Category: विश्व

  • क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान

    क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान

    क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान ट्रान रहेको खुलेको छ । आइतबार भएको यो घटनामा १० जनाको मृत्यु भएको थियो । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा ती व्यक्तिले गोली चलाएका थिए ।

    मृत्यु हुनेमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् । घटनामा अन्य १० जना व्यक्ति घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उक्त क्लबमा गोली चलाएका ती व्यक्तिले नजिकैको अर्को क्लबलाई पनि निसाना बनाएका थिए । तर त्यहाँबाट सेतो भ्यानमा भाग्दै गर्दा उनलाई सशस्त्रको टोलीले घेरा हालेको समाचारमा उल्लेख छ ।

  • बीबीसीले नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रमा भारत सरकारले किन लगायो रोक ?

    बीबीसीले नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रमा भारत सरकारले किन लगायो रोक ?

    नयाँ दिल्ली । भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले निर्माण गरेको वृत्तचित्रको पहिलो एपिसोडलाई यूट्यूब र ट्विटरमा ब्लक गर्न भनेको छ । मन्त्रालयले उक्त भिडिओको लिङ्क शेयर गर्ने ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको स्वयमः बीबीसीले जनाएको छ ।

    इकोनोमिक टाइम्स खबरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार ‘इन्डियाः द मोदी क्वेशन’ र त्यससँग जोडिएका करिब ५० वटा ट्विट हटाउन आदेश दिइएको हो। स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले लेखेको छ कि मन्त्रालयका सचिव अपूर्व चन्द्रले आइटी नियम २०२१ अन्तर्गत यो आदेश दिएका हुन्।

    स्रोतका अनुसार यूट्यूबलाई भनिएको छ कि, “यदि उसको सञ्जालमा यो वृत्तचित्र अपलोड गर्ने कोसिस गरियो भने त्यसलाई ब्लक गरियोस्। ट्विटरलाई लिङ्कसहितका ट्विटहरू पहिचान गरेर त्यसलाई हटाउन भनिएको छ।” विपक्षी दलहरूले भारत सरकारको यो निर्णयलाई सेन्सर सीप भनिरहेका छन्। कंग्रेसका सञ्चार विभाग प्रमुख जयराम रमेशले ट्विटमार्फत सरकारको कदम सेन्सरसीप भएको टिप्पणी गरेका छन्।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ‘इन्डिया : द मोदी क्वोइच्चन’ निष्पक्ष नरहेको र त्यो प्रोपागान्डाको रूपमा आएको बताएका छन्। दुईवटा भागमा बनेको उक्त सिरिजको पहिलो भाग मङ्गलवार यूकेमा प्रसारण गरिएको थियो। दोस्रो भाग आउँदो मङ्गलवार प्रसारण हुँदैछ। बीबीसीले आफू संसारभरका महत्त्वपूर्ण विषयहरूमा प्रकाश पार्न प्रतिबद्ध रहेको जनाएको छ। उसले भारत सरकारलाई आफ्नो भनाई राख्ने अवसर दिइए तापनि उसले त्यो अस्वीकार गरेको जनाएको छ।


    पहिलो भागमा मोदी राजनीति प्रवेशका सुरुवाती कदम देखाइएको छ जसमा उनी भारतीय जनता पार्टी (भाजपा)का विभिन्न महत्त्वपूर्ण ओहदामा अघि बढ्दै पश्चिम भारतीय राज्य गुजरातको मुख्यमन्त्रीमा नियुक्त हुँदासम्मका विकासक्रम देखाइएको छ।

    उक्त वृत्तचित्रले यसअघि सार्वजनिक नभएका प्रतिवेदनहरू प्रस्तुत गरेको समाचारमा उल्लेख छ । ब्रिटिश विदेश मन्त्रालयबाट बीबीसीले प्राप्त गरेका ती विवरणहरूमा गुजरातको धार्मिक दङ्गामा मोदीको भूमिकाहरूबारे प्रश्न उठाइएको छ। त्यसबेला गुजरातमा हिन्दु तीर्थयात्रीहरू रहेको एउटा रेलमा आगजनी भएको भोलिपल्ट उक्त दङ्गा भड्किँदा दर्जनौँको सङ्ख्यामा मानिसहरू मारिएका थिए।

    धेरैजसो मुस्लिमहरूसहित १ हजारभन्दा धेरै मानिसहरू मारिएको उक्त दङ्गालाई भारत स्वतन्त्र भएपछिको सबैभन्दा खराब हिंसात्मक घटनाका रूपमा लिने गरिन्छ। उक्त प्रतिवेदनले हिंसा भड्किने गरी दण्डहीनताको माहौल बनाउन मोदी प्रत्यक्ष रूपमा जिम्मेवार भएको दाबी गरेको छ। मोदीले हिंसामा आफ्नो जिम्मेवारीबारे लगाइएका आरोपहरू लामो समयदेखि अस्वीकार गर्दै आएका छन्। उनले उक्त दङ्गाका लागि माफी समेत मागेका छैनन्।

    सन् २०१३ मा भारतको सर्वोच्च अदालतको एक इजलासले उनीमाथि अभियोजन चलाउन पर्याप्त प्रमाणहरू नरहेको जनाएको थियो। विदेश प्रवक्ता बाग्चीले यतिखेर उक्त वृत्तचित्र बनाउनुको बीबीसी उद्देश्यबारे प्रश्न उठाएका छन्। उनले भनेका छन्, ‘यो खास बदनाम गराउने उद्देश्यको भाष्यलाई बढाउने गरी डिजाइन गरिएको प्रोपागान्डा सामग्री हो। यसमा पूर्वाग्रह, वस्तुनिष्ठताको अभाव र औपनिवेशिक सोचको निरन्तरता स्पष्ट रूपमा देखिन्छ।’

  • अमेरिकामा पुनः अन्धाधुन्ध गोली काण्ड, कम्तिमा १० जना मारिए

    अमेरिकामा पुनः अन्धाधुन्ध गोली काण्ड, कम्तिमा १० जना मारिए

    काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा गोली चल्दा कम्तिमा पनि १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार घटनामा थप १० जना घाइते छन् । स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ।

    लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयू मेयर्सका अनुसार शनिबार राति सवा १० बजे घटना भएको थियो। ‘खबर पाएपछि अधिकारीहरू त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा थिए,’ उनले भने, ‘मोन्टेरी पार्क प्रहरी फायर डिपार्टमेन्टका अधिकारी घटनास्थलमा पुगेर घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको थियो। १० जना घटनास्थलमा मृत फेला परेका थिए।’ यस घटनाका आरोपी फरार छन्। उनलाई प्रहरी खोजिरहेको छ।

  • अमेरिकी राष्ट्रपतिको घरमा एफबीआईले मार्यो छापा

    अमेरिकी राष्ट्रपतिको घरमा एफबीआईले मार्यो छापा

    काठमाडौं\एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सो क्रममा गोप्य सरकारी दस्ताबेजहरू जफत भएको छ । अमेरिकी न्याय विभाग (डीओजे) अन्वेषकहरूले डेलावेयरस्थित राष्ट्रपति वाइडेनको घरमा १३ घन्टासम्म खोजी गरेका छन् । यस क्रममा चिन्ह लगाएर राखिएका ६ वटा थप गोप्य कागजात फेला पारेको समाचार संस्था एपीलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।

    न्याय मन्त्रालयका अन्वेषकहरूले राष्ट्रपतिको घरबाट थप ६ वटा गोप्य कागजातहरू फेला पारेको वाइडेनका वकिलले जानकारी दिएका हुन्। बाइडेनको आफ्नै हातले लेखिएको नोट र वरपरका केही सामग्रीहरू पनि जफत गरिएको वकिल बब बोवरले एपीलाई बताएका छन् । बाइडनने अनुसन्धानलाई पूर्ण सहयोग गर्ने भन्दै न्याय विभागलाई आफ्नो घरमा अनुसन्धान गर्न अनुमति दिएका थिए। तर यो अनुसन्धानको समयमा राष्ट्रपति वाइडेन र प्रथम महिला घरमा उपस्थित थिएनन्।

    उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उनले प्रयोग गरेको कार्यालयमा वर्गीकृत दस्ताबेज खोज्न अनुमति दिएका छन् । यसअघि शुक्रबार विल्मिङटनस्थित एउटा घरबाट पनि यस्तै किसिमका केही कागजातहरू फेला परेका थिए। यी कागजातहरू बाइडेनका उपराष्ट्रपति र सिनेटरको समयका हुन्।

    यस्ता दस्ताबेजहरू सबैभन्दा पहिले नोभेम्बर २ मा वाइडेनले स्थापना गरेको थिङ्क ट्याङ्क कार्यालय ‘पेन बाइडन सेन्टर’मा फेला परेका थिए। २० डिसेम्बर र १२ जनवरीमा पनि त्यस्ता थप कागजातहरू फेला परेका थिए। राष्ट्रपतिको टोलीले यी कागजात प्राप्त हुनेबित्तिकै राष्ट्रिय अभिलेखालय र न्याय मन्त्रालयलाई बुझाएको बताएको छ।

    जफत भएका कागजात के गर्ने भन्ने विषयमा अनुसन्धान गर्न विशेष काउन्सिल रोबर्ट हेरलाई नियुक्त गरिएको थियो। पूर्व राष्ट्रपति ट्रम्पमाथि पनि अमेरिकी न्याय मन्त्रालयले छानबिन गरिरहेको छ। एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको निवासमा ३२५ वटा गोप्य र अतिगोप्य वर्गीकरण गरिएका कागजातहरू भेटिएपछि ट्रम्पमाथि अनुसन्धान अघि बढेको थियो। ट्रम्पले कागजपत्रहरू नष्ट गरे वा नगरेकोबारे अनुसन्धान भइरहेको छ। तर उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्।

  • इरानको रेभलुशन गार्ड कोरलाई आतंकवादी संगठन घोषणा गर्ने तयारी

    इरानको रेभलुशन गार्ड कोरलाई आतंकवादी संगठन घोषणा गर्ने तयारी

    लण्डन । यूके र ईयूले इस्लामिक रेभलुशन गार्ड कोर (आईआरजीसी) लाई छिटै आतङ्कवादी सङ्गठन घोषणा गर्ने सक्ने बीबीसीले लेखेको छ । आईआरजीसी इरानको सैन्य, राजनीतिक र आर्थिक बल हो जसले देशभित्र सत्ताका लागि रहेका खतराको सामना गर्छ भने देशबाहिर उसको सामर्थ्यलाई देखाउँछ। यूकेका विदेशमन्त्री जेम्स क्लेभर्लीले अलीरेजा अकबरीलाई इरान सरकारले मृत्युदण्ड दिएपछि आईआरजीसीलाई आतङ्कवादी सङ्गठन घोषणा गर्नेबारे विचार गरिरहेको बताएका हुन् ।

    इरानका पूर्वमन्त्री समेत रहेका अकबरी पछि यूके गए र त्यहीको नागरिक बने। पछि अकबरीलाई “प्रलोभन”मा पारी इरान फर्काइयो र त्यहाँ उनीमाथि “इरानी सत्ताको कुख्यात स्वेच्छाचारी कानुनी प्रक्रिया” चलाइयो। अकबरीमाथि यूकेका लागि जाजुसी गरेको आरोप लगाइएको थियो। उक्त आरोपको उनले खण्डन गरेका थिए र आरोप स्वीकार्न इरानी एजेन्टहरूले आफूलाई यातना दिएको बताएका थिए।

    यूकेका गुप्तचर निकायहरूले पनि यूकेमा बस्दै आएका इरानी पत्रकारहरूसहित दश जनालाई गत वर्षभरिमा इरानका गुप्तचर निकायहरूले निशाना बनाएको बताएका छन्। जर्मन विदेशमन्त्री अनालेना बेअरबोक र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेअर लायनले पनि आईआरजीसीलाई आतङ्कवादी सङ्गठनको सूचीमा राख्न ईयूलाई अपील गरेका छन्।

    बाइस वर्षीया माशा अमिनीको मृत्युपछि इरानमा शुरू भएको प्रदर्शनमाथि गरिएको दमनमा आईआरजीसीको भूमिकालाई उनीहरूले उल्लेख गरेका छन्। नैतिकता प्रहरीले हिरासतमा लिएका बेला माशा अमिनीको मृत्यु भएको थियो। युरोपेली संसद्‌ले आईआरजीसीलाई आतङ्कवादी सङ्गठनको रूपमा लिने पक्षमा एउटा सङ्कल्प प्रस्ताव पारित गरेको छ। तर सदस्य राष्ट्रहरूले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ।

    हिजबुल्लाहजस्ता सशस्त्र समूहलाई समर्थन गर्दै आएकोले संयुक्त राज्य अमेरिकाले सन् २०१९ मै आईआरजीसीलाई आतङ्कवादी सङ्गठनको सूचीमा राखेको थियो। इरानी क्रान्तिपछि नयाँ इस्लामिक प्रणालीको प्रतिरक्षा गर्ने उद्देश्यका साथ सन् १९७९ मा आईआरजीसी स्थापना गरिएको थियो। इरानको नियमित सैनिक बलको विकल्पका रूपमा त्यो सञ्चालन भयो। “त्यो एउटै मिलिसिया ब्रिग्रेड हुने गर्थ्यो।

    तर अहिले एउटा ठूलो सङ्गठनको रूपमा विकसित भएको छ,” लन्डनमा अवस्थित च्याटम हाउस इन्टरन्याश्नल नामक थिङ्क ट्याङ्कका सनम विकालले भने। आईआरजीसीको आफ्नै स्थल, नौसेना र हवाई बल छ जसमा अनुमानित १,९०,००० सैनिक छन्। उसले इरानको बलिस्टिक क्षेप्यास्त्र र परमाणु कार्यक्रमलाई सञ्चालन गर्छ। आईआरजीसीले आफ्नो अर्धसैनिक निकाय बासिज रेसिस्टेन्स फोर्समार्फत्‌ इरानमा आन्तरिक सुरक्षा कायम राख्छ।

  • बेलायतका प्रधानमन्त्री ऋषि सुनक परे ट्राफिक कारवाहीमा

    बेलायतका प्रधानमन्त्री ऋषि सुनक परे ट्राफिक कारवाहीमा

    लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनक ट्राफिक कारवाहीमा परेका छन् । कारको सिट बेल्ट नलगाएको भन्दै प्रहरीले उनलाई जरिबाना गराएको छ । सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भेटिएपछि प्रधानमन्त्री सुनकलाई जरिबाना गरिएको हो । लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिबानाको ससर्त प्रस्ताव जारी गरेको जनाएको बीबीसीले लेखेको छ ।

    प्रधानमन्त्री सुनकले यो गल्ती हो भनेर पूर्ण रूपमा स्वीकार गरी माफी समेत मागेको समाचारमा उल्लेख छ । उनले जरिबाना तिर्ने बताएका छन् । सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा सय पाउन्ड जरिबाना तिराउने गरिन्छ । यदि मुद्दा अदालतमा पुग्यो भने यो जरिबाना ५ सय पाउन्डसम्म पुग्न सक्छ । सुनकले सरकारमा रहँदा निश्चित जरिबानाको सूचना पाएको यो दोस्रो पटक हो । यसअघि कोरोना रोकथामका लागि गरिएको लकडाउनका नियमहरू तोडेकोमा उनलाई जरिबाना गरिएको थियो ।

  • जहाज दुर्घटनाका कारण इयूको कालोसूची अझै लम्बिने, नआउने भयो  मूल्यांकन टोली

    जहाज दुर्घटनाका कारण इयूको कालोसूची अझै लम्बिने, नआउने भयो मूल्यांकन टोली

    काठमाडौं । नेपालमाथि यूरोपेली यूनियनको कालोसूची अझै लम्बिने भएको छ । उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्यांकन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली युनियनले तत्कालका लागि नेपाल भ्रमण रोकेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै ईयूको अनसाइट मूल्यांकन तत्कालका रोकिएको जनाएका छन् ।

    १ माघमा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनापछिइयूले यस्तो निर्णय लिएको जनाएको छ । नेपालको उड्डयन सुरक्षाबारे ईयूले गत अक्टोबरमा एक टोली नेपाल पठाएर अध्ययन गरेको थियो । सो टोलीले उडान सुरक्षामा उल्लेख्य प्रगति भएको निष्कर्ष निकाल्दै अर्को टोलीलाई साइटमै खटाएर अध्ययन गराउने निर्णय गरेको थियो ।

