लिइन्छ। तर तपाईँलाई थकथकी हुँदैन किनभने सबभन्दा माथि टुप्पोबाट देखिने दृश्य निकै मोहक हुन्छ, उनले भने।
    बीबीसीबाट

  • भारतीय सेनाले माल्दिभ्स नजिकै सेनाको शिविर राख्ने, तनाव बढ्ने संकेत

    भारतीय सेनाले माल्दिभ्स नजिकै सेनाको शिविर राख्ने, तनाव बढ्ने संकेत

    काठमाडौं । भारतीय नौसेनाले ‘रणनीतिक रूपमा महत्वपूर्ण’ माल्दिभ्सको नजिकका टापुहरूमा सेनालाई बलियो बनाइरहेको बताएको छ । मालेले भारतीय सेनालाई घर पठाउन सुरु गर्नुभन्दा केही दिन अघि नै नयाँ शिविर खुल्ने भारतीय सेनाले जनाएको छ । चीन निकट मानिने मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले गतवर्ष भारतीय सेनालाई फिर्ता पठाउने वाचा गरेर चुनाव जितेपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा तिक्तता आएको छ ।

    पूर्व–पश्चिम अन्तर्राष्ट्रिय जलमार्गमा फैलिएको उक्त द्वीपसमूहमा चीनको बढ्दो उपस्थितिप्रति भारत सशङ्कित रहेको र नयाँ शिविरले उक्त क्षेत्रमा नयाँ दिल्लीको ‘जानकारी पहिचान गर्ने निगरानी’ लाई विस्तार गर्ने भारतीय नौसेनाले शनिबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । मुइज्जुले भारतलाई माल्दिभ्समा रहेका ८९ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाउन आग्रह गरेका छन् । भारतीय योजना अनुसार पहिलो जत्था मार्च १० भित्र भारत प्रस्थान गर्ने र सबै दुई महिनाभित्र स्वदेश फिर्ता हुनेछन् ।

    भारतको लक्षद्वीप टापुमा मार्च ६ मा खुल्ने नयाँ सैन्य शिविरले विद्यमान सानो टुकडीलाई ‘स्वतन्त्र नौसैनिक एकाइ’ मा परिणत गर्नेछ । भारतको लक्षद्वीप टापु माल्दिभ्सबाट लगभग १३० किलोमिटर उत्तरमा अवस्थित छ र मिनिकोय टापुमा नयाँ नौसैनिक शिविर छ । भारतीय नौसेनाको लक्षद्वीप टापु कवारत्तीमा पहिलेदेखि नै शिविर छ, तर नयाँ शिविर माल्दिभ्सबाट लगभग २५८ किलोमिटर (१६० माइल) नजिक हुनेछ ।

    “मिनिकोय लक्षद्वीपको सबैभन्दा दक्षिणी टापु हो, जसले सञ्चारको महत्वपूर्ण समुद्री रेखालाई समेटेको छ,” भारतीय नौसेनाले भनेको छ । यस शिविरले समुद्री डकैती र लागुऔषध विरोधी अभियानलाई बढावा दिनेछ र यो ‘रणनीतिक रूपमा महत्त्वपूर्ण’ टापुहरूमा सुरक्षा पूर्वाधार बढाउने नीतिको एक भाग हो । राससएएफपी

  • पाकिस्तानको प्रधानमन्त्री बने सहबाज

    पाकिस्तानको प्रधानमन्त्री बने सहबाज

    काठमाडौं । पाकिस्तानमा शहबाज सरिफ प्रधानमन्त्री बनेका छन् । पाकिस्तान मुस्लिम लिग नवाजबाट उनी प्रधानमन्त्री बनेका हुन् । उनलाई बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टीले समर्थन गरेको छ । पाकस्तानीको नेशनल एसेम्ब्लीमा आइतबार भएको प्रधानमन्त्रीको मतदानमा उनले २०१ मत प्राप्त गरे । तेहरिक–ए–इन्साफ समर्थित उम्मेदवार उमर अयुबले ९२ मत मात्र पाए ।

    पाकिस्तान मुस्लिम लिग–नवाज हालै सम्पन्न निर्वाचनमा ७५ सिट जितेर दोस्रो भएको थियो । तहरीक-ए-इन्साफका अध्यक्ष इमरान खान भ्रष्टाचार आरोपमा जेलमा परेका र उनको पार्टीलाई चुनाव लड्नै प्रतिबन्ध लगाइएको थियो । पार्टीले चुनाव लड्न नपाए पनि तहरीक-ए-इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरू ९० भन्दा बढी सिट जितेर सबैभन्दा ठूलो समूहको रूपमा उभिएका छन् ।