    सोही अनुसार टोली पठाउने तयारी गरेको थियो । प्राधिकरणका अनुसार फेब्रुअरी वा मार्चमा यो टोली नेपाल आउने तयारी थियो । प्राधिकरण र ईयूको संयुक्त विज्ञप्तिमा उड्डयन सुरक्षाका लागि ईयूले नेपाललाई निरन्तर सहयोग जारी राख्ने उल्लेख गरेको छ । नेपाल सन् २०१३ यता युरोपेली युनियनको कालोसूचीमा छ ।

  • युक्रेनमा हेलिकोप्टर दुर्घटना, गृहमन्त्रीसहित १८ जनाको मृत्यु

    युक्रेनमा हेलिकोप्टर दुर्घटना, गृहमन्त्रीसहित १८ जनाको मृत्यु

    एजेन्सी । युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। राजधानी किभको बाहिरी क्षेत्रमा एउटा किन्डरकार्टेनमा सो हेलिकोप्टर खसेको थियो।

    गृहमन्त्री डेनिस मोनास्तिर्स्की र अन्य आठ जना हेलिकोप्टरमा सवार थिए। मृत्यु हुनेहरुमा उपमन्त्री तथा सचिव पनि छन्।

    दुर्घटनामा ज्यान गुमाउनेमध्ये ३ जना बालबालिका छन्। २२ जना भन्दा धेरै घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

    युक्रेनी आपत्‌कालीन सेवाको हेलिकोप्टर राजधानी किभको पूर्वी उपनगरको बालबालिका पढ्ने एउटा विद्यालय (किन्डरगार्डन)मा खसेको थियो।

    हेलिकोप्टरमा आन्तरिक मामिलामन्त्री डेनिस मोनास्टिर्स्कीसहित ८ जना सवार थिए। राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत् दुर्घटनाबारे जानकारी दिएका छन्।

    हेलिकोप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षित स्थानमा सारिएको छ।

    हेलिकोप्टर दुर्घटनापछि किन्डरगार्टेनमा आगलागी भएको थियो। बीबीसी

  • भारतीय कम्पनीले बनाएको दुई कफ सिरप औषधीको प्रयोगमा डब्लूएचओले लगायो प्रतिवन्ध

    भारतीय कम्पनीले बनाएको दुई कफ सिरप औषधीको प्रयोगमा डब्लूएचओले लगायो प्रतिवन्ध

    काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले भारतीय कम्पनीले बनाएको दुई कफ सिरपको प्रयोगमा रोक लगाएको छ । डब्लूएचओले बुधबार मरीन बायोटिकले बनाएको कफ सिरप प्रयोग गर्न योग्न नभएको निष्कर्ष निकाल्दै यस्तो सिफारिस गरेको हो । विश्व स्वास्थ्य संगठनले यी औषधी पूर्णतया रोक्न समेत भनेको छ । साथै मुलुकहरुले यो औषधीको प्रयोग रोक्न निगरानी गर्न समेत भनेको छ । उज्जवेकिस्तानमा यसको सेवनबाट १९ जना बालबालिकाको ज्यान गएपछि संगठनले अनुसन्धान थालेको थियो ।

    उक्त अनुसन्धानपछि डब्लूचएओ यसको प्रतिवन्धको निष्कर्षमा पुगेको हो । संगठनले एएमबीआरओएनओएल सिरिप र डीओके–१ म्याक्स सिरपको प्रयोगमा रोक लगाएको छ । अनुसन्धानका क्रममा यी औषधीमा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको मात्रा अत्यधिक पाइएको छ । यसअघि हालै उत्तर प्रदेशको खाद्य सुरक्षा तथा औषधी प्रशासनले मरीन बायोटेकको लाइसेन्स रद्द गरेको थियो ।

  • विश्वकप विजेता बनेपछि पहिलो पटक मैदानमा मेसी, गरे गोल

    विश्वकप विजेता बनेपछि पहिलो पटक मैदानमा मेसी, गरे गोल

    काठमाडौं । विश्वकपपछि पहिलो पटक लियोनल मेसी मैदानमा उत्रिएका छन् । उनले विश्वकप पछिको पहिलो खेलमा पनि गोल गर्न सफल भए । उनको क्लव पिएसजीले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ। गतराति एन्जर्सविरूद्ध घरेलु मैदानमा पिएसजीले २–० को जित निकाल्ने क्रममा मेसीले गोल गरेका हुन् । पिएसजीको जितमा मेसी र ह्यूगो इकिटिकेले गोल गरे।

    पाँचौ मिनेटमा इकिटिकेले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाए । पहिलो हाफसम्म १–० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा अग्रता दोब्बर पारेको हो । ७२ औं मिनेटमा मेसीले गोल गरेका हुन् । एम्बाप्पे बिदामा रहेका कारण खेलमा उपस्थित थिएनन् ।

  • अफगानिस्तानको विदेश मन्त्रालय नजिकै बम विष्फोट, कम्तिमा २० जना मारिए

    अफगानिस्तानको विदेश मन्त्रालय नजिकै बम विष्फोट, कम्तिमा २० जना मारिए

    काबुल । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोटमा परी कम्तिमा २० जना मारिएका छन् । बम विस्फोटमा परी २० जनाको मृत्यु भएको तालिबान अधिकारीले बताएका छन् । प्रहरीले अहिलेसम्म पाँच जनाको मृत्यु भएको पुष्टी गरेको छ । आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन् । टर्की, चीन लगायतका धेरै देशका दूतावास भएको क्षेत्रमा विस्फोट भएको हो ।

    बम बोकेका व्यक्ति अफगानिस्तानको विदेश मन्त्रालयभित्रै घुस्न खोजेको तर असफल भएपछि बाहिरै बम विस्फोट गराएको तालिबान सरकारले जनाएको छ । चिनियाँ अधिकारीहरुले अफगानिस्तानका अधिकारीहरुसँग विदेश मन्त्रालयभित्र छलफलको तयारी गरिरहेको बेला बम विस्फोट भएको थियो ।

    काबुल सरकारले यो आक्रमणलाई कायरताको संज्ञा दिएको छ र त्यसको बदला लिने चेतावनी दिएको छ । आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ । तालिबान विद्रोही अफगानिस्तानको सत्तामा फर्किएपछि ठूला आक्रमणका घटना हुँदै आएका छन् । अफगानिस्तानमा भएका धेरैजसो ठूला आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिंदै आएको छ ।

  • अमेरिकामा आन्तरिक उडानमा एक साथ समस्या, समाधान गरी उडान सूचारु

    अमेरिकामा आन्तरिक उडानमा एक साथ समस्या, समाधान गरी उडान सूचारु

    काठमाडौं । संयुक्त राज्य अमेरिकामा प्राविधिक समस्याका कारण सबै आन्तरिक उडानमा लगाइएको रोक हटाइएको देशको सङ्घीय नागरिक उड्डयन प्रशासन एफएए जनाएको छ। यसअघि त्यहाँको नोटिस टु एअर मिसन्स सिस्टमको नियन्त्रण प्रणालीमा खराबी देखिएको बताइएको थियो।

    यस अवरोधका कारण चार हजारभन्दा धेरै उडान ढिलो र ६ सय भन्दा धेरै उडान रद्द भएका थिए। समस्याहरू समाधान हुन थाले तापनि कम्तीमा इस्टर्न टाइम अनुसार विहानको ९ बजेसम्म कुनै उडान नहुने जनाइएको थियो। देशको सङ्घीय नागरिक उड्डयन प्रशासन एफएएका अनुसार देशभरी नै प्रणालीमा समस्या देखिएको थियो।


    विमान चालकहरूलाई विमानको हवाई मार्गमा हुनसक्ने सम्भावित खतराबारे सावधान गराउने उक्त प्रणालीमा अवरोध देखिएको उक्त निकायले जनाएको छ। यसअघि नै आकासमा रहेका सबै उडानहरू अवतरणका लागि सुरक्षित रहेको एफएएले जनाएको थियो। अमेरिकी राष्ट्रपति जो बाइडनलाई यस अवरोधका बारेमा जानकारी गराइएको र यतिखेर साइबर हमलाको कुनै प्रमाणहरू नरहेको ह्वाइटहाउसले जनाएको छ।

    पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति बाइडनले यतिखेर उड्डयन निकायलाई घटनाको कारण थाहा नभएको तर केही घण्टाभित्रै कारणको छनक पाइने बताएका छन्। आफ्नो एक ट्विटमा ह्वाइटहाउसका प्रेस सेक्रेटरीले राष्ट्रपतिले यसका कारणबारे पूर्ण अनुसन्धान गर्न भनेको जनाएका छन्। ती अवरोधहरूले अन्तर्राष्ट्रिय उडानलाई असर पार्छ कि पार्दैन भन्ने विषय तत्काल प्रस्ट भएको थिएन। बीबीसी

  • इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

    इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

    जाकार्ता । इन्डोनेसियामा मंगलबार ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा शक्तिशाली भुकम्प गएको स्थानीय संचारमाध्यमले जनाएका छन् । युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको छ। उत्तरी अष्ट्रेलियाका केही भागहरूमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि कम्तिमा चार पराकम्पनहरू गएका थिए।

    इन्डोनेसियाको प्रकोप एजेन्सीले प्रारम्भिक रिपोर्टका अनुसार भवनहरूमा हल्कादेखि मध्यम क्षति भएको छ। भुकम्प लगत्तै सुनामीको चेतावनी दिए पनि हटाइएको छ । भूकम्पको केन्द्रबिन्दु वरिपरि चारवटा टाइड गेजको अवलोकनपछि त्यहाँ कुनै विपत्ती नभएको र समुद्रको सतहमा कुनै उल्लेखनीय परिवर्तन नभएकाले सुनामीको चेतावनी हटाइएको अधिकारीहरूले जानकारी दिएका छन्। भूकम्पले पु–याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ।

  • मस्कोबाट गोवा उडेको जहाजमा बमको हल्ला, आकस्मिक अवतरण

    मस्कोबाट गोवा उडेको जहाजमा बमको हल्ला, आकस्मिक अवतरण

    नयाँ दिल्ली । रुसको मस्कोबाट गोवाका लागि उडेको जहाजमा बम राखेको हल्लासँगै जहाजको आकस्मिक अवतरण गरिएको छ । बम रहेको सूचनापछि रूसको मस्कोबाट भारतको गोवातर्फ आइरहेको एक चार्टर्ड जहाज सोमबार राति गुजरातको जमनगरमा आपतकालीन अवतरण गराइएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार विमानमा सवार सबै २३६ यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालेर प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरेको थियो ।
    नयाँ दिल्लीस्थित रूसी दूतावासका एक अधिकारीले भारतीय अधिकारीका तर्फबाट विमानमा बम रहेको सूचना दिएका थिए । अधिकारीहरू अनुसार बम रहेको धम्कीपछि विमानलाई सोमबार राति ९ः४९ बजे जामनगरको सेनाको ब्यारेकमा अवतरण गराइएको थियो। अहिले सबै यात्रु सुरक्षित छन्।

  • वेल्सका कप्तान बेलले लिए सन्यास

    वेल्सका कप्तान बेलले लिए सन्यास

    काठमाडौं । वेल्सका कप्तान ग्यारेथ बेलले सबै प्रकारको फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनी अहिले मात्र ३३ वर्षका भए । उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले ट्वीट गरेर सन्यास लिएको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो निर्णय मेरो करियरकै अहिलेसम्मकै सबैभन्दा कठिन निर्णय हो ।’ उनले अगाडि भनेका छन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा केवल मेरो जीवन बदलिएको छैन, बरु म को हुँ भन्ने पनि स्थापित भएको छ । म यो अविश्वसनीय इतिहासमा देशका लागि एक भूमिका निर्वाह गर्दा आफूलाई सम्मानित महसुस गर्दछु ।’

    बेल वेल्सको सबैभन्दा महान खेलाडीको रुपमा चिनिन्छन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा ४१ गोल गरेका छन् । दुई युरोपियन च्याम्पिनसिप जिताएका छन् । यसका साथै उनले आफ्नो टिमलाई युरो २०१६ को सेमिफाइनलसम्म पुर्याए । १९५८ पछि पहिलो पटक विश्वकपमा पनि पुर्याए । लस एन्जलसका फरवार्ड रहेका उनी त्यसअघि साउथह्याम्पटन, टोटनहम र रियल मड्रिडका लागि खेलिसकेका छन् । उनले अन्तिम खेल विश्वकपमा इंग्ल्याण्डविरुद्ध खेलेका थिए । यो बेलको १११ औं अन्तर्राष्ट्रिय खेल थियो ।

  • ब्राजिलमा राष्ट्रपति भवन र संसदमा नागरिकको हंगामा

    ब्राजिलमा राष्ट्रपति भवन र संसदमा नागरिकको हंगामा

    काठमाडौं । ब्राजिलमा नागरिकले राष्ट्रपति भवन र संसद छिरेर हंगामा मच्याएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार यस्तो हंगामा मच्याएका हुन् । प्रदर्शनकारी सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेको बताइएको छ । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका सीएनएनले ब्राजिलको स्थानीय मिडियालाई उद्धृत गर्दै जनाएको छ ।

    ब्राजिलको महान्यायाधिवक्ताको कार्यालयले आइतबार देशको संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा तोडफोड गर्नेहरूमाथि अनुसन्धान गरिरहेको उल्लेख गरेको छ । स्थानीय समाचार रिपोर्टहरूका अनुसार फुटेजमा पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरू सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा प्रवेश गरेको देखाएका छन् ।

    अक्टोबरमा भएको चुनावमा बोल्सोनारोलाई वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले पराजित गर्दै ब्राजिलको राष्ट्रपति निर्वाचित भएका थिए । त्यसपछि बोल्सोनारोका समर्थकहरुले चुनावी परिणामहरू अस्वीकार गर्दै आएका छन् । लुलाको शपथ ग्रहण समारोहमा पनि बोल्सोनारो सहभागी भएका थिएनन् । उनका समर्थकहरुले समारोह बिथोल्न सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । उता, अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ब्राजिलको राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालतमा भएको आक्रमणको निन्दा गरेका छन् ।

  • कच्चा तेलको भाउ १ वर्ष यताकै सस्तो

    कच्चा तेलको भाउ १ वर्ष यताकै सस्तो

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम जारी छ । पछिल्लो दुई महिनामा विश्व बजारमा कच्चा तेलको भाउ २० प्रतिशत बढीले घटेको हो ।

    विश्वभर देखिएको आर्थिक मन्दी र यरोपियन युनियनले रुसी तेलमा लगाएको ‘क्याप’का कारण अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको भाउमा भारी गिरावट आएको हो ।

    दुई महिनामै कच्चा तेलको भाउ प्रतिब्यारेल २५ डलरसम्म घटेको छ। गत नोभेम्बर ७ मा प्रतिब्यारेल ९७ डलरमा पुगेको ब्रेन्ट क्रुड आयलको मूल्य आज (जनवरी ८ ) ७३ डलरमा झरेको छ । यस ब्रेन्ट क्रुड आयलको मूल्य २५ प्रतिशतले घटेको हो ।यो पछिल्लो १ वर्ष यताकै कम हो ।

    यसैगरी, ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको १९ प्रतिशत अर्थात् १८ डलर घटेको छ । एक महिना अघि प्रतिब्यारेल ९१ डलर रहेको डब्ल्यूटीआइको भाउ आइतबार प्रतिब्यारेल ७३ डलरमा कारोबार भइरहेको छ।

    २०२२ को फेब्रुअरीमा रुस युक्रेन युद्ध सुरु भएसँगै आकाशिएर प्रतिब्यारेल १३९ डलरसम्म पुगेको कच्चा तेलको भाउ मेदेखि ओरालो लागेको थियो । गत साता मात्रै ईयूले रुसी कच्चा तेलको भाउ प्रतिब्यारेल ६० डलर तोकेपछि अन्तर्राष्ट्रिय बजारमा त्यसको प्रभाव पर्न थालेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपाललाई पनि प्रत्यक्ष फाइदा हुन्छ । नेपालले अहिले सिधै अन्तर्राष्ट्रिय बजारबाट तेल खरिद नगरी भारतसँग खरिद गरेर ल्याउने गरेको छ । विश्व बजारमा कच्चा तेलको भाउ घट्दा भारतमा पनि घट्ने हुनाले त्यसको प्रभाव नेपालमा पनि पर्छ ।

    विश्व बजारमा तेलको भाउ घटेसँगै भारतीय आयल निगमले पनि पछिल्लो समय लगातार भाउ घटाएर पठाउँदै आएको छ । गत आर्थिक वर्षमा आधा खर्ब बढी घाटा व्यहोरेको नेपाल आयल नियम तेलको भाउ घटेसँगै भदौ यता नाफामा जान थालेको छ ।

    यद्यपि, भदौदेखि नाफामा जान थाले पनि निगमले भाउ भने घटाएको छैन । गत साता प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पद्धार्थको भाउ घटाउन निर्देशन दिए पनि निगमले अझै घटाएको छैन ।

  • अन्ततः अमेरिकी संसदले पायो सभामुख, १५ औं पटक निर्वाचन

    अन्ततः अमेरिकी संसदले पायो सभामुख, १५ औं पटक निर्वाचन

    काठमाडौं । १५ औं पटकको निर्वाचनबाट अमेरिकाले सभामुख पाएको छ । अमेरिकाको तल्लो सदन ९हाउस अफ रेफ्रिजेन्टेटिभ्स०को सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी चुनिए । क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकक्याथीलाई सभामुख चुनिन २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट थियो । रिपब्लिकन पार्टीभित्रका करिब २० चरम दक्षिणपन्थी नेताहरुले उनको विपक्षमा उभिंदा नतिजा आउन सकेको थिएन ।

    तर अन्तिम समयमा ६ जना सांसद अडानबाट पछि हटेपछि म्याकक्याथी १५ औं पटकको प्रयासमा सभामुख बन्न सफल भए । अमेरिकी राष्ट्रपति जो बाइडनले सभामुख म्याकक्याथीलाई बधाई दिए । उनले आफू रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा सभामुख रहन्छन् । सभामुखले संसद बैठकको एजेण्डा तय गर्नुका साथै विधायिकी जिम्मेवारीको सुपरिवेक्षण गर्न सक्छन् ।

  • पुटिनको ३६ घण्टे युद्धविराम प्रस्ताव युक्रेनद्धारा अश्विकार

    पुटिनको ३६ घण्टे युद्धविराम प्रस्ताव युक्रेनद्धारा अश्विकार

    काठमाडौं । रुसी अर्थोडक्स क्रिसमसको समयसँग जुध्नेगरी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका ३६ घण्टे युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ। युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकहरूलाई युद्धमोर्चा नजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको बीबीसीले लेखेको छ ।

    मस्कोको समय अनुसार शुक्रवार राति १२ बजेबाट युद्धविराम शुरू हुनेछ जुन समय रुसी अर्थोडक्स क्रिसमसको समयसँग जुध्ने छ। रुसी अर्थोडक्स गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपिल अनुसार आफूले सेनालाई युद्धविराम गर्न आदेश दिएको पुटिनले बताएका छन्। “किरिलले गर्नुभएको अपिललाई ध्यानमा राख्दै राष्ट्रपतिले रुसी महासङ्घको रक्षा मन्त्रालयलाई युक्रेनी युद्धमोर्चामा ३६ घण्टाका लागि युद्धविराम गर्न निर्देशन दिनुभएको हो,” राष्ट्रपति कार्यालय क्रेम्लिनले एउटा विज्ञप्तिमार्फत् भनेको छ।

    युक्रेनलाई पनि सोही अनुरूप कदम चाल्न पुटिनले आग्रह गरे पनि किएभले अस्वीकार गरेको छ। रुसी अर्थोडक्स गिर्जाघरले ज्यानुअरी ७ तारिखमा क्रिसमस मनाउने गरेको छ। सङ्घर्ष चलिरहेका क्षेत्रमा ठूलो सङ्ख्यामा बस्दै आएका धर्मावलम्बीहरूले शुक्रवार क्रिसमसको पूर्वसन्ध्या र शनिवार क्रिसमस मनाउन सकून् भनेर पुटिनले युक्रेनलाई पनि तत्तत् गर्न आग्रह गरेका हुन्।

    तर रात्रिकालीन भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रमा युक्रेनी फौजलाई अगाडि बढ्नबाट रोक्ने तथा आफ्ना थप फौज एवं उपकरणहरू ल्याउने उद्देश्यका साथ पुटिनले युद्धविरामलाई अगाडि सारेको आरोप लगाएका छन्। “त्यसबाट आखिर उनीहरूले के पाउने छन्रु उनीहरूको कुल क्षतिमा फेरि अर्को क्षति त थपिने हो।” जेलेन्स्कीले आफ्नो संबोधनको यो अंश चाहिँ अस्वाभाविक रूपमा रुसी भाषामा बोलेका छन्।


    राष्ट्रपति जेलेन्स्कीका युद्धविराम प्रस्तावहरूलाई मस्कोले निरन्तर बेवास्ता गर्दै आएको युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन्। युक्रेनी राष्ट्रपतिका सल्लाहकारले अधिनस्थ क्षेत्रबाट रुसी फौजहरू फिर्ता नभएसम्म “अस्थायी युद्धविराम” नहुने बताएका छन्। पुटिनले “केही राहत खोज्ने प्रयत्न गरेको” संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले टिप्पणी गरेका छन्।

  • चिसो बढेसँगै बेलायतमा स्वास्थ्य संकट

    चिसो बढेसँगै बेलायतमा स्वास्थ्य संकट

    लण्डन । चिसो बढेसँगै बेलायतमा स्वास्थ्य सेवामा संकट सुरु भएको छ । नेसनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्यान्डले अहिलेकै अवस्थामा बिरामीको चाप थेग्न अस्पताललाई कठिन भइरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबारसम्म कम्तीमा ६ अस्पताल ट्रस्टले संकटको अवस्था सामना गर्नुपरेको बीबीसीको समाचारमा उल्लेख छ । संकटको अर्थ उनीहरू पूर्ववत् अवस्थामा बिरामीको उपचार गर्ने सामर्थ्यमा छैनन् ।

    केही अस्पतालका ए एन्ड ई (एक्सिडेन्ट तथा इमर्जेन्सी) विभाग संकटग्रस्त अवस्थामा पुगेको रोयल कलेज अफ इमर्जेन्सी मेडिसिनले जनाएको छ । रोयल कलेज अफ इमर्जेन्सी मेडिसिन का अध्यक्ष डा. एड्रियन बोयलले समयमै आपत्कालीन उपचार नहुँदा सातामा तीन सयदेखि पाँच सय बिरामीको मृत्यु भइरहेको बताएका छन् । गुणस्तर निगरानी गर्ने आरसीईएमले यूकेको ‘ए एन्ड ई’ विभागले हालसम्मकै खराब अवस्था र बिरामीले सबैभन्दा बढी समय कुर्नुपरेको उल्लेख गरेको छ । ६ सातायता ए एन्ड ई आउने विरामीको संख्या १८ प्रतिशतले वृद्धि भएको छ ।

    बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले ब्रिटेनमा गत महिनाको तुलनामा यस महिना फ्लूका कारण अस्पताल भर्ना हुने बिरामीहरूको संख्या सात गुणा बढेको जनाएको छ । पछिल्लो तथ्यांकका अनुसार गतसाता अस्पतालहरूमा फ्लुबाट पीडित ३ हजार ७ सय ४६ जना बिरामी भर्ना भएका थिए । तीमध्ये २ सय ६७ जनाको स्थिति गम्भीर रहेको जनाइएको छ ।

    एक महिनाअघि फ्लुका कारण भर्ना हुने बिरामीको संख्या ५ सय २० मात्रै थियो । पछिल्लो एक सातामा फ्लुका कारण भर्ना हुने बिरामीको संख्या ८० प्रतिशतले वृद्धि भएको एनएचएसले जनाएको छ । यसैगरी, अस्पतालहरूमा उपलब्ध प्रत्येक १० मध्ये ९ ओटा बेड भरिएका जनाइएको छ । फ्लुका कारण एनएचएसका हजारौं कर्मचारीले आकस्मिक बिदा लिएका छन् ।