    पाकिस्तान पिपुल्स पार्टी ५४ सिटका साथ तेस्रो स्थानमा रह्यो भने एमक्यूएम पाकिस्तानले १७ सिट ल्याएको थियो । शेहराज सरिफ दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् । यसअघि अविश्वासको प्रस्ताव मार्फत इमरान खानलाई प्रधानमन्त्रीबाट हटाएर उनी १६ महिना प्रधानमन्त्री बनेका थिए । उनी पहिलो पटक प्रधानमन्त्री बन्दा उनका दाजु तथा पूर्व प्रधानमन्त्री नवाज सरिफ देशमा उपस्थित थिएनन् । तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफ लण्डनमा थिए र त्यतिबेला उनको हैसियत चुनाव लड्न वा कुनै सरकारी पदमा बस्न योग्य नभएको सजाय पाएको अपराधीको जस्तो थियो ।

    तर यसपटक नेशनल एसेम्ब्लीमा प्रधानमन्त्रीका लागि भएको मतदानका क्रममा शाहबाज सरिफ प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा बसिरहेका बेला नवाज सरिफ उनको नजिकै सदनमा उपस्थित थिए । नेशनल एसेम्ब्लीको सदस्यका रूपमा नवाज शरिफले आफ्ना भाइ शहबाज सरिफलाई दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बनेको हेरिरहेका थिए । सन् १९९७ पछि नवाज सत्तामा थिए । नवाज सरिफ चुनाव जितेर पनि प्रधानमन्त्री बन्न सकेनन् भन्ने कहिल्यै भएन । उनी हरेक पटक प्रधानमन्त्री बने र शाहबाज सरिफ पञ्जाब प्रान्तको मुख्यमन्त्री भए । शाहबाजले करिब तेह्र वर्ष पञ्जाबमा मुख्यमन्त्रीको रूपमा शासन गरेका थिए ।

  • गाजामा राहत मागिरहेका ११२ जनाको हत्या, कसरी भयो घटना ?

    गाजामा राहत मागिरहेका ११२ जनाको हत्या, कसरी भयो घटना ?

    काठमाडौं । गाजामा राहत सामग्री प्राप्त गर्ने प्रयासमा रहेका कम्तीमा ११२ जना मारिएका छन् । घटना गत बिहीवारको हो । घटना कसरी भयो र त्यसमा को जिम्मेवार थियो भन्नेबारे फरक फरक दाबी गरिएको छ । फ्रेब्रुअरीको २८ का दिनकेही मानिसहरु राहतको प्रतिक्षामा थिए । संयुक्त राष्ट्रसङ्घले यसअघिबाटै गाजामा करिब ३,००,००० मानिसहरू क्षेत्रमा भोकमरीको जोखिममा रहेको चेतावनी दिँदै आएको छ । उनीहरू रहेको क्षेत्रमा पछिल्लो साता राहत सामग्री निकै कम पुगिरहेको थियो।

    फेब्रुअरी २९ का दिन राहत ओसार्ने लरीहरू इजरेलको सेना रहेको स्थानबाट कटेर खाली बाटो हुँदै अल राशिद सडकमा पुगेका थिए । इजरेल डिफेन्स फोर्स आईडीएफ अनुसार त्यसमा ३० वटा गाडीहरूको लस्कर थियो। तर कतिपय प्रत्यक्षदर्शीहरूले १८ वा त्यो भन्दा कम सङ्ख्यामा सामान ओसार्ने गाडीहरू रहेको बताएका छन्।


    कतिपयले राहत सामग्री त्यस ठाउँमा पुगे लगत्तै इजरेली सेनाले गोली चलाउन थालेको बताएका छन् । पिठो ल्याएका ट्रक नजिक जान खोजिरहेका मानिसहरू माथि इजरेली सेनाले जानाजान गोली चलाएको समाचारमा उल्लेख छ । घटनामा कैयौँको ज्यान गएको र शवहरूलाई अस्पताल लगिएको विवरण आएका छन्।

  • गाजामा मारिए झण्डै ३० हजार सर्वसाधारण

    गाजामा मारिए झण्डै ३० हजार सर्वसाधारण

    काठमाडौं । इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार आक्रमणवाट ११० जना घाइते भएका छन् । इजरायल–हमास द्वन्द्व शुरु भएदेखि हालसम्म प्यालेस्टिनी घाइतेहरूको कुल सङ्ख्या ७० हजार ३२५ पुगेको छ । केही पीडितहरू अझै भग्नावशेषमुनि रहेको अनुमान छ । बुधबार इजरायली मिडिया आउटलेटले गाजा पट्टीको लडाइँमा दुई अधिकृतको मृत्यु भएको र ७ जना सैनिकहरू घाइते भएको बताइएको छ । योसँगै मृत्यु हुने सैनिकको सङ्ख्या ५८२ पुगेको छ ।

    इजरायली सेनाले सुरुङहरू र हमासका अन्य पूर्वाधारहरू ध्वस्त पारेको, आतङ्कवादी कक्षहरूू नष्ट गरेको र ठूलो मात्रामा हतियारहरू कब्जा गरेको बताएको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले गाजामा युद्धको लक्ष्य अक्टोबर ७ को आक्रमण फेरि कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्ने रहेको र त्यसका लागि समय लाग्ने बताउनु भएको छ। रासस, सिन्ह्वा