  • विश्वकपपछि फ्रान्स फर्किएका मेसीलाई ‘गार्ड अफ अनर’

    विश्वकपपछि फ्रान्स फर्किएका मेसीलाई ‘गार्ड अफ अनर’

    काठमाडौं । विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विशिष्ट सम्मान प्रकट गरेको छ । उसले मैदानमा मेसीलाई गार्ड अफ अनर प्रदान गरेको हो । विश्वकपपछि प्रशिक्षणमा फर्किएका मेसीलाई क्लबले यस्तो सम्मान दिएको हो । गार्ड अफ अनर सम्मानलाई खेलकुदमा विशिष्ट सम्मानमा रूपमा लिइन्छ। घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा नेइमारसहित सहकर्मी खेलाडीहरुले उभिएर मेसीलाई सम्मान गरेका गरेका थिए भने खेल स्टाफ लुइस कम्पोसले उनलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरेका थिए।

    पीएसजीकै सहकर्मी खेलाडी तथा फ्रेन्च फर्वाड किलियन एम्बाप्पे भने समारोहमा अनुपस्थित भए । प्रशिक्षणमा फर्किएपछि मेसीले आफूलाई गरेको स्वागतका लागि क्लबलाई धन्यवाद दिए। कीर्तिमानी ७ पटकका बालोन डिुओर विजेता मेसीको कप्तानीमा अर्जेन्टिनाले हालै कतारमा सम्पन्न विश्वकप फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्वकप जितेको हो। मेसीले विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बलसमेत जितेका थिए। मेसीले २०२३–२४ सिजन समेत पीएसजीबाटै खेल्ने भएका छन् ।

  • चीनबाट हुने यात्रालाई यूरोपमा कडाई गरिँदै

    चीनबाट हुने यात्रालाई यूरोपमा कडाई गरिँदै

    काठमाडौं । कोरोना संक्रमण फैलिएको भन्दै चीनबाट आउने हरेक यात्रुमाथि कडाई गर्न विपद्‌ नियन्त्रणसम्बन्धी युरोपेली संघका अधिकारीहरूले सिफारिस गरेका छन्। चीनबाट प्रस्थान गर्नुअघि कोरोना परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने, आगमनका बेला पनि परीक्षण गराउनुपर्ने र उडान अवधिमा अनिवार्य मास्क लगाउनुपर्नेलगायतका व्यवस्था गर्न सिफारिस गरिएको हो। यसैबीच हवाई यात्राका क्रममा प्रयोग भएको पानीमा पनि भाइरसबारे परीक्षण गर्न विज्ञहरूले सुझाव दिएको बिबिसीले जनाएको छ। युरोपेली संघका बहुमत सदस्य राष्ट्रहरू चीनबाट आउने यात्रीमा यात्रा प्रतिबन्ध लगाउने पक्षमा रहेको कुरा युरोपेली आयोगले बताएको भोलिपल्ट यस्तो सिफारिस आएको हो।

    यो अभ्यास जर्मनीस्थित फ्र्याङ्कफर्ट विमानस्थलले शुरू भइसकेको छ। युरोपेली सङ्घमा आबद्ध फ्रान्स, स्पेन र इटलीले यसअघि नै चीनबाट आउने यात्रुहरूको हकमा कोभिड परीक्षणको नियम लागु गरिसकेका छन्। कोभिड शून्य नीति हटाउने योजनाअन्तर्गत आइतवारदेखि चीनले यात्रा सहज पारेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमाका अनुसार चीनले अहिले व्यापक मात्रामा कोरोनाभाइरस सङ्क्रमणको सामना गरिरहेको छ।

    बिरामीको चापले अस्पतालहरू भरिएका छन्। विश्वस्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चीनमा कोभिडको नयाँ भेरिअन्ट देखिएको प्रमाण नपाइएको जनाएको छ। यद्यपि चिनियाँ अधिकारीहरूले कोभिडको असरलाई कम आँकिरहेको हुनसक्ने भन्दै उसले सचेत गराएको छ। बेइजिङले गत डिसेम्बरयता कोभिडबाट जम्मा २२ जनाको ज्यान गएको पुष्टि गरेको छ। जुन विवरण विश्लेषकहरूको तथ्याङ्कसँग मेल नखाने बिबिसीले दाबी गरेको छ।

    वैज्ञानिक तथ्याङ्कसम्बन्धी यूकेको एअरफिनिटी कम्पनीको आकलन अनुसार चीनमा दैनिक २० लाखभन्दा बढी सङ्क्रमण र १४,७०० मृत्यु भइरहेको हुन सक्छ। यसअघि चिनियाँ सरकारले आफ्नो देशबाट जाने यात्रुहरूको आगमनमा कडाइ गर्ने देशहरूको निर्णय राजनीतिक रूपमा पूर्वाग्रही भएको भन्दै आफूले बदला लिनसक्ने चेतावनीसमेत दिएको थियो।

  • कीर्तिमानी मूल्यमा एसिया पसेका रोनाल्डोलाई साउदीमा भब्य स्वागत

    कीर्तिमानी मूल्यमा एसिया पसेका रोनाल्डोलाई साउदीमा भब्य स्वागत

    काठमाडौं । कीर्तिमानी रकममा साउदी क्लब अल नासरमा आवद्ध भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अब एसिया महादेशमा व्यवसायिक फुटबल खेल्नेछन् । उनलाई साउदीमा भब्य स्वागत गरियो । क्लबले मंगलबार राति रोनाल्डोको स्वागतमा भब्य स्वागत समारोह आयोजना गरेको हो । कार्यक्रम मार्सूल पार्कमा दुई घण्टासम्म चलेको थियो ।

    अल नासरको पहेँलो र नीलो जर्सी लगाएका रोनाल्डो रंगशालामा प्रवेश गर्दा आतिसवाजी र झकिझकाउ लाइटहरूले स्वागत गरियो । २५ हजार दर्शक क्षमताको खचाखच भरिएको रंगशालामा उनले दर्शकहरूलाई अभिवादन गर्दै मैदान प्रवेश गरेका बेला दर्शकहरूले हुटिङ गरे । उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजले साउदी महिलाहरूले लगाउने परम्परागत कालो अबाया लुगा लगाएर बच्चाहरूसँगै पछि पछि मैदान प्रवेश गरिन् ।

    त्यसअघि आयोजित एक कार्यक्रममा उनले सम्झौता पत्रमा हस्ताक्षरसमेत गरेका छन्। यस्तै उनले प्रशंसकलाई सम्बोधनसमेत गरेका छन्। आफूलाई युरोप, अमेरिका, अष्ट्रेलिया र पोर्चुगलका धेरै क्लबले बोलाए पनि साउदी क्लबलाई आफूले बचन दिएकाले रियाद आएको बताए। ‘युरोप, ब्राजिल, अष्ट्रेलिया, अमेरिका र पोर्चुगलका धेरै क्लबहरूले मलाई अनुबन्धको प्रयास गरेका थिए। तर मैले यो क्लबलाई मेरो वचन दिएको भएर यता आएँ,’ रोनाल्डोले भने।

    उनले साउदी आउनु आफ्नो अन्त्य नभएको बताए । सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासरसँग अनुबन्ध भएका रोनाल्डो सोमबार साँझ रियाद पुगेका हुन्। रोनाल्डोले वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि क्लबमा आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन्। यो विश्व फुटबल इतिहासमै हालसम्मको सबैभन्दा बढी पारिश्रमिक हो।

  • कसरी गरिँदैछ आज पेलेको अन्तिम संस्कार ?

    कसरी गरिँदैछ आज पेलेको अन्तिम संस्कार ?

    काठमाडौं । विश्व फुटबलका महान खेलाडी ब्राजिलियन पेलेको आज अन्तिम संस्कार हुने भएको छ । उनलाई हजारौ समर्थकले अन्तिम श्रद्धाञ्जली दिएका छन्। साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौंको भिड लागेको छ ।

    अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशाला पुर्‍याइएको थियो। रोयटर्सका अनुसार ३० डिग्रीभन्दा माथिको तापक्रमको वास्ता नगरी उनीहरूले दुई घन्टाभन्दा बढी समय लाइन बसेर पेलेलाई श्रद्धाञ्जली दिएका थिए। पेलेले दुई दशकभन्दा बढी समयसम्म सान्तोस क्लबबाटै व्यवसायिक फुटबल खेलेका थिए। सन् १९४० मा ट्रेस काराकोएसमा जन्मिएका पेले सन् १९५६ मा परिवारसहित सान्तोस बसाई सरेका थिए। उनले आफ्नो जीवनको अधिकांश समय सान्तोसमै बिताएका थिए।

    यसैबीच पेलेलाई श्रद्धाञ्जलि दिन पुगेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा एउटा रंगशालाको नाम पेले राख्न आफ्ना दुई सय एघार सदस्य राष्ट्रलाई आग्रहसमेत गरेका छन्। उनले फिफाले पनि पेलेप्रति उच्च सम्मान गर्ने जानकारी दिए। नेइमार, भिनिसियस जुनियर लगायत खेलाडी, समर्थकले पेलेलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए। विश्वभरका ५० हजार पत्रकारले पेलेको अन्तिम संस्कारको समाचार संकलनका लागि अनुमति मागेको सान्तोसको प्रेस कार्यालयलाई उदृत गर्दै रोयटर्सले बताएको छ ।

    २४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको आज निजी समारोहमा राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाको उपस्थितिमा अन्तिम संस्कार हुनेछ। तीन पटक फिफा विश्वकप जितेका पेलेको गत बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । पेलेको निधनपछि ब्राजिल सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको थियो।

  • क्षेप्यास्त्र हानेर ४ सय रुसी सैनिक मारेको युक्रेनको दावि

    क्षेप्यास्त्र हानेर ४ सय रुसी सैनिक मारेको युक्रेनको दावि

    काठमाडौं । युक्रेनले आफ्नो एक क्षेप्यास्त्र हमलामा परेर अधीनस्थ डोनेत्स्क क्षेत्रको पूर्वी भागमा झण्डै ४०० रुसी सैनिकहरूको मृत्यु भएको दाबी गरेको छ।
    रुसको रक्षा मन्त्रालयले भने ६३ जना सैनिकहरू मारिएको पुष्टि गर्दै त्यस हमलामा हाइमार्स रकेटहरूको प्रयोग भएको जनाएको छ। दुवैतर्फका दाबीको स्वतन्त्र रूपले पुष्टि हुन नसकेको बीबीसीले लेखेको छ ।

    उसले त्यहाँ सैनिकहरू अस्थायी रुपमा तैनाथ भएको बेला हमला भएको जनाएको छ। रुस(पक्षधर अधिकारीहरूले हताहत भएको कुरा स्वीकार गरेका छन् तर बाहिर आएको सङ्ख्याबारे परस्पर विरोधी टिप्पणीहरू गरेका छन्। उक्त क्षेप्यास्त्र रुसी फौजहरू रहेको ठानिएको म्याकिइभका सहरको एक सीपमूलक विद्यालय भवनलाई लक्षित गरी प्रहार गरिएको थियो।

    किएभमा रुसबाट ड्रोन तथा क्षेप्यास्त्र हमलाको क्रम जारी रहँदा आइतबार राती हवाई हमलाहरूको चेतावनी जारी गरिएको थियो। डोनेत्स्कको अधिनस्त क्षेत्रमा रहेका रुस समर्थित एकजना वरिष्ठ अधिकारी डानिल बेज्सोनोभका अनुसार म्याकिइभकामा नयाँ वर्षको दिन मध्यरातको दुई मिनेटपछि क्षेप्यास्त्र प्रहार भएको थियो।

    बेज्सोनोभले मेसेजिङ एप टेलिग्राममा लेखेका छन्, ‘त्यहाँ मृतक र घाइतेहरू छन्, वास्तविक सङ्ख्या अझै थाहा छैन। ’ती अधिकारीले सो प्रहार अमेरिकाले उपलब्ध गराएको एमएलआरएस हाइमार्स भनिने क्षेप्यास्त्रको प्रयोगबाट भएको बताए। युक्रेनले उक्त क्षेप्यास्त्रको प्रयोगको विषयमा कुनै पुष्टि गरेको छैन।


    किएभले पुरानै रणनीतिको रूपमा आफ्ना हमलाका विवरणहरू सार्वजनिक गर्ने गरेको छैन। रुसी ड्रोनमा रुसी भाषामा‘ नयाँ वर्षको शुभकामना’ लेखिएका तस्बिर युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका छन् । रुस नियन्त्रित क्षेत्रमा पहुँच प्रतिबन्धित भए तापनि कैयौँ रुसी टिप्पणीकार र ब्लगरहरूले त्यस हमलालाई स्वीकार गरेका छन् तर मृतकको सङ्ख्या दाबी गरिएभन्दा कम हुनसक्ने बताएका छन्। एकजना रुसी प्रस्तोता भ्लादिमिर सोलोभयोभले टेलिग्राममा क्षतिहरू उल्लेख्य भए तापनि ४०० को नजिक पनि नभएको लेखेका छन्।

    तर हाल टिप्पणीकारका रूपमा रहेका एकजना पूर्व रुसी सैनिक इगोर गिर्किनले सयौँ घाइते हुनुका साथै मारिएको र भवन ूलगभग पूरै ध्वस्त भएकोू बताएका छन्। उनले पीडितहरू खास गरी हालसालै भर्ती गरिएका र स्वेच्छाले लड्न गएका बाहेकका सैनिकहरू भएको बताएका छन्। गोलाबारूद समेत त्यसै भवनमा राखिएको कारण क्षति झन् भयानक भएको उनले जनाएका छन्।

    युक्रेनी सेनाका अनुसार ज्यान गुमाउने अनुमानित ४०० बाहेक ३०० जति घाइते भएका छन्। युक्रेनको सेनाले दैनिक जसो दर्जनौँ एवं बेलाबखत सयौँको सङ्ख्यामा विरोधी सैनिकहरू मारेको दाबी गर्ने हुँदा सजगता आवश्यक पर्छ। तर यस दाबी पुष्टि भएमा यो युक्रेन युद्धमा रुसी निशानामा किएभले गरेको सबैभन्दा घातकमध्येको हमला हुनसक्छ।

  • भूतपूर्व पोप बेनेडिक्टको निधन

    भूतपूर्व पोप बेनेडिक्टको निधन

    काठमाडौं । भूतपूर्व पोप बेनेडिक्टको सोह्रौँको भ्याटिकनस्थित आफ्नै निवासमा ९५ वर्षको उमेरमा निधन भएको छ। उनी करिब एक दशकपछि खराब स्वास्थ्यका कारण अस्वस्थ रहँदै आएका थिए। उनले आठ वर्षभन्दा कम समय क्याथोलिक चर्चको नेतृत्व गरेका थिए।

    बेनेडिक्टले सन् २०१३ मा राजीनामा दिएका थिए। त्योसँगै उनी सन् १४१५ मा ग्रेगरी बाह्रौँपछि राजीनामा गर्ने पहिलो पोप बनेका थिए। पोप बेनेडिक्टले आफ्ना जीवनका अन्तिम वर्षहरू भ्याटिकनको पर्खालभित्रै रहेको मातरे क्लेजिया मोनस्ट्रीमा बिताएका थिए। उनका उत्तराधिकारी पोप फ्रान्सिसले आफूले उनलाई त्यहाँ बारम्बार भेटेको बताएका छन्।

    भ्याटिकनका प्रवक्ताले एउटा वक्तव्यमा भनेका छन्, ‘दुःखका साथ म तपाईँलाई सूचित गर्दछु कि पोप एमेरिटस बेनेडिक्ट सोह्रौँको बिहान ९:३४ मा भ्याटिकनको मातरे क्लेजिया मोनस्ट्रीमा निधन भयो।” ‘थप जानकारी सकेसम्म चाँडो प्रदान गरिनेछ।’ भ्याटिकनले उनको शवलाई ‘अनुयायीहरूको अन्तिम श्रद्धाञ्जलीका लागि’ जनवरी २ देखि सेन्ट पिटर्स बसिलिकामा राखिने जनाएको छ। उनको अन्तिम संस्कारको योजनाबारे आगामी केही घण्टामा घोषणा गरिने भ्याटिकनले जनाएको छ।

    इङ्गल्यान्ड र वेल्सको क्याथोलिक चर्चका प्रमुख कार्डिनल भिन्सेन्ट निकोल्सले पोप बेनेडिक्ट ‘२०औँ शताब्दीका महान् धर्मशास्त्रीमध्ये एक भएको बताएका छन्। एउटा वक्तव्यमा उनले भनेका छन्, ‘म सन् २०१० मा यो भूमिमा उहाँको उल्लेखनीय भ्रमणलाई विशेष स्नेहका साथ सम्झन्छु। हामीले उहाँको शिष्टाचार, उहाँको नम्रता, उहाँको अनुभूति र उहाँमा भेटेका सबैलाई स्वागत गर्ने खुलापन देखेका थियौँ।’ उनले ती भूतपूर्व पोप सज्जन, विद्वान् र ईश्वरको नजिक भएका नम्र सेवक भएको बताएका छन्।

    केही समयदेखि बिरामी रहेका उनलाई भ्याटिकन अधिकारीहरूले बढ्दो उमेरका कारण उनमा स्वास्थ्य समस्या देखिएको बताएका थिए। बुधवार पोप फ्रान्सिसले भ्याटिकनमा उनी धेरै बिरामी भएकाले उनका लागि वर्षको अन्तिम प्रार्थना गर्न आह्वान गरेका थिए।

    जर्मनीमा जन्मेका बेनेडिक्ट ७८ वर्षमा सन् २००५ मा पोपका रूपमा चयन भएका थिए र उनी त्यसरी चुनिने सबैभन्दा बढी उमेरका पोप थिए। उनी पोप भएका बेलामा क्याथोलिक चर्चले पादरीहरूले वर्षौँ बाल दुर्व्यवहार गर्ने गरेका आधिकारिक उजुरीहरूको सामना गरेको थियो। यसै वर्षको सुरुमा उनले म्युनिखमा आफू आर्चबिसप हुँदा त्यस्ता दुर्व्यवहारका घटना व्यवस्थापनमा आफूबाट गल्ती भएको स्वीकारेका थिए।

  • डब्लूएचओले चीनसँग भन्यो : कोरोनाको तथ्यांक नलुकाउ

    डब्लूएचओले चीनसँग भन्यो : कोरोनाको तथ्यांक नलुकाउ

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमण अवस्थाबारेको वास्तविक तथ्यांक नलुकाउन आग्रह गरेको छ । सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसबारे यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्याङ्क नलुकाउन भनेको हो ।

    डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको हो । कोरोना रोकथामका विभिन्न प्रतिबन्ध खुकुलो पारेसँगै चीनमा अहिले फेरि कोरोना महामारी बढेको छ । सङ्क्रमण बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता समेत व्यक्त गरेको छ ।

    डब्ल्यूएचओले खोपको सहजताका बारेमा नियमित सूचना आदान प्रदान भएमा महामारी रोकथाम गर्न सहज हुने अपेक्षा राखेको छ । अमेरिका, फ्रान्स, स्पेन, दक्षिण कोरिया, भारत, इटली, जापान र ताइवानलगायतका देशले चीनबाट आउने यात्रुका लागि कोराना परीक्षण अनिवार्य गरिसकेका छन् । कोरोनाको तीन वर्ष बित्दा पनि विश्वव्यापी रूपमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अस्पष्ट छ ।

    विश्वव्यापी रूपमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अस्पष्ट रहेको छ । विभिन्न देशले भिन्नभिन्न रुपमा मापन गर्ने तथा तथ्याङ्क राख्ने कारण सही मापन गर्न कठिन भएको हो।

    विज्ञहरूले आधिकारिक रूपमा रिपोर्ट गरिएकोभन्दा धेरैले ज्यान गुमाएको बताउँदै आएका छन् । कोरोनाको पहिलो सङ्क्रमित फेला परेको चीनमा १० लाखभन्दा धेरैको ज्यान गएको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरसको पहिचान भएयता अहिलेसम्म ६६ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ ।

    डब्ल्यूएचओका अनुसन्धाताले यसै महिनाको सुरुमा नेचर जर्नलमा सन् २०२० र २०२१ मा कोभिडबाट एक करोड ४८ लाख ३० हजारभन्दा धेरै मानिसको ज्यान गएको उल्लेख गरेका थिए । डब्ल्यूएचओको तथ्याङ्कअनुसार सन् २०२०–२१ मा भारतमा कोभिडका कारण सबैभन्दा बढी ४७ लाख ४० हजार मानिसको ज्यान गएको थियो ।

    ‘युनिभर्सिटी अफ जेनेभा’को इन्स्टिच्युट अफ ग्लोबल हेल्थका निर्देशक एन्टोनी फ्लाहाल्टले कोभिडका कारण ज्यान गुमाउने यकिन सङ्ख्या पुष्टि गर्नु निकै कठिन अभ्यास रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

  • रोनाल्डो साउदी अरेवियाको क्लवमा आवद्ध

    रोनाल्डो साउदी अरेवियाको क्लवमा आवद्ध

    काठमाडौं । पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन्। उनी कीर्तिमानी वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्ने भएका छन् । साउदी अल(नासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मरले स्पेनको राजधानी म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका हुन्।

    अध्यक्ष मुअम्मरले रोनाल्डोलाई क्लबको ७ नम्बरको जर्सीसमेत हस्तान्तरण गरेका छन्। ३७ वर्षीय रोनाल्डोले फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक लिएर एसियाली मुलुक साउदी गएका हुन्। उनले साउदी क्लबसँग सम्झौता गर्दै आफू अर्को देशमा नयाँ फुटबल लिगको अनुभव गर्न उत्सुक रहेको बताएका छन् ।

  • उत्तर कोरियाले जापानको समुन्द्री क्षेत्रमा हान्यो क्षेप्यास्त्र

    उत्तर कोरियाले जापानको समुन्द्री क्षेत्रमा हान्यो क्षेप्यास्त्र

    टोकियो । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा तीन वटा ब्यालेस्टिक मिसाइल हानेको छ । मिसाइल छोटो दूरीका भएको समाचारमा उल्लेख छ । जापानको रक्षा मन्त्रालयले पहिलो ब्यालेस्टिक मिसाइल स्थानीय समयानुसार बिहान ८ : ०० बजे, दोस्रो ८ : १४ बजे र तेस्रो त्यसको एक मिनेटपछि प्रहार भएको जनाएको छ ।

    तीनवटै मिसाइल राजधानी प्योङयाङको उपनगरबाट प्रहार गरिएको थियो । ती मिसाइल १०० किलोमिटरको उचाइबाट ३५० किलोमिटरसम्म उडेको अनुमान गरिएको छ । मन्त्रालय र समाचार संस्थाका अनुसार यी मिसाइलहरू जापानको समुद्री क्षेत्र तर विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेका छन् ।

  • म्यानमारको सैनिक सरकारप्रति बफादार अदालतद्धारा सुकी फेरि दोषी ठहर, ३३ वर्षको सजाय

    म्यानमारको सैनिक सरकारप्रति बफादार अदालतद्धारा सुकी फेरि दोषी ठहर, ३३ वर्षको सजाय

    एजेन्सी । म्यानमारको सैनिक सरकारप्रति बफादार एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भष्ट्राचारको अभियोगमा दोषी ठहर गरेको छ । दोषी ठहर गर्दै उनलाई थप सात वर्षको जेल सजाय सुनाएको छ ।

    यससँगै गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएकी सुकीलाई सबै गरी ३३ वर्षको जेल सजाय तोकिएको छ।

    ७७ वर्षीया सुकीलाई गैरकानुनी रूपमा वाकी–टकीहरू आयात र राख्ने, कोरोनाभाइरस प्रतिबन्धहरू उल्लंघन गर्ने, देशको आधिकारिक गोप्य ऐन उल्लंघन, देशद्रोह र चुनावी जालसाजीलगायत अन्य थुप्रै अपराधहरूमा पनि दोषी ठहर गरिएको थियो ।

    सन् २०२१ को फेबु्रअरीमा भएको ‘कू’ पछि ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई हिरासतमा राख्दै आएको छ।

    यसले म्यानमारको छोटो लोकतान्त्रिक प्रयोगको अन्त्य गरेको भन्दै म्यानमारमा अहिले पनि व्यापक विरोध प्रदर्शन भइरहेको छ।